text
stringlengths
146
47.7k
यालमाया: मध्यरातमा एउटा अनौठो प्रेमकथाको अन्त्य गरिदिने मुग्लु खोला नयाँगाउँको गोर्यानमा हिजोआज सुस्ताएर बग्ने गर्छ, जो धेरै वर्ष अगाडि बैँसले उन्मत्त हुँदै बारैमास गडगडाएर बग्ने गर्थ्यो । यसको अलिकति माथिको पाखोमा थियो गोरे कामीको आरन । आरनमा खलाँतीको ‘स्याईं स्याइँ’ आवाज आउन थालेपछि गोरेकी श्रीमती हातमा हँसिया र कम्मरमा नाम्लो बोकेर बाख्राको लागि घाँस जोहो गर्न जंगलतिर निस्कन्थी । गोरे खलाँती रोकेर श्रीमती गएको हेर्थ्यो र मुस्कुराउँथ्यो । त्यसपछि ऊ तातेको फलामलाई आकार दिन ट्वाङ् ट्वाङ् आवाजले पहाडका कान्ला थर्कने गरी चुट्थ्यो । त्यो आवाजको प्रतिध्वनित हुँदै मुग्लुखोला पारिको डाँडामा ठोक्किन्थ्यो । यसरी अर्को डाँडामा प्रतिध्वनित आवाजहरुमध्ये केही टाढाटाढासम्म फैलिन्थे र आवाजका केही टुक्राहरु तलीगाउँका बस्तीभरि छरिन्थे । एउटा टुक्रा भने उछिट्टिएर तलीगाउँको पूर्वी कुनामा रहेको ठकुरी बाबुसाहेबको घरआँगनमै पुग्थ्यो, जसले त्यहाँबाट एउटी चुलबुले फुच्चीलाई डोर्याउँदै आरनसम्म ल्याइपुर्\u200dयाउँथ्यो । त्यस फुच्चीको आगमनलाई गोरेले अपूर्व मिलन अनुभूत गर्थ्यो । पाखोको कान्ला थर्कने आवाजले मुस्काइरहेकी फुच्ची यालमायालाई लिएर सधैं आउँदैनथ्यो । यो अवसर यालमायाको स्कूलको बिदाको दिन मात्र जुर्दथ्यो । छुट्टीको समयमा जब फलाम ठोकिएको आवाज यालमायाको कानमा पर्दथ्यो, ऊ घरका पुराना हँसिया, खुकुरी र कुटाकोदाली बोकेर गोरेको आरनतिर कुद्थी । केही वर्ष पहिलेसम्म यालमाया खेल्दै, उफ्रदै खाली हात नै गोरेको आरनमा अकारण नै पुग्थी । त्यहीँ छेउछाउ भेटिने गोरेका छोरीहरुसँग दिनभरि जसो खेल्थी । जसै शरीरले जवानीका रङहरु भर्न थाले, उसलाई बिना काम बाटो मुनिको फूल सुम्सुम्याउँदै उकालो लाग्न अफ्ठ्यारो लाग्न थाल्यो । अब पहिले जस्तो स्कुलबाट घर फर्कंदा घुमाउरो र लामो बाटो काटेर आरन छिर्न पनि उसलाई कता-कता लोकलाजको अनुभूति हुने भएर आयो । त्यो केटी छिटोछिटो सास फेर्दै आरनमा बसिरहेको गोरेलाई बोलाउँ, ‘गोरे अङ्कल !’ ऊ आवाज आएतिर पुलुक्क फर्कन्थ्यो र उचालिसकेको घन भुइँमा थपक्क राख्दै भन्थ्यो, ‘ज्यू मैसाप् !’ त्यसपछि फलाम पिटाइको चर्को प्रतिध्वनि हराउन पुग्थ्यो । बदलामा ती दुवैका मुस्कानहरु साटासाट हुन्थे । एउटी किशोरी यालमायाको समृद्ध मुस्कान र एउटा अधबैंसे गोरेको निम्छरो मुस्कान ! तै पनि ती दुवै मुस्कानको घुलमिल हेर्दा यस्तो लाग्दथ्यो, मुस्कानको सौन्दर्यले उमेरले दिने सम्पूर्ण बिम्बहरुलाई भत्काइदिएको छ । उनीहरुको बीचमा भने उमेरले निकै लामो रेखो हालेको थियो र आर्थिक असमानताको खाडल पनि निकै गहिरो खनिएको थियो । त्यसमा थपिएको थियो, सामाजिक विभेदको अन्कन्टार दुरी । यी धेरै दुरीका बीच पनि यालमाया चन्द र गोरे बीचको यो हिमचिम कसैको आँखामा कहिल्यै बिझाएन । जब धेरै दुरीका दुई नदी भेटिन्छन्, त्यसलाई आम मानिसले संयोगको भेट ठान्छन् क्यारे ! यिनीहरुको भेटलाई आम गाउँलेहरुले आँखाले देख्थे, तर मनले देख्ने आवश्यकता ठान्दैन थिए । यो वर्षौंदेखि देखिने तर याद नगरिने घरनजिकै लडिरहेको ढुङ्गाजस्तै थियो । जसले पहिलो पटक हेर्दा त्यसलाई याद गर्छ तर पटक-पटक देखिरहँदा त्यसको महत्त्व त्यही ढुङ्गा समान बन्न पुग्छ । ०००० ‘हजुर आइबक्सियो ?’ यालमायालाई देखेपछि गोरेको हतौडा रोकियो । उसले मुस्कुराउँदै पिट्दै गरेका भाँडावर्तन सारेर छेउछाउका सामग्री सफा बनाउने प्रयास गर्\u200dयो । त्यसपछि पुरानो मजेत्रोले अनुहारको पसिना पुछ्यो र सोध्यो, ‘आज के ल्याइबक्सियो, मैसाप् ?’ ‘आज त खाली हात आएकी छु, गोरे अङ्कल ।’ ‘त्यसो भए म पनि आज हजुरलाई खाली नै हात पठाम्छु ।’ गोरे गिजासम्म देखिने गरी हाँस्यो । यालमायाले उसको फुस्रो र कालो अनुहारभित्र रुनले छोप्न थालेका खैरा दाँत हेरी । ‘ब्रस ल्याइदिएकी छु र मञ्जन पनि,’ यालमायाले कर्के आँखाले गोरेलाई हेरी र भनी, ‘मीठो गाउने र यसरी हाँस्ने मान्छेले दाँत पनि टलक्क टल्काउनु पर्छ । यसले माझ्नुस् त चकलेटजस्तै स्वाद आउँछ र भिक्स जस्तै बसाउँछ ।’ गोरे यालमायाले कम्मरको पटुका खोलेको हेर्दै गम्भीर भयो । उसले हातमा एउटा पुरानो ब्रस र आधा भएको मञ्जन दिँदै भनी, ‘मज्जाले दाँत घोट्नु है ! काठमाडौँबाट आएको दाइको ब्यागबाट सुटुक्क निकालेकी हुँ ।’ गोरेले केही भन्न खोज्दै थियो, बीचमै यालमायाले भनी, ‘डराउनु पर्दैन, दाजुले काठमाडौँ जाँदा छाड्नु भयो । तपाईंलाई काम लाग्छ भनेर ल्याइदिएँ ।’ दुवै हात थापेर गोरेले ब्रस मञ्जन लियो र जदौ गर्\u200dयो । त्यसपछि जतनका साथ आरनमाथि छानामा ब्रस र मञ्जनलाई घुसार्\u200dयो । आफूले गोरेलाई दिएको उपहारले के प्रभाव पर्\u200dयो भनी गोरेको अनुहार पढेपछि बोली, ‘गोरे अङ्कल !’ ‘ज्यू, मैसाप् ।’ यालमाया लाजले खुम्चिँदै अनुरोध फर्माई, ‘एउटा मीठो गीत सुनाउनु अब ।’ ‘के सुनाऊँ ? भनिबक्स्योस् । त्यही जेठान्नी देउरानीको झगरा सुनाउँ ?’ ‘मायाप्रीतिका गीत छैनन् ? नभए त्यही सुनाए पनि हुन्छ ।’ ‘ज्यू, ज्यू । त्यसैलाई नयाँ भाकामा सुनाउँछु है त !’ यालमायाले मोबाइल निकाली र त्यसमा भएको रेकर्डर अन गरी । गोरे पानीले मुख कुल्ली गर्दै खकारेर प्याच्च थुक्यो । मुड्कोमा झुण्ड्याइराखेको मादल तानेर घुँडामा बेर्दै मादलको तालसँगै लय मिलाएर गाउन थाल्यो । माथिगाउँको छाप्रानु बस्ते चार परानी दुई भाइकी दुइटी जोई बिबिन्ना र बिरानी कुरा काट्ने देउरान्नी रिसले मर्ने जेठान्नी गोरेले गीतलाई दोहोर्\u200dयाउन थाल्यो, यालमायाले हात र जीउ हल्लाउँदै गीतको लय र ताल मिलाउने प्रयास गरी । कोइ दिन झग्रा बरिगो झ्यालढोका थुन्नु परिगो लात्तेका लात्ते ठोक्किए पानीका गाग्रा पोख्खिए थाले हगुल्टा उच्चाउन पोइहरु लागे मच्चाउन फिलिङगा लागे छरिन दन्क्यो आगो धुरिमा ध्वाँलले निकास छोपियो डरले सासै रोकियो बिचरा चारै परानी भित्रै भया खरानी गीत मिसाउँदामिसाउँदै यालमाया बीचमै रोकिई । घरमा भएका दुई जोडी प्राणी ख्यालख्यालमै खरानी भएको लाइनले उसलाई मुटुमै चिमोट्यो । गोरे भने आँखा चिम्लेर गीत दाहोर्याउँदै थियो । ऊ त नयाँ लोकमा पुगिरहेको थियो । ००००० गोरे फलामका भाँडावर्तन बनाउनुपर्ने भनी समाजले कामी जात तोकेको मान्छे । गोरे नाम भए पनि ऊ गोरो त बिल्कुलै थिएन । दिनहुँको आरनको काम र खनजोतको कामले गर्दा गोरेको शरीर खिइँदै गएको थियो, जसरी फलामलाई आगोले पोल्दा खिइँदै जान्छ । ऊ पुड्को थियो, त्यसैले उसको उमेर ठ्याक्कै ठम्याउन गाह्रो थियो । आरनको छेउमा बस्दाबस्दाको असिनपसिन र धुलोमैलोले त उसलाई गोरे भन्नु एउटा गतिलै मजाक ठहर्\u200dथ्यो । बिहान जुरुक्क उठेर ऊ आरनमा आएर बस्थ्यो र काम नभएको दिन राति अबेरसम्म फलामसँग खेलिरहन्थ्यो । आरनमा फुर्सद मिल्नेबित्तिकै यालमायाको बुबा ठकुरी बाबुसाहेबले लगाए अह्राए बमोजिम सेवामा हाजिर हुन्थ्यो र साँझ फर्केर पुनः त्यही आरनमा छिर्दथ्यो । उसले बनाएका फलामका भाँडाबर्तन वरपर लोकप्रिय थिए । ऊ जातले कामी भए पनि सधैँ कामीको काम भने गर्दैनथ्यो । ऊ मादल पनि बजाउँथ्यो र सारंगी बजाउँदै मीठो गाउँथ्यो पनि । गाउँमा घटेका घटनाहरुलाई कथा बनाएर गाउँलेहरुलाई सुनाउँथ््यो । तिनै कथाहरुलाई सुरमा ढालेर गाउँथ्यो र तिनीहरुकै चुट्किला पनि बनाएर अरुलाई हसाउनु हसाउँथ्यो । यही कारण गाउँमा हुने बिहे बटुलो र पूजापाठमा उसलाई डाकेर उसका गीत सुन्नेहरुको जमात पनि बाक्लै हुन्थ्यो । त्यसमाथि उखान टुक्का मिलाएका हँसाउने बातले पनि साहु महाजनको समेत मन जितेको थियो । कसैसँग गुनासो नगर्ने र अदबका साथ समाजिक नीति नियम मानेका कारण पनि उसलाई सबैले मनपराउँथे । गाउँमा सबैले असल छ भन्ने चर्चा चलेपछि उसले पनि सधैं असल बन्ने प्रयत्न गर्\u200dयो । यही कारण माथिगाउँको दक्षिणपूर्वतिर ढल्किएको अग्लो पाखोमा अरु दलितहरु बस्ने भए पनि त्यो पाखोलाई गोरेको पाखो नामले चिनिन्छ । दलित बस्तीका बीचमा पनि उसको घर केही कलात्मक देखिन्थ्यो । एकतल्ले घरको तल्लो भागलाई रातोमाटो र माथिल्लो भाग सेतो माटोले पोतेको थियो । रातोमाटोले लिपेको तल्लो भागमा सेतो माटोले षट्कोण बनाई वरिपरि कमल फूलका चित्र बनाएको थियो । ‘दलित भए पनि घरलाई क्षेत्रीको जस्तो सजाउनु पर्छ । दलित हुनेबित्तिकै दलित भएरै मर्नुपर्छ भन्ने के छ र ?’ उसले स्वास्नीलाई बेला बेलामा सम्झाइरहन्थ्यो । उसकी स्वास्नी उसको कुरालाई ओठ लेप्राएर उडाउँथी । तर स्कुल पढ्ने छोरीहरुले भने बाउको यो बानीको समर्थन गर्दै उसलाई हौसाउँथे । यही कारण हुन सक्छ, उसले छोरीका लागि छुट्टै कोठा बनाइदिएको थियो र कोठामा रंगीन पत्रिकाहरु टाँसिदिएको थियो । यस्ता पत्रिका ल्याइदिने काम भने यालमायाले गर्दथी । काठमाडौंबाट पत्रिकामा बेरेर आइपुगेका नयाँ लुगाहरु यालमाया लगाउँथी र त्यसमा बेरिएका पत्रिका गोरेलाई दिन्थी । कहिलेकाहीँ त्यही पत्रिकामा बेरेर उसलाई दाजुका गन्जीहरु र उसका छोरीहरुलाई आफ्ना पुराना लुगाहरु पनि दिन्थी । हुन त उनीहरु प्रायः अरुका जडउरी लुगा नै लगाउँथे तर यालमायाका लागि पुराना भैसकेका लुगाहरु गोरेको परिवारका लागि नयाँ नै हुन्थे, जुन उसले सम्मानपूर्वक माया गरेर दिन्थी । यही कारण गोरेले नफाटुन्जेल यालमायाका दाजुहरुकै लुगा लगाउँथ्यो । आरनले मात्र उसलाई हातमुख जोर्न हम्मेहम्मे पर्ने भएकोले ठकुरी र क्षेत्रीहरुको घरखेतमा पुगेर खनजोत गर्ने काममा सघाउँथ्यो र केही अन्नपात बटुल्थ्यो । घरमा केही कुखुरा, बाख्रा पनि पालेको थियो । त्यसबाट पनि थोरैथोरै आम्दानी हुन्थ्यो । कहिलेकाहीँ गाउँमा गाना सुनाएर पनि उसलाई दश-पाँच रुपैयाँ मिल्थ्यो । प्रायःजसो त ऊ सित्तै गाइदिन्थ्यो । ऊ गरिब थियो तर उसको आरन लगायतका यिनै झिनामसिना आम्दानीको स्रोतले गर्दा उसको पाँच जनाको सन्तान भोकै पर्लान् भन्ने चिन्ता चाहीँ थिएन । ००० किशोरीवयमा पाइलो हालेपश्चात् भने यालमाया आफ्नो सिंगारपटार नगरी बाहिर निस्कदैनथी । गाउँकी सम्पन्न साहुकी छोरी भएको रौनक उसको अनुहारमा देखिन्थ्यो । ऊ सुन्दर थिई नै, त्यसमाथि चिटिक्क परेर हिँड्थी । गोरेले समाजमा घटेका विभिन्न घटनाहरु जोडेर गफलाई कथामय तुल्याउने भएकोले गोरेको आरनमा विभिन्न बहाना बनाएर हरेक दिनजसो पुगिरहन्थी । फरक कति थियो भने सुरुमा गोरेले गीत, कथा, चुट्किला भन्दा पहिले खुलेर हाँस्थी । उमेरजन्य कारणले पछिपछि मुख छोपेर हाँस्न थाली । गोरेले उसमा आएका परिवर्तनहरु याद गर्न थालेको थियो । यालमाया भने यी कुरामा बेपरवाह थिई र घरमा आफ्नी बोइलाई गोरे जस्तै चाखलाग्दा कथाहरु सुनाउन कर गरिरहन्थी । उसकी बोइले न्याम्ना हाल्थिन्ः न्याहो चरी न्याहो धर्तीमुनि गजेबल्ल जान रंगी क्या हो ? उसले कनीकनी दिएको जवाफ नमिलेपछि कि त गोरेलाई सोध्न वा गोरेलाई घरमै बोलाउने अनुमति लिएर उसको आरनतिर कुद्थी । केही दिन गोरेसँग भेट भएन भने गोरेलाई बोलाएर गाइनेगीत सुनाउन आमा र बोईलाई कर गरिरहन्थी । गोरेले घरमै आएर यही न्याम्ना सुनाउँदा यालमाया पनि खुशी हुन्थी र गोरे पनि भित्रभित्रै मख्ख पर्दथ्यो । यालमायाको जवानी भरिँदै गएपछि गोरेले गीत गाउँदै गर्दा बीचबीचमा अरुका आँखा छलेर यालमायालाई आँखा झिम्क्याइदिन्थ्यो । सुरुमा यो भाषा यालमायाले बुझ्दैनथी र उसले पनि जवाफमा आँखा झिम्क्याइदिन्थी । एक कलिली नवयौवनाले आँखा झिम्क्याइदिँदा गोरे खुशीले पागल हुन्थ्यो । तरंगित हुन्थ्यो र सारा संसार जितेजस्तै हुन्थ्यो उसलाई । परिपक्व हुँदै गएपछि यालमायाले गोरेको जात थाहा पाएकी थिई र दलितलाई गर्ने छिः छिः र दूरदूर पनि बुझ्न थालेकी थिई । यो बुझाइले उसलाई भित्रभित्रै निकै पीडा दिन्थ्यो । विद्यालयमा पढिने पाठहरुबाट दलित र क्षेत्री एउटै मानिस भएकाले उनीहरुलाई विभेद गर्दा कानुन लाग्ने कुरा पनि बुझ्न थालेकी थिई । यही कारण ऊ घरमा हुँदा गोरेलाई लुकाएर खान दिन्थी र एक छिन भए पनि दैलोभित्र छिर्न आग्रह गर्थी । गोरे पनि जिस्कँदै आफ्नै लागि निषेधित क्षेत्रभित्र एक पाइलो हाल्दथ्यो र ‘चित्त बुझ्यो ?’ भन्दै छिटोछिटो बाहिर निस्किहाल्थ्यो । यालमायाको उमेरसँगै जवानी पनि ढकमक्क फुल्दै गयो । उसको सुन्दरता, सरलता र सौम्यता देखेर उसलाई मन पराउनेको संख्या दिनप्रतिदिन बढ्दै थियो । उसलाई मन पराउनेहरुमा क्षेत्रीकै छोराहरु नारायण वली र प्रेम मल्ल लगायत अरु तन्नेरीहरु थपिँदै गए । अरुले यालमायालाई मन पराएको गोरेले भने देखिसहन्नथ्यो । गोरेले त यालमायालाई आफ्नै सोच्न थालिसकेको थियो तर उसले यो कुरा बुझ्न आवश्यक ठानेन कि एक सम्पन्न र सम्मानित साहुकी पठित, सुन्दरी, एक्ली छोरीले एक कंगाल, कुरुप, फोहोर तथा अधबैंसे मान्छेलाई अपनाउन किन लालायित छे ? प्रेममा परेपछि यस्तै हुन्छ भन्ने सुनेको थियो, यालमायाको व्यवहारले महसुस पनि गर्न थाल्यो । गोरेका लोग्नेस्वास्नीको पनि सम्बन्ध दिनरात बिग्रँदै गइरहेको थियो र यसको कारण अब स्वास्नीले बुझ्न थालेकी थिई । आफ्नो पोइ यालमायाको लागि मरिहत्ते गर्छ भन्ने त थाहा पाई तर फुच्ची यालमायाले किन यसरी गोरेको लागि मरिहत्ते गर्छे भन्ने बुझ्न सकेकी थिइन । अचानक उत्पन्न उनीहरुको यो सम्बन्धले ऊ चकित र व्यथित थिई । उसले लोग्नेसँग यसै विषयलाई लिएर झगडा त गर्थी तर यो पनि समाधान होइन भनी बुझिसकेकी थिई । झगडापछि आफैँ मिल्न खोज्थी । आफ्नो पोइलाई यथास्थितिमा ओराल्नको लागि उसलाई सम्झाउनबाहेक अरु केही गर्न सक्तैनथी । यालमाया अन्नदाता साहुकी एक्ली छोरी थिई । उसको चरित्रमा औँला ठड्याएर चुइँक्क बोले उसको परिवारकै उठीबास लाग्न सक्थ्यो । यालमायाको घरमा यो कुरा लगाइदिएर उसको हड्डी भाँचिने गरी कुटाइ खुवाउने डर गोरेलाई देखाउँथी । तर बाहिर सुनाउने हिम्मत गर्न सक्तिन थिई । सुरु सुरुमा साहुहरुबाट उठिबास लाग्ने हो कि भन्ने डर थियो गोरेलाई तर बिस्तारै उसले पनि प्रेममा जे पनि सहन गर्न तयार छु भनेजस्तो व्यवहार देखाउन थाल्यो । यसरी यालमाया र गोरेको हिमचिम अझ बढ्दै गयो । यसमा न साहुको परिवारले, न समाजले औँला ठड्यायो, न यालमायाले नै गोरेको बासनाको गन्ध पाई । गोरेले के कारणले आफूले यालमायालाई चाहँदैछु भन्ने विषयमा सोच्ने फुर्सद नै पाएन । अरुको नाजायज सम्बन्धउपर तुरुन्तै चोरऔंला ठड्याउने समाजले यस सम्बन्धलाई भने नाजायज अर्थ लगाउने कल्पनासम्म पनि गर्न नसक्ने भएकोले वास्ता गर्दैनथ्यो । पानीजस्तै बगिजाने समयलाई दुवैको लुप्त प्रेमले छिनछिनमा बगाउँदै परपर पुर्\u200dयायो । यालमायाको समीपतामा घरिघरि गोरेलाई बासना नउठ्ने होइन तर कहिल्यै पनि यालमायासँग उसले शारीरिक आशक्ति प्रकट गरेन । भर्खरकी कलिली केटीको उन्मुक्तता हेर्थ्यो र अनेक कल्पना गर्दथ्यो । तर परैबाट गीत सुनाएर, हँस्यौली ठट्यौली र अनेक चुड्किलामार्फत यालमायाको मुस्कुराहट प्राप्त गरेर आफ्नो व्यग्र मन शान्त पार्दथ्यो । अब घन्टौँ घन्टौंसम्म पनि यालमाया उसका गीत सुनेर बस्न थाली । गोरे पनि आफ्ना सबै कामहरु छाडेर भए पनि यालमायालाई नै गीत सुनाउन थाल्यो । गीत सुनाउने ठाउँ आरन, ठकुरी तथा क्षेत्रीहरुका दैलोको सीमा नाघेर जंगलसम्मको एकान्तस्थल पनि हुन थाल्यो । एकदिन जंगलमा गोरे र यालमाया गीतको सुरमा डुबिरहेको ठाउँमा गोरेकी स्वास्नी पुगी । यो अवस्था देखेर उसको रिस भकभकी उम्लियो । साहुकी छोरीलाई केही भन्न सकिन । लोग्नेलाई भने मुख छाडेर गाली गरी । गोरे र यालमायाले छानेको एकान्तस्थल उसको घरदेखि धेरै टाढा थिएन । नजिकैबाट आइरहेको हल्लाखल्लाको स्वरले आफ्नी आमाको अरु कसैसँग झगडा परेको ठानी गोरेकी छोरीहरु पनि हस्याङफस्याङ गर्दै त्यो ठाउँसम्म पुगे । नजिकका गुवाला र घसाराहरु पनि रमिता हेर्न झुम्मिन थाले । सबैको सामु अपमानबोधले लज्जित भएपछि यालमाया त्यहाँबाट उम्केर अलप भई । यालमाया त्यहाँबाट भागेपछि र गाउँलेहरुको बल पाएपछि गोरेकी स्वास्नी अझै रिसले बौलाउन थाली । त्यसपछि त के थियो, गोरेले श्रीमतीलाई सौता हाल्ने धम्की दियो, ‘यालमायालाई भित्र्याउन सकिनँ भने मेरो मुखमा मुतिदिनू । के सम्झेकी छस्, यो गाउँको गोरे हुँ म पनि ।’ छोरीहरुले मुखामुख गरे । स्वास्नीको रिस एकाएक सेलाउन पुग्यो, गोरेको बोलीको ठेगान नदेखेपछि भित्रैदेखि खंग्रगै तर्सिई । गला अवरुद्ध भयो । अब उसले रुँदै भनी, ‘बरु अरुलाई नै पाप चिताऊ । साहुको परिवारलाई नछोऊ । भोलि हामी सबैको एकै चिहान हुनेछ ।’ स्वास्नी डराएको देखेपछि गोरेको बोली अझै चर्को हुँदै गयो र ऊ बौलाउँदै जथाभावि बोल्न थाल्यो । अति भएपछि स्वास्नीलाई सहिनसक्नु भयो । ऊ जुरुक्क उठी र गोरेको नाकैमा कर्कच्चेले हान्दै भनी, ‘जा, ऐल्यै जा । साँच्चैको मर्द भया मैयालाई भित्र हालेर देखा ।’ गोरे आफूलाई मर्द नै ठान्थ्यो । स्वास्नीको अगाडि नामर्द सावित हुनु पनि कम लज्जास्पद कुरा थिएन । तसर्थ स्वास्नीलाई लछारपछार पार्न थाल्यो । छोरीहरुले छुटाएपछि यालामायालाई अहिल्यै ल्याएर देखाइदिन्छु भन्दै तलीगाउँतिर झर्\u200dयो । बाबु तलतिर झरेपछि छोरीले आमालाई सम्झाउन थाले । आफ्नो बाबु गाउँलेले पत्याएको इमान्दार मान्छे हो, त्यो केटी बाबुसमानको मान्छेलाई मन पराउने कुरै भएन । जातभातले नै अमिल्दो व्यक्तिको कुनै हालतमा पनि पछि लाग्न नसक्ने भन्दै आफ्नी आमालाई सम्झाउनु सम्झाए । जब आमाचाँहिको रुवाइका हिक्का घट्दै गइरहेका थिए, त्यसैबेला कुनै जादुको छडी घुमाएजस्तो त्यो घरआँगनमै नचिताएको घटना घट्यो । त्यो देखेर आमाछोरीहरुको होशहवास् नै उड्न पुग्यो । गोरेको पछिपछि लागेर यालमायासमेत आइपुगेकी थिई । जे नहोस् भनी कामना गरिहेकी थिई, त्यही घटना आँखा अगाडि नै देखेपछि अघिदेखि नै सुँकसुकाइरहेकी स्वास्नीको सुँकसुक पनि रोकियो । ‘तँ रन्डी बाहिर जा । अब यो घर हाम्रो हो ।’ गोरेले स्वास्नीलाई धकेलेर बाहिर निकाल्यो । निकैबेर हुरी रोकिएको सन्नाटा झैँ गोरेकी स्वास्नी ढोकाबाहिर उभिई । एकछिन पछि होस् आएजस्तो भएपछि अलापबिलाप गर्दै गाउँलेलाई हारगुहार गर्न तलीगाउँतिर झरी । छोरीहरु पनि आमालाई फर्काउन भनी पछिपछि लागे । ‘गोरे अंकल ?’ यालमायाको बल्ल बक फुट्यो । ‘ज्यू मैसाप् !’ ‘आन्टीलाई बाहिर किन निकाल्नु भएको ?’ खाटको एक छेऊमा बस्दै यालमायाले नबुझेझैँ सोधी, ‘तपाईंहरुको झगडा अहिलेसम्म थामिएको छैन ?’ ‘छैन मैसाप् ।’ एकछिन अघि आमाछोरीहरु गएको बाटोको परसम्म नजर पुर्\u200dयायो र भन्यो, ‘तर, मैले हजुरलाई नल्याई रित्तो हात फर्किन्नँ भनी कसम खाएर हजुरको घरतिर लागेको थिएँ । हजुर त यतै आइबक्सदै हुनुहुँदो रहेछ । हजुरले म आज तपाईंकै घरमा जान्छु भनेपछि मेरो मन साह्रै हलुका भयो । आखिर मेरो मनमा जे थियो, हजुरको मनमा पनि त्यही रहेछ ।’ ‘कस्तो कुरा गोरे अंकल ?’ ‘हजुर पनि कस्तो कुरा गरिबक्सन्छ ? जुन कुरा हजुरको मनमा छ, त्यही कुरा ।’ गोरेको कुरा सुनेर यालमाया अत्तालिई । ‘गोरे अंकल, तपाईंले कुरा बुझ्नु भएनछ । मेरो बुबाले मलाई एकजना जँड्हाया केटो प्रेम मल्लसँग विवाह गरिदिन खोज्दै हुनुहुन्थ्यो । आज बुबाले मनाउन खोज्दा मैले कुनै हालतमा स्वीकारिनँ । उहाँले रिसको आवेशमा मलाई नै घरबाट निकालिदिनुभयो । म निक्लिदिएँ । यसैबेला तपाईं बाटोमा आइरहेको देखेँ । तपाईंलाई देखेपछि आँट आयो । तपाईंसँग भेट भएपछि हाम्रो घर जाऔं मैसाप भन्नु भयो । म त के खोज्छस्, कानो, आँखो भनेझैँ भएर तपाईंपछि लागेर आएकी हुँ ।’ ‘ज्यू, ज्यू !!’ गोरे पनि बेसरी अत्तालियो । ‘प्रेम मल्ल भन्दा त नारायण जातले मगर भए पनि पढेलेखेको छ र सुन्दर पनि छ । ऊ सिर्जनशील छ, मिहिनेती छ, सबथोक छ । ऊ भोलि मेरो बुबाजस्तै सम्पन्न हुनसक्छ । म उसलाई असाध्यै मन पराउँछु । उसले पनि मलाई प्राणभन्दा प्यार गर्छ तर उसको जात र गरिबीको कारणले बुबाले हाम्रो विवाह हुन दिइसिन्न । कुरै नबुझेर दिउँसो तपाईंहरुको झगडा परेको देखी म त तपाईंकी श्रीमतीलाई पनि सम्झाउँछु भन्ने सोच्दै थिएँ ।’ यालमायाको जवाफले गोरेको उभिएको जमिन रिंग्न थाल्यो र खुट्टा पनि पतालतिर धसिएझैँ बेसरी धरमरायो । ‘ज्यू, ज्यू, म कस्तो जन्जालमा फसेँछु यो ?’ ‘बाटोमा आउँदा मैले मोबाइल चलाइरहेकी थिएँ नि ! मैले नारायणलाई म्यासेज गरेकी हुँ ।’ ‘ज्यू ! ज्यू !!’ गोरे थचक्कै भुइँमा बस्यो । ‘म घरबाट भागेर गोरे अंकलको घरमा जाँदैछु । तिमी मलाई त्यहीँ लिन आऊ भनेकी छु ।’ ‘मन पराउने एउटा, भाग्ने अर्कोसँग ?’ गोरेको मथिंगलले काम गर्न छोड्यो । उसले यालमायाका दुवै गोडा समात्दै अनुनय विनय गर्न थाल्यो, ‘हजुर, त्यसो नगरिबक्सियोस् । मेरो त पर्लय नै हुनेभो ।’ उसले गोरेलाई घचेट्दै भनी, ‘हामी उसको घरतिर जाँदै गरौं । ऊ बाटोमै भेटिन्छ होला ।’ गोरेलाई यालमायाको कुरामा विश्वास लाग्ने कुरै थिएन । ऊ अझै शंकाको भूमरीमा नाचिरहेको थियो । आफ्नो शंका निवारण गर्न लामो श्वास फेरेर लर्बराउँदै हिम्मत गरेर सोध्यो – ‘उसोभए हजुरले मलाई विश्वास गरिबक्सिन्न ? मतलब मलाई माया गरिबक्सिन्न ?’ ‘विश्वास गरेरै त तपाईंको पछि लागेर आएँ । माया किन नगर्नु ? तपाईंलाई असाध्यै माया गर्छु र गरिरहनेछु, आदर गर्छु र सम्मान पनि गर्छु ।’ ‘अनि फेरि त्यो नारायणलाई नि ? अहिले नारायणकहाँ किन जाने त हामी ?’ चकित भयो गोरे । ‘उल्लाई म प्रेम गर्छु । म अब उसकै हुने निर्णय गरिसकेकी छु ।’ ‘ज्यू ! ज्यू !! माया र पिरिम भन्ने कुरा फरक हो र ?’ ‘एकदमै फरक कुरा हो गोरे अंकल । प्लिज, मलाई उसको घरसम्म पुर्\u200dयाइदिनू न ।’ त्यसपछि यालमायाले फोन गरेर नारायणलाई सोधी, ‘कहाँ आइपुग्नु भयो ?’ उताबाट घरबाट हिँडिसकेको जबाफ आयो । यालमायाले भनी, ‘म दोबाटोको मुग्लु खोलाको भङ्गालो नजिकको बाटोमा पुगिरहन्छु, तपाईं त्यहीँ आइपुग्नू ।’ गोरे किंकर्तव्यविमूढको अवस्थामा पुग्यो । उसको दिमागले काम गर्न छाड्यो । यालमायाले उसको हात समातेर पुनः अनुरोध गरी, “छिटो गर्नू न अङ्कल । छिटो पुर्\u200dयाइदिनू । म भागेको कुरा थाहा भइसक्यो । मेरो घरको कोही पनि मान्छे मलाई खाज्दै यहीँ आइपुग्न सक्नुहुन्छ ।’ यालमाया हतारिई र सुक्सुकाउन थाली । गोरेको आँखामा पनि आँशुको भदौरे भल उर्लिन थाल्यो । ऊ लर्बराउँदै घरको भित्ता समाउँदै उठ्यो । यालमाया बाहिर निस्किई । गोरे ओठमुख सुकाउँदै र परेली भिजाउँदै पछि लाग्यो । दुवैजना मुग्लुखोलाको किनारमा झरेर किनारै किनार निशब्द अगाडि बढिरहे । अँध्यारोमा अलि पर उभिएको नारायणले मोबाइल बालेर दुवैजना आइरहेको देख्यो । नजिक आइपुगेपछि हत्तपत्त यालमायाको हात समाउँदै नारायणले हतारहतार भन्यो, ‘पुन्नेको काम गर्\u200dयौ गोरे दाइ । यो तिम्रो गुण म कहिल्यै बिर्सनेछैन । धेरै धेरै धन्यवाद । हाम्रो बारेमा केही दिनसम्म गाउँमा कसैलाई सुइँपत्तो नदिनू है !’ भन्दै दश रुपैयाँ गोरेको खल्तीमा हालिदियो । त्यसपछि यालमायालाई डोर्\u200dयाउँदै ऊ फटाफट अर्को बाटो लाग्यो । गोरे किंकर्तव्यविमूढ उभिएर मोबाइलको मधुरो उज्यालो टाढाटाढा हुँदै गएको हेरिरह्यो । उभिएर मूर्तिवत् कति बेलासम्म त्यही अवस्थामा रह्यो उसले थाहा नै पाएन । मुग्लु खोला साउनको भेल बनी उर्लिरहेको गडगडाहटले उसको मन एक तमासको भएर आयो । ऊ एक्कासि बाटोबाट तल झर्\u200dयो र सानो भङगालो तर्यो । अँध्यारोमा भेलको मूल हाँगो पहिल्याउँदै उर्लिरहेको झ्वाम्मै हाम फाल्यो । ००००० भोलिपल्ट । गाउँभरि हल्ला चलिरहेको थियो, ‘पालेको मुसाले थैली काट्छ भनेको यही हो । आखिर साहुकै कामदार गोरेको मद्दतले नारायण मगरले साहुकी छोरी यालमायालाई भगाइछाड्यो ।’ त्यो घटनाको खास पक्षधर गोरेको बारेमा कसैले चर्चासम्म गरेनन् । गोरेकी स्वास्नी र उसका छोरीहरुले गाउँलेलाई सत्य कुरा बताउन सकेनन् । यो कुरा चुहिनेबित्तिकै उनीहरुको गाउँबाट उठिबास लाग्छ भन्ने थाहा थियो । गोरेले नै यालमायालाई लिएर कतै लुकेको होला भन्ठानेका थिए उनीहरुले । आखिर जे जस्तो भए पनि बाँच्न रहर कसलाई लाग्दैन र ? केही दिनपछि गोरेको लाश पल्लो गाउँमा ढुंगाको कापमा फेला पर्\u200dयो । लोग्नेको मृत्युशोकले गोरेकी स्वास्नी बिस्तारै ओछ्यान परी र केही महिनापछि संसार नै छोडी । अहिले यालमाया र नारायण दाङतिर सानोतिनो व्यापार व्यवसाय चलाएर खुसीसाथ बसिरहेका छन् र कहिलेकाहीँ आफ्नो गाउँतिर आएको बखत दुवैजना मुग्लुखोला किनारमा उभिएर टोलाइरहन्छन् । टोलाउनुको प्रयोजन सायद फरकफरक हुनसक्छ । यालमायाकै कारण गोरेको ज्यान गएको कुरा अहिलेसम्म उसकी छोरीहरुले कसैलाई बताउन सकेका छैनन् । छोरीहरु चुपचाप आफ्नो बाबुको प्रेमकथालाई पचाएर गाउँमा दुःखजिलो गर्न थालेका छन् । एउटा मध्यरातमा त्यो अव्यक्त प्रेमकथाको अन्त्य गरिदिने मुग्लु खोला हिजोआज पनि दुःखी हुँदै बगिरहन्छ । बेलुकातिर गोरेका दुई छोरीहरु कहिलेकाहीँ आँशु बगाउन यही खोला किनारमा आउने गर्छन् ।
बन्दाबन्दीमा बालबालिकाका लागि के गर्\u200dयौँ ?: ‘हाम्रा केटाकेटी त पढ्न भनेपछि मान्दै मान्दैनन्,’ धेरैजसो अभिभावकहरूको गुनासो सुन्ने गरिन्छ । यो गुनासो अन्त्य गर्ने कोरोना भाइरसपछिको बन्दाबन्दीले एउटा सुवर्ण अवसर जुराइदिएको छ । पाठ्यपुस्तक मात्र नभएर अन्य बाल साहित्यको अध्ययन, श्रवण र मञ्चन गर्ने, हेर्ने एउटा बेग्लै अवसर सिर्जना भएको छ । कोरोना आतंकको यो अवस्थामा “बिबिलियो थेरापी” एउटा रचनात्मक कला थेरापी हो । यसमा एक व्यक्तिको मानसिक वा मनोवैज्ञानिक विकारहरूको उपचार गर्न पुस्तक प्रयोग गरिन्छ । यो विधिभित्र, कथावाचन गर्ने वा पुस्तकका केही विशिष्ट पाठहरू पढ्नुजस्ता समावेश हुन्छन्। पुस्तक जस्तोसुकै समयको पनि असल मित्र हो र यसले मानिसहरूलाई मानसिक र भावनात्मक रूपमा जोडेर राख्न सहयोग गर्छ भन्ने कुरा प्रमाणित पनि भइसकेको छ । त्यसमा पनि अनिश्चितताको समयमा पुस्तकले अक्सर महत्त्वपूर्ण भूमिका खेल्छ । बालसाहित्यका पुस्तकहरूका सन्दर्भमा पनि यो कुरा लागू हुन जान्छ । बालबालिकाहरू पनि वयस्कहरू जस्तै कथाहरू प्रयोग गरेर उनीहरूको संसारको अर्थ बुझ्न खोज्छन् । उनीहरूलाई आफूसँगै समाज र विश्वमा भैरहेको परिवर्तनका बारेमा बुझ्न, बुझाउन र जिज्ञासाहरू समाधान गर्ने यो एउटा राम्रो माध्यम पनि हो । कथाहरू बालबालिकाहरूसँग गाह्रो विषयहरूका बारेमा कुरा गर्न सजिलो र रमाइलो तरिका हो । कथाले बालबालिकाहरूलाई उनीहरूको आफ्नै भावनाहरूबारे सोच्न प्रोत्साहित गर्छ । कथाहरूमा भएका पात्रहरूसँगको सम्बन्धले बालबालिकाहरूलाई वास्तविक जीवनमा घटेका घटनाहरूको सामना गर्न सहयोग पुर्\u200dयाउँदछ । बालबालिकाहरूको कथाहरूमा संकटका असंख्य क्षणहरू हुन्छन्, जहाँ पात्रहरूले नैतिक निर्णय लिन्छन् र उनीहरूले ती निर्णयहरू लिनको कारणहरूबारे विचार गर्छन् । कथाहरूले बालबालिकाको साक्षरता विकास गर्नका साथै कथाहरूमा भएका विषयहरूले सामाजिक मूल्य, मान्यता, विश्वास र दृष्टिकोणहरू व्यक्त गर्छन् जसले बदलामा बालबालिकाहरूलाई वास्तविकतासँग परिचित गराउँछ । साथै, कथाहरूले बालबालिकाको सांस्कृतिक र लैङि्गक भूमिकाको बुझाइमा पनि ठूलो प्रभाव पार्छ । इतिहास साक्षी छ, जब संसारमा कुनै संकट आइपर्छ, त्यो समयको सामना गर्नु र त्यसलाई जितेर अघि बढ्ने सबैभन्दा बलियो माध्यम भनेकै समुदाय एकजुट भएर अगाडि बढ्नु हो । नेपालको सन्दर्भमा भन्ने हो भने, सन् २०१५ को भूकम्पको समयमा समुदाय एकजुट भएर गरेको संलग्नता नै सबैभन्दा अगाडि आएको थियो । एकअर्का प्रतिको भर पर्ने र समुदायको महत्त्व बुझेर नै हामी हाम्रा बालबालिकाहरूलाई सानैबाट सधैँ समाजमा घुलमिल हुन, आफ्ना विचारहरू आदानप्रदान गर्न तथा अनुभवहरू साटासाट गर्न सिकाउछौँ । त्यही कुरा हामीले भूकम्पको बेलामा पनि सिकायौँ । तर अहिले परिस्थिति फरक छ । कोभिड १९ को महामारीले गर्दा नेपालमा पनि देशव्यापि रूपमा बन्दाबन्दीको घोषणा भयो । लकडाउनसँगै सुरक्षाको दृष्टिकोणले घरभित्रै बस्नुपर्ने बाध्यता भयो । उद्योग, कलकारखाना, व्यापार, व्यवसाय इत्यादि सँगसँगै देशभरिका विद्यालयहरू बन्द भए । सामान्य दैनिक दिनचर्यामा अकस्मात आएको परिवर्तनले गर्दा परिवारका सदस्यहरूसँगै बालबालिकाहरू पनि अन्योलमा परेका छन् । अचानक हामीले हाम्रा बालबालिकाहरूलाई आफन्त, साथीहरू र समुदायबाट टाढा बस्नुपर्छ भने सिकाउँदैछौँ । बालबालिकहरूको लागि यसले धेरै अन्योलपूर्ण स्थितिको सृजना गरेको छ । यो बेलामा घरमा बालबालिकाहरूसँग अन्तर्क्रियात्मक सम्बन्ध कायम राख्ने र उनीहरूलाई यो कठिन समयको बारेमा सही सूचना प्रदान गरेर यो समयको सामना कसरी गर्ने भन्ने बारेमा सिकाउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । उनीहरूलाई यो कुरा बुझाउनु जरुरी छ कि यो समय आफन्त, साथीहरू र समुदायबाट शारीरिक दूरी मात्रै हो । अहिलेको समयमा यो दूरी कायम राख्नु भनेकै सही काम गर्नु हो । यसले उनीहरू आफैँ र अरूलाई सुरक्षित राख्न सहयोग पुर्\u200dयाउनेछ । हुन त यो अवस्थामा बालबालिकाहरूको भावना तथा अवस्थाको ख्याल राख्नका लागि बहुआयामिक प्रयासहरु भैरहेका होलान् र छन् पनि । तथापि बालबालिकाहरूलाई मनोरञ्जनात्मक तरिकाले तथा उनीहरूको मनोसामाजिक अवस्थाको ख्याल राख्दै उनीहरूमा सकारात्मकता ल्याउनमा र क्रियाशीलता जगाउनमा बालकथाका पुस्तकहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् । कथाका पुस्तकहरू पढ्नु र कथाहरू सुन्नु कोरोना भाइरस महामारीको बेलामा लकडाउनमा बस्नको लागि बिबिलियोथेरापी नै भएको छ । यसले बालबालिकालाई आफ्ना अभिभावकसँग सामीप्य बढाउनमा पनि धेरै सहयोग पुर्\u200dयाएको छ । कथा सुन्ने र सुनाउने त हाम्रो प्राचीन संस्कृति पनि हो । यो अन्योलको समयमा, बालबालिकाहरूलाई धेरैभन्दा धेरै कथाहरू चाहिन्छ । खुसीको कुरा त के पनि हो भने, प्रयासहरू रोकिएको छैन । हालको प्रविधियुक्त समयमा त झन् पुस्तकहरूसम्म आफ्नो पहुँच पुर्\u200dयाउन सजिलो पनि छ । एकअर्कासँग भौतिक दूरी कायम गरिएको यो समयमा देश विदेशमा साहित्यकारहरूले विभिन्न प्रविधिहरूको प्रयोग गरेर तपाईं-हाम्रो घरहरूमा बालबालिकाहररूलाई रमाइला कथाहरू सुनाएर मनोरञ्जन गराइरहेका छन् । यस कार्यमा साहित्यकारहरू, शिक्षकहरू, अभिनेताहरू, प्रस्तुतकर्ताहरू, ब्लगरहरू, लेखकहरू र अन्य प्रतिष्ठित व्यक्तित्वहरूको ठूलो जमातले आफ्नो संलग्नता देखाउनुभएको छ । नेपालको सन्दर्भमा भन्ने हो भने पनि धेरै राम्रा प्रयासहरु भैरहेका छन् । जसको उदाहरणको रूपमा: • विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र बाल कोषसहित अन्य संगठनहरू मिलेर बालबालिकाहरूका लागि कोभिड १९ बारे एउटा चित्र पुस्तक अनलाइन प्रकाशन गरेका छन् । पुस्तकको शीर्षक You Are My Hero रहेको छ । ११ वर्षसम्मका बालबालिकाहरूलाई लक्षित गरी हेलेन पाटकद्वारा लिखित यो चित्र पुस्तक विभिन्न ६ भाषाहरूमा अनुवाद गरिएको छ । हाल यो पुस्तकलाई “तिमी मेरो हिरो हौ” शीर्षकमा नेपालीमा पनि अनुवाद गरिएको छ । • सेभ फर स्टोरीज, कथा फर नेपाल, स्टोरी टाइम विथ रुम टु रिड, युनिसेफ नेपाल, एसिया फाउण्डेशन, स्टोरी टाइम नेपाल, बालसाहित्य सर्जक, बालसाहित्य सिर्जना मञ्च नेपाल जस्ता संघसंस्थाले आफ्ना विभिन्न सामजिक सञ्जालमार्फत दिनहुँ कथा वाचनको कार्यक्रम चलाइराखेका छन् । • देश बाहिरको कुरा गर्ने हो भने, “वन्स अपन अ बुक विथ पेन्ग्विन,’ ‘हेक्सम बुक फेस्टिभल,’ ‘थोडा रिडिङ करो ना’ जस्ता प्रयासहरू निरन्तर छन् । • यसबाहेक व्यक्तिगत रूपमा पनि देश विदेशमा विभिन्न क्षेत्रका व्यक्तिहरूले आफ्नो फेसबुकमा लाइभ आएर कथावाचन गर्दै हुनुहुन्छ। • काठमाडौँभित्र र बाहिरका जिल्लाका विभिन्न एफएम तथा टेलिभिजनहरूले हरेक दिन नयाँनयाँ कथाहरू सुनाएर बालबालिकहरूलाई मनोरन्जन प्रदान गर्दै छन् । • कोरोनाले विश्वव्यापी रूपमा पारेको असर र यसले बालबालिकामा कस्तो प्रभाव पारेको छ भन्ने विषयमा केन्द्रित रहेर विभिन्न देशमा छरिएर रहेका नेपाली बाल साहित्यकारहरूले भिडियो कन्फ्रेन्समार्फत बाल वाङ्मय तथा अनुसन्धान केन्द्र, नेपालको आयोजनामा बालकथा लेखन कार्यशाला आयोजना पनि गर्\u200dयो । सो कार्यशालाबाट आएका कथाहरूलाई कथाकरहरूले युट्युब च्यानलमा कथा वाचन गरेर अपलोड गरेका छन् । • थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले युट्युब च्यानल सुरु गरेको छ, जहा बालबलिकाहरूले आफूले र अरूले लेखेका कथाहरू वाचन गर्ने गरेका छन् । • त्यसैगरी ‘अर्ली रिडिङ’ले पनि आफ्नो युट्युब च्यानलमार्फत कथाकार स्वयंको आवाजमा कथा वाचन गरेर अप्लोड गरेको छ । • अहिलेकै समयलाई लिएर विश्वव्यापी रूपमा थुप्रै अनलाइन चित्र पुस्तकहरू प्रकाशित भए । नेपालको सन्दर्भमा पनि “सबै ठिक हुन्छ” भन्ने चित्र पुस्तक अनलाइन प्रकाशित भएको छ । जटिल परिस्थितिको सामना गर्न सबै समुदाय एकजुट भएर लागिपरेको यस अवस्थामा हामीले बालबालिकाहरूका लागि गर्नसक्ने सबैभन्दा उत्तम कार्य भनेको उनीहरूलाई कसरी संलग्न गराउने, सृजनात्मक बराउने र भौतिक दुरी कायम भैरहेको बेला सामाजिक रूपमा कसरी एकअर्कासँग जोडिने भन्ने बारेमा मनोरञ्जनात्मक तरिकाले सामग्रीहरू उपलब्ध गराउनु हो । यस्तो समयमा बालबालिकाहरूले के सिके भन्ने कुराभन्दा पनि हामीले अनुकूल परिस्थिति प्रदान गरेका छौँ कि छैनौँ भन्नेसँग पनि सरोकार राख्दछ । कथा र बालबालिकाको सम्बन्ध बालबालिकाहरू पनि वयस्कहरू जस्तै कथाहरू प्रयोग गरेर उनीहरूको संसारको अर्थ बुझ्न खोज्छन् । बालबालिकाहरूको कथाहरूमा संकटका असंख्य क्षणहरू हुन्छन्, जहाँ पात्रहरूले नैतिक निर्णय लिन्छन् र उनीहरूले ती निर्णयहरू लिनको कारणहरूबारे विचार गर्छन् । मनोसामाजिक अवस्थाको ख्याल राख्दै बालबालिकाहरुमा सकारात्मकता ल्याउनमा र क्रियाशीलता जगाउनमा बालकथाका पुस्तकहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् । कथाहरूमा भएका विषयहरूले सामाजिक मूल्य, मान्यता, विश्वास र दृष्टिकोणहरू व्यक्त गर्छन् जसले बदलामा बालबालिकाहरूलाई वास्तविकतासँग परिचित गराउँछ । कथाहरूले बालबालिकाको सांस्कृतिक र लैङि्गक भूमिकाको बुझाइमा पनि ठूलो प्रभाव पार्छ । बालमनोविज्ञान बुझेर बालबालिकाहरूलाई सिकाउनु आफैँमा एउटा जटिल कार्य होला तर वास्तविकता त के पनि हो भने बाल्य अवस्थामा जुन कुरा राम्रोसँग बुझिन्छ त्यो दीर्घायु रहन्छ र भोलिका दिनमा त्यो व्यवहार पनि बन्छ । बाल साहित्यलाई समग्रमा त्यति महत्त्व नदिने हाम्रो समाजमा अहिलेको स्थितिले केही थोरै मात्र भए पनि त्यस प्रतिको धरणा बदलिएको छ भन्ने सोच्न सकिन्छ । पठन संस्कृतिको विकास गर्ने यो राम्रो र सही अवसर हुनसक्छ । जहाँ हामी पठन संस्कृति भएन, बालबालिकाहरूले र केही हदसम्म अभिभावक र शिक्षकहरूले कथाका पुस्तकको महत्त्व बुझ्नुपर्छ जस्ता कुरा गर्छौँ, यो ती कुराहरूलाई बुझ्ने र बुझाउने सही समय हो । यस प्रकारका राम्रा कामको सुरूवात घरघरबाट भएरहकै छ । यो धेरै राम्रो कुरा हो । आशा गरौँ, यस कठिन समयमा बालबालिकाहरूका लागि थालिएका सृजनात्मक कार्यहरूमा महामारीपछि पनि सबैको निरन्तर साथ र समर्थन रहनेछ ।
कोराना र नेपाल: आऊ कोराना आऊ । मनिसमा चेतना जगाऊ । आफैलाई ठूलो र घमण्डी सोचकालाई तिम्रो डर जगाइदेउ र भालादमी हुन सिकाई देउ चेताएर आफ्नो बाटो लगाई जाऊ । विश्व राज गर्ने अंग्रेज़ आउन सकेन नेपालमा । हामी नेपाली छौ ३३ कोटी देवी देउताको शरणमा । तिमी त छौ एकदमै सानो प्राणी नेपालबाट छिट्टै जाउ यदि तिमी छौ बुद्धिमानी । नेपालीले विश्व इतिहास रचे भगवानको कृपाबाट सबै अफ़्ठेरोबाट बाँचे । तिमीले मार्न सक्यौ त हामीलाई ? बेकारमा नेपालमा तिमी ले समय बिताई आफैलाई कष्ट दियौ कोराना ।
बिहे गरेपछि...: दाइले आमालाई थर्कायो बिहे गरेपछि बाउलाई बिगत फर्कायो बिहे गरेपछि *** *** थाल एउटै थ्यो खाने, सुत्ने पलङ एउटै कुन्नी केले ममाथि झर्कायो बिहे गरेपछि. *** *** पहिला भन्थ्यो भगवान् बाआमा साथी तैँ हो दिनरात कलह चर्कायो बिहे गरेपछि *** *** हुन त प्रेम कसैसँग दिगो हुँदैन यहाँ प्यार सारेर आँखा कर्कायो बिहे गरेपछि *** *** स्केच साैजन्यः राइजिङ नेपाल
ब्याट्री सकिन लागेको भित्ते घडी र म: गाढा नीलो पानीको मेलोडी भुलेर म चुपचाप हिन्द महासागरको डिलमा आफैँ ढलेको हेरिरहेछु । हिउँदको म्यापल ट्री झैँ खङ्ग्रङ ठडिएका आइफल टावर, बुर्ज खलिफाहरु हेर्दा लाग्छ उभिएका सबैसँग जीवन नहुन सक्छ । अक्षर नगोडेकी बुढी हजुरआमाले उल्टो किताब पढे जस्तै सबथोक बेठीक देखिन्छन् खबर बनेकाहरु आफैँबारे बेखबर छन् र रेडियो र टेलिभिजनहरु अप्रिय समाचार घोकाइरहेका भेटिन्छन् | नानीहरू गृहकार्य गर्दैनन् उनीहरूका मनमा बाँसको तामा जसरी आतंक हुर्किरहेछ । जसरी आगोले खाएको पाँच हात लामो प्लास्टिक पग्लिएर दुई अमलमा झर्छ खुम्चिएर संसार पर्खालको चार सुरभित्र साँगुरिएको छ। बन्दीगृह घरजस्ता र घर बन्दीगृह हुँदैछन् । अप्ठ्यारोमा कोही कसैको हुँदैन अलिकति भेटी चढाएर धेरै माग्ने भक्तजनहरू मन्दिरमा देखिँदैनन् सायद मन्दिरबाट भगवान् पनि भागे सडकमा गाडीहरू छैनन् हिजोआज सडकमा बेरोकटोक मृत्यु मात्र गुड्छ । विश्वासको अनिकाल बोकेर चुम्बकका विपरीत ध्रुव बनेका मान्छेहरु जबर्जस्ती प्रेममाथि इरेजर घोटिरहन्छन् । यतिबेला बर्लिनको पर्खाल जस्तै देशका सिमाना कमजोर भएका छन् र सैनिक शिविरभित्र एटम बम भेन्टिलेटरमा अक्सिजन पिइरहेछ । भत्किएसँगै न्युयोर्कको निधारमाथि उभिएको वाल स्ट्रिट भर्चुअल ग्राफ लाग्छ यतै कतै कवि रिमाल गाइरहेछन् “एक जुगमा एक दिन एक चोटि आउँछ ।” अस्ट्रेलिया
एकलव्य अठोट: गुरु घृणा गरुन् भैगो म गर्छु पूर्ण आदर गुरु ज्ञान नबाँडून् भो म लिन्छु ज्ञान सागर । म निषाद भएँ के भो मेरो चेत छ क्षेत्रीय म निषाद भएँ के भो मेरो चेत छ ब्राह्मण । के मैले पढ्न मिल्दैन ज्ञान सिक्न हुँदैन र ? ठूलो स्वप्न कुनै मैले देख्नसम्म हुँदैन र ? कुरुराज्य नछोडेर यसैका वनमा बसी सिकिछाड्छु सबै ज्ञान कला सिक्छु म चौसठी । म सिक्छु ज्ञानका शाखा प्रशाखा र अरु पनि मलाई कसले छोप्ने मै ज्वाला दन्किएपछि । फुल्दिन्छन् वनका फूल मल पानीविना त्यसै हुर्कन्छन् वनका रुख गोडमेलविना त्यसै । गुरु, म वनकै फूल आफैँ फुल्दछु हेर्नुहोस् आफैँ अङ्कुर लाएर आफैँ हुर्कन्छु हेर्नुहोस् । म आफ्नै पसिना सिँच्छु मेरा निन्ति जति परोस् म आफ्नै रक्तले भिज्छु रक्तकै मल खाद होस् । म रुन्न दुःखमा कैल्यै आँसुको दह बार्दिन गुनासोमा डुबी आफू अर्काको मल बन्दिनँ । म जान्नँ घरमा भैगो आमा रोऊन् कि जे गरुन् म जान्नँ गुरुका सामु सिकाउन् कि घृणा गरुन् । एकै नास कहाँ हुन्थ्यो सामर्थ्य, यश, गौरव प्रत्येक दिन जस्तै हो प्रातः मध्यान्न साँझ छ । पालो पालो गरी फिर्छन् दिन हाँसो र आँसुका फूल नत्र कहाँ झर्थ्यो फुले पुग्थ्यो सदासदा । जित मात्रै कहाँ हुन्थ्यो जिन्दगीका प्रवाहमा नदी, समुद्रले फेर्छन् बाटा आफ्नै प्रवाहमा । बग्दो नदी बगिराख्दा कहाँ बाटो थियो अघि बग्यो पानी बन्यो बाटो पानीकै धारमा परी । म पानी बनी बग्दिन्छु बाटो खनेर बग्दछु चट्टान जतिले छेकून् शालिग्राम म कुँद्दछु । म कालीगण्डकी बग्छु कोशी भेरी म बग्दछु म सप्तगण्डकी बग्छु सप्तकोशी म बग्दछु । गुरुको मूर्ति मै रच्छु मूर्तिसाथ म सिक्दछु भित्रै छन् ज्ञानका स्रोत मबाटै ज्ञान झिक्तछु । एकै नास कहाँ हुन्थ्यो सामर्थ्य, यश, गौरव प्रत्येक दिन जस्तै हो प्रातः मध्यान्न साँझ छ ।
अन्धकार समय: आजभोलि समय पनि अन्धकार भएको छ पलपलको समाचार तीखो प्रहार भएको छ चौबिसै घण्टा भगवानको नाम जप्न पर्दा जतन गरेको जिन्दगी पनि करार भएको छ मातृभूमिको सम्झनाले त झनै सताइरह्यो सकिन्न तर्न लकडाउन ठूलो जंघार भएको छ तार आउँछ बाआमाको सोध्न हालखबर सातामा हुने सम्वाद अचेल लगातार भएको छ सँगै बसेर दु:ख सुख साटन मन थियो हजुर प्राण उडाउने अदृष्य शक्तिको हुँकार भएको छ ।। अमेरिका
जीवित छैनन् सपनाहरु: मरिसकेको छ कहाँ भेटिन्छ खोजेर आफैँले नभेटाएको हो त्यसैले खोजेको हुँ कारणहरु छन् खोज्नुको कहीँकतै हुनुपर्छ प्रमाणका ठेलीहरु लुकेर बसेको थाहा हुन्छ ल्याबमा टेस्ट गरेपछि कसै न कसैसँग त मेरो सपनाको डिएनए मिल्ला नि यो पृथ्वीमा । उत्खननबाट संभावनाको खोजी गरिन्छ । भेटिएको वस्तुको नामकरण हुन्छ । मिल्यो भने उस्तै पुर्खाको खोजी गरिन्छ । यही अनुसन्धानको पाटोमा मेरो सपना यतिबेला डाक्टरको हातमा परेको छ स्टेथेस्कोपको छातीले मेरो सपनाको उचाइ नापिरहेको छ । मुटुको चाल जाँचिरहेछ । भन्न बाँकी नै छ कस्तो छ भनेर लेखिदिन बाँकी छ दबाईका पोकाहरु कि गर्नु पर्ने हो कि एक्सरे अझै भन्न बाँकी छ । पत्ता लागे त ठीकै होला नलागे के गर्ने होला आफ्नै सपनाको आफैँ साक्षी भएको हुनाले एकचोटी सर्वोच्चमा मुद्दा हाल्छु । प्रमाण जुट्न सक्छ । मरेको छैन भने मेरो सपना म पनि जीवित हुन सक्छु अन्तिम पटक सर्वोच्च जान्छु जीवित छन् कि सपनाहरु ।
बादशाहको डायरी: तुफानी धुँवाको मुस्लोमा रनभुल्ल, व्यग्र व्यस्त त्यो बादशाह आज अनायास टक्क अडिएको छ ठीक बाह्र बजेको घडीको सुई झैँ शान्त ! अनेक सृष्टि र विनाशका बेपर्वाह धुँवाको मुस्लोलाई जितेको त्यो आज कछुवाले झैं शरीर लुकाएको छ मुख छोपेको छ नाक अँठ्याएको छ बम र बारुदको मुस्लोसँग पौँठेजोरी खेलेको ऊ आज फगत हाच्छ्यूँसँग डराएको छ कैयौँ युवतीको चुम्बन लुट्दै मुस्कान र आलिङ्गनमा टाँसिएको त्यो कामुक महामानव आज चुम्बन, आलिङ्गन र आस्वादनदेखि बिल्कुल टाढा छ सप्तर्षिको हारमा रमाउने ऊ आज ध्रुवतारा बन्न खोजेको छ मान्छेका टाउकामा टेकेर विश्वविजयमा निस्केको त्यो युद्धपिपाषु अविजित महायोद्धा वृद्ध, रोगी, आशक्तदेखि डराएको छ फगत एक हाच्छ्युँदेखि चार कोस टाढा कुदेको छ कयौँ कर्फ्यु र काँडेतारको बार तोडेको त्यो अनेक हुकुमप्रमाङ्गी फरमान जारी गर्ने महासम्राट आज ढोकाको चुक्कुल खोल्न डराएको छ उसका हात खुट्टा लगलग कामेका छन् अनुहार मास्कले डामेका छन् सोचमग्न छ उसलाई नाफा र घाटाको जोडघटाउले अझ सताइरहेको छ र त सोच्दै त बम र बारुदको लगानी अब मास्क, टिस्यु र ट्वाइलेट पेपरमा गरूँ ! उसलाई थाहा छ दोस्रो विश्वयुद्धका ब्रिटिश लडाकुहरू तीन टुक्रा ट्वालेट पेपरमा प्रति दिन आहाराको गुजारा गर्थे अमेरिकीहरू प्रति लडाकु बाइस टुक्रा प्रति दिन हजम गर्थे जति बेला बम र बारूद निकै पड्किन्थ्यो र त त्यस्तो थियो आज केही पड्किदैन त्यसैले यस्तो छ शीतयुद्ध भन्दा मन्द छ मन्दताभित्र अनौठो गन्ध छ यही बन्दभित्र षड्यन्त्रका अनेक सिद्धान्तहरू प्रतिपादित हुँदैछन्- अक्टोपसका खुट्टाजस्ता मन्थराका कानेखुसी जस्ता दुनियाँलाई अल्मलाउन संशयको विकराल वर्तमानमा अनिश्चित भविष्य छ त्राहि-त्राहि- तर सधैँ-सधैँ षड्यन्त्रका अंकगणितमा भाँचिने उसका औँलाहरू आज बिल्कुल निर्मल छन् निरन्तर धोइरहिएका छन् सधैँ-सधैँ मृत्युञ्जय उसका लालसा आज पलपलमा मृतप्रायः छन् निराशाले निथ्रुक्क भिजेका छन्– त्यो अविजित बादशाह आज नजरबन्दमा छ अरूसित होइन आफ्नै श्वास-प्रश्वाससँग डराएको छ।
हाँसिरहेँ: मुटुभित्र शूल बोकी आयौ प्रिया हाँसिरहेँ चस्स घोच्ने फूल बोकी आयौ प्रिया हाँसिरहेँ सोच्थेँ नहर बगाउँछौ मरु समान जिन्दगीमा साथमा काकाकुल बोकी आयौ प्रिया हाँसिरहेँ आशावादी हुनैपर्छ जित्नलाई भन्थ्यौ आफैँ निराशाको मूल बोकी आयौ प्रिया हाँसिरहेँ फर्किनेछौ बद्लिएर प्रतीक्षामा बस्नुमात्रै भूल ओढी भूल बोकी आयौ प्रिया हाँसिरहेँ शङ्खरापुर -१, काठमाडौँ
नेसास, क्यानडा र अनेसास, फ्लोरिडाको भर्चुअल काव्यगोष्ठीमाथि एक टिपोट: चीनको हुबेई प्रान्तको वुहानबाट शुरु भएको कोभिड–१९ संक्रमणको प्रकोप आज विश्वभर फैलिएको छ । विश्वव्याधिका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण आजको मितिसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७५ पुगेको छ । कोरोना संक्रमणका कारण मानिसहरु महिनौँदेखि घरमा स्वेच्छिक कैदीका रुपमा बस्न बाध्य भएका छन् । यसरी घरमा नै बस्न बाध्य कला, साहित्य, संस्कृति मन पराउने पाठक र दर्शकबाट लिएर कला साहित्य संस्कृतिकर्मीहरु पनि आफ्नो प्रतिभालाई आकाश दिने काममा आआफ्नो क्षेत्रबाट सक्रिय भएर लागेका छन् । यो स्वतन्त्रताको कैदी जीवनको अवधि बढ्दै जान थालेपछि सबैले आआफ्नो क्षेत्रबाट आफूले जानेका तथा आफ्नो विधा एवम् क्षेत्रगत् क्षमताका आधारमा आफ्ना पाठक, श्रोता र दर्शकसँगै आफैँले पनि एक प्रकारको मानोरञ्जन लिई–दिई रहेका छन् । यसरी आफ्ना साहित्य सिर्जनाको आदानप्रदान गर्नमा विश्वभरका साहित्यकर्मीहरु लागिपरेका छन् । आजको विज्ञानले दिएको भर्चुअल प्रविधिले हाम्रो मनको धागोलाई शब्दसँग जोडेर तरङ्गका माध्यमबाट शुभेच्छुकहरु समक्ष पुर्\u200dयाइदिने गर्दछ । यो भर्चुअल (आफ्नो कम्प्युटरका माध्यमबाट सम्पर्कमा रहने) प्रविधिले दिनहुँ हामीबीच सामीप्य बढाउनु साथै आआफ्नो सिर्जना आदानप्रदान गर्नमा सहयोग पुर्\u200dयाउँदै आएको छ । संस्थागत रुपमा साहित्यिक कार्यक्रमको आयोजना गरेर हामी कविताका माध्यमबाट श्रष्टा र स्रोताबीच सम्बन्ध जोड्ने काम गर्ने गर्\u200dथ्यौँ भने आजको यो सामाजिक दूरीलाई निरन्तरता दिँदै भर्चुयल प्रविधिले हाम्रो साहित्य सिर्जनालाई मञ्च दिँदै साहित्यका माध्यमबाट हामीहरुका बीच सामीप्यता जोड्दै गइरहेका छौँ । यसरी नै लेखक सि.जे. कुकले पेपर नेसनसँग मिलेर मार्च २७ मा घर–घरबाटै उपस्थित भएर अन्तर्राष्ट्रिय साहित्य सम्मेलन (स्टे–एट–होम इन्टरनेसनल लिटरेचर फेस्टिभल) को आयोजना गरेका थिए । यसको सफलतासँगै भर्चुअल साहित्य सबैका लागि प्रिय माध्यम बन्दै गयो । घरमा बसेर आफ्नो एकान्तपनलाई कम गर्ने माध्यमका रुपमा भर्चुअल साहित्य शुरु भएको देखिन्छ । यसरी आजको मितिमा सामाजिक दूरी बनाएर सिर्जनालाई निरन्तरता दिँदैजान भर्चुअल साहित्यले महत्त्वपूर्ण भूमिका खेलेको छ । लेखक सि.जे. कुकले पेपर नेसनसँग मिलेर मार्च २७ मा घर–घरबाटै उपस्थित भएर अन्तर्राष्ट्रिय साहित्य सम्मेलन (स्टे–एट–होम इन्टरनेसनल लिटरेचर फेस्टिभल) को आयोजना गरेका थिए । यसको सफलतासँगै भर्चुअल साहित्य सबैका लागि प्रिय माध्यम बन्दै गयो । घरमा बसेर आफ्नो एकान्तपनलाई कम गर्ने माध्यमका रुपमा भर्चुअल साहित्य शुरु भएको देखिन्छ । अधिकतम् स्रष्टाहरु आज घरमा नै बस्न बाध्य भएका छन् । यो घरभित्रको आकाशमा रमाउँदै स्रष्टाहरूले समयलाई सदुपयोग गर्दै नयाँ सिर्जनामा पनि लागेको पाइन्छ । जसलाई सुखद थालनी भन्नुपर्छ । केही समयअघि नेपाल स्रष्टा समाजका विधान आचार्यले कविहरू समेटेर कविता गोष्ठी आयोजना गरे । नेपालबाट सहदेव पौडेलले निरन्तर साहित्यकारहरुका मीठा मीठा कथा कविताहरु वाचन गरेर सुनाउँदै आइरहेका छन् । डिजिटल चलचित्र पत्रिका सेतोपर्दाले चर्चित गजल लेखकहरूलाई एकैठाउँमा ल्याएर गजलका माध्यमबाट जोडेको थियो । त्यसरी नै त्यसरी नै कवि रामगोपाल आशुतोष र सगुना शाहले कविताहरूको वाचन गर्दै त्यसलाई युट्युबमा समावेश गराएर सबैलाई सुन्ने मौका दिँदैआएका छन् । त्यस्तै भूगोल साहित्य समाजले पनि कविता गोष्ठीको आयोजना गरेको जानकारी भएको छ । अन्तर्राट्रिय नेपाली साहित्य समाज (अनेसास) ले पनि सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्दै विश्वव्यापी रुपमा कविता वाचन कार्यक्रमको आयोजना गर्दै आएको छ । बुकाहोलिक्सकले पनि लकडाउनमा श्रष्टासँग साक्षात्कार कार्यक्रमबाट लेखकहरुसँगको साहित्य र सिर्जनाका बारेमा जानकारी प्रस्तुत गरिरहेको छ । चिसापले यही प्रविधिमा जुम कवि गोष्ठीको आयोजना शुरु गरेको छ । न्युयोर्कबाट डा मधुर श्रेष्ठले समय र सिर्जना संचालन गर्दै आइरहनु भएको छ । आज प्रविधिको प्रयोगबाट सर्जकलाई सर्जकसँग जोड्ने काम भइरहेको छ भने सर्जकले पनि आफूजस्तै सर्जकसँग प्राविधिक रुपबाट साक्षात्कार भएर आफ्नो सिर्जना बिसाउने अवसर पाइरहेका छन् । आजको भर्चुअल साहित्य भोलिको इतिहास बन्न सक्छ । भर्चुअल काव्य गोष्ठीले कविताका क्षेत्रमा नयाँ आयाम थपेको मात्रै नभएर सामाजिक दूरी बनाएर भोलिका दिनमा पनि यसलाई निरन्तर सञ्चालनमा ल्याइरहन प्रेरित गरेको छ । यसले कवितामा रुचि राख्ने र लेख्ने स्वदेश तथा विदेशमा रहेका सबै कवि लेखकहरूलाई समेट्ने कुरामा कसैको दुईमत हुन्न । यसरी यसको निरन्तरतामा जोड दिने हो भने भर्चुअल कवि गोष्ठीले भोलिका दिनमा अहिलेको युग र समयको प्रतिनिधित्व गर्ने निश्चित छ । यो भोलिको अनुसन्धानको विषय बन्न सक्छ । त्यसैले यसलाई निरन्तर रुपमा प्रयोगमा गर्दै जानु पर्छ । यसले घरमा नै बसेर कविता सुन्न र सुनाउन पाइन्छ । यसमा कुनै आर्थिक भार पनि आउँदैन भने स्थानको आवश्यकता पनि पर्दैन । आजको मितिमा एउटा प्रयोगका रुपमा अगाडि बढ्दै गएको भर्चुअल कवि गोष्ठी एउटा स्रष्टाले अर्को स्रष्टाको सिर्जना सुन्न सुनाउन पाउने उत्कृष्ट माध्यम बनेको छ । आज प्रविधिको प्रयोगबाट सर्जकलाई सर्जकसँग जोड्ने काम भइरहेको छ भने सर्जकले पनि आफूजस्तै सर्जकसँग प्राविधिक रुपबाट साक्षात्कार भएर आफ्नो सिर्जना बिसाउने अवसर पाइरहेका छन् । आजको भर्चुअल साहित्य भोलिको इतिहास बन्न सक्छ । मेरो पहिलो भर्चुअल कवि गोष्ठीको पहिलो अनुभव म्याडिसनको नाफा संस्थाले नयाँ वर्षको पावन उपलक्ष्यमा अप्रेल १४ का दिन नाफाको ३०औं कोठे काव्य गोष्ठीलाई भर्चुअल कवि गोष्ठीका रुपमा मनाउने विचारका साथ दिनार श्रेष्ठबाट उपस्थितिका लागि निम्तो पाएको थिएँ । भारत, अमेरिका र क्यानडाबाट लगभग १५ जना कवि स्रष्टाहरुको कविता सुन्ने सुनाउने मौका पाएका थिए । त्यसपछि अप्रेल १९ मा नेपाली साहित्य समाज क्यानडाले (नेसास, क्यानडा) आयोजना गरेको भर्चुअल कवि गोष्ठीमा दोस्रोपटक सहभागी बन्ने मौका पाएँ । सो गोष्ठीमा लगभग १६ जना कविहरुको उपस्थिति रहेको थियो । यसको सफलतासँगै दोस्रो गोष्ठी ३ मईका दिन सम्पन्न भएको थियो । लगभग २१ जना कविकर्मीहरुको उपस्थितिमा सम्पन्न सो गोष्ठीमा नेपालबाट नेपाल स्रष्टा समाजका विधान आचार्यको पनि उपस्थिति रहेको थियो । त्यस दिन विधानजीले मलाई मई ७ का दिन आयोजना गरिने तीसको दशकका कविहरुको भर्चुयल कवि गोष्ठीमा आमन्त्रित गर्न फोन गर्नु भएको थियो र उहाँलाई हामीले क्यानडाको भर्चुयल कवि गोष्ठीमा पनि सामेल गराउन सफल भयौं । उहाँले बहुचर्चित ‘भोक’ कविता सुनाउनु भएको थियो । तेस्रोपटक विधान आचार्यले आयोजना गर्नु भएको नेपाल स्रष्टा समाजको आव्हानमा तीसका दशकका कविहरुको भर्चुयल काव्य गोष्ठीमा सहभागिता बन्ने मौका पाएँ । वरिष्ठ कवि तथा संस्कृतविज्ञ तुलसी दिवसको प्रमुख आतिथ्यमा श्रध्देय कवि मञ्जुल र मञ्जु काँचुलीको विशेष उपस्थितिमा तीसका दशकका कविहरु अशेष मल्ल, उषा शेरचन, तीर्थ श्रेष्ठ, दिनेश अधिकारी, किशोर पहाडी, सरुभक्त, हेमन्त श्रेष्ठ, विश्वविमोहन श्रेष्ठ, ज्ञानुवाकर पौडेल, कणाद महर्षि, स्नेह सायमि, राजेन्द्र शलभ, प्रह्लाद पोखरेल, गिरीराज आचार्य, तुलसी दिवस, मञ्जुल र मञ्जु काँचुलीसँगै अन्य कविहरुका काव्य सुमन श्रवण गर्ने मौका पाएको थिएँ । (क्यानडामा रात ३ बजिसकेकाले यसमा कविहरुका नाम छुटेकोमा क्षमापार्थी छु) । त्यसपछि मित्र निजानन्दजीले फोन गरेर मई ९ का दिन आयोजना गरिने भर्चुअल कवि गोष्ठीमा सहभागिताका लागि अनुरोध गर्नु भएपछि चौथोपटक अ.ने.सा.स, फ्लोरिडा चेप्टरको आयोजनामा भर्चुअल कवि गोष्ठीमा सहभागी बन्ने मौका पाएँ । यसरी भर्चुअल कवि गोष्ठीले एकातिर सिर्जनालाई निरन्तरता दिँदै जाने अवसर दिएको छ भने अर्कोतिर कविता सुनिदिने पाठक पनि पाएको छ । भर्चुअल कवि गोष्ठीमा कविको कविता कविलाई नै सुन्ने सुनाउने वातावरण बनाएकोले यसको ठूलो महत्त्व रहेको छ । त्यसैले हाम्रो सिर्जनालाई हामीहरुले हामीहरुका बीच बाँड्नुको बेग्लै मज्जा रहने भएकोले गोष्ठीमा वाचित कविताको सूक्ष्म मूल्याङ्कन गर्ने विचारका साथ ने.सा.स.,क्यानडाको दोस्रो गोष्ठीदेखि जमर्को गर्न थालेकोले यो त्यसैको प्रतिफल हो । अप्रेल १९ मा नेपाली साहित्य समाज क्यानडाले (नेसास, क्यानडा) आयोजना गरेको भर्चुअल कवि गोष्ठीमा दोस्रोपटक सहभागी बन्ने मौका पाएँ । सो गोष्ठीमा लगभग १६ जना कविहरुको उपस्थिति रहेको थियो । अप्रेल १४ का दिन नेपाली साहित्य समाज, क्यानडाको दोस्रो भर्चुअल कवि गोष्ठीमा २१ जना काव्यकर्मीहरुको उपस्थिति थियो । क्यानडाभरिका साहित्यानुरागीहरुको उपस्थितिमा आयोजित काव्य श्रवण गोष्ठीमा अञ्जु बराल वाग्लेले कविताका माध्यमबाट नेपालको राजनीतिमाथि व्यङ्ग्य कस्नु भएको थियो भने वीरेन्द्र लम्सालले काव्य टुक्राहरुका माध्यमबाट मानवीय जीवनका पीडाहरुको चर्चा गर्नु भयो । जयराम सिंहले आफ्नो कवितामा माध्यमबाट मानवीय जीवनका दर्शनको चर्चा गर्दै आजको मानवताको यान्त्रिकीकरणको विष्तृणा देखाएका छन् । खेम गुरागाँईले मानवीय जीवनका पीडाहरुको उत्खनन् गर्दै जीवन संघर्षका पाटाहरुसँगै नागरिक हुनुको दायित्वलाई प्रतीकात्मक रुपमा प्रस्तुत गरेका छन् । मञ्जु आचार्यका मुक्तकमा माध्यमबाट देशको प्राकृतिक सौन्दर्य, नारीको विवशता र प्रेमका सुखमय क्षणहरुको बयान पाइन्छ । मोहन खरेलको छन्दबद्ध कवितामा आज कोरोना महामारीबाट बाँच्न घरमा सबैलाई कैदी बनाएको र आजको स्वतन्त्र युगमा मानिस मानिसबाट त्रसित भएर थुन्न बाध्य भएको चर्चा गर्दै मानवीय विवशतामाथि व्यंग्य कसेका छन् । मुक्ति गौतमले आफ्नो पहिलो छन्दबद्ध कविताका माध्यमबाट मानिसको मपाईत्वको चर्चा गर्दै आफूलाई आफैँ राम्रो महान् ठान्नेहरुको दृष्टि भ्रममाथि शाब्दिक व्यङ्ग्य प्रहार गरेका छन् । पुण्यसागर मरहठ्ठाले कविताका माध्यमबाट व्यक्ति स्वतन्त्रता र आत्मस्वीकृतिका स्वरहरुको वकालत गर्दै मौनताको मूल्यको वास्तविक स्वरुप देखाएका छन् । रविन थपलियाले आफ्ना छन्दबद्ध कवितामा मानवीय प्रवृत्तिको स्वरुपलाई व्यंग्यात्मक शैलीमा पिशाचका रुपमा उभ्याएर त्यसका अवगुणहरु केलाएर प्रष्ट्याउने प्रयास गरेका छन् । रवीन्द्र घिमिरेको कविताले मानिस आज आफैँले बनाएको यन्त्रबाट त्रसित बन्न गएको भन्दै मानिसको उन्नति र अवनतिको चित्रण गरेका छन् । रवीन्द्र लम्साल कविताका माध्यमबाट आफ्ना जीवन आफैँ बनाउने आव्हन गर्दै आजको मानवीय जीवनको त्रासद उथलपुथलमाथि प्रहार गरेका छन् । शर्मिला पोखरेलले मातृभूमि र कर्मभूमिका बीच तुलना गर्दै आफूले देखेका सपनाको जीजिविषालाई प्रष्ट्याउने प्रयास गरेका छन् । छन्दबद्ध कविताका माध्यमबाट सिर्जना श्रेष्ठले विगतको सपनामा वर्तमानलाई आरोपित गर्दै विदेशको अनुशासित र कठोर जीवनशैलीको वकालत गरेको देखिन्छ । बेलायतबाट क्यानडाको भर्चुअल काव्य गोष्ठीमा सहभागिता जनाउँदै सुदर्शन पौडेलले गाउँको सम्झनामा आफ्नो अतीतलाई सम्झेर पत्रात्मक शैलीमा नवीन प्रयोगका साथ चिठ्ठीलाई सारथि बनाएर गाउँ देखाउने प्रयास गरेका छन् । पुष्प आचार्यले गजल सुनाएर मदहोश भई जीवनलाई प्यालामा राखेर हेर्ने जमर्को गरेका छन् । झपेन्द्र पोखरेलले समयको बयना गर्दै परिवर्तित मानवीय चरित्रले आफ्नो स्वार्थमा कसरी स्वरुप फेर्ने गरेको अवस्थाको चर्चा गरेका छन् । राजेन्द्र कार्कीले महिलाको संहितामाथि मीठो शब्द बयान गरे । अनुप न्योपानेले बुबाको सम्झनामा छोराछोरीको जीवनमा बुबाको त्यागको बखान गर्दै उनको आदर्श भूमिकामाथि नतमस्तक भएर छोराको जीवनमा बुबाको भूमिका देखाए । प्रदीप पौडेलले प्रतीक्षाका क्षण र अवस्थाका बारेमा चर्चा गरे भने डा. गोबिन्द रावतले कविताका माध्यमबाट वर्तमानमा देखापरेको त्रासद अवस्थाको व्याख्या गर्दै सन्तानमा उब्जिएको डरत्रासलाई संयम पार्ने अवस्थाको चित्रण गरे । यसरी यस भर्चुअल कवि गोष्ठीमा सहभागी कविहरुले वर्तमान अवस्थालाई माध्यम बनाएर देशप्रतिको वात्सल्य, देखापरेका राजनीतिक विसङ्गति र नागरिक पीडासँगै प्रेमभाव र मातृवात्सल्यताका विचारहरु मुखरित थियो । मई ९ का दिन अ.ने.सा.स, फ्लोरिडा चेप्टरको आयोजनामा भर्चुअल कवि गोष्ठीमा २८ जना कविका काव्य प्रस्तुतिहरु सुन्ने मौका पाइएको थियो । यस भर्चुअल कवि गोष्ठीमा अमेरिकालगायत नेपाल, भारत, बेलायत, अफ्रिका, पोर्चुगल, स्पेन, क्यानडा, कोरिया र जापानबाट सहभागिता रहेको थियो । अ.ने.सा.स, फ्लोरिडा चेप्टरका अध्यक्ष निजानन्द मल्लको आयोजना र महासचिव दीप कार्कीको प्राविधिक सहयोगमा आयोजित भर्चुअल कवि गोष्ठीमा जापानबाट गिरिजा गैरेले गजलका माध्यमबाट जीवनको स्वरुपका बारेमा जानकारी दिँदै अहिले हामीले भोग्नु परेको विष्तृणतामा आफन्तहरुको सामीप्यको आवश्यकता र भेट्ने चाहनाहरुलाई अभिव्यक्त गरेका थिए । दक्षिण कोरियाका सुशील अर्यालले मुक्तकका माध्यमबाट प्रकृतिमाथि भएको अतिक्रमणको प्रतिफल कोरोनाको प्रकोप रहेको भन्दै प्रकृति संरक्षणका लागि आह्वान गरेका थिए । भारत सिक्किमका रत्ना सुब्बाले कोराना भाइरसः कोभिद १९ कविताबाट प्रकृतिको कारूणिक स्वरुप देखाउनु भएको थियो भने सक्किमका मीना सुब्बाले जिन्दगीका अनेक रङहरु कविताबाट जिन्दगीका उतारचढावमा देखिने विवशताहरु सुनाएकी थिइन् । नेपालका धनराज गिरीको गजलमा मानिसका गुणहरुलाई पहिल्याउने प्रयास गरिएको थियो । उनले राम्रो काम गर्ने मान्छे सधैँ असल हुन्छन् भन्दै मानिसको राम्रो चरित्रको गुनगान सुनाए भने बेलायतबाट बिसन थापाले प्रकृतिवादी धर्ती कविताका माध्यमबाट आजको भयमय स्थितिको बारेमा चर्चा गर्दै भविष्यप्रतिको जीजिविषा र मेलमिलापका सन्देश दिए । पोर्चुगलका विनोद स्पन्दनले गजलबाट आजको मानवीय परिस्थितिको बारेमा जानकारी गराउँदै बुद्धको भावना र मेलमिलापको सन्देश सुनाए । त्यस्तै पोर्चुगलकै अर्जुन बरालीले मान्छे कहिले मान्छे जस्तै होला भन्दै मान्छेको मनोविज्ञानलाई कोट्याएर उन्नति, अवनति र चारित्रिक अवस्थामाथि व्यंग्यात्मक चित्रण गरे। अफ्रिकी महादेशको नाइजेरियाका हिक्मत थापाले आजको अवस्थालाई प्राकृतीकरण र मानवीकरण गरेर अफ्रिकाको रमणीय एवम् पर्यटकीय स्थलहरुमा प्रकृतिको प्रकोपले गर्दा दिशाविहीन बन्दै गएको र समाजबाट मानवता हराएजस्तै प्रकृतिको स्वरूपमा पनि निराशावादीताको प्रभाव पर्न थालेकोले सचेतताको बिकुल फुके । त्यस्तै युगाण्डाका रमेश कँडेलले आफ्नो कवितामा नेपालीपनका विभिन्न वस्तु (खानाहरु), स्थान (गाँउघर), पहिरनसँगै परम्परा र परिवेशलाई समेटे । अफ्रिकाकै थोरै संख्यामा नेपालीहरू रहेको सेल्सस आइल्याण्डबाट गणेश खड्काले कोरोनाको कहरलाई लिएर गजलका माध्यमबाट प्रकोपले मानिस आफैँ पर्खालभित्र बाँधिन बाध्य भएको बारे सुनाए । स्पेनबाट शारदा सापकोटा निसारले गजलबाट आमाको वात्सल्य र गाउँको परिवेशमा पाइने सत्य जीवनका पलहरुको स्मरण गर्दै फेरि एकपटक त्यही वातावरणमा रमाउने चाहना व्यक्त गरिन् । २८ जना कविका काव्य प्रस्तुतिहरुमा विशेष गरेर आजको कोरोनाले सिर्जना गरेको भयवह अवस्था, यसबाटको सचेतता, राष्ट्रप्रतिको प्रेमभाव, राष्ट्रीय विरहभाव, मातापिताप्रतिको श्रद्धासँगै देशमा देखा परेको अव्यवस्थित स्थितिका शब्दहरू अभिव्यक्त भएका थिए । नेपालबाट क्यानडाको एउटा सम्मेलनमा सहभागिता जनाउन आएका रामहरि कोइरालाले अहिलेको अवस्थाका बारेमा प्रकाश पार्दै समयको कहरमा पर्दै जानु परेको अवस्थाबारे कविता सुनाए । क्यानडाका मुक्ति गौतमले आफ्नो दिदीमा आमालाई आरोपित गरेर प्रायः ओझलमा पर्ने दिदीको योगदान र बलिदानका कुराहरुलाई काव्यात्मक हरफहरु सुनाए । क्यानडाका डा. गोबिन्द रावतले मानव जीवनमा देखापर्ने उतार चढावलाई भर्\u200dयाङ्गका रुपमा प्रस्तुत गर्दै मानवीय स्वार्थमाथि व्यंग्य कविता सुनाए । अमेरिकाको बोस्टनबाट लालगोपाल सुवेदीले शार्दुलविक्रीडित छन्दमा प्रकृति र प्रकोपका बारेमा काव्यात्मक वर्णन सुनाउँदै प्रकृतिप्रकोप र कोरोनाका बीचको सम्बन्ध देखाउने प्रयास गरे। अमेरिकाको म्याडिसनबाट राजेन्द्र अर्यालले मानिसको चरित्र र व्यवहारमाथि चर्चा गर्दै प्रकृतिमाथि गरिएको अतिक्रमणको प्रतिफल मान्छे आज भीडमा एक्लो भएको महसुस गर्दै आफ्नै छायासँग डराउनु पर्ने अवस्था र विवशतामाथि चर्चा गर्नु गरे । त्यस्तै म्याडिसनबाट सीता अर्यालले कोरोनाको कुरूपतामाथि प्रहार गर्दै समयसँग कोरोनाको तुलना गर्दै सुन्दर विहानीको परिकल्पनामा काव्य वाचन गरिन् । म्याडिसनबाटै दिनार श्रेष्ठले ५० वर्षअघि २०२७ सालमा बाल कविता प्रतियोगिताका लागि लेखेर पुरस्कृत भएको राष्ट्रियताले ओपप्रोत भएको राष्ट्रभक्तिको नेपाल आमा बाल कविता सुनाए। म्याडिसनबाटै पूर्ण श्रेष्ठले मानवीय अनुभूतिहरु र मानिसको मनोदशालाई मनोवैज्ञानिक तरिकाले चर्चा गरे । अमेरिकाको मिजोरीबाट उर्मिला निर्दोषीले कोरोनामाथि नै मुद्दा हाल्नेबारे कानूनी र अदालती पक्ष–विपक्षका दाउपेचको मीठो व्यंग्यकाव्य प्रस्तुति पस्किइन् । अमेरिकाको ओरल्याण्डोबाट डा. विनाद बरालले कोरोनाबाट सुरक्षाका उपाय र आवश्यकताका यथार्थपरक अनुभूतिलाई कवितात्मक रुपमा सुनाए । अ.ने.सा.स. फ्लोरिडा च्याप्टरले आयोजना गरेको तेस्रो भर्चुअल काव्य गोष्ठीमा फ्लोरिडाबाट उच्च शिक्षा सिध्याएर जर्जियालाई कर्मथलो बनाउने डा. तुलसी आचार्यले कविताका माध्यमबाट बुबालाई सम्बोधन गर्दै बाउ र छोराबीचको सम्बन्धलाई कोट्याउँदै बुबाको नदेखिएको वात्सल्य र व्याहारको वर्णन प्रतीकात्मक रुपमा गरेका छन् । कवितामा बा एउटा बिम्ब बनेर छोरा अर्थात सन्तानको इच्छा आकांक्षा पुर्\u200dयाएको कुरालाई दर्शाएका छन् । फ्लोरिडाका चूडामणि खनालले आफ्नो छोटो कविताबाट बाल्यावस्थाको सजीव चित्रण गरेका छन् । कार्यक्रम आयोजक तथा अनेसास फ्लोरिडा च्याप्टरका अध्यक्ष निजानन्द मल्लले आजको बढ्दै गएको मानवीय दूरी तथा समयको परिस्थितिका बारेमा कविताको अनुभव बयान गरे भने फ्लोरिडा च्याप्टरका महासचिव तथा यस भर्चुअल काव्य सङ्गमलाई प्राविधिक रुपबाट सबल र सक्षम बनाउन सहयोग गर्ने दीप कार्कीले फूललाई जीवनसँग दाँजेर मानवीय जीवनका स्वरूपलाई केलाउँदै जीवनलाई बाँच्ने नवरङ्गका रुपमा प्रस्तुत गरे । यसरी २८ जना कविका काव्य प्रस्तुतिहरुमा विशेष गरेर आजको कोरोनाले सिर्जना गरेको भयवह अवस्था, यसबाटको सचेतता, राष्ट्रप्रतिको प्रेमभाव, राष्ट्रीय विरहभाव, मातापिताप्रतिको श्रद्धासँगै देशमा देखा परेको अव्यवस्थित स्थितिका शब्दहरू अभिव्यक्त भएका थिए । प्रारम्भमा सामूहिक रुपमा राष्ट्रिय गान गाएर शुरु भएको यस भर्चुअल काव्य गोष्ठीमा उपस्थित सबैले कोरोनाबाट आफू बसेको शहर, प्रान्त र देशको अवस्था र त्यहाँका नेपालीहरुको स्थितिका बारेमा जानकारी गराएका थिए । गोष्ठीमा श्रोताका रूपमा उपस्थित भएका महेश्वर पन्तले गैरआवासीय नेपाली संघको भाषा साहित्य संस्कृति तथा सम्पदा प्रवर्धन समितिले प्रकाशन गर्न लागेको प्रवासी नेपाली साहित्यकार तथ्याङ्क संग्रहका बारेमा जानकारी गराएका थिए । त्यस्तै श्रोताका रूपमा उपस्थित भएका अनेसास फ्लोरिडा चेप्टरका संस्थापक अध्यक्ष विमल नेपालले कार्यक्रमको सफलताका लागि शुभकामना दिए । भर्चुअल काव्य गोष्ठीमा अन्य मुलुकबाट पनि सहभागिताका लागि प्रयासरत् रहेको देखिए तापनि प्राविधिक कठनाईले सहभागिता जनाउन असमर्थ भएको देखियो ।
यात्रा र झोला: हामीले थालेको त्यो यात्रा अहिले लाग्छ, अरू कसैको थियो । हामीले बोकेका झोलाहरूमा भविष्य अरूकै रहेछ हामीले पसिना चुहाउँदै तय गरेको गन्तव्य पनि अरूकै थाकेर रुखमुनि बसेर कल्पिएका मीठा क्षणहरू पनि अरूकै, सारा दुखको विगत आफ्नो बोकेको भार आफ्नो थेगेको पिडा आफ्नो हामीले लडेको भविष्य अरूकै रहेछ । हामी झुलेको पिङ्ग अरूकै झुल्दाको मजा अरूकै, पिङमा झुल्दाको डाम र निरीह झुलिरहेको मन मात्रै आफ्नो रहेछ। चढेको ठाडो उकालो आफ्नो उकालो पछि भेटेको चुचुरो अरूकै त्यहाँ बाट देखेको दृश्य अरूकै पाएको उँचाइ अरूकै, बाटो काट्दाको घाउ घाउको नपुरिने खाटा मात्रै आफ्नो रहेछ । यात्रा अरूकै डरलाग्दो भेलमाथिको तुइन अरूकै नदी तरे पछिको खुसी अरूकै हातमा उठेका ठेलाहरू खिलहरू मात्रै आफ्नो रहेछ। धन्न खसिएन तुइनबाट झरिएन मनै सिरिङ्ङ हुने डरलाग्दा भीरहरूबाट यात्राको भयानक सम्झना मात्रै आफ्नो रहेछ गुमाएका सह -यात्रीहरूको पिडा मात्रै आफ्नो रहेछ उनीहरूको बलिदानको ब्याज अरूकै बलिदान अरूकै लागि रहेछ । हाम्रा झोलाहरू पुरै यात्रामा हाम्रै काँधमा थिए कसले चोर्यो हाम्रा सपनाहरू ? कसले रित्तो पार्यो हाम्रा झोलाहरू? फेरि थाल्नु पर्ने भो त्यही यात्रा फेरि हिँड्नु पर्ने भो त्यही बाटो नाँप्न पर्ने भो त्यही दूरी जुन सकिएर पनि फेरि पुग्छ शुरुकै बिन्दुमा । चौरजहारी रुकुम हालः टिमिन्स, क्यानडा (गाैतम नेपाली साहित्य समाज, क्यानडाको पूर्व अध्यक्ष, सल्लाहकार, एन आए एन क्यानडाको भाषा, साहित्य र संस्कृति समितिका पूर्व संयोजक हुन् । उनको एउटा कविता संग्रह ‘भेरी किनारमा एक क्षण’ प्रकाशित छ ।) हामीले बोकेका झोलाहरूमा भविष्य अरूकै रहेछ हामीले पसिना चुहाउँदै तय गरेको गन्तव्य पनि अरूकै थाकेर रुखमुनि बसेर कल्पिएका मीठा क्षणहरू पनि अरूकै, सारा दुखको विगत आफ्नो बोकेको भार आफ्नो थेगेको पिडा आफ्नो हामीले लडेको भविष्य अरूकै रहेछ ।
आमा, म ठूली हुन्न ल!: आमा, म ठूली हुन्न ल! म त उही सानी नै रहन्छु निश्पाप मन निश्चल जीवन आहा! कति रमाइलो है बिहानमा “वालौं पौमाछा” भनी गालाभरि “तनखा” लगाइदिए मात्रै मान्ने फर्की फर्की ऐना हेर्दै मुस्कुराउने राम्री भन्दैमा गमक्कै हुने उही सानी छोरी हुन्छु ल! ठूली भए’सी पल्लाघरकी सावित्रीका झैं मेरा पनि सपना मासिन्छन् रे, हो आमा? ती चञ्चलता, ती स्वतन्त्रतामाथि एक्कासि डढेलो लाग्यो हगी, सावित्रीको जीवनमा कता मेरो पनि त्यस्तैै………? ठूली भए’सी, तिमी काहाँ म काहाँ? इच्छाहरूमा ताला लाइन्छन्, ती मुस्कान कता भाग्छन् कता खेल्दै गरेको जूनमा ग्रहण लागेझैं जीवन त्यसै मुर्छाउँछ रे, हो आमा? म त तिम्रो काखको सिरानीमा निदाउन चाहन्छु तिम्ले खुवाएको गाँसमा अघाउन चाहन्छु तिमी हाँस्दा हाँस्न, रूँदा सँगै रून चाहन्छु त्यसैले आमा, म ठूली हुन्न ल! तिमीले “ताते ताते”गराउँदा दिलाएको त्यो आत्मविश्वास अरू कस्बाट मिल्ला? तिमीले “फूू फू” गर्दैमा निको हुने घाउ पछि कसरी निको होला? दुनियाँ पापी छ आमा यिनका चालचलन र परम्परा निर्दयी छन् आफ्नोबाहेक कसैको पर्वाह गर्दैनन् न पछाडिबाट हौसला दिन्छन् न अगाडिबाट साथ नै बरू कुल्चेर आफैँ अघि बढ्छन् ठूली भएर पो के गर्नु? सपना जरैबाट उखेलेर फ्याँकिदिहाल्छन् बिनाउद्देश्य ठूली हुनु त आगोमा होमिनु बराबर हो त्यसो त सानी नै रहनु बेस, कमसे कम तिम्रो अँगालोमा सुरक्षित त हुन्छु म सुरक्षित रहन्छन् मेरा चाहना पनि तिम्रो ममता र मायाले मौलाउन पाउँछन् पनि त्यसैले आमा, म ठूली हुन्न ल! मान्डले, बर्मा राम्री भन्दैमा गमक्कै हुने उही सानी छोरी हुन्छु ल! ठूली भए’सी पल्लाघरकी सावित्रीका झैं मेरा पनि सपना मासिन्छन् रे, हो आमा? ती चञ्चलता, ती स्वतन्त्रतामाथि एक्कासि डढेलो लाग्यो हगी, सावित्रीको जीवनमा कता मेरो पनि त्यस्तैै………? साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ । तुरुन्त Scan गर्नुहोला
काली: समाप्त पारिएका परिका कथाहरू शङ्खध्वनिले गुन्जाएमान हुँदा परिले बनाएकी थिई एउटा चित्र हत्यारा दैत्यको शीर छेदन गरेर रगतहरू पिउदै गरेकी कालीको नरमुण्डको माला लगाएकी हातमा खड्ग भिरेकी आफैँले वध गरेकी राक्षसको शीरबाट रगतका धाराहरू चुहाइरहेकी कालीसँग दैत्यको मानवअधिकारका लागि जब बहस गर्छन् त्रिदेवहरू स्मशानघाटबाट जलिरहेका परिहरुको मृत शरीरलाई काँधमा जुरूक्क बोकेर भौतारिन्छन् तब कालीहरू ईश्वरको अदालतमा मत्ताहात्ती भएर पुरुषार्थलाई प्रमाणित गर्न मारिन्छन् जब परिहरू कुबेरका खजानासँग लोभिएर दैत्यलाई चोख्याउन बहस गर्छन् जब ब्रह्माहरु नै जब वृन्दाको सौन्दर्यसँग लोभिन्छन् महादेव नै जब निक्लन्छन् इन्द्र नै अप्सराको खोजीमा ईश्वर जन्माउने योनिहरु नै लुटिन्छन् जब ईश्वरकै मन्दिरमा कहिले मस्जिदमा कहिले चर्चमा कहिले गुम्बामा बोल्दैनन् किन तिम्रा ईश्वरहरू घण्टीहरू बज्दा मन्दिरबाट नमाजहरू पढ्दा मस्जिदबाट? प्रार्थना गर्दा चर्चबाट दीपहरू बाल्दा गुम्बाबाट गर्दै थिइन् प्रश्न काली आज ईश्वरको अदालतमा दैत्य छ यत्र तत्र सर्वत्र बाजझैँ उडिरहेका दैत्यहरू एकै झड्कामा बलिया नङ्ग्राहरू गाडेर समाप्त पार्छन् परिका श्वासहरू फुटेका काँचका चुराझैँ सस्ता फगत एउटा योनिको मृत्यु गीता, कुरान, बाइबल र त्रिपिटक सक्छौ के फिर्ता गरिदिन मलाइ मेरा परिका श्वासहरु ! विदुर, नुवाकाेट ईश्वर जन्माउने योनीहरु नै लुटिन्छन् जब ईश्वरकै मन्दिरमा कहिले मस्जिदमा कहिले चर्चमा कहिले गुम्बामा बोल्दैनन् किन तिम्रा ईश्वरहरू घण्टीहरू बज्दा मन्दिरबाट नमाजहरू पढ्दा मस्जिदबाट? प्रार्थना गर्दा चर्चबाट दीपहरू बाल्दा गुम्बाबाट
पाए हुन्थ्यो: भोक लाग्दा पेटमा चारो हाल्न पाए हुन्थ्यो फाटेको मन नि थोरैथोरै टाल्न पाए हुन्थ्यो ! म त सानो मान्छे सपना नि सानै छ हजुर एकफेर साँझमा चुल्हो बाल्न पाए हुन्थ्यो ! टायरको खस्रो धारले खुट्टा धाँजा फाट्यो पुराना यी चप्पल पनि फाल्न पाए हुन्थ्यो ! अत्तरभन्दा पसिनाको सुगन्ध झनै मिठो यसै गरी मालिक फेरि पाल्न पाए हुन्थ्यो ! लुट्न बाँकी के नै छ र भन अब सरकार मैले पनि एउटा चाल चाल्न पाए हुन्थ्यो ! धर्तीमाथि श्रम गर्ने मालिक उही हो भनी मजदुरको नाम लेख्न थाल्न पाए हुन्थ्यो ! टायरको खस्रो धारले खुट्टा धाँजा फाट्यो पुराना यी चप्पल पनि फाल्न पाए हुन्थ्यो !
काेराेना भन्दा खतरनाक इस्लामाेफाेबिया: विश्वलाई नै त्रास र अनिश्चितताकाे भूमरीमा धकेल्दै मानव जातिकै लागि चुनाैतीका रुपमा देखापरेकाे काेभिड-१९ काे संक्रमणबाट नेपाल पनि अछुताे छैन। पर्याप्त स्वास्थ जनशक्ति एवं भाैतिक पुर्वाधार नभएका हामीजस्ता मुलुकहरुकाे दिन दुई गुणा रात चाैगुणा हुँदै फैलिरहेकाे भाइरसकाे संक्रमण राेक्ने प्रमुख उपाय नै बन्दाबन्दी (लकडाउन) हाे र हामी यही उपाय अपनाउँदै छाैँ । यस विषम परिस्थितिमा विभिन्न मुलुकका नागरिकहरु देशलाई एकतामा बाँध्दै काेराेना विरुद्धकाे संग्रामकाे अग्रमाेर्चामा खटिने स्वास्थकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुकाे मनाेबल अभिवृद्धि एवं सम्मानका निमित्त विभिन्न कार्य गरिरहेका हामीले देखेकै छाैँ । त्यस्तै धार्मिक आस्थावानहरु पनि काेही दियाे बालिरहेका छन्, काेही अल्लाहलाई पुकार्दै छन् त काेही रेकाथालाबा… भन्दै पुकारी रहेका छन् । जे हाेस्, आस्थावान् समुदायले विश्व शान्तिका लागि प्रार्थना गर्नु कुनै नाैलाे कुरा हैन र यसलाई असामान्य मानिरहनु पनि पर्दैन । तर केही धार्मिक दलाल र अतिवादीहरु भने याे चुनाैतीलाई अवसरका रुपमा उपयाेग गर्दैछन् । भारत, नेपाल लगायत दक्षिण एसियाली मुलुकमा प्रारम्भिक चरणमा अधिकांश संक्रमण मुस्लिम धर्मावलम्बीहरुमा देखियाे। मुस्लिम समुदायकाे अन्तर्राष्ट्रिय स्तरकाे धार्मिक भेलामा विदेशी अतिथिसँगै काेराेना भित्रिएकाे र उनीहरुबाटै भारतमा संक्रमण फैलिएकाे तथ्यहरु बाहिर आए । अनि त “के निहुँ पाउँ कनिका चपाउँ” भनेर बसेका भारतीय मिडियालाई के चाहियाे ! यही विषयलाई लिएर समग्र मुस्लिम समुदायप्रति ठूला भनिएका मिडिया अफवाह फैलाउन लागे। हरेक विषयमा धार्मिक रङ घाेल्न सिपालु भाजपा र भाजपा समर्थित मिडिया हरेक दारीवालहरु काेराेना नै हुन् भन्ने जस्ता देखाउन लागिपरे । त्यसैकाे उपज भारत आज काेराेनाभन्दा पनि “इस्लामाेफाेबिया” बाट भयानक स्थितिमा छ । भारत आज काेराेनाभन्दा पनि “इस्लामाेफाेबिया” बाट भयानक स्थितिमा छ। छिमेकमै यस्ताे घटना घटिरहँदा नेपाल चाहिँ के अछुताे रहन्थ्याे? आफूलाई सनातनी र हिन्दुत्वकाे पहरेदार सम्झने माेदी चाचाका पुजारीहरु “बसुधैव कुटुम्बकम्” र “सर्वधर्म समभावः” लाई भुलेर समग्र मुस्लिम समुदायप्रति नकारात्मक टिप्पणी गर्न पछि हटेनन्।जीवन मरणकाे दाेसाँधमा रहेका संक्रमित मुस्लिम भाइहरु र जीवित नै रहेकाहरुलाई पनि हताेत्साहित पार्ने क्रियाकलाप र प्रतिक्रियाहरु आइरहेका छन्। धार्मिक सहिष्णुता र साैहार्दपूर्ण एकतायुक्त मुलुकका रुपमा चिनिने नेपालमा आज धार्मिक सहिष्णुता त परकाे कुरा सामान्य मानवीयता पनि गुमाएकाे जस्ताे घटना देखिनु खुसीको कुरा पक्कै हाेइन । यस विषयमा एकाधबाहेक अधिकांश नेपाली मिडिया सजग देखिन्छन् । तर पक्षपाती र नस्लीय पत्रकारिताले ग्रस्त भारतीय मिडियालाई राम्राे देख्ने केही अतिवादी प्रकृतिका नेपालीहरु भने नेपाली मिडियालाई गलत देख्छन् । जे जस्ताे हाेस् यस विपद्काे घडिमा धार्मिक द्वन्द भड्काउने भन्दा पनि जनस्वास्थ्य र संक्रमण नियन्त्रणकालागि निरन्तर खबरदारी गर्ने नेपाली मिडियाकाे प्रयास सम्मान याेग्य छ । यस्ताे वैश्विक संकटकाे घडिमा धार्मिक, जातीय एवं नस्लीय द्वन्द्व भड्काउनेहरुकै कारण नेपाल भारत जस्तै काेराेना भन्दा पनि “इस्लामाेफाेबिया” बाट बढी ग्रसित हुने त हैन भन्ने प्रश्न खडा भएकाे छ । याे अकल्पनीय विपद्काे घडिमा मानवीय मूल्य मान्यतालाई जाेगाउँदै काेराेना भाइरसमाथि विजय हासिल गर्नु र गिर्दाे अर्थतन्त्रलाई सन्तुलनमा ल्याउनु समग्र मानव जातिकाे प्रमुख चुनाैती हाे । अन्त्यमा, धार्मिक सहिष्णुता र मानवताकाे ख्याल राखाैँ, सुरक्षित रहाैँ, शारीरिक दुरी कायम गराैं, सामाजिक एकतामा जाेड दिऔँ । शंखरापुर, काठमाडौं धार्मिक सहिष्णुता र मानवताकाे ख्याल राखाैँ, सुरक्षित रहाैँ, शारीरिक दुरी कायम गराैं, सामाजिक एकतामा जाेड दिऔँ ।
मृत्यु छिप्कली र भँगेरोको: असारको मैना थियो । हल चलिरहेको थियो। खेतारीहरु खेत रोपिरहेका थिए । आँधि बगिरहेको थियो । तल राजमार्गमा गाडीहरू लस्करै चलिरहेका थिए । सिद्धार्थ राजमार्ग नागबेली आकारमा अगाडि बढेको थियो । दायाँपट्टि मिर्दी, जगत सडक खण्ड, चोकैमा गह्रा–गह्रा फाटेको आकृति, चार पाँच गह्रा आकृतिका सिँढी चढेपछि बायाँतर्फ पुनः सिँढी र यसको ठीक चार तलामाथि नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेन्ट । रेष्टुरेन्टको चारै भित्ताहरूमा आधा खण्डरी सिसैसिसाले घेरिएको थियो र तलपट्टि आधा खण्ड मसिनो जालीले घेरिएको तर भित्ताहरु चारैपट्टि बिल्कुल बन्द थिए । केबल एक ठाउँमा भ्यान्टिलेसनबाहेक । पूर्वतर्फ माछापुच्छ्रेको दृष्य निकै मनमोहक देखिन्थ्यो । सिद्धार्थ राजमार्गको आडैमा चारतला माथिको रेष्टुरेन्ट, ठीक राजमार्गमाथि झुण्डिएजस्तै देखिन्थ्यो । चारैतिर वालिङ नगरीको दृष्य स्पष्ट प्रतित हुन्थ्यो । किचनमा कुक खाना पकाउन व्यस्त थियो । उसको सहयोगी कटिङमा व्यस्त थियो, कोही सरसफाई गरिरहेका थिए । वेटर सर्भिस गर्दै थियो । यत्तिकैमा भ्यान्टिलेसनको सानो प्वालबाट एउटा भँगेरो पस्यो । रोकिंदै, उड्दै, भुरुर्र–भुरुर्र केही क्षण वरपर उड्यो । केही क्षणपछि ऊ रेष्टुरेन्टबाट बाहिर निस्कन चाह्यो । ऊ भुरुर्र उड्दै बाहिर निस्कन खोज्थ्यो उसको ठोंडा सिसामा ठोक्किन्थ्यो । पुन: फर्किन्थ्यो एवम् रीतले ऊ पटक–पटक बाहिरिन बेग लिन्थ्यो जब सिसामा ठोकिन्थ्यो पुनः फर्किन्थ्यो । मान्छेको चेतना र हृदय न हो, वेटर यस भँगेरोलाई बचाउन चाहन्थ्यो । जति–जति वेटर उसलाई छोप्ने प्रयत्न गथ्र्यो उति नै भँगेरो बाहिर भाग्नको लागि उडाईको बेग लिन्थ्यो । यत्तिकैमा भ्यान्टिलेसनको सानो प्वालबाट एउटा भँगेरो पस्यो । रोकिंदै, उड्दै, भुरुर्र–भुरुर्र केही क्षण वरपर उड्यो । केही क्षणपछि ऊ रेष्टुरेन्टबाट बाहिर निस्कन चाह्यो । ऊ भुरुर्र उड्दै बाहिर निस्कन खोज्थ्यो उसको ठोंडा सिसामा ठोक्किन्थ्यो । वेटर र भँगेरोको द्वन्द्व जारी थियो । वेटर उसलाई बचाउन चाहन्थ्यो, भँगेरो बाँच्न चाहन्थ्यो तर न वेटर भँगेरोलाई समाउन सक्षम हुन्थ्यो न त भँगेरो सिसाबाट बाहिरिन सक्थ्यो । एवम् रीतले वेटर भँगेरोलाई समाउन हातको निसाना लगाउँथ्यो भँगेरो बाहिरिन पटक–पटक सिसामा जम्प हान्थ्यो । पटक–पटकको बेगले भँगेरो थकित देखिँदै गयो । उसको ठोंडमा रगतको छिर्का देखिन थाल्यो । वेटर भँगेरो समाउन तब सफल भयो जब ऊ पटक–पटकको संघर्षबाट घाइते बनी भुँइमा पछारिन पुग्यो । उसका पखेटाहरु मुटुको घड्कन जस्तै भ्याट–भ्याट चलिरहेका थिए । आँखा पानीको ताल जस्तै शान्त देखिन्थे । आँखाले एक किसिमको याचना मागिरहेको प्रतित हुन्थ्यो । यस हृदयमा उक्त क्षण सम्झिँदा पनि द्रवित हुन्छ मन । कम्पित हुन्छ तन र अमिलो हुन्छ मन । वेटरले भँगेरोलाई सुस्तरी हातमा च्याप्प च्याप्यो । कचौरामा पानी दियो तर भँगेरो नादान देखिन्थ्यो । उसले कुनै प्रतिकृया जनाएन । ऊ क्षणक्षण कमजोर बन्दै गइरहेको थियो । अन्तत: उसका मुटुको घड्कनजस्ता पखेटाका चालहरु बन्द भए । आँखाहरु स्थिर बने । खुट्टाहरु तनक्क तन्किए । जड बन्यो सम्पूर्ण अङ्ग । दिपावलीको समय थियो । सडकमा पटकाहरु पड्किरहेका थिए । देउसी भैलोको आवाजले पूरा शहर गुञ्जायमान थियो । घरहरु सितारा, माला बत्तिहरुले झर्लक्कै बलेको थियो । दुःख कतै नभएजस्तो प्रतित हुन्थ्यो । यस्तो लाग्थ्यो सम्पूर्ण जगत खुशी नै खुशीले भरपुर थियो । देउसी खेल्नेहरु देउसी खेलिरहेका थिए । तरुनी तन्नेरीहरु सडकमै आ–आफ्ना धुनमा थिए । घर–घरमा पाहुनाहरू आवतजावतको भिड थियो । माला गाँस्नेहरु माला गाँसिरहेका थिए । घरमा बार्दलीको चारैतिर पालामा बत्तीहरु जाज्वल्लमान थिए । तास खेल्नेहरू तास खेलिरहेका थिए । कौडा हान्नेहरूको खालमा निकै भिडभाड थियो । होहल्ला टाढा–टाढासम्म फैलिएर कल्याङमल्याङ आवाजले पूरै शहरमा गुनगुनाहटको आवाज आइरहेको थियो । फट्याङ्ग्रा, भ्यागुता वा अरु केही मन्द गतिमा धुन दिइरहेका थिए । यस्तैमा एउटा चमेरो यमानको पखेटा हल्लाउँदै मन्द गतिमा उडिरहेको थियो । यस्तै अवस्थामा म तासको खालबाट शौचालयतर्फ हुत्तिएँ । शौचालयको सतह सेतो टायलले पूर्ण थियो । कम्बोटमा छिप्कली फ्यात्त खस्यो । कम्बोटको पिंध पानीले भरिएको थियो । छिप्कली चिप्लिंदै पानीभित्र पस्यो । देखिएन । एक्कै क्षण गौर गरिरहे । ऊ बिस्तारै पानीबाट कम्बोटको सतहतिर ठडियो । सुस्त सुस्त अति मन्द गतिमा माथि–माथि ठडियो । सुस्त–सुस्त अति मन्द गतिमा माथि –माथि ठडिंदै थियो । जब ऊ कम्बोटको सतहको कोप्चेरोमा जान्थ्यो अलिकति कोप्रिएको भागबाट माथि आउन सक्दैनथ्यो । जब ऊ कम्बोटको कोप्रिएको कापनेर आउँथ्यो ऊ पछारिँदै कम्बोटको पिंधमा पानीको सतहभित्र पुरिन पुग्थ्यो । फेरि केही क्षणमै पानीबाट निस्कन्थ्यो । सुस्त–सुस्त उही कम्बोटको किनारामा आउँथ्यो । ठडिन्थ्यो कापनेरको किनारा पार गर्ने असमर्थतामा ऊ पुनः पुनः गुल्टिन पुग्थ्यो र उही कम्बोटको पिंधमा विलिन हुन्थ्यो पानीको सतहभित्र । तीन पटकसम्म म यस दृश्यलाई अवलोकन गरिरहेँ तर चौथो पटक छिप्कली यो पसर भरको पानीको सतहबाट माथि उक्लिन सकेन, आएन । मिनेट, केही मिनेट सायद चार पाँच मिनेट जस्तो गौर गरिरहेँ अझै ऊ पसर भरको पानीको सतहबाट बाहिर निस्कन सकेन । सोचें कसैको ज्यान त हो । आत्मा छ, सजिव हो, हिंड्न सक्छ, देख्न सक्छ, ज्यान हो, आत्मा हो बचाउनु पर्छ । बाँच्न पाउनु अधिकार हो । सोच्दा सोच्दै, गौर गर्दा गर्दै चौथो पटक यो छिप्कली माथि निस्कने राह पर्खिदा–पर्खिदा आशा, भरोसा टुट्दै गयो । मैले कत्तिपनि छि–छि दुर्दुर नगरी कम्बोटको पानीमा हात पसाएँ । केको पानीमा, दुर्गन्धमा, फोहरमा, छिः छिः र दुर्दुरमा बिस्तारै छामेँ तर मैले छिप्कलीलाई पाउन सकिनँ । स्याङ्जा, वालिङ -६ मिर्दी सोचें कसैको ज्यान त हो । आत्मा छ, सजिव हो, हिंड्न सक्छ, देख्न सक्छ, ज्यान हो, आत्मा हो बचाउनु पर्छ । बाँच्न पाउनु अधिकार हो ।
प्रेम: अक्सर मानिसहरु यही कुरा भनिरहेका हुन्छन्- ‘प्रेम अमर विषय हो ।’ कसले भन्न सक्छ र ‘प्रेम अमर विषय होइन, यो क्षणिक र क्षणभङ्गुर कुरा हो ?’ प्रेम निरर्थक हुँदै होइन । यो सार्थक र सर्वव्यापि रूपमा फैलिएको छ, लहरिएको छ, झ्याङ्गिएको छ अनि अनन्त अनन्तसम्म फैलिरहनेछ / फूलिरहनेछ । यद्यपि औसत मानिसहरु घृणाका कुटिल आँखाले हेर्छन् – प्रेमलाई । त्यो सर्वथा भ्रम हो, भ्रान्ति हो । मलाई यो घोर आश्चर्य अनि पूर्वाग्रही दृष्टिकोण हो भन्ने लाग्छ । प्रेमलाई घृणाको आँखाले हेर्नु हुँदैन । प्रेमलाई प्रतिशोधको आँखाले हेर्नु हुँदैन । प्रेमलाई स्वार्थका आँखाले हेर्नु हुँदैन । प्रेमलाई विचार / वाद / सिद्धान्त / रङ/ जात / धर्म / संस्कृति कुनै पनि कुराहरू भन्दा माथि रहेर सोच्नुपर्छ । प्रेम निर्बन्ध हुन्छ । प्रेम स्वतन्त्र हुन्छ । प्रेम प्रकृति जस्तै सर्वाङ्ग छ । सर्वाङ्ग छ र त सुन्दर छ प्रेम। हामी स्वार्थी छौं । प्रेम निःस्वार्थ छ । जब हामी स्वार्थ राख्छौँ र प्रेममाथि नकारात्मक सोच राख्न थाल्छौं । प्रेम आँखाको गहिराइमा प्रतिविम्बित हुन्छ । प्रेम हृदयको अन्तरकुन्तरमा अनुगुञ्जित हुन्छ । प्रेम हरेक जीव-जीवात्माको जीवनसँग लहरिरहेको हुन्छ । – प्रेममा घृणा हुन्छ । घृणामा प्रेम हुन्छ । जसरी प्रेमको प्रतीक गुलाफको फूलमा काँडा र फूलको अस्तित्व हुन्छ । काँडा र फूलमा सापेक्षता छ प्रेमको । मानवीय जीवन त झनै प्रेमको अमूल्य पर्याय हो । हामी अनुपम प्रेमको विकल्पमा पलपलको पनि परिकल्पना गर्न पनि असमर्थ हुन्छौं । म हेर्छु- प्रकृतिका हरेक रङहरु जहाँ छताछुल्ल प्रेम फैलिएको छ । रातसँग दिनको प्रेम छ । दिनसँग रातको प्रेम छ । साँझसँग बिहानको प्रेम छ । प्रेमको लहरा लहरिएको जहीँतहीँ । प्रेम प्रकृतिको अनुपम वरदान मात्रै नभएर, यो ब्राह्मण्डको गतिलाई थाम्ने एउटा दर्बिलो मीयो पनि हो । एकै छिन आफ्ना दुई नेत्रलाई चिम्म गर्नुहोस् र प्रेम बिनाको यो सृष्टि कल्पना गर्नुहोस त । यो पूर्णरूपमा असम्भव छ । प्रेमबिनाको संसार कल्पनै गर्न सकिन्न । यो संसारमा कुनै एक पल मात्रै प्रेम रहेन भने, प्रेम भएन भने- आमाको न्यानो वात्सल्यमय काखमा बसेर स्तनपान गरिरहेको अबोध शिशु फ्यात्त भुइँमा झर्छ । यो अन्तरिक्षमा प्रेमले झुन्डिएको पृथ्वी झुत्रुक्क कुनै गडतिरमा झर्छ र समाप्त हुन्छ । प्रेम छ प्रेत्यक हृदयमा फरक । प्रत्येक मस्तिष्कमा फरक । यो विज्ञानको प्रयोगशालामा नापिने/ जाँचिने विषय होइन । प्रेम गहिरो छ – नाप्न नसकिने अथाह गहिरो । प्रेम अजर/अमर छ – मार्न नसकिने । प्रेम अनुपम छ – दाँज्न नसकिने । प्रेम अपार छ – कल्पनै गर्न नसकिने । प्रेम अमूल्य/अतुल्य छ – मूल्य नै गर्न नसकिने । प्रेमको हिसाब अथाह छ, अनन्त छ । कुनै दार्शनिकको परिभाषाबाट बुझ्न सकिँदैन प्रेम । कुनै शब्दका अजस्र स्रोतबाट पढ्न सकिँदैन प्रेम । म हेर्दिनँ प्रेमलाई एउटै कोणबाट । यसका अनन्त-अनन्त आयामहरु छ्न । प्रेम, कविको गजल वा कविता होइन, हुँदैहोइन । निबन्ध वा कथा होइन । नत कुनै कलाकारको सुन्दर सृजना वा संगीतको कुनै हृदयविदारक अलाप नै प्रेम हो ? प्रेम सृष्टिको एउटा अद्वितीय झंकार हो । जसको कुनै रुप र सार छैन । ब्राह्मण्डको सुन्दर र अमूर्त सौन्दर्य मात्रै हो प्रेम । यसका रङहरु अथाह छन् । यसका स्वरूपहरु अथाह छन् । यसका लयहरु अथाह छन् । यसका वादहरु अथाह छन् । यसका रुप र स्वरूपहरु अथाह छन् । शैलीहरु अथाह छन् । यसका नीति र नियमहरु अथाह छन् । यो अमूर्त र अदृश्य छ । हाम्रा प्राणीशास्त्रीहरु विपरीत लिङ्गीप्रतिको अपेक्षा ( प्राप्ति )लाई प्रेम भन्छन् । यो सर्वथा गलत हो । प्रेम अनुभूति मात्रै नभएर यो सृष्टिको अद्भूत चमत्कार पनि हो । प्रेमलाई संसारको कुनै शास्त्रले चिनाउन सक्दैन । बुझाउन सक्दैन । यो संसारका हरेक मानिसको भावना/ अनुहार /दृष्टिकोण /स्वभाव / चाहनाजस्तै भिन्न र पृथक् हुन्छ । जसरी सृष्टिका सात अर्ब मानिसका सबै कुरा फरक छ्न् । प्रेम पनि हरेक जीवाशेषमा नितान्त फरक छ । हरेक जीवको अस्तित्वमा प्रेम अंकुरण भएको हुन्छ । तसर्थ प्रेम जीवन हो, जीवन प्रेमको अस्तित्व । सृष्टि र सिर्जना दुवैको एकाकार भावको समष्ठिगत रुप हो- प्रेम । प्रेमको परिकल्पना हुँदैन्थ्यो भने यो प्रेमिल सृष्टि हुने नै थिएन । कुनै जीव-जीवाशेषको जन्म हुने थिएनन् । जन्मको मूल स्रोत पनि प्रेम नै हो । प्रेमले नै जन्माएको छ हामीलाई । प्रेमले नै बचाएको छ हामीलाई । जन्मको पहिलो पाइतलादेखि हामी प्राणको अन्तिम संघार, चिताको नजिक पुगिरहँदा समेत प्रेमकै तरङ्गले तरङ्गित भइरहेका हुन्छौं । जीवनभर हामी भौतिक संसारमा रमाउने कोसिस गर्छौं । मेरो परिवार/ मेरो जमिन / मेरो घर / मेरो सम्पत्ति / मेरो आफन्त / मेरो पद…….! आदि आदिभन्दै जपिरहेका हुन्छौं । मानिसभित्र लालचीको पिरामिड नै छ । खाँदा, बस्दा,उठ्दा, हिड्दा जत्तिखेरै स्वार्थ सोचिरहेको हुन्छ । लालचमा प्रेम अंकुरण हुँदैन । प्रेम त निष्ठाको मलिलो ड्याङमा मौलाउँछ । ‘मेरो’ भन्ने भावनाले तपाईं हाम्रो जीवन कहिल्यै पूर्ण बन्दैन । अपूर्ण नै रहन्छ । यो पृथ्वी, ग्रह, ताराहरु, ढुङ्गा, माटो, रुख-बिरुवा, खोला-नाला, हिमाल, जीव-जनावर, मानिसहरु, आकाश, धर्ती, क्षितिज, आगो, पानी, सुख दु:ख सबै सबैलाई समानान्तर प्रेम गर्न सक्नुपर्छ नत्र हाम्रो जीवन निरर्थक हुन्छ र प्रेम केवल नाटकमा मात्रै सीमित हुन्छ । यसले हाम्रो जीवन रङ्गमञ्चमा अभिनय गर्ने पात्रझैँ कुनै पलभरको अस्तित्व मात्रै बाँचिरहेका भान गराउँछ । हामी भ्रममा छौं- प्रेम प्राप्ति हुने विषय होइन । यो त अनुभूति मात्रै हो । हामी प्राप्तिलाई प्रेम र अप्राप्तिलाई घृणाका दृष्टिकोणले हेर्छौं अनि जीवनलाई निरर्थक बनाउनेतर्फ लैजान्छौं । जीवन सार्थक बनाउन प्रेमलाई हेर्ने दृष्टिकोण बदल्नु जरुरी छ । हरेक वर्ष आत्महत्याका कयौँ समाचार सुन्नु पर्छ । आत्महत्याको प्रमुख कारण प्रेम नै हो । हामीले प्राप्तिलाई मात्रै प्रेम भनिदिँदा आत्महत्याको ग्राफ संसारभर बढिरहेको छ । हाम्रा महाकवि देबकोटाले इन्द्रीयहरुले गर्नेभन्दा बढी प्रकृतिलाई प्रेम गरे । आफू र आफ्नालाई भुलेर देवकोटाले जन्मनुको सार्थकता उजिल्याए । तसर्थ प्रेम एउटै रूप र प्रकृतिको हुन्न । कोटी- कोटी छन् प्रेमको – रूप र सौन्दर्यको सुगन्ध । अथाह छन – गुण र गौरव । प्रेम आश्वादनमा छ भिन्न-भिन्न । मूल्यमा छ अनेकानेक । हजार तत्त्व र तरहले निर्मित छ -प्रेम ! असंख्य रङ्ग- रोगनले फुलेको छ -प्रेम ! अथाह सुगन्धका सुवासले मगमगाएको छ – प्रेम ! यो अनन्त-अनन्त आयामहरुमा फैलिएको प्रकृतिको निर्विवाद शाश्वत सत्य हो – प्रेम ! – प्रेममा गतिशीलताको वैभव छ – प्रेममा सृजनाको सुगन्ध छ – प्रेममा अस्तित्वको सार छ – प्रेममा जीवनको सौन्दर्य छ – …………….! सबथोक हो प्रेम । प्रेम मानिसहरुले कोरेको आचारशास्त्रमा बसेर गरिन्न । गरिनु पनि हुन्न । प्रेम कुनै शास्त्र /दर्शनले मार्गनिर्देशित हुनुहुन । सबै दर्शन र शास्त्रबाट निर्बन्धित छ – प्रेम । मानवीय चेतनाको विशिष्ट रूप प्रेम न भोग्य र न भोज्य वस्तु हुन् । हामी प्रेमलाई भोग्य र भोज्य साधनका रूपमा व्याख्या गरिरहेका हुन्छौं । -प्रेमको यस्तो नियम छ, जहाँ कुनै नियम नै छैन । यो नदि जस्तै छ – सर्वाङ्ग । यो प्रकृति जस्तै छ – उदाङ्ग । प्रेमका हरेक धाराहरु,हरेक उप-धाराहरु र दफाहरु स्वतन्त्र र सार्वभौम छन् । यो नदिले जस्तै परिवेशअनुसार आफ्नो बाटो आफैं कुँदेर हजारौं किलोमिटरको यात्रा तय गर्छ । तृष्णाले प्रेम उत्पन्न गर्दैन । तृष्णामा केवल स्वार्थ हुन्छ । निष्ठा, त्याग, समर्पण र साधनाले अभ्यर्चना गर्नुपर्छ प्रेमलाई । प्रेमका अर्थ अनन्त छन् । प्रेमका अनेकानेक शास्त्रहरु छन । प्रेम भौतिक वस्तु होइन, जो सजिलोसँग लिन र दिन सकिने ! प्रेम अमूर्त हुन्छ- जसलाई बुझ्न हम्मेहम्मे पर्छ । प्रेम अदृश्य हुन्छ- जसलाई हाम्रो दुईचक्षुले देख्न सक्दैन । यसलाई त हृदयको तेस्रो आँखाले हेर्ने होइन, अनुभव गर्न सक्छ । प्रेम मस्तिष्कबाट सुरु हुन्छ र मानवीय इन्द्रियहरुमार्फत मानिसको भावनामा सिंचित हुन्छ । प्रेम भौतिक शरीरबाट नभएर आध्यात्मिक शक्तिबाट मानिसको जीवनलाई प्रज्ज्वलित गर्ने उच्च चेतनाको गतिशील तरङ्ग मात्रै हो । प्रेम हुनु र नहुनुमा खास अर्थ छैन । – प्रेम नहुँदा /नहुँदै पनि हुनसक्छ । – प्रेम हुँदा /हुँदै पनि नहुनसक्छ । यो त काल जस्तै अदृश्य छ । अदृश्य हुँदाहुँदै पनि सत्य छ । प्रेम आनन्दहरुको पनि सर्वोत्तम आनन्द हो । प्रेम त जहीँ तहीँ हुन्छ । आकाशमा उडिरहेको चङ्गा चुँडिएर बिजुलीको पोलमा अड्किए, चङ्गालाई भुइँको अगाध प्रेम हुन्छ । आमाको भ्रूणमा हुर्किरहेको शिशुलाई पृथ्वीको स्पर्शमा छुट्टै प्रेम हुन्छ । प्रेम जीवनको गीत, जीवनको गति, जीवनको गौरव र जीवनको सौरव पनि हो । हामी प्रेमको अतृप्त तृष्णा लिएर जीवनभर भौंतारिरहेका हुन्छौं । कहिले सपनाहरुका विशाल कुन्युहरुमा कुम्मिरहेका छौं त कैले विपनामा तरङ्गिदै-तरङ्गिदै अनन्त क्षितिजमा दौडिरहेका हुन्छौं । मनलाई पानी जस्तै तरल बनाएर बगिरहनु / सुसाइरहनु पनि त प्रेम नै हो । गतिशीलताको अर्को परिचय हो- प्रेम ! हरेक धर्ममा प्रेम हुन्छ । हरेक दर्शनमा प्रेम हुन्छ । हरेक विचारमा प्रेम हुन्छ । हरेक जातमा प्रेम हुन्छ । हरेक रङ्गमा प्रेम हुन्छ । हरेक लिङ्गमा प्रेम हुन्छ । प्रेम नभएको संसारमा कुनै ठाउँ छैन । धर्मको पनि धरोहर हो -प्रेम – दर्शनको पनि दरबार हो – प्रेम । विचारको पनि बीउ हो – प्रेम । जातको पनि जननी हो – प्रेम । रङ्गको पनि रश्मि हो – प्रेम । लिङ्गको पनि लीला हो – प्रेम । मानिसका मन मनलाई जोड्ने रसायन पनि त प्रेम नै हो । सोच्छु – हामी धर्ममा विभाजित छौं । रङ, विचार, झन्डा, भूगोल …..? के-केमा विभाजित छौं के के ? यी सबै विभाजनलाई जोड्ने यो अचुक रसायन ‘प्रेम’ कस्ले आविस्कार गर्\u200dयो होला ? कसरी निर्माण भयो होला – प्रेमको दर्शन ? प्रेमको न कुनै सिमाना छ ! न कुनै साँध छ ! यो त धर्मका किल्लाहरु भत्काउदै हिंड्छ । देश- देशका सिमानाहरु मेटाउँदै हिंड्छ । रङ्गका भ्रमहरु सिकाउँदै हिंड्छ । विचारका बेमेलहरु फुकाउँदै हिँड्छ । द्वन्द्वका दरारहरुमा एकताका पाठ पढाउँदै हिंड्छ । प्रेमको एउटै सर्वस्वीकार्य मन्त्र छ – “सर्वे भवन्तु सुखिनं: सर्वे सन्तु निरामया:। सर्वे भद्राणि पश्यन्तु मा कश्चिन्तु दु:खभाग्जन:।।
कलुषित पृथ्वी: पृथ्वीको छातीमा रगतको टाटो देख्दछु जति चिथोरे पनि मृत्युबाहेक केही नफलेको, विज्ञानका चमत्कारहरुले मृत्यु सरेको होला केही समय डरेको छैन, टरेको छैन उर्वरता गुमाएको माटो देख्दछु । सीमाको पर्खालले भाइ-भाइमा फाटो देख्दछु बास आवास नै प्रवास भएका प्रेम स्खलित भै सहवास भएका मासहरु अपमनित भै मलमास भएका यस्तै-यस्तै अल्झिएको गाँठो देख्दछु युवाहरुको मस्तिस्कमा राँटो देख्दछु । विचारहरु विचारिएका छन् दर्शन शास्त्र फिँजारिएका छन् नखुलेको जीवन रहस्य नसुल्झेको समस्या अनुभवको अछुतै पाटो देख्दछु अनुभव बिना अल्झिएको बाटो देख्दछु मान्छेका मन-मनमा घाउको खाटो देख्दछु ।
जलन: तृष्णा रुपि क्षीद्र रिक्त-रिक्त घर अहंको गारो आडम्बरको छानो कति बलियो ! मै राम्रो, मै ठूलो भन्दछ । झूटमा बाँच्दछ मुखले “सत्य” भन्दछ, सुन्दैन जीवको व्यथा “शिव”को कथा कहन्छ, देख्दैन आँखा कलम “सौन्दर्य” लेख्दछ । मरुभूमिको खेती आकाशको भर न देखिन्छ नदी न बन्छ नहर के फल्दछ ? चिन्ताले ‘चिता’ जल्दछ ।
मेधावी जनता विदेश नबसून्: ती बाजा मुरली बजुन् दिनदिनै सङ्गीत फेर्दै उठ साहूका पिरबाट मुक्ति दिनहूँ आनन्द भर्दै उठ । मेरो राष्ट्र बचोस् बिहान नहुँदै वैरीहरू खेदिऊन् सारा दोष पखालिओस् अवगुणै मैलोसरी धोइऊन् ।। हत्याका अभिलेख फेरि नबनुन् हिंसा सबै रोकिऊन् भाग्बन्डा नगरी विकास गरियोस् नेताहरू फेरिऊन् । मान्छे मै अविवेक किन्न कसरी कस्ले दियो योजना साँच्चै नै सुकुमार बन्न सकिने कस्ले दियो सूचना ।। मेधावी जनता विदेश नबसुन् छिट्टै फिरुन् देशमा त्यो सेतो पटुकी भिरेर खुकुरी आफ्नै चिनो भेषमा । चौपाया वनका चरेर फिरिऊन् वन्मै नहुन् बास ती आमाका सहरा जवान जगका बाबा गरुन् आश ती ।। ज्यालाका श्रमका विकाम मनका भोकै नहुन् दुर्गति खेतीका करका अनाज नभए भोकै बसुन् के र ती ? तिन्को प्यार हुने भए यदि भने कर्मै गरौला तिमी तिन्को प्यार नपाउने सकल हो भाग्यै हरौला तिमी ।। मोती फल्छ यिनै जुहार नबने के राज गर्छौ तिमी हीरा रत्न फुलेर बास नछरे विश्वास टुट्छौ तिमी । कस्तो काम गरे भुलेर जनता वैसम्य गर्लान् सब पीडा मुक्त गरी खुसी दिनसके को दुष्ट बन्लान् अब ।। कपन काठमाडाै\u200c
केही मुक्तक र केहि कविताहरू: खुकुरी आँधीभन्दा अगाडि ठूलो हुरी आउनेछ त्यो सुक्खा खडेरीमा एक दिन जरुर झरी आउनेछ सार्दै जाऊ मेरो देशको सीमा तिमीलाई उपहार मेरो खुकुरी आउनेछ। ✊ युवा उडेर चन्द्रमा छुनुछ मलाई भाेका र नाङ्गाहरुको आँसु पुस्नु छ मलाई पीडामा परेका दुःखीहरुको हात समाउनु छ मलाई नयाँ जोशिला युवाहरुसँग एकजुट भई मेरो देश नेपाल बनाउनु छ मलाई। देश अति भइसक्यो यहाँ अतिचार हुन लागिसक्यो देशको नाउँ नै हेर लाचार भइसक्यो भारतले अतिक्रमण गरेको जमिन फिर्ता पाउनका लागि अब सबै जुट्नु पर्छ कलमबाटै गर्ने दवाव अब एउटा विचार भइसक्यो। आमा आमा तिमी महान् छौ, जन्मायौ हुर्कायौ अनि मलाई बडायौ नौ महिना कोखमा राखी मलाई यस धरतीमा उतार्\u200dयौ हजारौँ चोटहरुसँग लड्दै ज्ञानी बन्न सिकायौ ठूलालाई आदर र सानालाई माया गर्न सिकायौ आमा तिम्रो ममता महान् छ, भनिन्छ दुःखपछि सुख खोजेर पाइन्छ तर आमाको जस्तो अथक माया कहाँ खोजेर पाइन्छ? आमा तिमी मुस्कुराउँदा मेरो मन रमाउने गर्दछ मेरा जतिसुकै कठिन परिस्थिति टरेर जाने गर्दछ साथी, भाइ, दिदी, बहिनी, इष्टमित्र खोजेर पाइने तर आमाको माया खोजेर नपाइने। मित्रता मित्रता मौसम होइन समयअनुसार परिर्वतन हुने मित्रता साउनको झरी होइन, वर्षापछि रोकिने मित्रता आगो होइन, सल्केपछि खरानी भइहाल्ने मित्रता फूल होइन, फक्रे पछि ओइलाइहाल्ने मित्रता श्वास हो, जबसम्म चल्छ तबसम्म जीवन रहन्छ जब टुट्छ त जीवन बिलाउँछ अरबको सपना खाडी मुलुकमा एक्लो भई रोइरहेको छु म तातो हावा र नुनीलो पानीमा सड्दै गएको छु म कोरोनाको डरले निशब्द हुन थालेको छु म कसरी सुनाउँ मेरा मनका भावना कसैलाई दु:खैदुःखको भार बोक्दै निकै तल झरेको छु म। सपना सपनाहरुमा हराँउदै गएको छु म होसमा पनि मदहोश हुँदै गएको छु म के छ त्यस्तो तिम्रो त्यो मुस्कानमा आफूलाई रोक्दा समेत तिम्रो हुँदै गएको छु म। स्वाभिमान अक्सर जो मान्छे सत्यको लागि लड्छ उसलाई आफ्नो छविको ख्याल हुदैन् उसलाई टाढिएका मान्छेहरुसँग मतलब हुँदैन सिर्फ उसलाई आफ्नो स्वाभिमानको बढी ख्याल हुन्छ। जिन्दगी जिन्दगी एउटा सुन्दर सपना हो जसमा जिउने चाहना हुनु पर्\u200dयो, दु:ख आफैँ खुशीमा बद्लिन्छ बस मुस्कुराउने बानी हुनु पर्\u200dयो। ? एक एक परिचयले हजारौँ साथी बनाइदिन्छ,? एक मुस्कानले हजारौँ पीडा लुकाइदिन्छ? जिन्दगी बाटो हिँड्दा सम्हालेर हिँड्नु, एक गल्तीले हजारौँ सपना जलाइदिन्छ।? प्यारी पीडैपीडाले मुटु जलाउन थालेको छ प्यारी भोको पेटले पूरै ज्यान गलाउन थालेको छ प्यारी अन्तिम त हुँदैन होला है हाम्रो प्रेम कहानी तर पनि कता-कता लाग्दैछ सकिदैछ अब हाम्रो कहानी।?
मेरो प्रिय पुस्तक गुणरत्नमाला: बाल्यकालमा निक्कै चाख लिएर पढेको पुस्तक हो, पण्डित जगन्नाथ गुरागाईंको ‘गुणरत्न माला’ । गाउँ घरतिर यो पुस्तक त्यतिबेला रामायण, महाभारत जत्तिकै लोकप्रिय थियो । बाले लय हालेर पढेको सुन्दासुन्दै यो पुस्तकका आधा जति श्लोक मलाई कन्ठै भएका थिए । पछि म आफैँ पनि त्यसै गरी लय हालेर पढ्न थाले । जति पढ्यो उति पढ्न मन लाग्ने यो पुस्तक चार कक्षा पुग्दा मैले पूरै कण्ठ पारेको थिएँ । पुस्तकमा सानासाना शीर्षकमा वर्गीकरण गरिएका धेरै जीवनोपयोगी मन्त्रहरु छन् । शिक्षाको महत्त्व, उद्योग व्यवसायमा हुनसक्ने व्यवधान र त्यसमा राख्नु पर्ने धैर्यता, सफलताका सूत्रहरु, इन्द्रिय नियन्त्रण, सन्तानका कर्तव्यजस्ता अनेक विषयलाई बडो सरल तरिकाले व्याख्या गरिएको छ । सानोमा यो पुस्तक मैले कति बुझ्थेँ थाहा छैन तर अहिले त्यस पुस्तकका श्लोकहरु सम्झँदा प्रत्येक श्लोकमा विलक्षण विशेषता भएको महसुस गर्छु । दुःख पर्\u200dयो भनेर सबैतिर विलौना गर्दै नहिँड्नु भन्दै कवि भन्छन् ए काकाकुल ! सावधान मनले एउटा कुरा सुन यता, आकाशैभरि मेघ छन् तर पनि छैनन् एकैनासका । क्वै छन् पानी दिने नगर्जिकन नै कोही गर्जने मात्र हुन, जो-जो पर्छ अगाडि त्यससित नरो जानेछ व्यर्थै वचन ।। अर्को यो पंक्ति त सायद उनले एनआरएन कम्युनिटीलाई नै लक्षित गरेर लेखेका हुन् कि जस्तो लाग्ने के आफ्नो देश अनि के छ बिरानो देश, जो आँटिलो छ उसलाई सबै स्वदेश । उत्साह जाँगर पराक्रमले डटेर, निर्धक्क भै जहीँतहीँ गरी खान्छ वीर ।। इन्टरनेटमा विक्रम सम्बत् २००० तिर प्रकाशित गुणरत्नमाला पाइँदोरहेछ । पछिल्लो समय त मञ्जरी प्रकाशनले समेत पुनः प्रकाशन गरेको छ । बेलाबेलामा म यसलाई पुनर्पाठ गरिरहेको हुन्छु। मलाई मनपर्ने पुस्तकहरूको सूचीमा यो पनि पर्ने गरेको छ ।
पाँच हाइकु: १. यात्रु बीचमा, सधैँ अल्मलिएको एयरपोर्ट ! २. गरिबी गीत, अब यु ट्यूबभरि बज्न थाल्ने छ ! ३. माछापुच्छ्रे त, फेवातालमा नै पो डेरा सरेछ ! ४. उनी त सधैँ, मेरो पर्स नै किन मन् पराउँछिन् ? ५. बाबु पार्टीमा, छोराको काम छैन बेरोजगार !
सुसाइड नोट: खड्गे बा समाजका गन्यमान्य, न्यायप्रेमी व्यक्तित्व थिए । समाजमा सानोतिनो वादविवाद, झैँ-झगडा हुँदा उनले नै मिलाउँथे । सबैले उनकै कुरा सुन्थे पनि । उनको निर्णय मान्थे । उनी पनि कसैलाई अन्याय नहोस् भन्ने चाहन्थे । जे हो त्यो सिधै भन्थे । सत्यनिष्ठ मान्छे थिए । ठाडो र कडा स्वभाव भएका कारण पनि सबै उनीसँग अदबसँग बोल्थे । आदर गर्थे । सबैको भलो चिताउने उनी प्रायः सबेरै उठेर गाउँको एक चक्कर काटेर सबैको वस्तुस्थिति बुझेपछि बल्ल घर आएर चिया पिउन बस्थे । सारा गाउँलेले मानेका यस्ता व्यक्ति एकदिन एक्कासि हराए । घर-गाँउ जताततै हल्ला फैलियो । परिवारमा रुवाबासी नै चल्न थाल्यो । जहिले घरबाट निस्किँदा श्रीमतीलाई भनेर निस्कन्थे तर त्यो दिन भने सुटुक्क निस्केका रहेछन् । कसैले पनि देखेका रहेनछन् त्यो बिहान खड्गे बालाई । दुई दिनसम्म पनि अत्तोपत्तो नलागेपछि परिवारले पुलिसमा निवेदन दिएछन् । पुलिसचौकीमा रिपोर्ट लेखाएको भोलिपल्ट बिहान विरुवाफाँटको एउटा गह्रोमा एउटा बेवारिसे लाश फेला परेछ । पुलिसले त्यो लाश समीको रुखमा झुन्डिएको अवस्थामा फेला पारेको रहेछ । रिपोर्टमा लेखिएको हुलिया र लाशको हुलिया मेल खाएपछि प्रहरीले खड्गे बाको परिवारलाई लाशको सनाखतको लागि बोलाएको थियो । लाशको प्रकृति हेरेर पुलिसले गरेको प्रारम्भिक अनुमान पनि आत्महत्याको नै थियो । आत्महत्या भए पनि लाशसँगै सुसाइड नोट वा अरु केही सामान भने फेला नपरेको प्रहरीले जनाएको थियो । घरमा यो खबर सुन्नासाथै खड्गिनी बजै मुर्छा परेर आँगनमा ढलिन् । बुबा हराएको खबर सुनेपछि खड्गे बाका दुवै छोरी अघिल्लो दिनै माइत आएका थिए । छोरीहरु आफ्नो पीडा सम्हालेर आमालाई सम्हाल्न लागे । छोरो स्वप्न एकजना साथी लिएर लाश सनाखत गर्न हस्पिटलतिर लाग्यो । नभन्दै त्यो लाश खड्गे बाकै थियो । यो खबरले गाउँ पूरै शोकमग्न भयो । स्तब्ध भयो । सबै गाउँलेले एउटा असल अभिभावक गुमाएको महसुस गरे । शोकसँगसँगै खड्गेबाको आत्महत्याले सबैको मनमा अनेकौं प्रश्नहरु पनि जन्मिए । पोस्टमोर्टमपश्चात् खड्गे बाले आत्महत्या नै गरेका थिए भन्ने निश्चित भयो । त्यसपछि लाश परिवारलाई जिम्मा लगाइयो । खड्गेबाले आत्महत्या गरेको पुष्टि भैसक्दा पनि कोही विश्वस्त थिएनन् । विशेषगरी खड्गीनी बजै यो कुरा मान्न तयार नै थिइनन् । तर, कहिलेकाहीँ हामीले केही कुरा मान्नु-नमान्नुले केही औचित्य राख्दैन, जति औचित्य राख्छ, त्यो आँखा अगाडिको सत्यले राख्छ । यहाँको स्थिति पनि ठीक त्यस्तै थियो । खड्गे बाको लाश भेटिएको सुनेपछि फेरि इन्तु न चिन्तु बनेकी खड्गिनी बजैलाई गाँउलेहरुले टाउकोमा पानी ठटाएर बल्लतल्ल होशमा ल्याएका थिए । होशमा आएदेखि उनी एकोहोरिएकी थिइन् । छोरीहरु पनि पूरै शोकमग्न थिए । कसैको हंस ठाउँमा थिएन । सबै प्रायः टोलाउॅंथे । नटोलाएको बखत डाँको छाडेर रुन्थे । यो हृदयविदारक दृश्य देखेपछि गाउँभरि कसैको आँखा ओभाना थिएनन् । कहिलेकाहीँ हामीले केही कुरा मान्नु-नमान्नुले केही औचित्य राख्दैन, जति औचित्य राख्छ, त्यो आँखा अगाडिको सत्यले राख्छ । लाश सबैको सहमतिमा घरमै ल्याउने र घरबाटै दाहसंस्कारको लागि घाटमा लैजाने कुरा भयो । खड्गे बाको लाश शव बाहनले घरमा ल्याउँदा आँगनभरि मान्छेको भीड थियो । सबै खड्गेबालाई अन्तिम पटक हेर्न चाहन्थे । खड्गे बाको लाश आँगनमा हुल्नासाथ फेरि रुवाबासी चल्न थाल्यो । घरका सदस्यहरुको आलाप-विलाप देखेर त्यहाँ उपस्थित सबका आँखा रसाए । गला अवरुद्ध भए । उता खड्गिनी बजैको शान्त र एकोहोरोपनले सबै चकित थिए । उनले भने सुँक्क पनि गरिनन् । दिन ढल्कँदो थियो । लाशलाई धेरैबेर घरमा राख्नुको कुनै औचित्य थिएन, त्यसैले सबै जना लाशलाई घाटतिर लाने सुरसार गर्न लागे । कोही हरियो बाँस काट्न लागे । कोही कात्रो च्यात्न । कोही लाश भन्दा अगाडि बस्ने मलामीहरुले बोक्ने बाटो बनाउन लागे । कोही लाभा भुट्नतिर लागे । सबैजनाको रुवाबासीको बीचबाट खड्गे बाको लाश घरबाट निकालियो । तगारोबाट निस्किने बेलामा बल्ल खड्गिनी बजैको मुखबाट चित्कार निस्कियो । डाँको छोडेर “मेरो राजा किन यस्तो गर्नु भयो नि! मलाई बीचैमा छोडेर किन जानु भयो?” भनिन् र फेरि अचेत भएर ढलिन् । यसपटक पनि छोरीहरुले नै उनलाई सम्हाले । गाउँघरमा मर्दापर्दा सबै काम मिलेर गर्ने चलन हुन्छ । म पनि छिमेकीको नाताले सानोतिनो काम सघाउन भनेर नै खड्गे बाको घर गएको थिएँ । मलाई रमेश काकाले किरिया बस्ने ठाउँको व्यवस्था गर्ने जिम्मा लगाइदिनुभयो । किरियापुत्री बस्ने ठाउँ बनाउन कोठाका सामानहरु हटाउनु पर्ने थियो । खड्गे बाकै कोठामा पनि एकजना किरिया बस्ने भन्ने सल्लाह भयो । खाट-बिस्तरा पनि हटाउन पर्ने भयो । यत्तिकैमा खड्गेबाको खाटको बिस्तरा झिक्दै गर्दा मेरो खुट्टमा केही झर्\u200dयो । यस्सो हेरेको एउटा जतनसाथ पट्याएर राखिएको कागजको टुक्रा रहेछ । बाहिर लान उचालेको बिस्तरा पुन: खाटमै राखेँ । र, त्यो कागज टिपेँ । कागज खोलेर हेर्दा त्यसमा निकै आकर्षक अक्षरमा एउटा लामो चिठ्ठी जस्तो केही लेखिएको थियो । खोलेर यस्सो पढ्न मात्रै के आँटेको थिएँ, कसैले मेरो नाम बोलायो । मेरो नाम सुन्नासाथ मैले त्यो चिठ्ठी कमिजको खल्तीमा घुसारेँ र बिस्तरा लिएर बाहिर निस्किएँ । बेलुका सब काम सकेर मलामीहरु फर्किसकेपछि म पनि आफ्नो घर फर्किएँ । बेलुकाको खाना खाइओरी सधैंझैं आफ्नो कोठामा सुत्न गएँ । सुत्नुअगि दिनभर लगाएको कमिज काढ्दै थिएँ, अकस्मात् मेरो हात कमिजको गोजीमा पर्\u200dयो । हात गोजीमा पर्नासाथ दिउँसो खड्गे बाको घरमा हुँदा भेट्टाएर राखेको कागज झल्याँस्स सम्झिएँ । गोजीबाट कागज झिकें । किन-किन पढ्नुभन्दा पहिले त्यो कागज त्यसै सुम्सुम्याएँ । तर, जब त्यो कागजमा लेखिएको कुरा पढ्न सुरु गरेँ, पहिलो वाक्यले नै मलाई विक्षिप्त बनाइदियो । म बसिरहेको जमिन नै भास्सिए जस्तो झट्का लाग्यो । त्यो त खड्गे बाले घर छाड्नु अगाडि घरका सदस्यलाई लेखेर छोडेको सुसाइड नोट पो रहेछ! त्यसको सुरुमै लेखिएको थियो- सायद तिमीहरुले यो नोट भेटेर पढ्ने बेला सम्ममा मैले यो संसार छोडिसकेको हुनेछु । केहीबेर रोकिएपछि फेरि पढ्न थालें । सुसाइड नोटमा अगाडि लेखिएको थियो- कत्ति छिटो मान्छे एउटा मनस्थितिबाट अर्कोमा पुग्दोरहेछ, त्यो बुझ्न मलाई यत्तिका साल लाग्यो । मैले बाँच्नु भन्दा मर्नुमा नै आफ्नो मनको भलो हुने देखेर नै यो निर्णयमा पुगेको हुँ । मलाई कसैमाथि केही गुनासो छैन । मेरो मनलाई मैमाथि नै धेरै गुनासाहरु थिए र मसँग ती तमाम गुनासाहरुको कुनै समाधान थिएन । म मेरो मृत्युको दोष कसैलाई पनि दिन चहान्नँ तर मेरो मृत्युको कारण भने भन्नै पर्छ भन्ने लागेर नै यो नोट लेख्दैछु । केही महिना अगिदेखि म निकै नै कष्टकर मानसिक स्थितिबाट गुज्रिरहेको थिएँ । जुन दिन मैले बुबाको निशानी खेत बेचें, त्यो दिनदेखि मेरो मनमा एक किसिमको बेचैनीले डेरा जमाएर बस्न थालेको थियो । मौकामा हिरा पनि फोर्नुपर्छ भन्ने सोचेर नै म त्यो खेत बेच्ने निचोडमा पुगेको थिएँ । स्वप्नले केही व्यवसाय गर्छु भनेर आँटेको थियो । मलाई पैसा जुटाइदिन भन्यो । मसँग गोजीमा फुटेको कौडी थिएन । मेरो नाममा घर भएको जग्गा र त्यही विरुवाको टारी खेत थियो । जवानीमा दुःख गरेर जम्मा गरेको पैसा सबै छोराछोरीहरुको पालनपोषण, पठनपाठन र बिहेबारीमै सकियो । म घर र घर वरपरको जग्गा बेचेर सबैको बिल्लीबाँठ पार्न सक्दिनथें । मसँग त्यही खेत बेच्नु सिवाय अर्को कुनै उपाय थिएन । मेरो बुवा भन्नुहुन्थ्यो- “सन्तानका रहरहरु पूरा गर्न नसक्ने बाबु संसारको सबैभन्दा असफल मान्छे हो ।” बुबाको आदर्शलाई म सधैं पछ्याइरहेको थिएँ । मलाई सधैं उहाँका वाणीहरुले मार्गदर्शन गर्थे, तर उहाँले भनेको कुरा यो पालि मेरा लागि बाझिन पुगे । मलाई निकै सकसमा पारे । छोराको खुशी व्यवसाय गर्नुमा थियो । त्यो व्यवसाय गर्न चाहिने लगानीका लागि मँसग बुबाको यो चिनो बेच्नुबाहेक अरु कुनै विकल्प बाँकी थिएन । धेरै आत्ममन्थन गरेर त्यो खेत बेच्ने निर्णयमा पुगेँ । समयानुसारको दाम पनि राम्रै मिलेको थियो तर मलाई खेत बेचेपछि हररात ऐँठन हुन थाल्यो । मेरो निद्रा हरायो । भोक लाग्न पनि छाडेको थियो । मेरो बेचैनीले सीमा नाघ्यो, जब स्वप्नले जग्गा बेचेको सबै पैसाले पनि लगानी गर्न पुगेन भनेर गुनासो गर्\u200dयो । त्यसपछि मेरो मन एउटै कुराले ख्याउ-ख्याउ खान थाल्यो । न त बुवाको नाशो बाँकी रह्यो, न त छोरो खुशी नै । यस अर्थमा म पूरै असफल भइसकेको थिएँ । मलाई लाग्यो, समयसँग त्यस्तो शक्ति हुन्छ, जसले जस्तोसुकै आशावादी मान्छेलाई पनि निराशावादी तुल्याइदिन सक्छ । मलाई पनि त्यस्तै केही भयो । निराशाको कालो बादलभित्र गुम्सिएझैं महसुस गर्न थालें । गाउँमा कोही कतै जम्मा भए पनि सबैले मेरै कुरा काटेझैं लाग्न थालेको थियो । सबैलाई न्याय दिन्छु भन्ने खड्गे आफ्नै पितृलाई भने न्याय गर्न सकेन भनेर कुरा काट्छन् होला भन्ने अड्कल काट्थेँ । मलाई निकै डर पनि लागिरहेको थियो । मेरा बुबाले त्यो खेतमा मलाई लिएर जाँदा सधैं भन्ने गर्नुहुन्थ्यो- “बाबु, यो खेत फगत खेत मात्र होइन, सपना पनि हो । भावना पनि हो । ख्याल राखेस्, यो खेतमा पानी मात्र होइन, हाम्रा पुर्खाहरुको रगतपसिना पनि मिसिएर बग्दै आएको छ । यो खेत मेरो हजुरबुवाले मेरो बुवालाई, मेरो बुवाले मलाई र मेरो शेखपछि यसको भोगचलन तैंले नै गर्ने होस् । मैले झैँ तैंले पनि यसलाई सिँच्नु । मैले जस्तै यसलाई जोगाएर तेरो छोरालाई जिम्मा लाउन सकिस् भने तेरो जीवन पनि सार्थक हुनेछ । मलाई थाहा छैन, तँलाई यो खेतमा टेक्दा कस्तो महसुस हुन्छ तर मलाई भने यो खेत निकै प्यारो लाग्छ । मलाई सुरुमा यो जग्गा फगत् जग्गा मात्रै त हो नि भन्ने लागेको थियो । तर जब बुबाको मृत्यु भयो, त्यसपछि बल्ल मेरा लागि यो खेत खेत मात्रै रहेन । अहिले मलाई लाग्छ, मेरो बुबा लगायत हाम्रो तमाम पुर्खाहरुको आत्मा यतै वरपर घुमिरहेछन् ।” मेरो मृत्युपछि मेरो हंस पनि त्यही खेतमै बसोस् भनेर म त्यतैतिर लागेको छु । मलाई पनि मेरो पुर्खाहरुसँगै डुल्नु छ । हिजो सपनामा बुबाले निकै दुःख मानेर भन्दै हुनुहुन्थ्यो- “बाबु, गाह्रो भए, आइज् यतै । दुःख पाइस् ।” त्यसैले म पनि बुबाले बोलाएको ठाउँमा जाँदैछु । मेरो मरणअघि नै यो नोट भेटेछौ भने पनि मलाई नखोज्नू । बचाउने चेष्टा नगर्नू । मेरो मृत्युको पूरै जिम्मेवारी म स्वयं लिन्छु । अन्त्यमा, मेरो यो कदमले को-कोलाई कस्तो आघात पुग्नेछ, त्यो त मलाई थाहा छैन, तर मैले तिम्लाई भने अन्याय गरेको छु, राधा । म तिम्रो दोषी हुँ, सक्छौ भने मलाई माफ गर्देऊ है! यो जुनीलाई यत्ति नै! सबैमा माया । अलबिदा । खड्ग बहादुर खड्का यति पढिसक्दा म थरथर काँपिरहेको थिएँ । शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । मनमा अनेकौँ तर्कना खेल्न थालेका थिए । मनमा दुविधा पनि थियो । दुविधा यो कुरामा थियो कि अब मैले त्यो नोट खड्गे बाको परिवारलाई दिउँ कि नदिउँ? एकमन त लाग्यो, मैले त्यो नोट पढ्नै हुँदैन्थ्यो । त्यो मेरो लागि लेखिएकै थिएन । नोट पढेकोमा मलाई ग्लानि भयो । सोचें, यो नोट कसैलाई सम्बोधन गरेर लेखिएको छ । खड्गे बा आफ्नो मृत्युको कारण र दोष कसैलाई लगाउन चाहँदैनथे भन्ने व्यहोरा पनि यसमा लेखिएको थियो । उनी सबले उनको कुरा र परिस्थिति बुझेर उनलाई माफ गरिदिऊन भन्ने पनि चाहन्थे । फेरि यो पनि लाग्यो कि, यो कुरा जसका निम्ति लेखिएको हो, उसले पढ्नै पर्छ । खड्गे बाको बारेमा बनेका नानाभाँति मिथकहरुको खण्डन पनि यो नोटले गरेको थियो । तर, व्यक्तिगत रुपमा मलाई भने आत्महत्या नै गर्नपर्ने त्यस्तो कुनै ठूलो र ठोस कारण भने केही रहेनछ भन्ने लाग्यो । खड्गे बाले निकै तनाव मानेर त्यस्तो ठूलो निर्णय लिन पुगेका रहेछन् । अदृश्य मनको हाउगुजीले उनलाई मृत्युसम्म डोर्\u200dयाएको रहेछ । उनलाई मनको बाघले नराम्ररी खाइदियो । अन्त्यमा म त्यो नोट खड्गे बाको परिवारका सदस्यलाई दिने निर्णयमा पुगेँ । दिन त दिने तर कसरी? सोचेँ, आज लगेर दिएँ भने ममाथि थुप्रै प्रश्नहरु बज्रनेछन् । कहाँ भेटिस्? कहिले भेटिस्? हिजो भेटेको भए हिजै किन दिइनस्? आज ल्याएर किन दिँदैछस्? ह्या, जे होस् होस् ! जे हो त्यो भन्दिन्छु र एकजनालाई थमाइदिन्छु । मैले केही बिराएको होइन, किन डराउनु? त्यो नोट मैले जानेर गोजीमा हाल्या पनि होइन त म किन डराउनु? यावत् कुराहरुले आफैँलाई दह्रो पार्ने कोसिस गरेँ । भोलिपल्ट बिहानतिर म खड्गे बाकोमा गएँ । त्यो नोट कसलाई दिने होला भन्ने मात्र सुर्ता थियो मलाई । लाग्यो, खड्गिनी बजै पढ्न जान्दिनन्, उनलाई दिएर फाइदै छैन । अन्त्यमा खड्गे बाको छोरो स्वप्नलाई नै दिँदा उपयुक्त हुन्छ होला भन्ने लाग्यो । मनलाई दह्रो पारेर खड्गे बाको घर गएँ । भोलिपल्ट खड्गेबाको घर पुग्दा सबै पिँढीमा बसेर झोक्राइरहेका थिए । एउटा कुनामा स्वप्न मोबाइल हेरेर बसिरहेको थियो । म आएको देखेर उसले मतिर हेर्\u200dयो र यन्त्रवत् मुस्कानले स्वागत गरेझैं गर्\u200dयो । उसको त्यो मुस्कान मान्छेको मनमा पीडा हुँदाहुँदै मुस्कुराउँदा निस्कने असुहाउँदो मुस्कान थियो । मैले स्वप्न नजिकै गएर अरुले नसुन्ने गरी भनें, “स्वप्न, एउटा कुरा भन्नुथियो !” उसले मोबाइलको स्क्रिनबाट नजर नहटाई सोध्यो- “के कुरा ?” मैले भनें- “बुबाले देह त्याग्नुअघि एउटा नोट छोड्नु भएको रहेछ । त्यो मसँग छ, हिजो ठाउँ बनाउँदा भेटेको थिएँ, दिन्छु भनेको बिर्सेछु । अहिले मसँगै छ, यी लिऊ!” यति भनेर मैले त्यो नोटलाई अलक्क भुईंमा राखिदिएँ । उसले टिप्यो, खोल्यो र अचम्म त के भयो भने उसले त्यो नोट पढ्दै नपढी टुक्राटुक्रा पारेर आँगनमा फालिदियो । म लगायत आँगनमा जम्मा भएका सबैजना ट्वाल्ल परेर एकअर्काको मुख ताक्न थाले, तर कोही केही बोलेनन् । त्यो सुसाइड नोट पढेको म किंकर्तव्यविमूढ भएर त्यही उभ्भिरहें । व्यक्तिगत रुपमा मलाई भने आत्महत्या नै गर्नपर्ने त्यस्तो कुनै ठूलो र ठोस कारण भने केही रहेनछ भन्ने लाग्यो । खड्गे बाले निकै तनाव मानेर त्यस्तो ठूलो निर्णय लिन पुगेका रहेछन् । अदृश्य मनको हाउगुजीले उनलाई मृत्युसम्म डोर्\u200dयाएको रहेछ । उनलाई मनको बाघले नराम्ररी खाइदियो ।
लकडाउन खुलेको भोलिपल्ट: म- खुशी थिएँ थ्याङ्क गड एक पटक मनमनै भगवानलाई धन्यवाद दिएँ । कुरो बुझ्यौ नि ! छेउमै बसेकी मेरी पियारीलाई सँगसँगै बाँचेको खुशियालीमा एउटा खुशीको ट्रिट खुवाउने मेसो सुझाउँदै थिएँ । सडकमा हल्ला बेजोड थियो, घर घरबाट मान्छे निस्कने हतारोमा थिए, कोही गाडी चढ्दै थिए, र, कोही झर्दै… उही भीड उही खचाखच कसैलाई कसैको मतलब थिएन, सबै- आ-आफ्नै तालमा यतिसम्म कि हिजोको त्यो दिन सम्झने त्यहाँ कसैलाई फुर्सदसम्म थिएन सबै उस्तै उही रत्नपार्क उही घण्टाघर उही असन उही इन्द्रचोक बद्लिएछ त केवल- नयाँ साल ।
साथीको सवाई: सुन सुन साथी हो म केही भन्छु । साथी र भाइको सवाई कहन्छु ।। साना साना हात मेरा सानै कुरा लेख्लान् । साना साना आँखा मेरा सानै कुरा देख्लान् ।। धेरै जना साथी हुन्छन् साँच्चै साथी थोरै । कुरा मिल्ने धेरै होलान् मन मिल्ने थोरै ।। एउटालाई चोट पर्दा अर्को दुख्नु पर्छ । साथीलाई मर्का पर्दा सबै जुट्नु पर्छ ।। आयो भने समस्या सबै जुटौं साथी । हटाएर समस्या खुशी बनौं साथी ।। एउटा हातले बज्दैन कहिले पनि ताली । मिलिजुली बजाऔं दुवै हातले ताली ।। ठूलालाई आदर गरौं सानालाई माया । सुख दुःख जिन्दगीको जस्तै घाम छायाँ ।। संकटमा मद्दत गरौं उन्नतिमा खुशी । रचनामा दंग परौं सिर्जनामा सुखी ।। लेखेँ मैले कविता गाएँ मैले गीत । हामी सबै मिली गरौं एक अर्काको हित ।। कक्षा ५, मातृभूमि स्कूल, लोकन्थली, भक्तपुर
आज अविनाश श्रेष्ठको ६४ औँ जन्मदिन: यसपाला साहित्यकार अविनाश श्रेष्ठलाई दुई दिन जन्मदिन मनाउने बाध्यता पर्यो । ६३ वर्षअघि १४ मेमा जन्मिएका दिन नेपाली मिति अनुसार वैशाख ३१ थियो । त्यसैले यस पटक वैशाख ३१ मे १३ मा नै परेको हुनाले उनलाई परिवारले बिहानै सगुन दिए । औपचारिक रूपमा भने आज १४ मेमा जन्मदिन मनाउँदैछन् । नेपाली साहित्यमा सशक्त कथा संग्रह ‘तान्या, इन्द्रकमल र अन्धकार’ तथा ‘अस्वस्थामा हतोहतः’ नाट्यकृति सहित अन्य तीन कविता संग्रह दिएका उनी यमनारायण तथा लक्ष्मीको पहिलो सन्तान हुन् । बाल्यकालदेखि नै लेखनमा रूचि राख्ने उनले गुवाहटीमा स्कुल तथा कलेज पढ्दा कविता, सायरी तथा नाटक लेख्ने गरेका थिए । त्यतिबेला नै उनी स्कुल तथा स्थानीय स्तरका स्टार थिए । कतिसम्म भने उनलाई दिनमा दर्जनौँ प्रशंसकका पत्रहरूसमेत आउँथे । कतिपयले त प्रेमपत्र नै लेख्थे । ‘कोलाज कविता आन्दोलन’का सदस्यसमेत रहेका उनी पछि उच्च अध्ययनका लागि काठमाडौँ आए । काठमाडौँमा पढ्दाताका शुरूवाती चरणमा बाम राजनीतिमा चासो दिएका उनले पछि राजनीति छाडेर पूर्णकालीन लेखक नै बने । उनले नेपाल टेलिभिजनको शुरूवातकालदेखि नै टेलिफिल्मकाे लेखन तथा निर्देशन समेत गरेका छन् । उनको योगदानका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने ‘समकालीन साहित्य’ म्यागेजिनको सफल सम्पादकत्व पनि एक हो । उनको कार्यकालमा नयाँ पुस्ताका रचनाकारहरूले ठाउँ मात्र बनाएनन्, त्यहीँबाट परिचय फराकिलो बनाएका थिए । उनलाई साहित्यपोस्टका तर्फबाट जन्मदिनको धेरैधेरै शुभकामना ।
आफैँसँग अन्जान कविहरूः ट्रक साहित्यजस्तै सञ्जालमा छरपस्ट लक डाउन साहित्य: हरेक व्यक्तिहरु विशेष हुन्छन् । कलाकार हुन्छ । कोरानाका कारण देश विगत डेढ महिनाभन्दा लामो समयदेखि लक डाउनमा छ । मान्छेहरु घरघरमा थुनिएका छन् । अधिकांशको दैनिकी फेरिएको छ । मानिसले परिवारका लागि समय पाएको छ । त्योभन्दा धेरै आफ्नो लागि पाएको छ । फुर्सदमा हाम्रो दिमाग बढी नै सिर्जनशील हुन्छ । सिर्जनशील हुन पाएको छ । यो फुर्सदको समयमा हामीमध्ये धेरैको समय कटाउने मेसो सञ्जाल बनेको छ । मान्छेमा लुप्त कला सञ्जालले प्रसारित गरिरहेको छ । साँच्चैभन्दा यो समय मान्छे आफैँमा हराइरहेको छ । आफैमा बिलाइरहेको छ । आफैँमा हराउन जान्नु भनेको आफूसम्म पुग्नुमा पहिलो पाइला चाल्नुजस्तो हो । मलाई लक डाउनले यस्तै सिकाएको छ । यो लक डाउन अवधिमा धेरैले खानाका विभिन्न परिकार बनाउन सिके । केहीमा यो लक डाउनले कवित्व जगाइदियो । काव्यिक बनाइदियो । सञ्जालमा नेपालमा हरिबहादुर र युट्युबमा भारतमा रामायण चर्चित भयो । यो सञ्जालहरुले लक डाउनका सुरुवाती दिनहरुमै बताई र देखाइसकेका लक्षणहरु हुन् । मान्छेहरुले के नै पो गरेनन् र ! सञ्जालमा सहज पहुँच हुनेहरुले सुरुवाती दिनहरुमा सञ्जालमा सजाएका खानाका परिकार देखिरहँदा एक न एक पटक त तपाईँ मुख पनि पक्का रसाएको हुनुपर्छ । कहिल्यै खाना नबनाएको मनुवाले पनि एक पटक त आफ्नै हातले ग्यास बालेको पक्का हुनुपर्छ । फेरि सिर्जनशीलताले भरिएका कविता शैलीका कविताभन्दा लामा लामा कमेन्ट पनि फेसबुकमा देख्नुभएकै र पढ्नुभएकै होला ! ती पढिरहँदा नचाहेरै पनि कहीँ न कहीँ त पक्का मुस्कुराउनु भएको छ । मान्छे दुःखी हुने भनेको त आफैँसँग भाग्दा पो रहेछ । आफूबाट आफैँसम्मको गन्तव्य तयार गर्ने मान्छे, यो विषय समयमा पनि मुस्कुराउँदो रहेछ । मुस्कुराउन बाध्य तुल्याउँदो रहेछ । यो लक डाउनले केही नभए पनि यति बुझाएको छ मलाई । गत वर्ष सरकारले ट्रक साहित्यमा प्रतिबन्ध लगायो । सञ्जाल साहित्यमा पनि नलाग्ला भन्न सकिने अवस्था रहेन । तर अहिलेको फुर्सदमा सञ्जाल चहारिरहँदा लाग्छ, ट्रक साहित्यको विरासत सञ्जाल साहित्यले थाम्ने छ । थामेको छ । मलाई के लाग्छ भने, संसारमा कुनै पनि वस्तु चिन्न वा जान्नका लागि बनेका होइनन् । बस, महसुस र भोग गर्नका लागि बनेका हुन । चाहे त्यो प्रेम होस् वा सिंहाशन । म यो सामग्री ती तमाम आफ्नैबाट अञ्जान कवि मनहरुका नाममा तयार पार्दैछु, जो आफूभित्र निहित रसलाई चिन्दैनन् । कविबाट अञ्जान छन् । तर उनीहरु आफूसँगै छन् । लाग्छ, आफूलाई चिन्ने बहानामा उनीहरु आफैँबाट टाढा कतै पुग्न चाहँदैनन् । तर, यी सञ्जालका साहित्यकारहरु हँस्यौलीमै, आक्रोशमै, विछोडमै, प्रेममै, सम्बन्धमै गहिरो कुरा लेखेर जान्छन् । जसको बारेमा एक पटक हैन पटक पटक सम्झेर मान्छे मुस्कुराउन बाध्य हुन्छ । म यहाँ त्यस्तो साहित्यको कुरा गर्दैछैन, जुन साहित्य सम्झेर लेखिन्छ । बरु म त्यो साहित्यको कुरा गर्दैछु, जुन मनको शान्तिको लागि लेखिन्छ । कतै आक्रोश त कतै ढाडस, कतै व्यग्ंय त कतै प्रेम, कतै निरासता त कतै उज्यालो देखाउने यस्ता साहित्य प्रायः रसिलो भाषामा लेखिएका छन् । जुन तपाईँ सामान्य पाठ पढेजस्तो पढ्नुहुन्छ भने केही नलाग्न सक्छ । बिघ्नै भए खित्का छोडेर रमाइलो मानी हाँस्नसम्म सक्नुहुन्छ । तर यदि त्यसलाई शाब्दिक अर्थमा मात्र नगई कुनै कविता ठानेर पढ्नुहुन्छ भने, तपाईँ पनि मजस्तै सञ्जाल साहित्यमा रमाउनु हुनेछ । सञ्जालका यी तमाम साहित्यभन्दा बिल्कुल फरक, तर पनि साहित्यमा जस्तै अनेकन् चेत बोकेका फगत स्टाटसले ट्रक साहित्यले जस्तै सञ्जाल साहित्यको नाम पाउँछन् वा पाउँदैनन् ? मलाई थाहा छैन । फेरि पनि सञ्जालमा भेटिने फगतमा लेखिएका शब्दहरु फगत स्टाटस मात्र भने होइनन् । प्रस्तुत केही सञ्जाल साहित्यका नमूनाहरु अब त तपाईले पनि पढिसक्नु भएकै होला । मलाई विश्वास छ, अहिलेसम्म यी फगत स्टाटसलाई अब तपाईँले शब्दमा मात्र सम्झिनु हुने छैन ।
ह्याप्पी बर्थ डे रस्मिला: शनिबार सार्वजनिक बिदा भए पनि मेरो काम थियो तर म दुई घण्टाअगावै निस्किएँ । कामचोर नै नभए पनि बिदाका दिन उतिसारो उत्साह हुन्थेन कामका लागि । तैपनि हाजिर लाउन र जिम्मामा परेको काम नगरी धरै थिएन । यसोउसो चलेकै थियो । सहरमा घर मात्र अग्ला हैनन्, महँगी पनि उस्तै अग्लो हुन्। सडकका गल्ली मात्र हैन, अभावका गल्ली पनि उस्तै धेरै हुन्छन्। रहरको नदीमा छाल आइरहन पनि छाड्ने हैन! कामकै सिलसिलामा भेट भएकी नेपाली केटी हो रस्मिला । रस्मिला पुन। घर पश्चिमतिर हो भन्थी । नेपाली भनेपछि नेपालै घर भन्ने हुन्छ, छेउकुनाको खासै चासो हुन्न । पहिलो नजरमै भुतुक्क पार्छे जोकोहीलाई । चम्किला आँखा । त्यसमाथि गाजल । पिपलपाते ओठ । बाक्लोसँग पोतिएको रातो लाली । अनुहार उज्यालो थियो पिठो दलेजस्तो । म जिस्काएथेँ- ‘तिम्ले त पाउडर किन्न पनि पर्दैन होला है ? सरी तपाईंले ।’ उसले पाउडर भन्दा पहिले तपाईंलाई समाएकी थिई । ‘तिमी भने पनि हुन्छ,’ उसले भनेकी थिई, ‘सन पाउडर त युज गर्नैपर्छ नत्र फेस डडिहाल्छ नि !’ ऊ मुसुक्क मुस्काराएकी थिई । मैले कोही केटीको मुस्कानमा जादु हुन्छ भन्ने कुरा थाहा पाएको त्यतिबेलै थियो । कम्पनीमा तमाम विदेशी कामदार थिए। केही सिनियर पोस्टमा म थिए । फेरि पुरानो भएपछि कम्पनीले हेर्ने दृष्टिकोण र दिने जिम्मेवारी पनि फेरिँदै र बढ्दै जाने रहेछ । विभिन्न ४/५ देशका कामदारहरू थिए सँगै काम गर्ने । ठूलोले सानोलाई दबाउने वर्ग संघर्ष जीव विकासक्रम सँगै शुरू भएको होला सायद । कम्पनीमा पनि त्यही हुन्थ्यो । काममा छिरेको सुरूवाती समयमा रस्मिलालाई मसँगको निकटताले पनि काममा सजिलो भएको देख्नेले सहजै अनुमान लगाउँथे । दुबो जमिनमा परेपछि फैलिन बेर नलाग्ने रहेछ । रस्मिलासँगको निकटता पनि त्यस्तै भयो । उसो त म प्रमितासँग ब्रेकअप भएर बसेको पनि दुई वर्षै बित्न लागेको थियो । छिटपुट केटीहरूमा नजर गए पनि यति विघ्न निकट महसुस गरेको थिइनँ । रस्मिलाले के लाउँथी, के खान्थी, के गर्थी, हरेक कुरा याद हुन्थ्यो। हरेक दिन यस्तै यस्तै बहानामा बोलिरहेको हुन्थेँ म । ‘ओहो, आज त नीलो ड्रेसमा ?’ कहिले प्रशंसाभावले जिस्क्याउँथेँ । ‘ए, आज त कालो पो !’ नजिकिने प्रयासमा बोल्न खोज्थेँ म, ‘नेलपालिस र लिपिस्टिक पनि कालै ला’को भए हुने नि ! ऊ कहिले किन्दिने हो भनी नाप्न खाेज्थी । कहिले मुसुक्क मुस्कुराउँथी । उसले जे गरे पनि मलाई प्रिय लाग्न थालेको थियो । आइतबार सधैँ बिदा हुने । सिमसिम पानी परिरहेको थियाे । उठ्दा मात्रै ९ बजेको थियो । ७ बजेबाट उसले कल गरेकी रहिछ । मोबाइलमा २० कल देखायो । मैले हतारिँदै कल गरेँ । हेलो भन्न नपाउँदै उसले भनी, यस्ता निष्ठुरी मान्छे ! शब्द उनै हुन्, परिस्थिति र समय फरक। कुनै दिन यिनै शब्दले छाती चिरिएको थियो । मुटु भक्कानिएको थियो । टाउको फुट्ला जस्तो भएको थियो र आँखाबाट महिनौँसम्म बर्बरी आँसु खसेको थियो तर आज तिनै शब्दमा कति प्रेम छ! कति आत्मियता छ! कति न्यानो आभास छ ! म छक्क पर्छु । शब्दहरू परिस्थितिअनुसार अर्थ पनि बदलिँदारहेछन् । म निरूत्तर भएपछि उसले फेरि बोलाई- ओई मान्छे ! मैले हजुर भनेँ । खासमा उसले सुरूमा मलाई दाइ भनेर बोलाएकी थिई ।अझ पहिलो भेटमा शिर झुकाएर दुई हात जोडेर नमस्ते गरेकी थिई । म चकित परेको थिएँ । परिवेश बदलिए पनि आफ्नो सभ्यता नभुलेकी, कति सुशील केटी भन्ने मलाई लागेको थियो। दिन बित्दै जाँदा उसले कहिले हेलो मिस्टर, कहिले हेलो सर त कहिले ओ मान्छे अनि कहिले ओए सरकार सम्म भन्थी । म निर्विवाद हजुर भन्थेँ । मैले भन्ने शब्द सधैँ एउटै हुन्थ्यो, रस्मिला । म्यासेजमा कुरा हुँदा डियर लेखेर धेरै पटक डिलिट गरेको छु । गुड मर्निङ डिएर । गुडनाइट डियर । लेखेका म्यासेजहरूसम्पादन गरेर । गुड मर्निङ रस्मिला, गुड नाइट रस्मिला भएर सेन्ड हुन्थे । खासमा उसले सपिङ गर्न जाऊँ भन्न कल गरेकी रहिछ । बसाई त नजिक थिएन हामी दुईको तर टाढा पनि हैन । बजारमा गाडीको बाटो ३० मिनट टाढा पनि हैन । खाना बाहिरै खाने गरी भेट्ने कुरा गरी निस्कियौं रूमबाट । ‘घर जाने मान्छे पाइएर केही सामानहरू किनौं कि भनेर,’ उसले भेट्ने बित्तिक्कै यही भनेकी थिई । मैले ठिकै छ नि त भनेँ। उसले आफूलाई हरेक दिन फरक देखाउन खोज्थी या मलाई त्यस्तै लागेको ? आज फेरि चस्मा लगाएर आएकी थिई । मैले जिस्काएँ, चस्मेसँग जोडी सुहाउन्न भनेर हो क्या हो चस्मा लाएर आएको ? “धेरै बोल्ने हैन है ऐले मार्दिन्छु त्यहीँ,” उसले यो वाक्य यति मिठोसँग भनी कि मेरो कानमा पटक-पटक गुन्जिरह्यो। मैलाई मारे कोसँग गर्छ्यौ त सपिङ ? म एक्लै सकिहाल्छु नि ! भन्दै ऊ अघि बढी । म लुरूलुरु पछि लागेँ। उसले स-साना फुच्चेका लागि कपडा किनी । मैले जिस्काएँ- के हो ? बिहे नगर्दै बच्चा पायौ के हो ? ऊ झसंग भएकी थिई तर मैले नदेखे जस्तो गरेँ । आफैँलाई धेरै बोलेजस्तो लाग्यो । कता कता नमीठो लाग्यो । उसले केही भावुक भएर भनी, खासमा मैले दुई अनाथ बच्चाहरूको हेरचाह गर्छु । उनीहरूलाइ बस्ने खाने पढ्ने व्यवस्था गर्छु । म दंग परें । मान्छेको रूप र आवरणले उसको आत्मा र व्यवहार नबोल्दो रहेछ । मैले कहिले यस्तो कुरा सोचिनँ । ऊ त्यति व्यवहारिक र त्यति सामाजिक अनि अझ सेवाहृदयकी छ जस्तो कहिल्यै सोचिनँ । उसले गर्वले दुइटा बच्चाको हेरचाह गरेकी छु भन्दा आफैँलाई व्यंग्य गरेजस्तो लाग्यो । आफैँलाई हेरें । कमाई पनि त उसको भन्दा मेरो धेरै थियो । मैले जहिल्यै साथीभाइ र घुमघाममै सिध्याउँथेँ । कहिलेकाहीँ त घरमा पैसा पठाउन पनि नपरे जस्तो लाग्थ्यो । तर रस्मिला ? घडिको सुई सेकेन्ड सेकेन्ड हिन्दै गर्दा समय कति छिटो बितेछ, पत्तै भएन । रस्मिला मेरो हरेक दुःख र सुख बिताउने चौतारी बनेकी थिई । यसो भए रस्मिला, उसो भए रस्मिला । यहाँ जाउँ रस्मिला, वहाँ जाउँ रस्मिला । हामी घरपरिवारको धेरै कुरा गर्दागर्दै पनि प्रेम, बिहे र सपनाका कुरामा पुग्नै सक्दैनथ्यौँ । मानौँ प्रेमको दैलोमा ठूलो ताल्चा लागेको छ । जसलाई खोल्न हामी दुवैसँग साँचो छैन । कम्पनी यौटै भए पनि डिपार्ट फरक हुनाले पहिले जस्तो भेट हुन्थेन । दिनको एक पटक हेलो हाई हुन्थ्यो । खाजा टाइम पनि कहिल्यै सँगै परेन । कम्पनी छिर्ने र बाहिरिने समय भने कहिलेकाहीँ मिल्थ्यो । रस्मिलासँग भेट भएको पनि वर्ष दिन पुग्न थालेछ । उसको बर्थडे आएछ । उसले बर्थडे मनाउन रहर गर्छे जस्तोलागेर मैले बिदा राख्ने सोचेको थिएँ । संयोग, बर्थडेको दिन सार्वजनिक बिदा पर्नाले दुवैलाई सजिलो भो । उसले भेटेर लन्च गर्ने मात्र भनेकी थिई तर म भने केक नै काट्ने सोचमा थिएँ । अझ केकसँगै बिहे गरौं भन्ने प्रस्ताव राख्छु भन्ने आँट आएको थियो किनभने हामीले शब्दमा मात्र लभ यु र सेम टु यु मात्र नभनेका हौं, नत्र हाम्रा हरेक व्यवहार क्रियाकलाप प्रेमपूर्ण थिए । मलाई यस्तै लाग्थ्यो । केकसँगै बर्थडे गिफ्ट हिराको नेकलेस बोकेर गएको थिएँ । उसले पनि थाहा पाए जसरी एकदम सजिएर आएकी थिई । मनमनै सोचेँ- यी केटीहरू कति चतुर हुन्छन् कति जिद्दी हुन्छन् । मलाई चैं केक पनि नकाटौं भन्नेले आफू चैं सिंगारिएर आएकी ? वास्तवमा हो पनि, हरेक नारीहरू आफ्नो पुरूष साथीले हरेक कुरा ख्याल गरोस्, भावना बुझोस्, थाहै नदिई सरप्राइज देओस् भन्ने अपेक्षा राख्छन् । पुरूषलाई भने कुनै कुराको मतलब हुँदैन । न खुसी हुन जानेको छ, न दुःखी हुन । नेपाली रेस्टुरेन्टमा खाना खाने योजनामुताविक हामी भेटियौं । मैले “हेप्पी बर्थ डे रस्मिला” भनेर अंगालो हाल्न खोजेँ। ऊ नर्भस भई, अँगालोमा अन्कनाई । मेरा चिटचिट पसिना आएकालो नीलो भएँ । ग्लानिबोध भयो । विस गरेर पुगिहाल्थ्यो, किन अँगालो हाल्नु परेको होला ? फेरि सोचेँ- मैले अँगालो हाल्छु भनेर सोचेको पनि थिइनँ । एकाएक मबाट कसरी यस्तो भो ? रस्मिलाको मुखमा हेर्न पनि सकिनँ । भुइँमा हेर्दै हातको गिफ्ट उसको हातमा राखिदिएँ । अलिबेर मौनता छायो । न ऊ बोली, न मैले बोलाएँ। खै, अलिबेर के सोची, झ्याप्प अँगालो हाली र भनी- बदमास कहीँको ! अचानक हिउँदमा पनि वसन्त आएजस्तो भयो। कतै पखेरामा कोइली कुहुकुहु गरेजस्तो लाग्यो। बोटविरूवामा भर्खर पालुवा पलाएको, पुतली नाचिरहेको, एकदमै आनन्द र मनोरम प्रतीत भयो । म पूर्ण शून्यतामा पुगेर नयाँ पाइला टेकिरहेछु जस्तो र सबै नयाँजस्तो महसुस भयो। पृष्ठभूमिमा हेप्पी बर्थडेवाला गीत बजिरहेको थियो। टेबलमा विभिन्न परिकार तयार थिए। मैले कैले ड्रिंक्स गर्दिनँ भन्ने कुरा थाहा पाएर रस्मिला दंग परेकी थिई र टेबलमा जुसका गिलासहरू थिए । केक काटिसकेर गिफ्ट लगाऊ न भनेँ। ऊ हतारिंदै प्याक खोली र भनी- वाउ। तपाईंलाई कसरी थाहा भो ? मैले नेकलेस किन्न भनेरै महिना महिनामा पैसा छुट्याएकी छु भन्ने कुरा ? ऊ यसरी उफ्री कि मानौँ उसले संसारकै आठौं आश्चर्य प्राप्त गरी । उसको खुसीमा म पनि उत्साहित थिएँ । आई लभ यू रस्मिला भनेर भनेर निधारमै चुम्बन गरिदिऊँ जस्तो लागेको थियो तर सकिनँ । त्यसैबेला मोबाइलको भाइबरमा मेसेज बज्यो । मेसेजले रस्मिला झसंग भई । म छाँगाबाट खसेझैँ भएँ । मानौँ, भर्खर दुईजना प्यारासुटमा उड्नलाई पहाडको टुप्पोबाट दौडिदै थियौँ, त्यसै बेला बेलुन फुटेर ऊ एकातिर, म अर्कोतिर गुल्टियौँ । रस्मिलाले मोबाइल लुकाउन खोजेर पनि सकिन, मैले हेर्न नचाहेर पनि देखेँ । रस्मिलाका आँखाभरि आँसु थिए । कोहो, के हो, मैले सोध्न जरूरी नै ठानिनँ ।आफैँसँग घृणा लागेर आयो । केटी देखेपछि प्रेम नै चाहिने ? बिहे नै गर्नपर्ने ? साथै हुनुपर्ने ? सम्बन्धका अरू आयाम हुँदैनन् ? आफैँलाई ब्लेडले चिथोर्न मन लाग्यो । भित्तामा लगेर टाउको ठोक्न मन लाग्यो । अग्लो पर्खालमा गएर हामफाल्न मन लाग्यो। पूरै कालो र अन्धकारमय भयो मेरो वरिपरि । न होस गुमाएर पागल हुन सकेँ, न होसमा रहेर चेतनाले काम गर्.यो । रस्मिलाले जाऊँ भनी । म गलेको केराजस्तो फतक्क गलिसकेको थिएँ । बिल पनि उसैले तिरी । बाहिरसम्म सँगै निस्कियौँ । न ऊ केही बोली, न मैले बोलाएँ। मन-मनले दुवैले दुवैसँग बोलेका थियौँ । तर बाहिर आवाज निस्केको थिएन । चोक आएपछि आफैँ छुट्टियौं । मैले गल्ती गरेको थिएँ थिइनँ, थाहा भएन तर छुट्टिएपछि म्यासेज गरेँ, ‘सरी रस्मिला।’ उसले रिप्लाई देली, कल गर्ली केही गरिन । पुगेँ, पुगिनँ पनि भनिन । मैले फेरि म्यासेज लेखेर पनि पठाउन सकिनँ। नम्बर डायल गर्न सयौं चोटी कोसिस गरेँ, सकिनँ । मनमा प्रश्न बारम्बार आइरहे । किन उसले दाइबाट सुरू गरेको सम्बोधनलाई फरक-फरक शब्दले बोलाई ? किन उसले म्यारिड भएर पनि म म्यारिड हुँ भनिन ? किन उसले मेरो निकटतामा प्रेमको आभास पाइन ? किन मजाक गरी उसले मेरो लाइफसँग ? के चाहन्थी ऊ मसँग? के ऊ स्वार्थी हो ? के ऊ धोकेबाज हो ? मेरो आँखामा त्यही मेसेज चलचित्र जसरी घुमिरह्यो । जहाँ प्रष्टसँग लेखिएको थियो, ह्याप्पी बर्थडे टु यु बुढी । (सल्लाहकार, अनेसास जापान।)
कविता के हो ? १५ विद्वानका रोचक परिभाषाहरु यस्ता छन्: कविता साहित्यको एक सशक्त विधा हो । ‘कवि’ आधारपदमा ‘ता’ प्रत्यय लागेर कविता शब्दको निर्माण भएको हो । कविता शब्दले कविद्धारा रचित वा कविको कर्म भन्ने अर्थ वहन गर्दछ । लोकजीवनसँग सम्बन्धित लोकगीत कविताको पूर्वरुप भएको कुरामा विश्लेषकहरु सहमत देखिन्छन् । पूर्वीय साहित्य जगतमा ऋग्वेद, महाभारत र रामायण तथापश्चिममा इलियड र ओडेसी कविताका वृहत् आकारका कृतिहरु हुन् । प्राचीनकालमा साहित्य भन्ने बितिकै काव्यलाई जनाएता पनि आधुनिक साहित्यमा काव्यले गद्यात्मक वा पद्यात्मक कृतिलाई जनाउँछ । मानव समाज र सभ्यताको आरम्भसँगै कविता विधाको जन्म र विकास हुदै आएको हो । आजको समयमा कविता विधालाई हेर्ने दृष्टिकोणमा धेरै विकास भइसकेको पाइन्छ । पूर्वमा आचार्य भामहदेखि जगन्नाथ र पश्चिममा अरिस्टोटलदेखि आइ.ए. रिचर्डस सम्मका विद्धानहरुले विभिन्न तरिकाले कवितालाई परिभाषित गर्ने जमर्को गरेका छन् । परिभाषाहरुमा अनेक मत भएपनि कवितामा कला र भाव मुख्य दुई पक्ष रहने कुरालाई सबैले स्वीकारेका छन् । कला कविताको बाह्य संरचनासँग सम्बन्धित छ भने भाव आन्तरिक पक्षसँग । यी दुई पक्षको संयोजनबाट नै एउटा कविता तयार हुन्छ । कविताको परिभाषा गर्ने क्रममा पूर्वीय तथा पाश्चात्य विद्धानहरुले विभिन्न धारणाहरु व्यक्त गरेका छन् । तीमध्ये केही परिभाषाहरु निम्नअनुसार छन् : १. शब्द र अर्थले संयुक्त रुप काव्य हो ।– भामह २. सुन्दर अर्थयुक्त पदावली नै काव्य हो ।– दण्डी ३. रसात्मक वाक्य नै काव्य हो ।– विश्वनाथ ४. चमत्कारयुक्त अर्थरुप नै ध्वनि नै काव्य हो ।– आनन्दवर्धन ५. काव्यगुणले भरिपूर्ण भएको शब्दार्थ नै काव्य हो ।–मम्मट ६. बाङ्गो र घुमाउरो ढङ्गबाट व्यक्त भएको उक्ति नै काव्य हो ।– कुन्तक ७. कवितको आत्मा रीति वा शैली हो ।– वामन ८. रमणीय अर्थ प्रदान गर्ने शब्द नै काव्य हो ।– जगन्नाथ ९. अनुभूतिको स्वस्फूर्त अभिव्यक्ति नै कविता हो ।– वर्डस्वर्थ १०. कल्पना र संवेगद्धारा गरिने जीवनको व्याख्या नै काव्य हो । – हड्सन ११. गण मिलाइएको संरचना नै कविता हो ।– जोन्सन १२. कविता भनेको जीवनको समालोचना हो ।– मैथ्यु अर्नाल्ड १३. भावनाको बौद्धिक कोमलता कविता हो । – बालकृष्ण सम १४. मीठो कविताको बोली चराको बोलीझैं लाग्दछ । कविता निष्प्रयत्न कविताको लयद्धार मिठास र मोहनीले हृदयलाई इन्द्रेणीले पक्रेर लगेझैं लाग्दछ । – लक्ष्मीप्रसाद देवकोटा १५. शब्द र संगीत, अर्थ र अभिप्रायमा तदाकार भएर जो अनौठो अनुभूति हुन्छ, त्यही नै कविता हो । – माधवप्रसाद घिमिरे कवितासम्बन्धी चर्चा–परिचर्चालाई हेर्दा पूर्वीय र पाश्चात्य दुवैतिरका विद्धानहरुले कविताको दुई पक्ष कला र भावलाई जोड दिएका छन् । फरक फरक तरिकाले कवितालाई चिनाउने काम भएपनि सबैको परिभाषालाई समेट्दा कवितालाई यसरी परिभाषित गर्न सकिन्छ – भाषाका माध्यम द्धारा प्रस्तुत गरिने कविको स्वानुभुतिको कोमल, कलात्मक र रसात्मक अभिव्यक्ति नै कविता हो । कविताको बारेमा पूर्वीय–पाश्चात्य मान्यताहरु साहित्यका प्रमुख चार विधा, कविता, आख्यान, नाटक र निबन्ध मध्ये कविता सबैभन्दा प्रमुख, प्रचलित र प्राचीन विधा मानिएको छ । कविता के हो ? यो किन र कसका लागि भन्ने विषयमा संस्कृत काव्य परम्परा देखि वर्तमान सम्म अनेकौं बहस चर्चा र प्रतिक्रियाहरु भएका छन् । पूर्वीय तथा पश्चिमी साहित्य साधकहरुले कविताका बारेमा आ–आफ्नै किसिमका अवधारणाहरु अघि सारेका छन् । संस्कृत साहित्यका बिद्धानहरुले कवितालाई कविताकै रुपमा परिभाषित गरेको नपाइए पनि कवितालाई काव्य साहित्यकै दृष्टिले हेर्ने गरेको पाइन्छ । संस्कृत साहित्यशास्त्रीहरुले कवितालाई काव्य अन्तर्गत राखी काव्यको स्वरुप वा लक्षण के कस्तो हुने भनी आफ्ना अवधारणा प्रस्तुत गरेका छन् । संस्कृत साहित्यका बिद्धान भरतमुनिले आफ्नो कृति नाट्यशास्त्रमा, भामहले काव्यालङ्कारमा, दण्डीले काव्यदर्शनमा र वेदव्यासले अग्निपुराणमा काव्य सम्बन्धी आ–आफ्ना अवधारणा अघि सारेका छन् । भरतमुनिबाट शुरु भएको पूर्वीय काव्य साहित्य सम्बन्धी अवधारणामा त्यस पछिका बिद्धानहरु ले पूर्ववर्ती बिद्धानहरुका अवधरणामा खण्डन, संशोधन अथवा परिमार्जन गरी आ–आफ्ना दृष्टिकोण प्रस्तुत गर्दै आएका छन् । पाश्चात्य साहित्यका विभिन्न कवि, समालोचक एवं चिन्तकहरुले पनि प्राचीनकालदेखि नै कवितालाई विभिन्न ढङ्गले परिभाषित गरेका छन् । पश्चिमा साहित्यशास्त्रीहरुले पूर्वीयहरुले जस्तो समग्र साहित्य सन्दर्भबाट नभई कविताका मात्रै परिभाषा गर्ने र यसलाई अथ्र्याउने प्रयत्न गरेबाट पूर्वीय बिद्धानहरुका कविता सम्बन्धी अवधारणा भन्दा पश्चिमा बिद्धानहरुका परिभाषा बढी बोधगम्य देखिन्छन् । यस सन्दर्भमा फिलिप सिड्नीले ‘अनुकरणको कला नै साहित्य हो’ भनेका छन् भने प्रख्यात कवि जोन मिल्टनले ‘कविता कम सूक्ष्म र सुकुमार भए पनि बढी सरल, इन्द्रियग्राह्य र भावपूर्ण हुन्छ’ भनेका छन् । त्यस्तै वीलियम वर्डसवर्थले ‘शान्त क्षणमा सन्चित अनुभवहरुबाट उत्पन्न मनोभावनाको स्वतःस्फूर्त प्रवाह कविता हो’ भनेका छन् भने सेमुअल टेलर कलरिजको परिभाषामा ‘विज्ञानजस्तो सत्यको नभएर आनन्दको अनुभूति गराउने तात्कालिक उद्देश्य भएको रचना कविता हो’ भनेर परिभाषा गरेको पाइन्छ । नेपाली साहित्यका विराट प्रतिभा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्यालदेखि नवोदित स्रष्टाहरुबाट समेत कविताका बारेमा आ–आफ्नै अवधारणा र परिभाषा प्रस्तुत भइरहेका छन् । पूर्वीय तथा पाश्चात्य साहित्यशास्त्रीहरुको परम्परागत अवधारणा भन्दा अलग हटेर मार्क्स तथा फ्रेडरिक एंगेल्सले पनि कविता तथा साहित्यका बारेमा आफ्ना पृथक् अवधारणा प्रस्तुत गरेका छन् । यी बिद्धानहरुको मतमा अन्य विधाको जस्तै कविताको पनि सामाजिक र संरचनागत चरित्र हुन्छ । मार्क्सवादी सौन्दर्यशास्त्रीय दृष्टिले कविताको चरित्र निरुपण गर्दा कवितामा केही आधारभूत तत्वहरुको उपस्थिति अनिवार्य देखिन्छ । ती आवश्यक तत्वहरुमा कविताको उद्गम स्रोत,कविताको सार, कविताको सामाजिक सम्बन्ध, यसको पक्षधरता, ऐतिहासिक क्रमवद्धता, कलात्मक बिम्वहरुको बिशिष्टता,अन्तरवस्तु तथा रुपको सम्बन्ध, समाजवादी यथार्थवादी मान्यता एवं यथार्थ र कल्पनाशीलताको प्रस्तुति हुन् । साहित्यलाई कल्पनाशीलताको फसल मात्र मान्नेहरुले कवितालाई समाजिक यथार्थ र कल्पनाशीलताको दोभान नठानी कवितालाई क्लिष्ट शाब्दिक कलाको रुपमा व्याख्यान गरेको पनि पाइन्छ । कथा वा उपन्यासको जस्तो यथार्थवादको समग्र मान्यता कवितामा प्रयोग गर्न नमिले पनि कवि बाँचेको समाज यसको यथार्थ संश्लेषण एवं प्रतिबिम्वन जस्ता कुराबाट कविता अलग हुन सक्दैन । कवितामा पनि विचार हुन्छ । कविता व्यक्तिगत भावावेग द्धारा अभिप्रेरित भइ रचना गरिए पनि यो समाज निरपेक्ष हुन सक्दैन ।
जादुई सिंहासन: राजधानीमा एउटा “जादुई सिंहासन” छ त्यो सिंहासनमा बस्ना साथ इन्द्रियका सबै द्वारहरु बन्द हुन्छन् कानले (गरिबको) चित्कार सुन्दैन आँखाले (गरिबको) दुःख देख्दैन हृदयले संवेदना महसुस गर्दैन …र अन्तमा जो सिंहासनमा बस्छ ऊ जीवबाट अजीव बन्छ । जब कुनै धुर्त स्याल त्यो कुर्चीमा आई बस्छ आफूलाई जंगलको राजा “सिंह” ठान्छ …र हामीलाई हेर्दै हुँकार गर्छ आफू स्याल हुँ भन्ने नै बिर्सन्छ जब दक्षिणको मालिकले पुच्कार्छ मालिकको आदेश मान्दै तलुवा चाटी सफाचट् पार्छ अनि… मालिकलाई हेरिकन कृतज्ञता प्रकट गर्दै पुच्छर हल्लाउँछ …र हामी पट्टि हेरेर मातेको साँढे झैं डुक्रन्छ गल्ती हाम्रो हो स्याललाई सिंहासन पुर्\u200dयाउने हामी नै हौं आदिम कालदेखि नै हाम्रो बुद्धिमा बिर्को लागेको छ हामी खोल्न सक्छौं तर खोल्दैनौं किनकि हामी मुर्ख हौं मुढ् हौं मृतप्रायः हौं सिंहासनको हकदार एउटा सिंह जो यो जंगल हाँक्न सक्छ उस्ले स्वस्मृति गुमाइसक्यो रामायणको हनुमान झैं आफ्नो क्षमता बिर्सिसक्यो तर अफशोच यहाँ कुनै जाम्बोवान् छैन जो हनुमानलाई सूर्य खान सक्ने क्षमता सम्झाओस् यहाँ जाम्बोवानले समेत स्वस्मृति गुमाइसक्यो ! …र एउटा संभावित सिंह लुते कुक्कुर झैं टाङमुनि पुच्छर लुकाउँदै कतै पलायन हुन्छ र मृतप्रायः जीवन जिउँछ जब देश दुख्छ ऊ सामाजिक सञ्जालमा फगत डुक्रन्छ यता मातृभूमिमा बाघको छालामा स्यालको रजाइँ हुन्छ धूर्त स्यालहरु सिंहको खोल ओढी सिंहासनमा नाचिरहन्छ यसरी नै क्रमशः युगौंयुग बित्छ वर्तमान – मध्ययुग हो एउटा लाचार धुर्त स्याल सिंहासनमा कुर्लिंदैछ हामी आत्मा बेचिकन हाइबर्नेसनमा मृतप्रायः भै निदाइरहेका छौं ! डेथभ्याली
गजल: कहिल्यै उठेन जिन्दगी कि खोट छ चिनामा? तेल त अरूले लिने र’छ के गल्ती छ पिनामा? आजकाल त शहरको कुकुर नि महलमा छ मजदुर हुँदा किन दु:ख मिठास छ पसिनामा साम दाम सबै चल्छन् ठाउँमा पुग्नको लागि हामी छुँनै सक्दैनौँ, के दोष छ पश्मिनामा? मजदुरले जति दु:खको भारी कसले बोक्ला? कल्पना गरे पुग्छ मदन रोएको मुना बिनामा दिन या रात सबै अँध्यारो कालो छ परदेशमा पसिनाको यो सुख, कसरी आउँछ दक्षिनामा? ( फिक्कल गापा, सोल्पाठाना, सिन्धुली हाल: परदेश ) कविको Shades of Manohara कविता संग्रह २०१८ जनावरीमा प्रकाशित भएको थियो ।
केही अनुत्तरित प्रश्नहरु: छोरी जन्मिई भने लक्ष्मी आइन् भन्ने चलन पुरानाे नै हाे । त्यही चलनमा जन्मेर आमा बाबाकाे न्यानो काखमा हुर्क्याै पढ्याै । समाजलाई चिन्न सक्ने भयाै । बालपनका यादहरुले सजिएको त्यो गाउँ, त्यो घर ती साथीभाइ, ती परिवारका सदस्यहरु आँखा वरिपरि छन् । जन्म दिने आम र कर्मका लागि प्रेरित गर्ने बुबा अहिले पनि साथमै रहेकाे अनुभूतिले भिजेकी छु । धेरैधेरै माया गर्ने आमा, बाबा, भाइ, बैनी र साथीभाइहरूलाई त्यागेर समाजका तथाकथित परम्परालाई आत्मसाथ गर्दै आफ्नो थर र गोत्रसमेत परिवर्तन गरी दान गरिएकी अर्थात् कन्यादान दिएकी छोरीको त्यो क्षण बिर्सन सकिँदैन । बाबा-आमाको काखबाट रुँदैरुँदै बिदा भए पनि विवाह मण्डपमा खाएको कसमलाई अहिलेसम्म सम्झिरहेकी छु। काे हाे काेसँग जीवन समर्पण गरी उनैलाई आत्मसात गरेर जीवनका सम्पूर्ण सपनाहरू आँसुमा बगाउँदै आएँ । हिजाेकाे त्याे बाल्यकालीन यादहरूमा बाँचेका दिनहरू सम्झेर दिनहरू कटाइरहनु परेकाे छ । दुःख र पीरका आँसुसँगै आफ्नाे जन्मघरमा पूर्णविराम लगाएर हरेक महिला जसरी बिदा हुन्थिन्, हो त्यसैगरी म पनि बिदा भएकी थिएँ । नयाँ बाटो, नयाँ घर, नयाँ परिवार, नयाँ मानिसहरूसँगकाे बोलीचाली मलाई अनौठाे लाग्थ्याे तर थाहै नपाई घुलन हुनुपर्दथ्याे र म स्वयं घुलन भएँ पानीमा चिनी घाेलिएझैँ । त्यतिबेला सम्झन्थे सबै चेलीहरु सायद यसरी नै आफ्नाे सम्पूर्णता लगेर भिन्न परिवेसमा घुलिएर बाँच्दा हुन्। मैलेझैँ उनीहरूले पनि आफूलाई अनाथ सम्झिए हाेलान कि ? दिन बित्दै गयो ।शुरू शुरूमा त लाग्दथ्याे यो संसारमा म जति भाग्यमानी कोही छैन । म जति राम्रो कोही छैन । म जति प्यारी कोही छैन । मैले गरेका हरेक काम सबै राम्रा छन् । बिस्तारै यसरी नै दिन बित्दै गए । रात बित्दै, गए । समय बित्दै गयो । ममाथि नयाँ जिम्मेवारी थपिन थाल्यो । मैले गरेका सारा कामहरु बिस्तारै बिस्तारै नराम्रो लाग्न थाल्यो। म नराम्री लाग्न थालेँ । घरमा लक्ष्मीको बास हुन छाड्यो। अनि श्रीमानले सोच्न थाल्छ्न् अर्की ल्यायो भने घर स्वर्ग हुन्छ । त्यही पुरुषले सोच्न सक्दैन, मेरा पनि दिदीबहिनी छ्न्, नभए आमा त अवश्य हुनुहुन्छ। म त्यही आमाको कोखबाट जन्मेको हो, मेरी श्रीमती पनि त्यही महिला हो, जसलाई मैले अग्नि साक्षी राखी ल्याएको हुँ, त्यहीबेला मेरी आमालाई यही चोट परेको भए मैले के सोच्थे होला भनेर …… । एउटा पुरुषले दोस्रो श्रीमतीसँग खुसी भएर हिँडिरहँदा सारा खुसी र रहरहरु खुट्टाले कुल्चिएर श्रीमानको गुणगान गाउनु पर्ने । उसको नाउँको चुरा, पोते, सिन्दुर लाउनु पर्ने । समाज यो कस्तो विडम्बना हाेला ? पुरुषले किन सोच्न सक्दैनन् उसको पनि आत्मा हो । ऊ पनि कसैको छोरी हो । उसका पनि हर रहरहरु हुन्छन्। कुनै पनि पुरुषले किन सोच्न सक्दैनन् छोरी हुनु उसैमा अभिसाप होइन, अवसर पाए भने उनीहरू पनि एक दिन आर्थिक रूपमा स्वतन्त्र मह्सुस गर्ने छ्न्, प्रत्येक पुरुषलाई अगाडि बढ्न हौसला दिने छ्न्। अवसर पाएको खण्डमा महिलाले पनि स्कुल कलेज अस्पताल प्रशासन आदिमा आफ्नो कुशलता देखाउन सक्ने छ्न् तर समाजमा अझै केही कुरीति छ्न्, जसले महिलालाई अघि बढ्न रोकिरहेको छ। जस्तै दाइजो प्रथा, छाउपडी आदि । नारी विरोधी परिपाठ र सोचलाई धक्का दिँदै आफू सशक्त हुन जरुरी छ । भनिन्छ एउटा बाबु शिक्षित भए ऊ मात्रै शिक्षित हुन्छे तर एउटी आमा शिक्षित भए परिवार नै शिक्षित हुन्छ । नारीको महत्त्व बुझाउने यो भन्दा अर्को भनाइ खोजिरहनै पर्दैन । यो घर, परिवारको कुरा मात्र होइन । यो त विम्ब हो, नारीले समाजलाई परिवर्तन गर्न सक्छिन् भन्ने कुराको । जुनसुकै प्राणी पनि विपरीत लिङ्गीप्रति आकर्षित हुनु स्वाभाविक फेरि आकर्षणको अर्थ हिंसा हैन । मायामा कर, बल, तर्क अनि शरीर होइन, मन जित्न सक्ने पुस्ताको खाँचो छ । नयाँ पुस्तामा लैङ्गिक समानताका धारणाको विजारोपण गर्न आवश्यक छ । शरीर हैन, मन जित्ने कला सिकाउन जरुरी छ अनि यो सिक्न जरुरी छ कि, नारी पुरुषसँगै हिंड्ने समान समाज आजको आवश्यकता हो । जसरी पार्वती बिनाका शिवको अस्तित्व गौण छ, लक्ष्मी बिनाका विष्णु आधि छन्, राधा बिनाका कृष्णको कथा रोमाञ्चक हुन्न, त्यसैगरी नारीको प्रेम र आत्मियता बिना पुरुष र पुरुषको साथ र सम्मान बिना महिला पूर्ण हुँदैनन् । कुनै पनि पुरुषले किन सोच्न सक्दैनन्, छोरी हुनु उसैमा अभिशाप होइन, अवसर पायो भने उनीहरु पनि एक दिन आर्थिक रूपमा स्वतन्त्र मह्सुस गर्ने छ्न् । प्रत्येक पुरुषलाई अगाडि बढ्न हौसला दिने छन् । अवसर पाएको खण्डमा महिलाले पनि स्कुल कलेज अस्पताल प्रसासन आदिमा आफ्नो कुशलता देखाउन सक्ने छन्।
मध्यपूर्वमा उदाउँदैछ साहित्य: मध्यपूर्वको एउटा सानो देश कुवेत । आर्थिक रुपमा सम्पन्न र विकसित राष्ट्रको रुपमा गनिन्छ । सन् १९७२ देखि नेपाल र कुवेत सम्बन्ध स्थापित भएबाटै दुइ देश बीचको सम्बन्ध उत्तिकै प्रगाढ र सुमधुर बन्दै गएको पाइन्छ । पचासौँ हजार नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु वैदेसिक रोजगार तथा व्यवसायको रुपमा कुवेतमा रहँदैआएका छन् । अन्य देशहरुमा जस्तै यहाँ रहेका नेपालीहरु पनि साहित्यिक क्षेत्रबाट अछुतो रहन सकेका छैनन् । आफ्नो कामबाट बचेको समयमा कहीँ न कहीँ कतै न कतै सांगठनिक रुपमा वा स्वस्फूर्त रुपमा साहित्यिक क्षेत्रमा पनि उत्तिकै योगदान दिने हुटहुटी यहाँ पनि पाइन्छ । अनेसासका वर्तमान महासचिव राज श्रेष्ठका अनुसार कुवेतमा सर्वप्रथम २०१० मा केही साहित्यिक सर्जकहरुको सक्रियतामा “साहित्यिक शुक्ला समाज” को स्थापना भएको थियो । पछि त्यही संस्थालाई नै स्थापनाको करिब २,३ महिनापछि राजन रिमालको अध्यक्षतामा “अनेसास कुवेत च्याप्टर” मा रुपान्तरित गरियो थियो । विगतमा थोरै सर्जकहरु मात्र भएका कारण साथै कार्य व्यस्तताका कारण त्यति क्रियाशील हुन नसके पनि हाल हिमाल अन्जानले अध्यक्षता गर्नु भएपश्चात कुवेतमा साहित्यिक गतिविधि निक्कै जुर्मुराएको अवस्थामा छ । यहाँ साहित्यिक गतिविधि तीव्र हुनुमा इन्टरनेट तथा सामाजिक संजालले पनि निक्कै सहजता प्रदान गरेको छ । २०१३ मा कुवेतमा अर्को एउटा साहित्यिक संस्था “विश्व साहित्य महासंघ” को पनि स्थापना भएको थियो । हाल अमित चाम्लिङ्ग राईको नेतृत्त्वमा रहेको उक्त संस्थाले राजेन्द्र विरहीको संयोजकत्वमा बेलाबेलामा भानु जयन्ती तथा अन्य कार्यक्रमहरु गर्दै र मनाउँदै आइरहेको छ । हुन त कुवेतमा उल्लेख्य रुपमा साहित्य सर्जक नरहेको र केही सर्जकहरु कार्य व्यस्तता र विभिन्न कारणवश ओझेलमा रहेको अवस्था भने देखिन्छ । यो विडम्बना प्रायः सबै खाडी मुलुकहरुमा देखिएको र देखिन समान समस्या र अवस्था नै हो । खुलेर साहित्य सृजनामा लाग्नु भएको करिब २५ जनाको हाराहारीमा सर्जकहरु भए पनि विगत दुई वर्षदेखि यता उत्साहजनक रुपमा नेपाली दूतावास कुवेत, विभिन्न संघसंस्थाका पदाधिकारी, खेलाडी, पत्रकार साथै उलेख्य रुपमा नेपाली जनसमुदायको उपस्थितिमा भव्य रुपमा साहित्यिक कार्यक्रमहरु हुँदै आइरहेका छन् । अनेसास कुवेत च्याप्टरले वार्षिक तीन वटा ठूला कार्यक्रम र मासिक रुपमा भेटघाट छलफल तथा रचना वाचन कार्यक्रम गर्दै आइरहेका छन्, जसले गर्दा कुवेतमा रहेका साहित्य सर्जकहरुमा हौसला प्राप्त हुनुका साथै क्रियाशील रहन मद्दत पुगेको देखिन्छ । कुवेत च्याप्टरले त्रैमासिक रुपमा “काव्य प्रवाह शृङ्खला” को शुरुवात गरे पनि हालको असहज परिस्थितिका कारण भाग एकमा नै सीमित रहन पुगेको छ । साथै अहिलेको यस विषम परिस्थितिले अन्य क्षेत्रमा जस्तै विभिन्न साहित्यिक गतिविधिहरुमा समेत असर पर्न गएको छ । कुवेतमा रहेका सर्जकद्वारा विभिन्न समयमा आफ्ना केही कृतिहरु समेत प्रकाशित गरेका छ्न् । जसमा अनेसाको केन्द्रीय सदस्य समेत रहनु भएका होमबहादुर क्षेत्री अग्रस्थानमा हुनुहुन्छ । विभिन्न साहित्यिक संस्थाहरुमा आबद्ध भई विभिन्न नेपाली, हिन्दी तथा अंग्रेजी साहित्यिक पत्रिकाहरुको सम्पादकीय भूमिकामा कार्य गरिसक्नु भएका क्षेत्री विभिन्न पुरस्कारहरुद्वारा पुरस्कृत भइसक्नु भएका छन् साथै उहाँको थुप्रै कृतिहरु बजारमा उपलब्ध छन्, जसमा उहाँको कविता संग्रहमा “आकाररहित”, “मेरा कविताहरु”, “पर्खौं हामी”, “मृगतृष्णाको नदी” “डुलुवाको डायरीबाट”, “सूर्य लुक्छ तर निभ्दैन”, “मूर्ति”, “समयको फेदटुप्पो हुँदैन” आदि छन् भने “क्षितिज हराएको छैन” र “युद्धान्त” कथा संग्रहका साथै “मेरा अनुदित कथाहरु” नामक अनुवादका पुस्तकहरु प्रकाशित भएका छन् । साथै असङ्ख्य रुपमा थुप्रै पत्रपत्रिकामा रचनाहरु प्रकाशित भैसकेका छ्न् । यसैगरी कुवेतमा रहेका साहित्यिक कृति प्रकाशित गर्नेहरुमा विश्व साहित्य महासंघका अध्यक्ष अमित चाम्लिङ राईको “नथाकेको कथा” कविता संग्रह, कुवेत च्याप्टरका संरक्षक मनोज मनसुनको “आज एक्लै”, “मरुभूमिको फूल” गजल संग्रह, नेपाल कुवेत डट कम का प्रधान सम्पादक तोयानाथ दहाल उपेक्षितका “बालुवाको घर” कथा संग्रह, “प्रवासका सुस्केराहरु” कविता संग्रह, जानुका खतिवडाको ‘परदेशी चेली’ मुक्तक संग्रह प्रकाशित भैसकेका छन् । यसरी परदेशको भूमिमा पनि नेपाली भाषा साहित्यको उत्थान, सम्बद्धर्न र संरक्षण गर्नमा कुवेतमा रहका नेपालीहरुको ठूलो भूमिका रहेको देखिन्छ ।
बेकारमा: कस्ले केके सुनाइदियो नानाथरी बेकारमा नखेलाऊ फाल्तु कुरा मनभरी बेकारमा भएजति वाचा कसम खुवाउँदा पुगेन र ! अझै पनि केको शंका घरीघरी बेकारमा देखे पनि नदेखे झैं गरिदिए भैगयो त ! किन हेर्छौ पारिबाट आँखा तरी बेकारमा फूललाई फूलजस्तै मुस्कुराएको सुहाउँछ नबिगार रुप आफ्नो ठुस्स परी बेकारमा ‘माया साटौँ, खुशी बाडौँ बाचुन्जेल’ भनेको हुँ कस्को जुनी छ र यहाँ अजम्बरी बेकारमा (अध्यक्ष, अनेसास डेनमार्क च्याप्टर)
गजल: अँधेरी रात काटी मिर्मिरे बिहान आयो बल्ल बल्ल बस्तीमा अलिकति घाम आयो । चारैतिर पुगोस् रवि कुनाकाप्चा चहारेर बल्ल पो भन्न मिल्छ सुनौलो याम आयो । फर्की आऊन् माटो सम्झी परदेसिएका मनहरू, सबैलाई पुग्ने यहाँ बल्ल पो काम आयो । भन्न मिल्छ बलेपछि बिहानै साँझै चुल्होहरू अँधेरा ती अनुहारमा बल्ल पो मुस्कान आयो । बर्दघाट, नवलपरासी
गजल: छिमेकी साथी ,मेरो आगन माथि, हैकम नचलाऊ असक्त अभिभावक, सुतेको राति, हैकम नचलाऊ !! अर्काको बाउलाई, आफ्नो भन्दैछौ, लाजै नमानी गरेर त्यो तिम्रो, आमाको बदनामी हैकम नचलाऊ !! नत्र आइलागेमा, जाइ लागिएला, मित्रता भुलिएला विश्वासको खुल्ला, सिमाना नाघी, हैकम नचलाऊ !! तलवार निकालेर, गर्धन काटेर, दोसाँधमा राखौंला इमानसँग बारम्बार, गरेर बेइमानी, हैकम नचलाऊ !! दृढता, एकता, आत्मसम्मान छ मातृभूमिको लागि मार्न र मर्न सक्छौं, ए बिस्तारवादी, हैकम नचलाऊ !! डोटी, हालः कुवेत
परदेशी जीवन: लगाई टीको आशीष बाको लिएर हिँडेको, जागीर छैन देशमा सम्झी जहाज चढेको। उत्रेर हेर्दा झिली र मिलि ठुलै यो शहर । आशाले झनै खुलेर आयो मनका रहर । देखेर टोपी चिनेर मान्छे साहुले बोलायो। गाडीमा हुलि लिएर गयो कम्पनी देखायो। साघुँरो कोठा विदेशी साथी मिलेर बस्नु छ। बोकेर खाना काममा जान बिहानै उठ्नु छ। प्यारिको फोटो ल्याएको थिएँ झोलामा राखेर। निकाली फोटो छातीमा टाँसे देउता सम्झेर। झारेर आँसु हातले पुस्दै काममा निस्किएँ। चर्को त्यो घाम बतास तातो देखेरै तर्सिएँ । साबेल दियो खन्नु है खाल्डो भनेर हातमा। सम्झेर रोएँ खुशी थेँ बरु वन र पाखामा। प्यासले गाला सुकेका बेला पानी नै पाइनँ। हरायो भोक हरायो प्यास सम्झेर जहान । खोलेर पोको राखेको मात्र थिएँ है हातमा। बगर न हो बालुवा आयो उडेर भातमा। दुःखले मैले बिताएँ वर्ष बानी नै परेछ । सोचेका होलान् घरका बाले सुखमा परेछ । तानेको तानै गरेर होला पैसाको मोहले। भएछ यतै बसेको बर्षैँ समायो रोगले फर्केर जाने सपना थियो महल बनाई, पछुतो लाग्छ गल्ती भो ठूलो जवानी गुमाई। हाल-कुवेत दुःखले मैले बिताएँ वर्ष बानी नै परेछ । सोचेका होलान् घरका बाले सुखमा परेछ ।
अ-परिभाषित\xa0प्रेम: उसले छुट्टिने दिन, म आउँछु भनेर गई। मेरा लागि, उसको आउँछु मै, माया लाउँछु को जवाफ थियो। प्रश्न प्रति प्रश्न, गरी रहे उसलाई उसको मौनताको मर्मलाई हिर्काइरहे। तर, उसको मौनतामा सुशील हाँसो र माया प्रतिको समर्थन मात्रै थियो। एउटा प्रश्न उसले पनि गरिथी मलाई सौहार्द्ध, शान्त र लजालु मुस्कानको भावले। माया गर्नु हुन्छ र मलाई ? गर्दिनँ तँलाई माया। भनेको थिएँ। बिचरी निल्ल भई। फेरि उही सौहार्द्ध, शान्त र लजालु मुस्कानको भावले पुलुक्क हेर्दै भनी, हेरन कत्तिसम्म अहम् देखाउन परेको, अलिकति अफवाह चल्दा त दुई दिन घरबाट निस्किन नसक्नेले के माया गर्नु? प्याँचै भनी अनि पो म निल्ल जिल्ल भएँ।। मेरो ख्याल कसले गर्छ? भन्ने प्रश्नै प्रश्नका आँसुहरूले गह भिजाउँदै आफ्नो ख्याल गर्नु भन्दै ऊ ओझेल परी। मेरा गह एकछिन नजाऊ न भनी रहे थे आज, ऊ पारिको देशमा ऊ भएको ठाउँलाई मेरा अन्दाज औंलाले देखाउने क्षितिज र उसले वहाँबाट देखाउने क्षितिजमा हाम्रा असीम चाहनाहरुको स्पर्श भइरहेछ। ऊ उसै गरी प्रश्न गर्छे। म उसै गरी बाउँठिन्छु तर यो भन्न सक्दिनँ हो, म तिमीलाई असीम माया गर्छु। हाल – कुवेत
गजल: म यहाँ सम्म पुगेकोछु यस्तो दलदल बाट। जसरी माछाहरु बगरमा पुग्छन् भल बाट। गर्न त खुब मेहनत गरीयो संघर्ष गरीयो, केही नहुदो रहेछ यार अरुको नक्कल बाट। मेरो छिमेकीले यस्तो भुमिका निभायो, सजिलै पुराईदियो सडकमा महल बाट। त्यो दिन दुनियाँले मलाई भकुण्डो सम्झे खेले जुनदिन छुटेको थिय आमाको आँचल बाट। बाले भन्नुहुन्थ्यो बेलैमा केहि गर बुद्धि पुर्या, हेर अन्जान,आम्दानी हुँदैन तेरा गजल बाट। हाल –कुवेत
गजल: छोडी गयौ तिमी जब बनेको छु पागल। पैले जस्तो छैन अब बनेको छु पागल। मुना मदन जस्तो जोडी अलग हुनु पर्दा, सकिए झैं लाग्यो सब बनेको छु पागल। सारा सपना पूरा गर्ने पायौ र त होला, मलाई घृणा गर्\u200dयौ तब बनेको छु पागल। पागल हुने इच्छा मेरो पनि हो र कहाँ? याद हरुले गरे भब बनेको छु पागल। यता मेरो जिन्दगानी शिशिर जस्तै बन्यो, तिमीले नि रोज्यौ नब बनेको छु पागल। तुर्माखाद गा.पा.रानीबन अछाम हाल-कुवेत
जन्मदिन विशेष: भाषाको स्वाद र उनको स्वभाव: अविनाशी । रोचक संयोगहरु हुन्छन् । कहिलेकाहीँ ती संयोगहरु वरिपरि घुमिरहन्छन् । अविनाश श्रेष्ठसँगको मेरो सामीप्यमा पनि अनेक संयोग जोडिएका छन् । मैले उनलाई एकै पटक पढेको दुईवटा कथाबाट हो । ‘जुनेली रातकी द्रौपदी’ र ‘तान्या, ईन्द्रकमल र अन्धकार’ । मधुपर्क, गरिमा त्यतै कता । यिनै दुईवटा उनका कथा कुमार नगरकोटीलाई पनि अत्यधिक मनपर्ने रहेछ । उनका पनि दुईवटै कथाले मलाई आकर्षित गरेको थियो । नगरकोटीका ती दुईवटा कथा छाप्ने पनि उनै अविनाश श्रेष्ठ । अचेल अविनाश दाइको प्रशंसक नगरकोटी र नगरकोटीको अविनाश दाइ । दुवै शक्तिशाली कथाकारहरुको बीचमा म प्रेरित भएर रंगमञ्चमा छु । कथादेखि रंगमञ्चसम्म जोडिएको सम्बन्धको बलियो अर्थ छ । अविनाश दाइ नाटककार उहिल्यैदेखि । ‘अश्वत्थामा हतोहतः’ र ‘समय, समय अनि समय’ पढेको हुँ संग्रहित पुस्तकमा । फेरि नगरकोटी पनि नाटककार हुन पुगे । ‘कोमाः अ पोलिटिकल सेक्स’ र ‘बाथटब’ मैले नै निर्देशन गरेको हुँ । कस्तो सुन्दर संयोग ! अब यी दुवै कथाकारहरु नाटकको बारेमा कुरा गर्न थाल्छन् र म मख्ख परेर सुन्छु । यो मेरो कस्तो स्वार्थ र भनौं संयोग ! अविनाश श्रेष्ठसँगका अनगिन्ती उठबस र भलाकुसारीमा कयौँ प्रिय क्षणहरु छन् मेरा । बाँचुञ्जेल नाश नहुने । ज्ञान र रंगमञ्च । भारतको असम–गुवाहाटीमा पढेर हुर्केका अविनाश दाइसँग रंगमञ्चको ठूलो परिवेश थियो । असमीय रंगमञ्च, मणिपुरका रतम थियाम, असमीय नाटकहरु, मोबाइल थिएटरहरु, दारा आहामेद, महेन्द्र बरठाकुर आदिको जगजगीका बीचमा हुर्किएका अविनाश दाइले सन् १९७१ मै आफ्नै लेखन र निर्देशनमा नाटक मञ्चन गरिसकेका रहेछन् । रुचि कि सुरुचि ! कवितालाई सबैभन्दा प्यारो बनाएर पाठक र समीक्षकहरुको मनमा कथामा उच्चतम स्थान बनाएका अविनाश दाइको नाटकको पाटो मैले यहाँ निक्कै खोतल्न चाहेँ । यसको विशेष कारण छ । भन्दैछु । खासमा अविनाश श्रेष्ठको मूल थलो पर्वतको कुस्मा हो । उहाँका बाजे लालबहादुर श्रेष्ठ धेरै कुशलतापूूर्वक ‘हनुमान नाच’ नाच्न जान्ने रहेछन् । त्यस भेगमै ख्याति कमाएका । बुबा एम. नारायण श्रेष्ठ पनि हार्मोनियम बजाउन, गाउन, नाच्न निक्कै सिपालु थिए रे ! परिवारका यी गुणहरु कतै उनमा परेको थियो होला । अर्को अर्थ नलागोस् । अविनाश श्रेष्ठलाई हनुमान नाच आउँदैन । उनी भजन पनि गाउँदैनन् । घरीघरी मलाई लाग्छ, यी एक्ला मनुवा हुन् । आफ्नो कामप्रति बढी नै इमान्दार । पारिवारिक जीवनमा रमाएका । म यतिखेरको अविनाश श्रेष्ठको कुरा गर्दैछु । कसैलाई राम ठानेर हनुमान नबन्ने वा कसैको भजन नगाउने ! लागेको उनी भनिहाल्छन् । कहिलेकाहीँ अलिक धेरै भन्छन् कि ? मानिसहरुलाई बिझाउने गरी । कहिलेकाहीँ अचम्मको प्रतीकात्मक र घुमाउरो व्यंग्य छोड्छन् । अगाडि नै नभने पनि पछाडि त भन्छन् नै ! उनको मनमा कुराहरु अडिँदैनन् । निक्कै सम्वेदनशील, उनलाई चित्त नबुझेको कुरामा कटु आलोचना पनि सहजै निस्कन्छ । आफ्नो परिवेश र स्वाधीनताको बारेमा अलि बढी नै कन्सस छन् अविनाश दाइ । उनी कार्यक्रमहरुमा कम जान्छन् । निम्तोले उनलाई ठूलो अर्थ राख्छ । कस्तो खालको निम्तो हो ? औपचारिकता मात्रै हो कि साँच्चै मनले बोलाएको हो ? उनी खुट्याउँछन् । एसएमएस, फेसबुक म्यासेज, इमेल, निम्तो कार्ड वा फोन कल ? अनुमान लाउँछन् । गै हाले भने पनि हलभित्र कहाँ बस्ने भन्ने कुराले उनलाई सताउँछ । यिनै के–के कारणले आफूलाई धेरै ठाउँमा मानिसहरुले उल्लेख नगरेको अविनाश दाइ महसुस गर्छन् । यतिखेरको साहित्यमा प्रचार त गाँसिएरै आएको छ नि त ! तर, यो उनको भ्रम पनि हुन सक्छ । उनका रचनाले बनाएको ‘स्पेश’ त कसैले खोस्न सक्दैन । एउटा उल्लेख्य कुरा छ यहाँ । तपाईंले कहीँ कुनै कार्यक्रममा अविनाश श्रेष्ठ अतिथि बनेर बसेको वा भाषण ठोक्दै गरेको देख्नु भएको छ ? होला । अपवाद । मैले चाहिँ यो २० वर्षमा ३ पटक देखेँ । नगरकोटीको ‘फोसिल’ विमोचनमा नेपालयमा । उमा सुवेदीको ‘सयौँ पुतली’ विमोचनमा शिल्पी थिएटरमा । र, उनको आफ्नै कविता वाचनमा सर्वनाम थिएटरमा । यस हिसाबले उनी सार्वजनिक ठाउँहरुमा कम उभिएको पक्का हो । तर, साँच्चै मिठो र छरितो बोल्छन् अविनाश दाइ । तीन वटै कार्यक्रममा उनले रोचक र बलियो विचार दिए । यी सर्जक साँच्चैमा निक्कै फरक स्वभावका भएर आफू जस्तै मोटो पहिचानमा छन् यो कोलाहलयुक्त सहरका माझमा । केही स्वाभाविक र केही अस्वाभाविक स्वभावहरुका बीचमा । धेरै लेखेर र बेस्ट सेलरको विज्ञापन छापिएकाहरुका बीचमा । अविनाश श्रेष्ठले एउटा कथा संग्रह, एउटा नाटक संग्रह र केही कविता संग्रहहरुका बीचमा आफूलाई स्थापित गरे सबै विधामा । निक्कै बलियो गरी । जीविकोपार्जनले । किसानहरु प्रायः एकै ठाउँमा टाँसिइरहन्छन् । व्यापारी भएकाले उहाँका बुबा एम. नारायणले लामो यात्रा गर्नु भयो जीवनमा । कुस्माबाट हरिद्वार, दिल्ली, मद्रास, कलकत्तादेखि रंगुन हुँदै दोस्रो विश्वयुद्धको समयमा आसाम पुगेपछि परिवार त्यहीँ स्थापित भयो । सन् २०१७ मा म बर्मा भएको बेला उहाँले आफ्ना बुबाको बारेमा लामो म्यासेज पठाएका थिए । मैले उनका बुवालाई चिन्नेलाई त मैले कोही भेटिनँ तर बर्माको स्मृतिका लागि मैले दाइलाई बर्मेली लुंगी उपाहार ल्याइदिएँ । प्रसंगहरुको हाँगा फाट्यो । म नाटकको कुरा गर्दै थिएँ । हनुमान नाच र संगीतको प्रभाव उनको सिर्जनामा पर्\u200dयो । उनले नाटक लेखे । गुवाहाटीमै लगभग १४ वटा नाटक मञ्चन भए उनका । मेरो स्वार्थ यहीँनिर हो । अविनाश दाइले नाटक नलेखेको जुग भयो । उनले सिर्जनामा कविता र कथालाई माया गरे । नाटकलाई चाहिँ नजिकबाट नियाली रहे । मलाई यो कुरोमा विश्वास छ, त्यही सर्जकले उत्कृष्ट नाटक लेख्न सक्छ जसले रंगमञ्चको परिवेश बुझेको छ । जो नाटक पढ्छ र हेर्छ । कुनै नाटक समूहसँग नजिक बसेर अन्तरक्रिया गर्छ । रंगकर्मीहरुसँग रमाउन सक्छ । अविनाश दाइले यी सबै सहजता भएर पनि पछिल्लो समय नाटक लेखेनन् । बरु विद्यावारिधिमा यस्तो शीर्षक पो छाने ! ‘प्रयोगात्मक नेपाली नाटकमा स्वैर कल्पनाको अध्ययन’ ! शीर्षक सुन्दै जटिल र पारम्परिक लाग्यो । हुन त विश्व विद्यालयिय कर्मकाण्डको पीडा मलाई भन्दा अविनाश दाइलाई नै राम्ररी थाहा छ । मलाई उत्सुकता भयो, अविनाश दाइले नाटक र रंगमञ्चलाई उतिखेर बुझेको कुरा यतिखेर कस्तो स्वरुपमा छ त ? किताब त उहाँले प्रशस्तै पढिरहनु भएको होला । केही दिनअघि यही लेख तयार पार्ने शिलशिलामा उहाँसँग कुराकानी गर्नु थियो । गोठाले नाटकघरको बार्दलीमा बसेर हामी कुरा गर्दै थियौँ । सत्यमोहन जोशीले लेख्नुभएको र मैले निर्देशन गरेको नाटक ‘मजिपालाखे’ अविनाश दाइले अघिल्लो दिन हेर्नु भएको थियो । उहाँले नाटकको अत्यन्तै प्रसंसा गर्नुभयो । प्रशंसाको कुरा छोडौँ । मलाई त्यो कुराले आकर्षित गर्\u200dयो जब उहाँले नाटकको पाठ र प्रस्तुतिमा देखिएका केही महत्त्वपूर्ण कमजोरीहरु औँल्याउनुभयो । उहाँले देखाएका कमजोरीहरु निर्देशकका रुपमा मेरा लागि निक्कै कन्भिन्सिङ र परिमार्जित थिए । मलाई निक्कै खुशी लाग्यो । हो, गाँठी कुरो यही हो । उनले नाटक लेखेनन् तर नाटक र रंगमञ्चप्रतिको उनको ज्ञान निक्कै परिष्कृत र अपडेटेड रहेछन् । त्यसपछि पनि उनीसँग रंगमञ्च, फिल्म र साहित्यका बारेमा लामालामा बहस भएका छन् । कला र साहित्यमाथि उनका समीक्षात्मक विचारहरु सुनिरहन मनलाग्छ मलाई । त्यसैले उनले नाटक लेखे भने उनको भाषा र शिल्पको शक्तिले नेपाली रंगमञ्चले नयाँ कुरा पाउँछ भन्ने मेरो विश्वास हो । गहनता । दुई वटा कथाबाट तानिएको म भित्रको पाठकले एक दिन उनलाई भेट्यो । प्रज्ञाप्रतिष्ठानको त्यो समकालीन साहित्यको कार्यालय । प्रत्येक दिन त्यहाँ आउने दर्जनौँ मानिसहरुका बीचबाट म पनि छानिएर कवि भएँ । कविता छाप्न अनेकौँ पत्रिकाका सम्पादकहरुसम्म पुगेको मेरो यात्रा अविनाश श्रेष्ठको कोठामा पुगेपछि फरक हुन्छ । र, पटकपटक म त्यहाँ पुग्छु। कविता छपाउन हैन । त्यो मनपर्ने लेखकलाई भेट्न र उनका रोचक कुरा सुन्न । ‘अश्वत्थामा हतोहतः’ र ‘समय, समय अनि समय’ जस्ता दुई नाटकले नै उहाँलाई स्थापित नाटककार बनाइसकेको थियो त्यसबेला । रचनाको स्वभावमा राम्रो र नराम्रोको चेतना नआइसकेको बेला थियो त्यो मेरो । अहिलेचाहीँ आइसक्यो भनेको चाहिँ हैन है ! यो २०५७ सालतिरको कुरा हुनुपर्छ । उहाँको नाटक र रंगमञ्चको अनुभवले मलाई निक्कै लोभ्याएको हो त्यतिखेर । तर उहाँको कथाकारले मलाई छ्याप्प छोपेको थियो । पछि ‘करोडौँ सूर्यहरुको अन्धकार’ कविता संग्रह पढेपछि उनका कवितामा फैलिएको परिवेश, भाषा र शिल्पको जादु अद्वितीय लाग्यो । उनका जति पुराना कविता पढ्नुस् उनी समसामयिक लाग्ने कविताहरु छन् । १९९० मा छापिएको ‘अनुभूति यात्रामा’ पढेपछि म झन् कविताले पग्लिएँ । हैन यो कस्तो कविता हो ? ‘कुन्नी कुन अपरिचित गाउँकी नयनतारा बरुवा’ ? वा भनौँ न ‘हातमा कालो फूल लिएर उभिएकी नायिकालाई’ । ‘आमा’ शीर्षकको कविताले त झन् खुत्रुक्कै पार्छ । मेरी आमाका जर्जर पुराना झ्याल जस्ता आँखामा कहिले कतै शहरको रङ्गीन सपना पौडने गर्छ । तर कुन दिशामा छ त्यो शहर…? कुन बाटो जानु पर्छ त्यहाँ ? कति कोस पर छ त्यो…? उनलाई केही थाहा छैन । भविष्यका इन्द्रधनुषी सुखहरुको काल्पनिक संसार मेरी आमा फाटेको पटुकामा सप्काएर हिँड्छन् गाउँका थकित बाटाहरुमा । अरु कविका आमाहरुलाई झैँ थाहा छैन मेरी आमालाई लियोनार्दोकी ‘मोनालिजा’को नाम । थाहा छैन को थिए कार्ल मार्क्स ? कहाँ थिए, कस्ता थिए लेनिन ? ठूल्ठुला आकांक्षा र गह्रुङ्गा इच्छाको महत्त्व पनि थाहा छैन मेरी सोझी लाटी आमालाई अरु कविका आमाहरुलाई झैँ । हो, उनको पनि पुरानो सपना छः ‘म ठूलो मान्छे बनूँ ।’ कविकी आमालाई उभ्याएर यो कवितामा प्रयोग भएका प्रशस्त विम्बहरुले हाम्रो माटो र यहाँका सपनाहरुलाई बोल्यो । रोचक लाग्यो । उनले मोनालिसा नलेखेर मोनालिजा लेखे । अर्थात् उनका शब्द र लेखाइको फरक पन, खाली लेख्नका लागि मात्रै फरक भएनन् । ती मीठा पनि भैदिए । ‘कुन्नी कुन अपरिचित गाउँकी नयनतारा बरुवा’ पढ्नुस् त्यो द्वन्द्वकालीन असममा भिजेको उनको अनुभव कविता–इतिहास बनेर टक्क अडिएको छ । उसरी नै परिवेश, विम्ब, भाषा र शिल्प उनको फरक छ । मिठासपूर्ण छ । अविनाश दाइ आफ्नो मूल जरो कविता भएको अह्वान गर्छन् । वि.सं. २०१४ वैशाख ३१ गते गुवाहाटीमा जन्मिएका अविनाश श्रेष्ठले एउटा कुरा जिकिर गरे । कविता लेखन ४० अघि नै ठीक हुँुदोरहेछ । अझ युवाकालमा लेखिएका कविता सशक्त हुने । कुरो मिल्यो । मैले माथि लेखेको छु। उनका अघिका कविता झन शक्तिशाली । उनले भने–‘अब लेखेका कवितामा पहिले लेखिएका कुरा दोहोरिएर आउने रहेछन् !’ उमेरसँगै आउने रचनागर्भ र स्तरीयताको मूल्यांकन रोचक लाग्यो । एउटा स्रष्टाले आफ्नै रचनामाथि यसरी मूल्यांकन गरेको थाहा पाउँदा खुसी लाग्दोरहेछ । अग्रज स्रष्टाको अनुभूतिबाट धेरै सिक्न सकिन्छ । नारायण ढकाल पनि यस्तै लेखक लाग्छ मलाई जसले आफ्नो रचनाको समीक्षा अति निष्ठुर भएर आफैँ गर्छ । अविनाश दाइका योजना अब कथा र नाटकतिर छन् । उपन्यासतिर उनको अन्तिम रुचि हो । बाठो भएर मैले उनलाई मुख खोली हालेँ– उपन्यास लेख्नुभयो भने लामो नलेख्नु होला । ढड्डु । प्रकाशकलाई नसुन्नु होला । तपाईंमा थोरैमा धेरै भन्ने शक्ति छ । बी.पी.मा जस्तै ।’ सामीप्यताले यसो भन्ने अधिकार दिएको हो । त्यसो त उनका कविता, कथा र नाटकका भाषाशिल्प र सिर्जनाका विषयमा थुप्रै व्याख्या भएका छन् । म बबुरोको हेराइ कति अर्थपूर्ण होला थाहा छैन । तर, केही समीक्षकहरुसँग धारणा मिल्न जाँदो रहेछ । गएछ । डा. गोविन्दराज भट्टराईले लेखेका छन्–‘अविनाशको सबैभन्दा ठूलो शक्ति भाषामा निहित छ । यी विषयवस्तु, थिम र पात्र अनि कथाहरु अरुले पनि लेखेका छन् । तर, उनको निजी शक्ति…त्यो हो भाषा । दोस्रो कुरा उनको भाषा सन्तुलित ‘इलिगेन्ट’ स्टाइलको छ । पढौँ–पढौँ लाग्ने ।’ जब मैले ‘तान्या ईन्द्रकमल र अन्धकार’ दुई पटक पढेँ । र केही कथाहरु शिल्पीका कलाकार साथीहरुलाई पढेर सुनाएँ । हरेक पटक पढ्दा मलाई लाग्यो, यस्मा के छ जस्ले तानी रहन्छ । त्यो आकर्षण उनको विचित्र किसिमको भाषा नै हो भन्ने मैले पनि ठानेँ । असमीयाबाट मुक्त भएर काठमाडौँ वा नेपालमा लेखिइरहको भाषामा आइनपुगेको । अविनाश श्रेष्ठले भाषाको यात्रामा बीच बाटोमा नयाँ आविष्कार गरे । न उता मिल्छ न यता मिल्छ । त्यसैले पनि उनले कहिलेकाहीँ भन्ने गरेका छन्– मेरो प्रतिस्पर्धा मेरो आफ्नै लेखाइसँग भयो । वास्तवमा । उनले अब लेख्ने कथा कस्तो होला त भन्ने मलाई पनि लागिरहन्छ । एउटा अर्को उत्कृष्ट कथा अस्तित्वका केही वाक्य यहाँ राखेँ । ‘एक साँझ मानिसहरुको बाढीमा हेलिँदै भोटाहिटीबाट इन्द्रचोकतिर जाँदै थिएँ । असन अन्नपूर्णादेवीको थान अगाडि उभिएकी एउटी रुपसीलाई देखेँ । लोकगाथाबाट टपक्क टिपेर ल्याइएको जस्तो मध्ययुगीन अनुहार थियो उनको ।’ मलाई अचम्मै लाग्छ उनले मिहिनरुपमा र नौलो किसिमले गर्ने परिवेशको वर्णन देखेर । हेलिँदै, रुपसी, लोकगाथा, मध्ययुगीन जस्ता शब्दहरु यहाँ आविष्कार जस्ता भएर प्रयोग गरिए । उनका हरेक कविता वा प्रत्येक कथाका प्याराग्राफहरुमा यस्तै फरक स्वाद दिने शब्दहरुलाई कलात्मक र उपयुक्त ढंगले प्रयोग गरेको म पाउँछु। मायाजाल भन्ने कथाको सुरुवात हेर्नुहोस् है त ! ‘धीराले ऊर्मिको मुहारतिर हेरी । ऊर्मिको मुहारको एउटा सग्लो क्लोज–अप उसका आँखाअघिल्तिर छ अहिले ।’ म घोरिन्छु । किन उनले यहाँ चाहिँ अनुहार नलेखेर मुहार लेखे ? सग्लो क्लोज–अप के हो ? नाम किन यस्ता फरक ? धीरा र ऊर्मि । उनका कथाका कुनै पनि अनुच्छेद लिएर यसरी नै केलाउनुस् यस्तै रोचकता पाउनुहुनेछ । उनको भाषा मलाई यस्तो लाग्छ, अग्राखको काठमा चिल्लो पारेर रन्दा लगाइएको छ । कथाको सुरुवात र अन्त्य चलनचल्ती भन्दा फरक छ । यही गुण मैले नयनराज पाण्डे र कुमार नगरकोटीका कथामा पनि पाउँछु । अहिले फरक भाषा शिल्प र कथागत संरचनाको नयाँ रुपले अर्चना थापाका कथा पनि मलाई खुब मन पर्छ । यी दुवै कथाकार अविनाश दाइ र मलाई मन पर्नेमा लिस्टमा रहेछन् । बिपी, आइबी राई, गोठाले, विजय मल्ल, लामिछाने, विकल, राजव, ब्राजाकी, अभय श्रेष्ठ उनका मनपर्ने कथाकारहरुको लिस्टमा थपियो । अब अर्चना थापा पनि थपिइन् । दार्जिलिङतिर चाहिँ संजय विष्ट र उदय थुलुङ उनलाई मनपर्ने कथाकार हुन् । यति मात्रले उनका रचना वा भनौँ कथाहरु शक्तिशाली भएका त हैनन् । अन्तर्वार्ताको पहिलो दिन उनकै घरमा हामी छौं । ‘पाण्डुलिपि’का सम्पादक दीपक सापकोटा साक्षी छन् छेऊमा । दीपक अलिक आतुरीमा छन् । धेरै जिम्मेवारीहरुमाझ फसेका जस्ता । फोटोग्राफर अदिप्त गिरी बहुत सालिन छन् कुनै क्षणलाई क्यामेरामा कैद गर्न अवसर खोजिरहे जस्ता । एकछिनमा कवि सरिता तिवारी पनि आइपुगिन् । यही बखत अविनाश दाइ भन्दैथिए । –‘मेरो लागि कथा बलियो हुनुपर्छ । दृष्टिविन्दु भनेको कथा भन्नलाई कथाकार उभिने ठाउँ हो । कथाकार सही ठाउँमा उभिएको छ भने कथाको परिवेश छनौट ठीक हुन्छ । परिवेश ठीक छ भने कथानक पत्यारिलो बन्छ । त्यसकारण मेरो लागि विषयवस्तु दोस्रो तहको कुरा हो । दृष्टिविन्दु र परिवेश पहिलो ।’ अविनाश श्रेष्ठले आफ्नै रचना वा विधालाई यति गहिरिएर किन हेरे होला त ? उनीभित्रको अर्को शक्तिशाली प्रतिभा ‘सम्पादक’ले पो यसो गराएको हो कि ! उनी जुन पत्रिकाको सम्पादक भए, त्यसको वजन बढेर गयो । इज्जतिलो भयो । उनले केही फिल्मी पत्रिकाहरु पनि सम्पादन गरे । तर म यहाँ सम्झन चाहन्छु ‘समकालीन साहित्य’, ‘कविता’ र ‘गरिमा’लाई । अघिल्ला दुई पत्रिकाले त नाम कमाएकै हुन् । सबैले बिर्सिइसकेको र यो बजारको दुनियाँमा दुब्लाउँदै गएको गरिमामा उनी जानेबित्तिकै सबैको ध्यान खिच्न सफल भए । उत्कृष्ट रचनाहरुको छनौट र स्रष्टाहरुलाई घच्घच्याएर, फकाएर, बारम्बार पछ्याएर लेखाउन सक्ने उनको क्षमता धेरैले बिर्सिने छैनन् भन्ने लाग्छ मलाई । यो देशमा कसैले तिमी रचना देऊ न म राम्रोसँग छापेर पारिश्रमिक पनि दिन्छु भन्ने सम्पादकको फोन अचानक आउँदा कति लेखकहरु त अचम्भित भएका हुनन् ! दर्जनौँ लेखक कवि जसको रचना चाकडी नगरी, पटकपटक नधाई कनै पहिलो पटक छापिदिएर उनले ती नव लेखकहरुलाई कति उत्साहित गरे हुनन् ! नेपाली भाषाको कर्ममा उनले दुईखाले समुदायलाई भोग्ने मौका पाए । दुवैतिर उनको योगदान रह्यो । भारतीय नेपाली साहित्यमा उनको अनुसन्धान र तिनको प्रवर्धननमा योगदान रह्यो । आधुनिक भारतीय नेपाली कथा नामक निक्कै मोटो किताब त्यसको एउटा उदाहरण हो । यिनै विविध कारणले उनी एक्लो यात्रामा भएर पनि उनका वरिपरि निक्कै शुभचिन्तकहरु छन् भन्ने लाग्छ मलाई । यो देशमा कसैले तिमी रचना देऊ न म राम्रोसँग छापेर पारिश्रमिक पनि दिन्छु भन्ने सम्पादकको फोन अचानक आउँदा कति लेखकहरु त अचम्भित भएका हुनन् ! दर्जनौँ लेखक कवि जसको रचना चाकडी नगरी, पटकपटक नधाई कनै पहिलो पटक छापिदिएर उनले ती नव लेखकहरुलाई कति उत्साहित गरे हुनन् ! नेपाली भाषाको कर्ममा उनले दुईखाले समुदायलाई भोग्ने मौका पाए । दुवैतिर उनको योगदान रह्यो । तीन छोरीका धनी यी लेखक यतिखेर सुन्दर पारिवारिक सुखमा छन् । भाउजू मनुले उनका जतिधेरै लेखक र पत्रकार साथीहरु आए पनि त्यो सहजतालाई टुटाएकी छैनन् । एउटा लेखकका लागि जीवनभर यसरी नै वातावरण सिर्जना गरिदिनु निक्कै झन्झटिलो काम हो भन्ने लाग्छ मलाई । घरको ममलामा अविनाश दाइ आम पुरुषहरु भन्दा भिन्न छैनन् भन्ने लाग्छ मलाई । उनी भान्सा र घरको काममा सिन्को पनि भाँच्दैनन् । उनी प्राध्यापक हुन् तर त्यो पनि उनका विद्यार्थीहरुका माझ मात्रै । नत्र शुद्ध लेखक । शुद्ध सम्पादक । हिजोका दिनमा फिल्म र टेलिफिल्मका पटकथा र सम्बाद लेखक पनि थिए । पचासौँ फिल्म र सयौँ टेलिफिल्म लेखेका यी लेखकले नेपाल टेलिभिजनको पहिलो टेलिशृंखला चक्रव्यूह र अर्को चर्चित शृंखला ‘कालीगण्डकीको सेरोफेरो’ लेखेका उनले उपार्जनका लागि निक्कै झुर फिल्महरु पनि लेखे । यो कुरा उनलाई महसुस छ भन्ने म ठान्छु । यतिखेर उनी त्यो कहीँ नपुगिने दौडमा छैनन् । उनको कथा संग्रहको नयाँ संस्करण भर्खरै फाइनप्रिन्टले बजारमा ल्याएको छ । र, विजय मल्लका कथाहरुको संकलन ‘मान्छेको नाच’ उनकै सम्पादनमा प्रकाशित छ । विजय मल्लका मनखाने कथा उनले बटुलेर यहाँ राखेका छन् । कृतिमा उनको भूमिका सुन्दर छ, विजय मल्लसँगको संगत र उनका अनुभूतिहरु । अविनाश दाइसँगको मेरो सामीप्य लामो समयदेखि एक नासले बगेको रहेछ । हामी आआफ्नो गुन र बैगुनलाई आत्मासात गर्दै यहाँसम्म आइपुगेछौँ । तर, उहाँसँगको सामीप्यले मलाई सधैँ ऊर्जा प्रदान गरेछ । कालान्तरमा व्यक्ति गौँण र रचना प्राथमिक हो भन्ने लाग्छ मलाई । उहाँका सिर्जनाले ती स्थान कब्जा गरिसकेका छन् । अझै नयाँ रचनाहरुको प्रतिक्षामा म उनको असल पाठक भएर कुरिरहेको छु । लकडाउन । अविनाश दाइसँगको दुई दशकको घनिष्ठ सम्बन्ध यो लकडाउनले रोकेको छैन । हामी निरन्तर कुराकानीमा छौँ । केही दिनअघि उनले मलाई चुनुवा अचेवेको ‘एरो अफ गड’ र ‘थिंस फल अपार्ट’ पढ्न सुझाए । उनको जन्मदिनको साँझ उनी ‘मोहल्ला अस्सी’ फिल्म हेर्दै रहेछन् । यो पनि हेर्न सुझाए । बन्दाबन्दी (लकडाउन)को कारणले थिएटरको के हविगत होला ? शिल्पी थिएटर कसरी चल्ला उनलाई विशेष चिन्ता छ । बन्दाबन्दीअघि हामी कहिले शिल्पी त कहिले उनकै निवासमा दिनको ५ घण्टा काममा थियौँ । अविनाश दाइले भारतीय सशक्त नाटककार रमेश बक्षीको नाटक ‘देवयानीका कहना है’को नेपाली रुपान्तरण गरेका छन् । यसै नाटकको फाइनल ड्राफ्टमाथि हामी काम गर्दै थियौँ । मूल कृति र नेपाली अनुवादलाई ट्याली गर्दै परिमार्जनमा उनी कति स्वाभाविक छन् भने उनीसँग काम गर्न साँच्चै आनन्द आउँछ । यस नाटकलाई मञ्चन गर्ने र नेपाली संस्करण पनि छाप्ने हाम्रो योजना छ । यौन र गालीसँग सम्बन्धित ठाडा र झर्रा शब्दहरु यस नाटकमा धेरै छन् । अविनाश दाइको कलात्मक भाषाले नेपालीमा अझै रोचक बनाएको छ । लिभिङ टुगेदर र युवायुवतीको प्रेम सम्बन्ध माथिको यस नाटकका लागि अविनाश दाइले प्रशस्त मिहिनेत गर्नु भएको छ । त्यसो त प्रेम जीवनका उहाँका आफ्नै अनुभवहरुले पनि सहयोग गर्\u200dयो सायद । कोरोना कहरले हामी रोकिएका छौँ । कोरोना संक्रमणले यो संसारसँगै हाम्रो स्थिति के हुने हो पत्तो छैन । चिन्ता अधिक छ । नेपाल नामक देशको । यहाँका नागरिकको । र, भ्रष्ट शासकहरुको । तर पनि आशाहरु बाँकी छन् । अविनाश दाइ लगभग कलेज अध्यापनको विश्राममा हुनुहुन्छ । उहाँबाट नयाँ रचनाहरु त आउने नै छन् । साथै नयाँ नाटकको पनि आशा छ । (दीपक सापकोटाद्वारा सम्पादित पत्रिका ‘पाण्डुलिपि’मा छापिएको लेखको अद्यावधिक स्वरुप)
गजल: हो पत्थरले सँधै पत्थर सँगै ठोकिनु पर्छ। जसले फूल दिन्छ उही बाट जोगिनु पर्छ। जसलाई आँशु लुकाई हाँसो दिएको थिए, कुनै दिन उसको पनि आँशु पोखिनु पर्छ। जब चोखो माया गर्छु भन्यौ अनि डर लाग्यो, यहाँ चोखो माया गर्नेहरू नै बिछोडिनु पर्छ। धनको सामु मनको माया बिक्दैन यो शहरमा, अब जाली प्रेमको नैटंकी बजार खोलिनु पर्छ। कसम विश्वास भरोसा कसैको लाग्दैन मलाई, यहाँ आफ्नै भन्नेले नै प्रहार गर्छन्, रोपिनु पर्छ। चितवन, हाल – कुवेत
गजल: कुनै दिन घर फर्केर आउला बाँचे भने जिन्दगी जस्तै जिन्दगी बनाउला बाँचे भने । अहिले घर भित्रै बस ए! मनका मान्छेहरु रमाउनु त छदै छ नि रमाउला बाँचे भने । समयले टाढा राखेर अछुत बनाएको छ मनले के के सोचेको छ बताउला बाँचे भने । महोदय,यो बिपतमा यत्ति पनि सोचेनौ हैँ ? पछि त मुख फेरी फेरी खाउला बाँचे भने यो खतरनाक संकेत हो टाढै बसौँ हामी सबै दुरी कायम गरौँला दोस्ती बढाउला बाँचे भने । धनगढी, कैलाली हालः कुबेत।
गजल: यो घर भित्र केहि रैछ त्यो मन भित्र केहि रैछ । अरुले नै थाहा पाउने जोवन भित्र केहि रैछ । कस्तो मौसमि भनौ या बेमौसमि हावाहुरी यो, यादहरुले धड्की रहने धडकन भित्र केहि रैछ । झरि झैं आँसुहरु बगि रहन्थे र त महसुस गरें, मुटु भित्र कोहि रैछ यि नयन भित्र कोहि रैछ । जवानी लागेपछी यस्तै हुन्छ भन्थे बाजेहरुले, तब सम्झें प्रेमको यो बन्द सदन भित्र कोहि रैछ । म भने खोजि रहें रोजि रहें, नपाएर रोए पनि, अझै थाहा पाईन मैले यो गगन भित्र कोहि रैछ । हाल – कुवेत
गजल: खोला र नाला यी भीर पाखा कस्ले बनायो ? मानवहरूमा काला र गोरा कस्ले बनायो ? जन्मिन्छ मान्छे एक्लै र मर्दा एक्लै हुने छ मन्दिर र मस्जिद यो धर्म, नाता कस्ले बनायो ? यो रात यो दिन आकाश, धर्ती मान्छे र पंछी त्यैं भित्र बादल, घनघोर मेघा कस्ले बनायो ? नेपाल मेरो अग्लो हिमालय यी फूल लहरा सौन्दर्यताले भरपूर्ण आहा कस्ले बनायो ? कस्ले बनायो आगो र पानी यो घाम जून त्यो चन्द्रमा ती तारा उज्याला कस्ले बनायो ? बहर मुतकारिब अश्लम रुपन्देही
गजल: जब डक्टरले म चाँडै नै मर्ने कुरा बतायो । भाइ खुशी हुँदै सदबिउ छर्ने कुरा बतायो । आज भमराहरु भक्कानिदै रोइरहेको सुनेँ, सायद मालीले फूलहरु झर्ने कुरा बतायो। आमा रुँदै अस्पताल पुगिन् वृद्धाश्रमबाट, जब छोराको मृगौला फेर्नुपर्ने कुरा बतायो । शत्रु चिन्तित, आफन्त खुशी छ्न् छिमेकमा, मैले जब सधैँलाई बसाइँ सर्ने कुरा बतायो। हरदिन रोई हिँड्ने पागल आज हाँसेको देखें, हुनसक्छ कसैले उस्को प्राण हर्ने कुरा बतायो । हेटौंडा हाल- कुवेत।
गजल: यो मन बारबार प्रश्न उत्तरमा लाग्यो, पत्थर दिलमा या दिल पत्थरमा लाग्यो। यो शहर पनि गाउँ बनाउने थियो सोच, म हारेँ, जब गाउँकै मन शहरमा लाग्यो । यो नजर हुन्छ हरेक ठाउँ ज्यानमारा, मर्\u200dयो रावण जब सीता नजरमा लाग्यो। उफ्री खेल्दै आयो गयो त्यो खोलाको लहर। मिलन सागरमा, बिछोड बगरमा लाग्यो। एक चिताले देखायो जीवनको गन्तव्य, यी पाइला घाट हिँड्ने तरखरमा लाग्यो । झापा, हाल – कुवेत
बेलायती प्रधानमन्त्रीका लेखक बाबुमाथि अवसरवादी भएको आरोप: बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका ७२ वर्षे पिता स्टान्ली जोन्सनमाथि अवसरवादी लेखकको आरोप केहीले लगाएका छन् । कोविद १९ रोगका कारण संसार नै त्रस्त रहेका बेला उनले सन् १९८२ ताका प्रकाशनमा ल्याएको महामारी साहित्य ‘मारबर्थ भाइरस’ प्रकाशन गर्न प्रकाशकलाई जोड दिएको आरोप उनीमाथि लागेको छ । उपन्यास निस्केको केही समय राम्रै बिक्री भए पनि यतिबेला पुस्तक पुनः प्रकाशन हुन सकिरहेको थिएन । प्रकाशकहरूको प्राथमिकतामा पर्न छाडेपछि चुप लागेर बसेका स्टान्लीले यतिबेला आफ्नो पुस्तक बजारमा आए मज्जैको व्यापार गर्ने भन्दै प्रकाशककहाँ तारन्तर फोन गरेपछि उनी चर्चामा आएका हुन् । लामो समयदेखि स्टान्ली जोन्सनको ‘मारबर्थ भाइरस’ उपन्यास प्रकाशन हुन सकिरहेको थिएन । कवि टड स्विफ्टले स्वतन्त्र लेखकहरूलाई महत्त्व दिने भनी स्थापना गरेको कम्पनी ब्ल्याक स्प्रिङले सो पुस्तक प्रकाशन गरेको थियो । ठूला कर्पोरेट प्रकाशन गृहले यस्ता उपन्यासलाई महत्त्व नदिएका बेला ब्ल्याक स्प्रिङले उनको किताब प्रकाशन गरेको थियो । स्टान्लीले चासो दिएपछि भने प्रकाशकले पनि यसलाई मौकामा चौका हान्ने निर्णय गरेको हो । प्रकाशकले उपन्यासलाई पुनः नयाँ नाउँमा प्रकाशन गर्ने भएको छ । पुस्तकको नाउँ ‘द भाइरस’ राखिने भएको छ । उपन्यासको अन्तिम पाठमा लेखकले आफ्नो भनाइ भने थपेका छन् । उनले लेखेका छन्, ‘पुस्तकमा मैले ह्याप्पी इन्डिङ गराएको छु तर अहिलेको यो विश्वव्याधिको जुन तहको क्षति छ, त्यसलाई हेर्दा भने उपन्यासको सखुद् अन्त्य उति ठीक लागिरहेको छैन । संसारभरिका मुलुकहरूले यसको उपचार र खोपमा आफ्नो सम्पूर्ण शक्ति नलगाई धर देख्दिनँ ।’ उपन्यास पनि मारबर्ग भाइरसको चपेटामा परेपछि यसको खोप खोज्ने दौड, त्यसको प्रयास र उठापटकबारे हो । लेखक स्टान्लीको भनाइमा सन् १९६० को दशकको जर्मनीको वास्तविक घटनामा आधारित रहेर उपन्यास तयार पारिएको हो । अचानक विश्वव्याधिका कारण संसारमा यस्ता साहित्य खोजी जारिरहेका बेला स्टान्लीले आफ्नो उपन्यास पुनः प्रकाशन गराउन गरेको दौडधुपलाई धेरैले अवसरवादी प्रधानमन्त्रीका बाउका रूपमा चित्रित गरेका छन् । उनले भने यस आरोपलाई खण्डन गरेका छन् । रोचक त के भयो भने अनलाइनमा पुस्तक खरिदबिक्री गर्ने केहीले यो उपन्यासको मूल्य ५० पाउन्ड राखेर बिक्री गरे । जबकि यसको मोल मुस्किलले १० पाउन्ड छ । यो देखेपछि उनले यस उपन्यासलाई बजारमा ल्याउन सकिने सम्भावना रहेको देखेका हुन् । यो पुस्तकको पेपरब्याक र इबुक चाँडै बजारमा आउने जोन्सनको अपेक्षा छ । यसका साथै उनले विश्वकै ठूलो समस्याका रूपमा रहेको जलवायु परिवर्तनसम्बन्धी उपन्यास ‘द वार्मिङ’ पनि प्रकाशनका लागि तयार भएको जानकारी दिएका छन् ।
उन्नाइस वर्षे विशालको साहित्य यात्राः मुनादेखि मेटाफरसम्म: मेरो दिमागमा साहित्यिक छाप कहिलेदेखि पर्यो ? यसै भन्न सक्दिनँ । तर सानैदेखि साहित्यप्रति असाधारण लगाव भने थियो । बुबा सरकारी जागिरे भएकोले घरमा पत्रिका कहिलै टुट्दैनथ्यो । मुना, मधुपर्कजस्ता पत्रिकाको त म धेरै वर्षसम्म वार्षिक ग्राहकसमेत थिएँ । मुना पत्रिकामा मैले झन्डै आधा दर्जन हुलाकमार्फत् आफ्ना लेख रचना पनि पठाएँ । एक दुई पटक छापिएर पत्रिका हातमा पर्दा हदैसम्म उत्साहित भएको थिएँ । एकाध पटक कुनै प्रतिक्रिया नपाउँदा मन खल्लो पनि भएको थियो । मेरो साहित्यिक यात्रा बडो रोचक छ, कमसेकम मेरा लागि । सानोमा मलाई पेन्टिङ्ग र चित्रकलामा ठूलो शोख थियो । लिओनार्दो दा भिन्चीको जीवनी पढेपपछि उनीजस्तै महान् चित्रकार बन्ने संकल्प लिएको थिएँ । तर पछि खै किन हो मेरो चित्रकला मोह भङ्ग हुन पुग्यो । खास कुनै कारण छ जस्तो त लाग्दैन, तर पनि अहिले यस्तो लाग्छ, त्यसबेला कुनै ठोस कारण हुनैपर्छ जुन मेरो बालमस्तिष्कले स्मरणको रेखाभित्र कैद गर्न सकेन । बुबा सरकारी जागिरे भएकै कारणले गर्दा उहाँको सरुवा हुनेबित्तिकै नयाँ ठाउँमा पुग्नु पर्थ्यो । उहाँको जागिर सरुवाकै क्रममा विभिन्न ठाउँ घुम्न पाउँदा मैले विभिन्न भेषभूषा र जीवनशैली नजिकबाट नियाल्ने मौका पाएँ । त्यसैक्रममा मैले समाजका विभिन्न आयामहरू सूक्ष्म ढंगले बुझ्ने सुअवसर पाएँ । बुबाको ठम्याइ के थियो भने त्यही प्रक्रियाले म अझै समाजिक भएको छु । धेरै अघिदेखि म केही लेख्न चाहन्थेँ । समाजको व्यवस्था र बेथिति देखेर म आजित थिएँ । आफ्नो समाजको यथार्थ चित्रण गर्न म कुनै त्यस्तो कुरा लेख्न चाहन्थेँ, जुन धेरै नेपालीमाझ पुग्न सकोस् । केही नभए पनि मेरो लेखाइमार्फत् पाठकले अलिकति भए पनि आफ्नो समाजबारे मनन गर्न सकून् । सानोमा पढेका राजकुमार र राजकुमारीको लोककथाले निकै तानेको थियो । पछि अकबर र बिरबलका कथाहरूले पनि मन जितेको थियो । कयौं उपन्यास र पुस्तकहरू पढिसकेपछि एकदिन म पनि लेख्नसक्छु भन्ने विश्वास लागेर आयो । उपन्यास र कथाहरू मलाई सानैदेखि मनपर्ने विधा थियो । सानैदेखि कमिक्स बुक र अंग्रेजी उपन्यास पढेकोले ममा एउटा किताब लेख्ने आत्मविश्वास पहिलैदेखि कायम थियो । कयौंपटक किताब लेख्न नबसेको पनि होइन । रबरजस्तै सके जति तन्काएर एउटा बिन्दुसम्म पुर्याउँथेँ पनि, तर त्यस बिन्दुपश्चात् कथा कतै हराइजान्थ्यो । फेरि पनि हरेक पुस्तक पढ्दै जाँदा उसैगरी नयाँ विषयमा कलम चलाउन मन लागिहाल्थ्यो । मेरो शुरुवाती साहित्य लेखन कथाबाट सुरु भयो । उच्च शिक्षाको लागि क्याम्पस पढ्न काठमाडौं आएपछि अवसर पनि मिल्यो । ११-१२ पढ्दाताका बिहानको कलेज भएकाले दिनभरि फुर्सद हुन्थ्यो । दिउँसोपख केही काम नभएपछि नियमितजसो पुस्तकालय जान थालेँ । साहित्यका पुस्तकहरू छानीछानी पढ्न थालेँ । पछि त पुस्तकालय जाने लत नै बस्यो । त्यसबखत मैले अधिकांश चल्तीका र चर्चित नेपाली साहित्यिक पुस्तकहरू पढ्न भ्याएँ । त्यसै क्रममा मैले ससाना कथाहरू पनि लेख्न थालेँ । पुस्तकालय धाउन थालेपछि केही साहित्यकारहरूसँग पनि हिमचिम बढ्न थाल्यो । उनीहरूकै सम्पर्कमा केही पत्रपत्रिकामा कथा र लेख पठाउन थालेँ । कहिलेकाहीँ समाजको विकृति र विसङ्तिबारे पनि फाट्टफुट्ट लेख्न थालेँ । तिनै विषयका लेखहरू बढी पाठकका रोजाईमा पर्ने भएकाले पनि मलाई लेख्नुमा कुनै दिक्कत थिएन । ती लेखहरूमा केहीले अलिक चर्चा पाउँथ्यो, केही भने रद्दीको भाउमा पत्रिकासँगै हराएर जान्थे । मैले लेखेका केही कथा र लेखले राम्रो प्रतिक्रिया पाउन थालेपछि ममा पनि पुस्तक लेख्ने सोच विजारोपण हुनपुग्यो । पुस्तक लेख्नेबारे विचार मनमा आएदेखि नै साथीहरूलाई एउटा पुस्तक लेख्दैछु भन्दै नहिँडेको पनि होइन । तर धेरै पछिमात्र अबचाहिँ मैले पुस्तक लेख्नैपर्छ भन्ने अठोट लिई पाण्डुलिपि तयारमा लागेको हुँ । पुस्तक लेख्दैगर्दा कयौंपटक पाण्डुलिपि च्यात्दै पुनः श्रीगणेश गरेको सम्झन्छु । पुस्तकका केही अंश लेख्दै गर्दा पूरा रजनी बितेकोसमेत भेउ पाउन सकिनँ । केही ठाउँमा लेख्दै गर्दा आँसु टिल्पिलाउँदै पाण्डुलिपिको पन्नाहरूमा खसेको सम्झिँदा अहिले आनन्द महसुस हुन्छ । पुस्तक लेख्दैगर्दा त्यहाँ छुटेका हरेक पात्रहरूले धेरै दिनसम्म झक्झकाइरहन्थे । केहीलाई यथोचित न्याय दिलाउन सक्थेँ भने केहीलाई न्यायको कठघरामा पुर्याउन खोज्दाखोज्दै विलीन भएर जान्थे । हप्तादिन जति लेखेर पाण्डुलिपि बोकी केही निश्चित साथीहरूलाई देखाउन अक्सर क्याफे र चियपसलमा लैजान्थेँ । साथीहरू पनि पढेर उचित सल्लाह, सुझाव र टिकाटिप्पणी दिन्थे । जसले मेरो लेखनीमा निखारता आएको म विश्वास गर्छु । एकाध महिना लाएर पुस्तकको पहिलो पाण्डुलिपि तयार भयो । कयौंपटक पुनर्लेखन गरिसकेर कम्प्युटरमा टाइप गरेँ । त्यसैक्रममा साहित्यकार ईन्द्रकुमार श्रेष्ठ ’सरित’ र डा. धनप्रसाद सुवेदीबाट पनि धेरै सहयोग प्राप्त भयो । प्रकाशनको लागि केही प्रकाशन गृहसँग कुरा भयो । कुनैले भर्खर १९ लागेको ठिटो भनेर विश्वास गरेनन् भने केहीले अलिक समय पाण्डुलिपि पढ्नुपर्छ भन्दै लामो समयसम्म टारिरहे । यसैक्रममा एकदिन न्यू एरा बुक्सबाट पाण्डुलिपि हेरिसकेपछि फोन आयो । प्रकाशनका संयोजकले पाण्डुलिपि पढेर प्रभावित भएको र अविलम्ब पुस्तक प्रकाशन गर्न चाहेको कुरा व्यक्त गर्नुभयो । म हदैसम्म उत्साहित भएको थिएँ । अन्ततः दुई वर्षको मेहनतपश्चात् पुस्तकले स्वरुप पायो र नामाकरण भयो “मेटाफर“ । न्यू एरा बुक्सले सविनय प्राकाशन गरी बजारसम्म पुर्यायो । मेटाफर १५ वटा छोटा कथाहरू संग्रहित पुस्तक हो । सबै कथालाई समाजबाटै टिपेको हुँ । कथामा उन्न कति सफल भएँ, तपाईँहरूकै हातमा । मैले त्यस पुस्तकमा उही पुरानो कथा भन्ने भद्दा शैलीभन्दा माथि उठेर कथा भन्ने शैलीको निर्माण गरी नेपाली साहित्यमा एउटा नवीन प्रयोगको रुपमा प्रस्तुत गरेको छु । पुस्तकमार्फत् नेपालको सुदूरपश्चिममा विद्यमान समस्यलाई चित्रण गर्ने प्रयास गरेको छु । पुस्तक पढ्दै जाँदा अहिलेको युवाका समस्या र मनोविज्ञान थाहा पाइने, नेपाली समाज, संस्कृति, राजनीतिका विकृति, विसङ्गतिको चित्र झल्झली आउने, पुँजीवादी अर्थतन्त्र र उपभोक्तावादी संस्कृतिले पारेको दुष्प्रभाव देख्न पाइने अनि कथा भन्ने मौलिक शैली आदिले विशेषतायुक्त यस पुस्तकले पाठकलाई ज्ञानवर्द्धक हिसाबमा सँगै हिँडाउँछन् भन्ने मेरो लेखकीय विश्वास पनि छ । म यस कथा संग्रहलाई आवाजविहीनहरूको आवाज भन्न रुचाउँछु । यसमा समाजबाट अपहेलित महिलाको व्यथा, समाजमै रहेका तर नहेरिएका र वास्ता नगरिएका नागरिकका कथा छन् । सुदूरपश्चिमको परिवेशमा रहेर लेखिएका अधिकांश कथाहरूमा सकभर डोटेली संवाद र शब्दहरूको प्रयोगले कथाको परिवेशलाई थप जीवन्त बनाउने प्रयास गरेको छु । पुस्तकका धेरैभन्दा धेरै पात्रलाई मैले नूतन परिवेशमा सजाउन खोजेको छु । विभिन्न परिवेशबाट टिपेर ल्याई फुलबुट्टा भरेर हरेक पात्रलाई कथाको नौलो अभिभारा सुम्पेको एउटा सफल भनौं या असफल प्रयत्न गरेको छु । जसको मूल्यांकन पाठकले गर्ने नै छन् ।
४० बेस्टसेलर पुस्तकका लेखक ठग भएको खुलासा: अपराधकथाका चर्चित फ्रान्सेली अनुहार स्टेफन बोरगाँ जसरी सिरियल किलरबारे रोचक तथ्य निकाल्थे, उसरी नै सिरियल ढँटुवा रहेको खुलासा भएको छ । सत्यघटनामा आधारित रहेर उनले लेखेका पुस्तक लाखौँ प्रति बिक्री भएका छन् । उनले लामो समयदेखि आफ्नो विशिष्ट परिचय बनाएर ढाँटेको खुलासा हालै भएको हो । बोरगाँले अहिलेसम्म ४० वटा पुस्तक लेखिसकेका छन् । उनलाई हत्याराहरूको विशेषज्ञका रूपमा समेत फ्रान्समा चिनिन्छ । उनले अपराधमाथि बनेका कयौँ टेलिभिजन डकुमेन्ट्रीमा टिप्पणीसमेत गरेका छन् । उनले अहिलेसम्म ७० भन्दा बढी सिरियल किलरसँग अन्तरवार्ता लिएको, अमेरिकाको क्वान्टिकोस्थित एफबिआई एकेडेमीबाट तालिम लिएको, उनकी पत्नी सन् १९७६ ताका दर्जन बढी हत्यामा संलग्न एक सिरियल किलरद्वारा हत्या गरिएका लगायतका झूट बोलेको खुलासा एउटा स्वतन्त्र वेबसाइटले हालै गरेको थियो । गएको जनवरी महिनामा फोमी एल कर्पोरेसन नामक सामूहिक संस्थाले उनलाई आफ्नो विगतबारे झूट बोलेको भन्दै आरोप लगाएको थियो । यत्तिका समयसम्म उनी भने चूप थिए । तर हालै उनले एउटा फ्रान्सेली पत्रिकासँगको कुराकानीमा सिरियल किलरद्वारा हत्या भएको भनिएकी पत्नी कहिल्यै अस्तित्वमा नरहेको भनी स्वीकार गरेका छन् । यति मात्र होइन, आफूले कहिल्यै पनि अमेरिकामा एफबिआईबाट तालिम नलिएको र ७० भन्दा बढी सिरियल किलरसँग भेटेको दाबीमा पनि सत्यता नरहेको बरू केही सीमित अपराधीलाई भेटेको पनि बताएका छन् । ‘एकताका आफू स्थापित हुन खुबै झूट बोलेँ,’ उनले पेरिस म्याच नामक पत्रिकालाई अन्तरवार्ता दिँदै भने, ‘वास्तवमा मैले आफ्नो काम इमान्दारीपूर्वक गरेको भए हुन्थ्यो । झूट बोलेर अन्ततः म आफ्नो र पाठकको नजरमा अझै गिरेँ ।’ गएको मंगलबार ला पेरिसियन पत्रिकासँग कुराकानी गर्दै आफू एक किसिमको मानसिक रोगको शिकार भएकोसमेत बताएका छन् । उनले भने, ‘म आफूलाई मिथोमेनियाक भएको छ भन्ने लाग्छ । नत्र मैले त्यसरी झूट बोल्नै सक्दिनँ ।’ उनले आफूलाई मानसिक स्वास्थ्यलाभका लागि चिकित्सकसँग सल्लाह गर्नुपर्ने अवस्था आएको समेत स्वीकारेका छन् । उनले भने, ‘मैले झूट बोलेँ र यत्तिका लामो समयसम्म त्यसलाई काट्न कुनै काम गरिनँ । यसमा म ज्यादै लज्जित छु । मैले फैलाएका सबै झूटहरू वास्तवमा हास्यास्पद नै हुन् । त्यसो गर्न कुनै आवश्यकता नै थिएन ।’ आफूलाई कहिल्यै पनि चाहिँदो माया नपाएको महसुस गरेकाले सारा झूट बोलेको समेत उनले बताएका छन् ।
उसको कथा: वेदना पनि सुनाउँ कसलाईं बुझ्ने को छ र यहाँ दैव पनि निष्ठुरी रैछ नभन्नु कसैलाईं पुजिन्छन् जहाँ तहाँ खुसी भन्ने शब्द खोई पराइ झैँ भयो सपना पनि नमीठो नै आउँछन् मेरो के गल्ती रह्यो भाग्य के भग्नावशेष बनायो, कर्मले कठपुतली झैँ नचायो मर्दै बाँच्नुको पीडामा दैव किन खुसी भै काललाई पराइ बनायो रहर थियो मलाई पनि होस अनेकौँ खुसी उमङ्ग आँखा पनि नखोलिने भयो अब देख्दा जिन्दगी भङ्ग । झापा
मुमुक्षा: हिमाल झैँ पग्लिएर स्वरुप आफ्नो मेटाएर बन्दै नदी छलछल छहराऊँ सागर-सागर लहराऊँ । हिरण्य गर्भ तोडेर चरी झैँ आवरण फोरेर उन्मादमा पखेटा फटफटाऊँ गगन-गगन फिजारिऊँ । बाँधेर भरोसा प्रेममा जलेर सीता झैँ ज्वालामा छाती फोरेर उडी जाऊँ सडी मरुँ या भिडी जितूँ । सागर-सागर लहराऊँ गगन-गगन फिजारिऊँ छाती फोरेर उडी जाऊँ सडी मरुँ या भिडी जितूँ ।
पिँजडाभित्रको स्वतन्त्रता: आशाको थुन्सेसँगै थिलथिलो जिन्दगी बोकेर उक्लिरहेछन् लरखराउँदै मेरा एकजोर खुट्टाहरू सुस्केरा हाल्दै तिर्खाएरै हो जिन्दगीले अञ्जुली थापी पिइरहेछन् एकजोर आँखाबाट बगेका ती गरिबीहरू । देश भत्काउँदा माटोमा भेटिनू पर्थ्यो शहीदका आहुतिका टाउकाहरू काटिएका शहीदका हजारौँ हातहरू एकचौथाई अपयव चुँडिदा आमाको सुनिनुपर्थ्यो छातीमा अँगालेर रूईरहेकी लिपुलेक लिम्पियाधुरा र कालापानीका हाँक र क्रन्दनहरू भेटिनू पर्थ्यो एउटा सत्यनिष्ठा हली जसले अघाएका एकजोर गोरु नारेर जोतिरहेका तराई पहाड् र हिमालहरू । अझै भेटिनू पर्थ्यो मजेत्रो च्यातिएझैँ च्यातिएका नेपाल आमाकी सीमाहरू दशरथ चन्द धर्मभक्त माथेमा गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीहरूसँगै बेपत्ता पारिएका शहीदहरू अझै खोजिनू पर्थ्यो आफ्नै देशमा हराएका मदन भण्डारीहरू लेखिनू पर्थ्यो राष्ट्रवादका कविताहरू शहीदका रगतका कलमहरूले गाइनू पर्थ्यो अझै जिबन शर्माका गीतहरू । तर अहँ, ब्युँझदै छकोटी आँखाले देखेका सपनाहरू गर्ल्याम्मै ढले यसरी जसरी ढले मेरा देशका भीमसेनस्तम्भ तै पनि होंचो भएन र ढलेन कहिल्यै मेरो सगरमाथाको त्यो अग्लो स्वाभिमान ननिभ्यो कहिल्यै मभित्रको देशप्रेमको दियो नहरायो कहिल्यै मभित्र देश सिउने सियो अझै म बाँचिरहेछु यसरी जसरी बाँचिरहेछन् निसासिएर मुढाले थिचिएका पहेंला निरीह दूबोहरूझैँ । ए कानहरू हो ! किन सुन्दैनौ हँ ? चिहानबाट आएका शहीदहरूका आवाजहरू ए आँखाहरू हो ! किन देख्दैनौ हँ ? शहीदहरूका छातीका आलो घाउबाट बगेका रगतका अरुण र कर्णालीहरू ए बरफहरू हो ! किन पोल्दैन हँ ? तिमीहरूका छाती मेरोझैं स्वाभिमानको आगोले ? उन्मुक्त नभएरै हो बहिरा पर्खालहरूमा हिर्काइरहेछु म आक्रोशका हतोडाहरूले हिंजो पनि रेटिएकै हुन् न्यायका घाँटीहरू आज मेरो पालो रेटिने तर रेटिने छैनन् कहिल्यै मभित्रको देशप्रेम हो, निभाइने छ घाम झ्याप्पै म निभेपछि । साँच्चै भनुँ, आफ्नै देशमाथिको खुला आकाश पनि मलाई पिजडाजस्तै लाग्छ पिजडाभित्रको स्वतन्त्रता पनि के को स्वतन्त्रता हो र ? महोत्तरी, गौशाला न. पा. १ #राजुबाबु श्रेष्ठ सागर
धरा: सुन्दर देखिएकी छिन् बसुधा झनझन, गाढा नीलो रंगमा रंगिएका छन् गगन । बर्सन्छ आकाशबाट नीर घरिघरि, वृक्षका हाँगामा रमाइरहेछन पंक्षी पनि । ओहो ! कहाँ हरायो आज कोलाहल, कता बिलायो मानिसको बोलाबोल ? जसले आफ्नै हैकम देखाउँथ्यो सदा, खै आज लुकेर बसेको छ ऊ कता ? यही सोचेर दंग भएका छन प्राणी सारा, उल्लासमा बहिरहेको छ स्वच्छसफा हावा। हेर ! बाहिर छाएको छ रंगीन वसन्त, मानिस डराएको छ हुन्छ कि भनी अन्त्य । यी धर्ती होइनन मानवकी सम्पति, सुखी हुन सक्दैनौँ हामी नासेर प्रकृति । यही नै सिकाइरहेकी छिन जननी धरा, बुझेर मनन गर्ने भैसकेको छ अब बेला । #उषा रश्मी पाण्डेय
बर्माको जीवित नेपाली भाषा: २०५३ सालतिरको कुरो हो । त्यतिबेला नेपालको पूर्वी भागमा निकै खैलाबैला थियो । भुटानबाट नेपाल आएका भुटानीहरू छ्याप्छ्याप्ती पाइन्थे । आफ्नो देशमा भाँडभैलो भएपछि उनीहरू नेपालतिर पसेका थिए । केही दिन अगाडि बिराटनगर पुग्नुभएका मेरो गाउँले नाता पर्ने दाइसँग एकजना भुटानीको कुराकानी भएछ, उहाँ बिराटनगरबाट फर्केपछि आश्चर्य मान्दै मलाई सुनाउनु भयो । “भाइ ! भुटानीहरू त हामीजस्तै नेपाली प्रष्टै बोल्दा रहेछन् ।” म केही बोलिनँ । ट्वाल्ल परेर हेरिरहेँ । २४ वर्षपछि यस्तै आशयको अर्को संवाद फेरि मेरो कानमा पर्\u200dयो । जब म २०७६ साल कार्तिकमा बर्माबाट फर्केर नेपाल आएँ, एक जना भाइले मलाई सोधे– “दाइ ! बर्मामा बस्ने नेपालीहरूले नेपाली भाषा बुझ्छन् ?” “किन नबुझ्ने ? राम्रोसँग बुझ्छन्, लेख्छन् अनि पढ्छन् पनि,” मैले उनलाई उत्तर दिएँ । वास्तवमा मैले भुटानी र बर्मेलीको कुरो केवल नेपाली भाषासँग मात्र उठाउन खोजेको होइन । उनीहरूले जीवित राखेका शब्दहरू र शब्दहरूको अर्थसँग हो । नेपालमा कुनै शब्दहरू मरिसके भने कुनै शब्दको अर्थ नै अर्को लाग्छ तर बर्मा र भुटानमा न त्यसको स्वरूप फेरिएको छ न अर्थ नै । उनीहरू त्यही पुरानो शब्द नै प्रयोग गरिरहेका छन् । बरु बर्मेली र भुटानीहरूले बोलेको ती शब्दहरू नेपालीलाई चाहिं हाँसो लाग्ला वा अनौठो लाग्ला । विषय प्रसङ्ग शुरु गरौं– बर्मामा जीवित रहेका नेपाली शब्दहरूबाट । २०७६ साल असोजको अन्तिम हप्ता । म नेपालबाट बर्मा जाने क्रममा बैंककमा अर्को जहाज फेर्नपर्ने हुन्छ । एयरपोर्टमा ‘सीताराम’ भाइसँग भेट हुन्छ । हुन त उनले आफ्नो नाम ‘सीथाराम’ भनेका थिए, मैले नै उनलाई ‘सीथाराम’ होइन ‘सीताराम’ हो भनेपछि पनि उनले आफ्नो नाम भविष्यमा सुधार गर्छन् जस्तो लाग्दैन किनकि उनको जिब्रो दह्रो भइसकेको छ । उनलाई भेटेपछि म जसरी उत्साहित भएको छु त्यति नै उनी पनि । उनलाई नेपालबारे धेरै चासो छ, त्योभन्दा बढी मलाई बर्मामा बस्ने नेपालीहरूबारे । जहाज उड्ने समय निकै बाँकी छ । शुरुमा हाम्रो गफ बुझ्ने यात्री त्यति छैनन् तर अहिले फाट्ट–फुट्ट थपिँदै छन् अनि उनीहरूको आँखा हामीतिर छ । म अड्कल काटिरहेको छु, तिनीहरू बर्मेली–नेपाली हुन् तर हाम्रो ध्यान तिनीहरूतिर जाँदैन । “थाइल्याण्डमा के गर्दै हुनुहुन्छ ?” म सीतारामलाई सोध्छु । “पसलमा काम गर्छु । श्रीमती र बच्चालाई छोडेर आएको । दशैँमा माता–पिताको हातको टीका लगाउनासाथ फर्किनु पर्छ । नत्र साहु रिसाउँछ,” उनी लामो उत्तर दिन्छन् । उनको कलिलो चेहेरा, नरम दाह्री–जुँगा अनि अपरिपक्व बोलीप्रति मेरो प्रश्न उब्जिन्छ र सोध्छु– “बच्चा पनि छ भन्नुहुन्छ, तपाईंको उमेर कति भयो ?” “बीस तीन ।” “कति हो ‘बीस तीन’ भनेको ?” ”‘तेइस’ हो,” उनी अनकनाउँदै उत्तर दिन्छन् । म अड्कल काट्छु, उनलाई तेइस भन्न निकै गाह्रो भएको छ । उनीप्रति मेरो जिज्ञासा बढ्दै जान्छ । तेइस भन्न धेरै गह्रौँ भएको छ । म उनलाई प्रश्न सोध्दै जान्छु । उनी पनि रमाई–रमाई उत्तर दिइरहेका छन् । “थाइल्याण्डमा केको पसलमा काम गर्नुहुन्छ ?” म सोध्छु । “फनाको ।” “के हो ‘फना’ भनेको ?” “चप्पल हो । थरीथरीका चप्पल, जुत्ता पाइन्छ ।” “कतिको चल्छ फनाको पसल थाइल्याण्डमा ?” म फेरि सोध्छु । “‘लादी’ चल्छ हो ! सिजनमा त ग्राहक तह नलगाई हुन्छ, टिना–टिन ।” “बर्मामा काम नभएर त होला नि ! थाइल्याण्ड आउनु परेको कामको लागि,” म अर्कोतिर प्रसंग जोड्छु । “मिलीटरीले ‘समातेर’ हो बर्मा त्यस्तो भएको । नत्र त थाइल्याण्डभन्दा विकास हुन्थ्यो । अब त आङ्गसाङ्ग सूची दिदी ‘चढेकी’ छन् । बर्मामा पनि विकास होला ।” म उनको शब्दले मुसुमुसु हाँस्छु तर केही बोल्दिनँ । “तपाईंलाई नेपाल जान मन छैन ?” म सोध्छु । “किन नहुनु ! जान मन छ नि ! मेरो हजुरबाले पनि धेरै पहिले नेपाल फर्कने भनेर ‘चढाउनु’ भएको थियो अरे फेरि ‘निकाल्नु’ भएछ । अब गएर के गर्नु ? कोही चिनेको छैन ।” त्यतिबेलै जहाजभित्र पस्न समय हुन्छ । हामीहरू दुवै जना लाइन उभिन पुग्छौं । + + + म रंगुन विमानस्थलमा ओर्लन्छु र अध्यागमनको काम सकेर बाहिर निस्किन्छु । बाहिर ट्याक्सी ड्राइभरहरू मलाई घेरा हाल्न आइपुग्छन् । उनीहरूको प्याट्टपुट्ट अंग्रेजी बोलीले मलाई भाषाको समस्या पर्दैन । एउटा ट्याक्सी ड्राइभरले मलाई सोध्छ– “मेरो ट्याक्सी खाली छ, सर कहाँ पुग्ने हो ?” तर मलाई थाहा छैन, म कहाँ पुग्ने ! मलाई त्यो पनि थाहा छैन, कति भाडा लाग्छ र कति समय । म तत्काल, पहिलेको सल्लाह अनुसार शंकरजीलाई फोन लगाउँछु र आफू एयरपोर्टमा झरिसकेको कुरो अवगत गराउँछु । मलाई शंकरजीले आफ्नो घरको ठेगाना त बताउनु हुन्छ तर ट्याक्सी ड्राइभरलाई मैले बताउन नसक्ने भएर होला शंकरजी र ट्याक्सी ड्राइभरबीच पनि सोझै कुराकानी हुन्छ । म ट्याक्सीमा चढ्छु । हाम्रो ट्याक्सी रंगुन शहरभित्र खस्छ । सफा बाटो । बिहानका पातलो ट्राफिक– केहीबेरमा नै ट्याक्सी ड्राइभरले आफ्नो ट्याक्सी सडकको छेउमा रोक्छ र मलाई भन्छ– “ल सर ! तपाईंको साथीको घर यही हो । तपाईं यही ओर्लनुहोस् ।” म १० हजार च्याट बुझाएर ट्याक्सीबाट बाहिर निस्किन्छु र सडक छेउ ठिङ्ग उभिन्छु । केहीबेरपछि सेतो–कोठे लुङ्गी लगाएका एउटा युवक पल्याक–पुलुक हेर्दै मेरो नजिक देखा पर्दछन् । उनी कहिले मलाई हेर्छन् कहिले मेरो झोलालाई । म उनलाई अन्दाजको भरमा प्रश्न गर्छु । “भाइ नेपाली हो ?” “हो ! म हजुरलाई लिन आएको । मामा (शंकरजी) बाहिर जानु भएको छ । माथि जाऔं,” भन्दै उनी अगाडि अगाडि हिँड्छन् म उनको पछाडि पछाडि झोला झुण्ड्याउँदै अगाडि बढ्छु । र, उनीसँगै लिफ्ट चढेर घरको नवौँ तलामा पुग्छु । ती युवक मलाई घरभित्र हुलेर आफ्नो कोठातिर जान्छन् म एक्लै बैठक कोठामा झोला झुण्ड्याएर उभिइरहन्छु । अलिकति त्यहाँ भाषा कुरो नमिलेको हुनसक्छ वा ती युवक अलिकति लजालु स्वाभावका पनि थिए । म धेरैवेर नै उभिइरहन्छु । त्यो उनलाई थाहा हुन्छ । उनी हत्तपत्त म नजिक आएर बोल्छन् । “झोला त्यही ‘खसाल्नुहोस्’ र तपाईंमा सोफामा बस्दै गर्नुहोस् म अहिले भित्र लगेर राखिदिन्छु ।” म मनभनै प्रश्न गर्छु– झोला “खसाल्ने” हो कि “राख्ने ?” + + + बर्माको लोखुमा रहेको शारदा संस्कृत विश्वविद्यालय वरिपरि थुप्रै नेपालीहरूको गाउँ छन् त्यही गाउँहरुमध्ये एउटा गाउँ हो– धारापानी । म संस्कृत विद्यालयका सहसचिव मनबहादुर खनालसँग मोटरसाइकलमा धारापानी पुग्छु र दिनभरि त्यतै बिताउँछु । साँझ परेपछि हामी दुवै जना त्यहाँबाट मोटरसाइकलमा नै फर्किन्छौं । फर्किंदै गर्दा बाटोमा अर्का नेपाली शुकदेवसँग हाम्रो भेट हुन्छ । केहीबेरको छलफलपछि म मनबहादुर खनालजीसँग नभई शुकदेवको मोटरसाइकल फर्कन पर्ने हुन्छ । म उनको मोटर साइकलमा चढ्छु । सुनसान सडक, दायाँ–बायाँ बाक्लो मकैको बारी हामी अगाडि बढिरहेको बेला एक्कासि शुकदेवजी वा फोनको घण्टी बज्छ । शुकदेवजीलाई मोटरसाइकल हाँकिरहेको बेला फोनमा कुरा गर्ने बानी छैन । उहाँ हत्तपत्त मोटरसाइकललाई सडकछेउ रोक्नुहुन्छ र कुरा गर्न थाल्नुहुन्छ । म पनि मोटर साइकलको आड लागेर उभिन्छु । मैले नचाहेर पनि शुकदेवको फोनको गफ मेरो कानमा पर्न बाध्य छ । म सुनिरहेको हुन्छ– “हो ! हो ! मैले तिमीलाई फोन गरेको थिएँ,” शुकदेव बोल्न थाल्नुभयो । “किन ?” उताको प्रश्न । “मैले छोरीलाई फोन ‘हानेँ’ उनले फोन ‘समातिनन्’ । मलाई रामचन्द्रको फोन नम्बर चाहिएको छ, त्यो नम्बर मलाई ‘हाली’ दिनु है ! समय मिल्यो भने म अहिले तिम्रो घर ‘घुस्छु’ तिमीलाई मौका ‘लाग्छ’ भने मेरै घरतिर ‘घुसे’ पनि हुन्छ । अहिले मेरो फोनको ‘ताकत’ सकिन लागेको छ, पछि गफ गरौंला ।” मनमनै सोच्छु– “अहो ! कस्तो अठ्मिल्दो भाषा हो यो ! नेपालीलाई नेपाली बुझ्नै गाह्रो !” फोन गरेपछि शुकदेवले फोन पट्याउनु हुन्छ अनि मोटरसाइकल चलाउन थाल्नुहुन्छ । म संस्कृत विश्वविद्यालयको छात्रावाससम्म मोटरसाइकलमा आउँछ । + + + बर्माको राजधानी रंगुनबाट लोखु पुग्नुभन्दा अगाडि एउटा सानो बजार आउँछ– तौंजे । त्यो बजारमा मैले आधा दिन जति बिताएको छु । चोकैमा एउटा ठूलो घर छ– खनाल बाजेको । खनाल बाजेको छोरा–नातीहरूको मकैको थोक व्यापार छ । स्थानीय किसानबाट मकै संकलन गर्ने र चीनसम्म पुर्\u200dयाउने उहाँका पेशा हो । खनाल बाजेसँग मैले लामै छलफल गरेको छु । छलफलको क्रममा उहाँलाई म सोध्छु– “तपाईंका पुर्खा नेपालको कुन ठाउँबाट, कहिले आएका रहेछन् <” “खै ! बाबु कता हो ? बुटबलबाट ४ दिन लाग्थ्यो अरे– गुल्मी जिल्ला । म गएको छैन । हजुरबा आउनु भएको । पहाडको ठाउँ, खान र लाउनको समस्या । अरूको साथ लागेर बर्मा घुस्नु भएछ । विवाह भएको अर्को वर्ष । बर्मामा पनि टिक्न सक्नु भएनछ । चोरी–डकैती लागेछन् । दुई–तीन वर्षपछि नेपाल नै फर्किनु भएछ । तर घर नपुग्दै बाटैमा थाहा भएछ, श्रीमतीले खुट्टा छोडिन् ।” “के हो यो ‘खुट्टा छोडिन’ भनेको” म बीचै सोध्छु– “पोइल हिँडिछन् ।” म मनभनै सोच्छु– “कस्तो कहिल्यै नसुनेको शब्द !” खनाल बाजे आफ्नो कुरा बोलिरहेका हुन्छन्– “श्रीमतीले खुट्टा छोडेको सुनेपछि बूढा फेरि बर्मा नै फर्केछन् । यो सृष्टि सबै उहाँकै हो ।” म उहाँलाई फेरि अर्को प्रश्न सोध्छु– “तपाईं त बर्मामा नै जन्मनु भयो, हुर्कनुभयो । कस्तो लाग्छ पहिला र अहिलेको नेपाली समाज” ? उनका मुखबाट निराश शब्दहरू निस्किन्छन्– “कस्तो लाग्छ भन्नु ! पहिले धोती–पाटो नफेरी भान्सामा जान पाइँदैनथ्यो । सासु–बुहारी पनि चोलो ‘छोडाएर’ नै भोजन गर्थे । आज कहाँ त्यस्तो छ र ? सबैका घरमा टेबुल–कुर्सी छन् । सबैको हातमा मोबाइल छ ।” म मनमनै प्रश्न गर्छु– “चोलो छोडाएर कि चोलो फुकाएर !” + + + बर्माको अर्को शहर नाउँछोमा म तीन दिन बस्छु । नेपालीको स्वामित्वमा रहेको धर्मशालामा नै मेरो रात बितेको हुन्छ भने दिनभरि नेपालीकै घर–आँगन घुमिरहेको हुन्छु । मेरो साथमा थुप्रै नेपालीहरू छन् तर पनि धेरैजसो मसँग इन्द्रबहादुर पाण्डे नै हुनुहुन्छ । अग्लो कद, हँसिलो अनुहार अनि स्थानीय संस्कृत विश्वविद्यालयको सचिव । सायद उहाँको मित्रतापूर्ण वातावरणले नै होला मैले कहिल्यै नियास्रो मानिनँ । कहिल्यै एक्लोपन भएन । धेरैजसो उहाँले आफ्नो मोटरमा घुमाए पनि म आफैँ पनि एक्लै शहर घुमिरहेको हुन्छु । नाउछो शहरमा थुप्रै नेपालीहरूको व्यवसाय छ । कपडाको दोकान, फेन्सी पसल, साइकल मर्मत, चिया पसल नेपालीको स्वामित्वमा छ । अर्को गौरवको कुरा शहरको निकै पायक पर्ने ठाउँमा देवी पाञ्चायनको मन्दिर छ । अनि देवी पाञ्चायन मन्दिरको अर्को छेउमा नेपालीको आफ्नो कार्यालय समेत छ । आश्चर्य त मलाई लाग्छ कि ! देवी पाञ्चायनको मन्दिर सडक थिचिएर बनेको पाउँछु । अन्य घरहरूभन्दा देवी मन्दिर सडकतिर च्यापिएर बनेको हुन्छ । सँगै हिँड्नुभएका इन्द्रबहादुरजीलाई म सोध्छु । “देवी मन्दिरले सडक मिचेको त छैन ? सडकतिर आएको जस्तो लाग्छ ।” उहाँको सामान्य बोलीमा उत्तर आउँछ– “हो सर ! सडकलाई यो मन्दिरको पालीले च्यापेको छ । सडक बढाएको खण्डमा भत्काउने ‘कायलनामा’ गरेर नै यो मन्दिरको बाली थपेका हौँ ।” म मनमने सोच्छु– “कायलनामा कि कबुलियतनामा ।” + + + बर्माको पूर्वी पहाडी भागमा रहेको अर्को शहर हो– टाउजी । पहाडै पहाडमा अवस्थित भएर यसको नाम टाउजी रहेको हो । बर्मेली भाषामा टाउसीको अर्थ हुन्छ– ठूलो पहाड । यहाँ पनि नेपालीको आवादी बाक्लो छ । शहरको बीचैमा बडेमानको मन्दिर छ । यो मन्दिर परिसरमा साना–तिना कार्यक्रमहरू दैनिकजसो हुन्छन् । यो शहरमा नेपालीका साना–तिना पसलदेखि थुप्रै थोक व्यापार पनि छन् । एकदिन दुई–तीन घण्टा जति एउटा नेपालीको एउटा हार्डवेयर दोकानमा समय बिताउँछु । त्यो हार्डवेयर दोकानमा साहुबाहेक अन्य एकजना कर्मचारी पनि छन् जो नेपाली नै हुन् । भाषा एउटै, चालचलन एउटै अनि पूर्वज पनि एउटै भएर होला साधारणतयाः नेपालीले नेपाली नै कर्मचारी राखेकोमा आफूलाई सुरक्षित महसुस गर्छन् । विशेषतः मेरो गफ तिनै नेपाली कर्मचारीसँग हुन्छ । गफको क्रम जोड्दै म उनलाई सोध्छु– “यहाँ, व्यापार गरेर बस्ने नेपालीहरू थुप्रै छन् हगि !” “छन् सर !” “के केको व्यापार छ नेपालीको ?” “सबै थोकको छ । फोनको व्यापार छ । हार्डवेयरको छ । खाद्यान्नको छ, माटोको खरीद–बिक्रीको छ ।” “के हो यो माटोको खरीद–बिक्री भनेको ?” उनीले मेरो प्रश्नको उत्तर दिन नसकेर होला बोल्दै जान्छन् । “आजकल माटोको खरीद–बिक्री अलि ठण्डा छ ।” म आफैँ बुझ्ने कोशिश गर्छु– “आजकल जग्गाको खरीद–बिक्री अलि सुस्त छ ।” त्यसो त बर्मामा मेरो बसाई जति लम्बिदै जान्छ, त्यति नै म डराउन थाल्छु । भाषाले मलाई तर्साउन थाल्छ । जसरी म बर्मेलीले बोलेको नेपाली भाषा सुनेर हाँसेको छु । मलाई नौलो लागेको छ, कहिले रमाइलो पनि लागेको छ तर कतै मेरो बोली सुनेर उनीहरू हाँसेका त छैनन् ! मलाई उनीहरूले खिस्सी गरेका त छैनन् ! पक्कै मेरो भाषा पनि उनीहरूलाई अनौठो लागेको होला !
मृत्युको सम्मुखबाट जीवनको सन्देश: तिमीलाई भेटिपछि मलाई जिन्दगीका भूलहरू सच्याउन मन लागेको छ । ٭٭٭ सप्रेम स्वीकारेपछि पीडा पनि खुसी बन्दो रहेछ दुःख पनि साथी हुँदै रहेछ ٭٭٭ सबै आगो जलाउनका लागि मात्र हुँदैनन् जल्नु र जलाउनुको प्राप्ति केवल खरानी हो ٭٭٭ जीवनको शाश्वत सौन्दर्य तात्नु र सेलाउनुमा होइन बलिरहनुमा छ उज्यालो छरिरहनुमा छ उमेरको आँधीबेहरीमा ननिभ्ने दियोलाई म जीवन भन्छु ٭٭٭ तरबार हो तिम्रो हेराइ झिम्कियो परेली कि म छिनिहालेँ ٭٭٭ सम्बन्ध फेरिँदैमा के दुःखको अनुहार फेरिएको छ र? दुःख पनि फिका र गाढा हुँदो रहेछ ٭٭٭ मान्छे नाङ्गिन किन साँझ रोज्छ सधैँ र रोज्छ त्योभन्दा गहिरो रात ٭٭٭ मानिस आफू चोइटिएर जोगाइरहेछ ईश्वर ٭٭٭ जीवनभन्दा शाश्वत रङ र दुःखभन्दा कालजयी चित्र अहँ, अरू हुँदै हुँदैन रहेछ ٭٭٭ यी हरफ हुन् कवि मणि लोहनीका, उनको पछिल्लो कवितासङ्ग्रह “मृत्युको अघिल्तिर” मा सँगालिएका विभिन्न कविताबाट टिपिएका । यसभन्दा पनि अघि, २०६२ सालमा प्रकाशित उनको “मलामी साँझ” को सन्दुक खोल्ने हो भने पनि चाङका चाङ भेटिन्छन् यस्तै प्रेमिल, हृदयस्पर्शी र मस्ष्किभेदी सूक्तिहरू, जसले मणि लोहनीलाई समकालीन युवा कविहरूमा एउटा छुटाउनै नहुने नाम बनाइदिएका छन् । बेलायती कवि मिथ्यू आर्नोल्डले जुन कुरालाई टचस्टोन अर्थात् कसी माने, सायद यस्तै यस्तै हरफ भएका कवितालाई हुनुपर्छ । हामी कविताको वृत्तमा काम गर्नेहरूका अगाडि पनि मानक, कसी वा उदाहरण उद्धृत गरिरहनुपर्ने समय आइरहन्छ । र त्यस्तो मोडमा हाम्रो डुङ्गा तार्ने हरफ पनि यस्तै यस्तै नै हुने गर्छन् । अखिर, जति जुग, र जतिपल्ट भनिरहे पनि “मानिस आफू चोइटिएर जोगाइरहेछ ईश्वर” भन्नेजस्ता हरफहरू कहिले पुराना हुनु? कहिले अमानक हुनु ? कवि मणि लोहनी पेसाले पत्रकार भएपनि हृदयले कवि हुन् । उनको कबिर दुई दशक लामो कवितायात्रामा उनले सधैँ अग्रज र माझिएका कविहरूको सान्धित्य रोजे । सधैँ आफ्नै वयका भए पनि अब्बल र निर्भीक कविहरूको सङ्गत रोझेँ । आफूलाई कविताकै काम र कार्यक्रमहरूमा जोडिरहे, र आफ्ना लागि सधैँ कविताको एउटा अव्यक्त र अघोषित स्कुल खडा गरिरहे । कलाकारहरूसँग बसे, कला खिपिरहे । फलस्वरूप, सकमालीन नेपाली कविताको क्यान्भासमा आफैँलाई एउटा अपरिहार्य र गाढा रङ बनाउन सफल भए । २०७६ मा छापिएको कवितासङ्ग्रह हो “मृत्युको अघिल्तिर” । पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो । सङ्ग्रहित बत्तीस कवितालाई तीन खण्डमा विभाजित गरिएको छ— देशका नाममा, प्रेमको लय र जीवनको उज्यालो । यी खण्डहरूमा प्रवेश गर्नु र कवि मणि लोहनीको जीवनदृष्टिबारे लेख्नुअघि उनको कलाकारिताका केही पक्षको चर्चा गर्नु मनासिब ठान्छु । मणि लोहनीभित्रको कविताशल्पी माथि उल्लेख गरिएजस्ता सूक्तिहरूको अविष्कारमा विश्वास राख्दछ । आखिर, कविता जति लामा लेखे पनि र तिनमा भावनाको जति नै शक्तिशाली उभार थुपारे पनि पाठकले अन्ततोगत्वा हृदयको सन्दुकमा राख्ने यिनै सूक्ति हुन् । यी बिना कविताको आयु लामो हुन सक्दैन, र कविता एक पाठ वा एक वाचनपछि स्वतः मरेर जान्छ । मणि लोहनीलाई यो जोखिम थाह छ । त्यसैले उनी, आफ्ना कविताको अन्तर्यमा कहीँ न कहीँ, समयको पर्खाल चिरेर माथि उठ्ने पीपलहरू उमार्छन् । उनको अर्को खुबी भनेको अतिप्रयोगबाट खुइलिँदै गएका र अर्थको ह्रास खेप्दै गएका बिम्व, प्रतीक वा उपमाको प्रयोगबाट निवृत्ति लिँदै, एक साधकलके जस्तो नयाँ र रोमाञ्चकारी उपमाको खोजी गर्नु हो । उदारहणका लागि, उनले कवितामा प्रयोग गरेका यी विम्ब, प्रतीक र उपमाहरूलाई हेरौँः हस्तरेखाजस्तो आफैँमा टाँसिएको गरिबी (गणतन्त्र नेपाल) मानिसको उत्खननको प्रयास गरिरहेका तमाम सपनाहरू (परिचयको खोजी) बन्द ढोकाको सम्यक साक्षीजस्तो तिमीले ओडिरहेको पछ्यौरीसँग डर लाग्छ मलाई (सम्यक साक्षी) मान्छेहरूलाई धैर्य सिकाउने त्यो चौतारो (मृत्युको पहिरो) अँजुलीमा लिएको पानीजस्तो थाहै भएन कुन बेला सकिएछ उमेर ! (इच्छामृत्यु) टिनएज केटाको ओठमा बलजफ्ती झुन्डिएको राष्ट्रिय गानको कुनै हरफजस्तै आधा भत्किसकेको घर (जन्म उत्सव) माथि उल्लेखित तीन खण्डमा पहिलो हो “देशको नाममा” । यस खण्डमा २०५९ देखि २०७२ भित्र लेखिएका आठ कविता छन् । नेपालमा यो समय खण्ड भनेको गणतन्त्रको माग बुलन्द भएको, शान्ति सम्झौता भएको, दोस्रो जनआन्दोलन भएको, राजतन्त्र फालिएर गणतन्त्र भित्रिएको, संविधानसभाको चुनाव भएको, नयाँ संविधान लेखिएको र भूकम्पले देश थिलथिलो भएको समय हो । यस समयमा जवान भएको कुनै कविले कविता लेख्नु, र त्यो कविता देश र राजनीतिको छायाबाट पृथक हुनु असम्भव नै छ । कवि मणि लोहनी पनि त्यस बेला जवानीको मध्यधारमा आफैँलाई हेलिरहेको एक उत्साही, संवेदनशील र स्वतन्त्रताप्रेमी पत्रकार र कवि भएकाले, यस समयका उनका कवितामा देश र राजनीतिको प्रभाव पर्नु स्वाभाविक हो । त्यसैले, यस खण्डका उनका कवितामा एकताको अपिल, विभाजनको विरोध, स्वतन्त्रताको खोजी, सरकारको विरोध, परिचयको खोजी, तीता समाचार, शिशु गणतन्त्रको भविष्य, भूकम्पको कहर आदि विषय समेटेका छन् । यस खण्डका कविता अखबारी विषयबाट बढी प्रभावित छन्, र यस समयका धेरैजसो कवि र आम नागरिकले भन्दै ल्याएको विषयलाई काव्यिक भाषामा भनिएको छ । त्यसैले शिल्पपक्षमा सुन्दर भए पनि यस खण्डका कविता कथ्यपक्षका हिसाबले मौलिक लाग्दैनन् । यिनको लम्बाइका कारण पनि पुनरावृत्ति दोष यी कवितामा थुप्रै भेटिन्छ । यिनमा मणि लोहनीभित्रको पत्रकार बढी हावी भएको पाइन्छ । दोस्रो खण्ड, “प्रेमको लय” कवि मणि लोहनीको पेटेस्ट लयले पुलकित छ । २०५५ देखि २०७२ सम्ममा यी कवितालाई बढो सचेतताका साथि राजनीतिबाट जोगाएर समायातीत बनाउने कोशिस गरिएको छ । यसमा सङ्ग्रहित तेह्र कोमल, हृदयसंवेद्य र जीवनबोधी कवितामा जताततै कवि मणि लोहनीको स्वभाव भेटिन्छ । धेरैजस्तो कविता एउटा रिक्तताबाट उठेका छन् — कोही छुट्नुबाट, केही गुम्नुबाट, मृत्युको आभासबाट, एकाकीपनबाट, प्रेमको अभावबाट अथवा यस्तो कुनै विसङ्गत समयबाट, जसलाई सबैभन्दा टडकारो कुनै सङ्गति चाहिएको छ । कुनै उज्यालो चाहिएको छ । “जीवनको रित” र “छोडेर जानेलाई” मूलतः विछोडकै पृष्ठभूमिमा उभिएका कविता हुन् । सँधै सँगै हुन नसक्नुको यथार्थलाई सामान्यीकृत गरिएको छ, र सहयात्रा, कुनै न कुनै मोडमा पुगेर सिद्धिनुको नियतिलाई स्वीकार गरिएको छ । तिक्त हो, तर यो स्वीकारोक्ति सत्य पनि हो । “सम्यक साक्षी” मा कृत्रिमताको बर्कोले छोपेका सबै रहस्य उदाङ्गो पारेर गरिने प्रेमको अनुभूति समेटिएको छ भने “प्रेमको कन्फेसन” मा हराएको प्रेमको लय पुनः भेट्टाउनु, र त्यसैमा एकाकार भएर बाँच्नुको सौन्दर्य प्रस्तुत गरिएको छ । “सम्बन्धको पाठशाला” यसै खण्डभित्रको अर्को सुन्दर कविता हो, जसमा प्रेमलाई उज्यालो र ज्ञानोदयको श्रोत मानिएको छ । कवि वर्सवर्थले प्रेमीमा साथी, गुरु र दार्शनिक सबै देखेजस्तो कवि मणि आफ्नो प्रेमलाई सम्बन्धका सबै पक्षको पाठशाला देख्छन् । कवितामा व्यक्त यस्तो विचारले सम्बन्धहरूलाई निधिको रूपमा स्वीकार्न र बचाएर राख्न प्रेरित गर्दछ । क्षणिक आवेगको अगोमा सबै सम्बन्धका मृदु मुनाहरू जलाइदिने प्रवृत्तिलाई निरुत्साहित गरिदिन्छ । “साँझहरू” कविताको स्वरूपमा एउटा रोमाञ्च हो । फगत एघार हरफमा भ्रम र मृगतृष्णाको महाकाव्य समेटिएको छ । पानीमा हल्लिरहेको चन्द्रमा समाउन खोज्नु, र कसैको मस्त जोवनलाई अवरुद्ध पार्न खोज्नुको निरर्थकता यस कविताको मूल कथ्य हो । कविताले कलेरिजको “कुब्ला खाँ” को याद दिलाउँछ, जसमा बाहिर घाम लागेको छ, भित्र बरफका भित्ताहरू छन्, र त्यहाँबाट हेर्दा बग्दै गरेको आल्फ नदीमा त्यस दरबारको छाया ढलपल ढलपल गरिरहन्छ, र क्षणभङ्गुरताको आवाज सुनाइरहन्छ । यसै खण्डमा छ उनको अर्को कविता “प्रेम शास्त्र” जुन्, कविताको बुनोटको दृष्टिले, यसको घनत्वको दृष्टिले, कलापक्षको दृष्टिले र कथ्य पक्षको दृष्टिले, कमसेकम मेरो दृष्टिमा यस सङ्ग्रहको उत्कृष्टतम कविता हो, र एक वल्र्ड–क्लास कविता हो । प्रेमको वास्तविक अर्थ शारीरिक अनुभूतिभन्दा धेरै माथि, जीवन र ज्योतिको अविष्कारमा गएर पुलकित हुन्छ भन्ने कथ्य बोकेको यो कविता एउटा समाधिको छेउछाउको ज्ञानबोधजस्तो लाग्छ । यस कवितामा कवि लोहनी सदैव बाँचिरहनेछन् । यसै खण्डका अन्य कवितामा “हृदयको सन्दुक” द्वन्दको समयमा हुर्कन खोजेको एउटा असफल प्रेमको कथा बोकेर आएको छ । आफ्नै दाजुको कुनै साथी, सम्भवतः कुनै छापामारसँग प्रेममा रहेकी एक किशोरीको आपबिती हो यो कविता, जसमा आफ्नै दाइले मारिदिएपछि उक्त छापामार प्रेमी गुमाएर, अर्को मन नपरेको कुनै पुरुषसँग बिहे गर्न बाध्य भएको र बलात्कृत हुन अभिषप्त भएको दारूण यथार्थ लेखिएको छ । यसो हुँदा पनि, हृदयको सन्दुकमा लुकाइरहेको पूर्वप्रेमीको माया सुरक्षित रहेको जिकिरले अमर प्रेमको एउटा हठी, शाश्वत र दृढ स्वभाव उद्घाटित भएको छ । “जीवनको भीख” प्रेमका बलिष्ट ज्वारभाटाको अभिव्यक्ति हो भने “मृत्युको पहिरो” विविध द्वन्दहरूका बीच एक्लिँदै गएका प्रेमीहरूको एकान्तबोधको कथा हो । यस्तै रिक्तताको भाव “हामी कसैका पनि होइनौँ” शीर्षकको कवितामा पनि आएको छ, जसले, सारमा, हामी साथै भए पनि एक्ला नै हौँ भन्ने सत्य उद्घाटित गर्दछ । यस खण्डको अन्त्यमा राखिएको कविता हो “सम्झना साँझ” जसमा प्रेमीको अभावको पूर्ति खोज्दै ठमेलमा कोस्मेटिक र क्षणिक सुख खोज्न हिँडेको एउटा प्रेमीको मनोवाद प्रस्तुत गरिएको छ । ठमेलको रङ्गीचङ्गी भुलभुलैया तथा प्राकृतिक–अप्राकृतिक यौनक्रीडाका बीचमा कतै पनि आफूले खोजेको आत्मिक तृप्ति नपाएको स्वीकारोक्ति यस कवितामा छ । भनिएको छ, उमेरको आवेग र शारीरिक आकर्षणभन्दा पर मैले खोजेको जीवनको शाश्वत सौन्दर्य त तिमी रहेछौ तिम्रो अनुपस्थितिमा सधैँ एकादेशको कथा बन्छ समय । मणि लोहनीको पेटेन्ट शैलीका भनिएका, यस दोस्रो खण्डका कविताले मणि लोहनी प्रेम र सम्बन्धका उस्ताद हुन् भन्ने कुरा स्थापित गर्दछ । सम्बन्धहरू, प्रेमका र बोछोडका तथा यिनैसँग गाँसिएर आउने मृदु आशाका, निराशाका, उत्साहका, विछोडका, रोमाञ्चका र तिक्तकताका सूक्ष्म र अति नै संवेदनशील तन्तुहरूमाथि उनीभित्रको कविको पकड ज्याद्रो छ । बाहिरको होहल्ला, समाचार, अखबार र घटनाका बासी कुराहरूको जगका बलात् बनाइने कवितामा भन्दा भित्री, अदृश्य, रुमानी र कोमल विषयहरूको रङमा घोलिएका उनका जीवनबोधी, सूक्तिमय र दार्शनिक कवितामा कवि मणि लोहनीको जादुगरी बढी कारगर छ । सङ्ग्रहको अन्तिम खण्ड हो “जीवनको उज्यालो”, जसभित्र एघार कविता समेटिका छन् । यस खण्डका कविताको हाँच दोस्रो खण्डका कविताको जस्तै रुमानी, अन्तरमुखी, हृदयसंवेद्य र भावप्रधान कविताकै हो, जसमा मणि लोहनीलाई महारथ प्राप्त छ । यसमा समेटिएका धेरैजसो कविता मृत्यु र पीडाबोधबाट अनुप्राणित छन्, तर पनि तिनी उज्यालोको पक्षमा छन्, सकारात्मकताको पक्षमा छन्, जीवनको पक्षमा छन् । शीर्षकैले पनि बताउँछ, “मृत्युको अघिल्तिर”, तथा “इच्छामृत्यु” त मृत्युकै बोधबाट अनुप्राणित कविता हुन् । पहिलोमा आफू कविता लेखेकै कारण वा प्रेम गरेकै कारण मारिने सङ्केतको पूर्वाभास पोखिएको छ, तर पनि कविता लेख्न र प्रेम गर्न नछोड्ने एउटा अव्यक्त अठोट कविताको अन्तर्यमा छ । यो एउटा कविको आन्दोलन हो, घोषणा हो । खण्डको उत्कृष्टतम कवितामध्येको एक “इच्छामृत्यु” मा, उमेर ढल्किएपछि आफूले खण्डखण्ड बाँचेको जीवनको निरर्थकताको बोध भएको छ कविलाई, र उनी अस्ताउँदै गरेको सूर्यसँग इच्छामृत्युको कामना गरिरहेका छन् । हृदयभेदी बिम्व, उपमा र सूक्तिले भरिएको यस कविताले प्रत्येक पाठकलाई आफूमा अन्तर्घुलत गराउने सामथ्र्य राख्दछ, र बितेर गएको निरर्थक र प्रमणहीन समयको बोध एक झटकामा गराउन सक्छ । यसै खण्डमा छ अर्को कविता “दर्शनढुङ्गा” जो कवि मणि लोहनीको काव्यिक पहिचान पनि बनिसकेको कविता हो । २०६३ मा लेखिएको, र लेखिएपछि निरन्तर रूपमा यात्रारत रहेको यो कविता मणि लोहनीको अर्को काव्यिक उत्कर्ष हो । यस कविताले सम्भवतः कुनै कवि वा कलाकारलाई सम्बोधन गर्छ, जसले आफू अभाव र विरोधाभासको बीचमा बाँचेर पनि कालजयी, स्थिर र जाज्वल्यवान् विचार, सूक्ति वा उज्यालो दिएर गएको छ । कवितामा दर्शनढुङ्गालाई जसरी एक रूपक अलङ्कारको रूपमा प्रयोग गरिएको छ, त्यसलाई दुई कोणबाट बुझ्न सकिन्छ । पहिलो, यसमा सम्बोधित सर्जकको सङ्घर्षको कठोरता दर्शनढुङ्गाजस्तै कठोर छ, र ती अभाव, दुःख र सङ्घर्षलाई दर्शन ढुङ्गा ठोकेजस्तै गरी ठोकेर उमार्नु छ, सिर्जनाको उज्यालो । दोस्रो, त्यो सर्जना आफैँ दर्शनढुङ्गा हो, जो कालातीत छ, उज्वल छ र प्रेरक छ । यसै कविताले, क्षेपकको रूपमा अनेक कवि, कलाकारहरूको सङ्घर्षकथा पनि बोकेको, जो यस्तै यस्तै अभाव खेपेर भोक, पीडा र रगतले दर्शनढुङ्गाजस्ता अक्षरहरू बनाउँछन्, जसको प्रयोग वा दुरूपयोग क्रान्तिकारीहरू, नेताहरू, प्रेमीहरू वा आम जनता गरिरहन्छन् । यो कविता ती सबै महानतम आत्माहरूप्रतिको कृतज्ञता हो, जसले आफू समिधा बनेर पनि संसारलाई उज्यालो नै दिएर गए । “जन्म उत्सव” यसै खण्डको अर्को कविता हो, जसमा जन्म उत्सवको उन्मादमा आमाको प्रसव बिर्सनेका लागि एउटा गतिलो झापड छ । कविताभरि कवि जन्मको उत्सवभन्दा पनि पच्चीस वर्षअघि आफूलाई जन्माउने आमाको पीडाबाट संवेदित छन् । क्षविक्षत बनिसकेको आफू जन्मेको गोठ र त्यसवरिपरि छरिएका सबै भग्न अवशेषहरूले आमाको, वेदनाको र प्रसवको सम्झना झल्झली बल्झाइदिएको छ । कवितामा सबै सबै छ, छैन त केवल “उत्सव” छैन । “उज्यालो दर्शन” मा पनि अनेक चिसो र अँध्यारोका बीचमा पनि आमा भएकै कारण सबैतिर उज्यालो, सपना, सफलता, खुसी, सम्बन्ध र एक निस्फिक्री यात्रा सम्भव भएको कुरा भनिएको छ । “धर्मध्वनि” को सार हो — मान्छे नभएको भए ईश्वर हुने थिएन, र मानिसले आफू चोइटिएर पनि ईश्वर बचाइरहेको छ । तर पनि अहम प्रश्न अर्को छ — के मानिस आफैँमा सङ्लो र सक्षम हुन सक्दैन? उत्तर कतै पनि छैन । सङ्लो र सक्षम ईश्वरको कल्पना र निर्माण दुवै गर्न सक्ने मान्छे आफू भने, खण्ड खण्ड, आफैँले बनाएको ईश्वरको शरणमा जान किन अभिषप्त छ ? “उज्यालो यात्रा” मा सार्थक जीवनको यात्राका लागि साहसको उपादेयतामाथि जोड लिइएको छ भने “डिलिट दुःख” डिजिटल समयका शब्दहरूसहित मान्छेको सबै दुःखको एकमुस्ट निवारणको कुनै जादूवी फोर्मुलाको संभावनाको कल्पना गरिएको छ । “एक आँखा संसार” मा कुनै सर्वशक्तिमान् “तिमी” को कल्पना गरिएको छ, जसका उघ्रिएका आँखाले जीवन र जगतमा सन्तुलन स्थापित गरिरहेको छ, र त्यस अपरिभाषित तिमीले आँखा चिम्लियो भने सबै लय भङ्ग हुने शंसय प्रकट गरिएको छ । यो अपरिभाषित तिमी प्रेमी हुन सक्छ, ईश्वर हुन सक्छ, श्रष्टिको परिचालक ऊर्जा हुन सक्छ अथवा उदात्त प्रकृति हुन सक्छ । यो पाठककै कल्पनामा छोडिदिएका छन् कविले । “शरीर योग” सङ्ग्रहको अन्तिम कविता हो, जसको तर्क हो, आफूलाई ध्यानदृष्टिले पढ्न सकियो भने आफ्नो पूर्णताको बोध सहजै गर्न सकिन्छ । अज्ञानताको जगबाट हेरियो भने अपूर्ण देखिन्छ । समग्र मूल्याङ्कनमा मणि लोहनीबारे केही कुरा स्पष्ट भन्न सकिन्छ । सो के भने, दुई दशकभन्दा लामो कवितासाधनापछि कवि मणि लोहनी आफ्नो काव्यिक उत्कर्षको अघिल्तिर उभिएका छन् । उनको कवितामा दर्शन र चिन्तनको एउटा दुर्लभ संयोग पाइन्छ, र कामेल अभिव्यक्तिका माध्यमबाट उनी आफूलाई प्रभावशाली ढङ्गबाट प्रस्तुत गर्न सक्छन् । समान्य लाग्ने तर कहिल्यै पनि नसोचिएका वा ध्यान नदिइएका यथार्थ उनी पस्किन्छन्, र धेरैबेर सोच्न बाध्य पारिरन्छन् । उनका कवितामा प्रेमै प्रेम छ, उज्यालो छ, धैर्य छ, समाता छ र सङ्गति छ । यो उनको विश्वदृष्टि हो । तर पनि, उत्कर्षतिरको यात्रामा जाने लञ्चपेडमा उभिएको कविले कुन र कस्तो गतिमा उडान भर्दा गन्तव्यमा पुगिन्छ, त्यो बुझ्नु नितान्त जरूरी छ । हाम्रो समयको एउटा लोभलाग्दो कवि काव्यिक उत्कर्षको हेलिपेडमा अवतरण गरेको चेर्न चाहनु हाम्रो सामूहिक स्वार्थ हो । त्यसैले केही मूल्याङ्कन र टिप्पणी वाञ्छनीय छन् । पहिलो, कवि मणि लोहनी हृदयका कवि हुन् । हृदयको पटबाट उनले जीवन, प्रेम र सम्बन्धहरूका तन्तुमा सङ्गीत भर्न सक्छन् । उनले यसै बाटोमा आफूलाई खोजिरहनु जरुरी देखिन्छ । पेसाले पत्रकार हुन्, त्यसैले समाचार, घटना, सरकार, नाराआदिले पनि उनलाई छुन्छ । तर, यी कुरा अरूले पनि लेखिरहेका छन् भनेर कतिपय भाव र तरङ्गहरूलाई कवि मणि लोहनीले छोड्न वा बिर्सन सक्नुपर्छ । यसो भनिरहँदा समय र राजनीतिमाथि कविता लेखिनु हुन्न भनिएको होइन । तर यस सङ्ग्रहको प्रथम खण्डमा आएका धेरैजसो कवितामा अखबारी कुरा, नारा र तात्कालीक आक्रोश बढी, र सूक्तिमयता, विम्बात्मक अभिव्यक्ति र घनत्वपूर्ण र जादुवी हरफ कम भेटिएको त पक्का हो । यो कवि मणि लोहनीको लोभ र कमजोरीको उपज हो । यस प्रकारका कवितामा उनको असली कवित्व खासै भेटिँदैन । यस्ता कवितामा जोखिम र विरोधाभास कसरी र कहाँ पुगेर आइदिन्छ, कहिलेकाहीँ थाहा पनि हुँदैन । उदाहरणमा हेरौँ “मानचित्रमा उभिएर” शीर्षकको कविता । आजको समय विविधताको उत्सव मनाउँदै एकतामा गाँसिनुपर्छ भन्ने छ, जब कि कविताले एकताका नाममा सबै विविधतालाई निषेध गरेको जस्तो लाग्छ । यसै पनि उत्तारआधुनिक समय विविधताको हो । यस दृष्टिले कविता पश्चगामी पनि छ । दोस्रो, हामीले पुज्ने मन्दिर, घुमाउने माने, भाक्ने देउराली र बुद्ध भेटेको गुम्बा “यही” हो भनिरहँदा, यति धेरै नाम, पन्थ र देवलायको नाम उल्लेखित भयो, जसले एक होइन “अनेक” को सङ्केत गर्दछ । अनेक भएरै त यति धेरै धर्म, भवगान् र देवालय बने, होइन र? र अर्को, नक्साभित्रका धर्का मेटाइदिए र सिमाना मेटाइदिने कुरा छ, जुन न सम्भव छ, न मान्य छ कसैलाई न नै व्यवहारिक छ । भावावेशमा कविले कठोर यथार्थको उपस्थितिलाई कसरी बिर्सन्छ, यो त्यसैको उदाहरण हो । हामीले, यी विविधता र अपरिहार्य र अनिवार्य विभाजन रेखाहरूको स्वीकाराक्तिसहति एकता, समता र सङ्गति खोज्नुको विकल्प छैन । यो एउटा उदाहरण मात्रै हो । विचारधारा, सिद्धान्त र विश्वासको वैविद्य भएको विषयमा कविताले तर्क गर्नुपर्ने हुन्छ । तर यो मेलो कवि मणि लोहनीको हो जस्तो देखिँदैन । अर्को कुरा, मणि लोहनीको क्षमताको कविले कविताको भाषालाई अत्यन्तै कम्पेक्ट, घनत्वपूर्ण र ओजिलो बनाउनु जरूरी देखिन्छ । उनले “प्रमेशास्त्र”, “दर्शनढुङ्गा” र “इच्छामृत्यु” र “साँझहरू” को जस्तो निखान अन्य कवितामा किन दिन सकेनन् ? यो उनैलाई थाह छ । उनका कविताको लम्बाइ पनि उनको दुस्मन हो । लामो बनाउने क्रममा पुनरावृत्ति दोष, व्याख्या, विश्लेषण र सपाट गद्यको गर्तका कविता फस्न सक्छ । यसै गर्नेहुँदा “सौन्दर्यको आकार” शीर्षकको कवितामा उनी आफ्ना मिल्ने कतिपय कवि साथीहरूको नाम कवितामा घुसार्नकै लागि घुसार्न पुगे । ती कवि त खुसी भए नै होला, तर यस्तो बलात् घुसपैठले कवितालाई पटक्कै न्याय गरेको देखिँदैन । कतिपय ठाउँमा कविले पाठकलाई विश्वास नगरेको, र विम्बहरूको अनावरण उनीहरू आफै गर्न सक्छन् भन्ने नठानेको पनि प्रतीत हुन्छ । पाठकको क्षमतामाथि विश्वास नगर्नु कविको कमजोरी हो । “साँझहरू” शीर्षकको कविताको मूल विषय भ्रम र क्षणभङ्गुरताको हो । यसमा कविले “तिम्रो मदमस्त यौवन र पानीमा हल्लिरहेको चन्द्रमा समात्न खोज्ने मेरो मूखर्ता दुवै उस्तै हुन्” भनिसकेपछि “भ्रमपूर्ण र क्षणभङ्भुर” भनेर व्याख्या किन गरे होलन्? कलेरिजले त कुब्ला खाँले आफ्नो दरबारको छाया आल्फ नदीमा ढलपल पलपढ देख्छु भनिरहँदा व्याख्या गरेनन् नि? अर्को, कतिपय कथनहरू सपाट र बेमेल लाग्छन् । उदाहरणका लागि “मृत्युको पहिरो” शीर्षकको कवितामा “मीतजस्ता सग्ला कुवा र ढुङ्गेधाराहरू” भनिएको छ । के सबै मित सधैँ सग्ला होलान्? “जन्म उत्सव” मा भिनएको छ, “गोठका भित्ताहरूमा प्रचलित सङ्गीतको कुनै धुनजस्तो,” जबकि गोठका “भित्ता” मा कुनै धुन प्रचलित हुने कुरा सटिक बस्दैन । पुस्तकमा भाषिक त्रुटि धेरै छन्, र सम्पादनपक्ष फितलो छ । “यहिबेला, शताब्दीऔँ, गुँरास, एकाङ्कीपन, धूवाँ, गहिराई, कमाई, हुल, गिनिपिक, रहश्य, आफूलाई” यस्ता त्रुटिका केही झलक हुन्, जो नहुनुपर्ने थियो । #महेश पौड्याल
बस्तीबाट लखेटिदा: किसानको सन्तान हुँ म परिश्रम मेरो रगतमा छ मेरो लागि हिँड्नु कुनै ठूलो कुरो होइन । जसरी तिम्रा हत्केलाले नोट हरु चिन्दछन् जसरी तिम्रा नेताहरुले भोट हरु गन्दछन् हो, त्यसरी नै मेरा पैतालाहरुले घर लाग्ने बाटो महसुस गर्दछन् । तिम्रा मोटर गाडी र चिल्ला सडक हुनुअघि नै हरेक वर्ष, हिउँ छल्न, घाम छेक्न, र सामल भित्र्याउने निहुँमा भेडा, च्यांग्रा र दुहुने गाईसमेत बोकेर मेरा बाजे-बराजेहरुले यी डाँडा-काँडा, हिमाल र तराईका फाँटहरु पैतालाले नै नापेथे। हो, तेही पौरखीको सन्तान हुँ म त्यसैले हिँड्न म डराउँदिनँ तर, यत्रो महलहरुको लस्करमा एक गाँस र ओतको सामान्य आवस्यकता पूरा नभएपछि मलाई मजस्तै देखिने म जस्तै भाषा बोल्ने र, म जस्तै देउता पुज्ने मान्छे देखेर डर लाग्यो । उहिले-उहिले मेरा हजुरबाउहरु मलौट जाँदा बाटाका अँध्यारा जंगलदेखि तर्किन्थे जंगली जनावरहरुदेखि झस्कन्थे त्यसैले रातभर आगो बल्थे । मेरा हजुरबाउहरु, बस्ती देख्दा दङ्ग पर्थे मान्छे देख्दा फुरुङ्ग हुन्थे किनकि, त्यो बेला मान्छे भनेका आड थियो अनि, बस्ति भनेको सुरक्षा । तर आज, बस्ती नै जंगलजस्तै बिरानो भएको बेला र, मान्छे जंगलका जनावरजस्तै डरलाग्दा भएको बेला म आफैँ अलमल्लमा छु र मलाई यो बिरानो ठाउँमा बस्नु छैन । त्यसैले म घर हिँड्छु जति नै दिन लागे पनि जति नै जंगल छिचोल्नु परे पनि मलाई मेरो घर पुग्न आउँछ किनकि मलाई थाहा छ, कुनै जि.पी.आर.एस. र कुनै गुगल म्यापबिना मेरा हजुरबाउहरु अबेर नै भए नि घर पुग्थे र म पनि घर पुग्नेछु। माहाकाली पारिका मान्छेहरुप्रति तिम्रा बस्तीका गन्थन सुन्दा मेरो मन झुक्किएको थियो आज आफू वारि हुँदासमेत तिम्रो बस्तीबाट लखेटिँदा मन झस्किएको छ । खैर, घर पुगेपछि मलाई एउटै कुराको चिन्ता छ हजुरबाउहरु जस्तो, मसँग, आफ्ना सन्तानहरुलाई रोमाञ्चक बनाउने जंगली जनावरसँग झस्केको जंगलमा तर्सेको किस्सा छैन छ त कहिले नबिर्सिने, मान्छेसँग डराएको, मान्छेबाट लखेटिएको नमीठो अनुभव जुन सुनाउने मसँग हिम्मत छैन । कुनै दिन यो बस्तीका मान्छेलाई मेरो गाउँको गोरेटोमा भेटे, मलाई यिनीहरुलाई- “मान्छे कस्तो हुनुपर्छ ?” “बस्ती भेट्दा कस्तो हुन्छ ?” सम्झाउन मन छ । उनीहरुलाई मीठो मसिनो खुवाएर आफ्नै घरमा बास दिन मन छ । ताकि उनीहरुले, बस्ती र मान्छे भेट्दाको आड र भरोसाको कथा आफ्ना सन्तानलाई सुनाओस् र मेरो सन्तानले, उसको बस्तीमा समस्या भोग्दा म जसरी रोएर घर पहिल्याउन नपरोस्। मलाई बस्ती जंगल भएको, मान्छे जंगली भएको, नमज्जाले बिझाएको छ त्यसैले म घर हिँड्छु मैले मान्छेलाई जंगली हुनबाट बचाउनु छ । -प्रज्ञा #प्रज्ञा पनेरू
आगोको आत्मकथा: पढेको छ कसैले आगोको आत्मकथा ? हो, आगोसँग पनि छ भीषण कथा भीषण अनुभूति भीषण इतिहास आगोमा पढ्छु नैश्वरीय चेतना पल्टाउँछु आगोका शीर्षक र चुम्बन गर्छु (संसारमा सवभन्दा भव्य लाग्छ आगोको आत्मकथा) हो, आगो अमोघ अस्त्र संसारमा सर्वशक्तिमान छ – आगो पल्टाउँछु आगोको प्रिय हृदय केवल पाउँछु हुरहुराउँदै/लपलपाउँदै बलिरहेको आगो । आगोका पन्ना पन्नामा केवल सम्मोहित गर्दछन आगोका शालीन अक्षरहरु ! ईश्वरभन्दा सत्य छ आगो पढेको छ कसैले आगोको आत्मकथा ? अचानक सम्झौता गर्छु आगोसँग परिवर्तनको महा-शक्ति हो – आगो जब बाक्लिदै जान्छ बस्तीमा सघन अँध्यारो म उमार्छु हत्केलामा आगोका भर्भराउँदा बिरुवा र, रोपिदिन्छु बस्तीका लाखौं हातहरुमा सल्किन्छन हातहरुमा अथाह आलोक सर्वत्र उजेलिन्छ /चमचमाउँछ – आगोको बर्णमाला आगो ! जहाँ नीरवताले प्रार्थना गर्छ निस्तब्धताको झुप्पाहरुमा सल्काउँछन उज्यालोका दियोहरु हाम्रा मस्तिष्कका बाक्ला साँझहरुमा हुर्काउनुपर्छ आगोका बिरुवा जोगाउनु पर्छ आगोको सन्तान र, पढ्नुपर्छ आगोको आत्मकथा ! आमाहरु अनन्त बीजारोपण गरुन् आफ्ना गर्भमा – आगो अनि जन्माऊन् हजारौं मायादेवीहरु सम्यक् सम्बोधि बुद्ध आगो जो बुद्ध जन्माउन सक्छ आगो जो बुद्ध जलाउन सक्छ पढेको छ कसैले आगोको आत्मकथा ? #श्रीबाबु कार्की उदास
हुन्छन्: कोही जमिनमा हुन्छन् कोही पानीमा हुन्छन्।। तस्वीर मनमा हुनेहरु आँखाको नानीमा हुन्छन्।। शून्य रात तिमी र म त्यसपछि खै कसरी भनूँ, सपानामै सही जे नहुनु यै जवानीमा हुन्छन्।। तिमी अनुहार अनि मनमात्र नहेर्नु अबदेखि, मान्छेको माया मनमा धोका बानीमा हुन्छन्।। तिमी मेरो होइन कथा लेख्नु अब उनीहरुको, जसको छातीमा देश बन्दुक सिरानीमा हुन्छन्।। म खरानीको थुप्रोमा मुटु खोज्दैछु थाहा छ नि? अक्सर जलिसकेका कुराहरु खरानीमा हुन्छन्।। बाग्मती-४, प्युटार ललितपुर #लीलाकुमार ब्लोन
रक्षा बन्धनले रक्षा गरेको समाज: “भूतनाथ महादेव मन्दिर” ! सुन्दै अचम्म लाग्ने मन्दिर । डरलाग्दो नाम । तर बर्माको राजधानी शहर रंगुनको मुटुमा नै यो मन्दिर छ । अझ यो मन्दिर नेपाली राजदूतावासबाट नजिकै पर्छ । यसको अर्को गौरवको कुरो यो छ कि, यो मन्दिरका मुख्य पुजारी नै गोरखाली मूलका छन्– मोहनराज खनाल । विशेष गरी भारतीयहरूको बाहुल्य भएको साथै उनीहरूकै लगानीमा बनेको मन्दिरमा गोरखाली मूलका पुजारी हुनुमा सबै नेपालीको खुशीको कुरो हो । म उनै मोहनराज खनालज्यूलाई भेट्न गएँ । ट्याक्सी ड्राइभरले मलाई मन्दिरको अगाडि नै रोकिदियो । म ट्याक्सीबाट निस्किनासाथ सरासर मन्दिरको सिँढी उक्लेँ र मन्दिरको ठूलो आँगनमा पुगेँ अनि मोहनजीलाई फोन लगाएँ । उहाँ मन्दिरकै निवासमा बस्नुहुन्थ्यो । उहाँको फोन उठ्यो । “हलो !” “मोहनजी ! म नगेन्द्र बोलेको ! म अहिले मन्दिरमा आइपुगेको छु, तपाईं कहाँ हुनुहुन्छ ?” “म कोठामा छु । बाहिर आइहालेँ । तपाईं उभिंदै गर्नुहोस्,” भन्दै मोहनजी हातमा फोन समाउँदै बाहिर देखा परिहाल्नु भयो । हुन त मोहनजीसँग फोनमा धेरै नै कुराकानी भएको थियो । विचार–विमर्श भएका थिए तर भेट भएको थिएन । सेतो धोती, गेरु रङ्गको गन्जी अनि निधारमा रातो टीका, एउटा जल्दाबल्दा युवा पुजारी । उहाँमा जति संस्कृत भाषाको ज्ञान थियो त्यो भन्दा बढी बर्मेली भाषा । त्यस्तै नेपाली भाषा र संस्कृत भाषाका थुप्रै किताबहरू पनि उहाँका निस्केका थिए । उहाँ छन्दोबद्ध कविता पनि लेख्नुहुन्थ्यो । तर उहाँलाई मैले भेट्ने र चिन्हे आधार भनेको चाहिँ उहाँको नेपाली साहित्य नै हो तर म त्यतिबेला साहित्यिक क्रियाकलापभन्दा पृथक् हुन पुगेँ । नौलो देश, नौलो हावापानी, त्यहाँको नौलो स्वरूपमा मेरा आँखाहरू डुल्न पुगे । रंगुनको नौलो बनोटमा रमाउन थालेँ । आज त्यही आँखा डुलाइको गन्तव्य थियो– उहाँको साथ लागेर बर्माको समुद्री किनार अवलोकन गर्ने । बर्माको समुद्री किनारमा आँखा लगाउनुको कारण थियो– त्यही समुद्री किनारबाट थुप्रै जोशिला गोरखाली युवाहरू बर्मा पसेका थिए, नौलो अवसर र चम्किलो भविष्यको त्यो मूलद्वार थियो । उहाँसँगको सामान्य छलफलपछि उहाँले मलाई केही फलफूल र मन्दिरको प्रसाद अगाडि राखी दिनुभयो । “तपाईं यो फलफूल र प्रसाद खादै गर्नुहोस्, म भित्र गएर लुगा बदलेर आउँछु” भन्दै फेरि भित्र पस्नुभयो । मैले मन्दिरको प्रसाद र फलफूल खाइसकेँ तर त्यतिबेलासम्म पनि मोहनजी कोठाबाट बाहिर नआउनु भएकाले म फेरि मन्दिरतिर नै गएँ । शुरुमा मन्दिरको सामान्य परिक्रमा गरे पनि अहिले भित्रसम्म नै पसेँ । वास्तवमा भूतनाथ मन्दिर सुन्नमा मैले जति अद्भूत र डरलाग्दो ठानेको थिएँ, मन्दिरभित्र पसेपछि झन् अद्भूत लाग्यो । डरलाग्दो लाग्यो । विश्वभरका महादेवहरू त्यहीँ थुप्रिएका रहेछन् । विभिन्न आकारका त्रिकालदर्शी शिवजीको भिड नै रहेछ । महाकालेश्वर, तारकनाथ, रामेश्वर, सोमनाथ, केदारनाथ, विश्वनाथ, नागेश्वर, वचश्वकेशर, मलिक अर्जुनजस्ता महादेवहरू पंक्तिबद्ध भएर बसेका रहेछन् । मैले सबै महादेवहरूको दर्शन गरे र बाहिर निस्किएँ । त्यतिबेलासम्म मोहनजी कोठाबाट बाहिर निस्केर मलाई पर्खेर बस्नुभएको थियो । तर उहाँ लुगा बदलेर आउँछु, तपाईं यहाँ बस्दै गर्नुहोस् भनेर गए पनि उहाँको पोशाक खासै बदलिएको थिएन, केवल गेरु रङ्गको गन्जी माथि आस्कोट मात्र थपिएको थियो । बरु मलाई देख्नासाथ उहाँको नजर मेरो दाहिने नाडीमा पुगिहाल्यो । “न्यौपाने सर ! तपाईंको रक्षा बन्धनको धागो अलि सानो भएछ । थपौं है ?” मैले केही उत्तर दिन पाएकै थिइनँ, उहाँले फेरि मलाई मन्दिरतिर लैजानुभयो र हातमा एउटा धागोको डल्लो लिनुभयो अनि मेरो पाखुरामा च्याप्प समातेर श्लोक भट्याउन थाली हाल्नुभयो । “येन बद्धु बलि राजा दानविन्द्रो महावल तेन त्वं वध नामी रक्षेमा चलमा चल ।” म ट्वाल्ल परेर हेरिरहेँ । केही बोल्नै पाइनँ । रक्षा बन्धन मैले नेपालमा हुँदा कहाँ नबाँधेको हुँ र ! वर्षैपिच्छे जनै पूर्णिमाको दिन बाँधेको छु । घरमा हुने विभिन्न पूजा–आजा र धार्मिक समारोहमा पनि लगाएको छु तर नाडीको धागो अलिकति मसिनो देखिनासाथ कहिल्यै थपिनँ । महिनैपिच्छे कहिल्यै बाँधिनँ । तर अहिले मोहनजीले थपिदिएको नाडीको मोटो डोरीलाई सुम्सुम्माउँदै बाहिर निस्किएँ । मलाई अलिकति गौरव पनि लाग्यो । “सर ! रोहिन्गा समस्या आएपछि त रक्षा बन्धन अनिवार्य नै भएको छ वर्मामा ।” उहाँको यो आशयले मलाई सतर्क मात्र गराएन, केही ऊर्जा पनि थप्यो । हुन त यस्ता आशय सोझै कानमा नपरे पनि प्रत्येक गोरखालीको नाडीमा बाँधिएको रक्षा बन्धनले मलाई कौतूहल उब्जाइसकेको थियो, म जिज्ञासु थिएँ । बाह्रैमास नटुटेका पाखुराको धागोमा निकै गहिरो चासो थियो । अझ केही दिन अगाडि मात्र अर्का साहित्यकार खेम कौशिकले आफ्नो घर नजिकको दुर्गा मन्दिरमा लगेर मेरो रक्षा बन्धनको डोरी थपिदिनु भएको थियो । अहिले म निकै होशियार भएँ, मेरो आत्मा दह्रो बन्यो । हामीहरू सार्वजनिक बसमा चढ्यौं । बसले लामै फन्को मारेपछि समुद्री किनारमा पुर्यायो । विशाल समुद्र, समुद्र किनारका ठूला–ठूला पानीजहाज । हामीहरू केहीबेर किनारै–किनार हिँडेपछि एउटा पानीजहाजभित्र पस्यौँ । हामीहरु पानीजहाजको यात्रा नभई पानीजहाज भित्रको दृश्य हेर्नको लागि थियो । पानीजहाजको खुलदुली मेटाउनु थियो । मलाई गौरव यस अर्थमा लाग्यो कि, जसरी प्रत्येक बौद्ध भिक्षुलाई बर्मेलीले शिर झुकाएर सत्कार गरेका थिए, त्यस्तै हिन्दु पुजारीलाई पनि सत्कार गरे । मोहनजीको अगाडि निहुरिएर गए । मोहनजीले पाएको सत्कार मैले पनि उपभोग गरेँ । हामीले नसोधे पनि उनीहरूले हामीलाई पानीजहाजको भित्रसम्मको सम्पूर्ण दृश्यहरू देखाइदिए । हामीहरू समुद्री किनारको अवलोकनपछि फेरि बसमा चढ्यौँ तर मेरो दिमाग फर्कन सकेन । घरी–घरी मलाई त्यही रक्षा बन्धनको डोरीले तानिरह्यो, निधारको टीकाले सताइरह्यो । अझ केहीबेर अगाडि मोहनजीले रोहिन्गाको समस्यालाई रक्षा बन्धनसँग जोडिदिएका थिए । त्यति मात्र कहाँ हो र ! केही दिन अगाडि अर्का एक जना गोरखाली मित्रको भनाइ मेरो दिमागमा नाच्न थाल्यो– रक्षा बन्धन शान्तिको चिनारी हो । यसलाई मोटो पार्नुपर्छ । म बसको सिटमा बसेँ तर मेरो ध्यान मेरै पाखुरामा जान थाल्यो । मैले आफ्नो कमेजको बाहुलामाथि सारेर भए पनि रक्षा बन्धनलाई बाहिर देखाइरहें । अरु यात्रीको ध्यान मेरै पाखुरामा खिचिरहेँ । आफ्नो परिचय म आफैँले दिएँ किनकि मलाई शान्तिको प्रतीक हुनु थियो । नरम स्वभावको देखाउनु थियो । मोहनजीसँग म बिदा भएर त आएँ तर मेरो दिमागबाट रक्षा बन्धन र रोहिन्गाको फन्को अझै बिदा हुन सकेन । म त्यसैमा लागिरहेँ । मेरो मानसिकता रक्षा बन्धन र रोहिन्गाको भित्री रहस्य बुझ्नतिर गयो । बर्मामा रक्षा बन्धनको चर्चा गर्दा रोहिन्गा मुसलमानको पनि कुरो आउनु अनौठो होइन । अझ त्यो बेला (२०१९) तिर बर्मामा मात्र होइन विश्वमा नै रोहिन्गाको चर्चा–परिचय विश्वव्यापि नै थियो । रोहिन्गा “सुन्नी” समूहका मुलसमान हुन् – जो बर्माको पश्चिमी राज्य “रखाई” मा यिनीहरूको बाहुल्य छ । रखाई राज्यको अर्को नाम “आराकान” पनि हो । रखाई राज्य बंगलादेशसँग जोडिएको हुनाले उनीहरूको पूर्वजहरू बंगलादेशबाट आएका हुन् भन्ने मान्यता छ । तर उनीहरूका पूर्वजहरू कहिले, कसरी र किन आए, त्यसको खोजीनीति नै नगरी बर्मा सरकारले उनीहरूलाई पूर्णकालीन नागरिकता नदिनु नै आजको संकट हुन गयो । हुन त बर्माको नागरिकता ऐन १९८२ अनुसार धेरै जसो गोरखालीहरू पनि कहाँ पूर्णकालीन नागरिकताबाट वञ्चित नभएका हुन् र ? उनीहरू बर्माको १३५ आदिवासी समूहमा पनि परेनन् । जे जस्तो विभेद भए पनि शान्तिप्रिय गोरखालीहरू नरम तरिकाले बर्मामा बस्दै आए । उनीहरू बर्मेलीसँग हातेमालो गर्दै बर्मामा नै रमाए । तर त्यो धैर्यता रोहिन्गामा आउन सकेन । उनीहरू लडाकु र आक्रमण शैलीमा उत्रिए । उनीहरू आफ्नो अधिक खोज्नतिर लागे । रोहिन्गामा निहीत हिंसात्मक स्वरूप नै बर्मेली सरकारको टाउको दुखाई हुन थाल्यो । अझ सन् २०१२ मा एकजना रोहिन्गा मुसलमान युवाले बर्मेली युवतीलाई एसिड खन्याएर अनुहार विक्षिप्त बनाएपछि रोहिन्गाको उठिबास शुरु हुन गयो । बर्मेली जनताले खेद्न थाले । बर्मेली जनताले खेद्न थाले पनि सरकारले चाहिं सुरक्षा दिइरह्यो । सकभर रोहिन्गाको संरक्षण गर्यो । तर जब सन् २०१७ मा रोहिन्गा आतंककारीले बर्मेली सैनिक ब्यारेक नै कब्जा गरेर धेरै सैनिक नै मारेपछि सरकार पनि रोहिन्गातिर खनिन बाध्य भयो । हुन त उनीहरू पहिल्यैदेखि दोस्रो दर्जाका नागरिक थिए, अर्को अर्थमा उनीहरू सक्कली बर्मेली थिएनन्, सरकारले अन्याय गरेको थियो, तर जब एसिड काण्डदेखि ब्यारेक काण्डसम्म आउँदा उनीहरू पूरै देशको दुश्मन हुनपुगे । रोहिन्गालाई बर्मा बसिसक्नु भएन । घर–घरबाट रोहिन्गा युवाहरू निकालिँदै काटिन थाले । गाउँमा आगो लाग्यो । हाहाकार भयो । सक्नेहरू भाग्दै–लुक्दै भारत पसे, कोही बंगलादेश भित्रिए । बाल–बालिका, बूढा–बूढीको विचल्ली भयो । रोहिन्गालाई परेका आतंकको छिटो गोरखालीलाई नपर्ने कुरै भएन । त्यहाँ गोरखाली होस् वा भारतीय, हिन्दु होस् वा मुसलमान बर्मेलीको आँखामा सबै कल्ला (विदेशबाट आएका) नै भए । अझ, रूप, रङ, बोली, अनुहार, छाला नाक एउटै देखिएपछि बर्मेलीको नजरमा सबै विदेशीहरू मुसलमान नै हुन् भन्ने भान पर्यो । उनीहरूले छुट्याउन सकेनन् । अब समस्या पर्यो रैथाने हिन्दुलाई, जो सदियौँदेखि त्यहीँको हावा खाएका छन्, त्यही माटोमा आफ्नो श्रम बगाएका छन्, बर्मा देशप्रति समर्पित छन् अनि नरम स्वभावका छन् । उनीहरूको एउटै उपाय थियो– मुसलमानबाट पृथक् स्वरूप देखिनु । उनीहरूले आफ्नो पाखुरामा रक्षा बन्धन कस्न थाले भने निधारमा टीको । उनीहरूको निधार र पाखुरामा कहिल्यै खाली नहुने भयो । अझ रोचकता के देखियो भने जब देशमा आन्दोलन शुरु हुन्छ, सडकमा नाराबाजी सुनिन्छ तब हिन्दु मन्दिरमा भिड बढ्न थाल्छ । रक्षा बन्धनको डोरी बाँध्नका लागि हानथाप चल्न थाल्छ । अर्को रोचकता के भयो भने पाखुरामा रक्षा बन्धनको डोरो लगाउने भिडमा हिन्दुहरूभन्दा मुसलमान नै बढी देखिन थाले । उनीहरू कोचिई–कोचिई लाइनमा उभिन पुगे । आखिर विचार, भावना, धर्म जे–जे भए पनि अकालमा मर्न कसलाई पो मन छ र ? अपाङ्ग हुन रहर कसलाई छ र ? यतिसम्म कि हिन्दु अनुहारसँग मिल्ने बर्मेलीसमेत हिन्दु मन्दिरमा थुप्रिन थाले । रक्षा बन्धनका लागि हानथाप हुन थाल्यो । उनीहरूलाई डर थियो भिडभाड र आन्दोलनमा जसलाई जे पनि हुनसक्छ । अन्धविश्वास सम्झेर बसेको म, जब बर्मामा पुगेँ, मैले रक्षा बन्धनलाई मोंटो पार्न थालेँ । रक्षा बन्धनप्रति मेरो कमजोर मनोवृत्तिमा शक्ति भरिन थाल्यो । गौरव बढ्दै गयो । अनुमान र ठोस प्रमाणबिना नै मैले रक्षा बन्धन बाँधेको रहेछु । पहिचान जीवन्त राख्न मात्र होइन, सैतान, पिचास जस्ता सामान्य तत्त्वबाट जोगिन मात्र पनि होइन । यसले त ठूला–ठूला आक्रमण र नरसंहारबाट पनि बचाउँदो रहेछ । द्वन्द्व, दुःख र क्रूरताबाट जोगिने हतियार पनि रहेछ । यो त सहनशील र भद्रताको परिचय पो रहेछ ! बर्मा बसुञ्जेल मैले कहिल्यै पनि पाखुरामा रक्षा बन्धन र निधारमा टीको खाली गरिनँ । #नगेन्द्र न्यौपाने #बर्मा
कोरोनाको मलामी: एकाबिहानै लालबहादुरको घरमा केटाकेटीको भीड लाग्यो । गाउँभरिका सबै केटाकेटीलाई साथी बनाएर हिँड्ने लालबहादुरको बानी थियो । बच्चाको बाउ बन्ने बेलामा केटाकेटीसँग खेलेर हिँड्छ भनेर ठुलाबडाले गाली गर्थे । यही बानी देखेर उसकी नवविवाहिता श्रीमती पनि आजित भइसकेकी थिई । विवाह गरिदिइसकेपछि पनि केही बानी सुध्रिएन भन्ने उसकी आमा फूलमायाको पनि आरोप थियो । कहिले त उनी बुहारीले छोरोलाई सुधार्न नसकेको आरोप लगाउन पछि पर्दिनथिन् । बुहारी भने “नानीदेखिको बानीलाई यति छिटै कसरी मैले सुधार्न सक्छु त ?” भनेर सासूलाई जवाफ दिन्थिन् । ससुरा पनि “बुहारीले छोरो सधैँ हल्लिएर हिँडोस् भन्ने त कहाँ चाहन्छे र ?” भन्दै सासूलाई हपार्थे । जेहोस् अरुले जसो भने पनि केटाकेटीहरू भने लालबहादुर दाइसँग खेल्न नपाएको दिन झरीले रुझेका मुसाझैँ देखिन्थे । रामु, साने, विकास, भरत, जिते आदि लालबहादुरका मिल्ने साथी थिए । उनीहरूलाई स्कुलले वर्षे बिदा दिएकाले पढ्न जानुपरेको थिएन । लालबहादुर त आठ कक्षा फेल भएपछि पढ्नै छाडेको थियो । किसानहरूलाई असारे मेलो भ्याइनभ्याइ हुने समयमा विद्यालयले बिदा दिँदा रमाइलो मान्थे । तर काम गर्न सक्ने उमेरका बच्चाको बिदा भए पो रमाउनु ? मसिना भुराहरू त विद्यालय गएकै वेश भन्ने अभिभावकको धारणा हुन्थ्यो । लालबहादुरका साथीहरू काम गर्न नसक्ने र खेलेर दिन बिताउने समूहका थिए । मुखले जे भने पनि कामको चपेटा भएका बेला लालबहादुरले बालबच्चालाई भुलाइदिँदा मनमनै खुसी हुने पनि थिए । तर प्रशंसा गर्न भने सक्दैनथे । “साथी हुन उमेरले नछेक्ने रहेछ” भन्दै गाउँले कोही राम्रै टिप्पणी गर्थे । उमेर बढे पनि चरित्र केटाकेटीको भएकाले लालबहादुरलाई मान्छे नै नगन्ने छिमेकी पनि थिए । “विवाहपछि लालबहादुरलाई थप जिम्मेवारी थपिनुपर्ने हो । ऊ परिवर्तन हुनुपर्ने हो । श्रीमतीलाई आफैँले लाउन खान दिन नसक्ने पनि के मर्द ? स्वास्नीले मेलापात गरेर पाल्नुपर्ने, आफू चाहिँ खेलेर हिँड्ने, दिदी तिम्रो छोरो कहिले सुध्रिएला खै ? मेरो छोरा विकास पनि त्यसैको सङ्गतमा लागेर बिग्रने भयो” भन्दै उपल्लो घरकी गोमाले घाँस काट्न जाँदा लालबहादुरकी आमालाई भनेकी थिइन् । त्यो कुरा सुनेपछि लालबहादुरकी आमाको मनमा भयानक आँधी चल्न थाल्यो । उनले घरमा गएर लालबहादुरलाई केही न केही सजाय नदिइनछाड्ने निधो गरिन् । घर पुगेपछि लालबहादुरकी आमाले छोरालाई चर्को स्वरमा बोलाइन् । गोठमा गाईवस्तुलाई कुँडो खुवाउँदै गरेकी बुहारी मनकुमारीको प्रतिक्रिया सुनिन्, “तपाईँको छोरा घरमा भए पो बोल्थे त ! कहाँ पुगिसके खेल्न ? के सुन्थे ?” लालबहादुरकी आमाले जङ्गिदै भनिन्, “अरुले रोपाईँ थालिसके । हाम्रो खेत बाँझै छ । घाँस काट्न गइदिएको भए पनि म घरको काम गर्थेँ । बुहारी मेलापात जान्थी । यही बाउको बेवास्ताले छोरो बिग्रियो । न आफू काम गर्न सक्नुछ, न छोरालाई अह्राउन सक्नुछ ? आफू त बुढो भएर काम गर्न नसक्ने भयौ तर छोरो त लक्का जवान छ नि ! ऊसँग त बाघसँग जुध्न सक्ने बल छ । किन केही भन्न सक्दैनौ ?” श्रीमतीको गनगन सुनेपछि लालबहादुरको बुबाले भने, “म के गरौँ त ? म कमजोर भएकै कारणले त त्यसले नटेरेको नि ? मुखले भनेको मान्ने भए पो ? पछिपछि लागेर खेद्न सकिनँ ? बुढेसकालमा कति जपेर जन्मेको एउटै सन्तान छ । कुट्न सकिनँ । तैँले नै तहमा ल्याएकी भए पनि त हुन्थ्यो नि ? मलाई के देखिनसकेको ? बिग्रियो मैले गरेर । सप्रियो तैँले गरेर, हैन त ?” एकछिनपछि खुट्टाभरि हिलो बोकेर लालबहादुर घर आइपुग्यो । विवाह गरिसकेको छोरो भएर पनि आज फूलमायाले आफ्नो छोरोलाई सानो देखिन् । उफ्रिँदै साथीसँग खेलेर आएको उसको स्वभावले पनि उनलाई त्यही महसुस भएको थियो क्यारे । कहिल्यै हात नछाडेकी फूलमायाले आज गोरु जोत्दा गोरुलाई धपाउने लठ्ठी बोकेर लालबहादुरको पिँडौलामा जोडले तीनपटक हानिन् । ऊ दुवै खुट्टा समातेर पिँढीमा थचक्कै बस्यो । आँखाबाट आँसुका धारा बगाउन थाल्यो । आमालाई एक शब्द पनि दोहोरो जवाफ नलगाई ओछ्यानमा गएर रोइरह्यो । त्यस दृश्यलाई हेर्न नसकेर उसका बाबुले आँखा चिम्ले । फूलमाया पनि आफ्ना हातलाई हेर्दै निकैबेर नाजवाफ रहिन् । एकछिनपछि “भनेको केही नटेर्ने स्वाँठ ! कहिलेसम्म बच्चा पल्टेर पुग्छ, आफू कमाएर हामीलाई पाल्ने बेलामा ? न पढ्यो ? न कमाउन हिँड्यो ? दुनियाँका छोराले कमाएर बाबुआमालाई सुखमा राखेका छन् । यो भने ? आजबाट त बुद्धि आउला नि ?” भन्दै फतफताउँदै पँधेरातिर लागिन् । लालबहादुरको दिमागमा पनि झुल्के घामझैँ एउटा योजना फुर्\u200dयो । उसले गाउँकै दाइ हेमकुमारलाई सम्झियो । “ऊ विदेशमा गएपछि परिवार कति सुखले बाँचेका छन् । खेतीपाती पनि अधियाँ लगाएर बसीबसी खान्छन् । उसले अर्को गहिरी खेत पनि किनिसक्यो । घर पनि नयाँ बनायो । उसकी श्रीमतीलाई अप्सरा बनाएर राखेको छ । आफ्नी भने सधैँ मेलापातमा हिँडेर भएको रूप पनि गुमाइसकी । मैले पनि न त पढ्न सकेँ, न आमाबुबा र श्रीमतीको प्यारो नै बन्न सकेँ ! छिमेकी पनि मेरै खोइरो खन्छन्,” भन्ने सोच्न थाल्यो । त्यसपछि कपडा फेरेर श्रीमती र बुबालाई कतै जान्छु पनि नभनी घरबाट निस्कियो । लालबहादुर हेमकुमारको घरमा गएर उसको फोन नम्बर मागी सहरतिर हानियो । सहरमा गएर पाँच छ महिना नै हरायो । होटलमा सानोतिनो जागिर खाएरै भए पनि केही रकम जम्मा गरेपछि हेमकुमारकै सहयोगमा विदेश जाने पक्का गरी मात्र गाउँ फर्कियो । गाउँमा आमा भने पश्चात्तापमा परेकी थिइन् । मैले गोमाको लहलहैमा परेर छोरालाई त्यस्तो व्यवहार गर्न नहुने भन्ने चोट मनमा गहिरो रूपमा परेको थियो । छोरो हराएपछि बाबुको पनि मन डराएको थियो । “कतै छोराले पहिलोपटक आमाको थप्पड खाएको पीडामा आत्महत्या त गरेन ?” भन्ने भयले आक्रान्त भएका थिए । आफ्नी श्रीमतीको पश्चात्तापमा पनि कुनै सहानुभूति जनाइरहेका थिएनन् । उता नवदुलहीमा आफ्नो लोग्ने हराएपछि सिर्जित चिन्तालाई कसले नाप्न सक्थ्यो र ? लालबहादुर घर फर्केको दिन त्यो घर स्वर्गसमान भएको थियो । सबैका अनुहारमा नाचेका खुसीका लहरहरूले अब लालबहादुर दुधे बालक बने पनि सबैले सहजै स्वीकार्ने छन् भन्ने निश्चित गरेको थियो । तर लालबहादुर विल्कुल भिन्न भइसकेको थियो । उसले कसैसँग गुनासो पनि गरेन । ऊ पहिलेको लालबहादुर छँदै थिएन । सबैसँग औपचारिक रूपमा मात्र विदाइ हुन आएको रहेछ । आफू भोलि नै विदेश जाने र सबैलाई सुखी राखेर पाल्ने सपना भने साट्यो । त्यसपछि एउटा झोला बोकेर ऊ विदेशतिर हानियो । लालबहादुरले विदेश पुगेपछि घरमा महिनैपिच्छे पैसा पठाउन थाल्यो । सबैलाई मोबाइल पनि पठायो । त्यतिमात्र होइन कोही साथी फर्कने भेट्यो भने गाउँका बालसाथीहरूलाई समेत चकलेट तथा खेलौना पठाउन पनि भुल्दैनथ्यो । आफ्नी श्रीमतीसँग फोनमा मिठामिठा कुरा गर्न रात पर्खन थाल्यो । बाबुआमाको आशीर्वाद पनि पाइरह्यो । यसरी ऊ विदेसिएपछि उसको जीवनको रूप मात्र होइन घरपरिवारको रूपै फेरिएको थियो । समाजमा भने अब छोराछोरी सानोमा बिग्रे पनि पीर लिन नपर्ने र लालबहादुर जस्तै ठूलो भएपछि आफैँ सुध्रिने प्रभाव परेको थियो । कसैले आफ्ना बालबालिकालाई गाली गर्न नै छाडेका थिए । गाउँका उसका केटाकेटी साथीहरू भने लालबहादुरसँग खेल्न नपाएर ज्यादै नियास्रिएका थिए । फूलमायाको भाग्यलाई पनि सबैले तारिफ गर्न थालेका थिए । अब सानो दुःख परे पनि फूलमायाको शरणमा पर्ने गोमा, निता, कमलीलगायतका अन्य छिमेकी महिलाहरूको जमात नै बढ्न थालेको थियो । छोरो हुनु त यस्तो पो त, भन्दै लालबहादुरको तारिफमा खुलेरै लाग्न थालेका थिए । जताततै कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि विदेशमा गएका युवाहरूमा पनि त्रास बढ्न थालेको थियो । चीनको हुवान प्रान्तबाट फैलिएको यो रोगका कारण बिस्तारै कतारमा समेत मान्छे मर्न थालेको समाचारबाट लालबहादुर निकै भयभीत भयो । तर नेपालमा भने हालसम्म कुनै सङ्क्रमण नपुगेको समाचार पनि थाहा पायो । घरपरिवारबाट उसलाई विदेशमा जताततै रोग फैलिसकेकाले तुरुन्त घर फर्कन आदेश आइरह्यो । परिवारको आग्रहले मात्र होइन दुःखमा परिवारसँगै बसे मात्र पनि पीडा कम हुने अनुभूति उसमा पलाउन थाल्यो । पहिले आफूसँगै काम गर्ने साथी अर्को कम्पनीमा खटिएको थियो । उसले आफूमा कोरोनाको सङ्क्रमण देखिएपछि हस्पिटलको क्वारेन्टाइनमा बस्दा विदेशमा आफन्तविहीन हुँदा भएको नमिठो पीडालाई साटेको थियो । घरपरिवारको यादले सताएको र कोरोनाले कसैलाई भेट्नै नदिई लैजाने त होइन भन्ने त्रास बढेको पनि सुनायो । यसले लालबहादुरमा झनै स्वदेशप्रतिको मोह बढेको थियो । साथीलाई सहयोग गर्ने इच्छा भएर पनि ऊ त्यहाँ गएर सहयोग गर्न सक्ने अवस्था पनि थिएन । हस्पिटलमा कोरोना सङक्रमितका आफन्तलाई भेट्न दिने अवस्था पनि कहाँ थियो र ? कम्तीमा स्वदेश र घरपरिवारकै नजिक रहेको अनुभूति पनि आनन्ददायक हुने उसको साथीको तर्क साँच्चै मार्मिक थियो । त्यसैले लालबहादुर आफूलाई त्यो स्थिति नआउँदै परदेशबाट भगाउन चाहन्थ्यो । भर्खरै मात्र कोरोनाको सङ्क्रमण देखिँदै गरेको हुनाले कम्पनीहरू बन्द भइसकेका भने थिएनन् । अनि घर नगएको वर्षौँ भइसकेको भन्दै कम्पनीमा छुट्टी माग्यो । छुट्टी मिलेपछि ऊ घर आयो । हिजो राति लालबहादुर घर आइपुगेको खबर थाहा पाएपछि बिहानै घरमा केटाकेटीको घुईँचो लागेको थियो । उसले सबैलाई विभिन्न खेलौना तथा चकलेट ल्याउन भुलेको रहेनछ । सबैका हातहातमा राखिदियो । सबैले लालबहादुरप्रति आभार जनाए । त्यतिमात्र होइन, गाउँका छिमेकीहरू पनि लालबहादुरलाई भेट्न आएपछि आज दिनभर उसको घरमा कुनै मेला लागेझैँ देखियो । सबैलाई केही न केही थमाउँदै खुसी बाँडिरह्यो । कसैले पनि पुरानो लालबहादुर सम्झेनन् । गाली गरेनन् । यो पैसा भन्ने जात पनि कस्तो रहेछ ? भन्ने प्रश्न उसका मनमा नआएको होइन । तर समयअनुसार चल्न नजान्दा पहिले अरूले आफूलाई खेदो गर्ने गरेको उसले राम्ररी बुझिसकेको थियो । अब विगतलाई भुलेर अगाडि बढ्ने योजना थियो उसको । अब त हेमकुमारकी श्रीमतीभन्दा आफ्नै श्रीमती सौन्दर्यले धपधप बलेकी पनि देख्न थाल्यो । एकपटक ठाँटिएर ससुराली पनि पुग्यो । त्यहाँ त झन् सबैभन्दा बढी सम्मान पाएको महसुस गर्\u200dयो । यसरी विदेशबाट फर्किएको पन्ध्र दिनसम्म त जताततै हाइहाइ पाएर रमाइलोका साथ जीवन बितायो । ऊ आइसकेको एघार दिनदेखि नै नेपालमा पनि लकडाउन सुरु भइसकेको थियो । एकदुई जना कोरोना सङ्क्रमित देखिनेबित्तिकै सरकारले गरेको लकडाउनलाई राम्रो कामका रूपमा प्रसंशा गर्दै रेडियो र टेलिभिजनबाट प्रसारित भइरहेको समाचार पनि उसले सुनेको थियो । ऊ विदेश गएपछि नै घरमा टिभी पनि भित्रिसकेको थियो । घरको छानो पनि खरबाट जस्तामा रूपान्तरित भइसकेको थियो । अब उसले आफ्नो घर कुनै सहरको महलभन्दा कम ठानेको थिएनँ । तर त्यही टेलिभिजनबाट आएको एउटा समाचारले भने ऊ त्रसित भयो । ऊ आएकै हवाइजहाजमा कोरोना सङ्क्रमित महिला भेटिएकी हुनाले त्यस जहाजमा फर्किएका सबैले होम क्वारेन्टाइनमा बस्नुपर्ने र तुरुन्त स्वास्थ्य जाँच गराउनुपर्ने खबरले यत्रतत्र फैलिएको थियो । त्यसपछि लालबहादुर पनि तुरुन्त स्वास्थ्य परीक्षण गर्न गयो । नगरपालिकाले सञ्चालन गरेको कोरोनाको स्वास्थ्यजाँचले उसमा पनि सङ्क्रमण भएको देखायो । त्यसपछि ऊ घर फर्किन पाएन । अस्पतालमै उपचार गर्नका लागि त्यहाँबाट उसलाई एम्बुलेन्समा हालेर कुदाइयो । यो खबर घरमा मात्र पुगेन गाउँमा समेत आँधी बनेर फैलियो । अब उसलाई भेट्न जाने र सान्त्वना दिने सोच कसैमा पलाएन । उल्टो उसको घरमा गएको पश्चात्तापमा गाउँलेहरू पिरोलिन थाले । उसका परिवारलाई पानी पँधेरोमा भेटिने हो कि भनेर सतर्कता पनि अपनाए । कसैले उसको घरतिर फर्केर हेरेन । उल्टो लालबहादुरको घरबाट गाउँतिर जाने बाटोमा काँडा हालेर बारिदिए । एक हिसाबले लालबहादुरका परिवार गाउँमा बन्दी बने । गाउँका सबैले लालबहादुर विदेशबाट फर्किनु नै उसले गरेको ठूलो अपराधका रूपमा निष्कर्ष निकाले । जसको घरमा भेटघाटका लागि लालबहादुर गएको थियो ती छिमेकीले त झन् उसले आफू सङ्क्रमित भएको थाहा पाएरै गाउँलेलाई सार्न आएको भन्ने आरोप लगाउन पनि भ्याए । हस्पिटलबाट लालबहादुरको अवस्था गम्भीर हुँदै गएको खबर आयो । कहिल्यै नगएको सहरमा कसरी जाने अनि श्रीमान्लाई कसरी बचाएर घर ल्याउने भन्ने छटपटीमा श्रीमतीको आधाज्यान भयो । समाजमा कोही पढेलेखेको र जान्नेसुन्ने मान्छेलाई सम्झिएर आग्रह गर्न पनि गइन् । तर उनलाई “परैबाट यता नआउनू, हामी यस्तो अवस्थामा केही सहयोग गर्न सक्दैनौँ” भन्ने उपेक्षा मात्र गरे । कसैमा सहयोग गर्ने सोच नै देखिएन । सासू र ससुरा समेत छोराको गल्तीले आफू पनि मरिने हो कि ? भन्ने त्रासमा देखिए । विदेश जानलाई बुहारीले नै नरोकेको र घर फर्किन पनि उसले नै जोड गरेको आरोप लगाउन थाले । यसरी सबैबाट आरोप र असहयोग मात्र मिलेपछि निराश भएर आफैँ एक्लै श्रीमान्लाई भेट्न जान्छु भन्दै लालबहादुरकी श्रीमती बाटो लागिन् । मनकुमारी अनेक समस्या झेल्दै हस्पिटल पुग्न सफल भइन् । आफ्नो श्रीमान्लाई भेट्न जानका लागि पनि अनेक सतर्कता अपनाउनुपर्ने डाक्टरहरूको निर्देशनले अलमलमा परिन् । अब कुनै काललाई भेट्न जाँदै गरेझैँ उनी सचेत बन्नु परिरहेको थियो । आइसियुमा थुनिएर उकुसमुकुस भएका श्रीमान्लाई देखेर उसैलाई सास फेर्न गाह्रो भयो । अस्तिसम्म हाँसेर हिँडेको मान्छे आज कुनै मुर्दाझैँ थुनिएको देखेर मनै भक्कानिएर आयो । आफूलाई आँखाबाट बगाएर हस्पिटलभित्रै डाँको छाडेर रोइन् । श्रीमान्को शरीरलाई एकोहोरो हेरिरहिन् । न त कुनै संवाद गर्न पाइयो न त कुनै पीडालाई साटेर हल्ला बनाउन पाइयो । मनकुमारीका मानसिक चोट मनभित्रै थुनिए । घरका, छिमेकका नजर अनि आफ्नो प्यारलाई श्रीमान्सँग साट्ने धोको मनभित्रै कुहिए । उनका घाउलाई मायाले सुमसुमाएर छिटै निको तुल्याएपछि सँगै रमाउँदै घर फर्कने उनको धोको सपना बन्यो । यसरी आहात बनेर केवल हस्पिटलको आइसियुमा रहेको श्रीमान्लाई एकोहोरो हेरिरहेकी मनकुमारीलाई कसले बाहिर निकालिदियो थाहा भएन । भोलिपल्ट गाउँमा लालबहादुरको निधनको खबर फिँजियो तर लालबहादुरसँग होइन, कोरोनारूपी कालसँग मलामी जान न त बाबुआमा आए न छिमेकी नै । श्रीमतीले एक्लै लासलाई दाहसंस्कार गरेको खबरले मिडिया ततायो । त्यसको याद समेत रहेन मनकुमारीलाई । #अम्बिका अर्याल
कारण हुनुपर्छ: मन्दिरमा भगवान नहुनुको कारण हुनु पर्छ बाबु मर्दा सन्तान नरूनुको कारण हुनु पर्छ यति ठूलो नेता आभिनेता बस्ने यो सहरमा यौटा पनि दोकान नहुनुको कारण हुनु पर्छ डाक्टरले रोग हरेर ओखती थमाई पठायो खादा रोग निदान नहुनुको कारण हुनु पर्छ रामायणमा घाँसीको बखान बारबार गरेर गजाधरको बयान नहुनुको कारण हुनु पर्छ आफैले जन्माएका, बचेराहरू बाट त्यसरी मातृत्वको सम्मान नहुनुको कारण हुनु पर्छ जननी जन्मभूमी, स्वर्गादपी गरियसी भनेर ठाउँमा कुरा उठान नहुनुको कारण हुनु पर्छ यो धर्तीमा जसले ल्याएको थियो उसलाई उसै संग चिनजान नहुनुको कारण हुनु पर्छ ।। खोटाङ, हाल: जापान #महेन्द्र दिखुक्पा #रवीन्द्र दिखुक्पा
बाहरू: अटल पहाडजस्तै संयमित र स्थिर शान्त समुद्रजस्तै निश्चल र गम्भीर पीर तापले पनि नपग्ले जस्तो दुःख रापले पनि नगले जस्तो अक्सर कठोर लाग्छ सबलाई बाहरू । निरन्तर श्रम पसिनामा रम्छन् भन्दैनन् मुखले मनमनै गम्छन् घाउ चोटले पनि नदुखेको जस्तो काम गर्न कहिल्यै नपुगेको जस्तो अक्सर बलिया लाग्छन् हाम्लाई बाहरू । घोटिएर दिनरात घरपरिवार थाम्छन् आफूलााई केही चाहिए सधैँ खल्ती छाम्छन् न चाहिन्छ नयाँ न चाहिन्छ मिठो नबोलेरै काम सकाउँछन् छिटो सबै पुगीसरि सन्तोष भएजस्तो उतारचढावमा पनि शान्त लय जस्तो अक्सर नीरस लाग्छ सबलाई बाहरू । सोचौँ बाहरु टुटे कस्तो होला ? धैर्यको बाँध फुटे कस्तो होला ? पहाड पुरै पहिरो गए जस्तो होला सुनामीको छाल आए जस्तो होला भूकम्पले घर ढले जस्तो होला प्रलयको आगो बले जस्तो होला । च्यातिएको टाली टाली सिउँछन् बाहरू आँसु पीडा भित्रभित्रै पिउँछन् बाहरू केही नभको जस्तो गरी जिउँछन् बाहरू । कठोर, गम्भीर, नीरस,उजाड जस्तो लागे पनि बाभन्दा जिम्मेवार छैनन् सायद अरु गम्भीर नै हुन्छन् सायद सच्चा बाहरू । बुझौँ त्यसो भए के हुन् बाहरू ? आमा धर्ती भए आकाश बाहरू आमा जून भए प्रकाश बाहरू आमा फूल भए सुवास बाहरू आमा ममता भए कर्तव्य बाहरू आमा खुसी भए गन्तव्य बाहरू आमा कोमल भए समझदार बाहरू आमा जीवन भए उपहार बाहरु…… । फर्पिङ #रीता बलामी
पर्खी हेरौँ केही साता: के देश के विदेश देखेकै छौ संसार सारा कोरोनाकै छ विशेष तपाईं-हाम्रो के कुरा कोरोनाको हानिबारे जानकार छौं हामी हात धुने, मास्क लाउने बसालौं है बानी कति मरी मेट्नु मरिलानु के नै छ र कति हतारिनु साँची राख्नु के नै छ र डराउनु हुन्न हामी सजग भए हुन्छ बाहिर जान छाडिदिई घरै बसे पुग्छ भोकैले त्यसै मरिदैन बाँडीचुँडी खानुपर्छ लोभको भाँडो भरिँदैन महामारी टार्नुपर्छ भौतिक दुरी बढे भावनाको दुरी घटाऔं अल्छी गरी सुत्नु भन्दा सिर्जना गर्न लागौं विदेशबाट आए क्वारेन्टाइनमा बस देशभित्र भए आ-आफ्नै घरभित्र पस तिमीलाई त लाग्दो हो मर्न चाहिं मरिन्न पशुपतिनाथ साथमा छ संकटमा परिन्न हाम्रो यो अन्धो सोचाई नमिलेमा के हुन्छ धेरै ख्यालठट्टा गर्दा ज्यानै पो जान सक्छ थोरै पाउने लोभमा सबै गुमाए के हुन्छ तिम्रो हाम्रो टोलमा मसान घुमे के हुन्छ बिन्ति छ सबैलाई नबनौं है पटमूर्ख केही साता पर्खी हेरे हुन्न अब दुःख । #प्रेम लामिछाने
प्रकृति आमा: आमाले माया गरेर दिने अण्डा फुटाएर भित्रको पहेँलो भागजस्तै कसले पहेँलो घाम टपक्क टिप्दिन्छ होला आकासको पूर्व धारमा प्रत्येक बिहान । कहाँबाट आउँछ होला यो सिरसिरे चिसो बतास नाच्दै बारी बारी मेरो शरीरसम्म र कहाँ पुग्छ होला गोधुलीसम्म कामको बीचबीचमा फर्किएर मलाई बेस्सरी अँगालो हालेर अनगिन्ती म्वाई खाने मेरी आमाजस्तै । वसन्तसँगै मेला भर्न आएका यी अनेकौँ रंगीबिरंगी चराहरु, कहिले आइपुगे होलान् चिरपरिचित झैँ लाग्ने टुप्लुक्क जङ्गलभरि र बिना प्रतिवाद किन र कसरी स्वागत गर्छ होला यो घनाघोर जंगल जति पटक पछ्याउँदै जहाँ गए पनि मलाई बोकेर हिन्ने मेरी आमाजस्तै। धर्तिमा मुस्कान फलाउन, आँत भिजाउँदै आफ्नै लयमा सुसाउँदै निरन्तर हिँडिरहने नदीलाई कसले सिकाउँछ होला समुद्रमा मिसिन जति दुःख भए कलेँटी ओठहरुमा मेरै निम्ति निरन्तर मुस्कान फुलाइरहने मेरी आमाजस्तै । हरेक रात कसले उदाउँछ चन्द्रमालाई चकमन्न हुने गरी र फेरि कसले बनाउँछ गोलो रोटीजस्तो उज्यालो बिस्तारै समयको यो स्वअन्तराल, कसले नियन्त्रण गर्छ होला मेरी आमाले झैँ आफैँ थाहा पाएर मलाई पिलाउने दुधजस्तै । मेरी आमा जस्तै विशाल प्रकृति आमा बोल न मेरी आमा जस्तै मसँग मलाई तिमीलाई पनि हँसाउन मन छ किनकि तिमी पनि पक्कै रुन्छ्यौ होला लुकी लुकी मेरी आमा जस्तै । आमाले माया गरेर दिने अण्डा फुटाएर भित्रको पहेँलो भागजस्तै कसले पहेँलो घाम टपक्क टिप्दिन्छ होला आकासको पूर्व धारमा प्रत्येक बिहान । #रूपसिंह भण्डारी
प्रेम-प्रकृति: हिउँदमा प्रीत फुलाउने आलुबखडाका हाँगाहरू गृष्ममा बटुवा भुलाउने पाखा-पखेरा-छाँगाहरू वर्षामा माया घुलाउने नदी-नाला-भंगालाहरू निशृत शृजीत छन् संकल्पित कृत-कृत छन् । जहाँ त्याग प्रेम हुन्छ जहाँ राग लेनदेन हुन्छ स्वान्त: सुखाय भावमा प्राकृत स्वभावमा। प्राचिका प्राचीन पदचापहरू अमिट डोब र छापहरू प्राप्ति भन्दा पर समाप्ति भन्दा वर चल्छन् कुरा र छुराहरू बज्छन् बैंशालु चुराहरू। भावको स्वभाव अस्थीर छ फेरि किन स्थीर छ? चाँदको मन मोर छ चकोरको मन विभोर छ सारा तारालाई साक्षी राखेर समयको पाबन्दीलाई भाखा राखेर हरेक रातको घना केशराशीमा प्रत्येक भोरले सिन्दुर भर्छ अनि खिलखिलाएर जाग्छ जीवन धरामा यो प्रेमको चक्र यसैगरी चलिरहेछ। बुझक्की सौदागरहरू भन्छन् दिन र रातको खै कहिल्यै भेट हुँदैन के थाह तिनलाई भेट हुनु नै प्रीत त हैन। दिन र रात प्रेमिल भावमा खेलिरहेछन् लुकामारी आफ्नै अभिव्यञ्जनामा अव्यक्त भै रहेछन् अर्थात अभिव्यक्त भै रहेछन् । दिनभरि घाम मायाको बिस्कुन सुकाउँछ रातभरि जून अँगालोमा सुकसुकाउँछ अनि त प्रीत फुल्छन् आलुबखडाका हाँगाहरूमा पाखा-पखेरा-छाँगाहरूमा मस्त-माया थोपाथोपामा एकाकार भै घुल्छ अनि बौलाहा नदी पनि पर्वतबाट फालहान्दै महासागरमा मिल्छ। धनुषाधाम नगरपालिका-४,सर्सा,धनुषा #मदनकुमार अधिकारी
हिरण्यकुमारी पाठकलाई अनेसास विशिष्ट महिला पुरस्कार: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यस वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको अनेसास केन्द्रीय कार्यसमितिले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । साहित्यकार पाठकका मोहचक्र, शून्यवत, अग्निदह र दुश्वप्न कथा प्रकाशित छन् । त्यस्तै अव्यक्त कविता संग्रहका अतिरिक्त श्रीकृषण्ण लीला, मेहनती मौरी, दश महामुर्ख, रामकथा, चतुरे बन्यो नेता, चमत्कारी औँठी र धूर्त स्याल र घमण्डी बाघ बालकथा कृतिहरू प्रकाशित छन् । पाठकले नारीश्वर साहित्यिक त्रैमासिक पत्रिका सम्पादन गर्दै आएकी छन् । उनी नेपाली महिला साहित्यकारहरूको संस्था गुञ्जनको अध्यक्ष तथा अनेसास नेपाल च्याप्टरको सल्लाहकारसमेत हुन् । यसअघि यो पुरस्कार साहित्यकार गीता खत्रीलाई प्रदान गरिएको थियो । अनेसासका ट्रस्टी सदस्य भवन भट्टद्वारा प्रायोजित यस पुरस्कारमा प्रमाणपत्र सहित एक हजार अमेरिकी डलर राशि प्रदान गर्ने गरिन्छ । पुरस्कार प्रदान गरिने समय भने संस्थाले खुलाएको छैन । #हिरण्यकुमारी पाठक
बेहाल भो: जोगाएर हिँड नारी, खतरामा तिम्रो जिउडाल भो। हुर्किन पनि दिएनन् यहाँ , बच्चीकै हाँसो माल भो। दिउँसै लुटिन्छन् छोरी अचेल, रात त्यसै भयंकर विश्वास कसको गर्नु र, पापीहरुको सन्जाल भो। भागेर जाऊँ कहाँ खै, मानवता नै हराए’सि बाँच्न गारो यो धर्तीमा, आफ्नै शरीर काल भो। हत्या गर्छन् चिरफार हुन्छ, निर्मलाहरुको लास तर नांगिएर पनि भेटिन्न न्याय, मृत्यु जब बेहाल भो। #ईश्वरा सिवा कार्की
डम्फु: म पानी लिन जाँदा मसँगै कुवासम्म गएर फर्केको थियो । अचानक के भएछ ? बेलुका खाना नखाइकन लल्याकलुलुक्क परेको डम्फु देखेर मनमा कुरा खेल्यो । दूधसम्म पनि खान सकेन । डम्फु बिरामी भएको कुरा घरभरि फैलियो । रातिहुँदो जँचाउन लग्ने कुरा पनि भएन । हामी डम्फुलाई घेरेर बस्यौँ । “पक्कै यसले विष खाएको हुनुपर्छ, नत्र एकाएक यस्तो के हुन्थ्यो ?” सासूको कुरा । “प्लाष्टिक खायो कि ?” वहाँको कुरा । “जुका पर्\u200dयो कि !” हजुरआमाको कुरा । “हेर.. पानी लिन जाँदा संगसगै कुवासम्म जान्थ्यो के भको होला हगि भाउजू ..!” नन्दको कुरा । “इत्रो… सानोमा ल्याएर भाउजूले कति माया गरेर हुर्काउनु भएको… !” देवरको कुरा । “माइतीको कुकुर पनि प्यारो भन्थे हो रैछ… लौ यिनी त रुन पो लागिन् नरौ !” जेठानीका कुरा । कुरैकुरा सुनेर भक्कानिदै म एकोहोरो डम्फुलाई नै हेरिरहेको थिएँ । हे भगवान केही नहोस् डम्फुलाई । मनमनै भगवान सम्झिरहेथेँ । हेर्दाहेर्दै उसले एकचोट जीउ तनक्क तन्कायो र प्राणविहीन भयो । “ए लौ मर्\u200dयो..! मर्\u200dयो..! तुलसीमठमा लगेर सुताइदेओ । भोलि बिहानै धोबी खोलामा लगेर गाड्नु !” सासूले भन्नु भयो । त्यै अनुसार गरियो पनि । सबै आ-आफ्ना कोठातिर लागे । “हिँड भित्र जौँ!” वहाँले मलाई अंकमाल गरेर भित्र लग्नुभयो । “पीर नगर भोलि म यो भन्दा राम्रो मोती कुकुर ल्याइदिन्छु ।” वहाँले आँशु पुछिदिँदै भन्नु भयो । मेरो डम्फुको रिक्तता कुनै अरु कुकुरले भर्न सक्ने थिएन । मैले त आफ्नो सन्तान जस्तै सम्झेर पालेकी थिएँ । चम्चाले दूध खुवाएर हुर्काएकी थिएँ । एउटा सन्तान गुम्नुको पीडा कस्तो हुन्छ ? मैले मन फुकाएर रुन पनि सकिनँ । भित्तापट्टि फर्केर आँशु बगाइरहेँ । रात धेरै छिप्पियो । निद्रा लागेन । एउटा बोरा लगेर डम्फुलाई ओडाइदिएँ । र फेरि भित्तापट्टि फर्केर आँशु बगाइरहेँ । कति खेर निदाएछु । सपनामा देखेँ, तुलसीको मठबाट डम्फु उठेर आएछ । म सुतेको पलङनजिकै आएर जिब्रो निकालेर स्याँ स्याँ स्याँ गरेर तातो स्वास फालिरहेको थियो । म खुशीले चिच्याउँदै उँठे । “के भयो ?” वहाँले भन्नुभयो । “डम्फु जिउँदै छ !” मैले भनेँ । “सुत भर्खर ४ बज्यो !” वहाँले मेरो अनुहार मायाले मुसार्नु भयो र ब्ल्याङकेट ओडाइदिनु भयो, फेरि निदाएछु । “नाना .. ! नाना..!” वहाँले मलाई घचघच्याइरहनु भएको थियो । केही नबोली आधी आँखा खोलेर हेरेँ । “हेर त यो को हो ?” मैले पुरै आँखा खोलेँ । पलङ छेउमा डम्फु सपनामा जस्तै पुच्छर हल्लाएर मलाई मायालाग्दो अनुहारले हेरिरहेको थियो । #निशा केसी
मौसमी राष्ट्रवाद: वनमासाले ढाकिएको मेरो गैरीखेत आजकल हरियो हुँदै आको छ । भूमण्डलीकृत संसार चिहाएर मेरा काकाले भर्खर आँगन टेकेका छन् । काकी दंग परेकी छन् भाइ मख्ख परेको छ । सरकार हर्ष र विस्मातले रूग्णिएको छ । अनागरिक नागरिक ठान्छ नागरिक अनागरिक गन्छ । सकिन्छ र सकिन्नक\u200dो दाउपेचमा भक्भकाएको छ । एउटा मुर्दा सरकार बनेर । अमेरिका, युरोप न अष्ट्रेलिया चाहिएको छ मालतीलाई । न सिङ्गापुर, न स्विजरल्याण्डको सपना सजाउनु छ व्यासी भाइलाई । केवल, उनीहरूलाई एउटा सिङ्गो देश चाहिएको छ । अखण्ड नेपाल । दशक बित्दा नबित्दै कालीले फेरेको धार, पत्तो नपाउने सरकार मौसमी राष्ट्रवादको विगुल फुक्दै चुनावदेखि चुनावसम्मको यात्रा तय गरेदेखि अचेल उसको राष्ट्रवाद तुहिएको छ । सडक लम्पसार परेको छ । जैविक इञ्जिनमा लक लागेको छ । नियति नियम बन्लाजस्तो छ। रातदिन जागा बस्नु पर्ने, व्रत-व्रता बन्दै जाँदा दाह्रा, सिङ र नङ्ग्रा भाँचिएका छन् । भुत्ते बनेका हतियार चलाएर सीमारेखा खोजेजस्तै गर्दैछ । मौसमी राष्ट्रवादको अविछिन्न नारा कहिले माथि बसेर कहिले तल झरेर । एउटै भीरका हनुमानहरू । वर्षातले साथ छोड्दा समृद्धिसूचक ग्राफ ओरालिन्छ । कटु सत्यलाई पोथ्राले छोप्ने कोसिस कति गर्छौ ? काका, मालती र व्यासी भाइको पसिनाले सिञ्चित यो माटोमा मौसमी राष्ट्रवाद उरालेर भर्याङ चढ्छौ समृद्धिको कागज बोकेर । वालिङ् नगरपालिका -१४ , गाएडाँडा स्याङ्जा #वसन्त खनाल
बिन्ती: वियोग, दुःख कालान्तारमा कति हो कति सुख, समृद्धि भविष्यमा आउँछ भनी फ्याल्यौँ हामीले राणाकाल, आयो प्रजातन्त्र भन्दै नाराहरु यही नै हो खुसीको मन्त्र आशाका बिगुल फुक्दै अर्को जनसागर उर्लियो दुःखको पहाड पञ्चायत हो भनी विरोधमा कुर्लियो दशा नेपाली जनतामाझबाट भागेन अझै पनि सुरु भयो जनयुद्ध हाम्रै लागि उठाऔँ बन्दुक भनी रगतमा पौडी खेल्दै, सहिदको लाम लाग्यो अन्त्य युद्धको यसैसँग राजव्यवस्था भाग्यो । आयो लोकतन्त्र, आयो गणतन्त्र रह्यो निकै लामो यात्रा जनताकै खुसी हो भनी गर्\u200dयौँ अबिरजात्रा टुकी, दियो बल्दै थियो आँगनीमा जनताको उज्यालो हो भनी मक्ख परेको बल्न थाल्यो राँको पोल्न थाल्यो यसैले सहिदका आत्मालाई उही आँशुका आहाल उपहार सारालाई । क्रान्ति जनताका लागि भन्नेहरु आलिसान महलमा बसे सुन्न छाडे जनतालाई अब स्वार्थ नामक दलदलमा फँसे परिवर्तित भयो अनेक व्यवस्था फरक आएन आचरणमा फरक आएन व्यवहारमा फरक आएन प्रवृत्तिमा गर्वले भर्खरै राजतन्त्र फ्याल्यौँ, राजगद्दी छोडेर राजा गए केही क्षण भएको छैन जनताका बोली हामी भन्नेहरु आज देशका राजा भए । निरीह लाचार हामी, हामीलाई नै भेडा भन्छन् विश्वास हाम्रो हत्केलामा राख्छन् विश्वासघात उनै गर्छन् शक्तिशाली छिमेकी हाम्रा प्रहरीका बर्दी तान्छन् अर्कोतिर धावा बोल्दै हाम्रै भूमि उनै ताक्छन् । बोल्ने अब कहिले हो ? बोल्ने अब कहिले हो ? नक्सा आउँदा चुकिसक्यौँ भन्दै भरे भरे भूमि हाम्रो, देश हाम्रो बाटो खन्ने छिमेक अरे कालापानी, लिम्पियाधुरा लिपुलेक हाम्रो सान मौका यही भो तिमीलाई बिन्ती नेताज्यू बचाइदेऊ नेपाल आमाको स्वाभिमान । टोखा – ०८ , काठमाडौ #किरण "किरण "
प्रवासी प्रवाह अनलाइन साहित्य कार्यक्रम शुरु हुँदै: गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिले मे १७ आइतबारदेखि साप्ताहिक अनलाइन साहित्यिक कार्यक्रम “प्रवासी प्रवाह” सञ्चालन गर्ने भएको छ । कार्यक्रमको शुभारम्भ प्रसारण आइतबार १७ मे, नेपाल समय बेलुकी ८ बजेदेखि हुने र त्यसमा एनआरएनएका अध्यक्ष कुमार पन्तको शुभकामना मन्तव्यबाट हुने बताइएको छ । यस कार्यक्रममा साहित्यकार जीवा लामिछाने (जर्मनी ), गोपाल रेग्मी (अमेरिका ) र उषा शेरचन (नेपाल ) सँग विशेष कुराकानी मात्र हुने छैन, साथमा उहाँहरुका रचना पाठसमेत हुनेछन् । समितिका अध्यक्ष हिक्मत थापाका अनुसार प्रवासको नेपाली साहित्यलाई थप क्रियाशील बनाउन यो कार्यक्रम प्रारम्भ गरिएको हो । समितिले यसका साथै गैरआवासीय नेपाली लेखकहरुका रचना समेटिएका नियात्रा संग्रह र गजल संग्रहको प्रकाशन तयारी गर्दैछ । #प्रवासी प्रवाह
वाराणसीमा बिरानो बनेको प्रेमचन्दको घर: भारतीय साहित्यमा आधुनिक कथाकहानीको शैली भित्र्याउने श्रेय प्रेमचन्दलाई दिइन्छ । प्रेमचन्द अहिले पनि उत्तिकै प्रासंगिक छन् है भन्ने जनाउन वा सम्झाउन बेलाबेलामा उनको जन्मजयन्ती मनाइन्छ । तर उनी जन्मिएको र हुर्किएको वाराणसीस्थित उनको घर भने उपेक्षित छ । केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको सरकारी रेडियो आकाशवाणीमा ‘मन की बात’ कार्यक्रमको सिलसिलामा प्रेमचन्दलाई सम्झिएका थिए । उनले आफू जवान छँदा प्रेमचन्दका कथाले द्रवित हुने गरेको र दुई वटा कथा त उनलाई कण्ठस्थ नै रहेको भनी बताएका थिए । बनारसको लमहीमा जन्मिएका प्रेमचन्दलाई मोदीले किन सम्झिए त ? किनभने लमही उनकै संसदीय निर्वाचन क्षेत्रको एउटा गाउँ हो । केही वर्षअघि उत्तर प्रदेश पावर कर्पोरेसनले प्रेमचन्दको पुरानो घरको बिजुली काटिदिएपछि यो घर अचानक चर्चामा आएको थियो । बिजुली एक सातासम्म काटिएको थियो । कथाकार प्रेमचन्दको १३९ औँ जन्मजयन्ती वरपरका केही साहित्यप्रेमी तथा गाउँका मानिसहरू भेला भएर मनाउँदा यहाँको बिजुली काटिएको थियो र मैनबत्ती बालेर कार्यक्रम सम्पन्न गरिएको थियो । जब लालटिन र मैनबत्ती बालेर प्रेमचन्दको जन्मजयन्ती मनाइएको खबर छापियो, त्यसपछि भने बल्ल काटिएको बिजुली बल्न थालेको थियो । यहाँ प्रेमचन्दका दुई वटा घर छन् । उनका दुई घरमध्ये एउटा पैतृक घर छ र अर्को संग्रहालय बनाइएको छ । तस्बिरमा उनका कथासिर्जना देखिएको तस्बिर उनको संग्रहालय बनाइएको घर हो भने अर्को उनको अर्को घर हो । संग्रहालयको व्यवस्थापन उत्तर प्रदेश राज्यको संस्कृति विभागले गर्ने गरेको छ । अर्को घर भने खालीखाली नै छ । प्रेमचन्दका आफन्त र नातेदार यहाँ कोही पनि नबस्ने हुनाले यो यत्तिकै रहेको स्थानीयको भनाइ छ । जब रेडियोमा प्रधानमन्त्री मोदीले कथावाचन गरे, त्यसपछि वाराणसी प्रशासनले ती महान् लेखकका परिवारका कुनै न कुनै सदस्यबारे जानकारी जुटाउने प्रयास गरिरहेको छ तर असफल भएको छ । मोदीले रेडियो कार्यक्रम ‘मन की बात’मा उनका कथाकहानीले आफूलाई निकै प्रभावित तुल्याएको बताएका थिए । उनले भनेका थिए, ‘मुन्सी प्रेमचन्दका कथाहरू आज पनि उत्तिकै प्रासंगिक छन् । उनका कथाले समाजको वास्तविक चित्रण गर्ने गर्छ । सरल मानवीय भावनालाई प्रकट गरिरहेको हुन्छ ।’ उनले सो कार्यक्रममा ‘नशा’ कथाको प्रसंग गढ्दै भने, ‘यसलाई पढ्दा म आफूलाई पुराना दिनका घटनालाई सम्झन्छु । के सम्झन्छु भने त्यो बेला ज्यादै गरिबी थियो । यसले हामीलाई खराब संगतिबाट जोगिन पाठ पढाउँछ । अर्को ‘ईदगाह’ कथाले पनि मलाई भित्रैसम्म छोएको थियो ।’ प्रेमचन्दका तीन सन्तान थिए, अमृत राय र श्रीपत राय र छोरी कमला । उनीहरू इलाहावादमा बस्थे । सूत्रका अनुसार दुवै छोराले कहिले पनि आफ्ना बुबा जन्मिएको ठाउँमा पाइला टेकेनन् । प्रेमचन्दको वास्तविक नाउँ धनपत राय श्रीवास्तव हो । हुन त श्रीवास्तवहरू व्यापारीमध्येमा गनिन्छन् तर उनलाई सधैँ पैसाको समस्याले गाँजिरह्यो । उनको जीवनभर पारिवारिक झैँझगडा भइरह्यो । यही कारण उनको पैतृक सम्पत्तितर्फ कसैले पनि चासो दिएनन् । प्रेमचन्दको जन्म ३१ जुलाई १८८० मा लमहीमा भएको थियो । उनको निधन भने ८ अक्टोबर १९३६ मा वाराणसीमा भयो । उनको पैतृक घरमै निधनपछि यो घरलाई रेखदेख गर्ने कोही भएनन् । सूत्रका अनुसार प्रेमचन्दको पैतृक घरलाई अहिले हेर्दा चिटिक्कको बनाइएको छ । सन् २०१५ मा उत्तर प्रदेशको संस्कृति मन्त्रालयले यसलाई रंगरोगन गराएको हो । यसको पछाडि पनि एउटा कारण थियो । त्यो बेला दक्षिण भारतस्थित बेंगलुरूमा हिन्दी भाषा पढाउने शिक्षक विनय कुमार यादवले तत्कालीन मुख्यमन्त्री अखिलेश यादवसँग भेटी प्रेमचन्दको चिनोलाई सुरक्षित राख्न गरेको अनुरोधपछि यो घरलाई संरक्षण गर्ने र संग्रहालय बनाउने अभियान शुरू भएको थियो । प्रेमचन्दका प्रशंसकहरूले लमहीमा प्रेमचन्दको एउटा ठूलो मूर्ति बनाउनुपर्ने माग राखिरहेका छन् । चर्चित हिन्दी लेखिका बन्दना मिश्राले भनिन्, ‘मुन्सी प्रेमचन्दको घरलाई संग्रहालय त बनाइयो नै साथै अर्को एउटा घरमा पनि उनका सम्पूर्ण सिर्जनाको पुस्तकालय निर्माण गरिनुपर्छ । हिन्दी साहित्य र विद्वानहरूका लागि एउटा शोध केन्द्र पनि यहाँ खोलिनुपर्छ । किनभने प्रेमचन्दका सिर्जना आज पनि उत्ति नै प्रासंगिक छन् । डिडब्ल्युको आलेख #अमिता वर्मा
वैदेशिक रोजगारीः एक पीडा: नमस्ते म भीम सुब्बा तामाङ । मलाई कसैकसैले बाबु साइँला पनि भनेर बोलाउँछन् । चित्रकला मेरो रूचिको विषय हो। मैले यसैलाई पेशाको रूपमा अँगालेको छु। यसका अतिरिक्त फुर्सदिला क्षणमा म गीत, गजल, कथा र कविताहरू पनि लेखिरहेको हुन्छु । भन्नु नै पर्दा म आफूलाई कला र साहित्यानुरागी भन्न रूचाउँछु। चित्रकला बनाउने विभिन्न माध्यमहरू हुन्छन्, जस्तै जलरङ माध्यम, तैलरङ माध्यम, एक्रेलिक रङ माध्यम। म यी सबै माध्यमहरूमा मागअनुसार काम गरिरहेको छु । पछिल्लो समय वैदेशिक रोजगारीको विषयवस्तुलाई लिएर यो कला सिर्जना गरेको छु । देशको प्रतिकूल अवस्थाका कारण लाखौं नेपाली दाजुभाइ दिदीबहिनीहरू विदेशीभूमिमा पसिना चुहाउन बाध्य छन्। यही पीडालाई यसपालि मैले चित्रमा एक्रेलिक रङ माध्यममा क्यानभासमा उतारेर साहित्य पोस्टमार्फत यहाँहरूमाझ पनि पुर्\u200dयाउने जमर्को गरेको छु। रचनात्मक सुझाव र आलोचनालाई मैले सदैव स्वागत गरेको छु । #भीम सुब्बा तामाङ
म र मेरो अस्तित्व: नदीका असंख्य लहरहरु वारि-पारि दुई किनाराबीच आफ्नाे मर्यादा नाग्न खाेज्दैछ। म टाढैबाट हेरिरहेँ…. के फरक ती लहर र ममा? म पनि त आफ्ना किनाराबीच मर्यादा नाग्न खाेज्दैछु आफ्नाे अस्तित्व मेट्नलाई आफ्नाे अस्तित्व मेट्नलाई॥१।। वृक्षका असंख्या पातहरु वृक्षकाे साथ छुटेनन् कहिले हुरी-बतासकाे ऋतुमा पनि म टाढैबाट हेरिरहेँ… हावासित हाँसिरहेछ झरीसित नाचिरहेछ त्याे पात भन्दा हल्का त भइनँ म किन आफ्नै वृक्षसित छुट्दैछु म? आफ्नाे अस्तित्व मेट्नलाई आफ्नाे अस्तित्व मेट्नलाई।।२।। एउटै वृक्षमा असङ्ख्या मौरीका घारहरु एउटा घारको मौरी अर्को घारमा कहिले सरेन यो तेरो र यो मेरो भन्दै कहिले लडेन म मुन्टो ठाडो पारेर हेरिरहेँ… कसैको सानो घर त कसैको ठूलो घर सबैले मेहनत मजदूरी गरेका छन् नराम्रोलाई छाडेर राम्रो रस सँगालेका छन् त्यो मौरी भन्दा नीच त भइनँ म किन राम्राे छाडेर नराम्राे सँगाल्दैछु आफ्नाे अस्तित्व मेट्नलाई आफ्नाे अस्तित्व मेट्नलाई॥३।। वृक्षमुनि असङ्ख्या कमिलाका ताँतीहरु श्रम र मेहनत गर्न छाडेनन् कहिले आफ्नाले आफ्नालाई मारेनन् कहिले म तलतिर निहारेर हेरिरहेँ… काेही पूर्व जाँदैछ त काेही पश्चिम कोही रित्ताे छ त काेही छ भरि कसैले कसैलाई रोक्दैनन् कसैले कसैलाई भुक्दैनन् त्याे कमिला भन्दा नीच त भइनँ म किन अरुकाे बाटाे छेक्दैछु अरुकाे देखी भुक्दैछु आफ्नाे अस्तित्व मेट्नलाई आफ्नाे अस्तित्व मेट्नुलाई।।४।। मिचीना, म्यान्मा #भीम पाण्डे
काखी: “निकालियो तपाईंलाई काखी च्यापियो उसलाई केही आधार देख्दिन म न गल्ती छ तपाईंको न बढी योग्यता छ उसको” सुनाए एकजनाले। चिन्ताले भने या उक्साउन भने दोधारमा परे म। “किन चुप तपाईं ?” फेरि सोझियो प्रश्न। “नाकको एलर्जी छ त्यसैले” झटपट उत्तर आयो मेरो। छक्कै परे उनी “त्यसको के सम्बन्ध ?” बोल्दै थिए उनका आँखाहरु। “अनि वान्ता हुन्छ मलाई उसलाई हुँदैन” उनी अवाक् माहोल ठन्डा। “हैन सर! यसको के सम्बन्ध ?” कठिन गरि सोधे केहीबेरमा। टिठ लाग्यो मलाई झोला खोलेर निकालेँ अत्तर बोलेँ उनीतिर सोझ्याउँदै “आफ्नै काखी त सहन सक्दिन अर्काकोमा च्यापिएर बाचौँला कसरी?” मुसुक्क हाँसे उनी। बाजुङ, पर्वत #मदन सुवेदी
ढोका: आफ्नै काया खनेर गहिरो बनाए जग छाला उधारेर सम्याए भित्ता पैताला ताछेर लिपे मझेरी मगज खिपेर चढाए धुरी र एउटा सिङ्गो घर बनाए उड्दै–उड्दै आए नीला चराहरू र दलिनमा आकाश बस्यो हिँड्दै–हिँड्दै आएर मूलढोका बाटै भित्र छिर्\u200dयो घाम र उज्यालो मगमगायो रूखका हाँगा–हाँगामा झुण्डिँदै आयो हावा जस्केलाबाट छिर्\u200dयो र पक्षघातहरू उडाएर लग्यो समयको बूढो साइरन बजाउँदै थर् थर् थर् थर् पटरी थर्काउँदै आकाश फुटाउँदै कति रेलहरू आए–गए कति पतलूनका रङहरू पखालेर बग्यो वर्षा शून्यतालाई थिचेर कति आवाजहरू फलाम ठोक्किए कति मस्तिष्कमा उध्याइए छुरा र ठुन्काइए समयका मुनाहरू अफशोच कागजका ईश्वरहरू नै छुटिगए इतिहासको डिकोबाट ती जसले आफ्नै काया खनेर गहिरो बनाए जग छाला उधारेर सम्याए भित्ता पैताला ताछेर लिपे मझेरी मगज खिपेर चढाए धुरी र एउटा सिङ्गो घर बनाए तिनीहरू नै घर बाहिर परे अब कसले खोल्छ होला मूलढोका ? कसले खोल्छ हँ ?? चितवन #शरद ऋतु
अब त शुक्रबारहरु पनि अँध्यारा लाग्न थाले ', "हप्ताभरिको उल्लासपूर्ण पर्खाइ, रमणीय त्यो ‘गुड फ्राईडे’ आउँछ भन्दै, एउटा मीठो रङ्गीन सपनामा डुबेर, मनमा लाखौं भावनाहरु खेलाइरहन्थेँ, तर, अब त शुक्रबारहरु पनि अँध्यारा लाग्न थाले ।।१।। अव्यक्त रहेका कैयौं भावनाहरु, त्यसैभित्र हुन्थ्यो छट्पटाहट र उत्सुकता, गुम्सिएका हुन्थे मनमा सयौं प्रश्नहरु, तैपनि शुक्रबारे बिहानीमा फुरुङ्ग हुन्थे, तर, अब त शुक्रबारहरु पनि अँध्यारा लाग्न थाले ।।२।। जुनकिरी झैं चम्किदिन्थ्यो मुहार, शुक्रबारको त्यो सूर्योदयको लालीमासँगै, आशाको किरणको अनवरत श्रृंखला, अनि कता कता म निस्फिक्री भइदिन्थे, तर, अब त शुक्रबारहरु पनि अँध्यारा लाग्न थाले ।।३।। जीवन आज मूकदर्शक भएछ, पीडाहरु मनभित्रै कुण्ठित भइसकेछन्, अतीतको त्यो मिठासले घोचिरहँदा, अन्यौलतामा निराश मन छट्पटाइरहन्छ, तर, अब त शुक्रबारहरु पनि अँध्यारा लाग्न थाले ।।४।। अधुरा सपनाहरुले कचोटिरहँदा, हरपल कठिन सजाय सरह भएकोछ, सपनाहरुको अनायासै मृत्यु हुँदा, केही प्रश्नले मायालाई नै लक्ष्य गरिरहन्छन्, तर, अब त शुक्रबारहरु पनि अँध्यारा लाग्न थाले ।।५।। #प्रदिप 'पि.जे.'
राहत: “खायो,सुत्यो अनि यही फेसबुकमा नै झुण्ड्यो । दुई महिना हुन लागिसक्यो लकडाउन भएको । खाने र सुत्नेबाहेक अरु उपलब्धि छैन,” छोराको हातको मोबाईल खोस्दै आमाले भन्छिन् । “लौ ! संसार भरिका सबैजनाको काम नै त यही सुत्ने, खाने र फेरि सुत्ने यही त छ आमा,” हाँस्दै भन्छ छोरो । “हेर , पल्लो घरको राकेशलाई रातदिन राहतको सामान लिएर दौडिरहेको छ । एकछिन घरमा छैन । यही बेला त हो नि समाजमा गर्ने भनेको । हरेक पत्रपत्रिकादेखि अनलाइनमा उसकै प्रशंसाको खबरले भरिएको छ । अझ ठूलो कुरा गर्छस् तँ ? सिक् केही भए पनि ऊसँग,” जङ्गिदै आमा तरकारी किन्न ढोकातिर लाग्छिन् । त्यहीबेला उनकै घरको बाटो भएर पुलिसको गाडी अगाडि दौडिन्छ । “अब फेरि कुन विचरालाई दुई घण्टा बाटोमा उभ्याउने भए मोराहरुले,” कौतुहल स्वरमा घरको छेउमा उभिएकी छिमेकीलाई सुनाउँछिन् । “केको हुनु दिदी ! पल्लो घरको छोरा छ नि राकेश, उसैलाई समातेर चौकी लगेका होलान् नि ! राहतको सामानको टेण्डर मिलाइदिए बापत पसलेसित कमिसन लिँदालिँदै समातेको रहेछ नि ! के नपुग्दो थियो र यस्तो बेला पनि….!” लामो सुस्केरा हाल्दै छिमेकी बोल्छिन् । रातो अनुहार पारेर माथि झ्यालबाट तल हेर्दै गरेको छोरालाई हेर्छिन् उनी । धुम्बाराही, काठमाडौँ #अर्जुन थापा
अस्पताल: म अस्पतालमा थिएँ । अस्पतालमा हुने गतिविधि, कुराकानी नियाल्दै थिएँ । कोही उपचारमा भएका गल्तीका कुरा सुनाउँदै थिए । कोही अस्पतालमा बस्नुको दिग्दारी । कहिलेकाहीँ यहाँ झगडा पर्छ, कहिले चाँडै कुरा मिल्छ, कहिले लम्बिन्छ । फेरि कुरा सल्टाइन्छ र पूर्ववत् कामकुरा चलिरहन्छ । ‘महँगो उपचार रहेछ । म त आत्तिएँ जेठा । उपचार नगरी पनि भएन । के गर्नु ?’ म बसेको छेउमा पुरानो लवेदा, सुरवाल, टोपी र मैलो इस्टकोट लगाएका वृद्ध गुनासो गर्दै थिए । ‘डाक्टर अनुभवी छैनन् पिजी र विद्यार्थीले उपचार गरिदिन्छन् अनि कहाँ राम्रो उपचार हुन्छ ? लापरवाही भैहाल्छ नि!’ अर्काले थपे ।ुुु यी कुरा सुन्दै गर्दा कोही भने सन्चो भएर फर्किरहेका थिए । तिनको अनुहार निकै हँसिलो देखिन्थ्यो । मनमा लागेको हुँदो हो अब कहिल्यै अस्पताल बस्न नपरोस् । प्रसूति कक्षको बाहिर भित्र ओहोरदोहोर गरिरहेकी थिएँ । मुनालाई भर्ना गरेकी थिएँ । मुना र मेरो माइती गुल्मी थियो । उनको घर दैलेखमा छ । मेरो भने कोहलपुर । गर्भवती भएपछि उनले दैलेखको सरकारी अस्पतालमा चेक जाँच गराएकी थिइन् । ‘नानी तिम्रो बच्चा उल्टो छ, गाह्रै हुन्छ होला !’ अन्तिम समयमा डाक्टर स्वेताको बोली सँगसँगै मुना निकै डराएकी थिइन् । ‘दिदी मलाई अपरेसन गर्नुपर्छ भन्छन् डाक्टरहरु,’ केही दिनअघि मुनाले मलाई फोन गरेकी थिइन् । ‘किन के भयो र ?’ ‘बच्चाको हेड हाई छ रे!’ ‘नडराऊ, केही हुँदैन । अपरेसन चाहिँ गर्नुपर्ने भयो ।’ ‘अपरेसन ?’ ‘बच्चा निकाल्ने अपरेसन कहाँ गाह्रो हुन्छ र ?’ मैले ढाडस दिँदै भनेकी थिएँ । ‘मलाई त निकै डर लागिरहेको छ,’ उनको काँतर स्वर मैले फोनमा स्पष्ट अनुभव गरेकी थिएँ । ‘बजारका महिलाहरु आजकल डेट आउनुअघि नै अपरेसन गरिहाल्छन् । व्यथा सहन त झनै गाहृो हुन्छ नि !’ मैले सम्झाउने प्रयास गरेँ । ‘अपरेसन कहाँ गर्ने होला दिदी ? यतै गरुँ कि ?’ उनले सोधेकी थिइन् । ‘अस्पताल र डाक्टर राम्रो हुनुपर्छ नि !’ ‘खै दिदी, जिल्ला अस्पताल हो, के राम्रा डाक्टर होलान् र ?’ ‘त्यसो भए यतै आऊ न त,’ उनको कुरा बुझेर मैले कोहलपुरतिरै बोलाएकी थिएँ । पहाडमा सुविधा सम्पन्न अस्पताल थिएनन् । उनका नजिकका अरु आफन्तहरु कोहलपुरमा थिएनन् । माइतीको कुकुर त प्यारो हुन्छ भनिन्छ, उनी त झन् मेरी छिमेकी बहिनी । त्यसैले उनलाई यतै बोलाएकी थिएँ । उनी एक्लै आइन् । लिएर आउने जस्तो घरमा आफन्त पनि कोही नभएरै होला सायद । अस्पतालमा एकल अभिभावक बन्दै थिएँ म । डाक्टर लीलाको सल्लाहबमोजिम आज उनको अपरेसन हुँदै थियो । म जस्ता सयौं बिरामीका आफन्तहरु ओहोर दोहोर गरिरहेका थिए, सायद सबैलाई हतार हुँदो हो । बेचैनी हुँदो हो मलाई जस्तै । नर्सले कागजी प्रक्रिया पूरा गर्दै थिइन् । लेबर रुममा रहेका लगभग सबै बेडमा लस्करै गर्भवती महिलाहरु थिए । कोही उमेरले पचास नाघेजस्ता र कोही कलिला पनि । ‘मरे आमा….ऐया…।’ ‘हे भगवान….उस्..।’ ‘लौन डाक्टर मेरो अपरेसन गरिदिनु …..।’ ‘मेरो बच्चा भ्याकुम लगाएर निकालिदिनुस् न सिस्टर ….।’ ‘ऐया बा…, मरें आमा…, उस्…, अँ…अँ…।’ क्रमैसँग यस्ता आवाज सुनिरहनु पर्थ्यो । बच्चाहरु जन्मदै गरेका आवाजहरु पनि सुनिदै थिए । मैले सबैको दुःख नियालिरहेकी थिएँ । पृथ्वीभित्रको सिंगो सृष्टि सायद त्यही कोठाभित्र थियो । आमा बन्नुको पीडा नियाल्ने पुरुषहरु ढोका वरिपरि थिए । सानो छटपटीमा मलाई प्रशव पीडा भयो भन्ने पुरुषहरुले वास्तविक प्रशव पीडालाई नियालिरहेका थिए । उनीहरुको मन पनि भरिलो थियो । आँखा रसिला थिए । आफ्ना मान्छेको पीडा सुन्न उनीहरुलाई पनि गाहृो भएको हुँदो हो । म भित्र बाहिर गरिरहेकी थिएँ । कुनै कुनै बेडमा त रगतको भेल बगिरहेको देखिन्थ्यो । सबै आमाको अनुहारमा अथाह पीडा देखिन्थ्यो । आफू मरेर नयाँ सृष्टि जन्माउन खोज्दै थिए । ‘तपाई मुनाको मान्छे हो ?’ नर्सले मलाई कोट्याउँदै बोलाइन् । ‘हजुर हो,’ म अलि अघि सरेँ । ‘उनको श्रीमान् कहाँ हुनुहुन्छ ?’ ‘विदेश जानुभएको छ ।’ ‘तपाईं ?’ ‘म उनको दिदी ।’ ‘त्यसो भए यो कागजमा सही गरीदिनुस् ।’ मेरा हात काँपिरहेका थिए । ‘बिरामीलाई अपरेसन गर्दा तलमाथि भएमा म आफैँ जिम्मेवार हुनेछु,’ लेखिएको तलपट्टि हस्ताक्षर गर्नुपर्ने थियो । मुनाको अनुहारमा पुलुक्क हेरें । ल्याप्चे लगाएका दुबै बुढी औँलाको मसी सुकेको थिएन । भावुक भइन् उनी । आँखा रसिला थिए । खासमा बेडमा चिच्याएका महिलाहरु देखेर उनको होस उडिसकेको थियो । त्यसैले मानसिक रुपमा अपरेसनका लागि तयार भएकी थिइन् । अब मनको डर मैले पन्छाउनु पर्ने थियो । पछि हटेर हुनेवाला थिएन । आज म उनको एकल अभिभावक थिएँ । यस प्रक्रियामा मलाई सहयोग गर्ने कोही थिएन । एकपटक भगवान सम्झिएँ । सायद अप्ठेरोमा पर्दा सबैले सम्झन्छन् मैले जस्तै । नर्सले मुखमा हेरिरहेकी थिइन् । मेरो अनुहार पढेर होला मलाई सम्झाउँदै भनिन् । ‘केही हुँदैन, डराउनु पर्दैन ।’ सहीछाप गरिदिएँ । मनमा हुटहुटी चल्दै थियो । मुनाको बेड नजिकै एक महिला थिइन् जानकी । जानकीको अवस्थाले मेरो ध्यानाकृष्ट गरिरहेको थियो । उनी बिस्तारामा लडिरहेकी थिइन् । बेलाबेलामा बटारिन्थिन् । अनुहारमा चिटचिट पसिना थियो । अनुहार रातो रातो थियो । नर्सहरुले स्टेथेस्कोप लगाउँदै थिए । ज्वरो नाप्दै थिए । डाक्टर जाने आउने क्रम चलिरहेको थियो । जानकीको अवस्था देखेर मैले मुनाका सबै कुरा बिर्सिएँ । यसो भनूँ, मुनालाई भन्दा म बढी जानकीलाई ध्यान दिइरहेकी थिएँ । ‘अहिले कस्तो छ दिदी ?’ नर्स र डाक्टरले सोध्थे । ‘ठिकै छ’ जानकीको जवाफ हुन्थ्यो । तर केही समयपछि अवस्था परिवर्तन भइहाल्यो । ‘तपाईंको ज्वरो नै घट्दैन । प्रेसर पनि २०० नाघिसकेको छ । खै के गर्ने होला ? दिदी …’ नर्सले काउन्टरतिर फर्केर चिच्याइन् । अलि पाकी जस्तो लाग्ने नर्स उनको अगाडि आइन् । ‘तपाईंको अन्तिम महिनावारी कहिले हो दिदी ? डाक्टरले अन्तिम डेट कहिले दिनुभएको थियो ?’ ‘एक हप्ता नाघिसक्यो ।’ ‘उमेर कति नि ? चालीस वर्ष ।’ ‘कतिवटा बच्चा छन् ? तीनवटा ?’ ‘के के छन् ? ‘छोरीहरु’ ‘बरु बहिनी मलाई जे सुकै होस्, मेरो अपरेसन गरिदिनुस् । कर्ममा भए म पनि बाँचुली, मेरो पेटको सन्तान बाँच्नुपर्छ,’ उनले बोली दबाउँदै बोलिन् । अन्तिम बोली बल्ल बल्ल सुनिएको थियो । ‘त्यसो भनेर कहाँ हुन्छ ? तपाईंको यस्तो अवस्थामा डाक्टर अपरेसन गर्नुहुन्न । आमाको शरीरलाई खतरा हुन्छ,’छेउकी नर्सले सम्झाउने प्रयास गरिरेकी थिइन् । यसैबीच डाक्टर लीला पनि आइपुगिन् । नर्ससित जानकीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा सोधपुछ गर्दै थिइन् । ‘पेटको बच्चाले दिशा खायो भने मर्छ भन्छन्, लौन छिटो गरम् नानीहरु,’ बाहिरबाट अन्दाजी ६५ वर्षकी वृद्धा भित्र पसिन् । उनलाई निकै हतार थियो । बच्चा समाउने नयाँ कपडा उनको हातमा थियो । ओल्टाइपल्टाइ हेर्दै थिइन् । उनीहरुका धेरैजसो आफन्तहरु जम्मा भैसकेका थिए । डाक्टर लीलाले श्रीमान्लाई बोलाइन् । उनको शरीर मोटो र छोटो कदको थियो । झुस्स दाह्री पालेका थिए । टाउकोको आधा कपाल झरिसकेको थियो भने बचेको कपाल तिलचामले भैसकेको थियो । सेतो हाफ पाइन्ट र रातो टिर्सट लगाएका थिए । अनुहार गम्भीर थियो । डाक्टरसित केहीबेर कुराकानी गरे । ‘अवस्था निकै जटिल छ के गर्ने ?’ डाक्टरले श्रीमान्को अनुहारतिर हेरेर भनिन् । उनले जवाफ फर्काएनन् । ‘छिटो बच्चा जन्माउनका लागि व्यथा बढाउने औषधि चढाउन सकिन्छ तर बच्चालाई अप्ठेरो पनि पर्न सक्छ । कि अपरेसन गर्नुपर्छ तर आमालाई गाह्रै हुनसक्छ ।’ उनी फेरि पनि बोलेनन्, ‘खै ???’ भन्ने इसारामा टाउको मात्र हल्लाए । वृद्धा अगाडि सरिन् र डाक्टरतिर फर्केर भनिन्, ‘बच्चालाई खतरा हुन्छ । अपरेसन गर्ने निर्णय त तपाईंले लिने होला नि ? हामी डाक्टर कि तपाईं हँ ?’ ‘होइन आमा बिरामीको अवस्था एकदमै जटिल छ । सजिलो भए त बच्चा आफैँ जन्मिहाल्थ्यो नि ? नर्मल अपरेसन भए पनि म गरिहाल्थेँ । तपाईंहरुसँग कहाँ छलफल गर्नु पर्थ्यो र ?’ ‘हामीलाई सोधेर, छलफल गरेर समय मात्र किन बर्बाद गर्छौ हँ डाक्टर ? सक्दैनौ भने अन्तै लैजान्छौं,’ वृद्धा च्याँठ्ठिइन् । ‘जानकीलाई हाई फिवर छ । प्रेसर ओभर छ । नाडी पनि कडा चलिरहेका छन् । हात खुट्टा पूरै सुन्निएर खम्बा बनेका छन् । बच्चाको धड्कन कम सुनिएको छ । ब्लिडिङ पनि भैरहेको छ । अवस्था सबै जटिल छ, के गर्ने के गर्ने ?’ डाक्टरले जानकीतिर फर्केर आफैँसँग बोलेझैँ गरिन् । यस्तो बिरामीलाई नर्मल सुत्केरी गराउन सम्भव थिएन । अपरेसन गर्नु पनि सजिलो थिएन । डाक्टर लीलालाई वृद्धाको बोली सुन्दा जानकीलाई निकालिदिऊँ जस्तो पनि नलागेको होइन । डाक्टर लीलाले फोन गरेर डाक्टर क्षितिजलाई बोलाइन् । उनीहरु दुवैले एकछिन सल्लाह गरे । ‘डाक्टर क्षितिज म यो बिरामीको अपरेसन गर्न पनि सकिरहेको छैन । के गर्ने ? आफन्तको बोली सुन्दा राख्न मन पनि छैन । केही भैहाल्यो भने पनि अस्पताललाई मात्र होइन हामीलाई पनि खतरा छ । यही शहरमा बस्नुपर्छ ।’ ‘तर अस्पतालबाट निकाल्न पनि त सम्भव छैन । हाम्रो धर्म नै यस्तै अप्ठेरोमा परेकाको सेवा गर्ने नै हो,’ क्षितिजको आवाज सुनियो । ‘खै आज मलाई कता कता डर लागिरहेको छ । आफ्नो हातले गरेका अनगिन्ती अपरेसनको सम्झना आइरहेको छ । गर्भवती महिलामा केही समस्या देखिनु स्वभाविक हो तर यहाँ त धेरै समस्या छन् । फेरि अहिले नै आफन्तहरु थर्काउन खोज्दैछन् । पछि के होला के ? कि रिफर गरिदिऊँ भेरी अस्पतालमा ?’ ‘डाक्टर लीला, हाम्रो धर्म बिरामी बचाउनु हो । उनीहरुलाई जीवनदान दिनु हो । यही हातले छुरी चलाएर अनगिन्ती सपनाहरु जन्माएका छौं हामीले । धेरै बच्चालाई आमा बचाएर दिएका छौं । हाम्रो अगाडि शरण लिन आएकालाई यसो भन्नु हाम्रो धर्मले दिँदैन,’ डाक्टर क्षितिज दार्शनिकझैँ सुनियो यतिबेला । ‘बूढी आमा धम्कीको भाषा बोल्दैछिन् । मलाई त पठाउँ कि जस्तो लागिरहेको छ अझै पनि,’ डाक्टर लीला चिन्तित सुनिइन् । ‘होइन डाक्टर, त्यसो गर्नु हुँदैन । हामीलाई पढाउने प्रोफेसरले के भन्नु हुन्थ्यो ? तपाईंलाई अझै सम्झना होला नि ? हातमा अपरेसनको केश आइसकेपछि बिरामी जस्तोसुकै आउन् । भगवान् सम्झेर अपरेसनका लागि जुट्नुपर्छ । शरण गर्नेको मरण गर्नु हुँदैन । पछि जे हुन्छ, हुन्छ । बिरामीलाई नेपालगंज पठाउँदा बीचमा ओभर ब्लिडिङ भएर ज्यान पनि जान सक्छ । हाम्रो आक्रोशको सजाय बिरामीलाई दिनुहुँदैन ।’ वृद्धाले फेरि चर्को स्वरमा बोलिन्, ‘अपरेसनको तयारी गर्नुस् डाक्टर । मेरो नातिलाई केही भैहाल्यो भने …. ?’ छोरालाई कुमले घुच्याइन्, ‘कति हिम्मत नभएको तेरो हँ ? तेरी जोइलाई केही हुँदैन । लामो आयु लिएर आएकी छ । बाँच्छे । बरु बच्चा………….। कागतमा छिटो गर् सिक्नेचर, लेखिदे तेरो नाउँ । छिटो । मेरो नाति चाहियो मलाई ।’ नर्सले कागज अगाडि सारिदिइन्, उनले चुपचाप हस्ताक्षर गरिदिए । डाक्टर लीलाले क्षितिजलाई अपरेसन थिएटरमा सँगसँगै जान अनुरोध गरिन् । बिरामीलाई तयार गरी थिएटरमा ल्याउन आदेश दिइन् र आफू अगाडि बढिन् । कपडा र गहना खोलिए । लगाएको स्लाइन मुनाको हातमा थियो । म पनि के गर्ने के नगर्नेमा थिएँ । कसैको बच्चा बेडमै जन्मिएको सूचना बच्चाको रुवाइले दियो ‘तपाईंहरु सबै बाहिर जानुस् । अपरेसन थिएटरतिर संकेत गर्दै नर्स कराइन् । हामी सबै बाहिर निस्कियौं । मुना र जानकी दुवै जनालाई पालैपालो ह्वील चेयरमा राखियो । उनीहरु निशब्द थिए । ढोकासम्म सँगसँगै निस्किएँ म । ‘बेस्ट अफ लक मुना,’ म उनको अनुहारमा हेरेर खिसिक्क हाँसिदिएँ । उनी पनि बाध्यात्मक हाँसो हाँसिन् र भित्र पसिन् । सँगसँगै जानकीलाई पनि भित्र लगियो । अपरेसनको बाहिरपट्टि बसेर पर्खनु सिवाय अरु विकल्प थिएन । दोस्रो तलामा रहेको अपरेसन कक्ष भर्याङनजिकै थियो । जानकीका आफन्तहरु थियटरबाहिर भरिँदै थिए । भुइँमा पिफर्म ओछ्याएर बसिरहेका थिए । ठूलो-ठूलो स्वरमा कुरा गरिरहेका थिए । उनीहरुलाई अस्पतालका अन्य बिरामीसँग कुनै सरोकार थिएन । चिच्याएर गफिदै थिए । ओहोरदोहोर गर्नेहरु जो कोही पनि उनीहरुतिर हेरेर फर्किन्थे । ती वृद्धा हातमा बच्चा समाउने नयाँ कपडा समातेर मेरो नजिकै आएर बेन्चमा टुसुक्क बसिन् । ‘तपाईं ?’ मेरो वाक्य पूरा हुन नपाउँदै उनी बोलिहालिन् । ‘जानकी मेरी बुहारी,’ उनको नजर ढोकातिर थियो । उतै फर्केर जवाफ फर्काइन् । ढोकामा नर्स देखिइन् । ‘जानकी रावतको मान्छे ?’ उनी अगाडि सरिन् । ‘ल कपडा ल्याउनुस् त ।’ उनले हातको नयाँ कपडा नर्सलाई थमाइन् र भनिन्, ‘बच्चा के भयो नानी ? नर्सले सुनिनन् कि सुनेर पनि उत्तर दिइनन् । उनले ढोका बन्द गरिसकेकी थिइन् । आमा फेरि बेन्चमा फर्किन् र मतिर हेरेर भनिन् । ‘अहिले त डाक्टरले छोरा छ भनेका छन् । लखनऊ जँचाएर आएका ।’ मैले ए मात्र भनेँ । मेरो उनीप्रति चासो कम देखेर होला उनी उठेर आफ्नै भिडमा मिसिइन् । एकैछिन उनै नर्स ढोकामा देखिइन् । वृद्धा नसकेर पनि दौडिन् । बच्चा च्याप्प समातिन् । ‘के जन्मियो नर्स नानी ? नाति त होला ! ’ नर्सले टाउको मात्र हल्लाइन् । जानकीकी सासू आफन्तहरुको बीचमा छिटोछिटो पुगिन् । ढोकाबाट नर्सले केही भन्न खोज्दै थिइन् तर उनीहरु कसैले ध्यानै दिएनन् । सबै नवजात शिशु वरिपरि गोलो लगाए । ‘ल बधाइ छ जेठी आमा ! नातिको हजुरआमा भयौ,’ बूढी खुशी देखिइन् । ‘मैले त भनेको थिएँ नि, कान्छी छोरीको अनुहार छोरा जस्तै छ, अबको पालि नाति नै हुन्छ भनेर !’ ‘हात हेर्नेले पनि यसपालि छोरा नै हुन्छ भनेको थियो रे त !’ ‘लखनऊ जचाउँदा डाक्टरले पनि छोरै छ भनेको थियो ।’ सबैले पालैपालो नवजातको पुरानो भविष्यवाणी सुनाइरहेका थिए । एकअर्कालाई बधाइ दिँदै अंकमाल गर्दै थिए । हाँसोको फोहरा छुटिरहेको थियो । म घरिघरि ढोकातिर हेर्दै थिएँ भने उनीहरुको खुशीलाई समेत नियालिरहेकी थिएँ । एक हातमा मिठाइको प्याकेट र अर्को हातमा प्लाष्टिकको पोको समातेर नानी देखिइन् । अन्दाजी पन्ध्र वर्षकी हुँदिहुन् उनी । बच्चाको मुखमा पुर्लुक्क हेरिन् । ‘बधाइ छ बाबा,’ उनले अंकमाल गरिन्, ‘तपाईंको सपना पूरा भयो ।’ लड्डु निकालेर बाबुको मुखमा राखिदिइन् । बाबाले छोरीको पछाडि हात राखेर धाप लगाए । जेठी छोरी होलिन्, मैले अनुमान लगाएँ । उनको अनुहार गम्भीर थियो । ढोका अगाडि आइन् । ‘आन्टी कति बेला भेट्न पाइन्छ मम्मीलाई’ म तिर फर्किन् । मलाई पनि कुनै अनुमान थिएन । ‘अझै एक छिन लाग्ला,’ उनको बेचैनी अनुहारलाई केही ढाडस दिन खोजें । उनी आमाको प्रतीक्षामा उभिइन् । हजुरआमा नातिको अनुहार हेर्दै थिइन् । नातिनीतिर हेरेर फतफताइन्, ‘घरमा फोन गरिदे नानी ! खसीको मासु फ्रिजमा छ । बनाउन लगा । ज्वानोको झोल पकाएर ल्याउन पठा । घिउ पनि र्याकमा छ झिक्न पठा । फेरि बच्चालाई दुध आउँदैन ।’ उनको बोलीतिर भन्दा नानीको ध्यान ढोकातिर थियो । अरु कसैले उनको कुरामा वास्ता गरेनन् । केही छिनमा उनै नर्स ढोकामा देखिइन् । ‘मुनाको मान्छे को हुनुहुन्छ ?’ ‘म म,’ हातको कपडा नर्सको हातमा थमाइदिएँ । नानी केही सोध्न खोज्दै थिई तर नर्सले उत्तर नदिई गइन् । एकैछिनमा नर्सले बच्चा च्यापेर आइन् र मलाई दिइन् । बच्चा समाएँ । ‘मुनालाई कस्तो छ ? अपरेसन सकियो ? रगत चढाउनु त परेन ? होशमा त छिन् नि ?’ उनले टाउको हल्लाएर मेरा प्रश्नको उत्तर दिइरहेकी थिइन् तर उनका आँखा वृद्ध महिलाको काखतिर थिए । नर्सको अनुहार पनि हँसिलो थिएन । उनको मलिनतामा म डराउँदै थिएँ । मुनाका लागि प्रार्थना गरिरहेकी थिएँ । काखे बच्चालाई स्वागत गर्न पनि बिर्सिएछु । अनुहार हेरेँ । अबोध परीले टुलुटुलु हेरिरहेकी थिइन् । मेरो त मिठाइ पार्टी गर्ने पनि कोही थिएनन् । बच्चालाई स्वागत गर्न पनि एक्लै थिएँ म । मुनाको मोबाइल बज्यो । ज्वाइँसाबको फोन थियो । मैले उठाएँ । ‘लक्ष्मी भित्रिइन् बधाइ छ ज्वाइसाब्,’ मैले नसोधिकनै उत्तर दिएँ । ‘मुना नि ?’ ‘अपरेसन चलिरहेको छ । बेडमा पठाएको छैन ।’ ‘ए ए । छोरी कस्ती छिन् ?’ ‘ठ्याक्कै तपाइँजस्तै,’ त्यसो भन्दै गर्दा म पनि मुस्कुराएँ । भर्खरै जन्मिएकी सानीको अनुहार खै कसरी तुलना गरिदिएँ ! फोन राखेँ र मुनाको प्रतीक्षा गरिरहेँ । जानकीका आफन्त बढ्दै थिए । उपाहार बोक्नेहरुको पनि कमी थिएन । खुसियाली थपिंदै थियो । नर्सहरु पालैपालो बाहिर निस्किदै थिए । ‘मुनाको अपरेसन सकियो ?’ नर्सको नजिकै पुगेर सोधेँ । उनी नबोली अगाडि बढ्न खोजिन् । मैले उनको हात च्याप्पै समाएँ । ‘सकियो । पोष्टअपमा सिफ्ट भैसक्यो । एकछिन पछि भेट्न पाउनुहुन्छ,’ नचाहेरै उत्तर दिइन् । मेरो सास फुलेर आयो । जानकीकी छोरीले पनि मेरो प्रश्न दोहोर्याइन् तर नर्स निरुत्तर भइन् तर बल्लतल्ल आवाज निस्कियो, ‘पर्खनुस्, डाक्टर आउँदै हुनुहुन्छ ।’ एकाएक ढोकामा हल्ली खल्ली सुनियो । डाक्टर लीला देखिइन् । उनका वरिपरि सबै झुम्मिए । ‘सरी तपाईंकी जानकीलाई बचाउन सकिएन् ।’ ‘के भयो डाक्टर नानी ?’ नाति समातेकी हजुरआमाले बच्चा नातिनीको हातमा थमाएर अगाडि पुगिन्। ‘तपाईंहरुले भनेको मान्नुभएन । मैले भनेकै थिएँ, यस्तो अवस्थामा आमालाई बढी खतरा हुन्छ भनेर । उनको चौथो सन्तान भएकोले पाठेघरको अवस्था पनि राम्रो थिएन । त्यसैमाथि हाई प्रेसर र उच्च ज्वरो थियो । अपरेसन गर्न नमिल्ने थियो । औषधि चढाउँदा बच्चा बिग्रिने सम्भावना बढी भए पनि आमालाई बचाउन सकिन्थ्यो । बच्चाले दिशा पिसाब खान सक्छ भनेर तपाईंहरुले मान्नु भएन । जस्तो अवस्था आए पनि अपरेसनका लागि तयार हुनुभयो,’ डाक्टर गम्भीर भइन् । ‘बच्चा र आमामध्ये एकलाई मात्र बचाउन सकिने अवस्था आयो । जानकीले बच्चा बचाइदिन आग्रह गरिन् । अपरेसन गरियो तर रक्तस्राव रोक्न सकिएन । आमा बेहोस भइन् । अक्सिजनले पनि काम गरेन । जानकीले हामी सबैलाई उछिनिन् । हाम्रो कुनै पनि उपकरण र औषधिले काम गरेन । प्रयास विफल भयो । सरी । डेड बडी केही प्रक्रिया पूरा गरेपछि पाउनुहुनेछ ।’ काखमा बच्चा लिएकी सानी नानीका आँखा छताछुल्ल भए । आँशुको भेल गाला हुँदै अबोध बालकको अनुहारमा पोखिए । बच्चा चिच्याउन थाल्यो । नानीले आफूलाई थाम्न सकिनन् । बेहोश भइन् । बच्चा हजुरआमाले लड्दालड्दै समातिन् र मुखमा पुलुक्क हेरिन् । चारैतिर सन्नाटा छायो । कोही डाक्टरलाई गाली गर्दै थिए । कोही अस्पताल फुटाल्नुपर्छ भन्दै थिए । जानकीका श्रीमान् भूइँमा थुचुक्क बसे । म भने अबोध बच्चा समातेर मुनालाई भेट्न निस्किएँ । कोहलपुर–१२, बाँके #सुमित्रा न्यौपाने
कुरा: झूटो माया गर्नेको ठूलो हुन्छ रे कुरा बाहिर मीठो बोल्नेको मनमा हुन्छ रे छुरा बेइमानीले तबमात्र सत्य बोल्न थाल्छ जब उसले पिएको हुन्छ रे सुरा पापी पेट बचाउन जीवनमा कसैको शत्रु बनी दिएको हुन्छ रे चुरा केही पाउने अाशामा पुर्पुरो ठोकेर हुँदैन भावीले नै निश्चित गरेको हुन्छ रे खुरा हिजोआज पवित्र प्रेम खोज्दै हिड्दा केवल हात मात्र लागेको हुन्छ रे पुरा #मधु जिटिसी
बेस्ट सेलर वा पुरस्कार विजेता पुस्तकका रहस्य: किन केही पुस्तकहरुमा समेटीएका कथाहरुले हाम्रो मन-मस्तिस्कलाई धेरै समयसम्म हल्लाइदिन्छन? किन केही लेखकहरुलाई हामी (पाठकहरुले) शब्दको जादुगरको दर्जा दिन्छौँ ? एउटा पाठकको हैसियतले मैले थाहा पाएका र बुझेका कुरा यहाँ पस्केको छु । पाठकलाई पहिलो वाक्यदेखि नै ‘हूक’ गर्न सक्ने क्षमता हुनु बेस्ट सेलर वा पुरस्कार विजेता पुस्तकको रहस्य हो । ‘हुक’ भनेको केहो? हुकको शाब्दिक अर्थ ‘बल्छी’ हो । जसरी बल्छीले सुन्दर तलाउमा रमाइरेहेको माछालाई एक्कासि आफ्नो तिखो टुप्पोले घायल बनाएर आफूतिर खिच्दछ, पुस्तकमा भएको हुकले पनि त्यस्तै काम गर्छ। यसले पाठकहरुलाई आफ्नो वशमा पार्छ, मन्त्रमुग्ध बनाइदिन्छ। प्रायजसो हुकहरुमा मानवीय भावनासँग खेल्न सक्ने क्षमता हुन्छ। भनिन्छ, मानवजाति भावनात्मक प्राणी हो। तसर्थ, हामी बेलाबेलामा आफ्ना भावनाको दास बनिरहन्छौँ। तसर्थ, जब कुनै पुस्तक भावनात्मक हुकबाट सुरु हुन्छ, हामी त्यसको लहरहरुसँगै अनायासै बग्न थाल्छौँ । धेरै पश्चिमेली बेस्टसेलरहरुमा पाठकलाई सुरुमै ‘हुक’ गर्ने खालका वाक्यहरु प्रयोग भएका हुन्छन् । नेपाली बेस्टसेलर तथा मदन पुरस्कार विजेता पुस्तकहरुको हकमा पनि यो कुरा लागू हुन्छ। उदाहरणका लागि अमर न्यौपानेको ‘करोडौँ कस्तुरी’ भन्ने पुस्तकको विषय प्रवेशलाई नियालौँ। यस पुस्तकमा प्रयोग गरिएको ‘हुक’ बडो गजबको लाग्छ मलाई। ‘भोकले रुनु, शोकले रुनु, दु:खले रुनु, बाआमाको गाली अनि पिटाइले रुनु, शिक्षकले दिएको सजायले रुनु र कथाकविताको संवेदनाले पग्लिएर रुनुमा कति फरक हुँदोरहेछ, जुन मैले पहिलोपटक महसुस गर्दै थिएँ। ती फरक-फरक आँशुलाई पनि रगतलाई झैँ परीक्षण गर्न सक्ने हो भने त्यहाँभित्र के-के देखिन्थ्यो होला ?’ कति सुन्दर, कति आसाधारण उठान ! सुरुमै प्रिय लेखकले शब्दको जादु चलाएका छन् अनि पाठकहरुलाई प्रश्नहरुको भुमरीमा होमिदिएका छन्। यी लाइनहरु पढ्नेबित्तिकै मैले सोच्न थालेँ, ‘ओहो, रोदनका पनि यतिविधि तहहरु हुँदारहेछन्। केही रोदनभित्र खुशी पनि मिस्रित हुँदारहेछन्।’ अफगानी लेखक खालिद हुसेनीद्वारा लेखिएको एउटा अर्को विदेशी पुस्तक ‘अ थाउजेन्ड स्प्लेन्डिड सन्स’ लाई हेरौँ। यस पुस्तकमा पनि लेखकले सशक्त हुक प्रयोग गरेका छन्। ‘मरियम पाँच वर्षकी थिइन्, जब तिनले पहिलो पल्ट ‘हरामी’ भन्ने शब्द सुनिन्।’ यो वाक्यले पनि पाठकको मनमा एउटा प्रश्न खडा गरिदिन्छ। किन यति सानी नानीलाई ‘हरामी’ भनिएको होला ? यही प्रश्नबाट आन्दोलित पाठक खुरुखुरु पुस्तक पढ्न सुरु गर्छ। मैले पनि त्यसै गरेँ। लेखक बुद्धिसागरले पनि आफ्नो पुस्तक कर्नाली ब्लुजमा राम्रो ‘हुक’ प्रयोग गरेका छन्। ‘कोहलपुर टिचिङ हस्पिटलको ठूलो गेटमुन्तिर म ठिङ्ग उभिए। मेरो सास फुलिरहेको थियो । नीलो जिन्स पाइन्टको घुँडानेर धब्बा बसेको थियो । सर्टबाट बसको चर्को गन्ध आइरहेको थियो । पिठ्यूँको झोलाको हाल के होला, मैले हेर्ने जाँगर चलाइनँ।’ यी माथिका लाइनहरु पढ्नासाथ कथामा रहेको पात्रको मानसिक हलचलसँग मेरो साक्षात्कार भयो । हस्याङफस्याङ गर्दै जसोतसो हस्पिटलको प्राङ्गणमा कसैले आफूलाई पुर्याएको थियो । त्यो पात्रको मानसिक र शारीरिक पीडाको बाछिटाले मेरो मनलाई पनि सिञ्चित गर्\u200dयो । ‘मिरर इफेक्ट’ भएजस्तो लाग्यो । ‘यो मान्छे किन र कसरी यहाँ पुग्यो ? टिचिङ हस्पिटलमा कोही आफन्त सिकिस्त बिरामी पो छन् कि ?’ भनेर सोच्न थालेँ। त्यसपछि हतार-हतार पुस्तक पढ्नुबाहेक मसँग अरु कुनै विकल्प थिएन। पुरस्कार विजेता उपन्यासको अर्को साझा विशेषता भनेको त्यसभित्रको सशक्त थिम पनि एक हो । थिम भनेको के हो त ? थिमलाई सामान्यतः विषयवस्तु भनेर बुझ्दा हुन्छ तर थिमलाई यहाँ यसरी बुझ्दा झन् राम्रो- कथाको विषयवस्तु जसलाई एक वा दुई वाक्यमा प्रकट गर्न सकिने कुरा। भनिन्छ, राम्रा लेखकहरु थिमका बारेमा पहिले नै क्रिस्टल क्लियर हुन्छन् । ‘मैले मेरो पुस्तकबाट के सन्देश दिने’ भन्ने कुरालाई राम्ररी पहिले नै निर्क्योल गर्छन् राम्रा लेखकले । फेरि एकपल्ट ‘करोडौँ कस्तुरी’तिरै लागौँ । यो पुस्तकको थिम असाधारण छ । ‘प्रत्येक मान्छेभित्र एउटा कस्तुरी हुन्छ, अद्भूत चिज हुन्छ। त्यसैले उसलाई सफल बनाउँछ। हामीले हामीभित्र भएको कस्तुरी पत्तो लगाउन सक्नु पर्छ।’ माथि उल्लेखित खालिद हुसेनीद्वारा लेखिएको पुस्तक ‘अ थाउजेन्ड स्प्लेन्डिड सन्स’ भन्ने पुस्तकमा भने ‘अफगानी समाजमा नारीलाई हेर्ने दृष्\u200dटिकोण प्रस्तुत गरिएको छ। त्यहाँ नारी भनेको फगत एउटा खेलौना मात्र हुन्’ भन्ने थिम बडो जोरदार तरिकाले प्रस्तुत भएको छ। ‘कर्नाली ब्लुज’मा भने ‘एउटा पुत्र र पिताको सम्बन्ध, पिताको संघर्ष’ देखाइएको छ। यसले ‘छोराको आँखाबाट पिताको संघर्ष’ भन्ने थिम बोकेको छ। अझै केही पुस्तकलाई हेरौँ। जस्तो कि ‘जीवन काँडा कि फूल’ । मलाई लाग्छ, झमक घिमिरेले जीवन काँडा कि फूल लेख्नुअगाडि ‘मेरो जीवनमा मैले भोगेको अनुभव अनुसार’ जीवन के होला? काँडा कि फूल ? त्यो रहस्योद्घाटन यो पुस्तकमार्फत गर्नेछु भनेर सोच्नु भयो होला। पुस्तकभित्र समेटिएका घटनाक्रमहरुले पनि बारम्बार यसै थिमलाई सम्बोधन गर्छ। राधा पौडेलद्वारा लिखित ‘खलङ्गामा हमला’मा भने विविध थिमहरु छन्। द्वन्द्वले के दिन्छ ? नर्सिङ पेसा के हो ? मान्छेले मेहनत र हिम्मत कसरी र कस्तो गर्नुपर्छ? त्यसपछि मात्र बाटाहरु खुल्छन् भनेर प्रस्ट्याउन खोजिएको छ। हामी गरीब हैनौँ । हामी भन्दा पनि धेरै गरीब छन् – यो संसारमा । हामीले तिनीहरुका लागि केही गर्नुपर्छ । यिनै थिमहरुको सेरोफेरोमा कथा घुम्दछ । शिरीषको फूल भनिन्छ, पहिलो र दोस्रो विश्वयुद्ध पश्चात निरसता, निराशता र विसंगतिले भयावह रूप लियो । युद्ध लडेर घर फर्केका सैनिकहरुलाई युद्धको धङधङीले धेरै हदसम्म सतायो अनि भावनात्मक रूपमा एक किसिमले विक्षिप्त बनायो । त्यो विश्वयुद्धले उपहार स्वरूप दिएको खालीपनलाई इंगित गर्दै, दोस्रो विश्वयुद्धको सेरोफेरोमा धेरै समय बिताएका एउटा भूतपूर्व सैनिकको मनसिकतामा टेकेर कोरिएको उपन्यास हो, शिरीषको फूल। सुयोगवीरले विश्वयुद्ध कालमा धेरै नारीहरुसँग रंगीन रातहरु बिताइसकेको भए पनि साँचो प्रेमको अदभूत स्वाद चाखेको हुँदैन । ऊ साँचो प्रेमको खोजीमा हुन्छ र भाग्यवश उसले सकम्बरीलाई भेट्छ तर गुमाउन पुग्छ । अधुरो मान्छे थियो, अधुरै रहन्छ। मानिस जहिले पनि साँचो प्रेमको खोजीमा हुन्छ। शायद प्रेम भन्ने चिज दुई आत्माको मिलन हो, दुई शरीरको मिलन मात्र हैन। पारिजातले भन्न खोजेको कुरा यही हुनुपर्छ। पुस्तकको थिम यही होला। खलिन जिब्रानले पनि ब्रोकन विङ्स पुस्तकमा प्रेम के हो ? प्रेम कस्तो हुनुपर्छ? भन्ने थिमहरु प्रस्तुत गरेका छन्। यसमा चरित्रहरू भावनात्मक रूपमा निकै छन् । मानव भावनात्मक प्राणी भएकाले हामी कुनै न कुनै तरिकाले ती पात्रहरुसँग भावनात्मक रूपमा जोडिन्छौँ । राम्रा कथाकारहरुले यो कुरा बुझेका हुन्छन् । संकटको घडी हरेक राम्रा सिर्जनामा एउटा महत्त्वपूर्ण कडीका रूपमा संकटको घडी आइपुग्छ । कथाका मुख्य पात्र अचानक कुनै विषम परिस्थितिमा फँस्न पुग्छन्। पुस्तक पढ्दै गर्दा हामी कहिलेकाहीँ एक्कासि झस्किन्छौँ। अब यो पात्र कसरी यो परिस्थितिबाट बाहिर निस्किन्छ होला? अब शायद पात्रले हार मान्छ होला? यस्तै यस्तै कुराहरु हाम्रो मनमा खेल्न थाल्छ। जब सुयोगवीरले प्रेमको लहरमा डुबेर एक्कासि सकमबरीको सेतो गर्धन अँठ्याएर उसको कमलो ओठमा चुम्बन गर्छ, त्यहाँ एक्कासि संकटको घडी सुरु हुन्छ । सुयोगवीरलाई ‘के गरुँ, के भनुँ’ जस्तो भयो। त्यो दोधारको अवस्थालाई उसले यसरी व्यक्त गर्छ, ‘डरलाग्दो सपनाबाट बिउँझे जस्तै म पसिनाले निथ्रुक्क भिजेको थिएँ, मुटु कामिरहेको थियो । के गर्ने? स्थितीलाई साट्न सकिँदैन, त्यो धृष्टतालाई अब फिर्ता लिन सकिँदैन ।’ यो एउटा राम्रो ‘क्राइसिस’को उदाहरण हो। यसले एक्कासि सुयोगवीरको बारेमा पाठकहरुको मनमा साहनुभूति (सफ्ट कर्नर) उत्पन्न गरिदिन्छ । पाठकहरुले आफ्ना प्रिय पात्रले जसरी पनि त्यो विषम परिस्थितिमाथि विजय प्राप्त गरोस् भन्ने चाहना राख्छन् । त्यसैले पाठकहरुले पढ्ने कार्य जारी राख्छन् । द्वन्द्व राम्रा उपन्यासमा द्वन्द्व हुन्छ । द्वन्द्व भनेको कथाका मुख्य पात्रहरुले सामना गर्नैपर्ने दोधारे स्थिति हो । प्रेम वा परिवार, आत्मसमर्पण वा आत्मदाह दुईमध्ये एक चुन्नुपर्ने बाध्यता द्वन्द्वका उदाहरण हुन्। यसले पुस्तकमा भएको कथावस्तुलाई प्रभावित गर्दै विभिन्न अपत्यारिलो मोडहरु दिने गर्छ। यसले मुख्य पात्रलाई दुबै ‘ताप र चाप’ दिने कार्य गर्दछ । त्यही ताप र चापको फलस्वरूप, पात्रले निर्णय लिन्छ। कथाहरुमा प्रयोग हुने द्वन्द्वलाई निम्न प्रकारले वर्गीकरण गर्न सकिन्छ। १) पात्र-पात्र बीचको शारीरिक तथा मानसिक द्वन्द्व । २) कथाका पात्रहरु र प्रकृति बीचको द्वन्द्व । ३) कथाका पात्र र तिनहरुले भोग्नुपर्ने परिस्थिति (समाज वा अन्य) बीचको द्वन्द्व । ४) पात्रहरु र तिनीहरुकै आफ्नो भावनाहरुसँगको द्वन्द्व। माथि उल्लेखित तीन प्रकारका द्वन्द्वलाई बाह्य द्वन्द्व भनी नामकरण गरिएको छ । यद्यपि, पात्रले आफ्नै भावनासँग गर्नुपर्ने द्वन्द्वलाई भने आन्तरिक द्वन्द्व भनिदोरहेछ। द्वन्द्व जे जस्तो भए पनि यसले कथामा मसलाको काम गर्छ। राम्रा पुस्तकहरुमा द्वन्द्वको प्रयोग सटिक रूपमा गरिएको हुन्छ। यसले पाठकमा ‘अब के हुन्छ होला?’ भन्ने उत्सुकता जगाइदिन्छ। त्यही प्रश्नको उत्तर खोज्न हामी पुस्तक पढाइलाई निरन्तरता दिन्छौँ । चेन्ज (मोमेन्ट अफ एपिफेनी) पात्रहरुले कसरी विषम परिस्थितिबाट आफूलाई बाहिर निकाल्छन्? तिनीहरुले अन्ततः के सिक्छन्? जीवनका कस्ता मूलमन्त्र प्राप्त गर्छन् ? यसमा झल्किन्छ । जब कथा अन्त्यतिर पुग्छ, पात्रहरुले धेरै प्रश्नको उत्तर खोजिसकेका हुन्छन् । साथसाथै, पाठकहरुले पनि धेरै कुराहरु थाहा पाउँछन् । पाठकभित्र रहेको चेतनाको आयतन बढेर आउँछ। मलाई लाग्छ, माथि उल्लेखित यिनै कुराहरुलाई सशक्त ढंगबाट प्रस्तुत गर्नसक्ने क्षमताले गर्दा नै केही लेखकहरु ” शब्दहरुको जादुगर” बन्छन् र तिनीहरुले लेखेका कथा, उपन्यास र अन्य सिर्जना पुरस्कार विजेताका हकदार तथा बेस्टसेलर हुन्छन्। (सजीवन प्रधान एक विचारक, सेल्स तथा लिडरसिप कोच हुन् । उनले विगत लामो समयदेखि यस क्षेत्रमा संलग्न भई नेपालका तथा विदेशी विभिन्न संघसंस्थाहरुलाई व्यापार अभिवृद्धि, नेतृत्व विकास सम्बन्धमा तालिम प्रदान गरिरहेका छन् । उनी नेपाली साहित्यका प्रेमी पनि हुन् ।) #सजीवन प्रधान
परिचय: म छर्न सक्दिन कहिल्यै, अविश्वासका बिउहरू, स्वयंभुका दुईवटा आँखाहरूमा । हेर्न चाहन्नँ म, टुक्रिएकाेे परिचय र भावना, प्रत्येक नेपालीका मनहरूमा । हार र जितकाे खेलमा, एउटा नेपालीले हारे पनि, मेरै अस्तित्व घटिरहेछ । रंग र वर्ण फरक हाेला । ईच्छा र आकांक्षा फरक हाेला । म जे भए पनि, जहाँ रहे पनि, मेराे रगतमा काेशी र गण्डकी बगिरहेछ । म हेर्न सक्दिन आज, टुक्रिएर सपना छरिएका दृश्यहरू । म धान्न सक्दिनँ हरेक हृदयका, वेदना र चित्कारका तुफानहरू । सम्पूर्णता चाहिन्छ मलाई आज, नेपाली मनहरूमा । अविश्वास र वेदना हाेइन, उत्साह र उमंगकाे सगरमाथा चाहिन्छ , प्रत्येक नेपालीका ढुकढुकीमा । बर्दघाट, नवलपरासी । #शक्ति पाैडेल
छिमेकी: छिमेकीले घाँस काट्यो मैले घाँसै त हो भनेँ छिमेकीले कान्लो ताछ्यो मैले माटै त हो भनेँ छिमेकीले रूख काट्यो लग्यो मैले पाजी दाउरै त हो भनेँ अब त छिमेकीले त्यो बारी मेरो हो भन्छ त्यो सल्लाघारी मेरो हो भन्छ रूख, रूखमा बस्ने चरा चराको गीत रुखले नकाल्ने सुसेली सब मेरा हुन् भन्छ भन्देऊ न हो अमरसिंह भोक ठूलो कि स्वतन्त्रता? पराधीन नभए पनि स्वाधीन हुन नसकेपछि स्वचालित हुन नसकेपछि भोलि यो बाटो मेरो हो भन्ला तैँले खाको आटो मेरो हो भन्ला तँ बसेको बास, तैँले फेरेको श्वास मेरो हो भन्ला तैँले छोप्ने लाज, तेरो शीरको ताज मेरो हो भन्ला तेरो पेन्सन पट्टा मेरो हो भन्ला तँ त जिउदो पुत्ला होस् तँ बसेको सत्ता मेरो हो भन्ला भन्देऊ न हो भीमसेन सत्ता ठूलो कि देश? #टिएन भट्ट `विश्वामित्र´
‘ज्ञ’ आख्यानकारलाई चिठ्ठी: प्रिय आख्यानकार नगरकोटीज्यू, मैले हजूरको प्रकाशित कृतिहरुको अक्षर पनि नछुटाई पढेको छु। अघिल्ला दिनहरुका हजूरको कृतिहरुको प्रारुपले म निकै मुग्ध भएको थिएँ तर ‘ज्ञ’ले हजूर पनि कतै बजार र प्रकाशकको शिकार हुनु भयो कि जस्तो लाग्यो। यो कुरा जरुरी थिएन कि हरेक ८|९ महिनामा नयाँ पुस्तक प्रकाशन गर्नै पर्छ। जरुरत त हजूरले आफ्नो अघिल्ला कृतिहरुले प्राप्त गरेको श्रद्धा र पाठकको तपाईं प्रतिको आकर्षणलाई स्थिर र स्थायी राख्नु थियो। प्रिय लेखकज्यू, तपाईं त नेपालीहरुको बहुमूल्य रत्न हुनुहुन्छ। अचानक बदलिने काठमाडौँको मौसमले तन बिथोल्छ, तपाईंका शब्दहरुले दिमाग खल्बलाउँछ तर म चिन्तित छु नगरकोटीज्यू, कतै हजूरले आफ्नो पकड गुमाउनु भएको त छैन ? हजूर आख्यानमा आफ्नो पृथक् र उत्कृष्ट छवि बनाइसक्नु भएको लेखक हुनुहुन्छ। अरुको लहैलहै र बहाकाउबाट आफूलाई जोगाएर सधैँ पृथक् भइरहनुस्। साथीहरुले त कुरुपलाई पनि सुन्दर बनाइदिन्छन्, हजूरको कमी-कमजोरीलाई पनि ताकत साबित गरिदिन्छन्, त्यसैले वास्तविकता आफ्नो शत्रुमार्फत पहिचान गर्नुहोस्। श्रद्धेय आख्यानकारज्यू, अरुको वास्ता नगरी लेख्नुको के अर्थ? लेखकले त पाठकको चाहना बुझ्नुपर्छ, मर्ममा प्रहार गर्नुपर्छ, हैन र ? तपाईंले पाठकको वास्ता नगरी आख्यान रचना गर्दा कहीँकतै पाठकले पनि हजूरको वास्ता गरेनन् भने के होला ? कम्\u200dतिमा ‘ज्ञ’ मेरो लागि मीठो भूल भयो। मैले मेरो प्यारो लेखक, अरुभन्दा पृथक् आख्यानकारको कमजोरी औँल्याउने मौका पाएँ । तर आशा गर्छु, अर्को पटकमा भने मैले मेरो प्यारो आख्यानकारका शब्दहरुमा पहिले जसरी नै रमाउन पाउनेछु। उही तपाईंको, ‘द स्ट्रेन्जर’ #क्षितिज चउरेल
कठै बालापनका ती खेल: कोभिड-१९ को कारणले मार्च १६ देखि घरबाटै काम हुन थाल्यो । कान्छी छोरीको स्कूल पनि बन्द । झन्डै २ हप्तापछि जेठी र माइली छोरीहरू जो टोरन्टोमा बस्दै काम गर्थे, उनीहरू पनि हामी भएको ठाउँ टिमिन्समै आए । धेरै बेफाइदाहरू भए पनि, यो कोभिडले गर्दा एउटा राम्रो कुरा भने लामो समयपछि परिवारका सबै जना सँगै बस्न पाइएको छ । साबिकझैं बिहान उठ्यो, चिया नास्तापछि अफिसको काममा लाग्यो, दिउँसो लन्च, स्नयाक्स ब्रेक लिँदै बेलुकी ४-५ सम्म काम गर्\u200dयो, एकछिन एक्सरसाइज गर्\u200dयो, कहिलेकाहीँ टेबुलटेनिस खेल्यो अनि साँझको खाना, छोरीहरू, श्रीमानसँग कुराकानी गर्\u200dयो, कहिले साथीभाइ, नातेदारहरूसँग कुराकानी गर्\u200dयो, यस्तै गर्दै धेरैजसो दिनहरू बितिरहेका छन् । हिजो दिउँसो, कान्छी छोरी श्रेयाले दिक्क लाग्यो भन्दै गनगन गरेपछि, उनीलाई र माहिली छोरी मेधावीलाई लिएर श्रीमानजी बाहिरतिर जान्छौँ भन्दै निस्कनुभयो । करिब २-३ घण्टापछि श्रेया र मेधावी दङ्ग पर्दै आएर भन्न थाले, “बाबाले आज हामीलाई वहाँहरूले सानोमा खेल्ने “लारी भिङ्गेटी” भन्ने खेल सिकाउनु भयो, कस्तो रमाइलो भयो । लारी भिङ्गेटी भनेको काठमाण्डुतिर खेलिने डन्डीबियो जस्तै रहेछ जुन मध्य-पश्चिम पहाडतिर खेलिन्थ्यो रे पहिले । छोरीहरुको “लारी भिङ्गेटी” मोह देखेपछि मलाई आफ्नो बाल्यकाल र सानोमा हामीले खेल्ने खेलहरुको सम्झना आयो । मेरो बाल्यकाल काठमाण्डुको गौशालामा बित्यो । घरकी सबभन्दा जेठी छोरी, हजुरबुबाकी पुल्पुलिएकी नातिनी, काका, फुपूहरूकी प्यारी भदैनी ! वरिपरि छरछिमेकमा कसैलाई नटेर्ने आफ्नै तालकी मस्तराम ! मेरो सम्झनामा आएसम्म मैले पहिले खेलेको “ताराबाजी लै लै, मामा आए घोडा” भनेर गीत गाउँदै ताली बजाउने नै होला । अलि ठूली २-३ वर्षकी भएपछि भने पुतली खेल्ने होला झैँ लाग्छ । प्लास्टिकले बनेको साना-साना पुतली, पेटतिर थिच्यो भने प्वाँ प्वाँ गरेर बज्ने पुतली, कहिलेकाहीँ आमा वा फुपू दिदीले बनाइदिनु भएको कपडाले बनाएको टालाटुलीको पुतलीहरू खेल्ने गर्थें । कसले हो कुन्नी ती टालाटुलीबाट बनेका पुतली सुत्ने कोठामा राख्यो भने राती बोक्सी भई आउँछन् रे भनेकोले त्यो डरले दिनभरि दुःख गरेर बनाएको पुतली राति बाहिर फालिदिन्थेँ । भोलिपल्ट त्यो कहिले पाइन्थ्यो, कहिले पाइन्नथ्यो । निकै पछिसम्म त्यो डर मनमा गढेर बसेको थियो । अलि ठूली भएपछि गट्टी खेल्ने, डोरी खेल्ने, तेलकासा, लुकामारी, घ्वाइँकासा, काने काने पिच्चा, रुमाल लुकाई आदि खेलियो । कहिलेकाहीँ गुच्चा र एक दुई पल्ट डन्डीबियो पनि खेलेको सम्झना छ । गुच्चा खेल्नमा त म एकताका च्याम्पियन नै भएकी थिएँ । कहिलेकाहीँ चुरोटको बट्टाको तास बनाएर खेल्ने, ५ पैसा, १० पैसाको खोपी खेल्ने पनि गरेँ । एक दुई पटक गुलेली पनि चलाएँ तर केही मारेको भने सम्झना छैन । गौशाला भित्रको कृष्ण मन्दिर वरिपरि पानीको पोखरीमा साना ढुंगाका टुक्राहरू फालेर पानीको तरङ्ग गन्थ्यौँ । त्यही मन्दिरको भित्तामा साना साना पोर्सेलिन वा मार्बल जस्तो टुक्राहरू टाँसेको हुन्थ्यो । ती टुक्राहरूमा अक्षर भेटियो भने विद्या आउँछ रे भनेर दिनभरि त्यस्तो अक्षर भएका मार्बलका टुक्रा खोज्ने खेल पनि हुन्थ्यो । गर्मी महिनामा वनकाली मन्दिर छेउको पोखरीमा बाँदर रुखबाट हामफालेको हेर्दै रमाउने र वाग्मतीको छेउमा बालुवाको घर बनाएर दिनभर पनि बिताइयो । रिंगरोडको अग्लो ठाउँबाट वनकालीतर्फ तलसम्म चिप्लेटी खेल्दै पुग्ने गर्दा फ्रक वा सुरुवालको पछाडी धुलैधुलो, २-४ दिनमै प्वाल पनि परिहाल्थ्यो । चौरमा लडीबुडी गर्ने, पुल्टुङ् बाजी खेल्ने, एक खुट्टी टेकेर भाले जुधाई खेल्न पनि रमाइलो हुन्थ्यो । माटोको भाँडाकुटी बनाउने, माटोकै पैसा बनाएर पसल गरी खेल्ने, गोल्टिनको बट्टामा प्वाल पारेर वा सलाईको बट्टामा धागोले जोडेर फोन बनाएको भन्दै परपर बसेर हेलो हेलो भन्दै खेलेको हिजैझैँ लाग्छ । सानो माटोको डल्लो जस्तोमा लामो रबरको धागोजस्तो जोडी एक छेउमा समाएर हातमा ठोक्काउदै खेल्ने खोटो सिक्का भन्ने खेल पनि थियो । तेस्तै कागजको डुङ्गा बनाएर पानीमा हाल्ने, कागजकै प्लेन बनाएर उडाउने खेल पनि रमाइलो थियो । गुहे किरालाई सलाइको बट्टाभित्र राखेर रेडियो बजाए जस्तो गरी खेल्ने र झ्यालिन्चा (dragon fly)लाई समातेर त्यसको पुच्छरमा कागजको फुर्को बाँधेर भगवानलाई चिठी पठाएको भन्दै खेलेको सम्झिँदा, ती निरीह कीरा-फट्याङ्ग्रालाई दुःख दिएर के खेलेको होला झैँ लाग्छ अहिले । कुनै खेलहरू चाडबाडसँगै पनि आउथे। जनै पूर्णिमा आउन थालेपछि तराईतिरबाट हो या भारततिरबाट हो डमरु बेच्ने र बेलुन बेच्नेहरू आउँथे । ती डमरु बजाउँदै केही दिन खेल्न पनि रमाइलो हुन्थ्यो । कागजको फिरफिरे बनाएर दौडिनु, सिट्ठी फुकेर अरूको कानमा कुर्र कुर्र गर्नु पनि खेल नै हुन्थ्यो । वर्षात् सकिन लागेपछि चङ्गा उडाउन सुरु हुन्थ्यो । मैले चङ्गा त्यति धेरै त उडाइनँ तर काकाहरूलाई चङ्गाको धागोमा माजा लगाउन भने सहयोग गरे जस्तो लाग्छ । अरूले उडाएका चङ्गाहरु हेर्दै चङ्गा चेट भएको हेर्दै रमाउनुको मज्जा अर्कै ! दसैँ आएपछि पिङ खेल्ने र तिहारमा भैली खेल्ने त अझै पनि पाएसम्म छोड्न मन लाग्दैन । दसैँ तिहारपछि हरेक वर्ष जस्तो विशेष गरी मङ्सिर महिनामा वनभात खान जाने गरिन्थ्यो । घरबाट चामल, दाल, आलु आदि सबैले अलि अलि लाने, भाँडाहरू पनि लाने र रुखमुनि, अझ पाएसम्म अमलाको रुखको छेउमा बनभात पकाएर खाने, खाइसकेपछि नाचगान गर्ने गरिन्थ्यो र धेरै रमाइलो हुन्थ्यो । काठमाडौँमा हुँदा भण्डारखालको वनमा वनभात खाने गरेको सम्झना छ । तर हेटौँडा गएपछि भने धेरै जसो मुजुरधापको वनमा वा आफ्नै बारीको पुछारमा वनभात खाने गरिन्थ्यो । फागुन लागेपछि फागू खेल्ने अर्को रमाइलो हुन्थ्यो । म सानै छँदा, शायद ३-४ वर्षकी थिए हुँला, फुपू दिदीको मुखभरि कालो, रातो रङहरू देखेर दिदीलाई के भयो भनी रोएकी थिएँ । पछि हेटौँडामा गएपछि आफ्नै भाइबहिनीहरूसहित साथीहरू रीता, मीरा, राधा कार्की दिदीहरुसँग धेरै पटक रङ खेलियो । गर्मी महिना लागेपछि कहिले खोला त कहिले आफ्नै बारीमा रहेको पोखरीमा पौडी खेलियो । सानै हुँदा पाइपको दुई टुप्पा जोडेर पाङ्ग्रा बनाएर खेल्ने पनि गरेँ एकदुई पटक । अलि ठूली भएपछि मोजाभित्र कपडा कोचेर बनाएको बल खेल्ने, सेवन स्टोन भन्ने खेल जसमा दुई पार्टी हुन्थे र सातवटा साना साना एकअर्कामा खप्ट्याएर राखेका ढुङ्गाहरूलाई सानो बलले हानेर ढलाउने र पछि तिनीहरूलाई फेरि मिलाइराख्ने खेल हुन्थ्यो । त्यस्तै रुमाल लुकाई, तातो आलु, म्युजिकल चेयर, सियोमा धागो छिराउने, चुँगी, एक खुट्टे, कबड्डी, भुरुङ घुमाउने आदि खेलिन्थ्यो । घरभित्र खेल्दा दुई वा दुईजना भन्दा बढी हुँदा “ चीँ मुसी चीँ घर घर मुसा”, “ओक्कल दोक्कल कौने मरु”, “उडकुसी मुडकुसी लावा चुन, चूनकै धारा पुतली“ आदि खेलहरू त निकै पछिसम्म पनि खेलिन्थ्यो । बाहिर आँगन वा सानो चौर भए पनि हुने खेलहरूमा “इन्टु मिन्टु लन्डनमा, हाम्रो भाइ पल्टनमा”, “ यति यती पानी, घे घे रानी ”,“ओ लहरे, है पहरे“, “लाटा दाइ, लाटा दाइ, केरा पाक्यो ?” जस्ता गीत गाउँदै खेलिने खेलहरू त लाग्छ सबै हराइसके अहिले । शुक्रबारको साँझ बुबाले हामीलाई सधैँझैं पढ्नुपर्ने काम बाट छुट्टी दिनु हुन्थ्यो । त्यो साँझ म लगायत बहिनी र भाइहरू गीत गाउने, नाच्ने, अन्ताक्षरी खेल्ने, वर्डमिनिङ्ग र हाजिरी जवाफ खेल्ने गर्थ्यौँ । अरू दिन सधैँ पढ्नु पर्ने, गृहकार्य गर्नुपर्ने तर शुक्रबार साँझ भने नपर्ने भएकोले कहिले शुक्रबार आउला भन्ने लाग्थ्यो । लुँडो, बाघचाल, चेस, र क्यारमबोर्ड खेलमा पनि हामी निकै समय रमाउँथ्यौँ । ०३५-३६ सालतिरदेखि क्रिकेट, फुटबल, भलिबल र एकदुईपटक लन हकी स्थानीय टिमहरूले खेलेको हेरेँ पनि, आफैँले भने खेलिएन । पछि वन विज्ञान अध्ययन संस्थानमा पढ्दा अलिअलि टेबिलटेनिस, भलिबल, ब्याड्मिन्टन, टेनिस छोएझैँ गरियो तर खेललाई महत्त्व दिएर खेल भनेको शारीरिक साथै मानसिक स्वास्थ्यको लागि पनि आवश्यक छ भनेर कहिल्यै सोचिएन । महङ्गो खेलकुद गर्न नसके पनि दौडिने, उफ्रिने, लङ जम्प, जस्ता खेललाई त केही कुरोले रोक्दैनथ्यो होला, तर खेल्नु भनेको बिग्रनु हो भन्ने खालको त्यस बेलाको सोचले खेललाई महत्त्वहीन बनाइदिएको थियो । आजकल साना केटाकेटीहरूलाई हेर्दा उनीहरूको खेल र हाम्रा खेलमा धेरै अन्तर देख्छु । सबभन्दा त मोबाइल फोन र भिडियो गेमले धेरै समय लिएको छ । धेरै खेलहरू स्क्रिनमै खेल्न सक्छन्, चाहे त्यो दिमागलाई जोर दिनु पर्ने चेस, सुडोकु, क्रसवर्ड, बोर्ड गेम हुन् वा लुडो या शारीरिक रूपले खेल्ने “वि” होस्, सबै हातमा रिमोट लिएर खेल्न सकिन्छ । फुटबल, स्केटिङ, बास्केटबल, स्कि जस्ता खेलहरु पनि सानो भन्दा साना बच्चाहरूले पनि खेलेको देख्दा रमाइलो लागेर आउँछ । एकातिर भिडियो गेमहरुको विकास द्रुत गतिमा भइरहेको छ भने अर्कोतिर खेललाई नै पेशा बनाएर लाग्ने समूह पनि धेरै बढेका छन् । केही वर्षअघिसम्म हाम्रो समाजमा खेल्नु भनेको बिग्रिनु भन्ने बुझिन्थ्यो, अझ छोरीहरूले त खेल्न नै हुन्न भन्ने थियो तर आजकल यो सोचमा पनि परिवर्तन आएको छ । खेललाई पेसा, सोख मात्र नभै स्वस्थ रहन पनि अति आवश्यक छ भनी सबै उमेर र लिङ्गका मानिसहरू खेलतर्फ आकर्षित भएको देखिन्छ । नयाँ नयाँ खेलहरूको विकास तथा पुराना खेलहरू परिमार्जन भएका छन् । अहिले पनि खेलिन्छ केही खेलहरु । विभिन्न समय र उमेरमा भिन्नभिन्न खालका खेलहरु खेले पनि बाल्यकालको कुरा भने अर्कै हुने ! प्रसिद्ध भारतीय गजलकार जगजीत सिंहले गाएको कालजयी गीत यहाँ सम्झिन मन लाग्योः ए दौलत भी ले लो, ए सोहरत भी ले लो भले छिन लो मुझ से मेरी जवानी मगर मुझको लौटा दो बचपनका सावन वो कागज की कस्ती वो वारिस का पानी यो मन पनि अचम्मको चीज रहेछ। कहिलेकाहीँ आँखै अघिका सुन्दर दृश्यहरूले पनि रमाउन सक्दैन यो मन, कहिले भने पर पर, उहिले, उहिलेका घटना र यादहरूले पनि उडुँउडुँझैँ लाग्छ । मलाई यी बाल्यकालमा खेलेका खेलहरूसँगै गौशाला, वनकाली हुँदै श्लेष्मान्तक वनसम्मको रोचक यात्रा गरायो मनले आज । बाल्यकालमा मन मिल्ने साथीहरूसँग फेरि खेलेँ तीनै रमाइला खेलहरू । दौडिएँ, लडेँ, चिप्लिएँ, उठेँ, उफ्रेँ र सबैभन्दा बढी रमाएँ म आज । काठमाडौँको गौशालादेखि हेटौँडाको आफूले पढेको स्कूलको कक्षा कोठासम्म पुगेँ । माटोसँगको स्पर्श, पानीको भिजाई, पहाडतिरबाट आउने शितल हावाका झोँक्काहरू महसुस गरेँ उसैगरी । आज मलाई महसुस भयो, स्मरणहरू नहुने हो भने त मानव जीवनको ठूलो खुसीको भाग नै अधुरो हुन्थ्यो होला ! केही क्षण भए पनि बन्दाबन्दीको यस घडीमा बाल्यकालका खेलका सम्झनाहरुले कोरोनाबाट टाढा पुर्याए मलाई । सम्झनाको शक्ति ! टिमिन्स, क्यानडा #कमला रुपाखेती
भूपिन र सुप्लाको हवाइजहाज: कमल ढकालजीले प्रखर कवि भूपिन पनि आउँदैछन् भन्ने जानकारी गराएपछि मात्र म ‘भूपिन’ नामसँग परिचित भएको थिएँ । २०७५ को मंसिर पहिलो साता युवराज नयाँघरे, नयनराज पाण्डे, अश्विनी कोइराला, कमलजी तथा भूपिन सहितको टोली रुकुम भ्रमणमा निस्कँदै थियो । अरुका कृतिहरुसँग पूर्व परिचित भैसके पनि भूपिनका कृतिसँग परिचित हुने मौका नजुरेकोले भूपिनप्रतिको शंका र कौतुहलता-मिश्रित काउछोले मेरो मानसपटल चिलाइरहेको थियो । टोली भैरहवा आइपुगेपछि परिचय आदानप्रदान भयो र सोही क्रममा भूपिनको जन्मस्थल बाग्लुङ भएको थाहा हुँदा उनीसँग निकटताको साइनो गाँसियो । नयनराज पाण्डे सल्यानी हुनुको नाताले जमाएको हार्दिक आसन नजिकै छिमेकी साहित्यकारको नाताले भूपिन पनि अटेसमटेस भैसकेका थिए । उसो त युवराज, अश्विनी र कमलका कृतिहरु यसअघि नै उधिनिरहेको थिएँ र सो क्रममा उनीहरु मेरो दिलको बेग्लै सिँहासनमा बिराजमान भैसकेका थिए । दाङ पुगेपश्चात् चिया खाने क्रममा जब भूपिनको पर्स नै गायब भइदियो, त्यहाँ एउटा मनोरञ्जक खैलाबैला मच्चियो । सर्वस्व गुमेजसरी भूपिन आफै असिनपसिन थिए र सो आद्रताले मित्रहरुलाई पनि लछप्पै भिँजाइदिएका थिए । पछि पर्ससँगै उनको कविशील मन पनि उनकै खल्तीमा सुरक्षित फेला परेपछि यिनी ठूलै कवि हुनुपर्छ भनी अनुमान गर्न पुगेको थिएँ । रुकुम यात्राको क्रममा भूपिन लगायत अरु साहित्यकारहरुले आफ्नो सर्जकताको थप प्रमाणहरु पनि ठाउँठाउँ पेश गरेका थिए, तर जाँच्ने समय र प्रविधिको पावण्यताले गर्दा सबै मामलाहरु दिलभित्रै पेन्डिङ थिए । त्यो भ्रमण योजना कमल र मेरो नितान्त व्यक्तिगत लहडले बुनिएको थियो । संस्थागत छाता ओढाउन खोज्दा पनि विभिन्न कोणबाट च्यातिन पुगेको हुँदा परिस्थितिजन्य घामपानी त्यही प्वालबाट छिरी श्रष्टाहरुको साहित्यिक शिर पोलिरहेको छनक पनि बेलाबखत पाइन्थ्यो । जसोतसो भ्रमण कार्यक्रम समापन हुँदा पाहुनाहरुले यो भ्रमण निकै फलोत्पादक रहेको टिप्पणी गरिदिएपछि मेरो मुटुमा सन्तोषको कोपिला टुसाएको थियो । ००० विदाइको क्रममा भूपिनले मलाई सुप्लाको हवाइजहाज उपहार दिँदै पाइलटको सिटमा बसाइदिए । परेन फसाद ? अब कसरी उडाउनू ? कहाँ कहाँ पुग्नु ? अन्यौलतको भूमरीमा घुम्दै गर्दा भाग्यवश् समयको हुरी मच्चिँदै आयो र हवाइजहाज भनिएको सुप्लालाई मसँगै आकाशमा भुर्र उडाइदियो । हावाको बेजोड तोडले भयले निस्सास्सिइरहेको बखत आकाशको परपरसम्म हेर्न खोजेँ । बेसारे धुलोधुँवाले स्पष्ट देख्नै गाह्रो भैदियोः ‘नेताहरुको अनुहार हेर्छु बेसारे देख्छु न्यायालयको गजुर हेर्छु बेसारे देख्छु यो देशमा डुबिरहेको घाम बेसारे उदाइरहेको जून बेसारे जहाँ स्वस्थता बहिष्कृत र बेसार स्वीकृत छ ।‘ (सुप्लाको हवाइजहाज/बेसार । पृष्ठ सं. ३०) जता हेर्\u200dयो बेसारे देखिन थालेपछि मैले आँखा मिचिरहेँ । अलिकति आँखा खुल्दै गएपछि देखेँ कि ‘ट्रक ड्राइभर’ पनि ट्रकसँगै उडाइएर अतल गहिराइको आकाशमै आइपुगेको ! गतिलै आडभरोसा पाइएकोले फुरुङ्ग परेँ म । हेर्दै गएँ वरिपरि ‘पागल’ पनि छन्, ‘बुद्ध’ पनि छन् । लाटाबुङ्गा पनि छन् र ‘बुद्धिबङ्गारा’ पनि छन् । अनिकाल छ, ‘खडेरी’ छ र सयौँ हातहरुले फोहर तुल्याइएका ‘नोटहरु’ पनि उडिरहेका छन् । स्वदेशी छन् र परदेशी पनि छन् । सम्मान पनि छ, ‘लज्जा’ पनि छ । ‘स्वर्ग’ पनि छ र नर्क पनि छ । ‘नानीहरु’ छन्, ‘आमाहरु’ पनि छन् । सर्वसम्पन्न ‘गाउँ’हरु पनि छन् र गाउँलाई घेरेर बसेको नाङ्गो ‘देश’ पनि छ । मेरो देशमा जे जे छन्, यो चमत्कारिक उडानको आकाशमा सबथोक छन् । यति देखेपछि कालो आकाशमा बतासिनुको भय मबाट तत्कालै गायब भैहाल्यो । म जता मन लाग्यो उतै स्वच्छन्द तैरिन के आँटेको थिएँ, ट्राफिक दाइ नै त्यहीँ आइपुग्यो सिटी फुक्दै । म असमन्जसमा परेको थिएँ, सुप्लाले हावामा अनौठो स्वार्स्वार आवाज निकाल्योः ‘यसरी पुगिन्न कैलेइ हाम्रो सपनाको द्यौरालीमा आ, अब त चिट त तिनीहर्लाई दिम् जो बेहोस देशलाई डिक्कीमा राखेर सवारी चलाइरहेछन् । देशसँग उनीहर्ले चर्को भाडा असुलेका छन् !’ (सुप्लाको हवाइजहाज/ट्राफिक दाइ । पृष्ठ सं. २५) मैले ट्राफिकको रेड लाइटको अर्थ खोज्दै थिएँ । लज्जाको पराकाष्टा नाघेको म.नोदी झुलुक्क झुल्कियो र यो सुप्ला पनि मेरै हो भनेजसरी मलाई लखेट्न थाल्यो । सुप्लाले फरक्क फर्केर धारे हात लगाइहाल्योः ‘ए मेरो हिमालको पानीले प्यास मेट्ने भरते ए मेरो पाखुरीको रगतले युद्ध जित्ने भरते ए मेरो बुद्धको नाम बेचर रोटी खाने भरते भन, निधारमा टाँसेर आफ्नो उत्तेजित लिङ्ग कुमारी देशको बैँस हरण गर्न किन यसरी निस्कियौ इण्डिया गेटबाट ?’ (सुप्लाको हवाइजहाज/लज्जा । पृष्ठ सं. २१) आफ्नो अन्नदाता मनोदीको तुच्छ सुप्लोले गरेको तिक्ष्ण अवहेलना सहन नसकी राष्ट्रप्रेमी ‘पुजारीहरु’ सुप्लाको हवाइजहाज घेर्न आइपुगे । उनीहरुलाई पनि बाँकि राखेन सुप्लोलेः ‘एउटा युद्ध त अझै लड्न बाँकी रहेछ पुजारीहरु विरुद्ध जबसम्म रहिरहनेछन् यिनै पुजारीहरु सामन्तको स्तुति यसरी नै रहनेछ चीरहरणको धम्की यसरी नै आइरहनेछ मन्दिरको भेटी यसरी नै गायब भैरहनेछ ।‘(सुप्लाको हवाइजहाज/पुजारी । पृष्ठ सं. २०) ती पुजारीहरुले भौतिक युद्ध जित्न सम्भव नठानी सुप्लालाई भुइँमा गिराउन मन्त्र जप्दै टुनामुना र शब्दवाण प्रहार गर्न के थालेका थिए सुप्लो जङ्गियोः ‘हान जथाभावी कोर्रा शब्दको हाडमा शब्दलाई अपराध स्वीकार्न बाध्य पार तर शब्दले असत्य बक्न इन्कार गर्नेछ ए जल्लाद, तिमी मरेर जानेछौ एक अर्थहिन जीवन तर शब्द जिवित रहनेछ ।‘(सुप्लाको हवाइजहाज/कोर्रा । पृष्ठ सं. ३५) हार खाएर बेसारे पुजारीहरु फर्कँदै के थिए सुप्लोले पछाडिबाट धारे हात लगाइहाल्यो : ‘बुद्धिबङ्गारो आएकै वर्ष उसले पड्कायो मुख्यमन्त्री त्यसपछि चपाउन थाल्यो उसले जहाजका पङ्खा नदीका गिट्टीबालुवा र जङ्गलका काठ ।‘(सुप्लाको हवाइजहाज/बुद्धि बङ्गारा । पृष्ठ सं. ३९) म कल्पनातित हावामा कावा खाँदै गएँ । सुप्लाको हवाइजहाजभित्र यस्ता जादुमय अर्थलेपन गरिएका वस्तु, देश, काल र परिस्थितिहरुको रोमाञ्चक शब्दचित्रण त कति कति ! जहाँ विरोध मात्रै होइन, सम्मान पनि छ । घृणा मात्र होइन, मायाको अथाह सागर पनि छ । दुःख छ र सुख पनि छ । जीवन र जगतको दर्शन छ । चेतावनी छ र कामलाग्दो सुझाव पनि छ जस्तो किः ‘साह्रै कठीन हुन्छ भुल्न तर कतिपय सम्झनाहरु भुलिदिँदा नै ठीक हुन्छ ।‘(सुप्लाको हवाइजहाज/विस्मरण । पृष्ठ सं. ७१) जब सुप्लोको नभयात्राको आनन्द लुट्दै भुइँमा ल्याण्ड हुन खोज्छु, बीउ कविताहरुको वर्षा हुन्छ । सामाजिक बेथितिको कटु तथा मार्मिक प्रहार गर्दै सुप्लाको हवाइजहाज त चरा पो बन्न खोज्छः ‘अब चरा बन्ने रहर छ एउटा पिँजडा बनाऊ त्यसभित्र राख र तिम्रो कोठामा झुण्डाऊ मानिस भएर म त्यहाँ प्रवेश गर्न सकिनँ !’ (सुप्लाको हवाइजहाज/बीउ कविताहरु । पृष्ठ सं. ११५) म बल्लतल्ल गाउँमा ल्याण्ड गर्छु । ममताकी खानी आमा, सम्पन्नताको खानी गाउँ र सबथोक सम्पन्न हुँदाहुँदै पनि विपन्न हुन पुगेको देश मलाई स्वागत गर्न आइपुग्छन् । उनीहरु यसरी दुःख पोख्छन् ‘संसद भवन र सत्ता बिरामी छ अविश्वासको सलहले खाएर । हो म तिमीजस्तै बिरामी छु कसले निको पार्छ मलाई ? जबकि स्वयम् औषधिहरु बिरामी छन् ।‘(सुप्लाको हवाइजहाज/देश । पृष्ठ सं. १५) मर्माहत हुन्छु म । के जवाफ दिऊँ यिनीहरुलाई म ? ‘यो दुनियाँमा रगत र मृगौलाझैँ आफ्नै आयुको हाँगो काटेर आयु दिनसक्ने कुनै विधि भएन’ (सुप्लाको हवाइजहाज/आमाः दुई । पृष्ठ सं. ४५) दिनलाई कुनै जवाफ बाँकी थिएन मसँग ! उफ् ! ००० सुप्लाको हवाइजहाजको कलात्मक बनावटले नै राम्रैसँग पत्यार लगाइदियो कि भूपि शेरचन नै यो युगमा भूपिन खडकाको कवि हृदय लिएर अवतरित भएका रहेछन् । भूपिका सबै गुण बोकेर पनि आफ्ना स्वतन्त्र गुणहरुको आधिक्यता पनि उति नै छ यिनमा । कविता समय चेतमा सतर्क छ, समाजका सबै अवयव र जीवन जगतको व्याख्या, विश्लेषण एवम् व्यङ्ग्य गर्नमा माहिर छ । पथविचलित हुनेलाई खबर्दारी गर्न सक्षम छ । आगत कालमा पनि समाज र संस्कृतिलाई परिभाषित गर्नसक्ने कविताहरु ताजा र पूर्ण लागिरहने छन् । विविध विम्व, रस, अलङ्कारलेपित शब्दहरुमा जति डुबुल्की मार्\u200dयो, त्यति त्यति नै रहस्यमय बन्दै जान्छन् । कतै अपूर्ण रहेको महसुस हुँदा क्षतिपूर्ति दिलाउने हजार वर्षको निद्रा, चौबीस रिल, शब्दहरुको नेपथ्य, मैदारो पनि बजारमा ल्याएका छन् उनले । तर मलाई लाग्छ ‘सुप्लाको हवाइजहाज’ एक्लै भूपिनलाई चिनाउन पर्याप्त छ । पाठकलाई प्रभावित तुल्याउन एकसे एक कविताहरु अब्बल छन् । एउटै कविताको समीक्षाले पुस्तक भरिन सक्छ । अपितु कतै उनी अलि बढी नै बहकिएका छन् । कतै आस्तिक बन्छन्, कतै नास्तिक बन्छन् । कल्पनाको आकाशमा तैरनको लागि सुप्लो हुँदाहुँदै पनि जमिनमा टिठलाग्दो गरी घिस्रिएका पनि छन् । कतै शब्दसँग नराम्रैसँग जिस्किएका छन् । तर सुप्लाको हवाइजहाजलाई सुझबुझपूर्ण हिसाबले गरिएको सजावटमा यी कुराहरु ओझेलमा पर्दछन् । म अहिले बन्दाबन्दीमा कोठाभित्र थुनिएको छु । बाहिर निस्किएर मित्रजन, माता, बालसखा र देशको मुहार चियाउन छट्पटी पैदा भएको छ । पैदल यात्रा पनि निषेध भएको यस घडीमा गाडीमोटर र प्लेन कहाँ पाउनु । उपाय सोच्छुः भूपिनको सुप्लाको हवाइजहाज चढेर देशदेशावर घुम्ने । म फेरि सुप्लामा चढ्छु र लिपुलेक पुग्छु, भोकले छटपटिइरहेको पहाड सुन्दरीका जाँघ र वक्षस्थलसम्म पुग्छु, कोरोना लगायतका प्राणघातक रोगब्याधीको मुखमा पस्नै आँटेका पहाड र तराइका मलिला फाँट एवम् घना वस्तीहरुमा पुग्छु । मन्दिरबाट अस्पत्तालमा र चौकीहरुबाट घरआँगनमा सुरक्षार्थ बसाइ सरेका भगवानहरुसम्म पनि पुग्छु । भूपिनको हवाइजहाजका मनचिन्ते प्रविधिहरु देखेर म चकित छु जहाँ पनि सहजै र तत्काल पुग्न सकिने ! यो कोरोनाको भयावह अवस्थामा पनि ७२ सालपूर्व लेखिएको यो पङ्ति उत्तिकै सान्दर्भिक छ । ‘र यो चिसो हिमालय पर्वतमा सुतौँ सम्पूर्ण वस्त्र उतारेर आऊ अब एउटा नग्न युद्धको तयारी गरौँ यो सुनौलो भूगोलमा जुनसुकै बेला छिर्नसक्छ दुस्मन समय निर्माणको ढोकामा गजबार लगाऔँ सिर्जनाको मधुसमा ताल्चा मारौँ होसियार बनौँ र त्यसमा मिसाइल दागौँ ।‘ (सुप्लाको हवाइजहाज/हल्ट । पृष्ठ सं. ६४) #पूर्ण ओली
विचारप्रधान निबन्ध: विशेषगरी कवितामा राम्रो दखल भएका कवि एवं निबन्धकार भीष्म उप्रेतीका कविता, निबन्ध र नियात्राका डेढ दर्जन पुस्तक प्रकाशित छन् । विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित उप्रेतीको पछिल्लो कृतिको रूपमा निबन्धसङ्ग्रह ‘तपाईंको पहाड कहाँ हो’ आएको छ । पुस्तकमा आत्मपरक र व्यक्तिपरक गरी जम्माजम्मी सत्र वटा निबन्ध सङ्गृहीत् छन् । आत्मपरक निबन्ध आफ्ना भावना, अनुभव र अनुभूतिहरूलाई कलात्मक आवरण लगाएर खुलेर लेख्न पाइन्छ । तर व्यक्तिपरक निबन्धमा त्यो छुट हुँदैन । अझ व्यक्तिपरक निबन्धमा चाकडीको आरोप लाग्ने जोखिम पनि हुन्छ । यसमा जति बढी कलात्मक आवरण लगायो, उति बढी चाकडीको आरोप लाग्छ । तैपनि उप्रेतीले त्यो जोखिम उठाएरै कवि मोहन कोइराला, समाचोलक तारानाथ शर्मा, कवि मञ्जुल, कवि शशी भण्डारी, निबन्धकार रुद्र खरेल र कवि कृष्णभूषण वलका बारेमा निबन्ध लेखेका छन् । कसैका बारेमा लेख्नु र विशेषगरी आफूभन्दा ठूला अथवा प्रतिष्ठित व्यक्तित्वका बारेमा लेख्नु ती व्यक्तित्वप्रति सम्मान जनाउनु हो र श्रद्धा अनि आदर प्रकट गर्नु हो । तर हाम्रो दोषी आँखाले त्यसलाई पनि चाकडी नै देख्छ । कसैलाई खुसी पार्न मात्रै उसका बारेमा बोल्ने वा लेख्ने हो भनेर सोचिन्छ । सङ्ग्रहको पहिलो निबन्ध ‘सपनाको कुरा’ कला र विचारपक्षका दृष्टिकोणले निकै सशक्त निबन्ध हो । यसमा कलात्मक अभिव्यक्ति त छँदैछ, विचारपक्ष पनि निकै सशक्त छ । कलात्मक अभिव्यक्तिका कारण यो निबन्धमा कविताको रसास्वादन समेत गर्न सकिन्छ । ‘सपना सिर्जनाको स्रोत हो, जीवनको आधार हो । सपना आविस्कारको जननी हो, भावनाहरूको खेल्ने संसार हो । सपना अठोट हो, मान्छेहरूको विश्वास हो । सपना प्रेरणा हो, प्रेम र गन्तव्यसम्म पनि हो ।’ कति गम्भीर र मननीय विचार छ, जसले जीवनको शाश्वततालाई बोलेको छ । ‘सपनाले भाँचिएको लयलाई जोड्छ, अल्मलिएको बाटोलाई निश्चित दिशा दिन्छ । सपनाले सपना देख्न सिकाउँछ अनि अरू पनि सपनाहरूलाई बोलाउँछ… ।’ ‘…आफ्नो सपनाको आलोकमा आफ्नो गन्तव्य देख्नु र जीवनमा भाँचिएको लयलाई जोडेर उपलब्धिहरूको सिँढी हाल्दै माथिमाथि पुग्नुमा जस्तो आनन्द अरू केमा छ ?’ कलात्मकता र विचारपक्षको दृष्टिकोणले सङ्ग्रहकै उत्कृष्ट निबन्ध हो ‘सपनाको कुरा’ । सङ्ग्रहको दोस्रो निबन्ध ‘मौनताको भाषा’ विशेषतः राजनीतिलाई इङ्गित गरिएको र राजनीतिलाई व्यङ्ग्य गरिएको अर्को सशक्त निबन्ध हो । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा जनता नै महान् हुन् र हुनुपर्छ भन्ने लेखकको मान्यता हो । जनता भएर जनतालाई आदरणीय ठानेका छन् लेखकले । किनभने जनता भएर नै देश छ । जनता भएर नै हरियाली, प्रकृति र प्रेमको अर्थ छ । जनता भएर नै राजा, महाराजा तथा शासक छन्, शासन र शासनका पद्धति छन् । तर जनता भएकै कारण छल, बल र स्वार्थको महल भएकोमा लेखकलाई पीडा छ । जसले जसरी पनि अथ्र्याउन सक्ने, जसले जसरी पनि प्रयोग गर्न सक्ने, जसले जसरी पनि छाम्न, छुन र भेट्न सक्ने हुन थालेपछि जनता वास्तवमा अनौठो विषयवस्तु बनेकोमा चिन्ता छ लेखकलाई । यो स्वाभाविक पीडा हो, चिन्ता हो । एउटा गम्भीर लेखक हुनुको गुण हो यो पीडा र यो चिन्ता । ‘प्रजातन्त्र र मूल्यमान्यता भएको ठाउँमा सबैभन्दा आदरणीय र प्रिय शब्द हो जनता । तर त्यही नभएपछि यो शब्द ज्यादै सस्तो र बेवारिसे बन्दो रहेछ ।’ लेखकको सार्वजनिक चिन्ता हो यो । ‘जनता दुई दिन बढी बाँच्ने आशाको त्यान्द्रो समातेर तुइनमा झुण्डिएर नदीमा खसिरहेका छन्, तर जनताको नाममा एउटा पुल बन्दैन । जनताको नाममा एउटा बाटो सम्याइँदैन, एउटा उद्योग स्थापना हुँदैन । टुसुक्क बसेर एकछिन मुस्कुराउने कुनै पार्क बन्दैन ।’ प्रजातन्त्र, लोकतन्त्र हुँदै आएको गणतन्त्रप्रतिको व्यङ्ग्य र वितृष्णा हो यो लेखकको । यस्तो व्यङ्ग्य र वितृष्णा आमजनतामा बढ्दै गएको सार्वजनिक अभिव्यक्ति पनि हो यो । ‘…जनताले सिन्दुर लगाएर पठाइदिएका ठूला मान्छेहरू यिनै निर्धाहरूलाई सपना बेचेर आफू बलियो सुरक्षा र न्यानो ओछ्यानमा सपना देख्न बानी परेका छन् ।’ ‘…स्वर्ग स्वयं आएर छपक्क बसिदिएको यो देशमा नर्क भनिएको ठाउँमा गरिने व्यवहार र दैनन्दिनीहरू भइरहेका छन् ।’ लोकतान्त्रिक गणतन्त्रमा आमजनताले भोगेको तीतो यथार्थका अभिव्यक्ति हुन् यी । ‘अहिले जनताहरू आफूमाथि गिर खेल्नेहरूको विरुद्धमा एक जुट हुन मौन छन् । जनताहरू अनुष्ठानपूर्वको मौनतामा छन्, ब्रतमा छन् । सबै कुराको सीमा भएजस्तै मौनताको पनि सीमा हुन्छ । त्यो भत्कियो भने के हुन्छ ? अब देशका नेताहरूले बुझून् र मनन गरून् । लेखकको आग्रह यही हो । सङ्ग्रहको अर्को सशक्त निबन्ध हो ‘तपाईंको पहाडा कहाँ हो ?’ पुस्तकको नामाकरण पनि यही निबन्धबाट भएकाले लेखकका लागि यो निबन्ध विशेष भएको बुझ्न सकिन्छ । ढुङ्गा र माटोको ढिस्कोमात्रै पहाड होइन । पहाडमा बनीबुतो गरी बस्ने मानिसहरूको समुच्च पनि पहाड नै हो । तर देशमा बढ्दो राजीतिक, आर्थिक र सामाजिक बेथितिले पहाडमा पहाड टिक्नसक्ने अवस्था छैन । त्यसैले पहाडबाट धेरै पहाडले बसाइँ सरिसके सहर र सदरमुकाम हुँदै राजधानी सहरसम्म र कतार, कुवेत, मलेसिया, साउदी अरब र बहराइन आदि खाडी मुलुकसम्म पनि । सुनिँदैछ खाडी मुलुकहरूमा बर्सेनि नेपालको पहाड नै खडा हुँदैछन् । यसै गरीगरी पहाड रित्तियो भने नेपालको परिचय कसरी दिने हामीले ? चिन्ता बढेको छ । तपाईंको पहाड कहाँ हो भनेर सोध्नेलाई कहिले ताप्लेजुङको फूलबारी, कहिले झापाको शनिश्चरे–३ कालीस्थान त कहिले झापाको अर्जुनधारा–७, कालीस्थान हो भनेर आफ्नो वतन बताउने र आफ्ना ती वतनहरूप्रति गर्व गर्छन् लेखक । आफ्नो पहाडको वतनप्रति निकै गर्व पनि गर्छन् । तर आफ्नो जन्मस्थानमा भन्दा दर्जनौं बढी वर्ष बिताएको ठाउँ, जहाँ बसेर आफूलाई योग्य र सक्षम मान्छे बनाएको र जुन ठाउँले शान र मान दिलायो, जसले शान र मानका साथ बाँच्नलायक बनायो, जसको काखमा वर्षौंदेखि निश्चिन्त लुटुपुटु गरिरह्यो, उसको चाहिँ पटक्कै गुणगान नगाउनु र पटक्कै माया नलाग्नु अलिकति कृतघ्नता भएन र ? लेखकलाई यो निबन्ध पढ्ने पाठकको प्रश्न हुनसक्छ यो । बरालिँदाबरालिँदै सात समुद्रपारिसम्म पुगेका र बरालिने बानी नै लागेका लेखक अन्ततः सधैं भौतिक रूपले बरालिन सम्भव हुँदैन र कहीं न कहीं त जरा गाड्नैपर्छ भनेर राजधानी सहरमै जरो गाडेका लेखकले त्यो सहरको अलिकति पनि गुणगान नगाउनुलाई यो त हजम भएन नि भन्न सक्दैनन् र पाठकले ? पहाडबाट आएर काठमाडौंमा बस्ने, काठमाडौंकै खाने, पिउने र सबथोक काठमाडौंमै बसेर प्राप्त गर्ने, अनि अन्त्यमा त्यही काठमाडौंलाई गाली गर्नेहरूकै भीडमा लेखक मिसिनु राम्रो भएन है ! ‘बरालिनलाई के नै चाहिन्छ र ?’ मा लेखक विचारमा बरालिएका छन्, गम्भीरतामा बरालिएका छन् । देशचिन्तामा बरालिएका छन् । अनि बरालिंदाबरालिँदै भन्छन्, ‘पटकपटकको आन्दोलन गरेर नाम जेसुकै दिए पनि हामी नेपालीले ल्याएको त प्रजातन्त्र नै हो । प्रजातन्त्रको केन्द्रमा कानुनको शासन सँगसँगै मानव अधिकार हुनुपर्दछ, मान्छेको स्वतन्त्रता र आकांक्षाले निर्विघ्न हुर्कन र फैलन पाउने वातावरण हुनुपर्दछ… । हाम्रा प्रतिभाहरूले फैलन पाउनेछन्, विभिन्न क्षेत्रहरूमा सिर्जनात्मकताको वृद्धि हुनेछ । मानिसहरूले अझ बढी सपना देख्नेछन् र तिनलाई प्राप्त गर्न अझ बढी प्रयत्न गर्नेछन् । एउटा अपूर्व हलचल र गतिले यो जमेको समयलाई भत्काइदिनेछ र समयले फेरि आफ्नो गति भेट्नेछ र सबैतिर गत्मियता देखिनेछ । यसले सुतेकाहरूलाई पनि उठाउनेछ, उठेकाहरूलाई हिँडाउनेछ, हिँडेकाहरूलाई कहीं न कहीं अवश्य पु¥याउनेछ । आन्दोलन गर्दै छातीमा गोली, ढाडमा पुलिसको लात्ती र डण्डा थापेकाहरूको सपना पनि यत्ति नै हो । तर समय त फेरि पनि एकै ठाउँमा फन्फनी मात्रै पो घुम्न थाल्यो त । फेरि राजाहरूकै जयजयकार मात्र ।’ यहाँ पनि लेखकको मन बरालिएको छ देशपीडामा । नेपाली हुन चाहँदा घोर अपमानित, लज्जित हुन वा एक्लो नितान्त एक्लो हुन तयार हुनुपर्ने स्थिति बनेकोमा झन् चिन्तित छन् लेखक । तब उनी स्वाभिमानी व्यक्तिलाई कुनै कुनामा मिल्काएर नाथाथरि कुराहरू दिमागमा बोलाएर बरालिन थाल्छन् । स्वाभाविक लाग्छ उनी बरालिएको पनि । ‘अनुवादको अनुभव’ मा एक भारी तीतामीठा र मननीय अनुभवहरू छन् अनुवाद गर्दा र आफ्नो कृति अनुवाद हुँदाका । कृतिले अनुवादको पखेटा हाल्न थालेपछि टाढाटाढा अर्कै भाषा, अर्कै संस्कृति, भूगोल एवं सभ्यता माझमा अनुभूति एवं भावनाहरूले सुरक्षित उड्न पाउने अनुभव पनि यसमा छ । ‘एक रात घोरेपानीमा बसेर’ निबन्ध मात्रै होइन, यात्रानिबन्ध हो यो । घोरेपानी यात्राको रमाइलो वर्णन छ यसमा । राजनीतिले बिगारेको देशमा युवा जति देशलाई सराप्दै कामको खोजीमा विदेसिएपछि पाखापखेराहरू र गाउँहरू रित्तिँदै गएको दुखेसो पनि छ यसमा । सधैं देखिरहनेलाई केही न केही । तर पहिलो पटक देख्नेलाई त्यही चिज विशेष लाग्छ । हो, त्यस्तै हो हाम्रो वसन्तपुर पनि । हाम्रा लेखकलाई केही नलागेको वसन्तपुर स्लोभेनियाली कवि ग्रेगोर प्रेकलाई विशेष लाग्यो । हाम्रो सम्पदाको विशेषता पनि हामीलाई अरूले बुझाइदिनुपर्ने, अरूले नै सिकाइदिनुपर्ने । कस्तो विडम्बना । हो, यस्तै विडम्बनाका भावना छन् ‘कविताको खोजी’ मा । अब कोठामा बसेर कविता लेख्नुको काम छैन । दृश्यहरू, घटनाहरू, मानिसको जीवनका उतारचढाव र मनोवेगहरूको अध्ययन एवं अवलोकन गरेर मात्र कविता लेख्नुपर्छ भन्ने मान्यतालाई उजागर गरिएको छ यो निबन्धमा । हो, कुनै पनि कुरालाई भित्री आँखाले गहिरिएर हेरेको दिन त्यो सिर्जना बन्दछ । ‘केवल सम्झना मात्र’ मा २०७२ वैशाख १२ गतेको भूकम्पका बेला देशबाहिर बसेर गरिएको सम्झना, अनुभूति र ऐतिहासिक सम्पदाको धरोहर धरहरा भूकम्पले भत्किँदाको पीडाको अभिव्यक्ति छ । लोमान्थाङ यात्राको वर्णन र गणतन्त्र आउनुअघिका श्री ५ बाहेकका नेपालका अरू चार राजाहरूमध्ये मुस्ताङी राजालाई भेटेको वर्णन छ ‘बूढो राजा, जीर्ण दरबार र नयाँ सपना’ मा । यद्यपि यो यात्रानिबन्ध भएकाले यसमा अघिल्लो निबन्धहरूमा जस्तो विचारपक्ष र कलात्मकताको सघनता छैन । विवरणको विस्तृति छ । अघिल्ला निबन्धजस्तो त्यति सशक्त पनि लाग्दैन । तर लोमान्थाङ नपुगेकाहरूलाई त्यहाँको वस्तुस्थितिको जानकारी उपयोगी नै लाग्छ । बालापनको नोस्टाल्जिया छ ‘सम्झना’ मा । ‘तपाईंको पहाड कहाँ हो’ मा काठमाडौंको अलिकति पनि गुणगान नगाउने लेखकले ‘टेको’ मा चाहिँ मज्जैले काठमाडौंको गुणगान गाएका छन् । ‘गा¥हो र निराश भएको क्षणमा समेत मलाई आमाले जस्तो बाँच्न ढाडस र प्रेरणा दिएको छ यस सहरले । त्यसैले यस सहरको अग्घोरै माया लाग्छ ।’ यसरी काठमाडौं सहरको माया व्यक्त गरेका छन् । २०७२ साल वैशाख १२ र त्यसपछिका भूकम्पका परकम्पहरूले क्षतविक्षत भएको काठमाडौं सहरका टेकोमा अडेका घरहरूले लेखकलाई निकै संवेदनशील बनाएको वर्णन छ यो निबन्धमा । काठमाडौं सहर पुरानो सभ्यताको नमूना पनि हो । त्यसैले एउटा सभ्यता नै टेकोमा अड्नुपर्ने अवस्था पीडादायी छ । हाम्रो विचारमा समेत टेको लागेको अनुभूति छ लेखकमा । आत्मपरक निबन्ध जस्तै अरू व्यक्तिपरक निबन्ध पनि विचार र कलापक्षको दृष्टिकोणले पनि सबल छन् । लेखकको सबल र गहन विचार, कलात्मकता र सुन्दर अभिव्यक्तिले गर्दा पुस्तक निकै पठनीय बनेको छ । यो पुस्तकको अध्ययनबाट पाठकले निबन्धसाहित्यको भरपुर आनन्द लिन सक्नेछन् । यति गहकिलो पुस्तकमा भएका केही मुद्राराक्षसले गर्दा अर्थको अनर्थ हुनसक्ने सम्भावना पनि छन् । ‘सय वर्षअघि’ हुनुपर्नेमा ‘यस वर्षअघि’ भएको छ (पृष्ठ २४), ‘पातलिएजस्तै’ हुनुपर्नेमा ‘तापलिएजस्तै’ भएको छ (पृष्ठ ५९), ‘केही पनि बाँकी थिएन’ हुनुपर्नेमा ‘केही पनि बाँकी थिए’ भएको छ (पृष्ठ ८४), ‘दिमागले भेट्यो भने’ हुनुपर्नेमा ‘दिमागले भेट्यो भने भने’ भएको छ (पृष्ठ १०६), ‘कहिले त्यही पनि छानिन्नथेँ’ हुनुपर्नेमा ‘कहिले त्यही पनि छानिन्थेँ’ भएको छ (पृष्ठ ११५) । पुस्तक: तपाईंको पहाड कहाँ हो ? विधा: निबन्ध लेखक: भीष्म उप्रेती प्रकाशक: शिखा बुक्स संस्करण: पहिलो, २०७५ चैत्र पृष्ठ: १७५ मूल्य: रु. २५०/– #भीष्म उप्रेती #रत्न प्रजापति
काखी: ‘निकालियो तपाईंलाई काखी च्यापियो उसलाई केही आधार देख्दिनँ म न गल्ती छ तपाईंको न बढी योग्यता छ उसको,’ सुनाए एकजनाले। चिन्ताले भने या उक्साउन भने दोधारमा परेँ म। “किन चुप तपाईं ?” फेरि सोझियो प्रश्न। “नाकको एलर्जी छ त्यसैले,” झटपट उत्तर आयो मेरो। छक्कै परे उनी “त्यसको के सम्बन्ध ?” बोल्दै थिए उनका आँखाहरु। “अनि बान्ता हुन्छ मलाई उसलाई हुँदैन,” उनी अवाक् माहोल ठन्डा। “हैन सर ! यसको के सम्बन्ध ?” कठिन गरी सोधे केहीबेरमा। टीठ लाग्यो मलाई झोला खोलेर निकालेँ अत्तर बोलेँ उनीतिर सोझ्याउँदै “आफ्नै काखी त सहन सक्दिनँ अर्काकोमा च्यापिएर बाचौँला कसरी?” मुसुक्क हाँसे उनी। #मदन सुवेदी
धुँवा: कति उढ्यो होला त्यो धुवाँमा निष्ठुरीका यादहरु? उसलाइ सम्झिदै त तान्दै थियौ एक सर्को चुरोट . कति पोल्यो होला त्यो चप्पलको छालाहरु? त्यसैमा त घिसार्दै थियौ एक मुठ्ठी सास . कति निकाल्यौ होला आँसुका चर्का बिजुली? त्यही त बगाउँदैथियौ आँखाका खहरेहरु . कसरी थाम्यो होला पालतो डोरीले त्यत्रो दबाब त्यंही त झुन्ड्याउँदै थियौ पूरा नभएका सपनाहरु ? झापा #मदन प्रसाईं
भगवान स्वयं मरेको दिन !: दिनको १२ बजेको हुँदो हो, मोबाइल फोनको घण्टी बज्यो । प्राचार्यले गर्नुभएको रहेछ । फोन उठाएर “हजुर सर” भन्न नपाउँदै मलिन आवाजमा भन्नुभयो, “सर, एउटा दुःखद् खबर छ ।” मैले हतारिएर सोधेँ, “हँ, कसलाई के भयो ?” प्रतिउत्तर साह्रै अप्रिय आयो । दिपेशको असामयिक निधनको खबर थियो त्यो । मेरा हातखुट्टा लगलगाउन थाले । ती बाबु विद्यालयकै एक शिक्षिकाको छोरा थिए । सहायक प्राचार्यलाई टेलिफोन गर्दै भनेँ, “मैले एउटा अप्रिय खबर सुनेँ, के यो सत्य हो ?” “हजुर, हो सर ! बाबुको शव सिभिल हस्पिटलमा छ । म स्कूल जाँदै छु ।” कम्पनसहितको आवाजमा घटनाको पुष्ट्याँइ थियो यो । म अवाक् भएँ । फागुपूर्णिमाको दिन थियो । सबैजना हाँसीखुसी रङ्गहरुको पर्व “होली” मनाइरहेका थिए । म पनि परिवारसँग रमाउँदै थिएँ । हतारिएर बाथरुम गई नुहाउन थालेँ । अकस्मात् मेरो रवैया परिवर्तन भएकोले श्रीमती आत्तिइन् । यो स्वभाविक पनि थियो । “कसलाई के भयो र ?” मसँग उत्तरको अपेक्षा गरी ढोका ढक्ढक्याउन लागिन् । अकल्पनीय त्यो खबरले मर्माहत मैले आफूसँगै होलीमा रमाइरहेकी श्रीमतीलाई समेत जानकारी दिन भुलेछु । वास्तवमा म हतारिएको थिएँ । म छिटो हस्पिटल पुग्न चाहन्थेँ । म दिपेशसँग बोल्न चाहन्थेँ । त्यो टेलिफोन संवादसँगै आएको खबर झूट भएको प्रमाणित गर्न चाहन्थेँ । तर सत्यलाई असत्य बनाउने हिम्मत मसँग पो कहाँ थियो र ! मनमा अनेकन् कुराहरु खेल्न थाले । आज, दुनियाँ रङ्गीन छ तर आज एक परिवार, जो यसअघि पनि अकल्पनीय दु:खको सागरमा डुबेको थियो, उसैमाथि फेरि पनि वज्रपात परेको छ । एउटा घाउमा लगाएको मल्हम सुक्न नपाउँदै फेरि अर्को घाउ बनेको छ । कहिल्यै पुरिन नसक्ने गरी, मुटुमा किला गढे झैं । सहनेले पनि कसरी सक्नु, चोट माथिको त्यो चोट । दैव पनि कति निष्ठुरी हुन सकेको ! दुई वर्षको अन्तरालमा एकै परिवारका दुवै जना सन्तान चुँडी लग्यौ है ? कति धेरै आरिस त तिम्रो त्यो परिवारको खुसीमाथि ! संयोग पनि कस्तो अचम्मको ! दुवै दिदीभाइको मृत्यु १४ वर्षकै उमेरमा ! मरण पनि उति नै समयको अन्तरालमा ! अनि व्यथा पनि एकै किसिमको ! सामान्य हिसाबले पेट दुख्छ । बिस्तारै स्वास फेर्न गाह्रो हुँदै जान्छ । छटपटिन थाल्छन् अनि अचेत हुँदै ३/४ घण्टामा प्राण जान्छ । हस्पिटल पुर्याइन्छ तर चिकित्सकबाट हस्पिटल ल्याउन ढिला भइसकेको जानकारी आउँछ । रोग पनि पत्ता लाग्दैन । के गरेको भए बचाउन सकिन्थ्यो भन्ने पनि थाहा लाग्दैन । आफ्ना दुवै सन्तान २ वर्षभित्र गुमाउनुको पीडा कसले अनुमान गर्न सक्छ र ? सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ, भक्कानो फुट्छ अनि मुटुको चाल रोकिन खोज्छ । कठै ती अबोध लालाबाला ! लाउँलाउँ र खाउँखाउँको बेला थियो । स्कूलका विद्यार्थी थिए । अध्ययनमा अब्बल थिए । क्षमता र प्रतिभाले भरिपूर्ण थिए । अनुशासित थिए । सरल अनि शालिन थिए । के थियो र तिनीहरुको दोष ? कसको के बिगारेका थिए र यति छिट्टै लग्यौ भगवान् ? सबैको यो प्रश्न थियो, ईश्वरलाई । उनीहरुप्रति बाबुआमाले निकै ठूलो सपना सजाएका थिए । अनि त्यही सपना साकार पार्न अहोरात्र मेहनत गर्दै थिए । सुन्दर भविष्यको कल्पनामा रमाउँदै थिए । तर आज ती सबै सपना चितामा जल्दै थिए । सबै यादहरु हरक्षण घोच्ने काँडा बनेर मुटुमा बिझ्दै थिए । परिवारमा बाँकी भए केवल दुई दम्पति ! तिनै अभागी बाबु र काख रित्तिएकी आमा ! अनि साथमा छन्, तिनका दर्दनाक पीडा र हृदयविदारक यादहरु ! साह्रै सज्जन थिइन्, ती शिक्षिका । सरलता र शालीनता सायद तिनकै पेवा हुन् जस्तो लाग्थ्यो । किनकि त्यो उनलाई जति अरु कसैलाई सुहाउँदैनथ्यो । दशकौँदेखि सँगै अध्यापन गर्ने दर्जनौँ शिक्षिकाहरु समेत मभन्दा दृढ पाएको थिएँ यस विषयमा । एकातर्फ मेरो मनमा भएको भगवानको आस्था र विश्वास, अर्कोतर्फ आजको यस घटना ! भगवान छन् कि छैनन् ? मेरो मनमा अनेकन् प्रश्नहरुको बाढी आउन थाल्यो । म सानै हुँदादेखि नै बुबाले बारम्बार पाप र धर्मको भिन्नता खुट्याई रहनुहुन्थ्यो । सदा धर्मकर्ममा लाग्न प्रेरित गर्नुहुन्थ्यो । असल बन्न र भलाइका काम गर्न उपदेश दिनुहुन्थ्यो । भलो गरे फल पनि राम्रो हुन्छ भन्नुहुन्थ्यो । बुबाका ती उपदेशजन्य वाणीहरु मेरा कानमा गुञ्जिन थाले । यादहरु तछाडमछाड गरी ओइरिन थाले, वर्षाको भेल झैँ । एक हिन्दी गीतको स्मरण भयो, “तूने जो किया होगा, भला कर भला होगा, बुरा कर बुरा होगा ।” स्कुले जीवनमा पढेको हिरण्यकश्यपु र प्रल्हादको बारेमा लेखिएको पौराणिक कथा सम्झन पुगेँ । हामीले मान्दै आएका सबै भगवानका तस्बिरहरु मेरा आँखा अगाडि देखापर्न थाले । ती सबैलाई एकैठाउँमा भेला पारी एक-एक गर्दै सोध्न मन लाग्यो । म कठोर हुँदै गएँ । तिनीहरुमाथि घृणा लाग्न थाल्यो । तस्बिर र कहानीमा सुनेका भगवानको अस्तित्व माथि शङ्का लाग्न थाल्यो । ती कहानीहरुमाथिको सत्यता केलाउन मन लाग्यो । अझै भनूँ, भगवानको अस्तित्व खोज्न मन लाग्यो हिरण्यकश्यपुले झैँ । छाती पिटीपिटी चित्कार र रोदन मिसिएको आवाजमा भगवानलाई आफ्नो कुनचाहिँ गल्तीको सजाय हो, यो ? भनी सोध्ने आमालाई सम्झाउने बुझाउने हिम्मत कसैको भएन । सबै निःशब्द थियौं । आखिर बोल्नलाई के नै पो बाँकी थियो र त्यहाँ । हरेक शब्द औचित्यहीन बनेका थिए त्यस क्षण । बुबाको क्रन्दन र आवेगले हस्पिटलको आकस्मिक कक्ष नै स्तब्ध थियो । निकै बेरसम्म सम्हालिन नसकेको त्यो दम्पतिलाई जसरी पनि सम्हाल्नुको विकल्प थिएन । निकै बेरको अथक प्रयासपछि केही आफन्तहरु र सहकर्मी शिक्षक शिक्षिकाहरुले सम्हाल्ने कोसिस गरे । जसोतसो शवलाई पशुपति आर्यघाटमा लगियो । हिन्दु संस्कार अनुसार काजकिरिया त गर्नु नै थियो । शवको सदगद गर्नु अनिवार्य थियो । तर कसरी सक्थे र आफ्नो मुटुको टुक्रालाई जलाई खरानी बनाउन ? आफ्नै हातले हुर्काएका प्राणभन्दा प्यारालाई आफ्नै हातले जलाउन कसले पो सक्थ्यो र ! तर ती विवश थिए । घरीघरी लडिबुडी गर्दै छोराको मृत शरीरलाई अँगालो मार्दै बरबराएको दृश्य निकै कारुणिक थियो । छाती पिट्दै आफ्नो प्राण पनि यहीँ लिन गरेको अनुरोध र छोरासँग चितामा सँगै जल्ने ती दम्पतिको चाहनाले सबैलाई निःशब्द गरायो । अन्तिम संस्कारमा जाने सबै भक्कानिएका थिए । आँखाको डिलबाट आँसु झार्दै थिए । सपना जस्तो त्यो वास्तविकतामा एकोहोरो भई निकैबेर टोलाएछु म पनि । यसअघि धेरैजनाको अन्तिम संस्कारमा सहभागी भइसकेको थिएँ । नाता, सम्बन्ध, उमेर, रोग या मृत्युका कारण जे भए पनि हरकोहीलाई मानव मरणको पीडा एकै किसिमको हुन्छ भन्ने सोच्दथेँ तर होइन रहेछ । यो भिन्न थियो । अतुलनीय थियो । अत्यन्तै पीडादायक थियो । अरु कसैको पीडा अनि वियोगसँग पटक्कै मेल खाँदैनथ्यो । आजसम्म पनि मेरो मानसपटलमा यो दु:खद् घटनाको याद ताजै छ । मेरो स्मरणमा घरीघरी आइरहन्छ । त्यस यताका हरेक होलीमा मानिसहरु रङ्गहरुमा डुब्दा म टोलाउने गर्छु । किनकि मलाई रङ्गसँगै त्यस दिनको याद आउँछ । एउटा शवसँग दुई मुटु खरानी भएको पलको स्मरण हुन्छ । हो, त्यस दिनदेखि ईश्वर आफैं निःसन्तान भएझैँ लाग्छ । भगवान स्वयं मरेझैँ लाग्छ । #जयश्\u200dवर रिमाल
आफ्नो पहाड: आँखाले हेर्नु र आँखा खुल्नु भिन्नै रहेछ, सधैँ हेरिएका कुरा, वर परका कुरा देखिएका हुँदा रहेनछन् | आधि बाटोमा आँखा खुल्दा पो चेत आयो बाटो पूरै गलत हिँडिएछ, हिँडिसकेको बाटो फेरि हिंड्न नमिल्ने | बिना अर्थ उचाईको पछि लागिएछ जीवन त गहिराइमा हुदो रहेछ, पहाडहरुले झुक्काउने रहेछन् हो, भ्रमका पहाडहरुले आफ्नो पहाड त आफैँभित्र पो हुँदोरहेछ | बिरौटा १७, पोखरा #कमल राज रेग्मी
राष्ट्र वन्दना: मलाई मेरो मनले सधैँ, यही भन्ने गर्छ – ‘ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ’ ।। देश भन्नु भूगोल मात्रै, हैन भावना हाे, हिमाल, पहाड, तराई सबै, हाम्रै आँगन हाे । मेची-काली हाम्राे नशा, भित्र बग्नुपर्छ, ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ’ ।। जातजाति, भाषाभेष, संस्कृति र धर्म, पहिचान हाे हाम्रो देशको, एकताको मर्म । परिआए देशका लागि, प्राणै त्याग्नुपर्छ, ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ’ ।। मठ-मन्दिर, गुम्वा-चैत्य, मस्जिद, गुरुद्वारा, द्वेष नराख, कर्म गर, भन्छन् धर्म सारा । पहिला हामी नेपाली हाैं, यति बुझ्नुपर्छ, ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ’ ।। मलाई मेरो मनले संधै, यही भन्ने गर्छ – ‘ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ’ ।। उमामहेश्वर मार्ग, कुमारीगाल, कामपा- ७ #मुरारीराज मिश्र
संसारकै विवादास्पद १७ प्रश्न: तलका १७ प्रश्न तमिल राजनीतिज्ञ तथा समाजसुधारक ई.वी. रामासामी नायकरले भगवानलाई गरेका प्रश्न हुन् । उनको जन्म १७ सेप्टेम्बर १८७९ मा भारतको तामिलनाडूमा भएको हो । ९३ वर्षको उमेरमा २४ सेप्टेम्बर १९७३ मा उनको मृत्यु भएको थियो । उनकाे मूर्तिको तल अहिले पनि लेखिएको छ\u200dः ईश्वर छैनन् र वास्तवमा ईश्वर बिल्कुलै छैनन् । जस्ले ईश्वरलाई रचे ती बेवकुफ हुन् । जस्ले ईश्वरको प्रचारप्रसार गर्छ, त्यो दुष्ट हो । जस्ले ईश्वरको पूजा गर्छ, त्यो मूर्ख हो । प्रस्तुत छ, उनकै बहुचर्चित र विवादास्पद प्रश्नहरु: १. भगवान के तिमी डरछेरुवा हौ ? तिमी कहिल्यै कसैको अगाडि आउँदैनौ ? २. भगवान के तिमी जयजयकारमा रमाउने हौ ? जहिले पनि पूजा, अर्चना गराएर खुसी हुन्छौ ? ३. भगवान के तिमी भोको छौ? जहिले पनि सर्वसाधारणबाट दुध, दही, मिठाई आदि लिइरहन्छौं ? ४. भगवान के तिमी मांशाहारी हौ ? जहिले पनि जनावरहरुको बलि चाहन्छौ? ५. भगवान के तिमी सुनचाँदी व्यापारी हौ ? जहिले पनि सुनचाँदी दबाएर बसेका छौ ? ६. भगवान के तिमी व्यभिचारी हौ ? मन्दिरमा कुमारी, दासी र झुमाहरुलाई राख्छौ? ७. भगवान के तिमी कमजोर छौ ? सधैँ हुने बलात्कारहरु रोक्न सक्दैनौ ? ८. भगवान के तिमी मूर्ख हौ? विश्वमा भएको गरिबी, भोकमरी देख्दादेख्दै पनि अर्बौ रुपियाँको अन्न, दुध, तेल बिनाकारण जलाउने र नदीमा बगाउन लगाउँछौ ? ९.भगवान के तिमी बहिरो छौ ? महिलाहरु बलात्कृत हुँदाको चित्कार पनि सुन्दैनौ ? १०. भगवान के तिमी अन्धो छौ ? सधैँ भइरहने अपराधहरु पनि देख्दैनौ ? ११. भगवान के तिमी आतंकवादी हौ ? धर्मको नाममा लाखौैं मानिसहरुलाई लडाउने र मार्ने गर्छौं ? १२. भगवान के तिमी डन हौ ? मानिसहरु तिमीसँग किन डराउँछन् ? १३. भगवान के तिमी लाटो हौ ? हजारौँ मानिसहरुले प्रश्न गर्दा पनि तिमी एकको जवाफ दिदैनौ ? १४. भगवान के तिमी भ्रष्टचारी हौ ? गरिबलाई केही पनि दिदैनौ तर त्यही गरिबले दिनरात मिहिनेत गरेर, पसिना बगाएर कमाएको दान–पैसा लिन्छौ ? १५. यदि पूजापाठ गरेर “बुद्धि र शिक्षा” प्राप्त हुने हो भने किन पण्डित र पुजारीका छोराछोरीहरु मात्र डाक्टर, इन्जिनियर, वैज्ञानिक आदि भएनन् ? १६. कथित अछूतले बनाएको मूर्ति, मन्दिर, घण्ट, छालाको ढोल आदि अपवित्र हुँदैन भने कथित अछूत मन्दिरमा प्रवेश गर्दा त्यो मन्दिर कसरी अपवित्र हुन्छ ? १७. भगवान के तिमी मुर्ख हौ? हामीजस्तो नास्तिकलाई जन्माएर सधैँ आफ्नाविरुद्ध टिकाटिप्पणीहरु सुन्छौ ? संकलक तथा अनुवादक गिरी बहादुर सुनार #गिरी बहादुर सुनार
हाइकु: अखण्ड राज्य, ज्यादती व्यवहार मौन् सरकार ! लकडाउन, नाकमुखमा मास्क पेटमा मुसा ! गुरुयोजना , नेताको त्यो भाषण जनता उहिँ! नेपाल २०, कोरोना पृष्ठभूमी तहसनहस्! लामो छ यात्रा , केही छिन् विश्राम स्वपान चुम्न ! #उमेश थापा
हावासँगै बग्ने बाध्यता: कस्ले भन्छ टुक्रिएका बादलहरुमा दुखाइ छैन भनेर! उसको पनि आफ्नै दुखाइ हुन्छ आफ्नो अस्तित्वका सुन्दर छविहरु मेटेर बग्नु परेको छ हावासंगै बादलको कथा र कविको व्यथामा कुनै अन्तर छैन यहाँ आमा भन्नु हुन्छ “भो…बन्द गर्दे तेरा कलमहरु कस्ले पढ्छ तेरा थोत्रा कविता” इतिहास इतिहासमै सीमित भइगयो वर्तमान आडम्वरमा हिँडि रहेको छ आफ्नै इच्छा र आकाङ्क्षाहरुकै विशेषतामा “त्ससैले बन्द गर्दे तेरा कलमहरु” रगत पसिनाका छिटाहरुले संचिएको हाम्रो वीरता भिक्टोरिया क्रसद्वारा सम्मानित पूर्खाहरुका वीरता पुस्तकबाट च्यातिएका पाना मात्र भइसके आजकल अधिकार खोज्नेहरुकै भिड छ कस्ले गराउँछ कर्तव्य र दायित्त्वका बोध वर्षौँदेखि मगजहरु कुहिरोभित्र गुम्सिएका छन् अस्पष्ट क्षितिजको घेराभित्र “त्यसैले बन्द गर्दे तेरा कलमहरु” यहाँ कविको भन्दा गफिको भाउ छ यहाँ साहित्य भन्दा सत्ताको खाँचो छ बादल झैँ बाध्य छ कवि यहाँको परिभेष र परिस्थितिमा बाँच्न त्यसैले यहाँ बादलको कथा अनि कविको व्यथामा कुनै अन्तर छैन ।। म्यान्मा #कुसुम गौतम
राति: मलाई यादमा मस्तै पिलाएको थियो राति उनैको सम्झना ताजा दिलाएको थियो राति भकानेरै दुखेँ धेरै कुराकानी भयो गाढा मनै फाट्दा उसैले पो सिलाएको थियो राति सबैलाई फकाएरै दिलै जित्ने छ रे बानी नमिल्ने त्यो कुरा जम्मै मिलाएको थियो राति लुकीचोरी लुकामारी भयो के के जुनेलीमा लजाएरै कयौं तारा बिलाएको थियो राति भनौं आफ्नो कथाकुन्थो मलाई के नशा लाग्यो खरो पारी मुखै कस्तो चिलाएको थियो राति (बहरे हजज मुसम्मन सालिम) लिस्बन, पोर्चुगल #सुनील संगम
किताबदेखि किताबसम्म: म आमा-बाको तेश्रो सन्तान । आमाबा तराईमा कटेरो बनाउन संघर्षरत थिए । पाटीमा खरी घोटेर विश्वविद्यालयको प्राध्यापन सम्मको यात्रा तय गरेका पिताका लागि तीन सन्तानको निजी विद्यालयको चर्को शिक्षा धान्न गाह्रो भएको हुनुपर्छ । त्यसैले म ढिलासम्म विद्यालय गइनँ । ढिला यो अर्थमा कि सहरमा त्यसबेला शिशुकक्षाहरु पनि सञ्चालन हुन थालिसकेका थिए । म पहिला दुई शिशु कक्षामा गइनँ । घरमै आमाले अक्षर चिनाउनु भएको थियो । दाइदिदी विद्यालय जाँदा उनीहरुसँग विद्यालय जाने खुब रहर हुन्थ्यो । त्यस्तैमा एक दिन उनीहरुकै पछि लागेर विद्यालय पुगेको थिएँ । आमाले देखाएको साहसले बालाई पनि सहयोग गर्\u200dयो । म विद्यालय जाने भएँ । सोझै माथिल्लो शिशुकक्षामा भर्ना भएँ । त्यसरी तुलनात्मक रुपमा अबेर गरेर मेरो विद्यालय यात्रा सुरु भयो । सायद त्यसैले पठनपाठनको महत्त्व पनि अलि बढी भयो कि ! सात आठ कक्षातिर पढ्दाको कुरा हो । विद्यालय पढ्दा मेरो नाम नै ‘लाइबेरी’ र ‘पुस्तकालय’ राखिएको थियो । किशोरावस्थामा बिपी र समका किताबहरु साथी बनेका थिए । निःशुल्क रुपमा पुस्तक पढ्न पाइने कैलाली जनपुस्तकालय समय काट्ने थलो बनेको थियो । त्यसबेलाका नयाँ किताब त्यहाँ उपलब्ध हुँदैनथिए । तर पुराना किताबहरु तमाम भेटिन्थे । तिनै किताबका पानाहरुमा म हराउन पुग्दथेँ । कहिले तर्कशास्त्रका किताबहरु त कहिले हस्तरेखाका किताबहरु । के चाहिँ पढिएन होला र ! अनि पुस्तकालय प्रचार प्रसारको लागि एकपटक स्टिकरहरु निकालिएको थियो । मैले ती स्टिकर लगेर विद्यालयमा पुस्तकालयको सकेसम्म प्रचार गरेको थिएँ । त्यसैले मेरो न्वारन गरिएको थियो । १० कक्षा सकेर कैलाली बहुमुखी क्याम्पसमा नेपाली साहित्यसमेत लिएर प्रवीणता प्रमाणपत्रतह पढ्ने अन्तिम पुस्ता पनि बनियो । त्यसपछि दशजोड दुईले प्रवीणता प्रमाणपत्र तहलाई विस्थापित गर्\u200dयो । ०६१ सालतिर हो । त्यतिबेला आक्कल झुक्कल कोरे पनि प्रकाशितै हुने गरी केही कोरिएको थिएन । प्रवीणता प्रमाणपत्रतह भन्नुस् या एघार कक्षा भन्नुस्, त्यसैबेला भेट भएका दीपसागर पन्त प्यासीले गजल लेख्न सिकाए । तुलनात्मक रुपमा कम मिहिनेत पर्ने भएको र काफिया मिलाए मात्र हुने (अहिले त बहर र अनेकन थप कुराहरु पनि आउँछन्) गजल लेख्न सजिलै पनि थियो । त्यसैले त्यसै वर्षको अन्त्यमा मैले पहिलो रचना प्रकाशित पनि गरेको थिएँ । त्यो सुदूर सन्देश नामक स्थानीय पत्रिकामा प्रकाशित भएको थियो । बिस्तारै पत्रिकामा नाम देख्ने लत नै पो लाग्यो कि सायद ! त्यसैले सकेसम्म लेखनलाई निरन्तरता दिएँ । पछि गजल छोटा लागे र विचार लेख्ने रहर जाग्यो । त्यो रहर पूरा नहुँदै स्नातक तहमा गणित र अर्थशास्त्र पढ्दै गर्दा पत्रिकाको अपरेटरको काम पनि गरेँ । बिहान क्याम्पस, दिउँसो निजी विद्यालयमा पढाउने गर्थेँ । त्यसपछि पनि ट्युसन कक्षाहरु पढाउने गर्थेँ र अँध्यारोपछि पत्रिकाका सेटिङ्गहरु मिलाउँथे । आर्थिक कारणले भन्दा पनि सृजनामा रमाउने भएकाले त्यो काम थालेको थिएँ । भोलिपल्टको पत्रिका देख्दा दंगदास भइन्थ्यो । सोही क्रममा एकआध रिपोर्टिङ्ग पनि गरियो । सम्पादक नभएका बेला र पत्रिकामा समाचार अभाव भएका बेलामा समाचारका शब्द बढाउनेदेखि सम्पादकीय नै लेख्ने काम पनि भयो । प्रतिक्रिया राम्रै आयो । त्यसैमा पत्रिकाकै सहकर्मीहरुले लेख्न उत्साहित गरे । पत्रिकाको काम त्यस्तै तीन चार महिना चल्यो । गणित र अर्थशास्त्रको पढाइ दिनभरि विद्यालय पढाएर अनि रातभरि पत्रिकाको सेटिङ्ग मिलाएर हुने कुरै थिएन । त्यसैले सबै छोडेँ । तर लेख्ने लत लाग्यो । त्यसैले पत्रिकामा स्तम्भ लेखनको सुरुवात गरेँ । पढेका पुस्तकको चर्चा लेखेँ । सामसामयिक विषयमा लेखेँ । राजनीतिका विषयमा लेखेँ । संस्कृतिका विषयमा लेखेँ । पाठकहरु पनि कमाएँ । केहीले पढेको लेखको प्रसङ्ग झिक्थे अनि खुशी पनि लाग्यो । केहीले पत्रिकामा देखेको फोटोको प्रसंग झिक्थे तर उनीहरुलाई शीर्षकसम्म पनि थाहा हुँदैन थियो र पनि खुशी लाग्थ्यो । घरमा पत्रिकामा लेखेर लेखकस्व ल्याउने पहिलो व्यक्ति थिएँ । पिता प्राध्यापनमा हुनाले लेख त उहाँको पनि छापिन्थ्यो तर लेखकस्व दिने चलन थिएन । मैले लेख बापत त्यो बेला रु. ५० पाउँथे । हुन त त्यसले केही हुन्थेन र पनि लेखेर कमाएको पैसाको बेग्लै मज्जा आउँथ्यो । त्यसपछि हप्तामा ४ पत्रिकामा फरक फरक स्तम्भ पनि थालेको थिएँ । लेखकस्वका रुपमा कुनैले २ सय त कुनैले सय दिने वाचा गरेका थिए । एकले धोका दियो । दोश्रोले गरेको अनावश्यक काँटछाँट मनपरेन । अर्कोको पनि नियमित पैसा आउन सकेन । पत्रिकाहरुको हालत पनि उही त हो । कर्मचारीहरुलाई निम्नतम सुविधा दिन सक्ने अवस्थामा थिएनन् । त्यसैले बिस्तारै हप्तामा ४ स्तम्भ लेखिरहन जाँगर मरेर गयो । सपनामा पनि नचिताएको कुरा त्यसै बेला भयो । माया बस्यो । अखबारमा छापिएका गजल र लेखले प्रेमिका फकाउन त सजिलो भयो तर प्रेमिकाका बाले निजी विद्यालयमा मास्टरी गर्ने र गजल लेख्नेलाई छोरी देलान् भन्नेमा हामी दुवैलाई विश्वास भएन । स्नातक तहको पढाइ नै पनि दया लाग्ने खालको भइसकेको थियो । त्यस्तैमा हाम्रा बाटो अलग-अलग भयो । सायद परिस्थितिसँग जुध्न नसकेर होला म प्रवास उछिट्टिएँ । नयाँ सुरुवातको आशा पनि थियो । नेपालमा अर्थशास्त्र र गणितको त्रिविको स्नातक जेनतेन सकिएको भएपनि फेरि व्यवस्थापनमा स्नातक सुरु गरेँ । खासमा पाँचौँ अर्धवार्षिक सत्रमा अमेरिका, बेलायत वा अष्ट्रेलियाका विश्वविद्यालयहरु छानी-छानी जान पाइने कुराले लोभ्याएको थियो । जर्मन कम्पनीमा विद्यार्थीको रुपमा काम गर्न पाइने अवसरले लोभ्याएको थियो । फेरि पढाइ सकेर पनि काम गर्नु नै हो पढ्दा पनि गरी त हाल्छु भन्ने भयो । साढे सात वर्ष निजी विद्यालयमा मास्टर भएको मान्छे जर्मनीमा आएर रेष्टुरेन्टका टेबलहरु पुछियो । कारखानामा कामदार भएर काम गरियो । पछि भाषा सिकेपछि म्याकडोनल्डको काउण्टरमा काम गर्न थालियो । बोनसमा टेबल पुछ्नेदेखि हरेक आधा घण्टामा शौचालय जाँच गर्ने काम त छँदै थियो । यस्तै दुःख गरेर स्नातक सकियो । अमेरिकाको क्लालिफोर्निया स्टेट युनिभर्सिटीमा एक सत्र पढ्ने अवसर पनि मिल्यो । जर्मन कम्पनी बोसमा पनि कामको अनुभव बटुलियो । त्यसपछि नेपालमा पढेको अर्थशास्त्रको लोभ लाग्यो । स्वर्णिम वाग्ले र विश्व पौडेल जस्ता अर्थविद्हरुको प्रगति देखेर लोभ लाग्यो र अर्थशास्त्रमा स्नातकोत्तर सुरु गरेँ । पढाइ प्रति चित्त नबुझे पनि सोही पढाइका क्रममा मर्सिडिज कार उत्पादक डाइमलर कम्पनीमा १० महिने काम गर्ने अवसर मिल्यो । केही महिनाअघि त्यो पनि छोडेर एक आइटी कम्पनीमा तथ्याङ्क विश्लेषणको क्षेत्रमा काम सुरु गरेको छु । मोटामोटी यही नै हो । त्यसबाहेक २०२० को लागि चार मुख्य काम साँचेको थिएँ । प्रेम सम्बन्धलाई औपचारिकता दिने काम भयो । जागिर खोज्ने काम भयो । अब थप दुई काम बाँकी छन् । ती पूरा भएपछि कुनै दिन लेखौँला । लेखन र पठनमा बीचमा केही अवरोध अवश्यै भयो । विद्यालयको जस्तो स्वछन्द भएर पछिका दिनमा पढ्न सकिएन । झन् प्रवास बसाइका क्रममा त नेपाली किताब पाउन साह्रै गाह्रो । सन् २०१६ देखि पुस्तक पठनको वार्षिक संख्या तोक्ने होड चल्यो । त्यसपछि पठनले गति लिएको हो । यसै क्रममा विद्यालय छँदैको १०० पुस्तक पढिसक्ने रहर पनि पूरा भयो । १०० पुस्तक पढ्न ३० वर्ष लाए पनि गएको दुई वर्षमै डेढ सय पुस्तक पढिभ्याएको छु । कम से कम वर्षको २४ र महिनाको दुई पुस्तक चाहिँ जीवनभर पढिरहने प्रयासमा छु । तर यो उद्देश्य प्राप्त गर्नका लागि थुप्रै बाधाहरु पनि छन् । विशेषगरी नेपाली साहित्यका पुस्तकका हकमा साह्रै गाह्रो छ । सबैभन्दा पहिले त ल्यादिने मान्छे पाउन गाह्रो । हुलाकबाट मगाउँदा मगाएका किताब नभेटिने र पैसा पनि थुप्रै खर्च हुने समस्या त्यस्तै । नेपाली साहित्य जान्न वा लेखकलाई समेत प्रोत्साहन होस् भनेर किन्न खोज्दा लेखकले भन्दा हुलाकले बढी पाउने र त्यो खर्च धान्न गाह्रै पनि हुने अवस्थाहरु थियो । फेरि किनेका किताब पढ्न लैजाने साथीहरुसँग माग्न जस्तो गाह्रो केही भएन । आफूसँगै पनि केही अरुका किताबहरु छन् । फर्काउन खोज्दा पढ्छु कि जस्तो लाग्छ तर पढेर सकिएको हुँदैन । त्यसैले इ-पुस्तकतिर रुचि बढेको छ । भ्याएसम्म चिनेका प्रकाशकहरुलाई घच्घच्याउने क्रममै साहित्य पोष्टसम्म पुगेको हुँ । इ-पुस्तकसँग जोडिएको अर्को स्वार्थ पनि छ । पठनसँग लेखन पनि सुरु गरेकाले प्रकाशनका लागि बाटो कुरिरहेका केही थान किताब छन् । २०६१ देखि लेखेका गजलहरु त संग्रहित गरेर अमेजनमा प्रकाशन पनि गरेँ । त्यो पुस्तकबाट उति आशा थिएन । खाली प्रविधि जान्ने लोभले त्यतिसम्म गरेँ । अब प्रकाशनमा समस्या छैन भन्ने थाहा भयो तर कमसल लेखेको आरोप नलागोस् भनेर पहिले नै १५ कथा समेटिएको संग्रह सम्पादनमा छु । त्यसका कथाहरुलाई बलियो बनाउन अध्ययन र सम्पादन जारी छ । संस्मरणात्मक लेखहरुको संगालो पनि पालो कुरेर बसेको छ । धनगढी छँदा लेखिएका र खुब मन पराइएको ‘तिमी नारी किन यति हठी?’ शीर्षकका लेखहरुलाई पनि पुस्तकाकार दिने लोभ छ । हो यिनै कुराहरुले पनि इ-पुस्तकप्रति रुचि बढेको छ । इ-पुस्तक यो वर्ष पत्ता लागेको प्रविधि होइन । आजभन्दा करिव १३ वर्षअघि नै अमेजनले इ-रिडर निकालेको हो । अंग्रेजीका इ-पुस्तकहरु अन्य तरिकाले अझै अघि पनि पढिन्थे होला । नेपाली पुस्तककै हकमा पनि पाण्डुलिपिले निकै अघि इ-पुस्तक प्रकाशित गरेको थियो । नयनराज पाण्डेयको ‘निदाएँ जगदम्बा’ त्यसैबाट किनेर पढेको थिएँ । गुगल बुक्समा सरुभक्तको ‘पागल बस्ती’ पनि निकैअघिदेखि प्रकाशित थियो । अमेजनमै पनि नेपाली भाषाको पुस्तक अलि अघिदेखि नै प्रकाशित थियो । खालि यसपालि नेपालीहरु अलि फुर्सदिला भएकोले यसको चर्चा केही चुलिएकोसम्म हो । यदि सावधानी अपनाइएन र पाठकको सुविधालाई ध्यान दिइएन अनि क्रमिक सुधारहरु आएनन् भने यो त्यसै सेलाएर जानेछ जसरी पहिले सेलाएर गएको थियो । प्रविधिसँगसँगै एउटा आचारको सवाल पनि छ । लेखकहरुको लेखकस्वको के हुने ? बौद्धिक सम्पत्तिको फाइदाको कुरा के हुने ? यस्ता सवालमा पनि साहित्यपोष्टको योजना बढी लेखकमैत्री लागे । इ-पुस्तक प्रकाशनका नाममा लेखन क्षेत्रमा पनि म्युजिक नेपालले संगीतका क्षेत्रमा गरेको मनमानी नदोहोरियोस् भन्नेमा अहिले अरु त्यति चनाखो भएको जस्तो लाग्दैन । अस्वस्थ प्रतिस्पर्धा सुरु हुने हो कि भन्ने चिन्ता पनि छ । त्यसैले हालसम्म अलि कमै स्थान पाएको साहित्यलाई नै मूल विषय बनाएर अनलाइनसमेत सञ्चालन गर्ने गरी एक शब्दसाधककै पहलमा हुन लागेको काममा हातेमालो गर्ने प्रयास गरेको छु । आशा छ, यसले साहित्यका क्षेत्रमा सहयोग पुर्\u200dयाउने छ । लेखक र पाठक दुवैलाई नजिक ल्याउने छ । अस्तु ! (लेखक हाल जर्मनीमा तथ्याङ्क विश्लेषणको क्षेत्रमा कार्यरत छन् ) #रमण पनेरु