text
stringlengths
146
47.7k
लक्ष्मणको गजल: नामीहरू बेखबर भए, हरामीहरू सल्बलाए फूलको हत्या गरी पुण्य, जप्ने धर्मभिरु सल्बलाए ।। मामाको धनमा खूब ती पासा खेल्दै डिङ हाँक्नेहरू निर्धाको बली चढाएर हक, खोज्नेहरू सल्बलाए ।। सडक सदनतिर डुल्दो छ त्यो, अपराधको ख्याक बाँच्ने रहर निमोठेर लास, गन्नेहरू सल्बलाए ।। कचहरीमा न्याय रुँदा आकाश गर्जिन्छ है अचेल कानुन निलेर डकार्ने स्वाँठ, ब्वाँसाहरू सल्बलाए ।। अब यहाँ टाउको खाने, मसानहरूकै राज चल्यो गण्डकी बगाई रगतको, पिउनेहरू सल्बलाए ।। #लक्ष्मण बियोगी
नेपाल आमाको चित्कार: कसैले भने मैले पनि सुनेँ अब आँसु खस्दैनन् रे रगत पनि बग्दैनन् रे तर बिडम्बना आज मलाई पल्ला घरका छिमेकीले चिथोरी रहेछ म निःशब्द भई थर थर काम्दै आँखा भर्दैछ ज्यान असिनाले पिटेको गोलभेडाझैँ थिलो थिलो भई पूरै शरीर रगतले भरी रहेछ अझै मलाई बिस्तारै होइन एकैपटक मै खाउँला भनि ठाउँ ठाउँबाट फकाइरहेछ कालो मन भएको मभन्दा ठूलो ज्यान भएकाले हात लकाइरहेछ निरन्तर लगाइरहेछ चिच्याउँदै म कराउँछु अब कसरी लगाउनु पार त लम्पसार परिगयो ममाथि सक्दिनँ थाम्न उसको “भार त“ उसले लगातार मलाई बलत्कार गर्दै यो समाज अघि रखेल बनाइरहेछ मेरा छोरा यही समाजमा बस्दै खै किन सधँै उहीसँग मेल गराइरहेछ था भएर पनि जेठा छोरा था नभए जस्तै आफ्नो नैतिकता, स्वाधीनता अनि आमालाई बेचिरहेछ सस्तै धेरै पहिलेदेखि दुःख सहिरहेछु मलाई ज्यादै सकस भइरहेछ बुझ न ए छोरा यति सन्तानका छोरा हँुदा पनि म आफूलाई अँध्यारोमा घुमाउँछु अब नि नरोके उसलाई तिम्ले मैले मेरो सबै अस्मिता सधैँका लागि गुमाउँछु अब त रोक न उसलाई छोरा म सधैँ सक्दिनँ बाँच्न कोही नभए जस्तो गरी कति बाँचु सधैँ म ऊबाट यसरी नै मरी मरी अब त छोरा केही बोल आफ्नो दुई नयन खोल अब मलाई बचाऊ पुन इतिहास रचाऊ ।। #आँसु #जीवन पाण्डे
त्रिभुवनका हाइकु: त्रिभुवन चन्द्र वाग्ले झरीको दिन दुई कप दूधले ज्यान ततायो लामो घिरौंला झोलामा हाल्न भन्दै असन गएँ जेठको झरी रुझेको राजमार्ग चिप्लो स्टेरिङ रुझेको शिर खोलन तिम्रो छाता भित्र राख्नेछु झरीको जुका किन तन्केको होला पर्नेछ डल्लो भरीले तामा ठाडिदै उम्रिएछ मिठो अचार भिजेको शिर खोलिदेऊ सिउँदो रङ हाल्ने छु नागको बच्चा प्वालमा पसेको छ फेरि आउँछ झरीको मुसो बाहिर, भित्र गर्छ तुरन्तै थाक्छ झरीको दिन सागपात केलाऊँ फर्सी खेलाऔं #त्रिभुवन चन्द्र वाग्ले #हाइकु
भोगाइ: लघुकथा रीता बलामी उमेरमै विशालकी आमाको मृत्यु भयो । विशाल सहरमा बस्थ्यो । परिवारै आमाको संस्कार गर्न आए र पन्ध्रौँ दिनमा फर्के । “ल पीर नगर्नु,पकाएर खानु । पैँतालिसको कामलाई आउँला । केही परे फोन गर्नु,” विशालले बुबालाई भन्यो । बुहारीले भनी, “के गर्नु बुबा, हजूर एक्लै हुनु भो । पैँतालिसपछि उतै जाऊँ बरु । धेरै पीर नर्गनुस् है ।” उनका आँखा पिलपिलाइरहे । नाति, नातिनाको साथले मन केही भुलेको थियो, फेरि उही पीडा र पत्नी वियोगको घाउ बल्झियो । आमाको एक वर्षको कामलाई आएको बेला पल्ला घरे काकाले बाउ र छोराबुहारीसँगै भएको मौका छोपेर भने, “हेर, विशाल ! तिमीहरू यहाँ बस्न सक्तैनौ, बुबा उता जान मान्नुहुन्न, बिरामी हुँदा एक गिलास पानी तताएर दिने कोही छैन । मेरी बूढीको बहिनी पर्ने एकजना असल आइमाई छिन्, म कुरा अघि बढाउँछु है ?” विशाल पड्किहाल्यो, “के कुरा गर्नुभाको काका ! जोरीपारीले के भन्छन् ? यस्तो घर भाँड्न नआउनुस् है । हेर्नुस् है बुबा, यस्ता वाहियात कुरा सोच्ने हैन । म त यो घरमा पाइला नि टेक्दिनँ नि फेरि ।” त्यसपछि कहिल्यै कसैले यो कुरा दोहो–याएन । समयको लीला! झन्डै दस वर्षपछि विशालकी पत्नीको बस दुर्घटनामा परेर मृत्यु भयो । बुबाचाहिँ गाउँबाट आएर परिवार सम्हाल्ने कोसिस गरे । विशाल दुब्लाउँदै गयो । कोहीसँग पनि राम्ररी बोल्दैनथ्यो । राति लर्बरिँदै आउँथ्यो । ५, ६ महिना यसै बित्यो । एक दिन शनिबार विशालको मिल्ने साथी घर आयो । छोराछोरी र बुबा सबैलाई विशालको निराश हालत बुझाउँदै फेरि बिहे गरिदिन आग्रह ग–यो । बुबा र छोराछोरीले बोल्नु अगाडि विशाल नै बोल्यो, “कहाँ अब छोराको बिहे गर्ने बेला…. ” उसले पुरै नबोल्दै बुबाले भने, “लौन बाबु, तिमीले ठ्याक्कै मेरो मनको कुरा भन्यौ । छोराछोरीलाई म सम्झाउँछु। एक्लै बाँच्न कति गाह्रो हुन्छ! विशाल, तँ चुप लाग्, तेरो बिजोग हेर्न सक्तिन म…. ।” “हजुरबुबा, हजुर त यति सकारात्मक र बुझ्झकी हुनुहुँदो रहेछ… हामी त बुझिहाल्छौँ नि ! हुन्छ, हामी पनि त सधैँ सँगै बसिरहन सक्तैनौँ नि!” छोरोले भन्यो । सबैको यत्रो सहमति पाएर पनि विशाल शीर उठाउन र खुसी हुन सकिरहेको थिएन । उसलाई ठूलो ग्लानि भइरहेको थियो । “हजुरबुबा, हजुर यस्तो बुझ्ने मानिस भएर पनि आफूचाहिँ किन यत्तिका वर्ष एक्लै बस्नुभाको त ? हजुरलाई पनि त झन् कति गाह्रो भो होला !” छोरीको यो भनाइले विशालको मुटुमा तिखो बाण रोपियो । आफू महाअपराधी, पढेलेखेको पाखण्डी र निर्दयी बोध भयो । हजुरबुबाले केही बोलेनन् । विशालले आँसु थाम्न सकेन र बुबाको गोडा समाउँदै “म अपराधी हुँ बुबा, म पाखण्डी, निर्दयी र स्वार्थी रहेछु । मलाई माफ गर्दिनुस्,” भनेर निकैबेर रोइरह्यो । छोराछोरी र साथीले केही बुझेनन् । बाउछोरालाई ट्वाँ परेर हेरिरहे । फर्पिङ #रीता बलामी
प्रयत्न: गायत्री जीवनको यो मध्य सङ्घारमा उभिएर नियाल्दा बिराएझैँ त्यो मार्ग, बिर्सिएझैँ, हराएझैँ केही कुरा सधैँ तलासमा यो मन भौँतारिरहँदा भेउ नै पाउन नसकेको त्यो अमूल्य समयको बर्बादीले कति पोलिरहेको छ भनी, गर्ने के कसो हो ? सधैँ एउटा कौतुहलले सृजना गरिरहने भ्रमलाई चिर्दै निकाल्नुछ एउटा गन्तव्यको धुन अनि बजाउनु छ एउटा तालमा । गुन्जियोस् सुरिलो धुन र मुग्ध होस् यो जीवन बलोस् दियो चैतन्यको फैलाई प्रकाश वरिपरि चिरेर पर्दा त्यो कालो ओडारको फैलियोस् दीप जताततै र बसाइ सरुन् त्यो अन्योलताका अन्धमुष्टिहरु शून्यताको खडेरीले रुखाएको यो मनको आँत पुरै चिस्याउनु छ अनि वर्षौंदेखिका बाँझो यो जिन्दगीका सुर्काहरुमा दस नङ्ग्रा नारी मलिनो बनाई बाधाका पत्थरहरुलाई, रोप्नुछ सपना बिउहरु अनि गोड्मेल गरी फाल्नुछ रिस राग कुन्ठाका झारहरु र, गर्नुछ सिँचाइ पसिनाले सप्राउनुछ ती सपनाहरुलाई जुन मूर्तरुप पाउनको निम्ति मनभित्र गुम्सिएर उकुसमुकुसतामा छट्पटाउँदै निस्किएर संसार चिहाउने झिनो आशमा चलाइरहेका छन् ढुकढुकी । हो, तल्लिन छु म अझै साँघुरो मनलाई तन्काउन अनि, प्रश्रय दिई ऊर्जा उमङ्गलाई बढारी सबै धमिला कसिङ्गरहरु सडाई गलाई बनाएको मलले सप्राउनुछ सपनाका बिउहरु र, दिनुछ फक्रन यो खुला आकाशमा हारेको छैन म भित्रको “म” अझै बिउँझिने कसरतमा समर्पित यो जीवन सधैँ तल्लिन छ, अथक निरन्तरताको लागि एकदिन अवश्य झुल्किने दीपको आशामा । #गायत्री
सुरिलो धून: विषपानले तीव्र लिए जस्तो मेरा यी हाँगाहरू, फूलहरू बनाइरहेछौ सस्तो प्रदूषणले भरिएका बास्नाहरू भ्रमको सिर्जना छर्दै माग मगाए जस्तो । ऋतु पनि ऋतु लाग्दैन मौसम मलिन छ सन्चो भन्दिन लुटिएको रूप सानो थियौँ ठूलो भयौ हुर्किएर कर्म गर्दै जीवन विलाशिताले भर्दै आज यही ठाउँलाई लत्याएर हिँड्दै आफूलाई महान् सम्झिदै तारिफ आफैँलाई रातको तारा गन्दै गाउँथे आजकाल गन्न मन लाग्दैन । पहिले सुन्दर थिए सुरिलो धूनको संगीत भर्थेँ चराले गाउँथ्यो झरनाको सलल माधुर्य ध्वनी, तरंग जीवजन्तु रमाउँथे चिसो स्वच्छ जलको स्पर्श जहाँ ललायित हुन्थे घामको रश्मीले छोएर जाँदा सुगन्धले भरिन्थे निलो गगन नदीमा प्रतिबिम्ब लोभ्याउने मलिला बिरूवाहरू कलिला पुष्पहरू दुर्लभ हुँदै हराएका छायाँमा परेका । आश राखिरहेको छु अवस्य सन्तुलन बन्ला धेरै विरहको धून बजाउन जान्दिन पहिलेका समधुरतामा मग्न हुने म तिमी पनि बिरामी नै हुने हो बिरामी हुदाँ म । #बालजीत साङपाङ #सुरिलो धून
अवाक्: रा सा एउटा सानो कोठा । भित्र बाबु र छोरा छन् / बाबु टि.भी. हेरिरहेका र छोरा चाहिँ गृहकार्य गरिरहेका । बाहिर आमा भाँडा माझिरहेकी छन् । सन्ध्या समय । अचानक बत्ती निभ्यो । टि.भी. बन्द । गृहकार्य पनि स्थगित । तत्क्षण बाबुले छोरालाई सम्झाउँदै भने, ‘हेर राजा, तिमी ज्ञानी बन्नुपर्छ ।’ छोरा मौन । बाबु पुनः वाचाल भए, ‘कुकुरजस्तो इमानदार, कमिलाजस्तो मेहनती र चितुवाजस्तो छरितो हुनुपर्छ । अनि मात्र, तिमी सफल हुन्छौ ।’ ‘त्यसो भए…..बाबा, मानिसजस्तो मानिस हुनुपर्दैन त ? ‘ – छोराको प्रश्नले बाबु अवाक् भए । #रासा
महोदय ! तपाईँको कित्ता कुन हो ?: रूकुम हत्याकाण्डमा बेपत्ता भनिएका मध्ये ६ जनाको लास मारेर फ्याकिएको अवस्थामा भेटिइसकेको छ । पोष्टमार्टम रिपोर्टले पनि यस्तै भन्छ । अन्तरजातीय प्रेम सम्बन्धबाट उत्पन्न भएको यो नृशंस हत्या प्रकरणपछि अहिले सामाजिक संजाल स्पष्ट दुई खेमामा बाँडिएको देखिन्छ । एकथरि सामाजिक न्यायका पक्षमा उभिएका छन् भने अर्कोथरि यथार्थलाई ढाकछोप गर्न लागिपरेका छन्। हत्या प्रकरणको घटना विवरण बुझ्दा जातीयता जोडिएको कुरा सामान्य-चेत हुने मानिसले समेत बुझ्न सक्छ । भलै कि यसमा अन्य कारणहरू पनि नभएका हैनन् । हिटलरलाई सरापेर नथाक्ने पनि यसबेला यथार्थलाई ढाकछोप गर्न असली अनुहारसहित उग्रनश्लवादी भएर निस्किएका छन् । यिनीहरू सामुहिक हत्याजस्तो विषयमा यतिसम्म असंवेदनशील र जातिवादी भएर निस्किएका छन् कि, ‘अरू सब भन, तर दलित भएकै कारण मारियो नभन’ भन्दैछन् । दलित भएकै कारण अजित मिजारको हत्या भयो; लास ४ वर्षदेखि अस्पतालमै सडेर बसेको छ । जात नजोड भनेर के समाजमा यस्तो जातीय अपराध भएकै छैन भन्न खोजेको ? आफू बाँचेको समय/समाजप्रति यति बेखबर कसरी हुन सकेको ? आज पनि अखबारको भित्री पृष्ठ मन्दिर/धारा छोएको निहुँमा दलित कुटिएको, देशको नर्स/सांसदले दलित भएकै कारण कोठा भाडामा नपाएको’ समाचार छाप्न अभिशप्त छ । यति घिनलाग्दोसँग जरा गाडेर बसेको छुवाछुत प्रथालाई जातीय अहमकै कारण हैन तपाईँले अझै काँधमा बोकेर हिंडिरहेको ? तपाईँले अनि कुन नैतिक आधारमा जातीयता नजोड्नूस् भन्न सकेको ? सामाजिक संजाल व्यक्तिमार्फत् समाजको असली अनुहार चिहाउने महत्त्वपूर्ण कडी हो । सामाजिक न्याय, समानता र समतापूर्ण समाज चाहने कवि, प्राध्यापक, बुद्धिजीवी पनि यहाँ नाङ्गै घुमिरहेका भेटिन्छन् । जब समाजलाई सकारात्मक मार्गनिर्देश गर्नुपर्ने हुन्छ, यी मनुवाहरू आफ्नो भडास, कुण्ठाको लुतो कनाउन मग्न हुन्छन् । उनीहरूको दमित चेतना यति दुर्गन्धितसँग छरपष्ट भएका हुन्छन् कि पछिल्लो राजनैतिक/सामाजिक परिवर्तनप्रति ‘इगो’ पालिरहेको अनुहार प्रष्ट देखिन्छ । पहिले उनीहरूलाई जी/हजुरी गरिरहेका, झुत्रेझाम्रे देखिने, उनीहरूकै पैतालामा गिडगिडाउनेहरू अहिले सहानुभूति हैन आत्मसम्मान खोजिरहेका छन्, सुकिलोमुकिलो भएका छन्, उनीहरूसँगै तर्कवितर्क गरिरहेका छन् । उनीहरूलाई फिटिक्कै मन परेको छैन । यी सब दृश्यले ती मुकुण्डोधारी मनुवाहरूको आत्मा भतभति पोलिरहेको छ । अनि उनीहरू सामाजिक सद्भाव बिगारेको तुष पोख्छन् । तर एउटा समुदायको ढाडमा लडिबडी गर्ने सामाजिक सद्भाव अब टिक्नेवाला छैन । टिक्नु पनि हुँदैन । जब रूकुम हत्या प्रकरण सामाजिक संजालमा फैलिन थाल्यो । मुकुण्डोधारी कवि, लेखक, प्राध्यापक, बुद्धिजीवीहरूले त्यो हत्या प्रकरणलाई बालविवाहसँग जोड्न खोजे | लकडाउन अवज्ञा, हुलदङ्गा, रातमा केटीको घर गएको कसुरसँग पनि जोड्न भरपुर परिश्रम गरे । त्यसको प्रतिवाद हुन थालेपछि, ‘यो घटनालाई जातीयतासँग नजोड्’, भन्न थाले । उनीहरू थप भन्दै थिए- ‘दलित शब्दले विभाजन कोर्यो’, ‘दलितले आरक्षण लिइराछन् भने विभेद भइहाल्छ नि !’ , ‘दलितभित्रै विभेद छ, त्यो हटाऊ’, जस्ता तर्कहरू झिक्न थाले । हत्या प्रकरणमा एउटा समुदायलाई लक्षित गरेर यस्तो तर्क आउनु अर्थपूर्ण छ । आउनूस्, त्यस्ता तर्कहरूको चिरफार गरौँ; दलित र ब्राह्मणवादको शब्दको साइकोलजी १. दलित दलित शब्दलाई लिएर दुई खालका विचारहरू सतहमा आउछन् । एउटा खाले विचार छ, दलित शब्द हटाउनुपर्छ भन्ने । उनीहरूको मत अनुशार, ‘दलित शब्दले हामीबीच विभाजन कोर्यो । यसैले यो शब्दलाई शब्दकोष र संविधानबाट हटाउनुपर्छ । समानताको यात्रा शुरू गर्न यो शब्द बाधक छ ।”, उनीहरू भन्छन्- “दलित शब्द हटाऔँ र फटाफट समानतातर्फ पाइला चालिहालौँ ।’ उनीहरूको मान्नु यो छ कि दलित शब्द कायम गर्दा विभिन्न राष्ट्रले त्यो शब्दसँग जोडिएका एनजिओ/आईएनजिओलाई गर्ने आर्थिक सहयोगबाट तिनका हर्ताकर्ताले घर-गाडीमात्र जोड्छन् । थप्दै भन्छन्- “यो दलित शब्दले खास बहिष्करणमा परेका तथाकथित दलितलाई केही गरेन । केही गर्दैन । दुईचार टाठाबाठा सम्पन्न दलित भनाउँदालाई टाईसुट लगाउन यो शब्द किन राख्ने ? हटाऔँ ।” यति भनिसकेपछि उनीहरू दलितलाई बहिष्करणमा परेको समुदाय भनेर स्वीकार्छन्, नत्र त्यो स्वीकार्ने मुडमा हुँदैनन् । उनीहरू एकदम स्पष्ट छन्, शब्द हटाउनु मूल अस्त्र हो विभेद हटाउन । जसमाथि सृजना ढकालको प्रतिकृया यस्तो छ- “दलितमात्र किन नेपालकै नाम बदलेर अमेरिका राखिदिऊँ, रातारात नेपाल विश्वकैकै सम्पन्न राष्ट्र हुन्छ ।” शब्द बदल्नुको खास तुक त छैन नि ! जो सामान्य-चेत हुने मानिसले बुझ्छ । र पनि शब्द बदल्नुपर्छ/हटाउनुपर्छ भन्न छाड्दैनन् । यसको मूल कारण भनेको दलितहरू बिस्तारै मूलधारतर्फ अग्रसर भएको पचाउँन नसक्नु हो । दलित शब्द हटाउनुपर्छ भन्नेमा शिव परियार, प्रमोद खरेलजस्ता गायकका अनुहार पनि आउँछ बेलाबेला । देशमा दिनहुँ उलटपुलट हुन्छ, उनीहरू बेखबर रहन्छग । अरू त छाडौँ, दलितमाथिकै अमानवीय घटनाप्रति उनीहरूको मौनता ताजुबलाग्दो छ । जबकी यस्तो बेला आममान्छे यिनको संवेदनशील फ्यान-फलोअर्ससम्म यो घटना पुगोस् भनेर मुख ताकिरहेका हुन्छन् । चासो भएको लाग्न, ‘दलित शब्दले दलिएको भन्ने जस्तो नकारात्मक भाव दिन्छ, त्यसैले हटाउनुपर्छ’, भनेर मात्र त हुने हैन होला ! तर दलित शब्दलाई लिएर यी सेलिब्रेटी भावुक हुन्छन् । यो भावुकताको पछाडि दुइटा मनोविज्ञान छ । एक, उनीहरू त्यस्तै टाइपको विचार बोक्ने वरिष्ठहरूले क्याच गरून । अर्को महत्त्वपूर्ण कुरा भनेको धेरै नबुझ्ने आममान्छेमाथि इमोसनल ब्ल्याकमेल गर्न चाहान्छन् । दलित शब्दलाई हटाउनुपर्छ भन्नेबाहेकको अर्को खाले विचार हो- दलित शब्द बहिष्करणमा परेको समुदाय आफैँले आन्दोलन गरेर प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो । आन्दोलन मूलत: विद्रोही विचारको अभिव्यक्ति हो । त्यसबाट प्राप्त उपलब्धिलाई स्थापित गराउदा जाने कोही हैन । यस विचारबाट दलित शब्दमाथि भनिएको जस्तो विभाजन कोर्ने , दलिएको जस्तो नकारात्मक बुझाउने शब्द हैन भन्ने चाहिँ स्पष्ट हुन्छ । ‘माङ्गेना’मा युग पाठक भन्छन्- “अछुत, पानी नचल्ने शब्दको साटो मुक्तिको मुठ्ठी उठाउने मराठी शब्द हो दलित ।” शब्द चाहे शुद्र होस्, दलित होस् या शिल्पी समूह होस् । शब्दको प्रत्यक्ष सम्बन्ध भनेको यसले मस्तिष्कमा सृजना गर्ने भिजुअलसँग हुन्छ । यो दृश्य तपाईँको उच्चारण, बोल्नुको पृष्ठभूमि, बोल्नुका कारणजस्ता स-साना कुराबाट निर्देशित हुन्छ । दलित शब्द नकारात्मक हैन, नकारात्मक पारिएको चाहिँ हो । असलमा यी जुनै शब्द सफा नियतले भन्नुस्, ओके छ नि ! मैले अब भन्न खोजेको कुरा हो- शब्द जे होस्, तर तपाईँ सामाजिक न्याय, समातापूर्ण समाज र सामाजिक सद्भाव स्थापित पार्ने कित्तामा उभिनु पर्यो । यसको विपरित हुनुहुन्छ भने शब्द हटाऔँ, समानता ल्याऔँ जस्ता कुरा बेतुकका हुन् । शब्दमै सारा विभेदको जड छ भन्ने तपाईँको बुझाई सच्याउनूस् । २. ब्राह्मणवाद हालै मैले एक जनाको पोष्टमा ब्राह्मणवाद शब्दको प्रयोग गरेर कमेन्ट गरेँ । यस शब्दप्रति चित्त नबुझेर एक कविले यो शब्द गलत छ भनेर लेखे । पछि स्टाटस नि आयो । यो शब्दलाई गलत छ भन्ने कविलाई लाग्दो रहेछ, ब्राह्मणबाट बनेको यो शब्दले समुदायलाई प्रहार गर्छ । यो बुझाईप्रति सिमा आभाषको, ‘पुरूषवाद र पुरूष, ब्राह्मणवाद र ब्राह्मण फरक हुन्’ भन्ने स्टाटसबाट स्पष्ट हुन सकिन्छ । ब्राह्मणवाद शब्दप्रति अर्को एक जनाको टिप्पणी छ- “यो शब्दले आम मान्छेमा जातीय वैरभाव सृजना गर्छ ।” तर यथार्थ के हो भने आममान्छेलाई शब्दले भन्दा बढी अर्थ राख्छ व्यबहारले, शब्दको अभ्यासले । यी दुई तर्क धेरैको प्रतिनिधि भाव हो, ब्राह्मणवाद शब्दप्रति । यसमा मेरो भन्नु, ब्राह्मण कुनै जन्मको आधारमा प्राप्त उपाधि हैन । धर्मग्रन्थमै उल्लेख छ ब्राह्मण भनेको ब्रह्माण्ड जानेको मानसिक अवस्था हो । यो जातिवादी शब्द है , गुणबोधक शब्द हो । यो शब्दलाई जन्मजात प्राप्त उपाधि ठान्ने पाखण्डले उच्चजातीय अहम सृजना गर्छ, उच्चजातीय अहमले समाजमा अपराधिक सोचको जत्था खडा गर्छ । जन्मकै आधारमा म उच्च हुँ, तँ निकम्मा होस् भन्ने सोच वर्ण-व्यवस्थाबाट निर्देशित सामन्तवादी सोच हो । नेपाल लगायत दक्षिणएशियामा यही सामन्तवादी सोचको आधारमा ब्राह्मण/बाहुन ठालू पल्टिए । जन्मको आधारमा पाएको जातकै आधारमा ‘ठालू पल्टिनेको’ लागि, छुवाछुतजस्तो ‘सडेको परम्परा बोक्नुपर्छ’ भन्नेको लागि । यो सोच त्यही सामन्तवादी सोचको अवशेष भएकोले ब्राह्मणवाद शब्द ठीक हुन्छ । यसोभन्दा यो शब्दले बाहुन समुदायलाई प्रहार गरेको ठहर्दैन । किनकि बाहुनवाद शब्दले दलित समुदायभित्रको बिश्वकर्माले परियारलाई सानो देख्ने, परियारले सार्कीलाई सानो देख्न प्रवृतिलाई समेत जनाउँछ । यो शब्द किन पनि ठीक हो भने यसले विभेदकारी मानसिक अवशेषलाई जनाउँछ । बाहुनसँग जोडिएर ब्राह्मणवाद/बाहुनवाद आयो । यसैले यो शब्द गलत छ भन्नु चै शब्द (शरीर) मा केन्द्रित भएर अर्थ (आत्मा) लाई नजरअन्जान गर्नु हो । शरीरमै अल्मलिनु विद्वान अष्टाब्रक राजा जनकको सभामा पुग्दा त्यहाँका कथित विद्वानहरू अष्टाबक्रको आठ ठाउँ बाङ्गिएको शरीरलाई हेरेर हाँस्नुजस्तो हो । शब्दको आवरणमात्र हेरेर अर्थतिर जान नखोज्नुको सिधा साइकोलजी हुन्छ- “आममान्छेलाई अन्धकारमा राख्न खोज्नु । आम बुझाईको गलत फाइदा उठाएर समयलाई अझै पछाडि धकेल्नु, जुन अपराध हो । दलितलाई आरक्षणको कुरा राज्यबाट बहिष्करणमा परेको समुदाय, जात, लिङ्ग, क्षेत्रलाई मूलधारमा ल्याउन आरक्षणको अभ्यास गरिएको हो । आरक्षण एउटा विकल्प हो, जसलाई संविधानले नै पुनरावलोकन गर्न सक्ने व्यवस्था गरेको छ । गणतन्त्र ल्याएको १३ वर्ष पुग्यो । गणतन्त्रसँगै भित्रिएको हो समावेशीता । यो १३ वर्ष अभ्यासका सकारात्मक पाटाहरू धेरै छन् । नकारात्मक असरचाहिँ पछिल्लो ४-५ वर्षमा यसप्रतिको गलत स्कूलिङ्गले सृजना गर्दैछ । अब नेपाली समाजको वस्तुनिष्ठ अध्ययन गरेर यस विकल्पलाई ‘पुनरावलोकन’ गर्नु जरूरी छ । राज्यले दयामा दिएको होइन आरक्षण। आरक्षण ती समुदाय, जात, लिङ्ग, क्षेत्रको लामो सङ्घर्षको उपलब्धि हो । सङ्घर्षको उपलब्धि दया हैन, हक हो । जब राज्य आरक्षणको विकल्प अवलम्बन तयार भयो । योसँगै कोही बुद्धिजीवी मेरिटोक्रेसीको हवाला दिदै विपक्षमा उत्रिए । “हो न हो, देश अब निकम्मा जनशक्तिको हातमा जाने भयो”, भनेर केही बहिष्करणमा पारिएका समुदाय पनि तिनकै पछि लामबद्ध भए । खासमा ती बुद्धिजीवी एउटा भीडको नेतृत्त्व गर्दै थिए । त्यसमा बहिष्करणमा पारिएका समुदाय पनि अलमलिन पुगेका थिए । ती बुद्धिजीवीहरू स्पष्टसँग भन्न चाहिरहेका थिए- ‘खस/आर्य पुरूषवादी पहाडीया अहमकारी समुदाय हो, राज्य सत्ता र प्रशासनमा हुनु पर्ने ।” तर उनीहरू भन्दै थिए- “बहिष्करणमा पारिएका समुदाय निकम्मा छन् ।” यो ‘मेरिटोक्रेसी’ अहिले पनि बेला बेला सतहमा आउँछ । रूकुम हत्याकाण्डमा ‘दलित’ शब्द जोडिएपछि त्यस्तै भयो । वर्षौँदेखि रहेको दलित समुदायप्रतिको कुण्ठा, दमित चेतना आरक्षणको आडमा व्यक्त भए । जब कि आरक्षण दलितको लागि मात्र व्यवस्था गरिएको हैन । (खस-आर्य समुदायको पछिल्लो/बाउ पुस्ता ,जो आफ्नो/सन्तानको भाग खोसियो भनेर उग्र छन् । उनीहरूको लागि पनि यो संविधानले लगभग ५०% आरक्षण सुरक्षित राखिदिएको छ । नत्र हिसाब गरेर हेर्नुस् ! कुल १००% को ५५% खुला र ४५% समावेशीलाई हुन्छ । अनि समावेशीको ४५% लाई १००% मानेर ३३% महिलालाई ५% अपाङ्गलाई ४% पिछाडिएका क्षेत्रलाई छुट्टाएर लचिलो हिसाब गर्नुस् । के खस/आर्यको जनसङ्ख्या र आरक्षणको % ठीक छैन ? छैन लाग्छ भने तपाईँ ‘सयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली’ चाहनुहुन्न। स्पष्ट छ ! ) कुण्ठा व्यक्त गर्ने क्रममै शुरू भएको थियो- दलित शब्दमाथिको उठापटकी, आरक्षणको कुरा, दलितभित्रै रहेको आन्तरिक विभेदको कुरा । हत्या प्रकरणको दोषीलाई सजायको पक्षमा उभिन छाडेर उनीहरू दलित समुदायलाई पाठ सिकाउन खोजिरहेका थिए । यति गरिसक्दा पनि उनीहरू आफू जातिवादी हुँ भनेर स्वीकार्नचाहिँ तयार थिएनन् । बरू यसैगरि खेदो खनेर हो, ‘समाज सेवा’ गर्ने भन्ने ठान्दै थिए । उनीहरू यो किसिमको क्रान्ति गर्न यति अथकसँग परिश्रम गर्दै थिए । उता उनीहरू आफैँले सामाजिक सद्भावका नाममा लेखेको लेख/कविता/गजलको धोती फुक्लिसकेको थियो । कतिपयलाई लाग्छ, आरक्षण जात हैन वर्गको आधारमा गरिनुपर्छ । यो तर्क गर्नेको सोझो बुझाई हुन्छ, आरक्षण जातको आधारमा दिइयो भन्ने । माथि नै उल्लेख गरिसके आरक्षण जातको आधारमा मात्र हैन, तर पनि मान्छे ‘जातको आधारमा’ भन्ने गलत बुझाई फैलाउन अथक परिश्रम गरिरहेका छन् । यस्तै परिश्रमी एकजनाले ट्विट गर्यो – “जबसम्म दलितले कोटा पाउछ, तबसम्म म विभेद गर्छु ।” त्यहाँ पुगेको रि-ट्विटको सङ्ख्या हेर्दा लाग्थ्यो हामी अधिकांशको धारणा छ- दलितहरू समृद्ध जीवन बाँच्छन्, र पनि आरक्षण लिन्छन् । आफ्नै समाजको नाङ्गो दृश्य हेर्दा के हामी दलितले समृद्ध जीवन बाँचेको चित्र देख्न सक्छौँ ? सक्दैनौ ! फेरि यो किसिमको दुषित विचार किन ? हो, गरिब दलित समुदायमा मात्र छैनन् । सामाजिक रूपमा पछाडि परेकाह अन्य समुदायमा पनि छन् । तर दलित समुदायले जातकै आधारमा अमानवीय विभेद झेल्नु परेको इतिहास र वर्तमान बिर्सिन मिल्छ ? जात-व्यवस्थाको जाँतोमा पिसिएर दलित सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक पाटोमा पछाडि पारिएको यथार्थलाई नजरअन्दाज गर्न मिल्छ ? नेपाली समाजको अर्को यथार्थ चरित्र हो, दलित समुदायको जातसँगै प्रतिबिम्बित हुने वर्ग । नेपाली समाजका दलित जुन भू-भागका हुन् ती सामन्त वर्गचाहिँ थिएनन् । तिनीहरू श्रमिक नै हुन् । दलितभित्रको आन्तरिक विभेद “कामीले दमाईले छोएको खाँदैन दमाईले सार्कीले छोएको खाँदैन… ………………… अनि तिमीहरू भन्छौं हामीले विभेद गर्यौ ? पहिला आफैँभित्रको विभेद हटाऊ ।”, एकजना फेसबुके मित्रको स्टाटस थियो यो । हर किसिमको जातीय विभेद अपराध हो । ‘पहिला आफैँभित्रको विभेद हटाउ’ भन्ने मानसिकतामा ‘त्यतिञ्जेल म चै ढुक्कले विभेद गर्छु’ भन्ने स्वार्थ लुकेको हुन्छ । आन्तरिक विभेदको प्रसंग हिन्दु धर्मको वर्ण-व्यवस्थासँग जोडिएर आउछ । वर्ण-व्यवस्था हिन्दु धर्ममा ब्राह्मण/बाहुन , क्षेत्री , बैश्य , शुद्र भनेर निर्धारण गरिएको छ । बाहुनभित्र आन्तरिक जात-व्यवस्था छ जैसी र उपाध्याय भनेर । जैसी र उपाध्याय पनि पुर्बिया र कुमाईमा विभाजित छन् । यहाँभित्रको आन्तरिक विभेदलाई प्रा. बालकृष्ण पोखरेलको पुस्तक ‘खस जातिको इतिहास’मा भनिएको छ-‘श्री ५ सुरेन्द्रले(श्री ३ जङ्ग बहादुर राणा) मुलुकी ऐनमा जैसीलाई कम मर्यादित ब्राह्मणको तहमा राखेकाले नेपालमा जैसी ब्राह्मणलाई नपुज्ने चलन चलेको छ।’ उनी थप भन्छन-‘यो जातीय बिखण्डन सृजना गर्न गरिएको थियो ।’ जातीय बिखण्डन र आन्तरिक विभेद सृजना गर्न गरिएको भएता पनि एउटा कुरा स्पष्ट छ-बाहुनभित्रको विभेद दलितमाथि हुने अमानवीय विभेद जस्तो होईन । यता शुद्र जो दास , अछुत हुँदै दलित भनेर चिनिन्छन भित्र त्यस्तै जातीय पदसोपान (Racial hierarchy) छ । यसैले दलितभित्र पनि आन्तरिक विभेद छ । यो आन्तरिक विभेद दलित आफैँले सृजना गरेको नभई जङ्ग बहादुर राणाले बि.सं. १९१०मा ल्याएको मुलुकी ऐनको उपज थियो । मुलुकी ऐनमा पृथ्वीनारायण शाहले ल्याएको ‘असली हिन्दुराज्य’को अवधारणालाई जात व्यवस्थाको आधारमा थप मजबुत बनाउन ‘कुन जातिले के गर्ने ? के नगर्ने ? कसले छोएको कसले खान हुने? कसले खान नहुने ?’जस्ता साना साना कुरालाई समेटेको छ। यसले समाजमा हुँदै नभएको विभेद अचानक भित्र्याएको थिएन । तत्कालिन समयमा रहेको विभेदलाई कानुनद्धारा थप व्यवस्थित गरेको थियो । यसकै लामो समयको अभ्यासको परिणाम हो दलितभित्रको आन्तरिक विभेद । यसले एकातिर दलितमा पनि बेतुकको जातीय अहम सृजना गरेको छ भने अर्कोतिर उनीहरू आफैँमाथि भएको विभेदबिरूद्ध एकजुट हुन सकिरहेका छैनन । अबको पुस्ता मुलुकी ऐनको यो पोलिटिक्सबाट बाहिर निस्किन जरूरी छ । जातीय पदसोपान र त्यसको आधारमा हुने विभेद मधेसी र नेवारी समुदायमा पनि देख्न सकिन्छ । यि समुदायको जात-व्यवस्थामा के स्पष्ट छ भने जातीय पदसोपानको सबभन्दा तल पर्ने दलितमाथि अपराधीक विभेद हुन्छ । ‘तिमीहरू भित्रै विभेद छ । त्यो हटाउ पहिला’ भनेर अब कसैलाई पनि जातीय विभेदमा संलग्न हुने छुट छैन । कानुनत: छैन नै सामाजिकरूपमा पनि जातीय विभेद गर्नेलाई बहिष्कार गर्न ढिला भईसकेको छ । जातीय विभेदको सारसंक्षेप जातीय विभेदको ईतिहास खोज्ने हो भने वैदिक कालभन्दा अघिसम्म पुग्न सकिन्छ । प्रा. बालकृष्ण पोखरेलको ‘खस जातिको इतिहास’मा उल्लेख भएका वैदिक जातहरूको लिस्ट हेर्दा यस्तै निष्कर्ष निस्कन्छ । जब कानुन थिएन तब समाज संचालनको आधार धर्मग्रन्थ थिए । विभेदपूर्ण समाजको नक्शा कोर्न चै हिन्दुहरूको धार्मिक ग्रन्थ मनुस्मृतिको सबभन्दा बढि योगदान छ दक्षिण एशियामा । मनुस्मृतिमा त कसले कति वटा पत्नि राख्न पाउने भन्ने निर्धारण पनि वर्णको आधारमा छ । मनुस्मृतिको वर्ण-व्यवस्थाले जर्जर भएको समयमा आएको थियो गौतम बुद्धको वर्ण-व्यवस्थाबिहिन क्रान्तिकारी विचार । त्यसले धेरै शुद्र/दास/दलितलाई पुन:जीवन दिएको थियो । तर पनि यो विचारधारा धेरै फैलिन सकेन । वर्ण व्यवस्था हुँदै जात व्यवस्थासम्म आईपुग्दा यो व्यवस्था झनझन कठोर झनझन अपराधिक हुँदै आएको पाईन्छ । नेपालमा जयस्थिति मल्लले छुवाछुत भित्र्याए । त्यसलाई पृथ्वीनारायण शाहको समयमा ‘असली हिन्दुराज्य’भित्र समेटियो । यसलाई बि.सं. १९१० मा जङ्ग बहादुर राणाले मुलुकी ऐनमार्फत थप व्यवस्थित पारे । मानव सभ्यताको यो कलंकमाथि राज्य तह नै पहिलोपल्ट विपक्षमा देखिएको बि.सं. २०२० सालमा हो । तर यो पनि छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने भन्दा खासमाथि चै उठ्न सकेन । त्यसपछि छुवाछुत तथा जातीय विभेद रोक्न नेपालको अन्तरिम संविधान-२०६३ को योगदान महत्त्वपूर्ण छ । हालको संविधान अझ प्रगतिशील भएर ‘दलितको हक’ भनेर मौलिक हकमै व्यवस्था गर्न उभिएको छ । तर देशको मूल कानुन मानिने संविधानमै’कानुन बनाएर लागू गरिनेछ’ वाक्य राख्नुले चै राज्यको अनुदार अनुहारतर्फ संकेत गर्छ । समानुपातिक-समावेशी प्रणालीको अवलम्बन गरेर बहिष्करणमा पारिएको समुदायलाई मुलधारमा ल्याउन खोज्नु अवश्य सुन्दर हो। तर रूकुम हत्याकाण्डको दोषीलाई सजायको माग गर्न भेला भएका मानिसको आवाज बन्द गर्न दमनमा उत्रिएको सरकारको अनुहार र यो संविधान लागू भए सँगै निराश भएका ‘संरचनागत लाभमा’ लिप्त जत्थाको अनुहार ठ्याक्कै उस्तै देखिन्छ । तपाईँको कित्ता कुन हो महोदय ? सामाजिक संजालको एउटा जत्था रूकुम हत्या प्रकरणको दोषीलाई सजायको माग गर्न छाडेर पछिल्लो सामाजिक/राजनैतिक परिवर्तनप्रतिको कुण्ठा र दलित समुदायमाथि हमला गर्न उत्तेजित भइरहेको थियो , छ । यो देखेर सम्पदा रिजालले लेख्नुभयो- “तपाईँको कित्ता कुन हो स्पष्ट पार्नूस् !” म पनि सोध्न चाहन्छु- “तपाईँको कित्ता कुन हो महोदय ? अनुहारभरि कुण्ठाको धब्बा पालेर किन सामाजिक न्याय, सद्भावको कविता/गजल/गीत/लेख लेख्नुहुन्छ ?”, आफ्नो मुकुण्डो उतार्नूस् । सहानुभूति हैन सकारात्मक संवाहकपनको हो, जरूरी । त्यसरी हो प्रगतिशील हुने । त्यसरी हो आफू बाँचेको समयको कलंकको रूपमा रहेको जातीय छुवाछुतको विरूद्ध उभिने । #दलितलाई आरक्षण #ब्राह्मणवाद
सरकार र संसद्लाई शिल्पीको खबरदारी: कोभिड १९ र त्यसअघिका अनेक समस्याले जेलिएको देश र नागरिकको अवस्था झनझन बिग्रँदै जाँदा पनि शासकहरुको विलासितामा रत्तिभर परिवर्तन नआउनु ‘गणतान्त्रिक’ मुलुकका नागरिकको दुर्भाग्य भएको बताउँदै शिल्पी थिएटरले एउटा खबरदारी कार्यक्रम आयोजना गर्यो। चुनाब जितेर सत्तामा जानु भनेको जनताले पसिना र रगत बगाएर कमाएको पैसामाथि मोज गर्ने हैन, विधिको शासन सञ्चालन गर्न जनताले दिएको वैधानिकता हो भन्ने बुझाउन यस किसिमको खबरदारी आयोजना गरेको शिल्पीका संयोजक घिमिरे युवराजले जनाएका छन्। घिमिरेले खबरदारी कार्यक्रमका मुख्य चार बुँदा भएको बताएका छन् । चरम संकटको अवस्थामा प्रधानमन्त्री, मन्त्री तथा सांसदहरुले नैतिकताका आधारमा एक वर्षसम्म आफ्नो तलब र सुविधाको ५० प्रतिशत रकम राज्यकोषलाई फिर्ता गरुन्, रुकुमको चौरजहारीमा भएको दलित नरसंहारमा संलग्न सबैलाई दण्ड होस्, महामारीको बहानामा लापरबाहीपूर्वक गरिएको लकडाउनको कारण जीवन संकटमा परेका मजदुर तथा विपन्न वर्गको जीवन रक्षा गरियोस् तथा महामारी रोकथामका लागि सरकारले खर्च गरेको भनिएको १० अर्ब रुपैयाँ कहाँकहाँ खर्च भयो, हिसाब सार्वजनिक गरियोस् भन्ने आफ्नो माग रहेको उनले बताए । #शिल्पी थिएटर
लकडाउनकै बीच चार कृति: काठमाडौँ / नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव तथा कवि एवम् समालोचक प्राध्यापक जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’का एकैसाथ चार कृति प्रकाशित भएका छन् । स्रष्टा ‘प्रेक्षित’को ‘आरम्भ’ हाइकु सङ्ग्रह, ‘म, माटो र मुटु’ कविता सङ्ग्रहका साथै ‘काव्य परिशीलन’ र ‘आलोचनात्मक भूमिकाहरू’ नामक दुई पुस्तक समालोचना सङ्ग्रहसहित चार कृति प्रकाशित भएका हुन् । ‘आरम्भ’ नामक हाइकु सङ्ग्रहमा दुई सय ११ ओटा हाइकु समाविष्ट छन् । समसामयिक राजनीतिक एवम् सामाजिक विषय परिवेशमा आधारित हाइकु स्रष्टा ‘प्रेक्षित’ले २०४९ देखि २०७५ को अवधिमा रचना गरेका करिब एक हजार दुई सय हाइकुमध्येबाट उत्कृष्ट दुई सय ११ ओटा छनोट गरी सङ्ग्रहमा समावेश गरिएको छ । स्रष्टा ‘प्रेक्षित’को ‘म, माटो र मुटु’ कविता सङ्ग्रहमा राष्ट्रप्रेम, देशको साँधसिमाना, राजनीतिका साथै सामाजिक संरचना आदि विषयमा रचिएका ४० ओटा कविता समावेश गरिएका छन् । यसै गरी समालोचना कृति ‘काव्य परिशीलन’मा विभिन्न समयमा लेखिएका ‘छन्दसिद्धान्त र नेपाली छन्दकविता परम्परा’ लगायत अनुसन्धानपरक १२ ओटा समालोचनाहरू समावेश छन् । उक्त कृतिमा नेपाली कवितामा मध्यपश्चिम क्षेत्रको इतिहास र योगदानको विहङ्गम समालोचना गरिएको छ । दैलेखी न्याउला गीतमा सामाजिक चेत, दुल्लु क्षेत्रमा प्रचलित भैनीका साथै सबै प्रकारका कवितासँग सम्बन्धित अध्ययन ‘काव्यपरिशीलन’मा समेटिएका छन् । यसै गरी स्रष्टा ‘प्रेक्षित’को चौथो कृति ‘आलोचनात्मक भूमिकाहरू’ विभिन्न समयमा विभिन्न स्रष्टाका कृतिमाथि लेखिएका भूमिका एवम् समीक्षाहरूको सङ्ग्रह हो । भैरव रिसालको पुस्तकदेखि अन्य स्रष्टाका पुस्तकबारे ‘प्रेक्षित’ले विभिन्न समयमा लेखेका २१ ओटा भूमिका एवम् समीक्षाहरू यस कृतिमा समावेश गरिएका छन् । ‘प्रेक्षितका यी कृतिहरू गत वर्षको अन्त्यतिर प्रकाशित भएका भए पनि हालै सार्वजनिक गरिएको हो । गत चैत्र २८ गते विमोचन गर्ने कार्यक्रम रहेको भए तापनि कोरोना भाइरसका कारण लकडाउन भएपछि उक्त कृतिहरू विमोचन हुन सकेका थिएनन् । स्रष्टा ‘प्रेक्षित’का उक्त कृतिहरू नेपाली साहित्यमा रुचि राख्नेहरूका लागि उपयोगी साबित हुने देखिन्छ । सबै कृति मकालु प्रकाशन गृहद्वारा प्रकाशित भएका हुन् । #जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’
हिटलरको यातना शिविरको एउटा सन्देश: दोस्रो विश्वयुद्धको अन्त्यपछि हिटलरको यातना शिविरमा अमानवीय तरिकाले हत्या गरिएका सर्वसाधारणका सरसामग्री खोज्ने, हत्या नभएकालाई उद्धार गर्ने क्रममा शिक्षकहरूलाई सम्बोधन गरिएको एउटा पत्र फेला परेको थियो। सो पत्र सार्वजनिक भएपछि पढ्नेहरू गम्भीर बन्न पुगेका थिए। नेपाली भाषामा पहिलो पटक हामीले सो सन्देश यहाँ अनुवाद गरी पस्केका छौँ। यसको अनुवाद साहित्यकार तथा प्राध्यापक एलबी क्षेत्री ले गर्नु भएको होः क्याम्पमा जीवित केही व्यक्ति प्रिय शिक्षक, म यातना शिविरबाट बाँचेको एउटा मान्छे हुँ। यस शिविरमा मेरो आँखाले जे देख्यो, त्यो कसैले देख्न नपरोस्। मैले देखेँः विद्वान इन्जिनियरहरूद्वारा बनाइएका ग्यास च्याम्बरहरू, मैले देखेँः शिक्षित चिकित्सकहरूद्वारा बच्चाहरुलाई गराइएको विषपान, मैले देखेँः प्रशिक्षित नर्सहरूद्वारा गरिएको शिशु हत्या, मैले देखेँः हाईस्कुल र कलेज स्नातकहरूद्वारा महिला र बालबालिकाहरूलाई गोली हानी मारेको र जलाइएको मैले आफ्नै आँखाले यी अविश्वसनीय कृत्य देखेँ। यसर्थ, अहिले शिक्षाका नाममा जेजस्ता पढाइएको छ, त्यस्तो शिक्षाबारे म सशंकित छु कि वास्तवमा हामीले दिइरहेको शिक्षा साँच्चिकै उम्दा छ त? त्यसैले मेरो अनुरोध छ: आफ्ना सन्तानलाई डाक्टर, इन्जिनियर, नर्स होइन, मानव बन्न मद्दत गर्नुस्। तपाईंको प्रयासले कहिले पनि विद्वान राक्षस, कुशल मनोरोगी, शिक्षित निरक्षरको उत्पादन नहोस्। पढ्नु, लेख्नु, अंक गणित जान्नु त्यो बेला मात्र महत्त्वपूर्ण हुन्छ, जब त्यसले हाम्रा ससाना बालबालिकाहरूलाई बढी भन्दा बढी मानव बन्न मद्दत गर्छन्।
घिमिरे वंशावली सार्वजनिक: काठमाडौँ / घिमिरे वन्धुहरूको वंशावली ‘घिमिरे वंशावली’ सार्वजनिक भएको छ । उक्त वंशावली कवि तथा अन्वेषक रञ्जन घिमिरेले खोज–अनुसन्धान गरी तयार पारेका हुन् । यसअगि ‘मूर्च्छित स्वरहरु’ नामक कविताकृति बजारमा ल्याइसकेका घिमिरेको यो दोस्रो कृति हो । कोरोना भाइरसका कारण मुलुक लकडाउनमा भएका बखत पनि स्रष्टा घिमिरेले आफ्ना पुर्खा र पुर्ख्यौली थातथलोको निम्ति केही गरौँ भन्ने भावनाले धेरै अगिदेखि थालेको कामलाई पूर्णता दिएको बताए । घिमिरेका कीर्तिशेष पिता समाजसेवी होमनाथ घिमिरेको दोस्रो स्मृति दिवसका अवसर पारेर प्रकाशनमा ल्याएको उक्त वंशावली लकडाउनका कारण कार्यक्रम र जमघट गर्न सक्ने अवस्था नभएपछि पारिवारिक जमघटका बीच कृतिकी प्रकाशक तथा माता वेदकुमारी घिमिरेबाट सार्वजनिक गरिएको थियो । ‘यो वंशावली आफ्ना पितापुर्खा प्रतिको सम्मान हो, त्यही कर्म मैले गरेँ, त्यसमाथि पनि आफ्नै आमाबाट कृति सार्वजनिक हुनु मेरा लागि ठूलै सौभाग्य हो,’ घिमिरेले बताए । उक्त वंशावलीको अग्रभागमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरेको शुभकामना मन्तव्य रहेको छ भने पछिल्लो भागलाई सैद्धान्तिक खण्ड र वंशावली खण्ड गरी विभक्त गरिएको छ । सैद्धान्तिक खण्डमा वंशावलीको सम्बन्धमा चर्चा गरिएको छ । घिमिरेहरुको गोत्र, प्रवर कुलायन परम्पराका विषयमा उल्लेख गरिएको छ । यसैगरी मस्टो देवताका सम्बन्धमा खोजमूलक आलेखसमेत राखिएको छ । यसमा घिमिरेका थरका सम्बन्धमा गरिएको खोज समावेश गरिएको छ । यसैगरी गोरखाको मकैसिङमा घिमिरेहरु कसरी आए, मकैसिङमा आएका घिमिरेहरुले समाजमा के कस्ता योगदान पुर्याए, उनीहरूको कुलायन पूजा के कसरी हुने गरेको छ ? दगायत मकैसिङबाट छुट्टिएर आरुपोखरी गएका घिमिरेहरुको समेत खोजपूर्ण विश्लेषण गरिएको छ । वंशावली खण्डमा घिमिरेहरुको मूल पुर्खाहरुको वंशको विवरण दिइएको छ भने मकैसिङमा लमजुङबाट आएका घिमिरेहरुको पुस्तौली र पितापुर्खाको उल्लेख गरी त्यसपछिका घिमिरेहरुको पितापुर्खाको विवरण राखिएको छ । उक्त वंशावलीमा अन्वेषक घिमिरेले परम्परागत वंशावली लेखन र प्रकाशनको पद्धतिलाई मात्रै नअँगालिई मातृशक्तिको महत्तालाई बोध गरी उनीहरूलाई समेत सम्मान गर्दै छोरी–बुहारीलाई समेत वंशावलीमा समेटेका छन् । ‘वंशावली भन्नेबित्तिकै हाम्रो समाजले पुरुषको मात्रै आधिपत्य रहेको र उनीहरूकै अर्को पुरुष सन्तानको पुस्तान्तरण ठान्ने गरेको महसुस भइरहेको सन्दर्भमा केही वंशावली लेखन र प्रकाशन गर्ने संस्था तथा अनुसन्धानकर्ताले महिलालाई पनि पुरुषसरहकै स्थान दिन थालेको सन्दर्भमा मैले यस वंशावलीमा बुहारीहरूको पूर्व थर र छोरी विवाहित छोरीचेलीहरूको हकमा पनि यथासम्भव बिहेपछिको थर उल्लेख गरी समावेश गर्ने प्रयास गरेको छु,’ लेखक घिमिरेले बताए। #घिमिरे वंशावली #वंशावली
नवपुस्ताको प्रश्न: मान्छेले मान्छेलाई मान्छेकै रूपमा स्वीकार कहिले गर्छ होला ?: देशको भविष्य धेरैहदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । देश दुई महिनाभन्दा लामो समयदेखि लकडाउन (बन्दाबन्दी) छ । बन्दाबन्दीका कारण सबै आफ्नै घरमा थुनिएका छन् । कोरोना संक्रमणको अवस्था झन् झन् विकराल बन्दै गइरहेकै छ । तर यो विषम परिस्थितिमा पनि नेपाली साहित्य तथा कलाको क्षेत्र निदाइहालेको भने छैन । बरु कारोनाबाट कसरी बाहिर आउने र आफूलाई कसरी सुसंस्कृत र परिष्कृत बनाउने भन्ने कुराको साधनामा छ । यस्तो बेला नवपुस्तका उदीयमान साहित्यकार तथा कलाकारहरू के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । आज हामी यस स्तम्भमा साहित्य तथा कलामा संलग्न नवपुस्तालाई सुन्ने छौँ: सेबिता अधिकारी (अनुजा): सेबिताअधिकारी (अनुजा) “मान्छेले मान्छेलाई मान्छेको रूपमा स्वीकार कहिले गर्छ होला ?” काठमाडौँमै छु । लकडाउन हुनुभन्दा अगाडि सुटिङका लागि कास्की पुगेकी थिएँ । लकडाउन हुने भएपछि सुटिङ क्यान्सिल भयो र फर्कियौँ । अहिले घरमै परिवारका सबै सदस्यसँग बसिरहेकी छु । बुबाआमा हाँसेको देखेर पनि मन हल्का हुन्छ । बुबासँग संस्कृतका श्लोक सिक्छु । कण्ठ गर्छु । खानेकुरा पकाउने खाने, बुबाआमासँग ठट्टा गर्ने, किताब पढ्ने, कफी खाने, यसरी नै बित्दै छ मेरो लकडाउन । समाचारहरुले मलाई गाह्रो बनाउँछ । रुकुमको काहालीलाग्दो नरसंहार, मोरङको घटना, अमेरिकामा घटेको र भड्किएको रंगभेदसम्बन्धी घटना, यी कुराहरु बारम्बार आउँछन् मनमा । त्यसमाथि, “आत्महत्या गर्नेहरुको संख्या बढ्दै”, भन्ने समाचारहरु, अनि सीमामा अलपत्र परेका नागरिक ! यी कुराहरु, “ह्या बिर्सिदिऊँ”, भन्न पनि सक्दिनँ । मतलब नै नगरी, नदेखेजस्तो-नसुनेजस्तो गरी बस्न पनि सक्दिनँ । आफू केही गर्न सक्दिनँ, अनि सरकार र व्यवस्थासँग रिसाउँछु । रुकुमको घटनाले मलाई अत्यन्तै अस्थिर बनाएको छ । “मान्छेले मान्छेलाई मान्छे भनेर कहिले स्वीकार छ होला ?” बारम्बार मनमा यही प्रश्न आइरहन्छ । यो समय सरकार र व्यवस्था प्रतिको मेरो आक्रोश बढेको छ । लामो समयदेखि देश लकडाउनमा छ, हामीले पालना गरिरहेका छौँ । क्वारेन्टिन भनेर सीमामा एकै कोठामा १५ जनासम्म राखिएको छ । रोगको पहिचान नै बिना मान्छे मारिरहेका छन् । शासक गतिलो भएन भने नागरिकले सधैंभरि भोग्नु पर्ने रहेछ । थोरै अध्ययनको कुरा पनि गरिहालौँ, पछिल्लोपटक आहुतिको नेपालमा वर्ण व्यवस्था र वर्ग सङ्घर्ष पढेँ । म, कुनै जात धर्मको मान्छे हुँ है भन्ने कुरालाई साइडमा राखेर म मान्छे हुँ भन्ने सोचेर सुर गर्नेुपर्ने रैछ भन्छु । र, अझै पनि हुर्किन बाँकी छ । समाजमा हरेकले मान्छे भएर बाँच्न पाऊन् । मेरो साथीले भन्थिन्, “ठूलो मान्छे हुन ठूलै मन चाहिन्छ,” मन फराकिलो बनाऊँ प्रेम बाडौँ । यो समयमा मैले श्याम शाहको अब्बा पढेँ । सशस्त्र द्वन्द्वको तराई र वर्ग सङ्घर्ष छर्लंग पाएँ । सरस्वती प्रतीक्षाको नथिया दोहोर्याएँ, वादीप्रथा र वादी महिलाको कथा । उनीहरुले वर्षाैदेखि यौन पेशा गर्नुपर्ने बाध्यता । शासक वर्गको वस्तुको रुपमा प्रयोग भएका वादीको कथा । भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे, यो कविता सङ्ग्रह मलाई सधैँ मन पर्ने किताब हो । खगेन्द्र लामिछानेको पानी फोटो, त्यसमा नाटक छन् । पानीफोटोमा बेपत्ता नागरिकको कथा छ । कतिपय बेपत्ता नागरिकका परिवार अझै पनि फर्केर आउलान् भन्ने आशा छ। मन्टोको, मन्टो कि सर्वश्रेष्ठ काहानियाँ, भन्ने किताब पनि पढेँ । मन्टोको किताब जब तनाव सुरु हुन्छ तब पढ्न थाल्छु । पढेपछि झन् तनाव हुन्छ, फेरि बन्द गर्छु । अहिले दुलारी पढ्न शुरु गरेकी छु । अब अहिले थिएटर खुल्ने आशा नै छैन । लकडाउन खुले पनि थिएटर खुल्दैनन् किनभने नाटक हेर्न त दर्शक आउनपर्याे, सबै जनालाई डर छ । तर पनि जुमबाट प्राक्टिसलाई निरन्तरता दिइरहेका छौँ । हरेक बुधबार प्ले ब्याक “चौतारी नाटक” गर्न थालेका छौँ । भर्चुअल माध्यमबाटै भए पनि रंगमञ्चलाई सास फेर्ने माहोल भने बनाइरहेका छौ । यो लकडाउनको मेरो समय यसैगरी बितिरहेको छ । म सबैभन्दा धेरै थिएटरलाई सम्झिरहेको छु । उसले मलाई कति सम्झिन्छ होला । फेरि त्यो समय फर्किने छ, हामी उसैगरी रमाउने छौँ । कृष्ण कञ्चन: कृष्ण कञ्चन “कताकता मनमा नरमाइलो लाग्छ; विवेकशील मान्छे, विवेकहीन भएको देखेर” लकडाउनका कारण घर जान नसकेपछि काठमाडौँको साँघुरो कोठामा बस्नुसिवाय अर्को कुनै विकल्प रहेन मसँग । मेरो साँघुरो कोठाको खासियत, संसारका हरेक कुनामा घटेका घट्ना मेरो साँघुरो कोठाबाट पनि सजिलै सुन्न र हेर्न सकिन्छ । साथीहरूसँग कुराकानी गर्न, हालखबर बुझ्न गाह्रो छैन । साँघुरो कोठालाई सामाजिक सञ्जालले फराकिलो बनाएको छ । विगतमा मैले के के काम गरेको रहेछु ? मेरा रूचिहरू के के रहेछन् ? भन्ने कुराको समीक्षासँगै आँफूले आफैँलाई चिन्ने र बुझ्ने फुर्सद पनि लकडाउनको अवधि दिएको जस्तो लागेको छ । पहिले लाग्थ्यो, फुर्सद भए धेरै कुरा लेख्न सकिन्छ । त्यस्तो नहुँदो रहेछ । लेख्छुभन्दा पनि लेख्न नसकिने रहेछ । यो अवधिमा दुई चार कविताबाहेक केही लेख्न सकेको छैन । साहित्य सर्कलका साथीहरू धेरै भएकाले सामाजिक सञ्जालमा वहाँहरूका सिर्जनाहरू पढ्ने गरेको छु, लेख्नेभन्दा पनि। आजभोलि काठमाडौँको वातावरण शान्त छ । कहिले घाम लाग्छ, कहिले पानी पर्छ । चराहरू निस्फ्रिक्री उडिरहेका छन् । म सोच्ने गर्छु, मान्छेको अनुपस्थितले वातावरण शान्त हुँदोरहेछ, सफा हुँदोरहेछ । लकडाउन कहिलेसम्म लम्बिन्छ ? भन्न सकिने अवस्था छैन । दिनहुँ संक्रमितको संख्या बढिरहेकै छ । यही समयमा सिमानाको विवाद, जातीयताको कुरा, हत्या, हिंसा र बलात्कारसँगै चोरीका घटनाहरू पनि घटिरहेका छन् । कताकता मनमा नरमाइलो लाग्छ; विवेकशील मान्छे, विवेकहीन भएको देखेर । तर यो परिस्थिति अवश्य नै सामान्य हुनेछ र लकडाउन खुल्ने छ एकदिन । अफसोच, हामी सुरक्षित हुन् नसकेनौँ भने, सुरक्षित रहेनौं भने जीवनको गति सदाको लागि बन्द हुनेछ । जीवन नै नरहे लकडाउन खुलेको के अर्थ ? त्यसैले सुरक्षित रहौँ । घरमै बसौँ । सिर्जनात्मक कार्य गरौँ । प्रदीप लिम्बु योङ्हाङ: “आफ्नै समुदायका पुस्तक पढिरहेको छु” हामी स-परिवार मोरङको सिजुवा (हाल रतुवामाई न.पा.) मा बस्छौँ तर म पढाइको सिलसिलामा केही वर्षयता धरानतिर छु । शनिबारको मौका छोपेर महिनामा एकदुईचोटि घर पुगिरहन्थेँ तर यसपटक लकडाउनले धरानतिरै अड्किएको छु । करिबकरिब ७० दिनदेखि कोठाभित्रै कैदी जतिकै भएर बसिरहेको छु । यो समयमा घरको एकदम याद आइरहेको छ । उसो त यहाँ पनि म एक्लो छैन । तुम्बा (ठूलो बुबा) कोमा बस्ने भएकोले तुम्मा हुनुहुन्छ, भाइबहिनी छन् र यहाँ पनि एउटा परिवार छ । कोरोनाले निम्त्याएको यो अप्ठ्यारो परिस्थितिमा कोठाभित्रै बसिरहँदा एक हिसाबले समय कटाउन गाह्रो परिरहेको छ भने अर्कोतर्फ आफूलाई चिन्ने एउटा मौका मिलिरहेको महसुस गरेको छु । दैनिकी परिवर्तन भएको छ, साथीहरूको सम्झनाले सताइरहेको छ, परदेशीहरूको चिन्ताले पिरोलिरहेको छ । यो भयावह अवस्थामा आफूलाई मनपर्ने र कोठाभित्रै रहेर गर्न सकिने कार्यहरू गरेर बढी समय बिताइरहेको छु । पाठ्यक्रमभन्दा बाहिरका केही पुस्तकहरू पढिरहेको छु । घरमा एकदुई वटा आफ्नै समुदायका ऐतिहासिक पुस्तक रहेछन्, त्यो पढिरहेको छु । त्यसबाहेक कवितालाई प्रविधिसँग जोड्नुपर्छ भन्ने महसुस गरेर केही आफ्ना र केही अग्रज कविहरूको कवितालाई आफैँ वाचन गरेर लिरिकल भिडियो बनाएर युट्युबमा हालिरहेको छु । भर्चुअल साहित्यिक कार्यक्रमहरू हेरिरहेको छु । कोठामा कागजका दुई चारवटा सामग्री बनाएर सजाउने मौका र जाँगर यो समयमा चल्यो । केही राम्रा चलचित्रहरू पनि हेरेँ । मेरो लागि चुपचाप बस्नु जतिको ठूलो सजाय सायद केही होइन भन्ने यो समयले महसुस गराइरहेको छ। दैनिकजसो अनलाइन पोर्टलमा आएका आर्टिकल र कविताहरू पढिरहेको छु तर आफू भने केही खास लेख्न सकिरहेको छैन। यो समयमा मस्तिष्कमा एक प्रकारको तनाव छ । हत्या र आत्महत्याका घटनाहरू बढिरहेका छन्। जसले मस्तिष्कमा नकरात्मक असर पुर्याउँछ कि भन्ने डरले आजकाल नियमित समाचार सुन्न छाडेको छु भने, “के मान्छेलाई जीवनप्रतिको मोह घट्दै गएको हो त ?” भन्ने प्रश्नमा बेलाबेला घोत्लिने गर्छु । अपराधिक क्रियाकलाप बढिरहेको खबरले, मान्छेलाई मृत्यु साँच्चै समान्य लाग्न थालेकै हो त ? भन्ने प्रश्नले दिमागमा झटारो हानिरहेको छ, तर पनि सिर्जनात्मक तरिकाले समय बिताउने प्रयास गरिरहेको छु । खैर, जेहोस् यो विपत्तिको समय भए पनि नयाँ अनुभव बटुल्ने र आफूलाई नजिकबाट चिन्ने अवसरको रूपमा लिई चाँडै यो भयावह अवस्था समाप्त होस् भन्ने कामना गरिरहेको छु । #नवपुस्ता
बाबू के थरी?: मिम बहादुर परियार म अक्सर जात बिर्सन्छु, मलाई वास्ता हुँदैन, आफ्नै काममा व्यस्त हुन्छु, सबैलाई उस्तै देख्छु । दुई हात, दुई खुट्टा सबैका उस्तै, रगत राताे त्यस्तै, खाने मुख दुरुस्तै, रुपरङ, चालचलन परम्परा उस्ताउस्तै देख्छु । बाबू के थरी साेध्छन् काकाले, म झसङ्ग हुन्छु , एे बाबू त अर्कै थरी, अलि पर है, चल्दैन हाम्रो वरिपरि । मन खिन्न हुन्छ, तिम्रो खुसीमा टाम्काे ठटाएकै थिएँ, तिम्रो शाेकमा मैँ अगाडि थिएँ, तिम्रो शंख र मेरो सहनाई सँगै बजेकै थिए, फेरि किन तिमी एक थरी र म अर्कै थरी? मन्दिरकाे तिम्रो भगवान् बनाउने मै हुँ, भान्साकाे अदान, शरीर ढाक्ने, लाज छाेप्ने, तिम्रो कात्रो बनाउने मै हुँ, यी सब चले, बस् म चलिनँ, अझै तिमी एक थरी म अर्कै थरी कसरी? बेलाबेलामा मेरो रगत चल्यो, साथ, सीप र सास चल्यो चेलीकाे जाेवन चल्यो, मेरा घरभित्रकाे मीठाे, मसिनो चल्यो तर तिम्रो घरमा पानी चलेन खै कस्तो थरी, बाहिर चल्ने भित्र नचल्ने कस्तो मनपरि? मेरो थुक तिम्रो सिरकाे टाेपीमा टाँसिएको छ, मैले सिलाएकाे जुत्ता तिम्रो पाउमा सजिएको छ, तिम्रो खाने थालीमा मेरो पसिना चुहिएको छ, अब के गर्छौ, पखाल्छौ कति? पाइला-पाइलामा, समाजको कुना-कुनामा म चलेको छु, अझै भन्छौ, म अर्कै थरी? तिम्रो पाप, अपराध तिमीले भने जस्तै थरिथरिकाे छ, मैले भाेगेकाे, सहेकाे हिंसा पनि थरिथरिकाे छ, कति ठाउँमा मरारिएकाे छु, कुटिएकाे छु, थरिथरिबाट, अझै भन्छाै हामी एक थरी, तिमी अर्कै थरी। हाे म अर्कै थरी, मानव थरी, सबैलाई सम्मान गर्ने थरी सुखदुःखमा साथ दिने थरी, तिमी पर्यौ अर्कै विचित्रको थरी, आफ्नालाई बिरानाे ठान्ने थरी मनपरि गर्ने थरी, अझै मान्छौ म अर्कै थरी? तिम्रो चेतना कुन थरिकाे हाे, विचार कस्तो थरिकाे हाे, मान्छेलाई नचिन्ने के थरि, अझै घमण्ड गर्छौ म सर्वोच्च थरी? याे कस्तो थरी हाे मान्छे नचिन्ने अहम् गर्ने सधैंभरि ! #दलित #मिम बहादुर परियार
ओ अमेरिका, दे आर ब्रिदिङ: सेतो घुँडाले, कालो घिच्रोमा रोमाञ्चक अन्त्यको मसाज कस्तो लाग्यो त ? कालो रङले, सेता घाममा दिउँसै कालो छरिदिँदा कस्तो लाग्यो त ? रातो मटु कसक्क कस्सिएर कालो नाकबाट फोक्सोले फालेको सेतो हावा फाल्न सकिनँ भन्दा कस्तो लाग्यो त ? इतिहासमै थोरै, त्यो पनि निकैपछि बाँधिएका हात–खट्टा च्यापिएका काँध, थिचिएका टाउका ‘ब्लाइण्ड फोल्ड’ फालेर उछिट्टिएका आँखाहरुका निख्खर सेता चमक कस्तो लाग्यो त ? पिपरस्प्रे, टियर ग्याँस रबर गोली, मनलागी धरपकड खट्टाले सडक नाप्नै नपाउने आदेश सेता घरमा बसेर धम्काउँदा पनि कालै बंकरमा लुक्नु पर्दा कस्तो लाग्यो त ? ककेसियन प्रजाति भएकैले सस्तै पाएका सेता बाहिरी रङ बोकेर संसार आफ्नै खट्टामुनि कुल्चिएर राख्ने तिम्रा थिचोमिचोहरु चम्किला, सेता आवाज भरेर तिम्रा घिच्रोमा पोखिँदै छाती ढाक्दा तिमीले ‘आई कान्ट ब्रिद’ भन्ने पूर्ण वाक्य मिनियापोलिसको काले ‘जर्ज फ्लोइड’ लाई सनाउँदा कस्तो लाग्यो त ? सास फेर्न निषेधाज्ञा गरेका सहरमा फोक्सोहरु सडकमा निस्केर सेतो जलप लाएको सहरमा ठूलो ठूलो आवाजमा दे आर ब्रिदिङ, कस्तो लाग्यो त ? (अमेरिकामा प्रहरीद्वारा काला नागरिकको हत्यापछि सडकमा उत्रिएको विरोधपछि प्रवासबाट एउटा कविता ।) कवि प्रवासी नेपाली हुन् #अमेरिका #विभेद #सुशीला अधिकारी
प्रकाशका हाइकु: हाइकुहरू प्रकाश खडका १.सम्झने मन खाटो बसेको घाउ दुख्छ रातमा । २.धड्कने मुटु जलनको ओखति आशुको थोपा । ३.धर्म संस्कृति बिधुवा आइमाई सेतो कपडा । ४.चिसो सिरेठो पात झर्ने मौसम नया पालुवा । ५.बाबाको मृत्यु टुहुरा छोराछोरी आमा पोइल । ६.पौडन जाने संघर्सको मैदान जित्छ उसैले । ७.पेटको लागि न्युन पारिश्रमिक बाल शोषण । भक्तपुर / हालः बोस्टन, अमेरिका #अमेरिका #प्रकाश खड्का #बोस्टन #भक्तपुर
बुकाहोलिक्सको पचासौँ साक्षात्कार पूरा: नेपालमा पठन संस्कृतिको विकासका लागि गठित फेसबुकको समूह बुकाहोलिक्सले शुरू गरेको लकडाउनमा स्रष्टासँग साक्षात्कार कार्यक्रमको पचासौँ साक्षात्कार पूरा गरेको छ। बन्दाबन्दीका अवस्थामा थुनिएर तनावयुक्त जीवनलाई सिर्जनशील बनाउने, आफ्नो रूचिका विषयलाई समय दिने अवसरका रूपमा पनि प्रयोग गर्न सकिने एउटा उत्तम उदाहरणका रूपमा बुकाहोलिक्सको स्रष्टासँग साक्षात्कार कार्यक्रम बन्न पुगेको छ। यस अवसरमा बुकाहोलिक्सकी संयोजक सगुना शाहले यस समूहको स्थापनाकालदेखिको संघर्षलाई स्मरण गरेकी छन्। उनले भनेकी छन्, ‘ठूलो सपना देख्ने मान्छे म होइन र साना साना कामबाट खुसी बटुल्ने व्यक्ति भएकीले हामीले गरेको पठन संस्कृति निर्माणका लागि सानो पहलले आजका दिनसम्म आइपुग्दा महत्त्वपूर्ण भूमिका खेल्न सकेकामा सन्तोष लागेको छ।’ उनले चकटी बहस शुरू गर्दाका दुःख र यसले लिएको उचाईसँगै पछिल्लो समय स्रष्टासँग साक्षात्कारका लागि शुरूवाती दिनमा लेखक मोहन मैनाली, कवि मनु मञ्जिललाई उनीहरूले दिएको हौसलाका लागि स्मरण गरेकी छन्। यस्तै सरिता भट्टराई, अमृता लम्साल, हरिमाया भेटवाललाई पनि सहयोगका लागि धन्यवाद दिएकी छन्। यसैगरी देशविदेशबाट पाएका प्रतिक्रिया र सद्भावप्रति पनि उनले कृतज्ञता व्यक्त गरेकी छन्। गएको अप्रिल १७ मा लेखक मोहन मैनालीबाट सुरु भएको स्रस्टासँग साक्षात्कार जुन ५ मा आइपुग्दा ५० जना स्रस्टाहरुको साक्षात्कार पूरा भएको छ । साक्षात्कारमा लेखकहरुले आफ्नो सृजनाको अंश वाचन गर्ने तथा लेखनका सिलसिलामा आफूले प्राप्त गरेको अनुभवहरु सुनाउने गर्छन् । अहिलेसम्म साक्षात्कारमा सहभागी लेखकहरू यस प्रकार छन्ः मोहन मैनाली मनु मन्जिल रमेश सायन अमृता लम्साल बिपुल सिजापती अनुपम पोख्रेल सरिता भट्टराई केशव सिग्देल निस्प्रभ सजी हरिमाया भेटवाल कृष्ण धरावासी खिमा रिजाल भीष्म उप्रेती चन्द्र कटुवाल युवराज नयाँघरे राजा पुनियानी ईश्वर कँडेल एलबी क्षेत्री जीवा लामिछाने सरस्वती प्रतिक्षा नवीन विभास नीलम कार्की भूपिन खड्का अमोददेव भट्ट आश्विनी कोइराला नयनराज पान्डे छुदेन काबिमो बिमला तुम्खेवा प्रज्ज्वल पराजुली विप्लव प्रतीक वसन्त पराजुली उषा शेरचन अविनाश श्रेष्ठ रवीन्द्र समीर मोमिला जोशी अनन्त अनुराग रमेश क्षितिज बालिका थपलिया महेश पौडेल दुर्गा कार्की मनोज बोगटी नवीन क्षेत्री स्वप्निल स्मृति नवराज पराजुली सरिता तिवारी तीर्थ श्रेष्ठ भूमिका श्रेष्ठ राधा पौडेल सौरभ कार्की समा श्री साहित्यपोस्ट डट कम बुकाहोलिक्सलाई यो यात्राका लागि बधाई ज्ञापन गर्दछ । साथै, आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दछ । #बुकाहोलिक्स #सगुना शाह
मनको थोपा: भूपीन मन कहिलेकाहीँ पानीको थोपाजस्तै थर्थर काँप्छ । माटोमा अर्थहिन बिलाईजाने चिन्ताले जसरी थोपा खडेरीसँग काँप्छ पहाड चढ्दा लडिने लघुताभाषले जसरी थोपा उकालोसँग काँप्छ र कतै नअडिने आफ्नै चञ्चलताको कारण जसरी थोपा कर्कलाको पातसँग काँप्छ । मन यसरी कहिलेकाहीँ पानीको थोपाजस्तै थर्थर काँप्छ । र अन्तमा कहीँ खसेपछि मनमनै चित्त बुझाउँछ- ‘थोपा समयको पातबाट चिप्लिएर कतै खसेन भने कसरी बगेर समुद्रसम्म पुग्छ ?’ #भूपिन
समीपको गीत: कसैको आँगनमा हजारौँ मलामी कसैलाई मिल्छ तोपकै सलामी मान्छेको मरण पनि कस्तो कस्तो कसैको महंगो, कसैको छ सस्तो कसैको छ सस्तो कति धन कमायो, कति मन कमायो ( मरे पछि त मूढो सरी भो ) २ कति दान गर्याे, कति मान गर्याे मान्छेको हिसाब थरि थरिको कसैलाई सयौँ छन्, काँध लाउने कसैलाई कोही हुन्न उठाउने कसैको आँगनमा हजारौँ मलामी कसैलाई मिल्छ तोपकै सलामी कसैको नामले पाटी पौवा बन्छ ( कसैको त यहाँ नामै मेटिन्छ ) २ पुकार्छन कसैलाई हजारौँ हजारले जो ढल्यो एकलै ऊ कहाँ भेटिन्छ फूलैको हारमा, चन्दनको चिता कसैको छ मरण यहाँ रमिता कसैको आँगनमा हजारौँ मलामी कसैलाई मिल्छ तोपकै सलामी यो हावा यो पानी, घामले भनेन मान्छेलाई फरक फरक गनेन पुगेर मिति रुकेको को छ आयो त काल कसैलाई छोडेन कोही गए स्वर्ग कोही अन्तै गए सबै माटो मै मिली माटो नै भए कसैको आँगनमा हजारौँ मलामी कसैलाई मिल्छ तोपकै सलामी ।। #सन्तोष समीप
परीक्षा घडी: आँधी छ उठिरहेको तुफान नाचिरहेको छ कंपित छ जीवन डुङ्गा जलनिधी गर्जिरहेको छ अहो ! यो विषम घडी यही हो परीक्षा घडी । कति साम्राज्य उठे, ढले इतिहास साक्षी छ हुर्कँदै गरेको भविष्य हामी उठ्नै बाँकी छ ढृढ बन नीज यात्रामा नजाऊ है लडि यहि हो परिक्षा घडी । उत्साह र जाँगर भर यी दुई करमा उत्सुकता र उल्लास भर रहस्यमयी उरमा खोजको यो टुसा कोमल नजाओस् है सडी यही यो परीक्षा घडी । मोती नै यहाँ हात लाग्ला केही छैन निश्चित जान सक्छ व्यर्थ परिश्रम के पो छ नियत द्वार द्वार चहार्नु पर्छ बरू खिइओस् है हड्डी यहि हो परीक्षा घडी । केही दिन्छ सौगातमा केही लिन्छ जिन्दगी लिने दिने क्रम चलिरहन्छ अनाशक्त सौभागी जिन्दगी कुनै सौदा होइन न घटी न बडी यहि हो परीक्षा घडी । न गुमाई सबथोक यहाँ, कसले पायो र जिन्दगी दाउ यहाँ प्राणै लाग्छ श्वास लाग्छ बन्दगी कि त्यसै तिमी मर्छौ सडी ? यही हो परीक्षा घडी । #परीक्षा घडी #सुबास बजगाइँ
शब्दमा हुने गल्ती: इकाई ठीक कि एकाइ ?: नेपालमा सङ्घीय व्यवस्थाको कार्यान्वयन गर्दै जाने सन्दर्भमा धेरैजसो जिल्ला कार्यालयहरूको नाम फेरिएको छ । त्यसै सिलसिलामा साबिकका जिल्ला शिक्षा कार्यालयहरू‘शिक्षा विकास तथा समन्वय इकाइ’ मा परिणत भएका छन् । यसरी परिवर्तित कार्यालयहरूको अन्तमा उल्लेख गरिएको ‘इकाइ’ शब्दको प्रयोगमा पनि एकरूपता पाइँदैन । धेरैजसो कार्यालयहरूले ‘इकाइ’ लेखेका छन् भनेकेही कार्यालयले ‘इकाई’ लेखेको पनि भेटिन्छ । लेटर प्याडमा ‘इकाइ’ लेख्ने कार्यालयले पनि हस्ताक्षर गर्ने कार्यालय प्रमुखको स्टाम्पमा ‘इकाई प्रमुख’ उल्लेख गरिएको देखिन्छ भने इकाइ प्रमुखको परिचय राखिएका बेभ साइटहरूमा पनि धेरैजसो कार्यालयले ‘इकाई प्रमुख’ लेख्न रुचाएका छन् । जिल्लाभित्र सञ्चालित विश्वविद्यालयसँग सम्बद्धबाहेकका सबैजसो शैक्षिक संस्थाहरूलाई नियमन र समन्वय गर्ने कार्यालयकै साइनबोर्ड, लेटरप्याड, स्टाम्प र प्रमुखको परिचयात्मक विवरण (प्रोफाइल) मा एउटै लेखिनुपर्ने ‘इकाइ; र ‘इकाई’ शब्दका बीचमा नियमन र समन्वय हुन नसकेको देख्ता नेपाली भाषामा चासो राख्ने सेवाग्राहीहरू अन्योलमा पर्नु अस्वाभाविक होइन । शैक्षिक नेतृत्व सम्हाल्ने जिल्लाकै कार्यालयबाट समान अर्थ दिने एउटै शब्दलाई यसरी दोहोरो तरिकाले प्रयोग गर्दै जाँदा त्यसको असर जिल्लास्थित सम्पूर्ण विद्यालय र तिनमा पठनपाठन गर्ने शिक्षक वर्गमा एवम् विद्यार्थी वर्गमा समेत अन्योल हुँदै जान्छ भन्ने कुरामा हालसम्म नेपालका कुनै पनि जिल्ला शिक्षा तथा समन्वय एकाइको ध्यान जान सकेको देखिँदैन । ‘इकाइ’ वा ‘इकाई’ शब्दले नेपाल प्रज्ञा प्रतिष्ठानको ‘नेपाली बृहत् शब्दकोश’मा हालसम्म प्रविष्टि पाएको देखिँदैन र अन्य नेपाली शब्दकोशहरू पनि यसबारे मौन नै रहेका छन् । नेपाली शब्दकोशहरूलेस्थान नदिए पनि नेपालका विभिन्न संघसंस्था र लेखनमा समेत ‘इकाई’ शब्दको प्रयोग असावधानीपूर्वक हुँदै आएको धेरै वर्ष भइसक्यो । नेपालका विभिन्न विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा गठित प्राध्यापक संघले अभैm पनि ‘इकाई समिति’ लेख्न रुचाउँदै आएका छन् भने त्यसकै सिको गरेर कर्मचारी र विद्यार्थीका संघसङ्गठनले समेत ‘इकाई समिति’ लेख्न छाडेका छैनन् । ‘हिन्दी शब्दसागर’ (शब्दकोश)का अनुसार हिन्दीमा ‘इक’ शब्दले एक भन्ने बुझाउँछ र ‘इकाई’ शब्दले एकको मान वा भावलाई बताउँछ । विशेषतः भारतीय शिक्षण संस्थाहरूमा अध्ययन गरेर नेपालका शैक्षिक तथा प्रशासनिक निकायमा काम गर्ने उच्च पदस्थ व्यक्तिहरूले ‘एकाइ’ शब्दलाई भन्दा ‘इकाई’ शब्दलाई बढ्ता सुने र प्रयोग भएको पनि देखे होलान् । फलस्वरूप ‘एकाइ’ शब्दको सट्टा ‘इकाई’ शब्दको प्रयोगले बढ्ता प्रश्रय पाउँदै गएको हुनुपर्छ । जुन शब्द धेरै सुनियो र प्रयोग भएको देखियो त्यही शब्दलाई शुद्ध ठानेर प्रयोग गर्न अग्रसर हुनु अस्वाभाविक पनि होइन तर ‘इकाई’ शब्दको सट्टाआप्mनै नेपाली भाषामा मौलिक ‘एकाइ’ शब्द छ भनेर ध्यानाकर्षण गराइदिने व्यक्ति पनि नदेखिएकाले नेपालीमा ‘एकाइ’को सट्टा ‘इकाई’ शब्दको प्रयोग हुन गएको हो । ‘नेपाली बृहत् शब्दकोश’ (२०४०, पृ. १६८) ले पहिलो संस्करणदेखि हालसम्म ‘एकाइ’ शब्दलाई प्रविष्टि दिँदै आएको छ । उक्त शब्दकोशले ‘एकाइ’ शब्दका मुख्यतः दुई अर्थ दिएको छ: “१. सङ्ख्या वा गन्तीमा एक हुनाको भाव वा अवस्था र २. कुनै राशिलाई साना–साना अंशमा बाँड्दा बनेको वा समूहभित्र रहेको एउटा सानो तर पूर्ण खण्ड ।” नेपालका शिक्षा विकासतथा समन्वय एकाइ कार्यालयहरू र संघसङ्गठनका एकाइलाई अथ्र्याउन दोस्रो अर्थ सान्दर्भिक देखिन्छ । हिन्दीमा भाववाचक ‘आई’ प्रत्यय दीर्घ हुन्छ तर नेपालीमा भाववाचक ‘आइ’ प्रत्यय ह्रस्व हुन्छ । त्यसैले ‘इकाई’लाई ‘इकाइ’ लेख्न खोजिए पनि ‘इकाई’ वा ‘इकाइ’का तुलनामा ‘एकाइ’ शब्द नै मौलिक रहेको हुँदा ‘इकाई’ वा ‘इकाइ’ शब्दको सट्टा ‘एकाइ’ शब्दको प्रयोग गर्नु उपयुक्त देखिन्छ । त्यसैगरी ‘बधाई शब्द पनि हिन्दीकै प्रभावमा अन्तमा दीर्घ लेखिएकाले नेपालीमा ह्रस्व ‘आइ’ प्रत्ययको अस्तित्वलाई स्वीकार गरी ‘बधाइ’ शब्द पनि ह्रस्व प्रयोग गर्नु युक्तिसङ्गत देखिन्छ । (सहप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय) #कसरी लेख्ने #डा. मतिप्रसाद ढकाल
अनलाइन साहित्यिक सम्मेलनकाे तेस्राे भाग सम्पन्न: एनआरएनए एनसिसी अमेरिकाद्वारा गठित नेपाली साहित्य संरक्षण र सम्बर्धन समितिको तेस्राे अनलाइन साहित्यिक सम्मेलन मे ३१ तारिक आइतबार सम्पन्न भयाे । कार्यक्रममा प्रा. पीताम्बर दाहाल, डा. दुर्गा दाहाल, प्रा. धर्मराज काइराला, डा. टीका लम्साल, सुदीपभद्र खनाल, गायत्री तिमल्सिना, कृष्ण गिरी, विनाेद पाैडेल, दिनबन्धु पाखरेल, गीता बजगाईं, विष्णुमाया खनाल, रमा खतिवडा, पीपलमणि सिग्देल, छत्रपति दाहाल, रिता प्रधानलगायतका सहभागीले जुममार्र्फत् रचना सुनाउनु भएकाे थियाे । अधिकांश कविता, मुक्तक, गीत तथा गजल समसामयिक विषयमा सुनाइएका थिए । काेराेना भाइरसकाे त्रास, कारण तथा बच्ने उपाय र सुझावका विषयमा पनि रचनाहरु बाेलेका थिए । हरेक महिनाकाे अन्तिम आइतबार अमेरिकाकाे पूर्वीय समयअनुसार बेलुकी ९ बजे अनलाइन साहित्य सम्मेलन गर्ने निर्माण भए बमाेजिम याे तेस्राे कार्यक्रम थियाे । एनआरएन एनसिसी युएसएका उपाध्यक्ष तथा समितिका अध्यक्ष सर्वज्ञ वाग्लेले कार्यक्रम संचालन गरेका थिए। यसअघि समितिका संयाेजक वाग्लेकै अध्यक्षतामा केही हप्ता पहिले बसेकाे बैठकले अनलाइन साहित्य सम्मेलन गर्ने निर्णय भएकाे थियाे । बैठकमा समितिका उपसंयाेजकहरु पीपलमणि सिग्देल, डा. ईश्वरी पाण्डे, सतीश त्रिपाठी, सुनिता बस्नेत थापा, शशी भट्टराई, सूर्यमाेहन तिवारी, रमा खतिवडा लगायतका सदस्यहरुकाे सहभागिता रहेको थियो । साे पहिलो बैठकमा उपसंयाेजक तथा सदस्यहरुले पनि भावि याेजनाका विषयमा आ-आफ्नो धारणा राख्दै समितिले नेपाली भाषा कक्षाका लागि पाठ्यक्रम आदि निर्माण गरी समन्वय गर्ने निर्णय समेत गरेकाे छ । त्यसैगरी अमेरिकामा रहेका साहित्यकारहरुकाे डाटाबेस तयार गर्ने विषयमा पनि छलफल भएकाे थियाे । बैठकले स्मारिका प्रकाशन गर्ने, साहित्यिक रचनामाला प्रकाशन गर्ने, साहित्यकारका लागि पुरस्कार स्थापना गर्ने, साहित्यिक प्रतियोगिताहरु संचालन गर्ने आदि विषयमा छलफल भएकाे थियाे । पिपल मनी सिग्देल #अमेरिका #कचहरी
जबरजस्त फ्यान: एक समय थियो, साहित्य र साहित्यकारका प्रशंसक हुन्थे तर ती प्रायः मौन रहन्थे। हिजोआज भने प्रशंसकहरू मुखर हुन थालेका छन्। आफूलाई मन परेका पुस्तक हुन् या साहित्यकार, तिनका बारेमा प्रशंसकहरूले खुलेर प्रशंसा वा आलोचना गर्न थालेका छन्। त्यसो त आलोचना त्यति मुखर हुन नसके पनि प्रशंसा भने बडो जोडतोडले हुने गरेको छ। यहाँ नेपाली साहित्यका केही मुखर प्रशंसकका तस्बिरहरू राखिएका छन्। देशका प्रख्यात साहित्यकारका केही प्रख्यात प्रशंसक, केही अपरिचित प्रशंसकः #अप्रिल फुल #खुसी #जुकरबर्ग क्याफे #प्रिय सुफी #फिरफिरे #मिस्टिका #यार #विनोद चौधरी #सगरमाथाको गहिराइ #सर्सर्ती संसार #सेतो धरती
गजल मुसायरामा चार कवि: गजल मुशायरा अष्ट्रेलियाले चाैथाे सामूहिक कविता वाचन कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा चार कविहरु कल्पना काफ्ले (नेपाल), रमेश शुभेच्छु (नेपाल), डा. प्रकाश पौडेल (अष्ट्रेलिया) र सञ्जय शान्ति सुवेदी (न्युजिल्यान्ड) ले आफ्ना कविता वाचन गरेका थिए। सन् २०१४ मा अष्ट्रेलियाकाे सिड्नीमा गजल मुशायरा कार्यक्रम गरेर गजल क्षेत्रकाे श्रीवृद्धिका लागि सुरु गरिएकाे यस सञ्जालले अन्य स्थानहरु ब्रिस्बेन, एडिलेड, अलबेरी, मलेसिया तथा नेपालकाे नुवाकाेटमा कार्यक्रम गरिसकेकाे छ भने २०१७ यता फेसबुक लाइभ कार्यक्रम गरी अनुमानित २६ वटा मुलुकमा रहेका ११२ भन्दा बढी गजलकारहरुकाे एकल गजल वाचन कार्यक्रम सम्पन्न गराइसकेकाे छ । काेभिड-१९ काे माहामारीका कारणले सृजित बन्दाबन्दीसँगै सामूहिक कवितावाचन कार्यक्रम पनि सुरु गरिएकाे छ । ‘नेपाली गजल सुन्ने संस्कृतिकाे विकास गर्न तथा संसारभरी छरिएका नेपाली गजलकारहरुलाई जाेड्ने अभिप्रयाले औपचारिकताविहीन सम्पूर्ण गजल कार्यक्रम गर्ने मनशायले सुरुवात गरिएकाे सञ्जाल हाे, गजल मुशायरा।’ कार्यक्रमका संस्थापक/परिकल्पनाकार जीतेन्द्र मल्ल भन्नुहुन्छ, ‘हामी गजल मात्र नभएर नेपाली साहित्यका कविता लगायत अन्य विधालाई पनि अगाडि बढाउन क्रियाशील छौँ ।’ बीचमा केही समय निरन्तरता दिन नसकिए पनि नयाँ-पुराना पुस्तालाई जोड्दै बन्दाबन्दीपश्चात पनि आगामी कार्यक्रमहरु नियमित सञ्चालन गर्ने जानकरी दिएका छन्। सामूहिक कविता वाचन कार्यक्रम जुम एप्लिकेसनमार्फत गजल मुशायरा परिवारको युट्युब च्यानलमा प्रत्यक्ष प्रसारित गरिएको थियाे । सामूहिक कविता रचनावाचन कार्यक्रमकाे सञ्चालन डा. केशव शर्माले गर्नु भएकाे थियाे । हेर्नुहोस् भिडियोमाः #गजल मुसायरा
अमृतको गजल: हामी हामी बीचको प्यार नै नरहला । स्तब्ध छ ! लाग्छ संसार नै नरहला ।। मलाइ दुख्दा तँलाई नि दुख्ने मन । ये जिन्दगी ? कतै तेरो सार नै नरहला ।। कम्पन हुनेछ भयंकर जल्ने छ सारा पृथ्वी । हाम्फाल्नलाई कतै मझधार नै नरहला।। यो तुफान रोकिनेछ, यो ज्वाला निभ्नेछ । रौद्र रुप भगवानको यो बारम्बार नरहला ।। #अमृत
लिस्नो: कौसीमा पुग्न कहाँ सजिलो छ र ? धर्खराउँदै गरेका पैताला छाती फुटाल्ने धड्कन धान्दै धान्दै चढ्नु पर्छ चिप्लो लिस्नोका एक एक खुट्किला । मुखिया लिस्नो चढ्न थालेपछि हरेक पटक सजिलो लिफ्ट पैँचो लिएर आउँछ छिमेकी कौसीमा पुगेर तर मार्ने हतारमा हस्ताक्षर धज्काएपछि सोमरसको प्यालासँगै देखिन्छ मुखियानृत्य कौसीमा । कौसीको राहत सकिएपछि चिप्लो लिस्नोबाट डङ्ग्रङ्ग भुइँमा पछारिन्छन् मुखिया । मुखिया पछारिँदा फेरि एक टुक्रा जमिन एक शिखर स्वाधीनता र एक छाक आत्मनिर्भरता उछिट्टिन्छ भूमिबाट । हामी चाहन्छौँ हाम्रो मुखिया आफ्नै लिस्नोबाट कौसीमा चढोस् एक्लै मेजमानी नखाओस् जनताका लागि पकाओस् चौरासी व्यञ्जन र सकुशल ओर्लोस् भुइँतलामा अनि पहरा दिइरहोस् लिपुलेक, लिम्पियाधुरा, सुस्ता र महाकालीमा चन्द्र र सूर्यअङ्कित झण्डामुनि आमाका काखमा निर्धक्क निदाएका नेपालीहरूलाई ब्युँझाएर एक मुठी माटो लिएको हात छातीमा टाँसेर गाओस् स्वाभिमानको गीत गाउँछ गीत नेपाली । #लिस्नो #सञ्जीव पौडेल
श्रेयश सन्ध्या भट्टराईका कविताहरु: म को हुँ? के हुँ? सायद कुवा खोज्ने प्यासी हुँ कर्म कर्तव्य त्यागेको सन्यासी हुँ मनको बाघको सिकार; सीनोको भारी हुँ गन्तव्य बिनाको म यात्री हुँ अन्ट सन्ट बक्ने शास्त्री हुँ म को हुँ? के हुँ? सायद अनुत्तरित प्रश्नहरुको म उत्तर हुँ! टाढा टाढा जहाँ मेरो आवाज पनि पुग्दैन त्यहाँ कोही बसेको होला मेरो प्रतिक्षामा जहाँ मेरो याद छैन, न मेरो अस्तित्व त्यहाँ कोही मलाई कुर्दै टोलाउदै होला क्षितिजमा जुन गाउँको बाटो मलाई थाहा पनि छैन त्यहाँ मेरो बाटो ढुकी बस्दो हो कोही मेरो आशमा सायाद त्यो गाउँमा पुग्ने छु म कुनै दिन बसेको हुँदो हो कोही त्यहाँ मेरो फरियाद सुनिदिन मलाई भन्दो हो ऊ, सफर सक्कियो तिम्रो पाप र धर्मको हिसाब किताब हुन्छ यहाँ कर्म अनुसारको फल, स्वागत छ जीवनको अन्त्यमा ५ वर्ष, ५ महिना र केही दिन यो हिसाब म बुझाउँछु आज तिमीलाई, जोड, घटाउ, कसको बढी कसको घटि त्यो तिमी आफै सोँच्नु यति दिन को खुशी को दुखी कसका आँखा रसाए कसका खुशीले चम्किए त्यो त सुन्नेलाई थाहा होला हेर्ने लाई थाहा होला भोग्ने लाई अझ बेसी को कति ओछ्यानमा छटपटियो को मिठो निद्रा निदायो त्यो त सुन्नेलाई थाहा होला हेर्ने लाई थाहा होला भोग्ने लाई अझ बेसी ह्या मर्दिम कि क्या हो आहा कस्तो रमाइलो कसले अड्कल्यो को रमायो त्यो त सुन्नेलाई थाहा होला हेर्ने लाई थाहा होला भोग्ने म अभागीलाई अझ बेसी
बाल कविता प्रतियोगिता २०७७ को नतिजा घोषणा: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय बाल समितिले आयोजना गरेको “अनेसास बालकविता प्रतियोगिता, २०७७” को नतिजा प्रकाशित गरेको छ । सो प्रतियोगितामा पोर्चुगलका मनस्वी खराल प्रथम, अमेरिकाका विवेक खरेल द्वितीय र जापानका रिआना बोगटी तृतीय भएका छन् । सर्वोत्कृष्ट मध्येका प्रथम हुनेले ३००, द्वितीय हुनेले २०० र तृतीय हुनेले १०० अमेरिकी डलर प्राप्त गर्नेछन्। साहित्यकार महेश पौडेल (नेपाल)को संयोजनमा सुमलकुमार गुरुङ (बेलायत) र सुरेन उप्रेती (क्यानडा) रहेको तीन सदस्यीय निर्णायक समितिले सो निर्णय गरेको हो । अनेसास महासचिव गणेश घिमिरेद्वारा जारी विज्ञप्तीअनुसार प्रतियोगिताका लागि प्राप्त भएका सबै कविताहरु उत्कृष्ट थिए । प्रतियाेगिताकाे संयाेजक स्वयं अनेसास बाल समितिका संयोजक डा. केशव शर्मा रहेका थिए । निर्णायक समितिका संयोजक महेश पौडेलले यस महत्त्वपूर्ण प्रतियोगितामा निर्णायक मण्डलको संवेदनशील जिम्मेवारी दिएकोमा कृतज्ञता व्यक्त गरेका छन्। आसन्न भयावह र विपद्को समयमा पनि अनेसास बाल समितिले नानीबाबुहरुलाई संलग्न गराएर यस्तो महत्त्वपूर्ण प्रतियोगिता गराएकोमा केन्द्रीय कार्यसमितिको तर्फबाट अध्यक्ष राधेश्याम लेकालीले हार्दिक धन्यवाद व्यक्त गरेका गरेका छन्। #प्रतियोगिता
फोटो र शब्दसँगै गर्नुहोस्, पाँचपोखरीको दर्शन: सिन्धुपाल्चोक जिल्ला, साविकको भोताङ गा.वि.स, हालको पाँचपोखरी थाङपाल गाउँपालिकामा समुन्द्री सतहबाट करिब ४२०० मिटर उचाईमा अवस्थित धार्मिक स्थल हो, पाँचपोखरी । काठमाडौं उपत्यकाबाट निक्कै नजिक भएता पनि विभिन्न आधारभूत सेवा सुविधाले टाढिएको ठाउँ पनि हो, पाँचपोखरी थाङपाल । शहरले नदेखेको खुशी देख्न सकिने, पीडामा पनि हाँस्न सिक्नु पर्छ भन्ने मुहार देख्न सकिने ठाउँ हो, पाँचपोखरी थाङपाल । काठमाडौंबाट मेलम्ची, तिपिनी, थाङपालधाप, थाङपालकोट, रैथाने पोखरी, मानेदोभान हुँदै करिब ५ घण्टाको बस यात्रा पछि भोताङ गाउँ पुगिन्छ । पहिलो रात त्यहाँ बिताएपछि थुप्रै खोलानाला, भिरपाखा पहिरो छिचोल्दै भोताङ, छिम्दी, नासिम पाटी, लौरीबिना हुँदै १२-१५ घण्टा उकालो यात्रा पछि पुगिन्छ धार्मिक स्थल पाँचपोखरी । उसो त, सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट पनि पाँचपोखरीको यात्रा सुरु गर्न सकिन्छ । प्रचलित किम्बदन्तीका अनुसार आज भन्दा अन्दाजी २३२५ वर्ष अगाडि प्रख्यात शिकारी बुम्बा रुवा वाइबा सिकार खेल्दै हाल पाँचपोखरी तीर्थ स्थल रहेको स्थान पुग्दा अचानक आफ्नो अगाडि धान खेती गरिरहेको देखे र यो के अचम्म हो, यस्तो हिउँ पर्ने ठाउँमा पनि खेती ? भन्ने सोचेर छेउमा जाँदा धान खेती गर्ने मध्यला लोग्ने मानिस (महादेव) ले उनीलाई देख्नेबित्तिकै सम्पूर्ण धान खेती गर्ने खेताला यसै पाँचपोखरीको हाल मन्दिर रहेको स्थाममा अलप भए । यो दृश्य देख्ने पहिलो व्यक्ति बुम्बा रुवा वाइबालाई यस्तो अचम्मको दृश्य देख्दा यो पक्कै पनि भगवान महादेव तथा महादेवका देवगण परिवारले रोपाइँ गरेको हुनुपर्छ, मैले भगवानको सम्झनामा मन्दिर स्थापना गर्नुपर्छ भन्ने सोची आफ्नो शिकारी कुकुरलाई लगाएको घण्ट फुकाएर रोपाइ गर्दा गर्दै अलप भएको ठाउँमा झुण्डाएर मन्दिरको स्थपना गरेर फर्किए । यसै रोपाइँ गरेको स्थानमा धानको बाला खोज्ने काम हालसम्म पनि चलिआएको र यो भेट्टाएमा धनवान् भइने भनाइ आजसम्म पनि प्रचलित छ । धार्मिक किंबदन्तीअनुसार यस पाँचपोखरीमा एक जोडी हाँस रहेको र त्यो हाँसको दृश्य भाग्यमानीले मात्र देख्न सक्दछन् । पाँचपोखरी महादेवको दर्शनपछि लौरीबिना फर्किआउँदा पछाडि फर्केर हेर्नु हुँदैन, नत्र आफूले मागेको वरदान पूरा नहुने भन्ने अर्को किंबदन्ती छ । परापूर्व कालमा एक किसानले आफूसँग केही नभएको र जीविकोपार्जनका लागि गाईवस्तु, बाख्रा इत्यादि वरदान मागेका थिए रे! उसको वरदान पुर्याउने बेला पाँचपोखरी महादेवले तिमी अघिअघि लाग्नु गाईवस्तु, बाख्रा तिम्रा पछिपछि आउने छन्, तर लौरीबिनासम्म कुनै अवस्थामा पनि पछाडि नफर्की जानू भनेका थिए। ती किसानले अलि पर पुगेपछि गाईवस्तु आफ्नो पछाडि कराएको सुनेपछि उत्साहका साथ आज्ञापालना नगरी फर्केर हेर्न खोज्दा सबै गाईवस्तु र बाख्रा ढुंगामा परिवर्तन भएको किंवदन्ती छ। त्यस स्थानमा अहिले पनि पाँचपोखरी र लौरीबिनाको बीचको पदमार्ग देख्न सकिन्छ । भाद्र महिनाको एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म यस ठाउँमा मेला लाग्ने गर्दछ भने पाँचपोखरीको दर्शन गरिसकेपछि फर्किने बेलामा रैथाने पोखरी ढोग्नु पर्छ र पाँचपोखरीको जल चढाउनु पर्छ भन्ने मान्यता छ । साथै, पाँचपोखरीबाट फर्किदा धुपीका रुखका हाँगा, पात, दाउरा कोसेलीका रुपमा ल्याउने चलन रही आएको छ । विशाल हुमागाईँ ठाउँहरु घुम्न र फोटोग्राफीमा विशेष रुचि राख्छन् । #पाँचपोखरी #विशाल हुमागाईँ
उत्तम कुँवरले सिर्जेको रुपरेखा युग: नेपाली आधुनिक साहित्यको इतिहासमा साहित्यिक पत्रिका रुपरेखाले पुर्\u200dयाएको योगदान विशेष छ, विशिष्ट छ र ऐतिहासिक छ । यो बनाउने श्रेय साहित्यकार तथा साहित्यिक पत्रकार उत्तम कुँवरलाई जान्छ । रुपरेखाले यौटा साहित्यिक युग नै निर्माण गरेको थियो । गैर सरकारी क्षेत्रबाट निस्कने यो पत्रिकाले यौटा साहित्यिक युग निर्माण गर्नु चानचुने कुरा होइन । यसरी साहित्यिक युग निर्माण गर्ने रुपरेखा नै अन्तिम साहित्यिक पत्रिका थियो । त्यसपछि युग निर्माण गर्ने कुनै साहित्यिक पत्रिका नेपालमा देखिएको छैन । रुपरेखाका सम्पादक थिए, उत्तम कुँवर । तर उनको एकल सम्पादनमा निस्केको रुपरेखाले रुपरेखा युग निर्माण गरेको भने पक्कै होइन । उत्तम कुँवर र वालमुकुन्ददेव पाण्डेको संयुक्त सम्पादकत्वमा रुपरेखाले साहित्यिक युगको निर्माण गरेको थियो । तर वालमुकुन्ददेव पाण्डे आन्तरिक व्यवस्थापनमा र उत्तम कुँवर वाह्य व्यवस्थापनमा भएकाले बढी चिनिने, बढी हिमचिम हुने हुनाले उत्तम कुँवर नै बढी चिनिए, जानिए, मानिए । अर्को चाखलाग्दो कुरा के पनि छ भने, रुपरेखा पत्रिकाको सम्पादन प्रकाशन उत्तम कुँवर र वाल मुकुन्ददेवले थालेका थिएनन् । चलेकै पत्रिका उनीहरुले अघि बढाएका थिए । पछिपछि त रुपरेखा भन्नेबित्तिकै उत्तम कुँवर र वालमुकुन्ददेवको भन्ने मात्र ठान्न थालियो, कतिले उत्तम कुँवरको मात्र ठान्न थाले । नेपाली साहित्यका बिशिष्ट प्रतिभाहरु मोहन कोइराला, ध्रुवचन्द्र गौतम र पारिजात एक प्रकारले रुपरेखाकै उपज हुन् । रुपरेखाले नै उनीहरुलाई अविछिन्न र निशर्त स्थान दिएर आजका विशिष्ट प्रतिभामा गनिएका हुन् । यी प्रतिभाहरुको लक्षण चिन्ने खुवी उत्तम कुँवरमा थियो । सम्पर्क स्थापित गर्न, सम्बन्ध सुमधुर बनाउन र श्रोत जुटाउन उत्तम माहिर थिए । प्रतिभावान नेपाली लेखकका घरघरमा पुग्दथे उनी । लेख रचना जुटाउँथे । स्तम्भ लेखाउँथे । उनको सम्बन्धको तानाबाना साधारण हैसियतका लेखकदेखि राजदरबारसम्म विस्तारित थियो । शौखिन लेखक शंकर लामिछाने, आर्थिक अवस्था कमजोर भएका मोहन कोइराला र पारिजात, सीमापारिका शिखर पुरुष ईन्द्रबहादुर राई सबैलाई उनले आ-आफ्नै किसिमले व्यवहार मिलाएर नजिक राखेका थिए । केदारमान व्यथितसँग उनको आफ्नै प्रकारको सम्बन्ध थियो भने उदाउँदै गरेका मीनबहादुर विष्टलाई उनले ह्वात्तै रुपरेखाको रङ्गमञ्चमा स्थान दिएर छोटो समयमा चर्चाको शिखरमा पुर्\u200dयाइदिएका थिए । उत्तम कुँवर कम लेख्तथे तर उनको लेखनमा बेग्लै विशेषता थियो, विशिष्ट शैली थियो । उनी रुपरेखामै अनुभव र अनुभूति स्तम्भमा लेख्तथे । उनले अन्तरवार्ताको यौटा यस्तो सङ्ग्रह तयार गरे, जसले नेपाली साहित्यमा कोशेढुङ्गाको काम गर्यो । “स्रष्टा र साहित्य” नामक नेपाली स्रष्टाहरुसँगको अन्तरवार्ताको पुस्तक जब बजारमा आयो, त्यसले व्यापक चर्चा परिचर्चा पायो । त्यति मात्र नभई मदन पुरस्कार पाएपछि साहित्यमा अन्तरवार्ता विधाले पनि मान्यता पाएको अनुभव गरे नेपाली साहित्यकारहरुले । अन्तरवार्ताका सम्वादहरुलाई उत्तम कुँवरीय शैलीमा ढालेर प्रस्तुत गर्दा परम्परागत अन्तरवार्ताको प्रश्नोत्तर शैलीलाई विस्थापन गर्न खोजेको भान पर्दथ्यो । यो पुस्तकको लोकप्रियता र विषयगत विविधता एवम् रोचकताले पाठकहरुलाई मात्र आकर्षण गरेन, विश्वविद्यालयको सहयोगी सामग्रीको रुपमा पनि मान्यता पायो र थप व्याप्ति पायो । यता रुपरेखाको उत्कर्ष भने २०० अङ्कमा देखा पर्\u200dयो । यस अङ्कमा राजा वीरेन्द्रसँग रुपरेखाका लागि नेपाली भाषा साहित्यका विषयमा लिइएको लिखित अन्तरवार्ता प्रकाशित भएको थियो । त्यो आफैँमा यौटा महत्त्वपूर्ण घटना थियो । यस अन्तरवार्तालाई नेपालका त्यतिखेरका सञ्चार माध्यमहरु रेडियो नेपाल र गोरखापत्रले प्रमुख समाचारको रुपमा प्रकाशन एवम् प्रशारण गरेका थिए । यही अङ्कमा रुपरेखा युगको विषद् चर्चा भएको थियो । रुपरेखाले बनाएको युगका कथा, कविता, उपन्यासको चर्चा गरिएको थियो । नेपाली भाषाका सवैजसो प्रमुख विद्वानहरुका विशिष्ट रचनाहरु सो २०० औं अङ्कमा प्रकाशित गरिएको थियो । यो नेपाली वाङ्मयकै यौटा दुर्लभ उपलब्धिका रुपमा चर्चा गरिएको प्रकाशन थियो । यो सबको मुख्य डिजाइनर उत्तम कुँवर नै थिए । यस अङ्कमा देशका प्राय: सबै प्रमुख उद्योग व्यवसायको परिचयात्मक विज्ञापन प्रकाशित भएको थियो र निकै मोटो रकम सङ्कलन भएको भन्ने साहित्यिक जगतमा कोठगफको विषय बनेको थियो । यो अङ्कले एकातिर साहित्यिक विशेषाङ्कको कीर्तिमान राख्न र राष्ट्रिय चर्चा पाउन सफल भयो भने यसै अङ्कको कारण लामो समयदेखि सामूहिक सम्पादनमा रहेको रुपरेखामा आन्तरिक विग्रह देखियो । रुपरेखाबाट वालमुकुन्ददेव पाण्डे अलग भए र रुपरेखा उत्तम कुँवरको एकलौटी सम्पादनमा निस्कन थाल्यो । किशोर कुँवर सहायकको रुपमा देखा परे । उत्तम कुँवर कट्टु लाएर काठमाडौं प्रवेश गरेको आफैँले लेखेका थिए । तिनै व्यक्ति मैजुवहालमा आलिसान महलका मालिक बने र गाडी चढ्ने साहित्यिक पत्रकार भए । यो पनि काठमाडौंको साहित्यिक वृत्तमा तातो तातो विषय बन्यो गफाडीहरुका लागि । उनले पुरानो भक्स वेगन किनेका थिए र आफैं चलाउँथे । एकपल्ट त्रिपुरेश्वरमा तत्कालीन त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयको अगाडि आफ्नै कम्पाउण्डमा लगाएको मकै कसैलाई कोशेली दिनका लागि आएका थिए र मसँग जम्काभेट भएको थियो, म त्यही केन्द्रीय कार्यालयमा काम गर्थें एकाउण्टेण्टको रुपमा । उनले “पोलेको मकै खान मेरो घर आउनुस् न है” भनेर खुल्ला निम्तो पनि दिएका थिए, तर उनको जीवन कालमा त्यो पूरा हुन सकेन । रुपरेखाले लेखकसँग गर्ने समताको व्यवहार पत्याउनै नसकिने देखिन्थ्यो । यसको सम्पूर्ण श्रेय उत्तम कुँवरलाई जान्छ । हो, केही लेखक भने रुपरेखाले लेखकलाई पारिश्रमिक दिंदैन भनेर पिठ्यूँ पछाडि कुरा नकाट्ने होइनन् । तर पारिश्रमिकको विषयमा उत्तम कुँवरको आफ्नै किसिमको सोच र मान्यता थियो । तर लेखकलाई फकाई-फुल्याई लेखाउन लगाउने, राम्रा र विशिष्ट लेखकहरुलाई निरन्तर सम्पर्कमा रहेर तथा आवश्यकताअनुसार आर्थिक लगायत विभिन्न सहयोग घरमै पुर्\u200dयाएर पनि खुशी र सन्तुष्ट तुल्याउँथे । तर लेखनको मामलामा उनी लेखकीय स्वतन्त्रता हनन नहोस् भनेर सदा सचेत हुन्थे । त्यो रुपरेखा युगमा नाम र पारिश्रमिकका लागि मधुपर्क, नामका लागि र स्वतन्त्र लेखनका लागि रुपरेखा भन्ने आहानै चलेको थियो । लेखकमा दरिन मधुपर्क र रुपरेखामा छापिनु आवश्यक न्यूनतम योग्यता झैं मानिन्थ्यो अघोषित र अनौपचारिक रुपमा । तर राजाको प्रत्यक्ष शासन काल, सरकारी संस्थानबाट प्रकाशित हुने मधुपर्कका आफ्नै प्रकारका सीमाहरु थिए, बन्देजहरु थिए । तर रुपरेखा ती सबबाट मुक्त थियो, यद्यपि अन्चलाधीशको कार्यालयबाट पास नभई बजारमा बिक्री वितरणका लागि लैजान मिल्दैनथ्यो । तर पनि निजी क्षेत्रको रुपरेखा भने अलि खुकुलो नै थियो यस मामलामा । रुपरेखामा प्रकाशित रचनाहरुको बारेमा तिखो आलोचना, चोरीका आरोप आदि आए भने पनि उत्तम कुँवरले तिनलाई सम्मानपूर्वक ठाउँ दिन्थे । आफूले काखी च्यापेको लेखक भनेर छूट दिँदैनथे । तर उनले यस मामलामा मूल लेखकलाई आफ्नो स्पष्टीकरणको मौका भने राम्रोसँग दिन्थे । आरोप छापेर महिनौं हल्लीखल्ली भएपछि बल्ल अर्को महिनामा स्पष्टीकरण प्रकाशन हुँदा मूल लेखकलाई निकै क्षति हुनु स्वाभाविक हो । उनी त्यस्तो अवस्था आउन नदिन सचेत हुन्थे । त्यस्तो चिट्ठी आएपछि मूल लेखकको निवासमै गएर त्यो चिट्ठी दिन्थे र आरोप र स्पष्टीकरण एक साथ प्रकाशित गरिदिन्थे । शंकर लामिछानेलाई कुमुदिनी नामक छद्मनामबाट चोरीको आरोप लाग्यो । शंकरले त्यो आरोप स्वीकारे र साहित्यबाट संन्यास लिने घोषणा नै गरिदिए । पारिजातलाई विकास देवकोटा विराटनगरको छद्मनामबाट आरोप र तीव्र आलोचना आयो, पारिजातले त्यसको खुलस्त स्पष्टीकरण दिइन् । आयामको बारेमा अभि सुबेदी र ईन्द्रबहादुर राईको बौध्दिक बहस अर्को महत्त्वपूर्ण र चाखलाग्दो प्रसङ्ग थियो । २०३४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले देशव्यापि साहित्य सम्मेलन आयोजना गरेको थियो । त्यस सम्मेलनका लागि हरेक अञ्चलबाट २।२ प्रतिनिधिले प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको थियो । वागमती अञ्चलबाट प्रतिनिधित्व गर्ने २ प्रतिनिधिमध्ये उनी एक थिए । उत्तम कुँवरको साहित्यकारहरुसँग मात्र होइन, साहित्यिक संघसंस्थाहरु, प्रकाशन संघसंस्थाहरुसँग पनि राम्रो सम्बन्ध र उठबस थियो । उनी राम्रा र मनले खाएका साहित्यकारहरुका कृतिहरु प्रकाशनका लागि साझा प्रकाशनका महाप्रबन्धक कृष्णचन्द्र सिंह प्रधानलाई सिफारिस गर्ने गर्दथे । नेपाली साहित्यकै कीर्तिमानी दुर्बोध्य उपन्यास “बालुवामाथि” (ध्रुवचन्द्र गौतम) उत्तम कुँवरकै सिफारिसमा कृष्णचन्द्र सिंहले साझा प्रकाशनबाट प्रकाशित गराइदिएका थिए । तर त्यो उपन्यासले अपेक्षित पाठकीय माया पाउन सकेन । बिक्री पनि खासै नहुने कृति भयो । त्यसले कृष्णचन्द्रलाई हच्काइदिएको थियो । उनले पिटर जे. कार्थकको उपन्यास पनि प्रकाशनलाई सिफारिस गरे । त्यतिबेला कृष्णचन्द्रले हाँस्दै सोधेका थिए, “बालुवामाथि” जस्तो त होइन ?” उत्तमले “होइन, यो कृति गज्जबको छ” भनेका थिए । हुन पनि पिटर जे. कार्थकको उपन्यास “प्रत्येक ठाउँ प्रत्येक मान्छे” नेपाली उपन्यास जगतमा नौलो शैली, शिल्प र प्रस्तुतिमा दार्जिलिङको कथा बोकेर आएको थियो । अझ यस उपन्यासमा शङ्कर लामिछानेको भूमिकाले सुनमा सुगन्ध थपेको थियो । यो उपन्यासले पाठक, अध्येता सबको माया पायो । चर्चित भयो । राम्रो बिक्री भयो र साझा पुरस्कार समेत पायो । तर यसको जगमा उत्तम कुँवर थिए, जसको सिफारिसमा यो उपन्यास साझा प्रकाशनबाट प्रकाशन हुन सम्भव भएको थियो । उत्तम कुँवर रुपरेखालाई आफ्नो सन्तान भन्ने गर्थे । आफू मरे रुपरेखा टुहुरो होला भनी भावुक हुन्थे र सन्ध्याकालीन रसपानको बेला त भावुक मात्र होइन अति भावुक भएर रोइदिन बेर मान्दैनथे । उनले कमल दीक्षितवाट प्राणायाम गर्न सिकेको बताउने गर्थे र त्यसैले उनलाई बचाएको बताउने गर्थे । उनको प्रमुखताको केन्द्रबिन्दुमा सधैं रुपरेखा हुन्थ्यो । उनी पूर्ण रुपले रुपरेखामै समर्पित थिए । रुपरेखाको आफ्नै प्रेस थियो, रुपायन प्रेस । ढोका टोलको त्यो प्रेस साहित्यकारहरुको मिलनस्थल पनि थियो । पुरानो घरको छिंडीमा भएको प्रेसको होचो भुईंतलामा लेखकहरु पुग्दथे । साँझ कहिलेकाहीं रसपानको कार्यक्रम पनि हुने गर्थ्यो । रुपरेखा सामान्य विज्ञापन र ग्राहकशुल्कबाट चलेको थियो । कुनै विशेषाङ्कमा अलिक विज्ञापन आउनु र वचत हुनु एउटा कुरा थियो, नत्र पत्रिकाको कमाइले पत्रिका धान्न गाह्रो नै हुन्थ्यो । तर औरसपुत्र झैं मानेको रुपरेखालाई स्रोत जुटाउन विभिन्न उपायको खोजीमा उत्तमको दिमाग दौडिरहन्थ्यो । उनले आर्थिक स्रोत जुटाउन “रुपरेखा” संगीतको आयोजना गरे । कलाकारहरुसँग पनि राम्रो सम्पर्क भएकाले “रुपरेखा संगीत” भव्य रुपमा सम्पन्न भयो । म पनि रुपरेखा सङ्गीत हेर्न गएको थिएँ । राष्ट्रिय सभागृहको खचाखच हलमा “रुपरेखा संगीत”को कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो । उत्तम कुँवरले नेपाली साहित्यिक पत्रपत्रिकाको ऐतिहासिक परिचयको निबन्धालेखमा शारदा पत्रिकालाई पिता, प्रगतिलाई पुत्र र रुपरेखालाई नातिको रुपमा मान्न सकिने भावना व्यक्त गरेका थिए । साँच्चै नै रुपरेखाले आफ्नो जीवनकालमा यौटा साहित्यिक युगको निर्माण गर्\u200dयो र त्यो उनको मनसायलाई मूर्तरुप पनि दियो । तर दु:खको कुरा रुपरेखा युगपछि साहित्यिक पत्रिकाले युग निर्माण गर्न सक्षम भएनन् । महत्त्वपूर्ण साहित्यिक पत्रपत्रिकाको प्रकाशन भए पनि युग निर्माता भने कुनै पनि बन्न सकेनन् । साहित्यिक पत्रिकाको तर्फबाट उत्तम कुँवरले निर्माण गरेको युग नै अन्तिम युग थियो । जब उत्तम कुँवरले बेलाबखत रुपरेखामा लेख्ने गरेको स्तम्भका तथा अन्य आलेखहरुको सङ्ग्रह “अनुभव र अनुभूति” पुस्तक प्रकाशित भयो, पुस्तकको सन्दर्भ बाहिर गएर केही तीता र तीखा टिप्पणी गरिए । एउटा त्यस्तो टिप्पणी डा.तारानाथ शर्माले गरेका थिए गोरखापत्रमा । उनले गरेको टिप्पणीले उत्तम कुँवरलाई मर्माहत पारेको थियो । अनि त्यो टिप्पणीको काउण्टर टिप्पणी ईश्वरवल्लभले गोरखापत्रमै लेखे । तर उनको अमूर्त लेखाई सामान्य पाठकले बुझ्ने खालकै थिएन र प्रतिटिप्पणी जस्तो देखिएन पनि । यही किताबको यस्तै अन्तरद्वन्द्वका बीच २०३९ साल साउन १५ का दिन आफ्नै घरको शौचालयमा अचानक हृदयाघात भएर उनको निधन भयो । नेपाली साहित्य जगतले रुपरेखा युग निर्माण गर्ने साहित्यिक पत्रकार तथा निबन्धकार उत्तम कुँवरलाई असमयमै गुमायो । #उत्तम कुँवर #गोविन्द गिरी प्रेरणा #रूपरेखा #साहित्य निर्माता #साहित्य पत्रकारिता
स्वघोषित 'गुफाबासी' मनुजबाबु मिश्र: मनुजबाबु मिश्र २०४६ सालको जन आन्दोलनपछि राजाले दलको प्रतिबन्ध हटाउने घोषणा गरेको र सम्वैधानिक राजा बन्न मञ्जुर भएको कतिपय कट्टर राजावादीहरुलाई मन परेको थिएन जो राजाको सकृय राजतन्त्रमा विश्वास गर्दथे । त्यसरी मन नपराउने अरुहरुले केके गरे कुन्नी तर मनुजवावु मिश्रले भने यौटा अनौठो निर्णय गरे-गुफावासी बन्ने । अर्थात् उनले आफ्नो निवासमा मात्र आफूलाई सीमित राख्ने कठोर निर्णय गरे । यो वास्तवमै आश्चर्यजनक निर्णय थियो र उनले आफ्नो जीवनकालमा यसलाई आफ्नै किसिम र तर्कले कायम नै गरे । मेरो मनुजबाबु मिश्रसँगको परिचय अक्षरबाट भएको हो । उनको चित्रकारिताको विषयमा मलाई खासै ज्ञान थिएन । तर जव उनको कलम निबन्धकारितामा तिब्र रुपमा चल्न थाल्यो, तिनै निबन्धहरुले मलाई तान्यो, मेरो मनलाई तान्यो, मेरो मष्तिष्कलाई तान्यो । उनको निबन्धको घनघोर प्रशंसक थिए नकुल सिलवाल । उनलाई मनुजबाबुको घत लागेको निवन्धका प्रसङ्गहरु सुनाइरहन्थे । र एकदिन नकुल सिलवालले मलाई यी गुफावासीको गुफामा लिएर गए । त्यसअघि उनीसँग मेरो त्यति लामो भेटघाट र भलाकुसारीको संयोग जुरेको थिएन । उनको चित्रै चित्रले भरिएको बेडरुममा पुगेपछि म साँच्चै साँच्चै छक्क परेको थिएँ । त्यसदिन मलाई लागेको थियो, बास्तबमा यी मान्छे यो धरतीमा चित्रकारिताकै लागि जन्मिएका हुन् । परम्परावादी वा अन्ध धार्मिक हिसावले हेर्ने हो भने भगवानले उनलाई यो धरतीमा चित्रकारिताकै लागी पठाएका हुन् भन्ने लाग्यो । त्यो पहिलो भेटमा थाहा भो, राजा वीरेन्द्रको शुभराज्याभिषेकको लागी दसरथ रङ्गशालामा बनाएर प्रदर्शन गरिएको राजा वीरेन्द्रको २५ फिट अग्लो तस्वीर उनले राखेको कीर्तीमान रहेछ । यति ठूलो तस्वीर कहिल्यै बनेको थिएन भन्ने उनको ठोकुवा थियो । त्यो भन्दा पनि त्यो तस्वीरको संरक्षण नगरिएको र नष्ट भएकोमा उनी असन्तुष्ट मात्र होईन, क्षुब्ध पनि देखिन्थे । नकुलजीले अघिल्लो दिन मलाई खवर गर्नु भएको थिएन । म घरमा खाना खाईवरी बसेको थिएँ । तर उनले मनुजबाबुले बोलाउनु भएको छ जाउँ भनेपछि मैले हुन्छ भनेको थिएँ र केहीवेरमा उनको मोटरसाईकलको पछि बसेर हामी मनुजबाबु निवास, गुप्तवासस्थान पुगेका थियौं । त्यहाँ पनि हाम्रो लागि खाना बनेको रहेछ । हामीलाई खाना खाने गरी नै बोलाइएको रहेछ । हामीले साथै शान्त दिवाभोजन गर्यौं । खाना खाईसकेपछि पुन: हामीलाई उनले बेडरुममा लगेर बसाए । उनको ओछ्यानको सिरानीमा सन फ्लावर तेलको ग्यालन थियो पानी भरिएको । अनि त्यसमा पाइप लगाइएको । खाटको मुनि खुट्टा तर्फ पनि पाइप लगाएको रित्तो सन फ्लावरको ग्यालेन । मनुजबाबुले बताए-माथिल्लो ग्यालनबाट सुती सुती पानी पिउने अनि खाटमुनिको ग्यालनमा चाहीं राती सुती सुती पाइप लगाएर मुत्र त्याग गर्ने । उनको कुरा सुनेपछि मलाई लागेको दिगमिग अहिलेसम्म पनि सम्झँदा त्यस्तै लाग्छ । उनले “ हर्मिताज” को परिकल्पना गरेको पनि सुनाएका थिए, एउटा महत्वाकाँक्षी योजना । उनी नेपालमा भन्दा विदेशमा बढी ख्यातिप्राप्त भन्ने हल्ला थियो काठमाडौंमा । उनका कृतिहरु अन्तरराष्ट्रिय बजारमा महँगोमा बिक्छ भन्ने पनि सुनेको थिएँ । उनीसँगको कुराकानीमा त्यो सही भएको पाएको थिएँ । त्यसदिन उनको घरमा गएको विषयलाई लिएर मैले एउटा निबन्ध लेखें-“ तीन छाक भात” । त्यो प्रकाशित पनि भयो । नकुलजी मार्फत उनको आँखामा पनि त्यो निबन्ध पर्यो । खुशी भए रे भनेर नकुलजीकै मुखवाट सुनेको हुँ । त्यसपछि मनुजबाबुको गुफामा तारिणीप्रसाद कोइरालाले नख्खु जेलमा लेखेको र जगदम्बा प्रकाशनबाट छापिएको काव्यकृतिको बिमोचन भयो । मनुजबाबु गुफाबासी भए पनि उनी एकान्तवासी भएनन् । उनी साथी भाईहरुलाई बोलाइरहन्थे । पत्रकार, साहित्यिक पत्रकारहरुलाई बोलाइरहन्थे, कति आफैं पनि सोध्दै खोज्दै जान्थे । उनलाई एकान्तवास वा भनौं गुफावास एक्लो, उच्चाटलाग्दो, निरसिलो थिएन । भनौं निरसिलो हुन दिएनन् उनले । उनी आफू गुफावासी भएको घोषणा गरे पनि समाजमा नगए पनि, समाज उनीकहाँ पुग्थ्यो किंवा उनी आफैं निम्तो गरेर वोलाउँथे । त्यसैले कतिपय उनलाई आलोचना गर्नेहरु उनको त्यो “गुफावास” लाई “ढोंग” पनि भन्थे । उनी अन्तरराष्ट्रिय कला प्रदर्शनीमा विश्वका विभिन्न मुलुकहरु पनि जान्थे । त्यो उनको गुफावास भित्रै पर्दथ्यो । उनी काठमाडौं वाहिरको साहित्यिक कार्यक्रममा सहभागी पनि हुन्थे । त्यो पनि उनको परिभाषामा “गुफावास” नै थियो । कवि द्वारिका श्रेष्ठले आफ्नो “चितवन जङ्गल लज” मा वर्षेनी “ साहित्य बन महोत्सव” को आयोजना गर्थे । त्यस कार्यक्रमका लागि हरेक वर्ष विभिन्न साहित्यकारहरु संयोजक हुने गर्थे । कवि द्वारिका श्रेष्ठको मनोज्ञान बुझेर सकेसम्म पहिला कहिल्यै सहभागी नभएका साहित्यकारलाई निम्त्याईन्थ्यो संयोजक मार्फत । म र ज्ञानुवाकर एकपल्ट अनि म आफू मात्र एक पल्ट गरी २ पल्ट संयोजनकारी भूमिकामा तथा “साहित्य वन महोत्सव” को स्मारिका मैले सम्पादन गरेको हुनाले सम्पादकको हैसियतले एकपल्ट गरी ३ पल्ट म सहभागी हुने मौका पाएको थिएँ साहित्य बन महोत्सवमा र ती मध्ये एकपल्ट मनुजबाबु मिश्र पनि सहभागी थिए । त्यो सहभागिता पछि पनि उनको गुफावासी हैसियतको वारेमा साहित्यिक बृत्तमा रमाइला चर्चाहरु चलेका थिए । मनुजबाबु मिश्रको एउटा सिध्दान्त थियो, “ पोट्रेट” भनेको सग्लो जिवित मानिसको सामुन्ने वसेर बनाइनु पर्छ । फोटो हेरेर बनाउनु त मूर्दा हेरेर बनाउनु हो भन्ने उनको मान्यता थियो । उनी हत्तपत्त कसैको पोट्रेट बनाउँदैनथे पनि । तर बनाउँथे भने सामुन्ने बसेर नै, जीवन्त । उनले एकपल्ट साहित्यकारहरुको पोट्रेट बनाउने अभियान शुरु गरेका थिए । गरिमाका तत्कालीन सम्पादक विष्णुबिभू घिमिरेको साथमा उनी पोट्रेट बनाउन पारिजात लगायत कतिपय साहित्यकारहरुको निवासमा पुगेका थिए र पोट्रेट बनाएका थिए । यात्रा, चित्र अनि चित्रकलालाई छोएर उनले सिर्जना गरेका निबन्धहरुले एकताक उनको निबन्धकार व्यक्तित्व चुल्याएको थियो । उनका अन्तर तरङ्ग, अनुहारका पानाहरु त्यस्तै निवन्धका कृतिहरु हुन् । राजधानीका सबैजसो प्रतिष्ठित पत्रिकाहरुमा उनका निबन्धहरु पढ्न पाइन्थे । उनी कलाकार भन्ने थाहा नपाउनेले पनि उनका निवन्धहरु भने पढेका हुन्थे । उनका निबन्धमा चुम्बकीय आकर्षण थियो । तर २०५६ सालमा यी “गुफावासी” चित्रकार निवन्धकार नयाँ अवतारमा देखा परे । त्यो अवतार थियो-उपन्यासकार अवतार । साझा प्रकाशनबाट उनको ”स्वप्न-सम्मेलन” उपन्यास प्रकाशनमा आयो र छोटो समयको अन्तरालमा यो उपन्यास “ टक अफ त टाउन” भयो साहित्यिक बृत्तमा । अद्भूत कल्पनाले भरिएको यो उपन्यास उनको महत्वाकाँक्षी “हर्मिताज” परियोजनासँग सम्वन्धित थियो । हर्मिताजमा पौराणिक-ऐतिहासिक व्यक्तित्वहरु सम्मिलित यौटा सम्मेलनको आयोजनाको परिकल्पना नै यो उपन्यासको अद्भुत कल्पनाशीलता थियो । पुराना पुस्ताका साहित्यकारहरु पनि यो उपन्यासले प्रभावित भए । कमल दीक्षित पनि यो उपन्यासले अत्यन्तै प्रभावित भए । उनले प्रभावित भएर तारिफ र चर्चा मात्र गरेनन्, यस्तो उपन्यास विश्व बजारमा जानुपर्छ भने । त्यसको लागि अङ्ग्रेजीमा अनुवाद हेतु ५० हजार नगद समेत उनलाई दिए । यो यौटा गजवको सुखद परिवेशको निर्मिति थियो मनुजबाबु मिश्रको लागि । यो उपन्यास डा. तारानाथ शर्माले अङ्ग्रेजी भाषामा अनुवाद गरे । त्यो अनुवाद बगर पत्रिकामा नकुल सिलवालले प्रकाशन गरे सम्पूर्ण पाठ एकै अङ्कमा र त्यसको अफ प्रिण्ट पुस्तक पनि प्रकाशन गरे-“ द ड्रिम एसेम्बली” । अनुवाद र प्रकाशनका लागि शुरुदेखि अन्त्यसम्मै नकुल सिलवालले सहजिकरण गरेका थिए । अङग्रेजीमा पनि प्रकाशन भएपछि स्वप्न सम्मेलनको चर्चा पुन: चुलियो । यसै बीच समय आयो मदन पुरस्कारको घोषणाको । भित्री मनै देखि मदन पुरस्कार लिन्न भन्ने नेपाली साहित्यकार नगन्य छन् नेपालमा बाहिरी रुपमा जतिसुकै मदन पुरस्कार विरोधी भए पनि । वर्षमा एकपल्ट मदन पुरस्कारमय हुन्छ नेपाली साहित्यको वातावरण, यसपाली कसले पाउँछ भनेर । अचानक “स्वप्न सम्मेलन” ले मदन पुरस्कार पाउँछ भनेर अन्दाजवाजहरुले अन्दाज ठोकिदिए । त्यो अन्दाजको डडेलो सल्कियो । थप अन्दाजवाजहरुले क्षेप्यास्त्रै ठोकिदिए, “मदन पुरस्कार भनेको कमल दीक्षित हो, कमल दीक्षित भनेको मदन पुरस्कार हो । अब कमल दीक्षितले पढेर, मन पराएर, किताबलाई अन्तरराष्ट्रिय जगतमा पुर्याउन नगदै पचास हजार दिइसकेपछि यो किताबले मदन पुरस्कार नपाए कुन पुस्तकले पाउने ?” यो कुरा मनुजबाबुको कानमा नपुग्ने कुरै थिएन । उनलाई पनि यसपालीको मदन पुरस्कार पाउँछु भन्ने लाग्न थाल्यो । मनमा जे भए पनि उनलाई मुखले अग्रिम बधाई दिनेहरुको लर्को लाग्न थाल्यो । उनलाई मदन पुरस्कारले पूरै गाँज्यो । उनी आफैंले पनि यसो सूत्र लाएर बुझ्ने प्रयास गरे र सकारात्मक जवाफ पाए । अग्रिम बधाई पाए । तर २०५६ सालको मदन पुरस्कार “ अतिरिक्त अभिलेख” कविता सङ्ग्रहका लागि कवि दिनेश अधिकारीले पाउने घोषणा भयो । यो घोषणाले मनुजबाबु मिश्रलाई साफ तोड पर्यो । अघिल्लो साँझ सम्म अग्रिम बधाई दिनेहरुको फोन आउन छोडेको थियो । उनले पक्कै पाउने विश्वासमा वसेकाले उनलाई चोट परेको अनुभव भयो र यो असन्तुष्टिलाई उनले आफुभित्र सम्हालेर राख्न सकेनन् र यौटा लेख लेखेर त्यो असन्तुष्टि छताछुल्ल पारे । यो लेख प्रकाशित भएपछि कमल दीक्षित पनि दु:खी भए । एक पल्ट मैले यो सन्दर्भ कोट्याउँदा उनको भनाई थियो, “ त्यो उपन्यास मलाई मन परेको हो । मन परेकै भएर तारिफ गरेको हुँ र अनुवादका लागि मैले पैसा पनि दिएको हुँ । त्यसको मतलव मैले मदन पुरस्कार दिन्छु भनेको हो र थोडै । मैले दिएर दिईने हो र ! कस्ताकस्ता दिग्गज जाँचकीहरु हुन्छन् । किन उहाँले लेख्नु भयो मलाई त आश्चर्य लाग्यो ।“ यो प्रसङ्गले मनुजवावु मिश्र र कमल दीक्षित वीचको मीठो सम्बन्धलाई भने निश्चित रुपले तिक्त बनाइदियो । यसै सिलसिलामा सन् १९९९ मा साहित्यतर्फको नोवेल पुरस्कार पाउने गुन्टर ग्रासको उपन्यास “ द मिटिङ एट टेलगेट” पढेपछि भने म झसङ्ग भएँ । यो उपन्यास र स्वप्न सम्मेलनको कथ्याधार समान छ । गुण्टर ग्रासको उपन्यासमा सन् १६४७ मा जर्मनीका विभिन्न भागवाट भाषा साहित्यको छलफलका लागि बैठक गर्दछन् । यो सम्मेलन सिमोन दाखले आयोजना गरेका थिए । स्वप्न सम्मेलनमा पनि हर्मिताजमा दिवङ्गत प्रतिभाहरुको आत्माको बैठक बस्तछ । यो साम्यता किन ? यो संयोग मात्रै थियो कि प्रभाव ? यसले मलाई धेरैदिनसम्म रिंगाइरह्यो । तर पछि मैले सुनें, मनुजबाबुले “स्वप्न सम्मेलन” लेख्नुअघि त्यो उपन्यास पढेका थिएनन् रे ! “स्वप्न सम्मेलन” मनुजवावु मिश्रको एकमात्र उपन्यास हो । त्यो उपन्यासले सानो तिनो हलचल ल्याइदियो नेपाली साहित्यमा, मनुजबाबुको लेखन यात्रामा र मदन पुरस्कारमा पनि । चित्रकलाको क्षेत्रमा उनीद्वारा लिखित “ विश्व चित्रकलाको ईतिहास” महत्वपूर्ण ग्रन्थ हो । यसको महत्व र उँचाई निकै अग्लो र फराकिलो थियो । लेखनमा यता यसरी लागे पनि मनुजबाबुको चित्रकारितामा पूरै निरन्तरता थियो । विदेशी चित्रकारहरु उनलाई खोज्दै हर्मिताज आउँथे । उनले बनाएको त्यो संसारको सम्राट उनै थिए । उनी गुफावासी भएकोमा, बहुदल बिरोधी भएकोमा कतिपय पोलिटिसियनहरु खुशी थिएनन् । बि.सं. २०७३ सालको दशैंको शुभकामना दिनका लागि के.पी. शर्मा ओली मनुजबाबुको गुफावासमा पुगेका थिए । दशैंको शुभकामना दिने क्रममा उनले “ वहुदल बिरोधी मान्याता” मा पुनर्विचार गर्न आग्रह गरेका थिए । तर उनले आफ्नो निवाससम्म आएकोमा धन्यवाद दिएर त्यस आग्रहलाई टारिदिएका थिए । २०७३ साल असोजमा मनुजबाबुको आत्मकथात्मक कृति “ हर्मिताज:अढाई दशक गुफामा” बिमोचन भयो । विमोचन गरे शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले । प्रमूख वक्ता थिए-डा.तारानाथ शर्मा । पुस्तकको प्रकाशनको चाँजोपाँजो थियो घोष्ट राईटिङ्ग नेपालको । त्यो समारोहमा मनुजबाबु मिश्रका छोरा रविन्द्र मिश्रले पनि पिताको वारेमा बोले । तर जसको आत्मकथा हो उनी चाहीं अनुपस्थित थिए । कारण उनी गुफावासी भएकाले गुफामै वसे । पुस्तक बिमोचन चाहीं सार्वजनिक समारोहका वीच भयो । यी गुफावासी कलाकार तथा साहित्यकारको २०७५ साउन २३ राती हृदयाघातका कारण निधन भयो । #गोविन्द गिरी प्रेरणा #मनुजबाबु मिश्र #साहित्य निर्माता
"मर्द कवि" कृष्णभूषण बलको काव्यिक हुङ्कार: ने पालको इतिहासमा २०३६ साल विशेष मानिन्छ । राजा वीरेन्द्रले विद्यार्थी आन्दोलन भड्केपछि सुधारिएको पञ्चायती व्यवस्था वा बहुदल रोज्नका लागि ऐतिहासिक जनमत सङ्ग्रहको घोषणा गरेका थिए यही साल । यो समयमा नेपालका पञ्चायत इतरका सबै विचारधाराका कवि लेखकहरु एकै कित्तामा उभिएका थिए-पञ्चायत विरोधी र बहुदलपक्षीय रुपमा । नेपालको इतिहासमै सर्वाधिक कवि लेखकहरुले एउटै मञ्चबाट विरोधको काव्यिक स्वर उरालेको घटना सडक कविता क्रान्ति थियो । त्यो समयमा अधिकांश कविहरु विद्रोही देखा पर्थे, पुराना पुस्ताकादेखि नयाँ पुस्ताका सम्म । यसै समयमा काठमाडौंको काव्यिक जगतमा तरङ्ग ल्याउने एउटा कविताले डंका पिट्यो- काठमाडौं एक्लैले अब काठमाण्डू बोक्न सक्दैन काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लाउन सक्दैन यो कविताका कवि थिए कृष्ण भूषण बल । यो कविताले उनलाई लोकप्रियताको शिखरमा पुर्यायो, उनको पर्यायवाची नै बन्यो यो कविता एक प्रकारले । त्यस ताकका उनी उपस्थित कवि गोष्ठीमा तथा जमघटमा उनलाई सबैले यही कविताको फर्मायस गर्ने गर्थे । उनी आफ्नो मौलिक शैलीमा त्यसलाई वाचन गर्थे । इलामको रवि माल्टेनीमा विसं २००४ चैत्र १ गते मा जन्मेका यी कवि राष्ट्र बैंकमा जागिरे थिए र बसाई काठमाडौं थियो त्यतिबेला । उनको नाम शुरुमा स्कूल पढुन्जेल टीकाराम तामाङ थियो, पछि साहित्यिक क्षेत्रमा पाइलो हालेपछि कृष्णभूषण बल भएका हुन् । काठमाडौंमा उनी एक्लै बस्थे । फुक्का फाल थिए । थोरै कविता लेख्थे । साँझलाई उनी दुई प्रकारले उत्सवीकरण गर्थे, मदीरापान गरेर अथवा मखनका गल्लीहरुमा त्यतिखेर भूमिगत रुपमा भिडियोमा देखाइने नीलो चलचित्र हेरेर । क्रान्तिकारी, विद्रोही कविता, मदीरा र नीलो चलचित्र मेलै खाने कुरा थिएन । तर त्यो मेल कृषणभूषण बलमा सम्भव थियो । मनका सफा, स्पष्ट भन्दिने र चित्त नबुझेको कुरामा रनक्क रन्केर पूर्वेली झोंक देखाउने उनको स्वभावलाई मित्रगणले सहज र स्वाभाविक रुपमै लिन्थे । म त्रिभुवन विश्वविद्यालयको आन्तरिक लेखा परीक्षण शाखामा लेखापालको रुपमा काम गर्थें । नेपालको मेचीदेखि महाकालीसम्मका त्रिभुवन विश्वविद्यालयको बजेटमा चल्ने क्याम्पसहरुको लेखापरीक्षणका लागि टूर गैरहनु पर्थ्यो । कृष्णभूषण बल नेपाल राष्ट्र बैङ्कको निरीक्षण महाशाखामा काम गर्थे र उनी पनि नेपालका बैङ्कहरुको निरीक्षणका लागि विभिन्न जिल्लाहरु गैरहनु पर्थ्यो । एकपल्ट कुरै कुरामा थाहा भो, उनी धरान र तेह्रथुम जाँदैछन् । मैले सोचें, उनी जाने रुटमा मैले पनि विश्वविद्यालयको आन्तरिक लेखा परीक्षणको काम मिलाउन पाए सँगै यात्राको मजा लिन पाइन्थ्यो । दुनियाँमा मिलाउन चाहे मिलाउन नसक्ने कुरै के हुन्छ र ? मैले एकजना अधिकृत फकाएँ र धरान, धनकुटा अनि तेह्रथुम क्याम्पस आन्तरिक लेखा परीक्षणका लागि जाने काज स्वीकृत गराएँ । धरानमा त्यतिबेला कलाकार मुकेश मल्ल, अशेष मल्लका सहोदर दाजु दिनेशको जुत्ता पसल रुँगेर बस्थे । उनले एक साँझ कृष्णभूषण वल र मलाई सायँकालीन निमन्त्रणा गरे । उनीकहाँ एक बोतल मदीरा कुनै मदीरा कम्पनीले उपहार दिएको रहेछ, सो चखाएर आतिथ्यता गर्न चाहन्थे । तर मुकेशको एक्लो बसाई अनि भात भान्साको व्यवहारिकताबाट टाढा उनले स्न्याक्सको भने व्यवस्था मिलाउन सकेका रहेनछन् । हामी बाहिर निस्केर मूला, गोलभेंडा र भूजा अर्थात मुरई लिएर आयौं र त्यसको साथमा मदीरापानमा रमाउन थाल्यौं, साहित्य कलाका कुरा गर्दै । अशेषको कुरा गर्दै । मुकेश त्यतिबेला दिनेश को. जुत्ता पसलले बन्धनमा बाँधेको अनुभव गर्दै थिए र त्यो बन्धन चुँडाल्ने प्रयत्नमा लागिरहेको बेला थियो । हामीले उनका असन्तुष्टि पनि सुन्यौं । मदीराको शक्तिलाई कमजोर स्न्याक्सले थाम्न हम्मे हम्मे परिरहेको थियो । हामीले बोतल रित्याउँदा बोतलले हामीलाई हल्लिने बनाइसकेको थियो । टाउको चड्काउन शुरु गरिसकेको थियो । काठमाडौंका निख्खर बासिन्दा मेरा अधिकृत गम्भीमान सिं डंगोल पनि हल्लिएका थिए, सामान्यतः हल्लँदै नहल्लिने मान्छे पनि । बोतल रित्तिएपछि धेरै बेर त्यहाँ टिक्न सक्ने अवस्था भएन र हामी माथिल्लो तल्लाबाट ओर्लन थाल्यौं घर पछाडिको भर्याङ्बाट । तर भर्याङ्बाट ओर्लँदा ओर्लँदै हामी तीनै जनाको उदरबाट मदीरा र स्न्याक्स हुँडलिएर मुखबाट हुत्तिन थाल्यो । तीनैजनाले अलिकति पेट खाली गरेपछि म र मेरा अधिकृत विज्ञान क्याम्पसको अतिथिगृह हात्तीसारतिर उकालो लाग्यौं । कृष्णभूषण पनि आफ्नो बासतिर लागे । मात्ने गरी धेरै पिए पनि छाद्ने गरी पिएको देखेको चाहिँ त्यो नै पहिलो र अन्तिम घटना थियो । धरानबाट हामी तेह्रथुम जाने भयौं । धनकुटासम्म गाडी अनि त्यसपछि पूरै पैदल । धनकुटा पुगेपछि हामी पैदल लाग्यौं हाम्रो पहिलो बास हिलेमा पुग्ने लक्षसहित । हिलेमा तोङ्वा र सुकुटीको स्वादमा रमाइयो । अनि भोलिपल्ट बसन्तपुरमा बिहानको खाना खाएर जिरेखिम्तीमा बास बस्यौं । बीचमा अर्को एक बासपछि तेह्रथुमको सङ्क्रान्ति बजारमा पुगेपछि हाम्रो सहयात्राको बिसौनी भयो । तर हरेक साँझको रमझम र बाटोभरि साहित्यिक गफगाफ यो यात्राको रमाइलो पक्ष थियो । राष्ट्र बैंकका कृष्ण भूषणका हाकिम जो आफूलाई कीर्तिनिधि बिष्टको भतिजा भन्थे, तिनको बास व्यवस्थापन कला भने परिपक्व थियो । हामी त अनुभवहीन थियौं नै, कृष्णभूषण साँझ परेपछि खाना अगाडि मदीरा लिन थालेपछि खाना खानुअघि नै यसरी तनक्क तन्किन्थे कि भोलिपल्ट बिहान नभई उनको त्यो तन्काई खुम्चिंदैनथ्यो । उनको पहिलो कृति ” दाजु मलाई तिम्रो हात चाहिन्छ ” काव्य थियो । त्यो चर्चित थियो र त्यसको अंश गीतको रुपमा पनि गाइएको थियो । तर त्यसको व्याप्ति यथेष्ट हुन पाएन । तर २०४१ सालमा प्रकाशित “भोलि बास्ने बिहान” ले भने उनलाई तरुण पुस्ताका शक्तिशाली कविको रुपमा उभ्याइदियो । तर यो सङ्ग्रहमा आउँदा उनको चर्चित कविता “काठमाडौं एक्लैले अब काठमाण्डू बोक्न सक्दैन” का शब्द परिवर्तन भएका थिए । उनले चर्चामा रहेको बेला र अनौपचारिक रुपमा सुनाउँदाका हरफ यस्ता थिए: किन थाहा भएन तिनलाई एउटा रौंलाई मात्र भनिन्न केश किन थाहा भएन तिनलाई एउटै मात्र वंशको हुँदैन देश तर किताबमा आउँदा “वंश” शब्दको साटो “इतिहास” शब्द प्रयोग भएको थियो । वंश शब्दले सिधै राजतन्त्रमाथि धावा बोलेको अर्थ लाग्थ्यो, लेखेका पनि त्यही थिए, तर पञ्चायतको जगजगीको बेला, सकृय राजतन्त्रको बोलवाला भएको बेला उनले “वंश” शब्द प्रयोग गर्ने आँट गर्न सकेनन् । यो पुस्तकको विमोचन २०४१ सालमा भएको थियो । पुस्तक विमोचन भव्य नै थियो । हामीहरु सबैको सहयोग र साथ थियो । औपचारिक कार्यक्रम सकिएपछि हामीहरु नजिकका साथीहरुलाई उनले कमलपोखरीको एउटा चिया खाजा पसलमा लगे । उनी त्यो विमोचन समारोहमा वक्ताहरुले बोलेका उनका कविताको विश्लेषण, तारिफ र चर्चा सुन्दै रमाइलो खानपानको मूडमा थिए । पहिलो चरणमा चिया अर्डर भयो । क्यासेट प्लेयर साथमै थियो, जसबाट सो कार्यक्रमको ध्वनि रेकर्ड गरिएको थियो । साहुजीले चिया बनाएर दिन थालेका थिए । केही साथीहरु चियाको चुस्की लाउन थालिसकेका थिए । उनी भने क्यासेट प्लेयर बजाउन टुपिन जोड्ने ठाउँ खोज्न थाले । पाइयो । क्यासेट प्लेयर अन भयो । उज्यालो अनुहार लाएर उनी र हामी सबै क्यासेटबाट आउने आवाजको प्रतीक्षा गर्न लाग्यौं । स्वाईंईं आवाज आयो । शुरुमा यस्तै हुन्छ भन्ने ठान्यौं र वक्ताहरुको भीषण भाषणको प्रतीक्षा गर्न लाग्यौं । तर आवाज त्यही स्वाईंईं भन्दा अरु आएन । कृष्णभूषणको मुड बिग्रन शुरु भयो । फास्ट फरवार्ड गर्दा पनि र पुन: रिवाइण्ड गर्दा पनि स्वाईंईं भन्दा अरु आवाज नआएपछि रेकर्डिङमा गडबड भएको पक्का भयो । उनी अलिअलि कालो वर्णको मान्छे, पूरै कालो भए । नीलो भए । अनि एक्कासि साहुजीलाई भन्न थाले, “खाजा साजाको सबै अर्डर क्यान्सिल ! सबै क्यान्सिल !” जजसले चिया समातेका थिए, पाइहाले, अरुले चिया पनि पाएनन् । बडो बेमज्जा भयो । उनलाई साह्रै दु:ख लाग्यो । म पनि त्यो दुर्दान्त क्षणमा केही नबोली बाटो लागें । “भोलि बास्ने बिहान” काठमाडौंको साहित्यिक वृत्तमा चर्चाको विषय बन्यो । साप्ताहिक विमर्शमा डा. ध्रुवचन्द्र गौतमले आफ्नो स्तम्भमा पूरै यो किताब र कृष्णभूषण वलमाथि लेखिदिए । त्यो धेरै पढिने चर्चित साप्ताहिक अखबार थियो त्यतिबेला । तीसको दशकका कवि लेखकहरु निकै उत्साह र लेखनमा नयाँपनको लेप लिएर आउँदै गर्दा पनि स्थापित समालोचकहरुले वास्ता नगरेको, लेखनको मूल्याङ्कन नगरिएको जस्तो आरोप लाग्ने गरेको थियो । विशेष डा. वासुदेव त्रिपाठी, कृष्णचन्द्र सिंह प्रधान, अभि सुवेदी जस्ता वरिष्ठ समालोचकहरुले नयाँ पुस्ताका कवि लेखकको समीक्षा समालोचना नगरेको गुनासो हुने गर्थ्यो । हुन पनि ठूला समालोचकहरु नामै लिन समेत अन्कनाउँथे । तर कृष्णचन्द्र प्रधानले कृष्णभूषण बलको बारेमा खुलेरै भव्य समालोचना लेखिदिए एकेडेमीको कविता पत्रिकामा । उनले बललाई “मर्द कवि”को उपमा दिंदै गोपालप्रसाद रिमाल, वैरागी काइँलाको लहरमा तिनको उत्तराधिकारी कविको रुपमा चर्चा गरिदिए । उनले लेखे: ” वास्तवमा बल स्वतन्त्रता, प्रजातन्त्र र मानव-अधिकारका गायक हुन्, अनुचित र अव्यवस्थित व्यवहारलाई मोड्ने मनोकाङ्क्षाका आस्थावान्-कवि हुन् ।….कोमलता उनको कविताको प्रकृति होइन, यसकारण पोथी कवि उनी भएनन् । पुंसत्व उनको कविताको स्वभाव हो, त्यसैले उनीलाई मर्द कवि भन्नुपर्छ ….बल दोबाटाका बाटा हुन् । क्यै भन्न परेकोले उनी कविता लेख्छन्, कविता नलेखी बस्नै नसकेकोले क्यै भनिरहेका हुन्छन् । यसरी दुवैले दुवैको समझदारीलाई जुन वातावरणमा स्वीकार गरी सम्झौता गरेका छन् र अस्तित्वको सम्मान राख्न सके, तिनै कविलाई कृष्णभूषण भनेको हूँ-यसभन्दा अघिकालाई वैरागी काइँला र अझ अघिकालाई गोपालप्रसाद रिमाल ।” यो समालोचना प्रकाशित भएपछि कृष्णभूषण बल यति धेरै खुशी भए कि त्यसको सिमाना नै रहेन । उनले कृष्णचन्द्र सिंह प्रधानलाई फोन गरेर, भेटेर पटक पटक, अनेक पटक कृतज्ञता जाहेर गरेपछि कृषणचन्द्र सिंह प्रधानलाई अस्वाभाविक मात्र लागेन वाक्कब्याक्क समेत लागेको उनले प्रशङ्गवस मलाई पनि सुनाएका थिए । नयाँ पुस्ताको बारेमा लेख्दा हुने यौटा जोखिम यो पनि हो । साँच्चै कृष्णचन्द्र सिंह प्रधान आफैंले त्यो समालोचना लेखेर कृष्णभूषण बलको कवित्वको हत्या भएको समेत महसूस गरे । हुन पनि त्यसपछि उनका कविताहरु भोलि बास्ने बिहानका कविता भन्दा उम्दा हुन सकेनन् । त्यो समालोचनाले कृष्णभूषणलाई एकातिर बिगार्यो भने अर्कोतिर कृष्णचन्द्र सिंह प्रधानले नयाँ पुस्ताको समालोचनै गर्न उपयुक्त समय भैनसकेको ठहर गरे । फलत: समालोचना लेख्नका लागि उनले तयार पारेका नयाँ पुस्ताका कवि लेखकहरुको सूची कृष्णभूषण बलबाट शुरु भएर लगभग उनैमा अन्त्य भयो । निकै पछि मात्र उनले पोखराका सरुभक्तलाई समाते । कृष्णभूषणले काठमाडौं बसाइलाई अन्त्य गरेर विराटनगरलाई गृहनगर बनाए । उनी राष्ट्र बैंङ्कको केन्द्रबाट विराटनगरको क्षेत्रीय कार्यालयमा सरुवा भएका थिए । उनी विराटनगर बस्न थालेपछि काठमाडौंको यौटा साप्ताहिक अखबारमा “सुनाखरी लामा, विराटनगर” को नामबाट निकै चोटिला लेखहरु प्रकाशित हुन थाल्यो स्तम्भकै रुपमा । त्यो स्तम्भ छोटो समयमै निकै चर्चित भयो । त्यो स्तम्भ लेख्ने लेखक अरु कोही नभई स्वयम् कृष्णभूषण बल नै थिए । विराटनगर झरेपछि पनि कृष्णभूषण बलले झरिला कविता लेख्न सकेनन् । “अब त बिसाउँ होला थापाजी” जस्ता आत्मस्वीकृतिजन्य घतलाग्दा कविताको फाट्टफुट्ट सिर्जनामा भने उनले आफूलाई लगाई नै रहे । उनी परशु प्रधान अध्यक्ष रहेको वाणी प्रकाशन संस्थाको उपाध्यक्ष थिए । परशु प्रधानले काठमाडौं फर्कने निर्णय गरेपछि वाणी प्रकाशनको अध्यक्षको कार्यभार कृष्णभूषण बलले पाएका थिए । तर संस्था चलाउने संयन्त्रको जानकार नभएका उनले वाणी प्रकाशनलाई पूर्ववर्ती कालखण्डको तुलानामा अघि बढाउन सक्षम भएनन् । सधैं प्रातकालीन भ्रमणमा निस्कने कवि एकदिन नियमित ढङ्गले प्रातकालीन भ्रमणमा निस्किएपछि घर आएर नुहाउँदै गर्दा बेहोस भएर लडे । उनलाई उपचारार्थ अस्पताल पुर्याइयो । तर उनी ढलेको ढल्यै भए र २०६९ साल असार ११ गते दिवङ्गत भए । उनको मृत्युको एक महिनाको अन्तरालमा म क्यालिफोर्नियामा थिएँ र साहित्यकार बासु ढकालको निवासमा क्यालिफोर्नियाकै अर्का साहित्यकार ध्रुव थापासहित केही साहित्यप्रेमीको उपस्थितिमा हामीले यौटा सानो श्रध्दान्जली कार्यक्रम पनि गर्यौं र दिवंगत कविको सम्झना गर्यौं । तर उनले त्यो बेला गरेको ‘काठमाडौं एक्लैले अब काठमाण्डू बोक्न सक्दैन, काठमाडौं एक्लैले अब सिङ्गै नेपालको अर्थ लाउन सक्दैन’ भन्ने उद्घोष समयक्रमले प्रमाणित नै गरेर छाड्यो। #कृष्णभूषण बल #गोविन्द गिरी प्रेरणा #साहित्य निर्माता
चिया अड्डा: १. ‘ती चिया अड्डाका चिया फिक्का लाग्छन्, जहाँ साथीहरू भेटिँदैनन् ।’ यस्तै केही लेखेको थिएँ, फेसबुकको स्टाटसमा । कमेन्टहरु बररर बर्सिएका थिए । तर ती कमेन्टहरु केवल “वाह वाह” र “क्या गज्जब लेख्नुभो” भन्ने पाठकहरुका थिए । त्यहाँ “हामीलाई पनि तेरो उपस्थिति खड्किएको छ लम्बु” भन्ने कमेन्ट टाँस्नलाई ती पुराना चियाचुरोटे यारहरु झुल्किएनन् । न त “हामीले चियाका कपहरु साटीसाटी पिएका पलहरु फनफनी आँखामा नाचिरहन्छन् अझै” भन्ने उनको कमेन्ट आयो । किन आउँथ्यो र जिन्दगीको आवेश फेसबुकको आइडीलाई पोखेर ब्लक गरेर जानेको कमेन्ट । कमेन्टहरु दर्जनौं आऊन्, लाइकहरु सयौँ आऊन्, आँखाहरुले त केवल आफ्नो मनको मान्छेको अनुहार पानको पातको छेउमा हाँसिरहेको हेर्न रुचाउँदो रहेछ, फेसबुकमा । चियाको लती म सानैदेखि हो । त्यतिबेला गुलियोले लत लगायो होला । तातो घुट्कोले आँतबाट मीठो स्वाद बगाउँदै लैजाँदा रमाएको मन र मगजले लत लगायो होला । त्यसपछिको लत साथीहरुले लगाए । भन्नेहरु त चुरोटले क्यान्सर लाग्छ भन्छन् । लाग्छ होला पनि । यदि मान्छे मार्ने विष नै हो भने किन बेचिन्छ त चुरोट ? गैरकानुनी बनाएर प्रतिबन्ध लगाउनु पर्ने हैन र ? तर देशले चुरोट बेचेरै अर्बौँको राजश्व कमाउनु छ । मान्छेहरु रोगी बनाएर उठाएको राजश्वले अस्पतालहरु खोल्नु छ, विद्यालयहरु चलाउनु छ । फाइदा त कति हो कति ! तर मलाई भने कलेजका दिनहरुमा ख्यालख्यालैमा सिकेको चुरोटले दमको रोग हैन दमदार साथीहरु भेटाइदिएको थियो । “कहाँ छस् ? क्याफे आइज,” टोलका साथीहरुको एक कल फोनमा भर्खर भात खाएका चिसै हात लिएर कुदेर पुगिन्थ्यो, घरछेवैको चिया पसल । “फोक्सो चिलाएको छैन तेरो ?” कलेजका साथीहरु कलेज बिदा भएकै दिन निम्ता गर्थे । अनि “आज एक्स्ट्रा क्लास छ” भन्दै रित्तो झोला काँधमा भिरेर पुगिन्थ्यो कलेज । गेट बाहिरको चियापसलमा जम्थ्यो अड्डा । हरेक कप चियाका समाधिमा सहिद हुन्थे केही जोडी चुरोटहरु । धुवाँ बनेर उड्थे नैराश्यताहरु । लत चुरोटको थिएन, दोस्ती यारीको थियो । लत चियाको पनि थिएन, जमघटको थियो । आन्द्राको ग्यास्ट्रिकको डरभन्दा कैयौँ ज्यादा मुटुको न्यानोपनको लोभ थियो । तर मिलिक्कै बितिगए क्याम्पस पढ्ने दिनहरु । डेरावालको जिन्दगी न हो, फेरिए टोलहरु । कैयौँ साथीहरु घर व्यवहारका झ्यालखानामा कैद भएर चियाअड्डाहरुमा हाजिर लगाउन असमर्थ भए । ठुटो चुरोटका खिल्लीहरु साटासाट गरेका कैयौँ आत्मीय ओठहरु देश छोडेर परदेशी बने । त्यसपछि बल्ल चुरोटहरु टर्रा लाग्न थाले । फिका लाग्न थाले चियाहरु । कहिलेकाहीँ चियाका कपहरुले पनि एक्लोपन महसुस गर्ने रहेछन् । लाग्छ, मजस्तै एक्लो छ मेरो टेबलमा ठिंग उभिएर सुस्केराको बाफ छोडिरहेको चियाको कप । लाग्छ, सोधिरहेछ उसले, किन मलाई यो टेबलमा ल्याएर एक्लै छाडिदियो पसलेले ? किन अलपत्र पारिदियो मलाई ? खै त मेरो छेउमा अर्को साथी ? आजभोलि चियासँग यादहरु मिस्सिएर आउँछन् । चियाका कपहरुमा कतै कतै उसैका औँलाहरु अल्झिएको देख्छु । कप उचालेर ओठसम्म लैजाँदै गर्दा लाग्छ, म कसैको देब्रे हातको चोरऔंलालाई सुस्तरी आफ्नो दाहिने हातको चोरऔंलाले अंकुशे बनाइरहेछु । चुमिरहेछु ती औंलाहरुलाई । तब त्यतिबेला भन्न मन लाग्छ ती फिका चियाहरु पनि गुलिया लाग्छन्, जहाँ प्रियसीका यादहरु मिस्सिएका हुन्छन् । यादहरु नहुँदा हुन् त जिन्दगी पनि चिस्सिएको चियाझैं हुँदो हो । ओस्सिएको चुरोटझैं हुँदो हो । पहिलो पटकको भेटमा चियापसलको टुलमा सपक्क घुँडा जोडेर सावधानीपूर्वक चियाको कप समाएकी थिइन् उनले । सोचिहोलिन्- यो कस्तो मान्छे होला, जसले मलाई यस्तो निस्सारलाग्दो चिया पसलमा भेट्न बोलायो । उसका कल्पनामा कुनै आलिशान रेस्टुराँको कफी सप थियो होला । सोचेकी थिइन् होला, भेट हुनेछ कुनै बारमा । कुनै लाउन्जमा । तर यो कस्तो दिवानापन होला, यो उम्रिन लागेको लेखकको, जो यति सुन्दरीलाई बस्नै असहज हुने गरेर बोलायो गोंगबुको सानो गल्लीको यो चिया पसलमा । आँखाहरुले बात मारेका थिए, ओठहरु डराएका थिए । मलाई डर थियो, मेरो झुसे दाह्री, खुइलिएका लुगा अनि फाटेको जुत्ताको असर उनको दृष्टिकोणमा पर्ला भनेर । तर उनलाई डर रहेछ, मेरो यही सादगीको मूर्तिले उनको सम्पन्नताको आस्थालाई नकार्यो भने ? मान्छे सधैँ कहाँ पैसाको पछि दगुर्छ र ? मनको भकारी रित्तिएकाहरु प्रेमको पछाडि पनि त दगुर्छन् । जीवनको कुनै कालखण्ड गरिबीको सगरमाथा चढेकाहरु फेरि विपन्नताको ढिस्को मात्र पनि उक्लिन चाहँदैनन् । त्यसैले रोज्दछन् बलियो लिस्नो, जसबाट उक्लिन सकियोस् ऐश्वर्यको माथिल्लो चोटामा । उनी त यसै सम्पन्न थिइन् । उनलाई आफ्नो सम्पन्नताको कारण म टाढा हुँला कि भन्ने भय थियो । प्रेममात्र यस्तो कुरा हो, जहाँ गरिबलाई धनीसँग मात्र हैन, धनीलाई गरिबसँग पनि बिछोडको चिन्ता हुन्छ । ‘तिमीलाई अड लाग्यो हो ?’ मेरो नजर उनले समाउन नसकेको वा भनौँ नजानेको चियाको कपमा थियो । ‘छैन त,’ उनका गुलाबी ओठहरुले कपको बिटमा छाप लगाइदिए । ‘कति अप्ठेरोसँग पिएकी!’ त्यसपछि मात्र उनका सुकिला हत्केलाहरुले त्यो फुच्चे कपलाई पोथीले चल्ला छोपेझैं छोपेका थिए । सुरुप्प पारेर आवाज निकाल्दै तानेकी थिइन्, चियाको सुर्को । ‘अब भयो ? हजूरले जस्तैगरी खाएको मिल्यो ?’ उनी बल्ल सहज भएर मुस्कुराएकी थिइन् । ‘मिल्यो मिल्यो,’ म हाँसेको थिएँ । भोलि फेरि भेटौंला भनेर स्कुटरको हेल्मेट लगाएर उनी उठेकी थिइन् । ‘हजुर पनि जाने कि अलि परसम्म ? कि यतै बरालिएर बस्ने हो ?’ कति बिघ्न हक थियो त्यो बोलीमा । मलाई “हजूर हैन, तिमी भन” भन्न मन थियो । खुरुक्क कठालोमा घिच्याएर “हिँड खुरुक्क” भन्दिए हुनेझैं लागेको थियो । तर फगत एक हप्ताको कुराकानी, अनि लाज मानीमानी भेट्न तयार भएको म । नाथे फेसबुकमा टुक्रे लेख पढेर “फ्यान” भएकी केटी । सोचेको थिएँ, एकदिन भेटेसी टाढिने छे । अनुहार देखेपछि तर्किने छे । चक्रपथमा कम्पाउण्ड लगाएको घरमा बसेकी केटी, कसरी प्रेममा पर्छे र मजस्तो गाउँबाट काठमाण्डू आएर एउटा साँघुरो डेरामा पढ्न बसेको केटोसँग ! तर प्रेम त यस्तै अप्ठेराहरुमा पलाउने बिरुवा रहेछ, जो हुर्कियो, झ्यांगियो, र समयसँगै सुकेर गयो र अन्तत्वगत्वा मर्यो । के थाहा, त्यसदिन उनको स्कुटरको पछाडि बसेर जाँदै गर्दा देखेको सिङ्गो जिन्दगी सँगै यात्रा गर्ने सपना यति छिट्टै तुहिने छ भनेर । कहाँ सोचेँ र, मैले फेसबुकमा एड गरिदिएको दिन, खुशीले संसारै जितेजसरी मेसेजहरुका डङ्गुर नै पठाएर मसँग अनुग्रहित भएकी मान्छेले नै एकदिन मेसेन्जरको ढोका मात्र बन्द नगरेर “तेरो अनुहार नै हेर्दिनँ” भन्दै ब्लक ठोकेर जान्छे भनेर ! आज न त साथीहरु भेटिन्छन् चिया अड्डाहरुमा, न त प्रियसी छिन् साथमा । तर अन्जानैमा जोडेको मित्रताको नातामा चियाले रत्तिभर बैमानी गरेन । यो अझै पनि मुटुको छेउकुना भएर बग्ने गर्छ, हरेकदिन, साँझ, बिहान । लकडाउनमा घरै बसेर सिलाभरे दिउरेमा पानी बसाल्छु, चियापत्ती राख्छु, दुध राख्छु र उम्लिन दिन्छु । तब उम्लिन थाल्छन् पुराना यादहरु । के के गल्ती गरें मैले उनलाई टाढा बनाउन, कसरी टाढिए पोट खेलेर घन्टौं चियाअड्डामा दिन बिताउने साथीहरु । चिया अड्डाहरु फगत अड्डाहरु थिएनन् । ती त जिन्दगीको एउटा समानान्तर पाटोलाई नियाल्ने आँखीझ्याल थिए । अब यो एकान्तवासमा बसेर खोल्नु छ स्मृतिका ती एक-एक पत्रहरु । #चिया अड्डा #सुरेश बादल
एक दिने ढिलाइको फाइदा: हामी बस चढ्न लाग्दा ऐरावती नदीझैं माण्डलेलाई आफ्नै खालको हतार थियो । ऊ ऐरावती नदीझैँ अविराम दौडिरहेको थियो । हामीले माण्डले छाड्न लागे जस्तै डाँडा पारिबाट सफल यात्राको शुभकामना दिँदै थियो, अस्ताउँदो घामले पनि । आज जनवरीको २० तारिख । महिना दिनदेखि गरिएको तयारीले बल्ल नेपाल यात्राको जोरजाम पूरा भएको थियो । साँझ परिसक्दा पनि खुसीका कारण सबैको अनुहार पूर्णिमाको जूनझैं उज्यालो देखिन्थ्यो । गीत बजिरहेको सुन्दा यस्तो लाग्यो, देशी ड्रइभरसमेत हाम्रो उमङ्गमा मस्त छ सायद । भारत सरकारको सहयोगमा बनेको माण्डले–टमु सडक निकै फराकिलो थियो । यो सडकलाई एसियाली राजमार्ग पनि भनिन्छ रे ! नेपालको काँकरभिट्टा हुँदै भारतका विभिन्न राज्य र म्यामा हुँदै यो सडकलाई थाइल्याण्डसम्म जोड्ने योजना छ भन्ने सुनेको हुँ । सायद जोडिसकिएको होला कि ? अल्पज्ञानका कारण यसै भन्न सकिनँ । यात्रामा रमाइलो सुरु भयो । हामी सबैका मोबाइलमा नेपाली गीत र बर्मेली गीत छन् । त्यसबाहेक अडियो बुक, अडियो कविता र मनोज गजुरेलका व्यङ्ग्य पनि छन् । सात जना आफ्नै पाराका छौँ, जसले बसमा अरुलाई डिस्टर्ब होला भन्ने पीर नगरी नेपाली गीतमा झुम्न थल्थ्यौं । हाम्रो नबुझिने गीत सुनेर बेला बेलामा बसका यात्रुहरु छक्क परेर हेर्थे । फेरि बर्मेली बोली सुनेर आश्वस्त हुन्थे । ‘ठिकै भयो हामीलाई प्लेनको टिकट नमिलेको ! नेपाल हेर्न अझै तीन दिन पर्खनु भन्दा यस्तै रमाइलो गर्दै भारतलाई नियाल्दै नेपाल पुग्ने भइयो,’ गीतको बीचमा भीम पाण्डेले भन्नुभयो, ‘यात्रा गरेपछि यस्तै अनौठो खालको गर्नुपर्छ ।’ सबैले हो मा हो मिलाउनु भयो । तर मलाई भने भारतीय काउन्सिलरले गरेको अनावश्यक सोधपुछ र केरकार सम्झेर बनाएको थियो । ‘नेपाल जान भारतकै बाटो किन ?’ ‘नेपालका धेरै केटीहरु यसरी नै हिँड्दा बेचिएका छन् भन्ने थाहा छ ?’ ‘तिमीहरु चार जवान केटी छौ, भारतको बाटो केही भयो भने कसले जिम्मा लिन्छ ?’ ‘तिमीहरुसँग जाने तीन जना केटाहरुलाई कहिलेदेखि चिन्छौ ? ‘ज्ञानबहादुर थापा को हो ? उनले नेपालबाट किन बोलाएका ?’ यी यस्ता प्रश्न थिए, जसबाट काउन्सिलरको चिन्ता त देखिन्थ्यो तर त्यो भन्दा पनि यात्रा गर्न हत्तोसाहित गरिरहेको थियो । काउन्सिलर सकेसम्म हामी भारतको बाटो नछिरौँ भन्ने चाहन्थे । भारतको बाटो हुँदै नेपाल जानुपर्ने कारण खर्चमा कटौती पनि हो भन्ने हामीलाई थाहा थियो । माण्डलेबाट थाइल्याण्ड, थाइल्याण्डबाट काठमाडौँ र काठमाडौँबाट धनगढीको यात्रा छिटो त हुन्थ्यो तर पैसा धेरै नै लाग्दथ्यो । जुन हामी युवा पुस्ताका लागि धान्न सकिने थिएन । त्यसमाथि साहित्यमा लागेको मानिसले जति धेरै संसार बुझ्यो, त्यति राम्रो भन्ने हामीलाई लागेको थियो । जिन्दगीमा पहिलो पटक बर्मा छाडेको बेलामा धेरैभन्दा धेरै ठाउँ कम भन्दा कम मोलमा हेर्ने रहर हुनु स्वभाविक नै हो । त्यसमाथि प्लेन तीन दिन ढिला थियो । यो तीन दिनमा त हामी नेपालको बोर्डर पुग्न सक्दथ्यौँ । त्यसले पनि हामीलाई भारतको बाटो हिँड्न प्रेरित गरेको थियो । काउन्सिलरलाई यही कुरा चित्त बुझिरहेको थिएन । बसमा हामी त्यही दुःखद् कुरा सम्झिन थाल्यौँ । ‘अगर कोठीमे गई तो घर लौटने के सपने भी नही देख सकती, सम्झी ?’ भागवत सरले काउन्सिलरको नक्कल गर्दै हामीलाई जिस्क्याउनु भयो । ‘जो हमको बेचने का सोचेगा, उसीको बेच देंगे!’ सरगमले उही शैलीमा जवाफ फर्काउनु भयो । बसमा सातै जनाको हाँसो फैलियो । बसका पेसिन्जर पुनः हामीतिर छक्क परेर हेरे । हुन त नेपालले हामीलाई साहित्यकारको रुपमा स–सम्मान नेपाल बोलाएको छ, भारतीय काउन्सिलर भने बेचिने डर देखाइरहेको छ । एक प्रकारले यो हाम्रा लागि विरोधाभास कुरा थियो । त्यही कुरालाई हामीले बसभरि उडाउन थाल्यौँ । तर काउन्सिलरले आफ्नो ड्युटी गरेका रहेछन् भन्ने कुरा पछि थाहा भयो । सुदुरपश्चिमाञ्चल साहित्य महोत्सव हुन लागेको हो होइन, त्यहाँ आउने युवतीहरुको नाम हाम्रो नामसँग मिल्छ मिल्दैन भनेर पनि सोधपुछ भएको रहेछ । एक प्रकारले यो हाम्रै सुरक्षाका लागि थियो । तर यो बेला त हामी यस्ता कुराबाट अनभिज्ञ थियौँ । केवल काउन्सिलरले गरेको अनवाश्यक सोधपुछ र एक दिन ढिला गरेर दिएको भिसाले परेको अप्ठ्यारोका कारण हामी रिसाइरहेका थियौँ । हामीले भिसा पाएपछि आफूले पाएको दुःखको गुनासो नेपाली धर्मशालालाई पनि सुनायौँ । त्यो दिन मान्डलेस्थिति म्यान्माली नेपालीहरूको साझा घर अर्थात् नेपाली धर्मशाला भवनको निमार्णको शिलान्यास पनि थियो । एक दिन ढिला भिसा पाउँदा यो कार्यक्रममा सरिक हुन पाएको भन्दै अग्रजहरु खुसी हुनुभयो । त्यो बेला लाग्यो, जे भयो राम्रै भयो । म्यान्मामा जहाँ-जहाँ ठूलो नेपाली बस्ती र ठूलो सहर छ, त्यहाँ नेपाली धर्मशाला छन् । प्रत्येक गाउँमा पाठशालाहरु छन् । मिचिना, टमू, नाउछो र याङ्गुनमा ठूला धर्मशालाहरु छन् । यस्ता धर्मशालामा नेपालीहरुलाई अत्यन्तै सस्तो दाममा बस्न खान व्यवस्था गरिन्छ । सन् १९८२ मा ठूलो लागतमा निर्माण गरिएको धर्मशाला दुई वर्षपछि अचानक भएको अग्निकाण्डमा ध्वस्त भयो । त्यो म्यान्माली नेपालीको मुटु निचोरिएको दिन थियो त्यो । तर वीर गोर्खालीको भावना, उद्देश्य र योजनाहरू भने ध्वस्त हुन सकेन । यस्ता धर्मशाला म्यामाली नेपालीहरूको धानको बोट, मकैको बिउ, गााईको बाच्छो, आँपको रुख जस्तै हो । जसले भविष्यमा छाहारी र अन्न दुवै दिन्छ । माण्डलेको यो धर्मशाला म्यान्मा भएका सम्पूर्ण नेपालीहरूले पाइपाइ जोडेर, दान र चन्दा सङ्कलन गरेर निर्माण भएको हो । यसरी दुःख गरेर बनाएको धर्मशाला आगालागीले ध्वस्त हुँदा धेरैका आँखा ओभानो हुन समय लाग्यो । माण्डले यस्तो सहर हो, जहाँ हरेक दिन जसो कतै न कतै आगलागी हुने गर्छ । त्यस्तै आगलागीमा परेपछि यो धर्मशाला चार वर्षसम्म त्यत्तिकै रह्यो । सायद नेपालीहरुलाई त्यसैगरी खर्च जुटाउन समय लाग्यो होला ! मण्डलेको धर्मशाला अहिले पनि कति प्रख्यात छ भने सहरको जुनसुकै कुनाको जुनसुकै अटो वा भाडाका ड्राइभरलाई नेपाली धर्मशाला पुर्याइदेऊ भन्दा पुर्याइदिन्छन् । बर्माभरिबाट आउने नेपाली विद्यार्थी, बिरामी, सरकारी कामले झरेकाहरु सबैलाई यसले आश्रय दिन्छ । त्यति मात्र होइन, नेपाल र विश्वभरबाट आउने नेपालीहरुका लागि पनि यो सुस्ताउने चौतारो बन्ने गरेको छ । आगलागीमा परेको यो धर्मशाला सन् १९८६ मा जीर्णोद्धार भयो रे तर जीर्णाद्धार गरिएको यो धर्मशालाले सायद गोर्खालीको बढ्दो जनसंख्यालाई धान्न सकेन । देशकै दोस्रो ठूलो सहरमा जुन स्तरको धर्मशाला हुनु पर्दथ्यो, त्यो नभएका कारण पनि हुनसक्छ, यो धर्मशालाको शिलान्यास भएको थियो । अहिल यो १० तल्ले भव्य भवन बन्ने तयारीमा छ । यस्तो कार्यमा बर्मामा रहेका हरेक नेपालीले केही न केही दिनुपर्ने सामान्य नियम हो । यो पावन अवसरमा हामी पनि सहभागी हुन पाएका थियौँ । सिलान्यासमा लागि केही सरकारी पदाधिकारी, बर्माका लागि नेपाली राजदूत भीम उदास, केन्द्रीय समिति र म्यान्मा भरिकै नेपाली शाखाहरूका प्रतिनिधिको उपस्थिति थियो । यस्तो लाग्यो, मानौँ हाम्रो यात्राका लागि स्वागत गर्न सबै जम्मा हुनु भएको छ । यसले भारतीय काउन्सिलरले गरेको कडा सोधखोज र प्रश्नले दुखाएको मन पनि शान्त भयो । एकातिर शिलान्यास हुँदै थियो, अर्कोतिर म्यान्माली नेपाली साहित्य धान्ने युवापिँढी भनेर हामीलाई शुभकामना र आशीष पनि मिलिरहेको थियो । यात्राका लागि हामीले केही खर्च पनि पायौँ । अहिले गाडी एकोहोरो पूर्वतिर लागिरहेको छ । अँध्यारोमा हामी कहाँ पुग्यौँ थाहा छैन । ‘एकपल्ट सम्झनु पर्यो हो,’ भागवत सरले फोन निकाल्दै भन्नुभयो । हामी सबै गलल्ल हाँस्यौँ । खासमा भागवत सर नयाँ नयाँ विवाहित हुनुहुन्छ । उहाँ पटक पटक फोनमा म्यामसँग कुरा गर्नुहुन्छ । जब जब उहाँ घरमा फोन लगाउनु हुन्छ, हामी जिस्क्याउँछौ । एक दिनमै चारपल्ट फोन गर्ने मान्छेले लामो नेपाल बसाइमा के गर्नुहुन्छ होला । हामी यस्तै भनेर जिस्क्याउँछौँ । उहाँ भन्नुहुन्छ, ‘विवाह गरेर हेर, अनि थाहा हुन्छ, परिवार भनेको के हो ? माया भनेको के हो ?’ हामी भन्छौँ, ‘हाम्रो परिवार छ नि, बिहे नै गर्नुपर्छ भन्ने के छ र ?’ उहाँ पुनः फोन गर्नुहुन्छ । तर उहाँको फोन झर्नेबित्तिकै हामी पनि आ–आफ्नो घरमा फोन लगाउँछौँ । मैले पनि फोन लगाएँ । घरमा सुत्ने बेला भएछ । आमा सोध्नुहुन्छ, ‘नेपाल पुग्न लाग्यौ ?’ म हाँसेर भन्छु, ‘आमा नेपाल त धेरै दूर छ । हामी अहिले टमु पनि पुगेका छैनौँ ।’ भोलि बिहान टमु पुग्ने लक्ष्यमा साथ गाडी गुडिरहेको छ । #बर्मा #बर्मादेखि नेपालसम्म #रीता लामाकार्की
गोवर्धन पूजाको गजल: गोबर्धन पूजा एउटै जात एउटै रङ्ग यत्ति मात्र थाहा छ मलाई या त जीउदै गाड मलाई, या त जलाउ कोरी सलाई अझै कति नवराजले मर्नुपर्छ रुकुममा कति रगत पिउँछस् दैव प्रेमीमाथि छुरा चलाई गल्ती भन्नु ! यत्ति थियो, केवल उसले माया गर्यो चोट सह्यो ,खोट सह्यो, समाजको सह्यो जलाई आखिरीमा चाहिने त दाउराको चिता न हो कात्रो भित्र खल्ति हुन्न, सक्दैनौ हो लान छलाई यो पूजाले भन्छ आज जातपात अन्त्य गरौ स्वार्थ भन्दा माथि उठी सोचौ अब सवको भलाई बोस्टन, अमेरिका #अमेरिका #गोवर्धन पूजा #बोस्टन
बागी कलम: जब मेरो कलम बागी बन्छ केही हूल मस्तिष्कहरू पर्खाल बन्छन् । म ती पर्खालहरू भत्काउन खोज्छु मस्तिष्ककै कलमले तर पर्खाल भत्किँदा नभत्किँदै तेर्सिन्छन् केही जोर हत्केलाहरू अनि भाँच्न खोज्छन् मेरा वैचारिक कलम । मेरा अस्तित्वका बिर्का, खोल र भिर्नीहरू सहिरहन्छन् विभेदकारी पदचापहरू । तर मेरा चेतनाका सुइराले घोचिरहन्छन् उसका मस्तिष्कीय पाइतलाहरू तबसम्म जबसम्म ढल्दैनन् उसको मनुचेत देह । #बागी कलम #राज प्रणय
पूर्वीय दर्शन चेत: फैलाऊ अब चेत विश्वभरिमा पूर्वीय संस्कृतिको कस्तो अमृतपान हुनेछ सजिलै आधार समृद्धिको खोजेथे अति कष्ट सहन गरी पुर्खा तपस्वी थिए कस्तो अमूल्य ज्ञान बटुली हामीलाई उपहारै दिए। भाषा जीवनको प्राणसरी हो संस्कृत नै उत्तम छोड्यौ चटक्क मतिभ्रमित भै बुज्दै नबुझीकन कस्ता उत्तम थे ज्ञान भरिएका ती पञ्चतन्त्रै कथा बिर्सेथ्यौ भन्न सन्ततिहरुमा त्यसले बढाए व्यथा। कस्तो सुसंस्कृत थियो परम्परा थुप्रो गुणको भरी त्याग्यौ कसोरी ओहो अबुझभै चाहिँदै नचाहिने गरी पोतेको गोबरले दहिलो घरको गर्थ्यो निरोगी घर हुन्थ्यो नित्य नै योग घरमा दिन्थ्यौ जीवनलाई भर। पुर्खाका गहकिला अन्वेषण ठूला आयुर्वेदका कुरा पार्थेनि बिसेक रोग सजिलै जस्तै भए नि पुरा गर्थ्यौ पूजन अस्तित्व जसको थियो धरामा पनि राखेथे बडो जतन गरी सब दिव्य खजाना पनि। लिन्थ्यौ प्रकृतिबाट उत्ति नै चल्थ्यो गुजारा जति बिर्सियौ दोहन हानिकारक भनी भोग्नु छ पीडा कति छोड्यौ चटक्क व्यवहार पुराना अस्तित्व सस्तो भयो गर्दा नक्कल अरु संस्कृतिको समाज भ्रस्टै भयो। पूजा पीपलको गरेथे सबले हो रुप विष्णु भनी गर्छन् नाग पूजन अति ठूलो कामका यिनै हुन् भनी विषालु सब चिज जगका सर्पैले हुन पिउने पाउँछु वृक्षबाट अक्सिजन यहाँ आधार हो जिउने। जोडेर हात अति खुसी भै गर्ने नमस्कार पनि कस्तो राम्रो रहेछ नि ओहो हाम्रो संस्कार पनि भान्सा प्रवेश थियो अति कडा फेरेर लुगा अनि बस्ने आसन थे अति मजा राख्थेनी स्वस्थ्यै पनि। सारा विश्वबन्धु सोदर सबका बन्धुत्वको भावना शान्ती निर्बिकल्प अधिकार जनको अहिंशाको कामना। शाहाकारी भोजन अति मिठो निक्कै गुणले भरी बन्नेछ समुच्च बिस्व सुन्दर घर यो धर्म पालन गरी। सैंबु, ललितपुर #सुरेश जोशी
गर्दिनँ एकजोर सन्धि: वसन्त खनाल आकाशमा चम्किने र गड्यागुडुङ गर्नेले न शक्ति दिन्छ न सामर्थ्य नै आँक्छ शक्ति त जो निरन्तर बगिरहन्छ त्यो नदीमा हुन्छ । मलाई समुन्द्री छालको मतलब छैन न त वेगले बहने आँधी तुफानको तुजुक लाग्छ केवल मलाई आफ्नै तिरतिरे धाराले प्यास मेटाउनु गज्जब लाग्छ गज्जब लाग्छ, देउरालीमा सुस्तरी बहने चौतारीको शितल पवन । आधा पेट खाएर पटुकी कसेर आफ्नै आमाको न्यानो काखमा लुटपुटिन्छु गर्दिन मद्दत वृद्धाश्रमको छानो छाउन । धाइआमाको काखलाई आफ्नो मानेर, आमालाई वृद्धाश्रम पठाउन दाता बनेर लगाउदिन खादा माला र अबिर। न त मलाई एकसरो आङ ढाक्न एकजोर सन्धि गर्नुछ भए पेटभरि खाइदिन्छु नभए खाली हात धोइदिन्छु पुर्खाको विरासत बचाएर, भावि पिँढीलाई सग्लो एकमुठी माटो दिन्छु मेरो राष्ट्रियता बेचेर किन्दिन अरूको राष्ट्रियता विविध नामधारीका राष्ट्रियताहरू। पत्थरलाई पगालेर हिमनदी बगाइदिन्छु माछापुच्छ्रेमा सुनको जलप लगाइदिन्छु बादललाई गाँसेर माला उनिदिन्छु सगरमाथा शीरमा टोपी पहिराउँछु मलाई कसैको, चाहिँदैन एक चिम्टी माटो दिन्नँ कसैलाई एक कण मेरो माटो कसैसित एकजोर सन्धि, गरेर जानु छैन पोइल पगाल्ने कोसिस गर्दै नगर हिम थुप्रेको मेरो, फराकिलो छाति। वालिङ नगगरपालिका -१४, गाएडाँडा, स्याङ्जा #वसन्त खनाल
भट्टिकी साइँली: रहरले हैन बाध्यताले मात्तिएका नशालु आँखाहरू सर्प कुदेझैँ मेरो शरीरभरि दगुर्छन बनावटी हाँसो हाँसेर रित्तो गिलासमा मेरो थोत्रो यौवन निचोरिदिन्छु एकैछिनको लागि तिनको नजरमा मेरो भट्टी स्वर्ग हुन्छ । म समाजलाई खोज्छु तर समाजले मलाई खोज्दैन कसैका दाजु होलान् कसैका भाइ होलान् तर मेरो भट्टीमा छिर्नेजति सबै मेरा लागि ग्राहक हुन ग्राहक रिझाइसके पछि बेस्सरी रुन्छु मेरा प्रत्येक आँसुका थोपामा प्रष्ट देखिन्छन् छोराछोरीको भविष्य आमाको हाँसो अनि बाको सपना । नियतीका कारुणिक नजरमा त म प्यारी छु तर भलाद्मीको नजरमा म समाजको दुर्गन्ध हुँ कसैले बुझिँदिदैनन् मेरो विवशता सयौँ मन रिझाएर पनि एक्लो शून्यतामा बिताइरहेछु दिनचर्या कहाँ देश ! कहाँ मानवता ! #भट्टिकी साइँली
'बाछिटा' को विधागत स्वरूप: बाछिटा पद्य साहित्यको लघुत्तम विधा हो। यो विधा प्रकृतिसँग सम्बन्धित छ। यो तीन पाँच तीन अक्षर संरचनायुक्त तीन पंक्तिको हुन्छ। यसमा जीवन,जगत् र भोगाइका अनन्त चेतना, चिन्तन र संवेगहरूलाई प्रकृतीकरण गरेर चित्रण गरिन्छ। यस विधाका प्रवर्तक अमर त्यागी हुन्। उनले यस विधाको प्रवर्तन १४ मे २०२० तदनुसार २ जेष्ठ २०७७ मा गरेका हुन्। यस विधाको प्रवर्तनमा अमर त्यागीलाई खगेन्द्र बस्यालको साथसहयोग रहेको छ। पहिलेदेखि नै प्रकृतिपरकतालाई प्रमुखता दिएर तीन पाँच तीन अक्षर संरचनामा सूत्रसर्जक अमर त्यागीले सूत्रहाइकु नाममा र खगेन्द्र बस्यालले तीन पाँच तीन अक्षर संरचनामै लघुहाइकु नाममा यस्ता रचनाहरूको सृजना गरिरहेका थिए र सामाजिक संजालमा आइरहेका थिए। थुप्रै सकारात्मक नकरात्मक प्रतिक्रियाका साथमा केही साहित्यिक विज्ञहरूले यसलाई हाइकु नभनेर काव्योक्ति वा त्यस्तै छुट्टै नाम दिन सुझाव दिएका थिए। यही पृष्टभूमिमा विशेषत: अमर त्यागीले प्रकृतिपरकतालाई प्रमुखता दिएर यसलाई बाछिटा विधाको रूपमा प्रादुर्भाव गरेका हुन् र अमर त्यागीले नै यसको विधागत अवधारणा निर्माण गरेका हुन्। बाछिटा र हाइकुबीच परस्पर निकटतम सम्बन्ध रहेको छ, किनकि हाइकु पाँच सात पाँच अक्षर संरचनायुक्त हुन्छ भने बाछिटा तीन पाँच तीन अक्षर संरचनायुक्त हुन्छ। त्यस्तै हाइकु ऋतुबोधक हुन्छ भने बाछिटा प्रकृतिबोधक हुन्छ। केही विषयगत साम्यता भए पनि हाइकु र बाछिटा दुवै फरक र स्वतन्त्र विधा हुन्। खोजी गर्ने हो भने संसारका कतिपय साहित्यिक विधाका विषय र संरचनाबीच परस्पर सम्बन्ध रहेको हुन्छ। हाइकु र बाछिटाबीच पनि यस्तै सम्बन्ध रहेको हो। हाइकुको जन्म जापानमा भएको हो र जापानी ऋतुमा हुर्किएको हो। बाछिटाको जन्म नेपालको माटोमा भएको हो र यो नेपाली प्रकृतिमा हुर्किँदै छ। यो विधा नेपालको प्राकृतिक सौन्दर्य, हावापानीको उपज हो। यसमा नेपालीपनको सुगन्ध छ। बाछिटा स्वयम् प्रकृतिबोधक शब्द हो। त्यसर्थ यसमा प्रकृतिपरक भावाभिव्यक्ति वा प्राकृतिक बिम्व वा झलकको प्रयोग हुनुपर्ने मान्यता रहेको छ। नेपाल सुन्दर प्रकृतिले भरिपूर्ण देश रहेको हुनाले बाछिटा सृजनाको अनन्त सम्भावना रहेको छ। बाछिटा सृजनाका पाँच आधारभूत मान्यता १. पहिलो पंक्तिको तीन अक्षरले विषयवस्तुलाई सूक्ष्म रूपमा उठान गर्ने, दोस्रो पंक्तिको पाँच अक्षरले विषयवस्तुलाई सहज रूपमा उत्कर्ष पुऱ्याउने र तेस्रो पंक्तिको तीन अक्षरले विषयवस्तुलाई प्रभावकारी र अर्थपूर्ण रूपमा पुष्टि गर्ने, २. तीन पाँच तीन अक्षरको तीन पंक्तिबीच एकापसमा सामन्जस्य हुनुपर्ने, ३. व्याकरणिक अक्षर संरचना बिगार्न नपाइने, ४. अभिव्यक्ति प्रतीकात्मक हुनुपर्ने, ५. प्रकृतिपरक बिम्व वा झलक आउनै पर्ने, बाछिटामा प्राकृतिक बिम्व हाम्रो जीवन भोगाइका विषयसँग सम्बन्धित भएर प्रतीकात्मक रूपमा आउनुपर्छ। यस्ता बिम्व वा बिम्वजस्तो देखिने झलक आए मात्र पनि हुन्छ। जस्तो: हरियो, बहार, शीतल, पहार, उजाड, घाम, छाया, बतास, जून, जुनेली, वनेली, तपक्क,धपक्क, झलल्ल, सलल्ल, कलकल, छलछल, जंगल, छहारी आदि। नेपाली भाषामा यस्ता शब्दहरूको भण्डार नै छ, मात्र शब्द टिप्न सक्नुपर्छ। बाछिटामा सकभर निपात, संयोजकजस्ता शब्दको प्रयोग नगरी पूर्ण, संयुक्त, सरल र प्रचलित ठेट नेपाली शब्दहरू प्रयोग गर्नु उपयुक्त हुन्छ। साथै बाछिटामा शुरू र अन्त्यमा अनुप्रास मिल्नैपर्छ भन्ने छैन, नमिले पनि हुन्छ तर प्रतीकात्मक रूपमा भावको गहनता भने हुनुपर्छ। अर्थपूर्ण रूपमा अनुप्रास मिलाउँदा चाहिँ मिठास आउँछ। अमर त्यागीका केही बाछिटाहरू ममता मातृछहारी समता सहेली मैत्रीको बाली बयेली अधिक इन्द्रेणी हर्ष क्षणिक काँडाले चसक्क मुटु पीडाले बिरह उत्तप्त ग्रीष्म सरह आह्रिस डढेलोबीच मानिस एकान्त चिन्ताले चित्त अशान्त संसारी मायाको छाया औतारी धरामा सुनको झुप्पो गरामा फसल किसानी कर्म सफल #अमर श्रेष्ठ #कसरी लेख्ने #बाछिटा #लेखनकला
६६ दिनपछि बल्ल भूइँ छुन पाएँ: के ही दिनयता मन फुरुङ्ग छ । जसरी लगातार परेको झरीपछि आकाश खुल्छ, जसरी लामो हिउँपछि घाम लाग्छ, जसरी लामो उकालो चढेपछि बिसौनी आउँछ, ठीक त्यस्तै भएको छ मन । तपाईंलाई पनि विश्वास नलाग्न सक्छ, मैले ६६ दिनपछि भूइँ टेक्दैछु । झापास्थित म काम गर्ने रेडियोको स्टुडियोको तेस्रो तल्ला र चौथो तल्लामा काम गर्दै, किताब पढ्दै, सिनेमा हेर्दै र दैनिक क्रियाकलाप गर्दागर्दै कसरी ६६ दिन बिते अविश्वसनीय छ । सुरुका दिनमा माथिल्लो तलामा बस्दा भूइँ टेकिरहेकी छैन भन्ने कुरा याद भएन । लकडाउन र कोरोनाको डरले पनि त्यतातिर ध्यान पुग्न सकेन । समाचारहरु भयावह थिए । त्यसैले पनि आफ्नो दिनचर्यामा सबैले फरक ल्याएकै हुन् । मैले पनि ल्याए । [bs-quote quote=”एकपल्ट होइन, पटक पटक आफ्नो नाम लेख्दै मेट्दै गर्दा गर्दै आँखा भरिएर आयो । लेख्दै गर्दा म माटोसँग कुरा गर्दैछु जस्तो लाग्यो, मेटाउँदै गर्दा ऊसँग छुट्टिदैछु जस्तो लाग्यो । यो माटोसँग मेरो यति गहिरो तादाम्य छ भन्ने मैले सोचेकै रहेनछु ।” style=”style-13″ align=”left” color=”#dd9933″ author_name=”मायामितु” author_job=”लेखिका” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/05/Mayamitu.gif”][/bs-quote] तर एक–डेढ महिना बितेपछि भने मलाई महसुस भयो, मैले त माटो छोएकै छैन । यो एउटा चुनौती जस्तो भयो, मेरा लागि । आखिर कति दिनसम्म भूइँ टेक्न पाइँदैन, त्यो हेर्न मन लाग्यो । आज–आज, भोलि–भोलि, दिनहरु बित्दै गए । जब कुनै कुरा मबाट छुटिरहेको भन्ने लाग्छ, त्यसको प्यास लाग्न थाल्दोरहेछ । जब बाल्कोनीबाट, छतबाट तल फाट्टफुट्ट मानिसहरु हिँडेको देख्थेँ, मन तल झर्न खोज्थ्यो । तर बिना काम म तल झर्न चाहन्नथिएँ र आफैँलाई चुनौती दिन चाहन्थेँ । हेरौँ, कति दिनसम्म भूइँ नटेकी बिताउन सकिँदोरहेछ…। तर जतिसुकै माथि पुगे पनि झर्ने ठाउँ त भूइँ नै होे, त्यही माटो नै हो । चाहे सगरमाथाको चुचुरोमा होस् या रुखको टुप्पोमा । त्यसभन्दा माथि जाने ठाउँ नभएपछि तलै झर्नुपर्छ । जसरी सगरमाथा आरोहीहरु चुचुरोमा पुगेर फेदीमा झर्छन्, रुखको टुप्पोमा पुगेर पनि मानिसहरु फेदमै झर्छन्, झर्नुपर्छ । म पनि आज ६६ दिनपछि रेडियोबाट तल झर्दैछु । भूइँ टेक्दैछु । भूइँ टेक्ने कुरा आउने बित्तिकैदेखि मन म्याराथुन दौडिरहेको छ । कारण नपरी भूइँ टेक्दिनँ भन्ने मेरो प्रण थियो । तर केही दिनयता मलाई माटोले बोलाइरहेको थियो । म बहाना खोजिरहेकी थिएँ । यसै बीचमा घरमा पूजाको कार्यक्रम आयो । घरबाट खबर आएपछि भूइँ छुने मौका पनि आइहाल्यो । तल झरेपछि पहिले के गर्छु होला ? मेरालागि त्यो माटो पहिले जस्तै साधारण होला कि त्यसले केही तरंग ल्याउला ? भूइँमा नटेकुञ्जेल जुन भाव थियो, त्यो केही कम भयो । तल झर्नुको पनि एउटा आनन्द रहेछ भन्ने महसुस भयो । त्यसपछि हतारमा म रेडियोकै एक सहकर्मी साथीलाई लिएर घर गएँ । त्यो बेलासम्म लाग्दै थियो, ६६ दिनपछि पनि कुरा सामान्य नै छ । तर होइन रहेछ, घर पुग्नेबितिकै भाउजूले बस्न आग्रह गर्नुभयो तर मलाई भने बारीतिर जान मन लाग्यो । सहकर्मी साथीलाई त्यहीँ छाडेर म बारीतिर गएँ । बारीमा फर्सीका मुन्टा, करेला, टमाटर, इस्कुस, अकबरे खुसार्नी फलिरहेका थिए । अलि पर कुखुरा फार्ममा कुखुराहरु मस्त संगीतको तालमा खेलिरहेका थिए । तपाईंहरुलाई थाहै होला, कुखुराहरुले मजाले संगीत सुन्छन् । बोइलर, लेयर जातका कुखुराहरु संगीत सुन्दै चारो खान रुचाउँछन् । संगीत नबजाई चारो दिँदा उनीहरु झोक्राएर बस्ने गरेको अनुभव धेरै किसानहरुको छ । हाम्रो कुखुराहरुमा पनि यो बानी छ । यिनै कुखुराका लागि लगाइएको मधुरो संगीत बारीभरि छरिएको थियो । म त्यही संगीत सुन्दै बारीमा टुक्रुक्क बसेँ । अनायासै हातले माटो खेलाउन थाले । बच्चा हुँदा निस्फिक्री माटो खेलाएको सम्झँदै चोर औंलाले आफ्नै नाम लेख्दै मेट्दै गर्न थालेँ । माया, माया, माया । आफ्नै नामको माया लाग्न थाल्यो । एकपल्ट होइन, पटक पटक आफ्नो नाम लेख्दै मेट्दै गर्दा गर्दै आँखा भरिएर आयो । लेख्दै गर्दा म माटोसँग कुरा गर्दैछु जस्तो लाग्यो, मेटाउँदै गर्दा ऊसँग छुट्टिदैछु जस्तो लाग्यो । यो माटोसँग मेरो यति गहिरो तादाम्य छ भन्ने मैले सोचेकै रहेनछु । आँखाबाट तपतप आँशु बग्दैछ, म आफ्ना नाम लेख्दै मेट्दै गर्दैछु । थाहा छैन, यो माटोको माया हो कि आफ्नो माया । आफ्नो माया भनुँ भने मसँग म सधैँ छु तर कहिल्यै यसरी आँशु आएनन् । सायद यो माटोको माया थियो । माटो भन्नु सायद जीवन हो । माटो भन्नु सायद देश हो । म माटोमा आफ्नो नाम लेख्दै के–के सोच्न थालेँ र अनायासै आँशु बगाउन थाले । यो आँशु पक्क पीडाको थिएन । सायद खुसीको थियो कि ! मनोवैज्ञानिकहरुले यसको विश्लेषण गरुन् । चिया पकाएपछि भाउजूले बोलाउनु भएछ । भाउजूको आवाजले झसङ्ग भएँ । यो बेलासम्म मैले घर, घरमा छाडेका सहकर्मी र मेरो अवस्था सबै बिर्सिएकी रहेछु । केही तरकारी टिपेर फर्किएँ । ताकि म बारीमा अल्मलिनुको बहाना देखियोस् । त्यसपछि मलाई धेरै बेरसम्म भिडमा बस्न मन लागेन । म चाँडै नै घरबाट फर्किएँ तर फर्कनुअघि फेरि एकपटक हातमा माटो लिएँ र एक छिन खेलाएँ । सहकर्मीले सायद मेरो मनोभाव याद नै गरेनन् । फर्कंदा म केही अन्तरमुखी भएकी थिएँ । बाटोमा भएका कुराहरु नियाल्दै थिएँ । यो दुई महिनामा पनि धेरै परिवर्तन भएछ । रेडियो अगाडिको सडक बन्दै थियो, त्यो बनिसकेछ । नाली बन्दै छ । बिर्तामोड—भद्रपुरको चार लेन सडक निर्माण कार्य पनि धमाधम भइरहेको रहेछ । काम गर्नेहरु सबैले माटो टेकिरहेका छन् । बाटोमा पर्ने बुट्टाबारी चिया बगानमा चियाका मुना टिप्न व्यस्त थिए चिया मजदुरहरु । उनीहरु पनि भूइँ टेकिरहेका छन् । अलि पर बुट्टाबारी र चारआली बीचमा कसैको मृत्युको अन्तिम संस्कार भइरहेको थियो । त्यो शरीर पनि जलेर खरानी हुँदैथियो र त्यो खरानी पनि माटोमै मिल्दै थियो । यो बेला धेरै मलामी जान नमिल्नु पर्ने हो तर झण्डै दुई सय भन्दा बढी मलामी मैले देखेँ । सायद घरमा बस्दा बस्दा उनीहरुलाई प्रकृतिसँग रमाउन मन लाग्यो र मलामीको बहानामा उनीहरु पनि भूइँ टेक्दैछन् । मानिसहरु पनि खुला रुपमा हिँडिरहेका थिए । मलाई अनुभूति के भयो भने यिनीहरु पनि भूइँ टेकेकै कारण आफूलाई सुरक्षित महसुस गरिरहेका छन् । म जस्ता गाउँलेहरुको नाता भूइँसँग धेरै निकट छ । सहरमा हुर्किएका बच्चा थोरै स्वास्थ्य समस्यामा पनि अस्पताल पु¥याउनु पर्छ । गाउँका बच्चाहरु माटोमा खेल्छन्, हुर्किन्छन् । उनीहरु स्वस्थ हुन्छन् । माटोमा खेल्ने बच्चाहरु बलियो हुन्छन् । उनीहरुको रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ । हुन त हाम्रो शरीरको बाहिरी आवरण छाला भएजस्तै माटो पनि पृथ्वीको छाला नै हो । सानामा हामी घाँस काट्दा या कुनै चोटपटक लाग्यो भने माटोको लेप लगाउँथ्यौँ । त्यतिबेला माटोको लेपले नै ठीक हुन्थ्यो । अहिले जस्तो टिटनासको सुई कहाँ पाइन्थ्यो र त्यतिबेला ! त्यसैले माटोमा ब्याक्टेरिया पनि पाइन्छ भन्ने लाग्यो । वास्तवमा सम्पूर्ण प्रकृतिको आधार माटो नै । जसरी प्रकृतिमा पाइने हरेक कुरासँग माटो मिलेको हुन्छ, त्यस्तै मानिसको जीवनसँग पनि लय मिलाएको छ यसले । कोरोनाका कारण देश लकडाउनमा छ तर सबै भूइँ टेक्न हतारिएका छन् । जीवजन्तु खुलारुपमा भूइँ टेकिरहेका छन् र त खुसी छन् ! ६६ दिनपछि भूइँ टेक्दा मलाई महसुस भयो, भूइँ बिनाको जीवन जीवन नै होइन रहेछ । केही समयअघि आप्mनो कार्य क्षेत्रमै रहेर काम गर्दै जाँदा माटो नटेकेको कुरा यही साहित्यपोस्टमा लेखेकी थिएँ । त्यसबेला माथि बस्नुको रमाइलो उल्लेख थियो । माथि पुग्ने रहर कसलाई हुँदैन र ? माथि जानु भनेको प्रगति पनि हुनु हो । यसरी माथि पुग्ने आफ्नो धरातल बिर्सनु हुँदैन भनेर भन्ने गरिन्छ । मैले पनि धेरै पटक यो कुरा सुनेकी हुँ तर आज यसको अर्कै अर्थ लाग्दैन । सायद हामी भूइँ मान्छेहरुलाई माथिको भन्दा बढी भूइँकै याद आउँछ । हामी केही दिन भूइँ छाड्न सक्छौँ तर फर्केर यही भूइँमै आइपुग्नु पर्छ । #बन्दाबन्दी #मायामितु #लकडाउन
यो नियात्रा मात्र होइन, ऐतिहासिक नियात्रा हो: नेपाली नारी स्रष्टाको पहिलाे नियात्राकृति `विदेशमा बिताएका केही वर्ष´ पढने हुटहुटी मेराे मनमा धेरै पहिलेदेखि चलेकाे थियाे । कृतिकार रञ्जुश्री पराजुली मेराे प्रिय लेखिका पनि हुन् । उनका कृतिहरू छुटपुट पढिरहन्थेँ । कता-कताबाट मैले खाेजिरहेकाे नियात्राकाे पुस्तक भेटें- ‘विदेशमा बिताएका केही वर्ष’ । पुस्तक सानाे थियो, त्यसैले एक बसाईमै पढेँ । किताब पढिसकेपछि मन मस्तिष्क निकैबेर खलबलियाे । कृतिबारे मनमा लागेकाे कुरा लेख्न मन लाग्याे र त्यही पुस्तकका पन्नाहरू फेरि पल्टाउन थालें । यात्रा कस्ताे हुँदा राम्राे र कस्ताे हुँदा नराम्राे भन्ने कुरामा आफ्नाे प्लेनकाे निरस यात्रामा आफ्नै गाउँठाउँका भरियाकाे रमाइलाे यात्रा र दिनभरि लगाएर दक्षिणकाली गएकाे यात्रा सम्झदै तुलना गर्नु भएकाे कुराको राेचक प्रस्तुतिले मन छाेयाे । लेखिका पराजुलीसँगै म पनि छु जस्ताे लाग्याे । मित्रता जाेसँग पनि गर्न सक्ने लेखिकाले आफ्नाे आनीबानी समेत दर्शाएकाे मन पर्\u200dयो तर मित्रतामा गाँसिएकी मिस राेजमेरी भाइपाेन्ट र उनी मार्फतबाट बनाइएका साथीहरूले `नेपाल इन्डियाकाे कुन भागमा पर्दछ भनेर साेध्दा सहनै नसक्ने उकुसमुकुस भए तापनि गम्भीरतापूर्वक ‘स्वतन्त्र नेपाल छुट्टै देश हाे’ भनेर सम्झाएकाे कुराले वाह देशप्रेम भनेर म लेखिकाकाे भावनाप्रति नतमस्तक भएँ । पैसा र पश्चिमाहरूकाे जीवनशैलीका बारेमा राेजमेरी भाइपाेन्ट र क्याथरिनकी ग्रानीकाे जीवनीबाट प्रष्टाइदिन लेखिका पराजुली सफल देखिन्छिन् । हामी नेपालीहरू विश्वकाे जुनसुकै कुनामा पुगे पनि आफ्नाे संस्कृति र संस्कारबाट पर हुन सक्दैनौँ भन्ने कुरा `नयाँ वर्ष – स्कटिस परिवारसँग´ भन्ने पाठमा प्रष्ट देखिन्छ । उनीहरूकाे नयाँ वर्षसित दशैंलाई दाँज्न पुगेकी छन् लेखिका । स्कटिसहरूकाे संस्कारअनुसार जारलाई र पहिलाे श्रीमान् श्रीमतीबाट जन्मिएका छाेराछाेरीलाई दाेस्राेले सजिलै अपनाउनु, घरमा स्वागत गर्नुलाई सजिलै पचाउन पनि नसकेकाे देखिन्छ । कस्ताे भद्रगाेल परिवार र संस्कार भन्न समेत पछि परेकी छैनन् रञ्जुश्री । `गरम महिनामा एडिनवरा´ शीर्षकको पाठमा लेखकले एडिनवराकाे बारेमा छर्लङ्ग हुने गरी प्रष्टाइदिएकी छन् । बेलायतमा मरेका मानिसलाई भेटन पाइन्छ भन्ने सुनेर लन्डन पुगेकी लेखिका मेडमटुसा पुग्दा कस्ताे अनुभव भयाे भन्ने कुरा राेचक तरिकाले प्रस्तुत गर्न सफल भएकी छन् । स्कटल्याण्डकाे लखनेसमा पनि नेपालकाे यतिकाे कल्पना गरेजस्तै त्यहाँ पनि लखनेस मन्सटरकाे कुरा गर्दा रहेछन् भन्ने प्रसंग पनि राेचक छ। पूर्वीय संस्कारबाट पाश्चात्य संसारमा बसाई सरेर पुगेकाे परिवारमा दुई पुस्ता बीचमा संस्कारका नाममा कतिसम्म हुन्छ भन्ने कुरा `बेलायती संस्कृतिमा भारतीय केटी´ मार्फत देखाउन सफल भएकी छन् । विदेशमा बिताएका केही वर्ष विदेशमा बाेटमा पैसा फल्ने हाेइन, त्यहाँका मानिसमा जाँगर, इमान्दारी, सजाय र काम गर्ने सुविधा हामीभन्दा बढी रहेछ । त्यस्ताे हिउँ पर्ने देशका मानिस त्यस्ता हामी स्वर्गकाे टुक्रामा जन्मिएका अल्छी । हाम्रै अल्छी बानी र साधनहरूकाे कमीले गर्दा मात्र हामी अविकसित मुलुकका नागरिक भएका हौँ भन्न पनि पछि परेकी छैनन् लेखिका । रञ्जुश्रीकाे याे नियात्रा सानु भएकाेले एकै बसाईमा पढन सकिन्छ । पढन सुरु गरेपछि सललल बग्दछ, राेचक छ । तर पनि समय परिवर्तन भएसँगै पुस्तकका कतिपय शब्दहरू अहिलेकाे परिस्थितिमा अलि पाठकलाई अपाच्य पनि हुन सक्छन् । तर स्वास्नीमान्छे भन्ने जस्ता केही शब्दहरू कृति जन्मदा पाच्य थियाे भने अहिलेका विशेष गरी महिलाहरूले नाक खुम्च्याउने सम्भावना देखिन्छ । कतिपय घटना र साेचलाई लिएर दुई देश बीचमा गरिएकाे तुलना पुस्तक लेख्दा पुस्तकाकारले लेखेकाे अवस्थामा हुने गरेकाे भए तापनि अहिले धेरै कुरामा परिवर्तन भई सकेकाे छ । यसरी हेर्दा याे एउटा नियात्रा मात्र नभएर ऐतिहासिक नियात्रा भन्दा पनि अतिशयाेक्ति नहाेला । #रञ्जुश्री पराजुली #विदेशमा बिताएका केही वर्ष #सरिता अर्याल
अनेसासको निर्वाचन समिति गठन: काठमाडौँ/अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले केन्द्रीय कार्यसमिति २०२०-२०२२ का लागि निर्वाचन सम्पन्न गर्न डा. चुडामणि खनालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । दुई वर्षका लागि हुने केन्द्रीय कार्यसमितिको निर्वाचनबाट नयाँ विधान बमोजिम अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष (पाँच महादेशीय प्रतिनिधि), महासचिव, सचिव, कोषाध्यक्ष, पाँच जना सदस्यहरु निर्वाचित हुने छन् । अघिल्लो निर्वाचनमा निर्वाचन समिति सदस्य रहिसकेका खनालको नेतृत्वमा तीर्थराज पाण्डे(अमेरिका), विजय भट्टराई (डालस, अमेरिका), कुमार सिम्खडा (बेलायत), पुष्पा खनाल ( नेपाल) सहित पाँच सदस्यीय निर्वाचन समिति रहेको छ । अनेसासको विधानअनुसार जुलाई १० सम्ममा केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने अवस्था रहेकाले निर्वाचनका लागि सदस्यता अपडेट लगायतका आन्तरिक कार्यहरु द्रुतरुपमा भइरहेको जानकारी अध्यक्ष राधेश्याम लेकालीले जानकारी गराएका छन्। अबको केही दिनभित्रमै निर्वाचन समितिले निर्वाचनको कार्यतालिका प्रकाशित गरेपछि निर्वाचन प्रक्रियाले गति लिने जानकारी केन्द्रीय महासचिव गणेश घिमिरेले जानकारी गराएका छन्। संसारभरि दर्जनौँ च्याप्टर रहेको प्रवासको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय साहित्यिक संस्था अनेसासले लामो समयदेखि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास र विस्तारमा विभिन्न कार्यहरु गर्दै आएको छ । #निर्वाचन
कोरोनासँग बालकको क्रन्दन: डा. अम्बिका अर्याल “मामू, हामी रिजल्ट लिन कहिले जाने ?” छोराको यो प्रश्न बारम्बार दोहोरिरहेको थियो । उसको विद्यालयले यो शैक्षिक सत्रको परीक्षा सकेपछि विदा दियो । लगभग हप्तादिनपछि रिजल्ट लिन जानुपर्ने दिन गनेर बसिरहेको छोराको कुराइको वेग कोरोना लकडाउनले बढाइदिएको थियो । आफू उत्र्तीण भएको औपचारिक जानकारी नपाएसम्म अर्को कक्षामा चढेँ भन्ने सोच कसरी आउँदो रहेछ र ? झन् बच्चालाई कसरी बुझाउनु ? रिजल्ट लिन जान नपाउनुको कारण नै केवल कोरोनाको विगविगी थियो । त्यही कारण बारम्बार दोहो¥याउँदा पनि दिक्क भइसकेकी थिएँ । तर ऊ सोधेर कहिल्यै थाक्दैनथ्यो । त्यसपछि “यो कोरोनालाई लखेट्न पनि नसक्ने हजुर त ?” भन्दै मसँगै झोकिन्थ्यो । मैले सबैथोक काम गर्न सक्थेँ उसका नजरमा । खाना पकाउन, घर सफा बनाउन, उसका बिग्रिएका खेलौनाहरु बनाइदिन, नजानेका सबै गृहकार्य सिकाइदिन, स्कुल पुर्याउन, ड्रेस धोएर आइरन गरिदिन, बिरामी भएको बेला औषधी खुवाएर निको पारिदिन, कुकुरलाई लखेट्न, लामखुट्टेलाई मारिदिन, बजारमा उसले चाहेको कुरा पसलमा मागिदिन आदि थुप्रै काममा मेरो मूल्याङ्न गथ्र्यो ऊ । मभन्दा पनि बाबालाई अझ शक्तिशाली मान्छेका रुपमा चिनेको थियो उसको ज्ञानले । तर बाबाले पनि कोरोनासँग हाकाहाकी लड्न नसक्ने बरु सुरक्षित रुपमा घरभित्रै बस्नुपर्ने आशय बुझाउन खोज्दा उसमा नैराश्यता छाएको थियो । सबै काममा उसले हामीलाई सक्षम देखे पनि कोरोना लखेट्न नसक्ने देखेपछि हामीप्रतिको विश्वास समेत धाँजा फाटेको थियो । झिनो आशा बोकेर उसले कारोना धपाइदिन पुनः आग्रह गरेपछि मैले भनेँ, “बाबु, यो कोरोना भन्ने भाइरस निकै शक्तिशाली रहेछ । आजसम्म कसैले यसलाई मार्ने औषधी पनि बनाउन सकिरहेका छैनन् । मैले कसरी सक्छु र ? फेरि हामीले देख्न पनि त सक्दैनौँ । कसरी मार्ने ? लामखुट्टे झैँ उड्दै आएको देखिने भए त मारिहाल्थेँ नि । गोरुले झैँ हान्न आएको भए पनि लखेटिहाल्थेँ नि । नदेखिने चीजलाई कसरी धपाउनु र ?” ऊ मेरो कुरामा निश्चिन्त बन्दै सक्दैनथ्यो । उसलाई आफ्नो ज्ञानले भ्याएसम्मका उदाहरण दिएर प्रष्ट पार्न खोज्थेँ । एकछिन बुझेझैँ गरेर सुनेपनि क्षणमै त्यही प्रश्न दोहो¥याउन थाल्थ्यो । “नदेखिने कुरासँग नि डराउँछन् त ? त्यसले के गर्न सक्छ र हामीलाई । हामी यति ठूला छौँ । त्यस्ता हावासँग नि किन डराउँछौँ मामू ? हावाले कसलाई के गर्न सक्छ र ?” ऊ मरिमरि हत्केलामा फुक्थ्यो र हावाको निरीहतालाई देखाएर मसँग तर्कवितर्क गर्न थाल्थ्यो । त्यो नदेखिने वस्तु भनेको हावा हो भन्ने उसको अनुमान थियो । कोरोना भनेकै हावा हो भन्दै साथीहरुलाई पनि सिकाउने भइसकेको थियो । साथीहरुसँग खेल्ने मार्ग पनि बन्द भएपछि छिमेकी घरको साथीलाई कौसीमा गएर चिच्याएर बोलाउँथ्यो अनि “कोरोना भनेको त हावा हो, थाहा छ तिमीलाई ?” भन्दै कुनै वैज्ञानिकले तथ्य पत्ता लगाएझैँ प्रमाणित गर्न मसँग समेत समर्थन जुटाउँथ्यो । साथीसँग खेल्न नपाएको गुनासो त्यति गर्दैनथ्यो तर “मसँग को खेल्छ ?” भन्ने प्रश्नले भने आजित तुल्याएको थियो । कोरोनाको लकडाउन भनेको मेरा लागि फुर्सदको समय कहाँ थियो र ? यही समयमा कति धेरै योजना ताँती लागेर उभिएका थिए । तिनैलाई पूर्ण गर्ने प्रयत्नमा जुटिरहेकी थिएँ । पढ्ने लेख्ने कामको योजना कहिल्यै नसकिने हुँदा रहेछन् । कृषकका खेती योजनाजस्ता । जब म ध्यानकेन्द्रित भएर पढ्न बस्थेँ, ऊ मेरा पुस्तक र कलम खोसेर दौडन्थ्यो । कौसीमा गएर सकेसम्म पर फालिदिने उसको दाउ हुन्थ्यो । उसले यसो गर्नुका पछाडि दुईवटा रहस्य थिए । एक त ऊ मसँग दिनभर खेल्न चाहन्थ्यो । उसको साथी नै मै हो भन्ने ठानेको थियो भने अर्को पर फालिएको वस्तु टिप्ने निहुँमा केहीबेर बाहिर निस्किएर डुल्न पाइने उसको योजना हुन्थ्यो । घरबाहिर घुम्न जानु उसको रहरको विषय जहिल्यै पनि थियो । सडकमा पैदल हिँडेर परपरसम्म पुग्न र बाटोमा भेटिएका कुखुरा, कुकुर, चराहरुलाई ढुङ्गो हान्दै जिस्किन उसलाई असाध्यै रमाइलो लाग्थ्यो । यी रहरहरु सबै लकडाउनसँगै थुनिएका थिए । कोरोनाका कारण मृत्यु हुनेका सङख्या बढ्दै गइरहेको समाचार हामी हेरिरहेका हुन्थ्यौँ । हाम्रै छेउमा बसेर ऊ पनि हेरिरहन्थ्यो । अनि प्रश्न गर्थ्योः “कोरोनाले कस्तो मान्छेलाई लैजान्छ ?” म भनिदिन्थेँः “जो बदमास छ उसैलाई ।” “बदमास त चोर पो हुन्छ । पुलिसले चोरलाई समातेर जेलमा लान्छ । कोरोनाले पनि जेलमा लगेर राख्छ हो ?” “कोरोनाका किराले त खान्छ नि बदमासलाई । जसले ठूला मान्छेले भनेको मान्दैन, साबुनले हात धुँदैन, लकडाउनमा बाहिर निस्केर हिँड्छ, उसैलाई खान्छ ।” “अनि मास्क नलाउने पनि बदमास हो । हाम्रो बाबा तरकारी किन्न जाँदा मास्क नलाइ जानुभएको थियो । मैले देखेर कराएपछि लगाएर जानुभयो । झण्डै बाबालाई पनि कोरोनाले लगेको है मामू ?” “हो त । अब बाबु पनि घरबाहिर खेल्न नजाने । घरमै बसेर पढ्ने है ।” “हवस् मामू ।” उसले यस्ता प्रश्न बारम्बार गरिरहन्थ्यो । बालमस्तिष्कमा उब्जेका प्रश्नको उत्तर दिएर कहिल्यै नसकिने । न उनीहरु प्रश्न गरेरै थाक्छन् । उसले आफू ज्ञानी बन्न र कोरोनाले नलैजाओस् भन्ने विषयमा खुब विचार गर्न थालेको थियो । एकदिन उसकै कोठामा ढोका थुनेर एक्लै बसिरह्यो । बोलाउँदा पनि आएन । तर उसको कोठाको झ्यालबाट उसले गरेका कामहरु नियाल्न सकिन्थ्यो । उसलाई थाहा नदिइकन म झ्यालबाट हेरेर बसिरहेँ । उसले कपी र कलम निकालेर लेखिरहेको थियो । आखिर नराम्रो काम गर्दैछैन भन्ने सोचेर बोलाउन चाहिनँ र हेरिरहेँ मात्र । एकछिनपछि ढोका खोलेर आफैँ बाहिर निस्कियो र मलाई त्यो कपी ल्याएर थमाउँदै रुन थाल्यो । यसमा लेखिएको थियो ः “म ज्ञानी छु, माम पनि छिटो खान्छु । होमवर्क पनि छिटो सकाउँछु । धेरै पढ्छु । एक्लै घर बनाउने खेल खेल्छु । लुडो खेल्छु । बिहान छिटै उठ्छु । आफू उठिसकेपछि बाबा र मामूलाई उठाउँछु । बाबामामूलाई माया पनि गर्छु । बाथरुममा ढोका थुनेर मात्र सुसु गर्छु र पानी हाल्छु । बेलुका बेलैमा सुत्छ । लकडाउनमा बाहिर जान्नँ । घरभित्रै बस्छु बरु झ्यालबाट परको दृश्य हेर्छु । टिभीले पनि कोरोना लाग्छ भनेर नियमित हात धोऔँ, आफू पनि बाँचौँ, अरुलाई पनि बचाऔँ भनिरहन्छ । समाचारले रेडियोमा पनि इन्डिया, चाइनामा जस्तै नेपालमा कोरोना फैलिँदैछ भन्छ । कोही बच्चा पनि अहिले विद्यालय जान हुँदैन भन्छ अनि गाडी, साइकल, बाइक, मान्छे कोही पनि बाटोमा हिँड्न दिएको छैन । म पनि घुम्न जान पाएको छैन । मामूबाबा पनि मसँग खेल्न मान्नुहुन्न । म एक्लै के गर्ने ? बदमासलाई कोरोनाले लान्छ रे । रुन पनि नहुने । म बदमास छैन । मलाई नलैजा है कोरोना । मेरो बाबामामू पनि मसँग खेल्नुहुन्न । तर उहाँहरु पढ्न थालेर हो । छिटो सकेर खेल्न आउनुहुन्छ । बाबामामूलाई पनि नलैजा है । मेरी बहिनी छ एउटा । अङ्कलकी छोरी । उसले हाम्रो घरमा आएका बेला मेरो खेलौना चोरेर लान्छे । मेरो बुकहरु पनि च्यातिदिन्छे । तर ऊ बदमास भए पनि उसलाई पनि नलैजा है ? बरु चोरहरु, लायनहरु, गनहरु, हस्पिटलका सुईहरु सबै लैजा ।” छोराका नबुझिने अक्षरलाई जसोतसो बुझेँ । उसका नमिलेका वाक्य सङ्गठन र अस्पष्ट अक्षरबाटै निस्केका स्पष्ट ध्वनिहरुले आफैँ धरमराएँ । साँच्चै ती अक्षरका वह र त्रासले मेरो मन खलबलायो । आँखाभरि आँसु छचल्किए । पाँच वर्षको छोराले कनिकुथी लेखेका प्रत्येक शब्दमा उत्तिकै मर्माहत पार्न सक्ने शक्ति देखेँ । उसका रुचिलाई बुझेर पनि आफ्नो करियरको लोभमा भुलेकी म साँच्चै आमा बन्न नसकेको पीडा पनि मनमा उत्तिकै जागृत भए भने कोरोनाको सन्त्रासले छोराको व्यवहारमा आएको व्यवहारले नमिठो तुल्यायो । ऊ तर्सेर यसरी पुकार गर्न थाल्ने भइसकेको थियो भने आफ्ना संवेग र रहरलाई कसरी दबाउन सकिरहेको होला भन्ने सोचेपछि मन नै गह्रौँ भयो । बिस्तारै विद्यालयहरुले अनलाइन कक्षा सुरु गर्न थाले । मेरो छोराको विद्यालयले पनि अनलाइनबाटै पठनपाठन सुरु ग¥यो तर त्यो भिडियोमार्फत नभएर गृहकार्य पठाउने र अभिभावकले गृहकार्य गराएर शिक्षकलाई पठाइदिनुपर्ने किसिमको थियो । यु.के.जीको परीक्षा दिएर घर बसेको छोरालाई कक्षा एक भन्दै गृहकार्यहरु पठाइएको थियो । उसले ती गृहकार्य आफ्नो लागि हो भन्ने पत्याउनै सकेनँ । न कुनै साथीहरुले उसलाई हामी एक कक्षामा पुग्यौँ भनिदिएको थियो । न त उसलाई हामीले पास भएपछि नयाँ पुस्तक, ड्रेस, व्याग आदि किनिदिने भन्ने आश्वासन नै पूरा गरिदिएका थियौँ । उसले “रिजल्ट लिएर गएपछि मात्र कक्षा एकमा पुग्ने भनी हाम्रो म्यामले भन्नुभएको छ” भन्ने कुरा पनि बारम्बार दोहो¥याइरहन्थ्यो । त्यसकारण आफू पास भएको र एक कक्षाको विद्यार्थी भएको मान्ने कुनै आधार नपाएपछि अनलाइनमा समेत युकेजीका लागि दिइएको गृहकार्य गर्न जोड गरिरह्यो । उसलाई केही गरेर पनि बुझाउन नसकेपछि आफैँले एक कक्षाको गृहकार्यलाई नै कक्षा युकेजी लेखिदिएर गृहकार्य गराइदिन थालेँ । शिक्षकलाई भने सो कुराको जानकारी गराएँ । यसपछि पनि उसले बारम्बार “रिजल्ट लिन जाऔँ न, म कक्षा एकमा जानै पाइनँ” भन्ने जिद्दी छाडेको छैन । कोरोनाले गर्दा नयाँ किताब र ड्रेस लगाएर विद्यालय जान नपाएको अनि साथीहरुलाई देखाउन नपाएको गुनासो उस्तै छ । कोरोनालाई आफू ठूलो भएपछि जसरी पनि नमारी नछाड्ने भन्दै बन्दुक तेर्साएर गरेको अभिनयमा उसको बदलाको भावना सशक्त बनेको बुझ्दछु । साना बालबालिकामा परेको कोरोनाको त्रास र शिक्षाप्रतिको गहिरो बुझाइले मलाई ऊ बालक नभएर जवान युवक लाग्दछ । अनेक कहरका टकरावमा उसका जीवनचक्र कसरी पूरा हुने हो भन्ने सोचले घरीघरी आक्रान्त बनाइरहेको छ । बालकका भविष्य र त्रासका त के कुरा ? उसैका शब्दमा उनिएका त्रासका माला पहिरिएपछि म समेत सन्त्रासका डोलीमा चढेर गन्तव्यको अनिश्चिततामा रुमलिएकी बेहुली बनेकी छु । (डा. अर्याल पद्मकन्या क्याम्पस बागबजारमा अध्यापन गर्छिन्।) #कोरोना #डा. अम्बिका अर्याल
फोटो कविता प्रतियोगिता ३ को नतिजा प्रकाशित: साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो-कविता आह्वान गरिएकाेमा याे साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट चयन गरेको छ । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरू मध्येबाट सर्वोत्कृष्ट कविताहरू चयन गरेको हो । प्रतियोगिताको रीत पुर्याई ११ वटा मात्र कविता प्राप्त भएका थिए भने नियमविपरीत अझ बढी सिर्जना प्राप्त भएका थिए । नियम विपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले जनाएको छ । राम्रामध्येका सबैभन्दा राम्रा कविताहरूको छनोट ज्यादै दुरूह भएकाले यस पटक सर्वोत्कृष्ट तीन छनोट गरिएको छ । कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरिएको निर्णायक मण्डलले बताएकाे छ । सबै उत्कृष्ट भएकाले यसाे गरिएकाे निर्णायक मण्डलको भनाइ छ। याे साता प्रवासी सुमनको ‘प्रेमको सिम्फोनी’, विष्णु ढकालको ‘याद’ र तिलकराज चुँदालीको ‘भ्वाइलिन र तिमी’ सर्वोत्कृष्ट चयन भएका हुन्। छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ । अर्काे फाेटाे-कविता प्रतियाेगिता आइतबार साँझदेखि शुरू हुनेछ । पुरस्कृत कविता तल पढ्नुहोस्ः #फोटो कविता प्रतियोगिता
‘घर यस्तो होस्’ सार्वजनिक: डिआर उपाध्याय डा. डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक भएको छ । डीआरको शब्द/स्वर र सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो डीआर म्युजिक एन्ड क्रिएसनमार्फत सार्वजनिक गरिएको छ । गीतकारका रुपमा परिचित डा. उपाध्यायले यस पटक गायनमा पनि हात हालेका छन्। सबैको घर स्वर्ग जस्तो होस्, जसका लागि आवश्यक कुराहरु के-के हुन्छन् भन्ने विषय डा. उपाध्यायले गीतमार्फत प्रस्तुत गरेका छन् । ‘एउटा आदर्श घरको कल्पना गरेर घरका सदस्य सबैले आफ्नो जिम्मेवारी वहन गरुन्, हरेकको घरमा सुख शान्ति होस् भन्ने हेतुले मैले यो गीत स्रोता/दर्शकमाझ ल्याएको हुँ,’ गीतकार उपाध्यायले भने । डा. उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम ‘स्वर्गघर’मा समावेस .गीतको यो लिरिकल भिडियो हो। घर यस्तो होस् जहाँ शुख शान्तिले बास गरोस् । एक अर्काको आधार बनोस् परिवार हर ओठमा मुस्कान सधैं कायम रहोस् जहाँ माता पिताको आदर होस् सन्ततिको भावनाको कदर होस् कर्तब्यदेखि टाढा नभागोस् कोही हर सुख दुःखमा सधैं साथ रहोस् घर बनोस् मन्दिर जहाँ ईश्वरको बास रहोस् सधैँ विश्वासको आधार बनोस् परिवार हर ओठमा मुस्कान सधैं कायम रहोस् रिस राग कसैको मनमा नहोस् सद्भाव सबैमा रहिरहोस् हर कठिन घडीमा एक जुट बनोस् माया ममता सधैं बनिरहोस् घर बनोस् मन्दिर जहाँ ईश्वरको बास रहोस् एक अर्काको खुशी बनोस् परिवार हर ओठमा मुस्कान सधैँ कायम रहोस् उपाध्यायका दश वटा उपन्यास प्रकाशित छन् भने सयौं गीत रचना गरेका छन्। उनको केही समयअघि बाह्र भाषामा रहेको गीतको एल्बम ‘मायाको सागर’ सार्वजनिक भएको थियो । डा. उपाध्यायका अहिलेसम्म १८ एल्बम बजारमा आइसकेका छन्। हेर्नुहोस् लिरिकल भिडियोः #डिआर उपाध्याय #सागर अधिकारी ‘शरद’
सिमानाबाट: रमेश भण्डारी मानिस, सास फेर्छ सजीव ढुङ्गा, सास फेर्दैन निर्जिव! पढ्दा-पढ्दै ऊ रोकियो! सोध्यो प्रश्न एउटा अजीव, “दादा, दादा पूजा कोठाको भगवान् सजीव कि निर्जिव??” ऊ सोधिरह्यो म सोचिरहेँ, ऊ खोजिरह्यो म सम्झिरहे उसको उत्तर थियो मसँग धैर्य गर्ने समय थिएन ऊसँग ! सत्र वर्ष पहिले मैले त्यही पढें रटिरहेछ मेरो भाइ त्यही अहिले! सत्तरी वर्षपछि यही पढ्ने छ्न् मेरा सन्ततीले ! बुबा मलाई सधैं भन्नुहुन्थ्यो, “हामी गोर्खालीका सन्तान हौं रे! खुकुरीकै भरमा कुदृष्टि लगाउनेलाई सातौं कोश पर ढक्लयौं रे!” मैले नेपालमा पढें, भाइ विवादित मानिएको जमीनमा! कतै सन्तति पुग्ने हुन् कि अर्कैको दलिनमा?? गोर्खाली हाम्रा हुन् पुर्खा लगाई हामीलाई कालो बुर्का! छिमेकी सार्छ दशगजाका स्तम्भ सिमानाका हामी हुन्छौं स्तब्ध! हाम्रै करले रमेको काठमाडौंको सरकार हुन्छ नि:शब्द !! मैले सामाजिकको परीक्षामा बनाएँ सधैं नक्सा तर भेटिन आफैंलाई! अहिले नक्सा परिवर्तन भएको छ भाइले पक्कै भेट्ने छ हाम्रो कालापानीलाई!! नयाँ नेपालको परिकल्पना गरेका आँखाले बाँकी छ नयाँ स्वरुप हेर्न! अब भने जरुरी छ, “नेपालको नक्सा बनाई लिपुलेक कहाँ पर्छ देखाउनुहोस्?” भनी सामाजिकको प्रश्न फेर्न!! कसले भन्छ भगवानलाई निर्जिव? कसले भन्छ दिनरात सुरक्षार्थ खटिएका सिमानाका स्तम्भलाई निर्जिव? कसले भन्छ देशप्रेमलाई निर्जिव? कसले भन्छ हाम्रो स्वाभिमानलाई निर्जिव? देशको निम्ति रगत बगाउन कसले मान्ला खै अजीव!! बुद्ध नेपालका थिए कान्ति अनुशरण गर्छौं हामी बुद्धको शान्ति! देशको रक्षाको निम्ति गर्न सक्छौं छिमेकीसँग क्रान्ति! हामी कमजोर छौँ भन्ने नराखे हुन्छ भ्रान्ति!! हिजो पनि हाम्रै थियो आज पनि हाम्रै हो! रहिरहनेछ सधैँ हाम्रै कालापानी, लिपुलेक, लिम्पियाधुरा! हाम्रो जमीनमा आँखा गाड्नेमाथि पछि हटिदैन रोप्नलाई छुरा!! समय फेरियो परिवेश फेरियो समाज फेरियो नक्सा फेरियो अब केही पैसाको लालचमा राष्ट्रियता नफेरियोस्! सत्ता र शक्तिको दुरुपयोग गरी स्वाभिमान नबेचियोस्! गौरीगंगा नगरपालिका, कैलाली #रमेश भण्डारी #सिमाना
मुर्दाको व्यापार: लक्ष्मण वियोगी त्यसले भन्यो– आमाको लाश जलाउन पाइनँ उसले भन्यो– बाको लाश जलाउन पाइनँ ऊ, त्यो, उनी, उनीहरू, तिनी, तिनीहरू सबै लामबद्ध छन् वाग्मती किनारमा । हरेकको अनुहारमा दगुरिरहेछ, मुश्लो सन्नाटाको छाँटिएको छ, हृदय वेदनाले मुटु हो कि कलेजो चोइटिएको छ, छेउतिर र गुन्जिरहेछ, विलापको बाँसुरी ऊ, त्यो, तिनीहरू पर्खेकै छन्, अझै पालो चिरनिद्रामा सुतेका बा, आमा, पति, पत्नी दाजुभाइ, दिदीबहिनी अनि, असंख्य आफन्तको लाशमा दागबत्ती दिन अलि पर छ, एउटा मसानघाट जो विद्युतीय ‘शवदाहगृह’ कहलाउँछ त्यसको चिम्नीबाट फुस्फुसाइरहेछ अनौंठो दुर्गन्ध मिश्रित धूवाँ हो, त्यो पनि आफूलाई मालिक ठान्छ धनी र गरिब छुट्ट्याउँछ कस्तो विलक्षण प्रतिभा मुर्दालाई समेत महल र झुपडीको ट्याग लगाइदिन्छ ! महलवाला सजिलै घाट पुग्छ ब्रम्हनालमा सुत्छ र पारि तर्छ विडम्बना ! झुपडीको पिउसो पालो कुरिरहन्छ, सूर्यास्तसम्म घाटको मुन्सी डुक्रिन्छ छाडा साँढे झैं मिति नपुगी किन ल्याको ? यहाँ भोकमरीलाई निषेध छ । छिनमै ऊ जिब्रो लप्लपाउँछ प्रवेश पाउने भए रुपियाँले सुन, चाँदी, हीरा जे–जे छ, छिरा कन्तुरमा ! सलाम नियति ! जिउँदो वा मरेकोसँग पनि कुत असुल्ने अजब तेरो गजब नीति जिउँदोमा फकाएर हसुर्ने मरेपछि लछारेर हसुर्ने लाशमाथि विनिमय कहिलेसम्म ? उपल्लो चोटामा बसेर तामेलीको ढ्वाङ फुक्नेहरू कहिलेसम्म हिटलरे बनिरहने र, मारिरहने निर्धा यहुदीहरू जसले कुतको हिसाब दिएनन् तिनलाई, बाँच्ने हक त दिएनौं मरेपछि जल्ने हकसमेत खोस्यौ ?? विराजमान छ, पल्लो पट्टी आराध्यदेवको फूली भिरेको भीमकाय मुर्ति त्यसकै पैतालामुनि खात हुन्छ, मुर्दाको ती जलाइन्छन्, पोलिन्छन्, डढाइन्छन् कसरी छुट्ट्याउँछस् धनी र गरिबको अस्तु ? के आधारले पठाउँछस् नर्क र स्वर्ग ? तँलाई पनि रुपियाँकै सिरानी प्यारो रैछ, हगी ! तँ भाङ र धतुरोमा होइन हीरा–मोतिमै लठ्ठिदो रहेछस् नत्र, हे पशुपतिनाथ ! कहिलेसम्म हेरिरहन्छस् यसरी मुर्दाको व्यापार ? #लक्ष्मण वियोगी #लास
आकाश हो मेरो देशको नक्सा: आज मौसम फरक छ विभाजित छ आकाश छर्लङ्ग छुट्टयाउछ आकाशको सिमा उ त्यो पारि क्षितिज र मडारिँदै गरेको बादलले सीमा छुट्टयाउन नसकेको त हामीले मात्र हो । खै कस्तो छ मेरो देशको कम्मरको आकार खै कस्ता छन इन्द्रेणीको रंग आकाशमा देख्नेहरू भन्छन् सबै आँखाले दैख्दैनन् इन्द्रेणीको रंग सबै देख्नेहरू बुझ्दैनन् इन्द्रणीको भावना जसले देख्न सक्छ इन्द्रेणीको रंग उसैले बुझ्न सक्छ, सीमाको भावना आज मौसम फरक छ कतै घाम छ कतै पानी छ कहिले कता देखिन्छन कहिले कता देखिन्छन् यो इन्द्रेणी र बादलले बनाएको नक्साको स्वरुप हुनत आकाश देख्नेहरू पनि आकाश जस्तै विभाजित छन् पहाडमा बस्नेहरू घामको पक्षमा र तराईमा बस्नेहरू सितलको पक्षमा छन् हेर्दा हेर्दै सर्दै जान्छ बादलले कोरेको आकाशको सीमा मेरो देशको सीमा आकाशमा बनेको जस्तो होइन सूर्यको प्रकाशले मेरो छायाँलाई दायाँ बाँया सारे जस्तो पनि होइन मेरो देशको सीमा त त्यो क्षितिजले बनाएको सीमा जस्तो हो मेरो बुबाले मलाई देखाउँदा जहाँ थियो ् मैले छोरालाई देखाउँदा पनि त्यहि हुनु पर्छ हेर्दा हेर्दै आकाशमा बनेको नक्साको रुप बदलिन सक्छ मेरो देशको नक्सा आकाशमा बनेको जस्तो होइन आकाश जस्तो हो । #आकाश हो मेरो देशको नक्सा
अन्तिम सम्बोधन: सक्छौ भने फिर्ता पठाइदेऊ तिम्रो नाममा सम्बोधन गरी लेखेर पठाएको मेरो पहिलो प्रेमपत्र । जहाँ लेखिएको थिएन सहरको प्रसिद्धकविको प्रेममय कविताको चर्चित कवितांश सिनेमाको चर्चित नायकको रेडिमेड डाइलग तिम्रो लागि खुर्पे जून टिपेर शीरमा सिउरिदिने कुरा सापटी लिएर– हिमालसँग अलिकति मुस्कान फूलसँग अलिकति सुवास ईन्द्रेणीसँग अलिकति रङ्ग हृदय तप्काएर हृदयकै मसीले पोतेको थिएँ– भावनाको क्यानभास र, त्यसैमा अल्झाई पठाएको थिएँ मन । तिमी आकाशझैँ मौन बसिरह्यौ केबल मौन । सयमसँगै तिमी घाम भयौ र म जून । तिमीसँग छुटेपछिका सयौँ रातहरू सम्झँदै सम्झँदै पत्रका एक–एक अक्षरहरू हुबहु उतार्ने कोसिस नगरेको होइन तर, हराए शब्दहरू जसरी हराएको थियौ तिमी । हरेक पहिलोहरू अक्सर प्रिय हुँदारहेछन् ज्यादै प्रिय, जस्तो पहिलो भेट पहिलो प्रेम पहिलो स्पर्श पहिलो चुम्बन पहिलो विछोड पहिलो प्रेमपत्र सक्छौ भने फिर्ता पठाइदेऊ तिम्रो नाममा सम्बोधन गरी लेखिपठाएको मेरो पहिलो प्रेमपत्र । #मनु आभास
मेरो नयाँ खबर: सधैँ सधैँ नयाँ खबर सोधिरहने मेरी प्रियालाई के भनौँ एक दिनमा अनि छिनछिनमा कति गर्न सकिन्छ र यो परिवेशमा र तिमीलाई खास प्रगतिको आभास दिऊँ यहाँ जिन्दगी नै लकडाउनमा छ एकान्तबासमा कहिले उता कहिले यता फेरि कहिले यता अनि कहिले त्यता के हुनसक्छ र नयाँ यो यता र त्यतामा ? दिनरात यो सहरको अनकन्टार भाँसमा भाँसिएर भौतारिँदै खोज्दा त नभेटिएको त्यो नयाँ लकडाउनको यो जेलभित्रबाट म तिमीलाई के दिन सक्छु र नयाँ ? यो बन्धनबाट म तिमीलाई के सुनाउन सक्छु र नयाँ ? अनि तिमी नै भनन के पठाउन सक्छु र नयाँ ? केवल मसँग त्यही पूरानो जोदेखि तिमी अपरिचित छैनौ उही रित्तो र शून्य म अनि मेरो खबर प्रिय सपना ! थाहा छ मलाई तिमी के चाहान्छ्यौ र यो पनि थाहा छ कि मेरो विवशताको भूमरीमा तिमी पनि उत्तिकै पिसिएकी छ्यौ उत्तिकै थिचिएकी छ्यौ यी चासोका भारीले मभन्दा अप्ठ्यारोमा तिमी नै छ्यौ जसको कारक त्यही मेरो हुन नसकेको नयाँ खबर रमिता हेर्दाहेर्दै समयको जाँतोले दुवैलाई पिसिसकेछ सपनाका चाङ यति भएछन् कि पल्टाउनै नसक्ने गरी थिचिसकेछन् प्वालै प्वाल परेको डुङ्गा अनि भेल थाहा छैन खै कहाँ हुन्छ हाम्रो अन्तिम बिन्दु जहाँ तिमी र मेरो छितिज होस् मिलनको साँझ अनि मधुमास सायद मेरो वशमा हुन्थ्यो भने सारा यी खबरलाई लकडाउनमा थुनिदिन्थेँ अनि सुनाउथेँ तिमीलाई जिन्दगीका अनगिन्ती रहरमा गुम्सिएर फाट्नै लागेका नयाँ खबर, अनि मुटुमै घोचिरहने तीखा तिम्रो थोत्रिएको उही प्रश्न सुन्न पर्ने थिएन मैले अनि सबका सब नयाँ मात्र केवल तिमीले खोजेजस्ता तिमीले सुन्न चाहेजस्ता बारम्बारका प्रश्नहरूले मागेजस्ता नयाँ मात्र खबरको भण्डारमा तिम्रो आगमनको उत्सव मनाउथेँ नयाँभित्र तिमी झन नयाँ हुनेथियौ तिम्रो ओठ नयाँ, तिम्रो मुस्कान नयाँ सबका सब नयाँ अनि त म पनि नयाँ मेरो खबर नयाँ अनि हुनेछ सबथोक नयाँ मेरो नयाँ खबर #मेरो नयाँ खबर
मौन: तटमा ठोक्किएर टुट्छ सागरमा लहरको क्रमित्ता निरिब किनारमा अनि फैलिन्छ निःशब्द ध्वनी जस्तो, बज्दाबज्दै चुँडिएको गितारको तारबाट निस्किने बेसुरता कुनै अपरिचित आदिम पहाड जस्तै हाम्रो सम्बन्धको डोरी धुमधुम्ती मुख फर्काएर चिन्तनको गहिराइमा डुबेको छ उदासीको बादलभित्र उकुसमुकुस एक्ला एक्लै पर क्षितिज हेर्दै फर्केर गएको लहरपछि केही शान्त जस्तो चुपचाप बसेका छौँ । #मौन
दलित एक सोच: दलित हुँ म पहुँच बाहिरको न कसैले छुन सक्छ न मैले छोएको पानी चल्छ म त सानो जात सानै मेरो काम दलित हुँ म इज्जतको सिकारी सिकार खेल्न हिँडेको । दलित हुँ म तिरस्कृत समाजको गहिराई बाँजो खेत, आकासे पानीबाट हुने भरपाई टिपेर ल्याउँथे मोती म नि खोल्दिए नालाको पानी, सामन्तको रजाइ जति मिहिनेत गरे नि घृणा, अपहेलितको पात्र दलित हुँ म पहुँच बाहिरको न कसैले छुन सक्छ न मैले छोएको पानी चल्छ म सधैँ दलित नै रहन्छु सूर्योदय हुन्न यावत् एक नासको मेरो शिल्प, मेरो कला, मन्दिर भित्रको सौन्दर्य मेरो कलाको पूजा, मेरो अपहेलना अनेकौँ त्रास बीचको तिर्सना छुवाछुत, जात, दलित कसको हो यो सिर्जना ? दलित हुँ म पहुँच बाहिरको न कसैले छुन सक्छ न मैले छोएको पानी चल्छ सायद अपहेलना तिरस्कार मेरो जन्मसिद्ध अधिकार खस्रो अन्डकोस बनी हुर्केको अपहेलित गुडको छानो न चन्दन को वृक्ष नै हुँ म न कहिले थिएँ कलिका अपहेलित सदैव आभास चिन्तन ओइ, परै बस् दुर्गन्धित छस् भन्छन् । सायद गुरु रविदासको शिक्षा बञ्चित थियो दलित हुँ म पहुँच बाहिरको पीडा दलितको सृजनात्मक रचना कवि कवीरको मेरो पहुँच बाहिरको ? दलित हुँ म साधु तुकाराम महाराज ब्राह्मण गुरु मेरा शिष्य ढोगी पिउँथे पानी पैतालाको मानी सुद्ध दलित हुँ म, सातौँ शताब्दीको नन्दन र शिव मानेर पुज्छन् मलाई मन्दिर तिरुपुन्कुरको पण्डित,ब्रह्मिन सबै जात मेरो पैतालाको भगवान मानी पुज्छन् मलाई म स्वामी हुँ ती सबैको दलित हुँ म अपहेलित छु पहुँच बाहिरको सोच एउटा रोग मेरो कर्म हो विजय भोग सानो ठूलो हुन्न कोही ज्ञान सिद्द प्राप्ति अनुपम सोच जीत इज्जत प्राप्ति कर्म असल फल भोग दलित हुँ म #दलित #दलित एक सोच #दिलिप अधिकारी
डुवर्सका नारायण काफ्ले बने पहिलो: कालेबुङ/संवाद कालेबुङद्वारा आयोजना गरिएको ‘सुकुमाया प्रधान स्मृति कविता प्रतियोगिता 2020’ को फाइनल घोषणा आज गरिएको छ। संवाद कालेबुङ कार्यालयबाट कवि टीका भाई, लेखक छुदेन काविमो, राकेश क्रान्तिकारी र संवाद कालेबुङकी व्यावस्थापिका पौलिना लेप्चाको उपस्थितिबीच उक्त प्रतियोगिताको फाइल घोषणा गरिएको छ। प्रतियोगितामा पहिलो डुवर्स बाग्राकोटका नारायण काफ्ले, दोस्रो मणिपुरका सूरज चापागाईँ र तेस्रो सिक्कीमकी रिया तामाङ भएकी छिन्। प्रतियोगिताको टपटेन अघिल्लो हप्ता घोषणा गरिएको थियो भने फेरि लेखिएका नयाँ कविताबाट फाइनल घोषणा गरिएको हो। प्रतियोगिताको निर्णायकका रूपमा पनि रहेका कवि टीका भाईले प्रतियोगिताको फलाफल घोषणा गर्दै भने, हरेकको कविता आफैँमा बलियो छ। त्यसबाट पहिलो, दोस्रो र तेस्रो छुट्याउन निकै गाह्रो थियो। यद्यपि तीनै निर्णायकहरूले दिएको अङ्क तालिकाको आधारमा पहिलो, दोस्रो र तेस्रो घोषणा गरिएको छ। अधिकांश कवितामा वर्तमान परिस्थिति देखा परेको जनाउँदै उनले कोरा कालको छायाँ धेरै जसो कवितामा देखिएको बताए। अर्कोतिर स्व. सुकुमाया प्रधानकी पविवार पक्षबाट छोरा प्रवीणचन्द्र प्रधानले प्रतियोगितामा भाग लिने हरेक कविप्रति आभार व्यक्त गरेका छन्। कोरोनाको कारण लकडाउनमा थुनिएका युवाहरूलाई सिर्जनात्मक बाटोमा ल्याउने उद्देश्यले शुरू गरिएको उक्त प्रतियोगितामा सिक्किम, दार्जीलिङ, मणिपुर, कालेबुङ, डुवर्स लगायतका कविहरूले भाग लिएका थिए भने जसको फाइनल राउन्डको निर्णायकहरूको समालोचक तथा कवि सुधीर छेत्री, कवि रेमिका थापा र कवि टीका रहेका थिए । पहिलो दोस्रो र तेस्रो बन्नेहरूलाई क्रमैले नगद राशि पाँच हजार, तीन हजार र दुई हजार प्रदान गरिनेछ। #कविता प्रतियोगिता #टीका भाइ #रवि रोदन #रेमिका थापा #सुकुमाया तामाङ स्मृति प्रतिष्ठान #सुधीर छेत्री
लिभिङ टुगेदरभित्र नियाल्दा: अरुणबहादुर खत्री “नदी” कथाकार भएर साहित्यिक क्षेत्रमा प्रवेश गरेका गोविन्द गिरी प्रेरणाको ‘लिभिङ टुगेदर’ नामक उपन्यास २०७५ सालमा प्रकाशित भएको छ । उपन्यासकार गोविन्दको ‘सुतेको समुद्र’ नामक कथा सङ्ग्रह २०४० सालमा पहिलो कृतिको रुपमा निस्केको थियो । लिभिङ टुगेदर उपन्यास उनको चौबिसौँ कृतिको रुपमा निस्केको हो । यस उपन्यासलाई तीन भागमा विभाजन गरिएको छ । पहिलो भागभित्र लुम्बिनी चिया पसल सँगैको तीनतले घरमा डेरा खोज्न पुगेको कुमार काली काली वर्गकी यौटी केटीसँग मूलगेटमा झण्डै ठोक्किन पुग्दासरी उसले भनी । सरी त मैले भन्नु पर्ने म जो हुत्तिदै आए कुमारले शिष्टता देखायो । केटी हल्का मुस्कुराई र सडकतिर लागी । मूलसडकमा मिसिइसकेपछि कुमारले सोच्यो कोठा राम्रो हो घरबेटी बूढा बूढी पनि राम्रै हुन् । तीभन्दा पनि प्रिया राम्री हो । कुमारकोआँखामा प्रियाको कोठाको गुलाबी तन्ना झलक्क आयो र त्यसले ऐठन पार्न थाल्यो । अहो प्रिया र म त्यो गुलाबी तन्नामाथि लडीबुडीगर्न पाए भनिएको छ । दिदी जिन्दगीमा दिलैदेखि माया गर्ने मान्छे पाएँ । आखिर एक दिन त कसै न कसैको हुनु नै छ भने आफूलाई मायागर्ने मान्छे भेटेपछि छोड्ने कुरा पनि आएन । सरी हैं दिदी सगै बस्यौ अब छुट्टिनुपर्ने भयो सोनुले भनी । काठमाडौं पहिलोपल्ट त आएकीहोइन ऊ । तर कताकता पहिलोपल्ट आएको झैं अनुभव गरी पार्वतीले गोविन्दले लेखेका छन् । अचानक हिजो रातीका कुराहरु कृष्णाकाआँखा अगाडि नाच्न थालेको रहेछ । ऊ रिसाएर कुमारलाई गाली गरेको पनि सम्झिाई भनिएको छ । मैले ठिक गरे कि बेठिक गरे भनेरआफैंलाई कृष्णाले सोध्न थालेकी छिन् । कुमारले मलाई शोषण गर्ने मनशाय नै राखेको हो त । उसले आफैंलाई सोधी । तर हो भन्नेआधार पाइन । उज्यालोमा तिम्रो अनुहार कस्तो राम्रो देखिन्छ नि कुमारले कृष्णालाई भनेको छ । नेपाली साहित्यका लागि नवीन विषयवस्तुलाई अंगालिएको यो उपन्यासलाई मनोविश्लेषणात्मक उपन्यास भने पनि हुन्छ किनभने२१६ पृष्ठको यो सम्पूर्ण उपन्यास आफ्नो नवीन कथावस्तुको कारणले पनि यसले चर्चा पाउने र नेपाली साहित्यमा चर्चित हुने निश्चितप्रायः देखिन्छ । नेपाली साहित्यमा उपन्यासको संरचना र शैली सम्बन्धमा केही विवादहरु उठेका छन् । कसैले भन्छन् यथार्थवादीलेखनशैली पूरानो भइसक्यो अब लेख्ने रचनाहरु प्रयोगवादी हुनुपर्छ तिनले पश्चिमी उत्तर आधुनिकताका पराख्यान तथा जादुमययथार्थवाद जस्ता शैलीहरुको प्रयोग हुनुपर्छ । यस विपरीत अर्को तर्क छ यथार्थवाद लेखनले नै समसामयिक नेपाली जीवनको वास्तविकचित्रण गर्न सक्छ । त्यसैले उत्तर आधुनिक शैलीहरुको अन्धानुकरण नगरेर यथार्थवादलाई आख्यानको माध्यम बनाउनुपर्छ । जीवनकोयथार्थ र भोग्नुपरेका अप्ठ्याराहरु बीच परिभाषित जिन्दगीको मेल नहुनुको चर्को पीडालाई उपन्यासकार गोविन्दले रोचक शैलीमा वर्णनगरेका छन् । जीवनको अर्थ जीवनको सार सदुपयोग हो, दुरुपयोग वा मेटिनुमात्रै होइन भन्दाभन्दै विसङ्गतिपूर्ण नियति भोग्न वाध्यप्रभातको परिणतिले पाठकको हृदयलाई चसक्क नपारी छाड्दैन भने मस्तिष्कमा समेत गहिरो प्रभाव छाड्दछ । कथानक उपन्यासकोमेरुदण्ड हो । यस उपन्यासको कथानक अरु उपन्यासभन्दा पृथक् भएकाले नै नेपाली साहित्यमा यसले अलग स्थान ओगट्न सक्षम हुन्छ। भाग दुईमा सिडीयो जन्मेजय भट्टराई जुन जुन जिल्लामा अलि वर्ष राज गर्थे यौटा यौटा घर त्यही जोड्दथे । यो उनलाई यसअघिका आइजीले सिकाएको मूल मन्त्र थियो । आइजीले त १७ जिल्लामा घर जोडेका रहेछन् । कृष्णा खाना तताएर खान तर्खर गर्नलागी । तर उनलाई एक्लोपना यस्तो अनुभव भयो कि खानै मन लागेन र दुई चार गाँस जबरजस्ती खाएर चुट्न थाली ओछ्यानमापल्टीरहदा पनि उसलाई झन् झन् एक्लोपनाले थिच्न आए जस्तो भयो गोविन्दले लेखेका छन् । जाँड लागेपछि त केही नेतालाई नभई हुन्नदुई खुट्टा टेक्ने जस्ती आइमाई भए पनि पुग्छ । कुवेतमा न नेपालीलाई काममा जान प्रतिबन्ध लागेको सुनेकी हुं यो पार्वती कुवेत जानको लागि तम्तयार छे भनिएको छ । उपन्यास लिभिङ टुगेदर भाग तीनमा कुमार अमेरिका गएको झण्डै पाँच महिना हुन लाग्यो र अब उसले कुमारमा क्रमशः हुर्कदै गएको परिवर्तन महसुस गर्नलागेकी थिई । मान्छे आँखा अगाडि नहुने बित्तिकै उसले संसार अर्कै देख्न थाल्दछ कि क्या हो ? कृष्णा आफैंसंग सोधिरहेकी थिईभनिएको छ । उसलाई कुमार उडेको दिन देखिका यी बितेका प्रत्येक दिनका पलपल आँखामा जुलु्स बनेर लाम लागेझैं लाग्छ । गाउँकोआफ्नो घरमा पुग्दा कृष्णाकी आमा पिँढीमा बसेर तरकारी केलाउदै थिइन् आफ्नी सामु छोरी देखेपछि आमा हाम्फाल्दै अँगालोमा बेर्नआइन् । बिहानी पखको चिसो हावाले राधेश्यामको निद्रा खुल्यो । उसले अँगालोमा बाँधिएकी कृष्णाको निधारमा चुप्प म्वाई खायो रकृष्णा बिउँझिई भनेर यस उपन्यासभित्र गोविन्दले लेखेका छन् । उपन्यासका सकारात्मक पात्रहरु जो उपन्यासमा समेटिएका छन् तीशुरुदेखि अन्तसम्म कौतुहलता जन्माउन सफल मात्र नभएर एउटा पात्रले अर्को पात्र सामु सानो भएकाले मर्यादाका सुकुमार शब्दहरुपस्केर आदरपूर्वक सम्मान दर्शाउनु अर्को सफल पक्ष मान्न सकिन्छ । भाषा सरल र स्पष्टता रोचक शैलीले यो उपन्यास निकै राम्रोमान्नैपर्छ । उपन्यासभरि राग छ, विराग छ, समलिङ्गी सम्बन्धको झल्को छ, पराजय छ , पीडा छ, धोका छ, तैपनि उपन्यासकार गोविन्दअत्यन्त सयमित भएर आफ्नो अभिव्यक्तिलाई सन्तुलित राख्दछन् । आफ्ना कथाहरुमा झैं यो उपन्यासमा उनको भाषामा उस्तै मिठास रशैलीमा रोचकता अनि वेग भेटिन्छ । गोविन्द गिरी “प्रेरणा” को माझिएको खारिएको लेखनीको सधैं यस्तै नयाँ कथावस्तुको खोजी गरीउपन्यास विधामा नयाँनयाँ आयाम थपी नै रहोस् भन्ने अपेक्षा गरेको छु । संस्करणः पहिलो असार, २०७५ मूल्यः रु.३२५।– प्रकाशकः बिएन पुस्तक संसार प्रा.लि. ,काठमाडौं #अरुणबहादुर खत्री “नदी” #गोविन्द गिरी प्रेरणा #लिभिङ टुगेदर
निष्कर्ष: मन थियो बोल्ने,मनका कुरा खोल्ने सम्झेँ नबोल्नु नै ठीक, कुरा नखोल्नु नै ठीक । फेरि गमे नबोलेमा कसले थाहा पाउला ? मनका कुरा नखोलेमा कसले भेउ पाउला ? के थाहा सहृदयी कतै मिल्ने हो कि? हिँड्दा हिँड्दै पाइतालामा पंख खुल्ने हो कि ? अन्तर्यामि मनोवेत्ता जोडिन नि सक्छ मनका गुप्ति एक पलकमा खोलिदिन सक्छ । फेरि सम्झे सात अरबका आफ्ना आफ्ना जपना मनभित्र फुलेका ति मखमली सपना कति मर्छन नजन्मदै,कति कुल्चिइन्छन चुडिन्छन ती कोपिलामा ,बाँकीमात्र फुल्छन मादकता तिनमा कति, कति छ सुवास यसैमा त तोकिन्छ नि तिनको दाम खास । निष्कर्ष यो निकालियो मैले बोल्नै पर्छ अन्तर कुन्तर केही नराखि सबै खोल्न पर्छ तोडन पर्छ भ्रमको त्यो आडम्बरी चाल आफैँ मैले बनाउनुछ अकबरी माल म आफैं बन्नुपर्छ सत्यताको ढाल । #निष्कर्ष
नदी र म: रूपसिंह भण्डारी म एक निर्दोष हिमनदीझैँ बगेँ, बिस्तारै पहाडी कन्चन नदी बनेँ अनि दौडिएँ तल तल नाच्दै जंगलहरुमा, जिस्किदै बेसीहरुमा हजारौँ अरुहरुसँगै मिसिदै बनाएँ आफूलाई एक निडर साहसी। हराउँदै कराएँ कति कन्दराहरुमा कतै शान्त गहिरो ताल बनेँ, कतै जादुमायी मायालु झरना बनेँ जीवनको सारा भूगोल पार गर्दै निरन्तर बगिरहेँ कतै भोका पेटको लागि चोरिँदै कतै स्वार्थी दुनियाँको उज्यालोको लागि पक्राउ हुँदै जीवनभर इमान्दारिताको तरलता बाँड्दै बाँड्दै मैले लामो सभ्यताको यात्रा गरेछु अनगिन्ती नामले पुकारिँदै । पापीहरुलाई धुँदै, दुष्टहरूलाई बगाउँदै भगवानहरुलाई नुहाउँदै म सागरमा पुगेँ । र, अन्त्यमा जब मैले मैरो साहसी यात्राका कथाहरु सागरलाइ सुनाएँ सागरले दुई हात जोड्दै उसलाई पनि फेरि हिमाल तर्फको यात्रामा लैजान याचान गर्यो। सुन, त्यही भएर मैले फेरि बादल बन्ने निर्णय गरेँ र, मलाई थाहा छ, यो यात्रा: हिमाल तर्फ़को कम्ता जोखिमपूर्ण हुने छैन पहिलेको भन्दा तर, यात्रा रोकिने छैन, कदापी! #रुपसिंह भण्डारी
खै ! त तिम्रो हाँसो: बोझहरू बिसाउ तिमी बोक्छु तिम्रो साटो म मुस्काउँछु तिमी हाँस्दा खै त तिम्रो हाँसो ? फूलैफूलको सौगात लैजाऊ काँडा मेरो बाटो म फक्रिन्छु तिमी फुल्दा खै त तिम्रो हाँसो ! खोली हेर एकचोटी मन बाँध्ने गाँठो म आत्तिन्छु तिमी रूँदा खै त तिम्रो हाँसो ? रोकिए झैँ लागिरह्यो जिन्दगीको पाटो म दौडिन्छु तिमी हिँड्दा खै त तिम्रो हाँसो ? शित जति मेरो भयो बसन्तको साटो कड्यांग्रिन्छु तिमी रूझ्दा खै त तिम्रो हासो ? #खै ! त तिम्रो हाँसो
कवि श्रवण मुकारूङको आज जन्मदिन: नेपालका प्रख्यात कवि तथा गीतकार श्रवण मुरूकाङको आज जन्मदिन हो। २०२५ जेठ २६ गते भोजपुर जिल्लाको दिल्पामा जन्मिएका मुकारूङका दुई कविता संग्रह, एउटा गीत संग्रह, एउटा नाटक संग्रह र एउटा गीतिएल्बम प्रकाशित छ। २०६२/६३ को आन्दोलनताका स्वतन्त्र रेडियो बचाऊ आन्दोलनका लागि लेखिएको कविता ‘बिसे नगर्चीको बयान’ त्यो बेला नेपाल म्यागेजिनमा पहिलो पटक प्रकाशित भएपछि तहल्का मच्चिएको थियो। यो कविता आन्दोलनको पर्याय बन्न पुगेको थियो। कविताको लोकप्रियताका कारण उनले कविता कन्सर्टसमेत गर्नु परेको थियो। कविता कन्सर्टका कारण संसारका विभिन्न सात मुलुक भ्रमण गरेका उनले मोती युवा पुरस्कार प्राप्त गरेका छन् भने नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसमेत रहिसकेका छन्। उनको जीवनका दर्जनौँ रोचक प्रसंग छन्, जसमध्ये एउटा प्रसंगले उनको उज्यालो मोह प्रस्ट्याउँछ। बालक छँदा उनी बा-आमासँग अस्थायी बासमा बसिरहेका थिए। टुकी बालेर बसिरहेका बेला उनलाई टुकीको उज्यालो यति मन पर्यो कि यो उज्यालो ठूलो हुँदा कस्तो र कत्रो हुन्छ होला भनेर अस्थायी घरमा आगो नै लगाइदिए। घर ह्वारह्वारी बल्न थालेपछि निकै रमाएका उनलाई यो घटनाप्रति विस्मात पनि लाग्ने गरेको छ। २०६२/६३ को आन्दोलनलाई उचाइमा पुर्याउने उनको प्रख्यात कविता बिसे नगर्चीको बयान पढ्नुस्ः मालिक ! म यो गोरखा राज्यमा अर्ढाई सय वर्षछि बौलाएँ । मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु खोई मेरो पैताला कहाँनिर छ – कहाँनिर छ बिसे नगर्ची – मालिक ! म बौलाएँ । मैले त महाराजको सेवा गर्नुपर्ने इतिहासको रक्षा गर्न यो गोरखकालीको पाउ छोएर नुनको सोझाो हुनुपर्ने अर्ढाई सय वर्षछि आज के भयो मलाई – यो बिसेलाई दशा लाग्यो मालिक ! म बौलाएँ । नाथे मेरी स्वास्नी हो मारिएकी नाथे मेरी छोरी न हो बलात्कृत भएकी नाथे यो बिसेको झाुप्रो न हो जलाइएको यत्तिमै यो बिसे उप्रिmनृुपर्ने – थुइक्क बिसे… । म बौलाएँ मालिक ! म बौलाएँ । मेरो हात भाँचियो अब म हजुरका भारदारहरूलाई लवेदा सिउन सक्तिनँ नर्सिङ्गा फुक्न/सनाई बजाउन अथवा कुनै मङ्गलगान वा मृत्युगीत गाउन सक्तिनँ मेरो खुट्टा भाँचियो अब म हजुरको राज्यको पहरा गर्न सक्तिनँ मेरो दिमागै ठीकमा छैन अब म ठिक्कले बोल्न सक्तिन मालिक ! म बौलाएँ । मालिक ! यो गोरखा राज्यअघि उभिएका हिजोका ती अग्लाअग्ला पहाडहरू आज कसरी यस्तरी होचाहोचा भए – हिजोका सग्ला र कल्कलाउँदा यहाँका मानिसहरू आज कसरी यस्तरी खुनी र कुरुप भए – यो दरौदी किन उल्टो बगेको देख्छु – यो दरबारै किन खण्डहरजस्तो देख्छु – म बौलाएँ मालिक ! म बौलाएँ । मालिक ! हजुरको तरबारले टाउको काट्छ कि फूल – भ्रममा परें म हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे – भ्रममा परें म यस राज्यलाई प्रजाले बनायो कि राजाले भ्रममा परें म अर्ढाई सय वर्षेखि म तपाईसमक्ष छु मालिक ! म कसरी आतङ्ककारी हुनसक्छु – म केवल बौलाएँ मालिक ! बौलाएँ । हो मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला रक्सी खाएर यो देश मैले पनि आर्जेको छु भने हुँला भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनें हुँला मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई मेरो नाङ्गो आङ देखाएँ हुँला बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरें हुँला मालिक ! मान्छे बौलाएपछि आफैंसित पनि निहँु खोज्दोरहेछ अर्ढाई सय वर्षेखि मैले तुनेका थाङ्नामा हर्ुर्केका मेरा दरसन्तानहरू कहाँकहाँ पुगे – मैले खोज्न चाहें हुँला मेरा औंलामा खोपिएका छ्यान्द्रा र बगेका रगतहरूले मलाई उक्साए तरबारले आर्जेको मुलुकभन्दा मैले धागोले उनेको मुलुक विशाल ठानें हुँला मालिक ! यस माटोको इतिहाससँगै म हजुरको राष्ट्रमा छु म कसरी अराष्ट्रिय हुनसक्छु – म साँच्चै बौलाएँ मालिक ! साँच्चै बौलाएँ । मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु खोई मेरो पैताला कहाँनिर छ – कहाँनिर छ बिसे नगर्ची – मालिक ! म बौलाएँ । #बिसे नगर्चीको बयान #श्रवण मुकारूङ
म मरे कि मारिएँ आमा ?: म जन्मे, मैले चाहेर होइन जहाँ जन्मे, मैले रोजेको थिइनँ । नत देश रोजेँ, नत गाँउ रोजेँ नत जात रोजेँ, नत परिबार रोजेँे । आमाले भन्नुहुन्थ्यो बाबु तिमी जन्मिदा खुसीले सिमा नाघेको थियो तिम्रो त्यो रुवाइले यो घरको सन्नाटा चिरेको थियो । मैले कहिलै देखिन मेरी आमा सुतेको नत कहिलै देखँे, कुनबेला उठ्नु हुन्थ्यो ? कहिलै महसुस भएन तिनी थाकेकी होलिन थाहा नै पाइन मैले उनी भोकै भोकै भुटेको मकैको न्याम खुवाउँदी रहेछिन मलाई । नाङ्गो खुट्टाले, च्यातिएको लुगासँगै टालिएको त्यो एउटै गुन्युचोलोमा देखेको मैले मेरो आमा गरिब, दुखी र सहाराहिन थिइन पत्तो नै पाइन । मैले मेरी आमा सबभन्दा राम्री, धनी, दयावान, शक्तिशाली देख्थेँ यसरी बित्यो मेरो सुन्दर बालापन । झोला बोकेर मेरो साथीहरू १ घण्टापरको रातो घरमा गएको हेर्दथँे । म किन गएको थिएन ? मैले कहिल्यै आमालाई सोधिन पनि नत साथीहरूलाई सोधेँ बरु साथीहरू, हे दुर्गे आइज पढन जाऊँ भन्थेँ मैले जान्न है म त बाख्रा चराउन जानुछ आमा साहूकोमा काम गर्न जानु भएको छ यसरी उत्तर दिएको मानसपटलमा झल्झल्ली छ । एकदिन मैले आमालाई सोधेकी थिएँ आमा मेरो साथीहरूको बुबा छन् मेरो पनि बुबा होलान नि है आमा ? आमाले एकछिन अकमक्किएर भनेकी थिइन थिए, भारतमा काम गर्न गएका तिमी पेटमा आएको ६ महिना भएको थियो खै के भयो, आज सम्म फर्केका छैनन । आज पनि मेरो मानसपटलमा घुमिरहेको छ उहाँले आखाँभरी टलपल्लिएको त्यो आँसु पुछेको । १६ बर्षको जवानीसँगै आमालाई चिने, तिनका दुःख, तिनका दीर्घरोग ति नाङ्गा खुट्टा र आँङ ४० बर्षमै ७० को देखिने चाउरिएको मुहार साहूको कचकच १८ घन्टा भौतारिएको लखतरन मेरी आमाको सुस्केराले मलाई गिजाइ रहेको हुन्थ्यो । आफैँले आफूलाई गाली गरे र सम्झाएँ दुर्गे अब तेरो पालो आमाको काँधको जिम्मेदारी फेर्ने दिन आयो अब तेरो पालो, अब आमाले सक्दिनन् । एकदिन मकैको ढिडो ओरल्दै गरेकी, आमाको कपाल सुम्सुमाउँदै भने आमा म पल्लोघरको दाजुसँगै भारत जान्छु त्यता काम पाउँछरे, उतै काम गर्छु अब मेरो पालो हो आमा । तपाईँले दुःख गर्नु पर्दैन धेरै तपाईँको सुखको दिन आउँदैछ ति अन्तरे आमा जस्तै तपाईँलाई आँगनको डिलमा सुताएर पाल्छु है आमा । यति के भने थे धुरुधुरु मेरो आमाको आँखाबाट बगेको त्यो आँसु रोक्न घन्टौं लागेको आज पनि सम्झनामा ताजै छ । आमाले फूलको माला र टिका लगाएर हेर काइला, छोरो तेरो जिम्मा भयो छिट्टै फकिर्नु है, कमाउछु भन्छ मलाई जमिनदार्नी जसरी पाल्छ रे । बरबरी आँसु झारेर बिदा गरेकी झल्झल्ली आउँछ । खै हामी अभागिको कर्म नै त होला ? ३ महिना भएको थियो काम थालेको कोरोना भाइरस आयो रे, संसार बन्द भयो अलिकती पैसा जम्मा गरेको थिएँ एक्ली आमाको यादले सतायो सबै बन्द थियो । मलाई रोक्ने कसले ? १४ दिनको यात्रासँगै नेपालको सिमानामा पुगे नेपालको माटो समाते, ढोगे, आमाको यादले झन सतायो खै क्वारेन्टाइन रे यतै बस्नु पर्नेरहेछ भोकभोकैको त्यो लामो यात्रा, चिसो भुइँमा लस्करै सुते पानीको प्यास, खाली पेट मत बिरामी परेछु अस्पताल त हाम्रो कर्ममै छैन त्यही भोमिट गर्दा गर्दै प्राण त्यागेछु । मान्छे खोजिरहेको छु आमाको लागि जोगाएर ल्याएको हजार रुपैया पुर्याइ दिने अनि माफी मागिदिने आमासँग आमा मैले तिम्रो दःुख स्याहार्न सकिनँ मलाई माफ गरिदिनुहोला है । अनि आमा मलाई बताइदिनुहोला म मरे कि मारिएँ आमा ? #म मरे कि मारिएँ आमा ?
आज चर्चित लेखक किशोर नेपालको जन्मदिन: किशोर नेपाल किशोर झुत्रे नामबाट साहित्ययात्रा शुरू गरेका पत्रकार किशोर नेपालको आज जन्मदिन हो। नुवाकोटको झिल्टुङमा सन् १९५२ जुन ६ मा जन्मिएका उनले कथा र निबन्धमा विशेष दक्षता हासिल गरेका छन्। नेपालमा ट्याब्लोइड पत्रकारिताको स्थापनाको श्रेय पाएका नेपालको पहिलो रचना लुम्बिनी सन्देश साप्ताहिकमा २०२४ सालमा ‘गौतम बुद्ध’ शीर्षकको कविता प्रकाशित भएको थियो। उनका अर्कै प्रस्तर (कथा संग्रह – वि. सं. २०३४), चिन्ताका क्षणहरु (निबन्ध संग्रह १९८२), रङ्ग मण्डल (लघु उपन्यास) चर्चित छन्। ‘शहरको कथा’ र उनको आत्मकथा ‘मेरो समय’ले पछिल्लो पटक निकै चर्चा बटुलेको थियो। #किशोर नेपाल #जन्मदिन
मनका रङ्गीन तरङ्गहरू: तरङ्गित छु म, मेरा समयका उत्सवहरूमा हराएकी छु म आफ्नै मनका अनुरागहरूमा कहाँँ खोज्दै छौ मलाई म त घुलेकी छु किरणहरूमा तिम्रै जीवनका रङ्गहरूमा…. कतिकति आँखाहरू छन् जिन्दगीका हेर्याै भने देख्न सक्छौ मलाई म त्यही कतै छु आँसुका दहहरूमा तिमीभित्र नै अविरल मुस्कुराइरहने हृदयका तीव्र धडकनहरूमा जहाँँ जहाँँ हुन्छौ तिमी स्पर्श गरेर रहरका बीजहरू म र मेरा शुभेच्छाहरू बनेर बुकीफूल बटुल्नेछन् असीम सम्भावनाका आकारहरू र रमाउनेछन् प्रफुल्लित भई तिम्रै खुसीका हरेक केस्राहरूमा यस्तो लाग्छ अब त ति तिम्रै रङ्गमा रङ्गिएँ कि म मेरो आफ्नै रङ्ग नै कहाँँ थियो र ! र कहाँँ थिएँ र म विभिन्न रङ्गका रुपहरूमा किनकि घुलेकी छु अहिले त म तिम्रै प्रिय रङ्गहरूमा र त भुलेकी छु दुनियाँका अरू सारा रङ्गहरू ! #नाज सिंह
ज्ञानेन्द्र गदालको गजल: ईर्ष्या गरी कसैप्रति, हुन्न कैल्यै जल्नु हुन्न जानी–जानी खाल्डोमाथि खुट्टा पारी ढल्नु हुन्न । चिसोलाई राप दिनू, न्यानो पारी सेक्नु मात्र मनै सखाप पार्ने गरी आगो कैल्यै बल्नु हुन्न । जिन्दगीको रथ हाँक्न हिम्मत लिन सक्नुपर्छ सानातिना ठक्करबाट हरेस खाई गल्नु हुन्न । स्वविवेकले यात्रा गरे सन्तुष्टिको फल मिल्छ अरू सबको इशारामा यन्त्र भई चल्नु हुन्न । सबैलाई उल्लु बनाई ढाँट्न पनि सकिएला असत्यको बाटो रोजी आफैँलाई छल्नु हुन्न । कोलोराडो, अमेरिका #अमेरिका #कोलोराडो #ज्ञानेन्द्र गदाल
सीता: सीता हुन् उनी तर तिमीले सोचेको जस्तो राजा जनककी छोरी हैनन् उनी अर्थात् सीता दर्जी सञ्जोग भनौँ या भाग्य उनी रामकी श्रीमती तर तिमीले पुज्ने भगवान् राम हैन राम दर्जीकी श्रीमती घरीघरी उनले नाप्ने कपडाका ती इञ्चिटेपहरुले यदि नाप्न मिल्थ्यो भने विभेदका एक एक इञ्च इञ्चलाई घरीघरी उनले चलाउने कैँचीका धारहरुले काट्न सकिन्थ्यो भने विभेदका ती मसिना फलामका धागाहरुलाई जो युगौँदेखि समाजको मस्तिष्कमा एउटा खिया लागेको फलामे तार बनेर बसेको छ जुठे दाइले आरनमा धार लगाइदिएपछि धारिलो भएको हसियाझैँ यदि किताबका अक्षरहरुले खिया लागेका मस्तिष्कका फलामे तारलाई धारिलो बनाएर उदाइदिने भए सीता दर्जीको कोखबाट जन्मिएको लवकुसलाई किन स्वीकार्न चाहँदैनन् आधुनिक द्रोणाचार्यहरू भरी सभामा मौन बसेका भीष्म पितामहहरुलाई आफ्नो मौनता तोड्न अझै कति समय लाग्छ गान्धारीले झैँ तिम्रो आँखामा बाँधिएका विभेदका ती काला पट्टीहरुलाई खुल्न भन अझै कति समय लाग्छ तिम्रा खुट्टाका एक-एक पाइलाहरू नापेर तिम्रो निम्ति साइँला सार्कीले बनाइदिएको छालाका जुत्ताहरू लगाएर छालाका पेटीहरू लगाएर भन कहिल्येसम्म कुल्चिन्छौ त्यही साइँला दाजुका पैतालाहरुलाई यो सीता दर्जी सीता बनेर धर्तीमा भासिन्न किनकि तिम्रो यो युगमा भेट्न नसकेका कयौँ जवाफहरू खोज्नु छ यो सीता दर्जीले साँवा अक्षर छिचोलेकी यो सीता दर्जी सबै मानिसहरुको शरीरमा केवल हाड र छाला मात्र देख्छे रातो रगत मात्र देख्छे जसले पछि चिताको धुँवाबाट उडेको खरानीको थुप्रो मात्र देख्छे तर तिमीले पढ्ने ती किताबहरुमा साँच्ची के के लेखिएका थिए जस्ले घन बनेर अझ\u200cै पनि फोर्न सकेन तिम्रा मस्तिष्कमा जमेका विभेदका ती चट्टानहरूलाई #रूपा थापा
सामाजिक सञ्जालमा लोकगीत: कुरा सुरू गर्नुअघि यो गीत हेर्नुस्ः अनि हामी बात मारूम्लाः “यो दाजुको मिर्मिरे आँखा, कस्तो मेरो बिगार्\u200dयो दिमाख…..यो नानीको सुरिलो भाकाले, छाति चिर्\u200dयो गाजलु आखाँले.., करिमैमा नभाको कुरा, बल गरेर हुँदैन हजुर… करिमैले लाएको डोरो, डोरो छिन्यो मन भयो एकोरो,… नरोऊ मायालु” यो कालजायी गीत अहिले सामाजिक सञ्जालभरि छरपष्ट छरिएको छ । सामान्यतः लोकगीत वा लोकसाहित्य कुनै समाजको आत्माको प्रतिबिम्ब हो । कुनै पनि देशको जातीय, सामाजिक, ऐतिहासिक, राजनीतिक, धार्मिक, आर्थिक अवस्थालाई बुझ्न लोकगीतले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । कुनै पनि देशका जनस्तरबाट गाइने यस्ता खालका कालजयी गीतहरुले नै सो देशको संस्कृतिको परिचय दिएको हुन्छ । लोकगीत सामान्यतः कल्पनामा आधारित गीत नभै दैनिक जीवनका कर्महरुमा आधारित भोगाइ हुनाले यसले मानव मनमस्तिष्कमा नराम्रोसँग दबाब पारेको पाइन्छ । लोकगीतमा प्रयोग हुने शब्दहरु सामान्यतः ग्रामीण भाषाका शब्दहरु हुने हुनाले पनि यी गीतहरु बढी आनन्ददायी हुने गरेको हो। लोकगीतको इतिहासलाई कोट्याउँदा यसको सुरुवात आदिकालबाट भएको किंवदन्तीहरु पाउन सकिन्छ । आदिकालमा जब मानिसहरु गुफा, ओढार, जगंलहरुमा बस्ने गर्थे, उनीहरुमा सामाजिकता बिस्तारै पलाउने क्रममा थियो । उनीहरुमा बिस्तारै सुख, दुःख, आनन्द, माया, प्रेमका भावहरुको चेतना विकास हुने क्रममा थियो । सोही समयमा उनीहरु आफूले जे भोगे, सो नै लयबद्य रुपमा उच्चारण गर्न थाले । यसले नै पछि लोकगीतको रुप लिएको पाइन्छ । सो समयमा उनीहरु आफ्ना भावना लयको माध्यममा त लयबद्ध रुपमा गाउन सुरु गरे तर यसलाई उनीहरुले लिपिबद्ध भने गर्न सकेनन्, त्यसैले आजसम्म पनि लोकगीत यो समयबाट सुरु भएको हो भनेर यकिन गर्नलाई कुनै मिति नभएको हो। अर्पण तिवारी समयसँगै मानिहरुको जीवनयापनहरु परिवर्तन हुँदै गयो । तिनका दैनिक कार्यहरु बदलिएसँगै बिस्तारै आधुनिकतातिर समाज परिवर्तन हुन थाल्यो र बिस्तारै पुराना लोकगीतहरु लोपोन्मुख अवस्थामा आउन थाले । विकसित संगीतका साधनहरु र विकसित जीवनयापनमा थपिएका आधुनिक शब्द सञ्जालहरुले बिस्तारै लोकगीतहरुको भाव गलत दिशातिर लान थाल्यो । यही अवस्थामा पुराना गीतहरुलाई नयाँ पुस्ताले आफूसँग भएका आधुनिक संगीतका साधनहरुले सजाउँदै आफ्नो स्वरबाट पुनः त्यसमा प्राण भर्न लागे, जुन रुप नै आजको “कभरगीत” हुन पुगेको छ । यसलाई हाम्रो लोकगीत सरंक्षणको एकदमै सकारात्मक पक्षको रुपमा लिन सकिन्छ । यसले हाम्रो समाजमा विलय हुनै लागेको संस्कृतिलाई पुनः जागृत गर्ने कुरामा कुनै दुविधा छैन । बढ्दै गएको “कभरगीत” संस्कृतिले पुराना स्थापित कलाकारहरुको भावनामाथि तुषारापात गरेको तर्क लोकसृस्टाहरु राख्छन्। अचेल सर्जकको बिनास्वीकृति “कभरगीत” बनाउने होड पनि ह्वात्तै बढेको छ जुन सरासर गलत हो । “कभरगीत” आफैँमा गलत नभए पनि यस्ता बिना स्वीकृति “कभरगीत” बनाउने प्रवृत्तिले यसको महत्त्वलाई दुविधामा पारेको छ र कयौँ केस पनि अदालतमा दर्ता भैसकेका छन् । सामान्यतः कुनै पनि गीतसंगीत सर्जकको बिना इजाजत गाउन नपाउने कानुनी आधार सृजना भैसकेको छ । सर्जकको इजाजत बिना कभर गीतहरु गाइएको पाइएमा सर्जकले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयअन्तर्गत, नेपाल प्रतिलिपि अधिकार रजिष्टरको कार्यालयमा गएर कानुनी रुपमा उपचार लिन सक्छ । प्रतिलिपि अधिकार व्यवस्थाले सर्जकको मौलिक रचनालाई संरक्षण दिने काम गर्छ । यसले कला, संस्कृति, साहित्य, ज्ञानविज्ञान क्षेत्रमा रचनाहरुको प्रतिलिपि अधिकारसँग सम्बन्धित ध्वनिअकंन, प्रस्तुति तथा प्रसारणको अधिकारको सुनिश्चितता गर्दै यसको संरक्षण र संवर्धन गर्छ । यससम्बन्धी महत्त्वपूर्ण प्रतिलिपि अधिकार ऐन २०५९, र प्रतिलिपि अधिकार नियमावलि २०६१ बनेसँगै पुराना गीतसंगीतको संरक्षणमा “कभरगीत” ले थप महत्त्वपूर्ण भूमिका खेल्ने आधार सृजना भएको छ । यसको उदाहरणमा हालै प्रसारणमा आएको “नरोऊ मायालु” भन्ने कभरगीतलाई लिन सकिन्छ । नेपालमा फेसबुक प्रयोगकर्ता एक करोड भन्दा बढी रहेको पाइन्छ । सोही हाराहारीको अनुपातमा टिकटक प्रयोगकर्ताहरु रहेको अनुमान गर्न सकिन्छ । हाल पछिल्लो हप्तामा फेसबुक वालहरुमा र टिकटक एकाउन्टमा नरोऊ मायालु बोलको गीत अपलोड भएको छ, जसले केही मात्रामा भए पनि हामीलाई कोरोना कहरले अत्तालिएको मानसिकताबाट टाढा राख्न सफल भएको छ । यो गीत सुरुमा बीमाकुमारी दुरा र प्रवीण गुरुङले २०४६ सालतिर रेकर्ड गरेका हुन्। अहिले चेतन गोतामे र निरु शिरिस मगरले यो कभरसङ गाएका छन् । यो कभर गीत गत साता मात्रा मात्र युट्युवमा अपलोड भएको छ । एक हप्ताको हाराहारीमा यो गीत युट्युबमा नौ लाख पटक भन्दा बढी हेरिइसकेको छ । यही लोकप्रियता भजाउँदै टिकटक प्रयोगकर्ताहरुले पनि प्रयोग गर्न थालेका छन्। कोरोना कहरमा सामाजिक सन्जाल फेसबुकमा पनि अति क्रियाशील डा. कल्याण सुवेदी, जसको फेसबुकमा मात्र पाँच लाख पचास हजार भन्दा बढी फ्यान फलोइङ छ, उनी चाइल्ड एण्ड एडल्ट साइक्याट्रिक मेन्टल हेल्थ डाक्टर हुन्। यिनले कोरोना कहरमा कोरोना टिप्स मात्र दिइरहेका थिए, हाल आएर उनी पनि यो गीतबाट अछुतो छैनन्। त्यस्तै अहिले पछिल्लो समय नेपाली लोकपारखीहरुमा निकै प्रिय बनेका प्रकाश सपुतले पनि यो गीत टिकटकमा अपलोड गरिसकेका छन् । त्यस्तै आधुनिक लोकपप विधामा आफ्नो नाम अब्बल स्थानमा राखेका नयाँ पुस्ताका सेलिब्रिटी दुर्गेस थापा पनि यो गीतमा आफ्नो टिकटक गराइसकेका छन् । यो गीतबाट अहिले नेपाली समुदाय एकतमासले लयबद्ध भएको छ । यो कालजयी भाका आफैँमा मन बहलाउने खालको छ । यस्ता खालका कभर गीतहरुले समाजमा लोपोन्मुख हुँदै गएका भाकाहरुको त संरक्षण गरेको नै हुन्छ, यसको अवाला हाल यस्तो विपतको बेलाको घाउ मेट्न यो गीत निकै सफल पनि भएको छ । कोरोना कहरले बिस्तारै समाजलाई डिप्रेसनको अवस्थातिर लगेको बेला योग तथा यस्ता कालजायी गीतहरुले महत्त्वपूर्ण स्थान खेल्न सक्छन् । समाजमा बढ्दै गएको असन्तुलित मानसिकतालाई बहलाउन यी र यस्तै खालका लोकभाकाहरु, योग अभ्यासहरु आउन जरुरी छ। यसले समाजमा अवश्य सकारात्मक प्रभाव पार्नेछ । #अर्पण तिवारी #लोकभाका
मान्छे बिनाको मान्छे: राजन अधिकारी बादल आफू बिलाएर बरसी रहेको छ यहाँ वृक्ष आफू निहुरिएर फलिरहेको छ यहाँ ! दियो आफू जलेर ज्योति छरिरहेछ यहाँ हिमाल आफू पग्लेर प्यास मेटाइरहेछ यहाँ! पत्थर आफू फाटिएर फूल फुलाइरहेछ यहाँ मरुभूमि आफू रापिएर खरबुजा फलाइरहेछ यहाँ! तर, म मान्छे, कति स्वार्थी? कालो गोरो भनेको छु विभेदको अनगिन्ती रेखा कोरेको छु म मान्छे बिनाको मान्छे भएको छु। हाँसो, भाषा सब उही छ आँसुको रंग सब उही छ नसामा बग्ने रगत सबैको रातो छ फेरि कोही अजम्बरी छैन यहाँ। तर, मैले आफू कहिल्यै नमर्ने ठानेको छु, त्यसैले मानवता चटक्कै बिर्सेर मान्छे मान्छेबीच पर्खाल ठड्\u200cयाउँदै मान्छे बिनाको मान्छे भएको छु। कौशलटार, भक्तपुर #भक्तपुर #राजन अधिकारी
यात्राको मौन क्षण: सायद मनको रङ्ग नै हो, जो मुहारमा झल्कन्छ | नत्र त मान्छेको शरीर स्वस्थ हुँदाहुँदै पनि अनुहार किन मलीन देखिन्छ ? एक उदासिनता, परास्त भाव किन प्रतिबिम्वित हुन्छ ? यसलाई यसरी पनि भन्न सकिन्छ कि हाम्रो शरीरको चालक भनेको मन हो । या शरीर शरीर मनद्वारा नियन्त्रित हुन्छ। के मनचाहिँ स्वतन्त्र हुन्छ ? या मन पनि कतैबाट नियन्त्रित या उत्तेजित हुन्छ ? यदि नियन्त्रित नहुँदो हो त हामीले भावावेशमा उत्तेजित भएर कति आत्मघाती र निर्मम निर्णयहरू लिनुपर्ने अनुभव संगाल्नु पर्ने पक्कै थिएन । या उत्तेजनाको कारण अरू केही हो ? के कोही आफ्नो मनको अन्तिम सिमासम्म आफैँ पुग्न सक्ला ? सम्झन्छु, बुद्दका वाणिहरू | के होला त्यो तत्व जो मनको पनि मालिक हो, र त्यो असिम प्रेम र करुणाको सागर पनि हो ? यस्तै चिन्तनमा डुबिरहेको थिएँ, प्रमिला आइपुगिन् । प्रमिला अर्थात् मेरी प्रेमिका, मेरी श्रीमती | उनी सधैँझैं प्रेमपूर्ण रूपमा झर्कियझैं गरी मेरो उदासिनताबाट दिक्क भएझैं निधार खुम्चाउछिन् | उनको ललाटमा मुजा परेको प्रस्ट देखिन्छ | नासिकाले केही गन्हायको जस्तो महशुस गर्छन्- “ सधैँ टोलायर बसेको मात्र देख्छु | हैन ! भ’कोचैं के छ हँ तपाइँलाई ? न केही कुरा सेयर गर्नुहुन्छ, के भ’को तपाईंलाई ? श्रीमान-श्रीमती भन्नूमात्र ! सँगै बसेको भन्या छ, एक्लै एक्लै बसेको जस्तो । म पनि छु भन्ने पनि बिर्सनुहुन्छ ? उफ् !” केही प्रतिक्रिया खोजेझैं एकैछिन छेउमै उभिन्छिन् | यद्यपि उनीले मबाट नजर हटाएर आफ्नो हातका औंलाको पालिस कोट्याएझैं गर्छिन् । म भने मुर्तिवत छु, केही उत्तर नपाएपछि उनी भान्सा पसिन् । यस्तै छु, केही प्रतिक्रिया दिइहाल्दिनं, दिएछु भने पनि हजिर-जवाफी, उल्टो पाल्टो पारेर । केही कुरामा गम्भीर नभए जस्तो, महत्व नदिए जस्तो । सायद मेरो व्यवहर नै यस्तै होला ! जोसँगै बस्ने मान्छेलाई दिक्क बनाउँदो हो ! के भनूँ ? भनेर पनि कसले बुझिदिन्छ, जीवनको सुरुवातदेखि नै चिडिया घरको पिन्जडामा थुनेर राखिएको पखेटा हुँदाहुँदै पनि उड्न नसक्ने एक खगको व्यथा ! अनि खै के भएको छ, अचेल एक पागलपन सवार भएझैं उल्टा-उल्टा छन् मनोभावहरू पनि । कि कसैले चोट पुर्याइदिए पनि हुने, ठेस लागेर लड्न पाए पनि हुने, ता कि एक सचेतनता जागिराख्न पाओस् । दु:खले छोइरहोस्, हृदय तरल भइरहोस्, आँखा आँसुले भिजिरहून, लागिरहन्छ । त्यसैले त यताउता चहारी रहन्छु, व्यथाहरू कोट्याइरहन्छु । म मृत्युको पुजारी पो हुँ कि ! सायद त्यसैकारण जीवनको परमार्थको खोजी हुँ, उपासक पनि हुँ | मैले देखेको मनको श्रीङ्गारका आधारभुत कुराहरू भनेको चोट, घाउहरू नै हुन् | जसले सुखको नशामा डुबेर भिडमा हराउन दिदैनन्, एक अद्भूत जागरणसाथ यात्राबाट विचलित हुन दिदैनन्, र झकझोरी राख्छन् । प्रिय लेखक खलिल जिब्रानले आफ्नो पुस्तक, “द प्रोफेट“ मा भनेका छन्, “दु:खको गहिराइ नै सुखको आधार हो ।” हो, मलाइ पनि यस्तै लाग्न थालेको छ । चोटहरूबाट भाग्नु भनेको आनन्द र खुसीबाट पनि भाग्नु हो । दु:ख र सुख भनेका त जीवनउद्दानका दुई अलग ऋतुहरू हुन, बसन्त र शिशिरजस्तै । सोचौँ त ! यदि शिशिरको उजाड वातावरण नहुँदो हो त बसन्तमा नव्य-नव्य पालुवाहरू पवनका झोकाहरूसँगको दिव्य नृत्यको अनुपम सुन्दरता कहाँ दृष्टिगोचर हुन्थ्यो र ? चोटहरूले अवश्य नै पीडा दिन्छन, यद्यपि रसदार एकदमै कोमल, मीठो पीडाजस्तो, मातृस्नेहले लतपत शिशुले आमाको कोखमा चोट मारेझैँ । यत्तिकैमा प्रमिला खान बोलाउछिन्, “लौ, अझै यहीँ हुनुहुन्छ ? एक घण्टा भइसक्यो | मैले खाना पनि बनाइसकें । कि सोच्न थालेपछि खानु पनि पर्दैन ?” “सधैँ पिन्जडाभित्रै कति खानु, म चाबी खोज्दै थिएँ के !“, मैले भनेँ | “उह् ! अब सरको दर्शन सुरु भो, जति दर्शन छाटे पनि पेट त भर्नु पर्ला नि ?“ उनले भनिन् | मैले व्यङ्ग्यात्मक मुस्कान दिँदै भनेँ, “म मनको भोको छु प्रिय, प्यासी-प्यासी छु | कहिलेकाहीँ मनको भोजन पनि पकाउन मिल्दैन ?“ “धेरै हावा कुरा नगर्नु ! झन् आज एउटा फिल्म हेर्ने भनेको मैले, कहिल्यै मान्नुहुन्न है ?“ “हो, मैले पनि त्यही भनेको के ! पिन्जडा तोडेर खुल्ला आकासमा स्वतन्त्र विचरण गरूँ, पहाडका चुचुरा हिमालका शिखरहरूको दर्शन गरूँ !”, यति भन्दै मैले उनीलाई अङ्गालोमा बाँधेर ललाट चुमेँ, अनि हामी दुवै भान्सा पस्यौँ… #यात्राको मौन क्षण
सुजनको गजल: मेरो आँगन सँगै तिम्रो सँघार थियो न अवरोध गर्ने कुनै तारबार थियो ।। र पनि भन्यौ पर्खाल चढेर आउनू आफ्नो त अनुमति लिने संस्कार थियो ।। थाहा छैन के सोच्नु होला तिम्रो आमाले आजसम्म छोरालाई झै व्यवहार थियो ।। पर्खाल चढ्नु र झ्यालबाट प्रवेश गर्नु सबै कुरा तिम्रो निर्देश अनुसार थियो ।। माक्स लगाई टाढै बसी बोल्नु पर्ने रे झुर गर्यो कोरोनाले मेरो अर्कै बिचार थियो ।। #सुजन बैरागी
मुरारीराजको पाँच हाइकु: १. मन बिझायो, ओछ्यान भन्ठानेर तन्ना फेरेछु ! २. आफ्नै अगाडि बगिरहेछ नदी तातो बगर ! ३. बंगैचा भरी हाँसीरहेछन् फूल उदास काँडा ! ४. टल्पल आँसु बाध्यताको मुस्कान लाचार मन ! ५. बल्झियो याद चहरा¥यो अतित पीडा थपियो ! #मुरारीराज मिश्र
कोरोनासँग बालकको क्रन्दन: डा. अम्बिका अर्याल “मामू, हामी रिजल्ट लिन कहिले जाने ?” छोराको यो प्रश्न बारम्बार दोहोरिरहेको थियो । उसको विद्यालयले यो शैक्षिक सत्रको परीक्षा सकेपछि बिदा थियो । लगभग हप्ता दिनपछि रिजल्ट लिन जानुपर्ने दिन गनेर बसिरहेको छोराको कुराइको वेग लकडाउनले बढाइदिएको थियो । आफू उत्तीर्ण भएको औपचारिक जानकारी नपाएसम्म अर्को कक्षामा चढेँ भन्ने सोच कसरी आउँदो रहेछ र ? झन् बच्चालाई कसरी बुझाउनु ? रिजल्ट लिन जान नपाउनुको कारण नै केवल कोरोनाको बिगबिगी थियो । त्यही कारण बारम्बार दोहोर्\u200dयाउँदा पनि दिक्क भइसकेकी थिएँ । तर ऊ सोधेर कहिल्यै थाक्दैनथ्यो । त्यसपछि “यो कोरोनालाई लखेट्न पनि नसक्ने हजुर त ?” भन्दै मसँगै झोँकिन्थ्यो । मैले सबैथोक काम गर्न सक्थेँ उसका नजरमा । खाना पकाउन, घर सफा बनाउन, उसका बिग्रिएका खेलौनाहरु बनाइदिन, नजानेका सबै गृहकार्य सिकाइदिन, स्कुल पुर्\u200dयाउन, ड्रेस धोएर आइरन गरिदिन, बिरामी भएको बेला औषधी खुवाएर निको पारिदिन, कुकुरलाई लखेट्न, लामखुट्टेलाई मारिदिन, बजारमा उसले चाहेको कुरा पसलमा मागिदिन आदि थुप्रै काममा मेरो मूल्याङ्न गर्\u200dथ्यो ऊ । मभन्दा पनि बाबालाई अझ शक्तिशाली मान्छेका रुपमा चिनेको थियो उसको ज्ञानले । तर बाबाले पनि कोरोनासँग हाकाहाकी लड्न नसक्ने बरु सुरक्षित रुपमा घरभित्रै बस्नुपर्ने आशय बुझाउन खोज्दा उसमा नैराश्यता छाएको थियो । सबै काममा उसले हामीलाई सक्षम देखे पनि कोरोना लखेट्न नसक्ने देखेपछि हामीप्रतिको विश्वाससमेत धाँजा फाटेको थियो । झिनो आशा बोकेर उसले कारोना धपाइदिन पुनः आग्रह गरेपछि मैले भनेँ, “बाबु, यो कोरोना भन्ने भाइरस निकै शक्तिशाली रहेछ । आजसम्म कसैले यसलाई मार्ने औषधी पनि बनाउन सकिरहेका छैनन् । मैले कसरी सक्छु र ? फेरि हामीले देख्न पनि त सक्दैनौँ । कसरी मार्ने ? लामखुट्टेझैँ उड्दै आएको देखिने भए त मारिहाल्थेँ नि ! गोरुले झैँ हान्न आएको भए पनि लखेटिहाल्थेँ नि ! नदेखिने चीजलाई कसरी धपाउनु र ?” ऊ मेरो कुरामा निश्चिन्त बन्दै सक्दैनथ्यो । उसलाई आफ्नो ज्ञानले भ्याएसम्मका उदाहरण दिएर प्रष्ट पार्न खोज्थेँ । एकछिन बुझेझैँ गरेर सुनेपनि क्षणमै त्यही प्रश्न दोहोर्\u200dयाउन थाल्थ्यो । “नदेखिने कुरासँग नि डराउँछन् त ? त्यसले के गर्न सक्छ र हामीलाई ? हामी यति ठूला छौँ । त्यस्ता हावासँग नि किन डराउँछौँ मामू ? हावाले कसलाई के गर्न सक्छ र ?” ऊ मरिमरि हत्केलामा फुक्थ्यो र हावाको निरीहतालाई देखाएर मसँग तर्कवितर्क गर्न थाल्थ्यो । त्यो नदेखिने वस्तु भनेको हावा हो भन्ने उसको अनुमान थियो । कोरोना भनेकै हावा हो भन्दै साथीहरुलाई पनि सिकाउने भइसकेको थियो । साथीहरुसँग खेल्ने मार्ग पनि बन्द भएपछि छिमेकी घरको साथीलाई कौसीमा गएर चिच्याएर बोलाउँथ्यो अनि “कोरोना भनेको त हावा हो, थाहा छ तिमीलाई ?” भन्दै कुनै वैज्ञानिकले तथ्य पत्ता लगाएझैँ प्रमाणित गर्न मसँग समेत समर्थन जुटाउँथ्यो । साथीसँग खेल्न नपाएको गुनासो त्यति गर्दैनथ्यो तर “मसँग को खेल्छ ?” भन्ने प्रश्नले भने आजित तुल्याएको थियो । कोरोनाको लकडाउन भनेको मेरा लागि फुर्सदको समय कहाँ थियो र ? यही समयमा कति धेरै योजना ताँती लागेर उभिएका थिए । तिनैलाई पूर्ण गर्ने प्रयत्नमा जुटिरहेकी थिएँ । पढ्ने लेख्ने कामको योजना कहिल्यै नसकिने हुँदा रहेछन् । कृषकका खेती योजनाजस्ता । जब म ध्यानकेन्द्रित भएर पढ्न बस्थेँ, ऊ मेरा पुस्तक र कलम खोसेर दौडन्थ्यो । कौसीमा गएर सकेसम्म पर फालिदिने उसको दाउ हुन्थ्यो । उसले यसो गर्नुका पछाडि दुईवटा रहस्य थिए । एक त ऊ मसँग दिनभर खेल्न चाहन्थ्यो । उसको साथी नै मै हो भन्ने ठानेको थियो भने अर्को पर फालिएको वस्तु टिप्ने निहुँमा केहीबेर बाहिर निस्किएर डुल्न पाइने उसको योजना हुन्थ्यो । घरबाहिर घुम्न जानु उसको रहरको विषय जहिल्यै पनि थियो । सडकमा पैदल हिँडेर परपरसम्म पुग्न र बाटोमा भेटिएका कुखुरा, कुकुर, चराहरुलाई ढुङ्गो हान्दै जिस्किन उसलाई असाध्यै रमाइलो लाग्थ्यो । यी रहरहरु सबै लकडाउनसँगै थुनिएका थिए । कोरोनाका कारण मृत्यु हुनेका सङख्या बढ्दै गइरहेको समाचार हामी हेरिरहेका हुन्थ्यौँ । हाम्रै छेउमा बसेर ऊ पनि हेरिरहन्थ्यो । अनि प्रश्न गर्\u200dथ्यो, “कोरोनाले कस्तो मान्छेलाई लैजान्छ ?” म भनिदिन्थेँ, “जो बदमास छ उसैलाई ।” “बदमास त चोर पो हुन्छ ! पुलिसले चोरलाई समातेर जेलमा लान्छ । कोरोनाले पनि जेलमा लगेर राख्छ हो ?” “कोरोनाका कीराले त खान्छ नि बदमासलाई । जसले ठूला मान्छेले भनेको मान्दैन, साबुनले हात धुँदैन, लकडाउनमा बाहिर निस्केर हिँड्छ, उसैलाई खान्छ ।” “अनि मास्क नलाउने पनि बदमास हो । हाम्रो बाबा तरकारी किन्न जाँदा मास्क नलाई जानुभएको थियो । मैले देखेर कराएपछि लगाएर जानुभयो । झण्डै बाबालाई पनि कोरोनाले लगेको है मामू ?” “हो त ! अब बाबु पनि घरबाहिर खेल्न नजाने, घरमै बसेर पढ्ने है ?” “हवस् मामू ।” उसले यस्ता प्रश्न बारम्बार गरिरहन्थ्यो । बालमस्तिष्कमा उब्जेका प्रश्नको उत्तर दिएर कहिल्यै नसकिने । न उनीहरु प्रश्न गरेरै थाक्छन् । उसले आफू ज्ञानी बन्न र कोरोनाले नलैजाओस् भन्ने विषयमा खुब विचार गर्न थालेको थियो । एकदिन उसकै कोठामा ढोका थुनेर एक्लै बसिरह्यो । बोलाउँदा पनि आएन । तर उसको कोठाको झ्यालबाट उसले गरेका कामहरु नियाल्न सकिन्थ्यो । उसलाई थाहा नदिइकन म झ्यालबाट हेरेर बसिरहेँ । उसले कपी र कलम निकालेर लेखिरहेको थियो । आखिर नराम्रो काम गर्दैछैन भन्ने सोचेर बोलाउन चाहिनँ र हेरिरहेँ मात्र । एकछिनपछि ढोका खोलेर आफैँ बाहिर निस्कियो र मलाई त्यो कपी ल्याएर थमाउँदै रुन थाल्यो । यसमा लेखिएको थियोः “म ज्ञानी छु, माम पनि छिटो खान्छु । होमवर्क पनि छिटो सकाउँछु । धेरै पढ्छु । एक्लै घर बनाउने खेल खेल्छु । लुडो खेल्छु । बिहान छिटै उठ्छु । आफू उठिसकेपछि बाबा र मामूलाई उठाउँछु । बाबामामूलाई माया पनि गर्छु । बाथरुममा ढोका थुनेर मात्र सुसु गर्छु र पानी हाल्छु । बेलुका बेलैमा सुत्छु । लकडाउनमा बाहिर जान्नँ । घरभित्रै बस्छु बरु झ्यालबाट परको दृश्य हेर्छु । टिभीले पनि कोरोना लाग्छ भनेर नियमित हात धोऔँ, आफू पनि बाँचौँ, अरुलाई पनि बचाऔँ भनिरहन्छ । समाचारले रेडियोमा पनि इन्डिया, चाइनामा जस्तै नेपालमा कोरोना फैलिँदैछ भन्छ । कोही बच्चा पनि अहिले विद्यालय जान हुँदैन भन्छ अनि गाडी, साइकल, बाइक, मान्छे कोही पनि बाटोमा हिँड्न दिएको छैन । म पनि घुम्न जान पाएको छैन । मामूबाबा पनि मसँग खेल्न मान्नुहुन्न । म एक्लै के गर्ने ? बदमासलाई कोरोनाले लान्छ रे! रुन पनि नहुने । म बदमास छैन । मलाई नलैजा है कोरोना ! मेरो बाबामामू पनि मसँग खेल्नुहुन्न । तर उहाँहरु पढ्न थालेर हो । छिटो सकेर खेल्न आउनुहुन्छ । बाबामामूलाई पनि नलैजा है ! मेरी बहिनी छ एउटा । अङ्कलकी छोरी । उसले हाम्रो घरमा आएका बेला मेरो खेलौना चोरेर लान्छे । मेरो बुकहरु पनि च्यातिदिन्छे । तर ऊ बदमास भए पनि उसलाई पनि नलैजा है ? बरु चोरहरु, लायनहरु, गनहरु, हस्पिटलका सुईहरु सबै लैजा ।” छोराका नबुझिने अक्षरलाई जसोतसो बुझेँ । उसका नमिलेका वाक्य सङ्गठन र अस्पष्ट अक्षरबाटै निस्केका स्पष्ट ध्वनिहरुले आफैँ धरमराएँ । साँच्चै ती अक्षरका वह र त्रासले मेरो मन खलबलायो । आँखाभरि आँसु छचल्किए । पाँच वर्षको छोराले कनिकुथी लेखेका प्रत्येक शब्दमा उत्तिकै मर्माहत पार्न सक्ने शक्ति देखेँ । उसका रुचिलाई बुझेर पनि आफ्नो करियरको लोभमा भुलेकी म साँच्चै आमा बन्न नसकेको पीडा पनि मनमा उत्तिकै जागृत भए भने कोरोनाको सन्त्रासले छोराको व्यवहारमा आएको व्यवहारले नमिठो तुल्यायो । ऊ तर्सेर यसरी पुकार गर्न थाल्ने भइसकेको थियो भने आफ्ना संवेग र रहरलाई कसरी दबाउन सकिरहेको होला भन्ने सोचेपछि मन नै गह्रौँ भयो । बिस्तारै विद्यालयहरुले अनलाइन कक्षा सुरु गर्न थाले । मेरो छोराको विद्यालयले पनि अनलाइनबाटै पठनपाठन सुरु गर्\u200dयो तर त्यो भिडियोमार्फत नभएर गृहकार्य पठाउने र अभिभावकले गृहकार्य गराएर शिक्षकलाई पठाइदिनुपर्ने किसिमको थियो । यु.के.जीको परीक्षा दिएर घर बसेको छोरालाई कक्षा एक भन्दै गृहकार्यहरु पठाइएको थियो । उसले ती गृहकार्य आफ्नो लागि हो भन्ने पत्याउनै सकेन। न कुनै साथीहरुले उसलाई हामी एक कक्षामा पुग्यौँ भनिदिएको थियो । न त उसलाई हामीले पास भएपछि नयाँ पुस्तक, ड्रेस, व्याग आदि किनिदिने भन्ने आश्वासन नै पूरा गरिदिएका थियौँ । उसले “रिजल्ट लिएर गएपछि मात्र कक्षा एकमा पुग्ने भनी हाम्रो म्यामले भन्नुभएको छ” भन्ने कुरा पनि बारम्बार दोहोर्\u200dयाइरहन्थ्यो । त्यसकारण आफू पास भएको र एक कक्षाको विद्यार्थी भएको मान्ने कुनै आधार नपाएपछि अनलाइनमा समेत युकेजीका लागि दिइएको गृहकार्य गर्न जोड गरिरह्यो । उसलाई केही गरेर पनि बुझाउन नसकेपछि आफैँले एक कक्षाको गृहकार्यलाई नै कक्षा युकेजी लेखिदिएर गृहकार्य गराइदिन थालेँ । शिक्षकलाई भने सो कुराको जानकारी गराएँ । यसपछि पनि उसले बारम्बार “रिजल्ट लिन जाऔँ न, म कक्षा एकमा जानै पाइनँ” भन्ने जिद्दी छाडेको छैन । कोरोनाले गर्दा नयाँ किताब र ड्रेस लगाएर विद्यालय जान नपाएको अनि साथीहरुलाई देखाउन नपाएको गुनासो उस्तै छ । कोरोनालाई आफू ठूलो भएपछि जसरी पनि नमारी नछाड्ने भन्दै बन्दुक तेर्साएर गरेको अभिनयमा उसको बदलाको भावना सशक्त बनेको बुझ्दछु । साना बालबालिकामा परेको कोरोनाको त्रास र शिक्षाप्रतिको गहिरो बुझाइले मलाई ऊ बालक नभएर जवान युवक लाग्दछ । अनेक कहरका टकरावमा उसका जीवनचक्र कसरी पूरा हुने हो भन्ने सोचले घरीघरी आक्रान्त बनाइरहेको छ । बालकका भविष्य र त्रासका त के कुरा ? उसैका शब्दमा उनिएका त्रासका माला पहिरिएपछि म समेत सन्त्रासका डोलीमा चढेर गन्तव्यको अनिश्चिततामा रुमलिएकी बेहुली बनेकी छु । #अम्बिका अर्याल #कोरोना #मनोविज्ञान
भानु: कसैले एउटा पुरानो पारिवारिक फोटो मेसेन्जर ग्रुपमा हालेर पठायो। पारिवारिक भाइटीकाको फोटो रहेछ। उसले मोबाइल फोनको स्क्रिनमा चोर औंला र माझी औंलालाई विपरित दिशामा घिसारेर फोटोलाई ठूलो बनाएर हेर्यो। फोटोमा भएका एक एक सदस्यलाई हेर्दै थियो। फोटोमा भानुलाई पनि देख्यो। धेरै वर्ष पछि उसले भानुलाई देख्यो। भानुलाई देख्ने बित्तिकै उसलाई पुराना कुराको याद आयो। भानुसँग बिताएका हरेक पलहरु याद आयो। भानुको स्मरणले मात्रै पनि आनन्द अनुभूति गर्यो। अहिले भानु आफूसमक्ष नहुँदा मन कुँडिएर आयो। आफू बसेको फलैंचाबाट उठेर घरको पछाडिपट्टि गयो। एकछिन चारैतिर नजर घुमायो। बारीको ढीकमा केराका घारी थिए। अहिले पनि छन्। सँगै एउटा तुथोको रुख थियो। अहिले छैन। आँखा घुमाउँदै गयो। परालको टौवा बनाउन मिल्ने बडेमानको भिमलको रुख हेर्यो। यो रुखले उसका पुर्खादेखि कति पिँढी बेहोर्यो होला? त्यसको देब्रे तिरको बारीको भिरालो फेरमा आरुको रुख देख्यो। अनायास उसका पाइला आरुको रुखतिर बढे। वसन्तको आगमनसँगै नयाँ पालुवा फाट्टफुट्ट देखिन्थे। उसले हात पालुवातिर बढायो तर बीचैमा रोकिए। उसले हात आरुको बोटको हाँगामा अड्यायो। पालुवा छुन मन थियो तर सकेन। कति कोमल हुन्छ पालुवा। उसको मस्तिष्कले फेरि भानुको याद गर्यो। भानु पनि पालुवा जस्तै कति कोमल र मायालु थियो सानोमा। सानो छँदा ऊ सुतिरहेको बेला उसकी आमाले एक दिन भर्खर जन्मिएको भानुलाई ल्याएर उसको बिस्तरामा पल्टाई दिइन्। सानो बच्चालाई कसरी समाउने भन्ने थाहा थिएन। डराई डराई हातमा लियो। कति राम्रो थियो भानु। साना हात खुट्टा। सानो मुख। हँसिलो र सुडौल अनुहार। माया लाग्दो भकुल्ले। भानु आँखा चिम्म गरेर स्वाँ स्वाँ गरी सुतिरहेको थियो। ‘भानुले किन आँखा हेर्दैन?’ उसले आमालाई सोध्यो। ‘बच्चाको कामै खाने, सुत्ने, आची सुसु गर्ने अनि फेरि खाने अनि सुत्ने। अहिले सुतिराखेको छ। त्यसैले अहिले हेर्दैन,’ आमाको जवाफ थियो। उसलाई भानुको अनुहार छुन मन लाग्यो र हात बढायो। उसकी आमाले ‘आँखा न घोच्नु नि’ भनेर सम्झाइन्। ‘आमा यसलाई मसँगै राख्छु है?’ उसले सोध्यो। ‘तैंले राखिस् भने यसलाई दूध कसले खुवाउँछ? भानुले आफ्नी आमा खोज्यो भने के गर्छस्?’ आमाको प्रतिप्रश्न थियो। उसलाई यी प्रश्नहरूको उत्तर के थाहा? उसलाई भानु असाध्यै मन पर्यो त्यसैले सँगै राख्न खोजेको। भर्याङनेर भानुकी आमाले सुनिरहेकी रहेछ। कराई हाली। शायद दूध खुवाउने बेला भएको थियो कि? आमाले भानुलाई लगिन् तर ऊ भानुकी आमाको डरले भर्याङनेर जानै सकेन। हुन पनि भानुकी आमालाई सबैले खराब छे भन्थे। खन्चुवा पनि अति धेरै रे! जति दिए पनि नअघाउने। भर्खर घोगा लागेको मकै पनि उभीउभी भाँचेर खान्छे भन्ने हल्ला थियो गाउँमा। कसैले देखाइदेखाइ खायो भने भानुकी आमालाई खपी नसक्नु हुन्थ्यो। खोस्नै तम्सिन्छे भन्थे। भानु त्यसको ठीक उल्टो थियो। सज्जन अनि गमिलो। भानु र उसको दोस्ती भढ्दै गयो। ऊ कतै हिँड्न लाग्यो भने भानुले पछ्याउँथ्यो। स्कूल जानुअगाडि उसले भानुसँग धित मरुन्जेल खेल्थ्यो। भानुलाई स्कूल लाने विचार पनि गरेको थियो उसले तर उसकी आमाले स्वीकृति दिइनन्। ऊ स्कुलबाट फर्किंदा भानु मूलबाटो नेर कुरेर बसेको हुन्थ्यो। उसलाई देख्नेबित्तिकै भानु औधि खुसी हुन्थ्यो। उसले भानुलाई अँगालेर माया गर्थ्यो। एक पटक औंसीको चकमन्न रातमा घर बाहिर कुकुरहरू जोड जोडले कराएको सुनेर ऊ बिउँझियो। उसकी आमाको रुघाले स्वर बसेको थियो। त्यसैले भुक्ने कुकुरहरूलाई शान्त बनाउन सक्दिनथिन्। कुकुरहरू अझै जोड जोडले भुक्न थाले। उसको बुबा घरमा हुनुहुन्नथ्यो। आमा के रहेछ भनेर बाहिर जाँदा त एउटा चोर पछाडि पट्टीको झ्यालमा झुण्डी रहेको थियो। स्वर बसेको बेला गुहार माग्न पनि सकिनन् उसकी आमाले। दाउराले हिर्काउँछु भन्दा पनि झ्याल अग्लो भएकोले छुँदै छोएन। भानु पनि त्यहीँ पुग्यो। चोर देख्ने बित्तिकै भानुमा अपार शक्ति आयो र चार हात खुट्टाले उफ्रेर चोरको पूठो समाउन भ्यायो। तर खस्न लाग्दा चोरको पुठोमा मुख खोलेर दाह्रा गाडिदियो। चोर ऐया भन्दै भुइँमा पछारियो र खुट्टा खोच्याउँदै अँध्यारोमा अलप भयो। यो कुरा उसले भोलिपल्ट उसकी आमाबाट मात्रै थाहा पायो। त्यस दिनदेखि उसको भानुप्रति माया मात्र हैन श्रद्धा र विश्वास पनि बढ्यो। ऊ ठूलो हुँदै गयो। भानु पनि ठूलो हुँदै गयो। एसएलसीपछि ऊ शहर पढ्न गयो। क्याम्पसको बिदामा घर आउँदा भानुलाई धेरै माया गर्थ्यो। क्याम्पस जान छुट्टिने बेलामा भानुले आँखाभरि आँशु पारेर उसलाई हेरी रहन्थ्यो। साथ लैजान पनि त सक्दैनथ्यो उसले! उसको पढाइ सकिएको थिएन, आमा साह्रै बिरामी भएर थला परिन्। घरमा उसको आमालाई हेरचाह गर्ने बुबा र दिदी हुनुहुन्थ्यो। भानु पनि थियो। अमूक भए पनि नजिकै बसेर भानुले उसकी आमालाई हेरी रहन्थ्यो। त्यसबाहेक भानुले गर्न पनि के सक्थ्यो र? आमाले नै भानुलाई हुर्काइबढाइ गरेकाले आफ्नै आमाजस्तो श्रद्धा र माया गर्थ्यो भानुले। चुपचाप आमालाई मात्र हेरी रहन्थ्यो। आमालाई गाह्रो भै ऐया गर्दा भानु पीडाले छट्पट्टिएर यताउता कुद्थ्यो। फर्केर आएर आमाकै छेउमा बस्थ्यो। [bs-quote quote=”पढाइ सकेर जागिरको जोडजाड गर्यो उसले। आमालाई झन् सारो भयो भन्ने खबर पाएपछि जागिर खाएको ठाउँबाट दुई दिन हिँडेर घर गयो। घरमा ऊ पुग्दा अँध्यारो भै सकेको थियो। भानुले ऊ आउने थाहा पाइसकेछ। त्यही मूलबाटोमा कुरेर बसेको रहेछ। अँध्यारो भए पनि उसको आहटले चिनेर भानु जोडले रुन्चे स्वरमा करायो। उसले पनि भानुलाई अँगालेर रोयो।” style=”style-16″ align=”left” color=”#dd9933″][/bs-quote] पढाइ सकेर जागिरको जोडजाड गर्यो उसले। आमालाई झन् सारो भयो भन्ने खबर पाएपछि जागिर खाएको ठाउँबाट दुई दिन हिँडेर घर गयो। घरमा ऊ पुग्दा अँध्यारो भै सकेको थियो। भानुले ऊ आउने थाहा पाइसकेछ। त्यही मूलबाटोमा कुरेर बसेको रहेछ। अँध्यारो भए पनि उसको आहटले चिनेर भानु जोडले रुन्चे स्वरमा करायो। उसले पनि भानुलाई अँगालेर रोयो। ऊ आमाको छेउमा गएर बस्यो। आमा इन्तु न चिन्तु अवस्थामा पुगी सकेकी रहिछन्। ‘आमा’ भनेर बोलायो। केही उत्तर पाएन। बुबाले ‘छोराे आइपुग्यो’ भनेर आमालाई सुनाउँदा टाउको उसतिर फर्काइन्। तर आमाले न बोल्न, न त आँखा नै खोल्न सकिन्। उसले आमाको हात स्पर्श गर्यो। आमा रोएको अनुभव गर्यो। हिँडेर घरमा पुगेको थियो ऊ, त्यसैले थकाइले चूर थियो। उसको बुबाले ‘हिँडेर आको थाकिस् होला अहिले सुत्न जा। केही भयो भने म उठाउन आउँला’ भन्नु भयो। ऊ सुत्न माथ्लो तलामा गयो। भानुको जोडजोडको आवाजले उसलाई ब्युँझायो। उज्यालो भइसकेको थिएन। सुतेको कोठामा टर्चलाइट खोज्यो तर भेट्टाएन उसले। एक छिनपछि बुबा लिन आउनु भो। ‘अब तेरी आमा छैनन्, भर्खर सास गयो,’ भन्नुभयो। उसलाई भाउन्न भएर आयो। आँखा अगाडि कालोले छोप्यो। कान पनि बन्द भयो। ऊ जोडले ‘आमा’ भन्दै घोप्टो परेर रोयो। उसको बुबाले ‘यही हो संसारको रीत। तेरी आमाले सबै भन्दा रोग र सांस्कारिक दुःख कष्टबाट मुक्ति पाई,’ भनेर सम्झाउनु भयो। बाहिर भानु पनि रुँदै थियो। आमाको क्रिया कर्मका लागि बाह्र दिनसम्म ऊ अलग्गै बस्यो। भानु कति सज्जन थियो भने उसलाई छुनु हुँदैन भनेर ऊ भन्दा टाढा बस्थ्यो। कर्म सकेको एक हप्तामा ऊ जागीरमा फर्कियो। ऊ जागीरमा फर्किने दिन झिसमिसेमै हिँडेको थियो। भानुलाई देखेन, बोलायो। भानु आएन, अँगाल्न पनि पाएन। खिन्न मनले घरबाट हिँड्यो। केही दिनपछि उसका बुबा र दिदी पनि कामको शिलशिलामा परदेश जानु भएछ। जागीरमा फर्केको करिब एक महिनापछि भानु बितेको खबर पायो। उसले भानुका अरू कुरा पनि थाहा पायो। आमा बिरामी भएदेखि भानुले मासु खाँदैनथ्यो। एकादशी, औँसी र पूर्णेमा एक छाक मात्रै शाकाहारी खाना खान्थ्यो। शाकाहारी खाना नपाएपछि घाँस भए पनि खान्थ्यो। ऊ क्रिया बसेको बेला भानुले एक छाक मात्र, त्यो पनि चोखो भेटायो भने खान्थ्यो। तुलसी मठको तल जहाँ उसकी आमालाई प्राण त्याग्ने बेलामा राखेको थियो, त्यहीँ मात्रै बस्थ्यो। त्यहीँ भानुले प्राण त्यागेछ। ठूलो बुबाले ‘यो भानु त पुण्यात्मा रहेछ, कान्छी बुहारीको आत्मासँग जोडिएको रहेछ। युधिष्ठिरसँगै जिउँदै स्वर्ग जाने प्राणीलाई पनि सद्गत गर्नुपर्छ’ भनेर प्राण त्याग्नुअगाडि तुलसीको जल खुवाइदिनु भएछ। अरू सबै कर्म पनि गराइदिनु भएछ। भानुको आत्माको शान्तिको लागि शान्ति स्वस्ती पनि गरिदिनु भएछ। भानुलाई उसकै बारीमा गाड्न लगाउनु भएछ। भानुको पार्थिव शरीर गाडेको ठाउँमा आरुको बोट लगाइदिनु भएछ। उसले आज आफ्नो हात अड्याइएको हाँगा त्यही आरुको बोटको हो। उसलाई भानु समीप भएको अनुभूति भयो। सम्झँदा सम्झँदै आँखाबाट बलिन्द्र धारा आँसु झरेको उसलाई पत्तै भएन। #कुकुर #डा. कुसुमाकर शर्मा
बालुवाटार: बालुवाटार पुगेपछि नोकरहरू मालिक हुन्छन् नेताहरू शासक बन्छन् सखाहरू प्रशासक हुन्छन् र मागिरहन्छन् उसलाई परिचय क्रान्तिमा हुँदा एउटै थालमा खाएको खुट्टा बोकाएर संगै सुतेको आफ्नो सट्टामा उसले छातीमा गोली थापेको बिर्सन्छन् र मागि रहन्छन् उसलाई परिचय ऊ आज बालुवाटारको गेटमा उभिएर आफ्नो परिचय प्रष्ट पार्न नसक्दा एक पटक फेरि सोचिरहेको छ उसको नेता यस्तो हुनै सक्दैन उसको सखा कसरी बदलिन सक्छ ? पक्कै यो बालुवाटारको जादु टुना हुनुपर्छ त्यसैले आगामी चुनावमा उसको नेता उसको सखा गाउँ आएको बेला वालुवाटार फेर्ने बाचा गराएर मात्र भोट हाल्ने अठोट लिएर भरि आँखा वालुवाटार हेर्दै आफू हिँडेको बाटो ऊ उल्टो नापिरहेको छ । #भरत
फन्टुस फिक्सन: उद्घाटन सु रुमै कथा भन्दिनँ । सुरुमा कविता पनि भन्दिनँ । सुरुमा गजल पनि सुनाउँदिनँ । जबसम्म कथाले माग्दैन, तबसम्म यी काम गर्नुको कुनै मजा छैन । सुरुमै सबैथोक भनिहालेँ भने, निश्चित रूपमा उप्रान्त बाँकी म जे भन्न खोज्दैछु, त्यो सुनाउनु र नसुनाउनुको कुनै अर्थ रहँदैन । त्यसो त सुरुमै म केमा सहमत छु भने, पछि तपाईं पनि सहमत हुनुहोला, एउटा लामो कथावाचकले कम से कम त्यति धैर्य चाहिँ देखाउनै पर्छ । श्रोता पनि त्यहीस्तरको र त्यति नै समयवाला भेटिनु पर्छ । नत्र त लेख्नेले लेख्ने हो, नपढ्नेले नपढिदिइसकेपछि सक्किगो नि ! हेर्ने कोही नभएको ठाउँमा एक्लै सेल्फी खिचेर रमाउनु के रमाउनु ? मजा त तब आउँछ कि देख्नेले किकर लेखोस्, सेल्फीको बिन्दास दिवाना/दिवानी ! तर, यो सबै मैले भन्दै आएको कुरा हो । यसमा नयाँ, नवीन, नूतन केही छैन । त्यति हो कतिले सुन्नु भएको होला, कतिले सुन्न पाउनुभएको छैन होला । यदि आजसम्मको जिन्दगीमा तपाईंले मलाई कुनै दिन कहीं–कतै कुनै मोडमा तपाईंको जिन्दगीको आधा घन्टाभन्दा बढी समय दिनुभएको रहेछ भने तपाईंलाई फन्टुस फिक्सनका बारेमा पक्कै पनि केही न केही थाहा छ । किनकि इमानदारीपूर्वक जतिबेला तपाईंसँग मैले यसको चर्चा गरेको छु, यसको एउटा पात्र तपाईं पनि हो भनेर पक्कै भनेको हुँला । यति भनिसकेपछि यसभन्दा उताका बाँकी कुराहरू पढ्नुस् म भन्दिनँ । मेरो साथी स्वागत नेपालले भने जस्तो प्लिज नपढ्नुस् ! पनि भन्दिनँ । किनकि सुरुमा त्यो आलेखको शीर्षक नपढ्नुस् मात्रै थियो । अगाडि प्लिज थपेर सम्पादन गर्ने र छाप्न लगाउने मान्छे मै हुँ । विचरालाई हजार रुपैयाँ पारिश्रमिक दिउँला भनेर त्यो लेख्न लगाएको थिएँ । पछि पाँच सय रुपैयाँमा आउनुपर्\u200dयो । तैपनि आफ्नो खल्तीबाट हाल्नुपर्ने भो । दिएको छुइनँ । दिन्छु कुनै दिन । फन्टुस फिक्सनको उद्घाटन यसरी गरुँला वा होला भन्ने लागेको थिएन । केदार दाइलाई, महेन्द्र विष्टलाई, अकिञ्चन खतिवडा, साम्ब ढकाल, स्वागत नेपाल, कृष्ण सर्वहारी, धीरज भट्टराई र तपाईंलाई सुनाउँदा अनि मनमनै कल्पना गर्दा अर्कै कुरा भनेको थिएँ मैले । सम्झना छ ? छैन भने पनि केही छैन । तपाईंको सजिलोका लागि अलिकति रिक्याप गरुँ म । खासमा त्यसको स्टार्टिङमा के थियो भने, यो कथानकको मूल नायक म आफैँ हुन्छु । मजस्ता अरू पनि होलान् धेरै । तर, यहाँ चाहिँ मै मात्र हुँ । प्रारम्भकी नायिका हुन्छिन्, सुवानी । वास्तविक जिन्दगीमा म सुवानीलाई तपाईं नै भन्छु । तपाईं मात्र किन, अझ दिदी नै भन्छु । आवश्यक पर्\u200dयो र तपाईंलाई सुन्न इच्छा भयो भने पछि उनको वास्तविक नाम पनि भनुलाँ । तर, यो सिनमा चाहिँ मैले तिमी नै भन्नुपर्छ । अब उपन्यासकै नायिका सोचिसकेपछि त्यसमा अलिअलि फिक्सन त हुनै पर्\u200dयो नि ! नत्र न भन्नेलाई मजा आउँछ, न सुन्नेलाई मजा आउँछ, न जसका बारेमा भनिएको हो उसलाई नै मजा आउँछ । हामी एउटै गाडीमा बसेर चतरा जाँदै हुन्छौं । उनकै गाडीमा । ड्राइभर छ एउटा, त्यसको नाम अहिले बिर्सिएँ । कोही मत्थु थियो जस्तो लाग्छ । तर, त्यतिखेर उसले खाएको थिएन । हामीतिर ध्यान दिएको पनि थिएन । कि दिएको थियो, थाहा छैन । हामी पछाडिको सिटमा बसेका थियौं । अब एउटै सिटमा बसेपछि बेलाबेलामा गाडी हल्लिँदा यसो हल्काफुल्का टच त भइहाल्छ । म बिहे गरेको केटा उनी अहिलेसम्म बिहे नगरेकी केटी । म बिहे गरेको केटा मात्र होइन, खाइखेली गरेको पत्रकार भन्दा पनि हुन्छ तर त्यस्तो केही भल्गर होइन । ड्राइभर आफ्नै सुरमा खड्याङ–खुडुङमा धूलो उडाउँदै गाडी हाँक्दै थियो । गाडीको नम्बर र ब्रान्ड चाहिँ भन्दिनँ । फ्याट्ट तपाईंले उनलाई चिन्नुभयो भने सिचुएसन अर्कै हुन सक्छ । [bs-quote quote=”हामी बुढेसकालमा डेटिङमा जाँदैछौं । बुढेसकाल नै भनौं, जीवनको आधा उमेर बाँचिसकेपछिको कुरा हो यो । यहाँनेर अलिकति फिक्सन छ । तर, के फिक्सन छ, त्यो भन्दिनँ । आफैँ पत्ता लगाउनुहोला ।” style=”default” align=”left” color=”#dd9933″][/bs-quote] हामी बुढेसकालमा डेटिङमा जाँदैछौं । बुढेसकाल नै भनौं, जीवनको आधा उमेर बाँचिसकेपछिको कुरा हो यो । यहाँनेर अलिकति फिक्सन छ । तर, के फिक्सन छ, त्यो भन्दिनँ । आफैँ पत्ता लगाउनुहोला । जाँदाजाँदै बयरवनदेखि अलिकति पूर्व त्यो खहरेले बगाको गेगर थुप्रेको, अलि सुनसान, अलि जङ्गल–जङ्गल परेको ठाउँ छ । त्यहाँ पुगेपछि मैले सोधेँ । ‘सुवानी ! एउटा कुरा सोधुँ ?’ ‘के कुरा ? सोध न ! सोध्नलाई पनि अनुमति लिनु पर्छ र ?’ ‘होइन, तिमी रिसाउँछ्यौ कि भनेर । अप्ठेरो मान्छ्यौ कि भनेर ।’ ‘किन रिसाउने ? तिमी पत्रकार मान्छे, सोध्न मिल्ने नै कुरा सोध्छौ होला नि !’ ‘तिमीले अहिलेसम्म बिहे किन नगरेको ?’ ‘ए, यति जाबो कुरा ! मन लागेन त्यसैले । सिम्पल छ एन्सर ।’ पत्रकारजीलाई यति उत्तरले मात्र चित्त कहाँ बुझ्थो र ! मलाई थाहा छ, उनले आफूले बिहे नगर्नुका कारणहरू केके भनिन् । तर, यतिबेला तपाईंलाई म फन्टुस फिक्सनको उद्घाटनको सिन सम्झाउँदै छु । अलिकति पश्चिम लागेपछि फेरि त्यस्तै अलिकति सुनसान ठाउँ आयो । ‘ल, ठीक छ, त्यसो भा एउटा अर्को कुरा सोधुँ ?’ ‘तिमीले सोध्न खोजेको कुरा, जान्न चाहेको कुरा के हो थाहा छैन । तर, तिम्रो यो प्रश्न सोध्ने स्टायल चाहिँ मन पर्\u200dयो है ।’ ‘धन्यवाद ! सङ्गत कसको छ थाहा छैन ? खरबुजेको देखकर खरबुजा रङ बदलता है ।’ ‘कोइसन भन न कोइसन, सायरी होइन ।’ ‘भन्दै छु त !’ ‘सुन्दै छु नि म पनि !’ ‘साँच्चै सोधुँ होइन त ?’ ‘सोध न बाबा !’ ‘साँच्चै ?’ ‘साँच्चै !’ म कलेजको जमानामै यसो केटीहरूको अनुहार हेरेर आज तिम्रो मिन्स भाको छ हो भनेर सोध्ने मान्छे । सुवानीसँग त के लजाउनु थियो र ? त्यो मिन्सको कुरा चाहिँ कसलाई सोधिस् नि भन्नुहोला फेरि । एउटा ठूलै सेलिब्रिटीकी छोरीलाई सोधेको थिएँ मैले । इनरुवामा भगवती स्कुलको फिल्डमा पिपलको छाहरीमा बसेका बेला सोधेको थिएँ उनलाई । उनको नाम तपाईंलाई थाहा पाउने इच्छा छ भने पछि त्यो पनि भनुँला । अहिले चाहिँ त्यही दिनको प्रश्नमा फर्किऊँ । ‘ल, नरिसाऊ है त !’ ‘हुन्छ ।’ ‘तिम्रो जीउमा अहिलेसम्म कसैले हात हालेको छ कि छैन ?’ ‘…. …. ….!’ ‘…. …. ….!’ ‘तिमी आफैँ बुझ न । यसको उत्तर मैले के भन्नु ? मिलाएर बुझ्दा भैहाल्छ नि !’ अब म के बुझ्नु ? आफ्नै मनले फिक्सन गरेर के बुझ्नु ? त्यसपछि चतरा आयो । फुल्ठेगौंडा पनि आयो । अरू कता–कता कुरा घुमे । मेरो मास्टरी जागीर, सोलुखुम्बूका स्याउ जस्ता राता गाला, उनको क्याम्पस जमाना र कालिम्पोङका हरिया सपनाहरूका कुरा भए । तर, मैले सुवानीको मुखबाट सुन्न चाहेको जवाफ आएको थिएन । पुल्ठेगौंडाका बारेमा अलिकति बयान गरुँ । उहिलेको कुरा सम्झिनू । सम्झिनू कि ऊ बेला त्यहाँ जङ्गलै–जङ्गल थियो । सुम्निमा सम्झिनू, पारुहाङ सम्झिनू । बिपी कोइरालाको उपन्यासका पात्र । केटा बाहुनको छोरा थियो, केटी किराती । ऊ बेला कोसी मुखबाट बाहिर आफूखुसी फैलिएर बग्थ्यो । अनेक भङ्गाला थिए । बाँध बाँधेको थिएन । नहर बनाको थिएन । बस्ती बसेको थिएन । समय अन्तरमा नहर बन्यो, बस्ती बस्यो, जङ्गल मासियो । आवश्यकता अनुसार बाँध बनाइयो, कोसी खुम्चियो । बेलाबेलामा कोसीलाई त्यसरी खुम्चिनुपरेको मन पर्दो रै’नछ । सप्तकोसी न हो आखिर ! नेपालको सबैभन्दा ठूलो नदी । ऊ पनि के कम । काट्दै आउँछ, पूर्वतिर आसामको जङ्गलबाट आएको पाहुना मकुनाजस्तो ढल्किँदै । जति पूर्व ढल्किन्छ उति निद्रा हराउँछ, माझीगाउँको । काट्दा–काट्दैको पानीको धारलाई रोक्न भारतीय इन्जिनियरहरूले बनाको एउटा ढुङ्गे स्पोरमा बसेका थियौं हामी । तीन नम्बर स्पोरमा । पानी बटारिएर, हान्निएर आउँथ्यो चतरातिरबाट र गुन्गुनाउँदै जान्थ्यो कोसीटप्पुतिर । बीच–बीचमा हामी बसेको ढुङ्गामाथि ढुङ्गा खप्ट्याएर जालीमा भरिएको स्पोरमा ठोक्न्थ्यिो । त्यहीबेला सररर्र उडेको पानीको वाफलाई घरी एउटा हल्केलामा समातेर, घरी खुट्टा चुम्न लगाएर सुवानी रमाएको म एकोहोरो हेरिरहेको थिएँ । म पश्चिमतिर सुवानी पूर्वतिर लगभग टाँसिएर बसेका छौं । गाडी र ड्राइभर निकै माथि छन् डिलमा । पर एका–दुई गाउँले र जालीमा ढुङ्गा भर्न खटाइएका कामदारहरू देखिँदै थिए । सुवानी मलाई मनपर्ने नाम हो, उनको बाबाले राखेको । अरूतिर सानले देखाउँदै यो छोरी मेरी सुवानी छे भन्नुहुन्थ्यो रे ! सबैले सुवानी सुवानी भन्दाभन्दै उनलाई पनि प्रिय लाग्न थालेछ । तर, उनको अफिसियल नाम अर्कै छ । म चाहिँ सुवानी नै भन्छु । कुरै–कुरामा मैले त्यही कुरा कोट्याएँ । ‘सुवानी ! तिमीले अघि मेरो प्रश्नको उत्तर दिइनौ नि !’ ‘कुन प्रश्न ?’ ‘त्यही हातवाला ।’ ‘भने नि मिलाएर बुझ ।’ ‘त्यसो भए म पनि अलिकति हात मिलाऊँ त ?’ ‘ए ए ए, के गरेको यस्तो, अहिले प्याट्ट एक थप्पड हान्छु अनि !’ कसम भन्छु, मैले हात हाल्नलाई होइन, उनको देब्रे हात छुनलाई हात बढाएको थिएँ । तर, हुने दिन–दशा सुरुमै कसलाई थाहा हुन्छ र ! उनले मलाई हिर्काउन खोजेजस्तो गरेर मोबाइल बोकेको दाहिने हात मेरो गालातिर ल्याइन् । म पनि त्यही न हो । अलिकति जिस्किने मुडमा यसो अलिकति पश्चिम ढल्केको फुत्रुङ्ग पानीमा झरी त हालेँ । यहाँसम्मको कथानक मैले तपाईंलाई भनेको छु । त्यसपछि बाँकी के भयो भन्न बाँकी छ । #फन्टुस फिक्सन #सुविद गुरागाई
जून पनि अछुत हुनसक्छ: रातको अन्धकार चिर्दै निर्धक्क आकाशमा एक्लै रमाउने ए ! जून तँ किन पोखिएको यहाँ पनि ? यो त अछुतको गाउँ हो यो त अछुतको ठाउँ हो बर्षाैदेखि दलाइएर बनाइएका दलितहरूको बस्ती हो । तँ त छुतकै गाउँमा मात्र पोखिनु पर्ने छुतकै निदारमा मात्र ठोकिनु पर्ने टालिदिएका छौं लाजहरू जुराइदिएका छौ गाँस, बास आफैँ रित्तिएर छोपिदिएका छौं तिनका सबै कुरूपताहरू कतै सियोले सिएर कतै हलोले जोतेर कतै अर्चापेर हतियाहरू कतै धूरी टालेर कतै इनार खनेर कतै मूर्ती खोपेर बनाइदिएका छौँ मन्दिरहरू आफू अन्धकारमा बसेर त्यसैले सधैं तिनीहरूकै छन् चम्किला आँखा हाम्रो बस्तीमा आउनु अघि तँ त उतै रोकिनु पर्ने ए ! जून सिकाएनन् कि तँलाई विभेदको पाठ घोकाएनन् कि विभेदी नियम अथवा देखाएनन् कि विभेदी बाटो ? तेरो निर्वाध आगमनलाई कोही भएनन् छेकबार हाल्ने ? उन्मुक्त चमक लिएर एकनासले चम्किरहँदा ? हतारमा सधैँ पूर्वबाट पश्चिम लम्किरहँदा तँसङ्गै चम्कने रहर थिए सँङ्गै लम्किरहने रहर थिए गिज्याए झँै हाम्रो कुरूपता हेर्दै तँ चम्किरहँदा बुझेनस् कि हाम्रो बाध्यता तर पनि सधैँ मौन किन ? तेरो उज्यालोले तिरमिराएनन् हाम्रा आँखाहरू बरू जगाए आशाका दीपहरू हाम्रो बस्तीमा समाजले निचोरेर मारेका मान्छेभित्र पलाएर मान्छे बलजवस्ती हाँस्न खोज्छ बलजवस्ती बास्न खोज्छ तर निमोठ्न खोज्छन् आँकुराहरू बाहिर सुन्दर देखिने मान्छे मरेका मान्छेहरू । ए ! जून तँ हाम्रै बस्तीमा जति चम्किए पनि आकाशमा एक्लै जति गम्किए पनि छाएन कहिल्यै हाम्रो बस्तीमा शीतलता छाएन कहिल्यै हाम्रो बस्तीमा शान्ति दलहनमा पेलिएर निस्किएकाहरू नजन्मदै अछुतका कित्तामा मोलिएर निस्किएकाहरूका आँखा फोरिएकाछन् यहाँ ठेडीहरू कोचिएकाछन् नाक, कानमा बाध्यताका अघोषित नियम अदृष्य कानुन थुपरिएका छन् टाउकाभरि जूनको चमकमा रमाउन गरिएको छ अघोषित निषेध निगाहामा सधैं तौलिएर अनि निगरानीमा नापेर साइनु गास्नु पर्छ यहाँ ए ! जून माया प्रीति लगाउन तँसङ्ग पनि थाहा पाए भने विस्ट, काजी र साहेबहरूले बनाउने छन् तँलाई पनि अछुत खेदो खन्नेछन् हाम्रो जस्तै तेरो पनि । सधै मौन बस्ने ए ! जून हाम्रो बस्तीमा आउँदा तँ यसरी नै बल्छन् सन्तोषका दीपहरू जुरमुराउँछन् चेतनाका लहरहरू तर आँट गर्नैपर्छ तैंले पनि क्रमभङ्ग गर्ने निरन्तरको यो मौनता । #अछुत #जून
हावासँगै बग्ने बाध्यता: कुसुम गौतम कस्ले भन्छ टुक्रिएका बादलहरुमा दुखाइ छैन भनेर! उसको पनि आफ्नै दुखाइ हुन्छ आफ्नो अस्तित्वका सुन्दर छविहरु मेटेर बग्नु परेको छ हावासँगै बादलको कथा र कविको व्यथामा कुनै अन्तर छैन यहाँ आमा भन्नु हुन्छ “भो…बन्द गर्दे तेरा कलमहरु कस्ले पढ्छ तेरा थोत्रा कविता” इतिहास इतिहासमै सीमित भइगयो वर्तमान आडम्बरमा हिँडिरहेको छ आफ्नै इच्छा र आकाङ्क्षाहरुकै विशेषतामा “त्यसैले बन्द गर्दे तेरा कलमहरु” रगत पसिनाका छिटाहरुले सिँचिएको हाम्रो वीरता विक्टोरिया क्रसद्वारा सम्मानित पूर्खाहरुका वीरता पुस्तकबाट च्यातिएका पाना मात्र भइसके आजकल अधिकार खोज्नेहरुकै भिड छ कस्ले गराउँछ कर्तव्य र दायित्त्वका बोध वर्षौँदेखि मगजहरु कुहिरोभित्र गुम्सिएका छन् अस्पष्ट क्षितिजको घेराभित्र “त्यसैले बन्द गर्दे तेरा कलमहरु” यहाँ कविको भन्दा गफीको भाउ छ यहाँ साहित्य भन्दा सत्ताको खाँचो छ बादलझैँ बाध्य छ कवि यहाँको परिवेश र परिस्थितिमा बाँच्न त्यसैले यहाँ बादलको कथा अनि कविको व्यथामा कुनै अन्तर छैन। म्यान्मा #कुसुम गौतम #बर्मा #मान्मा
माताहरि: युरोप हल्लाउने जासूस सुन्दरी: सन् २०१६ मा विश्वविख्यात उपन्यासकार पाउलो कोहेलोको नयाँ उपन्यास देखा पर्यो, “द स्पाई” । यो उपन्यास माताहरिको जीवनमा आधारित थियो । त्यसै साल ब्राजिलमा मूल पोर्तुगाली भाषामा यो उपन्यास प्रकाशित भएको थियो । यो उपन्यासले विश्वका पाठकहरुको ध्यान खिंच्यो । पाउलोले पुस्तकको भूमिकामा लेखेका छन्, “मैले यो उपन्यास माताहरिको जीवनको वास्तविक घटना र तथ्यहरुमा आधारित भएर लेख्न कोसिस गरेको छु ।” को हुन् त माताहरि ? नेदरल्याण्डका सफल टोपी ब्यापारी तथा इन्धन उद्योगका लगानीकर्ता आदम सेले तथा आन्से मौलिनका जेठी छोरी मार्गारिथा जेलेका रुपमा उनको जन्म ७ अगस्त १८७६ मा भएको थियो । उनको बाल्यकाल शौखपूर्वक बित्यो । तर उनका पिताको लगानी डुबेपछि १८८९ मा उनी टाट पल्टिए । त्यसपछि पारिवारिक विघटन भयो । मार्गारिथाका पिता माताको पारपाचुके भयो र उनको लालनपालन धर्म पिता भिस्सरबाट भयो । मार्गारिथाको जीवनमा आकस्मिक र नौलो मोड आयो, स्कूले जीवनमा घटेको यौटा घटनाले । उनको र स्कूले शिक्षक बीचको यौन सम्बन्धको विवादास्पद घटनाले गर्दा धर्मपिता क्रुध्द भए र त्यो स्कूलबाट मार्गारिथालाई निकाले । त्यसपछि उनी भागेर हेगस्थित काकाको घरमा पुगिन् । त्यहीँ बस्दा नै उनले अखबारमा यौटा विज्ञापन देखिन् । हालको इण्डोनेसिया र तत्कालीन इस्ट इण्डिजमा कार्यरत डच सेनाको कर्णेल रुडोल्फ म्याक्लियोडले श्रीमतीको आवश्यकताको विज्ञापन गरेका थिए । आफूभन्दा २१ वर्ष जेठो भए पनि उनले बिहे गर्ने निधो गरिन् । कर्णेलले त देख्नेबित्तिकै मन पराए, राम्री कलिलो उमेरकी सुन्दरी मार्गारिथालाई । अनि सन् १८९५ मा उनीहरुको बिहा भयो र बिहालगत्तै जाभा गए । कर्णेल जँड्याहा थियो र भित्रिनीहरु राखेर मोजमज्जा गर्ने, ऐशआराम र मस्तीको जीवन बिताउने खालको थियो । मार्गारिथाले पनि प्रेमी बनाएपछि उनीहरुको दाम्पत्य जीवनमा खलल पुग्यो । तर यसै बीच मार्गारिथाले इण्डोनेसियाली संस्कृति पनि अध्ययन गरिन् । त्यहाँको संगीत र नृत्यमा उनको चाख बढ्यो । कर्णेल रुडोल्फ र मार्गारिथाबाट दुई वटा सन्तान भए, एक छोरा र एक छोरी । सन् १८९९ मा दुवै छोराछोरी नराम्रोसँग बिरामी परे र छोराको मृत्यु भयो । छोराको मृत्युको कारण यकिन नभए पनि भिरिङ्गीको कारणले भएको भन्नेमा मार्गारिथा ढुक्क थिइन्, यसले पनि पारिवारिक तनाव बढायो । मार्गारिथाले आफ्नो पितालाई लेखिन्, “म यो नालीको किराजस्तो मान्छेसँग जीवन बिताउन सक्दिनँ । म छुट्टै बस्छु र छुट्टै खान्छु र त्यसले फेरि स्पर्श गर्नुअघि बरु म मर्न चाहन्छु । मेरा बाबुनानीलाई त्यसको नराम्रो रोग सर्यो ।” उता सेनाबाट पनि रुडोल्फलाई अनुशासनहीन व्यवहार र चरित्रका कारण बर्खास्त गरियो । अनि रुडोल्फ, मार्गारिथा र छोरी जाँ लुइस नेदरल्याण्ड फर्किए र त्यसको लगत्तै उनीहरुको पारपाचुके भयो । मार्गारिथा छोरीलाई प्राणभन्दा प्यारो गर्थिन् । उनी आफैंसँग राख्न चाहन्थिन् । तर आर्थिक समस्याले त्यसो गर्न सम्भव भइरहेको थिएन । रुडोल्फ यही मौकाको फाइदा उठाउन चाहन्थ्यो र छोरीलाई आफ्नो साथमा राख्न चाहन्थ्यो । अन्तत: भयो पनि त्यस्तै । रुडोल्फले कतिसम्म गर्यो भने स्थानीय अखबारमा विज्ञापन छापेर “मार्गारिथालाई कुनै पनि पसलले उधारो नदिनू, किनभने म त्यो पैसा तिर्ने वाला छैन । मेरो कुनै जिम्मेवारी छैन” हल्ला पिटायो । यसपछि निरुपाए भएर मार्गारिथाले छोरी जानलाई रुडोल्फको जिम्मा लाएर आफ्नो नयाँ भाग्यको परीक्षा गर्न पेरिसको बाटो लागिन् । पेरिसको महानगरीमा सुन्दरी मार्गारिथालाई पहिलो पेट पाल्ने काम वेश्यावृत्तिले दियो । उनले आफ्नो शरीरको पसल थापिन् । तर सर्कसमा घोडचडीको काम पाउनेबित्तिकै उनले वेश्यावृत्ति त्यागिन् । त्यसपछि उनले नृत्य प्रस्तुत गर्न थालिन् । उनको नृत्य जम्न थाल्यो । मानिसहरु आकर्षित हुन थाले । अनि उनले आफूलाई जाभानेली हिन्दु राजकुमारीको नयाँ परिचय दिन थालिन् र आफ्नो नाम माताहरि राखिन् मलाया भाषामा जसको अर्थ हुन्छ “दिनको आँखा” अर्थात् “सूर्योदय”। उनले आफ्नो नामको कहानी रचिन् । आफ्नो परिचयको काल्पनिक कथा बुनिन् । उनी भारतीय मन्दिरकी नृत्यकारकी छोरी हुन् । उनी जन्मपछि नै टुहुरी भइन् र जाभाको जङ्गलमा हुर्किइन् आदि । यी कथा कहानी पनि आकर्षणको पहेली बन्यो । उनले शुरुमा घरघरमा प्राइभेट डान्सबाट आफ्नो नृत्यकारिता शुरू गरेकी थिइन् तर उनका बारेमा शहरमा चर्चा चल्न थालेपछि माग बढ्न थाल्यो । पैसा वर्षिन थाल्यो । सन् २००८ सम्ममा पेरिसमा उनको नृत्य कमसेकम एकपल्ट नहेर्ने शायद कोही भएनन् । माताहरिको मोहक, अनौठो नृत्यले बजार लियो । एक प्रकारको सनसनी फैलायो । उनको पूर्वीय नृत्य पहिरनको सजावट नै आकर्षक, कमनीय र पुरुषहरुलाई आशक्त पार्ने खालको हुन्थ्यो । उनी नाच्दै गएपछि एकएक वस्त्र उतार्दै जान्थिन् र अन्त्यमा उनको शरीरमा धातुको ब्रेसियर मात्र बाँकी रहन्थ्यो जसलाई उनी कहिल्यै फुकाल्दैनथिन् । उनी पेरिसका धनीमानी, रइस, सेनाका माथिल्ला तहका अफिसरहरुको अँगालोमा पालैपालो बेरिन पुग्थिन् । उनको जीवनशैली शून्यबाट आकाशमा पुगेको थियो । उनी भन्ने गर्थिन्, “आजको रातको खाना राजकुमारसँग ! भोलि राजासँग ! यदि मलाई नाच्नु छैन भने म फलानो महोदयसँग शयरमा हुन्छु । म गम्भीर सम्बन्धहरुलाई वास्ता गर्दिनँ । म सबै मनमौजीहरुलाई सन्तुष्ट पार्दछु ।” उनी पेरिसमा मात्र सीमित भइनन् । उनको माग युरोपभरि थियो । उनी अस्थायी प्रियतमहरुलाई कतै उठाउँदै, कतै छाड्दै, कतै साथै हुँदै युरोपको यात्रा गर्ने गर्थिन् । यसबाट उनको आम्दानी भन्दा उनको भड्किलोपनाले खर्च बढी हुन्थ्यो तर उनी उदारतापूर्वक कमाईको सारा पैसा उडाउँथिन्, मनमौजी थिइन् । बेफिक्री थिइन् । एकजना स्टकको दलालले उनलाई यौटा महल नै किनिदिएको थियो । अर्कोले साइन नदीको किनारमा घर किनिदिएको थियो र टाट नपल्टेसम्म उसले उनलाई पैसा वर्षाइरहेको थियो । तर पनि उनले आफ्नो हिसाबले खर्च गर्न छोड्दैनथिइन् । पैसाले अलि गारो परे उच्च स्तरीय शरीर व्यापार समेत गर्न हिच्किचाउँदैनथिइन् । उनको खर्चालु बानीले आर्थिक कठिनाई बढ्न थाल्यो । सन् १९१४ मा उनले जर्मनीको मेट्रोपोलमा ६ महिना नृत्य गर्नका लागि अनुबन्धित भएपछि उनको आर्थिक सङ्कटमा कमी आयो । सम्झौताअनुसार उनले सेप्टेम्बरदेखि नाच्नुपर्ने थियो । तर अगस्तबाटै युरोपमा युध्द छेडियो । उनी जर्मनीको राजधानीमा बेखर्ची भइन् । उनको फरको कोट र पैसा जफत भएको थियो । तर उनले यौटा डच व्यापारीलाई खुशी पारेर आम्स्टरडामसम्मको रेल टिकट किनाइन् । त्यहाँ उनको भेट पूर्वप्रेमीसँग भयो, जो उनीजस्तै मनमौजी थिए । धनाढ्य र रइस पनि । त्यहीं उनलाई जर्मनीका काउन्सिल कार्ल क्रोमर भेट्न आए । उनले जर्मनीका लागि जासूसहरू भर्ती गर्दै गरेको बताए र २० हजार फ्राङ्क र कोड नं एच२१ प्रदान गरे । माताहरिले पैसा खुरुक्क लिइन् । उनलाई पैसाको जरुरत थियो, जासूसीसँग उनको कुनै सरोकार थिएन । फेरि उनको यौटा मनले भनिरहेको थियो, यो जर्मनीमा मेरो जफत भएको फरको कोट र पैसाको क्षतिपूर्ति हो । उच्च तहका अफिसरहरुसँगको सम्पर्क र सम्बन्धले उनी यूरोपमा जताततै निर्वाध यात्रा गर्न सक्थिन् । तर हल्याण्डबाट फ्रान्स जाने क्रममा उनलाई रोकियो । उनका बारेमा रिपोर्ट गरियो, ” फ्रान्सेली, अङ्ग्रेजी, इटालेली, डच र सम्भवतः जर्मन पनि बोल्ने । ह्याण्डसम, बोल्ड प्रकारकी आइमाई” भनेर । “यो भ्रमण जर्मनीलाई फाइदा हुने मिसनका लागि फ्रान्समा खास उद्देश्यका लागि जान लागेको” रुपमा अर्थ्याइयो तर पछि उनलाई यात्रा गर्ने अनुमति मिल्यो । पेरिस पुगेर माताहरिले आफ्नो पुरानो तडकभडकपूर्ण जीवनशैलीलाई पुनर्जीवित गराइन् । उनी ग्राण्ड होटलमा बसेकी थिइन् । उनका वरिपरि उच्चपदस्थ बर्दीवालहरु झुम्मिएका थिए तर उनलाई त्यो भीडमा दुईजना गुप्तचर प्रहरीहरु पनि छन् भन्ने पत्तै भएन । उनलाई यस पटक फ्रान्समा सबभन्दा महत्त्वपूर्ण काम थियो, उनीभन्दा १८ वर्ष कान्छो रसियाली कप्तान भादिरमसँग भेट्न भिट्टल शहर जानु, जोसँग उनी गहिरो प्रेममा परेकी थिइन् । त्यसका लागि फ्रान्सेली गुप्तचर विभागका प्रमुख कप्तान जोर्ज लाडोक्सलाई आवेदन दिनुपर्ने थियो । ऊ माताहरिलाई वेश्याभन्दा अलि माथिल्लो हैसियतकी ठान्दथ्यो र माताहरि उसलाई सानो विचारको मान्थिन् । उनले भिट्टल जाने अनुमतिका लागि अनुरोध गरिन् । उसले फ्रान्सका लागि गुप्तचरी गर्ने शर्तमा अनुमति दियो । अब माताहरि एकैसाथ जर्मनी र फ्रान्सको जासूस भएकी थिइन् । १० फरवरी १९१७ का दिन फ्रान्सेली युध्द मन्त्रीले माताहरिको गिरफ्तारीका लागि वारेण्टमा सही गरे र त्यसको तीन दिनपछि पुलिस अधिकारीहरु उनको होटलको ढोका ढकढकाउन पुगे । त्यतिबेला उनी ब्रेकफास्ट खाइरहेकी थिइन् । उनलाई ५० हजार फ्रान्सेलीहरुको ज्यान जाने गरी जर्मनीका लागि जासूसी गरेको आरोप लाग्यो । फ्रान्सेली विदेश मन्त्री हेनरी द मारगुरी जो माताहरिका प्रेमी पनि थिए, उनले बचाउन सक्दो प्रयास गरे । उनलाई लागेको आरोप झूठो भएको बताए तर उनको क्यै लागेन । उनलाई सेनाको टोलीले सामूहिक गोली हानेर प्राणदण्ड दिने फैसला भयो । उनलाई सोधपुछ गरेर यो निर्णयसम्म पुर्याउन पियरे बुखारडोनको मुख्य हात थियो । उसले आफ्नो डायरीमा माताहरिलाई “मान्छे खाने” भनेर चित्रित गरेको थियो । माताहरिलाई पेरिसको भयावह लाग्ने जेलमा राखियो । लामखुट्टे र झिंगा लाग्ने तथा मुसैमुसा भएको कोठरीमा उनलाई राखिएको थियो । सरसफाईका लागि साबुन पनि थिएन । उनलाई आफ्ना लुगा पनि मगाउन दिइएन । औषधी उपचारको सुविधा पनि दिइएन । खाना र चिट्ठीका लागि हुलाक टिकटसम्म दिइएन । उनका प्रेमी तथा वकिल एडोर्ड क्लुनेटसँग कहिलेकाहीं भेट्नसम्म पाउँथिन् । उनको मृत्युदण्डको लागि क्षमादानको अपिल पनि खारेज भएपछि माताहरिलाई पक्का भइसकेको थियो, उनलाई मृत्युदण्ड हुन्छ भनेर । १५ अक्टोवर १९१७ को बिहानी समयमा माताहरि मस्त निद्रामा थिइन् । जेलको कोठरीमा पादरी आरवाउक्स, समाजसेवी दिदीवहिनी, कप्तान बुखार्डोन र मैत्र्येय क्लनेट, उनका वकिलले प्रवेश गरे । समाजसेवी दुई दिदीबहिनीहरुले माताहरिलाई झक्झकाएर बिउँझाए । उनीहरुले समय भएको बताए । माताहरिले शान्तपूर्वक सोधिन्, ” के म दुईवटा चिट्ठी लेख्न सक्छु ?” कप्तान बुखार्डोनले तत्कालै अनुमति दिए र उनलाई कलम, कागज र खाम उपलब्ध गराए । उनले खाटमा बसेर फटाफट दुईवटा चिट्ठी लेखिन् । अनि वकिललाई हस्तान्तरण गरिन् । अनि उनले आफ्नो पहिरन लगाउन थालिन् । सबै पहिरनले सुसज्जित भएपछि उनले बिस्तारै भनिन्, “म तयार भएँ ।” बाहिर पर्खिराखेको मोटरमा बसेपछि गाडीले गति लियो । घडीले साढे पाँचको समय देखाइरहेको थियो । मृत्युदण्डका लागि तोकिएको स्थान सेजर द भिन्सेन्समा पुगेपछि गाडी रोकियो । सबै गाडीबाट उत्रिए । त्यहाँ १२ जना सिपाही राइफल तयारी अवस्थामा राखेर प्रतीक्षामा थिए । तिनको अफिसर भने तरवार तल घोप्टो पारेर तिनीहरुको पछि उभिएको थियो । यौटा फ्रान्सेली अफिसर सेतो कपडा बोकेर आयो । “आँखामा पट्टी बाँधिदेऊ,” उसले दुई दिदीबहिनीलाई भन्यो । “त्यो बाँध्नै पर्छ र !” माताहरिले आफ्नो वकिलतर्फ हेर्दै भनिन् । मैत्र्येय क्लनेटले प्रश्नसूचक नेत्रले फ्रान्सेली अफिसरतिर हेरे । “यदि म्याडम चाहन्न्न् भने यसले केही फरक पर्दैन,” अफिसरले हतारिंदै जवाफ दियो । माताहरिको हातखुट्टा बाँधिएको थिएन । आँखामा पट्टी पनि बाँधिएको थिएन । तिनी मजासँग सामुन्ने हेरिरहेकी थिइन् । बिस्तारै पादरी, दिदीबहिनीहरु, अनि उनको वकिल उनीबाट टाढा भए । माताहरि अटल, अविचल भएर उभिइरहिन् । तरवार हातमा लिने अफिसरले तरवार हावामा चलायो र जमिनमा रोप्यो । सबै सिपाहीको राइफलबाट माताहरिको छातीको निशाना बनाएर गोली चल्यो । माताहरिले शरीरको कुनै भाग चलाइनन् । हात पनि उठाइनन् । गोली प्रहारपछि उनी ढलिन् तर उनको अनुहार आकाशतर्फ फर्केको थियो । उनी उत्तानो परेकी थिइन् । उनी गतिहीन भएकी थिइन् । लेफ्टिनेण्टको साथमा रहेको यौटा अफिसरले आफ्नो कम्मरबाट पेस्तोल निकाल्यो र माताहरीको कञ्चटमा ताकेर नजिकैबाट गोली चलायो र फुस्फुसायो- “माताहरि पक्कै मरी ।” ४१ वर्षको उमेरमा धरतीबाट साहसिलो मृ्त्यु वरण गरेकी माताहरि के साँच्चै जासूसै थिइन् ? के उनलाई यसरी मृत्युदण्ड दिनै पर्ने थियो ? यो प्रश्न भने अनुत्तरित नै रह्यो । उनी फिल्मको विषयवस्तु बनिन् । उपन्यासको विषयवस्तु बनिन् । उनी मरेर पनि बाँचिरहिन् । #गोविन्द गिरी प्रेरणा #पाउलो कोएलो
प्रकाशको गजल: हरेकले आफ्नो औकातमा चल्नुपर्छ नदीले त कहीँ कहीँ बाटो बदल्नुपर्छ ।। ऐले एउटा चाउचाउमा मुस्कुराऊ भन्छौ भरे भान्सामा नुन तेल अड्कल्नुपर्छ ।। आफू त पानी पिएर सास टिकाउँला बालबच्चाका लागि ढिँडो हुडल्नुपर्छ ।। न मजदुरी रहयो, न मजबुरी गयो हजुर ऋण सम्झेर मुखैको गाँस ओकल्नुपर्छ ।। मृत्युले गर्दैन भेदभाव, बुझ्दैन किन मान्छे खेलाँची गरेमा एकदिन पीडाले जल्नुपर्छ ।। #प्रकाश #सापकोटा
मार्क्सको चिठी कमरेडहरूलाई: प्रिय कमरेडहरू ! समयले निक्कै फड्को मारिसकेको छ मेरो भौतिकवादी दर्शनमा रम्ने कमरेडहरू ! तपाईंहरूका झण्डा देख्दा म खुशी छु मेरो दाडी देखेर धेरैले दाडी पाल्न सिक्नु भयो त्यसमा झनै खुशी छु । मेरो फोटो टाँसेर घरघरमा चोकचोकमा अझै वार्षिक सराद्धे गरिरहनु भएको छ त्यसकोको पिण्ड पनि पाइरहेको छु त्यसैले आजसम्म टन्न अघाइरहेको छु । आशा छ¬ यस्तो गरिरहनुहुनेछ मेरो मार्क्सवादका नाममा मैले निक्कै चपेटिएर –जकडिएर द्वन्द्ववादको दर्शन बनाएँ त्यसैमा द्वन्द्व गरिरहेको पाएको छु तपाईंहरू त्यसमा झनै खुशी छु । प्रिय कमरेडहरू ! यही हो मेरो दर्शनको सार द्वन्द्व गरिरहनुपर्छ भुँडी भरिरहनुपर्छ… तपाईंहरूलाई मुरीमुरी धन्यवाद ! मैले जीवनभरि श्रमिकहरूका लागि लडेँ तपाईंहरूले श्रमिकहरूलाई लडाइरहनु भएको छ मेरो दर्शनको विकास र विस्तार देखेर खुशी छु मैले इतिहासलाई सङ्घर्ष भनेँ मैले जातिभन्दा जीवन महत्त्वपूर्ण भनेँ सीमाभन्दा भूगोल महत्त्वपूर्ण भनेँ तर तपाईंहरूले उल्टाइदिनु भएछ मैले शोषणरहित विश्व एउटै देश भनेको थिएँ तर तपाईंहरूले एउटै देशमा अनेक देश¬प्रदेश बनाउनु भएछ धन्यवाद ! मेरो दर्शनको विस्तार गर्नु भएछ । तपाईंहरूले इतिहासका निम्ति सङ्घर्ष रच्नु भयो जसरी भए पनि आफूहरू त बँच्नु भयो शोषणै शोषणले मरिरहेका धेरै श्रमिक त मरेछन् एउटाले आएर मेरो दाडी गोड्यो¬ अनि जिङ्गयो¬Éके लछार पाटो लगायो तेरो दर्शनले खाना नपाए पनि रगत र पसिना त खाएका थियौँ तर…… तेरा अनुयायीले हठात् युद्धमा झोसिदिए जिन्दगी खोसिदिए …। अहिले बिल्ला भिरेर अतिथि बनेर हाम्रो बलिदानीको नाटक हेर्दैछन् शहर शहरका रङ्गमञ्चहरूमा…।” म रोएँ मेरा सपनाहरूलाई सम्झेर तपाईंहरूको विपनालाई नियालेर चकित छु म चकित बिल्कुल चकित । प्रिय कमरेडहरू ! तैपनि म खुशी छु भन्दैछु… मैले धर्मलाई अफिम भनेको थिएँ तर तपाईंहरूले त मलाई अफिम बनाउनुभएछ खाएर मत्त हुनुभएको रहेछ मैले यसो चियाएर हेरेँ तपाईंहरू त साँच्चिकै मार्क्सवादी हुनुभएछ घाँसवादी हुनुभएछ– गाँसवादी हुनुभएछ। धन्यवाद ! कमरेडहरू यस्तै वादी बन्दै जानुहोला लालसलाम ! क्रान्तिकारी अभिवादन ! कृपया अब मेरो तिथि सराद्धे नगरिदिनुहोला म आफैँ जोहो गरूँला दानापानीको … । तपाईंहरूको उही कमरेड मार्क्स #दीपेन्द्र अधिकारी #राजनीति
कोही भोकै मर्ने छैन !: त्रिभुवन चन्द्र वाग्ले घाटस्थित वैद्यखानाको परिसरमा केही सङ्ख्यामा अशक्त बिरामी सुतेका थिए । कोही बोल्दैनथे । कोही ऐया–आथ्यु, अँ–हँ गर्थे । बडावैद्यको आदेशअनुसार सुसारेले सबै बिरामीको अगाडि एकएक गरी फलफूल, खाना, पानी, दुध राखिदिँदै गए । उनीहरू कसैले पनि हात उठाउन सकेनन् । कसैले खाएनन् । वास्ता पनि गरेनन् । सुसारेले आश्चर्य व्यक्त गरे, ‘तीन-चार दिन भयो यिनीहरूले नखाएको !’ बडावैद्यले गम्भीर हुँदै भने– ‘हेर बाबु, हाम्रो लक्ष्य र उद्देश्य ‘कोही पनि भोकै नमरुन्’ भन्ने हो । यिनीहरू कसैले पनि खान चाहेनन् भने किन चकित हुन् ? स्पष्ट छ यिनीहरू अघाएका छन् । मरे पनि भोकै मरेका हुने छैनन् …!’ #त्रिभुवन चन्द्र वाग्ले
मेरो आत्मदाह: न आमा न बाबा न छोरो न छोरी मलाई झझल्को भयो मृत्यु फेरी छु दोधारमा के हुने हो नगर्न म चाहन्न आगो लगाएर मर्न ।।१।। भयो प्यार धोका जमाना अघोरी म मेरा बचेरा ल पालौ कसोरी लगाएर आगो म आफ्नै सरीर डढेको छु प्यारी नमान्नू ल पीर ।।२।। गरी काम यौटा म पाल्थेँ जहान छ जे जे त्यसैले भरेथेँ परान भयो बन्द भन्छन् गरौ के म मात्रै कटे रात भोकै छु बेकामकोझैँ ।।३।। गरेँ यत्न जुध्ने यहाँ दु:ख देखि गरे याचना ए दयावान देवी बलेको छ आगो म भित्रै अनौठो मरेको छु भित्रै ज्युँदो लास नै हो ।।४।। न जागीर केही न पैसा छ केही न खेती छ जोत्ने न आफन्त कोही हिडौँ बन्द सारा छ यो देस मेरो न ढुंगा र माटो मिलेको छ चारो ।।५।। कहाँ जिन्दगानी भनेझैँ भयो र म बन्दी भएको नयाँ साल हो र नयाँ बस्त्र किन्ने र खाना नि खाने भयो स्वप्न मात्रै भने जिन्दगी के ।।६।। छ जाती र पाती यहाँ भेदभाव सबैँ पेट खाली र दानी अभाव भयो कर्म यस्तै छ बेकार बाँच्नु बुझे श्रीमतीले सबैँ माफ गर्नु ।।७।। जलेरै खरानी हुने देह हो यो म चाँडो खरानी भएँ त्यै छ नौलो बिना काम के के गरौँ भोक टार्न म सन्तान रूँदा सकौला स्विकार्न ।।८।। (भुजंगप्रयात छन्द) (गत सोमबार बिहानै अछामको बयलपाटा अस्पताल परिसरमा साँफेबगर नगरपालिका-६ का २५ वर्षीय सिद्धार्थ आउजीले कोरोनाको कहरका कारण कामबाट निकालिए पछि परिवार पाल्न नसकेर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेको सन्दर्भमा) #छन्द #स्पन्दन बिनोद
मेरी श्रीमती र ऊ: मेरी श्रीमतीको मुहारमा देखिने खुशीको सानो धर्कोले मलाई अझै तर्साउँछ । कथाको सुरुवात होइन यो र अन्त पनि हैन । कथा सुरु हुन्छ म जन्मेपछि । मेरा बा कुपोषण लागेर पनि उभिइरहेको बच्चाजस्तो देख्न्थिे । ‘काला, कस्ता नराम्रा हुन् !’ भन्ने उपनाम प्रयोग भएर सम्बोधित हुन्थे मेरा बा गाउँमा । आमा पनि खासै राम्री सलक्क परेकी ल्याउन पाएनन् । ‘जोडी त क्या ठ्याक्कै मिलेको ! बुढीका दाँतले त सधैँ बुढालाई मात्रै हेरिरहने । हाँस्ता त झनै काला गिँजा पनि बाहिरै निस्केर हाँस्ता रछन्,’ गाउँको भिडभाड अथवा एकान्त जहाँ पनि मुख र कानको भेट हुँदा असरल्ल त्यसै पसारिने वार्तालाप हुन् यी । मेरो घरको सम्मानमा । अब म पनि फरक जन्मिने त कुरै भएन । घरमा भएका सदस्यभन्दा फरक जन्मिनँ म पनि । पक्षपात गर्न पनि भएन । भगवान्ले पनि कत्ति पक्षपात गरेनन् । बाआमाजस्तै म पनि यो घरको सदस्यजस्तै देखिएँ । ‘ठ्याक्कै बाआमाको दुरुस्त रूप लिएर आको’ भनेर मुसुमुसु हाँस्न पाए गाउँलेहरूले । आमाको मन न हो । कति राम्रो सुन्दर देखिन् मेरी आमाले मलाई । उनको मुटुको टुक्रा भएँ म । एउटा संसारको उत्तम वस्तु भएँ म । त्यसैले मेरो नाम पनि ‘सुन्दर’ राखिदिइन् आमाले । हुन त मेरी फुपुले ओठ लोप्प्राएर भनेकी थिइन् रे ‘मान्छे कस्तो, नाम भने सुन्दर’ बाले न्वारनमा जुरेको नाम ‘मोदनाथ’ नै ठीक पनि भनेका हुन् । आमाको बलका अगाडि बाको केही चलेन । फुपै एक छिन पुत्ताएर जलिन्, पछि शान्त भइन् । यो नामले मलाई स्कूलमा निकै आपत् पारेकै हो । शिक्षक होस् या विद्यार्थी साथी मेरो नाम लिएपछि एक पटक हाँस्थे । म त्यसै पिरिन्थेँ । कक्षा छोडेर भागौँजस्तो लाग्थ्यो । आमालाई एक दिन बिन्ती गरेँ— मेरो नामले स्कुलमा कमाएको हँसीमजाकको बारेमा । मेरो नाम ‘सुन्दर’, जुन शब्द मभन्दा धेरै फरक थियो । नाम र मान्छेमा परस्पर कतै भेट हुने सम्भावना थिएन । तर आमाले छोरालाई सुन्दर देख्न छोडिनन् । भलै अरूले जे देखुन् । आमाले भनेकी थिइन्— ‘मान्छे सुन्दर यो बाहिर पोतिएको रङ, बनोट, छाँट छन्नले हुँदैन । मान्छे राम्रो याँबाट हुन्छ । मेरो छोरो मलाई थाछ । याँबाट राम्रो सुन्दर छ’ भन्दै दाहिने हाँतले छातीको देब्रे कुनामा हानिन् आमाले । यही एउटा कुरो मेरो दिमागमा रेकर्ड भयो र चाहिएको बेलामा प्ले पनि भयो । फेरि डिलिट भएन । यसपछि कुनै क्लासमा पनि दोस्रो भइनँ म । बुटवल राखेर आई.कम. पढाए बाआमाले । विशेष त यो आमाको ‘सुन्दर’ कहिल्यै पछि परेन । आई. ए. सक्नेवित्तिकै खाद्य संस्थानको सुब्बामा पनि नम्बर एकमै नाम निकाल्यो । बुटवल नै कर्मथलो बनाएर अफिस डेरा र बिहानमा वि.कम पढ्न थालेको थियो । आफ्नो ‘सुन्दर’को विवाहको चिन्ता आमालाई हुने नै भयो । पुट्ट भँुडी र सिखुटे हातखुट्टा गरेका फुस्रे कुभिण्डामा खुट्टा हालेर उभ्याएजस्ता मेरा सन्तकी बालाई कराउन थालिन् आमाले । मेरो सुन्दरता, पढाइलेखाई र जागिरको राम्रै बयान भयो होला ! शहरमा एकै पटकमा सुब्बा भएर हाकीम बनेको ज्वाइँ पाएपछि के र ? लमीले गरेको केटीतर्फको बयान सुनेपछि मख्ख परेर मेरी आमा त बाहिर झुण्डिइरहने दाँतमा झन् गिँजा थपेर देखाउँदै हाँसिन् । रूप त हाम्रो घरले किन हेर्नुपर्यो र ? रूपमा हामी जति कमजोर यो एरियामा कोही थिएन । त्यसैले हामीभन्दा नराम्रा पर्लान् भन्ने कुरै भएन । जसले मसँग विवाह गदैछिन् तिनले मलाई नदेखेको कुरा त पक्का थियो । सुहागरातमा लाल्टीनको उजेलो छरिएको थियो । कोठा गच्छेअनुसार सजिएको थियो । त्यसमा पनि मेरो अफिसका साथीहरूको कला अलि अलि पस्किइएको थियो । गाउँमा कसले जान्नु र यत्तिको सजाउन ? मैले उनलाई देख्दा र उनले मलाई देख्दा उत्तिकै आश्चर्यमा पर्यो होला ! दुवैजना वरिपरि पर्याप्त जमिन भए ढल्ने सम्भावना थियो । तर कोठा यति सानो थियो ढल्न पनि ठाउँ पुग्दैनथ्यो । एकअर्काको गन्धसम्म मिसिएर हाम्रा नाकभित्र कोचिएको थियो । सस्तो परफ्यूम र पसिनाको गन्ध । अतः हामी सल्लाह गरेजस्तै गरेर ढलेनौँ । उनको र मेरो रियाक्सन भने अचम्मको उल्टो थियो । उनको सुन्दर उजेलो मुहारमा चट्ट परेको नाक ठुस्स परेर खुम्चिएको थियो । मुखले ङिच्च परेर नमिठो पाराले हाँसेर मेरो पहिलो झलकको स्वागत गरेको थियो । परिस्थितीले उनलाई लोप्पा खुवाएर ‘बल्ल खाइस् !’ भनेको उनले प्रष्ट सुनेकी थिइन् । मैले त्यो बुझेको थिएँ । मेरो रियाक्सन अर्कै थियो । आँखा र मुख दुबै खुलेका खुलै थिएँ । मनमा मङ्गल धुन र मिठो गितारको तार खेलेको थियो । यति राम्री सुन्दरी मैले नजिकबाट कहिल्यै देखेको थिइनँ । अब आफ्नै श्रीमतीको धेरै बयान गर्ने कुरा पनि भएन । यतिवेलासम्म आँखा सामान्य आकारमा फर्के र मुखबाट लामखुट्टे भित्रबाहिर गर्ने क्रम बन्द हुँदा उनी गहना कपडा फेरेर गइसकिछन् । म झस्केँ, उनलाई नदेखेर । उनी सामान्य भएर बाथरुम गएको पत्ता लाग्यो । म ढुक्क भएँ । मलाई यो कुरा भन्न मन थिएन तर कथालाई ढाँट्न सकिनँ । उनले ट्वाइलेटमा बान्ता गर्दै थिइन् । मलाई त्यो बान्तामा मेरो सुन्दरता छादिएको भान भयो । म अलि निराश भएँ । गर्नुपर्ने सबै काम सकिएका थिए । अब रिभर्स गरेर फेरि सुरुमा पुग्नलाई क्यासेट प्लेयर त हैन जिन्दगी! [bs-quote quote=”सुहागरातको भोलिपल्ट एउटा नारीमा हुनुपर्ने चमकता थिएन । भाग्यले नराम्रोसँग पछाडिबाट लात्तो हानेको थियो उनलाई । आफ्नो छेउमा उभिएर फोटो खिच्नुपर्ने लोग्ने हेर्न लायकको थिएन । त्यसै च्यातचुत पारेर डष्टविनमा फाल्नुपर्नेजस्तो मान्छे । यो मैले गरेको कल्पना मात्र हैन । यो त उनको अनुहारमा लेखिएको सूचना मैले पढेर भनेको हुँ ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] सुहागरातको भोलिपल्ट एउटा नारीमा हुनुपर्ने चमकता थिएन । भाग्यले नराम्रोसँग पछाडिबाट लात्तो हानेको थियो उनलाई । आफ्नो छेउमा उभिएर फोटो खिच्नुपर्ने लोग्ने हेर्न लायकको थिएन । त्यसै च्यातचुत पारेर डष्टविनमा फाल्नुपर्नेजस्तो मान्छे । यो मैले गरेको कल्पना मात्र हैन । यो त उनको अनुहारमा लेखिएको सूचना मैले पढेर भनेको हुँ । कौवाहरूको घरमा राम्रो परेवा वा ढुकुर ल्याएर थुनेको गीतको कारुणिक प्रस्तुती गाउँलेले गरेका थिए । विवाहघरमा दुलही हेर्न आउँदा भोलिपल्ट यस्तो गीत सुनिएको थियो । मैले बुझेँ । आमाले खै ! के गरिन ? उनलाई मख्ख परेर दुलहीको स्तुति नस्वाई नस्वाई गाउँदै ठिक्क भयो । दिनभर उनका माथिल्ला दाँत र गिँजाले सुख पाएनन् । बा अलि लाज मानेकाजस्ता देखिन्थे । आमाले बुहारी गाउँमा राख्न मानिनन् । गाउँमा बुहारीको विस्कुन सुकाउँदा चोरी हुन सक्ने विचार गरिन् क्यारे ! दुलही बुटवल पुगिन् । एउटा सानो कोठा, भान्छा घर र बाहिर बजार हेर्ने बादर्ली भएको मेरो डेरा थियो । मेरी श्रीमती भने मतिरभन्दा बार्दलीतिर बढी आकर्षित हुन्थिन् । खै कुन्नि ! के के खोजिरहेका जस्ता देखिन्थे उनका आँखा । मैले समाधान गर्न सकेको थिइनँ वा मेरो औकात थिएन । पानी नपाएको रातो गुलावजस्ती भएकी थिइन् उनी । ‘आई.ए. प्रथम र द्वितीय वर्ष दुवैमा अङ्ग्रेजी ब्याक छ’ भनेर सासूले भनेकी थिइन् । दुलहीको मागअनुसार ट्यूसन पढाउने मास्टर खोजेँ । साथीहरूको सहयोगमा बल्ल यौटा मास्टर आए । भर्खरका हँसमुख युवा, प्रखर बोल्ने, मिठास खालका र आकर्षक पनि थिए उनी । उनी आए । ‘भरत’ रहेछ उनको नाम । हामीले भरत सर भन्यौँ । उन्ले स्विकार गरे । म अफिसबाट फर्कने समय र उनी आउने समय मिलाइयो । मैले आफ्नो घरको सुन्दर गहनालाई कसैसँग एकान्त दिन चाहिनँ । तर शुरुदेखि नै माष्टर केटालाई देख्दा उनका आँखामा एउटा लुकेको अनौठो हर्ष देखिन्थ्यो । उनले देखाउन नचाहेको तर उकुसमुकुस भएर फुट्न चाहेको हर्ष । त्यो अपरिपक्व लुकेको उनको चाहनाले मलाई कुच्च कोपेको थियो । कता हो कता त्यो कोपाइ पहिलै दिन छिरेको थियो म भित्र । तर श्रीमतीको आई.ए. पासमा ससुराली खलकको आस टाँगिएको हुनाले विरोध गर्न सकिनँ । हुनत मैले विवाहपछि बुटवलमा दिएको सानो रिसेप्सनमा पनि निकै रमाएका थिए साथीहरू । मलाई भन्दा पनि मेरी राम्री श्रीमतीतिर हेर्दै मलाई बधाई दिएको तरिका अलि शङ्कास्पद थियो सबैको । रिसेप्सन पार्टीमै खाद्यको पिउनले भनेको थियो— ‘सर हजुर त कस्तो भाग्यमानी ! कति राम्री श्रमिती पाउनुभो ! आफ्नी त उही १५ वर्ष पुरानी थाङ्नोजस्तै गन्हाउने स्वास्नी । जिन्दगी नै वाक्क ।’ एउटा कुराचाहिँ सबै पुरुष कर्मचारीहरूको मिलेको थियो । त्यो के भने ‘यति राम्री भाउजू हेर हेर ! तपाईंले दुःख दिन पाउनु हुन्न नि । यदि दुःख दिनुभयो भने …..?’ मात्र यति भन्थे । तर मैले दुःख दिए भनेँ के त ? यो लामो डट् डट्को जवाफ कसैले दिएनन् । तर सबैका मुखमा रयाल भने थियो । महिला कर्मचारीहरूले भने मलाई हेर्ने नजर नै परिवर्तन गरेका थिए । अलि अलि ईर्ष्या र अलि अलि जिस्काउने पारामा भन्थे ‘सर त क्या लक्की !’ यत्ति हो यिनीहरूले भनेको । म अफिस छिर्दा यिनीहरूको कानेखुशी र मुसुमुसु हुने गरेको मुस्कानमा म नै थिएँ । विवाहभन्दा अगाडि भने अफिस छिर्दा यति चर्चाको केन्द्रविन्दु म पटक्कै हैन । मैले पनि आफूभित्र छुट्टै गर्वको महशुस गरिरहेको थिएँ । तर यति बेला भने यो मास्टरको आगमनको भयले भुइँचालो ल्याएको थियो मनमा । मास्टर ट्यूसन पढाउन आउने दिनमा मेरी श्रीमतीको चुरीफुरी भिन्नै हुन्थ्यो । विहानैदेखि त्यो अनुहार र आँखामा लुकाएर नलुक्ने प्रकारको चमक हुन्थ्यो भने अर्कोतिर विहानै म अफिस जानुअगाडिदेखि नै घरमा मास्टरका लागि बन्ने पकवान र बजारबाट मैले ल्याई दिनुपर्ने सामानको लिस्ट तेर्सिन्थे । म अफिसबाट घर आइपुग्नुभन्दा अगाडि नै आइपुग्न थालेको थियो मास्टर । म घर आइपुग्दा मास्टर मेरी श्रीमतीलाई पढाइरहेको हुन्थ्यो । भलै म पुगेपछि आपसमा अलि दुरी बढाउँथे । मेरी श्रीमतीले आफ्ना लगाएका कपडामा पनि यसो ध्यान दिन्थिन् । शायद त्यो उनको मास्टर वा उनको केटो साथीको इज्जत बचाउन गरिएको नाटक पनि हुन सक्थ्यो । मेरी श्रीमतीको मुहारमा देखिने मुस्कानका लागि म यो हर्कत सहन अबोध बालकजस्तै हुन बाध्य भएको थिएँ । मेरी आमाको ‘सुन्दर’ त्यत्ति कठोर हुन सकेको थिएन । [bs-quote quote=”‘के तलाई लाज लाग्दैन यति राम्री स्वास्नी ल्याउन ? आफू कुरूप भएर । अनि तह लगाएर राख्न सक्दैनस् आफ्नी स्वास्नी ?’” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] पढाइको समाप्तिपछि दिनभरि बनेका पकवानहरूको भागबन्डा हुन्थ्यो । यसमा पनि म ठगिन्थेँ । मप्रति भन्दा उनी आफ्नो सरप्रति कर्तव्य परायणता देखाउँथिन् । केही दिनको पढाइमा नै उनले उसका बारेमा धेरै जानेकी थिइन् । उसलाई पस्किएको खाजाको तुलनामा मेरो खाजा निकै गरिब देखिन्थ्यो । मेरै खर्चमा मेरै फुलबारीको डाली चपाइरहेको थियो त्यो साँढे । मेरा आँखाअगाडि मेरै आँखा छलिन्थे । ईशारा र कोड भाषा प्रयोग भएका हुन्थे । तर म लाचार त्यो मिठो पकवानमा आफ्ना दाँत गाडिरहेको हुन्थेँ । ऊ मतिर फर्केर मुसुक्क हाँस्थ्यो । मलाई लाग्थ्यो— उसले मलाई मुखमा पिच्च थुकेको हो र भनेको हो— ‘के तलाई लाज लाग्दैन यति राम्री स्वास्नी ल्याउन ? आफू कुरूप भएर । अनि तह लगाएर राख्न सक्दैनस् आफ्नी स्वास्नी ?’ मैले आँखा जुधाउन सक्दैनथेँ उसँग । हारेको साँढेझँै जमिन हेर्न थाल्थे मेरा आँखा । गल्लीका लाचार छेरुवा कुकुरझैँ म अवाक् हुन्थेँ र यस्तै चलिरहेको थियो समय । त्यो कुनै एकदिन जाने बेलामा बिदा माग्यो हामीसँग । मेरी श्रीमती उसलाई विदा गर्न परसम्म गइन् । म बार्दलीमै बसिरहेँ वल्लोपल्लो घर हेरेर । पल्लो घरको पाल्पाली जोडी मुसुक्क हाँसे मलाई देखेर तर केही बोलेनन् । मभने लाजले भुतुक्क भएँ । मलाई लागिरहेको थियो उनीहरू मलाई एउटा शब्दले सम्बोधन गरिरहेका थिए— ‘पानीमरुवा !’ मेरी श्रीमती सरलाई विदा गरेर फर्किन् । हाँसो र मुखको चमक भने उतै आफ्नै केटोलाई दिएर पठाइछन् । मेरो लागि उही पुरानै नाक खुम्चिएको र बाङ्गिएको मुख लिएर आइन् । सरासर सधैँझैँ टाउको दुखेको निहुँमा विस्तारामा घोप्टिइन् । मैले मेरो भागको चन्द्रमा ‘ग्रहण’ लागेजस्तै स्विकारेँ । त्यो नै बाध्यता थियो । आजकल म उसलाई सर भन्दा श्रीमतीको केटो भन्न रुचाउँछु । अब पढाइभन्दा मन र आँखा सेक्ने काम भएको प्रष्ट देखिन्थ्यो । पढाइको क्रममा कक्षामा बसेर मास्टर र विद्यार्थीको एकाग्रता भङ्ग गर्न चाहिनँ मैले । अतः भित्र आफ्नै कोठामा नै बस्न थालेँ । भित्र कोठाबाट वा कतै चरबाट देखिने बार्दलीको प्रेमील मर्मलाई बयान गर्न म सक्दिनँ । म नै यो सुकार्यको परिपोसक भएको छु जस्तो लाग्थ्यो । गर्न सक्ने धेरै थिए तर आँट आएको थिएन । श्रीमती र उसको प्रेम बढोस् वा रोकियोस्, कुन राम्रो ? भन्न सकेको थिइनँ । आजकल छिमेकमा, अफिसमा र यताउता हिडँदा ममाथि ठोकिने नजरहरूले रङ परिवर्तन गरेजस्तो लाग्थ्यो । म त यसै पनि ती नजरहरूमा श्रीमतीका लागि योग्य थिइनँ । त्यसैले ‘देखिस् ?’ भन्ने टाउकाहरू धेरै थिए । ती अर्काका श्रीमती राम्रा देखेर ‘भाउजूले दुःख पाइन भने…!’ भनेर पछाडि लामो डट्डट् ठोकेर बधाई दिनेलाई पनि सघाएजस्तो भएको थियो । ताऽती श्रीमतीको छेउमा चिऽसो तापेर पऽरै सुत्ने असल श्रीमान् भएको छु आजकल । एक मनले यसलाई रोक्न खोजेको पनि हो । गाउँबाट आमाबा बोलाएर डेरामा राख्ने मन पनि आयो । फेरि सोचेँ, आमाबाले पनि यो तमासा रोक्न नसके के होला ? आफ्नो ‘सुन्दर’ छोराकी ‘सुन्दर’ बुहारीको चालाले दुःखी होलान्, आमा बा । किन यसो गर्नुजस्तो लाग्यो । योभन्दा बरु केही क्षण भए पनि श्रमितीको सुन्दर मुहारमा मुस्कानको धर्को हेर्न मास्टर नजाँदै अफिसबाट आउने कोशिस गर्छु । तर आजकल उसको कार्यतालिका मैले निर्धारण गर्न सक्दिनथेँ । अतः कति दिन त भेट पनि हुँदैनथ्यो । तर भेट हुँदा भने उसको नमस्कार र कुटील मुस्कानमा मेरो खिल्ली उडेको चित्र भने मैले बिर्सने कुरै भएन । एक दिन शनिबार मेरो अफिसको खर्दार रघुले जन्मदिनको निम्ता दिएको थियो । मलाई निम्ता नआउने कुरै भएन । बारबार उसले भनेको थियो— “भाउजूलाई लिएर आउनुभएन भने भित्र पस्न पाउनुहुन्न है, हाकिमसाव । रघुकी श्रीमती यता खर्च नपुगेपछि छोरो पढाएर माइतमै बस्छे, बाँकेको कोहलपुरमा । ऊ यता एक्लै छ । मैले श्रीमतीलाई भनेको थिएँ ‘रघुको वर्थ डे हो, दुवैलाई बोलाएको छ । दिनभर उतै बस्ने, डिनर गरेर केकसमेत काटेर फर्कने भनेको छ, तयार होऊ’ उनले मेरो आदेशलाई रत्तिभर पनि मनन् गरिनन् । कहिले पो गर्थिन् र ! उनले सधैँझैँ भनिन्— ‘मेरो घरमा धेरै काम छ । टाउको पनि दुखेको छ । आफू गए हुन्छ, जान्न ।’ यसपछि मेरो कहिल्यै केही चल्दैन । किनकि मसँग उनी बाहिर जाँदिनन् । मलाई श्रीमान् भनेर चिनाउन लाज हुन्छ उनलाई । यसमा मेरो र उनको दोष केही थिएन । यो त तिनै लमीको दोष हो । सुहागरातमा आश्चर्यचकित परेको भेटघाटपछि उनी कैल्यै मिठो बोलेकी छैनन् मसँग । त्यसको मलाई सधैँ अभाव खट्केको छ । अब बानी पनि परिसक्यो । रघुको घरबाट फर्केँ । रघुलाई धेरै गाली गरँे । मनमनै भन्नु नभन्नु भनेँ । उसले बिरामी भएर वर्थ डे पार्टी रद्ध गर्यो । सबै घर फर्के । म पनि कतै गएर दिन काट्ने ठाउँ सम्झने प्रयास गरेँ । केही त्यस्तो ठाउँ पत्ता लागेन । मैले देख्न नहुने कुरा घरमा भइसकेको थियो । मास्टरको मुखुण्डो ओढेको मेरी श्रीमतीको केटो र मेरी श्रीमती मेरो विस्तारामा मस्त निदाएका थिए । रघुले जन्मदिनको कार्यक्रम रद्ध गर्दा अकस्मात् म यस्तो भुमरीमा परेको थिएँ । उनीहरू गोरु बेचेर सुतेकोे किसानझैँ मस्त सुतेका थिए । संसारप्रति उनीहरूलाई रतिभर चासो थिएन । उनी मेरी श्रीमती हुन् तर छेउमा सुत्ने मान्छे म थिइनँ । विस्तारा मेरो थियो । दुवैको अनुहारमा कुनै मेकअप थिएन तर सुन्दर मुस्कान छ्यापिएको प्रष्ट देखिन्थ्यो । निद्रामै पनि एकअर्कालाई छामिरहेका, टटोलिरहेका जस्ता देखिन्थे । पूर्णरूपमा अघाएपछि पनि सिनोबाट मासु लुछिरहेको बाघजस्तै । उसका हातहरू मेरी श्रमितीको वक्षस्थलमा खेलिरहेका थिए, केही खोजिरहेजस्ता । उता मलाई भने काउकुतीको अनुभव भएको थियो । मेरी श्रीमतीका ओठहरू मन्द केही बोलिरहेका जस्ता देखिन्थे । तर नबुझिने पारामा । आँखा चिम्म गरेर आफ्ना लाजहरू छोपिरहेका थिए उनीहरूले । तर उनीहरूले एकअर्कालाई प्रष्ट देखेका थिए । संसारले भने देखेको थिएन, आँखा उघारेको संसार अन्धो भएको थियो । संसारका सुन्दर प्राणीहरूजस्ता देखिएका थिए मेरी श्रीमती र ऊ । मैले उनीहरूलाई डिस्टर्ब होला भन्ने पूर्ण ख्याल राखेँ । विस्तारै झ्यालबाट बार्दलीमा आएँ । कसैले नदेखोस् भनेर झ्याल लगाइदिएँ । बार्दलीमा एकछिन सोचमग्न भएँ । उसले गरेको खुल्ला च्यालेन्जलाई मर्दना टाउकोले महसुश नगरेको पनि होइन । भान्छा कोठामा राखेको मासु काट्ने खुकुरीको याद आयो । खुकुरीले गर्नसक्ने क्रान्तिको पनि याद आयो । तर त्यस्तो सोचाइलाई मुटुले विरोध गर्यो । मेरी आमाले दाहिने हात राखेर छातीको देब्रे पाटो छोएको याद आयो । तिनै आमाले जन्माएको सुन्दर मान्छेको सुन्दर मुटुले आफ्नै घमण्डी टाउकोसँग झगडा गर्दै थियो । उसले मेरी श्रीमतीमाथि निदाउनुभन्दा अगाडि गरेका हर्कतहरूको टाउकोले ताजगी गर्दै थियो भने मुटुले विरोध गर्दै थियो । टाउको र मुटुको आदेश प्रष्ट नहुँदा हात र खुट्टाहरू अलमलमा यताउता टहलिएका थिए तर गर्न केही सकेका थिएनन् । यसरी आफ्नै अङ्गहरू मनोमानी झगडा गरेको अनुभव मलाई कहिल्यै भएको थिएन । यसरी आफ्नै मुटु आफ्नै अगाडि चोरी हुँदा पृथ्वीले दिएको सानो कम्पन भने महशुस भएको थियो । तर मस्त निदाएका ती संसारका सुन्दर प्राणीहरूलाई दखल दिने कत्ति मन भएन । मेरी श्रीमतीको मुहारमा देखिने सानो खुशीको क्षण खोस्न मन लागेन बरु बुटवल बजारको तल रहेको गौरीको भट्टी पसलको याद आयो । विवाह हुनुभन्दा अगाडि ठर्रा पिएर जिस्केको याद आयो । त्यो रातभरि रक्सीको सिरक ओढेर कता सुतेँ थाहै भएन । केही दिनमा मेरी श्रीमतीको मुखमा देखिने खुशीको सानो धर्को मेरो नजरबाट टाढिएको थियो र त्यही दिन भरत सरको विवाहको निम्तो कार्ड घरको बार्दलीमा मुस्कुराउँदै थियो, मेरी श्रीमतीको खुशी लुटेर। आजकल म मेरो आफ्नै बार्दलीमा कालो चस्मा लगाएर टहलिने गरेको छु। अमेरिका #अमेरिका #महेश्वर पन्त
एउटा सत्यकथा जुन उपन्यासमा अटाएन...: (यो कथा सत्य घटनामा आधारित हो र यसलाई फिक्सनको रूप दिइएको छ। कथाको मुख्य स्रोत पञ्चायती समयका पत्रकार पदम ठकुराठी हुन्। ठकुराठी तिनै व्यक्ति हुन्, जसलाई पत्राकारिता गरेबापत पञ्चायती शासकका भित्रियाहरूले गोली हानेका थिए । यो घटना २०४३ साल भदाै २० गते भएको त्यही असफल हत्याको पृष्ठभूमिबाट लिइएको हो । यसमा लेखकले ठकुराठीलाई गोली हानेपश्चात आएका समाचार र स्रोत व्यक्तिहरूबाट तथ्यहरू संकलन गरेका थिए । यस कथालाई लेखकले ‘रेडियो छाप सलाइ’ उपन्यासका लागि लेखेका थिए तर सुरक्षा तथा अन्य कारणले यसलाई त्यसबेला समावेश गर्न सकेका थिएनन् । साहित्यपोस्टको आग्रहमा यसलाई पहिलो पटक सार्वजनिक गरिएको हो । यसका लागि लेखक कल्याण गौतमप्रति आभार ।- सम्पादक) एक ‘मालिक बरबादै भयो ! ” “किन, के भयो र ? ” “शरद्चन्द्र शाह अमेरिकामा पक्राउ परे ।” “कहिले?” “अहिले भरखरैको कुरा । ” तात्कालीन राजा वीरेन्द्रका भाइ धीरेन्द्र शाहको अगाडि उभिएको एडिसीले आत्तिदै भन्यो, “थाहा पाउनेबित्तिकै बिन्ति चढाउन आएको मालिक ।” “ए ! त्यसो पो भएछ !!” तात्कालीनअधिराजकुमार धीरेन्द्रको अगाडि उभिएको एडिसी भरत गुरुङ बेचैन थियो । ओठ खडेरीका पातझैँ सुख्खा थिए, अनुहार फुङ्ग उडेको । अधिराजकुमार धीरेन्द्र आफ्नो एडिसीतिर टाउको उचाले र गम्भीर मुद्रामा भने, “अनि ? शरदचन्द्रसँग अरु को को थिए ?” “कृष्णमान श्रेष्ठ ।” भुइँको बाक्लो गलैँचामाथि उभिएको मंगोलिन अनुहारको त्यो एडिसी टाउको तल झुकायो र भन्यो, “अरु थाहा हुन सकेन मालिक ।” “ए त्यसो भए…” बेडरुम बाहिरको लबीमा रहेको सोफामा पलेँटी मारेर बसेका थिए धीरेन्द्र । सुत्न जाने तरखरमा रहेका धीरेन्द्र शाह गुरुङको कुरा सुनेर खुब घोरिए । छेउको झ्याल बाहिरको कौशीमा बत्ती बलेको थिएन । त्यसैले काठमाडौंको डाँडामाथि उदाएको जूनको उज्यालो छतभरि पोखिएको थियो । धेरैबेरसम्म घोरिएका धीरेन्द्रले आफ्नो एडिसीलाई आदेश दिए, “यतिबेला अमेरिकामा दिउँसो छ। तिमी अहिलेनै अमेरिकास्थित नेपाली राजदूतलाई र हाम्रो परराष्ट्रमन्त्रीलाई तुरुन्त फोन गर । उनलाई जसरी भए पनि छुटाउने आदेश देऊ तर यी सब कुरा गोप्य राख्नू ।” “हुन्छ मालिक ।” आदेश पाउनासाथ एडिसी भरत गुरुङले हात जोड्दै भन्यो, “जो हुकुम मालिक ।” पदले एडिसी भए पनि धीरेन्द्रको दाहिने हात थियो ऊ । अधिराजकुमार धीरेन्द्रबाट आदेश पाउनासाथ एडिसी बाहिरियो । काठमाडौंको रात्रिकालीन सुनसान बाटोहरुमा दौडिएको उसको गाडी वरपरका घरहरु थर्काउँदै केही बेरमै उसको घरको गेटभित्र छिर्\u200dयो । गाडीलाई गराजमा पार्क गरेर ऊ हातको घडी हेर्दै गाडीबाट निस्कियो | रातको बाह्र बजिसकेको थियो । “विश्वजी, जसरी भए पनि शरच्चन्द्र शाहलाई छुटाउनु पर्\u200dयो ।” मध्यरातमा घरको ल्याण्डलाइनबाट अमेरिकास्थित नेपाली राजदूतसँग फोनमा कुरा गर्दै अधिराजकुमार धीरेन्द्रको एडिसी ले भन्यो, “यो मालिकको आदेश हो ।” “मैले भर्खरै थाहा पाएँ ।” अमेरिकाबाट राजदूत विश्व प्रधानले फोनमा भने, “म प्रयास गर्छु ।” “प्रयास होइन, काम हुनुपर्\u200dयो ।” त्यो मध्य रातमा पनि एडिसीको स्वरमा कडापन थियो । दायाँ हातको रिसिभरलाई उसले बायाँ हातले मजबुतसँग समायो र भन्यो, “यो अरुको होइन, मालिकको आदेश हो ।” “म आफैँ जमानी बसेर भए पनि त्यो काम गर्नेछु ।” राजदूत विश्व प्रधानले पद र प्रतिष्ठालाई दाउमा लगाए । राजदूत बनेर अमेरिका पुगेका विश्व प्रधान कार्यकालको बीचमै फिर्ता हुन चाहँदैन थिए । त्यसैले उनले फोनमा भरत गुरुङलाई विश्वस्त पार्दै भने, “विश्वास गर्नुहोस्, म काम गर्छु ।” “…. र यो कुरा अत्यन्तै गोप्य रहोस् ।” एडिसीले लामो स्वास तान्यो र अन्त्यमा भन्यो, “फेरि यो कुरा समाचार बन्ला नि ! याद गर्नुहोला । त्यताका नेपालीहरु ठीक छैनन् ।” मालिकको आदेश लिएर अरुलाई थर्काउन बडा सिपालु थियो, भरत गुरुङ । पञ्चायतकालमा उसको नाम थाहा नपाउने कोही थिएन । फिल्मको हिरो भन्दा कम थिएन ऊ । भन्थ्यो, दुई चार जनालाई त यत्तिकै ढालिदिन्छु । राजाका भाइहरुलाई विश्वासमा लिन सफल उसको पछिल्लो जीवनशैली राजाहरुकै हाराहारीमा थियो । अर्को दिन बिहान नहुँदै उसले परराष्ट्र मन्त्रीलाई फोन गर्\u200dयो । मन्त्रीले पनि मालिकको आदेशअनुसार काम गर्ने विश्वास दिलाएपछि एडिसी दङ्ग पर्\u200dयो तर यो कुरा अमेरिकामा बस्ने नेपालीहरुले थाहा पाए र फोनमार्फत कसैले नेपालको एक साप्ताहिक पत्रिकालाई घटनाको जानकारी गराइदियो । अर्को दिन निस्कने साप्ताहिक पत्रिका ‘विमर्श’ले त्यो घटनालाई प्रमुख समाचार बनाएर मुख्य पृष्ठमा छापिदियो । जसका सम्पादक थिए, पदम ठकुराठी । दुई “मालिक बरबाद पार्\u200dयो त्यसले ।” पत्रिका निस्केको दिन बिहानै बैठक कोठाभित्र छिरेको भरत गुरुङले कोठामा विराजमान अधिराजकुमार धीरेन्द्रका अगाडि उभिएर शीर झुकाउँदै भन्यो, “सर्पलाई विष खुवायो भने त्यस्तै हुन्छ मालिक ।” “मैले अघि थाहा पाएँ ।” “त्यसले लेखेरै छाडेछ ।” अधिराजकुमारले आफ्नो एडिसीतिर हेरेर भने, “त्यसले लेखेरै छाडेछ हैन ?” “हो मालिक।” एडिसीको टाउको अझै निहुरिएको थियो । ऊ फेरि भुइँतिरै हेरेर बोल्यो, “कत्रो हिम्मत उसको ! मालिकहरुको बारेमा लेख्ने ?” “तिमी चिन्ता नगर ।” बहुमूल्य सामानहरुले सजाइएको धीरेन्द्र निवासको बैठक कोठा भव्य थियो । भुइँतलको माटोबाहेक एउटा पनि स्वदेशी समान थिएन त्यहाँ । बैठकको बीचमा सजाइएको सिंहासनजस्तो ठूलो काउचमा बसेका अधिराजकुमार धीरेन्द्रले आफ्नो एडिसीलाई विश्वस्त पार्दै भने, “मैले माल्दाइ (ज्ञानेन्द्र)लाई सबै कुरा अवगत गराइसकेको छु । उहाँ त्यो मान्छेसँग आगो भइबक्सेको छ रिसले ।” “हो मालिक !” एडिसी दङ्ग पर्\u200dयो । धीरेन्द्रको अगाडि उभिएको उसको टाउको काँचो माटोझैँ तल झुण्डिरहेको थियो । ऊ फेरि बोल्यो, “के हुकुम भयो त मालिक उहाँबाट ? ” “आज बोलाइ बक्सेको छ उहाँले आफ्नै निवासमा तिमी र जगत बेलुका त्यहीँ आउनू ।” धीरेन्द्रले आफ्नो अगाडि उभिएको एडिसीतिर हेर्दै भने, “तर यो कुरा कतै नभन्नू । ठूल्दाजु (तात्कालीन राजा वीरेन्द्र) लाई पनि …।” “हवस् मालिक ।” एडिसीले आफ्नो झुण्डिएको टाउको अलिकति उठायो र भन्यो, “म जगतलाई अहिले नै खबर गर्छु ।” ००० सन् १९८४ मा ओलम्पिक गेम हुँदै थियो अमेरिकाको लस एन्जल्स शहरमा । त्यतिबेला राजा वीरेन्द्रका कान्छा भाइ अधिराजकुमार धीरेन्द्र नेपाल खेलकुद परिषद्का संरक्षक थिए भने सदस्य सचिव थिए शरच्चन्द्र शाह । नेपालको तर्फबाट उपस्थिति जनाउन अमेरिका उडेको शरच्चन्द्र शाहलाई लस एन्जल्स अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी होम सेक्युरिटीले अचानक गिरफ्तार गर्नुको कारण सहितको समाचार छापेपछि पत्रकार पदम ठकुरी तात्कालिन राजाका भाइहरुको आँखाको कसिंगर बनिरहेका थिए । तीन “पदम दाइ तपाईंको फोन,” राजभाइ श्रेष्ठले आफ्नो हातको कर्डलेस पदम ठकुराठीको हातमा राखिदिँदै भने, “कुरा गर्नुहोस् ।” “कस्को फोन ?” ‘उही भरत गुरुङको ।” “ए, मलाई खोजेको त्यसले ?” पदम ठकुराठीले दायाँ कानको भित्तामा नफुत्किने गरी कर्डलेस फोन टाँसे र कराए, “हेल्लो ।” “नमस्कार पदमज्यू, म भरत गुरुङ बोल्दैछु ।” “नमस्कार ।” पदम ठकुराठीले एक पटक कार्डलेसले हेरे र फेरि बायाँ कानको भित्तामा नफुत्किने गरी कर्डलेस फोन टाँसे र फेरि कराए, “के थियो, भन्नुस !” “तपाईंसँग मालिकहरु धेरै रिसाइबक्सेको छ ।” उताबाट एडिसीको आवाज सुनियो, “मालिकहरुलाई रिसानी हुने काम गर्नै भएन ।” “अनि तँ किन जान्ने भएको ?” त्यतिबेला निर्भिक पत्रकार पदम ठकुराठीलाई सूर्यबहादुरको मान्छे भन्थे। पञ्चायतकालमा सूर्यबहादुर दरबारलाई हातमा लिएर “इंडिया” सँग राम्रो ‘डिल’ गर्न सक्ने नेता कहलिन्थे। त्यसैले पञ्चायत कालको राजनीतिमा सूर्यबहादुर प्रभावशाली नेता थिए । त्यस कारण पनि पदम ठकुराठी कसैसँग डराउँदैन थिए। उनले फेरि बायाँ कानको भित्तामा टाँसेको कर्डलेस फोन दायाँ कानको भित्तामा टाँसे र फेरि कराए, “यदि त्यसो हो भने तेरा मालिकहरुले नै मसँग कुरा गर्नु पर्\u200dयो नि ।” “ठीकै छ, तपाईंसँग लामो कुरा भयो ।” भरत गुरुङले रिसाएका पदम ठकुराठीलाई शान्त पर्दै भन्यो, “तपाईंको टेलिफोन नम्बर पाउँ न त । म पछि फोन गर्छु ।” “ए ! फोन चाहियो ?” पदम ठकुराठीले फोनबाटै आफ्नो टेलिफोन नम्बर दिँदै भने, “ल लेख्, मेरो नम्बर। म डराउनेवाला छैन। ” पञ्चायतकालमा राजनीतिक दलका ठूला नेताहरु कि दुलोभित्र लुक्थे कि भारततिर भाग्थे । पञ्चायती शासकहरुले भेट्यो भने तिनलाई झ्यालखाना हाल्थे । उस्तै परे गोली हानेर मारिदिन्थे । भन्थे- आफैँ मर्\u200dयो । कानूनका किताबहरुमा धमिरा लागेको हुन्थ्यो । मौसमअनुसार पञ्चायती शासकहरु ठाउँठाउँमा भाषण गर्न निस्किन्थे र भन्थे, हाम्रो जस्तो राम्रो व्यवस्था संसारमै छैन । व्यक्तिहरुले मात्र चुनावमा भाग लिन पाउँथे, दलहरुले होइन । चुनाव जितेका तिनै व्यक्तिहरुलाई राष्ट्रिय पञ्चाय सदस्य भनिन्थ्यो । तिनीहरुलाई आफ्नो नामको अगाडि माननीय लेख्न पाउने सुविधा थियो । पञ्चायकालमा बडा गज्जबको चुनाव हुन्थ्यो । जोगमेहर श्रेष्ठ नाम गरेका एक जना व्यक्ति थिए, काठमाडौंका । तिनको चुनाव चिह्न हुन्थ्यो, माछा । उनी बडेबडे माछा लिएर चुनाव प्रचारमा निस्किन्थे । मानिसहहरुले भन्थे, जोगमेहर खतरानाक छन् । तिनीसँग पैसा पनि छ । चुनाव जिते भने जागिर पनि लगाइदिन्छन् । तिनै जोगमेहर श्रेष्ठसँग चुनाव हारेर वैरागी बनेका राजभाइ श्रेष्ठले त्यो दिन केशरमहल पछाडिको आफ्नो घरमा लन्च खान पत्रकारहरुलाई आग्रह गरेका थिए र निम्तालु पत्रकारहरु थिए, जनार्दन आचार्य, कमल जोशी र तिनै पदम ठकुराठी । “यिनीहरुले तर्साएर म तर्सन्छु ?” हातको कर्डलेश फोन राजभाइ श्रेष्ठलाई फिर्ता दिँदै पदम ठकुराठी कुर्लिए, “म अझै लेख्छु, यिनीहरुको बारेमा ।” “पदम दाइ अझै छ र लेख्ने कुरा ?” घरको माथिल्लो छतमा टेबुलभरि नेवारी परिकारहरु थिए। ठूलो टेबुललाई घेरेर राखिएका कुर्सीमा बसेका निम्तालु पत्रकारहरु लञ्च खाँदै थिए । चिसो बियरको बोटलहरु पनि थिए टेबलमा । तिनै निम्तालुहरुको छेउमा बसेका थिए राजभाइ । बियरको स्वाद लिँदै गरेका राजभाइले क़ुराकानीको प्रसंगलाई जोड़दै भने, “अस्ति लेखेर सकिएन र भन्या ?” “कहाँ सकिनु यिनीहरुको कुरा !” बियरको ग्लास रित्तियो । ठकुराठीले टेबलमा रहेको “रेडियो छाप सलाई” उठाए र सिगरेट सल्काए अनि हावामा धुवाँको मुस्लो छोड्दै तिनी फेरि बोले, “यिनीहरुको कुरा जति लेखे पनि सकिन्न ।” “के कुरा रहेछ दाइ त्यस्तो ?” रित्तो ग्लासमा बियर थप्दै गरेको राजभाइले भने, “सुन्न मिल्छ ?” “मिल्छ, किन नमिल्नु ! आरामले मिल्छ।” निडर पत्रकारको रुपमा चिनिने पदम ठकुराठीले चारैतिर हेरे । राजधानी काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलका बाटाहरुमा विदेशी पर्यटकहरु हिँडिरहेका थिए। तिनले चिसो बियर एकपटक फेरि मज्जाले तन्काए र भने, “यिनीहरुले फुटबलभित्र चरेस लुकाएर लगेको साँचो हो । राजाका भाइहरुले राजाकै हैसियतमा भिआइपी पासपोर्टमा विदेश घुम्छन् । यिनीहरुको सामान एयरपोर्टमा चेक हुँदैन । यिनीहरु बाहिर जाँदा देशका पुराना मूर्ति र चरेश लैजान्छन् । अनि फर्कंदा हेरोइन र सुन ल्याउँछन् । यिनीहरुको पश्चिम नेपालमा कत्था उत्पादन गर्ने मिल छ । सुनलाई कत्थाकै रंगमा बदलेर यिनीहरु भारतमा पठाउँछन् किनकि यतिबेला सुन नेपालमा भन्दा भारतीय बजारमा महँगो छ । यो भन्दा पनि दु:खलाग्दो कुरा ‘मन्दिर नै मन्दिरको देश’ भनेर चिनिने नेपालका मन्दिरहरुका बहुमूल्य मूर्तिहरू सब गायब भइसके । कहाँ गए ती मूर्तिहरु ?” “मूर्तिहरु जहाँ पुगे पनि फ्राई गरेको माछाहरु चैँ हाम्रो टेबुलमा आइपुग्यो है दाइ !” पत्रकारहरुको बीचमा दरबारविरोधी कुराले उग्र रुप लिन थालेपछि अतिथिसत्कारमा जुटेका राजभाइ श्रेष्ठले प्रसंग बदल्ने उपाय सोच्दै थिए । ठीक त्यतिबेला भान्साकोठाबाट काम गर्ने केटाले टेबुलमा भर्खरै तारेको माछाका पिस लिएर आयो । राजभाइ श्रेष्ठले माछातिर इशारा गर्दै फेरि भने, “ल पदम दाइ माछा खाऊ । साह्रै मीठो छ ।” राजभाइको कुराले तीनै जना पत्रकार दिल खोलेर हाँसे। त्यो दिन अबेरसम्म चल्यो लञ्च । पत्रकारहरुले पञ्चायती व्यवस्थाका दिनहरु धेरै छैनन् भनेर ठोकुवा गरे । तिनका कुरा राजभाइले खुब गहिरिएर सुने । लञ्च सकिएपछि राजभाइले पत्रकार कमल जोशी, पदम ठकुराठी र जनार्दन आचार्यलाई आफ्नो गाडीमा राखेर गन्तव्यतर्फ लागे । जनार्दन आचार्यलाई घरको गेटमा छोडेर कमल जोशीको घर पुगी पदम ठकुराठीको डेरा बानेश्वर आइपुग्दा राजभाइको घडीमा रातिको नौ बजिसकेको थियो । चार “कस्को फोन हो यो ?” लगातार फोनमा घन्टी बजिरहेको थियो । डेराभित्र पसेका पदम ठकुराठीले बजिरहेको फोन सेटतिर हेरेर भने, “फोन उठाउनु पर्दैन ?” ” त्यो हजुरको फोन हो ।” फोन राखिएको बैठक कोठाबाट किचेनतिर जाँदै गरेकी श्रीमती ठकुराठीले भनिन्, “अरु कसैको फोन होइन त्यो ।” पदम ठकुराठी फोनसेट नेरको मेचमा थ्याच्च बसे। तिनलाई फ़ोन ऊठाउने मन थिएन। “हेल्लो,” निकै बेरपछि फोन उठाउँदै उनले भने, “को बोलेको ?” “म भरत गुरुङ बोल्दैछु,” उताबाट जवाफ आयो, “ठकुराठीज्यू हुनुहुन्छ ?” “म पदम ठकुराठी नै बोल्दैछु,” फ़ोनमा आवाज चिने पनि फेरि ठकुराठीले सिधै सोधे, “ल भन्, तेरो कुरा के हो ?” “माननीयज्यू तपाईंलाई एउटा प्रस्ताव छ ।” “के प्रस्ताव ?” पदम ठकुराठी छेउको सोफा ढल्काए । तिनका आँखा राता थिए । कोठाभरि छरिएका पत्रपत्रिकाहरु र किताब देख्दा लाग्थ्यो, त्यो मिहिनेती पत्रकारको बासस्थान हो। त्यही कोठाको सोफामा ढल्कँदै उनले भने, “भन छिटो ।” “तपाईंले यो पत्रकारिता पेशा छाड्नु पर्\u200dयो । यो दुई पैसा पनि फाइदा नहुने काम गरेर केही फाइदा छैन,” उताबाट शालिन भाषामा भरत गुरुङले भन्यो, “बरु त्यसको बदलामा तपाईं पद, प्रतिष्ठा अथवा पैसा जे भन्नु हुन्छ, म मालिकबाट दिलाइदिन्छु ।” “चाहिँदैन मलाई तेरो मालिकले दिएको पद, पैसा र प्रतिष्ठा ।” भरत गुरुङको कुराले आगो भए पदम ठकुराठी र उनी जुरुक्क उठे र कराउँदै भने, “मलाई तेरो मालिकबाट केही चाहिन्न। तेरो मालिकले दिएको पद, पैसा र प्रतिष्ठा भन्दा मलाई मेरो पाठकहरुले दिएको माया हजारौँ गुणा ठूलो छ। अब आइन्दा मलाई यस्ता कुरा गरेर फोन नगर्नु बुझिस् ?” फोन ढ्याक्क राखेर मुर्मुरिँदै भने, “साला ! अब त झन् त्यसलाई के छोड्छु ? त्यसको बारेमा म लगातार लेखिछाड्छु ।” त्यो दिन असाध्यै जङ्गिएर फोनराखे पत्रकार ठकुराठीले । त्यसपछि उनलाई भरत गुरुङले कहिल्यै फोन गरेन। पाँच “गोली टाउकोमै लागोस् । फेरि खुट्टातिर हानेर आउला नि!” “त्यस्तो हुँदैन हामीबाट।” “घर यही हो ?” मध्यरातमा काठमाडौँको पुरानो बानेश्वरस्थित रंगनाथ पाठकको घरमा कालो सिसाले छोपेको गाडीभित्रबाट देखाउँदै कसैले भन्यो, “तल्लो तल्लामा सुतेको होला, गएर उडाइदेऊ ।” बाहिर चुक घोप्टिएको जस्तो अँध्यारो थियो । बाटोको छेउमा उभिएर अग्ला खम्बाहरुमा झुन्डिएको बत्तीहरुले फ्याँकेको उज्यालो ठाउँठाउँमा पोखिएको थियो । त्यो सुनसान रातमा सडकमा डुल्ने भुस्याहा कुकुरहरुको आवाज मात्र सुनिन्थ्यो। “ल, काम फत्ते गरेर आउनू।” हातमा पिस्तोल राखिदिँदै अघि घर देखाउनेले मन्त्र पढेझैँ गरी कानैमा गएर भन्यो, “फेरि जिउँदै रहला नि?” “त्यस्तो हुँदैन,” पिस्तोल हातमा समाउने मोटो ज्यानको केटाले भन्यो, “काम पक्का हुन्छ।” स्ट्रिट लाइटको उज्यालोलाई छलेर बायाँ छेउमा उभिएको कारबाट दुई जना बाहिर निस्के। मन्द गतिमा कार अलि अगाडि पुगेर एउटा अँध्यारो गल्लीतिर साइड लाग्यो । गाडीबाट ओर्लिएकोमध्ये एकजना त्यहीँ उभियो । उज्यालो छलेर अर्को पेशेवर हत्यारा पर्खाल उक्लियो र कम्पाउण्डभित्र छिर्\u200dयो । बडो सावधानीपूर्वक उसले तल्लो तलाको झ्यालबाट एक-एक गर्दै कोठाहरुभित्र चियाउन थाल्यो। बिरालोको चालमा झ्यालबाट भित्र चिहाउने क्रममा उसले पदम ठकुराठी सुतेको कोठा पत्ता लगायो। झ्यालसँगै जोडिएको फराकिलो बेडमा श्रीमती, एक छोरासँगै पदम ठकुराठी मस्त निदाएका थिए । छेउको टेबुल ल्याम्प बलिरहेको थियो । उनको छातीमा एउटा मोटो किताब घोप्टो परेको थियो। हेर्दा लाग्थ्यो, किताब पढ्दापढ्दै निदाएका हुन्। आफूसँगै ल्याएको हतियार प्रयोग गरेर उस्ले झ्यालमा लगाइएको जाली काट्यो। कोठाभित्र हावा छिर्नको लागि उधारिएको झ्यालको सिसा बाहिरतिर फर्किएको थियो । उसले देब्रे हात जाली काटिएको भागबाट भित्र छिरायो र भित्रको पर्दा अलिकति खोल्यो । खल्तीबाट बिस्तारै पिस्तोल झिक्यो अनि मस्त सुतेको पदम ठकुराठीतिर पिस्तोल सोझ्यायो। अनि ठकुराठीको टाउकोमा गोली प्रहर गर्\u200dयो । “गुहार! गुहार! मेरो श्रीमानलाई कसैले गोली हानेर भाग्यो,” गोलीको आवाजले तर्सदै उठेकी श्रीमती ठकुराठीले ढोका खोलेर बाहिर निस्किन् र पर्खाल नाघेर भागेको हत्यारातिर हेर्दै भनिन्, “गुहार! ब्वाँसाहरुले मेरो श्रीमानलाई गोली हानेर गाडीमा भागे।” “के भयो हँ ? कसले के गर्\u200dयो ?” घर वरिपरिका छिमेकीले झ्याल फटाफट खोले। “कसले हान्यो गोली हँ ?” “हाम्रो टोलमा को आएछ?” छिमेकीहरु तुरुन्तै आँगनमा जम्मा हुन थाले। चारैतिर हल्लाखल्ला हुनथाल्यो। कति मान्छे डरले घरभित्रै बसे । रगतले लतपतिएको बेडमा सुतेका पदम ठकुराठीको शरीर अचेत भइसकेको थियो। उनको एक वर्षे छोरा जोडजोडले रोइरहेको थियो। पदम ठकुराठीको टाउकोबाट रगत बगेर बिस्ताराभरि फैलिरहेको थियो र उनको अचेत शरीर उत्तानो परेको थियो। दृश्य एकदमै विकाराल थियो। “राक्षस हरुले गोली हाने। तिमीहरुको सत्यानास् होस्।” बाहिरबाट दौडदै कोठाभित्र पसिन्, श्रीमती ठकुराठी। रगतमा लतपतिएका श्रीमानको टाउको र शरीर देखेर तिनी काँप्न थालिन्। छेउमा सुतेको छोरा अझै कहालिएर रोइरहेको थियो। तिनी उभिन सकिनन् र भुइँमा थ्याच्च बसिन् र भनिन्, ‘सत्य कुरा छाप्ने पत्रकारमाथि गोली चलाएर भागे राक्षसहरु।” वरपरका छिमेकीहरुले कल गर्नासाथ साइरन बजाउँदै तुरुन्त एम्बुलेन्स आयो र उनलाई बोकेर एम्बुलेन्स हस्पिटलतिर दौडियो। “नलेख् भनेकै त हो नि !” पल्लो छेउको रातो घरको झ्याल बन्द गर्दै कसैले भन्यो, “बडा राजाको विरुद्धविरुद्ध लेख्ने भा को ?” २०४३ साल भदौ २० गते बिहान साढे चार बजे गोली लागेका पदम ठकुराठीलाई वीर हस्पिटल पुर्\u200dयाउँदा बिहानको पाँच बजिसकेको थियो। छ “अवस्था एकदमै खराब छ,” उपचारमा संलग्न डा. दिनेशनाथ गंगोलले वीर अस्पतालको आकस्मिक कक्षबाहिर निस्किएर भने, “तैपनि हाम्रो प्रयास जारी छ।” श्रीमती ठकुराठी डाक्टरका कुरा सुनेर थर्रर काँपिन्। रोक्न खोज्दाखोज्दै तिनका आँखाबाट बगे आँशुहरु। तिनी त्यहाँ उभिन सकिनन् र अस्पताल हाताभित्र फोन खोज्न दौडिन्। फ़ोनका लागि कसैले सहयोग गरेपछि उनले छेउको कोठाबाट तात्कालिन राजा वीरेन्द्रका सचिव कर्णध्वज अधिकारीलाई फ़ोन लगाइन्। “सारा अस्पताल जनताले घेरिसके। तपाईंहरु किन चूप ?” तिनै तात्कालीन राजा वीरेन्द्रका सचिव कर्णध्वज अधिकारीसँग फोनमा मनको पीडा र आक्रोश पोख्दै श्रीमती ठकुराठीले भनिन्, “के हो यो ? यस्तो पनि हुन्छ ?” “त्यसो होइन,” कर्णध्वजले श्रीमती ठकुराठीलाई सम्झाउँदै गरेको आवाज उताबाट आयो, “यतिखेर असंग्लन राष्ट्रहरुको शिखर सम्मेलन हरारेमा हुँदैछ। राजा वीरेन्द्र त्यहीँ होइबक्सन्छ। राजासँग अघि भर्खरै कुरा हुँदा उसलाई जसरी भए पनि बचाउनू भन्ने हुकुम भएको छ। म प्रधानमन्त्रीसँग कुरा गरेर उचित निर्णय लिन लगाउँछु।” “हरे ! के भएको यस्तो ?” आफ्ना शुभचिन्तकहरुको बीचमा उभिएकी श्रीमती ठकुराठीले रुँदै भनिन्, “देशको पत्रकारको टाउकोमा गोली लागेको छ तर बचाउने प्रयास कतैबाट भएको छैन।” त्यत्तिकैमा हस्याङ्गफस्याङ्ग गर्दै हस्पिटलभित्र पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको प्रवेश भयो। थापा निकै बेचैन थिए। आफ्ना हितैषी पदम ठकुराठीको अवस्था बुझ्न अस्पतालभित्र छिरेका थापासँग श्रीमती ठकुराठीको अनायास भेट भयो। “तपाईं मेरा श्रीमानको लास हेर्न आउनु भएको ?” थापालाई देख्नासाथ श्रीमती ठकुराठीले चोर औँला सोझ्याउँदै भनिन्, “यही हो तरिका ?” ‘त्यस्तो केही होइन।” थापा झन् आत्तिए। अस्पतालभित्र र वरपर मानिसहरुको भीड बढ्दै गैरहेकोले वातवरण आफ्नो अनुकूल नभए जस्तो लाग्यो तिनलाई र त्यहीँबाट टाप कस्ने विचार गर्दै भने, “म सबै कुरा मिलाउँछु।” बिहानैदेखि सुरक्षा निकायका गाडीहरु काठमाडौंका सडकहरुमा दौडिरहेका थिए। पुलिसका लामालामा भ्यानहरु सहरका गल्लीगल्लीमा खुब घुम्दै थिए। पदम ठकुराठीलाई गोली हानेको खबर काठमाडौंभित्र हावाझैँ फैलँदै गएपछि अप्रत्यासित रुपमा मानिसहरुको भीडले अस्पताल घेर्न थालिसकेको थियो। “यो सब सूर्यबहादुर थापाको फेरि प्रधानमन्त्री हुने चाल हो,” अस्पताल अगाडि जम्मा भएको भीडबाट सेतो दाह्री पालेको मान्छे करायो, “ठकुराठी त मोहरा मात्र हुन्, यो दरबार भित्रकै तस्करहरुको खेल हो।” भीडको बीचबाट हातमा ब्यान्डेज बाँधेको एउटा केटा कुर्लिदै भन्यो, “झुन्ड्याउनु पर्छ, तिनीहरुलाई ।” “ए नकरा तँलाई पनि उडाउलान् पाजी !” दाहिने कानमा कुण्डल लगाएको केटाले उसको साथीको कानैमा गएर भन्यो, “चुप लाग्।” “साहसी हुन्, ठकुराठी। यिनको कलम डगेन,” भीडको बीचबाट एउटा पातलो मान्छेले मुठ्ठी उचाल्दै करायो, “यस्ता धेरै पत्रकारको खाँचो छ देशलाई।” २०२१ सालमा विज्ञान पढ्न नेपालको सुदूरपश्चिमी जिल्ला कञ्चनपुरबाट काठमाडौं छिरेका पदम ठकुराठी राजनीतिमा खुब चासो राख्थे। २०१७ सालमा तात्कालीन राजा महेन्द्र राणाहरुकै शैलीमा शिकार खेल्न शुक्लाफाँटा वन्यजन्तु आरक्षण क्षेत्र पुगेको बेला यिनले राजा महेन्द्रलाई भेटे। राजालाई भेटेपछि यिनी राजसंस्थाकै पक्षमा उभिए राजनीति गर्दागर्दै २०३४ सालमा कञ्चनपुरबाट चुनाव जितेर माननीय बने तर २०३८ सालको चुनावमा पराजित भएपछि यिनीले पत्रकारिताको क्षेत्रमा कलम चलाउन थालेका थिए। सत्य कुरा लेख्न कत्ति पनि नडराउने पदम ठकुराठीलाई त्यतिबेलाका केही मानिसहरुले भन्थे, “यी त महापञ्च सूर्यबहादुर थापाका मान्छे पो हुन् त।” सात “हामी मिस्टर ठकुराठीको अन्तिम सफलतामा पुग्दैछौँ,” भारतबाट डा. सहगलको टिम नेपाल आएर उपचारमा संलग्न हुँदा पनि ठकुराठीको स्थितिमा सुधार नआएपछि सरकारमाथि चौतर्फी दबाब बढ्दै गयो। सरकारले बिदाको दिन पनि नेपाल राष्ट्र बैंक खोलेर सात हजार डलर निकासा गरेर ठकुराठीलाई थप उपचारको लागि बैंकक पठायो। थाइल्याण्डको शहर बैंककस्थित समितिभेज अस्पतालमा भर्ना गरिएको ठकुराठीको उपचारमा संग्लग्न डाक्टरले धेरै दिनको प्रयासपछि बल्ल मुख खोल्दै भने, “तर एउटा कुरा…।” “के कुरा डाक्टर?” श्रीमती ठकुराठीले आत्तिदै भनिन्, “भन्नुहोस् न।” “उनी अब बाँच्छन्।” अग्लो जीउडाल भएको डाक्टरले आफ्नो कुहिरा आँखा नचाउँदै भन्यो, “तर होस् खुलेपछि या त उनी पूरै पागल हुन्छन् या बच्चाको जस्तो व्यवहार देखाउँछन्। या उनलाई पक्षघात हुनसक्छ।” सन् १९७५ तिर अमेरिकाको बमवर्षक विमानले भियतनामका आकाशमा फनफनी घुम्दै बम खसाल्थे। भियतनामी नेता हो चि मिह्नका चेलाहरु घना जङ्गलभित्र लुकेर बस्थे। जब अमेरिकी सेनाहरु तिनलाई खोज्न जङ्गलभित्र छिर्थे, तब गुरिल्ला युद्ध शुरु हुन्थ्यो। मर्ने र मार्नेको ठेगाना हुँदैन थियो। वर्षौंसम्म चलेको त्यो युद्धमा घाइते हुने अमेरिका सेना र अफिसरलाई लिएर भियतनामबाट उडेको विमानहरू थाइल्यान्ड पुग्थे तिनका ज्यान बचाउन। तिनै अमेरिकी सेनाहरुका लागि भनेर विशेष रुपमा खोलिएको थाइल्यान्डको समितिभेज अस्पतालमा भर्ना गरिएको पदम ठकुरीको पैंतीस दिनपछि बल्ल होस खुल्यो। “मिस्टर ठकुराठी के छ हाल खबर ?” अग्लो जीउ डाल भएको डाक्टर कुहिरा आँखा नचाउँदै कोठाभित्र छिरेरे होसमा आएका पदम ठकुराठीको हात समाउँदै भन्यो, “भन्नुहोस् त, अहिले अमेरिकाको राष्ट्रपति को छ ?” “किन सोधेको ?” ठकुराठी छक्क परे। म कहाँ आइपुगेँ भन्ने कुराको अत्तोपत्तो नपाएका उनले कोठाको चारैतिर हेरेर भने, “रोनाल्ड रेगन।” “कङ्ग्राचुलेसन्स।” डाक्टर छेउमा बसेकी श्रीमती ठकुराठीतिर हेरेर भन्यो, “अब कुनै चिन्ता लिनु पर्दैन। हामीले सोचेको भन्दा फरक नतिजा आयो। मिस्टर ठकुराठी पहिले जस्तो हुनुहुन्थ्यो, अहिले पनि उस्तै हुनुभयो।” “थ्याङ्क्यु डाक्टर,” श्रीमती ठकुराठीले खुशीका आँशु झार्दै भनिन्, “म आभारी छु, तपाईंहरुप्रति र नेपालका राजा वीरेन्द्रप्रति।” डाक्टर कोठाबाट बाहिरिएपछि श्रीमती ठकुराठीले हस्पिटलको झ्यालबाट बाहिर हेरिन्। त्यो साँझ अत्यन्तै शोभायमान बनेर दुलहीझैँ सिंगारिएको थियो बैंकक शहर। “पत्रकारलाई गोली हानेर पनि सत्य कुरा लुक्छ ?” पदम ठकुराठीले झ्यालनेर उभिएर अन्तै हेरिरहेकी श्रीमतीलाई आफ्नो नजिक बोलाए। उनी श्रीमानको छेउमा पुगिन्। श्रीमतीतिर हेर्दै उनले भने, “सत्ता र शक्तिले मान्छे कसरी पशुमा रूपान्तरण हुन्छ देख्यौ मनशा !! यिनीहरुविरुद्ध म अझै लेख्छु, निरन्तर लेख्छु।” (कल्याण गौतम रेडियो प्रस्तोता हुन्। उनी स्रोताहरुबीच डियर कल्याणका रुपमा लोकप्रिय छन्।) #कल्याण गैतम #पत्रकार #पत्रकारिता
अङ्कुरको गजल: ढलाई देशको शान, के गर्दैछौ यस्तो दुखाएर बर्तमान, के गर्दैछौ यस्तो ।। च्यातेर टालाहरु, रुवाइ आमालाई उफ ! देशका शैतान, के गर्दैछौ यस्तो ।। अटल माथ सगरको, तल झार्न खोजी, आफ्नै शिरको अपमान, के गर्दैछौ यस्तो ।। हर मञ्चमा उस्तै, देशभक्तलाई बिर्सी, देश द्रोहीलाई सम्मान, के गर्दैछौ यस्तो ।। भुँडी भरी शासकको, बुद्धि भ्रष्ट गरि, हरे ! मेरो भगवान, के गर्दैछौ यस्तो ।। #अङकुर चन्द
जीवन एक स्क्रिप्ट: जी वनलाई घटना मान्न सकिँदैन । तसर्थ जन्म र स्वाभाविक मृत्युलाई पनि घटना मान्न सकिँदैन । जन्मपछि मृत्यु अवश्य आउँछ । समयजस्तो कालजीवि भएर बाँच्न सकिँदैन । हाम्रो सुरू छ र नै अन्त्य पनि छ । जसको उद्भव हुन्छ, त्यसको विनाश पनि हुन्छ । तर विनाशको अर्थ यो होइन कि त्यो हाम्रा जगत र ब्रह्माण्डबाट अकस्मात् हराएर जान्छ । त्यसले कुनै न कुनै प्रक्रियाद्वारा आफ्नो स्वरूप मात्र परिवर्तन गरिरहेको हुन्छ । कति कुराहरू निर्धारित (निश्चित) हुन्छन् भने कति कुराहरु अनिर्धारित (अनिश्चित) हुन्छन् । यही दुईको माझमा द्रव्यमानको कुल मात्रा नित्य कायम रहन्छ । स्पेश र समयलाई छुटाएर छुटाउन सकिँदैन । हामी स्पेश र समयभित्रै जन्मदछौँ अनि मर्दछौँ पनि । हामी छौँ तर हामी स्पेस र समयमा छैनौँ भन्न सकिँदैन । भौतिक स्पेसको प्रत्यक्ष (बोधगम्य) हुन्छ तर समयको हुँदैन, त्यसैले समयको वर्णन हामी स्पेससित (स्पेसको स्थायित्वसित) जोडेर जान्दछौँ । समयको एउटै मात्र आयाम छ । यसको न त सुरू छ, न अन्त्य नै । तर स्पेस र समयभित्र अवस्थित हामी मानवको चाहिँ अवधि हुन्छ । हाम्रो आफ्नै मौलिक स्वाभाविकता छ । हामी हाम्रो संसारभित्र स्वाभाविक (प्राकृतिक) मृत्यु मर्दछौँ । हामीले अप्राकृतिक वा असामयिक मृत्युलाई घटनासित जोड्ने गरेका छौँ अनि मन बुझाउनलाई चाहिँ ईश्वरको महान् इच्छासित । जन्म र मृत्युलाई भाग्यसित जोड्यौँ भने हाम्रो निर्भरता भाग्य लेखिदिने त्यो महान् शक्तिकारप्रति जान्छ । अनि हाम्रो मस्तिष्कमा एउटा प्रश्न उठ्नसक्छ—हामी प्रत्येक व्यक्तिको जीवनको स्क्रिप्ट (पटकथा) लेखिदिने रचनाकार को हुन् त ? [bs-quote quote=”नैतिक आदर्शका आधारहरूबिना मानव संसारमा प्रेम, शान्ति अनि प्रगति सम्भव हुँदैन । त्यसरी नै ईश्वरबिनाका नैतिक आधारहरूको कुनै महत्वै हुँदैन ।” style=”default” align=”left” color=”#dd9933″][/bs-quote] हामीले हाम्रो जीवनको स्क्रिप्ट लेखिदिने लेखकलाई ‘ईश्वर’ नाम दिएका छौँ । हाम्रो जीवनको पूर्वकथा ईश्वरले नै रचिदिएको हो भने हामीलाई हाम्रो रचनाकारसित भेट गर्न अवश्य मन लाग्नेछ । त्यो अदृश्य रचनाकारको खोज हामी आफैँमा एउटा अधिकार पनि हो । खोजिरहेका कति प्रश्नहरूका उत्तरहरु नपाइँदा हामी कुनै अलौकिक शक्तिस्रोतको परिकल्पना गर्दछौँ । हामीले त्यस्तै अलौकिक शक्तिलाई हाम्रो जीवन-जगतको निर्देशक मानेका छौँ । निर्देशकले हामीलाई कतिपय स्वतन्त्रता दिए तापनि आखिरमा उनले हामी जन्मनुअघि नै लेखिदिएको जीवनको स्क्रिप्टअनुसार नै हाम्रो अन्त्य हुन्छ भन्ने मान्यता रहेको पाइन्छ । धर्मग्रन्थहरूले पनि यही कुराहरू अप्रत्यक्षरूपमा स्वीकार्छन् अनि ईश्वरको अनुयायी भएर उनको अनुग्रहमा बाँच्न सिकाउँछन् । यसको अर्थ यो होइन कि मैले ईश्वरको खण्डन गरिरहेको छु । वास्तवमा विज्ञानले त्यो अलौकिक शक्तिस्रोतको खोज आफ्नै तरिकाले गरिरहेको हुन्छ । ईश्वरको मन बुझ्ने कोसिस गरिरहेको हुन्छ । ईश्वरको सैद्धान्तिक अस्तित्वबिना संसार चल्दैन । नैतिक आदर्शका आधारहरू बिना मानव संसारमा प्रेम, शान्ति अनि प्रगति सम्भव हुँदैन । त्यसरी नै ईश्वर बिनाका नैतिक आधारहरूको कुनै महत्त्वै हुँदैन । सैद्धान्तिकरूपमा नै भए तापनि हाम्रा आशा, आकांक्षा अनि आस्थाको निम्ति ईश्वरको अस्तित्व अनिवार्य हुन्छ । तर मानिसहरूले त्यति मात्र बुझ्न चाहेका छैनन् । कतिले ईश्वर सर्वशक्तिमान हुनुहुँदो रहेछन् भन्ने कुरालाई मात्र विशेष ध्यान दिएको पाइन्छ । ईश्वरबाहेक हामी कोही पनि पूर्ण स्वतन्त्र छैनौँ । ईश्वरका असाधारण निगरानी अनि इच्छाको अनुग्रहभित्र हाम्रो जीवनको खेल कायम रहन्छ साथै उनको शक्तिअघि हाम्रो शक्तिको त्यस्तो कुनै विशेष प्रभाव नै रहँदैन । त्यसरी ईश्वरको रचनाभित्र हामी दाससरह हौँ । कति मानिसहरूले ईश्वरका शक्ति र प्रतिष्ठाको अनुकरण गर्दै मानवरूपि ईश्वर बन्ने कोसिस गरिरहेका हुन्छन् । जब कुनै व्यक्तिले ईश्वरका चालहरूलाई चोरी गर्दै शक्तिमान बन्दै जान्छ उसले पनि ईश्वरले झैँ हामी धेरैको जीवनको स्क्रिप्ट लेख्ने कोसिस गर्दछ । ईश्वरले जन्मनुअघि नै लेखिदिएका जीवनको स्क्रिप्टमा उसले आफ्नै क्षमतानुसार हस्तक्षेप गर्दछ । मानिसका जन्मजात अधिकारहरू हनन् गर्दछ । उसलाई हाम्रा स्वतन्त्रता अनि खुशीहरू छिन्नमा बढी आनन्द लाग्दछ । उसले कसैको मौलिक अधिकारहरू छिन्नमा आफ्नो अधिकार नै मान्न थाल्दछ । उसले त्यो काम कुनै पनि व्यक्तिको कुनै पनि कमजोरीद्वारा भ्रम सिर्जना गरेर गर्दछ । [bs-quote quote=”ईश्वर बन्न चाहनेहरूले ती कमजोरीहरूको फाइदा उठाएर राष्ट्र र सङ्गठनका स्क्रिप्टहरू मात्र होइनन् हामीले बाँच्नुपर्ने जीवनको स्क्रिप्ट समेत गुप्तरूपमा लेख्ने गर्दछन् । हामीलाई थाहा हुँदैन कि कसरी संसारका शक्तिशालि राष्ट्रहरू, शासकहरू, पुँजीपतिहरू अनि नीति निर्माताहरूले हाम्रो स्वाभाविक जीवनमा हस्तक्षेप गरिरहेका हुन्छन् ।” style=”default” align=”left” color=”#dd9933″][/bs-quote] परिवार, सङ्गठन अनि देशले आफ्ना उद्देश्य र सङ्कल्पअनुरूप स्क्रिप्ट लेखेका हुन्छन् । पारिवारिक प्रतिष्ठामा सांस्कृतिक, सामाजिक अनि राजनैतिक तत्त्वहरूको जटिल जडान हुन्छ । सङ्गठनहरूले पनि आफ्नो सङ्गठनका हित र प्रवर्धनमा संविधान लेखेका हुन्छन् । देशवासीहरूको जीवन उनीहरूको राष्ट्रले लेखिदिएका संविधानका नियम, अधिनियम अनि कानूनहरूले चल्दछ । देशवासीहरूभन्दा पनि उनीहरूको राष्ट्रका संविधान र कानून ठूला हुन्छन् । तर सङ्ग-सङ्गठनहरूदेखि लिएर राष्ट्रले लेखेका संविधान र कानूनहरूको प्रयोगमा शक्तिशालि व्यक्तित्वले हेरफेर गर्ने कोसिस गरिरहेको हुन्छ । शक्तिशालि र सम्पन्न व्यक्तिले संविधान र कानून तोड्नु र आफ्नै कानून अन्तर्भुक्त गर्नु कति बेर लगाउँदैन । कारण प्रयोग गर्ने र गराउनेहरू सबै मानिसहरू नै हुन् । अनि प्रत्येक मानिसका लोभ, स्वार्थ र कमजोरीहरू हुन्छन् । ईश्वर बन्न चाहनेहरूले ती कमजोरीहरूको फाइदा उठाएर राष्ट्र र सङ्गठनका स्क्रिप्टहरू मात्र होइनन् हामीले बाँच्नुपर्ने जीवनको स्क्रिप्ट समेत गुप्तरूपमा लेख्ने गर्दछन् । हामीलाई थाहा हुँदैन कि कसरी संसारका शक्तिशालि राष्ट्रहरू, शासकहरू, पुँजीपतिहरू अनि नीति निर्माताहरूले हाम्रो स्वाभाविक जीवनमा हस्तक्षेप गरिरहेका हुन्छन् । हामी बिहान उठेर कुन ब्रान्डका चिया-कफी पिउनुदेखि लिएर कस्ता पारिवारिक, सामाजिक, सैद्धान्तिक, व्यावहारिक अनि सांसारिक जीवन जिउनुपर्ने भन्ने कुरामासमेत अप्रत्यक्ष तरिकाले अदृश्यरूपमा निर्णय लिइरहेका हुन्छन् । वस्तु र विचारद्वारा भ्रम सिर्जना गरेर हामीलाई उनीहरूको गुप्त स्क्रिप्टअनुरूप जिउन सिकाइरहेका हुन्छन् । हामी मेडिया, सामाजिक-सञ्जाल अनि अन्तर्सञ्जालको परिधिभित्रबाट बाँचिरहेका हुन्छौँ। हामीलाई ग्राहक र नागरिकको रूपमा केही हदसम्म दासत्वको जीवन जिउन वाध्य बनाइरहेका हुन्छन् । उनीहरुका इच्छा, विचार अनि योजनानुरूप बाँच्न प्रेरित गरिरहेका हुन्छन् । यी सबै उनीहरूको (शक्तिशालिहरूको) स्क्रिप्ट लेख्ने नयाँ तरिकाहरू मात्र हुन् । ईश्वर छ या छैन त्यो हामी किटान गरेर भन्न सक्दैनौँ । तर त्यसरी जे हुन्छ सबै ईश्वरको इच्छानुरूप नै हुन्छ भन्यौ भने जीवन जिउनुको कुनै अर्थै रहँदैन । भाग्यमा जे लेखेको छ त्यो नै हुन्छ भन्यौ भने हामी भाग्यवादमा (नियतिवादमा) खस्दछौँ अनि असीम प्रतिगमनको चपेटमा पर्दछौँ । त्यसरी सोच्ने हो भने त वर्तमानमा चलिरहेको कोरोना भाइरसको महामारी पनि ईश्वरकै इच्छा मान्नुपर्यो अनि आ-आफ्नो भाग्यको खेल । भोलि कुनै देशले हाम्रो देशमाथि आक्रमण गरिहाल्यो भने ईश्वरकै इच्छा मान्नुपर्यो । ‘ताकतवरको जीत’ जस्तो डार्विनको प्राकृतिक चयनको सिद्धान्तहरूलाई मान्नेहरूले युद्धलाई जायज ठान्दछन् साथै भ्रम सिर्जना गर्नसक्नुमा आफ्नो सफलता । यसकारण हामी प्रत्येक व्यक्ति सचेत, सक्षम अनि ज्ञानी बन्न अति आवश्यक छ । नत्र भने अज्ञानी र दुर्बलहरू जङ्गलका गाई-भैँसी र मृगहरू बन्नेछन् अनि ताकतवरहरू चाहिँ बाघ, सिंह र चितुवाहरू। [bs-quote quote=”हामी बाँचिरहेको जीवन पूर्णरूपले स्वतन्त्र बचाइँ होइन रहेछ । हामीलाई थोपिदिनेहरू धेरै हुँदो रहेछन् । हामी कमजोर भयौ भने हामीलाई कसैले पनि आफ्नो फाइदाको निम्ति प्रयोग/उपभोग गर्न सक्ने रहेछ ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] माथिका कुराहरूबाट के भन्न चाहेको भने हामी बाँचिरहेको जीवन पूर्णरूपले स्वतन्त्र बचाइँ होइन रहेछ । हामीलाई थोपिदिनेहरू धेरै हुँदो रहेछन् । हामी कमजोर भयौ भने हामीलाई कसैले पनि आफ्नो फाइदाको निम्ति प्रयोग/उपभोग गर्न सक्ने रहेछ । हामी अनजानिमा उनीहरूद्वारा डिजाइन गरेको (रचित) स्क्रिप्टको शिकार बन्नुपुग्दो रहेछौँ । कमजोर बन्नु भनेको एउटा जबर्जस्ती अज्ञानताको जीवन बाँच्नुपर्ने वाध्यता पनि रहेछ । यही वाध्यतामा हामी एउटा कृत्रिम भ्रममा फस्दो रहेछौँ अनि जीवन-जगतको सत्य नबुझी मर्दो रहेछौँ । धनी र शक्तिशाली व्यक्तिहरूले हामीलाई बजारका उत्पादित सामानहरू (वस्तुहरू) जस्ता मात्र ठान्दो रहेछन् । त्यस्तो दासत्वको जीवन जिउनु हुँदैन भन्नु नै यस लेखको मूल उद्देश्य हो । ती तथाकथित अनि कृत्रिम स्क्रिप्टहरू तोड्न स्वचेतना, शिक्षा र ज्ञानद्वारा मात्र सम्भव हुन्छ, अनि त्यसको सुरू चाहिँ हामी चिन्तन र स्वविश्लेषणद्वारा गर्दछौँ । #ईगम खालिङ
फेरि बल्झियो खाटो बसेको घाउ: भि त्तामा झुण्डाइएको घडीले रातको बाह्र बजेको संकेत गरिसकेको छ । तर पटक्कै निद्रा छैन । निष्पट्ट अँध्यारो रात सुनसान छ । मनमा उठेका उथलपुथल छालहरुले शरीर रन्न तातिएको छ । झ्याल खोलेर टाउको बाहिर निकाल्छु, चिसो हावाले केही शितलताको महसुस हुन्छ तर बाहिर मात्र भित्रको सुनामी उस्तै छ, सुनसान सडक, आकाशका ताराजस्तै झिलिमिली बत्तीले सजिएको शहर टाढा टाढासम्म नियाल्छु । अहँ, कतै पनि आफ्नोपन भेट्दिनँ । निराशाको कालो बादल मडारिँदै आएर छोपेजस्तो चारैतिर अन्धकार देख्छु । पूरा नभएका सपनाले घच्घच्याएजस्तो, जिस्काएजस्तो । खै किन हो कुन्नी ? आफैँसँग हारेजस्तो । कोसिस गर्छु, साहस बटुलेर हाँस्ने । अहँ, सक्दिनँ । पटक्कै सक्दिनँ । फेरि नियाल्न पुग्छु, त्यही शहरलाई, लाखौँ मान्छे यिनै कंक्रिटका महलभित्र निसास्सिएका छन् । लाग्छ, मेराजस्तै लाखौँका सपना तुहिएका होलान् यही खाल्डोभित्र । आमा केही छिन निदाएकाले मनलाई केही सान्त्वना मिलेको छ । तर कता कता सहारा खोजिरहेछ । “तँ पीर नगर, म छु”, भन्ने मान्छेको अभाव महसुस भएको छ । अनायासै फर्कन्छु, त्यो बालापनमा । माटो र ढुंगाको सानो घर, जस्ताको छानो चिटिक्क थियो । आमाको मिहिनेत घर र करेसाबारीमा छर्लङ्ग देखिन्थ्यो । आँगनमा पाइला राख्नसाथ जोकोहीले आमाको प्रशंसा सुरु गर्थे; सेविका सुवेदी कति सफा घर ! सागसब्जी कस्तो राम्रो सप्रिएको ! फूल बगैँचा उस्तै सुन्दर ! आदि । पल्लो आँगनबाट बाजेले जवाफ फर्काउँथे, “यस्तो जाँगरिली आइमाई त यो गाउँमै छैन । यो रामे मोराको भाग्य बलियो रहेछ । अल्छे मोरो ! संगतले आजभोलि त अल्ली जाँगरिलो भाछ ।” बाले जवाफ फर्काइहाल्थे, “हैन बाजे, म अल्छे भाको भए हजुरको तीन खला खेत कस्ले जोत्यो त ! एघार वर्षको उमेरदेखि यही माटोसँग खेल्या छु, हजुरका छोराले हलो समाएका छैनन् ।” बाजे अलि शान्त स्वरमा जवाफ फर्काउँथे, “तँलाई मात्र जोताएको छु र मोरा ?” सबै हाँस्थे । आमा मुसुमुसु हाँस्दै भित्र पस्नुहुन्थ्यो । बा सबेरै उठेर खेत जानुहुन्थ्यो । आमा घरको सारा काम भ्याएर मलाई स्कुल पठाई बाको लागि खाना बोकी खेतमा जानुहुन्थ्यो । साँझ दुवै जना कहिले घाँस दाउरा त कहिले अन्नको भारी लिएर बाजेको पिँढीमा बिसाउँथे । पसिनाले निथ्रुक्क भिजेका कपडा शरीरमा लपक्क टाँसिएका हुन्थे । बाको तालुमा नाम्लोको डाम छर्लङ्गै देखिन्थ्यो । कुर्कुच्चा पट्पटी फुटेका हुन्थे । भारी बिसाएर लामो स्वास फेर्न नपाउँदै बज्यै बाँकी कामको लिष्ट भिराउँथिन् । आमा नसुनेझैँ गरी घरतर्फ लाग्नुहुन्थ्यो, बा त्यही भारीमाथि ज्यान ढलाएर घुर्न थाल्नुहुन्थ्यो । म पण्डित बाजेको आँगनमा खेलेर हुर्किएँ । साथीहरुले, “तिम्रो घर कुन हो ?”, भन्दा म त्यही घरलाई आफ्नो भन्दिन्थेँ । तेरो–मेरो, ठूलो–सानो, राम्रो–नराम्रो, कुनै भेद थिएन । सबै आफ्नो अनि सबैको प्यारो । बाजेको रुखो बोली, बज्यैको नमीठो गाली, सबै प्रिय लाग्थ्यो । मेरो नजरमा सबैभन्दा नजिकका साथी यिनै दुई थिए । म मस्त निद्रामा छँदा शंख र घण्टाको आवाजले ब्युझाउँथ्यो । जुरुक्क उठेर दगुर्दै बाजेको आँगनमा तुलसीको मोठ नजिक पुग्थेँ । दुवै हात जोडेर आँखा बन्द गर्थेँ । बाजेको नजर प–यो कि छैन ? बीचबीचमा आँखा खोलेर बाजेको अनुहारमा हेर्ने प्रयत्न गर्थेँ । लामा लामा जुँगाभित्रबाट मुख खोलेर मुसुमुसु हाँस्दै भन्थे, “यो लाटो रामेकी छोरी खुब बाठी छ, चलाख छ ।” पूजा सकेपछि एक दुई रुपियाँका सिक्कासहित फलफूल मेरा हातमा आइपुग्थे । म फुरुङ्ग पर्दै भित्रतिर दौडन्थेँ, ठूलो शरीर, कालो वर्ण, ठूल्ठूला आँखा हेर्दा सक्कल डरलाग्दो देखिए पनि सायद मनका कोमल थिए होला बिहानै गाउँका मान्छे सहयोगको लागि हात पसार्दै आइपुग्थे । दैनिक स्कुलबाट फर्किएपछि बज्यैले बिहानको बचेको बासी भात दिनुहुन्थ्यो, कपाकप खान्थेँ । अनि भाडा माझ्ने, कुचो लाउने, पानी बोक्ने काममा बज्यैलाई साथ दिन्थेँ । मीठो–नमीठो, यो खान्छु, त्यो खान्छु भन्ने मौका कहिल्यै पाइनँ । कहिलेकाहीँ बाजेले कथा सुनाउनु हुन्थ्यो, ध्यान दिएर सुन्थेँ । मनमनै आफूलाई तिनै कथाको पात्रभित्र पाउँथेँ । कहिले आफू पनि त्यस्तै हुने कल्पनामा रमाउँथेँ त कहिले तिनै पात्रसँग विद्रोह गर्थेँ । बाजेसँग वन जान्थेँ । ठूल्ठूला रुखमा चढने हिम्मत गर्थेँ । कुनै काम गर्दिनँ, सक्दिनँ भन्ने बानी थिएन । त्यही भएर बाजे फुर्काइरहनु हुन्थ्यो । साँझ आमा फर्किएपछि मात्र घर जान्थेँ । दिनभरको कामको थकाई भए पनि आमा फेरि खाना बनाएर खुवाउनु हुन्थ्यो । उहाँको मुहारका कहिल्यै दुःख, निराशा र रिस देखिदैन थियो । बा चाहिँ रिसाइरहनुहुन्थ्यो, “यी शासकको कहिलेसम्म नोकर भएर बस्नु, जति काम गरे नि मीठो खान, राम्रो लाउन हाम्रो भाग्यमा लेख्या छैन क्यारे ! न त कुनै दिन फुर्सद छ । अब हुन्न ! छोरी पनि ठूली भई । अब म विदेश जान्छु । यिनको गुलामी गरेर उँभो लागिन्नँ । यसरी न तलाईँ खुसी दिन सक्नु, न त छोरी पढाउनै ।” ”अरु सबै कुरा गर, तर छोडेर जाने कुराचाहिँ नगर है ! विदेशमा के पैसा फल्छ र ? दुःख त जहाँ पनि गर्नु परिहाल्छ नि !”, बाको कुराले आमा मुखमा पुगेको गाँस पनि छोडेर रुन थाल्नुहुन्थ्यो । “हामी टुहुरा, बा आमाजस्ता बाजे बज्यै छन् । दुई छाक खान पुगेकै छ । मीठो मानेर खाए सबै मीठो हुन्छ । हामी साना मान्छे, यही घरमा हुर्कियौँ । साहु हुन्, सारा गाउँले मानेका छन् । केही वचन त सहनेैे प–यो नि ! आफूभन्दा ठूला मान्छेसँग रीस राख्नु हुन्न, दशा लाग्छ । गाउँको पढाइसकेपछि बाजेले नै माइला दाइसँग शहर पढ्न पठाउँछु भन्या छन् छोरीलाई ।” आमा सम्झाउनु हुन्थ्यो । बा जवाफ फर्काउनु हुन्थ्यो, “पठाए भन्ने मात्र हो । काम खानलाई, नचिन्या मान्छे हुन् यी पण्डित !”, सन्कदै उठेर हिँडनुहुन्थ्यो । समयको रफ्तारसँगै दिनहरु बित्दै थिए । बिस्तारै मैले बुझेका, सुनेका देखेका कुरामा फरक महसुस हुन थाल्यो । आफ्नै ठानेको पण्डितको घर आफ्नो लाग्न छोडेको थियो, बाजे बज्यैका गालीले कता कता बिझ्न थालेको थियो । गरिबी, अभाव र सम्पन्नता बीचको अन्तरले आत्माग्लानि हुन्थ्यो । बा-आमाको कडा मिहिनेत केवल दुई छाक टार्न मात्र सीमित थियो, यी सब कुराले मभित्र विद्रोह भाव जागिसकेको थियो । तर चुपचाप सहनुको विकल्प थिएन । बुढ्यौलीसँगै बाजे बज्यैको कचकच बढ्दो थियो । शरीर थाक्दै गएकोले होला, पहिलेजस्तो रवाफ थिएन । सबै छोराछोरी विदेश थिए, एउटा छोरो शहरमा । ती पनि चाडबाडको बेला मात्र घरमा पाइला टेक्थेँ । बाआमा प्रतिको जिम्मेवारी पटक्कै देखिदैनथ्यो तर बूढाबूढीमा भने छोराछोरीसँग बस्ने चाह स्पष्टै झल्कन्थ्यो । बूढाबूढीको स्याहारदेखि घरको सबै कामको जिम्मा मलाई थियो । एसएलसीपछि शहर लगेर पढाउने आश्वासन बाजेका माइला छोराले छोडेका थिए । त्यही आसमा म रमाइरमाई सारा काम गर्थेँ । मनमा अनेक सपना सजाएर त्यसैमा मक्ख थिएँ । आफ्नो घर थिएन, न त एक टुक्रा जमीन । यही कुरामा बाको बारम्बार गुनासो सुनेकी थिएँ । पण्डितले आफ्नै जग्गामा बाको बिहेपछि बनाइदिएको घर रहेछ, मैले बल्ल थाहा पाएकी थिएँ । ममा बाको गुनासो सम्बोधन गर्ने ठूलो इच्छा थियो । वैशाख महिनाको घाम चर्को थियो । केही समयदेखि बज्यैलाई सञ्चो थिएन । खुट्टा सुन्निएका थिए । खाना खाएर आमा बज्यैलाई मसाज गर्दै हुनुहुन्थ्यो । बाजे पिँढीको सुकुलमाथि लडिरहेका थिए । बा भने बिहानभरि कामको थकाई, एकैछिन आराम गर्छु, भन्दै घरभित्र छिर्नुभएको थियो । बाजे छोरा फर्केर आएनन् । “मर्न पाए हुन्थ्यो, सास जान पनि कति कठिन रहेछ”, भन्दै फतफताई रहेका थिइन् बज्यै । अचानक जमीन हल्लियो । के भो? के भयो ? भन्दा भन्दै घरका ईँटाहरु झर्न थाले । गाउँका मान्छेहरु हल्ला गर्न थाले । पिंढीबाट लतार्दै बाजेलाई आँगनमा ल्याएँ । अहो, बा घरभित्र । म जोडले चिच्याएँ, “बा, बा..।” दौडन खोजेँ, खुट्टा चलेनन् । बल्लबल्ल घरको नजिक पुगेँ, पूरै घर गर्लम्मै ढल्यो र जमीनसँग मिल्यो । बाको आवाज बन्द भयो । आँखा धमिलो हुँदै गयो । चारैतिर अन्धकार थियो । सपनाजस्तो, मुटुको धडकन फुट्लाजस्तो गरी धड्किरहेको थियो । त्यसपछि के भयो ? थाहा भएन । होसमा आउँदा हस्पिटलको बेडमा थिएँ । आमा नजिकै अर्धचेत अवस्थामा । थाहा पाएँ, बाले संसार छोडिसक्नु भएछ । सोधेँ, बाजे बज्यै ? दुवैलाई काठमाडौँ लगिसकिएछ । हाम्रोजस्तै धेरैका समस्या थिए, कतिले परिवार गुमाएका त कति अपाङ्ग भएर बाँच्ने प्रयत्न गरिरहेका । सबैलाई नियाँले, धन्न ईश्वर ! मन टुक्राटुक्रा भए पनि शरीर त सकुशल छोडिदियौ! बाँच्ने हिम्मत गरे आमालाई हेरेर दरिलो सहास बटुलेँ । केही समय सबैको सहयोग थियो, अरुसँगै टहरोमा बास थियो । दिन बित्दै गए, त्यो गाउँमा बाको यादले झन्झन् सताउन थाल्यो । बस्ने मन नै भएन जमीन हल्लिन छोडेको थिएन । यस्तै अवस्थामा आमालाई लिएर गाउँ छोड्ने निणर्य गरेँ । जे त होला ! लाखौँ मान्छे अटेको त्यो शहरमा हामी कसो नअटौँला ? म आमालाई लिएर काठमाडौँ छिरेँ । कतै बाजेबज्यैसँग भेट हुन्छ कि भन्ने झिनो आशा बाँकी नै थियो । गाउँका एक दाइले बस्ने कोठासम्म खोजिदिनु भयो, महिनाको तीन हजार भाडा । अँध्यारो, चिसो दिउँसै बत्ती बाल्न पर्ने त्यही भए पनि रात काट्ने सहारा बन्यो । काम खोज्न होटल होटल चाहारेँ, बल्लबल्ल काम पाएँ । बिस्तारै गाउँ छोडेपछि आमालाई पनि बाको न्यास्रो कम हुँदै गयो । आमा ठीक हुँदै जानु भयो । एउटा घरमा काम पाउनुभयो । “घरको काम सजिलो छ, गर्छु भन्नु भयो”, मैले नि हुन्छ भनिदिएँ । अब अलि सजिलो हुँदै गयो । आमाको काम गर्ने घरमा राम्रो कोठा लिएर बस्न थाल्यौँ । मेरो पढ्ने चाहना दबाएरै राखेकी थिएँ । आमा हो, उहाँले मैले भन्दा बढी सम्बोधन गर्नुहुन्थ्यो, मेरा चाहनालाई । आमाछोरी सल्लाह गर्यौँ । मैले पढ्न सुरु गरेँ । बिहान कलेज जाने, दिउँसो होटलको काम छोडेर मार्केटिङ्ग गर्न थालेँ । एघार कक्षाको रिजल्ट पनि राम्रो आयो, बाह्र कक्षाको परीक्षाको तयारीमा थिएँ । केही समयअघिदेखि आमालाई केही समस्या देखिएको थियो । डाक्टरको सल्लाहअनुसार औषधि लिइरहनुभएको थियो । यसैबीच कोभिड–१९ को महामारी विश्वभर फैलिएका समाचार आउन थाले । चैत्र ११ बाट नेपालमा पनि लकडाउन सुरु भयो । हाम्रो काम पनि बन्द भयो । अफिस बिदा भएर सबै घरमा भएकाले आमालाई काममा आउनुपर्दैन भन्ने आदेश भयो । “केही समय हो, त्यसपछि सब ठीक हुन्छ,” आशा थियो । आजभोलि भन्दै दुई महिना बितिगयो । विगतको यादले आमालाई सताउन थाल्यो, दुःख अभावको घाउ बल्झिन थाल्यो । यसको प्रभाव दुई वर्षदेखि जित्दै आएको सुगर प्रेसर र दमले आमालाई जित्न थाल्यो । केही दिनदेखि धेरै चाप्दै थियो, भोक निद्रा लाग्न छाडेको छ । बाको मृत्युपछि चुरोटको सहाराले मन बुझाउने बहाना बनिसकेको थियो । आमालाई त्यसैले दमले सतायो । अहिले बल्ल आमा निदाउनुभयो, तर मलाई पटक्कै निद्रा छैन । किन किन, एक्लो महसुस भएको छ । बाको अभाव झनझन् खड्किएको छ । यस्तो विपतमा अलिकति आँट दिने, साथ दिने कोही नहुँदा बेसहाराझैँ भएकी छु । एउटा विपत्तिबाट उठ्न नपाउँदै फेरि अर्को विपत्ति, आमाको स्वस्थ्य, सबै सम्झँदा मन भारी भएको छ । आमालाई झनझन् समस्या बढिरहेको छ । यस्तो बेला न उपचार गर्ने पैसा छ, न त साथ दिने मान्छे ? थाकिसकेको घाउ फेरि बल्झिएको छ । बाले छोडेर गएको त्यो कालो दिनले किन हो कुन्नी, घरिघरि तर्साइरहेको छ । #मजदुरी #सेविका सुवेदी
फूल: “दाइ दाइ” आवाजले टक्क अडिन्छ ऊ । चारैतिर नजर दौडाउँछ । सुनसान सडक छ। फ्याट्टफुट्ट गुडिरहेका गाडीहरु छन् तर कोही देखिँदैनन्। भ्रम परेको होला भनेर ऊ फेरि अगाडि बढ्छ। फेरि आवाज आउँछ, “दाइ दाइ।” अर्जुन थापा “दाइ, यता तल क्या ! कस्तो नदेख्नुभएको मलाई ?” माइतीघरको मण्डलमा लस्करै फुलिरहेको फूलहरुमध्ये कुनैबाट आवाज आइरहेको छ। “तिमी पो ! यस्तो सुनसानमा कसले बोलायो भनेर अचम्म परेको त,” फूल तिर हेर्दै ऊ । “मुखमा मास्क लगाएर हिँड्दा त चिनेँ टाढैबाट तपाईंलाई मैले । तपाईं भने !” खिसिक्क हाँस्दै फूल । “सबैलाई चिन्न छाडिसकेको छु म अचेल मैले । अब त आफैँलाई चिन्न छाड्ने पो कि भन्ने डर लागिरहन्छ,” फूल नजिकै गएर भन्छ ऊ । “यस्तो लकडाउनको बेला पनि किन डुल्न निस्केको त ? कि लकडाउन छ भन्ने नै बिर्सनु भयो ?” जिस्काउँदै फूल । “भोलि केही होला जस्तो छ, मण्डलामा नै आइराख्नु भनेको भएर आएको त, सुनसान पो छ त!” चारैतिर आँखा डुलाउँदै । “तीन चार दिन अगाडिसम्म त केही चहलपहल नै थियो । हिजोदेखि सबै बन्द छ । कुरा मिल्यो रे भन्ने सुनेको हो मैले पनि,” बाक्लिदै गएको केटोको सेतो दाह्रीलाई हेर्दै भन्छे फूल । “यो कोरोनाको कारण व्यापार चौपट भयो नि मेरो ! दिनमा एउटा न एउटा पार्टीको सभा जुलुस भै रहन्थ्यो र मेरो व्यापार पनि फस्टाएको थियो । बिस्तारै सम्पर्क बढ्दै थियो,” खल्तीमा रहेको आधा खिल्ली चुरोट सल्काउँदै । “त्यही त नि ! यो लकडाउन भयो भन्ने खबर सुन्नेबित्तिकै तपाईंको अनुहार झट्ट आएको थियो दिमागमा मेरो । विगत केही वर्षदेखि लगातार यही मण्डलामा आएर पार्टी पिच्छेको झण्डा बोक्दै कराउनु भएको थियो। कति पटक त पुलिसले गाडीमा हालेर लगेको पनि देखेकी छु तपाईंलाई । र, तपाईंको लवाइखवाईमा आएको परिवर्तन पनि राम्ररी देखिरहेकी थिएँ,” चुरोटको धुँवाबाट आफूलाई जोगाउँदै फूल । “दिनमा तीन चार घण्टा यही मण्डलामा आएर उनीहरुले सिकाएको कुराहरुलाई क्यामेरामा बोकेका पत्रकारका अगाडि चिच्याई-चिच्याई करायो बस् । पैसा पनि राम्रै पाउने र खाना पनि । बिस्तारै कमिसन लिएर भाडामा मान्छेहरु पनि राखेको थिएँ । जति मान्छे चाहियो भन्ने माग हुन्थ्यो, त्यति व्यवस्था गरिदिन्थेँ। यही हिसाबले व्यापार बढेमा अर्को वर्षसम्ममा काठमाडौंमा नै थोरै भए पनि जग्गा लिने विचारमा थिएँ ।” मण्डलाको छेउमा खम्बामा झुण्डिरहेको च्यात्तिएर लखतरान परेको नेपालको झण्डालाई हेर्दै भन्छ ऊ। “देशमा भएका हरेक पार्टीका मान्छेहरुसँग सम्पर्क छ होइन र ? किन सहयोगको लागि भन्नु हुन्न त तपाईं ?” उपाय बताउँदै फूल । “गतिविधि ठप्प छ । तिमी भन्दा खत्तम अवस्थामा छौँ हामी त झन् भनेर भन्छन् जुन पार्टीवालालाई भने पनि । रोगले भन्दा पनि भाकले मार्ने भयो त अब,” मुखभित्र खैनी हाल्दै । बीच सडकमा ४–५ वटा गाईहरु आरामले बसिरहेका छन् । त्यत्तिकैमा परबाट एउटा मत्तको साँढे आएर एउटा गाईमाथि चढ्न थाल्छ। अलिपर रहेका ट्राफिकहरु गोरु गाईमाथि चढेको खुब चाख दिएर हेर्न थाल्छन् । “मेरो एकएक गरेर पत्रकारझैं सबै सोध्यौ तिमीले अनि तिम्रो चैँ के छ नि खबर?” अब उसले सोध्न थाल्छ फूललाई । “नरिसाउनु होला दाइ, हामी अहिले यति खुशी छौँ कि के भन्नु !” अनुहारमा चहक ल्याउँदै फूलले भनी, ”नदेखेको र नसुनेको भइरहेको छ । बिहान हुन पाएको छैन गाडीहरुका बैराग लाग्ने टाईं र टुईंका आवाज । थोत्रा गाडीहरुबाट निस्केको कालो मुस्लोहरु । जसले गर्दा मेरा सन्तानहरु फक्रिनुपूर्व नै ओइलाइसकेका हुन्थे । दिन छिप्पिन पाएको छैन, च्याउसरि उम्रेका राजनीतिक दलहरुका जुलुसले हामी हैरान भइसकेका थियौं । हामीमाथि निर्वाध रुपमा हिडिँदिन्थे । खैनी गुट्खा खाएर हामीमाथि नै पिच्च थुकिदिन्थे । कुस्ती खेल्ने मैदानजस्तो भएको थियो यो ठाउँ । ऊ त्यो सयपत्री फूल तपाईंले कुल्चिदा ढलेको, अझैसम्म उठ्न सकेकी छैन,” रिसाउँदै भन्छ फूल । बिस्तारै मण्डलाभित्र आँखा दौडाउन थाल्छ उसले । वरिपरि फुलिरहेका सुन्दर फूलहरु एकआपसमा जिस्कँदै मस्किदै खेलिरहेका । भँमराहरुले निर्वाध रुपमा छानी छानी फूलका रस पिइरहेका देख्छ । सफा र शान्त भएर बसिरहेको मण्डल देख्दा एक्कासि आत्मग्लानि भएर आउँछ उसलाई । जुरूक्क उठ्छ, बिस्तारै पाइला सार्दै एक एक गरेर सुन्दर फूलहरुलाई मुसार्न थाल्छ । प्रदर्शनको क्रममा यहाँ आएर उफ्रेको, कोपिला लाग्दै गरेको फूलहरुलाई उखेलेको, आफूले भाडामा ल्याएका मान्छेहरुलाई तोडफोड गर्न लगाएको आदि हरेक कुराहरु सम्झन थाल्छ ऊ । एक फन्को लगाई सकेपछि फेरि अघिकै फूल नजिकै गएर बस्छ ऊ । “सानै भए पनि सुन्दर देश हाम्रो । संसार भरिमा सुन्दर मन भएका हामी । तर कथित व्यक्तिका पछाडि लागेर आज हामी कहाँबाट कहाँ पुग्यौँ! अघि तपाईंको कुरा सुनिरहें मैले तर जुन व्यापारको कुरा गर्नुभयो त्यो व्यापारबाट केही दिनका लागि तपाईंको अनुहारमा खुशी ल्याउला तर त्यही खुशीले भित्रभित्रै तपाईंलाई खोक्रो बनाउने थियो । हामीले मात्र आजको र आफ्नो सोच्नाले यो हविगत भयो । देशमा धेरै पार्टीहरुको जन्म भए तर ती पार्टीहरुले देशको नभएर मात्र आफ्नो दुनो सोझ्याउने काम गरे । हेर्नुस् त ! संसारभर महामारीको अवस्था छ । तर पनि यसबाट ठूलो शिक्षा लिन सक्नुपर्छ हामीले । संसारका शक्ति राष्ट्रहरुले पनि हात उठाएको अवस्था छ । भनेपछि ठूलाठूला हातहतियार, मिसाइल तथा पैसाले के नै गर्न सक्दो रहेछ र ! रोग लागिसकेपछि पैसाले केही गर्न सक्दो रहेनछ भन्ने अहिलेको अवस्था भन्दा राम्रो उदाहरण अरु के होला र? मृत्युपश्चात् चार जनाले आँशु खसाल्ने बाटो राखेमा मात्र उसले जन्म लिएको सार्थक हुन्छ जस्तो लाग्छ । समयमा हुँदैमा आफूलाई सुधार गर्न सकेन भने…।” फूलको कुरा केहीबेर सुनिसकेपछि ऊ बिस्तारै उठ्छ त्यहाँबाट। अघि यहाँ आउँदा जुन भारी मन लिएर आएको थियो, फर्कंदा हलुङ्गो बनाएर फर्कंदै छ । अनुहारमा छुट्टै चमक देखिएको छ उसको । मण्डलको बीचमा उभिएर, सकेको लामो श्वास लिएर ऊ बिस्तारै अगाडि बढ्छ । धुम्बाराही, काठमाडौँ #अर्जुन थापा
रुकुम: पदम विश्वकर्मा रुकुम रोइरहेछ आज भेरीसँगै सुसाइरहेछ नमीठो लयमा भीरपाखामा गुन्गुनाइरहेछ नमीठो भाकामा । सधैँ हराभरामा रमाउने रुकुम शितलतामा रमाउने रुकुम आज खडेरीको उजाडजस्तै फुस्रिएको छ दन्केको आगोजस्तै जलिरहेको छ । रुकुम तिमी, दशौं वर्ष लडिरह्यौ – स्वतन्त्रताको खोजीमा – प्रजातन्त्रको खोजीमा – भेदभावको अन्त्यको नाममा – सामन्तवादको अन्त्यको नाममा र – लडिरह्यौ गरिबहरुको पक्षमा । लडाईंमा, – तिम्रा सिद्धान्त र दर्शनको अनुसरण गरिरह्यौँ – तिम्रा विचार र भावनाको सम्मान गरिरह्यौँ – छातीमा गोलीहरु थापिरह्यौँ– जीवनको बाजी लगाएर – जंगलमै बितायौँ कलिलो उमेर–आफ्ना बा-आमा बिर्सेर – भोकभोकै बितायौँ कैयन प्रहरहरु –गरिबको सुदिन पर्खेर – घाम-पानी भनेनौं फगत–मुक्तिको बाटो कुरेर – झरी बादल भनेनौँ कहिल्यै–समानताको सुदिन सम्झेर – निरन्तर बन्दुक बोकिरह्यौं–उज्यालो दिनको कल्पना गरेर – निरन्तर ढलिरह्यौं–सुनौलो भविष्य सम्झेर तर रुकुम तिमी, – आफैँले रोपेका दर्शन र सिद्धानहरु बिर्सेर – आदर्श र ज्ञानहरु बिर्सेर – विभेदकारी बनिरह्यौ – अत्यचारी बनिरह्यौ – नरसंहारकारी बनिरह्यौ । रुकुम, तिम्रो आँगनमा नरसंहार हुँदा– तिमी चुपचाप बसिरह्यौ तिम्रो आकाशमा कालो बादल मडारिँदा– तिमी मौन बसिरह्यौ कलिला युवाहरु क्षतविक्षत हुँदा– तिमी अन्धो बनिरह्यौ भेरी नदी रगतमा पौडँदा– तिमी अमूक बनिरह्यौ । बोल रुकुम, सत्य सत्य बोल तिम्रै आँखाअघि ढुन्मुनाएका लासहरुको पक्षमा बोल तिम्रै आँखाअघि बगिरहेका अनाथ युवाहरुको पक्षमा बोल तिम्रै चेलीको चोखो प्रेमको पक्षमा बोल तिनै निमुखा र पीडित आत्माहरुको पक्षमा बोल र बोल, आँशु बगाइरहेका मृतकका आमाहरुको पक्षमा बोल । #दलित #पदम विश्वकर्मा #रूकुम
शान्तिको खोजीमा मेरा पाइलाहरु: राजेश कुमार विष्ट सिजापति मुटुभित्र मातृभूमिको अथाह माया सँगाल्दै राष्ट्रियता समाजवाद सुसंस्कृति अँगाल्दै भातृत्वप्रेम विश्व वन्धुत्व अनि दयामायाले ढुङ्गालाई पनि पगाल्दै अविरल यात्रामा अघि बढिरहेछन् शान्तिको खोजीमा मेरा पाइलाहरु दुःख पीडा रोदन क्रन्दन अभिशाप अनि सामन्तीका शोषण पीडन कुरीतिका जंघारहरु लोभ मोह ईर्ष्या धोका द्वेष घृणा पार गर्दै नसानसामा दया करुणाको सागर बगाउँदै अविरल यात्रामा अघि बढिरहेछन् शान्तिका खोजीमा मेरा पाइलाहरु चर्म चक्षुले नठम्याएका दृष्य परिदृष्यहरु दिव्य चक्षुले अनुभूति गर्दै उद्देश्य उडी चन्द्र छुन चिसा अँधेरी रातहरुलाई जूनताराले सेक्दै गृष्मका तापमानलाई पसिनाले छेक्दै अविरल यात्रामा अघि बढिरहेछन् शान्तिका खोजीमा मेरा पाइलाहरु #राजेश कुमार विष्ट सिजापति
सोच: दीपक समीप झलक्क हेर्दा ऊ त्यति राम्रो मान्छे त होइन । तैपनि उसले दिनदिनै नयाँ–नयाँ केटीहरू कसरी घुमाउँछ ? म सोच्न थाल्छु…. ऊ सामान्य सरकारी जागिरे हो । तैपनि उसलाई दिनदिनै दोहोरी रेष्टुरेण्ट धाउन कसरी पुगिरहेको छ ? म सोचमग्न हुन्छु…. पहिले हामी एउटै घरमा भाडामा बस्थ्यौं । हालसालै नयाँ घर किनेर ऊ डेराबाट मुक्त भएको छ । गाउँको त्यति जाबो जग्गा जमिन बेचेर शहरमा घर किन्न त गाह्रै पर्छ र पनि उसले घर कसरी किन्यो ? कतै चिठ्ठा पो पर्यो कि ! म गम्भीर सोचमा छु… पहिले–पहिले सँगै पैदल अफिस जाने हामी आजभोलि ऊ आफ्नै गाडीमा हुइँकिने गर्छ । पदोन्नति पनि भएको छैन । छोराछोरी विदेशमा कमाउन पनि गएका छैनन् । फेरि कुनै चिठ्ठा परेको पनि हामीलाई थाहा भएन । मान्छेले कसरी प्रगति गर्छन् हँ ? म सोच्न बाध्य भएको छु… जाडोको याम थियो । घाम ताप्न भनेर म घरबेटीको घरको छतमा टहलिँदै थिएँ । तल सडकमा रमिता देखियो । बुझ्दा, पत्ता लाग्यो– उसको घरमा अख्तियारले छापा मारेर उसलाई समातेर लगेछ। अब भने, मैले उसको बारेमा सोच्नै छोडिदिएँ । #दीपक समीप
पेशागत अनुभवको सँगालोः मान्छेको मन: वरिष्ठ मानसिक चिकित्सक डा. विश्वबन्धु शर्माद्वारा लिखित “मान्छेको मन” पुस्तक मूलतः लेखकको पेशागत अनुभवहरुको संगालो हो । यसमा लेखकले करीब चार दशक मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्दाको आफ्नो भोगाइहरु प्रस्तुत गर्नुभएको छ । नेपाली समाजमा समग्र चिकित्सा क्षेत्र नै त्यति व्यवस्थित नभइसकेको र आम जनतामा आधारभूत स्वास्थ्योपचारको स्थिति पनि सहज र सरल नभएको पृष्ठभूमिमा मानसिक चिकित्सासमेत सर्वसुलभ रहेको छ भन्ने स्थिति छैन । बहुलाएर विक्षिप्त भई हिँड्नेलाई मात्र मानसिक रोगी भन्ने आम बुझाइ रहेको छ अझै पनि । हाम्रो समाजमा बहुलाएको व्यक्ति र उसको परिवारलाई हेर्ने दृष्टिकोण पनि त्यति राम्रो भइसकेको छैन । यस परिप्रेक्ष्यमा मानसिक रोगीको डाक्टरलाई हेर्ने नजर पनि फरक हुने भइहाल्यो । अझ आजभन्दा चार दशक अगाडिको समाजमै मानसिक चिकित्सक बन्छु र नेपालमै सेवा गर्छु भनेर अठोट गर्ने डा. शर्माको आँट कम साहसिक छैन । पुस्तकमा विभिन्न किसिमका मानसिक रोगीहरुसँगको अन्तरङ्ग अनुभवहरु प्रस्तुत गरिएका छन् । सँगसँगै पाठकले मानसिक रोगका प्रकारहरु, अवस्थाहरु र चिकित्सकीय व्यवहारहरुसँग समेत प्रसस्त रुपमा घुलमिल हुने अवसर प्राप्त गर्दछ । पुस्तकमा हाम्रो बुझाइको मानसिक रोगी नभैसकेको तर उपचार गर्नुपर्ने अवस्थामा पुगेका विभिन्न व्यक्तिहरुको व्यवहारसँग साक्षात्कार हुन पाइन्छ । यस्तै एउटा प्रसङ्गमा एकजना युवा व्यवसायी हुन्छन् जसलाई बाटोमा कुनै चिज फालिएको देख्यो कि फर्केर हेर्न मन लाग्ने र त्यो के हो पत्ता लगाउनै पर्ने बानी हुन्छ । एकपटक तिनी साँझपख धुलिखेलबाट काठमाडौंतिर आउँदै हुन्छन् । साँगा भन्ज्याङ काटेर नलिञ्चोक ओह्रालोतिर लाग्दा भित्तामा केही कुरा देख्छन् र गाडी रोकेर झ्यालबाटै हेरेर हिँड्छन् । बोराजस्तो देखिने त्यो वस्तुलाई राम्ररी नहेरीकन हिँडेका उनको मनमा त्यसैको कुरा खेल्न थाल्छ । गाडीबाट ओर्लेर हेरेको भए हुने, किन हेरेनछु भनेर चिन्ता लाग्न थाल्छ । जति पर गयो उति कुरा खेल्न थाल्छ मनमा, वास्तवमा त्यो के थियो होला भनेर । त्यो भावना यति प्रबल हुन्छ कि घरमा गएर गाडी थन्क्याई कपडा फेरीवरी कोठामा बसिसकेको मान्छे फेरी कपडा लगाएर कसैलाई नभनीकन गाडी निकालेर त्यही नलिञ्चोकको उकालोमा पुग्छन् र त्यो चीज नियाल्न थाल्छन् । रातको समयमा नजिकै गई टर्च बालेर हेरेपछि उनी ढुक्क हुन्छन् कि त्यो वस्तु बोरा नै रहेछ । यस्तै वा अर्को रुपको समस्या भएका कैयौं मान्छेहरु हाम्रो समाजमा हुन सक्छन् । तिनीहरुको दैनिकी सामान्य रुपमै चलिरहेको हुन सक्छ । तीमध्ये कतिपय मानसिक चिकित्सकको सम्पर्कमै आइपुग्दैनन् । कतिपयलाई त आफूलाई मानसिक समस्या छ भनेर थाहा पनि हुँदैन । यी कुराहरुलाई पुस्तकमा प्रशस्त सम्बोधन गरिएको छ । किताब पढ्दापढ्दै मानसिक स्वास्थ्य र चिकित्साको बृहद आयाम तथा नेपालमा यसको अवस्थाको तस्बिर सजिलै बनिसक्छ । मान्छेको मनका कथाहरु समेटिएका छन् किताबको आधाभन्दा बढी हिस्सा ओगटेको पहिलो खण्डमा । तीन खण्डमा बाँडिएको पुस्तकको दोस्रो खण्डमा लेखकका आफ्नै कथाहरु छन् । यसमा लेखकको बाल्यकालदेखिको जीवनसंघर्षको कथा समेटिएको छ । र, अन्तिम खण्डमा मनका कुराहरु छन्, जसमा लेखकका निजी भावना, विचार तथा प्रसङ्गहरु समाविष्ट छन् । धेरै मान्छेका मनका कुरा भन्दाभन्दै लेखकले आफ्नै मनका कुरा पनि भनी भ्याउनुभएको छ । यसमा कुनै बनावटी पुस्तक हैन, लेखक स्वयंलाई पढिन्छ । भाषा यति सरल र सरस, र यति स्पष्ट छ कि पाठकले कृति पढेको हैन, कृतिकारसँग गफ गरिरहेको प्रतित हुन्छ । पाठक कान थापिरहेको हुन्छ, लेखक आफ्नो र अरु मान्छेको मनको पुन्तुरो फुकाउँदै गफिनुहुन्छ । गैह्र–आख्यान लेखनमा हुनुपर्ने महत्वपूर्ण कुरा हो– इमान्दार प्रस्तुती । लेखकले आफ्नो वा आफ्नो विचारको पक्षपोषण गर्ने कुरा मात्र होइन, कमजोरीहरुसमेत स्विकार्न सक्ने हिम्मत राख्नुपर्छ । यस पुस्तकमा लेखकले कतिपय प्रसङ्गमा आफ्नो कमजोरीका कुराहरु पनि निर्धक्कसँग समेट्नुभएको छ । एक प्रसङ्गमा आफ्नै क्लाइन्ट (बिरामी युवती) प्रति डाक्टर साबको आकर्षण भएको तथा उक्त युवती पनि त्यसरी नै आकर्षित भएको देखिएको बताइन्छ । पछि, तर, कुनै नराम्रो नहुँदै त्यो अवस्थालाई व्यवस्थापन गरेको कुरा लेखक बताउनुहुन्छ । धेरै डाक्टरहरुले जीवन र मरणबीचको झिनो रेखा नजिकबाट देख्नुभएको हुन्छ । मनोचिकित्सकहरुले पनि सन्तुलित र असन्तुलित मनबीचको त्यस्तै झिनो रेखा देख्नुहुँदो हो । हामी सामान्य मानिसलाई भयावह लाग्ने यस्ता कुरा वहाँहरुको लागि सामान्य दैनिकी बनिरहेको हुन्छ । चार दशकसम्म निरन्तर मनको उपचारमा लागिपरेका हस्तीको आफ्नै कलमबाट त्यै मनका विभिन्न आयामको चिरफार, उपचार र व्यवस्थापनका घटना÷ परिघटनाको कथाहरु प्रस्तुत भएका छन् प्रस्तुत पुस्तकमा । वास्तवमा मान्छेको मन नै होला संसारको सबैभन्दा अस्थिर र बेगवान कुरा । यस्तो मनको गुदी–बोक्रा केलाउने चिकित्सकको अनुभवको सार हो भनिदिँदा हुन्छ यो पुस्तकलाई । मानसिक रोगले सडकमै पुगेका वा आत्महत्या गर्ने स्थितिसम्मै पुगेका बिरामीहरुलाई उपचार गरेर सामान्य अवस्थामै ल्याइएका र अन्य यस्तै अनेक बिरामीहरुका प्रसङ्ग पाइन्छन् । त्यति मात्र होइन, सही उपचार नपाएका र औषधीलाई निरन्तरता नदिएका बिरामीहरुको वियोगान्त कथाहरु पनि यहाँ समेटिएको छ । मानसिक रोगहरु धेरै प्रकारका हुन्छन्– सिजोफ्रेनिया, डिप्रेसन, मेनिया, ओसिडी, एन्जाइटी, आदि । लेखक भन्नुहुन्छ– उपचार पनि एउटा कला हो । यो पुस्तक पढेपछि मानसिक रोगीप्रतिको बुझाइमा फरक आउन सक्छ । यहाँ हरेक दोस्रो व्यक्ति मानसिक रोगी हुन सक्छन् र यो असामान्य होइन । समयमै संयमताका साथ उपचार गरे यो रोग मज्जैले निको पनि हुन्छ । अर्को मैले थाहा पाएको कुरा के हो भने विद्युतीय झट्का (इलेक्ट्रिक सक) दिई गरिने उपचार औषधीद्वारा गरिने उपचारभन्दा धेरै गुना सुरक्षित र प्रभावकारी हुने रहेछ । हामीलाई चलचित्रहरुमा इलेक्ट्रिक सक लगाइको दृश्य कहालीलाग्दो रुपले देखाइने गरिएकोले त्यो एकदमै भयानक हुने सोच रहेको थियो । डा. शर्मा पुस्तकमा (अरु) मान्छेको मनका कुरा पनि गर्नुहुन्छ, आफ्नो मनका कुरा पनि गर्नुहुन्छ । त्यस बेलाको समाजमा पढ्न चाहने विद्यार्थीले झेल्ने समस्या पनि छन्, पेशागत जीवनका प्रतिस्पर्धा, खिचातानी र आफूलाई स्थापित गर्न गरेको अथक मेहनत र संघर्षका कथा पनि छन् । मलाई यस पुस्तकमा खट्किने कुरा चाहिँ के हो भने कतिपय प्रसङ्गमा, फलानो ठाउँको, फलानो थरको फलानो पदमा काम गर्ने व्यक्ति भनेर लगभग रोगीको परिचय खुल्ने गरी घटनाहरु उल्लेख भएका छन् । ती कुरामा गोप्यता राखिदिएको भए अझ राम्रो हुने थियो । समग्रमा पुस्तक एकदमै उत्कृष्ट छ र सबैलाई पढ्न सिफारिस गर्दछु । … … पुस्तकको विवरणः कृतिः मान्छेको मन प्रकाशकः मञ्जरी पब्लिकेशन, पुतलीसडक मूल्यः ने.रु. ४८५/– धुम्बाराही, काठमाडौं #मान्छेको मन
छिरिङको गजल: मालिकले दासलाई वास्त गर्दैनन् अचेल मलामीले लासलाई वास्त गर्दैनन् अचेल ।। के हँुदैछ हाम्रो देशमा अहिले यो सरकार ! गाँस बास कपासलाई वास्त गर्दैनन् अचेल ।। नहुनेहरू त नहुने नै भए के दिन सकिन्छ र ? थन्किएको रासलाई वास्त गर्दैनन् अचेल ।। कृतिम रंगहरूमा खुसी लेख्न बानी परेकाले फूलको सुभाषलाई वास्त गर्दैनन् अचेल ।। क्षितिज हेरेर गन्तव्य कोर्नेहरूले हो सायद आफ्नै खासलाई वास्त गर्दैनन् अचेल ।। #छिरिङ
पर्ख: हजुरजस्तै म पनि यही देशको नागरिक हुँ सरकार ! मैले केही मागिनँ हजुरसँग । जसरी मागे हजुरको चम्चेहरूले मन्त्री जसरी मागे हजुरको भान्सेहरूले सांसद जसरी मागे हजुरको सालोहरूले राजदूत जसरी मागे हजुरको सहयोगीहरूले ठेक्का पट्टा वा अतिरिक्त कमाई हुने भन्सार । यो माग्ने समयभरी मैले दिइरहँे हजुरलाई रिक्सा चलाएवापत कर अन्नबाली फलाउन हलो जोतेवापत कर माटोमा टेकेवापत कर रोड र पुलहरू बनाउँदा मजदुरी गरेवापत ज्याला कर । जसरी छल्थे हजुरका प्रशासकहरू घुसखोरी कर जसरी छल्थे हजुरका उद्योगीहरू आयत निर्यात कर जसरी छल्थे हजुरका व्यापारीहरू मुनाफा कर मैले कहिल्यै छलिन त्यसरी देशको लागि तिरिरहेँ कर । यतिखेर म मर्न लागेको छु भोकले लकडाउन छ संसार । भोकले रोटीबाहेक अरू केही सोच्दो रहेनछ रोटीबाहेक अरू केही देख्दो रहेनछ । हजुर भने भान्सामा मासु पकाएको फोटो पोस्ट गर्नुहुन्छ साबुन कम्पनीको मालिकले जस्तो भन्नुहुन्छ– ‘खाउ–पिउ र मज्जाले मिचि मिचि हात धोऊ । बाहिर ननिस्कछ महामारी ।’ हजुर भोकको अगाडि महामारी ? मृत्यु ? त्रासदी ? अरे ! छाडिदिनुस् यी वाहियात कुरो बाँचियो भने यी त फुर्सदमा सोचौंला । हजुरसँग कहिल्यै नमाग्ने म माग्दै छु पहिलो चोटि एक मुठी सामल । हजुर भने सम्झिदै हुनुहुन्छ ख्याल ठट्टा र खेल्दै हुनुहुन्छ मेरो संवेदनामाथि खेल । जसरी सुने हजुरले चम्चेहरूको बिन्ती जसरी सुने हजुरले भान्सेहरूको चाप्लुसी जसरी सुने हजुरले सालोहरूको घुर्की जसरी सुने हजुरले सहयोगीहरूको गुनासो सुन्नु भएन मेरो माग जो थियो सानो । अहो ! यो विपतको घडीमा पनि मैले हजुरलाई हजुर–हजुर भनिरहनु पर्ने हजुरले चाहिँ आफ्नो कर्तव्य बिर्सने ? पर्ख सोचेको छस् तैंले हामीलाई सधैं बुटको तलुवा बनाइराख्ने ? #पर्ख
पुरानो एउटा सम्झनाः पाथीभराको भाकल: पहाडको फेदमा पराले छानो भएको घरमा भदौरे झरीमा जन्मेँ म । मेरो बाल्यकाल त्यति दुखद् थिएन । मैले थाहा पाउँदा धेरै गाई, बस्तु, भेडाबाख्रा थिए। ठूलो जहान । खेतीकै काम थियो सबैको तर म पढ्न जान्थेँ । पढ्नु पर्छ भन्ने लागेर । छोराछोरी सबै जान्थे पढ्न । दिदीहरूको सानैमा बिहे भइसकेको थियो । चलन नै त्यस्तै । त्यो पनि मगनी । ठूला मान्छेले भनेको मान्नु पर्ने । आफैँ रोज्ने त के, कुरा काट्ने पनि आँटै हुँदैनथ्यो। छोरी धेर बाठा भए भने पोइल जान्छन्, छिटो बिहे गरेर पखेटा काटिदिनु भन्थे । बिहे नै विकल्प थियो । पढाइ गर्न नपाउँदा पाएको पीडा र दुःखले छोरी पढाउनुको रहस्य बुझ्दथेँ म । आमाले दुःख गरेर पनि आफूलाई पढ्न पठाएकोमा अत्यन्तै खुशी थिएँ । पढाइ र खेतीका काम बराबर गरिन्थ्यो तर आज काम गर्नुछ नजाओ भनेर कहिल्यै रोक्नु भएन । दुःखसुख गरेर स्कुल स्तरीय पढाइ सकियो । आफ्नो मनले चाहेको केही कुरा प्राप्त गर्नु परे देवीदेउतासँग शक्ति माग्ने चलन थियो । काम बनोस्, म यो चढाउँछु ऊ चढाउँछु भनेर भगवानलाई घुस ख्वाउने गरिन्थ्यो । कत्ति कुरा विश्वास पनि लाग्थ्यो । पास भए पाथिभरा देवीको दर्शन गर्न आउँला भनेर भाकल गरेकी थिएँ मैले पनि । भाकल गरेरै पास भएको हो भन्ने विश्वास लाग्थ्यो । पास भइयो पाथीभराको भाकल छँदैथियो। गाउँबाट ठूलै टोली त्यसतर्फ जाने भयो । त्यही हुलमा मिसिने भयौँ हामी पनि। सबैले आ–आफ्ना भाकलअनुसार फूलपाती, अक्षता, बाख्राका पाठा, कुखुराका भाले, हाँस, परेवाका बच्चा आदि डोहोर्याउन थाले । कसैको परेवा उडाउने भाकल, कसैको कालो पाठी चढाउने भाकल । कसैको अण्डा मात्र चढाउने पनि भाकल रहेछ। मेरो त फूलपाती चढाउने मात्र थियो । दुई-तीन दिनको यात्रा थियो। खाजासामल, ओढ्ने ओछ्याउने, पकाउने पस्किने, सबै कुरा भारी हालेर बाटो लागेँ । बाटोमा तिर्खा लाग्छ भनेर उसै दिनको लागि घरमा पारेको बाक्लो मोही एउटा तुम्लेटमा हाली माल्दाइ (घरमा काम गर्न राखेको) को ढाकरको खकन छेउमा तुर्लुङ्ग झुण्ड्याइएको थियो । जति हिँड्यो उति त्यो तुम्लेट लिख्रिक लिख्रिक हल्लिरहन्थ्यो । भारी बिसाएका ठाउँमा अलिअलि पिउँदै घटाउँदै पनि थिएँ । माल्दाइ गाईभैँसीको भन्दा अन्नको मोही पिउँदा रमाइला देखिन्थे । यात्रा गर्दा प्रायः उनलाई अलिकति पैसा खल्तीमा छुट्टयाइदिनु पर्थ्यो। बाटोमा लेक नलागोस् भनेर आमाले मकै भट्मासको सातु, चिउरा, अदुवा, टिम्मुर, अमिलो, धुले अचार आदि र खाजाका लागि चिउरामा कुराउनी र मह मोलेर ठीक पार्दिनु भएको थियो । लहलह बयली खेलेको धानको खेतैखेतैको हिलाम्मे करिम-करिम ओरालो बाटो । तुम्लेटमा आधा मोई छचल्किरहेको थियो ढाकरको बिटमा । घाम नचर्की बाटो काटनु पर्छ भनेर छिटोछिटो हिँडिदै थियो । एक्कासि बम पड्केको जस्तो भयानक आवाज आयो । झुण्डिएको तुम्लेटको बिर्को उडेर पर उछ्ट्टियो र ह्वात्तत् पिचकरी हान्यो मोहीले । आवाजले झस्याङ्ग भएका बटुवा र खेतमा काम गर्ने किसानहरू मरिमरी हाँसे । तुम्लेट रित्तियो, बिर्को हरायो । तुम्लेट पड्किएर सातोपुत्लो गएका माल्दाइलाई समाल्न हाँस्तै छेउमा पुग्दा, उनले त अघि नै कत्तिखेर अन्नको मोई पो सोड्क्याई सकेका रहेछन् । उनको यो रूप देखेर फेरि एकपल्ट सबैको मुखबाट हाँसोको फोहोरा छुट्यो । पाथीभरा जाँदा भने, ‘अन्नको मोई खाएर गएमा, अपशब्द बोलेमा अनिष्ट हुन्छ । सङ्कट हुन्छ । तुरुन्त हानी नोक्सानी ब्योर्नु पर्छ । भाकल पूरा हुँदैन । शुद्ध मनले देवीमाताकै सम्झनामा भजनकीर्तन गर्दै दर्शन गर्न गए सारै हल्कासँग यात्रा गरेर फर्कन्छन् । जीवनमा जानी नजानी गरेका गल्तीप्रति क्षमायाचना गर्दै अन्त मन गए पनि खैँचिएर काबुमा ल्याई म तिम्रै शरणमा छु भनेर एकचित्त हुनुपर्छ । यति बेला मादक पदार्थ लिनु हुन्न’ भन्ने मान्यताअनुसार उनले पनि यही मोहीमा चित्त बुझाउलान् भन्ने सबैलाई लागेको थियो । ‘साक्षात् देवी पाथीभरा माताले रुचाएको छ भने पाठाहरू पनि खुरुखुरु हिँड्छन्, नरुचाएको भए बाटैमा बिरामी भएर मर्छन् । कसैका पाठा त डोर्याएको डोरी नै खुस्काएर ठाउँको ठाउँ अलप हुन्छन्,’ भन्ने भनाइ पनि थियो । त्यसैले पाठाको डोरी नारीमा बाँधेर दरोसँग पक्डन लगाउने गर्दथे । बाटो मन्दिरसम्म पुगिन्जेल नै ठाउँठाउँमा करिम-करिमबाहेक उकालो थियो। ओरालो सकेर तमोरको खड्कुले पुल तरी सर्पजस्तो नागबेली उकालो तोक्मेसम्म नै हिँड्नु पर्ने थियो, पिठ्युँको भारीलाई वास्ता नगरी जंगलको बाटो, पत्करको सर्याक्सुरुक र चराचुरुङ्गीका मीठा आवाजसँगै झर्दै बिलाइ रहे पसिनाका धारा । डोबिल्काको पानी र ठाउँठाउँका तिरतिरे धारासँगै मेटिदै गए अतृप्त र अनगिन्ती प्यासहरू । रातको बास बस्न ताप्लेजुडको तोक्मे डाँडामा पुग्न सकिएन। अलि तल गाउँमै बसियो। भोलिपल्टको शनिबारे हाट रहेछ तोक्मे डाँडामा । मान्छेहरूको निकै चहलपहल थियो । झुरुप्प झुरुप्प बसेर किनमेल गर्दै खाजापानी खाइरहेका थिए । छेवैमा आर्मीको ब्यारेक थियो काँढेतारले घेरिएको। आकर्षक सुन्दर पोशाकमा सजिएका सेनाहरू देख्दा सालबोटे काकालाई सम्झी रहेँ। उनले गाउँमा आएका बेला त्यस्तै पोशाक लगाएका हुन्थे। ००० बाटो हिंड्नेहरूको भीड छिचोल्दै पाडो तान्दै गरेको एउटा समूह हतारहतार बजार पस्यो । पाडो मुखभरि फिँज निकालेर स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै आत्तिएर कता भागौँ जस्तो गर्दै थियो । बाँच्न खोज्ने त्यसलाई तान्दै लगेर एउटा किलोमा टम्क्याए । उतापट्टि मान्द्रो ओछ्याए । पाडोले फुत्किन धेरै प्रयास गर्यो तर केही लागेन । एउटाले बन्चरोको पासोपट्टिबाट पाडाको दुई सिङ्गका बीचमा लगातार तीन चारपटक मच्चाएर प्रहार गरियो। पाडो भूइँमा पछारियो । उनीहरूले एकैछिनमा छाला काढेर रातै मासु फिँजाइसकेका थिए मान्द्रोमा । आफ्नै अगाडि पाडो मारेको कहिल्यै नदेखेकी मैले सानोमा छिमेकी भाउजूले दिएको ठूलो खसीको मासु सम्झेँ तर आजको दृश्य हेर्न सकिने खालको थिएन । मासु खाएकी भए पनि यसरी मारेकै त देखेकी थिइनँ ! दशैँमा खसीको आन्द्राभुँडी धुन लगाउँदा पनि काट्ने बेलामा भने आइमाई-केटाकेटीलाई हेर्न दिँदैनथे । उभिएर हेर्न खोज्दै गर्दा हतार लगाउनेहरू भन्दै थिए, ‘माथि सुकेटार गिरानमा हावाजाज हेर्ने मन भए छिटो पाइला चाल ।’ तमोर तरेर उकालो लाग्दा चाँदीजस्तो टल्कने कञ्चनजङ्घाको छायाँ आफू सँगसँगै हिँडिरहेको जस्तो लाग्दै थियो । कोही कोही गाउन थाले रेडियोबाट बज्ने त्यो गीत– औँशी र पूर्णे हाट भर्नु मात्रै राम्रो तोक्मे बजार लौ है हजुर सिनामे साइली नि हाँगपाङ्गे माइली ल्याउने हाम्रो रहर लौ है हजुर सुकेटार गिरान बादलले घेर्यो जहाजै नबस्ला कि लौ है हजुर मायालु ज्यानको भरपरी बस्दा उमेरै पो जान्छ कि लौ है हजुर सुकेटार गिरान………घर सोध्दै आऊ है नि लै लै देउराली सिरान । पहिला तोक्मेमा बस्दा पनि सुकेटार गिरान पुग्ने मौका परेको थिएन । आज मौका पर्यो भन्ने पनि थिए धेरैजना । कहिल्यै घर नछाडेकालाई भने नौलो र अनौठो थियो त्यो । मलाई भने तीर्थमा हिँडेको बेला यस्ता मायाप्रीतिका गीत नगाए पनि हुने भन्ने लागिरहेको थियो । सुकेटार पुग्दा भर्खरै जहाज आएर पनि गई सकेछ । रित्तो चौर मात्र थियो । अघि उनीहरूले मायाप्रीतिको गीत गाउँदा मलाई मनमा लागेको डर यत्तिमै टरेजस्तो खुसी लाग्यो । मलाई मनमा एउटै डर थियो, ‘देवी रिसाएर केही अनिष्ट होला कि !’ उनीहरूको गीतको बोल सुन्दा बेलाबेला झर्को लागेर आउँथ्यो र भन्थेँ– ‘गीत नगाउनु नि हौ तीर्थ जाँदा त ! बरु भजन गाउँदै पो हिँड्नु नि!’ ‘सुकेबाट हिडेपछि एकरात जंगलको पाटीमा बिताउनु पर्छ । जाँदा जस्तो गारो हुँदैन आउँदा । बास बस्न सुके आइपुगिन्छ,’ भनेर दुई छाक खाना र सुत्ने मात्र सामान बोकेर बोकी गह्रौँ सामान त्यहीँको पसलमा राखिदिन अनुरोध गरी सामान छाडेर चिसो, ओसिलो, चिप्लो उकालोतिर लागियो । हिँड्दा हिँड्दै थाहै नपाई लेक लाग्छ है तैनाथ हुनुपर्छ भनेर आमाले भनेको कुरा याद आयो। एक हातमा झोलाबाट झिकेर टिम्मुर,सातु, अदुवाको पोको र अर्को हातमा लठ्ठी टेक्दै उकालो हिँडिरहेँ । ‘बाघभालुको डर हुन्छ सबै समूहमै हिँड्नू नि!’ आमाका कुरा पनि झल्झली सम्झना आइरहेको थियो । ‘भोलि बिहान माथिल्लो फेदीमा खाना खान पुग्ने हिसाबले छिटोछिटो हिँड्नु पर्छ,’ अनुभवीहरू भन्दै थिए । घाम छँदै भेटेका धेरै पाटीपौवाहरू छाड्दै हिँडिरह्यौं । झमक्कै साँझ परेर बाटो नदेख्ने बेला भैसक्दा पनि बास बस्ने पाटी भेटिएको थिएन । सिमसिम पानी पर्न थाल्यो । पानी त के शीत झरिरहेको थियो । बाटोभन्दा केही पर पिल्पिल बत्तीको उज्यालो देखियो । त्यहाँ पुग्दा त्यो त निकै सानो पाटी थियो, एकपाखो लडिसकेको । एक झर पानी पनि नधान्ला जस्तो । त्यहीँ पनि अघि नै एउटा बटुवा आएर बसिसकेको रहेछ । हाम्रो त्यत्रो ठूलो समूह त्यहाँ अट्ने सम्भावना थिएन । तैपनि अरू विकल्प नभएपछि अलिकति रहेको खाली ठाउँमा सबैले भारी बिसायौं । राति बास बस्दा चाहिन्छ भनी बोकी ल्याएको ठूलो प्लाष्टिक फैलाएर त्यसमाथि राडी, बुर्काशन, दरी के के थिए ओछ्याए सबैले । कम्बल, धूसा, मजेत्राहरू ओढ्न ठीक पारे । झोलाबाट चिउरा, सातु, पुवा, सेलरोटीका टुक्रा, बाबर, निकालेर खान थाले । अलिक परको डोबिल्काबाट उघाएर ल्याएको पानी धमिलो र बालुवा मिसिएको थियो। एकछिन टक्याएँ। सातु चिउराको साथी बनाउन अघिल्लो बटुवाले बनाएको अगेँनामा आगो जोरेँ। चिया पानी बन्यो। ‘त्यो पिंधको छोक्रा चाहीँ सबै यता लेऊ है कान्छी ! निक्कै गुलियो रच। मीठो हुन्छ,’ माल्दाइको यो भनाइमा सबै जना गलल्ल हाँसे। उनका मुखमा दाँत भने थिएनन्। मैले कुराउनीको अलिकति धुलो सातुमा छर्की दिएँ। थोते मुख मज्जाले चलाइचलाई चिया र सातुमा रमाए माल्दाइ। त्यस्तो जीर्णे पाटीको बासमा कोही पनि राम्ररी निदाउन सकेन। प्रायः सबैजना रातभरि बोली नै रहेका थिए। भुरा केटाकेटीलाई बीचमा पारेर छेउछेउमा लाठेहरू सुते पनि त्यति भयमुक्त भने कोही थिएनन्। जाडोले गर्दा केटाकेटीहरूले ओछ्यानमै सुइँक्याएछन्। बिहान सबेरै हिँड्नुपर्ने भएकोले सबैजना जर्याकजुरुक उठेर तयार हुँदै, रातिका आआफ्ना अनुभव बताउन लागे । ‘आफ्नो त कम्मर तिरबाट तातो आयो। न्यानो भएछ एकछिन त मजाले सुतिएछ। एकछिन पछिदेखि त चिसो भएर बूढो मुत डुंगडुंगती गनाउन थाली गो नि! केको सुत्न पाउनु र ! फेरि मसिनेले टेक्ने हातले देको देई। उसको खाने हात पन्छाउनु कि टेक्ने हात पन्छाउनु? म त पूरा खेतालो नि! मुतको न्यानो सकिएपछि मतिरै टाँसिन्छ फेरि। जम्माजम्मी एक झप्को निदाइयो होला!’रविनले नहाँसी भने पनि सुन्ने जति सबै मजैले हाँसे। आ–आफ्ना झोला पोको पारेर झिसमिसेमै फेरि लागियो उकालो। त्यति नगरे मध्याह्नमा पूजा गर्न मन्दिर पुगिदैनथ्यो । सेपिलो, जंगलैजंगलको बाटो । हातखुट्टा ठिहिर्याएर पानीजस्तै भएका थिए । नाकबाट अविरल तमोर बगिरहेको थियो । ‘अब पूजा नगरी केही खान मिल्दैन रे! यो दुई तीन घण्टाको बाटो त देवीको शक्तिले पनि तान्छ रे! सबैजना बोल्दै हिँड्नु पर्छ, थाहा नपाइकन लेक लाग्छ नि,’ गुन्गुनाहट सुनिदैथियो। नभन्दै अघिदेखि चुपचाप हिँडिरहेकी कमला थुचुक्कै भूइँमा बसी। आँखा सेता पारेर पल्टाई। साग ओइलाएको जस्तो लुलो भई। त्यसै पनि कमजोर लाग्ने। पहिलादेखि नै सानो ठक्कर वा चोट लागेमा वा रङ्गीचंगी चीज देखे अचानक बेहोस हुने मान्छे। झोलाबाट सातु, अदुवा, कागती, टिम्मुर निकालेर पालैपालो अनुहारमा, शरीरमा दलिदिन थाले। फुक्को सातु मुखमा पनि हालिदिए। कहाँ निलिनु? चिसा पसिना पो आए! त्यसमा पनि पूजा नगरी खानु हुँदैन भन्ने मान्यता थियो। पातमा जमिरहेको तुषाराको झुप्पाले निधार र हत्केला पुछिदिइन्, कान्छी दिदीले। तातोले सेक्नु पर्नेमा चिसोले के काम गर्थ्यो? अगाडि जाने अरूलाई थाहै भएन। एकछिनपछि बिस्तारै आँखा खोली। ‘झण्डै पो बोकाइन् है !’ पुरुले हाँस्तै भने। ‘धन्न छिट्टै छाड्यो,’ कान्छी दिदीले राहतको श्वास थपिन्। उसको झोला पनि आफैँ खप्टिएँ, ‘बिस्तारै हिँड्नु पर्छ, अब पुगिन लाग्यो ।’ कमलाले हिँड्ने साहास बटुल्दै भनी, ‘खुट्टै पो नटेकिँदा रछन् त !’ ‘मैले त झण्डै ढाकर पो ठीक गरेको !’ पुरुले जिस्क्याए र सँगसँगै हतेर्न थाले। बाटाभरि हँसाउने रमाइला मान्छे थिए उनी। पुरु र रविन भएपछि बाटो काटेकै थाहा नहुने। माथि पुगेका रविनहरू पर्खिरहेका थिए। ‘किन ढिला गरेको नि ?’ पुरुले हाँस्तै भने, ‘यी तिम्री फुपूले झण्डै ढाकर भरेकी । कति छिटो हिँड्या नि यार ?’ रविनले भने, ‘हिड्नु पर्छ । लौ हिडौं हिडौं । अलिक जीउ तातिन्छ ।’ सानो फेदी मास्तिर पुगेर शुद्ध पानी अचाएर मन्दिर परिसरमा प्रवेश गरियो। शुद्ध मन र पवित्र भावनाले क्रमैसँग देवीको दर्शन, पूजा आराधना गर्न थाले । जम्ला हात गर्दै, घोप्टो परेर आफ्ना भाकलहरू बिसाउन थाले– धुपबात्ती, नैबेद्य, अबीर र अक्षताका साथ । रङ्गीबिरङ्गी ध्वजापताका, भेटी अनि भाकलमा उठाइएका फूलपाती अक्षताहरू पवित्र मनले चढाए सबैले । अरूहरूले पठाएका फूलपातीहरू पनि जजस्को नाममा थियो सबै चढाइदिए । यसरी चढाइएका सामान र रङ्गले छपक्कै छोपेकाले शक्तिकी देवी भगवतीको मूर्ति प्रष्टसँग देखिदैनथ्यो । मन्दिरमा सानो भएर बसे तापनि सबैका हृदयमा विराट भएर बसेकी शक्तिकी देवीको नामै मात्र उच्चारण गर्दा वा सम्झिदा पनि हृदय पुलकित भएर आउँथ्यो। झन् अहिले पूर्णरूपमा समर्पित मनले पूजा र दर्शन गर्न आउन पाउँदा म हर्षले भरिएकी थिएँ । बली खाने र नखाने देवीको अलगै पूजा हुँदोरहेछ । फूलपातीसहित दर्शन मात्र गर्ने थियो मेरो। आफूले भाकल बुझाउन लगेका साना पाठा, परेवाका बच्चा क्रमैसँग बली दिइरहेथे मान्छेहरू । भन्थे, ‘बली दिनेबित्तिकै बली दिइएका पशुहरूको रगत त्यत्तिकै सुक्छ । बिलाउँछ भूइमा । बग्दैन ।’ आफूले गरेको भाकल पुग्नेमा ठूलो विश्वास थियो। आफूलाई सारोगारो परेको दुःख बिसाउन, आफ्नो नराम्रो बानी परिवर्तन गर्न कबुल गर्ने विशेष पवित्र स्थल हो पाथीभरा माताको मन्दिर। मागेको चीज अवश्य पाइन्छ अनि माताको प्रसाद ग्रहण गरे अनिष्टबाट बचिन्छ भन्ने विश्वास थियो सबैको। आफूलाई अप्ठेरो लागेको कुरा चढायो भने त्यो आफैँ सजिलो हुँदै जान्छ भन्ने विश्वासले होला, त्यहाँ किताबहरू पनि चढाइएका रहेछन्। मलाई गाह्रो लाग्ने गणित विषय चढाउन मन लाग्यो तर लगेकी थिइनँ। मनमनै चढाएँ। हराएका चिज पनि भेटिउऊ भनेर मन नै चढाई दिएँ । पहिला आइरहनेहरूले भने, ‘आफूले ल्याई चढाएका फूलपातीहरूको बदला अरू फूलपाती र सामानहरू प्रसादको रूपमा लान पाइन्छ । यहाँ चढाएका अरू कुराहरू पनि लान मन लागे पैसा राखेर लान सकिन्छ। त्यसै लग्यो भने चोरेको हुन्छ, त्यो मान्छे कि घरै पुग्दैन कि पुगी गए पनि वर्ष दिन काट्दैन।’ मलाई पनि यहाँको चिनो केही लान पाए हुने भन्ने लाग्यो। अघिदेखि नै मेरा आँखा भने त्यहाँ चढाइएका किताबमै परिरहेका थिए। त्यहाँ कसैले चढाएका मध्ये दुई किताब छानेर ती पुस्तकका मूल्य बराबरको पैसा त्यही छाडी दिएँ र लक्ष्मी निबन्ध संग्रह र गीतको एउटा किताब प्रसादको रूपमा लिएर फर्किएँ। अरूले के-के मागे, मनमा जिज्ञासा आइरह्यो । आफ्नो भाकलअनुसार पूरा भएको विश्वासमा सबैको मन चंगा भएको थियो । भर्खरै बलि दिएका टाउका छिनिएका पशुका शरीरहरूलाई घिसार्दै अघिकै बाटो फर्कियौं सबै । अलिक तल्तिर सानो तिर्तिरे धारो थियो । त्यहीँ छेउमा ल्याएर शीत चुहुँदै गरेका दाउराको उरुङ्गमा आगो सल्काई पाठाको भुत्ला डढाउन थाले । अर्कातिर पानी तातिरहेको थियो– परेवा कुखुरा भुत्ल्याउने। काटकुट गरी पकाउन तयार गर्दै थिए। महिलाहरूलाई पाठाका आन्द्राभुँडी धुने काम दिएका थिए। कोही अरूले गरिरहेको काम हेरेर टोलाएर बसिरहेका थिए । म भने यताउता पानी हाल्दिने, पखालपुखुल गर्न सहयोग गरी रहेकी थिएँ । आफूले भोग दिन पशुहरू नलगेकोले त्यसको व्यवस्थापनको कुनै चिन्ता थिएन । बरू चिन्ता त मासुभात कहिले पाक्छ र जाडोलाई चुनौती दिउँको मात्र थियो । चिसो मौसममा मासुभात प्रसादको रूपमा खाइयो। साना कलिला लुते पाठापाठीको झोल र भातले निकै तरान थप्यो। ‘खाना खाएर बास बस्न तोक्मे डाँडा मुनिको गाउँ पुग्नुपर्छ,’ भन्दै थिए पुरु र रविन। ‘ठूलो हुद्दा देखेर बास नदिन सक्छन् । कोही आफन्त कहाँ, कोही कहाँ छरिनु पर्छ। तीन-तीन वटा पाठाको मासु हामीले मात्र खाएर सकिँदैन । बोकेर तमोर तार्नु पनि हुँदैन । हामी जहाँजहाँ बास बस्छौँ, त्यहीँ दिनुपर्छ,’ पनि भनी रहेका थिए । मासुका झोलसँग धानको भात र धुले अचार पेट भरी खाएर, आ–आफ्ना पोका पन्तुरा बोकी लागे ओरालो सुकेटारतिर। पुरु र रवीन भन्थे, ‘छिटो हिँडौ है, आज भने हवाइजहाज देख्नै पर्छ ।’ बाटो ओसिलो, शिताम्मे र चिप्लो थियो । गोडा थामेर हिँड्नु पर्ने । उकालोजस्तो सजिलो थिएन ओरालो झर्नु । प्रायःले लौरोको सहारा लिएका थिए । निकै तल झरेपछि एउटा छाप्रो आयो । चिया र केही बिस्कुट, चारपाँच प्याकेट चाउचाउ पनि राखिएका थिए । उनीहरूको बासस्थान नै त्यही हो भन्ने प्रष्ट देखिन्थ्यो । राम्रो कुरा त त्यहाँ पानीको धारो थियो । पाठाको मासुले खरिएकाहरू सबैले पेट भरी पानी पिए र थकाई मारे। माल्दाई त ठूलो फल्याकको बेन्चीमा तमतन्न परेर एकछिन् ढल्किए पनि । कोही चौरीमा टक्य्राक् टुक्रुक् बसे, छेउछाउका सुकेका स्याउला ओछ्याएर अलिक अग्ला थुम्कामा । माथिबाट असाध्यै सुन्दर देखिन्थ्यो ताप्लेजुङ बजार । आफूले सानैमा पढेको भानु स्कुल पनि देखिएजस्तो लाग्थ्यो र आफ्नो अतित पनि झलझली आउँदै थियो दिमागमा । आज पनि देख्न पाइएन हवाइजहाज । भरखरै उडिसकेछ । लौ लौ हिँडी हालौँ भरे बासमा पुगिदैन भन्दै सबै लाग्यौँ ओरालैओरालो । ओरालो बाटो कत्ति छिटो कटिएछ, आइपुगियो तोक्मे । पुरुहरू आफन्तका तिर लागे । हाम्रो हुद्दा बराल बाजेकोमा । प्रसादका रुपमा मासुका टुक्रा दिएपछि त्यो घरका भुराहरू अचम्मै खुशी भए । आमा बुबाले पनि हाम्रो राम्रै स्वागत गरे । बिहान खाना खान घरै पुग्नुपर्छ सबैको भनाइ थियो । बिहानै भालेका डाकमा हिँडियो । उकालो भन्दा ओरालो चाँडै हुने त्यसमा पनि कहीँ जानु भन्दा घर आउनु धेरै छिटो हुन्छ भन्ने लाग्छ मलाई । भाकल पूरा गरेर घर आइपुगेपछि शरीरै फूलको थुंगो जस्तो हल्का भएको थियो । अब उच्च शिक्षाको लागि बाटो खोलियो । कल्पनामा आइरह्यो कलेजको चित्र। #पाथिभरा #मञ्जु विमली
हामीले लेख्दैगरेको साहित्यः कति सिर्जना कति व्यवस्थापन?: “साहित्य” को खोलमा हामी जुन कुरा बजारमा पठाउँछौँ, त्यसमा दुईमा एक कुरा गरिएको हुन्छः १. सिर्जना २. व्यवस्थापन । “सिर्जना”, अर्थात् सृष्टि । अर्थात् जन्म दिनु । “सिर्जना” गर्ने स्रस्टाले केही नयाँ कुरा जन्माएको हुन्छ । त्यो बासी हुँदैन । नयाँ हुन्छ । मौलिक हुन्छ । मौलिक कथ्य, अथवा तर्क, अथवा सूक्ति । अथवा, पुरानै कुरा भए पनि नयाँ र मौलिक संयोजनका साथ नयाँ अर्थमा प्रस्तुत गरेको हुन्छ । यो साहित्यको सञ्जीवनी हो । यो साधकले गर्न सक्छ । सर्जकले दुइटै भए पनि यस्ता हरफ दिन्छ, जो जीवनपर्यन्त झनझन झनझन गरिरहन्छ पाठक वा श्रोताको मनमस्तिष्कमा । सुन्यो भने कि हृदयभेदन गरिदिन्छ, कि मस्तिष्कभेदन । बाँचिरहन्छ । यस्ता सिर्जनालाई लोकप्रिय हुनबाट कसैले रोक्न सक्दैन । तत्कालै नहोला, तर दिन आउँछ । आएपछि, त्यो दिन, कहिल्यै पनि हराउँदैन । अनुवाद गर्न सकियो भने विश्वमा पनि जान्छ । जतिपल्ट पढे पनि उही शक्ति, उही तरङ्ग दिइरहन्छ । [bs-quote quote=”“व्यवस्थापान”, अर्थात् थुपै कुराको चातुर्यपूर्ण ढाकछोप । यसमा न कुरा नयाँ हुन्छ, न केही सिर्जना हुन्छ । पुराना कुरालाई नयाँ लुगा लाइदिने काम हुन्छ । सुन्दा वा पढ्दा छुन्छ पनि तर आवरण वा उपकरण फ्याँक्दै जाने हो भने, पुरानो कुनै कुराको अवशेष भेटिन्छ त्यसको गर्तमा ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] “व्यवस्थापान”, अर्थात् थुपै कुराको चातुर्यपूर्ण ढाकछोप । यसमा न कुरा नयाँ हुन्छ, न केही सिर्जना हुन्छ । पुराना कुरालाई नयाँ लुगा लाइदिने काम हुन्छ । नयाँ कार्यपीठिका, नयाँ शब्द जाल, छन्द वा अनुप्रासको नूतन जाल, नयाँ पात्र र परिवेशको रचना, आदि । सुन्दा वा पढ्दा छुन्छ पनि । रोमाञ्च पनि आउँछ । आँसु पनि आइहाल्छन्, अथवा “वाह” पनि निस्कन्छ । तर आवरण वा उपकरण फ्याँक्दै जाने हो भने, पुरानो कुनै कुराको अवशेष भेटिन्छ त्यसको गर्तमा । अखबारले बोकिल्याएको कुराको व्यवस्थापन, मान्छेको पुरानो नैसर्गिक भोक वा स्वभावको व्यवस्थापना, आमा वा बाको महिमा गान, देशको महिमा गान, प्रकृतिचित्रण, दुस्मन काटिदिने अभिव्यक्ति, प्रेम, विछोड वा यौनका कुरा, ईश्वर भक्ति वा निन्दा….कति कति । कतिपय भाव यस्ता हुन्छन्, जसलाई जसले जतिपल्ट भने पनि पिलिक्क आँसु आउँछन्, दिल छुन्छ, नाको टुप्पोमा कम्पन आउँछ । अनि हामी रोइदिन्छाैँ । व्यवस्थापकहरू के गर्छन्? कुरो पुरानो, अथवा सबैले भन्दै ल्याएको कुरा हुन्छ । नयाँ भाषिक संयोजनमा, नयाँ उपकरणका साथ, नयाँ संयोजन, नयाँ छन्द, नयाँ सुर वा लयमा आउँछन् । लठ्ठ पार्छन् । तर पनि कुरो कता हो सुने सुनेजस्तो । आफँैले पो भने भनेजस्तो । यसको पो हो कि, उसको पो हो कि जस्तो । । तर, यी सिर्जना होइनन्, “व्यवस्थापन” हुन् । यस्तो चीज कविको अनुहारको छापसहित बस्दैन दिमागमा । आँसु, ताली र वाहवाहीपछि, केही समयमै उक्किएर जान्छ, पर्खालमा लेखिएको चुनावी नाराजस्तो, जसको चुनावपछि कुनै अर्थ हुँदैन, अथवा एउटा प्रहसन जस्तो लाग्छ । तर यी विषयमा “सिर्जना” गर्न सकिँदैन भनेको होइन । सकिन्छ । आफ्नो बाटो तय गरेर एउटा मुकाम हासिल गरिसकेको स्रास्टाको हकमा यी दृष्टान्तको खास महत्त्व नहोला, तर नयाँ पुस्तका, उदयीमान र नवप्रवेशीका लागि यो विषय चिन्तनको एउटा खुराक हुन सक्छ । मलाई थाह छ, युवाहरूमा एउटा भर्भराउँदो पुस्ता आइरहेको छ र लोकप्रियताको बुलन्दी पनि छोइरहेको छ । तर, यो टिकाउ हुनु पनि उत्तिकै जरुरी । यस्ता नेपाली युवा कवितहरूले, हिजोसम्म कविताबाट भाग्नेहरूलाई कवितातिर तानेको सत्य हो । कवि र कविताको लोकप्रियता बढाएको सत्य हो । तर त्यो नै अन्तिम विन्दु होइन । यहाँ सिर्जना कम र व्यवस्थापन बढी भएको हुन सक्छ । त्यस लोकप्रियतामा टेकेर कविताको उत्कर्ष खोज्न उनीहरूले पनि बाँकी छ । सिर्जनातिर उक्लन गर्नुपर्ने साधना बाँकी छ । सामाजिक सञ्जालमा, अधिकांश अवस्थामा युवा र नवप्रवेशीको वाहुल्य हुन्छ । तर त्यस उमेरमा, साधनाको तहसम्म उक्लिएर निर्मित सूक्तिमय कविताको परख गर्ने सामथ्र्य वा सुझबुझ नहुन पनि सक्छ । त्यसैले, भाइरल कविताहरू, धेरैजसो अवस्थामा “वाहवाही इफेक्ट” का कारण फैलिएका हुन पनि सक्छन् । व्यवस्थापकहरू मनमस्तिष्क वा हृदयमा कम, तर ओठ, अखबार अथवा सञ्जालमा बढी बस्छन् । नेपालमा पनि र बाहिर पनि, साँच्चैका कवि मनहरूमा बस्छन् । फगत सामाजिक सञ्जाल तिनको लोकप्रियता मापन गर्ने कसी भने होइन । यस्ता भव्य कवि रिजर्भ पनि होइदिन्छन् । पाठ्यक्रममा आइदिँदा, अथवा कुनै ठूलो पुरस्कार पाइदिँदा, केहीलाई भने शुभचिन्तकहरूले सञ्जालमा ल्याइदिन्छन् । कति भने नेपथ्यमै बस्छन् । नोबेलै पाए पनि टमस ट्रान्ट्रमर र सिमस हिनीका कविता यसरी भाइरह कहाँ छन् र? अर्को कुरो, कतिपय कविहरू अघोषित सम्प्रदाय बनाउँछन्, जसले भाइरल बनाउने कार्य गर्छ । जस्तो वादका, जातका, विचारका सम्प्रदाय । बुझौँ, तिनको लोकप्रियता कोटरीभित्रै सीमित हुन्छ । [bs-quote quote=”कविता कवि हुन लेख्ने होइन । लोकप्रिय हुन पनि लेख्ने होइन । जीवन र जगतप्रतिको आफ्नो एउटा वैकल्पित दृष्टि स्थापित गर्न लेख्ने हो । त्यो दृष्टिको अभावमा कवि छायाहरूको पछि लाग्छ ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] कविता कवि हुन लेख्ने होइन । लोकप्रिय हुन पनि लेख्ने होइन । जीवन र जगतप्रतिको आफ्नो एउटा वैकल्पित दृष्टि स्थापित गर्न लेख्ने हो । त्यो दृष्टिको अभावमा कवि छायाहरूको पछि लाग्छ । कवितको वैकल्पित वा निजी दृष्टि बलियो छ भने हरेक कवितामा सूक्ति बनेर आइदिन्छ । छैन भने शब्दहरूको वीभत्स हत्या भइरहन्छ । #महेश पौड्याल
भीडमा: भीडमा मेरो हात समाउनेलाई सम्झना सदा मेरो दिलमा बास जमाउनेलाई सम्झना र माया उनकै मुटुभरी भुल्न सकिन मैले उनलाई कसैगरी अनायासै मेरो मनमा माया जगाउनेलाई प्यार सदा मेरो आँखामा छाया बनेर आउनेलाई । म कहाँ उनकै यादमा सायद ओझेल परे म उनको आँखामा पलभरमै मेरो आँखामा सपना ल्याउनेलाई मंगल कामना छ दिलको धड्कन बढाउनेलाई । मिलन थियो हाम्रो पलभरको यादगार क्षण भयो जीवनभरको तस्बिर भइ मेरो दिलमा समाउनेलाई आशिष लाख मुटु भरि प्यार बनी छाउनेलाई #भीडमा
भज गोविन्दम्: गोविन्द गिरी प्रेरणा तिमी सुत, सुतिराख तिमी निदाऊ, निदाइराख तिमी सपना देख, देखिराख अब तिम्रो भागमा सपनाबाहेक केही पनि बाँकी छैन ! भज गोविन्दम् । तिमीले दिएको वा नदिएको त्यो मतपत्रले प्राप्त भइसकेको छ शासकलाई तिमीलाई निर्बिघ्न शासन गर्ने अनन्त अधिकार भज गोबिन्दम् । अब तिमीले कसरी हाँस्ने वा रुने अब तिमीले कसरी बाँच्ने वा मर्ने अब उसो केके गर्ने त्यसको निर्क्योल गर्नेछ शासकले भज गोविन्दम् । अपठित शासकले दिनेछ विद्वत्ताको भाषण ज्ञान विज्ञानका अभिभाषण तिमीले पालन गर्नुपर्ने आचरण तिमीले समर्थन र विरोध गर्न पाउने सम्पूर्ण विषयको सूची दिनेछ उसैले भज गोविन्दम् । छूट हुनेछ चाकरहरुलाई छूट हुनेछ हुक्केहरुलाई छूट हुनेछ द्वारेहरुलाई छूट हुनेछ बाहिरिया बाहिरिनीलाई छूट हुनेछ भित्रिया भित्रीनीलाई ख्वामित शासकले सुन्नेछन् मात्र तिनका आवाज हराउनेछ तिम्रो आवाज ख्वामितको मूलद्वार बाहिरै भज गोविन्दम् । ख्वामितले देख्ने छैनन् दु:ख पीर व्यथा ख्वामितले सुन्ने छैनन् गरिबीको अनन्त रोदन ख्वामितले बुझ्ने छैनन् पहिरो गएको मनको व्यथा भोकलाई निषेध गरिएको छ शोकलाई निषेध गरिएको छ लौ कसरी तिनले मुण्टो उठाउने लौ कसरी तिनले प्रवेश पाउने भज गोविन्दम् । सुत र सुत्दै गाऊ भज गोविन्दम् उठ र उठ्दै गाऊ भज गोविन्दम् निदाऊ र निद्रैमा गाऊ भज गोविन्दम् सपना देख र सपनामै गाऊ भज गोविन्दम् गाऊ गाऊ भज गोविन्दम् भज गोविन्दम्। #गोविन्द गिरी प्रेरणा
प्रकाशकः के गर्दैछन् ? के पढ्दैछन् ?: कोरोनाभाइरसको संक्रमणका डरले विगत अढाई महिनाभन्दा लामो समयदेखि देश बन्दाबन्दीमा छ। यसका बाबजुद पनि देशमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । यस्तो विषम परिस्थितिमा सबैको मन मस्तिष्कमा डर तथा त्रास व्याप्त छ । यस्तो बेलामा लेखन र पठनमा रूचि हुनेहरूले पनि आफूसँग भएका पुस्तकहरू लगभग पढेर भ्याइसके। साहित्यकारहरु पनि लेखन, सञ्जाल बहस तथा अध्ययनमै व्यस्त छन् । तर पाठक र लेखकबीचको दूरीलाई छोटो बनाइदिने प्रकाशकहरु भने के गर्दै छन् त? उनीहरु पनि किताब पढ्छन् ? पढ्छन् भने के पढ्दैछन् ? यही सालभित्र कुन प्रकाशनले कस्ता पुस्तक बजारमा ल्याउँदैछन् ? तथा सरकारले निरन्तरता दिएको पुस्तक माथिको करका विषयमा के भन्छन् प्रकाशक ? अजित बराल, फाइन प्रिन्ट के गर्दैछन् प्रकाशक ? दशैँअघि अमर न्यौपानेको ‘गुलाबी उमेर’को प्रकाशनपश्चात् फाइनप्रिन्टले अन्य पुस्तक बजारमा ल्याएको छैन । फाइन प्रिन्ट तिहारपछि नेपाल लिट्रेचर फेस्टिभलमा व्यस्त भयो। फाइन प्रिन्ट के गर्दैछ त भन्ने प्रश्नमा प्रकाशक अजित बराल भन्छन्, “लकडाउन सुरु भएपछि पुस्तक प्रकाशन र बिक्री वितरणको काम त लगभग ठप्प नै भयो तर प्रकाशनका लागि घरबाटै गर्न सकिने पाण्डुलिपि अध्ययन तथा प्रकाशनका लागि फाइनल भएका पुस्तकहरूको सम्पादन लगायतका कामहरु भने भइरहेका छन् । अवस्था सहज हुँदै गएपछि तयार रहेका पुस्तकहरु क्रमबद्ध रुपमा बजारमा पढाइँदै जाने सोचमा छौँ ।” बन्दाबन्दीकै बीच पनि काठमाडौँ उपत्यकामा पुस्तकको होम डेलिभरीको व्यवस्था बुकहिलले गरिरहेको छ। संस्थाका कार्यकारी प्रमुख भूपेन्द्र खड्का लकडाउनमा पनि पुस्तकप्रतिको पाठकको आकर्षण देखिएकामा हर्षित छन्। उनी भन्छन्, “गलितो किताब हामीसँग छैन । अझ भनौँ, नेपालीलाई पुग्ने किताब नेपालमा लेखिएका छैनन् । घरमा भएका किताबहरु पढ्नेहरुले पढिसकेका छन् । राम्रा किताब निकाल्ने हो भने नबिक्ने भन्ने होइन तर हामीकहाँ कि त राम्रा लेखक भएनन् वा राम्रा किताब लेखिएनन्, कि त भनौँ लेखकहरुले मिहिनेत गरेनन् । अर्को कुराचाहिँ के पनि भयो भने, हामीसँग सम्पादक भएनन् । सम्पादनका नाममा सम्पादकहरुले प्रुफ हेर्ने काम मात्र गरे । गरिरहेका छन् । सबैभन्दा दुःखको कुरो यही छ ।” पुस्तक व्यापार ठप्पजस्तै रहे पनि शिखा बुक्सका पुष्पराज पौडेलले बन्दाबन्दीको अवधिमा अधिकांश समय प्रकाशनकै काममा बिताए । उनले यी अढाई महिनामा पाण्डुलिपि पढ्ने तथा डिजाइनका काम गर्नेमा खर्चिए। उनी भन्छन्, “यो समयमा पाण्डुलिपि नै मात्र मैले ५० को हाराहारीमा पढेँ । छाप्न सक्ने हो भने त पुस्तकको बाढी नै आउलाजस्तो छ यो वर्ष तर सबै किताब छाप्न समय नै प्रतिकूल छ ।” कृष्ण अविरल, मञ्जरी प्रकाशन न्यु इराका मोहनजंग राउतलाई कोरोनाले गाउँ पुर्याएको छ । यो समय प्रकाशनका काम तथा पुस्तकसँग भन्दा पनि उनी खेतीकिसानीमा बिताइरहेका छन् । उनी भन्छन्, “प्रकाशन गृह सुरुवातमा थियो । दशैँअघि विशाल दत्तको ‘मेटाफर’लाई बजारमा ल्याएका थियौँ तर लकडाउनसँगै बजार बन्द भयो । केही लेखकहरुसँग पुस्तक प्रकाशनका लागि छलफल भइरहेको भए तापनि कोरोना कहरकै कारण पक्का भने हुन सकेको छैन ।” पछिल्लो समय पुस्तक पसल तथा होम डेलिभरीलाई सञ्चालनमा ल्याए पनि पुस्तक बिक्री ठप्पजस्तै भएको बताउँछन्, मञ्जरी प्रकाशन गृहका सञ्चालक कृष्ण अविरल । प्रकाशकहरु के गर्दैछन् भन्ने साहित्यपोस्टको प्रश्नमा उनी भन्छन्, “प्रकाशकहरु अहिले सोचिरहेका छन्, घरभाडा कसरी तिर्ने ? कर कसरी तिर्ने ? छापेर राखेका किताब कसरी बेच्ने ? अगाडिका कागज तथा बैंकका ऋणहरु कसरी तिर्ने ?” के पढ्दैछन् प्रकाशक? यस्तो तनावका बीच पनि प्रकाशकहरू पढ्ने कुरामा रूचि राख्लान् ? राखिरहेका छन् भने तिनको रूचि कस्तो होला? उनीहरूले के पढिरहेका होलान् ? उपन्यासकारसमेत रहेका मञ्जरी प्रकाशनका प्रमुख कार्यकारी कृष्ण अविरलले पाण्डुलिपि पढ्ने तथा सम्पादन कर्मका अलावा यही अवधिमा आफ्नो एक उपन्यास लेखी भ्याए । साथै बालकृष्ण समका ‘मेरो कविता आराधन’, टुकराज मिश्रको राणाकालबारे ‘रिणी र राँठी’ पढे । लेखनको सिलसिलामा कतिपय किताबहरु दाहोर्याए भने अहिले ‘नेपालको विद्वत परम्परा’ पढिरहेका छन्। बुकहिलका भूपेन्द्र खड्काले बन्दाबन्दीको समय पुस्तककर्ममै बिताए। उनले यो समयमा पुस्तक पढ्ने, पाण्डुलिपि पढ्ने तथा सम्पादनको काममा आफूलाई खर्चिरहेको साहित्यपोस्टलाई बताए। यसका अतिरिक्त खड्काले यस अवधिमा आफ्नै पुस्तकको पनि लेखन गरेको बताए। खड्का भन्छन्, “पढ्ने काम त भयो तर धेरै पाण्डुलिपि र सम्पादनमै समय खर्चिइयो । पुस्तककै रुपमा भने खप्तड बाबाको ‘विचार विज्ञान’ भन्ने पुस्तक दोस्रोपटक पढेँ ।” भुपेन्द्र खड्का, बुक हिल फाइनप्रिन्टका अजित बराल यतिबेला पोखरामा बितिरहेको छ। बन्दाबन्दीलाई जीवनमा उपलब्ध अभूतपूर्व विश्राम सम्झेर पोखरा पुगेका उनी त्यतिबेला दिक्क भए, जब पढ्न मन लागेका पुस्तकहरु काठमाडौँमै छुटेको पाए । तापनि यस अवधिमा शशी थरुर र समिर सारनको ‘द न्यु वर्ल्ड डिसअर्डर’ पढे । त्यसो त बन्दाबन्दीको समयमा पुस्तक नपाइएपछि बर्माको राजनैतिक घटनामाथि लेखिएको ईबुक पहिलोपटक पूरै पढे। यसअघि उनले पूरै किताबको ईकपी पढेका थिएनन्। त्यसका साथै, धेरै पहिले पढेका केही किताबहरु पुनः दोहोर्याउने अवसर पनि पाए । बन्दाबन्दीका बीच ५० को हाराहारी पाण्डुलिपि हेरेका शिखा बुक्सका पुष्पराज पौडेलले पढ्न मन लागेका बिपी कोइरालाका कथाहरु, शरत्चन्द्रको भारतीय उपन्यास ‘चरित्रहीन’ लगायत पढ्न भ्याए । कस्ता पुस्तक ल्याउँदैछन् ? भूपेन्द्र खड्काका अनुसार बन्दाबन्दीअघि नै प्रेस पुगेका किताबहरुको भविष्य नै अन्योल बनिरहेको समयमा तत्काल नयाँ पुस्तकको घोषणा तथा प्रकाशन गरिहाल्ने अवस्था छैन । बन्दाबन्दी खुलेरै मात्र पनि हुँदैन, बजार पहिलेको अवस्थामा आउन समय लाग्ने भएकाले बुक हिलबाट नयाँ पुस्तक प्रकाशन गर्ने कुनै सोच नरहेको खड्का बताउँछन्। राम श्रेष्ठ, पाँचपोखरी पब्लिकेसन्स पाँचपोखरी प्रकाशन गृहलाई आमपाठकले विदेशी पुस्तकलाई नेपाली भाषामा अनुवाद गर्ने प्रकाशन गृहका रुपमा चिनेका छन्। यस प्रकाशन गृह अहिले प्रकाशन गर्नुपर्ने पुस्तकहरुमा आवश्यक तयारी गरेरहेको बताउँछन्, सञ्चालक राम श्रेष्ठ । श्रेष्ठ भन्छन्, “अब हाम्रा पुस्तकहरु पहिलाकै जस्ता हुने हुन् । तयारीमा आउन लागेकामा कृषि र सकरात्म सोचसम्बन्धी पुस्तकहरु अलि बढी रहेका छन् । त्यसका अलावा देश तथा विदेशका सफल व्यक्तित्त्वहरुको जीवनी पनि हाम्रो प्रकाशनको प्राथमिकतामा छन् । र, अब बजार सहज भएपछि हामीले बजारमा ल्याउने पुस्तकहरु पनि यस्तै किसिमका हुनेछन् ।” बन्दाबन्दीपछि आममानिसमा मानसिक समस्या बढ्ने हुँदा पुस्तकले त्यो अवस्थामा पाठकलाई सकरात्मक ऊर्जा प्राप्त गर्नुपर्ने मत राख्छन् श्रेष्ठ । उसो त प्रकाशन गृहहरुले पुरस्कारलाई टार्गेट गरेर राम्रा पुस्तकहरु चैत अन्तिमलाई साँचेका हुन्छन् तर यही समयबाट बन्दाबन्दी सुरु भएपछि फाइनप्रिन्ट लगायत धेरै प्रकाशन गृहका प्रतिक्षित पुस्तकहरु रोकिए। फाइन प्रिन्टका कति पुस्तकहरु छापामा पुगेर थन्किएका छन् भने कति पुस्तकहरु छापाबाट फर्किर आइसकेर पनि गोदाममा थन्किएका छन् । यसरी थन्किएका पुस्तकहरुमा जीवा लामिछानेको नियात्रा संग्रह, मनीषा कोइरालाको विमोचनका लागि तयार ‘हिल्ड’को नेपाली अनुवाद, राजीव उपाध्यायको नेपालको राजनैतिक मुद्दामाथि लेखिएको किताब, सुरेश बादलको पुस्तक तथा विजय कुमारको ‘फेक आइडी’ आदि छन् । पुष्पराज पौडेल, शिखा बुक्स लक डाउनको समयमा मञ्जरी प्रकाशनका अविरलले करिब तीस ओटा पाण्डुलिपिबाट प्रकाशनका लागि पाँच ओटा पुस्तक मात्र छनोट गरे तर ती पाँच पुस्तक पनि कहिले छापामा पठाउने भन्ने टुङ्गो नभएको उनले साहित्यपोस्टसँग बताए । कोरोनाका कहरका बाबजुद यही साल प्रकाशन हुनसक्ने सम्भावनाका फाइनल भइसकेका पुस्तकका लिस्ट पनि लामै छ शिखा बुक्ससँग । त्यसमा पनि प्रथमिकतामा रहेका पाण्डुलिपिहरुमा चन्द्रप्रकाश बानियाँको निबन्ध संग्रह, निर्दोष डेरावाल नामक उपन्यास, नाम राख्न बाँकी जया ओझाको उपन्यास, भुवनहरि सिग्देलको उपन्यास, निर्मोही व्यासको नियात्रा संग्रह लगायतका पुस्तक रहेको पुष्पराज पौडेलले बताए । पुस्तकमा लगाइएको करः सरकारले गत आर्थिक वर्षदेखि पुस्तकको आयातमा मूल्य अभिवृद्धि कर थप गर्यो। जसको विरोधमा प्रकाशन गृहमात्र होइन, आमपाठक तथा विद्यार्थीहरुले पनि पूरै वर्ष खर्चिए। धेरैको आशा थियो, उक्त कर यो वर्षको बजेटमा घटाइने छ तर त्यसो भएन। चक्लेटको आयतमा लगाइँदै आएको कर घटाइँदा, पुस्तकको आयातमा लगाउँदै आएको करलाई भने यथावत् राखिएको बजेट भाषण अर्थमन्त्रीले संसदमा सुनाए। करका कारण विगत १० महिनादेखि अंग्रेजी किताबको आयत रोकिँदा उच्च शिक्षाका पाठ्यपुस्तक मात्र रोकिएनन्, बौद्धिक तथा बुद्धिजीवीहरुका पठन तथा ज्ञानको सीमामा समेत संकुचन आएको मत छ बुकहिलका भुपेन्द्र खड्काको । उनी भन्छन्, “नेपाली किताबले मात्र नेपाली पाठकलाई धान्दैन। अहिले होम डेलिभरीमै पनि अंग्रेजी पुस्तकको माग धेरै छ तर पुस्तक आयात नै भएको छैन। कहाँबाट ल्याउने ? फेरि अर्को कुरा के भने, संसारको कुनै पनि देशले आफ्नै सीमा भित्रका पुस्तकले त्यहाँको बौद्धिक सर्कललाई बढाउँछु भन्नु मुर्खता हो। त्यसैले निर्वाध रुपमा विदेशी पुस्तक आयात हुनुपर्छ ।” सरकारले किताबमा लगाएको करले प्रकाशकलाई कुनै पनि असर नगरेको फाइनप्रिन्टका अजित बरालको मत छ। यस विषयमा उनी भन्छन्, “विदेशबाट आउने पुस्तकहरु क्रेडिटमा आउँछन्, जुन ९० दिनभित्र तिर्नुपर्ने हुन्छ। पुस्तकको आयात ३७ प्रतिशतले घटेको प्रतिवेदन पनि आइसकेको छ। यसको कारण भनेको पुस्तक व्यावसायीहरुले विरोध स्वरुप नल्याइदिएर पनि हो तर यसले बजार, पठन संस्कृति र देशको विकासलाई भने रोकेको छ। हाम्रा अर्थमन्त्रीले यसलाई फिजिकल रुपमा मात्र हिसाब गर्नुभयो। यो अर्थ मन्त्रीको कमजोरी हो । साथै, करका कारण विदेशी पुस्तकहरु पहुँचमा आउँदैनन्। यसले हाम्रा लेखकहरुको अध्ययन तथा अनुसन्धान दायरालाई घटाउनेछ। यसको अप्रत्यक्ष असर प्रकाशन गृहले पनि बेहोर्नु पर्नेछ।” #अजित बराल #कर #कृष्ण अविरल #पठन #पुष्पराज पौडेल #प्रकाशक #भूपेन्द्र खड्का
आँखा: महेश्वर शर्मा मैले वर्षौंदेखि यी आँखाहरुलाई साँधिरहेको छु तिमीले देखेका सबै सत्यहरु भन्न मिल्छ? आँखाहरुको हृदयको भित्री गहिराईमा भरिएको आगोले यसरी डढेलो लगाएको छ कि यिनीहरु पानीले डढेलो लगाएको भन्नु पर्छ रातलाई दिन भन्नुपर्छ र दिनलाई रात ए आँखा तिमी भित्रको आगो यसरी दन्किएको छ कि तिमीलाई निभाउन पानी होइन आगो नै चाहिने भएको छ मेरो देशको माटो हृदयमै टाँसेर बाँच्ने मेरा देशका अरु आँखाहरू पनि छन् ती आँखाहरुले माटोको सुगन्धमा आफ्नै सिङ्गो बैंश घोलेर एक जीवन बाँचिरहेका छन् ती आँखाहरु हृदयको भित्री गहिराईबाट बगिरहेको सिङ्गो बैँशको झरी बोकेर चुपचाप बाँचिरहेछन् केवल बाँच्नकै लागि । उद्वेलित जीवनको मातले हिर्काएका आँखाहरु सत्य बोल्न छाडेको वर्षौं भो आँखा धमिलो भएको छ धमिलिएका आँखाहरुको मस्तिष्क चल्नै छोडेर होला सायद उनीहरुले सेतो रङलाई कालो भनिदिन्छन् र कालोलाई सेतो आँखाले हेर्नु र हेरेजस्तो गर्नु फरक हुन् हृदयले सत्य बोलेनेहरु आँखाले हर्छन् र? आख़िर जीवनको आँखा त हृदयमै हुन्छ नि है?? मलाई आँखा धमिलो भएका न्यायलयहरुसँग आजभोलि खुब डर लागेर आउँछ वर्षौंसम्म आफ्नै छोरीको न्यायको निम्ति अन्तिम स्वास पर्खिएर बाँचेकी आमाले न्यायालयको अन्तिम फैसला सुन्न नपाउँदै अस्ताइन् अस्ताइसकेको सूर्यलाई वर्षौंदेखि धमिलो आँखा बनाएर बसेका आँखाहरुले फैसला सुनाए र, भनिदिएं प्रमाण पुगेन । मेरो देशको माटो हृदयमा टाँसेर बाँच्ने आँखाहरुले सोधिरहेछन् यी धमिला आँखा बनाएर बसेका न्यायलयहरु कहिले भत्किएलान्? #महेश्वर शर्मा
साहित्य सरोवरको जूम परिसम्बाद: काठमाडौँ/अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज, नेपाल च्याप्टरले जूममार्फत् साहित्य सरोवर – विशेष परिसम्बाद कार्यक्रम “कोरोना कहर र साहित्य सिर्जना” जेठ २७ गते मङ्गलबार सफलताका साथ सम्पन्न गरेको छ। अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष दिव्य गिरीद्वारा प्रस्तुत गरिएको उक्त कार्यक्रममा प्रा. डा. खगेन्द्र लुइँटेल, अनेसासका अध्यक्ष राधेश्याम लेकाली, अनेसास नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहाडी, वरिष्ठ उपाध्यक्ष बाबा बस्नेत, महासचिव ऋषभदेव घिमिरे, अनेसास नेपाल च्याप्टरका सदस्यहरू मधु पाठक र रन्जना निरौला, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने तथा ‘शब्दपथ’का संयोजक कथाकार किशोर पहाडीको महत्त्वपूर्ण उपस्थिति थियो। प्रस्तोता दिव्य गिरीका अनुसार निम्त्याइएका केही साहित्यकारहरू प्राविधिक कारणले कार्यक्रममा जोडिन सकेनन् । #साहित्य सरोवर
'खौ': स्नेह सायमि ‘खौ’ भन्ने शब्द बुझ्नु भयो तपाईंले ? मलाई लाग्छ, धेरै नेपाली भाषी पाठकहरुले बुझ्नु भएन । बुझ्नु पनि कसरी? यो खस नेपालीभाषाको शब्द नै होइन । यो एक अक्षरको एक शब्द बुझिएन भने सम्पूर्ण बुझाइ नै अपुरो हुन्छ । नेपालमा हामीले व्यापक रुपमा प्रयोगमा ल्याइरहेको यो भाषा भन्दा नेपालकै अन्य अपहेलित भाषाहरु शाब्दिक रुपमा धनी छन् । उदारणका लागि नेपालभाषा । काठमाडौंमा सम्पर्क भाषा र मातृभाषा सरकारी भाषा सबै नेपालभाषा नै थियो । एक राणा शासकले यो भाषामाथि प्रतिबन्ध लगायो र करिब एक शताब्दी नै यो भाषा प्रतिबन्धित रह्यो । नेपालका सबै भाषा हाम्रा सांस्कृतिक धरोहर हुन् तर यसो हुन दिएन, भन्न पनि दिएन । काठमाडौं लगायत कति गाउँहरुमा खस नेपाली भाषा नबुझ्ने धेरै हुनुहुन्छ । उहाँहरुले उहाँहरुकै भाषामा लेख्न पढ्न पाए हामी नेपालीलाई गौरवकै कुरा हुन्थ्यो । फेरि नयाँ भाषा बनाउन सकिंदैन, बनिसकेको भाषालाई संरक्षण र संवर्ध्दन गर्न सके अन्तर्राष्ट्रिय रुपमा हाम्रो देशको छवि नै बेग्लै हुन्थ्यो । अन्य कतिपय विषयझैं भाषिक समानताका कुरा संविधानमा लेखिए पनि त्यो अहिले पनि लागु भएको छैन । हामी भाषामा लागेकाहरु नै नेपालका भाषाहरुलाई एक अर्काको परिपुरक भन्दा पनि प्रतिद्वन्द्विको रुपमा हेरेसम्म यो भाषिक समानताका कुरा कानुनी विषय मात्र भइरहनेछ । म कुरा गरिरहेको थिएँ, खौ भनेको के हो । खौ भनेको नेपालभाषामा दुई अर्थ लाग्छ र भाषा र परिवेशअनुसार बुझ्नुपर्ने हुन्छ । एक अर्थमा तोरी वा भटमास वा यस्तै कुनै तेलयुक्त वस्तुलाई तेल निकालिसकेपछि बाँकी रहेको छोक्रालाई खौ भनिन्छ। अब बुझ्नु भो होला नि, खौ भनेको पीना हो तर अहिले प्रयोग गर्न खोजेको यो अर्थको खौ होइन । खौ भनेको हातका सबै औंलाहरु बाँधेर मुट्ठी बनाएर टुटुल्को आउने गरी टाउको हान्नु खौको अर्को अर्थ हो । हो, अहिले मैले सम्झना गरेको खौ यही हो । अब भन्नुस त, तपाईंहरुले विशेषतः आफ्ना बाल्यकालमा आफूभन्दा अग्रज र बलिया साथीहरुबाट यस्तो खौ खानु भयो कि भएन ? हाम्रो विद्यार्थी जीवनमा कडा अनुशासनमा बस्नु पर्थ्यो र सजाय पनि कडा हुन्थ्यो । कि बलियो लट्ठी कि सिस्नुको चुटाई । लट्ठीको चुटाईले जहाँ लाग्यो, त्यहीँ डाम उठ्थ्यो, सिस्नुको चुटाई जहाँ पर्यो, त्यहाँ घण्टौं सम्म चहर्याउँथ्यो । अलि नरम सजाय भनेको उठबस थियो । सयपटक, पचास पटक सुइँसुइँ उठबस गरिन्थ्यो । अलि युवक गुरुहरुले खौ हान्थे । विद्यार्थीहरुले मन लगाएर पढ्ने होइन कि पढिएन भने सजाय पाइन्छ भनेर पढ्ने गर्थे । जसले मन लगाएर पढ्थे, उनीहरु त उत्कृष्ट भइहाले। जो नपढ्दा पाइने सजायको डरले पढ्थे, उनीहरू पनि नराम्रा विद्यार्थी थिएनन्। नराम्रा विद्यार्थी भनेका जति सजायै दिए पनि नपढ्ने र नलेख्नेहरु थिए । त्यतिखेर गुरुहरु सिकाउनमा भन्दा सजाय दिनमा विश्वास गर्थे । मेरो स्कूले जीवन शुरु भएपछि मेरो काका मेरो गुरु तथा अभिभावक हुनुभयो। उहाँले मलाई मिहिनेत गरेर लेख्न-पढ्न सिकाउनु भयो । उहाँको अंग्रेजी भाषा राम्रो । ग्रामर कण्ठस्थ । अक्षर छापा जस्ता । अनि उहाँले जस्तै लेखपढ गरोस् भन्ने चाहनु हुन्थ्यो । लेखेन पढेन भने खौ हानिहाल्नु हुन्थ्यो । घरकै अभिभावक गुरु भएपछि कति समस्या हुन्छ, पर्नेलाई मात्र थाहा हुन्छ! बाल मनोविज्ञान भन्ने कुरा त भाँडमा जावोस्, तर्साएर राख्नुपर्छ भन्ने मानसिकता थियो । मेरा लेखपढको तरिका मलाई चित्त नबुझेर के गर्नु? उहाँले मेरा बारेमा जे निर्णय लिनुहुन्थ्यो त्यही अन्तिम फैसला थियो । न बा, न आमा, कोही कसैले मेरा कुरा सुन्नु हुँदैनथ्यो । बरु मेरा हजुरबाले मेरो पक्ष लिएर कहिलेकाहीं काकालाई गाली गर्नुहुन्थ्यो । तर पनि मप्रति काकाले गर्ने रवैया त यथावत् नै थियो । काकाको कारणले मैले अघिल्लो कक्षामा पढ्ने अंग्रजी पहिल्यै सिकिसकेको हुन्थेँ र मैलै ९० देखि १०० को बीचमा सजिलै नम्बर पाउँथेँ। मलाई सानो कक्षामा काकाको मद्दतले गर्दा एसएलसी र उपल्ला कक्षाहरुमा पनि अंग्रेजीमा सिक्न गारो भएन। अझ मैले एसएलसी पछिको प्रमाणपत्र तहमा पढ्दा सिनियर क्याम्ब्रिज गरेकाहरु भटटट अंग्रेजीमा कुरा गर्थे, म सक्दिनथेँ । अनि मैले सोचेँ, अंग्रेजी विषयमा म यिनीहरुलाई जितेरै छाड्छु। अन्ततः सिनियर क्याम्ब्रिज पढेर आएकाका भन्दा बढी अंक ल्याएर म उत्तीर्ण भएँ। अहिले पनि अंग्रेजी व्याकरण काकालाई कण्ठै छ । नातिहरूसँग अंग्रेजीमै सम्वाद गर्न रुचाउनु हुन्छ । ह्याण्ड राइटिङमा त यसरी जोत्नु भयो कि सारा परिवार उहाँकै हस्तलेखनबाट प्रभावित छौँ । काकाको ‘खौ’ले अहिलेसम्म अंग्रेजीमा लेखपढ गर्न सजिलो बनाइदिएको छ। #जीवनको रङ #स्नेह सायमि