text
stringlengths 146
47.7k
|
---|
भाव: जलाई नसोध मुटुमा, मेरो घाउ कहाँ छ ? आँसुमा सधै मेरो, तिम्रो माया कहाँ छ ? तिमी थियौ जीवनमा, नसोध, अरु साथी कहाँ छ ? एक्लो छु यो घरमा, तिम्रो तस्बीर कहाँ छ ? कति कुरा गुम्सिए होलान मुटु मेरो कहाँ छ ? पर्खेर तिमीलाइ, भुलेर मायालाई बाच्दैछु आज यहाँ लेख्दै छु यो गीत तर नसोध यहाँ ”भाव” कहाँ छ ? #सुशान्त थापा |
प्रेमालय: जहाँ प्रेम गर्न सिकाइन्छ: प्रेम के हो? के प्रेममा यौन जरुरी छ? सायद यिनै सामान्य प्रश्नहरुको जटिल उत्तर हो अश्विनी कोइरालाको उपन्यास ‘प्रेमालय’ । प्रेमालय एउटा उपन्यास मात्र नभएर यो विद्यमान समाजको यथार्थता हो । यो हरेक मानिसको जीवनमा कोही न कोही व्यक्तिप्रति जागरुक हुने शारीरिक तथा मानसिक अनुभूतिको सँगालो हो । प्रेमालय उपन्यासको मुख्य तात्पर्य—प्रेम केवल भावनाहरुको छाल हो, जुन न त कसैलाई पाउनुमा छ न त कसैलाई गुमाउनुमा नै । प्रेमालय उपन्यासको प्रतिद्वन्द्वि पात्र रिसभ सरले शुरुवात गर्नु भएको भिन्न खालको शैक्षिक संस्था हो जहाँ प्रेमको भाषा र विषय पढाइन्छ । प्रेमालयमा विद्यालयमा जस्तो विज्ञान, मानविकी र व्यवस्थापन संकायमा पठनपाठन गराइँदैन बरु मानिसको अनुभूति र अभिव्यक्ति, धोका र विश्वास र आकर्षण र प्रभावकारिताको विषयलाई प्राथमिकता दिइन्छ । कथाको प्रमुख पात्र सहजले गुराँसलाई कलेज पढ्दादेखि नै प्रेम गर्न शुरु गरेको हुन्छ । असहजता र शीतयुद्धबाट शुरु भएको सहज र गुराँसको सम्बन्ध अन्तत: प्रेममा परिणत हुन्छ । तर धेरै अघिदेखि गुराँस रिसभ सरसँग आत्मियता गाँसेर शारीरिक सम्बन्ध पनि राखिसकेकी हुन्छिन् । गुराँसको सहजसँगको प्रेम सान्दर्भिक र समकक्षी बीचको आकर्षण हो भने रिसभ सरसँगको प्रेम स्वतन्तत्राको पराकाष्टा । उपन्यासको अन्य पात्रहरु निराजन र राधा, रावण र सीता, वात्य सर र जानुका, गजमेर र वसन्त पनि उत्तिकै प्रेरक र रोचक छन् । हरेक पात्रहरुको कथा मनमा गढ्ने खालको छ । रिसभ सरले प्रेमको विषयमा तुलना गरेको विज्ञान र परमाणु र प्रेम र सम्बन्धको कुराहरु निकै रोचक र चाखलाग्दो छ । अन्तमा सहजले रिसभ सरको हत्या गरेर आफू पनि आत्महत्या गर्दछ । गुराँस जसले रिसभ सर र सहज दुवै सँगको प्रेमको रसास्वादन गरेकी हुन्छिन्, अन्त्यमा दुवै प्रेमीको मृत्युसँगै एक्लिन्छिन । उपन्यासको अन्त्यसँगै यसले पाठकलाई अन्य जटिल प्रश्नहरुसँग अवगत गराउँछ: मृत्यु प्रेमको अन्त्य गर्छ कि सम्बन्धमा मात्र पूर्णविराम लगाउँछ? के विवाह पश्चात प्रेम सम्बन्ध टुङ्गिएर शारीरिक सम्बन्धमा मात्र सीमित हुन्छ? #सुजन दाहाल |
लक डाउनमा नवपुस्ताः कोही हिप्पीको अनुवाद गर्दै, कोही प्यालेस्टिनी लेखकसँग बात मार्दै: देश विगत ५२ दिनदेखि लक डाउनमा छ । लक डाउनका कारण सबै आफ्नै घरमा, कोठामा थुनिएका छन् । कोरोना संक्रमणको अवस्था झन् झन् बिकराल बन्दै गइरहेकै छ । तर यो विशम परिस्तितिमा पनि नेपाली साहित्य निदाइहालेको भने छैन । देशका चलेका लेखक तथा साहित्यकारहरूका लक डाउनसँग जोडिएको अनुभव, दृष्टिकोण तथा उनीहरूले गरिरहेका काम र पढिरहका पुस्तकको बारेमा सर्वत्र चर्चा भइरहेको छ । विभिन्न अनलाइन प्याटफममार्फत् उनीहरू पाठक तथा अन्य लेखकहरूसँग जोडिइरहेका पनि छन् । समग्रमा भन्नुपर्दा, अधिकांश देशका चलेका लेखकहरूले यस विश्व कोरोनाले आक्रान्त बनिरहेको समयमा त्यस्तो कुनै विशेष लेखनमा काम गरिरहन नसकेको बताउँदै आएका छन् । तर तिनै चलेका लेखकहरूलाई सुनेर, हेरेर अघि बढिरहेको नेपाली साहित्यको काँध, नवपुस्ताचाहिँ लक डाउन के गरेर बिताइरहेको छ त ? देश लक डाउनले आक्रान्त बनिरहेका बेला नवपुस्ताका उदयमान साहित्यकारहरू के गर्दै छन् ? उनीहरू लक डाउनलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । आज हामी यस स्तम्भमा नवपुस्ताका प्रतिनिधि पात्रहरूका कुरा सुन्छौँ । सुरेस बादलः “ पाउलो कोएल्होको उपन्यास हिप्पीको नेपाली अनुवाद गर्दैछु” लकडाउन बसाई काठमाडौँमै भयो । लकडाउनमा एकान्तवास मिल्नेछ, र धेरै सिर्जनात्मक काम गर्न सकिन्छ भन्ने लोभले नै नुवाकोटमा भएका परिवारले आइज भन्दाभन्दै पनि घर गइनँ । डेरामै धुम्धुम्ती बसेको छु भन्दा हुन्छ । कोरोना संसारकै लागि शुभसमाचार रहेन । म पहिलो पुस्तकको विमोचन चैतमा गर्ने तयारीमा थिएँ । तर कोरोना महामारी र लक डाउनका कारण विमोचन अनिश्चित बनिदियो । फाइनप्रिन्ट बुक्सले प्रकाशनको जिम्मा लिएको मेरो आत्मपरक आख्यानको पुस्ताकाकार अब लकडाउन खुलेपछि नै आउँछ होला । एउटा काम प्रतिकुल समयका कारण अल्झियो भन्दैमा केही नगरी बस्नु भएन । फाइनप्रिन्टबाटै प्रकाशित हुने पाउलो कोएल्होको उपन्या ‘हिप्पी’को नेपाली अनुवाद गर्दैछु । अन्तिम चरणमा छु । जुन लक डाउनको उपलब्धिमध्ये सबैभन्दा महत्वपूर्ण रह्यो । लेखनको कुरा गर्दा पहिलो किताब बजारयात्रा अनिश्चित भए तापनि दोस्रो किताबको पनि लकडाउनको सदुपयोग गर्दै आफैँले सम्पादन सकाएको छु । यो पुस्तक उपन्यास रहने छ । साथै फुटकर लेखहरू पनि लेखेँ, जुन आफ्नै ब्लगहरूमा प्रकाशित गरेँ । सामाजिक सञ्जालमा जल्दाबल्दा विषयहरूउपर आफ्ना विचारहरू पनि निरन्तर लेखिरहेको छु । सञ्जालमा लेख्दा सक्दो चोटिलो र रमाइलो शैलीको प्रयोग र विकास गरिरहेको छु । नयाँ नयाँ पाठक, साथीहरू र फलोअर्सहरूसम्म पुग्न यो लकडाउन र सामाजिक सञ्जाल सहायकसिद्ध भएका छन् । यीबाहेक धेरै चलचित्र र सिरिजहरू पनि हेर्न भ्याएँ, जसले लेखन र अनुवादको बीचमा आउने पट्यार र आलस्यता चिर्न मद्दत गरे । पठनको कुरा गर्ने हो भने तुलनात्मक रूपमा कम पढियो । केवल भारतीय लेखक अमितभा बागचीको “हाफ द नाइट इज गन” भन्ने उपन्यास र नेपालीमा शिवानीसिंह थारूको “काठमाडौँमा एकदिन” गरेर दुई पुस्तकमात्र पढ्न सकेँ । अँ, आफ्ना केही कविताहरूको भिडियो बनाउनुलाई पनि यही लक डाउनको उपलब्धि मान्नु पर्ला ! साहित्यपछिको मेरो रूचि खाने कुरामा छ । त्यसैले लकडाउनमा युट्युब हेरेर केही नयाँ परिकार बनाउन सिकेँ । अब यति गरेपछि लकडाउन पछि घुम्न, डुल्न पाइन्छ भन्ने छ । सुदर्शन पौडेलः “हामीले बाँचेको समय लकडाउनबाट छिट्टै बाहिर निस्किनेछ, म आशावादी छु ।” म कोरोनाको विशमतामा आफ्नो लक डाउन अनुभव र यस बिल्कुल खालि समयको उपलब्धि लेख्दै छु । यसर्थ ममा खुसी र दुःख मिश्रित संवेगहरू चलायमान छन् । २२ वर्षीय प्यालेस्टिनी लेखक मोन्नद युनस, जसले २ वर्षअघि आत्महत्या गरे, उनको कथा जान्ने रहरमा मैले उनको बारेमा खोजी गरिरहेको थिएँ । केही दिनअघि प्यालेस्टिनी लेखक तथा अनुवादक नाइम अल खातिबसँगको सम्पर्कमा पुगेँ । गाजा क्षेत्रमा बसिरहेका उनी र अन्य प्यालेस्टिनीहरू इजरायल र इजिप्टबीच वर्षैँदेखि लक डाउनमा बस्न बाध्य छन् । “यसरी बाँच्नुपर्दा कस्तो महसुस हुन्छ ?” भन्ने मेरो प्रश्नमा उनले उत्तर थियो– “एउटै अवस्थामा बाँचिरहँदा वर्तमान कहिल्यै असामान्य लाग्दैन । मानिस परिस्थितिसँग अभ्यस्त हुनपुग्छ, र वर्तमानको सही मुल्याङ्कन भविष्यमा मात्र गर्न सकिन्छ ।” अहिले उनै खातिबलाई सम्झिरहेको छु । ५० दिनसम्म आइपुग्दा घर नै सडक, घर नै खेलमैदान, घर नै कलेज, घर नै क्याफे र घर नै पुस्तकालय बनेको सत्यसँग अभ्यस्त भैसकेको छु । र लकडाउनले घर शब्दको वास्तविक महत्व बुझाएको छ । अस्ति औषधि किन्न एक महिनापछि बाहिर निस्किएँ । सडकको दुवै साइडमा उम्रिएको दुवो, हरिया पातहरूले सजिएका रुख, कतैकतै घाम ताप्दै बसिरहेका गाइहरू; आँखा यी सब दृश्य कैद गर्दै डुलिरहेका थिए । सडकमा हिँड्न पाउनु पनि कुनै विशेषाधिकार भएको देखेर आश्चर्य र रमाइलो एकैपटक लाग्यो । अतिआवश्यक कामबाहेक बाहिर निक्लिने कुरो छैन । घरै बसेर म केही पुस्तकहरू पढिरहेको छु, र सिनेमाहरू हेरिरहेको छु । पुस्तकका पात्रहरू निष्फिर्की डुलिरहेका छन्, म उनीहरूकै काल्पनिक संसारको अवलोकनमा चित्त बुझाउन बाध्य छु । दिमागमा लेख्नको लागि विभिन्न परिवेश र पात्रहरू घुमिरहेका छन्, तर औँलाहरूले लेख्न भने नसकिरहेको अवस्था छ । म आफूलाई यो समयमा विचलित हुन नदिन जीवनशैलीमा केही परिवर्तनहरू गरिरहेको छु । पहिले भेटेर कुराकानी हुने साथीभाइसँग फेसबुक–ट्विटरबाट सम्पर्क कायम गरिरहेको छु । समाचारबाट सक्दो भागिरहेको छु । दैनिक व्यायाम र ध्यानमा आफूलाई खर्चिरहेको छु । भेटेर हुने पुस्तक छलफल जुमबाट गरिरहेको छु । माध्यम र प्रकृया परिवर्तन गरेर सकेसम्म लकडाउन अघिकै जिन्दगी बाँच्ने प्रयास गरिरहेको छु । हामीमाझ कोरोनाको सन्त्रास जतिसक्दो छिटो सकियोस् । लकडाउनले मारमा परेका गरिब र असाहयलाई सरकारी र अन्य संयन्त्रबाट उचित सहयोग पुगोस् । स्वास्थ्यकर्मीहरूले यो समयमा गरिहेको मेहनतले सोचेजस्तो प्रतिफल लिएर आवोस् । अन्य उपाय ननिस्किदाँसम्म हामीसबै घरघरमै बसौँ, र यहाँबाट बाहिर निस्कदाँ मानवजातिले भोगेको यो समयको मुल्याङ्कन गरोस् । हामीले बाँचेको समय लकडाउनबाट छिट्टै बाहिर निस्किनेछ । म आशावादी छु । संस्कृति रिजालः “अध्ययन आफैँमा एक धारिलो बौद्धिक हतियार रहेछ” ग्रिष्म ऋृतुको समय छ । तर मौसम छिनछिनमा बदलिरहन्छ । घाम, कालो बादल, वर्षाबीच प्रतिस्पर्धा भइरहन्छ । ममा पनि दिल र दिमागको प्रतिस्पर्धा भइरहन्छ । प्रकृतिले मेरो दिल र दिमागलाई एउटै लयमा कब्जा गरिरहन्छ । प्रकृतिलाई मौसमले बदलिदिन्छ, मलाई पात्रले । लकडाउन घरमै थुनेको पनि लामो समय बितिसक्यो । योबेला बद्लिरहने प्रकृति र मलाई बदल्दिने पुस्तक मेरो निकटका साथी भएका छन् । साहित्य अध्ययनमा रुचि राख्ने भएकाले यो फुर्सदको समय कला तथा साहित्यका पुस्तकहरू र राजनैतिक परिवेशका पुस्तकहरू अध्ययन गरिरहेकी छु । कलेज बन्द छ, कलेजका पुस्तक पनि । भर्खरै पढिसकेको पुस्तक कर्नाली ब्लुजको कथा, परिवेश र पात्रलाई बारम्बार स्मरण गर्छु । कर्नाली ब्लुजलाई सन्तानको आँखाबाट अभिभावकको संघर्ष प्रष्टाउने पुस्तकको रुपमा पाएँ । सुदूर तराईको कथादेखि सुदुर पहाडको कथा पढ्दा कथाको परिवेश र भावले सँगै हिँडाइरह्यो । मैले अहिले अध्ययन गरिरहेको अर्काे पुस्तक लोकतन्त्र र आजको माक्र्सवाद पनि हो । समाजशास्त्री चैतन्य मिश्रको राजनितिक चिन्तनमा लेखिएको उक्त पुस्तक पढिरहँदा मलाई देशको वर्तमान परिस्थितिले झक्झक्याएको छ । लक डाउनको फुर्सदिलो समयमा घरको सामान्य कामपछिको समय अध्ययन र लेखनमै बितिरहेको छ । कहिलेकहीँ लेख तथा बुक रिभ्यु लेख्ने गरेकी थिएँ, अहिले भने लेख्न प्रयास नै नगरेका डायरी, कथा, कविता लेखनमा पहिलोपटक प्रयास गरिरहेकी छु । यसर्थ कोरोनाले विश्वसामु अनेकन चुनौति राखिदिएको यो समय मेरो लागि भने लेखन र पठनमा अवसर बनिरहेको छ । मैले लकडाउनको सुरुमै पढेको पुस्तक विमान विद्रोह पनि हो । विमान विद्रोह एउटा राजनीतिक अपहरणको बयान हो । जसले नेपालको राजनैतिक दलको र लोकतन्त्रको उदयलाई जोडेको छ । लेखक दुर्गा सुवेदीको व्यक्तिगत भोगाइ समेटिएको यस पुस्तक नेपालको राजनितिक इतिहाससँग जोडिएको छ । लकडाउनकै समयमा मैले न्याय, बेलायततिर बरालिँदा, अनुहारको भीडलगायतका पुस्तक पनि अध्ययन गरँे । प्रायः पुस्तकका घटना, कथा, परिवेशले उही परिवेश, कथा, घटनामा बाँधिरहेझैं लाग्यो । लेखक तानासर्माले लेखेको पुस्तक बेलायततिर बरालिँदामा लेखकका बेलायत यात्राका तितामिठा अनुभुतीहरू छन् । प्रकृति र पुस्तकसँग निकट भएर समय बिताइरहन मलाई कति पनि झन्झट लागेको छैन । अध्ययनले अझै नयाँ नयाँ साहित्यिक पुस्तक पढ्ने उत्सुकता जगाएको छ । मैले शब्दका भावमा डुबेर विश्व अवलोकन गरिरहेझैं लाग्छ । लक डाउनमा घरभित्रै बसे पनि परिवारबीच रमाइलोसँग समय बिताइरहेको छु । परिवारसँग धेरै नजिक भएको महसुस गरिरहेकी छु । सँगै पढिरहेका साथी यतिबेला मागको नियम पढ्छन, म पात्रको जीवनको नियम पढ्छु । पढ्न मन लागेका अन्य पुस्तक ल्याएर पढ्न नपाए पनि आफूसँग भएका पुस्तकका शब्द–शब्दलाई महसुस गरेर पढिरहेकी छु । यतिबेला प्राकृतिक वातावरणले परिवर्तन नगरेको मेरो मष्तिकलाई पुस्तकका पात्रको भूमिकाले छिनछिनमा परिवर्तन गरिरहन्छन् । त्यसैले, अध्ययन आफैंमा एक धारिलो बौद्धिक हतियार रहेछ । नवीन प्यासीः आख्यानमा रहर जागेको छ, केही लामा छोटा कथाहरू लेखिरहेको छु लक डाउन सामान्य नै बितिरहेछ । घरभित्रै बन्दी भएर बसिएको छ । पढ्ने काम पुरानै तरिकाले चलिरहेको छ । केही कथा संग्रह, उपन्यास पढेँ । तर विशेष गरेरचाहिँ सिनेमा हेरिरहेको छु । विभिन्न विधाका सिनेमाहरू खुब इन्जोय गरिरहेको छु । संसार र जीवनलाई चिह्याउने अनेक आँखिझ्यालहरू सिनेमामा भेट्दा मलाई मजा आउँछ । आफूभन्दा फरक भूगोल, फरक समय, फरक परिवेश र फरक भाषासँग बाँचिरहेका मानिसहरूको जीवनप्रतिको दृष्टिकोण र बुझाइले हैरान बनाइरहेछ । भर्खरै कुर्दिश सिनेमा ’टर्टल्स क्यान फ्लाइ’ हेरेँ । पछिल्लो समय युद्धसँग सम्बन्धित सिनेमा अलि बढी हेरिरहेको छु । युद्ध आफैँमा भयनक दर्शन लाग्छ मलाई । युद्ध जीवनको समाप्ति पनि हो, र सुरुवात पनि हो । युद्धले जीवनको भीख पनि माग्छ, र बदलामा जीवन पनि माग्छ । आफैँमा विरोधाभाष लाग्छ मलाई युद्ध । “टर्टल्स क्यान फ्लाई’ कुर्दिश वार सिनेमा हो, बेहमान घोबदीको । यो सद्दाम हुसेनको शोषणको समयको कथा हो (इराक अमेरोका युद्ध) । साना तीन जना पात्र छन् । एक १३–१४ वर्षीय बालक, जसको दुवै हात गुमेको छ । अर्की उसकी बहिनी छे, ११ वर्ष जतिको । उनीहरूको परिवार बिस्फोटमा परेर मरेका हुन्छन् । र यी दाजु बहिनी भाग्दै जाँदा बाटोमा अर्को ६ वर्ष जतिको नाबालक फेला पर्छ । शरणार्थी शिविरमा रहेका यिनीहरूमध्ये बहिनी ६ वर्षीय बच्चालाई छाडेर जानुपर्ने अडानमा हुन्छ । तर दाजु मान्दैन । यो बीचमा भोक, अभाव र सानी बच्चीले बारबार छाड्न खोजिरहेको सानो बच्चाको निर्दोषपनले साह्रै नमज्जाले किचिरह्यो । यी केटाकेटीहरूले बाँच्नका लागि गरेको संघर्ष र त्यसबीचमा छचल्किने मानवताले बेस्सरी किच्यो । तीनचार दिनसम्म रनथनिएँ । युद्धको बीचमा केटाकेटीले भोगेको दुःख र त्यही दुःखबीचबाट चिहाउने संसार र जीवनले नराम्रोसँग बिथोल्छ । यस्तै अरू सिनेमाले पनि खुब बिथोल्यो । हामी मानवीयता देखाउन मात्र चाहन्छाँै कि साँच्चिकै देखाउँछौ भन्ने कुरा युद्ध सिनेमाले देखाउँछ कि झैँ लाग्छ । लेखनको कुरा गर्दा, मैले लेख्ने कविता हो । त्यो लेखिरहेछु । केही छोटा र केही लामा कविताहरू लेखिसकाएँ । आख्यानमा पनि रहर जागेको छ पछिल्लो समय । केही छोटा लामा कथाहरू लेखिरहेको छु । |
सरकार: जनता र राष्ट्रको अभिभावक हो सरकार समृद्धि र विकासको आधार बन्नु पर्छ भ्रष्टाचार र बेथितिमा होइन चहराइरहेको कोरोनामा मलम बन्नुपर्छ । स्वास्थ्य सामग्री खरिदको नाममा घोटाला गर्दै विरोधीपति आक्रोश पोख्ने होइन विरोधबाट गल्तीको पाठ सिक्दै जनताको स्वास्थ्यप्रति जिम्मेवार बन्नुपर्छ । कोरोनाको उपचार नगर्ने अस्पतालहरूलाई कानुनअनुसार कार्बाही गर्नुपर्छ बिरामीहरूलाई घर फर्काउने होइन, उनीहरूको बिमारलाई निको पार्नुपर्छ । कोरोनाले विश्व हल्लाइरहेको अवस्थामा कोरोनाका रोगीहरू ट्रेस गर्नुपर्छ रोगीहरूको अपहेलना होइन नेपाल सरकार उनीहरूको बाँच्ने आधार बन्नुपर्छ । (क्याम्पस प्रमुख, बिएसटी कलेज, काठमाडौँ) #नारायण पन्त |
घात: नशाले ढलेँ म भट्टी रित्तिएन, सितनमा उनको याद थियो । पूर्णिमाको दिन चन्द्रमा हरायो, उनको साथको त्यो अन्तिम रात थियो । शब्दको शव भयो अर्थको अन्त्य, तिनै शब्दबाट शुरु भै तिनै अन्तिम बात थियो । मायाको अर्थ गजबले बुझेँ मैले, माया नै माया लटरम्म फलेको बोटको चुरो घात थियो। झापा #दिपेश उप्रेती |
कस्तो समय यो: हिमाल हाँसेको छ, पहाड ढकमक्क पशुपंक्षी मख्ख छन् मान्छे अकमक्क । जताततै हरियाली, हावा छ स्वच्छन्द अरु सबै भयमुक्त, मान्छे आफैँ बन्द । देखिँदैन आकार त्यसको, साह्रै नै छ सूक्ष्म भयाक्रान्त बनाइदियो, बाण यसको तीक्ष्ण । शत्रु यसका मान्छे मात्रै, ताकीताकी शिकार पार पाउन गाह्रो छ कि, मान्छेको छ चित्कार । धन ठूलो कि जीवन हो, अझै द्विविधामा अर्कमण्य मान्छे हुँदा यो झन् सुविधामा । आइसक्यो नजिक धेरै समय पो कम छ पृथ्वीको असल सन्तान हुन सबलाई मन छ । #दीपक राज सापकोटा |
नेपाल जानु थियो: घाम झुल्किएको छैन औँशीको रात; उष्णताको प्रकोपबीच एक बहादुर कालो भादगाउँले टोपीमा आफ्नो इमान बचाउँदै हिँडिरहेछ, सोध्दै “साबजी, नेपाल जाने बाटो किदर है?” र, आफ्नै अगाडि उभिएको बहादुरलाई एकटक हेरिरहन्छ्न्- उसैले टल्काएका सेठ्का बुटहरु जस्ले गरिरहेछन् क्षितिज पारिसम्मको इशारा मानौँ बहादुरले बाटो होइन, विद्रोह खोजेको हो तर पनि हिँडिरहेछ बहादुर इसारालाई अनुवाद गरेर ऊ हिँडिरहेछ कालान्तर; स्वैच्छिक अनुवाद गरेर सायद त्यसैले आजसम्म उस्ले भेटेको छ केवल इसाराहरु जो कहिल्यै सहारा बन्न सकेनन् लामो दुरी तरेपछि बहादुर कालो पहाड पुगेको छ जहाँदेखि पर-परसम्म कोही बहादुरले माजो लामो गरी चङ्गा उडाएका छैनन् अनि कोही बहादुरले डाँडोबाट चिच्याएको पनि सुनिएको छैन सुनिएको छ त केवल बहादुरको टोपी लिलाम गर्ने भुस्तिग्रेको “गोली मार्दुङा” वाला जवानी अनि मनमानी जस्ले बर्सेनि बहादुरको टोपीसँगै बहादुरलाई लिलामीमा सुताइरहेको छ र बढाइरहेछ आफ्नो अजङ्गको शरीर विडम्बना आजसम्म अबोधगम्य बहादुरले बुझ्न सकेन दुष्टचरित्र ऊ नतमस्तक चेतनामा कम्पन ल्याउन सकेन बैरी खेलिरह्यो डन्डी बियो; एरी दोरी गर्दै हजारौं हडपी लियो बहादुर गाइरह्यो विरह गीत “नेपाल जानु थियो” ! (विद्यार्थीः १२-(एसओएस हर्मन माइनर विद्यालय, सानोठिमी) स्थायी ठेगाना: वीरेन्द्रनगर सुर्खेत हाल: सानोठिमी, भक्तपुर #साकार शर्मा |
अहोभाव: कतै टाढा टाढा धिप् धिप् धिप् धिप् झुल्किन्छ बत्ती देखाउँछ बाटो झल्काउँछ, सुन्दरता धमिलो धमिलो कहिलेकाहीँ जुनकिरी भै वरिपरि घुम्छ भन्छ म तिम्रै यात्राको सहाय हुँ म तिम्रै एक अवयव हुँ बिहानीको नव-नव खबर हुँ तिम्रै मनको गहिराई हुँ भरिदिन्छ भाव रसिलो रसिलो । कहिले छायाँ भै साथसाथ डुल्छ म तिम्रा सही गलत कर्मका साक्षी हुँ भन्छ अहो ! यो प्रेम के हो ? यस्को मैदान कति विशाल यस्को स्वतन्त्रता कति अपार स्वयं नै स्वयंसङ्ग अलग हुन पनि पाएको छु अब म आफ्नै स्वरुपमा फर्कन्छु भन्दा हृदयमा जीवनप्रति अटल श्रद्धा अनि उस्कै बलियो आभाष पाएको छु यसमा मैले फोहोरमा डुब्न पनि पाएको छु अब उत्रन्छु भन्दा स्वागतको डुङ्गा पाएको छु । मैले बिना संघर्ष जीवन पाएँ यो विराटसभामा सहभागिता पाएँ यस सभाको गरिमा बन्न सकुँ म तिमी भै तिमीमै रहन सकुँ अहो ! यो प्रणय सौगात तिम्रो हो यो जीवन मेरो अघि बढुँ, अघि बढुँ । सुबास बजगाईं |
पटना विश्वविद्यालयकी लिम्सी: डेरा मंदिरीमा थियो । महद्दिपुरको छोटो बाटो हिँड्दै ब्यांकरोड, बिस्कोमान पुगी चाक्लो गान्धी मैदानको बीचको गोरेटो बाटो हिँडेर एलिफिस्टन सिनेमा पुग्थें । त्यहाँबाट टेम्पो गरेर अशोक राजपथको बाटो राजेश्वरी पुस्तक पसलअघि पुग्दा आठ आना तिर्नु पर्थ्यो । देब्रेतर्फ मोडिएर पटना विश्वविद्यालयको सुप्रसिद्ध दरभंगा हाउस, अंग्रेजी विभाग पुग्थें । कहिलेकाहीँ त्यो आठ आना बचाउन अशोक राजपथको बाटो हिँडेरै कलेज न पुगेको पनि होइन । भन्नु पर्छ, ती सकसका दिनहरू थिए नै । बिहान साढे सातदेखि कक्षा सुरु हुन्थ्यो । सधैं जसो केहीबेर अघि नै पुग्थें । म क्लासमा ढिलो हुँदैनथें । कारण अरु पनि थिए । म पुग्दा ऊ आइसकेकी हुन्थी । दस बजेतिर कक्षा समाप्त भएपछि हामी दुवै सँगसँगै निस्कन्थ्यौँ । राजेश्वरी पुस्तक पसलको आड़मा होटेल पायल थियो । हामी दुवै पस्थ्यौं र अन्तिम तिरको टेबलमा आफूलाई सुरक्षित महसुस गर्दै एक प्लेट भेज पकोडा, एक एक गिलास पानी र दुई कप चियाको रोहबरमा कम्तीमा डेड घण्टा त बस्थ्यौं नै । कहिले कहिले मैले, अन्यथा धेरैजसो बिल उसैले तिर्थी । उसकी आमा अरबमा थिई । धेरै जसो त्यही नै हुन्थ्यो । हाम्रो नास्ता र एक डेड घण्टा लगाएर भ्याइएको पानी, पकोडा, चिया र कुराको स्वादसँगै निस्कन्थ्यौं उसको होस्टेलतिर । त्यो ताका अशोक राजपथको पछिल्तिरको कुनै गल्लीमा उसको प्राइभेट गर्ल्स होस्टेल थियो । उसलाई होस्टेलको गेटसम्म पुर्\u200dयाएर म फर्किन्थेँ । राजेश्वरी पुस्तक पसलबाट उही आठ आनाको टेम्पो गरेर, एलिफिस्टन अनि त्यहाँबाट गान्धी मैदानलाई बीचको बाटो चिर्दै हिँडेर बीस तले बिस्कोमान भवनअगाडि पुग्थेँ । त्यहाँबाट प्रारम्भ हुन्थ्यो ब्याङ्क रोड र अन्तिममा पर्थ्यो, ब्रिटिश काउन्सिल पुस्तकालय । बिस्कोमानअघि लिटिका पसल हुन्थे । एक रुपियाँको पाँच वटा लिटी र बैगुनको चोखा (अचार) । दाउराको कोइला चुल्हो भुइँमा राखेर ससाना गहुँ पीठोका गोलाहरु आगोमा सेक्दै लहरै बसेका ती लिटी पसललाई म राम्ररी हेर्दै हिड्थें, कुन पसलका लिटी अलिक ठूला छन् भनेर । अघिल्तिर वरको बुटोलाई घेरेर बनाइएको चबुतरामा बसी ती पाँच वटा लिटी र भुर्ता खाएर पेटमा तीन चौथाई रित्तो रहेको ठाउँलाई पानीले भर्दथेँ । पानी धेरै पिउने बानी त्यहीँबाट बसे जस्तो पनि लाग्छ तर यो पानी धेरै पिउने बानीले निकै फाइदा पुर्\u200dयाएको छ हालसम्म । कहिलेकाहीँ भात खान मन लाग्दा बिस्कोमानको क्यान्टिनभित्र छिर्थें । एक पिलेटको एक रुपियाँ पचीस पैसा लिन्थ्यो । एउटा थालको आधा भागमा फरर फैलिएका भातका सीता, एक कचोरा दाल, तरकारी, भुजिया र आलुको चोखा । थप्न केही पनि पाइँदैनथ्यो । कस्सिएको गाँस बनाउँदा बढीमा चार हुन्थे होलान् तर म ससाना गाँस बनाएर पुर्\u200dयाई-पुर्\u200dयाई मीठो गरेर खान्थेँ । खाली ठाउँ भर्न पानीको सदुपयोग खूब हुन्थ्यो । म अघाउँथेँ पनि । बिसकोमानको भोजनपछि पाँच मिनेट हिँडेर ब्रिटिस पुस्तकालयमा छिर्थें । दिनको एक पटक त्यहाँ नपुग्दा असहज महसुस हुन्थ्यो । पहिला पुस्तकालयका प्रत्येक कोठा चहार्थें अनि अध्ययन कक्षमा पुगी एउटा कुर्चीमा बस्थेँ । त्यहाँ बोल्न मनाही थियो । केही भन्नु छ भने कागतमा लेखेर दिनुपर्थ्यो । आफूले रोजेको पुस्तकमा आँखा गाडेर कहिले विलियम ब्लेक, कहिले लरेन्स, अस्टिन, मर्डक कहिले इब्सेन, शा, शेक्सपियर, कहिले शेली, कोलेरिज, इलियटहरूको संसारमा हराउने बानी परिसकेको थियो । त्यहाँ अनगिन्ती पुस्तक थिए, सबै पढ्न चाहन्थेँ तर असम्भव थियो । फेरि पनि पुस्तकै पुस्तकहरुबीच आफूलाई पाउँदा लाग्थ्यो, पुस्तकका प्रत्येक शब्द, वाक्य र अनुच्छेदहरु मेरो मस्तिष्कमा स्वतः प्रवेश गर्दैछन् । आज त्यो अर्कै संसार थियो जस्तो लाग्छ र थियो पनि । पुस्तकालयको काउन्टरमा बस्ने चन्द्रजी नेपाली हुनुहुन्थ्यो । निकै दोस्ती थियो हाम्रो । अंग्रेजी बोल्नमा आफूलाई निकै सिपालु ठान्नु हुन्थ्यो । सुरुसुरुमा उहाँको अहम् पारामिटर निकै माथि पुगेजस्तो अनुमान गरेको थिएँ र कारण पत्ता लगाउन खासै गाह्रो भएन । एक त उहाँको अंग्रेजी भाषाको शुद्धताभन्दा फ्लुएन्सी निकै राम्रो, अर्को कुनै बखत ब्रिटिश काउन्सिल पुस्तकालयको वार्षिकोत्सवमा पुस्तकालय प्रमुखले ‘मिस्टर चन्द्र पौडेल इज अ लोयल यन्ड ओनेस्ट स्टाफ’ भनिदिएछ । पहिला पहिला सधैं, पछिपछि हप्तामा एक पटक त सुनाउँथे नै मलाई त्यो वृतान्त । पुस्तकालय सदस्यहरुले एक पटकमा चार वटा पुस्तक आफ्नो नाममा लिन सक्थे । म प्रत्येक पटक चार वटा लान्थेँ र दस पन्द्रह दिनमा पढेर वा सर्सर्ती हेरेर फिर्ता गर्थें । एक पटक म घर आएको थिएँ र फर्कंदा मेरा चारैवटा पुस्तक हराए । चन्द्रजीलाई पीडा भनेँ । पहिला त उहाँको फास्ट ट्रयाकको अंग्रेजी निकै चर्को आयो, पछि भन्नुभयो– म मूल्य हेरेर कतिसम्म हुन्छ कन्सेसन गराउने प्रयास गर्नेछु । त्यसै दिन साँझ उहाँ मेरो डेरामा आउनु भयो । केहीबेर कुरा गरियो र भन्नु भयो– निकै महँगो पर्ने भयो त एल. बि.जी । सबै पाउन्ड र डलरका पुस्तक हुन् । मैले ५० प्रतिशत कम गराउँदा पनि निकै धेरै तिर्नु पर्छ ।’ म केही बोलिरहेको थिइनँ । उहाँ नै एकतर्फी बोलिरहनु भयेको थियो । मैले आफूलाई ‘हुन्छ’ ‘हस’मा मात्र सीमित राखेको थिएँ । जानुअघि उहाँले सोध्नु भयो, ‘ए साँची, तपाईं त आर्मीको मान्छे । बिहार रेजिमेन्टबाट एक बोतल रम पाउन सकिन्छ होला ?’ मेरो मस्तिष्कमा सरर धेरै कुरा पसे । “चन्द्रजी भोलि साँझ यतिबेला नै आउनु होला न । म तपाईंलाई भोलि दुई बोतल टक्राउने छु ।” यो सुन्दा उहाँको अनुहारमा आएको चमक र ओंठको मुस्कान कुनै प्रतियोगिता विजेताको भन्दा कम थिएन । बाहिर निस्केर त्रिवेणीको पसलबाट टेलिफोन गरेँ, ‘लिम्सी, तुम कल सुबह ८ बजे महद्दीपुर गोलघर आ जाना । वी आर गोइङ दानापुर ।’ अर्को दिन साँझ चन्द्रजी आइपुग्नु भयो । मैले एउटा झोलामा उहाँको नासो टक्राएँ र उहाँले ब्रिटिश काउन्सिल लाइब्रेरीका पुस्तक इस्सु गराउने मेरा चार वटा कार्ड फिर्ता दिनु भयो । उहाँ जानु भयो र केहीबेरपछि म र लिम्सी गर्ल्स होस्टलतर्फ लाग्यौं । बाटोमा म चन्द्रजीले बारम्बार दोहोर्\u200dयाउने वाक्यहरु सम्झिरहेको थिएँ, ‘यु नो एलबिजी, आई एम कन्सिडर्ड द मोस्ट लोयल एन्ड अनेस्ट स्टाफ अफ माई लाइब्रेरी’ । यसो भन्दै गर्दा उहाँ धेरैजसो ‘माई लाईब्रेरी’माथि जोर दिनु हुन्थ्यो । लिम्सीलाई पुर्\u200dयाएर फर्कंदा पनि तिनै तिनै कुराको सम्झना भइरह्यो । मेरो दुई वर्षको पटना बसाइमा चार-चारवटा गरी पाँच पटक पुस्तक हराए । दानापुर बिहार रेजिमेन्टमा मेरो ठूली आमाको छोरा गोरे दाइ थिए । रमको समस्या थिएन । हो त्यो ताका म रक्सी वा कुनै नशा गर्दिनथेँ । एउटा नयाँ अनुभव संकलन भयो- रम, खानका लागि मात्र हुँदोरहेनछ । एम.ए. पढ्ने ताका लिम्सी र मेरो गहिरो मित्रता स्थापित भएको थियो । मित्रभन्दा अलिक माथि तर प्रेमभन्दा धेरै तल । हामी सधैँ भेट्थ्यौं र पढाइ नभएको दिन कहिले विश्व विद्यालयको त कहिले ब्रिटिस काउन्सिलको पुस्तकालयमा पुगेर पढ्थ्यौं । तर पढ्थ्यौं, नोट बनाउँथ्यौं, एकले अर्कालाई बुझ्ने र बुझाउने प्रयास गर्थ्यौं । लिम्सी पढ़नमा तेज थिई । मेरो बि.ए. पास कोर्स मात्र थियो, उसको र उसका साथीहरुको बि.ए. ओनर्स । मैले आर्मीमा छँदा प्राइभेट बि.ए. पास गरेको थिएँ । उनीहरु रेगुलर विद्यार्थी थिए । हामीबीच धेरै कुरामा फरक थियो तर कुनै कुराले नजिक्यायो हामी दुवैलाई । थाहा छैन कसरी तर हामी नजिकियौं । म स्वार्थी थिएँ । जसरी पनि मैले एम.ए. पास गर्नु थियो । मलाई लिम्सीसँग सिक्नमा आनन्द आउँथ्यो, उसलाई सिकाउनमा । पायल होटेलमा चिया पकोडा त बहाना थियो । म कक्षामा ए.के. सिन्हा, आर. सी. प्रसाद, गुरुदास मुखर्जीका लेक्चर बुझ्न असमर्थ हुँदा उसले विस्तारमा पुस्तकहरुको थिम र समालोचानाबारे बुझाउँथी । हामी कहिले टेनिसनको ‘इन मेमोरिअम’बारे त कहिले मिल्टनको ‘पाराडाइज लस्ट’बारे कहिले ब्लेकको ‘मिस्टीसिजम’बारे छलफल गर्थ्यौं । चन्द्रजीको लागि दानापुर रम लिन जाँदा थ्री सिटर ( तीन जना बस्ने) टेम्पोमा हामी दुई जना मात्र बस्थ्यौं र टेम्पो हिँड्नासाथ म भन्थें– लिम, नाउ टेल मि अल अबाउट शेक्सपियरियन कन्सेप्ट अफ ट्रेजेडी । मैले भन्नु मात्र पर्\u200dथ्यो, लगभग १२ दुना २४ किलोमिटरको बाटोभरि ऊ किङ लियर, म्याक्बेथ, हेमलेट र ओथेलोका पात्रहरुसँग परिचय गराउँथी । कोरडेलिया र डेस्डामोनाका दुखद् मृत्युबारे भन्थी । कहिलेकाहीँ पायलमा उसले मेरो क्लास लिँदै गर्दा म उसलाई एक टक हेरिरहन्थेँ । रिसाएझैँ गरेर हेर्थी र भन्थी – क्या देख रहे हो ? मारुंगी । अनि म हाँस्थे र भन्थेँ– मैँ देख रहा हुँ, तुम कितनी खूबसुरत हो, डेस्डामोना की तरह और मैं कितना बद्सुरत ओथेलो की तरह ! ‘तुम कितने बहादुर हो ओथेलो की तरह और मैँ कितनी कम्जोर डेस्डामोनाकि तरह !’ ऊ पनि जवाफ दिन्थी र हामी दुवै हाँस्थ्यौँ खित्का छोडेर । ‘लाल तुम बहोत बदमास हो,’ ऊ मलाई जिस्क्याउँथी । म मख्ख पर्थें । नढाँटी भन्दा उसको अनुहार त्यति आकर्षक थिएन । उसको हृदय धेरै राम्रो थियो । र, मैले अर्को अनुभव गरेँ– वास्तविक सौन्दर्य अनुहारमा भन्दा हृदयमा हुन्छ । सन् १९६५ मा एस.एल.सी. उत्तीर्ण गरेपछि आई.एस्सी. भर्ना भएको थिएँ तर विविध कारणले १९६६ को फरवरीपछि मेरो कलेज पढ्ने र उच्च शिक्षा हासिल गर्ने सपना ‘उड़ायो सपना सबै हुरी ले’जस्तै धराशायी भएको थियो । १८ वर्षसम्म उकुसमुकुसमा बाँचिरहेका मेरा ती अधुरा रहरहरु, अनगिन्ती चाहनाहरु, कल्पनामा बुनिएका आकांक्षा र महत्त्वाकांक्षाहरु, ती युवा सपनाहरु सन् १९८४ पछि पूर्णतातर्फ लम्कदै थिए । छिप्पिएर थन्किएका बैंसे आँकुरा फेरि पलाउँदै थिए । लिम्सी र म चाँडै आएर दरभंगा हाउसको पहिलो तलाबाट उत्तरतर्फ हेर्थ्यों । सामुन्ने बग्दै गरेको गङ्गा नदीको अनवरत यात्रा हेर्दा रमाउँथेँ म । अनेकौं मोड़ लिँदै बगिरहन्छिन गङ्गा । जीवन पनि अविरल यात्रा नै त हो ! सोच्थेँ, ३५ वर्षको उमेरमा मोडका अनेकौं हन्टर भोगेको मेरो जीवन एउटा नयाँ मोडतर्फ मोडिने तरखरमा थियो । म, मेरा सपना र महत्त्वाकांक्षाहरुसँगै कल्पनामा हराइरहँदा कहिलेकाहीँ अचानक विनिता आइपुग्थी र भन्थी, ‘लाल हमसे भी शेयर कर लिया करो कुछ कुछ ! इतने बुरे हम भी नहीं हैं ।’ अनि हाँस्थे म, मेरो आफ्नै शैलीको हाँसो हा हा हा हा हा । कहिलेकाहीं अचानक राज किशोर कताबाट आइपुग्थ्यो र भन्थ्यो, ‘पायल में आज हम और अमृता भी आ रहे हैँ लाल।’ कहिलेकाहीं अत्रेयी बोस, शायद पटना विश्वविद्यालय की हाम्रो पालाकी सबैभन्दा सुन्दरी, आएर आदेश दिन्थी, ‘लाल, यु ह्याभ टु गिभ अस ट्रीट टूडे एट समीर चाट हाउस ।’ म भन्थेँ, ‘स्योर व्हाई नट । लेट्स रिच देयर अफ्टर क्लास आफ्टर टेन थर्टी ।’ उनीहरु आउँथे पनि र हामी सबै जम्मा भएर चाट, पानीपुरी खाँदै प्रोफेसर ए.के.सिन्हा, प्रोफेसर के.पी. पाण्डे, प्रोफेसर रामचन्द्र प्रसादका कुरा काट्दै रमाइलो गर्थ्यौं । हामी सबैका प्रिय प्रोफेसर थिए, गुरुदास मुखर्जी । उनको कसैले कुरा काट्दैनथ्यौँ । दरभंगा हाउसमा अंग्रेजीमय वातावरण हुन्थ्यो । कहिलेकाहीँ म लगायत केही जय पाण्डे, राजकिशोर, अमृता, विनिता, लिम्सी, सुमन, शशी, शम्भु कक्षामै बसिराख्थ्यौं, जोक र अनुभव सुन्थ्यौं, सुनाउँथ्यौं, गीत गाउँथ्यौं, रमाइला कुरा गर्थ्यौं । सुमनले जहिले पनि मबाट एउटै गीतको फर्माइस गर्थी– दूर रहकर न करो बात करीब आ जाओ याद रह जाएगी यह रात करीब आ जाओ पटना विश्वविद्यालयका ती दुई वर्ष किशोर किशोरी छात्र छात्रहरुसँगको संगतमा रहँदा मेरो उमेरलाई कुनै गुनासो थिएन । एम.ए. पढ्दै गर्दाका ती दुई वर्षे सहयात्रा कसरी बित्यो थाहै लागेन । पटना विश्वविद्यालयका ती दुई वर्ष मेरा लागि स्वर्णिम वर्ष बनेका थिए । मेरो जीवन यात्राले कोल्टे फेर्दै थियो । मेरो जीवनको एउटा नयाँ आयाम लेखिन तत्पर थियो । समाजमा मेरो एउटा नयाँ परिचय प्रतीक्षारत थियो । #एल.बि. क्षेत्री #पटना विश्वविद्यालय |
नगर शोक यसरी: किन गर्छौ शोक यसरी तिमी ? हेर त गगनमा टुटेका छन् तारा ती कति कहाँ गर्छन् र शोक तिनले एकैरत्ति रहन्छ खामोश ओजस्वी सूर्य पनि आफ्नो तापलाई शीतल पार्दा, त्यो सूर्य ग्रहण लाग्दा गर्छिन् पनि त कहाँ गुनासो र ती जूनले छोपिहिँडे तापनि अलौकिक चंद्रमुखीलाई ती काला बादलले नदीले पनि कहाँ गर्छिन् र गुनासो बर्खाको मैलो भेलको बग्छिन् निरन्तर सम्झी त्यसलाई नै आफ्नो नासो डढेलो लागेको वन, सुसेली हाली गाउँछ त्यो गीत, सम्झी चैतकै रीत सुखी झर्छन् ती सबै पात पारी सर्वस्व नाङ्गो ती रुखका हात कुरी बस्छ, आउँदैछ फेरि भनी, मधुमास गर्दैन पछुतो त्यो पारिजातको बोट हुँदै जाँदा बिहानको किरणसँग मत्थर बसेतापनि रातभरि छरी आफ्नो अत्तर सहजै टिप्न दिन्छ लटरम्म लागेका ती फल आँपको रुखले नगरी कुनै हलचल समुद्रले कहाँ गर्छ र गुनासो त्यो विनाशकारी आएको आँधिको माझी पनि फर्किन्छ कहिले खाली हात भोलिको आशामा सुती आधि पेट त्यो रात नपाउँदा पेटभरि खान पस्छन् पक्षी पनि घरआँगन टिपी खान छरिएका ती कनिकाका दाना पशुपक्षी पनि होमिन्छन् लुत्रुक्क परी नवरात्रीको बलि भनी प्रेमी पनि त प्रियसीको प्यासमा रात दिन अलमस्त भई फगत हिंडिदिन्छ, बेहोसीमा आमा कहिले थाकेकी छिन् र आफ्ना सन्तानलाई स्तनपान गराएर गाई आ-आफ्ना दु:खका गीत यी सबै भन्छन् “परेकै छ हामीलाई पनि चोट तिमी मात्र किन कोट्याउँछौ, साना ती खोट म भन्छु तिमीलाई सिकी केही यीबाट, सधैँ मुस्कुराइराख छोडी त्यो हठ सहनै परे पनि दुःखैदुःख जीवनका रङ अनेक बग्छन् निरन्तर बनी कहिले दुःख त कहिले सुख । #भावना उपाध्याय |
कविजी, खै त नैतिकता ?: जुनबेला तपाईं खोलाको पानीले जस्तै समुद्र खोज्दै हुनुहुन्थ्यो हामीले तपाईंलाई बीचैबाट बाफलाई जस्तै उडाउँदै बादलभित्र लुकाउँदै लुकाउँदै हिउँजस्तै कञ्चन बनाउँदै बनाउँदै हिमालका टाकुराहरुमा राख्दै गयौं बिहानी सूर्यको किरणको स्पर्शसँगै चम्कनु पर्ने तपाईंको छवि दिनको घामको तापले तपाईंलाई आकर्षण गरिरह्यो र तपाईं पग्लिरहनु भएकै हो फेरि पनि आफ्नै देशको अग्लो हिमाल सगरमाथाको टाकुरामा नै लगेर बिसायौं, र सोच्यौँ तपाईं सगरमाथाको शीरबाट हिमालदेखि मधेससम्मका भू-भाग हेर्दै हल्काफुल्का क्रान्तिकारी हिउँका डल्लाहरु पग्लेका र चिप्लिएका हेरिरहनु हुनेछ रातो गुराँसझैँ तपाईंको शीरको नैतिक ताज अन्धकार रातमा पनि उत्तिकै चम्किरहेको हुनेछ, र हामी आफूलाई कम्युनिष्ट भन्न रुचाउनेहरु तपाईंलाई माथि माथि अझै माथि सगरमाथाको शीरमा रातो चम्किरहेको गुराँसको रुपमा हेरिरहने छौं, र संभवत शताब्दीकै यौटा इतिहास शीरमा बोकेर सगरमाथा गर्वले छाति फुलाइरहेको हुनेछ, र नैतिक बल जगेर्ना गर्न सकेका विश्वका आरोहीहरु अनन्तकालसम्म लामबद्ध भएर सगरमाथाको उचाईंसम्म पुगेर नैतिक साहसको परिचय दिनेछन्, तपाईंको रातो र गर्विलो चम्काईलाई न्यायो चुम्बन गर्नेछन्, र धर्तिको फूलबारीमा तपाईंको शालिन समाजवाद तपाईंको अटल विचार, र उद्देश्यप्रतिको तपाईंको प्रतिवद्धताको अमर गीत किसान र श्रमिकहरु दिनभरिको कामपछि आफ्नो थकाई बिर्सन गाइरहने छन् निरन्तर गाइरहने छन्… तर कविजी के भयो तपाईंलाई त्यत्ति घामको तातोमा फेरि तपाईं पग्लिसक्नु भएछ फेरि तपाईं गलिसक्नु भएछ मैले त तपाईंलाई फोहोर पानीको सानो कुण्डमा जमिरहेको पो देखेँ खोलाको पानी वाफ जस्तै उड्दै उड्दै बादलसँगको यात्रा हिमालका टाकुराहरुको हिउँ बारम्बारको स्खलन र सगरमाथाको शीरको ताज हुँदै पुनः स्खलन, र सानो कुण्डमा जमेको पानी कविजी तपाईंलाई बोक्दाबोक्दा अब हामी थाकिसकेका छौँ हामीले प्रत्येक पटक तपाईंलाई सुम्पिएको नैतिकताको यौटा सानो पोको थियो कविजी खै! त त्यो विश्वास ? कविजी खै! त त्यो नैतिकता ?? *** काठमाडौँ #राजेन्द्रप्रसाद अधिकारी |
लुछियाे लिम्पियाधुरा: शुभचिन्तक हुँ भन्थ्याे, गर्थ्याे ठूला कुरा पनि । कहिले साँच्चिकै लाग्थ्यो, दु:खकाे साथी हाे भनि ।। एकाएक उसैले नै, धस्दियाे छातीमा छुरा । कालापानी दुख्यो पैले, दुख्द\u200cैछ लिम्पियाधुरा ।। सहयोग पनि दिन्थ्याे, कैले काँही अलिअलि । त्यसकै बदला गर्थ्याे, देशभित्र ढलिमलि ।। दाउ हेरि बस्या रैछ, खान याे देश नै पुरा । पैले सुस्ता निल्याे क्वाप्पै, अहिले लिम्पियाधुरा ।। के गर्नु, दाेष छ हाम्रै, देश काट्याैं कुटुकुटु । उसैका पाउमा चाट्याैं, श्वान झैँ भै लुटुपुटु ।। आफैं छाड्याैं सिमा हाम्ले, उस्काे के गर्नु खै कुरा ! काेशी-काली लुछ्याे पैले, लुछियाे लिम्पियाधुरा ।। (उमामहेश्वर मार्ग, का.म.पा.- ७, कुमारीगाल) #मुरारीराज मिश्र |
पहाडी कहानी: हिमाल झुक्छ तराईतिर, सुनाउन पहाडको कहानी पहाड जवान हुँदा, तराईको बल्छ सुन्दर जवानी। चोइटाएर खसाउँछ, बादलको आँशुले पहाडको आङ त्यही आँशुको खोलाले तराईको डुबाउँछ कोमल जाङ्ग उडाउन खोज्छ, हिमालको हावाले तराईका ती सुन के हेरी टोलाएको, क्षितिजमा बसेर डाँडाको ए जून। लोभिन सक्छ तन्नेरी घाम तराईको सुन्दरतामा भेट हाम्रो हुनसक्छ, पर्खी बस पहाडको टुप्पोमा मै माया लाउँला, तिम्रै आँगनमा ए तराई झुकेर उकालो चढी आउनुपर्दैन, तिमी मलाई सम्झेर। हिमाल झुक्छ तराईतिर, सुनाउन पहाडको कहानी पहाड जवान हुँदा, तराईको बल्छ सुन्दर जवानी। #ऐश्वर्य श्रेष्ठ |
हरिवंश आचार्यका एक दर्जन रुपहरु: हरिवंश आचार्य अर्थात महको ‘ह’ । उनका बारेमा खासै धेरै लेखिरहनु पर्दैन । उनको नाम मात्रै पनि काफी हुन्छ उनको परिचयका लागि । नेपाली हास्यव्यंग्यमा नाटकबाट उदाएका कलाकार आचार्यको कला क्षेत्रको सिमा केवल नाटकले मात्रै निर्धारण गर्न सकेन । उनले जे जे गरे, सबैमा जमे । उनी फिल्ममा जमे । उनी व्यंग्य वा गाइजात्रामा जमे । उनी आवाज मार्फत गरिने व्यंग्यमा जमे । उनी टेलिभिजनका सिरियलमा जमे । उनी रंगमञ्चका सबै क्षेत्रमा जमे । व्यवसायिकताका लागि नभए पनि उनी गायनमा पनि खुब जमेका छन् । उनले स्वर दिएका गीतहरु नेपाली दर्शक स्रोताले असाध्यै रुचाएका छन् । हरिवंशद्वारा सिर्जना गरिएका ‘चिना हराएको मान्छे’ आत्मकथा र उपन्यास ‘हरिबहादुर’ प्रकाशित छन् । यी दुवै पुस्तक निकै रुचाइएका छन् । यसैले भन्न सकिन्छ, हरिवंश आचार्य जे गर्छन्, दर्शक र पाठक त्यो कुरा रुचाउँछन् । लामो कलाकारिताको यात्रामा उनले अभिनयका क्रममा धारण गरेका रुपहरुको सूची निकै लामो छ तर यहाँ हामीले तिनै हरिवंशका अभिनयका क्रमका एक दर्जन रुपहरु समेटेका छौँ । |
जीवनको मझधारका कवि भीष्म उप्रेती: – महेश पौड्याल यतिका वर्षसम्म निरन्तर हिँडिरहँदा पनि कहिल्यै आफ्नो हुन सकेन आफू हिँडिरहेको बाटो । जहिले पनि आफ्नो भन्नु त केवल यात्रा मात्रै रहेछ । जिन्दगीको पचासौँ वसन्तमा टेकेपछि कवि भीष्म उप्रेतीले निकालेको निचोड हो यो । खूब घुमक्कड कविको छवि पनि बनाएका उनले देशविदेशका धेरै स्थानको यात्रा गरेको दृष्टान्त उनका अनेकौँ नियात्राले दिइरहेका हुन्छन् । जिन्दगीमै पनि अनेकन सजिलाअप्ठेराका बीच उनले “धारा उज्यालो” बाँचिसके, र आधा बाँकी छ । यी अविधात्मक र प्रतीकात्मक दुवै थरिका यात्राहरूमा बाटो भन्नु छुट्नुको पयार्य गरेछ । आफ्नो प्राप्ति भन्नु गर्न बाँकी कामको फेहरिस्त, भन्न बाँकी कुराको लामो सूची, फुलाउन बाँकी सपनाका कोपिलाहरू…यस्तै यस्तै । “देयर इजन्ट टाइम” शीर्षकको एउटा कवितामा कवि इलिन्योर फार्जियन भन्छिन्, वास्तवमा हामीसँग कामको सूची बनाउने मात्रै समय हुन्छ, पूरा गर्ने समय हुँदैन । यसरी हेर्दा, जीवन भन्नु सूची तन्काउँदै जानु पनि रहेछ । प्रसङ्ग हो कवि भीष्म उप्रेतीको पछिल्लो कविताकृति “आधा उज्यालो” को । यसै पनि, जीवनको मध्यविन्दुमा उभिएर लेखिएको यस कृतिको शीर्षकले जीवनको मध्यरेखालाई सङ्केत गरेको छ । शीर्षकमा “उज्यालो” शब्द रहनुले कवि अहिलेसम्म बाँचिल्याएको जीवनप्रति सन्तुष्ट छन् र त्यसलाई उज्यालो ठान्छन् भन्ने कुरा बुझिन्छ । अथवा, अब भोग्न बाँकी जीवनमा पनि उनले उज्यालोको कल्पना गरेका छन् भन्न सकिन्छ । यद्यपि पनि, सङ्ग्रहभित्र भने यदाकदा निराशाका तथा अँध्यारा पक्षका कुरा पनि विद्यमान नरहेको भने होइन । सारांश नेपालद्वारा २०७४ मा प्रकाशित यस पुस्तकमा जम्मा ५४ वटा कविता समाविष्ट छन्, जसलाई देश, प्रकृति, र मान्छे गरी तीन भागमा वर्गीकरण गरिएको छ । वर्गीकरणका यी शीर्षक नै कवि भीष्मका कविताका विषयवस्तु चिहाउने आँखिझ्याल हुन् । यसअघि आएका सङ्ग्रह हेर्ने हो भने पनि कवि भीष्म यिनै विषयवस्तुकै वरिपरि आफूलाई खोजिरहेका भेटिन्छन् । ‘देश’ खण्डमा समाविष्ट कवितामा प्रकृतिको अन्वरत प्रवाहसँगै जीवनको कर्म चलिरहोस्, र देश निरत्तर उन्नत भइरहोस् भन्ने आकांक्षा प्रस्तुत गरिएको छ । ग्रामीण बिम्बहरूको आधिक्य रहेको यस खण्डका कवितामा खस्कँदो मानवीय मूल्यका कारण देश “राष्ट्रिय गीतमा मात्र बाँचेको छ” भन्ने उनको खेदपूर्ण निचोड छ (६) । देशलाई थुप्रै कवितामा मानवीकरण गरिएको छ, र देश भनिरहेको छ, “म तिम्रो देश÷जल्दाजल्दै पनि बाँकी रहेको ठाउँबाट÷तिम्रो लागि÷भोलिको उज्यालो दिन जन्माउन चाहन्छु” । “दृश्यचित्र” र “म तिम्रो देश” शीर्षकका कविताको निचोडलाई तुलना गर्ने हो भने देश भूगोल वा प्रकृतिका कारणले होइन, मान्छेको अकर्मण्यताका कारण फगत गीतमा सीमित हुँदै गरेका छ भन्ने पक्षमा कवि भीष्म उभिएको प्रतीत हुन्छ । उन्नतिमात्रै होइन, शान्तिको सम्बन्धमा पनि कविको ठहर यस्तै यस्तै छ । मान्छेले बनाएका मन्दिर, चैत्य र गुम्बामात्रै सक्षम छैनन् शान्ति स्थापनाका लागि । यसका लागि मान्छेभित्रको जङ्गबहादुर प्रवृत्तिको अवसान जरुरी छ । “स्वयंभूनाथ” शीर्षकको कवितामा स्वयंभू भन्छन्, “लामाहरूद्वारा उच्चारित मन्त्रहरू \\र तिनैले बजाएका बाजाका धूनहरूलेमात्र\\कहाँ दिन सकेका छन् शान्ति ?” (१०) । यसको अर्थ हो, यसरी चित्रित देशमा अझै पनि पूर्ण शान्ति र स्वतन्त्रता छैन । देशको भौतिकपक्ष अर्थात् जमिन र भूगोल छ, तर स्वतन्त्रता सोचेजस्तो छैन । त्यसैले, “स्वतन्त्रता” शीर्षकको कवितामा देश भन्छ, “म भने छु\\तर तिमी छैनौ (११) । देशको गुनासो यो पनि छ, कि उसको राम्रो पक्ष सबै कागजमा सीमित गरियो र कैद गरियो बाक्साहरूमा । कल्पनाका दस्तावेजहरूमा अड्किएको छ देश । यी दस्तावेज अथवा कल्पनाको बाहिरपट्टि अलिकति बचेको छ वास्तविक देश, साना सहरको रूपमा । तर तिनै सहरहरू पनि असरल्ल तारहरूको जालोले कुरूप देखिन्छन् । ती तार, सहरी जीवनमा अनिवार्य अभिषाप हुन् — हुँदा पनि बेठीक, नहुँदा पनि बेठीक । “प्रकृति” खण्डभित्रका कवितामा कवि भीष्म उप्रेति प्रकृतिवादी कविलेजस्तो प्रकृतिको चित्रणमा सीमित छैनन् । उनी प्रकृतिभित्र मानवीय स्वभावका साम्यहरू खोज्छन्, अथवा प्रकृतिले मान्छेका लागि बोकिल्याएको सन्देश बटुल्छन् । उदाहरणका लागि “नदी” सृङखलाका कवितालाई हेर्न सकिन्छ । “नदी” मा उनी नदीलाई आनन्द र आह्लादको श्रोत मान्छन्, तर त्यतिमा अडिदैँनन् । थप्छन्, “नदीको कोमलता हृदयमा गएर बस्छ\\र गतिशीलता मेरो गोडातिर सर्छ” (२०)। “नदीः दुई” एउटा वास्तविक घटनामा आधारित कविता हो, जसमा बाआमा नदीमा बगेपछि आफू एक्लै बँचेका एक बालकको दृष्टिविन्दु प्रस्तुत गरिएको छ । बाआमाको प्रतिबिम्बजस्तो लाग्ने नदी हेर्दा उसलाई “रिस पनि उठ्छ\\माया पनि लाग्छ” (२२) । र यो स्वाभाविक पनि हो । “नदीः तीन” मा लक्ष्यमार्गमा दौडिरहेको नदीको दृष्टिबाट मान्छेकै कुरा बुनिएको छ, जसले बाटोका अवरोधहरूका बाजदूद शिखरको बाटोमा कतै रोकिनुहुन्न भन्ने सन्देश प्रवाह गरिएको छ भने “नदी:चार” मा नदीजस्तै गतिमान हुनु नै जीवित हुनु हो भन्ने निष्कर्ष अगाडि सारिएको छ । यसैबीच, कविले प्रकृति कहिलेकाहिँ कसरी मानव जीवन र सभ्यतामाथि जाइलाग्छ भन्ने कुराको पनि उल्लेख गर्न भुलेका छैनन् । तरै पनि, मान्छेले प्रकृतिसँगको आफ्नो सम्बन्ध र दूरीलाई सम्यक र सन्तुलित बनाइराख्यो भने प्रकृति जीवन र ज्ञानकै श्रोत हो भन्ने ठहर यस खण्डका कविताहरूमा गरिएको छ । नदीका अतिरिक्त यस खण्डमा प्रकृतिका अन्य अवयवको पनि चित्रण छ, जसमा पनि कविले मान्छेबाट प्रकृतिलाई निरपेक्ष छोडेका छैनन् । “पानी” शीर्षकको कवितामा हेर्दा पानीमात्रै देखिने पानीका विविध रूप, तथा मान्छेका स्वाभावसँग त्यसको तादम्य प्रस्तुत गरिएको छ । क्षणभङ्गुर नै भए पनि हिउँ र बादलजस्ता प्राकृतिक अवयवहरू मान्छेका लागि असीम हर्षका श्रोत हुन् भन्ने कुरा पनि यसै खण्डका कवितामा छ । “रुखहरू” शीर्षकको कवितामा कवि लेख्छन्, जड भनिएका रुखहरूले आफू अचल भएर पनि मान्छेलाई जीवन दिइरहेका हुन्छन् । अहम प्रश्न यो छ रुखकोः “हामी उठ्यौँ र हिँड्यौँ भने\\को हुनेछ जड?” (३१) । अर्को ठाउँ रूखहरू भन्छन्, उनीहरूलाई काटिन्छौँ भन्ने कुराको पटक्कै डर छैन । बरु डर यस कुराको छः“यत्तिका वर्ष लागेर बन्दै गरेको सभ्यता\\एकाएक भत्कनबाट कसले बचाउला?” (३३) मान्छे र प्रकृतिको अन्तरसम्बन्धका सवालमा यो एउटा अहम प्रश्न हो । गाउँ कवि भीष्मको रुचिको विषय हो, सधैँभरि । उनले आफ्नो आख्यानमा लेखेका छन्, गाउँ र पहाड उनले आफ्नो कल्पनामा हजुरबाको विरासतको रूपमा पाए, र आफूभित्रको निर्मिति गाउँ र पाखापर्वतबाटै बढी निर्देशित छ भन्ने उनको ठहर छ । उनको कविताकारितालाई नियालेर हेर्ने हो भने, त्यहाँ अधिकांश स्थानमा गाउँ नै पोखिएको पाइन्छ । यो सङ्ग्रह पनि उनको गाउँमोहबाट मुक्त रहन सकेन । यहाँ उनको “गाउँ” शीर्षकको एउटा कविता छ, जसको निचोडमा कविसँगै गाउँको यात्रा गरिरहेकी उनकी छोरी भन्छिन्, “झोलाभरि किताब बोकेर स्कुल जानुभन्दा छ गाउँ जानु धेरै रमाइलो” (३५) । कतै कतै, प्रकृतिको चक्र मान्छेको दुःखप्रति बेखबर रहेकोमा गुनासो पनि पोखेका छन् उनले, र कतै प्रकृतिसँगको पूर्ण स्पर्शको सुख चाहेको पनि अभिव्यक्ति दिएका छन् । यो चाहना प्रकृतिवादी सिद्धान्तकार टेरी टेम्पेस्ट विलियम्सले भन्ने गरेको “इको इरोटिसिज्म” को निकट छ । सङ्ग्रहको तेस्रो र अन्तिम खण्ड “मान्छे” हो । माझिमाथि लेखिएका दुई कविताले माझी र ताल अथवा नदीबीचको अनुन्याश्रित सम्बन्ध, र त्यस सम्बन्धमा यदाकदा आइपर्ने अप्ठेको पनि स्वाभाविक आनन्द पस्केका छन् । “सपना” शीर्षकको कवितामा मान्छेको आयुको अन्मित बिन्दुसम्म सपनाको साथ रहिरहने तर्क गरिएको छ । मौनताको सौन्दर्य, खस्कँदो मानवीय मूल्य र बढ्दो वस्तुकरण, बृद्ध हुनुको बोध, पूर्वदीप्ति, परिवर्तित समयमा अवरुद्ध दिनचर्या, मातृप्रेम, श्रमको महत्ता आदि विषयमा कविता लेखिएका छन् । उच्च हिमाली जीवनका सुखदुःख यस खण्डको एउटा सुन्दर पक्ष हो । यस भूगोलका विविध पक्षलाई कवि भीष्मले अपरम्परित ढङ्गबाट हेरेको छन् । “प्रणाम” शीर्षकको कवितामा कविले हिमालका अक्करे भीरहरूमा निर्वाद भारी बोकिरहने खच्चडलाई देवतातुल्य मान्दै प्रणाम गर्ने निर्णय गरेका छन् । “समानता” शीर्षकको कवितामा खच्चड र भरियाहरूबीचको साम्य दर्शाइएको छ । उनकै शब्दमा उकालो, ओरालो, अलिअलि सम्म, झल्याकझुलुक समथर, फेरि उकालो र फेरि ओरालो रहेको यस भूभागमा मान्छेको जीवन पनि खच्चडकै जस्तो छ । यस खण्डका कतिपय कविताहरू दृश्य र यथाथबीचको भेद र जीवन र जगतबारेका केही दार्शनिक सत्यको उत्खनमा कविले खर्चेका छन् । “छाया” शीर्षकको कवितामा भन्छन्, “हुन त यो छाया पनि मेरै हो\\तर म भने छायाको होइन” (७४) । श्रमिकसँग मूलभूत कुरा आर्जन गर्ने जागिर भए पनि शक्षिाजस्तो भविष्यको प्रत्याभूति किन्ने सामथ्र्य हुँदैन भन्ने कुरा “चिया पसलको केटो” मा वर्णित छ । तर पनि, श्रमिकहरू काम गर्दागर्दै सुन्दर सपना पनि बुनिरहेका हुन्छन् भन्ने उनको तर्क छ । विश्वासको हकमा उनी भगवान्भन्दा मन र आस्थालाई सर्वोपरि ठान्छन् । “इच्छा” भन्ने कवितामा भन्छन्, “यही एउटा कुरा छ सग्लो उभिएकोः मन र आस्था” (७९)। यसै खण्डमा छन् “ढोका” शीर्षकमा लेखिएका पाँच सुन्दर कविता । कतै ढोकालाई अन्त्यहीन यात्राका नयाँ नयाँ फाटक मानिएको छ भने कतै सिर्जनाको पर्याय । कतै ढोका सहस्र संभावनाको रूपक अलङ्कार बनेर उभिएको पाइन्छ । “ढोका चार” मा ढोका बनाउने मान्छे आफैँ ढोका बनेको प्रसङ्ग छ, जुन आफैँमा निर्माता र निर्मितिको ऐक्याको एक उच्च सिद्धान्त हो । अर्को अर्थमा, अरुका लागि ढोका निर्माण गर्ने मान्छे आफू सधैँ ढोकैमा रहन्छ, ढोकै बनिरहन्छ भन्ने पनि हो । यसरी हेर्दा, यो ‘माध्यम’ अथवा ‘साधन’ मा केन्द्रित कविता हो, जो आफू प्रक्रियामा सामेल त हुन्छ, तर परिणाममा अनुपस्थित रहन्छ । “ढोका पाँच” ठूला दरबार, अड्डा र कार्यलयको ढोका हो, जससम्म आम मान्छेको पहुँच छैन । सङ्ग्रहको अन्त्यतिर दार्शनिक गहिराइका तीन कविता छन् जसले हिमाल आरोहणका विविध पक्षलाई भावभूमि बनाएका छन् । “महानिद्रा” मा हिमाल आरोहण गर्दा दिवङ्गत भएकाहरूको दृष्टिविन्दु प्रस्तुत गरिएको छ, जसमा उनीहरूमध्यको एउटा प्रतिनिधि आवाज भन्छ, “मलाई निदाउनु छ शताब्दी लामो निद्रा” (८८)। हिउँसँग एकाकार हुनुको यथार्थमा ऊ गौरवबोध गरिरहेछ । भनिरहेछ, “हिमालको प्रेमपूर्वक बिच्छ्याइदिएको काखमा\\पल्टेको मात्र छु ।” (८९) । “चोमोलुङ्मा” शीर्षकको कविता जीवनका आवश्यकताहरूलाई सम्बोधन गर्न हिमाल आरोहण गर्न बाध्य एक स्थानीयको मनोदशा चित्रण गरिएको छ, जसमा ऊ भन्छ, “म तिमीभन्दा अग्लो भएको होइन \\ म विजेता हुन शिखरमा उभिएको होइन” (९१), जसले विनम्रताको पाठ सिकाएको छ, र आफ्नो आस्था र जीवनको श्रोतप्रति नतमस्तक हुने संस्कार बाँडेको छ । सङ्ग्रहको अन्तिम कविता हो “मृगतृष्णा”, जुन हिमालमा प्राण गुमाएका कुनै आरोधीकी गृहिणीको दृष्टिविन्दुबाट लेखिएको छ । विधवा गृहिणीसँग न कतै जाने सामथ्र्य छ, न बसिरहने आँट छ । हिमालबारे रुमानी कल्पनामा सबै अल्झिरेको बेला हिमालको यो कालो र कारुणिक पक्ष यस कविताले खोतलेको छ । यसरी एउटा बिसौनीमा पुगेको छ कवि भीष्म उप्रेंतीको आधा उज्यालो । यी तमाम कविताको सूक्ष्म अध्ययनबाट यो स्पष्ट हुन्छ, कि भीष्म उप्रेती एक ललित कवि हुन्, जो कोमलभन्दा कोमल, र कठोर भन्दा कठोर विषयलाई पनि लालित्यपूर्ण ढङ्गले समाउँछन् । प्रेम, आह्लाद, असन्तुष्टि, दुःख वा आक्रोशः सबै भावहरूमा उनको कवि संयमित छ, र कविताले माग्ने कलाको बुनियादमा आत्मविश्वासपूर्ण ढङ्गले उभिएको छ । कवितामा प्रकृति बलियो बिम्ब हो, तर त्यो मान्छेसँग सम्बद्ध कुनै यथार्थको उद्घाटन गर्नका लागि हो, निरपेक्ष रूपमा कुनै प्रतिकृवादी कविको कविताको निरन्तर्यकै लागि मात्रै होइन । उनको कवितामा बालक, बृद्धवृद्धा, किशोर किशोरी, नव–यौवना, नव–विवाहित जोडी वा अधबैँसे सबै प्रकारका पात्र छन्, र सबै लय, मनोदशा र भावका कविता छन् । यस अर्थमा, उनको “आधा उज्याले” पढिरहँदा पाठक आफ्नै जीवनका विभिन्न पढाउ हुँदै अगाडि बढिरहेको अनुभूति गर्न सक्छ । छोटा, छरिता हरफ, सरल भाषा, गाम्बेसीका बिम्ब, र जीवनसँग सन्निकट अनुभूतिहरूमा कुँदिएको यी कविता आमभाष्यमा अप्रतीम काव्यिक अभिव्यक्ति हुन् । पढेपछि लामो समयसम्म मस्तिष्कमा यिनले एउटा मधुर झन्झाहट छोडिरहन्छन् । यी कवितालाई अद्योपान्त पढसक्दा पाठकको मनमा उठ्ने केही सम्भावित प्रश्नहरू भने होलान् नै । उनीहरू भन्लान्, किताब छोडेर प्रकृति वा गाउँ पढ्दा बढी कुरा बुझिन्छ भन्ने त रुसो, वर्डस्वर्थ, वा देवकोटाले पनि भनेकै हुन् । यो कुराको पुनरावृत्ति हुने कविता किन लेखे कवि भीष्मले? दोस्रो, “हिमालहरू यसरी नै उठिरहून्” भनिसकेपछि “शिर ठाडो पारेर” भन्नु जरुरी थिएन । शब्दको थप मितव्यतिताको एउता सुन्दर मौका यहाँ गुम्यो कि? भावको झट्का र घनत्वसँग उठेको “देश” शीर्षकको कविता “अखण्ड भइरहोस् मेरो देश, अनन्तसमम्म” भन्ने एउटा आदर्श तर कर्ममाण्डी पटाक्षेपमा किन अवतरित भएको होला? “दृश्यचित्र” शीर्षकको कविताको बीचमा कवि लेख्छन्, “सबभन्दा सस्तो आज मान्छे भएको छ\\र त्यो भन्दा सस्तो भएको छ देश । सगरमाथा र बुद्धको नाममा\\गर्व गर्नुले कत्ति पनि अर्थ राख्दैन आज ।” यी अविधात्मक, सपाट र क्लिसेजस्ता लाग्ने हरफ लेखिरहँदा भीष्मउप्रेतीभित्रको ललित कवि कता अल्मलिएको हुँदो हो? “स्वतन्त्रा” शीर्षकको कविताभित्र “मेरो लक्ष्य” र “मेरो गन्तव्य” भन्ने दुई हरफ छन् । एउटैले चल्ने थियो काम । “रङ्गहरूसँगै आउँछ खुशी” शीर्षकको कविताभित्र “बालकको निर्दोषिताजस्तै नीलो रङ” भनिएको छ, तर बालकको निर्दोषिता र नीलो रङमा तादम्य खुल्दैन । आखिर, नीलो निर्दोषिताको प्रतीकको रूपमा सर्वस्वीकृत रङ पनि त होइन । यसै कविताको अन्तिम दुई हरफ यस्ता छन्ः “रङहरू आउँदा केवल रङ मात्रै आउँदैनन्\\रङहरूसँगै आउँछ खुसी ।” यो अन्तिम हरफले कविताको बहुअर्थी सम्भावनालाई बन्द गरिदिएको छ, र सीमित बनाइदिएको छ । अघिल्लो हरफ पढेपछि पाठकले बुझिहाल्छ, कि रङ्हरू थप केही लिएर आउँदा रहेछन् । र सार्विक सत्य त यो पनि हो, रङहरू खुसीमात्रै लिएर आउँदैनन् । यदाकता रङहरू दुःखका बाहक पनि हुन् । एउटा कवितको शीर्षक छ “नयाँ वर्ष २०६६” जसमा यो २०६६ कै कविता हुनुपर्ने कुनै प्रसङ्ग छैन । यसलाई “नयाँ वर्ष” मात्रै नाम दिइएको भए यसको सार्वकालिकता बढी हुने थियो । यी सामात्य र नगण्य टिप्पणी हुन्, जसमा तर्क गर्न सकिन्छ । यिनलाई कतैतिर थाति राखिदिने हो भने, आफ्नै आन्तिरिक शक्ति र सौन्दर्यको जगमा यो कवितासङ्ग्रह बुलन्दीका साथ उभिन सक्छ । कवि भीष्म उप्रेतीको दशकौँ लामो काव्यकारिताको यो पछिल्लो पडाउ हो । उनी विषयहरूमा प्रयोगशील छन्, र क्रमशः मान्छे र जीवनको अन्तर्यतिरै उन्मुख छन् भन्ने कुराको प्रमाण पनि हो । साना साना, तर गहिरा जीवनभेदी विषयहरूको बाटो हुँदै उनी जीवनकै रहस्यको नजिक पुग्ने कोशिस गरिरहेका देखिन्छन् । कविताको एउटा छुट्टै निनाद, स्निग्ध लाग्ने प्रकृतिबाट टिपिएका बिम्ब र प्रतीक, र मान्छेका आवाजहरूको अभिव्यञ्जना उनका काविताको पहिचान हो । आफू पनि घुमिरहने, र पाठकलाई पनि घुम्ती–भञ्ज्याङ, हिमाल, तराई, पहाड, कुना, कन्दरा, वन–उपवन र नदी किनारतिर हिडाउन सफल उनका कविताको प्रवाह अनुभूतिबाट जीवनबोधतिर लक्षित भएको देखिन्छ । अस्तु । #भीष्म उप्रेती #महेश पौड्याल |
म हार्न दिन्नँ देश यो: पिपाषु रक्त उम्लियो नहेर स्यालझैँ गरी छु शान्त बुद्धझैँ कतै छ भाव वीरताभरि सहन्छु काट टाउको सहन्न नीच चित्त त्यो म हार्न दिन्न देश यो म मर्न दिन्न देश यो। म घाइते हुँ सिंह लौ नजिस्कनू ममाथि है म राष्ट्रका निमित्त त्यो भो त्याग्न सक्छु स्वर्ग नै छिमेक होस् कि दूरको म घात ए सहन्न त्यो म हार्न दिन्नँ देश यो म मर्न दिन्न देश यो। समस्त लोकमा दह्रो छ देश आज जान्दछौ भुलेर सौर्य वीरकोे लुटेँ म भूमि भन्दछौ हुँदैन पूर्ण सम्झ ए खराब तुच्छ प्यास त्यो म हार्न दिन्न देश यो म मर्न दिन्न देश यो। म दास बन्न सक्छु तै उदास बन्न सक्दिनँ छ चाह देश उच्च होस् खटिन्छ सर्वदा मन अनेक वेदना सही तयार एक राज्य पो म हार्न दिन्न देश यो म मर्न दिन्न देश यो। छ ताप सक्छु ज्ञानले म मेट्न क्षुद्र दासता अशान्तमा छ देश यो म के सहन्छु ? तैँ बता मिचेर भूमि पापको नखेल खेल अत्ति भो म हार्न दिन्नँ देश यो म मर्न दिन्नँ देश यो। #उषा आचार्य ढकाल |
हाइकु कसरी लेख्ने ? पढ्नुहोस् ११ बुँदामा: लेखक १) सत्र अक्षरीय हाइकु कविताको उद्गम थलो जापान हो । साढे तीन सय वर्ष पुरानो जापानी हाइकु कविता अहिले संसारभरका विभिन्न भाषामा लेख्ने गरिन्छ । छोटो मीठो मात्र होइन, तीखो भएका कारण पनि बौद्धिक व्यक्तिलाई हाइकुको शैली मनपर्छ । जापानमा हाइकुका अतिरिक्त अन्य धेरै शास्त्रीय लेखन शैलीका कविताहरु छन । जस्तै – तान्का, चोका, सेदोका आदि ! २) नेपालको हाइकु इतिहासबाट पनि यसको अनुमान गर्न सकिन्छ । नेपालका बौद्धिक लेखक मध्येका एक मानिने शंकर लामिछानेले २०१९ सालमा यसलाई नेपाल भित्र्याए । त्यसयता यो विधा जापानसँग साहित्यिक साइनो गाँसिएको अथवा कुनै न कुनै रुपमा जापानसँग सम्बन्ध जोडिएका बौद्धिक अभ्यास गर्न रुचाउनेहरु व्यक्तिहरुले अघि बढाएको देखिन्छ । ३) हाइकु कविताले के भन्न खोजेको हो भन्ने बुझ्न केही घोत्लिनु पर्ने हुन्छ । केही लेखकहरुको अनुभवमा हाइकुको अभ्यास गर्दा अन्य विधालाई गहिरो बनाउन मद्यत गर्दछ । कम शब्दमा धेरै भाव व्यक्त गर्नु पर्दा हाइकु प्रभावकारी र बलियो ठहर्छ । ४) आधुनिक हाइकु तीन लाइन र १७ अक्षरमा विभक्त भएको हुन्छ । पहिलो लाइनमा ५ अक्षर हुन्छन् । दोस्रो लाइनमा ७ अक्षर र अन्तिम लाइनमा पुनः ५ अक्षर हुन्छ । तीन लाइन र १७ अक्षरभित्र जति धेरै कुरा भन्न सक्यो, हाइकु त्यति नै राम्रो मानिन्छ । अक्षर गणना गर्दा सग्लो अक्षरको मात्र गणना गरिन्छ । आधा वा हलन्त काटिएको अक्षरलाई गणना गरिँदैन । ५) जापानीहरु आफ्ना हाइकुमा प्रकृतिको वर्णन गर्न रुचाउँछन् । प्राकृतिक बिम्बको मिठासपूर्ण र सांकेतिक प्रयोगले हाइकु प्रभावकारी हुन्छ भन्ने मान्यता छ । जापानमा प्राकृतिक किगो सुचीकृत गरिएका पुस्तकहरु नै किन्न पाइन्छ । ६) लिखित जापानी साहित्यको शुरुआत सातौँ शताब्दीबाट भएको हो । आज पनि सन् ७७० तिर लेखिएको पुरानो मान योशु ग्रन्थ जापानीहरुले सुरक्षित राखेका छन् । यस्मा थुप्रै एकतीस अक्षरीय ( ५-७-५-७-७ ) तान्का कबिता समेटिएको थियो । तान्का कबिताको आधुनिक रुप नै हाइकु हो । ७) नेपाली कवितामा जसरी छन्द कविता र मुक्त भनेर लेखनका शैलीहरु छुट्याइन्छ, हाइकुमा पनि विभिन्न शैलीहरु हुन्छन् । हाइकुको गहिरो अध्ययन गर्नेहरुले यस्ता भिन्नता मज्जा मानेर पढ्ने गर्दछन् । ८) संसारभरि हाइकु लेख्ने चलन व्यापक भएको छ । अङ्ग्रेजी, नेपाली, हिन्दी, बङ्गाली, डच्, फ्रेन्च, पोर्चुगल, स्पेनिस भिभिन्न भाषामा हाइकु लोक प्रिय छन् । नेपाली साहित्यमा त हाइकु कृतिहरु सयौँको संख्यामा प्रकाशित भएको पाइन्छ । ९) हिजोआज नेपालमा ३ लाइन र १७ अक्षर बनाउनेबित्तिकै हाइकु बन्छ भन्ने भ्रम यदाकदा भेटिन्छ । सिकारु अवस्थामा १७ अक्षरमा कविता सिर्जना गर्न आफैँमा चुनौतीपूर्ण भएका कारण सुरुवातमा त्यो ठीकै लाग्न सक्छ । तर यसमा गहिरिँदै जाँदा भने विम्बहरु शक्तिशाली बनाउँदै लैजानु पर्छ । जसले कुशलतापूर्वक विम्बलाई हाइकुमा उतार्न सक्यो, हाइकुमा त्यित नै मिठास र गहनता भेटिन्छ । १०) हाइकु रचना गर्ने कविलाई जापानमा हाइजिन भनिन्छ । जापानमा हाइजिनको ठूलो इज्जत हुने गरेको छ । विद्यालय र कलेजको पाठ्य पुस्तकमा पुराना हाइजिनको जीवनी, हाइकु इतिहास र लेखन शैलीबारे पढाइ हुन्छ । ११) कुनै पनि विधामा पारङ्गत हुन त्यही विधा नियमित पढ्नुपर्ने हुन्छ । त्यसको सैद्धान्तिक पक्ष र विगत पनि अध्ययन गर्नुपर्ने हुन्छ । हाइकुबारे निस्केका किताब, लेख तथा सामग्रीहरु खोजेर पढ्न सकिन्छ । थप कुराका लागि साहित्यपोस्टको सिर्जनमा सेक्सनमा गएर हाइकुहरु नियमित पढ्ने बानी बसाउन अनुरोध पनि गर्दछु । (प्रकाश पौडेल ‘माइला’ १५ वर्षदेखि जापानमा बसोबास गर्छन् । उनी वर्ड हाइकु एसोसिएसनका कार्यकारी सदस्य हुन् । उकत पदमा पुग्ने उनी पहिलो नेपाली हुन् ।) |
छन्दका बारेका सोच अब बदलिए: वास्तवमा यहाँ नेपालमा देवकोटा र लेखनाथको अवसान पछि कवितालाई गद्यमा लेख्नेहरू निकै बाक्लो गरी उपस्थित हुनु भएको थियो । अझ जति नबुझिने लेखियो त्यति गतिलो भन्नेहरूको ताँती लागेको थियो । पुरस्कृत समेत भएका थिए । गद्य र पद्य नै नबुझ्नेहरूले पद्यमा कविता लेख्नेहरूलाई घृणाको भावले हेर्ने गरेको पनि पाइन्थ्यो । त्यो कुराले निकै वर्ष नेपाली कवितामा राज्य गरेको थियो । तर गजलको पुनः विकास वा उत्थान भएपछि यसका बारेमा वा लयात्मकताको बारेमा केही बुझ्ने र कवितामा लय नै खास हो भन्नेहरूको उपस्थिति पनि देखिन थालेको हो । लय विहीन कविता र गजल नै नहुने कुराको जानकारी हुँदै गएको हो । केही वर्ष पहिलेसम्म छन्दमा कविता र लेखक कविहरूलाई सारै निन्दाको भावले हेर्ने प्रवृत्तिको भुइँफुट्टे विकास भएको थियो भन्ने कुरा भुल्ने विषय होइन । यता नेपालमा भन्दा पनि उता प्रवासमा यो कुराले बडो उच्च स्थान पाएको थियो । उत्तर बङ्ग विश्वविद्यालको एक वृहत् कार्यक्रमको ठुलो भेलामा म र स्व डा\u200d द्रोणकुमार उपाध्याले एकपटक छन्द भनेको कविताको लय हो जो अपरिहार्य छ । त्यो लय बद्ध र मुक्त किसिमको हुन्छ । बद्ध रहेछ भने त्यो पद्य भयो मुक्त रहेछ भने त्यो गद्य भयो भनेर गर्जन गरेपछि उता पनि छन्दका बारेमा केही सोच बदलिएको छ नत्र पद्यमा कविता लेख्नेलाई बाजे र बाहुनको उपाधी दिने चलन थियो केही दस पन्ध्र वर्ष अघिसम्म उता प्रवासमा र यता पनि । यो कुराको विकास गर्नेहरुको नाम नलिनु नै श्रेयष्कर होला । अब कवितामा जुन लय हुन्छ त्यही नै छन्द हो भन्ने यथार्थ कुरा बुझ्नेको कमी नरहेकोमा गर्व लाग्छ र छन्दका बारेका सोच बदलिएकोमा अझ बढी गर्व लाग्छ । #झापा #होम सुवेदी |
बन्दाबन्दीले दिक्क भएपछि पृथ्वीकाे आधा फन्को: बन्दाबन्दीले दिक्क भएका न्युजिल्यान्डका लोकप्रिय लेखक नील गेइम्यान त्यहाँबाट बाँकटे हान्दै जब अमेरिका पुगे र त्यहाँबाट पनि छड्किँदै लन्डन र लन्डनबाट स्कटल्यान्डको स्काईस्थित दोस्रो घरमा पुगे, स्थानीय जनताले उनलाई सरापेर हैरान छ । यति लामो यात्रा भने लगभग पृथ्वीको आधा भागको भ्रमण गरेजस्तै भएको उनले बताएका छन् । कोरोनाभाइरसले सारा जगत् त्राहिमाम् भइरहेका बेला उनी भने घरमा पत्नी र एक सन्तानलाई न्युजिल्यान्डमा छाडेर किन स्काईमा आइपुग्नु परेको हो भन्दै स्थानीय जाइलाग्न खोजेपछि उनले आफ्नो निजी वेबसाइटमा लामो ब्लग लेख्दै त्यसको कारण खोतलेका छन् । सो लामो ब्लगमा भने पत्नी र छोराका कारण लामो समय घरमा बस्नु आफ्ना लागि असम्भव भएको भन्दै स्थानीयले यसमा आपत्ति जनाउनु पर्ने कुनै कारण नदेखेको बताएका छन् । ‘म न्युजिल्यान्डको नागरिक हुँ,’ उनले लेखेका छन्, ‘मेरो घर स्कटल्यान्डमा पनि छ र म स्कटल्यान्डलाई कर तिरिरहेको छु । यस्तो नागरिकलाई तँ किन दोस्रो घर आइस् भनी प्रश्न सोध्नु मूर्खता होइन भनेर कसरी भनूँ ?’ गायिका अमान्डा पाल्मरसँग एक दशकअघि बिहे गरेका नीलका चार वर्षे छोरा एस छन् । यो जोडीबीच निकै लामो समयदेखि भनाभन चलिरहेको र यिनको सम्बन्ध लामो समय नटिक्नै भन्दै केही मिडियाले छोडपत्रको समय पनि तोकिसकेका थिए । तर अहिलेसम्म यिनको मिल्ती भने छँदैथियो । उनी हतारिएर स्काईस्थित घर आउनुमा यिनको वैवाहिक सम्बन्ध अन्तिम चरणमा पो पुगिसकेको हो कि भन्ने अनुमान गर्नेहरूको मुखमा बुजो लगाउँदै उनले भनेका छन्, ‘लोग्नेस्वास्नीबीच झगडा पर्नु ठूलो कुरा हुँदै होइन । त्यसमाथि मैले उसलाई जीवनभर साथ दिन्छु भनेको पनि छैन । हामी खुला सम्बन्धमा विश्वास गर्ने व्यक्ति हौँ । फेरि म नारिएर र बाँधिएर बस्नुपर्छ भन्ने मान्यताको मान्छे पनि होइन । यस्तोमा अनेकन् कथा आउँछन् भने यसमा मेरो कुनै दोष हुने छैन ।’ उमेरले ५९ वर्षका नील निकै रंगीन मिजासका साहित्यकार मानिन्छन् । फेन्टासी विधाको उपन्यास लेखक नीलको पछिल्लो उपन्यास स्टारडस्ट केही समयअघि रिलिज भएको थियो । फिल्ममा रबर्ट डि निरो र मिसेल फेफरले अभिनय गरेका छन् । मूल घर न्युजिल्यान्डको अकल्यान्डमा रहेको भए पनि घरमा बस्दाबस्दा दिक्क लागेको भन्दै गएको साता उनले घर छाडेका थिए । एक साता लगाएर त्यहाँबाट उनी अमेरिकाको लस एन्जल्स पुगेका थिए । लन्डन पुगेपछि एक जना साथीको गाडी सापट लिएर उनी स्काईस्थित घर पुगेका थिए । उनी त्यहाँ पुग्नेबित्तिकै स्थानीय प्रहरीले उनको यात्रा गतिविधिबारे चासो राखेको थियो । आफू लामो यात्राबाट आएपछि क्वारेन्टिनमा बस्ने भनेपछि प्रहरीले उनलाई कडिकडाउका साथ घरभित्रै बस्न आग्रह गरेको थियो । यसअघि प्रहरीलाई स्थानीयले गुनासो गरेका थिए । ‘यति लामो यात्रामा जब म एक्लै कारमा थिएँ, संसारको अवस्था देखेर म आफैँ हैरान भएँ,’ उनले ब्लगमा लेखेका छन् । अमेरिकाबाट लन्डन आइपुग्दा पनि यात्राभर मेरो सिटको लहरमा म एक्लो व्यक्ति थिएँ । त्यसपछि जब लन्डनमा साथीको कार सापट लिएर स्काईसम्मको यात्रा गरेँ, त्यहाँ पनि सुनसान थियो । स्थिति निकै भयावह प्रतीत भइरहेको थियो ।’ ‘एक वाक्यमा यो यात्राबारे टिप्पणी गर्ने हो भने यो ज्यादै अवास्तविक र भावनात्मक रूपमा निकै कठिन किसिमको यात्रा थियो,’ उनले लेखेका छन् । #अमान्डा पाल्मर #नील गेइम्यान #न्युजिल्यानड #लन्डन #विदेशी लेखक |
प्रियतमा प्रति: यो मन मनोमानी गर्छ सबैथोक जानीजानी गर्छ थाह छैन, लाभ कि हानी गर्छ के कहानी यो जिन्दगानी भर्छ। भावको अभाव छैन अभावको भाव निष्प्रभाव छैन स्वभाव, स्व-भावमा छ कि कसैको प्रभावमा छ? थाह छ/थाह छैनको भावमा छ। दबाब छैन तर दबदबा छ तिम्रा यादहरूको, यो मन मस्तिष्कमा। न देखेको, न भेटेको तर किन तिम्रै स्वैर कल्पनाले यो मन रेटेको? स्निग्ध सगरमाथा झैं तिमी खडा छ्यौ म कुनै तेन्जिङ हैन,चढ्न र उत्रनलाई म त आजीवन आरोही तिम्रो उचाईको अन्त्य नहोस् यो चढाई, बरू निभोस् दियो ‘जीवन बचाई’को चढिसकेपछि चढाई बाँकी रहन्न पढिसकेपछि पढाइ बाँकी रहन्न। शिखर टेक्न ‘एक इन्च मात्र बाँकी’ को प्यासमा त्यो बिन्दु चुम्ने अविराम-अथक प्रयासमा यो जीवन बरू बितिजाओस् सारा तर, बगिरहोस् अनन्त प्रीतको धारा। म आजीवन आरोही तिम्रो ‘अग्लाई’को तिमी स्निग्ध, कञ्चन, सुकुमारी मेरी प्यारी ‘चोमोलङ्गमा’ म तिमीसँगै अग्लीरहन पाऊँ तिमीसँगै पग्लिरहन पाऊँ निरन्तर निरन्तर… ! धनुषाधाम नगरपालिका -४, सर्सा, धनुषा #धनुषा #मदनकुमार अधिकारी |
नग्नता: सेतो नम्बर प्लेटको रातो अङ्कको घर त्यस भित्र गुम्सिएर बसेको दुर्गन्धित त्यो कालो मन अचेल टाढासम्म बसाउँछ, प्लेटका नम्बरहरू जति चाँडो फेरिन्छन् लुटको साम्राज्य छाउँछ विवेकहीन विवेक शून्य काला मन र मष्तिस्कहरू चाँडोचाँडो समयलाई समात्न दौडन्छन्, क्रूर समय परिवर्तन चाहँदैनन् लामो र कालो साम्राज्यमा नै रमाउँछन् यो नियति या समयको अनजानपन राता अक्षरहरू निदाएका छन् घनघोर अन्धकारभित्र पारपाचुके अघिको अभिनय उनीहरूको विवशता भएको छ, यो अनमेल विवाहको अन्त्यको संघारमा सेता प्लेटहरू आज राता परेवाका बथानमा नाटक रच्दैछन् स्वाङ् बाँडदैछन् इतिहासको भष्मिभूत खण्डहर कथा बोकेर नीलो, राता र काला अनुहारहरूका प्लेटहरू निर्लज्ज, पारदर्शी वस्त्रले ढाकिएर बादशाहका अभिनय गर्दैैछन् विचरा आफ्नो धरातल थाहा छ तर बोल्न सक्दैनन् नग्नतामाथि हत्केला राखे पनि न त कालो मन छोपिन्छ न त छ्याङ्ग देखिएको नग्नता आफ्नै आत्मालाई ढाँटेर लुगा लाएको छु भन्नैपर्छ, सत्य सबैलाई छोपेर अभिनय त गर्नैपर्छ । #डा.सुमन कर्माचार्य |
हुन सक्छ: कालो कोइलाहरु सँगै, हिरा हुन सक्छ छुच्ची केटीको नाम पनि मीरा हुन सक्छ के हुन सक्दैन र, यहाँ जे पनि छ सम्भव बिहान उठ्दा खेत चिराचिरा हुन सक्छ राजनीति हो मित्र, तिमी बुझ्दैनौ कच्चै छौ छिर्दा हात्ति, निस्किदा त जिरा हुन सक्छ पण्डितजी थोरै सुँघेर मात्र पिउनु होला है कतै कतै पानीकै रङको मदिरा हुन सक्छ प्रसाद हो भन्दैमा देउतैले कहाँ जोगाउँछन् म भन्दै थिएँ त हेरेर खाऊ, कीरा हुन सक्छ बेसिशहर न.पा. २, भकुण्डे, लमजुङ #किरण बराल #लमजुङ |
समय हो बितिहाल्छ: कति राम्रा समय आए रोक्न सकिएन नयनभित्र थुन्न खोज्दा थुन्नै सकिएन । याद बनी मस्तिष्कमा रहनु सिवाय बिन्तिभाउ गर्दा पनि थाम्नै सकिएन त्यस्तै पीडाका समय आए वेदनाका समय आए भोग्नै पर्\u200dयो झेल्नै पर्\u200dयो जति नरुचाए पनि पठाउनै सकिएन हटाउनै सकिएन नभोगी बिताउनै सकिएन कुनै समय सुखको समय यौवनको समय बाल्यकालको समय समय न हो कहाँ रोकिन्छ र चाहँदैमा बितिहाल्छ ओझेल परिहाल्छ दौडिहाल्छ त्यस्तै दुःखको समय वृद्धावस्थाको समय रोगाएको समय भोकाएको समय दुखेको समय नचाहँदैमा किन आउँदैनथ्यो आउँछ भोग्नै पर्छ झेल्नै पर्छ बिताउनै पर्छ किनभने समय न हो बितिहाल्छ गइहाल्छ बस्दैन टाँसिएर कसैसँग फगत गइदिन्छ नरोकिई एकनास यो पनि यस्तै समय हो अहिलेको प्रकृतिले बदला लिएको या ईश्वरले लिएको परीक्षा मानव जातिसँग आविष्कारसँग विज्ञानसँग अहमसँग त्यसैले आज मान्छेबाहेक सबै ठीक छ वातावरण प्रदूषण मुक्त छ फूलहरु मस्त छन् चराचुरुङ्गी फुरुङ्ग उन्मुक्त छन् फगत मान्छे मात्र विवश छ थुनिएर बाँच्न निसास्सिएर बाँच्न खुम्चेर बाँच्न किन ? समय हो सिकाउन आएको छ बुझाउन आएको छ झकझकाउन आएको छ तर बितिहाल्छ गइहाल्छ रोकिँदैन भोलि नयाँ समय उदाउनेछ नयाँ बिहानी लिएर नयाँ विश्वास लिएर बल्खु, काठमाडौँ #काठमाडौँ #सुधा बासकोटा ढकाल |
अचम्म छ!: अचम्म छ! खै किन हो किन? मन बेसरी भड्किन थालेको छ हिजो जे थियो, आज त्यो रहेन हिजो जस्तो आज हुँदै भएन चारैतिर सन्नाटा छाएको छ क्रूरता जकडिएको छ, मानसपटलमा भावना दबाइएको छ, रिक्त हाँसोले प्रश्रय पाएको छ जीवनको रौनकता त्यसै त्यसै हराएको छ गलत तत्त्वको बिगबिगीले दुर्वलताको गन्ध आइरहेछ सर्वत्र अन्धकार छाइरहेछ त्यसैले त, अचम्म छ! बिना कमिसन ढलेको सिन्को ठाडो हुँदैन सुकर्मको नामोनिसान कतै भेटिदैन चारैतिर झुसिलकिराहरु मडारिइरहेछन् कोमल मनमुटुहरु छियाछिया पारिरहेछन् सबल मस्तिष्कहरु त्राहित्राहि छन् अनुकूल वायु बिना छट्पटाइरहेछन् टाढा-टाढाबाट चिहाइरहेछन् यति हुदाहुँदै पनि, अचम्म छ! आँसु र पसिनाको मूल्य नबुझ्नेहरु भावना मरिसकेका, चेतना गुमाइसकेका अस्तित्वहीन मपाईंहरु अस्तित्वरक्षाको लडाइँ लडिरहेछ्न् समानताको राग अलापिरहेछन्।। #ज्ञानेन्द्र शर्मा |
तिमी: समयको निहुँ खोजी दुरी बढाएकै हौ तिमी, भित्रभित्रै रेट्ने गरी छुरी बढाएकै हौ तिमी मेरा दिनहरुको हाल सोध्छौ तिमी कठै, चिसै मेरो चुल्हो रहँदा मुरी बढाएकै हौ तिमी। अन्तर राखेर बीचमा धुरी बढाएकै हौ तिमी, मेरो नाडी खाली कसैको चुरी बढाएकै हौ तिमी यो भयानक महामारी त के हो र मेरा लागि ? व्यथा निभ्नै नदिने हुरी बढाएकै हौ तिमी। #अमेरिका #प्युठान #विकास सिंह बिस्ट |
रगत माग्ने देशको नाममा...: ए देश! तिमीले थमाएको महेन्द्रमाला छिचोलेपछि नै हो म, चम्किलो रातो ताराप्रति आशक्त भएको! मन्त्रजस्तै कण्ठ भए तिम्रो महेन्द्रमालाका वीरगाथाहरु, राजा, महाराजाका शाहसका कथाहरु! तिनले देश बनाए तिनले सिमाना बिस्तार गरे तिनले वैरीलाई लखेटे तिनले गर्दा दुनियाँको सामु देशको शीर उँचो भयो यस्तै यस्तै…. तर तिम्रो महेन्द्रमाला झुटा निस्क्यो जब बाजेले सत्य सुनाए, ती राजाहरु थिएनन् जसले सतलज र टिस्टासम्म खुकुरी नचाए, आफ्नै रगतले सिमाना कोरे, देशको धर्तिमा खस्ने बम आफ्नो छातिमा थापिदिए, देशको स्वाभिमानका लागि शीर कटाउन राजी भए, ए देश! तिनीहरु राजा थिएनन् उनीहरु त रैति थिए, तिनैका दरसन्तान म आज तिम्रो अघिल्तिर उभिएर तिमीलाई सोधिरहेकोछु तिमीले किन ढाँट्यौ? खै तिनको इतिहास? खै तिनको विरासत? खै तिनको वीरगाथा? रैतिले जोगाएको देशमा रैतिले निर्माण गरेको देशमा उसकै नाम मेटिएपछि “तुङ् च” हरु जन्मिरहने छन् ए देश! थाहा छ तिमीलाई? मेरो माने र तीन चुलाहरु सुम्पिएर तिम्रो संस्कृति जोगाएकै हो, मेरो ढोल, झ्याम्टा, च्याब्रुङ्ग, डम्फु, धिमेहरु तिमीलाई जिम्मा दिएर तिम्रै तालमा नाचेकै हो, मेरो साकेन्वा, सेलो, पालाम, हाक्पारेहरु तिम्रै कोतमा थुपारेर तिम्रो जय जयकार गरेकै हो, तर, तर मेरो सारा परिचय खोसेर तिमी अट्टाहस गर्दैछौ, मलाई नाङ्गेझार पारेर तिमी मलाई नै खिज्याइरहेछौ, अझ बढी त मेरै आँगनमा बसेर मलाई बलेँसीमा नटेक्न भन्दैछौ, मेरै आमाको ढुंग्री, बुलाकी खोसेर सौन्दर्यको प्रश्न बनाउँदैछौ, त्यसैले मलाई मन पर्छ “रातो चम्किलो तारा” नत्र भने, च्यातिदेऊ तिम्रो झुटो महेन्द्रमाला, लेखिदेऊ इतिहासमा छुटेको नाम, थपिदेऊ इतिहासमा छुटेको मेरो अध्याय, भत्काइदेऊ मेरा निम्ति बनाएका सारा पर्खालहरु, अनि यदि देश, देश जस्तै लाग्यो भने यदि इतिहास, इतिहास जस्तै लाग्यो भने यदि जीवन, जीवन जस्तै लाग्यो भने र म, म पनि नागरिक हुँ भन्ने आभास भयो भने मैले नि भन्नेछु यो देशको नागरिक भएको दिन देशले रगत मागे, मलाई बलि चढाऊ…. हतुवागढी – २ लुङ्गिन, भोजपुर हाल: दक्षिण कोरिया #दक्षिण कोरिया #दिलिप बान्तावा #भोजपुर |
म सास समातेर\xa0\xa0: म सास समातेर नित्यार्धना गरिरहेको छु श्रद्धा पूर्ण शीर निहुराएर । केही थान सेता तुल छन् केही थान पहेँला वस्त्र छन् । नगन्य नीलरंगी धर्साहरु फर्फराइरहेका छन । हतार छ कोही कसैको मतलब नराखी दौडिरहेका छन । आफ्नाको हकदाबी चलिरहेको छ । शीरदेखि पाउसम्म निहुरिएको लाचारपना रातो अबिरले सपनामा रङ भरिरहेको छ । अपमानित आश्रय मीठो हाँसोले खिल्ली उडाउँदै प्रशंसा गरिरहेको छ । मेरो हिम्मत हो जो म अझै जिउँदो छु । वा, भागवान तिम्रो विभाजनको सीमा निर्धारण गर्ने महामानवलाई के भनूँ ? र तिमीलाई के भनूँ ? एक युगको अन्त्यसँगै एक युगको सुरुवात, खै ? कुन नामले गर्नु हो तिम्रो पुकार ? तिम्रो र तिम्राको उल्झनले उत्पन्न यो प्राण सङ्घारक विनाशकारी बखत अन्त्यको आस गरिरहेको छु । #भीम जोशी |
वाक्यमा बुद्ध होस्: कर्ममा धर्ममा सर्वदा एकता त्यो भए मात्र नै हुन्छ है सभ्यता सर्व व्यापी सबै चीज ती भैदिए शान्तिका मार्गमा सुस्तरी गैदिए ।।१।। विश्वमा शान्तिको हुन्छ आभाष नै गर्नु रे सत्यको आत्मको साथ नै बुद्धका ज्ञानको मार्गमा शान्तिको गुन्जियून् विश्वमा माधुर्य कान्तिको ।।२।। मित्रता हुन्छ है शत्रुता नाशक योग्य त्यो तन्त्र हो शान्तिको आसक शब्दमा बुद्धका मन्त्र हुन् ज्ञानका मान हुन् विश्वका शान्तिका सानका ।।३।। प्यार होस् सर्वदा त्याग होस् दम्भको दुष्टको नष्ट होस् वाक्य होस् नम्रको भावना एक होस् त्याग होस् स्वार्थको दीप होस् शान्तिको उच्च त्यो सत्रको ।।४।। सिर्जना प्राण हो सिर्जना त्याग हो सिर्जना विश्वको एक यो माग हो धृष्टता साथ होस् मित्रता शुद्ध होस् शान्तिको बास होस् वाक्यमा बुद्ध होस् ।।५।। छन्द : स्रग्विणी चितवन (हाल: स्पेन) #वाक्यमा बुद्ध होस् |
मान्छे र मौरी: तिम्रो लालीले सजिएको ओठलाई फूल जस्तै देखेर मौरीले रस लिनलाई खिल गाड्यो भने तिमीलाई दुख्दैन? मौरीले त फूलको रसबाट मह बनाउँछ आफ्नै श्रमबाट बनाएको आफ्नै चाकामा आफ्नै कला सजाउँछ तिम्रो ओठमा रसाउँदै गरेका थोपालाई बटुलेर लग्यो भने साँच्ची मौरीले के बनाउँछ? फूलको रस भन्दा पनि ओठका रसिला थोपाहरू झन मीठो लाग्यो भने मौरीले लुकाउँछ कि सजाउँछ? मान्छे त राम्रो चिज लुकाएरै राख्छ बाँड्दैन पाएसम्म केही नै छाड्दैन त्यसैले त मान्छे मौरी हुँदैन मौरी मान्छे बन्दैन। तर दिप्ति ओठ पनि फूल बनेर फूल्छ र? मौरीले त मन पराएर चुस्छ नि फूललाई चुस्ने क्रममा खिल गाड्छ डाम छाड्छ तर भन्देऊ न- मायाले डामेर छाडेको ठाउँमा दुख्छ कि दुख्दैन? एकपटक माया गरेपछि बाँकी माया सुक्छ कि सुक्दैन? मौरीलाई पो सोधूँ कि – ऊ एकपटक बसेको फूलमा फेरि बस्छ कि बस्दैन होला? एकपटक चुसेपछि मायाको रस सधैंलाई सुक्छ कि सुक्दैन होला? माया त सुक्नु हुन्न माया नै सुकेपछि के नै पो रसाउँछ र? माया त दुख्नु हुन्न माया नै दुखेपछि केले पो हँसाउँछ र? बरू तिमी पनि कानका झुम्कालाई बिस्तारै हल्लाऊ टल्किएको केशलाई आफैँले चलाऊ आफैँले चलाउँदा पनि त आनन्द आउँछ त्यही आनन्दमा रोमान्चित बन र आफैँसँग उड आफैँ नउडी कतै देखिन्न आफैँ नहिँडी कतै पुगिन्न । म पनि हिडूँ कि भनेको! तिम्रो निधारतिर झरेको कपालले बोलाएको हो र? हो भने भन है, ल! म पासपोर्ट बनाउँछु भिसा लाग्न पनि त समय लाग्छ तिम्रो इमिग्रेसनमा छाप पनि त लगाउनु पर्ला भिसाबिना सबैतिर त कहाँ पस्न सकिन्छ र? पिँढीमै भए पनि बास दिन्छ्यौ नि हैन? दिइनौ भने त त्यहाँ आएर कहाँ बस्न सकिन्छ र? मौरीलाई पो केही चाहिन्न त मान्छे त मौरी हैन नि त ! #बालकृष्ण कट्टेल |
कोरोना कहर: याैटी आमा धुरुधुरु रुँदै मृत्य शैया अँगाल्छिन् । बच्चा हेर्छिन् टुलुटुलु कठै अश्रुधारा खसाल्छिन् । यस्ताे पीडा किन थपिदियाै जिन्दगी हुन्छ गार्हो । काेराेनाले अतिशय गर्यो सृष्टि पार्\u200dयाे अँध्याराे । ……………………..१……………………… बूढा बाबा सकस मुटुमा प्राण राेक्दै सहन्छन् । आफ्ना सारा मधुर सपना दर्द भित्रै कहन्छन् । कस्ताे आयाे कहर नभमा काललाई हताराे । आसा मर्छन् रहर जिउँदाे सृष्टि खाली अँध्याराे । ……………………..२……………………… काे तन्नेरी युवक युवती बालबच्चा भनेन । कैयौं ठूला शहर गतिला देशलाई गनेन । फाल्याे कालाे विष हृदयमा पस्नलाई चटाराे । लाखौं मान्छे टपटप टिप्याे सृष्टि रित्ताे अँध्याराे । ……………………..३……………………… काेराेनाले जनधन सबै नष्ट मात्रै बनायाे । ताताे ज्वाला शितल दिलमा झ्याप्प मुस्लो खनायाे । आँखा चिम्ले सकस सहँदै प्राणले श्वास फेर्याे । धर्तीलाई अतिशय भयाे सृष्टि सारा अँध्याराे । ……………………..४……………………… सारा प्राणी भयमय हुँदा सभ्यता हुन्छ त्रास । कैले हाेला भुवन भरमा दूरगामी निकास । हामी आफैं बिचलित भए लाग्दछन् तुच्छ जालो । काेराेनाकाे अब मिति पुग्यो सृष्टि झन् झन् उज्यालो । ………………………..५…………………… छन्द: मन्दाक्रान्ता #छन्द #नमराज लामिछाने #मन्दाक्रान्ता |
नेतृत्व र देशको सीमा: थियो सानो बस्ती नगर बिचमा ताज पहिरी थियो ठूलो स्वप्ना सगरभरमा शैलज सरी । लिई यौटा राम्रो कर कमलमा त्यो घरि घरी भयो के हो यस्तो निकट जलमा वामन सरी ।। थिए होचा होचा कदम कदमै खेद नलिने थिए सारा मान्छे जनम जनमै राष्ट्र नदिने । थिए पुर्खा हाम्रा जिउँ त कसरी राष्ट्र नभई भनी लड्थे सारा तब मुलुक यो हुन्छ त भनी ।। चुँडेरै लग्लान् यी कि त सडकमा बार नभई म नाचौँ या हाँसौँ मनुज हुनुको भाव नभई । छिमेकी देलान् खै करबल गरी जीव जिउने लिएँ सोचेँ यौटा मकन कसरी देह जिउने ।। कता जाऔँ हामी कठमहल छोडी कन उता दिई मीठो बाचा पददलितको ढाडस यता । विदेशीका दासी नबन अब भो कत्ति नडगी भनी देलान् भन्ने कति नियति भोग्छौ अब तिमी ।। भयो कुर्सी प्यारो दश नगरभन्दा पनि ठुलो दिई आफ्नो सीमा कुल वृषल बन्दै सब भुलो । थियो सीमा हाम्रो त सतलज टिष्टा वरिपरि पराई मिच्दैछन् दशगज जिमाहा घरिघरी ।। नहेरी को बस्लान् टुलुटुलु म हेरी कति बसौँ म हेरी के सोचौँ तर भुटभुटी भै कति बसौँ । मिली आफ्नी आमा रक्षण गर्ने तिर सबै गरौँ आलो पालो अब भक्षण त्यागीकन सबै ।। शिखरिणी छन्द #गंगाकुमारी घिमिरे #छन्द #शिखरिणी |
होश हराएको बेला: मनोज रेग्मी त्यो साझँ साथीहरुको करमा परेर भुइँमा खुट्टै नअडिनेगरि पिएको थिएँ । कसले मलाई कोठा छोडेर गयो भन्नेसम्म पनि होश थिएन् । भोलिपल्ट निरजले भनेपछि बल्ल थाहा पाएँ, रविले छोडेको थियो । जुत्तै नखोली, असरल्ल छरिएका कपडाहरुको प्रवाह नगरी ड्याम्म ओछ्यानमा ढलेको चाहिँ याद छ मलाई । मेरो एउटा अचम्मको स्वभाव छ । रक्सी पिएपछि नारायण गोपालका गीत सुन्नु पर्ने । अन्य सयम मेरो स्वर म आफैँलाई झर्काे लाग्छ, तर रक्सी पिएपछि नारायण गोपालसँगै गुन्गुनाउँछु । त्यो रात बिस्तारामा ढलेपछि खल्तीबाट मोबाइल झिकेँ । म्यूजिक प्लेयरमा गएर मस्टली प्लेडमा किल्क गरेँ । म मातेपछि गर्ने भनेको पनि यही नै हो । सबैभन्दा सिरानमा नारायण गोपालको “गल्ती हजार हुन्छन् यहाँ होश हराको बेला …………” बोलको गीत थियो । त्यही बजाएँ । मोबाइल सिरानीतिर फालेँ । उत्तानो परेर पल्टेको थिएँ । सधैं स्थिर रहने कोठाको दलीन त्यो दिन भने फनफनी घुमिरहेको थियो । म कतै शून्यतामा उडिरहेको थिएँ । त्यो अनुभूति साँच्चै नै अलौकिक हुन्छ । सबै पीरमर्का र सेम वोल्ड रूटिन भुलेर “म” मात्र “म” भएको थिएँ, त्यो क्षण । गीतमा भनेझैं म मात्तिएको थिएँ । आखाँ रिङ्गीरहेकै थिए । गल्ती गर्नलाई भने साथमा कोही थिएन् । एक्कासी मेरो अगाडी एउटा आकृति धुमिल भएर उभियो । आखाँ मिचेर क्यामेराको फोकस मिलाएझैं गरी, त्यो आकृतिमा फोकस गर्न खोजेँ । तर अहँ ! रक्सीको नशाले मरिगए दिएन् । “आज पनि पिएर आयौ है?” आकृति बोल्यो । मैले चिनिहालेँ । त्यो आवाज मेरा लागि कुनै नौलो थिएन । ऊ सधैं यसरी नै मेरो कोठामा आउँछे । मेरो हाल देखेर दिक्क मान्छे । तर केही बोल्दिनँ । मलाई एककिसिमले उसको बानी नै परेको थियो । ऊ अर्थात् शर्मिला । शर्मिला म बसेकै घरको माथिल्लो तल्लामा बस्थी । घरचाहिँ सिन्धुपाल्चोक । उसको नाम र घरबाहेक मलाई उसको बारे केही पनि थाहा थिएन । नजानिँदो पारामा उसले मलाई हरेक कुरामा साथ दिन थालेकी थिई । मैले उसलाई चिनेदेखि कोठामा भात पकाउनै परेन । उसैले पकाइदिन्थी । मैले कहिलेकाहीं तरकारी किनेर ल्याइदिन्थे, बस् ! उसले पकाएको खाना खाने बानी परेपछि म साह्रै अल्छी भएको थिएँ । खाना पकाउने, कोठा सफा गर्दिनेलगायतका काम उसले नै गरिदिन्थी । कपडाचाहिँ आफैँ धुन्थेँ । उसले सधैं विभिन्न तरिकाले साह्रै आत्मीय व्यवहार दर्शाउँथी । मैले पनि उसलाई असल साथीको रुपमा हेर्न थालेको थिएँ । र, उसलाई जस्तै मलाई पनि उसको साथ रमाइलो लाग्थ्यो । मेरो एउटा नराम्रो बानी के छ भने, म सम्बन्धको अर्थ या भनौँ महत्व ढिलो बुझ्छु । म जुनसुकै सम्बन्धलाई पनि हल्का रुपमा लिन्छु, र कुनै पनि सम्बन्धलाई नाम दिन सक्दिनँ । ऊसँगको सम्बन्ध पनि यस्तै बेनाम थियो । उसको र मेरो सम्बन्ध बिशेष थियो, त्यसैले बेनाम थियो । बेनाम भएकाले बिशेष भएको भने होइन । ऊ आएर मेरो अगाडि उभिएको थाहा लागेसी, मैले बजिरहेको गीतको शब्द सापट लिँदै लरबरिएको लवजमा भनेँ- “मेरा यी हातहरुले कहीँ घात गर्न सक्छ, अनि प्यार गर्दागर्दै पाप पनि गर्न सक्छ ।” उसले केही प्रतिक्रिया जनाइन्, बरु मेरो गोडानेर आएर बसी । म गीत सुनेर आन्नद लिएझैं गरिरहेको थिएँ । जबरजस्ती उठेर बस्न खोजेँ । एक्कासी मेरो आखाँ बत्तिमा झुम्मिरहेको पुतलीमा पर्यो । पुतली यताउता गर्दै छटपटाइरहेको थियो । हेर्दाहेर्दै माउसुलीले आफ्नो जिब्रो फ्याँकेर उसलाई आफ्नो मुखभित्र लियो । आन्नदले निल्यो । मैले आफूलाई धान्नै सकिनँ । फेरि पल्टिएँ । ऊ अझै मौन थिई । अरुबेला जस्तो उत्साह उसमा थिएन । म उसैले कुरा सुरु गर्ली भन्दै पल्टिरहेँ । अन्ततः ऊ नै बोली- “आफूलाई कति दुःख दिन्छौ, विवेक ? तिमी शिक्षित र बुझ्ने भएर पनि किन यस्तो कुलतमा फसेर आफ्नो जीवनलाई अन्धकारतर्फ धकेल्दै छौ ? तिम्रो अगाडी सिङ्गो जिन्दगी लम्तन्न पसारिएको छ । यसरी मूल्यवान तिम्रो जीवनलाई घिसार्ने काम बन्द गर । यसलाई चल्न देऊ, जबरजस्ती चलाउन नखोज । जति तिमी मदिरामा डुब्छौ, त्यति तिम्रो जीवन कठिन बन्छ । मदिराले सधैंसाथ दिन्छ भन्ने भ्रममा नपर । हेर विवेक, म सधैँ तिम्लाई यसरी नै साथ दिन नसकूँला, त्यसैले आफूलाई सम्हाल । अझै केही भएको छैन । सम्हाल आफूलाई ।” उसका कुराहरु बच्चा बेला सुत्नुअघि आमाले भन्ने गरेका परिकथाजस्तो लागे मलाई सायद, भुसुक्कै निदाए छु । ऊ कतिबेला मेरो कोठाबाट गई ? मैले पत्तो पाइनँ । मेरो कोठा पूवतिर फर्किएको थियो । पूर्वतिरको झ्यालबाट मेरो कोठामा घामको किरणहरु छिर्न सधँै लालायित देखिन्थे । म भने तिनै घामका किरणलाई गिज्याउँदै अबेरसम्म सुत्थें । शर्मिला म सुतिरहेको बेला मलाई घच्घच्याउनुको साटो सिधै आएर पर्दा खोलिदिन्थी । पर्दा खोलेपछि घामका चम्किला किरणहरु मेरो आखाँमा आएर ठोकिन्थे, र मलाई उठ्न बाध्य पार्थे । तर, त्यो बिहान ऊ आइन् । म आफैँ उठ्नुपर्यो । उठेर मोबाइलमा हेरेँ, दश बजिसकेको थियो । दश बजे पनि मेरो काम केही थिएन, त्यसैले आत्तिनुपर्ने केही थिएन । तर, “आज उसले मलाई किन उठाउन आइन् ?” भन्ने प्रश्नले भने मलाई नराम्ररी पिरोल्न थाल्यो । टाउको असाध्यै दुखिरहेको थियो, ह्याङ्वोभरले । उसले सधैँ रक्सी पिएर आएको अर्को बिहान बनाएर दिने कागती पानी खुब मिस गरेँ । टेबलमा राखेको बोतलमा रहेको पानी पिएँ । ज्यानमा आलस्यता थियो, केही गर्ने जाँगर नै थिएन । पानी पिएर बोतल टेबलमा राख्दै गर्दा एउटा कागजको चिर्कटोमा गएर मेरा बासी आखाँ रोकिए । त्यसमा केही लेखिएको थियो । अक्षर चिनीहालेँ । प्रिय विवेक , हिजो राती तिमीसँग धेरै कुरा गर्छु भनि तिम्रो कोठामा छिरेकी थिएँ । तर , तिमी पुरै अचेत थियौ । मेरो कुरा सुरु पनि हुन नपाउँदै तिमी भुसुक्क निदायौ । त्यसैले म बत्ती निभाएर तिम्रो कोठाबाट भारी मन र शरीर लिएर निस्केँ । रातभर अनेकौँ तर्कनाले मलाई गिज्याइरहे । कोल्टो फेर्दाफेर्दै रात बितेको पत्तै पाइनँ । मेरो एम.एको ट्रान्सकिप्ट निकालेको हप्ता दिन भइसकेछ । मेरो काठमाण्डौ बस्नुको उद्देश्य पनि पूरा भैसकेको थियो । मलाई यहाँ बस्नभन्दा आफ्नै गाउँघरमा फर्केर कुनै काममा लाग्नु नै उचित हुन्छ जस्तो लाग्न थालेको थियो । म सधैँ मेरो परिवारलाई आर्थिक रुपमा सघाउन चहान्थे र चहान्छु पनि । तिमीलाई यी सब कुरा भन्न मन थियो , त्यसैले प्रत्येक रात तिमी कोठामा आउँछौ कि भनेर यतिका दिन कुरेर बसेँ । हिजो तिमी एकहप्तापछि आफ्नो कोठामा आएका थियौ । तिमीलाई फोनमै यी सब कुरा भनेर जान मनले दिएन । सोचें , भेटेरै सब कुरा गर्छु । तर, आज यो सब चिठ्ठीमार्फत् भन्न बाध्य भएकी छु । म आज बिहानै गाँउ फर्कदै छु । सायद यो सब मलाई तिमीसामु प्रत्यक्ष उभिएर भन्न निकै सकस हुने थियो । चिठ्ठीले केही हदसम्म सहज तुल्याइदिएको छ । हाम्रो सम्बन्धको नाम तिमीले के दिएका छौ , त्यो त मलाई थाहा छैन । मैले पनि नाम दिने कोशिश त नगरेकी होइन, तर कुनै नामले न्याय गरेजस्तो लागेन । तिमीसँग हुदाँ मलाई एकदम सुरक्षित र न्यानो अनुभव हुन्थ्यो । तिमी अन्तरमुखी छौ, त्यसैले मैले तिम्रा मनका भावनाहरु आखाँबाट अड्कल काट्ने प्रयास गर्थेँ । थाहा छैन, कति मेरा अनुमानहरु सहि भए, कति गलत । मैले तिम्रो संगतले छोरा मान्छेका सबल र दुर्वल दुवै पक्षहरु केहीहदसम्म नजिकबाट नियाल्ने मौका पाएँ । तिमीले मलाई नजिकैबाट चिन्ने मौका दियौ । तर पनि तिमीलाई मैले कति पनि नबुझेझैँ सधैँ लागिरह्यो । यो सब माया हो कि के हो मैले बुझ्नै सकिनँ ! मायामा तड्पन र पीडा हुन्छ भने , सायद म तिमीलाई माया गर्न थालेकी थिएँ । तिमी पुरै बेखबर र बेपरवाह थियौ । तिम्रो खुल्ला र बेपरवाह बानीले गर्दा मैले मेरा मनका कुरा तिमीसामु राख्नै सकिनँ । यद्यपि प्रयत्न भने नगरेकी होइन । मलाई थाहा छैन यो चिठ्ठी पढिसकेपछि तिमीले मेरो बारेमा के सोच्नेछौ । यत्तिका दिनसम्मको तिम्रो साथ र तिमीसँग बिताएका अविस्मरणीय पलहरु मनमस्तिष्कमा सजाएर जाँदैंछु । आफ्नो ख्याल राख्नू , र सक्छौ भने रक्सी खान छाडिदिनू ! बाँचे फेरि भेट होला ! सप्रेम , शर्मिला चिठ्ठी पढिसक्दा मेरा हातहरु लगलगी काँपिरहेका थिए । आफ्नो बेहोस हुनेगरी रक्सी पिउने बानीदेखि साह्रै रिस उठेर आयो । उसको सुन्दर मुस्कान, मैले केही भन्छु कि भनेर कुरिरहेका उसका निर्दोष र उत्सुक कानका लोतीहरु, र मलाई देख्नसाथ अनयासै चम्किने आखाँहरु मेरो आखाँमा झलझली नाच्न थाले । म रन्थनिएँ । आफ्नो बेपरवाह र अपरिपक्व आचरणप्रति घृणा जागेर आयो । के गरुँ, कसो गरुँ हुन थाल्यो । म अत्तालिएँ । कताकताबाट “फोन गर्न” भनेको सुनेँ । मभित्रबाटै आएको थियो होला त्यो आवाज, तर मैले मेसो पाइनँ । हतारहतार फोन गरेँ, तर फोन अफ थियो । अब के गर्ने ? केही सोच्न सकिरहेको थिइनँ । उसको घर सिन्धुपाल्चोक हो भन्नेसिवाय उसको बारेमा मसँग अरु केही जानकारी थिएन । सोचेँ ऊ त गई, तर मलाई धेरै कुरा सिकाएर गई । मलाई “म” हुन आग्रह गरेर गई । एउटा शिक्षकले झैँ जीवनको र मायाको पाठ एकैपटक पढाएर गई । मलाई झकझक्याएर गई । म सुतेको रहेछु, उठाएर गई । जीवनको कुनै मोडमा फेरि भेटेँ उसलाई भनें, अंगालोमा बेरेर सोध्ने छु- “एक दिन अझै किन कुरिनौ, शर्मिला ? तिमीलाई थाहा छ त गल्ती हजार हुन्छन् यहाँ, होश हराको बेला ! मेरो पो होश हराएको थियो, तिमी त होशमै थियौ । किन छोडेर गयौ मलाई ?” तर, त्यो मौका आज दश वर्ष भैसक्यो, मिलेको छैन । अब त यो सबको लागि साह्रै ढिला पनि भैसक्यो होला, सायद ! मैले मेरो जीवन नयाँ ढंगले सुरु गरिसकेको छु र खुशी पनि छु । उसको जीवनले पनि आकार लिइसक्यो होला, उसको जीवनको बोट पनि छोराछोरीहरुले झ्याङ्गिसक्यो होला ! आज मैले राम्रोसँग बुझेको छु, जीवनमा कत्ति प्रश्नहरु अनुत्तरित हुन्छन्, रहन्छन् । कतिका उत्तर ढिलोचाँडो पाइन्छन् । कति प्रश्न जीवनभर अनुत्तरित रहन्छन्, र मान्छेको मृत्युसँगै गर्भमै दबिन्छन् । सदासदाको लागी । #होश हराएको बेला |
निश्चेत: तिम्रो मर्म बुझ्न नसकी जीवनमा कति गल्ती गरे हुँ पाउन नसकी आभास पथमा हिँड्दा कति डरे हुँ असहाय निरुपाय भै तृण समान बाटोमुनि झरे हुँ बुझ्न नसकी धर्म आफ्नो जाल-जन्जालमा परे हुँ । मृत्युको पर्खाइ मात्र जीवन भए बाँचेर के गर्नु खै आँशुको भेलले बगी जाने सपना साँचेर के गर्नु खै न होश छ मनमा न जोश तनमा, नजरमा दोष छ छ टेकेको रातले छातिमा जानू धेरै कोश छ । खोजूँ भन्छु रहस्य जीवनको डटि, कसि कम्मर काँचै छु कि ? पाकेन अनुभव हार्दछु म समर सतही भै डुल्ने, बग्ने हावामा जीवन लक्ष्य भुलेर छु, डुब्न डराउने गहिराइमा स्वभाव सारा भुलेर । मुक्ति भनी खोजेको छैन प्रीति पाउँ भन्दछु शक्ति भनी खोजेको छैन, भक्ति पाउँ भन्दछु विरक्ति उठाउँदिन भगौडा भै जङ्गल चहार्दिन अनुरक्ति जगाउँछु सर्वमा विभेद म स्वीकार्दिन । #सुबास बजागाईं |
कुरोको चुरो: बुद्धको जन्मभूमिमा शान्ति छैन सर्वोच्च शिखरमा पर्यटक छैनन् मन्दिरै मन्दिरको देशमा असल भक्तजन छैनन् लडाकुको देश छ तर सिमा छैन जलस्रोतको धनी, स्वच्छ पानी छैन कृषिप्रधान देश तर अभाव छ अन्न प्रत्येक घरमा नेता भएको देश तर केही छैन । सबै छ अनि सबै छैन गर्ने के र भन्ने कस्लाई ? हामी भेडाको मगज छैन कुरा गरेरै अघाउँछौँ हामी त, काम गर्ने बानी नै छैन त्यस्ले दिन्छ कि उस्ले दिन्छ, दिन त एउटाले पक्कै दिन्छ नलिई पनि भएन त्यसको बदलामा नदिई पनि भएन । दिने के भन्दा त्यही पानी हो, त्यही युवाको जवानी हो, अनि नदेखिने भूमि हो। उनीहरुले दिएपछि आफूले नि दिनै परो, वास्तवमा भन्नुपर्दा कुरोको चुरो यही पर्यो । मोरङ #माेरङ #शंकर नेपाल |
फेसबुकः ५ लघुत्तम कथा: एक उसले आफ्नो प्रेमिकाको सुन्दरतम् सेक्सी फोटो फेसबुकमा राखेर जन्मदिनको शुभकामना दियो ! त्यसपछि प्रेमिकाको फोन उठ्न छाड्यो । भोलिपल्ट त ऊ अनफ्रेण्ड भैसकेको रहेछ ! दुई सूर्यप्रसाद प्रशन्न मुद्रामा भन्दै थिए, “भन्दिएँ मैले ! गज्जबले भन्दिएँ । क्यै बाँकी नराखी भन्दिएँ । यसरी देश कहाँ चल्छ ? ’’ मैले सोधेँ, “कस्लाई भन्नु भो काका ?’’ “लौ त्यही प्रधानमन्त्रीलाई नि, अरू कस्लाई भन्नू !’’ काकाले जवाफ दिए ! “कहिले भेट्नु भो प्रधानमन्त्रीलाई र भन्नु भो काका ?’’ मैले थप जिज्ञासा राखेँ ! काकाले भने, “कहाँ भेट हुनु नि ! त्यही फेसबुकमा भन्दिया नि मज्जाले !’’ तीन रत्नाकरले हँसिलो मुहार बनाएर भने, “झारपात सारा उखेलेर फाल्दिएँ लौ जा !’’ उनी दङ्ग थिए ! श्रीमती पनि दङ्ग परिन् र बगैंचातिर लागिन् ! बगैंचा जस्ताको तस्तै थियो । बूढीले सोधिन्, “बूढा, कहाँको झारपात उखेल्यौ ?” रत्नाकरले जवाफ दिए, “लौ, फेसबुकका झारपातहरू क्या !” चार कुमार बिहान उठेदेखि मोबाइलमा काम गरेका गर्यै थियो । श्रीमतीले ल्याएको चिया पनि सेलायो । डेड घण्टापछि ढाड मर्काउँदै कुमार उठ्यो ! श्रीमतीले भनी, “बिहानैदेखि कति व्यस्त हजुर ! चिया पनि सेलाइसक्यो ! सकिएन काम ?’’ “अब एक घण्टामा सकिन्छ !’’ “लौ, अझै एक घण्टा !’’ “बल्ल त लाइक र शेयर गरेँ, अझ कमेन्ट गर्नै बाँकी छ क्या !’’ श्रीमती ट्वाल्ल परिन् ! पाँच मुना छट्पटाइरहेकी थिेई ! सुमन छटपटाइरहेको थियो ! दुवै छटपटाइरहेका थिए ! “बल्ल एकाउन्न र आठ पुग्यो !’’ मुना फुसफुसाई ! “मेरो त अठहत्तर र पन्ध्र पुग्यो ।’’ सुमनले भन्यो । वाहियातहरू ! पाँच-पाँच हजार वाहियातहरू ! मुना दाह्रा किट्दै थिई । सुमन नबोले पनि उस्तै तनावमा थियो ! लोग्ने स्वास्नीले एकसाथ नयाँ फोटो पोष्ट गरेका थिए र लाइक र कमेन्ट गनिरहेका थिए ! ००० फल्स चर्च, भर्जिनिया, अमेरिका । #अमेरिका #गोविन्द गिरी प्रेरणा |
बिहान: कति सुन्दर छ बिहान! म टिप्न खाेज्छु बिहानको लालिमा प्रेमकाे कविता लजाएजस्तै लजाउँछ बिहान अाङ्गमा एकसरो छाेएर ऊ कहिले तल सर्छ कहिले माथि पुग्छ प्रेयसीकाे न्याना पलहरुकाे कल्पनाशीलताजस्तै छ बिहान म त्यही बिहानकाे घामफूल टिपेर पहिरिन खाेज्छु पाेशाक दिउँसाेभरि अघाउन टिप्न खाेज्छु एक अँजुली घामकाे बिस्कुन उभाएर एक सुर्काे घाम अचाउन खाेज्छु बिहानकाे पञ्चामृत मलाई उस्तै लाग्छ बिहान र प्रेयसी म टिप्न खाेज्छु बिहानीकाे दीप्तिमय साैन्दर्य मनभरि सजाउन खाेज्छु पारिजातकाे जस्तै बिहानीकाे लावण्य बिहान छाया भएर पाेखिन्छ बिहान सबैकाे ढाेकाकाे सँघारमा रङ्ग भएर छरिन्छ प्रियतमकाे हाँसाेजस्तै लाग्छ,बिहानकाे गुराँसे बैँस हरेक दिन उदाउँछन् फेरि फेरि उदाउने सङ्कल्प बाेक्छ बिहान मलाई प्रिय लाग्छ बिहानकाे अाभा र प्रियतमकाे मुहार। ललितपुर, गाेदावरी #ऋषभदेव घिमिरे #गाेदावरी #ललितपुर |
छिमेकी औधि मनपर्छ: म मेरो छिमेकीलाई औधि माया गर्थें ऊ पनि म भनेसि हुरुक्कै हुन्थ्यो छोरीको गोडा धुवाइमा होस् या नारायणको पूजामा मसँगै कुम मिलाएर हिँड्थ्यो खै म बद्लिएँ या उस्को स्वभाव फेरियो हरेक सालको मझधारमा केही वर्ष यता हामीबीच केही कुरा भएको छैन कुरा सुनिन्छ केवल रामे श्यामे वा हरिका मुखहरुबाट केही समय पहिले कमलरी प्रथाको एउटा लामो युग काटेर आस्ताइसकेको सूर्यझैँ निरीह मेरो आडैमा आएको छिमेकी मेरै कुवामा नुहाउँदै कति चाँडै शीतलाई चमक दिने भएछ अचम्ममा छु आज भोलि त उस्को ख्याउटे शरीर खाइलाग्दो भएको छ कति ठाउँमा मैलाई नै पेल्छु भन्दै हिँड्छ रे खास्सै दुश्मनी नै हैन अझै पनि रोटीबेटी चलेकै छ तर पनि बर्खा धान लगाउँदा उस्ले एक हात आलि तासेको थियो म चुप रहेँ अर्को मसान्त मकै लगाउँदा हलोको सियोले आलीमाथि नै छेड पार्यो अँहँ, केही बोलिनँ आज केही लामो समयपछि उठेँ म शरीर आफ्नै थियो आड लाग्ने खामो हराएछ यस विषयमा कुरा गर्न हजारौं पटक हामी भेटिरह्यौँ ऊ मेरा परिवारलाई भेटी थमाई हिडिरह्यो आज पनि ऊ मेरो कुरा सुनिरहन्छ निरन्तर सुनिरहन्छ कथं कदाचित बोलिहाल्यो भने ऊ मेरो बारीको इतिहास कोट्याउँछ मैले उसलाई भोक मेटाउन दिएका केही मुरी धानको कुरा गर्छ उस्को बारीमा सापटी लागेको खेतालाको कुरा गर्छ अनि खिसिक्क हाँसी सत्यतामा झूट बिकाउँछ त्यसैलै मलाई मेरो छिमेको औधि मन पर्छ। #भरत गौतम |
सीमा भए साँघुरा: कोइली कुहु गरेर दिनहुँ गाउँछे उसैका कुरा। मन्द भो किन स्वर तिनको यहाँ सीमा भए साँघुरा। एकेे पाइलाा टेकी उठ्थ्याे शीर याे, उच्च थियाे टाकुरा, सुन्ने भन्ने थलाे नि:शब्द छ यहाँ एक्लिएछन् पँधेरा। दैलो कुचो सकी हतास मनमा बज्थे ती छिन्छिन् चुरा दूषित भाे तलाउ, पाेखरी पनि हुन्नन् नि भाे अब पूरा। गलेे भष्म भए जगतजनका कलिला ती आँकुरा, बेकामे भएछन् वयहरुसङ्ग वलिष्ठ ती पाखुरा। हलाे, कुटाे अझ काेदालीहरुले बिर्से आलीले गरा, बिर्से भाकाहरु राेपारेहरुले नाच्दैनन् लौ मजूर। #विमला पौडेल तृष्णा |
समय र शून्य खेती: उमेरको तस्वीर खिच्दै बसेका मान्छेहरूलाई एकाएक पछ्यायो मृत्युको भयले यो कुनै थ्रिलर मुभिको छोटो कहानी जस्तो मात्र पनि भएन बस्तितिर उड्दै आइरहेको काँचो बतासमा त्रासको गन्ध यसभन्दा अघि उत्ति थिएन मानिसहरू सम्मोहनको पर्दा्भित्र उत्तेजित बाँचिरहेथे उक्लिएर नसकिने अहम् को पहाड उडेर नपुगिने महत्वाकांक्षाको क्षितिज बनाइरहेथे क्रमश ः क्रमश ः एकाएक रोकियो समयको गति तर उता उहिले उहिले झैँ नै सन्नाटामा झ्याउँकिरीहरू कराइरहेछन् लाटोकोसेराहरू आफ्नै नियमिततामा छन् बिच्छी खजुराहरूका दैनिकी बदलिएको छैन लामखुट्टेहरू उस्तै गतिमा छन् सर्पहरूको सल्याङमल्याङ कायम छ बरु यस युगमा मान्छेहरू पो थिए कि ? सबैभन्दा विषालु र समय प्रतिशोध लिइरहेछ । सत्तामा चिप्लेकीराहरू टाँसिएकै छन् तिनका फिँजलाई अमृतको थोपा सम्झिने समयका अनुवादक बताइरहेछन् –उल्टो कथा युग गँड्यौलाझैँ मुस्किलले घिस्रिरहेछ जो थिए अर्को क्षितिज टेक्न हिँडेकाहरू रोकिए बिचतिरै तर बाटाहरू उसैगरी तेर्सिएका छन् जो लान चाहन्छन् मानिसहरूलाई टाढा टाढा आकाश जताततै खुला छ जो भन्न चाहन्छ मानिसलाई –नाघ्दै जानू परिधि बगिरहेछ बतास बहिरहेछ नदी जो सिकाइरहेछन् मानिसलाई गतिको परिभाषा तर मानिस सम्झेर आफ्ना पुराना दिनहरू च्यापेर कच्याककुचुक अनुहार बसेको छ नियतिको कुनामा र गरिरहेछ –शून्य खेती ‘मान्छे’ जातिको परिचय टाँसेर म अर्थात् –एउटा मानिस निरिहताको अर्को अध्याय पढिरहेछु । तर सपना देख्न भने छाडेको छैन । #सुवास खनाल |
उज्यालो सपना: रात अन्धकार चिरेर चम्केका ताराहरू अनि तिनै ताराहरूको बीचमा बलेको जूनको गर्विलो अनुहार बोकेर अचेल आउन थालेको छ सपनामा मेरो सपना नदेखि निदाउने चाहनाको विरोधमा उभिएर हरेक राति यसरी रात उज्यालो बोकेर सपनामा उदाउँदा मेरा अरू सपनाहरूमा जस्तै म खै किन हो झस्किएर बिउँझेकी छैन आजसम्म त्यसो त मैले राति कौसीमा निस्किएर आकाशतिर नहेरेको पनि धेरै भयो यद्यपि सन्ध्या आरतिलाई छोड्न म असमर्थ छु न त जून मात्र मलाई उज्यालो दिन उदाउँछ न ताराहरू मलाई लिन आउँछन् तर पनि मैले कहिले जून कहिले तारा भएर हरेक राति रातमा सम्भावनाहरू देख्न थालेकी छु देखेर उज्यालो सपना। #आश्मा अर्याल |
हाम्रो बस्ती: इतिहासको कालखण्डमा २१ औं शताब्दीको पूर्वार्द्धमा शान्ति र समानताको बीचबाट समृद्धिको दिशामा अग्रसर, हाम्रो बस्ती गौरवपूर्ण अतीत, आशातित वर्तमान सूर्यका प्रकाशहरुमा लालीमय किरण रात दिन उज्यालै उज्यालो वातावरण प्रज्ज्वलित थियो चारैतिर रौनकता छाएको थियो केटाकेटी, युवा युवती उफ्री रहेथे बूढाबूढी त्यसै त्यसै टोलाएका थिए सब रमाएका थिए तर एक्कासि चिच्चाहाट र कोलाहल सुनिन्छ चारैतिर सन्नाटा पो छाएछ दिउसै रात परेछ हाम्रो बस्तिको शान्ति त्यसै त्यसै हराएछ त्यसैले त होला टाढा टाढाबाट चिहाइरहेछन् कुना कन्दराबाट चिच्याइरहेछन् उम्मिद छ, आशा छ, भरोसा छ आग्रह पूर्वाग्रहबाट माथि उठेर फेरि अघि बढ्नु छ शान्तिलाई पनि त खोज्नु छ भर्खरै सुनेको कुरा हो पारिपट्टिको बस्तिमा घाम लाग्यो रे हाम्रो बस्तिमा पनि घाम लाग्नै पर्ने हो सूर्यको प्रकाशले अन्धकारलाई चिर्नै पर्ने हो जब ग्रहण फाट्ने छ -घाम लाग्ने छ, तब शान्ति भेटिनेछ अनि रात दिन उज्यालै उज्यालो चारैतिर रौनकता छाउनेछ सब रमाउने छन्, हाम्रै बस्तीको गीत गाउने छन् । वीरेन्द्रनगर, सुर्खेत #ज्ञानेन्द्र शर्मा #वीरेन्द्रनगर #सुर्खेत |
कोरोना र प्रकृति: भारी संकट देखियो मनुश्यजनमा अत्याशको प्रहर । सारा मानव थुनिए भित्र घरमा चकमन्न छन् सहर ।। सभ्यतानै बिलाउने हो कि भनी चिन्ता बढेको झन् । खुल्दैछ प्रकृति भने निर्भय बनी ल्याउँदै पुरानैपन ।१। घुम्दैछन स्वतन्त्र भै कोइली वनका पाखा पखेरा सब । पानी निर्मल भई पबित्र नदी छन् चारै तिरका सब ।। नाच्दैछ्न् च्याँखुरा मयुर वनका खुसी उमङ्गै भरी । प्रफुल्ल छन् झनै हिमाल चुचुरा हषौँउल्लासै गरी ।२। खुसी छन् गण्डकी पवित्र जलकी काली र सेती भेरी । नाच्दैछन् पुतली स्वच्छ्न्द मन लिई शान्ती मिलेझैँ गरी ।। झुल्दैछ्न लहरा पबित्र बनका मान्दै ठूलो रहर । फोहोरका डङ्गुरमा निसास्सी बसेका मुक्तै भए सहर ।३। धूलो धूवाँ र बिषाद ग्यासले आक्रान्त थियो धरा । रोकिँदा सब बिशाक्त गतिविधी भएछ हराभरा ।। बड्दो प्रदुषण चुनौती विश्वमा थप्दै थियो दिन दिन । आफ्नै कारणले बिनास रोजेको बुझ्दैन मान्छे किन ।४। श्वासै बन्द हुने भएछ मनमा कोरनाको कहर । निस्प्राण भई सुते सरह छन् व्यस्तै हुने सहर ।। कस्तो अनुुभूति गर्न मिलेछ अहिले कोरोनाका खातिर । जित्ने प्रकृति हो जहिले जसरी बुझ्दैछु म आखिर ।५। के गर्ला फेरि मानव अलि पछि पनि सिद्धिएमा कहर । साँच्चै प्रकृति सिंङ्गार्न उद्धत हुने जन्मिन्छ कि रहर ।। कि फेरि मानव तयार हुने पो होकी लुकी बस्न कंदर । कि बुझ्ला धरणी मन्दिर हो भनी पार्नु छ झन् सुन्दर ।६। #कोरोना र प्रकृति #सुरेश जोशी |
को हो त्यो ?: को हो त्यो जो युगौँदेखि बनाइरहेछ तिमीलाई बन्धक को हो त्यो जो बाँधिरहेछ युगौँदेखि तिम्रा पाउहरूमा जन्जीर को हो त्यो जो कैँची बोकेर युगौँदेखि चुपचाप काटिरहेछ तिम्रा पंखहरू र, रोकिरहेछ तिम्रा उडानहरू । को हो त्यो जो युगौँदेखि पछयाइरहेछ चुपचाप तिम्रा पदचापहरुलाई शान्त शान्त त्यो तलाउमा आएका तरङ्गहरूसँग शून्यताले छाएको त्यो गोरेटोमा सूचनाबिना नै चलेका आँधीहरूसँग सुसाएका सल्लाघारीका सालहरू झैँ को हो त्यो जो तिम्रो धैर्यताका बाँधहरुलाई युगौँदेखि रोकिरहेछ सुनामी बनेर बग्नलाई को हो त्यो जो चिहाइरहकोेछ युगौँदेखि चुपचाप त्यो आँखीझ्यालबाट तिम्रा ती पाइलाहरूको डोबलाई घेराबन्दीमा पारेर । को हो त्यो जो तिम्रा मनले चाहेका तस्बिरहरूमा तिमीलाई मन पर्ने रङहरू भर्दा तिमीसँग चित्त दुखाउँछ । को हो त्यो जो तिमीले गाउने विद्रोहका गीतहरूसँग धोत्रिएको तिम्रो स्वरमा केवल कोमलतामात्र खोज्छ । को हो त्यो जो युगौँदेखि दवाउन चाहन्छ तिम्रा विद्रोहका आवाजहरूलाई को हो त्यो जो युगौँदेखि देख्न चाहन्छ केवल लज्जावति झारझँै लजाएका तिम्रा मुहारहरू । को हो त्यो जो युगौँदेखि प्रश्न गरिरहेछ तिम्रो अस्तित्वमाथि को हो त्यो जो युगौँदेखि उपहास गर्दै हाँसिरहेछ चाणक्यको झैँ एउटा कुटिल हाँसो । को हो त्यो जो युगौँदेखि तिम्रै रगतका धाराहरू पिएर बनाइरहेछ तिम्रै रगतका धाराहरूलाई अशुद्ध । को हो त्यो जो युगौँदेखि खिच्दैछ मर्यादाको एउटा लक्षमण रेखा र रोकिरहेछ तिम्रा पाइलाहरूलाई । #को हो त्यो #रूपा थापा |
फ्यान फिक्सनमा छिर्\u200dयो कोरोनाभाइरस: यतिबेला पिटर पार्कर (स्पाइडर म्यान) आफ्नी काकी मे लाई घरैमा बस्न र बाहिर ननिस्कन अनुरोध गरिरहेको छ । बाहिर निस्क्यो भने कोरोनाभाइरसको संक्रमण हुने डरका बारेमा सम्झाउँदैछ । ठीक यही बेला ह्यारी पोटर उसको होगवार्ट विद्यालयमा कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न र यसबाट संवेदनशील स्वास्थ्य भएका बालबालिकालाई जोगाउन प्रयत्नशील छ । तपाईंलाई यी कुरा रोचक लागेनन् त ? हजुर, यतिबेला फ्यान फिक्सनमा रमाउनेका लागि गज्जबकै खाजा तयार भइरहेका छन् । फ्यान फिक्सन भनेको कुनै पात्र वा कथाप्रति तपाईं हुरूक्क हुनुहुन्छ भने ती पात्र र कथालाई नयाँ परिवेशअनुसार ढालेर लेख्ने नयाँ शैलीलाई फ्यान फिक्सन भनिन्छ । नेपाल र भारतमा चाहिँ यसलाई लीलालेखन भनेर चलाएको पनि पाइन्छ । स्पिडीगल नामबाट फ्यान फिक्सन लेखिरहेकी एक युवती भन्छिन्, ‘जब दैनिक जीवनमा ठूलो समस्या आउँछ, त्यो बेला मैले महान् ठानेका कमिकका पात्रहरू के गर्दै होलान् भनेर सोच्न थाल्छु । र, त्यसैलाई आधार बनाएर ब्लगमा लेख्न थाल्छु ।’ अमेरिकाको इलिनोइसको नक्स काउन्टीमा बसोबास गर्ने स्पिडीगल भन्छिन्, ‘त्यसैले मैले पनि ह्यारी पोटरलाई कोरोनाभाइरस संक्रमणका बेला गर्नु पर्ने काम लेखनीमार्फत अह्राइरहेकी हुन्छु ।’ कोविद १९ रोगका कारण अमेरिकामा मात्र लगभग ९६ हजार बढीको ज्यान गइसकेको छ । १५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । यस्तै संसारभर ४८ लाखभन्दा बढी संक्रमित भएका छन् भने तीन लाखभन्दा बढीको ज्यान गइसकेको छ । यस्तो संकटको घडीमा साहित्यका चर्चित हिरो र पात्रहरू ज्यूँदै भएका भए वा त्यस्तो समस्यामा फँसिरहेका भए कस्तो व्यवहार गर्थे होलान् भनेर नयाँ पुस्ताका लेखकले सोचिरहेका छन् । के उनीहरू उपचार खोज्न लागिपर्थे ? बन्दाबन्दी (लकडाउन)मा यत्तिकै अल्छी गरेर समय बिताइरहेका हुन्थे या मानवजातिलाई जोगाउन केही उधुम गरिरहेका हुन्थे ? २१ वर्षीया न्युजर्सीकी विद्यार्थी अमान्दा सोरेन्टोले स्पाइडर म्यानको कथा लेखेर फ्यानिक्सन डट नेटमा पोस्ट गरिन् । गर्नुको कारण के थियो भने उनी नजिकै बस्ने हजुरबा-हजुरआमालाई भेट्न पाइरहेकी थिइनन् । यस्तो बेलामा तिनको स्वास्थ्यको चिन्ता अमान्दालाई चुलिएर आयो । उनलाई झट्ट स्पाइडरम्यान याद आयो, त्यसपछि उसकी बूढी हुँदै गरेकी काकी मे पनि याद आयो । स्पाइडर म्यान भएको भए उसले काकीलाई के के भन्थ्यो र भाइरसको गम्भीरता बुझाउँथ्यो भनेर कल्पदै गर्दा एउटा गज्जबकै सिर्जना तयार भयो । त्यसलाई उनले फ्यानफिक्सनकै वेबसाइटमा पोस्ट गरिन् र त्यसले राम्रै चर्चा बटुल्यो । कतिसम्म भने फ्यान फिक्सनका प्रेमीहरूले त एउटा बहस नै चलाए । यस्तो संकटपूर्ण घडीमा कुन सुपरहिरोले कोविद १९ रोगसँग राम्रोसँग भिड्न सक्छ ? कुन पात्रले कोविद १९ को खोप पत्ता लगाउन सक्छ ? जस्तो यसका लागि कमिक्सका चर्चित पात्रहरू छन्, डा. ब्रुस बेनर (द हल्क), टोनी स्टार्क (आइरन म्यान) । द हल्कभन्दा आइरन म्यान धेरै हिसाबले उम्दा भएकाले उसैले खोप पत्ता लगाउने केहीको दाबी चल्यो भने केहीले खर्बपति आइरनम्यानभन्दा बुद्धिमान चिकित्सक डा. ब्रुस बेनर (द हल्क) नै उपचार पत्ता लगाउने उत्तम पात्र भएको दाबी केही समय चलिरह्यो । स्टार्कले समययात्रा (टाइम ट्राभल) समाधान गर्ने खुबी पाएको हुँदा उसले पनि भ्याक्सिन पत्ता लगाउँछ, स्रेकोरसले लेखेलगत्तै अर्काले भने डा. ब्रुस जीवविज्ञानको विशेषज्ञ भएकाले उसले नै खोप ल्याउन सक्ने तर्क खान्फखानले गरे । केही कथामा भने एभेन्जरका सदस्यहरू बन्दाबन्दीका कारण दिक्क भएर कसरी ब्ल्याक विडो, हकी र अन्य एकअर्कालाई प्राङ्क गर्दै बस्छन् भनेर प्यारोडी लेख्न पनि भ्याए । एक जनाले भने एउटा रोचक छोटो कथा लेखेका छन्, बन्दाबन्दी लम्बिदै जाँदा आफ्नो घनमा खिया नलागोस् भनेर थोरले कसरी रबरब्यान्डले बेरेर राखेको छ । केहीले भने बन्दाबन्दीका बेला स्वास्थ्यमा ध्यान दिनुपर्छ भनेर कसरी क्याप्टेन अमेरिकाले सर्वसाधारणालाई हात धुने कला सिकाइरहेको छ र एउटा प्रतिभाशाली सुपरहिरोको क्षमता ह्रास भइरहेको छ भनी कथा लेखेका छन् । यसरी फ्यान फिक्सन लेख्नेको संख्या पछिल्लो समय ह्वात्तै बढेको वेबसाइटका सञ्चालकले जनाएका छन् । गएको मार्चमा मात्र यो वेबसाइटको भिजिटर ३०० मिलियन पुग्यो । जसका कारण वेबसाइटको सर्भर नै डाउन हुन पुग्यो । २९ वर्षीया उपन्यासकार हाना मोस्कोवित्ज भन्छिन्, ‘म एउटा चलेको उपन्यासकार भए पनि गर्न लायक काम केही भेटिनँ भने फ्यानफिक्सन लेख्न दौडिहाल्छु भने झन् कुनै उपन्यासको डाइहार्ड फ्यानले त केसम्म गर्दो हो ?’ हिजोआज इन्टरनेटका कारण आफूलाई मन परेका पात्र र पुस्तकमाथि लेख्ने र त्यसलाई पढाउने काम सजिलो बन्न पुगेको छ। त्यसैले पनि अहिलेको विश्वव्याधिमाथि लेख्नेको संख्या ह्वात्त बढेको केहीको धारणा छ । म्युटन्ट निन्जा टर्टलका सदस्यहरू भने यतिबेला न्युयोर्क नै संक्रमित भएका कारण अन्यत्र शरण लिन गएको कथा एक जनाले जोडेका छन् । सामान्यतः उनीहरू जस्तोसुकै अवस्थामा पनि न्युयोर्क नछोड्ने र त्यहाँका खराब पात्रलाई तह लगाउने भए पनि यस पटक हार मानेको कथालाई धेरैले रूचाएका थिए । केहीले जेन अस्टिनको प्राइड एन्ड प्रेजुडिसमा एलिजाबेथ बेनेट र मि. डार्सीको प्रेममा कोरोनाभाइरस बाधा बनेर आएको र विछोडको अवस्थामा पुर्याएको कथा लेखेका छन् । एलिजाबेथले उसकी दिदीको बिहेका लागि राम्रो तयारी गर्दागर्दै अचानक कोविद १९ रोगका कारण बिहे नै बिथोलिएको कथा जोडेर पाठकलाई मनोरञ्जन दिलाइरहेको छ । फ्यान फिक्सनमा सधैँ नम्बर एक रहन्छ, ‘स्टार ट्रेक’ । यसमाथि बेलायतको बिर्मिङघमकी बर्नी डानाहारले लेखेकी छन्, ‘पृथ्वीमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि यहाँ आँखा लगाइरहेका मानव जातिभन्दा बुद्धिमान एलियनहरूले मान्छे बन्दाबन्दी गरेर जब एकान्तबास बढाएको देखेर कति मूर्ख रहेछन् भनी टिप्पणी गर्छन् । तर जसै मान्छेको मृत्युसंख्या डरलाग्दो तरिकाले बढ्दै जान्छ, उनीहरू पृथ्वीमा तत्काल आक्रमण नगर्ने निष्कर्षमा त पुग्छन् नै बन्दाबन्दी, सामाजिक दुरी र एकान्तबासको महत्त्व कति ठूलो रहेछ भन्ने पनि बुझ्छन् ।’ तपाईंले यी सबै कुरा पढेपछि कर्नाली ब्लुजको केटो, जब आफ्नो बाबुको मृत्युका बखत सहभागी हुन नपाएको र यसको मूल कारण कोरोनाका कारण भएको बन्दाबन्दीले उता बा अस्पतालमा र यता छोरो काठमाडौँमा कसरी छटपटाइरहेका छन् भनेर लेख्न मन लागेन ? अथवा, पागलबस्तीका मानिसहरू पागल हुनुमा कुनै खास किसिमको संक्रमणले भूमिका खेलेको भनेर बस्तिइतरका मानिसहरूले कुरा काटेनन् होला ? तपाईंलाई के लाग्छ ? कल्पनाशीलता प्रयोग गर्दै तलको कमेन्ट बक्समा केही लेख्नुस् न है ? #फ्यान फिक्सन #लीलालेखन |
सोदाहरण: “पिताश्री,सापेक्षवाद भनेको के हो ?” हुर्किएको छोरोले आफ्नो जन्मदाता लेखक एवं प्रोफ़ेसर “भाष्करराज़ विनोदी”सित यस्तो प्रश्न गर्\u200dयो। लघुकथा लेख्न व्यस्त विनोदी मौन रह्यो। एक घन्टापछि विनोदीको घरमा एक ‘जय नेपाल मित्र’ आयो। आधा घन्टा गफ भयो। पुत्रले पनि ध्यान दिएर सुन्यो। विनोदीले २००७ सालदेखि २०७७ सालसम्मको ‘जय नेपालपुरम’को उज्यालो पक्ष मात्र हाइलाइट गर्\u200dयो। मित्र ख़ुशी भएर गयो। पहिलो मित्र गएको आधा घन्टापछि “लालबहादुर भोलाराम” आयो। “एक दिन यो संसार कोरोनामय भएजस्तै मार्क्समय हुन्छ- साम्यवाद अपरिहार्य” यो निचोड़को गफ भयो | भोलाराम पनि अति प्रफुल्ल भएर गयो। फेरि दुई घन्टापछि “महेंद्र गिरी कोपिला” आयो। विष्णुको भजन गायो। “यो देशको भलो गर्ने शक्ति पृथ्वीनारायण शाहको ‘जीन’मा मात्र छ- यी कुनै पनि…..सक्ने कुरा असम्भव…राजा…आजा…” भनी मीठो खाजा खाएर कोपिला पनि लाग्यो पूर्व | – बाउको पारा देखेर छोरो मुर्मुरियो। बाउ कड़ा हो। सानोमा खाएको थप्पड़ सम्झियो। “कड़ा मास्टर” नाम कमाएको– विद्यार्थी पिटेर। मसिनो स्वरमा आफ्नो विमति प्रकट गर्\u200dयो, “हजूर जस्तो मान्छेले के गरेको पिताश्री ? यस्तो दहीचिउरे ? पीपलपाते ? किन बा ? हामीलाई के पुगेको छैन र यस्तो दोगला चरित्र ?” मुसुक्क मुस्कुरायो विनोदी। “छोरा, मैले तेरो प्रश्नको उत्तर ‘सोदाहरण’ दिएको हूँ– यही हो सापेक्षवाद– कुराले मान्छेको मन किन दुखाउने ? किन बढ़ी जान्ने हुने ? कला हो कला –जिन्दगी एक कला हो –हामी कलाकार !!” “उसो भए ‘पाखण्ड’ के हो त ?” छोराले अर्को प्रश्न सोध्यो। “भोलि मसित एउटा प्रवचन सुन्न जाने ….साँझ क्लियर !” “नारीको उत्थान –समयको माग” शीर्षकमा एक नेता भाषण –धारा प्रवाह ….सुने बाउछोराले। “अब्बल” नेताको प्रवचन। नेताजी विनोदीको साथी। साँझ बाउछोरा नेताको घर पुगे। नेताजी पत्नीलाई जथाभावी गाली गरिरहेको थियो। पत्नी निरीह- आँखा फेवा रारा। घर फर्किए, बाउछोरा। “पिताश्री, क्लियर। हजूर किन सर्वप्रिय गुरु हुनु भो भनेको त आज पो थाहा पाएँ।” #चितवन #धनराज गिरी |
भर्चुअल दुनियाँमा रमाइरहेको नेपाली साहित्य: दर्जन बढी कृतिका सर्जक कृष्ण धरावासीलाई कोरोनाको कहरबीच भएको बन्दाबन्दीले खासै असर पारेको छैन । बन्दाबन्दी अघिका दिनझैँ अहिले पनि केही न केही साहित्यकर्ममै बिताइरहेछन् उनी । ‘यी फुर्सदिला दिनमा मैले केही कथा तथा निबन्धहरु लेखेँ, जुन विभिन्न पत्रपत्रिका तथा अनलाइनमा प्रकाशित भइरहेका छन्,’ उनले पट्यारलाग्दो दिनहरुलाई ऊर्जाशील बनाइरहेको बताउँदै भने, ‘आफ्नै केही पुराना किताबहरुको सम्पादन पनि गरिरहेको छु । ‘लीला लेखन’, ‘आधा बाटो’ लगायत थुप्रै किताबहरु दोहो¥याएर छाप्नु पर्ने हुनाले ती किताबहरु पनि हेर्दैछु ।’ एउटा लेखक प्रायः सिर्जनाका लागि एकान्तबास नै खोज्छ । तर अहिलेको जस्तो एकान्त भने कुनै पनि लेखकले प्रायः नखोज्ने ‘योगमाया’का लागि मदन पुरस्कार विजेता नीलम कार्की निहारिका बताउँछिन् । अमेरिकालाई कर्मथलो बनाएर नेपाली साहित्यकर्ममा तल्लिन उनी अहिलेको अवस्थामा गर्दै गरेका लेखन कार्य पनि छोडेर बसेको बताउँछिन् । लेखनकै सिलसिलामा उनको नेपाल आउने कार्यक्रम तय भइसके पनि बन्दाबन्दीले रोकिएको उनले बताइन् । उनी भन्छिन्, “मेरो अहिलेका दिनहरु कति जना कोरोना संक्रमित थपिए र कतिको मृत्यु भयो भन्ने हेर्दैमा बितिरहेको छ । पछिल्ला दिनहरुमा भने त्यो पनि हेर्न छाडेकी छु । समय हुँदैमा लेख्न सकिन्छ भन्ने होइन रहेछ । मानसिक रुपमा स्वस्थ नभई एउटा लेखक लेखनमा लाग्न सक्दैन रहेछ । मेरो आफ्नो हिसाबमा चाहिँ यी दिनहरुमा मैले केही पनि लेख्न सकेकी छैन ।” लेखेरै जीवन धान्ने साहित्यकार निकै कम छन् । साहित्यसँगै अन्य प्रमुख पेशा अपनाउनेहरु बढी भएकाले थाँति रहेका कयौँ काम सक्न यो बन्दाबन्दीले कतिपयलाई सहयोग गरेको पौड्याल बताउँछन् । कोरोना कहरको बीचमा नयाँ सृजन शून्य प्रायः बनिरहे पनि अनुवादका कामहरु भने आफूले गरिरहेका बताउँछन् उनी । हालै पौड्यालले नीलम कार्की निहारिकाको मदन पुरस्कार विजेता उपन्यास ‘योगमाया’को अंग्रेजी अनुवाद सिध्याएका छन् । त्यस्तै अन्य फुटकर कथा र कविताहरुको पनि अनुवाद गरिरहेका छन् । नवपुस्ताको सुरेश बादलको पहिलो पुस्तकाकारका रुपमा आत्मपरक आख्यान गएको चैतमा नै फाइनप्रिन्टबाट आउने निश्चित थियो तर रोकियो । कोरोनाकै कारणले भने उनले आफ्नो काममा रोकिएनन् । यस कोरोना कहरको समयमा उनले पाउलो कोएलोको अंग्रेजी भाषाको उपन्यास ‘हिप्पी’को नेपाली अनुावाद गरिभ्याए । यस्तै अर्काे उपन्यासको अन्तिम सम्पादन पनि सिध्याएको बताउँछन् । ‘रक्तकुण्ड’जस्तो ऐतिहासिक उपन्यासका श्रष्टा कृष्ण अविरललाई पनि कोरोनाको कहरले त्रसित बनाएको छ । तर पनि उनी चुपचाप भने बसेका छैनन् । उनले यही कोरोना कहरको बीचमा एउटा ऐतिहासिक उपन्यास तयार पार्न भ्याएका छन् । यस्तै उनको प्रकाशन संस्था मञ्जरी प्रकाशनमा प्रकाशनका लागि आइपुगेका नयाँ तथा पुराना पुस्तकहरुको सम्पादन समेत गरिरहेका छन् । उनी भन्छन्, ‘कामै ठप्प पार्ने कुरा भएन । अनुकूल मिलाएर प्रकाशन गर्ने पुस्तकहरुको तयारी त गर्नै प¥यो नि !’ बन्दाबन्दी बढ्दै जाँदा भने साहित्यकारहरुलाई पनि घर चलाउने समस्या चुलिँदै जान थालेपछि सिर्जनाकर्म पनि उल्टो गियरमा जाने समीक्षक महेश पौड्याल बताउँछन् । उनी भन्छन्, ‘भोककै कुरा आएपछि चिन्तन प्रायः शून्य हुन्छ । यो समय कोरोनाकै चिन्तनमा लाग्न हरकोही बाध्य छन् ।’ के भइरहेछ भर्चुअल दुनियाँमा ? कर्णाली बुक रिडर्स, बुकाहोलिक्स, किताब यात्रा, एभरेस्ट टक मात्र होइन, फेसबुकका कयौँ ग्रुपहरुले साहित्य विधामा काम गरिरहेका छन् । कसैले कथा सुनाइरहेका छन्, कसैले कविता, कसैले गजल वाचन गरिरहेका छन् त कसैले पुस्तक वाचन कार्यक्रम । यसरी हेर्दा साहित्यमा रुचि हुनेहरुले बन्दाबन्दीलाई मज्जैले उपयोग गरिरहेका छन् । यस्ता बहस र वाचनले नेपाली साहित्यलाई नोक्सान भने पु¥याएको छैन । हिजोका दिनमा व्यस्त भएका साहित्यकारहरु पनि अहिले साहित्य बहसमा उत्रिएका छन् । यस किसिमका बहसले साहित्यमा नयाँ आयाम त थप्ने नै छ, साथमा लेखकलाई आफैँतिर फर्किन र पाठक नजिक पुग्न पनि मद्दत गर्ने छ । मझेरी, विकास न्यूजलगायत विभिन्न संस्थाहरुले यो समयमा ठूलो राशिका विभिन्न कविता, कथा तथा निबन्ध प्रतियोगितासमेत आयोजना गरिरहेका छन् । कतिपयले युट्युबलाई माध्यम बनाएर कविता वाचन कार्यक्रमसमेत चलाइरहेका छन् । यसले पछिल्लो पुस्ताका लेखकलाई प्रोत्साहन समेत गरिरहेको छ । बुकहोलिक्सले बन्दाबन्दीपछि आयोजन गरेका साहित्यकारसँगको साक्षात्कारले पाठकसँग सिधा जोड्न सहज भएको सहभागी साहित्यकारहरु बताउँछन् । तर सिर्जना औसत र भर्चुअल दुनियाँमा बढी रमाउने कार्यले भने लेखकहरु पाठकका लागि चाहिनेभन्दा सस्तो बन्ने पो हुन् कि भन्ने चिन्ता पनि बढिरहेको आलोचकहरुको धारणा छ । साहित्यको साख भर्चुअल दुनियाँमै नेपाली साहित्य घुमिरको अवस्थामा साहित्यको साखमा कस्तो प्रभाव पर्छ ? यसबारे अरुले भन्दा पनि लेख आफैँ ध्यान दिन आवश्यक छ । हामी कोरोनाको बाध्यात्मक परिस्थितिमा छौँ । र, केही लेखकहरु यस समयमा पनि वैचारिक बहसमै छन् । तर बाँकी केही लेखकहरु भने भर्चुअल दुनियाँमा भुलेर यस्तो असहज परिस्थितिमा आफ्नो भूमिकाबाटै टाढा गइरहेका पनि छन् । “प्रायजसो नेपाली लेखकको कोही न कोही विदेशमा छन् । कोरोनाको कहर डरलाग्दो छ । फोन आइरहन्छ । खबर आइरहन्छ । देशभित्रै पनि त्यस्तै ।”– अहिलेको विश्व महामारी कोरोनालाई नजिकबाट नियालिरहेका पौड्याल भन्छन्– “म आफैँ पनि केही गर्न खोजिरहेको छु । तर मेरो कार्यक्षता दसमा एक बनेर झरेको छ । केही पोस्ट हुँदैछन् भने ती सबै पुराना सिर्जना हुन् । नयाँ एउटा पनि छैन ।” कोरोनाले मानव संवेदनालाई गिजोलिरहेको समयमा साहित्य सिर्जन हुन गाह्रो छ । साहित्यकारहरु डाक्टर होइनन्, सरकार होइनन्, त्यसैले भूमिका गौण होला । तर मनोवैज्ञानिक रुपमा पाठक तथा जनाताका लागि उनीहरुको भूमिका विशेष रहन्छ । अरु केही गर्न नसके पनि भर्चुअल दुनियाँबाट केही बाहिर निस्किएर आफ्नो चिन्तन दृष्टिबाट आमजनता तथा पाठकलाई मनोवैज्ञानिक रुपमा सबल बनाउन लेखक तथा साहित्यकारहरुको ठूलो भूमिका रहने पौड्याल बताउँछन् । #कृष्ण ढुङ्गेल |
मूल्याङ्कन: पाउदेखि शिरसम्म हेरेर सानाे छाेरालाई हप्काए उनले, – ‘कति चकचके हाे ।’ – ‘मेराे भात खाने टेबलमा राखेकाे नयाँ चस्मा खसाएर प्याट्टै पारिदियाे ।’ – ‘बिगार्ने कुरामात्र सिक्छन् कि क्या हाे स्कुलमा यिनीहरू?’ श्रीमतीतर्फ कर्के नजर लगाए, – ‘यिनीहरू कसरी गरेर खान्छन् कुन्नि?’ – ‘एउटा चियामा चिनी अड्कल्ने ढङ्ग छैन ।’ – ‘कैले चिनी पकाएजस्ताे ।’ – ‘कैले पानी उमालेजस्ताे ।’ सानी छाेरीमाथि बाङ्गा आँखा खसाले उनले, – ‘हाेइन एउटा पेन्सिल पनि खाेजेर नभेटाउने?’ – ‘के पढ्छाै, के सिक्छाै तिमीहरू ?’ – ‘कैले किताब भेटिएन, कैले कापी भेटिएन ।’ अर्काे दिन सानी छाेरीले आमालाई साेधिन्, – ‘आमुआमु बुबा करेसाबारी जानलाग्नुभएकाे हाे ?’ उत्तरमा आइन् आमा, – ‘हाेइन छाेरी, बुबा त अफिस जानलाग्नुभएकाे ।’ – ‘ए… हाे र अनि बाबाकाे जुत्ता त छैन त खुट्टामा ।’ सानी छाेरी बाेलिन् । जुत्ताबिना अफिस हिंडेका बा सन्के, – ‘कति नै जान्ने ।’ छाेरी मुसुमुसु हाँसिन् । तर लाजले पाइन्टकाे चेन बन्द गर्नुस् भन्न सकिनन् बुबा पुरानै चस्माले आँखा छाेपेर अफिसतिर हानिए । छाेरी आँखामा सूर्यमुखी फूल फुलाएर बुबालाई परसम्म हेरिरहिन् । भर्जिनिया, अमेरिका #अमेरिका #जगन्नाथ पाैडेल #भर्जिनिया |
भातृद्वन्द्वको कहरमा महारानी: – रमा अधिकारी मिथकहरूको एउटा आर्किटाइप अर्थात अद्यरूप भाइवीचको द्वन्द्व धेरै मिथक र इतिहासको प्रसङ्गहरूमा पाइने एउटा विषय हो । मिलानका राजा एन्टोनियो र प्रोस्पोरोको कथा, डेन्मार्कका राजा हेम्लेट र क्लाउडिउसको प्रसङ्ग, निसदका राजा नल र पुस्करको कुरा होस् वा महाभारत र रामायणका प्रसङ्ग हुन् — भाइभाइबीचको द्वन्द्व, र त्यसको चपेटमा परेका आम जनता, महिला तथा बालबालिकाको जीवन कथा कारूणित बन्दै आएका प्रसङ्गले इतिहास र मिथकहरू भरिएका छन् । ती इतिहास र मिथकहरूको नवइतिहासवादी विपठनले उक्त द्वन्द्वहरू आफ्ना कतिपय सङ्कथनको गर्तमा लुकाएको सत्यहरूलाई अगाडि ल्याइदिन्छ र नयाँ सत्यहरू स्थापित गरिदिन्छ । यस्तै भातृद्वन्द्वको जगमा उभिएको ऐतिहासिक कथा बोकोको छ पोखराका स्रस्टा चन्द्रप्रकाश बानिय को उपन्यास महारानी । २०७६ सालमा शिखा प्रकाशनले बजारमा ल्याएको यस पुस्तकको कार्यपीठिका तत्कालीन बाइसे–चौबिसे अन्तर्गतको पर्वत राज्य हो । इतिहास, मिथक र काल्पनिकताका गतिलो सम्मिश्रण यस उपन्यासको माध्यमबाट लेखकले तीन शताब्दिअघिको इतिहासलाई उजागर गर्दै तत्कालीन बाइसेचौबिसे राज्यमध्येको एक, देउपुर राजकुमारी विश्वप्रभा कसरी आजपर्यन्त महारानी का रूपमा पूजित र सम्मानित छिन् भन्ने कुरा विभिन्न श्रोत तथा माध्यमबाट सूचना सङ्कलन गरी सत्यतथ्य पत्ता लगाई आख्यानीकृत गरेर निकै रोचक ढङ्गले प्रस्तुत गरेका छन् । यस उपन्यासमा उनले तीन शताब्दिअघिको बोलीचालीको भाषा प्रयोग गरेका छन् भने त्यस युगको राजनीति, रीतिरिवाज, धर्मसंस्कृति, परम्परा, चालचलन, कानुन, स्त्री–पुरुष सम्बन्ध, प्रेम, राजा–रैति सम्बन्ध अर्थतन्त्र, कूटनीति आदिका बारेमा निकै कुशलतापूर्वक प्रस्तुत गरेका छन् । कथावस्तु, मूलरूपमा भाइहरूबीच राज्य विभाजनको कलह, र यसैसँग जोडिएर आएको खण्डित प्रेम र विवाहको जगमा टेकेको छ । सत्ताको यस चक्रमा, र पुरुष अहमको जाँतोमा पिसिएर महिला र उनीहरू प्रेम कसरी बली चढाइन्छ, त्यो कथाका सार तत्व हो । कथाअनुसार प्रतापी नारायण मल्लले २०००० घरधुरी भएको पर्वत राज्यलाई आफ्ना तीन भाइ छोरा र दुई भतिजाममा अंशवण्डा गरेपछि पर्वत राज्य १६०० घरधुरीमा सीमित भएको थियो । सो पर्वत राज्य प्रतापी नारायणले आफ्ना सर्वप्रिय माहिला सुपुत्रलाई दिएका थिए । यसै वंशमा अन्य राजा राज्य गर्दै गए । भाइभतिजा मिलेर वरिपरि चारै किल्ला बाँधी पर्वत राज्य शक्तिशाली र सुरक्षित बनाउन खोजे, र लामो समय सुरक्षित पनि रह्यो । पछि उनै प्रतापी मल्लका दरसन्तान राजा घनश्याम पर्वतका राजा भए । उनका दुई रानीमध्ये जेठी रानी लम्जुङकी राजकुमारी गुलबदन तथा कान्छी जुम्लाकी जयन्ती भए । गुलवदनका छोरा मलेवम जन्मले जेठा र कान्छी रानी जयन्तीका छोरा भद्रिवम गर्भले जेठा थिए । कान्छी रानीले जेठी रानी गुल्वदनका अगाडि त्यति मानमनितो नपाएको महसुस गरी गर्भिणी अवस्थामै जुम्ला गई बसिन् । मद्रिवम मावली घर यानि जुम्ला दरबारमै हुर्किए । जन्मले जेठा भएका कारण मलेवम युवारज घोषित भएपछि भद्रिवम पनि जुम्लाबाटा झिकाइयो । मलेवम युवराज घोषणा भएपछि छिमेकी राज्यहरू आफ्नी राजकुमारी पर्वतको हुनेवाला महाराजलाई दिन लालायित भए । यसै क्रममा छिमेकी राज्य देउपुरकी राजकुमारी विश्वप्रभा र खाँचीकी राजकुमारी महलवसन्ताको डोली भित्र्याइयो । विवाहको राम्रो साइत नजुरेकाले दुई वर्षपछि मात्र विवाह सम्पन्न हुने र त्यस अवधिमा राजकुमारीहरूको शिक्षादीक्षाको प्रवन्ध पनि दरबारमै हुने प्रचलन थियो । पहिला पहिला जन्ती लिएर अन्य राज्यमा जाँदा बाटैमा राजकुमारको हत्या र लुटपाट हुने गरेकोले बेहुली पक्षबाट डोला भित्र्याई राम्रो साइत जुरेपछि राजदरबारमै बिहे गर्ने चलन सुरु भयो । यिनै दुई वर्ष अवधिमा राजकुमारी विश्वप्रभा र मलेवमको गहिरो प्रेम सम्बन्ध स्थापित भयो । मलेवम युवराज घोषणा भएपछि, जुम्लाको राजा र अन्यको उक्साहटमा भद्रिवम आफू राजा हुन पाउनुपर्ने नत्र भाईअंश मात्रै भए पनि पाउनुपर्ने कुरामा अड्डी लिए । उता महाराज घनश्यामले महाभारत र पुराणका उदाहरण दिएर भद्रिवमलाई सम्झाउने कोशिस गर्छन् । भने, “गर्भले जेठो तिमी नै हौ । जन्म पनि पहिल्यै भैदिएको भए र मैले मलेवमलाई राज्य दिन खोज्याको भए पो अन्याय हुन्थ्यो । सातै महिनामा जन्मेर पनि बाँच्याका हुनाले गादीको पहिलो हकदार बन्ने अवसर मलेवमले पाए । त्यसमा मेरो के दोष छ र?” तर सानैदेखि जुम्ला दरबारको संस्कार पाएका भद्रिवम आफूले पनि राजपाठ पाउने कुरामा अड्डी लिइरहे । यसैबीच अरू पनि जयजन्म भएकोले महाराज घनश्यामका छ भाइ छोरा भए । राज्यलाई छ भागमा अंशबन्डा गर्दा ६ टुक्रा हुने भएकाले उनी त्यसो गर्न राजी भएनन् । भद्रिवम भने आफूले राज्य नपाए विश्वप्रभासँग आफ्नो विवाह गरिदिनुपर्ने र त्यसो भयो भने आफूलाई राज्यको अंश नचाहिने नयाँ मागका साथ आइपुगे । विश्वप्रभा भने उनका दाइ मालेवमसँग प्रेममा थिइन् र विवाह पनि तय भएको थियो । भद्रिवमले यस्तो माग राख्नुको कारणचाहिँ मलेवमले राजकुमारी त्यग्न सक्दैन् र राजपाठ नै त्यागी भद्रिवमलाई सुम्पिदिन्छन् भन्ने हो । मलेवम र विश्वप्रभाले बरू राजपाठ नै त्याग गर्ने तर आफूहरू छुट्टिन नसक्ने कुरा व्यक्त गरे । महाराज घनश्यामले भने विश्वप्रभालाई भद्रिसँग बिहे नगर्दा पर्वत राज्यले धेरै हानी–नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ भनी उनलाई भद्रिसँग बिहे गरिदिन राजी गराउन कोशिस गरे । विश्वप्रभाले बरू आफू आत्मदाह गर्ने वा देउपुरै फर्किने तर भद्रिवमसँग बिहे गर्न नसक्ने कुरा बताइन् । भनिन्, “दुई प्रेमीहरू सगोलमा साझा मृत्युवरण गर्न सक्छन् तर छुट्टिने सल्लाह गर्न सक्दैनन् ।” तर राज्य र प्रजाका हितका लागि बाध्य भएर अन्त्यमा उनले यो प्रस्ताव स्वीकार गर्छिन् । उनी राज्यको अखण्डता र सुरक्षाका लागि आफ्नो प्रेमको बलिदानी दिन तयार हुन्छिन् । यद्यपि, यसलाई उनी सजया ठान्छिन् । भनिन्, “ धिक्कार छ छोरीको जुनिकन ! जन्म दिन्या मातापिताले छोरीको इच्छा चाहना क्या छ भनी एक वचन नसोधिकन बिरानो ठाउँमा पठाइदिस्यो । पर्वतले डोला स्वीका¥यापछि आफ्नो कर्तव्य पूरा भएको ठानिस्यो । माथिबाटै दैवले जोडी बनइकन पठाउँदा सकभर राम्रो होला, नभया जस्तो पनि सहुँला ब्यहोरुँला, आफ्नो कर्म उस्तो भनिकन चित्त बुझाउँला भनियो । दैवसंयोगले राजकुमार मलेवमसँग दिल बस्यो, मन मिल्यो । हिजो आमा बुवाबाट भयाको उपेक्षा बिर्सियो । पर्वतलाई आफ्नो सर्वस्व ठानियो । तर पर्वतले म निर्दोसकन सजाया दिन्या भयो । मन मिल्याका जोडी टुटाइकन सजाय नै त हो ।” भद्रिवमको विवाह विश्वप्रभा र मलेवमको विवाह महलवसन्तासँग भयो । महाराज घनश्याम राजपाठ मलेवमलाई सुम्पेर काशीतिर हिँडे । भद्रि सर्तअनुसार बेनी नजिकै रहेको ज्यामरुक डाँडामा महल बनाई विश्वप्रभासँग बस्न थादले । भद्रिको अर्को विवाह पहिले नै नलिनीसँग पनि भएको थियो र दुवैको प्रेमिल सम्बन्ध पनि भयो । विश्वप्रभासँग उनको कुनै लगाव थिएन न त विश्वप्रभावको उनीप्रति कुनै प्रेम र समर्पण भाव थियो । भद्रिवम ज्यामरुक डाँडामा बसी आफ्ना समर्थकहरूसँग साँठगाँठ गरी पर्वत राज्यका विरुद्ध षडयन्त्र रच्न थाले । पर्वतका राजाले गर्मीमा ढोलढाना र जाडोमा बेनी गरी दरबार सारिरहन्थे । बेनी सरेका बेला आक्रमण गर्न सजिलो होस् भन्नका लागि पनि भद्रिवम ज्याम्रुक बस्दैआएका थिए । शरीरले आफू भद्रिकी भए पनि मन, वचन र कर्मल सधैँ मलेवम र पर्वत राज्यका हितमा काम गर्ने वचन दिएकी राजकुमारी विश्वप्रभा भद्रिलई त्यसो नगर्न सम्झाउँछिन् । भद्रि भने “आफू राजकुमार भइकन राजा बन्ने सोच राख्नु जायज हो” भनी षडयन्त्र रचिरहन्थे । यो सूचना विश्वप्रभाले मलेवमलाई दिए । भद्रिले दाजु मलेवमको हत्या गरी राजपाठ आफ्नो हातमा लिने षडयन्त्र पूरा नहुँदै मलेवमले भद्रिवममाथि आक्रमण गर्न लगाई उनका सहयोगीसहित उनको हत्या गरिदिए । यसरी राजकुमारी विश्वप्रभाले पर्वत राज्यको रक्षा गरेकी र आफ्नो प्रेम, खुसी, परिवारलगायत सर्वस्व आहुति दिएकी हुनाले राजा मलेवमले सम्मानस्वरूप उनलाई “महारानी” घोणा गरी “राजमाता” का रूपमा सम्मान दिई नवनिर्मत महलमा बस्न अनुरोध गरे । आफ्नै परिवारको हत्या गराएकोमा विश्वप्रभालाई अपराधबोध पनि हुन्छ र उनी सुटुक्क दरबारबाट निस्किन्छिन् र सन्यासिनी बनिन् । उनैको बलिदानीको सम्मानस्वरूप मलेवमले उनलाई राजमाताको सम्मान दिन्छन् र महारानीको पदवी दिए । पछि गोडधुप गर्दा, महारानीलाई समेत धूपध्वजा, अक्षता दिन सुरु गरेको र त्यही चलनले “देउती” बाट देवी भगवती हुँदै पर्वत राज्यको अखण्डताको निम्ति आफ्नो सर्वस्व बलिदान दिने महान धिरोदत्त वीराङ्गना राजकुमारी विश्वप्रेभाले देवीको सम्मान पाइन् र आजपर्यन्त “महारनी”को नामले पूजित छन् । यस उपन्यासका महŒवपूर्ण पात्रमा राजा घनश्याम, रानी गुलवदन, युवराज मलेवम, राजकुमार भद्रिवम, राजकुमारी विश्वप्रभा र अर्का एकजना काजी सुमन्त बानियाँ हुन् । महाराज घनश्याम न्यायप्रेमी, राज्यका हरेक निर्णयरू सबैको सल्लाह लिएर मात्रै गर्ने स्वभावका छन् । उनलाई नीतिनियम, परम्परा, संस्कार, कानुन सबैका बारेमा विज्ञहरूसँग सल्लाह लिएरमात्रै कमद चाल्ने, दयालु स्वभावका भनेर देखाइएको छ । महारानी गुलवदन पनि सहनशील, दयालु, सबैलाई समान व्यवहार गर्ने, पचासको उमेरमा पनि पैँतीसकी जस्ती देखिने सुन्दर छिन् । अर्का पात्र सुमन्त बानियाँ गोरो वदन, उन्नत ललाट, चिम्कला आँखा, बलिष्ठ शरीर, हेर्दा खाइलाग्द भर्खरकै तन्नेरी तर ज्ञानगुन, इतिहास, पुराण, कूटनीति सबैमा पोख्त छन् । उनी मानिसमा रहेका अन्धविश्वास र भ्रमहरूको निवारण सत्यतथ्य र ज्ञानगुनका कुरामार्फत् गर्छन् । उनले समाजमा व्याप्त कतिपय झुटा मनगडन्ते किम्बदन्ती र लोकोक्तिहरूको चिरफार गरेका छन् । तर सुमन्त काजी भएपछि चैँ उनको उपस्थिति कम देखाइएको छ । नत्र, भद्रिवम हत्याको पनि अन्य कुनै सरल उपाय सुझाउन सक्थे कि? मलेवम र भद्रिवमको चाहिँ लेखकले चरित्र चित्रण गर्न छुटाएका छन् । उनीहरूलाई एकैचोटि अठार–उन्नाइस वर्षका भएर प्रस्तुत गरिएको छ । मुख्य पात्र र खलपात्र भएपनि त्यस्तो विवरण कहीँ छैन दुवै राजकुमारहरूको । राजकुमारी विश्वप्रभा भर्खर फक्रन लागेको कमलको फूलजस्तो यौवना, सुन्दर, कलात्मक शारीरिक ढाँचा भएकी, व्यवहारमा छरिती, बोलीमा कोकिलकण्ठे, मधर, निडर, जिज्ञासु र स्पष्ट वक्ता हुन् । भाषिक दृष्टिले हेर्दा मध्ययुगीन, मल्लवंशीय भाषा यस उपन्यासमा प्रगोग गरिएको छ । “उसैकन, भन्याका, अह्रायाको, ग¥याका, गादी, पाइन्या, भन्यादेखिन् पन्र्या जस्ता भानुभक्तीय साहित्यमा पनि पाइने शब्दहरूको प्रयोग छ । विभिन्न तहतप्काका तथा विभिन्न उमेर–समूह र पेसाका पात्रहरू खडा गरी लेखकले यस उपन्यासमा तीन शताब्दिअघिको बोलीचालीको भाषा प्रयोग गर्ने कोशिस गरेका छन् र पनि कतिपय ठाउँमा कृयापदहरू फरक परेका छन् । फेरि बाइसे राज्यका मानिस भद्रि, कमल जैशी आदिको भाषा र चौबिसे राज्यका मानिसका भाषा तथा आम रैतीदेखि राजासम्मको भाषा उस्तै छ । खासै फरक देखिँदैन । सर्वदर्शी समाख्याताले प्रयोग गरेका एकाध अङ्ग्रेजी शब्द पनि भेटिन्छन्, जो त्यस समयको परिवेशमा सटिक बस्दैनन् । हिज्जमेमा पनि केही त्रुटि छन् । लखेकले कतिपय अन्धविश्वास, झुटा भ्रम र किंवदन्तीको चिरफार गरी सही र साँचो पत्ता लगाई भ्रम चिर्ने प्रयास गरेका छन् । राजामहाराज र ठूलाबडाहरूले कसरी आफ्नो फाइदाका लागि झुटा मिथक निर्माण गर्दारहेछन् र अनपढ सोझा सादा जनताले त्यसलाई साँचो मान्दा रहेछन् त्यो यस उपन्यासले बताउँछ । उदाहरणका लागि बागलुङको देवता पुला जान नमानेको प्रसङ्ग, महाराजले अन्द्राभुँडी बाहिर निकालेर धुने गरेको प्रसङ्ग आदि कालान्तरमा ती सबै किंवदन्तीका रूपमा स्थापित भए । राजाहरूले आफ्नो स्वार्थ या राज्यको हितका लागि थर गोत्र फेरेको, जनै लगाउन थालेको आदि प्रसङ्ग त इतिहासमा सर्वविदितै छ । यहाँ पनि त्यस विषयमा चर्चा गरिएको छ । प्राचीन शब्दावलीहरू पनि प्रसस्त ठाउँमा प्रयुक्त भएकाले त्यस समयमा प्रयोग हुने शब्दावलीको प्रसस्त जानकारी यस उपन्यासबाट प्राप्त हुन्छ । इतिहासका कतिपय बाझिएका कुरा, तिथिमिति नमिलेका कुरा तलसिलका कुरा भए । अन्यथा, लेखकले यस उपन्यासलाई अत्यन्तै सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् । शिल्पपक्षमा खोट लगाउने ठाउँ छैन । उपन्यास सरु गरेदेखि अन्त्य नहुन्जेलसम्म एकपछि अर्को घटनाक्रमले पाठकलाई तानिरहन्छ । कौतुहलता कायम राख्दछ । पट्टेरलाग्दो नेपालको मध्ययुगीन इतिहास पनि लेखकले विभिन्न पात्र र परिवेश सिर्जना गरी अत्यन्तै रोचक बनाएका छन् । #चन्द्रप्रकाश बानिया #महारानी |
अधुरो सुहाग: विवेक अदालतको फैसला सुनेर घर फर्केका छन् । यस फैसलामा सीमाको हार हुन गएको छ । सीमालाई फैसला चित्त बुझेको छैन । उनले मुद्दा हारेकी छन्। उनी घर आएर सोच्न थाल्छिन्, ‘विवेकले मसँग साँच्चिकै खेलवाड गर्दैछ । म एक सिधासाधा केटीलाई प्याररुपी नक्कली जालमा फँसाएर मेरो जीवनको सारा खुशीमा नै डढेलो लगायो तर म त्यति कमजोर र विवश नारी छुइनँ। ममा जुन आगो विवेकले लाएको छ । त्यही आगोमा उसलाई सल्काएर भस्म पार्छु ।’ यही कुरा सोच्दासोच्दै पूर्व दिशाबाट उषाले आफ्नो लालीले सीमाको कोठालाई नै रंगाइसकिछन् । सीमाले फेरि अपिल गरिन् तर उनको केश सुनेर कुनै पनि वकिलले बहस गर्न मानेनन् । यस कुराले गर्दा उनी निकै निराश भएर भइन् । उनले कुनै बेला त हरेस पनि खाइन्, किनभने यत्रो संसारमा हजारौँ वकिल भएर पनि किन कसैले पनि उनको मुद्दा लड्न चाहिरहेको छैन ? धिक्कार छ विधाताको विडम्वना ! पाप दुई मिली गर्छन् तर दोष भने नारीलाई नै… किन ? …………… यसैबीच सीमाको आँखामा एउटा वकिलको साइनबोर्ड देखापर्छ । साइनबोर्ड देखेर उनी वकिलको अफिसमा पस्छिन् । उनको अनुरोधबाट वकिलको मन रसाएर बहस गर्ने निणर्य गर्\u200dयो । सीमाले उसलाई आफ्नो अधुरो सुहागको कहानी भन्न थालिन्ः म र विवेक एक-अर्कालाई असाध्यै चाहन्थ्यौँ । म विवेकलाई आफ्नो मुटु मान्दथेँ । हामी दुईबीच विवाह नभए पनि उनी मेरा लागि पति नै थिए । हामी दुईमा गहिरो प्रेम थियो। दुई ज्यान एक मुटुको सिलसिला दुई वर्षसम्म चल्यो । एक दिन विवेकले विवाह गर्छु भनेर मसँग अवैध सम्बन्ध राख्यो । मैले उसको कुरामा विश्वास गरेँ । यहीँ मबाट ठूलो भूल हुनगयो । त्यस दिनदेखि विवेक मबाट टाढा हुँदै गयो । म भने उसलाई कति भेट्न चाहन्थेँ, जब भेट हुन्थ्यो ऊ विवाहको कुरै गर्दैनथ्यो तर कहिलेकाहीँ पख म विवाह गर्छु भनेर फुल्याउँथ्यो। उसको यही आशामा परेर मैले विवाहका लागि सबैथोक ठिक्क पारेँ । जुन दिन विवाह थियो, त्यो दिन विवेक आएन । यो घटनाले गर्दा म सारा समाजको अगाडि कलंकित नारी भएर उभिएँ । यसरी मेरो जीवनमा भरिन लागेको सुहाग अधुरो रह्यो । यसको केही दिनपछि नै एउटी नारीले मेरा अघिल्तिर उभिइन् र विवेकको कुरा गर्न थालिन् । उनले आफ्नो नाम नीमा बताइन् । मैले तिनलाई सोधेँ, ‘तपाईं विवेकको को हो ?’ उनले आफूलाई विवेकको प्रेमिकाका रूपमा चिनाइन् । जसले झूटो प्यारमा मलाई फँसाएर मेरो जीवनको र कुमारीपनको हत्या गरेर छोड्यो, फेरि उसैले नयाँ साथी बनाइसकेछ । त्यस दिनदेखि मलाई पुरुषदेखि नै घृणा लाग्न थाल्यो । मैले आफ्नो बाबुलाई पनि पुरुषमा तुलना गरेर हिँडे । विवेक समाजको यस्तो बिउ हो, जसले नारीसँग खेल्न र वासना लिन मात्र जानेको रहेछ । त्यसको कदर र मूल्य चिनेको रहेनछ । मैले विवेकलाई एक दिन भनेँ, ‘विवेक तिमी त राक्षस रहेछौ। राक्षसमा पनि दया र सानको अंकुर फुटेको हुन्छ तर तिमीमा त केही रैनछ । के धाकले आफूलाई समाजको अगाडि पुरुष देखाएर हिँडछौ ? तिमी साँच्चै पुरुष हौ भने मलाई र नीमालाई अँगालेर आफ्नो पौरुषसत्यको पुरुषार्थ देखाऊ। पुरुषलाई नारीले घृणा गर्ने बाटो अपनाऊ । कहीँ यस्तो नहोस्, सारा नारीहरु मिलेर पुरुषलाई जन्म दिन छाडून् र जन्मना साथ सारा आमाहरूले आफ्नै सन्तानको हत्या नगरून् । सारा आमाहरू हत्याराका रूपमा नउभिऊन् यो समाजमा र समाजलाई नै श्मसानघाट नबनाऊन् । जे भो भयो, त्यसलाई हामी भुल्छौँ । विवेक अलिकति त सोच । किन तिमीले हाम्रो जीवनसँग खेलवाड गर्\u200dयौ ? किन प्यारको आडमा हाम्रो जवानी लुट्यौ ? नारीको जीवनसँग खेल्नुको परिणाम के हुन्छ सोचेनौं ? आफ्नो नामको सदुपयोग त गरेको भए हुन्थ्यो ! नारीको शरीरसँग खेल्ने सोख थियो भने धेरै नारीहरु भेटथ्यौ । कहीँ यो तिम्रो पेशा त होइन ?’ यसपछि उसले उल्टै ममाथि नचाहिँदा लाञ्छना लगाउँदै भन्यो, ‘तेरो अब के इज्जत छ ? जा अब कुनै कोठीमा बसेर आफ्नो शरीरको व्यापार गर ।’ जब मैले यो कुरा सुनेँ, उसलाई भनेँ, ‘ठीक छ, कोठी नारीहरुकै लागि बनाइको हुन्छ तर कोही यस्ता नारी त्यस कोठीमा हुँदैनन् जो पुरुषलाई पैसा दिएर किन्छन् । उनीहरू पैसा उठाउँदैनन्, लुटाउँदैनन् । लुटाउने त पुरुष नै हुन्छ । तिमीहरु जस्ता समाजका विषालु नाग नै आफ्नो इच्छापूर्तिका लागि कोठीमा आउँछौ । याद राख आज सारा पुरुषहरुले नै कोठीलाई प्रोत्साहन दिएर आफ्ना दिदीबहिनीको लुगा फुकाल्छन् । किन उनीहरूलाई त्यहाँबाट निकालेर इज्जत दिन सक्दैनन् । तिमी त ती कोठीमा बस्ने नारीहरु भन्दा पनि नीच रहेछौं । जो एक फूलबाट अर्को फूल घुम्ने भँवरा रहेछौं । कति कलिला निर्दोष फूलको रस चुसेर छाडेका छौं तर यो नसोच म ती फूलझैँ मुर्झाउने छु । म त त्यो फूल हुँ, जसले भँवरालाई रस चुस्ने मौका दिएर त्यो रसमै विष घोलेर त्यही रसमा डुबाएर सदाका लागि उसको जीवनको दियो निभाउने । तिमीले मेरो जीवनसँग खेलेर काललाई बोलायौ ।’ वकिललाई सारा कहानी सुनाइसकेपछि सीमा एक छिन चूप रहिन् । केहीबेरको मौनतापछि उनले थपिन्, ‘यसपछि मैले अदालतको सहारा लिन पुगेँ । त्यहाँ पैसाको भरले मलाई विवेकले हरायो र म फेरि यो केशलाई दोहोर्\u200dयाउन चाहन्छु । यही नै हो मेरो अधुरो सुहागको कहानी । ००० यसपछि सीमाको केस अदालतमा दोहोरियो । यस पटक पनि विवेकले पैसाको आडमा एक निर्दोष केटीलाई खराब नारीको उपमा दिएर फैसला गर्\u200dयो । जित विवेकको नै हुन गयो । यो सुनेपछि सीमालाई खपिसक्नु भएन । सीमाले अदालतमै विवेकको हत्या गरिन् । त्यसबेला सीमाको आँखामा विवेकको राक्षसी रुप देखापरेको थियो । आफूमाथि लगाइएको झूटो आरोपले उसलाई यति भड्कायो कि आक्रोशमा आएर उनी खुनी बन्न बाध्य भइन् । अचानकको यस्तो कार्यले सारा अदालतमा सन्न भयो । यसपछि सीमा खुनी साबित भइन् । अब बाँचेर पनि के गर्नु थियो र ? एक कलंकित नारी भएर बाँच्नु भन्दा मर्नु राम्रो ठानेर सजाय स्वीकार गरिन् । सजाय सुनेपछि सीमाले न्यायाधीसलाई एउटै प्रश्न गरिन्, ‘मेरो हातबाट विवेकको हत्या भयो । यो सही हो, म एक खुनी हुँ, यसको साक्षी त अदालत छ तर यही खुन मैले चुपचाप लुकेर गरेकी भए के सबुत हुन्थ्यो ? सबुत नभएर गरिएका हत्यालाई तपाईंको कानुनमा के सजाय छ ? त्यस्तै यस विवेकले मेरो र नीमाको कुमारीपन, सुनौलो भविष्यका साथै आफ्नो बच्चाको हत्या गरेको थियो । जसको सबुत यो गर्भपात गराएको डाक्टरको सर्टिफिकेट छ, हेर्नुस् । कानुनलाई सबुत चाहिन्छ भने विवेकलाई सजाय दिनुहोस् अनि मात्र म यो तपाईंको सजाय स्वीकार गर्छु । विवेक समाजको यस्तो एउटा कीरा हो, जसले कतिपय कोपिलाहरुको हत्या गरेर पैसाको भरमा बचेर हिँड्दै थियो । उसले लुकेर गरेको खुन, खुन होइन के ? के ती अजन्मा बच्चाको भविष्य थिएन ? यी सबै कुराहरुको हक हुँदाहुँदै पनि समाजको त्रास, झूटो लाञ्छनाले गर्दा अन्याय सहेर हामी सजाय पाउने तर एक खुनी भने पैसाको आड्मा आफूलाई बचाउने ? बस्, मेरो यही कुराको जवाफ सोध्नु छ कि तपाईंको कानुनमा सिधासाधा केटीलाई आफ्नो प्यारमा भुलाएर उसको कुमारीपनको खुन गरेर विवाह गर्छु भनेर धोका दियो, हामीले भने उसको प्यारलाई साँचो मानेर उसको पापलाई चार महिनासम्म पेटमा राखेर मजबुरीका साथ त्यस बच्चाको हत्या गर्नु पर्\u200dयो। यो बच्चाको हत्यारा म कि विवेक न्यायाधीशज्यू ? विवेकको हत्यारा मलाई मान्नुहुन्छ भने त्यस बच्चाको हत्यारा को त ? विवेक या तपाईंको कानुन, या समाज ? किन यो कानुनले विवेकलाई सबुत हुँदाहुँदै सजाए दिएन त ? किन यो समाजले विवेकसँग मेरो विवाह गराएन त ? कसरी म खुनी ? अगर म खुनी हुँ भने विवेक र यो कानुन खुनी हो किनभने एक खुनीलाई फेरि खुन गर्न आजाद गर्दै थियो । मैले के अपराध गरे जो एक खुनीको खुन गरिदिएँ ?’ यसपछि सीमा चुप लागिन् । न्यायाधीशले उनको प्रश्नको कुनै जवाफ नदिई राजीनामा दियो र अदालतबाट बाहिर निस्कियो । यस घटनाले गर्दा सीमा एक यस्ती नारी भइन्, जो पुरुषलाई हेर्न पनि चाहन्न थिइन् । उनी अब एक्लै भएर बाँच्न चाहन्थिन् । यसैबीच सीमालाई पुलिस अफिसबाट बोलावट आयो । उनी गइन् । सीमा प्रहरी अधिकारी सामुन्ने थिइन् । उनले कड्किँदै भनिन्, ‘मलाई यो झूटो कानुनको मन्दिरमा एकक्षण बस्नु छैन । के कामले बोलाउनु भएको हो, चाँडो भन्नुस् ।’ यत्तिकैमा एकजना प्रहरी अधिकारीले सीमाको हात पकड्दै भन्यो, ‘म तपाईसँग विवाह गर्न चाहन्छु । के तपाईं मलाई यो सौभाग्य दिनुहुन्छ ?’ जब सीमाले यो प्रस्ताव सुनिन्, अफिसरलाई भनिन्, ‘कहिलेदेखि यो पुलिस अफिस विवाहको मण्डप भएछ ? तपाईंले यही जान्नु भएछ । तपाईंको प्रश्नको जवाफ भोलिको पत्रिकामा पढ्नुहोला ।’ भोलिपल्ट अखबारमा त्यस अफिसरका बारेमा पत्रिकामा अनेक फतुर छापिएका थिए । ऊ त्यस शहरमा बस्न नसक्ने अवस्था गरिदिइन् सीमाले । सीमाको यो रौद्र रूप देखेपछि उनका बाबु उनलाई सम्झाउन आइपुगे । तर सीमा आफ्नो बाबुलाई पनि हेर्न चाहन्न थिइन् । सीमाले भनिन्, ‘तपाईं यहाँ किन आउनु भएको ? तपाईं मेरो बाबु त हो तर साथसाथै एक पुरुष पनि हो । तपाईंलाई थाहा छैन, म आफ्नो घरमा र जीवनमा कुनै पुरुषलाई स्थान दिन्न भनेर ?’ सीमालाई शान्त बनाउने प्रयास गर्दै उनका बाबुले भने, ‘सबै पुरुष एउटै हुँदैनन् छोरी । एउटा पुरुष थियो, तँलाई बिगार्\u200dयो । अर्को पुरुष छ, तेरा सारा कुरा थाहा पाएर पनि तँसँग विवाह गर्न तयार छ । तँ आफैँ छुट्याएर भन्, के सबै राक्षस मात्र हुन्छन् ? या कोही जीवन दिने ईश्वर पनि हुन्छन् ? त्यसैले छोरी त्यो पुलिस अफिसरलाई गएर रोक्, जसले तेरो अधुरो सुहाग पुनः भरिदिन्छ ।’ ‘बुबा यो पुरुषको दया हो, जुन दया नारीलाई दबाउनु र गुलाम बनाउनु बाहेक केही होइन । चाहिएन बुबा मलाई कुनै पुरुषको दयाको भिख,’ सीमा त्यसपछि एयरपोर्टतर्फ लाग्छे । एयरपोर्टमा सीमाका आँखाले त्यही पुलिस अफिसरलाई देख्छिन् । नजिकै गएर भन्छिन्, ‘बढुवा भएर सरूवा हुनुभएकोमा बधाई दिन्छु । जुन ठाउँमा जाँदै हुनुहुन्छ त्यस ठाउँमा गएर कुनै नारीको हात पक्डन हात नबढाउनु होला । पुलिस अफिसलाई विवाह मण्डप नबनाउनु होला । जुन दया तपाईंले ममाथि देखाउनु भएको थियो, त्यो दया अरु कसैलाई देखाउनु होला किनभने म पुरुषलाई सधैं टाढा राख्छु र घृणा गर्छु । तपाईंको यात्रा सफल होस् भन्दै सीमा त्यहाँबाट निस्कन्छिन् । प्रहरी अधिकारी वाल्ल परेर हेरेको हेर्\u200dयै हुन्छ । यसरी दोहोरिएर भरिन लागेको सीमाको सुहाग अधुरो नै रहन्छ । विराटनगर #भरती पोखरेल #विराटनगर |
मुक्तक कसरी लेख्ने ? पढ्नुहोस् उदाहरणसहित: मुक्तक मूलतः चार हरफको आफैँमा पूर्ण रचना हो । एउटा सिंगो कवितामा जस्तै चार लाइनभित्र सबै भाव व्यक्त हुन्छ । हुन त चार हरफ मात्र होइन, दुई, तीन, पाँच, छ मात्र होइन, कहिलकाहीँ सात हरफसम्मका रचनालाई पनि मुक्तक भनिएको पाइन्छ । तर खासमा मुक्तक चार हरफमै सुन्दर देखिन्छ । यसैलाई नेपाल मुक्तक प्रतिष्ठानले केही समयअघि गरेको तीन दिने मुक्तक कार्यशाला गोष्ठीले पास गरेको थियो । चार हरफमध्ये पहिलो पंक्तिले विषयको उठान गर्छ । दोस्रो पंक्तिले त्यसको विकास गर्छ । तेस्रो हरफ पहिलो र दोस्रो भन्दा पृथक् हुनुका साथै अनुप्रासमुक्त हुन्छ । तेस्रो हरफ भनिसक्दा पाठक श्रोतामा कुतूहल जगाउँछ । त्यसपछि चौथोले भन्न खोजेको कुरा मज्जाले भन्छ । अझ सजिलो रुपमा बुझाउनका लागि मुक्तककारहरुले भनेका छन्— पहिलो हरफमा धनुमा ताँदो चढाइन्छ । दोस्रो हरफमा निशाना ताकिन्छ । तेस्रो हरफमा प्रहार गरिन्छ र चौथो हरफमा चरो खसालिन्छ । चौथो हरफमा चोटिलो समापन हुनुका साथै यसले पाठकलाई तीव्रतम रूपमा कुनै भावदशामा पुर्\u200dयाइदिन्छ । कसरी लेख्ने मुक्तक? सिर्जना भनेको प्रतिभा व्युत्पत्ति र अभ्यासको योगले नै पल्लवित हुन्छ । प्रतिभा बिज हो । व्युत्पत्ति जमिन हो र अभ्यास भनेको मल,जल गोडमेल र हावा पानी हुन् । यी सबैको योगबाट नै सुन्दर सिर्जना हुन्छ । सिर्जनाका केही स्थापित नियम हुन्छन् । यसको पहिलो नियम भनेको पहिलो, दोस्रो र चौथोको अनुप्रास मिल्नु हो । तेस्रा चाहीँ अनुप्रास मुक्त हुनु हो । अनुप्रासलाई मुक्त गराउनुको कारण के हो भने यसैले चरा मार्नतिर छाड्ने काम गर्छ । मष्तिष्कभन्दा मन र भावना हावि भएर लेखिएको रचना सफल र कालजयी भएको पाइन्छ । लेखनको अभ्यासी चरणमा मष्तिष्क हावि हुनु स्वाभाविक हो । कुनै विषयलाई लिएर संरचनामा ढाल्नु नै पहिलो प्रयास हो । पहिलो, दोस्रो र चौथो हरफका लागि तीन वटा राम्रा अनुप्रासहरू पनि चाहिन्छ । रोजिएका तीनवटा अनुप्रासहरूमध्ये पनि पहिलोमा कुनलाई प्रयोग गर्ने, दोस्रोमा कुनलाई प्रयोग गर्ने र चौथोमा कुनलाई प्रयोग गर्ने भन्ने कुरा कविको क्षमता र रचनाकौशलमा भर पर्दछ । मुक्तक आफैँमा छोटो आयामको सिर्जना भएको हुँदा कुनै पनि हरफलाई लामो बनाउनु राम्रो मानिदैन । यद्यपि लम्बाइको एकरूपता भने हुनुपर्दछ । शब्दको फारो नै मुक्तकको आत्मा हो । मुक्तकमा एकप्रकारको मध्यमस्तरको बहाब हुनुपर्दछ । झरनाजस्तो एकैपल्ट तल आइपुग्ने तीव्र वेग पनि होइन र सागरमा विलिन हुन लागेको नदीको जस्तो सुस्त गति पनि होइन । बरु पहाडबाट हुत्तिँदै बगेको कुनै वेगवान नदीको जस्तो बहाव हुनुपर्दछ मुक्तकमा । अथवा, खेत वा बारीको माथ्लो कान्लाबाट तल्लो कान्लामा, तल्लो कान्लाबाट झन् तल्लोमा फाल हानेजस्तो गरी पहिलो, दोस्रो हुँदै चौथो हरफसम्म भावहरू उफ्रदै जानु श्रेयष्कर हुन्छ । पढ्ने पाठक वा सुन्ने श्रोता हरेक हरफमा कौतुकमय र रोमाञ्चित भयो भने नै मुक्तक सामर्थ्यवान् मानिन्छ । अनुप्रास मिल्दैमा मुक्तक बन्छ भन्ने होइन । अनुप्रास मुक्तकको लागि साधन मात्रै हो, साध्य होइन । नेपालका चर्चित मुक्तकहरूका उदाहरण हेरौँ – रात केवल एक प्रहर बाँकी छ तीन प्रहरको अन्तिम असर बाँकी छ पश्चिममा पुगेकी एक्ली चाँदनीलाई केवल एउटा मेरै भर बाँकी छ । (भीमदर्शन रोका) प्रेमिल रसमा डुबेको भीमदर्शन रोकाको यो मुक्तकको पहिलो दोस्रो र चौथो हरफमा प्रहर, असर, भर मध्यानुप्रास र पहिलो दोस्रो र चौथो पंक्तिमा ‘बाँकी छ’ अन्तयानुप्रास रहेको छ । पहिलो हरफमा उठान गरिएको एक प्रहर रातलाई दोस्रो हरफको तीन प्रहरले विस्तार गरेको छ । तेस्रो हरफले पहिलो र दोस्रो हरफसँगको तादात्म्यता राख्दै चौथो हरफको लागि कुतुहलता जगाएको छ । चौथो हरफले एउटा मीठो प्रेमिल भावको अति सशक्त ढंगले प्रक्षेपण गरेको छ । मुक्तक पढिसकेपछि मन र मस्तिष्क दुवै तृप्त भएको पाठकलाई अनुभूति हुन्छ । रात र चाँदनीलाई विम्ब बनाएर लेखिएको यो मुक्तकले रातको वर्णन गरेको हो कि जस्तो लाग्दालाग्दै आफ्नी प्रेमिकाप्रति गहिरो आशक्ति व्यक्त गरेको देखिन्छ । अब अर्को उदाहरण हेरौँ- पहेँलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ प्रत्येक रंगीन चरालाई वनको मजुर भन्न मन लाग्छ चाकडी गर्दा–गर्दा यस्तो बानी परिसक्यो कि अब त बाटामा कुनै गधा देखे पनि हजूर भन्न मन लाग्छ । (भूपि शेरचन) भूपि शेरचनको बहुचर्चित प्रस्तुत मुक्तकमा गजुर, मजुर र हजूरजस्ता तीनवटा मध्यवर्ती सशक्त अनुप्रासहरू रहेका छन् भने पहिलो, दोस्रो र तेस्रो हरफमा ‘मन लाग्छ’ अन्त्यानुप्रासका रूपमा रहेको छ । मुक्तकमा मध्यानुप्रास अनिवार्य होइन तर यसले मुक्तकको शक्ति र मिठासलाई सदैव प्रवर्द्धन गर्दछ । यस मुक्तकमा पहिलो पंक्तिले पहेँलो धातुको रङ र पहेँलो रङको गजुरको तथ्यगत विम्बलाई अगाडि सारेर विषयको उठान गरेको छ । दोस्रो हरफमा पनि रङकै धागो समातिएको छ र वनको मजुरको बहुरंगी आकर्षक विम्बलाई सजिलै पाठकको आँखामा उपस्थित गराइएको छ । तेस्रो हरफ भनेको मुक्तककारको आग्रह, विचार, भावना, जिकिर, भनाइ र मनोदशा प्रकट हुने पंक्ति हो । मुक्तककारले यहाँ चौथो हरफको निष्कर्षलाई पुष्टि हुने गरी आफ्नो मनोदशा देखाएका छन् । चौथो हरफमा पाठक कविको संकथन पढेर वा सुनेर सम्मतिसूचक टाउको नहल्लाई धरै पाउँदैनन् । मुक्तकले समग्रमा एउटै अर्थ उद्बोधन गरेको छ र त्यो हो चाकडीप्रधान शासन व्यवस्थामा एउटा आम नागरिकको नियति । यस मुक्तकमा संरचनागत अर्को सौन्दर्य के पनि छ भने प्रत्येक हरफमा आठ शब्दहरू रहेका छन् र पूरै चार हरफहरूको संयुक्ततामा एउटा पूर्ण आयात निर्माण भएको छ । अब अर्को मुक्तक हेरौँ- तिमी छैनौँ जिन्दगीमा, उल्लास छँदै छैन अरू सब ऋतुहरू छन्, मधुमास छँदै छैन अमृत नै भए पनि, मागेर पिउँदिन म यसको यो अर्थ हैन, मलाई प्यास छँदै छैन । (चेतन कार्की) यस मुक्तकमा पनि मध्यानुप्रास र अन्त्यानुप्रासको कुशल संयोजन गरिएको छ । मध्यानुप्रासका रूपमा उल्लास, मधुमास र प्यास रहेका छन् भने अन्त्यानुप्रासमा छैन रहेको छ । एउटी प्रेमिकाको रिक्ततालाई पहिलो हरफले उठान गरेको छ । त्यसै रिक्ततलाई दोस्रो हरफले थप बल दिएको छ । सब ऋतुहरू भएर पनि प्रेमिका छैन भने मधुमासको निस्सारतलाई प्रष्ट्याउन खोजिएको छ । तेस्रो हरफमा अरू कुनै कुराले म सन्तुष्ट हुन्न जुन आफ्नी प्रेमिकाको उपस्थितिले हुन सकिन्थ्यो भन्ने भावदशाले मुक्तककार आफ्नी प्रेमिकाको विकल्पमा कुनै पनि सुन्दरी हुन नसक्ने उद्घोष गर्छन् भलै उनीभित्र प्रेमप्राप्तिको प्यास पर्याप्त किन नहोस् । यस मुक्तकमा पहिलो हरफदेखि चौथो हरफसम्मै एउटा भावको सूत्रलाई समातिएको छ । प्रेमिकाको अनुपस्थितिले सिर्जना हुने उल्लासशून्यता नै समग्र मुक्तकको सार रहेको छ । मुक्तकमा शब्द र भावहरू सलल बगेका छन् । थप एउटा मुक्तक हेरौँ- रोग त बदल्न सक्दिन म, जरुर अर्को जडी बदल्नु छ बदल्न सक्दिन समस्या नि, कुनै सही कडी बदल्नु छ प्रज्ञा, यति जटिल संसारलाई कहाँ बदल्न सकिन्छ र ? घाम त बदल्न सक्दिन म, मैले मेरै घडी बदल्नु छ । (राजन सिलवाल) अग्रवर्ती तीन मुक्तकहरूमा जस्तै यस मुक्तकमा पनि जडी, कडी र घडी जस्ता मध्यानुप्रास रहेका छन् भने ‘बदल्नु छ’ लाई अन्त्यानुप्रासका रूपमा प्रयोग गरिएको छ । मुक्तकको प्रथम हरफमा मानिसहरूको निरूपाय सामर्थ्यलाई संकेत गर्दै त्यसको विकल्प प्रस्तुत गरिएको छ । दोस्रो हरफमा पनि अर्को उपायहीनता देखाइएको छ र त्यसको विकल्प इंगित गरिएको छ । तेस्रो हरफमा आफ्नै अन्तस्करणलाई सम्बोधन गरेर संसार बदल्नेजस्तो दुरुह कार्यलाई सटीक चित्रण गर्दै समय र प्रकृतिको श्रेष्ठताको अगाडि मानिसहरूको नगण्य सामर्थ्यको स्वीकारोक्ति छ अनि समयसँग तादात्म्य हुने विकल्पतर्फ इंगित गरिएको छ । मुक्तकमा सोझो उपदेश छैन र आफैँलाई पात्र बनाएर भाव अभिव्यक्त गरिएको छ । शब्द र अक्षरहरूमा किञ्चित असमानता भए पनि चारै हरफहरू उस्तै लम्बाइका भएर एउटा सुन्दर आयात यस मुक्तकमा पनि निर्माण भएको छ । पहिलो, दोस्रो र चौथो हरफमा ‘बदल्न सक्दिन’को पुनरावृत्ति भएको छ र त्यसले मुक्तकलाई थप सौन्दर्य दिएको छ । हरेक मुक्तककारमा आ–आफ्नै शैली र विशिष्ट अभिव्यक्तिगत मौलिकताहरू हुने गर्दछन् । पौडीको जतिसुकै सैद्धान्तिक ज्ञान प्राप्त गरे पनि पानीमा हाम नफाली पौडीने कला सिकिँदैन । मुक्तक लेखनमा पनि सैद्धान्तिक ज्ञान आवश्यक छ र त्यसले आत्मविश्वास जगाउँछ । निरन्तरको अभ्यास र लगावले नै सिकाइ माझिँदै जाने हो । आज जो-जो राम्रो मुक्तक लेखिरहेका छन् उनका सुरुवाती मुक्तकहरू पनि सामान्य नै हुने गर्थे भनेर बुझियो भने एकदिन आफू पनि सशक्त मुक्तककारहरूको पंक्तिमा रहनेछु भनेर आत्मविश्वास राख्न हिच्किचाउनु पर्दैन । (मुक्तककार केसी साहित्यपोस्टकी मुक्तक सम्पादक हुन् ।) #निशा केसी |
एकै घरमा साहित्यका चार पुस्ता: साहित्यमा लाग्नु अनुत्पादक मानिने नेपाली समाजमा एउटा यस्तो परिवार पनि छ, जसका चार पुस्ता नै साहित्यमा सक्रिय छन् । रमेश विकलदेखि सुरु भएको यो यात्रा उनकी पनातिनी आयुषा चालिसेसम्म जारी छ । विक्रम सम्बत् १९८५ मा आरुबारी काठमाडौँमा जन्मिएका रमेश विकल, २००८ सालमा जन्मिएका उनका छोरा विजय चालिसे, २०३१ सालमा जन्मिएका विजयका छोरा आलोक चालिसे र २०६६ सालमा जन्मिएकी आलोककी छोरी आयुषा गरी चार पुस्ता साहित्यमा सक्रिय छन् । ‘हामीलाई कसैले साहित्यमा लाग भनेको होइन, हामी जन्मजात नै साहित्यका पारखी भएका हौँ,’ हाल टोकियोमा बसोबास गरिरहेका रमेश विकलका नाति आलोक चालिसेले साहित्यपोस्टसँग भने, ‘म पनि बुबा र हजुरबुबाको संगतमा साहित्यकार भएँ । मेरी छोरी पनि अाजभाेलि स्वतः कथा–कविता लेख्न थालेकी हुन् ।’ रमेश विकलले राणाकालमै हस्तलिखित पत्रिकामार्फत साहित्य साधना गर्न थालेको देखिन्छ । उनले २०१८ सालमा पाण्डुलिपि अवस्थामै ‘नयाँ सडकको गीत’का लागि मदन पुरस्कार प्राप्त गरेका थिए । उनका कथा, उपन्यास, यात्रा साहित्य, संस्मरण, व्यङ्ग्य र आख्यान गरी ५५ कृति प्रकाशित छन् । विकल साहित्यका अतिरिक्त संगीत, वाद्यवादन र चित्रकलामा समेत पोख्त थिए । प्रज्ञा प्रतिष्ठानका सदस्य समेत रहेका उनका मृत्युपर्यन्त साहित्यिक कृतिहरु प्रकाशन भइरहेका छन् । विकलका छोरा विजय चालिसेले बुबाकै पथमा लागेर पहिलो कथा ‘आँशुमा रुझेको जीवन’ २०३० सालमा प्रकाशित गराए । त्यसयता आज पर्यन्त उनका कृतिहरु प्रकाशन भइरहेका छन् । बुबाको सामीप्यमा रहेका सबै साहित्कारको संगतको प्रतिफल विजयले प्राप्त गरे । उनको जासुसी उपन्यास ‘होटल राँकीमा हत्या’ पहिलो तर फरक उपन्यास थियो । उनले आख्यानका अतिरिक्त संस्कृतिसम्बन्धी गैरआख्यानका पुस्तक पनि लेखेका छन् । चालिसेका अहिलेसम्म ४९ वटा कृति प्रकाशित भैसकेका छन् । २०३७ सालमा गोरखापत्र संस्थानमा सहायक सम्पादकबाट सुरु भएको जागिरे जीवनमा उनले मधुपर्क, युवामञ्च, मुना जस्ता पत्रिकाको सम्पादन गरेका थिए । उनी सेवा निवृत्त हुनुअघि गोरखापत्र संस्थानका कार्यकारी अध्यक्षसमेत भएका थिए । अहिले उनी रमेश विकल साहित्य प्रतिष्ठानमार्फत साहित्यको संस्थागत विकासमा लागेका छन् । विजयका छोरा आलोक चालिसे रमेश विकलको काखमा हुर्केका कारण नेपालका सबै पाका साहित्यकर्मीको माया पाउँदै हुर्किए । रमेश विकलका बालकथाहरुमा यिनै आलोकका धेरै बाल्यकालीन कार्यहरु वर्णन गरिएको छ । आलोकको साहित्यको सुरुवात बालक, मुना, किशोर र कोपिला पत्रिकाहरुबाट सुरु भएको हो । उनमा हजुरबुबाका चित्रकारिताको पनि प्रभाव परेको छ । उनले धेरै बालपत्रिकाहरुमा चित्राङ्कन पनि गरेका छन् । यही चित्रकारिताको प्रभावमा एनिमेसनसम्बन्धी अध्ययन गर्न जापान पुगेका आलोक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जापान च्याप्टरका सबैजसो पदमा रहेर काम गरे । उनले सन् २००७ मा टोकियोमा पानी रङको एकल चित्रकला प्रदर्शनी गरे । बाल्यकालदेखि नै उनका कृतिहरु सबैजसो पत्रिकाहरुमा छापिएका छन् । हाल उनी आफ्नो बुबा, आफू र छोरी गरी तीन पुस्ताले लेखेका कथाहरुको संग्रह प्रकाशनको तयारी गरिरहेका छन् । ‘हुन त चार पुस्ताकै रचना एक ठाउँमा राखेर पुस्तक प्रकाशन गरौँ कि भन्ने पनि सोच आएको छ,’ उनले भने । यता आलोककी छोरी आयुषा चालिसेको जन्मका बारेमा पनि रोचक तथ्य छ । उनी सात महिनाकी गर्भे रहँदा उनका बाबुआमाले उनको जन्म नेपालमा नै होस् भनी ल्याएका थिए । त्यसैले उनी नेपालमा नै जन्मिइन् । यसको केही समयपछि उनले जापानको टोक्योमा नै शिशुकाल बिताइन् भने अक्षर आरम्भ पनि गरिन् । जापानी शिशु स्याहार केन्द्रमा उनको पढाइ सुरु भए पनि घरको साहित्यिक वातावरणले नेपाली वर्णमालाका अक्षर चिनेकी हुन् । केही वर्षयता भने उनी नेपालमा नै रहेर अध्ययन गरिरहेकी छन् । ‘राति सुत्ने बेलामा लोरी सुनाउँदासुनाउँदै उनमा साहित्यको रस पसेको थाहै भएन,’ चौथो पुस्तामा साहित्यिक रस पलाएकोमा अनौठो मान्दै आलोक भन्छन्, ‘जापानमै भए पनि हामी फुर्सद हुँदा साहित्यकै कुरा गर्थ्यौँ । सानैदेखि यही कुरा सुन्दासुन्दै उनमा पनि लेखन कला विकसित भएको रहेछ ।’ छोरीको लेखन मोह र नेपाली भाषालेखनको वातावरण दिलाउन आलोकले उनलाई नेपालकै विद्यालयमा पढाइ सुचारु गराएका हुन् । नेपाल आएपछि आयुषाको लेखनकला अझ विकसित भएको उनका बुबा आलोक बताउँछन् । पछिल्लो समय उनी गोरखापत्र संस्थानको मुनामा नियमित लेखिरहन्छिन् । |
लुछियो लिम्पियाधुरा: शुभचिन्तक हुँ भन्थ्यो, गथ्र्यो ठूला कुरा पनि । कहिले साँच्चिकै लाग्थ्यो, दुःखको साथी हो भनि ।। एकाएक उसैले नै, धस्यो छातीमा छुरा । कालापानी दुख्यो पैले, दुख्दैछ लिम्पियाधुरा ।। सहयोग पनि दिन्थ्यो, कहिलेकाहीँ अलिअलि । त्यसकै बदला गथ्र्याे, देशभित्र ढलिमलि ।। दाउ हेरि बस्या रैछ, खान यो देश नै पूरा । पैले सुस्ता निल्यो क्वाप्पै, अहिले लिम्पियाधुरा ।। के गर्नु, दोष छ हाम्रै, देश काट्यौं कुटुकुटु । उसैका पाउमा चाट्यौं, श्वान झैँ भै लुटुपुटु ।। आफैं छाड्यौं सिमा हाम्ले, उस्को के गर्नु खै कुरा ! कोशी काली लुछ्यो पैले, लुछियो लिम्पियाधुरा ।। पहिले जे जति घात, राष्ट्रको हामीले र्गयौं । स्वीकारी देशका सामु, सच्याउन अघि सरौं ।। सकेनौं यदि यो गर्न, एकताबद्ध भै पूरा । बाँकी हुन्न पूरै देश, के खोज्नु लिम्पियाधुरा ।। #मुरारीराज मिश्र #लिम्पियाधुरा |
आमा र अक्षर: प्रिय अश्विनीजी, अक्षर नै नचिनेका हाम्रा पुर्खाहरु कम्ता ज्ञानी थिएनन् । त्यतिखेर ज्ञान र सीप सिक्ने विधि नै फरक थियो । अक्षर नै नजानेका, कुनै अंक गणित, ज्यामितिको औपचारिक शिक्षा नलिएका, अझ कुनै औपचारिक विश्वविद्यालयबाट प्रमाणपत्र नभएकाहरुले शिक्षा, स्वास्थ्य, जीविका, संस्कृति, सम्पदा, निर्माणमा ठूलो परिवर्तन नल्याएका भए हाम्रो समाज यहाँसम्म आइपुग्ने नै थिएन । म जब-जब काठमाडौंको आँगनभरि मन्दिरहरु देख्छु, त्यतिखेरको समृध्द बस्तीको भग्नावशेष हेर्छु, मलाई लागिरहन्छ- कुनै अक्षर नै नचिनेको कुन इन्जिनियर र आर्किटेक्टले डिजाइन गर्\u200dर्\u200dयो होला यो शहर, यो मन्दिर, स्तुपा, चिःभाहरु ? कुन अनपढ कर्मीहरुले ती अज्ञात आर्किटेक्टको मनमा कोरेको नक्साअनुसार बनायो होला ? यस्ता धेरै अनुत्तरित प्रश्नहरुले मेरो मनको कुनै कुनामा ठाउँ लिइरहन्छ । मलाइ थाहा छैन, मेरो जीवनकालमा यी प्रश्नहरुको उत्तर खोज्न सक्छु कि सक्दिनँ । अझ हामी अक्षर चिनेका मूर्ख र अक्षर नचिनेका ज्ञानीका विषयमा पनि एक दिन चर्चा गरौंला नै । आज भने म अक्षर कसरी चिनेँ भन्ने कुरा स्मरण गर्न चाहन्छु । सबैको जीवनमा अक्षर चिन्न र लेख्न सिक्नु भनेको एउटा ठूलो घटना हो । संसारमा रहेका ज्ञानको भण्डार प्रवेश गर्न सर्वप्रथम भएका भाषा र लिपिमध्ये कुनै एकको नियम अनुसारको अक्षर त सिक्नै पर्\u200dयो । औपचारिक शिक्षामा सरकार र समाज सचेत नभएको काल र देशमा जन्मेकाहरु धेरैले अक्षर चिन्न र लेख्न अवसर पाउनु भनेको ठूलै अवसर हो । म पनि त्यस्तै देश, काल, परिस्थिति, परिवारमा जन्मेको हुनाले मलाई पनि अक्षर चिन्ने एउटा काकताली पर्\u200dयो । अक्षरसँग धेरै कुरा जोडिन्छ अश्विनीजी, अक्षर सिक्ने भन्नासाथ जन्मेको परिवार, त्यो परिवारको जात, थर, शिक्षा प्रतिको चेतना, पारिवारिक दाउपेच, छिमेक, समाज, त्यो समाजमा रहेको कुनै समाजसेवी शिक्षक आदिइत्यादिले धेरै भूमिका खेलेको हुन्छ तर मैले पनि काकतालीमै अर्थात् संयोगवश मात्र अक्षर चिनेको हुँ । त्यो संयोगको सिर्जनाकार र मेरो जन्मको सिर्जनाकार एकै हुनुभयो, मेरी आमा । म काठमाडौंको हाल चन्द्रागिरी नगरपालिका वडा नं १४ नैकाप बल्खुमा जन्मेको हुँ । मेरा पुर्खा कीर्तिपुरबाट बसाईं सराइ गरेर आएका रहेछन् । कीर्तिपुरमै जमीन, कीर्तिपुरमै बाजेका दाजुभाइहरु हुनुहुन्थ्यो । त्यसैले नैकापको बसाईपश्चात् पनि कीर्तिपुरसँग गहिरो नाता छँदैथियो,अहिले पनि छ । छिमेकमा कुरा गर्दा कीपुमी अर्थात कीर्तिपुरे नै भनिन्थ्यो । नैकाप भौगोलिक रुपमा दुई भागमा विभाजित थियो, पुरानो नैकाप र नयाँ नैकाप । पुरानो र नयाँ नैकापको बीच कुनै फरक थिएन । त्रिभुवन राजपथ निर्माण हुनुभन्दा पहिलेको राजमार्ग पुरानो नैकापमा पर्थ्यो भने त्रिभुवन राजपथसँग जोडिएकै कारणले नैकापको दक्षिणभागलाई नयाँ नैकाप भनियो । त्यतिखेर पञ्चायती व्यवस्था, नयाँ नैकाप गाउँ पञ्चायत र पुरानो नैकाप गाउँ पञ्चायतमा विभाजित थियो । अहिलेको गाउँपालिका भनेजस्तै । नयाँ नैकापको राजमार्गमा जोडिएको घर थियो, घरसँगै एउटा ढुंगेधारा थियो जहाँ चौबीसै घण्टा पानी आउँथ्यो । सँगै एउटा सार्वजनिक पाटी पनि थियो, त्यो पाटीमा पैदल आउने बटुवाहरु बस्थे । कीर्तिपुरका नेवा परिवारले पृथ्वी राजमार्गमा जोडिएको जमीन किनेर घर बनाएर बसेका मेरा पुर्खा रहेछन् । हाम्रो बस्तीको एकातिर थापाहरु अर्कोतिर कार्कीहरु थिए । कार्कीहरु सत्तासँग नजिक र जमीनदार थिए । त्यसैले नयाँ नैकापमा कार्कीहरुको धाक रवाफ चल्थ्यो । हुन त नयाँ नैकापमै महर्जनहरुको बाक्लो बस्ती थियो, बन्थोक । उनीहरुको पनि प्रशस्त जमीन थियो तर किन हो कुन्नी उनीहरु कार्कीहरुसँग आफसेआफ डराउँथे । कार्की खलकलाई हजूर हजूर भन्थे । जातीय हिसाबले चर्को दमन थियो । नयाँ नैकापकै उत्तरतिर सार्कीहरु बस्थे । उनीहरुको पनि जमीन थियो । उनीहरु जुत्ता सिउँथे । हाम्रो घरमा हजूरबा हजूरआमा, आमा, बा, दुई जना काकाहरु हुनुहुन्थ्यो । मेरा काका हजूरबाहरु बसेको घरभन्दा हामी बसेको घर सानो थियो । बिजुली बत्ती थिएन । टुकी, लालटीन, मेन्टोल बाल्ने चलन थियो । आमाले मलाई ओछ्यानमै सुत्नुअघि अँध्यारोमा वर्णमाला मौखिक रुपमा कण्ठ गराउनु हुन्थ्यो । आमाले भन्नु भएपछि आमाले जस्तै मैले दोहोर्\u200dयाउनु पर्ने । आमाको भनाइअनुसार म आज्ञाकारी थिएँ रे ! आमाले सानो स्वरमा भन्नु हुन्थ्यो, मैले त्यही दोहोर्\u200dयाउँथे । यसरी न म बा गी स्व रा यः कण्ठ गरियो । ऊबेला शुरुवाती वर्णमालाको अक्षर यही थियो, मैले पहिलो अक्षर बोलेको लेखेको ‘न’ थियो । यसरी कण्ठ पारिसकेपछि आमाले एउटा काठको फल्याक खोजेर ल्याउनु भयो । त्यसमा आमाले गोल पिंधेर पानी मिसाएर काठको फल्याकमा कालो रङ दल्नु हुन्थ्यो र घाममा सुकाउनु हुन्थ्यो । त्यो काठको फल्याकको माथिल्लो लाइनमा आमाले अक्षर कोर्नु हुन्थ्यो र ठीक त्यस्कोमुनि मैले आमाले लेखेकै नक्कल गरी लेख्न पर्\u200dथ्यो । त्यो कालो सानो फल्याकलाई नेपालभाषामा ग्वरः भनिन्थ्यो । आमाले हरेक दिन गोलको धुलो र पानी मिसाएर कालो लगाएर मलाई खरीले कति महिनासम्म सिकाउनु भयो होला मलाई याद छैन । मलाई मेरो आमाको फुटेका खस्रा औंला र हत्केलाहरु भने याद छ । यसरी आमाले नसिकाउनु भएको भए अश्विनीजी, आज म कहाँ यो ल्यापटपमा टाइप गर्न सक्थेँ र ? आमाले राति सुत्ने बेलामा अँध्यारोमै वर्णमालाको अक्षर कण्ठाग्र नगराउनु भएको भए, मैले आज कसरी कविता लेख्न सक्ने हुन्थेँ होला ? आमाले पहिलो पल्ट सिकाउनु भएको अक्षर न बाट आमालाई नमन ! आमाले अक्षर सिकाउनु भयो अक्षर पनि आमा नै हुनुहन्छ ज्ञानको भनेर त वास्तै गरिएन, जसरी हामी सन्तानहरुले आमालाई वास्ता गर्दैनौं । अहिले त्यही अक्षरले देखाइरहेको छ जीवनको बाटो । #आत्मालाप #काठमाडौँ #स्नेह सायमि |
ईश्वरविम्ब: पार नपाइसक्नुको विषय हो ईश्वर । पूर्वीय दर्शन र चिन्तनले भनेझैँ अगम्य अगोचर छ ईश्वर । कृति अमूर्त र व्यापक शब्द छ यो । ईश्वरको अस्तित्व र अनस्तित्वका बारेमा धेरै बहस भए । धेरैको टाउको खायो ईश्वरको अस्तित्व र अनस्तित्वले, अनि ईश्वरसम्बन्धी चिन्तनले । आज ईश्वरको अनुभूतिलाई भित्रैदेखि गम्न मन लाग्यो – के हो ईश्वरत्व ? अहिले मलाई ईश्वरका बारेमा कलम चलाउन पनि अरिङ्गालको गोलामा ढुङ्गा हान्नुजस्तो भइरहेको छ । मलाई ईश्वरले सधैँ लखेटिरह्यो । ईश्वरले अरिङ्गाल बनेर मेरो टाउको खाएको धेरै भयो । नित्सेले त ईश्वररूपी अरिङ्गालले टोकेको सहन नसकेर भनिदियो– ईश्वर मर्\u200dयो । मलाई लाग्छ– ईश्वर मरिसक्यो भन्ने नित्से सबैभन्दा आस्तिक र ईश्वरवादी हो, किनकि ईश्वरको अस्तित्व भएकाले नै मर्\u200dयो । ईश्वर नभएको भए त मर्ने कुरै हुँदैनथ्यो । प्रिय मित्रहरू ! म ईश्वरको मृत्युमा मलामी जान सक्दिनँ । ईश्वरको मृत्युमा कात्रो किन्न सक्दिनँ र ईश्वरका मुखमा दागबत्ती दिन सक्दिनँ । यो अदृश्य सत्ताको अस्तित्व र अनस्तित्वप्रति मान्छे किन दिमाग खियाइरहेछ ? म भन्न सक्दिनँ । मसँग ईश्वर छैन भन्ने प्रमाण पनि छैन र छ भन्ने प्रमाण पनि छैन । छैन भनूँ नभएको तत्त्वले किन खान्छ टाउको ? छ भनूँ, देख्न देखाउन सकिँदैन । तथापि छैटौँ इन्द्रिय ईश्वरीय अस्तित्वमा हस्ताक्षर गर्छ । ईश्वर ! अर्थात् गड ! संसारका हरेक मानिसले उच्चारण गर्ने नाम ! एउटा महान् नास्तिक पनि जब कुनै धर्मसङ्कटमा आइपर्छ वा ठूलो प्राप्तिमा उन्मुक्त हुन्छ अनि भन्छ– ओ माइ गड ! माइ गड अर्थात् मेरो ईश्वर ! आपतविपत वा अन्य कुनै प्राप्ति र अप्राप्तिका स्थितिमा मान्छेले पुकार्ने पहिलो नाम हो ईश्वर ! अनि ईश्वरप्रतिको मान्छेका तर्कवितर्क किन ? म चिन्तनको गर्तमा पौडिरहेको छु र खोजिरहेको छु– ईश्वरको अस्तित्व । ईश्वर मलाई साथै हिँडेजस्तो लाग्छ आफूसित । यति बेला म देवकोटाको कविता सम्झिरहेछु– ईश्वर हिँड्दछ साथ । माथिबाट ओइरो हालेझैँ मस्तिष्कमा प्रश्नहरूको ओइरो छ । – मसँग हिँडिरहने ईश्वर किन प्रत्यक्षीकरण छैन ? – ईश्वर किन देखिँदैन ? – ईश्वर किन केही बोल्दैन ? – उसकै स्तुति, ध्यान र चिन्तनमा पनि किन दर्शन दिँदैन ऊ ? – ईश्वरसँग किन डर लाग्छ ? – मन्दिरभित्र पसेर दिसापिसाब गर्ने आँट किन गर्न सक्दैन मान्छे ? यस्ता अनगिन्ती प्रश्नहरूका पहाड छन् र ती दुर्भेद्य पहाडजस्तै लाग्छ मलाई ईश्वर पनि ! मेरा एकजना मित्र छन् । उनले एक दिन मलाई भने–साथी ! तपाईंको घरको छतको ठूलो मन्दिरभित्र पस्दा के तपाईं त्यहाँ ईश्वर पाउनु हुन्छ ? मनको आस्थालाई मूर्तीकरण नगरे हुँदैनथ्यो ? मैले तत्काल उनको प्रश्नको उत्तर टार्न भनिदिएँ– होइन, मेरी आमा आस्तिक प्रकृतिकी हुनुहुन्छ र श्रीमती पनि आस्तिक प्रकृतिकी छे, त्यही भएर बनाएको ! भन्न त भनिदिएँ एक छिनलाई, तर मभित्र उनको प्रश्न आँधी बनेर नै रह्यो । उनी भन्दै थिए– ईश्वर त आस्थाको एउटा प्रतीक मात्र हो । कलाकारले कुँदेको एउटा शिवलिङ्ग अगाडि राख्नुहोस् । त्यो शिवलिङ्ग आखिर लिङ्ग नै त हो । तपाईं त्यसमा लिङ्गत्वको आभास र अश्लीलताको कल्पनासम्म गर्न सक्नु हुन्न र त्यहाँ तपाईंको आस्था पूर्ण सात्विक वृत्तिका रूपमा देखिन्छ । मलाई उनका कुराले रन्थन्यायो । म पनि शतप्रतिशत आस्तिक र शतप्रतिशत नास्तिक त कहाँ थिएँ र ? मलाई ईश्वरको अदृश्य अगोचर सत्ताप्रतिको अनौठो नादान आस्थाको अतीतको एउटा पूर्वस्मृतिले चिमोट्यो । एकपटकको एउटा घटना स्मृतिबिम्बमा ताजै छ अझै पनि । म एघार बार वर्षको थिएँ । घरबाट तेरचौध किलोमिटर टाढाको एउटा संस्कृत पाठशालामा पढ्थेँ म । त्यतिबेलाको मजस्तो बचरोका लागि चारघण्टाभन्दा बढी नै हिँड्नु पर्थ्यो । त्यसमध्ये डेढघण्टाभन्दा बढी त पूरै जङ्गलको बाटो छिचोल्नु पर्थ्यो । एक दिन घरबाट अबेला हिँडेछु । सानो फुच्चे मजस्ताले घडी बाँध्ने जमाना थिएन त्यो । जङ्गल सुरु भएपछि गोधूलीमा पुगेको सूर्य किन रोकिन्थ्यो र मेरा लागि ! रोकिएन । सूर्य अस्ताचलतिर लम्कँदै थियो र म लम्किँदै थिएँ घनघोर जङ्गलका बीचमा एक्लो बालक ! अहिले पनि मलाई सम्झना ताजै छ– मैले हजार पटक आफूलाई डरहरूबाट प्रतिरक्षा गरेको थिएँ ईश्वरको नामले । झ्याउँकिरीको झ्याउँझ्याउँसमेत छिप्पिन लाग्दा पार गरेको थिएँ जङ्गल र बसेको थिएँ बास ! त्यति बेला एउटा मिठो र आदर्श संस्कृति रहेको बेला थियो बास बस्नु । आजभोलिजस्तो ‘लज’ संस्कृतिले प्रवेश नपाएको बेला थियो त्यो । बास बस्नु र बास दिनु पनि एउटा गौरवजस्तै हुन्थ्यो त्यतिबेला । कुनै सानो हीनताको अंश पनि हुँदैनथ्यो र बास दिने र बास माग्नेले पनि सहजताको अनुभूति गर्थे । बास दिनेले भन्थ्यो– ‘साँझका पाहुना देउता हुन् ।’ हो, त्यस दिन म बास बसेको थिएँ देउताका रूपमा र त्यस घरका अधबैँसेजस्ता लाग्ने व्यक्तिले भनेको स्मृतिबिम्ब नोस्टाल्जिक बनेर आउँछ–‘बाबु आऊ बस । तिमी त हाम्रा लागि ईश्वर हौ ।’ त्यति बेला ‘तिमी हाम्रा लागि ईश्वर हौ’ भन्ने वाक्यको अर्थ बुझ्ने ह्याउ थिएन मसँग । म पनि स्वयम् एघार बार वर्षको बालक न थिएँ । त्यो बालक पनि आजको जस्तो उत्तरआधुनिक बालक कहाँ हो र ? आजभन्दा चालीस वर्ष अगाडिको सीधासादा, राजसी–तामसी कुनै गुण नभएको सत्वगुणी साँच्चै ईश्वरजस्तै । बास बसेको त्यस प्रसङ्गसँगै अहिले सम्झन्छु– हिजो र आजको संस्कृतिमा देखिएको कायापलट । हिजोआजजस्तो अनुदार संस्कृति थिएन त्यतिबेला । आज बास माग्न जाने हो भने सग्लो फर्कन मुस्किल छ र बास दिने हो भने पनि सग्लो रहन मुस्किल छ । म ईश्वको अस्तित्व–अनस्त्विबारे आत्मालापीय विमर्शमा थिएँ र ईश्वरले डोर्\u200dयाएछ– आफ्नै अतीततिर ! मैले आडम्बरी आस्तिकभन्दा आडम्बर नभएको नास्तिकलाई बढी आस्तिक देख्न थालेको छु । अमूर्त तर मूर्त, अगोचर तर गोचर, अदृश्य तर सर्वशक्तिमान् ! कस्तो अनौठो छ ईश्वर ! म ईश्वरलाई गहिरो रूपमा सोच्न पुग्छु । यस ब्रह्माण्डमा दार्शनिकहरूको टाउको खाएको छ ईश्वरले, तर ईश्वरलाई मैले देखेँ, मैले साक्षात्कार गरेँ, मैले भेटेँ, ईश्वरको रूपाकृति यस्तो रहेछ भनेर कोही आएको छैन अहिलेसम्म तर पनि ईश्वरको डर छ मान्छेलाई । म यतिबेला नित्सेका अगाडि छु । ऊ भन्छ– ईश्वर मरिसक्यो अर्थात् द डेथ अफ द गड । नित्से साँचो बोल्दै छ कि झुठो, मलाई थाहा छैन तर स्वयम् नित्से पनि ईश्वरको मृत्युमा मलामी गएको मैले थाहा पाएको छैन । वेद, त्रिपिटक, कुरान र बाइबलहरूको पनि एउटै स्वर भेटेँ– ईश्वरको अगम्यता र अगोचरता । हाम्रो पूर्वीय दर्शनकै ‘नेतिनेति’ सँग जोडिन आउँदा रहेछन् ती पनि । मभित्र एउटा कल्पना आउँछ– म आफू विपश्यनाको ध्यानमुद्रामा बसेको । बाहिर निर्विकार ध्यानमग्न त्यहाँ बसेका मानिसहरूसँग र मैभित्र पनि कति विकारहरू रहेछन् भन्ने कुरा थाहा पाउँछु ध्यान शिविरमा बस्दा । अरू सोच्ने फुर्सद नहुने त्यतिबेला अनेकौँ विकारका पहाडहरू खनिँदा रहेछन्, त्यस क्षणमा र विकार मात्र सोच्दोरहेछ खोली दिमागले । सुनेथेँ कतै– ‘खाली दिमाग सैतानका घर ।’ मस्तिष्कमा सैतानलाई बास दिन कसलाई मन लाग्छ र ! म निर्विकार हुन रुचाउँछु र ईश्वरको अनस्तित्वभित्र अस्तित्वका लागि मान्छेहरूको ताँती देख्छु । ईश्वरका अनेकौँ आस्तित्विक विम्बहरू आउँछन् मेरा अगाडि । मलाई कसैले सबैभन्दा बढी प्रेम, माया, स्नेह आदि कोबाट पाइस् भनेर सोध्यो भने ‘ईश्वरबाट’ भन्ने साहस बोकेर हिँड्न मन लागिरहेछ, यतिखेर । ईश्वर र धर्मका कुरा गर्दै जाँदा एक दिन एकजना साथीले ठट्टैठट्टामा भने – ‘ए यार ! तिमी मद्यमांसका पारखी; कुनै आस्तिकी धर्मकर्म पनि पालना गर्दैनौ, अनि कसरी तिमी आस्तिक ? त्यतिबेला मैले यत्ति मात्र भनेँ – सतहीमा पौडी खेलेर आनन्द लिन सकिँदैन; त्यसका लागि गहिराइमा पुग्नुपर्छ । ईश्वर एउटा मिठो अनुभूति हो । प्रेम, स्नेह र करुणाको अजस्र स्रोत पनि ! ईश्वरको प्रेममा म निस्वार्थताको सुगन्ध पाउँछु । आमाबाबु, लोग्नेस्वास्नी, छोराछोरी, दाजुभाइ आदि सबैसबैको प्रेमको अन्तस्तलमा लुकेको हुन्छ– कुनै दृश्यअदृश्य स्वार्थ तर ईश्वरमा न नदेखिने स्वार्थ, न देखिने परार्थ; त्यसैले ईश्वरको प्रेममा अमूर्त र घनीभूत निस्वार्थता । एउटा बेग्लै विश्वासको दियो बल्छ यहाँनेर । आस्थाको फूल उम्रन्छ यहीँनेर । मन कल्पनालोकमा विचरण गर्छ कहिलेकाहीँ र आकशपाताल चहार्छ । एकछिन भौतिक संसारबाट निरपेक्ष हुन्छ मन । झल्याँस्स हुन्छ मन, सपना देखेर ब्युँझेजस्तो । मानौँ ईश्वरको प्रार्थनामा लीन थियो मन । ईश्वर त साथी बनेर हिँडिरहेको रहेछ आफैँसित । आत्मीय अनुभूतिमा पाइँदोरहेछ ईश्वर । प्रेमको आत्मीय गहिराइजस्तो रहेछ ईश्वर । त्यही भएर साँचो प्रेमलाई ईश्वरसँग तुलना गरेका होलान् प्रेमका पारखीहरूले । मलाई लाग्छ– ईश्वर त एउटा मीठो अनुभूति रहेछ । मलाई ईश्वरको मूर्तताभन्दा अमूर्तता मीठो लाग्छ । दुःखमा, सुखमा, वेदनामा, चिन्तामा, चिन्तनमा र सबैसबै संवेदित क्षणहरूमा पुकारिने अमूर्त नाम रहेछ ईश्वर । पूरै ऐकान्तिक क्षणहरूको अन्तरङ्ग साथी र आत्मीय मित्र रहेछ ईश्वर । ईश्वरको सम्झनामा आफूलाई एकैछिन हराउन सके मन विरेचित हुँदोरहेछ, मन हल्का हुँदोरहेछ । विरेचित भएको मन केही हल्का त भयो तर मस्तिष्कमा रिँगिरहेको थियो, अमूर्त ईश्वरबिम्ब । – ईश्वर भन्नेबित्तिकै आउने मानसबिम्ब एउटा पूर्ण सात्विक वृत्ति । – सत्व, रज र तम त्रिगुणमध्ये सत्वगुणको मात्र विद्यमानता देवकोटाको उही दृष्टिकोण अगाडि आउँछ – आफैँभित्र छ ईश्वर ! कहिलेकाहीँ विरोधाभास देख्छु म । मान्छेभित्र ईश्वर भए किन मान्छेले आसुरीवृत्ति र पाशविक वृत्ति प्रदर्शन गरेर नीचता देखाउँछ ? आफैँभित्रको कल्पना बोल्छ । आफैँभित्रको अनुभूतिले भन्छ– निर्विकार बालकमा देखिँदोरहेछ ईश्वर । भर्खरका शिशुको मुस्कानमा हाँस्दोरहेछ ईश्वर ! उसका निर्दोष आँखाहरूमा देखिँदोरहेछ ईश्वर । शिशुका तोतेबोलीमा गुनगुनाउँदो रहेछ ईश्वरीय गीत । शिशुका हाउभाउ र दिव्य चमत्कारहरूमा देखिँदा रहेछन् ईश्वरीय चमत्कारहरू ! मीठो लाग्छ ईश्वरले छोएको शिशुको मृदुता । रमाइलो लाग्छ– ईश्वरको स्पर्श पाएको निष्कपट बालहृदयको गहिराइ । लोकजीवनमा उखानजस्तै बनिसकेको एउटा भनाइ आउँछ मनमा– बालकको मुखमा ईश्वर बसेको हुन्छ, त्यसैले बालकले भनेको पुग्छ । कैयौँ वर्षको अनुभवले खारिएको अनुभूति बोलेको हुनुपर्छ यो । सत्र अठार वर्ष अगाडि कतै पढेको सम्झना छ – कुनचाहिँ हो देशमा अदालतमा साक्षी राख्न सकेसम्म बालबालिका खोजिन्छ रे ! कति गहिरो कुरा ! विकाररहितता नै ईश्वर हो भन्ने प्रमाण ! निष्कपटता र निष्कलङ्कता नै ईश्वर हो भन्ने एउटा दसी ! षड्यन्त्रका जाल बुन्दैनन् शिशुहरू । कुनै रागद्वेष र छलकपटका पर्खाल लगाउँदैनन् शिशुहरू ! सङ्लो मन, पवित्र हृदय, कल्मष नभएको मस्तिष्क । एउटा सिङ्गो ब्रह्माण्डका यावत् सद्वृत्ति देखिन्छन् बालकमा । सत्यताको अनुपम विम्ब बालक ! अनि कहाँ जानु अर्को ईश्वर खोज्न ? \uf02a म ईश्वर हुन सक्दिनँ, अर्थात् शिशु हुन सक्दिनँ । समयले नेटो कटाएर शिशुत्वबाट पर हुत्याएको मलाई आफ्नो शिशुत्व लाग्छ एउटा नोस्टाल्जिया मात्र । शिशुत्वको बिदाइसँगै गुमाइँदोरहेछ आफूभित्रको ईश्वरत्व अर्थात् देवत्व पनि । शिशुत्वका लक्षणहरू विस्थापित हुँदैहुँदै गएर किशोरत्वमा प्रवेश गरेपछि धूमिलधूमिल देखिन थाल्दोरहेछ आकाश । इन्द्रियहरूमा उम्रन थाल्दारहेछन् स्वार्थका बिउ । ईर्ष्या, शत्रुता र अहंका नग्न प्रदूषणहरूले पूरै प्रदूषित बनाउँदा रहेछन् मनलाई । दृष्टिदोष र दोषदृष्टि आफ्नै अगाडि नाच्न थाल्दारहेछन् निर्धक्क । यौवनको सङ्घारमै टेक्न आइपुग्दो रहेछ दानवीवृत्ति । विलोप हुँदोरहेछ देवत्व । प्रौढत्वमा पुग्दा त हाँगा हाल्दोरहेछ, विस्तार हुँदो रहेछ, फैलिँदोरहेछ र झ्याङ्गिँदोरहेछ आसुरीवृत्ति । शिशुत्वसँगै बिलाएको देवत्व/ईश्वरत्व अब त शिशुलाई बेवारिस छाडेर पोइल गएकी आमाजस्तै हुँदोरहेछ । \uf02a म ब्युँझिएँ झल्याँस्स । पलाउन थाले कल्पनाका हाँगाहरू । म बालक हुन सकिनँ अर्थात् ईश्वर हुन सकिनँ । \uf02a एउटा यथार्थ – त्यसपछि आसुरी वृत्तिका पिङहरूमा मच्चिइँदोरहेछ मजाले । आहा ! त्यो चचहुई ! कति प्रिय लागिरहँदोरहेछ नब्युँझँदासम्म । अर्को यथार्थ – पूर्वले हामीलाई सतर्क गराएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य सबैसबै जागृत हुँदारहेछन् । अझ अर्को यथार्थ – यौवनले सिकाइरहँदोरहेछ, यौवनले भनाइरहँदोरहेछ – उन्मादको सारेगम, अहङ्कारको पधनिसा, लोभको सुरताल, क्रोधको सङ्गीत र भ्रमका बाँसुरीहरूको विपर्यास ध्वनि अर्थात् प्याराडक्स धून ! मदमत्त भइँदोरहेछ नशा लाग्दोरहेछ मस्त र अरूलाई मान्छे देख्ने र गन्ने स्थितिमा भइँदोरहेनछ । दशओटै इन्द्रिय र तिनको नियन्ता मन पनि सक्रियताको तीव्र घोडादौडमा हुँदा रहेछन् यतिबेला । आहा ! यो जत्तिको चरम आनन्द के नै होला र ? \uf02a मभित्रको छैठौँ इन्द्रियले यौवन र प्रौढत्वका उन्मादहरूलाई पछ्याइरह्यो, पढिरह्यो, पढिरह्यो । अहिले मेरो छैठौँ इन्द्रिय यौवन र प्रौढत्वका उन्मादहरूको पाठ पढिरहेछ, शून्य र ऐकान्तिक स्थितिमा छ ऊ । \uf02a अलिकति नेटो काट्न लागेछ सूर्यले । पश्चिमतिर अलिकति रक्तिम हुनथालेछ जिन्दगीको आकाश । प्रचण्ड ताप सेलाएछ सूर्यको । वाष्पीकरण भएर जानथालेछ ऊष्णता । इन्द्रियहरू शिथिलताको फेटा गुथेर बाँचिरहेछन् रङ्गहीन र गन्धहीन अस्तित्व । टेलिभिजनका पर्दातिर धूमिल आँखाहरू तानिँदा रहेछन् । यस्तै दिनहरूमा चियाउँदो रहेछ, वृद्धत्वको एउटा लाइसेन्स । धमिला दृश्यहरूभित्र कष्टको अनुभूति गर्दा रहेछन् आँखाहरूले । आदि शङ्कराचार्य प्रत्येक दिनबिहानै आएर भट्याउँछन् – अङ्गम् गलितम् पलितम् मुण्डम् । शरीर गलित भएको र कपाल फुल्न थालेको सूचना दिने शङ्कराचार्यभित्रको देवत्व उनको एकतीस वर्षको जवानीमा पनि बसाइँ सरेको थिएन । एकतीस वर्षको जवानीमै देवत्वका साथ परमधाम भएका थिए उनी । \uf02a अचेतनमै झल्याँस्स हुन्छु म । आगतको यस सम्झनाले पनि ल्याइदिँदो रहेछ सानो सुनामी । कति कमजोर हुँदो रहेछ मन । वृद्धत्वको सम्झनामा पनि एउटा अरुचिकर सत्य । यही सत्यभित्र लुकेर बस्दोरहेछ ईश्वर ! नदीले जतिजति धेरैधेरै पानी बगाउँछ, त्यतित्यति पानीसँगै बग्दा रहेछन् कल्मषहरू र मान्छे हुँदो रहेछ विकाररहित । विकाररहित भएपछि आशीर्वादका लागि उठाइँदा रहेछन् वरद हातहरू । त्यसैले त आशीर्वचन दिने देवत्वको श्रेणीमा पुगेका हुँदा रहेछन् सहस्र पूर्णचन्द्र दर्शन गरेर युग भोगेकाहरू । उनीहरूमा नै हुँदोरहेछ ईश्वरको बास । \uf02a म देख्छु, विकारहरू पखालेर पवित्र हृदय बाँचेका वृद्धवृद्धाहरू ! यौवन र प्रौढावस्थाका विकारहरू सेलाएर मनको नदीमा, ती त हुँदारहेछन् शुद्धबुद्ध । तिनै वृद्धवृद्धाका चाउरएिका गालामा फुल्दोरहेछ ईश्वरको गुलाफ । तिनका धूमिल आँखाहरूले देख्दारहेछन् ईश्वरीय रूप । तिनका धमिला कानहरूले सुन्द रहेछन् ईश्वरीय सङ्गीत । तिनका थोतेबोलीमा बोल्दो रहेछ ईश्वरीय वाणी । तिनका कलेटी परेका ओठहरूमा हाँस्दो रहेछ ईश्वरको हाँसो । तिनका लगलग कामेका हातखुट्टाहरूमा हुँदो रहेछ ईश्वरीय साक्षात्कार । तिनका गहिरा र लामा अनुभूतिहरूमा अनुभूत हुँदोरहेछ ईश्वरीय संवेदना । वृद्धवृद्धाका अन्तष्करणमा ईश्वरीय उपस्थिति पाउन अन्य प्रमाणहरू खोजिरहनु पर्दैन रहेछ । तिनीहरूका अन्तष्करणमा, अन्तश्चेतनामा, ढुकढुकीमा, दृष्टिमा, बोलीमा, हाँसोमा, आँसुमा, वेदनामा, पीडामा, भोगाइमा, अनुभूतिमा आफू बनेर प्रवेश गरे पुग्दोरहेछ । त्यहाँ आफूलाई खोजे र आफूलाई पाए पुग्दो रहेछ; बस्, ईश्वरप्राप्ति ! \uf02a अबोध शिशुका मुस्कानमा उदाएको ईश्वर उन्मादी यौवन र अहङ्कारी प्रौढत्वमा प्रायः कता बास बस्छ थाहा पाउँदिनँ म । पुनः वृद्धवृद्धाका कलेटी परेका ओठ र उदास अनुहारहरूमा गुलाफ भएर खुल्दो रहेछ ईश्वर; गुराँस भएर मुस्कुराउँदो रहेछ ईश्वर । निमिलित लोचन बुद्धबिम्ब आउँछ अगाडि ध्यानमुद्रामा । हातहरू आफैँ जोडिन्छन् प्रार्थना मुद्रामा । मनले पढ्छन् वेदका ऋचाहरू । ऋचाहरूका मन्दनिनादमा ओठहरू चलेझैँ लाग्छ आफैँलाई सुस्तसुस्तः ‘हे ईश्वर ! आजसम्म कसैले नदिएको निस्वार्थ प्रेम, स्नेह, प्रेरणा र विश्वास पाएँ तिमीबाटै । पवित्र सम्बन्धको मीठो अनुभूति दिलायौ तिमीले नै । मेरा प्रत्येक असफलतामा आत्मबल बनेर उभियौ तिमी नै । यति कुरा जान्दाजान्दै पनि हे ईश्वर ! तिमीप्रति बाह्य आडम्बरका रङ्गीचङ्गी आवरण भिर्न सकिनँ मैले । हृदयमा विद्यमान छ तिमीप्रतिको अदृश्य आस्था र श्रद्धा । जब म भीडहरूका बीचमा पनि एक्लो हुन्छु, अनि आउँछु तिम्रै शरणमा र तिम्रा अगाडि कमजोर हुन्छु । तिम्रा अगाडि घुँडा टेक्छु, प्रार्थना गर्छु अनि पोखिन्छु तिमीसितै । हे ईश्वर ! मनभित्रका सारा पीडा र वेदना बिसाउन मन लागिरहेछ तिमीसँग । सारा जगत्का नियन्ता तिमीबाहेक कहाँ बिसाऊँ यो मन ? कहाँ पोखूँ यो हृदय ? यो विकराल संसारमा कहाँ छ हृदय खोलेर हाँस्ने ठाउँ ? कहाँ छ रित्तिएर रुने ठाउँ ? तिमी मेरो आस्थाबिम्ब ! सायद जो कोही पनि आफ्नो आत्मीय र आस्थाविम्बका अगाडि कमजोर बन्छन् र रोइदिन्छन् । यस्ता क्षणहरूमा हे ईश्वर ! तिम्रै सामीप्यमा रोइदिएँ, पखालेँ मनलाई पनि तिम्रै अगाडि । कति एक्लै रोइरहूँ ईश्वर ? ! कहिलेकाहीँ त मेरा मनमन्दिरमा आस्था बनेर बसेका तिमीसँगै रुन मन लाग्दोरहेछ । त्यसैले, तिम्रा अगाडि रोइदिएँ ईश्वर म पनि ! जसरी बाबुआमाका अगाडि सन्ततिहरू रोएर पोखिन्छन् र आफूलाई पखाल्छन् । हे ईश्वर ! म पनि तिम्रा अगाडि पोखिएँ भने, तिम्रा सामू मैले आफूलाई पखालेँ भने कहिल्यै पनि तिमीले मेरा शिरबाट वरदानको हात नझिक्नू ! तिमीमा समर्पित छ यो प्रार्थना । \uf02a मेरो यो प्रार्थना ईश्वरले सुन्यो वा सुनेन । यस प्रार्थनाबाट ईश्वर खुसी भयो वा भएन; त्यो पनि थाहा छैन मलाई ! तर मन विरेचित भएर हल्का बनेको छु म । ईश्वर छ छैनको बहसको कठघरमा उभिएर जति बहस गरे पनि ईश्वर एउटा विम्ब हो, अमूर्तविम्ब । प्रिय पाठक ! ईश्वरीय अस्तित्वको बहसको बाँकी मुद्दा तपाईंहरूका अगाडि, बाँकी फैसला तपाईंहरूबाट ! #लक्ष्मणप्रसाद गौतम |
आफ्नो पहाड: आँखाले हेर्नु र आँखा खुल्नु भिन्नै रहेछ| सधैं हेरिएका कुरा, वर पर का कुरा देखिएका हुँदा रहेनछन| आधी बाटो मा आँखा खुल्दा पो चेत आयो बाटो पुरै गलत हिडिएछ, हिडिसकेको बाटो फेरी हिंड्न नमिल्ने || बिना अर्थ उचाइ को पछि लागिएछ जीवन त गहिराइमा हुदो रहेछ, पहाड हरु ले झुक्काउने रहेछन हो भ्रमका पहाड हरुले आफ्नो पहाड त आँफै भित्र पो हुदो रहेछ|| —- बिरौटा १७ पोखरा |
अनामिका: कसरी सम्बोधन गरौँ खै तिमी अपरिभाषित छौ शब्दहरूको अर्थ भन्दा टाढा अनमोल रत्न भन्दा बहुमूल्य तिमीलाई वर्णन गर्नु मेरो असफल प्रयास मात्र हुनेछ । तिमीलाई सम्झिरहँदा म त्यो निःस्वार्थ बग्ने पानीको मूल सम्झिन्छु जसले अर्बौं प्यासहरू नि:शुल्क मेटाउँछ घामका किरणहरू सम्झिन्छु जसले कठ्याङ्ग्रिएका आङ्हरूलाई न्यानोपन बेहिसाब प्रवाह गर्छ पवनका झोंकाहरू सम्झिन्छु जसले अविरल निस्प्राणहरूमा प्राण भरिरहन्छ । तिमीलाई सम्झिरहँदा म स्पर्शहीन स्पर्शहरूलाई सम्झिरहन्छु जसरी एक झलक कल्पनाले मुटुको ढोका ढक्ढक्याउछ अनि मेरा बन्द ओठहरू खुलिदिन्छन् जसरी तिम्रो काल्पनिक श्रव्यदृश्य मानसपटलमा नाचिरहँदा मेरा परेलाहरू झिम्किन बिर्सन्छन् तिमीसँगको वार्तालापमा पुलकित हुन्छन् ओइलाउन लागेका रहरहरू हृदयका स्पन्दनले मिठो रिदम बजाउँछ उफ्री-उफ्री हलचल गर्छन् रक्तनलीमा रगतका नर्तकीहरू कालो अँध्यारो अदृश्य रातहरूमा तिमी जुनकिरी जस्तै चम्किदै आउँछौं प्रज्वलित गर्छौ मेरो गुफा बसिरहेको चाहनालाई म तिमीलाई अमूर्तमा भेट्छु फूलमा होइन सुगन्धमा जूनमा होइन शीतलतामा आकाशमा होइन अनन्ततामा रङ्गमा होइन बेरङ्गमा म तिमीलाई बिछोड भित्रको मिलनमा भेटछु जस्तो कि घाम र जून अँध्यारो र उज्यालो मृत्यु र जीवन त्यसैले अनामिका तिमी अपरिचित परिचित नै रहनु मेरो लागि रहस्यभित्रको ब्रह्माण्ड नै रहनु मेरो सोलमेट आत्माले अङ्कमाल गरोस् आत्माले चुम्बन गरोस् आत्माले हातेमालो गरोस् तर यसलाई आवरणमा कहिल्यै प्रदर्शित हुन नदेऊ किनभने आवरणको जीवन निश्चित हुन्छ आत्मा अजम्वरी हुन्छ न जन्मिन्छ न मर्छ । ऐ ! अनामिका तिमी र मलाई आत्मादेखि आत्मासम्म जोड्ने एउटा औँठी चिनो लिएर जाऊँ जसलाई तिम्रो अनामिका औँलामा लगाउनु सुनेको छु अनामिका औलाको स्न्यायुको तार मुटुसम्म जोडिएको हुन्छ रे ! ———————- तानसेन, पाल्पा #जनक कार्की #तानसेन #पाल्पा |
पीडा आफैँ मासिन्छन्: हिउँदको शान्त र भद्र कालो रातमा आकाशको उचाइबाट झर्ने हिउँका बुंदहरू आफू झर्नुको पीडा पोखिरहेका हुन्छन् । मजस्तै अबुझ ति हिउँका बुंदहरूलाई के थाहा ? पीडा आफैँ मासिन्छन् । लाग्छ एक आवाजको खोजी गरिरहेका छन् अनुभूत हुन्छ कि मसँग कुरा गर्न खोजिरहेका छन् सायद सहानुभूती साट्न चाहान्छन् मजस्तै अन्जान ति हिउँका बुंदहरूलाई के थाहा ? पीडा आफैँ मासिन्छन् । हिउँका बुंदहरू जो घामको मसिनो किरणले तहस नहस हुन्छन् पक्कै तिनीहरूसँग असङ्ख्य शब्द छन् अबोदध्य भाव छन् र कयौँ अस्वीकृत चित्कार छन् म जस्तै विरक्त ति हिँउका बुंदहरूलाई के थाहा ? पीडा आफैँ मासिन्छन् । हिउँ जसले प्रकृतिलाई सेतो च्यादर ओढाइदिन्छ आफूसँग बोकेर ल्याएको विशाल आकासको त्यो गाडा निलो रङ्गले यो धरती रङ्गाइदिन्छ । जब जूनले शीत पोखिदिन्छ हरेक रात तब सूर्य धूप बोकेर उदाउँछ हरेक बिहान । र त जिउने वहाना मिल्छन् अनि सहर्ष हाम्रा पीडा आफै मासिन्छन् । #पीडा आफैँ मासिन्छन् #भीम जोशी |
चर्चित व्यङ्ग्यः विकलाङ्ग श्रद्धाको समय: प्रसिद्ध लेखक तथा व्यङ्ग्यकार हरिशंकर परसाई (२२ अगस्त, १९२४ – १० अगस्त १९९५) को जन्म जमानी, होशंगाबाद , मध्य प्रदेशमा भएको थियो । उनको व्यंग्यात्मक रचनाले हाम्रो दिमाग मात्रै हल्लाउँदैन, सामाजिक यथार्थतासँग पनि आमनेसामने गराउँछ । उनको भाषाशैलीमा एक किसिमकोको आकर्षण छ जसले पाठकलाई लेखक आफ्नै अगाडी छ भन्ने महशुस गराउँछ । प्रस्तुत छ, साहित्य अकादमी पुरस्कारबाट सम्मानित परसाईको कृति ‘विकलांग श्रद्धाका दौर’बाट साभार गरिएको शीर्ष व्यङ्ग्य निबन्ध – ‘विकालांग श्रद्धाका समय’ भर्खरै एक सज्जनले मेरो चरण स्पर्श गरेर गए । म निकै तीव्रताको साथ श्रद्धेय बन्दै छु, जस्तैः कुनै चालू आइमाई विवाहपश्चात निकै फुर्तीको साथ पतिव्रता देखिन्छन् । यस किसिमको हरकत मेरो जीवनमा केही महिना देखि हुँदैछ। पहिला यस्तो हुन्थेन । अँ, एक चोटि भएको थियो, तर त्यो मामला त्यहीँ रफादफा भयो । धेरै वर्ष पहिले एउटा साहित्यिक समारोहमा मेरै उमेरको एक सज्जनले सबैको सामुन्ने मेरो चरण स्पर्श गरे । चरण स्पर्श अश्लील कृत्य जस्तै एकान्तमै गरिन्छ । तर त्यो सज्जनले सार्वजनिक स्थलमै चरण स्पर्श गर्\u200dयो । आसपास उभिएका मान्छेको अगाडि गर्वले हेरेँ -” हेर म श्रद्धेय भएँ ।” त्यतिबेलै त्यो श्रद्धालुले मेरो पसिना छुटायो । उसले भन्यो- ” मेरो त यही नियम छ, ब्राह्मण र कन्याको चरण अनिवार्य स्पर्श गर्छु ।” यसको मतलब उसले मलाई ठुलो लेखक ठानेको थिएन । ब्राह्मण भनेर ढोगेको थियो । श्रद्धेय बन्ने मेरो इच्छा उतिबेलै मरिसकेको थियो । त्यसपछि मैले श्रद्धेयहरूको दुर्गति पनि देखेँ । मेरो एउटा साथीले विद्यावारिधिको लागि रिसर्च गरिरहेको थियो । विद्यावारिधि अध्ययन र ज्ञानले नभई आचार्यको कृपाले प्राप्त हुन्छ । आचार्यको कृपाले यति धेरै डाक्टर भइसकेका छन् कि बच्चाबच्चीले खेल खेल्दा ढुङ्गा फाले भने कुनै न कुनै डाक्टरलाई गएर लाग्छ । एक चोटि चोकमा पत्थर हानाहानले पाँच जना हिन्दीको डाक्टर घाइते भए । पाँचै जना अस्पताल भर्ती भए । नर्सले आफ्नो अस्पतालको डाक्टरलाई बोलाइन- “डाक्टर साहेब ” पाँचै जना हिन्दीका डाक्टरले ‘हजुर’ भनेका थिए । म आफैले केही मान्छेको चरण स्पर्श गर्ने बहानामा खुट्टा तानेको छु । लँगोटी धुने बहानामा लँगोटी चोरेको छु । श्रद्धेय बन्ने भयावहता बुझिसकेको थिएँ । नत्र भने म पनि समर्थ छु । मेरै सहरको कलेजमा एउटा अध्यापक थिएँ । उनले आफ्नो नेम-प्लेटमा ‘आचार्य’ आफैले लेखाउन लगाएका थिए । मैले त्यति बेला नै बुझिसकेको थिएँ; यो मपाईँत्व पनि महानताको लक्षण हो । आचार्य बम्बईवासी भए र उनले आफूलाई’ भगवान् रजनीश´ बनाए । आजभोलि उनी मान्यता प्राप्त भगवान् हुन् । मैले पनि आफ्नो नाम अगाडि पण्डित लेखाएको भए उहिले पण्डित बनिसक्थेँ । सोच्छु , मान्छेहरू अहिले आएर मेरो चरण स्पर्श किन गर्छन् ? यो श्रद्धा एकाएक कसरी पलायो ? पछिल्लो महिना मैले त्यस्तो के गरेँ ? केही खास लेखेको छैन । कुनै साधना गरेको छैन । समाजको कुनै कल्याण पनि गरेको छैन । दारी पालेको पनि छैन । भगवान् पनि ओढेको छैन । खासै वृद्ध पनि होइन । मान्छेहरू भन्छन् – यो वयोवृद्ध हो । अनि चरण स्पर्श गर्छन् । उनीहरू फटाह हो भने, फट्याइँको उमेर पनि ६०-७० वर्ष भयो । मान्छेहरू वयोवृद्ध फट्याइँको पनि चरण स्पर्श गर्छन् । मेरो फट्याइँ अझै श्रद्धाको लायक भएको छैन । यो एक वर्षमा मेरो एउटै तपस्या छ; खुट्टा भाँचिएर अस्पतालमा असरल्ल छु । हड्डी जोडिए पछि पनि पीडाको कारण टाङ फुर्तीको साथ जोडिदैन् । मान्छेहरू मेरो यो मजबुरीको फाइदा उठाएर अचानक खुट्टा ढोग्छन् । म आरामको लागि राजसिंहासनमै पल्टिएको हुन्छु । राज सिंहासन एउटा यस्तो आसन हो कि ऊ सँगै पल्टिएको दुरात्माको पनि खुट्टा ढोग्ने प्रेरणा मिल्छ । के मेरो टाङबाट पीडा जस्तै श्रद्धा सिर्जना भएको हो ? यसो हो भने यो विकलांग श्रद्धा हो । मलाई थाहा छ; देशमा जुन मौसम चलिरहेको छ; त्यसमा श्रद्धाको टाङ भाँचिसकेको छ । मान्छेहरू सोच्दा हुन् – यसको टाङ भाँचिएको छ । यो असमर्थ भयो । आऊ यसलाई हामी श्रद्धा गरौँ । हो, बिरामीबाट कहिलेकाहीँ श्रद्धा बाहिरिन्छ । साहित्य र समाजको सेवकलाई भेट्न एउटा साथीसँग गएको थिएँ । जब त्यो उठ्यो , तब त्यो साथीले उसको चरण स्पर्श गरे । बाहिर आएर साथीलाई सोधेँ -” यार तिमीले उसको खुट्टा किन ढोगेको ?” साथीले भन्यो -” तिमीलाई थाहा छैन, उनलाई मधुमेह भएको छ ।” अब मधुमेहले श्रद्धा सिर्जना गर्न सक्छ भने भाँचिएको टाङले पनि सक्छ । यसमा खासै विवादास्पद रहेन । मान्छेहरू बिरामीपनको कस्तो कस्तो फाइदा उठाउँछन् । मेरो एउटा साथी बिरामी थिए – हस्पिटलमा एडमिट । जसै कुनै स्त्री उनलाई भेट्न आउँथे, टाउको समातेर रुन थाल्थ्यो । स्त्रीले सोध्थिन -” टाउको दुखेको छ हो ?” उसले भन्थ्यो – “हो, टाउको फुट्ला जस्तो भएको छ ।” स्त्रीले सहजताको साथ उनको टाउको दबाइदिन्थिन् । साथीको श्रीमतीले घुरेर हेर्थिन – ” के हो हजुर, कुनै स्त्री देखेपछि टाउको दुखिहाल्छ है ?” उसको जवाफ पनि बनावटी हुन्थ्यो -” प्रिय तिमीमा मेरो यति धेरै निष्ठा छ कि, परस्त्री देख्ने बित्तिकै मेरो टाउको दुख्छ । प्रीत-रस तिमी मात्रै हो प्रेयसी ।” श्रद्धा ग्रहण गर्ने पनि विधि हुन्छ । मबाट सहज ढङ्गमा श्रद्धा ग्रहण हुँदैन । अहिले पार्ट टाइम श्रद्धेय हुँ । हिजो दुई जना मान्छे आए । उनीहरू कुराकानी सकेर जब उठे, एउटाले मेरो चरण स्पर्श गर्न हात बढायो । हामी दुवै सिकारु । उसलाई चरण स्पर्श गर्ने बानी थिएन; मेरो चरण स्पर्श गराउने बानी थिएन । जस्तो भयो उस्तै गरी उसले चरण स्पर्श गर्\u200dयो । ऊ थोरै झुक्यो । मेरो आशा जाग्यो । तर दोस्रो व्यक्ति दुबिधामा थियो । चरण स्पर्श गरु कि नगरु ! म भिखारी जस्तै हेरिरहेको थिएँ । ऊ अलिकति झुक्यो । मेरो मनमा आशा पलायो । तर ऊ फेरि सिधा भयो । मैलै बुझेँ ।उसले फेरि शरीर अरक्क पारेर कोसिस गर्\u200dयो । मेरो चरण हल्लिन थाल्यो । पुनः असफल भयो । अन्त्यमा नमस्कार गरेर गयो । उसले आफ्नो साथीसँग भन्यो होला – अरे ! यार तँ पनि कस्तो लम्फुको चरण स्पर्श गर्छस् । मेरो श्रद्धालुले जवाफ दियो होला – आफ्नो काम निकाल्न उल्लुहरूसँग यस्तै गर्न पर्छ । मलाई हीनताबोध भयो । उसले मलाई श्रद्धाको लायक सम्झेन । त्यो ग्लानि बेलुका तिर शान्त भयो जब एउटा कविले चरण स्पर्श गर्\u200dयो । त्यति बेला मेरो एउटा साथी बस्दै थियो। चरण स्पर्श गरेपछि मेरो साथीलाई उसले भन्यो – ” मैले साहित्यमा जे सिके प्ररसाईजी सँग सिकेको हुँ ।” मलाई थाहा थियो, ऊ कवि सम्मेलनमा होहल्ला मच्चाउने समूहमा पर्दछ । के मेरो सिकाइको यही नतिजा हो ? म लज्जित भएर आफैले आफैलाई जुत्ताले बजाउनुपर्ने हो । तर म खुसी थिएँ । उसले मेरो चरण स्पर्श गरेको थियो । अहिले काँचै छु । खोइरो खन्नेहरूले त पतिव्रतालाई पनि चरित्रहीन बनाइदिन्छन् । मेरा श्रद्धालुहरूले मलाई श्रद्धालु बनाउने पक्का छ । पक्का सिद्ध – श्रद्धेय मैले देखेको छु । सिद्ध मकर ध्वज हुन्छन् । उनीहरूको बनावट नै अलग हुन्छ । मुहार- आँखै खिच्ने जस्तो । पाउ यस्तो कि बारम्बार मान्छेहरू झुक्ने जस्तो । पुरै व्यक्तित्वमा श्रद्धेय लेखेको हुन्छ । मलाई यिनीहरू निकै ठुला लाग्छन् । तर पक्का श्रद्धेय हुन्छन् । यस्तै एकजनासँग भेट्न म र मेरो साथी गएका थियौ । मित्रले चरण स्पर्श गर्दा; त्यति उग्र जाडोमा पनि पछ्यौराबाट खुट्टा निकालेर चरण स्पर्श गर्न सुविधा बनाइदिएका थिए । मैले चरण स्पर्श गरिनँ । नमस्ते गरेर बसेँ । एउटा चमत्कार भयो । हुन यो पर्थ्यो कि मैले उनको चरण स्पर्श नगरेर हीनताबोध महसुस गरे । तर भयो उल्टा । उनले मलाई हेरे । हीनताबोध मलाई भयो – हाय म यति अधम निक्लिए कि उनको चरण स्पर्श गर्ने लायक भइन । सोच्छु, यस्तो बाध्य बनाउने धाक ममा तुच्छ श्रद्धेय कहिले आउला ! श्रद्धेय बन्ने यो हलुका इच्छाको साथमा डर पनि अवस्थित छ । श्रद्धेय बन्नुको मतलब हो ` नोन पर्सन´ -“अव्यक्ती ” बन्नु । श्रद्धेय त्यो बन्छ जसले हरकुरालाई हुन दिन्छन् । कुनै कुराको विरोध नगर्ने । जबकि व्यक्तिको, चरित्रको, पहिचान नै यही हो कि कुन कुराको विरोध गर्छ । मलाई लाग्दै छ, मान्छेहरू मलाई आभास दिउलाउँदै छन्; अब त कुना समातेर बस् । तँ दयनीय भइस् । तेरो लागि सबै कुरा हुनेछ । तँ कारण नबन् । माखा पनि हामी नै उडाउँछौँ । देशमा श्रद्धाको एक किसिमको समय छ । जस्तो वातावरण छ, त्यसमा कसैलाई पनि श्रद्धा गर्न सङ्कोच हुनेछ । श्रद्धा पुरानो अखबार जस्तै कवाडीमा बिकिरहेको छ । विश्वासको खेतीलाई तुसारोले खाइसक्यो । इतिहासमा सायदै कुनै पनि जातिलाई यसरी श्रद्धा र विश्वासले हीन महसुस बनाइएको थिएन । जुन नेतृत्वमा श्रद्धा थियो । त्यसलाई नाङ्गो बनाइँदै छ । नयाँ नेतृत्वहरू उत्ताउलो भएर आफ्नो कपडा आफै फुकाल्दै छन् । केही नेताहरू त अण्डरवेयरमा छन् । कानुन माथि विश्वास छैन । अदालतबाट विश्वास खोसिएको छ । बुद्धिजीवीको नसलमा नै शङ्का उत्पन्न छ । डाक्टरहरू बिरामी उत्पादन गर्ने कारखाना भएका छन् । कहिकतै श्रद्धा छैन, विश्वास छैन । मेरा श्रद्धालुहरूलाई भन्न चाहन्छु, “यो चरण स्पर्श गर्ने मौसम होइन, लात्ता हान्ने मौसम हो । एक लात हान अनि क्रान्तिकारी बन ।” (भावानुवाद: कवि जनक कार्की) #अनुवाद #भारत #हरिशंकर परसाइ |
बादशाहको कोरोना डायरी: भाग दुई बिहानै घरको कौशीबाट कफिको कडा चुस्की सँगै उपरखुट्टी लगाएर परको समुद्रमा युद्धपोतहरू गनिरहने त्यो हाम्रो पक्षको जहाज भनिरहने अलग्गै चम्किलो चेहेराको बादशाह आज ह्वेल उफ्रेको छप्ल्याङ्ग-छुप्लुङ्कको आकृति दुरबिनबाट हेरिरहेछ माथि आकाशमा युद्द विमानका आवाज सुनेर आनन्दित हुने ऊ चराका निस्फिक्री तुफानी बेग नियालिरहेछ आज जहाजको रफ्तारले बन्ने आकृतिमा विश्वको नक्शा देख्ने ऊ आज इन्द्रेणीका रङ्गहरूले लठ्ठिएको छ जिन्दगीको रङ्ग रातो र कालो मात्र देख्ने ऊ आज एक्कासि सप्तरङ्गी देख्दैछ अनि निशब्द केही लेख्दैछ —-। उसलाई आज निकै गाह्रो छ तरल परिवेश उसलाई सारो छ किनकि निस्फिक्री श्वास फेर्न पाँउदैन हाच्छिउँ गर्न पाँउदैन उसलाई थाहा थिएन यहाँ कति मान्छेहरू श्वास नफेरी बाँचेका छन् जिन्दगीमा केही नपाए पनि मृत्युपछि आर्यघाट पुर्याइयोस् भन्ने अन्तिम इच्छा साँचेका छन् —। सिलिण्डरका सिलिण्डर अश्रुग्यासका च्याम्बर चलाउने ठेकेदार बादशाह उसले कहिल्यै अक्सिजनका सिलिण्डर बनाएन किनकि उसलाई जीवनमा भन्दा मृत्युमा बढी नाफा छ जीवनको आँसु र हाँसो भन्दा निकै टाढा छ उसले कहिल्यै कसैलाई एकमुठी श्वास पैंचो दिएन तर आज अश्वत्थामा बनेर एकमुठी श्वाशको भिक्षा माग्दैछ —। मानवताका महाभाष्य लेख्ने महामानव उसकै कब्जामा थिए विश्ववसुधैबकुटुम्बकम् देख्ने आँखाहरू उसकै चस्मा भित्र कैद थिए बल्ल आज उसले चस्मा फुकालेर पुछ्दैछ चस्मा जस्तै धूमिल मन पखाल्न खोज्दैछ तर आज उसको दृष्टि निकै कमजोर भैसकेको छ दूर र दूरि ठम्याउन नसक्ने भैसकेको छ ! #दीपेन्द्र अधिकारी |
आई लभ यू: प्रिय मित्र अश्विनीजी, साहित्यपोस्ट शुरुवात गर्नु भएकोमा हार्दिक बधाई छ । साहित्यलाई बजारमा अनुत्पादक वस्तुको रुपमा ग्रहण गरिरहेको र बामे सर्न थालेको केही पुस्तकहरुको व्यवसायिक प्रकाशन पनि सुस्त भइरहेकै बेला तपाईंले साहित्यपोस्ट शुरु गर्नुभयो, त्यो पनि बुध्द जयन्तीको अवसर पारेर । सबै मानिसहरु घरबन्दीमा छन् । घरबन्दीको बेला केही पनि हुन सक्दैन भन्ने हाम्रो मानसिक बन्दी पनि छ । यो सबैलाई छिचोलेर साहित्यपोस्टको शुरुवात साँच्चिकै प्रशंसनीय छ । शुरुवात आफैँमा एक नयाँ घटना त हो नै तर शुरुवात भन्दा त्यसपछिको यात्रा महत्त्वपूर्ण हो । तपाईंको यो यात्रा सबै हिसाबले सफल होस् भन्ने शुभकामना छ । शुभकामना नभन्नु भन्दा त भन्नु राम्रै हुन्छ । त्यसैले मैले शुभकामना त भनें । तर शुभकामना भन्ने शब्द एक औपचारिकता पनि हो । अहिले समय औपचारिकता र ढोंगमै रमाउने समय पनि हो । मुखैले दिनको चार पटक आइ लभ यु नभन्दा प्रेम गर्\u200dयो कि गरेन भनेर शंका गर्ने समय । वास्तवमा प्रेम गर्नेले त पटक पटक आइ लभ यु भनिरहन नपर्ने हो । तर आइ लभ यु नभनीकनै सच्चा प्रेमीप्रेमिकालाई पनि अप्ठेरो पर्ने बेलामा मैले पनि शुभकामनाको औपचारिकता निभाएको हुँ । तर मैले यो औपचारिकताकोे समयका मित्रहरुलाई के जानकारी दिन चाहन्छु भने म औपचारिकता निभाउन सक्ने र चाहने मान्छे होइन । अहिले समय औपचारिकता र ढोंगमै रमाउने समय पनि हो । मुखैले दिनको चार पटक आइ लभ यु नभन्दा प्रेम गर्\u200dयो कि गरेन भनेर शंका गर्ने समय । वास्तवमा प्रेम गर्नेले त पटक पटक आइ लभ यु भनिरहन नपर्ने हो । प्रेमकै कुरा गर्ने हो भने हाम्रो बेलामा त चुपचाप प्रेम गर्ने हो प्रकट नै नगरीकन । मान्छे देखेरै मात्र प्रेम गर्ने कति थिए । उनीहरुको प्रेमको गन्तव्य के हो र त्यहाँसम्म पुग्यो कि पुगेन त्यो अर्कै कुरा तर मानिसहरु जो प्रेम गर्थे, चुपचाप गर्थे । दुईचार पटक आँखाले वा भनौं हेराइले, व्यवहारले प्रेम प्रकट र साटासाट गर्थे । त्यो प्रेममय हेराई, व्यवहारले दिने सन्देश कस्तो होला ? त्यो अहिले हतारहतार आई लभ यू भन्ने, भन्न बाध्य बनाउने समयले महसूस गर्न सक्छ कि सक्दैन म भन्न सक्दिनँ । तर एउटा कुरा म के भन्न सक्छु भने त्यो मौन प्रेमको शुरुवातमा नै सम्मान र समर्पणको अंश धेरै हुन्थ्यो र उनीहरु कमसेकम आफैँलाई भन्थे, अझ भनौँ कल्पना गर्थे कि यिनीलाई म जीवनसाथी बनाउन पाए ! जीवनसाथी बनाउन पाए भनेर सोच्नु भनेको सानो र सजिलो कुरा अवश्य होइन तर दोहोरो समर्पण र सम्मानमा मात्र जीवनसाथी बन्न सक्छन् । पहिले त अझ विवाह गरेपछि प्रेम गरिन्थ्यो । हाम्रा आमा–बा, हजूरबा–हजूरआमाहरुले अहिलेको भन्दा अलग अनुभूति, समस्या भोग्नुभयो होला तर उहाँहरु कतिपयले विवाहका लागि आफैँले विवाह गर्ने उम्मेदवारलाई आफैँले हेर्न पाउनु हुने थिएन । विवाहको उम्मेदवार छनोटदेखि विवाहको सबै व्यवस्था अभिभावकले नै गर्नुहुन्थ्यो तर विवाहपश्चात उहाँहरुलाई हाम्रा केही परम्पराले जीवनभर सँगै रहने बाचा गराउँथ्यो । त्यसमा समस्या छैन म भन्दिनँ तर उहाँहरुको एक अपरिचित जीवनसाथीप्रति दोहोरो प्रेम नभएको भए आज हामी यहाँ यस स्थितिमा हुने थिएनौँ । अर्को कुरा, त्यतिखेर प्रेम गरिन्थ्यो तर प्रकट गर्न सकिंदैनथ्यो । मानिसहरुलाई प्रेम प्रकट गर्न महिनौं मात्र होइन वर्षौँ पनि लाग्थ्यो त कतिपय प्रेम बेलैमा प्रकट नभएका कारण बीचैमा बिलाउँथ्यो पनि । हेर्थे, भेट्थे, कुराकानी पनि गर्थे, अलि आँट हुनेले अर्कै भाषामा, शब्दमा प्रेम प्रकट गर्थे तर हाकाहाकी आई लभ यू अर्थात् म तपाईंलाई प्रेम गर्छु भनेर स्पष्ट खुल्न भने बडो कठिन हुन्थ्यो । जुन दिन प्रेम प्रकट हुन्थ्यो र खुल्थ्यो त्यो दिन । अश्विनीजी, म तपार्ईंको असल कामको प्रशंसक हुँ । मैले औपचारिक रुपमा शुभकामना नभनिहालेता पनि म शुभचिन्तक नै हुँ । तपाईंको असल कामले निरन्तरता पाओस् । हरेक मानिस भिन्न छन् र समान पनि । साहित्यप्रतिको प्रेम हाम्रो समानता हो । बाँकी तपाईंले र मैले आ–आफ्नै ढंगले साहित्यमा लागेकै छौँ । पटक–पटक आई लभ यू भन्न नसकिने हुन सक्छ तर म यो पटक खुलेरै भन्न चाहन्छु, आई लभ यू एण्ड आई एम विथ यू । – स्नेह #आत्मालाप #स्नेह सायमि |
कठै पत्रकार ! कठै चार 'स' !!: जब-जब विपत्ति आउँछ, संकट आउँछ, आउनु पर्ने जत्ति पनि विपत्ति संकटमा देशमा चार ‘स’ सक्रिय हुन्छन् । उनीहरु अग्रपंक्तिमा देखिन्छन् । विपत्तिसँग लडिरहेका हुन्छन् । चाहे भूकम्प आउँदा होस् या बाढी पहिरो । कतिपय अवस्थामा त आफ्नोसमेत पर्वाह नगरी समाज र देशका लागि खटिरहेका भेटिन्छन् । यी चार ‘स’ हरेक विपत्तिमा सारथिजस्तै बनेका हुन्छन् । भोक–तिर्खा, रातदिन नभनी आ–आफ्नो काममा खटिरहन्छन् । आफू हुनुको कर्तव्य निभाउँछन् । घर परिवार भन्दा महत्त्व समाज र देशलाई दिन्छन् । अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका विरुद्धमा पनि यी चार स अग्रपंक्तिमा नै छन् । तर अरु बेलाको भन्दा यस पटक उनीहरुको अवस्था फरक छ । उनीहरुलाई हेर्ने दृष्टिकोण यस पटक फरक भएको छ । ती चार स अर्थात स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र समाजसेवी । कोरोना कहरमा यिनीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छ । हिजोसम्म भगवान लाग्ने स्वास्थ्यकर्मी आज आफ्नै मृत्यु बोकेर आए जस्तो भएको छ। सुरक्षाकर्मी, समाजसेवी र सञ्चारकर्मीले पनि यतिबेला यस्तै सकस भोग्नु परिरहेको छ । सुरक्षाकर्मीहरुले भनिरहेका छन्– ‘हामी तपाईंहरुको सुरक्षाका लागि छौं, कृपया तपाईंहरु घरभित्रै बसिदिनुस् ।’ अरुबेला सुरक्षा कवच लाग्ने सुरक्षाकर्मी अहिले परिवार समाजबाट अपहेलित छन् । मानौं उनीहरु मृत्यु बोकेर हिँडिरहेका छन् । स्वास्थ्यकर्मीलाई घरबेटीले कि अस्पतालमै बस्नु, कि डेराबाट बाहिर नजानु भन्ने उर्दी जारी गरेका छन् । जसको काम नै बिरामीको सेवा गर्नु हो । अस्पतालमा कयौं रोगीहरु उनीहरु नै एक मात्र केन्द्र भनेर बाँचेका छन् । उनीहरुकै बाटो हेरिरहेका छन् तर तिनै स्वास्थ्यकर्मी पिटिएका छन् । डेराबाट निकालिएका छन् । होटलमा बसेर काम गर्न बाध्य भएका छन् । स्वास्थ्यकर्मी, जसलाई हिजोसम्म भगवान भन्थे, आज काल बनेर आएजस्तै गरिरहेका छन् । उनीहरु घर आउँदा काल आउँछ र घरका सबै सदस्यलाई कालले टिपेर लान्छ जस्तो गरिरहेका छन्। आज यिनै-यिनै गन्थन लेख्न मन लाग्यो, लकडाउन डायरीमा । आफू पनि सञ्चारकर्मी भएको र त्यही चार स भित्रको एउटा पात्र भएकाले । हामीले सकेसम्म सुरक्षा सर्तकता अपनाएका नै हुन्छौं । तर गर्दै जाँदा कहिलेकाहीँ नसोचेको नतिजा आउँछ र त्यसको निकै ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । लकडाउन भएदेखि रेडियोमै बसेर काम गरिरहेकी छु । लकडाउनका अनुभूतिमा लेखिरहेकी छु । आफ्नै र आफ्नाहरु जस्तैका बारेमा लेख्न मन लाग्यो अहिले । यस विषयमा लकडाउन डायरीमा लेखिने थिएन होला । यदि नेपाल पत्रकार महासंघ पर्सा शाखाको भर्चुअल बैठक नबसेको भए । लकडाउन गरेको झण्डै १९ दिनपछि वीरगन्ज २ मा कोरोना संक्रमित फेला पर्\u200dयो । मुस्लिम धर्मप्रचारकहरुमा कोरोना संक्रमण फेला पर्\u200dयो । त्यसपछि वीरगन्जमा एकखालको त्रास सृजना भयो । अहिले झापा भए पनि मैले लामो समय वीरगन्ज कार्यक्षेत्र बनाएर काम गरेँ । अहिले पनि पत्रकार महासंघ पर्साको उपाध्यक्ष हुँ । भलै आफ्नै कारणले अहिले झापा छु । वीरगन्जमा संक्रमित भएपछि चासो झन् बढ्यो । वीरगन्जकै धेरै साथीहरुले पनि खबर सोधिरहनु भयो । सुरक्षित रहनु भनेर म्यासेज गरिरहनु भयो । अन्य ठाउँका साथीहरुको आइरह्यो । यतिन्जेलसम्म पनि सञ्चारकर्मी र नागरिक समाजले सम्बन्धित निकायलाई घच्घच्याइरहे । तर सम्बन्धित निकायले कानमा तेल हालेर बसिरहेको भन्ने खालका समाचार पनि आइरहे । पत्रकारिता पेशा व्यावसायिक रुपमा सधैं प्रतिपक्षको भूमिकामा हुन्छ । चित्त नबुझेका समाचारहरु प्रकाशन र प्रसारण गर्छ । यस्तो बेला पत्रकारितालाई संकुचित बनाउने प्रयासमा पनि हुन्छन् । यसमा हामी कतिको पानीमा छौँ भन्ने पनि थाहा हुन्छ । यो बेला त अग्रपंक्तिमै रहेर पत्रकारिता गर्नलाई पनि चुनौति थियो, छ पनि । अझ सबैतिर मुस्लिमहरुबाटै कोरोना संक्रमण भित्रियो भनेर विभिन्न टीकाटिप्पणी आइरहेको थियो । नेपालमा मुस्लिम धर्मप्रचारकले कोरोना भित्र्याए भन्ने खाले पनि समाचार नआएका होइनन् । यस्तो बेला संयमित भएर समाचार संकलन र सम्प्रेषण गर्न पनि कठिनाई थियो । हामीले हाम्रो दायित्व पूरा गरिरहेकै थियौं । समाचार संकलन र प्रसारण सम्भव भएसम्म गर्\u200dयौं । यदि अहिले सञ्चारकर्मी नभए भए अहिले यो लकडाउनमा यससम्बन्धी थप जानकारी लिन गाह्रो हुने थियो । लकडाउनमा घरभित्र भएकाहरुलाई सूचनाको एउटा माध्यम टिभी, एफएम रेडियो र अनलाइन पत्रपत्रिका नै थिए । यस महामारीबाट बच्न, सुरक्षित हुन, थप संक्रमण फैलिन नदिन गरिएका पहलहरु घरमा बसेर जानकारी लिन सजिलो भएको छ- सञ्चारकर्मका कारण । पछिल्लो समय एकै पटक ३९ जनामा संक्रमण देखिएपछि वीरगन्ज त इपिसेन्टर जस्तै बन्यो । थपिने क्रममा दुईजना सञ्चारकर्मीमा पनि संक्रमण पुष्टि भयो । आधारभूत सुरक्षाका उपायहरु नअपनाएको त होइन । अपनाउँदा अपनाउँदै पनि संक्रमित भए । यसले झन् तनाव बढ्यो । यस सँगैसँगै अहिले अन्य क्षेत्रका सञ्चारकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसले सञ्चारकर्मी पनि उच्च जोखिममा रहेको पुष्टि गर्छ । यतिबेला सञ्चारकर्मी पनि धेरै जनाको सम्पर्कमा हुन्छन् । उनीहरु जोखिममा पर्नु अस्वभाविक होइन । यही समाचार संकलनकै क्रममा वीरगन्जका एक पत्रकारलाई दुर्व्यवहार मात्रै होइन प्रहरीले पक्राउ नै गर्\u200dयो । पत्रकार पक्राउ परेको विरोधमा लकडाउनकै बीचमा पर्साका सञ्चारकर्मी आन्दोलित भए । घण्टाघरमा धर्ना बसे । धर्नामा पनि सुरक्षात्मक उपाय त अपनाएकै थिए । भोतिक दुरी कायम राखेकै थिए । जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाए । यसैबीच धेरै ठाउँ पुगिएकाले गर्दा आफैँ पनि परीक्षण गरी हेरौँ भनेर चार सञ्चारकर्मी स्वाब परीक्षणका लागि नारायणी अस्पताल पुगे । जसै उनीहरुमध्ये दुईको रिपोर्ट पोजिटिभ आयो । त्यसपछि झन् त्रासको वातावरण छायो । अनेक टीकाटिप्पणी भयो । निकै ठूलो अपराध गरेजस्तो । सञ्चारकर्मीलाई हेर्ने नजरिया नै एकाएक परिवर्तन भयो । यसैबीच नेपाल पत्रकार महासंघ पर्सा शाखाको भर्चुअल माध्यमबाट बैठक बस्यो । सञ्चाकर्मीले नै सबैलाई सारेसम्म भने । आम नागरिक त भए भए तर सरकारी कार्यालयका जिम्मेवार व्यक्तिले समेत पत्रकारकै कारण वीरगंजमा कोरोना फैलियोसम्म भन्न भ्याए । हो, पत्रकारलाई संक्रमण भयो । सावधानी अपनाउँदा अपनाउँदै भयो । संक्रमण हुने बित्तिकै उनीहरुले आफ्नो सम्पर्कमा आएका सबैलाई तत्काल खबर पनि गरे । समाचार संकलन गर्ने क्रममा सावधानी अपनाएर गर्दागर्दै पनि संक्रमण भएर अहिले अस्पतालमा छन् । उनीहरुको परिवार र सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ । एक किसिमले ढुक्क त भयो तर हेर्ने दृष्टिकोण भने उस्तै । विश्वकै नामुद अपराधीलाई जस्तो । त्यस्ता कुरा संक्रमित पत्रकारले बैठकमा सुनाउँदा कस्तो कस्तो भयो । तिनै समाजका अगुवा हुन्, जसले हिजोसम्म यही भाइरसका बारेमा विभिन्न जानकारी सञ्चाकर्मीबाट लिन्थे । तर अहिले समाजमा नै बहिष्कृत भए । यहाँ सञ्चारकर्मी सबै सही छन् भन्न पनि सकिन्न । अहिलेको महामारी सबैले बुझेकै छन् । सकेसम्म घरमै बस्नु पर्ने । धेरै पत्रपत्रिका बन्द छन् । अनलाइन संस्करण चलिरहेको छ । घरमै बसेर भएको सुविधा प्रयोग गर्न सकिन्छ । सकेसम्म घरबाटै समाचार लिएर लेख्न सकिन्छ । सकिनेसम्म त्यसो गर्नुपर्छ । टेलिभिजनका सञ्चारकर्मीले भने विशेष सावधानी अपनाएर काम गर्न सकिन्छ । पास छ, प्रेस कार्ड छ भनेर लखरलखर हिँड्ने समय होइन भन्ने बुझ्न जरुरी छ । संक्रमित एक सञ्चारकर्मीकी श्रीमतिले भावुक हुँदै फेसबुकमा लेखिन्, ‘हाम्राविरुद्ध मेला लगाएर ढोल पिट्दै हिँडे । सत्यनाश बनायो हाम्रो टोल पनि भने । धेरै जान्ने भएर खुब मै हुँ भन्दै पैसा कमाउन हिँडेको थियो नि खाइस् पनि भने । घरका अरू सदस्यलाई पनि फोन गरी–गरी तेरो घर बर्बाद भयो भनेर उचाले । कतिले त यस्तोलाई राख्न हुन्न भन्दै हिँडे ।’ उनको यो पोस्ट पढेपछि लाग्यो– संक्रमित हुने त भइहाले, तिनको परिवारले भोगेको मानसिक पीडाको पहाड झन् कस्तो भयङ्कर ! समस्या त अहिले पनि छ । संक्रमित थपिएकै छन् । मृत्यु समेत भइसकेको छ । लकडाउन बढेको बढ्यै छ । विस्तारै आधारभूत आवश्यकताका सामाग्रीहरुको अभाव हुन थालेको छ । जनजीवन थप कष्टकर बन्दै गइरहेको छ । राहत वितरण भइरहे पनि पाउनु पर्नेले नपाइरहेको गुनासो पनि आइरहेको छ । यस्तो बेला सञ्चारकर्मीलाई समस्या हुँदैन भन्ने पक्कै होइन । झन् समाचारकै आधारमा पारिश्रमिक पाउने सञ्चारकर्मीको अवस्था हामी अन्दाज गर्न सक्छौँ । समयमा पारिश्रमिक नपाउनेहरुको अवस्था पनि उस्तै छ । काममा महामारी भन्न पाएका छैनन् । विपत्ति भनेका छैनन् । उनीहरुका पनि समस्यामा हुन सक्छन्, छन् , प्रभावित हुँदै गएका छन् । जिम्मेवार पत्रकारिता गर्नु चुनौती छँदैछ । पेशालाई मर्यादित पनि बनाउनु छ । यही लकडाउनका बीचमा मे ३ तारिकमा विश्व प्रेस स्वतन्त्रता दिवस थियो । नारा थियो “भय र पक्षधरतामुक्त पत्रकारिता” तय गरेको थियो । तर झन् भय थपिएको छ । यतिबेला ज्योकट लगाएर हिँड्दैमा, क्यामेरा भिर्दैमा पत्रकार हुने भ्रम नपालौं । जिम्मेवार भएर काम गरौं । आफू सुरक्षित रहेर संक्रमण फैलन नदिने वातावरण सिर्जना गर्ने कर्तव्य पनि तपाईं-हाम्रै हो । समाजप्रति जिम्मेवार भएर काम गर्नु आजको आवश्यकता हो । यस्तै सुरक्षाकर्मीमा पनि संक्रमित भएका छन् । नर्स संक्रमित भएका छन् । यसले कसैलाई चिन्दैन । उनीहरु पनि सेवामा खटिएका छन्, चाउचाउ र पानीको भरमा । घरपरिवारबाट टाढा छन् । घरकालाई उस्तै चिन्ता छ । स्वभाविक हो । उनीहरु हाम्रै लागि खटिएका छन् भन्ने बुझौं । यस्तै समाजसेवी पनि उसरी नै खटिएका छन् । लामो यात्रा तय गरेर भोकभोकै पैदल हिँडेका यात्रीहरुको कतै गाँस त कतै बास बनेर । बीचमा अलपत्र परेकाहरुलाई सकेको सहयोग गरिरहेका छन् । सकेको सहयोग सबैले आआफ्नो ठाउँबाट गरिरहेका छन् । यस्तो बेला यी सबै हाम्रै लागि गरिएको हो भन्ने बुझौं । सुरक्षित रहौं । समाजलाई पनि सुरक्षित रहन सहयोग गरौं र जिम्मेवार भएर काम गरौं । #पत्रकार #पत्रकारिता #माया मितु |
ललितकला थेरापी प्याकेजको माग: पोखरा / पोखरामा रहेका कलाकारहरूले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा ललितकला थेरापीको नीति थप्न तथा प्याकेजका रूपमा ल्याउन आग्रह गरेका छन् । कास्की जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै सो प्याकेज ल्याउन कलाकारहरूले आग्रह गरेका हुन् । आग्रह गर्ने कलाकारहरूमा विश्व कला यात्री प्राज्ञ नगेन सिंह, प्रताप बानिया, प्रकाश पुन, सुवास भण्डारी लगायत छन् । ज्ञापनपत्र बुझ्दै कार्यालय प्रमुख चित्राङ्गद बरालले कलाकारहरूको आवाज प्रधानमन्त्री कार्यालयसम्म पुर्\u200dयाउने प्रतिवद्धता व्यक्त गरे । ज्ञापनपत्रमा हरेक सरकारी विद्यालयमा ललितकलाको कला गुरू राख्नुपर्ने, विभिन्न स्रोतमार्फत उठेको करबाट निश्चित प्रतिशत ललितकलामा लगाउनुपर्ने, हरेक सरकारी कार्यालयमा अनिवार्य रूपमा एक कलाकृति राखिनुपर्ने, नेपालका कलाकारहरूको कलाकृतिलाई बैंकमा धितो राखी ऋण उपलब्ध गराउनुपर्ने लगायतका मागहरू रहेका छन् । |
उमेश अकिञ्चनका तीन कविता: कोरोना भाइरस कैंयन वर्षसम्म लुकेर हिँडिरहेको ऊ अचानक उत्रियो सांघातिक हमलामा मान्छेलाई सिकाउँदैंछ आफ्नो हैसियत पातभन्दा कमजोर छ आजसम्मको प्रगति । बिहान ताराहरू टिप्दैं टिप्दैं ओर्लिएको हुँ धर्तीको आँगनसम्म सपनाहरू पछ्याउँदै हिँड्दा विपनाको पहिलो पाइला पो बनेछु । सम्झना बोलाएर मलाई मीठो कुट्यौं यसरी अब हिँड्नु छ अविरल यात्रा तिम्रो नाम जप्दैं । #उमेश अकिञ्चन #तीन कविता |
छोटा कवितामा नवपुस्ताः आयतनमा मात्र छन् साना: चर्चित युवाकवि नवराज पराजुलीको कविता संग्रह सगरमाथाको गहिराईमा संग्रहित एउटा छोटो आयतनको ‘औँला’ र्शीषकको कविताबाट सुरु गरौँ– तिमीले मेरो हात समाएको दिनदेखि मेरो यो मुटु औँलामा धड्किन थालेको छ । नवराज पराजुली लामा आयतनका कविता र वाचनकला मार्फत् परिचित छन् । तर उनको यो जम्मा बाह्र शब्दको कविता पढिरहँदा लाग्छ– प्रेमको योभन्दा सुन्दर अभिव्यक्ति अर्काे के हुन सक्छ ! अर्का चर्चित युवा कवि महेश पौड्यालको २०७५ को अन्त्यमा प्रकाशित कविता संग्रह शून्य प्रहरको साक्षीमा संग्रहित सबै कविताहरु छोटा आयतनका छन् । पौड्यालकै पीडा र्शीषकको एउटा कविता हेरौँ– भोक हुनु अन्न पनि हुनु तर भोक र अन्नको दूरी धरती र आकाशको जस्तै हुनु पीडाको एक महाकाव्य हो । लेख्नकै लागि त भोक र अन्नको संघर्षका र्सिजनाहरु अनगिन्ती लेखिए । लाखौँ शब्दमा उपन्यास र महाकाव्य पनि लेखिए । तर पौड्यालको प्रस्तुत कविताले ती सारा विशाल रचनाहरुको सार केही शब्दमै भनिदिएका छन् । महेश पौड्याललाई लामा आयतनका कवितासँग कुनै गुनासो छैन । तर छोटा आयतनका कविता अहिलेको व्यस्त समयमा पाठकमैत्रि भएको उनको तर्क छ । भन्छन्– “अहिले मान्छेलाई फुर्सद कम छ । लामा विषयमा अल्झिनु, घोत्लिनु समय छैन । एक झलकमै झड्का दिनसक्ने छोटा कविता पाठकको जिब्रोमा रहन्छन् भन्ने मलाई लाग्छ । मैले बस छोटा कविताको माध्यमबाट समयलाई पक्डिन खोजेको हुँ ।” पछिल्लो समयलाई हेर्ने हो भने नवपुस्ताको कविता मोह लोभलाग्दो छ । नवपुस्तामा केही कवि छन्, जो माथि उल्लेख गरिएका दुई कविका कविताझैँ थोरै शब्दमै महाकाव्य भनेर जान्छन् । जसका कविताका संरचना आयतनका हिसाबले साना छन् । तर कविताको उचाइ भने के कति लामा कविताहरुले समेट्न नसक्ने गरिका छन् । कवि महेश पौड्यालले अहिले छोटा आयतनका कविताको नेतृत्व गरेका छन् भन्दा अनुचित पक्कै हुँदैनन् । उनकै नेतृत्वमा शक्तिशाली तर शालीन कविता लेख्ने नव पुस्ताका कविहरु धेरै छन् । तर यसलाई पौड्याल भने नेतृत्व भन्दा पनि सहयात्रा भन्न रुचाउछन् । कवि महेश पौड्यालकै सम्पादनमा गत वर्ष प्रकाशित ११ नवपुस्ताका कविहरु संग्रहित छोटा आयतनकै कविता संग्रह उज्यालाका मालीहरुमा अदीप अधिकारीको ‘रङ’ शीर्षकको कविता पनि हेरौँ– रहरजस्ता छोराहरु आए साथमा अनेकन खाने कुरा आए खुसीजस्ता नातिनातिना पनि आए र पनि दशैँ रातो रङ नबोकी आउन सकेन उनको साथ छुटेदेखि आजसम्म मेरो मुस्कान देखेको छैन दशैँले । यस कविताको भाव पक्ष कति सशक्त छ । एउटा भर्खरैमात्र कविताको बाटोमा हिँड्दै गरेको नवकविले यति सशक्त रुपमा शिल्पकैशलद्वारा अभिव्यक्ति दिनसक्नु भनेको चानचुने कुरा होइन । आज मेरी अनपढ आमा पनि ईश्वर भएकी छिन् कसैको भाग्य लेखिरहेकी छिन् मतपेटिकामा । देशको पछिल्लो चुनावताका कवि नवीन प्यासीले चुनाव शीर्षकमा लेखेको कविता हो यो । २०७५ मा प्रकाशित १७ कविका कविता संग्रहित कविता संग्रह अनुहारको भीडमा पनि यो कविता संग्रहित रहेको छ । चुनावको महत्व तथा हामीले चुनेका मान्छेहरुका बारेमा अनेकन लेख तथा आलेख लिखिएको समय थियो त्यो । तर मुख्य पत्रिकाहरुका मुख्य पेजमा छापिने लेखले भन्दा विसाल कुरा प्यासीले एउटा छोटो कविताको माध्यमबाट भनिदिए । नवपुस्ताको कवि निरज दाहाल छोटा र लामा, दुवै आयतनमा कविता लेख्छन् । उनको ‘देश’ शीर्षकको एउटा छोटो कविता हेरौँ– वर्षाैँ तिमी एउटा मैनालाई कैदमा राखेर माटो पढाऊ अन्त्यमा, ऊ स्वतन्त्र भएको दिन रुखमा नै फर्कने छ । यस कविताकै आधारमा एक विसाल महाकाव्य तयार हुन सक्छ । यस कविताले देश बोलेको छ । तमाम विदेशमा आफूलाई कैद बनाइरहेका नेपालीहरुको अन्तरहृदयको कथा भनेको छ । यस्ता कविता पढेपछि छोटा कविताको उपमा दिनुमा आफैँलाई हिनताबोध हुनु स्वभाविक हो । शब्दमा थोरै भएर पनि कविताको विसालता व्यापक छ । ‘फेरि अर्काे दुर्घटना’ शीर्षको कविता छ, दीपिका खतिवडाले सिर्जना गरेको । फेरि अर्काे बस दुर्घटना भयो रे ! सुन् त कान्छा कतै दाजुको नाम त लिँदैन रेडियोले ? भोलि सदरमुकाम पुगेर अखबार पनि लिएर आएस् है ! बगेर जाने बोलीको प्रमाण हुन् सक्दैन । खतिवडाले केही शब्दमै दुर्घटना र दुर्गमताको कथालाई कविता बनाइदिइन । त्यो पनि यतिका सशक्त । अर्काे युवाकवि रसिक राज पनि लामा र छोटा, दुवै संरचनाका कवितामा सशक्त छन् । उनको ‘अभाव’ शीर्षकको एक कविता छ । बेश्यालयको भित्तामा एउटा कामुक पोष्टर झुण्याइएको छ । निक्कैबेर भो एउटा दूधे बालक नियालिरहेछ उसैका स्तन । एउटा सामान्य व्यक्तिले रसिककै अभिव्यक्ति बोल्दा त्यो भद्दा सुनिन सक्थ्यो । अस्लिल लाग्न सक्थ्यो । तर रसिकले आफ्नो शिल्पको प्रयोगद्वारा केही शब्दमै आफ्नो अभिव्यक्तिलाई यतिको सशक्त तुल्याइदिए । कविताको माध्यमबाट । र बताइदिए अभावको सत्य कस्तो हुन्छ भन्ने कुरा । एक मुठी माटो हातमा लिएर निर्मलालाई सम्झेँ अनायसै मुखबाट आवाज निस्कियो– “हे ईश्वर ! किन यस्तो ?” त्यही माटोबाट आदिम आवाज आयो– “म पनि उत्तर पर्खिरहेछु ।” यो अनिल खतिवडाको ‘अहिल्या’ शीर्षकाको कविता हो । निर्मला पन्तको न्यायका लागि कति आन्दोलन भए । कति प्रदर्शन भए । निर्मलालाई बिम्ब बनाएर कथा, कविता तथा विभिन्न भिडियोहरु पनि बनाए । अनिलले मिथकमा टेकेर कविता लेखे, जसले निर्मलाहरुको आवाज युग युगसम्म बोलिरहने छ । नवपुस्ताका चर्चित कवि मोहन संग्रामले ‘बरदान’ शीर्षकमा कविता लेखे, र हामीले मानिरहेको मिथकमाथि जम्मा चार लाइन कवितामार्फत् गम्भीर प्रश्न खडा गरिदिए– कुनै दिन भगवान्ले मलाई खुसी बनाए भने म उनलाई मान्छे बन्ने बरदान दिनेछु । नव पुस्ताकै अर्का कवि शरद ऋतुले ‘दृष्टि’ शीर्षकमा कविता कोरे । उनले कवितामात्र कोरेनन् आफ्नो दर्शन दिए– हिँड्नुभन्दा अघि यात्राको नक्सा आफ्नै हत्केलामा कोर्नू अक्षरहरु त पैतालाहरुले लेख्दै जानेछन् क्रमशः देखिएको एक झलक दृश्य मात्रै बोकेर हिँड्यौ भने अलिपरको घुम्ती कटेपछि दोबाटो पनि भेटिन सक्छ अक्सर मानिसहरु दोबाटो पुगेपछि गलत बाटो रोज्छन् । माथि उल्लेख गरिएका कवि तथा कविताहरु नवपुस्ताका सशक्त आवाजहरुका प्रतिनिधिमात्र हुन् । छोटा आयतनका कविताहरुमा नवपुस्ता यतिका सशक्त आवाज बोकेर आउनुले अब नेपाली कविताको संरचनामा बलियो हस्तक्षेप राख्ने भने पक्का छ । #कवितामा नवपुस्ता |
कविताको शक्ति : उज्यालोका मालीहरू: शब्द र पङ्क्ति गनेर वा आकार नापेर कवितालाई लामो वा छोटो भन्नु उपयुक्त हुँदैन । कविले समातेको आयाम तथा कवितागत विषयवस्तुले ओगटेको परिधिलाई हेर्नुपर्दछ । नेपाली कविताको फाँटमा आयामगत दृष्टिले लामा छोटा कविताहरू लेखिँदै आएका छन् । पछिल्लो समयमा मान्छेका रहर, रुचि र लेखनमा पनि परिवर्तनका आयामहरू देखापर्न थालेको अनुभूत भइरहेको छ । परिवर्तित परिवेशका कारण मान्छेले चिन्तनको तहलाई पनि फराकिलो बनाउँदै लैजानुपर्ने महसुस गर्\u200dयो । साहित्यका क्षेत्रमा पनि नौलानौला विषय र शैलीको प्रयोग हुनुपर्ने बुझेर लेखकहरूले त्यही अनुसार कलम चलाउँदै गए । नेपाली साहित्यमा सबभन्दा लामो इतिहास बोकेको साहित्यिक विधा कविताले व्यापक परिवेश र क्षेत्रफल पनि ओगटेको छ । केही वर्षअगाडि कवि महेश पौड्यालले आफ्नो कविताकृति शून्य प्रहरको साक्षी प्रकाशन गरे । उक्त कविताकृतिमा उनले आयामका हिसाबले छोटा कविताहरू समावेश गरे र त्यो कृतिले नेपाली कविता साहित्यमा फरक शैलीको मूल्य स्थापना गर्न सक्यो । उनै कवि महेश पौड्यालले सम्पादन गरेको नयाँ कविताकृति उज्यालोका मालीहरू यतिखेर चर्चामा रहेको छ । उज्यालोका मालीहरू कृतिभित्र एघार जना कविका एकसय दश वटा कविताहरू समावेश गरिएका छन् । यी एघार जना युवा कविका एकसय दश वटा कविताले पनि कवि महेश पौड्यालको शून्य प्रहरको साक्षीभित्रका कविताले ओगटेकै आयामलाई पछ्याएको अनुभूत हुन्छ । यस कृतिका सम्पादक पौड्यालले आफ्नो सम्पादकीयमा लेखेका छन्— यी कविता हुन् । अगाडि वा पछाडि कुनै उपसर्ग वा प्रत्यय यी कवितालाई स्वीकार्य नभएको प्रस्टै बुझिन्छ । म विश्वस्त छु, पाठक, समीक्षक वा समालोचकबाट पनि यस्तो काम हुने छैन। दोस्रो उत्तराधुनिकताको उदयसँगै मानक परिभाषाको हैकम सकिएको हो । विचारको तीक्ष्णता र कलाको प्राचूर्य यी कवितामा छ । त्यसैले यिनले कविता हुनु वा नहुनुको सनातनी वा संरचनावादी मान्यतामा नअल्झिने निर्णय गरेरै कविताको भूमिमा प्रवेश गरेका हुन् भन्न सकिन्छ ( सम्पादकीय )। सम्पादक पौड्यालको यो विचारले पनि कविता कविता नै हो, कविताको अघिल्तिर छोटो वा लामो विशेषण जोड्नु उपयुक्त छैन भन्ने कुरालाई प्रस्तुत गरेको देखिन्छ । हिजोका कविले कवितामा कस्तो शैली प्रयोग गरेका थिए र आजका युवापुस्ताका कविले लेखिरहेका कवितामा कस्तो शैली प्रयोग भइरहेको छ ? यो प्रश्नले हरेक सर्जकलाई सोच्न बाध्य गराएको छ । उज्यालोका मालीहरू सङ्ग्रहमा अटाइएका कविहरू क्रमशः अदिप अधिकारी, अनिल खतिवडा, अर्जुन आचार्य, ऋजन मायालु, दिपिका खतिवडा, निरज दाहाल, प्रदीप योङहाङ, मोहन सङ्ग्राम, रेहान खान, शरद ऋतु र सुदर्शन पौडेल रहेका छन् । यी एघार जना कविका कविताको आयामगत पाटो एकै खालको रहे पनि यी कविले देखेको कवितात्मक विश्वदृष्टि भने फरकफरक छ । यस सङ्ग्रहमा अटाइएका कविहरूको चेतनाको तह उनीहरूको उमेरभन्दा माथि रहेको दखिन्छ । देश, समाज, प्रेम अनि मानिसका पीडा र सुखलाई कविताका माध्यमबाट कसरी पाठक समक्ष सम्प्रेषण गर्ने भन्ने सूत्र यी कविहरूलाई थाहा छ । विश्लेषणात्मक ढाँचाको कवितालेखनको शैलीलाई संश्लेषणात्मक शैलीबाट लेखौँ न त भन्ने एउटा प्रयोग पनि हो यो सङ्ग्रह, त्यसैले यो कवितासङ्ग्रहका कविताहरूलाई उत्तरआधुनिकताको मान्यताका साक्ष्यका रूपमा राख्न सकिन्छ । कविहरूले कविताको शक्तिलाई यसरी देखाउन खोजेका छन्— १. गुरुत्वाकर्षणको प्रभाव या किसानको चीत्कार पृथ्वी छोडेर वायुमडण्ल पुग्यो कुहिरो र खुसीमा बदल्यो भोकको आँसुलाई हामी पो उग्राउँदै मुस्कुराउँछौँ ढुङ्गामाथि बसेर भोकका कथाहरू सुनिरहेका छौँ । एकदिन प्रकृतिले पनि हामीले जस्तै धर्म छोड्यो भने भ्यागुताको बिहेभोजले मेटाउला भोक ? (भविष्य, पृ.१७अदिप अधिकारी) २. तिमीले धेरै पहिले पैसा भनेर दिएको पीपलको पात बालापनको खेल भनेर सजिलै भुलिदियौ म मूर्ख अझै त्यही पात लिएर सम्बन्धहरू किन्न बजारमा भौँतारिरहेछु । (सँगालिएको अतीत,पृ.३० अनिल खतिवडा) ३. भाव र अभावको तालमा डुबेको मेरो जिन्दगीका कयौँ प्रहरहरूलाई कविताले सहजै उतारेको छ समयको छातीमा तर भन्नेले भनिदिन्छ— कविताले जिन्दगी उतार्दैन । (प्रतिलिपि,पृ.४६ अर्जुन आचार्य ) ४. समय जित्न पैतालाभन्दा अक्सर जुत्ताहरू उत्साही छन् एक समय थियो जुत्ताभन्दा भरपर्दा थिए पैतालाका छालाहरू समय बद्लिँदो छ कुनै क्षण जुत्ताहरूले आन्दोलन गरे भने ? (समय,पृ.५२ ऋजन मायालु ) ५. आगोले पानीलाई सिध्याउँछ बफ बनाएर उडाउँछ तर त्यही आगोले मलाई सिध्याउँदा किन खरानी बनाउँछ, आमा ? पानीमा फोहोर मिसाई हेरौँ एकचोटि बनि पो हाल्छ कि खरानी ? ( खरानी, पृ. ७२ दिपिका खतिवडा) ६. सोध्नू— बुद्ध देश कुन हो ? तर नसोध्नू— बुद्धत्वको सीमा कहाँसम्म छ ? यहाँ धेरै जवाफहरूलाई आवाज होइन आँखा चाहिन्छ । (प्रश्न—उत्तर,पृ. ७६ निरज दाहाल ) ७. प्रेम गर्दै नगर्नु गरेपछि त आगोले चित्रालाई गरे जस्तो गर्नू नखोजी उसको जात नखोजी उसको औकात । (आगो र प्रेम, पृ. ८८ प्रदीप योङहाङ ) ८. कुनै दिन भगवान्ले मलाई खुसी बनाए भने म उनलाई मान्छे बन्ने बरदान दिनेछु । (बरदान,पृ. १०३ मोहन सङ्ग्राम) ९. उसले श्रीमतीको लागि एउटा सानो सिन्दूरको बट्टा किनेको थियो हुन त श्रीमतीले भन्ने गर्थी ‘मेरो सिन्दूर त तिमी नै हो ।’ सायद यो कुरा त्यो ठूलो बाकसले सुनेछ जे स्वयम् बट्टा बनेर आइपुग्यो विमानस्थलमा कुनै दिन (बट्टा,पृ. ११७रेहान खान) १०. चराको आयु त बूढो क्षितिजसँग सोध्नू या सकल सगरसित सोध्नू या उल्लु आँधीलाई सोध्नू मृत्युका अस्थिरपञ्जर जस्ता बिजुलीका तार र खम्बामा झण्डिएका मांसपिण्डहरू त केवल माटो न हुन् । (चराको आयु, पृ. १३० शरद ऋतु ) ११. मानौँ कुनै कैदीले सजाएको हो कारागारको भित्ता कुनै किशारीले बनाए जस्तो बुर्कामा बुट्टा कुनै भिखारीलाई दिए जस्तो च्यातिएको नोट समयले मलाई मर्ने सान्त्वना दिएर धरतीमा पठाएको छ । ( सान्त्वना, पृ. १४२सुदर्शन पौडेल ) माथिका कवितामा कविको कवितात्मक चिन्तनको गहिराइलाई देख्न सकिन्छ । थोरैमा धेरै भन्ने क्षमता यी कविहरूसँग रहेको देखिन्छ । अदिप अधिकारीको ध्वन्यात्मक कविचेतनाभित्र समाज एवम् मान्छेका अनुभूतिलाई भेट्न सकिन्छ । अनिल खतिवडाका मिथकीय एवम् सामाजिक, सांस्कृतिक कविताले वर्तमानसँग समानधर्मिता कायम गरेको देखिन्छ । अर्जुन आचार्यले कवितामा मानवप्रेम, देशप्रेम र समाजको परिघटनालाई केन्द्रीय विषय बनाएका छन् । ऋजन मायालुको कविताको क्षेत्रफल अभाव, माया, भोक र जिन्दगीका पाटाहरू रहेका छन् । दिपिका खतिवडाको कविताको आयामले स्वतन्त्रताको खोजी, छोरीको अर्थ, समाज र सारा मान्छेको जीवनको सङ्गीतलाई समेटेको देखिन्छ । निरज दाहालका कवितामा समाजिक, सांस्कृतिक मानसिकतामा मान्छे केन्द्रमा रहेको देखिन्छ । प्रदीप योङहाङका कविताले देश, मानव जीवन, प्रेम र समयको वेगलाई विज्ञानसँग समानधर्मिता राखेको देखिन्छ । मोहन सङ्ग्रामका कविताले मानवीय धर्मको बाटो, मान्छेभित्रको देवत्व, सामाजिक सङ्गतिको आह्वानलाई समेटेका छन् । रेहान खानको कविताको आयाम पनि प्रेम, मान्छे रसामाजिक परिघटना नै रहेको देखिन्छ । शरद ऋतुको कविताको केन्द्रमा पूर्वीय दर्शन, मिथकीय चेतनासँगै कलात्मक विचारको गहिरो चिन्तनको प्रभाव देखिन्छ । सुदर्शन पौडेलका कवितामा चिन्तनको गहिराइ, मान्छेको मनोविज्ञान र सामाजिक परिघटनाहरू ध्वन्यात्मक तरिकामा प्रस्तुत भएको देखिन्छ । उज्यालोका मालीहरू कृति प्रकाशनसँगै आधुनिक नेपाली कविता लेखनमा कति धेरै परिवर्तन आइसक्यो भन्ने कुराको सङ्केत देख्न सकिन्छ । पाठक के चाहन्छन् ?कविले थोरै शब्दमा कसरी सम्पूर्ण कुरा समेट्न सक्छ भन्ने एउटा परीक्षणकै रूपमा पनि यो कृतिलाई मान्न सकिन्छ । लामा कविता पढिरहेका नेपाली कविताका पाठकका लागि यो कृतिले सोच्न बाध्य गराएको छ ।यस सङ्ग्रहभित्र कुनै कविले यसो भएन उसो भएन भनेर न त असन्तुष्टि प्रकट गरेका छन् न त नेता कार्यकर्तालाई देश बिगा¥यौ भनेर गाली नै गरेका छन् । यसबाट पनि यी कविरूले कविता भनेको असन्तुष्टि पोख्ने चौतारी होइन भन्ने प्रमाणित गरेका छन् । के अब नेपाली कवितालेखन प्रवृतिमा नयाँपन नै आएको हो त ? लामा कविताको शक्ति र छोटा कविताको शक्तिमा के फरक छ त ? यो प्रश्नले कविता साहित्यलाई एकचोटि फेरि झकझकाएको देखिन्छ । आयामका हिसाबले छोटा कविता लेख्दा कविले पाठकसँग सम्प्रेषण हुन सक्ने गुण राख्न सक्नुपर्ने हुन्छ । पाठकको दिमागको तलाउमा झन्झनाहट पैदा गर्ने क्षमता भएन भने अर्थात् कविता पढिसकेपछि पाठकलाई सोच्ने वातावरण बनाउन सकिएन भने कवितालाई शक्तिका रूपमा भन्दा सीमाका रूपबाट हेर्नुपर्ने हुन्छ । यहाँका केही कवितामा त्यो झन्झनाहट पार्ने कला पूरा हुन बाकी रहेको देखिए पनि यो उज्यालाका मालीहरूकविता सङ्ग्रहभित्रका सम्पूर्ण कविताहरू वर्तमान समयका बिम्ब हुन् । यथार्थवादी स्वरमा प्रभावपूर्ण कविता लेख्ने यी एघार जना कविहरूको यो सङ्ग्रह पठनीय रहेको छ । विधा : कविता प्रकाशक : शिखा बुक्स पृष्ठ : १४४ सम्पादक : महेश पौड्याल कवि : एघार जना कविहरू मूल्य : २५० #उज्यालोका मालीहरू |
मेरो इतिहास: पुरानो इतिहास छ मेरो घरको हामी आफैंले मेहेनत गरेर बनाएको मेरो पुर्ख्यौली घर यो घरमा देखिन्छ रगत लतपतिएका पटाङ्गिनीहरू खिया लागेर भित्तामा झुण्ड्याइएका तरवारहरू दराजका किताबहरूमा पढ्न पाइन्छ काटिएका शीरहरूका कथा गुमेका स्वजनहरूका गाथा हरेक दलिनमा हरेक खाँबा र धुरीमा छ मेरै पुर्खाको पसिनाको गन्ध मेरै पुर्खाको घाउको दाग जुन घर बनाउन कुनै भूमिका नहुनेहरू त्यही घरको शान्ति खल्बल्याउन उद्यत छन् ओट पसिरहन्छन् मेरो घरझगडामा विभीषण जन्माएर रावण मराइरहेछन् शिखण्डी उभ्याएर हस्तिनापुर हराइरहेछन् आगो लागेको बेला एकपटक पानी खन्याएको बदलामा किन हरदम मेरै इनारमा विष खन्याइरहेछन् भोक लागेको बेला एक छाक खुवाएको बदला किन हरदम मेरै बालीमा डढेलो सल्काइरहेछन् मेरो घरको एउटा खाँबा ढल्दा घर नलड्न हात दिएको बदलामा भत्केको दलिन टाल्न एकपटक साथ दिएको बदलामा पटकपटक पानीको कुलो बन्द गरिरहेछन् घरको चुलो बन्द गरिरहेछन् कुन मुर्खले परिभाषित गर्\u200dयो इतिहासमा ‘साथी फेर्न सकिन्छ छिमेकी फेर्न सकिन्न’ म यो परिभाषा परिवर्तन गर्न चाहन्छु वर्तमानमा । साभारः चराको गीत #कृसु क्षेत्री |
एक सय एक पुग्नुअघि माधवप्रसाद घिमिरेको ताजा अन्तरवार्ता: – भगवती बस्नेत केही महिनापछि माधव घिमिरे १ सय १ वर्ष पुग्दैछन् । उमेर जस्तै उनको योगदान पनि लामो छ । १४ वर्षको उमेरमा ‘ज्ञानपुष्प’ नामको कविता गोर्खापत्रमा छपाएका घिमिरे अहिले ‘ऋतम्भरा’ नामक महाकाब्य पूरा गर्ने तरखरमा छन् । नेपाली खण्डकाब्यमा गौरी, नाटकमा मालती मंगले, गीतमा फूलको थुँगा बगेर गयो जस्ता कृतिहरू नै अमर छन् । तर यस्ता सयौं कृति उनले दिएका छन् । नेपाल सरकारबाट राष्ट्रकविको उपाधि पाएका घिमिरेसँग हामीले यसरी कुरा सुरु ग¥यौँ । स्वस्थ हुनुहुन्छ ? पहिले अलि गाह्राे थियो, अहिले अलि ठीक छु । तर पूरा स्वस्थ भएको छैन । तपाईँको कविता लेखनमा लेखनाथ पौडेलको र देवकोटाको शैली भेटिन्छ । यसबारेमा के भन्नुहुन्छ ? पूर्ववर्ती स्रष्टाहरूको प्रभाव उत्तरवर्तीहरूमा परिहाल्छ । मलाई देवकोटा र लेखनाथज्यूको प्रभाव पर्नु स्वभाविक हो । जस्तोः लेखनाथको शैली परिस्कारवादी शैली हो । उहाँको शैलीको एक कविता; म खाऊँ मै लाऊँ सुख शयल वा मोज म गरूँ म बाँचूँ मै नाचूँ अरु सब मरुन् दुर्बलहरू भनी दाह्रा धस्ने अबुझ शठ देखी छक परी चिता खित्का छाडी अभयसित हाँस्यो मरिमरी । तरुण तपसीकाको यो श्लोक अत्यन्त रोचक र पदलालित्य एवं भावचयनका दृष्टिले पनि मनोहारी छ । यस्तोमा प्रभाव पर्नु स्वभाविक नै हो । अर्को तर्फ लक्ष्मीप्रसाद देवकोटा बहु प्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको एकै किसिमको शैली छैन । जस्तोः नछाडी जानोस् हे मेरा प्राण ! अकेली मलार्ई, मनको वनमा ननिभ्ने गरी विरह जलार्ई ! ननिभ्ने गरी विरह जलार्ई ! लोचनका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए ! के भनूँ ? भन्ने म केही थिइनँ विष नै पिलाए ! प्यारा विष नै पिलाए । मुना मदनको यी हरफहरू लोकलयमा लेखिएको छ । अब मेरो शैली के हो भने, मेरो शैली लोक गीत मिसिएको शैली छ । गीत हो कि कविता पाठकलाई बुझ्न् गार्हो पर्छ । म प्रकृति प्रेमी हुँँ । त्यसैले पनि देवकोटाको प्रभाव पर्यो । साहित्यको क्षेत्रका विविध क्षेत्रमा कलम चलाउनुभएको छ । गीत, संगीत र साहित्यबीच कति फरक पाउनु हुन्छ ? यसो विचार गर्दा नभै नहुने कुरा होइन । यो त लक्जरीजस्तो कुरा हो । तर मानिसलाई यो लग्जरी आवश्यक जस्तो बनेको छ, मोबाइल र टेलिभिजनजस्तो । हाम्रो देशमा गीत नगुन्जिएको कहाँ छ भन्नूस् त ! अहिले हाम्रो सात प्रदेशमा नै लोकगीत गुन्जिरहेको छ । देश विकासको लागि पनि साहित्य र गीत–संगीतले सहयोग पुर्याएको छ । हाम्रो गीत संगीतको क्षेत्र मौलाउँदो छ । भनौँ न पैसामा बिक्ने भएको छ । यो भनेको दीगो कुरा हो । अहिले पश्चिमी जगतले पूर्वको उपलब्धिमा सबैभन्दा ठूला कवि कालिदास र उसको कृति शकुन्तलाको नाटक चर्चा सुने, र हिन्दूस्तानमा खोज्दा ब्रिटिश इन्डियाले पाएनन् । खोज्दै आउँदा कवि कालिदास र उसको कृति शकुन्तला नाटक नेपालको वीर लाइब्रेरीमा भेटियो । नेपालको पुरानो संस्कृति भाषा, नेवारी भाषा र अन्य भाषाहरूको संरक्षण यहाँ पहिलेदेखि नै भइआएको छ । मानिस किन साहित्य पढ्छन् ? भगवानलार्ई साक्षात्कार गरेपछि समाधिमा जुन चिज अनुुभूत हुन्छ, त्यसलार्ई ब्रम्हाणान्द आनन्द भनिन्छ । साहित्यको रस त्यस्तै हो । प्रेमको आनन्द प्रेममा परेकालार्ई थाहा हुन्छ । त्यस्तै साहित्यको रस साहित्य पढेकोलार्ई थाहा हुन्छ । झरी परेर भिज्नु र रुझ्नुमा फरक छ । रुझ्नु भनेको पानीको छिटा परेर बाहिरी रूपमा भिझ्नु हो, जुन भिजेपछि टक्टकाउँछन् । तर भिज्नु भनेको भित्रसम्म पुग्नु हो । साहित्यको रस भनेको अति सुकुमार रस हो । राणा कालमा पनि देवकोटाजस्ता, लेखनाथजस्ता कवि जन्मिए । अहिले पनि कविहरूले अन्तर्राष्ट्रिय क्षेत्रसम्म आवाज पुर्याउने काम गर्दै आइरहेका छन् । (मुस्कुराउँदै) आइरहेका छौँ । किन भन्दा यसमा आनन्द छ । स्रष्टाहरूलार्ई आफ्ना हरेक कृतिहरू उत्तिकै माया लाग्छ । तैपनि यहाँलार्ई सबैभन्दा मन परेको कृति कुन हो ? झ्वाट्ट भन्न असजिलो हुन्छ । छोराछोरीहरू अरुले हेर्दाखेरि तपाईँका पाँचवटा सन्तानमा एकदम यो चलाक पो छ । यो यति राम्रो छ भनेर सुस्पष्ट किसिमले छुट्याउँछ । तर बाबुआमाले छुट्याउँदा खेरिमा बरु अलिकति लठेप्रोलार्ई पो राम्रो भन्ला, यसै भन्न सकिंदैन । मलार्ई चाहिं जनताले, अझ भनौँ पाठकले जेलार्ई बढी मन पराएका छन्, त्यही मन पर्छ । त्यो के भन्दाखेरि मेरो पहिलो पत्नीको अवसानको पीडामा लेखेको गौरी मन पर्छ । र त्यो मन पर्नाको कारण म बताउँछु । अरुलार्ई त मन पर्यो भइहाल्यो, म त स्रष्टा हुँ । किन मलार्ई मन पर्यो त ? किसिम किसिमको सिर्जना त मैले गरेँ भन्दाखेरिमा ‘गौरी’चाहिँ, “आँसुमा छाया आज प¥यो छिप्यो छवि कहाँ के देख्नु मैले पर्यो आँसुमा अब चिप्लियो कलम यो के लेख्नु मैले पर्यो ।” मेरो हृदय हल्लिएको अनुभव गर्नुभयो कि भएन ? गौरी शोककाव्य पढेर नरुने त कोही पनि छैन । तपाईँ छन्दमा लेख्नु हुन्छ । त्यही भएर गद्यमा लेख्नेहरूलार्ई उति मन पराउनुहुन्न भन्ने सुनिन्छ, खासमा के हो ? म कविताको लागि लय चाहिन्छ भन्ने मान्छे हुँ । नेपालमा जहाँ जानुहोस्, गाउँमा, पहाडमा मधेसमा जताततै जानुहोस्, लोकगीत सुन्नु हुन्छ । मैलै कविता लेख्दा सबभन्दा पहिलाचाहिं कविता भनेको भाका हो भनेर बुझेँ । हाम्रो परम्परा पनि हो, छन्दको कविता । गद्य भनेको हिजोअस्ति आएको हो । नयाँ कुरा यहाँको जनस्तरसम्म भिज्छ कि भिज्दैन त्यसलार्ई पर्खनुपर्छ । मेरो संस्कारैमा आएको हुनाले मैले छन्द बढी लिएको छु । एकजना चर्चित भएका समालोचक कृष्णचन्द्र (सिंह प्रधान)ले भनेका थिए– “घिमिरेको कविता पढ्दा लोकगीत जस्तो लाग्छ, गीत सुन्दा कविता जस्तो लाग्छ ।” महाकवि देवकोटासँगै तपाईँ पनि रुस जानुभएको थियो । तासकन्दमा देवकोटाले गरेको भाषण त चर्चित भयो, तर नेपालले तपाईँहरूलार्ई देशको इज्जत बिगारेको भन्दै जरिवाना गरेको थियो । खासमा कुरा के थियो ? देशका कविहरू अर्को देशमा गएर इज्जत कमाएर फर्केको बेलामा दण्डित हुनुपरेको सत्य हो । नहुनुपर्दथ्यो, भइयो । दुःखको कुरा हो । भएको के थियो भने, सम्मेलनको दोस्रो दिन देवकोटाजीले अंग्रेजीमा भाषण र कविता पढ्न थालेपछि सबै निःस्तब्ध भए । बीचबीचमा तालिको गडगडाहट आइरह्यो । भाषणपछि पनि धेरैबेर ताली बजिरह्यो । मैले लोकगीत सुनाए । भाषा नबुझे पनि उनीहरूको रमाएको अनुभव गरेँ । गीत गाएर मञ्चमा फर्केपछि धेरैले हाम्रो पनि यस्ता लोकगीत भएको तर आफूहरू विदेशमा आएर यसरी निर्धक्क प्रचार गर्न चुकेको बताए । देवकोटाको त वाहवाही नै भयो । तर त्योबेलाको समाज, सम्मेलनमा जान नपाएकाहरूले चुक्ली लगाइदिए । के भनेर चुक्ली लगाए र शासकले किन ती कुरा पत्याए थाहा भएन । तर हामीले जरिवाना तिरेका हौँ । कति तिर्यौ, अहिले चाहीँ ठ्याक्कै बिर्सिएँ । अब त एकसय एक वर्षतिर जाँदै हुनुहुन्छ, नयाँ पुस्ताहरूलार्ई के सन्देश दिन चाहनुहुन्छ ? अब सबै चीजको भारचाहिँ नवयुवकहरूको काँधमा पर्छ । देशमा लोकतन्त्र छ । लोकतन्त्रले के संकेत गरेको छ, कविताले पनि त्यही किसिमको युग खोजिराखेको छ । आफ्नो युगको प्रतिनिधित्व आफैँले गर्नुपर्दछ । अर्काले गर्छ भनेर जिम्मा दिन हुँदैन । कालिदास, शेक्स्पियर जन्मेको कैयौं बर्ष भइसक्यो, तर आज पनि तिनीहरू ताजै छन् । यदि तपाईँले वास्तविक कवितालार्ई पक्डनुभयो भनेदेखि तपाईँ आज लेखेर पनि भविष्यमा बाँचिरहनु हुन्छ । कुनैबेला ती पनि नयाँ थिए । तपाईँ पनि त्यस्तै बन्न सक्नुहुन्छ । त्यसो हुनाले नयाँ बन्नूस् । #माधवप्रसाद घिमिरे |
चार्ल्स रिभर टक्क रोकिएको छ: चार्ल्स रिभर टक्क रोकिएको छ मानौॅ कसैलाई पर्खिरहेको छ यताउता नजर दौडाएर सायद कसैलाई खोजिरहेछ उसको वरिपरि घुम्ने ती कुइनेटाहरू आज खालीखाली उदाङ्ग देखिएका छन् उसलाई ढाडस् दिन चारैकाल कुदिरहने भरिभराऊ स्टोरो ड्राइभ नाङ्गो देखिएको छ मानौॅ लम्पसार नग्न शरीरजस्तै ऊ दङ्ग पर्छ भन्न सक्दैन यहाॅ के भइरहेछ ऊ आजकल खालीखाली महसुस् गर्छ कस्तो कस्तो खल्लो खल्लो ! ऊ टक्क रोकिएको छ र सम्झिरहेको छ ती सुन्दर स्वर्ण षोडशीहरू ती अर्धनग्न सुन्दरीहरू जो ऊसङ्गै जलक्रिडा गर्थे ऊ विलक्षण काउकुतीले अत्तालिन्थ्याे अनि उत्तेजित हुन्थ्यो सम्झने प्रयास गर्छ त्यो रोमाञ्चक क्षण आहा! कति सुन्दर हुन्थे ती पलहरू हिजोका कैले आउलान् फिर्ता? ऊ निसासिन्छ, अत्तालिन्छ माथि आकाशमा सूर्य छ जुनेलीमा जून पनि छ तर व्यर्थ कस्का लागि? कोही त छैन यहाॅ निरास देखिन्छन् ती पनि आजभोलि खै कता गए ती ऊमाथि खेल्ने रमाउने मान्छे ऊमाथि धुइरिने ती मानवहरू? मानौँ कतै बलियो हुरीबतासले लग्यो तिनलाई कहिलै नफर्कने गरी पारि क्याम्ब्रिज \u200dसहर सहरको छातीमाथि उभिएका ती गगनचुम्बी भवनहरू पनि थकित, निरास र भयभित देखिएका छन् खै त्यो चहलपहल ऊ छक्क पर्छ हार्भर्ड वरिपरि मुसुक्क हाॅसेर सबैलाई स्वागत गर्ने क्याफेहरू खै ? कता गए ती उच्च शिक्षाको खोजीमा हिँड्ने यात्रीहरू ? एमआइटीमा बसेर गणितका सूत्र कोर्ने ओहोर दोहोरगर्नेहरू कता गए? चाल्स सम्झिने प्रयास गर्छ ती आफ्नो वरिपरि कथाको खोजीमा हिॅड्ने यसएलआर क्यामराहरू खै? के तिनीहरूले खोजेको कथा भेटियो त ? कता गए ती सेल्फी किङ्गहरू जो ऊसङ्ग सेल्फी खिचेर थाक्दैनथे बस्टन सहरभरि कुद्ने त्यो कमनवेल्थ एभेन्यु पनि टक्क रोकिएको छ यात्रा टक्क छ उस्को । एक्ले घाइते ह्येला झैँ लडेर मात्र बिलौना गरिरहेछ मानौॅ कसैलाई डाकिरहेछ त्यो चहल पहल बोकेर लहरे पिङ्झैँ मच्चिइरहने बलियो यात्री आज डङ्ग रित्तै लम्पसार छ चार्ल्स रिभर आशाको र प्रश्नहरूको नजर एटलान्टिक एभन्युतिर फ्याल्छ एटलान्टिक आफैँ जिल्ल छ कुनै भयभित शून्यताको रहस्य केलाइरहेछ आफ्नो छेउमा चमचमाई रहने बस्टन हारबरलाई हेर्छ निस्तब्ध छ। मानौँ उस्ले एटलान्टिक समुन्द्रमा आत्मदाह गरिसक्यो फर्केर नआउने गरि ! चार्ल्स एक्लो महसुस गर्छ उस्ले कतै देख्दैन ती गोधुली साॅझमा आफूमा तैरिन आउने प्रूडेन्सियल र जोन हेन्ककहरू आफ्नो छेवैमा बसेर लाजै नमानी ओठमा ओठ जोडेर तातो यौन भावना बाँड्ने जोडीहरू ऊ चलबलाउने मन गर्दैन मानौॅ कसैलाई पर्खिरहेछ ऊ उतिनै खेर एक हुल मान्छेहरू लखेटिएका हुन्छन् कुनै ठूलो अदृश्य त्रासले उनीहरूको पछिपछि दौडिरहेको छ एउटा अदृश्य किरो “कोरोना”। बस्टन, अमेरिका #अमेरिका #काेराेनाभाइरस #बस्टन #महेश्वर पन्त |
मङ्गलीको मन: सूर्यको लालीले बिहानीलाई रङ्गीन बनाएको छ । चराको चीरबीर गुञ्जनको मिठास जो कोहीलाई मोहनी लगाउने खालको छ । कोइलीको कुहुकुहु…ले त निःसन्देह उराठ मनमा पनि रङ भरिदिन्छ । वनपाखा मुस्कुराइरहेका छन् । गाउँ छेउको अग्लो झरनाको कलकल आवाजले मनै आनन्दित बनाउँदैछ । अनेकथरीका पुष्प सुवासले त्यसै उसै लठ्ठ बनाउँछ । वातावरण नै आखिर छ प्रेमिल । “ङा नाङकाई झकालाङ ।” गोरेले आज साहस जुटायो । सास रोकेर मातृभाषामा मनको कुरा खोल्दै मङ्गलीलाई रातो गुराँसको फूल दियो । मौका पारेर जम्माजम्मी तीन शव्दमा मनका कुरा राख्दा पनि उसको मुटु ढक्क फुलेजस्तो भयो । केही दिनदेखि उसले यो मौकाको खोजी गरिरहेथ्यो । मङ्गलीको चढ्दो बैंशले गोरे मोहित बनेको थियो । पानी पँधेरो जाँदा बाटोमा एकान्त पारेर मङ्गलीसँग मनको कुरा राख्न पाएकोमा ऊ मनमनै बिछट्टै खुसी छ । गाउँकै माइला चेपाङको छोरो हो, गोरे । मङ्गली पनि असमञ्जसमा परी, के सोची खै ! लजाउँदै फूल समाती । एक पटक गोरेलाई छड्के नजर लगाई । केटोले चाल पाएन । लाग्थ्यो, पाखा पखेरामा यो जोडीलाई आज ‘भगवान्’ले समय जुराइदिएका छन् । मङ्गली पनि गोरेले मन पराएर माया गरेकोमा मनमनै मख्ख थिई । बोलीचालीमा प्रायः नेपाली भाषाकै प्रयोग गर्ने गोरेले आज आफ्नी मनकी रानी मङ्गलीलाई आफ्नो मातृभाषा (चेपाङ भाषा)मै प्रेम प्रस्ताव राख्यो । यसको पनि आफ्नै अर्थ छ । उसका ‘बाउ’ले आमालाई र काकाले काकीलाई मातृभाषा (चेपाङ भाषा)मै प्रेम प्रस्ताव राख्दा सफल भएको भन्ने उसले सुनेको थियो । त्यसैले उसको मनमा आफ्नै भाषामा प्रेम प्रस्ताव राख्दा सफल हुन्छु भन्ने एक प्रकारको विश्वास नै बसिसकेको थियो । उमेरले मात्र चौधमा टेकेको गोरेले हातमा ढकमक्क फक्रेको रातो गुराँस त दिएको थियो तर उमेरमा प्रेम गर्नका लागि ऊ फक्रिसकेको भने अवश्य थिएन । उमेर नफक्रँदै विवाह गर्नु उसको वंश परम्परा जस्तै बनिसकेको थियो । उसका ‘बाउ’ बिहे हुँदा तेह्र वर्षका मात्र थिए रे ! अनि काकाले पनि त चौध वर्षमै काकी भित्र्याएको उसले सुनेको थियो । चौध वर्षको गोरे कानुनका लागि नाबालिग थियो होला तर उसको समुदायका लागि लक्का जवान । मङ्गलीले गोरेलाई आफूप्रति आकर्षित गर्न त सकी तर उमेरले तेह्र मात्र लागेकी मङ्गलीलाई यो प्रेम गर्ने बेला हो वा होइन के थाहा ! उसको लजालु मुस्कान नै जवाफ थियो । सल्बलाएका ओठ र आँखाको भाव नै काफी थियो । ऊ केही बोल्नै सकिन । लजालु मुस्कान र आँखाको भावभित्र गोरेप्रतिको अव्यक्त प्रेम छचल्किएको थियो । केही क्षणसम्म वतावरण मौन रह्यो । बोले त केवल आँखाआँखा, मनमन । गोरेले मौनतालाई भङ्ग गर्यो । “नाङ ङकाइ झन् कतेना ?” (तिमी मलाई मन पराउँदिनौ ?) मङ्गली झनै लजाई । ऊ केही बोल्नै सकिन । गोरेले दिएको गुराँसको फूल हातमा चरप्प समातेर घरतिर दौडी । गोरे पनि मङ्गलीको पछि लाग्यो । मङ्गली पर पुगिसकेकी थिई । उसले भेटेन । अनि ऊ आफ्नै घरतिर हिँड्यो । गोरे पर पुगेपछि मात्रै मङ्गली फेरि पँधेरोतिर लम्किई । यो मौसम पनि प्रेमिल जोडीहरुको पक्षमा छ । गोरेको घरभन्दा माथि डाँडामा ढकमक्क फुलेको गुराँसले पनि यसलाई सङ्केत गरिरहेको आभास गराउँछ । त्यहीमध्येको एउटा थुँगा उसले मनकी रानी मङ्गलीलाई दिएर प्रेम प्रस्ताव राखेको थियो । जसै मङ्गलीसँग छुटेर ऊ घरतर्फ लाग्यो आफैँमा हराउन थाल्यो । खुला आकाश । रातै फुलेका गुराँसको अलिक माथि जस्तो टलक्क टल्केका देखिने हिमालले आफूलाई गिज्याइरहेको महसुस गर्\u200dयो उसले । मङ्गली र गोरे चेपाङ सहपाठी हुन् । गाउँकै विद्यालयमा पाँच कक्षाका विद्यार्थी हुन् उनीहरु । यो कक्षा उनीहरुले दोस्रो वर्ष पढ्दै छन् । कक्षा उत्तीर्ण भएर पनि ६ कक्षा पढ्न झण्डै चार घण्टाको पैदल यात्रा गर्नुपर्ने बाध्यताले उनीहरुले आफ्नै घर नजिकको विद्यालयमा कक्षा दोहो¥याएका हुन् । मङ्गलीलाई पछिल्लो समय विद्यालयभन्दा पनि दिनभरिजसो आफ्नै घरमा भाइबहिनीको धरालो बस्नुपर्ने बाध्यता छ । गरिबीका कारण परिवार पाल्नकै लागि बाबुआमा दैनिक ज्यालादारीमा काम गर्न निस्किएपछि मङ्गलीलाई आफूभन्दा साना चारजना भाइबहिनीको धरालो बन्नुपर्ने बाध्यता भएको हो । ––– ––– ––– ––– मङ्गली र गोरे एउटै गाउँका हुन् । एउटै गाउँ अनि सँगै स्कुल जाने आउने गरेकै कारण उनीहरुबीच हिमचिम बढ्यो । गोरेको प्रेम प्रस्तावले मङ्गलीको मन बेचैन छ । मनको अग्नि तापमा होमिएकी छे । के उत्तर देओस् बिचरी उसले पनि ! ‘के भन्ने ?’ ऊ दोधारमा परी । बालमस्तिस्क न हो, के के सोची सोची । जुरुक्क उठी अनि गोरेको घरतिर लागि । गोरेले मङ्गली आउँदै गरेको देख्यो । घरमा ऊ पनि एक्लै थियो । ‘मङ्गली किन आई ?’ गोरेको मन छटपटिन थाल्यो । ऊ आँगन छेउ उभिइरह्यो । गोरेको घर पुग्ने बेला मङ्गलीले अलि सुस्त सुस्त पाइला चाल्दै गई । गोरेको नजिकै पुग्न लाग्दा च्यात्तिएको मजेत्रोले शीर र मुख छोपी । मङ्गलीले पनि साहस जुटाएरै भनि, “गोरे, ङा नाङकाई झकालाङ ।” गोरे खुसीले बुरुक्क उफ्रियो, भन्यो, “म तिम्रो बुबासँग छिट्टै तिम्रो हात माग्न आउँछु ।” मङ्गलीले टाउको हल्लाएर सहमतिको सङ्केत दिई । गोरेको मुखमा पुलुक्क हेरी अनि फर्किएर आफ्नो घरतिर दौडिई । मङ्गलीले आफ्नो प्रेम प्रस्ताव स्वीकार गरेकीले गोरेलाई संसारै जितेजस्तो भयो आज । ––– ––– ––– ––– भेट हुँदा अक्सर गोरे जिस्काउँथ्यो, मङ्गली लजाउँथी । आज अर्को परीक्षाको घडी छ । साँझ बढ्दै छ, गोरे आफ्नो बुबालाई लिएर मङ्गलीको घर आएको छ । नङ पनि नफाली सफा गरेर सिङ्गै पकाएको भोर्ले कुखुराको भाले र १२ बोतल हुने गरी एक घैँटो कोदाको तीन पाने रक्सी लगिएको छ, मङ्गलीको हात माग्न । गोरेका बाबु छोरालाई मङ्गलीका परिवारले स्वागत गरे । चेपाङ समुदायमा सगुन लग्दा कुखुराको नङ नफाल्नुको पनि आफ्नै सांस्कृतिक महत्त्व छ । नङ फालेको कुखुरा लगे केटी थोते छ भनेर जिस्काएको भनेर केटी पक्षले दोष लगाउँछन् । केटा पक्षले यसरी केटी पक्षलाई मासु र रक्सी उपहार दिएर छोरी माग्ने परम्परालाई पुङ् खुवाउने भनिन्छ । चेपाङ समुदायमा पनि यो परम्परा छ । केटी पक्षले केटाको घरबाट लगेको पुङ्ग स्वीकार गरे भने विवाह पक्का हुन्छ, नत्र भत्कन सक्छ । मङ्गली बुबाले पुङ् स्वीकार गरे हुन्थ्यो भन्ने पक्षमा छे । उसले विवाह गरेर गोरेसँग संसार सजाउने सपना बुनिसकेकी छ । घरमा सबै जम्मा भएका छन् तर कोही बोलेका छैनन् । सन्नाटाकै बीचमा गोरेलाई बाबुले इशारा गरे । हिम्मत जुटाएर मङ्गलीका बुबातिर फर्किएर टाउको अलिकति झुकाएर गोरे बोल्यो, “नाङको चोङ्याङ ङाकाई बइची” (तपाईंकी छोरी मलाई दिनुहोस्) । मङ्गलीका बुबा केही बोलेनन्, हाँसे मात्रै । घरकै दलिनमा आड लागेर बसेकी छोरीतिर पुलुक्क हेरे अनि मुन्टो हल्लाएरै ‘हुन्छ’ भन्ने सङ्केत दिए । कुरा मिल्यो, सबै मिलेर रक्सी, मासु खान थाले । मङ्गलीले रक्सी भाग लगाइदिई । विवाहको कुरा टुङ्गो लगाएर छुट्टिने बेला सबै रक्सीले मातिसकेका थिए । गोरेका बा छोरालाई मङ्गलीका बाले आँगनको डिलसम्म पुगेर बिदा गरे । ––– ––– ––– ––– मङ्गलीका परिवारले पुङ् स्वीकार गरेसँगै दुईको विवाहले परिवारबाटै स्वीकृति पायो । चेपाङ परम्पराअनुसार पहिलो पुङ् कार्यक्रमपछि उनीहरुले फेरि विवाह गर्ने दिन टुङ्ग्याउनका लागि ‘ठेगान पुङ्ग खाने कार्यक्रम’ राख्नुपर्ने हो । तर दुवै परिवारकै सहमतिमा यो कार्यक्रमलाई छोट्याएर विवाहकै दिन सबै गर्ने योजना बन्यो । निर्धारित मितिभित्र आफ्नो परम्पराअनुसार विवाह सम्पन्न भयो । विवाहको दिन पनि आफ्नो परम्पराअनुसार गोरेले जन्ती लिएर आउँदा आफ्नै आमाले कानमा लगाएको पुरानो ढुङ्ग्रीसहित पाँचभारी रक्सी र मासुका लागि कुखुरा, बाख्रो उपहारमा आयो मङ्गलीका घरमा । मङ्गलीका बाबुले पनि आफ्नो परम्पराअनुसार छोरीलाई आफ्नो घरभन्दा तल रहेको चिउरीको बोट उपहार दिए । चेपाङ समुदायमा छोरीलाई दाइँजोमा चिउरीको बोट दिने चलन छ । चिउरीको बोटको पनि आफ्नै महत्त्व छ । यो बहुउपयोगी रुख हो भन्ने थाहा छ मङ्गलीलाई । उसका घरमा चिउरीको बियाँको घ्यू बनाएको देखेकी छे मङ्गलीले । फलले रक्सी बनाउने, तेल तथा घ्यू हातगोडा फुटेको र हिलोले खाएको औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । चिउरीको फूल त झनै उपयोगी मानिन्छ । फलको तेल निकालिएको पिना खेतवारीमा मल र औषधिका रुपमा पनि प्रयोगमा ल्याइन्छ । यस्तो बहुउपयोगी चिउरीको बोट दाइजो पाएकोमा गोरे पनि मख्ख छ । सानै उमेरमा मङ्गलीले विवाह गरेको कुरा उसकै साथी आइतीलाई भने कत्ति मन परेको छैन । आइती मङ्गलीको बालसखा हो । सँगै खेल्ने, स्कुल जाने सबैभन्दा नजिकका मिल्ने साथी हुन्, मङ्गली र आइती । पाँच कक्षा उत्तीर्ण गरेपछि आइतीले चार घण्टा हिँडेरै भए पनि पढाई रोकिन । आइतीका बाबुआमा ऊ स्कुल नजाओस् भन्ने चाहन्थे । त्यति टाढाको स्कुल ! सधैँका दिन कहाँ उस्तै हुन्छन् र ! बरु घरकै काममा सहयोग गरोस् भन्ने चाहना उनीहरुको थियो तर उसले मानिन । दुःखै गरेर भए पनि स्कूल पढ्न छाडिन । सँगैकी साथी मङ्गली भने विवाह बन्धनमा बाँधिई । बेहुली भएर पराइ घर गई । त्यो दिन आइतीलाई साह्रै नरमाइलो लाग्यो । मङ्गलीलाई बिदाई गरेपछि आइती मजेत्रोले आँशु पुछ्दै घरतिर लागि । मन थाम्न सकिन । बाटोमा सुँक्कसुँक्क गर्दै गई । पधेँरोमा मुख धोएर घरतिर लागी, मन गह्रौँ भयो । ––– ––– ––– ––– बिहेपछि गोरे र मङ्गली दुवैले पढाइ छाडे । ज्याला मजदुरी, साँझ बिहान घरको काम उनीहरुको दैनिकी हुन पुग्यो । हुन पनि जीवन धान्न मजदुरीको कुनै विकल्प पनि त छैन उनीहरुका लागि । आफ्नो बारीमा उब्जाएको अनाजले चार महिना पुग्न पनि गाह्रो छ । भीरपहरामा भेटिएका गिठ्ठा भ्याकुर उनीहरुको आहारा थियो । ज्याला मजदुरी गरेरै रुखोसुखो जीविकोपार्जन गर्नुपर्ने बाध्यता उनीहरुको पुस्ता परम्परा बनिसकेको छ । बिहे गरेको तीन वर्ष पनि नबित्दै दुई सन्तानकी आमा भई मङ्गली । वर्षौँटे सन्तान अनि त्यसमा पनि कम उमेरमै जन्माउनु पर्दा कम्ती पीडा भोग्नु परेन उसले । पहिलो सन्तान जन्माउँदा ऊ १४ वर्षकी मात्रै थिई । बच्चा त बस्यो, सुत्केरी हुने बेलामा बढी रक्तश्राप भएर झण्डै ज्यान गएको ! कम उमेरमै विवाह गरी छिट्टै गर्भवती हुँदा आफ्नै भाउजू अनि पल्लो घरकी ठूल्दिदीले ज्यान गुमाउनु परेको अवस्था सम्झँदा त मङ्गली खुब डराएकी थिई । परिस्थिति यस्तै भयो । अरु केही नभए भगवानले हात थाप्छन् भनेर उसले आफूलाई सान्त्वना दिनुको अर्को उपाय थिएन । सानै उमेरमा बच्चा जन्माउँदा आमाले बच्चालाई स्याहार गर्ने कि आफ्नै स्याहार गर्ने ? मङ्गलीको अवस्था पनि यस्तै छ । आफूसँगैकी साथी आइती सधैँ किताब बोकेर आफ्नै घर अगाडिबाट विद्यालय गएको देख्दा मङ्गलीको मन एकतमासको बन्छ । आइतीको ठाउँमा आफूलाई उभ्याएर हेर्छे । झस्किन्छे, अनि आफूले विगतमा लिएको निर्णयमा पश्चाताप गर्छे । सोह्र वर्षमै दुई सन्तान र काँधमा घर सम्हाल्ने जिम्मेवारी छ । कल्पना गर्छे, ‘म पनि आइतीसँगै पढ्न पाएको भए…।’ ––– ––– ––– ––– दिन बित्दै जान्छ । घर मेलापात गर्दै दुई सन्तानकी आमा मङ्गली १६ वर्षमै उमेर ढल्किएजस्तो देखिन्छे । न त सुत्केरी हुँदा पोषणयुक्त खाना, न त आङ ढाक्ने राम्रो कपडा नै छ । गोरे पनि त बल्ल १६–१७ वर्षको लोर्के ठिटो हो । झिल्के, सर्लक्क परेको छ । उसलाई अब आफ्नै श्रीमती नराम्री लाग्न थाली । अनि बिस्तारै ऊ अरु केटीहरुप्रति आकर्षित हुन थाल्यो । यो कुरा मङ्गलीलाई पाच्य हुने कुरै भएन । यसै कुराले उनीहरुको घरमा कलह हुन थाल्यो । “अहिले अरु केटीसँग यस्तो गर्ने भए मलाई किन बिहे गरेको त ?” मङ्गली झर्कन्छे । गोरे नाजवाफ हुन्छ । सुरुमा त गोरेले आफू कसैसँग नजिक पनि नपरेको बताउँछ । झूट लामो समय छिप्दैन भनेझैँ गोरेका नाजायज सम्बन्धहरु बाहिर आउँछन् । श्रीमतीले आफ्ना दुई सन्तानलाई हेरेर यस्तो व्यवहार त्याग्न आग्रह गर्छे तर गोरेले सुन्दैन । यही कुराले गोरे र मङ्गली बीचको सम्बन्ध बिग्रन थाल्छ । गोरे कयौँ दिन घर नै नआई बाहिरै बस्न थाल्छ । यही क्रमले एक दिन दुई दिन हुँदै वर्ष बित्छ । गोरेले घरमा अर्की श्रीमती भित्र्याउँछ । अर्की श्रीमती भित्र्याएसँगै गोरेको मङ्गलीप्रतिको व्यवहार पनि रुखो बन्दै जान्छ । एक दिन रक्सी खाएर आएको गोरेले मङ्गलीमाथि हात उठाउँछ । दिनदिनैको आफूमाथिको कुटपिट र अन्याय मङ्गलीले कति सहोस् ! मङ्गलीले गाउँलेहरुसँग गुहार माग्छे । उसले यति अन्याय सहेर गोरेसँग बस्न नसक्ने भनाई राख्छे । गाउँलेहरुको भेलामा रुँदै उसले भन्छे, “अब म योसँग बस्न सक्दिन ।” गोरे समाजकै अगाडि रिसाउँछ र भन्छ, “नाङ ड्याह् ल्याउको ल्याम कानु ङा लैको ल्याम कन्नाङ” (त्यसो हो भने तँ आफ्नो बाटो लाग,् म पनि आफ्नो बाटो लाग्छु) । गोरेले चाहेकै यही थियो । उसलाई भन्न सजिलो पनि छ । उसले दोस्रो विवाह पनि गरिसकेको छ । तर महिलालाई छोराछोरी छोडेर बाटो लाग्न के सजिलो छ र ? मनले यो कुरा सजिलै मान्ला ? मङ्गली के सोच्दै थिई । त्यसै बेला समाजका भद्र भलाद्मीले उनीहरुलाई मिलेर बस्न गरेको आग्रहले झस्किई । समाजको कुरामा दुवै टसका मस भएनन् । एउटै भान्छामा सधैँ झगडा गरेर बस्न त्यो पनि सम्भव ठानेनन् । भद्रभलाद्मीले भनेझैँ त्यही घरको पाली बारेर मङ्गली एक्लै बस्न राजी भई । छुट्टिएपछि मङ्गलीलाई आफ्ना दुई सन्तान पाल्न सजिलो थिएन । उमेरकै थिई । हरेक दिन ज्याला मजदुरी गर्थी । दुःख गरेरै आफ्नो र बालबच्चाको जीविका चलाउँदै आएकी थिई । यसरी नै जीवन निर्वाह गर्दै गर्दा मङ्गली पनि बीस वर्षकी भई । उसका सन्तान पनि अब स्कुल जाने उमेरका भए । अहिले त उसकी साथी आइती त्यही विद्यालयको शिक्षक बनेकी छ । आफ्नो बालसखा शिक्षिका भएकै कारण पनि विद्यालयमा छोराछोरी भर्ना गर्न उसलाई गाह्रो भएन । “हेर तिमी पढ्यौ र त गाउँमै शिक्षक भएर आयौ, म पढिन । अहिले दुःख पाइरहेकी छु”, मङ्गलीले आइतीलाई भनी । आइती पनि मुसुक्क हाँस्दै भन्छे, “मोरी तँलाई पनि त मैले बिहे नगर्, पढम् भनेकै हो नि ! मानिनस् ।” उनीहरु बीचको भलाकुसारी चल्दै थियो । दुईवटा गिलासमा चिया लिएर कोही आयो । दुवै जनाले मीठो मानेर चिया खाए । मङ्गली आफ्ना दुवै छोराछोरीलाई स्कुलमा भर्ना गरेर फर्की । ––– ––– ––– ––– छोराछोरी स्कुल जान थालेपछि मङ्गली दिउँसोमा अलि बढी फुर्सदिली भई । काम गर्न टाढाटाढा जान पनि भ्याउने भई । यसरी नै काम गर्ने क्रममा उसको पनि आफ्नै गाउँको ठूलेसँग मायाप्रेम बस्यो । एक वर्षअघि सुत्केरी हुन नसकेर ठूलेकी श्रीमतीको १४ वर्षमै ज्यान गएको थियो । ठूलेको प्रेममा मङ्गलीले अलिकति भए पनि आड भरोसा गरेकी छे । तर उसलाई आफ्ना दुई सन्तान छाडेर ठूलेसँग कसरी जाने भन्ने चिन्ता छ । ‘उल्ले मछँदै कान्छी ल्यायो । ममाथि मात्र अन्याय गरेन आफ्ना यी सन्तानमाथि पनि ठूलो अन्याय गरेको छ । अब मैले पनि छाडेर गए यी लालाबालाको के हालत होला ?’ मङ्गली ठूलो चिन्तामा परी । उता, मङ्गलीको मन ठूलेले तानिसकेको छ । फेरि मनमनै भुटभुटिन्छे, ‘जसको बीउ हो उसैले त मतलब गर्दैन भने मैलेमात्रै उनीहरुको रेखदेख गर्न केको कर ?” मङ्गली पछिल्लो समय यस्तैयस्तै कुराले विचलित छे । छोराछोरी छाडेर जाऊँ, उनीहरुको बिचल्ली हुन्छ । नजाऊँ, अहिले ठूलेले पनि बिहे गर्न दबाब दिइरहेको छ । श्रीमती नभएपछि ठूलेलाई पनि घर धान्ने श्रीमती चाहिएको छ । उसले आफ्ना दुई सन्तान लिएरै विवाह गर्ने प्रस्ताव गर्छे तर ठूले त्यो कुरा मान्न तयार हुँदैन । अनि मातृत्वको ममतालाई बिर्सिएर जे त होला भन्दै उसले पनि ठूलेसँगै जीवन बिताउने निर्णय गर्छे । उनीहरु भागेरै विवाह गर्छन् । मङ्गलीले दोस्रो विवाह गरेको कुरा गाउँमा ठूलै चर्चाको विषय बन्यो । पुरुषले दोस्रो विवाह गर्दा सजिलै पचाउने हाम्रो समाज महिलाले दोस्रो विवाह गर्दा किन सजिलै पचाउन सक्दैन ? उमेरकै हिसाबले त भरखरै विवाह गर्ने उमेरकी छे मङ्गली पनि । आफ्ना इच्छा, चाहनाहरु पनि किन नबुझेर कुरा काटेका होलान् भन्ने लाग्छ मङ्गलीलाई । आमाले पनि छाडेर गएपछि गोरे र मङ्गलीका छोराछोरी अहिले झनै बिचल्लीमा परेका छन् । सौतेनी आमासँग बसेको बाबुले पनि उनीहरुलाई वास्ता गर्दैन । ती दुई बालबालिकाको बिचल्ली भएको छरछिमेकीले हेरेर बस्न सकेनन् । गाउँलेले उनीहरुलाई अनाथालय पठाउने सल्लाह गरे । यो कुरा कता कता मङ्गलीको कानमा पनि पर्\u200dयो । बाबु आमा छँदाछँदैका अनाथ भए उनीहरु । आज छिमेकीको सहयोगमा ती दुई बालबालिकालाई विदेशी लगानीमा स्थापित अनाथालयमा पठाइँदैछ । मङ्गलीलाई आज बिहानैदेखि संसारै अँध्यारो लागिरहेको छ । खाना पकाइवरी ठूलेलाई खुवाई । आज अलि सञ्चो छैन भनेर काममा पनि गइन । ठूले काममा निस्कियो । मङ्गलीले खाना खान सकिन । वनको बाटोको अलि माथिपट्टि छेलिएर बसी । मैलो मजेत्रोले मुख छोपेर बाटोतिर टोलाइरही । ‘अब भेट होला नहोला, देख्न पाइएला नपाइएला’, उसलाई आफूले दश महिना कोखमा राखेर जन्माएका, आफूले खाइनखाई बडो प्यारले हुर्काएका सन्तानको एकपटक मुख हेर्ने उत्कट इच्छा जाग्यो । एकैछिनपछि गाउँकै केही छिमेकी र दुई जना नयाँ मान्छेले आफ्ना कलिला लालाबालालाई डो¥याएर जाँदै गरेको देखी, मङ्गलीले । मन भक्कानिएर आयो, आँखाबाट बलिन्द्र आँशु बग्न थाल्यो । आँशु पुछ्दै एक तमासले हेर्दै छे ऊ । दौडदै गएर छोराछोरीलाई च्याप्प अँगालो हालेर छातीमा टासिरहुँ जस्तो लाग्यो, फर्काएर ल्याउँ जस्तो पनि लाग्यो । तर त्यसपछि के ? बाध्यताको भूमरीमा छ मङ्गली । हेर्दाहेर्दै उनीहरु टाढा हुँदै गए, अलप भए । वन जलेको भए सबैले देख्थे, मङ्गलीको मन जलेको कसले देख्नु ? ऊ घण्टौँसम्म बसेको ठाउँबाट उठ्न सकिन । आँशु पनि सहारा बन्दोरहेछ जीवनमा कहिलेकाहीँ, मङ्गलीको जीवनमा पनि यस्तै भयो आज । टाउको फुट्ला जस्तो भएको छ, रुँदारुँदा ऊ निकै थकित र कमजोर बनेकी छ । साँझ पर्न लाग्यो, ठूलेलाई सम्झिई अनि आड लागेको रुखको सहारामा बिस्तारै उठी । आखिर आमाको मन न हो । शरीर घरतिर घिस्रिदै छ, मन उतै लालाबाला गएतिर दौडिरहेको छ । #चेपाङ #वसन्त पराजुली |
नारायणी-गण्डकीका स्वरहरूको अनलाइन गोष्ठी: लकडाउनका अवसरमा घरै बसेका कविहरूका बीचमा आपसी चिनारी र रचना पाठसमेत गर्ने हेतुले गत बुधबार २०७७ जेठ ७ साँझ नेपाल स्रष्टा समाजबाट नारायणी गण्डकीका स्वरहरू शीर्षकमा एक अनलाइन साहित्यिक गोष्ठीको आयोजना गरियो । साँझ ८ बजेदेखि कम्प्युटरर मोबाइलबाट अनलाइन (भिडियो कन्फ़ेरेन्सिङ्ग) विधिमा सञ्चालित कार्यक्रममा चितवन नवलपुर क्षेत्रका साहित्यकारहरू ऋषिप्रसाद लामिछाने, किसान प्रेमी, खुमनारायण पौड्याल, गिरिराज डल्लाकोटी, जीवा लामिछाने, धनराज गिरी, बालकृष्ण थपलिया, रचना शर्मा, रमेश प्रभात, लक्ष्मणप्रसाद गौतम, लीला दहाल, सुमन घिमिरे, सुरेन्द्र अस्तफल, हरिहर खनाल, तथा समाजका पुष्पा खनाल, नवराज पुडासैनी ज्योत्स्ना र पत्रकार राजेश खनाल आदिको सहभागिता रहेको थियो । कार्यक्रममा कविता, गजल, गीत, लघुकथाहरू वाचन, गायनका साथै चितवनले नेपाली साहित्यिक र लोकतान्त्रिक आन्दोलनमा खेलेका भूमिकाको चर्चा गरिएको थियो । सो कार्यक्रमका आरम्भमा समाजका अध्यक्ष विधान आचार्यले रामायणका दुई श्लोक वाचन गरे । सञ्चालन अनौपचारिक तरिकाले गरियो । सबै सर्जकहरूले सङ्क्षिप्त परिचयसहित रचना वाचन गरे । अन्त्यमा वाचित रचनामाथि समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतमबाट समीक्षा गरियो भने समाजका महासचिव पुष्पा खनालले सहभागीलाई धन्यवाद प्रदान गरिन् । कार्यक्रम लगभग दुईघण्टा चलेको थियो । |
जूनको सपना: मनका भाकाहरू अनि बिपनाको धून नबिर्सिने सपनाको त्यो जून म उडिरहेको आकाशमा पनि छ तिम्रो बगिरहने सागरको मीठो सम्झना मायाको मीठो कल्पना, बिपना अनि पुनः त्यहीं जूनको सपना । #जूनको सपना |
नक्सा बनाउने हात: चुलबुले बालकको बाटुले नीलो आँखाजस्तो छ मेरो देशको नक्सा बिस्तारै कोर– सानै केरमेटले पनि नानीमा चोट लाग्न सक्छ ! माथिमाथि– धारिला पिरामिडजस्ता हिमश्रृङ्खला छन् माझमा– ढाका टोपीझैं अग्लिएका पहाड, देउराली छन् अलि तल– आमाको काखजस्ता न्याना फाँटहरू छन् जतनले कोर सीमानाका रेखा तीखो कलमको एकै घोचाइले पनि दुख्छ देशको छाती पश्चिमतिर गर्विलो छातिझैं फुकेको माझमा बैंशालु कम्मरझैं छिनेको पूर्वमा ’जोडिएका दुई पाउझैं’ टपक्क मिलेको भर्भराउँदो यौवनाजस्तो छ मेरो देशको नक्सा र त लाउँछ आँखा छली दुनियाँ ! कृपया ! बिस्तारै कोर साँध, सीमानाका एकएक बिन्दु ख्याल राख र याद राख– ए नक्सा बनाउने हात ! नौनीजस्तो कोमल मन छ एउटा देशको मानचित्र भित्र । #नक्सा बनाउने हात #निर्भीकजंग रायमाझी |
समाजको बाटो: हामीलाई जसरी एक ठाउँबाट अर्को ठाउँमा सुलभ बाटोको आवश्यकता पर्छ, त्यसैगरी जिन्दगीको लक्ष्यमा अघि बढ्न पनि सुन्दर मार्ग आवश्यक पर्छ । यही विचारमा सहमत भएर धर्म सापकोटा राजुले ‘बाटो’ शीर्षकको कथासङ्ग्रह बजारमा ल्याएका छन् । बाटोको बारेमा उनको भनाइ एकदम मीठो छ, ‘कुनै बाटोमा पैतालाले टेक्छन्, कुनै बाटोमा आँखाले त कुनै बाटोमा मनले टेक्छन् ।’ यो पुस्तकलाई युरेका पब्लिकेशनले बजारमा ल्याएको छ । यसमा पन्ध्र कथाहरु समावेश छन् । यस अघि ‘बुद्धिमानीको परीक्षा’ बालकथा संग्रह र ‘बहिर्गमन’ लघुकथा संग्रह प्रकाशित गरिसकेका लेखकको यो तेस्रो कथा कृति हो । समयसामयिक विषयवस्तुलाई लेखकले कथाको रुप दिएका छन् । विकसित देशमा गएर सुख पाउने सपना देखेका मानिसले भोगेको तीतो यथार्थलाई सापकोटाले यस पुस्तकमार्फत प्रस्तुत गरेका छन् । लेखक स्वयं पनि विदेशी जीवन बिताइरहेका छन् । नारी उत्पीडनका कथा मात्र पढिरहेका पाठकले पुरुष उत्पीडनका कथाको स्वाद पनि पाउनेछन् । विवाहेत्तर सम्बन्धको कारण वैवाहिक जीवनमा ल्याउने खटपटीलाई ‘प्रेम सन्देश’ शीर्षकको कथामा उल्लेख गरेका छन् । श्रीमतीको जन्मदिनमा श्रीमानले किनिदिएको मोबाइल श्रीमतीले जतन गरेको देख्दा श्रीमान अत्यन्त खुसी देखिन्छन् तर रहस्य अर्कै हुन्छ । अरु कसैसँग प्रेम सम्बन्ध चलिरहेकाले श्रीमानले थाहा पाउने डरले उनले मोबाइल ओगटेकी हुन्छिन् तर सत्य सधैँ लुक्दैन । जसका कारण श्रीमान र श्रीमतीबीचको भावनात्मक सम्बन्धमा दरार पैदा हुन्छ । साधारण भाषाशैलीमा लेखिएका धर्मका कथाहरु मर्मस्पर्शी छन् । ‘चार्ली द ग्रेट’ शीर्षकको कथाले बाल्यकालमा आमाबुबाको माया नपाएको पात्रको संवेदनशीलताको चित्रण गरेको छ । बाबुआमाले डिभोर्स गरेपछि छोराछोरीले भोग्ने पीडालाई ओकलेको छ । यो कथाको मुख्य पात्रले सोही कारण आफ्नी श्रीमतीसँग मन नमिले पनि सन्तानले दुःख पाउँछन् भनेर डिभोर्स दिन चाहँदैन । लेखक सापकोटाका सबै कथाहरुले समाजको यथार्थको उत्खनन गर्ने प्रयास गरेका छन् । ‘सानिमा’ शीर्षकको कथा पनि एकदम मार्मिक छ । आफ्नी आमाको मृत्यु भएपछि निराश बनेकी बालिकाको मनोदशालाई कथामा चित्रण गरिएको छ । सानिमाले दिएको मायालाई उनी आमाको जस्तै महसुस गर्छिन् । दिदीकी छोरीको लागि सानिमाले पनि आफ्नो प्रेमी छोडेर भिनाजुसँग बिहे गर्छिन् तर उनले कहिल्यै पनि सानिमालाई आमाको जस्तो स्थान दिन सक्दिनन् । धर्म राजुका कथाहरु पढ्दा वर्तमान समाज जीवन्त रुपमा उभिइरहेको आभास हुन्छ । पेपर म्यारिज गर्दाको बेफाइदालाई ‘मुस्कान नेपाल’ शीर्षकको कथामा देखाइएको छ । लण्डन जाने लोभमा साथीलाई आफ्नी श्रीमतीसँग कागजी बिहे गर्ने अनुमति दिँदा श्रीमानलाई धोका हुन्छ । ख्याल ख्यालको बिहे वास्तविकतामा परिणत हुन्छ । बच्चा पनि जन्मिन्छ । नारी पात्रले दुइटा श्रीमानको थर राख्न अप्ठयारो लागेर छोरीलाई आफ्नै थर दिएर जन्मदर्ता बनाइदिन्छे । विदेश जाने लोभमा मानिसले गरेको गल्तीलाई कथाको प्रमुख विषयवस्तु बनाइएको छ र त्यसले निम्त्याउने समस्यालाई पनि दर्शाइएको छ । यो पुस्तकमा समावेश भएका कथाहरुले पुस्तकको शीर्षकलाई सार्थकता प्रदान गरेका छन् । कथाका पात्रले वर्तमान समाजको वास्तविकताको प्रतिनिधित्व गरेका छन् । लेखकले पाठकलाई सामाजिक कुरीति फैलाउने गलत बाटोमा नहिँड्न प्रेरित गरेका छन् । समग्रमा कृति पठनयोग्य छ । #इलाम #बालिका थपलिया |
सुवासका तीन हाइकु: १. उच्च उडान धर्तिमै छ है दृष्टि गिद्दे नजर । २. अल्झियो जोगी आफ्नै जटादाह्रीमा धर्म भो स्वाहा । ३. खुकुरी धार घर फर्कने बाटो हिम्मत गर्छौ ? #सुवास #हाइकु |
अठोट: आर्यघाटमा चिरेका सपनाहरू आज बुन्दै थिई त्यो महिला समाजको आकारबाट विस्मृत थिई ती कोपिला ! सेतो पहिरनले छोपेको तन तर रातोले रक्ताम्य मन सोचहरुको साम्राज्यबाट पर भाग्दै थियो उस्को वचन ! हारेको कङ्काल र माटोझैँ शरीर त्यसै झुक्दैनन् उस्को अठोटिलो रहर चाहे वसन्त होस् या कुनै मीठो शिरीष उस्को सपनाहरूको हुनेछ, इति श्री!! #सुनयना कायस्थ |
टीएनका तीन कविता: सपना म चाहान्छु उसले ठूलो सपना देखेर विपनाको हत्या नगरोस् बस् ! एक पेट कमाओस् मेरै आँखा नजिक बसेर बेलुकाको खाना मसँग खाओस् र मेरै नजिक घुप्लुक्क निदाओस् टोपी जत्रै सपना देखेर बस् ! टाउकोमै सजिन्छ देश । फरक झन फरक किनकि फरक गोलार्धमा एकै पटक एकै समय जून एउटै हुन सक्दैन घाम एउटै हुन सक्दैन आँखाहरू कसरी एउटै हुन सक्छन ? सपनाहरू कसरी एउटै हुन सक्छन् ? झन् मृत्यु त एउटै हुन सक्दैन त्यसैले पर्ख कुर प्रत्येक मृत सपनाबाट एउटा सच्चा विपनाको जन्म हुन्छ र विपना जन्मिएपछि सपनाहरूले गर्नु पर्दैन फूलहरूले आत्महत्या गर्नु पर्दैन । निन्द्रा कि धन ? तिमी मालिक भयौ म मजदुरै छु । फरक यत्ति हो तिमी पैसा भएर पनि निद्रा किन्न सक्दैनौ र तड्पिन्छौ म सडकको पेटिमा पनि आनन्द निदाइदिन्छु । निद्रा बाँडेर बाँडिने भए तिमीलाई म एक प्रहर निद्रा सित्तै दिन्थे र तिम्रो आँखामा हेर्न चाहान्थे श्रमको मूल्य । #टीएन भट्ट #धन #मालिक |
नेपालको क्षेत्रफल बढ्यो रे !: नपत्याउँ कसरी, पत्याउनु कसरी ? आधारै छैन मान्ने बालसखा खेलेझैं देश पनि बढ़छ र ? इच्छा भो साह्रै जान्ने विदेशमा रहँदा झन् धेरै माया, देशको छ हामीलाई गदगद छौँ आज विदेशी भूमिमा रहेका साथीभाई यो भन्दा ठूलो के हुन सक्छ गर्वको अनुभूत साहसी कामको कदर गरौ मिलेर सब सपूत ।। नक्सामा मात्र बढेको हो कि ? वास्तविकता मै बढेको हो ? यकिन पाउन सरकार ! सही सूचना पाउने हाम्रो पनि हो दरकार ! पूर्वमा मेची पश्चिम महाकाली इतिहास बन्ने भयो ! गुमेको भूमि सम्झदै बस्ने जमाना अब गयो घमण्डसाथ गाउनु पर्छ जय जय नेपाल आजका दिनमा झन् ठूलो भयो हाम्रो देश विशाल ।। नेपाल आमा तिमी हौ सच्चा गुम्दैन तिम्रो भूमि सहेर बस्यौ यतिका वर्ष, गुमाएर मातृभूमि थिचो र मिचो सहँदै बस्दा, यो गति हुन गो गोर्खाली शानले ढिलै भएनी जमिन फिर्ता भो ।। नक्सामा मात्र सीमित नहोस्, स्वामित्व ग्रहण होस् कुटनीतिक पहल तुरुन्त थाली, सिमाना कायम होस् इतिहास साक्षी बन्नेछ यसको सोचेर काम गरौँ यही नक्सा सधैं कायम राख्न विवेक प्रयोग गरौँ ।। तगाराहरू थुप्रै छन् अघि, सामना गरौँ मिली तारवार हैन पर्खालै लगाऊ, देशवासी सबै मिली सीमाको रक्षा सेनालाई दिउँ, चेकपोस्ट खडा गरी सुन्न नपरोस् सिमा मिचिएको समाचार घरी घरी ।। #नेपालको क्षेत्रफल बढ्यो रे ! #रुद्र दाहाल |
छिमेकी: खेतबारीलाइ चाहिन्छ किसान सबै नेपालीमा हुनुपर्छ देश जोगाउने भिजन । हिजो मेरो दुई हात जग्गा मिँचिदा म चुप रहेँ चित्त बुझाएर कि मर्दा पर्दा चाहिने त ऊ नै हो सोचेँ आखिर छिमेकी त पर्यो । अनि फेरि मेरो चार हात जग्गा मिँचिदा पनि म चुप नै रहेँ चित्त बुझाएर कि ऐँचो पँैचो गर्दा चाहिने त ऊ नै हो नि सोचेँ आखिर छिमेकी न पर्यो । तर आज मेरो जन्मभूमिको जमिन मिँचिदा नि म चुप नै रहेँ मेरो आवाज कसैले नसुन्ने मनासायले तर अब त अत्ति भयो मेरो सहनसिलताले सीमा नाघ्यो अब म चुप लाग्नेवाला छैन अँहँ चुप लाग्नेवाला छैन । मेरो सुन्दररूपी जन्मभूमिलाई हड्प्ने ति दुष्ट छिमेकीलाई म छोड्दिनँ हो म अब चुप लागेर बस्दिनँ म अब हाम्रो पुर्खाको रातो रगत र परिश्रमको पसिनाले अर्जेको हाम्रो भूमि बचाएरै छाड्छु परिआए ज्यानको बाजी नै पनि लगाएरै छाड्छु हो लगाएरै छाड्छु । #आयुष बडाल #छिमेकी |
माटोको माया: खिया लागेको छैन, खुँडा तरबार तीरमा वीरता डगेको छैन, नेपाली छाती र शीरमा । कोरस बरू ज्यान अर्पण गर्छौँ, सहन्नौ लुटेको माटो मेटेर मेटिन्न कहिल्यै, विशाल नेपालको बाटो । सहन्छौ चिरिदेऊ छाती, छुट्याउ यो शीर नै मेरो देश नचलाऊ कहिल्यै, काफी छ एउटा तिर नै । माटोको निम्ती सधैँ, सबै हौ सिपाही देशका एकमोर्चा हौं देशको लागि, सयौं भाषा र भेषका । कोरस पुर्खाले रचेको इतिहास, कदापी कुल्चन दिन्नौ नेपाली माटो छोडिदेऊ, कसैको एकै इन्च लिन्नौ । काङ्गडा टिष्टा हाम्रै हो, सुगौली सन्धी त्यही भन्छ अङ्ग्रेजले छोडेर गएसी, स्वतः हाम्रै त्यो बन्छ । अजिङ्गर चलाए एकैछाक, गोर्खाली चलाए एकैछिन स्वाधीनता खोस्न नखोज, रहन्नौ केही गरी एकैदिन । #महेश आचार्य #माटोको माया |
विद्रोही: विद्रोही हुनु मेरो रोजाई होइन हुन्छु म त्यहाँ त्यहाँ जहाँ न्याय छैन लामघारे मूर्कटहरु जब जब अलकत्रा पोतिएका अनुहार छोपेर चाप्लुसीका वैसाखी टेकेर, टिकिर टिकिर स्वार्थ र पदलिप्साका लडाईंमा अच्यूत हुँदै तुच्छताका सगरमाथाहरु चढ्छन् हावाका महलहरु कोर्छन् तब छियाछिया स्वच्छ, पवित्र मन भन्छ हारजीत कसैको होइन मरी लाने यो चोला अजम्बरी कोही छैन धौ पला भोलि हम्मेहम्मे त्यो पापको भारी त्यसैले ज्ञानी शिवलाई हेर्छन्, सत्यलाई हेर्छन् बेलैमा बुझी त्यो कालो मन अनि अनुहार फेर्छन् सगरमाथा, चन्द्र, पृथ्वी र सूर्य निष्कपट निश्चल हर्लक्क हुर्कने पालुवा दिन्छन् जब प्रस्ट तिम्रो आकृति सोसी गुन सबै नओकल निचता नबनाऊ फेरी फेरी त्यही अमृत पिई विषाक्त निकाल्ने सर्प तिम्रो परिचय सक्छौ गर मानव उपर सेवा कदापि शासन होइन आत्मसम्मान बाँड, सहअस्तित्व जगाऊ किनकि म अज्ञानी छैन। #भावना पोखरेल |
नयाँ युगको संघारमा उभिएर: अनुभूति १ ५३ दिनदेखि आँखाले पनि देख्न नसकिने एउटा कीटाणुको त्रासले घरभित्र बन्दी भएको छु । मलाई भनिएको छ, घरबाहिर मृत्युरुपि त्यो अदृश्य कीटाणु यमराजको रुपमा उभिएको छ, खबरदार ननिस्क घरबाहिर ! यस्तो लाग्छ, घरबाहिर निस्कियो भने उसले हामीलाई क्वाप्प पार्छ र सरासर मृत्युलोकतिर लैजान्छ । जहाँ पुगेपछि मानिस आजसम्म फेरि यस संसारमा फर्केर आएको छैन । यति सानो जीवले यस्तो सर्वशक्तिमान् मानव जातिलाई धम्की दिने ? मलाई घरीघरी त झोँक पनि चल्छ । उसको धम्कीदेखि तर फेरि आफैँलाई सम्झाउँछु- पख्, कतै उसको धम्की सत्य भइदियो भने ? म यो रमाइलो संसारमा छाडिहाल्न चाहन्न अहिल्यै । त्यसैले म घरभित्रै बन्दी बन्न राजी भएको छु, मृत्युको भय मनमा लिएर । कति निरीह रहेछ मानव जाति ! घरीघरी त मानव जातिकै सामर्थ्यप्रति अविश्वास हुन्छ मलाई, आखिर मानिसको शक्ति कहाँ छ त ? सायद मृत्युको भय नभएको भए ऊ यति निरीह भएर कोठाभित्र यति लामो समयसम्म कैद हुने थिएन । म बन्दी बनेर घरभित्र बस्न राजी भएपछि सडकमा तँछाडमछाड गरेर गुड्ने गाडीहरु पनि ग्यारेजभित्रै लुकेका छन् । मानिस सडकमा निस्कनु पर्दा मात्र पनि सोचिरहेको छ, कतै म त्यो कालरुपि कीटाणुको मुखमा त पर्दिनँ ? त्यसैले होला सडकमा मानव पाइला पातलिएका छन् । सडक लमतन्न परेर अट्टहास गरिरहेको छ र मानिसलाई भन्दै छ, हिजो त मलाई कुल्चेर बहादुरी देखाउँदै थियौ त, आज किन ममाथि पाइला राख्न पनि डराइरहेका छौ ? ऊ अट्टाहास यसरी गर्दैछ मानौँ, मानिस उसको अगाडि दुई कौडीको भएको छ अहिले । मेरो घरअगाडिका पुस्तौँसम्म पुग्ने धन कमाउन दिनरात नभनी खटिरहने व्यापारीहरु पनि चाउरिएर बिहान १० बज्दानबज्दै पसल बन्द गरेर गायब हुन्छन् । के धनप्रतिको मोह सकिएको हो उसमा ? सायद उसले पनि सोचेको होला जीवन नै रहेन भने धन केका लागि ? मलाई थाहा छैन मेरो यो बन्दी अवस्था कहिलेदेखि फुक्का हुने हो । मानिसलाई मृत्यु र बन्दी जीवनमा कुन प्यारो छ भनेर सोध्यो भने अहिले उसले बन्दी जीवन नै रोज्छ होला । म पनि त बन्दी बन्न पनि तयार भएको छु अहिले, जीवन पाउन । के मानिसको स्वतन्त्रताको प्यास मृत्युभयलाई जितेपछि सुरु भएको हो ? यदि होइन भने किन स्वतन्त्रताको खोजी गरिरहेको छैन मान्छे ? मानिसभित्र कि मृत्युको भय रहन्छ कि स्वतन्त्रताको प्यास, दुवै एकै ठाउँमा एकैसमयमा बस्न सम्भव छैन । ……. सुरुका दिनमा फुर्सत भएकोमा मानिसहरु उत्साहित पनि थिए । सामाजिक सञ्जाल क्रियाप्रतिकृयाको भीडले घेरिएका थिए । यसलाई उपयोग गर्न केहीले यस कीटाणुबाट कसरी बच्ने भनेर भिडियो बनाए । केहीले गीत गाएको, नाचेको, खाना पकाएको सबै भिडियो र फोटाहरु पोष्ट गर्ने होड चलाए । म पनि त्यसमा बगिरहेँ, अछुतो रहिनँ । केही दिन त हो नि केही अलमलिएका, नभ्याइएका, मन लागेका काम गर्छु, भ्याउँछु, केही नयाँ सिर्जना गर्छु यस्तो सोचेको थिएँ मैले । मलाई लागेको थियो अब मसँग प्रशस्त समय छ सिर्जनात्मक काम गर्न, टिप्पणी गर्न र जान्ने भइटोपल्न । किनकि म आफूलाई कलमजीवि पनि ठान्थेँ, सर्जक पनि मान्थेँ । दिन बित्दै गयो, बन्दाबन्दी लम्बिँदै गयो । मेरो सक्रियताको कल्पना छटपटीमा परिणत हुन थाल्यो । अवचेतनामा मृत्युको त्रास बोकेर सिर्जनात्मक हुन सक्तैन मान्छे । सिर्जनाका लागि आशा आवश्यक छ । समय प्रशस्त हुँदा सर्जक बनिन्छ भन्ने पनि भ्रम रहेछ । सिर्जनाको लागि त मन स्वतन्त्र हुनुपर्छ, भविष्यको उज्यालो हुनुपर्छ मनमा । ज्वार उठ्नुपर्छ मस्तिष्कमा, कल्पनाका छाल उर्लिनुपर्छ हृदयमा । पोखिने स्वतन्त्रताको अवसर हुनुपर्छ ऊभित्र । जब मृत्युको डरले सताउँछ त्यसपछि मानिस न सिर्जनात्मक हुनसक्तो रहेछ न कल्पनाशील । यो भ्रम नराम्ररी च्यातिएको छ अहिले मभित्र । अहँ मानिस फुर्सत भएर कल्पनामा रमाउने होइन रहेछ । समय पाउँदैमा कुनै गतिलो काम गरिहाल्ने पनि होइन रहेछ । समय पाउँदैमा र अरु कामले चापमा नपार्दा ठूलो लेखक, अध्येता बन्ने पनि होइन रहेछ । यस्ता निकैवटा भ्रम सखाप पारिदिएको छ यो बन्दाबन्दीको कहरले । आँखाले नदेखिने एउटा सूक्ष्म कणले मानव जातिलाई नै बन्दी बनाएर कोठाभित्र खुम्च्याइदेला भनेर कसले पो सोच्या थियो होला र ? परमाणु बम बनाएर संसारलाई त्रसित बनाएर आफ्नो मुठीमा राख्न सकिन्छ भनेर सोच्नेहरु पनि आज हायलकायल भएर यस कीटाणुसँग जुधिरहेका छन् । संसारकै शक्तिशाली हतियार र सैन्य संरचना लिएर संसार जित्छु भन्नेहरुलाई असली सामर्थ्यबोध गराइदिएको छ यो सूक्ष्म जीवले । मानिसले सिर्जना गरेका भौतिक सम्पदा र आविष्कार गरेका कुरा कति निरिह छन्, तिनले प्रकृतिमा सिर्जित एउटा सानो कणलाई पनि परास्त गर्ने सामर्थ्य राख्तैनन् भन्ने कुराको बोध पनि सायद यसले गराएको छ संसारलाई । हुनतः यस्ता महामारी मानव जातिले इतिहासमा कैयौँ पटक भोगेको थियो र त्यसलाई परास्त गर्दै अगाडि बढेको हो तर यस पटकको जस्तो संसारभर एकैपटक सबैले एउटै समस्या भोगेको चाहिँ सायद पहिलो पटक हो । भूखण्डको एकातिर महामारी, अर्कोतिर सामान्य अवस्था त बेलाबेला भोगिएकै हो तर एकैपटक सारा पृथ्वीलाई नै कँपाउने मृत्युको त्रास बेहोरोको भने पहिलो पटक नै हो । यसले मानिसलाई अवश्य बदल्नेछ । युगलाई कोरोमाअघि र पछिको युगमा विभाजित गरेर छुट्याउने छ । म अहिले यही युगीन सँघारमा उभिएको छु । म यसबाट अगि बढेँ भने अर्कै युगमा हुनेछु, नितान्त भिन्न सोच, भिन्न व्यवहार र भिन्न चिन्तनको युगमा । हो, यस्तै महामारी र त्रासले नै मानिसलाई शक्तिका साथ बदलेको छ आजसम्म । अब पनि त्यही हुनेछ, म बदलिनेछु, तपाईं बदलिनुहुनेछ । अनुभूति २ म आज कोठमा पल्टिएर आराम गरिरहेको छु । शरीर कोठाभित्र बन्दी भए पनि मन ब्रह्माण्डको भ्रमणमा फन्को लगाइरहेको छ । म कहिले भूभागमा घुमिरहेको छु त कहिले आकासतिर । कहिले भूतमा उडिरहेको छु त कहिले भविष्यतिर । म अर्धनिद्रित अवस्थामा पुगेको छु, न निद्रा न जागाको दोसाँधमा छु । मेरो मस्तिष्कमा एउटा दृश्य लबालब भरिएको छ । एक अनौठो खालको दृश्य देख्तै छु म । म यसलाई सपना पनि भन्न सक्तिनँ अनि पूर्ण रुपमा स्वप्नरहित हो भन्न पनि सक्तिनँ । बरु यो नयाँ युगको परिकल्पना पनि हुनसक्ला । ……. मेरो आँखाअगाडि एउटा ठूलो त्रिपाल टाँगिएको छ । त्यहाँ एक हुल मानिसजस्ता आकृति भेला भएका छन् । मानिसजस्ता यस अर्थमा कि उनीहरुले लगाउने पोसाकदेखि बस्ने र गर्ने व्यवहार पनि बदलिएको छ । त्यहाँको दृश्य सधैँको जस्तो छैन नितान्त भिन्न छ । त्यहाँ भेला भएका सबैको अनुहार शरीर पूरै ढाकिएको छ । कसैको पनि अनुहार देखिँदैन । स्त्री र पुरुष छुट्याउन उसको बोली नै सुन्नुपर्ने हुन्छ । बोलीले नछुट्टिए छुट्याउन सकिन्न । एकअर्कालाई अनुहार देखाएर हेराहेर गर्ने काम बन्द भएको छ । दूरी पनि अलि टाढै छ कम्तीमा एक मिटरको फरकमा बसेका छन्, सबै । सबैजना अनौठो खालको सुरक्षित पोसाकले बेरिएका छन् । यतिबेला तिनलाई न कुनै फेसनदार लुगाको आवश्यकता परेको छ, न कुनै साजशृंगार । छन् त सबै कपडा लपेटिएका मानव आकृति । सबैको आकृति उस्तै छ । व्यक्तिगत पहिचान हराएको छ । छ त केवल मानव आकृतिको पहिचान । सबै जम्मा भएर कुराकानी गर्न राखिने राउन्ड टेबल पनि त्यहाँ छैन । सबैको अनुहार ठूलो चश्मा, प्लाष्टिकको बार र घम्ल्याङ्ग तलदेखि माथिसम्म ढाक्ने गाउनले ढाकिएको छ । जुत्ता लगाउने खुट्टामा सबैले प्लाष्टिकको खोल बेरेजस्तो देखिन्छ । मुखमा पट्टि बाँधेजस्तो देखिन्छ । ती रंगीचंगी छन्, कसैको सेतो, कसैको कालो, कसैको खैरो थरीथरीका । एउटा नयाँ शब्द आविष्कार भएको छ त्यस पोसाकलाई चिनाउन, पिपिई । उनीहरु त्यहाँ केही जरुरी कुराको छलफल गर्न भेला भएका छन् । छलफल गर्ने विषय छ, नयाँ युगमा सिर्जनाको विषय, भाषा र शैली । अबको युगमा के बारेमा लेख्ने, कसरी लेख्ने, मानिसको र स्रष्टाको रुचि र चासोका विषय के हुनुपर्छ यस्तैयस्तै विषय उठेका छन्, उनीहरुका कुरा सुन्दा । त्यहाँ भेला भएका आकृतिहरु सबै एकैनाशे छैनन्, अग्लाहोचा छन्, थोरैथोरै मोटापातला जस्ता पनि छन्, छुट्याउन चाहिँ मुस्किल छ । तिनको अनुहार देख्न र ठम्याउन नसकिएकाले फोटो खिच्नेहरु त्यति उत्साहित छैनन् । फोटो खिच्नमा कसैको पनि रुचि देखिँदैन । यसअगि यस्ता कार्यक्रममा फोटो खिच्न सबैका मोबाइल तँछाडमछाड गर्थे । आज कसैका पनि मोबाइल बाहिर देखिएका छैनन् । पूरै परिपाटी फेरिएको छ । पत्रकारहरु पनि तँछाडमछाड गरिरहेका छैनन् । उनीहरु अलि परै टाढटाढा उभिएर दृश्यांकन गरिरहेका छन् । शायद उनीहरु त्यो दृश्यांकनमा पनि त्यति सन्तुष्ट र खुसी छैनन् । किनकि त्यहाँ उपस्थित सबै मानव आकृति फोटोमा उस्तैउस्तै देखिन्छन् । सेतो कपडाले बेरिएको एउटा आकृति एक्कासि उभिन्छ र भन्न थाल्छ, “आज हामी एउटा नयाँ युगमा प्रवेश गर्दैछौँ । न भित्र न बाहिर, सँघारमा उभिएका छौँ । यसबाट भित्र पसेपछि हाम्रो समय असाधारण रुपमा बदलिनेछ, हिजोकै जस्तो रहने छैन । रहिहाल्यो भने पनि त्यसको ढाँचा पूरै परिवर्तित हुनेछ । त्यसैले अब हाम्रो लेखनको ढाँचा पनि बदलिनुपर्छ, विषय पनि बदलिनुपर्छ । शैली पनि बदलिनुपर्छ । किनकि हामी बदलिनैपर्ने अवस्थामा पुगेका छौँ ।” उसले सबैलाई सम्बोधन गर्दै थप्यो, “नयाँ युगको सँघारका प्रिय नवलेखकहरु, नवपत्रकारहरु, नवस्रोताहरु, अब हामी आजबाट नयाँ युगमा नयाँ लेखनीका विषय, शैली र भाषा खोजी गर्न भेला भएका छौँ । हिजोसम्म हामीले सरकारलाई गाली गर्ने, समाजका विकृति उतार्ने, प्रशासनका बेइमानीहरु देखाउने, मानिसबीच भएका उचनिचका प्रवृत्तिका बारेमा कलम चलायौँ । तिनलाई यो भएन, ऊ भएन भनेर सुधारको आश्वासन बाँड्यौँ । मानिसलाई सुचित गर्यौँ । अहिले त हामी तिनले गर्ने, गराउने, हामीले देखाउने कुनै पनि कुराले काम गर्ने रहेनछ भन्ने देखिरहेका छौँ, अनुभव गरिरहेका छौँ । हाम्रोअगाडि ठूलो खाडल खडा भएको छ । अब के विषयमा लेख्ने, कसरी लेख्ने छलफल चलोस् ।” यति भनेर त्यो आकृति बस्यो आफ्नो कुर्सीमा । अर्को आकृति उठ्यो अर्कोतिरबाट । नीलो टल्कने कपडाले लपेटिएको त्यो आकृतिको बोली स्त्रीको जस्तो सुनिन्थ्यो । त्यस आकृतिले भन्यो, “अब हामी नयाँ युगमा प्रवेश गरिरहेका छौँ, केहीबेरमा । त्यसैले अब हाम्रो लेखनका विषय बदलिनुपर्छ, भाषा र शैली पनि बदलिनुपर्छ, हिजोका संरचना पनि गलिसकेका थोत्रा रहेछन् भन्ने हामीले देखिसक्यौँ । राज्य, सरकार, समाज, पद, संस्था सबका सब सजिलो हुँदा मात्र काम गर्दारहेछन् । साँच्चिकै संकट पर्दा ती सबै निकम्मा हुँदा रहेछन् । यस्तो बेला न तिनका हतियारले, न सुरक्षा प्रणालीले, न संस्कारले, न धर्मले, न रीतिरिवाजले, न कानुनले थाम्दोरहेछ । यी सबै निकम्मा हुँदा रहेछन् । त्यसैले महोदय, अब हामीले ती निकम्मा विषयमा लेखेर समय खेर फाल्नुहुँदैन । नयाँ विषय खोज्नुपर्छ । यो खोजी आजै हुनुपर्छ, किनकि भोलिदेखि त हामी नयाँ युगमा प्रवेश गर्दैछौँ । त्यो युगमा प्रवेश गरिसकेपछि त हाम्रो लेखन ढाँचा बदलिनुपर्छ । त्यसैले अब चिन्तन होस्, नयाँ विषयको जहाँ अहिलेकाजस्ता निकम्मा राजनीतिक व्यवस्था नहोउन्, निकम्मा संस्था नहोउन्, निकम्मा संरचना नहोउन्, हिजोकैजस्ता भाषा र शैली पनि नहोउन् । अब हामीले नितान्त नयाँ कुराको खोजी गर्नुपर्छ ।” त्यो स्त्रीको आकृति यति भनेर थुचुक्क बस्यो, कुर्सीमा । अर्को आकृति उभियो खैरो रंगको । ऊ पनि अगिल्ला आकृति जस्तै थियो तर उसमा फरक के थियो भने त्यो निकै अग्लो थियो अगिल्ला दुईभन्दा । उसले उभिएर सबैलाई सम्बोधन गर्दै भन्यो, “हामी सबै लेखकहरु अबका दिनको लेखनका विषय, शैली र भाषा अनि विषय र संरचना बदल्न, नयाँ युगमा प्रवेश गर्दाको यस संक्रमणको घडीमा नयाँ व्यवस्था खोजी गर्न यहाँ भेला भएका छौँ तर यो मानव जातिले करिब ७० हजार वर्षको इतिहासमा यस्ता कैयौँ नयाँ कुरा जन्मायो, हुर्कायो अनि फेरि मास्यो पनि । कति कुरा एकअर्कामा मिसिएर वर्णशंकर भए, कति कुरा हराए, लोप भए । कति कुरा चैँ हामीले सधैँ उही राख्यौँ । त्यसमध्ये एक हो हामीभित्रको सोच । हामीले जतिसुकै नयाँनयाँ साधन, सुख र सुविधाका वस्तु, प्रविधि र परिपाटी विकास गरे पनि हामी सबैले आफूलाई अर्कोभन्दा माथि पुग्न, अर्कोलाई दबाउन, अर्कोलाई उछिन्न, अर्कोलाईभन्दा आफूले बढी सुख र सुविधा लिनमै सबै शक्ति लगायौँ । त्यसो गर्दा हामी धेरै सुखी त भयौँ तर स्वार्थी भयौँ, झगडालु र युद्धपिपासु भयौँ । के हामीले यत्रो मिहिनेत गरेर खोजेको कुरा यही थियो ? म यो नयाँ युगमा अबको मानिसका बारेमा लेख्नुपर्छ भन्छु । हिजोको मानिसको मस्तिष्क बदल्ने कुरा लेख्नुपर्छ र नयाँ ढंगबाट मानिसको मस्तिष्कमा बीऊ छर्नुपर्छ भन्ने अनुरोध गर्छु । त्यसैले अब हाम्रो लेखन मानिसबारे हुनुपर्छ, मानिसले गरेका काम बारे हामीले आजसम्म जे लेख्यौँ, त्यसले कुनै काम गरेन । यो कामै नगर्ने विषयमा लेखेर किन समय खेर फाल्ने ? यसमा सबैले सोचौँ र भोलिदेखि हाम्रो लेखनी मानिसतिर केन्द्रित गरौँ । उसले सोच्ने, उसले गर्ने, उसले जान्न सक्ने क्षमता बारे कुरा गरौँ । उसलाई आफैँभित्रको संसार चियाउन सक्ने कसरी बनाउने भन्ने बारेमा कलम चलाऔँ ।” त्यसपछि त्यहाँ अलि भिन्न घटना भयो । एउटा अनौठो आकृति अप्रत्यासित रुपमा त्यस समूहको अगाडि देखाप-यो । ऊ न होचो थियो न अग्लो तर त्यो अरुजस्तो कुनै कपडा र अनेकथरी सुरक्षा कवचले ढाकिएको थिएन । अर्कै ग्रहको एलियनझैँ लाग्ने त्यो आकृति अनायास देखापरेपछि सबै आतंकितझैँ भए र जर्याकजुरुक उठे । सबैको अग्रभाग त्यस नयाँ आकृतितिर फर्केकाले त्यो नवआगन्तुक आकृतिले ठम्याइहाल्यो । उसले सबैलाई सम्बोधन गर्दै भन्यो, “लेखकवृन्द, नआत्तिनुस् म तपाईंजस्तो मानव जाति होइन । म यस ग्रहबाट तपाईंहरुले जन्माएको प्राणी पनि होइन । म तपाईंहरुलाई नयाँ युगमा लैजान आएको एक सन्देशवाहक हुँ । तर मेरो भाषा तपाईंहरुले आजसम्म बोलेको भाषासँग मिल्दैन । म तपाईंहरुलाई काम चलाउ सम्बोधन गर्न मात्र यो भाषा बोल्दैछु । म अब तपाईंहरुलाई एउटा नयाँ सन्देश सुनाउन चाहन्छु । त्यो सन्देश केही महिनाअगि नै तपाईंहरुसमक्ष पठाएको थिएँ । त्यो पठाइसकेपछि तपाईंहरु अहिलेको काम गर्ने तरिका, अहिलेका संरचना, अहिलेको भाषा र शैली फेर्नुहोला भन्ने मेरो अनुमान थियो तर तपाईंहरु किन मान्नुहुन्थ्यो र ! मान्नुभएन । खोई तपार्इंभित्रको मानिसमानिस एक हुन् भन्ने भावना ? खोई रोकेको तपाईंको जीवन बनाउने र बचाउने प्रकृतिलाई बचाउने प्रयास ? खोई संसारभरका मानिसलाई आपसमा सहयोग गर्ने सहयोगी भावना ? अब तपाईंले लेखेका हिजोका विषयले काम गर्ने छैनन् । हिजोका विषय अब पुराना भए । नयाँ विषयमा सोच्नुस् । मान्छेका बारेमा सोच्नुस् । तपाईं स्वयम्का बारेमा सोच्नुस् । तपाईंले गरेका काममा भएका गल्तीका बारेमा सोच्नुस् । तपाईंभित्र र बाहिर दुवै हेरेर सोच्नुस् । तपाईंनजिकै बगिरहेको यो खोलाको पानी खोई ? यो तपाईंको वरिपरिको हिजोको जंगल खोई ? हिजोका खोलानाला खोई ? हिजो तपाईंले धान फलाउने, कोदो लगाउने, मकै फलाउने खेतबारी खोई ? संसारमा सृष्टि भएका जंगली जनावरहरु खोई ? कीराफट्यांग्रा खोई ? हिजोको वर्षात्को पानी बढेर बग्ने कुलो, खोला, खोल्सा र खहरेहरु खोई ? तपाईंले देखेकै कुरा हैनन् ती ? अनि के नयाँ विषय खोज्दै हुनुहुन्छ तपाईंहरु ? त्यही विषयमा लेख्नुस् अब, त्यही फर्काउनुस् अब । त्यसै बारे कुरा गर्नुस् अब । अब पनि तपाईंहरुले यसबारे लेख्नुभएन भने म फेरि अर्को रुपमा आउनेछु, त्यतिबेला न तपाईं हुनुहुनेछ न तपाईं बसेको यो ठाउँ रहनेछ ।” त्यो आकृति यति भनेर टक्क अडियो र सबैतिर नीला डल्लाजस्ता लाग्ने स्वयंप्रकाशित प्रकाशपुञ्ज घुमायो । केहीबेरमा ती दुवै प्रकाशपुञ्ज बन्द भए । आकृति झन्झन् सूक्ष्म हुँदै गयो । अत्यन्त सानो हुँदै, खिइँदै गएको त्यो आकृतिनजिकै उभिएको मानव आकृतिले हतारिँदै उसको परिचय माग्यो । “तपाईंले आफ्नो परिचय नै नदिई यति लामो कुरा गर्नुभयो कृपया परिचय दिएर मात्र यहाँबाट बिदा हुनुहोस् ।” उसको अनुरोधपछि फेरि त्यो आकृति पहिलेको स्वरुपमा आयो र भन्यो, “म यस पृथ्वीका मानव जातिलाई नयाँ जीवन दिन आएको कोरोना भाइरस हुँ । अब मेरो सन्देश तपाईंहरुको कलममा मसी बनेर लेखिनुपर्छ लेखक महोदय ! म अब तपाईंहरुलाई हिजोको युगमा फर्केर लेख्न दिनेछैन । अब यो युग भोलिको सँघारमा खडा भएको छ । त्यसमा तपाईं बदलिएर जानुहोला नत्र म तपाईंहरुलाई बदल्न अर्को रुपमा आउनेछु ।” त्यो आकृति यति भन्दै विलीन भयो । सबैका घाँटी खसखसाउन थाले । सबै आकृति अतालिएझैँ देखिए । कोही खोक्न थाले, कोही छाति थिच्न थाले । सबैले नबुझिने भाषामा केके भनेझैँ सुनियो । फोटो पत्रकार, रिपोर्टर, दर्शक सबै हडबडाए । अलि निकै सारो भएको अग्लो आकृति एकाछेउमा ढल्यो । अर्को भाग्दै अलि पर पुगेर लड्यो । एम्बुलेन्सको साइरन बज्यो अलि पर । मानव चित्कारको ध्वनि मधुरो सुनियो पर क्षितिजतिर । मैले आँखा लगाएँ, घाम अस्ताउनै लागेको थियो । म ती लाशमय हुन लागेका एकएक आकृति हेर्दै ठिड्ग उभिएर त्यो लुप्त भइसकेको आकृतिले भनेको कुरा सम्झिँदै थिएँ, मेरो पनि घाँटी खसखसाउन थाल्यो, छाति पोल्न थाल्यो, ज्वरो बढ्यो, मुख सुक्न थाल्यो, छातिभित्र हजारौँ डिग्रीको तापमानको आगो बलेझैँ भयो । उफ् अब म पनि ढ…..ल्… न…. लागेँ ………..। ……. म झल्याँस्स हुन्छु एक्कासि । म होस र बेहोसको दोसाँधमा बेडमा पल्टिएर पाइपबाट श्वास तान्दै थिएँ । छाति अलिअलि भारी थियो । मेरा अगाडि तिनै एलियनहरु हाजिर थिए उपचारमा । मैले हिजो देखेका ती अनौठा मानव आकृति मलाई घेरेर उभिएका थिए कागज र कलम लिएर । एउटा महान् विषय मिलेको थियो ती कलमजीविहरुलाई । एउटा महाभ्यासको सँघारमा उभिएका थिए उनीहरु । उनीहरु धमाधम मानिसबारे लेख्न थालेका थिए । उनीहरु अब वाग्मतीमा बग्ने फोहोर पानीको कुरा लेख्न छाडेर पौडी खेल्ने बालबालिकाहरुका बारेमा लेख्न थालेका थिए । वन विनाशको कुरा नभएर हरियालीको कुरा लेख्न थालेका थिए । बाँझिएका जग्गाको कुरा लेख्न छाडेर उत्पादन र बालीनालीका कुरा लेखिरहेका थिए । मानिसमानिसबीचको द्वन्द्वको होइन, प्रेमको कुरा लेखिरहेका थिए । प्रदूषणका कुरा होइन स्वच्छताका कुरा लेखिरहेका थिए । मानिसभित्र भएका असीमित क्षमताको बारेमा लेखिरहेका थिए । हात काँपिरहेको थियो, कलम थाम्न नसकेर भुइँमा खस्ला कि झैँ भएको थियो तर पनि सुरु गरेँ लेख्न । म आफ्नो लेखनी अब सँघारमा उभिएर होइन ढोकाभित्रको कोठामा बसेर सुरु गर्न चाहन्थेँ । जुन कोठाभित्र नयाँ युग होस् । पुरानो प्रकाश त्यसभित्र नपरोस् । हो म नयाँ युगमा रमाएको स्रष्टा बन्न चाहन्थेँ । तर, त्यसको लागि ढोका उघ्रेको मात्र थियो, पूरै खुलिसकेको थिएन । क्षितिजबाट उज्यालो झर्दैथियो पृथ्वीमा । सूर्यरश्मिले पृथ्वीलाई अँगालो मारिसकेको थिएन । म मनमनै सोच्तै थिएँ, आजको सूर्य नयाँ युगमा उदाउनेछ, पुरानो युग बिदा भइसकेको छ । म सूर्य किरणको मसीले सिर्जनाको नयाँ गीत लेख्न चाहन्थेँ । म केहीबेर प्रतीक्षा गरौँ अनि सुरु गरौँला भन्दै थिएँ, झल्याँस्स निद्रा खुल्यो । मलाई लाग्यो, म त्यही सँघारमा छु नयाँ युगको जहाँ उभिएर म त्यो युगको भुकभुके बिहानी नियालिरहेको छु । कोभिड–१९ बाट आक्रान्त युग र यसको विजयपछिको युगको दोसाँधमा उभिएर । मलाई लाग्दै थियो, अब मेरो यो सपना विपना हुनेछ । मानिस बदलिनेछ । लेखन बदलिनेछ । स्रष्टा उही हुनेछन् तर तिनले गर्ने सृष्टि र सिर्जना फेरिनेछ । अब नयाँ युगमा नयाँ मानिस उत्पन्न हुनेछन् । युगको नाम हुनेछ, कोभिड– १९ पछिको युग । तर, म अझैँ दोसाँधमै छु । पर क्षितिजबाट सूर्य अझै निस्किसकेको छैन । सूर्यका ती युगीन किरण धरतीमा परिसकेका छैनन् । मैले लेख्न सुरु गरेँ, नयाँ युगको स्वागतद्वारमै उभिएर र जन्म्यो मेरो यो सिर्जना । #कोरोना #कोविद १९ #धीर भण्डारी |
निबन्ध लेखेर पुरस्कार जित्नुहोस्: लकडाउनमा घरभित्रै बसिरहेका बेला आफ्नो गाउँको विषयमा निबन्ध लेखेर पुरस्कार जित्ने मौका आएको छ । त्यसका लागि ‘पर्यटन प्रवद्र्धन मञ्च, नेपाल’ले ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ । मञ्चका संयोजक लिलाराम खड्काका अनुसार जुनसुकै उमेर समूहकाले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागी हुन नेपालभित्रका जुनसकै गाउँको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक र सामाजिक पक्ष समेटेर १ हजार शब्दसम्मको निबन्ध [email protected] मार्फत जेठ २० गतेभित्र पठाउनु पर्नेछ । ‘निबन्धका साथमा गाउँको प्रकृति, संस्कृति र जीवनशैली झल्कने कम्तिमा ३ वटा तस्बिर हुनु पर्नेछ’, खड्का भन्छन्, ‘इमेलमा प्राप्त हुने निबन्धबाट छानेर उत्कृष्ट तीन निबन्धलाई ७ हजार रुपैयाँका दरले पुरस्कृत गर्नेछौं ।’ मञ्चले जेठ २५ गते उत्कृष्ट निबन्धको घोषणा गर्नेछ । ‘पर्यटकीय संभावना भएर पनि ओझेलमा परेका गाउँ/ठाउँको सम्भावना उजागर गर्न हामीले प्रतियोगिता गरेका हौं,’ उनले भने, ‘हिमाल, पहाड र तराई सबैतिर पर्यटकीय संभावना भएका थुप्रै ठाउँ छन् । त्यस्ता ठाउँलाई हामी चर्चामा ल्याउने छौं ।’ पर्यटनमा विगत एक दशकदेखि समर्पित तन्नेरीहरूको संस्था हो, पर्यटन प्रवर्ध्दन मञ्च । यसले प्रतियोगिताबाट उजागर हुने गाउँहरूको पर्यटन विकासमा पनि सहयोग पुर्\u200dयाउने जनाएको छ । #निबन्ध प्रतियोगिता |
बन्द कोठाभित्र: एउटा बन्द कोठाभित्र पल्टाइरहेको छु जिन्दगीका पूराना च्यातिएका मक्किएका र थोत्रा भएका पानाहरू खोजिरहेको छु जीवनमा कतै छुटेका चुकेका पछि परेका गर्न बाँकी रहेका जिन्दगीका रङ्गहरू आफँैले आफँैसँग मूल्याङ्कन गर्न निर्णायक भएर बन्द कोठाभित्र अनिश्चित र विरोधाभावपूर्ण समयसँग सङ्घर्ष गर्दै म विज्ञानलाई सोधिरहेको छु नीतिशास्त्र राजनीतिशास्त्र धर्मशास्त्र ग्रन्थहरूबीच खोजिरहेको छु प्रकृतिलाई उसैगरी प्रश्न सोधिरहेको छु कतैतिर कसैगरे पनि भेटाउन सकिनँ वर्तमान लेखिएको एउटा अक्षर पनि । बाहिर विज्ञान लडिरहेछ छ छट्पटाइरहेछ युद्ध मैदानमा म भित्रभित्रै आफँैले आफँैसँग युद्ध गरिरहेको छु मृत्यूसँग मेरा विचार अध्ययन, कल्पना दर्शन चिन्तन मनन मेरा युद्धका हतियार लिएर पिञ्जडामा थुनिएको चरीझँै बसिरहेको छु बन्द कोठाभित्र रहर बिनाको समयलाई धिक्कार्दै सराप्दै छु नालायक मनुष्यलाई चिन्ता गर्दछु विश्वको प्रार्थना गर्दछु ईश्वरसँग हेरिरहेको छु विश्वको मानचित्र बन्द कोठाभित्रबाट म कसरी संवाद गराँै म कसरी सम्झौता गराँै म कसरी हातेमालो गरौँ मेरो समयसँग दुश्मनी भएर । यो निष्ठुर समयसँग खै त मेरा भन्नेहरू खै त यी मानव समुदायहरू आफ्नै मृत्युको मलामी आफैँ हुनुपर्ने श्रद्धासुमनका फुलपातीसहित एउटा कात्रोभित्र पनि सजिन नपाउने प्लास्टिकको पोकोमा गुटमुटाउँदै न शंखको एकोहोरो धून न त राम राम सत्य हो एकपटक अन्तिम अनुहार पनि रहर लागेर हेर्न नपाइने कति कठोर भइदिइस् हे समय म हार्ने छैन आत्मबल गिराउने छैन मृत्युलाई जितेर बाँधिएको र निस्सासिएको बन्द कोठालाई छोडेर खुला आकाशमा, उदाउने छ नयाँ घामका झुल्काहरू सयौं सपनाहरू र लक्ष्यहरू लिएर हुनेछ पुर्नजन्म र पाउनेछ नयाँ जीवन बस् सङ्घर्ष गरीरहेको यो समयसँग बन्द कोठाभित्रबाट । #के.बी. पारखी #बन्द कोठाभित्र |
आमा फर्केर आइदेऊ: आमा तिम्रो अभावमा बाँचु कसो गरी तिम्रै चर्चा परिचर्चा चल्यो देशै भरी नौनौ महिना कोखमा राखी धर्ती टेकाएर छोडी गयौ आमा किन एक्लै बनाएर खुसी थिएँ आमा म त तिम्रै कोखमा छँदा बाँच्ने थियौ होला तिमी मेरो जन्म नभा प्रसव पीडा खटाएर मलाई जन्म दियौ मैले संसार देख्न नपाई एक्लै बनाई गयौ । तिमी बिना मैले संसार देख्ने कसो गरी पापी दैव लगिस् बरै मेरै खुसी खोसी बस्थे बरू आमा म त सधैँ तिम्रै कोखमा कसले खान देला अब अमृत मलाई भोकमा मलाई जन्म दिई आमा किन बिदा भयौ ?ं तिमी जाँदा मेरो खुसी आफैसँग लग्यौ मेरो पीडा बुझिदिने यहाँ ईश्वर पनि हैन तिम्रै साथमा लैजाउ आमा बाँच्न मन छैन रुन्छु आमा तिम्लाई सम्झी किन आउँदिनौ र मेरो ओठ सुक्न लागे अमृत पिलाउँदिनौ र तिम्रै छाती चुस्न मन छ तिम्रै काखमा रम्न अब मेरो पीडा बुझने को हुन्छ यहाँ भन निन्द्राबाट ब्युझि हेर्दा भेटाउँदिन कतै नि खोजिराछु आमा तिम्लाई छौ कि कतै भनी कता गयौ मेरी आमा मलाई एक्लै छोडी संसार नै रित्तो भयो अब मेरो लागि छटपटाउँदै आमा खोज्दा तिम्रो मन रोला मर्छु आमा क्वारेन्टाइनमा कसले छुन्छ होला मेरो बिन्ती आमा तिमी फर्की आइदेउन एकै पटक भए पनि अमृत पिलाइदेउन तिम्रो छाती चर्किएर झर्ने दूध रोकियो जुन सपना देख्यौ आमा त्यो नै सकियो । तिम्लाई लाको रोग मलाई किन देखिएन त्यै कारणले आमा तिम्लाई भेट्न सकिएन । तिम्रो रगत यो शरिरमा तातो बनी बग्छ आमा तिम्ले दिने माया कसले दिन सक्छ । न त आमा नाम राखेर धागो बाँध्न पायौ जन्मिदा नै अभागीलाई टुहुरो बनाई गयौ। मेरो पीडा बुझिदिने आमा तिमी नै हौ एक मलाई छोडी कुन संसारमा बिलाएकी छौ त । आमा भन्दा ठूलो यहाँ कोही हुँदैन भन्थे जाम हिँडसँगै भनेको भा तिमीसँगै जान्थे खोज्दा खोज्दै थाकिसके छैनौ कही पनि लैजाऊ आमा तिम्रैसाथमा तिमी जहाँ भए नि । #आमा #आमा फर्केर आइदेऊ |
साताका कविता: साहित्यपोस्टले हरेक साता आफ्नो वेबसाइटमा प्रकाशित कविताहरूमध्ये सर्वोत्कृष्ट कविता छनोट गर्ने गरेको छ । कविताका पारखी र सम्पादनसमूहको रूचिका आधारमा यी कविता छनोट गरिएका हुन् । पाठकले छुटाएको हुनसक्छ पनि पुनः पोस्ट गरिएको हो । |
कविताको कथाः हर्कबहादुर: “राष्ट्रियता ! राष्ट्रियता !! राष्ट्रियता !!! स्वाधिनता ! स्वाधिनता !! स्वाधिनता !!! नागरिकता ! नागरिकता !! नागरकिता !!! ” विश्व यतिबेला महामारीको खाडलमा फँसेको छ । सङ्कटको यस घडीमा सबैले आफ्नो घरलाई सम्झेका छन् । कति फर्किसके, कति अझै अलपत्र परेको अवस्था छ । कवि दिनेश अधिकारीको ‘हर्कबहादुर’ कविताको पात्रझैँ कति हर्कबहादुरहरू परदेशमा आफ्नो राष्ट्रियतामाथि प्रश्न गर्दैछन् । स्वाधीनताको आडमा परदेसिएकाहरू नागरिकतामा लेखिएको जन्मस्थानले बोलाउला भन्ने झिनो आसमा बाँचेका छन् । कयौँ हर्कबहादुरहरू भारतमा अल्झेका छन्, कयौँ खाडीमा र अन्य देशमा । यो अवस्थामा उनीहरूको राष्ट्रियताले के भूमिका खेल्छ ? स्वाधीनताको अर्थ के सबै हर्कबहादुरजस्ता पात्रले बुझेका छन् ? देशले आफ्नो नागरिकलाई नागरिकता राहदानी बनाउन मात्र दिएको हो कि आफ्नो नागरिकको जिम्मेवारी बहन गर्न पनि दिएको हो ? प्रश्न उठ्छ तर जवाफ कसले दिने ? हालको अवस्था हेर्ने हो भने देश र देशको राजनीति नै थङ्थिलो भएको अवस्था छ । देशले सबै हर्कबहादुरहरूलाई चिनोस् । आउनुहोस् ! आज हामी ‘हर्कबहादुर’लाई चिन्ने प्रयास गरौँ । टेबलमा कापी र कलम बोकेर “अब कविता लेख्न बस्छु, अब मलाई एक घण्टा नबोलाउनू ” भनेर कविहरू सायदै कविता लेख्छन् । कविले कविता कुन मोडमा, कुन दृश्यमा ठोक्किएपछि लेख्छन् थाहा हुँदैन । कविताको भ्रूण उत्पादनको लागि कुनै समय हुँदैन । जसरी एक बच्चा जन्मन उसलाई यति बजे जन्मनू भन्दै निश्चित समयअवधि तोकिएको हुँदैन, त्यसरी नै श्रष्टालाई सृजना रचनाको निमित्त समय तोक्न सकिन्न । त्यसैले त आफ्नो सृजनालाई स्रस्टा आफ्नो सन्तान मान्ने गर्दछन् । विश्वविद्यालयमा नेपाली साहित्य पढ्नेहरूले यो कवि दिनेश अधिकारीकाे याे कविता अनिवार्य रूपमा पढ्नुपर्छ । त्यसैले आज हामी यति महत्त्व पाएको यो कविताको पछाडि के कथा थियो होला भनी बुझ्ने प्रयास गर्छाैं । यो कविता कहिले जन्मियो ? किन जन्मियो ? यस्ता प्रश्न पाठकको दिमागमा आइरहने प्रश्नहरू हुन् । त्यही प्रश्नलाई मध्यनजर गर्दै आज कवि दिनेश अधिकारीको हर्कबहादुर, “हर्कबहादुर” कविता र हर्कबहादुर कविताको कथासहित उपस्थित भएका छौँ । अधिकांश नेपालीले कवि दिनेश अधिकारीभन्दा सुपरहिट गीतका स्रष्टा दिनेश अधिकारीलाई बढी चिनेकाे हुनसक्छ । “सोचे जस्तो हुन्न जीवन ”, “तिमी जुन रहरले ममा फुल्न आयौ ”, “यो सम्झने मन छ, म बिर्सूँ कसरी ” जस्ता कालजयी गीतका रचनाकार अधिकारीकाे यो कविता भने हरकोहीले नपढेका वा नसुनेका हुनसक्छन् । यो कविताले एउटा भूइँमान्छेको वास्तविकता छताछुल्ल पारेको हुनाले आलोचक, समालोचकहरूमाझ यसको एउटा बेग्लै कद छ । त्यसैले पनि कोरोना कहरका बीच जब सीमापारि क्वारेन्टिनमा बसेका नेपालीको ध्यान सत्ताले पुर्याउन सक्दैन, त्यो बेला यस्ता कविताको महत्त्व अग्लिएर आउँछ । अब कुरा गरौँ ‘हर्कबहादुर’ कविताको । यो कसरी जन्मियो, किन जन्मियो, कहिले जन्मियो ? करिब एक दशकभन्दा अगाडिबाट उच्च शिक्षाको पाठ्यक्रममा समावेश भएको यस कविताको जवाफ नदिइकन कुनै पनि विद्यार्थी आफ्नो भविष्यको रेखा कोर्न सक्दैन । पहिले हामी कवि दिनेश अधिकारीको हर्कबहादुर कविता पढ्ने छौँ र यस कविताको कथा पढ्ने छौँ । प्रस्तुत छ, कविता “हर्क बहादुर:” हर्कबहादुर उसलाई धेरै नामहरूबाट चिन्न सकिन्छ ऊ दाउरे पनि हो ऊ चाउरे पनि हो ऊ काले पनि हो अरूहरूबाट आफ्नो सक्कली नाम सुन्न जसले बाबुको सराद्धे पर्खनु पर्छ ऊ हर्कबहादुर हो हर्कबहादुर कुनै अर्जुनभन्दा कम पौरखी छैन बिहान झिसमिसे मै गोरू नारेर ऊ कहिले बाँझो मार्न जान्छ कहिले कोदाली बोकेर आली ताछ्न र बाउसे गर्न भ्याउँछ ऊ सफल दूरदर्शी पनि हो । उसलाई थाहा छ– लुगा फाट्छ छाला फाट्दैन छाला, साहू काढेर किन्न पनि पाइँदैन ऊ नाङ्गो आङले भारी बोक्छ ऊ नाङ्गो आङले धरती जोत्छ हो, गाउँको सभा समारोहमा जाँदा हर्कबहादुर टीठलाग्दो आँखाले घरी झण्डा र घरी आफ्नो आङ् हेर्छ घरी आफ्नो आङ र झण्डा हेर्छ सायद हर्कबहादुर छातीभित्र अट्टाहस पनि हाँस्छ सायद हर्कबहादुर मनहरूमा कोलम्बस पनि बाँच्छ कि मान्छेको प्रयोगमा आउनुभन्दा पर वस्तुको अर्को ठूलो उपयोगिता छैन भने बटुलेर संसारभरिका झण्डाहरू लुगा सिउँदा हरेक नाङ्गोलाई भाग पुग्छ – हरेकलाई कछाड पुग्छ – हरेकलाई मजेत्रो पुग्छ झण्डा मान्छेको परिचय होइन मान्छे स्वयंमा परिचित इतिहास हुन्छ मान्छे स्वयंमा परिलक्षित आकाश हुन्छ हर्कबहादुरलाई आफू बाँचेको युग थाहा छैन गते बार महिना ऋतु वर्ष तिथि पनि थाहा छैन समय सायद आफ्नो पुच्छर आफैँले निल्ने पुच्छरले भोग्छ समय सायद हातहतियार छाड्ने कलकारखानाले भोग्छ योजनाले भोग्छ साइरनले बोक्छ हर्कबहादुरले आजसम्म समय भोगेको छैन हर्कबहादुरले आजसम्म समय मागेको छैन समयको नाममा भोग्दा– उसले महिषासुर झापडहरु भोगेको छ माग्दा– उसले अन्नका दानाहरू मागेको छ कपासका गाँठ र बारीका पाटाहरू मागेको छ एउटा एउटा बन्दुक बोक्ने हातलाई एउटा एउटा कोदाली दिनुपर्छ हर्कबहादुरले सधैँ कोदाली मागेको छ हर्कबहादुर भोक हो भोकको देश र भेष पनि हुँदैन भोकको आफ्न्त र पराई पनि हुँदैन हर्कबहादुर ठेस हो पीडा आकारमा आबद्ध हुँदैन पीडाको साँध सिमाना र घरबार पनि हुँदैन म साँच्चै भन्छु भोक यदि देश हो भने हर्कबहादुर भन्दा अर्को सुकिलो देश हुनै सक्दैन शोक यदि देश हो भने हर्कबहादुर भन्दा ठूलो अर्को देश हुनै सक्दैन राष्ट्रियता ! राष्ट्रियता !! राष्ट्रियता !!! स्वाधीनता ! स्वाधीनता !! स्वाधीनता !!! नगरिकता ! नागरिकता !! नागरकिता !!! परार उसकी सात वर्षीया छोरी सर्पले टोकेर अकाल मर्दा खै राष्ट्रियता, औषधिमा अनुवाद हुन सकेको ? पोहोर अनिकालबाट बच्न छोरो मुग्लान भाँसिदा खै स्वाधीनताले नजा भन्न सकेको ? यसैपालि बाढीले घर बगाउँदा खै ! नागरिकता घर भएर ठडिन सकेको लैजाऊ सट्टामा केही दिनु पर्दैन राष्ट्रियता विज्ञप्त छ स्वाधीनता विज्ञप्त छ नगरिकता विज्ञप्त छ हर्कबहादुरको सन्दर्भमा यी सबैको प्रयोजन सिउनीमा अल्झेको सूर्तीको धूलोभन्दा बढी छैन सिरानी टकटक्याएर त हर्कबहादुर एक सर्को फुक्न बिँडी पनि बेर्न सक्दैन भनेँ नि ! हर्कबहादुरको देश छैन हर्कबहादुर हरिऔनको बासिन्दा मात्र पनि होइन ऊ तपाईंको गाउँमा, सहरमा, देशमा पनि भेटिन सक्छ जितबहादुर पनि हर्कबहादुर हो भीमप्रसाद पनि हर्कबहादुर हो हर्कबहादुर एकलव्यको नयाँ संस्करण हो सलाम ! खर्च नपाएर आफैँमा तरुनी छोरीको बैँस बूढी स्वास्नीको भोक काँपिरहेको हर्कबहादुरलाई मेरी स्वास्नीको सिन्दुर पोतेको सलाम ! सलाम ! दिमागमा छोराछोरीको लुगाफाटो र छातीमा आफ्नै सहिद तस्बिर टाँसिरहेको हर्कबहादुरलाई मेरी आमाको कोखको सलाम ! सलाम ! मान्छेको करङको दतिउन र हाडको चन्दन लेप नलगाएर मन्दिर र मस्जिदभन्दा पनि पवित्र बाँचिरहेको हर्कबहादुरलाई मेरो कविताको सलाम !!! प्रस्तुत कविता २०३८ साल असोज १६ गते कविले आफ्नै निवासमा लेखेका हुन् । नेपाल ल क्याम्पसको विद्यार्थी रहँदा दशैँ मनाउन कवि २०३८ सालमा आफ्नो घर गएका थिए । त्यो समयभन्दा अगाडिबाट नै साहित्यमा सक्रिय रहेका कविले दशैँ मनाउन जाँदा मलाई कुनै दृश्यले हिर्काउला वा मलाई कुनै व्यक्तिले कविताको पात्र देला भन्ने सोचेका थिएनन् । घर पुगेको केही समयपश्चात आफ्नै घर अगाडिको छिमेकमा एक पात्र भेटिए । जुन पात्र २०३८ सालबाट नेपाली साहित्य वा नेपालीको कविताको एक पात्र बनेर बसेका छन् । कविको छिमेकमा भेटिएको हर्कबहादुर पात्र उनको असली नाम नै हर्कबहादुर भने होइन । पात्रको नाम जुराउने क्रममा हर्कबहादुर नाम जन्मेको हो । तर हर्कबहादुरले धेरै नेपाली हर्कबहादुरको प्रतिनिधित्व गर्दछ । एक घरमा काम गर्ने उक्त व्यक्ति भेट्दा कविले गरिबीले नाम पनि मेट्दो रहेछ भन्ने बुझेका थिए । कविले यस कवितामा सडककै भाषा, चिया पसलकै भाषा प्रयोग गरेको बताउँछन् । यस पात्रमा भएको हर्कबहादुरले आफ्नोपनको खोजी गरेको छ । आफ्नो नामलाई उसले यदाकदा मात्र सुन्ने गरेको बताउँछ । जुन कुरा वास्तविक नै हो । मान्छेको दुःख वा मान्छेले भागेको कुरा तस्बिरमा मात्र कैद गर्न सकिन्न । यसलाई शब्दमा पनि कैद गर्न सकिन्छ । र, कैद सँगसँगै यस्तो अवस्थामा रहेका हर्कबहादुरजस्ता पात्रको पनि मूल्य मान्यता छ भनेर देखाउनकै लागि हर्कबहादुर कविता लेखिएको थियो । प्रस्तुत ‘हर्कबहादुर’ कविता प्रथम पटक २०३८ साल चैत्रको रूपरेखा अङ्कमा प्रकाशित भएको थियो । साथै यस कविता कवि दिनेश अधिकारीको धरतीको गीत कविता सङ्ग्रहमा पनि समेटिएको छ । #कविताको कथा #दिनेश अधिकारी #निरज दाहाल |
अनिताको गजल: खुबै पोल्दो रहेछ यार यो प्रीतले पनि केही सिकाएर गएको छ अतीतले पनि ।। जहाँ घाउ लाग्छ,त्यही पहिले ठेस लाग्छ यही मन दुखाउँछ,विरहका गीतले पनि ।। दुःखको तुफानले सम्बन्ध उडाउने रहेछ अचेल नचिने झैं गर्छन्,परिचितले पनि ।। सबै आफ्नाहरु जति विपक्षमा उत्रिएपछि हारले जस्तो खुसी,दिन्न रहेछ जीतले पनि ।। न आँसु भाग लाग्छ,न खुसीको गुणन हुन्छ उल्झन मात्रै थप्छ,जिन्दगीको गणितले पनि ।। #अनिता धिताल #गजल |
साताका उत्कृष्ट तीन कविता: साहित्यपोस्टले सुरु गरेको लामो दुरीको यात्राले आज दोस्रो साता पूरा गर्\u200dयो । यहाँ त्यसकाे कथा सुनाउन लागेका छैनौँ, केवल यो स्तम्भको आवश्यकता किन पर्\u200dयो त्यसको थोरै स्पष्टीकरण दिने प्रयास गर्दैछौँ । साहित्यपोस्ट सुरु हुनेबित्तिकै हामीलाई दैनिक सयौं रचनाहरु प्राप्त हुन थाले । तीमध्ये कविता र तिनका उपविधा धेरै थिए । पाठकको कविता मोह देखेपछि हामीले यसको छुट्टै डेस्क स्थापना गर्नुपर्\u200dयो । हामीलाई लाग्यो, सयौँ रचनाहरु मध्येबाट प्रत्येक साता उत्कृष्ट तीन किन नछान्ने ? यसो गर्दा समय कम भएका पाठकहरु सिधैँ यो सेक्सनमा प्रवेश गरेर उत्कृष्टतम रचनाको स्वाद लिन सक्नुहुनेछ । धेरै कविहरुले आफ्ना राम्रा कविताहरु फेसबुकमा राख्ने गरेको पाइन्छ । त्यस्ता रचना साहित्यपोस्टका फराकिलो साहित्यप्रेमी पाठकसम्म नपुगेरै हराउने देखेपछि पनि हामीलाई यो स्तम्भ सुरु गर्न प्रेरित गरेको हो । सयौँ कवितामध्ये तीनवटा मात्र छान्दा धेरै राम्रा कविता छुट्दा रहेछन् तर यी कविता पढेपछि हाम्रा प्रिय पाठकहरुलाई थप कविता पढ्न प्रेरित गर्ने रहेछ । गएको साता उत्कृष्ट तीन प्रकाशन भएपछि ती पाठकहरु पुनः कविता सेक्सनमा गएको हाम्रो इन्टरनेट ट्राफिकले बताइरहेको थियो । यससम्बन्धी तपाईँहरुको विचार पनि हामी सुन्न लालायित छौँ । तल कमेन्ट बक्समा आफ्ना अमूल्य सुझाव, सल्लाह, गुनासो र मार्गनिर्देशन दिनु भए सबै यसलाई सबै साहित्यप्रेमीहरुको साझा मञ्च बनाउने हाम्रो अभियानलाई ठूलो टेवा पुग्ने थियो । अब पढौँ, हाम्रो काव्य विभागले सिफारिस गरेका साताका तीन उत्कृष्ट कविताहरु… #सर्वोत्कृष्ट |
संघर्षको साहित्य संघर्षः हजुरआमाका कथादेखि आफ्नै साकुरासम्म: प्रत्येक साँझ हजुरआमाको मुखबाट कथा नसुनी निद्रै पर्दैनथ्यो । उहाँले सुनाउने कथाहरू कि त राजकुमारीका कथा\\परिकथाहरू हुन्थे कि त भूत, प्रेत र किच्कन्याका । तीन सन्तानकी आमा पच्चीस वर्षे उमेरमै विधुवा भएकी हजुरआमाको पनि आफ्नै कथा छ । ढिलोचाँडो उहाँको कथा पनि लेखौँला । ०६९ तिर हुनुपर्छ, स्नातकको परीक्षा दिएर केही फुर्सदमा थिएँ । बिएस्सीको पढाइ सँगसँगै मेडिकल इन्ट्रान्स तयारी र प्लस टुको समयमा केन्द्रित हुनुपर्दा झण्डै–झण्डै लेखनबाट विमुखजस्तै थिएँ । पाँच कक्षामा पढ्दा, ‘प्राथमिक शिक्षा आजको आवश्यकता’ शीर्षकमा निबन्ध लेखेपछि नै हुनुपर्छ सायद, मैले पनि लेख्नुपर्छ है भन्ने थियो मनमा । तर आजजस्तो लेखाइलाई नै पेशा बनाउनुपर्छ भन्ने थिएन । कक्षा ६ मा पढ्दा एकजना नाताले मामा पर्नेको प्रभावमा इन्जिनियर बन्नुपर्छ भन्ने लाग्यो । त्यो कुरालाई बाको पेशाले पनि बल पु¥याएको हुनुपर्छ । बा पेशाले एक डकर्मी हुनुहुन्थ्यो । गाउँमा उहाँले बनाएका थुप्रै घर यथावत छन्, तर अहिले बा हुनुहुन्न । छोरो पढेर इन्जिनियर बनोस् भन्ने मेरा बा अहिले रहनुभएको भए, “ए लेखेर पनि त थोरै भए पनि कमाइ गर्न सकिने रहेछ” भनेर थोरै सन्तुष्ट त पक्कै बन्नुहुन्थ्यो होला ! ०६१ सालमा माओवादीको सशस्त्र संघर्षताका सदरमुकाम बसेर पढ्नुपर्ने बाध्यता आइलाग्यो । त्यतिबेला जिल्ला स्तरीय कविता प्रतियोगितामा भाग लिन पाउनु मेरो लागि आफूलाई चिन्ने एउटा अवसर बन्न पुग्यो । मैले कविता लेख्छु भन्ने नेपाली विषय शिक्षिकालाई थाहा थियो । स्कूलमा मलाई कहिले निबन्ध प्रतियोगिता त कहिले कविता प्रतियोगितामा पठाउने कुरा थियो । अन्त्यमा कविता प्रतियोगितामा जान पाएको थिएँ । त्यतिबेला सहिद दिवसको दिन प्रतियोगिता आयोजना भएर एक महिनापछि पुरस्कार वितरण हुन्थ्यो । त्यस कवितामा म जिल्लाभरमा प्रथम भएको रहेछु । साथीहरूले मैले भन्दा पहिल्यै थाहा पाएछन्, ‘ओए कवि, ए कवि !’, भनेर जिस्काउँदै थिए । मैले रिसाएर गाली गरेँ । त्यसपछि हेड सर तीलबहादुर थापाले नै भनेपछि मात्रै आफू प्रथम भएको पत्याएँ । बाल्यकालमा परदेशमा हुने काका\\ठूलाबाको चिठी पढ्नु, परिवारका तर्फबाट उहाँहरूका लागि चिठ्ठी लेखिदिनुपर्थ्यो । त्यस चिठ्ठीहरूमा पनि पक्कै साहित्य लुकेको हुँदो हो । सायद ती कुराहरूले पनि मलाई लेखनमा धकेलेको हुनुपर्छ । त्यसो त जिन्दगीमा आफ्नो लागि प्रेम पत्र त लेखिएन । लेखिएन पनि नभनौँ क्यारे ! लेखे पनि धेरै समय सिरानीमुनि राखियो । धेरैपछि नगरपालिकाको फोहर फाल्ने गाडीमा मिल्काइयो । एक समय थियो, एफएम सुन्ने अनि पत्रमित्रताबाट साथी बनाउने । पत्रमित्रताको लागि कलेजको ठेगाना दिइन्थ्यो । मेरै पनि चिठ्ठी आएछ । फिजिक्स पढाउने मास्टरले कक्षामा पर्दाफास गर्दिए । त्यो चिठ्ठी पत्रमित्रभन्दा पनि आफूसँगै स्कूल पढेकी साथीले पठाएकी रहिछे । मलाई कम्ति लज्जित बन्नु परेन ! त्यसपछि भने हातमा मोबाइल बोक्ने जमाना आयो । अहिले मलाई चिठ्ठी पठाउने साथी कता छे, के गर्दै छे ? केही पनि थाहा छैन । चिठ्ठी आफ्नो लागिभन्दा पनि साथीहरूको लागि लेखिदिइयो । उनीहरूले पक्कै पनि मैले नै लेखिदिएको लख काट्थे । किनभने सबै चिठ्ठीहरूको भाषा एउटै किसिमको हुन्थ्यो । स्कूल पढ्दा आफूले नबनाए पनि अरु साथीहरूको अटो भरियो । अटो बनाउने अधिकांश केटी साथीहरू हुन्थे । अँ साँच्ची, ती अटोहरू के संग्रह गरेर राखेका होलान् त ? भनेर मेरो मनमा एककिसिमको जिज्ञासा उत्पन्न हुन्छ अहिले पनि । अब साकुराको कुरा गरौँ । मैले ‘साकुरा’ नलेखेको भए के हुन्थ्यो, त्यो त म यसै भन्न सक्दिनँ । तर मलाई लेख्नै पर्थ्यो । साकुराभित्रका केही कथा मेरा आफ्नै हुन् । केही काल्पनिकता त केही मैले देखेको समाजका उपजहरू पनि हुन् । मलाई लाग्छ, कुनै पनि लेखकले जब कापी या त कम्प्युटरका फाइलहरूमा उतार्दैन, उसले आफ्ना कथाको गर्भ बोकेर हिँड्छ । त्यतिमात्रै होइन, गर्भ बोकेर हिँड्न त्यति सजिलो छैन । लेखकीय प्रसवपछिको आनन्द त त्यतिबेला मिल्छ, जब आफ्ना कथाहरूको मुद्रण भएर प्रत्येक पाठकहरूका कोमल हातहरूमा पर्छ । मलाई लेखन गर्भको हिसाबले अहिले भर्खर लेख्दै गरेको उपन्यास लेख्नु थियो तर सकिनँ । त्यसका प्राविधिक पाटोमा धेरै काम गर्नु थियो । गहिरो अनुसन्धान गर्नु थियो । त्यतिबेला मेरो बर्कतले नभ्याएकै हो । अहिले लेख्दै गरेको उपन्यासभन्दा साकुरा लेखन केही सहज भएको ठान्छु । हुन त हरेक लेखकलाई एकपछि अर्काे किताब उत्कृष्ट हुनुपर्छ भन्ने मनोवैज्ञानिक रुपमा दवाब त हुन्छ नै । तर मलाई भने साकुरा प्रयुक्त भूगोलमा पूर्ववतः यात्रा गरिसकेको हुनाले पनि मलाई केही सहज भयो । साकुरामा प्रयोग भएका प्रायः ठाउँमा पुगेको छु । कतिपय आफ्नै अनुभव त केही साथीभाइका कुराहरूलाई ग्रहण गरेर लेखेको थिएँ । साकुराको एक जना पाठकले मलाई प्रश्न गरेका थिए, “सर, तपाईँको आफ्नै कथा हो ?” यस्ता प्रश्न धेरै लेखकहरूले फेस गरिसक्नुभएको हुनुपर्छ । एक ठाउँमा लेखक एकदिन जेल बस्नुपर्ने सिन छ । त्यो घटनामात्रै नभएर लेखकले हरेक घटनालाई पाठकको दिमागमा चित्र तयार गरिदिनसक्नु लेखकीय कला हो । साकुरा पढेर मेरो एकजना साथीको ममीले, “नानी तिम्रो साथी जेल पनि परेको थियो ?”, भनेर प्रश्न गर्नु भएछ । साथीहरूको त्यस्तो कुरा सुन्दा कथालाई केही न्याय दिन सकेँ कि भन्ने ठान्छु । साकुरा लेख्नुपूर्व दर्जनौँ कथा लेखिसकेको भए पनि प्रकाशनमा लागिएन । तिनै कथालाई कहिलेकाहीँ पुर्नःलेखन गरौँ जस्तो लागे पनि सबैभन्दा गाह्रो काम भनेकै पुनर्लेखन र सम्पादन हो । फेरि पुनर्लेखन जरुरी पनि हो । साकुरा लेखनको लागि लगभग एक वर्ष खर्चिएँ । तर पुर्नःलेखनको लागि थुप्रै समय लाग्यो । कतिपय प्लट हटाएँ । कतिपय प्लट थपेँ, जो जरुरी थिए । कतिपय सिन लेख्न तीन महिनासम्म लगाएँ । कुनै समय नेपाली सिनेमाको स्कृप्ट लेख्न भन्दै केही निर्देशकको पछि लागियो पनि । त्यस कुराले पनि फाइदा मिल्यो । पेशाले एक संस्थाको प्रशिक्षक हुनुको नाताले पनि धेरै पात्र र प्रवृतिलाई नजिकबाट हेर्न पाएँ । ‘साकुरा’, झट्ट सुन्दा कुनै एक केटीको कथा मात्रै भन्ने लाग्न सक्छ । तर त्यतिमात्रै होइन । साकुरा एक लेखककी प्रेमिका र उनीहरूबीचको कथा हो । यसलाई एउटा छुट्टै फ्रेममा राखिएको छ । यसभित्रको कथाको ‘लेखक’ सिर्जना गर्नमा केही सिनियर लेखकलाई मनमा डुलाइहिँड्नु पर्ने थियो । लगभग यस कथा लेखेर सक्ने दिन काठमाण्डौमा घटेको एउटा घटनाले मलाई तीन चार दिन कोठाबाट बाहिर निस्कन सकिनँ । सायद कथाको ह्याङओभरले पनि हुनसक्छ । लेखेर सकेको तीन महिनासम्म एकपल्ट पल्टाएर पनि हेरिनँ । किनभने मलाई कथाको ह्याङओभरबाट उम्कनु थियो । सुरुमा साकुरा साकुरा थिएन । बरु साकुरा पात्रको उपनाम ‘डल्ली’ बोकेर हिडेँ । महिनौँसम्म । कता–कता ‘डल्ली’ले पूरै कथा बोक्दैन कि भन्ने लाग्यो । त्यसैले भौँतारिएँ, नामको खोजीमा । पात्र मात्रै नभएर किताबको पुरै कथा बोकोस् नामले भनेर धेरै घोत्लिएँ । धेरै नाम आए मनमा । तर चित्त बुझेन । खोज्दै जाँदा भेटियो ‘साकुरा’ । हाम्रो राष्ट्रिय फूल लालीगुराँस भएझैँ, जापानको राष्ट्रिय फूल हो ‘साकुरा’ । यो अप्रिल महिनाको सुरुमा फूल्छ । मैले सुनेअनुसार यो एकहप्ता मज्जाले फूल्छ । यो फूल्ने बेला लगभग पात देखिन्न भनेर जापानमा बस्ने साथीहरूले भनेको सुनेँ । नेपालमा भने भक्तपुरमा देखेको छु, साकुरा । साकुरा फूल र यसको कथाको तादाम्यता भेटेर नै यो नाम राखेको हुँ । साकुरा प्रेम कथामा आधारित कथा हो । नेपालमा धेरै लेखिएका छन्, प्रेम कथामा आधारित उपन्यास । त्यसमा साकुराको पनि आफ्नै स्थान होला । त्यो कुरा पाठकहरूको जिम्मामा । तर प्रायः लेखिने शुत्रबद्ध कथाभन्दा फरक छ भन्ने मेरो लेखकीय दावा हो । प्रेमकथा लेखिने आफ्नै तौरतरिका हुन्छन् । मेरो आगामी किताबमा केही फरक पक्कै पाउनुहुने छ । अहिले आएर बुझ्दैछु, लेखकले आफू र आफ्नो क्षमता कुन विधामा छ भनेर चिन्नु जरुरी छ । लेखनको सुरुवात कविता र निबन्धबाट गरे पनि उपन्यासको ठूलो क्यानभासमा खेल्नुमा मजा लाग्दैछ । र यो जरुरी छैन कि सबैले उपन्यास लेख्नुपर्छ । सबैले कथा लेख्न सक्दैनन्, सबैले कविता लेख्न सक्दैनन् । एकाध लेखकहरू होलान्, साहित्यका हरेक विधालाई न्याय गर्न सक्ने । जे होस् कम नै छन् । कुनै समय निबन्ध, कविता, र मुक्तकमा लागियो । कुनै बेला लघुकथा, हाइकुतिर पनि । तर आफूलाई एउटा कित्तामा उभ्याउँदा अलिक बढी न्याय गर्न सकिन्छ कि भन्ने ठान्छु । अहिले फर्केर हेर्दा मैले एउटै बाटो हिँडेको भए एउटा छुट्टै मार्ग तय गरिसकेको हुन्थेँ कि ? तर पछि फर्केर अल्मलिने होइन । अघि बढ्ने हो । जसरी धावकले एउटा गन्तव्य तय गरेर निरन्तर दौडिरहन्छ । उपन्यास ‘साकुरा’ लेख्न त लेखियो । अब छाप्नु थियो । बजारमा प्रकाशकहरू त थुप्रै छन् । तिनीहरूका आ–आफ्नै स्ट्राटेजीहरू छन् । केही प्रकाशकहरू छन्, जसले आफ्नो धर्म निवार्ह गरिरहेका । त्यसमध्ये एक प्रकाशकलाई भेटेँ । उनीबाट प्रष्ट भनाइ नपाएपछि लागेँ, आफ्नै सोचमा । साहित्यको मेरो पहिलो किताब ‘साकुरा’ भए पनि त्योभन्दा पहिले मेरो आफ्नै प्रशिक्षणको व्यवसायिक किताब छापेको अनुभव छँदै थियो । त्यसपछि आफैँ हिम्मत किन नगर्ने त ? भनेर कस्सिएँ किताब छाप्न । एउटा दुस्साहस् नि ! अनि आफ्नै कम्पनि जिन्दावाद ! चर्चाको हिसाबले कमै भए पनि व्यवसायिक रुपले सफल नै मान्छु । यसैको जगमा अर्काे किताबलाई अगाडि बढाउँदैछु । भर्खरै आफ्नै यत्नले यहाँसम्म आउनुमा सबैभन्दा पहिले मेरा सम्पूर्ण पाठकहरू धन्यावादको पात्र हुनुहुन्छ । यसबाट निकै हौसला मिलेको छ । र अन्त्यमा, साहित्य पोस्टको लागि स्मृतिको एउटा कुनामा सुरक्षित बसेकी साकुराबारे लेख्दै गर्दा धन्यवाद भन्नैपर्छ । साकुराका तमाम पाठकहरू सबैभन्दा धन्यवादका पात्रहरू हुनुहुन्छ । अग्रजहरू, जसका किताबहरू पढेर म पनि नेपाली साहित्यको एउटा गोरेटोमा हिड्ने कोशिश गरेँ । भोलिका दिनमा पनि हिजोको जस्तै मलाई सल्लाह, सुझाव र प्रतिक्रिया दिएर नेपाली साहित्यको राजमार्ग फराकिलो पार्न तपाईँहरूले सहयोग गर्नुहुने नै छ । #संघर्ष क्षेत्री #साकुरा #साहित्य संघर्षः |
योगमाया : धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता: उपन्यासको सारांश माया बुहार्तन सहन नसकेपछि विवाह गरेको घरबाट रातिमा भागेर माइत आउँछिन् । माइतमा पनि सजिलै उनलाई बस्न दिइँदैन । घरमै फर्काउने प्रयास भैरहँदा संघार नाघेकी बुहारीको चरित्र माथि प्रश्न उठाएर घरमा फर्कन दिँदैनन् । पछि रोजगारीकै लोभमा आसाम पुग्छिन् । साथ लागेर गएको कँडेलको मृत्युपछि उतै विवाह नै नगरी छोरी जन्माउँछिन् । त्यै छोरी लिएर माइत फर्किएकी माया त्यहीँ बस्दाबस्दै घरगृहस्थी त्यागेर संन्यास ग्रहण गर्छिन् । काशीनाथ बाजेकी बुहारी मायापछि तुलसीका बाँकी दिदी, तुलसी र गिरीका फूपू, आमा (गंगा )की आमाजु हुँदै संन्यासी बनेसँगै ठूली हजुर र अन्तमा योगमाया नामले चिनिन्छिन् । संन्यासी बनेसँगै सामाजिक विकृति, विसङ्गति, सति प्रथा, कमराकमारी प्रथा, बाल विवाह, जातीय विभेद, धर्म भित्रको विकृतिको अन्त्यका लागि लगातार लागेको उपन्यासमा देखाइएको छ । तत्कालीन श्री ३ महाराजसम्म आफ्ना दूत तथा योगमाया आफैँले पटक पटक धर्म भिक्षापत्र बुझाउँदा पनि धर्म भित्रका विकृतिको अन्त्य हुन नसकेपछि अन्त्यमा सामाजिक विद्रोहको सन्देश दिन आफ्ना अनुयायीहरुसहित ६६ जनाले सामूहिक जल समाधि लिएर उपन्यास सकाइएको छ । ५०३ पेज मध्ये ४८२ पेजमा उपन्यास लेखनी गर्दैगर्दा उपन्यासकारले तत्कालीन राजनैतिक घटनाक्रम, प्रजातन्त्र प्राप्तिका लागि भएको एतिहासकि आन्दोलन, पूर्वी नेपालको सामाजिक अवस्थाका बारेमा राम्रो वर्णन गरेकी छन् । समाज सुधारको अभियानमा लाग्दा योगमाया सहितका उनका अभियन्ताहरुले खेप्नु परेको विभिन्न खाले आरोप प्रत्यारोप र जेल जीवन समेत उपन्यासमा प्रस्तुत गरिएको छ । उपन्यासको यो हरफले तत्कालीन सामाजिक जिवनको यथार्थ चित्रण गर्दछ : …..“ गरिब ऋण तिर्न नसकेर मरेका छन् । बेसहारा खरीद गर्न नसकेर भोकभोकै मरेका छन् । किसान अत्याचारको जाँतोमा घुन झैँ पिसिएर मरेका छन् । एक धरो न्यानो नपाएको कठ्याङ्ग्रिएरै मरेका छन् । सामन्तको अत्याचार सहन नसकेरै मरेका छन् । भाको खेत खलियाना सामन्तले एैँठेर मरेका छन् । छोरी चेली लुटिएको पिरमा मरेका छन् । तिनको रक्षा को गर्ने ? पहिला गर तिनका ज्यू ज्यानको रक्षा, हैन भने हटाउ यो ऐनको झुटा कुरा ।”………. उपन्यासमा महामारीको प्रसङ्गमा गाउँभरी फैलिएको ठेउलाका कारण गाउँका बालबालिकाको मृत्यु भएको प्रसङ्ग र १९९० सालको भूइँचालो र त्यसबाट भएको क्षतिको प्रसङ्ग पनि उपन्यासमा छ । सबल पक्ष हरेक वर्ष मदन पुरस्कार घोषणा हुँदै गर्दा यसकोआलोचना भने नहुने हैन । २०७४ सालको मदन पुरस्कार बिजेता कृति ‘योगमाया’ भने विषयवस्तुको छनोट र लेखनी दुवै दृष्टिकोणबाट अब्बल मान्नुपर्छ । वि.सं १९५० भन्दा पछि झण्डै वि.स.२००० शुरु हुनु पूर्वको नेपालको यथार्थ चित्रण गरिएको ऐतिहासिक उपन्यास हो ‘योगमाया’ । भोजपुरको अरुण नदी किनारलाई मुख्य केन्द्र बनाएर यो उपन्यासमा तत्कालीन अवस्थाको देशकै चित्रण गरिएको छ । एक संन्यासी महिला योगमायालाई मुख्य पात्र बनाएर तयार पारिएको यो उपन्यासमा उनले सफल गर्न नसकेकोे धर्म युद्धलाई देखाउन खोजिएको छ । अधर्मको नाश होस् धर्मराज्य स्थापना होस् अधर्मको अन्त हुने छ धर्मको उदय हुने छ । सामूहिक जल समाधि गर्दै गर्दा वाचन गरिएको यो धार्मिक गीतले समग्र उपन्यासलाई वर्णन गरेको छ । बीच बीचमा भेटिने यस्ता अन्य धार्मिकगीत तथा कविताहरुले उपन्यासलाई बुझ्न सहज बनाएको छ । तत्कालीन अवस्थाको चित्रण गर्दै उपन्यासमा अगाडि भनिएको छ, ……..“हाम्रै दाज्यूभाई दिदीबहिनीलाई कसरी फरक गर्न सक्छौ । जन्माउने बाआमा हाम्रा फरक हुन् तर हौँ त एकै सृष्टिका सन्तान, काटे रगत उस्तै आउँछ । चिमोटे दुख्छ उसैगरी । हाम्रा दुखमा बग्ने आँशु उस्तै हुन् । हाम्रा अनुभूति एकै छन् । नगर फरक नगर । जातपातको नाममा कोही कसैलाई हेला नगर, यो घोर अपराध हो । अधर्म हो ।”…….. ……..“पापी सति ढुङ्गा बिलाएर जाओस्”…….. ……..“बाहुनी मर्दा बाहुन जलाउँछन् त ?”…….. योगमाया उपन्यासभित्रका यी हरफहरुले तत्कालीन अवस्थाको सामाजिक चित्रण गर्छन् । यसमा विद्रोह गर्दै उपन्यासमा यसो भनिएको छ, जसलाई उपन्यासको सबल पक्ष मान्न सकिन्छः ……..“मान्छेको बेचबिखन घोर अत्याचार हो । पाप हो र यस्तो अत्याचार तथा पापी कर्मको बिरोध गर्नु हाम्रो कर्तव्य हो ।”…….. ……..“जोई मरेको विधुरलाई अर्को विहे गर्न रोकतोक नभए पोई मरेको विधवाले विहे गर्न समाजबाट छुट पाउनुपर्छ ”…….. ……..“ब्राम्हणको कुलमा जन्मदैमा ब्राम्हण भैदैन । जसले ब्रम्ह जान्दछ उहि ब्राम्हण हो”…….. “ब्राम्हणको कुलमा जन्मिएर ब्रम्हत्वबारे ज्ञान नभए त्यो सुद हुन्छ ”…….. ……..“तपस्या शरीर सुकाउने मात्रै हैन । भित्रका माया क्रोध मोह सुकाउन हो । मनवाट ती सारा निकाल्ने हो । बन्धनबाट मुक्त हुन वैराग्य बढ्नु मुक्ति होइन । सत्य अहिंसाको बाटो मात्रै रोज्नुपर्छ । सांसारिक मोह आफ्ना दुर्गुण चिनेर त्याग्नु पर्छ ।”…….. समाजमा घर्ति, नेवार, ब्राम्हण, जैसी, क्षेत्री, कामी, दमाई विभिन्न जातीहरु मिश्रित भएर बसेको तथ्य उपन्यासमा चित्रण गरिएको छ । यो उपन्यासको निकै राम्रो पक्ष हो । कमजोर पक्ष उपन्यासमा योगमाया जैसिनी भएको र उनीसँग सङ्गत गरेको भन्दै महानन्दलाई आफ्नै दाज्यूले जात काड्दै बाबुको किरिया गर्नबाट रोके तर उनै योगमायाका चेला भएर बसेका अर्का भाइ पण्डित प्रेमनारायणका बारेमा मौन देखाइएको छ । उपन्यासमा मनकामना, स्वर्गद्वारीका प्रसङ्ग छ । हिमालको प्रसङ्ग छ । यसरी ठाउँको प्रसङ्ग गर्दै गर्दा जसरी काठमाडौँका स्थान प्रसङ्ग गरिएको छ ती ठाउँको पनि स्थान प्रसङ्ग थोरै मात्रै वर्णन गरिएको भएपनि सो स्थानका बारेमा पाठकले जानकारी पाउन सक्ने थिए । अझै हिमालमा तपस्या गर्न गएको प्रसङ्ग उठाउँदा कुन हिमाल र त्यो वरपरका बासिन्दाको थोरै वर्णन गर्न सक्नुपर्थ्यो । यसमा उपन्यास कमजोर देखिएको छ । उपन्यासमा सामाजिक सुधार जति सबै संन्यास ग्रहणबाट मात्रै सम्भव छ भन्ने देखाउन खोजिएको छ । संन्यास ग्रहण गर्नेहरु भित्रका केही विकृतिहरु पनि देखाउन सक्नुपर्नेमा उपन्यास मौन छ । स्थानीय र ठाडा भाषाहरु प्रयोग गरिदा उपन्यास मौलिक त बन्ला तर यसमा अन्य ठाउँका पाठकहरुलाई भाषा बुझ्न कठिन भएको छ । कुनै पनि सवाल उठान गरेर बिना निष्कर्ष टुङ्गाउनु उपन्यासको कमजोरी हो । सामूहिक जल समाधिको बाटो अपनाउनु भन्दा उपन्यासलाई त्यो आन्दोलनको सफलतामा लगेर टुङ्गाउन सकिनेतर्फ उपन्यासकारको ध्यान नपुगेको देखियो । निष्कर्ष पाल्पामा जन्मिएकी, काठमाडौँमा हुर्किएकी र हाल अमेरिकामा बसेकी लेखिकाले एउटा पूर्वेली झर्रो भाषामा गहन अध्ययन गरेर उपन्यास लेख्नु आफैँमा चुनौती थियो । त्यो चुनौती सहजै पूरा गर्न उपन्यासकार सफल भएकी छन् । स्थानीय भाषा, संस्कृति र मौलिकताले उपन्यासलाई गहन र जीवन्त बनाएको छ । कृति : योगमाया लेखक : नीलम कार्की निहारिका विधा : उपन्यास प्रकाशक : साङ्ग्रीला बुक्स पेज : ५०३ मूल्य : रु. ५९५।– #नीलम कार्की निहारिका #योगमाया #वसन्त पराजुली |
तिम्रो नाम: स्कूलका दिनहरू याद आउँछन् । बेन्चमा डटपेनले गाढा बनाएर लेख्ने गर्थें आफ्नो नाम । कक्षाका भित्ताहरूमा पेन्सिलले रगडेर लेख्ने गर्थें आफ्नो नाम । अचम्मको बेला थियो त्यो, जताततै आफ्नो नाम लेख्ने रहर । कापीका शुरुका पानाहरूमा । किताबका अन्तिम पानाहरूमा । नोटबुकका जिल्दाहरूमा । कार्डबोर्डका चेप्नेमुन्तिर । हातको नाडीमा । सर्टको बाहुलामा । जताततै लेखेको हुन्थेँ आफ्नो नाम । तर तिमीलाई थाहा छ ? मान्छे जब आफ्नो नाम भुलेर अरुकै नाम लेख्न थाल्छ नि तब ऊ मायामा डुबेको हुन्छ रे ! हो, म पनि त तिम्रो मायामा डुबेको थिएँ । त्यसैले त स्कूलपछाडिको भित्तामा चकले लेखेको थिएँ पहिलोचोटि तिम्रो नाम । हिउँदयामको कुनैदिन बस चढेर मामाघर जाँदैगर्दा झ्यालको सिसामा सासले हाsss गर्दै चोरऔंलाले लेखेको थिएँ, तिम्रै नाम । एक अक्षर पनि नपढ़नु भएकी आमा छेउमा हुनुहुन्थ्यो, तैपनि तिम्रो नाम पढ्नुहोला भन्ने लाजले हत्तपत्त मेटेको थिएँ । मायामा जति लाज अनि डर त केहीमा पनि नहुँदोरहेछ ! कुनै दिन बा’ले एउटा नयाँ ज्यामिति बाकस किनेर ल्याइदिनुभएको थियो । लगेको थिएँ स्कूल । नाम लेख्न मेरा औंलाहरू सलबलाएका थिए । हातमा लिएर बाकसभित्रको दुइटा सियो भएको कम्पास, के लेखौं के लेखौं भएर टोलाएको थिएँ । केही लामो सोचपछि, निकैबेर घोत्लिएपछि, मुस्कुराएको थिएँ म एक्लै-एक्लै । मलाई त त्यो दुईचुच्चे कम्पास देखेपछि मसिना खुट्टा भएकी तिम्रो अनुहार बत्ती जाँदा निभाउन बिर्सेको बत्ती आधारातमा फ्याट्ट बलेझैं मगजमा झिलिक्क बलेको थियो । अनि कम्पासको चुच्चोले कोतरेर लेखेको थिएँ, ज्यामिति बाकसमा तिम्रो नाम । संगालेर राख्ने गर्थें त्यो बाकस, झोलाको छातीनेर, मुटुजस्तै सानो गोजीमा । मेरो एउटा बानी तिमीलाई खुसुक्क भन्छु ल ! तिम्रो नामको छेउछाउमै पनि मलाई नराम्रा कुराहरू मन पर्थेन । यो त्यतिबेलाको कुरा हो, जतिबेला तिमी धेरै दिन स्कूल आइनौ । सायद बिरामी परेकी थियौ । मिसले सोध्दामात्र लाजले राती भएर, केही खुशीजस्तो बनेर, पेट दुखेर नआएको भनेकी थियौ । पेट दुखेर आउन नसक्दा पनि तिम्रो अनुहारको तेज र हर्ष देखेर आश्चर्यचकित भएको थिएँ म । पहिलोचोटि केटीमान्छेलाई मात्र दुख्छ रे यसरी पेट भनेर कसैले भनेको सुन्दा मलाई अचम्मले मर्नु बनाएको थियो । तर तिमी नआएको जनाउन हाजिरी कापीमा लेखिएको गयलको इन्टु चिन्हलाई डटपेनले घोटी-घोटी राइट चिन्हमा बदलेको थिएँ । सरले त थाहा पाए, कसले गरेको थाहा पाएनन् । कस्सम ! मलाई तिम्रो नाम लेखिएको कहीँकतै केही पनि नराम्रा चिन्हहरू मन पर्थेनन् । मलाई तिम्रो नाम तिम्रो लागि पोस्टकार्डमा नयाँ वर्षका शुभकामनाहरू लेख्दै गर्दा प्यारो लाग्थ्यो । मलाई याद छ, पहिलोचोटि तिमीलाई पोस्टकार्ड दिएको दिन । तिमीलाई हिरोका फोटाहरू मन पर्थेन । तिमीलाई हिरोइनका फोटाहरू पनि मन पर्थेन । रित्तिक रोशनको फोटोपछाडि तिमीलाई नयाँ वर्षको शुभकामना लेखेको पोस्टकार्ड पठाउँदा तिमीले च्यापुको छाला एकै ठाउँमा चुमुर्किने गरेर माथिल्लो ओठलाई तल्लो ओठभित्र घुसारेर ओठ लेब्र्याएकी थियौ । “हिरो भएर के भो र ! यो पनि हामीजस्तै मान्छे त हो नि !”, तिमीले यस्तै भनेकी थियौ । र निकैपछि तिमीलाई महादेव र पार्वती आधा-आधा जोडिएको फोटो भएको पोस्टकार्डमा विजयादशमीको शुभकामना दिएको दिन मेरो जीवनको आसाध्यै खुशी भएको दिनको रुपमा अहिलेसम्म पनि दर्ता रहेको छ । तिमीले “पछाडि त्यही जाबो शुभकामना त हो नि” भन्दै “अगाडि धन्न देउता हुनुहुँदो रहेछ” भनेर पोस्टकार्ड निधारमा छुवाएर किताबको कापमा राखेकी थियौ । तिम्रो एउटा गोप्य कुरा भनूँ ? तिमीले त्यो देउताको पोस्टकार्ड झुक्किएर स्वास्थ्य, जनसंख्या तथा वातावरण किताबमा राखेकी रहेछौ । पछि झल्याँस्स भएर “आच्या ! मलाई पाप नलागोस् पर्भु”, भन्दै निकालेर हत्तपत्त नेपाली किताबको कापमा राखेकी थियौ रे ! कति बुद्धु थियौ तिमी, प्रजनन अंगका फोटा हुँदैमा किताब कहाँ अशुद्ध हुन्छ र ! देउताले नै बनाएका अंगका फोटा हुँदैमा देउता कहाँ रिसाउँथे र लाटी ? तर तिमीले देउतालाई ढोग्दा ‘इत्ति इत्ति’ मैले लेखेका अक्षरहरूलाई पनि ढोगेकी थियौ । मेरा अक्षरहरूले लेखेका तिम्रा नामहरूलाई पनि ढोगेकी थियौ । पठाउनेको नाममा मैले मेरो नाम पनि लेखेको हुन्थेँ । कहिले गणेश, कहिले दुर्गामाता, कहिले शिवपार्वतीसँगै दशैँ र नयाँवर्षका शुभकामनाका पोस्टकार्डहरू पुग्दा मेरो नामले कहिल्यै तिम्रो निधार छुन पाएन होला है ? पाएको भए त सपक्क टाँसिन्थ्यो होला तिम्रा निधारमा मेरो नाम । छापिन्थ्यो होला तिम्रो भाग्यमा मेरो उपस्थिति । तर बालापनका खुशीहरू, किशोरवयका रहरहरू कहाँ पुरा हुन्छन् र ! ती त धोद्रो भएर स्वर फेरिएझैं बदलिंदा रै’छन् । जुँगाका रेखी बसेर छिप्पिएझैं छिप्पिंदा रै’छन्, टर्रा बनेर खुशीहरू । बालापनमै माया गर्छु भनेको भए त्यो मायाको रुप अर्कै बुझिने थियो । हुर्किएर माया गर्छु भनौँ भन्दा ओठहरू डराए । समय कति चाँडो बितिजाँदो रै’छ ! आँखा झिमिक्क गर्दा नगर्दै फेरिए कैयौँ हिउँदहरू । आएर बलेसीमा रोएर गए कैयौँ बर्खाहरू । आजकल पनि दराजको कुनामा हेर्छु, उसैगरी बसिरहेछ तिम्रो नाम लेखिएको बाकस । धुमिल भएको सम्झनाजस्तै खियाले छोपेको छ तिम्रो नाम । सायद तिम्रा नाम खोपिएका स्कूलका बेन्चीहरू पनि सकुसल छैनन् होला आजकल । बर्खाका लेउ र ढुसीहरूले छोपेका होलान् भित्ताहरूमा लेखिएका तिम्रा नामहरूलाई । अडिएनन् कहिल्यै पनि सिसाको बाफलाई औँलाले कोतरेर लेखेको तिम्रो नाम । सायद जलिसके या हराइसके होलान् तिम्रा नामहरू लेखेका पठाएका पोस्टकार्डहरू । केवल अस्ति भर्खर आइपुगेको बिहेको कार्डमा चम्किलो बनेर बसिरहेको छ तिम्रो नाम । “स्कूलका सब साथी भेट हुन्छन्, तँ नि आइज है !” भन्ने आवाज तिमीले बच्चाबेलामा बोल्नेजस्तो लजालु थिएन । न त निम्तोको कार्डमा गोल्डेन कलरमा छापिएको अगाडि सुश्री लेखिएकी तिम्रो बाको आयुष्मति सुपुत्रीको नाम त्यति आत्मीय लाग्यो । किन थाहा छ ? मेरो बानी अझै पनि उस्तै छ । मलाई तिम्रो नामको छेउमा कहिल्यै केही नराम्रा कुराहरू भएको मन पर्दैन । मलाई तिम्रो नामको छेउमा भएको फलानाको आयुष्मान सुपुत्रको नाम पनि राम्रो लागेन । आजकल सबैतिरबाट मेटाएको छु तिम्रो नाम । निधारमा नलेखिएको नाम अन्त जता लेखे पनि केही अर्थ नहुँदोरहेछ । छातीमै ट्याटु खोपाएर लेखे पनि मन परेको मान्छेको नाम, त्यही मान्छे मुटुमा नबसेपछि केही महत्त्व नहुँदोरहेछ । #तिम्रो नाम |
यात्राको स्मृति: पञ्चासे डाँडोबाट फर्केर पोखराको होटल रोमान्टिका आइपुग्नेबित्तिकै ह्वाट्सएपमा मित्र कमल पन्थीको मेसेज देखेँ । “तीन दिनको ट्रेकिङ गर्ने इच्छा सवार भइरहेको छ मेरो दिमागमा । कुन होला सजिलो र छोटो ?” बेल्जियममा बस्ने उनी यो पालिको दशैँ र तिहारको बीचमा नेपाल आउँदै थिए । “पञ्चासे ट्रेक गर्ने कि ? तपाईंले खोजेजस्तै छ । भर्खरै मात्र मैले मलेसियन ग्रुपलाई यही ट्रेक गराएर फर्केको ।” प्रत्युत्तर छाडेँ मैले । “हो र ! यात्रातालिका पठाइदिनुस् न त । र, तपाईंको ताजा यात्रानुभूति पनि सुन्न पाए त झनै राम्रो !” पन्ध्र मिनेटपछि उनको जवाफ आयो । यात्राका स्मृतिहरूले घेरिन थालेँ म । मैले भनेँ– इमेल हेर्नु ! ०००० उकालिँदै अस्ट्रेलियन क्याम्प गत साल वैशाखमा मात्र धम्पुस हुँदै फेदी झरेथेँ । आज फेरि यहीँबाटै उकालो लाग्दैछु । कहिलेको यात्रा यही ठाउँमा अन्त्य हुन्छ, कहिले यही ठाउँबाट सुरु हुन्छ । दस बजिसकेको थियो उकालोमा पहिलो पाइला राख्दा । ०००० ‘यात्रा कहाँ रोकिन्छ र ! एकछिन पाइला रोकिँदैमा आँसु कहाँ सकिन्छ र कहिलेकाहिँ पोखिँदैमा………’ थकाइले पो रोकिएका थियौँ । यात्रा त कहाँ नै रोकिन्थ्यो र ! लखनेको बिसौनीबाट उँभो लागेपछि मैले आफैँलाई सुनाएथेँ यो कर्णप्रिय गीत । पञ्चासे डाँडालाई अन्तिम गन्तव्य बनाएर हिँडेका हामी । आँसु होइन, बरु पसिना चाहिँ काढेका थियौँ मज्जैले । साउन महिनाको उष्मा । त्यसमा पनि पहिलो पाइलादेखिकै उकालो । हावा चलेको थिएन फिटिक्कै । उष्णताले आलसतालस भएका थियौँ हामी । वातानुकूलतामा बस्ने बानी परेपछि उष्ण प्रदेशकै भएपनि मान्छे सागजस्तै ओइलाउन बेरै लाग्दो रहेनछ । अनुहारमा बगेको पसिनाको धारालाई फेदीकै छेउ भएर बग्ने घट्टेखोलाको पानीले पखालेको कल्पना गरेथेँ मैले । बाईस जना सदस्य थिए– मलेसियन कम्पनी नोम्याड एडभेञ्चर परिवारका सञ्चालक र कर्माचारी गरी । वर्षको एक पटक अफिस बन्द गरेरै विदेश यात्रा गर्ने÷गराउने कस्तो राम्रो कायदा ! उनीहरू आएका थिए र त हामीले पनि काम पाएका थियौँ । दुई पैसा कमाइने र त्यही बहानामा घुम्न पनि पाइने । नत्र बिनासित्ति यो वर्षामासमा उकालोओरालो गर्न कसलाई बहुला कुकुरले टोकेको थियो र ! बाटोमा भेटिए अस्टे«लियन क्याम्पतिरबाट झरेका एक हुल विदेशी पदयात्री । छोटो र सजिलो गन्तव्य भएकोले पदयात्रीहरू आइरहन्छन् यहाँ । आजको हाम्रो गन्तव्य हो– अस्ट्रेलियन क्याम्प । धम्पुसको तल्लो भागलाई छोडेर उकालो लागिरहेका छौँ हामी २,१०० मिटरको उचाइ चुम्न । बीचमा ढसमस्स गरी बसेको छ धम्पुस । धम्पुसको ढाड टेकेर नाक नभाँची सुखै छैन । खेतका आलीआलीमा पाइला टेक्दै छौँ हामी । बर्षाको मलिलो पानी कलकल बगिरहेछ कुलोमा । कतै भर्खरै रोपाइँ भएर पनि रोपो सरिसकेको छ । कतै रोपोको पात फर्किसकेका छन् । कतै धमाधम रोपाइँ हुँदैछ । मानो खाएर मुरी उब्जाउने बेला पो हो यो त । आँखालाई खेतका गह्राहरूले तानिरहेका छन् । ठिङ्ग उभिन पुग्छु म । हली, लाठे, रोपाहार र हलगोरु चल्मलाएको दृश्यले व्यूँझाइरहेको छ मेरो स्मृतिको भावगङ्गा । आम्मै ! छबीसेको फाँटमा रोपाइँ हुँदाको रमाइलो ! म आली लाउथेँ, कान्ला ताछ्थेँ । कहिले हिल्याउँथेँ र साउँथेँ । कहिले कोदाली लिएर बाउसे गर्थें । बिउ पाँज्ने निहुँमा हिलाम्मे बनाइदिन्थेँ, रोपाहारहरूलाई । उधुमै गाली गर्थे मलाई मोरी साहिँली र माइलीहरूले । उरन्ठेउलो न थिएँ म ! के गर्नु ! खोइ अहिले त ? हिलो खेल्नुको त्यो मज्जा कहाँ लिनु ! कम्ता असारे गीत गाउँदैनथिन् हाम्री पुरेत्नी बज्यैले । काँठेभाका पो चल्छ त हाम्रोतिर ! बज्यैले लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अन्तराहरू मिलाई मिलाई गाउँथे बाँकीले । अझै सम्झना छ धिताल दाइले गाएको गीत– ‘असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो पातली नानीलाई फरिया किन्दा छ बीस रिन लाग्यो……..’ रोपाहारहरूले गाएको पनि कहाँ बिर्सेको छु र– ‘न भित्र खोक्रो, न बाहिर बोक्रो, गुलियो कसार, पूरबै ढोका खोलेर हेर्दा लागेछ असार………..‘ कोही गाउँथे– ‘असारलाई भनी कुटेको च्यूरा म कति साँचूला सौताका हात दुई कुड्की भात म कति बाँचूला………’ थकित वातावरणलाई आनन्ददायी र रोचक बनाइदिन्थ्यो गीतले । रसरङ मात्र होइन, प्रेम, वियोग र वेदनाका तरङ्ग पनि ब्यक्त हुन्छ असारे भाकामा । रोपाइँले बेस्सरी तान्दा विगततिर पुगेछु । रोपाइँको हिलो छुन नपाए पनि मन चोबले मैले । टोली भने अगाडि बढिसकेको थियो । भेट्न हतारिएथेँ म । तल्लो गह्रामा बयली खैल्दै छन् धानको रोपो । माथिल्लो गह्रामा हावा खाइरहेका छन् घोघा लागेका मकैका बोटहरू । मकै भाँच्नेबित्तिकै रोपो गोड्न हतार भइसकेको हुन्छ । कहिले पाउँनु त फुर्सद किसानहरूले ! मकैबारीभित्र तुन्द्रङ्ङ परेका छन् मकैबोडी । घरका करेसाबारीमा तेर्सिएका छन् पर्सीका झाल । थाँक्रामा झुन्डिरहेका छन् काँक्राका एकनासे कैँडाहरू । त्यो पनि अर्ग्यानिक ! सम्झँदै थिएँ– यस्ता काँक्रा त गाउँमा हुँदा चौथीमा चोरेर कति खाइयो कति ! सम्झेर मुखै रसायो मेरो । सोचेँ– काँक्राको चिरामा नुन खुर्सानी दलेर सुकेको आँतलाई भिजाउन पाए यो चर्को घाममा कति आनन्द आउला ! यतिका मान्छे छन् । एक्लै त के खानु । “उड यु लाइक टु टेस्ट यान अग्र्यानिक क्युकम्बर ?” टोली नेता युइन लीलाई सोधेँ मैले । “ह्वाई नट !” उनको जवाफ । “काँक्रोको कति हो ?” आँगनमा उभिएर हाम्रो लर्कन हेरिरहेकी आमैलाई सोधेँ । “गोटाको बीस ।” “दिनुस् न त पाँचवटा ।” आमैले काँक्रा टिपेर पखालिन् र नुन खुसार्नी पिँधिन् । एकएक चिरा भाग पुग्यो । काँक्रो टोक्दै उकालो लागेका थियौँ हामी । ढुङ्गाले बनेका परम्परागत घरहरू छन् । गुरुङ सँस्कृति झल्कने ढुङ्गाकै गाह्रो, ढुङ्गाकै छाना । आँगनभरि ढुङ्गा बिछ्याइएका । कति सुन्दर ग्रामीण परिवेश ! घान्दु्रक, लान्द्रुक र टोल्कातिर हिँड्दाको याद आइरहेथ्यो मलाई । सुनसान देखिन्थे कतिपय घरहरु । मानिस नबसेकाले घरका भित्तामा सिस्नो र अन्य झारले ढाकिएको छन् । प्रायः बृद्धाहरु मात्रै छन् गाउँमा । कोही विदेसिएका र शहर झरेकाले पहिलेको चहलपहल छैन धम्पुसमा । धम्पुसको जीवन पढ्दै हिँडिरहेका थियौँ हामी । आइपुग्यो धम्पुसको धार्मे चौतारो । बटुवाहरू सुस्ताउने अर्को बिसौनी । एउटा आकर्षक भ्यू प्वइन्ट पनि । पीपलको वृक्षमुनि बिछ्याइएका छन् चाक्ला छपनी, बटुवालाई बस्न भनेर । पूरै चौतारा ढाकेथ्यो हाम्रै टोलीले । छब्बीसजना थियौँ हामी मलेसियाली र नेपाली गरी । एक दर्जन त महिलामात्र थिए । धेरैजसो मुस्लिम । मुख देखाए पनि टाउका चाहिँ छोपेका हुन्थे विवाहितहरूले । ‘किन यतिबिध्न कट्टर हुनु परेका होलान यी मुसलमानहरू ! यो उखुममा त झिक्नु नि घुम्टो !’ क्रिडा गर्दै थियो प्रश्नले मेरो मस्तिष्कमा । खेतीयोग्य जमिनले घेरा हालेको छ बस्तीलाई । तल फेदीका फाँटदेखि पोखरासम्मकै अनुपम दृश्य देखिन्छ । माथि देखिन्छन् माछापुछ«े र चम्किला अन्नपूर्णाका स्वेत वदन । अन्नपूर्णाको अर्थ अधिष्ठात्री देवी, दुर्गाको एक रूप । यो क्षेत्रकै संरक्षिका पनि हुन् भन्ने लोकोक्ति पनि छ । हिन्दू मान्यता अनुसार अन्नपूर्णालाई पर्वत राजा हिमवतकी छोरी भनेर पनि विश्वास गरिन्छ । म भन्छु– ‘अन्नपूर्णा त पर्याय हो, चिनारी हो नेपालको ।’ हिमाल हेर्नका लागि उत्तम ठाउँ हो धम्पुस । त्यसैले त कतिपय चलचित्रहरूमा यहीकै दृश्य देखिन्छ । फेरि बस्तीसम्मै सडक आइपुगेको छ । पहाड भएर पनि सुगम छ– धम्पुस । डट्नु थियो उकालोसित । डट्यौँ मज्जैले । शिरमा माछापुछ्रे सिउरिएर उकालोसित डटेको थिएँ म । नौनाडी खिचिइसकेको थियो धम्पुसको अनु गेस्टहाउस पुग्दा । लन्चको अर्डर गरिसकेका थिए सहयात्री जयनाथले । ब्रोइलर कुखुराको मासुसहितको दाल–भात र साथमा थियो पुदिनाको अचार । भोको पेटलाई के चाहियो र ! पुदिनाको महकले नै जगेडा चार गाँस भात फाल हालेको पत्तै भएन । अनु गेस्टहाउस छोड्नुअघि आकाश छेकेर ठडिएको अस्ट्रेलियन क्याम्प देखाएँ मैले मलेसियनलाई । “आर वि टचिङ द स्काई ?” ठट्टा गर्दै हाँसिन् टामी वेबर । उनी पनि त्यो कम्पनीको कार्यकारी । ०००० ‘घट्टे खोला पुल, धम्पुस आउने मायालाई सम्झना लालीगुराँस फूल……….’ धम्पुस छोड्नुअघि गुन्गुनाएथेँ म । यही गीतको भावनामा डुबुल्की मार्दै थिएँ धम्पुसको बस्ती नछेलिउन्जेल । अघिल्लो पटक धम्पुसमा बासबस्दा यहाँका आमा समूहले लालीगुराँस फूलले स्वागत गर्दै यही गीतमानाच देखाएका थिए उनीहरूले । ०००० लौ, एकाएक बद्लियो मौसम ! आकाश त घ्वाप्पै छोप्यो बादलले । पिर्पिराउन थाले पानीका कण । बादल धर्तीमा लत्रिन थालेपछि आकाशमै अल्पियो अघि भर्खरसम्म देखिएको अस्ट्रेलियन क्याम्प । मलेसियनका लागि छिनमै घाम लाग्नु र पानी पर्नु नौलो कुरा होइन । बरु शीतल भएकामा राहत पाएको अनुभव गरेका थिए । धम्पुसको बस्ती सकिएलगत्तै स्वागत गर्छ अर्को उकालोले । घामको उपस्थितिमा बाटोभरि छाया पार्ने गुराँसे डालीहरू छेकिएका छन् बाक्लो कुहिरोले । हरियाली हडपिरहेको छ हुस्सुले । मौन छ गोरेटो । देखिँदैनन् कोइली, ढुकुर, तित्रा, सुगा, मैना र मुनालहरू, न सुनिन्छ तिनका कोकिल कलरव । खुला आकाशमा उडिरहने स्वतन्त्र पन्छीहरू कुहिराको बन्धनमा परेका छन् बिचरा ! निःशब्द छ चराचर । निःशब्द छ प्रकृति । निःशब्द छन् सहयात्रीका ओठ । निःशब्द छौँ हामी सबैसबै । लगभग निःशब्द भएरै उकालिइरहेका छौँ हामी । पुगियो एमानको चउरमा । एउटा नौलो नागी । सुरम्य छ घना जङ्गलबीचको घाँसेचउर । गृष्मकालिन सौन्दर्यको सुगन्ध फैलिरहेको थियो धर्तीभरी । चउरमा चरिरहेका छन् गाइवस्तु, बाख्रा र तिनलाई रखवारी गरिरहेका छन् तिनका निःशब्द गोठालाहरू । बाख्राका पाठाहरू चउरमा बुर्कसी मारेझैँ बुर्कुसिएथ्यो मेरा आखाँ हरिया गुराँसका हाँगाहरूमा । पोथाना र अस्ट्रेलियन क्याम्प जाने बाटो छुट्टिएको छ यहाँ । यहाँ पनि बनाइएको छ बटुवाका लागि एउटा बिसौनी । शरीरको थकानलाई बिसौनीको मल्हम लगाएपछि बोली फुट्दै थियो हाम्रो । प्रकृतिको चर्तिकला कस्ले बुझ्न सक्नु ! हठात् कुहिरोले धर्ती छोड्यो । उजेलियो चउर । उजेलिए सारा वनपाखा । निलो आकाश नदेखिए पनि देखियो गुराँसे हरियाली । निस्कन थाले चराहरू गुँडबाट र निकाल्न थाले नवीन नाद । आकाशको रङ, कुहिरोको रङ र वर्षे हरियालीको तादत्म्य । सुवाश छ मौसमको । सुवाश छ जरोबुटोको । आहा, क्या कञ्चन सौन्दर्य प्रकृतिको ! एउटै लुङ्दरको धराले रङ थपेको छ । अनि त के चाहियो र ! लाग्दै थियो मलाई– प्रकृतिको वदन चुमँुजस्तो, हरियालीमा केहीबेर लुकुँजस्तो र प्रकृतिकै भेषमा नाचुँजस्तो । थारै मात्र बाँकी थियो गन्तव्य छिचोल्न । हावा चिसिँदै आयो पहाड उक्लेपछि । स्पर्श हुँदै थियो लेकाली ठण्डीसित । शरीरका दुई सय छवटै जोर्नीहरू रगडिएका थिए सायद । थालिन थालेको थियो शरीर । फेरि पनि अस्ट्रेलियन क्याम्पमाथि बिजय हासिल गरेको खुसियाली त मनाउनै पर्यो । घुम्न आएको बेला नपिए कहिले पिउने ? फेरि एउटा बहाना पनि त चाहियो ! बगेको पसिना पूर्ति गर्ने तरिका न हो । थकाइको बदलामा आफ्नै ज्यानलाई ट्रिट गर्ने उपाय न हो । सबैले पिउँछन् तर पिउनुको अद्भुत आनन्द त शायद दुनियाँमा पदयात्रा गर्नेले मात्र पाउँछ । के छ त बिचार भरेको लागि जयनाथ ? उनको अभिप्राय बुझ्ने प्रयत्न गरेँ मैले । बिचार त उही हो । तैतै एउटा लोकल भाले पनि व्यवस्था गर्न सके त गज्जबै हुन्थ्यो । मेरो आशय बुझेरै भनेका थिए सायद उनले । जयनाथसँग बेलुकीको योजना बनाउँदा बनाउँदै चुम्यौँ अस्ट्रेलियन क्याम्प । चार बजिसबकेको थियो । खासमा खर्क हो– अस्ट्रेलियन क्याम्प । उहिलेउहिले यहाँ होटलको व्यवस्था थिएन । सबैभन्दा पहिले अष्ट्रेलियनले क्याम्पिङ गरेर बास बसेका थिए रे ! फराकिलो ठाउँ क्याम्पिङ गर्न सजिलो भएकोले पर्यटकीय गन्तव्यको रुपमा चिनिँदै गयो । त्यसपछि यहाँ विदेशी पर्यटक ल्याउनेले अष्ट्रेलियन क्याम्प भन्न थालेपछि खर्क भन्न छाडिएछ । जेजे भएपनि माछापुछ्रे र अन्नपूर्णाको अमित आँगन हो– अष्ट्रेलियन क्याम्प । हिउँको बिस्कुन सुकाइरहेका हिउँचुलीहरू नजिकै देखिन्छन् यहाँबाट । हृदयहारी ठाउँ हो यो । ख्याल आनन्द आउँदैन हिमाल, पहाड र वेँसीका दृश्यहरूमा आँखा ओछ्याउँदा । यतिबेला कुहिरोको पर्दा टाँगिदै थियो डाँडामाथि । आँखाले कुहिरो पन्छाएर हिमशैलका सग्ला तस्बीर कोर्न खोज्दा खोज्दै खसिकेको थियो गोधुली । जङ्गलको बाटो, जुकाको चुसाइ ‘वर्षामासको पदयात्रा त्यति रोमाञ्चक चाहिँ होइन । हिमालको मुखै देख्न नपाउँदा मनै खिन्न हुने । यति कष्ट गरेर यहाँसम्म आइपुगेपछि त पदयात्रीहरूलाई हिमाल चिनाउँन पाए पो ।’ मनोलाप गर्दै थिएँ म । पौने छ बजे सूर्योदय हुन्छ भन्ने जानकारी गराएको थिएँ टोलीलाई । त्यही मुताबिक क्यामरा हातहातमा लिएर होटलको छतमा उक्लेका थिए उनीहरू । अघिल्लो साँझदेखि नै गुफा बसेका हिमालहरूले बादलको ढोका खोल्न सकेका थिएनन् । सात बज्दा पनि उघ्रेन आकाश । अन्ततः ‘हिस्स बुढी खिस्स दाँत‘ भन्ने उखान चरितार्थ भएरै छाड्यो । तीन महिनाअघि यहाँ आउँदा बिहान छ नबज्दै रातिइसकेको थियो पूर्वि क्षितिज । झलमल भइसकेको थियो धर्ती । हाम्रो नेवारी संस्कारमा बाह्रा बसेका किशोरीहरूलाई सूर्यदर्शनका लागि निकाल्दा सिँगारेझैँ सिँगारिएका थिए हिमचुलीहरू, सुनौला गुन्युचोलीमा । कति सुन्दर थियो त्यो दिनको सूर्योदय ! सम्झँदै थिएँ म अघिल्लो पटक आउँदाका पल । “वी स्टिल ह्याव चान्स टू सी द माउन्टेन्स फ्रम पञ्चासे हिल ।” थम्थम्याएथेँ मैले टोलीलाई । ०००० अस्ट्रेलियन क्याम्प गेस्ट हाउसमा बिल भुक्तानी गरेपछिको हाम्रो पाइला पञ्चासेतर्फ सोझियो । एउटा सानो सेल रोटी पाक्दै छ हामी भोलि पोखरा पुग्दा । आन्तरिक पर्यटकका समेत रोजाइमा पर्ने अस्ट्रेलियन क्याम्प एउटा रमणीय गन्तव्य हो । ‘यहाँको मूल्यको मनोमानीलाई एकैछिन बिर्सने हो भने हत्तपत्ति छोडिहाल्न मनलाग्ने ठाउँ कहाँ रहेछ र अस्ट्रेलियन क्याम्प !’ काँडे झर्दै गर्दा सहयात्री माधव घिमिरेले भनेका थिए । होटलको मेनु दखेर झस्केका थिए उनी । किन नझस्कियुन त एक कपको चियाको मूल्य असी रुपैयाँ भएपछि ! काँडेबाट हिँडेरै एकघण्टामा पुगिने ठाउँमा पनि कुनैपनि चिजको मूल्य उचित नराखिनु चाहिँ विडम्बना नै हो । ०००० बिहानको शीतल समय । अस्ट्रेलियन क्याम्प काँडे झरुन्जेल त सजिलै भयो । अबको बाटो उकालो । काँडेदेखि पञ्चासेसम्मको बाटो जयनाथ र सीतारामलाई मात्र थाहा छ । उनैले नेतृङ्खव गरिरहेका छन् बाटोको । न घाम लागेको थियो । न त फुटेको थियो बादलको घल्चा । दिन त रोज्जा परेको हो ! हिमाल नदेखे पनि बेखुसी थिएन टोली । हरिया पहाडमाथि डुलिरहेको थियो कुहिरो । त्यही कुहिरो छुन लम्किरह्यौँ हामी । हामी जतिजति उकालिथ्यौँ त्यतित्यति माथि भागिजान्थ्यो कुहिरो । लुकामारी खेलझैँ भइरहेको थियो । ०००० भदौरेमा लन्च गरेपछि मौसमले साउनको सङ्केत गरेथ्यो । खुसी भएर बादलले र वर्षाउन थाल्यो पानीका कण । मौसमको नित्यकर्म थियो त्यो । बाटो थियो जङ्लको । झाडी पन्छाउँदै हिँड्नु पर्ने । ‘अब त जुकाको साम्राज्य चल्छ ।’ जयनाथ बोले । हो रहेछ । घारी नै रहेछ जुकाको । कुन सड्को आन चेको नाडीमा टाँस्सिन भ्याइसकेछ एउटा जुका । बाफ रे ! त्यसपछि त जुकाको चुसाइबाट अछुतो कोही भएनौँ । मेरो पनि जुत्ताभित्र मोजा छेडेर पनि छेपारीतिर पुगिसकेका थिए गोडा दुइएक जुका । मलमल कपडाको सानोसाना टालोमा अलिकति नुन पोको पारेर टोलीलाई बाँडेको थिएँ मैले जुकाको आत्रमणबाट बच्न । क्या सजिलो ! नुनको पोकाले छ्वास्स छुवाउनेबित्तिकै जुका त गुडुल्को परिहाल्ने । यसै गरीगरी जुकालाई ठेगान लागाएथ्यौँ हामीले । आकाशको रोदनमा सशक्त हुदोँरहेछ जुकाको आक्रमण । हम्मेहम्मे पर्दोरहेछ जुकासित जागिन । थरीथरीका हुँदारहेछन् जुका पनि । कुनै झाडीमा बस्ने । कुनै मान्छेको पेटमा । कुनै पानीमा । सबैभन्दा खतरनाक चाहिँ कुर्सीमा बस्ने नै हुँदो रहेछ । टाँसिएपछि टाँसिएको टाँसियै । ढाडिएर बसेपछि नुनको पोकोले ठेगान लगाउनै नसकिने । त्यसैले त सधैँ खोक्रो हुँदोरहेछ देश । ०००० टोलीका सदश्यहरू घरिघरि सोध्छन्– ‘पञ्चासे कति टाढा छ’ भनेर । ‘उः परपट्टिको डाँडो पछाडि छ पञ्चासे । अब दुई घण्टा लाग्ला ।’ जानकारी दिन्छन् जयनाथ । काई र लेउले भरिएको बाटोमा लड्दै र पड्दै हिँडेको डेढ घण्टा भइसक्यो । अझै दुई घण्टा हिँड्नु छ । के गर्नु ! हिँड्नु त परिगो । जयनाथको विश्वासको फेर समातेर चिप्लेटी खेलिरहेका छौँ हामी । जङ्गलले पनि गुञ्जाउँथ्यो अट्टहास प्रत्येक पटकको हाम्रो लडाइमा । साँच्चै उपहासका पात्र भएका थियौँ हामी । कैयौँ पदयात्रा गरेँ हुँला आजसम्म । यात्राको सिलसिलामा कैयौँ चोटी लडेँ पनि । फरक यतिमात्र हो– अघिल्ला पटक हिउँमा पछारिएको ज्यान आज वर्षे हिलोमा पछारिइरहेको छ । यद्यपि म खुसीले लड्डै छु आज । अग्नि परीक्षाझैँ भइरहेछ मलेसियन टोलीलाई आजको पदयात्रा । येनकेन पुग्नुछ पञ्चासे । प्राकृतिक छटाले भरिपूर्ण छ पञ्चासेको यो सेरोफेरो । ठाउँठाउँमा आइरहे खर्र्कहरू । ठाउँठाउँमा कञ्चन पानीका पोखरीहरू छन् गमक्क परेर बसेका । कति जिवजन्तुहरूका प्राण जोडिएको होला यी तलाउहरूमा ! अथाह कृपा छ पञ्चासेको । सयौँथरी फूल, सयौँथरी पन्छी र पुतली, सयौँथरी औषधीजन्य जडिबुटी, थरीथरीका च्याउ पाइन्छ यहाँ । वन्य सम्पदामा योभन्दा धनी ठाउँ कमै छन् नेपालमा । बाटो छेकेका छन् छत्रे उन्यू, चुत्रो, गुहेँली, लोठसल्ला र ऐसेलुका बोटहरूले । थरीथरीका जङ्गली लहराहरूले बेरिएका छन् खस्रु र गुराँसका रूखहरू । झ्याउ र सुनाखरीले ढपक्कै ढाकेका छन् । निख्खरा हरियो र पहेँलो रङ छरेका छन् दुरेका लहराहरूले । बेमौसम भएर मात्र हो, नत्र पुष्प अनुरागीहरू त सुनाखारीका रङ र वासनामा लठ्ठै पर्ने रहेछन् यहाँ । वर्षाको मलिलो पानीले मौलाईरहेका यी सुनाखरीहरूले केही समय कुर्नु छ फेरि मुस्कुराउँन । ठाउँठाउँमा छन् सानातिना तलाउ, भँैसी आहाल बसिरहेका । बुढो गोरुहरू चरिरहेका छन् नाकमा ढाडिएका जुका लिएर । अचम्म लाग्दै थियो– बस्ती त निकै पर छ; कहाँबाट आए यी घरपालुवा जनावरहरू ? सोध्दै थिएँ म आफैँलाई । यसैबीच अचानक भेटिए, एक अधबैँसे र उनको साथमा आएका एक किशोर । सोचेको थिएँ– तिनै होलान् यी गोरुहरूका धनी । सोधेँ– “तपाईंकै हो यी गोरुहरू ?” “हो । यिनलाई मैले ल्याएको ।” “घर कहाँ हो तपाईंको ?” “बाँके बाङ्सिङ, स्याङ्जा ।” “उति टाढादेखि ल्याउनु हुन्छ चराउन ?” “चराउँन होइन । यिनललाई यहाँ छोड्न ल्याएको ।” “बाघले खाँदैन त यिनलाई ? “खाँदैन । ‘बलिया बाङ्गा बाघलाई, बुढा खाडा माघलाई’ भन्ने त उखानै छ नि । बाघले पनि तन्नेरीकै शिकार गर्छ नि !” गोरुलाई जङ्गलमै छाडेर फर्कंदै थिए ती मानिस । असङ्गत लाग्यो मलाई उनको तर्क । सम्झेँ– हाम्रोतिर बुढो भएका गोरुहरू बाँचुन्जेल किलामै पालिन्छन् । कति निर्दयी मान्छेहरू ! बल छउन्जेल जोत्नुसम्म जोतेर, खानुसम्म बाली खाएर बुढो भएपछि तिनको रक्षा गर्नु त कता हो कता उल्टै वनमा छोडिदिने ? पशु अधिकारको सवालमा मानवीय संवेदनहिनता कहिलेसम्म होला ? यी गोरुहरूको वास्तविकतमा टोलीले थाहा पाए के भन्लान् ? खिन्न भएर पाइला सार्दै थिएँ म । ०००० पुगियो पञ्चासे । निकै टाढा होला भन्ठानेको थिएँ । पोखराबाट अठ्ठाईस किलमिटर मात्र रहेछ दूरी । पोखरा पल्तिर पो रहेछ पञ्चासे त । तगारो उघारेर सन सेट भ्यू होटल छिरेका थियौँ हामी । नेपालमा अझै छ तगारोको प्रयोग । ग्रामिण जीवनका यस्ता भावगाम्भिर्यतालाई समेटेर स्रष्टा स्व. विनोद गौचनले गरेको रचना सम्झेँ मैले– ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले त्यही रुमालमा पञ्चासेको फूल राखेँ मैले………’ ०००० रगतपच्छे भएका थियौँ हामी जुकाको चुसाइले । सन सेट भ्यू होटलको कोठा छिर्नुअघि मोजा खोलेर हेर्दा सबैको गरी जम्माजम्मी साठी थान जुका निस्क्यो होला । सामुहिक अन्त्यष्टि गरेका थियौँ हामीले जुकाहरूको । कास्की पर्वत र स्याङ्जाको संगमस्थल हो– २,५०० मिटर उचाइमा अवस्थित पञ्चासे । पञ्चासेको अर्थ बुझ्न खोजेँ तर स्थानीयवासीको मतैक्य पाएन यो ज्यानले । कोही भन्छन्– ‘पाँचवटा डाँडाको शिर भएकाले ‘पञ्चशिर’ भन्दाभन्दै अपभ्रंश भई पञ्चासे भनिएको रे ।’ ‘पाँचवटा हरियाली पहाडहरूको मिलनविन्दु अर्थात् ‘पञ्च’ र ‘आसन’ को संयुक्त शब्द पञ्चआसन भन्दाभन्दै अपभ्रंश भई पञ्चासे भनिएको रे ।’ सन सेट भ्यु होटलमा सञ्चालक राम गुरुङ भन्छन् । तर सही लाग्छ दुवै कथन । स्थानीयले भनेका कुरा पत्याउने त हो हामी परदेशीले ! ०००० ‘आँधीखोला कहाँ होला त्यसको शिर, कसो गरी मेटाउँ त मनको पीर ?’ जीवनाथ राम्जालीको यो मिठो सिर्जना ताजा थियो ममा । “साँच्चै कहाँ हो त यसको शिर ?” राम गुरुङसँग जिज्ञासा राखेँ । स्कुल पढ्दा गुरुले रामायणमा उल्लेखित एक पात्र श्रवणकुमारको कथा सुनाउनु भएको थियो । धूमिल याद थियो मलाई त्यो वियोगान्त कथाको । उही कथा सुनाए उनले– ‘अयोध्याका राजा दशरथका हातबाट भूलवश श्रवणकुमारको मृत्यु भएको थियो । खर्पनमा राखेर आफ्ना आमाबुवालाई तिर्थस्थलहरूको भ्रमण गराउन लगेका श्रवणकुमारले बाटोमा आमाबुवालाई प्यास लाग्दा उनीहरूलाई ओढारमा राखेर पानी लिन तलाउमा गए । त्यसै वनमा राजा दशरथ पनि सिकार गर्दै थिए । श्रवणकुमारले कुवामा कमाण्डलु डुबाएर पानी भर्दाको आवाज सुन्दा राजा दशरथलाई मृगले पानी खाएको आवाज भन्ने लागेछ र बाण चलाउँदा श्रवणकुमारको मृत्यु भएको थियो । अन्धाअन्धीका पीडा र वेदनाका अश्रुधाराले नै अन्धाअन्धी दह बनेको र त्यहीँबाट सुरु भएर बग्ने खोलालाई आँधीखोलाको नामले पुकार्न थालियो ।’ पञ्चासे नजिकै (स्याङ्जाको चिलाउनेबासमा) पो रहेछ कथामा भनिएको त्यो ठाउँ । जुकासित लडाईं गदैँ पञ्चासे पुग्दाको खुसीले रमाए पनि श्रवणकुमारको कथाले उदास भएथेँ म । ०००० कताबाट जाने हो पञ्चासे ताल ? माधवजीको प्रश्न जयनाथलाई । “उः त्यो सिरानमा । चारैतिर जङ्गलले घेरिएको भए पनि पात–पतिङ्गरहरू तालमा तैरेका हुँदैनन् । रूखबाट पात झर्नेबित्तिकै चराले टिपेर किनारमा ल्याइहाल्छ रे !” पञ्चासे तालको विशेषता बताए जयनाथले । कस्तो प्रकृतिप्रेमी चरा ! यस्तो चरा पनि हुन्छ र ? कुन होला त्यो तालप्रेमी चरा ! देख्न पाए हुन्थ्योजस्तै लागेथ्यो मलाई । “जाऔँ न त ताल हेर्न !” चराले रूखबाट झरेको पातलाई टिपेको हेर्ने इच्छा जाहेर गरेँ मैले । “हुन्थ्यो नि । ताल पनि हेरिन्थ्यो । श्रवणकुमारको समाधी देखिन्थ्यो र शिव मन्दिरको पनि दर्शन गर्न हुन्थ्यो । तर चार घण्टा लाग्छ जान आउन ।” जयनाथको जवाफ । चार घण्टा ! ल, टाढैबाट नमस्कार ! यो हिलोमा को गइदियोस् फेरि जुकासित जोरी खोज्न । त्यहीँबाट नमन गरेथेँ मैले शिवजीलाई । “तालबाट उत्तरतर्फ माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायतका हिमशृङ्खला, दक्षिणतर्फ पाल्पाको श्रीनगर एवम् तराई फाँट देखिन्छ । पोखरा, स्याङ्जा, कुश्मा, बाग्लुङका साथै राम्जाजस्ता सुन्दर बस्तीको दृश्यावलोकन गर्न सकिन्छ ।” बेलिबिस्तार लाए जयनाथले । पञ्चासे तालमै पुगेझैँ भएथ्यो उनको कुरा सुन्दा । मेरा आँखाअगाडि आए– माछापुछ्रे, धौलागिरि र अन्नपूर्णाका आकृतिहरू । ०००० गाउँ घुम्दै भन्ज्याङतिर टहल्लिन पुगेका थियौँ हामी बेलुकीपख । मौसमले जिल्याइरहेका थियो हामीलाई । हिमाल देख्न नपाएको दुखेसो पहिलो पटक पोख्दै थिइन् युइन लिले । पञ्चासेबाट हिमाल देख्न सकिएला कि भन्ने मेरो अनुमानले पनि फेल खालाजस्तै लागेको थियो । ‘भोलिको सुर्योदय पनि देख्न नपाइने भयो,’ चिन्ताको ग्रहण लागेको थियो माधवजीको मुहारमा । पञ्चासेमा वेगिएको मन्सुनी वायुको क्लेद अनुभूत भइरहेको थियो त्यतिबेला मलाई । आँधीखोलासित स्पर्श गर्न नपाए पनि त्यसको अस्तित्वबोधले शीतल भएको थियो मेरो हृदय । ०००० भोलिपल्ट । नभन्दै जिल्याइदियो मौसमले । अन्ततः तुषारपात भयो मलेसियनहरूको हिमाल हेर्ने सपनामा । राम गुरुङको मुहारको उज्यालो पनि गुमनाम थियो पञ्चासेमा घामको उज्यालो नपरेपछि । उनले भने– “सधैँ देखिरहेको हिमाल नदेख्दा हामीलाई पनि खल्लो लाग्छ । दुःख पर्दा यही हेरेर चित्त बुझाउँछौँ हामी ।” हिमाल देख्न नपाउँदाको पीडा ब्यक्त गर्न सकिरहेका थिएनन् टोलीले । मलाई भने अघिल्लो पटक आउँदा सराङकोटबाट देखिएको सूर्योदय र घामको लाली हिमालमा पर्दाको सुन्दर चित्रहरूको झझल्को आइरहेको थियो । मेरो मनले भनिरहेको थियो– ‘कम्तीमा एकछिन मात्र हिमाल देख्न पाएको भए पदयात्राको सार्थकता त हुन्थ्यो नि !’ “यु आर याट यान अल्टिच्युड अफ २,५०० मिटर्स । पञ्चासे इज इट्सेल्फ अ माउन्टेन ।” हिमाल नदेखिए पनि हिमाल टेकिरहेको आभास गराए मैले टोलीलाई । पञ्चासे छोड्नुअघि जयनाथ भन्दै थिए– “मात्र ओरालो हो आजकोे बाटो । सोह्र सय पचास मिटर ओर्लनु पर्छ घाँटीछिना पुग्न । ढुङ्गाको खुट्किलामा लेउ जमेर के हिँडिसाध्य होला र ! घाम लागे त लेउ पनि अख्रिन्थ्यो र जुकाको ज्यादती पनि सहनु पर्ने थिएन ।” तर घाम लागेन । ०००० नौ बजिसकेथ्यो सूचना पाटीले सङ्केत गरेको घाँटीछिनातर्फको गोरेटो समातेर आोरालो लाग्दा । सलबलाई सकेका थिए जुकाहरू हाम्रै गन्धले । पाइला टेक्नेबित्तिकै हुरुरु आउँथे जुत्तामा टाँसिन । खुब काम आयो नुनको पोकोको । सायद त्यो हतियार नभएको भए हामी कसरी पन्छाउँथ्यौँ होला जुकालाई ! एकालाप गर्दै थिएँ म । तल दमदमे र सिधाने गाउँबाट उठेका कुहिराका मुस्लाहरू लम्कँदै थिए हाम्रै बाटोतर्फ । हिजो हामी कुहिरो भेट्न लम्किएका थियौँ । आज कुहिरोनै हामीलाई भेट्न लम्कँदै छ । बीच बाटोमै जम्काभेट भयो कुहिरोसित । एकछिन त कुहिरोका कागझैँ भएका थियौँ हामी । कुहिरो पञ्चासेतर्फ वेगियो; हामी घाँटीछिनातर्फ वेगिँयौँ । “खोइ त कता पट्टि हो पोखरा ?” माधवजीले सोधे । “उः त्यो डाँडा ले छेकेको छ,” सीतारामको जवाफ । धूमिल थियो दृश्य । अग्लो पञ्चासे भञ्ज्याङले देख्न नसकेको घाम होचो पोखराले कसरी देखोस् ! अन्नपूर्णा, माछापुच्छ्रे र धौलागिरिहरू बादलभित्र हराएपछि सुन्य लाग्थ्यो संसार । घामको उज्यालो नपर्दा उदासिलो बन्दारहेछन् धर्तीका पत्रहरू । आँखामा आइरहेथ्यो, पुम्दी–भुम्दीको हरियाली खसेको सुन्दर फेवाताल र पोखरा नगरको । पञ्चासेसितै जोडिएको छ पोखराको अस्तिङ्खव । पञ्चासेले सेती र हर्पनखोला नपठाउने हो कसरी हाँस्थ्यो होला पोखरा ? तर तलैया र सिमसारमाथिको अतिक्रमण सम्झँदा कुडिन्छ मेरो मन । फुटिगयो बादलको घैला सिधाने पुग्दा । सिधानेबाट तल्तिर झर्ने क्रममा छोटो बाटो भन्ठानेर जाँदा झण्डै पुगिएन अर्कै गाउँ । एकछिन त रनभूल्लमा परेका थियौँ हामी । खेतका आलीआली हिँडका थिर्याँ माधवजी, म मेगान होली र डेभिड चाल्स र अरू तीनजना । लड्ने क्रम रोकिएको थिएन । हुन त मज्जा थियो लड्नुमा पनि । हत्तपति मिलिहाल्दैन यसरी लड्ने मेलोमेसो । रोकियौँ हामी दमदमे पुगेर । जङ्गलको बीचमा छ दमदमेको बस्ती । इतरिइरहेका छन् छहराहरू पाखापखेरा हल्लाउँदै । चारैदिशा छहराहरूले घन्किएको छ दमदमे गाउँको । पोखरा पल्तिर भए पनि पोखराको आधुनिकताले भेटेको छैन सिधाने र दमदमेलाई । धम्पुसकै जस्तो बान्कीका घरहरू छन् यहाँ । आफ्नै भाषा, भेष, रितिस्थिति र परम्परा छ यहाँ । सिधाने र दमदमेको दपर्णमा आफ्नै अनुहार देखेथेँ मैले । घाम नलाग्दा नरमाइलो चाहिँ हुने । मनमा लागिरहेको छ– ‘घामको चमकमा दमदमे साँच्चै कस्तो देखिन्थ्यो होला !’ त्यसैले पो भनिएको रहेछ– ‘पोले पनि घामै जाती, कुटे पनि आमै जाती ।’ निरन्तर वर्षंदै थियो बादल । पखाल्दै थियो कुद्बी र हर्पन डाँडालाई । चराहरूले पखेटा फिँजाउन पाएका थिएनन् । छत्री र घुम चल्मलाइरहेका थिए खेतका गह्राहरूमा । दमदमे र घाँटीछिनाबीच बिन्दुसरि उभिएको थियौँ हामी छब्बीस जना । हामी हतारहतार कोर्दै थियौँ एउटा सीधा रेखा घाँटीछिनासम्म । र, फेरि अर्को रेखा कोर्नु थियो पोखरासम्मको । २४ जुलाई २०१९ #राजमान डंगोल #राजेन्द्रमान डंगोल |
नवपुस्ता: कसैलाई स्टुडियोको चिन्ता, कसैलाई अद्भूत कविताको प्रतीक्षा: देशको भविष्य धेरैहदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । देश दुई महिनाभन्दा लामो समयदेखि लकडाउन (बन्दाबन्दी) छ । बन्दाबन्दीका कारण सबै आफ्नै घरमा थुनिएका छन् । कोरोना संक्रमणको अवस्था झन् झन् विकराल बन्दै गइरहेकै छ । तर यो विषम परिस्थितिमा पनि नेपाली साहित्य तथा कलाको क्षेत्र निदाइहालेको भने छैन । बरु कारोनाबाट कसरी बाहिर आउने र आफूलाई कसरी सुसंस्कृत र परिष्कृत बनाउने भन्ने कुराको साधनामा छ । यस्तो बेला नवपुस्तका उदीयमान साहित्यकार तथा कलाकारहरू के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । आज हामी यस स्तम्भमा साहित्य तथा कलामा संलग्न नवपुस्तालाई सुन्ने छौँः प्रज्वल अधिकारी: “ एउटा अद्भूत कविताका लागि तपस्या गरिरहेको छु” विश्वभरिका मानवलाई र मानव अस्तित्वलाई नै संकटमा पार्ने गरी फैलिरहेको कोरोना भाइरससँग जुध्न सरकारले बिगत दुई महिनादेखि लकडाउन गरेको छ । र, त्यही बन्दाबन्दीको नियमलाई पालना गर्दै म घरमै बसिरहेछु । सपनामा देख्दा पनि विपनामा मुटु कपाँउने माहामारीको यो चपेटामा पर्दा सुरुसुरुमा त मन एकदमै आत्तियो, केही गर्न मन लागेन । तर, जब दिनहरू बित्दै जान थाले, अलि बानी परेजस्तो भयो । र, सुरुसुरुका दिनमा कोरोनासम्बन्धी केही कविता पनि लेखेँ । यो दुई महिनाको बन्दाबन्दीमा कविता पढिरहे छु, कविता लेखिरहे छु । अरूले भनेका र बताएका सिद्धान्तका आधारमा भन्दा पनि आफ्नै मन र दिमागले कस्तो लेख भन्छ त्यसैलाई आत्मसाथ गर्दै कविताहरू लेखिरहेछु । बिहान उठेदेखि राति सपनामा पनि कविता कर्ममै रमाउने बानी परेकोले हो कि, के हो ? कवितासँग प्रेम परेको छ । र, यो समयमा म ऊसँगको डेटिङमा छु । भन्नेहरूले भन्छन्, दिनदिनै कविता लेख्नुहुन्छ, यस्तो पनि हुन्छ ? मलाई यो प्रश्न, कुनै किसानलाई दिनदिनै खेतमा जानुहुन्छ या कुनै सैनिकलाई सधैँ तयार रहनुहुन्छ ? भनेर सोध्नु जस्तो हो त्यस्तै लाग्छ । बन्दाबन्दी नहुँदा त हरेक दिनजसो एउटा कविता लेख्ने गर्दथेँ भने अहिले त दिनको दुई, तीन या पाँच वटासम्म लेख्छु । कहिले कहिले भने नलेखेको दिन पनि छ । एकैदिनमा एक दर्जन कविता लेखेको अनुभव पनि छ । अन्तिम समय…. मेरो जिन्दगीको ढोका बाहिर कोहि आइरहेछ र जोडजोडले ढोका ढक्ढक्याउदै छिट्टो बाहिर आउन धम्क्याईरहेछ छक्क छु म यो समय( कोहि कसैको घरमा पाहुना जान नहुने बेला उ किन मेरो जिन्दगीको दैलोमा छ ? किन उ मलाई बिना सुरक्षा लिन आएको छ र कहिल्लै नछुट्ने साथी बनाउछु भन्दै जबर्जस्ती अंगाल्न खोजिरहेछ ? आमा ! यो घडीमा मेरो अन्तिम ढुकढुकी छाम्न हस्याङ्फस्याङ गर्दै नआउनु अस्ति भर्खर मेरो बिहेमा आउदा त त्यस्तो गलेकी थियौ मेरो मुख हेर्न उति टाढाबाट आउँदा तिम्रा शरीर फतक्कै गल्छ गलेको शरीरले ढलेको छोरो कसरी हेर्नू ! तिम्रो चोलीमा हुकुम जमाएर बसेका- प्वालहरू तिम्रो धोतीमा अटेरी बनेर बसेको- गरिबी तिम्रो जिन्दगीसँग मजाक गरेर बसेको- अभाव यी सबैसँग लड्छु र यसपालीको तीजमा राम्रो ढाकाको चोलो, भरेको सारी र तिलहरी किनिदिन्छु सोचेथेँ सोचेथेँ( यसपालीको दशैंमा बा’को खुईलिएको तालुमा राम्रो ढाकाको टोपी पहिर्याईदिन्छु बा’को कोट लगाउने रहर पूरा गरिदिन्छु र कन्सिरीका फुलेका रौँहरूमा कालो लगाईदिन्छु सोचेको थिएँ ( हिँउदको पारिलो घाममा बाआमालाई आँगनमा सुताउछु र पालैपालो ढाडमा तेल घसिदिन्छु आमालाई काखमा सुताउछु र कपाल मुसारिदिन्छु बा’को दुखेको काँध मालिस गरिदिन्छु यी सबै कुरा सोचेको थिएँ भनेको भए – बाँचुन्जेल याद बनेर दुखाउथ्यो बाआमाको हृदय र पगाल्थ्यो आँखा सोच्दासोच्दै जिन्दगीको डीलमा उभिएर सोचिरहेछु- म उसँग गएको खबर लिएर को जान्छ होला गाउँ ? उसले गएर कसरि सुनाउला ? पहिला बालाई सुनाउला कि आमालाई ? यस्तो खवर सुनेर ढलेका बाआमाले कसरी काट्लान् बँचेको जिन्दगी ? जिद्दी गरेर मलाई हेर्न भनी नआउनु आमा… उसले मलाई कसैले छुन नहुने र, कसैले हेर्न नसक्ने बनाएर लगेको छ बरू पल्टाएर हेर्नू एल्बमहरू… छुनु धित मरुन्जेल त्यहीँ मलाई हेर त ! तिम्रो छोरो तिमीलाई हेरेर मुस्कुराईरहेको छ जो नवजात शिशु बनेर तिम्रो काखमा उफ्रिरहने छ, सधैं सधैं…. भन्नेहरूले अर्को के पनि भन्छन् भने, कति फेसबुकमा कविता पोस्ट गर्नुहुन्छ ? यो कुरालाई चैँ मानौँ र फेसबुकमा कविता कम्ती राखौँ पनि भन्छु तर लाग्छ जसको सहारा, जसमा आएका प्रशंसा र प्रेरणाले प्रेरित भएर यहाँसम्म आइपुगेँ, उसलाई हेला गर्नुहुँदैन । यो समयमा म कहिले फेसबुक लाइभ आएर विभिन्न कविहरूका कविता वाचन गरिरहेछु, कहिले विभिन्न प्रयोग गरेर कविता लेखेर फेसबुकमा राखिरहेछु, कहिले कुनै फेसबुक पेजमार्फत कविता वाचनमा जोडिएको छु, कहिले टिभी, एफएम र जूम मार्फत् कविता भनिरहेछु । कविता प्रतियोगिताहरूमा भाग लिइरहेछु । यसमा पनि अब के भाग लिनु भन्ने शुभचिन्तकहरू पनि हुनुहुन्छ । तर अचम्म चैं वहाँहरू नै कविता प्रतियोगिताहरूमा जज बसेको देख्दा मनमनै लाग्छ, कविता लेखेर कविता प्रतियोगितामा भाग लिनु अन्याय हो र ? कार बनाउने प्रतियोगितामा भाग लिएको भए पो अचम्म हुनु ! फेरि लाग्छ, कविता प्रतियोगितामा भाग लिने चैं कस्ले हो ? तर, बिस्तारै प्रतियोगितामा भाग नलिने मनसाय बनाउँदै छु । कविता लेख्नु र कविता सोच्नुभन्दा पर न अरूबेला सोच्थें न अहिले नै सोचेको छु । कति बेला झसङ्ग हुन्छु, दुनियाँ कोरोनाको त्रासमा छ ! मुटु चिसो हुन्छ । अनि यो समस्यासँग जुध्न आफ्ना, अन्य कविका कविताहरू पढ्छु, मन भुलाउछु । फेसबुकमा भने अलि बढी नै समय बिताइरहेछु । मेरो आठ महिनाको बच्चा भएको हुँदा म ऊसँग पनि निकै समय बिताइरहेकाे छु । उसलाई हेरेर पनि कविता कोरिरहेछु । घरको करेसामा तरकारीहरू लगाएको छु, तिनको हेरचाह गर्छु । हरेक दिन उठेर घरको सरसफाई गर्छु । गीत सुन्छु । फेसबुकमा आएका सबैजसो कविता पढ्छु । गुगलमा गएर अन्य कविका कविता पढ्छु । तर जे जे गरे पनि कविताकै बाटोमा यात्रा गरिरहेछु, र यो समयमा पनि अन्य अवस्थामा जस्तै कविता लेखिरहेछु, लेखिरहेछु, लेखिरहेछु…….. ……….. तर यौटा अद्भुत कविता भने लेख्न सकिरहेको छैन । र त्यसको लागि तपस्या गरिरहेछु । रोशन भण्डारी: “लक डाउनले फोटोग्राफीप्रतिको भोकलाई धेरै जगाएको र थोरै पूरा गराएको छ” लक डाउनका सुरुवाती दिनहरूमा मनमा बेचैनी थियो । अब के होला, कस्तो होला ? के गर्ने, कसो गर्ने ? मन स्थिर नभएपछि दिमागले पनि काम नगर्दाेरहेछ । त्यसैले पनि सुरुका दिनहरू आरामका बिताएँ । हेर्न चाहेका तर व्यस्तताले हेर्न नपाएका चलचित्र तथा सिरिजहरू हेरेँ । छिनछिनमै समाचार हेर्नुपर्ने, देश तथा अवस्थाका घटनाहरू हेर्दैमा पनि धेरै समय बितिगयो । आउट-ल किङ, महिला केन्द्रित भारतीय चलचित्र पिंक, सिरिजहरूमा गडलेस, फुटबलर कालोस टेभेजसँग सम्बन्धित आपाचीजस्ता राम्रा फिल्म र सिरिज पनि लक डाउनकै मौका छोपेर हेरेँ । त्यसका अलावा केही राम्रा डकुमेन्ट्रीहरू पनि हेरेँ । कलासँग सम्बन्धित मान्छे भएर पनि होला, मलाई पुस्तकसँग पनि प्रेम छ । यो समयमा द आर्ट अफ वार, द टर्मिनलजस्ता केही विदेशी पुस्तकहरू पनि पढेँ । तर लामो समयसम्म ल्यापटप हेर्न र किताब पढ्न पनि सकिदैन रहेछ । बाबा आफ्नो काममा, म आफ्नै, परिवारसँग लामो बात नमारेको र समय नबिताएको पनि लामो समय भइसके छ । अहिले त्यसको लागि समय मिलेको छ । अहिले अधिकांश समय बाबा, आमा र बहिनीसँग बिताउन पाइरहेको छु । छतमा केही साना बिरुवा र सागसब्जीहरू छन् । बाबा, ममीले गोडमेल गर्नुहुन्छ, म पानी हाल्छु । र, पानी हाल्नेभन्दा पनि त्यो माहोलमा रमाइरहेको छु । बोटबिरुवा भएको ठाउँमा पुतली, माहुरी आउँछन् । तिनीहरूसँग पनि बात मार्छु । फकाएर फोटो लिन्छु । यो समयले मेरो फोटोग्राफी प्रतिको भोकलाई धेरै जगाएको छ, थोरै पूरा गराएको छ । सामान्य अवस्थामा पनि म सामाजिक सञ्जालको पारखी नै हुँ । यो समयमा अझ धेरै समय बिताएँ । मलाई रमाइला खालका मिम तथा जानकारीमूलक सामग्री सेयर गर्न मन पर्छ, गरेँ । देशमा तथा विदेशमा भइरहेका कोरोनाबाहेक घटनाहरूलाई पनि गहिराइमा पुगेर अध्ययन गर्ने प्रयास पनि गरिरहेको छु । अब थोरै कामको कुरा गर्छु । यो समयमा मैले धेरै अग्रज तथा सहकर्मी आर्टिस्टहरूको काम गहिरेर अध्ययन गर्ने समय पनि पाएँ । नयाँ तथा पुराना आर्टिस्टहरूको काम गर्ने तरिकालाई अध्ययन गरेँ । गर्दैछु । लकडाउनका कारण घरबाट आफ्नो आर्ट स्टुडियोसम्म पनि जान पाएको छैन । तर पनि पछिल्लो समय कोरोनाभन्दा बाहिर आएर आफैँभित्र हराउने कोसिसचाहिँ गरिरहेको छु । सञ्जालमै सही, कहिले मनोभावना लेख्छु । चित्रकारिताका सामानहरू प्रायः स्टुडियोमै थुनियो । तर मलाई कलाबाट अलग भएर, चार दिवारमा थुनिएर बस्नु गाह्रो काम हो । त्यसैले कोठामै भएका सामग्रीको प्रयोगमा केही कोर्ने काम पनि गरिरहेको छु । कोरोना महामारीले मानिसलाई मनोवैज्ञानिक रूपमा कमजोर र कायल बनाएको छ । मैले चित्रमा उतार्ने भनेको पनि त्यही नै हो । यसका अलवा, जुम तथा अन्य प्रविधिको प्रयोगबाट कलाकारहरूको मिटिङ पनि भइरहेको छ । त्यहाँ आफ्नो अनुभव सेयर गर्ने र अरूको सुन्ने काम भइरहेको छ । कलाको क्षेत्रबाट समाजलाई कसरी सबल बनाउन सकिन्छ भन्ने कुरामा हामी बहसमा पनि छौँ । त्यसमा म पनि अग्रसरताका साथ लागेको छु । कविता पौडेलः “मानिसले गाउँको र स्थानीय उत्पादनको महत्व बुझिरहेका छन्” महिना जेठ भए पनि पानी भदौमा झैँ गरेर परिरहेको छ । त्यसो त वैशाखदेखि नै मौसमले यो साल फरक रूप देखाइरहेको छ । एकातिर कोरोना भाइरसको महामारी, अर्कातिर छिनमै परिवर्तन हुने मौसम, मन उसै उसै भयवित हुन्छ । तर पनि आशाका किरणहरू भने बलिरहँदा रहेछन् मनभित्र । काठमाडौँ बस्न थालेपछि घर आएर यतिका लामो समय बसिएको थिएन । लक डाउने सन्त्रासका साथमा परिवारसँग बस्ने एउटा अवसर पनि दियो । म मात्र होइन, अहिले धेरै मान्छेहरू गाउँ फर्किएका छन् । आजकल गाउँ युवा अनुहारले भरिभराउ छ । कोरोना त्रासले गाउँ पनि आक्रान्त छ । धेरैका काम तथा कार्य योजना ठप्प भएका छन् । स्कूल कलेज बन्द, बालबच्चाहरू घरमै छन् । बजार व्यवसाय पनि ओरालो लागेपछि मानिसले गाउँको र स्थानीय उत्पानदनको महत्व बुझिरहेका छन् । म भने यो लक डाउनमा नजिकबाट मेरो समाज र समाजको मानसिकतालाई नियालिरहेको छु । पहिले मलाई आख्यान पढ्न खुबै मन पर्थ्यो । ब्याच्लर्स पढ्दाको तीन चार वर्ष मैले थुप्रै आख्यान पढेँ । पाउलो कोएल्होको द अल्केमिस्टदेखि लिएर पल एस. वर्कको द गुड अर्थ, कुमार नगरकोटीको मिस्टिकादेखि लिएर नीलक कार्की निहरिकाको योगमायासम्म । तर पनि मैले लेख्ने हिम्मत भने कहिल्यै गर्न सकिनँ । मेरो लेखन भनेको कवितामा सीमित थियो । आजकलका मेरा दिनहरू तिनै पुराना किताबलाई प्रेम गर्दैमा बितिरहेका छन् । सरकारले अचनाक गरेको लक डाउनले नयाँ किताब लिने अवसर मिलेन । अस्ति मात्र किताबहरूको बीचमा एउटा डायरी भेटाएँ । आफ्नै । जहाँ पहिलो लेखेका कविताहरू रहेछन् । माया पलाएर आयो । बीचको समयमा खै किन हो, यिनीहरूलाई मैले चटक्कै बिर्सिएकी रहेछु । समाजको नजिक रहेर समाजलाई नै नियाल्दा कथा तथा उपन्यासका जस्ता पात्रहरू भेटाइरहेकी छु । लाग्दैछ, अनगिन्ती कथाहरू लेखिन बाँकी नै रहेछन् । थुप्रै कविताहरू कोरिन बाँकी नै रहेछन् । साँच्चै भन्दा, आजभोति मभित्रको लेखक जुर्मुराएको अनुभूति गर्छु । जसले मलाई घच्घचाइरहेको छ । केहीदिन यता तिनै समाजका पात्रहरूका दशा तथा मनोदशालाई संगालेर लामा छोटा कथाहरू लेख्ने प्रयास गर्दैछु । #नवपुस्ता |
माफ गरिदेऊ बुद्ध: मलाई माफ गरिदेऊ बुद्ध आज पनि म तिमीलाई नै सम्झिरहेछु मैले सकिनँ कोही अर्को बुद्ध जन्माउन जो तिमीलाइ बिर्सन सकुँ एक लामो शताब्दीदेखि तिम्रै रटान लगाएर बसेको छु । सायद तिमीले भनेका कुरा मैले बुझेको भए आज यो पृथ्वीको आँगनमा करोडौं बुद्धहरू नाचिरहेका हुन्थे होला प्रेमले , आनन्दले, शून्यतामा मग्न भएर शान्तिले बसिरहेका हुन्थे होला । तिमीले विवेक , स्वतन्त्रता, शब्दको शक्ति बतायौ आत्मा, चेतना र जन्मको कारण खुलायौ दुःख र दुःखको कारण सम्झायौ प्रेमको, शान्ति र आनन्दको अभ्यास सिकायौ तिमीले आफूलाई छोडेर कसै मूर्ति पुजाको व्यर्थथा बोध गरायौ । त्यसको बदलामा मैले के गरेँ प्रेमको दमन गरेको छु अहंकारको बृद्धि गरेको छु आफ्नै छिमेकीको डरले हतियार बनाए सम्प्रदाय बनाएको छु । त कि लड्न सकुँ अर्कोसँग मैले ठूला गगनचुम्बी महल बनाएर आफूलाई बन्धक बनाएँ मैले सबै भन्दा ठूला तिम्रै मूर्ति बनाएको छु त्यसैमा व्यापार गरेको छु मर्म नबुझी केवल सिद्धान्त र वादमा जकडिएको छु । म आज रुग्ण भएको छु , आज पागल भएको छु । हजारौ हजार बर्स सम्म मा पनि म केवल एक राम सम्झिरहेछु एक कृष्ण सम्झिरहेछु एक बुद्ध सम्झिरहेछु एक येशु सम्झिरहेछु एक अल्लाह सम्झिरहेछु । सायद सबैले भन्न खोजेको कुरो मैले आफैमा विचार अनुभव गरेको भए आज मात्र दुई चार जनालाई सम्झिरहनु पर्ने कुनै आवश्यक थिएन अहिले सम्म यो धर्ती प्रेमले, आनन्दले, शान्तिले बुद्ध मनहरूले भरिएको हुने थियो । मैले तिमिलाई बिर्सन सकिनँ मलाई माफ गरिदेऊ बुद्ध । #बुद्ध #माफ गरिदेऊ बुद्ध |
कमलको गजल: कि सरकार मा हुनुपर्यो, कि सरकारी जगिरे नत्र जीवन अभावमा हुन्छ नेपालमा ।। लुट्न पनि नजान्ने, ढाट्न पनि नजान्ने सोझा साझालाई कसले सुन्छ नेपालमा ।। धन भन्दा विद्या ठूलो, यो त भन्ने कुरा न हो भ्रष्ट लुटेरा छाडी अरूलाई,कस्ले चुन्छ नेपालमा ।। धमिलो पानीमा माछा मार्ने, बानी परेका धेरै छन् जसरी पनि कमाउने धून छ नेपालमा ।। विदेशिनु कसको रहर हुन्छ र बाध्यताले मार्छ सदियाँै देखि पितापुर्खाको खुन छ नेपालमा ।। #कमलको गजल |
मूर्ख तिमी: उसले तिमीलाई किनेर शक्तिमा पुगेको छ त्यसैले उसले तिमीलाई प्रयोग गरिरहन्छ। तिमीले कहिले पनि आत्मनिर्भर हुने प्रयास नै गरेनौ त्यसैले उसले तिमीलाई प्रयोग गरिरहन्छ। प्रक्रिया विपरीत तिमी आफ्नो या आफन्तको सरुवा या बढुवा गर्न निर्लज्ज उसको पछि लागिरह्यौ लाज पचाएर तिमी छोटो बाटोबाट धनी हुने उपायको लागि तल्लिन रह्यौ त्यसैले उसले तिमीलाई प्रयोग गरिरहन्छ। कैले मजदुर दिवसको नाममा कैले भूकम्प राहत, कैले कोरोना राहत विविध निहुँमा डसी रहन्छ यद्यपि, तिमी निसन्देह उसकै अघिपछि घुमिरहन्छौ त्यसैले त उसले तिमीलाई प्रयोग गरिरहन्छ। देशभित्र भए पनि बाहिर भए पनि खान पाए पनि नपाए पनि सकी-नसकी तिमीले उसलाई चन्दा या विविध रुपले, सहयोग गरिरहन्छौ अनि ऊ तिम्रै पसिनाको कमाइमा मोजमस्ती गरिरहन्छ तर पनि तिमी केही बोल्दैनौ, जसले उसलाई तिम्रो मौन समर्थन मिलिरहन्छ त्यसैले त उसले तिमीलाई प्रयोग गरिरहन्छ। एउटा छिमेकीले पालैपालो राष्ट्रको अस्मिता लुटिरहन्छ, अर्को छिमेकीका नागरिक सुरक्षाको संवेदनशील ठाउँमा खुलेआम सुरक्षाकर्मीमाथि निर्भिक जाइलाग्छन् तर पनि तिमी केही बोल्दैनौ, त्यसैले त सांसारिक महामारीमा पनि उसले तिम्रो जीवनसँग खेलबाड गरिरहन्छ अब यस्तै हो भने ऊ अघिल्लो दिन सुतेर भोलिपल्ट उठ्दा उसको भूमि नै परिवर्तन नहोला भन्न सकिन्न, त्यै पनि उसलाई केही फरक पर्ने छैन, किनकि उसको प्राथमिकतामा राष्ट्रियता जनताको मर्म, राष्ट्रिय हित भन्दा सत्ताको स्वार्थ विशेषतः छ। तिम्रो मौनता र स्वार्थमाथि बुई चढेर उसले विस्तारै देश बेच्दै छ भयो ! अब त अति भयो!! तिमी अब निर्भिक बन आत्मविश्वासी बन र उसको हरेक गलत गतिविधिमा डटेर उसलाई परास्त गरी आफ्नो राष्ट्र र राष्ट्रियता जोगाउन अघि सर। तिमी नेपाली हौ भनेर एक मन मुटु भएर सोच अनि तिमी पर निर्भर हैन, आत्मनिर्भर बन, आत्म निर्भर बन । #नरेन्द्र बस्नेत |
कोरोनाको पराजय: लक डाउन — लकडाउन — लक डाउन सबैतिर छ लकडाउन । पसल, गाडी, स्कुल, कलेज, कलकारखाना सबै सटडाउन छ । कसरी आयो यत्रो हाहाकार मच्याउने आँधीबेरी ! धेरैजसो मानिसहरू घरभित्र बन्दी हुन बाध्य छन् । घर नहुनेहरू वा अस्थायी जागिर हुनेहरू आफ्नो घर फर्कन सडकमा लामबद्ध भएर भोकै र प्यासै हिँडिरहेका छन् । कोरोना कहर जताततै छ । गाउँदेखि शहरसम्म, देशदेखि महादेशसम्म यसले आफ्नो विध्वसकारी चरित्र देखाइरहेको छ । लक डाउन भएको झण्डै डेढ महिना नाघिसकेको छ । अब केही हल्का होला भन्दाभन्दै नेपालमा कोरोनाबाट सुत्केरीको मृत्यु भएपछि अझ त्रास बढ्दै गएको छ । मन अशान्त छ, छटपटी छ, बेचैन छ । किन हो मास्तिष्कले के सोचिरहेछ थाहा नै पाउँदिनँ । कहिल्यै त्यसै रिसाउन मन लाग्छ । कहिले कहाँ जाउँ, कहाँ जाउँ हुन्छ । आजकल त बिहान तीन बजे निद्रा टुट्छ । बिहान केही समय योग गरेर चिया नास्ता खाएर फेरि खाना पकाउन सुरु गरिहाल्छु । जेठो छोरा आइपुग्छ किचनमा ल्यापटप बोकेर । ऊ भन्छ, ‘मम्मी चिया खाऊँ न ।’ मलाई झनक्क रिस उठ्छ । म भन्छु, ‘म अब सक्दिनँ आफैँ पकाएर खा । त्यही एउटा ठाँडोमा झुन्डिएको छ झुन्डिएको छ । बुहारी लिएर आइज । घरधन्दा हेर्छे भनेको नि सुन्नु छैन ।’ छोरा नम्र भएर भन्छ, ‘उसलाई अहिले बिहे गर्नु छैन रे मम्मी ! उसको करिअर बिग्रन्छ रे ! जागिर छ फेरि पढदै छे ।’ ‘हो उसको करिअर बिग्रन्छ । म बूढो हड्डी खियाइरहुँ ? यो घरधन्दा भन्ने कुरा सानो हो ? दिनभरि यही भान्सामा बित्छ मेरो । अझ लकडाउन भएदेखि त यो घरको भान्से बज्यैजस्ती भा छु म । त्यत्रो फेसन डिजाइनर मान्छे, यो घरको सुसेधन्दाले समय खान्छ । फेरि यो कोराना असत्तीले त्यत्रो व्यापार डामाडोल हुने भो । पसलको भाडा कसरी तिर्ने होला ? ती बुटिकका फेसनदार लुगा किन्न को आउला ? बिहेको सिजन थियो, कति कमाइ हुन्थ्यो, सब हावामा उडेर गयो । अब कसले किन्छ त्यत्रा महँगा लुगा ? मान्छेलाई खानु र बाँच्न नै धौधौ हुने भयो,’ भनेर छोरालाई भन्न मन थियो तर भन्न सकिनँ । यी वाक्य भित्रभित्रै दबिए तर मुखबाट चाहिँ अर्कै वाक्य निस्कियो । ‘तिमीहरू बाउछोरा दिनभर तास खेलेर, लुँडो खेलेर, टिभी हेरेर बस्छौ, मलाई काम सघाए पनि हुने नि !’ प्राय शान्त रहने म अलिक रिसाएर बोलेको सुनेर छोरो नम्र हुँदै भन्न थाल्छ, ‘मम्मी, हजुर किन रिसाउनु भएको ? काम गर्ने फूलमाया छँदैछे नि । ऊ सबै काम गर्छे त ।’ किन हो मलाई निकै रिस उठिरहेको थियो । म अलिक चर्को स्वरमा बोल्छु, ‘हो तिमेरु काम गर्ने छ भनेर सोच्छौ हैन ? उसलाई पनि त अह्राउन पर्यो । फेरि उसको घरमा केटाकेटी स्कुल जाँदैनन् । घर छिट्टै पुग्न परो । अनि यो घरमा कति काम हुन्छ तिमीहरूले हिसाब गरेका छौ ? बरु नितालाई खुरुक्क बुहारी बनाएर लिएर आइहाल । मलाई कामको बोझ कम हुन्छ । कति रिलेशनसिपमा बस्छौ ?’ ‘मम्मी रिल्याक्स । अरू दुई वर्ष हेरौँ न, उसको प्रमोसन हुन्छ अनि बिहे गरुँला । प्राइभेट बैंकमा काममा कति खटाउँछ । म त अहिले घरव्यवहार हेर्न सक्दिनँ भन्छे ।’ ‘अहिलेका केटीहरू हामी जस्ता हुन् र ? मारे पाप, पाले पुण्य भनेर तील जौ समाएर क्रिया सारेर दिएका हुन् । काँचो माटोजस्तो थियो दिमाग, जे सिकाए नि सिक्ने । विरोध कहिल्यै गर्न नहुने । जे भने पनि ज्यू, हजुर, हवस् बाहेक केही बोल्यो कि घरका सबैका आँखा पोल्ने, मन पोल्ने । कताबाट आफूले अनेकौँ दुःख हण्डर खाएर फेसन डिजाइन सिकियो । नत्र त उही हो उनीहरूको सम्पत्ति खान परेको भए आज कुन हालत भइसक्थ्यो । अहिलेका केटीहरू हामीजस्ता हुन् र ? कति धेरै कुरा सोच्ने भइसके । कति परपक्व भइसके । रोमान्स गर्ने केटो पाएकै छ । घरमा बाउआमाले सबै कुरा ठीक्क पारदिएकै छन् । आफैँ स्वावलम्बी बनेका छन् । आफैँ निर्णय गर्न सक्ने भएका छन् । यस्तो पो जिन्दगी त ! हाम्रो जस्तो अभागी जिन्दगी हो र ? हामी माथिका पुस्ता बाउआमाका सारा आदर्श र संस्कार बोकेर हिँडिदिनु पर्ने अनि व्यवहारमा पनि उतार्नु पर्ने । कतै दायाँबायाँ गर्न नहुने । यति गर्दा पनि कहिल्यै सासूससुरा बाउआमालाई खुसी पार्न सकिएन । हामी मुनिका पुस्ता आफ्ना छोराछोरीको पनि कुरा सुनिदिनुपर्ने । उनीहरूको साइकोलोजी बुझेर व्यवहार गर्नुपर्ने । उनीहरू भने खाली आधुनिकतामा रमाउन चाहने । हाम्रा भावना, विचार र आर्दशका कुरा पटक्कै नसुन्ने । यी दुई पुस्ताका बीचका हामी कति धेरै चेपुवामा परेर निसास्सिएका हुन्छौँ । हामी माथिका पुस्तालाई पनि सधैँ खुसी बनाउनमा नै हाम्रो जिन्दगी बित्यो अनि मुनिका सन्तानका मनोभावना विचार र धारणमा आफूलाई ढाल्दै बित्यो । कति अभागी हाम्रो पुस्ता त ?’ मनमा यिनै कुरा खेलिरह्यो । छोरालाई भन्छु भन्छु भनेर सोच्दा सोच्दै मुखबाट त अर्कै कुरा पो निस्कियो । आजकल किन हो मलाई यस्तै हुन्छ । चित्त नबुझेको एउटा कुरा भन्छु भन्यो मुखबाट अर्कै कुरा निस्किन्छ । यो बुढेसकालको लक्षण हो कि कतै कोरोनाको असर पो हो कि ! एउटा कुरा भन्छु भनेर सोच्छु दिमाग अन्तै मोडिएको हुन्छ । ‘खै भाइ के गर्दैछ ? उठेको छैन ? खाजा पकायो त्यसै हुन्छ । खाना पकायो त्यसै हुन्छ । खाने होइन । के भा छ त्यसलाई हिजो आज ?’ ‘मम्मी खै त्यसलाई लभ ट्रेजडी पर्यो रे ! सलिनासँग ब्रेकअप भयो रे ! सिरियस छ । खान मन लाग्दैन भन्छ । बेलुका पनि म एक्लै खाएर सुत्न गएँ । हजुर सम्झाउनु है, त्यसलाई ।’ ‘यत्रो तन्नेरी छोरालाई कसरी सम्झाउनु ? यस्ता लुगा फेरेजस्तो केटाले केटी फेर्ने केटीले केटा फेर्नेलाई पनि केको लभ ट्रेजडी पर्छ । किन सिरियस हुनु ? अहिले बेला ने यस्तै छ । सबैलाई टेन्सन छ । बुझनु पर्दैन ?’ म अलिक झर्कोफर्को गरेको मेरो श्रीमानले सुनिराख्नु भएको थियो । उहाँ हामी भएठाउँमा आएर भन्नुभयो, ‘आज अलिक घाम लाग्ला जस्तो छ । काठमाडौँमा पानी नपरेको धेरै भयो । गर्मी बढ्ला जस्तो छ ।’ बाउछोरा आँखा आँखाले इशारा गर्दै हाँस्न थाले । छोराले भन्यो, ‘हो बुवा, आज त आठतीस डिग्री होला जस्तै छ । चौतीस त पक्कै हुन्छ होला ।’ उनीहरूको कुरामा मेरो ध्यान मोडिएको बहाना गर्दै बाहिर हेर्छु । मेरो ध्यान मोडिन्छ । प्रायः घरमा यस्तो डिस्कस हुँदा मेरो ध्यान अन्तै मोड्न मेरो श्रीमान यस्तै चलाखी गर्नु हुन्छ । म पनि बुझेर पनि नबुझेझैँ गर्छु । बुझलाई राम्रोसँग चबाएर निलिदिन्छु अनि अबुझ उग्राइदिन्छु । मेरो अबुझार्ई उग्राइ देखेर आफ्नो मिसन सफल भएकोमा उहाँ खुसी मान्नुहुन्छ । यो बुझाइ र अबुझाइको भ्रममा हाम्रो जीवनको घामछाँया वर्षौंदेखि चलिआएको छ । यही घामछाँयाले मेरो जीवनमा लागेको इन्द्रेणी रङलाई खुसी सम्झेर बाँच्नु नै म सिमोन द वुभरको दोस्रो दर्जाको नागरिकको नियति बनेको छ । मलाई दिक्क लाग्छ । हेर्छु बाहिर घाम मजाले लागेको छ । ओहो ! भिटामिन डि कम भएको मान्छेले बिहानको घाममा बस्दा राम्रो हुन्छ भनेको सम्झन्छु । फेरि भिटामिन डि कम हुनेलाई कोरानाले अलिक सिरियस पारेको छ रे भन्ने विदेशको समाचार सम्झन्छु । बरु घाममा बसेर बोडी केलाउनु पर्यो, बिनासित्तिको छोरासँगको विवादलाई बिट मार्दै म घाममा बस्छु । त्यही बेला श्रीमान् आउनुहुन्छ अनि भन्नुहुन्छ, ‘आमाको कल थियो मेसेन्जरमा ।’ ‘ए ऽ अनि काटिदिनु भयो ?’ ‘काटिदिएको होइन आउँदा आउँदा यहाँ नेट ने टिपेन आफैँ काटियो ।’ ‘भैगो म खाना पकाएपछि कल गरुँला ।’ म विगतमा आमासँग भएको यात्राको घामपानीमा रुझ्न पुग्छु । आमा भन्ने गर्नुहुन्थ्यो, ‘जेठीबाठी छोरी होस् छोरी । तैँले नगरे कसले गर्छ ? तेरा भाइबहिनी सानै छन्, बाउ पनि काम गर्न नसक्ने भए । जोरीपारीको अघि के गर्छस् ? यसो औषधि उपचार गरेर पठाइदे छोरी । काठमाडौँमा राम्रा डाक्टर छन् भन्छन् । हस्पिटल पनि पनि राम्रो छ रे ।’ यो मेरो जीवनको बर्खे झरी थियो, मैले कमाउन थालेपछिको । आर्थिक अभाव र अन्य समस्याले जति चुटे पनि मैले यो बर्खेझरी खेप्तै बाउलाई उपचार गरेर पठाइदिएँ । केही समयपछि आमाको फेरि फोन आयो यसरी, ‘छोरी के गर्छस्, भाइलाई क्याम्पस पढाउन सकिएन । आम्दानी केही छैन । यता बिग्रन्छ कि भन्ने डर उस्तै छ । उसका साथीसंगत राम्रो छैन । उतै लगेर पढाइदिइस् भने तलाई ठूलो धर्म हुन्छ । तँ छोरी हैन, छोरो भएर जन्मेकी रहिछस् । सकेसम्म जुवाइँसँग सल्लाह गरेर यति गरिदे छोरी । बाउआमाको भारबाट मुक्त हुन्छेस् ।’ यो मेरो लागि हिउँदे झरी थियो । काठमाडौँको महँगी र अभावमा मेरो जीवन हिउँदको चिसो सिरेटोलेझैँ कठयाङ्याग्रिए पनि सहनै पर्ने थियो । त्यसमाथि भाइको सम्पूर्ण लालनपालन र पढाइ खर्च व्यहोर्नुपर्दा हिउँदको चिसोमा झरी परेर इन्तु न चिन्तु बनेको थियो मेरो जीवन । यो झरीमा रुझ्दै मैले भाइलाई डिप्लोसम्मको सिँढी उक्लाइदिएँ । पढाइ सकेपछि भाइले अमेरिका जाने इच्छा गर्यो । उसको इच्छालाई मार्ने वा बदल्ने कुनै अस्त्र नै हामीले पाउन सकेनौँ । अन्तमा काठमाडौँमा साह्रै दुःख गरेर जोडेको सानो घडेरी बेचेर भए पनि मैले भाइलाई अमेरिका पठाउने विचार गरेँ । नभन्दै योजना सफल भयो । आमा-बुवा, भाइहरू साह्रै खुसी भए । म भने मेरो मुटुको टुक्राझैँ कति दुःख गरेर जोडेको जमिन बेच्नु परेकोमो दुःखी थिएँ । मेरा दुई छोरा पनि हुर्कंदै थिए । म काठमाडौँमा चिटिक्क परेको सानो सुन्दर घरको सपना देख्न थालेकी थिएँ । मेरा सपना दिनमा देखिने सपना नभई रातमा मात्र देखिने सपनामा सीमित हुन थाल्यो । भाइले अमेरिका गएर पैसा पठाउला अनि घर बनाउँला भनेर रातमा पनि नसुती नसुती देखेको सपना दिनपर दिन टुक्रिदै र छरिदै जान थाल्यो । म तिनलाई समेटन र बटुल्न नसक्ने अवस्थामा थिए । त्यो सपना साकार हुने सपना नभएर सुत्न नदिने सपना भएर निस्कियो । मेरो भावना र चाहना बुझेर मेरी आमा मेरो आत्मालाई मर्म हुने गरी लक्ष्यभेदी वाण हान्दै भन्नुहुन्थ्यो, ‘भाइ अमेरिका गएको छ । पैसा पठाइहाल्छ नि, अनि एउटा घर बनाउनु । तिमीहरूले धेरै गर्यौ माइतीका लागि । तँ छोरी हैन छोरा भएर जन्मेको रहिछस् । बाउआमाको जन्म दिएको भार तिरिस् छोरी तैँले । तेरा दाजुहरू मरेजस्ता भए । उनीहरू खेती किसानी गर्ने मान्छे, खासै पैसा हुँदैन । भए गर्थे होलान् । भाइलाइ पढाइबढाइ गरेर विदेश पठाइस् । तिमीहरू नै बाउआमा हौ । मैले भाइलाई पनि भनेको छु, हामीलाई केही गर्न पदैन । खानलाउन छँदैछ । दिदी भेनाजूलाई गर्नु । उनीहरूले कति दुःख गरेर हुर्काएका छन् । आमाको यो लक्ष्यभेदी वाँण अर्जुनको कहिल्यै हुन सकेन । त्यो वाणले कहिल्यै लक्ष्य पूरा गर्न सकेन । म मनमनै भन्थेँ ‘भोलि छोरीले दुःख पाउँछे अनि नातिनातिनासहित स्याहार गर्नुपर्छ भनेर मारे पाप पाले पुण्य भनेर क्रिया सारेर दिने हाम्रो हिन्दु संस्कृतिमा छोरीको कमाइ खाने बेलामा चाहिँ तँ नै छोरा होस् भन्दै छोरीको आश गर्छन् बाउआमा । कस्तो संस्कार हो ? पैसाको लागि त संस्कारको अर्थ जता लाँदा नि हुने रहेछ नि ! छोरीलाई नि छोरासरह हुर्काए भैहाल्यो नि, किन क्रिया सार्नु पर्यो र ? छोरा र छोरी एउटै हो भनेर संस्कारमा रहेको कुरीति सच्याउन मिल्दैन र ? हिन्दुधर्ममा भएका यस्ता कति कुप्रथा कुरीतिहरू समयअुनसार सच्चिदै गएका नै हुन् त ? त्यसो छोरीलाई नै छोरासरह अश दिने र क्रिया गर्ने अधिकार किन दिँदैन हाम्रो संस्कारले ? म यस्तै कुराले विचलित हुने गर्दथेँ । एक वर्ष दुई वर्ष गर्दै भाइ अमेरिका गएको पाँच वर्ष भयो तर उसले पैसा पठाउन सकेन । म नराम्ररी विचलित बनेँ । भाइ अमेरिका जाँदा बेचेको जमिनको भाउ दस गुनाले वृद्धि भएको थियो । अब त मैले किन्न सक्ने अवस्था नै थिएन । एक दिन त भाइले पैसा पठाउला भन्ने झिनो आशा लिएर बाँचेकी थिएँ र बाँचिरहेकी छु । एकछिन पछि जेठो छोरा ‘मम्मी मम्मी’ भन्दै चिच्याउँदै आयो । ‘किन के भयो ?’ मेरो प्रश्न थियो । ‘आमाले फोन गर्नुभएको छ मेरो मोबाइलमा । अघि मेसेन्जरमा लागेन भनेर भन्दै हुनुहुन्थ्यो ।’ (ऊ मेरो आमालाई आमा नै भन्दथ्यो ) ‘ये खै ले बोल्छु म अघि पनि गर्नुभएको थियो रे ।’ ‘हैलो … आमा दर्शन.. हजुर ऽ अँ ऽ हजुर ऽ’ ‘के रे ? फोन लागेन रे ? ये ल..ल म गर्छु । अनि तपाईंलाई गरुँला । पीर नमान्नुस् ।’ यति भनेर मैले फोन राखिदिएँ । मेरो आँखाभरि आँसु भरियो । श्रीमानले सोध्नुभयो, ‘के भयो ?’ ‘विपिनको फोन लागेन रे, आमाले भन्नुभएको अब के गर्ने होला ?’ ‘अनि तिमी किन रोएकी त ?’ ‘न रोएर के गर्नु ? हेर यो कस्तो आपत आइपर्यो । मेरो बूढीआमालाई कत्रो चिन्ता पर्यो । विपिनलाई ज्वरो आएको छ भन्थ्यो रे ! अमेरिकामा मान्छे मरेको मरै छन् । यो ट्रम्पपनि कस्तो मान्छे रहेछ ? उसको अर्थव्यवस्था बिग्रन्छ भनेर जति मान्छे मरे नि मरोस् भन्छ । उसका लागि त मान्छेको जीवनको कुनै मूल्य रहेनछ । सुरुमा उसैलाई कोरोना लागे पनि हुने अनि थाहा पाउँथ्यो, मान्छे ज्यानको महत्त्व कति हुन्छ भनेर । विपिनलाई केही भइहाल्यो भने के गर्ने होला ? लौन तपाईंका एनआरएनका कोही चिनेका मानिस छन् भने हारगुहार गर्न पर्यो ।’ मेरो कुराले मेरो श्रीमानलाई अलिकति पनि छोएको थिएन । ‘हैन तपाईलाई केही हुँदैन ? जस्तै भा नि आफूले बाउआमासरह हुर्काएर पढाएर बढाएको साला हो । साला हरामी नै त होइन नि ! अलिकति माया त हुनुपर्ने हो । कुनै चिन्ता पीर देख्दिनँ ।’ ‘मलाई त तिमीलाई देख्दा पो ताज्जुव लाग्छ । हिजोसम्म मैले यति गरेँ उति गरेँ उसले मलाई केही गरेन । केही हेरेन । मेरो गुण सम्झेन भन्थ्यौ । अहिले फेरि यो चिन्ता कहाँबाट आयो त ?’ मैले भनेँ, ‘हो, हामी महिला र तपाईंहरू पुरुषमा यही कुराको फरक छ । तपाईंहरू जे कुरा पनि मनमा राख्ने अनि गुन्ने । केही नभन्ने अनि जे कुरालाई पनि जहिले पनि पैसामा तौलने । यस्ता दुःखले हामीलाई मात्र पिरोल्ने । सारा दुःखको ठेक्का लिइदिने त हामी त हौँ नि ? तीजमा भोकभोकै बसेर तपाईंहरूको आयु लामो पारिदिने हामी । भाइटीकामा दाजुभाइको पूजा गरेर आयु र सुस्वास्थ्यको कामना गरिदिने हामी नै त हौँ नि ! अनि तपाईंहरूलाई किन पीर लिन पर्यो र हैन ? जे भए नि भाइ हो ! मैले छोराजस्तै गरी हुर्काएकी हुँ । पैसा पठाएन त के भो ? मेरो मायालाई पैसासँग त तौलन सक्दिनँ नि म । पैसाले उसको मायालाई विस्थापित गर्न त सक्दिन नि ! त्यो माया राख्ने मेरो हृदयमा अर्कै कुना छ । जहाँ समवेदनाको पर्खाल लगाइएको छ, अनि मीठामीठा भावनाले लिपपोत गरिएको छ । तपाईंहरू व्यापारिक लेनदेन मात्र सोच्नुहुन्छ । त्यसलाई पगारेर माया, प्रेम, संवेदनामा कहिले बदल्न सक्नु हुन्न ।’ मेरो कुरा सुनेर मेरो श्रीमान चुप लाग्नुभयो । किनकि म मेरो भाइको मायामा निस्सासिने गरी डुबेकी थिएँ । यो कुरा उहाँले थाहा पाइसक्नुभएको थियो । भाइको मायाले मलाई भित्रसम्म दुखाउँछ । खान मन लाग्दैन । अमेरिकामा कोरोनाले मान्छेहरू कोठामा सुतेको ठाउँमा नै मरिराखेका छन् । कतिपय कागजपत्र नभएको अवस्थामा लुकेर बस्नेलाई झन् गाह्रो छ रे ! टिभीमा मानिसको लाससम्म गाड्न नभ्याएको दृश्यले मेरो मनमा दश रेक्टरको भुकम्प जान्छ । के गरौँ ? कसो गरौँ हुन्छ । हे भगवान् ! यो कस्तो अवस्था आयो ? संसारलाई नै आफ्नो शक्तिले थरथर कमाउने अमेरिका अहिले सानो जीवाणुसँग आफैँ कामिरहेको छ । विज्ञानमा यस्तो गरियो उस्तो गरियो भन्छन् विकसित देशहरू खै यसको औषधि पत्ता लगाउन सकेको ? हामी त नाथे मान्छे नै रहेछौँ, खै को एकजना कविले ‘हामी त नाथे मान्छे’ भन्दै कविता लेखेको देखेकी थिएँ त्यस्तै भइसक्यो । कत्रा कत्रा विज्ञानको चमत्कारले अचम्म पार्ने कुराहरू गरेको थियो मान्छेले । कति घमण्ड गरेको थियो मान्छेले तर अहिले खै के गर्न सक्यो र ? अहिले त एउटा जाबो आँखाले नदेख्ने जीवाणुसँग डराएर घरमा लुकी बस्नुपरेको छ । भाइलाई सम्पर्क गरेँ, हुन सकेन । आमाले भन्नुभएको थियो, ‘उसलाई ज्वरो आइराखेको छ रे ! हस्पिटलमा पनि भर्ना लिन मानेन रे ! साधारण ज्वरोको औषधि दिएर पठाएछ छोरी, के हुने हो ? खाली यति मानिस मरे उति मरे भनेको मात्र सुन्छु । के कसरी हुन्छ त्यहाँ कोही नेपाली छन् कि खोजखबर गर्नु पर्यो छोरी ।’ हो त साँच्ची, आमाले भनेजस्तै त्यता कोही नेपाली पो छन् कि चिनेका ! मेरी एकजना साथी टेक्सासमा नै बस्छु भन्छे । त्यसलाई सोधीखोजी गर्न पर्यो। आखिर विदेशमा नेपालीको सहयोगी अरू को हुन्छ र ? आफ्नै नेपाली दाजुभाइ त हो नि ! गरिराखेका पनि छन् । तर खै आफूलाई त उसको सम्पर्क ठेगाना पनि थाहा छैन । अब त पशुपतिनाथको भरोसा पर्नुसिवाय केही रहेन । म रातदिन भाइको सम्झनामा डुब्न थालेँ । मेरो घर बनाउने सपनालाई त भाइको मायाको सम्झनाले धुलीपिठी पारिदियो । मलाई मेरो भाइ बाँचेर आए अरू केही चाहिँदैन भनेजस्तै भयो । कति पटक भाइसँग सम्पर्क गरेँ, सम्पर्क हुन सकेन । हप्तापछि भाइको मेल आयो । भाइको यो समाचारको पर्खाइ मलाई वर्षौंझैँ लागेको थियो । मेल यस प्रकारको थियोः आदरणीय दिदी भेनाजु नमस्कार म भाइ विपिनको ढोग छ । दिदी धेरै दिनपछि सम्पर्क गरिरा’छु । मलाई माफ गरिदिनु होला । मैले तपाईंहरूको मन दुखाएको छु । मलाई यति धेरै दुःख गरेर बुबाआमाले भन्दा नि धेरै माया गरेर हुर्काउन भयो । पढाइलेखाइ गरेर अमेरिका पठाउन मनग्गे खर्च गर्नुभयो । मैले तपाईंहरूको गुणको बदला केही गर्न सकिनँ । म आउँदा लागेका खर्चसम्म तिर्न सकिनँ । मलाई माफ गर्नु होला । म सोच्थेँ, अमेरिकामा डलर फल्छ होला तर त्यति सजिलो हुँदैन रहेछ । यहाँ आएर यहाँको नियमकानुन बुझ्नुपर्ने हुन्छ । केलजको फि बुझाउन, बस्नखानको लागि अपार्टमेन्टको खर्च जुटाउँदा जुटाउँदै जीवनदेखि नै हरेश लागेर आउँदो रहेछ । मेरा कतिपय साथीहरूले यो टेन्सन खप्न नसकेर सुसाइड गरे । मैले जसोतसो आफूलाई सम्हाल्दै लगेँ । एकदिन त सफल हुन्छु र तपाईंको सपनालाई साकार पार्छु भन्ने सोचेको थिएँ र सोचिराखेको छु । म पढाइमा राम्रो हुन सकिनँ, मैले राम्रो जागिर पनि पाउन सकिनँ । मैले भिसा थप्नको लागि पुनः कलेज एडमिसन गरेँ । खर्च बढ्दै गयो । काम पाउन पनि पहिलाको जस्तो सजिलो थिएन । म नेपाल फर्कन पनि सक्दिनथेँ । अब मैले अमेरिकामा नै बस्ने उपाय निकाल्न पर्यो । यसका लागि के गर्ने भनेर साथीभाइसँग सरसल्लाह लिएँ । उनीहरूले डिभी परेको केटीसँग विवाह गर्ने सल्लाह दिए । नभन्दै डिभी परेकी निशासँग मैले विवाह गरेँ तर यो कुरा गोप्य नै राखेँ । विवाह गर्नअघि हामीबीच एउटा सम्झौता भएको थियो । त्यो के भने, मेरो कमाइमा उसको अधिकार हुने । नभन्दै मैले कमाएको जति सबै उसलाई बुझाउनुपर्दथ्यो । पहिला कलेजलाई खानबस्नलाई ठीक्क हुन्थ्यो भने अब मैले सबै रकम निशाको हातमा दिनुपर्दथ्यो । मैले यो शर्त स्वीकार गरेको थिएँ । केही समयपछि आफैँ सबै ठीक हुनेछ भन्ने सोचेर यो गरेको थिएँ । तपाईंहरूलाई खुसी दिन नसकेको पीडाले म भित्रभित्रै जल्दथेँ । यो कुरा म निशालाई सुनाउन धेरै चोटि प्रयास गरेँ तर सकिनँ । बिस्तारै सबै ठीक होला भन्ने लागेको थियो । अन्तिममा मैले एकदिन उसलाई यो कुरा सुनाएँ । उसले यसलाई सहज रुपमा लिन सकिन । पहिला किन नभनेको भनेर उल्टै झगडा गरी । त्यसपछि मलाई तनावमा हुन थाल्यो। म मनोरोगी बन्दै गएँ । त्यसपछि बिस्तारै पबतिर रक्सी खाने लत बस्दै गयो । ममा अझै आशा थियो, एक दिन तपाईंको भारबाट म मुक्त हुन्छु भन्ने तर यो कोरोना महामारीले सबै तहसनहस पारिदियो । मलाई ज्वरो आएको सात दिन भइसकेको छ । डाक्टरहरूले घरमा नै बस् भनेका छन् । अनलाइनबाट सोधीखोजी गर्छन् । अस्पतालमा बेड छैन भन्छ । जीउ दुखेर खप्नुभएको छैन । श्रीमतीले ल्याएर राखिदिएको खाना अनि यहाँसम्म कि पानी पनि उठाएर खाने शक्ति ममा छैन । यो मेल पनि मैले मुश्किलले लेखिराछु । मन सधैँ नेपालमा हुन्छ । तपाईंले बिमारी हुँदा स्याहार गरेको सम्झना आउँछ । तपाईंले भाइटीकामा पकाएको सेलरोटीको बासना हरहर आइरहन्छ । उडेर आफ्नै देश पुगुँजस्तो हुन्छ । तर खै ? कसरी होला र ? अमेरिकाको वैभव, चमकधमकमा हामी धेरै युवा अन्धो भएर आयौँ, आफ्नो मातृभूमिको मायालाई बिर्सेर । तर अहिले हामीलाई भगवानले प्रायश्चित गर्ने मौका पनि नदेलान् कि भन्ने लागेको छ । म भगवानसँग यही कामना गरिराछु कि मलाई नेपाल गएर प्रायश्चित गर्ने मौका देऊ भनेर अनि मर्न परे पनि मेरै देशमा मरुँ भनेर कामना गरिराछु । भगवानले मेरो कामना सुने भने म नेपाल आउनेछु दिदी अनि तपाईंको सेवामा जुटनेछु । म आउन सकिनँ भने मलाई माफ गरिदिनु दिदी । आइ एम भेरी सरी । उही तपाईंको अभागी भाइ विपिन भाइको यो मेलले मेरो हृदय भारी भएर आयो अनि आँखाले हृदयको बोझ थाम्न नसकी तरल बनाई पोख्न थाल्यो । मैले भेललाई थाम्न सकिनँ । ‘उफ्, मेरो भाइ तिमीलाई केही हुनुहुँदैन र हुँदैन पनि । तिमीले कोरोनालाई जितेर आउनुपर्छ । भाइ तिमी आउनुपर्छ । कोरोनाको पराजय हुनैपर्छ ।’ म मेलका शब्दशब्दमा भक्कानिन्छु । हृदयले भाइको मायालाई वेदनामा पोख्दै उच्छवास लिन थाल्यो । मैले भगवानलाई मेरो भाइको चिरिन्जीवी आयुका लागि प्रार्थना गरेँ । भाइटीकामा भाइको लामो आयुको लागि यमराजबाट जोगाउन गरेको संस्कार मनमनै कल्पना गरेँ अनि प्रार्थाना गरेँ, ‘हे यमराज, तिमी कोरोनारूपी मृत्यु बोकेर आयौ भने मेरो भाइलाई केही गर्न सक्नेछैनौ किनकि यो एउटी दिदीको भाइप्रतिको असीम प्रेमको शक्ति हो । त्यो शक्तिले तिमी कहिल्यै विजयी हुन दिने छैन।’ #अमेरिका #कोरोनाभाइरस #कोविद १९ #शर्मिला खड्का (दाहाल) |
डायरीको पानाबाट: (म डायरीको पानाबाट- रोचक प्रसंग सहितको लघु संस्मरण प्रकाशित गर्ने तर्खरमा छु । अहिलेसम्म यस्ता लघु संस्मरण १३० वटा जति भइसके। अझ थपिदैछन्। एउटा आज यहाँ प्रस्तुत गरेको छु ।) विक्रम संवत २०५२-५३ सालको कुरा हो। वीरेन्द्र महुमुखी क्याम्पसमा प्रतेक वर्ष हामी अंग्रेजीको कुनै न कुनै नाटक मन्चन गर्थ्यौं । केन्द्रीय विभागबाट कुनै वरिष्ठ प्राध्यापकलाई प्रमुख अतिथि भनेर बोलाउँथ्यौँ। आदरणीय दुर्गा भण्डारी, श्रीधर लोहनी, पदमप्रसाद देवकोटा आइराख्नु हुन्थ्यो। उहाँहरूको उपस्थितिमा वीरेन्द्र क्याम्पसमा चहलपहल निकै बढ्थ्यो। त्यस वर्ष शेक्सपियरको ‘ओथेलो’ गर्ने योजना बन्यो। बिए प्रथम र दोस्रो वर्षबाट पात्रहरुको छनौट गरेपछि मलाई निर्देशनमा सहयोग गर्ने एक जना सहयोगी ट्यालेन्टको खाँचो थियो। मैले स्नातक प्रथम वर्षका विद्यार्थी दीपक पाठकलाई प्रस्ताव राखेँ। उनले सहर्ष स्वीकारे। त्यसबखत प्राध्यापक अभि सुबेदी प्रमुख अतिथिका रूपमा निम्त्याइनु भएको थियो। हाम्रो प्रयास धेरै सफल भयो। अभि सुबेदी धेरै प्रभावित हुनुभएको बुझेँ। त्यसपछि दीपक पाठकसँग केही वर्ष मेरो भेट भएन। एकदिन हेटौँडामा कुनै कार्यक्रमको सिलसिलामा दीपकलाई भेट्दा त उनी ‘उर्गेंनको घोडा’का लेखक युग पाठक भइसकेका रहेछन्। त्यसको केही समयपछि युगसँग मण्डला थिएटरमा पुनः भेट भयो। खुशी लाग्यो, युग एउटा सफल नाटककार पनि भएछन्- ‘युमा’मार्फत्। कुनै संस्मरणको एक ठाउँमा युग लेख्छन्, “बिए दोस्रो वर्षको विद्यार्थी छँदा शेक्सपियरको ‘ओथेलो’ नाटकको पहिलो अङ्क मञ्चन गरेका थियौं। डा. अभि सुबेदी वीरेन्द्र क्याम्पसमा मञ्चित त्यो नाटकको दर्शक र प्रमुख अतिथि हुनुहुन्थ्यो। सहायक निर्देशकको हैसियतले पाएको प्रशंसाबाट हौसिएको त्यो दिनपछि शेक्सपियरका सबैजसो नाटकहरुको सङ्कलन र अध्यन गर्न थालेको थिएँ।” यसै प्रसंगमा फेसबुकको एउटा टिप्पणीमा धनराज गिरीले लेखेका थिए, “बेलैमा द्रोणाचार्य पाएको हरेक अर्जुनले जीवन-कुरुक्षेत्र आरामसित जित्दछ !” मैले भनेँ, ”छोटे, म द्रोणाचार्य होइन। तथापि हामी आफ्नो कर्तव्य गर्छौं नै। केहीपछि उदय अधिकारीले एउटा पत्रिका उपलब्ध गराए, जसमा एउटा अन्तर्वार्तामा युग लेख्छन्, “त्यसैगरी बिए पढ्दा मेजर इङ्लिसका गुरु एलबी क्षेत्री अर्का यस्ता प्रभावशाली व्यक्ति हुनुहुन्थ्यो, जो आफूभित्रको ऊर्जालाई कसरी जीवन्त बनाइराख्ने भन्ने कलाका पारखी हुनुहुन्थ्यो। वहाँकै प्रेरणा र नेतृत्वमा हामीले क्याम्पसमा शेक्सपियरको नाटक ‘ओथेलो’ मञ्चन पनि गरेका थियौं। कविता र निबन्ध लेखन प्रतियोगिता पनि गराउनुहुन्थ्यो। आफ्नै घरमा लगेर फिल्म पनि देखाउनुहुन्थ्यो। मैले टाइटानिक फिल्म वहाँकै घरमा हेरेको हुँ।” मेरा विद्यार्थीहरूको माया र उनीहरूबाट अर्पित यी शब्दहरू नै मेरो असल कमाई बनेको छ। आभार ! #एलबि क्षेत्री #चितवन |
भाइरस चलेको छ: जस्तो दुनियाँमा कोरोना भाइरस चलेको छ। त्यस्तै कयौं को जिन्दगिमा सकस चलेको छ। भोको मजदुर हिँडेरै नारायणी तरिसक्यो रे, सदनमा राहत सम्बन्धमा बहस चलेको छ। गाउँबाट आमा बितेको खबर आयो सरकार, क्यारी घर जाऊँ न रिक्सा न त बस चलेको छ। कैदी झैँ हप्तौँ महिनौँ भित्रै थुनिदा भन्नुहोस्, साथी त्यता के हुँदैछ यता खुन्नस चलेको छ।। शिक्षा सत्र सुरु हुँदासम्म अन्योलमा छ्न् सबै, न त स्कुल नै चल्यो न त क्याम्पस चलेको छ।। #कान्ति अवस्थी #कोरोनाभाइरस |
जिन्दगी: जिन्दगी ! तँ मेरै होस्, मैले जिउनु छ तँलाई आँसु ! तँ मेरै होस्, मैले पिउनु छ तँलाई के छ र दुख्ख सिवाए यहाँ भोग्ने कुरा अरु देखिन दर्द सिवाय यहाँ लेखिने कुरा अरु दुःख ! तँ मेरै होस् मैले भोग्नु नै छ तँलाई आँसु ! त मेरै होस मैले पिउनु छ तँलाई छ उज्यालो भन्नु यो एक सपना मात्र हो सम्पूर्ण मेरो भन्छौ जिन्दगी भ्रम मात्र हो पीर ! म तेरै त हुँ, मैले झेल्नु छ तँलाई आँसु ! तँ मेरै होस्, मैले पिउनु छ तँलाई #लक्ष्मण सिटाैला |