text
stringlengths
146
47.7k
पुस्तक प्रकाशन कसरी गर्ने ?: यसअघि लेखक कसरी बन्ने भन्नेबारे एक सामग्री प्रकाशित भएको थियो । धेरैले मन पराउनुभयो र त्यसपछि पुस्तक प्रकाशनका लागि के गर्नुपर्छ भन्नेबारे पनि लेखिदिन आग्रह गर्नुभयो । म लेखक भएकाले पुस्तक प्रकाशनबारे लेख्दा प्राविधिक रुपमा अलि नमिल्दो होला । तर, आफ्नै पुस्तक प्रकाशन गर्दाका थुप्रै अनुभवहरु मसँग छन् । त्यस्तै साथीभाइ र प्रकाशकहरुसँगको संगतले पनि धेरै कुरा बुझ्न पाएको छु । त्यसकै आधारमा यहाँ केही कुराहरु राख्दै छु । – यदि तपाईंले लेखक बन्नका लागि आवश्यक आधारहरु पार गर्नुभयो भने पुस्तक प्रकाशनका लागि निकै सहज हुन्छ । पुस्तक प्रकाशनअघि नै तपाईंका लेख–रचनाले मिडियामा स्थान पाइसकेका छन् । यसको मतलब तपाईं धेरैको नजरमा परिसक्नु भएको छ । प्रकाशन गृहले तपाईंमाथि नजर घुमाइसकेको छ । – तपाईंले आफ्नो पाण्डुलिपि आफूभन्दा सिनियरलाई दिइसक्नु भएको छ । यदि तपाईंले राम्रो लेख्नुभएको छ भने उहाँहरुमार्फत नै प्रकाशककहाँ कुरा पुग्छ । चिया गफ गर्दा तपाईंको लेखाई र सम्भावबारे चर्चा गरिन्छ । यसरी पनि कुरा प्रकाशककहाँ पुग्छ र तपाईंको आफै खोजी हुन सक्छ । – अब तपाईंले सुरुमा केही राम्रा (नाम चलेका) प्रकाशन गृहलाई फोन गर्नुपर्ने हुन्छ । फोनमा आफ्नो परिचय दिनुहोस् । तपाईंका रचना मिडियामा आइसकेकाले सायद तपाईंलाई उहाँले चिनिसक्नुभयो । यदि छैन भने पनि जानकारी दिनुहोस् अनि पुस्तकबारे बताउनुहोस् । सकेसम्म पुस्तकबारे फोनमा भन्दा पनि भेटेर कुरा गर्दा अझ राम्रो । – यदि तपाईंले चिनेको वा नजिकको ब्यक्ति छ र उसको सम्बन्ध प्रकाशन गृहसँग छ भने उमार्फत जाँदा पनि राम्रो हुन्छ । त्यसो गर्दा रेस्पोन्स राम्रो आउँछ । नचिनेपछि कृति राम्रो छ भने पनि त्यसको वास्ता नहुन वा महत्त्व नपाउन पनि सक्छ तर, चिनेपछि राम्रो कृति सकेसम्म मर्न पाउँदैन । – सम्पर्क गरेपछि प्रकाशन गृहले कि तपाईंलाई कुनै अंश मेल गरिदिन भन्छ वा भेट्न बोलाउँछ या म पछि फोन गर्छु भन्ने जवाफ आउँछ । यस्तोमा तपाईं चुक्नुहुन्न । सकेसम्म भेटेरै पाण्डुलिपि दिने वातावरण बनाउनुपर्छ । यदि पछि फोन गर्छु भनेर फोन आएन भने पनि तपाईंले आफैँ सम्झाउनुहोस् । तर, त्यति गर्दा पनि कुनै रेस्पोन्स आएन भने बुझ्नुहोस्, गृहले तपाईंप्रति चासो देखाएन । अब बारम्बार फोन गरिरहनुको कुनै तुक छैन । – यदि तपाईंलाई मेल पठाउन भनिएको छ वा पाण्डुलिपि लगिएको छ भने फलो गर्नुहोस् । धेरै लामो समय झुलाउने सम्भावना रहन्छ । उत्तर हुन्छ वा हुँदैनमा खोज्नुहोस् । यहाँ हेर्दै छु भनेर ६ महिना, १ वर्ष झुलाउने प्रकाशन गृह पनि छन् । त्यस्ता पीडित लेखकहरु मैले पनि थुप्रै भेटेको छु । – तपाईंको पाण्डुलिपि रिजेक्ट भयो भने तपाईं अन्य विकल्पमा जानुहोस् । एउटा प्रकाशन गृहलाई मन नपरेको कृति अर्कोलाई मनपर्न सक्छ । त्यसैले अन्य २–३ वटा गृहसँग पहिल्यकै जसरी डिल गर्नुहोस् । – तपाईंको रचना मन पर्यो भने प्रकाशन गृह कृति प्रकाशन गर्न सहमत हुन्छ । त्यसपछि एउटा सहमति पत्रमा हस्ताक्षर हुन्छ । त्यसमा मुख्यगरी २ वटा कुरामा ध्यान दिनुपर्ने हुन्छ । एउटा रोयल्टी र अर्को समयावधि । सुरुवाती चरणमा १० वा १५ प्रतिशत रोयल्टी दिइन्छ । वा आपसी समझदारीमा अन्य सहमति पनि गर्न सकिन्छ । त्यस्तै, कति समयसम्म तपाईंको कृतिको हकदार प्रकाशन गृह रहने भन्नेमा ५ वर्षसम्म सहमति गर्दा राम्रो । यसमा पनि आपसी सहमतिमा कुरा मिलाउन सकिन्छ तर, धेरै लामो समय नराख्नु होला । – कुनै प्रकाशन गृहले तपाईंको कृति प्रकाशन गरेवापत उल्टै तपाईंसँग पैसा माग्न सक्छन् । यति पैसा लाग्छ भनिदिन्छन् । त्यसको मतलब तपाईंको कृतिप्रति उनीहरु आशावादी छैनन् । त्यसैले त्यस कुरालाई मनन गरेर तपाईंले आफ्नो कृतिलाई अझ अब्बल बनाउनतर्फ लाग्नुपर्छ । यदि लेखक नै बन्ने हो भने आफ्नो कृति रोयल्टी नै लिनेगरी सहमति गरेर प्रकाशन गर्ने वातावरण बनाउन सक्नुपर्छ । लामो समयको मेहनत र परिश्रमलाई त्यत्तिकै मर्न दिनु हुँदैन । – प्रकाशन गृहसँग सहमति गर्दा कति समयमा कृति प्रकाशन गर्ने हो पहिल्यै स्पष्ट हुनुपर्छ । साथै रोयल्टी, पहिलो संस्करणमा कति प्रति प्रकाशन गर्ने, अधिकार समयावधि, स्वामित्व आदिबारे लिखित सहमति गर्नुपर्छ । यसो गर्दा भोलि तपाईं कानुनी रुपमा बलियो हुनहुन्छ । – प्रकाशन गर्ने सहमति भएपछि सम्पादनका क्रममा धेरै काँटछाँट वा थपघट हुनसक्छ । तपाईं आफ्नो कृतिको थिम मर्न नदिन सचेत हुनुपर्छ । साथै, कभर डिजाइन, कृतिको शीर्षकको विषयमा पनि विशेष ध्यान दिनुपर्छ । कन्टेन्टसँगै आकर्षक शीर्षक र कभर पनि आवश्यक छ । – लेखक र प्रकाशन गृहबीच सबैभन्दा महत्वपूर्ण भनेको आपसी विश्वास हो । प्रकाशन गृहले १ हजार पुस्तक छाप्ने सहमति गरेर २ हजार छापे, पहिलो संस्करण सकिएर थप प्रिन्ट गरेर छापे तर लेखकलाई भनेनन् भन्नेजस्ता कुराहरु बजारमा सुनिन्छन् । यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा विश्वास हो । तपाईं आफैँ पनि आफ्नो पुस्तक कति बिक्यो भन्ने बजारको मागअनुसार अनुमान लगाउन सक्नुहुन्छ । तर, यस्ता कुरामा तेस्रो व्यक्तिलाई सुनेर आवेगमा आउनु उचित हुँदैन । – तपाईंले आफ्नो किताब र प्रकाशन गृहबाट धेरै अपेक्षा गर्नु गलत हुन्छ । मेरो किताब ५ हजार वा यति बिक्छ भनेर पहिल्यै परिकल्पना गर्नु गलत हो । साथै, प्रकाशन गृहले प्रमोशन गरिदिएन, जिल्ला–जिल्लामा कार्यक्रम गरिदिएन भनेर होहल्ला गर्ने कुरा पनि फगत हुन् । सकेसम्म यस्ता कार्यक्रम आफैँ मिलाउनुपर्छ । वा पहिल्यै प्रकाशन गृहसँग सहमति गर्नुपर्छ । यदि तपाईंको पुस्तक राम्रो छ भने पाठकले माग गरिहाल्छन् । – पुस्तक छाप्ने सहमति भएपछि भाषा, सम्पादन, कभर डिजाइन, प्रिन्ट गर्दा कम्तिमा ६ महिनाको समय लाग्न सक्छ । केही प्रकाशन गृहले त २–३ वर्षसम्म पनि झुलाएका उदाहरण छन् । यसतर्फ पहिल्यै सचेत हुनुपर्छ । – तपाईंले आफैँ पुस्तक प्रकाशन गर्ने गल्ती कदापि गर्नुहुँदैन । अर्थात, त्रिविमा एउटा फर्म भरेर आइएसबिएन नम्बर लिएर आफ्नै नाममा पुस्तक प्रकाशन गर्न सकिन्छ । धेरैले सोच्ने गर्छन्, मै किताब निकाल्छु र बेचेर आएको फाइदा पनि मै लिन्छु । तर, त्यो सोच गलत हो । प्रकाशन गृहको देशव्यापीरुपमा आफ्नो संजाल हुन्छ । देशभर पुस्तक पठाउने काम गर्छन् । त्यै पनि त्यत्रो कारोबार गर्नेलाई पैसा उठाउन गाह्रो हुन्छ । तपाईं आफैँ हिँड्नुभयो भने पुस्तक पसलले किताब राख्ने सम्भावना कम हुन्छ, राखिदिए पनि पैसा पाउनुहुन्न ढुक्क हुनुस् । डिस्ट्रिब्युटरमार्फत जान्छु भने पनि उसले ४० प्रतिशत मुनाफा लान्छ, किताब बिकेको छैन, आएको छैन भनेर झुलाइदिन्छ र तपाईंको फस्नुहुन्छ । प्रिन्टदेखि विमोचन र सेटिङ गर्दासम्म तपाईंको तनाव त छँदैछ । मै हुँ भन्नेहरु पनि यसरी किताब निकाल्दा फँसेका छन् । ख्याल गर्नुहोला । – पुस्तक प्रकाशन गर्न कोही पनि तयार भएन भने निराश हुनु हुँदैन । यदि तपाईं लेखक नै बन्ने हो भने अझ धेरै पुस्तकहरु पढेर अझ राम्रो लेख्ने दुस्साहस कस्नुपर्छ । तपाईंलाई शुभकामना छ । (कृष्ण आचार्य ‘अप्रिल फुल’ उपन्यासका लेखक हुन्।) #कसरी #कृष्ण आचार्य #प्रकाशक #प्रकाशन
उछिट्टिएको आगो: अज्ञात ती भावनाहरु वर्षौँ लुकाएँ, पर्खाइ र लुकाइको दौडमा, ती सबै भावनालाई जमाएर चट्टान बनाए अनि, तिमी.. तिमी अहिले आएकी छ्यौ, उछिट्टिएको आगो जसरी, तर सेलाएकी म त सम्हालिउँला, तर, अँगालोमा बाँधेर तिमीलाई सम्हाल्न त म कतै सक्दिनँ, थमथमाउँला एक हातले तिम्रो कुममा, र एक हातले आफ्नै देब्रे छातीमा भनेकी थियौ, म तिम्रो नाम मेरो कथाको पात्रमा प्रयोग गर्छु ल, कथाको पात्र नभई, पात्रको नाममा धकलिएको म, कसरी तिमीलाई आफ्नो काहानी सुनाउन सक्थेँ ? थाहा छैन तिमी कति बेला फुल्लिइन्छ्यौ, कतै तिमीलाई थमथमाइरहँदा मैले बनाएको चट्टान पग्लिने त हैन, मेरो चट्टान पग्लिनु र तिमी फुल्लिइनु सँगै भयो भने, म फेरि तिम्रो कथाको पात्रको नाम हुनेछु । अनि तिमी.. ? #रिया हुमागाईं
म एक चिकित्सक: लखतरान शरीर र थकित मन अनिश्चित भोलिको सूर्योदय कल्पना मनभरी बोकेर महिनौंदेखि राप र ताप ले बोकाएका भारीहरू सडक नापी नापी पाइलापाइलामा डुब्दै गरेको झंम्के साँझ काखी च्याप्दै डेरा फर्किरहेको एक मनुवा म एक चिकित्सक । चकमन्न सहरमा हराएको मानवता कसले भेट्ला र हिजोआज ! खोज्दा खोज्दा थकित शून्य सडकले पाइरहेछ ऊ जस्तै एउटा रित्तो जीवन दिनभरको थकाइको परिमाण पदचापसँग साटेर डेरा फर्किरहेको एक मनुवा म एक चिकित्सक । तगाराहरू बग्रेल्ती छन् बाटैभरी हेपाइका पीडा अनगिन्ती छन् मनैभरी तापनि सेवा भावको कुम्लो बोकेर दिनभरको थकान भुल्न डेरा फर्कीरहेको एक मनुवा म एक चिकित्सक । जनलाई जीवाणुबाट जोगाउने प्रण मनले गरेर सहकर्मीसंग हातेमालो गर्दै कठोर ड्युटी पश्चात् केही घण्टाको विश्रामको अपेक्षामा डेरा फर्किरहेको एक मनुवा म एक चिकित्सक । अतितका नमस्कारहरू दुनियाँका सम्मानहरू हुने खानेहरू समेतका कमाइहरू मन र धनका सम्झँदै, कल्पदै महामारीको बिषमतामा त्राहिमा म अस्पतालको ड्युटिपश्चात् लख्रक लख्रक डेरा फर्किरहेको एक मनुवा म एक चिकित्सक । गल्लीगल्लीमा परिचय माग्दै स्वनीर्णयको अधिकार प्रयोग गर्दैछ अपरिचित समाजसेवी खल्तीमा कोचेर मेरो मानवअधिकार खानतलासी लिइरहेछ छ मेरो ओल्टाइपल्टाइ मेरा जीविका काटुलहरू स्टेथोस्कोपर म्यनोमीटरको जाँच गर्दैछ हैरानीको पहाड बोकेर अरूको जीवन बँचाउने इच्छाशक्ति पुनर्जीवित गर्न भोलिका लागि थकित शरीर घिसार्नुमा आफ्नो जीवन खोज्दैखोज्दै डेरा फर्किरहेको एक मनुवा म एक चिकित्सक । एक मिटर टाढा बस्ने मेरा आग्रह सुन्नु अघावै दश मिटर टाढा भाग्नुमा आफूलाई सुरक्षित ठान्दैछ छिमेकी त्यसैले निर्दोष सावित गर्न आफैँ आगोमा होमिएकी जानकीझैँ केमिकल नुहाइ पश्चात् प्रवेश गर्न आतुर घरबेटीको ढोकाबाट बिना निम्तोको पाहुनाझैं डेरा फर्किरहेको एक मनुवा म एक चिकित्सक । प्रिया र लालावालालाई अँगालो हाल्दै उम्लेको भाव पोख्ने इच्छाहरू थांँती राखेर मेरै आगमनको प्रतिक्षामा सुक्सुकाएका बुढा आमा बा सम्झेर भारी मनले सम्पुर्ण मानवजातीको कहरसंगको भोलिको लडाइँ खातिर शक्ति बटुल्न डेरा फर्किरहेको एक मनुवा म एक चिकित्सक । #चिकित्सक
टुहुरो: आमालाई गुमाएपछि खोरमा थुनिएका स–साना चल्लाहरू चिच्याएपछि नै ब्युँझन्छ बृद्धसाँझ र गर्भधारण गर्छ साँझले रातो घाम । जब सुत्केरी बिहान आँसु खसाउँदै गरेको आँखाले हेर्छ आँगनमा चिर्बिराउँदै गरेका मसिना चल्लाहरू तब जिन्दगी पढ्दै गरेकी मेरी आमा भन्छिन् बाबू ! म नभएको दिन तँ यस्तै चल्ला भएर बाँच्लास् है ! आमालाई प्रतिउत्तर दिनु अगावै मैले आमा गुमाएँ आज म माउपोथी नभएको चल्लाजस्तै भएको छु । #आमा #विक्रम पवन परियार
दुःखी झोला: हरेक साझँ दुःख बिर्सने प्रयासमा खुसीको व्यापार गर्न पस्ने गर्छ भट्टीमा एउटा बूढो मान्छे ! सधैँ ऊ सुनाउँछ आफ्नै कथा, आफ्नै व्यथा कुरा गर्छ नदेखिएको सपनाको चुरोटको धूवाँसँग दुःख सुख, सकस पीर पोको बनाएर एउटै झोलामा नापिरहेको हुन्छ सधैँ त्यो चिसो सडक खोजिरहेको हुन्छ चिरा परेको पैतालाले गन्तव्य ! अनुहारसँगै चाउरिसके उसका सबै चाहना अनि रहरहरू तर किन देखिँदैनन् त्यो ऐनामा चम्किला ताराहरू ? सधैँ सुनाउँछ ऊ, आफ्नै कथा, आफ्नै व्यथा मात्र न छोराछोरी आउँछन् न नातिनातिना नै न आउँछन् कुनै बसन्तमा झैँ स्वास्नीमान्छेहरू अचेल कोहीपनि आउँदैनन् एउटा चाउरिएको बूढोको दुःखको झोला बोक्न बस् ! एक्लै एक्लै कहिलेकाहीँ त ऊ गुनगुनाउँछ पनि “कति बोक्नु यो दुःखको झोला ?“ बरू मिल्काइदिऊँ ! जस्तो पनि गर्छ एक अगाँलो यादलाई सुमसुम्याउँछ पनि एक तमासले रुन्छ पनि त्यो बूढो मान्छे पागल झैँ बरबराउँछ कहिले कल्पिन्छ खोलेर दुःखको पोको छटपटी स्वास्नी मान्छेहरूलाई दिन्छ पिडा छोरा छोरीलाई दिन्छ खुसी लुकाएर दिन्छ नातिनातिनालाई र बग्छ आफू नदी भएर कहिल्यै किनारमा नअल्झिने गरेर । प्रचण्ड गौतम #झोला #दुःखी
सरकार: जनता र राष्ट्रको अभिभावक हो सरकार समृद्धि र विकासको आधार बन्नुपर्छ भ्रष्ट्रचारमा होइन चर्याइरहेको कोरोनामा मलम बन्नुपर्छ । स्वास्थ्य सामाग्रीको खरिदमा घोटला गर्दै बिरोधीप्रति आक्रोश पोख्ने होइन बिरोधबाट गल्तीको पाठ सिक्दै जनताको स्वास्थ्यप्रति जिम्मेवार बन्नुपर्छ । कोरोनाको उपचार नगर्ने अस्पतालहरूलाई कानुन अनुसार कारवाही गर्नुपर्छ बिरामीहरूलाई घर फर्काउने होइन उनीहरूको बिरामलाई निको पार्नुपर्छ । कोरोनाले विश्व हल्लाइ रहेको बेला कोरोनाको रोगीहरू ट्रेस गर्नुपर्छ रोगीहरूको अपहेलना होइन नेपाल सरकार उनीहरूको बाँच्ने आधार बन्नुपर्छ । #सरकार
नेपाली साहित्यमा संस्कृत साहित्यको प्रभाव: नेपाली साहित्यमा संस्कृत साहित्यको सर्वत्र प्रभाव पाइन्छ। वास्तवमा नेपाली साहित्यले आदिबीज नै संस्कृत वाङ्\u200cमयबाट प्राप्त गरेको हो। नेपाली भाषाको स्रोत नै संस्कृत भाषा भएको वा लौकिक संस्कृतबाट हाँगा फाटेर नेपाली भाषा भएको र आधुनिक नेपाली भाषाको शब्द भण्डारमा संस्कृत मूलको तत्सम र तदभव शब्दहरूको प्रचुरता रहेबाट यी दुई भाषा- साहित्यमाझको अन्तर सम्बन्ध र निकटता प्रस्ट हुन्छ। नेपाली साहित्यको सुरूवात संस्कृत वाङमयका विभिन्न पद्य-गद्यमूलक रचना वा कृतिको अनुवादबाट भएको हो। नेपाली साहित्यको सबै विधामा, यसको दर्शन-सिद्धान्तमा, लोकसाहित्यमा, कोश-व्याकरणमा, भक्ति साहित्यमा, अनुवाद साहित्यमा र यसको तीनवटै साहित्य कालमा संस्कृत साहित्यको व्यापक प्रभाव पाइन्छ। हाम्रो धार्मिक आस्था र मान्यता सबै वेद-वेदादि, पुराण, श्रीमदभागवतगीता, रामायण, महाभारत जस्ता प्राचीन संस्कृत वाङमयका ग्रन्थहरू सम्बन्धित रहेको छ। त्यसैले नेपाली साहित्यको जुन निकटता संस्कृत साहित्यसित छ, त्यतिको निकटता अन्य भाषा साहित्यसित अवश्य छैन। नेपाली साहित्यको पृष्ठभूमि पूर्णतः संस्कृत साहित्यबाट प्रभाव-प्रेरित छ। नेपाली साहित्यको पृष्ठभूमि पूर्णतः संस्कृत वाङमयका विभिन्न ग्रन्थहरूको पूर्ण वा सारानुवादमा केन्द्रित रहेको देखिन्छ। प्राथमिक र माध्यमिककालीन नेपाली साहित्य पर्याप्त मात्रामा र आधुनिक नेपाली साहित्य आङ्शिक रूपमा संस्कृत साहित्यबाट प्रभाव -प्रेरित देखिन्छ। आधुनिक कालमा नेपाली साहित्यमा संस्कृत साहित्यको प्रत्यक्ष प्रभाव नपाइए तापनि संस्कृत वाङमयका जीवन्त पात्र- पात्राहरूलाई मिथक र प्रतीकका रूपमा भने प्रशस्त मात्रामा प्रस्तुत गरिएको पाइन्छ। नेपाली भाषामा यथाप्राप्त प्राचीनतम ग्रन्थ भास्वती-को नेपाली अनुवादलाई मानिन्छ, त्यसलाई कुनै अज्ञात व्यक्तिले सन् 1343 मा संस्कृतबाट नेपाली भाषामा अनुवाद गरेको अन्वेषक जग्दीशचन्द्र रेग्मीले बताएका छन्। यसरी नै बेनामीको स्वास्थानी व्रतकथा सन् 1610 र बेनामीकै खण्डखाद्य (सन् 1601) संस्कृतबाट नेपाली भाषामा अनूदित प्राचीन नेपाली वाङमय मानिन्छ, जसले नेपाली साहित्यको पृष्ठभूमि निर्माण गर्न महत्त्वपूर्ण सहयोग गरेको छ। नेपाली साहित्यको विभिन्न विधामा संस्कृत साहित्यको प्रभाव प्रशस्तै पाइन्छ। जस्तै- 1. नेपाली पद्य साहित्य वा कवितामा संस्कृत साहित्यको प्रभाव नेपाली पद्य वा कविता साहित्यमा संस्कृत साहित्यको प्रत्यक्ष वा परोक्ष प्रभाव पाइन्छ। नेपाली भक्तिसाहित्यअन्तर्गत कृष्ण भक्ति धारामा वसन्त शर्माको कृण्णचरित्र होस् वा विद्यारण्य केशरीको गोपिकास्तुति वा वीरशाली पन्तको सरस प्रेमावती होस् सबै कृति संस्कृतको बृहत् काव्य श्रीमद्भागवतगीताका विभिन्न स्कन्धबाट नेपालीमा अनुवाद भएको हो। यसरी नै सुब्बा होमनाथ केदारनाथको महाभारत विराट पर्व, कृष्णप्रसाद रेग्मीको देवी भागवत, मोतीराम भट्टको गजेन्द्रमोक्ष र प्रह्लाद भक्ति कथा, शम्भुप्रसाद ढुंगेलको महाभारत केही पर्वको अनुवाद, शिखरनाथको बृहत् कृष्ण चरित्र, चिरञ्जीवी पौडेलको श्रीमद्भागवत अनुवाद संस्कृतबाट नेपालीमा अनुवाद भएका कृष्णभक्ति धाराका उल्लेखनीय कृतिहरू हुन्। यसरी नै रामभक्ति धाराअन्तर्गत भानुभक्त आचार्यको आध्यात्म रामायण, रघुनाथ भट्टको सुन्दरकाण्ड रामायण र परवर्तीकालीन होमनाथ खतिवडाको नृसिंहचरित्र, कृष्णप्रसाद रेग्मीको सत्यहरिश्चन्द्र लगायत रमाकान्त बरालको अनुदित रामायण, भोजराज भट्टराईको आनन्द रामायण, हेम वल्लभको आग्नेधुर रामायण, होमनाथ, केदारनाथ र शिखरनाथको रामाश्वमेध रामायण पनि राम भक्तिधाराका महत्त्वपूर्ण कृति मानिन्छन् भने आधुनिककालमा आएर लक्ष्मीप्रसाद देवकोटाका शाकुन्तल महाकाव्य होस् वा रावण जटायु युद्ध खण्डकाव्य वा तुलसीबहादुर छेत्रीको कर्णकुन्ती वा जगदीश शमशेर ऱाणाको नरसिंह अवतार सबै कृतिको आदिस्रोत संस्कृत साहित्य नै हो। 2.नेपाली गद्याख्यानमा संस्कृत साहित्यको प्रभाव नेपाली गद्याख्यान लेखन परम्परा पनि पूर्ण रूपले संस्कृत साहित्यबाट प्रभावित छ। संस्कृतका रामायण, महाभारत पुराण लगायतका ग्रन्थहरूको अनूदित वा रूपान्तरित रूप नै नेपाली गद्याख्यानको आधारभूमि हो। भानुदत्तका हितोपदेशको मित्रलाभ (सन् 1776) र दशकुमार चरित(सन् 1818), विजयानन्दका महाभारत आदिपर्व र शल्यपर्व (सन् 1829), सिंहवीर नायकको लङ्काकाण्ड (सन् 1831), राजा दैवज्ञ उपेन्द्रध्वजको रामायण लङ्काकाण्ड (सन् 1855), पदमदास भक्तको वायुपुराण केदारकल्प (सन् 1878) जस्ता कृतिहरू संस्कृतबाट सोझै नेपालीमा अनुवाद भएका गद्याख्यानहरू हुन् भने आधुनिककालमा आएर कृष्ण धरावासीको ‘राधा’ जस्तो उपन्यास पनि संस्कृत साहित्यकै मिथकीकरण हो। 3.नेपाली नाटकमा संस्कृत साहित्यको प्रभाव नेपाली साहित्यमा नाटक लेखनको प्रारम्भ संस्कृत नाटकहरूको अनुवादबाट भएको हो। शक्तिबल्भव अर्यालले आफैँले संस्कृतमा लेखेर नेपालीमा अनुवाद गरेको हास्यकदम्ब (सन् 1798) नाटक नेपाली साहित्यको प्रथम लेख्य नाटक मानिन्छ । यसरी नै भवानीदत्त पाण्डेद्वारा अनूदित विशाखादत्तको मुद्राराक्षस (सन् 1835), मोतीराम भट्टले संस्कृतबाट नेपालीमा अनुवाद गरेका शाकुन्तल (सन् 1886), प्रियदर्शिका (सन् 1890), पद्मावती, रत्नावली साथै कालिदासको अभिज्ञान शाकुन्तललाई पहलमान स्वाँर, लेखनाथ पौड्याल, शम्भुप्रसाद ढुङ्गेल, चक्रपाणि चालिसे, भवभूतिको उत्तरराम चरितमलाई कालिदास पराजुलीले, भासको स्वप्नवासवदत्तलाई अर्जुन शम्शेरले विभिन्न समयमा संस्कृतबाट नेपालीमा अनुवाद गरेका छन् भने आधुनिक कालमा आएर लेखिएको बालकृण्ण समका प्रह्लाद, ध्रुवजस्ता नाटकहरूको आधारभूमि पनि संस्कृत साहित्य नै हो। 4.नेपाली समालोचना साहित्यमा संस्कृत साहित्यको प्रभाव नेपाली साहित्यका अन्य विधामा जस्तै नेपाली समालोचनाको क्षेत्रमा पनि संस्कृत साहित्यको प्रशस्त प्रभाव पाइन्छ। संस्कृत साहित्यशास्त्रका रीतिवाद,अलङ्कारवाद, ध्वनिवाद, रस सिद्धान्तजस्ता सिद्धान्त र महाकाव्य खण्डकाव्य चप्पुकाव्य लगायतका सिद्धान्त प्रशस्त मात्रामा नेपाली समालोचनामा प्रयोग भएको पाइन्छ। नेपाली समालोचक डिल्लीराम तिम्सिनाले राजशेखरको काव्यमीमांसा (सन् 1973), कोमलप्रसाद अधिकारीले कविराज विश्वनाथको साहित्यदर्पणलाई गोविन्दराज भट्टराईले भरतमुनिको नाट्यशास्त्रलाई नेपालीमा अनुवाद गरेको पाइन्छ भने केशवप्रसाद उपाध्यायको साहित्यप्रकाश घटराज भट्टराईको संस्कृतका अमर साहित्यकार चुडामणि खनालको संस्कृत साहित्यको परम्परा जस्ता कृतिहरू नेपाली समालोचना साहित्यका अमूल्य ग्रन्थहरू हुन्, जो संस्कृत साहित्यशास्त्रसित सम्बन्धित छन्। 5.नेपाली साहित्यमा संस्कृत दर्शनको प्रभाव नेपाली साहित्यका विभिन्न विधामा प्राचीन कालदेखि नै संस्कृतको दर्शनको प्रभाव पाइन्छ । पूर्वीय अर्थात् संस्कृतका दर्शनिकहरूहरूले प्रशस्त मात्रामा आस्तिक दर्शनहरू मूलतः सांख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त दर्शनले ईश्वर, आत्मा, जगत्, मन, जीवन, इहलोक, परलोक, कर्म, सृष्टि, स्थिति, लयजस्ता अनेक विषयमा सूक्ष्म चिन्तन गरेका छन् । यी दर्शनले चिन्तन गरेका विषयलाई नेपाली साहित्यका प्राथमिककालीन स्रष्टादेखि हालसम्मका धेरै सर्जकले कुनै न कुनै रूपमा आफ्ना रचनामा समेटेको पाइन्छ। नेपाली साहित्यका कविता, कथा, उपन्यास, निबन्धजस्ता सबैजसो विधामा पूर्वीय अर्थात् संस्कृतको दर्शनको प्रभाव र छाप परेको देखिन्छ ।आदिकवि भानुभक्त आचार्य, युवाकवि मोतीराम भट्ट, कविशिरोमणि लेखनाथ पौड्याल, नाटककार बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायत अनेक स्रष्टाका कृतिहरूमा पूर्वीय अर्थात् संस्कृतको दार्शनिक चिन्तन पाइन्छ। यसरी नेपाली साहित्यका प्रायशः विधामा संस्कृत साहित्यको प्रभाव पाइन्छ भने नेपाली साहित्यका त्रिरत्न लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल र बालकृष्ण समको लेखनमा संस्कृत साहित्यको प्रशस्त प्रभाव पाइन्छ। यसरी नै शक्तिबल्लभ अर्याल, सुन्दरानन्द बाँडा, रामभद्र पाध्य, कुलचन्द्र कोइराला, कोमलप्रसाद अधिकारी, चक्रपाणि चालिसे, खेमराज केशवशरण, कालिदास पराजुली, हरिनाथ ढुङ्गेल, वासुदेव शर्मा लुइँटेल जस्ता साहित्यकारहरूले संस्कृत र नेपाली साहित्यमा समानन्तर रूपमा कलम चलाएर संस्कृत र नेपाली साहित्यको निकटता र घनिष्टतालाई पुस्टि गरेका छन्। (डा. पुष्पा शर्मा सिक्किम विश्व विद्यालयको नेपाली विभाग प्रमुख हुनुहुन्छ ।) #डा. पुष्पा शर्मा #सिक्किम
युगकवि सिद्धिचरण श्रेष्ठको सम्झनामा: माता पिता चरणमा शीर यो झुकाई विद्वान्हरू जति सबैसँग माझ आई। पाऊँ भनेर कविता सहजै रचाई सम्झन्छु नित्य युगका कवि सिद्धिलाई।।१ घोटी सदा कलम ती कविता कसीमा बित्दै गए समय सिद्धि लिई असीम नेपाल-कानन-विहङ्गम-ऋद्धिलाई सम्झन्छु नित्य युगका कवि सिद्धिलाई।।२ बा सिद्धिका स्मरणमा कलमै चलाई मा सिद्धिका चरणमा कविता चढाई शब्दानली सुमन आज सबै फुलाई सम्झन्छु नित्य युगका कवि सिद्धिलाई।।३ #दिनेश पाण्डेय #नुवाकोट #सिद्धिचरण श्रेष्ठ
यादहरूले: कहिलेकाहीँ सताउँछन् अतित भित्रका यादहरूले पिउन नपाउँदै मताउँछन् अतित भित्रका यादहरूले जब भरिन लाग्छन् मनमा लागेका घाउहरू तब मुटुका व्यथा तताउँछन् अतित भित्रका यादहरूले समयसँगै तिमीले दिएको चोट निको भए तापनि मनको दाग बताउँछन् अतित भित्रका यादहरूले मनको कोठा बन्द गरी सोचिहेर्दा कहिलेकाहीँ विश्वासघात जताउँछन् अतित भित्रका यादहरूले (रीत थाइल्याण्डमा स्थापना भएको साहित्यिक पत्रिका ‘कलिला कलम’की सम्पादक हुन्।) #थाइल्याण्ड #थाइल्यान्ड #रीत निराैला
स्वाभिमान: तिमीसँग हात पसारेर मागेको भात न त मेरा पुर्खाले खाए न त म खान्छु तिम्रो जस्तो गुलाम भएर पाउने जात न मेरो राज्यले पायो न म स्वीकार्छु ! मैले मेरै श्रमका पसिना पोख्दै पसिनासँग भात साटेकी हुँ मेरो नागरिकता र स्वाभिमान साटेकी हैन म न चिनियाँ हुँ , न भारतीय म स्वतन्त्र देश नेपाल कि छोरी आफ्नो अस्मिताको प्रश्न उठिरहँदा अग्निमा हामफालेर परिचय दिलाउन सक्ने माता सीताकी भदैनी हुँ ! केवल तिम्रा बजारमा खड्किएको अभावमा नेपाली सीप, क्षमता, निडर र निस्फिक्री पस्किएकी हुँ छातीमा चन्द्र सूर्यको सान अनि शिरमा सगरमाथा र गौतम बुद्द बोकेर भारतीय श्रम बजारमा उदाए आफ्नो कलाकारिताद्दारा तिम्रा मन जितेँ ! यो नठान मैले राष्ट्रभक्ति बेचेकी हुँ मेरो करियर रहोस् या नरहोस् मलाई भारतीयले पत्याउन् नपत्याउन् मेरो नेपाललाई मेरो खाँचो पर्यो भने सम्झ पहिलो पंक्तिमा म र मजस्तै राष्ट्र प्रेम उभिनेछौँ र तिम्रा गोलीका खोका मेरै मुटुनेर छरिने छन् अनि मेरो मुहार हेर किन्तु विचलित हैन हाँसेर सुनकोशीको पानी पिउँदै हराउनेछु तिम्रा सिनेमाको पर्दामा मैले आफ्नो अस्तित्व बेचेकी छैन धन सम्पती लोभ लालचमा निर्लज्ज स्वार्थहरू बिक्लान् गर्भमै नेपालको पानी पिउनेहरू बिक्दैनन् बरू मर्न अघिल्लो मोर्चामा गोलबन्द हुन्छन् । मलाई राम्ररी थाहा छ मेरा हजुरबुवाले तिम्रा कुरा मानेका भए आठ वर्ष जेल जाने थिएनन् न त सत्ताबाट अपदस्थ नै हुने थिए तिम्रो नेपाली क्याबिनेटको बैठकमा उपस्तिथिती पाउने माग मेरा बाजेले ठाडै अस्वीकार गरेका थिए म त्यही बाजेको नातिनी हुँ जसलाई तिमीले काखमा लिएर गलामा सेथ्र्याै ! त्यसैले मेरो इतिहास खोज खुलेआम बोलिरहेको छ मेरो पृष्ठभूमि कदापि हिम्मत नगर म सजिलै किनिने र बेचिने बजारको तरकारी हैन स्वाभिमानी नेपाली हुँं नेपाल आमाकी छोरी हुँ म मेरो देशको निम्ती बिना वर्दीको सिपाही हुँ आवश्यक परे मेरो रगत त्यहीँ बग्नेछ जहाँ मेरा अग्रजले बगाए । #स्वाभिमान
रातो कथा: कथा एकादेशबाट सुरु हुन्छ कि कथाकारको मस्तिष्कबाट, मनबाट कि कलमको नीवबाट ? छेउको भत्केको जिन्दगीबाट कि ‘ऊ’माथिको घरबाट ? जहाँबाट सुरु भएको होस्, कथा त कथा नै हुन्छ । कथालाई व्यथा मान्नु हजुरको भूल । कथालाई व्यथा देख्नु झनै ठूलो भूल । कथा त कथा नै हुन्छ । मलाई कथा मन पर्छ नकि व्यथा । उसो त व्यथा भन्दा दुखाइ बुझ्नुहोला, आँसु बुझ्नुहोला ! हजुरको बुझाइलाई गलत भनिहाल्न पनि सक्दिनँ । र, मेरो बुझाइलाई पनि हजुर गलत नबुझिदिनुहोला । मेरो मस्तिष्कमा हजारौं कथा छन् । प्रेमका, बिछोडका, हाँसोका, आँसुका । संघर्षका, सजिलोका, मुस्किलका । यद्यपि, सबै कथा भनिन्न/लेखिन्न रहेछ । हजुरलाई रातो कथा सुनाउँछु । रातो क्रान्तिको प्रतीक, खतराको चिन्ह, रातो प्रेमको चिन्ह (?) । भर्खर लेखिएको प्रेमको चिन्हनेर प्रश्नवाचक चिन्ह राखिदिऊँ । म रातोबाट सुरु भएँ । त्यहीँबाट सुरु भयो यो कथा पनि । त्यसो त यो कथा म सुरु हुनुअघिबाट सुरु भएको हुनुपर्छ । जस्तो कि मेरा आमाबाको प्रेम । बाले रातो फूल दिएर आमालाई प्रेमको लागि मनाउनुभयो । यहाँ पनि प्रश्नवाचक चिन्ह (?) राखिदिऊँ । जे भए पनि मेरी आमा-बाको जिन्दगीमा आउनुभयो । र म आएँ आमाको गर्भाशय हुँदै रातो दुनियाँमा । म आउँदा आमाको योनिबाट ह्वाल्ल रगत बग्यो । त्यो रातो । आमाको रगत जति त होइन, तर रातो थिएँ म पनि । व्यथा खप्दा खप्दा नीलो भएकी आमाको अनुहार पनि त म जन्मिएपछि रातो देखिएको थियो ! बाको कथा पनि रातो नै छ । आमाको गर्भाशयमा मलाई छोडेर गएका मेरा बाको जिन्दगी रातोसँगै सकियो । उहाँले मलाई रातो रूपमा देख्न पाउनुभएन । आमाको रातो लागेको लुङ्गी–पेटीकोट धुन पाउनु भएन । अनि लाज र खुसीले रात्तिएको आमाको अनुहार हेरेर मुस्कुराउन पाउनुभएन । आमाले पनि रातो मलाई बाको हातमा राखिदिन पाउनुभएन । क्रान्तिको रातो टीका निधारमा लगाएर गएका मेरा बा म जन्मिएकै बेला विजयको रातो झण्डा ओढेर फर्किनुभएको भए आमाले उहाँको काखमा मलाई राखिदिनुहुन्थ्यो । बाको काखमा पनि आमाको सुत्केरी रगत रातो भएर टाँसिने थियो । मलाई च्वाँक्क म्वाइ खाँदा बाको ओठमा पनि रातो लाग्ने थियो । कसले भन्छ योनिबाट बग्ने रातो अपवित्र हुन्छ भनेर ? अपवित्र भए मेरा बाले आमाको रगत लागेको मलाई चुम्नु हुने थिएन । रातोका यस्तै थुप्रै संयोगबीच जन्मिएँ/हुर्किएँ तर रातो बुझ्न थालेको दिनदेखि नै किन आमालाई रातो रूपमा देख्न पाइनँ । बैंशका कल्कलाउँदा रहर मारेर सेतो–नीलो लुगामा किन छोपिनु पर्\u200dयो उहाँ ? गालाको रातोपन किन खुइलिदै गयो ? भकुल्ले केटोको जिन्दगीले रातो गुलाबी रङ ग्रहण गर्दैगर्दा आमाको जिन्दगी किन कालो हुँदै गयो ? आमाले रहरका राता सपना देख्नुभएन ? या देखेर पनि बताउनुभएन ? रङसित आमाको प्रेम किन भएन ? प्रश्नको अग्ला पहाडहरू ठड्याएर किन हुर्कनु पर्\u200dयो मैले ? रङ्गहीन आमाको जिन्दगीमा रङ्गीन मान्छेले किन कुल्चिइरहे ? कुन रातो किताब पढेका मान्छेले पढायो, सेता वस्त्रधारी आमाहरू कमजोर हुन्छन् भनेर ? कुन कमजोर तन्तुले आमालाई सिकायो, सिउँदोमा, शरीरमा, हातमा रातो नहुने मान्छेको जिन्दगी अपूर्ण हुन्छ भनेर ? अनुत्तरित प्रश्नसँगै बाँच्न सजिलो थिएन । प्रश्नमा यति गहिरिएँ कि प्रश्न नै उत्तर हो भन्ने न कसैले बुझाए, न मैले नै बुझेँ । गाँजेमाँजे प्रश्नका गुजुल्टाहरू फुकाउन सजिलो नहुँदो रहेछ । यता फुकायो उता जेलिन्छ, उता फुकायो यता जेलिन्छ । कतै फुकाउन नसकिने गाँठो पर्छ । यस्ता प्रश्नहरूको हल खोजूँ त कोसित ? आमासित ? जो आफैँ कमजोर देखिनुहुन्थ्यो । या नफर्किने बाटो गएका बासित ? या राता मान्छेहरूसित ? आमा भन्नुहुन्थ्यो, मलाई रातो सुहाउँछ । रातो टोपी, रातो सर्ट, रातै जुत्ता अनि रातै पाइन्ट किनिदिनुहुन्थ्यो । सायद रातो रङ आमाको पनि मन पर्ने रङ थियो । उसो त मन परेका चिजहरू आफैँसित राख्न नपाइँदो रहेछ । आमालाई बा साह्रै मनपर्\u200dथ्यो रे ! आफूसित सधैँका लागि राख्न पाउनुभएन । आफूसित भएको रातो लुङ्गी, रातै ब्लाउज अनि रातो चुरा पनि घरमुन्तिरको खोल्सामा लगेर जलाउनुपर्\u200dयो रे ! तर बाको रातो–सेतो मिसिएको कोठे पाइन्ट भने आमाले आफूसितै राख्नुभयो । सन्जयले तेरी आमा नराम्री छ भन्थ्यो । मलाई पनि सन्जयको आमा राम्री लाग्दैनथ्यो । सन्जयकी आमा चुरा लगाउँथिन् । सिउँदोमा रातो सिन्दुर, रातै लिपिस्टिक, रातै लुङ्गी–ब्लाउज लगाउँथिन् । गाउँलेले पनि सन्जयकी आमालाई राम्री भन्थे । मलाई विद्रोह गरेर भन्न मन लाग्थ्यो– “गाउँभरिमा मेरी आमा जत्तिको राम्रो कोही पनि छैन । तिमीहरू जस–जसलाई राम्रो भनिरहेछौ, तिनीहरू यसकारण राम्रो देखिन्छन् कि, क्रिम पाउडर र राम्रा लुगा लगाउँछन् । तिनीहरूले काम गर्नुपर्दैन । लोग्नेले ल्याइदिएको नयाँ लुगा, राम्रो पोषिलो खानेकुरा खाएर दिनभरि सुत्छन् । मेरी आमाजस्तो घामपानी नभनी मेहनत गर्न परेको भए तिनको अनुहारमा कालो दाग बस्ने थियो । तिनको लोग्नेले चिन्न इन्कार गर्ने थिए । लुगा पनि धुलोमैलो हुने थियो । छिमेकीले छिःछिः भनेर घृणा गर्ने थिए । आफन्तले फोहरी गरीब भनेर हेला गर्ने थिए । तिनीहरूले पनि काम र पैसा माग्न भनेर धनी मान्छेहरूको घरघरमा पुग्नुपर्\u200dथ्यो । छोराछोरीलाई के खुवाउने भन्ने चिन्ता गर्दागर्दै अनुहारको छाला चाउरिने थिए । मान्छेहरूले राम्रो देख्ने भनेको भरिलो यौवन, मेकअपले चिल्लो भएको अनुहार त रहेछ ! यौवन त मेरी आमासित पनि थियो । तर उहाँले सम्हाल्न सक्नुभएन या सम्हाल्न चाहनुभएन ? विशेषगरि महिलाहरू आमालाई आँखा फुट्न रुचाउदैनथे । मेरो बुझाइमा पुरुष साथमा नहुनु आमालाई गर्ने हेलाको कारण थियो । आमाको कमजोरी पनि पुरुषसाथ नहुनु नै थियो । उहाँलाई मेरो पीर लाग्थ्यो । कमाएर खुवाउने बा छैनन् । यसो गर्नुपर्\u200dयो र उसो गर्नुपर्\u200dयो भनेर सिकाउने बा छैन । घरको नेतृत्व गर्न सक्ने पुरुष छैन । पुरुषबिना आइमाईहरू कमजोर हुन्छन् रे ! आमा मलाई कमजोर लाग्दैनथ्यो । मान्छेका वचन हाँसीहाँसी पचाउने, भोक र अभावसित मुस्कानका साथ जुध्न सक्ने मान्छे कसरी कमजोर हुनसक्छ ? कमजोर त ती हुन् जो साहाराबिना बाँच्न सक्दैनन् । आफैँ अन्नका दाना फलाउन सक्दैनन्, न त कमाउन नै सक्छन् । तर के आमालाई आफू बलियो छु जस्तो लाग्थ्यो ? अहँ, लाग्दैनथ्यो । आममान्छेसित आमाको सोच पनि मिल्थ्यो । उहाँलाई बाबिना अपुरो छु भन्ने लाग्थ्यो । घँचेढ्दै र चिप्लिदै हुर्किएको फुच्चेसित ‘पुरुषबिना’ शब्दको अर्थ बुझ्न सक्ने विस्तृत दिमाग थिएन । मेरो बुझाइमा त बा नहुनुको अर्थ घरमा पैसा नहुनु, भने जस्तो लुगाफाटो र खानेकुरा नहुनु थियो । आमा पनि, “तेरो बा भाको भा मिठो खान्थिस्, राम्रो लाउथिस्” भनिरहनुहुन्थ्यो । मानौं, लुगाकपडा र खानेकुरा त बाले मात्रै ल्याउनुहुन्छ । आमाले पनि त काममा जाँदा अरूले दिएको खाने कुरा च्यापेर ल्याइदिनुहुन्थ्यो । दालचामल किनेर उब्रिएको पैसाले दोकानका खाने कुरा ल्याइदिनुहुन्थ्यो । आफूले फाटेको लुगा लगाए पनि मलाई नयाँ लुगा ल्याइदिनुहुन्थ्यो । सन्जयको बाले ल्याइदिएको लुगा पनि मेरै जस्तो हुन्थ्यो । उसले खाने कुरा पनि मेरै जस्तो हुन्थ्यो । त उसको बा र मेरी आमाबीच कस्तो फरक ? यस्ता तमाम प्रश्नको उत्तर खोज्ने क्रममा म बुझ्थेँ, सन्जयको लुगा मेराभन्दा महङ्गा हुन्छन् । खाने कुरा पनि हरेक छाकमा फरक फरक स्वादका हुन्छन् । मेरो बा हुनुभएको भए म पनि सन्जय जस्तै हुन्थेँ । अल्लारे उमेर छँदै गाउँलेले मलाई घरको जिम्मेवारी उठाउने सल्लाह दिए । जस्तो कि, गाउँको पूजामा घरको नेतृत्व गरेर जानू, घरको व्यवहार सम्हाल्नू, आमालाई भान्छामा राखेर कमाउन जानू, बिहेभतेरमा म आफैँ जानू । तर आमा त आमा हुनुहुन्थ्यो । पढाइ छुटाएर यी सबै काममा भुलिबस्न दिनुभएन । उहाँ सम्झाउँदै भन्नुहुन्थ्यो– “तँ खुरुखुरु स्कूल जा । पढिनस् भने तँ पनि तेरो बा र म जस्तै हुन्छस् ।” सन्जयको बा त सन्जयलाई आफूजस्तै बनाउन चाहन्थे तर मेरी आमालाई भने छोरालाई आफूजस्तै बनाउने रहर किन नलागेको होला ? या बाजस्तै बनाउन किन नचाहनुभएको होला ? मलाई पढ्न भन्दा अरूको मेलापात गर्न, आफूले सकेको काम गर्न सजिलो लाग्थ्यो । काम गरेपछि पैसा पाइन्छ, पैसा आएपछि घरमा खाने कुरा आउँछ । पेटभरि खाने कुरा खाएपछि साह्रै राम्रो नीद पर्छ । बिहान उठ्दा पनि जिउमा थकान हुँदैन । फेरि उठेर खुरुखुरु काममा जान सकिन्छ । यति सामान्य कुरा खै आमाले बुझेको ? मेरो सोचको बाटो एकदमै सोझो थियो । जिन्दगीको उद्देश्य भनेको कमाउनु, खानु र निदाउनुबाहेक अरू केही हुनै सक्दैन । अनि आमा मेरा लागि बाँच्नुपर्छ, म आमाका लागि बाँच्नुपर्छ । एकदम सामान्य । वल्लाघरे काका, पल्लाघरे झ्याबै बाँचून् वा मरून्, पेटभरि खाऊन् या भोकै निदाऊन, यी सबै मेरो सोचको विषयभित्र पर्दैनन् । किन ? किनको जवाफ पनि सामान्य नै थियो । जसको जवाफ जो कोही जान्दथे । जिद्दी आमाले स्कूल छुटाउन कहिल्यै दिनुभएन । अतः गाउँलेको मलाई घरमुलीको रुपमा देख्ने रहर पूरा हुन पाएन । त्यतिन्जेल सन्जय र मबीचको फरक पनि बुझिसकेको थिएँ । ऊबेला आमाले बुझाइदिनु भएको थियो, बा नभएर मैले प्रशस्त खान र महङ्गा लुगा लगाउन पाइन । तर आमाले बुझाइदिनु भएको सत्य पूरै सत्य होइन रहेछ । हामी गरीब भएको बा नभएर हैन रहेछ । सन्जयहरू धनी भएका सन्जयको बा ज्यूँदो भएर होइन रहेछ । ती धनी कहलिएका बाजेबराज्यूको अचल सम्पत्ति भएकोले रहेछ । नत्र सन्जयको बाले कमाउने जति त मेरी आमाले पनि कमाउनु हुन्थ्यो । ठीक छ, सन्जयको बाको जति सजिलो, इज्जतिलो काम थिएन होला । तर कमाइ त कमाइ हो नि ! बुझेँ, हात पाखुरा बजाउनु र कमाउनुबाहेक जिन्दगीको अर्को लक्ष्य नहुँदो रहेछ । मेरो जिन्दगीको लक्ष्य पनि कमाउनु, कमाउनु र कमाउनु मात्रै थियो । मान्छेले काम दिऊन् र पैसा दिऊन्, यति भए सकिइहाल्यो । थाक्न मनाही छ । थाक्यो भने भरे कसौंडीमा चामल कसले हालिदिने ? अल्छी बन्यो भने पेट कसले भरिदिने ? मान्छे रक्सी पो सित्तैमा खुवाउछन्, भात त खुवाउन्नन् । मैले कमाउन सुरु गरे ताकै हो, आमालाई भनेँ– अब हजुर घरमा बस्नूस् । अमिलो भएर आमाले भन्नुभयो– त्यसो भए घर पनि सम्हाल्न सक्छस् होला । जवाफमा भनेँ– सक्छु नि, किन सक्दिनँ ? आमाले मुस्कुराउदै भन्नुभयो– घर सम्हाल्ने भनेको भाततिहुन जुटाउन मात्रै हैन । त्यसो भनेको तीन महिनापछि आमा पोइला जानुभयो । गाउँले अचम्म परे । म भने अचम्म पर्न भ्याइनँ । कस्तो प्रतिक्रिया जनाउने भन्ने सोच्न पनि भ्याइनँ । हप्तादिनसम्म ढोका थुनेर रोइरहेँ । आमा मेरा लागि, म आमाका लागि बाहेक तेस्रो व्यक्तिका लागि हाम्रो जिन्दगीमा अनुमति थिएन । त आमाबाट के भयो ? गाउँलेले कानेखुसी गरे । छिमेकीले औंला भाँचेर आमा र आमाको नयाँ दुलाहाको उमेर हिसाब पनि गरे । मेरी आमाको नयाँ दुलाहाको मरेकी श्रीमतीको उमेर पनि निकाले । मेरा बाको त झन् भन्नै परेन । मैले पनि पहिलोपटक मेरी आमाको उमेर थाहा पाएँ । चालीस वर्ष, हो चालीस वर्ष । आमाको उमेर थाहा पाएपछि छिमेकका आइमाइहरूलाई हेरेँ, जसको उमेर पनि चालीसकै सेरोफेरोमा थियो । ती चिल्ला थिए, राम्रा पनि थिए । मैले पहिलोपटक ती आइमाइहरूलाई आमाभन्दा राम्री देखेँ । ती आफू जत्रै छोराछोरीलाई पकाउँथे, खुवाउँथे । लुगा पनि धोइदिन्थे । लोग्नेलाई पनि पकाएर खुवाइवरी काममा पठाउँथे । आठौं दिनको दिन सन्जयले भन्यो– बुढेसकालमा तेरो आमालाई बैंश आएछ । त्यो उमेरमा पनि किन पोइ चाहिएको होला ? सन्जयको बाले थपे– छोराछोरीले ब्याहा गर्ने बेलामा कोहीकोही मान्छेलाई किन पोइला जान परेको होला ? थुप्रै महिनासम्म मान्छेका यस्तै प्रश्न सुनिरहेँ । तिनले जवाफ मसित मागेका थिएनन् त किन प्रश्न मसित गर्थे ? झण्डै छ महिनापछि आमा भेट्न आउनुभयो । पहिलेभन्दा उज्यालो देखिनुभएको थियो । आमाको दुलाहाले भने– तातो पानी तताउने मान्छे चाहियो भनेर ब्याहा गरेको बाबु । तँ आमासित नरिसा है ! गज्जब बूढा ! चौवालीस वर्षको उमेरमा तिनलाई पानी तताउने मान्छे चाहियो । भावानात्मक साहराका लागि तिनले आमालाई बिहे गरेका होइनन् । तातोपानी तताउन र मैलो लुगा धुनमात्रै बिहे गरेका हुन् । मेरी आमाको मूल्य भनेको त्यति नै रहेछ । तर आमालाई ती बूढाका लुगा धुन, तातोपानी तताउन आपत्ति छैन । कुन मोहले आमा ती बूढातिर तानिनुभयो ? शारीरिक आकर्षण मात्रै बूढातिर तानिनुको कारण पक्कै होइन । उहाँहरूबीच प्रेम पनि त थिएन ! त त्यस्तो कुनचाहिँ कारण थियो, आमा त्यो बूढासित बिहे गर्न राजी हुनुभयो ? हामीबीच कहाँनेर कस्तो दरार थियो, र त्यो राँडो बूढाले प्रवेश गर्ने मौका पाए ? या आमा आफैँले बाटो बनाएर राँडो बूढासम्म पुग्नुभयो ? आमाले मेरो टाउको मुसार्नुभयो । अनि बिस्तारै छातीमा टाँस्नुभयो । मलाई आमाको काखमा टाउको राखेर खुब रुन मन लागेको थियो । तर मन लाग्नु र आँखाबाट आँसु आउनु अलग कुरा रहेछ । आँसु आएन । आमाको आँखामा पनि आँसु आएन । आमासँग भनेँ– यो बूढोको लागि हजुरले मलाई छोड्नुभयो । आमाले बिस्तारै ढाडमा हान्नुभयो । उहाँलाई आफ्नो लोग्नेको बारेमा कुरा गरेको मन परेन । त्यो बूढो पनि आमाकै छेउमा बसेर खाउँलाझैँ मलाई हेरिरहेको थियो । आमा पटाहाबाट उठेर आँगनको छेउमा जानुभयो । उहाँले आँगन छेउमा रोपी छोड्नुभएको पतेना, फूलका बोट जम्मै पानी, मल र गोडमेल नपाएर सुकिसकेको थियो । उहाँले ती सुकिसकेका बोटहरूलाई हेरिरहनुभयो तर मलाई भने फर्केर हेर्नुभएन । म पनि त आमाको माया र साथ नपाएर कस्तरी सुकिसकेको थिएँ । साँझबिहान “खा खा” भनी करकर गरिरहने आमा नभएपछि आफैँलाई घुर्\u200dक्याउँदै भोकै हिँडेको महिनौँ भैसकेको थियो । भरिलो ज्यान खिस्रिक्क भएको आमाले किन याद गर्नुभएन ? आमाले उदास आँखाले मतिर हेर्नुभयो तर उहाँको सिउँदोको सिन्दुर, शरीरको रातो चोलो अनि रातै लुङ्गी भने उदास थिएनन् । ती सिरसिर बताससँगै हल्लिइरहेका थिए । आँखाको थोरै उदासिनतालाई नकार्ने हो भने उहाँको अनुहार पनि त पहिलेभन्दा चिल्लो भएछ । सुकिसकेका बोट हेर्दै आमाभित्र जानुभयो । आमाको पछि लागेँ म । उहाँ सिधै आँटीमा जानुभयो । अनि ध्वाँसो लागेको मधुस निकालेर बाको रातो–सेतो मिसिएको पाइन्ट निकालेर मुसार्नुभयो । त्यो पनि त आमाको निधारजस्तै मुजैमुजा परिसकेको थियो । बाको त्यो पुरानो पाइन्ट दिँदै आमाले भन्नुभयो– खोल्सातिर लगेर फाल्दे केटा । मान्छेको हाड त गलिसक्यो । यो थोत्रो पाइन्ट आफूसित राखेर घाउ बल्झाउँदै बसेर के हुन्छ ? बाको पाइन्ट मेरै हातमा छोडेर उहाँ ओर्लनुभयो, अनि जान्छु पनि नभनी आफ्नो लोग्नेको अघि लागेर जानुभयो । मलाई साह्रै नमज्जा लाग्यो । आँगनमा उभिएर हुरुर्र.. चलेको बतासले उडाइल्याएको पातपतिङ्गगर र धुलो खाँदै बसिरहेँ । एक मन त लाग्यो बतासकै तालमा आमालाई उछिन्न जाऊँ, अनि आमा र आमाको लोग्नेलाई बाटो रोकेर भनूँ– जाम्, मसितै बसम् । हजुर दुईजनाको लागि तातोपानी पनि मै तताउँछु । चामल र नूनतेलको जोहो पनि मैँ गर्छु । ढाड दुखेको बेला तातो तेल पनि मैँ लगाइदिन्छु तर हजुरहरू मसित बस्नुपर्छ । मलाई आमाको नराम्रो आदत छ । यत्रो जिन्दगी कसरी आमाबिना गुजारूँला ? तर मनले भन्यो– यत्रो महिना आमाको खबर लिईबिना बाँचिस् । अब केको आमाबिना कसरी बाँचुँला भन्दैछस् ! बतास चलिरह्यो । बतासले पातपतिङ्गर र धुलोमात्र उडाएन, गोठको छानो पनि उडाए छ । आमा पोइला हिँडेपछि रित्तिएको गोठको छानो बतासले उडाउँदा साह्रै नरमाइलो लाग्यो । त्यो रित्तो गोठ र ममा के फरक छ ? त्यसको पनि छानो उडाएको छ, मेरो पनि जिन्दगीको छानो सधैँका लागि हावाले उडाएर लगेको छ । छानोबिनाका गोठ, घर र जिन्दगीको अस्तित्व नहुँदो रहेछ हगि ? रामपुर, पाल्पा #पाल्पा #स्वप्निल नीरव
माया: आजकाल माया भुवाजस्तै उडी जाने भो झूटो आँसु नौटंकी नै जिती लाने भो नजिक हुने धोकेबाज उसलाई प्यारो भो टाडा बहने अमृत पनि सराप हुने भो ।। आजकाल माया भुवाजस्तै उडी जाने भो साँचो आँसु मूल्य खोज्दै सुकी जाने भो झूटो आँसु जिती सबै प्राण लाने भो आजकाल माया भुवा जस्तै उडी जाने भो झूटो आँसु नौटंकी नै जिती लाने भो ।। खरानी भै खोला बगर माया जल्ने भो माया माया भन्दा भन्दै सास जाने भो धोकेबाज नौटंकी ले खुसि लाने भो आजकाल माया खरानी भै उडी जाने भो सत्य सदै आँसुले पखाली लाने भो झूटो आँसु नौटंकी नै जिती जाने भो आजकाल माया भुवा जस्तै उडी जाने भो ।। #दिलीप अधिकारी #माया
कन्फ्यूज हुनुपर्छ कोरोना: केही दिन यता मेरो चाल चलन देखेर कन्फ्यूज भएको हुनुपर्छ कोरोना भाइरस पनि ! बूढी माउँ पकाउँछिन् जोत्ने दाइले झैँ म स्याम्म बजाउँछु एक थाल भात महँगो तरकारी आलु जत्तिको पनि अडिलो नहुने भन्नका लागि मासु भनिने बोइलर कुखुराका झाम्टाहरू ! सिन्की सकियो मस्यौरा सकियो झान झुन पार्दा सबै सकियो । म भात बहादुर कोरोना बहादुरसँग तर्सिएँ काम धाम छोडेर थन्किएका बेला घर पहिले पहिले मोहीसँग लफन्नाएको आटो मकैको रोटी सम्झिँदै कोदो, फापर जस्तै देखिने पिठोको रोटी बुढी माउँ जे जे दिन्छिन् घैँटे पेटमा सिन्की खाँदे जस्तै खाँदी रहेको छु म आजकल काम नगरी खान कहाँ पाइन्छ भन्थे मान्छेहरू ! इस् गर्छु काम ! बुढी माउँ किचनमा पकाउँछिन् म स्याम्म खान्छु जब भरिन्छ घैँटे पेट बिस्तारामा जान्छु किनकि बसेर टिभी हेर्न मिल्दैन अनि, बिस्तारामा कहिले उत्तानो परेर कहिले घोप्टी परेर कहिले कोखे परेर फोन बाटै हेर्छु टेलिभिजनहरू बिना पैसा सित्तैमा कजिन्छु जुकेरबर्गको फेसबुकमा गुगलको युट्युब रोला जस्तो गर्छ मलाई आइजन भनेर अनि म त्यता पनि जान्छु समाजसेवी भावना छ मेरो म कसैसँग ज्याला मजदुरी लिन्न उनीहरूका लागि काम गर्छु बूढी माउँ फेरि चिया नास्ता लिएर आउंछिन म मीठा मुखले बजाउँछु बजाउँदा बजाउँदै थकाई लाग्न थालेको छ सुत्दा र बस्दा दिक्क लाग्न थालेको छ उठ खाऊ बस सुत मेरो दिन चर्या यस्तै भएको छ आजकल ! बरू यस पटकको अनुभवले लाग्यो काम गर्न नखोज्ने काम चोरहरू बसी बसी खान खोज्ने ठगहरू काममा जान भन्दा मरे झैँ गर्नेहरू बिचरा तिनीहरूलाई कति गाह्रो हुँदो हो सधै घरमै बस्न फिल्म र सिरियलहरू हेर्दै समय कटाउन ! मलाई ति बिचराहरू देखी दया लाग्न थालेको छ अहिले तिनको बन्दी जीवन सम्झेर रुन मन लागेको छ अहिले ! केही दिन यता मेरो चाल चलन देखेर कन्फ्युज भएको हुनुपर्छ कोरोना भाइरस पनि ! यस्तो अल्छी मनुवालाई लगेर के गर्नु ? शायद यसै भन्दै होला कोरोना यमराज ! धूलो धुँवा फोहोर उकालो ओरालो घाँस दाउरा पानी पँधेरो खेत बारी सबै सबै पचाइसकेको म मनुवा उसले चिनेछ क्यारे लिन आउने हिम्मत गरेको छैन म कति ज्याद्रो छु उसले बुझे जस्तो छ त्यसैले हिम्मत गरेको छैन मलाई लिन आउने ! आयो भने मैले पनि जानेको छु त्यसलाई पचाउन ! आइजन न मात्रै निसास्सिएर मर्छस् बाबु तँ म सँग तँ भन्दा पनि म खतरा छु ! ज्याद्रो छु गाई गोठमा जन्मिएको हुँ सक्दैनस् बाबु सक्दैनस् तैँले फुर्ती गर्दै नगर ! मेरो भर पर्दै नपर ! ढाँट्या भए मरिजाम ! #कन्फ्यूज हुनुपर्छ कोरोना पनि ! #रामप्रसाद खनाल
आँसु झर्छ कि आगो: म र मेरो छिमेकीे एक अभिन्न मित्र जस्तो नहुनु पनि कसरी ? गाह्रोमा सम्झिन्छौं नजिककै छिमेकी पर्दामर्दामा गुहार्छौं नजिककै छिमेकी । सँगसँगै बसेपछि कहिले भूलबस सिमाना यताउत ाभएको विषयलाई लिएर कहिले अन्जानमा नानीहरू बीच भएको झगडाको विषयलाई लिएर कहिले गाईबस्तुहरू फुत्केर साँधको बाली खाएको विषयलाई लिएर छिमेकीहरू बीच ठाकठुक पर्नु सामान्य हो । तर यतिबेला नियत खराब राखेर मेरा तल्लाघरे छिमेकीले किन छाड्दैछ छाडा साँडेहरू मेरो बँगैचामा र निमोट्दैछ कलिला फूलहरू किन लाउँदैछ वक्रदृष्टि ममाथि र चिर्थोदैछ मेरा सुस्ता र महेशपुर । हो एक असल छिमेकीको नाताले मैले कयौं पटक उसका सुख्खा खेतकागह्राहरू सिंचाइ दिएकै हँु मेरा हिमनदीहरूले कयौं पटक उसका घरका चूलो नबले पछि प्रोमिथसले झैं चोरेर दिएकै हँु आगो कयौं पटक उसका घरमा अशान्तीे मडारिँदा उडाइदिएकै हो एक जोडी सेतो परेवा र बालिदिएकै हुँ शान्तिदीप । तर कस्तो बैगुनी ! मेरा गुनहरू जति बिर्सेर मेरो इमान्दारितालाई कमजोरी ठानेर नङग्रयाउँदैछ रे मेरो आँगन कालापानीलाई । थाहा हुनुपर्ने हो उसलाई अथवा थाहा नहुनपनि सक्छ जतिबेला ऊ बबुरो थियो वा जन्मिएकै थिएन १८१६मा नै मेरा हजुरबाले यो घरको चारसुर उसका शासक ब्राडसालाई साक्षी राखेर बाँधेको हो र त उभिएका छन् मेरा घरका सिमानाहरूमा जङ्गे पिलरहरू म सोध्न चाहान्छु तिमीलाई तिम्रो काश्मिर दुख्दा, तिमी दुख्छौ कि दुख्दैनौ ? तिम्रो घर लुटिँदा, तिम्रो हातमा फूल हुन्छ कि तरबार ? तिम्री आमा बलात्कृत हुँदा, तिम्रो आँखाबाट आँसु झर्छ कि आगो ? खबरदार ! मलाई पनि उत्तिकै प्यारो छ मेरो माटो मेरो स्वाधिनता र मेरो मातृभूमि । #आँसु झर्छ कि आगो #विक्रमकाङ्भा
'नथिया' फेम सरस्वतीको आज जन्मदिन: चर्चित उपन्यास ‘नथिया’की लेखक सरस्वती प्रतीक्षाको आज जन्मदिन हो । कविता लेखनबाट लेखन कार्य शुरूवात गरेकी प्रतीक्षाका तीन कविता संग्रह प्रकाशित छन् । यद्यपि प्रश्नहरू, विम्बहरूको कथाग्रह र बागी सारंगी उनका प्रकाशित कविता संग्रह हुन् । नथिया उनको पहिलो उपन्यास हो । दुई वर्षअघि प्रकाशित उनको यो उपन्यास प्रकाशित भएलगत्तै विवादमा परेको थियो । वादी समूहमाथि लेखिएको यो उपन्यासमा उनीहरूको इतिहास बंग्याइएको आरोप लगाउँदै प्रतिबन्ध लगाउन माग गरेका थिए । सर्वोच्च अदालतले भने उपन्यासका केही शब्दहरूलाई सच्याउन आदेश दिएको थियो । उनको सो उपन्यासले पहिचान पुरस्कार प्राप्त गरेको थियो । केही समयअघि उनका पूर्व पतिसँग पारपाचुके उत्सव मनाएको भन्दै मिडियामा आलोचना भए पनि उनको यस कार्यलाई धेरैले सराहनासमेत गरेका थिए । पत्रपत्रिकामा बेवाक् स्तम्भकारको परिचय बनाएकी उनी एक छोराकी आमा पनि हुन् । साहित्यकार प्रतीक्षालाई साहित्यपोस्ट जन्मदिनको धेरैधेरै शुभकामना व्यक्त गर्दछ । तल उनको प्रख्यात कविताः कविता : किरिया बसेकी स्वास्नीमान्छे सरस्वती प्रतीक्षा लोग्नेको मृत्युमा किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जाँदा तपाईंका पूर्व निर्धारित सम्पूर्ण अनुमानहरु गलत साबित हुन सक्छन् ! तपाईं पत्याउनुस्, नपत्याउनुस् ! भर्खरै भेटेर आएकी हुँ मैले उनलाई उनको नयाँ अवतारसँग ठोक्किनु संसारको आठौँ आश्चर्यसँग ठोक्किनु जस्तै भो मेरा लागि किरिया बसेकी स्वास्नीमान्छेका आँखाहरुमा हिरासतबाट मुक्त कैदीको पहिलो मुस्कान छचल्किएको देखे ! वर्षौंदेखि लेउ लागेर बसेको मौनता छायाँ र प्रतिछायाँका पूर्जाहरुमा मात्र उल्लेखित आफ्नो अस्तित्व किरिया बसेकी स्वास्नीमान्छेको अनुहारले भन्दै थियो– फुल्नु नफुलेछु, यत्तिका वर्ष केवल काँस भएर फुलेछु त्यही काँस पनि अन्त फुले त हुन्थ्यो केवल अचानो र अचानोका निःस्वासहरुमा फुलेछु ! बाचुन्जेल सँगसँगै हिँड्थे उनीहरु र हामी सोच्थ्यौं– आहा, कति मिलेको चखेवा–चखेवीको जोडी ! त्यतिबेला सोचेनौँ– लोग्ने किन सधैं दाहिने, स्वास्नी देब्रे हिँड्थी ? लोग्नेले हाँसोको स्टक नै रित्याएपछि स्वास्नी किन रहलपहल कच्याककुचुक परेको हाँसो हाँस्थी ? सोचेनौं त्यो छत थियो वा थियो कुनै वधशालाको अर्केस्टा? फालेर ओढ्दै गरेको बकम्फुसे छाता किन मन फुकाएर रुझिन ऊ कुनै झरीमा र भन्न सकिन– ‘ओ, झरी ! तँलाई जस्तै मलाई पनि अराजक हुन मन लाग्छ !’ सोचेनौँ शयन कक्षका भित्ताहरुलाई छेडेर किन उनका गीतहरुले मितेरी गाँस्नै पाएनन्– उड्दै गरेका चरा र बग्दै गरेका नदीहरुसँग ! सिमोन द बुआलाई सपनामा देख्नु केट मिलेट र नोरालाई पनि सपनामा मात्र भेट्नु योगमाया पनि टुप्लुक्क कहिल्यै आइपुगिनन् उनको आँगनमा ‘घोचिरहने दुम्सीका काँडाहरुलाई दुम्सीका काँडाहरु होइन शिवलिंग भन्दै पुज्नु पर्छ’ भनेर सिकाइन् उनकी आमाले अलिकति त्यही सिकाइले रोक्यो चिमोटिरहने जिन्दगीलाई ‘साला जिन्दगी’ भन्दै मनपरी गाली गर्न पनि संस्कारले रोक्यो कहिलेकाहीँ सेतो लुगा लगाउनु पनि रंगीन सपना देख्नलाई दिइएको अनुमति–पत्र जस्तै हुँदो रहेछ समयले उनलाई प्रथमपटक आफ्नो जिन्दगीको चेकबुक आफ्नै हातमा थमाएको थियो बिर्सेर यतिञ्जेरको सकस र सहिद जिन्दगी ५१ वर्षको उमेरमा उनी १५ वर्षे किशोरी जस्तै लागिन् मलाई अधिकांश सेतै फुलेको कपाल चाउरिएको छाला/बाथरोग/सुगर र ब्लड प्रेसर यी सबका बाबजुद काफ्काकी ग्रेगरी किराबाट भर्खरै मान्छेमा रुपान्तरण भएकी थिई पहिलोपटक ऊ आँफैले ज्वालामुखीमा डरलाग्दो हरफ लेखी– ‘मन्दिर मन्दिर नभएर पाइखाना हुन सक्छ सिंदुरको धर्का सिंदुरको धर्का नभएर स्वास्नीमान्छेको रगताम्य छादको लर्कन हुन सक्छ !’ के तपाईं पनि किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जादै हुनुहुन्छ ? पर्खनु होस्, अनुमानको अलि फरक ग्राफ बोकेर जानुस् ! लोग्नेको मृत्युमा किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जाँदा तपाईंका पूर्व निर्धारित सम्पूर्ण अनुमानहरु गलत साबित हुन सक्छन् ! #जन्मदिन #सरस्वती प्रतीक्षा
‘झरेको पात’: एउटा शान्त आँधी: लक्ष्मीपूजाको दिन छ । दैलेखी भूगोलको एउटा भिरमा घाँस काट्न जाँदा एक महिला सुत्केरी हुन्छिन् । आफू र आफ्नो वंश प्रतिनिधि ठानिएको पुरुष बच्चालाई सर्वशक्तिमान शासकको रूपमा स्थापित गराई आफ्नै विपरीत लिङ्गी सन्तानलाई नोकरसरह व्यवहार गर्ने पुरुषवादी एकात्मक चिन्तनको कुरूप सामाजिक परिवेशबिच ती महिलाले वनमै छोरी जन्माउँछिन् । शिकारीहरूले भेटेर उद्धार गरी घर पुर्\u200dयाइदिन्छन् । घर खान्दानी छ । सुत्केरीको राम्रै स्याहारसहित बच्चाको न्वारान गरिन्छ । नाम राखिन्छ– पार्वती । थर त मल्ल हुँदै हो । यिनै पार्वती मल्ल म पात्र भई कथा वाचन गर्दछिन् । उनै हुन् यस उपन्यासकी मुख्य पात्र । उपन्यास खण्ड खण्डमा विभाजित छ । प्रत्येक खण्ड शीर्षकयुक्त छन् । पहिलो खण्डको शीर्षक छ– ‘शीतको थोपा’ । यस खण्डमा पार्वती मल्लको जन्म खान्दानी परिवारमा भए पनि पितृसत्ताको विभेदमा आफ्नै घरका छोरीहरूसमेत पर्ने दृष्टान्त देखाइएको छ । समयको मागअनुसार पार्वतीलाई विद्यालय जानबाट रोकिँदैन । उनी विद्यालय जान्छिन् । जाँच आउँछ, दिन्छिन् । अर्काको दैलो पोत्ने जात हो, जेसुकै गरोस् भन्ने मनोविज्ञानमा बाँचेको परिवार छ । नतिजा आउने दिन पार्वतीको कोही अभिभावक विद्यालय जाँदैनन् । एक्लै नतिजा पर्खिरहेकी पार्वती प्रथम भएर पुरस्कार ग्रहण गर्छिन् । घर फर्कंदा साथीहरू अभिभावकसहित देखेर पार्वती रुन्छिन् । उपन्यासकार यो आँसुलाई शीतको थोपासँग तुलना गर्छन् । ‘बालवीर काकाको आँसु’ शीर्षकको दोश्रो खण्डमा धेरै मृत्युका घटनाहरू छन् । मानवीय त्रुटिका कारण हुने मृत्युहरू । शिकार खेल्न जाँदा शिकारीको बन्दुकले आफ्नै साथी ढल्छ । बिषालु जङ्गली च्याउ खाँदा परिवारै मर्छन् । छाउगोठमा महिलाको मृत्यु हुन्छ । यी सब मृत्युहरूले पाठकलाई दुखाउँछन् नै । तर त्योभन्दा बढी दुखाउँछ, रिन तिर्न नसकेपछि भएभरको जायजेथा सामन्तलाई जिम्मा लगाई गाउँ छोडेर हिँड्ने कथित दलित पात्र बालवीरको बहिर्गमनले । मृतकको शोकमा हैन, जीवितको उद्धारमा जीवनको ऊर्जा लगाउनु मानवको धर्म हो भन्ने सन्देश यहाँ छ । अर्को खण्ड हो– ‘अनौठो संसार’ । यस खण्डमा आइपुग्दा पार्वती ठुली भैसक्छिन् । एसएलसी दिइसकेपछि नतिजा नआउँदाको समय यहाँ छ । गाई चराउँदै जङ्गल र खोलातिर बित्दछन् दिनहरू । एकदिन, पार्वतीहरू खोलामा पौडी खेल्दै हुन्छन् । त्यसै बेला सबैका गाईवस्तु असाधारण तरिकाले दौडेर मान्छेनजिक आउँछन् । तर पार्वतीको लैनो गाई आउँदैन । त्यसलाई बाघले आक्रमण गरेर मारेको भेटिन्छ । मृत गाईको थुन गानिएर दुध झर्ला जस्तो देखिन्छ । पार्वती घर गएर बाच्छासित रुन्छिन् । यसबाट लेखकको भावुकता र प्राणीप्रतिको समदृष्टि अनुमान गर्न सकिन्छ । स्वाभाविक हो, यो उमेरमा प्रेम हुन्छ । यहाँ पार्वती सुवास भन्ने केटाको प्रेममा पर्छिन् । उनको साथी चन्द्रा दिपकसँगको प्रेममा पर्छिन् । कसैलाई बिनाकाम भेटिरहन मन लाग्छ भने त्यो प्रेम हो र प्रेममा परेको बेला अनेक बहानामा प्रेमी–प्रेमिका भेटिरहन्छन् । यहाँ पनि पार्वती, सुवास, चन्द्रा र दिपकहरू भेट्दैनन् मात्रै, रातै पनि बिताउँछन् । यो त भयो उमेरदारीले गर्ने स्वाभाविक प्रेमको चित्रण । यसभन्दा फरक प्रेम पनि छ यहाँ । गाउँमा एक जना कोढी छन् । उनको घर छैन, कटेरामा बस्छन् । एकदिन बिहान सबेरै, पार्वतीहरू पानी लिन जाँदा कोढीको कटेरामा अनौठो दृश्य देख्छन् । ‘माथि बज्यै’ भनिएकी (सायद माथि घर भएकी) बृद्धा कोढीलाई अँगालोमा बेरेर रुँदै हुन्छिन् । नातिनातिनासमेत भएकी बज्यैले कोढीलाई त्यसरी अँगालो हालेर रोएको देखाउनु प्रेमको अनन्ततामाथि लेखकको न्याय हो भन्न सकिन्छ । एकदिन कोढीको मृत्यु हुन्छ । कटेरानजिकै चिहान खनेर शव गाडिन्छ । केही समयपछि चिहानमा पीपलको बिरुवा देखिन्छ । पीपल तिनै बज्यैले रोपेको अनुमान गर्न घोत्लिनै पर्दैन । नवप्रेमीहरूलाई हामी पनि बुढा हुन्छौँ र त्यति बेला अहिले गरेको प्रेम बिर्सिंदैन (नदेखाउनु अलग कुरा) भन्ने सन्देश दिन प्रेमको यो सन्दर्भ सफल त छ नै, एक लेखकका हैसियतमा (मलाई) सकारात्मक ईष्र्यासमेत पैदा गर्दछ । अर्को खण्डको शीर्षक छ ‘जलमै हराए जलराशिका फोकाहरू’ । पार्वतीका हजुरबा गाउँका एक सामन्त हुन् । विभेदजन्य व्यबहारको असली कार्यान्वयन उनैले गराउँथे । गरिब निमुखाको बास उठाउन अप्ठेरो मान्दैनथे । घरमा छोराको जातलाई बेहद स्वतन्त्रता दिने र छोरीमाथि विभेद गर्ने काम पनि उनकै थियो । यसबाट पुल्पुलिएको पार्वतीको दाइ साइँदुवा भएर निस्केको थियो । एकदिन गाउँको मेलामा एक जनाको हात छिनाएपछि बेपत्ता भयो । चिना, जोखना अनेक हेराउँदा पनि कहीँ पत्ता लागेन । यसबिच हजुरबा बिते । व्यबहार बाको काँधमा आयो । बाको स्वभाव हजुरबाको झैँ सामन्ती थिएन । पार्वतीलाई माग्न कुटुम्ब आउँदा बेपत्ता छोरो फर्केर आउला, त्यतिन्जेलसम्म पठाउन मन छैन भनिदिए । जुन कुरा पार्वतीको इच्छाअनुकूल मात्र थिएन, प्रेममाथिको न्याय पनि थियो । एसएलसीको नतिजा आयो । पार्वती फेल भइन् । सुवास पास मात्र भएन, थप उच्च शिक्षा लिन गाउँ छोडेर सुर्खेत हिँड्यो । ऊसँगको बिछोडमा तड्पिरहेकी पार्वतीको मनमा त्यति बेला खुसी छायो, जति बेला बर्षौं बेपत्ता भएको दाइ फर्केर आइपुग्यो । पार्वती मात्र हैन बाआमा र गाउँघर नै खुसी बनाउँदै आइपुगेको पार्वतीको दाइले खुसीलाई धेरै दिन टिक्न भने दिएन । जाँडरक्सी, जुवातास र रन्डीबाजीको कुलतमा फसेर फर्केको उसले गाउँमा पनि त्यही व्यवहार गर्दा परिवारको खुसी पानीको फोका झैँ पानीमै बिलाएको प्रसङ्गसँगै बच्चालाई पुल्पुल्याउँदाको भयङ्कर नतिजा एकदमै स्वाभाविक ढङ्गले प्रस्तुत छ यहाँ । अर्को शीर्षक छ– ‘मृगतृष्णा’ । यस खण्डमा पार्वतीको दाइले जुवा खेलेर आमाको सुनधरी सिध्याउँछ । सम्झाउँदा बालाई पिट्छ । बाआमाको मन हो, सुधार्नै प्रयास गर्छन् । सुध्रिने आसमा बिहे गरिदिन्छन् । सुध्रिनु त परै, बुहारीकै बेहाल बनाइदिन्छ । उनी दुब्लाएर दयालाग्दो बन्छिन् । दशा त्यत्तिमै सकिँदैन । अर्काको स्वास्नी भगाएर ल्याउँछ । बाआमाले जारी तिरिदिनुपर्छ । जारी ल्याएको श्रीमतीको हालत पनि जेठीकै जस्तो बनाइदिन्छ । ‘अँधेरी रात र विरही धुन’ शीर्षकको खण्डमा पार्वतीकी साथी चन्द्रा (दिपकसँग प्रेम गर्थी) लाई अभिभावकको गोप्य स्वीकृतिमा कुटुम्बले लतार्छन् । अनिच्छित नै भए पनि उनको बिहे हुन्छ । जसको परिणाम दिपकको हृदयघात भई मृत्यु हुन्छ । यता पार्वतीलाई बाबुसरहको फुपाजु माग्न आउँछन् । पार्वती बुवासमानको मान्छेलाई बाबुकै आदर गर्छु, अब एक शब्द पनि कुरा अघि बढ्यो भने मर्छु भन्छिन् । दुुष्ट दाइले पैसा लिएर वचन दिएको हुन्छ । बहिनीको व्यवहारले रिसाउँछ । ऊ पार्वतीलाई पिट्न थाल्छ । छुट्याउन जाँदा बुवाको हातै भाँचिदिन्छ । काम्रो बाँधेकै अवस्थामा पार्वती, बुवा र आमाले घर छोड्छन् । ‘गाउँको सम्झना’ शीर्षकमा अर्को खण्ड छ । यसमा घर (दैलेख) बाट हिँडेका पार्वतीहरू सुर्खेत पुगेर मीतबाको घरमा बस्न थाल्छन् । क्याम्पस पढ्न सुर्खेत नै गएको सुवाससँग अनेक असजिलोबिच पार्वतीको भेट हुन्छ । त्यतिन्जेल देशमा जनयुद्धले बृहत् रूप लिइसकेको हुन्छ । पार्वतीका आफ्नाहरू भटाभट युद्धमा होमिन्छन् । प्रेमी सुवास र साथी चन्द्रा छापामार बनेर भूमिगत बन्छन् । चन्द्रा त नाबालक छोरा नै छोडेर हिँड्छे । ‘कथित जनयुद्ध, चन्द्रा र मेरो जीवन’ शीर्षकको अर्को खण्डमा पार्वतीलाई भेट्न चन्द्रा आउँछे । उनीहरूको भेटमा पाठक पनि भावुक बन्न बाध्य भइन्छ । यहाँ पार्वतीले बोलेको एउटा संवाद छ– ‘चन्द्रा ! म अघि मरेँ भने मेरा बाआमा तेरा जिम्मा । बाँचेँ भने तेरो सन्तान मेरो जिम्मा ।’ शालीन शैलीमा साथीलाई मरे पनि छोराको पिर नगर् भन्ने आशयको संवाद हो यो । तर मृत्यु कसैको सापेक्षतामा हुँदैन । अनपेक्षित रूपमा पार्वतीको बुवाको मृत्यु हुन्छ । चन्द्रा भने राज्य पक्षबाट पक्राउ पर्छे । ‘रुन जन्मिएकी म’ शीर्षकको अर्को खण्डमा पार्वतीको दाइको असामयिक मृत्यु हुन्छ । आमा र पार्वती घर फर्किन्छन् । घरमा आमाको पनि मृत्यु हुन्छ । पार्वती भदैनीसँग बस्न थाल्छिन् । त्यो पनि एकदिन पोइला जान्छे । जताततैबाट एक्लिएकी पार्वती फेरि गाउँ छोड्छिन् । ‘फूलमती, आशाको दियो र दुःखको उत्खनन्’ शीर्षकको अर्को खण्डमा राजापुरको परिवेश छ । त्यहाँ दिदीभिनाजुको घरमा बस्ने क्रममा फुलमती नामकी थरुनीसँग पार्वतीको मित्रता हुन्छ । फुलमती औपचारिक शिक्षा नलिएकी तर बौद्धिक कुरा गर्छे । पाठकलाई यो अस्वाभाविक लाग्न सक्छ । संयोग त के भैदिन्छ भने जनयुद्धमा हिँडेको सुवास यही गाउँमा आएर बसेको हुन्छ । फुलमतीकै घरबाट बेपत्ता भएको हुन्छ । फुलमतीसँगै सम्बन्ध बनाएको आरोपमा पार्टीले कारबाही गर्दा ऊ भागेको सन्दर्भ उल्लेख छ । थारु जातिको सामाजिक र मनोवैज्ञानिक स्थितिको चित्रण गर्दै जनयुद्ध, मधेस आन्दोलन र कैलाली घटनाको सन्दर्भलाई ऐतिहासिक दस्ताबेजका रूपमा रहने गरी आख्यानको भाषामा लोभलाग्दो गरी प्रस्तुत गरिएको यस खण्डमा सुर्खेतबाट छुटेपछिको चन्द्राको कथा पुरा गर्न लेखकले फरक प्रयोग गरेको देखिन्छ । धामीलाई हेराएर चन्द्राको आत्मा बोलाइन्छ । आत्माले आफू मरिसकेको र बच्चाको ख्याल गरिदिन आग्रह गर्छ । जुन प्रयोग आकर्षक देखिए पनि अदृश्य शक्तिमाथिको विश्वास स्वाभाविक लाग्दैन । ‘दुःख र पापको भरिया’ शीर्षकको अर्को खण्डमा भिनाजुका भाइहरू भट्टीमा बसेर पार्वतीको कुरा काट्छन् । ‘माल’ भन्दै अपमान बोल्छन् । पार्वतीले सुन्छिन् । असह्य पीडा हुन्छ । त्यहाँ बस्न मनै लाग्दैन । पार्वती गाउँ फर्किन्छिन् । गाउँमा पनि स्वास्नीले छोडेकाहरूले आँखा लाउँछन् । विकल्प नभएपछि अपमानित भएर पनि बाँच्नै पर्ने नियतिबिच एकदिन अचानक दार्जिलिङ भ्रमणको संयोग जुर्छ । पार्वती दार्जिलिङ जान्छिन् । संयोगवश सुवास त्यहाँ भेटिन्छ । तर बोलाउँदा बोल्दैन, तर्केर हिँड्छ । वेदनाले खग्रास भएर गाउँ फर्केकी पार्वती सांसारिक मायामोहबाट निवृत्त भई सन्यास ग्रहण गर्छे । तर, ध्यानमा लीन हुँदा भगवानको दर्शन हैन, सुवासको चित्र प्रकट हुन्छ । ‘मुक्ति’ शीर्षकमा उपन्यासको अन्तिम खण्ड छ । यसमा सन्यासी अवस्थामै पार्वतीले बगरमा बेवारिसे नवजात शिशु भेट्छिन् । आमा बन्ने सपनासँगै शिशुको उद्धार गर्दै गृहस्थीमा फर्किन्छिन् । टुहुराले भोग्ने गरिबीको चरम दुःख भोग्दै चन्द्राको छोरा पनि आइपुग्छ । पार्वती उसको पनि आमा बनिदिन्छिन् । छोरामा छोरा, छोरीमा छोरी भएर पनि मनभरिको तृष्णाले पार्वती आफूलाई पूर्ण ठान्न सक्दिनन् । सायद यो तृष्णा सुवासको उपस्थितिले मात्र मेटिने छ । जुन यो जुनीमा असम्भव भैसकेको छ । यहाँ कथामा ट्वीस्ट आउँछ । यो जुनीमा भेट्ने आशा मारिएको सुवास अकस्मात् गाउँ आइपुग्छ । तर रोगले ग्रस्त भएर आएको ऊ पार्वतीसँग भेट्न नपाउँदै मृत्युवरण गर्छ । पार्वती सुवासको लागि अन्तिम उपहार फूलको माला उन्छिन् । माला बोकेर रुँदै रुँदै सुवासको मृत शरीर भेट्न हिँड्दा उपन्यास सकिन्छ । यो उपन्यास प्रेमकथा मात्र हैन, प्रेमकथा पनि हो । लामै समयको कथा हो तर सानो आकारमा भन्न सक्नु प्रेमप्रकाशको क्षमता हो । सिलसिलेवार बग्ने सबै घटनाहरू घटेकै झैँ लाग्ने उपन्यासमा बिम्बहरू प्रयोग मात्र भएका छैनन्, चित्ताकर्षक पनि छन् । ‘जलमै हराए जलराशिका फोकाहरू’ शीर्षकको सन्दर्भलाई उदाहरणको रूपमा लिन सकिन्छ । यसमा उखानहरूको सान्दर्भिक प्रयोगसँगै स्थानीय जनबोलीको उच्चारण संवादहरूमा जस्ताको तस्तै आउँछन् । सम्बन्धित भूगोलका लोकलयहरू पनि पुस्तकमा समेटिएका छन् । उपन्यासको अर्को आकर्षण भाषाशैली हो । छोटा र छरिता वाक्यहरूले उपन्यासलाई झर्कोलाग्दो हुनबाट पुरै बचाएको छ । उपन्यास पढिसक्दा प्रेमप्रकाश मल्लभित्र अथाह कथाको भण्डार मात्र हैन, बेजोड लेखन शिल्प पनि देखिन्छ । यति हुँदाहुँदै पनि पुस्तकमा केही कमजोरी हुनु सबै लेखकहरूको साझा विशेषता हो भन्न हिच्किचाइरहनु पर्दैन । ‘झरेको पात’मा पनि केही कमजोरीहरू छन् । माथि नै भनियो कि उपन्यासले लामो समयको कथा भन्छ । लामो समयमा थुप्रै पात्रहरूको जन्म र मृत्यु हुनु अस्वाभाविक हैन । यहाँ केही पात्रहरूको मृत्युलाई सामान्यीकरण गरे झैँ लाग्छ । गहन भूमिकामा स्थापित गरिएका पात्रको मृत्युलाई घटनाका रूपमा नभई समाचारका रूपमा प्रस्तुत गरिएको छ । त्यसै गरी एक पात्रको अपुरो कथा पुरा गर्नको लागि धामीको कैरन ल्याउनुलाई रूढिवादमाथिको समर्थन बुझ्दा रिसाउन मिल्दैन । पुस्तकमा केही श्लोक र कविता पनि साभार छन् । जसले पुस्तकलाई आकर्षक देखाउन मद्दत गरे पनि लेखकको जाँँगरमाथि प्रश्न उठाउँदैन भन्न सकिन्न । तर यस्ता अलिअलि कमजोरी सबै लेखकका किताबमा भेटिन्छन् । अहिले डिजिटल जमाना हो । सामान्य लेख, रचना र फुटकर कवितासमेत फेसबुक, ट्वीटर र युट्युबतिर राखेर विज्ञापन गरिन्छ । यस्तो बेला प्रेमप्रकाश मल्ल ‘झरेको पात’ लिएर आएका छन् । जसले वर्तमान कर्णाली (प्रदेश) को एउटा चित्र मात्र बोकेको छैन, बिहानले दिनको संकेत गर्छ भन्ने स्थापित मानकमाथि प्रश्नसमेत उठाएको छ । आख्यान विधामा प्रेमप्रकाशको यो पहिलो कृति भएर पनि पहिलो हुनुको आलोकाँचोपन कतै भेटिँदैन । यस्तो सशक्त पुस्तक डिजिटल हल्लाहरूभन्दा पर देखिन्छ । तर जसले पढ्छ, ऊ हल्लिन्छ । तसर्थ बिनाहल्ला शान्तपूर्वक आउने आँधी जस्तै लाग्छ ‘झरेको पात’ । #प्रेमपकाश मल्ल #वियस राई #सामाजिक उपन्यास
मातृभूमिकाे माया: संसारकै सबै भन्दा सुन्दर मेराे देश । आज म, सगरमाथा जस्तै अकासिएकी छु । हिमाल, पहाड र तराईमा रमाउँदै, लिम्पियाधुरा संगै, लिपुलेक र कालापानी लाई मन भित्र सजाएकी छु । मेरा हरेक नशा नशामा, महाकाली र गण्डकी बगाएकी छु । डाँफे र मुनाल संग मैले, गाढा प्रीत लगाएकी छु । म त आफ्नै पाखा पखेरिकाे, काफल र ऐसेलु खाँदै, दाेहोरी र असारे गीत गुन्गुनाउँदै, नाचिरहेकी छु । भेल बगाएर पसिनाकाे, तराईमा धानका बाला झुलाएकी छु । प्राण भन्दा प्याराे छ, मलाई मेराे देश । यहाँ मैले, मनभरि गुँरास फुलाएकी छु । हरेक दु:ख सुखलाई , त्यसै सँग भुलाएकी छु । #कालापानी #नयाँ नक्सा #लिम्पियाधुरा #सरिता पाैडेल "सरू"
जीवनवादी छोक (छोटा कविता) हरू: १. शैली अक्षरहरूले यसपटक फेरि आख्यानका गह्रा र कविताका चउरहरूमा कौमार्य छरे ! २. यात्रा ताराहरूलाई सीमान्त पीडाको गर्तमा भित्र्याएर निष्ठुरी त्यो जून हिँड्यो परदेश । ३. आशा हामी वर्षौंदेखि भोकलाई मीठो व्यञ्जन मानेर आश्वासनमा हाली निरन्तर निरन्तर चपाइरहेछौं । ४. केन्द्रविन्दु काठमाडौँको नाभी धरहरा मनमा विराजमान भो अब हामी घुम्दैछौं फनफनी । ५. कवि शब्दका पाँजाबाट अक्षरका दाना झारेर फेसबुके आत्मरतिमा आजकाल अघोरै रमाउँछ – ऊ । ६. मार्ग ध्यानको राजमार्गमा वर्षौंवर्ष हराएको म स्वज्ञान पिउनका लागि । ७. यौन जति जोते पनि कहिल्यै बाँझो नमारिने अटेरी ! पर्ती खेत !! ८. प्रेम मोरीले झन्नै गाल पारी होटलको बिल तिर्ने बेलाँ धन्न पर्स रित्तो रहेनछ । ९. सन्तान आउँछन् खान्छन् रून्छन् हाँस्छन् र बाआमालाई ओल्चेर जान्छन् एकएक ओटा छुद्र वचन । १०. उत्तेजना पर्दा उघारेपछि अनायाश बिजुली चम्कियो देखेँ, ऊ सर्वाङ्ग नाङ्गै रहिछे । #छोटा कविता #पेशल आचार्य
पोखरा: एक शब्दचित्र: स्याप्पै सेत्तै फुलेको बूढो माछापुच्छ्रेलाई आफ्नो मनको मझेरीमा उतारेर बसेकी, ए फेवा ! सिंगै पोखरा, के तिम्रै पेवा? …के, पोखरा भन्नु फगत् फेवा मात्र हो र? किन्चित पनि हैन म मान्ने छैन। पोखरा ! तिमी, स्वयं एक अप्सरा हौ तिमी सेतीमा स्याप्पै सुकेकी, मानौं तिम्रो छिनेको कम्मर फेवामा ह्वात्तै फुकेकी, मानौं तिम्रो विकसित नितम्ब, सारङ्गकोटमा जुरुक्क उठेकी, मानौं तिम्रा उन्नत वक्षस्थल अनि, अर्मलामा धसेकी, मानौँ तिम्रो गहिरो नाभि सुन्दरताको मानक, आकर्षक, सौम्य अनि शान्ति प्रदायक। ………….. बूढो ‘माछापुच्छ्रे’लाई देखाएर पोखरा आफ्नो ‘पतिव्रता’को राग अलाप्छे अनि, भोका भीड जवानको डुङ्गामा चढाएर, आफ्नो तरल-तन फेवामा अर्कै लीला रच्छे नखरमाउली पोखरा, उत्ताउली पोखरा । ……………… पोखरा भन्नु नै पानी अर्थात् पानीको कहानी अर्थात् जवानी-पानी-पानी। ………. म दूरदेखि आएँ- तिमीमा,आफूलाई मिलाएँ तिमी स्निग्ध वर्षा बनेर वर्षिरह्यौ, दोष सारा ‘साउन’लाई दियौ ! म बुझ्छु म राम्ररी बुझ्न सक्छु तिमी सेती बनेर जत्ति लुके पनि म,फेवामा भेट्छु तिमीलाई थाह छ मलाई, तिम्रो फेवाको पानीमा लाखौं लाहुरेका यौवना वालाहरूका बैंशालु भोक पनि बेस्कन घोलिएका छन् अनि, म समेट्न थाल्छु तिम्रा तृष्णा जीजिविषा अनि सारा जिज्ञासाहरूलाई आफ्नो बाहुपाशमा ! ………………. आऊ फेवा! आऊ बेगनास! आऊ सेती! आऊ प्यारी अप्सरा ! अर्थात् पोखरा आफ्ना छरपष्ट पोखिएका प्यास मैमा समेटेर । धनुषाधाम नगरपालिका -४,सर्सा,धनुषा #धनुषा #पोखरा #मदनकुमार अधिकारी
अरबमा पनि उदाउँदै नेपाली साहित्य: सन् १९७८ देखि कूटनीतिक नियोगको स्थापना र नब्बेको दशकदेखि नै साउदी अरबमा नेपालीहरु आउने क्रम सुरु भएयता अहिले यहाँ छ लाख भन्दा बढी नेपाली रोजगारीमा रहेकामा पछिल्लो समय भने उक्त संख्या घटेर चार लाखको हाराहारीमा रहेको देखिन्छ । अन्य देशहरुमा जस्तै यहाँ रहेका नेपाली पनि साहित्यिक गतिविधिबाट अछुतो रहन सकेका छैनन् । आफ्नो कामपछिको समयमा कहीँ न कहीँ, कतै न कतै सांगठनिक रुपमा वा स्वस्फूर्त रुपमा कलम चलाएको पाइन्छ । साउदी अरबमा साहित्यको विजारोपण गर्ने सबैभन्दा पहिलो संस्था विश्व साहित्य महासंघ रहेको थियो । खगेन्द्र अधिकारी अमृतको अध्यक्षतामा २०१० को १४५ औं मोति जयन्तीको अवसरमा गठन भएको यस महासघंले “आँसुले जलेका मनहरु”, “क्वीज स्मारिका २०११”, “सृजनाका लहरहरु” एवं अनलाइन रेडियो कार्यक्रम र “कोसेली” पुस्तक प्रकाशन गरेको थियो । यसैगरी यस महासंघको दोस्रो कार्यकाल कमल शाही निर्मलको अध्यक्षतामा २०१३ मा गठन गरियो । उनको कार्यकालमा “मुग्लानी सौगात” त्रैमासिक पत्रिका तीन अंकसम्म प्रकाशन गरिएको थियो । त्यस्तै संस्थाका पछिल्ला कार्यकालहरुमा कृष्ण सतुर्जे, केपी पौडेल, बालकृष्ण पौडेल, विमल बजगाईं, लालबहादु थापा बगाले लगायतले केही उल्लेखनीय काम तथा कार्यक्रमहरु गरेका थिए । विश्व साहित्य महासंघले “साहित्य यात्रा” भन्ने साहित्यक रचना तथा लेखहरुले भरिएको पुस्तक तीन अंकसम्म निकालेका थिए । यसैगरी यस महासंघका उपाध्यक्ष तथा गजलकार, कथाकार लाल बहादुर बुढा ढाङ्ढुगेका “सीमापारि सीमावारि” संयुक्त गजल संग्रह, समाकालीन “रोल्पाली मुक्तकहरु”, “अमर साइनो”, “विदेशिदाको पीडाहरु” गजल संग्रह लगायतका एकल तथा संयुक्त कृतिहरु प्रकाशनमा ल्याएका थिए । यसै संस्थाका पूर्वअध्यक्ष तथा साहित्यकार बालकृष्ण पौडेलको “आकाश गंगा” उपन्यास, लालबहादुर थापा बगालेको “बगालेका गजलहरु” प्रकाशनमा आएका थिए । वैदेशिक रोजगारीमा आउने नेपालीहरुको मध्यपूर्वको बसाई कम्पनीको कामको आधारमा तय हुने हुँदा कतिपय साहित्यकार नेपाल फर्किसकेको अवस्था भएकाले यो संस्था पछिल्लो समयमा निष्कृय जस्तो देखिएको केहीको गुनासो छ । यद्यपि साउदी अरबको पूर्वीय क्षेत्र दम्माममा आफ्नो क्षेत्रीय शाखा भने खोलेको छ । यसैगरी साहित्यिक चौतारी नेपाल शाखा साउदी नेपाली भाषा र नेपाली साहित्यको संरक्षण, सम्बद्धर्न, प्रवर्द्धन गर्न सामाजिक संजालको माध्यमबाट संस्था गठन भई २०७१ सालमा नेपाल सरकारबाट मान्यता प्राप्त संस्था साहित्यिक चौतारी नेपालले पनि दोस्रो शाखाको रुपमा साउदी अरबमा आफ्नो उपस्थिति जनाउँदै विभिन्न कार्यक्रम र साहित्यिक प्रकाशनहरु गर्दै आएको छ । कल्पनाको खेती गर्छौ, ज्ञानको ज्योति छछौं, साहित्यको ढुकढुकीमा शाब्दिक अन्न भछौं, साउदीका श्रष्टाहरु संगठित गरी कलमबाटै हामी आमूल परिवर्तन गर्छौं भन्ने मूल नाराका साथ यस संस्था साउदी अरबमा निक्कै सक्रिय रुपमा अगाडि बढिरहेको छ । साहित्य क्षेत्रलाई मात्र नभएर सामाजिक कार्यहरुमा उत्तिकै चासो र सहभागिता जनाउँदै आएको चौतारीमा संलग्न साहित्यकारहरु गजल लेखनमा अगाडि रहेको पाइन्छ । यस शाखाले तीन वर्षको अन्तरालमा संयुक्त गजल संग्रह “बगर” पाठकसामु दिइसकेको छ भने विश्यव्यापि खुल्ला अनलाइन गजल प्रतियोगिता, गजल महफिलजस्ता उत्कृष्ट कार्यक्रहरु गरेर स्रष्टाहरुलाई एकै ठाँउमा उभ्याउने कार्य गरेको छ । अध्यक्ष कविराज शंकर कन्चान र महासचिव घायल तिवारी घनश्यामको नेतृत्वमा शाखा साहित्यिक चौतारी साउदी अरबले विशेषतः गजल लेखनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै संस्थालाई उचाइमा पुर्याउने कार्य गर्दै आएका छन् । यसैगरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा साउदी अरबमा पनि आफ्नो च्याप्टर गठन गरेको छ । १९ जनवरी २०१९ का दिन नेपाली राजदूतावासको प्राङ्गणमा तत्कालीन नियोग उपप्रमुख आनन्दप्रसाद शर्माको प्रमुख अतिथ्यमा विभिन्न संघसंस्थाहरुका प्रतिनिधि र साहित्यप्रेमीहरुको भेलाले नमराज लामिछानेको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टरमा नौ सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको थियो । साउदी अरबमा रहेका सर्जकहरुको पहिचान, सम्मान र साहित्यको उत्थानको लागि अनेसास साउदी च्याप्टरले विभिन्न समयमा साहित्य कार्यक्रमहरु गर्दै आएको छ । साउदी अरबस्तरीय अन्तर नेपाली खुला गजल प्रतियोगिता, भानुजयन्ती, रचना वाचन “पँलेटी” शृङ्खलाजस्ता कार्यक्रमहरु गर्दै साहित्यक संरक्षण तथा श्रमिक जनचेतना अभिवृद्धि गर्दै अगाडि बढ्नु नै संस्थाको उद्देश्य रहेको संस्थाका महासचिव अरुण बेल्बासे रोज बताउँछन् । आगामी दिनहरुमा अन्य रचनात्मक कामहरु गर्ने र पुस्तकहरु प्रकाशन गर्ने कार्ययोजना भएता पनि अहिलेको परिस्थितिले सबै योजनाहरु रद्द गर्नु परेको बेल्बासे बताउँछन् । अनेसास साउदी च्यप्टरले विभिन्न संघसंस्थाहरुसँग हातेमालो गर्दै एकल र संयुक्त रुपमा सामाजिक कार्यहरुमा सक्रियरुपमा अगाडि बढिरहेका छन् । समस्यामा परेका पीडितहरुको उद्धारदेखि स्रष्टा तथा समाजका विशिष्ट व्यक्तिहरुको सम्मान गर्दै समाजमा उदाहरणीय कार्यहरु गर्न यहाँका सबै साहित्य संघसस्थाहरु अग्रपङ्तिमा रहेका छन् । #नमराज लामिछाने #साउदी अरब #साहित्य गतिविधि
भीमको गजल: तिम्रो झूटो प्रेमको कहानीमा रोएँ चोट खाएँ धेरै हर बिहानीमा रोएँ ।। धिक्कारे सबैले जिन्दगी सहजै तिरष्कृत मेरो यो जवानीमा रोए ।। आँसुमा दुबेको दरौती यो मन मेरो मुटु र धड्कनको सिरानीमा रोएँ ।। ढुङ्गाको मन सँग दयाको भीख मागेँ जलाई भाव सारा शेष खरानीमा रोए ।। #खरानी
मिसकल: – हेलो ! – हेलो ! – हेलो, सीता सन्चै छौ ? – अँ, सन्चै । – बाबु सन्चै छ ? बाबाको याद गर्छ ? – अँ सन्चै छ । – बाबा बाबा भन्छ ? अनि आँगनको नास्पाती फुलेको छ ? – हो, पोहोर तिमी जाँदाको सालभन्दा त ढकमक्कै छ । – मैले साडी पठाको थिएँ नि कस्तो लाग्यो ? – म यहाँ बाबुलाई दूध तताउँदै छु | सीताले प्रसङ्ग बदली । – ए…… – दूध राम्रो ल्याइदिन्छन् त । अँ राम्रो । अगेनोमा दूध तात्दै थियो । – अनि मेरा त यहाँ पोखरा, चितवन, बागलुङ, भक्तपुर, कर्णाली सबैतिरका साथी छन् । तिम्रो मात्र कमी छ । तिमी पनि एक्लै हुन्छ्यौ होला हैन? – होइन, मेरा पनि साथी छन् नि । अनि पैसा किन कम पठाको यसपालि ? – साहूले कामबाट निकालिदियो त्यही भएर अर्काे काम खोज्दाखोज्दै दुईतीन महिना यसै गयो । अब पठाउँला नि है ? बाबुलाई दूध खुवायौ ? उत्तर नदिई फोन टेबलमा राखिदिई सीताले । उता अगेनामा दूध उम्लिरहेको थियो । सानो दुई वर्षको छोरा उठेको थिएन । फोन हेलो हेलो गर्दागर्दै काटियो । फेरि आएको कल मिस भयो । उता पर्खिरहेको बिरालोलाई खुवाउन भरी गिलाँस लिएर ऊ कोठाभित्र पसी । अँध्यारो कोठाले बिरालो र मान्छे चिनेन । – जगन्नाथ पौडेल, हाल अमेरिका #मिस कल
पहाडका दु:ख र सौन्दर्य: जे पर्ला भन्ने पनि मनमा आएनछ, युवराजले आज बिहान हिंडौ है एकछिन बाहिर भन्दा । अरुबेला म नै हो उसलाई रोक्ने। समय खराब चलिरहेको छ । नियमअनुसार आँगन कटेर ननिस्किनु पर्ने हो। फुत्त घरबाहिर निस्किनासाथ दोकान छन्, चिया पनि पाइने। हरेक बिहान ५:३० तिर म त्यही चिया दोकानको हल्लाले ब्युन्झिन्छु । हरेक दिन कम्तिमा १० जना छिमेकीहरु जम्मा हुन्छन् त्यहाँ । स्थानीय, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय समाचार, गसिप हुन्छ र टोल थर्काएर हाँस्छन् । चिया पसल यस्तो ठाउँ हो जहाँ बहसका लागि कुनै विषयको पाबन्दी छैन । टोलभरिको मात्रै हैन, संसारकै घटनाको सूचना शायद यहाँबाटै प्राप्त हुन्छ । तर यहाँ महिलाहरू कहिल्यै देखिदैनन् । किनभने उनीहरूलाई घरधन्दाबाट फुर्सदै हुँदैन । आम नेपाली महिलाहरू चिया पसलको संस्कारबाट पनि हुर्किएनन् । पुरुषहरूको लागि चिया पसल संस्कार कति बलियो छ होला, अनुमान गर्नुस् । लकडाउनमा पनि उनीहरू नभेटिरहन सक्दैनन् । बाटोमा आफ्नो अगाडिबाट हिँड्ने सबैलाई घुरेर हेर्छन्, तलदेखि माथिसम्म। यो मेरालागि नौलो होइन। कोही महिलालाई पनि नौलो होइन। पहिलेपहिले स्कुलकलेजको समयमा गीत गाउने, जिब्रो पड्काउने, प्याच्च केही बोलिहाल्ने गर्थे केटाहरू । आजकल शायद त्यस्तो हुन्न । घुरेर अरुलाई अफ्ठ्यारो लागुन्जेल हेर्ने बानी चाहिँ धेरै देख्छु । बाटोमा हामी बूढाबूढी हिंडिरहेका बेला पनि घुरेर हेर्छन् मलाई मात्रै । युवराजलाई हेर्दैनन् । बाइकमा म युवराजको पछाडि बसेको बेला पनि मलाई नै हेर्छन् । जो मलाई हेर्छन्, उनीहरुको बाइकको पछडि पनि महिला बसिरहेका हुन्छन्। म युवराजलाई हेर्दै रिसाउँछु, ‘कमसेकम तिमीसँग हिंड्दा त नघुरुन् ! तिमी पनि त्यसरी नै अरुलाई अफ्ठ्यारो लागुन्जेल हेर्न त हेर्दैनौ नि ?’ हरेक मोडमा, बाटोको कुनामा, चियादोकान, रक्सी दोकान, पानपसल, बसस्टप, आलीका डिल, चौतारो, दोकानको क्यारमबोर्ड वरिपरि, साँझ, बिहान, राति, दिउँसो किन चार जना पुरुष भेला भएर बस्नु पर्छ, म बुझ्दिनँ। के हुन्छ त्यसरी बस्दा ? के आनन्द मिल्छ होला छोरा मान्छेलाई, कुनै काम बेगर नै झुरुप्प जम्मा भएर घण्टौं बस्दा ! बाटोमा हिंड्ने मानिसहरूलाई एकोहोरो घुरेर हेरिरहँदा ? मेरा लागि त्यो डर हो । उनीहरुको सामान्य दैनिकी होला, म बुझ्दिनँ तर म र मजस्ता कयौं बाटोमा हिँड्नु पर्नेका लागि भयको झुन्ड हो त्यो । कौशलटारदेखि बिरुवासम्मको ६ किलोमिटर सडकमा हिंड्नुस्, तपाईंले यस्ता दर्जनौं झुन्ड देख्नुहुन्छ । यो त एउटा उदाहरण हो । सिधा सडकबाट भित्री बाटाहरूमा छिर्नुस् । त्यस्तै देख्नुहुन्छ, देशभरि नै । आज पनि चियागफ चलिरहेको थियो, उसरी नै । एक जना बोले,‘ओलीले भनिसके भारतीय भाइरस कडा छ भनेर, डरमर्दो भो अब चैँ !’ अर्का बोले,‘हामीलाई केही हुन्न, के डराउनु भएको?’ हामी सिरुटारबाट लुभुतिर लाग्दैछौं । गहुँ भित्राउने चटारो छ त्यता। थ्रेसरबाट निस्किएको धुलो छल्न हामी मास्कलाई तानतुन गरेर मिलाउँछौँ र बाटोबाट तेर्सिन्छौँ । खेतमा, बारीमा, जताततै काम धमाधम छ। तरकारी रोप्ने, खेती उठाउने, गाईका हुल, धारामा पानी भर्नेको हुल । यस्तो लाग्छ, यो संसार तहसनहस पारिरहेको यो रोग, सरकारको लकडाउन वा बडाबडाले गरेको बन्दाबन्दी यो ठाउँका लागि होइन किनभने किसानका आफ्नै दु:ख र चटारा छन् । गाग्रीमा पानी नबोके, घाँस नकाटे, गोबर नसोरे, खेतमा काम नगरे, खाने मेलो छैन । यी सबै गतिविधि कतै दुरदराजको हैन । यही ऐतिहासिक शहर भक्तपुर र ललितपुरका किनारमा बस्ने दुखियारीहरूको हो । दुखियारी किन भने- ती किसानहरूको घर हेर्नुस्, तीनका दु:ख हेर्नुस्, तर तिनले पाउने श्रमको मूल्य भने न्यून छ । यी सबै काम गर्नेहरू प्रायः महिला छन् वा उमेर खाएका पुरुषहरू छन् । अधबैंसे र युवाहरू कि चिया पसल, कि क्यारामबोर्ड कि ब्याडमिन्टनमा छन् वा बाटमा हिंड्ने मानिसहरूलाई घुरेर बसेका छन् । युवराज पहिले नै धेरै पटक हिंडिसकेको बाटो हो यो, सिरुटारबाट पारि ललितपुरको लुभु हुँदै बिरुवा निस्किने । उसलाई सारै मन परेको रे, म पनि उसैको लहलहैमा हिंड्दैछु। हरेक टोलमा ब्याडमिन्टन कोर्ट छन् । जस्तो एउटा मेरो घरको छेउमा छ। लकडाउनको कारणले यो चलन बढेको छ । जहाँ हरेक उमेर समुहका पुरुषहरु ज्यान बनाउन लागिपरेका छन्। लाग्छ, यो पल्टको ओलम्पिकमा स्वर्णको तयारीमा छन् वा लिपुलेक पाउन भारतसँग युद्धको तयारी हो यो? हरेक कोर्टमा १०।१५ जनाको झुण्ड छ। म युवराजलाई बारबार भन्छु, ‘यो संसार केटाहरुको लागि हो, मात्र केटाहरुको लागि । घर भित्र होस् वा बाहिर।’ हरेक दिन खाना पकाउने पानीको जोहो गर्नेदेखि लुगा सफा गरिदिने, घर चिटिक्क राखिदिने छँदैछन्, आमा, दिदी, बहिनी, श्रीमती । नगरिदिए घुर्की छँदैछ । बिहान वा दिनभरि गाउँ डुलेर घर फर्कंदा घरमा सबै ठीकठाक भएकै हुन्छ । छिमेकी भाउजूले आफ्नु ‘टिनएजर’ छोरालाई घरको काम लगाएको देखेर अर्की छिमेकी दिदीले भनेको सम्झन्छु, ‘अर्काको घर जाने छोरीलाई घरको काम नसिकाएर छोरोलाई किन काम लगाउनु?’ र, ती दिदीले आफ्नो घरमा अनेकौं कामसँग लडेको युध्द सम्झन्छु । यस उपत्यकाका आम महिलाहरूको दु:ख म अनुमान लाउन सक्दिनँ । यिनै अनेकौं दृश्यहरू नियाल्दै हामीले आज बिहान १५ किलोमिटर पैदाल यात्रा तय गर्यौं । हामीले हिंडेका गाउँ र डाँडाकाँडामा बस्ने मानिसका अनेक दु:ख त छँदैछन् तर प्राकृतिक रुपमा यो क्षेत्र अझै सुन्दर छ । पुराना घरहरू, पोखरी, आधुनिक तरकारी खेती, रुख हरियाली । यो सुन्दरता शायद हामी केही क्षण घुम्न हिंडेकाहरूको लागि मात्रै हो कि ती गाउँलेहरूले पनि महसुस गर्छन् ? म बुझ्न सक्दिनँ । तस्बिरहरूः लुना भट्टराई #लुना भट्टराई #शब्द तस्बिर
नगरकोटीका नौ स्टाइल: शनिबार विशेषमा आज साहित्यपोस्टले आख्यानमा फरकपन ल्याउने साहित्यकार नगरकोटीलाई प्रस्तुत गरेको छ । नगरकोटीका यी नौ तस्बिर उनको फरक खालको नौ जीवनशैलीका प्रतीक पनि हुन् । १) कुमार नगरकोटीको लवाई आम लेखकभन्दा फरक छ । उनी जिन्सको पेन्ट वा सिलाएका कपडा लगाउन रुचाउँदैनन् । कुनै बेला बोर्डिङ् स्कुलका शिक्षक कुमारले आफ्नो शिक्षण पेसा छाड्नुका विभिन्न कारणमध्ये आफूलाई मनपरेको पहिरन लगाउन नपाउनु पनि थियो । पूर्ण लेखक भएयता उनले कहिल्यै पनि औपचारिक पहिरन लगाएका छैनन् । २) उनी आफूलाई फिक्सन डिजाइनर भन्न रुचाउँछन् । उनका पुस्तकका कभरदेखि भित्री डिजाइनसम्म पनि आफ्नै निर्देशनमा बनाउन रुचाउँछन् । कथा तत्त्व मात्र होइन बाहिरी लुक पनि आफूजस्तै फरक हुनुपर्छ भन्ने उनको मान्यता छ । यही कारण उनका पुस्तकका कभरका तस्बिर पनि उनी आफैँ खोज्छन् । ३) उनी कालो रङका प्रेमी हुन् । उनका कपडा मात्र होइन, उपन्यासका कभर पनि कालै हुने गरेका छन् । त्यति मात्र होइन, उनको घरमा वा कोठामा सजिने फर्निचरका सामग्री वा उपभोग्य वस्तु पनि सकेसम्म कालै रङका हुने गरेका छन् । ४) नगरकोटीलाई उज्यालो भन्दा अँध्यारो मनपर्छ । चमकधमक शहरभन्दा भन्दा एकान्त गल्ली मनपर्छ । उनी उज्यालो हुन्जेल प्रायः धुम्धुम्ती घरमै लेखपढ गरेर बस्न मनपराउँछन् तर अँध्यारो भएपछि उनी गल्लीतिर निस्कन्छन् । ५) नगरकोटीको लेखन पनि अरु लेखकको भन्दा फरक हुन्छ । अंग्रेजीमा सर्रियल राइटिङ् शैलीमा लेखिएका उनका जति पनि कृति निस्केका छन्, ‘अक्षरगञ्ज’बाहेक सबै यही शैलीमा लेखिएको छ । ६) नेपाली नाटक लेखनमा पनि उनले फरक शैली भित्राएका छन् । उनका नाट्यकृति ‘कोमाः अ पोलिटिकल सेक्स’ र ‘बाथ टब’ दुवैको शैली फरक छ । उनका अन्य नाटकहरुमा पनि फरकपना देख्न सकिन्छ । कतिपय कलाकारहरुले नगरकोटीको नाटकमाथि अभिनय गर्नु ‘चुनौतीपूर्ण काम’ मान्ने गरेका छन् । ७) नगरकोटी अभिनेता पनि हुन् । उनले आफ्नै नाटक र केही चलचित्रहरुमा पनि काम गरेका छन् । ८) धेरैले उनले कुनै धार्मिक सम्प्रदायसँग नजिक भएको विश्वास गर्छन् । उनी कुनै धर्म मान्दैनन्, न त उनका पहिरन, माला र जीवनशैली कुनै धर्म सम्प्रादायसँग नै नजिक छ । ९) रमाइलो कुरा, उनी देख्दा जति अनौठा देखिन्छन्, त्यति नै सरल छन् । नगरकोटीसँग संगत गर्नेहरु भन्छन्, ‘नगरकोटी ओखर जस्ता हुन् । उनलाई पर्गेल्न सक्ने हो भने उनी जत्तिको सरल साहित्यकार विरलै होलान् ।’ #कुमार नगरकोटी #जीवनशैली
गोसाइकुण्डः यात्रा एक, अनुभूति अनेक: म यात्रा रुचाउँछु किनकि यात्राका अनुभूतिले मलाई तङ्ग्र्याउँछ, उठ्न सिकाउँछ, अझ भनौं बाँच्न सिकाउँछ । असरल्ल व्यावहारिक जीवनमा एउटा लय भरिदिन्छ यात्राले । हुन त जीवन नै एउटा सुखद् यात्रा हो । जीवन यात्राले मानिसलाई धेरै कुरा सिकाएको हुन्छ । जीवनमा उकाली र ओरालीहरू आइरहन्छन् र गइरहन्छन् । एक मानिसका जीवनमा उकाली मात्र पनि आइरहँदैन र ओराली मात्र पनि कसैका जीवनमा स्थायी रहन्न । जीवन यात्राका उकालीमा मात्तिने र ओरालीदेखि आत्तिनेहरूले गन्तव्य नाप्न सक्दैनन् । यसैले जीवन यात्राको एउटा नियम छ — सुख र दुःखमा समभावको उपयोग । जीवन यात्राको जटिल दर्शनमा पस्नु मेरो उद्देश्य होइन । म त्यतातिर जान्नँ पनि । मेरो उद्देश्य यात्राको अनुभूतिको साझेदारी गर्नु हो । एउटा धार्मिक स्थलको यात्रा, जहाँ म एक वर्ष अगाडि गएको थिएँ, त्यसैको संक्षिप्त वृत्तान्त पस्कँदै छु यहाँ । यात्रा धार्मिक स्थलको हो तर उद्देश्यमा त्यो धार्मिक यात्रा थिएन । हुन त यात्रामा धार्मिक कृत्य पनि गरियो, जो धर्मका अनुयायीले गर्छन् । यात्रा पाँच दिनको थियो र यात्रीहरू थियौं — म र सहकर्मी मित्र अम्बिकाप्रसाद दुलाल । यात्रा हो — गोसाइँकुण्डको । अम्बिकाप्रसाद दुलाल एक व्यावहारिक मान्छे हुनुहुन्छ मेरा विचारमा । उमेरका हिसाबले दाइ, स्वभावका हिसाबले एकदम स्पष्टवक्ता, पेशागत हिसाबले प्राध्यायक र बसाइका हिसाबले मेरा छिमेकी हुनुहुन्छ उहाँ । हामी प्राध्यापन गर्छौ एकसाथ । विगत २४ वर्षदेखि शहीद स्मृति बहुमुखी क्याम्पसमा । शहीद स्मृति बहुमुखी क्याम्पस पूर्वी चितवनको रत्ननगर नगरपालिकामा अवस्थित छ । यो नेपालकै पुरानो सामुदायिक क्याम्पस हो । एक दिन अम्बिका दाइले प्रस्ताव ल्याउनु भो यात्राको । यात्री दुई जना मात्र । गन्तव्य कति दुरुह छ, त्यो कुरामा न उहाँ जानकार हुनुहुन्थ्यो, न म नै विज्ञता राख्थें तर योजना बन्यो । हामी दुई निस्कियौं । हाम्रो पहिलो दिनको यात्रा चितवनदेखि धुन्चेसम्मको रह्यो । बाटामा तीन बस फेरिए । चितवनबाट गल्छी, गल्छीबाट ढुङ्गे र ढुङ्गेबाट धुन्चे । जिल्लाका हिसाबले हामीले चितवन, धादिङ, नुवाकोट र रसुवा छोयौं । रसुवाको सदरमुकाम धुन्चे । म यस अघि त्रिशूलीसम्म पनि पुगेको थिइनँ, रसुवाको त कुरै छोडौं । रसुवा तामाङ बाहुल्य जिल्ला रहेछ । रसुवादेखि बाहेक तामाङहरू मकवानपुर, नुवाकोट, धादिङ, काभ्रेपलान्चोक, रामेछाप, दोलखा र सिन्धुलीमा उल्लेख्य मात्रामा छन् । भोटबर्मेली परिवारभित्र पर्ने तामाङ भाषा नै तामाङ जातिको भाषा हो । जाति र भाषाभाषीको संख्यालाई हेर्दा नेपालमा तामाङहरू जति छन्, त्यो भन्दा कम जनसंख्या तामाङ भाषाभाषीको रहेको छ । तामाङहरूले आफ्नो मातृभाषा बोल्न छाडेर नेपाली भाषातिर आकर्षित भएकाले जातिको जनसंख्याभन्दा भाषाभाषीको जनसंख्या कम भएको हुनुपर्छ । यस्तै तामाङहरू बौद्ध धर्मावलम्बी हुन् । तामाङहरूले बौद्ध धर्म र परम्पराअनुसार गुम्बा, माने र छ्योर्तेनमा पूजाआजा गर्छन् । उनीहरूको आफ्नै किसिमको संस्कार छ । जस्तै नामकरण, नाककान छेड्ने, भातख्वाई, छेवार, गुन्युचोलो दिने, विवाह, मृत्यु संस्कार आदि । तामाङ समाजमा कुनै पनि कार्य सम्पन्न गर्न ताम्बा, बोन्बो र लामाको आवश्यकता पर्छ । नामकरणदेखि मृत्युसंस्कारसम्म लामाको भूमिका महत्वपूर्ण हुन्छ तामाङ जातिमा । म रसुवा र तामाङ जातिको कुरा अलि बढी गर्दैछु किनकि हाम्रो गन्तव्यस्थल गोसाइँकुण्ड रसुवामै पर्छ । १५४४ वर्ग किमी क्षेत्रफल रहेको एक विकट पहाडी जिल्ला रसुवालाई हावापानीका हिसाबले मोटामोटी रूपमा टुन्ट्राप्रदेशीय, शीतप्रदेशीय र समशीतोष्ण प्रदेशीय गरी विभाजन गर्न सकिन्छ । यस जिल्लाको उच्च हिमाली भेगमा हिउँ जमिरहन्छ, मध्यपहाडी भेगमा चिसो हावापानी छ । मध्यपहाडी भेगमा हिउँदमा हिमपात पनि हुने गर्छ भने यस जिल्लाको तल्लो भेगमा समशीतोष्ण हावापानी भेटिन्छ । जलसम्पदाका हिसाबले यो सम्पन्न छ । त्रिशूली, चिलिमे, मैलुङ, भोटेकोशी, लाङटाङ, फलाँखु जस्ता नदी तथा खोलाहरू र गोसाइँकुण्ड, पार्वतीकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, दुधकुण्ड, जोगेश्वरकुण्ड, तातोपानी आदि जलाधार क्षेत्र हुन्, रसुवाका । भैरव कुण्ड (तस्विर : विशाल हुमागाई\u200c/साहित्यपोस्ट) यात्राको पहिलो बिसौंनी धुन्चे पुगेपछि माथि जाने यात्रीहरू कोही छन् कि भनी खोज्न थाल्यौं । दशहरा कटिसकेको थियो हामी पुग्दा । तर जनैपूर्णिमा आउन निकै दिन बाँकी थियो । यो यात्री हिंड्ने सिजन होइन रहेछ । तीन जना भेट्यौं नुवाकोटतिरका । बूढाबूढी थिए । ती पनि एकादशीको सन्दर्भ पारेर आएका रहेछन् । हामीलाई केही राहत भयो । एकै होटलमा बस्यौं हामी सबैजना । धुन्चेको राम्रो होटलमा गनिंदो रहेछ त्यो होटल । होटेल मालिक घिमिरे थरका रहेछन् । उनले त्यो होटल भाडामा लगाएका रहेछन् । संयोगवश त्यसै दिन होटल मालिक पनि भेटिए । चितवनमा उनका दाजुभाइ पनि रहेछन् । अम्बिका दाइले चिन्नु हुँदोरहेछ उनका चितवनका आफन्तलाई । २०७२ को भूकम्प अधिसम्म आफैं चलाउँथे रे तर भूकम्प पछि त्यहाँ बस्न छाडेछन् । भोलिपल्ट सखारैमा हिंड्ने तय भयो । बिहानै पसल नखुल्ला भनेर हामीले अघिल्लै दिन एक एक वटा हरिया बर्सादी किन्यौं । हावा तेज चल्ने भएकाले छाताको काम आउँदो रहेनछ त्यहाँ । सुन्यौं — माथि लेक लाग्छ, लेक लाग्दा वाकवाक लागेजस्तो हुन्छ, लसुन र अदुवाले लेक लाग्नबाट केही हदसम्म बचाउँछ । लेक लागिहाल्यो भने त्यसको कुनै औषधी छैन । औषधी भनेकै जतिसक्दो छिटो तल ओराल्नु हो । हामीले केही टुक्रा अदुवा र लसुनका पोटी खल्तीमा हाल्यौं । अहिले नाम बिर्सिएँ मैले, हामीले लेक लाग्नबाट जोगिनका लागि एक एक चक्की औषधी पनि खाएका थियौं । भोलिपल्ट सखारै यात्रा सुरु भयो हाम्रो । तेर्सो बाटो करीब दुई किलोमिटर जति हिंडेपछि घट्टे खोला पुग्यौं । घट्टे खोलाको मुहान भनेको त्रिशूलधारा र गोसाइँकुण्ड नै हो । घट्टे खोलामा अजङ्गको उकालो उक्लिएर गोसाइँकुण्डसम्म पुग्न नसक्नेका लागि एउटा सानो मानवनिर्मित कुण्ड रहेछ । त्यहींबाट चढाइ सुरु भयो । यात्रापथको अनभिज्ञता पनि यात्राको साथी हुँदो रहेछ । हामीले अडकल लगायौं — ठाडै उकालो माथिसम्म त छैन होला, तेर्सो र तर्पायाँ बाटो पक्कै फेला पर्नेछ । हामी तेर्सो र सजिलो बाटो फेला पारिने कल्पनामा नाकठोक्ने उकालो उक्लिरह्यौं । हामी तराईमा बस्छौं । उकालाको अभ्यस्तता टुटेको छ । सायद नाकठोक्ने उकालाको सिलसिला निकै लामो छ भन्ने ज्ञान हुँदो हो त यो यात्राको योजना बन्थ्यो या बन्दैनथ्यो म प्रष्ट छैन । देउरालीमा पुग्दा एउटा बन्द होटल देखियो । चिसो पानीसँग बिस्कुट टोक्दै पेटको सामान्य पूजा गरेपछि हामी दिम्सा पुग्यौं । दिम्सामा पहिले आर्मी पोस्ट रहेछ । २०७२ को भूकम्पपछि त्यो दिम्सा पोस्ट त्यहाँबाट माथि चन्दनबारी सरेको थाहा पाइयो । दिम्साको पुरानो आर्मी पोस्ट रहेको स्थानमा एउटा शिलापत्र भेटियो जहाँ रसुवा जिल्लाका मुख्य स्थानहरूका उचाइ मीटर र फिट दुबैमा लेखिएको पाइयो । मैले यो जानकारीलाई फोटोमा बन्दी बनाएँ । शिलापत्रको जानकारी यस्तो थियो — वेत्रावती — ६२० मिटर (२०३४ फीट), कालिकास्थान — १४०० मिटर (४५९२ फीट), धुन्चे — १९६५ मिटर (६४४५ फिट), घट्टे खोला — १९७७ मिटर (६४६१ फिट), देउराली — २६२५ मिटर (८६१० फिट), दिम्सा पोस्ट — ३०३८ मिटर (९९६५ फिट), चन्दनबारी — ३२५० मिटर (१०२३४ फिट), चोलाङपाटी — ३१०० मिटर (१०१६० फिट), लौरी विनायक — ३२७७ मिटर (११४६३ फिट), गोसाइँकुण्ड — ४३८० मिटर (१४३६६ फिट), स्याप्रुबेसी — १४६० मिटर (४७८८ फिट), रसुवागढी — १८१४ मिटर (५९४९ फिट), सामडाँडा — ३६०० मिटर (११८०८ फिट) । दिम्साबाट देखिने गणेश हिमाल (तस्विर : विशाल हुमागाई\u200c/साहित्यपोस्ट) दिम्साको पुरानो आर्मी पोस्टबाट अलिकति उक्लिएपछि एउटा होटल देखियो । त्यो होटलको नाम दिम्सा रहेछ । हामीले लख काट्यौं कि दिम्सा ठाउँको नामबाट दिम्सा पोस्ट र त्यसैका आधारमा होटलको नाम दिम्सा रहेको हुनुपर्छ तर यसबारे हामीले कसैसँग सोधेनौं । ११ बजिसकेछ । स्थानीय यात्रुका लागि २ घण्टा जतिमा पुगिने दिम्सा पुग्न हामीलाई पाँच घण्टा लाग्यो । बिहानी खाना त्यहीं खायौं । दुई घण्टा जति आराम गरेर फेरि सुरु गर्\u200dयौं उकालाको यात्रा । यात्रामा सहरबजारका कोलाहल थिएन । सुनसान थियो । मूल बाटोसँग जोडिएका उपबाटाहरू थिएनन् त्यहाँ । खच्चर र चौंरीका घाँटीमा झुण्ड्याइएका घण्टीका आवाजले नीरवता चिर्थ्यो । यात्रीहरू खासै भेटिएनन् भन्दा हुन्छ । एकाध जोडीहरू भने बाटामा भेटिए । हामीले उकालामा एकजना भारतीय साधु भेट्यौं, खाली खुट्टामा । चिसो छेक्ने कपडा थिएन । एउटा झोली बोकेका थिए । मलाई लाग्यो — यी ज्यान पाल्नका पीरले मागी खान पल्किएका जोगी पक्कै होइनन् । दिम्सामा खाना खाए पछि हामी तातेताते गर्दै चन्दनबारी पुग्यौं । त्यहाँ चिज उत्पादन केन्द्र रहेछ । त्यस्ता चिज उत्पादन केन्द्रहरू धुन्चे, चन्दनबारी, लाङटाङ तथा पार्वतीकुण्ड गाउँपालिकाको गत्लाङमा रहेछन् । सुनिएअनुसार रसुवामा वार्षिक करीब ३६ हजार किलो चिज उत्पादन हुन्छ र यसको खपत स्थानीय बजारमा केही भए पनि बाँकी संस्थानमा लगिंदो रहेछ । वैशाखदेखि असोज मसान्तसम्म चिज उत्पादन हुने कुरा पनि थाहा पायौं हामीले । अत्यासलाग्दो तराइको गर्मीबाट पहाडी जिल्लामा पुगेका हामीलाई त्यहाँ चन्दनबारीले चिसो ए.सी. चलायो । कति विविधता छ नेपालको प्रकृतिमा । १०/२० किलोमिटरकै फरकमा हावापानी पूरै बदलिन्छ त्यहाँ । मेरा विचारमा नेपाल भूस्वर्ग हो । हामीलाई प्रकृतिले त दिएको छ तर हामीले प्रकृतिप्रदत्त स्वर्गीय आनन्दको उपभोग गर्न जानेनौं । हाम्रो भूस्वर्गलाई आम्दानीको मूल स्रोत बनाउन जानेनौं । नभएका कुराहरूको प्राप्तिका खातिर अन्यत्रै दौडिरह्यौं हामी । हुन नसकेका कुराहरूको दोष अर्काप्रति पन्छाएर हिलोमाथिको ओभानो बनिरह्यौं । हामीले हीरा चिनेनौं र पित्तललाई सुन ठानेर मृगतृष्णामा भौंतारिरह्यौं । चन्दनबारीबाट चोलाङपाटीसम्म तेर्सो बाटो छ भन्ने जानकारीले नाकठोक्ने उकालो उक्लिएका हामीलाई ठूलो राहत भयो । समय थियो । चोलाङपाटी पुग्न दुई घण्टा लाग्ने जानकारीले हामी हौसियौं । घना जंगल छ । घना जंगल छिचोलेर उज्यालो पस्न पनि डराउँदो रहेछ त्यहाँ । हामी दुई जना मात्र छौं । बाटो चिप्लो छ । सिमसिम सिमसिम पानी बर्संदो छ । एकदम उराठलाग्दो वातावरण । मोबाइलले टावर नपाएको निकै तलबाट हो । यो एकान्तमा मोबाइलले टावर पाएको भए केही राहत हुन्थ्यो होला । जंगली जनावरको त्रास त छँदै छ । मलाई लाग्यो — यो एक्लैदुक्लै हिड्ने यात्रा नभई कम्तीमा ५/६ जनाको समूह बनाएर हिंड्नुपर्ने यात्रा रहेछ । घट्टे खोलाबाट हिंड्न थालेको ११ घण्टापछि हामी चोलाङपाटी पुग्यौं । उकालो चढ्ने अभ्यस्तता टुटेका हामी कसरी ११ घण्टा लगातार उक्लिरह्यौं होला, कुन शक्तिले हामीलाई हिंडायो होला । म त्यो यात्राको विकटता आज पनि सम्झिरहेछु । हो, हामी विकल्परहित विकल्पमा थियौं । चोलाङपाटी पुग्दा हामी निकै थाकेका थियौं । हामीले एक एक बटुको गार्लिकको तातो झोल पियौं — एक बटुकोको १५० तिरेर । त्यो ठाउँमा एक बटुको तातो झोल पिउन पाउनुलाई हामीले पैसासँग तुलना गर्न सकेनौं । होटल मालिकले सुनाए — हिउँदमा त्यहाँ एक मिटरसम्म हिउँ थुप्रिन्छ । जब चिसो सुरु हुन्छ, उनीहरू तल फाँट झर्दा रहेछन् । हिउँ पग्लिएर सकिएपछि मात्र फेरि उक्लिंदा रहेछन् उनीहरू त्यहाँ । मैले कल्पना गरें — कष्टदायी जिन्दगीको तर उनीहरूमा कुनै कष्टको आभाषसम्म पनि थिएन । एउटा मीठो जीवन पद्धति ठान्थे उनीहरू त्यसलाई । एउटा लय, एउटा निरन्तरता, एउटा बगाइ र एउटा अनवरत क्रमिकता । भोलिपल्ट बिहानैदेखि पानी परिरह्यो । एकछिन आकाश चियाएर बस्यौं । रोकिने कुनै छाँट देखिएन । होटेल मालिकले सुनाए — अब यहाँबाट मुख्य चढाइ सुरु हुन्छ । हामी दुवैले प्रत्यक्षमा आत्तिएको देखाएनौं तर मलाई लाग्छ — हामी भित्रभित्रै आत्तिएका थियौं किनकि हिजो हिंडिएको बाटो मुख्य चढाइ थिएन । पानी बर्सिने क्रम सिमसिममा परिणतमा भएपछि हरिया बर्सादी ओढेर चोलाङपाटीलाई फेरि भेट्ने वाचाका साथ हामी उक्लियौं । हिजोको बाटो र आजको बाटामा नितान्त फरक छ । जिन्दगीका बाटाहरू पनि यस्तै हुन्छन् । हरेक दिन नयाँ नयाँ बाटाहरू आइपर्छन् जिन्दगीको यात्रामा । सोचिएकै डोरेटोमा जिन्दगीको यात्रा कहाँ तन्किन्छ र ? लेक लाग्ने सम्भावना लौरी विनायकको उकालामा धेरै हुनसक्छ भन्ने सुनिएको थियो । माथि नै भनिहालेँ, हामी दुई मात्र छौं यात्रामा । फाट्टफुट्ट एकाध मानिसहरू भेटिन्छन् । विकटता झन् झन् चर्किंदो छ । मोबाइलले टावर प्रायः भेट्दैन । हिंड्दै जाँदा एउटा कुइनेटामा टावर भेटियो । हामी दुवैले घरमा खबर गर्\u200dयौं । त्यसका अतिरिक्त कतै टावर भेटिएन । मैले सोचें — हामी दुईमध्ये कुनैलाई लेक लागिहाल्यो भने …… तर हामी भाग्यमानी थियौं त्यस्तो अवस्था आएन । लौरी विनायकको उकालो चढ्दै जाँदा ठूला रुखहरू भेटिएनन् । होचा बुट्यानहरू थिए । त्यहाँ पाखैभरि बिखालु फूल फुल्छन् रे तर हामी पुग्दा फूलहरू फुल्ने मौसम थिएन सायद । यसैले फूलका बिखालु गन्धले हामीलाई लठ्याएन । लौरी विनायकको उकालाबाट थाप्लामा पुग्न त्यति धेरै दूरी थिएन । नजिकै देखिन्थ्यो डाँडा तर त्यहाँसम्मको दूरी तय गर्न निकै सकस खेप्यौं हामीले । क्रमशः बुट्यानहरू पनि होचिंदै गए । अन्ततः काला ढुङ्गाहरूका डाँडामा हामी पुग्यौं । हामी बुद्ध डाँडाको थाप्लामा थियौं । त्यहाँ यत्रतत्र ढुङ्गाहरूका थुप्राहरू देख्यौं — ती तामाङहरूका चिहान थिए । बुद्ध डाँडाको थाप्लोमा पुगेर तल नियाल्यौं । हुस्सुको गुब्बारा माथि माथि उक्लिदै थियो । एकै छिनमा घाम, एकै छिनमा पानी र एकै छिनमा हुस्सुको गुब्बारा स्पर्श । अलौकिक र अवर्णनीय थियो । हिमालले सेता दन्तलहर देखाएर मुस्काएको दृश्यले हामी मुग्ध भयौं, यात्राका थकाइ हामीबाट गायब भइसकेको थियो । (तस्विर : विशाल हुमागाई\u200c/साहित्यपोस्ट) अब उकालाको यात्रा टुङ्गिएको थियो । बाटामा भेटिएका एकाध यात्रीबाट थाहा भयो — कुण्डको दूरी बढीमा आधाघण्टा मात्रै छ । बाटो तेर्सो छ तर तेर्सो बाटामा पनि पाइला सर्न गाह्रो मानिरहेछ । झरनाले सुसेली हालेर म यहीं छु को सङ्केत गरिरहेछ । हिउँले चाटेका ठूला ठूला काला ढुङ्गाका पहाड देखिएका छन् । बाटो साँघुरो छ । तल निकै डरलाग्दो छ । केहीबेरको हिंडाइपछि बाटा तल हामीले दुई ससाना कुण्ड देख्यौं । पर थुम्कामा एउटा कटेरो पनि देखियो तर हाम्रो गन्तव्यविन्दु देखिएन । जब हामी कटोरोसम्म पुग्यौं तब एउटा मनमोहक तालले हामीलाई फैलिएर स्वागत गरिसकेको थियो । हामी निर्मल गोसाइँकुण्डको किनारमा थियौं । घाम, पानी र हुस्सुको गुब्बाराले लुकामारी खेलिरह्यो । हामीले नुहायौं । पानी निकै चिसो थियो । धर्मात्माले शिवजी देख्छ रे कुण्डमा तर मैले देखिनँ । दुलाल दाइले पनि देख्नुभएन । हुनसक्छ, कसैले शिवजी देख्दैनन् त्यहाँ तर अधर्मी भइन्छ भन्ने त्रासमा कुण्डका बीचबाट निकाकार शिवजीको स्वरूप प्रकट हुन्छ एकाएक मानिसहरूका मनोविम्बमा । गोसाइँकुण्डको उत्पत्ति कथा हिन्दु धर्मशास्त्रमा शिवजीसँग जोडिएको छ । यो हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल हो । नेपालमा हिन्दु र बौद्धका यस्ता साझा तीर्थहरू मनग्गे छन् । हिन्दु र बौद्ध बीचको धार्मिक सहिष्णुता शताब्दीयौंदेखिको हो नेपालमा । हिन्दु धर्मावलम्बीहरूले यस कुण्डलाई शिवकुण्ड पनि भन्दा रहेछन् । हिन्दुहरू गङ्गा दशहरा र जनैपूर्णिमाका दिन कुण्डमा स्नानका लागि यात्रा गर्दा रहेछन् भने तामाङहरू जनैपूर्णिमाका दिन । गोसाइँकुण्ड नेपाली भाषामा राखिएको नाम रहेछ । तामाङ भाषीहरूले यसलाई कार्पु छोकर भन्दा रहेछन् । कुण्डको नजिक रहेको सूचनास्तम्भमा लेखिएअनुसार गोसाइँकुण्डको सतहको क्षेत्रफल १३.८० हेक्टर, लम्बाइ ६२५.५५ मिटर, चौडाइ ३०२ मिटर र पानीको आयतन १४,७२,००० घनमिटर रहेको जानकारी दिइएको छ । १०० प्रजातिभन्दा बढी फूल फुल्ने वनस्पति, विष, पदमचाल, जटामसी आदि पाइने यस भेगमा चखेवा, चखेवी, खोयाहाँस, कालीजुरे जस्ता पन्छीहरू पाइने रहेछ । यो क्षेत्रलाई २०६४ असोज ६ गते रामसारमा सूचीकृत गरिएको जानकारी पनि पायौं । रामसार क्षेत्र भन्नाले सिमसार तथा पक्षीको संरक्षित सम्पदा क्षेत्र मानिन्छ । नेपालमा गोसाइँकुण्ड क्षेत्रसहित ९ वटा स्थानलाई रामसार क्षेत्रका रूपमा घोषणा गरिएको छ । रामसारमा यस क्षेत्रलाई सूचीकृत गर्नुको उद्देश्य दुर्लभ, संकटाभिमुख र संकटापन्न जीवजन्तुको संरक्षण र सम्बर्द्धन गर्नु नै हो । (तस्विर : विशाल हुमागाई\u200c/साहित्यपोस्ट) पाइएसम्मका जानकारी मानसपटलमा पोको पारेर र वरपरका दृश्यावलोकनमा रमाउँदै हामी फर्कियौं । तेस्रो दिनको बसाइ चन्दनबारी रह्यो भने चौथो दिन हामी त्रिशुली झर्\u200dयौ । पाँचौं दिन पृथ्वीनारायण शाहको नुवाकोट दरबार हेर्ने तीव्र इच्छा हुँदाहुँदै परिस्थितिले हामीलाई साथ दिएन र एउटा आकाङ्क्षा मनभित्रै थाँति राखेर हामी पुनः चितवन फर्कियौँ त्यसैदिन । [यात्रा समय : २०७५ जेठ] #गोसाइँकुण्ड #चितवन #रूसुवा #लक्ष्मण अर्याल
अँध्यारोभित्र: यसै पनि उकालीहरू बढ्ता भएको थकाइले सुस्केरा हाल्ने मेरो यात्रामा अचानक घोप्टिएको अँध्यारोले दुख्ने गरि चिमोटिरहेको छ । औंशीको रातमा पनि नाच्थें किनकि निश्चिन्त थिएँ म अबको पालो दिनको हुनेछस् कालो बादलसङ्गै खित्किन्थेँ म किनकि आशा थियो त्यहाँ छिट्टै अब हरियालीले कुम छुनेछ । तर आज कता कता बद्लिएको मेरो झंकार सुनेर नसोध्नू शंका मिसिएको लवजमा किनकि अँध्यरोको पर्दा पछाडि व्यक्त पीडाहरूका स्वरभन्दा ठूला नदेखिने घाउहरू हुन्छन् शत्रुले छुनसम्म नसकेको छातीमुनी आफ्नाले बनाएका सयौं घाउका माम्री हुन्छन् । #अँध्यारोभित्र
सानातिना कुरा: रङ बदल्न छेपाराहरूले अर्को मौसम पर्खिन्छन् । एक र दुई काँचुली फेरेर सर्पहरू पूरै बर्ष बिताइदिन्छन् । चिर निन्द्रामा भ्यागुताहरू पुरै हिउँद कटाइदिन्छन् । तर भैगो ! यस्ता सानातिना कुराहरू छाडौ । हामीलाई के को मतलब र ! हामी छेपारा होइनौं । सर्प होइनौं । भ्यागुता पनि त होइनौँ । हामी त मान्छे पो हौं । #प्रकाश भुषाल #सानातिना कुरा
लघुकथा –\xa0 समस्या: भेट्न आएका गंगारामसँग मन्त्री, “समस्या के छ गाउँमा ?” “बाटो | समस्या बाटोको छ हजुर !” तपाईं धेरैपटक आइसक्नुभयो | म अर्को महिना आउँछु | पात्ले स्कूलमा २/४ सय मान्छे भेला पार्नू | “हवस्, म लागौं त हजुर !” “हुन्छ | सुन्नूस् त ! गुरुआमा त्यतै कि ? “बिदामा हुनुहुन्छ |” “ए, ल जानूस् | तर मान्छेलाई खबर कुनै पनि हालतमा गर्नूस् नि !” “ढुक्क हुनूस् हजुर ! मान्छे ओइरिन्छन् |” पचास दिन पछि , स्कुलको चौरमा हेलिकप्टर बस्यो , मन्त्री निस्किए- “मान्छे त भने जति देखिदैनन् त ! खबर राम्रो भएन कि के हो ?” “गरेको हजुर ! तर समस्या !” “के समस्या ?” “बाटो हजुर ! झ्याम्टार,फतुवा, केरौटे, लसुनेतिरबाट आउने सकेनन् बाटो राम्रो नभएर | अब हेर्नूस्, अर्को भेलामा हजार नाघ्छन, हजार…. |” “हो त्यो त !” मन्त्री सुरु हुन्छन्- आदरणीय बुवा, आमा, काका, ठूल्दाइ, जेठा …………… नमस्कार !! मैले सुनें यहाँ बाटोको ठूलो समस्या रहेछ | अब यी पाँच गाउँमा दुई-दुईवटाको दरले दश बाटाहरू बन्ने छन् ! तपाईंहरू सबैको आँगन-आँगनमा गाडी आउने छन् | त्यसको लागि मैले पुरै तयारी गरिसकेको छु | मेरा दुई, वडा अध्यक्षज्यूको एउटा र ज्यामिरे मीतज्यूको एउटा गरेर पाँचवटा डोजर भटाभट चल्ने छन् | अब यहाँ विकासको बाढी नै आउछ | ड्राइभरलाई यसो तागतिलो खाना खुवाउने जिम्मा यहाँहरूको | म आज जस्तो माथिबाट होइन, त्यही बाटोबाटै आउने छु उद्घाटन गर्न | आजै मैले अर्को उद्घाटन गर्नु, छ म लागेँ | नमस्कार |” एक वर्ष पछि आठ दश जना मानिसहरू मन्त्री क्वाटरबाहिर भेला भएका छन्- “ल भन्नूस, कहिले उद्घाटन ?” “समस्या पर्यो हजुर |” “के समस्या ?” “बाटो !” “इन्जेनरबिनाको बाटो”- अर्कोले भन्यो | “खेत रोपाईं पनि भएन | पानीको मूल सबै सुक्यो |”- अर्को | “केटाकेटीहरू स्कुल जान पाएनन् पहिरोले गर्दा |”- अर्को | “फतुवा, केरौटेका सबै मान्छेहरू सलुने र झ्याम्टारतिर लागे |”- पहिलो | “जमिन भासिन थाले, वनजंगल मासीए”- दोस्रो | “बाटो यता चाहिन्छ र उता चाहिन्छ भनेर बेनी सर र मुरलीधरका मान्छेले चार महिनादेखि अवरोध नै गरेका छन् | यो बाटो नै समस्या भयो हजुर |”- भीडको सबैभन्दा भलाद्मी व्यक्ति बोल्यो |
सुत्केरी युवतीको मृत्यु: सोच्दैछन् घर गाउँका पसलले, बेच्यौ कहाँ औषधि सोध्दैछन् डिलका चरा र टहरा, व्यर्थै गयो जिन्दगी डोकोका किन घाँस पात चुप छन्, बोल्ने छ को को यता भन्दैछन् सरकारका नजरले, ल्यायो गरिबी व्यथा ।।१।। सुत्केरी पनि सगसंगै छन् रे, विश्वास निभ्दै गयो कोरोना अब अस्पताल भरका, ज्यूँदा नछोड्ने भयो यस्तोमा पनि छाउगोठ लगिए, नारी हुँनाको व्यथा मर्नेको गहमा अथाह टकको, बन्छन् हजारौ कथा ।।२।। छुट्टै ठाउँ अभाव देशभरमा, रोगी निरोगी जुधे यस्ताको उपचार खप्न नसकी, जाँच्दै नजाची कुदे निष्ठावान जवान फस्छ अहिले, झोलेहरू जोगिए साँच्चै राष्ट्र सपूत छन् भुवनमा, भन्ने भ्रमैमा थिए ।।३।। यस्तै कारणले मर्याे ह्रृदय नै, बिह्वल सारा भए दोसी आँगन हेर्छ के प्रलय यो, कैदी भयो संजय हाँसो साथ मजाक बन्छ जनता, बन्दैछ यो देश रे त्यै खाल्डो भर मात्र देश छ भने, हेप्ने छिमेकी छ रे ।।४।। पोल्दै छन् मुटुमाझ ज्ञान महिमा, विज्ञान खोस्टो भयो कालाका धन काल नै बनी गए, मर्ने न दोषी थियो हे ! नालायक झुण्ड देश जनता, सक्छौ बचाऊ अब काँडे तार लगाउदै जमिनमा, लौ रोक रोगी सब ।।५।। #मृत्यु #सुत्केरी
भाइरसको सन्त्रास: भाइरस झन् दिन-दिनै हुँदै छ है खतरा निरुपाय भो मानिस नहुँदा केही सहारा । के हो ? यो, के हो ? डस्छ नाग फँणा झैँ भित्रभित्रै जल्ने पुतपुताउँदो ज्वाला झैँ । रोक्न सकेन कसैले कुनै दिव्य अभिशाप झैँ मूकदर्शक भो विज्ञान मान्छे जल्यो परिताप मै । सर्वत्र भो भाइरस फैल्यो जता तता उपाय खोज्न विश्व वन्धुत्व भयो एकता । आपत विपतमा मात्रै देखिन्छ सहृदयता सधैँ नै मिलाप भए आउन्न यस्तो अवस्था । सधैँ नै मान्छे मार्न मान्छे नै थियो उदिग्न प्रकृति ले डस्यो आज मान्छे भो छिन्नभिन्न । मान्छे मान्छेमा छैन दया करुणा किन ? चेतना आकासमा सधैँ लाग्दछ ग्रहण किन ? देखिन्न मान्छेमा मान्छे हुनुमा कहिलै परितोष दुर्भावनाले निम्ताउँछ विपत्ति किन आपसमा असन्तोष । पृथिवीको गरिमा हो मान्छे सचेतन दिव्य फूल जरुरी छ यस्लाई जान्न के हो यस्को मूल ? जीव जीवमा एकत्व प्रेमले नै हो बाँध्छ जो जान्दछ प्रेम उसैले यमलोक नाघ्छ । सुभावना फैलाऊ सके पृथिवीमा हुनेथ्यो शान्ति जीवन रहोस् पृथ्वीमा अरु केही चहिन्न क्रान्ति । विनाशको आगोमा जल्न अग्रसर मानस चेतना सिकौँ है पाठ, चेतौँ ज्ञान बनोस् वेदना । #कोविद १९ #सुबास बजगाईं
केन्द्र र परिधि: यतिबेला म केन्द्र र परिधिको बारेमा सोच्दै छु । सोच्ने क्रममा मेरो मनमा चक्रको स्वरूप अवतरित भएको छ । चक्रको स्वरूप चिन्तनले विचार निर्माणमा सहज हुन्छ, होला । चक्रको बारेमा सोच्नासाथ सुदर्शन चक्रको स्मरण भयो । हाम्रा देवीदेवता प्रायः सबै अश्त्रधारी छन् । मेरो जीवनचक्र पनि जेनतेन चलिरहेछ । म सानो छँदा हाम्रो घरमा गोरुगाडा थियो । अझै पनि कतै–कतै गोरुगाडाको चलन छ । गोरुगाडा पनि ढिकी जाँतो जस्तै पुरातन वस्तु बन्दैछ । गाडाको चक्राकार पाङ्ग्रोको केन्द्रमा फलामको धुर राखिएको हुन्छ र त्यसैलाई केन्द्र बनाई परिधिको रूपमा रहेको काठको पाङ्ग्रो घुम्छ र गाडा गुड्छ । त्यस्तो पाङ्ग्रोको विस्थापन विकसित पाङ्ग्रोबाट नै हुँदै आएको छ । यातायात मात्र होइन हरेक क्षेत्रमा चक्रको अनिवार्यता भैसकेको छ । चक्रको यति महत्त्व छ कि चक्रको अभावमा हाम्रो गति र प्रगति अवरुद्ध हुनेछ । चक्रको आविष्कारबाट नै गति र प्रगतिको प्रारम्भ भयो । यति कुरा गरे पछि अब मेरो मनमा केन्द्र र परिधिका सम्बन्धमा सामान्य अवधारणा निर्मित भएको छ । चक्र निर्माणका अवयव केन्द्र र परिधि हुन् । केन्द्र र परिधि परिपूरक हुन् तर यी दुई एकापसमा समायोजित हुन सक्दैनन् । चक्रनिर्माण र गतिशीलतामा केन्द्रको अहम् भूमिका भए पनि परिधि बिनाको केन्द्र हुँदैन । केन्द्रले परिधिलाई विचलन हुन नदिई आफ्नो वृत्तमा घुमाउँछ तर घुम्ने चाहिं परिधि नै हो तसर्थ परिधिको विशेषता भनेको नै गतिशीलता हो र केन्द्रको विशेषता स्थिरता । अब म अलि फरक रूपमा प्रस्तुत हुँदै छु । त्यो के भने केन्द्र र परिधि भौतिक मात्र नभई अभौतिक पनि हुन्छ । अभौतिक केन्द्रको परिधि चक्राकार हुँदैन । म अब आफूलाई अभौतिक केन्द्र र परिधि विषयक चिन्तनमा केन्द्रित गर्दैछु । दुनियाँमा यस्तो कुनै व्यक्ति विचार वा वस्तु हुँदैन जसको केन्द्र र परिधि नभएको होस् । आकारमा सूक्ष्म नै भए पनि दुनियाँमा अस्तित्वमा रहेका कुनै पनि व्यक्ति, विचार वा वस्तुको केन्द्र र परिधि हुन्छ । मेरो शरीरको केन्द्र मेरो मस्तिष्क हो । मस्तिष्क कै हालहुकुममा मेरो शरीर क्रियाशील हुन्छ । मैले जीवनमा सुख भोग वा दुःख भोग गर्नुमा मस्तिष्क नै कारण बन्दै आएको छ । मस्तिष्कको संरचना र कार्यप्रणालीका बारेमा म अनभिज्ञ छु । विज्ञानलाई पनि मस्तिष्कका बारेमा अलिअलि मात्र जानकारी छ । विज्ञानको सीमा के हो भने आफूले थाहा नपाएका कुरामा विश्वास गर्दैन तसर्थ विज्ञान भन्नु नै ज्ञात कुरा हुन् तर राम्रो पक्ष के हो भने विज्ञान निरन्तर अज्ञातको यात्रामा अग्रसर छ । प्रकृतिको अनन्त रहस्यका सामु विज्ञान अल्लारे नै छ । मलाई अफसोस यस विषयमा छ कि मैले आफ्नो मस्तिष्कको क्षमताको एक चौथाइ पनि प्रयोग गर्न सकेको छैन । त्यसो हुनुको कारण के हो भने मैले मेरो विगत चिन्तनमा नभई चिन्तामा बिताएँ । यतिबेला पनि मेरो मनमा पिरहरू सलवलाइरहेका छन् । संघीयतामा पनि केन्द्र र परिधिका कुरा बारम्बार उठिरहन्छ । वास्तवमा संघीयता भनेको केन्द्रियता विरोधी विचार हो । राजतन्त्रमा राजा राजनीतिको केन्द्रमा थिए र जनता परिधिमा । जनआन्दोलनले राजालाई पनि परिधिमा पुर्\u200dयायो । राजनीतिको कुरा गर्दा पार्टी, नेता र कार्यकर्ताको पनि आ-आफ्नै केन्द्र र परिधि हुन्छ । राजनीतिमा परिधि केन्द्र हुन चाहन्छ र केन्द्र परिधिलाई यथासंभव रोक्न खोज्छ । प्रतिरोध ज्यादा भए पछि परिधि विद्रोहमा उत्रन्छ । हरेक ठूला वा साना विद्रोहको प्रारम्भ परिधिबाट नै हुन्छ । भौतिक परिधि कहिल्यै पनि केन्द्र बन्दैन तर राजनीतिमा आन्दोलनले, क्रान्तिले वा आवधिक निर्वाचनले केन्द्रलाई परिधि र परिधिलाई केन्द्र बनाउँछ । प्रजातन्त्र सबैभन्दा उत्तम राजनीतिक प्रणाली हुनुको मुख्य कारण नै परिधि केन्द्र हुनसक्ने सम्भावना हो । यस अर्थमा नै राजनीतिलाई संभावनाको खेल मानिएको हुनुपर्छ । संघीयता केन्द्रियता विरोधी प्रणाली हो । आरक्षण, समावेशिकता तथा प्रदेश विभाजन परिधिलाई प्रश्रय दिनकै लागि गरिएका व्यवस्था हुन् । संघीयतामा मूल केन्द्र मातहत प्रदेशको रूपमा सानासाना केन्द्रहरू बनाइन्छ तर जतिसुकै सानो केन्द्र बनाए पनि परिधि बिनाको केन्द्र हुँदैन । त्यसैले प्रदेश भित्रको परिधि पनि केन्द्र बन्न चाहन्छ र संघीय मुलुकमा प्रदेशको संख्या बढी रहन्छ । वास्तवमा म आफ्नै सन्दर्भमा केन्द्र र परिधिको कुरा गर्न खोज्दै थिएँ । मैले धेरै समय भूमिकामा खर्च गरें । म केन्द्र हुँ वा परिधि अलमलमा परेको छु । म अलमलमा पर्नुको कारण के हो भने केन्द्र र परिधि दुवैका धेरथोर लक्षण ममा छ । कहिले लाग्छ म केन्द्र हुँ अनि कहिले लाग्छ म फगत परिधि मात्र हुँ । केन्द्र निकटता सूचक हो भने परिधि दुरत्व सूचक । मेरा लागि म आफूभन्दा निकट अरु कोही छैन । म नै मेरो सबैभन्दा ठूलो शुभचिन्तक हुँ । म रामबाबु घिमिरेको फ्यान हुँ । केन्द्रको विशेषता स्थिरता हो । स्थिरताको अभिप्राय गतिशून्यता हो । मेरो वर्तमानतामा पनि कुनै चहलपहल छैन । मेरो जीवन यात्रु हिंड्न छाडेको उकालोको बुढो बटवृक्षझैं भएको छ । दिनहरू एकनास बितिरहेछन् । गते, बार र महिना बित्नुसँग मलाई कुनै मतलव छैन । गते र महिनाको चासो कर्मचारीलाई हुन्छ । समयक्रमबाहेक मेरा लागि सबै कुरा स्थिर छन् । समयक्रमको प्रभाव मेरो आकृतिमा मात्र होइन, शरीरका सबै अवयवमा परेको छ । करीव १५ वर्ष पूर्व मेरो आँखा परीक्षण पश्चात् नेत्र विशेषज्ञले भनेका थिए – तपाईंको आँखाको उमेर तपाईंभन्दा १० वर्ष जेठो छ । त्यतिबेला उनको भनाइबाट म अचम्मित भएको थिएँ । तर बुझ्दै जाँदा थाहा पाएँ कुनै पनि मान्छेको कालक्रमिक उमेर भन्दा उसका शरीरका अवयवका उमेर जेठो कान्छो हुँदो रहेछ । केही वर्षपूर्व समाचार सुनेथेँ भारतका एक प्रदेशका राज्यपाल ८६ वर्षको उमेरमा यौन स्क्यान्डलमा परेका थिए र उनले राज्यपालबाट राजिनामा गर्नु परेको थियो । मेरो आँखा मात्र होइन शरीरका प्रायः सबै अवयव म भन्दा जेठा छन् । त्यसैले मेरो मन रुण र शरीर बुढो भएको छ । यस्तो हुनु भयावह अवस्था हो । तपाईंले थाहा पाउनु नै भयो मेरो जीवन संकटग्रस्त छ । त्यसैले दिक्क लाग्छ र जीवनमा संकटकालको घोषणा गरुँ गरुँ झैं लाग्छ । आशा छ, संकटकाल घोषणा गरेपछि मेरा शरीरका सबै अवयव मेरो मनको कब्जामा हुनेछन् । मेरो स्मृति पनि कमजोर भएको छ । मानौं मलाई पनि हनुमानलाई जस्तै विस्मरणको श्राप परेको छ । अरुले बोध नगराएसम्म मलाई आफ्नो हैसियत बोध हुन्न । विरोधीले हैसियत बोध गराउनु सामान्य प्रचलन हो तर मलाई त मित्रहरूले नै पटक पटक हैसियत बोध गराएका छन् र ती उत्प्रेरक कम र अवशादमूलक बढी छन् । म प्रायः आफ्नै बारेमा सोच्छु । मेरो दुनिया म बाट सुरु हुन्छ । अरुका बारेमा सोच्दा पनि म आफैँ केन्द्रमा हुन्छु । म तिनै मान्छेका बारेमा सोच्छु जो-जससँग मेरो सरोकार छ । तपाईंले मलाई आत्मकेन्द्रित ठान्नु भयो होला । म स्वीकार्छु म आत्मकेन्द्रित छु अथवा स्वकेन्द्रित । यसो सोच्दा लाग्छ– कमसेकम म आफ्नै लागि भए पनि केन्द्र हुँ । अस्तित्ववादले व्यक्तिसत्तालाई सर्वोपरि ठानेको छ । हुन पनि म मेरा लागि सर्वश्व हुँ । मेरो महाप्रस्थान पश्चात् दुनियाँका सबै कुरा मेरा लागि निष्प्रयोजन हुनेछन् । मान्छे आफ्नो अस्तित्वप्रति यति सचेत छ कि मृत्यु पछिको अस्तित्वका लागि धर्मोन्मुख हुन्छ । धर्मको परिधि आफूबाट सुरु भई स्वर्गसम्म पुग्छ । हरेक धर्मको आआफ्नै केन्द्र र परिधि हुन्छ अनि हरेक धर्मालम्वी आफ्नो धर्मको परिधि बढाउन प्रयत्नरत हुन्छ । नेपाल धर्मनिरपेक्ष देश हुनुमा क्रिश्चिनिटीको परिधि विस्तारको प्रतिफल भन्ने सुनिन्छ । यो देशलाई धर्मनिरपेक्ष बनाइएकामा धरोधर्म मेरो भागमा सुको दाम पनि परेन । शिरडीका साइबाबा ‘सबका मालिक एक है’ भन्थे । हिन्दू धर्ममा एकेश्वरवादी संप्रदाय पनि छ । म आफ्नो व्यक्ति सत्ताप्रति अति नै संवेदनशील छु । हुनत मेरो व्यक्ति सत्ता सामुहिकता सापेक्ष छ । जहाँसम्म सामुहिकता र व्यक्तिवादिताको कुरा छ सामुहिकताबाट सुरक्षण अनुभूत नभएपछि मान्छे झन् बढी व्यक्तिवादी बन्छ । सामुहिकता भित्र व्यक्तिगत सत्ता सुरक्षित हुनुपर्छ किनकि व्यक्ति विशेष भनेको कुनै यन्त्रको पार्टपुर्जा होइन । साम्यवादको कमजोरी के हो भने व्यक्तिसत्तालाई गौंण ठान्छ । उत्तरआधुनिक चिन्तनले व्यक्तिगत स्वतन्त्रतालाई पूर्व सर्त भनेको छ । केन्द्रियताको विरोध, समावेशिकता र परिधिको प्रश्रय संघीयता र उत्तरआधुनिकताका मिल्दाजुल्दा अभिलक्षण हुन् । व्यक्ति सत्ताको अभिप्राय रविन्सन क्रुसो वा अज्ञात हिमाली क्षेत्रमा तपस्यारत ऋषि होइन परन्तु सामुहिकता भित्र व्यक्ति विशेषको अस्तित्व । अब तपाईंलाई भन्नु परोइन म आफैँमा केन्द्र हुँ । जब म केन्द्र हुँ भने सानो वा ठूलो मेरो पनि परिधि छ । मान्छे जति लोकप्रिय बन्दै जान्छ उसको परिधि पनि बिस्तार हुँदै जान्छ । पद प्राप्तिबाट बनेको परिधि पदमुक्त भएपछि स्वतः सङ्कुचित हुन्छ । एकताका मेरो परिधि पनि अलि ठूलै थियो तर विस्तारै संकुचित हुँदै गएको छ । म केन्द्र हुँ तर मेरो परिधि संकुचन तीव्र गतिमा भैरहेको छ । यही अनुपातमा मेरो परिधि संकुचन भैरहने हो भने त्यो दिन टाढा छैन जब म केन्द्र नभई फगत परिधि हुने छु । तपाईंलाई थाहा नै छ केन्द्र हुन विशेष आकर्षण, क्षमता वा उपादेयता हुनुपर्छ । मसंग त्यस्तो कुनै क्षमता वा उपयोगिता छैन जसका कारण मान्छेहरु मप्रति आकर्षित होउन् । चक्राकार वस्तुको परिधिले केन्द्रलाई परिक्रमा गरेजस्तो मेरो परिक्रमा गरुन् । पात्र उपयुक्त भए परिक्रमा फलदायी हुन्छ । परिक्रमाबाट सुमेरु पर्वत घुम्नेहरुलाई सजिलै पाखा लगाउन सकिन्छ । वर्तमानमा प्रचलित समानुपातिकको व्यवस्था व्यवहारिक अर्थमा परिक्रमा प्रणाली बनेको छ । एक बूढा नेताले त सारै राम्रो युवतीलाई समानुपातिकमा पारेका छन् । सौन्दर्य आफैँमा केन्द्र हो र दर्शकहरु परिधि हुन् । मेरो वर्तमान अवस्था त यति दर्दनाक छ कि परिवारको पनि म केन्द्रमा होइन परिधिमा पुगेको छु । उपादेयताको समाप्ति पश्चात मान्छे स्वतः परिधि बन्दोरहेछ । हुन त परिधि हुनु भनेको गतिशील हुनु हो । म पनि गतिशील छु तर मेरो गतिको म कारक म नभई अरु कोही बनेको छ । म हालखबरबाट प्रभावित त हुन्छु तर आफैँ हालखबर बन्ने सामर्थ्य ममा छैन वा समाप्त भयो । कारण राम्रो वा नराम्रो जे भए पनि एकताका म पनि हालखबरमा थिएँ । केन्द्र हुनुको अर्थका गतिशून्य र परिधि हुनुको अर्थमा प्रतिक्रियाशून्य भएपछि अस्तित्वहीन होइँदो रहेछ । अँ, म परिक्रमाको कुरा गर्दै थिएँ परिक्रमा मान्छेलाई मात्र होइन देवतालाई पनि मन पर्दो हो । तसर्थ नै मान्छेहरु देवमन्दिरको परिक्रमा गर्छन् । मेरो कुनै निर्धारित गन्तव्य छैन र थिएन । गन्तव्य मात्र होइन प्रत्याशा पनि केही छैन । जीवनमा एकोहोरो हिँड्दाहिँड्दै यहाँसम्म आइपुगेँ म । मलाई थाहा नभएको होइन गन्तव्य बिनाको यात्राबाट कहीँकतै पुगिन्न । यति बेला मनमा एउटा मार्मिक कथन स्मृत भैरहेछ– एउटा मान्छे बाटोमा जाँदाजाँदै दोबाटोमा पुगेछ । कुन बाटो जाउँ भनी दोमन भएछ । एउटा स्थानीय मानिस देखेपछि उसले सोधे छ– कुन बाटो जानु ठीक होला ? स्थानीयले प्रतिप्रश्न गरेछ– तपाईंलाई कहाँ पुग्नु छ ? उसले भने छ– त्यसो त म कहीँकतै पुग्न हिँडेको होइन । स्थानीयले सल्लाह दिँदै भनेछ– तपाईं जुन बाटो जानु भए पनि ठीकै हुन्छ । हो, म धेरै लामो यात्रा पछि यहाँसम्म आइपुगेको छु तर म जहाँ आइपुगेको छु यो मेरो गन्तव्य होइन । पुग्नुपर्ने अन्तै थियो तर यहाँ यो पाइपुगेँ । यहाँ अर्थात् मेरो वर्तमान । मलाई यस्तो लाग्न थालेको छ – गन्तव्य निर्धारण नहुनाले नै म आफ्नो लागि केन्द्र भए पनि अरुका लागि फगत परिधि बनेको छु । #चितवन #राजनीति #रामबाबु घिमिरे
बहुरुपी छिमेकी: ब्रिटिस तलुवा चाट्नेले स्वाभिमानको कुरा नगरुँ नाकाबन्दी, लाद्नेले भाइचाराको कुरा नगरुँ सिरुपाते खुकुरीमा धार लगाउन सुरु गरुँ कि नगरुँ अखण्ड स्वतन्त्र नेपाल आमाको सपना पूरा नगरी नमरुँ मेरा जंगे पिल्लर अंग्रेजका दास मुलुकतिर नसारुँ बेटी और रोटीको सम्बन्ध भन्दै ढाडमा छुरा रोपी नमारुँ ग्यास, इन्धन, बिजुलीको लागि घाती छिमेकीको भर नपरुँ हेपाहा छिमेकीको दादागिरी अन्त्य नगरी ब्रह्मनाल म नसरुँ #पेरिस #प्रशान्त उप्रेती #फ्रान्स
उड्ने चरा: आरुको बोटमा बसेर चराहरू गाइरहेछन् नयाँ घामको गीत घाम उदाइरहेछ चराका चन्चल आँखाहरूमा पहेंलो घामले पातहरू दङ्ग छन् फूल उमार्ने सपनाहरूमा चरालाई उड्न दिनुपर्छ आकाशमा भँमरालाई उड्न दिनुपर्छ फूलबारीमा र पो प्राकृतिक हुन्छ आँखाको रङ तर हुचीलहरूलाई सह्य हुँदैन चराको उन्मुक्ति र ठुँगिरहन्छ आरुबोटका फूलहरू त्यसैले ऊ चराजस्तो भएर पनि चराजस्तो छैन चालामा त्यागेर हुचीलका झम्टाहरू बिर्सेर उसका सिकारी नजरहरू चरा चिर्बिराउँछ सुन्दर गीतहरूमा चरा गुनगुनाउँछ सुन्दर धूनहरूमा उसलाई उसकै सानो घरको लय काफी छ उसलाई उसकै पङ्खहरूको आकार विशाल छ यसैले त ऊ कसैको सिमानामा गाउँदैन कुरूप लाग्ने भाकाहरू कहिल्यै भत्काउन आउँदैन उसलाई आफ्नै चराहरूको आँगन हो यसैले उसका गीतहरू सुन्दर लाग्छन् जूनहरूलाई हो यसैले उसका चिरबिरहरू प्रिय लाग्छन् कानहरूलाई त्यसैले छेकेर हुचीलका राता आँखाहरू आऊ उन्मुक्त चरा उडौं आकाशमा जहाँ कसैले छुन नसकोस् हाम्रो उन्मुक्तिको सिमाना । #उड्ने चरा #जगन्नाथ पौडेल
मूर्ति सेवा होइन, जीव सेवा: “ढुङ्गाको जस्तो कस्तो कठोर मन!” भन्ने चलनचल्तीको यो उखानटुक्काले शीला-ढुङ्गाको कठोरतालाई देखाउँछ र हाम्रो उसप्रतिको धारणा पनि व्यक्त गरिरहेको हुन्छ। ढुङ्गालाई हामी भगवानको रुप मान्दै हुर्केका छौँ । “ढुङ्गगा खोज्दा देवता मिल्यो” भन्ने उखान पनि उत्ति नै प्रयोगमा आउने गर्छ । यसले कहिलेकाही ढुङ्गामा भगवान रहेको अर्थात् ढुङ्गाहरुको बीचमा भगवानको भावको गलत अर्थ पनि लाग्ने गरेको छ । आज पनि प्रत्येक अग्ला डाँडाहरुमा हुने कोट तथा मन्दिरहरुमा ढुङ्गाको मूर्ति नै हुने गर्छ र त्यसैलाई पुजिन्छ । भलै अहिले आधुनिक प्रविधि प्रयोग गरेर माटो, सिमेन्ट, रङरोगन गरेर ढुङ्गाजस्तै निर्जीव भगवान बनाइन्छ र हामी घण्टौँसम्म त्यही मूर्तिको दर्शन गर्न व्यस्ततम समय खर्चेर लाइनमा बस्छौँ । त्यही लाइनमा बस्दा कतिका घाँटीका सिक्री, औँलाका औँठीदेखि लिएर लगाएको चप्पल, जुत्तासम्म चोरिने गरेको समाचार त सामान्य नै बनेका छन् । अचेल प्रायः मन्दिरअगाडि बैँकमा पैसा सुरक्षित गर्न राखिने लकरजस्ता बाकस राखिन थालेको छ । लाग्छ, पुज्न जाँदै गरेको ढुङ्गामा भगवानको रुप हुन्थ्यो भने आफ्नै दर्शनको लागि लामो समय खर्चेको भक्तजनलाई ढुङ्गारुपि ती भगवानको अन्तरमनले अवस्य देख्ने थिए र भक्तजनको सामान हराउन उनले दिने थिएनन् । साँच्ची त्यसमा भगवान हुन्थे भने सूर्यले दिने ताप, प्रकाश जस्तै भगवानले भक्तजनको सामान लकरमै नराखी सामान आफैँ सुरक्षित हुने शक्ति दिन्थे । खै किन मलाई ढुङ्गासँग र ढुङ्गालाई भगवान मानेर ढुङ्गाको पूजा गर्ने प्रवृत्तिप्रति एक किसिमको वितृष्णा भाव पलाएको छ । ढुङ्गाप्रतिको यो वितृष्णा भाव जगाउन मेरो जीवनमा घटेका पाँच,छ वटा घटनाहरुले पनि सघाएको छ । जस्तो कि, सात कक्षासम्म गाउँको पढाइपछि अध्ययनका लागि सहर झरेसँगै म, दिदी, दाइसँगै सहरमा बस्ने गर्थे । आमा एक्लै गाउँमा बस्नुहुन्थ्यो । लगभग तीन घण्टा हिँडेर हामी प्रायः गाउँ शुक्रबार सधैँ जाने गर्थ्यौं । राक्से र रत्ने भन्ने ठाउँको बीचमा भएको ठूलो ढुङ्गामा सबैले निधार पुर्याएकै हुन्थे, भएको सानो रकम चढाएकै हुन्थे । म पनि त्यही ढुङ्गालाई ढोग्दै आमाको सुस्वास्थ्य र दीर्घ जीवनको कल्पना पोख्थेँ । यो ढुङ्गाप्रति मेरो चासो एकदमै बढदै गएको थियो । उक्त ढुङ्गगाको बारेमा गाउँका हितैषी अमृत दाइसँग सोधेँ । दाइले मैले कल्पना नै नगरेको अनौठो जवाफ दिए । त्यो ढुङ्गाको छेल पारेर एक दिन कुनै महिलाले पिसाब गर्दै गरेको, अर्को दिशाबाट पुरुष उक्त महिलातिरै आउँदै गरेको, पुरुषसँग लाज छोप्न उक्त ढुङ्गामा ती महिलाले ढोगेको र फूलपाती चढाएको नाटक गरेको र ती पुरुषले पनि सोही कार्यको अनुसरण गरेको, त्यो बाटो हिँड्ने सबेले पछि त्यसैलाई भगवानको मूर्ति मानेर पुज्न थालेको भन्ने दाइको सारसँग मन एक तमासले तरंगित बन्यो । केही वर्षपछि त्यसैको तलबाट मोटरबाटो बन्यो । मान्छेह्ररु त्यो पुरानो बाटोसँगै त्यो ढुङ्गा पुज्ने स्थानसम्म जान छाडे । यो देखेपछि अमृत दाइको ढुङ्गा प्रतिको कथन ठीक रहेछ भन्ने लाग्यो । मेरो ढुङ्गा मूर्ति प्रतिको लगाव यो घटनाले धेरै कम गरायो । मानिस स्वभावैले स्वार्थी यो मानेमा पनि भएको देखेँ कि भगवानरुपि त्यो ढुङ्गालाई पनि मान्छेहरु सहज तरिकाले पाउँदासम्म दर्शनरुपि त्यो भावना जगाइरहे तर माथि भनिएजस्तै बाटो फरक पर्नासाथ त्यो ढुङ्गाको बीचमा रहेको भगवान् पनि ओझेल परेको देख्दा लाग्थो, ढुङ्गाहरुमा अथवा मूर्तिहरुमा भगवान् हुन्छन् भन्ने भाव मनमा एक किसिमले हराउँदै गएको थियो । गाउँ गएको समय थियो । मध्यान्हको चार बजेको थियो । खाजा खाएर आमासँगै गफिँदै थिए । घर पल्तिरको गोविन भाइ हस्याङ्गफस्याङ्ग गर्दै आएर अमृत दाइको गोरु नजिकैको भिरमा लडेको बेलिबिस्तारसँगै हामी त्यतै कुदयौँ । घटना स्थलमा पुग्दा ठूलो ढुङ्गाभरि लतपतिएको रगतसँगै दाइको माले गोरुको मृत रुप देखेँ । त्यही ठाउँमा त्यो दुष्ट ढुङ्गा भन्दा झाडी, वा अन्य कुनै रुखहरु भएको भए गोरु बाँच्न सक्ने थियो । अमृत दाइको बुबाको मुखबाट यो कुरा सुनेपछि पापी ढुंगामा भगवानको कुनै स्वभाव देखिनँ । इतिहासमा अग्रेजहरुसँगको लडाईंमा माथिबाट ढुंगा वर्षाएर तिनीहरुलाई मारेको कहानी सम्झेँ । यी यस्ता धेरै कहानीले मलाई ढुंगाहरुमा कुनै किसिमको भगवानको रुप, भाव हुन्छ भन्ने लाग्दैन । हुन त म नास्तिक पनि होइन । भगवान नै मान्दिनँ भन्न खोजेको होइन । म हिन्दुधर्म अनुशरण गर्छु । धर्मभित्र भएका सम्पूर्ण संस्कार पूर्ण रुपले पालना गर्ने कोसिस गर्छु । प्रत्येक सजीव तत्त्वमा आत्मा हुन्छ । भौतिक शरीरसँगै आध्यात्मिक तत्त्व पनि शरीरमा हुन्छ भन्ने कुरामा म सहमत छु । हिन्दुजस्तै अन्य धर्ममा भएका संस्कारहरुको पनि म उच्च सम्मान गर्छु । सबै धर्मको सारतत्त्व आत्माशुद्धि नै हो जस्तो लाग्छ । जब सबै मनुष्यको आत्मशुद्धिले एक तमासले स्थान पाउँछ । क्रमशः माया मोह, लोभ, क्रोध, रिस, बासना, रागजस्ता तत्त्व आफैँ हराएर समाज शान्ति मार्गतर्फ हिँड्न सफल हुन्छ भन्ने मलाई लाग्छ । हाम्रा संस्कारमा रहँदै आएका सामान्य कुराहरु जस्तै चौतारा चिनेर वरपिपल लगाउने, सकेसम्म झूटो नबोल्ने, सकेसम्म सबैलाई सेवा भाव ले हेर्न, शाकाहारी भोजनामा बढी ध्यान दिने, चर्पीहरु सकेसम्म घरबाट टाढा राख्ने, चर्पी जाँदा एउटा मात्र कपडा प्रयोग गर्ने, साँझमा सकेसम्म घरपरिवारका सदस्यहरु जम्मा भएर भजनकीर्तन गर्ने, खाना खाँदा सकेसम्म गोडासम्म धुने र कपडा फेरेर खाने जस्ता अति महत्त्वपूर्ण कुराहरु गरे मात्र पनि हाम्रो समाजमा धेरै परिवर्तन आउनेछ । यी सारा कुराले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्य अवस्थामा सन्तुलन राख्ने कुरामा म कत्ति पनि विमति राख्दिनँ । यी सबै कुराहरुले हाम्रो आचारणमा शुद्धता अवश्य ल्याउनेछ । भगवान त यस्तो अवस्थामा भेटिएको हुन्छ, जसले बिना स्वार्थ, लोभ, कामवासना, रिस, द्वेष बिना अरुलाई निस्वार्थ सहयोग गरेको हुन्छ । आफैँले हिँड्दा वा कुनै काम गर्दा पनि एक सानो जीवाणुको पनि नास नहोस्, आफ्नो कारणले अरुलाई दुःख नहोस् भन्ने स्वहोसमा जो हिँडेको छ, ऊ आफैँभित्र भगवान पाउँछ जस्तो मलाई लाग्छ । मात्र यो कि, कुनै मूर्तिमा भगवान् छन् भनेर मूर्ति पुज्नु र भगवान खुसी हुन्छन् भनेर अरुको बलि मूर्तिलाई चढाउनु केवल मुर्खता मात्र हो । सकेसम्म भगवान मूर्तिमा खोज्न भन्दा आफूले गरेको सेवाभावमा छ, यसैमा तल्लिन भए निश्वार्थरुपमा सेवा भावमा लाग्दै गरिने प्रत्येक कार्यमा भगवानको रुप पाउन सकिन्छ जस्तो मलाई लाग्छ । भगवानको कल्पना मूर्तिमा होइन, मानव तथा जीव सेवामा खोजौँ। अबको कोरोना पछिको अतासिएको समाजमा मूर्तिपूजाले भन्दा मानवसेवाले अवस्य हामीहरुलाई भगवानसमक्ष पुर्याउनेछ । अवस्य समाज मूर्तिपूजाबाट भन्दा मानव सेवा गरेर भगवानलाई भेटिन्छ भन्नेतर्फ लाग्नेछ । भगवानको कल्पना मूर्तिमा होइन, मानव तथा जीवसेवामा अवश्य खोज्नेछन् भन्ने मलाई लाग्छ । #अर्पण तिवारी #भगवान #मन्दिर #मूर्ति
युएई-नेपाली साहित्यका अद्भूत समर: गीत लेख्नेले गीत लेख्छ । लय सिर्जना गर्नेले लय बनाउँछ । त्यही लयमा गीत गाउनेले गीत गाउँछ । र, बन्छ एउटा “डमी” रेकर्ड । जसलाई प्रविधिले माझ्छ । टल्काउँछ-चम्काउँछ । ठीकठीक ठाउँमा ठीक ढंगले बाजाहरूको धुन हाल्छ । जम्मै काम गर्छ- एउटा एरेन्जरले । जब गीत हिट हुन्छ, गायक हुन्छ हिट । संगीतकार, गीतकार हिट हुन्छन् । तर ऊ सधैँ ओझेलमा परिरहन्छ । ठीक यही कुरा समर चेम्जोङको नाम साहित्यमा एरेन्जरको कथा जस्तै लाग्छ । को हुन् समर चेम्जोङ ? समर चेम्जोङ खोज्नेहरूलाई साहित्यको सामान्य विद्यार्थी लाग्न सक्छ । किनभने, अहिलेसम्म उनका कुनै कृति प्रकाशित छैनन् । यद्यपि, उनले कवितामा कलम चलाउँछन् । गीतमा कलम चलाउँछन् । गजलमा कलम चलाउँछन् । मुक्तकमा कलम चलाउँछन् । आख्यानमा उनले दुईवटा पाण्डुलिपि नै तैयार गरिसकेका छन् । बहुविधामा कलम चलाउने यी स्रस्टा एकदम सामान्य छन् । खासमा उनी सामान्य भैदिएको यसकारण हो कि प्रायः सामान्य मानिसहरूले आफूलाई असामान्य सम्झिँदा उनलाई लाज लाग्छ । र, अरूले उनको लाज नदेखुन भनेर आफूले आफैँलाई सामान्य सम्झिन्छन् । यहाँ मैले लेख्न खोजेको यिनै सामान्य मानिसको युएई साहित्यमा असामान्य भूमिका माथिको चर्चा हो । तेह्र वर्षअघि समर युएई आउँछन् । सँगसँगै उनीसँगै आउँछ उनको भाषा-साहित्य प्रेम । त्यसो त, समर आउनुअघि पनि युएई साहित्यमा चहलपहल नभएको होइन तर उनी यहाँ आइसक्दा निभेको टुकीमा तेल नभएको देख्छन् । समरले ती दिनहरू सम्झदै भने, “युएईमा आएपछि दीपराज नेयोङहाङ र दीपकराज अधिकारीलाई भेटेँ । साहित्यमा रुचि भएका ब्यक्तिहरूसँग भएको यो नै मेरो पहिलो भेट थियो । समय क्रममा दलवीर सिंह बराइली, किरण कौशल मेयोङ्बा, सेल्कर तामाङहरूसँग भेट भएपछि भेटको दायरा फराकिलो हुँदै गयो । त्यसपछि हामीले एकअर्कामा सिर्जना सुन्ने-सुनाउने गर्न थाल्यौँ । रेसिडेन्सियल सिटी, आइकार्डको खुल्ला चौरमा महफिल जमे तर मभित्र भने साहित्यिक भेटघाट र सिर्जना वाचनलाई व्यवस्थित गरेर लैजानुपर्छ भन्ने हुटहुटी थियो । एकदिन यस्तै भेटघाटमा प्रस्ताव राखेँ, त्यहीँबाट ‘सगरमाथा साहित्य प्रतिष्ठान, नेपाल’ को गर्भाधान भयो ।’ युएई साहित्यको इतिहास लामो छैन । सन् २००० मा दलवीर सिंह बराइलीको नेतृत्वमा गठन भएको संस्था “नेपाल साहित्य परिषद, युएई” नै युएईमा पहिलो साहित्य संस्था भएको यसै संस्थाद्वारा प्रकाशित “अरब र प्रतिध्वनि” पत्रिकाले पुष्टि गरेको छ । त्यसको नौ वर्षपछि सन् २००९ मा लक्ष्मण सापकोटाको नेतृत्वमा “सर्वदा बाङ्मय प्रतिष्ठान, युएई” र, यसपछि सन् २०१३ मा विवेक दुलाल क्षेत्रीको नेतृत्वमा “सगरमाथा साहित्य मञ्च, युएई”, त्यही वर्ष महादेव अधिकारीको नेतृत्वमा “नेपाली साहित्य फूलबारी, दुबई”, मोहराज शर्माको नेतृत्वमा इएनएएस गठन हुन्छन् । यसैगरी सन् २०१६ मा टक गुरुङको नेतृत्वमा “सिर्जना वाचन डबली, युएई”को शुरूवात हुन्छ । यद्यपि, डबली कुनै साहित्य संस्था नभएको र यसले सिर्फ साहित्यकारहरूलाई “प्लेटफार्म” दिने काम गर्दै आइरहेको छ । भनिन्छ, एउटा जिउँदो मानिस जहाँ-जहाँ जान्छ, उसले आफूलाई जिउँदो मानिस भएको प्रमाणित गर्छ । समरको हकमा यो शब्द गज्जबले सुहाउँदिलो लाग्छ । उनको योजना थियो, ‘यहाँ त्यस्तो एउटा संस्था होस्, जसले साहित्य फाँटमा हलचल ल्याइदिओस् ।’ त्यसैले युएईमा रहेका प्रायः लेखकहरूसित उनले छलफल गरे। म्यासेजमा/भेटमा/फोनमा सबैलाई कम्भिन्स गर्ने प्रयास गरे। बर्खामा उम्रेका च्याउजस्ता जताततै नाम मात्रको संस्था बनाएर कमिटी गठनको तुक नरहने बरू युएईभरि एउटै मात्र संस्थालाई बृहत्तर बनाउने र साहित्यिक क्रियाकलापहरूलाई ब्यापक बनाउने हो भने त्यसले दूरगामी प्रभाव राख्ने उनको बुझाइ थियो । विडम्बना, उनको प्रस्तावलाई कसैले पनि गम्भीरतापूर्वक लिएनन् । बरू टक गुरुङ, जे. सागरहरूले “सिर्जना वाचन डबली”को शुरूवात गरे । आज डबलीले आफ्नो उन्नाइसौं शृङ्खला सफलतापूर्वक पूरा गरिसकेको छ । स्मरण रहोस्, सिर्जना वाचन डबलीको अवधारणा पनि समर चेम्जोङकै थियो । यो समय युएई साहित्यमा कुनै संस्था अन्तर्राष्ट्रियस्तरमा परिचित छ भने, त्यो “सगरमाथा साहित्य प्रतिष्ठान, नेपाल” नै हो । बाँकी कति हराए, कति नाममा सीमित छन् । त्यसो त एकबखत सगरमाथा साहित्य प्रतिष्ठानको अस्तित्व शून्य भैसकेको थियो । आफ्नै प्रयासले स्थापना भएको संस्था धर्मराउन थालेपछि समरलाई चिन्ता लाग्न थाल्यो । फेरि उनले सबैलाई झक्झकाउन थाले । छुट्टीमा गएर नफर्केका साथीहरूको रिक्त पद पूर्तिका लागि ‘योग्य’ व्यक्तिहरू खोज्न थाले । यसै क्रममा भेट्टाए गहकिलो छवि भएका शालिन कवि कृष्ण विश्वकर्मालाई । उनलाई नेतृत्व दिएपछि एकाएक संस्थाले गति लिन थाल्यो । आज उनकै नेतृत्वमा संस्थाको गतिविधि तीव्र बनाउनुको साथै वार्षिक रूपमा अन्तर्राष्ट्रिय गजल/कविता प्रतियोगिताहरूको सफलतापूर्वक आयोजना गर्दै आइरहेको छ । त्यसो त, स्थापनाको केही समयमा नै “प्रवासका फूलहरू” र “हाम्रो प्रतिविम्ब” कृति प्रकाशित गरेर दरिलो उपस्थिति बनाएको संस्थाले पछिल्लो समय प्रकाशित गरेको कृति हो- “अक्षरहरूको सगरमाथा” । समर ढुक्कसँग भन्छन्, ‘अहिले “अब संस्था सही ट्र्याकमा आएको छ, रिपेयरिङ भएर हाइवेमा दगुरिरहेको बसजस्तो । यसले कति लामो दूरीको यात्रा गर्छ, अहिल्यै भन्न सकिन्न, तर अब म सुस्ताए पनि चिन्ता छैन ।” सगरमाथा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण विश्वकर्माको मूल्यांकन यस्तो छ, “उनी त्यस्तो साहित्यकार हुन्, जसले पर्दा पछाडि रहेर पनि पर्दा अगाडिकाले भन्दा बेशी साहित्य-कर्म गर्दै आइरहेका छन् । मूलत: युएई साहित्यमा उनको योगदान अतुलनीय रहेको जीउँदो साक्षी म स्वयं हुँ । सिर्जना वाचन डबलीको मूल कन्सेप्ट वहाँकै हो । आज सिर्जना वाचन डबली युएईकै चर्चित साहित्यिक थलो हुनुको प्रथम श्रेय वहाँलाई नै दिँदा अतिशयोक्ति हुँदैन । मृत प्राय: रहेको सगरमाथा साहित्य प्रतिष्ठानलाई बौराएर खाडीमा एउटा दर्विलो अस्तित्वको मुकाममा पुर्याउन उहाँले गरेको अनवरत योगदान र क्रियाशीलता वस्तुत: अनुकरणीय छ । समग्रमा समर चेम्जोङ युएई साहित्यमा एउटा अलिखित/ अवर्णित भुइँफूल हुन् भन्ने लाग्छ ।” अन्तरमुखी स्वभावका समर अहिले सगरमाथा साहित्य प्रतिष्ठानका संरक्षक छन् । उनले अरुले नसोचेको भिजन बनाउँछन् र संस्थाको मिटिङमा प्रस्ताव राख्छन् । अब समरको दुइटा सपना छ । एउटा, यो संस्थालाई अन्तर्राष्ट्रियकरण गर्ने र अर्का यही संस्थाको नामबाट कालान्तरमा प्रकाशन गृह खोल्ने । उनको प्रस्तावलाई संस्थाले पारित पनि गरिसकेको छ । त्यसको लागि उनले नेपाल, साउदी, मलेसिया, कतार, पोर्चुगल, इजरायल लगायतका देशमा रहेका लेखकहरूसँग छलफल पनि चलाइरहेका छन् । उनी भन्छन्, “पहिला मेरो योजना सफल भएन, किनभने त्यहाँ हामी थिएनौँ । अब मेरो योजना सफल हुनेछ किनभने यहाँ हामी छौँ ।” #जीवित खड्का #जीवित खड्का मगर #युएई #समर चेम्जोङ
क्यानाडामा नेपाली चिनाउने किरणका तीन कृति: क्यानाडामा नेपाली भाषा–साहित्य र संस्कृतिका बारेमा कुरा गर्नुपर्दा सर्वप्रथम यहाँका समाजसेवी किरण ढुंगानाको नाम अग्रपंक्तिमा आउँछ । सन् १९५३ (२०१० साल) मा काठमाडौंको चाबहिलमा जन्मिएका किरण ढुङ्गानाले त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्दाको समयदेखि नै साहित्यक लेखनप्रति रुचि राख्दै र लेख्दै आएका थिए । सन् १९९८ (वि.सं. २०३६ साल) को विद्यार्थी आन्दोलनमा समेत सहभागी भएर अहिलेका प्रतिष्ठित राजनीतिज्ञ सुभाष नेम्वाङ, प्रदीप नेपालहरुसँगै भद्रगोल जेलमा ५७ दिन बिताए । अध्ययनपछि केही वर्ष वाणिज्य बैंकमा काम गरेका थिए । त्यपछि आफ्नै व्यवसाय गर्न थालेको र केही वर्ष व्यवसाय गरेपछि २६ वर्षे युवा ढुङ्गाना नयाँ जोश र जाँगर बोकेर पातालवासको रङ्गीन सपना बोकेर क्यानाडा प्रवेश गरे । प्रारम्भमा मोन्ट्रियलबाट आफ्नो प्रवासी जीवन शुरु गरेका ढुङ्गानाले तुरून्तै विशाल टोरोन्टोको ब्राह्म्टन शहरलाई आफ्नो कर्म थलो बनाउँछन् । दुई छोरा र दुई छोरीका पिता ढुङ्गानाले क्यानडामा आफ्नो आगमन भएकै बेलादेखि नेपाली भाषी खोज्दै सम्पर्क बढाउँदै गए । सन् १९७८ मा पहिलो पटक क्यानडाको मोन्ट्रियल शहरमा आउँदा अनेपाली मित्रका माध्यमबाट भारतीयहरुको एउटा रेष्टुरेन्टमा पुगे र त्यहीँबाट एकजना नेपालीको सम्पर्कमा आए । सत्तरीको दशकमा कुनै एक्पोमा भाग लिन आएका शर्माजी मोन्ट्रियलमा परिवारसहित बस्दै आएका शर्मा र ढुङ्गानाको दोस्तीपछि अटवाकी राधा बस्नेत, टोरोन्टोका रमाकान्त अधिकारी, भ्यानकुभरका माधव कोँजु हुँदै ब्राह्म्टनसम्म आइपुग्दा नेपालीहरूसँगको सम्पर्क संख्यात्मक रूपमा बढ्दै गयो । प्रारम्भमा विशाल टोरन्टोमा (टोरन्टो, मिसीसाँगा, ब्राह्म्टन, स्कारबोरो) बसोबास गर्ने नेपालीहरुका बीच भेटघाटको कार्यक्रम हुने गर्थ्यो । यसरी भेटघाटको क्रममा ढुङ्गानाले लादान, राजजित सिंह कटोज, सुरा हल (जङ्ग थापा), कुमुद शर्मा, कुञ्जर शर्मा, राधा बस्नेत, वेदजङ्ग थापा, भद्रिका शर्मा, डा. जपनारायण श्रेष्ठ, ग्वेल्फमा बाबुराम (क्रिस) भट्टराई आदिसँग भेट्ने मौका पाएपछि नेपालीहरुलाई समेट्ने काम गर्न थाल्नु भयो । ढुङ्गानाले क्यानाडामा बसोबास गर्ने नेपालीहरुका बीच समन्वय बनाई राख्न र सबैलाई एउटै मञ्चमा उभ्याउने उद्देश्यका साथ काम गर्दै अघि बढे । सन् १९८३ मा उत्तर अमेरिकालाई समेत समेट्ने उद्देश्यका साथ डिसीमा ‘एशोसिएसन अफ नेपालिज् इन अमेरिकाज्’ (ए.एन.ए.) को स्थापना भएपछि डा. कुञ्जर शर्मा क्यानडाको प्रतिनिधि बने । सन् १९८९ मा एएनएको क्यानडा शाखा बनाएपछि वीरेन्द्र थापा ए.एन.ए. क्यानडाको अध्याक्ष बन्नु भयो । त्यसको एक वर्षपछि किरण ढुङ्गानालाई एएनए क्यानडाको अध्यक्ष बनाइयो । अमेरिकामा रहेको संस्थाको अध्यक्ष बनेपछि उनलाई क्यानडामा नै नेपालीहरूको सहभागितामा बेग्लै संस्था खोल्ने जमर्को चल्यो । यसैको नतिजा हो, सन् १९९१ मा “नेपाली एशोसिएसन इन क्यानाडा” – नेक (एन.ए.सी.) को स्थापना हुनु । यसै संस्थाका माध्यमबाट नेपालीहरूले आफ्नो परम्परागत चाडपर्वहरू मनाउन थाले । यसरी ढुङ्गानाले संस्थाका माध्यमबाट चाडपर्वका अवसरमा भेटघाट कार्यक्रमको आयोजना गराएर एउटै मञ्चमा सबैलाई समेट्दै क्यानडामा नेपालीको संस्थागत बिस्तार गराउन थाले । यहीँ संस्थाका माध्यमबाट नेपाली समाजको गतिविधिलाई लिपिमा उतार्न तथा सबैमा समुदायको सूचना प्रवाह गर्न ढुङ्गानाले सन् १९९२ मा अंग्रेजी भाषामा “न्यूज लेटर” को प्रकाशन आरम्भ गरे । पत्रिकाका माध्यमबाट संस्थागत गतिविधिलाई सबैसामु पुर्याउन प्रकाशन आरम्भ भएको ‘न्यूज लेटर’को पहिलो अङ्कमा नै प्रा. कुमुद देवकोटाको नेपाली भाषामा लेखिएको लेख ‘बाहिर बस्नेहरुलाई शंका छ’ नेपाली भाषामा प्रकाशित हुन्छ । यही लेखलाई क्यानाडामा नेपाली भाषामा लेखिएर प्रकाशित भएको पहिलो रचनाका रुपमा लिन सकिन्छ । अंग्रेजी भाषामा निस्कने ‘न्यूज लेटर’ सन् १९९३ मा नेपाली भाषामा ‘लाली गुँरास’को नामबाट प्रकाशित हुन थाल्छ । “नेपाली एशोसिएसन इन क्यानाडा” (एन.ए.सी.) बाट प्रकाशित हुँदै आएको ‘लाली गुँरास’ पत्रिका दुई अङ्क प्रकाशित भएपछि बन्द हुन्छ । त्यसपछि एन.ए.सी. को ठाउँमा ‘नेपालिज कम्युनिटी नेटवर्क अफ क्यानाडा’ (एन.सी.एन.सी.) को नामबाट नयाँ संस्था स्थापना भएपछि यहीँ संस्थाको मुखपत्रका रूपमा ‘दियालो’ को नामबाट नेपाली भाषाको पत्रिकाको प्रकाशन शुरु हुन्छ । ‘दियालो’लाई उत्तर अमेरिकाबाट प्रकाशित पहिलो नेपाली भाषाको पत्रिका मानिन्छ । आजको मितिसम्म पनि ‘दियालो’ समय अन्तरालमा प्रकाशित हुँदै आएको छ । यही ‘दियालो’ को दोस्रो अङ्क (१ः २ समर १९९४ (वि.सं. २०५१) ) मा पहिलो पटक क्यानाडामा बस्ने क्यानाडियाली नेपाली कविको कविताका प्रकाशित हुन्छ । क्युबेक प्रान्तको मोन्ट्रियलका उही शसु (शरद सुब्बा) को “टुक्राहरु विवशताको” दुईवटा साना कविताहरु प्रकाशित हुन्छन् । यसैलाई क्यानाडामा लेखिएको पहिलो नेपाली कविता मान्न सकिन्छ । २० वर्षसम्म ‘दियालो’को प्रकाशनलाई निरन्तरता दिँदै थियो । सन् १९९५ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बाट वर्षको प्रसिद्ध लेखक उपाधिबाट विभूषित ढुङ्गानालाई सन् २००१ मा नेपाल–अमेरिका काउन्सिल पुरस्कारबाट सम्मानित भएका थिए । सन् २००६ मा नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घबाट पुरस्कृत ढुङ्गानालाई २०१२ मा अनेसास र नेपाली साहित्य समाजले संयुक्त रूपमा अभिनन्दन गरेको थियो । उनले आफ्नो पत्रकारितासँगै लेखन कार्यलाई पनि निरन्तरता दिँदै थिए । साहित्य प्रतिको रुचिले गर्दा उनले अनेसासको अध्यक्ष (सन् १९९६–९७) भएर पनि भाषा साहित्यको सेवा गरेको देखिन्छ । किरण ढुङ्गानाको साहित्यिक यात्रा आफ्नो विद्यार्थी कालदेखि नै शुरु भएको थियो । उनको रुचि र लेखनले बिस्तारै निरन्तरता पाउँदै गएपछि उनका रचानहरु सन् १९७३–७४ देखि फाटफुट प्रकाशित हुन थालेको पाइन्छ । क्यानाडा प्रवेशपछि पनि उनको लेख्ने बानीले निरन्तरता पाउँदै गएको थियो । उनका केही रचनाहरु बेलायत र भारतको सिक्किमका पत्रिकाहरुमा समेत प्रकाशित भएका छन् । विगत २५ वर्षदेखि कथा, कविता, निबन्ध आदि विधामा निरन्तर कलम चलाउने ढुङ्गानाको आजको मितिसम्ममा तीनवटा पुस्तकहरु प्रकाशित भएको देखिन्छ । उनको पहिलो कृति आत्मसंस्मरणका रुपमा ‘मोन्ट्रियल क्याफे’ सन् २०१५ (माघ २०७१) मा प्रकाशित भएको थियो । यसलाई अनेसासले सन् २०१७ मा उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत गरेको थियो । त्यसपछि उनको दोस्रो कृति ‘कमली’ उपन्यास सन् २०१६ (मंसिर २०७३) प्रकाशित भएको पाइन्छ भने सन् २०१९ (बैशाख २०७६) मा उनको तेस्रो कृति ‘झरेको पात’ उपन्यास प्रकाशित भएको देखिन्छ । “मन्ट्रियल क्याफे” “मन्ट्रियल क्याफे” किरण ढुंगानाको पहिलो कृति हो । २०७१ माघ (सन् २०१५) मा नेपाली साहित्य समाज, क्यानडा र बाबाज्ञानी प्रकाशन, नेपालबाट प्रकाशित “मन्ट्रियल क्याफे” मा मैले पनि उनका बारेमा लेख्ने अवसर पाएको थिएँ । २७२ पृष्ठको “मन्ट्रियल क्याफे” क्यानडामा नेपालीहरूको आगमनको इतिहास पाइन्छ । उच्चशिक्षा अध्ययनका लागि ढुङ्गानाले नेपालबाट क्यानडाको यात्रा शुरु गरेपछि क्यानडालाई नै आफ्नो कर्मथलो बनाउने निर्णय र त्यसबेलाका क्यानडामा बसोबास गर्ने नेपालीहरुको अवस्था र संख्याका बारेमा जानकारी गराएका छन् । नेपाली साहित्यमा आयामेली आन्दोलनका एक प्रवर्तक ईन्द्रबहादुर राईको २०२१ (सन् १९६४) सालमा प्रकाशित “आज रमिता छ” उपन्यास नेपाली साहित्यमा संरचना र रूपविन्यास दुवै दृष्टिकोणबाट परम्परागत लेखनभन्दा एकदम भिन्न शैली अपनाएर लेखिएको कृतिका रूपमा देखा पर्छ । आयामेली भाषामा लेखिएको यो नयाँ औपन्यासिक प्रवृत्तिलाई पछिका लेखकहरूले पनि पछ्याउँदै आएका छन् । नेपाली उपन्यासको इतिहासमा यथार्थवादको आत्मगत पक्षलाई समेटेर लेखिएको उपन्यास “आज रमिता छ” लाई राईले कुनै अध्याय, परिच्छेद, शीर्षकमा नबाँडिकन प्रारम्भ गरेर कथाको अन्त्य गरिएको छ । किरण ढुङ्गानले पनि यही शैलीको अनुशरण गरेर आफ्नो पहिलो कृति “मन्ट्रियल क्याफे” लेखेका छन् । आत्मसंस्मरणका रुपमा लेखिएको “मन्ट्रियल क्याफे” कृति पृष्ठ १७ बाट शुरु हुन्छ र बिना कुनै अध्याय, परिच्छेद वा शीर्षकअगाडि बढ्दै पृष्ठ २७२ मा आएर क्यानडाको कन्जर्भेटिभ दलका नेता स्व. जेक लेटनको भनाइमा गएर टुङ्गिन्छ । मेरा प्यारा मित्रहरू क्रोधभन्दा प्रेम राम्रो त्रासभन्दा आशा राम्रो निराशाभन्दा आशावादी हुनु राम्रो त्यसैले आऊ हामी प्रेम गरौं आफ्नो ईच्छापूर्तिका लागि आशावादी भएर यसरी हामी विश्व परिवर्तन गर्न सक्ने छौं साहित्यको विधागत नियमका आधारमा किरण ढुंगानाको पहिलो कृति “मन्ट्रियल क्याफे” लाई आत्मसंस्मरणका रूपमा लिन सकिन्छ । सन् १९८० देखि २००० अर्थात २० वर्षको समयावधि समेटेको यस कृतिमा उनको निजी अनुभूतिहरू मुखारित भएका छन् । ४० वर्षअगाडि अध्ययनका सिलसिलामा उत्तरी गोलार्धको क्यानडामा आएर उनले देखेका, सुनेका, भोगेका र अनुभव गरेका संघर्षमयका दिनहरुको अनुभव यस कृतिमा टिपिएका छन् । आफ्नो भूमिकामा उनले यस कृतिलाई आफ्नै जीवन दर्पण भनेर उल्लेख गरेका छन् । कृतिको थालनी काठमाडौंको एयरपोर्टबाट शुरु हुन्छ र अन्त्य टोरन्टोको एयरपोर्टमा गएर टुङ्गिन्छ । काठमाडौंबाट उडेको हवाईजहाजले एकजना नेपालीलाई क्यानडासम्म पुर्याउँछ भने टोरन्टोमा अवतरण भएको हवाईजहाजले क्यानडामा नयाँ नेपाली जन्माउने आमालाई भित्र्याउँछ । किरण ढुङ्गानाले नेपाल छोडेको मितिदेखि यो कृति लेखुन्जेलसम्मको उनको जीवनमा देखापरेका उतारचढावको विवरण यस कृतिमा पाइन्छ । यस कृतिमा एकातिर नेपालको प्राकृतिक सौन्दर्यताको मुक्तकण्ठबाट बयान भएको छ भने अर्कोतिर क्यानडाको प्राकृतिक सौन्दर्यता र नीति नियमका बारेमा पनि राम्ररी चर्चा भएको पाइन्छ । उनले यसलाई आत्मसंस्मरणका रूपमा लिए पनि यसको लेखन कार्य मनभित्रका आत्मअभिव्यक्तिबाट मात्र पूरा भएको छैन । यसको लेखन कार्यभन्दाअघि उनले क्यानडाको इतिहासलाई राम्ररी नियालेर अध्ययन गरेको देखिन्छ । उनले क्यानडाका बारेमा पनि राम्ररी अध्ययन गरेको देखिन्छ । लेखनको क्रममा उनले आफू क्यानडा आएको दस वर्षअगाडि मोन्ट्रियलको रेस्टुरेन्टमा काम गर्ने शर्माजी क्यानडा भित्रिसकेको प्रसङ्गसँगै त्यसपछि नेपालीहरूका बारेमा जानकारी लिने र राख्ने उत्सुकता उनमा बढ्दै गयो । त्यसपछि शुरु हुन्छ उनको नेपालीहरुको विवरण टिप्ने काम । क्यानडा आएपछि उनले भेटेकाहरु माधव कोजुँ, धनबहादुरकी छोरी चन्द्रा फिल्ड, विजय श्रेष्ठ, मारिया, दिनेश श्रेष्ठ, एनी, रवि त्रिपाठी, राजसिंह कटोज, बेदजङ्ग थापा, सन्ध्या थापा, कुमुद शर्मा, भद्रा शर्मा, श्याम योकलेन, शोभा भट्टराई, अधीर राणा, शैलेन्द्री राणा, हनी, मृगेन्द्र गुरुङ्ग, सरोजनी, राजेन्द्र श्रेष्ठ, मीना, वीरेन्द्र थापा, नीमा शेर्पा, बेन म्याकलहनी, बाबुराम (कृष) भट्टराई, आशीष गिरी, शरद सुब्बा, राधा बस्नेत, जयनारायण श्रेष्ठ, लक्ष्मण खड्का, अम्बिका अधिकारी, हेमलाल अर्याल, रमाकान्त अधिकारी आदि धेरै नामहरु छन्, जसलाई हाम्रा पूर्खाका रूपमा लिन सकिन्छ । क्यानडामा नेपालीहरुको आगमनको इतिहासलाई समेटेर लेखिएको यस कृतिमा उनले क्यानडामा केशवराप पिँडालीले भ्रमण गरेपछि फूलैफूलको शहर भनेर लेख नै प्रकाशित गरेको कुरा पनि आउँछ । २०४६ सालको आन्दोलनपछि नेपालको पहिलो मन्त्रीका रुपमा योगप्रसाद उपाध्यायको भ्रमणका बारेमा, सन् १९८७ मा एसोसिएसन फर नेपालिज् इन अमेरिकाज (ए.एन.ए.) को सम्मेलन भएकोबारे जानकारी पनि दिएका छन् । उनले हेमलाल अर्याल पहिलो नेपाली सेफले हिन्दुस्तानी दावत रेस्टुरेन्ट खोलेको कुरा । एक्लो नेपाली भए पनि आफूसँग भएका नेपाल झल्काउने सामानका आधारमा अनेपाली मित्रहरुको सहयोगमा कन्कडिया विश्वविद्यालयमा नेपाल–डे मनाएर क्यानडामा नेपाललाई चिनाउने प्रयास आदि विभिन्न कुराको जानकारी संग्रहित छ । यस कृतिमा क्यानडामा नेपालीहरुको आगमनको कथा मात्र नभएर क्यानडामा आप्रवासीहरुको आगमनको इतिहास पनि पढ्न पाइन्छ । सन् १८९० मा प्यासिफिक रेल्वेको लिक राख्न चिनियाँसँगै भारतीय मजदुरहरुको आगमन । सन् १९२० मा मुम्बई (बम्बई) बाट सिखहरुको आगमनको कथासँगै जर्मन, नाजी, हिटलर, इटाली, मुसालिनो आदिलाई पनि प्रसङ्गानुसार समेटेका छन् । कृतिले क्यानडाका चाडपर्वहरुहरुका बारेमा जानकारी दिन सक्षम भएको छ । यस्तै विदेशमा बसेर विदेशीहरुको चाडपर्वमा रमाइरहेको अवस्थामा किरणलाई पनि आफ्नै परम्परागत चाडपर्वमा आफ्नो दाजुभाइ–दिदीबहिनीसँग मनाउने अभिलाषा पलाउन थालेपछि उनकै प्रयासबाट क्यानडामा पहिलो नेपाली संस्थाको स्थापना हुन्छ । यही संस्थाबाट क्यानडामा पहिलो दशैं कार्यक्रमको आयोजना हुन्छ र यही संस्थाले क्यानडामा पहिलो पत्रिका प्रकाशित गर्छ । ‘कमली’ सन् २०१६ (मंसिर २०७३) मा शारदा मैनाली ढुङ्गानाद्वारा प्रकाशित भएको ‘कमली’ ऐतिहासिक उपन्यासका रुपमा देखा परेको छ । बाह्र परिच्छेदमा बाँडिएको २१२ पृष्ठको ‘कमली’ उपन्यासले ५८ वर्षको कथालाई तीन पुस्तामा देखाएको छ । कथाको शुभारम्भ सन् १९०१ देखि नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर ज.ब.राणाको समयबाट शुरु भएर सन् १९५९ मा विश्वेश्वरप्रसाद कोइराला नेपालको बाइसौं प्रधानमन्त्रीको समयमा आएर टुङ्गिन्छ । ऐसिहासिक विषयवस्तु समेटेर लेखिएको यस उपन्यासमा ३७ जना पात्रहरु विभिन्न अवस्थामा देखा पर्छन् । यज्ञप्रसाद शर्मा, हरिहर शर्मा र मधुसुधन शर्मा तीन पुस्ताका माध्यमबाट राणकालीन नेपालको अवस्था र व्यवस्थाको वर्णन भएको यस उपन्यासमा मुख्य पात्रका रूपमा ‘कमली’ देखाइएको छ । उनका जीवनको आरोहअवरोहलाई ऐतिहासिक कथाको तानाबाना बुनेर यस उपन्यासमा मधुसुधनसँग कमलीको प्रेमगाथा देखाइएको छ । यही प्रेमकथाको सेरोफेरोमा राणकालीन नेपालको इतिहास र प्रजातन्त्रिक नेपालको उदयका कथाहरूका बारेमा जानकारी पाइन्छ । किरण ढुङ्गानाले ऐतिहासिक घटनाक्रमलाई उपन्यासका माध्यमबाट एउटा प्रेमकथाको सूत्रमा बाँधेर यहाँ प्रस्तुत गरेका छन् । यसमा उनी सफल पनि भएका छन् । इतिहास सबैका लागि रोचक बन्न सक्दैन त्यसैले उनले नेपालको एक खण्डको इतिहासलाई प्रेमको जलप लगाएर यसमा पस्केका छन् । यही कथाभित्र उनले तत्कालीन नेपालको शोषण, संघर्ष र चाकरीका विभिन्न उतारचढावलाई देखाएका छन् । राणाकालीन नेपालमा देखापरेको दरबारीया चाकरीको झलक र शोषणका राजनीति उपन्यासले समेटेको पाइन्छ । राणाकालको इतिहाससँगै त्यसबेलाको वास्तविकतालाई समेटेर लेखिएको यस उपन्यासले धरहराबाट बिगुल बजाएर जनतालाई सूचना दिने चलन, नब्बे सालको भुइँचालोको बयान, नेपालमा राणा विरुद्धका स्वरहरु गुञ्जिन थालेको अवस्था, बनारसमा कांग्रेसको चहलपहल, विराटनगर जुट मिलको मजदुर आन्दोलन, २००५ वैशाखमा नेपालको संविधान जारी भएको जानकारी, राणाहरुका बीचमा सत्ताका लागि शुरु भएको षडयन्त्र, राजाका छोरी–चेलीलाई राणाहरुले बिहे गर्ने परम्परा जस्ता इतिहासलाई समेटेको छ । राम्रो अध्ययन र अनुसन्धानपछि जन्मेको कमली उपन्यासमा उपन्यासकारको मिहिनेत देख्न पाइन्छ । उनले चन्द्र शमशेरको बेलायत यात्राका क्रममा फ्रान्स, रोम, भारतका विभिन्न शहरहरुको भ्रमणका कुराहरुलाई पनि समेटेर त्यहाँको इतिहास पस्केका छन् । आफूले क्यानडालाई कर्मभूमि बनाएकाले उपन्यासमा क्यानडाको शरणार्थी प्रसङ्गलाई समेत स्थान दिएर सन् १९१४ मा कामागातामारो पानीजहाजबाट क्यानडा आएको ३४९ जना सिखहरूलाई क्यानडा सरकारले प्रवेश निषेध गरेर फर्काइदिएको इतिहासलाई पनि स्थान दिएका छन् । बुद्धभूमिमा जन्मेका ढुङ्गानाले बुद्धको महिमासँगै सम्राट अशोकलाई पनि उपन्यासमा स्थान दिएर सम्राट अशोकले अपनाएको बुद्धत्वको चर्चा समेत गर्न भ्याएका छन् । यसका अतिरिक्त उपन्यासमा विश्वयुद्ध र नेपोलियन युद्धको चर्चासँगै कालिदासदेखि शेक्सपियरको साहित्यिक योगदानबारे चर्चा गर्दै लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको विश्वप्रसिद्ध चित्रदेखि जुद्ध शमशेरको कलकत्ता यात्राको बेला रवीन्द्रनाथ टैगोरसँग भेटेको कुरा पनि लेखेका छन् । उपन्यासको थालनी चन्द्र शमशेरको राज्यकालबाट हुन्छ र चन्द्रपछि जुद्ध शमशेर, पद्ध शमशेर हुँदै देव शमशेर र मोहन शमशेरको समय देखाउँदै बिपी कोइरालाको समयमा आएर बिट मार्छ । जङ्गबहादुर राणाको बेलायत यात्रापछि चन्द्र शमशेरले बेलायतको यात्रा गरेका थिए । कथाको तानाबाना त्यहीँबाट शुरु हुन्छ । राणाकालीन नेपालको प्रशासकीय अवस्थाको चर्चा गर्दै त्यस बेलाको काठमाडौंका गल्ली, चोकहरुबाट लिएर मठमन्दिर, शहर बजारका बारेमा राम्रो बयान गरेका छन् । राणकालीन नेपालको अवस्थाको चर्चा गर्दै त्यसबेला भारतको बनारसमा प्रजातन्त्रको फिलिङ्गो बल्न थालेको अवस्था र नेपाल प्रजा परिषदले शुरु गरेको सन् १९४० को आन्दोलनको प्रसङ्गसँगै त्यसमा पक्राउ परेका शुक्रराज, धर्मभक्त, दशरथ चन्द, गङ्गालाललाई फाँसीको सजाय सुनाएको कुरालाई पनि उपन्यासले समेटेको छ । यस उपन्यासबाट राणकालीन नेपालको धेरै कुराहरुका बारेमा जानकारी थाहा पाउन सकिन्छ जस्तै अहिलेको बनेपा-सिन्धुली मार्ग राणाकालमा पनि चर्चा भएको बारे । राणाकालमा युवाहरु राजनैतिक कारणले देशबाट पलायन हुन बाध्य भएको अवस्थाका बारे । तत्कालीन नेपालको प्रशासनिक व्यवस्थाका बारे आदि । सरल भाषा शैलीमा लेखिएको यस उपन्यासबाट ढुङ्गानाको आख्यान लेखनमा केही कमी कमजोरीहरु देखा परे तापनि उनको पहिलो प्रयास प्रशंसनीय रहेको छ । ‘झरेको पात’ किरण ढुङ्गानाको तेस्रो कृति ‘झरेको पात’ सन् २०१९ मा प्रकाशित भएको देखिन्छ । नेपाली साहित्य समाज, क्यानडा र बाबाज्ञानी प्रकाशन, काठमाडौंबाट प्रकाशित ‘झरेको पात’ उनको दोस्रो उपन्यास कृति हो । अघिल्लो उपन्यासले राणाकालीन नेपालीलाई विषयवस्तु बनाएको थियो भने ‘झरेको पात’ले दोस्रो युद्धपछिको क्यानडाको जनजीवनलाई विषयवस्तु बनाएको छ । क्यानडामा जाडो शुरु हुनभन्दाअघि हुरीबतासले वातावरणलाई नै नरमाइलो बनाउँदै गएको हुन्छ । अनि त्यसपछि शुरु हुन्छ हिमपात । मानिसको जीवनमा सुख र दुख समानान्तर रूपमा आउने गर्छ । प्रकृतिले पनि एवम् तरिकाले मौसम परिवर्तन गर्दै जान्छ । क्यानडामा पनि मौसमको कहरले मानवीय जीवनमा नराम्ररी प्रभाव पारेको हुन्छ । यस उपन्यासमा टोरन्टोको पश्चिममा पर्ने सानो तर प्राकृतिक सौन्दर्यले भरिएको बेलउड (गाँउ) शहरमा आजभन्दा ५०–६० वर्षअगाडिको अवस्था र यसका मुख्य पात्र लोराको जीवनका आइपरेका कष्टमय अवस्थाको बयान पाइन्छ । ७३ पृष्ठको यस लघु उपन्यासले बेलउडको सेरोफेरोमा कथा बुनेको छ । कथामा हिउँदकै मौसममा प्राकृतिक प्रकोपमा परेर आमा गुमाउनु परेकी लोरालाई उनकी सौतेली आमाले दिएको दुःख र अमानवीय व्यवहारको वर्णन र लोराले देखाएको मानवीय व्यवहारको व्याख्या पाइन्छ । वेलउड, किच्नर र टोरोन्टोको वरिपरि रुमल्लिएको कथाले क्यानडामा आप्रवासीहरुको आगमनको इतिहास देखाउने प्रयास गरेको छ । उपन्यासले क्यानडाको इतिहासमाथि प्रकाश पार्दै यस प्रकृति भूमिका आप्रवासीहरुको मानव इतिहासको उत्खनन् गरेको छ । दोस्रो युद्धपछि मानवीय जीवनमा देखापरेको सामाजिक परिवर्तनको कथाव्यथालाई उपन्यासले समेट्न प्रयास गरेको छ । क्यानडालाई दोस्रो घर बनाएर एसियाका कामदारहरुमात्र नभएर जर्मन, इटाली, पोर्चुगलबाट पनि मानिसहरुको आगमन हुँदै जान थालेको र हिउँदको पीडादायी जीवन शैली बिताउँदै नयाँ क्यानडा बनाउनमा आप्रवासीहरुको भूमिकामाथि प्रकाश पारिएको छ । यहाँका आदिवासीहरुको पीडामा मलहम लगाउँदै आप्रवासीहरुले यो भूमिमा मानवबस्ती बसालेको तथ्य यस उपन्यासमा पाइन्छ । लोराको पीडादायी जीवनका माध्यमबाट ढुङ्गानाले क्यानडामा मनाउने प्रायः सबै चाडपर्वहरुको राम्ररी चर्चा गरेका छन् । यहाँको प्राकृतिक सौन्दर्य, यहाँको सामाजिक, धार्मिकसँगै राजनीति कार्यप्रणालीका बारेमा पनि व्याख्या गरेका छन् । समष्ठीमा यस उपन्यासले आजभन्दा आधादशकअघिको क्यानडामा आप्रवासीहरुको कष्टमय जीवनको व्याख्या गर्दै यस मुलुकको प्राकृतिक विशेषताका सकारात्मक र नकारात्मक पक्षमाथि सरल र सहज भाषा शैलीमा बयान गरेको छ । बोलीचालीको सरल भाषा शैलीको प्रयोगसँगै देशानुरूपको प्रसङ्गमा अंग्रेजी शब्दहरुलाई पनि प्राथमिकताका साथ राखेका छन् । यस उपन्यासलाई पनि ढुङ्गानाले बिना कुनै परिच्छेद, अध्याय, शीर्षक पृष्ठ १ मा शुरु गरेर पृष्ठ ७३ मा टुङ्गाइदिएका छन् । यसको छपाइपछिको कटाईमा भने केही त्रुटि देखिएकाले त्यसतर्फ ध्यान जानु जरुरी ठान्दछु । समाज सेवा र भाषा साहित्य प्रतिको लगाव राख्दै आएका किरण ढुङ्गानालाई आजको क्यानेडियन नेपालीले चिन्न सकेका छैनन् तर क्यानडामा नेपालीलाई चिनाउने, क्यानडामा नेपाली भाषा र साहित्यको विस्तार गराउने अनि ‘मोन्ट्रियल क्याफे’, ‘कमली’ र ‘झरेको पात’ कृतिका स्रष्टाका रुपमा भने उनको नाम सदैव अमर रहने छ । टोरन्टो, क्यानडा #किरण ढुंगाना #क्यानडा #टोरन्टो #डा. गोबिन्दसिंह रावत
सहरको छिमेकी: हाम्रा घरहरुले कुम जोडेर उभिएको वर्षौं भयो अझै म उनलाई चिन्दिनँ र उनी मलाई चिन्दिनन् । मेरो छानो छोएर झर्ने बलेँसी उनको आँगनमा खस्छ उनको करेसाबारीबाट सिमीको बोट मेरो पर्खाललाई अँगालो हालेर उभिरहेको हुन्छ उनको र मेरो दूरी एउटै अनुहारका दुई आँखाको जस्तो छ तर सम्बन्धमा भोक र गरिबी नाक बनेको छ । बरू मेक्सिकन हाइजम्प गरेर सिमानाको पर्खाल नाघ्दै अमेरिका छिर्ला छिमेकी गमलामा मुस्कुराइरहेको फूल गमलामै ओइलाई झर्छ मेरो पूजा कोठामा सजिन पाउँदैन । छिमेकी नदुखोस् सम्झिएर यस्तो लाग्छ मैले पालेको कुकुर आवाजविहीन भुकोस् आफ्नै बेडरूममा मेरा नानीहरू मन खोलेर बाल गीत नगाऊन् कतै आँट गरिहाले भने अन्तिम चेतावनीको धम्की लेटर बक्समा आएर मलाई नकुरोस् । असामाजिक हुनु पहिल्यै म बिन्तीपत्र लेख्छु— प्रिय छिमेकी, हामी खुसी साट्दै छौँ दशौँ वर्षगाँठमा आफन्तहरू रमाइलो गर्न सक्छन् थोरै हल्ला तिम्रो घर पनि आइपुग्ला माफी चाहन्छु । मेरी छिमेकी गुलाबी गाडीमा ग्यारेज भित्रैबाट यात्रा सुरु गर्छे र ग्यारेज छिरेर यात्रा टुङ्याउँछे कतै गुलाबको बोटमा पानी हाल्दै गर्दा आँखा जुध्यो भने लाग्छ ऊ एउटा जलपरी हो ऊ आफैँ सुन्दर गुलाब हो दुवै थोरै मुस्कुराउँछौँ र निशब्द बोल्छौँ हामी बस दुई बारका छिमेकी न हौँ । छिमेकी मेरा गल्तीबाहेक सबथोकमा आँखा चिम्लिन्छे रुटिनभन्दा फरक दिन घाँसमा पानी पटाएँ भने सरकारलाई पोल लगाउँछे सोच्दी हो उसको गोजीलाई दिन लागोस् बच्चाले उडाएको रकेट उसको ब्याकयार्डमा खसेको उनलाई मन पर्दैन टुरिष्ट बाआमाले उनकै तिर फर्किएर टोलाइबसेको उनलाई मन पर्दैन । यो फिक्का हुँदै गएको सम्बन्धमाथि थोरै कमेरोको रङ पोत्न बोलाऊँ लाग्छ छिमेकीलाई माघे संक्रान्तिमा र चखाऊँ लाग्छ चाकु र घर तरुल च्यातिओस् अछिमेकी सम्बन्ध तर डर लाग्छ घरबाटै आफ्नो डिनर प्लेट बोकेर आउली फेरि पखाल्ली रहरको रङ । छिमेकी बारीको सुन्तलाका जराहरू निःसंकोच मेरो जुठेल्नासम्म चरेर जान्छन् म केही बोल्दिनँ तर आजसम्म मैले उसको ढोका पनि ढक्ढकाएको छैन आगोको बीउ अन्तैबाट ल्याउँछु हतारमा केटाकेटीहरू हेरिदिए हुन्थ्यो भनेर यो मन सोच्न पनि खोज्दैन मेरो आँगनमा एम्बुलेन्स देख्दा तँलाई कस्तो छ भनेर हाल खबर सोध्दिन प्यारामेडिक्सको सिक्स प्याक शरीर र पाखुराको ट्याटुमा आँखा कुदाउँछे । यो अदृश्य छिमेकी पर्खाल सम्झँदै म यतिबेला महलको माथिल्लो तलामा उभिएर पिउँदै स्कटिस स्कच रिवाइन्ड गरिरहेछु दिमागको रिल जहाँ रेकर्डेड छ सुदूरको गाउँ जहाँ छिमेकीहरु मेरो अँगेनुमा फलेको आगो खान्थे र हामी दुवै अगाउँथ्यौँ । अस्ट्रेलिया #अस्ट्रेलिया #गणेश घिमिरे
साना मान्छेहरु: मलाई साना मान्छेहरु मन पर्छ साना मान्छे, जसका लामा हात हुदैनन् जसका फिजारिएका पाइताला हुदैनन् जसका गरुङ्गा आवाज हुदैनन् जसका भारी छाती हुदैनन् साना मान्छे, जो बडेमानका सपना देख्दैनन् बरु जिउने गर्छन् अलि अलि रहरमा जो उड्ने महत्वाकांक्षा राख्दैनन् सगरमा बरु छोटा छोटा पाइला चाल्छन् आफ्नै आँगन अनि डगरमा मलाई साना मान्छेहरु मन पर्छ, जो अग्ला पर्खाल हैन पुड्का तगारो उभ्याउछन् घरमा र पनि जो अध्याँरा रातमा होचो छतमुनि, साँघुरो कोठामा निर्धक्क निदाउन सक्छन् हामीलाई सधै ठुलो मान्छे बन्न भनिन्छ, सिकाईन्छ, बताईन्छ मलाई साना मान्छेहरु मन पर्छ जो आफ्नो लघुताको आभासमा बिना कुनै लघुताभास दुइटा पैताला मुनि एउटा जिन्दगी बाँचेका हुन्छन् साना मान्छे, जो बडेमानका सपना देख्दैनन् बरु जिउने गर्छन् अलि अलि रहरमा
जंजीर: अथक अथक दौडिरहे, जीवनरुपी यो बाटोमा, आदि-अन्त छैन केहि, धस्सिदै छु यो माटोमा । बिशाल छ यो द्वन्द हे, बिरोध यहाँ आफ्नै छ आकाश स्वच्छ छ तर, यो मन मेरो दरिद्र छ ।। फेरियो दिन-फेरियो रंग, आयो हे नयाँ ऋतु, उडौ हे दैव कसरी, आफैमा जो म कैद छु । अमृतको यो वर्षाले, मन मेरो पखालेन पखेटा यी बेकामका, हावालई चिर्न जानेन ।। स्राप मेरो यो आफैलाई, दोष कसैको छैन, स्राप मेरो यो आफैलाई, दोष कसैको छैन । क्रान्ति यहाँ व्यर्थै छ, स्वतन्त्र जो म छैन क्रान्ति यहाँ व्यर्थै छ, स्वतन्त्र जो म छैन ।।
लेखक र पाठकको दूरी: पुस्तक चाहे साहित्यिक होस् वा गैर साहित्यिक, एक पटक पढिसकेपछि म लेखकलाई भेट्न चाहन्छु । आफ्नो पठन अनुभूतिहरू सुनाउन चाहन्छु । लेखकलाई नजिकबाट बुझ्न चाहन्छु । म जस्तै अरू धेरै पाठकहरू लेखकहरूसँग साक्षात्कार हुन मन पराउँछन्, हिमचिम गर्न रुचि देखाउँछन् । मैले भेटेको छु धेरै लेखकहरू । प्रायः लेखकहरू आफूलाई सेलिब्रेटीको रूपमा चिनाउन अग्रसर हुन्छन् । आफ्ना सिर्जनाहरूको रचना गर्भ सुनाउन हतारो मान्छन् । अझ कति लेखकहरू त पाठकसँगको साक्षात्कारमा लठ्ठ पर्दै सारा व्यक्तिगत कुराहरू समेत बताउँछन् एक किसिमको डर पालेरै भए पनि । मैले लेखकको मुहारमा डर मिश्रित हाँसो देखेको छु । लेखकसँगको भेटपछि ममा भने कुनै किसिमको डरको अनुभूति बाँकी रहँदैन । म त रोमाञ्चित हुन्छु । मेरो निम्ति त प्रख्यात लेखकसँगको हिमचिम मेरा चिनारूमाझ आफ्नो प्रतिष्ठा बढाउने दरिलो खुराक बन्छ । तर मलाई यस्तो लाग्छ, लेखक र पाठकमा देखिने यस्ता मनस्थितिहरूले सधैं एउटा खतरा निम्त्याउने डर हुन्छ । पाठक र लेखकबीच कायम हुनुपर्ने लक्ष्मण रेखा मेटाउँछ भन्ने डर लाग्छ । वर्षौंको मिहिनेतले बनाएको आफ्नो स्थान लेखकले गुमाउँदै जान्छ भन्ने डर बढिरहन्छ । समग्र साहित्य जगतले आफ्नो साख गुमाउने हो कि भन्ने डर उत्पन्न गराउँछ पलपल । पहिले पहिले लेखक र पाठकबीच एक किसिमको दुरी रहेको हुन्थ्यो तर भावनात्मक रूपले भने उनीहरू नजिक हुन्थे । लेखक आफ्ना पुस्तकमा चित्रण गरेका घटना, परिवेश तथा पात्रहरूका साथै आफूमा भएको काव्यिक क्षमतामार्फत पाठकमाझ अमिट छाप छोड्न निरन्तर प्रयास गर्थे । लेखकको धर्मलाई कायम राख्न लागिपर्थे । पाठकबाट पाइने न्यानो माया र निरन्तर साथलाई पूजा गर्थे । पाठकहरू प्रतिकृयास्वरूप आफ्नो पठन अनुभूतिसहित राम्रा-नराम्रा पक्षहरू उजागर गर्दै पत्र लेख्थे र आफ्ना प्रिय लेखकसँग नजिक हुन्थे । धेरै पटक मैले पनि पाठक पत्र लेखेको छु आफ्नो प्रिय लेखकलाई । तर मेरा प्रिय लेखकले भने पत्रको जवाफ कहिल्यै फर्काएनन् । सायद लेखकलाई पाठकको पत्रको जवाफ नलेख्नका लागि पनि छूट थियो । किनकि कसैले गुनासो गर्ने गुञ्जायस नै रहँदैनथ्यो । यसरी बिनासंकोच साहित्यक्षेत्र सही बाटो पहिल्याउँदै अगाडि बढ्दै थियो । समय बित्दै जाँदा प्रविधिको विकास भयो । पुस्तकहरू टाढाटाढासम्म सजिलै पुग्न सके । लेखकहरू थपिएसँगै पुस्तकहरूको सङ्ख्या बढेर गयो र पाठकहरू पनि बढ्दै गए । नयाँ नयाँ प्रविधिमा आधारित सञ्चार माध्यमहरू सुरू भए, जसले गर्दा लेखकहरूले थप मञ्चहरू पाउँदै गए । यसले लेखक र पाठक बीचको दुरी घटाउँदै लग्यो । म धेरै पुस्तक लोकार्पण कार्यक्रमहरूमा सहभागी भएको सम्झन्छु । पहिलो पटक आफ्नो प्रिय लेखकहरूलाई नजिकैबाट नियाल्न पाएको क्षण धेरै छन् । त्यस्ता क्षणहरूमा लेखकले थप हौसला र ऊर्जा मिलिरहेको कुरा गर्दा आफ्नो उपस्थितिले महत्त्व पाएकोमा खुशीले दंग पर्थें । त्यो अवसरले लेखक र पाठक दुवैलाई थप लेख्ने र थप पढ्ने ऊर्जा दिइरहेको महसुस हुन्थ्यो । तर लेखक र पाठकबीच भने एक किसिमको खाडल रहिरहेको अनुभूत गर्थें । पाठकहरू खुलेर बोल्न सक्दैनथे अनि लेखक पनि आफ्नो मर्यादामा आँच आउला कि भन्दै अलि बढी सचेत हुन्थे । मलाई भने त्यस्तो अवस्थाले एउटा सुन्दर तथा रोमाञ्चक वातावरण तयार गरिरहेको प्रतीत हुन्थ्यो । पछिल्लो डेढ दशक यता भने दिन दुगुना रात चौगुनाको दरले माहोल पूरै परिवर्तन हुँदै गइरहेको छ । स्मार्ट डिभाइसमा इन्टरनेटको सहायताले चल्ने अनेक मञ्चहरू विकास भएसँगै लेखक र पाठकबीच झनै नजिक हुने वातावरण बन्दै गएको छ । एकआपसमा लेखेर कुराकानी गर्न पाइने मात्र होइन, प्रत्यक्ष बोलेर सुनाउन सकिने र प्रत्यक्ष हेर्न समेत पाइने माध्यमहरूको विकास भइसकेको छ । त्यति मात्र होइन, जुनसुकै बेला आफूले चाहेअनुसार जोसुकैसँग पनि सम्पर्क स्थापित गर्न सकिने समय हामीले भोग्न पाइरहेका छौं । प्रत्यक्ष रूपमा सबैसामु सहजै पुग्न सक्ने सुविधा पाएका छौं । यस्तो परिवेशमा लेखक पाठकहरू बरोबर सामेल भएका देखिन्छन् । यसरी नवीनतम् प्रविधिमा आधारित सामाजिक सञ्जालहरू विकास भएसँगै लेखक-पाठक बीचको दुरी बढ्ने डरको आयातन झन् बढ्दै गइरहेको आभाष हुन्छ । सामाजिक सञ्जालमा आबद्ध हुनु समयानुकूल हुनु हो तर यी मञ्चहरू जथाभावी प्रयोग भइरहेका छन् । अनेक व्यक्तिहरू आफ्नो अनुकूलका सामाग्रीहरू मात्र प्रस्तुत गरेर यस्ता मञ्चलाई फोहोर मिल्काउने रद्दी टोकरीमा परिणत गर्न उद्धत देखिन्छन् । सामान्यदेखि अति विशिष्ट व्यक्तिहरू समेतको उपस्थिति देख्न पाइन्छ सामाजिक सञ्जालहरूमा । लेखकहरूको हकमा कुरा गर्नुपर्दा उनीहरू पनि आफ्ना आफन्त, साथीभाइ र पाठकहरूबीच झिनामसिना कुराहरूमाथि टिप्पणी गरेर महत्त्वपूर्ण मुद्दाहरूलाई ओझेलमा पारिरहेका भेटिन्छन् । साहित्यका महत्त्वपूर्ण रचनाहरूलाई हल्का रूपमा प्रस्तुत गरेर साहित्यकै मानमर्दन गरिरहेझैँ लाग्ने दृष्यहरूले फेसबुकका भित्ताहरूसमेत बेरङ्गी बनाइरहेको प्रतीत हुन्छ । अझ क्रियाप्रतिकृयामा उत्रेर पाठकहरूसँग पौंठेजोरी खेल्ने हदसम्म पुगेका दृष्टान्तहरू व्याप्त छन् । म आफैँ पनि धेरै लेखकहरूसँग कुरा गर्ने क्रममा लज्जित हुन पुगेको छु । कहिले आफ्नो विचारले कहिले लेखकहरूकै हर्कतले । वर्तमान समयमा नेपाली लेखकहरूमाझ देखिएको सजिलै पाठक कमाउने लोभले लेखक र पाठकबीच कायम हुनुपर्ने नङमासुको सम्बन्ध गुमाउने डरसमेत सँगसँगै हिंडाइरहेको भेटिन्छन् । लेखकहरूमा सामान्य पाठकहरूले बुझ्ने आर्थिक, सामाजिक र राजनैतिक मात्र होइन व्यक्तिगत अनुभूतिहरूलाई समेत फरक दृष्टिकोणले पर्गेल्न सक्ने खुबी हुन्छ भन्ने मान्यता रहिआएको छ । यसर्थ लेखकले सार्वजनिक गर्नुपूर्व आफ्ना निजी धारणा मात्र होइन, आफूले लेखिरहेका साहित्यिक विषयवस्तुसमेत वर्गीकरण गर्न सक्नुपर्छ । हरेक सिर्जनाहरू सामाजिक सञ्जालमा खपत गर्ने हिसाबले मात्र प्रस्तुत गर्नु हुन्न । यसो गर्दा सिर्जनाको मूल्य घट्ने डर हुन्छ । लेखकले नयाँ पुस्तकको लागि पनि केही रचनाहरू सुरक्षित राख्नुपर्छ । लेखक आफ्ना सिर्जनाहरू प्रकाशन गर्नुपूर्व के कसरी प्रस्तुत गर्नुपर्छ भन्ने कुरामा समेत सचेत हुनुपर्छ । मञ्च पाउँदैमा ताण्डव नृत्यमा भुलेर आफ्नो बहुलठ्ठीपन देखाउन अग्रसर हुनु भनेको एउटा लेखकले आफैँले आफ्नो स्थान गुमाएको प्रमाणित गर्नु हो । मेरो विचारमा लेखकले बौद्धिक र व्यावसायिक सम्पादकहरूको ढोका ढक्ढक्याउनु पर्छ । अनि मात्र लेखकले सही प्रस्थान विन्दु भेट्नेछ । यो कुरामा कसैको दुईमत नहोला । पुस्तक प्रकाशन पूर्वका अनेक चरणहरू भएजस्तै प्रकाशनपश्चात् पनि संयमित भएर पाठकमाझ पुस्तक पुर्याउने कार्यमा लाग्नु लेखकको धर्म हो । साहित्य लेखन र प्रकाशनमा चलिआएका अन्तर्राष्ट्रिय मान्यताअनुसार सबै पक्षले अघि बढ्नुपर्छ भन्ने आजको आवश्यकता हो । पुस्तकको सर्वाधिकार प्रकाशकमा, सम्पादकमा वा लेखकको पक्षमा हुनसक्छ । तर पुस्तकसँगै पाठकसम्म पुगेर विषयवस्तुको जिम्मेवारी लिने दायित्व सधैं लेखकको हुन्छ । त्यो जिम्मेवारीबाट लेखक कहिल्यै भाग्न पाउँदैन । यसो भन्दैमा प्रकाशनपछि पुस्तकका बारेमा समीक्षा र समालोचना अघि ल्याउने कार्य पनि लेखककै जिम्मामा पर्छ भन्ने कदापि होइन । पुस्तक हातमा परेपछि हरेक पाठकले आफ्नो स्तरमा पुस्तकको बारेमा एक तहको समीक्षा समालोचना गरिरहेकै हुन्छन् । तर यदि पुस्तकले बोकेको महत्त्वपूर्ण विश्वदृष्टि यथोचित रूपमा पाठकमाझ पुग्नुपर्छ भन्ने मान्यता राख्ने हो भने सही समीक्षक र समालोचकको हातमा पुस्तक पुर्याएर समीक्षा र समालोचना लेखाउने काम प्रकाशक र सम्पादकले गर्नुपर्छ । तर विडम्बनाको कुरा यति धेरै महत्त्वपूर्ण कामका निम्ति हाम्रा लेखकहरू आफैँ लागिपर्छन् । आफैँ समीक्षक र समालोचक टिप्छन् । आफ्नो उठ्दै गरेको साख आफैँ गिराउनतिर लाग्छन् । यस्तो प्रवृत्ति लेखक र पाठक बीचको दुरी बढाउन भूमिका खेल्ने अर्को भयङ्कर डर हो । वास्तवमै हामीलाई डर छ । नेपाली साहित्य क्षेत्रले आफ्नो अस्तित्त्व गुमाउला कि भन्ने डर छ । यही परिप्रेक्ष्यमा समस्त साहित्यानुरागीहरूले त्यो डरलाई निमिट्यान्न पार्ने चुनौती स्वीकार्नु पर्दछ । हिजोआज नयाँ पुस्तामाझ न राम्रा र असल लेखक आउन सकेका छन्, न गम्भीर पाठक नै जन्मिनसकेका छन् । यस्तो परिस्थितिले साहित्य क्षेत्रमा खडेरी निम्त्याउन सक्ने खतरा छ । डर हटाउनको निम्ति सबै पक्षले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आजको आवश्यकता हो । पुस्तक पढ्नु एउटा कुरा हो, लेखक बुझ्नु अर्कै कुरा हो । पाठकले कथा, काव्य अनि निबन्ध पढ्छन्, बुझ्छन् ।लेखकले गरेको प्रयोगको आफैँ अर्थ पहिल्याउन स्वतन्त्र छन् पाठक । लेखकले अर्थ्याइरहनु पर्दैन । आफैँले खेताला खोजेर अर्थसिद्धको निम्ति मेलो बनाउने काम रोक्नुपर्छ । आफू को हो र के हो भन्ने जतिसुकै धेरै तथ्यहरू भेला गरेर लेखकले जति वटा पुस्तक लेखे पनि ती सबै पुस्तकमा समेट्न सकिने कुरा पनि होइनन् । त्यसैगरी एउटा पाठकले लेखकका सम्पूर्ण पुस्तक पढे पनि लेखकलाई बुझें भनेर कहिल्यै दाबी गर्नु हुन्न । दम्भ पालेर बस्नु हुन्न । यो यथार्थलाई आत्मसाथ गर्दै एउटा लेखकले पाठकसँग एउटा सम्मानित दुरी कायम गर्दै सुमधुर सम्बन्ध स्थापित गरेर लेख्नुपर्छ । तब मात्र साहित्य जगत समृद्ध हुन्छ । लेखकले इमान्दार भएर लेख्ने र पाठकले पनि लेखकको मिहिनेतको उचित कदर गर्दै पुस्तकको पठन गर्ने कार्य एकसाथ अघि बढाएर समग्र साहित्य क्षेत्र महासागरझैं गहिरो अनि आकाशझैं फराकिलो बनाउँदै जानुपर्छ भन्ने मान्यतामा सबै साहित्य जगत प्रतिबद्ध हुनुपर्छ । साहित्य आकाशलाई सफा र चम्किलो बनाउन सबै मिलेर डरको कालो बादल हटाउँदै सप्तरङ्गले साहित्याकाश रङ्गाउन तत्पर हुनुपर्छ । साहित्य साधनाले दीक्षित हामी सबैले आआफ्नो स्थान सुरक्षित बनाइराख्न अब ढिला गर्नुहुन्न । तत्पश्चात साहित्य क्षेत्रले महासागर र आकाशको रूप धारण गर्न धेरै समय लिने छैन । नखिपोट, ललितपुर #दीपक श्रेष्ठ #नखिपोट #ललितपुर #लेखक पाठक सम्बन्ध
बालकथा- हारजित: रेणुका जिसी खतिवडा “आज साँपसिढी खेल न त !”– निष्ठाको बाबाले भन्नुभयो । निष्ठा र निलभ खुशी भए । निलभ भर्याङ् चढ्दै अगाडि बढ्छन् । निष्ठा भने बेलाबेला सर्पको मुखमा पर्छिन् र तल झर्दै अगाडि बढ्छिन् । हिजो उनले लुडोमा भाइलाई जितेकी थिइन् । त्यसैले खेलमा हारजित भइरहन्छ भन्ने उनलाई थाहा छ । आफू भाइभन्दा पछाडि परेको भनेर उनी दुःखी भएकी थिइनन् । खेल रमाइलो भइरहेको थियो । हेर्दाहेर्दै निलभ त ९६ मा पो पुगिसक्छन् । “वाउ, अब ४ आएपछि त मेरो गेम हुन्छ ।”– निलभ डाइसलाई बट्टामा राखेर हल्लाउँदै ४—४ भन्न थाल्छन् । भाइ खुसी भएको निष्ठालाई असाध्यै मन पर्छ । त्यसैले उनी पनि भाइसँगै खुसी हुँदै ४—४ भन्न थाल्छिन् । निलभले डाइस भुइँमा फ्याँकेपछि भने ३ अंक पो पर्छ ! भाइ ९६ बाट ९९ मा पुगे पनि त्यहाँ त बडेमानको सर्प पो थियो । निलभको गोटी ९९ बाट एकैचोटि सर्पको पुच्छरमा झर्यो । जीतको यति नजिक पुगेर तल झर्नुपरेकोमा निलभलाई धेरै रिस उठ्यो । निलभले त बोर्ड, डाइस सबै फ्याँकिदिन्छन् र बाहिर निस्किएर, “अब म नखेल्ने” भन्दै रुन पो थाल्छन् । भाइको व्यवहारले निष्ठालाई निराश बनाउँछ, रिस पनि उठ्छ । निष्ठाले पनि निलभलाई, “लुजर, लुजर”, भनेर जिस्काउँछिन् । निलभ झन् जोडले रुन थाल्छन् । यो सबै घटना बाबाले देखिरहनुभएको थियो । बाबाले निष्ठालाई नबोल्ने इशारा गर्दै भाइलाई बोकेर बाहिर निस्कनु भयो । निलभलाई काखमा राखेर मुख पनि धोइदिनु भयो । भुइँमा कमिलाका ताँती हिँडिरहेका थिए । “निलभ, निष्ठा ! यता हेर त”, भन्दै बाबाले सिन्काको सहायताले एउटा कमिलालाई ताँतीबाट अलग गरिदिनु भयो । त्यो कमिलालाई भुइँमा लडाई पनि दिनु भयो । तर कमिला फेरि उठेर हिँड्न थाल्यो । उहाँले पटकपटक कमिलालाई लडाइदिनुभयो । तर कमिला फेरि पनि उठेर हिँडिरह्यो । यो देखेर निलभ र निष्ठा छक्क परे । बाबाले निलभको चिउँडोमा समाएर अनुहार हेर्दै भन्नुभयो, “हेर त निलभ ! यो त कमिला हो । यसले पटकपटक लड्दा पनि हिँड्ने प्रयास गरिरहेको छ । हामी त मानिस हौँ । हामीले त जीवनमा धेरै खेल खेल्नुपर्छ । खेलमा कहिले छिटो जीत पनि हुन सक्छ । कहिले जीतको नजिक पुगेर पनि जीत हुँदैन । नडराएर खेलिरहनुपर्छ । पछाडि परे पनि अगाडि बढ्ने प्रयास गरिरहनुपर्छ । लडेपछि पनि उठ्नु पर्छ । खेलमा कि जितिन्छ कि सिकिन्छ । पछाडि परेँ भनेर भाग्नु भनेको खेलमा हार मान्नु हो । त्यसैले कहिल्यै खेलदेखि भाग्न हुँदैन । बुझ्यौ त !” “बुझ्यौँ बाबा ।”– निलभ र निष्ठा दुबैले सँगै भने । निलभले आफ्नो कान समाउदैँ भन्यो, “सरी दिदी ! अब फेरि खेल्ने ल ?” दुवैजना खुसी भएर फेरि खेल्न थाले ।
पूर्ण जीवन: जीवन एउटा गीत बन्छ गाउन जानेदेखि जीवन एउटा संगीत बन्छ तरङ्ग भर्न जानेदेखि तर के गर्नु साथी मलाई पनि मीठो धूनसँगै गीत गाउने रहर कहाँ नभएको हो र नियतिले दिएको चोटहरूलाइ अमृत मानी नपिएको कहाँ हो र तैपनि एउटा अदृश्य गन्तव्य छ जीवन र्डोयाउन को लागि अनि त्यस्को सामुन्नेमा छ अजङ्गको पहाड हर साँझ उशाको किरणले बिदा मागेपछि मेरो सपनीमा आउछन् ती गन्तव्यमा पुगेपछिका सुन्दरदृश्यहरू जसलाइ पाउने आशामा म मेरो पूरै जीवनको पाइलाहरूलाई चालिरहेछु इतिहासका पुर्खाहरूको पद्चापलाई पछ्याउँदै अगाडि बढी रहेछु अनि झसङ हुन्छु पहाडमा ठोक्किँदा फेरि पनि प्रयास गरिरहेछु लाग्छ एकदिन म अवस्य पुग्नेछु त्यहाँ अनि सारा विश्व नियाल्नेछु आफूलाई त्यहाँ पाउनेछु शान्त सौम्य पूर्ण मानव तर ब्राह्मण देखि बाहिर ! #पूर्ण जीवन #शुशिला सापकोटा
मदनको गजल: उत्साहित छु आज उनी आउँदै छिन मिलनका सपना बुनी आउँदै छिन ।। पीड़ा त होला घर आँगन छोड्नुको पक्कै मेरो चित्कार सुनी आउँदै छिन ।। लोटपोट भुइँमा नजानु भन्दा छोरीले बगेका ती अश्रुभेल थुनी आउँदै छिन ।। सजिलो पक्कै पनि छैन परिदृश्य त्यो हजार भावना मनमा गुनी आउँदै छिन ।। छुटेका ती पलहरूलाइ बिर्सिएर फेरि बाध्न अंगालोमा जुनी जुनी आउँदै छिन ।। #मदन ओडारी #मदनको गजल
बिपिनको गजल: हेर्नुभयो ! देख्नुभयो ! अब बिचार के गर्नु ? कुरूप छु ! यति बुझेर पनि श्रिङ्गार के गर्नु ? न बेच्न नै मिल्छ न त ब्याज नै पाक्छ आफैसगँ राखेर यो सस्तो प्यार के गर्नु ? सुख छ, सजिलो छ ! ठूलो निधार पनि छ तिमी नलेखिएको भाग्यको आकार के गर्नु ? गाली गर्छन, लात मार्छ्न, हेप्छन क्या खुब बा हुन यार बा ! उठाएर हतियार के गर्नु ? आयु हुन्जेल न काल आउँछ न अनिकाल म मर्छु मर्छु भनेर मात्र बारम्बार के गर्नु ? #बिपिन भारद्वाज #बिपिनको गजल
हरियो सिउँदो: ए परदेशी तिमीलाई किन मन परेको मेरो आँखामा छचल्किएको आँसुको आख्यान किन लोभलाग्दो देखेको मेरो लत्पतिएको गाजलको गाउँले गीत । किन आइपुगेको आँगनमा अगुल्टो बोकेर झस्काउँन मेरो आदिम जन्मरेखामा घोत्लिइ बसेको सुदूर भविष्य । जुन दिन खस्यो लालीगुराँस मेरो सिउँदोबाट मस्र्याङ्दीको बगर छेउ र ओडाइदियो समयले मसान जस्तो सेतो बर्को । जुन दिन उडिगयो पिरतीको पुतली र तुषारो ओढेर झोक्राइरह्यो सुनाखरी खडेरीको खास्टो ओढेर सुक्दै गरेका उजाड मेरा हाँगाहरूमा किन बर्षियो तिम्रो मोहनी मनसुन र आँख्ला आँख्लामा पलाउन थाल्यो विप्लवी प्रेम । त्यति नै बेला फेरि बजाउँदै बजाउँदै पिपिरी किन सुनाइरह्यौ अन्यौलको आलेख । नमर्दै हाम्रो अस्तित्वको आकार कसरी मर्दै गयो हामीले मुटु निचोरेर लेखेका विस्वासका रक्तिम पालुवाहरू । थोरै सपना जस्तो थोरै विपना जस्तो खोज्दा खोज्दै पनि नभेटिने नखोज्दा नखोज्दै पनि देखिने दियौ यो कस्तो कस्तुरी कहर । भन ए ! परदेशी यो अग्लो पहाडबाट दरारमा खसिसकेपछि तिमी गाइरहेछौ कस्तो गीत ? आफ्नै हातले चुन पहरा खोपेर तिमी हिँड्ने बाटो खोलेपछि मेरा बा घरी घरी कोल्टे फेर्नुहुन्थ्यो जसरी बन्दुक पड्काएपछि जन्मन्छ बारुदको गन्ध र चल्मलाउन थाल्छ पछुतो । जसरी आफ्नै नशाले खिपेर सिलाइदिएपछि सन्तानका पखेटा उड्दै गएका भरोसाका बचेराहरू हेरेर सुनिन्छ आमाको गहिरो सुस्केरा । भन ए परदेशी ! कहिलेसम्म लिइजान्छौ यसरी प्रमेको कुरुस र छोडीजान्छौ सम्झनाका जाली रुमाल ? कहिले आइपुग्छ लिगलिगे उकालो चढेर मेरो हरियो सिउँदोमा तिम्रो दस्तखत ? सुरेन्द्र देवकोटा #सिउँदो #हरियो
मान्छे र इतिहास: समयको ऐनामा आ–आफ्नो अनुहार हेरेपछि आफ्नै अनुहारलाई सर्वश्रेष्ठ घोषणा गरेर एउटै बाटोमा हिँड्न नसकेर जमिन छाडेर आकाशसम्म भाग लगाउँदै आफूलाई प्रमाणित गर्न छरिएर हिँडेको मान्छे आज एकै समय मृत्युु भोगिरहेछौँ । ऊ दुःखको मरुभूमिमा अभावको तिर्खाले मरिरहँदा आँसुको महासागरमा डुबेर मरिरहेको तिम्रो मृत्युु सहज देखिरहेछ । म भोकको काँडाले उनिएर मर्दैगर्दा सुखको बगैँचामा उन्मादकै फूलले किचिएर मरिरहेको तिम्रो मृत्यु सुन्दर देखिरहेछु । मृत्यु आफैँमा कति सहज हो थाहा छैन । तर हामी एकअर्काको मृत्युलाई सहज देखिरहेका छौँ । मान्छे सर्वश्रेष्ठ प्राणी कसरी भयो ? जसले मृत्युु पनि अरूको सहज देख्छ । बाँचेकाहरू अझै सर्वशक्तिमान बन्ने लोभमा आफूजस्तै मान्छेलाई दुश्मन घोषणा गरेर जीवनको आयतन नापेर निरन्तर बनाइरहेछ मृत्युको क्षेप्यास्त्र । मान्छे खुब माया गर्छ आफ्नो अस्तित्वको र चाहान्छ आफ्नो इतिहास लेखाउन । कुनैदिन क्षेप्यास्त्रलाई नै आफ्नो अस्तित्वको लोभ लागेर आयो भने मान्छेको अस्तित्व के होला ? कसले लेखिदेला शक्तिशाली मान्छेको पराक्रम ? कसले पढिदेला गौरवशाली इतिहास ? त्यसबेला हावाहरूलाई चलिरहन नदीहरूलाई बगिरहन चराहरूलाई उडिरहन फूलहरूलाई फुलिरहन पृथ्वीलाई घुमिरहन प्रकृतिलाई बाँच्न मान्छेको इतिहास आवश्यक होला कि नहोला ? #मान्छे र इतिहास #शुभचन्द्र राई
जोगी सपना\xa0\xa0\xa0\xa0: जोगी तरकारी हुँदो रहेछ | सांसारिक बन्धन चुँडाली शरीरमा खरानी घसेर जोगी बनेर हिँडे पनि पेटको आगोसँगको बन्धन चुँडिदो रहेनछ ? त्यसैले जोगी भएपछि बिहान दस घरमा भिक्षाटन गरी जे – जस्तो – जति आउँछ त्यही खाने , भरेभोलिलाई जगेर्ना गर्न नपाउने , गृहस्थले पनि बिहान दैलोमा भिक्षा माग्न आएको जोगीलाई केही न केही दिएर पठाउनुपर्ने सिद्धान्तमा आश्रम व्यवस्था चलेको हो । यसरी दसतिरबाट बटुलेर ल्याएको खाद्यान्न , तरकारी बेग्लाबेग्लै जात र प्रकारका हुने नै भए । यही तथ्यमा आधारित भएर धेरै थोक मिलाएर पकाएको तरकारीलाई जोगी तरकारी भन्ने गरिन्छ । तरकारी त तरकारी जोगी सपना पनि हुँदो रहेछ । यसै पनि सपनामा कुनै तुक हुँदैन । राष्ट्रपति भएर सोह्र करोडको गाडीमा गुडेको , एक अर्वको हेलिकप्टरमा उडेको , पढ्दै नपढी झुम्कावाल टोपी हल्लाउँदै प्राध्यापक , डाक्टर भएको , विद्यावारिधि गरेको , इतिहासको विद्यार्थीले जहाज उडाएको जे पनि देख्न सकिन्छ । मनोविश्लेषक सिग्मण्ड फ्रायड , एडलर , युङ आदिले सपनालाई मानिसको अवचेतन मनमा गुम्सिएर रहेका अतृप्त चाहनाहरूको प्रकटीकरण भनेका छन् । भनेपछि अहिले दिनरात घरमा थन्केर बस्नुपर्दा घुम्ने , फिर्ने , मान्छे भेट्ने , सिनेमा हेर्ने , किनमेल गर्ने , जहाजमा उड्ने , लामो यात्रामा जाने अतृप्त चाहनाहरूको कत्रो चाङ भैसक्यो होला त मान्छेको मनमा ? अहिले शतप्रतिशत पूरा हुनसक्ने चाहना भनेको टेलिभिजन हेर्ने र मोबाइल चलाउने मात्र हो । त्यो पनि कति हेनू , कति चलाउनू ? फेरि त्यसमा आउँछ नै पो के र ? बासी कार्यक्रम हेर्दा हेर्दा पेटै हुँडएर आइसक्यो । अर्कोमा राम्रो केही आउँछ कि भन्यो च्यानल फे ¥ यो । फेरेको फे ¥ यै , फेरिको फे ¥ यैँ गर्दा गर्दै दिनभरिमा के के हेरिँदो रहेछ के के । कोरोनामा आरम्भ भएर कोरोनामै अन्त्य हुने समाचार , अन्तर्वार्ता , नेपाली सिनेमा , हिन्दी सिनेमा , रामायण , महाभारत , पुराना टेलिफिल्म , बासी खेलका रेकर्डहरू , क्राइम प्रेट्रोल , सिआइडी , योग गुरुका प्रवचन , नयाँ नयाँ परिकार बनाउने तरिका आदि इत्यादि । यी सबका सब संश्लेषण भएर केन्द्रलाई ध्वस्त बनाउने उत्तरआधुनिक डिजाइनको जोगीवाल खान्गी दृश्य मनभरि बसेपछि मान्छेको गत के होला ? एउटा च्यानलबाट रामानन्द सागरकृत रामायणको अरण्यकाण्ड आइरहेछ । वनबासको १३ औँ वर्ष राम , सीता र लक्ष्मण चित्रकुटको कुटीमा बसिरहेको बेला सुनको सुन्दर मृग देखा प ¥ यो । सीतालाई मृगले लोभ्यायो कि सुनले उनै जानून् ? स्वामीसँग मृग चाहियो भनेर हठ गर्न थालिन् । अब राम न परे , कहिले कसले के गर भन्छन् र गरौँ भनेर बसेका । पिताजीले ‘वन जा’ भने उनी हिँडिहाले , पत्नीले ‘मृग चाहियो’ भनिन् , उनी कुदिहाले । त्यसको केही बेरमै ‘म मरेँ’ भन्ने उनको आवाज सुनियो । सीता अत्तालिएर देवरलाई खोज्दा उनी एउटा रुखमुनि बसेर मस्तसँग बाँसुरी बजाइरहेका रहेछन् । सीतालाई झनक्क रीस उठ्यो । कम्मरमा हात राख्दै कड्केर भनिन् , ‘ रोम जलिरहँदा , निरो बाँसुरी बजाइरहेथ्यो रे । दाजुले मरेँ भनेर चिच्याएको सुन्दा पनि रागै अलापेर बस है ? ’ शिरमा मयूरको प्वाँख सिउरेका झिल्के कृष्णले मुस्कुराउँदै भने , ‘ ह्या भाउजू पनि । केही हुँदैन के दाइलाई ।’ त्यो वचनले सीताको रीसमा घ्यू थप्ने काम ग ¥ यो । कर्कस स्वरमा आँखा तर्दै भनिन् ‘दाजुको इहलीला समाप्त भयो भने मलाई पट्याउँला भन्ने सोच छ कि क्या हो । त्यस्तो सपना नपाले हुन्छ है मिष्टर ! भन्द्याछु ।’ कृष्णको राशी कन्या भए पनि भाउजूलाई नै आँखा लगाउने खालका थिएनन् । चित्त दुखाएर भने , ‘ ल ल म खोजेर ल्याउँछु दाइलाई । भोक लागिरा बेला दाइलाई पनि कहाँ जान परेको होला । खाजा बनाएर राख्नू है भाउजू । अनि यो चक्रबाहिर कदम राख्ने भुल चाहिँ नगर्नू नि ,’ भनेर बाँसुरीले कुटीवरपर कृष्णचक्र बनाइदिए र दाजु खोज्न निस्के । सीता एकछिन टोलाइन् अनि दाजुभाइ भोकाएर आउलान् भनेर खाजा बनाउन थालिन् । डोसा खाने विचारले बिहानै पीठो र मसला ठीक पारेकी थिइन् । तातो तावामा ¥ यालेको पीठो सल्ल हालेर फैलाउँदै थिइन् बाहिर भिक्षाम् देही भनेको सुनियो । ‘बेला न कुबेला बजी नयला’ जतिखेर मन लाग्यो उतिखेर आउने जोगीलाई कसले दिन्छ भिक्षा ? भन्दै डाडु लिएर बाहिर निस्किन् । तर त्यहाँ कोही थिएन । भित्र पस्दा डोसा बनाउने दिव्यदृष्टि सकिएर समोसा बनाउने आइसकेको थाहै पाइनन् । तावामै माम्री भैसकेको रोटीलाई हातमा सोलीजस्तो बनाएर आलु हालेर टमार्न खोज्दा मरिगए भएन । बाहिर फेरि भिक्षाम् देही भनेको सुनियो । हात पोलेर आत्थुआत्थु भैरहेको बेलामा भिक्षा मागेको सुनेर झोकले आलुरोटी हु ¥ याइदिइन् । बाहिर भीमाह एकादशीको ब्रत बसेका भीमसेन थिए, जसले बिहान खाना खान बोलाउँदा ‘नौ मुरी चामलको रुगरुगे जाउलो के जानु भान्छैमा ? ’ भनेर विरक्ति पोखेका थिए । कोखा चर्कञ्जी खाना खान नपाएको दिन त्यस्तो मीठो खाजा हात परेको , उनी पकापक खान थाले । कृष्णले रामलाई भेटेर कुटीमा फर्केर आउँदा सीता थिइनन् । वरपर खोजे भेटेनन् । उसै पनि कुटीमा खोज्ने ठाउँ नै कति हुन्छ र ? वनतिर पो गइन् कि भनेर सीते , भावज भन्दै बोलाए । अँह सीताको पत्तो लागेन । हार खाएर मिसिङ्ग कम्प्लेन दर्ता गर्न दुई भाइ रुञ्चेरुञ्चे अनुहार लाएर पुलिस चौकी पुगे । याँमानको भुँडी पल्टाएर मेचमै उङिरहने त्यहाँको हाकिम देखिएन । मुख रातो पारेर पान चपाइरहेको कान्छो हाकिमले बडाहाकिम कोरोनाको शङ्का लागेर टेष्ट गर्न गएको बताउँदै मेचको पछाडि पानको पिक पिच्च थुक्यो । कोरोना थुकबाट पनि सर्छ , यसरी जथाभावी थुक्ने हो भनेर कान्छा हाकिम र रामकृष्ण दाजुभाइको भनाभन नै भयो । कान्छा हाकिमले मिसिङ्ग कम्प्लेन दर्ता गर्न फोटो र मोबाइल नम्बर माग्यो । रामले सीताको भनेर सुपर्णखाको फोटो देखाएछन् । फोटो देख्नेबित्तिकै कान्छा हाकिम झण्डै बेहोस् भएथे । कोरोनाको कारण मृत्युवरण गर्न पुगेकी संसारकी पहिली महिलालाई कसले चिन्दैनथ्यो र ? कृष्णलाई त्यही बेलामा हस्तिनापुर दरबारबाट अर्जेन्ट कल आयो । द्रौपदीको वस्त्र हरण हुन लागेकोले उनलाई पुकार्दै रहिछन् । कृष्ण परे धर्म सङ्कटमा । सीतालाई खोज्ने कि द्रौपदीको इज्जत बचाउने ? सीताको खोजी क्राइम ब्राञ्चले गरिहाल्छ नि भनेर उनी हस्तिनापुरतिर लागे । त्यहाँ पुग्दासम्म राते काइँला द्रौपदीको वस्त्र हर्दै थियो भने गुच्चाटोलको होलसेल सारी पसले नत्थुराम धमाधम द्रौपदीलाई सारी सप्लाइ गर्दै थियो । हतारिएर आएका कृष्णको त्यहाँ कामै भएन , चुपचाप तमासा हेर्न थाले । कर्ण र सकुनीलाई झर्को लागेर कुनामा बसेर क्यापिचिनो पिउँदै थिए । अचानक सभामा नारी अधिकारकर्मी क्लारा जेट्किनी आइपुगिन्, र लैङ्गिक हिंसाको मुद्दा लगाएर सबलाई जेलको हावा खुवाइदिन्छु भनेर सातो खाइन् । कोही चुँ बोल्न सकेन । दुमुक्क परेर बसे । घातप्रतिघात चल्दै थियो । शकुनी , कर्ण , दुशासन त भैहाले दृश्यमा नआइकनै दुर्योधनलाई भित्रभित्रबाट मेघनादले पनि उचालिरहेको रहेछ । महाभारतको युद्ध टार्न सकिन्छ कि भन्ने प्रयास पनि चल्दै थियो । सुशीला थापा , रवीन्द्र मिश्रप्रवृत्ति माइतिघर मण्डलामा पाण्डवको “राज्य फिर्ता गर् , इन्द्रप्रस्त फिर्ता गर् , राज्य हड्प्न पाइँदैन” भन्ने नारावाजी गर्दै धर्ना दिइरहेका थिए । सरकारवादी मुद्दाका वादीतर्फबाट शम्भु थापा , रमण श्रेष्ठहरू र प्रतिवादीतर्फका सपना मल्ल , चोलेन्द्रशमशेरबाट सर्वोच्चमा वहस पैरवी पनि चल्दै थियो । नाफामा चलिरहेका पाँच बैंकको स्वामित्वमात्र दिए पनि हस्तिनापुरमाथि अधिकार दावी नगर्ने प्रतिवादी पाण्डवहरूको प्रस्तावलाई कुम्भकर्ण पुत्र दुर्योधनले बैंक त के किराना पसलसमेत दिन्न भन्ने जवाफ फर्काएपछि शान्तिका सबै प्रयास निरर्थक भए , महाभारतको युद्ध अनिवार्य भयो । पछि गएर अचार बनाएर चाटे पनि युद्धको आचारसंहिता बन्यो । दुवैका सेना कुरुक्षेत्रमा भेला भए । अर्जुनले शत्रुतिर गुरु , दाजु , भाइ , मामा देखे, तर पितामह भीष्म देखेनन् । भीष्म कौरव सेनाका सेनापति रे भन्ने सुनिएको थियो । बिना सेनापति युद्धको थालनी नहुने भएकोले पितामहको खोजी भयो । उहाँलाई राती ज्वरो आएकोले एम्बुलेन्समा अस्पताल पठाएर स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकोले आइसोलेसनमा राखिएको जानकारी युयुत्सुले गराएपछि अर्जुन गाण्डिवसाण्डिव फालेर पितामहलाई हेर्न जान्छु भनेर जिद्दी गर्न थाले । कोरोना सङ्क्रमितसँग अस्पतालले कसैलाई भेट्न दिँदैन भनेर उनलाई विभीषणले ज्यान फालेर सम्झाउँदा पनि मानेनन् , जान्छु कि जान्छु भनेर हठ गर्न थाले । अनि मर्यादापुरुष रामले उनलाई कुमल्याएर रथमा बसाले र १८ अध्याय गीता सुनाउन थाले । बाँकी योद्धाको हालत सरकारको नीति तथा कार्यक्रम सुन्न संघीय संसद भवनमा भेला भएका सांसदको जस्तो भयो । उङ्न थाले । विशेष गरी लडाइँमा खासै रुचि नभएका , बाध्य भएर आउनेमा परेका युवापुस्तालाई गीतासीतामा के ध्यान जान्थ्यो र ? ‘ ह्या लडाइँ नै खेल्न आइसकेपछि बङ्का बङ् हान्न छाडेर के सेन्टी भैरा होला ? युद्धस्युद्ध थाल्नु छैन खाली गनथन गनथन गरेको छ । झ्याउ लागेर आइसक्यो |’, भनेर यताउति हेर्न थाले । सबै दौँतरीको हालत त्यही थियो । आँखले इसारा गरी गरी सबै एकपछि अर्को गर्दै रथबाट ओर्लेर अर्को मैदानतिर लागे । मुख्य ध्यान अग्र पङ्क्तितिर भएकोले पछाडिबाट भाग्नेलाई कसैले याद गरेन । अर्को मैदानमा जम्मा भएका पाण्डवपौत्र र कौरवपुत्र एक गेम २०\\२० मैत्रीपूर्ण क्रिकेट म्याच खेलौँ भन्दै फटाफट नियम बनाएर बलिङ्ग थालिहाले । रेफ्री हुन कताबाट हनुमान आइपुगेछन् । खेल आधाउधी हुँदासम्म हनुमानको गाला पुक्क बनाउन गरेको मेकअप झरेछ , दारा सिङकै अवतारमा रेफ्रीगिरी गर्न थाले । रगतको प्रभाव न हो ? कसोकसो गरेर कौरवपौत्रले पहिले ब्याटिङ्गको जालझेल मिलाएर पूरै २० ओभर खेल्न भ्याए । पाण्डवपुत्र ब्याटिङ्ग गर्दै थिए कुरुक्षेत्रमा युद्धको सङ्खनाद भयो । मार्छन् बुढाहरूले भन्दै ब्याटस्याट छाडेर सबै युद्धभूमितिर कुदे । हैन हौ ? लडाइँ हुन थालिसक्यो , यो सङ्खनाद किन रोकिन्न ? भन्ठानेको त मोबाइलमा अर्लाम पो बजेको रहेछ । अब एक रातमा योभन्दा बढी सपना देख्न पनि कहाँ सकिन्छ र ! हैन ? #जोगी सपना
तिम्रा हरेक शब्दबाट मेरो मनमा प्रेम भरें: मुसुक्क हाँसी मसिनो आवाजमा बोल्यौ तिमी जब, मनमा बस्यो शालिन अनि लजालु स्वभाव । मन मिल्यो विचार मिल्यो, चाहेँ जीवन साथै जिउन, माया दिई माया लिई लागेँ प्रेम निभाउन ।। थिएँ एक, भयौँ दुई, एक अर्काको जिउने आधार, माया प्रेम र विश्वासले ल्यायो खुशीको बहार । रोजेँ मैले खुशी जीवन, साथ तिमीले दिँदै गयौ, हाम्रो प्रेमको फूलबारीमा ढकमक्क फूल फुल्यो ।। तिम्रो साथ पाएदेखि मेरो जीवन अर्कै भयो, अल्मलिएको जिन्दगीले गन्तव्यको दिशा लियो । मैले तिम्रो साथ लिई जिन्दगीमा अघि बढ्दा, गति लियो जीवनले हामी दुईको मन मिल्दा ।। जिन्दगीको रथ तान्दा हाँसो रोदन दुवै पाएँ, सुखदुःख, खुशी, पीडा तिमीसँगै भोग्दै गएँ । भविष्यको सुख खोज्दै छोटो विदेश बसाई रोजेँ, तिमीबाट टाढा हुँदा निकै धेरै पीडा भोगेँ ।। साँचै प्रिय ! आज तिम्रो निकै अभाव महसुस गरेँ, भेटेदेखि हालसम्मका हरेक पलको याद गरेँ । मेसेन्जर र ह्वाट्सएपमा तिम्रा सबै टेक्स्ट पढेँ, तिम्रा हरेक शब्दबाट मेरो मनमा प्रेम भरेँ ।। #जयश्\u200dवर रिमाल #डार्फर #प्रेम #सुडान
एकान्तमा: हरपल हरक्षण तिमीलाई पाउँछु एकान्तमा बोलाऊ मात्र मलाई आउँछु एकान्तमा आँखामा आँखा जुधाउँदै कुरा गर्ने रहर छ तिमीलाई सम्झीसम्झी टोलाउँछु एकान्तमा कहिले रिसाउँछौ त कहिले घुर्काउँछौ मलाई अन्जानमा गल्ती गर्छु अनि पछुताउँछु एकान्तमा तिमीसँग कुरा नगरी निद्रा लाग्दैन रातमा तिम्रो बोली नसुन्दा म छटपटाउँछु एकान्तमा #ऋतु काफ्ले
देश माटो हो कि जनता हो ?: मैले पढेका गैह्र आख्यान पुस्तकहरुमध्ये मोहन मैनालीका किताबहरु बारम्बार सम्झनामा आइरहन्छन् । मैनालीको ‘मान्ठा डराएको जुग’ पढेदेखि नै उनको लेखन मन पर्न थालेको हो । सरल लेखन शैली सँगसँगै लेखनको विषय वस्तुले मैनालीको लेखन बेलाबेला सम्झनामा आइ रहने हो । ‘मान्ठा डराएको जुग’मा ती कुराहरु समेटिएका थिए जो धेरै मान्छेले थाहा नै पाएका छैनन् । यस बेला देशमा सिमानाको विषयमा खुब चर्चा-परिचर्चा हुने गरेको छ । राज्यले ‘बिर्सेको’ लिम्पियाधुरा समेत सामेल गरेर नयाँ नक्सा जारी गरेको छ । त्यसैले हौस्याएकाहरु बेलाबेला ‘विशाल नेपाल’को कुराहरु पनि गर्ने गर्छन् । यी कुराहरु भइरहँदा कता-कता मानिसहरुले माटोको मात्रै कुरा गरेका हुन् कि जस्तो लाग्छ । त्यहाँ भएका जनताको कुरा खासै हुँदेन । ‘विशाल नेपाल’ सुगौली सन्धिले मात्रै खुम्च्याएको हो या नेपाली शासकको शोषक प्रवृत्तिका कारण पनि खुम्चिएको हो भन्ने हेक्का कसैले राख्दैन । त्यसैको चर्चा यहाँ गर्न मन लागेको छ । ‘उपल्लो थलो’को शाब्दिक अर्थ माथिल्लो भेग भन्ने हुन्छ । नेपालको माथिल्लो भूमिका विभिन्न आयामहरुका बारेमा मैनालीले उपल्लो थलोमा लेखेका छन् । विशेषगरी गोरखा जिल्लाको माथिल्लो भूभाग र मानसरोबरको विभिन्न कालखण्डमा गरिएको यात्रासँग सम्बन्धित संस्मरणात्मक लेखहरु यस पुस्तकमा समावेश छन् । कालीगण्डकी तिरैतिर २०५१ मंसिर, २०५२ भदौ–असोज र २०५९ साउन–भदौमा गरिएका यात्राहरु पहिलो तीन खण्डमा समावेश छन् भने २०५६ साउन–भदौमा मानसरोबरसम्म गरिएको यात्रालाई चौथो खण्डमा समावेश गरिएको छ । बुढीगण्डकी तिरको यात्राका क्रममा मैनालीले त्यहाँको कष्टकर जीवन, बिजुलीलाई चमत्कार मान्ने जनताको कुरा, वन पैदावार माथिको निर्भरता, सरकारी उपस्थितिको अभाव, भौगोलिक विकटतामाझ फुलेको प्राकृतिक सुन्दरता, स्थानीय जनताको तिब्बती जनतासँगको साइनो, बदलिँदो राजनीतिक परिस्थितिबीच फेरिएको साँध लगायतका कुरा समावेश गरेका छन् । नेपालको उत्तरी सिमाना सन् १९६१ अक्टोबर ५ मा तात्कालिन राजा महेन्द्रले हस्ताक्षर गरेको सन्धिका आधारमा फेरिएको छ । यस क्रममा केही उत्तरी भूमि नेपालमा परे भने केही नेपाली भूमि उत्तरतिर गए । अथवा एकअर्काले दाबी गरेका भूमिहरुको आदानप्रदान गरेर एक स्थायी सिमाना त्यसमा कोरियो । त्यसै क्रममा हो सगरमाथाको चुचुरो चीनको भाग लागेको । त्यसका विषयमा कुनै अरु दिन चर्चा गरौँला । यी राजनीतिक पृष्ठभूमिको चर्चा नभए पनि मैनालीले साँध फेरिँदा फेरिएको राष्ट्रियताका बारेमा चर्चा गरेका छन् । साथै चर्चा गरेका छन् भोट र नेपालको जीवन स्तरमा समयसँग आएका परिवर्तनहरुको चर्चा गरेका छन् । यी चर्चाहरु पढ्दै गर्दा नेपाली शासकले भूमिमा बढी जोड दिएको र त्यहाँका मान्छे बिर्सँदै गरेको भन्ने भान हुन्छ । पहिलो खण्डको यात्राताका देशमा मनमोहन अधिकारी प्रधानमन्त्री थिए । कम्युनिष्ट सरकार हुँदा दलितहरु प्रतिको छुवाछुत हट्ने आशा देखिएको थियो । जनसामान्यको मानसिकतामा परिवर्तन नआउँदा सो आशामा पानी फेरिएको अंश एकदमै घत लाग्ने छ । स्थानीय अन्धविश्वासका कारण सेराङ गुम्बा, सोराङ हिमाल लगायतका पर्यटकीय गन्तव्यको रुपमा विकसित हुनसक्ने स्थानहरुबाट पनि त्यस क्षेत्रले मनग्गे लाभ लिन नसकेको पढ्दा अलि नरमाइलो लाग्छ । ०५१ देखि ०५९ को लगभग एक दशकको अन्तरालमा नेपाली भूमिका बासिन्दाको वनपैदावार माथिको निर्भरता जस्ताको त्यस्तै भए पनि छिमेकी तिब्बतका बासीको जीवनस्तरमा निकै फेरबदल भएको देखिन्छ । जडिबुटी संरक्षणका लागि तिनको संकलनमा रोक लगाइएको, गैह्र सरकारी संस्थाको सहयोगमा भएका विकासका, मादकपदार्थ दुर्व्यसनी कम गर्न रक्सीको कम मूल्य निर्धारण गरेर रक्सी उत्पादन निरुत्साहित गरेको, लगायतका केही सकारात्मक परिवर्तन दर्साउने कुराहरु समेत उल्लेख छन् । पछिल्लो पटकको यात्राका क्रममा माओवादी द्वन्द्वका कारण पहिलेको जस्तो विश्वासको वातावरण नभएको र मानिसहरुले नयाँ मान्छे देख्नेबित्तिकै शंकाको दृष्टिले हेर्ने कुराहरुले उपल्लो थलोमा परेको जनयुद्धको असरको धेरथोर कुराहरु आएका छन् । हो, यसरी मैनालीले ‘थलो’ मात्रै नलेखेर त्यहाँका मान्छेको कथासमेत लेखेका छन् । राज्यले उपेक्षा गरेकाहरुका व्यथा लेखेका छन् । पुस्तकको चौथो अर्थात अन्तिम खण्डमा मैनाली फेरि सुदूरपश्चिम हुँदै मानसरोबर पुगेका छन् । यो खण्डमा हालको नयाँ नक्सा प्रकरणले चर्चामा ल्याएको भूगोलको बारेमा समेत लेखिएको छ । साथै, यसै खण्डमा ‘विशाल नेपाल’सँग जोडिएको भ्रमको कुराहरु पनि लेखिएको छ । यो अंशमा उनले देशको सडकमार्ग राम्रो नहुँदा सुदूरपश्चिमका उत्तरी जिल्ला जानका निम्ति भारतीय भूमिको प्रयोग गर्नुपर्ने बाध्यताका बारेमा लेखेका छन् । सिमानामा हुने सीमा सुरक्षा दलका अधिकारीहरुको खुल्लमखुल्ला लुटमा उनी बचेको प्रसंग पढिरहँदा पाठकका मनमा दिनहुँ किनमेलका लागि जाने वा रोजीरोटी कमाउन भारत पसेका नेपालीहरुको हालत के हुन्छ होला भनेर प्रश्नहरुको खात लाग्छ । महाकाली वारि र पारिका दारचुला र धारचुलामा विकासका दृष्टिले निकै फरक भएको कुरा पढ्न पाइन्छ । भारतले सिमाबासीलाई दिएको सुविधाका तुलनामा नेपालले दिएको सुविधा दयनीय लाग्छ । त्यसबाहेक त्यहाँ हुने वन्यजन्तुको हाड तथा छाला लगायतको तस्करीको जालो र मूकदर्शक बनेर रहेको निरीह प्रशासनको चित्र पढ्दा जो कोही पाठक पनि आवेशमा आउँछ । राज्यको अनुपस्थितिको चरम उदाहरण त्यहाँ देखिन्छ । चार वर्षअघि उपल्लो थलो पढ्दै गर्दा मानसरोवरको यात्राको लागि नेपालकै उत्तरी नाकाबाट ताक्लाकोट पुग्ने सडक सञ्जालको विस्तार सुरु शीर्षकमा वसन्तप्रताप सिंहले लेखेको समाचार पढ्नु जुरेको थियो । चार वर्षपछि पनि त्यो बनिसकेको समाचार छैन । बरु भारतले २००६ (एसडि मुनीका अनुसार) देखि सुरु गरेको सडकको उद्घाटन भएको छ । त्यसैले नै हो अहिलेको नक्सा विवाद चुल्याएको । कोभिड १९ संक्रमणमा खासै सफलता पाउन नसकेको दुवै देशका शासकका लागि ध्यान मोड्ने बहाना झैँ बनेको छ त्यही सडक उद्घाटन र लिम्पियाधुरा । सारमा भन्नुपर्दा नेपाली सिमानामा रहेकाहरुको स्तर नेपाली सीमाबाहिर रहेकाको तुलनामा दयनीय छ । दूरदराजका क्षेत्रमा त राज्यको उपस्थिति नै पनि छैन । त्यसैले त अस्ति रवि लामिछानेको कार्यक्रममा एसडि मुनीले ‘माटो मात्रै आधार हो ? जनतासँग त भारतीय रासन कार्ड छ’ भनेका थिए । त्यति मात्रै होइन ‘उपल्लो थलो’मा किताबमै पनि लेखकले गोरखाली ‘विस्तारको’ प्रसंग लेख्ने क्रममा गोरखाली राजको अत्याचारको विषय समेटिएको लोकगीतका बारेमा उल्लेख गरेका थिए । त्यो पढिरहँदा मेरो एउटा भ्रम टुटेको थियो । जुन गौरवको इतिहास हामीलाई पढाइएको छ, त्यसमा हारेकाहरुको इतिहास छैन । उनीहरुको आवाज छैन । त्यसैले हामी ‘विशाल नेपाल’का कुराहरु गरिरहन्छौँ । हामी यो सोच्दैनौँ कि भारत छोडेर जाने बेलामा अंग्रेजहरुले नेपालका गुमेका भूभागका नेपालीलाई नेपालमा जोडिने वा भारतमै रहने विकल्प दिँदा उनीहरुले भारत नै रोजेका थिए । सायद माटो मात्रै आफ्नो ठान्ने र त्यहाँका जनतालाई नमान्ने परम्पराले त्यसो भएको हो कि ! माटो मात्रै त देश हुँदैन । जनता सार्वभौमसत्ता सम्पन्न मानिन्छ, माटो होइन । हो यही कुरालाई नेपाली शासक पक्षले बारम्बार भुलेको देखिन्छ । चाहे त्यो विशाल नेपालको कुरा गर्ने बेलामा होस्, चाहे त्यो हालको लिम्पिया धुरा क्षेत्रमा बसोबास गर्नेका सन्दर्भमा होस् । नेपाल सरकारले विवादित क्षेत्रमा बस्ने नेपालीहरुका लागि राज्यको उपस्थिति जनाउने केही काम गरेको देखिँदैन । विवादित क्षेत्रको कुरा छोडौँ । विवादै नभएका क्षेत्रका जनताहरु पनि देश आउन नपाएको स्थिति छ । भारतमा श्रमका लागि गएका नेपालीहरु भारतीय सुरक्षाकर्मीबाट सिमानातिर खेदिएका छन् भने नेपाली शासकले तिनलाई अझै भारततिरै खेद्दै छ । यो सब भइरहँदा प्रश्न गर्न मन लाग्छ, देश माटो हो कि जनता हो ? अनि देशका ‘उपल्लो थलो’का भू–भाग मात्रै हैन त्यहाँका जनता पनि देश हुने कहिले हो ? #उपल्लो थलो #नयाँ नक्सा #मान्ठा डराएको जुग #मोहन मैनाली #रमण पेनरू #लिम्पियाधुरा
पल्लो देशको साथीलाई: साथी … तिम्रो देश दुख्दा मेरो मन दुखेको हुन्छ मेरो देश दुख्दा म आफैँ दुखेको हुन्छु । एउटै मानव आमाका सन्तान भए पनि सिमाना फरक हुँदा देश अलग हुँदो होला देशसँग जोडिएकाे हाम्रो भाग्य पनि फरक हुँदो होला हाम्रो भाग्यले दिएको हाम्रो आस्था फरक होला हाम्रो आस्थाले दिएको हाम्रो संस्कृति फरक होला तर साथी हामीले टेकेको धर्ती त एउटै हो हामीले ओडेको आकास एउटै हो हामीले फेरेको सास पनि एउटै हो हामी बाँचिरहेको युग एउटै हो एक पटक तिमी …. तिम्रो इतिहाससँग भलाकुसारी गरी हेर त …. कतै तिम्रो वर्तमान मेरो अतितसँग जोडिएको पाउन सक्छौ तिम्रो भविष्य मेरो वर्तमानसँग गाँसिएको पाउन सक्छौ जे होस् … अन्तमा तिमीले तिमी र ममा कुनै अन्तर पाउने छैनौ । त्यसैले साथी … तिम्ले तिम्रो देश बनाउँदा मेरो भाग्य नफुटाई बनाउनु मैले मेरो देश बनाउँदा तिम्रो मन नदुखाई बनाउने छु #बर्मा #म्यन्मा #लक्ष्मण न्यौपाने #सिमाना
प्रेतकल्प : यस्तो झ्याल जसबाट चारै दिशा देखिन्छ: पुस्तकको पुर्वाद्धमा कथा पुरै राजनीतिक जालो हो कि जस्तो लाग्छ तर पढ्दै गर्दा कथाका पत्रहरु खुल्दै जान्छन् । अनि थाहा हुन्छ, उपन्यासको कथा राणाकालिन समयका आममानिसहरुको भोगाइ हो । पढेर गाउँ फर्किएको एक युवाले फेरिएको समयसँगै आफ्नो ज्ञानलाई प्रयोग गर्न खोज्दा आइपर्ने पारिवारिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अफ्ठ्यारो र द्वन्दको कथा हो यो । पुस्तकले उ बेलाको कथा भनेर इतिहास मात्रै बोल्दैन, बरु तपाईलाई त्यो समयमा बाँधेर अहिलेको समयका पनि कुरीति र विकृति हेराउँछ । हिन्दु दर्शनका ‘पुराणवादी’ र ‘वेदवादी’हरुको वैचारिक लडाइ र त्यसले पारेको समाजिक असरका बारेमा पनि ज्ञान दिन्छ । समग्रमा, नेपाली समाजका चारै दिशा नेपाली इतिहास, परम्परा, हिन्दु धर्म, नेपाली राजनीतिका बारेमा जानकारी पाउँन उपयोगी हुनेछ । किताब – प्रेतकल्प (उपन्यास) लेखक- नारायण ढकाल विधा- आख्यान मूल्य- ४२५/
‘कुमाता’भित्रको नारी संवेदना: कथाकार वसन्त पराजुलीको नवीनतम् कथासङ्ग्रह ‘कुमाता’भर्खरै बजारमा आएको छ । उक्त कथासङ्ग्रहले पाठकको मन तरङ्गित पारेको छ । शीर्षकले एकातिर नारीवादी दृष्टिकोणमाथि पटाक्षेप गरेको देखिन्छ भने अर्कोतिर पाठकमा उत्सुकता पैदा गराएको छ । संस्कृतमा एउटा उक्ति छ, ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति’ अर्थात् पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमाता हुन्नन् । यो कथनलाई भत्काएर हाल समाजमा विद्यमान विकृति ,विसङ्गति एवम् अवैधानिक रूपमा गर्भधारण गर्नुको कारण कयौँ नवजात शिशुहरूको हत्या गर्न विवश छन् माताहरू भन्ने तथ्यलाई कथामा प्रस्तुत गरिएको छ । फक्रन नपाउँदै कोपिलामै निमोठिन्छ । थाहा छैन, सायद देशका कयौँ भविष्यका होनहार नागरिक यसरी मृत्युवरण गर्न विवश हुन्छन् । आफू र आफ्नो अस्तित्वलाई समाजमा कायम राख्न गरिने यस्ता कर्तुतहरू दिनप्रतिदिन बढ्दै छन् । जुन कुरा सभ्य र समुन्नत समाजका लागि तगारो बन्ने गर्छन् । यद्यपि यस सङ्ग्रहमा सङ्ग्रहित कथाहरू भिन्नभिन्न स्वाद र विषयका छन् तथापि पङ्तिकारको ध्येय कथाभित्र प्रस्तुत नारी संवेदनालाई उजिल्याउनु रहेको छ । ‘कुमाता’भित्रको नारी संवेदना नारी संवेदनाका दृष्टिले ‘कुमाता’ सशक्त देखिन्छ । यसमा सङ्ग्रहित प्रायः कथाहरूमा नारीका संवेदना कुनै न कुनै रूपमा प्रस्तुत भएका छन् । सहमतिमै भए पनि कथाका पात्रहरू बीको अवैध यौन सम्पर्कका कारण झेल्नु परेको दुर्दशाले नारी संवेदनालाई उत्कर्षमा पुर्\u200dयाएको छ । यसरी सर्सर्ती हेर्दा कथाका नारी पात्र सजिलै पुरुषसँग प्रेममा फँस्ने अनि सम्बन्ध बसिसकेपछि शरीर सुम्पन पनि पछि नपर्ने भएका कारण उनीहरूले विभिन्न परिस्थितिसँग सिँगौरी खेल्नु परेको देखिन्छ । यसकै ज्वलन्त उदाहरण हो, कुमाता कथा । कुमाताकी कान्छीले साहिँलो भन्ने चिरपरिचित ट्रक ड्राइभरको विश्वास गरी प्रेममा फँसेर गर्भवती भएकी तर गर्भवती भएपछि साहिँलो फरार भएका कारण बच्चा जन्मेपछि आफैँले घाँटी थिचेर मार्न र स्वघोषित कुमाता बन्न विवश भएकी छ । पुरुषले जेजसो गरे पनि हुने सामाजिक संरचनाका कारण पुरुषहरू कहिल्यै कुपिता नबन्ने तर नारीहरू कुमाता बन्नुपर्ने अवस्थाको सृजना भएको छ । ‘एउटी आमाले शिशु जन्माउने र हुर्काउने चाहना हुँदाहुँदै पनि समाजले त्यसलाई नाजायज ठान्छ, पतित भन्छ र कलङ्कको टीका लगाउँछ भने एक नारी निर्दयी बन्न विवश अवश्य बन्छे । मैले केही सोच्नै सकिनँ आमाको ममतालाई नै चुनौती दिँदै आँखा चिम्लिएँ । कुमाता बनेर त्यो शिशु च्याँ गर्न नपाउँदै कठोर हातले घाँटी थिचेर मारिदिएँ । अनि भनिदिएँ मरेको बच्चा जन्मिएछ ।’(पृ ..३३) त्यसैगरी परिबन्द कथामा नाटकीय प्रेममा फँसेकी मङ्गलीको उस्तै दुर्दान्त अवस्थाको चित्रण छ । आफ्नो औँला चिरेर निस्केको रगतले मङ्गलीको सिउँदो भरेर तथा कथित लोग्ने बन्ने नाटक गरेको सन्तेको विश्वासका भरमा शरीर सुम्पेकी मङ्गलीले गर्भवती भएपछि उसको झूटो आश्वासन बुझ्छे तर नेपाली उखान ‘ ……….दैलो पनि देख्यो’भनेझैँ पश्चातापको अग्निमा जल्न पुग्छे । ‘एक मन त आत्महत्या गरूँ जस्तो पनि हुन्छ । केटी मान्छे । समाजले जान्ने र बुझ्ने गरी विवाह भएको छैन । उसले माइतमै बसेर बच्चा जन्माउनु पनि त्यति सजिलो कहाँ हुन्छ र यो समाजमा ? तर पनि त्यै अप्ठ्यारो बाटो जाने निष्कर्षमा पुगी मङ्गली ।’(पृ .६७ ) अस्मिता कथाकी पात्र अस्मिता अमितसँगको अन्तर्जातीय प्रेममा फँस्छे तर अवैधानिक रूपमा गर्भवती भइसकेपछि भ्रूण हत्या गराउन बाध्य पार्ने अमितले हत्यापछि अस्मितालाई छाड्छ । अमितले छाडेपछि रविनसँग वैवाहिक जीवनमा बाँधिएकी अस्मिता रविन विदेश गएपछि परस्त्रीसँग यौनसम्पर्क गरेकै कारण उतै जेल पर्छ । श्रीमान् जेल परेपछि खर्च धान्न धौधौ परेकाले यौनधन्दामा लाग्न विवश हुन्छे । सामूहिक बलात्कारमा परेर दुर्दान्त अवस्थामा पुगेकी अस्मिता आफूले अत्यन्तै विश्वास गरेको यौन पार्टनरले ‘मलाई पनि दिन्छ्यौ कि ?’ भनी माग गरेपछि अत्यन्त आक्रोशित भएर भन्छे, “हो, म वेश्या हो ! वेश्या ! वेश्या भन्दैमा जहाँ पायो त्यहीँ जति जना पायो उति जनासँग सम्बन्ध राख्न सक्छे ?” (पृ .८०) “हामीलाई वेश्या यही समाजले बनायो । यिनै पुरुषहरूले बाध्यपारे । पुरुष कतिसम्म निर्दयी र स्वार्थी हुन्छ । के पुरुषले मानवता गुमाइसक्यो ? ” (पृ ८१) ‘नियति’कथामा तेह्र वर्षे बालिकालाई गर्भवती बनाएर वैभव भागेको छ ।आफ्नो गर्भपतन गराउन अस्पताल पुगेकी ती बालिकाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको घटना प्रस्तुत गरिएको छ । ‘दोषीको ?’ अर्को नारी संवेदनाले भिजेको कथा हो । नारीको यौनमनोविज्ञानलाई कथामा देखाइएको छ । विवाह गरेपछि, श्रीमान् श्रीमतीले वैधानिक रूपमा यौन सम्पर्क गर्न सक्छन् तर यस कथाकी सरितालाई बिहेपछि पनि लोग्नेले यौन प्रति कुनै चासो नदेखाएका हुनाले उसलाई अचम्म लाग्नु स्वभाविकै हो । एकातिर साथीहरूले सुहागरातको वर्णन गरेका अर्कोतिर लोग्नेले सुहागरातमा पनि आफूलाई वास्ता नगरेका कारण उसमा लोग्ने प्रतिको वितृष्णा बढ्दै जान्छ । आखिर किन…? भन्ने प्रश्नले उसलाई कोपरिरहन्छ । ‘घरमा सासूससुराले त अझै आफ्नो वंशवृद्धि छिटो भएहुन्थ्यो भन्ने चाहना राख्छन् । तर आफूलाई आफ्नै श्रीमान् ले अहिलेसम्म छोएका छैनन् ।” (पृ .१०६) बिहे गरेको तीन वर्षसम्म पनि श्रीमान् ले सम्पर्क गर्न नखोजेपछि ऊ परपुरुष (आकाश)सँग लहसिन्छे । आखिर प्राकृतिक रूपमा नारीका पनि त इच्छा चाहनाहरू हुन्छन् नि तर भन्ने कसलाई ? केही सीप नलागेपछि उसले आकाशकै गर्भधारण गर्छे र त्यसबाट जन्मेको बच्चा जबरजस्ती श्रीमानलाई स्वीकार गर्न लगाउँछे । “यो मेरो सम्बन्धको निसानी हो । सक्छौ मेरो पेटको बच्चा तिमीले मेरो हो भनेर स्वीकार्ने, हैन भने यसलाई कसरी जन्माउनुपर्छ मलाई थाहा छ ।” (पृ.११० ) यहाँनेर सरिताको माध्यमबाट नारीलाई सक्षम र सबल देखाउन कथाकार सफल भएको देखिन्छ । नारीका इच्छा, चाहनालाई प्रस्फुटित हुन नदिने पुरुष प्रधान समाजलाई चुनौती दिँदै आफ्नो आमा बन्न पाउने नैसर्गिक अधिकार प्राप्त गर्न सफल भएकी छ, यस कथाकी पात्र सरिता । आफू तेस्रो लिङ्गी भएकै कारण पनि समाजमा आफ्नो अस्तित्व कायम गर्नको लागि बच्चा स्वीकार्न उसको लोग्ने मञ्जुर भएको छ । यहाँनेर नारीको मनसायको स्वीकार गरेर होइन कि समाजमा आफ्नो पुरुषत्व कायम राख्न उसले स्वीकृति दिएको मान्न सकिन्छ । यसरी ‘कुमाता’ कथासङ्ग्रहमा सङ्ग्रहित प्रायः कथाहरूमा नारी संवेदना प्रचुर मात्रामा पाउन सकिन्छ । पितृसत्तात्मक सामाजिक संरचनामा जकडिएको नेपाली समाजमा घटिरहेका थुप्रै यस्ता घटनाहरूलाई टपक्क टिपेर काल्पनिकताको जलप लगाउन सक्नु कथाकारको प्राप्ति देखिन्छ । पाठकलाई आन्दोलित बनाउने खुबी कथाकारमा प्रशस्त देखिन्छ । कथा पढ्दै जाँदा पाठक आफ्नो सम्पूर्ण कुरा बिर्सेर कथामा डुब्न सक्छ । नारीका संवेदना पुरुषले बुझ्न सक्नुपर्छ अन्यथा यसले गम्भीर रूप लिन सक्छ । कुमाता बन्न विवश बनाउने सामाजलाई पुनः एकपटक गम्भीर रूपमा सोच्न बाध्य बनाएका छन्, सङ्ग्रह भित्रका कथाहरूले । नारीहरूले सजिलै पुरुषको विश्वास गर्न पुग्दा कसरी दुःख सागरमा डुब्नु पर्ने अवस्थामा पुग्नुपर्छ भन्ने कुराको सचेतता कथामा प्रशस्त पाइन्छ । समग्रमा नदीझैँ सलल बगेको कथावस्तु , भाषामा सरलता र बोधगम्यताका कारण कथासङ्ग्रह उत्कृष्ट बन्न पुगेको छ । कृतिः कुमाता कथासंग्रह लेखकः वसन्त पराजुली पृष्ठः ११२ कथा संख्याः १० मूल्यः २०० प्रकाशकः भुँडीपुराण प्रकाशन प्रालि #कुमाता #नारी #वसन्त पराजुली #शान्ति शर्मा
यो त अति भो: घरबन्दी भएको दुई महिना भयो फैलन रोक्न केही त गरेकै हो चलाउन जीवन अब चै गाह्रो नै भयो बन्दको विकल्प अब सोच्ने बेला आएको हो । नेपालीको घरफिर्ता रोक्ने कसरी ? क्वारेन्टाइन, आइशोलेशन बनेनन् अझै पुग्नेगरी समय त दिएकै हो फैलिएर सुस्त गरी किन हुन्छ ढिला संधै काम सरकारी यसरी ? स्थानीय सरकारको देखियो चाल प्रदेशको गुनासो छ सधैं भएन रे उसको अब्बल कार्यकाल संघमाथि नै शका भयो उड्ने पो हो कि रङ्ग सब मिलि कहिले हो पार्ने जनतालार्ई दङ्ग पीसीआर, टेस्ट किन नबढाको मेसिन चलेन, किट पुगेन विपद्मा यस्तो के गरेको ? दिन खोज्छु सधैं धन्यवाद मन भित्रैबाट ‘यो त अति भो’ निस्किहाल्छ फुत्त मुखबाट । #तारक धिताल
लिलाको गजल: जस्तो भोग्यो उस्तै हुन्छ जिन्दगी छिनमै हाँस्छ छिनमै रुन्छ जिन्दगी ।। माया हो के तिमी बोलिन भन्छ्यौ बोल्नै खोज्छु मुख थुन्छ जिन्दगी ।। जब प्रमाणपत्र आउँछ डिग्रीको युरोप उड्ने सपना बुन्छ जिन्दगी ।। म दुश्मनलाई प्रेम गर्छु आखिर जलेर खरानी नहुने कुन छ जिन्दगी ।। #लिलाको गजल
अप्रत्याशित घटना: आज मेरो कानमा कतैबाट माइकको स्वर गुन्जिरहेको छ । कतै कसैको बिहे रहेछ । तर म, अन्जान मान्छेलाई यो बिहेसित के लिनु न दिनु ? यो गाउँमा बसेको हप्ता पनि भएको छैन । धन्य हो कि मलाई अन्धो बाजेले बास बस्न दिनुभयो । “बाबु, जति दिन चाह्यो त्यति दिन बस्न सक्नुहुन्छ,” बाजेको यो कुराले मलाई यसरी प्रभावित पार्\u200dयो कि मानौँ म कुनै पराइको घरमा होइन आफ्नै घरमा बस्न आएको हुँ । सायद दस दिनभित्र मेरो कामकाज सकिनेछ र म राजधानी फर्किनेछु । “बाबु! लु यो कार्ड हेरिदिहाल्नुस् त,” बाजेले कार्ड हेर्न बोलाउनुहुन्छ । विवाहको निमन्त्रणा कार्ड रहेछ । घरको सदस्यमध्ये एक जनाको अनिवार्य उपस्थिति तोकिएको रहेछ । “बाबु मेरो घरमा अरू कोही छैनन्, मलाई बुढेसकालले पनि छोइसक्यो अनि अन्धोलाई यसमा शोभा पनि दिँदैन । अब उनको कार्डको मान्यता राख्न तपाईं नै गैदिनुस्,” बाजेको यो अनुरोधलाई म नकार्न सक्दिनँ । आफ्नै सहरिया सुट–बुट लगाएर विवाहतर्फ लम्कन्छु । “छोरी त यस्ती छे रे ,” आइमाईहरू एकअर्कामा कुरा काट्दै गरेको सुन्छु । “हो नि ! दाइजो पनि कम दिएको छ रे !” “साँच्चिकै ! ससुरालमा दुर्दशा हुनेछ ।” “बिचरी !” तिनीहरूका कुराले मलाई आश्चर्यचकित बनाउँछ । ‘कस्तो दुर्दशा ? बिचरी केको ? कसरी ? बिहे भइसकेपछि खुसीसँग एक नयाँ परिवार सृजना पो गर्छे !” मनमनै मेरो मनमा यस्ता भावना खेलिरहेका छन् । यसैबीच विवाहको रङ्गीन माहौलमा म सामेल हुन्छु । सबले मलाई एकोहोरो हेर्न थाल्छन् । आखिर यो जन्ती हो कि केटी तर्फको या अन्तै कतैको हो कि ? सब मेरा लागि अन्जान अथवा म सबैका लागि अन्जान… भोजन सुरु हुँदा म असहज महसुस गर्छु । अलमलिन्छु । दोधारमा पर्छु । किनकि एकातर्फ केटीतर्फबाट भोजन भने अर्कोतर्फ जन्तीहरूका भोजन । मलाई थाहा छैन, म कुन तर्फबाट आएको हुँ । तसर्थ चुपचाप म शीर निहुराएर कुनामा बस्छु । “बाबु, खाना खाइयो ?” बेहुलीको बाबाले सोधेर जानुहुन्छ । केही क्षणपछि “बाबु, खानुभयो ? ” बेहुलाको बाबाले सोधेर जानुहुन्छ । हल्का मुस्कान ल्याउँदै “हजुर” भन्दै जान्छु म वहाँहरूलाई । विवाह सम्पन्न हुन्छ । बेहुलीलाई रुँदा–रुँदै बिदा गरिन्छ । सबका गहभरि आँसु देखेर म पनि नाटकीय भावुक हुँदै घर फर्कन्छु । “बाबु, विवाह कस्तो रह्यो ?” बाजे लठ्ठी छाम्दै मलाई सोध्नुहुन्छ । “विवाह… अँ विवाह एकदम राम्रो थियो बाजे । रमाइलो भयो,” यति भन्दै कोठाभित्र छिर्छु । दुई दिनपछि मेरो काम सकिन्छ । राजधानी फर्किने निधोमा झोलाभित्र कपडा, सरसामान राख्छु । बाजेलाई धन्यवाद दिन्छु । साथमा, केही रकमसमेत उहाँलाई दिन खोज्दा उहाँ अस्वीकार्दै भन्नुहुन्छ, “बाबु, अतिथि देवो भवः तिमीसँग पैसा लिनु हुन्न । तिमी हाम्रो भगमान हो । ल… राम्ररी जानू ।” म हिँड्न थाल्छु । बाटोमा अचानक मेरा आँखाले मलाई परको भीडतर्फ तान्छन् । भीडबाट रोएको, चिच्याएको स्वर सुन्छु । भित्र छिर्नासाथ तर्सिन्छु । झस्याङ्ग हुन्छु । अस्ति बेहुलीको पोशाकमा सजिएर गएकी केटीलाई कात्रोमा पल्टिएको देख्छु । निधारको चोट हातको फोका र चिन्नै नसकिने आगोले डढेको अनुहार हेर्नासाथ झन् मेरो आङ सिरिङ्ग हुन्छ । अप्रत्याशित घटना ! मेरो लागि बिल्कुल अप्रत्यासित घटना । महिलाविरुद्ध आखिर किन ? भित्रभित्रै आक्रोशित हुन्छु । राजधानीमा पत्रिकामा पढेको समाचार सम्झिन थाल्छु । केहीबेरमा एक महिलाले भन्छिन्, “कठै! विचरीलाई दाइजोको निहुँमा मट्टीतेल खन्याएर आगो लगाइयो ।” अनायास मलाई सम्झना आउँछ बिहेको दिनको कुरा, जुन दिन यस्तै एक महिलाले भनेकी थिइन्, “साँच्चिकै! ससुरालमा दुर्दशा हुनेछ ।” तर दुर्दशाले मृत्युको शिकार हुन्छे भनेर सोचेकै थिइनँ । बिचरी! ‘यिनको आत्माले शान्ति पाओस्,’ खेद प्रकट गर्दै म आफ्नो गन्तव्यतर्फ लम्कन्छु । #दहेज #दाइजो #रेहान खान
ह्यारी पोटर जन्मस्थान विवादमा तानिइन् जेके रोलिङ: लन्डन/ संसार प्रसिद्ध उपन्यास शृंखला ह्यारी पोटरको सोच जन्मिएको ठाउँ एउटा क्याफे थियो र त्यो क्याफे तस्बिरमा देखिएको एडिनबर्गस्थित इलिफेन्ट हाउस नै थियो भनेर दाबी आएपछि लेखिका जेके रोलिङले उसको दाबीमा कुनै सत्यता नभएको ट्विट गरेकी छन् । ह्यारी पोटर शृंखला यति लोकप्रिय भयो कि हरकोही त्यो उपन्याससँग जोडिएर व्यापार चम्काउन चाहन्छन् । यस्तो अवस्थामा १४ औँ शताब्दीको बेलायती शहर योर्कलाई ह्यारी पोटरको सोच जन्माउने शहर भनेर कतिपयले दाबी गरे । त्यहाँको डाइगन अलाई पसलमा होगार्ट विद्यालयका आवश्यक सबै सामग्री पाइने दाबी केहीले गरिरहेका थिए । यति मात्र होइन, यस्तो दाबी गर्नेमा बेलायत परका मुलुक पनि छन् । जस्तो कि पोर्चुगलको पोर्टोले होगार्टको सोच रोलिङको दिमागमा छिराएको भन्ने दाबी केहीको छ । हावा कुराको हुण्डरी नै सिर्जना भएपछि ह्यारी पोटरका सुपर फ्यानका रूपमा चिनिएका करोडपति व्यवसायी मिगल रोड्रिजले हालै एलिफेन्ट हाउस क्याफेको तस्बिर पोस्ट गर्दै सामाजिक सञ्जालमा जेके रोलिङलाई उपन्यास सिर्जना गर्ने ठाउँ यही हो कि भनी प्रश्न सोधेका थिए । त्यसको जवाफमा चर्चामा आएका कुनै पनि स्थान आफ्नो उपन्यास लेखिएका कुनै पनि स्थान नभएको प्रस्ट पारेकी हुन् । एउटा भनाइ नै छ, उनी एडिनबर्गबाट लन्डन आउने क्रममा एउटा रेस्टुराँमा बस्दै गर्दा उनलाई यो उपन्यासको विषयवस्तु फुरेको मात्र होइन, त्यसको केही खेस्रासमेत कोरेकी थिइन् । ह्यारी पोटरको जन्मथलो कुन हो भनेर जान्न चाहनेहरूका लागि उनले भनिन्, ‘यो उपन्यासको खाका बस्न कयौँ समय लागेको थियो र त्यसको सम्पूर्ण श्रेय कुनै एउटा रेस्टुराँलाई दिन मिल्दैन । कतिसम्म भने अहिले जति चर्चामा आएका नाम छन्, तिनको भूमिका रत्ति पनि छैन ।’ पहिलो पुस्तक त्यहाँ लेखेको नभई पछिल्ला कृतिहरू भने त्यहाँ सिर्जना भएको उनले बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बरू म म्यानचेस्टरबाट लन्डन जाँदै गर्दा यो उपन्यासको खेस्रा तयार भएको हो । एक किसिमले भन्ने हो भने रेल नै ह्यारी पोटर जन्मिएको स्थल हो ।’ जेके रोलिङले आफू संघर्षरत रहेका बेला ह्यारी पोटर जन्मिएको थलो एउटा सानो डेरा रहेको भन्दै डेराको तस्बिरसमेत उनले सार्वजनिक गरेकी थिइन् । ह्यारी पोटर शृंखलाका फिल्महरू योर्क शहरमा फिल्माङ्कन गरिएकाले पनि जेके रोलिङले त्यहीँ सो उपन्यास सिर्जना गरेको हुनसक्ने धेरैको अनुमानका कारण त्यहाँका व्यापारीले फाइदा लिइरहेको केहीले रोलिङको टिप्पणीमुन्तिर लेखेका छन् । पहिलो संस्करण बेचियो ३६ हजार पाउन्डमा सन् १९९७ मा पहिलो पटक निस्किएको ह्यारी पोटरको उपन्यासको एउटा हार्डकभर उपन्यासलाई गएको सातामा भएको लिलामीमा ३६ हजार पाउन्डभन्दा बढीमा तिरिएको छ । पहिलो उपन्यास ‘ह्यारी पोटर एन्ड द फिलोसफर्स स्टोन’ को पहिलो संस्करण पाँच सय वटा हार्ड कभर निकालिएको थियो । सन् २००८ मा स्थानीय बकिंगमसायर स्कुलबाट यो पुस्तक बालबालिकाले पढ्न अनुपयुक्त रहेको ठहर गर्दै स्कुलले फ्याँकिदिएको थियो । स्कुलले फ्याँकेको दस वटा प्रतिमध्ये एउटा किताब एक जना शिक्षिकाले आफ्नो घरमा लगेर राखेकी थिइन् । सोही पुस्तकमध्ये एउटा यतिबेला लिलामीमा ३६ हजार ३ सय पाउन्डमा बिक्री भएको द टाइम्स पत्रिकाले जनाएको छ । स्कुलमा शिक्षिका रहेकी ६५ वर्षीया ती शिक्षिकाले किताब आफ्ना नातिनातिनाले पढून् भनेर घर लगेकी थिइन् । नाम नखुलाइएकी उनले पत्रिकासँग भनिन्, ‘त्यो बेला यो किताबको मूल्य न त स्कुललाई थियो न त मलाई नै । यो किताब फ्याँक्न माया लागेर घर लगेकी थिएँ, समयक्रममा सुनमा परिणत भयो ।’ १० मध्ये एउटा उनले ल्याएकी र बाँकी नौ वटा पुस्तक कहाँ पुग्यो आफूलाई थाहा नभएको उनले जनाएकी छन् । चार वर्षअघि उनका छोराले बिबिसीबाट दिइने एउटा टिभी कार्यक्रम ‘बार्गेन हन्ट’मा ह्यारी पोटर किताबको पहिलो संस्करणको महत्त्वबारे प्रकाश पारेपछि धुइँधुइँती खोजेका थिए । सोही कार्यक्रममा ह्यारी पोटरका केही किताब ८ देखि १२ हजार पाउन्डसम्म लिलामीमा राखेको पाएपछि उनले आफूसँग भएको किताब खोजी गरेका थिए । सन् १९९७ मा यो पुस्तक प्रकाशन हुनेबित्तिकै पहिलो तीन सय प्रति बेलायतका विद्यालय र पुस्तकालयहरूमा बेचिएको थियो । रोलिङको कुर्सी किताब मात्र किन, ह्यारी पोटरसँग जोडिएको कुर्सीको पनि उत्तिकै महत्त्व छ । ‘ह्यारी पोर्टर’ लेख्न रोलिङले जुन कुर्सी प्रयोग गरेकी थिइन्, न्युयोर्कमा केही वर्षअघि सो कुर्सी लिलामी गरिएको थियो । लिलामी गर्दा ३ लाख ९४ हजार पाउन्ड तोकिएको थियो। सन् १९३० को दशकमा बनाइएको सिमलको रुखको त्यो कुर्सीमा बस्न स्कटल्यान्डको एडिनबर्गस्थित कफी हाउसले उनलाई कुनै शुल्क लिँदैनथ्यो। दिनभरि उनी त्यही कुर्सी र टेबुलमा बसेर ‘ह्यारी पोर्टर’को पहिलो र दोस्रो शृंखला लेखेकी थिइन् भन्ने भनाइ थियो तर लेखिका रोलिङले भने सोही कुर्सीमा बसेर लेखेको बताएकी छन् । हेरिटेज अक्सनले सो कुर्सी सबै करसमेत गरेर ३ लाख ९४ हजार पाउन्ड (५ करोड ९१ लाख रुपैयाँ)मा बेचिएको बताएको छ। गएको २००९ मा पनि यसरी नै लिलामीमा बेचिएभन्दा यो १४ गुणा बढी रकम भएको अक्सन कम्पनीले जनाएको छ। ५० वर्षे लेखिका रोलिङले ‘ह्यारी पोर्टर एन्ड फिलोसोफर्स स्टोन’ र ‘ह्यारी पोर्टर एन्ड द च्याम्बर अफ सेक्रेट्स’ पुस्तक लेखेकी थिइन्। यी पुस्तक १९९७ र १९९८ मा प्रकाशन भएका थिए। ‘त्यो कुर्सी ज्यादै आरामदायक थियो,’ लेखिका रोलिङले कुर्सी मालिकलाई लेखेको पत्रसमेत प्रदर्शनमा राखिएको थियो, जसमा लेखिएको थियो, ‘त्यस्तो नहुँदो हो त मैले टाइपराइटरमा घन्टौं लेख्न सक्तिन थिएँ होला!’ ‘यो कुर्सी अब मभन्दा निकै टाढा हुन लागेको छ र अब त्यसमा म कहिल्यै बसेर केही लेख्न पाउने छैन,’ उनले लेखेकी छन्। रोलिङले कफी हाउससँग त्यो कुर्सी मोटो रकममा किनेकी थिइन्। सन् २००२ मा नेसनल सोसाइटी अफ द प्रिभेन्सन अफ क्रुएल्टी टु चिल्ड्रेन नामक संस्थालाई सो कुर्सी दानमा दिएकी थिइन्। ‘मैले यसैमा बसेर ह्यारी पोर्टर लेखेकी थिएँ,’ भनेर रोलिङ आफैँले लेखेर हस्ताक्षर गरेको यो कुर्सी २००९ मा बेचिँदा २९,११७ पाउन्ड (४३ लाख ६७ हजार ८ सय ५० रुपैयाँ) तिरिएको थियो। सात शृंखलाको ह्यारी पोर्टर संसारभर ६७ भाषामा अनूदित भएको छ। नेपाली भाषामा समेत अनूदित यो पुस्तकको अंग्रेजी संस्करण मात्रै ४ करोड ५० लाख प्रति बिक्री भएको थियो। यस पुस्तकको प्रकाशनपछि संसारभर बाल पुस्तक पढ्नेको संख्या ह्वात्तै बढेको बताइन्छ। ह्यारी पोर्टरको फिल्मसमेत अति सफल भएपछि लेखिका रोलिङ अर्बपति बनेकी थिइन्। २०१२ मा भने उनी अर्बपतिको सूचीबाट निकालिएकी थिइन्। उनले आफ्नो रकममध्ये अधिकांश दान दिएकाले उनको सम्पत्ति अर्बबाट घटेर करोडमा झरेको सम्पत्तिको गणना गर्ने पत्रिका फोर्ब्सले जनाएको छ। #जे.के. रोलिङ #जेके रोलिङ #ह्यारी पोटर
डर: लघुकथा सुधा बासकोटा ढकाल “हेलो !” “को ? ए अनुपमा….” “हेर न आकाश ! त्यो उपन्यास हरायो ।” “हँ ..कुन ?” “त्यही के, तिमीले पढ भनेर दिएथ्यौ नि !” उ भन्छे । “कहाँ हरायो ?”– आकाश बल गरेर थुक निल्दै सोध्छ । “तिमीसँग छुट्टिएर आएपछि कहाँ छोडेछु, यादै भएन ।” चुपचाप । आकाश र अनुपमा मिल्ने साथी हुन् । एघार पढ्दा देखिको चिनजान डिग्री सकिदासम्ममा झनै झाङ्गिएको थियो । अनुपमालाई थाहा थिएन, तर आकाश उसलार्इृ धेरै मन पराउथ्यो । यति धेरै कि जिवन साथी बनेर जिन्दगी साथै बिताउन चाहन्थ्यो । तर……डर….. ऊ डराउथ्यो । नाइ भन्ली कि भनेर । भएको मित्रता पनि टुट्ला कि भनेर । एकदिन कुरैकुरामा उसले आकाशसँग भनेकी थिई, “ सुन न आकाश, आफूलाइ कत्रो टेन्सन छ । आफ्नो भविष्य बनाउनु छ । घरमा भने बिहेको कुरो गरेर हैरान भएँ म त ।” झस्केको थियो आकाश । अनि हिम्मत बटुलेर आफ्ना सम्र्पूण भावनाहरू प्रेम पत्र बनाएर लेखेथ्यो, र त्यही उपन्यासभित्र राखेर दिएथ्यो । कहिले जवाफ आउला ? के जवाफ आउला ? ऊ अत्यन्त व्यग्र थियो । करिब पन्ध्र दिनपछि भेट हँुदा अनुपमाले अँध्यारो मुख पार्दै भनेकी थिई– “मेरो बिहेनिश्चित भयो नि !” निःशब्द भएथ्यो आकाश । त्यसबखत उसलाई अनुपमासँग कुरा गर्ने शब्दै नभए जस्तो भएको थियो । “बधाई छ ।” बल्लबल्ल थुक निल्दै उसले भनेको थियो । “आफूलाई कस्तो तनाव छ । नचिनेको मान्छेसँग बिहे गरेर उसैको घरमा गएर बस्नुपर्ने । तिमी केटाहरुलाई जस्तो आनन्द हो र ?”– ऊ फनक्क फन्केकी थिई । फेरि तत्कालै, “सरी ल मलाई कस्तो कस्तो भा छ के ?” भन्थी । बिचरा आकाश अलमल्ल परेथ्यो, र मुस्कुराउने प्रयासमा फगत आफ्ना ओठहरुलाई तन्काउने प्रयास गरेथ्यो । र मनमनै भनेथ्यो– “राम्ररी चिनेको, बुझेको लाई त वास्तै गरिनौ नि ? अब मलाई किन सुनाउछ्यौ र ?” त्यसपछि उसले कार्ड दिएर गएकी थिई । आज ठीक ७ दिन पछि उसले फोन गरी । उसले त पत्र पाएकै रहिन छे । उफ ……. । दुई हातले टाउको समाएर ऊ थचक्क बस्छ ।
घायलको गजल: जो गरिरहन्छ बिग्रिरहन्छ दिकदार हुनुपर्छ त्यो मान्छे अथवा त्यो कामनै करार हुनुपर्छ ।। अनपेक्षित हमला हुन्छ छानबिन हुँदैन भने त्यो हमला गराउने देशको सरकार हुनुपर्छ ।। गरिब भएको सजायमा छोरा कुमार बस्यो अचम्म छ कन्या भित्र्याउन दरबार हुनुपर्छ ।। गरिब माथि झुटो आश्वासन बाढेको छ भने ऊ राजनीतिक पार्टीको उम्मेदवार हुनुपर्छ ।। भनिरहे बारम्बार घायललाई पाउनु छ भने दुबैजनाको दिल भित्र दोहोरो प्यार हुनुपर्छ ।। #घायल
तिम्रा शब्दबाट मैले प्रेम भरें: मुसुक्क हाँसी मसिनो आवाजमा बोल्यौ तिमी जब मनमा बस्यो शालीन अनि लजालु स्वभाव । मन मिल्यो विचार मिल्यो,चाहे जीवन साथै जिउन माया दिई माया लिई लागेँ प्रेम निभाउन ।। थिएँ एक, भयौँ दुई, एक अर्काको जिउने आधार माया प्रेम र विश्वासले ल्यायो खुसीको बहार । रोजेँ मैले खुसी जीवन, साथ तिमीले दिंदै गयौ हाम्रो प्रेमको फूलबारीमा ढकमक्क फूल फुल्यो ।। तिम्रो साथ पाएदेखि मेरो जीवन अर्कै भयो अल्मलिएको जिन्दगीले गन्तव्यको दिशा लियो । मैले तिम्रो साथ लिई जिन्दगीमा अगाडि बढ्दा गति लियो जीवनले हामी दुईको मन मिल्दा ।। जिन्दगीको रथ तान्दा हाँसो रोदन दुबै पाएँ सुख दुःख, खुसी, पीडा तिमी सँगै भोग्दै गएँ । भविष्यको सुख खोज्दै छोटो विदेश बसाई रोजेँ तिमीबाट टाढा हुँदा निकै धेरै पीडा भोगेँ ।। साँचै प्रिय ! आज तिम्रो निकै अभाव महसुस गरें भेटेदेखि हालसम्मका हरेकपलको याद गरेँ । मेसेन्जर र ह्वाट्सएपमा तिम्रा सबै टेक्स्ट पढेँ तिम्रा हरेक शब्दबाट मेरो मनमा प्रेम भरें ।। #तिम्रा शब्दबाट मैले प्रेम
छद्मभेषी गरिब: तिमी छद्मभेषी रहेछौ सारा संसारलाई ससम्मान घरघरमा राखिएको बेला तिमी कसरी फुत्त सडकमा आयौ ! टाढाको सूर्य हेर्यौ, तारा हेर्यौ, जून हेर्यौ तर आफ्नै अगाडिको सरकार हेरेनौ ! तिमी विद्रोही रहेछौ सारालाई राहत बाँडेका बेला तिमी कसरी भोकै रह्यौ ! तिमी बहिरो रहेछौ कोही कतै भोकले मर्दैन भनेर पटकपटक फर्मान जारी गरेका बेला तिमी किन यसो गर्यौ ! अब भन्नेछन् बुझक्कडहरूले तिमी अन्धा रहेछौ छिनछिनका ट्वीटर अपडेट नहेरेर तामझाम सहितका खर्बौंका नीति-कार्यक्रम नपढेर आउँदै गरेको बजेटको मुखमा बजेटको एक चुस्की स्वाद नपाई खुला सडकमा किन लड्यौ ? यत्रो कोलाहालपूर्ण दुनियाँलाई छक्याएर तीन-तीन थरिका घाम सरकार र एउटा छाया सरकारलाई समेत लत्याएर तिमी किन विद्रोही बन्यौ ! समाजवादको भर्याङ नचढेर किन पुँजीवादको नाम्लो समात्यौ संसारले लाज र लोभले नाकमुख छोपेका बेला तिमीले किन संसारलाई ङिच्याउँदै सारा देह देखाइदियौ ! किन आत्मबलिदान गर्यौ हो ! वर्तमान व्यस्त भए पनि भविष्यले इतिहासलाई सोध्नेछ आज देश गम्भीर छ सरकार गम्भीर छ त्यसैले अब कोही कसैले यसरी मर्न पाउने छैन अब तिम्रो देहान्तमाथि राजनीति हुनेछ नाम, थर, वतन सब खोजिने छ तिम्रो मृत शरीर अब जाँचपड्ताल गरिनेछ ! नापिन्छ, जोखिन्छ र चिरिनेछ तिम्रा आफन्तलाई बोलाइनेछ र कुनै पूर्जा थमाइनेछ किनकि अब राज्यले सम्पूर्ण जिम्मेवारी वहन गर्छ जो तिमीलाई थाहा भएन र पो नत्र तिमी जिउँदो हुँदा पनि सरकार गम्भीर थियो मन्त्रीहरू नयाँ नक्शा कोर्दै थिए नयाँ नक्शा घरघरमा पुर्याउँदै थिए भोक, रोग र शोक अन्त्यका लागि अर्बौंको हिसाब किताब हुँदै थियो शायद तिम्रो बारेमा पनि छलफल हुँदै थियो एक थान नक्शा तिमीलाई पनि थमाइँदै थियो तर तिमीले धैर्य गर्न सकेनौ ! हतार गर्यौ तर जे गर्यौ आफैँले आफ्नो निम्ति गर्यौ तर अब तिम्रो मृत शरीरमाथि राजनीति गर्नेहरूले के के गर्छन् शोक वक्तव्य, समवेदना, दुःख केके गर्छन् तर ती सब अर्कैका निम्ति गर्ने छन् किनकि तथ्य बङ्ग्याउन अनेक भ्रम छर्नेछन् ! तिम्रो निशब्द मृत्युमाथि शब्दका पहाड थुपरिनेछन् । त्यही शब्दका थिचाइले तिम्रो निद्राहराम हुनेछ सम्भवतः तिमीलाई मृत्युपछि पनि शान्ति मिल्नेछैन किनकि यो राज्यको नजरमा तिमी एक विद्रोही दर्ज हुनेछौ ! #दीपेन्द्र अधिकारी #भोक #मृत्यु #राजनीति
हिँड्ने बाटोहरू: थाहा छैन कता बग्छन यादहरू ? यादहरू ताता हुन्छन् । तिनले पोल्दैनन । शितल वायुसँगै उडिरहन्छन् । घरि दायाँ त घरि बायाँ चलिरहन्छन कुर्दैनन झुक्दैनन बरू रङ फेरिरहन्छन छेपारोसरि बगिरहन्छन रमाइरहन्छन ’चङ्गा’ जसरी धागोमा बाँधिएर लट्टाईँको इशारामा नाचिरहन्छन । कुर्दैनन भोलिलाई उचाई नाप्न । बढिरहन्छन हिँडिरहन्छन थाक्दैनन् किनकि तिनमा मांसपेशी हुँदैन । मात्र हुन्छन् सपना र, तिनलाई बोक्ने चेष्टा । सोँच्दैनन् हिजोका बारे । सोँच्दैनन् भोलिका बारे । बस् मनलाई फुरुङ्ग पार्दै हावासँग तरेली खेल्दै एकै रूखका हाँगामा चहार्ने राता पहेँला हरिया नीला चराझैँ भुर्रभुर्र उफ्रिरहन्छन् । नाँचिरहन्छन् । र त बाँचिरहन्छन् । सायद तिनलाई थाहा छ । आकाशमा, धरतीमाझैँ नाँच्न बन्देज छैन । आकाशमा, धरतीमाझैँ बाँच्न बन्देज छैन । अनि, सपना साँच्न बन्देज छैन । हिँड्ने बाटोहरूलाई अवरोध छैन । #हिँड्ने बाटोहरू
निष्ठुरी कोरोना: प्रकृतिको ताप बढ्दै जाँदा तिम्रो ताप पनि बढायौ सुटुक्क आएर विश्वलाई नै आफ्नो शक्ति देखायौ आफ्नो आगमनले संसारको सातो उडायौ अनि विश्वलाई नै आतङ्कित बनायौ आजसम्मको प्रविधिलाई असफल तुल्यायौ वैज्ञानिकहरुलाई अझ खोजमा डुब्ने बनायौ कुनै कुनो पनि बाँकी राखेनौ शहरको त के कुरा गाउँगाउँ अनि घर आँगनसम्मै पनि पुगी गयौ निर्दयी बनी वात्सल्यता पनि चुडी लग्यौ गरी खाने बाटाहरुमा काँडा उमारिदियौ परिश्रमी हातहरुमा खियाको बास गराइदियौ गरिबको चुल्हो निभाई भोकमरीको भुमरीमा लखेटी दियौ सर्वश्रेष्ठ मानव जातिलाई पनि जीवन र मरणको संघारमा पुर्याइदियौ भर्खर पालुवा लागेको मेरो देशमा पनि तुषारापात गराइदियौ बुद्धभूमि मेरो देशमा आतंकको बिज रोपिदियौ किन किन हामीलाई डरैडरमा बाँच्न बाध्य गरायौ कोरोना तिमी भयौ किन यति निष्ठुरी भक्तपुर #कोरोना महामारी #बसुन्धरा शर्मा #भक्तपुर #महाव्याधि
कोरोना कहर: आफ्नै नाक कान घककाँटी पनि छुन हुन्न कठैबरा कोरोनाको कहरभित्र क्वारेन्टाइनले वार्यो कोरा । के आयो कसरी आयो कहाँ कहाँ जान्छ कसलाई खान्छ कस्को होला यस्तो खेल थाहै छैन यतीवबेला । औषधी नै घरमा बस्ने नुन तातो पानी पानी खाने रम्ने रहर भए पनि भिँडभाडतिर जक्कादै नजाने । जानै कतै परे पनि छ फिट पर वस्न माने कोलाहल छ विश्व भरी कहिले होला हराइ जाने । पुतली जस्तो नाक कच्नु पर्ने थुनियो कोठामा कठैवरी विश्वमा बलियो जात मान्छे के विजोगमा पर्यो हरे । सवै कुरा हचुवा छन् न डाक्टर न वैज्ञानिक बडे बडे नेता पनि आज यस्कै फेला परे । गर्जने बाघ झैँ कठै तिनका नजर पनि झरे यो कोरोना कहरले भने सबै चीज थला परे । रहने हो कहिले सम्म कहिले पाइएला रम्न चिन्तै चिन्ता सबैतिर पाइदैन कतै घुम्न । ग्लोब मास्क सेनिटाइजर ल्यायो कोरोनाले कहर स्वस्थ सास फेर्न पनि हुने भयो हामीलाइ रहर। #ईश्वरी भट्ट
मेरो देश: केही मान्छेहरू छन् र त देश छ जो आफ्नो अर्काको नभनि मरिमेटेर काममा लागेका छन । केही मनहरू छन र त देश छ जो देश र जनता भनेको माटो र यसको सुगन्ध हो भनेर सम्झाइ रहन्छन् । केही विचारहरू छन् र त देश छ जो मागे नमागे निस्वार्थ रायहरू पस्किरहेका हुन्छन् । केही कर्मयोगीहरू छन् र त देश छ जहाँ योग्य सन्तान खातिर जय पराजय नभनि घाँस र दाउरा गरिहन्छन् । केही सर्जकहरू छन् र त देश छ जो बेलाकुबेला मातृ पुकार उतारेर जन मन झक्झकाइरहन्छन् । केही धरती पुत्रहरू छन् र त देश छ जो नबिर्सून सन्ततीले भनेर अबिरल पुर्खा गौरव गाथा बाँचिरहेछन । केही थान हिमाल छन् र त देश छ । जो खवरदारी गरिरहेछन यो पूण्यमूमी अकन्टक रहोस भनेर । केही थाननदी छन् र यो देश छ जो सिंचित गर्छन धरती र मन मुहार सधैं खुलोस भनेर धन्न पशुपति छन् र त यो देश छ छुरा लुकाएर आन्द्रा भुडी लुछ्न तयार कुलगाँरहरू भष्मिभूतगर्न भनेर । #मेरो देश
निशब्द छन् मान्छेहरु: निस्पट्ट अँध्यारो साउने औँसीको रात फैलिएजस्तो । पूर्वी दिशामा देखिँदैन सूर्यको किरण हिमाल प्रफुल्ल भैकन पनि मुस्कुराउन नसक्दा हरियाली छाएका पहाड नखुल्दा निशब्द छ्न् मान्छेहरु कालो बादलमा चाँदीको घेरा पनि देखिदैन निशाको बिस्तार पनि रोकिएको छैन ती व्यस्त शहरहरु ती ताँत लागी हिँड्ने गाडीहरु लाम लागेर हिँडने मान्छे नदेखेर सडक गजधम्म भै सुतिदिँदा निशब्द छ्न् मान्छेहरु शान्त र निर्जन देखिने शहरी उद्यान हेर्दा शान्त र अधिर विद्यालय क्षेत्रहरु निर्जन भएका सिनेमाघरहरु निन्याउरो मुख लगाउँदै विपत्तिको साक्षी बस्दा संसार जितेको छु प्रकृति जितेको छु सृष्टि जितेको छु छैन केही जित्नलाई भनी ठान्ने मान्छेलाई किंकर्तव्यविमूढताले पछ्याइरहँदा निशब्द छ्न् मान्छेहरु साँच्चै सोच्न बाध्य छ ऊ जीवन जिउन जे पनि गर्न सक्ने तिमी बसुदैव कुटुम्बकम् किन भन्न सक्दैनौ सर्वे भवन्तु सुखिनको माला किन जप्न सक्दैनौ जुन अत्याचार आफूलाई पनि दुख्छ त्यो अरुलाई पनि दुख्छ भनेर महसुस कहिले गर्छौ जुन स्वतन्त्रता आफूलाई प्रिय हुन्छ त्यो अरुलाई पनि प्रिय हुने कुरा कहिले सोच्छौ । बाउ बाजेले बनाएका सनातनी परम्पराहरु जुन ॠषिहरुका हजारौँ वर्षका तपस्याका परिणाम थिए। अनुभवका पोकाहरु गुणले भरिएका तर आधुनिकताका नाममा तिमीले मच्चाएको विध्वंस कहिले रोक्छौ निर्णय तिम्रो हातमा निर्णय पनि तिम्रो परिणाम पनि तिम्रो नोक्सान पनि तिम्रो लाभ पनि तिम्रो संकट रोज्ने कि शान्ति प्रेम रोज्नेकी आडम्बर निशब्द छ्न् मान्छेहरु #अपेक्षा #उज्यालो #सुरेश जोशी
हुनुपर्छ: जो गरिरहन्छ बिग्रिरहन्छ दिकदार हुनुपर्छ त्यो मान्छे अथवा त्यो काम नै करार हुनुपर्छ अनपेक्षित हमला हुन्छ छानबिन हुँदैन भने त्यो हमला गराउने देशको सरकार हुनुपर्छ गरिब भएको सजायमा छोरा कुमार बस्यो अचम्म छ कन्या भित्र्याउन दरबार हुनुपर्छ गरिब माथि झुट् आश्वासन बाँढेको छ भने ऊ राजनीतिक पार्टीको उम्मेदवार हुनुपर्छ भनिरहे बारम्बार घायललाई पाउनु छ भने दुवै जनाको दिलभित्र दोहोरो प्यार हुनुपर्छ । हलेसी तुवाचुङ दुर्छिम ५, खोटाङ #खोटाङ #घनश्याम खत्री
लुटिएको काठमाडौँ: आफ्ना महत्वाकाङ्क्षा र सपनाको लागि मेरो सौन्दर्य फाँडेर मलाई टुक्राटुक्रामा बाँडेर मेरो उर्वरतालाई बाँझो बनाई गगनचुम्बी महल ठड्याएर आफ्नो सपनाको खेती गर्ने तिमी अनि कसरी भन्छौ मलाई कङ्क्रिट सहर भनेर ? तिमीलाई आधुनिक भनाउन चाहिन्छ म सम्पन्न र सुखी बनाउन चाहिन्छ म तिमीलाई सफलताको रबाफ जमाउन चाहिन्छ म साँच्चै नढाँटी भन्नुपर्दा तिमीलाई जिन्दगीमा विलासिताकासाथ रमाउन र पैसाा र इज्जत कमाउन चाहिन्छ म । हो, म तिम्रो सपनाको सहर यहीँ फुल्छन् तिम्रा अनेकौँ रहर र मौलाउँदै जान्छन् तिम्रा योजनाहरू गाँसिदै जान्छन् तिम्रा नयाँ सम्बन्धहरू अनि बलिया जरा गाड्छौ तिमी फैलाउँदै आफ्ना हाँगाहरू र फेरि तिमी नै कसरी भन्छौ मलाई मरुभूमि भनेर ? वर्षौँ पहिले म पनि तिमीभन्दा धेरै सुकुमार र सुन्दर कलात्मक र उर्वर स्वच्छ र हराभरा थिएँ । आफू सुन्दर बनेर मलाई कुरुप पार्ने तिमी आफू सम्पन्न र सुखी बनेर मलाई उजाड पार्ने तिमी आफू सफलताका उन्मादमा रमेर मलाई उदास पार्ने तिमी इमानदार भएर सोच त स्वार्थी र मतलबी को रहेछ ? अनि फेरि कसरी भन्न सक्छौ तिमी मलाई ? प्रदूषित, कङ्क्रिट, मरुभूमि भनेर । हो, मेरो अस्तित्वमा धावा बोलेर मलाई कुरुप, फोहोर, दुर्गन्धित अशान्त र असुरक्षित बनाउने तिमी हौ केवल तिमी । वर्षौँ पहिले म पनि तिमीभन्दा धेरै सुकुमार र सुन्दर कलात्मक र उर्वर शान्त, स्वच्छ र हराभरा थिएँ । यी सबै तिमीले लुट्यौ , तिमीले …. । #रीता बलामी #लुटिएको काठमाडौँ
तिमीले पानी नसिँचे: वर्षौंवर्षको अन्तरालमा पनि ठिङ्ग्रिएर बसेको छु ठुटिएको छु जल्लादले टाउको तासे झैँ तासिएको छु मानौं मेरो फेरि दोस्रो चोटी न्वारन भएको छ ससाना पालुवाहरू मौलाएका छन्। मुडो माथिबाट लाग्दैन रुख जस्तो बूढो मुडो रुख हुँ जरा दुख्छ तिमीले पानी नसिँचे मनुष्यका मानस पटलका रुख पथका गगनचुम्बी रुख आँगनका थोरै घमण्डी अनि कौशीका सर चढेका रुख विदेशी मोलमा लडिबुडी उम्रिएका अनि लोकल रुख स्वदेशका मनोमेन्ट दायाँबायाँ र तलमाथिका आफूले आफैँलाई अग्ला कहिले होचा बाहुन्न वीरसरह सोच्ने जति नै शिखर छोए पनि गन्तव्य त आखिर जमिनमै छ पापीले आएर छ्याप्प पारेपछि रुख हुँ, जरा दुख्छ तिमीले पानी नसिँचे लत्र्याङ्ग भुइँमा मुर्दासरी लड्दा मेरो अस्तित्वको खोजी खोई भएको बरु मेरो अविचलित अंगहरु टुक्राटुक्रा पारेर बाँडिन्छन् नअगाएका भोका मानवलाई जो पेटमा मात्र ज्वाला नराखी नजरमा लुब्ध लोभी भोक राख्छ रुख हुँ जरा दुख्छ तिमीले पानी नसिँचे लाग्छ मानौँ म मुक्त भइनँ लाग्छ म मरेर पनि नरकैमा छु देख्छु प्रत्येक अनुहार म भन्दा बढी पापी छन् सगोत्री भएर के भयो सगरमाथा चढेर के भयो टापुबाट रुख नदेखेपछि उद्गम बिन्दुबाट दृश्य धमिलो देखेपछि कसरी उमार्छौ पालुवा मुना रुख हुँ जरा दुख्छ तिमीले पानी नसिँचे #कल्पना सुवेदी
जीवन: लियोनोभ – ओहो, म यो कहाँ आइपुगें, कस्तो अन्धकार, यहाँ त काल पनि भयभीत होला जस्तो छ । थोमस – विचलित नहुनुस् महाशय , यहाँ तपाईं एक्लै हुनुहुन्न । लियोनोभ – तपाईं, .. तपाईं को ? थोमस – मलाई पनि अब तपाईंजस्तै सम्झिनुहोस् , हामी अब एउटै भैसक्यौं; यो पक्कै पनि मृत्\u200dयुलोक हुनुपर्छ । लियोनोभ – मृत्\u200dयुलोक, यसको मतलब के म मरें ? ओहो म त भर्खर ३२ वर्षको हुँदैछु , म यति चाँडै मर्ने, अनि मेरी जोसेफा, उफ् ! थोमस – जीवन र मृत्\u200dयु मानिसको हातमा हुँदो हो त संसार यति विचित्रको हुनेथिएन । आउनुहोस् हामी एक-अर्कासँग परिचय गरौं । म थोमस, म लियोनोभ, म टोमेट , म अली , म विमिरो, अनि म फ्रेडरिक । टोमेट – अनि हामी सबैजना यहाँ एकैचोटि कसरी ? थोमस – सम्भवत: हामी एउटै समयमा मरेको हुनुपर्छ , म मर्दा त्यस्तै मध्यरात भएको हुँदो हो । टोमेट – हो, मैले अन्तिमपटक घडी हेर्दा रातको ११:३० बजेको थियो । फ्रेडरिक – हो, मलाई सब याद छ । उफ् ! म सम्झिन पनि चाहन्न, मलाई ती दुष्टहरुले रातको ठीक बार्ह बजे … (रुँदै) थोमस – छाडिदिनुहोस्, अब त्यसको कुनै अर्थ छैन । ईश्वरले मानिसलाई सबैथोक दिएपनि सुर्ताउनका लागि सानो भाग राखिदिएकै हुन्छ । म पनि उमेर छँदा आफुलाई धेरै गुणले सम्पन्न सम्झन्थें । जे काम पनि म खुबै फूर्तिसाथ गर्थें । बालबच्चा र श्रीमती गाउँमा बस्थे, र म टाढा शहरमा काम गर्थें । वर्षको दुइचोटि छुट्टी मिलाएर आउँदा उनीहरुको अनुहार देख्दा मलाई यति खुशी लाग्थ्यो कि, म वर्णनै गर्न सक्दिन । पछि मेरो हाकिमले मेरो काम देखेर मेरो बढुवा गरिदियो, र मैले मेरो परिवारलाई शहरमै बोलाएँ । सबै कुरा ठीकै भइरहेको थियो , तर अचानक अनौठो रोग लागेर मेरी श्रीमती अकालमै मरी । त्यतिबेला म ४३ वर्षको हुँदो हुँ । त्यसपछि त मेरो जिन्दगीलाई बादलले ढाकेजस्तो भयो । छोरा – छोरीको बिहे गरिदिएर म जेठो छोरासँग बस्नथालें । जेठो छोरो एउटा रात्री बजारमा काम गर्थ्यो । जेठी बुहारी अलि उच्च कुल-घरानियाँकी थिई । म जति-जति बूढो हुँदै गएँ, उति-उति मेरा दुर्दिन अाइरहेजस्तो भयो । मेरो स्वास्थ्य पनि धेरै बिग्रन लाग्यो । डाक्टरले दिनमा तिनचोटि आठ-आठ घण्टाको फरकमा नखाइ नहुने भनेर अौषधी दिएको थियो । केही दिन त छोराले नै समय मिलाएर मलाई अौषधी दिन्थ्यो, तर पछि त ऊ पनि बेफुर्सदी हुँदै गयो । घरमा एउटा काम गर्ने केटो राखेका थिए, उसले पनि मलाई नजानेर कतिचोटि अर्कै अौषधी खुवाएको थियो । कहिलेकाहीँ बुहारीको व्यवहार देख्दा बिरक्तिएर म आँफै अौषधी नखाइ बसिदिन्थें । त्यस्तै एक रात पीर मान्दै म ओछ्यानभित्र पसेको थिएँ । सपनामा मेरी श्रीमतीसँग कुरा गर्दा-गर्दै म यहाँं अाइपुगें । बुझ्नुभो’, एक प्रकारले त मैले मुक्तिको अनुभव गरिरहेको छु । लियोनोभ – तपाईं मुक्तिको कुरा गर्नुहुन्छ, तपाईंलाई मेरो छट्पटी थाहा भै’दिए । म यहाँं आएको कुरा जोसेफालाई थाहा भएपछि विचरीलाई कस्तो हुन्छ होला ! फेरि त्यो औंठी, उफ् ! टोमेट – को जोसेफा ? लियोनोभ – उनी मेरी प्रेमिका, ओहो, बरु सक्नेभए म फेरि एकचोटि फर्केर जान्थें, र सबै कुरा स्पष्टसँग भन्दिन्थें । ठट्टै-ठट्टामा मैले कस्तो काम गरेछु , फेरि मलाई यस्तो हुन्छ भन्ने पनि के थाहा ? थोमस – कुरा के हो खुलस्त भन्नुहोस् लियो । लियोनोभ – वास्तवमा जोसेफालाई म असाध्यै माया गर्थें, र ऊ यति राम्री थिई कि, तपाईंहरुले देखेको भए थाहा पाउनुहुन्थ्यो । ऊ फ्रेन्च बाउ र रसियन आमाकी छोरी थिई, यसैकारणले होला ऊ त्यति बिघ्न राम्री भएकी । म ऊ’लाई औधी मन परापराउँथें, र आफ्ना प्रेमले भरिएका कविता सुनाउँथें: म धुलो धरतीतलको, तिमी पवनकुन्जकी परी बालिदेऊ न प्रेमदीप, कहिल्यै ननिभ्ने गरी .. हामी एउटै क्याम्पसमा पढ्थ्यौं । हाम्रो उच्च शिक्षा भर्खरै सकिएको थियो, र पढाइ सकाएर ऊ आफ्नो शहर फर्किएकी थिई । हामी दुइको झण्डै – झण्डै बिहे नै गर्ने कुरा मिलिसकेको थियो, र अन्तिम निर्णयको मात्र आवश्यकता थियो । म पढाइसँगै आँशिक समय काम पनि गर्ने गर्थें , र केही पैसा जम्मा पनि गरेको थिएँ, त्यसैबाट मैले मेरी जोसेफाको लागि, उनका सुन्दर औंलामा मिल्ने १,००० रुबल पर्ने हीराको औंठी बनाइदिएको थिएँ , तर उनलाई औंलाको नापको लागि लैजाँदा सुनको औंठी भनेर झुक्याएको थिएँ । आज त उनको जन्मोत्सव थियो, र मैले फोनमा आउन भ्याउँदिन भनेर ढाँट्न खोजेको थिएँ, र ऊ नराम्ररी रिसाएकी थिई । म वास्तवमा उनलाई सुखद् आश्चर्य दिन चाहन्थें; म नआउने भनेर रिसाएकी उनलाई म सुटुक्क गएर उनको घाँटीमा पछाडिबाट उनले थाहा नपाउनेगरी म्वाइँ खाइ हात समातेर हीराको औंठी लगाइदिंदा उनी कति खुशी हुन्थिन् होला ? हामी दुबैलाई कति रमाइलो लाग्थ्यो होला, सम्भवत: त्यो हामी दुबैको जीवनको अविस्मरणीय क्षण बन्थ्यो होला, तर कत्रो अफसोच! त्यो दिन अब कहिल्यै आउनेछैन, र जोसेफालाई यो सब कुरा अब कहिल्यै थाहा हुनेछैन । म त घरबाट हिंडिसकेको थिएँ, रेल्वे स्टेशनसम्म पुग्न भनेर ट्यक्सीमा जाँदा दायाँपट्टीबाट एउटा ठुलो ट्रकले यति जोडले ठोक्यो कि म त बेहोसै भएँ । मैले त सोचेको थिएँ म घाइतेसम्म हुन्छु होला, तर … टोमेट – भइगो’ लियो, चिन्ता नगर्नुहोस्, जुना कुरामा तपाईंले चाहेर पनि केही गर्न सक्नुहुन्न, त्यसको लागि किन पीर गर्नुहुन्छ ? हुन त तपाईंलाई जस्तो चिन्ता मलाई छैन, त्यसैले पनि मलाई यस्तो लागेको होला । मेरा त न प्रेमिका छन् न जहान परिवार । कलेज पढ्दा एउटीलाई मैले पनि मन पराएको थिएँ, तर मैले यो कुरा उसलाई कहिल्यै भनिन, भनेको भए उसलाई कस्तो लाग्थ्यो कुन्नि । पछि ऊ पनि आफ्नो बाटो लागी, म यता फौजतिर आएँ । अहिले त ऊ घरजम गरेर बसेकी होली । तर मेरो जिन्दगीमा मैले अलि बढी ध्यान दिएकी केटीचाहिं साँच्चै उही एउटी मात्रै हो । अनि म फौजमा आएको ३-४ वर्षमा त लडाइँ सुरु भइहाल्यो । हाम्रो पल्टन लडाइँमा जाने दोश्रो पल्टन थियो । लडाइँमा जाने थाहा पाउँदा मेरा साथीहरु डराएका थिए, तर म भने कत्ति पनि डराएको थिइन । आफ्नो देशको लागि मर्ने मान्छे सिधै स्वर्ग पुग्छ भन्ने मैले सानो छँदा पढेको थिएँ, फेरि डराएर मृत्\u200dयु पर भाग्ने होइन, जन्मेपछि एकचोटि मर्न त परिहाल्छ, आफ्नो भाग्य जस्तो छ त्यस्तै हुन्छ भन्ने सोचेर मलाई वास्तवमै डर लागेको थिएन । तर हाम्रो कप्तानले गल्ती नगरेको भए मलाई त्यसरी मर्नुपर्ने थिएन । हाम्रो टोलीलाई ब्रिज पर्वतमा बसेको पल्टनलाई मद्दत गर्न जाने जिम्मेवारी दिइएको थियो । पर्वतमा पुग्ने छोटो र सजिलो बाटोमा शत्रुहरु हुनसक्ने खबर हामीले पाएका थियौं । तर कप्तानले अरु बाटोमा पनि शत्रु बसेको हुनसक्ने र फौजी भएपछि खतराको सामना गर्न डराउनहुन्न भन्दै ठूला-ठूला कुरा गरेर हामीलाई त्यहीं बाटो हिंडायो । पछि घाटिनिर पुग्दा शत्रुहरुले घेर्न लागेको सुइँको पाएर कप्तान र अरु सैनिक पछी हटिसकेका रहेछन्, म चाहिं पन्क्तिको सबैभन्दा अगाडि थिएँ । मैले सुनेको अन्तिम शब्द थियो, “टोमेट, फर्क”, र मलाई थाहा छ, मलाई बोलाउने मेरो सबैभन्दा मिल्ने साथी थियो । त्यसपछि गोली चलेको आवाज आयो, र सबैकुरा सुनसान भयो । अली – तपाईंको कुरा सुनेर दु:ख लाग्यो, तर मेरो मरण पनि कम पीडादायी भएन । मैले जस्तो नियती भोगें, त्यसपछि मलाई लाग्छ, संसार केवल स्वार्थै – स्वार्थको खेल हो । वास्तवमा कसैले कसैलाई तबमात्र माया गर्छ, जब उसको त्यसबाट भलाइ भइरहेको हुन्छ । कोहीलाई श्रीमतीले खुब माया गर्छे, किनकि लोग्नेले उसको सबै चाहना पूरा गरिदिएको हुन्छ । विदामा घर आउँदा बुवाले मिठाइ, नयाँ- नयाँँ लुगा नल्याइदिनेभए कसैका छोरा- छोरी त्यति साह्रो रमाउँदैनथे होलान् । र संसारको यो सत्यलाई मैले समयमै बुझेको भए मैले यस्तो भोग्न पर्दैनथ्यो । टोमेट – कस्तो नियती अली ? अली – म सम्भ्रान्त परिवारको केटो, मेरा बुबा दरबारको नोकरी गर्नुहुन्छ । मलाई बुबा- आमाले असाध्यै माया गर्नुहुन्थ्यो, र त्यहीं मायाको मैले गलत फाइदा उठाएँ । म अरु भाइहरूभन्दा जेठो भएपनि शारीरिक रुपमा केही कमजोर थिएँ , र बुबाको बिंडो थाम्ने हिम्मत पनि ममा थिएन । त्यसै हुनाले मेरो माइलो भाइलाई बुबाले दरबारमा काम लगाउनुभएको थियो, आफ्नो भविष्यको ऊत्तराधिकारीको रुपमा । मेरो त्यहीं सोझो चरित्र र हाम्रो अकुत सम्पत्ति देखेर एउटी दुष्ट केटीले मलाई फसाई, जुन कुरा मैले भर्खर थाहापाउँदैछु, तर यतिबेला धेरै ढीलो भइसक्यो । त्यसबेला त मैले आफुलाई महान प्रेमीको रुपमा प्रस्तुत गरिरहेको थिएँ । त्यो दुष्टले पहिले बिहे गरेको केटोलाई छोडेर आएको कुरा जान्दा-जान्दै पनि अरु कुरा बुझ्ने प्रयासै नगरी मैले त्यसको सच्चरित्रताको बारेमा वकालत गर्दै हिड्थें । मलाई कहिल्यै रुखो व्यवहार नगर्ने मेरा आमा-बुबासँग समेत मैले त्यस पापिनीको बचाऊ, र आफ्नो अन्धो प्रेमको रक्षाका लागि ठुल्ठूलो स्वरमा कुरा गरें, धिक्कार छ मलाई । हाम्रो सम्बन्धको बारेमा थाहा पाएर बुबाले एकदिन मलाई बेस्सरी झपार्नुभयो, र त्यस अलच्छिनीलाई मेरो बाटोबाट हटाउन जेसुकै गर्नसक्ने भन्दै जानुभयो । तर मेरो दिमागले ठाउँ छोडेको त्यो बेला मैले त्यस राक्षसीलाई सुटुक्क भेटी त्यसकै बहकाऊमा घरै छोडेर हिंड्ने सल्लाह गर्नपुगें । साँच्ची मलाई त्यसले के टुना लगाएकी थिई, म त्यो नभइ बाँच्नै नसक्ने निस्कर्षमा पुगेको थिएँ । आखिर मध्ररातमा सबै सुतेपछि त्यसकै सल्लाहमुताबिक म सम्पत्ति लिएर घर छोड्न तयार भएँ । हाम्रो ढुकुटीमा जम्मा चौध करोड बराबरको सम्पत्ति भएको मलाई थाहा थियो । हामी तीन भाइ, दुई दिदी-बहिनी र आमा-बुबालाई बराबर भाग लाउँदा मेरो भागमा जम्मा दुई करोड बराबरको सम्पत्ति पर्न आउँथ्यो । आखिर मैले अँशै लिएपनि त्यत्ति सम्पत्ति त मेरो हो, तसर्थ मैले आफैंले झिकेपनि त्यो चोरी ठहर्दैन भन्ने विचारले मैले पुग-नपुग त्यति बराबरको हीरा-जवाहरात लिएँ र आफ्नो लुगासित पोको पारी घरबाट निस्किएँ । त्यो डँकिनी दिउँसो भनेकै ठाउँमा हातमा पोको बोकेर पर्खिरहेकी रहिछ, म अाउनासाथ खुशी भइ, “ए आयौ, ल गै’हालौं” भन्दै कुन्नि कसको झुप्रोमा लिएर गई । कोठामा पस्नासाथ अरुले थाहा पाउँछन् भन्दै सबै झ्याल-ढोका थुनी र मलाई जवाहरात देखाऊ भन्दै बडो व्यग्रताकासाथ सोधी; मलाई उसको व्यवहार एकदमै अनौठो लाग्यो । मैले ल्याएको पोको देखाएपछि ऊ यति खुशी भई कि मलाई लाग्यो उसले जिन्दगी बिताउने मसँग होइन त्यही सम्पत्तिसित हो । त्यसपछि ऊ मलाई हेरेर त्यहीं कपटपूर्ण हाँसो हाँसी, उसलाई देखेर मलाई डर लाग्न थाल्यो; मेरो ढुकढुकी बढ्दै गइरहेको थियो कि अचानक पछाडिबाट केही धारिलो चीजले मेरो घाँटीमा बलियोसित हिर्कायो ….., र म यहाँँ अाइपुगें । बिमिरो – ओहो, अली, तपाईंको घटना साँच्चै दु:खलाग्दो रहेछ । म पनि तपाईंसित सहमत छु, सँसारमा सबै प्राणीले आफ्नै स्वार्थपूर्तिको उध्योग मात्रै गर्दछन् । लियो – तर बिमिरो महोदय, यो दुनियाँमा प्रेम र विश्वासको अस्तित्व पनि त छ? आखिर सँसार नै विश्वासमा अडेको छ । विमिरो – तपाईंको कुरालाई म ठाडै अस्वीकार गर्दिन लियोनोभ, तर मान्छेले आफ्नो चाहनासित प्रेम गरेको हुन्छ, र आफ्नो स्वार्थलाई विश्वास गर्दछ । सँसार त्यति आदर्शमय भएको भए मैले पनि रोगले थलिएर भोक-भोकै मर्नुपर्ने थिएन । फ्रेडरिक – आश्चर्य, तपाईं साँच्चै भोक-भोकै मर्नुभयो विमिरो ? विमिरो – तपाईं ठूलै घरानियाँको, साँच्चै भनुँ भने राजा-महाराजाहरुजस्तै देखिनुहुन्छ, तपाईंलाई रोग र भोकको बारेमा त्यति थाहा छैन होला । फ्रेडरिक (गुनगुनाउँदै – हो, राजाजस्तो होइन, म सम्राटै थिएँ, तर अहिले होइन, पहिले, अफसोच, ती दिनहरु …) विमिरो – तर दैवले हामीलाई भोक नै आहारा र रोग नै उपचार दिएर पठाएको छ, हामीले यस्तो जिन्दगी नचाहेरै पनि जिउनुपर्छ, दु:खलाई नै सुख मान्नुपर्छ । मैले पनि जीवन र मृत्\u200dयुको लडाइँ हेर्दै र खेल्दै आएँ । सम्पत्ति भनुँ भने हाम्रो ओत लाग्ने झुपडी, र खेतबारी जे भने पनि त्यहीं एक टुक्रा जमीन थियो, त्यहीं पनि बा सानैमा मरेकाले मैले रातदिन गरेर, अर्काकोमा काम गरेर जोडेको । तर त्यो घरै अभागी रहेछ, त्यहाँ आएको सालै मेरी आमा बितिन् । तै पनि जेनतेन गरेर भाइ र बहिनीको बिहा गराइदिएँ, दिदी त पहिल्यै बिहा गरेर गइसकेकी थिइन् । पछि मैले पनि बिहे गरें, एक छोरा र चार छोरी भए, कान्छी छोरी पाउँदा मेरी जहान पनि मरी, विचरीले न भनेजस्तो खान पाई न स्याहार नै, त्यहीं हुँदा सुत्केरी व्यथाले उसलाई लग्यो । आखिर छोराछोरी हुर्कँदै गए, चारै छोरीका धेरै टाढाका घर परे, कान्छी छोरीको त बिहा गरेर गएपछि एकैचोटि मात्र मुख देख्न पाइयो । छोराले पनि बुहारी भित्रायो, उसका पनि दुई छोरा र एक छोरी भए । मलाई भने बुढेसकालले च्याप्न थाल्यो । उमेर छँदा खिएको जीऊले बूढो हुँदा पिराउन थाल्यो । शुरु-शुरुमा त खुट्टा मात्र थर्थराउँथे, हुँदा-हुँदा मेरा दुबै हात-गोडा नचल्ने भए । रोगी शरीर आफूलाई पनि भारी, अर्कालाई पनि भारी हुँदो रै’छ । अभागीलाई दैवले दु:खै भोग्न पठाउँदा रैछन् भनेर सहेर बसेको थिएँ, ठूलो खडेरी पर्\u200dयो । त्यस्तैमा बुहारीकी कान्छी छोरी खेर गई । अन्नको गेडो भएन, बारीमा लगाएका जैतुन कक्रक्कै सुकेको झ्यालबाट देखिन्थ्यो । छर-छिमेक पहिल्यै अन्त बसाइँ सरिसकेका थिए, जानेबेलामा छिमेकीले “जाने होइन र बा” भन्थे, मैले “जाँ’ गए ‘नि लैजालान् नि छोरा-बुहारीले” भन्थें । एकदिन रातभर छोरा-बुहारीले गनगन गरिरहेथे’, भोलिपल्ट खन्द्र्याङ-खुन्द्रुङ भाँडा बजाएको सुनिथ्यो, त्यसपछि त चकमन्न भयो । एकछिन त घाँटी सुक्ने गरी कराएँ, कसैले उत्तर दिएन, आखिर सबै बसाइँ सरेर गइसकेका रहेछन्, मलाई एक्लै मर्न छोडेर । एकछिन त खुब दु:ख लाग्यो, बा-आमा, जहानको धेरै याद आयो । रुँदा-रुँदै आँखा पनि थाकेछन्; अनि घिस्रिँदै भान्छामा गएर हेरें, कतै केही रहेनछ, फेरि फर्केर वोछ्यानमै आएर पल्टिएँ । तीन दिनसम्म त राम्रै सम्झना छ, त्यसपछि त आँखा धमिला जस्ता भए, मुख सुकेर निल्न पनि गार्हो हुन लाग्यो, शरीर गल्दै गयो र कतिबेला सास गयो पत्तै भएन । टोमेट – अहो, सम्झँदा पनि कहालीलाग्ने जिन्दगी रहेछ तपाईंको । अनि फ्रेडरिक महाशय ज्यादै शान्त हुनुहुन्छ, तपाईं पक्कै कुनै ठूलै शासक हुनुपर्छ, तपाईंजस्तै थुप्रैलाई मैले सलाम ठोकेको थिएँ, र तिनैका लागि जीवन पनि गुमाएँ । फ्रेडरिक – ठीक भन्नुभो’, मेरो जीवन एकदम शान्त छ, ठूलो भुइँचालो या आँधीबेहरी पछिको शान्ति जस्तो, सबैकुरा ध्वस्त भइसकेको, केही बाँकी नराखिएको … । हो, म विशाल साम्राज्यको सम्राट थिएँ । यो साम्राज्यमा मेरा पूर्खाहरुले थुप्रै पुस्ता बिताइसकेको थिएँ, तर मेरै पालीमा यस्तो हुनुपर्ने, पापी ईश्वर । पहिले सम्पूर्ण राज्य मेरै मुठ्ठीमा थियो, मेरै ईशारामा राज्य सँयन्त्र चल्थे । मेरो सुरक्षाका लागि लाखौंंको फौज थियो, तर आखिरमा ती केही काम लागेनन् । मेरा पिता-पूर्खाले छोडेको गद्दीमा बस्नु मेरो के दोष ? फेरि मेरो राज्य व्यवस्थामा भएका तमाम गल्ती कमजोरीहरुलाई म एक्लैले कसरी ठीक पार्न सक्छु, मेरो ईच्छा त थियो केही सुधार गर्नुपर्छ, तर कसैले मेरो कुरा सुनेन, न मित्रले न शत्रुले, सबै मानिस बौलाएका थिए । आखिर मेरो सबैभन्दा विश्वासपात्र सेनापति नै पो षड्यन्त्रकारीहरुसँग मिलेको रहेछ, पछि मात्र थाहा भयो । थाहा पाएर के गर्नु, सबै कुरा आफ्नो पन्जाबाट फुत्किसकेको थियो । फेरि मैले पनि अन्तसमयमा गल्ती गरें , सिपाहीले पक्रेर ल्याएका सयजना द्रोहीहरुलाई झ्यालखानामा राख्नुपर्ने रहेछ, सबैजनालाई झुन्ड्याइदिने आदेश दिएँ, त्यसपछि त दुष्टहरुको आँधी नै दरबारतिर खनियो । मेरा केही विश्वासिला भारदार र अङरक्षकलाई मारिहालेछन्, म पनि मेरा परिवार र गरगहना लिएर उम्किसकेको थिएँ , जङल कटेर सीमा पार गर्ने बेलामा बाटामा मोतीको माला खस्नपुग्यो । नटिपे झन् के-कसो हो भनेर हो-हल्ला हुन्छ भनेर टिप्न निहुरेको, झुत्रो भेषमा घाँटीको हार देखेर सबैले शँका गरिहाले, अनि भाग्न खोज्दा सम्राट भाग्नलाग्यो भनेको सुनेपछि द्रोहीहरु लखेट्न अाइहाले । अन्तिम समयसम्म पनि कसैले लुकाएर ज्यानको रक्षा गरिदेला कि भनि ढोका ढक्ढक्याउँदा पहिले दर्शन पाउन लालायित हुनेहरुले समेत कुनै वास्ता राखेनन् । आखिर सबै हुँदा नै मान्छे आफ्ना हुँदारहेछन् । सबैले बलेको आगो नै ताप्नेरहेछन् । अनि त हामी सबैलाई घिच्याउँदै मध्यरातमा राजधानी पुर्याए, र शहरबासीलाई भेला गराएर मेरै अगाडी मेरा जहान छोराछोरी काट्न लगाए, मैले हेर्न नसकी आँखा बन्द गरें, केवल त्यो भयानक, मुटु नै चुँडिने चिच्याहट सुनिरहें । सानो छोराले त मलाई बचाउन गुहार समेत मागेको थियो । तर मैले केही गर्न सकिन, र अाफैंलाई धिक्कारें । एउटा लामो दाह्री पालेको दुष्टले मलाई रातको ठीक बाह्र बजे काटिने फैसला सुनायो । आँखाअगाडि आफ्ना परिवारको दर्दनाक द्रिश्य हेरिसकेको र राजपाठ पनि गुमिसकेको हुनाले मलाई जीवनको मोह नै भँग भइसकेको थियो । आकाशमा जून-तारा टिल्पिलाइरहेका थिए । बत्तिको प्रकाशले रातमा पनि छर्लङै देखिन्थ्यो । मैले वरीपरी हेरें, मेरा आफन्त, आसेपासे, जो सबै अनेक प्रकारले मेरा रिणी थिए, र अन्य जनसाधारण, अहिले छाती ढक्क फुलाएर मलाई हेरिरहेका थिए, कोही दया-भाव देखाइरहेका थिए, मानौं उनीहरुलाई कहिल्यै मर्नैपर्दैन, अथवा यो सँसारमा मर्न लागेको पहिलो व्यक्ति म नै हुँ, र ती द्रोहीहरु, जो ठान्थे, सबै समस्याको कारक र समाधान मै मात्र हुँ । आखिर चर्चको घण्टाघरले बार्ह हान्यो, त्यो नयाँ घण्टाघर आफ्नो राज्यकालमा मैले नै बनाउन लगाएको थिएँ, विदेशबाट सामान र कालीगढ ल्याएर पूरा बनिसक्न पाँच वर्ष लागेको थियो । त्यसपछि मेरो हत्याराले आफ्नो दुबै हात उठाएको छायाँमा प्रस्ट देखिन्थ्यो । मैले अन्तिमपटक अगाडिको भीडलाई हेर्नमात्रै के भ्याएको थिएँ …. ठ्वाक्क …. त्यो भीडको तस्वीर धमिलो हुँदै एकैछिनमा बिलायो, र म यहाँ …. । थोमस – चिन्ता नगर्नुहोस् फ्रेडरिक महोदय । सँसार यस्तै नै छ …. त्यो सम्पूर्ण साम्राज्य, जुन अहिले तपाईंको छैन, पहिले पनि तपाईंको थिएन; जे थियो, एकैछिनका लागि थियो, त्यहीं पनि सम्पूर्णरुपले आफ्नो थिएन । त्यसैले दु:ख मान्नु व्यर्थ छ । तपाईंलाई आफ्नो दु:ख सबैभन्दा ठूलो लाग्ला तर सँसारमा सबैलाई आफ्नै व्यथा ठूलो हुन्छ, आफ्नै कथा लामो हुन्छ । तर मानिसहरु सतही रुपले बाँच्न खोज्छन्, जीवनको गहिराइलाई उनीहरु महसुस गर्नै चाहँदैनन्। वास्तवमा सबै प्राणी भौतिकरुपले मात्र भिन्न हुन्, उनीहरुको जीवनतत्व एउटै छ, त्यसैकारणले त मायाले सबैको मन पगाल्छ, घ्रिणाले सबैलाई दु:ख्छ । आफूलाई रुवाउने दु:ख हामी अरुलाई किन दिन्छौं ? अरुको खुशी खोसेर हामी आफूलाई सुखी किन सम्झिन्छौं ? तिमीलाई रुवाउँछ भने, दु:ख अरुलाई किन दिन्छौ? अरुको खुशी खोसेर, सुखी आफूलाई किन सम्झिन्छौ? अरुलाई नाशी आफु हाँस्ने, मानिसको ठूलो भूल प्रेम गरे प्रेम नै मिल्छ, यहीं नै सुखको मूल मरेरै गए ‘नि तिमी तर, तिम्रो माया त मर्दैन मित्र बाँचिरहनेछौ सधैंभरी, सुकोमल त्यो हृदय भित्र जति बाँचे पनि आखिर, लाग्छन् जीवन अधुरा यो जन्ममा केही बाँकी भए, गर्नु अर्को जीवनमा पूरा जिउँदै मरेझैं हुन् ती जो, आफ्नै स्वर्थसिद्धि मात्र गर्दछन् मरेरै पनि अमर भए ती जो, देशका लागि मर्दछन् जान आखिर सबलाई पर्छ, कालनागलाई डसाइ धन्य बन्यौ तिमी जो गयौ, मातृभूमी हँसाइ वैरी-वान्धव शत्रु-मित्रु, भेद पाउँदैन जसले सर्वनाशै हुन्छ उसको, सक्छ बचाउन कसले चित्त दु:खाइ जो काम गर्दछ, इष्टमित्र मातापिताको जान लौ सल्कायौ आफैं, आगो आफ्नो चिताको दैव तिम्रो सँसार किन, कहीं वरदान कहीं श्राप कसैलाई सधैं चैन, किन कहीं घोर सन्ताप बाँच्ने आधार केही नभए, दिन बिताउने हो के गरी सकिंदोरै’न्छ विरहमा, बाँचिरहन सधैंभरी सबै ताप्छन् आगो बलेको, निभेको आगो को फुक्दछ समयलाई चिन समयमै, नत्र त्यो अघि धेरै पुग्दछ को जान्दछ आज यहाँ, भोलिको बास कहाँ पर्दछ क्रोध, मोह, अहँकार, नाश त्यो आफ्नै गर्दछ । (लेखक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिड्नी, अस्ट्रेलियाका सचिव हुन् ।) #प्रवीण टण्डन #वसन्त प्रवीण
मलामी बनेर हिँडिरहेको समय: आफैसँगको युद्धमा हारेपछि समय निस्तब्ध छ मान्छे । आदिमकालदेखि मान्छेले पहिरिँदै आएको अहंकारको ताज एकाएक खोसिएपछि भ्याइ नभ्याइ दर्गुने रक्त संचारमा मिसिएको छैन लोभ र लालच । भाँसिएर गएपछि मान्छेका मनभित्र अग्लिँदै गरेको मोहको चुचुरो गल्र्यामर्गुलुम ढल्दोरहेछ । आकाश छोइएलाझैं गर्दै ठडिएको ईश्र्याको भव्य महल झाँगिदै गरेको क्रोधको घना जंगल त झन मृत्युको भयकै तापले खरानी हुँदोरहेछ । टाउको माथि यसरी आगोको मुस्लो मडारिएझैँ मडारिएपछि ‘मृत्युको त्रास’ डराएर मनमनै भन्दैहोला मान्छे – “च्यातिदिऊँ बर्सौंदेखि धमिरा लागेका तमसुकका बिटाहरू र,काटिदिऊँ आफन्तकै खुट्टा तान्न जुर्मुराएका हातहरू कसलाई के थाहा भोलिको घाम क–कसको भागमा पर्ने हो ? ” समय सकिएपछि पत्ता थुतेझैँ फूलबाट थुत्नेरहेछ जिन्दगी दिनेले नै मान्छेको एक सर्को प्राण पनि बाँकी त केवल अधुरा सपनाका चाङहरू र जिन्दगीले दिन बाँकी अनगिन्ती प्रश्नका उत्तरहरू हुँदारहेछन् जान्दा जान्दै पनि उत्तर दिन नभ्याएर परिक्षाहलबाट निस्केका विद्यार्थीहरूजस्तै फुत्त निस्किँदो रहेछ मान्छेको प्राण पनि फुटेका हरेक चीजहरूले फुटेकै बखत मात्र त रहेछ एकदिन फुट्नुपर्छ भनेर सम्झाउने । आगो झोसेर खरानी बनोस् या माटोमा समाधी लियो ‘क्षणभंगुर जिन्दगी’ को यथार्थ बोधमा मलामी मन लिएर फर्केको मान्छेले घर पुगेर खल्को हालेपछि सायद बिर्सिन्छ घाटबाट फर्किँदाको ‘जीवन बोध’ र, मिसिन्छ उही पुरानै नूनिलो भवसागरमा । #नीरा शर्मा #समय
खुल्नुपर्छ मति: जस्तै भएनि आफ्नै देशको माया हुँदोरहेछ परचक्रीले आँखा लाऊदा यो मन रुँदोरहेछ लुटनेले सँधै लुट्नै पाए हुन्थियो भन्दोरहेछ हक आफ्नो खोज्दा मुटु उसको काम्दोरहेछ ।। नजर लाउँछ सधै उसले यही देशमाथि मुखले मात्र भन्ने गर्छ हामी छिमेकी साथी उसको भूमि जति भएनि खै पुगेको उस्लाई यस्ता छिमेकी हुनुभन्दा नभए हुन्थियो जाती ।। कहिले गर्छ नाकाबन्दी कहिले बनाउँछ बाटो दुःख दिन्छ पटक पटक सहयोगको साटो बिस्तारै बिस्तारै चलाखी गरी लादै छ उसले यो देशको भूमि अनि पवित्र यहाँको माटो ।। दार्जेलिङ र सिक्किम नि पहिले हाम्रै थियो कठै हाम्रै यो बिडम्बना अहिले उसको भयो यत्रो भूमि उसले आफ्नो बनाई रहदा पनि अझै पनि पापी नजर कति लाउने हो नि ।। खारेज गर्नुपर्छ अब नचाहिने सन्धिहरू जति बढ्दै गयो उसको अन्याय र अत्याचार अति गरे पहिले नचाहिने सन्धि सबै नसोचेरै रति अब त अति भो खुल्नुपर्छ नेताहरुको मति ।। यता बढाको बढाई छ कोरोनाले गति यस्तो बेला नि गर्दैछ उसले यस्तो ज्यादति जताबाट पनि हुदैछ मेरै देशको मात्र खति अब त अति भो खुल्नुपर्छ नेताहरूको मति अब त अति भो खुल्नुपर्छ नेताहरूको मति ।। #खुल्नुपर्छ मति
स्वाधीनता र अखण्डताको लडाईंमा नझुक: बाबुलाल बूढा दुई ढुंगाबीच चेपिएको तरुल विशाल साम्राज्य शक्तिको बीचमा अडिग देश स्वाभिमान र ठाडो शीरले बाँचेको मेरो देश नेपाल हो । साम्राज्य शक्तिको लागि सानो करेसाबारी जत्रै त्यसैले त बेलाबेलामा चिथोर्न खोजिरहन्छन् कहिले डलरको आश्वासनले त कहिले डर त्रासको धम्कीले कहिले शीरमा सुम्सुम्याएर त कहिले हात खुट्टाको औँला काटेर तर्साइरहन्छन् बेला बेलामा खबरदार ! तिमी काट यी हात खुट्टाका औँलाहरु र घोच तिम्रा तिखा संगीनले यातना देऊ, बेस्सरी दुखाऊ तर मेरी आमाको छातीमा कुल्चिन दिने छैनौँ रत्तिभर झुक्ने छैन निडर शीर बेचिने छैन स्वाभिमान किन कि हामीसँग अंग्रेजलाई धुलो चटाएर पुर्खाले जितेको इतिहास जीवित छ । रगतको थोपाले बनेको सर्वोच्च सगरमाथाको विशाल स्वाभिमान छ । तिम्रो विशाल साम्राज्य भन्दा हाम्रो सानो सार्वभौम र अखण्डता कयौं गुना बलियो छ । त्यसैले ए विस्तारवादी हो ए साम्राज्यवादी हो नलागाऊ तिम्रा गिद्दे नजर न कुल्च आमाको छातीमा छोड नांगो हस्तक्षेप फर्काऊ तिम्रा बर्दिधारी बुटहरु जब तिम्रा विशाल छाती नाङ्गिएका बेला नीलो वस्त्रले छोपिदिने गोर्खाली हुन् भोको पेटमा आहारा जुटाइदिने गोर्खाली हुन् त्यसैले याद राख कि मेरो देश तिम्रा परेड खेल्ने आँगन होइन तिमीले बम बर्साउने रणभूमि होइन दुई ठूला ढुंगाको बीचमा चेपिएको तरुल बिस्फोट हुने ग्रिनेड बन्न सक्छ यो हाम्रो अखण्डताको लडाईं हो हाम्रो स्वाधीनताको लडाईं हो हाम्रो सार्वभौमता र स्वाधीनताको लडाईं हो । ए विस्तारवादी ? न तेर्साऊ तिम्रा आधुनिक तोपहरु फर्काऊ तिम्रा बर्दिधारी बुटहरु छोड कालापानी, छोड लिम्पियाधुरा झुक्दैन हाम्रो स्वाभिमानी शीर खबरदार शासक हो ? हरियो डलरसँग पटक्कै राष्ट्रियता नबेच्नू आत्मीयतामा फेरि कालो राष्ट्रघात नगर्नू पुर्खाको विशाल छाती ठाडो शीर विस्तारवादीको पाउमा लम्पसार परी फेरि भेटी नचढाउनू । राष्ट्रवादीको नाममा भित्रभित्रै देशको अस्मिता नसाट्नू ए शासक हो छोड अब विस्तारवाद र साम्राज्यवादको जुठो खान कुर्सी होइन जोगाउनु छ, आमाको छाती बचाउनु छ, देश सिरिया र अफगान हुनबाट नेपाली जनताले तिम्रा असली राष्ट्रवादीको परीक्षा लिइरहेका छन् । त्यसैले नझुकाऊ स्वाभिमानी शीर विस्तारवादी र साम्राज्यवादी गिद्दहरुको झम्टाइमा राष्ट्रियता सार्वभौमता स्वाधीनता र अखण्डताको लडाइमा नझुक । #कालापानी #नयाँ नक्सा #बाबुलाल बुढा #लिम्पियाधुरा #स्वाभिमान
पीडाहरूको पिरामिड: मात्र झझल्को तिम्रो आउँछ आँखाभरी आँसु बनेर तिमीसँग बिताएका ती पलहरू लाग्छ फेरी फर्केर आए हुन्थ्यो तर रोकिएन पृथ्वी समय किन रोकिन्थो र ? सम्झन्छु विगत र फेरि बनाउँछु आलो घाऊ दुखाइको अनुभूति हुन्छ अनि बन्छ पीडाको पिरामिड अहँ बिर्सन सक्दिनँ आफ्नै आँखा अगाडि तिमी ढलेको त्यो दृश्य आज भित्तामा सीमित छ तिम्रो तस्बिर बोलाउन खोज्छु तिमी बोल्दिनौ छुन्छु यी हातहरूले मुटु नै फुट्ला जस्तो गाँठो परेर आउँछ तिम्रा ती निर्दोष आँखाहरूले एक टक मलाई नै हेरिरहे झैँ लाग्छ यतिका बर्ष तिमी मसँग छैनौ र पनि मैसँग भए जस्तो लाग्छ आखिर किन मेरी प्यारी हजुरआमा ? #पीडाहरूको पिरामिड
स्खलित खुसी: चेतन गलत भूगोलको यो दुनियाँ देखेर एक भूगोल घुम्न मन छ स्वार्थीहरुको जमात यहीँ छ, फेरि एकान्तमा रुन मन लाग्छ आँखाबाट यी दृश्यलाई कानबाट यी चिरबिर शान्त आवाजहरुलाई कहिल्यै नमेटिने गरी रात बिताउने खोँचहरुमा सजिसजाउ राख्न मन छ तर, मन मस्तिष्कमा हाँसो र खुसीका यादहरु कमसल अनि पीडा र वेदनाका यादहरु मझबुत हुँदा केही क्षणमा खुसी स्खलित हुँदा मनले सधैँ पीडाको चौकीदारी गरिरहेको छ बाग्लुङ, ढोरपाटन नगरपालिका ५, चौर #चेतन गलत
इन्दु दिदी: मन्दिरा मधुश्री टेबलमा राखेको मोबाइल फोनले कसैको उपस्थितिको संकेत दिइरह्यो । निकैबेरसम्म आइरहेपछि उठाएर कानमा लगाएँ । “निशा ! सुनिस् नि नयाँ कुरा । इन्दु दिदी त भागिछन् नि बुढेसकालमा,” रमाले गरेकी रहिछ फोन । “अमेरिका कि क्यानडा ..? पत्तै नदिई पो भागछिन् त !” मैले सोधेँ । “केको अमेरिका र क्यानडा ? अर्कैसँग चाहिँ भागिछन् नि ! पोइला गइछन् रे क्या ..पोइला ! त्यो पनि कोसँग भन् न, आफ्नै ड्राइभरसँग,” रमाले उपेक्षित भावमा भनी । “धत् मोरी ! जे पायो त्यही भन्छे,” हपारेँ मैले । “जे पायो त्यही होइन यार ! कुरा साँचो हो के ! यहाँ टोलभरि कत्रो हल्ला छ । उसले त ठट्टा पो सोचिछे,” स्पष्टीकरण दिई उसले । “हँ ! हो र ..?” म स्तब्ध भएँ सुनेर । के के कुरा सुनाउँदै थिई अरु पनि, मेरा कानले मात्र सुने होलान् तर मन अन्तै उडिसकेकोले केही बुझिनँ । आफैँले उसको फोन काटेँ । मलाई पो झट्का लागेजस्तै भयो । हात खुट्टा फतक्क भए । कुनै अकल्पनीय घटना अप्रत्याशित रुपमा देख्दा मात्र हैन, सुन्दा पनि पो यस्तो हुँदोरहेछ । पहिलोपटक नौलो अनुभव गरेँ । एकाएक गाउँबाट उनी र उनको ड्राइभर हराए । साँच्चै नै उनले आफ्नै ड्राइभरसँग बिहे गरेकी नै रहिछन् सभ्य भाषामा भन्दा । नत्र गाउँले भाषामा पोइला गएकी नै रहिछन् । सबैको चर्चाको विषय नै बनिन् उनी । नेपाली समाज न हो, सानो कुरा पनि महाभारत हुने ठाउँमा यो त झन् अकल्पनीय र सोच्दै नसोचिने घटना थियो । सबैले उनलाई नै गाली गरे । उनको कुबुद्धिलाई थुके । “सम्पत्तिको अमत्याइँ लागेको” भने कसैले र कसैले “कुकुरलाई घिउ नपचेको” भने । “कुन दुःख थियो र कुन सुख पाउँला भनेर गाकि होली,” भने धेरैले । “विनासकाले विपरीत बुद्धि” पनि भन्न बाँकी राखेनन् उनलाई । “राजेन्द्रले टुप्याएर राखेको थियो, जे भनो त्यही पुर्\u200dयाइदिएर देखाइदिई…,” कसैको मुखमा यस्तो पनि सुनियो । “आइमाईको बुद्धि र कुकुरको चिहान हुँदैन” भनेर सरापे पनि कतिले त । जे होस्, उनको विपक्षमा नै टिप्पणी गरे धेरैले । एक हप्तासम्म एकदम नै राँकिएको उनको बारेको कुराको डढेलो बिस्तारै सेलाउँदै गयो । सबैले आ–आफ्नै खालका तर्क र अनुमान गरे पनि किन होला त्यो उमेरमा पनि त्यति राम्रो लोग्ने, त्यस्तो वैभव र सुख छोडेर अर्कै बिहे गरिन्, त्यो पनि आफ्नै ड्राइभरसँग ..? त्यो जिज्ञाशाले सताइरह्यो मलाई पछिसम्म पनि । गाउँ शान्त भएपछि राजेन्द्र दाइको बिहे गराउने तँछाडमछाड भयो धेरैको । त्यस्तो वैभवमा आफ्नै मान्छे पार्न खोज्थे सबैजना । दुवै छोराछोरी अमेरिकामा थिए । बिग्रिएको घर सम्हालिदिने निहुँले इन्दु दिदीको शेख मार्न भए पनि धुमधामले बिहे गरे राजेन्द्र दाइले पनि । हाम्रो समाज, संस्कार, परम्परा र रीतिरिवाज वा सामाजिक संरचना अनि नागरिक समुदाय प्रति नै वितृष्णा जाग्यो त्यतिबेला मलाई, जतिबेला राजेन्द्र दाइले आफ्नो घर सम्हाल्ने निहुँमा एउटी कन्ये केटी नै बिहे गरेर भित्र्यााए असमान उमेर बोकेकी । “किन हाम्रो समाज एकल पुरुषको चाहिँ पीडा देख्नै सक्दैन तर एकल महिलाको पीडालाई चाहिँ भाग्य वा कर्मको दोष दिँदै जुनीजुनीसम्म पनि पचाएर बस्न सक्छ ? किन पुरुषलाई महिला बिनाको संसार सम्भव नै हुँदैन भनेर सोच्छ तर महिलालाई पुरुष बिनाकै संसार भोग्नै पर्नै बाध्यता देखाउँछ ?” यस्तै प्रश्न बारम्बार आइरह्यो मेरो मनमा त्यो बिहे देखेर । “औसत नेपालीको आयु बाँचिसकेका एकल पुरुष राजेन्द्र दाइको बिहे गराउनपर्ने आवश्यकताबोध गरेको समाजले गाउँकै तीस वर्षीया एकल महिला तारा भाउजूको बिहेको आवश्यकता किन कहिल्यै देखेन ? दश वर्षदेखि एकल जीवन बिताउँदै आएकी उनलाई कति कठिन छ समाजमा निर्धक्कसँग बाँच्न । एकल महिला, उमेर अनि सुन्दरता..। त्यसमाथि गरिबी पनि । सबैको आँखाको तारो छिन् उनी । आफ्नै घर परिवार र समाजबाटै असुरक्षित छिन् । तर अहँ ! उनको सामाजिक सुरक्षा र आर्थिक टेवाप्रति कसैले सोचेनन् । न त उनको आवश्यकता प्रति कसैको ध्यान गयो । कति राम्रो हुन्थ्यो, यदि राजेन्द्र दाइ र तारा भाउजूको नै बिहे गराइदिन पाएको भए ? दुवैको सामाजिक तथा शारीरिक आवश्यकता पनि पूरा हुन्थ्यो । तारा भाउजूले पनि मान–सम्मान र सुरक्षा सबै पाउँथिन् । ” यो प्रस्ताव मैले दाइका आफन्तलाई राखेँ पनि । तर सबैले मेरो प्रस्तावलाई खिल्ली उडाए । कसैले विधवा विवाह गर्न स्वीकार गरेनन् । मलाई लाग्यो- नागरिक समाजमा बौद्धिक चेतना जति छ, त्यो भन्दा पनि बढी परम्पराको धङधङी रहेछ अझै । इन्दु दिदी रुपदेखि लिएर सबै सीप र कलामा पोख्त र दक्ष थिइन् । बिहे गर्दा सामान्य नै भएका दाइको अवस्था पछि उनको मिहिनेत र दिदीको व्यवहार कुशलता मिलेपछि निकै वैभवशाली भएको थियो रे ! कुनै कुराको पनि कमी थिएन उनलाई । सबै उनको ईर्ष्या गर्थे । तर एकदिन यो सबै वैभव चटक्क छोडेर उनी कता हराइन् । केही दिनपछि उनीसँगै हराए उनका चर्चा पनि । कहीँ देखे, भेटेको कुरासम्म पनि उप्काएन कसैले कसैसँग । यस पटकको दशैँमा आमाको हातबाट टीका लगाउन म काठमाडौँ गएकी थिएँ । बानेश्वरमा अप्रत्यासित रुपमा इन्दु दिदीसँग मेरो जम्काभेट भयो । मलाई उनका बारेमा सबै कुरा जान्ने इच्छा थियो । सायद उनलाई पनि गाउँको हालखबर सोध्ने मन थियो होला । दाइको बारेमा जान्ने उत्सुकता थियो होला । त्यसैले नै त होला चियाको प्रस्ताव राखिन् उनले नै । त्यो पनि उनकै कोठामा । म पनि उत्सुक थिएँ, उनीसँग कुरा गर्न । सहर्ष स्वीकारेँ उनको अनुरोधलाई । तर उनले भोलिपल्टको समय मगिन् । त्यतिखेर उनी पूर्वनिर्धारित कार्यक्रममा कतै घुम्न जाने बताइन् तर मैले आफ्नै अनुमान लगाएँ । उनी आत्मग्लानि वा हीनताबोधले गर्दा भागेकी होलिन् हतार-हतार मदेखि । उनी वचनकी पक्का छन् मलाई थाहा छ । अघिल्लो दिनको निर्धारित समय र तोकिएको ठाउँमा मलाई लिन आइन्, देखेँ मैले उनीहरु दुवै जनालाई । ट्याक्सी उनकै श्रीमानले चलाएका थिए । उनको कोठामा पुगेपछि मनमनै मैले पनि पहिलोपटक उनको कुबुद्धिलाई धिक्कारेँ । धिक्कार छ दिदी ! साँच्चिकै तिम्रो बुद्धि घाँस चर्न नै गएको रैछ । मान्छेले त्यसै भनेका त हैन रैछन् नि ! त्यस्तो दरबारजस्तो घर र वैभवमा लडिबुडी गरेकी उनी अहिले एउटा कोठामा कुँजिएकी रहिछन् । त्यहीँ एउटा कुनामा भान्सा । एउटा खाटमा ओछ्यान् । एउटा प्लाष्टिकको बाल्टिन । प्लास्टिककै ठूलो बाटा । सानो किचेन र्\u200dयाक र एउटा बाँसको र्\u200dयाकमा केही किताबहरु । दुईवटा मुडा । एउटा टिनको ठिक्कको बाकस । बस ! यत्ति थियो देखिएको उनको वैभव वा सम्पन्नता..। मैलै यति नियालुन्जेल उनले चिया बनाइसकेकी थिइन् । हामीलाई कोठामा पुर्\u200dयाएपछि उनका श्रीमान् हिँडिसकेका थिए ट्याक्सी लिएर । दुवैजना मुडामा बसेर चियाको चुस्की लिन थाल्यौँ । दुवै मौन । सायद उनलाई पनि मलाई जस्तै अप्ठ्यारो लागरहेको पो थियो कि कुराको गेडो उप्काउन । एकक्षण पछि मौनता भंग गरिन् उनैले, भनिन्, “निशा बैनी ! मलाई त सबैले नराम्रो नै भने होलान् हगी…?” “हो त दिदी, तपार्इँलाई बुद्धि बिगारेको पो भन्छन् सबैले । त्यस्तो वैभव र सुखलाई छोड्नुपर्ने कस्तोचाहिँ बाध्यता थियो र दिदी ?” भित्र डराउँदै बिस्तारै सोधेँ । “के गर्नु त बैनी, मलाई मेरो बौद्धिक चोतनाले विद्रोह गर्न अह्रायो त ..।” एकछिन चुप लागेर भनिन् । “किन दिदी..?” मैले कोट्याउन चाहेँ । “हो, बैनी मेरो ठाउँमा अरु भएका भए त्यो वैभव छोडेर यस्तो साधारण जीवनमा आहुति दिँदैनथे होलान् आफूलाई । तर मैले त यही नै रोजेँ ..।” मैले उनको अनुहारमा हेरेँ । उनी गम्भीर भएर कता टोल्हाइरहेकी थिइन् । “साँच्चै बैनी उनको खबर के छ ?” मौनता भङ्ग गर्दै सोधिन् बिस्तारै मतिर फर्केर । कैयौँ वर्ष एउटै घरमा अझ भनौँ एउटै ओछ्यानमा सँगै बिताएको मान्छेको माया यति चाँढै के मर्\u200dथ्यो होला र ? यस्तै लाग्यो मलाई । शुरुवात नै राजेन्द्र दाइको हालखबरबाट गरिन् उनले । बुझ पचाएझैँ गरी सोधेँ मैले, “कस्को ? राजेन्द्र दाइको ..??” “अँ…उनैको,” उनले भनिन् गम्भीर भएर । “राम्रो छ दिदी ..।” एकक्षण रोकिएर बिस्तारै भनेँ, “अर्को बिहे गरे, त्यो सुन्नु भाको छ कि छैन ?” “सुनेथेँ त्यो त ..। उनी त निकै खुसी होलिन् हगि..?” उनको लक्ष्य उनको ठाउँ लिएकी राजेन्द्र दाइकी पत्नीप्रति थियो । “त्यस्तो वैभव र सुखमा पनि को पो खुसी नहोला र ?” मैले भनेँ । “म थिइनँ नि..,” उनले अँध्यारो मुख लाइन् । मैले आश्चर्य मान्दै प्रश्न झुण्ड्याएँ आँखामा तर मुखले केही सोध्न सकिनँ । दुवैका आँखामात्र जुधिरहे धेरैबेरसम्म । उनले ‘हो त’ भनेर विस्वास दिलाइरहेकी थिइन् । मैले ‘कसरी ?’ भनेर उत्तर खोजिरहेकी थिएँ । आँखै आँखामा । उनले निःस्वास छोड्दै भनिन्, “यहीँनेर त म बाझिएँ नि बहिनी सबैसँग । किनभने सबै मानीसहरु सुखलाई नै सम्पूर्ण खुसी हो भन्ठान्छन् जबर्जस्ती । तर सुख र खुसी कहिल्यै पनि एउटै हुँदै होइन । सुख त खुसी प्राप्त गर्ने एउटा सानो माध्यम मात्र त हो !” म झन् बढी विस्फारित नेत्रले हेर्छु उनलाई । उनको दार्शनिक कुरा सुनेर । “हो बैनी ! त्यस घरमा अझ भनौँ राजेन्द्रसँग म कहिल्यै पनि खुसी हुनै सकिनँ । उनले सबै प्रकारका सुख, सुविधा र सम्पन्नता दिए । उनले पनि मानिसको खुसी त्यही सुखलाई नै हो भन्ठान्थे । तर मैले मागेको र चाहेको खुसी कहिल्यै पनि दिएनन् मलाई । “अनि छोराछोरीहरु…?” मैले संकेत मात्र गरेँ । किनकि राजेन्द्र दाइमा नै पो केही दुर्बलता रहेछ र त्यसैलाई लक्ष्य गरेकी हुन् कि दिदीले जस्तो लाग्यो मलाई । “हैन शंका गर्नै पर्दैन, उनैका हुन सबै छोराछोरीहरु । मैले शंका गरेको ठानेर विश्वास दिलाइन् उनले, “उनी पूर्ण रुपमा पुरुष नै हुन् ..।” उनले भनिन्, “मेरो बिहे गरेर आउँदा उनको अवस्था ठिकै नै थियो । उनले मिहिनेत गरे । मैले उनको मिहिनेतलाई सही सदुपयोग गरिदिएँ । अलिअलि गर्दै सबै वैभव र सम्पन्नता हुँदै गयो । त्यहीअनुसार भौतिक सुखका सामग्री जोडिए । ऐश आरामको जिन्दगी बन्यो । सबैले देख्दा हामी ‘सुखी’ देखियौँ । मैले सबैथोक पाउँदै गएँ । तर मैले सोचे, खोजे र भनेनुसारको ‘लोग्ने’चाहिँ पाइनँ कहिल्यै ।” म उनको अनुहारमा हेरेको हेरैँ भएँ । उदासीको भावमा भनिन् उनले, “हामी दुईको अनुहार उस्तै, बानी व्यवहोरा, बौद्धिक स्तर उस्तै थियो । अहँ ! तर भावना र विचार भने भिन्दै। म उनीसँग भावनात्मक सम्बन्धको अपेक्षा राख्थेँ । भन्थेँ र सम्झाउथेँ पनि । तर उनी भौतिक सम्बन्ध मात्र राख्थे वा खोज्थे मबाट । म भावनात्मक खुसी माग्थेँ तर उनी भौतिक सुखको पछि दौडन्थे । हो, यही नै ठूलो अन्तर थियो हामीमा । ” “भौतिक सम्पन्नता भएपछि त खुसी आफैँ आइहाल्छ नि हैन र दिदी ?” मैले बीचैमा पुष्टि गर्न खोजेँ । “वैभवतामा मात्र खुसी हुन्छ र ? वैभवता सुख हो, भोग हो । अपितु खुसी अनुभूति । सुख निर्जीव हो तर खुसी सजीव,” उनले मेरो आँखामा आँखा गाडेर भनिन् । उनले जोडिन् पुनः आफ्ना कथा । “उनी एउटा मेसिन वा रोबोट जस्तो थिए, जस्को सम्बन्ध केवल कामसँग मात्र हुन्छ । बिहान उठेर काममा जाने रात परेपछि फर्कने । म एक्लै । नत दोहोरो बोल्ने कुनै कुरा न त व्यक्ति नै । मनलाग्दा खान्थेँ नत्र एक्लै छटपटिन्थेँ पिरोलिन्थेँ । उनी नौलो खुसी लिएर घरमा आउन् भन्ने लाग्थ्यो । अत्यन्तै उमंग र उत्साहका साथ उनको आगमनको तीव्र प्रतीक्षामा बित्थ्यो दिन । बेलुका उनलाई खुसी पार्न विभिन्न सरप्राइज दिन्थेँ । कहिले नौलो खाना पकाएर बस्थेँ ताकि उनले मीठो मानेर खाऊन । मेरो सीपको वर्णन गरुन् । मलाई माया गरुन् । तर कहिले उनले पार्टी त कहिले साथीसँग बाहिर नै खाएर आएका हुन्थे । मेरो खुसी र त्यो खाना एकैसाथ उसैगरी सेलाएर जान्थे र बासी हुन्थे । कहिले म आफूलाई श्रृंगार गरेर चिटिक्क परेर बस्थेँ । घर पस्दा उनी मेरो रुप वा श्रृंगारप्रति आकर्षित होऊन् । फूलमा भमरा जस्तै । मलाई अँगालोमा च्यापेर म्वाइ खाऊन् । मेरो सुन्दरताको वर्णन् गरुन् । यस्तै खुसीको अपेक्षा गरेर फक्रिएको फूल भएर बस्थेँ म । कतिबेला दिन बित्ला भनेर । तर मेरो खुसीको काल्पनिक महल त्यतिबेला धराशायी हुन्थ्यो, जतिबेला उनी काममा व्यस्त भएको वा फिल्डमा जानु परेको बहानामा राति अबेर आउँथे । कहिले आउँदैनथे । त्यतिबेला म भित्रको खुसी ओइलाएर त्यही फूलजस्तै खुम्चिसकेको हुन्थ्यो । श्रृंगार बासी भएर जान्थ्यो रात जस्तै । मेरो सजावटले उनमा कुनै प्रभाव पर्दैनथ्यो । परे पनि कुनै शब्द निस्किदैनथ्यो । यदाकदा मात्र हामी सँगै खाना खान्थ्यौँ । तर मैले भान्साको काम सक्दा नसक्दै उनी कोठामा पसेर निदाइसकेका हुन्थे । उनको उपस्थितिमा पनि म सधैँ एक्लै नै हुन्थेँ । केटाकेटी जन्मेर हुर्केर बाहिर नजाउन्जेलबाहेक बाँकी दिनहरु मेरा यसैगरि नै कटे बैनी ।” मनभित्रको गाँठोलाई उनले आँखा चिम्लेर घुटुक्क पारिन् । आँखा चिम्लँदा उनका आँखाबाट बरर आँसु झरे र गालातिर बगे । गालाको आँसु पुछिन् र रुन्चे हाँसे मुस्कुराइन् मतिर हेरेर एकफेरा । अनि बोल्न थालिन्, “कहिलेकाहीँ कोठामा म उनको पुरुष उपस्थितिले नै पनि पग्लन्थेँ छताछुल्ल भएर । उन्मुक्त खुसी लिएर म नै उनीछेऊ पुग्थेँ । तर उनी कहिले दिनभरीको कामले थाकेको छु टेन्सन नदेऊ न भन्थे । कहिले मेरो धेरै काम छ भनेर कम्प्युटरमा बस्थे । म जसरी पग्लन्थेँ, त्यसैगरी जम्थेँ बरफ भएर । अधिकांशतः उनी नै लोग्नेको अधिकार जमाउँथे मसँग । म स्वास्नी हुनुको नाताले चुपचाप स्वीकार गरेर समर्पण गर्थेँ आफूलाई । मलाई इच्छा होस् या नहोस् । अहँ हामीबीच कहिल्यै पनि सहवास भएन । मात्र बलात्कार गर्थे उनले मसँग । त्यही बलात्कारको पीडामा नै म उनको स्पर्श सुख वा मायाको सूक्ष्म अंश खोज्ने प्रयास गर्थेँ सधैँ । महिलाहरु थोरै सहानुभूतिका आशे हुन्छन् । थोरै तारिफका लोभी हुन्छन् । अनि थोरै मायाका भोका हुने रैछन् । थोरै माया वा आत्मीयतामा पनि झुसी… खुसी बटुल्ने । म पनि त्यस्तै त थिएँ । र त्यस्तै खुसी बटुल्न खोज्थेँ । तर उनीसँग त कुनै कुराको लागि पनि कुनै शब्द नै थिएन । न त तारिफका, न नै सहानुभूतिका । न त कुनै कुरामा माया झल्कने मायालु व्यवहार नै । न त हाँसी मजाक र माया प्रेमका कुरा । सधैँ म त उनकी पूर्णतः स्वास्नी वा मायालु श्रीमती हुन चाहन्थेँ । यसको विपरीत एउटी महिला मात्रै थिएँ म । अझ भनौँ मनचिन्ते भाँडो मात्र थिएँ उनका लागि जो उसका सबै आवश्यकता र इच्छा पूरा गरिदिन्छ सजिलैसँग । म उनकी श्रीमती थिएँ । सधैँ घरमा उनीसँगै बसेकी थिएँ । तर अफिसको कर्मचारीजस्तै मात्र लाग्थ्यो उनको र मेरो सम्बन्ध । उनको मुड र इच्छानुसार जीवन चलाउनु पर्थ्यो मैले । त्यसैगरी चलाइदिन्थेँ म पनि लाचार भएर । कामपछि उनको प्यारो वस्तु मदिरा थियो । दिनभर काम । साँझको समय साथीभाइ, खानपिन अनि मात्र घर । लाग्थ्यो उनी घर परिवारको वा मेरो माया लागेर भन्दा पनि दायित्वबोधले मात्र घरमा आउँथे । पेइङ गेष्टजस्तो मात्र थिए उनी आफ्नै घरमा पनि । म मदिराविरोधी थिएँ । मलाई मदिरा प्रेमी पुरुषहरुको घर बिग्रिएको थाहा थियो । त्यसैले म मेरो घर व्यवहार कहिल्यै पनि नबिग्रियोस् भन्थेँ । दुई जनामा कहिल्यै पनि झगडा र किचलो नहोस् । एउटा मायालु, अनुशासित, आदर्श परिवार होस् भन्ने चाहना थियो मेरो तर ठीक विपरीत थियो यथार्थमा आफ्नैचाहिँ । म उनलाई आग्रह गर्थेँ मदिरा नपिउन । परिवार, स्वास्थ्य अनि आफ्नो मानसम्मान सबैमा पर्नसक्ने संभावित परिणामबारे बताएर सतर्क गराउन खोज्थेँ पटकपटक । उनका लागि पिउने बहाना वा विषयवस्तु सधैँ नयाँ नयाँ हुन्थ्यो तर मेरा लागि भने सधैँ एउटै पीडा । उनी सधैँ मदिरासँग आफ्नो खुसी साट्थेँ तर म आँशुसँग आफ्नो पीडा । दिनभर उनी नभए पनि घरमा आएपछि रमाइलो वातावरण होस् । माया प्रेमको मीठामीठा कुरा हुन् । एकअर्काको भावना सेयर होस् । यस्तै मेरो चाहना हुन्थ्यो तर उनी मेरो भावना वा चाहना पटक्कै नबुझ्ने । चाडपर्व, जन्मदिन, एनिभर्सरी कुनैमा पनि कुनै प्रकारको उपहार वा शुभकामना लिनुदिनु पनि अनावश्यक ठान्थे उनी । छोराछोरी भएपछि म अलिक व्यस्त नै रहन थालेँ । काम नै यस्तै महिलाहरुको । कहिल्यै नदेखिने पनि, नसकिने पनि । उनी घरमा आउँदा म कुनै घर धन्दामा नै व्यस्त । दैनिकी सकेर कोठामा पुग्दा उनी निदाइसकेका हुन्थे भने म बिहान उठेर दैनिकीमा लाग्दा उनी सुतिरहेका नै । निदाएर अचेत भएको मान्छेलाई के थाहा कि रातभर टाँसिएर स्वास्नी सुती कि कुकुर बिरालो ? म उनको स्पर्श सुखको लोभले उनीसँग टाँसिएर सुत्न खोज्थेँ तर उनले पिएको मदिराको नमिठो गन्धलेँ नजिकै झन सुत्नै सक्तिनथेँ । मलाई उनीसँग बिताउने चार प्रहर रात पनि “नखाउँ भने दिन भरिको शिकार खाउँ भने कान्छा बाको अनुहार” हुन्थ्यो । केटाकेटी सानो हुन्जेल त तिनैलाई अंगालोमा च्यापेर सुत्थेँ । आत्मीयताको मीठो स्पर्शको अनुभूत गर्दथेँ । यसैमा तृप्त हुन्थेँ । मेरा छोराछोरीले राम्ररी बाबु पनि चिन्न सकेनन् किनभने बाबु आउँदा उनीहरु सुतिसकेका हुन्थे । बिहान उनीहरु उठ्दा बाबु हिँडिसकेका । के खान्छन् ? के कस्तो पढ्छन् ? के गर्छन् ? मेरो नभए पनि उनीहरुको समेत चासो गर्ने फुर्सद वा मतलब केही पनि थिएन उनको । उनी पनि अरु आम मानिस जस्तै सोच्थे । र भन्थे पनि, “जीवनमा पैसा नै सबैभन्दा ठूलो सुख र खुसी हो । जीवनमा पैसाबाहेक अरु केही पनि चाहिन्न र पैसाले नै सबैथोक किन्न पाइन्छ ।” खुसीको नाउँमा पैसा ल्याएर मलाई थमाइदिन्थे । कहिले गरगहना कहिले साडी । भन्थे, “पहिला जस्तो होइन नि इन्दु ! अहिले त आफ्नो स्तर र वैभव अनुसारको हुनुपर्छ लवाई खवाई पनि । साथीभाइले देख्दा फलानोकी स्वास्नी भनेर चिनाउँदा मलाई लाज नलागोस् ।” म कठपुतली बनिँदै गएँ । सायद उनी ठान्थे, “मैले स्वास्नीलाई सबैलेभन्दा बढी सुख दिएको छु ।” तर मलाई कस्तो सुख चाहिएको छ ? म केमा खुसी हुन्छु ? त्यो कहिल्यै पनि बुझ्दैनथे । उनको भौतिक सम्पन्नताको आडमा पछि काम गर्ने सहयोगी राखिदिए घरमा । प्रत्यक्ष त मलाई सुख दिन राखे तापनि अप्रत्यक्ष झन् कुन्ठित भएँ म त त्यसबाट । किनभने अब झन् दूरी बढ्यो उनको र मबीच । उनले एक ग्लास पानी र एक कप चियाको लागि मात्र नभएर कट्टु गन्जी र मोजाका लागि पनि उसलाई नै गुहार्न थाले । यसबाट त झन् उनको नजिक पर्ने बहाना पनि खोसियो मेरो । साँच्चै ! हामी झन् टाढा पो हुँदै गयौँ । कस्तो बिडम्बना ! म जीवनभर उनको नजिक हुन चाहन्थेँ उनको सामीप्य चाहन्थेँ । आत्मियता र स्पर्ष चाहन्थेँ तर उल्टो झन् टाढा हुँदै पो गइरहेकी थिएँ । अब त मेरो आवश्यकता उनले र उनको शरीरले चाहेको बेलाबाहेक अरुबेला हुन नै छोड्यो उनका लागि । पछि त उनले गाडी किने । ड्राइभर राखे । बिहे, भोज, पार्टी, किनमेल, मन्दिर जहाँ जान परे पनि उनी आफू अघि सरेर साथ दिँदैनथे । गाडी लिएर जाऊ न भन्थे । मेरो लोग्नेसँग भन्दा पनि बढी समय (यिनी) ड्राइभरसँग बित्न थाल्यो । यिनीबाहेक मुख बोल्ने तेश्रो व्यक्ति पनि त थिएन घरमा । ड्राइभर भए पनि यिनी इमान्दार, परिपक्व र व्यवहारिक थिए । केही दिनको सहयात्रामा उनी मेरो अभिन्न मित्र बने । उनमा मैले मेरा जीवनको सधैँ खोजेको तर नपाएको कुरा पाउँछु भन्ने आभाष भयो । आधा जीवन त आशै आशमा बित्यो । बाँकी जीवनको पनि के भर छ र ? मैले केही क्षण भए पनि खुसी हुन चाहेँ । त्यसैले मैले उनको निरसिलो भौतिक सुख छोडेर मानसिक सुखको लागि यिनीपछि लागेँ ।” यी सबै बोल्दा उनमा निर्धक्क र दृढता देखिन्थ्यो । म ट्वाँ परेर उनको आँखाको भाव पढिरहेकी थिएँ । “के हामी महिलालाई जीवनमा खुसी हुने अधिकार छैन र ? आफ्नो जीवनको निर्णय गर्ने अधिकार छैन र ? भन्नुस् त बैनी ? मैले अलिकति खुसी बाँच्न चाहेँ, मैले यो गल्ती गरेँ कि ठीक ?” उनले त मलाई नै प्रश्न पो तेर्\u200dस्याइन् । उत्तर दिन सकिनँ मैले । कोठाभिर आँखा डुलाउँदै हतार हतार उनैपट्टि फर्काएँ । “अनि दिदी, अहिले खुसी हुनुहुन्छ त तपाईं ?” “अँ बैनी ! जीवनमा नै म अहिले जति खुसी त कहिल्यै पनि थिइनँ । मैले उनको घर छोड्दा उनको एक रुपैञाँ पनि लगिनँ । अहिले हामी दुवैजना काम गर्छौँ, कमाउँछौँ । म एउटा स्कूलमा काम गर्छु । केटाकेटीसँग खेल्छु रमाउँछु । उनी एउटा ट्याक्सी चलाउँछन् । दुवै कमाउँछौँ । बेलुका दुवैजना मिलेर पकाउँछौँ । दिनभरिका कुरा सेयर गर्छौँ । बेलाबेला घुम्न जान्छौँ । कहिले बाहिरै खान्छौँ । रमाइलो छ । छोराछोरीले पनि बेलाबेलामा फोन गर्छन् । “अनि तपाईंका छोराछोरीले तपाईंलाई घृणा गरेनन् र दिदी ?” शंकाले सोधेँ । “किन गर्ने ? उनीहरु थोडै बीसौँ शताब्दीका हुन् र ? उनीहरु पनि एक्काइसौँ शताब्दीका र आधुनिक समाज र शिक्षा पढेका व्यक्ति हुन् । उनीहरुले पनि जिन्दगीलाई तपाईं हामीले भन्दा पनि छर्लङ्ग बुझेका छन् । पुरानै जमानाको भए पनि मैले त जसरी बुझेँ जिन्दगीलाई र यसरी विद्रोह गरेँ । उनीहरुले के सहन्थे त यस्तो कुरा ? त्यसैले मेरो निर्णय प्रति कुनै आपत्ति र गुनासो छैन उनीहरुको ।” खुसी देखिइन् दिदी । उनको आँखाभरि ममता छचल्केको प्रष्टै देखिन्थ्यो । कोसौँ टाढा भएका छोराछोरीको याद मात्रले पनि आमा छताछुल्ल हुन्छिन् ममतामा । र, सन्तुष्टिको पोखरीमा चुर्लुम्म हुन्छिन् । यसको अनुभूति त मलाई पनि राम्रोसँग थाहा थियो । “अनि कि दिदी ! तपाईंले आफ्नो खुसीका लागि अर्काको परिवारको खुसी खोसेजस्तो लाग्दैन ?” डराउँदै मैले उनलाई सोधेँ । मेरो संकेत उनको हालको पतिको श्रीमती र घरपरिवार प्रति थियो । निकैबेर मेरो मुखमा हेरेर टोल्हाइरहहिन् दिदी । अनि बिस्तारै हातको चियाको कप खेलाउँदै भावुक भएर भनिन्, “सत्य कुरा भनौँ बहिनी ! उनको त कोही पनि छैनन् परिवारमा । न त आमाबाबु । न त दाजुभाइ । न त श्रीमती । न त छोराछोरी नै । आमाबाबु बितेपछि उनी एक्लै नै थिए उनको परिवारमा ।” “अनि बिहे गरेर किन घरजम नगरेका रैछन् त दिदी यत्रो उमेरसम्म पनि ?” मैले कौतुहल पस्केँ । “सानैमा कुनै दुर्घटनामा परेर उनले आफ्नो गोप्य अंग नै गुमाएका रहेछन्, त्यसैले उनले बिहे नै गरेका थिएनन् अहिलेसम्म ।” उदास मुद्रामा कारुणिक सत्य कथा बताइन्, उनले आफ्ना पतिको । घटना सुनेर मेरो पनि जिउमा काँडा उम्रिए । “आम्मै नि ! कस्तो नराम्रो घटना भएछ है दिदी विचराको जिन्दगीमा ! अनि यी सबै कुरा त तपार्इँलाई पहिला नै थाहा थिएन होला है दिदी ?” अत्तालिँदै सोधेँ मैले । “अँ ! थाहा थियो त पहिले नै ! मलाई उनको बारेमा सबैकुरा थाहा थियो,” सहजै भनिन् उनले । मलाई आश्चर्य लाग्यो दिदीको कुरा सुनेर । “दिदी एउटा कुरा सोधौँ हजुरलाई ?” अनुमति मागेँ मैले । “सोध्नु न बहिनी ! जे जे सोध्न मन छ निर्धक्क सोधे हुन्छ,” मुसुक्क मुस्कुराइन् उनी । “बिहे गर्नु भनेको लोग्ने स्वास्नी बन्नु हो । अनि लोग्ने स्वास्नी भनेको ‘त्यही’ काम गर्नु हो । दाइलाई छोडेर अर्को बिहे गरेर पनि यस्तो मान्छे जुन काम गर्ने कुनै माध्यम नै छैन भने कसरी खुसी हुनुहुन्छ त ?” मैले संकेतमा मात्रै बताएँ । दिदीले हातको खाली कप भुइँमा राखिन् । पुलुक्क मलाई हेरिन् र गम्भीर भएर भनिन्, “हो बहिनी । बिहे भनेकै लोग्नेस्वास्नी बीचको यौन वा सहवास हो । र, हरेक प्राणीको लागि सहवास आवश्यक तत्त्व नै हो । तर हामी दुवै जना अलिक फरक प्रकारले जीवन भोगेका प्राणी थियौँ । हामी दुवैलाई यौनको आवश्यकता नै थिएन । भोक थियो त केवल माया, प्रेम र स्नेहको । एक अर्काको साथको । आत्मीयताको । आफ्नोपनको । यौनको लागि यिनीसँग अंग थिएन भने मसँग तृष्णा थिएन । तीसौँ वर्ष राजेन्द्रले जसरी मलाई एउटा उनको सन्तुष्टि प्राप्त गर्ने भाँडोको रुपमा मात्र भोग गरे, त्यसबाट मलाई यौन शब्दमा नै वितृष्णा थियो । यिनले केही र कोही नभएर माया पाएका थिएनन् । सबै भएर पनि मायाको अभाव थियो ममा । त्यसैले हामीले सँगै बस्ने निर्णय गर्\u200dयौँ । हामीले सहवास होइन सहसाथ रोज्यौँ । “सहवास बिना पनि लोग्नेस्वास्नीको सम्बन्ध सम्भव होला त दिदी ?” अविश्वासिलो प्रश्न राखेँ मैले । “सहवास भनेको आनन्दको पराकाष्ठाको बोध गर्नु हो । तनावबाट मुक्ति पाउनु हो । तर जीवनमा आनन्दको पराकाष्ठामा पुग्न सहवास नै हुनुपर्छ भन्ने पनि छैन । ध्यानबाट र हृदयको आत्मिक प्रेमबाट पनि चरम आनन्दको बोध गर्न सकिन्छ । तनावमुक्त हुन सकिन्छ ।” एकाएक उनी त ज्ञानी ध्यानी दार्शनिक योगी जस्ती पो बनिन् ! उनका कुराले जीवनबोध भयो मलाई पनि । साँच्चिकै सलाम गर्\u200dयो मनले उनलाई । “यत्रोबेर तपाईंले मलाई मेरा धेरै कुरा सोध्नुभयो । बहिनी म तपाईंलाई एउटा कुरा सोधौँ है ?” उनले पनि अनुमति मागिन् । सहमतिमा टाउको हल्लाएँ मैले । “तपार्इंले त मैलेजस्तो जीवन भोग्नुपरेको छैन नि ? तपाईं त सुखी हुनुहुन्छ है वैवाहिक जीवनमा ?” एक्कासि मेरो हात समाएर सोधिन् दिदीले । “सबै तिमीजस्ता बहादुर कहाँ हुन्छन् र दिदी आफ्नो खुसीका लागि बाँच्न बिद्रोह गर्नसक्ने ! अझैसम्म पनि हामीलाई त लोग्ने रोज्ने आँखामा पाड्को र सुख सुँघ्ने नाकमा फेसो ठोकिएकै छ नि (पुष्कर समशेरले भनेजस्तो) । धेरै नारीहरुले केवल भाँडोकै रुपमा मात्रै आफूलाई खियाइरहेकै छन् नि मैलेजस्तै ।” आँखा भुइँमा गाडेर मनमनै मात्रै भनेँ यति कुरा । “अँ दिदी खुसी नै छु, एकदम असल हुनुहुन्छ उहाँ त !” कृत्रिम मुस्कान ल्याउँदै भनेँ । एक्कासि चरक्क चर्किेएको स्तनको घाउमा पुग्यो देब्रे हात जुन यता आउने अघिल्लो दिनमा मेरो पति परमेश्वरले रक्सीले मातेर झगडा गर्दा चुरोटले पोलिदिएको थियो । #खुसी #पोइला #मन्दिरा मधुश्री #वैवाहिक बलात्कार #सुखी
अन्तिम मूल्य: हिजो उनले नै हो सामन्ती व्यवहारमाथि औंला उठाएको समानता र समावेशीताका नाराले सडक तताएको त्यही बुलन्द आवाजले हो निरंकुशताको कुर्सी ढालेको त्यही हूलभित्रको एउटा आवाज हो सूर्यबहादुर त्यही जनलहर भित्रको एउटा पाइला हो नवराज आज त्यही नाराको आशाको त्यान्द्रोमै अल्झिएर राज्यको गैर जिम्मेवारीसँग लड्दा लड्दै सडक मै नाम्लो कै साथमा मरिरहेछन् सूर्यबहादुर नारा मै सीमित सामानताको विश्वासमा परि प्रेममा परेकै भरमा गैर दलितको शिकार भइरहेछन् नवराज । र मृत्युपश्चात् पनि मृत आत्मामा एउटा प्रश्न उब्जिरहेछ समानता र न्यायका लागि हाम्रो बुलन्द आवाज र पाइलाको बलिदानी अन्तिम मूल्य के मृत्यु नै हो त ? #अन्तिम मूल्य
उपन्यास एक, विरेचन तीन: यतिबेला अमेरिकामा निस्किएको उपन्यास ‘टेलिफोन’ले समीक्षकहरूको दिमाग खराब गराइरहेको छ । यो उपन्यास निस्कनेबित्तिकै धेरै समीक्षकले यसलाई उति साह्रो बुझ्न सकेनन् र त्यति धेरै मन पराएको पाइएन तर जसैजसै उपन्यासको मूल सोचका बारेमा खुल्दै जान थाल्यो, स्वयं समीक्षकहरूले पनि उपन्यास दोहोर्\u200dयाएर पढ्न थालेका छन् । हजूर, यो हल्ला हो- ‘टेलिफोन’को । पर्सिभल एभरेटको तीसौँ पुस्तकका रूपमा आएको यो उपन्यासको चर्चा हुनुको मूल कारण चाहिँ यसको अन्त्य अर्थात् ‘क्लाइमेक्स’ हो । पर्सिभलले आफ्नो पछिल्लो उपन्यासलाई तीन किसिमले अन्त्य गरेका छन् । हरेक पुस्तकमा एउटा अन्त्य छ । यसरी तीन ठाउँका बेग्लाबेग्लै पाठक भेला भएर टेलिफोन उपन्यासको कुरा गर्न थाले भने अवश्य पनि यसको विरेचन अर्थात् ‘क्लाइमेक्स’को चर्चा नगरी धरै पाउँदैनन् । यस्तो बेलामा जब दुई वा तीन पाठकहरूले बेग्ला बेग्लै अन्त्यको कुरा निकाल्न थाल्छन्, आफैँ दिग्भ्रमित हुन पुग्छन्- यहाँ के को कुरा भइरहेको छ, हँ ? तर जब कुराको चुरोमा पुगिन्छ, थाहा हुन्छ- यो त ‘टेलिफोन’कै कुरा हो र तीन बेग्लाबेग्लै अन्त्यका साथ उपन्यास बजारमा ल्याइएको छ भनेपछि साराका सारा चासो उपन्यासतर्फ मोडिन्छ । ठीक यही कुरा लागू भइरहेको छ अहिले र त्यसैको चर्चा भइरहेको छ । प्रकाशक ग्रेवल्फ प्रेसकी सम्पादक तथा लेखक पर्सिभल एभरेटको लामो समयदेखिकी सम्पादक फियोना म्याक्रे भन्छिन्, ‘जब उनले तीन बेग्लाबेग्लै अन्त्य बोकेर हामीकहाँ आए, सुरूमा त यस्तो पनि कहीँ हुन्छ भन्ने लाग्यो तर उनलाई बुझ्ने प्रयास गर्नेबित्तिकै यो गज्जबको सोच हो भन्नेमा म विश्वस्त भएँ ।’ तीन बेग्लाबेग्लै अन्त्य राखिएका यी तीन वटै संस्करणका आवरण हेर्दा खास फरक नदेखिए पनि घोरिएर हेर्\u200dयो भने फरक खुट्याउन सकिने सम्पादक फियोना बताउँछिन् । ‘पाठकको धैर्यको परीक्षा यसअघि कुनै लेखकले लिएजस्तो मलाई लाग्दैन,’ पुस्तक सम्पादक फियोना भन्छिन्, ‘उपन्यास पढ्दा पाठकलाई महसुस हुन्छ कि खासमा पठनको अगुवाई कसले गरिरहेको छ ? पाठकले कि उपन्यासकारले !’ उपन्यासले तिम्रो सत्य र मेरो सत्य अनि अरूको सत्यमध्ये कुन ठीक भन्ने बहस चलाउन खोजेको लेखक एभरेट बताउँछन् । उनी भन्छन्, ‘मलाई लेखक र पाठक दुवैको प्राधिकार (अथोरिटी)मा रूचि छ। एउटै उपन्यासलाई दुई फरक प्राणीले फरक दृष्टिले हेर्छन् । लेखकले लेखेको कुरालाई म भए पूरै पुनर्लेखन गरिदिन्थेँ भन्ने पाठक पनि छन् । म चाहिँ यो उपन्यासमा विषयवस्तुका कारणले तीन भिन्दाभिन्दै अन्त्यको निष्कर्षमा किन पुगेँ भने पाठकहरूको भावना पनि शमन होस् ।’ उपन्यासकार एभरेट भन्छन्, ‘कयौँ मानिसहरू ठीक त्यही कुरा देख्दैनन् जुन म देखिरहेको हुन्छु र उनीहरूले बुझिरहेको कुरा म ठ्याक्कै बुझ्न सकिरहेको हुन्नँ । आखिर किन यस्तो हुन्छ भन्ने कुरा पर्गेल्नु पनि यो उपन्यासको उद्देश्य हो ।’ सन् १९९८ देखि युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियामा सिर्जनात्मक लेखन तथा साहित्य सिद्धान्त पढाइरहेका एभरेट त्यसअघि ज्याज म्युजिकमा गितारवादनको काम समेत गर्थे । उनको गितार मर्मत गर्ने एउटा वर्कसप (पसल) पनि छ । उपन्यास नलेखेको र पढाउने कामबाट फुर्सदका बेला उनी गितार बजाउने र मर्मत गर्ने गर्छन् । यसअघिसम्म उनलाई कम चिनिएको, राम्रो उपन्यासलाई पनि अन्डररेट गरिएको तथा राम्रा लेखकहरूका गुरूको पगरी गुथाउनेहरू यतिबेला पछिल्लो कृतिबाट भने उनी सेलिब्रिटी नै बनेको स्वीकार गर्छन् । यसको प्रमाण हो, कोरोनाभाइरसको आतंकका बीच पनि उनको लोकप्रियता र पुस्तकको बिक्री । उनकी लेखिका पत्नी डेन्जी सेन्ना भन्छिन्, ‘अमेरिकामा उनको कामलाई प्रायः महत्त्व दिइएन तर फ्रान्सेलीले भने उनलाई साँच्चिकै उदारताका साथ रूचाएका छन् । यसअघिका उनका कृतिहरूलाई फ्रान्सेलीले रूचिका साथ पढेका छन् ।’ #टेलिफोन #द न्युयोर्क टाइम्स #पर्सिभल एभरेट #प्रयोगधर्मिता
कस्तो दिन आयो आज ?: भाइ भाइ फुटाइदियो संसार यत्रतत्र बनाइदियो । मै हुँ भन्ने राजा, कस्तो दिन आयो आज ? तन मन धन महत्व थियो धन त अब भौतारिएर हिँड्यो । मै हुँ भन्ने राजा कस्तो दिन आयो आज ? प्रत्येक दिन समाचार भनेको छ त्यसले एक जालो नै फिँजाएको छ यसले । मै हुँ भन्ने राजा कस्तो दिन आयो आज ? संसार दोस्त पार्न हिँडेका सामातियो अनि चार भित्ता अहिले थुनाइदियो मै हु भन्ने राजा कस्तो दिन आयो आज ? #संसार
म अपराधी: मिम बहादुर परियार मेरा हजारौं दाजुभाइ मारिए हजारौं हजार चेलीबेटीकाे अस्मिता लुटियाे बूढा आमा-बा अपहेलित भए दिनहुँ पीडा पिएर, अपमान सहेर, गालीगलाेज पचाएर मेरा मान्छे दिउँसै अन्धकारमा बस्न विवश भए म अपराधी निर्लज्ज हेरिरहेँ । मेरा दाजुभाइकाे हिँड्ने बाटाे छेकियाे पिउने पानी राेकियाे खाने राेटी लुटियाे, बस्ने बाँस खाेसियाे लास जलाउने चिहान सारियाे म अपराधी टाेलाएर हेरिरहेँ । सामाजिक स्वतन्त्रता हनन भयो म बाेलिनँ, अचलायमान छु आत्मसम्मान के हाे त्यो नसाेध समानता के हाे, साेध्ने काम बन्द गर माया प्रेम के हाे त्यो पनि नसाेध यी प्रश्नका उत्तर खाेज्दा मेरा मान्छे मारिए कुटिए, दमन गरियो, दबाइयाे र जलाइयाे म अपराधी देखेर पनि बसिरहेँ । कतिकाे अवस्था अज्ञात छ कतिकाे मृत्यु सूची तयार हुँदैछ कतिमाथि जालझेल बुनिँदैछन् कति चिहान जाँदैछन् कति अस्पतालका शय्यामा छन् कति झूटा मुद्दामा जेलमा सडेका छन् म अपराधी थाहा पाएर पनि सुतिरहेँ । नवराज बिक मैले जेहाद छेडिनँ फतवा जारी गरिनँ आफ्नै ठानेर, पीर मान्लान् भनेर तर मलाई उनीहरूले कहिल्यै आफ्नाे ठानेनन् बरु कमजोर ठानेछन् निरीह सम्झेछन् म अपराधी आफ्नै सम्झेर हात बढाइरहेँ । म अबुझले कहिल्यै बुझिनँ सत्तामा पुगेका मेरा आफ्नाले पनि सम्झिएनन् समाजिक भाइचारा भाँडिएला भनेर बुझ पचाइ बसेँ समस्या पर्ला भनेर पीर पिएँ तर बाेलिनँ तर उनीहरूले गनीगनी, छानीछानी मेरा मान्छे मार्दै छन् मजस्ता लाखौँलाख अपराधी मूकदर्शक बनेका छाैँ । मजस्ताकाे के काम ! रमिता हर्ने धेरै छन् श्रद्धाञ्जली अर्पण गर्ने थुप्रै छन् बरु जा सरकारसँग मृत्युु माग कठपुतलीकाे अस्तित्व हुँदैन म जस्ता अपराधी झुन्डकाे जीवित सासकाे केही काम छैन । सरकार ! मेरो नागरिकता जलाइदे मेरो कागजपत्र च्यातिदे त्यसको के काम? मलाई जिउँदै मृत्युदर्ता दे । #दलित #मिम बहादुर परियार #विभेद #हत्या
आफैँ बोल्छ: सोच सुन्य भाव शून्य शून्यतामै बिलाएको मान्छे पुन स्वचालित भएर फर्कनुमा गौरब छैन जे छ जस्तो छ कसैले नखोजी दिनु सम्झनाको बादलमा उडेर पुन नजगाउनु झूठो आडम्बरी ओडेर यो दुनियाँमा जाग्नु छैन धेरै जागिसकें आफन्तको खोजीमा दिनरात बिताएँ आफन्तको माझमा नाम्लोमा जोगो थाप्दै कर्तव्यको भारी २,४,६ गर्दै संख्या जोड्दै गएँ आफन्तको संजाल भावनाका महलहरू सकाम सोचले तान्दै लग्यो हराभरा वृक्षहरू हो बाँचेको थिएँ सपनाको नगरीमा हेर्दै रमाएको थिएँ तेरो मेरोमा जोड़ घटाउमा जीवन नाप्दै बसेँ सपनाको परिवेशले लख्ट्दै लग्यो कठपुतली जीवन चक्रहरू समयको अन्तरालमा पुराना अनुहार बिलाउँदै गयो एक पछि अर्को नयाँ थपिदै गयो आखिरी बिलाउनु र पलाउनु नै त रहेछ जीवनका परिवेशहरू क्षितिजको घाम जस्तै #आफैँ बोल्छ #रजनी श्रेष्ठ
युद्ध: म बादल बनेर उड्दै आकाश सुम्सुम्याइरहन्छु समयसँग थुनिएर उडिरहेछु एक धरातलबाट अर्को धरातल अनियन्त्रित द्वन्दबीच चलिरहन्छ युद्ध एक आपसमा कुरुक्षत्र बनेर कहिले आफैसँग कहिले मसँग प्रेम वार्तालापमा बगिरहन्छु आकाश माथि माथि अनि धरातलसम्म सलल् नदी बनेर दुबै किनार अंगाली बगिरहन्छु कहिले खहरे बन्दै उर्लिरहन्छु दुबै किनार बगाएर स्वत्तर बगर बगरबीच बादल बादलबीच ठोक्किरहन्छु आकाश आकाशबीच चम्किरहन्छु म र मबीच दुन्दुभि चलिरहन्छ विरोधाभासको सम्बन्धबीच दिन र रातबीच सत्य र असत्यबीच घात प्रतिघातबीच म र मप्रति कटाक्ष युद्ध रातभर छट्पटिरहन्छु निर्दो लाई सम्हाल्ने प्रतिबद्धतामा सूदर्शन चक्र हेरिरहन्छु आफैँबीच मनको कुरुक्षेत्रमा चलिरहन्छ युद्ध कौरब पाण्डव भनेर मात्र साक्षि स्वरुप कहिले म मर्छु कहिले मैले मार्छु स्वत्तर ढालेर कुरुक्षेत्र तर, कयौं युग बिते हरेक युगमा न म मरे न मैले मारे हरेक पल छाया स्वरुप कृष्णको चक्र चलिरहन्छ नपत्याए सोध घाम र जुनलाई सोध बर्बरिकलाई साक्षी बनेर हेरिरहेछ अजर अमर बनेर । #युद्ध #रबिन्द्र
फ्यानफिकको कालो पाटो: सन् २०१२ ताकाको कुरा हो । एडिसन केन जापानी सिन्तो धर्म अध्ययन गरिरहँदा अचानक ब्याटम्यान शृंखलाअन्तर्गत अश्लील साहित्य लेख्न थालिन् । खासमा त्यहाँ फुर्सदिला दिनमा जापानमा रहेका महँगा अंग्रेजी किताब पढ्नु भन्दा इन्टरनेटमा सित्तैमा पाइने फ्यान फिक्सन उनले पढ्न थालिन् । यसपछि उनलाई लाग्यो, यत्तिको फ्यानफिक्सन त उनी पनि लेख्न सक्छिन् । आधुनिक पप कल्चरले दिएका कयौँ कमिक चरित्रमाथि मनपर्दी ढंगले नयाँ नयाँ प्लट थप्दै कथा, उपन्यासहरू गढ्न पाइने हुनाले पाठकहरूमा यसप्रति निकै रूचि छ । यसबीच एडिसन केनले क्रिस्टोफर नोलनको डार्क नाइट फिल्ममा आधारित फ्यान फिक्सन लेख्न थालिन् र इन्टरनेटमा हाल्न थालिन् । उनको लेखनीका कारण बिस्तारै प्रशंसक आकर्षित हुन थाले । उपउप विधामा उनी एक किसिमले स्टार नै भइन् । यसको केही वर्षपछि अमेरिका फर्किएर उनले रेस्टुराँमा काम गर्दै रहँदा आफ्नो लेखनीलाई व्यवसायिक मोड दिन चाहिन् तर कुनै पनि प्रकाशकले उनको प्रतिभालाई ठाउँ दिएनन् । फ्यानफिक्सन नै लेख्ने अर्का एक लेखकले उनलाई ब्लसिङ बुक्स नामक एउटा सानो प्रकाशन संस्था जान सुझाए । सन् २०१६ मा उनको ‘बर्न टु बि बोउन्ड’ नामक फ्यान फिक निस्कियो । रोचक के भइदियो भने अमेजनमा यसले राम्रै रिभ्यु मात्र पाएन, उपन्यासले ३ लाख ७० हजार आम्दानी पनि गर्यो । यसपछिका दुई वर्ष उनले यही उपन्यासको अन्य शृंखला लेख्न थालिन् । ‘मलाई नाम कमाउनुसँग मतलब छैन,’ उनले एउटा रेडियो कार्यक्रममा भनेकी छन्, ‘त्यो वर्गका पाठकलाई खुसी बनाउनु छ र मलाई घर खर्च धान्नु छ । र, त्यो काम राम्रैसँग भइरहेको छ ।’ काम ठिकठाक भइरहेका बेला केनले उनकै कथासँग मिल्दोजुल्दो उपन्यासले तहल्का मच्चाइरहेको थाहा पाइन् । जोइ एलिस नामक लेखकले बजारमा ल्याएको मिथ अफ ओमेगाको शृंखला पहिलो पुस्तक क्रेभ टु कन्क्वेरमा त उनको उपन्याससँग सबै कुरा मिल्दोजुल्दो पाइन् । उसरी नै अल्फा मेनले ओमेगा हिरोइनलाई बन्धक बनाउँछ । अश्लीलता पनि उसरी नै घुसेको छ, घुसाइएको छ । यसपछि केनले प्रकाशकलाई यी नयाँ लेखिकामाथि कार्बाही गर्न पत्र काटिन् । नभन्दै प्रकाशकको पत्रपछि बर्न्स एन्ड नोबल, आइट्युन्स, एप्पलल र गुगल प्ले स्टोरबाट उपन्यास हट्यो । केनका फ्यानले त जोइ एलिसलाई तथानाम गालीसमेत गरे । अमेरिकामा सन् १९९८ मा बनेको डिजिटल मिलेनियम कपिराइट एक्टका कारण प्लट मिल्नेबित्तिकै कयौँ उपन्यासले आफ्नो अस्तित्व गुमाएका छन् र जोइको उपन्यासले पनि सोही अवस्था भोग्यो । फ्यान फिक उद्योगमा प्रायः यस्तो भइरहन्छ । रमाइलो त के छ भने फ्यानफिकको एउटा बेग्लै संसार छ । जहाँ ह्यारी पोटर होगर्ट स्कुल जाँदैन, ऊ त एउटा सामान्य स्कुल जान्छ र एउटा सामान्य विद्यार्थीजस्तो सामान्य समस्यासँग जुझ्छ। ह्यारी पोटरको अश्लील उपन्यास शृंखलामा उसले कसरी आफ्नौ यौन जिज्ञासासँग जुझ्दै अघि बढ्छ भन्ने कथा र उपन्यास पनि बजारमा देखापरेका छन् । त्यसैले पनि यसका प्रशंसकहरू यसलाई फ्यानफिक युनिभर्स भन्ने गर्छन् । यसको संसारै अलग छ । फ्यानफिकका लेखकलाई पारम्परिक लेखकहरूले परजीवी भन्छन् । उनीहरूले सिर्जना गरेर हिट बनाएका पात्र र उपन्यासलाई फ्यानफिक लेखकले चरम दोहन गरिरहेको आरोप लगाउँछन् । यस्ता कुरामा प्रतिलिपि अधिकार पनि लाग्दैन, जबसम्म मूल लेखकले आपत्ति जनाउँदैनन् । खासगरी फ्यानफिक सित्तैमा पढ्न पाइने हुनाले र त्यसबाट आर्थिक उपार्जन नहुने हुनाले पनि त्यस्ता लेखकमाथि कार्बाही नहुने गरेको केहीको धारणा छ । जब फ्यानफिकबाट कसैले नाम कमाउँछ, उसले नयाँ सिर्जना गर्ने अवसर पाउँछ । त्यसपछि उसको भाग्य बलियो छ भने इएल जेम्सको फिफ्टी सेड्स अफ ग्रे शृंखलाले जस्तै नाम र दाम मात्र कमाउँदैन, एकै झमटमा करोडपति हुने अवसर पनि पाउँछ । इएल जेम्स मात्र होइन, फ्यानफिकबाट जम्प मार्नेमा क्रिस्टिना लरेन र तारा सु मे पनि उत्तिकै चर्चित छन् । त्यही लोभमा लेखनमा रहर हुनेहरूले सित्तैमा लेखन अभ्यासका लागि फ्यानफिकमा काम गरिरहेका हुन्छन् तर जब फ्यानफिकको व्यवसायिक लेखन शुरू हुन्छ, त्यहाँ विवाद, मुद्दा र अनेकन् झन्झट पनि शुरू हुन्छ । फ्यानफिकको लोकप्रियता कति छ भन्ने कुरा इएल जेम्सहरूको उत्थान मात्र होइन, त्यो विधा अन्तर्गतको उपविधा, जसलाई ओमेगाभर्स (अर्थात्, ओमेगा युनिभर्स)मा मात्र विगत एक दशक यता लेखिएका कथाको संख्या ७० हजार भन्दा बढी भएबाट पुष्टि हुन्छ । (यो भेम्पायर, वेयरवुल्फ र खासगरी स्टेफनी मेयरको लोकप्रिय उपन्यास न्यु मून हिट भएपछि बनेको उपविधा हो ।) जोइ एलिस लन्डनबासी हुन् । उनले भर्खरै टिन एज पार गरिन् । उनको अमेजन बुक्स पेजमा २००६ देखि लेखन यात्रा शुरू गरेको देखिन्छ । न्युयोर्क टाइम्सले उनीसँग गरेको कुराकानीअनुसार, शुरूमा उनी ह्यारी पोटर शृंखलामा आधारित फ्यानफिक पढेपछि प्रभावित भइन् र उनले पनि फ्यानफिक लेख्न थालिन् । पछि बिबिसीले बनाएको सरलक्स होम्स शृंखला हेरेपछि भने उनले त्यसमा आधारित फ्यानफिक लेख्न थालिन् । यही उपन्यासले उनलाई ओमेगाभर्समा आकर्षित गरेको थियो । २०१७ मा उनले मिथ अफ ओमेगा शृंखला शुरू गरिन् । उनको पहिलो उपन्यास क्रेभ टु कन्क्वेयर निकालिन् । यो ठीकठीकै चलेपछि दोस्रो पुस्तक क्रेभ टु क्याप्चर प्रकाशित गरिन् । उनको यो उपन्यासलाई किताबका रूपमा लन्डनस्थित कम्पनी क्विल इन्क बुक्सले २०१८ मा बजारमा ल्यायो । यसको केही महिनापछि उनका एक पाठकले बर्न्स एन्ड नोबलमा उनको उपन्यास पढ्न नपाएको गुनासो गर्दै इमेल गरेपछि मात्र उनले थाहा पाइन्, उनकी प्रतिस्पर्धी लेखिकाले उनलाई कपिराइट क्लेम अन्तर्गत मुद्दा हालेकी रहिछन् र बर्न्स एन्ड नोबलले उपन्यास आफ्नो स्टोरबाट हटाएछ । यसपछि भने उनले पनि कथा जुध्नु फ्यानफिकको समस्या भएको र यसैलाई आधार मानेर किताब बेच्न प्रतिबन्ध नै लगाउनु उचित नभएको भन्दै अदालतमा आफ्नो धारणा राख्ने बताएकी छन् । कतिपय वेबसाइटसँग त उनले आफ्ना धारणा राखेपछि पुनः बेच्न थालिएको छ । तर उनीमाथि सिर्जना चोरीको आरोप लाग्नु आफूमाथिको ठूलो धब्बा ठानेकी छन् । त्यो धब्बा मेट्न आफू जुनसुकै तहमा पुग्नुपरे पनि जाने धारणा राखेकी छन् । उनले भनिन्, ‘मैले जे काम जानेकी छु, त्यही काममा कसैले औँला ठड्यायो जबकि फ्यानफिकको यो ठूलो समस्या नै होइन ।’ आफ्नो इज्जतमा धब्बा लगाएको र गलत आरोप लगाएको भन्दै एलिसले साढे १२ लाख डलरको हर्जाना दाबी गरेकी छन् । उनको दाबी छ, ‘ओमेगाभर्स कसैको बपौती होइन । यसमा प्लट मिल्छ, कथा मिल्छ तर त्यसैका आधारमा कसैको इज्जतमाथि धावा बोल्न पाइँदैन । भर्खरै उपविधाका रूपमा उदाएको यस्तो साहित्यविधामाथि यो हमला नै हो भन्ने मेरो राय छ ।’ यो मुद्दाको किनारा कसरी लाग्ने हो भन्नेबारे थुप्रैको चासो छ । ००० एलिस र केनबीच विषय चोरीको आरोपप्रत्यारोप पहिलो भने होइन । सन् २०१६ को मार्चमा केनले उनको फेसबुक पोस्टमा ड्रयागन्स मेइडेन उपनामबाट लेख्ने लेखिकाले आफ्नो उपन्यास बर्न टु बि ब्रेड को १५ वटा प्लट चोरी गरेको आरोप लगाएकी थिइन् । ड्रयागन्स मेइडेनले भने यसमा कुनै सत्यता नभएको भन्दै अस्वीकार गरेकी थिइन् । यस अस्वीकारको बाबजुद एलिसका फ्यानले ड्रयागन्स मेइडेनलाई खेदो खनेर हैरान नै बनाए । यसको दुई वर्षपछि मिथ अफ ओेमेगा पुस्तकलाई वेबसाइटबाट हटाउन प्रकाशकलाई आग्रह गरेका थिए । यसबाट लेखिका एलिस छक्क परेकी थिइन् । प्रकाशक पनि छक्क किन थिए भने ओमेगाभर्समा जसले जसरी पनि लेख्न सक्छ र कथाकहानी लगभग सबैजसो मिल्छ । तर केन भने एलिसलाई ओमेगाभर्समाथि लेख्न नै प्रतिबन्ध लगाउनु भन्दै चिठ्ठी लेखिरहेकी थिइन् । प्रकाशकले लेखक केनलाई त्यो तिम्रो बपौती होइन भन्दै जवाफ लेखी पठाएका थिए । यस मामिलामा एलिस ठीक कि केन ? यसका बारेमा आउँदो जुन महिनामा अदालतले निर्क्यौल गर्ने पक्का भएको छ । तर यो विधाको लोकप्रियता कति छ भने यो वर्ष २०२० मा मात्र दुई सय वटा उपन्यास यही विधामा छापिदैछ । #फ्यान फिक्सन #फ्यानफिक
कथाः बोध: मनोज रेग्मी सधैँको एकनासको जीवनशैली सबैको हुन्छ तर सबै विरक्तिएर म जस्तो कहिले कता, कहिले कता भौतारिएर हिँड्दैनन्। मलाई भने के हुन्छ कुन्नी? विरक्त लाग्न थालेपछि डुल्नुपर्ने, बिना उद्देश्य भौतारिनु पर्ने। अरु नशा जस्तै यो घुमन्ते बानीको पनि नशा लाग्ने रहेछ। त्यो नशा मलाई पनि लाग्न थालिसकेको थियो— यायावरलाई जस्तै। घुमफिरको मेरो उद्देश्य भनेको नयाँ ठाउँ घुम्नु र त्यो ठाउँको बारेमा कथा खोज्नु पनि हुन्थ्यो। त्यसैले घुमफिर पछिको मलाई मनपर्ने काम भनेको कथा लेख्नु थियो। मलाई लेख्ने काम, काम नभएर साधना जस्तो लाग्छ। केही दिन लगातार अफिस गयो कि मलाई ज्वरो आउला जस्तो हुन्छ। प्रायजसो काम र घरबाट कतै फुत्किनु नै मेरो एकमात्र उद्देश्य हुन्थ्यो। हुन पनि घरबाट निस्क्यो कि म अर्कै महसुस गर्थेँ, हलुका, हाइड्रोजन भरेको बेलुन जस्तो। घरमा त्यस्तो रोकटोक त केही कुरामा थिएन तर पनि एकै ठाउँमा बसिरहने मेरो स्वभाव थिएन। मैले राम्रोसँग बुझेको थिएँ, मेरो मनमौजी स्वभावदेखि आमा र मेरी श्रीमती सुभद्रा दुवै आजित छन्। आमा प्रायः अब त छोरो जिम्मेवार भैदिए हुन्थ्यो भन्ने भावमा मेरो अनुहार हेर्नुहुन्थ्यो। सुभद्रा पनि सकभर म उनीसँगै बसिदिए हुन्थ्यो, बेला मौकामा दुःखसुखका गफ गरिदिए हुन्थ्यो झैँ गर्थिन्। तर, दुवैले मेरो घमण्डी र झोँक्की स्वभावका कारण केही भनिहाल्न भने सकिरहेका थिएनन्। बुबालाई भने खासै चासो थिएन। टेबलमा चिया र हातमा रिमोट परेपछि बुबाको संसार त्यही टिभीमै हुन्थ्यो- बाहिर जेसुकै होस्, मतलब नै हुँदैन्थ्यो। पहिले-पहिलेझैँ त्यो दिन पनि कसैलाई केही नभनी घरबाट निस्किएँ। रुक्स्याक मेरो सधैँ तयार नै हुन्थ्यो। केही वर्षअघि ट्रेकिङ जाँदा बाटोमा एउटा विदेशीले ट्रेकिङ स्टिक उपहार दिएको थियो, त्यो पनि मेरो सधैँको सारथि भएको थियो। वैशाखको महिना थियो। मध्याह्न भएकाले टन्टलापुर घाम थाप्लोमाथि नै आइपुगेको थियो। हातको लौरी, मेरो बामपुड्के छायाँ र वनमा एकोहोरो कराउने झ्याउँकिरी मेरा सारथि थिए। बसबाट झरेर लगभग डेढ घण्टाको ठाडो उकालो उक्लिएपछि एउटा चौतारी आयो। पसिनाले जिउ निथ्रुक्क भिजेको थियो। सोचेँ, यही चौतारीमा एक छिन बिसाउनु पर्यो, पानी पनि पिउनु पर्यो। चौतारीमा थकाई मार्न के उक्लेको थिएँ, कतैबाट आवाज आयो, “थाक्नु भयो है, बाबू? घाम पनि चर्किचन्! बस्नुस्, यहाँ शिऽऽतल छ। कति भागदौड गर्नुहुन्छ? जति भागदौड गरे पनि तपाईंको गन्तव्य कहीँ जाँदैन क्यारे! एकछिन बसेर गए पनि पुग्नुहुन्च, बस्नुस्।” “ए, मैले त हजुरलाई नदेखेको,” मैले छक्क हुँदै भनेँ । “म त सधैँ यहीँ हुन्छु, मान्छेहरु मलाई यादै अर्दैनन् र पो! मलाई याद नगर्ने तपाईं पहिलो व्यक्ति पनि त होइन। ढुक्क हुनुस्,” उनले भनिन्। “हजुरको घर यही गाउँमा हो?” “अँ बाबु, यो बाटो देख्नुभा’छ नि, यस्कै सिरानमा छ मेरो घर।” “ए, अनि यो गाउँमा होमस्टेको व्यवस्था छ कि छैन नि, आमा?” मैले बास बस्ने व्यवस्थाको बारेमा सोधेँ। मसँग झोलामा भाडामा ल्याएको टेन्ट त छँदै थियो तर पनि बास पाए खानाको पनि व्यवस्था हुन्थ्यो, त्यही भएर होमस्टेको बारेमा सोधेको थिएँ। तर उनले मेरो कुरा सुनेको नसुन्यै गरिन्। मसँग बोल्दै गर्दा बुढी बारम्बार बाटोतिर नजर पुर्याउँथिन्। हत्केलाको छानो बनाएर परपरसम्म आँखा तन्काउँथिन् अनि मतिर फर्किन्थिन्। “आमा कस्को बाटो हेर्दै हुनुहुन्छ, कुन्नी?” धेरैबेर बाटो हेरेको देखेपछि मैले सोधेँ। “कस्को हुनु नि, मेरा खसमको!” “कहाँ जानु भ’को छ र बुबा?” “उनी इन्यामा जागिर अर्चन। छिट्टै आउँचु भन्थे, खै कैले आँउने र’चन! बाटो हेर्दै बसिचु। कुनै दिन त आउलान् नि भनेर!” उनले कुरा खुलाइन्। “ए, अनि सधैँ यहीँ आएर बाटो हेर्दै बस्नुहुन्छ?” “अँ बाबु, जसरी नि वर्षको एकपटक आउँचु भन्याथे। यो वैशाखमा त आउलान् नि भन्ने आश लिएर बसेकी छु।” “एऽऽ, अनि घरमा को को हुनुहुन्छ त?” “अहिले त म मात्रै छु, बाबु!” “अनि हजुरका छोराछोरीहरु नि?” एकछिन गम्भीर भएर उनले भनिन्, “एउटा लायकको छोरो थ्यो। मास्टरी अर्थ्यो। जनयुद्धताका बेपत्ता भएको, न लाश भेटियो, न सास ! मैले त अब आशै मारिसकेँ, बाबु। अब त मलाई केवल बुधेका बाको आश छ।” “अनि?” “अनि त म सधैँ एक्लै। सधैँ यसरी नै बाटो कुरिरहन्चु, बुधेका बाको!” “अनि खाना खानुभयो त?” “अँ खाएँ, बाबु! बुढ्यौली लागेर होला खासै रुच्दैन। चराले चारो टिपे जति खाएँ।” “यो चौतारी निकै उपयोगी रहेछ हगि? बटुवालाई सुस्ताउनलाई !” मैले विषय परिवर्तन गरेँ। उनले टाउको उचालेर पीपलको हाँगातिर हेर्दै भनिन्, “अँ, निक्कै उपयोगी छन् यो रुख अनि यसका हाँगाहरु!” “अनि किन त बाले हजुरलाई एक्लै छोडेर जानु भएको?” “हाम्रो एक्लो छोरो बुधे लापत्ता भएदेखि उनी पनि एकोहोरो भाका थे। धुँइपात्ताल लगाएर खोज्दा पनि बुधेको नामोनिशान भेटिएन। त्यसको केही महिनापछि एकदिन बुधेका बा एक्कासि झोला बोकेर निस्किए। मैले उनलाई रोक्ने लाख कोसिस अरेकी थेँ, माने पो! यो पालि जान्चु र हिसाबकिताब मिलाएर फेरि नजाने गरी आउँचु, नआत्ती घर हेरेर बस भनेर हिँडेका थे। मलाई विश्वास छ उनी जसै आउँचन्। तर कहिले आउँचन्, त्यो चैँ थाहा भएन।” “कस्तो नराम्रो घट्ना घटेको रहेछ हजुरको परिवारमा। सुनेर साह्रै दु:ख लाग्यो,” मैले सहानुभूति व्यक्त गरेँ। “एक्लो छोरो भएकाले पनि दु:खसुख पढाएका थ्यौँ। सुरुमा हामीले पढायौँ, पछि हामीलाई नै पढाउन थालेको थ्यो। पहिलोपटक खाली पानामा आफ्नो नाम लेख्न सक्ने भएकोमा मेरो आँखाबाट आँशु नै आएको थ्यो। मेरो आँखाको आँशु देखेर ऊ पनि रोएको थ्यो। बुधेका बा चाडबाड पारेर वर्षमा एकपटक आउँते। हामी सबै खुशी नै थियौँ। तर, खै कस्को आँखा लाग्यो कुन्नी..” आमै अड्किइन्। “अनि बुबा जानुभ’को कति भयो त, आमा?” “खै कति भयो, भयो, थाहै छैन। ए साँच्ची, बरु हजुरले बाटातिर कोइ बूडोमान्छे भेट्नु भएन?” एक्कासि भावुक मुद्रा फेरेर चम्किलो अनुहारमा बदलिँदै सोधिन्। “अहँ आमा, मैले बाटोमा त्यस्तो कोही पनि भेटिनँ!” मेरो उत्तरले उनी नाजवाफ भइन्। “तपाईंलाई थाहा छ उनी कति ठूल्-ठूला कुरा गर्चन्? एकपटक उनी छुट्टीमा इन्याबाट आएका थे। मैले घरभित्र पस्नुअघि ढोग्न खोज्दै थेँ, उनले मलाई रोक्दै भनेका थे- लाटी, यो के अरेकी? यस्तो अर्न पर्दैन। तिम्रो स्थान पाउमा होइन, मुटुमा छ। त्यसपछि अँगालोमा बेर्दै थपेका थिए- तिमीले जसरी मलाई श्रद्धा देखाउँचौ, त्यसको लागि म निकै आभारी छु। तर म भगवान होइन। म त ढुंगा हुँ, बगरको बेबारिसे ढुंगा। तिमी बरु मन्दिर हौ, जसको साथ पाएर म मूर्ति भएँ। तिमीबिना त म केही पनि हुन सक्दिनँ। वास्तवमा भगवान् र मन्दिर दुवै तिमी हौ, कमसेकम मेरा लागि। त्यसैले तिम्रो स्थान यहाँ हो, पाउमा होइन। अनि सम्बन्ध भनेको सधैँ बराबरको हुनुपर्च। जुन सम्बन्धमा बराबरीको भावना हुन्च, त्यो सम्बन्ध दिगो र सुमधुर हुन्च। अब तपाईं नै भन्नुहोस्, यति माया गर्ने मान्छे नआउलान् त?” “हुजरको कुरा सुन्दा त बुवा पक्कै आउनुहुन्छ जस्तो लाग्च।” मेरो प्रतिक्रियाले उनको अनुहारमा खुशीको आभा भरिएर आयो। शरीरको पसिना ओभाए जस्तो लागेपछि म त्यहाँबाट हिँड्ने निधो गरेँ। साँझसम्म गतिलो ठाउँ पाए बास बस्ने, नत्र अँध्यारो नपर्दै राम्रो ठाउँ खोजेर टेन्ट गाड्नुपर्ने थियो। “आमा, अब म लाग्छु पनि। हजुर त एकछिन बस्नुहुन्छ होला नि है? म त रात पर्नुअघि कतै बास बस्न मिल्ने ठाउँ खोजेर टेन्ट गाड्नु छ। फर्किदा फेरि भेट होला, अहिलेलाई लागेँ है! आफ्नो ख्याल राख्नु!” यति भनेर आफ्नो रुकस्याक भिरेँ र आमैलाई नमस्ते गर्दै त्यहाँबाट हिडेँ। आमै अझै बूढा आउने बाटोतिर हेर्दै थिइन्। हिँड्दाहिँड्दै आधा घण्टाको उकालो उक्लिएपछि एउटा गाउँ आयो। गाउँ पुग्दा तीन बजेको थियो। सोचेँ, अब तीन-चार घण्टा हिँडे भने त बाटो छोटिन्छ, भोलिलाई सजिलो हुन्छ। बरु अब आउने गाउँ कति टाढा छ, त्यो बुझ्नु पर्यो। एकजना हातमा लामो बेतको लौरी लिएर भेडाको बथान खेद्दै मनेर आइपुगे। “दाइ, यो कुन गाउँ हो?” मैले सोधिहालेँ। “यो बिर्लेट गाउँ हो, भाइ! हजुर कहाँसम्म?” उनले उत्तरसँगै प्रश्न पनि सोधे। “ए, म त यसै विरक्तिएर कथा खोज्न गाउँ डुल्दै हिँडेको!” “कथा त रच्ने होइन र? यसरी गाउँ-गाउँ डुलेर नि कथा भेटिन्छ त?” उनले अर्को प्रश्न गरे। “कहिलेकाहीँ मान्छेको कथा रच्ने शक्ति नै रित्तिन्छ। जब उसको क्षमता रित्तिन्छ, ऊ कथा बाहिर दुनियाँमा छ कि भनेर खोज्न निस्कन्छ। अनि कतै भेटेका तिनै टुक्राटाक्री गाँसेर शब्दको सहारामा माला उनेझैं कथा उन्छ। जस्तै, अघि भर्खर मैले बाटोमा एउटी बूढी आमै भेटेँ। उहाँसँग पनि निकै मार्मिक कथा थियो। मैले उहाँबाट कथाको लागि आवश्यक खुराक लिइसकेँ। अब ती टुक्राटाक्रीलाई जोड्न मात्र बाँकी छ,” मैले बताइदिएँ। “को बूढी आमै? कहाँ भेट्नु भो?” उनलाई मेरो कथा लेख्ने प्रक्रिया भन्दा पनि मैले कसको कथा लिएँ भन्ने कुरामा बढी चासो भएको मैले लख काटेँ। “त्यही तल चौतारीमा हुनुहुन्थ्यो, बाजे आउने बाटो कुर्दै हुनुहुन्थ्यो,” मैले भनेँ। “हजुरले नाकमा बुलाँकी र टाउकोमा मझेत्रो बाँधेकी आमैको कुरा त गर्नु भएको होइन नि?” उनले अलि काँपेको स्वरमा भने। “हो त, तिनै आमैको कुरा त गरेको मैले। के तपाईं चिन्नुहुन्छ?” “किन नचिन्नु! सात गाउँले चिन्छ तिनलाई तर तपाईंले उहाँलाई कसरी देख्न सक्नुहुन्छ?” उनले निधार खुम्च्याउँदै सोधे। “किन र? म त्यही बाटो त आएको, चौतारीमा सुस्ताउन उक्लेको के थिएँ, उहाँसँग भेट भयो र केही कुराकानी पनि!” “तर…!” उनि अड्किए। “तर के? के भन्न खोज्दै हुनुहुन्थ्यो, भन्नुस् न?” मैले कर गरेँ। “तपाईं पढेलेखेको देखिनुहुन्छ। मलाई थाहा छ, तपाईं मेरो कुरामा विश्वास गर्नुहुने छैन। त्यसैले म दुवै जनाको समय बर्बाद गर्न चाहन्नँ। मेरा भेँडा लाखापाखा लागे, म पनि लागेँ।” उनले सिधै कुरा टुंग्याइदिए र भेडाको बगाल ततेर्नतिर लागे। मेरो मनमा उत्सुकताको बिउ छरेर उनी मदेखि पन्छिन् चाहे तर मैले उनलाई पछ्याएँ। “के भन्न खोज्नु भएको थियो, कृपया खुलस्त भनिदिनु भए आभारी हुने थिएँ,” मैले भेडाको बगाल एकै ठाउँमा जम्मा पार्न सहयोग गरेझैँ गरेर भनेँ। “भूतप्रेत, आत्मामा विश्वास राख्नुहुन्छ?” उनले सोधे। म अल्मलिएँ। म अल्मलिएको भेउ पाएपछि उनी गलल्ल हाँसे। उनको अट्टहासले पाखै थर्कियो। “कता जान लाग्नुभएको थियो यसरी नअल्झिनुस्, मलाई पनि यिनीहरुलाई चराउन लान ढिला भैसक्यो।” उनी मदेखि पिछा छुटाउनतिर लागे। “मलाई विश्वास त लाग्दैन, तर यसमा किन यो प्रश्न सोध्नुभएको मैले भेउ पाउन सकिनँ?” “हत्तेरी, तपाईं त साह्रै ज्याद्रो हुनुहुँदोरहेछ । जुन कुरामा विश्वास नै गर्नुहुन्न, त्यो कुरामा यति साह्रो दिलचस्पी किन?” मलाई औडाहा भैसकेको थियो। म एउटा ढिस्कोमा थचक्क बसेँ। उनी भेडाहरु एकै ठाउँमा जम्मा पार्नतिर लागे। म उनीतिर याचना मिसिएको अनुहारले टुलुटुलु हेरिरहेँ। केहीबेरमा भेडाहरु चरनमा मस्तसँग चर्न थालेपछि उनी म भएतिर आए। नजिकै आएर उनले भने, “तपाईंजस्तो हठी मान्छे मैले आजसम्म देखेको छैन ल !” अनि थपे, “अब मसँग मैले सुनेको कुरा भन्नेबाहेक अरु केही उपाय बाँकी रहेन। कुरा त म सबिस्तार भन्छु नै तर मेरो एउटा शर्त छ।’” “कस्तो शर्त?” मैले सोधिहालेँ। “त्यो के भने, तपाईं मेरो कुरा सुन्नु मात्र हुनेछ, बीचमा रोक्न पाउनु हुनेछैन। अनि केही प्रश्न पनि सोध्न पाउनु हुने छैन। मन्जुर छ?” मसँग अरु कुनै उपाय थिएन, त्यसैले यन्त्रवत् मुस्कानसहित मुन्टो हल्लाएर आफ्नो सहमति जनाएँ। उनी सुरु भए- ती आमै, जसलाई हजुरले बाटोमा भेट्नुभयो, यही गाउँकी हुन्। उनको परिवारमा उनी, उनका श्रीमान् र एउटा छोरा गरी जम्मा तीन जना थिए। सबै भन्थे, बूढा भारतको बम्बैमा चौकीदारी गर्छन्। उनी हरेक साल घर आउँथे। छोरो पनि लायकको थियो। गाउँकै स्कुलमा पढाउँथ्यो। सबै राम्रै चलिरहेको थियो। कुरा लगभग सातआठ वर्ष अघिको हो। जनयुद्धताका एकदिन कक्षामा पढाइरहेको बेला सुराकी गर्यो भनेर माओवादीले गायब नै गरिदिएछन्। त्यसको केही वर्षसम्म पनि बूढा, बूढी एक्लै छे भनेर हरेक साल आउँथे। प्रत्येक पल्ट बूढी अब केका लागि दुःख गर्ने, नगए हुँदैन भनेर बूढालाई रोक्ने भरमग्दुर प्रयास गरिरहन्थिन्। त्यो साल बूढा यो अन्तिम पटक हो, हिसाबकिताब मिलाएर कहिल्यै नजाने गरी आउँछु भनेर हिँडेको थिए। त्यसपछि बूढी जहिल्यै त्यही चौतारीमा बूढाको बाटो हेरेर बसिरहन्थिन्। उनी एकदिन गाउँभरि बुधेका बाले इन्डियामा अर्कै घरजम गरेर बसे भन्ने हल्ला फिँजियो। त्यसको केही दिनमै बूढीले त्यही पीपलको बोटको हाँगामा झुडिएर देह त्याग गरिन्। त्यसपछि जो नयाँ मान्छे यो गाउँमा आउँछ, उनको आत्मा बूढाको बारेमा सोधिबस्छ। हजुरले देखेको पनि उनैको आत्मा थियो, जो आजसम्म पनि त्यहीँ कुरिरहेछ।” यति भनिसकेर मलाई प्रश्नैप्रश्नको सागरमा डुबाएर उनी भेडा चरिरहेको ठाउँमा गए। हेर्दाहेर्दै भेडाहरुको बगाल लिएर उनी सरासर घरतिर लागे। यता म भने, बूढीले घरीघरी बाटो हेरेको, पीपलको रुखको तारिफ नगरेर हाँगाको तारिफ गरेको र उनको मुहारमा रहलपहल बाँकी रहेको आशाका त्यान्द्राहरु झलझली सम्झिरहेँ। उनले भनेका हरेक वाक्यहरुलाई कथासँग जोडेर बुझ्न खोजेँ। सबैभन्दा घत परेको कुरा के थियो भने, उनले भनेकी थिइन्, “बाबु, हामी जीवनमा आफूलाई यति व्यस्त राख्न खोज्छौँ नि, हामी आफ्नो वरपरका अत्यन्तै प्रिय मान्छेहरुको साथ र चाहनालाई नजरअन्दाज गर्दै भाका सारिरहेका हुन्छौँ। भित्तेपात्रोमा कहिल्यै नआउने दिनलाई पनि हामी चिनो लगाएर राखेको हुन्छौँ। भित्तेपात्रोमा ३३ गते कहिल्यै नआएझैँ, हामीले चिनो लगाएर राखेको त्यो दिन पनि हाम्रो जीवनमा कहिल्यै आउँदैन। तर पनि हामी कुरिरहेका हुन्छौँ, एउटा चमत्कारको झिनो आश लिएर। म पनि बुधेका बा आउलान् र उनीसँगै चारधाम दर्शन अर्न जाउँला भनी कुरिबस्याछु। उनले वाचा गरेका थिए। भित्तेपात्रोमा यो दिन जाने भनेर चिनो लगाएका थिए।” यी सब सम्झिरहँदा मलाई एक्कासि मेरो परिवारको याद आयो। खल्तीबाट मोबाइल झिकेर आमालाई फोन लगाएँ। आमाले मेरो फोन भन्ने चिन्नेबित्तिकै भन्नुभयो, “म तँलाई नै सम्झिरहेकी थिएँ। तेरो आयु लामो छ। आजै सपनामा पनि देखेकी थिएँ। सन्चै छ नि तँलाई? घर कहिले आउँछस्?” “सन्चै छु। म छिट्टै आउँछु,” मैले यति मात्र भनेँ र फोन राखिदिएँ। गला नै अवरुद्ध भएको थियो। लगत्तै श्रीमतीलाई पनि फोन गरेँ। उनले फोन उठाएर मेरो आवाजको प्रतीक्षा गरिरहिन्। “के छ, सुबु?” मैले बोलेँ। “म ठीक छु, हजुर सन्चै हुनुहुन्छ? घर कहिले आउनुहुन्छ? हजुर नहुँदा निकै अत्यास लाग्छ। छिट्टै घर आउनु न है?” “म छिट्टै आउँछु।” यति भनेर फेरि फोन काटिदिएँ। यी घट्नाहरुले मलाई आफ्नो परिवार प्रतिको जिम्मेवारीबोध गराइदिएको थियो। आजसम्म म यी सब कुराहरुबाट भागिरहेको थिएँ। भाग्न खोजिरहेको थिएँ। अन्ततः म घर फर्कने निर्णयमा पुगेँ। जुन बाटो आएको थिएँ, त्यही बाटो भएर फर्किएँ। तर यस पटक ती बूढीआमैलाई त्यो चौतारीको वरपर कतै देखिनँ। #जनयुद्ध #बेपत्ता #मनोज रेग्मी
जिन्दगीको बिसौनी: भञ्ज्याङको चौतारीमा आ–आफ्ना भारी बिसाउँदै गर्दा भएको हाम्रो पहिलो भेट एक खिल्ली चुरोट आधा आधा खाएको एक अम्खोरा पानी आधा आधा पिएको अनि एक अर्काको गह्रौं भारी उठाउन सघाएको विपरीत दिशाबाट आएका हामी संयोगले भेट भएका थियौँ । पसिना ओभाएपछि बढेको धम्की रोकिएपछि चुरोटको ठूटो सकिएपछि थिएन कुनै बहाना हामीसँग धेरैबेर त्यहाँ रोकिनुको । छुट्टिनु त थियो नै आखिर तिमी लाग्यौ उँधोतिरको घोप्टे ओरालो म लागेँ उँभोतिरको फुस्रे उकालो उत्तरी ध्रूवको चिसो सिरेटो उक्लदै गर्दा किन किन तिम्रो दक्षिणी ध्रूवको न्यानो खोज्दै थिएँ दक्षिणी सूर्यको उष्ण तापमा तिमीले पनि उत्तरी वायुको शितलता खोज्दै थियौ कि कुन्नि ? अचेल पनि त्यही चौतारीमा पुग्दा चुरोट सल्काएर तिमीलाई नै पर्खी बस्न मन लाग्छ आधा खिल्ली तानेर आधा तिम्रैलागि छोडिराख्न मन लाग्छ आम्खोराको पानी आधा पिएर आधा तिम्रैलागि साँचिराख्न मन लाग्छ भारी हलुङ्गै हुँदा पनि खै किन हो तिम्रै हातले घचेडी माग्ने आस लाग्छ । सम्झिरहेको हुन्छु तिमीले पिएपछिको त्यो पानीको मिठास तिमीले तानेपछिको त्यो चुरोटको सुवास निकोटिनमा तिम्रा ओठको माधुर्यता मिसिएपछि कि बनेको हुनुपर्छ अफिमको जस्तो नशालु धूवाँ र त उक्लेथेँ ढेड घन्टे उकालो एकचोटि नबिसाइ निर्मल पानीमा तिम्रो सासको घटघट आवाज घोलिएपछि कि बनेको हुनुपर्छ कुनै मीठो सर्बत या बनेको हुनुपर्छ पञ्चामृत र त पुगेथेँ घरको पिँढीसम्म अर्कोचोटि पानी नखाई । आहा ! त्यो स्फुर्ती फलाम बिसाएर फूल बोकि हिँडे जस्तो ! वायुको बुइ चढेर आकासगङ्गा उक्ले जस्तो ! गाली गर्छु बारम्बार यो ढाक्रेको मुर्खतालाई हतारमा न नाम सोधेछु न गाम सोधेछु ! न पुग्ने ठाम सोधेछु ! क्षणभरको त्यो बसाई एक धर्को बोलाई एक निमेष हेराई मानौ जनम जनमको चिनारी जस्तो ! कतै सुने सुनेको आवाज जस्तो ! कतै चिने चिनेको आभास जस्तो ! कतै छोए छोएको निस्वास जस्तो ! कहिलेकाहीँ गाली गर्न मन लाग्छ यो संयोगलाई भेट नगराओस् समयले कसैसँग जिन्दगीको बिसौनीमा निमेषमै मन साटिने गरी आवेगमै मुटु काटिने गरी बेहोसीमै मान्छे लाटिने गरी अन्ततः बाँकी जीवन नै उदेक लाग्ने गरी #जिन्दगीको बिसौनी #राधिका कल्पित
भोकै मर्न नपाइने देशमा: राज्यले बनाएको देशमा भोकै मर्न नपाइने नयाँ कानुन थाहा नपाएर किस्मत बहादुर भोकै मर्यो । मर्न त उसलाई पनि मनै थिएन गाउँका भोका परिवारका लागि जोहो गर्न शहर पसेको ऊ भोको छु नभनिकनै भोकै मर्यो । लक डाउनमा थिए शहरका कामहरु लक डाउनमा थिए शहरका मान्छेहरु लक डाउनमा थिए दोकानहरु तर लक डाउनमा थिएन भोक त्यही भोकले मर्यो किस्मत बहादुर । रेडियोमा उद्घोषण भइरहेको थियो टेलिभिजनमा उद्घोषण भइरहेको थियो राजनेताहरुको भाषणमा उद्घोषण भएरहेको थियो देशमा भोकै मर्न पाइँदैन तर किस्मत बहादुरलाई थाहै भएन र मर्यो भोकै । भोकै मर्न नपाइने देशमा भोकै मरेको किस्मत बहादुरको सनाखत हुन बाँकी छ मुचुल्का उठाउन बाँकी छ यो लक डाउनमा कसरी गर्नु सरजमिन कानुन विलखबन्दमा छ । हिँड्दा हिँड्दै बाँच्नेआशाको दीयो निभेको पत्तै भएन किस्मत बहादुरलाई हातमा नाम्लो साबुत थियो पेटमा कति दिनको भोक यथावत् थियो आँखामा झुण्डिएको सपना पनि ज्यूँ का त्यूँ थियो । राज्यले बनाएको देशमा भोकै मर्न नपाइने नयाँ कानुन थाहा नपाएर किस्मत बहादुर भोकै मर्यो । #गोविन्द गिरी प्रेरणा #बन्दाबन्दी #भोक #मृत्यु #लकडाउन
आफ्नै बोली बोलौं: डिलाराम अधिकारी नेपाली हौं वीर जाति विश्वको विभूति भनेका थिए अघि विश्वले विश्वास पात्र जाति देशभक्ति देवभक्ति थियो कत्रो शान दिन प्रतिदिन हीन हुँदै छ आजकाल हाम्रो मान यसै निम्ति भन्छु भाइ आफ्नै बोली बोल सांस्कृति र भाषा बोली व्यर्थैमा नपोल चार वेदका मालिक हामी केमा कम्ति छौं र ? हाम्रै वेदको सार आज विश्वभरि हेर यत्रतत्र सबै कुरा वेदबाट बन्ने संसारमा हुने कुरा बसी–बसी जान्ने राजनीति धर्म नीति मुक्ति हात लाग्ने औषधिको भक्ति थियो मरी फेरि जाग्ने यस्तो वेदको मालिक आफैं भई अन्य बोली बोल्नु किन ! विचार गरी लिउँ भित्री आँखा खोली देखासिकी मात्र गर्ने बानीलाई छोडौं वेदरुपि जमिन फोडी विश्वको सेखी तोडौं छक्क परी हेरिबस्ने बेला हैन भाइ वेदको रसले सिचौँ अब मातृभूमिलाई हामी उठे देश उठ्छ होला सुख भोलि सबै भाइ मिलिजुली बोलौं आफ्नै बोली । #डिलाराम अधिकारी #बर्मा
मेरो कथायात्रा: चारपाते क्लबदेखि नै कविता कथा लेख्ने सुनाउने अभ्यासले बिस्तारै लेखनप्रतिको लगाव बढाउँदै गयो र २०२४–२०२५ साल चावहिलमा आफू पढेको मित्र सहशिक्षालय हाइस्कुलको वार्षिक प्रकाशनमा लगातार दुईवटा कविता छापिए । छापिएको त्यो पहिलो कविताले मभित्र छापामा आफ्नो नाउँ पढ्ने मोहलाई झनै हुर्काउँदै गयो । त्यो मोह मेरो आफ्नै घरको वातावरणले पनि हुर्काउँदै गयो । पिताजी स्वयम् आख्यान साहित्यमा चर्चित नाम । घरमा धेरै प्रकारका पुस्तक–पत्रपत्रिकाहरू आउने । माधव घिमिरे, भूपि शेरचन, सिद्धिचरण श्रेष्ठ, दानियल खालिङ, भैरव अर्याल, श्यामप्रसाद आदि ठूला ठूला साहित्यकारलाई घरैमा देखेर अभिभूत हुन पाइने । यसरी जानी नजानी कतिखेर लेखक बनिसकेछु, पत्तै भएन । मेरो लेखन यात्रा कवितालाई छाडेर गद्यमा आख्यान र बालसाहित्यको दिशामा बिस्तारै अघि बढ्यो । बालसाहित्यको दोश्रो रचनाका रूपमा बालक मासिकमा “हातिम” शीर्षक कथा थियो । त्यसपछि मधुपर्कको २०२७ असोज अङ्कमा अमेरिकी कथाकार एच.एन मुन्रोको “दुईशत्रु” शीर्षक अनुवाद कथा तेस्रो प्रकाशित रचना बन्न पुग्यो । यसरी छापिएको काथाबाट पैंतीस रूपियाँ पारिश्रमिक समेत पाउँदा लेखनप्रति आकर्षित झनै बढ्नु स्वाभाविक थियो सायद । त्यतिबेला पाएको त्यो पारिश्रमिक मेरालागि ठूलै पारितोषिक थियो, ठूलै आकर्षण ! लेखेर–अनुवाद गरेर पैसासमेत पाइने, त्यो पनि मुलुक कै ठूलो सरकारी पत्रिकाबाट ! मेरो सिकारु लेखकका लागि त्यो रोमाञ्चक अनुभव थियो । त्यसपछि त कहिले कथा, कहिले बाल साहित्य, कहिले निबन्ध र कहिले अखबारी लेख–रचना लेख्ने–छााप्ने, छापिने क्रम निरन्तर चलिरह्यो चलिरहेकै छ । हो, सुरुमा आफ्नो छापिएको नाउँ हेर्दा हुने खुसी र रोमाञ्च भने अहिले हुँदैन र त्यतिबेलाको त्यो रोमाञ्चकता र खुसी सम्झँदा पनि अहिले अनौठो लाग्छ । यसरी अङ्ग्रेजी कथाको अनुवादबाट सुरु भएको मेरो कथायात्रामा लेखनका दृष्टिले पहिलो मैलिक कथा थियो “आँसुमा रुझेको जीवन !” । हाम्रै सक्रियतामा खोलिएको ग्राम निर्माण बन्धुमण्डलले विक्रम सम्बत् २०२८ को अन्त्य वा त्यसको पछिल्लो वर्षको सुरुतिर साहित्य प्रतियोगिताको आयोजना गरेको थियो । त्यो प्रतियोगिता चाबहिल यताको क्षेत्रीय प्रतियोगिता थियो । यो क्लब २०४३–४४ साल सम्मै सक्रिय थियो । क्लबबाट बर्सेनि नाटक खेलाइन्थ्यो । नाटक हेर्न भनी मानिसहरू टाढाटाढादेखि आउने गर्थे । बाबाको सक्रियता र लेखन–निर्देशनमा हुने नाटक प्रदर्शनी निकै चर्चित थियो । विभिन्न नृत्य गायनका कार्यक्रम हुन्थे । पछि नाटक प्रदर्शनीको त्यो चरण बिस्तारै सेलायो र केही समयपछि बन्द नै हुन पुग्यो । २०३९–२०४०, दुई वर्ष क्लबले राष्ट्रिय स्तरकै कविता सम्मेलन गरेको थियो । त्यतिबेला निकै चर्चित यो वार्षिक आरुबारी कविता गोष्ठीमा वाचित कविताहरूका दुईवटा सङ्ग्रहको सम्पादन मैले नै गरेको थिएँ । त्यही क्लबद्वारा आयोजना गरेको कथा प्रतियोगितामा सुनाएर प्रथम पुरष्कृत हुन पुगेको “आँसुमा रुझेको जीवन” शीर्षक कथा मेरो पहिलो कथा थियो, जुन २०३० साल असोज महिनाको वार्षिक साहित्यिक मुखपत्र जमरामा छापियो । त्यो पत्रिका नेपाल नेसनल कलेज (जुन पछि शङ्करदेव क्याम्पसको नाउँमा रूपान्तरण भयो) को मुखपत्र थियो । लेखनक्रममा यो कथा पहिलो भएर पनि छापिनेमा भने तेस्रो बन्यो । यसअगाडि लेखिएका दुईवटा कथा “कुहिरोमा रुमल्लिएको जिन्दगी” र “विद्रोह पग्लिंदै जान्छ” क्रमशः २०३० वैशाख १९ र असोज १३ गतेका शनिवासरीय परिशिटाङ्कमा प्रकाशित भएका थिए । मधुपर्कमा छापिएको पहिलो मौलिक कथा चाहिं “सालिक भित्रको खोक्रो मान्छे” हो, जुन २०३१ साल फागुन अङ्कमा प्रकाशित छ । समालोचना र साहित्यका इतिहासहरुमध्ये केहीमा मेरो प्रथम प्रकाशित कथाका रूपमा आँसुमा रुझेको जीवनको उल्लेख भएछ, यो मेरै कमजोरीले गर्दा भएको हुनसक्छ । प्रकाशनको दृष्टिले मेरो पहिलो कथा “कुहिरोमा रुमल्लिएको जिन्दगी” पनि मेरा अधिकांश कथाजस्तै यथार्थको भावभूमिमा आधारित छ । यसको अनाम पात्र एउटा सडकबालक थियो जुन आज अनेकौं संख्यामा समाजसँग आफ्नो अस्तित्वको माग गरिरहेका छन् । नागरिक भएर पनि नागरिकता गुमाउन बाध्य छन् र आफ्नो बाँच्ने अधिकारको खोजीमा भौंतारिइरहेका छन् । आज यिनैका नाउँमा अन्तर्राष्ट्रिय स्तरमा सहयोगको खोलो बग्छ भनिन्छ । भनिन्छ, अनेकौं गैरसरकारी संस्थाहरू डलरको खेती गरिरहेका छन् । हुन पनि यस्ता संस्थाका सञ्चालकहरूको पजेरो र विलासी जीवशैली अनि पानीपधेँरो झैं विदेश यात्रा देख्दा भने ती आरोपहरू निराधार छन् जस्तो लाग्दैन । उता सडक बालक र खातेहरूको जीवनमा भने खासै परिवर्तन आएको छैन । यो कथा लेखिँदा परोपकारजस्तो वास्तवमै समाजसेवी संस्थाबाहेक अरु गैरसरकारी संस्था आइसकेका थिएनन् । वि.सं. २०२८–२०२९ तिर कीर्तिपुरमा आधाभूत शिक्षण तालिम लिँदाको समय चलेको एउटा शैक्षिक आन्दोलनको सम्बन्धमा अगाडि नै उल्लेख भइसकेको छ । त्यो बेला कीर्तिपुरबाट फर्कंदा कलेजको कक्षा सुरु नहुन्जेल पुस्तकालय, चमेना घर र रत्नपार्कको बगैंचातिरै बित्थ्यो । रत्नपार्कको त्यही सेरोफेरोमा प्रायः याचनाको हात फैलाइरहेको देखिने एउटा बालकको कलिलो अनुहार मेरा आँखामा ठोक्किइरहन्थ्यो । बिस्तारै ऊसँग केही कुराहरू हुन थाले, कहिले एकदुई रूपियाँ उसको हातमा राखिदिन्थेँ । कहिले रत्नपार्कको चौरमा उसलाई पनि सँगै राखेर भुटेको बदाम खान्थें, ख्वाउँथें । मेरो सहानुभूतिपूर्ण व्यवहारले हुनसक्छ ऊ बिस्तारै खुल्दै गएको थियो । त्यसरी मैले उसको बारेमा टुक्राटुक्रामा धेरथोर जानकारी पाएँ । उसका बाबुआमा बितिसकेका थिए । गाउँमा काका–काकीको उपेक्षा र अपमान सहन नसकेर गाउँबाट भागेको थियो । काठमाडौं पसेर निकै दिन सडकमा बिताएपछि सबैले काका भन्ने गरेका एकजना मान्छेले उसलाई फेला पारेछ । त्यो काका भन्ने मानिस पनि पहिले ऊजस्तै सडकलाई नै आश्रय मानेर दुईचार पैसा माग्दै जीवन बिताउँथ्यो रे । अहिले ऊ यस्तै केटाहरूलाई जम्मा गरेर माग्न लगाउँदो रहेछ । त्यही उनीहरूले मागेर जम्मा गरेका पैसा लिएर ऊ उनीहरूको खाने–बस्ने र लाउने लुगाफाटोको व्यवस्था गरिदिंदो रहेछ । त्यो केटोको कुरा कतिसम्म सत्य थियो मँ भन्न सक्दिन, तर उसले त्यतिबेला सुनाएका कुरा तिनै थिए । त्यही बालकको बिम्ब मेरो पहिलो कथाको आधारभूमि बन्यो र यसैबाट कोरियो मेरो पाँच दशकीय कथालेखनको गोरेटो । भौगोलिक हिसाबले भैरव दाइ (स्वर्गीय भैरवप्रसाद अर्याल) र हामी नजिकै बस्थ्यौं । उहाँको घर जोरपाटी बजारमा थियोे, मेरो जोरपाटीकै अलि माथि आरुबारीमा । कहिलेकाहीं हाम्रो घरमा पनि आउनु हने हुँदा भैरव दाइले मलाई पनि चिन्नुहुन्थ्यो । उहाँले मेरो “दुई शत्रु” नामको एउटा अनुवाद कथा मधुपर्कमा छापिदिनु भएको थियो । त्यसैले त्यो पहिलो कथा लगेर भैरवदाइलाई गोरखापत्रमै भटेर “हुने भए छापिदिन” अनुरोध गरेको थिएँ । मेरो मन भन्दै थियो –के छापिएला र मँजस्तो सिकारु लेखकको यो पहिलो कथा, त्यो पनि गोरखापत्रजस्तो मुलुककै ठूलो अखबारमा ! “छाडेर जाऊ, म हेरौंला । हुनेभए छापौंला” भैरव दाइको जवाफ सुनेर म गह्रुङ्गो मन लिएर फर्केको थिएँ । “हुनेभए छापौंला” भन्ने उहाँकोे भनाइ सुनेपछि मेरो आशा झनै क्षीण हुन पुगेको थियो । जे होस्, त्यो कथा दिएर आएपछि मैले व्यग्रपूर्वक प्रतीक्षा गरेँ । हरेक शनिवारको गोरखापत्र किनेर ल्याउँथे । अनि त्यसमा आफ्नो नाउँ र कथा नदेख्दा निराश हुन्थेँ । आखिर त्यो प्रतीक्षा २०३० साउन ६ गतेको झरीले भिजेको दिन सकियो । त्यही दिनको गोरखापत्रमा आफ्नो नाम र त्यही पहिलो कथा छापिएको रहेछ । त्यो देखेपछि मैले आफूलाई अर्कै संसारमा पुगेको अनुभव गरेँ । अहिले त्यसरी छापिँदा कुनै रोमाञ्च, कुनै हर्ष अनुभव नगर्ने मेरो मन त्यतिबेला कति खुसी भएको थियो, सम्झँदा पनि आश्चर्य लाग्छ । त्यो कथा छापिनुमा सिकारु लेखकलाई प्रोत्साहन दिनुपर्छ भन्ने भैरवदाइको उदार र भावनाको के कति भूमिका छ र मेरो कथाको स्तरीयताको के कति भूमिका, म यकिनका साथ भन्न सक्दिनँ । तर पनि अहिले हेर्दा विषयबस्तु राम्रो भएर पनि सिकारु लेखकको त्यो पहिलो कथा छापिनुमा कथाको प्रभावभन्दा पनि नयाँ पुस्ताका लेखकलाई प्रोत्साहन दिनुपर्छ भन्ने भैरवदाइको दृष्टिकोण कै बढी भूमिका रहेको थियो होला जस्तो लाग्छ । भैरव दाइबाट पछिसम्म नै प्रेरणा पाइरहेँ । बाबा कहिलेकाहीँ साहित्यको क्षेत्रमा आवश्यक वातावरण र यो उत्पादक क्षेत्र बन्न नसकेको देखेर निराशामा भन्नुहुन्थ्यो – म साहित्यमा लागेर दुःख पाएँँ, यो पनि त्यतै लाग्दै छ । त्यो सुनेपछि भैरव दाइको प्रतिक्रिया हुन्थ्यो– यस्तो कुरा नसुन्नु है, लेख्न छाड्न हुन्न, लेख्दै जाऊ ! उहाँको त्यो भनाइले मलाई सधैं अघि बढ्न प्रेरित गरिरह्यो । पछि विसं २०३७ जेठको सुरुदेखि त गोरखापत्रमा उपसम्पादकको रूपमा प्रवेश गरेपछि नारायण बहादुर सिंहको सहयोगी भएर काम गर्ने अवसर पाएँ । प्रेरणाको कुरा गर्दा सकारात्मक प्रोत्साहन मात्र नभएर हतोत्साह बनाउने प्रतिक्रियाबाट पनि आफूलाई सुधार्ने प्रेरणा पाएको छु मैले । २०३० सालमा मैले एउटा जासुसी उपन्यास लेखें र पछिल्लो वर्ष त्यसलाई रत्नपुस्तक भण्डारले प्रकाशित गर्यो । त्यसपछि अर्को एउटा सामाजिक उपन्यास लेखेको थिएँ । त्यो उपन्यास लेखेपछि बाबाको सल्लाहअनुसार नै मैले केही सुझावका साथै मन्तव्यको आशा गरेर विद्वान् कुमारबहादुर जोशीलाई विनम्र अनुरोधसहित दिएँ । पहिले राम्रै आश्वासन पाए पनि लामो समयसम्म कुनै जवाफ पाइनँ, अन्तमा उहाँले “भाषा अशुद्ध भयो लैजानोस् । भाषै नजानी के लेख्नुहुन्छ !” भनेर फिर्ता गर्नुभयो । एक ठाउँमा मेरो असावधानीले हो वा अज्ञानका कारणले “निर्निमेष” शब्द “निर्मिमेष” कि “निर्मिशेष” के हो, हुन पुगेको रहेछ । अरू पनि अशुद्धिहरू थिए होलान् । अहिले त कम्प्युटरमै लेखेर पठाउँदा स्क्रिनमा शुद्ध पढेका शब्द प्रिन्ट गर्दा अशुद्ध भएको थाहा पाउँछु र लज्जित हुनुपर्छ भने त्यतिबेला त सिकारु नै थिएँ । जे होस्, त्यो प्रतिक्रिया मेरो सिकारु लेखकमाथि निकै ठूलो प्रहार थियो र त्यसले मभित्र हुर्कँदै गरेको सिकारु लेखकको भ्रूणहत्या पनि गर्न सक्थ्यो । त्यतिबेला हतोत्साही बनाउने खालको त्यो अभिव्यक्तिको चोट झेल्न मलाई निकै कठिन परेको थियो । उहाँको भाषिक चेतना स्वाभाविक थियो होला, उपयुक्त ढङ्गमा प्राप्त सुझाव मेरा लागि लाभप्रद नै हुनपुग्थ्यो । मैले सुझावको अपेक्षा पनि राखेकै हुँ । जुन तरिकाले प्रतिक्रिया पाएँ, त्यो भने मजस्ता साहित्यमा भर्खरै लाग्ने प्रयासमा रहेको एउटा सिकारु लेखकलाई प्रेरित गर्ने र सही बाटो देखाउने खालको मैले अनुभव गर्न सकिनँ । त्यतिबेला त झन् पहिलो औपन्यासिक प्रयासमा नै पाएको त्यो कठोर प्रतिक्रियाबाट मलाई ठूलै चोट पुगेको थियो । त्यसबाट मलाई एउटा फाइदा भने भयो, त्यो पाण्डुलिपिलाई फेरि दोहोर्याएर सकेसम्म भाषिक रूपमा शुद्ध बनाउने मैले अवसर पाएँ । तत्कालीन उपकुलपति कविवर माधवप्रसाद घिमिरे, साहित्य विभागका सदस्य मोहन कोइराला आदि अग्रजहरूको स्नेहपूर्ण सद्भाव र सदासयताका कारण त्यो उपन्यास २०३६ सालमा प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित भयो । त्यस बेलादेखि मैले उपन्यामा हात खाल्न सकेको छैन । जनमत सङ्ग्रहको पृष्ठभूमिमा लगभग तीन खण्ड जति काम सकिसकेको एउटा उपन्यास पनि त्यसै थन्किइरहेको छ, अपूर्ण रूपमा । फुर्सद निकालेर त्यसलाई पूरा गर्नेछु भन्ने प्रतिबद्धताका साथै अर्को एउटा उपन्यासको खाका भने कोरेको छु । फुटकर सबै कथासम्बन्धी कथागर्भको उल्लेख सम्भव नहोला । तसर्थ मेरा प्रकाशित सङ्ग्रहमा रहेका केही कथाहरूका बारेमा मात्र संक्षिप्त चर्चा गर्दछु । मेरो पहिलो कथासङ्ग्रह (संयुक्त) त्रिविध भित्रका छवटा मध्येको “अखबारका पन्नामा टाँसिएको अनुहारहरू” शीर्षक कथाको घटना, पृष्ठभूमि, र पात्रहरू सुदूर पश्चिमको डोटीसँग गाँसिएको छ । त्यति बेला म राष्ट्रिय विकास सेवाअन्तर्गत डोटीको देहीमाणौंमा थिएँ । मेरो डेराको छेवैमा एउटा चिया पसल थियो । त्यहाँ चिया मात्र नभएर रक्सीको पनि व्यापार हुन्थ्यो । त्यो पसल गाउँकै बुज्रुक मानिने एकजना बाहुनकी ल्याइते श्रीमती र झड्केली छोरीले चलाउँथे । तल्लो जातकी मतवाली परिवारबाट आएकी ती महिलाको अगिल्लो लोग्नेबाट जन्मेकी झडकेली छोरी जवान थिइन् । तिनै आमा छोरीको भरमा त्यो पसल चलिरहेको थियो । पसलमा अझ रक्सीसँगै त्यो तरुनी छोरीको मादक जवानी पिउने लोभमा ग्राहकहरू बढी झुम्मिने गर्थे । आफूलाई लोग्ने र बाबु भनाउने त्यो धूर्त मान्छे उनीहरूकै कमाइमा मोजमस्ती गर्ने गर्थ्यो । आफ्नो उमेरको उत्तरार्धमा पाइला टेकेकी ती विचरी ल्याइते भनिने श्रीमती उसलाई त्यागेर हिंड्न पनि सक्दिनथिन् । म आफ्नै डेराबाट पनि त्यो पसलको चहलपहल देख्न सक्थेँ । नजिकै अर्को चिया पसल नभएकोले कहिलेकाहीँ मेरा लागि पनि चिया खाने ठाउँ त्यही पसल हुनेगर्थ्यो । त्यही क्रममा म उसको निर्दोष व्यवहार र उसमाथि स्वयं उसको बाबु भनिने व्यक्तिबाट भएको शोषण देखेर उसको बारेमा जान्न केही उत्सुक थिएँ । राजधानीबाट आएको सहरिया सभ्य कहलाइएको मप्रति ऊ आकर्षित हुनु त स्वाभाविक नै थियो । त्यो भट्टीमा प्रायः मद्यपान गर्न आउने ग्राहकहरूको अश्लील हेराइ, हाउभाउ र ठट्टा मात्र होइन मौका परेमा शरीर स्पर्शको आनन्द लिन आतुर चेष्टा घरिघरिको दोरिहरन्थ्यो । त्यस्ता कुत्सित शरीरस्पर्शबाट ऊ तर्सिएकी देखिन्थी । यसमाथि त्यस्तो अवसरमा मेरो उपस्थिति रहँदा ऊ झनै असजिलो अनुभव गर्थी । मैले बिस्तारै उनीहरूको बारेमा धेरै कुरा थाहा पाउँदै गएको थिएँ – आमाले कत्ति कर गर्दा समेत व्यापार सुक्ने डरले गर्दा त्यो कथित बाबु भनिने व्यक्ति छोरीको बिहेको कुरै सुन्न चाहँदैन । विवाह गर्ने उमेर पुगेकी त्यो केटीमा उमेरजन्य सुखी दाम्पत्यको चाहना स्वाभाविक हो । त्यसैले सहरको केटोसँग बिहे गरेर वा पोइल गएर जीवन बिताउने चाहनाले गर्दा ऊ म मात्र होइन, काठमाडौं वा अन्य सहरबाट आउने जोकोहीसँग पनि आकर्षित हुनु स्वभाविक थियो । त्यसैले मौका पारेर त्यो केटी अलि खुलेर कुरा गर्ने गर्थी । त्यस्तैमा एकदिन उसले मसँग आफूलाई पनि सँगै सहर लैजाने आग्रह गरेकी थिई । सहरसम्म लगरे छाडिदिए पनि ठूलो उपकार हुने उसको आर्त पुकार र आग्रहले मलाई अति नै कठिनाइमा समेत पारिदिएको थियो । त्यति मात्रै हुन सके पनि आफू त्यो नर्कबाट मुक्ति पाउन सक्ने उसको विश्वासलाई दरिलो आड दिन ममा साहस थिएन । मलाई धर्मको लोभ समेत देखाएकी थिई उसले त्यतिबेला । बदलामा म उसलाई सम्झाउँथें –जोसुकैसँग त्यरी हिंड्नु हुदैन, उस्तै मान्छेले विदेशमा लगेर बेचिदिन पनि बेर लाउँदैन । मेरो त्यो भनाइलाई उसले मेरो आफू पन्छने बहानाभन्दा बढी ठानेकी थिइन । त्यसको एक महिना जति पनि भएको थिएन, मैले सुनें त्यो केटी बिदामा गाउँ आएको भारततिर काम गर्ने कुनै एउटा जवान केटोसँग साथ लागेर भागी रे ! म काठमाडौं आएँ । बिस्तारै डोटी र डोटीका कुराहरू मेरो मनबाट छुट्दै गए । त्यो केटीको सम्झना पनि त्यसरी नै हरायो । त्यत्तिकैमा लगभग एक–डेढ वर्षपछि हुनुपर्छ, मेरो आँखामा एउटा समाचार पर्यो । समाचार प्रेमजालमा फँसेकी एउटी केटीलाई यसको कथित प्रेमीले भारत लगेर बेचेको विषयमा थियो । त्यो समाचारको शीर्षक पढ्नासाथ मेरो मनको चित्रफलकमा त्यही निर्दोष डोटेली केटीको अनुहार झल्झली आइरह्यो –कतै त्यो केटी पनि यसरी नै…. ! त्यसैको भावभूमिमा लेखियो “अखबारका पन्नामा टाँसिएको अनुहारहरू” ! यही सङ्ग्रहको “देवकन्या” कथाको पृष्ष्ठभूमि र घटना पनि धेरै हदसम्म माथिको यही कथासँग मिल्दोजुल्दो छ । हिजो कतिपय ठाउँमा धनी मानिसको कथित देवभक्तिको भाकल पूरा गर्ने साधन बन्नुपर्ने बाध्यतास्वरूप केटीहरूको किनबेच हुनथ्यो । यसरी केटाकेटीमै देवकन्या बनेर कृतदासीका रूपमा मन्दिर भित्रिनुपर्ने यो परम्परा डोटीजस्ता ठाउँमा त झनै बाक्लो थियो । अहिले त्यो प्रचलन हटे पनि म छउन्जेलसम्म पनि पूर्वदेवदासी वा देवकन्याको अवशेष भने बाँकी नै थियो । यस्तै अवशेषको रूपमा देवकन्या भएपछि वैवाहिक अधिकारबाट समेत स्वतः वञ्चित भएकी एउटी नारीको कथा हो यो, जो युवावस्थाको यौनजन्य चाहना र कथित ठूलाबडाको प्रलोभनजालमा परेर कुमारी आमाको नियति भोग्न बाध्य बनेकी थिई । अँध्यारोमा र लुकिछिपी देवदासीको यौवनको न्यानो अँगालोमा लुटपुटिन चाहने समाजका सफेदपोस अनुहारहरूले नै उज्यालोमा तिनैलाई समाजको कलङ्क भन्दै तिरस्कार गर्थे । त्यही यथार्थबाट पीडित र समाजबाट तिरस्किृत एउटी जीवन्त पात्र नै यो कथाको पात्र हो । यस्तै एउटा अर्को कथाको सम्झना हुन्छ, म अनवरत पिटर खोजिरहन्छु ! यो कथा अनेपाली परिवेश र पृष्ठभूमिको भए पनि आजको हाम्रो कथित सहरी सभ्य समाजमा क्रमशः देखा पर्न थालेको यथार्थ हो । यो वात्सल्य प्रेमको भोकमा छट्पटाइरहेका अबोध शिशुहरूको साझा कथा हो । अबोध बालकले अनुभव गर्ने यही अभावले उसभित्र उज्जण्डता र विद्रोही स्वभावको जन्म गराइदिएर असामाजिक गतिविधिको कारक समेत बन्ने गरेको छ । बेलाइतमा एउटा परिवारकहाँ पाहुना लागेर बस्दा देखेको यो यथार्थ हाम्रो समाजमा पनि दोहोरिने आशंका देखिंदै छ । म पाहुना लागेको घरमा दुई तीन वर्षअघि मात्रै बिहे भएका लोग्नेस्वास्नी मात्र थिए । राम्रो बचत गरेर मात्रै सन्तान जन्माउने उनीहरूको योजना, आफ्ना छोराछोरी थिएनन् । लोग्ने धारा बाथरुमको मर्मत गर्ने प्लम्बर, स्वास्नी तीन चारजान पेइङ्गेष्टको खानपिन व्यवस्थाका अतिरिक्त बिदाको दिनमा बेबी सिटिङ गर्ने । उनीकहाँ हरेक बिदाका दुई दिन तीनजना साना केटाकेटी तिनका आमाबाबुले ल्याएर छाड्थे र बेलुका आएर लैजान्थे । अर्काका छोराछोरीको रहेरचाह गर्ने जिम्मा बोकेकी सुजी फ्रेयर भने न केटाकेटी स्याहार्न जान्दथिन्, न उनमा मातृसुलभ स्वभाव नै देखिन्थ्यो । उनी केटाकेटीलाई खेलौना भरिएको कोठामा राखेर आफू यता उता अरु काममा व्यस्त रहन्थिन्, ती केटाकेटीलाई ध्यान दिने उनीसँग फुर्सदै हुँदैनथ्यो । बिदाको दिन घुम्न ननिस्किएको बेला म ती केटाकेटीसँग घुलमिल गर्ने गर्थें । मेरो व्यवहारले उनीहरू पनि बिस्तारै मसँग केहीबेर खेल्ने गर्न थालेका थिए, केही खुलेर कुरा गर्न थालेका थिए । त्यही क्रममा मैले थाहा पाएको थिएँ –ती केटाकेटी वास्तवमा आमा बाबुको सान्निध्य र वात्सल्यप्रेमको भोका रहेछन् । दुवैजना जागिरे बाबाुआमाका ती तीन–चार वर्षका अबोध शिशुहरू हप्ताको पाँच दिन केटाकेटीको हेरचाह गर्ने व्यवसायिक संस्था दिवा शिशु केन्द्र (डे केयर सेण्टर )को जिम्ममा छाडिंदा रहेछन् । सम्भवतः केटाकेटीहरू हप्ताको दुई दिन नै भए पनि आमाबाबुसँग बस्न पाउनुपर्छ भनेर होला बिदाको दुई दिन भने दिवा शिशु केन्द्रमा राख्न पाइँदैनथ्यो । तर ती दुई दिन फेरि अर्कैको जिम्मा लगाइँदो रहेछ । अगिपछि त अफिस नै भयो, बिदाका दिनसमेत ती बाबुआमालाई घुमफिर तथा राति अबेरसम्मको पार्टी जीवनबाटै फुर्सद हुँदोरहेन छ । यसरी बाबुआमाको माया र सान्निध्यको भोकमा छटपटाइरहेका ती अबोध शिशुहरूमा नकारात्मक प्रवृत्ति र ढीठ विद्रोही स्वभावको विकास हुँदै गएको रहेछ भन्ने मेरो अनुमान थियो । उनीहरूलाई देखेदेखि लागूपदार्थका दुर्व्यसनी, हुल्याहा गुण्डगर्दी गर्ने युवा अनुहारहरू तिनै केटाकेटीहरूको अनुहारमा अनुवाद भएको अनुभव गर्ने गर्थें म ! त्यही घटना र तिनै अबोध शिशुहरूको अनुहारबाट लखेटिएर मैले “म अनवरत पिटर खोजिरहेकोछु” लेखेको थिएँ ! पौराणिक युगकी नारीलाई मात्र होइन आजकी नारीलाई पनि भोग्याको दृष्टिले उपभोग्य वस्तु मात्र ठान्ने पुरुष मानसिकता विद्यमान नै छ । कथित सभ्य र सचेत भनिने नारीहरू समेत विज्ञापनमा सजिनु र सभ्यताका नाउँमा आफूलाई सम्पूर्णमा नङ्ग्याउनुलाई नै नारी स्वतन्त्रता र नारी मुक्ति ठान्ने भ्रमित मानसिकताबाट ग्रसित देखिएका छन् । यी दुवै खाले प्रवृत्ति नारी अस्मिता र गौरव तथा नारी समानताको अवधारणसँग मेल खाँदैनन् । यही पौराणिक पृष्ठभूमिमा लेखिएका थिए, युगयुगकी जानकी, द्रौपदी नियति र आफ्नै छायामा शीर्षकका कथा । स्वयम्बरको वास्तविक अर्थअनुसार कन्यालाई वर चयन गर्न दिने अधिकार खोसेर स्वयम्वरको नाउँमा जबर्जस्ती बाबुआमाद्वारा गरिदिइने परम्परागत विवाहको परम्पराले मेरो समाज ग्रस्त छ । त्यही नियति भोगेका थिए सीतालगायत रामायणकालीन कन्याहरूले । यही नियति भोगिरहेका छन् आजको एक्काइसौं शताब्दीका आधुनिक कन्याहरू पनि ! त्यसमाथि युवा अवस्थामैं आश्रय गुमाएका एकल युवतीले त सधैं सधैं अपहरणको दाउ हेरेर बसेका आँखाबाट पछ्याइने पीडानुभूति गर्नुपर्छ । यस्तै यस्तै घटनाको साक्षत्कारले “युग युगकी जानकी” र “आफ्नै छायामा” शीर्षक कथा लेख्न प्रेरित गरेका हुन् । यसरी नै महाभारतकालीन बहुपति प्रथाको अवशेष हाम्रै समाजका कुनै पक्षमा अझै पाइनुको यथार्थले “द्रौपदी नियति” लेख्न प्रेरित गर्यो । त्यो बेलादेखि आजसम्मको नारी अनुभूति र अवस्थामा पूर्ण परिवर्तन नआएको स्पष्ट हुन्छ । बहुपति प्रथाको बाध्यतामा परेर तीन–चारजना लोग्नेकी एउटै साझा स्वास्नी बन्नु पर्ने बाध्यता मनाङ–मुस्ताङ जहाँकी भए पनि एउटी स्वास्नी मान्छेमा हुर्कने मानसिकतामा बुनिएको कथा हो यो । यी मात्र होइनन्, मेरा प्रायः कथाहरू चरित्र, घटना र परिवेशजन्य अनुभूतिबाट प्रेरित भएर नै लेखिएका छन् । सुदूर पश्चिमकी पारुको कथा होस् वा फेरी लाउने जोगी र सारङ्गी रेट्ने काले गाइने हुन्, ती सबै मेरो समाजका जीवन्त पात्र हुन् । यी भुइँमान्छेले सधैं नै समाजप्रति औँला ठड्याइरहेका छन्, सांस्कृतिक विरासत बचाएका छन् । केही नबुझ्ने कार्यालयको पाले हर्के होस् कि आफ्नो दुखः–पीडालाई कथित ठूलाबडाको बैठक कोठासम्म पहुँच भएको भ्रममा आफैँलाई भुलाउन खोज्ने अतीतका व्यथाहरूको एउटा वृद्ध चरित्र, ती सबै मैले साक्षात्कार गरेका पात्रहरूको अनुभूतिजन्य कथावस्तु हुन् । तसर्थ, मेरा कथाका पात्रहरू मेरै समाजका यथार्थ पात्रहरू हुन् । मेरो अर्थात् मेरै समाजका मानिसहरूको चरित्र हुन् । मेरा प्रायः सबै कथा समाजबाटै टिपिएका पात्र, घटना र परिवेशबाट प्रेरित रहेका छन्, ती पात्र मेरै समाजका पात्र हुन् । म यही समाजको स्वभाव, चरित्र र चापबाट निर्मित एउटा सदस्य हुँ र समाजका हरकुराले मलाई प्रभावित गर्नु पनि स्वाभाविक हो । म साहित्य साहित्यको लागि हो भन्ने स्वान्त सुखायको दर्शनलाई सम्पूर्णमा स्वीकार गर्न सक्दिनँ । हो, कथा होस् वा साहित्यका अन्य विधा, लेखनबाट मलाई आनन्दबोध हुन्छ । लेखकमा अरूले पढिदेऊन् र मेरो पनि नाम होस्, प्रतिष्ठा होस् भन्ने भित्री चाहना पनि अस्वभाविक होइन । यो जोसुकै मानिसमा हुन्छ र ममा पनि निश्चय नै छ । यस अर्थमा लेखन स्वान्तसुखाय वा आफ्नै आनन्दका लागि हुने गर्छ भन्ने धारण सर्वांशमा असत्य नहोला, तर त्यो अप्रकाशित रहुञ्जेलको अवस्थासम्म मात्र हो । जब त्यो प्रकाशित हुन्छ, व्यक्तिगत सोख, सुखानुभूति र लहडको मात्र विषय बन्न सक्तैन । त्यो पाठक र समाजप्रति समर्पित हुन्छ । यस अर्थमा लेखन स्वान्तसुखाय भनेर जिम्मेवारीविहीन हुन पाउँदैन । जब त्यो समाजको लागि समर्पित हुन्छ, पाठकको लागि हुन्छ, स्वभाविक रूपमै त्यो जिम्मेवार हुनु आवश्यक पर्छ । यसर्थ मेरो स्पष्ट धारणा छ –मेरो कथा मेरै कथा हुन् । म भनेको जीवन हुँ । जीवन समाज र परिवेशभन्दा बाहिर हुनसक्दैन । त्यसैले मैले लेखेका कथा हुन् वा साहित्यका अन्य विधा । ती समाजनिरपेक्ष हुनसक्दैनन् । त्यसैले यो म अर्थात् जीवनको लागि हुनुपर्छ, म बाँचेको समाज, राष्ट्र र अझ व्यापक परिवेश समेट्ने हो भने मेरो युगको सुन्दर भविष्यको चाहनाबाट प्रेरित र सिर्जित हुनुपर्छ । त्यसैले यो निरुद्देश्य होइन उद्देश्यमूलक हुन्छ । यो मेरो धारणा हो, यसमा अरूको सहमति रहनै पर्छ भन्ने मेरो आग्रह होइन । यो स्वान्तसुखायकै लागि हो भने पनि यो मेरो अर्थात् सर्जकको लागि हुनासाथ स्वतः मान्छेको लागि हुनुपर्छ । कथा अर्थात् साहित्य मानिस स्वयम् केन्द्रविन्दुमा नरही सिर्जना हुनसक्तैन । मानवीय सम्वेग–आवेग,आर्थिक–सामाजिक, सांस्कृतिक आदि विविध विसङ्गतिबाट जन्मने सम्वेदना र सहअनुभूतिको सहजसम्वेद्य अभिव्यक्ति मेरो धारणामा कथा हो । यसर्थ यसमा कथात्मक, कलात्मक र अनुभूतिजन्य सामान्यीकरणको पूर्वशर्त त रहन्छ नै । तसर्थ जीवनको कुनै विशेष कालखण्डमा मानवीय आवेग–संवेग, आफू बाँचेको परिवेश र आर्थिक–सामाजिक विसङ्गति तथा उत्पीडनबाट जन्मिने अनुभूतिको सहजसम्बेद्य कलापूर्ण प्रकटीकरण नै मेरो धारणामा कथा हो । त्यसैले कथा मेरा लागि हुनुपर्छ । र, म भनेको जीवन हो; म बाँचेको समाजको यथार्थ हो । यसर्थ मेरो कथा पनि म अर्थात् मानिसकै लागि हुनुपर्छ । सम्पूर्ण बहुसंख्यक र समाजका उत्पीडित हाम्रो अन्तस्चेतना र आत्मबोधको उद्बोधनका साथै प्रतिकारमा दृढ रहनसक्ने आत्मबलको निर्माण मेरो कथाको उद्देश्य हो । सिर्जनात्मक लेखन दोश्रो प्राथमिकतामा परिदिंदा मनमा कैयौं दिनदेखि परिपाक भएका पतिपय कथाबस्तु समयक्रममा बिर्सिइएर मूर्तता पाउन नसकी बिस्मृतिका गर्भमै लोप हुन पुगेका पनि छन् । कतिपय समयमा सुरुमा एकप्रकारले सोचिइएका कथानकले धेरै समयपछि लेखनको रूप लिंदा अर्कै स्वरू र पुनर्संरचित पनि भएका छन् । ती घटनाहरू लेखनमा आउन माग र आग्रहको दबाबले पनि भूमिका खेल्ने गरेको छ । दिइएका कथाहरू नछापिई फिर्ता भएका छैनन्, दिंदा छापिन्छन् पनि । तर आग्रहबेगर रचना नपठाउने मेरो कमजोरी (घमण्ड नठानियोस्, त्यो चाहिँ होइन) का कारणले पनि प्राय आग्रह–अनुरोध आएपछि मात्रै लेख्ने अल्छी बानीले प्रोत्साहन पायो । यसर्थ मैले धेरै संख्यामा कथा लेख्न सकेको छैन । पुरस्कार, मानसम्मान र कदरपत्रका लागि आत्मनिवेदन र व्यक्तिगत विवरण पेश गर्दै हिंड्न पनि मेरो यही सङ्कोची स्वभाव र आत्मसमानले छेक्ने गरेको छ । सरकारी पदक र पुरस्कारका लागि त झन् सिफारिस गराउन जिन्दगीभर दौडधुप गरिनँ, त्यसैले एक पल्ट क्षेत्रप्रताप अधिकारी शिक्षा राज्यमन्त्री हुँदा पाएको साहित्यिक पत्रकारिता पुरस्कारबाहेक आजसम्म कुनै यस्ता पुरस्कारको बोझमा दबिनु परेको छैन । जनस्तरमा स्थापना भएका यस्ता मान, सम्मान र पुरस्कार भने मैले धेरै पाएको छु र यही नै मेरो वास्तविक मूल्याङ्कन पनि हो । आफ्नो कथायात्राको विगत पाँच दशकीय आरोह–अवरोहमा छ वटा कथासङ्ग्रहका अरिक्त उपन्यास, संस्कृति, नियात्रा, आमसञ्चार/पत्रकारिता र बालसाहित्यका गरी पचास वटाभन्दा बढी कृति र हज्जारौं फुटकर रचना, शोधपत्र आदि प्रकाशित भएका छन् । जे जति लेखेको छु, निश्चय नै यी सबैबाट म आफैं पनि सन्तुष्ट छैन । जहाँसम्म आफूलाई चित्त बुझ्नु–नबुझ्नु अर्थात् मन पर्नु र नपर्नुको प्रश्न छ, सम्पूर्णमा सन्तुष्ट हुने त कुरै भएन । यसो भयो भने त अरू लेख्नै परेन । त्यसैले म आफ्ना कथा र अन्य कृतिहरूबाट पूर्ण सन्तुष्ट छैन र राम्रा लेख्ने चाहना छँदै छ । मेरा पुस्तकको कृति समीक्षा/समालोचना गरिदिनुहुने दर्जनौं समालोचकहरूप्रति कृतज्ञ छु । #विजय चालिसे
हाटबजार: मैले सुनेकी थिएँ कलियुगमा मायाको बजार लाग्छ रे मोल, तोल, तौल, त्याग किनबेच लिलाम सबै हुन्छ रे अनायास एकदिन थाहै नपाई म पनि पस्न पुगेछु यही नगरीमा साटासाट गरेछु मुटु डुबुल्की मारेछु त्यही सागरमा पूर्व, पश्चिम, उत्तर, दक्षिण रात, दिन, बिहान, धर्ति, आकास जहाँ पनि, जति बेला पनि उसकै मात्र देख्न थालेछु प्यारो प्यारो प्रतिविम्ब तर, अर्को दिन बल्ल थाहा पाए ऊ पनि कलियुगको एक भलादमी व्यापारी रहेछ, मायाको बजारको मोल मलाइ गर्न थाल्यो ऊ निकै सभ्य पारामा लेन र देन नबुझिने भाषामा मेरो अमूल्य, असाट्य माया मूल्यहीन भयो आधुनिक मायाको बजारमा फर्काउनै नमिल्ने नासो त्यो सदा सदाका लागि कलियुगको कृष्णलाई चढाउँदै लुरुक्क लुसुक्क निस्केँ म मुर्दाशान्त भावनाको चित्कार अनि नारकीय कोलाहलयुक्त हाटबजारबाट फुत्त पसे नजिक अनि टाढा टाढाका दोकानहरुमा सोधे… के यहाँ नबेचिने नकिनिने मायासित मात्र साटन मिल्ने माया पाइन्छ? दोकानेहरु एक कान पनि नभएका जस्ता मूकर्दशक भएर हेरिरहे, मात्र हेरिरहे लाटो रिसाएजस्तै… #भावना पाेखरेल
जेके रोलिङको नयाँ उपन्यास इन्टरनेटमा सित्तैमा: जेके रोलिङ ह्यारी पोटरको पहिलो भाग लेखिसिध्याएपछि दोस्रो उपन्यासका रूपमा लेखिसिध्याएकी जेके रोलिङले त्यसलाई प्रकाशन गर्ने अवसर नै पाएकी थिइनन् । उनले सो उपन्यासलाई भने अब इन्टरनेटमा सित्तैमा उपलब्ध गराउने भएकी छन् । ‘द इकाबग’ नामक सो उपन्यासलाई उनले वेबसाइटमार्फत् सित्तैमा उपलब्ध गराउने भएकी हुन् । यो उपन्यासले कोरोना कहरका बीचमा बालबालिकाहरूलाई मनोरञ्जन दिलाउन भरपूर सफल हुने अपेक्षा उनले लिएकी छन् । उनको यो उपन्यास धेरै पहिले प्रकाशन गर्ने तयारी गरिरहेको भए पनि ह्यारी पोटरको सफलताले उनलाई यसतर्फ काम गर्न दिक्क लागेको थियो । बाल उपन्यास नै निकाल्दा उनलाई बालबालिकाकी लेखिकाका रूपमा ठप्पा लाग्ने हो कि भन्ने चिन्ताका कारण उनले ह्यारी पोटरपछि दुई वटा जासुसी उपन्यास लेखेकी थिइन् । ती उपन्यासपछि भने उनले थप नयाँ कुनै कृति निकालेकी छैनन् । यस्तो अवस्थामा उनले बाल उपन्यासलाई इन्टरनेटमार्फत सार्वजनिक गर्ने निधो गरेकी हुन् । यसबारेमा उनले ट्विटरमार्फत घोषणा गरेकी हुन् । द इकाबग उपन्यासका बारेमा उनका दुई सन्तानलाई भने धेरै पहिलेदेखि नै थाहा छ किनभने उनले यो उपन्यास लेखिसिध्याएपछि पहिलो पाठकका रूपमा उनीहरू थिए । द इकाबग उपन्यासको आवरण केही साताअघि उनले यो उपन्यासको पाण्डुलिपिलाई घोरिएर हेरेपछि यसलाई बजारमा ल्याउने उपयुक्त समय यही भएको निर्क्योलमा पुगेकी थिइन् । त्यसपछि यसलाई थोरबहुत सम्पादन गरेर प्रकाशनको तयारी गरेकी हुन् । हरेक सोमबार दुई वा तीन अध्यायलाई उनले रिलिज गर्ने भएकी छन् । यसको चित्र बनाउनका लागि केही चित्रकारसँग सल्लाह गरेको भए पनि चित्त बुझ्दो नपाएपछि उनले आफ्ना पाठकहरूलाई नै यसको चित्र कल्पना गर्न आग्रह गरेकी छन् । कल्पनामा जत्तिको सशक्त चित्रकला सायदै कतै तयार हुन्छ भन्दै उनले यसको चित्राङ्कनका लागि ठाउँ छाडिदिएकी बताएकी हुन् । त्यसो त यो उपन्यासको पुस्तक आकार नआउने भने होइन । आउँदो नोभेम्बर महिनामा यसलाई चित्राङ्कनसहित बजारमा ल्याउने तयारी भने भइरहेको छ । यस पुस्तकको बिक्रीबाट आउने आम्दानीलाई उनले कोरोनाभाइरसमा काम गरिरहेका सामाजि संस्था र प्रोजेक्टहरूलाई दिने घोषणासमेत गरेकी छन् । त्यतिञ्जेल कुर्न नसक्नेहरूका लागि नयाँ वेबसाइट बनाएर त्यसमार्फत पढ्न सहज बनाउने उनले बताएकी छन् । #जे.के. रोलिङ #जेके रोलिङ #द इन्डिपेन्डेन्ट #बाल उपन्यास
स्वतन्त्रता: आज म स्वतन्त्रतापूर्वक विचरण गर्दैछु । अहँ मलाइ कहीँ कतै अवरोध छैन । साना तिना झोँकाहरू अवरोध बनेर आउन खोज्छन । तर तिनको केही लाग्ने देख्दिनँ । ति अवरोधहरू अर्काको बलमा चम्केका हुन् । थाहा छैन तिनको अस्तित्व कतिञ्जेल सम्म हो । आज विश्व मानव जाति बन्दाबन्दीमा बन्धक भएको देख्दैछु । कति ठीट लाग्छ मलाई हिजोका दिन सम्झन्छु मानवले कति श्रेष्ठ ठान्थ्यो आफूलाई जहाज बनाएर आकाश छुने प्रयास गरेथ्यो चन्द्रमामा पुगेर सूर्यमा पुग्ने कल्पना बुनेथ्यो । आज अदृश्य कणले बन्धक बनाएर मानवलाई चाबी बोकेर विश्व ब्रम्हाण्ड घुमेको छ । बिरालोको घाँटीमा घण्टी बाँध्ने प्रयन्न सबैतिरबाट भएको देख्छु । तर फेरि त्यही बिरालोदेखि सबैलाई डर बढदै गएको छ । भुतलमा बसेर स्वतन्त्रताका संग्राममा होमिनेहरू हार माने झैँ मुद्रामा झोक्राएको देख्छु । अहिले यिनको अगाडि केवल प्रकृति मात्र जीवन्त छ । कृत्रिक सहरहरू ठप्प छन् । मानव विचरण बन्द छ । कति बेचैनीका सास फेरिरहेछन । कोही विरह गीतमा स्वर भरिरहेछन् । बन्धक भएको मानव जातिले अहँ देख्न सकेको छैन विश्व क्यामराका लेन्सहरूमा चित्रित केही आकृतिमा चित्त बुझाउँदैछन । म भने विश्व बन्धक भएको बेला पनि स्वतन्त्रतापूर्वक विचरण गरिरहेछु । मलाई कतिले बन्धक हुनुपरेको कारण मान्लान तर अहँ म त केवल नित्य निरन्तरको यात्रामा छु । कतिमा पदिय घमण्ड देख्छु र कतिमा अहंकार थाहा छैन तिनको गतिमा कहिले अवरोध आउने हो । कतिबेला तिनको घमण्ड चकनाचुर हुन हो । केही निश्चित छैन तर पनि तिनको अल्पज्ञान देख्दा दया लागेर आउँछ । तर पनि खुसीको कुरा छ अब सबै मिलेर अघी बढे मानव जीवन सरल बन्ने दिन छिट्टै आउनेछ । दुई चार दिन स्वतन्त्रता गुमाएरै पनि गुमेको स्वतन्त्रता फिर्ता ल्याउन सबैजना लाग्नुपर्छ । मानव जाति हो अब आध्यात्मिक चेतनामा जाग्नुपर्छ । सिर्जनशीलतामा लाग्नुपर्छ । प्रकृति प्रेममा रमाउंदै उत्पादनशिलताको अनुशरण गरी अरूले भरेको हावामा होइन आफ्नै खुट्टामा टेक्ने साहस गर्नुपर्छ । किनकि अब छिट्टै स्वतन्त्रताको पुनर्वहाली हुने दिन आउँदैछ । विश्वभर खुसी छाउँदैछ । दुई चार दिन स्वतन्त्रता गुमाएर सही स्वतन्त्रताको पाबन्दी हट्ने दिन आउनेछ । स्वतन्त्रताको महत्व बोध गर्दै यसको पुनप्राप्तिमा सबजन होमिनुछ । आशा गरौं यथाशीघ्र स्वतन्त्रताको पुनर्बहाली हुनेछ । अनि फेरि साथ भइ मानव जातिसँग विश्वभ्रमण गर्ने दिन आउनेछ । सबै मानव जातिमा स्वतन्त्रताको उमंग छाउनेछ । #स्वतन्त्रता
थिएटर ठूलो राजनीति हो: घिमिरे युवराज: शिल्पी थिएटर, काठमाड़ौं, नेपालका निर्देशक घिमिरे युवराज -सँग सिलगढ़ी, भारतका कवि राजा पुनियानी -ले गरेको थिएटर संवादको मुख्यांशः नेपाली थिएटरको अवस्थान के हो अहिले नेपालमा ? काठमाड़ौँमा गत १५ वर्षदेखि नियमित नाटक मञ्चन भइरहेको छ । विगत ५ वर्षदेखि थिएटरको संख्या पनि बढेर गयो । काठमाड़ौं त थिएटर हब जस्तो भएको छ अचेल । तर काठमाडौंबाहिर त्यस्तो छैन । केही औँलामा गन्न सकिने समूहहरूले वर्षमा एक दुई पटक नाटक मञ्चन गर्छन् । प्रायः नाटक नेपाली भाषामै हुने गरेका छन् । काठमाडौंमा कहिलेकाहीँ अंग्रेजी भाषामा पनि हुने गर्छ । तर अरु भाषाको रंगमञ्चको स्थिति राम्रो छैन । जनकपुरमा मैथिली, काभ्रेमा तामाङ र बर्दियामा थारु भाषाको नाटक गर्ने समूह छ । तर, नियमित नाट्यकर्ममा उनीहरुलाई संकट छ । यहाँ नेपाली रंगमञ्च भन्ने बित्तिकै काठमाडौको मात्रै रंगमञ्च र नेपाली भाषाको मात्रै रंगमञ्च भन्ने भ्रमलाई छोड्नु पर्छ । दार्जीलिङे नेपाली थिएटरको अतीत र वर्तमानबारे के भन्नुहुन्छ ? इतिहास पढेर मैले दार्जेलिङको नेपाली रंगमञ्चको बारेमा थाहा पाएको हुँ । त्यहाँको रंगमञ्चले नेपाली रंगमञ्चलाई निक्कै सम्पन्न बनायो । मन बहादुर मुखियाका नाटकहरुले नेपालको रंगमञ्चलाई पनि निक्कै ठूलो गुन लगायो । काठमाडौँले त्यो गुन सम्झियो । यहाँ उताका नाटक मञ्चन भए । राम्रो भयो । यतिखेर काठमाडौँको रंगमञ्च निक्कै सम्पन्न छ । उता पनि काम भएको होला तर हामीबीच आदानप्रदान शून्य भयो । नेपाली थिएटरका समस्या र चुनौतीहरू के के हुन् ? रंगमञ्चको स्कुलिङ र नाट्य संस्थाहरुको प्रवर्धन बाहिर देखिने समस्या हुन् । युवाहरुमा इच्छा शक्तिको अभाव अर्को ठूलो समस्या हो । रंगचमञ्चको आधुनिक शिक्षा बेगर नै कलाका अरु विधाहरुसँग रंगमञ्चले गर्नुपर्ने प्रतिस्पर्धा र आर्थिक विपन्नता नेपाली रंगमञ्चका मूल चुनौती हुन् । थिएटर र राजनीतिको अन्तर्सम्बन्ध र अन्तर्विरोध कस्ता हुन्छन् ? थिएटर ठूलो राजनीति हो । थिएटरभित्र गरिने सबै काम राजनीतिक हुन् । अलिक मूर्त रुपमा भन्दा गैर सरकारी थिएटरहरु सधैँ सत्ता र शक्तिको बागी हुन्छन् । आम मानिसको पक्षमा हुन्छन् । खासमा राजनीतिले रंगमञ्चलाई सुन्दर बनाउँछ । नेपाली थिएटरले के समयलाई एड्रेस गरिहेको छ त ? अहिले भनिहाल्न गाह्रो छ । अहिले भइरहेको कामको एउटा कालखण्ड हेर्नु पर्छ । तर, हाम्रो जस्तो समूहगत र निजी नाट्यसंस्थाहरु आफूले भोगेको समयलाई आधार बनाएर प्रायः नाटक मञ्चन गर्छन् । नेपाली थिएटरको मूलधारा-कन्टेन्ट के हो अहिलेलाई ? मान्छेको सोचलाई रूपरान्तरण (कहिलेकाहीँ परिवर्तन) गराउन के थिएटरले प्रेरक भूमिका वहन गर्ने हो त ? अहिलेको नेपाली रंगमञ्चको मूल र वैकल्पिक धार म देख्दिनँ । अहिले हामीले बाँचिरहेको समाजको प्रत्यक्ष प्रभाव छ काठमाडौँ र काठमाडौँ बाहिर गरिने रंगमञ्चमा । यो लामो प्रक्रिया हो तर रंगमञ्चले समाजलाई वा समाजमा अभ्यास भैरहेका अन्य कलालाई कहीँ न कहीँ तरंगित गर्छ भन्ने विश्वास मेरो छ । अन्तरवार्ताकार राजा पुनियानीसँग नाटक निर्देशक घिमिरे युवराज नेपालको नेपाली थिएटरमा चलिरहेका प्रयोगहरू के कस्ता छन् ? थिएटरका कुन कुन नयाँ मोडल नेपालमा भित्रिएका हो ? तपाईं कुन मोडलमा काम गरिरहनुभएको छ ? २० र ३० को दशकको कुरा गरौँ । अलिक अघिको कुरा गरौँ । सत्ताको विरुद्धमा गाउँघरमा, सडकमा, विभिन्न पार्टीका कार्यक्रममा एकखाले नाटक मञ्चन हुन्थे । रंगमञ्चमा लाहुरेका कथा वा गाउँले मायाप्रेमका कथा पनि धेरै आए । ४०को दशकमा जनकपुरमा मिनाप, काठमाडौँमा सर्वनाम र आरोहण, धरानमा अनाम जस्तै अरु धेरै समूहहरुलाई हेर्न हो भने नाटकमा राजनीति प्रत्यक्ष रुपमा आयो । प्रायः साहित्यिक मूल्य भएका प्रसिद्ध नाटकहरु पनि राजनीतिक अर्थ बोकेका नै हुन्थे । मञ्चनको शैली भन्न गाह्रो छ । नेपाली रंगमञ्चमा शैलीको कुरा गर्नु वर्जित प्रायः भयो । शैलीको कुरा गर्ने बित्तिक्कै यहाँ प्रायः रंगकर्मी तर्सिने चलन छ । सबै रंगकर्मीलाई लाग्छ, म संसारका सबै शैलीमा पोख्त छु । तर अहिले यो अलिक बृहत भएर आएको छ । युरोप वा अमेरिकामा जस्तो स्टोरी टेलिङ, क्लाउन, मास्क वा पूर्ण प्रयोगात्मक रंगमञ्च जस्तो स्पस्ट शैली छुट्याएर हामी कहाँ काम हुन्न । हाम्रो रंगमञ्च अचेल समग्रतामा चल्छ । यथार्थपरक नाटकमा पनि एक दुई पात्र मास्क लाएर आइदिन सक्छन् । त्यो मास्कको चरित्र पनि यहाँ लोप छ । परिचयविहीन मास्क आउँछ । त्यो पनि अर्थपूर्ण नै छ । अहिले काठमाडौको रंगमञ्चमा विविधता छ । शैली र प्रयोगको बहस नभए पनि करिब १० वटा समूह नियिमित नाटक मञ्चनमा छन् । यिनको काम र शैलीमा फरक छ । यसैले काठमाडौँका रंगमञ्चलाई सम्पन्न बनाएको छ । मेरो स्कुलिङ कमेडिया देलार्ते र शारीरिक रंगमञ्चको हो । यसैको आधारमा म पनि अन्य धेरै अनुभव र शैली मिसाएर काम गर्छु । नाटकको शैली सधैँ योजनाले आउँदैन । अचेतन मनले पनि आउँछ । तर, मैले गरिरहेको रंगमञ्च मनोरञ्जन चाहिँ हैन । हिन्दी र अङग्रेजी सिनेमा के थिएटरको दुश्मन हो त ? थिएटरको दर्शक पाउनु र बढ़ाउनु के सजिलो छ ? हैन । कुनै पनि कला एकअर्काको दुस्मन हैनन् । परिपुरक हुन् । दर्शकले मन पराएका नाटक मारामार चलेका छन् काठमाडौँमा । थिएटरको मूल उद्देश्य के हो र? थिएटरको ‘पावर’ भनेको के हो ? विचारको मन्थन । नाट्यकला रूपले के सत्ताको वा सिस्टमको सांस्कृतिक हस्तक्षेपमाथि प्रति हस्तक्षेप गर्न जरूरी छ ? छ । तर यसो गर्दा रंगमञ्चको एस्थेटिक भ्याल्लु मर्नु हुन्न जस्ले गर्दा रंगमञ्च कला नभएर नारा नहोस् । त्यस्तो खत्रा हुन लाग्यो भने बरु कहिलेकाहीँ कलाकर्मीहरु सिधै सडकमा ओर्लनु बेस् । #घिमिरे युवराज #नाटक #नाट्यशैली #राजा पुनियानी
मृत्यु र प्रेम: संसार पूरै बन्द छ, मृत्युको डरले । के यस्तो दिनको कहिल्यै कल्पनासम्म गरेका थियौं र ? खुला सीमा, खुला जीवन, खुला अर्थतन्त्र, खुल्मखुल्लाका समर्थकहरु सबै आफैँ सीमारेखा कोरेर आफैँलाई कैदी बनाइरहेका छौँ । संसारकै सर्वश्रेष्ठ प्राणी भनेर आफैँले आफैँलाई घोषणा गरेका हामी मृत्युको डरका कारण पुराना बिर्सिसकेका सीमाहरुलाई सम्झाइरहेछौँ, नयाँ सीमाहरु कोरिरहेछौँ । मानिसहरुलाई टुक्राटुक्रामा विभाजित गरिरहेछौँ । एकअर्कालाई जोड्ने सबै आधारहरुलाई अल्पकालीन मात्र हो भनेर तोडिरहेछौँ । जस्तै महादेशको सीमा, देशको सीमा, राज्यको सीमा, प्रदेशको सीमा, जिल्लाको सीमा, टोलको, हुँदाहुँदा परिवारकै सदस्यहरुबीच पनि सीमा कोरेर जिन्दगी बाँचिरहेछौँ। सबै सम्बन्धहरुलाई थाँति राखेर बसेका छौँ । मित्रता, दाजुभाइ, दिदीबहिनी, छोराछोरी , बाबुआमा जेजस्तोसुकै नातालाई पनि दूरीमा राखिरहेका छौँ। संसारका सर्वश्रेष्ठ तर दुःखी प्राणी हे मानव, यो किन तिमीलाई मात्रै भइरहेको छ ? हिजो एक हुल बाँदरहरु सँगै आए । टोलभरिका घरआँगन चहारे । भेटेका खानेकुरा टिपे । एउटाले फलेको फलहरुको निरीक्षण गर्यो, खाएर हेर्यो, केराको पात पनि तीन पटक चपाएर हेर्यो । मीठो लाग्यो कि कुन्नी अर्कोलाई पनि दियो । उसको जीवनमा कुनै बन्देज छैन । परेवा पनि एक एक गरी आए । बिस्तारै एक दर्जन परेवा माटोमा ठुंग्दै खाँदै थिए । एउटा भाले परेवा सबै पोथी परेवाहरुलाई गर्दन फुलाएर घुर्रघुर्र गर्दै थियो । काग, ढुकुर, भंगेरा आदि भएभरका चराहरु ठूलो-ठूलो स्वरमा रमाइलो गर्दै थिए । म भने घरको झ्यालमा बसेर नजिकको छिमेकीसँग पनि नभेटीकन बसेको छु । एउटा सानो जमीनमा हजारौं बीउहरुले पालुवा हालेका छन्, बिरुवा बनेका छन् । फूल फुलेका छन्, फल फलेका छन्। मान्छेले नै काम गरेका छन्। उनीहरुको सामूहिक जीवनमा त केही पनि फरक परेको छैन । अहिले देखिरहेको छु, सडक सुनसान छ तर बैजनीमा सिंगारिएर सिरिषहरु बैंशले मात्तिएर बसेका छन् तर मान्छे, ऊ भने आफैँसँग आतंकित छ । अलिकति रुघा लाग्यो भने, अलि खोकी मात्र लाग्यो भने, पनि आत्तिरहेछ, कतै मेरो मृत्युको संकेत त होइन ? त्यति मात्र कहाँ हो र ? मलाई यो किन भयो ? कसरी सर्यो ? कसले सार्यो ? हेर्छ शंकाको दृष्टिले आफैँलाई र आफ्नै नजिककाहरुलाई । मानिसले अहिलेसम्म आर्जन गरेको सम्पत्ति, निर्माण गरेको भौतिक पूर्वाधार, जानेको ज्ञान, व्यवस्था, संस्कृति, विकास, सबैलाई चुनौती दिएको छ, एक अज्ञात मृत्युको डरले । न धनी न गरीब, न निर्धा न शक्तिशाली, न सानो न ठूलो कसैलाई पनि यसले बाँकी राखेन । त्यसो गर्दा पनि मानिसले आफ्नो शक्ति विभेदमै खर्चेको छ । यो विपतमा पनि आफूले गर्न सक्ने विभेद भने रोकेन । दुःख पाउनेमा गरिब नै भए, अपहेलित त निर्धा नै भए । अर्को देशमा दशौंलाख मानिस मार्न तयार हुने पनि त्रसित छ । पुरै शहरमा आगो लगाउने पनि थर्कमान छ । खरबपतिहरु डराइरहेछन् । निर्धा र गरिब त जहिले पनि जोखिममै थिए । उसलाई एउटा अर्को जोखिम थपियो । म सुन्छु कतिपय मानिसहरु स्वैच्छिक मृत्युको साधना गर्थे रे ! मृत्युको पूर्व संकेत हुन्थ्यो रे ! मृत्युपूर्व आफ्ना कुराहरु भन्न पनि भ्याउँथे रे ! खै यो कस्तो साधना हो ? कस्तो शक्ति, कसरी प्राप्त गर्ने हो ? आम रुपमा यसरी सोच्न कहाँ फुर्सद छ र ? मानिसहरुलाई त पैसा जम्मा गर्ने हतार जो छ ! सबै पैसामै आएर त अड्किरहेको छ । अझै पैसा कमाउँदा कमाउँदै उसले आफ्नै हत्या गरेको पत्तो पाइरहेको छैन । अहिले संसार बन्द छ । खरबपतिहरु टाट उल्टिने क्रममा छन् । सबैले पैसा होइन, ज्यान बचाउन लागेका छन् । उनीहरु जो अरुको मृत्युमा आफ्नो व्यापारको भविष्य देखिरहेछन्, यस्तो बेलामा प्रेमको स्थान कहाँ ? #कोविद १९ #जीवनको रङ #धारावाहिक #स्नेह सायमि
सिसै कटाई बरु मर्नु राम्रो: लिम्पिया र लिपु हुन् हाम्रा छाती धाबा बोलेको सम्प्रभुता माथि सिसै कटाई बरु मर्नु राम्रो छोडनै हुँदैन इन्च माटो हाम्रो हेर्ने भए छ्न् सब प्रमाण लेखा सन्धि पुराना तिम्रो काँ छ देखा पल्टाऊ पौराणिक पुराण पाना भए देखिनका अंग्रेज रवाना शान्ति छ प्यारो बर्बर युद्ध भन्दा बन्द गर त्यो मिचाहाको धन्दा छोडिदेऊ त्यो अमूल्य रत्न हाम्रो असल छिमेक भएर बस्नु राम्रो भक्ति अमरसिंह नखाई लडेका अंग्रेज त उनका शरणै परेका ब्युँताउनु राम्रो इतिहास बरु त्यो झुक्दै नझुक्ने मरे पो मरिन्थ्यो कुमाउ गडवाल जित्दै बढेका नालापानीमा अचम्मै लडेका भोकोथ्यो पेट तिर्खा अति नै लडने बेलामा डर थिएन कति नै गोर्खालीको खुकुरी फेरि चम्किने छ उस्तै परे रगतमा फेरि लतपतिन्छ झुक्दै नझुक्ने वीर वंश हाम्रो सही अडानमा अडिनुनै राम्रो। #नयाँ नक्सा #लिपुलेक #लिम्पियाधुरा #सुरेश जोशी
धरापमा चन्द्रसूर्य: सोनाम एम. तामाङ एउटा दास स्वतन्त्र भएपछि उसले मालिकको नक्कल गर्न थाल्छ भन्ने प्रचलित भनाइ छ । भारत सन् १९४७ मा स्वतन्त्र भयो । त्यसअघि १९० वर्षसम्म त भारत बेलायतको गुलाम भएर बाँचे । नेपाल कहिले अरुको दास भएर बाँच्नु परेन । औपचारिक रुपमा नेपाल कसैको उपनिवेशिक राष्ट्र भएन तर अनौपचारिक रुपमा अरुबाट अर्धऔपनिवेशिक रुपमा शासित छ भन्ने कुरा त भारत स्वतन्त्र भएपछि सन् १९५० मा नेपालमा प्रजातन्त्र स्थापना भयो, त्यसपछि लगतार भोग्दै आएको छौँ । नेपाल त भारत तर्फबाट २००७ सालमा हस्तक्षेप भएको सुन्यौँ, २०४७ सालमा हस्तक्षेप भएको सुन्यौँ, २०६३ सालमा पनि हस्तक्षेप भएको सुन्यौँ । त्यस यता त महत्वपूर्ण परिवर्तनमा मात्र हाईन कि हरेक स—साना विषयमा पनि भारतीय हस्तक्षेप भईरहेको छ । चाहे त्यो कटुवाल प्रकरणमा होस वा सरकार परिर्तनमा होस् यस्तो घटना क्रमले नेपालको प्रत्येक मामिलामा भारतीय भुमिका निर्णायक बन्दै गईरहेको छ । स्व. शुसिल कोईरालाले अन्तरवार्तमा भनेका सुनेको थिए, ‘संविधानसभाको विघटनमा विदेशी शक्तिको हस्तक्षेप भएको थियो । दृश्यमा माओवादी र मधेशी मोर्चा देखिए पनि यसका पछाडी विदेशी शक्तिको हात छ । नेपालका शक्तिहरुलाई जुधाएर अफ्गानिस्तान बनाउन खोजिएको छ ।’ तर नेपाल कहिले दास नभएको कारण स्वतन्त्रताको महत्व पनि बुझिएन । छिमेकी राष्ट्र भारतले त सिक्किमलाई आफ्नो २२आँ राज्य बनाउन सफल भए पछि सोही कदम नेपाल तिर पनि बढाएको थियो । २००७ सालमा राजा त्रिभुवनले भारतमा शरण लिदै आफ्नो पद जोगाई दिने भए नेपाललाई भारतमा भाभ्न तयार रहेको भनि अभिव्यक्ति दिँदा भारत अंग्रेजको पञ्जाबाट भर्खर — भर्खर स्वतन्त्र भएको थियो त्यसैले भारतले अहिले यो कार्य अलि गरिहाल्न मिल्दैन भनेर दिएको अभिव्यक्ति विभिन्न पत्रपत्रिका, पुस्तकहरु मार्फत थाहा पाईन्छ । त्रिभुवनको त्यही अभिव्यक्तिबाट नेपालको सार्वभौम सत्तालाई ठाडो चुनौति दिने काम गरेको छ । चक्रव्यूहमा चन्द्रसूर्य पुस्तकमा लेखक सरोज अधिकारीले पनि सुचनात्मक ढंगमा नेपालको आन्तरिक मामिलामा आन्तरिक हस्तक्षेप र बाह्य चलखेल उल्लेख गरेका छन् । राजनीतिक घटनाक्रम, मुलुकको राजनीतिक पद्धति, नीतिनिर्माणले समाजमा परेको प्रभाव, राष्ट्र र राष्ट्रियता बारेमा चासो राख्ने जो कोही लाई पनि यो पुस्तकले धेरै कुराहरुको जानकारी दिएको छ । किनभने नेपाल औपचारिक रुपमा कहिले कसैको दास नभए पनि व्यवहारिक रुपमा सधैँ दासत्व स्वीकारेर बस्नुपर्ने स्थितीमा रहेको मुलुकको कथा पनि पाईन्छ । विश्वका महाशक्तिशाली मानिएको अमेरिकाले अविस्वासनीय रुपमा नेपाल मामिलामा चासो देखाएर काम गरेको छ । नेपालमा अमेरिकी चासो भनेको तिब्बतको स्वतन्त्रसँग जोडिएको छ । अमेरिका महाशक्तिको रुपमा लामो समय देखी आफुले ओगटीरहेको स्थानलाई चुनौति दिने गरि अघि बढिरहेको चीनलाई तिब्बत मामलामा अल्झाउन चाहान्छ । खाम्पा विद्रोहको काँध थमाउने बलियो केन्द्र नेपाल रह्यो । त्यो बेलामा खाम्पा विद्रोहलाई हतियार सहितका सामाग्री उपलब्ध गराएका अमेरिकी गुप्तचर समुह सीआईए नै हुन् । त्यो किसिमबाट विद्रोह सम्भव नभए तिब्बत मामिालालाई मानवअधिकारसँग जोडेरै भए पनि अन्तराष्ट्रिय रुपमा चीनलाई तल गिराउनु अमेरिका प्रयास त जारी नै थियो । अर्को शक्तिशाली राष्ट्र बेलायत, युरोपियन युनियन यिनीहरु नेपालको जातीय, लैंगिक लगायतका मुद्दाहरु उठाउने र क्रिश्चियन धर्म प्रचार अभियानमा बढि सक्रिय छन् । नेपालको जातीय, लैंगिक मुद्दाले सामाजिक विचलन बढाई दिएर नेपालको आन्तरिक सुरक्षामा चलखेल गर्ने उनिहरुको चाहाना देखिन्छ र सुरक्षा दृष्टिले हामी नेपाली खतरनाक मोडमा छौँ । चीनका ईन्स्टिच्युट अफ एसिया प्यासिफिक स्टडिजका प्रध्यापकले एउटा अन्तरवार्ताका क्रममा भनेका थिए कि, ‘चीनलाई राम्रो संग थाहा छ भारतले नेपाललाई दोस्रो भुटान या सिक्किम बनाउन चाहान्छ । त्यसमा पनि नेपाल सिक्किमीकरणको प्रक्रियामा जान सक्छ । नेपाललाई सार्वभौम, एकिकृत र र स्वतन्त्र राख्न चीनले सदैव सहयोग गर्छ । त्यसका लागी हस्तक्षेपकारी भुमिका निर्वाह गर्ने बेला आईसकेको छैन । किनभने नेपालमा देशभक्तिको भावना मरिसकेको छैन ।’ अब हामीले बुझ्नु पर्छ कि भारत नेपाललाई जसरी पनि लेन्डुप दार्जी बनाउन चाहान्छ । चाहे त्यो सीमाको विषयलाई प्रोपोगाण्ड मच्चाएर होस् वा आर्थिक नाका बन्दि लगाएर होस् । जवाहरलाल नेहरुले नेपाल, सिक्किम र भुटान भारतमा गाभ्न नसकेकोमा दुखेसो पोखेको थियो । उनकी छोरी ईन्दिरा गान्धिले नेहरुको योजना पुरा गर्न सिक्किम विलयको योजना बनायो र जे भारतले सोचेको थियो त्यही भयो । यस्तो अफर पटक — पटक नेपाललाई पनि ग¥यो । भारतले त यति सम्म खेल खेल्न भ्यायो कि पुर्व राजा ज्ञानेन्द्र शाह र पुर्व राजकुमार पारश शाह लाई अवकाश दिएर नवयुवराज हृदयेन्द्र लाई बेबी किङ बनाउन सम्म सुझाब दिए । तत्कालिन राजा ज्ञानेन्द्र शाह स्वयंले प्रस्ताव अस्विकार गरे पछि भारतले गणतन्त्रमा जान सुझाब दिए । किनकि गणतन्त्रमा कुनै पनि शक्ति सामथ्र्य र सत्ता विरासतको रुपमा प्राप्त हुदैन । सिधा भन्नु पर्दा राजाको छोरा राजा हुनु बाट हट्नु भनेको प्रजातन्त्र÷गणतन्त्रको एउटा पक्ष हो । गणतन्त्र भनेको त कानुनको सर्बोच्चता हो । नेपालमा २०७२ सालमा जारी भएको नयाँ संविधान भारत अनुकुल नभए पछि अघोषित नाकाबन्दि समेत भयो । सन् १८१६ मा भएको सुगौली सन्धिको स्पष्ट दस्तावेजहरु हुँदाहुदै पनि सीमाको विषयमा बारम्बार हस्तक्षेप किन गर्नु परेको ? विवादमा रहेको एमसिसिको विषयमा भारतको किन अनुमति चाहिएको ? भन्ने यी यावत विषयहरुको भित्री मर्म भनेको ती देशहरुले आफू दास हुँदा मालिकबाट सिकेर अहिले त्यही नक्कल गर्न खोज्नु हो । यस भित्रको अर्को कुरा भनेको चीनलाई चारैतिरबाट घेर्ने अमेरिकी रणनीति पनि हुन सक्छ जस्को नजिकको फोकस बिन्दु नेपाललाई बनाएको पनि हुन सक्छ । जे होस् नेपालको अस्थिर राजनीतिक झमेलामा र आपत बेलामा सीमाको विषयमा नेपाललाई बारम्बार दुख दिने भारतीय परम्परागत हेपाह प्रवृत्ति नै हो । यसरी पनि बुझौँ कि व्यक्तिगत अथवा पार्टिगत रुपमा बाबुराम भट्टराईलाई एक हिसाबले बाह्य चलखेल लेन्डुब दोर्जी बनाएको नै हो भन्ने कुरा उहाँको सरकार रहेको बेलाको केही गतिविधीहरु राम्ररी हेर्दा पनि बुझ्न सकिन्छ । अब यो चन्द्रसूर्यलाई बचाउने एउटै उपाय भनेको नेपाल भित्रको आन्तरिक झमेलाहरु निर्मूल पारी स्थायी सरकार र लम्पसारवाद त्यागेर राष्ट्रिय सुरक्षाको मेरुदण्ड मानिने गुप्तचर संयन्त्र मजबुत बनाउनु पर्छ । विकसित मुलुकमा राष्ट्र र राज्यसंयन्त्रमाथिको सम्भावित खतरा न्यूनीकारण र नियन्त्रणका लागि गुप्तचर सेवालाई अत्यन्त महत्व दिनु पर्छ । भूराजनीतिक हिसाबले उच्च वैदेशिक चासो रहेको र सैन्य हिसाबले नेपाल जस्तो कमजोर मुलुकका लागि राष्ट्रिय अखण्डता जोगाईराख्न चाल्नु पर्ने उपयुक्त कदमका लागि गुप्तचर समुहले महत्त्वपूर्ण भूमिका खेल्नु पर्नेछ । (लेखक समाजशास्त्रको विध्यार्थी हुन् ।) #नयाँ नक्सा #मिचाहा प्रवृत्ति #सोनाम एम. तामाङ
आशय: • छि: छि: ! यत्रो सुन्दर परिवार भताभुङ्ग पारेर किन पारपाचुके सोच्नु हुन्छ ? [ वकिलको प्रश्न ] • ….. भो छाड्नुस यी सम्पूर्ण प्रश्नहरु । किन मलाई जबरजस्ती रोक्न खोज्नु हुन्छ ? [ ऊ प्रतिप्रश्न गर्छे ] • म तपाईंकै हितका लागि भनिरहेको छु – म्याडम । तपाईंको यो सोच । -“समस्याको समाधान होइन, बरु समस्याको सुरुवात हो ।” – हैन, तपाईंसँग के छैन ? – घर …! – गाडी…! – सम्पत्ति..! – तामाका मुनाजस्ता छोराछोरी …! अरु के चाहियो ? बस् सबैथोक हुँदाहुँदै पनि………? [वकिल लामो सुस्केरा तानेर भन्छ ।] तपाईंले पारपाचुके नै गर्नुपर्ने त्यस्तो कुनै कारण छ र ? • यो सम्पूर्ण पुरुष समाजको अभिव्यक्ति हो । -“वकिल’साव ! यो सम्पूर्ण सोचाइ पुरुषप्रधान समाजले प्रतिबिम्बित गरेको प्रतिबिम्ब मात्रै हो ।महाशय ! एकफेर तपाईं नारी भएर सोच्नुस त ……!” • नारी धन,दौलत, घर, गाडी …..! भन्दामाथि प्रकृतिको अनुपम सौन्दर्य हो भन्ने तपाईलाई थाहा छैन ?” • वकिल निरुत्तरित भयो । निक्कैबेर अवाक् रह्यो । -…… सन्नाटा ! – ….. सन्नाटा ! -…… सन्नाटा ! • निकैबेरपछि [वकिलको फुस्रो ओठ पुनः फुसफुसायो ] – “म्याडम तपाईंको आशय त बुझिएन नि ! म आफ्नो पेशागत मर्यादाभन्दामाथि उठेर तपाईंहरुको सम्बन्ध भत्किनबाट रोक्न खोजिरहेको छु ” • उसका श्रीमानले खुइय गर्दै गहिरो सुस्केरा छोडे । • श्रीमतीले पनि स्वरमा गहन उछ्वास काड्दै भनिन् – “प्रकृतिका अनेकानेक आयामहरु हुन्छन् । जो पुरुष चेतनाबाट हत्तपत्त बुझिदैन वकिल’साव । कागज अगाडि बढाउनुस् ।” *** • निक्कै लामो सन्नाटापछि ……..! वकिलले पारपाचुकेको कागज आगाडि बढाए । • पुनः सन्नाटा जारी रह्यो । सन्नाटा ….! सन्नाटा ……..! भीषण सन्नाटा …….! #पारपाचुके #वैवाहिक सम्बन्ध #श्रीबाबु कार्की उदास
जिन्दगी: बृहस्पति लम्साल चाहेको पल्टिदैन, नचाहेको आइरहन्छ, लुँडो भाछ जिन्दगी पाइलैपिच्छे ठोकिंदा-बज्जारिँदा, डुँडो भाछ जिन्दगी । काट्छन, चोइटाउँछन्, पोल्छन् सबै, आ-आफ्नो जरुरतअनुसार; चुपचाप सहनु परेको छ, निशब्द बनेर मूँडो भाछ जिन्दगी । चेउरे मायाको पर्दाफास भो, जब पैसोले पेल्न छोडियो; मौन बस्नु परेको छ, न निल्नु न ओकल्नु, कूँडो भाछ जिन्दगी । चड्नेहरु माथि-माथि चढे, मेरै शीरलाई भर्याङ्ग बनाई, बाथले गलित, हरदम दुख्ने, घुँडो भाछ जिन्दगी । चाहेको पल्टिदैन, नचाहेको आइरहन्छ, लुँडो भाछ जिन्दगी पाइलैपिच्छे ठोकिदा-बज्जारिँदा, डुँडो भाछ जिन्दगी । #बृहस्पति लम्साल
फुपूको शृंगार: उनलाई थाहा थिएन, कहाँ जादैछु। अरु बेलामा भन्दा त्यो दिन फुपू निकै राम्री देखिएकी थिइन् । उनले नयाँ गुन्यूचोलो लगाएकी थिइन् । रातो मुंगाको माला गलामा सजिएकी निकै सुन्दर देखिन्थिन् । मुंगासँगै उनको गलामा रातो तिलहरी पनि झुण्डिरहेको थियो । “फुपूको गलामा तिलहरी ?’ यसभन्दा पहिले मैले फुपूले कहिल्यै तिलहरी लगाएको देखेको थिइनँ । फुपू पनि तिलहरी लगाउन पाएर निकै फुरुंग देखिएकी थिइन् । ‘फुपूको सिउँदोमा सिन्दुर ?’ मेरो आँखा उनको सिउँदोमा पर्यो । मेरो मन चसक्क भयो । ## ‘ढिलो भै’सक्यो, अब हिँड्नु पर्छ,’ भन्दै मेरी आमा बाहिर निस्कनु भयो । ‘कहाँ जान लाग्नु भएको ?’ मलाई यतिबेलासम्म उनीहरु कहाँ जान लागेको भन्ने थाहा थिएन । ‘फुपूको घर,’ मेरी आमाले मेरो कपाल सुम्सुमाउँदै भन्नु भयो । ‘फुपूको घर?’ मलाई अच्चम्म लाग्यो । ‘फुपूको घर यही होइन र ?’ जन्मेदेखि नै मैले फ़ूपूलाई यही घरमा देखेको थिएँ । ‘होइन, बिहे गरिसकेपछि पनि जन्मघर छोरीचेलीको कहाँ रहिरहन्छ र ?’ आमाले खास्टो ओड्दै भन्नु भयो । अलि पर हजुरआमा मलिन अनुहार लगाएर बसिरहनु भएको थियो । ‘बिहे ?’ ‘कसको ?’ ‘फूपुको ?’ मैले पहिलो पल्ट फुपूको बिहेको कुरा सुन्दै थिएँ । जिज्ञासामाथि जिज्ञासाका खात लागे मेरो मनमा । ### ‘ल हिँड्नुस् अब, ढिलो भयो भने बस छुट्छ ।’ आमाले फुपूलाई हतार लगाउँदै हुनुहुन्थ्यो । फुपू पनि फुरुंग हुँदै आमाको पछि-पछि लागिन् । उनको अनुहारमा कुनै निराशा थिएन । मैले हजुरआमातिर हेरेँ उहाँको आखाँबाट आँसु बगिरहेका थिए । ‘फुपू किन यतिका वर्षपछि आफ्नो घर जानु भएको ?’ मैले हजुरआमाको नजिक गएर सोधेँ । हजुरआमा केही बोल्नु भएन, मात्र उनका आँखाबाट आँसुका बलिन्द्र धारा बगिरहेका थिए । ‘फुपू अब उतै बस्ने हो आमै ?’ मैले फेरि सोधेँ । ‘आउँछे…तर …।’ हजुरआमाको गला अवरुद्ध भए । ‘सानैमा बिहे गरिदिए, त्यो घरमा एक दिन पनि बसिनँ तर त्यो एक धरो सिन्दूरले आज यो दिन देख्नु पर्ला भन्ने मैले सोचेकी पनि थिइनँ नानी, ऊ विधवा भै रे अब,’ भन्दै हजुरआमा भुईंमा ढल्नु भयो । #रन्जु मार्ग #विधवा #सिउँदो
अयुद्ध उपलब्ध ?: अनन्त भूमि जल पूर्ण देख्दैन अन्त यसको सूर्य देव दर्शन रिसले हो कि फेक्नु वो अस्त्र कालो समीप आउँछ तब देख्छ यसको पंख, दृश्य अनमोल छालहरुको बह कह अवाज ठोक्किदा बन्छ समय निश्चित यस्तो लय पकडन सक्छ कसले ? बाहेक प्रकृति यो संगीतको ज्ञान छालहरुमै छ सरस्वतीको आकृति यो यो समय नबितोस् कैले मन भन्दै चित्र गृहिणी संगीत यो छाल, समुद्र प्रकृति हो हैन जस्तो इन्द्रेणी रहन्छ युगौँ समय बित्छ, हुन्न होला यहाँ भोलि कर्म रहन्छ हो, एउटा प्रकृति दिन पछि सत्य हो राति बुझ्दैनन् मनुश्य लोभ राखीकन पद्चर बढछन् सदैव के कर्म गर्यौ ? धर्म के राख्यौ ? फल आशामा मच्चियो ताण्डव बरु रमाओ वायुमा, यहि हो इश्वर, यही हो धर्म यही हो प्रनन्द मृत्यु जस्तो हो निश्चित, प्राण न गई विश्वास गर्दैनन् यी मनुश्य लोभ राखिकन बढ्छन् अगि लाग्छ बिक्रीमा राख्या छ स्वर्ग द्वार । #अमेरिका #दिलिप अधिकारी #मेरिल्यान्ड
रोटीको आत्मकथाः वृहत् अन्तरदृष्टिका सूक्ष्म कविता: — महेश पौड्याल कविताको भाषालाई लिएर धेरै बहस भएको छ विश्वभरि । “काव्यिक भाषा” अर्थात् पोयटिक डिक्सन भन्ने छुट्टै स्तर हुन्छ कविताको भन्ने विश्वास लामो समयसम्म हावी रह्यो कविताकर्मको र समालोचनाको फाँटमा । त्यस विश्वासअनुसार कविताको भाषा बढी लाक्षणिक, उन्नत, श्रुतिमधुर र गेयात्मक हुनुपर्छ भन्ने मान्यताहरू स्थापित भए । फलतः कविताले आफ्नो आयतनभित्र आमभाष्यलाई अटाउन सकेन । र कविता, पठनका दृष्टिले केही मान्छेहरूको ज्ञानव्योममा सीमित भयो । पश्चिमा साहित्यमा पोएटिक डिक्सनको प्रभाव उन्नाइसौँ शताब्दीसम्म पनि कायम रह्यो । यस प्रकारको उन्नत, प्राञ्जल र लाक्षणिक भाषाको प्रभाव अक्षुण्ण रहनुमा काव्यको ध्येय र अभीष्ट पनि जिम्मेवार थियो । त्यस बेलासम्म काव्य आम मान्छेका कथाव्यथाको संवाहक पनि हो भन्ने चिन्तन खासै लोकप्रिय थिएन । हुन त बेलायतमा, चौधौँ शताब्दीमा जेफ्री चौसरले आफ्नो केन्टरबरी टेल्समा आम मान्छेका जनभावनालाई आम मान्छेकै भाषामा लेख्ने प्रयास नगरेका होइनन्, तर उनका उत्तराधिकारीहरू पुनः शास्त्रीयताकै भासतिर फर्किए । फलतः कविता पुनः एकपल्ट पुरानै भाषाको लयमा फर्कियो । साहित्यको भाषा उन्नाइसौँ शताब्दीमा अएर तब फेरियो, जब साहित्यको वृहत् उद्देश्यमाथि नै बहस हुन थाल्यो । आर्थर मिलरजस्ता नाटककारहरूले नाटकलाई अरस्तुकै पालादेखि सम्भ्रान्त र शासक वर्गको चरित्रको चित्रणका लागि प्रयोग गर्दै आइएको परम्पराको व्यतिरेकमा आमा मान्छेको कथाव्यथाको चित्रणमा रूपान्तरित गर्नुपर्ने वकालत गरे । कवितातर्फ पनि बर्तोल्ट ब्रेख्टजस्ता लेखकले जनसाधारणकै हितका लागि कविता लेखिनुपर्छ भन्ने मत प्रकट गरे । अगष्टो बाउलजस्ता चिन्तकले त अरस्तुजस्ता लेखकलाई सीमान्तवर्गका लागि हानिकारक नै हुन् भन्ने सोचे । विलियम कोर्लोस विलियमका कवितामा आम मान्छेको मनोदशा परिलक्षित हुन थाल्यो । अमेरिकामा अलेन गिल्सबर्गहरूले त सडककै भाषालाई काव्यमा उतारे, र आम जनमानसको मनोकांक्षा लेखे । फतलः आम मान्छेको भाषा नै साहित्यको भाषा बन्न पुग्यो । कविताको लम्बाइ र आयतनका बारेमा प्राज्ञिक जगतमा, र समालोचनाको वृत्तमा त्यति बहस भएको पाइँदैन । त्यसको अर्थ, कविताको भौतिक आयतन गौण विषय हो । कविता शब्दको मितव्ययिता, भाव वा विचारको गाम्भीर्य तथा शब्द र तिनको संयोजनको कलात्मकतामा उभिनुपर्छ भन्ने बारेमा धेरै मतान्तर छैन । त्यसैले, कविताको लम्बाइ कति हुनुपर्छ भन्ने बारेमा प्राज्ञिक जगत मौन छ । लामा कविता लेख्नेहरूले निकै छोटा कविता पनि लेखे, गहिरो प्रभाव छोड्न सफल भए । अङ्ग्रेजी कविताको हकमा एज्रा पाउण्ड, विलियम कार्लोस विलियम्स्, बर्तोल्ड ब्रेख्ट र सिन्थिया जेरिनहरूका धेरै कविता केही हरफमात्रमा सीमित छन् । रूपी कौरले यस्तै कविताको जगमा आफूलाई स्थापित गरिन् । नेपाली भाषामा पनि लक्ष्मीप्रसाद देवकोटा, भूपी शेरचन, राजेन्द्र भण्डारी, तुलसी थापा, कृष्ण प्रसाईं आदि कविहरूका धेरै र लोकप्रिय कविताहरू केही हरफमा सीमित छन् । यसको अर्थ, कवितामा आयतन गौण हो । कविताले बोकेको भाव र विचारको गाम्भीर्य र त्यसमा पोखिएको कलाको उच्चता नै कविताको उचाइ नाप्ने आधारहरू हुन् । पछिल्लो समय, मानिसहरूको जीवनमा देखिएको भागदौड र व्यस्ततालाई हेर्ने हो भने, कविताको भौतिक आयतन घट्नु र भावायतन बढ्नु झनै वाञ्छनीय छ । यसैले सायद ठूला आकारका महाकाव्यहरूको प्रकाशनमा क्रमशः देखिएको सिथिलतालाई पनि व्याख्यातित गर्दछ । आकारमा साना तर भावगत घनत्वका दृष्टिले शक्तिशाली कविता लेख्ने प्रचलन नेपाली कविताको फाँटमा निकै बढेको अनुभव गरिएको छ पछिल्लो समय । यसै क्रममा, एउटा सिङ्गो सङ्ग्रह लिएर पाठकसामु आएका छन् कवि लालगोपाल सुवेदी । हुन त लालगोपाल सुवेदीको नाम नेपाली कविताको फाँटमा नयाँ नाम होइन, तर छोटा र प्रयोगशील कवितासहितको उनको यो अवतरण नयाँ हो । नयाँ र प्रयोगशील हुनुको रोमाञ्च पनि यी कविताले बोकेका छन्, र जोखिम पनि उठाएका छन् । २०५७ मा फूलको देशमा छन्दोबद्ध कवितासङ्ग्रह तथा, पानी, इन्द्रेणी र यागमाया (२०७१) तथा सबाल्टर्न पात (२०७२) जस्ता कवितकृतिले कवि लालगोपाल सुवेदीको कवित्व स्थापित छ, यद्यपि निबन्ध, गीत, मुक्तक र बालसाहित्यमा पनि उनको विशिष्ट पहिचान छँदै छ । यसअघिको उनको कविताकारितामा पूर्व र पश्चिमका मिथकीय सन्दर्भ, दार्शनिक दृष्टिहरू तथा नारीका सूक्ष्म मनोविज्ञानका अनेक पक्षहरू परिलक्षित भएका भेटिन्थे । यस सङ्ग्रहमा उनी आजको समयको शल्यक्रिया गर्न तथा जीवनका मिहिन तर दर्शनिक पक्षको उत्खननमा केन्द्रित भएका देखिन्छन् । सङ्ग्रहमा ५१ कविता छन्, जसले जीवन, मानवीय सम्बन्ध, परिवार र संस्कार, मान्छे र प्रकृति, कविता र कलाको महत्ता, जीवन र मृत्युचिन्तन् आदि विविध दार्शनिक विषयलाई स्पर्श गरेका छन् । खस्कँदो मानवीय मूल्य, विचलित काव्यकारिता, बढ्दो क्रितिमता, मक्किँदा सम्बधहरू आदि विषयलाई पनि उनले प्रवेश गरेका छन् । साहित्यकै एक मेधावी विद्यार्थी हुनु, एक कवि पनि हुनु, र साहित्य कर्ममा निरन्तरा लागिरहनुले उनको काव्यचेत परिपक्व भएको प्रतीत हुन्छ, र साहित्यिक अभ्यासलाई नै पनि कविताको विषय बनाएर आलोचनात्मक कविता लेख्ने आत्मविश्वास राख्दछन् । उनीभित्रको एउटा तीव्र समालोचना चेत यसका कारक हुन सक्छ । एउटा चाखलाग्दो प्रसङ्गमा उनी स्पष्टतः भन्छन्, “प्रहार नहोस् भनिरहेको सधैँ÷भाषामाथि, साहित्यमाथि, संस्कृतिमाथि ।” उनलाई साहित्यकार आफैँले पनि आडम्बर र राजनीतिको आड लिएर माथि जाने उपक्रम गरिरहेको कुरामा आपत्ति छ । सीधै लेख्छन्, “आगामी चुनावमा पिँडुलामा तेल घसेर आउनुहोस्\\साहित्यकार भइन्छ ।” यसको अर्थ हो, लालगोपाल सुवेदीका कवितामा, कथ्यका हिसावले एउटा भँगालो अधिकवितात्मक र समालोचकीय कविताहरूको हो, जसमा उनको कविताचेत र कवितादृष्टि छरिएको छ । पछिल्लो समय कविताको सङ्ख्यामा देखिएको बाढी, र भाषाको प्रयोगमा देखिएका संवेदनहीनताप्रति उनी असन्तुष्ट देखिन्छन् । लेख्छन्, “बाठा कविहरू\\कवितालाई खोलैमा छोडेर÷पारि पुगिहाल्छन् ।” साहित्य सिर्जनामा दिनदिन गुम्दैगरेको मौलिकताप्रति पनि उनी क्षुब्ध छन् । बनिबनाउ फ्रेममा ढालेर आफ्ना रचना पस्कने छद्म सर्जकलाई लक्षित गर्दै उनी भन्छन्, “साँचोमा हाल्नुमात्रै पर्छ, जुत्ता जन्मन्छ\\साँचोमा हाल्नुमात्रै पर्छ, इँटा जन्मन्छ ।” घट्दो मानवीय मूल्य, र मर्यादाहरूको क्रमिक क्षयीकरण कवि लालगोपाल सुवेदीले उठाएको अर्को गम्भीर विषय हो । उनका कविताभरि यत्रतत्र छरिएको छ विसङ्गतिप्रतिको व्यग्ङ्ग । व्यवस्थामा देखिएको अराजकता, र जिम्मेवारहरूमा देखिएको लापर्वाही उनको काव्यिक झटारोका लक्ष्य हुन् । नेपालभित्र कार्यालय व्यवस्थामा देखिएको अस्तव्यस्तताबारे व्यङ्ग्य गर्दै उनी लेख्छन्, “अदृश्यमा पैसाको बोट छ ।” अगाडि भन्छन्, “अनुभवी पिउन भन्छ÷हाकिम साहेब आएपछि काम हुन्छ ।” कुशासन र विक्रृत राजनीति उनले चुनेको प्रमुख विषयमध्येका हुन् । “सस्तो भयो जनतानको खुन÷खुनमा कर लाग्दैन” जस्ता प्रभावशाली अभिव्यक्तिमार्फत् उनले कुशासनप्रतिको आफ्नो आक्रोश पोखेका छन् । व्यथितिको पराकाष्ठा अनुभव गरेपछि उनी सोध्छन्, “त्यो कस्तो देश होला जहाँ पुच्छरले हात्ती हल्लाउँछ?” देश यस्तो पनि छ, जहाँ भ्रष्टाचारको व्याप्ति शब्दातीत । घाँस खाँदैन भनिएको बाघले पनि खान्छ घाँस । यहाँ काम “टेबलमुनिबाटै फत्ते हुन्छ ।” भ्रष्ट आचरण र दुई नम्बरीबाटोबाट सम्पत्ति कमाएर पनि कहिल्यै नअघाउनेप्रति उनको प्रश्न छः “भन्नुस् तपाईं\\सुनको माला लाउने कि \\फूलको माला लाउने?” अनगिन्ती महत्वाकांक्षा र सपनाको पछिपछि दुगुर्दै, स्वदेशको प्राङ्गारिक सुख छोडेर प्रवासको मायावी सुखको छाया पछ्यउनेहरू—जसमा कवि आफैँ पनि पर्छन्—उनको काव्यिक व्यङ्ग्यका लक्ष्य हुन् । प्रथमतः उनी यस्तो पलायनवादी मनोविज्ञानकै वर्खिलाफ देखिन्छन् । सोध्छन्, “किन मेरै देशबाट करोडौँ करोड जवानी खेर जान्छ?” यो देशबाट उडेको जवानी अमेरिकालगायतका मुलुकहरूमा दिनरात एक गरेर पसिना बगाउन अभीशप्त छ, तर हृदयमा आह्लाद छैन । उनको टिप्पणी छ, अमेरिमा जिन्दगी सधैँ उधारोमै चल्छ, र मानिसहरूका देब्रे छातीमा “भुङ्ग्रोमा परेका माछा झैँ मुटु चल्छ ।” अर्को एउटा प्रसङ्गमा भन्छन्, “अम्रिकामा पटक पटक चुँड्छ प्रेम धागो ।” मरिहत्ते गरेर त्यसै अमेरिकामा पुगेका, र सधैँ कामको बोझले थाकेका मान्छेहरूको मनस्थितिको प्रनिनिधित्व गर्दै भन्छन्, “जहाजमा चढेर मान्छे होइन \\ गधा पो अमेरिका आएछ ।” भूमण्डलीकरणका कारणले बढ्दैगरेको वस्तुकरण र मूल्यको क्षय उनका कविताको अर्को विषय हो । यसको चक्रमा मानवीय सम्बन्ध र प्रेम पनि बजारको बिकाउ माल बन्न पुगेको छ । लेख्छन्, “आजको एक रातको लागि\\डलर वा पाउण्डमा किन्न सकिन्छ प्रेम ।” प्रेमका ग्राहकहरू पनि छली छन्, विक्रेता पनि छली । लण्डनको एउटा घटनालाई आधार बनाएर लेखिएको एउटा कवितामा उनी एउटी कालीको चित्रण, जो आफ्नो सम्मोहशक्तिले कुनै पहलमानलाई आकर्षित गर्छे, चेकबुक र क्रेडिटकार्डहरू थुत्छे, र उलाई नेप्किनलाई जस्तो डस्टविनमा फाल्छे । मान्छेले आफ्नो वास्तवित महत्ता गुमाएको छ । यो बेला, कविकै शब्दमा, “मान्छेहरूभन्दा त\\फोटोहरू नै बढी बाँचेको देख्छु ।” यसै गरी मूल्यको क्षयीकरणकै क्रममा प्रकृतिक फूलको भन्दा कृतिम फूलको चलन चलेको, र त्यसमा अत्तर छर्केपछि प्रकृतिकका भ्रम छर्ने चलन चलेको पनि उनको ठहर छ । भन्छन्, “अत्तर छर्किदिए पुग्छ फूलमा ÷फूल होइन तपाईं मग्मगाउनुहुन्छ ।” अस्थिर व्यवहार र ढुल्मुले व्यक्तित्व भएकाहरूका बारेमा उनी लेख्छन्, “हाउभाउ र बोली बदल्दा ÷जीवन महानाटक बन्छ ।” उनलाई टट्कारो रूपमा लाग्छ, यस्तै विपरीत समयसँग जुझ्नका लागि आज हामीलाई चाहिएको “प्रतिभा काट्ने मुसो होइन, फाटेको मन सिउने सियो” हो । सन्दिग्ध समयप्रतिको विमत्ति उनको कविताको पेटेन्ट कथ्य हुँदै हो । मान्छेको सोचमा देखिने लीलामय तर अवाञ्छनीय परिवर्तनका कारण पर्न जाने समस्या उनको चिन्तनको अर्को पाटो हो । पोखरीको पानी सङ्लो वा धमिलो देखिनु समयको कुरा हो, तर त्यस सङ्लोपन वा धमिलोपनबाट स्वार्थपूर्ति गर्न खोज्नेको कुनै कमी छैन मानव समाजमा । उनको चिन्ता, त्यसैले, यसरी अभिव्यक्त भएर आएको देखिन्छः “अरे माझी दाइ÷आज सङ्लो पानी पनि धमिलो देखिन्छ ।” यो हुनु र देखिनुबीचको फरक दृष्टिदोषका कारण हो, र दृष्टिदोष प्रकृतिमा होइन मान्छेको विचारमा विद्यमान छ भन्ने सङ्केत यी हरफहरूले गरेका छन् । अरुको खिसिट्युरीमा समय व्यतीत गर्नेहरूलाई ऐनाको विम्बले आफैँलाई जिस्क्याइरहेको पनि हुन सक्छ भन्दै कवि एकपल्ट आत्मदर्शन पनि गर्न सल्लाह दिन्छन् । रुखहरूको विनाश तथा प्राकृतिक सम्पदाहरूमाथिको अतिक्रमणका कारण वातावरणमा परेको असर, र त्यसँग सम्बन्ध सांस्कृतिक पक्षहरूको ह«ास पनि उनको चिन्ताको एउटा प्रमुख विषय हो । मानवीय सम्बन्धहरू कवि लालगोपाल सुवेदीको कविताले उठाउने अनेक विषयमा एक हुन् । सम्बन्धहरूमा उनी प्रेमी, परिवारजन र साथीभाइहरूबीचको सम्बन्ध उठाउँछन् । बद्लँदो समयसँग सम्बन्धहरू कृत्रिम र क्षणिक हुँदै गएको पनि बोध छ उनलाई । प्रेम अथवा वैवाहिक सम्बन्धहरू पनि प्राविधिक हुँदै गएको उनको ठकर छ । ऐनाअगाडि उभिएर सिँउदोमा सिन्दूर हालिरहेको युवतीको नियममाथि पनि विश्वास गर्ने आधार भेट्दैनन् । लेख्छन, “जब युवती गइन्ऐ\\नाको छातीकी युवती पनि गइन्शि\\रिषको फूल भएछ माया ।” प्रकृतिको नियमबद्धताभित्र मानव जीवनको लय निहित हुन्छ भन्ने उनको ठहर छ । “हिउँद र वसन्त एकैपल्ट आउँछ त?” भनेर उनले, ऋतुचक्रको क्यालेण्डर पछ्याउनुको विकल्प नरहेको कुरा उल्लेख गरेका छन् । निरन्तर पलायनको बाटो लागेको युवाशक्ति पुनः स्वदेश फर्कंदा स्वदेशको स्वभावसहित फर्कन्छ वा फर्कन्न भन्ने कुरामा पनि उनलाई शङ्का छ । दर्शनहरूको पुराना मान्यता सन्शोधित हुनुपर्छ भन्ने मत राख्छन् कवि लालपोगाल । परिवर्तित समयमा पुरानै मान्यता मानक नहुन पनि सक्छन् भन्ने उनको सोच हुन सक्छ, जो मनासिप पनि छ । त्यसैले, आफ्नो एक कवितामा उनी कार्ल माक्र्सको चस्माले “फेरि” हिमाल, पहाड र तराईले हेर्नुपर्ने आवश्यकता औँल्याउँछन् । अर्थ हो, आजसम्म हेरिएका मापदण्डहरूमा कहीँ न कहीँ खोट छ । जीवनबारे उनको मत छ, यसको अवसान अवश्यम्भावी छ, फूलको जस्तो । तर कसले कति वास्ना छर्ने हो, त्यो महङ्खवपूर्ण हो । यस्तो, आफूलाई विशिष्टता प्रदान गर्न सक्ने मान्छे अन्धारको जुनकिरी होज, जो एकमात्र किन नहोस्, उसलाई तर “महङ्खवका साथ हेरिन्छ ।” यी ममाम विषय र परिस्थितिका बावजूद पनि कवि लालगोपालभित्र जीवनप्रेम अगाध छ । सकारात्मकता प्रचूर छ । सुख होस् वा दुःख, जीवनलाई उज्यालोले स्पर्श गर्नुपर्छ भन्ने उनको अभिमत छ । स्पष्टै लेख्छन्— पीरमा बाँच्नै पर्दैन पनि नभन्नुस् भीरमा हिँड्नै पर्दैन पनि नभन्नुस् जस्तो हुनुहुन्छ सबका सामु त्यस्तै बन्नुस् खिच्नुस् तस्बिर फूलसित मुस्कुराएको र त्यसलाई ठूलो बनाएर आफ्नै आँखाहरूको चौरस्तामा टाँङ्नुस् । उनलाई आमाहरूमाथि भरोसा छ । “तिमी नभए मुटु र ढुङ्गामा कुनै अन्तर हुँदैन ।” मान्छेहरूको भीडमा कोही असल मान्छे हुन्छ अथवा जन्मन्छ भन्ने कुरामा पनि उनलाई कुनै द्विविधा छैन । उनको विश्वास छ, “अरबौँमा एउटा कृष्ण सुदामाका साथी हुन्छन् ।” यस्ता कृष्णजस्ता साथीको उपादेयतामा उनको चित्त टिकोको देखिन्छ । भन्छन्, “अँध्यारोमा बत्तीजस्तै बलिदिन्छन् सच्चा साथी ।” भौतिक रूपमा मान्छे भिन्नभिन्न भए पनि कुनै चित्रकारले आफ्नो अमूर्त चित्रकलामा कोरेको उनीहरूको छाया समान हुन्छ भन्दै आवरणमा देखिने विविधता, सारमा, एक निस्सार सत्य हो भन्ने सङ्केत कविले गरेका छन् । “पानीको कविता पानीमै छोडेर घर फर्किएँ” जस्ता प्रभावशाली विम्बात्मक अभिव्यक्तिमार्फत् उनी छुटेको वाल्यकाल, र त्यसैसँग छुटेको निर्दोषिता र मनको निश्छलतालाई पनि खेदका साथ सम्झन्छन् । कारण, उमेर घर्कँदै गएपछि वाल्यकालमा पानीभित्र हेरेको त्यो सग्लो कविताको ठाउँमा, कविकै शब्दमा ज्वारघाटाहरूले भाँचेका कविताबाहेक अरु केही भेटिँदैन । उमेरसँग कसरी फेरिँदै जान्छ कल्पनाको क्षितिज ! “रोटीको दन्त्यकथा” यस सङ्ग्रहको शीर्ष कविता हो, र एक उत्कृष्ट कविता पनि हो । विम्बैका आधारमा यसले एउटा संस्कारगत तर्क पनि अघि सारेको छ । मान्छेको इच्छा अथवा कार्यशक्तिको उसनको मनोविज्ञान र उसको विश्वाससँग गहिरो सम्बन्ध छ । नानीहरूलाई माछाले चाँदीको रोटी खाए भन्ने दन्त्यकथामा विश्वास जगाउन सकियो भने, उनीहरू चामलको रोटी पनि खान्छन्, त्यसै रोमाञ्चकारी कल्पनामा । यो एउटा दार्शनिक तर्क हो । यिनै भावभूमिहरूमा केन्द्रित कवि लालगोपाल सुवेदीका कविता स्वरूपमा प्रयोगशील छन् । छोटा छन्, तर प्रभावशाली पटाक्षेपसहित अवतरण गर्छन, चेतनाको तहमा । ताँदो नक्काएर छोडेका बाणजसता बेगवान् छन्, र तीव्र छन् । उनको सबैभन्दा इमान्दार पक्ष के छ भने, आफैँलाईसमेत प्रश्नको घेरामा राखेर उनले पलायनको र विदेशमा देखिने व्यस्त र कृक्रिम जीवनशैलीको पूरजोर विरोध गरेका छन् । आधुनिक, डिजिटल संसारका विम्बहरूलाई समेत कविताको फ्रेममा अटाएर उनले बद्लँदो समयका कविताको भाषा पनि आमभाष्यतिरै उन्मुख छ भन्ने तर्कलाई अनुमोदित गरेका छन् । विदेशमा रहेर पनि स्वदेशको चिन्ता, कल्पनमा सिर्जन घरदेशको चिन्तन, र घरदेश र परदेशबीचको अदृश्य खोँचबाट हेर्दा देखिने खण्डित पहिचानको पीडा पनि उनको कविताका परिलक्षित हुन्छ, जसरी संसारैभरिका आप्रवासी र डायस्पोरा लेखकहरूमा परिलक्षित हुन्छ । यस अर्थमा, उनी एउटा वैश्विक रेन्ज भएका कवि हुन् । ( “रोटीको दन्त्यकथा” पुस्तकको भूमिकाबाट) #रोटीको दन्त्यकथा