text
stringlengths
146
47.7k
रक्षा कसको हो ?: आज सोध्न मन छ ती मानिसहरूसँग जो आफ्ना क्षणिक प्यासहरू बुझाउन प्रथम स्वप्नदोषको अनुभूति नगरेकी मेरी छोरीको जवानी पिउन आउँछन् तिनलाई मैले छोएको किन पानी अछुतो हुन्छ ? ती जो सधैँ मेरो भट्टीको सोमरसको घैँटो रित्याएर जान्छन् मेरी स्वास्नीले छोएको कुवाको पानी किन बिटुलो मान्छन ? व्रत बस्दा नयाँ वस्त्र फेर्न मेरै घर आउने बिष्टेनी उनकी भर्खर जन्मेकी नातिनीलाई चाहिने भोटो लिएर दौडिँदै उनको घरपुग्ने मेरी स्वास्नी तिनै बिष्टको आँगनमा आफ्नै चुँडेको चप्पल ओछ्याएर बस्छे टुसुक्क । बर्खामा झमझम पानी पर्दा पिँढीमा ओत लाउन किन पाउँदिन ? मन्दिरको गजुर हालेका ती कामी दाइले त्यही मन्दिरको देउता जागेपछि आज तिनै मन्दिर छिर्न किन पाउँदैनन् ? खोलामा बग्दै गरेकी बिष्टेनीलाई बचाएको साँइलो कामीको छोराले उसकी छोरीलाई दुई तर्फी प्रेम गर्न किन पाउँदैन ? अरूलाइ खोलाको आँधीबाट बचाएर जीवनदान दिनेले त्यस्तै मान्छेसँग जीवन काट्न के हुन्छ ? तिम्रो धर्मले के भन्छ ? भर्खर मीठो स्वप्न देख्न सुरु गरेकी हल्का लाली चढेको गुलाफ जस्ती तर नफुलेकी किशोरीलाई लछारपछार पारेर लुछुने गिद्दहरूसँग जिन्दगी नै टाँसो लाइदिनुलाई धर्म ? कसैसँग प्रेम गरेकै भरमा भेरीको भेलमा जवर्जस्ती हेलिइदिनुलाई धर्म? प्रेम निष्ठा सिकाउँछ भन्थौँ धर्मले के यो तिम्रो धर्मले सिकाएको प्रेम हो ? सोध्न मन छ ति पण्डितसँग ती नीति निर्मातासँग अनि ति समाजकै रक्षक बनेका भक्षकहरूसँग रक्षा कसको हो ? बलात्कारीको ? या प्रेमीको ? रक्षा कसको हो ? हत्याराको ? या प्रेम गरेकै भरमा ज्यान गुमाउन पर्नेको ? या परिवारको भरणपोषण गर्न भर्खर लायक बन्दै गरेको ठिटाको ? प्रेमको पाठ पढ्दै गरेको युवकको? या भर्खर विद्यालय जाने उमेरकी किशोरीको ? सुनौला सपना गाँस्नेहरूको ? स्वप्न देख्ने अधिकार नराख ए ! चुने रैती हो भन्ने श्री ३ हरुको ? #रक्षा कसको हो ?
तपाइको राष्ट्रियता के हो मित्र ?: तपाईँको राष्ट्रियता के हो मित्र ? म बुझ्दिनँ राष्ट्रियता तपाइँको मनैबाट आउनु पर्छ । राष्ट्रियता तपाईंको, नसा नसामा बग्नुपर्छ । अनि राष्ट्रियता तपाइँको हरेक काम गराईमा देखिनु पर्छ । त्यसैले म बुझ्दिनँ तपाईँको राष्ट्रियता के हो मित्र ? अमेरिकाको दाजुले ल्यापटप नपठाइदिए तपाईंको कार्य चल्दैन । अष्ट्रेलियाकी बहिनीले मोबाइल नकिनिदिए तपाईंको दिमाग चल्दैन । अनि अरबका भाइले घर नहेर्दि, तपाईंको पेट चल्दैन । र खाडीका चेलीले राडी नबिछ्याइदिए तपाईँको जिन्दगी चल्दैन । त्यसैले बुझिनँ मित्र ! तपाईंको राष्ट्रियता के हो ? युग धेरै परिवर्तन भैसक्यो ।. अबको लडाईँमा रगत हैन मसिको प्रयोग हुनुपर्छ । बारुद हैन वाक्य प्रयोग गर्नुपर्छ । र तपाईँको हातले बन्दुक समाउने हैन ! अब कलम समातेर अघि बढ्नु पर्छ । त्यसैले त म बुझ्दिनँ तपाईँको राष्ट्रियता के हो मित्र ? अझै पनि बाहुबलको धाक दिँदै हुनुहुन्छ ? तपाईंको दिमाग प्रबल हुनुपर्छ । खाली बल वीर बहादुर मात्र बन्न नखोज्नोस्न अब त बुद्धि वीर बहादुर पो बन्न जान्नु पर्छ । त्यसैले मित्र ! उग्र आवाज र रातो पाटीमा हैन बुद्धि, विवेक अनि, वार्तामा विश्वास गर्नुपर्छ । त्यसैले म बुझ्दिनँ मित्र तपाईँको राष्ट्रियता के हो ? #राजु थापामगर #राष्ट्रियता
भेटघाटमा: पहिलो भेटघाटमा वाक्य फुटेन अन्तिम भेट घाटमा वाक्य जुटेन उबेला पियारी बोलिनौ खै किन योबेला पियारी म बोल्नै सक्दिनँ ।। तिम्रै प्यारले घायल घायल बनी भयो आज यो चिताको सिरानी मृत्युनै रहेछ सत्य जन्मको रित यो के बोल्छौ अब खै खरानी सित यो ।। पहिलो भेटघाटमा जलायौ यो मन अन्तिम भेट घाटमा जलाऊ जीवन रुँदै व्यर्थ ती परेली भिजाउँछौ किन म सुन्न सक्दिनँ म देख्न सक्दिनँ तिम्लै फेरेको त्यो हावा म छोवौँला आकाशबाट तिमीलाइ हेरौँला हरेक सपनीमा म भेट्न आउँला पहिले जसरी नै फेरि रमाउला ।। प्रिया अब त हाँसेर देऊ न बिदाई धेर दूर छ जानू ढिला भो मलाई पहिलो भेटघाटमा हाँसेको चेहरा अन्तिम भेट घाटमा बिन्ती नफेर ।। #भेटघाटमा
लघुकथा: नमस्कार: – अरुण नदी खत्री कोरोना भाइरस अर्थात् कोभिङ–१९ को माहामारी फैलिन थालेपछि स्कुलमा पढ्दै गरेको माधवले भगवानको मूर्तिमा पनि ढोग्न छाड्यो । घर नजिकैको भगवानको दर्शन गर्न जाँदा सधैँ ढोग्ने माधवले एक मिटर परैबाट नमस्कार गरेको देखेपछि उसको छिमेकी घरको मेनुकाकी आमाले, ‘माधव आज तिमीले भगवानको मूर्तिलाई किन नढोगेर नमस्कार ग¥यौ नि ?’ भनिन् । उसले ‘थाहा छैन आमा हजुरलाई ? कोरोना भाइरस अर्थात् कोभिङ–१९ को माहामारी फैलिन थालेपछि हामी सबैले नमस्कार गरौं, हात मिलाउन छाडौँ भनेर रेडियोबाट सन्देश सूचना बजिरहन्छ नि’, भन्यो । ‘ए हो त नि, मैले त भुसुक्क बिर्सेको । अबदेखि हामी सबै एक मिटरको दूरीमा बसौँ, एकले अर्कोसँग हात मिलाउने नगरौं, नमस्कार गरौँ, भनिरहेको छ नि माधव ।’, मेनुकाकी आमाले भनिन् । ‘थाहा छ आमा ? अबदेखि दशैँमा मलाई मेरो बुबा, आमा, दाजु र दिदीहरुले निधारमा टिका र जमरा लगाइदिनु हुँदा म नमस्कार गर्छु, ढोग्दिनँ’, माधवले भन्यो । ‘त्यसो भए माधव, जमरा र टिका पनि तिम्रो निधारमा लगाइदिनु भएन नि ? एक मिटर परै राखिदिनुपर्ने भयो नि, हैन ?’ मेनुकाकी आमाको कुराले माधव ट्वाँ खायो ।
मदन पुरस्कार विजेता कृष्ण धरावासी टिकटकमा: कृष्ण धरावासी सामाजिक सञ्जाल टिकटक ले सर्वसाधारणलाई पनि सेलिब्रिटी बन्ने अवसर दिइरहेको छ भने सेलिब्रिटी पनि के कम ? त्यसैले त अहिले हरकोही सेलिब्रिटी टिकटकमा रमाउन थालेका छन् । सिनेमाका कलाकारहरू मात्र टिकटकमा छाउने होइन, पछिल्लो पटक मदन पुरस्कार विजेता कृष्ण धरावासी पनि थपिएका छन् । अहिले टिकटकमा साहित्यकार कृष्ण धरावासी पनि व्यस्त हुन थालेका छन् । धरावासीकी बुहारीले टिकटक चलाएको देखेपछि धरावासीले पनि नयाँ सञ्जालमा जोडिने रूचि देखाएका हुन् । धरावासीले टिकटकमा जोडिएसँगै युवासँग सामीप्य बढाउन सजिलो भएको बताएका छन् । उनी भन्छन्, “ यो टिकटक भन्ने जिनिस चाहिँ सामाजिक सञ्जालको हाइकु, मुक्तक रहेछ । पन्ध्र सेकेण्डमा त हाइकु र मुक्तक नै वाचन गर्न सकिन्छ ।” धरावासीले आफ्नो टिकटकमा विभिन्न लाइभ कार्यक्रम, कथाका अंशहरूको भिडियो पोस्ट गर्दै आएका छन् । यस टिकटकलाई उनी साहित्यिक टिकटकको उपनाम दिने गरेको बताउँछन् । विगत तीन हप्ताबाट टिकटक चलाइरहेका धरावासीको लगभग ४५ सय फलोर्अस पुगिसकेका छन् । टिकटक चलाउनेहरूका लागि यति छोटो समयमा यत्तिका धेरै फलोअर हुनु खुसीको कुरा भएको धरावासी बताउँछन् । आउँदा दिनमा यस प्लेटफर्मलाई अझ बढी सदुपयोग गर्ने धरावासीले बताए । #कृष्ण धरावासी #टिकटक
नेपाल प्रज्ञा प्रतिष्ठानको सूचनाः साहित्यकार र कलाकलारलाई: नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यकार र कलाकारलाई परिचय कोश परिमार्जन तथा प्रकाशनसम्बन्धी सूचना निकालेको छ । साहित्यकार कलाकार परिचय कोशमा छुटेका वाङ्मयका भाषा, साहित्य, संस्कृति दर्शन शास्त्र, समाजशास्त्र, मानवशास्त्र, भूगोल, अर्थशास्त्र, विज्ञान, कला, नृत्य, सङ्गीत र अभिनय लगायत विभिन्न विधाका प्रतिभाहरूको विवरण समावेश गरी अद्यावधिक गर्ने र सोको डिजिटल एवम् मुद्रत प्रति तयार गर्ने उद्येश्यका साथ परिमार्जन र प्रकाशन प्रक्रिया अगाडि बढाइएकाले प्रस्तुत सूचना निकालिएको हो । साथै, प्रतिष्ठानले २०७७ असार १५ को अन्तिम मिति तय गर्दै सबै लेखक, कलाकार र संस्थालाई आफ्नो विवरण पेश गर्न अनुरोध गरेको छ । आवश्यक सूचनाकोे लागि तल रहेको फारम हेर्न सकिनेछ । #साहित्यकार कलाकलार
जसका आवाज सुनिन्छन्, कथा भनिँदैनन्: साहित्य पोस्टले अन्य प्रकाशनका साहित्य वा लेखक विशेष प्रकाशित सामग्रीहरुलाई स्थान दिनका लागि यो ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । यो स्तम्भमा साहित्य पोस्टले आफ्ना पाठकहरुलाई अन्य प्रकाशनका छुटाउँनै नहुने वा संग्रह गर्नु पर्ने विशेष सामग्रीहरु पढ्नका लागि सिफारिस गर्छ । यो सामग्री हामीले सेतोपाटीबाट लिएका हौँ । यसलाई सेतोपाटीका लागि गिरीश गिरी ले लेख्नुभएको हो । यस लेखलाई तपाईँ सेतोपाटीकै साइटबाट पनि हेर्न सक्नुहुने छ । ==================================================================== टोलका छिमेकीहरूको जमघट थियो। जमघटमा गितार समातेका तन्नेरीहरूले नारायण गोपालको ‘पोखिएर घामको झुल्का’ गाउन सुरू गरे। ‘ए बा! तिमीहरूले त्यो गितार थ्री-फोर टाइमिङमा बजाइरहेका छौ,’ टोलकै पाका सिबी क्षत्रीले बीचैमा सुझाए, ‘पछाडिको एउटा बारलाई छाडेरै बजाई हेर त! अझ राम्रो सुनिन्छ।’ हामी सबैका टोल-छिमेकमा अवकाशप्राप्त जीवन बिताइरहेकाहरू प्रायः ‘लो प्रोफाइल’ मा भेटिन्छन्। जस्तो, ७४ वर्षीय सिबी दाइलाई पनि हाम्रो टोलका अधिकांश वासिन्दाले ‘बिहान बिहान पूजाका निम्ति फूल टिप्दै हिँड्ने मानिस’ का रूपमा मात्रै चिन्छन्। त्यही जमघटमा पनि धेरैलाई क्षत्री नेपालका पुराना गितारवादक हुन् भन्ने थाहै थिएन। उनको सुझावले कोही-कोही अचम्म परे। ‘रेडियोमा यो गीत बज्दा विचार गर त, बजाउनेले पछाडिको बारलाई छोडेकै सुनिन्छ,’ सिबी दाइले अझ अगाडि थपे, ‘अनि, त्यो बजाउने मानिस मै हुँ।’ यो पछिल्लो जानकारीबारे चाहिँ त्यहाँ अरू कसैलाई थाहा थिएन। सबै ट्वाँ परे। हाम्रो कुराकानी अब हरिभक्त कटुवालले लेखेको त्यो कालजयी गीततर्फै मोडियो। गीतमा दुईपटकको ‘इन्टरल्यूड’ मा एउटा मिठो गितारको लिड पिस सुनिन्छ। घुम्दै आएर खसेजस्तो आवाज। ‘रिदम मात्र होइन,’ सिबी दाइले थपे, ‘त्यो लिड पनि मैले नै बजाएको हुँ।’ चार दशकअघि रेडियो नेपालको स्टुडियोमा संगीतकार अम्बर गुरुङले यो गीतको कम्पोजिसनबारे निर्देशन दिँदा ‘यसलाई डी मा बजाऊ’ मात्रै भनेका रहेछन्। ‘तर सुन्नेबित्तिकै यो मिक्सो लिडेन स्केलमा बनेको धुन हो भन्ने मैले पत्तो पाइसकेको थिएँ,’ सिबी दाइले थपे, ‘त्यसपछि म आफैंले पछाडिको एउटा बार छाडेरै बजाउन सुरू गरेँ।’ आफूले तय गरेभन्दा बेग्लै यो आवाजले झनै सशक्त प्रभाव पारेको अम्बर गुरुङलाई तत्कालै महशुस भएछ। उनले पुलुक्क गितारवादकतिर हेरे। क्षत्रीका अनुसार काम गर्दागर्दै संगीतकर्मीबीच यसरी जुध्ने आँखा बडो स्वादलाग्दो हुन्छ। ‘त्यस्तो हेराइलाई नेपालीमा के भन्छन्?’ दाइले हाँस्दै सोधे र अगाडि थपे, ‘अंग्रेजीमा त ‘ग्लिम्स’ भन्छन् क्यारे!’ वाद्यवादकको खास भूमिका संगीतकारले तोकेअनुसार एकोहोरो बजाउने मात्र भए पनि यदि कलाकार हो भने ऊभित्रको सर्जक थामिएर बस्न नसक्ने क्षत्रीको ठहर छ। ‘कम्पोजरले सेतो गुलाफ रचना गरेको हुन्छ,’ उनी भन्छन्, ‘त्यसमा हल्का रंगीन देखिने टोनहरू वाद्यवादकको सिर्जनाशक्तिले तयार पार्छ।’ त्यस्ता टोन कसैले निकाल्छु भनेर निस्कने नभई बजाउँदा बजाउँदैको छटपटीले प्रस्फुटन हुने उनको अनुभव छ। पश्चिमाहरू र आफूहरूको संगीत अभ्यासमा आकाश-पाताल फरक हुने सिबी दाइको अनुभव रह्यो। ‘उनीहरूकहाँ कम्पोजरले सबथोक कागजमै उतारेर दिएका हुन्छन् जसमा कसैले थोरै पनि तलमाथि गर्न पाउँदैन,’ उनले भने, ‘हामीकहाँ कम्पोजरहरूमा त्यो स्तरको तयारी नपुग्ने भएकाले वाद्यवादकको सहकार्यबाटै कतिपय कुरा विकास हुन्छ।’ जमघट सकिएलगत्तैको बिहान म सिबी दाइको घरमै पुगेँ र प्रश्न सुरू गरेँ। ‘ए बा! यसरी प्रश्न किन सोधेको भन त?’ दाइले पन्छिने पारा ल्याए, ‘नाइँ नाइँ। मलाई अखबारतिर तान्ने काम नगर।’ सिबी क्षत्री मात्र होइन, संगीतका दुनियाँमा यस्ता हजारौं, अझ लाखौं मानिस छन्। हामी उनीहरूले सिर्जेका धुन सुनेरै हुर्किन्छौं। तर, कहिल्यै उनीहरूबारे चासो राख्दैनौं। केवल गायक अनि बढीमा संगीतकार र गीतकारको चर्चा हुन्छ। धुन भर्नेका कथा पनि कसैले लेख्दैनन्। ओझेलका पात्र भएरै बाँच्छन्। म भने सिबी दाइको कथा लेख्न तयार थिएँ। यति भएपछि संकोच मानिरहेका दाइलाई सम्झाउन मुश्किल परेन। काभ्रेको पुर्ख्यौली घरमा जन्मेका सिबी क्षत्रीको हुर्काई बर्माको टोंगजी सहरमा भएको थियो। उनको परिवार उतै बसेर बीचमा फर्केको थियो। उनी जन्मेपछि फेरि उतै पुगेको थियो। ‘बर्मामा धेरैथरि जातिको मिश्रित बसोबास थियो,’ उनले सम्झना गरे, ‘बंगालीदेखि दक्षिण भारतीयसम्म, रैथाने बर्मेलीदेखि चिनियाँसम्म। हामी नेपाली त हुने नै भयौं।’ त्यस्तो जमघटमा कुनै-कुनै बेला नेपालीहरू धर्मराज थापाका गीत गाउँथे। नत्र प्रायः सबैले मिलेर गाउने भनेकै हिन्दी गीत हुन्थ्यो। ‘त्यसै जमघटमा कुमाउँतिरबाट आएका कल्याण नामका गुरूले मेरा दाइको समूहलाई मेण्डोलिन बजाउन सिकाएका थिए,’ सिबी दाइले सुनाए, ‘तर, नसिकाइएकै म चाहिँ समूहमै पोख्त भएर निस्केँ।’ बर्मा बसाइँका रमाइला क्षण लामो समय चलेनन्। सैनिक शासक ने विनले सन् १९६४ मा आप्रवासीलाई दुःख दिने नीति अपनाएपछि क्षत्री परिवार नेपाल फर्कियो। सिबी दाइ भने भारतको सिलोङमा बसेर पढाइलाई निरन्तरता दिन थाले। ‘सिलोङको होस्टलमा आदिवासी खसियाहरू अंग्रेजी गीत गाउन असाध्यै माहिर थिए,’ उनले सुनाए, ‘त्यतिबेलै असाध्यै मनपरेको क्लिफ रिचर्डको ‘एभरग्रीन ट्री’ गाउँदा गाउँदै म गितारमा पनि पोख्त भएँ।’ सिलोङबाट एसएलसी सिध्याएपछि अगाडिको पढाइका निम्ति उनी नेपाल आए। दाइको परिवार पोखरामा थियो। ‘पृथ्वीनारायण क्याम्पसमा विज्ञान संकायको दोश्रो समूह हाम्रै थियो,’ उनी भन्छन्, ‘२०२५–२६ सालको कुरा हो।’ पोखराको बसोबास झुप्री पाराको घरमा थियो। ‘तर, हाम्रो त्यही डेरा छेवैमा भूपि शेरचनको दरबारजस्तै घर थियो,’ उनले सुनाए, ‘त्यही घरमा बस्ने अशोक भट्टचन मेरा असाध्यै मिल्ने साथी।’ त्यो दरबारमा निरन्तर आवतजावत चल्थ्यो। अनि त्यसैमा कहिले पारिजात आएर भूपिको पाहुना बन्थिन्, कहिले भर्खर बिहे गरेर ल्याएकी श्रीमतीका साथ नारायण गोपाल डेरा लिएर बस्थे। यसरी भूपिको घर जमघट थलो बनेको थियो। त्यस्ता जमघटमा क्षत्री उनका असाध्यै मिल्ने पोखरेली साथी सरोज गोपाल र कृष्णबहादुर श्रेष्ठका साथमा सरिक भइरहन्थे। सरोज गोपालको लोकप्रिय ‘देउराली उकाली चढेर’ आफैंले गितारमा संगीतबद्ध गरिदिएको उनी दाबी गर्छन्। साथीसंगतमै गरिएको त्यो कामको जस उनलाई दिइएन। तै पनि कुनै दुःखेसो नरहेको उनी सुनाउँछन्। र, भन्छन्, ‘आइ एम ह्याप्पी’। रेडियोमा रेकर्ड हुनुअगावै आफूहरूले धेरैपटक त्यो गीत पोखरामा सुनाएको उनले सम्झे। त्यसैमध्ये भूपिको घरको जमघट पनि थियो। त्यहाँ हार्मोनियम समातेर बसेका नारायण गोपाल आफू पनि गीत सुनाउँथे र अरूका पनि सुन्थे। ‘नारायण गोपाल र भूपि दुवै पिउने मामिलामा माहिर थिए,’ सिबी दाइ सम्झन्छन्, ‘टकिलाको जस्तै सिसाको सानो गिलासमा रक्सी हालेपछि ओेठमा पनि नछुवाई परैबाट घाँटीभित्रै हुत्याउने प्रतिस्पर्धै गर्थे।’ ठीक त्यतिबेलै पृथ्वीनारायण क्याम्पसमा परीक्षासम्बन्धी विवादलाई लिएर विद्यार्थी आन्दोलन चर्कियो। त्यसले पनि कलेज बाहिरका गतिविधिमा सरिक हुन झनै फुर्सद मिल्यो। ‘त्यो फुर्सदमै मैले कन्या स्कुलमा हिसाब पढाउन सुरू गरेँ,’ सिबी दाइ भन्छन्, ‘पेमला दिदी (नारायण गोपाल पत्नी) चाहिँ अंग्रेजी शिक्षिका।’ यसरी सम्पर्क अझ बढ्दै गयो। एकदिन पेमलाले ‘नारायण गोपाल संगीत साँझ’ को इच्छा राख्दै ‘भाइ, तपाईंले सघाइदिनुपर्छ’ भनिन्। त्यसको केही समयमै पृथ्वीनारायण क्याम्पसस्थित साइन्स ल्याबसँगै सानो अडिटोरियममा ‘नारायण गोपाल साँझ’ आयोजना गरियो। गाउनुका साथै हार्मोनियम बजाउने काम नारायण गोपालले नै सम्हालेका थिए भने गितारमा क्षत्री अनि तबला सरोज गोपालकै आफन्त प्रज्ञाले सम्हालेका थिए। ‘प्रज्ञा र म दुवैले त्यत्तिकै बजाइदिएका थियौं,’ क्षत्रीले भने, ‘त्यो समय पोखरामा कसैले पनि पैसालाई महत्त्व दिँदैन थियौं।’ त्यो नारायण गोपाल साँझको एउटा दृश्य उनलाई अझै सम्झना आउँछ। ‘नारायण दाइ हल्का ट्वाँट लगाएरै गाउन उभिएका थिए,’ उनले भने, ‘गाउँदा-गाउँदै एउटा गीतमा त बीचैमा खोक्न थाले।’ उनका अनुसार त्यो सायद भूपिकै ‘अल्झेछ क्यारे पछ्यौरी’ गीत थियो। ‘गीतको बीचमै स्वर तान्दातान्दै खोक्न थालेका उनी एकछिनसम्मै थामिएनन्,’ क्षत्रीले सुनाए, ‘उनले गाउन पनि छाडेनन्।’ क्षत्रीका अनुसार त्यो क्षण सबैले मञ्चतिर हेरिरहेका थिए भने मञ्चमा नारायण गोपालबाहेक आफूहरू दुई जनाको नजर दर्शकदीर्घाको पहिलो लहरमै बसेकी पेमलातर्फ थियो। ‘हत्केलाले मुख छोपेकी पेमला दिदीको अनुहार यति आतंकित थियो,’ उनले भने, ‘असाध्यै असहज र हृदयविदारक।’ त्यो दृश्यले नै उनी नारायण गोपाललाई कति धेरै मनपराउँथिन् भन्ने देखिन्थ्यो। ‘त्यो दृश्य मेरो स्मृतिमा यसरी बसेको छ,’ उनी थप्छन्, ‘अहिले पनि झल्झली सम्झिरहन्छु।’ एकैछिनको त्यो असजिलोपछि फेरि स्थिति सामान्य बन्दै गयो। र, पोखराको ‘नारायण गोपाल साँझ’ सफलतासाथ सम्पन्न भयो। त्यसलगत्तै नारायण गोपाल दम्पत्ति मात्र होइन, सिबी क्षत्री पनि काठमाडौं आइपुगे। यता आएपछि नारायण गोपालको सुरूमा पुर्ख्यौली घर किलागलमै बसोबास थियो। पछिपछि रानीपोखरी अनि ठमेलतिर डेरा सर्दै गयो। नारायण गोपालको वासस्थान जता पुगे पनि भेट्न गइरहने, पेमलाले पकाएका खाना खाने, शिवरात्रिका बेला सँगसँगै पशुपति जाने, मनोज कुमारको सिनेमा हेर्न विश्वज्योती गइरहने कामले निरन्तरता पाइरहे। ‘त्योताका नारायण दाइको असाध्यै पिउने बानी थियो,’ क्षत्री भन्छन्, ‘कति रात त आफूले रातभर ढोकै नखोलिदिएको प्रसंग पेमला दिदीबाट सुन्थेँ।’ काठमाडौं आएपछि क्षत्रीलाई जागिर चाहिँ रेडियो नेपालमा मिल्यो। सुरूमा ‘बी क्लास’ र लगत्तै ‘ए क्लास’ संगीतकारको। त्यहाँ दिनदिनै रेकर्डिङ चल्थ्यो। शुक्रबारको दिन लोकगीतका लागि छुट्याइएको हुन्थ्यो भने बाँकीका दिन आधुनिक, राष्ट्रिय गीतदेखि भजनसम्म रेकर्ड हुन्थे। ‘म रेडियोमा रहँदै राजा वीरेन्द्रको राज्याभिषेक भएको थियो,’ उनी सुनाउँछन्, ‘त्यति बेला त रेडियो नेपालमा पर्वजस्तै चलेको थियो।’ बिहान उज्यालो नहुँदैदेखि मध्यरातसम्म एकोहोरो रेकर्डिङ चल्थ्यो। त्यो बेला रेडियो नेपालमा आएर नगाउने कुनै कलाकार थिएनन्। ‘तर, एउटै गायकलाई मैले त्यो बेला एकपटक पनि आएको देखिनँ,’ क्षत्री सम्झन्छन्, ‘उनी थिए नारायण गोपाल।’ सुरूमा रेडियोमा भित्रिँदा एउटा गीतको रेकर्ड सिध्याएपछि सात रूपैयाँ पारिश्रमिक पाइन्थ्यो। पछि ‘ए क्लास’ भएपछि नौ रूपैयाँ पुग्यो। ‘त्योताका तीस रूपैयाँले घरभाडा टर्थ्यो,’ उनी सम्झन्छन्, ‘रेडियोबाट आएको पैसाले नै छेलोखेलो पुग्थ्यो।’ दिनहुँ एकोहोरो जाने, काम गर्ने र फर्किने, रेडियोमा उनको खासै संगत भने कसैसँग थिएन। ‘एकपटक एउटा तन्नेरी देखेँ, पिटर जे कार्थक,’ उनी भन्छन्, ‘बेस गितार बजाउने पिटर र मेराबीच प्रायः अंग्रेजीमै कुराकानी हुन्थ्यो।’ क्षत्रीका अनुसार त्यो बेला पिटर रातभर क्यासिनोमा जागिर खान्थे भने बिहान सबेरै त्रिभुवन विश्वविद्यालयमा एमएको कक्षा लिन्थे। अनि दिउँसोपख रेडियोमा गितार बजाउन आइपुग्थे। ‘उसको क्षमता देखेर म जिल्ल पर्थें,’ क्षत्री भन्छन्, ‘हाम्रो अर्को रूचिको विषय अंग्रेजीका किताब थिए। फ्रेडरिक फोर्सिथका ‘बेस्ट सेलर थ्रिलर’ हरू हामी बाँडेर पढ्थ्यौं।’ दार्जिलिङबाटै आएका पिटरसँगको सम्पर्कले आफूलाई गोपाल योञ्जनसँग नजिकिन मद्दत मिलेको क्षत्री सम्झना गर्छन्। ‘गोपाल दाइका थुप्रै गीतमा मैले गितार बजाएको छु,’ उनी भन्छन्, ‘मलाई उनको असाध्यै मनपर्ने ‘देशले रगत मागे’ र ‘धेरै छ गर्नु स्वदेशको सेवा’ मा पनि मेरै गितार बजेका छन्।’ क्षत्रीका नजरमा गोपाल योञ्जन नेपालले पाएको सर्वोत्कृष्ट संगीतकार हुन्। त्यो बेलाका संगीतकारहरू सबै कोभन्दा को कम थिए। अम्बर गुरुङदेखि नातिकाजीसम्म। ‘जस्तो भनौं न, नाति दाइ त राम्रो संगीतकार हो नि!’ उनले थपे, ‘उनको सम्पूर्ण ध्यान कसरी मिठो कम्पोजिसन तयार पार्ने भन्नेमा हुन्थ्यो। कसरी हुन्छ त्यो म्युजिक फ्लप नहोस् भनेर असाध्यै कोशिस गर्थे।’ क्षत्रीका अनुसार त्यसरी मेहनत गरेपछि नातिकाजीका गीत नभन्दै सुपर-हिट हुन्थे। ‘तर, गोपाल दाइ यस्ता कुरा मतलबै नराखी कविले जस्तो काम गर्थे,’ क्षत्री भन्छन्, ‘शब्द तौलनेदेखि लिएर संगीत बुझ्नेसम्ममा उनको विशिष्ट क्षमता थियो।’ क्षत्रीको अनुभवमा गोपाल योञ्जनलाई काम गर्दागर्दै कुन बेला के कुराको सुर चल्थ्यो भन्ने ठेगान थिएन। एकदिन सुशीला कंसाकारको स्वरमा गीत रेकर्डिङ चलिरहेको थियो। अचानक योञ्जनलाई त्यसमा ‘माउथ अर्गन’ को आवाज मिसाउन मन लाग्यो। तर, रेडियोमा न त्यो बाजा थियो, न बजाउने मानिस। ‘स्टुडियोबाट कुद्दै आफ्नो डेरा पुगेर मैले नै माउथ अर्गन ल्याइदिएँ,’ क्षत्री सम्झन्छन्, ‘आफैंले बजाएर रेकर्ड गरिदिएपछि गोपाल दाइको अनुहार बल्ल सन्तुष्ट देखिएको थियो।’ क्षत्रीलाई असाध्यै मनपर्ने अर्का संगीतकार गोविन्दलाल श्रेष्ठ हुन्। ‘छुटाउनै नमिल्ने,’ उनी भन्छन्, ‘एकताका रेडियोमा एकाबिहानै बज्ने उनको कम्पोजिसनको शंख ध्वनी त मास्टरपिसै हो।’ त्यो ध्वनी निकाल्न प्रयोग गरिएको असाध्यै विशाल शंख रेडियो नेपालमा सजाएरै राखिएको क्षत्री सम्झन्छन्। गायनमा भने क्षत्रीलाई सबभन्दा प्रभाव नारायण गोपालकै परेको थियो। ‘नारायण दाइले पनि हाइ रेन्जमा पुग्दा त दबाएरै गाउँथे,’ उनले कमजोरी पनि औंल्याए, ‘सोप्रानोको माथिल्लो पिचमा पुग्दा आवाज खोलेर गाउन उनी पनि सक्थेनन्।’ नारायण गोपालका निम्ति बजाएका गीतमध्ये क्षत्रीलाई सबभन्दा मनपर्ने ईश्वरवल्लभको ‘मेरो बेहोसी आज मेरै लागि पर्दा भो’ हो। त्यसबाहेक ‘मेरो आँखालाई राख्ने फूलबारी छैन’, ‘ईश्वर तैंले रचेर फेरि’, ‘दुइटा फूल देउरालीमा’, ‘मेरो यो गीतमा जुन मुर्च्छना छ’ जस्ता उनले गितार बजाएका गीतको लामै सूची छ, जुन अहिले सम्झिन पनि गाह्रो हुँदै गएको छ। नारायण गोपालको गीतलाई कतिपयले ‘ब्लूज’ भनिदिँदा क्षत्रीलाई अचम्म लाग्छ। ‘ मलाई नसोध गीत पनि ब्लूज होइन,’ उनी भन्छन्, ‘फ्ल्याटेड नोटलाई नबुझेर मानिसले ब्लूज भनिदिए कि जस्तो लाग्छ। बरु एक्सिडेन्टल भन्न सकिएला।’ उति बेलाजस्ता गायक वा संगीतकार हिजोआज देखिनै छाडेको गुनासो क्षत्रीको छ। ‘अलिकता कर्ण दासमा त्यो ‘टिम्बर क्वालिटी’ छ कि जस्तो लाग्छ,’ उनी फेरि पनि यो प्रश्नमा पन्छिन चाहे, ‘अहिलेका गायक तथा संगीतकारको बारेमा केही बोल्नुभन्दा पनि सबलाई राम्रो गर्ने शुभकामना दिन्छु।’ बरू उनले पुरानै समय सम्झिन चाहे। ‘रामराज पौड्याल निर्देशक भएकै बेला रेडियोमा माथि टुप्पी र तल हाफपाइन्ट भएका एक जना नपत्याउँदो सानो केटा आइपुगेका थिए,’ उनले थपे, ‘उदितनारायण झा।’ झा त्यति बेला आधुनिक गीत प्रतियोगितामा मैथिली गीत गाउन आएका थिए। त्यो प्रतियोगितामा ओमविक्रम विष्ट लगायत थिए। ‘उदितले त्यो बेला हाइ पिचमा यस्तो राम्ररी गाइदिए,’ क्षत्री सम्झन्छन्, ‘त्यो नपत्याउँदो बच्चोले गाएको देखेर सबै जना हेरेको हेर्\u200dयै भए।’ रेडियोले उनलाई उतिबेलै लियो। त्यसरी रेडियो नेपाल छिरेको बच्चाको आवाज दुई-तीन वर्षमै झनै लोभलाग्दो तवरले खुलेको थियो। ‘उदित असाध्यै भलादमी थिए,’ क्षत्रीले भने, ‘पछि उनको प्रगति देखेर निकै खुसी लाग्यो।’ त्योताकै दरबारबाट पनि गीतहरू आउँथे। त्यस्ता गीत नातिकाजीकहाँ सोझै पुग्थ्यो। ‘तारादेवीको ‘शुभकामनाभरि’ गीत रेकर्ड गर्दाको पनि मिठो याद छ,’ क्षत्रीले भने, ‘सुरूमा रेडियोका लागि इन्द्रलाल, म र किबोर्डमा स्वयं नातिकाजी गरेर जम्मा पाँच जनाले बजाएका थियौं।’ त्यही गीत पछि रत्न रेकर्डिङमा डिस्कको निम्ति ठूलै टिमका साथ रेकर्ड गरियो। रत्न रेकर्डिङमा जाने बेला क्षत्री रेडियो नेपालभित्रै आन्दोलनरत थिए। उनी जान मानेनन्। पछि तारादेवीले नै अनुरोध गरेपछि गएर बजाइदिए। रेडियोमा त्यो बेला ‘ए क्लास म्युजिसियन’ मा क्षत्रीसहित पाँच जना इन्द्रलाल, सिके रसाइली, रोज कपुर र शुभबहादुर थिए। रेकर्डिङका मामिलामा वाद्यवादकलाई ‘४२ टेक’ को नाममा कस्दै लगेपछि आन्दोलन चर्किएको थियो। ‘आन्दोलन सकिएपछि सबै फेरि रेडियोमा फिर्ता गए,’ क्षत्री भन्छन्, ‘म र इन्द्रलाल भने फर्केनौं।’ यसरी उनले रेडियो नेपालमा मोटामोटी चार वर्ष काम गरे। ‘त्यो बेलाका शब्द, ती स्वर र तिनै आवाज आज पनि धेरैले मिस गरिरहेको पाउँछु,’ यसो भनिरहँदा उनको अनुहारमा गौरववोध देखिन्थ्यो, ‘एउटा संगीतकर्मीलाई खुसी हुन योभन्दा बढी अरू के चाहिन्छ?’ उनका अनुसार उनी कार्यरत क्षण नै रेडियो नेपालको स्वर्णिम समय थियो। ‘रेडियो नेपालसँग मेरा तिता-मिठा दुवै सम्झना छन्,’ उनी भन्छन्, ‘तर, म कहिल्यै गुनासो गर्दिनँ। आइ एम ह्याप्पी।’ क्षत्रीले अरू पनि धेरै गायकका चर्चित गीतमा गितार बजाएका थिए। अघिल्लो साँझको जमघटमा तन्नेरीहरूले दीप श्रेष्ठको ‘मेरो आँखामा भरदिन बादल छाइरह्यो’ गाइरहँदा उनी ‘यसको पनि डिस्क रेकर्डमा मैले नै बजाएको हुँ’ भनिरहेका थिए। ‘दीपको अरू पनि धेरै गीतमा बजाएको छु,’ उनले थपे, ‘प्रेमध्वजका त झनै थुप्रै गीत छन्।’ प्रेमध्वजसँगै उनले ‘अमेरिकन लाइब्रेरी’ पनि सम्झे। ‘प्रेमध्वजसँग त मेरो एउटै अड्डाका सहकर्मीको सम्बन्ध पनि छ,’ उनले थपे, ‘रेडियो छाडेपछि मैले दुई वर्ष उनीसँगै अमेरिकन लाइब्रेरीमा काम गरेको थिएँ।’ त्यसको केही समयमै सन् १९८५ मा क्षत्रीले लिंकन स्कुलमा संगीत प्रशिक्षकको काम पाए। ‘लिंकन स्कुलको कमाइले नै आजसम्मै मेरोनिम्ति आर्थिक मेरुदण्डको काम गर्दै आएको छ,’ उनी भन्छन्, ‘काठमाडौंमा रहेका महत्त्वपूर्ण विदेशीसँगको सम्पर्क विकासमा पनि त्यसले सहयोग गरिदियो।’ त्यस्ता विदेशीको सम्पर्ककै आधारमा ज्याजमा सोख राख्नेहरूको एउटा गतिलै टोली बनाएर सँगै काम गर्न पाएको उनी सुनाउँछन्। त्यो टोलीसँग काम गर्दा अझ फराकिलो दायरामा संगीत बुझ्ने मौका पाए। ‘त्यो संगत मेरोनिम्ति धेरै महत्त्वपूर्ण रह्यो,’ उनी भन्छन्, ‘मैले संगीतका किताबमा खोजेर नपाएका धेरै प्रश्नको उत्तर त्यहाँ गरिएका अभ्यासमा भेटेको थिएँ।’ क्षत्रीको व्यस्तताका अन्य पाटा पनि छन्। रेडियो छाडेपछि उनका होटल व्यवसायी साथी श्याम कक्षपतिले लगानी गरिदिएर त्यति बेलै क्षत्रीका निम्ति ‘म्युजिक क्लास’ खोलिदिए। सन् १९७६ मा सुरू भएर २०१० सम्मै चलेको त्यो म्युजिक क्लासबाट हजारौंलाई गितार सिकाएको क्षत्री सुनाउँछन्। अहिलेको चर्चित ब्यान्ड ‘नेपथ्य’ का सदस्यले आफ्नो स्थापनाकालमै क्षत्रीको त्यही कक्षामा संगीत सिकेका थिए। उक्त ब्यान्डका अहिलेका गितारवादक निरज गुरुङ पनि क्षत्रीकै शिष्य हुन्। ‘नेपथ्य मात्रै होइन, कब-वेबका गितार पनि मेरै शिष्यले बजाउँछन्,’ क्षत्री भन्छन्, ‘गितारका निम्ति प्रख्यात अनिल शाहीदेखि सुगम पोखरेल, मोहन भुषालजस्ता असंख्य नाम छन्।’ क्षत्रीका अनुसार संगीतकर्ममा लाग्नु भनेको हातको पञ्जाले भित्तामा हिर्काउनुजस्तै हो। ‘त्यसरी हिर्काउँदा जुन आवाज निस्कन्छ त्यो दुनियाँको हुन्छ,’ उनी भन्छन्, ‘जुन धूलो टाँसिन्छ त्यो आफ्नो।’ वर्षौं निरन्तर हिर्काउँदै गएपछि सतहमा जब एउटा आकृति खोपिँदै जान्छ, त्यो नै संगीतकारको पहिचान हुने उनको ठहर छ। संगीतमै डुब्नेहरू बीच पनि अलग-अलग बाटा हुन्छन्। ‘मलाई कम्पोजर बन्ने इच्छा कहिल्यै पलाएन,’ उनले भने, ‘बरू विदेश भइदिएको भए अर्केष्ट्राको कन्डक्टर बन्ने चाहना राख्थेँ होला।’ त्यो चाहना नेपालमा पूरा हुने अवस्थै थिएन। उनले एउटा घटना नै सुनाए। अम्बर गुरुङले एकपटक काठमाडौंमा कतै ‘क्यान्टेटा’ आयोजना गरेका थिए। त्यति बेला ‘कन्डक्टर’ बनेका गुरुङ छडी समातेर यस्तो ‘पोजिसन’ मा बसेका थिए, गाउन भनेर उभिएका फत्तेमानले उनलाई देख्दै देखेनन्। ‘अलमलिएका फत्तेमान घरिघरि पछाडि फर्केर वाद्यवादकतर्फ हेर्थे,’ क्षत्रीले हाँसो थाम्न सकेनन्, ‘उता हलका अधिकांश विदेशी दर्शकका निम्ति त्यो गाईजात्रा बनिरहेको थियो।’ यस्तो वस्तुस्थितिमा आफ्नो ‘कन्डक्टर’ बन्ने सपना व्यर्थ छ भन्ने क्षत्रीले बुझेका थिए। ‘नेपालमा मेरोनिम्ति जे जति सम्भव थियो, मैले त्यही नै गरेँ,’ उनले फेरि दोहोर्\u200dयाए, ‘आइ एम ह्याप्पी।’ प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७, ०६:०७:००
चौरजहारी हत्याकाण्डको वास्तविकता: चन्द्रशेखर केसी चौरजहारी घटनापछि ठूल्ठूला विश्लेषकहरुबाट समेत केही भ्रामक तर्कहरु आएपछि यति कुरा प्रष्ट पार्नुपर्ने कर्तव्य ठानेँ। अहंकारको बलमा कुतर्क गरिरहेका साथीहरू एकपटक विचार गरौँः १. दलितभित्रै पनि विभिन्न उपजाति खडा गरेर छुवाछूत गरिन्छ। बाहुन क्षेत्रीले गरेको छुवाछूत मात्र देख्ने ? यो आंशिक सत्य हो। पूर्ण सत्य बुझ्न अलि जरोमा पुग्नुपर्ने हुन्छ। कुनै पनि कार्यपछाडि कारण हुन्छ। उक्त कारणलाई लामो ऐतिहासिक प्रक्रियाले भरथेग गरेको हुन्छ। त्यो बुझ्नुपर्ने हुन्छ। इतिहास हेर्ने हो भने नेपालमा जातीय विभेदलाई कानूनी रुपमै संस्थागत गर्ने र सामाजिक रूपमा थप कसिलो पार्ने काम जयस्थिति मल्लको पालामा मानव न्याय शास्त्र लेखेर भयो। त्यतिबेलाका प्रबुद्ध भनिएका पाँच/छ जना ब्राह्मणहरु लगाएर लेखेको उक्त कानून कतिसम्म अमानवीय छ, कतिसम्म अन्यायी छ भने पढ्दै गर्दा जिउ सिरिङ्ग हुन्छ। ब्राह्मणले गल्ती गरेमा सामान्य केश मुण्डन हुन्थ्यो तर शुद्रले सोही गल्ती गरेमा टाउको गिँडिन्थ्यो। उच्च जातीयविरुद्ध थोरै अपशब्द बोल्दा पनि उनीहरूको जिब्रो काटिदिने, फलामको सुइरो गाडिदिने, कानमा उम्लिएको तेल हालिदिने, हातमा फलामको तातो रातो डल्लो राखिदिने जस्ता अमानवीय काम गरिन्थ्यो। कतिसम्म भने बाहुनसँग छोइए मात्र पनि दलितलाई काटिन्थ्यो। धेरै लामो समय यही कुरा चलिरह्यो। कृपया, एकपटक नेपालको इतिहास, हाम्रा सामाजिक संरचना कसरी बने आफैँ पढ्नुस्। कम्तीमा मानव न्याय शास्त्र त पढ्नुस् पढ्नुस्। सबै कुरा यहाँ लेखिसाध्य छैन। नेपालीको एउटा हरामी बानी छ- नबुझेर प्वाक्क प्वाक्क बोलिदिने। अब यसो नगरौँ। इतिहासमा हामीले कति ठूलो अन्याय गरेका रैछौं, पढ्दै गर्दा आफैंप्रति घृणा जाग्नेछ। इतिहासदेखि समतामूलक समाज निर्माण गरेर सबैलाई पढ्न लेख्न दिएको भए, सबैलाई चेतनाको ज्ञान-गंगामा डुबुल्की मार्न दिएको भए, सायद आज नवराज अर्कै चेतनाको स्वाभिमानी जगमा उभिइरहेका हुन्थे। उमेर नपुगी केटी भगाउन जाँदैनथे। हुलहुज्जत गर्ने गल्ती गर्दैनथे। अर्कै तरिकाले यो अग्नि परीक्षामा खरो उत्रिन्थे। त्यतिले मात्र नपुगेर पछि जंगबहादुर राणाको पालामा मुलुकी ऐन ल्याएर जातीय छुवाछूत थप कस्ने काम भयो। दलितभित्र पनि विभिन्न उपजाति खडा गरियो। उनीहरूभित्रै छुवाछूत राखिदिएर उनीहरूलाई नै भाँड्ने काम भयो। यहाँसम्म कि कसको जुठो कसले खानुपर्ने सम्म लेखियो। नखाएमा कारबाही गरिने भयो। उक्त अमानवीय र अन्यायी कानून कुनै दलितको हातले लेखेको थिएन। उक्त व्यवस्था कुनै दलितले सिर्जेको थिएन। कुनै दलितले मागेको पनि थिएन। उच्च जातीयहरुले नै यो व्यवस्था दलितमाथि जबर्जस्ती थोपरिदिएका थिए। त्यसैले तिमीहरूभित्र पनि छुवाछूत छ नि भन्नु ठूलो अपराध हो। देखिहाल्यौँ, आजको स्थितिमा त दलितको हालत यस्तो छ भने उतिबेला कस्तो थियो होला ? अहिले त हाम्रा तर्क यस्ता छन्, दुई सयदेखि छ सय वर्ष अगाडि कस्ता थिए होला ? त्यसैले जबर्जस्ती थोपरिएको उक्त व्यवस्था दलितहरुले चुपचाप स्वीकार्नबाहेक के नै गर्न सक्थे र ? जबरजस्ती थोपरिएको उक्त व्यवस्था शनैशनै जब्बर तरिकाले संस्थागत भयो र आज अहंकारी धूर्तहरु यही कमजोरी देखाएर दलितविरुद्ध विष वमन गर्दै आफूलाई फेरि पनि चोख्याउन पाउने भए। ओहो, इतिहास कतिसम्म क्रूर र अन्यायी ? २. आरक्षण पनि माग्ने दलित भनेकोमा दुःख मनाउ पनि गर्ने ? समाजशास्त्र र आरक्षणका आधारभुत सिद्धान्त बुझेको मान्छेले यस्तो कुतर्क गर्दैन। बुझेको छैन भने यति गम्भीर कुरामा कम्तीमा हचुवा तालमा बोल्दैन। सीमान्तकृत र उत्पीडित समुदाय, जो विविध कारणले आफैँ पूर्ण प्रतिस्पर्धामा उत्रिन सक्दैन, उसका उपर राज्यको आधारभूत दायित्व हुन्छ। अतिरिक्त सहुलियत दिनुपर्ने जिम्मेवारी हुन्छ। लोक कल्याणकारी अझ समाजवाद उन्मुख भनिएको हाम्रो जस्तो देशमा त यो पहिलो सर्त हुन्छ। दलितले पढेनन् होइन, पढ्नै दिइएन तर बाहुनलाई घर-घरमा धुलेपाटी राखेर अक्षर सिकाइन्थ्यो। बाहुनको काम नै पढ्ने लेख्ने थियो। दलितले वेद छोएमा टाउको काटिन्थ्यो। आज पनि पनि वेद छुन निक्कै कर्मकाण्ड पूरा गर्नुपर्छ भने ऊ बेला त्यो पनि दलितले वेद, किताब छुन पायो होला ? सहजै अनुमान लगाउन सकिन्छ। हलो जोते बाहुनको जात जाने भयो तर झुक्किएर पनि किताब छोए दलितको माथ जाने भयो। यसरी हेर्ने हो भने श्रमजीवी, शिल्पी समुदाय दलितलाई आरन, हलो, फाली, खेती, किसानी र निर्माणका क्षेत्रमा लगाएर गर्नुसम्म दोहन गरियो। दलितको श्रम, सीप र पराक्रमको चरम दोहन गरेर तथाकथित उच्च जातिका मान्छेहरुले इतिहासदेखि लिनुसम्म आरक्षण लिए। जबकि हामी अहिले दलितले लिएका २/४ वटा आरक्षण सिट देख्छौँ तर इतिहासदेखि पुरै सिट कसको नाममा आरक्षित भए कहिल्यै बुझ्दैनौँ। बुझ्नै चाहन्नौँ। एकाधिकारवादी, उच्च जातमुखी संरचना निर्माण गरेर, पढ्न लेख्न नदिएर, चेतनाको बिर्को लगाइदिएर इतिहासदेखि आरक्षण लिएको बाहुन क्षेत्रीले हो, दलितले होइन। तथाकथित मानव न्याय शास्त्र र मुलुकी ऐनहरुले दलितलाई पढ्न लेख्न पाउने अधिकारबाट बन्देज नगरेको भए आज उनीहरू लिने र कोही दिने स्थितिमा हुनै पर्थेन। ठूल्ठूला गफ ठोक्ने हाम्रो चेतना सामाजिक सञ्जाल दुरुपयोगमार्फत अझै पनि यस्ता कुतर्क गर्न उद्यत छ भने दुःख साथ भन्नुपर्छ, हामी आदिम गुफामा लाप्पा खेलिरहेका कबिला हौँ। एक्काइसौं शताब्दीको मान्छे होइनौँ। होइन भने “आरक्षण पनि माग्ने दलित भनेकोमा दुख मनाउ पनि गर्ने” कसरी भन्न सक्यौँ ? इतिहासदेखि अछुत बनाएर मानव सभ्यतादेखि पर लखेटेर अमानवीय जिन्दगी जिउन विवश पारिएका दलितहरुले इतिहासदेखि भएको अन्यायको सावाँ ब्याज एकएक भुक्तान लिन खोजे भने हाम्रो ‘चौरासी लाख जुनी’ले पनि थेग्न सक्नेछैन। सीमान्तकृत, उत्पीडित र शोषित समुदायलाई सानोतिनो चित्त बुझाउन राज्यले दिएका दुई चार आरक्षणको यति निर्लज्ज र यति सस्तो हिसाब ? हे तथाकथित महात्मा, एकपटक सोचौँ- जन्ममा हाम्रो कुनै नियन्त्रण हुँदैन । फलानो घरमा जन्म लिने भनेर पूर्व योजनाअनुसार हामी कोही पनि जन्मिएका होइनौँ। ती दलित भनिएका घरमा तपाईं हामी पनि त जन्मिन सक्थ्यौँ ! आरक्षणका आफ्ना सिद्धान्त हुन्छन् । कम्तिमा ती कुरा बुझ्ने प्रयास गरौँ। सामाजिक विभेदको चिरफार गर्ने कुरा घिनलाग्दो नेपाली राजनीतिको भुइँफुट्टा विश्लेषक बनेजस्तो सजिलो कुरा होइन । आजको चौरजहारी घटना सदियौँदेखिको विभेदले संस्थागत गरेको उच्च जातीय अहंकारले निम्त्याएको परिणाम हो। सो कुरा बुझ्न इतिहास र हाम्रा सामाजिक संरचनाको गहिरो अध्ययन चाहिन्छ। ढिला भैसक्यो, रातारात समाज परिवर्तन गर्न नसकिएला तर उक्त दिशातिर थोरै भए पनि वाञ्छनीय र सकारात्मक कदम चालौँ। विभेदको जगमा टिकेको यो रुढ समाज रुपान्तरण कसरी गर्न सकिन्छ, त्यतातिर सोचौं। थोरै भए पनि सहिष्णु बन्दै जाने हो भने, आजको भोलि नहोला तर एकदिन अवस्य पनि समतामूलक समाज निर्माण हुनेछ। ३. लकडाउन उल्लंघन गर्ने ? हुलहुज्जत गर्दै १८ जना आउने ? उमेर नपुगेकी केटी जबर्जस्ती भगाउन खोज्ने ? लकडाउन बाजेका गुप्त मालमत्ता छोप्ने लगौँटी हो। सिधा हेरे छोपेजस्तो, दायाँबायाँ बाट हेर्दा ह्वाँग्गै ! लकडाउन कहाँ पालना भएको छ ? यसो भनौँ, कहाँ उल्लंघन भएको छैन ? मेरै ठाउँको कुरा गरौँ। स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, दुई गाउँका बासिन्दाले अस्ति भर्खरै धुइरी, पुत्तेल मेला लगाए। ठाउँठाउँमा यस्तो भइरहेकै छ। सिंहदरबारअगाडि, काठमाडौँका गल्लीगल्लीमा अस्तिसम्म भैलो खेलिँदै थियो। खासमा लकडाउन बाजेको गुप्तांग छोप्ने लगौँटो हो। रूपमा परिपालन गरेजस्तो तर सारमा नगरेको स्थिति छ। यसलाई देखाएर मानव हत्याको घिनलाग्दो दृश्य छोप्न सकिँदैन। जहाँसम्म १८ जनाको हुलहुज्जत को कुरा छ, यो साह्रै सस्तो तर्क भयो। यहाँ हामीले कार्य देख्यौँ, कारण देखेनौँ। कुनै पनि घटनालाई कम्तिमा कार्य र कारणको युगल दृष्टिबाट हेरिनुपर्छ। नवराज दुलही ल्याउन गएको यो दोस्रो पटक हो भन्ने कुरा बुझियो। यदि उनी दलित नहुँदा हुन् त पहिलो पटक नै काम फत्ते भैसक्थ्यो। उनी दोस्रो पटक साथीहरू लिएर जानै पर्थेन। उहिल्यै उनीहरू घरजम गरेर आरामदायी जिन्दगी जिइरहेका हुन्थे। उमेर नपुगेको कुरा कानूनी रूपमा उपयुक्त तर्क हो तर जात मिलेको भए उहिल्यै सत्र वर्षीयालाई रातारात बीस बर्ष पुर्\u200dयाइसकिन्थ्यो। दुःखका साथ भन्नुपर्छ, हाम्रो कानून पनि त बाजेका मालमत्ता छोप्ने लगौँटिको टालो हो! नयाँ कानूनी व्यवस्था आइसकेपछि पनि मै हुँ भन्नेहरुकै घरमा पन्ध्र वर्ष नपुग्दै सानदार बाल विवाह भएका एकसे एक रेकर्ड छन्। यो मामिलामा कसै कसैले त पूर्णांक पनि प्राप्त गर्लान् । पछिल्लो समय सरकार, विभिन्न क्लब, सामाजिक संस्थाको पहलमा यस्ता घटनामा केही कमी आएको छ तर अझै व्याप्त छन् । रुकुम-जाजरकोटलाई काठमाडौँबाट पर्फेक्सनको चस्माले हेरियो भने, अपुरो हुनेछ। रुकुम, जाजरकोट मात्र होइन, हाम्रो जस्तो कागजी साक्षरता भएको मुलुकमा बाल विवाह ठूलो समस्याको रूपमा रहेको छ। खासमा अहिले जजसले बाल विवाहको कुरा उठाइरहेछन्, खोज्दै जाने हो भने उनीहरूकै घरमा पन्ध्र सोह्रमै घरजम गरेका जोडी भेटिने छन्। यतातिर सोह्र सत्रमै विवाह गर्नु सामान्य चलन मानिन्छ। खासमा समाजमा जे चलेको छ, नवराजले त्यही गर्न खोजे । यद्यपि बाल विवाह हुनुपर्छ भन्ने मेरो मान्यता होइन तर व्यावहारिक रुपमा हेर्ने हो भने बिहेबारी बीसपारि कसको लागि बनाएको होला भन्नुपर्ने स्थिति छ। कानुनी दृष्टिले नवराजको कदम गलत देखियो। यसमा पनि हाम्रै दोष छ। इतिहासदेखि समतामूलक समाज निर्माण गरेर सबैलाई पढ्न लेख्न दिएको भए, सबैलाई चेतनाको ज्ञान-गंगामा डुबुल्की मार्न दिएको भए, सायद आज नवराज अर्कै चेतनाको स्वाभिमानी जगमा उभिइरहेका हुन्थे। उमेर नपुगी केटी भगाउन जाँदैनथे। हुलहुज्जत गर्ने गल्ती गर्दैनथे। अर्कै तरिकाले यो अग्नि परीक्षामा खरो उत्रिन्थे। तर, हे छुत मानव ! इतिहासमा न्याय, तर्क र तथ्यको भाष्य यति सम्म पेण्डुलम हुन्छ ? कि जसले जता मन लाग्यो उतै हल्लाउन मिलोस् ! अझ, आफ्नो साइडमा पुरा खिँचेर, पुरै शक्ति भरेर ताकेर उतै प्रहार गर्न सकियोस् ! कुतर्कहरु भेला पारेर इतिहासकै नृशंस हत्याकाण्ड तोडमरोड पार्न खोज्दैछौँ हामी। जातीय छुवाछूत गर्न नपाउँदा निम्त्याइएको नृशंस हत्याकाण्डलाई हामी जातीय रुप नदिऊँ भन्दैछौं ! हे छूत मानव, कसैको झूटो अहंकारमा लागेको चोटको बदला कसैको ज्यान हुन सक्दैन। यो कुरा बुझ्ने कसले ? यो कुरा बुझ्ने कहिले ? कमजोरलाई हिर्काउन क्या मज्जा आउँछ हामीलाई ?!? कवि विनोद विक्रम केसी ठीकै भन्छन् – सत्ते, धरोधर्म ओलम्पिकमा हामी पनि जित्थ्यौँ यस्ता नाथे गोल्ड मेडल तर, दलितलाई ताकेर तारो हान्ने खेल राख्दै राखेनन् बैरीहरुले जेमा थियौँ हामी पारंगत ! #कानुन #चन्द्रशेखर केसी #दलित #हत्याकाण्ड
अश्वत्थामा हतोहतः मिथकीय पुनर्सिर्जन: युग बोल्ने संवाद उर्वशी – हेर पुरूरवा ! तिमीले नारीहृदयलाई चिनेकै रहेनछौ । नारी जोडेर जति रमाउँछे तोडेर पनि ऊ त्यत्ति नै प्रफुल्लित हुन सक्छे । संयोग र वियोग शब्दमा लोकले विपरीत अर्थ देख्ला, तर मेरो निम्ति यी दुवै विपरीत स्थिति मात्र हुन् (पृ\u200c २४) । +++ उर्वशी – …पुरुषलाई जायाको स्वार्थले जाया प्यारी लागेकी हुँदिन । यो त आआफ्नो स्वार्थ हो जसलाई हामी प्रेमको संज्ञा दिएर आफैँलाई भ्रममा पारिरहेका हुन्छौँ (पृ\u200c \u200c.२५) । +++ सनातन पुरुष – म जन्मिरहेँ, म मरिरहेँ । म मरिरहेँ, फेरि जन्मिरहेँ । प्रत्येकपल्ट मेरै शक्तिशाली रूपहरूले मेरै कमजोर रूपहरूमाथि प्रभुता जमाए, शासन गरे, हुकुम चलाए ! समय ! तैंले पनि मान्छेहरूका तिनै कठोर र शक्तिशाली प्रतिनिधिहरूलाई साथ दिँदै आएको छस् (पृ. ३६) । +++ दलाल – हजुर, सानो मुख ठूलो कुरा ! अङ्ग्रेजी भाषामा अति मीठो गरी, सभ्य लबजमा मलाई ‘कमिसन एजेन्ट’ नभए ‘ब्रोकर’ भन्ने गरिन्छ । तर नेपालीमा मेरो नाम र काम बुझाउने शब्द अलि खस्रो लाग्छ म आफैँलाई-‘दलाल ।’ जति मिठास घोलेर उच्चारण गरे पनि ‘दलाल’ शब्दभित्र दलालीको अनुगुञ्ज रहन्छ-रहन्छ । हजुर ! सानो मुख ठूलो कुरा … (पृ. ७७) ! } +++ (अश्वत्थामा हतोहतः २०५० माघमा तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित नाटक हो र लेखक हुन्- अविनाश श्रेष्ठ । यसमा दुई शक्तिशाली नाटक छन्- (क) समय, समय अनि समय र (ख) अश्वत्थामा हतोहतः । ) पाठकीय प्रक्षेपण {असङ्ख्य अर्धसत्य झेल्दै विसङ्गतिहरूसित जुझ्न प्रत्येक युगमा अश्वत्थामा देखा पर्छन् । तर ती अश्वत्थामाहरूलाई हामी चिन्दैनौँ पाठकवृन्द (दर्शकवृन्द-लेखक) ! ती स्वयम् सताइएका हुन्छन्, तर समयले प्रत्येक अभाव, शोषणका घाउहरू तिनैलाई बोकाएर अभिशप्त तुल्याउँछ । तिनीहरूमाथि नै अन्यायको बज्र खस्छ र तिनीहरू नै दण्डित बन्छन् । आउनुहोस्, पाठकवृन्द (दर्शकवृन्द-लेखक) ! हामी आजको संसारका गल्ली-गल्ली, टोल-टोलमा यस्ता उपेक्षित अश्वत्थामाहरूलाई खोजौँ \u200c…} +++ १. कृतिभित्रका दुवै नाटक, (क) ‘समय, समय अनि समय’ र (ख) ‘अश्वत्थामा हतोहतः’ प्रयोगवादी नाटक हुन् । नाटककारले आजको मान्छेको नियति देखाउन प्राचीन र अर्वाचीन (इतिहास प्रदत्त) पात्रसँग सम्बन्धिक कथा (जसलाई हामी मिथकसँग जोडौँ) लिएका छन् । २. हामी मिथक बाँचिरहेका छौँ । यद्यपि ‘हट केक’का रूपमा नआएसम्म त्यसमाथि ‘वहश’ गर्दैनौँ अथवा हाम्रो ‘समझमा’ त्यो पर्दैन । हामी हुनुको मिथकीय यात्रामा होइन नहुनुको मिथकीय जात्रामा छौँ । ३. प्रसिद्ध मनोविज्ञानी सिग्मण्ड फ्रायडले भनेजस्तो अचेतनमा पुग्ने राजमार्ग नै मिथक हो । जब सर्जक कुनै सिर्जनाका माध्यमबाट बाहिर निस्कन्छ सँगै अचेतन मन पनि बाहिरिन्छ अर्थात् उसको लेखनीका माध्यमबाट हामी अचेतनतर्फको यात्रा गर्न पुग्छौँ । ४. अझ मिथकबारे अर्का अग्रणी मिथकाचार्य कार्ल गुस्ताभ युङ्ग।जुङ्गको धारणा गजब छ । उनी भन्छन्, ‘मिथकले सामूहिक अचेतनलाई प्रस्तुत गर्दछ । मिथमा मानिसका आशा, मूल्य, दुर्बलता तथा आकाङ्क्षाको सामूहिक प्रक्षेपण हुन्छ ।’ ५. मिथकमाथिको केही पङ्ति यस पङ्तिकारले कान्तिपुरमा ‘भष्मासुरको नलीहाड’ शीर्षक (हेर्नू, २०७७, वैशाख २२) मा कोरेको छ र अरूले पनि कोरेका छन् । अब फेर पक्रौँ-अश्वत्थामा हतोहतःको । नाट्यसर्जक श्रेष्ठको ‘अविनाश’ नाट्ययात्रा युङ्गको विचारसँग सहमत छ (यो मेरो दाबी हो ।) । तथापि उनले कुन दृष्टिकोण लिएर नाटक जन्माए, त्यो लेखक स्वयम्\u200cलाई ज्ञात होला । हामी त पाठको आधारमा बोल्ने न हो । ६. कृतिभित्रको कथाको तागत नै पूर्वस्थापित मिथकको पुनर्सिर्जनद्वारा आधुनिकताको तथ्य पुष्टि गर्नु हो । उनले पूर्वीय तथा पाश्चात्य जगत्\u200cका स्थापित चरित्र र तिनले बाँचेको युगलाई वर्तमान समयसँग बाँच्दै गरेका पात्रहरूसँग अन्तर्सम्बन्धित तुल्याएका छन् । अर्थात् एउटा युगको कथा र चरित्रलाई अर्को युगका कथा र चरित्रसँग आरोपित गराइएको छ । यसो गर्दा यहाँ प्रयोग गरिएको ‘टेक्निक’ (प्रविधि) फरक छ । मूल कथा अर्धसत्य र सत्यको नजिक छ भने परिवर्तित कथा (नाटक) सत्यसँग निकट छ । ७. यहीँनेर एउटा कुरा प्रस्ट पारौँ, जति पनि सर्जकले मिथकको सहारा लिन्छ, उसले स्थापित (जुन प्रथम सत्यका रूपमा रहेका हुन्छन्, जस्तो कि अश्वत्थामाको वास्तविकता वा हिटलरको वास्तविकता) सत्यबाट हुबहु नलिएर त्यसलाई आफ्नो लेखनीको सहायक मान्दछ अथवा यसो भनौँ मूल विषयलाई आजको समयसँग सापेक्षित गर्छ र प्रतीकात्मक रूपमा त्यसको प्रयोग गर्छ । अश्वत्थामा हतोहतःका दुवै नाटकमा यही भएको छ । विद्वान् साक्ष्य ८. मोहनराज शर्मा भन्छन् – अश्वत्थामा हतोहतः नाटकमा पौराणिक अश्वत्थामालाई अगाडि ल्याएर अभिशप्त मानव र मानवीयताको खोजी गरिएको छ । शर्मा मान्दछन्, नाटकले जीवनका नानारङ्गी विद्रूपहरूको सक्कली अनुहार देखाएको छ (नाटककै परिशिष्ट ‘क’) । ९. मूल नाटक अश्वत्थामा हतोहतःमाथि दृष्टिगोचर गर्दै मोराश भन्छन् – कृष्ण आदि पौराणिक पात्रहरू दलाल आदि सामान्य जीवनका पात्रहरूमा रूपान्तरित हुन्छन् र तिनले वर्तमान विसङ्गतिको कटु उद्घाटन गर्छन् । यो नाटक मूलतः ‘किसान/अश्वत्थामा/अभिशप्त मानव’को कथा हो । १०. मोराशको कथनले आजको दलाल वृत्ति बाँचेका मान्छेको ‘सलह’ प्रवृत्तिलाई छर्लङ्ग पार्दछ । जोसँग हामी दिनहुँ जुधिरहेका छौँ । जुन तथ्यलाई बुझ्न तपाईँ नाटकको मूल पाठमा पुग्नुपर्छ (पुग्नोस्, जिज्ञासा शमन हुनेछ ) । ११. डा. केशवप्रसाद उपाध्यायले अश्वत्थामा हतोहतःमाथि गरेको टिप्पणी यस्तो छ, उनले (श्रेष्ठले) आफ्ना नाटकमा हिटलर र मुसोलिनीजस्ता मानवताका शत्रु र दुर्योधनजस्ता जाली र झेलीको मात्र नभएर मानवता, सत्य र धर्मका पालक र रक्षक मानिएका युधिष्ठिर र कृष्णका दोष र दुर्बलतालाई समेत देखाएर आफ्नो निष्पक्ष आलोचनात्मकता प्रदर्शित गरेका छन् तापनि उनले श्रद्धेय दैवी व्यक्तित्वका रूपमा आराध्य रहिआएका कृष्णका चरित्रको जेजस्तो विरूपण गरेका छन्, त्यो आस्थाशील दर्शक-पाठकका लागि सुपाच्य नहुने देखिन्छ (नेपाली नाटक र नाटककार, पृ २७८) । १२. उपाध्यायको भनाइबाट यो बुझिन्छ कि नाटककारको विनिर्माण विगत र आगतको बीचमा वर्तमानको संशयलाई मुक्त गर्नुमा भएको छ । हामी आज जे भोग्दै छौँ अभिशप्त रूपमा भोग्दै छौँ । हाम्रो नियति अश्वत्थामाको भन्दा कम छैन । विनाकारण श्रापित भएर भौतारिरहेका छौँ । बाँच्नु र भौतारिनु हाम्रो नियति बनेको छ । हामी बाँचिरहेका छौँ, ‘मिथ अफ सिसिफस’को मूल चरित्र सिसिफस भएर या त बाँचिरहेका छौँ अश्वत्थामा भएर । दुवै मिथकीय चरित्र हुन् र तिनको जीवन नियति फरक भूगोलमा झण्डै समान छ । १३. मार्क सोरर नामका विद्वान् भन्छन्- मिथक ठूलो नियन्त्रक बिम्ब हो \u200c…जसले सामान्य जीवनका तथ्यलाई दार्शनिक अर्थ दिन्छ (उद्धृत-कृष्ण गौतम, आधुनिक आलोचनाः अनेक रूप अनेक पठन, पृ. १२१) । नाटककारले पनि त्यही गरेका छन् । मिथकीय बिम्बले सामान्य जीवनको तथ्योद्\u200dघाटन गरेका छन् । जुन तथ्य गौतमले रिचर्ड चेजले नोट्स अन दि स्टडी अफ मिथबाट लिएका छन् । १४. ‘समय, समय अनि समय’ मा मानिस र समयबीचको द्वन्द्व प्रस्तुत गरिएको छ । आज मान्छे समयसँग जुधिरहेको छ । सदैव समय, समय अनि समयसँग मान्छे उसैगरी जुधिरहन्छ । यो लीला अनन्तः यात्रा हो । तथापि समयभन्दा बाहिर मान्छे जान सक्दैन । समय प्राकृतिक चक्र हो । जब मान्छे प्रकृतिको उल्लङ्घन गर्न थाल्छ तब ब्रह्माण्डमा अनेकौँ सङ्कटहरू जन्मन्छन् (जस्तो कि आज हामी भोगिरहेका छौँ – कोभिड १९ उर्फ कोरोना भाइरस) । सङ्कटबाट मोचन हुनु भनेको प्रकृति वा सृष्टिचक्रबाट भाग्नु होइन ती तत्त्वसँग आत्मीय सम्बन्ध स्थापित गर्नु हो । समाहित हुनु हो । अझ भनौँ डार्बिनको जीववादी सिद्धान्तसँग परिचित हुनु हो । १५. ‘समय, समय अनि समय’ नाटकमा मानव जगत्\u200cले विभिन्न कालखण्डमा भोग्नु परेका दुःखद्, त्राटक (त्रासद), अमानवीय घटनाहरूको वर्णन छ । ती घटनाको चित्रण गर्नका लागि सोही अनुरूप पात्रको रूपान्तरण भएको छ । समान प्रवृत्ति बोकेका पात्रहरूलाई विभिन्न कालखण्डको प्रतिनिधि बनाएर रङ्गमञ्चमा उतारिएको छ । १६. ‘समय, समय अनि समय’ नाटक पढ्दा यस्तो लाग्छ, बी.आर. चोप्राकृत भारतीय टेलिशृङ्खला ‘महाभारत’का समयद्रष्ट्रा स्वयम् उपस्थित छ र बोलिरहेको छ-‘मे समय हूँ’ । र उसैको निर्देशनमा सबै कुरा अगाडि बढ्दै छ । यहाँ समय नाटकको मुख पात्र हो अर्थात लेखकीय दृष्टिकोण प्रक्षेपण गर्ने पात्र हो अर्थात ऊ द्रष्टा हो । पात्रहरूको रूपान्तरण नाटकको खास शक्ति हो । कृष्णलाई हिटलर र विक्कीमा, युधिष्ठिरलाई गान्धी र विनयमा, भीमसेनलाई मुसोलिन र राजेशमा, यमलाई पुरूरवा, शेखर र अमरमा, यमीलाई उर्वशी, नीरा र भावनामा रूपान्तरण गरिएको छ र समयको नियति संवाद गर्न लगाइएको छ । कालक्रमलाई हेर्दा यहाँ पौराणिक, ऐतिहासिक र आधुनिक (समसामयिक) युगजीवनका संवाद शृङ्खला तत्\u200cतत् समयको युगबोध गर्नका लागि उपस्थित भएको छ । निचोड भनौँ क्यार ! १७. नाटक रचना गर्नु मात्र ठूलो कुरा होइन । नाटकको पूर्णता मञ्चमा पुगेपछि र प्रेक्षकले ग्रहण गरेपछि हुन्छ । यस मानेमा श्रेष्ठकृत दुवै नाटक बारम्बार मञ्चन भएको देखिन्छ । उनले रङ्गकलामा विशेष ध्यान दिएका छन् । जसले गर्दा नाटक थियटर।रङ्गमञ्चमा प्रस्तुत गर्न सहज भएको छ । अर्थात् भाव साधारणीकरण {भाव ग्रहण गर्ने सन्दर्भ- (क) पूर्वमा रसानन्द।रसको आनन्द।पाठ पढेपछि वा दृश्य हेरेपछि प्राप्त हुने आनन्द र (ख) पश्चिममा अरस्तुको विरेचन सिद्धान्त (जसलाई तपाईँ केही समयपछि युट्युबमा सुन्न तथा पढ्न सक्\u200dनुहुनेछ)।मनमा रहेको विकार रेचन हुनु वा बाहिर निस्कनु अथवा आनन्द प्राप्ति वा शुद्धीकरणको अवस्था} प्रकृयामा आएको छ । पाठ पढेपछि त्यसले पाठकमा एक न एक प्रकारको छाप छाड्नुपर्छ र सरकारले गर्ने सम्पत्ति शुद्धीकरणजस्तै भावक वा पाठकको मनको पनि शुद्धीकरण कृति वा पाठको रचनापछि आवश्यक हुन्छ । नत्र भने त्यस्तो रचनालाई लेखकीय आत्मरतिबाहेक केही भन्न सकिँदैन । १८. नाटकले नाटक उभिएको पृष्ठभूमि र समयलाई राम्रोसँग स्पर्श गरेको छ । फलतः नाटकको रचनागर्भ ४० को दशकको उत्तरार्ध भए पनि आज पनि यसको कथावस्तु उत्तिकै दमदार छ । यही हो लेखकीय अस्तित्व दाबी गर्ने एक मात्र संयन्त्र । कुनै समय ‘वाह ! वाह !’ भए पनि समाजपरक समालोचक हिडोल्फ एप्पोलाइट टेनले भनेजस्तो युग, जाति र परिवेशलाई स्पर्श गर्न सकेन भने ‘वाह’ पछि ‘स्वाह’ निश्चित छ । १९. यो एउटा दृष्टिकोण हो । कर्मकाण्डीय पद्धतिबाट मुक्ति हो । मैले कथानक, चरित्र, परिवेश, संवाद आदि शैलीविज्ञानी कृति समीक्षा पद्धति यहाँ प्रयोग गरिनँ । त्यसरी गरेको समीक्षा मेरो पुस्तकमा उल्लेख छ । आवश्यक भए प्रदान गर्नेछु । २०. समीक्षा।समालोचना पद्धतिलाई फरक-फरक कोणबाट विमर्श गर्ने एउटा असली समीक्षक।समालोचकको नाउँ सुटुक्क भनूँ-कृष्ण गौतम । उनी निवृत्त नेपाली विषयका प्राध्यापक हुन्, तर उनको भाषिक ज्ञान र समालोचना पद्धति देखेर तीनछक पर्छु । हामी केही विषयमा केही बोल्यौँ भने लङ्का पुग्ने गरी डङ्का पिट्छौँ – क्या दियो यार ! हामीमा राम्रोसँग विषयलाई केलाएर र तुलना गरेर समालोचना गर्ने परिपाटी ज्यादै न्यून छ तथापि गौतम गृहमा चुपचाप बस्छन् र काम गरिरहन्छन् । उनका ११ थान समालोचनाका जडी किताब प्रकाशित छन् । यो कुरा किन गरेको विषयान्तर गरेर ? उत्तर दिऊँ – यो जरुरी छ । हामी नदेखेका कुरा खोज्न सिक्नुपर्छ । तब नि सिकाइ । पढ्नोस् गौतमकृत समालोचना खोजेर । सिद्धान्त र व्यावहारको गजबको फ्युजन छ ताकि धेरै कन्फ्युजन दूर हुनेछन् । २१. एउटै कृतिलाई फरक-फरक कोणबाट अध्ययन गर्ने कुरामा हामी सबै ज्ञानी छौँ । मेरो धारणा र तपाईँको धारणा विल्कुलै फरक पाटोमा दौडन सक्छ । गौतमले यो कुरा २०५० सालमै पुष्टि गरे- ‘आधुनिक आलोचनाःअनेक रूप अनेक पठन’ नामक कृति प्रकाशन गरेर । यसमा उनले बालकृष्ण समकृत नाटक ‘प्रह्लाद’को अनेक (बहु) पठन गरेका छन् । २२. यस्तै पठन अश्वत्थामा हतोहतःमा गर्न सकिन्छ । यो सम्भावना तपाईँहरूलाई । यसका लागि उपयुक्त पठन हुनेछ – अन्तरअनुशासनात्मक पठन (एउटै कृतिमा धेरै विधा।अनुशासनको मिश्रण हुनु) । अन्तिममा अश्वत्थामाको एउटा संवाद – “दुःखहरूलाई घाउहरूलाई, विभीषिकाहरूलाई सङ्ग्रालयमा सजाएर रमाउने ए पङ्गु मानिसहरू हो ! मलाई घरिघरि लाग्छ, अभिशप्त म होइन यो सारा युग नै अभिशप्त छ, अभिशप्त तिमीहरू छौ ।” उपप्राध्यापक, त्रिभुवन विश्वविद्यालय #अविनाश श्रेष्ठ #अश्वत्थामा हतोहतः #उपप्राध्यापक #त्रिभुवन विश्वविद्यालय #राजिन पनेरू
कृपया, आफूलाई मान्छे बनाऊ !: तिमीलाई ठट्टा गर्न मन छ ? आऊ मसँग जिस्क तिम्रो सन्तुष्टिका लागि तिम्रो पाखण्डमतिका अगाडि म केही अपमान सहन सक्छु आऊ मलाई अपमानित गरेर अट्टहास गर्ने तिम्रो रहरलाई म पुरा गरिदिन्छु सम्झ म एउटा मानिस भएका कारण एउटा मनोरोगी प्रतिका दयाले यी सब गर्न तयार छु विनीत बनेर सम्झाउँदै छु भुलेर पनि मेरो देशको एक डल्लो माटोसँग ख्यालठट्टा नगर मेरो देशलाई ख्याल नसम्झ देशका लागि लड्नु परे मलाई कुनै हतियार चाहिँदैन म आफैँ बारुद हुँ म आफैँ तरवार हुँ मान्छे धारिलो बनेर बज्रिएको मान्छे बम बनेर पड्किएको कहिल्यै देखेका छौँ ? अञ्जानमै किन नहोस् मेरो देशसँग जिस्कियौँ भने तिमीले मानिस पड्किएको पहिलो र अन्तिम दृश्य देख्नु पर्नेछ कसैका विरुद्ध बारुद बन्नु नपरोस् कसैको प्रतिकारमा तरवार बन्नु नपरोस् सधैँ कामना गर्दै बसेको मैले आग्रह गरिरहेको छु कृपया आफूलाई मान्छे बनाऊँ #ठाकुर बेलवासे #विद्रोह
शिरिषको फूल: भीडभाड सहरको कुना काप्चामा धूलो धूवाँ घाम पसिना भुँलाउँदै लम्कँदै ढल्कँदै गर्दा पाइला पाइलामा झर्छ शिरिषको फूल । अतितको कथा, वर्तमानको नयाँ रुप ठूलो आकारमा सहरभरि घुम्ने सबैको साझा बसको छतमा बस्छ शिरिषको फूल । कुचिकारको सानो कूचीमा होस् वा साहित्यको ठूलो भूमिमा हरेक कलाकारको कलामा अमर अट्छ शिरिषको फूल । थकाउने दैनिकीमा पलभरको आभार जस्तो बादलमा चम्किने चाँदीको घेराजस्तो काठमाडौँको धुँलिदो सुन्दरतालाई सघाउन फुल्छ शिरिषको फूल । #शिरिषको फूल
जेठ पन्ध्र: रगतले लेखिएको छ जेठ पन्ध्र सिन्दुरले लेखिएको छ आँशुका नदीहरुमा प्रतिविम्वित सूर्यका किरणहरुले लेखिएकोछ बृहद् सपनाको एउटा चहकिलो फूल प्रत्येक वर्ष आफ्नो रापिलो र रातो अनुहार लिएर उदाउनेछ क्यालेण्डरमा आयातित अत्याधुनिक गिद्धे छापाखानामा बनमाराको मसीले छापिएर अनुहार धुमिल त हुने हैन? समयको प्रत्येक जीवित पुस्ता अघिल्तिर बयान दिन पेश हुन्छ जेठ पन्ध्र ? जीवन्त इतिहासको प्रवाहमा अन्तिम अदालत हुँदैन गतिशील समयको जीवनमा अन्तिम पुस्ता हुँदैन #गणतन्त्र दिवस #जेठ १५ #टंक उप्रेती
अचेल मलाई अचम्म लाग्छ: अमित गाैतम अचेल, मलाई अचम्म लाग्छ यो सोचेर होइन कि म किन यति साह्रो अन्तर्मुखी छु; ऊ कसरी लुकाउछे, आफ्नो चोलीभित्र, कठ्याङ्ग्रिने जाडोमा पैताला घोच्ने दुबोजस्ता चित्कारहरु । अचेल, मलाई अचम्म लाग्छ; कसैलाई सुइँकोसम्म नदिई, नङपालिसले रंगिएका हातबीच, कसरी ऊ व्यग्रताका साथ सिगरेट समाउँछे; कसरी उसले ऐस्ट्रेमा झार्नुपर्ने धुवाँ, निरन्तर घाँटी, छाती हुँदै नितम्बसम्म पुर्याउँछे । अचेल मलाई अचम्म लाग्छ, उसका हाइड्रोलिक ब्रेकरूपी खुट्टाहरु, कसरी समयअघि नै रोकिन्छन् कसरी थाम्छे ऊ आफूलाई, घामकीरीका पुच्छरमा बाँधिएको धागोजस्ता, आकांक्षाका बादलहरुको ओजलाई । अचेल, मलाई अचम्म लाग्छ, कसरी ऊ एक अजम्बरी रुखझैँ बन्चरोको चोट सहने कसम खाएजसरी प्रेमिल ताजमहलझैँ छाती खोलेर उभिएकी छ । अचेल, मलाई अचम्म लाग्छ, उसको बारेमा सोचेर ऊ रुने बिछ्यौना कुन रङको होला, कहाँ सङ्गालेकी होली ती आँशु र सपनाका आहालहरू । कस्ता हुँदा हुन् त्यहाँ बग्ने भेलहरू– कर्नालीझैँ सफेद र शान्त वा बागमतीको पट्यारलाग्दो लेदोसँग साइनो लाउन पुग्छे । अचेल,मलाई अचम्म लाग्छ; उकालो चढ्दै गर्दा देखिने ती गौँथलीहरू, कहाँबाट ओसार्छन् तिनले ती आशाका त्यान्द्राहरु, कुन पखेटाहरुमा बेर्दा हुन्, कुन कुरुसले बुट्टा भर्दा हुन् । अचेल, मलाई अचम्म लाग्छ; ती पर्खालभित्र उसका बचेरा मात्र अटाएका छैनन् अचेल, मलाई अचम्म लाग्छ; उसका कलात्मक औँला र सुमधुर गलाबीच के सामञ्जस्यता छ, ऊ आफ्नी आमाको लागि मात्र गाउँदिन कोइलीभन्दा भिन्न उसलाई कसले बनायो ? अचेल, मलाई अचम्म लाग्छ; ऊ घर कसरी पुग्छे, ती हावाभन्दा हलुका तर, अप्ठ्यारा पानाहरू चढेर । #अमित गाैतम
'भोकको लय'भित्र नवराजहरूको प्रतिविम्ब: भोकको लय कविता संग्रह फेरि एउटा समाचार मिडिया/संजालहरूमा भाइरल भएर आएको छ- “एक उच्च जातकी युवतीसँग प्रेम गरेको निहुँमा प्रेमी दलित युवकको हत्या !” उफ् ! बारम्बार हृदय हल्लाउने गरी समाचार आइरहन्छन् मात्र आइरहन्छन् । शताब्दी लज्जाबोध गरिरहेछ । ठीक यही समय पढिरहेको छु मैले, कवि कृष्ण विश्वकर्माको कविताकृति “भोकको लय” । कृष्णहरूले भोकको लय कहिलेसम्म लेखिरहने ? जातीय छुवाछूतले निम्त्याएको सिलसिलेवार हत्या कहिले रोकिने ? यी झन्झन् दोहोरिरहँदै आइरहेका घटनाहरूले यो प्रष्ट हुन्छ कि, हाम्रो समाज अझै यथास्थितिवादबाट बाहिर निस्किरहेको छैन । इतिहासले खनेको गहिरो एउटा वर्ग विभेदको खाडल छ यहाँ- अझै पुरिएको छैन । रूढिवादी परम्परा यथावत् उस्तै छन् गाउँ-समाजमा । र त भोकको लयभित्र कवि लेख्छन्- मलाई एउटै कारणले सहर मन पर्छ । भर्खरै एकजोडी चखेवाचखेवी गाउँबाट लखेटिएको छ बाहिरी परतमै सही सहरले शरण दिएको छ । …….! ( गाउँ र रूढिहावाको विरासत ) कहिलेसम्म चखेवाका जोडीहरू लखेटिरहनुपर्ने ? कहिलेसम्म नवराजहरूको दुखान्त कथा भोगिरहनुपर्ने ? यस्ता अनगिन्ती घटनाहरूका बाबजुद अगर कोही अन्तरजातीय दम्पतीहरू छन् त समाजमा अपहेलित भएर बाँच्न विवश छन् । यसरी जब मानसिक यातना र दर्दले बिछिप्त बनाउँछ मान्छेलाई, हामी भगवान खोज्दै मन्दिरको ढोका ढकढक्याउन पुग्छौँ । हेक्का होस् — मन्दिर तिनैहरूको हो, “देउता ” तिनैहरूको हो, जसले धर्मको आवरणमा व्यापार गरिरहेका छन् । धार्मिक ग्रन्थहरूको आडमा अन्धविश्वासको बीउ रोपेर परम्पराको खेती गरिरहेका छन् । अन्ततः हामीले के पायौँ देउताको दैलोमा पुगेर ? जान्दछन् कवि छद्मभेषीहरूको अनुहार र खबरदारीको भाषामा सतर्क गराउँछन्- ढोका — विभेदको फलामे चिउरा हो निषेधको सूचक हो पर्दा पछाडिको पर्दा हो जञ्जीर हो अनि बन्दीको पासो पनि हो । ( ढोका ) यहाँ जातीय दम्भमा जघन्य अपराध हुँदै आइरहेको छ । कथित उपल्लो जात भनिनेहरूबाट अन्तरजातीय प्रेमको खिल्ली उडाइन्छ । छुवाछूत, विभेद-दलन, अत्याचार शब्दमा मात्रै गैह्रकानुनी भएको छ । केवल संविधानको पन्नामा शब्द संशोधन गर्दैमा जातीय अहंकार संशोधित नहुँदोरहेछ । र त हरेकपटक राज्यबाटै कमजोर बनाइन्छ दलितहरूलाई विभाजित गरेर दलितहरूको मुद्दा । मिठाई रहेछ नारा — लोभ्याइरहन्छ अफिम रहेछ नारा — मत्याइरहन्छ हतियार रहेछ नारा — टुक्राइरहन्छ ( नाराभित्रको नारा ) जसले बनाए खुकुरी-खुँडा । जसले बनाए भरुवा बन्दुक । उनैले बनाएका हतियार समातेर नालापानीको युद्धमा वीर गोर्खालीहरू अंग्रेजसित युद्ध गरे । इतिहासमा नाम लेखियो । तर हतियार बनाउने विश्वकर्माहरूको कथा गर्भभन्दा बाहिर नआएकोमा, अपहेलित हुनुको पीडाबोध छ कविलाई — गोर्खाली पहिचानको धरोहर सिरुपाते खुकुरी तर, उसको आरनको कथा अझै अज्ञात गर्भमै कैद छ । ( फलाम पिट्ने मान्छे ) ई.पू. ३००० देखि १५०० सम्मको अवधि अघिको मानव समाजको अध्ययनले भन्छ — उतिबेला धर्म र जाति प्रथाको विकास भएको थिएन । देवीदेउताको पूजा अराधना गर्ने परिपाटी थिएन । त्यतिबेलाका मानिसहरूको दिनचर्या जीवनका आवश्यकताहरूको परिपूर्ति गर्नुमै बित्दथ्यो । समयक्रममा, मानव सभ्यताको विकास हुँदै गयो । छट्टुहरूले वर्ग विभाजन गर्न थाले । अलौकिक शक्तिको पूजा गर्ने प्रचलन बनाइयो । ईश्वरीय चिन्तनको अवधारणा बनाउँदै जान थालियो । मानिसहरूलाई जातजातिमा विभक्त गरेर शोषण गर्न थालियो । विभिन्न कुरीति, कुसंस्कार, अन्धविश्वासलाई परम्परागत मान्यता दिन थालियो । यसरी शक्तिशाली वर्गहरूले कमजोर वर्गहरूलाई शोषण दमन गर्ने सिलसिला आज पनि यथावत् छ । यही अन्धविश्वास, अन्धपरम्परा र नकारात्मक चिन्तनको हावीपनले आज पनि यहाँ नवराजहरू विभत्स किसिमले मारिन बाध्य भएका छन् । जातीय छुवाछूतजस्तो घिनलाग्दो प्रथा हराइसकेको छैन । जसलाई तोड्न दलितहरूले अब मुठ्ठी उठाउन जरुरी छ भनेर कविले यहाँ वर्ग संघर्षका लागि कवितामार्फत् आवाज बोल्छन्- चट्याङ लेखूँ , हावाहुरी लेखूँ जब उस्तै देख्छु बाटो मुनिका फूलहरूको सासना हुन्डरी लेखूँ, बारूद लेखूँ लाग्छ । ( एक टुक्रा रित्तो कागज ) कविले उठाएका मुद्दालाई विषयान्तर गर्न कतिले उनलाई जातीयताको ट्याग भिराउन पनि सक्छन् । विखण्डनकारीको बात लाग्न सक्छ । तर कवि फराकिलो विचार बोक्छन् । जहाँ कुनै भेदभाव नहोस् । उचनीच नहोस् । यही उच्चचेत र सहअस्तित्व उनको एक मात्र ध्येय देखिन्छ- उनीहरूको आँगनमा म खेल्न पाऊँ मेरो आँगनमा उनीहरू गर्वले खेलून् नहोस् बीचमा कुनै विभेदका पर्खालहरू । ( मेरो आर्तनाद र आग्रह ) ••• ‘भोकको लय’भित्र समावेश एकाउन्न वटा कविताहरूमा सिलसिलाबद्ध किसिमबाट सीमान्तकृत वर्गहरूको, किनारीकृत वर्गहरूको, उत्पीडित वर्गहरूको दबिएको-दबाइएको आवाज उठाइएको छ । कविले उठाएको मुद्दा उत्तिकै सान्दर्भिक र जायज छन् । कविता लेखनमा कविको अनुभव, अनुभूति र बौद्धिक मिश्रणले कविको सामाजिक चिन्तन र वैचारिक चेत उच्चकोटीको देखिन्छ भने कवितापछि कविताहरूमा शब्दहरू दोहोरिनु, चलनचल्तीमा आइसकेका विम्व/उपमाहरू प्रयोग हुनु, भाषिक शिल्प-सौन्दर्य र कवित्वमा खाँदिलोपनको अभाव देखिनु कृतिको कमजोर पक्ष देखिन्छ । यद्यपि, दुविधा छैन, समकालीन कविहरूमा जातीयताको मुद्दालाई सिर्जनात्मक बनाएर बुलन्द आवाज उठाउने कृष्ण विश्वकर्मा यो समयका प्रखर र सशक्त कवि हुन् । #कृष्ण विश्वकर्मा #जीवित खड्का मगर #दलित साहित्य #दलित हत्या
रहरहरु: बसुन्धरा शर्मा मेरा कल्पनाका रहरहरु जन्मिदै अनि समयको गतिसँगै लहराउँदै गए तिनै रहरले मलाई कहिले क्षितिज पारि त कहिले गन्तव्यविहीन बनाइदिए र पनि म हारिनँ समय बित्तै जाँदा म भित्रका ती रहरहरु अझै थपिंदै र झाँगिदै गए तिनै रहर मेटाउन रहरले कहिले गहिरो सागरभित्र डुबेँ कहिले गगन चुम्न पुगेँ त कहिले हराउँदै रहेँ पुग्नु त थियो कहाँ कहाँ लक्ष्य बिनाका तिनै रहरमा वर्षौं अल्मलिइरहेँ झल्याँस्स ब्युँझदा थाहा पाएँ ती रहर त मलाई सताउने अनि भुलाउने मात्र मृगतृष्णा रहेछन् मात्र मृगतृष्णा भक्तपुर #बसुन्धरा शर्मा #भक्तपुर
अंशबण्डा: नानी थापा तिमी मेरो म तिम्रो, म भन्नु नै तिमी, तिमी भन्नु नै म, मेरो सम्पत्ति तिमी, मेरो संसार तिमी, मेरो सर्वस्व तिमी, मेरो प्राण तिमी, मेरो जिन्दगी नै तिमी मेरो भन्नु सबै तिम्रो तिम्रो भन्नु सबै मेरो भन्नेहरुले एक दिन पारपाचुके गरे । अनि अंशबण्डा गरे थाल, कचौरा, गिलासहरु डाडु, पन्यु र चम्चाहरुसमेत दराज, खाट, सोफाहरु, डसना, सिरक र तन्नाहरु, घर, जग्गा र खेतबारीहरु, नगद, जिन्सी र बैंक ब्यालेन्सहरु, तिलहरी, नौगेडी र मङ्गलसूत्र समेत सबै बराबर भाग लगाए ऋणहरु पनि गाई, भैंसी र बाछाबाछीहरु, पाडापाडीहरु र पाठापाठीहरु, कुखुरा, हाँस र चल्लाहरु, सबै कुरामा सहमति भो । एउटै कुरामा मिलेन मन, दुवैले ‘यो मेरो’ अनि ‘यो मेरो’ भन्दै हारालुछ गरिरहे र तानिरहे आ-आफूतर्फ सर्लक्क दुई फ्याक पारी, भाग लगाउन सकेनन् सन्तानलाई । कठै त्यो बबुरोले ‘बा’ वा ‘आमा’लाई ‘आमा मात्र मेरो’ र ‘बा मात्र मेरो’ भनेर आफ्नो अंशमा दाबी गर्न सकेन ती दुवैको खास अंशहरु मिलेर, अस्तित्व पाएको त्यो अर्को अंशको अंशभागमा बा र आमा नै बण्डा भए अंशबापत ‘आमा’ र वंशबापत ‘बा’ अनि आमा-बाको काख एकैसाथ आखिर उसले “अंश”मा पाएन । नानी थापा #अंशबण्डा #नानी थापा
कोरोना भाइरस रोग हो कि जैविक हतियार ?: रूद्र दाहाल आयो नौलो माहामारी बिश्वसामु, फैलियो एकै चोटी संसारलाई यसले सखापै पार्ने भो, रोकिएन यसको गति, कति दुष्ट रहेछ यो कोरोना, ज्यान लियो निर्दोषको यसलाई नियन्त्रण गर्न नसकेर, हार भयो विज्ञानको ।।१ ।। लालाबाला अनि जवान र वृद्धवृद्धा, सबलाई निशाना लायो आजसम्म मानवले गरेको विकासको, क्षणमै सखाप बनायो मै हुँ भन्ने शक्तिशाली राष्ट्रहरुमा, पस्यो हुङ्कार लिई, गयो बनाई स्वाहा मानवलाई, वेदना र चित्कार दिई ।। २ ।। यो नै पहिलो भाइरस थिएन, विगतमा धेरै आए, यसले जति विनाश अरुले गरेनन्, यसमा रहस्य छ के? इतिहास साक्षी छ विनाशको, हाम्रै पालामा पनि, खोजी गर्नु पर्यो अब मिली सब, यो हतियार पो हो कि? ।। ३ ।। चाइना र अमेरिका प्रतिस्पर्धी छन्, यिनको कर्तुत पो हो कि? जमाना बदलियो, समय बदलियो, युद्ध नै पो यो हो कि? चाहिन्न अहिले सेना र हतियार, पुर्खाको पालामा जस्तो, जीव अस्त्र लिएर संसारै मास्ने, यो चाला हो कि तिनको? ।।४ ।। यो तथ्य एकदिन उजागर होला, ती दिन कुरी बसौं आफ्नो ज्यान जोगाउन जरुरी छ अहिले, घरभित्रै कुना पसौं, सचेत भएर जति बसे पनि, एकदिन त पार्छ पासो खोप या औषधीमध्ये एक नभई, फर्कन्न मानव हाँसो ।। ५ ।। जाबो एउटा जीवाणुले यहाँ, संसार हल्लाई दियो, यति उदण्ड हुनु भन्दा पहिले, कहाँ बसेको थियो? बाँच्ने इच्छा त सबैलाई हुन्छ, यो धर्तिको रहर जसरी नि यहाँ सहनै पर्या छ, यो कोरोना कहर ।। ६ ।। लाग्दछ शंका मनमा घरिघरि, रोग या हतियार भनी, यथेष्ठ प्रमाण अझै भेटिएन, टुंगो गर्नलाई पनि एक दिन त यसको पक्कै नि टुंगो त, अवश्य नै लाग्नेछ ती पापीहरुको विरुद्धमा सारा, संसार जाग्नेछ ।। ७।। #कोरोनाभाइरस #कोविद १९ #क्यानडा #रुद्र दाहाल
मलाई मन छ: विप्लव प्रतीक मलाई मन छ, म भएको कसैलाई थाहै नहोस् मलाई मन छ, म गएको पनि कसैलाई थाहै नहोस् । म चाहन्छु हुन निर्मल पानीको थोपा जुन थोपाको मात्रै केही महत्त्व छैन म चाहन्छु बन्न शीतल हावाको झोँक्का जुन झोँक्काको मात्रै कुनै मूल्य छैन मलाई मन छ म भएको कसैलाई थाहै नहोस् मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस् । म चाहन्छु हुन जंगलमै वैलिने फूल जुन फूल कसैको अभिलेखमा छैन म चाहन्छु बन्न त्यस्तो प्राचीन कला जुन आज कसैले सम्झेको छैन मलाई मन छ म भएको कसैलाई थाहै नहोस् मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस् । #विप्लव प्रतीक
क्यानाडाबाट नेपालीलाई पत्र- लकडाउनमा छौँ र सुरक्षित छौँ: आदरणीय मेरा प्रियजनहरू, आजको दिनसम्म यहाँ हामीहरू सबै सकुशल छौँ, र हजुरहरूमा पनि कुशलमंगलको कामना गर्दछौँ । कोरोना भाइरस हामी बसेको शहरमा पनि छ्यापछयाप्ती फैलिसकेको छ, तर पनि हालसम्म हामीहरू सुरक्षित छौँ | किनभने हामी विगत दुई महिनादेखि घरभित्रै बसी छौँ । यहाँ सरकारले भनेको सबैले मान्छन्, र सबै मानिसहरू चेतनशील छन् । हाम्रो बारेमा यहाँहरूले चिन्ता लिनु पर्दैन । यहाँको स्वास्थ्य सेवा धेरै राम्रो छ | सरकार र व्यक्ति दुवैले बराबर जिम्मेवारी लिएकाले स्थिति नियन्त्रणमा छ । आशा छ, त्यहाँ पनि हजुरहरूले सरकारले दिएको घरमै बस्ने आदेश पालना गरिरहनुभएकै छ होला ? यो भाइरस नियन्त्रण गर्ने मुख्य जिम्मा हात हाम्रै हातमा छ । तपाईँहरूलाई पनि थाहा नै होला ! सामान्य उपायहरूबाट नै कोरोनाबाट बच्न सकिन्छ । अहिलेको अवस्थामामा यो महामारी नेपाल चरम गतिमा फैलिरहेको र मौजुदा स्वास्थ्य अवस्थामाले धान्न सक्ने अवस्था देखिदैन् । यस्तो अवस्थामामा यसबाट बच्नु नै उत्तम उपाय हो | जुन सम्भव पनि छ । यसैले रोग लागि सकेपछि यसको उपचार गर्नुभन्दा यसको बाटो छेक्नु नै राम्रो हो | यो पत्र लेख्दासम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या ५४८ र यसबाट ज्यान गुमाउनेहरू ३ जना रहेको स्वास्थ्य तथा जनशंख्या मन्त्रालयले जनाएको छ । हालसम्म यो भाइरस ४० जिल्लाहरूमा फैलिइसकेको र मुख्य रूपमा भारतसँग सिमाना जोडिएका जिल्लाहरू बढी प्रभावित छन् | त्यसैगरि अन्य विविध कारणले गर्दा भाइरस सक्रमण तीव्र गतिमा बढी रहेकोले यसलाई मत्थर पार्न यी कुराहरूमा हजुरहरूले विशेष ध्यान दिनुहुन् म क्यानाडाबाट अनुरोध गर्दछु | १) यदि परिवारमा कसैलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्नेजस्ता लक्षणहरू देखिएमा तुरुन्त आइसोलेशनमा बस्नुहोला। आइसोलेसनमा बस्दा सकेसम्म छुटै शौचालयको प्रयोग, डिस्पोजेबल सामानहरूको प्रयोग गर्नु राम्रो मानिन्छ। २) माथि उल्लेखित लक्षणहरू मनिटर गर्ने र बढ्दै गएमा सम्बन्धित स्वास्थ्य केन्द्रमा गई स्वाब टेस्ट गराइहाल्नु पर्छ। ३) घरिघरि साबुन-पानीले हात धुने, यदि साबुन पानी उपलब्ध नभएमा स्यानिटाइजरको प्रयोग गर्ने, सरसफाइमा विशेष ध्यान पुर्याउनु पर्छ । ४) घरिघरि नाक, आँखा र मुख हातले छुनु हुँदैन, छोएमा फेरि हात साबुन-पानीले धुने गर्नु पर्छ । ५) लकडाउनको पूर्ण पालना गरी भिडभाडमा नजाने, सामाजिक दूरी कायम राख्ने र घरमै बस्नु होला | संसारका धेरै देशहरूले लकडाउनकै कारण धेरै मानिसहरूको ज्यान जोगाउन सफल भैसकेकाले, र सरकारले पूर्ण रूपमा लक्डाउन घोषणा गरेकाले ढुक्कले घरमै बस्नु उचित छ । हामी पनि यहाँ त्यही गरिरहेका छौं, र आफूलाई सुरक्षित राख्न सकेका छौं । ६) यदि संक्रमण भैहालेमा नडराई अन्य संक्रमणमा जस्तै यसमा पनि प्रसस्त झोलिलो पदार्थ पिउने, पोषिला खानेकुराहरू खाने र पूर्ण रूपमा आराम गर्नु होला। ७) संक्रमणको समयमा मानिसहरूमा मनोवैज्ञानिक असर पर्ने हुनाले नकारात्मक समाचारहरू सम्प्रेषण नगर्ने, संयमितता अपनाउने, फिल्म हेर्ने, गीत, भजन, किर्तन सुन्ने, परिवारलाई समय दिने, आफन्त र साथिभाइहरूसँग विद्युतीय माध्यमबाट कुराकानी गरेर समय बिताउनुहोला। ८) समयको सही सदुपयोगका लागि व्यायाम गर्ने, पुस्तक पढ्ने, आफ्ना अधुरा रहेका परियोजनाहरूमा समय लगाई पूरा गर्नु बुद्धिमानी हो। ९) धुम्रपानका अम्मलिहरूको स्वासप्रस्वासमा समस्या हुने र यो भाइरसले पनि मुख्य रूपमा स्वासप्रस्वास प्रणालीमा आक्रमण गर्ने हुँदा धुम्रपान र मद्यपानबाट टाढा रहनु बुद्धिमानी मानिन्छ। १0) विपदका बेला एक अर्काको सहयोग अति आवश्यक हुन्छ | तसर्थ आवश्यकता अनुसार इष्टमित्र, साथीभाइ र छिमेकी सबैलाई सकेको सहयोग गर्नु होला । माथि उल्लेखित उपायहरू सबैले मनन गरी अपनाएको खण्डमा यो विश्वव्यापी महामारीलाई केही हदसम्म नियन्त्रणमा लिन सहयोग पुग्ने देखिन्छ । लौ त आजलाई यतिमै बिदा। बाँकि अर्को पत्रमा लेखौँला। उही परदेशी कान्छो
खै गणतन्त्र ?: कहाँ छ गणतन्त्र ? के हो गणतन्त्र ? मैले बुझिनँ या बुझ्न सकिनँ कस्तो हुन्छ, के हुन्छ गणतन्त्रमा राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्र रे तन्त्रै तन्त्रको मन्त्र छ यहाँ कुन तन्त्रमा के हुन्छ कुन्नि ? कुन तन्त्रमा गाँस, बास, कपास पाइन्छ ? कुन तन्त्रमा खुसी साथ बाँच्न पाइन्छ ? थाहा छैन मलाई । कुर्सी फेरिनु, सत्ता फेरिनु या शासन फेरिनु के हो गणतन्त्र ? म मेरो बोली बोलेको छैन बोल्दैछु म नदी किनारको माझी बोल्दैछु म विकट गाउँको एक नेपाली पहाड, कन्दराका बस्ती, बाटो उस्तै छ माझीका दिनचर्या अनि घरमा लिपिएको माटो उस्तै छ गाउँघरका पछौटेपन, गरिबीपन उस्तै छ जमिनदारका जमिन अनि धन उस्तै छ गाउँघरमा दिइने पढाइ अनि शिक्षा उस्तै छ गरिबले बाँच्न पाउने खुसी अनि इच्छा उस्तै छ खै के भयो परिवर्तन ? गरिबका झन् गरिब, धनीका झन् धनी शासनमा केही छैन फरक राजतन्त्र गए पनि हजारौंको बलिदान हजारौं शहिदको सपना लाग्दैन त्यही थियो । केवल राष्ट्रपति, प्रधानमन्त्री अनि मन्त्री र उनका आसेपासेलाई आयो होला गणतन्त्र तर हिजो गणतन्त्र जन्माउन हिँडेका हजारौं युवाहरू लाखौं जिजिविषाका सपना सहित मर्न र मार्न तयार भएका योद्धाहरू घर, परिवार अनि आफ्नो मुटु छोडेर आफ्नो छातीमा सङ्गीन रोपिदा पनि नडग्बगाई, नहड्बडाई नेपाल आमाका निम्ति प्राण आहुती गर्न तयार भए । तर ती योद्धाका सपनामाथि तुषारापात भयो सपना अधुरै रह्यो । आज त्यही योद्धाहरू खाडी मूलकमा सपना बुनि रहेका छन् के यही हो गणतन्त्र ?? जो हिजो गणतन्त्र विरोधी थिए आज तिनै हिमायती छन् हात्तीका देखाउने दाँत गणतन्त्र भित्र त अर्कै दाँतले काम गर्दाेरहेछ । एउटा चोर फेरिएर के भो ? सयौं चोर थपिएका छन् । बढ्दैछ भ्रष्टचार, दलाल अनि महँगी बढ्दैछ गरिब र धनीका खाडलहरू बढ्दैछ झन् उत्पीडन र भेदभाव पनि अनि भनूँ कसरी गणतन्त्र छ यहाँ ? त्यसैले म भन्दैछु खै गणतन्त्र ?? कहाँ छ गणतन्त्र ?? #खै गणतन्त्र ?
अस्पतालको शैय्याबाट प्रधानमन्त्रीले कस्तो गीत लेखे ? हेर्नुस् भिडियोमा: काठमाडौँ / प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीद्वारा रचित नयाँ गीत ‘बन्छ नमूना नेपाल’ सार्वजनिक भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुख अशोक राईले प्रधानमन्त्री ओलीको उक्त गीतमा सङ्गीत गरेका छन् । देशप्रेम, देश विकास र समृद्धिको सपना झल्किने उक्त गीत लोकप्रिय युवा गायक सञ्जय तुम्रोक र गायिकाद्वय दुर्गा परियार र श्रेयसी चेम्जोङको स्वर रहेको छ । स्वदेशमै रोजगारी स्वेशमै बास, रोजिँदैन प्रवास अब गर्ने देश विकास, खेर जान्नन् नदी नाला, बाँझा हुन्नन् डाँडापाखा, यो उर्वर सुन्दर देश’ बोलको गीत प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिभुवन शिक्षण अस्पतालमा बस्दा लेखेका थिए । शब्द, सङ्गीत, गायन र दृश्यको बेजोड संयोजन रहेको उक्त गीत सङ्गीतकार राईको साङ्गीतिक समूह अन्तराको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ । वाङ्मयका विविध विधा साहित्य, कला, संस्कृति, सङ्गीत, इतिहास, दर्शन, सामाजिक शास्त्र लगायतका अनेकौँ विषयमा गहिरो अभिरूचि र ज्ञान राख्ने ओली विद्यार्थी जीवनदेखि नै प्रगतिशीलभावका कविता लेख्ने गर्थे । उनका दर्जनौँ कविता तथा गीत प्रकाशित छन् । विदेसिएका जनशक्तिलाई स्वदेशमै फर्काएर यहीँ रोजगारी सृजना गरी देशविकासमा लगाउने भावधाराको यस गीतमा प्रधानमन्त्री ओलीको देश विकास र समृद्धिप्रतिको सुन्दर सपना र सङ्कल्प प्रष्टसँग कुँदिएको छ । #केपी ओली #प्रधानमन्त्री
एउटा अनमोल प्रेम कथा: राजन अधिकारी माथि माथि उडिरहेको धुवाँलाई टोलाएर नारायण काका भाव विह्वल हुँदै एकतमासले हेरिरहेका थिए। बिस्तारै-बिस्तारै धुवाँ बादलको घुम्टोभित्र पसी अदृश्य हुँदै थियो तर उनका आँखाले त्यसलाई पछ्\u200cयाउन छाडेका थिएनन्\u200c। धुवाँसँगै उड्\u200cन चाहन्थ्यो उसको मन। काकाको लागि खास थियो त्यो धुँवारुपी विम्ब, नकि कुनै चिम्नीको भट्टीबाट निस्किएर पर्यावरणलाई प्रदूषित बनाउँदै आकाशमा उडिरहेको फगत सेतो सर्को । यात्रारुपि अनमोल जीवनको उकाली ओरालीमा नारायण काकासँग पाइलामा पाइला मिलाउँदै सहयात्री बनेर हिँडेकी उनको अर्धाङ्गिनी लक्ष्मीको पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार भैरहेको थियो। लक्ष्मी काकी चितामा जल्दै धुवाँ बनी बिदा लिइरहेकी थिइन्, यस धर्तीबाट । केही बेरमै लक्ष्मी काकीको देह जलेर खरानी भैसकेको थियो तर चिताको केही पर बसेर आकासमा धुँवा पछ्\u200dयाइरहेका नारायण काकाको जलेको मन निभ्ने कुनै सम्भावना थिएन। सधैँ स्वस्थ र हँसिलो मुद्रामा देखिने लक्ष्मी काकीलाई छ महिनाअघि मात्र क्यान्सर भएको पत्ता लागेको थियो । नारायण काकाले लक्ष्मीलाई बचाउन हरसम्भव प्रयास गरेका थिए; जडिबुटी, औषधोपचार, धामीझाँक्री, भाकल, पूजापाठ आदि इत्यादि। तर अफसोस! लक्ष्मी काकीको आयुलाई उनको कुनै प्रयत्नले पनि लम्ब्याउन सकेन। जुन दिन लक्ष्मी काकीलाई दुलही बनाएर नारायण काकाले भित्र्याएका थिए, ५० वर्षपछि त्यही दिन उनले देहत्याग गरिन् । कत्रो अनर्थ! आधा शताब्दीसम्म विशेष रहँदै आएको वैवाहिक वर्षगाँठको दिन उसका लागि एकाएक कालो दिनमा परिवर्तन भएको थियो। यसपालि वैवाहिक वर्षगाँठको दिन उल्लास होइन, आँधीबेरी बनेर आयो नारायण काकाको जीवनमा। लक्ष्मी काकी पत्नी बनेर घर भित्रिए यता विवाहको दिनमा नारायण काका र लक्ष्मी काकी पशुपतिनाथ मन्दिर जान्थे, चारै ढोका खुल्ने समयसम्म पर्खेर बस्थे, सबै ढोकाहरुबाट एकसाथ भगवानको दर्शन गर्थे। हुन त, अरु बेला पनि समय समयमा पशुपतिनाथको मन्दिर गइरहन्थ्यो यो त्यो जोडी तर विवाह गरेको दिन अनिवार्य नै गरेका थिए पशुपतिनाथको दर्शन। भक्ति संगीतसहित सन्ध्या आरतिको चलन शुरु गरेपछि पति-पत्नीको नामबाट पशुपतिमा आरति गराउन थालेका थिए दुवैजनाले। वृद्धाआश्रममा गएर गच्छे अनुसारको दान पनि गर्थे त्यस दिन। तर नियतिले यस वर्ष त्यो सुखद् अध्यायको दुखःद् अन्त्य गरिदिएको थियो। नारायण काका र लक्ष्मी काकीको प्रेमिल परम्पराको क्रमभंग भयो काकीको देहवसानसँगै। यति चाँडै उनले परलोक रोज्छिन् भन्ने काकाले कल्पनासम्म गरेका थिएनन्\u200c। मृत्यु अवश्यंभावी हुन्छ, यो परम सत्य हो भन्ने जान्दाजान्दै पनि नारायण काकालाई आफ्नो पत्नीको मृत्यु सहन गर्न साह्रै कठिन भइरहेको थियो। दाह संस्कार सकिएसँगै घाटबाट फर्किनुअघि नारायण काकाले मन्दिरतिर फर्किएर भगवान पशुपतिनाथलाई प्रश्न गरेका थिए, ‘हे भगवान! मभन्दा झण्डै १० वर्ष कम उमेरकी लक्ष्मीको मृत्यु म भन्दा किन अघि? मैले के त्यस्तो अपराध गरेको थिएँ र मलाई यो सजाय?’ त्यसपछि काकाले आँसु पुछ्\u200cदै मनमनै अनेकथरि फतफताए । नारायण काका र लक्ष्मी काकीको प्रेम सबैको मनमा बस्ने खालकै थियो। लक्ष्मी काकी माइत जाँदा पनि धेरै दिन बस्नै सक्दिन थिइन् । उनलाई काकाको अत्यास लागि रहन्थ्यो। यता नारायण काकालाई पनि दिनभरि बाडुली लागिरहन्थ्यो, काकीले सम्झिएर होला, शायद। लक्ष्मी काकी माइतबाट फर्किने दिन नारायण काकाको फुर्तीफार्ती नै बढेको छलङ्गै देखिन्थ्यो। बिहानै सैलुनमा गएर दाह्री काट्\u200cने र सेतै फुलेका केशहरुमा कालो रङ चढाउँथे उनी। अनि १/२ घण्टाअघि नै बस बिसौनी पुगेका हुन्थे । बस बिसौनीमा कोही चिनेको देखे भने नसोधे पनि पत्नीलाई लिन बसेको भनेर हँसिलो मुद्रामा सुनाउने गर्थे उनी। ढुकुरको जोडीजस्तै थियो, नारायण काका र लक्ष्मीकाकीको जोडी। उनीहरुको झगडा कहिल्यै गाउँलेले देखेनन्। दोस्रो विवाहको प्रसंग कोट्\u200cयाउँदा लक्ष्मी काकीसँग झर्किएका थिए, नारायण काका, जिन्दगीभरमा जम्माजम्मी एक पल्ट। करिब ८/१० वर्षअघि वैशाखको घाममा घरबारीमा मकै गोड्\u200cने क्रममा उनीहरुबीच आपसमा कुराकानी हुँदा को अघि मरिन्छ होला भन्ने विषय प्रसंगवश चलेको थियो। ‘मै पहिला मर्छु,’ काकीले हत्त न पत्त भनेकी थिइन्। ‘केको आधारमा तिमी मभन्दा पहिला मर्छ्यो र? म त तिमी भन्दा एक दशक नै जेठो छु। उमेरका हिसाबले म अघि मर्ने निश्चित छ,’ काकाले पत्नीको कुरा खारेज गर्दै जेष्ठताको प्रमाण पेश गरेका थिए। काकीले त्यसलाई हाँस्दै अस्वीकार गर्दै भनेकी थिइन्, ‘भाग्य र उमेरमा भाग्य नै बलियो हुन्छ बूढा, म उमेरले हजुरभन्दा सानो भए पनि भाग्यमानी छु। भाग्यमानी पत्नी सौभाग्यवती हुन्छिन्\u200c, उनको सिउँदोको सिन्दुर कहिल्यै पुछिदैन भन्छन्।’ ‘यस हिसाबले त तिम्रो कुरो ठीकै हो तर त्यस्तो अवस्था केही गरी आइलागे म चैँ कसरी एकाङ्की जिन्दगी बाँच्न सकूँला र बुढेसकालमा ?’ काकाले अनुहार मलिनो बनाउँदै लक्ष्मी काकीलाई प्रश्न गरेका थिए। ‘अर्को विवाह…!’ मात्र भन्न के भ्याएकी थिइन् लक्ष्मी काकीले ठट्टाको शैलीमा, काका त उधुम रिसाए । उनले भने, ‘भो, अब एक शब्द पनि नबोल ! चुप् लाग तिमी!’ लक्ष्मीलाई काकाले बोल्नै दिएनन्, भने, ‘हँसीमजाकमा पनि यस्तो कुरा मसँग नगर, म कदापि यो सुन्न चाहन्नँ । सात जुनीसँगै बिताउँला भनेर वाचा गर्दै अग्नि देवतालाई तिमीसँग सातै फेरो लगाएको कुरालाई मैले जीवनको आदर्श बनाएको छु। जीवनपर्यन्त यसलाई शिरोपर गर्नेछु।’ केही क्षणपछि अलि नरम स्वरमा नारायण काकाले पशुपतिनाथलाई पुकार्दै याचना गरेका थिए, ‘हे देवादिदेव! बरुसँगै मर्न पाइयोस् । त्यस्तो दिन चैँ आउँदै नआओस्\u200c!’ तर काकाले जे नहोस्\u200c भन्ने चाहेका थिए, त्यही बज्रपात पर्\u200dयो यतिबेला । प्रारब्धमा उनले पत्नी वियोग भोग्नु पर्ने नै रहेछ! स्वर्गीय पत्नीकै यादमा दिनहरु काट्\u200cने गर्दथे, काका। काकी बितेयता उनलाई एक दिन पनि एक वर्षझैँ लामो लाग्थ्यो। त्यस्तैमा एक दिन मध्याह्नतिर नारायण काका गाउँको चौतारीमा टोलाएर बसिरहेको बेला स्पन्दन आइपुग्यो । गाउँले भतिज स्पन्दनले काकालाई निकै आदर गर्थ्यो अनि काका पनि उसलाई औधि माया गर्थे। दुईबीच भलाकुसारी हुँदै गर्दा काकाले पत्नी वियोगको प्रसंग कोट्\u200cयाउन थालिहाले। हुन पनि लक्ष्मी काकीको मृत्युपछि नारायण काकाको मुखमा पत्नीको कुरा मात्र झुण्डिएको थियो। कुराकानीअघि बढ्\u200cदै जाँदा काकाको आँखाबाट आँशुका बलिन्द्र धारा बग्न थाले । ‘पति-पत्नी एकअर्काका लागि नै जन्मेका हुँदा रहेछन्\u200c, झन पतिका लागि पत्नीभन्दा असल साथी यस धरामा कोही हुनै सक्दैन बाबु,’ काकाले आफ्नौ बिलौना कहन थाले, ‘लक्ष्मी बितेर गएपछि मेरो मन स्थिर नै छैन बाबु। जतिखेर पनि उसलाई नै झलझल्ती सम्झिरहेको हुन्छु। यस्तो चाहना हुन्छ कि छिट्टै आफू पनि परलोक पुगूँ।’ यति भनेपछि उनले आँसु पुछे। स्पन्दनले टोलाएर नारायण काकालाई हेरिमात्र रह्यो। नारायण काकाको आँशु मिश्रित शब्दहरुबाट स्पन्दनले यस्तो महसुस गरिरहेको थियो कि छोराबुहारी, छोरीज्वाईं, नातीनातिना सबैले विशेष हेरचाह, आदर र प्रेम दर्शाए पनि ती सबै कुराहरुले नारायण काकाको लागि पत्नीको रिक्ततालाई पूरा गर्न सकेको थिएन। स्पन्दनको मुखबाट कुनै शब्द निस्किन सकिरहेका थिएनन् तर अनुहारको भावभंगीले ‘जिन्दगानी, कर्कलाको पानी’ भन्दै काकाका दुवै हत्केला प्रेमपूर्वक मुसारिरह्यो । अलिबेरसम्मै नारायण काकाले लक्ष्मी काकीका कयौँ प्रसंग कहिरहे। कुराकानी गर्दै जाँदा अबेला भइसकेको थियो तर समयले नेटो काटेको दुवैले पत्तो पाएनन्। साँझ पर्न लाग्दा रुखहरुमा बास बस्ने चराको चिरबिर आवाजले उनीहरुलाई झस्कायो। अबेला भैसकेकोले फेरि भेट्ने भन्दै छुट्टिएर आ-आफ्नो घरतर्फ लागे। स्पन्दन चौतारीबाट भौतिक रुपमा नारायण काकासंग छुट्टिएको त थियो तर भावनात्मक रुपमा ऊ नारायण काकासँग छुट्टिन सकिरहेको थिएन। नारायण काकाको प्रेम र विछोडको पीडाले भरिएको जीवनगाथाले उसलाई रातभर नै बेचैन बनाइरह्यो। काकाको व्यथाभित्र उसले प्रेमको गहिरो महासागर देख्यो, अनि त्यो महासागरलाई नै रित्याउने गरी आएको भयङ्कर तुफानरुपी पीडा पनि महसुस गर्यो। कुनै प्रख्यात साहित्यकारले भनेझैं प्रेम शरीर होइन आत्माको अभिव्यक्ति हो, दुई आत्माको मिलन हो भन्ने चरितार्थ वयोवृद्ध नारायण काकाको जीवनकथामा हुबहु पाएको थियो उसले। उसलाई त्यति नै बेला एउटा प्रश्नले मनमा डेरा जमाउन थाल्यो, ‘नारायण काकाको उमेरका जोडीको शिक्षाप्रद प्रेमकथा हाम्रो समाजमा गुमनाम किन छ होला?’ हुन पनि उसले आजसम्म जति पनि दुनियाँभरका चर्चित प्रेम र विछोडका कथा व्यथा पढेको थियो, सुनेको थियो, त्यो यौवनावस्था र वयस्क उमेरको सेरोफेरोमा घुमेको पाएको थियो, चाहे त्यो मुना मदनको होस्\u200c या लैला मजनुको, सलिम अनारकलीको होस्\u200c या रोमियो जुलिएटको अमर कथा। प्रेममा आधारित संयोगान्त, वियोगान्त सबै प्रकृतिका प्रायजसो उपन्यास, नाटक, चलचित्रहरु पनि त्यही उमेरको सेरोफेरोमा लेखिएको, बनाइएको उसले पाएको थियो। उसलाई पनि प्रेम वयस्क उमेर सापेक्षित भावनात्मक अभिव्यक्ति हो जस्तो भान भएको थियो। तर नारायण काका र लक्ष्मी काकी बीचको प्रेमकथाले उसलाई प्रेमको फराकिलो क्षितिजबारे उजागर गरायो। तत्कालै स्पन्दनले निर्क्योल गर्\u200dयो; विवाहमा लगाएको मेहन्दीको रङ नसुक्दै सम्बन्ध विच्छेद गर्ने प्रवृत्ति बढ्दै गएको हाम्रो समाजमा एउटा गहकिलो सन्देश दिने वयोवृद्ध नारायण काकाको अनमोल प्रेम कथा लेख्ने। जसैजसै उसले अक्षर कोर्दै जान्थ्यो, अक्षरहरु प्रेमपूर्वक एकआपस आफैँ गाँसिदै बुनिदै शब्द शब्द बनेर नारायण काका र लक्ष्मी काकीको प्रेमकथा पस्किरहेका थिए। एउटै बसाइमा उसले कथा लेखी टुङ्ग्यायो । अन्त्यमा आदर्श प्रेमका प्रतीक नारायण काका र उनकी स्वर्गीय जीवन संगिनी लक्ष्मीप्रति समर्पित गर्दै कथाको बिट मार्\u200cयो । कौशलटार, भक्तपुर #प्रेम #भक्तपुर #राजन अधिकारी
हो, मैले प्रेम गर्न जानिनँ: हे ! धर्ती हे ! आकाश हे ! मानव हे ! महामानव मलाई सुन बिस्तारै सुन या जोडसँग सुन तर सुन ! म एउटा हृदयको भाषा बोल्दै छु व्याकरण नमिल्न सक्छ अर्थको अनर्थ हुनसक्छ तर यी केवल शब्दका अर्थ होइनन् हृदयका झङ्कार हुन् यी झुसिला डकार होइनन् र यी कसैका अहङ्कार होइनन् कसैका कविता पनि होइनन् रमिता पनि होइनन् यी त केवल प्रेमयुद्धका वार्ता र नजीर हुन् जुन युगदेखि युगसम्म सङ्घर्ष गरिरहेछन् अस्तित्वका निम्ति ! हो ! मैले प्रेम गर्न जानिनँ ! घर, परिवार, आफन्त शत्रु-मित्र कसैले भनेको मानिनँ ! हे ! अधिकारकर्मी हो हे ! धर्मी हो ! विधर्मी हो ! फगत मलाई क्रान्तिकारी बनाइयो चट्टानै चट्टानले बनाइएको अभेद्य पर्खाल निम्छरो प्रेमवायुले ढाल्न लगाइयो हो ! मलाई आदर्शका चस्मा लगाइयो स्वतन्त्रता र समानताका मीठा स्वरहरू सुनाइयो मान्छे-मान्छेका रगत-पसिना उस्तै-उस्तै हुन्छ भन्ने जबर्जस्त सिकाइयो तर ती फगत रहेछन् मान्छेका जात हुँदा रहेछन् भात हुँदा रहेछन् दिनभन्दा ठूला रात हुँदारहेछन् दिनमा सबैले सबैलाई उस्तै-उस्तै देखे पनि कानून र कविले सबै समान हुन्छ भनेर लेखे पनि रातले मान्दो रहेनछ जातले मान्दो रहेनछ अनि त भयङ्कर घटना घट्दारहेछन् ! हो ! मैले प्रेम गर्न जानिनँ अरूले भनेको मानिनँ केही सर्कसेहरूले साँप नचाएको देखेर गोमन साँप छोप्न गएँ तर सर्कसको साँप र बाहिरको साँप फरक हुँदोरहेछ सर्कसको साँप नाचिरहन्थ्यो बाहिरको थपक्क बस्दोरहेछ नदेखिकन एक्कासि डस्दोरहेछ आफ्नै अस्तित्वको लागि एकान्तमा बस्दोरहेछ ! फगत मैले सङ्गत बढाउन खोजेँ अनि समाजलाई नागराजको नयाँ भाष्य पढाउन खोजेँ तर मेरो बिटुलो बोली बन्द भयो म बोल्न नसक्ने भएँ महाभाष्यको जटिल सूत्र र अर्थ खोल्न नसक्ने भएँ मलाई व्यर्थै इन्द्रजालका टुनामुना सिकाइएको रहेछ तर म रनक्क तातेँ, चरक्क चर्किएँ, सनक्क सन्किएँ मलाई बेजोडको शक्ति मिल्यो मानौँ म वाघमाथि चढ्न सक्ने भएँ एक्लै अरण्यभेदन गर्न सक्ने भएँ एक्लै बघिनीसित जिस्किन सक्ने भएँ अनि म तरङ्गिएँ सिरिङ्गिएँ झाँक्रीले एकमुठी अक्षता र एक अम्खोरा पानीले भूत, प्रेत र पिशाच मन्साएर खेदेजस्तै मैले पनि विभेद, अहङ्कार र उँचनीच खेद्छु भने तर म अपरिपक्क रहेछु मलाई तन्त्रविद्याको सिद्धि रहेनछ म आफैँ तन्त्रले समातिएँ अपरिपक्क तन्त्रले अशुद्ध मन्त्रले मलाई थर्थर कमायो, म मुर्छा परें म भुईंफुट्टा थिएँ मेरा गुरु थिएनन् तन्त्र- मन्त्र फर्काइदिनलाई त्यसैले मलाई र मजस्तैलाई लडायो र लडाउँदै छ अनि मजस्तै विधर्मी कच्चा प्रेमीहरूलाई एउटा पाठ पढायो र पढाउँदै छ ! त्यो के भने—– अबदेखि प्रेम गर्दा जात हेर्नू – भात हेर्नू दिन हेर्नू – रात हेर्नू काँडाघारीमा हामफाल्दा हातखुट्टा बलियो बनाउनू फगत उत्तेजनामा नआउनू किनकि काँडा तीखा हुन्छन् सङ्गीनभन्दा छालामात्र होइन मुटु कलेजो घोच्छन् जुनजुन अङ्ग कोमल छ त्यही त्यही खोज्छन् सकेसम्म एकमुठी प्राण रोज्छन् किनकि कसैको प्राण निमोठ्दा उनीहरु आफ्नो विजय ठान्छन् ! हो ! मैले प्रेम गर्न जानिनँ अरूले भनेको मानिनँ तैपनि लुकिछिपी धूमिल प्रेम धानेकै थिएँ तर बिहे गर्न हतारिएँ किनकि मैले बिर्सेँ बिहेको आफ्नै नियम छ घडि छ पला छ आफ्नै सङ्गीत छ कला छ त्यसका निम्ति सिङ्गै समाजको एउटै गला छ त्यो के भने—– जात मिल्नुपर्छ भात मिल्नुपर्छ साथ मिल्नुपर्छ दिन र रात मिल्नुपर्छ त्योभन्दा पनि माथि औकात मिलनुपर्छ समाज भन्ने गर्थ्यो बिहेमा जाँदा हामीले मात्र बाजा बझाउनुपर्छ आफू रोएर पनि अरूलाई हसाँउनुपर्छ-नचाउँनुपर्छ तर मैले यसलाई ठाडो चुनौती दिएँ बिहेमा जान जानिनँ अरूले भनेको मानिनँ आफैँ बेहुलो बन्न तम्सिएँ आफैँ हाँस्न थाले उन्मत्त नाच्न थाले उड्न थाले आफ्नै प्रेमको वायुयान लिएर तुफानी गतिमा जमिन छोडेर आकाश चुम्नलाई तर मेरो वायुयान गन्तव्यमा नपुग्दै कालो बादल मडारियो बाक्लो हुस्सु लाग्यो यान अगाडि बढ्न सकेन चट्याङ चड्कियो गोलाबारुद पड्कियो कम्पासले दिशा छुट्याउन सकेन मेरा अरू पाइलट र यात्रु मजस्तै कच्चा रहेछन् केही गर्न सकेनन् मैले पनि कसैसित सम्पर्क गर्न सकिनँ मेरो कुनै टावरसित सम्पर्क थिएन किनकि म विद्रोही क्याप्टेन थिएँ अब मलाई जहाज र मान्छे अपहरणको मुद्दा लाग्न सक्छ म मरे पनि मारिए पनि यस्ता मुद्दा पटक-पटक जाग्न सक्छ ! तपाईँहरूले घटना मुचुल्का पढ्नुहोला सके अगाडि बढ्नुहोला नसके तारिख बोक्नुहोला त्यो पनि नसके समानताको ढ्याङ्ग्रो ठोकिरहनु होला छूत-अछुतको मुद्दा बोकिरहनुहोला ! किनकि एक मुक्काले चट्टान फुट्दोरहेनछ एक पाइलाले गन्तव्य पुगिदो रहेनछ एउटै घाउ सबैलाई उस्तै दुख्दोरहेनछ एउटा बलिदानले विजयका निम्ति पुग्दो रहेनछ । #दीपेन्द्र अधिकारी
मेरा भावना: आँखाका ती अनगिन्ती स्वप्नहरुका रहर छम्छम् नाच्दै अनि मुस्कुराउँदै व्यक्त गर्न कठिन ती भावहरूको प्रहर नसोध तिमी ती सपनामा के के सजिएका छन् भनी हराउँदै आज यी मानिसहरुका भीडमा विलिन मेरा गन्तव्य पनि मलम लगाउँदै छु दुखेका घाउहरूमा नसम्झाउन हो साथी, कठै ! असीमित सपनामा छताछुल्ल भएका मेरा भविष्यका पानाहरुमा हाँसोको पात्र नबनाऊ मलाई जसोतसो आफ्नो हृदयलाई काबुमा राख्दै हाँसी खुशी बाँच्ने जमर्को कस्दै जिन्दगीलाई बगैंचाको फूल सम्झी कटाउँदै छु आज भोलि कुनै भूल नसम्झी यी दिन देख्दिनँ भो सपना आज भोलि आकाश छुने रहर कैयौँ लक्ष्यलाई पर सारी, सामान्य जीवन गुजारी रहेको मनुष्य हुँ एक कुनाको शहर विपत्तिको अवस्थामा अनि संकष्टको त्यो ओझेलमा पनि निर्दयी हृदय अनि असहयोगी हातहरुका छैन कुनै कमी त्यसैले, गन्तव्यबाट टाढा हुँदै जिन्दगीलाई आत्मसाथ ग्रहण गर्दै सिक्दैछु भविष्यका चुनौतीलाई सामना गर्न सहज रुपमा आफ्नो जीवन निर्वाह गर्न । शंकर देव क्याम्पस
ऐनाको देश: सबै सबै छन् अखबारमा ! कपालमा साङ्लीले बाँधिएको विधवा शब्द छातीमा त्रिशूल गाडिएकी देवीका भिजेका आँखा सिमानामा बध गरिएको सपनाको शिरफूल एयरपोर्टमा चुँडिएको चप्पलको नागरिकता नाइट बसको झ्यालमा बसेर राजधानी छिरिरहेको सुनौलो सर्प सबै सबै छन् अखबारमा ! तर अखबार चाहिँ यति अबेला बालुवाको ओछ्यानबाट आँखा मिच्दै उठेको छ र हाई काढ्दै हेरिरहेको छ फुटेको ऐना ! ए ! चिसो भुइँमा अझै पनि किन चुहिरहेको छ रगतको अक्षर र किन काँडेतारले बाँधिएको छ घामको आँखा ? किन आमाको सपनामा पहिरो झरेको छ र त्यही पहिरोको फोटो खिचिरहेका छन् उनीहरू ? बहिनीको वस्त्रभित्र किन हात घुसारिरहेको छ बहुराष्ट्रिय कम्पनी ? र छेउमै कङ्गनको बल्छी थापेर किन उभिएका छन् माइती राजा ? भरखर त उघ्रेको छ आस्थाको आकाश भरखर त खसेको छ सपनाको उज्यालो भरखर त उठेको छ ऐनाको देश ! फेरि अदृश्य पर्खालमा लुकेर कसले हानिरहेको छ यसरी ढुङ्गा ? ए रोक ! रोक !! अनाथ नानीहरू निदाएका छन् कोक्रोमा ! सिन्दूर गुमाएका विधवा दिदीहरू हात गुमाएका बाबुहरू र दृष्टि गुमाएका इतिहासहरू सँगैसँगै निदाएका छन् समयको स्ट्रेचरमा ! आफ्नै आँसुको नदीमा निर्वस्त्र नुहाइरहेकी छिन् आमा ! गणतन्त्रको रूखमा चढेर बाँसुरी फुकिरहेको छ कृष्ण र त्यही रूखको हाँगामा फरफराइरहेको छ आमाको फरिया ! ए रोक ! रोक !! यो ऐनाको देशमा को हान्दै छ यसरी ढुङ्गा ? #ऐनाको देश #सुनिता खनाल
उफ्, कोरोना !: सारा मानव मस्तिष्कलाई पारी खलबली सानो त्यो जीव उडी पुग्छ छुन हजारौँ श्वासका नली नदेखिने आँखाले, न त छुनै सकिने, बग्दछ हावासरी संसारलाई त्रासमा पारी नछोडी बालक, वृद्ध न त तन्नेरी सबैलाई संक्रमित पारी, छक्क छन् सबै देखेर यसको तुजुक र गर्मी कसैलाई भने आच्छु आच्छु पार्ने १०५ डिग्री ज्वरो आई, आइसियूमा राख्नुपर्ने कोहीलाई भने लक्षण नै देखा नपर्ने, सलहझैँ फैलिएर, पश्चिमा मुलुकलाई हम्मेहम्मे पारी तीन लाख भन्दा बढीको ज्यान लिई, अझै उडी हिँड्दै यो हावा सरी लाखौँलाई भोकमरीको घेरामा पारी आयो वुहान सहरबाट उडी बतास सरी पस्न मानव शरीरभित्र जोखाना हेरी न त यसलाई प्रवेशाज्ञा नै चाहिने न कुनै अवागमन पत्र कैयौँ वैज्ञानिक, स्वास्थ्यकर्मी लागिपरेका छन् बनाउन यसलाई सदाको लागि खतम पार्ने अस्त्र अचूक प्रभावकारी शस्त्र। विराटनगर #भारती पोखरेल #विराटनगर
गणतन्त्रमा मेरी कामरेड: प्रद्युम्न भट्टराई कामरेड ! तिमीलाई म कसरी शुभकामना दिउँ, हिजो भर्खर कैयोँ निर्मलाहरुको विभत्स हत्या भएको छ, हिजो भर्खर सुत्केरीहरुको मृत्यु भएको छ, हिजो भर्खर नन्द प्रसादहरुको अनसन सुरु भएको छ, हिजो भर्खर मुस्कानहरु माथि एसिड फालिएको छ, हिजो भर्खर छुवाछुतका नाममा दमन भएको छ, कामरेड ! तिमीलाई म कसरी शुभकामना दिउँ ! कामरेड ! तिमी कताकता एक्लै हिंड्दा डर लाग्छ, आउँछन् मानसपटलमा ती निर्मलाहरु, मुस्कानहरु, बन्द गर्देऊ तिमी तिम्रा भविष्यका सपना मलाई सुनाउन, आउँछन् मानसपटलमा ती सुत्केरीहरुका तुहिएका सपनाहरु, आत्तिन्छु तिमीले कल्पिदै गरेका सुन्दर सपना कतै तुहिने हो कि भनेर, र आफैँलाई ऐनामा हेर्छु अनि देख्छु नन्द प्रसादहरुको रुप, कामरेड ! तिमीलाई म कसरी शुभकामना दिउँ ? #कामरेड #प्रद्युम्न भट्टराई
एउटा कविको उल्टो ईच्छा: मलाई आफ्नै हातले सुम्सुम्याउनु छ यो युगले मेरो सभ्यतामाथि हानेका निलडामहरूलाई । मलाई जान्नुछ कसरी बाँच्छ मान्छे अर्कोले निरन्तर अठ्याइरहँदा पनि आफ्नो घाँटीमा कुन जाँगरले पनि मुस्कुराइरहन्छ होला अपमानका हजार असिना आफ्नै थाप्लोमा थापेर कुन यात्रामा निस्किएको हो ऊ? हात खुट्टा भाँचेर बाटो खोसेर, आँखा झिकेर कता धकेलिँदै छ ? किन मौन छ यति डरलाग्दो ? मलाई सिक्नु छ । कसरी प्यास मेट्नुपर्छ ज्वालामुखी पिएर कसरी निदाउनुपर्छ निदरी बेचेर कसरी थाप्नुपर्छ शिरको टोपी खोलेर थपक्क यो शताब्दीको उपहास मलाई महसुस गर्नु छ । कुन मुटुले रहेछ यति धेरै सहनशील बनाउने कुन शिरा र धमनीले वितरण गर्दा रहेछन् बेरङ्गी रगत कुन हड्डीले थामेको छ यो अत्याचारको पहाड कुन पैतालाले छोडेको छ आफू हिलाम्मे हुँदाहुँदै यति सुन्दर पदचाप कुन हातले लेखेको छ यो समयले गाउन नसकेको उज्यालोको गीत ? कुन प्रेमीको पर्खाइमा फुल्दो हो बाटोमुनिको फूल कुन भक्तलाई पर्खिदो हो मन्दिरपछाडिको बुकी कुन प्यासी भेट्न झर्दो हो कन्दराको छहरा ? ओ समय ! म तेरो अभिजातको घण्ट घाँटीमा झुण्डाएर मुर्दाहरूको सन्नाटा चिर्न सक्दिनँ बरू मलाई उल्टो पारेर झुण्डाइदे तेरो मैना होइन चमेरो नै सही म कवि होइन विक हुन चाहन्छु । शरद पोख्रेल एउटा कविको उल्टो इच्छा मलाई आफ्नै हातले सुम्सुम्याउनु छ यो युगले मेरो सभ्यतामाथि हानेका निलडामहरूलाई । मलाई जान्नुछ कसरी बाँच्छ मान्छे अर्कोले निरन्तर अठ्याइरहँदा पनि आफ्नो घाँटीमा कुन जाँगरले पनि मुस्कुराइरहन्छ होला अपमानका हजार असिना आफ्नै थाप्लोमा थापेर कुन यात्रामा निस्किएको हो ऊ? हात खुट्टा भाँचेर बाटो खोसेर, आँखा झिकेर कता धकेलिँदै छ ? किन मौन छ यति डरलाग्दो ? मलाई सिक्नु छ । कसरी प्यास मेट्नुपर्छ ज्वालामुखी पिएर कसरी निदाउनुपर्छ निदरी बेचेर कसरी थाप्नुपर्छ शिरको टोपी खोलेर थपक्क यो शताब्दीको उपहास मलाई महसुस गर्नु छ । कुन मुटुले रहेछ यति धेरै सहनशील बनाउने कुन शिरा र धमनीले वितरण गर्दा रहेछन् बेरङ्गी रगत कुन हड्डीले थामेको छ यो अत्याचारको पहाड कुन पैतालाले छोडेको छ आफू हिलाम्मे हुँदाहुँदै यति सुन्दर पदचाप कुन हातले लेखेको छ यो समयले गाउन नसकेको उज्यालोको गीत ? कुन प्रेमीको पर्खाइमा फुल्दो हो बाटोमुनिको फूल कुन भक्तलाई पर्खिदो हो मन्दिरपछाडिको बुकी कुन प्यासी भेट्न झर्दो हो कन्दराको छहरा ? ओ समय ! म तेरो अभिजातको घण्ट घाँटीमा झुण्डाएर मुर्दाहरूको सन्नाटा चिर्न सक्दिनँ बरू मलाई उल्टो पारेर झुण्डाइदे तेरो मैना होइन चमेरो नै सही म कवि होइन विक हुन चाहन्छु । #इच्छा #कवि
विधाता: सृष्टि गरी तिमीले धरतीमा पठायौ किन ? मान्छेमा मानवता छैन भन्ने लागेपछि जात छुट्यायौ किन ? पृथ्वीमा, हर प्राणी स्वतन्त्र छन् हर जीव स्वतन्त्र छन् हर वनस्पति स्वतन्त्र छन् प्राकृतिक श्रोत,साधनमा हर प्राणी—वनस्पतिको समान अधिकार छ । मान्छेमात्र किन ? मानवता मासिएर दानव बन्दैछन दिनदिन । मतभेद त ठूलो जातमा मात्र हैन सानोसानो भन्ने जातमा नि विभेद रहेको छ । जातको हिसाबले “म ठूलो“ भन्नेको दिमाखमा छेद परेको छ । नत्र मूर्ति चल्छ,त्रिशुल चल्छ । काम चल्छ,चल्दैन पानी ! सीप चल्छ,पसिना चल्छ । चोखो हुने अछुत नारीको जवानी ! ठूलो भन्ने,मै हुँ भन्ने समाजका किरा हुन् साथै अज्ञानी ! जुत्ता चल्ने,पैसा चल्ने सनाई चल्ने,सिलाई चल्ने नचल्ने प्रेमको फूल खुडा,खुकुरी औजार चल्ने नबुझ्नु बिबेकी मानवको भूल ! विधाताको छैन दोष उसले बनायो महिला,पुरुष दुइ कोष । समाजका ठेकदारले गरिदिए रगतमा विभेद ! सबका शरीर,सबै अंग छन् बराबरी लागे चोट,काटे हात आउछ रगत धरधरी ! सृष्टि गरि तिमीले धरतीमा पठायौ किन ? मान्छेमा मानवता छैन भन्ने लागेपछि जात छुट्याएयौ किन ?
चर्चित गीतकार थापाको निधन: चर्चित गीतकार रत्नशमशेर थापाको बिहीबार निधन भएको छ । ८३ वर्षे गीतकार थापालाई बुधबार राति स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो । उपचार गराउँदा गराउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । थापाका ताराका काँचा रङ (कविता संग्रह) र रूझेका परेला (गीत संग्रह) प्रकाशित छ । स्कुल पढ्दादेखि नै उनले साहित्य लेखनी थालेका थिए । उनले आफ्ना मामा रेमन्तबहादुर कार्कीलाई लेखनीको प्रमुख प्रेरणा दिने व्यक्तिका रूपमा सम्झने गरेका थिए । घरमा हुने सांगीतिक कार्यक्रममा उनी तबला बजाउने र गाउने गर्थे । उनको पहिलो प्रकाशित रचना मन पर्छ त्यो रात हो । यो रचना पटना विश्वविद्यालय अध्ययन गर्दाताका त्यहाँको स्मारिकामा प्रकाशन भएको थियो । उनको शुरूवाती साहित्य नाम आरएस मधुर थियो । पछि रूपरेखा पत्रिकाका सम्पादकले जनकनाथ प्याकुरेलले कविता प्रकाशन गर्दा वास्तविक नाम नै प्रकाशन गरिदिन थालेपछि भने आफ्नो साहित्यिक नाम त्याग गरेका थिए । गोरेटो त्यो गाउँको, जाग लम्क चम्क हे नौजवान हो, हे कान्छा ठट्टैमा वैंश जान लाग्यो, घुम्तीमा नआऊ है, त्यो खोलाको सङ्लो पानी, स्वर्गकी रानी लगायतका कयौँ हिट गीतका लेखक रत्नशमशेर थापा विक्रम संवत् २०१० को दशकमै मुक्तकलाई चर्चित बनाउने पुस्तामध्येका हुन् । थापाले २०६९ सालमा मदन पुरस्कार गुठीद्वारा प्रदान गरिने जगदम्बाश्री पुरस्कार प्राप्त गरेका छन् । देवकोटा साहित्य पुरस्कार, युगकवि सिद्धिचरण काव्य पुरस्कार, मुक्ति पुरस्कार, रेडियो नेपालबाट सम्मान (गीतमा), साधना सम्मान, भीमनिधि राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, भूपी काव्य पुरस्कार, हरिहर शास्त्री सावित्री देवी साहित्य पुरस्कार, म्युजिक नेपाल सम्मान, ग्राम सेवा पुस्तकालय सम्मान, श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष सम्मान, गोरखा दक्षिण बाहु लगायत प्राप्त गरेका छन् भने विभिन्न रेडियोले लाइफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरेका छन् । #रत्न शम्शेर थापा
देश दुखेको बेला: जलस्रोतको यो स्वर्णीम आँगनमा म किन उज्यालो हुन सकिनँ हिमालको संगत गरेर पनि म किन अग्लो हुन सकिनँ संसारले नै मान्यो बुद्धलाई र, देउता बनायो तर तिनै बुद्धको सन्तान म आफैँ ज्ञानी हुन किन सकिनँ । प्रश्नहरूले घेरेका छन् चारैतिरबाट प्रश्नहरूले घोचेका छन् चारैतिरबाट प्रश्नै प्रश्नको बीचमा उभिएर आफैँ एउटा अनुत्तरित प्रश्न बनेको छु आफैँले आफैँलाई चिन्न नसक्दा म भिल्लको देशमा मणि भएको छु । माटोले सबै कुरा दिएको छ तर बाटोले हामीलाई कतै पुर्याएन धर्मले हामीलाई महान् बनायो तर कर्मले कतै फुक्नै दिएन गौरवले बनायो विश्व प्रसिद्ध तर पौरखले कतै पुग्नै दिएन । आमाकै छाती चुसेर हुर्केपछि त अलिकति माया त हुनुपर्ने हो धर्तीकै अन्न खाएपछि त अलिकति इमान पनि हुनुपर्ने हो दुई खुट्टेको हुल त जुलुसमा पनि देखेकै हो अब त अलिकति मान्छे पनि हुनुपर्ने हो यो देशलाई रुवाएर अट्टहास गर्नेहरूलाई के अब पनि नमस्कार नै भन्नुपर्ने हो ? एक रात बास बसेको पाटीको पनि माया हुन्छ एक छिन सियाँल तापेको अपरिचित रूखको पनि त माया हुन्छ पुर्खाको रगत पोखिएको यो भूमिमा के तिमी तिनकै सन्तानजस्तै छौ ? जसलाई खोस्रेर अडेको छ तिम्रो जीवन के तिमी साँच्चै नै मान्छे जस्तै छौ ? अत्यास लाग्दैछ आफैँलाई म किन यति होचो भएँ ? आमाको काखमा खेल्दा खेल्दै म किन टुहुरो जस्तै भएँ ? र, आफैंँ बसेको घरभित्रै म कता विस्थापित भएँ ? म सुस्त भएँ कि सुस्ता भएँ ? हिजोको म नालापानी आज कसरी कालापानी भएँ ? यो स्वर्गमा जन्मेर पनि म कसरी विचलित भएँ ? संसारकै सबैभन्दा अग्लोको संगत गरेर पनि म आज कसरी यति होँचो भएँ ? #देश दुखेको
शरीर पहिला कि भाषा ?: भूपिन दर्शनशास्त्रमा एक महत्त्वपूर्ण प्रश्न छ, पदार्थ पहिला कि चेतना ? यहीँबाट मोटामोटी दर्शन प्रतिको हाम्रो बुझाइ र पक्षधरता छुट्टिन्छ । ब्रम्हाण्डमा पहिला पदार्थको अस्तित्व स्वीकार गर्नेहरू भौतिकवादी भए । उनीहरूले विज्ञानलाई माने । चेतनालाई प्राथमिक मान्नेहरू अध्यात्मवादी भए । उनीहरूले ईश्वरलाई माने । यति मात्र त काफी छैन दर्शन बुझ्न, यसका अरु अनेक आयाम र तन्तुहरू छन् । दर्शनजस्तो गहन र जटिल विषयलाई सापेक्षित सरल र वस्तुगत रुपमा बुझ्न सजिलो हुने अर्थमा यस्तो व्याख्या हुने गर्छ । यसरी नै मानवशास्त्रमा एक महत्त्वपूर्ण प्रश्न छ, शरीर पहिला कि भाषा ? अर्थात पहिला मानिस जन्म्यो कि भाषा ? तपाईंहरूलाई के लाग्छ ? यदि तपाईं विज्ञानमा विश्वास गर्नुहुन्छ भने तपाईंको उत्तर हुनेछ, पहिला त शरीर नै हो जन्मेको । मानव उद्विकासलाई बु्झ्दै जाँदा हामी लामो यात्रा तय गरी पुच्छर नभएको बाँदरबाट विकसित भएर अहिलेको विकसित मानव बनेका हौँ । जीवविज्ञानले स्वीकारेको अझसम्मको सर्वाधिक बलियो तथ्य यही हो । तर प्रारम्भमा मानिससँग संवादका लागि भाषा थिएन । सञ्चारको आवश्यकताले गर्दा मानिसले भाषाको आविष्कार गर्यो । भाषाले कथा रच्यो, जुन सबैभन्दा बलियो बनिदियो । फ्याक्टभन्दा पनि फिक्सन बलियो हुन्छ भन्ने कथनले कथाको शक्तिलाई अभिव्यक्त गर्छ । यही भाषा हो जसले मानिसको जीवनलाई साह्रै सहज बनाइदियो, मानिसलाई अन्य प्राणी भन्दा अलग क्षमता सम्पन्न पनि । तर यही भाषा हो, जसले असमानता र विभेदका भाष्यहरू पनि जन्मायो । जस्तै: गोरो सुन्दर, कालो असुन्दर । पुरुष मालिक, महिला दासी । नाजी महान, यहुदी खराब र दक्षिण एसियाको सन्दर्भमा कथित छूत महान्, कथित अछूत तुच्छ । ब्रम्हाको पैतलाबाट सुद्र जन्मे आदि । भाषाले एकै उद्विकासबाट आएका मानिसमध्ये एकथरिलाई छूत र अर्कोथरिलाई अछूत बनाइदियो । जुम्ली धाराजस्तो जहाँ आएर ट्याङ्कीको उही पानी एकातिर पवित्र, अर्कोतिर अपवित्र । शरीरमा समान मानिसहरूलाई, भाषाले अलग बनाइदिने ठूलो षडयन्त्रको रचना गरियो । विश्व एक परिवार हो र हामी एउटै आमाका सन्तान हौँ भन्ने दर्शन मान्नेहरू बीचबाटै एकथरिलाई जन्मकै आधारमा समाजबाट अलग थलग पार्ने घिनलाग्दो षडयन्त्र मौलायो । कतिसम्म भने कम्मरमा मयुरको प्वाँख राखेर आफ्ना पदचिन्हहरू समेत मेट्दै हिँड्नु पर्ने अवस्थामा दलितहरूलाई फँसाइयो । कानुनले समेत समान अपराधमा छूतलाई कम र अछूतलाई बढी सजाय तोक्यो । कानुनले नै छूट दिएपछि मानिसहरूले झन् बढी अश्पृष्यताको अभ्यास गरे र एक सांस्कृतिक कलंकको रुपमा छुवाछुत हाम्रो सभ्यतामा रहिरह्यो । जुन सर्वाधिक धृणास्पद छ । भाषाले कोरिदिएको यही विभेद हो, जसको कारण हाम्रो समृद्ध पूर्वीय चिन्तन प्रणालीमा ग्रहण लगाइदिएको छ । बुद्ध, गान्धी, अम्बेडकरदेखि सर्वजित विश्वकर्माहरू यस ग्रहण पन्छाउनतिर लागे । बुद्ध दर्शनले यस अमानवीय भाष्यलाई सम्पूर्णत: खारेज गरिदियो । तर कतिपयले उनलाई अनुसरण गर्यौँ, कतिपयले खिसिट्युरी गर्यौँ । यहीँबाट प्रष्ट हुन्छ, तपाईं समतावादी कि विभेदकारी ? आफैँले आफैँलाई सोध्नुस्, तपाईं केलाई पहिला मान्नु हुन्छ ? शरीरलाई कि भाषालाई ? शरीरलाई पहिला मान्नुहुन्छ भने भाषाले बनाएको अछुतपन वा अश्पृष्यतालाई आजैदेखि त्यागिदिनुस् । यो दलनबाट मुक्तिका लागि हामी कथित छुतहरूले बोल्नु अत्यन्त जरुरी भैसक्यो । पूर्वीय चिन्तन प्रणाली अत्यन्त महत्त्वपूर्ण छ, तर त्यसमा ग्रहण लागेको छ । अश्पृष्यताको यो खग्रास ग्रहण नहटेसम्म तपाईं हामीले जति गफ दिए पनि हाम्रो संस्कार र सभ्यता गर्व गर्न लायक बन्दैन । नवराज बिकहरू मारिइरहन्छन् । रुपन्देहीमा जस्तै नानीहरूको बलात्कारपछि हत्या भइरहन्छ । सोच परिवर्तन गरौँ । #म_छुवाछुतको_बिरुद्धमा_छु अनि तपाईं ? (कवि र निबन्धकारसमेत रहेका भुपिनले दलितका विषयमा लेखिएकाे उपन्यास ‘मैदाराे’ प्रकाशन गरेका छन् ) ##म_छुवाछुतको_बिरुद्धमा_छु #दलित #दलित हत्या
सूत्रधारको सपना: नाटकका लागि चियाघर, नाटक नाटकघरका लागि: “कामचैं के गर्छौ नि ?”- सूत्रधारका लागि यो प्रश्न नौलो होइन, तर फेरि पनि गाउँले काकाले उही प्रश्न तेर्स्याए। “म नाटक गर्छु”- सूत्रधारसँग अर्को उत्तर छैन। “त्यो त ठीक छ, कामचैं के गर्छौ ?”- काकाले फेरि सोधे। “मेरो काम नै नाटक गर्ने हो, म नाटक गर्छु।” झोँक्किउँ कि भनेर उनले नसोचेका होइनन् तर त्यसअघि नै अर्को धारणा प्रकट भइजान्छ । जस्तो किः “अनि नाटकले जीवन चल्छ त ?” सूत्रधार ट्वाँ पर्छ । ऊसँग जवाफ छैन, नाजवाफ भएर हिंड्छ । ‘नाटकले जीवन चल्छ त ?’, भन्ने प्रश्नसँगै सूत्रधार आफैँतिर फर्कन्छ; बिमारले थला परेकी आमा, शुल्क तिर्न नसकेर कलेज जान नपाएकी बहिनी, नाटक निर्माण गर्दाको थोरै ऋणले धेरै खुम्चिएको आफ्नै निधार, र यो हविगतबाट आजित भएर घर छोडेर हिंडेका पिता । सँगै सम्झन्छ; बाले पैसा कमाउन ‘बिदेस’ जा भनेको दिन । सोच्छ, “बेलैमा बाले भनेको मानेको भए जीवन यसरी अट्कने त थिएन होला !” सूत्रधारका बुबालाई साथीहरूले प्रश्न गर्थे, “के गर्छ तेरो छोरो ? काँ छ ? मेरोले त फेरि पोइसो पठायो ।” सूत्रधारको बुबा निरास हुँदै जवाफ फर्काउनु हुन्थ्यो, “उसैलाई सोध न !” सूत्रधारले नाटक गरेको बुबालाई फिट्टो मन परेको थिएन । ‘नाटकबाट कमाइ हुँदैन, रङ्गमञ्च सूत्रधारको संघर्ष हैन रमाइलो गरिरहेको छ’, भन्ने बुझ्नुभएको थियो उहाँले । मन्डला नाटकघर, तेस्रो ब्याचको विद्यार्थी हो, सूत्रधार । उसले रङ्गकर्मी सुनील पोख्रेलबाट नाटकको औपचारिक शिक्षा लिएको हो । सूत्रधारसँग एउटा सपना छ, नाटकघर बनाउने । राजधानीको पाँच वर्षे रङ्गमञ्च यात्रापछि आफ्नै ठाउँमा नाटकघर बनाउने सपना लिएर ऊ गाउँ फर्कन्छ । सूत्रधारले गाउँ फर्केर झापाको बिर्तामोडमा रङमञ्चसम्बन्धी गतिविधि सुरु गरेको पनि तीन वर्ष पुग्न लागेछ । यस बीचमा झापाका ३२ देखि ७२ वर्षसम्मका सात जना आमाहरूलाई तिनकै कथामा अभिनय गराउनु चाखलाग्दो कुरा थियो । आमाहरूको नाटक “रुवा” बिर्तामोडमा र काकरभिट्टाको ‘परिवर्तन’ थिएटरमा मन्चन पनि भयो । नयाँसँग काम गर्न चुनौती नै हुन्छ; फिल्ममा होस् या नाटक । आमाहरूसँग काम गर्दा सूत्रधारलाई गाह्रो-सजिलो जे भयो होला ! तर जिन्दगीभर अरूको लागि बाँचेका आमाहरूलाई केले नाटकमा आकर्षित गर्यो होला ? अहिले उहाँहरू पनि नाटकघर बनाउने अभियानमा हुनुहुन्छ । ‘कम पैसा लगानीमा चाँडो आम्दानी दिने व्यवसाय के गर्न सकिन्छ ?’, अभिनेता भएर रङमञ्च तथा चलचित्रमा फरक पात्रको चरित्र निभाउने सूत्रधारले एक नयाँ पात्र भएर सोच्यो । आफ्नो गुजारा चलाउनै मुस्किल भइरहेको बेला उसले वैकल्पिक व्यवसाय शुरु गर्ने योजना बनाउँछ । र, केही फरक तरिकाले बेच्ने ‘वन लाइन’ आइडिया आफ्नो सर्कलका साथीहरूलाई सुनाउँछ । कोही, ‘अब तैँले चिया बेच्ने ?’ भन्दै हाँसे । कोही रिसाए, कसैले त गाली नै गरे । तर सूत्रधार विचलित भएन, निरन्तर लागिरह्यो । सूत्रधारको विद्यार्थी विराज, ‘एउटा रङमञ्च तथा चलचित्र अभिनय कार्यशाला आयोजना गरौँ’, भन्दै सूत्रधारसामु आइपुग्छन् । कार्यशाला गर्ने निर्णय हुन्छ । कार्यशालाको दौरान एक रात होटलको छतमा गफिएर बसिरहेको बेला बिराजले फ्याट्ट सोध्छ, “यही क्षेत्रमा टिकिरहन के गर्नुपर्छ ?” “नाटकबाटै कमाएर आफ्नो गुजुरा चलाउछु भन्नु असम्भव त होइन, तर एकदमै कठिन साधना हो । वैकल्पिक कुनै व्यवसाय गर्दा नाटक गर्न सजिलो हुन्छ,” सूत्रधारले अनुभव साट्छ । “मेरो केही साथीहरू पनि छन्, मिलेर मोड्लिङ एजेन्सी खोलौं त्यसो भए । त्यसको कमाइबाट नाटक पनि बनाउँला,” बिराज आइडिया सुनाउँछ । “तिम्रो कुरा ठीक हो, तर हामीसँग त्यति धेरै पैसा पनि छैन । खेर गइरहेका सामानहरूलाई पुन: प्रयोगमा ल्याएर केही फरक तरिकाले चिया मात्र बेच्यौं भने पनि हुन्छ । लगानीबिना कसरी व्यवसाय गर्ने ? उदाहरण पनि बन्न सक्छ । आफ्नो जीवनको गुजारा चलाउने ठाउँ पनि,” सूत्रधारले विराजलाई सम्झाउँछ । उनीहरूबीच अभिनय कार्यशालामा आएका इच्छुक विद्यार्थीलाई पनि प्रोजेक्टमा सहभागी गराउने कुरा हुन्छ । सूत्रधारसँगै चार जना विद्यार्थी विराज, बिमल, रुपेश र अजयले चिया पसलको दायित्व ग्रहण गर्छन् । अन्य आठ जना विद्यार्थी भ्याएको बेलामा आएर काम सघाउन तत्पर देखिन्छन् । चिया पसलको लागि ठाउँ खोज्ने काम सुरु हुन्छ । केही ठाउँको खोजीपछि सूत्रधारले पाथीभरा सिनेप्लाजा अगाडिको खाली जग्गा युवराज प्रसाईंको हो भन्ने पत्ता लगाउँछ । विद्यार्थी र सूत्रधार युवराजलाई भेट्न जान्छन् । फ्यालिएको टायरबाट टेबल, कुर्सी बनाएर चिया बेच्न शुरु गर्ने सूत्रधारको आइडिया युवराजलाई एकदमै मन पर्छ । उदार मनले उनी भन्छन्, “यदि कटेरो बनाएर चिया बेच्छौ भने अगाडिको जग्गा खाली छ। मैले प्रयोगमा नल्याउन्जेल गरिखाऊ। मलाई भाडा तिर्नु पर्दैन । योभन्दा बढी के भन्नू ?” पन्ध्र हजारबाट शुरु गर्ने योजनाको चिया पसलको लगानी बढ्ने निश्चित भयो। सूत्रधारले अभिनय कार्यशालाबाट आफूलाई आएको सम्पूर्ण रकम लगानी गर्यो । बिस्तारै केही विद्यार्थीले पनि लगानी गर्दै आफ्नो सहभागिता जनाउन थाले । एक दिन सदस्य बिमलले सूत्रधारलाई भने, “गुरु चिया पसलभन्दा पनि चियाघरचैं राख्दा राम्रो सुनिएला ।” “कसरी ?” सूत्रधारले प्रतिप्रश्न गर्यो । बिमलले भन्यो, “पसलमा आउने ग्राहक हुन्छन्, घरमा आउने पाहुना । घरमा आउने सबैले पाहुनालाई आदर तथा सम्मान गर्ने गर्छन् । चियाघरमा आउने पाहुनालाई पनि हामी ग्राहकलाई गर्ने व्यवहार होइन, पाहुनालाई गर्ने स्वागत गर्छौँ।” बिमलको कुरा सूत्रधारलाई मनपर्यो । त्यही दिन नाम जुर्यो, ‘दारी भाइको चियाघर’ । फ्यालिएका टायर, गाउँगाउँबाट बाँस, माटो र ढुंगाको प्रयोगले चियाघर बन्यो। चियाको स्वादमा जडीबुटीलाई साथ लिएर नयाँ स्वाद दिँदादिँदै दुई महिना बित्यो । गत वर्ष, प्रेम दिवसको दिन ‘दारी भाइको चियाघर’को अनौपचारिक उद्घाटन भयो । साथीभाइबाटै पाहुनाहरू ‘चियाघर’मा चिया पिउन आउनेको जमात बढ्न थाल्यो । ‘दारी भाइको चियाघर’मा २१ थरिका चिया पाइन्छन् भन्ने कुराले बजार ततायो । जडिबुटी मिश्रित विभिन्न स्वादका चिया, चियासँगै सूत्रधारको कविता वाचनले बिस्तारै मानिसलाई मोहनी लगायो । फ्यालिएको टायरबाट बनाइएका टेबल, कुर्सी र माटोले बनेका गाउँतिरका आफ्नै पुरानो घरको झल्को दिने संरचनाले मानिसलाई ‘दारी भाइको चियाघर’मा तानिरह्यो । युवाहरूले गरेको काममा हौसला दिन झापा पुगेको मौकामा सन्चारकर्मी रवि लामिछाने सहितको टिमले पनि आएर चिया पिए । कलाकार बिपिन कार्की त ‘दारी भाइको चियाघर’ निर्माण गर्ने १२ जना नाटकका विद्यार्थीलाई एकदिने अभिनय कार्यशाला गराउन र चिया पिउनै भनेर बिर्तामोड आए । विपिनको प्रतिक्रियाले सूत्रधार र टिमलाई थप ऊर्जा पायो। पाहुनाहरूले सूत्रधारलाई ‘दारी भाइ’ नामले बोलाउन थाले । पाहुनाहरूको मायाले पहिलो महिनामै लाख बराबरको व्यापार गर्यो चियाघरले । आजकाल सूत्रधारको बुबा-आमाको अनुहारमा खुसी छाएको छ । सूत्रधारको बुबालाई, ‘तेरो छोरो के गर्दै छ ?’, भनेर कसैले प्रश्न गरे उहाँसँग उत्तर छ । सूत्रधारको विद्यार्थीहरूका आमा-बुबा पनि घरमा सिन्को नभाँच्ने आफ्ना छोराछोरीले गरेको मिहिनेत देखेर खुसी छन् । तर सञ्चालन भएको एक महिना नपुग्दै कोरोनाको माहामारीले ‘दारी भाइको चियाघर’को तातो आतिथ्यता सेलाएको छ । तर चियाको सम्बन्धले नाटकघर बनाउने सपना लिएर दुई ऊर्जाशील युवाहरू युदिन र रोहित पनि सूत्रधारसँग जोडिएका छन् । अझ रोहित त बिर्तामोडमा भएको आफ्नै जग्गामा नाटकघर बनाऊँ भन्दै सूत्रधारलाई ऊर्जा थपिरहेका छन् । “नाटकघर बनाउने सपनाले चियाघर जन्मायो। अब चियाघरको पसिनाले नाटक बनाउँछ। र, नाटकले नाटकघर पनि बनाउँछ,” रोहित भन्छन् । अहिले लकडाउनले गर्दा सबै मानिस साँघुरो कोठामा थुनिएका छन् । ‘दारी भाइको चियाघर’मा दिनहुँ चिया पिउन आउने पाहुनाहरू यतिखेर के गर्दै होलान् ? सबैलाई, ‘सुरक्षित रहनुस् है !’ भनेर सूत्रधारले पत्र छोडेको छ- ”लकडाउन खुलेपछि ‘दारी भाइको चियाघर’मा चिया पिउन भेट्नु पर्छ है ! तपाईँको कपले तपाईँलाई पर्खिरहेको छ ।” #सूत्रधारको सपना
म शोक मनाउँदिन: हे ! मुर्धन्य श्रष्टा म तिम्रो शोक मनाउँदिन म तिमीलाई श्रद्धाञ्जली पनि दिन्न किन ? किनकी तिमी मरेका छौँ जस्तो मलाइ लाग्दैन । तिमी बाँचिरहेछौ शब्दहरूमा तिमी बाँचिरहेछौ हृदयमा तिमी बाँचिरहेछौ पवनमा तिमी बाँच्नै रहने छौ कण कणमा । तिमीले सुतिरहेका मान्छेहरूलाई “जाग, लम्क, चम्क हे नौजवान हो ।” भनेको पनि धेरै समय भएको छैन । म भर्खरै जाग्दै थिएँ म भर्खरै सिक्दै थिएँ तर जागेको थिइनँ सिकिसकेको थिइनँ त्यसैले नयाँ केही भएको छैन यहाँ न कुनै परिवर्तन भएको छ । त्यसैकारण हे ! सर्जक म तिम्रो शोक मनाउन चाहन्न अझै तिम्रो खाँचो थियो तिमीले हेर्नू थियो यो देश सिङ्गारिएको छैन सीमा जोगिएको छैन हिंसा बलात्कार रोकिएको छैन जात, धर्म, वर्ग मेटिएको छैन कोही युवाहरू जन्मिएकै छैनन् जसले कायापलट गर्न सकुन यो धरतीको । माटोले बनेको शरीर माटोमा मिलेको मात्र हो । बरू म उत्सव मनाउँछु नयाँ जीवन प्रवेशका लागि फूल चढाउँछु शुभकामना व्यक्त गर्दछु । तिमी यात्रा गरिरहनेछौ अनन्तदेखि अनन्तसम्म जसरी जन्म एक सुरुवात थियो मृत्यु अर्को सुरुवात हो । तिम्रो शोक मनाउँदिन तिमी बाँचिरहेका छौ शब्दहरूमा । #म शोक मनाउँदिन
फलानो बिक: फोटोग्राफरले ‘फ्यान्टास्टिक फोकस’ भेट्ने दृश्य हुँ म पत्रकारले गतिलो ‘स्टोरी’ भेट्ने स्थान पनि मै हुँ कथाकारले गज्जबको ‘प्लट’ भेट्ने प्रमाण हुँ म कविले लजावाब बिम्ब भेट्ने प्रतिमा पनि मै हुँ तपाईंलाई लाग्ला म कलात्मक मूर्ति हुँ कुनै मूर्तिकारको म अलौकिक कृति हुँ कुनै कलाकरको म सबसे सुन्दर सृजना हुँ प्रकृतिको म अनन्त तिर्सना हुँ पारखीको म आकाश हुँ, इन्द्रेणी हुँ चरा हुँ, नदी हुँ समय हुँ, पर्व हुँ साथी हुँ, खुसी हुँ फूल हुँ, प्रेम हुँ आस्था हुँ, ईश्वर हुँ तर पर्खिनुस् म केही हैन म कैलै केही हुनै सक्दिनँ तपाईंको सभ्य समाजमा म मान्छे पनि हैन ! मेरो परिचय नामः फलानो बिक उमेरः आजन्म ठेगानाः समाज बाहिर कसुरः प्रेम र अधिकार नियतिः लाश #फलानो बिक
दिनेशराजको गजल: लेख्नेले तिमीलाई जिन्दगी, मलाई याद लेखिदियो कि ! तिमीले झैं खुसीको बीच पाना नै च्यातिदियो कि ! सबथोक बिक्दा नि कहिल्यै नबिकेको तिम्रो मन पीर लाग्छ केही पनि नबिक्दा बिकिदियो कि ! हावा वेगले चल्दा पनि तीन ठाउँ भाँचिन्छु म पराइले तिम्रो खुसीको चिउला पो लुछिदियो कि ! जब जब नदी धमिलो बग्छ, जिउ नै सिरिङ्ग हुन्छ कसैले तिम्रो दाहिने आँखामा घोचिदियो कि ! हुलाकीको रङको झोला देख्दा नि आश लाग्छ कतै बिर्सी जानेले पो बिर्सेर सम्झिदियो कि ! #दिनेशराजको गजल
उत्थान: अवस्थित छ समाज अतितको भूमिमा संस्कृतिको नाममा, बोझ छ काँधमा । जाति धर्म वर्गमा विभाजित जन छैन सहृदयता, छ परस्पर संघर्षण । व्यक्तित्वको अन्तरस्थिति अन्तर्द्वन्द्व भयावह, त्यसैको प्रतिविम्ब परिवार समाजमा कलह । समाजको रुपान्तरणमा बढ्दछ जन प्रवाह अन्तरस्थिति रुपान्तरणको कस्लाई छ थाहा ? पुर्खाका खोज सबै जड आज, रसविहीन बोझ हाम्रो छातिमा भो सधैँका हामी दीन-हीन । व्यथा-व्यथा जीवन कथा उधारो सब समाज प्रथा सुख्खा-सुख्खा आँखा सुख्खा तन भोका, मन भोका । भोग-सम्भोगलाई भोको तन कला विज्ञानलाई भोको मन मुक्तिको भोको आत्मा छ सोपान-सोपान चड्नु छ । जिन्दगीका रङ्ग-ढङ्ग सब होस् आफ्नै हातको आर्जन, संस्कृतिका विकृतिहरु होस् नव चेतनामा परिमार्जन । व्यर्थ नजाऊन् श्रम-परिश्रम हटून् सबै भ्रम विभ्रम बढौँ हे, अघि बढौँ सबै-सबै सोपान चढौँ ।
ईश्वरलाल: सडिरहेछ मन्दिरको प्राङ्गणमा ईश्वरलालको लास ऊ गुनासो गर्थ्यो मन्दिरभित्रको ईश्वर यो धरतीमा राजा भएर आए सेनापति भएर आए न्यायाधीश भएर आए । आएनन् कहिले एउटा मजदुर भएर ऊ बनाउँथ्यो साँचोमा ढालेर फरक फरकका ईश्वर उसलाई थाहा थियो ईश्वर बन्नु भन्दा कयौं गुणा कठिन छ मजदुर बन्न उसलाई थाहा थियोे उसको पसिनाले मात्र जलाउन सक्छ उसको चुल्हो मेटाउन सक्छ भोक उसको हातपाउ नै हो उसको इश्वर एक दिन उसले बचायो गाडीले ठक्कर दिएर घाइते भएको मानिसलाई एकदिन उसले जोगायो एउटी अबलाको लुटिन लागेको अस्मिता जब आज उसको मृत्यु भयो न अखबारको ब्रेकिङ्ग न्युज बन्यो न भड्कियो दङ्गाफसाद न बज्यो शोकधून न गुञ्जियो जयकारको नारा आखिर मृत्यु भएको थियोे साधारण मजदुर ईश्वरलालको थिएन तथाकथित इश्वरको । राममणि सिटौला #ईश्वरलाल
सूर्यबहादुर: बिहान सूर्य उदाउनु अघि नै हातमा नाम्लो बोकेर हिँडेको सूर्यबहादुर तामाङ्ग सूर्य अस्ताउनु अघिनै कीर्तिपुरको बीच सडकमा हातमै नाम्लो च्यापेर अस्तायो । अस्ताए पछि सूर्यबहादुर एकाएक अखबारहरूमा छायो मध्यान्हमै बीच सडकमा नाम्लो च्यापेर अस्ताएको सूर्य बहादुर अखबारका पानाभर तस्बिर बनेर आयो अनि मात्रै सूर्य अस्ताएको खबर लोकले चाल पायो । शरीरमा अलिकति तागत हुञ्जेल नशामा दुइ थोपा रगत रहुञ्जेल सूर्यबहादुर कहिले नाम्लो च्यापेर कहिलेभारी बोकेर बाघभैरव पाँगा नयाँबजार कालीमाटी गरिरह्यो । पसिनाको धारा चुहाउँदै कहिले बल्खुको तरकारी बोक्यो उसले कहिले साहुको सिमन्टी घिसार्यो उसले धेरैलाई खुवायो सूर्यबहादुरले धेरैका घर बनायो सूर्यबहादुरले आफुभने सधैको बेघर सूर्यबहादुर बन्दाबन्दीमा सायद भोकभोकै पर्यो र त आकाशमा सूर्य नअस्ताउँदै बीच सडकमै गर्लम्मै ढल्यो । जिउँदो रहुञ्जेल बगेको सूर्यबहादुरको स्वाभिमानी पसिना न उसको सरकारले देख्यो हुनेखानेको सहरमा हुँदाखाने सूर्यबहादुरको बेदना न त कुनै अखबारले लेख्यो मरेपछि भने सूर्यबहादुर एकाएक शीर्ष समाचार बन्यो र सूर्यझैं चम्कियो । खै कसलाई थाहा छ ? धादिङको सूर्यबहादुर बाबुआमाका सपना बोकेर झार्लांगबाट झरेको थियो कि प्रियसीको दुःखका दिन फेर्नका लागि सर्पु या तोप्लांगबाट याम्बुरी छिरेको थियो। अब ऊ फर्केर आउने छैन र भन्ने छैन ऊ धादिङबाट यो शहर किन पसेको थियो । सहरले उसलाई डस्यो ठूलाहरूको सहरमा सानाहरूका मसिना सपनाको कुनै हिसाब हुँदैन तैपनि केही होला भनेर सूर्यबहादुरले ठूलाहरूको आशामा ठूलाहरूकै आदेशमा कहिले “हलो“ समायो कहिले “रूख“ को सहारामा रमायो । सूर्यबहादुरले गरिखानेहरूको सुदिन फिर्ला कि भनेर “सूर्य“ लाई आफ्नो ठम्याएर सूर्यकै सरकार बनायो तर अफसोच् भोकको भुमरीमा परेर राजधानी कै मुटुमा सूर्यबहादुर ढल्यो । #सूर्यबहादुर
मेरो कलमको यात्रा: कविता बाँच्ने तरिका हो, निरन्तर साधना हो: बुबा: गरिबी र अस्तव्यस्तताको सिरेटोले लखेटिरहने बुबाका जवानीका दिनहरूमा स्थायी साधन र सम्पति भनेका किताबहरू नै हुन्थे । ती उहाँ जहाँ गए पनि छुट्दैनथे । कम्युनिस्ट आन्दोलनको रूझानले भिज्नुभएको उहाँसँग आफ्ना अस्थायी निवासभन्दा अग्ला किताबका चाङहरू हुन्थे । ती किताबहरूमा एउटा राजनीतिक मियोको वरिपरि रहेर बुनिएका मान्छेका सपना, विश्वास र भविष्यका रूमानी कथाहरू हुन्थे । टुट्दै, खिइँदै ती किताबहरू मसम्म पनि आइपुगे र किशोर मस्तिष्कको स्वप्निल पटाङ्गिनीमा लामो समयसम्म सियाँल हालेर बसिरहे । हामी हेटौँडा बस्थ्यौँ । बुबा तल बजारमा पसल चलाउनु हुन्थ्यो । कहिलेकाहीँ कुनै साहित्यिक या बालपत्रिका लिएर फर्कनुहुन्थ्यो । बुबा आफैँ पनि लेख्ने गर्नुहुन्थ्यो । उहाँसँग मोटामोटा बुक कापीहरू हुनेगर्थे जो मुक्तक या कविताहरूले भरिएका हुन्थे । किताबप्रतिको आकर्षण हामी दिदीभाइलाई सानै उमेरदेखि नै थियो । दिदीभाइ हानथाप गरेर तान्दा–तान्दै किताब च्यातिन्थ्यो । अक्षर पढ्न सक्ने सामान्य उमेर हुनु अगावै मेरो कलिलो मस्तिष्कले हजारौँ अक्षरहरू छामिसकेको थियो । त्योबेला पढिएका पुस्तक–पत्रिकाका कथा, कविता या चित्रहरू अद्यापि मानसपटलमा छँदै छन् । बुबाले प्राय ‘मुना’ बालपत्रिका ल्याइरहनु हुन्थ्यो । कक्षा एकमा भर्ना भएको सानो बालकले चित्रकथामा रूपान्तरित भएर प्रकाशित भएको ‘बसाइँ’ उपन्यासका ‘झुमा’, ‘रिकुटे’जस्ता पात्रहरूलाई ऊ बेलादेखि नै कल्पिन थालेको थियो । एकदिन त्यो बालकले एउटै आसनमा बसेर ‘गौरी’ खण्डकाव्य आद्योपान्त पढिसिध्याएको थियो । पारिवारिक बेमेल र फकिरगिरीको सुसेधन्दामा हेलिँदा–हेलिँदै हामी चितवन आइपुग्यौँ । राजमार्गको छेवैमा हामी डेरा गरेर पसल चलाएर बस्थ्यौँ । उहीँ डेरामा बस्दाताका एकदिन कुनै सानो किताब मेरो हातमा पर्\u200dयो । युद्धका बाछिटाले भिजेका बालबालिकाका पीडा, व्यथा उध्रिएको त्यो किताबको नाम या त्यसका लेखक मलाई सम्झना छैन तर त्यही किताबले ममा जगाइदिएको ‘लेखक’ बन्ने हुटहुटीले मेरो यहाँसम्मको गन्तव्य तय गरेको हो । मिशा र पाभेल: बुबाको कम्युनिस्ट साहित्य प्रतिको रूझानका कारण घरमा त्यही मार्काका किताबहरू प्रशस्त थिए । कमलो मस्तिष्कले गह्रौँ सिद्धान्तका कुरा छाँट्न नसके पनि उपन्यास र कथाका भाव र चरित्रहरूसँग लहडिन्थ्यो । ‘प्रगति प्रकाशन, मस्को’ नामक अचम्मको ठेगाना लेखिएका ती किताबहरू मेरो लेखनयात्रामा कोशेढुङ्गा बनेर रहे । शोलोखोभको बालपात्र ‘मिशा’, गोर्कीको ‘पाभेल भ्लासोभ’ या आस्त्रोभस्कीको ‘पाभेल कर्चागिन’ सबैले मेरो बालमस्तिष्कमा गहिरो प्रभाव पारेका थिए । म जन्मेकै दशक देशमा यसै कम्युनिस्ट विचारधाराकै प्रभावमा गृहयुद्ध सुरु भयो । अहिले कविता लेखेर ढल्की–ढल्की हिँड्ने केटोको मनमा त्यो बेला युद्धप्रति अनौठो आकर्षण थियो र कुनै दिन आफू पनि बन्दुक बोकेर मोर्चामा सामेल हुने बेढङ्गको सपना थियो । गाउँमा बाल समूह गठन भएको थियो । महिनैपिच्छे विभिन्न स्रोतहरूबाट मासिक पत्रिकाहरू बाल समूहका लागि आइपुग्थे । महिनाभर लगाएर बाँडिचुँडी ती पत्रिकाहरू पढिन्थे । मूल्याङ्कन प्रकाशन गृहले प्रकाशन गर्ने मासिक पत्रिका ‘नवयुवा’ पनि त्यहाँ आइपुग्थ्यो । जीवनको एउटा काँचो कालखण्डमा जीवनदृष्टि, चेतना र साहित्यिक मूल्य उकास्न ती पत्रिकाहरूको भूमिका महत्त्वपूर्ण छ । आफूले पढेका विभिन्न किताबहरूको प्रभावमा म पनि अन्टसन्ट लेखिबस्थेँ । आफू ठूलै लेखक बन्दैछु भन्ने कल्पना गर्दै ठेलीका ठेली किताबका योजना र आवरणहरू बनाएर बस्थेँ । लेखक बन्ने हुटहुटी कतिसम्म थियो भने म तिनै लेखकहरूको सिको गरेर दश/एघार वर्षकै उमेरमा चुरोट खानेसम्म पनि भएँ । भूपिन र कविता: २०६६ सालको अन्तिम याम थियो । एस.एल.सी. सकिसकेको थिएँ । एक मध्याह्न खाटमा पल्टिएर रेडियो सुनिरहेको थिएँ । चर्चित कवि भूपिनको ‘हजार वर्षको निद्रा’ विमोचन हुँदै थियो । विमोचनको प्रत्यक्ष प्रसारण रेडियोबाट बजिरहेको थियो । रेडियो सुनिरहँदा मलाई कविता लेख्ने हुटहुटीले यसरी समात्यो कि, मानौँ कविता मेरी पूर्वजन्मकी प्रेमिका हो, र अचानक मलाई मेरो पछिल्लो जन्मको प्रेम–याचना र उसको सुन्दर मुखाकृति याद आइदिएको छ । कुन दिन, के बार ? ठ्याक्कै सम्झन्नँ । तर त्यही दिन मैले पहिलोपटक कविता लेखेँ । त्यो कुन कविता थियो, त्यो पनि सम्झना छैन । कविताको कागज उहिल्यै कतै गुम भइसक्यो । त्यसपछि निरन्तर लेखिरहेँ । अनेक कल्पना र सपनाका घोडेटोहरूमा उफ्रिँदै, ठेस खाँदै मैले कविता लेखिरहेँ । अन्तरमुखी स्वभावको केटो, साथी–सङ्गाती गन्दै जाँदा एक हातका औँला पनि बढी हुन्थे । धुम्धुम्ती एक्लै बसिरहन्थेँ या एक्लै हिँडिरहन्थेँ । प्रायः आज पनि एक्लै हिँडिरहन्छु । ती दिनहरूमा म दिनभर जङ्गल, चिहान, बाटाहरू या खोला–नदी चहार्दै हिँड्थेँ । यिनीहरू मलाई अपरिचित या निर्जन पटक्कै लाग्दैनथे, यी त मेरो लागि ‘म’जत्तिकै नजिकका मित्रहरू पो थिए । जङ्गल, चिहान या नदीछेउ पढेर या लेखेर दिन सक्काएपछि म राति आफू कत्ति अग्लो भएको सपना देख्थेँ । लेखनयात्राको सुरुमा आफूले जे लेखेपनि अप्राप्य, अति दुर्लभनै लेखेछु जस्तो लाग्दो रहेछ । धेरैपछि आएर बुझेँ, सम्यक् अध्ययन र चिन्तन नभइकन रूमानी भावना र कोरा कल्पनाको कुचीले मात्रै कोरिएका अक्षरहरू कविता नबन्दा रहेछन् । लेखनमा आउनका लागि ‘पढ्नैपर्ने’ पहिलो शर्त हुँदोरहेछ, व्यक्तिको अध्ययनले नै उसको चेतना र चिन्तनको स्तर निर्धारण गर्दो रहेछ । संख्यात्मक तुलोमा तौलने हो भने लेखिएका कविताहरू हजारौँको संख्यामा होलान् । मन परेका, हृदय छोएका कविताहरू सयौँको संख्यामा आउलान् । गुणवत्ता र स्तरीयताको कसीमा च्याप्दै ल्याउने हो भने एउटा किताबको आकार लिन सक्ने जति होलान् कविताहरू । यसबीचमा २०७५ सालको अन्त्यमा सत्र समवयी साथीहरूको सहकार्यमा ‘अनुहारको भीड’ बजारमा आयो । ०७६ को अन्तिमतिर फेरि अर्को संयुक्त कविता संग्रह ‘उज्यालोका मालीहरू’ प्रकाशित भयो । यसमा मसहित एघार कविका ११० छोटा कविताहरू संग्रहित छन् । प्रेम र प्रार्थना: सिनेम्याटिक अन्दाजमा मैले एकदिन उसलाई सोधेको थिएँ, मेरो लागि भगवानसित के माग्यौ ? उसले भनेकी थिई, हजुर राष्ट्रिय स्तरको, ठूलो कवि बन्नुहोस्, कहिल्यै दुःख नहोस् भनेर मागेँ । खैर यो बेग्लै कुरा हो कि ऊ गएपछि नै मैले जीवनमा सबैभन्दा भयङ्कर रिक्तता र आघातको आँधी खप्नुपर्\u200dयो । त्यो मान्छे, जसलाई भेटेपिच्छे मेरो मगजमा सबैभन्दा सुन्दर विम्ब र उपमाहरू झुल्थे, जसले मलाई सम्बोधन गरेका प्रत्येक शब्दहरू मेरो हृदय च्याप्प समातेर कहाँ–कहाँसम्म तन्किन्थे र कविता बन्थे । जीवनको एउटा कालखण्डमा एउटी आत्मीय साथी, मेरो कल्पनाकी सुन्दर प्रेमिका र एउटी स्त्रीको मातृवत् प्रेम मैले उसैबाट पाएको थिएँ । एउटा विरहको साँझ म आफ्नै कपाल लुछिलुछी रोएको थिएँ, त्यसपछिका केही दिन मैले निरन्तर मृत्युको याचना गरेँ । आज दिन, महिना र केही वर्ष बितिसकेका छन् । मेरा यावत् गुनासा र पीडाका पोकाहरू कुनै हिमाली चरोले आफ्नै प्वाँखमा सिउरिएर कतै दूर उडिसकेको छ । त्यसपछि पनि सबैले भन्ने गरेको जस्तो ‘प्रेम’ र त्यसबाट आहत हुने श्रृङ्खला यथावतै छ । आज पनि उसैगरी रून्छु, उसैगरी दुःखी हुन्छु तर फेरि झ्याल खोल्छु र अगाडिको उज्यालो हेरेर आँखा पुस्छु । आज बिस्तारै बुझ्दैछु, एउटा मान्छे आफूजस्तै कुनै अर्को मान्छेको प्रभाव या अभावले आहत नहुने रहेछ । आफ्नै मनलाई अलि फराकिलो कसीमा राख्न नसक्दा पो मन अस्तव्यस्त हुनेरैछ, र यही मनको भाँडभैलोमा तमाम दुःख, आक्रोश र व्यथाहरू फस्टाउँदा रहेछन् । उमेरजन्य स्वभाव, भावना, वृत्ति र कर्महरू सबैका जीवनमा आइपर्ने साधारण घटना न रहेछन् ! कविहरूको संवेदनाको तह अतिशय कमलो हुँदोरहेछ । तर त्यो कोमलतालाई आक्रोशित किसानले झैँ नौनी सडकमा नपोखी सिर्जना–उद्यममा फुलाउनु पर्ने रहेछ । चेतनाको साँघुरो क्षितिज अलि पर सार्न सके जस्तै वियोग र विरहका चट्याङहरू खेप्नु परे पनि प्रेमलाई र जीवनलाई पनि प्रार्थना बनाउन सकिने रहेछ । अनि मात्रै पो परम्पराको रथलाई अलि पर हुत्याउन सकिने अक्षरहरू लेखिने रहेछन् । एउटा सुनौलो संयोग के छ भने मेरो जीवनमा अध्यात्म र प्रेमको बीउ लगभग सँगैजसो प्रकटित भएका रहेछन् । अहिले बुझ्दैछु अध्यात्म र प्रेमको मार्ग र गन्तव्य नितान्त एउटै रहेछन् । अध्यात्ममा चाख बढ्दै गएपछि उग्र क्रान्तिकारी कम्युनिस्ट रूझान मैले आफैँ पत्तो नपाउने गरी हराउँदै गयो । यससँगै मेरो विचारधारा, दृष्टिकोण र चेतनाको तहमा आमूल परिवर्तन आयो र यसले मेरो लेखन यात्रालाई पनि अर्कै मोडमा लानु थियो । मेरो कविताको आराधना: जीवनमा सबै मान्छे उति नै भाग्यमानी हुन्छन् भन्ने हुँदैन । भाग्य कर्मले तय गर्दो हो । एउटा क्षेत्रमा सफल मान्छे अर्को क्षेत्रमा असफल भइरहेको पनि हुन्छ । जीवनमा को, कतिखेर कुन उद्देश्य या प्रयोजनका लागि भेटिन्छन् थाहै हुँदैन । यस्तै नजानिँदो तरिकाले एक समय मेरो जीवनमा महेश पौड्याल सर भेटिनुभयो । अक्षरको निरन्तर यात्रामा मैले केही उज्यालो भेटेको छु भने (पक्कै भेटेको छु), या चेतनाको विस्तीर्ण मैदानबाट उच्च शिखरहरू निहारेको छु भने (पक्कै निहारेको छु), या सफलता जस्तो केही भेटेको छु भने(संसारले अर्थ्याएजस्तो होइन), उहाँ नै यी सबैको अजस्र स्रोत हुनुहुन्छ । बाँकी अवशाद, अँध्यारा र निराशाहरू मेरै अल्छ्याइँ, अर्कमण्यता या मानसिक दुर्बलताका परिणतिहरू हुन् । उहाँकै विशद् अनुभव र ज्ञानको आलोकमा मैले मेरो कलम तिखारेको हुँ । उहाँ नभेटिनु भएको भए सम्भवतः म सिर्फ एक उरन्ठ्यौलो अ(कवि) बनेर जीवनका पुराना गल्लीहरूमा भट्किरहेको हुने थिएँ । कसैले भनेका छन्, कविको संसार र वैज्ञानिकको संसार मिल्दोजुल्दो हुन्छ । वैज्ञानिकले अथक प्रयोग गरिहन्छ जीवनभरि र उन्नत र परिष्कृत आविष्कार गर्दै रहन्छ । उसैगरी कविले पनि निरन्तर प्रयोग र आविष्कारहरू गर्ने रहेछ । म पनि निरन्तर प्रयोग गरिरहेकै हुन्छु । कविहरू प्रयोग गर्दागर्दै चेतनाको माथिल्लो स्तरलाई छुन्छन् । त्यो ‘छुवाइ’ कथंकदाचित हुने दुर्घटनाको तहमा भयो भने कविताको व्यसन कविको साधनाको तहमा उक्लँदैन कि जस्तो मलाई लाग्छ । साधनाको तहमा उक्लिनका लागि शरीरको भौतिक र मानसिक वृत्तिहरूलाई सम्यक् व्यवस्थापन गर्दै ऊर्जाको तलमा एउटा उज्यालो भेट्नुपर्ने रहेछ । हुन त हामी योगी वा सिद्ध पुरूष होइनौँ, आफ्ना उमेरजन्य स्वभाव, शारीरिक, मानसिक वृत्ति, वासना या दुर्बलताहरूका बाबजुद कहिलेकाहीँ त्यो ऊर्जाको तलमा आफू स्थिर भएको क्षण मैले मेरा सबैभन्दा सुन्दर कविताहरू लेखेको छु र पटक–पटक आफ्नै कविता पढेर अचम्मित पनि भएको छु । कविता मेरो लागि खाली समय व्यतित गर्ने दुर्व्यसन होइन । यो मेरो लागि बाँच्ने तरिका हो, निरन्तर साधना हो । यही नै मेरो पाठ, पूजा र ध्यान हो । म क्याम्पसमा साहित्य नै पढ्छु, घरमा साहित्य नै पढ्छु, लेख्छु । भान्छामा काम गर्दा, बाटो नबिझाउने गरी बाटोमा हिँड्दा, विद्यालयमा केटाकेटीहरूसित हुँदा या सार्वजनिक बसमा यात्रा गर्दा म कविताकै विषयवस्तु सोच्छु, कविताकै पंक्तिहरूमा खेलिरहेको हुन्छु, कविता बुनिरहेको हुन्छु । यसरी सोचिहेर्छु, म पनि पूर्णकालीक कवि नै पो रहेछु ! आख्यान मेरो पुरानो रहर हो । निबन्ध लेख्दा म समयभन्दा बढी बाँच्छु । अनुवादमा काम गर्दैछु । कुनै बेला गीत पनि लेखुँला भनेर सोचेको छु । पुस्तक प्रकाशित गरिहाल्ने कुनै हतारो छैन । बिस्तारै बाँच्छु, बिस्तारै लेख्छु, के छ र समय छँदैछ र म अझै सानै छु । #कलमको यात्रा
हेरौँ: मौसम आफ्नै स्वरुपमा दौडिरहेछ बतास चलिरहेछ निरन्तर हाँगा भाँचिएकै छन् पात पतिङगर उडिरहेछन् खै के हुने हो ? एक हुल मान्छेहरू गन्तव्यहीन यात्री बनेर लक्ष्यविहीन यात्रामा भौतारिए रहेछन् स्तब्ध, निःशब्द छन् खै कुन मोड लिने हो ? अर्को हुल मान्छेहरू उठाइ रहेछन् मुट्ठी,बढाइ रहेछन् ढुकढुकी चालिरहेछन् पाइलाहरू खोजिरहेछन् गन्तव्य खै कुन उत्कर्समा पुग्ने हुन् हो ! त्यसैले त भन्या हेरौ ! ध्यान दृष्टिले हेरौँ ठूला ठूला महलमा बस्नेहरूलाई मात्र हैन तारा झुपडीमा बस्नेहरूलाई पनि हेरौं हुने खानेहरूलाई मात्र होइन हुँदा खानेहरूलाई पनि हेरौँ चिल्ला गाडीमा घुम्नेहरूलाई मात्र होइन भीर पखेरामा लड्नेहरूलाई पनि हेरौँ विदेशीको चालमात्र होइन स्वदेशको माटोलाइ पनि हेरौं हो अब त दिव्य दृष्टिले हेराँै प्रतिशोधले होइन न्याय र समानताकै बीचबाटै हेरौँ । #हेरौँ
सिमाना: युगौ अजर अमर हुने चन्द्र सूर्य रोजेँ नेपाली हुँ नेपालको आफ्नै माटो खोजेँ । आफ्नो भन्नु आफ्नै हुन्छ पाखो होस् या भीर साग सिस्नु जे खाए नि झुक्दैन यो शीर । अभिमान गर्दिनँ म स्वाभिमान रोजेँ नेपाली हुँ नेपालको आफ्नै माटो खोजेँ । पोहोर साल सिमानाको जंगे पिलर ढाल्यो यसपाली त घरबारीको टहरो नै फाल्यो । आफ्नै बाटो, आफ्नै माटो, आफ्नै पाटो रोजेँ नेपाली हुँ नेपालको आफ्नै माटो खोजेँ । छिमेकीलाई मान गर्दा शान बढी गरेँ आफ्नो हक छोड्दिनँ म मर्छु मर्नु परे । लिम्पियाधूराबाट बग्ने काली रोजेँ नेपाली हुँ नेपालको आफ्नै माटो खोजेँ । युगौ अजर अमर हुने चन्द्र सूर्य रोजेँ नेपाली हुँ नेपालको आफनै माटो खोजेँ । #रेशम #सिमाना
ठूलो खसीको मासु: कमलाको घर वरिपरि जेजति थिए सबै मत्वालीका घरहरू थिए । वरिपरि भने पनि एउटा घरबाट अर्को घरसम्म पुग्न दसपन्ध्र मिनट वा त्योभन्दा बढी पनि लाग्थ्यो । त्यति हुँदाहुँदै पनि आइजाइ प्रसस्तै थियो । दुरी निकै भए पनि एक घरले अर्कोलाई गरेको सरसहयोगले नै जीवनस्तर चलिरहेको थियो । उनीहरूका बीचमा अन्न, पैसा र श्रम चले पनि भान्सा नचल्ने भएकोले भुराहरू पनि त्यति जाँदैनथे । कमलाहरू कहिलेकाहीँ आमाबाबुका आँखा छलेर छिमेकमा रहेका साथीहरूसँग खेल्न पुग्थे । पुग्न त पुग्थे तर आमाबाबुका डरले फर्कन हतार हुन्थ्यो । फर्किन हतारिएपछि साथीका आमाहरूले उनीहरूले खाइरहेको खाजा जामाका फेरमा पनि हाली दिन्थे । एक दिन कमला एक्लै तारासँग खेल्न पुगेको बेला उसकी आमाले एक कटौरो मासु दिइन्,‘लौ खाऊ ठूलो खसीको मासु’भन्दै । मासु चाम्रो तर स्वादिलो थियो । फारु गर्दै खाई । खाँदाखाँदै यति मीठो लाग्यो कि चाँडै नसकियोस् झैँ लाग्यो । नभन्दै त्यहीँ बसेर खाइरहँदा पनि सकिएन । घर जाने बेला भइसकेको थियो, मासु सकिएको थिएन । फ्याँक्न पनि लोभ लाग्यो । फुर्किदै बुरुक बुरुक उफ्रिदै, खुट्टा ठटाउँदै, भुटेका मासुका टुक्रा जामाका फेरमै च्यापेर चपाउँदै लागी घरतिर । घरमा उसकी ठूली दिदी आँगनमा बसेर टोपी बुनिरहेकी थिइन् । बहिनीले समातिरहेको जामाका फेरमा आँखा पुगे उनका । सोधिन्,‘के छ त्यहाँ ?’ उसले पनि लाडिएको स्वरमा भनी,‘यी थुलो खचीको माचु अरे, पल्ला घल भाउजूले देको ।’ दिदीले यसो आफूतिर तानेर नजर लगाइन् । अनि मासु खोसेर तल बारीको पाटामा पुग्ने गरी हुत्याई दिइन् । बेस्सरी झपारिन्, ‘तँलाई त्यो मासु खानु भनेर कसले भन्यो ?’ छुलुक्क मुत्ने गरी तीनचार चोटी बाँसका सिर्कनाले सोड्क्याइन् पिँडौलामा । कमला पिँडौला सुम्सुम्याँउदै थुचुक्क बस्तै, भाग्दै गरी । मासुको सट्टा किन सिर्कनो खानु पर्\u200dयो भन्ने कुरा उसले बुझ्न सकिन । फेरि अर्को एक दिन पनि उनका छोरीहरूसँगै उसै गरी जामाका फेरमा मासु हालिदिँदै ठूल्ठूला सिता भएको आभानो भात पनि दिइन् उनै भाउजूले । मासुको चाहिँ लोभ गरी । भात चाहिँ खान्न भनी । जामाको फेरको मासु देख्ना साथ दिदी र उनको हातको सिर्कनो झलझली आयो आँखामा । आँत्तिदै भनी, ‘म त लान्न यो माचु, दिदीले माल्छिन् । अत्ति पनि कत्तो सोल्क्याई ।’ भाउज्यूले भनिन्, ‘उसो भए यहीं बसेर खाइसकेर जोऊ न त । भुँडी भित्राको कस्ले देख्छा र ? डाल्ली गाईको यो मुइ चाहिँ नाखाऊ । गान्हाउँछ र था पाउँछा फेरि । मात्छ पनि । ’ यस्सो तन्किएर तलको गोठमा हेरिन् डल्ली गाईलाई । घाँस चपाउँदै थियो । हाँसिन् बिस्तारै । कमलाले भाउजू हाँसेको कारण बुझिन । उसले गम्भीर भएर सोची, ‘यो डल्ली गाईको मोइ भनेको के होला ? यिनर्की डल्ली गाई त थाकेको छ । दूध दिँदैन ।’ अर्को आश्चर्य थपिएको थियो उसको मनमा । जिज्ञासा भरिएको थियो मनमा । कस्तो हुन्छ होला यो मोइ ? सोधेकी थिई, ‘किन ल भाउजु यो माचु हामीले खानु हुँदैन ल ? के को माचु हो ल ? ’ हाँस्दै तिनका लोग्नेले थपे, ‘त्यो त ठूलो खसीको मासु हो ।’ कमलाले निधारमा गाँठो पार्दै चिउँडोमा चोर औलोले थिच्दै भनी, ‘हाम्मोमा पनि त खची थुलो छ नि, सबैले त्यही त खान्चन् दशैँमा । कात्ने बेलामा हामीलाई नहेर है भन्दै भित्ल लुक्न पथाउँछन् । मैले त कौछीको बाहामा लुकेल हेलेँ । कत्तो लोएको थियो खची ।’ ‘हाम्रा बुबाआमा पनि खानु हुन्त । बुबा त झन् पोलेका, पकाएका फलमासुका चोक्टा चुलेसीले काट्तै कुटुकुटु खाइरहनु हुन्त । जिब्रो, गिदी, राजकाने पनि छुट्टै भुटेर खानु हुन्त । त्यो चाहिँ भुराले खानु हुँदैन अले । रक्ती, भित्र्याँस त्यही दिन पकाउनु हुन्च । दिदीले धोएर थिक्क पारेको आन्द्रा र खस्रो रुमाल जस्तै भूँडी पर्परी भुटेर सबै चिउरासँग खान्चन् मीतो मानेल । मलाई त मन पल्दैन, गनाउँत । आमा पक्कु लाउनु हुन्त, ठूलो ड्याक्चीमा माचुको । पाहुना आउँदा दिनु हुन्त । त्यस्तो माचु त कत्तो मीठो हुन्त । आमाको बाकसमा राखेको हुन्त । सख्खरको धार्नी पनि त्यहीँ हुन्त, म त चोर्दै खान्छु दुइटै । दशैँभरि तलामाथि निदालमा खसीका साँप्रा झुण्डिरहेका हुन्तन् । बोसो पगालेर हर्पेमा राख्नु हुन्छ । आमाले सेल रोती पकाउनु हुन्छ त्यारमा ।’ रमिला बोली रहन्थी । सुनिरहन्थे उनीहरू । मासु खाँदाखाँदै हातमा तौलियाको सानो टुक्राजस्तो के हो आयो उसले भाउजूलाई देखाउँदै भनी, ‘हाम्मो खचीको पनि त यत्तै तौलिया जत्तै हुन्छ नि । अत्ति त दिदीले त्यो भूँदी धुँदै गल्दा देखेकी मैले ।’ –‘तिम्रो र हाम्रो खसी फरक छ । हाम्रो त व्वाँइँ व्वाँईँ गर्ने अनि चुँईचुँई गर्ने खसी पो हो त ! हामी बाख्राको छोरा त कहाँ खान्छुङ्ग र आन्द्रा नि भरिन्दैन । बाहुनले त ठूलो खसी खान्दैन होला भनो उत्ता कुनातिर पसेर बजाइहाल्छ । केको ठूलो जात नि ? हाम्रै भागको नि खाएर हामीलाई नि नपुग्ने पो बनाई जान्छ त । ’ सुर्ती माड्नै छाडेर मज्जाले हाँसे । ‘त्यही भ’र त तिम्रो दिदीले फेकि देओ नि । किन बोकेर गाको त ?’ हाँसी रहे । एकछिन पछि फेरि भने–‘यी हेर न तिम्रो त्यति लामो सुलुक्क परेको नाक छ हाम्रो यस्तो थ्याप्चो । आँखा पनि बल्ढ्यांग्रे ।’ साँच्चै उसले आफ्नो नाक छामी । अनि उनीहरूको नाक हेरी । एकछिन् अलमल्ल पर्दै सोची–‘मेरो नाक चाहिँ किन यति चुच्चो भको होला ? अनि फेरि उसले हेरी उनीहरूको अनुहार । आँखा पनि कापीमा पत्तिले काटेर दुलो पारेजस्ता चिम्सा ।’ निधार खुम्च्याउदै सोचिरही कमला । उसले त्यो फरक पटक्क बुझ्न सकिन । अनि फेरि सोची,‘के उनीहरू यो ठूलो खचीको माछु खाने भएल नै यत्ता भएका हुन त ! कि छाना आँखा भएल यत्तो माछु खाका हुन् ?’ झन मनमा खैलाबैला भयो–‘ला ! यो माचु खायो भने मेला पनि आँखा, नाक यत्तै पो हुने हुन् कि !’ डरले चिसो भयो जिउ । उसले विचार गरी –हाम्ला गाईबत्तु कत्ति धेलै थन् । उनेलले कुखुला, सुंदुर पालेका थन् । घल भित्ल अद्लो चुलो पनि थैन हाम्लो जत्तो । हामीले पानी लाख्ने जत्ता दाग्लीमा उनीहरूले भात हालेका हुदा लैछन् ।’ अनि फेरि सोची–‘किन हामीलाइइ बाउन भनेतो होला त ।’ त्यहाँदेखि कमलालाई जहाँसुकै होस्, मासु देख्नेबित्तिकै दिदीले सुम्ल्याएको याद आई हाल्दथ्यो । त्यो सबै ठूलो खसीको मासु हो झैँ लाग्थ्यो । धेरैपछि कुखुराको मासु पनि दिदीकै अनुमतिले मात्र खाएकी थिई । ०००००० उसलाई अर्को दिनको कुरा पनि याद आउँछ । ऊ केही दिन दिदीको घरमा बस्न पुगेकी थिई । ऊ चुलाकै छेउमा रहेको भाँडा माझ्ने ठाउँमा बसेर भाँडा पखाल्दै थिई । भिनाजूले चलाइरहेको कराईबाट उच्छिट्टिएको मासुको झोलको तातो थोप्पो उसको हातमा पर्\u200dयो । भेनाका आँखा छलेर हत्तपत्त जिब्रोले चाटी । तातो भए पनि निक्कै स्वादिलो थियो । उसलाई त्यो खाँदैमा नमरिने पक्का भो । मन भने लोभिइरहेको थियो । कहिल्यै नखाएको कुरा आफैँले म पनि खान्छु भन्न अफ्ठेरो लागिरहेको थियो । अर्को दिन–‘खान्छेस् कुखुराको मासु ?’ दिदीले सोधिन् । उनीहरूले सधैँ खाइरहेको देखेकी र अस्ति आफ्नो जिब्रामा परेको छिट्टाको स्वाद सम्झदै चुपचाप लजाई मात्र । उसको मनले मागे पनि मुखले खान्छु भन्न त सकेन । –‘ला, ला, खा । हामी भन्दैनौ कसैलाई पनि ।’ दिदीभिनाजू दुवैले उक्साए । कराईमा उब्रेको रहलपहल सोरसार पारेर भागमा हालिदिए । दिदी भेनाको अनुमति पाएर मीठो मान्दै ढुक्कले खाई उसले त्यो नयाँ कुरा । खाइसकेर हात सेकाउँदै थिई । उसको मुखमा हेर्दै– –‘हेर ! बाहुनकी छोरी भएर कुखुरो खाकी ! अब बुबाआमालाई भन्दिन्छौँ । हामीलाई त केही फरक पर्दैन ।’ फेरि थपे–‘बुबाले पूजापाठ गरेको बेला छेउमा बसेर घण्टी बजाउने छोरीको चाला यस्तो छ ।’ कमलाको सात्तो गयो । त्यसरी कुखुरो खाएको बाआमाले अघि नै देखिसकेझैँ लाग्यो । खङ्रङ्ग भई ऊ, ‘आमौँ ! कस्ता बाठा त ! पहिलाचाहिँ मख्ख पार्दै खा खा भन्ने अनि अहिले उल्याउने ! ऊ छाँगाबाट खसे झैँ भो । साँच्चै उनीहरूले भनिदिए भने बुबाआमाले मार्नुहुन्छ । मुटु नै काम्यो । –‘उनीहरूले नै खा भनेर खाको त हो नि !’ डरलाई लुकाउन खोजी । अनि फेरि सोची–‘दिदी पनि त उनै बुबाकै छोरी हुन् त । उनले चाहिँ किन खाइन् त ?’ तर मुख लाग्न भने सकिन । अघि खाँदा भएको मिठो स्वादले अहिले सियोले झैँ घोच्न थालेको थियो शरीरभरी । दिगमिग लागेर मुखमा पानी भरिन थाल्यो । पेट पनि गडबडाए जस्तो गर्न लाग्यो । निदाउन खोजी निद्रै लागेन । आफूलाई रोक्दा रोक्दै पनि अनायासै आँखाबाट आँसु र नाकबाट पानी बग्न थालेको थियो । उसलाई कुखुराको मासु खाएकोमा भन्दा दिदी भिनाजुले दिएको धोखाले बढी चित्त दुखेको थियो । नाक बजेको सुक्क सुक्क आवाजलाई रोक्न पनि गाह्रो परिरहेको थियो । दिदीले बत्ती बाल्दै के भो भन्दा पो उसलाई भक्कानिएर रुन मन लाग्यो । अनि रुन्चे स्वरमै भनी– –‘अघि चाहिँ खा कि खा भन्ने ! अहिलेचाहिँ बाको डर देखाउने?’ –‘ए ! यो त सुतेकै पो रहिनछे त ! सुत् अब । भन्दैनौँ हामी कसैलाई पनि । ढुक्क हुनु । अब सधैँ खानु ।’ हाँसे दुबैजना । आज पनि कुखुराको मासु भागमा आएको बेला उही दृश्य आँखाअघि नाचिरहन्छ । अलिक ठूल्ठूला चोक्टा भागमा देखी भने ठूलो खसीको मासु भनेको वाक्यको याद आउँछ । मानिसलाई मात्र जातहरूमा छुट्याइएको छैन । मानिसले खाने कुरा पनि जातसँग जोडेको देख्दा आज पनि ऊ अचम्मित हुन्छे । जातकै नाममा मानिसको हत्या भइरहेको सुन्दा ऊ कहिल्यै कुरा बुझ्दिन–‘किन मानिस, मानिसकै नजरमा विभेदित छ ? जस्तो कि पशु पनि पशुकै बीचमा विभेदित बनाइएको छ ।’
एउटा पुरानो अन्तर्वार्ताको सम्झना: (नेपाली साहित्यमा कविता, गीत र मुक्तक तीनवटै हाँगामा अब्बल आधुनिक कवि प्रतिभाको आज १५ जेठ २०७७ का दिन काठमाडौंमा देहावसान भएको छ । आधुनिक कालका यी श्रष्टासँग मेरो बसउठ खासै भएन । त्यस्तो संयोग वा सुयोग जुरेन भनौं । तर साहित्यकारको घरघर चहार्ने र साहित्यकारसँग अन्तर्वार्ता लिने शौखले मलाई २०४४ साल कार्तिक १० गते उनको निवास कमलपोखरीमा पुर्याएको थियो । मैले यौटा अन्तर्वार्ता लिएको थिएँ र नेपाल राष्ट्र बैङ्कको प्रकाशन “मिर्मिरे” मा प्रकाशित भएको थियो र उनी भेट भएको बेलामा त्यो अन्तर्वार्ताको प्रसङ्ग निकाल्थे । उनीसँग एउटा अर्को अन्तर्वार्ता लिने मेरो मनसुवा थियो, अब त्यो सदाको लागि अधूरो नै भयो । यो ३३ वर्ष अघिको अन्तरवार्ता पुन: प्रकाशन गर्दै हार्दिक श्रध्दाञ्जली अर्पण गर्दछु ।) तपाईंले पहिलो रचना कस्तो किसिमले गर्नु भएको थियो ? स्कूलको साहित्यिक कार्यक्रममा कविता पाठ गर्ने रहर जाग्दा र बाल्यकालदेखि नै साहित्य र संगीतमा अभिरुचि भएकोले कवितामा लाग्न पुगेको हुँ । यसरी स्कूल जीवनमा मैले पहिलो कविता लेखेको हुँ । त्यो कहिले तिरको कुरा हो ? त्यो २००७।८ तिरको कुरा हो । शुरुशुरुमा तपाईंले लेख्दा तपाईंका लेखनका साथीहरु को थिए ? मैले लेख्न शुरु गर्दा प्रायः मेरा लेखनका साथीहरुमा एक दुईजना मात्र थिए । जस्तो सोमध्वज विष्ट । डोरबहादुर कार्की आदि । तपाईंहरुको कुनै ग्रुप वा संगठन थियो कि ? लेखनको शुरुवातमा ग्रुप थियो तर संगठन भने थिएन । त्यसबेला लेख्ने शुरुमा ग्रुपको वा संगठनको आवश्यकता नै लागेन । लेखकहरुले संघ संगठनमा संलग्न हुनु कत्तिको फाइदाजनक होला ? शुद्ध साहित्यिक तथा सांस्कृतिक संगठन भए त्यस्तो फाइदाजनक होला । साहित्यबारे आपसी विचार विमर्श, छलफल भएमा साहित्यको अँकुर फस्टाउन सक्छ भन्ने मेरो धारणा छ । लेखनको क्षेत्रमा तपाईंका गुरु पनि कोही थिए कि ? लेखन क्षेत्रमा मैले प्रवेश गर्दा मेरा कोही गुरु थिएनन् प्रेरणा दिने केही व्यक्तिहरु अवश्य थिए । कविता र गीत लेखनमा कत्तिको भिन्नता लाग्छ ? कविता र गीतमा अवश्य भिन्नता छ । त्यो के भने कवितामा आफूले भन्न खोजेको कुरा सीमित पंक्तिमा पोख्न बाँधिनु पर्दैन तर गीतमा भने सीमित पंक्तिमा भन्न बाँधिनुपर्छ नत्र गीत पनि कविताकै एक अंग भएकोले खास फरक हुँदैन । खाली गीतमा कवितामा भन्दा लय तथा छन्दको बढी आवश्यकता पर्छ । कस्तो भावलाई गीत र कस्तो भावलाई कविताको रुप दिनुहुन्छ ? कविता र गीतमा भावको कुनै फरक हुँदैन किनभने दुवै विधालाई भावको उत्तिकै आवश्यकता हुन्छ । कविता वा गीत एकपल्ट लेखिसकेपछि सच्याउने गर्नुहुन्छ कि हुँदैन ? म कविता वा गीत लेखिसकेपछि सच्याउने गर्छु किनभने पहिलो लेखाइमा त्रुटि हुन जाने सम्भावना भएकोले अक्सर म लेखिसकेपछि कृतिलाई गहिरिएर हेरी सच्याउने गर्छु । कुनै संगीतकार वा गायकले तपाईंका गीतका हरफ वा शब्द परिवर्तन गर्न चाह्यो भने तपाईं के गर्नुहुन्छ ? त्यस्ता घटना छन् कुनै ? कुनै संगीतकार वा गायकले मेरा गीतका शब्द परिवर्तन गर्न चाहेमा म पहिले त्यसको कारण जान्न उनीहरुसँगै सोध्छु । उनीहरुको सुझाव उचित लागेमा शब्द परिवर्तन गर्न मञ्जुरी दिन्छु वा धेरैजसो आफैँ गरिदिन्छु । फेरिने शब्द पनि गीत सुहाउँदो साथै वजनदार हुनुपर्छ । यस्ता घटनाहरु समय समयमा घटेका छन् । समयमा मिलाउन आवश्यक पर्ने हुँदा दुवैथरि साथ बसी शब्द परिवर्तन गर्छौं । गीतकारको नाताले तपाईं गायक संगीतकारसँग बढी नजिक हुनु स्वाभाविक हो । गायक संगीतकार लेखकभन्दा बढी घमण्डी हुन्छ भन्छन्, हो ? मैले संगत गरेका गायक संगीतकारले मसँग खास घमण्ड नदेखाएकोले ती घमण्डी हुन्छन् भन्न सक्तिन । इगो, अहँ हो भने त्यो हुनुपर्छ भन्नेमा म विश्वास राख्छु । क्रिएटिभ आर्टिष्टहरु इगोइष्ट नै हुन्छन् । तपाईंभन्दा राम्रा गीत लेख्ने अरु को छन् भन्ने लाग्छ ? कि त्यस्तो लाग्दैन ? मभन्दा पनि राम्रो गीत लेख्ने अवश्य होलान् तर यस्को लेखाजोखा मैले गर्ने गरेको छैन । जस्तोसुकै ठाउँ, जस्तोसुकै समय र जस्तोसुकै वातावरणमा पनि तपाईं लेख्न सक्नुहुन्छ ? कि विशेष ठाउँ, समय र वातावरणको आवश्यकता पर्छ ? हो, म जस्तोसुकै ठाउँ, जस्तोसुकै समय र जस्तोसुकै वातावरणमा पनि लेख्न सक्छु । मलाई लेख्ने बेला केवल एकान्त भए पुग्छ । मलाई खास ठाउँ समय र वातावरणको आवश्यकता पर्दैन । तपाईं आफ्नो गीत फलानाकै संगीतमा होस् र फलानाकै गलाबाट गाइयोस् भन्ने चाहनुहुन्छ ? त्यस्ता संगीतकार र गायक को को हुन् ? म आफ्नो गीत तोकिएको गायकको गलाबाट गाइयोस् भन्ने चाहन्नँ । खाली के भने, गायकले गीतको मर्म बुझी गाइदिनुपर्छ । गीतको मर्म बुझ्ने संगीतकार र गायक हुनुपर्छ । यी बुझ्ने संगीतकार र गायक कोको हुन्, यो कुरा श्रोताहरुले गीतको सफलताबाट छुट्ट्याउने कुरा हो । आजकाल तपाईं कविता लेखनमा प्राय निस्कृय देखिनुहुन्छ, त्यसको खास कारण केही छ कि ? कविता लेख्न म निस्कृय भएको छैन तर आजकाल मेरा कविता त्यति प्रकाशित नभएकोले त्यस्तो लागेको होला । त्यो हुनुको कारण शुरुदेखि नै कविता छपाउन ठाउँ ठाउँ चहारी हिँड्ने बानी छैन र म खुशामद गर्न पनि ठ्याम्मै रुचाउन्न । फेरि अचेल नियमित प्रकाशित हुने पत्रिका नै कति छन् र ? स्वतन्त्र रुपले गीत लेख्नु र फिल्मको लागि गीत लेख्नुमा भिन्नता त अवश्य नै होला । के फिल्मका सबै शर्त र बाधा ग्राह्य हुन्छन् ? स्वतन्त्र रुपले गीत लेख्नु वा फिल्मको लाग लेख्नुमा भिन्नता त हुन्छ । जति स्वतन्त्र रुपले गीत लेख्न आनन्द आउँछ त्यति फिल्ममा लेख्न आउँदैन तर साहित्य र संगीतमा ज्ञान भएका निर्माता फेला परे फिल्ममा राम्रो र स्तरीय गीतको सिर्जना हुनसक्छ । फिल्मका अधिकांश शर्त र बाधाहरु बिल्कुलै ग्राह्य हुँदैनन् र यिनले गर्दा गीतको स्तरमा पनि प्रतिकूल प्रभाव पर्नसक्छ । जस्तो कुनै बेला तपाईंले भन्नुभएको थियो, संगीतको आधारमा पनि गीत लेख्नुहुन्छ । त्यस्तो अवस्थामा गीतको स्तर कायम रहन सक्छ ? मलाई संगीतको आधारमा पनि गीत रचना गरेर पनि स्तर कायम गर्न सकिन्छ भन्ने पूरा विश्वास छ । प्रायजसो मेरा धेरै गीत संगीतकै आधारमा रचिएका हुन् । गीत बाहेक संगीत, गायनमा पनि कहिल्यै रुचि जागृत भएको थियो वा त्यतापट्टि आकृष्ट नै हुनुभएन ? गीत बाहेक संगीत र गायनमा मैले रुचि राख्ने गरेको थिएँ । म तबला बजाउँथे र गाउँथेँ पनि । आफ्नो गीतमा आफैँ संगीत भरी विभिन्न सांस्कृतिक कार्यक्रममा भाग लिने गर्थें । गाउनबाहेक बजाउने रुचि अझै छ । गीत र संगीत बाहेक तपाईंको शौख के छ ? भन्न मिल्छ ? गीत, संगीत र साहित्यबाहेक मेरो शौख खेलकूदमा, घुम्ने फिर्ने साथीहरुसँग हँसीठट्टा गर्ने छ । एउटा दुई वटा निजी वा व्यक्तिगत प्रश्न पनि गरुँ है दाइ….तपाईं लामो समयसम्म अविवाहित रहनु भयो, के कुनै घटना वा कारण थिए कि ? म आफ्नै शौखले लामो समयसम्म अविवाहित रहेको हुँ । कुनै घटना घटेर खास कारणले होइन । लेखन वा तपाईंका साहित्यिक साधनाप्रति पारिवारिक दृष्टिकोण रहेको छ ? मेरो सिर्जनाप्रति शुरुदेखि नै मेरो पारिवारिक सन्तोषजनक रहेको छ । मलाई कुनै अप्ठेरोको सामना गर्नुपर्ने अवस्था आइपरेको छैन । मेरो साहित्य साधना सुचारु रुपले चलिरहेकै छ । तपाईंले आफ्ना सन्तानलाई साहित्यकार बनाउने उद्देश्य राख्नु भएको छ कि ? आफ्ना सन्तानलाई साहित्यकार बनाउने उद्देश्य राखेको छैन । त्यो तिनले नै निर्णय गर्ने कुरा हो । राम्रा राम्रा गीतकार वा साहित्यकारका गीत नगाई आफ्नै रद्दी गीतमा संगीत राख्ने संगीतकार वा गाउने गीतकार पनि पनि छन्, यस्तो भएपछि गीतको स्तर कसरी कायम होला ? राम्रा गीतलाई उपेक्षा गरी सस्तो गीतमा संगीत भर्ने संगीतकार र सस्तो गीत लेखी गाउने गायकबाट स्तरीय गीत कायम हुने प्रश्नै उठ्दैन । संगीतकार, गीत र गायकको स्तर यसरी नै सबैको सामु छर्लंग हुन्छ । छिन्नलता गीत पुरस्कार पाउँदा कस्तो लाग्यो ? छिन्नलता गीत पुरस्कार पाउँदा खुशी लाग्यो । मेरा गीतहरुले औपचारिक कदर पाएजस्तो लाग्यो । हुन त सबै सन्तान उस्तै प्यारा हुन्छन् भन्ने रेडिमेड जवाफ धेरैले दिन्छन् तर म यसमा विश्वास गर्दिंनँ । तपाईंलाई प्रिय लाग्ने, सुनुँसुनुँ लाग्ने आफ्नै गीतका बारेमा पनि बताइदिनु हुन्थ्यो कि ? यस्ता गीतहरु त थुप्रै छन्, त्यसैले कुनै एकलाई खुट्याउन नसक्ने भएकोले केही नभनौं । अब अन्त्यमा यौटा कुरा सोधुँ, तपाईंले लेख्न चाहनु भएको गीत वा कविताको भावलाई तपाईंले लेख्नै सक्नु भएन, अभिव्यक्त गर्न सक्नु भएन अथवा त्यस्तो सिर्जनाको अन्त्य भयो भने तपाईं के गर्नुहुन्छ ? आजसम्म त मैले लेख्न चाहेको गीत, कविता, नाटक लेख्न नसक्ने वातावरण मैले भोग्नु परेको छैन । यदि पछि कुनै बेला यस्तो परिस्थति आइपरे त्यसै बेला सोचेर निर्णय गरुँला । गीतकार थापाको स्वरमा केही मुक्तकः अर्को एउटा रोचक अन्तर्वार्ताः https://www.youtube.com/watch?v=B3PNHjX_7Sw #गोविन्द गिरी प्रेरणा #रत्न शमशेर थापा
रामलालहरू: प्रदीप योङहाङ को हुन् रामलालहरू ? मेरो देशले चिन्दैन । कस्ता छन् रामलालहरू ? मेरो देशलाई थाहा छैन् । देशबाट रामलालहरू बेखबर भए जस्तै देशपनि रामलालहरूबाट बेखबर छ भन्ने आरोप छ । उनीहरू लगाउँछन् सेतो धोती र कमिज र राष्ट्रिय पोशाक अस्वीकार गरेको आरोप छ । उनीहरू बोल्छन् आफ्नै भाषा “मैथिली“ र राष्ट्र भाषा अस्वीकार गरेको आरोप छ । उफ्रदैनन् सडकमा र बाल्दैनन् टायर लगाउँदैनन् जिन्दवाद र मुर्दवादको नारा सायद थाहा छैन् रामलालहरूलाई, हाम्रो राष्ट्रवाद । उनीहरू देश जन्मिए देखि, चुपचाप चुपचाप जङ्गेपिलर रुँगेर बसिरहेका छन् बदलामा मेरो देशले अराष्ट्रिय,अनागरिक उपाधिहरू वषौँ देखि दिइरहेछ । उनीहरू रामलालहरू हुन् जसलाई न देश ले चिन्छ जसलाई न देशवासीहरूले चिन्छन् । उनीहरूलाई चिन्छन् भने सिमाना मिच्ने दुश्मनका पाइलाहरूले चिन्छन् । उनीहरूलाई चिन्छन् भने दुश्मनहरूले देश तिर फर्काएर पड्काएको बन्दुकबाट निस्किने गोलीहरूले चिन्छन् । जबजब देशभित्रको सडकमा उर्लिन्छ ढोङ्गी राष्ट्रवाद र ढोङ्गी राष्ट्रियताको भेल त्यतिबेला रामलालहरू कोणसभाहरूमा शब्दहरूले चुटिन्छन व्यवहारहरूले जिउँदै जलाइन्छन् । तर पनि यो कुरा रामलालहरूलाई थाहै छैन् किनकी जङ्गेपिलर छोडि सडकमा उत्रिएर राष्ट्रवादी बन्ने उनीहरूलाई फुर्सदै छैन् । को हुन् रामलालहरू ? मेरो देशले चिन्दैन । फेरि रामलालहरू पनि उस्तै छन् जो सिमानाको जङ्गेपिलर बाहेक अरूलाई चिन्दैनन् । सायद रामलालहरूले बुझेका छन् जङ्गेपिलर छ त देश छ नत्र सडकमा मात्रैको राष्ट्रवाद केलाई ? को हुन् रामलालहरू ? मेरो देशले अझै चिन्दैन । #रामलालहरू
लेक्की पुल: अहिले जसरी जोड्छ यसले, समुन्द्र वारि पारिको माटोलाई आफ्नै मान्छेका सुवासलाई । यो नहुँदा उहिले उहिले त्यसरी तोडिन्थ्यो, समुन्द्रका स-साना लगुनहरुलाई अझ, गोरा साबका शासनका कुर्सीहरुलाई दास रैतीहरुसङ्ग, उनीहरुका डरलाग्दा अजङ्गका सबका सब सपना विपनाहरुलाई। जसरी, हिजो त्यै समुद्रका लगुन हुँदै आउने भीमकाय रोयल नेभीका जहाजहरुमा, उनीहरु बेचिन्थे उनीहरुकै मान्छेबाट माचिसको बट्टासँग वाइनको बोत्तलसँग वा भनौँ थोरै कम्पनी सिक्कासँग। र, पुग्थे पर पर जञ्जीरले बाँधिएर आफ्नो माटोबाट गोरा साबका श्रम शिविरमा धेरै पशु भएर अलिकति मान्छे भएर। आज, स्वाधीनताको गौरवमा, टापुहरुलाई जोडदै रहेको यो लेक्की पुल पर पर जङ्गल छेउका मरुभूमि छेउका आफ्नै अभाव र भोकले रन्थिएकाहरुलाई । यो शहरको वैभव देखाउँदै रातभरि अनिदो भएर पुराना मालिकहरुसँग कुममा कुम जोडदै, नाच्ने सम्भ्रान्तहरुलाई ओहरदोहर गराउँछ । आफ्नो झलमल भइरहने, अजङ्गको छातीबाट जसरी तराउँछ, दिनभर पसिना बोक्ने र शरीरमै सुक्ने श्रमिकका ताँतीहरुलाई । महादेशकै ठूलो अर्थतन्त्र बोकिरहेको गर्वमा ! जोडदै समुद्र र माटोलाई जमिन र जीजिविषालाई यो लेक्की पुल । —————— लेक्की पुल: लेगोस सहरका दुई टापुलाई जोडने पुल । लगुन : समुद्रका साना-साना हाँगाहरु । #नाइजेरिया #लेगोस #हिक्मत थापा
सुष्माको गजल: नरहला बाँकी बिन्ती देश बचाऊ लुटिरहन्छ छिमेकी, बिन्ती देश बचाऊ ।। धिक्कार्छन् पुर्खाले अनि सहिदले धिक्कार्छन् के भन्ला इतिहासले देखि, बिन्ती देश बचाऊ ।। हेर त आमाको शीर कसरी झुकेको छ रुँदैछिन् घुँडा टेकी, बिन्ती देश बचाऊ ।। खै त वीर नेपालीले आफ्नो वीरता देखाएको दुश्मनको प्रहार छेकी, बिन्ती देश बचाऊ ।। जाउ सिमानामा गई देश फिर्ता लिइ आऊ जाउ बन्दुक बोकी, बिन्ती देश बचाऊ ।। #सुष्मा #सुष्मा पौडेल
रोस्ट्रम: किन बजिरहन्छ यो रोस्ट्रममा ? गाईको शोकगीत चुच्चे नक्साको विज्ञापन मान्छेका लासहरूमाथिको पाश्र्व संगीत बहुराष्ट्रिय कम्पनीको दस्तावेज आँसुहरूको निषेधाज्ञा । रोस्ट्रमको हरेक वक्तव्यको अन्त्यमा ताली बजाउँछन कुर्सीहरू । यी कुर्सीहरूको किनारामा एउटा कुर्सी मेरो पनि छ । कुर्सीहरूको नेता रोस्ट्रम किन कहिल्यै मेरो कथा भन्दैन ? मसँग पनि छन सडकको छातीमा मेरो काँचो रगतले कोरेका सपनाका दस्ता । त्यही रोस्ट्रममा पाइतालाबाट घिस्रदै घिस्रदै आउँदा मैले नापेको भूगोलको नक्सा । थाकेका पाठेघर सुम्सुम्याउँदै हिमपहिरो थामेको काँध । त्यही रोस्ट्रमले कापीकलम खोसेर कहिल्यै अक्षर घुमाउन नपाएको उपेक्षित बूढी औंलो । सधैँ रोस्ट्रमको एकोहोरो कर्कश आवाजले तर्सिरहेको यो सदनको एउटा किनाराकृत कुर्सी पहिलोपटक आफैं रोस्ट्रम उभिएको छु । थर्थर काँपेको छ यो व्यवस्थाको जड्यौरी रोस्ट्रम यहि थरथराहटले बिउँझिएका छन् हजारौं बर्षदेखि उँघिरहेका कुर्सीहरू । #रोस्ट्रम
छानिए साताका उत्कृष्ट कविता: साताका उत्कृष्ट कविताहरूलाई साहित्यपोस्ट डटकमले घोषणा गरेको छ । साहित्यपोस्टमा बढीजसो कविताहरू नै प्राप्त हुने गरेको र बढी पढिनेमध्येमा कविता नै हुने गरेकाले पनि प्राप्त कविताहरूमध्ये साताका राम्रा कवितालाई प्रचार प्रसार गर्ने उद्देश्यका साथ यसरी उत्कृष्ट घोषणा गरिएको हो । यसरी सर्वोत्कृष्ट कविताहरू चयन गर्दा नयाँ पुस्ताका रचनाकारलाई प्राथमिकता दिइएको छ । पुराना पुस्ताका अधिकांशले अति सुन्दर कविता लेख्ने र ती मूल्याङ्कनको विधामा ससम्मान नराख्ने निर्णय गरिएको हो । पुराना पुस्ताका कविता त्यसै पनि सर्वोत्कृष्ट नै हामीकहाँ आउने गरेकाले नयाँ र पुरानालाई एकै ठाउँमा प्रतिस्पर्धा गराउनु हामीले अनुचित ठानेका छौँ । छापिएको अंश यहाँ पढ्नुहोस्ः https://sahityapost.com/2020/05/6635/ छापिएकाे अंश यहाँ पढ्नुहोस्ः https://sahityapost.com/2020/05/6308/ छापिएकाे अंश यहाँ पढ्नुहोस्ः https://sahityapost.com/2020/05/6229/
फोटो कथाः चित्रकार रोशनको लक डाउन फोटोग्राफी: – रोशन भण्डारी म पेशा र प्यासन दुवैले चित्रकार, क्यानभास नै मेरो संसार । तर होइन रहेछ । एउटा कलाकारलाई, अझ चित्रकारलाई भन्छु, एउटा विधाले मात्र बाधेर राख्न सक्दैन रहेछ । क्यानभास भनेको केवल चार कुने चित्र कोर्न आकृतिमात्र पनि होइन रहेछ । मलाई लाग्छ, जहाँ जहाँ चित्रहरु बन्छन् ती साराका सारा क्यानभास हुन् । सबैभन्दा ठूलो क्यानभास त हाम्रो मन र मस्तिष्क पो हो । लक डाउनले एकाएक दैनिकी बदलिदियो । सुन्दर, कुरुप चित्रका लागि मेरो पर्खाईमा रहेका क्यानभासहरु आर्ट स्टुडियोमै कैद बने । म घरमा कैद बनेँ । तर जहाँ जे कैद बनिरहँदा पनि एउटा कलाकार भने कहिल्यै कैद नबन्दो रहेछ । म आर्ट स्टुडियोमा क्यानभासहरुमा कुची चलाउँथे, अब घर, छतको करेसाबारी र खुल्ला आकाशरुपी क्यानभासहरुमा क्यामेरा चलाउन थालेँ । र तस्बिरमा उतार्न थालेँ चराचुरुङ्गी, पुतली–माहुुरी र त्यही पुतली माहुरी रहदम घुमिरहने फूलहरुका सुन्दर चित्रहरु क्यामेराको क्यानभासमा । मलाई फगत चरालाई चित्र उतार्नु छैन । सधैँको भँगेरा पनि अहिले किन यतिका महत्वको लागेको ? तिनीहरुका हर्कत र एकआपसको प्रेम किन यतिका अद्भूत ? फूल तथा बोटविरुवाहरु कसरी हरदम मुस्कुराइरहन सक्या ? हामीलाई लक डाउन लाग्दा यिनीहरुलाई किन नलाग्या ? यी बस् प्रश्न हुन् । तर मैले क्यामेरामा कोरेका तस्बिरहरुमा यी सारा प्रश्न उत्तर चित्रित पाउँछु । बस्, बताउन वा लेख्न सक्दिनँ । फर्सीका मुन्टाहरु छतमै घुङ्ग्रिएका छन् । पहेँला फूलहरु फूलेका छन् । लेडी यामकुमारी अर्थात् मेरी ममीले मलाई जस्तै तिनीहरुलाई माया गरेको अजीव लाग्छ । जेन्टलमेन जयराज अर्थात् बुवाले मलाईझैँ टमाटरलाई गोडमेल गरेको देख्दा सबै दाजुभाइ र दिदी बहिनी लाग्छन । अहिले म आफैँलाई बिर्सेर हरेक एक चीजलाई प्रेम गर्न थालेको छु । प्रकृतिको बारेमा बहुत सुनेको थिएँ । पढेको थिएँ । अहिले काठमाडौँमा एउटा घर छ, घरको एउटा छत छ, छतमा एउटा करेसाबारी छ, करेसाबारी मेरो प्रकृति छ । मेरो खुसी छ । बुवा र ममी पनि करेसाबारीमा टहलिरहनु हुन्छ । त्यही छतमा मेरो संसार छ । मेरो त्यही संसारका तस्बिरहरु तपाईँका लागि । आउनुहोस्, एकपटक मेरो संसारमा तपाईँ पनि डुलिहेर्नुहोस्; #फोटो कथा
कोरोना र राजेशको व्यङ्ग्यचित्र: विश्वभर कोरोना भाइरस, कोभिड १९ को संक्रमण, प्रकोप फैलिएको छ । यस प्रकोपबाट विश्वका लाखौं मान्छेहरु संक्रमित भइसकेका छन् र धेरैले ज्यान गुमाइसकेका छन् । विश्व अहिले सन्त्रासपूर्ण अवस्थामा गुज्रिरहेको छ । धेरै देशहरु अहिले लकडाउन (बन्दाबन्दी)को अवस्थामा छन् भने कतिपय देशहरु आंशिक बन्दाबन्दीमा छन् । चीनको वुहान शहरबाट शुरु भएर फैलिएको भनिएको यो भाइरस नियन्त्रणका लागि संसारका विभिन्न देशहरुले आ-आफ्नो किसिमले नियन्त्रणको उपाय र अभियानहरुलाई आत्मसात गरिरहेका छन् । नेपालमा पनि भाइरसको प्रकोप बढ्दो देखिएकाले नेपाल सरकार र जनताको संयुक्त प्रयासमा बन्दाबन्दीको उपायलाई अंगीकार गरिएको देखिन्छ । र, आआफ्ना माध्यमहरुबाट विविध क्षेत्र र विधाले जनचेतना जगाउने कार्य गरेको पाइन्छ । यसै सन्दर्भमा कसैले साहित्यलाई माध्यम बनाएका छन् त कसैले संगीतलाई त कसैले चित्रकारिताका माध्यमबाट कोरोनालाई विषयवस्तु बनाएर जनतामा चेत फैलाउने कार्य गरिरहेका छन् । स्थापित कलाकार एवं कार्टुनिस्ट राजेश मानन्धर अचेल कार्टुनका माध्यमबाट जनतालाई कोरोनाको विषयमा सुसूचित गर्ने कार्यमा जुटेका देखिन्छन् । उनले प्रत्येक दिन कोरोना विषयमुखी कार्टुनचित्र बनाएर सोसल मिडियामार्फत् जनजनमा पुर्\u200dयाउने काम गरेको देखिन्छ । राजेश मानन्धर सञ्चार माध्यमहरुमा नाम चलेका कार्टुन चित्रकारको नाम हो । उनले आधुनिक चित्रकला लगायत व्यंगचित्र विधालाई लिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आठौं एकल र दर्जनौँ सामूहिक कला प्रदर्शनी र वर्कसप गरिसकेका छन् । अहिलेको कार्य सन्दर्भमा राजेश भन्छन्, ‘‘कोभिड १९ ले गर्दा २०७६ चैत्र ११ गतेदेखि बन्दाबन्दीमा परेकाहरुमा कार्टुनचित्र मार्फत् जनचेतना जगाउने र मानसिक रुपमा परेको पीडालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सामाजिक सञ्जालबाट जनजनसम्म पुर्\u200dयाउने लक्ष्यलाई आत्मासात गर्दै मैले कार्टुन बनाउने गरेको छु ।’’ सञ्चार जगत्मा प्राथमिकता पाएको व्यङ्ग्य चित्रकलाको लक्ष्य पाठक र दर्शकलाई हसाउँदै—हसाउँदै सुसूचित गराउनु मात्र होइन, सामाजिक र राजनीतिक विकृति उधिन्नु पनि हो र सामाजिक सचेतता कायम गराउँदै सम्पूर्ण पक्षलाई सुमार्गमा लाग्ने उत्प्रेरणा जगाउनु पनि हो । हजार शब्दले अभिव्यक्त गर्न नसकेको भावलाई एउटै व्यङ्ग्यचित्रले उजागर गर्न सक्छ । पत्रकारितालाई हतारोको साहित्य भने जस्तै व्यङ्ग्यकला हतारोको एक सूचनामूलक कलात्मक अभिव्यक्ति हो । व्यङ्ग्यकलाले राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत जीवन र जगत्का विविध पाटाहरूलाई विषयवस्तुका रूपमा ग्रहण गर्ने गर्छ । अहिले राजेशका कार्टुनले सामाजमा देखिएको भाइरसको महामारीलाई दर्शाउँदै सचेत रहन आग्रह गरेका छन् । आरम्भमा सञ्चार माध्यमको विकासक्रम सँगसँगै सञ्चार माध्यमकै गहनाको रूपमा विकास भएको, यो कार्टुनकलाको इतिहास युरोपबाटै सुरु भएको देखिन्छ । पहिले—पहिले युरोपेली दरबारका ठूल्ठूला भित्ताहरूमा भित्ते चित्रहरू बनाइने चलन थियो । त्यतिबेला सजावटको प्रयोजनको निम्ति बनाइने भित्ते चित्रहरूको प्रारम्भिक ‘मोडेल’ वा रेखाङ्कनलाई नै व्यङ्ग्यचित्र भनिन्थ्यो । ‘व्यङ्ग्यचित्र’ शब्दको प्रयोग र प्रचलनको सुरुआत त्यतिबेलै र त्यहींबाट भएको भन्ने कुरामा दुई मत छैन । अठारौँ शताब्दीदेखि नै व्यङ्ग्यचित्रले सञ्चार जगत्मा आफ्नो स्थान सुरक्षित पार्दै जरो गाडिसकेको थियो । नेपालको सन्दर्भमा, पहिलो व्यङ्ग्यचित्र कुन कलाकारले कहिले र कुन विषयमा बनाए भन्ने कुराको निश्चित किटान वा प्रामाणिक इतिहास हामीसँग छैन । तथापि यस सन्दर्भमा नेपालका प्रथम कलासमीक्षक स्व. नारायणबहादुर सिंहको एक कलाआलेखले भने यस विषयमा थप जानकारीका लागि अनुसन्धान तथा खोजी गर्नसकिने वा उनकै लेखलाई मान्न सकिने मार्ग भने प्रशस्त निर्माण गरिदिएको छ । त्यस लेखमा नारायणबहादुर सिंहले चन्द्रमानसिंह मास्केलाई प्रथम व्यङ्ग्य चित्रकारको अर्थ लाग्ने भावमा उद्धृत गर्दै भनेका छन्, ‘मास्केले श्री ३ जुद्ध शमशेरको ‘कार्टुन’ बनाएबापत नै जेल पर्नु परेको थियो।’ उनको यो लेखनीमा चन्द्रमान नै प्रथम व्यङ्ग्यकलाकार हुन् भन्ने अप्रत्यक्ष अर्थ लुकेको अनुभूत हुन्छ । राणाकालमा जोखिमपूर्ण र पञ्चायत कालमा मौन रहनुपरेको यो विधाले वि.स. २००७ पछि मौलाएको देशको राजनैतिक परिवर्तनसँगै सुस्तरी सार्वजनिक हुने, झ्याङ्गिने र फल्ने अवसर पाएको हो । विगतमा ‘कार्टुन’ चित्रकलाको संस्थागत विकास गर्न वात्सायनको अध्यक्षतामा व्यङ्ग्यचित्रकार क्लब नेपाल, सिस्नुपानी नेपाल, हास्यव्यङ्ग्य समाज लगायतका सङ्घसंस्थाहरू जुर्मुराएका देखिएका थिए । यसपछि नवपुस्ता व्यंग्य कलाकारहरु मिलेर अन्य व्यंग्यचित्र संघसंस्थाहरु स्थापना भएको देखिन्छ। तिनीहरुले बेलामौकामा गोष्ठी वर्कसप जस्ता कार्यक्रमहरु गर्दै आएका छन् । वर्तमान अवस्थामा व्यङ्ग्य चित्रकलाका महारथि वरिष्ठ चित्रकार दुर्गा बराल उर्फ वात्सायनदेखि पछिल्लो पुस्ताका वर्तमान व्यङ्ग्य कलाकारहरू राजेश के.सी, रविन पिया, वासु क्षितिज, अविन, राजेश मानन्धर, सुमन मानन्धर, रमेश विष्ट, मिलन शाक्य, राजु जोशी, एकाराम महर्जन, उत्तम नेपाल, दीपक गौतम, हिमालय गौतम, कृष्णगोपाल, देवेन्द्र थुम्केली र नाम हेक्का हुन नसकेका अन्य नवपुस्ता कलाकारहरू रहेका छन् । (लेखक कलाकार एवं कला समीक्षक हुन्।) #कला समीक्षा #तीर्थ निरौला
गाउँमा छन् गीतहरू: सूक्तिबनाएर संस्कृतिलाई गाउँभरि गीत रोपेर गीतभरि गाउँगाइरहेका छन्— गाउँका मान्छेहरू । श्रुतिपरम्पराको धारमा हस्तान्तरित भइरहने गाउँमै त छ —पुस्तापुस्ताजीवित रहने गीतैगीतको प्रज्ञा —विश्वासैविश्वासको दन्त्यकथाभन्ने हजुरामाको घर —दुहुनो गाईजस्तै सङ्गीतखसाइरहने छाँगाको विरासत । नानीहरू गाउदैछन् तोतेबोलीमाशिशुगीत— “ऐयाबाबा घैया पाक्यो चिउरी कुटाइदेऊ न नेपालबाट बेउलो आयो बेउलीलुकाइदेऊ न ।“ सिमलबोटे खेतको खलेगरामा दाइँगर्दै गरेकादयेरेहरू गोरु घुमाउँदै गाउदैछन् दाइँगीत— “मियोको टुप्पोमा बसेछ कोइली आजकादयेरेलाई घिउको चोइली ।“ मान्छेकाओठओठमा भएपछि गीतको पाठशाला —गाउँको माटोभरि फलेको हो गीतकै फल —गाउँको आकाशमालागेको हो गीतकै घाम —तल, माथि गरेर चलेको हो गीताङ्गे हावा । भेटिइरहन्छ परिचयगाउँको —सम्झनैसम्झनाको अलिखितप्रतिबिम्बमा —ऐँचोपैँचोको अर्थशास्त्रीय परम्परामा । न त आउँछ —सम्बन्धमाह्रासको नियम न त घट्छ —साझेदारीको पर्म तिर्ने सिलसिला न त हराउँछ —रत्यौलीमाआमाहरू बुवाबन्ने मौलिकता न त सकिन्छ —मारुनीमा नरहरू नारी बन्ने लोकनाच । बारी खन्दै गरेकायीआमाहरू —फागको लयमा मस्त छन् कोही कोहीकोदालाको नचाइमा स्वतस्फुर्त —रोपिरहेका छन् श्रमगीतका मुरीमुरी पहाडहरू कोही —लोग्नेले गरेको अपहेलनालाई —माइतीहरूले देखाएको बेवास्तालाई आह्वानगर्दै देवीदेउताको मागल र सगुनको भाकामाभन्दैछन्— “सिमे र भुमे तेत्तीसकोटी देउता साथैमा कुन र धर्म देउरालीदेवी बसेको माथैमा ।“ संस्कारलाई राखेर शिरमा चढेर गीतैगीतको सगरमाथा छातीभरि कुँदेर आफ्नै देश गीतभरि उज्यालो गाइरहेका छन्— गाउँका मान्छेहरू । #गाउँमा छन् गीतहरू #महेश क्षितिज
अनिताको गजल: न नजिक भइन्थ्यो,न पीडा हुन्थ्यो घात भएर अहिले जस्तै हामी बसेको भए अज्ञात भएर ।। म अस्ताउन नपाउँदा नै,रात पर्न नपाउँदा नै अरू उदाए हजुरको जिन्दगीमा प्रभात भएर ।। जसको बेहुली भएको सपना हररात देखिन्थ्यो म कसरी जाउँ ? उसैको बिहेमा बरियाँत भएर ।। कुण्ठा बग्छ आँसुसंगै,रुदाँ खुसी मिल्छ र पो आकाशले फाल्छ कालो बादल बर्सात भएर ।। हजुर फुल्नु,मुस्कुराउनु,हजुरको पो औकात छ सबैले कहाँ पाउँछन् र फुल्न पारिजात भएर ।। #अनिता #धिताल
अन्तर्मनकाे आनन्दका लागि पराेपकार: अर्काको हित गर्नु, भलाई गर्नु, असक्त असहाय, वृद्ध, राेगीकाे हेरचाह र समाजको सेवा गर्नु पराेपकार हाे। हरेक काम आनन्दकाे लागि गरिन्छ । पराेपकार हृदयको आनन्द हाे । अन्तहृदय पुलकित हुन्छ । याे समुद्री छालजस्तो हृदयमै लहराउँछ, खिलखिलाउँछ । चङ्गाजस्तो हलुङ्गाे हुन्छ जाे मनुष्यभित्रकाे ईश्वर हाे । धरति, जल, आकाश र अन्तरिक्षमा उडिदिन्छ । कुराैटे कुरा उसकाे कानले सुन्दैन जसरी दृश्यचक्षु पनि पट्टी लगाइदिइन् गान्धारीले । बरू आफैँ पीडा खपिरहन्छ अर्नेस्ट हेमिङ्गवेजस्ताे । द ओल्ड म्यान एण्ड सी । आखिर धर्तीलाई परिवार मान्छ । छुद्र र संकीर्ण हृदयबाट दूर रहन्छ र उदार मस्तिष्क मात्र सफल रहन्छ । याे बिन लादेन र हिटलर साम्राज्यलाई छि ! छि ! र दुर्दुर गर्छ । मदर टेरेसा र नेल्सन मण्डेलाकाे समीप रहन्छ । अन्तर्मनकाे आनन्दका लागि पराेपकार अन्तर्मनकाे बुद्ध बनिराख । के मनुष्य हित मात्र पराेपकार हाे ? यसकाे शब्दकोष कत्राे हुन्छ ? लागिरहेकाे छ, याे मनुष्य मात्रमा संकीर्ण रहँदैन । खगोलका सम्पूर्ण जीवात्माकाे भलाइमा रमाउँदै घातप्रतिघात, छलकपट, यातना, धाेखाधडी, रमिता उसकाे शब्दकोषमा हुँदैन । जगत एक हाे । जीवनकाे एकीकरणमा मान्छेलाई पशु हुनबाट बचाउने मूलमन्त्र तिमी सधैँ जपिराख । हृदय द्रवित भई नै रहन्छ कन्दराकाे तप्केनीजस्तो । लाेभलालचकाे क्षितिज तिमी जति दगुर्छु उति टाढा भागिदिन्छाै । म कहिल्यै भेट्टाउन नसकूँ तिमीलाई । कदापि कठाेर हुन सक्दैनाै तिमी। हृदयकाे मैन तिमी सेवा नै कर्म मान्छाै । सेवा नै धर्म मान्छाै । ममतालाई आफ्नाे मर्म मान्छाै । ह्रास हुँदै गएको सद्भाव, दया, मायाममता तिम्राे जस्तै मन र मस्तिष्कले अलिकति भए पनि टिकिराखेकाे छ । ”मै खाउँ मै लाउँ सुखसयल या माेज म गरूँ”काे कटु आलाेचक बन्छ अन्तर्मनकाे आनन्दका लागि पराेपकार । सहयोग र सद्भावनाकाे गरूङ्गाे भारी बाेक्दै हतारमा कुँद्छ याे । स्वयं भलाे भन्दा स्वस्फूर्त अरूकाे भलाइकाे नाङ्लाे बाेक्दै अन्तरर्मनमा दाैडिरहन्छाै तिमी । त्यही तिम्राे विजय हाे । के गरुङ्गाेपना मात्र भारी हाे ? अन्तर्मनकाे हलुङ्गाेे आनन्द । यमनकाे पहाड बाेक्दै सिमल भुवाजस्तो काेमल र हलुङ्गाे मन लिएर सेवामा तलिन छ त ! मात्र काँध थाप। गरूङ्गाे भारीमा हातमात्र कति हलुङ्गाे हुन्छ थाहा छ तिमीलाई ? वर्तमानमा रातदिन रूपैयाँले टाेक्ने माैलाउँदै गएका उपियाँभक्तहरूकाे पनि अन्तर्मनले सेवा गराेस् । पराेपकार उसको केन्द्र हाे । धड्कन उसको मुटु हाे । संचार उसकाे रगत हाे । स्वयंभलाे र आर्जनमा मात्र जीवन देख्ने विश्वजन्य जटिल परिस्थितिबाट टाढा रहन्छ । महात्मा गान्धीकाे यथार्थ तस्विर । तिमी भित्तामा सधैँ मूर्त बनिराख । फ्लोरेन्स नाइटिङ्गेल तिमी बत्ती लिई नै राख । मजदुरले जस्ताे पसिना बगाई नै राख । ढाबिलाे ढाबमा आफू भासिन सकाैला तर भासिएकाहरूकाे उद्दारकर्ता जिन्दगी भरिकाे एउटा पूर्णपाठ । तिमी पढिइरहने छाै । लेखिइरहने नै छाै । मायाप्रणय र प्रेमकाे स्नेहले मनकाे रिक्तता भर्छ । सद्भावले अघाउँछ । भाेकाे बनिदिन्छ सेवाकाे खातिर । सेवा नै उसकाे भाेक हाे । सेवा नै उसकाे भाेजन । भगवान उसकाे खाेज हाे। आयाम उसकाे ब्रह्माण्ड हाे । प्रमाणित उसकाे ज्ञान। सेवा उसकाे श्वासप्रश्वास हाे । सेवा नै उसकाे धड्कन र ज्ञान । पराेपकारमै मन आनन्द बन्छ । दीर्घायुकाे दीर्घब्याम निरन्तर लागिरहनु । कपट, रिस, द्वेष, छक्कापञ्जाबाट टाढा भागिदिन्छ । सेवालाई अमृत मान्छ । धाेका र लाेभकाे धज्जी उडाउँदै पराेपकारले माझ्दै मनलाई हिउँजस्तै कञ्चन बनाउँछ। विचारलाई आकासजस्तै विशाल बनाउँछ । कदलाई सगरमाथाजस्तै उँचो बनाउँछ। पराेपकार मेराे जात, तेराे जात, मेराे धर्म, तेराे धर्म, मेराे घर तेराे घर, तेराे देश मेराे देशजस्तो विभाजनकाे रेखा कहिल्यै काेर्दैन। ऊ आनन्द रहन्छ सम्पूर्ण जीवात्माकाे सेवाका खातिर । वृहत् र अर्थ र परिभाषा खाेज्दा सजीवमा मात्र हाेइन निर्जीव वस्तुमा समेत उसले प्रेमभाव राख्छ । प्रकृति प्रेममा समेत यसले अन्तर्दृष्टि राख्छ । प्रकृति विकासमा यसले दख्खल राख्छ प्रेममा अन्तर्दृष्टि । प्रदूषणमा दुःखी हुन्छ । प्राकृतिक स्वच्छ विकासमा ऊ खिलखिलाउँछ । विनाशमा उसकाे चित्त दुख्छ त्यसैले त आमा बेलाबखतमा तिमीले आफ्नाे तराजुकाे सन्तुलन आफैँ गरिराख्छ्याै । जसरी हरेक वस्तुमा सुन्दरता हुन्छ, त्यसरी नै प्राकृतिक सुन्दरता अनुपम हुन्छ। असुन्दर कुनै पदार्थ हुदैन । त्याे त केवल हेर्ने दृष्टिकाे भेद हाे । नजरकाे अन्तर हाे । हरेक वस्तु सुन्दर हुन्छ । पदार्थ धरतिकै उपज हाे । पदार्थको उच्च कलात्मकता नै सबैभन्दा सुन्दर वस्तु हाे । सुन्दर-कुरूप सजिीवमा छन् । निर्जीवमा छन् । मनुष्यमा छ । जीवात्मा र प्रकृतिमा छ । तसर्थ याे कलाकाे उच्चतम साधनामा विश्वास राख्छ । मनुष्यमा याे दया, माया, प्रेम, सद्भाव र सहकार्य हाे । प्रकृतिमा याे संरक्षण र उच्च कलात्मक विकास हाे । जीवात्मामा ऊ प्रेमिल रहन्छ । किञ्चित कसाई बन्न सक्दैन । काेमलता उसकाे पर्यवाची हाे र यसैमा सगाैरव विजय घाेषणा गर्छ । हृदयकाे द्विप तिमी आफू जल्छाै । अरुलाई प्रकाश छरिदिन्छाै । कति गाह्रो हुन्छ हँ आँखाे देख्न ? अन्तर्मनकाे आनन्दकाे लागि पराेपकार । गहन छ । गम्भीर छ । मनभित्र रहेकाे मन नै अन्तर्मन हाे । मन सबैको हुन्छ । पराेपकारी मन तिमी निष्ठुर हुनै सक्दैनौ । क्रुर हुन सक्दैनौ। सेवा तिम्रो आनन्द हाे । कलुषित मन अर्काकाे यातना, दुःख, टस, ठेस, ईर्ष्या र औडाहामा प्रेरित हुन्छ परोपकारी धोका को सट्टा सहयोगकाे । परत्वको सट्टा अपनत्व, बेइमानको सट्टा इमान, उसको सूत्र हुन्छ । सम्पूर्ण जगतकाे सेवा पराेपकारमै परमआनन्द मान्छ । मन आनन्द पार्न मनुष्यहरु अनेक तरिकाको अनुशरण गर्छन् । मान्छे हरेक गतिविधिहरू मनले गर्छ र आनन्दकै लागि गरिन्छ । होला अन्तर्मनको आनन्दका लागि कोही मर्निङ वाक गर्लान् । कोही साहित्य सृजना गर्दै होलान् । बढाउँदै होलान् गुरुहरू, पढ्दै हाेलान् विद्यार्थीहरू, खेल्दै होलान् केटाकेटीहरू, कमाउँदै होलान् व्यापारीहरू । चीन कृत्रिम चन्द्रमा बनाउँदैछ। युएई आईसबर्ग प्रोजेक्टमा काम गर्दैछ । सृष्टिका गतिविधिहरु सुविधाका लागि गरिए पनि सुविधा आनन्द प्राप्तिका लागि हो । के अर्थोपार्जन मात्र आनन्द हो ? के घुम्नु मात्र आनन्द हो ? के घुम्नु मात्रले हृदय पुलकित हुनसक्छ ? स्वयं भलो र व्यक्तिगत लाभमा मात्र आनन्द देख्ने हृदय प्रशस्तै देखिन्छन् । तर फरक अन्तर्मनको आनन्दका लागि गरिने परोपकार सामाजिक यथार्थमा समाहित छ। ऊ आनन्दले गदगद त हुन्छ नै तर ऊ केवल परिवारमा मात्र सीमित रहँदैन ।बनिदिन्छ समाजको स्तम्भ सिङ्गो देशको उचाइलाई आरोहण गर्दै संसारमै फैलिइदिन्छ । बगिदिन्छ जसरी बग्छ खोला, जसरी बहन्छ हावा, फैलिन्छ बादल । उसको शरीर लोप होला जगतबाट उसको नाम कालजयी रहिरहने निश्चित छ। उसको मुहार नचिन्ला दुनियाँले उसको नाम कण्ठस्थ रहन्छ । दुनियाँको होष्टे हैंसेमा ऊ छायाँ होला । होलान् प्रतिस्पर्धामा खलनायकहरू तर निर्णयमा ऊ सधैँ नायक बनिदिन्छ र बसिदिन्छ दीनदुःखीहरूको मनमुटुमा। परोपकारी मन ब्रह्माण्डको तारो बनिदिन्छ, आयतन अरुले नै नापिदिन्छन्। सूक्ष्म बनिदिन्छ अरूका खातीर अरू नै उसको आँखो बनिदिन्छन्। होला वर्तमानमा संकीर्ण रहला, भविष्यमा उसको आयतन विशाल रहन्छ। विद्यार्थीका लागि ऊ खोज हो त विज्ञका लागि ज्ञान। मृत्युपर्यन्त पनि ऊ चिर रहिरहन्छ। यो सृष्टिको अनन्तसम्म कालजयी रहिरहनेछ। आम मान्छेहरू एक जीवन बाँच्छन् त परोपकारी अजम्मरी जीवन बाँच्छ। के सन्तति जन्माउनु मात्र उर्वर हो ? वर्तमानमा उसको कदर नहोला तर पक्का पक्का दिवंगतपश्चात् पूर्वीय दर्शनको कृष्ण हो त पश्चिमी दर्शनको सुकरात जो स्वयंमा अर्जुनदृष्टि रहन्छ। वर्तमानमा उसलाई हेमलक नै पिउन परोस्, भविष्यमा ऊ शाश्वत सत्य हो। वर्तमानमा उनी बोक्रा होला भविष्यमा अग्राख हो। यसो प्रकृति नियाल्छु। फूलहरु फुलिरहेका छन् । मूल फुटिरहेको छ। खोला बगिरहेको छ। अनाज पाकी रहेको छ। घाम उदाउँछ अस्ताउँछ। समुद्रहरु लहरइरहेका छन्।हिमाल चम्किरहेको छ। दिन हुन्छ। रात हुन्छ सृष्टि माटोमै हुन्छ। विसर्जन माटोमै हुन्छ। लाग्छ, यी प्रकृतिका क्रियाकलापहरू परोपकारकै लागि चलिरहेका छन्। सोच्छु, यस प्रकृतिको सबैभन्दा चेतनशील प्राणी मान्छे पनि प्रकृतिकै देन हो। यसै प्रकृतिका गुणहरु मान्छेमा निहित छन्। अमृत माटोमै छ।\u200c विष माटोमै छ। एकै ठाउँमा उम्रिएको अम्बा टर्रो छ। अमिलो अमिलो छ। मेवा गुलियो छ। करेला तीतो छ। यहीँ श्रीखण्ड छ । यहीँ छ काउछो पनि । यस्तैयस्तै गुण समाहित छन् प्रकृतिकै सन्तति मान्छेमा पनि। परोपकारी मन श्रीखण्ड हो त निष्ठुर निर्दयी मन काउछो हो। परोपकारी मन अमृत हो त निष्ठुर मन विष हो । मान्छेहरु सुखः खोज्दाखोज्दै विलासितामा विलिन हुन पुग्छन्। अझ आजको विकासको चरम युगमा चिन्तन गर्दा -गर्दा मान्छे मान्छे बीचको सौहार्दता ह्रास हुँदै गइरहेको त छैन ? कैयौं मान्छेले गर्नुपर्ने काम रोबोटले गर्छ। सोफिया भाषण गर्छे। सोफिया मान्छे चिन्छे । सोफिया प्रतिउत्तर दिन्छे। भोलिका दिनमा हिँड्ने बाटाहरूमा रोबोट र मान्छेहरु आआफ्नो काममा सँगसगै हिंड्लान्। अनुसन्धानको लागि मान्छेले सोच्नै नपर्ने होला। कुनै सिस्टमले नै अनुसन्धान गर्ला, गर्नुपर्ने कामहरु रोबोटले गर्ला। भेट्नुपर्ने मान्छे फेसबुकले भेटाइदिन्छ। मान्छेले गर्नुपर्ने कामहरू मसिनले गरिरहेको बेला हामी विकासको रफ्तारमा दौडिरहँदा उद्देश्य के लिनु परोपकार । मान्छेको चाहना एउटा पुरा हुन नपाउँदै अर्को जन्मिहाल्छ। यसरी नै चाहनाको पछाडि भाग्दाभाग्दै मान्छेको ईहलीला समाप्त हुन्छ ।यस धर्तीमा मनुष्यको रूपमा जन्मिएपछि मनुष्यको सार्थकता र मृत्युपर्यन्त पनि उसको केही न केही कीर्ति रहिरहोस्। जसले सोच्छ, उसको सदा रहोस् साधना अन्तर्मनको आनन्दका लागि परोपकार परोपकारी मनुष्यको उद्देश्य परोपकार, लक्ष्य परोपकार, दैनिकी परोपकार, मनमुटु सोच परोपकार, ऊ परोपकारमै रमाउँछ, परोपकारमै आनन्द रहन्छ, सुख परोपकारमै खोज्छ। सम्झिन्छु, लक्ष्मीप्रसाद देवकोटाको प्रस्नोत्तर कविताको उद्धरण । खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ? आफू मिटाइ अरुलाई दिनू छ। स्याङ्जा, वालिङ-६, मिर्दी #परोपकार #शम्भु अर्याल #स्याङ्जा
माटोको माया: आफू हराउँछु कि भनेर मन चिमोटिरहने देशको समाचार सुनिरहन्छु । कहिले पछ्यौरी तान्छ शीरको हातले कहिले समान बनेर डब्बामा प्याक हुन्छ प्राणले मानवता खरानीको नाम हो कि धुवाँको ईँट्टाभट्टामा घाट गनाउँछ अहंम र दम्म उकालै चढेको छ भोको कोलम्बस् पाइला सीमा नाघ्दै छ । सीमापारि उभिएर कोलाज भीड़बाट म, यतिखेर भ्रान्त मनस्थिति बोकेर शङ्कल्परत छु चिनारी खोज्न जाऊ उतै घरदेश जहाँ जरजर शासकले गिजोलेको सत्ता छ अनि घाइते माटो र मन पिँढी दरपिँढीको पत्रपत्र संघर्ष विरुद्ध अन्तिम विजय को शंखनाद गर्नु छ । त्यतिबेलै सुन्छु देशका कर्मठ युवाहरू सपनाहरूको ठेली बोकेर सड़क, गल्ली र सहरमा लाम लागेर भिसा लिइरहेछन् कुनै मुलुकमा अर्को सपना खोज्नु छ रे हरियो जीवन खडेरी परेर सस्तो लिलाममा छ रे सुन्दा मन चिसो भएर अलमल हुन्छ । धेरै पटक घोत्लिएर खोज्दै जीवनको जरो मेरो पुर्खाले आफ्नो अस्तित्व हराउने गरी भस्मे फाडेको किपट छाडेर मुग्लान किन गए ? गाउँबाट सहर सहरबाट परदेश बसाइँ सरेर अभावको खाड़ल भर्न सक्यौ ? भिसा जीवन अझै घस्रिरहेछ जीवनदेखि जीवन भागिरहेछ सदियौँदेखिको स्वभिमानी नेपालीभाव किन कमजोर बन्दैछ किन निरुत्साही बन्दैछन् युवा किन दुख्दैछ मेची–काली किन सर्दैछन् जङ्गेपिलर ! शासक महाशय म तिमीलाई सोधिरहेछु । हामी कर्म भोग्न जहाँ पुगे पनि थात्थलोको यादले चिमोटिइरहन्छौँ आफ्नै धर्तीको माटो भिजाउन हंसलाई परदेशी हुन दिएकै छैनौ आज आफूलाई पैलाएर भेटनु छ पुर्खाको मूल थलोबाट परिचयलाई दस्तावेज गरेर संस्कार संस्कृतिको जीवन–दर्शनलाई पर पर पर सम्म फैलाउँनु छ । माटोको मायाले बोलाएको आभास हुन्छ पाइलाहरू फर्कन सधैँ हतास हुन्छ पाखा भित्ताहरू उर्वर बनाउँछौ जिन्दगीको परिभाषा हातको ठेलाले लेख्छौँ विश्वबजारलाई आँगनमा आएर घुंडा टेकाउँछौँ । #माटोको माया
बाहुनी केटी: आज फेरि एउटा सिङ्गो अनिँदो रात कट्यो । कति मात्र ओल्टे, कोल्टे फेर्नु, कति मात्र उठेर झोक्राएर बस्नु, ट्वाइलेट जानु, आउनु । भित्र बस्दाबस्दा मन त्यसै उकुसमुकुस भयो । अरुलाई डिस्टर्ब होला भनेर बरण्डामा निस्किइन् प्रेक्षा। अँध्यारो औंसीको रात चुक अमिलो जसरी घोप्टियो उनको आँखाभरि र मनभरि । ढोका खोलेर विस्तारै छतमा पुगिन् । वरिपरि सुनसान छ । यो शहरका गल्लीहरुमा पनि टाढाटाढा बत्ती बलेका देखिन्छन् । कुकुरहरु एकतमासले भुकिरहेका छन् । विश्वभर फैलिएको कोरोनाको महामारीले नेपालका मानिसहरु पनि घरभित्र थन्किएको दुइ महिना भन्दा बढी भै सक्यो । साथी, सहपाठी, इष्टमित्रहरुलाई भेट्न नपाउँदा र आफ्ना कामहरु सुचारु गर्न नपाउँदा मानिसहरु आत्तिएर मनोरोगी जस्ता भैसके । मानिसहरुको जीवन र अस्तित्व नै संकटमा परेकाले मनस्थितिमा नै परिवर्तन ल्याइदियो । चलायमान समयका चलायमान मानिसहरुलाई कोरोना भाइरसले टक्क रोकिदियो जहाँको तहीँ । आखिर यो जिन्दगी अनित्य न छ । “जिन्दगी यो फूलैफूलको थुँगो हुँदैन फक्रिने र ओइलाउने टुङ्गो हुँदैन” यो गीत जस्तै भएको छ मानिसको जीवन आज । यति ठूलो शहरमा पनि मान्छेका अनुहार पढ्दा, उनीहरुको मनभित्र मुर्दाशान्ति छाएको जस्तो अनुभूति हुँदै छ उनलाई । अहो ! कोरोनाले लाखौं मानिसहरु मरिरहेको यस्तो अवस्थामा पनि प्रेम, मात्र प्रेम गरेको निहुँमा ज्यान गुमाउनु परेको छ । जात धर्म, रङ, वर्ग, उँचनीचभन्दा माथि किन उठ्न सकेनन् यो देशका मान्छेहरु ? आजको एक्काइसौं शताब्दीमा पनि किन घडी उल्टो घुमेर ११औं शताब्दीमा पुग्यो ? लैला मजनु र रोमियो जुलियटको जस्तै गरेर अन्ततः वियोगगान्त भयो, यो जमानाको प्रेम पनि । कहिले प्रेमी मारिए र भेरीमा फालिए सामाजिक आक्रमणमा परेर त कहिले प्रेमिका मारिए र जलाइए आफ्नैें प्रेमीको एसिड आक्रमणमा परेर । कहिले अपहरण त कहिले सामूहिक बलात्कारमा परेर हत्या गरिए कंयौँ निर्मलाहरु । आखिर हत्या त साँचो प्रेमको न भयो । किन प्रेमको नाममा यस्ता अपराध हुन थालेका होलान् आजको समाजमा ? कस्लाई ठान्ने यस्ता घटनाको दोषी ? विगत केही वर्षदेखि भएका कंयौं घटनाहरु सम्झँदै आज उनको मनमा केके कुराहरु खेलिरहेछन् । विभिन्न नियम कानुनहरु बने, शासक फेरिए तर शासकको मनोभाव र शासन फेरिएन । न त मानिसको चेतानमा परिवर्तन आयो, न त विभिन्न क्रान्तिले आमूल परिवर्तन ल्यायो । उफ्, खुइय सास तान्दै माथि हेर्छिन् । यो अँध्यारो आकासले उनको मानव हुनुको चेतनालाई गिज्याइरहेको जस्तो लागिरहेको छ उनलाई । हिजो कयौँ युवाहरुले आजको उज्यालोको निम्ति ज्यान गुमाए । खोई के पाए त आजका मान्छेले ? बस् कसैलाई मात्र प्रेम गरेकै नाममा घृणा, तिरस्कार, अपमान, बदनाम र बदलामा ज्यानै लिनु ? आज यो पवित्र प्रेम शब्दमाथि नै यति मजाक भयो कि यो घटना देखेर जीउ सिरिङ्ग भएर आयो उनको । प्रेम ईश्वर हो, प्रेम पूजा हो, पाप होइन पुण्य हो प्रेम, उनले आँखा चिम्म गरेर हृदयको गहिराइमा हेरिन् र मनैमन सम्झिइन्– सत्यम् शिवम् सुन्दरम् । चाँदनी पनि लुकेको रात, गमलामा रोपेका फलफूल, तरकारी सबै कालो छायाजस्तो लाग्छ उनलाई । छतको रेलिङमा अडेस लाग्दै लामो स्वास फेर्छिन् । चक्कर आएजस्तो भएर भाउन्न हुन्छ, रेलिङ समाउँदै भित्तामा आड लाएर थचक्क भूइँमा बस्छिन् । किनकिन आज उनलाई एकान्तमा बस्न मन लागेको छ । यो देश सतिले सरापेको देश हो । सोझो मान्छे र सोझो रुखलाई जसरी गिडिन्छ यहाँ, चोखो प्रेम गर्नेलाई त्यसैगरी गिडिँदो रहेछ । साँचो प्रेमको कुनै कदर छैन यहाँ । आज आफ्नै शीर झुकेको छ, मन मुटु दुखेको छ । कोही कसैले यो जातमा जन्मन्छु भनेर जन्मिने त होइन । तर कुनै एकदुईको गल्तीले, अपराध र अमानवीय व्यवहारले गर्दा कुनै निश्चित जातमा, समुदायमा जन्मिएको कारणले लज्जाबोध र अपराधबोध गरिरहनु परेको छ । किन यस्तो समाजलाई मानव समाज भनेर सभ्य देखिनु परेको छ हँ? मनभरि प्रश्नैप्रश्नका खात जमेका छन् । तर ती प्रश्नको उत्तर दिने कस्ले ? कस्ले फुस्काइदिनें उनको मनको उफानलाई ? छतमा बस्दाबस्तै बौरिएजस्तो हुन्छिन् अनि एक्कासि पैंतीस वर्ष अघिको आफ्नो बाल्यकालको, अतितमा गाउँमा डोहोरिएर पुग्छिन् उनी । “ओइ सानी, सानी, सानी हो, आऊ हाम्रा घराँ”– उनकी साथी धनीले उनको बारीबाट पर बाटोमुनि भएको उनको घरबाट लगातार चिच्याई चिच्याई बोलाउँदैछिन् सानीलाई, दुई गाउँका मान्छेले सुन्ने गरेर । सानीले भन्छिन्, “कसरी आउनी तनि, म त एक्लै आउन सक्दिनँ, बाटामा कुकुरले टोक्चन्, तैं लिन आइज न मलाई ।” आऊ न सानी आऊ, गरैगरा हाम्फालेर आऊ न तनि, ह्याँ भाइलाई थाङ्ने जोरो आएको छ, छोडेर आउन मिल्दैन के । दुइटैको आवाज बारीको वारपार भएर एकअर्काको कानमा गुन्जियो । आमाले घर छोडेर कतै नजाऊ है सानु, गाईबस्तुलाई घाँस हालिदेऊ, जोगी आयो भने घरभित्र लुक भनेर सिकाएर, अह्राएर पात्ल जानु भएको थियो । बच्चा मन न हो के मान्थ्यो र ? अग्ला गराबाट ओर्लंदा लड्छु कि भनेर बाटबाटै धनीको घरमा जानलाई पायल चप्पल छिटोछिटो पड्काउँदै हिँडिन् । घमाइलो दिन थियो, सानी तगारोबाट बाहिर निस्केर तगारो लगाएर कुकुरले देखेर लखेट्छ कि भनेर बाटोमा यताउता हेर्दै डराई डराई हिँड्दै धनीको घरको तगारोमा पुगेर – धनी, ए धनी म आएँ भन्दै धनीको आँगनभित्र छिरिन् सानी । घर छेउको गाह्राभित्र भएका सुँगुर सानीलाई देखेर च्वाँ,च्वाँ गर्दै कराएका थिए । यस्तो देखेर डराउँदै छिटो छिटो नाक थुनेर धनी, धनी भन्दै धनीको घर भित्र स्वाट्टै छिरिन् सानी । अहो ! किन भित्र आकी सानी, अब तिम्रो जात जान्छ । तिमीले नि हामीलाई तिम्रो घराँ छिर्न दिन्नौं, हामी पनि हाम्रो घराँ छिर्न दिदैनौं तिमीलाई, देउता रिसाउँचन् अनि पाप लाग्छ बाबै बाहिर हिँड भनेर धनीले एउटा थोत्रो, बिट च्यातिएको गुन्द्री पिँढीमा ओछ्याएर सानीलाई बस्न लगाइन् । बस है, म भाइलाई खोले बनाउन लाछु, हामी चैं गोरुको मासु पोलेर नून र जाँडसँग खाम्ला है सानी । हाम्रो घरभित्र छिरेको कुरा अरुलाई नभन है, सानीले टाउकोको इसाराले हुन्छ भनिन् र पिढीमा बसिन् । धनीको भाइ सुके पिढीको एउटा कुनामा बाक्लो थाङ्नो ओडेर इन्तु न चिन्तु भएर सुतिरहेको थियो, वरिपरि झिँगा भन्केका थिए । सानी सुके भएको ठाउँमा गएर टाउको र हात छामिन्, आफ्नै हात आगोले पोले जसरी पोल्यो ।” सानी झसंग भइन् र आमाले भनेको सम्झिइन् थाङ्ने जोरो आयो भने मान्छे बाँच्दैन रे, कति बिरामी हुन्छ, त्यो बच्चो । सुकेलाइ थाङ्ने जोरो आ छ अरे, धनीलाई लिन नबोलाऊ है सानु । सर्न पनि सक्च थाङ्ने जोरो त ।” एकैछिनमा धनीले सिलोटको एउटा बटुकामा खोले ल्याएर भाइलाई बिस्तारै सानीको आड लगाएर पियाई दिइन् । “दिदी पानी ले न, कस्तो तिर्खा लागेको छ,” सुकेले पहेँला आँखा पर्लक्क पल्टाउँदै दिदीतिर हेरेर भन्यो । धनीले गाग्रीबाट चिसै पानी बोट्कामा सारेर ल्याएर पियाई दिई । सानीको काखमा अडेसा लागेको सुकेलाई बिस्तारै दुवै मिलेर ओच्छ्यानमा पल्टाए । धनी खुसुक्क भित्र गएर एउटा बटुकामा मासु र अर्कोमा जाँड लिएर आई । सानी खान्च्यौ र ? नखाऊ भो, कसैले देखे भने । सानीले जिद्दी गरी– दे न धनी म नी चाख्चु नी अलीकती । दुवै जनाले पालैपालो रक्सी र पोलेको मासु मुख मिठ्याउँदै छिटोछिटो खाए । यताउता पल्यापुलु हेरे, धन्न कोही आएनन् । धनी भाँडा माझ्न जुठेल्नामा गई । सानी सुकेको नजिकै गई । सुकेले रुन्चे आँखा लगाएर सानीलाई टोलाएर हेर्दै भन्यो –उठेर हिँड्न, खेल्न पनि सक्दिनँ, मर्चु कि क्या हो सानी म त ।” सानीले आँखा टिलपिल गर्दै सुकेलाई हेर्दै त्यो दिन सम्झिदै भनिन्– अघिल्लो शनिबार त हो नि धनीले सानी र सुकेको ख्यालख्यालको बिहे गराइ दिएकी । सुकेले रातो माटोको सिन्दुरले सानीको सिउँदो भरी दिएको, अनि बेलुका आमासँगै सुत्दा टाउको भरी माटो देखेर आमाले सानीलाइ बेस्सरी गाली गर्नु भएको । कस्ले यसरी माटो हाल्दियो, भोलि स्कूल जान पर्नी मान्छे भनेर । यो कुरा सम्झेर सुके पनि सकिनसकी हाँस्यो । सानी र सुके एक कक्षामा पढ्थे, सँगै स्कूल जान्थे, आउँथे, दुवै जना एउटै उमेरका थिए । धनी उनीहरु भन्दा चार वर्षले जेठी थिइन् तर सुके र सानीलाई सँगै खेलाउँथिन् । तर सानीको मिल्ने साथी भएकी थिइन् अलि ठूलो हुँदासम्म, नङमासुजस्ता, दुवै जनालाई दुवै जना नभई हुन्थेन, कहिलेकाहीँ धनी पनि स्कूल जान्थिन् सुके र सानीसँगै । नबुझेको सिक्थन् सानी र सुकेसँग । पढ्न पाको भए कति माथि पुग्थिन् होला है, धनी ? आज सानीले सम्झदै छिन् । धनी र धनीकी आमाले पनि फूर्सदमा सानीको घरमा काम सघाउँथे । त्यसको सट्टा उनीहरुलाई चामल, धान, मकै, कोदो र ज्याला दिनुहुन्थ्यो सानीकी आमाले । धनीलाई त बेलाबेलाका घिउभात खान दिनुहुन्थ्यो । सानीकी आमाले, सानीलाई जस्तै माया गर्नुहुन्थ्यो धनीलाई पनि । आजकल फोन गर्दा ती दिन सम्झन्छन् धनी र सानी, आमालाई पनि सुनाउँछन् यी पुराना कुराहरु र विगतका दिन सम्झेर कैले खुसी त कैले दु:खी हुन्छन् । अब त दुवैको बिहे भै सक्यो, छोराछोरी पनि जन्मिए । धनी विकट गाउँमा बस्छिन्, सानी शहरमा बस्छिन् । धनीका बाबु सानीको घरमा हली लागेको धेरै वर्ष भएको थियो । आज पनि नौ वर्षकी बालख छोरी धनीको भरमा पाँच वर्षे बालख बिरामी छोरो छोडेर मेलामा गएका थिए, उनीहरुका बाबुआमा । नगरी काम पुग्दैन खान साँझ र बिहान भनेझैं थियो उनीहरुको दैनिकी । आफ्नो खेतबारी थोरै थियो, अर्काकोमा पाखुरा नखियाई र निमेक नगरी खान नपुग्ने अति दुःखी जीवन थियो साँहिला साँहिलीको । त्यो दिन सानीलाई गरैगरा उक्लँदै छोटो बाटोबाट घर पुर्याएर धनी आफ्नो घर फर्किइन् । सानीले लामो सास फेरेर ढोकामा हेरिन्– धन्न ढोका ढप्क्याइराको रैछ, आमा पात्लबाट आउनु भएको रैनछ । भोलिपल्ट बिहानै बाटामुनि एकोहोरो शंख बज्यो । आमा आत्तिदै आँगनबाट निवारोको बोट भएको गराको डिलमा पुग्नु भो, उनी पनि आमाको पछिपछि गइन् । “लौन नि रामराम, सुके पनि भगवानको पियारो भएछ नि ।” “तिमीले नहेर छोरी, बच्चाले हेर्न हुँदैन,” आमाले सारीको सप्कोले सानीलाई लुकाउने असफल प्रयास गर्दै हुनुहुन्थ्यो । ठूलो गरा मुनिबाट कोलमा पँहेलो कपडाले बरिएको मान्छेको आकृति मानिसहरुले काँधमाथि बोकेर छिटोछिटो हिडेको देखेँ ,कोलबाट तल झारेको पनि देखिन् सानीले। आमा रुन लाग्नु भो हे ! भगवान्, के देख्नु पर्यो नि यस्तो, यति कलिलो बालखलाई किन चुँडिस् नि ! गाउँलेहरुले माथि गराबाट हेरिरहेका थिए । माथेड सानिमा र भाउजूले पनि गराको डिलबाट हेर्नु भएको थियो । अहो ! सोच्दा सोच्दै ,सम्झँदा सम्झँदै झल्याँस चराको चिरबिरले ब्यूँझाइदियो र ल्याइदियो वर्तमानमा । उनको शरीरभरि पसिना छुटेको थियो, आँखाभरि आँशु भरिएर पोखिँदै थिए । तर त्यो मीठो आवाज, जुन आवाजको उनलाई बचपनमा बानी परेको थियो-गुन्जिइरह्यो उनका दुवै कानमा । सुकेले कोलको छेउमा उभिएर उनैलाई पर्खंदै बोलाएको एउटा मीठो आवाज उनको कानमा आएर सुस्तरी ठोक्किइरह्यो– “ओई बाहुनी केटी – आऊ स्कूल जाम् ।” #अनुश्रुति #प्रेम #भेदभाव
साबिती कविता : मेरी आमाले आत्महत्या गरेको देश: १. ईश्वर बल्लभ (११.०७.१९३७-२२.०३.२००८) आधुनिक नेपाली साहित्यका प्रातः स्मरणीय प्रतिभा हुन्। उनको विधागत क्षेत्र कविता, कथा, निबन्ध र समालोचना हो। साहित्यिक स्तरीयता र योगदानका दृष्टिले उनका सबै क्षेत्रका रचनाहरू महत्त्वपूर्ण मानिन्छ। उनले टुकी, प्रज्ञा, फूल-पात-पत्कर र तेस्रो आयाम पत्रिकाको सफल सम्पादन गरेर नेपाली साहित्यिक पत्र–पत्रिकाको विकासमा पनि महत्त्वपूर्ण योगदान दिएका छन्। बल्लभ बहुमुखी प्रतिभा भए तापनि नेपाली साहित्य संसारमा उनी कवि प्रतिभाकै रूपमा धेरै चर्चित र लोकप्रिय छन्। सङ्ख्यात्मक रूपमा पनि उनले कविता सिर्जनामा नै धेरै ऊर्जा र समय खर्चेका छन्। मदन पुरस्कार, साझा पुरस्कार, रत्नश्री स्वर्ण पदक, मुक्ति पुरस्कार, व्यथित सिन्धु पुरस्कार र प्रेस काउन्सिल पुरस्कारले उनका कविताहरू वा काव्यिक योगदानको मूल्याङ्कन भएबाट पनि उनको खास विधा क्षेत्र कविता नै रहेको पुष्टि हुँदछ। उनका चारवटा कविता सङ्ग्रहहरू क्रमैले आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन् (सन् १९७२), एउटा सहरको किनारामा (सन् १९७७), समानन्तर (सन् १९८१ ) र कस्मै देवाय: (सन् १९८५) प्रकाशित छन्। ईश्वर बल्लभ मूलत: प्रयोगवादी कवि हुन्। आफ्ना कविता यात्राको आदिदेखि अन्त्यसम्म उनले यस प्रवृत्तिलाई कायम राखेको देखिन्छ। नवीनता प्रतिको मोह र आफ्नोपन प्रतिको सजगता उनका सबै कविताहरूमा प्रतिविम्बित हुन पुगेका छन्। कविताको भाव, भाषा, शिल्प, शैली, प्रस्तुति, संरचना आदि सबै अवयवहरूले उनको प्रयोगधर्मितालाई सशक्त ढङ्गमा आत्मसात गरेका छन्। वस्तुत: उनका आयामिक मान्यता र कविताहरू उनमा अन्तर्निहित प्रयोगवादी प्रवृत्तिकै विशिष्ट अभिप्राप्तिहरू हुन्। वस्तुतालाई आयामिक लेखनको सबैभन्दा महत्त्वपूर्ण तत्त्व मान्ने बल्लभका कविताहरूमा वस्तुको स्वतन्त्र अस्तित्व जे-जस्तो छ त्यसलाई त्यसमै रहन दिने उद्यमले अनुप्रेरित छन्, मैले हाँगा, पात नभएर रुख जिउँछु। -नितान्त बल्लभका कविताहरू वस्तुको आन्तरिक, सूक्ष्म, अमूर्त र अगोचर पाटाको अन्वेषणमा प्रतिबद्ध छन्। उनका कविताहरूमा वस्तुको घनत्त्व वा गहिराई पक्षको उत्खनन पाइन्छ, एउटी बूडी आइमाईले ऐना हेरेर आङ्गमा बैँस कन्याएको जस्तै म अभिशप्त छु। -हिज मेरो घर आद्यताको माध्यमद्वारा सम्पूर्णताको प्रकटीकरण बल्लभका कविताहरूको अर्को आयामिक विशेषता हो, मभित्र एउटा मानिस नाङ्गो सुतिरहेको छ मबाहिर एउटा मानिस नाङ्गो सुतिरहेको छ ऊ चलमलाउँदैन कहिल्यै ऊ जहिल्यै अल्झिन्छ ऊ घाउजस्तै बल्झिन्छ। -अग्निद्वीप आद्यताले नै वस्तुको वस्तुता र सम्पूर्णतालाई मूर्त रुप दिन्छ भन्ने आयामिक आस्थाको दह्रिलो प्रयोग बल्लभका कविताहरूमा पाइन्छ, उसका सबै ठाउँहरूलाई सुमसुम्याउन थालेको उहिलेको युगदेखि तिमीले र मैले सहीद भैदिएको आस्थाको क्षण एउटा पुराण हो एउटा बहुला कार्निवलको चिहान हो आदिम सत्य यस्तै हुन्। -एउटा सहरको किनारामा बल्लभका कविताहरूमा चित्रकलाको सोझो-साम्य भाषाको कलात्मक प्रयोग पाइन्छ। तत्क्षण अनुभवले चित्रकलामा जुन अनुभूति पाइन्छ त्यसलाई झ्वाम्म भाषामा टिप्न बल्लभका कविताहरू कटिबद्ध देखिन्छन्, धुपीका रुखहरू बिउँझेर उक्लिएर पहाडका शिखरहरू निहारिका चिहाउँछ हातमा आँखा लिएर। -त्यो बगेको पानी दजला र फरातको कवि बल्लभ जीवनवादी कवि हुन्। अर्को अर्थमा मानवतावादी कवि। उनका कविताहरूमा हताशा, कुण्ठा, नैराश्य आदिको भाव निकै बाक्लो देखिए तापनि जीवनप्रति उनको गहिरो आस्था र अनुराग छ। मानवीय मूल्यहरूको स्फूरणमा पनि उनका कविताहरू आग्रही छन्, आकाश मात्रै नहेर धरती पनि हेर्नु पर्छ। -मानिसको पयर बल्लभ विम्बवादी कवि हुन्। विम्बहरूको बाक्लो घारी पाइन्छ उनका कविताहरूमा। उनका कविताहरू आद्योपान्त विम्बात्मक हुने गर्छन्। शब्दमा मात्र होइन, पङ्क्तिमा मात्र होइन सिङ्गो पङ्क्तिपुञ्ज वा कविता नै विम्बमा प्रस्तुत गर्नसक्ने कला उनमा निहित छ। यसैर समालोचक इन्द्रबहादुर राई भन्छन्– कवि बल्लभ विम्बमा कविता लेख्नुहुन्छ। नमूनांश हेरौँ, गहिरो निलो सरीरको देव गहिरो निलो पानी गहिरो गगन निलो। – अग्निद्वीप यसै गरी सार्वभौमिकता, विद्रोह चेतना, व्याकरणिक विचलन, गद्यात्मकता, अनुप्रासीय सङ्गीतात्मकता, लामा आयाम, आख्यानात्मक संरचना आदि उनका अन्य कविता प्रवृत्ति एवम् विशेषता हुन्। २. अङ्ग्रेजीमा प्रचलित कन्फेसनल पोएट्रीको निम्ति नेपालीमा ‘साबिती’ कविता उपयुक्त नाम देखिन्छ। नेपालीमा यसलाई कायलनामा कविता वा मञ्जूरीनामा कविता भन्दा पनि कुनै अनर्थ नहोला। साहित्यिक परम्परामा पारिवारिक दुर्मृत्यु वा अस्वाभाविक मृत्युको स्वप्रयत्नको स्वीकारण लगभग वर्जित विषय हो। वास्तवमा व्यक्ति जीवनका दुर्घटना, चारित्रिक दुर्गुण, मानसिक विकार, गुप्तरोग, यौनकुण्ठा, प्रेम निराशा, वैवाहिक जीवनको असफलता, आत्महत्या प्रवृत्ति, पारिवारिक कलह, अनुवांशिक रोग, पारिवारिक दुर्मृत्यु आदि जस्ता जीवनका अँध्यारा र सार्वजनिक गर्न असजिला पाटाहरूलाई इमान्दारपूर्वक स्वीकार गर्दै कवितामा साझा गर्नु साबिती कविता हो। व्यक्ति जीवन वा पारिवारिक जीवनका अँध्यारा पाटाहरूदेखि भागेर वा ढाकछोप गरेर होइन तर तिनलाई निर्भय र इमान्दारीसँग कवितामा अभिव्यक्ति दिनु साबिती कविहरूको अभीष्ट हो। कविताको एउटा नयाँ जनरको रूपमा साबिती कविता अमेरिकी चिन्तन परम्पराको अवदान हो। पश्चिममा (खास गरेर अमेरिकामा) कविताको नयाँ जनरका रुपमा कन्फेसन कविताको सुदीर्घ परम्परा बसिसकेको छ। कविता लेखनका यस अनौठो र विवादस्पद धाराको सर्वाधिक चर्चित प्रतिभा हुन्– सिल्भिया प्लाथ (सन् १९३२-१९६३)। सिल्भिया प्लाथले आठ वर्षको कलिलो उमेरमा बाबुको आत्महत्या आफ्नै आँखाले प्रत्यक्ष देखिन्। जन्म र मृत्युको अभेद्ता कलकलाउँदो उमेरमै बुझिन्। बाबुको अस्वाभाविक मृत्युले जीवनभरी ऐंठन पारिरह्यो प्लाथलाई। सामान्य मनोदशामा जीवन भोग्न पाइनन् उनले। आफैँले पनि पटक पटक आत्महत्याको कोसिस गरिन्। तिनलाई निर्भीकतासहित कवितामा साबिती गरिन्। बाबुको आत्महत्या, असामान्य बालखपन, तनावग्रस्त मनोस्थिति, जीवनप्रतिको अनास्था र आत्महत्याको असफल कोसिस प्लाथको कवितालाई प्रेरणा बन्यो। कालजयी कनफेशनल कविताहरू सिर्जन गरिन्, प्रतिष्ठित पुलित्जर पुरस्कार पाइन्। अन्तत: प्लाथले एकतीस वर्षका अल्पायुमा आत्महत्या नै गरिन्। जोन बेरीमेनका पिताले आफ्नै आँखासाक्षी गोली ठोकेर आत्महत्या गरे, आमा पोइल गइन्। ती घटनाहरूले बेरीमेनको कलिलो मनोकाशमा सधैँका निम्ति अँध्यारो छरिदिने काम गऱ्यो। अन्तत: आफैँले पनि वासिङ्गटन ब्रिजबाट मिसिसिप्पी नदीमा हाम्फालेर आत्महत्या गरे तर पारिवारिक कलह, दुर्मृत्यु, जीवनगत अनास्था आदिलाई आफ्ना कविताहरूमा निर्भीकतासहित अभिव्यक्ति दिए। कमला दासले आत्महत्या गरिनन्। पचहत्तर वर्षको आयु बाँचिन् तर पटक पटक आत्महत्याको कोसिस गरिन्। आफ्नो असामान्य मनोस्थिति तथा गृह कलह, यौन असन्तुष्टिजस्ता नितान्त व्यक्तिगत समस्याहरूलाई आफ्ना रचनाहरूमा इमान्दारपूर्वक नाङ्गोझार पारिन्। पश्चिममा कविताको साबिती जनर दोस्रो विश्व युद्धकालतिर नै स्थापित र रूढ भइसकेको हो। नेपालीमा भने यस प्रकारको रचना आमाको आत्महत्याइतर पाउनु गाह्रो छ। ३. रूपरेखा पत्रिकाको दुई अङ्कमा (वर्ष १२, अङ्क ४, वि.स. २०२८ र वर्ष १२, अङ्क ५, वि,स, २०२८) क्रमश: छापिएको ‘मेरी आमाले आत्महत्या गरेको देश’ कवि ईश्वर बल्लभको सर्वाधिक चर्चित कविता हो। चित्रभाषाको कलात्मक प्रयोग, विद्रोह चेतना र अनुभूतिको सम्पूर्णता यस कविताको महत्त्वपूर्ण उपलब्धि हो। कति कविता यस्ता पनि हुन्छन् जसको अन्तर्वस्तुलाई पर्गेल्न पाठेतर सामग्रीमा धेरै निर्भर पर्नुपर्ने हुन्छ। प्रसङ्गत: बल्लभको मेरी आमाले आत्महत्या गरेको देश कविताको सारवस्तुलाई राम्ररी छिचोल्न बल्लभको जिन्दगानी तथा उनका पारिवारिक, सामाजिक र राजनीतिक पृष्ठभूमि नचिहाई सम्भव बन्दैन। ईश्वर बल्लभका पिता पण्डित मुरलीधर भट्टराई नाम चलेका पण्डित र विद्वान् थिए । राजनीतिमा उनको चासो थियो तर सक्रिय राजनीतिमा उनी थिएनन् । चन्द्रशमशेर जङ्गबहादुर राणाको राजसत्ताले नेपाली काङ्ग्रेसमा राजनीति गरेको अभियोगमा पण्डित मुरलीधर भट्टराईलाई छ-सात वर्ष जेलमा थुने । उनकी आमा राममाया भट्टराईले त्यस कालखण्डमा ठूलो कष्ट सहिन् । गिट्टी कुटेर दुईजना छोरालाई लालनपालन गरिन् र पढाइन् । एक्लो अभिभावकको कर्तव्य सकुशलतापूर्वक निर्वाह गरिन् । तर पिताजी जेलबाट निस्केपछि त्यसभन्दा ठूलो कष्ट पाइन् । चन्द्रशमशेरले मुरलीधरलाई दिएको सजायभन्दा ठूलो सजाय मुरलीधरले राममायालाई दिए । एउटी नारीका लागि सौता हाल्नुभन्दा ठूलो सजाय के हुन सक्छ । पण्डित मुरलीधरले राममायामाथि त्यही अन्याय गरे र उनले नगरेको अपराधको सजाय दिए । अनि, एकदिन यही असह्य अपमान र पीडाबाट मुक्ति खोज्न एउटी स्वाभिमानी नारीले खुकुरीले सेरिएर आत्महत्या गरिन् । त्यस समय विश्ववल्लभ बालक नै थिए तर ईश्वर बल्लभ सोच्ने-विचार्ने तेह्र वर्षको उमेरमा हिँडिरहेका थिए । मर्दै गरेकी आमाको छटपटी र त्यस असह्य पीडाको द्रष्टासाक्षी छोरा ईश्वर बल्लभले त्यस पूर्वदृश्यलाई कति वर्षसम्म मुटुमा गाँठो पारेर मन्थन गरेर हिँडे भनेर साध्य छैन । जीवनकालभरि बल्लभलाई आमाको आत्महत्याले पिरोलिरह्यो । अन्तत: लामो समयको पीडामय छटपटीपछि बाफिएर कागजका पन्नामा तपतपी चुह्यो – मेरी आमाले आत्महत्या गरेको देश (यस परिच्छेदको निर्माण गुगल सर्चबाट लिइएको सामग्रीबाट भएको छ, अहिले खोज्दा स्रोत विवरण अनुपलब्ध रहेछ, क्षमा चाहन्छु)। इन्द्रबहादुर राई लेख्छन् – प्रासङ्गिक हुन्छ यहाँ भारतीय एक आध्यात्मिकले सोधेकोमा पवित्र दलाई लामाको उत्तर। प्रश्न गरिएको थियो: किन तिब्बती गुम्बाहरूमा नवशिष्यहरूलाई पात्र मृतकको (पाइँदो मृत कुनै गुरुको) खोपडी दिइएको, बजाउनलाई नलीहाड र हड्डीको माला दिइएको। दलाई लामाले बुझाइदिनुभएको छ: जीवन र मृत्युको अभेदता, अरू पनि अभेदता, आत्मासात् गराउनलाई छ त्यो प्रशिक्षण। मृतकीय वस्तुहरूसितको सदा सामीप्यले, छुँदाको अभ्यस्तताले र तिनीहरूको सधैँ उपयोगले अभेदता बुद्धिले सँगै मनले पनि गृहीत बन्छ। कविले योगीय अभेगतामा पुग्नलाई, त्यो अभेदता अनुभूत गर्नलाई मृत्यु र मृत्युका पार्यायिक समवेत क्लेशदहरूसित अभय खेल्न सक्नुपर्ने रहेछ। आत्महत्या कवितामा कवि ईश्वर बल्लभलाई यस फाँटमा पुगेका पाउँछौँ। छोरो बल्लभ आमाको आत्महत्यासित खेलिबस्छन्। यसरी सधैँ उठबसको निरन्तरताले छोरो बल्लभमा आत्माहत्या विषयक सामाजिक–नैतिक धारणाप्रदत्त लाज, ग्लानि, भयजस्ता भावहरू टकटकिँदै जान्छ र तिनलाई प्राज्ञिक अवस्थाबाट अवलोकन गर्न सक्ने सामार्थ्यको विकास हुन्छ। छोरो बल्लभको त्यस प्राज्ञवस्थालाई कवि बल्लभले प्रेरकतत्त्वको रूपमा आत्मसात गर्दछन्। आमाको आत्महत्या छोरो बल्लभका निम्ति जिन्दगीभरलाई गाडेघाउ भयो। त्यस घाउले बल्लभलाई नदुखाएको कुनै पल थिएन। कविको दिनचर्या नै आमाको सम्झनाबाट सुरू हुन्छ, काकाकुलीले चारैतिर रगतै रगत देखेजस्तो बल्लभ पनि जहीँतहीँ र जहिलेतहिले आमाको क्षत-विक्षत लास मात्र देख्छन्, म बिहान उठेर एउटा सिङ्गो आकाशलाई जब हेर्छु, त्यसको वरिपरि रातो दाग लागेका हुन्छन् ; थुप्रै सूर्यहरू अस्ताउन आँटेका हुन्, मेरा अग्लिएका हात पाखुराहरू तिनलाई भेटाउन खोज्छन् उम्किदै गइरहेका आभास भएर उम्किदै गइरहेका क्यानभास भएर आफ्ना सत्यहरू भएर, तिमीले कहिलेकाहीँ देखेका छौ परको आकाशलाई अझै परको क्षितिजलाई अझै परको रातो रङ्गलाई भने – त्यो मेरो आमा हो बिहान आँखा उघारेर पहिलो पटक जब कवि आकाश हेर्छन्, आकाश रातो दागले रगताम्मे हुन्छ। त्यस्तो देख्दा कविलाई मानवीय सभ्यता असामयिक मृत्यु पर्खिरहेको, आफ्नो चेतनाले सभ्यताको उद्धार खोजिरहेको तर केही गर्न नसकेको लाचार अवास्थामा आफूलाई पाउँछन्। कवि रगताम्मे आकाशमा आमाको प्रतिबिम्ब पाउँछन्। आमाको आत्महत्या आफ्नै आँखासाक्षी घटेको तर आमालाई आत्महत्यादेखि रोक्न नसकेको आफ्नो लाचारीपन वा विवशतालाई आकाशको गाडा रातो चित्रबिम्बद्वारा अघि सार्छन्। कविलाई लाग्छ, आत्महत्या गहिरो घाउ हो, जीवनभर ननिको हुने गाडे घाउ हो। आत्महत्या फूलजस्तो फक्रन सक्छ, क्रान्तिको प्रेरक बन्नसक्छ, प्रगतिको आधार बन्नसक्छ। घाउले मानिसलाई जिउन पनि सिकाउँछन्। कविलाई के अनुभूति हुन्छ भने आजसम्म कसैले नपाएको निर्मम पुरस्कार आमाको आत्महत्याको रूपमा मैले पाएको छु र त्यो पुरस्कार मलाई देशको व्यवस्थाले दिएको हो। बल्लभले आमाका दुर्मृत्युलाई भुल्न कति कोसिस गरे होलान्, भनेर साध्य छैन। आमाको त्यस दुर्मृत्युलाई जतिसक्दो भुल्नु कविको लक्ष्य छ, र फलस्वरूप म त्यो खुकुरी धोइरहेको हुन्छु। अथवा किनभने मैले यसलाई मेरी आमाको रगतदेखि मुक्त गर्नु छ मात्र फलाम बाँकी रहोस भनेर अथवा त्यो आश्चर्यको रुखलाई माटोले प्रशस्त बाँध्छ माथि उम्रन सक्दैन त्यसैले धरतीदेखि उम्किन नसक्ने वाध्यता उसको तिम्रो पनि होइन, मेरो पनि त्यसैले किन चिन्तित हुने। बरु केही तितेपातीका स्याउला र मंत्रले भजाएका अक्षता चौतारीका धुलो लिएर मन्छिन चाहन्छु यस स्वप्नलाई। तर सक्दैनन् कवि। भुलेर भुल्न सकिने त्यति सहज विषय पनि त होइन आमाको आत्महत्या। कविलाई राम्ररी थाहा छ, आफ्नो जरा, त्यो मेरो आमाको रगत मेरो रुख हो। आफूले भोगेका असह्नीय पीडा अरूले भोग्न नपरोस् भन्ने कामना गर्दछन् कवि। कुनै पनि छोरोले आमाको आत्महत्याको द्रष्टासाक्षी हुन नपरोस् भन्ने अभीष्ट पाल्दछन् कवि। कवि आफ्नो अनुभवको होसियारी र सचेतता साझा गर्छन्, यसरी, भन्ने छु तिम्री आमा पल्लो कोठामा गइन अब एउटा आवाज आउने छ। यौटा ठूलो ढिलो भैसकेपछि तिमी भन्ने छौ यो मेरो आमाले आत्महत्या गरेको देश अथवा गएर हेर – कसैले खुकुरी लुकाएको त छैन (सायद तिम्री आमाले लुकाएको होला) पल्लो कोठाबाट आवाज आउन्जेल नपर्खिनु त्यसबेला – तिम्री आमा मरिसकेकी हुन्छे उसले आत्महत्या गरिसकेकी हुन्छे कहिलेकाहीँ कविलाई आत्महत्या मानवीय कायरता लाग्छ, सङ्घर्षदेखि पलायन लाग्छ, जब यौटाले आत्महत्या गर्छ उसले नै गर्छ – उसले भोग्छ ऊ कायर पनि हो – त्यो कायर मेरो आमा हो। फेरि कविलाई आमाको आत्महत्या बलिदानजस्तो पनि लाग्छ, तर, ती छर्किएका पवित्र पानीहरू थिएनन्, ढोका, दलिन र भित्ताहरूमा रातो लागेका व्यक्तिगत बलिदानजस्ता। सहादतजस्तो। उसको अनुहार। यसर्थ कविलाई बलिदानको उत्सव मनाउन मन लाग्छ, यस बेला ठूलो उत्सव मनाएर, ठूलै नृत्य गरे पनि हुन्छ, अनि, गीत गाएर राता फूलहरूका, अग्लोजस्ता, उफ्रिएको खुट्टाहरू पनि होउन्, गालाहरू चम्केका आमाको आत्महत्यालाई सामाजिकतासित जोडेर हेर्छन् कवि। आमाको आत्महत्या त्यसबेला परकीय चापको परिणति लाग्छ कविलाई। आमाको आत्महत्या बल्लभको परिवारमा घटित पारिवारिक दुर्मृत्यु भए तापनि कवि वैयक्तिक तहबाट अलि मास्तिर उठेर पारिवारिक दुर्मृत्युलाई समष्टीकृत तुल्याउँदै सम्पूर्ण नेपाली आमाहरूको प्रत्यक्ष-परोक्ष आत्महत्यालाई समेत मूर्त्याउन पुग्छन्। कवि मानसमा आमाको आत्महत्या गाडेघाउ भएर बसेको छ। कवि घाउबाट मुक्ति चाहन्छन्, सक्तैनन्। उसको चेतनालाई आमाको दुर्मृत्युले सधैँ ठुङ्गी बस्छ। आत्महत्यासित प्रत्यक्ष-परोक्ष कारणहरू तथा तिनका प्रभावहरू खेलाइबस्छन् कवि। आमाको आत्महत्या फगत् बल्लभको आमाको आत्महत्या भए तापनि आमाको बँचाइ, आमा बाँचेको देश–काल–वातावरण, आमाको सङ्घर्ष-स्वाभिमान, समाजव्यवस्था, राजनीति, पितृसत्ता, घार्मिक आडम्बर, लैङ्गिक असमानता आदि पक्ष वा तरङ्गहरू केलाइबस्छन् कवि। यसरी आमाको आत्महत्या र तिनका सम्भाव्य कारणहरू केलाइबस्दा पितृसत्तात्मक देशमा नेपाली आमाहरू प्रत्यक्ष-परोक्ष आत्महत्या गर्न विवश बनेको तथा आफ्नो चेतना र सम्वेदनाले आमापीडालाई पक्रेर पनि केही गर्न नसकेको विकल्पहीनतालाई अभिव्यक्ति दिन्छन् कवि, मेरो बाउ जेनेरेसनले मर्न बाध्य गरिएकी मेरी आमा। ईश्वर बल्लभ घरको एउटा कोठामा पस्दा कविलाई आमाको सम्झना आलो भएर आउँछ। मानिसहरू मेरो आमाले आफ्नै देशमा आत्महत्या गर्नुपऱ्यो भनेर व्यङ्ग्यमिश्रित टिप्पणी गरिरहेका हुन्छन्। अरूका आमाहरूले यो देशमा आत्महत्या गर्न नपरोस् भनेर कवि खुकुरी धुन्छन्, रगतमुक्त तुल्याउने कोसिस गर्छन्। आफूसँग पैतृक सम्पत्तिको रूपमा यही अभिशप्त खुकुरी मात्र रहेको र आफ्नो सबेभन्दा ठूलो कर्तव्य यो खुकुरीलाई अभिशाप्तमुक्त तुल्याउनु रहेको आत्मबोध गर्छन्। कविलाई के लाग्छ भने जबसम्म देशमा पितृसत्तात्मक र अमानवीय व्यवस्था कायम रहन्छ तबसम्म आमाको आत्महत्याको घटना दोहोरिरहनेछ, छोराहरूले खुकुरी धोइरहनुपर्नेछ। त्यसेले यो सबैको आमाले आत्महत्या गरेको देश हो। अकर्मण्य व्यवस्थाले एकमुठी बिरालोरूपी शोषकहरूको पक्षपोषण गर्छ, उनीहरू आमाको आत्महत्यामा राजनीति गरेर आफ्नो दुनो सोझ्याउँछन्। निमुखा–शोषितहरू देशबाट पलायन हुन बाध्य छन्। विस्वासहरू खण्डित छन्, रगताम्मे छन्। कवि भन्छन्- तिमी र म विश्वासका त्यही भग्नावशेषहरू बोकेर अन्योलमा बसिरहयौँ। उसको अनुहार बलिदानीको झैं थियो। हामी निष्ठुर र सङ्कटमय समय भोगिरहेका थियौँ तर हामीलाई थाहा थिएन। चोकभरि वेदना गन्हाइरहेथ्यो, बलिदानको रगत बगिरहेथ्यो तर हामीले बलिदानी चिनेनौँ। अहिले डढेलो नसल्केको भए तापनि यो भोको छ। आमाको गलाबाट ओर्लिएका रगतका सर्पहरूले मलाई बेर्न थालेको छ, तिमी भने दरबारमा मौज गरिबस्यौँ। सुखद् भोलिको कामना गर्दै म त्यही सर्पसित खेलिरहेछु। आमाको लाससँग बसिरहुञ्जेल तिमीहरूलाई सन्तोष लाग्दोरहेछ, मलाई भने विषालु सर्पहरूसँग डर लाग्छ, कतै रगत कुल्चिन्छु कि भनेर डर लाग्छ। वास्तवमा मलाई मेरो देशमा डर लाग्छ, मलाई अनेकौं सर्पहरुको रातो र विषालु डर लाग्छ, मलाई हिँड्न डर लाग्छ, मलाई,ओर्लिन उक्लन डर लाग्छ, मलाई, रगत कुल्चिन्छु कि भन्ने डर लाग्छ, मलाई, मेरो देशमा डर लाग्छ सबैलाई रातो रगत चाहिन्छ। रातो रगत नभइ कुनै शुभकार्य चल्दैन। कवि भन्छन् – रातो रगतले नै मलाई अक्षर लेख्न सिकाएका हुन्। त्यसैले अब उत्सव मनाउँदा हुन्छ। कान्ति आफ्नै चालढालमा आइरहेछ तर हामीले देखिरहेका छैनौ। मलाई लाग्छ, यो बग्दै गरेको रातो खोला मेरी आमा हो, यो मेरो आमाले आत्महत्या गरेको देश हो। मैले क्रान्तिको पूर्वाभास पाइसकेको छु। अब क्रान्तिको महान् उत्सव हुनेछ। सुतेका सबै स्वर र अनुहारहरू उठनेछन्। चलमलाउने छन् बिउँझनलाई, चलमलाउने छन् जिउनलाई यी सबै सङ्घर्षहरुसित एउटा ठूलो ब्यङ्ग गर्दै ती परका एक जमात भोज खाने मानिसहरुलाई – देश छोडेर चराचुरुङ्गीहरु अज्ञात दिशातिर भाग्न थाल्छन् बासस्थान छोडेर सबै आकारहरु बरालिन थाल्छन्, जङ्गलका बतासहरु जस्तै रुखहरूमा हराउन थाल्छन्। अथवा आत्महत्या, कहिले फूलको कोपिलाजस्तो फूल भएर फक्रिन चाहन्छ आत्महत्या, कहिले विशाल गगनचुम्बी भवनहरु भएर उभिन चाहन्छ आत्महत्या, कहिले ठूलो पैरो भएर जान चाहन्छ आत्महत्या, कहिले सडकभरि ओच्छिन चाहन्छ आत्महत्या, कहिले ठूलो डढेलो भएर जान चाहन्छ, आत्महत्या, क्यानभासमा रातो भएर पोतिन चाहन्छ, आत्महत्या, महान् लहर भएर सागरमा बहकिन चाहन्छ आत्महत्या, यहाँ जसले पनि जहिले पनि हुन चाहन्छ। आत्महत्या, तिम्रो बुँइगलको सिलिङ्मा कहीँ सिउरिएको छ, लाग्ने हतियार भएर ब्युँझने छ | गएर हेर, – कसैले खुकुरी लुकाएको त छैन, [सायद तिम्रो आमाले लुकाएको होली,] पल्लो कोठाबाट आवाज आउन्जेल नपर्खिनु त्यसबेला – तिम्री आमा मरिसकेकी हुन्छे, उसले आत्महत्या गरिसकेकी हुन्छे, कवितामा आद्योपान्त राता-रगताम्मे बिम्ब, प्रतीक र मिथकहरूको खोलो बग्छ, जसबाट जीवनको आद्यस्वरूपलाई प्रकट गर्ने प्रयास भएको छ, सेतो भैरवलाई रातो रगत कालो भैरवलाई रातो रगत सेतो कालीलाई रातो गरग रातो कालीलाई रातो रगत त्यो नीलो नदीलाई रातो रगत जेउसलाई रातो रगत मिनर्भालाई रातो रगत डाइनोसिसलाई रातो रगत कवि बल्लभ बिम्बले कविता लेख्छन्। उनको यस कवितामा पनि बाक्लो बिम्बघारी पाइन्छ। कवि स्वयम् चित्रभाषाको पक्षपाती भएको हुँदा यस कविताको शब्दमा मात्र होइन, पङ्क्तिमा मात्र होइन सिङ्गो पङ्क्तिपूञ्जनै बिम्बमा प्रस्तुत गर्ने कलात्मक उद्योग छ। आमाको आत्महत्या र त्यसबाट निसृत अनुभूतिको सम्पूर्णतालाई तत्क्षण बिम्बको सघन प्रयोगबाट अभिव्यक्ति दिने कलाले यो कविता निकै सूक्ष्म र अमूर्त बनेको छ। अनुभूतिको सम्पूर्णता र तात्क्षणिकतालाई जस्ताको तस्तै उतार्ने अभिप्रायले चित्र भाषाको तकनीकलाई यस कवितामा प्रयोग गरिएको छ, जाऊ, नजन्म, धन र ऐश्वर्य भए पनि त्यो पापी छ त्यहाँ नपस्नू | उत्तरीय महाद्वीपमा नजानू, धेरै दिन बाँच्न सके तापनि त्यहाँ पाप छ दामिनयान नपस्नू, लुपाको पूर्वी महाद्वीप नजानू भाले र पोथी पौडी खेलिरहेका हाँसका छन् त्यहाँ पाप छ नपस्नू, नाकमा दुखका गीतहरु सुन्नुपर्ने छ | काला घरहरुका ठाउँ पीडाहरुका ठाउँ सेता घरहरुका ठाउँ पृथ्वीका अँध्यारा प्वालहरुका ठाउँ काला बाटोहरुको ठाउँ, नपस्नू, आफुलाई सबै पर्खाल र बारहरुले छेकेर बाँधुन् जाडो प्रशस्त हुने छ, तातो पनि हुने छ, नपस्नू, प्रेमहरुले लखेट्ने छन्, नपस्नू, नपस्नू त्यस्ता पुलहरूमा जहाँ आत्महत्या गर्न बाहेक केही गर्न सकिन्न , नपस्नू, ती ढोकाहरुमा बलिया साँग्लीहरुले बाँध्लान् नपस्नू, रुखका महान् टोड्काहरुमा नपस्नू, ती जाल लगाएका माकुराका हातहरुमा नपस्नू, अक्टोपसले आहाल बसिरहेको कालो खोलामा तिमीलाई निल्ने छन् राता घाउहरुले जम्मै पानी रातो भएर रङ्गिउन्जेल, तिम्रा रगतहरु बगिसकेका हुने छन्। वास्तवमा ‘मेरी आमाले आत्महत्या गरेको देश’ कवि ईश्वर बल्लभको नितान्त व्यक्तिगत जीवनमा घटेको दुर्घटनामा आधारित छ। त्यसर्थ कविको व्यक्तिगत जीवनका पृष्ठभूमि नचिहाई यस कविताको आस्वादन–अध्ययन सम्भव छैन। कविले त्यस पारिवारिक दुर्मृत्युलाई आयामेली दृष्टिभङ्गीबाट पर्गेलेर सोही दृष्टिभङ्गीअनुकूल रूपायन दिएका छन्। अर्थात् आमाको त्यस आत्महत्यामा झ्वाम्म विचरण गर्दा देखिएका नानाथरिका विकिरणात्मक अनुभूतिहरूको तत्क्षण र चित्रात्मक अनुभूतिको सारसङ्क्षेप नै मेरी आमाले आत्महत्या गरेको देश हो। यसमा आमाको आत्महत्या, आत्महत्याको पछाडि अन्तर्निहित प्रत्यक्ष–परोक्ष कारणहरू तथा ती कारणहरूसित सम्बन्धित विभिन्न सामाजिक, नैतिक, राजनैतिक आदि पक्षहरूको इतिवृत्तात्मक संश्लेषण गरिएको छ। अत: यो कविता नेपाली साहित्यकै एउटा दुर्लभ साबिती कविता हो। #आत्महत्या #ईश्वर बल्लभ #मेरी आमाले आत्महत्या गरेको देश #साबिती कविता
देशका उम्दा २५ कला सेलिब्रेटी: पोखराका स्थायी बासिन्दा कृष्ण मर्सानीले हालै निजामती सेवाबाट अवकाश लिए । ३५ वर्ष लामो जागीरे जीवनमा उनी कलाकारका रुपमा खासै चिनिएका थिएनन् । सन् २०१६ को मे २८ देखि २०२० को मे २८ सम्मका चार वर्षमा उनले १ हजार ४ सय ५० वटा चित्र बनाए । तीमध्ये अधिकांश नेपाली साहित्य र कलाका हस्तीहरु छन् । साहित्यकारको चित्र बनाउन थालेयता उनी चर्तित कलाकारका रुपमा स्थापित भएका छन् । उनको हातबाट चित्र नबनेका साहित्यकारहरु अब पाउन मुस्किल हुन थालेको छ । जागीरे जीवनअघि उनी रंगमञ्चका कलाकार थिए । त्यसबाहेक उनी टेबल टेनिसका स्थानीय च्याम्पियन पनि भैसकेका व्यक्ति हुन् । सामाजिक कार्यमा पनि उनको क्रियाशीलता लोभलाग्दो छ । चित्रकलाका प्रख्यात कलाकार यादवचन्द भूर्तेलबाट प्रभावित भएका मर्सानीले विद्यालयदेखि नै कलाकारितामा रुचि राख्न थालेका थिए । जागीरे जीवनमा भने उनको कलाकारिता छुट्यो तर जागीरे जीवनको अन्त्यदेखि अवकासका फुर्सद समयमा उनी लगातार कला र साहित्यकारहरुको मुहारचित्र कोरिरहेका छन् । आखिर किन त ? ‘साहित्य र कलामा लाग्नेहरु देश र समाजप्रति बढी चिन्तित देखेँ । बाँकीलाई त व्यक्तिगत स्वार्थ कसरी पूरा गर्ने भन्ने मात्र चिन्ता देखिन्छ,’ जागीरे जीवनमा मानिसको चरित्रलाई राम्रोसँग अध्ययन गरेका मर्सानी भन्छन्, ‘मान्छेमा स्वार्थ त हुन्छ नै तर देश र समाजप्रति पनि ऊ उत्तिकै जिम्मेवार हुनुपर्छ । जुन साहित्य कलाका मानिसमा बढी छ ।’ उनी साहित्यका धेरै जसो पुस्तक पढ्छन् र साहित्यकारहरुका विचार पढ्न सुन्न रुचाउँछन् । यद्यपि विश्वेश्वरप्रसाद कोइराला, जगदीश घिमिरे र सरुभक्तका कृतिबाट उनी बढी नै प्रभावित देखिन्छन् । भन्छन्, ‘यी तीन स्रष्टाका कृतिहरुले मलाई साहित्यकारको चिन्तन कति माथि हुन्छ भन्ने बुझ्न सहयोग गर्यो ।’ प्रस्तुत छः हजारभन्दा बढी कलाकार तथा साहित्यकारको मुहारचित्र बनाएका मर्सानीका नजरमा सर्वोत्कृष्ट २५ मुहारचित्रहरुः अभि सुवेदी अलि मियाँ अमर गुरूङ अरूणा लामा वानीरा गिरी बैरागी काइँला विश्वेश्वर प्रसाद कोइराला धर्मराज थापा हरिहर शर्मा इन्द्रबहादुर राई जगदीश घिमिरे झमक घिमिरे मदनमणि दीक्षित माधवप्रसाद घिमिरे मञ्जुल माया ठकुरी नगेन्द्र शर्मा नारायण गोपाल गुरूवाचार्य पारिजात रत्न शमशेर थापा शिद्धिचरण श्रेष्ठ तुलसी दिवस यादव खरेल भैरव अर्याल चित्तधर हृदय #कलाकृति #कृष्ण मर्सानी #चित्राकृति #पोखरा #मुहारकृति
अज्ञात जीवनको गजल: ढलेर मरिन्छ कि लाग्छ घरमा बस्दिनँ ।। विश्वास नै छैन कसैको भरमा बस्दिनँ ।। – – – – दुक्छ छाती निसास्सिएझैँ लाग्छ घरिघरि, म भिडमा हराउँछु शहरमा बस्दिनँ।। – – – – तर कायर त्यति लाछी म बन्नु मूर्ख हो, असल योद्धाले सोच्दछ डरमा बस्दिनँ।। #अज्ञात जीवन #गजल
महामारीलाई जित्नु छ: त्याे लकडाउनकाे पन्ध्र दिन मेराे आँगन परदेश हाेला भनेर मैले कदापि साेचेकाे थिइनँ परदेश भनेकाे त झाेला बाेकेर ठूलाे जहाजमा बादल माथिमाथि उड्दै सात समुन्द्र पारि ठूला ठूला भवनहरूकाे शहर हाेला भन्ठान्थेँ । तर मलाई के थाहा मेरै आँगन परदेश भयाे आज घरकाे काेठा परदेश लागेपछि छिमेकीका घरहरू परदेशका ठूला भवन हुने नै भए । तर मैले जहाज चढेकाे थिइनँ, झाेला बाेकेकाे पनि थिइनँ, समुद्र तरेकाे पनि थिएन, हुन पनि हाे, समुन्द्र भेटियाेस् पनि कसरी ? मेराे घरमा पिउने पानी आउन त पहिला खानेपानी आउनु पर्छ । मेराे शहरमा मेलम्चीकाे पानीले तप्प चुहिन तीस वर्ष कुर्नु पर्छ । समुद्र…? कता खाेजाैं ..?? म झसङ्ग झस्किए, काेठा अँध्यारो थियाे । मलाई लाग्याे यहाँ सबै उज्यालोहरू छाेपिएका छन् । याे सानाे घर कैदीहरू राख्ने बन्दीगृह झैँ बनेकाे छ । आमाले खाना पस्किएर भाइबर कल गर्नु हुन्छ, बाबाले ह्वाट्सएपमा हालखबर साेध्नु हुन्छ । भाइबहिनीहरू म्यासेज गर्छन् । साथीभाइहरू जुममा भेट्छन् आफ्नै श्रीमतीले इमाेमा गुडनाइट भन्दा कस्काे मन चसक्क न चस्किएला र ! फ्याक्ट्री बन्द भएकाे पनि महिनौँ भयाे । अब त टेलिभिजनमा देखिने च्यानलहरू पनि बन्द हुन्छ हाेला । चिया गुलियाे बनाए बिस्कुट चाेप्दै चाेप्दै खाँदै हेर्ने समाचार पनि बन्द भए भने म थरथरी काँप्दै साेच्दै मन डुलाउनकाे मन रमाउनकाे लागि टिकटक हेर्छु । कहिलेकाहीँ बनाउछु पनि । तर अरूलाई अभियान गरेकाे जस्ताे लाग्दाेरहेछ । कसैले राम्रो भनिदिँदा प्रशंसा गर्दा पनि लाज लाग्छ । आजभाेलि वास्तविकता नै अभियान जस्ताे भएकाे छ । पत्याउनै गर्हो तर पत्याउनै पर्ने । आफ्नै घरका काेटाहरू पनि संघकी प्रेदश भएर भान्साकाेठामा जान, पास चाहिन्छ । बाथरुममा जान अनुमति चाहिन्छ । म झ्यालकाे सानाे पुवालबाट बाहिर चिहाउँछु, काेलाहालमा हुर्किएकाे, धुलाे धुँवाले मैलिएकाे मेराे शहर! आज चकमन्न, सुन्सान, शान्त छ । सायद मानिसहरूकाे थिचोमिचो दब्दबाबाट मुक्त भएर हाेला लामाे सास लिदैनिदाएकाे जस्ताे, बिल्कुलै शान्त र निःशब्द ! यी यस्ता दृश्यले मलाई पनि निःशब्द बनायाे । मेरा शब्दहरू सकिएर म राेकिएकाे हैन । बाटाहरू भत्किएर राेकिएकाे हैन । भेल, बाढी आएकाे छैन, पहिराे गएकाे छैन । तर सबै कुरा राेकिएकाे छ, यहाँ आएकाे छ त केवल महामारी । एउटा सन्त्रास, छाएकाे छ । सुक्ष्म भाइरस आएकाे छ । यसैले गर्दा आज मेरै आँगन परदेश भएकाे छ । लाग्छ कहिलेकाहीँ म पनि याे शहर जस्तै शान्त बनूँ निःशब्द रहुँ । तर हैन । मैले परदेशलाई आँगन बनाउनु छ । बन्दीगृहलाई घर बनाउनु छ । शहरलाई सुन्सान हैन झिलिमिली गराउनु छ । आमाले पस्किएकाे भात खाएर बाबालाई ढाेग्दै बच्चाहरूलाई अंगालाेमा बेर्दै श्रीमतीकाे अाँखामा हेर्दै मायाका दुईशब्दमा बाइ भन्दै फ्याक्ट्री जानु छ । मैले जित्नु छ याे महामारीलाई । देशलाई जिताउनु छ । विज्ञानलाई जिताउनु छ । काेराेनालाई हराउनु छ भगाउनु छ । #कोविद १९ #नमराज लामिछाने #महामारी
उनको जन्मदिवस ', "उनको जन्मदिवसमा उनकै नाम अंकित बर्थडे केकसँगै उनी आउने तीव्र आशमा पर्खिरहेको म पर्खाइको त्यो छट्पटीमा, अप्रतिम सुन्दर उनको तस्बिर हेर्दै रोमाञ्चक स्मृतिले अन्तःमिठास पैदा गरिरह्यो मधुमय उनका शब्दहरू मन्त्रमुग्ध पार्ने उनका नयनहरू उनको मधुर सामिप्यताको आकांक्षा गर्दै रहें म उनको अनुपस्थितिले गर्दा बोझिल बनिरहेको त्यो कठिन पलमा कल्पनारुपी अनुपम संसारमा एक्लै डुलिरहेँ म त्यो निस्तब्ध वातावरणमा निभौँला झैँ गरिरहेको मैनबत्तीले समेत शुभेच्छा दिन नपाउँदाको अधैर्यता देखाइरह्यो मत्थर भएको प्रकाशसँगै क्षितिजतिर विलीनन भइरहेका रवी पनि मलाई एक्लो छोडी गन्तव्यतर्फ दौडिरहेका थिए सम्झाइरहेको थियो मलाई एकतमासले पग्लिरहेको त्यो मैनबत्तीले अब यही उत्सबलाई बर्षदिन पर्खिनुपर्ने तितो सत्य अनायास मेरा कपोलहरूमा चिसो अनुभूति हुँदा पो थाहा पाएछु मैले मेरा दुवै नयनहरू अकस्मात अश्रुपूर्ण हुँदै गएछन् रुझेका ती नयनहरू लिएर सोचें, सायद कतै मनाउँदै होलिन उनी आफ्ना अनन्य प्रियजनहरूसँग, अद्वितीय जन्मदिवस जसै त्यो मैनबत्ती निभ्यो जीवनकै अविस्मरणीय पल बनाउने चाहनालाई तिलाञ्जली दिंदै म फर्किन बाध्य भएँ । #उनको जन्मदिवस #प्रदिप 'पि.जे.'
अज्ञात जीवनको गजल: छानो चुहियो मेरो सरकार बेखबर छ । छोरी जवान हुँदैछे मलाई उस्को डर छ । *** *** पोहोर आमा मरिन् छटपटाउँदै काखमा, झाँक्री छिमेकी घन्टौँको पैदलमा शहर छ। *** *** प्रिय पुत्र! छिमेकी हेरी तिमी जिद्दी नगर, कसरी पढाऊँ आम्दानीको दोब्बर कर छ। *** *** कहिलेकाहीँ यस्तो लाग्छ मरिदिन्छु भो बरु, अर्को मनले भन्छ परिवार तेरै भर छ । #अज्ञात जीवन #गजल
मरेको मान्छेको चिठी: नचढाउनू फूल मेरो चिहानमा त्यहाँ केवल एउटा ढुङ्गा छ जसमा मेरो जन्म मिति र मृत्युको समय कुँदिएको छ । तिमीले त्यहाँ, मेरो अतितलाई भेट्न पाउने छैनौ । गहिरो श्वास लिँदै रोक्नै नसकेर झरेका आँशुले मलाई स्पर्श गर्न पाउने छैनौ । नबाल्नू जोर बत्ती नमनाउनू मेरो वार्षिकी नओडाउनू मेरो तस्बिरमा माला नसिकाउनू कसैलाई मेरो चीर शान्तिको कामना गर्न । घामलाई समेत पोल्ने तप्त वैशाखमा शीतल बनेर बहिरहेको छु । काललाई समेत तर्साउने कालो रातमा जून बनेर चम्किरहेको छु । भिजाउन बाँकी सपनाहरूमा वर्षा बनेर झरिरहेको छु । आधा गाएर बिर्सिएको गीतमा शब्द बनेर घन्किरहेको छु । त्यो चिहानमा केवल एउटा ढुङ्गा छ जसमा मेरो जन्म मिति र मृत्युको समय कुँदिएको छ । तर म मेरो जन्म मितिभन्दा अघि नै जन्मिएको थिएँ मेरो मृत्युको समयपछि पनि बाँचिरहेको छु । #मरेको मान्छेको चिठी
शब्द: खोज्दै जाँदा बाँचेका हुन्छन् कुनै कुनै शब्दहरू हातमा स्पर्श बनेर छातीमा धड्कन बनेर ओंठको एक कुनामा मुस्कान बनेर । हिँड्दै जाँदा बाटाहरूमा यात्रा बनेर पनि बाँचेका हुन्छन् शब्दहरू । पदचापहरूमा अल्झेका हुन्छन् शब्दहरू बल्झेका हुन्छन् शब्दहरू घुर्कीहरूमा पार्कमा थचक्क बसेर कोही आउने बाटो हेरिरहेका पनि हुन्छन् शब्दहरू । खोज्दै जाँदा केही शब्दहरू यस्ता भेटिन्छन् जो हरेक पटक छुटिनुअघि गहिरो मौनतामा अलमलिइरहेका हुन्छन् सीधा नजरले हेर्न नसकेर अतालिइरहेका हुन्छन् हल्लिरहेका हुन्छन् शब्दहरू बतासको एक झोंका पातमा ठोक्किँदा चलमालइरहेका हुन्छन् शब्दहरू क्यानभासमा कुचीसँगै दगुरिरहेका हुन्छन् शब्दहरू भ्वायलिनको तारहरूमा गीत खोज्दै केही शब्दहरू यस्ता भेटिन्छन् मध्यराति कोही निद्रा फकाइरहेको बेला तीन फिट अग्लो र्याकबाट पुरानो पुस्तकसँगै भूइँमा खस्दछन् भर्खरै हाँगामा सरेका बचेरा हेरिरहेको गुँडमा भेटिन्छन् निःशब्द बनिरहेका शब्दहरू कतै कतै यस्ता शब्दहरू भेटिन्छन् जो ऊनसँगै कुरुसमा आकार खोज्दै आफैंलाई बिर्सिरहेका हुन्छन् अथवा, आकार खोजिहिँड्दै छिनोसँगै पत्थरमा ठोक्किरहेका हुन्छन् कुनै कुनै शब्दहरू वर्षौंपछि आँगनमा हाँसिरहेको मानिसको कल्पनामा झ्यालबाट सुस्तरी चिहाइरहेका हुन्छन् यसरी शब्दहरू खोज्दै जाँदा यसरी शब्दहरू भेटिँदै जाँदा दुःखसँग कहिल्यै हार नमानेको एउटा शब्द भेटाएँ बाटोमा मैले जसलाई अब जिन्दगीका बाँकी पानाहरूमा लेखिबस्नु छ जुन शब्द ’तिमी’ हौ । #शब्द
समीपको गजल: विज्ञापन नगरी कोही सामान नलिने भयो खेतका आलु गोलभेडा खेतमै कुहिने भयो ।। न मल बीउ छ समयमा न बजारै सहज यसरी किसान बिचरो ऋणमै थुनिने भयो ।। फलाउनेलाई छलेर त्यहाँ नाफा खान धेरै दलालहरू पसे गाउँमा किसान ठगिने भयो ।। भाउ नपाएर भने जस्तो बाली लाउनै छाडे लगानी नै नउठे पछि जमिन बाँझिने भयो ।। जाल झेल कति हो कति सबैले अघाए पछि भविष्य खोज्न किसान मुग्लान भासिने भयो ।। #गजल #समीप
रवीन्द्रको पेन्टिङ चुनाैती: रवीन्द्र मानन्धर बन्दाबन्दीका बेला अरूलाई झैँ कार्टुनिस्ट रवीन्द्र मानन्धरलाई पनि झ्याउलाग्दो दैनिकी बन्न पुगेको थियो तर उनले समय खेर फाल्न चाहेनन् । यसपछि एकादुई चित्रकला उनले फेसबुकमा पोस्ट गर्न थाले । तर उनले यत्तिकै मन भुलाउन गरेकाे चित्रकलालाई धेरैले रूचाएपछि नियमित रूपमा पोस्ट गर्न थालेका छन् । ‘अहिले त केही साथीले दैनिक पेन्टिङ बनाउने चुनाैती पनि थपिदिएका छन्,’ उनले भने, ‘दिनदिनै चित्रकला त बनाउन सकिँदैन हाेला तर सकेसम्म यस्ता चुनाैतीलाइ स्वीकार्ने पक्षमा छु ।’ व्यंग्य चित्रकारका रूपमा स्थापित रवीन्द्र मानन्धरलाई चित्त नबुझेका कुरामा सातामा कोरेका व्यंग्यचित्र प्रकाशन भएपछि मन हलुँगो हुन्छ । बन्दाबन्दीपछि चाहिँ व्यंग्यचित्रबाहेक अरू नै केही गराैँ भनेर उनले गएको फागुन महिनादेखि नै एकादुई चित्रकला राख्ने गरेका थिए । तर उनका साथीभाइबाट गज्जबको प्रशंसा पाउन थालेपछि भने उनले नियमित रूपमा चित्रांकन गर्ने र पोस्ट गर्ने गरेका छन् । ‘दिनदिनै त बनाउन सकिँदैन तर सातामा एक दुई वटा बनाएर हाल्दा र राम्रो प्रतिक्रिया पाउँदा बन्दाबन्दीको राम्रो सदुपयोग भइरहेको छ भन्ने लागिरहेको छ,’ उनले भने । कलाकार रवीन्द्रले बन्दाबन्दी शुरू भएपछि बनाएका एक्रेलिक र वाटरकलरको स्वाद तपाईं पनि लिनुहोस् न त, हुन्न ? रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर रवीन्द्र मानन्धर #दैनिकी #बन्दाबन्दी #लकडाउन
प्यास, नारी र प्रकृति: तिलकराम पोखरेल प्यास घाँटीको मरूभूमिमा सपनाका कर्णहरू थोपा थोपा फुटेका छन् र थुप्रेका छन् रणभुमिका लास हरू जस्तै कुन नामको जलले बचाऊँ ती विरुवाहरू कुन नामको जलले हत्या गरूँ मरूभूमिको खडेरीलाई —————— नारी हजारौँ नदी र सडक बोकेका हुन्छन् छातीमा सहनशीलताको गन्तव्य संवेदनाको लक्ष्य र निःस्वार्थताको घुम्टोमा लज्जावती हुँदै बहादुरको भूमिका खेल्छन् युगौँयुगदेखि युगौँयुगसम्म —————- प्रकृति सन्नाटा र अँध्यारोको सहवासमा झुल्किन्छ आशाको किरण अस्ताउने रहर नभएपनि उदाउँदा विदाइको गीत गुनगुनाउँदै आउँछ तर सप्तरंगीलाई छरिदिन्छ र इतिहास बनाएर जान्छ एक युगको म्यान्मा, हाल थाइल्याण्ड #तिलकराम पोखरेल #नारी #प्यास #प्रकृति
वर-पिपल: पूर्ण ओली “तिमी पनि आइपुग्यौ ?” हातखुट्टा लोलिएर नियास्रो अनुहार पारेको थकित वरलाई आफू नजिकै ठिङ्ग उभिएको देखेपछि पिपलले सोधी । उसो त वरलाई पिपलले दिउँसै देखिसकेकी थिई, मान्छेहरु चौतारीबाट फर्कने मौका कुरेर मात्र बसेकी मात्र हो । “तिमी त झन् पहिल्यै आइपुगिछौ नि !” पसिना पुछ्दै वरले खुइय सास फेर्\u200dयो । “अँss, म आएको त त्यस्तै एक वर्षजति भयो होला ।” “कस्तो छ यो ठाउँ ?”, वरले जीउ तनक्क तन्कायो र लत्रिरहेका पातहरुबाट छारो टकटक्यायो । वरको दयनीय अवस्था देखेर उसको मनोबल उकास्ने हेतुले पिपलले भनी, “ठीकै छ । सबैभन्दा अग्लो डाँडाको नेटामा रल्लिन पाउनु, सधैँ शितल बताससँगै हल्लिन पाउनु, टाढाटाढाका डाँडापाखा हेरेर मस्किन पाउनु, अग्लो ठाउँका अग्ला वृक्षको रुपमा सानमानसहित जीवन बिताउन पाउनु जोसुकैको भाग्यमा कहाँ लेखिएको हुन्छ र ? मान्छेको जात त हाम्रो लागि भगवान् साबित भएको छ ।” पिपल आभूषणमा ठाँटिएर गमक्क बसेकी जस्ती देखिन्थी । जिउ चिल्लो र सुलुत्त परेको थियो । पिपलको नारी सुगन्ध हर्हरी वरसम्म पुगिरहेको थियो । कलकलाउँदी सुन्दरी पिपललाई वरले निज्याएर हेर्\u200dयो । प्रकटमा भने ओठ लेब्य्राउँदै भन्योः “हुन्छ भगवान ! आफूलाई भाग्यमानी महसुस गरेकी छ्यौ ? ठीकै होला तिम्रो हिसाबले त । तर हेर्नैपर्ने कुराहरुबाट विमुख तुल्याइएर फोकट कुराहरु हेर्नु मात्र त कहाँ हो र जीवन ? भोग्नु पो असली जीवन हो त ! आफ्नै परिवार र आफ्नै समाजको नजिकै बसेर हेर्नु र जीवन भोग्नुको मज्जा अर्कै हुन्छ । मलाई त एक्लिएर यो ठाउँमा बस्न पटक्कै मन छैन । फर्केर उतै जान पाए हुन्थ्यो ।” “हुन्थ्यो नि ! चराजस्तै भुरुरु उड्न पाए ! जीवजन्तुजस्तै टुकुटुकु हिँड्न पाए ! खोलाजस्तै कलकल बग्न पाए ! तर हामी पर्\u200dयौँ वनस्पति, एकै ठाउँमा ठडिएर घामपानी झेल्नु नै हाम्रो जिन्दगी हो । जङ्गलका अरु रुखहरु हेर न, उनीहरु त्यहीँ जन्मन्छन्, जङ्गलभित्रको अँध्यारोमा पूरै जीवन बिताउँछन् र त्यहीँ कुहिन्छन् । हामी त कम्तीमा त्यो ठाउँ छोडेर अर्कै संसार त आइपुग्यौँ । यति खुल्ला ठाउँमा । परपरसम्मका अनेक कुरा देख्न पाइएको छ । यसैमा रमाउन सिक्नुपर्छ ।” “जन्मभूमिबाट उखेलेर ल्याइएपछि अन्य विकल्प बाँकी नरहे के गर्छ्यौ त अरु ?” पिलपिलाउन खोजेका आफ्ना ओठलाई बलजफ्ती टोक्दै वरले पिपललाई नै गिज्याउन खोज्यो । “किन त्यसरी ओइलाएको अनुहार लगाएको ? हुन त टेकी सकिएका जरा समेत उखेलिएर यहाँसम्म आइपुग्दा तिम्रा जरा दुखिरहेका होलान्, पात दुखिरहेका होलान्, पूरै जीउ दुखिरहेको होला । ठाउँठाउँमा छाला खुइलिएको छ, त्यहाँ असाध्यै चहराइरहेको होला । उखेलिँदा कोमल जराहरु चुँडिएर कति असह्य भयो होला ! धेरै दिनसम्म पानीको घुट्कोसम्म नपाएर आँत सुकिरहेको होला ! उखेलिएपछि दुईचारदिन मान्छेको आँगनमा थन्किँदा भोकले इन्तु न चिन्तु भयौ होला । अब यहाँ ल्याएर तिमीलाई रोपिसकेका छन् । शुरुमा सहज हुन निकै कठिन हुन्छ । बिस्तारै बानी पर्दै जान्छ । नहड्बडाऊ । मनसँगै जराहरु कठोर तुल्याऊ । पातसँगै छातीलाई हल्का तुल्याऊ । यो बन्जर जमिनबाट खानपिन सोस्न सक्षम हुनु छ । त्यो सुख्खा आकाशबाट हावा र घाम खिच्न जान्नु छ ।” “आहा नभन्दै शितल हावा त चल्यो नि !” सर्र हावा चलेपछि अलिकति दुखाई कम भएझैँ वर उज्यालियो, हावा बन्द हुनेबित्तिकै अँध्यारिँदै सोध्यो, “मैले त केही पनि बुझ्न सकेको छैन मलाई ल्याए आखिर किन यहाँ ?” वरको कुरा सुनेर पिपल बेसरी खिलखिलाई । “किन त्यसरी गिज्याउने पाराले हाँसेको नि ?” वाल्ल परेर हेर्\u200dयो वरले । “तिम्रो र मेरो बिहे गरिदिनको लागि रे क्या !” शरमले लजाएजस्तै गरी सानी पिपल, “तिमीलाई मान्छेले धुइँधुइँती खोज्न थालेको महिनौँ भयो । कता भेटाएछन् र बल्ल यहाँ ल्याइपुर्\u200dयाए । मलाई पनि असल साथी पाएकोमा कम्ता खुशी भएकी छु !” “छ्याः म त तिमीजस्ती रुप न रङकी कालीसँग गर्दिनँ बिहे सिहे !” नाकमुख खुम्च्याउँदै वरले मुन्टो भाँच्यो । “बिहेकै लागि ल्याइएपछि नमानी सुख्ख ? मसँग नगर्ने भए कससँग गर्छौ त बिहे ?” हातले परपर औँल्याउँदै जिस्क्याउने पारामा बोली, “यी झारपातसँग गर्छौ ? ऊ त्यो ऐसेलुको बोटसित गर्छौ ? कि यी सल्लाका रुखसँग गर्छौ ? यो डाँडोका दर्जनौँ जातका वनस्पतिहरुमध्ये एकलाई छान न त उसोभए । म कुरा मिलाइदिन्छु ।” पिपल आफ्नो पूरै जीउ हल्लाउँदै जोडतोडले हाँस्न थाली । “छियाछिया भएको मुटुमा व्यङ्ग्यवाण प्रहार गरेर अझै नदुखाऊ है तिमी ! अहिले झड्याम्म गाला पड्काइदिन्छु अनि ।” आँखा तर्दै चेतावनी दियो वरले । “छोएर हेर त ? आउनसक्छौ यहाँसम्म ? आएर देखाइदेऊ न त ! एकैठाउँमा गाडिन अभिशप्तको हेर न खरो बोलीचाली ! हेर न बेफ्वाँकको चुरीफुरी ! नियास्रो मानेका होउला भनी टिठाएको त अझ उस्सै…! अनि आफ्नो थुतुनो हेरेका छौ कहिल्यै ? तिमीजस्तो भद्दा जीउ र खस्रो पात हुनेसँग कसैले बिहे गर्न मरिहत्ते गर्दैन के ! खुच्चिङ !” पिपलले प्याच्च थुक्दै अर्कोतिर मुन्टो भाँची । आफैँ थकानले चुर भैरहेको वरको पिपलसँग जवाफसवाल गर्ने धैर्य हराउँदै थियो । ऊ पनि अर्कोतिर फर्कियो र दुवै हातले चिउँडी अड्याएर घोसेमुन्टो लगायो । जरा र जीउका करङहरु दुखेर होला, घरीघरी बरक्कबरक्क गरिरहेको दुखित वरलाई पिपलले फर्किएर हेर्न छाडिन । सोची, ‘उसले यो अपरिचित भूमिमा खानपिन पकाउन समर्थ छैन । केही दिनसम्म हावा र घामको मद्दतको सहायताले स्वास फेर्न पनि सक्नेछैन । बिचरोले आफ्नै ओइलाएको जरा, पात र जीउमा बाँकी रहेको हावापानी चुसेर प्राण अल्झाइरहेको होला । तन र मनको त्यो चरम दुखाइ कसरी सहिरहेको होला ? दुःखको गहिराइ बेहोर्नेलाई मात्र थाहा हुन्छ । ‘उसले केही वर्ष पहिले यस्तै पीडा भोगिसकेकी थिई । पिपलले वरको लागि आफूले गर्नसक्ने पनि केही थिएन । वर पन्ध्रबीस हात परै थियो, तसर्थ वरको कपाल मुसारिदिन न त उसका हाँगा वरसम्म पुग्थे, न त जरा नै । पिपल त्यस्तै सातआठ वर्षकी हुँदी हो, छसात हात अग्ली मात्र भएकी थिई । उसले गर्नसक्ने भनेको मीठो वचन र पातको सहायताले वरको जीउसम्म हावा चलाउनु थियो । अतः जन्मेदेखिको बल लगाएर आफ्नै श्वास तान्न थाली, त्यही श्वासलाई पात हल्लाएर वरसम्म पुर्\u200dयाउँदै शितलता दिने काममा जुटिरही । वरले अलिकति शान्तिको सास फेरेको चाल पाएपछि सक्दो कोमल र मीठो वचन बनाउँदै वरलाई बोलाई, “ए वर कान्छा, सुन त ?” वरले कानै फटफटाएन । “नरिसाऊ न त्यसरी । भेट भएकै दिन किन झगडा गर्न खोज्छौ ? ल ल यता फर्केऊ । मर्द त्यसरी रोएको सुहाउँदैन । आँशु पुछेर यता फर्क ।” “फर्किन्नँ म । अर्काको मुटु दुख्ने गरी तिमी जे पायो त्यही बोल्छ्यौ,” आँशु त बर्बर्ती झरेर थाम्ने मुश्किल भैरहेको बेला पिपलले मायालु स्वरले फकाउन थालेपछि आफूलाई थाम्नै सकेन । स्वर निकालेरै घुँक्कघुँक्क गर्न बाध्य भयो । “मैले के बोलेँ र त्यस्तो तिम्रो मुटु घोचिने गरी ? तिमीले नै यस्ती कालीसित बिहे गर्दिनँ भनी वचन लगायौ, अनि पो जवाफ फर्काएकी हुँ मैले ।” “अनि, थोरै मेरो बिहे गर्ने उमेर भाको छ त मोरी ? जम्मा सात वर्षको त भएँ नि म !” “अनि, मेरो भएको छ त बिहे गर्ने उमेर ? म पनि त यही वसन्तमा भर्खर सात पुगी आठ लाग्दै छु नि ।” “अनि, उस्सै किन जिस्क्याको त ?” रुन्चे हाँसो हाँस्यो वर । “मैले जिस्क्याको हो त ? मान्छेले कुरा गरेको सुनेर पो भनेकी मैले त !” “उसोभए अहिले यो उमेरमा हाम्रो बिहे हुँदैन त पिपलु कान्छी ? पक्का हो ?” “तिमीलाई म बच्चो भनौँ कि मुर्ख भनौँ ?” पेट मिचिमिची हाँस्न थाली पिपल। “ऊss ऊss हेर न फेरि होच्याउन थालेकी । आफू त कत्ति न वयस्क भएझैँ ! तिमीले यस्तैगरी गिज्याउन छोडिनौ भने म तिमीसँग मरिगए बोल्नेछैन ।” “नरिसाऊ न त्यसरी । तिमीलाई यति सामान्य कुरा पनि थाहा रहेनछ कि अहिले मात्र होइन तिम्रो र मेरो बिहे यो पृथ्वीलोकमा कहिल्यै पनि सम्भव छैन ।” “किन र ?” अचम्म मान्यो वरले । “तिम्रो जात वर हो । मेरो जात पिपल हो । प्राकृतिक नियम नै यस्तो छ कि वरको वरसँग मात्र बिहे सम्भव छ र पिपलको पिपलसँग मात्र सम्भव छ ।” पिपलको कुरा बल्ल बुझ्यो वरले । ऊ पनि गडगड हाँस्न थाल्यो । पिपल अरु हाँसी, खिरिलो खिलखिल हाँसो । कलिली सुन्दरीको यति मीठो हाँसोले मन्त्रमुग्ध हुँदै झन् गडगडाहट हाँस्यो वर । तिरिरिरिरी मुरली बजेसरि हाँसी पिपल । त्यो देखेर जन्मेदेखिको जोर चलाएर वर यसरी हाँस्न थाल्यो कि आफू उखेलिएको र नयाँ ठाउँमा गाडिएको दुखाइ सप्पै बिर्सियो, उखेलिएदेखिको भोकप्यास बिर्सियो । आफ्नो जन्मभूमि बिर्सियो । आफू कहाँ आइपुगेको छु भन्ने पनि बिर्सियो । आफूलाई समेत स्वाट्टै बिर्सियो । वरले उसको सप्पै दुखाइ बिर्सेको देखेर पिपलले पनि आफूलाई सर्लक्कै बिर्सिदिई । डाँडोको नेटोमा दुवैजना हल्लीहल्ली मस्कीमस्की हाँसिरहे । ००० करिब तीन महिनापछि । वरले बन्जर जमिनमा खुट्टा टेक्न सक्षम भैसकेको थियो । जमिनबाट खानपिन सोस्न सिक्दै थियो । पातबाट हावा र घामबाट स्वास फेर्न थालेको थियो । काप कापमा कलिला पात र काण्डका नयाँ मुना देखाउन थालेको थियो । उसले अब आफ्नो पहिलेको घाउ करिबकरिब बिर्सिसकेको थियो । कहिलेकाहीँ जराहरु ढुङ्गामा ठेस लाग्दा मात्र चसक्कचसक्क दुख्थ्यो । पिपलले पनि उसलाई सहज अवस्थामा ल्याउन जे गर्न सक्थी त्यो सबै गरी । शितल हावा हम्किएर । मीठो गीत सुसेलेर । वरकै अगाडि छमछम नाचिदिएर । वरले खुट्टा टेक्न र नयाँ वातावरणमा अभ्यस्त हुन सफल भैरहेको देखेर ऊ औधि खुशी भैरहेकी थिई । यस बीचमा दुवैले आआफ्नो जन्मघरको कुराहरु गरे । आफ्ना आमाबाको छेउमै जन्मिएर उनीहरुको छत्रछायाँमा हुर्किँदाबखतका अविस्मरणीय आनन्दका कुराहरु गरे । छरछिमेकहरुका बानीबेहोराका कुराहरु गरे । पिपल बेँसीको चौतारीबाट आइपुगेकी थिई । वर भने तराईतिरको जङ्गलबाट आइपुगेको रहेछ । वरपिपलका जन्मघरतिरका कुराहरु सुनेर वरिपरिका झारपात, बुटा, पोथ्रापोथ्री र रुखहरुले अच्चम्म मानिरहेका थिए । मान्छेहरु वर र पिपललाई पूजा गर्न बिहानबिहान झुम्मिन थालेका थिए । उसो त बढी पुजिनेमा पिपल नै थिई । उसको शरीरभरि मान्छेहरुले पानी, दूध, अक्षता र अबिर लतपत पार्थे । पानी पिउन पाउँदा त तिर्खाइरहेको पिपलको प्यास थोरै भए पनि मेटिन्थ्यो । चढाइएका फूल तथा अक्षताहरु केही कमिला चरा र अरु किटपतङ्गले बोकेर लैजान्थे, जीउभरि किटपतङ्ग रगरग घुमिरहँदा पिपललाई सिकसिक लाग्थ्यो । छोडिएका फलफूलहरु केही कुहिएर जमिनमा सोसिन्थ्यो । यसले भने खानपिन बनाउन पिपललाई फाइदै भैरहेको थियो । पिपलको तुलनामा वरले यस प्रकारको सजाय कमै खेपेको थियो । उसको जिउ पिपलको भन्दा बढी नै सफासुग्घर रहन गएकोले गहुँगोरो र खाइलाग्दो देखिन्थ्यो । पिपलको पालो पछाडि मान्छेको हातमा अबिर र मगजमा विवेक बच्यो भने वरले पनि अबिर घसाइमाग्थ्यो । जीउभरि अबिर पोतेको भने वर र पिपललाई पटक्कै मन पर्दैनथ्यो । अबिरले जीउ पोल्थ्यो । छाला खुइलिन्थ्यो । यस्तो नगर भनेर बुझाउन उनीहरुसँग मान्छेको भाषा र स्वर उपलब्ध थिएन । मान्छेहरुबाट आफूलाई जे प्राप्त हुन्थ्यो, त्यो उनीहरुले अक्सिजनमा परिवर्तन गरिदिन्थे र वर लगायत वरिपरिका वनस्पतिहरुलाई बाँडिदिन्थे । बचेखुचेको अक्सिजन कीटपतङ्ग र जीवजन्तुहरु झुम्मिएर लुटपात मच्चाउँथे । ००० वर र पिपल लगाइएका जमिन वरपर खनीखोस्री मान्छेले फराकिलो चौतारी बनाइसकेका थिए । एकदिनको बिहानैदेखि चौतारीमा मान्छेहरुको भिडभाड बढ्न थाल्यो । विभिन्न थालीहरुमा रङ्गीन जाले रुमालले छोपेर फलफूलहरु ल्याइएका थिए । शंखघण्टका चर्का ध्वनिहरु बजिरहेका थिए । बच्चादेखि वृद्धसम्मका मान्छेहरुको कोलाहल थियो । पञ्चेबाजा घन्किरहेका थिए । वर र पिपलको जरामाथि विभिन्न खानेकुरा पाक्न थालेकोले आगोको धुवाँले कुइरीमण्डल थियो । पण्डितहरुले मन्त्र पाठ गर्न थाले । वर र पिपल जोडिने गरी दर्जनौँ तोरणहरु बाँधिए । तोरणमा दुबोपाती र फूलहरु उइनिए । वातावरण झकिझकाउ हुँदै गएको थियो । “के भैरहेछ आज ? मान्छेले त उत्पातै मच्चाउन थालेको जस्तो पो छ त !” वरले पिपलसँग संशय पोख्यो । “मैले पहिलो दिन नै भनेकी थिइनँ ? बिर्सियौ तिमीले ? आज यिनीहरुले तिम्रो र मेरो बिहे गरिदिँदै छन् !” “हाम्रो बिहे ?” लामो लेब्रो तान्यो वरले । “बिहे भन्नेबित्तिकै किन त्यसरी तर्सिएको ? यो त मान्छेको नजर र विश्वासमा मात्र बिहे हो । थोरै हामीले चाहेको बिहे हो र ?” “तर, संस्कार र विधि पूरा गरेर गरिदिँदैछन् यो बिहे त !” “हामी वनस्पतिको संस्कार र विधिअनुसारको थोरै हो र यो ? हाम्रो विधि र संस्कार के हो भन्ने बुझेको छ र मानव जगतले ?” पिपलको तार्किक कुराले वरको चित्त बुझ्यो र मरीमरी हाँस्न थाल्यो । वर हाँसेको देखेर पिपलले पनि हाँसो थाम्न सकिन । उता मान्छेले आफ्नो विधि पूरा गरी वर र पिपलको बिहे सम्पन्न गरिदिए । वरका हाँगा भाँचेर पिपलमा जोडिदिए । पिपलका पातहरु निमोठेर वरका पातमा खुन्टिदिए । वरको हाँगाले पिपलको जीउमा सिन्दुर दलिदिए । शंख फुकियो । दमाहाहरु बजाइयो । सो उपलक्ष्यमा भव्य भोजको आयोजना गरियो । मान्छेको अद्भूत क्रियाकलाप देखेर चौतारी वरपरका अरु वनस्पतिहरु ट्वाल्ल परेर हेरिरहे । भोजको गन्धले कीटपतङ्ग र चराचुरीहरु पनि वरिपरि झुम्मिइरहेका थिए । सिन्दुरले पूरै जिउ भतभती पोलिरहेकोले पिपल दुखित हुँदै जीउ कन्याइरहेको हृदयविदारक अवस्था सजल नेत्रले टुलुटुलु हेर्दै वरले भन्योः “माफ गर, तिम्रो यति सारो दुःखमा पनि मैले कुनै सहयोग गर्न सकिनँ ।” ००० वरपिपलको बिहेपछि बिहानबिहान पूजा गर्न आउने मान्छेहरु उल्लेख्य बढ्न थाले । जल र फलफूलको साथै अबिरको धुलो घसाउने कार्यमा उल्लेख्य वृद्धि हुँदै गयो । पिपलको जरा समेत खुन्टिएर धुपबत्ती जल्न थाले । हाँगाबिँगा र पातहरुमा डोरीहरुले टनक्कै कसिन थाले । यसले पिपललाई असह्य त हुन्थ्यो तर वरको अगाडि दुखेको प्रकट गर्न सक्दैनथी । पिपलको पूजा गर्न आउनेमध्येका कसै कसैले वरको पनि पूजा गर्दथ्यो । वरले पनि अबिर घसाइमाग्थ्यो र धुप चढाइमाग्थ्यो । यसबेला दुखाइ सहन नसकी बरक्क बर्कन्थ्यो तर ऐया स्वर भने निकाल्न सक्दैनथ्यो । किनकि उसलाई पिपलले गिज्याउली भन्ने डर थियो । हुन पनि धेरै दुःखहरु त पिपलले नै सहिरहेकी थिई, पिपलको लेखा त आफ्नो दुखाइ केही थिएन । “त्यसरी मान्छेको मुर्ख बन्धनमा परेकी छ्यौ ! बन्धनमुक्त हुन छटपटाइरहेकी हौली ! तिम्रो त्यो अवस्थाले मेरो मन दुखाएको छ ।” “त्यसरी मन दुखेको भए आएर बन्धन खोल्दिए भैहाल्यो त !” पिपलले ओठ लेप्राउँदै वरलाई छेड हानी । “म चलमल गर्न अभिशप्त छु । के गरुँ टुलुटुलु हेर्न विवश छु । हात पुग्दैन, लौरी छैन पहरामा दुःख छ ।” “ज्यानलाई आफ्नो अवस्थाको जानकारी राम्रै रहेछ त ! किन चेपारे पार्नुपरेको त ?” पिपलले आँखा तरी । “के गर्नु त, तिमीले मलाई यो बन्जर जमिनमा जरा टेकाउन कम्ति ज्यान अर्पिएकी छ्यौ ? त्यो त यही ज्यानलाई मात्र थाहा छ ।” “दुःखमा दुखेको कुरा गरिरहँदा झनै घाउ दुख्न जान्छ । केही गर्न नसकेपछि नदेखेझैँ हुनुपर्छ ।” “चित्तले मान्दैन, के गरुँ ?” “जबर्जस्ती मनाउँदै जानुपर्छऽ” बन्धनयुक्त पिपलले नै वरलाई सन्त्याउन कोसिस गरी । ००० यसरी नै वर र पिपलको भेट भएको दुई वर्ष नाघिसकेको थियो । उनीहरु बढ्न प्रतिष्पर्धा गरिरहेका थिए । वरले त आफूलाई मजबुत तुल्याउन हाँगाबिँगाहरुबाट समेत कैयौँ जराहरु निकालेर भुइँमा टेकाउँदै थियो । “मैले त आज अर्को अग्लो पहाड देखेँ,” एक हात बढेपछि पिपलले भन्थी । वरलाई पनि त्यो पहाड हेर्न मन लाग्थ्यो र भोलिपल्ट दुईहात बढ्दै वर भन्थ्यो, “मैले पनि तिमीले हिजै देखेको त्यो पहाड आज देखेँ । बरु तिमीले नदेखेको उपत्यका पनि देखेँ मैले त ।” यसै तरहले पिपल अरु बढ्थी र आफूले देखेको नदीको गहिराइ र लम्बाइको बयान गर्थी । वर अरु बढ्थ्यो र आकाशको रङ र चौडाइको बखान गर्थ्यो । यसरी नै उनीहरुले नेटोको घामपानी, सिरेठो र हुरीले बल्झाइदिएका दुःखहरु भुल्दै गएका थिए । अब वर र पिपलका हाँगाहरुमा चराहरु आएर गीत गाउन र नाच्न थालिसकेका थिए । उनीहरुको छायाँ चौतारीको परपरसम्म फैलँदै गइरहेको थियो । थकित बटुवाहरु उकालो चढिसकेपछि उनीहरुको काखमा आएर थपक्क बसिदिन्थे र पसिना ओभाउँथे । कहिलेकाहीँ मायालु जोडी आइपुग्थे र पिरतीका सुनूँसुनूँ लाग्ने मीठा बातचित गर्थे । बच्चाहरु आउँथे र वरपिपलको वरिपरि लुकामारी खेल्थे । आफ्नो काखको आश्रय लिएर मान्छेले आफ्ना सबै दुःख बिर्सँदै सन्तोषको सास फेरेको देखी वरपिपल औधि खुशी हुन्थे । वरपिपल मान्छेको क्रियाकलाप हेरिरहन्थे र गफगाफ चुपचाप सुनिरहन्थे । उनीहरुलाई त मान्छेहरुलाई छहारी दिनसकेकोमा घोर सन्तुष्टि पैदा हुन जान्थ्यो । बदलामा जन्मेदेखिको बल लगाएर शितलता छरिदिन्थे । वरपिपललाई लाग्थ्यो कि यी मान्छेहरु बेलुकापख आफ्नो घरमा फर्कनुभन्दा एकरात यतै बास बसे पनि कति हुँदो हो ! अर्को दिन वर अझै अग्लो भयो । फलस्वरुप मन्टो तानीतानी परपरसम्म हेर्\u200dयो । जब कुनै कुरामा उसका आँखा ठोक्कियो । ऊ झस्कियो । झस्कनु के थियो । बलिन्द्रधारा आँशु बगाउन थाल्यो । “किन रोएको त्यसरी ? के देख्यौ र ?” पिपल आशंकित हुँदै सोधी । “मेरी आमालाई देखेँ,” वरले आफूलाई थाम्न सकेन । क्वाँ क्वाँ रुन थाल्यो । “हँ ? धत् लाटा, जन्म दिने आमालाई देख्नु त भाग्य पो हो त रुन्चे कहीँको ? हाँस बरु ।” “कसरी हाँसूँ म ? कुरै नबुझी त्यत्तिकै बहकिन्छ्यौ तिमी पनि !” हिक्क हिक्क गर्दै बोल्यो वर । “किन र ?” “मेरी आमाको हातखुट्टा सबै काटिदिएछन् मान्छेहरुले । उनी वेदनाले छटपटाइरहेकी थिइन् । मेरी आमाको त्यो अवस्था देखेर कसरी सहूँ म ? म त्यहाँ पुगेर मलहम पनि लगाउन सक्दिनँ ! मूर्ख मान्छेसँग प्रतिशोध पनि लिन सक्दिनँ ! हरे कस्तो भाग्य मेरो ?” वर छाति पिटिपिटी आलापविलाप गर्न थाल्यो । “छोड्देऊ तिम्रो यो नाटक ! मैले नभनेर मात्र हो, मसँग झन् दुःखको भारी कति छ ! मलाई हेर यता !” वरले पिपलले औँल्याएको दिशातिर हेर्\u200dयो । पिपल भन्दै गई, “ऊss तलको त्यो चौतारीमा मेरी आमालाई मैले दिनहुँ देखिरहेकी हुन्छु । तर कस्तो अवस्थामा ? थाहा छ ? उनका पातहरु टिपेर पूजाको स्वार्थ पूरा गर्ने उद्देश्यले मान्छे हाँगाबिँगा लुछिरहेका हुन्छन् । परपर फैलिएका उनका हातखुट्टाहरु अग्गअग्ग पारेर काटिरहेका हुन्छन् । एकदिन होइन, दुईदिन होइन, दिनहुँ । मैले कहिले गुनासो गरेँ तिमीसित ? मलाई पनि कति असह्य हुँदो हो त्यो हृयदविदारक दृश्य देख्दा !” पिपलले आँखाको कोष-कोषमा आँशु उमारी । “हरे कस्तो ढुङ्गाको रैछ तिम्रो मन पनि ! आखिर किन सहन्छ्यौ तिमी ? केही गर्न नसके पनि हामी उनीहरुका सुखदुःखका कुरा गर्न त सक्छौँ, कुरा गरेर हाँसो वा रोदनको संवेदना पोख्न त सक्छौँ । दुःखको भारी घोप्ट्याएर आफूलाई हल्का पार्न त सक्छौँ ।” पिपल गम्भीर बन्दै भनी, “किनकि त्यो पीडा हामी स्वयंले पनि बेहोर्नुछ । ढुङ्गाको मन नपारे आफूलाई पर्दा कसरी सहुँला हामीहरुले ?” पिपलको जवाफले वर विलखबन्द परेर पिपललाई क्वार्क्वार्ती हेरिरह्यो । ००० त्यसको भोलिपल्ट नै केही मान्छेहरु डोरी र खुकुरीहरु बोकेर चौतारीमा झुल्किए । उनीहरुको कुराबाट वरले बुझ्यो कि एउटा ठूलै पूजाको लागि पिपलको पात नभई नहुने रहेछ । पिपलको सुलुत्त परेको शरीरलाई एकपटक नियालेपछि तिनीहरु खुकुरी कम्मरमा स्यूरेर पिपलको रुखमा चढे । उनीहरुको चालामाला देखेर वर बेसरी झस्कियो । उनीहरुले पिपलको मोटो हाँगामा अडेस लागेर सानासाना हाँगाबिँगाहरु लुछ्न थाले । वर चिच्यायो, “छोड्देऊ मेरी पिपलुलाई ! नकाट ! नमार त्यसलाई त्यसरी ! बरु मलाई मार तिमीहरु ! बिन्ति छ, तिमीहरु त्यसो नगर !” वरको विलाप बुझे पो मान्छेले ! उनीहरु एकध्यान भएर आफ्नो स्वार्थ पूरा नहोउन्जेल पिपलको जोवनउपर लुटपाट मच्चाइ नै रहे । वरले हारगुहार गर्यो, वरिपरिका झारपातलाई, पोथ्रापोथ्रीसँग, रुखहरुसँग, चराचुरुङ्गीसँग । सबैले अमूक भएर हेरिरहे । सङ्गै हुर्किएको वर स्वयंले नै पिपलुका लागि केही गर्न नसकेको अवस्थामा अरु झिनामसिना रुखपातले के सहयोग गर्थे ? चिच्याउँदा चिच्याउँदा वरको घाँटी नै सुकिसकेको थियो । मान्छेले पिपलको आधा वस्त्र उतारेपछि बल्ल छोडिदिए । जीउको दुखाई असह्य छँदै थियो, वरिपरिका वनस्पतिको अगाडि नाङ्गिनुपर्दा लज्जाबोधले पिपल मुर्झाएर बसी । “सुन त ?” वरले फकाउन खोज्यो । “किन ? ” नाङ्गा हातहरुले वक्षस्थल ढाक्दै कर्के चिहाई पिपलले । “तिम्रो त्यस्तो अवस्थामा पनि म टुलुटुलु हेरेर बस्नुपर्\u200dयो । मलाई माफ गरिदेऊ है ?” “हुन्देऊ । तिमीलाई मान्छेहरुले यसरी नै लुछे भने म पनि के नै गर्नसक्नेछु र ? हेर न ऊ त्यताको घाँसपात, तिनीहरु महिनौँ लुटिइरहेका छन् । ऊ तिनी सल्लाका पोथ्राहरु हेर, कलिलै उमेरदेखि दाउराको लोभले काटिइरहेका छन्, जन्मँदै मारिइरहेका छन् । कुनै वनस्पति मान्छेको लागि नचाहिने भन्दै उखेलिएका छन्, कुनै वनस्पति चाहिने भन्दै उखेलिएका छन् । केही गर्न सक्यौँ हामीले ? मेरो यो पीडा त्यसैको बदला सम्झ । हुन्देऊ ।” त्यस दिनपछि पिपलको हाँगा र पात लुछ्नेको संख्या झनै बढेर गयो । गोर्\u200dयानमा पिपलको पूजा हुन्थ्यो भने शिरानमा लुटपाट । पिपल दिनहुँ पलाइरही, मान्छेले उसका पात र हाँगा भाँची नै रहे । मान्छेले नबुझ्ने भाषाको माध्यमले वरले गरेको प्रतिरोधका बाबजुद पनि शीरबाहेक अरु सबै लुछेर मान्छेले पिपललाई नाङ्गै तुल्याइदिए । त्यही वर्ष उन्मत्त बैँस भरिएपछि वर लटरम्म फल्यो । पिपल भने थोरै मात्र फली । जवानीमा फुल्ने फल्ने खालका मुनाहरु नै कहाँ बाँकी थिए र पिपलसँग ? “असत्ती मान्छेको जातले गर्दा, कठै, तिमी त यो बैँसमा राम्रोसँग फल्न पनि सकिनौ,” वरले आँशु झार्\u200dयो । “हामी फलेर पनि के काम ? हामी आफ्नै फल आफैँ उपभोग गर्नसम्म पाउँदैनौँ भने ? हाम्रा फलहरु त मान्छेले त्यति मन पराउँदैनन् र हाम्रो छातिभरि नै रहन्छन् । हेर त केराका बोटहरु, सुन्तला र स्याउका बोटहरु । ती बोटले आफ्नो जीउमा फलाएका लटरम्म मीठा फलहरु कहिल्यै आफैँले चाख्न पाएका छन् ?” पिपलले पेश गरेका उदाहरणहरु वरले बुझ्यो र मन हल्का तुल्यायो । अनुहार थोरै उज्यालो तुल्यायो । ००० समय बग्दै गयो । चराहरुले विभिन्न ठाउँमा रहेका पिपल र वरको पराग यताको उता उताको यता पारिदिए । फलस्वरुप वर र पिपलको आआफ्नै जातिको बीउमा परागसेचन सम्पन्न भयो । केही महिनापछि वर र पिपल दुवैले आफ्नो काखमै आफ्ना एकएक सन्तान जन्मिएको पाए । जसले गर्दा उनीहरुको हर्षको सीमा नै रहेन । सन्तान आआफ्नै भए पनि जुम्ल्याहा जस्तै थिए । आआफ्ना बच्चाहरुलाई सकभर आफ्नो छायाँभन्दा बाहिर नपर्ने गरी बडो जतनसाथ हुर्काउन थाले । एक वर्षको के पुगेका थिए मान्छेको नजर पिपलको सन्तानमा परिहाल्यो । मान्छेले कुटोकोदालो ल्याएर पिपलको बेर्नोलाई बलजफ्ती उखेल्न थाले । पिपलको सन्तान उखेलिन थालेपछि वर अत्तालिन थाल्यो । हारगुहार गर्न थाल्यो । पिपललाई नै गाली गर्न थाल्यो, “आफ्नो प्राणभन्दा प्यारो सन्तानलाई किन देखी देखी उखेल्न दिइस् ?” पिपल भने मुटुबाट उर्लिएको आँशुको भेललाई आँखासम्म उत्रन नदिएर नीच मारेर बसी । वेदना भित्रभित्रै पिएर बसी । बरू प्रार्थना गरी, “मेरो सन्तानले अर्को डाँडा ढाकोस् । त्यहाँ वरपरका जीवजन्तुलाई शितलता प्रदान गरोस् !” अर्को हप्ता वरको सन्तानमा पनि मान्छेको नजर परिहाल्यो र पिपलको सन्तान उखेले जसरी नै उनीहरुले कुटोकोदालो प्रयोग गर्दै वरको दूधे बेर्नो उखेल्न थाले । त्यो देखेर वर अत्तालियो । पिपलसँग सहयोग माग्यो, अरु भएभरका वनस्पति र जीवजन्तुसँग पनि हार गुहार गर्\u200dयो । सबैले टुलुटुलु हेरिरहे । सबै आआफ्नै ठाउँमा उभिन अभिशप्त थिए । कोही पनि डेग चल्ने सकनेनन् । वर आफैँलाई धिक्कार्दै आलापविलाप गर्न थाल्यो । पिपलले वरलाई सम्झाई, “हुन्देऊ । प्रकृतिको रीत नै यस्तै छ हामी रोईकराई केही हुने वाला छैन । बरु उखेलिएको सन्तानलाई आशिष देऊ कि उसले संघर्ष गर्न सिकेस् । जस्तै दुःखमा पनि हरेस नखाएस् । डाँडाकाँडा ढाकेस् ।” वरले पिपलका पाल्सी कुरा सुन्नै चाहेन । ऊ आलापविलाप गर्दागर्दा इन्तु न चिन्तु भइरहेको थियो । ००० महिना दिनसम्म सन्तान गुमाउनुको वेदनाले वर छटपटाइरह्यो । पिपलसँग मनको बह पोख्न पनि छोडिदियो । पिपलले वरलाई फकाउन सम्झाउन अनेक प्रयत्न गर्दा पनि विफल भैरहेकी थिई । पिपलले वरलाई बोलाई, “ए वर कान्छु, सुन त !” वर झोक्राइ नै रह्यो । पिपलको कुरा सुनेको नसुन्यै गरिरह्यो । “मतिर हेर भनेको होइन के ! उता हेर त, उता !” पिपलले कर गरिरही । के रहेछ भन्दै पिपलले औँल्याएतिर वरले हेर्\u200dयो । कुनै मान्छे त्यहाँ हलचल नगरी ठिङ्ग उभिइरहेको थियो । “राक्षस कहीँको ! तिमीले भगवान् ठानेको त यो त हाम्रो काल रहेछ । सन्तानलाई त लुछलाछ पारेर लगिदियो, अब उसले मारोस् मलाई पनि के फरक पर्छ र ?” वर जिद्दीवाल थियो । “उसको हातमा कुनै हतियार बाँकी भए पो तिमीजस्तो अजङ्गको रुखलाई मास्न सक्छ ! ऊ त अब अस्त्रविहीन भैसक्यो ।” पिपलले वरसामू रहस्य पेश गरी । “यो मान्छे अस्त्रविहीन कहिल्यै हुँदैन । उसोभए बेला न कुबेला के खान उभिएको त त्यो त्यसरी ?” मानव आकृतिलाई नै खाउँला जसरी लाललाल नेत्र बनाउँदै वरले हेर्\u200dयो । पिपलले खितखित हाँस्दै भनी, “ऊ त अब हावा, घामपानी र माटोको आधारमा मात्र बाँच्ने हामीजस्तै स्थिर रुख भइसक्यो ।” “कसरी ?” कुरा बुझेन वरले र पिपलसँग जिज्ञासासूचक आँखाले सोध्यो । “ऊ अब कतै पनि हलचल गर्न सक्तैन । एउटा महामारीले गर्दा ऊ हरेक भोज्य चिजसँग डराउँदै भोकै हिँडिरहेको छ । ऊ समाज त के आफ्नै परिवार र आफ्नै सन्तानदेखि पनि डराउँदै हिँडिरहेको छ । देखेकै छौ नि, त्यो पूजा गर्न समेत चौतारीमा नआएको पनि कति दिन भैसक्यो । देशदेशावर उत्पात मच्चाउँदै हिड्ने उसका चञ्चल खुट्टाहरु नचल्ने भैसके । उसका निर्बाध उड्ने पखेटाहरु काटिइसके । उसले ठड्याएका भवनहरु रुखसरह जर्जर भैसके । आफूलाई अझै सुविधा र शक्तिसम्पन्न तुल्याउन उसले गरेका सबै नवीनतम् आविष्कारहरु बिस्तारै स्थिरोन्मुख छन् । उसले ठड्याएका विभेदका पर्खालहरु पनि ऊ स्वयंको लागि पर्खाल भैसके । उसले सिर्जना गरेका पिछलग्गू र सहयोगीहरु उसकै मद्दतको लागि अघि बढ्न सक्दैनन् । उसका देखावटी संस्कारहरु सबै स्थिर भैसके । अरु त अरु आफ्नो अन्त्य हुँदा पनि उसका निकटतम् आफन्तहरु पनि संवेदना प्रकट गर्न उसको अगाडि उपस्थित हुन सक्दैनन् । ऊ नितान्त एक्लो भैसक्यो । दुरुस्तै घनाजङ्गलको अन्धकार बीचको एउटा वनस्पतिजस्तै । हामी वनस्पति जगतको लागि अविवेकी पहिल्यै थियो, अब विवेकशून्य भैसक्यो । मानवीयता मरेर संवेदनाहीन स्थिर वनस्पतितुल्य बाँचिरहेको छ । दुरुस्त तिमी र म जस्तै । जसरी हामी नजिक हुँदाहुँदै पनि नभएसरि छौँ, त्यस्तै त्यो मान्छे नामको प्राणी पनि हाम्रो अगाडि हुँदाहुँदै पनि नभएतुल्य भैसक्यो । उसलाई गाली गर्नु वा माया गर्नुको कुनै अर्थ छैन । तर अझै उसको छातिभित्र संवेदना सुषुप्त अवस्थामा छ । हाम्रो संवेदना भनेको पानी मनतातो पारे झैँ हो, जो एकैछिनमा चिसो भैहाल्छ, उसको संवेदना तेल उमालेसरि हाम्रोभन्दा हजारौँ गुणा तप्त छ । त्यही भकभकी उम्लिरहेको संवेदनाको कराइमा चुर्लुम्म डुबेर असह्य पोलाइमा छटपटिँदै ऊ अद्यापि बाँचिरहेको छ । पिपलले छाँटेको दर्शनले वरलाई पीरको गहिराईबाट माथि उतार्न सहयोग गर्\u200dयो । तैपनि संदिग्ध हुँदै वरले सोध्योः “त्यसरी पनि बाँच्न सकिन्छ र ?” “सकिँदोरहेछ त ! त्यसरी मान्छेलाई बचाउन उसको छातिभित्र आशा नामको अजम्मरी त्यान्द्रो छ । अजम्मरी भन्नाले मान्छेले अन्तिम श्वास फेर्दासम्म पनि उसभित्रको आशाको दियो जसोतसो धिपधिप बलिरहन्छ, जसले मान्छेलाई ऊर्जा दिएर बचाइरहेको हुन्छ ।” पिपलले अरु दर्शन थपी । उसलाई यी कुरामा विश्वास पटक्कै थिएन तथापि वरलाई फकाउन, सम्झाउन र यथाअवस्थामा ल्याइपुर्\u200dयाउनको लागि कथा बुन्नु नै थियो । वरले यस्तो ठान्यो कि आफूले लिन नसकेको प्रतिशोध प्रकृतिले नै मान्छेसँग असूलउपर गर्दैछ । वर अब पिपलको कुराले पूर्ण सन्तुष्ट देखियो । वरमा पलाएको सन्तोष देखेर पिपल पनि सन्तोषले पल्लवित भई । ००० अँध्यारो हुँदै थियो । वरपिपलले घाम छँदै बेलुकाको खानपिनको काम सकिसकेका थिए । ती सहयात्रीबीच राम्रोसँग कुराकानी हुन नपाएको महिनादिन भैसकेको थियो । उनीहरु अब साविककै जस्तै हल्लिँदै, रल्लिँदै र मस्किँदै मनोभावना साट्नमा डुब्दै गए । वरपिपल कुरामै मस्त थिए । स्थिर मान्छेको पछिल्तिरबाट हातमा एकएकवटा खुकुरी भिरेका अस्थिर मान्छेहरुको एउटा जुलुस नै निस्कियो । त्यो समूह चौतारीतिर लम्कियो । उनीहरुको रात परेपछिको चालामाला देखेर वर र पिपल सतर्क भए । ती मान्छेहरु चौतारीमा नअडिएर वर र पिपलका रुखमा धमाधम चढ्न थाले । वर र पिपलले तर्सिँदै एकअर्कालाई हेरे मात्र । मान्छेहरुले वर र पिपलको जीउबाट एकएक पातरुपी वस्त्रहरु उतार्न थाले । पातहरु टिपिसकेपछि भुइँमा ओर्लिए र चौतारीमाथि ती पातहरु बिछ्याएर ओछ्यान बनाए । केही पातहरु जीउ ढाक्ने स्याउलो बनाए । किंकर्तव्यविमूढ वरपिपलले आँखाको भाषाले नै आआफ्नो वेदना साटासाट गरे । मान्छेहरु वर र पिपलको रुखमा फेरि चढे । मोटामोटा हाङ्गाबिङ्गाहरु छानी छानी खुकुरीले रेट्न थाले । वर र पिपललाई ऐया आत्थु गरेर एकअर्कालाई गुहार्नु बेकार थियो । दुवैको घाउ बराबर थियो । दुवैको दुखाइ उस्तै थियो । दुवैको भोगाइ एउटै थियो । मान्छेहरुले ती हाँगाबिँगाको एकएकवटा कटेराको खाँबो बनाए, डाँडाभाटाहरु बनाए । घसेटा र पातपतिङ्गरले छानो छाए । वर र पिपलको गिँड मात्र बाँकी रहेको थियो । उनीहरु फेरि ती गिँडतिर लम्किएर अन्धाधुन्ध बोक्रा ताछ्न थाले । धेरै दिनसम्म भोका रहेका मान्छेहरुले वरपिपलका बोक्राहरु अघाउन्जेल बुत्याउन थाले । अघाइसकेपछि बाँकी रहेको वरपिपलका कङ्काल र जरा समेत गिँडेर आफ्नो न्यानोको लागि आगो सल्काएर ताप्न थाले । जीउको केही भाग बिनसित्ती पोलिइरहेको र बाँकी भागले मान्छेको ओतको लागि डाँडाभाटा बन्न पुगेको आफ्नो जीवनलीलाप्रति धिक्कार्दै वरले अन्तिम स्वास फेर्न थाल्यो । पिपलले वरलाई सम्झाउन छोडिन, “केही छैन । अब हामी अझै नजिक भएका छौँ । एकअर्कालाई छुने अवसर पाएका छौँ । खरानी भएर भए पनि एकअर्कामा मिसिन पाएका छौँ । यही नै हाम्रो प्रेमको उपलब्धि भयो । हामी एकाकार भएर यिनीहरुलाई अन्तिमसम्म बचाउन योगदान गर्\u200dयौँ । यो कुरा यिनीहरुका बचेका सन्ततिले बुझून् ।” यति भनेर पिपल पनि वरसँगै बेरिएर चीर निद्रामा निदाउन पुगी । #पूर्ण ओली #प्रकृति
बजेटको भारी: बजेटको भारी बोकेर उकालो चढ्दाचढ्दै खुट्टामा कैँडा लागेपछि खुट्टा तन्काएको हुँ कहिल्यै नखुम्चने गरी अगेनोमा ढुंगा पोलिरहेकी श्रीमती ढुंगा पाक्ला र खाउँला भनेर कुरिरहेका छोराछोरी अनि छिमेकीको लागि बोकेको आफूभन्दा बढी तौलको बजेटको भारी सम्झिएपछि सुस्केरा हाल्दै आँखा चिम्लिएको हुँ कहिल्यै नखुल्ने गरी हावाजस्तै बगेको जिन्दगी एक मिटरको दुरीमा बाँधिएपछि सुकेको पेट पनि फुकेको हो त्यही हावा भरिएर कहिल्यै नहट्ने गरी ओथारो बसेको गरिबीलाई बजेटको भारी बोकेर धकेल्दाधकेल्दै थकित बनेको अनिदो जिन्दगीमा अलिकति विश्राम खोज्दै पसारिएको हुँ कहिल्यै नउठ्ने गरी। #उषा आचार्य #बजेट
गतिहीन: कर्तव्यको तरवारले रेटिदा रेटिदै धुजा धुजा भएको तिम्रो कलेजोमा । अभाव र पीडाले जीर्ण भएको तिम्रो छातीमा बर्षातको भेलले पाँगो छोडेपछि गाँजिएको धानझैँ तिम्रो पोल्टाभरी खुसीको पाँगो छोड्ने अनि स्नेहको मलम लगाउने कत्रो सपना मेरो । तर म आज आफैँ गतिहीन भएको छु हो गतिहीन भएको छु म आज आफैँ । पुषको चिसोले चिरिएका तिम्रा कुर्कुच्चा अनि वनमाराको झिक्राले कोइचो परेको तिम्रो चोलोको प्वालमा प्रेमले चिउरी दल्ने अनि ममताको टालो टाल्ने कति प्रयत्न मेरो तर आज आफँै गतिहीन भएको छु । हर यात्रा जीवनको हरेक मोडमा दुःखको झरीले तिमीलाई नरुझाओस् भनी तिम्रो टाउकोमाथि हत्केलाले कयौँ झरी ओत्ने प्रयास पनि नगरेको कहाँ हुँ र मैले तर म आज आफैँ गतिहीन भएको छु । सारका सारा चाहना सपना, यत्न, प्रयत्नलाई थाँती राखी कैदी बस्नु परेको छ आज मैले अपराध बिनाको कैदी आज एक धस्रो प्राणको लागि मेरो बगानमा मौलाउँदा आँकुरा जसको सुरक्षाको कैदी । आज आफैँमा फाट्नु अनि आफैँमा सिइनु जिन्दगी भएको छ तिमीलाई थाहा छ है ? हाम्रो बैठक कोठाको भित्ते घडी हिँडिरहन्छ सधैँ नरोकिएर टक टक टक टक टक आफ्नै गतिबाट गतिहीन भएको म यदि निष्प्राण भएँ भने ? तिमी जीवनको बाटोमा नरोकिएर हिँडिरहनू, हिँडिरहनू, हिँडिरहनू है ? #गतिहीन
मार्गशदर्शक म आफैँ: आफैँ गुरु, आफैँ चेला अझ अन्यौलताको बेला यस्तै हुन्छ यहाँ सिकन्दरको जिन्दगी हो जितको भेला ।। उठेको, बसेको, रोएको, हाँसेको सुनेको, बोलेको, गाएको, नाचेको एक्लै–बेग्लै बन्दैछ जिन्दगी अर्थ हो यो नमरी बाँचेको पिएको, खाएको सबैसंग प्रेम लाएको हरको, जितको, सारको जिन्दगी जबरजस्ती बनाउनुछ यसलाई उपहारको प्रितको खोलाको, पहाडको जैविक अवयवको समस्टिभरि लैजानुछ जीवनरथ यात्रामा अनौठो, परिपक्व, शिथिल आफैँ चलेको, आफैँ फलेको गलेको, टहलिएको अचम्मको मुठी भएको जिन्दगी आशा लिएको भरोसा भाँचिएको प्वाँखविहीन चरोजस्तो सबलाङ्ग जिन्दगी सङ्ग्रहालयमा कैद गर्न सुहाउने,अचम्मित मार्गदशर्क म आफ्नै, स्वयं मपाईंको #सुशान्त कुमार बिके
अँध्यारो बस्तीको संगीत\xa0: त्यो दुर्गमको अँध्यारो बस्तीमा एक मुठ्ठी घाम पसोस् जहाँ, जूनले सधैँ गिज्याइरहन्छ अगुल्टोको झिल्कोले घामको झल्को मेटिन्छ छानोको पारदर्शितामा उनीहरुको नग्नता हाँसिरहेछ। मैले महसुस गर्ने यी सुस्केराहरु परको सल्लाहले सधैँ सुसाउँछ बर्कोले नछोपिएका उनीहरुका शरीर पानी र हावाले सिधै स्पर्श गरेर जान्छ तर घाम !! उसले कहिल्यै चिहाएन। नदीलाई त त्यो बस्तीमा अनाधिकृत पसेर ताण्डव मच्चाउन छुट छ बाँकी केही अवशेषहरुलाई पनि आँधिले लछारपछार पार्ने छुट छ ए साथी! हेर त! यहाँ लाग्ने घाम कतै बादलतिर लुक्यो कि हेर्नेहरुका आँखालाई घामैले पो छेक्यो कि हरेकलाई थाहा छ हिउँमा पनि आगो पोखिन सक्छ हुरीको थप्पडले ढलमलाउँदै बढेका पाइलाहरुले सिङ्गो घाम अँगालेर बसेकाहरुलाई घृणाको आगोले सल्काउन सक्छ खाली पेटको सुसेलीलाई सुन बहिरोको नाटक नगर केही घाम केही जून ती बस्तीमा आउन देऊ। उनीहरुका बस्ती कोलाहलले नभासियोस् सपना र आकांक्षाहरुको पहाड फोडेर बगेको आँसुले नूनको प्यास मेट्न पर्यो भने नुनिलो पसिनाको भेलले झलमल तिम्रो सहरलाई एकैपटक बगाउन पनि सक्छ घामले पोलेर आँखा चिम्लनु अगाडि, अलिकति घाम यो अँध्यारो बस्तीमा छिर्न देऊ । हैन भने यसै बस्तीभित्र उब्जिएका जोसिला रगतले जीवन्त अक्षरहरु जन्माई अँध्यारोलाई फाल्न सबैलाई एकैचोटी बिउँझाउन सक्छन् र तिम्रो सिंगो सूर्येलाई हत्केलाले छेकिदिन सक्छन् त्यसैले त्यो अँध्यारो बस्तीको सुसेलीलाई पनि मीठो राष्ट्रिय गीतमा सुर मिलाई देऊ ताकि सबैलाई बिउँझाउने संगीत बनिदियोस् सबैलाई बराबर उज्यालो दिने सूर्य भैदियोस्। #अँध्यारो बस्ती #गंगा खड्का
उत्कृष्ट फोटो कविता प्रतियोगिता-२ छानियो: साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो-कविता आह्वान गरिएकाेमा याे साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट चयन गरेको छ । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरू मध्येबाट सर्वोत्कृष्ट कविताहरू चयन गरेको हो । यस पटक पनि नियमविपरीत कयौँ काव्य सिर्जना प्राप्त भएका थिए । नियमविपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश गरिएको थिएन । नियम र रीत पुर्याई प्राप्त भएका रचनामध्येबाट तीन कविताहरू छनोट गरिएको साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले जनाएका छन् । राम्रामध्येका सबैभन्दा राम्रा कविताहरूको छनोट ज्यादै दुरूह भएकाले यस पटक सर्वोत्कृष्ट तीन छनोट गरिएको छ । ‘नियमअनुसार हामीले तीन वटा मात्र छान्न सक्थ्यौँ । यहाँ छानिएका सबै कविता सर्वोत्कृष्ट हुन् ।’ कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरिएको निर्णायक मण्डलले बताएकाे छ । सबै उत्कृष्ट भएकाले यसाे गरिएकाे निर्णायक मण्डलले जनाएकाे छ । याे साता राजती शर्मा काफ्लेको ‘आँशु’, शितल उपाध्यायको ‘अपाङ्गता र जीवन’ र प्रवासी सुमनको ‘रङ्गीन सहरका श्यामश्वेत दुःखहरू’का कवितालाई उत्कृष्ट घोषित गरिएको हो । छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ । अर्काे फाेटाे-कविता प्रतियाेगिता आज आइतबार पुनः हुनेछ । पुरस्कृत कविता तल पढ्नुहोस्ः आँशु राजती शर्मा काफ्ले आएँ नै नभनी लुकी नयनमा बस्ती बसायौ तिमी काँप्दै छैन भनेँ जगा नजरमा हाँस्दै अटायौ तिमी । खुल्दा ढक्कन यी लुकेर कसरी हैरान गर्थ्यौ तिमी पोल्दा धड्कनमा गुलाबजल झैं चुर्लुम्म पार्थ्यौ तिमी ।। (१) मेरा चाह बटुल्न टिप्न सपना मैदान माथि तिमी पीडा कष्ट उमंग रङ्ग सबको एक् मात्र साथी तिमी । वर्षा कञ्चन झैं समुद्र तट झैं आँखा सजायौ तिमी आफैँ भासिन गै गलातिर कतै फुट्दै हरायौ तिमी ।। (२) डिल् को साँध थियो कठै नयनमा तोडेर जाने तिमी दिल् को बाँध थियो अटुट बलियो फोडेर जाने तिमी । वाचा बन्धनको सँघार बलियो तोडेर जाने तिमी तिम्रै खातिरको रुमाल हरियो छोडेर जाने तिमी । । (३) कस्ले जित्छ यहाँ लुटेर मन यो हारेर जाँदा तिमी फक्रेका सपना निमेष भरमा मारेर जाँदा तिमी । तिम्रै सँग गए उमंग रसिला छाडेर जाँदा तिमी ठ्याक्कै बन्द भए खुशी अधरमा भागेर जाँदा तिमी । । (४) पीडा यो मनमा कथा नयनमा हर् सास सम्झाउने प्रश्नै प्रश्न यहाँ समाज भरका घोच्ने र तड्पाउने । कस्तो के कसरी कहाँ किन कता कस्ले त बुझ्दिन्छ र आँशुकै कविता भनेर कसरी होला मीठो उत्तर । । (५) अपाङ्गता र जीवन शितल उपाध्याय *********************** दुई विपरीत ध्रुवहरु बोकेको कुनै चुम्बकलाई जति नै जोडले हिर्क्याइयोस्, टुक्राइयोस् हरेक सानो टुक्रामा पुन: भेटिनेछन् दुई विपरीत ध्रुवहरु र, हरेक टुक्रा सत प्रतिश्त चुम्बक नै हुनेछन् । त्यस्तै, काटियोस् हातगोडा वा फुटोस् कानको जाली मान्छेलाई मान्छे बनाउने तत्त्वहरु यथावत् नै रहनेछ । तब पनि मान्छे,अपाङ्ग बन्ने छैन मान्छे नै रहनेछ । ‘अपाङ्ग’ शब्दको अस्तित्व हुनु, शब्दकोषकै ठूलो हार हो । खुट्टा नभएकाले तपाईं मलाई अपाङ्ग भन्नुहुन्छ ! गुलाफका भिन्दै हुन्छ गुणहरु आदिकालदेखि हिँडेका छैनन् गुलाफका बोट र पनि सुन्दर नै छ गुलाफ । आदिकालदेखि त्यहीँका त्यहीँ छन् अजङ्गका पहाड र पनि चौडा नै छ, पहाडको छाति। जीवन औँलाजस्तो छैन, नङजस्तो छ जति नै उसलाई काटियोस् त्यो फेरि पलाउँछ बिना सिकायत् जति नै प्रतिकूल अवस्थामा पनि म विचलित हुन्नँ पिपल हुँ म जमिन खोज्दिनँ म, भित्ताका कापमै पनि उम्रिदिन सक्छु नियति मलाई आगोमाथि नै किन नबसाइदियोस् म खलखली बगाइदिनेछु पसिना र निभाइदिनेछु राँको क्यारम बोर्डको गोटी हुँ म सयौँ पल्ट ठोकिए पनि प्वालसम्मको यात्रा तय गरेरै छोड्छु । वास्तवमा सयौँ पल्ट ठोकिन्छु र पो त पुग्छु । म ब्रायोफाइलम (Bryophyllum ) हुँ म पलाउनका निम्ति जराको माग गर्दिनँ डाँठको पनि माग गर्दिनँ एउटै पातबाट म सशरीर पलाइदिन सक्छु। नचल्दैमा हातगोडा वा धुमिल हुँदैमा दृष्टि रोकिँदैन जीवन गति नै जीवन हो म जिम्मेवारीको नदी तरेर पुग्छु पारि जीवन, भरिसभामा टिल्पिलाएको आँशु होइन जसलाई रोक्न सकियोस जीवन, खुला आकाशमुनि छुटेको उन्मुक्त हाँसो हो जीवन, जुनसुकै चाबीले पनि खुल्ने अचम्मको ताल्चा हो । तपाईं दयाभाव बर्साउनुहुन्छ ममाथि र भन्नुहुन्छ ”’विचरा! हिँडडुल गर्न मुस्किल छ” सोध्नुस्, अर्कोतिर मुन्टो फर्काएका तपाईंका सीमा स्तम्भलाई एकै ठाउँमा रहिरहन कुन परिमाणको साहस चाहिन्छ ? रिले रेस हो जीवन जहाँनेर प्रस्टै देखिन्छ अन्त्य त्यहीँबाट सुरु हुन्छ अर्को अध्याय हेक्का राख्नुस्, व्हिल चेयरमा बस्दैमा धिमा हुँदैन जीवनको गति । वास्तवमा, कथित अपाङ्ग नै सबैभन्दा सबल हुन कान सुन्न छाडेको हो तिम्रो सरकारले र पो त, सरकार रहिरहेको हो सरकार चल्नै छोडेर नै जनमतको स्वाद थाहा पाउने जिब्रो लम्बिएको हो सबै तानाशाहको आयु। मैले जन्मजात आँखा गुमाएर के भो ? आखिर, पीपलको रुखमुनि चिम्लेका हुन बुद्धले आँखा अनि मात्र सदियौँको निन्द्राबाट ब्युँझिएको हो मान्छे। रंगीन सहरका श्यामस्वेत दु:खहरु प्रवासी सुमन इन्द्रेणी कोलाजका भर्भराउॅंदा रङहरु ढकमक्क सजाएर ग्रेटवाल जस्ता पर्खाल र गगनचुम्बी महलका भित्ताहरुमा सहर खित्खिताइरहेछ मात्र औपचारिकताका निमित्त। सहरमा सबैथोक त औपचारिक छ मानवीय सम्बन्ध मान्छेको हाँसो प्रेमको नाममा देखाइने चटक वा चातुर्य सबै-सबै एक कुशल अभिनयजस्तो। मात्र आँसु छ प्राकृतिक जसलाई छोपी राख्ने भगिरथ प्रयत्न गर्छ सहर तैपनि थाहै नपाई कथित सभ्यता र लज्जाका बाँधहरु भत्काएर रसाइहाल्छन् आँखाहरु । फराकिला सडकपेटी या साँघुरा गल्लीहरु अलिसान महलका चोटाकोठा या झुपडपट्टीका चिसा बस्तीहरु कहाँ छैन र आँशुले नकोरेको ओसिलो चित्र?? हो, थाहा छ; सहरलाई आँसु र रोदन मन पर्दैन सहरलाई गरिबी र अभाव मन पर्दैन तर पनि आफ्नो छद्म रूप देखाएर किन लोभ्याइरहन्छ सहरले गरिबलाई रातमा चहकिलो बत्तीले मसिना पुतलीहरूलाई लोभ्याएजस्तो। #उत्कृष्ट #प्रतियोगिता
बिरामी पर्नुअघि रत्नशमशेर थापाको अन्तिम अन्तरवार्ता: रत्न शमशेर थापा दुई दिनअघि हामीले वरिष्ठ गीतकार रत्नशमशेर थापालाई गुमायौँ । गायक प्रेमध्वज प्रधान र नारायण गोपालका प्रिय मित्र भएका कारण रत्नशमशेरका धेरै गित ती हस्तीहरुले गाए । नेपाली चलचित्रमा उनका गीत अनिवार्य जस्तै मानिन्थे । गीत, गजल, मुक्तक, हाइकुहरुमा बढी रमाउने रत्नशमशेर थापासँग साहित्यपोस्ट प्रतिनिधि भगवती बस्नेत ले एभेन्युज टेलिभिजनका लागि एउटा पूर्ण अन्तरवार्ता गरेकी थिइन् । संयोगले यो नै स्वास्थ्य अवस्थाको अन्तिम अन्तरवार्ता हुन पुग्यो । उक्त अन्तरवार्ताको मुख्य अंश साहित्यपोस्ट ले प्रस्तुत गरेको छः आजभोलि केही लेख्दै हुनुहुन्छ कि सुस्ताउन मन लागेको छ ? होइन, लेख्दैछु । नलेखी मन मान्दैन । कहिले कविता लेख्छु अनि कहिले गीत । तपाइका केही कृतिहरु प्रकाशनमा छन् तर धेरै प्रकाशन हुन बाँकी छन् । तिनीहरुलाई प्रकाशन गर्ने योजना छ कि ? हाइकुको संकलन गर्दैछु । मलाई कविताको विविध रुपमा कलम चलाउन मनलाग्छ । हाइकु कविताको सबैभन्दा छोटो रुप हो । त्यसमा पनि म तान्का लेखनतिर लागेको छु । यो जापानबाट शुरु भएको हो क्यारे । नेपालमा पनि निकै लोकप्रिय भयो, किन होला ? हाइकुको जम्मा तीन लाइन हुन्छ । पहिलो लाइन पाँच, दोस्रो लाइन सात र अन्तिम लाइन पाँच अक्षरको हुन्छ । तान्काको चाहिं पाँच सात पाँच हुन्छ र थप दुई लाइनमा सात–सात गेरर एकतीस अक्षर हुन्छ । यो किन लोकप्रिय भयो भने यसमा सानो कुराले पनि ठूलो र गहिरो अर्थ बोकेको हुन्छ । त्यसैले यसैमा नयाँ नयाँ प्रयोग गर्न खोजिरहेकोछु । नयाँ प्रयोग कसरी ? क देखि त्र सम्मकोमा अक्षर राखेर । उदाहरणका लागिः कक्क्रिन्छन् कठै कुहिरोको कैदमा किरणहरू तपाईँले नेपाली र अंग्रेजी दुबै भाषाका साहित्य राम्रोसँग अध्ययन गर्नु भएको छ । अहिले जति नेपाली साहित्य लेखिएको छ ती कसरी आइरहेका छन् जस्तो लाग्छ ? पछिल्ला कृतिहरु कसरी आइरहेका छन्, त्यसको अध्ययन गर्न सकेको छैन । यसमा अलिकति सुस्तता आएको छ । तर कुरा के भने समयले साहित्यलाई परिवर्तन गरिरहेको हुन्छ । अहिले नयाँ पुस्तामा मैले केही राम्रा साहित्यकारहरु देखिरहेको छु र उनीहरुका कृतिहरुले समयलाई पछ्याइरहेका छन् । यो चाहीँ भन्न सक्छु । रत्न शमशेर थापा र भगवती बस्नेत तपाईंले गीतमा एउटा उचाइ बनाउनु भयो । तर मुक्तक, कविता, नाटक, कथा, लघुकथा सम्पूर्ण विधाहरूमा पनि कलम चलाउन छाड्नु भएन । यसो गर्दा तपाईलाई सबै विधामा कलम चलाउने लोभ जागेको हो ? अथवा तपाईंको रुचिको विधाहरु कुन कुन हुन् ? मलाई विशेष रुचिको विषय भनेको कविता र गीत नै हुन् । गीतभन्दा अगाडि मैले कविता लेखें । गीत किन लेख्न थालेँ भने मैले थाहा पाउँदा हाम्रो लागि प्रतिभा देखाउने एउटा मात्रै थलो रेडियो नेपाल थियो । त्यो बेला हाम्रा कलाकारहरुले गाउने गीतको अलि अभाव देख्थें । कहिले काहीं रेडियोका कलाकारहरुले हिन्दी गीत पनि गाउँथे रेडियो नेपालबाट । त्यो बेला आजको जस्तो रेकर्ड गर्ने चलन थिएन । लाइभ नै गाउनु पर्दथ्यो । यो देखेपछि मलाई के लाग्यो भने हामीले पनि केही मिहिनेत गर्यौं भने हाम्रा गीतहरु पनि राम्रा हुन सक्छन् । यलाई पनि रुचाउन सकिन्छ । अनि चान्सले कस्तो पनि पर्न गयो भन्दादेखि मेरो सेकेण्ड फेजको पढाई मैले त्रिचन्द्र कलेजमा गरेँ । त्यहाँ मानविकी पढ्दा नातिकाजी र नारायणगोपालहरु मेरा क्लास मेट भए । नारायणगोपालको स्वर मीठो, उसले क्लासमा प्रोफेसरहरू नआउँदासम्म बेञ्चमा तबेला जस्ताे बजाएर हिन्दी गीत गाउँथ्यो । त्यो हुँदाहुँदै उसले रेडियो नेपालबाट छ वटा गीत रेकर्ड गर्ने कोटा पायो । नारायणगोपालले एउटा यो फोक कलरको गीत लेख्देऊ भनेर मैले लेखेको थिएँ । ‘गाजलु आँखा मोहनी रुप हँसिलो मुहार‘ भन्ने । त्यो गीत निकै चल्यो । त्यसपछि उसले मसँग गीतहरु मागेर कलकत्तामा गएर रेकर्डिङ गर्यो । त्यो बेला उसले मेरा छ वटा गीत रेकर्ड गरेको थियो । त्यसमा ‘ए कान्छा‘, ‘कुञ्जनमा गुञ्जियो‘, ‘बिछोडको पीडा‘ र ‘स्वर्गकी रानी‘…. लगायतका गीतहरु रेकर्ड भए । तपाईंले जुन विधामा हात हाल्नु भयो, त्यसमा धेरै पुरस्कृत हुनु भयो । गौरव अनुभव हुन्छ कि ठिकै हो भन्ने लाग्छ ? गौरव छँदैछ, त्यसको प्लस मानसिक सन्तुष्टि पनि मिलेको छ । मैले सुनेअनुसार तपाईं गीत पनि गाउनुहुन्थ्यो रे, हो ? हो । २०१४ सालमा केही गाएको थिएँ । अभै पनि दुई वटा गीत लाइब्रेरीमा होलान् । यसमा एउटा ग्राम सेवा पुस्तकालय भन्ने झम्सी खेलमा त्यो लाइब्रेरी थियो अर्काे राष्ट्रिय पुस्तकालय भन्ने थियो । गायनमा रुचि हुँदा हुँदै अचानक लेखनतर्फ ढल्किनु पर्ने कारण चाहिँ के थियो ? म अलिअलि गाउँथे । रुचि पनि थियो तर प्राक्टिस गर्ने टाइम भएन । घरमा पढाइलाइ जोड दिनुहुन्थ्यो । यस्तो बेलामा प्राक्टिसको अनुकूलता थिएन । बरु पढ्ने बहानामा गीत लेख्न सजिलो भयो । तपाईंलाई आफ्नो समयको प्रयोगवादी कवि र फरक गीतकारको रुपमा चिन्ने गरिन्छ । तपाईं आफैँ पनि नयाँ–नयाँ प्रयोग खोजिराखेको छु भन्नु हुन्छ । मैले गरेको जस्तो अरुले नगरुन भन्ने हो ? वास्तवमा म छुट्टै हुन चाहेको होइन । हिस्ट्री अफ नेपालिज् लिटेचरको किताबमा डा. अभि सुवेदीले हि इज ब युनिक पोइट (उनी विशेष खालका कवि हुन्) भनेर लेखेका रहेछन् । उनले मलाई एक दिन के भने भने तपाई समकालीनहरू अग्रजहरूमा सबैको उस्तै उस्तै भए पनि तपाईको चाहीँ भिडमा छुट्टै हुन्छ । नाम नराखेर पनि यो रत्न दाइको रचना हो भनेर चिन्दछु भने । मलाई खुसी लाग्यो । तर फरक हुन खोजेर होइन, भएको हो । तपाईंले कालजयी गीतहरू रच्नु भएको छ । अहिलेका गीतहरू र यहाँले रच्नु भएका गीतहरूमा कतिको भिन्नता पाउनु हुन्छ ? पहिलेका गीतहरूमा जति गहिराईहरू हुन्थ्यो त्यो अहिलेका गीतहरूमा म पाउँदिन । अहिले हल्काफुल्का जस्तो नि, क्षणिक आनन्दको लागि लेखेकाे देखिन्छ । मैले अहिलेकालाई नराम्रो भन्दिन किनभने कलाकारले जस्तो स्क्रिप्ट पायाे, त्यस्तै चरित्रमा अभिनय गर्छन् । अहिलेका गीतकारहरुको अवस्था पनि त्यस्तै हो । तर पनि जुन गीतहरू लेखिन्छ त्यो अलि गुण भएको वा खँदिलो हुनुपर्छ भन्ने मलाई लाग्छ । ए कान्छा भन्ने मेरो गीतमा अरुले लेखेको भए रित्तो सिउँदो भन्थे होला अथवा खालि सिउँदोमा सिन्दूर भन्थे होला तर मैले ओभानो सिउँदो प्रयोग गरें त्यसमा नि । त्यै ओभानो लाई मैले पछि लगेर अमरजीसँग एउटा गीत लेखें मैले एउटा ट्यूनमा गोरेटो त्यसरी लेखिदिएको मैले । म ट्यूनमा लेख्छु । त्यो हमिङ सुनेपछि पुग्छ मलाई । तपाईं प्रायः धुनमा गीत लेख्नु हुन्छ । यो निकै गाह्रो काम हो भनिन्छ । के भन्नुहुन्छ ? बानी हो । मलाई गीत मात्रै लेख्न पनि सजिलो लाग्छ । कसैले ट्युन दियोे भने पनि खासै गाह्रो लाग्दैन । तपाईंको एउटा गीत एम ए को कोर्समा पनि राखिएको छ, थाहा छ ? हो थाहा छ । आँखैमा रात गली शितमा तारा डुबे बाटैमा आँधी चली आशाका मुना उडे धुपी पिपल अनि लहरा पात झुके जुही सिमल पनि छहरासाथ सुके बारी बँगैचा भरी मुजुर वएली गए बाटैमा आधि चली आशाका मुना उडे आँखेमा रात गली… यो गीतमा कति धेरै विम्व छन् । कति सिमल छ, धुपी छ, हरेक किसिमका विम्वहरु खेलाउनु भएको । यसरी गीतहरु रच्नका लागि कुन समयमा बढी फुर्छ यहाँलाई ? ज्यादा जसो राति। भनेपछि सबैजना सुतिसकेपछि ? हो । लेट नाइटसम्म लेख्छु । गीतमा प्रसिद्धि त कमाउनु भएकै छ । कविता र मुक्तकमा पनि यहाँले प्रसिद्धि कमाउनु भएको छ । कस्तो लाग्छ ? त्यो मेरो सौभाग्य हो । एउटा मुक्तक त राजेश पायल राईले गाए पनि । कुल्ची हिंड हाँसीहाँसी, यो छाति तिम्रै बाटो हो, मेरो देह केही होइन, केवल एक थुप्रो माटो हो गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन त्यो त झरि सुकेको एक थोपा आँसुको टाटो हो त्यो त झरी… यो मैले धेरैअघि लेखेको हुँ । २०१७/०१८ सालतिर सम्मेलनहरूमा मैले पाठ गर्दा समजीले दुई चोटि तीन चोटि दोहोर्याउन लगाउनु हुन्थ्यो । तपाईंले मुक्तक लेख्नु भएको मात्र छैन कि मुक्तकमा विशिष्टता नै हाँसिल गर्नु भएको छ । मुक्तक कसरी लेखिन्छ र मुक्तकको परिभाषा के हो भन्दा खेरि कसरी दिनु हुन्छ जवाफ ? मुक्तकलाई माने, जस्तो इंग्लिसमा Quatrain भनिन्छ । यो चार लाइनमा आफूले भन्न खोजेको समस्त कुरा अटाउन सक्नुपर्छ । मेरो आफ्नो विचारमा आखिरी लाइन सारै नै पावरफुल हुनुपर्छ । यो उमेरमा पनि साहित्यिकका कार्यक्रमहरूमा गइरहेको देखिन्छ । नयाँ पुस्ताहरूलाई पनि एउटा प्रेरणा मिलिरहेको छ ।यो सक्रियताको रहस्य के होला ? मलाई के लाग्छ भने आफूसित भएको प्रतिभाले समाजलाई केही दिन सक्छ भने त्यसलाई आफूभित्र लुकाएर राख्नु हुँदैन भन्ने विचार राख्छु म नि । त्यसले गर्दा एउटा समाजलाई पनि राम्रो होस् भन्ने हो । जस्तो मैले कुनै चीज कन्सिभ गरेर आफूभित्र राखिछोडेँ भने त्यसको कुनै अर्थ रहँदैन । र, अर्को कुरा के भने म प्रत्येक साहित्यकारहरू भनौं यी कलाकारहरू यिनीहरूमा के हुन्छ भने आफूले गर्ने काममा सम्पूर्ण रुपमा इमान्दारिता हुन्छ…। #भगवती बस्नेत #रत्न शमशेर थापा
अग्रज र नयाँ स्रष्टाका सिर्जना एकैसाथ: गएको ३० मे, शनिबार साँझ ७:३० बजे (सिड्नी समय) एउटा रमाइलो माहौल बन्यो । अष्ट्रेलिया र विश्वका विभिन्न देशमा रहेका सर्जकले फेसबुक लाइभ हेरिरहनुभएका दर्शक/श्रोतामाझ जीवन, जगत र समसामयिक विषय समेटिएका आफ्ना मीठा रचना सुनाउँदा साहित्यिक रसास्वादनको संयोग जुर्न पुग्यो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू साउथ वेल्स च्याप्टरको आयोजनामा जुममार्फत भएको सो कार्यक्रमको सहजीकरण अनेसास न्यू साउथ वेल्स सचिव प्रवीण टण्डनले गरेका थिए । आयोजक संस्था अनेसास न्यू साउथ वेल्स अध्यक्ष महेश्वर शर्माले छोटो मन्तव्यसँगै शुरू भएको सो कार्यक्रममा अनेसास केन्द्रीय उपाध्यक्ष भीमसेन सापकोटा “आचार्य राजन शर्मा” को अगुवाइमा सम्पूर्ण सहभागीहरूबाट ऊँकार उच्चारणसँगै रचनावाचनको क्रम आरम्भ गरिएको थियो । जापानबाट अनेसास केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल “माइला”ले आफ्ना मीठा गजल र हाइकु प्रस्तुत गरेका थिए भने अमेरिकाबाट जोडिएका अनेसास केन्द्रीय पूर्व महासचिव गोवर्द्धन पूजाले आफ्नो सुन्दर कविता प्रस्तुत गरेका थिए। रचनावाचनको क्रमलाई निरन्तरता दिँदै अनेसास केन्द्रीय महासचिव गणेश घिमिरे, अनेसास केन्द्रीय सदस्यद्वय सानु घिमिरे र अग्नि राजनाथ शर्मा, अनेसास न्यू साउथ वेल्स पूर्व अध्यक्ष महेन्द्र पौडेल, अनेसास ब्रिस्बेन अध्यक्ष डा. केशव शर्मा, अनेसास पर्थ अध्यक्ष निरज क्षेत्री, अनेसास क्यानबेरा महासचिव विनायक अधिकारी, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज महासचिव विदुर सापकोटा, नेपाली भाषा विद्यालय शब्दमालाका पूर्व अध्यक्ष डा. प्रकाश पौडेलले आफ्ना सिर्जना पस्किएका थिए । त्यसैगरी आयोजक अनेसास न्यू साउथ वेल्स अध्यक्ष महेश्वर शर्मा, उपाध्यक्ष ममता तिवारी, सचिव प्रवीण टण्डन, कोषाध्यक्ष विष्णु घिमिरे, सदस्य सीता रसाइली, यसैगरी साहित्यअनुरागीहरु आशीष पौडेल, तुल्सा पाण्डे र महता चापागाईंले पनि आफ्ना साहित्यिक रचनासहित आ-आफ्ना अभिव्यक्ति प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा वरिष्ठ कवि तथा निबन्धकार उदय निरौलाले जुम सम्मेलनमा प्रस्तुत रचनाहरूको समीक्षा गर्दै आफ्नै एउटा चर्चित सिर्जना समेत वाचन गरेका थिए । यससँगै अनेसास न्यू साउथ वेल्स अध्यक्ष महेश्वर शर्माले सहभागी स्रष्टा र दर्शकमा धन्यवाद र आभार प्रकट गर्दै कार्यक्रम समापन गरिएको थियो । #अस्ट्रेलिया
युगले जन्माएको म: अचेल युगले जन्माएका जीवनहरु काँपिरहेका छन् मस्तिष्क हावि भएर हो कि? हृदयहरु चल्नै छोडेका छन् क्षितिज पारिबाट कसैले यमराजको पल्टन रिलिज गरेजस्तो यान र रकेटहरु जीवन मेटाउने ग्यास बोकेजस्तो सूर्यको प्रकाश पनि हानिकारक भएजस्तो झरीले विष पोखेजस्तो चाँदनीले सुटुक्क यमराजसँग कानेखुशी गरेजस्तो यस्तै छ मेरो युग ऊ निधाएको छ, मस्त निद्रामा छ थाहा छैन कहिले बिउँझिन्छ? हरेक युगको भ्रूँणबाट उदाएको बिहानले हृदय गाँसिएको एउटा सिङ्गो मानवता खोजिरहेछ अचेल मेरा छोराछोरीहरु आधुनिक युग लेख्न मन पराउँछन् प्रविधि लेख्न खोज्छन् हवाई यान लेख्न खोज्छन् समुद्रमाथि एयरपोर्ट लेख्न मन पराउँछन् मंगल ग्रहको यात्रा लेख्छन् मंगल ग्रहमा बस्ती बसाउन लेख्न मन पराउँछन् भन म के गरुँ ? मेरो युगले यही सिकाएको छ। मेरो छोराछोरीको पाठ्यक्रममा आधुनिक युग बाँच्ने जीवनको सूत्र पाइन्छ मस्तिष्कले सिकाएको जीवनका सूत्रहरु पानीका फोका जस्तै छन् कतिखेर फुट्छ थाहा छैन युगले सिकाएको जीवनका सूत्रहरुमा म सपनाको भर्याङ्ग जोडेर हृदय खोजिरहेछु ए युग, तिमीले दिएको सम्पन्नताको सर्टिफिकेट भित्तामा टाँसेर म कसरी मानवताको गफ हाँकु? मेरो युगले सम्पन्नताको सर्टिफिकेटमा तोक लगाएपछि मलाई आधुनिक युगको मान्छे भनिएको हो भन म के गरुँ? मलाई यो युगले यस्तै बनाएको छ। तर म चाहन्थेँ मेरा छोराछोरीहरुको पाठ्यक्रममा पृथ्वीको पनि हृदय हुन्छ भनेर लेखिदिएको भए पृथ्वीमा रहेका सबै प्राणीहरुको पनि बाँच्ने अधिकार हुन्छ भनेर लेखिदिएको भए सबैभन्दा ठूलो धर्म मानवता हो भनेर लेखिदिएको भए मेरा छोराछोरीहरु जीवनको परीक्षामा पास हुन्थे होला तर यो युगको परीक्षामा उनीहरुले प्रथम स्थान हासिल गरेका छन् भन म के गरुँ यस युगलाई? अध्यक्ष अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलिया #अस्ट्रेलिया #न्यु साउथ वेल्स #महेश्वर शर्मा #युग
अज्ञातको गजल: आधा भरी यो जिन्दगीमा भरौँ भने पनि सकस दियौ अलिकति सरौँ भने पनि ।। पछाडि तिमी अघि तिम्रा यादहरू छन् सुरूबाटै जीवन यात्रा गरौँ भने पनि ।। अस्तित्व रहन्छ अस्मिता बाँकी नै रहन्छ आधा तिमी नि छौ म आधा मरौ भने पनि ।। #अज्ञात जीवन
अंश: कहिलेकाहीँ सपनामा कति राम्रा कविता देख्ने गर्छु बिहान उठेपछि प्रायः सबै हराएर जान्छ सधैँ पछि लाग्छु भेटाउन खोज्छु सधैँ झैँ केही अंश हात लाग्छ र फेरि, तड्पिन बाध्य हुन्छु हिजाे राति देखेको कविताका केही अंश यस्ताे भेटियाे ठूलो बतासमा म चारैतिर रूमल्लिरहेको हुन्छु मेरी बूढी आमाको स्वर ममा ठोकिन्छ म तिम्राे आमा हुँ अधिकारले बाेलेकी छु तिम्राे महल बढिरहेकाे छ छोरा तर बिस्तारै सानाे तिमी, भैरहेका छौ.. अर्को अंशमा तिम्रा अनगिन्ति अघोषित आमाहरु तिमीलाई सम्झदै गर्दा वास्तविक आमाकाे आशीर्वाद भने लिन नभुल ल… क्रमशः अर्को अंश हुन्छ तिमीले संसार नापी रहँदा देशको पुरानो जमिन नाप्नु पर्नेछ एकदिन नभुल्नु ल.. कति मेरा यस्तै अरु अंशहरु आँखा मिच्दै गर्दा मिचिएर जान्छन् बिहान, सधैँजसो मेरो प्रयास आफैँलाई भेट्ने कोसिसमा रहन्छ तर पनि कविताकाे पुरै अंश जस्तै आफूलाई भेट्न असफल रहन्छु कहिलेकाहीँ त कहिल्यै भेट्न सक्नेछु .. लाग्दैन् ! साँच्चै, मेरा कति कविताहरु सपनामै मर्ने गर्छन् कति मानिसका “सपनाहरु जस्तै” तर फेरि पनि सधैँ कतै देखिरहेकाे हुन्छु मेराे देशकाे नक्शा र मेरी आमालाई उस्तै मन लिएर मेराे कवितामा सधैँ उभिरहेका हुन्छन् ती सबै कविताका हरफहरु बिर्सिए पनी कविताका मुख्य यी दुई पात्र मेरा हर सपनापछि पनि भेटिरहन्छन् पुरै अंशमा !! #अंश #आमा #निरज क्षेत्री
समर्पण टेगोरलाई: टेगोर भन्छन्– “एक्लै हिँड !” म पनि भन्छु – “एक्लै हिँड !” एक्लै हिँड जहिलेसम्म थाक्दैनौ । हिँड एक्लै एक्लै र निदाउँदा पनि– एक्लै निदाऊ हिँड एक्लै एक्लै र ब्युँझदा पनि– एक्लै ब्यूँझ कोही भएनन् भनेर नडराऊ – बस् ! एक्लै हिँड हिँड्दा हिँड्दै कहिले बायाँ हात फिँजाऊ र एक्लै हिँडिरहेको आफैँलाई अंगाल कहिले दायाँ हात फिँजाऊ र एक्लै हिँडिरहेको आफँैलाई जिन्दगीको कान्लो उक्लिन सहारा देऊ कहिले ओरालोहरूमा बुई थाप– एक्लो आफूलाई अघि अघि हिँडिरहेको आफूलाई भेट्टाउन अलि छिटो हिँड पछि पछि आइरहेको आफूलाई अलि छिटो हिँड भन चौतारोमा बस र प्रत्येक छपनीहरूमा बसिरहेको आफैँसँग बात मार । एक्लै हिँड तर गीत गाउँदै हिँड एक्लै हिँड तर बात मार्दै हिँड एक्लै हिँड तर मुस्कुराएर हिँड एक्लै हिँड तर आनन्दले हिँड एक्लै हिँड, एक्लै हिँड, एक्लै हिँड हिँड एक्लै, एक्लै, एक्लै, एक्लै, एक्लै एक्लै हिँडेर गन्तव्यमा पुगेपछि आफू वरिपरि हेर कति धेरै एक्लैहरू तिम्रो साहरा भइसकेका हुनेछन् र, तिम्रो जीत या हारको हिस्सा बनिसकेका हुनेछन् अब यी एक्लाहरूले तिमीसँग केही माग्दैनन् नत यी एक्लाहरूलाई तिमीले केही दिनुपर्छ मुसुक्क मुस्कुराउँदै आराम गर र एकपटक सबैले सुन्नेगरी भन– एक्लै हिँड ! #समर्पण टेगोर
रूकुम हत्या प्रकरण र नेपालमाथि प्रश्न–तिम्रो पहिचान के हो?: गिरिबहादुर सुनार रुकुम जिल्ला चौरजहारी नगरपालिका–८ सोतिमा भएको जातीय विभेद जोडिएको पाशविक हत्या काण्डले यतिबेला सिंगो देश तरंगित बनेको छ। सामाजिक संजाल देखि सडक र सदनसम्म यतिबेला यो घट्ना चर्चा र बहसमा छ। यही घट्नासँग जोडेर एक पटक दलित शब्द ट्रेंडिङमा छ। दलित शब्दलाई लिएर तर्क वितर्क चलिरहेका छन्। दलित शब्द रहेसम्म विभेद यथावत रहने तर्क गर्नेहरु पनि छन्। दलित शब्दप्रति नै उनीहरुको आपत्ति छ । वास्तवमा दलितका नाममा हेपिएर, पिल्सिएर बाँच्ने रहर कस्लाई होला र? दलित जन्मजात कसैले रोजेर वा इन्कार गरेर आउने विषय पनि होइन। हाम्रो समाजमा जन्मका आधारमा तोकिने श्रेष्ठता र नीचताको जुन जातीय प्रथा र वर्ण व्यवस्था छ त्यसले माथिल्लो र तल्लो जातको विभेदलाई पुस्तान्तरण गरिरहेको छ। अहिले पनि पुस्तौली विरासतमा दलितलाई हेप्ने चलन, सोच र व्यवहार खासगरी ग्रामीण भेगमा व्याप्त छ। त्यही उचनीचको व्यवहारले दलित शब्दलाई नमीठो गरी अस्तित्वमा स्थापित गरिरहेको छ। दलित शब्द भारतबाट आयातित शब्द हो। यो शब्दको जन्मदाता वा पहिलो प्रयोगकर्ता महात्मा ज्योतिवा फुले (सन् १८९१–१९५६) हुन्। पछिल्लो समयमा यस शब्दलाई चर्चामा ल्याउने काम भारतीय संविधान निर्माता एवं दलित अभियान्ता डा. भीम राव अम्बेडकर (सन् १८९१–१९५६) ले गरेका हुन् । नेपालमा बि.सं. २०२० मा नेपाल राष्ट्रिय दलित जनविकास परिषद् भन्ने संस्थाको गठनका क्रममा दलिल शब्दको संस्थागत प्रयोग भएको देखिन्छ । नेपाली समाजमा जसरी अन्य अनेक विषयमा मतभेद र असमान बुझाइ छ, दलित शब्द र यसले बोकेको भाव एवं अर्थमा पनि अनेकता छ। समुदायकको विभिदता जस्तै दलित प्रति पनि मिश्रित धारणाहरु छन्। कसैले यो शब्दप्रति नै विमति राख्छन्, कसैले प्रिय मान्छन् त कसैले घृणाको प्रतीक मान्छन्। शब्द आफैँमा राम्रो वा नराम्रो हुँदैन। त्यो शब्दलाई कुन भावले प्रयोग गरिन्छ त्यसले त्यो शब्दको अर्थ दिन्छ। त्यसैले यो शब्दका प्रयोगकर्ता र उसको भोगाइ, बुझाइ वा मनोदशाले यसको अर्थ प्रस्तुत गर्छ। त्यसैले यो शब्दमाथिको समान अर्थ वा अपेक्षा राख्नु व्यर्थ छ। दलित शब्द संस्कृत भाषाको “दल” धातुबाट बनेको हो, जसको अर्थ थिचिएको, पिल्सिएको, हेपिएको भन्ने हुन्छ। यो शब्दको उपस्थिति दब्रिड भाषा लगायत अन्य भारतीय भाषामा समेत पाइन्छ। यो शब्दको शुरुवात उत्तर औपनिवेश कालमा भारतीय संबिधानका मस्यौदाकार डा. अम्बेडकर र उनका समर्थकहरुले गरेको देखिन्छ। महात्मा गान्धीले हिन्दू वर्ण व्यवस्था भित्रका अछुतहरुलाई बुझाउन प्रयोग गरेको हरिजन शब्दप्रति विमति राख्ने अम्बेडकरबादीहरुले प्रयोगमा ल्याएको दलित शब्द नेपालमा पनि शोषित पीडित वर्गलाई बुझाउने सामान्य जनजिब्रोको शब्द बनेर अहिले प्रयोग र स्थिापित छ। हाल दलित शब्द राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित भइसकेको छ। नेपालको सन्दर्भमा यो शब्द सन् १९६७ मा राष्ट्रिय दलित जनविकास परिषद् नामको संगठनले प्रयोग गरेको पाइन्छ। दलित शब्दप्रति कथित उपल्लो जातका मात्र नभएर केही शिक्षित दलित समुदायका मानिसहरु पनि हीनताबोध गर्ने गर्दछन्। केही शिक्षित दलितहरु यदि यो शब्दको प्रयोग आमरुपमा गर्दै जाने हो भने आगामी पुस्ताका दलित समुदायका मानिसहरुलाई समेत हीनताबोधले ग्रसित गराउने कुरामा चिन्तित देखिन्छन्। सायद उनीहरुलाई लागेको छ यो शब्द नै हटायो भने समाजिक विवद्यमान सोच र व्यवस्था पनि हट्ने छ। तर शब्द हट्दैमा सामाजिक चेतना र गढेर रहेको संस्कार हट्छ भन्ने ठान्नु गलत हुनेछ। नेपालका “अछुत” हरुले आफ्नो समुदायको प्रतिनिधित्व गर्ने शब्द पाउन भरमग्दुर प्रयास गरेका हुन्। उपयुक्त शब्दको अभावमा उनीहरु आयातित शब्द नै प्रयोग गर्न बाध्य छन्। हिन्दु वर्ण व्यवस्था भित्रका अछुतहरुको प्रतिनिधित्व गर्ने उपयुक्त नेपाली शब्द निर्माण गर्न नसक्नु दलित समुदायको दुर्भाग्य हो। यसप्रति तथाकथित आफूहरुलाई उपल्लो जातका भन्ने विद्धानहरुले पनि कुनै चासो देखाएका छैनन्। कुनै शब्दावली प्रति विमति राख्नु भन्दा लक्षित समुदायको प्रतिनिधित्व गर्न सक्ने खालको शब्द निर्माण गर्नु आजको आवश्यकता हो। केही दशक यता उचित विद्यालय शिक्षाको अवसर प्राप्त गरेका कतिपय दलित समुदायका व्यक्तिहरु पनि ठिक र बेठिक छुट्याउन सक्ने सार्मथ्य राख्छन्। दलित भन्ने शब्द अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ ले समेत अंगिकार गरेको शब्द भएकोले उक्त शब्द आफैमा एक सुन्दर शब्द हो जसले कथित अछुतहरुको प्रतिनिधित्व गर्छ। दलित शब्द कुनै जात नभएर समाजमा व्याप्त पर्था, व्यवस्था र दलितहरुको अवस्थालाई बुझाउने शब्दको रुपमा स्थापित भैसकेको छ। प्रष्टरुपमा भन्दा नेपालका कथित अछुतहरु दलित शब्दबाट संबोधित हुन चाहँदैनन्। यथाशिघ्र दलितबाट मुक्ति पाउनु उनीहरुको इच्छा छ। त्यसैले यो शब्द माथि नै उनीहरुको जलन छ। शब्दले पैदा गरेको व्यवस्था जस्तो उनीहरु ठान्दैछन्। तर जातीय व्यवस्थाको निर्माता दलित शब्द वा यसको परिभाषाले छुने कथित तल्लो जातिका मानिस स्वयं हुँदै होइनन्। यो कुरा स्वयं दलित र गैर दलित सबैले बुझ्न जरुरी छ । सामाजिक व्यवस्थाका पीडित अर्थात दलितहरुलाई न्याय दिनु कथित उच्च जातको पनि कर्तव्य हो, जसले यो फोहोरी संरचनाको निर्माण गरेका हुन् र आजसम्म पनि यो व्यवस्थाबाट दलितहरु शिकार हुनु परेको उनीहरुलाई राम्रो थाहा छ। नेपालको संविधान २०७२ ले जातीय आधारमा गरिने भेदभावलाई पूर्णरुपमा बन्देज लगाएको छ। अन्ततः यसले कथित अछुतहरु प्रतिको सामाजिक अपहेलनालाई आत्मसात गर्दै राज्यको संरचना लगायत शैक्षिक, व्यावसायिक, राजनैतिक र कानुनी सुरक्षाका क्षेत्रमा दलितहरुलाई समान अवसर प्रदान गरेको छ। व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामा समानुपातिक प्रतिनिधित्व प्रदान गर्न भने राज्य अझै पनि कन्जुुस देखिएको छ। उच्च जातका सदस्यहरुको बहुमत भएको संविधान सभाले राज्यका सबै संयन्त्रमा जनसंख्याको अनुपातमा १३% दलित प्रतिनिधित्व सहित थप अधिकार (क्षतिपूर्ति सहित) प्रदेशमा ३%, केन्द्र सरकारमा ५% र स्थानीय निकायमा १०% हुनु पर्ने मागमा सहमति जुटाउन सकेन। भूमिहीन दलितहरुलाई जमिनको व्यवस्था गरिनु नयाँ संविधानमा सकारात्मक भएता पनि कानुन बमोजिम भन्ने शब्दले कार्यान्वयनमा भने चुनौतीपूर्ण नै देखिन्छ। १९९० साल देखिकै संविधानहरुले छुवाछुत प्रथालाई बन्देज गरेका हुन् तर पनि नेपालका दलितहरुले हिंसा र विभेदबाट मुक्ति पाउन सकेका छैनन्। राज्यबाट प्रदान गरिने आधारभूत मानव अधिकार र सम्मानबाट उनीहरु वञ्चित छन्। अझै पनि सामाजिक भेला र समारोहहरुमा उनीहरुको उपस्थिति सर्वस्वीकार्य हुन सकेको छैन। ग्रामीण क्षेत्रमा उच्च जातले संचालन गरेका होटल रेष्टुरेन्टहरुमा दलितहरुलाई सहजरुपमा प्रवेश बन्देज नै छ। उनीहरु छुट्टै कुनामा बस्नुपर्छ, खाना खाएका भाँडाहरु आफैँ सफा गर्नुपर्छ। उच्च जातका घरमा प्रवेश गर्न दिइँदैन र इनार, पोखरी र मन्दिर जस्ता सार्वजनिक सम्पत्तिको प्रयोगमा उनीहरुको पहुँच छैन। कतिपय यथास्थितिवादी गैरदलित व्यक्तिहरु दलितहरुको उन्नति चाहँदैनन्। दलित र दलित शब्दप्रति नै उनीहरु घृणादृष्टि राख्छन्। अछुतहरुको उत्थानले राज्यका सम्पत्तिहरुको उपयोगमा प्राप्त भएको एकाधिकार गुम्न सक्ने भयबाट उनीहरु त्रसित छन्। कतिपय उच्च जातका मानिसहरुलाई महिला, जनजाति र मधेशी शब्द प्रति कुनै आपत्ति छैन तर उनीहरुलाई दलित शब्द समस्या बनेको छ। दलित शब्द जाति प्रथाको जरो उखाल्न चाहने अछुतहरुको भावनासँग जोडिएको शब्द हो। यो कुनै पहिचान होइन। सर्वजित विश्वकर्माको अगुवाइमा बाग्लुङ्ग जिल्लाबाट शुरु भएको दलित आन्दोलनले कठोर राणा शासन विरुद्ध औंला ठडाउनु आफैँमा महत्त्वपूर्ण कार्य थियो तर हाल आएर कतिपय दलित आन्दोलनका अगुवाहरुमा वैचारिक तथा राजनैतिक प्रष्टताको अभाव देखिन्छ। एकातर्फ दलित आन्दोलनको पहिलो उद्देश्य भौतिक समृद्धि प्राप्त गर्नु हो वा छुवाछु्त प्रथाको उन्मूलुन हो भन्ने कुराको दिशाबोध गराउन नसक्नुले दलित आन्दोलनले गति लिन सकेको छैन भने अर्कोतर्फ दलीय स्वार्थसँग गाँसिएको भोटको राजनितीले दलित आन्दोलनलाई कमजोर बनाएको छ। राजनीतिक आस्थाका आधारमा दलितहरु आपसमै विभाजित बनेका छन्। राजनीतिले पारेका कतिपय सकारात्मक प्रभाव पनि छन् तर उत्तिकै नकारात्मक असर बारे पनि दलितको परिभाषाले समेट्नेहरु प्रष्ट हुन जरुरी छ। छुवाछुत प्रथाको उन्मुलन नै यो आन्दोलनको प्रमुख उद्देश्य हुनुपर्दछ। यो उद्देश्य प्राप्त भैसकेपछि अछुतहरुको नाममा दिइएका विशेष सुविधाहरुमा हेरफेर गर्न सकिन्छ। अन्यथा यो समाजिक अव्यवस्थाको पुनरावृत्तिको कारक बन्न सक्छ। त्यसले अहिले प्राप्त उपलब्धिको रक्षा र त्यसको उपयोग गर्दै आफूलाई सक्षम र अब्बल बनाउने र अन्ततः समाजमा समान हैसियत स्थापित गर्दै विशेषाधिकारको व्यवस्थालाई आफैले इन्कार गर्ने तहको आत्मनिर्भरतामा दलित आन्दोलनलाई उभ्याउन आवश्यक छ। आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, राजनैतिक हरेक हिसाबले सशक्त हुँदै जाँदा ढिलो चाँडो दलित शब्दले आफै भावार्थ परिवर्तन गर्नेछ। यो शब्दको अर्थ इतिहासमा यस्तो थियो भन्ने अवस्था सृजना हुने गरि सोच र व्यवस्था अनि व्यवहारमै सुधारको पहल गरौं। २१ औं शताब्दीमा आईपुग्दा पनि पुरानो, अमानवीय र हैकमवादी व्यवस्था, सोच र व्यवहारलाई हामीले गलगाँड जस्तो पालेर बस्ने हो भने जति नै अयोडिनको प्रचार गरेपनि देशको घाँटी कुरुप भएर विश्वभर देखिनेछ। यो कुनै निश्चित समुदायको सवाल होइन, सिंगो देश र मानव जातिकै विवेक र चेतना दर्शाउने सवाल हो। अहिले रुकुम घट्नाले विश्वभर नेपाली समाजको कुरुप गलगाँडलाई सतहमा ल्याएर देखाइदिएको छ। नेपालको जातीय विभेद र अमानवीय वर्ण व्यवस्थाको अवशेष यतिबेला अन्तरार्ष्ट्रिय समाचार बनेका छन्। नेपालमा आजका दिनमा पनि यस्तो अमानवीय सोच र व्यवहार व्याप्त छ भनेर सिंगो देश र यहाँका नागरिकको विवेक माथि खिसिटिउरी भैरहेको छ। नेपाल जसरी अहिंसाका अग्रदूत गौतम बुद्ध र धर्तीकै उच्च शिखर सगरमाथाको देशका रुपमा गौरवले चिनिएको छ। त्यही गौरवलाई धुलिसत पार्दै नेपाललाई जातीय विभेदको गलगाँडले कुरुप पारिरहेको छ। छुवाछुत र दलितका नाममा मान्छेले मान्छेलाई मार्ने देशका रुपमा नेपाल यतिबेला प्रचारित भैरहेको छ। यो नकारात्मक पहिचानले क्षति कसलाई गर्छ? लाज कसको उडाइरहेछ? धिक्कार कसलाई आइरहेको छ? हाम्रो देश नेपाल र यहाँ बस्ने हरेक विवेकशील नागरिकका लागि गम्भीर प्रश्न छाडेर यो लेखबाट बिदा हुन चाहन्छु। र, अन्त्यमा सुझाव छ– देशलाई गौरवले चिनाउँ, जातीय विभेदको गलगाँडले होइन। (लेखक समाजशास्त्री हुन् ।) #गिरिबहादुर सुनार #दलित #हत्याकाण्ड
श्रवण मुकारुङका कवितामा वस्तुगत सादृष्यको बाहुल्य: सुरेश हाचेकाली लेखन, अर्थगत विश्लेषण र त्यसको सार्वजनिकीकरण साहित्यिक क्याननहरूका एकलौटी अधिकार होइनन् । प्रिय पाठक ! चक्रव्यूह सञ्चेतना (Labyrinth Conscience) को ऐकिक पद्दतिको परियोजना अन्तर्गत यो समालोचकीय लेखमा कवि तथा गीतकार श्रवण मुकारुङका जीवनको लय (२०६१) तथा बिसे नगर्चीको बयान (२०६७) कवितासङ्ग्रहभित्र समेटिएका कविताहरूलाई अङ्ग्रेजी कवि तथा समालोचक टि.एस. एलियटको ‘वस्तुगत सादृष्य’ (Objective Correlative) को दृष्टिकोणबाट विश्लेषण गर्ने प्रयत्न गरिनेछ । साथमा ‘इमेजिष्ट’ आन्दोलनको प्रसङ्ग पनि प्रयोग गरिने छ । बीसौं शताब्दीको सुरुवातसँगै अङ्ग्रेजी कवितामा प्रारम्भ भएको ‘इमेजिष्ट मुभमेण्ट’ (Imagist Movement) ले कवितालाई ठोस र विम्बमय बनाउन ठूलो भूमिका खेल्यो । विलियम कार्लोस विलियम्स, एज्रा पाउण्डहरूका कविता जापानी हाइकुबाट प्रभावित थिए । हाइकुमा हुने ठोस विम्बहरूको प्राधान्यले ती अङ्ग्रेजी कविहरूलाई पनि ठोस विम्बहरूको खोजी कार्यमा अभिप्रेरित गर्\u200dयो । कविताको ‘इमेजिष्ट स्कूल’ समयक्रममा विकसित हुदै वस्तुगत समीकरण (Objective Correlative) को आवश्यक्तालाई बोध गर्ने चरणमा पुग्यो । स्वच्छन्दतावादी कविहरूको धाराप्रवाह भावावेशको प्रतिवादमा इमेजिष्ट कविताले जन्म लियो । भावुकता र अतार्किक उडानलाई कविताको आधारभूत तत्वका रुपमा ग्रहण गरिएको अवस्थाबाट कविता मुक्त हुनुपर्थ्यो किनकि यो अवस्था आफैँमा एक अतिवाद हो । इमेजिष्ट मुभमेण्टले एक अतिवादका ठाउँमा अर्को अतिवादको प्रतिस्थापन गरेको कुरा सजिलै प्रमाणित हुन्छ । एकातिर भावुकतै भावुकताको उच्छलनलाई कविता मान्नु र अर्कोतिर कठोर स्थुल पदार्थको ‘ग्यादरिङ’ लाई कविता मान्नुको बीचमा समन्वयको अभाव छँदै थियो शुरुको चरणमा इमेजिष्ट आन्दोलनबाटै साहित्यिक करियर प्रारम्भ गरेका कवि टि.एस. इलियटले आफ्नो लेखन र चिन्तनको परिपक्वतासँगै भावुकता र स्थुलतालाई संयोजन गरेर त्यसको प्रयोग दुवै सृजनात्मक र समालोचनात्मक लेखनमा गरे । वस्तुगत सादृष्यको आशय बुझ्न प्रारम्भिक अवस्थामा बुझ्नुपर्छ कि भावना भावात्मक (Abstract) हुन्छ । यो वस्तुगत (Objective) वा स्थुल हुँदैन । कवितामा भावनाको बाहुल्य हुन्छ । तर त्यो भावनालाई आकारसहित प्रस्तुत गर्नका लागि स्थुल वस्तु (Object) चाहिन्छ । भावनालाई प्रतिनिधित्व गर्न प्रयोग हुने स्थुल बस्तु नै वस्तुगत सादृष्य हो । अमेरिकी कवि एज्रा पाउण्डले सन् २०१३ मा लेखेको ‘मेट्रो स्टेशनमा’ कविता एक उत्कृष्ट ‘इमेजिष्ट’ कविता हो । यो कविताले स्थूल र कङ्क्रिट विम्बद्वारा भावनाको आयाम स्पर्श गरेको छ । तर त्यो भावात्मक पक्षको अन्वेषण अलि जटिल छ । वस्तुगत सादृष्यको अवधारणालाई अलि बढी प्रष्ट पार्नका लागि हामी शक्तिशाली गद्यकवि भूपि शेरचनको ‘मैनबत्तीको शिखा’लाई अब्बल दर्जाको उदाहरणका रुपमा लिन सक्छौँ । नारी जीवनका तीन महत्त्वपूर्ण चरणहरू (प्रथम रजस्वला, मातृत्व सफलीभूत भएको क्षण र बैधव्य) लाई व्यक्त गर्न उनले मैनबत्तीलाई वस्तुगत सादृष्यको रुपमा उभ्याएका छन् । यो उनको अनुपम कौशल हो । विराट काव्यिक प्रतिभाले मात्र यसो गर्न सक्छ । अझ विचित्रको कुरो त एउटै वस्तुगत प्रतिरुपभित्र तीन भिन्न र परस्पर विरोधी अवस्थाहरू पहिल्याउन सक्ने सामर्थ्य राख्नु हो । नेपाली कविताको परम्परालाई अन्वेषण गर्दा वस्तुगत सादृष्यसहित भावनालाई प्रतिनिधित्व गरेका कविताहरू त्यति धेरै पाइँदैनन् । वि.सं. २०४६ सालको वरिपरि हुँदै नेपाली कविता र गहन भावका काव्यिक गीत लेखनको फाँटमा एउटा ‘प्रोमिसिङ’ युवा जिनियसको प्रवेश हुन्छ । समयक्रममा त्यो प्रतिभा श्रवण मुकारुङको रुपमा स्थापित हुन्छ । कविता र गीत दुवै विधामा सफल श्रवणका कतिपय गीत उच्च कोटीका छन्, जसमा उनले वस्तुगत सादृष्यको प्रयोग गरेका छन् । उदाहरणका लागि कवि मुकारुङका देहाय बमोजिमका पङ्क्तिहरू हेरौंः कुमारीको वैंशजस्तो कुन फूल हाँसेको छ तिमी तारेभीर म त लहरा तिमीमै म लहराउँछु तिमी सहारा यी दुई उद्यृतांशहरू दुई फरक गीतबाट लिइएका हुन् । यी हरफभित्र एकातिर स्थूल विम्ब छन् भने अर्कोतिर ती विम्बहरूले शक्तिशाली भावना सञ्चार गरेका छन् । सरलताभित्र सत्यको संरचना यी दुवै गीतले बोकेका छन् । बुँदागत रुपमा भन्नुपर्दा श्रवणको काव्यिक तागत तलका तीन कुरामा अडिएको भेटिन्छ । प्रथमतः उनी वस्तुगत सादृष्य पहिल्याउन खप्पिस छन् । वस्तुगत प्रतिरुपको तारेभीरमा उनका भावनाका लहराहरू लहरिन्छन् । क्रङ्किट विम्बको आडमा उनी भावना सजाउँछन् । द्वित्तीयतः उनको सरलीकृत अभिव्यक्तिमा मर्मस्पर्शी काव्यिकता तैरिएको पाइन्छ । र तृत्तीयतः उनी आम जनता र समाजका ‘अर्जेन्ट’ समकालीन मुद्दाहरूको उजागर गर्दछन् । नेपाली कविताको इतिहासमा मोहन कोइराला र आयामेलीहरूले अभिव्यक्तिको भरमग्दुर जटिलीकरण गरेपछि त्यसको प्रतिकृया स्वरुप सरलीकरणको एउटा धार भएर अगाडि बढ्यो । तर यो सरलीकरण सदैव काव्यमय (Poetic) रहन सकेन । यता कवि मुकारुङको हकमा उनको पहिलो सङ्ग्रह देश खोज्दै जाँदादेखि नै सरलताको बहाव उद्भव भएको पाइन्छ । भूपि शेरचन, बासु शशी, दिनेश अधिकारी, जसराज किराती, विमल निभा, मीनबहादुर विष्ट, विष्णुविभु घिमिरे लगायतका कविहरूले निर्माण गर्दै ल्याएको सरलताको मार्गलाई कवि मुकारुङले अगाडि बढाएको पाइन्छ । उनको सरलता कवितात्मक गुणले भरिपूर्ण छ । ‘ह्याम्लेट र उसका समस्याहरू’ निबन्धमा इलियटले वस्तुगत सादृष्य सिद्धान्तको व्याख्या र उपादेयता प्रस्तुत गरेका छन् । पुनर्जागरणकालीन नाटककार विलियम शेक्सपियरको नाटक ह्याम्लेटलाई साहित्यिक हिसाबले असफल (Artistic Failure) भन्दै त्यसमा वस्तुगत सादृष्यको अभाव रहेको कुरो इलियटले बताएका छन् । उनका अनुसार “कलाको स्वरुपमा भावनालाई अभिव्यक्त गर्ने एक मात्र तरिका भनेको वस्तुगत सादृष्यको प्रयोग हो । अर्को शब्दमा वस्तुगत सादृष्यलाई वस्तुहरूको सेट, विशिष्ट अवस्था तथा घटनाहरूको श्रृङ्खलाको रुपमा बुझ्न सकिन्छ । जसले निश्चित भावनालाई अभिव्यक्त गर्न सूत्रको रुपमा काम गर्दछन् । जब यी बाह्य तथ्यहरू (External Facts) प्रयोग गरिन्छ, तिनले भावनालाई उजागर गरिदिन्छन्” (१०९०ः लेइच) । वि.सं. २०६२/०६३ को ऐतिहासिक वसन्त विप्लव पूर्व लेखिएको कविता ‘बिसे नगर्चीको बयान’ मा कविले निरङ्कुश राजतन्त्रप्रतिको रोष, आक्रोष र वितृष्णालाई व्यक्त गर्न वस्तुगत सादृष्यको सिद्धान्तले भने जस्तै विशिष्ट अवस्था तथा घटनाहरूको श्रृङ्खलालाई प्रस्तुत गरेका छन् । मौलिक रुपमा रोष, आक्रोष र वितृष्णा मानवीय भावना (Emotion) हुन् । भावुकतापूर्वक यी भावनाको बिना वस्तुगत सादृष्य अभिव्यक्ति हुनु कमजोर कविताको लक्षण हो । तर कवि मुकारुङ लहरा (Creeper)जस्ता भावनालाई वस्तुगत सादृष्यको थाँक्रोमा अडेस लगाएर कविताको संरचना तयार गर्दछन् । इतिहासको गर्तबाट लिइएको पात्र बिसे नगर्चीको रोष, आक्रोष, हत्तोत्साह वितृष्णाको एकोहोरो आलाप नभएर त्यसका कारणहरूको सूची पनि कविताभित्र छरिएको पाइन्छ । अनाहकमा उसकी स्वास्नी मारिनु, छोरी बलात्कृत हुनु, झुप्रो जालइनु केही वस्तुगत सादृष्य हुन् जसले उसको भावनालाई उद्वेलित बनाएको छ । यसैगरी राजाका भारदारहरूको लबेदा सिउन नसक्नु, नरसिंगा फुक्न र सहनाइ बजाउन नसक्नु, कुनै मङ्गलगान वा ऋतुगान गाउन नसक्नु, राज्यको पहरा गर्न नसक्नु जस्ता केही अवज्ञावादी तथ्यहरूको प्रस्तुतिले कवितालाई वस्तुगत सादृष्य सहित शक्तिको नयाँ उचाइमा पुर्\u200dयाएका छन् । तत्कालीन निरङ्कुस राजतन्त्रको उपादेयता कसरी समाप्त हुँदैछ भन्ने कुरोलाई स्थापित गर्न उनको यो कवितामा केही शक्तिशाली तर्कहरू कलात्मक तरिकाले प्रष्फुटित भएका छन् । राज्यका अघिल्तिर उभिएका अग्ला पहाडहरू होचिदै जानु, दरौंदी नदी उल्टो बग्नु, दरबार आफ्नो गौरव गुमाउँदै खण्डहरजस्तो देखिनु केही यस्ता वस्तुगत सादृष्यहरू हुन् जसले कविको वितृष्णामय भावनालाई तर्कसँग सन्धी गराएका छन् । यो कवितामा पागलपनको जुन ‘अपियरेन्स’ छ, त्यो विशुद्ध आयोजित बहाना हो । विद्रोहका स्वरुपहरूको तथ्यगत प्रस्तुति पनि कवितामा भेट्टाइन्छ । जस्तै अन्याय र विस्मृतिको गर्तमा पुरिएको बिसे नगर्ची देश आर्जिनुमा आफ्नो भूमिका रहेको दाबी गर्छ । उसले प्रयोग गरेको सियो श्रमको औजार हो । भानुभक्तले सुरु गरेको भाषिक एकीकरणको अभियानसँग बिसे आफ्नो सीपलाई कमकक्षमा राख्छ । हुनेखानेलाई आफ्नो नाङ्गो आङ देखाएको स्वीकार्छ । विभेदकारी राज्यप्रति आक्रोश व्यक्त गर्न ऊसँग पर्याप्त तर्क र तथ्यहरू छन् । तत्कालीन राजाको तुलना कविले राक्षससँग गरेका छन् । तर यो तुलना अत्यन्तै परोक्ष छ । रामायणेली दृष्टिविन्दुबाट हेर्ने हो भने लङ्काको राजा रावणका दशवटा शीर थिए, ऊ एक अराजक र अधर्मी दैत्य थियो । मिथकीय रुपमा ऊ दशटाउके थियो । कविले पनि यो कवितामा राजाको शीर दशवटा देख्छन् । यसरी पनि अर्थ लगाउन सकिन्छ— अढाई सय वर्षपछि राजामा दैत्यत्व सवार भएर उसको व्यवस्था जीर्ण भएको हो । मुकारुङको ‘यौटा योद्धाको सम्बोधन छोरीलाई’ कवितामा एक भूतपूर्व योद्धाको विसङ्गतपूर्ण वर्तमान र उसकी छोरीको अनिश्चित भविष्यलाई शक्तिशाली वस्तुगत प्रतिरुपद्वारा देखाइएको छ । उसको सङ्घर्षपूर्ण जीवनको उत्तरार्ध अपमानित छ । उसकी छोरीका निम्ति सम्मानजनक जीवनको त कुरै छोडौं, नागरिकता पनि उपलब्ध हुने छैन । ऊ एक इमान्दार योद्धाकी छोरी भए पनि संसारका सत्ताहरूले उसको परिचय खोज्नेछन् । उसको बाबुले युद्ध लड्न प्रयोग गरेको बन्दुकलाई न कसैले सम्मानपूर्वक सङ्ग्रहालयमा राख्नेछ, न त उसको युद्धकौशलकै व्याख्या कसैले गर्नेछ । यो अचिनारु र अलपत्र अवस्थालाई कविले केवल आवेगमा व्यक्त गरेका छैनन् । उनले त युद्ध लड्दा लड्दा थकित बन्दुक, त्यसमाथि लागेको युएनओको छाप, भोका कमिला र हरिया झिँगाहरूको एकीकृत समीकरणद्वारा वस्तुगत प्रतिरुपको निर्माण गरी कवितालाई तर्क र भावनाको सङ्गम बनाएका छन् । यी हरफहरू हेरौं — तिम्रो बाबुको थाकेको बन्दुकको मोहोरी छेउ युएनओको आलो छाप लागेको छ जसको वरिपरि— भोका कमिला र हरिया झिंगाहरू घुमिरहेका छन् (१६, बिसे… ) श्रवण मुकारुङका कविताको दर्बिलो पक्ष भन्नु नै सूक्ष्म तर बलियो महत्त्व राख्ने घटना, परिघटना र सन्दर्भहरूलाई भावनासँग जोड्नु हो । उनको यस्तो काव्यमय जोडाइमा दमित र सीमान्त सत्यहरू मन छुने गरी पाठकको चेतनामा झङ्कृत हुन्छन् । भावनालाई दरिलो आधार दिने वस्तु र तथ्यको प्रवेशले नै कवितालाई शक्तिशाली र लोकप्रिय बनाउँछ भन्ने कुराको प्रमाण स्वयं श्रवणका कविताहरू हुन् । इतिहासको निर्माता भनेर परम्परागत इतिहासले एक वा केही नायकहरूलाई मान्दछ र तिनीहरूको गुणगान शदीयौं मात्र हैन युगौंयुगसम्म गरिन्छ, गराइन्छ । इतिहासका हजारौं लिखित पानाहरू अन्धभक्तिको भजनले भरिएका हुन्छन् । यो कुरा धेरैले अनुभूत गरेको र आ–आफ्नै शैलीमा व्यक्त गरिसकेको कुरा हो । तर कवि मुकारुङले यही अनुभूत सत्यलाई केही सूक्ष्म वस्तुगत तथ्यहरूको काव्यमय चित्रणद्वारा पाठकलाई उद्वेलित गराउन सक्ने यी हरफहरूको निर्माण ‘उत्खनन’ कवितामा गरेका छन्ः यो माटोभित्र उम्लिरहेको रगतको आवेग — कस्को हो ? यो महलको चोटाचोटाबाट आइरहेको पसिनाको गन्ध — कस्को हो ? यी दरबारका भव्य झ्याल–ढोकाहरूमा — कस–कसका हातका रेखाहरू छन् ? यी मन्दीरका मूर्ति र गुम्बाका गजुरहरूमा — कस–कसका औंठाका शङ्ख–चक्रहरू छन् ? (१८/१९, जीवनको …) भाषिक सरलीकरणको माध्यमद्वारा आम जनता र उनीहरूको स्वार्थप्रति हलचल नहुने प्रतिवद्धता देखाएको पाइन्छ श्रवणका कविताले । स्वच्छन्दतावादी अङ्ग्रेजी कवि शेलीले कविलाई अस्वीकृत विधायक (Unacknowledged Legislator) भनेको पनि तीन सय वर्षभन्दा बढी समय गइसक्यो । तर यो भनाइलाई नेपाली सन्दर्भमा जोडेर हेर्दा वर्तमान वर्षहरूमा ध्रुवसत्य जस्तो लाग्दछ । कवि मानव समुदायका अरु व्यक्तिहरूभन्दा फरक के अर्थमा हुन्छ भने ऊसँग ‘भिजन’ हुन्छ । अरुको मर्मबोध गर्न सक्ने अद्वित्तीय प्रतिभा हुन्छ । त्यसैले ऊ कवि हो । कवित्व एउटा दुर्लभ बरदान हो । तर उसको कवित्व र भिजनलाई समाजले सजिलै ग्रहण गर्दैन यसको कारण प्रष्ट छ— समाज रुढ कार्यतालिकामा चल्न चाहन्छ । अधिकांश सामाजिक कार्यव्यापार संवेदनहीनताले चलेका हुन्छन् । कवि यसको उल्टो हुन्छ । उसले आसन्न विपत्तिलाई पहिले नै देखिसकेको हुन्छ । ऊ यी सबै क्षमताका बाबजुद पनि अस्वीकृत हुन्छ किनकि उसले बोल्ने भाषामा मान्छेको चेतनालाई उद्वेलित गराउन सक्ने सामर्थ्य हुन्छ । त्यो सामर्थ्यसँग सामाजिक संस्थापन सदैव त्रसित हुन्छ । त्यसैले कवि सत्ताका लागि ‘अरुचिकर’ र ‘अस्वीकृत’ हुन्छ । माघी पर्व मनाउन पाउने आफ्नो सांस्कृतिक अधिकार, खसी खान पाउने सम्प्रदायगत अधिकार, घुँघी टिप्न पाउने जातीय अधिकार र माछा मार्न पाउने प्राकृतिक अधिकार संकुचित भएको एक आदिवासी थारुको अन्तर्पीडालाई कविले केही वस्तुगत प्रतिरुपहरूको सहयोगद्वारा ‘मुक्तिगीत’कवितामा तलका हरफहरूमा यसरी व्यक्त गरेका छन् — जसरी उनीहरूले यो रुखका कलिला हाँगाहरू लुछे त्यसरी नै— मेरो हात, खुट्टा, गिदी र आँखाहरू लुछे मेरा छातीका आदिम करङहरू भाँचेर आफ्ना लागि सुरक्षित घर बनाए मेरो आवाज लुछेर उनीहरूले आफ्नो भाषा बनाए मेरो रुवाइ लुछेर उनीहरूले आफ्नो गीत बनाए मेरो आक्रोस लुछेर उनीहरूले आफ्नो हतियार बनाए मेरो आँसु लुछेर उनीहरूले आफ्नो प्यास मेटाए (२१, बिसे…) वस्तुगत सादृष्यको प्रचुरता मात्र हैन श्रवणका कवितामा तिनीहरू मौलिक, मर्मस्पर्शी र ग्राम्यवासनायुक्त छन् । यी वस्तुगत सादृष्यहरू कतिपय अवस्थामा समपुस्ता र उत्तरपुस्ताका कविहरूका निम्ति अनुकरणीय भएका छन् । कतिपयका निम्ति यो अनुकरण अपरिमार्जित छ भने अरु कतिका निम्ति परिमार्जित र प्रेरणादायी छ । यो अनुकरणको विषय अध्ययनका लागि एउटा छुट्टै पाटो हुनसक्छ । ‘आफ्नै देशसँग’ कवितामा कवि श्रवणले आफ्नो असन्तुष्टीलाई व्यक्त गर्दा माथि भनिए झैं सूक्ष्म र बिशेष घटनासन्दर्भ भित्र्याएका छन् । यहींनिर कवि श्रवण आफ्ना कवितामा अरु कविहरूको सापेक्षमा भिन्न भेटिन्छन् । देशप्रतिको आक्रोस नग्न, प्रत्यक्ष र नाराबाजी प्रकृतिको नभएर कलात्मक, परोक्ष र लक्षणात्मक बनाउन सकेका कारण नै श्रवणका कविता प्रियकर छन् । आजभन्दा ३२ बर्षअघि ‘सुश्री काली खवासले लिपेको हरियो भुइँ’ भन्ने पदावलीले एउटा सामाजिक र आर्थिक पृष्ठभूमिलाई बोकी ल्याएको छ । गाईको गोबरले लिपेको भुइँ हरियो हुन्छ । एउटी सीमान्त समुदायकी अविवाहित केटी र उसको कृषिप्रधान समाजलाई पनि चित्रित गरेको छ यो पदावलीले । यसरी नै तल उद्धृत हरफहरूले आक्रोस, विद्रोह र असन्तुष्टीको वेगवान भावनालाई विशेष वस्तुगत प्रतिरुपको सहयोगमा प्रकट गरेका छन् — मैले तिम्रो एक ढिको नून सित्तै खाएको छैन एक खिली सुर्ती बेहिसाब पिएको छैन एक हरक श्वास त्यसै फेरेको छैन (२३/२४, जीवनको …) एक ढिको नून, एक खिली सुर्ती र एक हरक श्वास सूक्ष्म र मिहिन वस्तुगत प्रतिरुपहरू हुन् जुन मूलतः विम्ब प्रसाधनका मूलधारबाट वञ्चित छन् । मोहन कोइराला, बैरागी काइँलाजस्ता आधुनिकतावादी कविको सम्भ्रान्त छविलाई समातेर उनीहरूको छविको विनिर्माण गरी कङ्क्रिट वस्तुगत समीकरणको सहारामा कवि श्रवणले श्रमिक नेपालीको कथा सुनाएका छन् । ‘मोहन कोइराला’ कवितामा भारी बोकेर पहाडको उकालो ओरालो र धुलाम्य बाटोमा हिड्ने भरिया मोहन कोइरालाको चित्र कवि मुकारुङले निधारका निमुखा पसिनाहरू निमोठ्दै, नुन, पानीका नाला र कर्कटपाता ओसार्ने श्रमिकको रुपमा उभ्याएका छन् । यसैगरी ‘बैरागी काँइलाको लास’ कवितामा आधुनिकतावदी घरानियाँ कवि बैरागी काइँलाको छविको विनिर्माण गर्दै कवि मुकारुङले बाबुआमाको टुङ्गो नभएको र बाल्यकालमा रत्नपार्कमा भिक्स बेचेर जीवन गुजारेको तथा धरान–काठमाडौं रात्रीबसको खलाँसी हुँदै जादा कविता लेख्न र रक्सी खान सुरु गरेको एवं पुनमायालाई बिहे गरेर परिवार नियोजन नगरी थुप्रै सन्तानको बाबु भएको बैरागी काइँला अन्तमा शिवरात्री मेलाबाट फर्किदै गर्दा मारिएको कथानकभित्र स्मरणमा रहिरहने विम्बहरूको प्रयोगद्वारा एक सीमान्त नेपालीको शाब्दिक चित्र खिचेका छन् । पुरानो पुस्ताका स्थापित कविहरूको छवि विनिर्माणको मोह कवि श्रवणका मनमा अलि बलियो गरी बसेको प्रतित हुन्छ । ‘भानुभक्त’ शीर्षकको कवितामा वैदेशिक रोजगारीको खोजी गर्दै सस्तो मूल्यमा मलेसियामा आफ्नो श्रम बेच्न जान लागेको एक कवि (जसले धेरै कविहरूको प्रतिनिधित्व गर्छ) को चित्र छ । सौन्दर्यशास्त्रमा रुचि भएको त्यो श्रमिक कविलाई आदिकवि भानुभक्तको पछिल्लो संस्करणको रुपमा कवि श्रवणले देहाय बमोजिमको वस्तुगत बिम्बको सहारामा उभ्याएका छन्— बाहुला सुर्केको कमिज खासाको जिन्स पेन्टमुनी गोल्डस्टार सुज झोलामा टावेल, गञ्जी, कट्टु एसएलसीको सर्टिफिकेट र श्री प्रकाश कोविदको उपन्यास खल्तीमा नागरिकता, पासपोर्ट र रु. सातसय पचास र आमाको सादा तस्वीर (४८, बिसे … )। श्रवण मुकारुङको यो संस्कारित आदिकवि भानुभक्त रामायण लेख्न मलेसिया उड्दैछ । मलेसिया पुगेर रामायण लेख्नुछ भन्ने कथनमा तीक्ष्ण व्यङ्ग्य र ‘डिजेनेरेसन’ को उपस्थिति छ । प्रिय पाठक ! चक्रव्यूह सञ्चेतना (Labyrinth Conscince) को सैद्धान्तिक प्रारुपअन्तर्गत वस्तुगत सादृष्यको ऐकिक दृष्टिविन्दुबाट हामी कवि श्रवण मुकारुङका कविताको विश्लेषण गरिरहेका छौं । उनका कवितामा प्रचुर मात्रामा वस्तुगत प्रतिरुप छन् जो मूलतः ग्राम्य जीवनका हिउँदबर्खाहरूबाट आयातित छन् । कुनै भौगोलिक क्षेत्रमा जो मानिसहरू आदिम कालदेखि बसोबास गर्दै आएका छन्, तिनीहरू त्यो क्षेत्रका पुराना मानिस हुन् । अर्को शब्दमा आदिवासी हुन् । तिनीहरू एउटा सनातन परम्परा बोकेर आएका छन् र अदम्य छन् । कवि मुकारुङले तिनीहरूलाई खेतमा धानको गन्ध, पहाडमा बतासको गन्ध र समुद्रमा पानीको गन्धको वस्तुगत प्रतिरुपसँग जोडेका छन् । ‘पुरानो मानिस’ शीर्षकको कवितामा कविको आक्रोशको काँचो अनुभूति विम्बको सहारामा झाँगिएको छ । प्रोफेसर शर्माको चित्र पाठकका आँखामा झल्झली नचाउन सक्ने गरी यो कवितामा केही वस्तुगत बिम्बहरूको प्रयोग भएको छ । चप्पलभित्र छिप्पेको इस्कुसजस्तो खुट्टा र डेरा सर्दै गर्दा प्रोफेसर शर्माले खुद्रा पसलेलाई पटक पटक गरेको नमस्कार कविता पढिसकेपछि चीरकालसम्म पाठकका दिमागमा अमिट बिम्ब भएर बस्छन् । बिसे नगर्चीको बयान सङ्ग्रहको अन्तमा पुग नपुग ४०० हरफको ‘९८ को आत्मकथा’ नामको लामो कविता पनि समेटिएको छ । नामुद शिकारी राजवीरको नाति, विश्वयुद्धको सिपाही भगिवीरको छ वटी श्रीमतीबाट जन्मिएका बाह्र भाइ छोरामध्येको सबैभन्दा कान्छो छोरो जाँचवीर राई यो कविताको मुखपात्र हो । सन् १९५९ मा ऊ ब्रिटिस गोर्खा सेनामा भर्ना भएर अरु योद्धा सैनिकहरूसँगै मलेसिया र ब्रुनाइका घनाजङ्गलमा कथित आतङ्ककारी, डाकु, लुटेरा र कम्युनिष्ट खोज्दै युद्धमा सामेल हुन्छ । फेरि युद्ध सोच्नै नसक्ने भएर तथा फेरि हतियार उठाउनै नसक्ने भएर सन् १९७१ मा पूर्वी पहाडको आफ्नै किराती गाउँ फर्कन्छ । पुनः १९९१ मा ऊ आफ्ना अधुरा आर्थिक सपनाहरूको इमान्दार कार्यकर्ता भएर हङकङ जान्छ । पछि फर्केर नेपालको लोकतान्त्रिक आन्दोलनमा भाग लिन्छ । वि.सं. २०६७ सालमा ७२ वर्ष उमेर पुगिसकेको जाँचवीर नेपालको धोखेबाज राजीति मात्र हैन, सुगौली सन्धी, जङ्गबहादुरको खसी बजार, अवसरविहीन छोराछोरी, भोलिको दर्केपानी वा चर्को घाम, दूताबासको साँघुरो झ्याल लगायतका वस्तुगत बिम्बहरू सम्झिरहेको छ । यो कवितामा नेपाली युवा विशेष गरी जनजाती युवाको पीडा र चर्केको सपनालाई किराती विम्ब मिथक भित्रका वस्तुगत समीकरणलाई समातेर एउटा मार्मिक कथानक प्रस्तुत गरिएको छ । सिस्नुको फेटा, लहराको जुत्ता, दगुरिरहेको हुरी, हिमाली गाईका बहर, बाटो छेक्ने पुर्खाको सेहें, शरीरभित्र गर्जिरहेको घाइते बाघ जस्ता विम्बहरू कवितामा मर्मस्पर्शी भएर आएका छन् । यो कविताले एउटा भूगोल, एउटा लामो इतिहास, एउटा आदिवासी संस्कृति र नेपाली राष्ट्रियताको खण्डित र अपुरो सङ्कथनलाई विष्फोटक रुपमा प्रस्तुत गर्न सकेको छ । नेपाली लामा कविताहरूको विधाभित्र राखेर अध्ययन गर्न सकिने यो कवितामा काव्यमय शैलीको किनारैकिनार वस्तुगत सादृष्यको छहारीकै कथानकको खोलो दगुरेको छ । नेपाली कविताको ५० र ६० को दशकमा अत्यन्तै प्रखर र एउटा शक्तिशाली धारको नेतृत्व गरेका कवि श्रवण मुकारुङ धेरै कविहरूका निम्ति अनुकरणीय थिए र छन् । उनका विचार र बिम्ब कवितामा एकल जातीय नभएर बहुजातीय नेपालको आत्मसम्मानमा चोट नपुग्ने गरी बहुआयामिक छन् । उनले हिन्दू ब्राह्मण संस्कृति, जनजाति संस्कृति, मधेसी संस्कृति र दलित समुदायप्रति सहानुभूति राख्ने थुप्रै प्रसङ्गहरूको कवितात्मक अभिव्यञ्जना तयार गरेका छन् । वर्तमान समयमा काव्यसाधना गरिरहेका कतिपय कविहरूको जातीय र सांस्कृतिक सङ्कीर्णताले श्रवण मुकारुङका बहुलावादी सोच र अन्तरसांस्कृतिक उदारता बोकेका कविताबाट बिस्तारै प्रेरणा ग्रहण गर्नेछन् भनेर आशा गर्न सकिन्छ किनकि बहुसांस्कृतिक नेपाली समाजमा घृणा संस्कृति (Hatred Culture)ले न त काव्यमा न त राजनीतिमा भलो गर्नेछ । श्रद्धेय पाठक ! श्रवण मुकारुङका कवितामाथि यो लेखमा गरिएको पठन एउटा दृष्टिकोण हो अरु दर्जनौं दृष्टिकोणबाट पठन गर्न सकिने आत्मशक्ति बोकेका यी कविताहरू बिम्बप्रशाधन र समसामयिक मुद्दा उद्वोधनको दृष्टिले अत्यन्तै सफल छन् । कवि मुकारुङका कविताभित्र अर्थका अरु कैयौँ प्रक्षेपहरु अवश्य छन् । यो सानो लेखमा ती सबैको निरुपण सम्भव छैन । दोहोर्\u200dयाएर भन्नु पर्दा “काव्यकृति र अर्थको सम्बन्धलाई हनुमान–सुरसाको रामायणेली मिथकका आधारमा पनि बुझ्न सकिन्छ” (१७५, ऐकिक…) । सौन्दर्यशास्त्र बुझ्ने भावकलाई उनका हरफ र पदावलीले आजीवन हल्लाइरहन्छन् । अर्थ महोत्सव – जिन्दावाद ! Semantic Carnival – Jindabad ! सन्दर्भसूचीः मुकारुङ, श्रवण, जीवनको लय, ललितपुरः साझा प्रकाशन, २०६१ । …., बिसे नगर्चीको बयान, काठमाडौंः साङ्ग्रिला बुक्स, २०६७ । लेइच, भिन्सेन्ट, बि., सम्पा., “टि.एस. इलियट”, द नर्टोन एन्थोलोजी अफ थियरी एन्ड क्रिटिसिज्म, लण्डनः डब्ल्यू. डब्ल्यू. नर्टन एण्ड कम्पनी लिमिटेड, २००१ इ.सं. । हाचेकाली, सुरेश, ऐकिक चक्रव्यूह समालोचना, ललितपुरः साझा प्रकाशन, २०७४ । #बिसे नगर्चीको बयान #श्रवण मुकारूङ #सुरेश हाचेकाली
कोरोना सँगै बाँच्न सिकौं: पत्रु खाना न खाएर, ताजा स्वस्थ खान सिकौं, कोरोनालाई हराउन, कोरोना संगै बाँच्न सिकौं। केही हिँडौं, अल्ली उफ्रौं, कसरतको रोपौं बिउ, प्राणायामलाई जीवनमा, हामी थोरै समय दिऊँ। फूल बिरूवा, पशु पंछी सबलाई हामी माया गरौं, मान्छे झ्वाट्ट नजिक आए, हामी अल्लि पर सरौँ। अंगालेर आधुनिकता, हातै मिलाउन कोही आउलान् , प्रेमपूर्वक किटाणुलाई, फुत्त हामी तिर सार्लान्। स्नेह सहित नमस्कारमा आफ्ना दुबै हात जोडौं, थन्क्याइएको संस्कारलाई, अब पुनः बाहिर झिकौं। चीनमा खोक्दा, इटलीमा, पर्न गयो प्राण घात, एकै रैछ विश्व सारा, एउटै रैछ हाम्रो जात। घर, तराई, पहाड, हिमाल, स्वच्छ हामी राख्न जुटौं, हुने खाने सबै मिलि, हुँदा खानेको मर्का बुझौं। किटाणुका मित्रलाई, शत्रु हामी बनाऊँ आज, उस्का शत्रु, हाम्रा मित्र, यो हो जितको अर्को राज। नआत्तिई, नडराई, होशियार बन्न सिकौं, बाढी आऊॅदा खोला तर्न, छाल संगै बग्न सिकौं। कोरोनालाई हराउन, कोरोना संगै बाँच्न सिकौं, कोरोनालाई हराउन, कोरोना संगै बाँच्न सिकौं। #कोरोनाभाइरस #रचना सिंह
मुरारीराजका हाइकु: १. लुट्छ उमेर हरेक सूर्याेदय उज्यालो दिई । २. एकै शब्दमा महाकाव्य लेखियो ’आमा’ भनेर । ३. चन्द्र उदायो सम्झिएँ तिमीलाई दुरुस्तै थियोे । ४. पूरानो घाउ खाटा बस्नै सकेन बल्झिन्छ सधँै । ५. नक्सामा आफ्नो रजगज अर्कैको मेरो जमिन । ६. कहिले सुस्ता कहिले कालापानी देश दुख्दैछ । ७. मिलेर बाँचौ माटोको भर ईंटा ईंटाको माटा । ८. दुखेको मन परेली बाँध खोल्दै तप्प चुहियो । ९. मायाको फूल फुलाउन खोजेको बोटै सरेन । १०. आफैं देखेर लठ्ठिए ऋतुराज मुस्कायो फूल । #उमामहेश्वर #हाइकु
सूर्य बहादुर तामाङ: बिहान सूर्य उदाउनुअघि नै हातमा नाम्लो बोकेर हिँडेको सूर्य बहादुर तामाङ सूर्य अस्ताउनुअघि नै कीर्तिपुरको बीच सडकमा हातमै नाम्लो च्यापेर अस्तायो । अस्ताएपछि सूर्य बहादुर एकाएक अखबारहरूमा छायो, मध्याह्नमै बीच सडकमा नाम्लो च्यापेर अस्ताएको सूर्य बहादुर अखबारका पाना भरिभरि तस्बिर बनेर आयो अनि मात्रै सूर्य अस्ताएको खबर लोकले चाल पायो । शरीरमा अलिकति तागत छउन्जेल नशामा दुईथोपा रगत बगुन्जेल सूर्य बहादुर कहिले नाम्लो च्यापेर कहिले भारी बोकेर बाघभैरव- पाँगा- नयाँबजार-कालीमाटी गरिरह्यो, पसिनाको धारा चुहाउँदै कहिले बल्खुको तरकारी बोक्यो उसले कहिले साहुको सिमन्टी घिसार्यो उसले धेरैलाई खुवायो सूर्य बहादुरले धेरैका घर बनायो सूर्य बहादुरले आफूभने सधैँको बेघर सूर्य बहादुर बन्दाबन्दीमा शायद भोकभोकै पर्यो र त आकाशमा सूर्य नअस्ताउँदै बीच सडकमै गर्लम्मै ढल्यो । जिउँदो छउन्जेल बगेको सूर्य बहादुरको स्वाभिमानी पसिना न उसको सरकारले देख्यो, हुनेखानेको सहरमा हुँदा खाने सूर्य बहादुरको वेदना न त कुनै अखबारले लेख्यो मरेपछि भने सूर्य बहादुर एकाएक शीर्ष समाचार बन्यो र सूर्य झैं चम्कियो: “धादिङको सूर्य बहादुर तामाङ कीर्तिपुरको बीच सडकमै मर्यो” खै कसलाई थाहा छ – धादिङको सूर्य बहादुर बाबुआमाका सपना बोकेर झार्लांगबाट झरेको थियो कि प्रेयसीको दुःखका दिन फेर्नका लागि तसर्पु या तोप्लांगबाट याम्बुरी छिरेको थियो । अब ऊ फर्केर आउने छैन र भन्ने छैन- ऊ धादिङबाट यो शहर किन पसेको थियो । शहरले उसलाई डस्यो ठूलाहरूको शहरमा सानाहरूका मसिना सपनाको कुनै हिसाब हुँदैन तैपनि केही होला भनेर सूर्य बहादुरले ठूलाहरूको आशामा ठूलाहरूकै आदेशमा कहिले “हलो” समायो कहिले “रुख” को सहारामा रमायो यसपालि सूर्य बहादुरले गरिखानेहरूको सुदिन फिर्ला कि भनेर “सूर्य” लाई आफ्नो ठम्यायो र सूर्यकै सरकार बनायो तर अपशोच सूर्यकै सरकार भएको बेला भ्रमको अँध्यारोले थिचेर भोकको भुमरीमा परेर राजधानीकै मुटुमा सूर्य बहादुर तामाङ डङरंगै ढल्यो । (पेशाले वातावरण विज्ञ डा. ऋषि बस्ताकोटी कविता, गजल, मुक्तक लेखनमा सक्रिय छन् । उनका “ज्वालाका रापहरू” गजल संग्रह र “गजल स्पर्श” सांगीतिक गजल एल्बम प्रकाशित छन्। विभिन्न साहित्यिक पत्रपित्रकाहरूमा उनका कविता, गजल, गीत, मुक्तक, कथा, निबन्ध र समीक्षा नियमित रुपमा प्रकाशित छन् । उनी राष्ट्रिय कविता महोत्सव (२०५२), गजल प्रतिभा सम्मान (२०६३), खुल्ला विश्वव्यापी अनलाइन मुक्तक प्रतियोगिता (२०७३) लगायत साहित्यिक पुरस्कार र सम्मानबाट सम्मानित छन् ।) #कोरोना #डा. ऋषि बस्ताकोटी #बन्दाबन्दी #सूर्य बहादुर तामाङ
प्रश्नहरू: भन्ते, आज सोध्न मन छ ती मानिसहरु सित, जो आफ्ना क्षणिक प्यासहरु बुझाउन प्रथम स्वप्नदोषको अनुभूति नगरेकी मेरी छोरीको जवानी पिउन आउँछ्न्, तिनलाई मैले छोएको किन पानी अछुतो हुन्छ? ती जो सधैँ मेरो भट्टीको सोमरसको घैँटो रित्त्याएर जान्छन् मेरी स्वास्नीले छोएको कुवाको पानी किन बिटुलो मान्छन्? व्रत बस्दा नयाँ वस्त्र फेर्न मेरै घर आउने बिष्टिनी उनकी भर्खर जन्मेकी नातिनीलाई चाहिने भोटो लिएर दौडिदै उनको घर पुग्ने मेरी स्वास्नी तिनै बिष्टको आँगनमा आफ्नै चुँडेको चप्पल ओछ्याएर बस्छे टुसुक्क। बर्खामा झमझम पानी पर्दा पिँढीमा ओत लाउन किन पाउँदिन? मन्दिरको गजूर हालेका ती कामी दाइले त्यही मन्दिरको देउता जागेपछि आज तिनै मन्दिर छिर्न किन पाउँदैनन् ? खोलामा बग्दै गरेकी बिष्टिनीलाई बचाएको साइँलो कामीको छोराले उसकी छोरीलाई दुई तर्फी प्रेम गर्न किन पाउँदैन? अरुलाई खोलाको आँधीबाट बचाएर जीवनदान दिनेले त्यस्तै मान्छेसँग जीवन काट्न के हुन्छ भन्ते? तिम्रो धर्मले के भन्छ भन्ते? भर्खर मीठो स्वप्न देख्न सुरु गरेकी हल्का लाली चढेको गुलाफ जस्ती तर नफुलेकी किशोरीलाई लछारपछार पारेर लुछ्ने गिद्दहरुसँग जिन्दगी नै टाँसो लाइदिनुलाई धर्म ? कसैसँग प्रेम गरेकै भरमा भेरीको भेलमा जबर्जस्ती हेलिइदिनुलाई धर्म? प्रेम-निष्ठा सिकाउँछ भन्थ्यौ धर्मले के यही हो, तिम्रो धर्मले सिकाएको प्रेम? सोध्न मन छ भन्ते ती पण्डित पादरीसँग ती नीति निर्मातासँग अनि ती समाजकै रक्षक बनेका भक्षकहरुसित रक्षा कसको हो? बलात्कारीको ? या प्रेमीको? रक्षा कसको हो? हत्याराको ? या प्रेम गरेकै भरमा ज्यान गुमाउन पर्नेको ? या परिवारको भरणपोषण गर्न भर्खर लायक बन्दै गरेको ठिटाको प्रेमको पाठ पढ्दै गरेको युवकको? या भर्खर विद्दालय जाने उमेरकी किशोरीको? सुनौला सपना गाँस्नेहरुको ? या स्वप्न देख्ने अधिकार नराख ए चुने रैती हो भन्ने श्री ३ हरुको? #दलित #श्रीजु पन्त
जून प्रेम: मेरी जून मलाई धेरै माया गर्छे तर ऊ म भन्दा टाढा छे जून मेरो लागि प्यारी छे म एक्लो हुँदा मलाई सहारा दिन्छे अनि मेरो अन्धकार रातहरू उज्यालो पार्छे हरेक रात जून मलाई भेट्न आउँछे किनकि ऊ मलाई प्रेम गर्छे मेरी जून स्थिर छे म उस्को माया कहिल्यै बुझ्न सक्दिनँ न त उसले कहिल्यै बुझाउने प्रयास गर्छे मेरी जून कहिल्यै बोल्दिन ऊ टाढा बसेरै मलाई धेरै माया गर्छे मेरा दुईवटा दुस्मन छन् औँशी र बादल जस्ले मेरी जूनलाई मबाट टाढा लान खोज्छन् तर हाम्रो प्रेम कसैले छेक्नै सक्दैनन् किनकि जूनदेखि टाढा अरू ठाउँ नै छैन अनि जून नभाको ठाउँमा म जाने हैन त्यसैले त म हरेक औँशीको रातमा उसलाई कुरेर बस्छु #जून #प्रेम #बद्री विक्रम
खुला कविता प्रतियोगितामा भाग लिन आह्वान: कोविद १९ रोगको सन्त्रासबाट उत्पन्न प्रतिकूल परिस्थितिमा सिर्जनशील तरिकाले मानवीय सहयोगमा टेवा पुर्\u200dयाउने उद्देश्यले फोरम फर नेसन बिल्डिङ नेपालले खुला कविता प्रतियोगिता आयोजना गरिरहेको छ । सातौँ हप्तासम्म आइपुग्दा प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको आयोजक फोरम फर नेसन बिल्डिङले जनाएको छ । सातौँ हप्ताको प्रतियोगितामा भाग लिएका मध्येबाट संस्थाले रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका लाप्का निवासी सन्तोष पौडेलको ‘विद्रोहको स्वर’ प्रथम घोषित भएको छ । यस्तै इलामका विपिन रेग्मीको ‘किसान’ तथा अर्घाखाँचीकी सुष्मा गौतमको ‘सपना’ तेस्रो भएको छ । यसैगरी मोरङका केशव भण्डारीको ‘रोकिएको शहर’ तथा स्याङ्जाकी प्रतीक्षा पौडेलको ‘अन्तर्जातीय प्रेम’ पाँचौँ बन्न पुगेको छ । प्रथम कविताले पाँच हजार नगद पुरस्कार प्राप्त गरेको छ भने दोस्रो र तेस्रोले क्रमशः तीन हजार र दुई हजार रूपैयाँ प्राप्त गरेको फोरम फर नेसन बिल्डिङले जनाएको छ । अर्को साताका लागि पनि प्रतियोगिताका लागि कविताहरू पठाउन संस्थाले आह्वान गरेको छ । कविताको मूल विषय मानवीय सेवा हुनुपर्ने पनि संस्थाले जनाएको छ । #प्रतियोगिता
मृत्युको चेहेरा: चिथोरेर गयो हल्लाहरूको कोसेली बोकेर आएको हावाको झोक्का हल्ला त वास्तविक नै थियो तर हल्लै हल्लामा हल्ला मात्रै आएको बुझिएन बित्थामा मनलाई साँच्चै रेटेर आयो – गयो । भन्नेले भन्दिए पृथ्वीको कोखमा भूकम्प आयो–गयो यत्तीकै भत्किए कमजोर मनहरू कसले पोखिदिएछ चन्द्रमा चहकमा तेजाबी षड्यन्त्र पर्दा ओडेर हिँड्न बाध्य भए सुन्दरताहरू दरिद्र सोचको डढेलो झोसेर आफ्नै मस्तिष्कमा गाँउ जलेको खबर फैलिएर आयो फोहोरी बिचारको पहिरो खसालेर आफ्नै मस्तिष्कमा घर बगेको खबर फैलियो र त थुप्रै बस्तीहरूमा निस्कियो अभावको मुहान थुप्रै शताब्दीदेखि जलिरहेको अग्निलाई पवित्र मानेर जल्दै आएको छ समाजको एउटा वर्ग बगिरहेको पानीलाई पवित्र मानेर सदियौंदेखि बग्न बाध्य छ अर्को वर्ग आफ्नै कर्मको नाँउमा आफ्नै पेसाले पिल्सिँदै कहिले आगोको रागमा पोलिएर कहिले विभेदको हथौडाले ठोकेर कहिले तिखो सुइरोले आफ्नै पेटमा घोच्दै कहिले आफ्नै संगीतको आर्तनादले रेटिँदै एउटा वर्ग पर्खिरहेछ परिवर्तनको छाँया परिवर्तनको छाँया पछ्याउन लगाएर पुग्न बाध्य बनाए आफ्नै मृत्युको अघि, आवाजको बाटो हुँदै शान्तिको गेट सम्म धकेले तर हुँदोरहेछ शान्तिको मुलगेट अघि मृत्युको उत्सव बाँकी कोही परिवर्तनको छाँयामा उभिएर पानी पिउन नपाँउदै रोकिए कोही परिवर्तनको मूलढोकासम्म छुन नपाएर आए कोही सामन्ती पैतालामा कुल्चिन बिवश भए कोही आरोपको अग्निकुण्डमा धकेलिए र यो साँचो हो कि आजसम्म पनि मान्छे प्रेम गर्दै–गर्दै मारिन्छ ! #नविन शर्मा #मृत्युको चेहेरा
दाम्पत्य जीवन: रहोस् सदा शान्त दाम्पत्य जीवन दीर्घायू पनि बनोस् सुन्दर सधैँ ऐश्वर्य वैभवको सुन्दरमणि चखेवा जोडी भई निरन्तर तानुन् जीवन रथ कोरुन सदा साथ भई सुन्दर जीवनका स्वप्न पथ नआऊन् है कहिलै दुःख दरिद्रका दुष्कर क्षण नत कुनै रिस विक्षिप्त मनका विवादित कण प्रेमै हो निस्वार्थी विमुक्त मनको सुन्दर पथ प्रेम नै हो डोर्\u200dयाउने जागृत जनको जीवनरथ प्रेम नै हो पूजा पवित्र मन्दिर यो धरणीको प्रकृति पुरुषको मिलन गराउने यौवनको कुनै दिन भाग्यो त्यो प्रेम मनको सुन्दर चरो रहने छ मानव फगत खोस्टो बनी बिचरो प्रेमै हो निस्वार्थी छैन रतिभर खोट मनमा सदा दृष्टि डाल्नु सुन्दर भावनामा नकी तनमा कुरो यति बुझुन् प्रणय मनका युगल जोडी चल्ने छैन सृष्टि प्रेम पथको गन्तव्य छोडी सैंबु, ललितपुर #दाम्पत्य #सुरेश जोशी
मञ्जरीले सुरु गर्याे घरघरमा पुस्तकको यात्रा: मञ्जरी प्रकाशनले घरघरमा किताब पुर्याउने अभियान सुरु गरेको छ । लक डाउनको विषम परिस्थितिमा आवश्यक सुरक्षा तथा सावधानीलाई अपनाएर पाठकहरुसम्म पुर्याइने जानकारी लेखक तथा मञ्जरी प्रकाशनका संचालक कृष्ण अविरलले साहित्यपोस्टसँगको कुराकानीमा जानकारी दिए । अविरलका अनुसार मञ्जरीले आफूसम्म उपलब्ध भएका सम्पूर्ण प्रकाशनका पुस्तकहरु पाठकसम्म पुर्याउने छ । यो सेवा काठमाडौँ उपत्यकाभरिका लागि सञ्जालन गरिएको, र एक हजारभन्दा धेरैको पुस्तक लिनेका लागि कुनै पनि किसिमको सेवा शूल्क नलिइने पनि उनले सहित्यपोस्टलाई जानकारी दिए । “यो विषम परिस्थितिको अवस्थामा पनि मान्छेहरु छुटको विषयमा बार्गेनिङ् गर्छन्”, अविरलले भने– “हामी विदेशी प्रकाशनका पुस्तकमा छुट दिनसक्ने अवस्थामा छैनौँ । नेपाली, त्यसमा पनि मञ्जरीको प्रकाशनमा भने २० प्रतिशतसम्मको छुटको व्यवस्था पनि मिलाएका छौँ ।” काठमाडौँबाहिर मञ्जरीलगायत अन्य सम्पूर्ण प्रकाशनका पुस्तकहरुलाई पाठकहरुसम्म पुर्याउने काम नारायणगढस्थित सम्पूर्ण किताबले पनि गर्दै आएको छ । यसअघि घरघरमा किताबको यात्रा बुक हिल बुक्सले पनि सुरु गरिसकेको छ । #घरघरमा पुस्तक
कालापानीको व्यथा: ए कालापानी तिमी साह्रै सस्तो भयौ किनकि मैले हिजो साँझ बालेको आगो अझै निभेको छैन तर तिम्रो वेदनाको कथा निभिसक्यो किनकि यहाँ तिम्रो व्यथा बुझ्ने अनि त्यो गहिरो कथा पढ्ने समय छैन । तिम्रो त्यो अतिक्रमण कथा भुलाउन, अनेकन खेलहरु रचिँदैछ्न् तिम्रो कोख अतिक्रमण भन्दा ठूलो, कलाकारको गाली भयो अनि हरेक क्षेत्रमा राजनीति, हालिमुहाली भयो ।। ए कालापानी तिमी कसैको, भोट बैंक भयौ म लगाएत सबैसबैको, संजालमा कहलिने माध्यम भयौ पत्रकारहरुको हेड्लाइन बन्यौ कमेडियनहरुको कमेडीको पात्र बन्यौ राजनीतिज्ञहरुको प्रख्यात एजेन्डा बन्यौ जान्ने बुझ्ने नागरिकको अभियान बन्यौ लेख्न सक्ने मान्छेको साहित्य बन्यौ बोल्न सक्नेको चियागफ बन्यौ ।।। तर केवल क्षणिक बन्यौ मैले हिजो साँझ बालेको आगो अझै निभेको छैन तिम्रो वेदनाको कथा निभिसक्यो तर तिमी धन्दा नमान तिम्रा केही सन्तान मौन छन् कोही सन्तान गौण छ्न् ।।।। त्यो मौनता टुटेको दिन आगोको झिल्का दन्केर मुस्लो बनेको दिन खुकुरी र तरबारहरु जुर्मुराउँदै वीर गोर्खालीको त्यो इतिहास दोहोरिने छ। ती शत्रुका घातहरु झेल्न हामीलाई, कुनै ढाल आवश्यक पर्ने छैन ।।।।। किनकि तिम्रा व्यथाका, आँसुहरु पर्याप्त हुनेछ्न् ती आघातबाट लागेका घाउहरु निको पार्न पनि हामीलाई कुनै औषधि चाहिने छैन किनकि विजयी पछिको त्यो तिम्रो मुस्कान नै काफी हुनेछ। त्रि विक्रम सिंह #कालापानी #साहस #सीमारेखा
पहिलो माया: मायामा तिम्रो त्यसै डुबेछु सधैं सधैं माया पाउने आसैमा भुलेछु टाढिएको घाम जस्तै आकाशमा त्यही जून जुनकीरीहरुको उज्यालोमा आज मायामा संसार भुलेछु घामको किरणसँगै उदाएको दिन त्यही आकाशबाट मौलाएको जूनको छाया मायामा बगेको आँसु अनि पहिलो यो माया । विराटनगर, नेपाल #नेपाल #विराटनगर #सुशान्त थापा
मृत्युको चेहेरा: चिथोरेर गयो हल्लाहरूको कोसेली बोकेर आएको हावाको झोक्का हल्ला त वास्तविक नै थियो तर हल्लै हल्लामा हल्ला मात्रै आएको बुझिएन बित्थामा मनलाई साँच्चै रेटेर आयो~ गयो भन्नेले भन्दिए पृथ्वीको कोखमा भूकम्प आयो~गयो यत्तिकै भत्किए कमजोर मनहरू कसले पोखिदिएछ चन्द्रमा चहकमा तेजाबी षड्यन्त्र पर्दा ओडेर हिँड्न बाध्य भए सुन्दरताहरू दरिद्र सोचको डढेलो झोसेर आफ्नै मस्तिष्कमा गाँउ जलेको खबर फैलिएर आयो फोहोरी विचारको पहिरो खसालेर आफ्नै मस्तिष्कमा घर बगेको खबर फैलियो र त थुप्रै बस्तीहरूमा निस्कियो अभावको मुहान थुप्रै शताब्दीदेखि जलिरहेको अग्निलाई पवित्र मानेर जल्दै आएको छ समाजको एउटा वर्ग बगिरहेको पानीलाई पवित्र मानेर सदियौंदेखि बग्न बाध्य छ अर्को वर्ग आफ्नै कर्मको नाउँमा आफ्नै पेसाले पिल्सिँदै कहिले आगोको रागमा पोलिएर कहिले विभेदको हथौडाले ठोकेर कहिले तिखो सुइरोले आफ्नै पेटमा घोच्दै कहिले आफ्नै संगीतको आर्तनादले रेटिँदै एउटा वर्ग पर्खिरहेछ परिवर्तनको छायाँ परिवर्तनको छायाँ पछ्याउन लगाएर पुग्न बाध्य बनाए आफ्नै मृत्युको अघि, आवाजको बाटो हुँदै शान्तिको गेटसम्म धकेले तर हुँदोरहेछ शान्तिको मूलगेटअघि मृत्युको उत्सव बाँकी कोही परिवर्तनको छायाँमा उभिएर पानी पिउन नपाउँदै रोकिए कोही परिवर्तनको मूलढोकासम्म छुन नपाएर आए कोही सामन्ती पैतालामा कुल्चिन विवश भए कोही आरोपको अग्निकुण्डमा धकेलिए र यो साँचो हो कि आजसम्म पनि मान्छे प्रेम गर्दै~गर्दै मारिन्छ! #दलित #नवीन शर्मा
पाँच मुक्तकहरु: हजुर बा हिसाब गर्दै नबाँच बाबु, आहा ! क्या हल दिनुभयो। आफू बसी मरु-भूमिमा, वर्षा बादल दिनुभयो।। जिन्दगीभर गाओस् नाचोस्, बाँचोस् मेरो नाति भन्दै हजुर बाले अंश लाउँदा, मलाई मादल दिनुभयो।। आमा मुटुभित्र छिर्नु तिमी, रगत जस्तै चल्ने गर्नु । रातको कालो चिर्नु तिमी, जुनकिरीझैं बल्ने गर्नु।। दोबाटोझैं दोधारे मन, भयो भने याद राखेँ आमाको गुन तिर्नु तिमी, बरु दैव छल्ने गर्नु।। चन्दन कसलाई कति चाहिन्छ ?, मञ्चबाट भन्छ। खल्तीमा छ छिट्टै पाइन्छ, मञ्चबाट भन्छ।। राजनीति फोहर हाम्रो , देश गनाएमा नाकैमुनि चन्दन लाइन्छ, मञ्चबाट भन्छ।। कोइली खुशीमा हो या पीडामा उस्को, आएको मीठो सुर। कोइली आज रोएको हो या, गाएको मीठो सुर।। विरह मात्र जगाउने भए, वनमा बसेर मलाई अब जान्नु छ किन ? पाएको मीठो सुर।। युद्ध युद्ध गर्ने नेता भने , बाटो भड्किदै छन्। युद्ध गर्दा छाडेका बम, अझै पड्किदै छन्।। सपनामा समृद्ध देश, देख्ने मुटुहरु। सीमावारि करोड पारि, लाखौँ धड्किदै छन्।। #भुवन अर्याल
प्रमिशको गजल: प्रमिश दाहाल आम जनता हुँ, एक्लै न देश बचाउन सक्छु पोल्छ मन, जल्छ मुटु, न रातमा निदाउन सक्छु रोग छ देशमा, भोक छ देशमा, अनेक शोक छ देशमा निदाएजस्ता राष्ट्रवादी, न उठाउन सक्छु उम्लिन्छ रगत, वार कि पार गरिदिऊँ जस्तो लाग्छ आफ्ना को घाटी रेट्ने, न हिम्मत जुटाउन सक्छु आँखै अगाडि लुटिदा देश, चुपचाप सहनु परेको छ शीर ठाडो पार्नै गाह्रो भो, न झुकाउन सक्छु। #प्रमिश दाहाल
सुरसको जुम कविता गोष्ठी: काठमाडौं / जेठ १७ गते शनिबार “सुरस” कविताको संयोजनमा पाँचौँ सुरस जूम कविता गोष्ठीको आयोजना गरियो । हरेक शनिबार गरिने अनलाइन कविता वाचनमा यसपटक लक्ष्मी माली, मंगलनारायण जोशी, मन्जुश्री प्रधान, प्रकाश अदिप्त र प्रतिभा शर्माले आफ्ना दुई-दुईओटा कविताहरु वाचन गरेका थिए । उक्त कार्यक्रममा कवि मुरारी सिग्देलले प्रस्तुत कविताहरूमाथि आफ्नो मन्तव्य व्यक्त गरे। उक्त कार्यक्रमको सञ्चालन कवि समा श्रीले गरेका थिए । लकडाउनको विषम परिस्थितिलाई विचार गरेर गत वैशाख २६ गते पहिलो गोष्ठी शुरु भएको हो भने अहिलेसम्ममा सुधीर ख्वबि, स्नेह सायमि, रमि श्रेष्ठ, राजुराम मुनकर्मी, नरेश अमात्य, असिम सागर, प्रतिसरा सायमी, संगी अधिकारी, कवीन्द्रलाल प्रधान, लक्ष्मी थापा, बादल देवी चाम्लिङ, विक्रम सुब्बा, सरस्वती श्रेष्ठ सरु, अमृत मान ज:, गणेश खड्का, केशव सिलवाल,अमर गिरी, नर्मदेश्वर प्रधान, मुरारी सिग्देल, दिलकुमारी डंगोल लगायतका २५ जना श्रष्टाहरुले कविता वाचन गरिसकेका छन् । “सुरस” कविताको छैठौं बसाई आउँदो जेठ २६ गते हुने संस्थाका संस्थापकद्वय सुधीर ख्वबि र समा श्रीले जानकारी दिए । #zoom #अनलाइन #जुम
कोरोनाबीच चलायमान जापान: साहित्य पोस्टले अन्य प्रकाशनका साहित्य वा लेखक विशेष प्रकाशित सामग्रीहरुलाई स्थान दिनका लागि यो ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । यो स्तम्भमा साहित्य पोस्टले आफ्ना पाठकहरुलाई अन्य प्रकाशनका छुटाउँनै नहुने वा संग्रह गर्नु पर्ने विशेष सामग्रीहरु पढ्नका लागि सिफारिस गर्छ । प्रस्तुत सामग्री हामीले गोरखापत्र बाट साभार गरेका हौँ । गोरखापत्र का लागि यो लेख प्रकाश पौडेल ‘माइला’ ले लेखेका हुन् । तपाईँले यो समाग्री यहाँ क्लिक गरेर गोरखापत्र मै पनि पढ्न सक्नुहुनेछ | ===================================================== पृथ्वीको कुन कुनामा के भइरहेको छ भन्ने थाहा पाउन आजभोलि समाचार सुन्नुपर्दैन । प्रविधिको सामान्य ज्ञान भएको व्यक्तिले स्याटालाइटबाट पनि पृथ्वीमा भइरहेका गतिविधि निरीक्षण गर्न सक्छन् । यो प्रसङ्ग केही दिनअघि स्याटालाइटबाट आएको चित्र हेरेपछि अनुभूति भयो । कुनै सौखिन व्यक्तिले आफ्नो व्यक्तिगत वेबसाइटमा राखेको उक्त चित्रलाई मैले ध्यान दिएर हेरेँ । कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त विश्वका ती पछिल्ला चित्र थिए, जहाँ संसार पूर्णरूपमा ठप्प थियो । सडकमा गाडी थिएनन्, आकाशमा जहाज थिएनन् । समुद्रमा चलिरहने जहाज बन्दरगाहमा लामबद्ध थन्किएका थिए । उद्योग, कलकारखाना चलेका थिएनन् । मानिसको ठूलो भीड हुने पर्यटकीय केन्द्रहरू सुनसान थिए । पृथ्वी पूर्ण शान्त र स्थिर थियो । यस्तो अवस्थामा पृथ्वीको पूर्वी गोलाद्र्धको ससाना दुई देश जापान–कोरिया तथा छिमेकी देश चीनका चित्र भने थोरै चलायमान देखिन्थे । त्यहाँ गाडी गुडेका, उद्योग चलेका र फाट्टफुट्ट आन्तरिक जहाजसमेत उडेका देखिन्थे । ती चित्र हेर्दै जाँदा लाग्यो, पक्षघात भएको पृथ्वी क्रमशः हातगोडा चलाएर आफू स्वस्थ भएको जनाउ दिन खोज्दैछ । कोरोना भाइरसको उद्गम थलो चीनका धेरै राज्य तीन महिनापछि बिस्तारै चलायमान हुन थालेका छन् । कोरियाले पनि बन्दाबन्दी खुकुलो पार्दै भर्खर–भर्खर आफ्नो गतिविधि सुचारु गर्न थालेको छ तर सूर्योदयको देश जापान कहिल्यै पनि पूर्ण बन्दाबन्दीमा गएन । चीनको वुहानमा कोरोना सङ्क्रमण तीव्र भएलगत्तै जापानको योकोहामा टर्मिनलमा आएर रोकिएको डायमन्ड क्रुजसिप पूर्णरूपमा त्यसको चपेटामा प¥यो । त्यसयता लगातार जापान कोरोनाको ‘हट स्पट’ हुनसक्ने विश्व स्वास्थ्य सङ्गठनबाट चेतावनी आइरह्यो । धेरैतिरबाट र जनस्तरबाट समेत पूर्णरूपमा बन्दाबन्दी गर्न अनुरोध तथा दबाब आए पनि जापान सरकारले त्यसो गरेन अथवा आवश्यक नै ठानेन । कोभिड–१९ बाट हजारौँ व्यक्ति सङ्क्रमित भइसक्दा सरकारले सुरुमा सात प्रान्तमा र पछि जापानभरि लागू हुनेगरी सङ्कटकालीन अवस्था लागू गरे पनि धेरैजसो पसल खुला रहे । सबैभन्दा भीड हुने बस र रेल सेवा पनि नियमित तालिकाअनुसार चलिरहे । अत्यावश्यक सेवा साविककै अवस्थामा सक्रिय भए । केवल जापानी नागरिकले सरकारको अनुरोध मानेर हिँड्डुललाई पातलो बनाएका मात्र हुन् । त्यहाँ कुनै पनि किसिमको जबर्जस्ती आजसम्म भएको छैन । सायद यही कारण संसार ठप्प हुँदा पनि स्याटालाइटबाट जापानी क्षेत्र थोरै भए पनि चलायमान देखिन्छ । द्वन्द्वकालमा नेपालमा एक किसिमको सङ्कटकाल भोगेका हामी नेपालीलाई जापान सरकारले घोषणा गरेको सङ्कटकालीन अवस्था देख्दा र भोग्दै गर्दा अनौठोचाहिँ लाग्ने रहेछ । जापान किन यस्तो ? भनिन्छ, अप्ठ्यारो अवस्थामा व्यक्ति र समुदायले आफ्नो चरित्र देखाउँछ । जापान पूर्णतः प्रजातान्त्रिक मुलुक हो । सरकारले कुनै पनि नागरिकलाई कुनै पनि कुरामा जबर्जस्ती नियम थोपर्न सक्तैन भन्ने यहाँको घोषित मान्यता हो । यसपटक यो व्यवहारमै देखियो । विश्वव्यापी आपत्कालीन अवस्थामा पनि जापानले यसलाई पूर्णरूपमा पालन ग¥यो । सरकारको यो नियत बुझेकै कारण हुनसक्छ, विश्व स्वास्थ्य सङ्गठन, विभिन्न कूटनीतिक नियोग र कतिपय छिमेकी मुलुकले पनि जापानलाई पटक–पटक बन्दाबन्दी गर्न अनुरोध गरे । स्वयं जापानी नागरिकले समेत सरकारले लिएको फितलो नियमको विरोध र असन्तुष्टि व्यक्त गरे तर सरकारले संविधानले निर्दिष्ट गरेका कुनै पनि कुरालाई एक इन्च पनि मिच्न दिएन । बरु काम गर्न सहजताका लागि ऐन–कानुनमा सामान्य संशोधन गरियो । आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै जनतालाई सामाजिक दूरी कायम राख्न अनुरोध भने निरन्तर गरिरह्यो । जनताले सामाजिक दूरी कायम राखुञ्जेल देशका सबैजसो प्रान्तमा कोरोना फैलिसकेको थियो । यसले साना–ठूला व्यवसायमा ठूलो धक्का पुग्न थालिसकेको थियो । लाखौँको रोजगारी खोसिनु स्वाभाविक नै थियो तर तुरुन्तै सरकारले आर्थिक राहतको घोषणा ग¥यो । आपत्कालीन अवस्थामा कुनै पनि नागरिकलाई बाँच्न गाह्रो नहोस् भनेर व्यक्तिगत खातामा पैसा आउने र साना व्यवसायीहरूलाई निब्र्याजी ऋण सुविधाको व्यवस्था गरिदियो । विभिन्न किसिमका अनुदान र सुविधा घोषणा गर्दा स्वदेशी र विदेशीमा कुनै भेदभाव गरिएन । सरकारले कसो गर्दा नागरिकले घर बाहिर निस्कनुपर्दैन, त्यसको पहिचान गरी त्यसैअनुसारको व्यवस्था ग¥यो । यसका साथै कोरोना सङ्क्रमण भएका व्यक्तिहरूको खोजी, परीक्षण र स्वास्थ्य सुविधाको तयारीमा पनि जुटिरह्यो । सायद यही कारण जनता आज पनि ढुक्कसँग सामाजिक दूरी कायम राख्दै आ–आफ्नो काममा कुदिरहेकै देखिन्छन् । जापानीहरूले सिकेको पाठ एउटा प्रसिद्ध भनाइ छ, ‘मानिसले जीवनभर सिक्छ तर लागू गर्दैन’ तर जापानीहरूमा यो नियम लागू हुँदैन । उनीहरू इतिहासबाट सिक्छन् र त्यसलाई पूर्णरूपमा लागू गर्छन् । यही कारण उनीहरूको बुझाइलाई चुनौती दिन सकिँदैन । कुनै बेला जापानीहरूलाई युद्ध नै सबैथोक हो भन्ने लाग्थ्यो । दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकी ध्वस्त हुनुअघिसम्म उनीहरू सङ्घर्षशीलका अतिरिक्त कति क्रूर र अराजक थिए भन्ने कुरा दक्षिण कोरिया र चीनमा गरिएको गतिविधिबाट थाहा हुन्छ । उनीहरूले कोरियालाई ३५ वर्षसम्म उपनिवेश बनाए । त्यो बेला जापानी सेनाका यौनदासीहरूबाट जन्मिएका मानिस आज पनि कोरियामा प्रशस्त छन् । चीन, कोरिया हुँदै बर्मासम्म कब्जा गरेका जापानीहरूले दोस्रो विश्वयुद्धमा नराम्ररी हार खाए । यो उनीहरूका लागि ठूलो सबक थियो । त्यसयता जापानले पूर्णरूपमा युद्धनीति र अराजकता त्याग्यो । सुरक्षा र सेनाका लागि छुट्याउने बजेट पूर्णरूपमा विकासमा लगायो । जापानीहरूको विशेषता नै मान्नुपर्छ, जुन शक्ति उनीहरूले पहिले युद्ध र सैन्य क्षमतामा लगाएका थिए, पछि विकासमा लगाए । संसारको सुपर हिरो अमेरिकालाई पछ्याउँदै लामो समयसम्म जापान विश्वको दोस्रो आर्थिक शक्तिराष्ट्र थियो । अहिले जापानलाई चीनले आर्थिक क्षमतामा पछि पारे पनि के बिर्सनुहुन्न भने जापान चीनभन्दा भूगोल र जनसङ्ख्याको हिसाबले निकै सानो मुलुक हो । सानो जनसङ्ख्या र सानो भूगोलका आफ्नै सीमा भए पनि जापानले जसरी आफूलाई आर्थिक रूपमा शक्तिशाली मुलुकका रूपमा उभ्याएको छ, त्यो हेर्दा कोरोना कहरबीच पनि उनीहरू काममा जुटिरहनुलाई सामान्य मान्न सकिन्छ । दोस्रो विश्वयुद्ध सन् १९४५ मा सकिए पनि उनीहरूलाई आर्थिक लयमा फर्कन र भद्रगोल व्यवस्थापन गर्न झण्डै डेढ दशक लागेको थियो । जब उनीहरूले १९६४ को ओलम्पिक खेलकुदको आयोजना गर्ने अवसर पाए, त्यसलाई उनीहरूले आर्थिक शक्ति हासिल गर्ने महत्वपूर्ण औजार बनाए । नभन्दै उक्त ओलम्पिकपछि जापानले पछाडि फर्केर हेर्नुपरेको छैन । सन् २०२० मा हुने ओलम्पिक खेललाई पनि जापानीहरूले यस्तै अवसरका रूपमा लिँदै थिए तर कोरोनाका कारण हाललाई सन् २०२१ को जुलाइका लागि सारिएको छ । वर्तमान विषम परिस्थितिका कारण जसरी यसले आर्थिक अवस्थालाई अप्ठ्यारो पारेको छ, त्यसबाट यो खेल पनि अनिश्चित देखिएको छ । यद्यपि जापानीहरू निराश देखिएका छैनन् भन्ने कुरा ओलम्पिक कमिटीका संयोजक यासुहिरो यामासिताको पटक–पटकको अभिव्यक्तिबाट चाल पाउन सकिन्छ । कला–संस्कृतिमा पनि अब्बल अमेरिकासँग जापानको विशेष किसिमको सम्बन्ध छ । युरोपमा जापानी उत्पादन र सामग्रीहरू लोकप्रिय छन् । पश्चिमासँग निर्भरता बढ्ने क्रममा धेरै देशले उताको डलर, युरोसँगै संस्कृति पनि आयात गरेको उदाहरण विश्वभरि देखिन्छ तर जापानले आफूलाई पश्चिमा संस्कृतिबाट पृथक् राखेको छ । अनुसरणयोग्य केहीे प्रभाव देखिए पनि जापानीहरू संस्कृतिलाई पूर्णरूपमा रक्षा गर्छन् । सन् ६४५ मा बनेको आसाकुसा टेम्पल मात्र हैन, सन् १३९७ मा बनेको गोल्डेन टेम्पल पनि पटक–पटक मर्मत सम्भार गर्दै जस्ताको तस्तै सुरक्षित राखेका छन् । यस्ता उदाहरण जापानमा अनगन्ती भेटिन्छन् । आफ्नो संस्कृतिप्रति अन्धभक्त भएकै कारण कतिपय अवस्थामा उनीहरूमा रुढिवादी सोच पनि झल्कन्छ । यहाँका बालबालिका पनि आफ्नो भाषा र संस्कृतिप्रति यति भक्त बन्छन् कि ठूलो भएपछि सिकेको अङ्ग्रेजीलगायतका भाषा पनि सकेसम्म बोल्न चाहँदैनन् । धर्म र संस्कृतिप्रतिको यही मोहकै कारण जापानमा अहिले पनि एक सय २६औँ पुस्ताको आलङ्कारिक राजतन्त्र चलिरहेको छ । केही दिनअघिको कुरा हो, योकोहामास्थित मेरो रेस्टुराँमा एकजना जापानीले फोन गरेर खाना अर्डर गरे । हामीले उनको अर्डरअनुसारको तयारी गर्न लाग्यौँ । झण्डै १५ मिनेटपछि उनको पुनः फोन आयो । उनले भने, ‘आकस्मिक रूपमा म खाना लिन आउन असमर्थ भएँ । मलाई रेस्टुराँको बैङ्क एकाउन्ट पठाइदिनु होला, म पैसा हालिदिन्छु ।’ प्राविधिक कारणले उनले खाना लैजान नसकेपछि पैसा लिनु हाम्रो धर्मको कुरा भएन । हामीले पैसा लिन प्रेमपूर्वक अस्वीकार ग¥यौँ तर तीन दिनपछि हुलाकबाट एउटा पत्र आयो । पत्रसँगै उनले अर्डर गरेको खानाको पैसा र एउटा पत्र थियो । पत्रमा लेखिएको थियो, ‘मेरो कारणले तपाईंको खाना खेर जाने भयो । ग्राहक धर्म निर्वाह गर्न पाएकोमा खुसी छु ।’ पत्रमा उनले आफ्नो ठेगाना उल्लेख गरेका थिएनन् । कारण, स्पष्ट थियो, उनी आफूले अर्डर गरेको खानाको पैसा तिर्न प्रतिबद्ध थिए । व्यवसाय गर्ने क्रममा उनीहरूको इमानदारीको यस्ता दर्जनौँ उदाहरण मैले भेटेको छु । हरेक नेपालीसँग यस्ता कैयौँ किस्सा सुरक्षित छन् । यसको एउटै कारण के हो भने उनीहरू सानो छँदा जे कुरा सिक्छन्, जीवनभर पालन गर्छन् । मिलनसार, इमानदारी र सहिष्णुता यिनीहरूको जीनमै घुलमिल भएको अनुभूति हुन्छ । अधिकांश जापानीमा छलकपटको नामोनिसान भेटिँदैन । साना–साना गल्तीमा पनि सहज रूपमा माफी माग्ने र जति सानो हुन सक्यो, उति आफ्नो उचाइ बढ्छ भन्ने उनीहरूको बुझ(ाइ छ । यो गुण हाम्रा लागि चाहिँ विशेष अचम्मको लाग्दोरहेछ । यति हुँदाहुँदै पनि उनीहरूमा सानैदेखि एक्लै बस्ने बानीको विकास भएको देखिन्छ । एक्लो हुनु भनेको एकोहोरो हुनु पनि हो र आत्मकेन्द्रित पनि । यसले उनीहरूमा सामाजिक भावनाको विकास भएको पाइँदैन । एक्लोपना र कामप्रति लगावपूर्ण खटाइ कहिलेकाहीँ घातक पनि बन्न सक्छ । सायद यही कारण हुनसक्छ, विश्वमा धेरै आत्महत्या गर्ने मुलुकका नागरिकमा जापानीहरू पर्दछन् । माउन्ट फुजीको छेवैमा रहेको एउटा जङ्गल नै आत्महत्याको जङ्गलको रूपमा चिनिएको छ । यो लेख लेख्दालेख्दै पनि एकजना जापानी युवाले आत्महत्या गरेको खबर जापानी अनलाइनमा आइरहेको छ । काम गर्न नपाएका कारण उनले आत्महत्या गरेको हुनसक्ने आँकलन प्रहरीले गरेको छ । हामीमा बढी काम गर्नुप¥यो भनेर चिन्तित हुने प्रवृत्ति छ । यता जापानीहरू कोरोनाका कारण काम गर्न पाइएन भनेर आत्महत्या गरेको खबर सुनिन्छ । सायद यही काम गर्ने बानीले नै जापानीहरू अरूभन्दा फरक छन् । अरूभन्दा विशेष लाग्छन् । (लेखक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।)
सेक्सपियरका पितालाई विवादमा ल्याएकोमा माफी: विलियम सेक्सपियरका पितालाई तानाशाही, रिसाहा र घरेलु हिंसा मच्चाउने एक व्यक्तिका रूपमा चित्रण गरेको भन्दै उपन्यासकार म्यागी ओफरेलको आलोचना हुन थालेपछि उनले पाठकहरूसँग माफी मागेकी छन् । हालै चर्चामा रहेको र पुरस्कारसमेत प्राप्त गरेको उपन्यास ‘ह्यामनेट’मा उनले सेक्सपियरको पारिवारिक जीवनभित्र चिहाउने प्रयास गरेकी थिइन् । जसमा सेक्सपियरका पिता जोन अति निरंकुश र हिंसा मनोवृत्ति भएको व्यक्तिका रूपमा चित्रण गरिएको थियो । उनले देशकै चर्चित व्यक्तित्वका पितामाथि गलत चित्रण गरेपछि चित्त दुखाउनेहरूसँग माफी मागेकी भए पनि उनले भनेकी छन्, ‘मैले बिना प्रमाण भने लेखेकी होइन र जसरी लेखेँ, त्यसका लागि मसँग पर्याप्त प्रमाण भएको पनि होइन । मात्र ‘कोरियोलानस’ र ‘म्याकबेथ’मा सेक्सपियरले पिताको चरित्रलाई जसरी चित्रण गरेका छन्, त्यस हिसाबले उनले घरमा भोगेका भोगाईलाई नै मूर्त रूप दिएका हुन् कि भन्ने मेरो कल्पनाशीलतालाई उपयोग गरेकी हुँ ।’ उनले यो माफी हालै सम्पन्न डिजिटल हे फेस्टिभलमा बोल्ने क्रममा मागेकी हुन् । सेक्सपियर संसारकै सबैभन्दा परिचित व्यक्तिमध्येमा मानिइन्छन् । यस्तोमा उनको जीवनका बारेमा धेरैलाई चासो हुने गरेको तर सेक्सपियरको बालापनदेखि लन्डनमा अभिनेता हुञ्जेलसम्मका घटनाक्रमहरूका बारेमा जान्न जीवनीकार र उपन्यासकारहरूलाई निकै रूचि छ । १७ औँ शताब्दीमा आएर मात्र सेक्सपियरका बारेमा अलि बढी चासो राखिएको थियो तर त्यो बेलाको चासोको वृत्तमा उनको बालापन र युवावस्था पर्न नसक्दा अहिले पनि निकै कम जानकारी उपलब्ध छ । सेक्सपियरकी पत्नी एन हाथवेका तीन सन्तान थिए । छोरा हामनेटको ११ वर्षकै उमेरमा देहान्त भएको थियो भने जुडिथ र सुसाना दुई छोरी थिए । यता जुडिथ र हामनेट जुम्ल्याहा थिए। हामनेट उपन्यास जन्मिनुको कारण खोतल्दै उनले भनेकी छन्, ‘मलाई सधैँ सेक्सपियरका छोरीहरूप्रति रूचि थियो । तिनलाई मैले भेटेकी भए सेक्सपियरसँग केके प्रश्न सोध्थेँ होला भनेर अनेकन् कुरा मनमा खेल्थे । सेक्सपियरका रूचि, अरूचि, पिताका रूपमा सेक्सपियर, जब लन्डनबाट घर फर्कन्थे, त्यो बेला उनको फुर्तिफार्ती र अनेकन् कुरा मनमा खेलिरहन्थे । तर दुःखको कुरा त्यस्ता महान् व्यक्तिका मूल्यवान सूचना र जानकारी दिनसक्ने कोही पनि छैन ।’ तर सेक्सपियरका बारेमा उनले लामो शोधपछि मात्र उपन्यास लेख्न सकेको बताएकी छन् । उनले यसका लागि सेक्सपियर युग चिहाउन त्यस बेलाका ठाउँहरू मात्र घुमिनन्, एलिजाबेथको निजी बगैँचाबारेको जानकारी बटुलेर घरैमा ती बोटबिरूवा उमारेकी थिइन् । त्यो बेलाका जडिबुटी बारेका जानकारी बटुलेर आफैँ घरमा प्रयोग गर्ने गर्थिन् । उपन्यास लेख्दै गर्दा आफूले एलिजाबेथन डाइलगलाई नै प्राथमिकता दिएको र यसका लागि त्यो बेला प्रयोग गरिने शब्दभण्डार नै उपयोग गरेको उनले बताइन् । ‘अक्सफोर्डले निकालेको एलाजबेथन् पिरियडका शब्दार्थयुक्त डिक्सनरी हरबखत मसँगै हुन्थ्यो ताकि त्यो बेला प्रयोग नगरिने शब्दहरू उपन्यासमा नघुसोस्,’ म्यागीले लेखन क्रमका बारेमा बताइन् । #उपन्यास #विलियम सेक्सपियर #विवाद #हामनेट
अरूणका मुक्तक: १ कोरोनाको डर छ धेरै नभेटम् भो प्रिय संक्रमितको घर छ धेरै नभेटम् भो प्रिय बाँकी जीवन सँगसंगै बिताउँनुछ हामीले बाँच्नु पर्ने कर छ धेरै नभेटम् भो प्रिय ।। २. लुकी लुकी मलाई हेर्ने नानी भित्र के छ आँखा जधाइ हाँसिदिने बानी भित्र के छ त्यो दिलको फूलबारीमा राजा छ की छैन राजा भन्दै बोलाउने बानी भित्र के छ ? ३. विदेशीले बाटो खोल्छन सरकारलाई थाह हुन्न कुन नेताले के के बोल्छन् सरकारलाई थाह हुन्न एनजीओ र आइएनजीओ विदेशीका एजेन्टहरू लगानीमा बिष घोल्छ्न सरकारलाई थाह हुन्न ।। #अरूण
कविता प्रतियोगिता 2020: टप टेन कविको घोषणा!: कालेबुङ, भारत/ संवाद कालेबुङद्वारा आयोजना भइरहेको ‘सुकुमाया प्रधान स्मृति कविता प्रतियोगिता 2020’ अन्तर्गत छानिएका ‘टप टेन कविको नाम’ घोषणा गरिएको छ । कोरोना संक्रमणका बीच सर्वसाधारण घरभित्र थुनिएको अवस्थामा युवाहरूलाई सिर्जनात्मक बाटोमा ल्याउने उद्देश्यले शुरू गरिएको यस प्रतियोगितामा सहभागिता जनाउन भारतका हरेक प्रान्तबाट आएका कवितालाई समावेश गरिएको थियो । छोटो समयमा नै सोचेभन्दा धेरै कविताहरू प्राप्त भएको आयोजक संवाद कालेबुङले जनाएको छ । आएका कवितामध्ये अन्य कविको कविता वाचन गरिएका र ब्याक भोइस मात्र राखिएका कविताहरूलाई प्रतियोगितामा समावेश नगरिएको र छानिएका कविताहरूमध्येलाई पहिलो चरणका निर्णायकहरू कवि रवि रोदन सिक्किम, कवि छेवाङ योञ्जन पेशोक, कवि सुरज रोसुरी सिलिगुड़ी र कवि राकेश क्रान्तिकारी कालेबुङले दिएको अङ्कलाई आधार मानी उत्कृष्ट दस कविता छनोट गरिएको थियो । छानिएका दस कविले पुनः नयाँ कविता वाचन गरी आउँदो बुधबारभित्र संवाद कालेबुङलाई पठाउनु पर्ने संस्थाले जनाएको छ। पठाइएका नयाँ कवितामार्फत पहिलो, दोस्रो र तेस्रो कवि घोषणा गरिने बताइएको छ। संवाद कालेबुङले छानेका उत्कृष्ट १० कवि यस प्रकार रहेका छन्ः 1) नारायण काफ्ले, बाग्राकोट डुवर्स। 2) मुकेश गिरी, दार्जीलिङ। 3) ज्योत्सना घतानी, चाल्सा डुवर्स। 4) प्रणय दहाल, इच्छे कालेबुङ। 5) निगम बास्ताकोटी, पत्थरझोड़ा डुवर्स 6) पवित्र शर्मा, लिङ्से कालेबुङ। 7) रिया तामाङ, सिक्किम। 8) सूरज चापागाईं, मणिपुर। 9) सुप्रिया राई, साङ्से कालेबुङ। 10) सूर्य राई, राखली डुवर्स। #कविता प्रतियोगिता #प्रतियोगिता