text
stringlengths 146
47.7k
|
---|
सबै सोच साहित्य किन बन्दैनन् ?: अंकित चलचित्र “इन्सेप्सन” ‘आइडिया’ अर्थात् सोचको विजारोपणको कथा हो । यसमा एउटा समूह छ, जसका सदस्यहरू आफ्नो ‘टार्गेट’को सपनामा गएर उसको दिमागमा कुनै सोच राखिदिन्छन्, जुन ‘भाइरस’ सरी फैलिन्छ । रमाइलो कुरा के भने, त्यो मानिसलाई त्यो सोच आफैँ आएजस्तो लाग्छ । ऊ ठान्छ, त्यस्तो सोच ऊ आफूले बाहेक अरूले सोच्न सक्दैन । अधिकांश मानिसलाई व्यक्तिगत संघर्ष, समाज, देखे, सुनेका अनि पढेका कथा र स्वैरकल्पनाले किसिसकिसिमका सोचको विजारोपण गरिदिन्छन् । सर्जकहरूको मस्तिष्कमा ती सोच यसरी बढ्छन् कि त्यसका बारेमा केही नलेखेसम्म छटपटी भइरहन्छ । तर जति नै छटपटी भए पनि धेरै सोचहरू अक्षरमा परिवर्तन हुँदैनन् । धेरै लेख्ने साहित्यकारहरू पनि मनमा आएका सबै कुरा लेख्दैनन् । किन बन्दैनन् सबै सोचहरू साहित्य ? केले छेक्छ? मानिस आफैँ र उसको समाज पनि साहित्य सिर्जनामा बाधक हुन सक्छ। अधिकांशले लेख्ने समय छुट्याउन सक्दैनन्। विभिन्न काममा अल्मलिँदा नलेखिएको सोच आफैँ हराएर जान्छ । लेख्न पनि मन लाग्न छोड्छ । कतिपय लेख्न अल्छी गर्छन् । समाज पनि एकदम छिटो परिवर्तित भइरहेको छ । आजका सामाजिक मान्यता भोलि गलत हुन सक्छन् । यसरी कतिपय सोचहरू असान्दर्भिक भइदिन्छन् अनि दृष्टिकोणमा आएको परिवर्तनका कारण पुरानो सोचका बारेमा प्राय: लेख्दैनन् । साहित्य सिर्जनाको सबैभन्दा गाह्रो काम “लेख्न थाल्नु हो” । लेखकहरूलाई, अझ ठूला आकारका साहित्य सिर्जना गर्ने साहित्यकारहरूलाई एकदमै सताउने एउटा समस्या हो ‘राइटर्स ब्लक’ । त्यस्तो अवस्था हो, जब मनमा लेख्ने हुटहुटी भइरहँदा पनि लेखकहरू केही लेख्न सक्दैन् । लेख्न थाल्दा वा बीचमा, कुनै पनि बेला यो समस्या आउन सक्छ । “पाठशाला”का सर्जक तीर्थ गुरुङले हालै यो समस्या आएको ट्विट गर्नुभएको थियो । जर्ज आर. आर. मार्टिन, जसको पुस्तकहरूको आधारमा अहिलेसम्मकै सर्वाधिक सिरिज बन्यो, अन्तिम पुस्तकहरू लेख्न संघर्ष गरिरहनुभएको छ । ‘राइटर्स ब्लक’ केही कारणहरू छन् : १. सोचेजस्तो लेख्न सकिनँ/सक्दिनँ कि भन्ने डर । (पर्फेक्सनको चाहना ।) २. पूरै लेख्न सक्दिनँ कि भन्ने शंका । ३. नयाँ साधकलाई ‘रिजेक्सन’को डर । स्थापित साधकमाथि प्रशंसकको अपेक्षा । ३. खुलेर नबोलेका कुराहरूलाई लेखनमा ढाल्न खोज्न उत्पन्न संवेदना । ४. लेखकको आर्थिक-सामाजिक-मानसिक अवस्था । स्टेफेन किङसँगको एउटा संवादका क्रममा ‘पर्फेर्क्सनिस्ट’ भनेर चिनिइनुहुने जर्ज आर. आर. मार्टिन सोध्नुहुन्छ, “तपाईं छोटो समयमा यति धेरै कसरी लेख्नुहुन्छ ?” किङको साधारण तर महत्त्वपूर्ण जवाफ आउँछ, “म सधैँ लेख्छु ।” किङको एउटा नियम रहेछ, हरेक दिन कम्तीमा २००० शब्द लेख्ने । त्यसलाई राम्रो नराम्रोको कसीमा नराख्ने । कुनै उपन्यासको पहिलो ‘ड्राफ्ट’ तयार भएपछि डेढ महिना त्यसलाई थन्काउने । कतै घुम्न जाने या अरू नै केही लेख्ने । अनि डेढ महिनाअघिको सिर्जनालाई परिमार्जन गर्ने । किङको नियमले ‘राइटर्स ब्लक’ हटाउने उपायहरू दिन्छन् : १. नियमित लेख्ने । २. जस्तो भए पनि सोचलाई कागजमा उतार्ने । ३. लेखिसकेको चीजलाई सम्पादन/परिमार्जन गर्ने । “केही लेखेकै छैन भने केही परिमार्जन गर्न सकिन्न” भनिन्छ । यो काम त्यति सजिलो भने छैन । जापानी ‘एनिमेटेड’ चलचित्र “विस्पर अफ द हार्ट”मा साहित्यकार बन्ने सपना देख्ने सुजुकीलाई बूढो निशीले एउटा ढुंगा दिन्छ । त्यो ढुंगाभित्र एमराल्ड (हरियो रङको महँगो मणि) च्यापिएको छ । सुजुकीको पहिलो ‘ड्राफ्ट’ पढिसकेपछि निशीले भन्छ, “तिमीले मिहिनेतसँग यो कथा लेखेर यस्तै पत्थर उत्खनन् गर्यौ । यसलाई ‘पोलिस’ गरेर बहुमूल्य मणि निकाल्न तिमीले अझै धेरै मिहिनेत गर्नुपर्छ ।” व्यावसायिक रूपमा कुनै पनि साहित्यिक कृति प्रकाशन गर्न सजिलो छैन । सम्पादकहरूले हिज्जे शुद्धीकरणदेखि कथानकको बनावटसम्मका विषयमा टिप्पणी गर्छन् । अनेकौं पटक पुनर्लेखन गर्छन् लेखकहरू । बुद्धिसागरको “कर्नाली ब्लुज”का ड्राफ्टहरूको अग्लो चाङ धेरै अघि उहाँको फेसबुक पेजमा देखेको थिएँ । ग्याब्रियल गार्सिया मार्खेजको “वन हन्ड्रेड इयर्स अफ सोलिट्युड”को पहिलो ‘ड्राफ्ट’ एकदमै फरक थियो रे ! यसरी परिस्कृत भएर आएका उत्कृष्ट किताबहरू पढ्दा नयाँ साहित्यकारहरूलाई उत्प्रेरणा मिल्छ । तर कतिपयलाई भने लेख्न झनै गाह्रो पनि बनाइदिन्छ । किनभने: १. सोच नयाँ रहेनछ । २. स्वाद जति छिटो विकसित हुन्छ, कला त्यति छिटो हुँदैन । भनिन्छ, संसारमा ‘ओरिजिनल’ केही पनि छैन । तथापि नयाँ सोचहरू आउँदै नआउने भने होइन । नयाँ गर्न सकिएन भने उपाय छ—नक्कल गर्नु । यसमा साधकले सावधान हुन भने निकै जरुरी छ । कला/साहित्यमा नक्कलको एउटा मूलमन्त्र हो : “एकजनाको नक्कल गर्नु चोरी हो, सय जनाको नक्कल गर्नु चाहिँ कला ।” अर्को : “नक्कल यति राम्ररी गर्नु कि नक्कल गरेको थाहै नहोस् ।” “विस्पर अफ द हार्ट”मै सुजुकीले लेखक बन्छु भन्दा उसको पिताले भन्छ, “तिमीले कमैले लिने फरक बाटो रोज्यौ । यसको जिम्मेवारी तिमी आफैँले लिनुपर्छ ।” प्राय: साहित्यकारहरूको जीवन सरल हुँदैन, आफ्नै मनमा हुने अन्तरद्वन्द्व, पारिवारिक बेमेल, फरक सोच भएका कारण समाजले गर्ने अपेक्षा र द्वन्द्व, आर्थिक समस्या आदिले गर्दा । धेरैजसो साहित्यकारका एकदमै थोरै मित्र हुन्छन् । कतिपय उत्कृष्ट लेखकहरू डिप्रेसनको शिकार भएका उदाहरण छन् । नेपाली हास्यव्यंग्य साहित्यका सम्राट भैरव अर्यालका आत्महत्या वरिपरिका घटनाक्रमले मर्माहत बनाउँछ । त्यस्तै, जापानी छोटा कथाका पिता आकुतागावाका मानसिक छटपटीका कथाहरू एकदमै पीडादायी छन् । अन्तरद्वन्द्व, आत्मसंदेह अनि विभिन्न संघर्षपछि साहित्य साधकले आफ्नो सोच पाठकसामू पस्किन्छन् । कमै मात्रै साहित्यकारले आर्थिक रूपमा सफलता पाउँछन् । कतिपय सोच र सोचको प्रस्तुति पाठक/स्रोतालाई चित्त बुझ्दैन । कहिलेकाहीँ त पाठकले साहित्यकारको सोचसम्म पुग्नै सक्दैनन् । कतिपय पाठकले आफ्नो रुचि र विचार अनुसारको साहित्यकारले रचोस् भन्ने पनि चाहन्छन् । कुनैकुनै पुस्तक त पाठकले नै च्यात्छन्, जलाउँछन् । यस्तो देख्दा, सुन्दा चाहिँ मन चसक्क दुख्छ । त्यसो त लेखिएका सबै कुरा राम्रा हुन्छन् भन्ने छैन । ‘प्रोपगान्डा’ र द्वेष फैलाउने उद्देश्य राखेर पनि पुस्तकहरू लेखिन्छन् । यस्ता पुस्तकहरूको भण्डाफोर गर्न पनि ती पुस्तक पढ्नु पर्ने हुन्छ । सफलता, असफलतालाई खासै महत्त्व नदिएर, अनेकौं दु:ख पार गरेर आफ्नो सोचको सूर्यबाट विश्वलाई प्रकाशित गर्न सक्ने सम्पूर्ण साहित्य सर्जकमा नमन । \x7f #अंकित #कसरी लेख्ने |
नेपाल आदर्श हाइस्कुल: स्नेह सायमि नेपाल आदर्श हाइस्कुल- स्कुलको नाम यस्तो थियो, अहिले पनि यही नै छ। काठमाडौं सहरको व्यापारिक केन्द्र नयाँ सडक र खिचापोखरी, त्यसैको नजिक त गणबहाल । त्यहाँको एउटा सार्वजनिक विद्यालयको नाम हो, नेपाल आदर्श हाइस्कुल । काठमाडौं शहरमा ठाउँठाउँमा हाइस्कुल खोलिएको थियो । जस्तै डिल्लीबजारमा विजय मेमोरियल हाइस्कुल, रामशाहपथमा पद्मोदय हाइस्कुल, भिन्द्यो पाःचाको परोपकार हाइस्कुल, क्षेत्रपाटीमा जुद्दोदय हाइस्कुल, मरुटोलभन्दा तल भगवतीबारीमा शान्ति निकुन्ज हाइस्कुल, आदि । त्यस्तै मिडिल स्कुल र प्राइमरी स्कुलहरु पनि थिए । कसरी नेपाल आदर्श हाइस्कुल बन्न गयो । कसरी त्यहाँ सार्वजनिक सम्पत्ति निर्माण भयो, कसले त्यो स्कुलको शुरुवात गर्यो त्यसका अति सार्वजनिक महत्त्वका रोचक कथाहरु छन्। हरेक स्कुल सजिलै स्थापना भएका थिएनन्। कुनै न कुनै शिक्षक अर्थात् गुरुको जीवन उत्सर्गपछि स्कुल बनेका छन्। समयक्रममा ती स्कुलहरुले हजारौं हजार विद्यार्थीहरु उत्पादन गरेका छन्। काठमाडौं शहरको सानो भूगोलभित्र विशेषतः त्यो बेलाका रैथानेहरुको महत्त्वपूर्ण योगदान थियो। म कक्षा आठमा भर्ना भएँ, नेपाल आदर्श हाइस्कुलमा। नैकापदेखि गणबहालसम्म पुगेर किन नेपाल आदर्श हाइस्कुलमै भर्ना गरियो? जबकि त्यतिखेर कालिमाटीमा जनप्रभात हाइस्कुल थियो। नेपाल आदर्श भन्दा मेरो लागि परोपकार हाइस्कुल नजिक थियो। त्यसको जवाफ हो, मेरा काका। मेरा काका नेपाल आदर्श हाइस्कुलबाटै एसएलसी उत्तीर्ण हुनुभएको थियो । त्यहाँ अध्यापन गर्ने शिक्षकहरुसँग काकाको परिचय थियो, त्यसैले त्यहीं भर्ना भइयो। म नैकापबाट कीर्तिपुरसम्म त हिँडेर जान सक्थेँ तर आफू एक्लै त कालिमाटीसम्म पनि आएको थिइनँ । मेरा लागि गणबहाल धेरै टाढा त थियो नै सँगसँगै, त्यहाँसम्म पुग्ने बाटो सम्झन नै गाह्रो पनि थियो। मेरो पढाइको निर्णयकर्ता नै काका हुनुहुन्थ्यो अनि काकाले जहाँ भन्नुहुन्थ्यो त्यहीँ भर्ना भइयो। भर्ना भएपछिको भोलिपल्ट शायद, पहिलो पटक कक्षाकोठामा प्रवेश गरियो । मलाई सर्वप्रथम त नेपाल आदर्श हाइस्कुल पुग्न नै करिब एक घण्टा तीस मिनेटदेखि दुई घण्टासम्म लाग्यो होला । त्यो उमेरमा त्यत्तिको हिँडेपछि थकाई पनि पक्कै लाग्यो होला । तर पनि ढिलो भने खासै पुगिएन । कक्षा शुरु हुनु आधा घण्टाअघि नै पुग्थेँ म। कक्षाकोठामा पुगेपछि थाहा भयो उता भेगतिरबाट आउने र त्यही कक्षामा पढ्ने अरु पनि रहेछन्। जस्तैः एकजना मभन्दा करिब पाँच सात वर्षले जेठो बैकुण्ठ महर्जन, मेरो घरछेउकै छिमेकी दिदी लक्ष्मी श्रेष्ठ। नेपाल आदर्श हाइस्कुलमै छ कक्षामा पढ्ने अरु साथीहरु पनि भेटिए। नैकापबाट गणबहालसम्म जाने रुट यस्तो थियो- नैकापको मूलबाटो हुँदै कालिमाटी, टेकु अनि लगन हुँदै गल्लीको बाटो गणबहाल। यसरी यत्ति टाढाबाट पढ्न आउने थोरै थिए। अधिकांश नयाँ सडक, खिचापोखरी, पाको, लगन, गणबहाल, टेबहाल वरिपरिका पढ्न आउँथे। टाढामा मरु, झोछें, चिकंमुगःका हुन्थे। विद्यार्थीहरु धेरैजसो नेवाः, मारवाडी, बाहुन, क्षेत्री थिए। सबैजसो रैथाने थिए। स्कुलको वरिपरि स-साना पसलहरु थिए। मेरो आँखा त्यता गइरहन्थ्यो। ती पसलहरुमा भुटेका चना र केराउ बिक्रीका लागि राखिएको हुन्थ्यो। पीठो धेरै भएको नाम मात्रको खुवा बरफ हुन्थ्यो। त्यहाँ आउने अधिकांश विद्यार्थीहरुको खल्तीमा पैसा हुँदैनथ्यो। पैसा भएको दिन यस्तै खाएर सकिन्थ्यो। खल्तीमा त्यो बेला तीस पैसा हुनु भनेको धनी नै हुनु थियो। त्यतिपैसा हुनेलाई साथीहरुले विष्मयका साथ हेर्थे। कोही पछि पनि लाग्थे। पहिलो दिन जाँदा म कमीज सुरुवाल लगाएर गएको थिएँ। कमीज सुरुवाल राम्रै थियो तर सुरुवाल लगाएर आउनेहरु निकै थोरै थिए र उनीहरुलाई पाइन्ट लगाउनेले गिज्याउँथे। सुरुवाल लगाउँदा चटक्क देखिंदैन रे ! त्यत्तिबेला पनि फेसनको त्यत्रो प्रभाव ! सुरुवाल लगाउनेहरुको पछाडिको मुजा समातेर कायल गर्थे। त्यसपछि मैले पनि पाइन्ट सिलाएँ स्कुल जान । मैले पाइन्ट पहिले पनि नलगाएको होइन, सानैमा पाइन्ट, सुरुवाल, पाइजामा सिइदिनुहन्थ्यो आमाले। मेरा लागि सुरुवाल र पाइन्टमा केही अन्तर थिएन तर आठ कक्षामा पढ्न गएदेखि सुरुवाल भनेको लाउने चिज नै होइन भनेजस्तो बनाइदिए। पछि स्कुल जानलाई नै लुगा सिलाइयो पाइन्ट सर्ट। त्यतिखेर सबैभन्दा बढी समय लाग्ने भनेको स्कुल जानु र आउनुमा थियो। जाँदा बिहानको खाना खाएर जाने हुँदा करिब पाउने दुई घण्टा जतिमा पुगिन्थ्यो र थकाई पनि लाग्दैनथ्यो तर फर्कंदा भने भोक र थकाइले जिउ गलिसकेको हुन्थ्यो र अर्को दुई घण्टाको पैदल यात्रा मुस्किलै हुन्थ्यो तैपनि कुनै विकल्प थिएन। हिंड्न नपर्ने एउटा झिनो विकल्प भनेको कालिमाटीमा बाइरोड भएर जाने ट्रकहरु कुर्ने र ड्राइभरहरुलाई अनुनय विनय गरेर सित्तैमा नैकाप ओराल्न भन्ने तर यो काम बडो जोखिमपूर्ण थियो । एक त ट्रक कहिले आइपुग्छ थाहा हुँदैनथ्यो। आए पनि जान्छ-जाँदैन निश्चित हुँदैनथ्यो। जाने भए पनि ड्राइभरले लाने-नलाने ठेगान हुँदैनथ्यो। लगिहाले पनि नैकाप ओराल्छ-ओराल्दैन थाहा हुँदैनथ्यो। अझ त कसैकसैले पैसा माग्थे। ट्रक कुर्दाकुर्दा कालिमाटीमै साँझ पर्ने सम्भावना पनि थियो। साँझ परेर पनि ट्रक चढ्न नपाएपछि त भोक र घरमा पिटाइको डरले सताउँथ्यो। तर त्यो बेलाको काठमाडौं भनेको अहिलेको लकडाउनको काठमाडौं भन्दा शान्त थियो। बाइरोडको बाटोभरि दायाँबायाँ अग्ला रुखहरु हुन्थे र हिंड्न सजिलो थियो, बाटोको ठाउँ-ठाउँमा निःशुल्क पानी खुवाउने व्यवस्था थियो। कलंकी मन्दिर नजिक सानो खाजा पसल थियो। त्यहाँ एक जना आमाले आफ्नै घरमा खाजा पसल थाप्नु भएको थियो। पाँच पैसामा पनि यति धेरै चना वा केराउ आउँथ्यो कि मेरो त आधा पेट भरिन्थ्यो। मलाई त्यहाँ खानलाई एउटा समस्या थियो मसँग त पैसा हुन्थ्यो तर साथीहरूसँग हुन्थेन र एकदुई पटक त आफूले पैसा तिरेर खुवाइयो, दिनदिनै खुवाउन सकिएन र एक्लै खान पनि सकिएन। फलस्वरुप नखाइकन नै भोकै घर पुगिन्थ्यो। त्यतिखेर नगदको अभाव थियो, रुपैयँ पैसाको महत्त्व धेरै थियो। धनी हुन् या गरिब, सबैले पढ्ने स्कुल एउटै खाले थिए। पाठ्यक्रम पनि एउटै थियो। धेरैजसो कण्ठाग्र गराउने चलन थियो। अहिले जस्तो धन अनुसारको स्कुल थिएन । लवाइ हेरेर धनी र गरिब छुट्याउन पनि गाह्रो थियो। नेपाल आदर्श हाइस्कुलका गुरुहरुलाई दाइ भन्ने चलन थियो जस्तै रामदाइ, श्यामदाइ आदि। केही गुरुहरु पनि आफ्नै सन्तानलाई नै पढाउन आएकोझैँ पढाउन प्रयत्न गर्थे। सम्बन्ध अलि पारिवारिक पनि हुन्थ्यो। पढेन भने अभिभावककोमा कुरा पुगिहाल्थ्यो। नेपाल आदर्श हाइस्कुलमा धेरैले विद्यार्थी जीवन बिताए । विनोद चौधरी लगायत उहाँका भाइहरु पनि नेपाल आदर्श हाइस्कुलकै उत्पादन हुन्। #जीवनको रङ #स्नेह सायमि |
रमेशको गजल: कवाडीले मोल पाउँछ कारखानामा पुगेपछी जसले पनि फूर्ती लाउँछ बथानामा पुगेपछी । हिजोसम्म दाजु भाइसँगै मिली बसौं भन्ने छिमेकीले बोली फेर्छ सीमानामा पुगेपछी । पराइले फूल रोप्दा पनि आँगन मेरै हो सोचिरह्यौ आज चेत खुल्यो आँगन बिरानामा पुगेपछी । आजसम्म तिमी मेरै भरोसामा बाँचेका छौ तिमी हिँड्छौ कै नबोली ठेगानामा पुगेपछी । आफू रुझ्दै भएपनि उसलाई छाता ओढाइदिएँ धन्यवादसम्म नदिइ हिँड्यो ओभानामा पुगेपछी । #रमेश खतिवडा |
चिताको बडेमानको ठेउको: दोष त सबै पेटको हो आँखा, नाक, कान, जिभ्रो र छालाको हो हड्डी, रौँ, रगत, गिदी, माथिङ्गलको हो विचरा, निर्दोषी आत्मा तउडेर गैजान्छ अनि यही पापी दोषी शरीर—चिताको बडेमानको ठेउकोलाई ब्रह्मनालमा तेर्साइन्छ मुक्ति, शुद्धि र स्वस्तिको लागि आखिर केका लागि ? #चिताको बडेमानको ठेउको ! #दिपेन्द्र थापा |
निर्जीव पत्थर: गिर्खै गिर्खा बोकेर छातीमा लाग्छ कालजयी उभिएको छ न स्वासलाइ स्वीकार्छ न कसैको आशलाई चौडा छाती कस्तो रुग्णस्वरुप सबैले देख्दा सबैले बुझ्ने भाषामा त्यो निर्जीव पत्थर । सयौँ वर्षको अन्तरालमा झ्याउका झुप्पाहरू पलाएर कार्पेटझैँ लाग्ने समुदाय वनस्पतिको बोक्न सक्ने अमिलो अम्लरस त्यो झ्याउको पसेर छिद्रहरूबाट भित्र ठूला चिराहरू पार्ने त्यो निर्जीव पत्थर । इकोलोजिष्टहरूले भन्छन् कालान्तरमा त्यहाँ झाडी बन्छ बिस्तारै त्यहाँ जंगल बन्छ मेसोफाइटिक फोरेष्ट क्लाइमेक्स कम्युनिटी कति राम्रो सम्बन्ध स्थापित हुन्छ पर्यावरणसँग त्यो कम्युनिटीको तर झट्ट हेर्दा त्यो निर्जीव पत्थर। यत्रो जीवित समुदाय निर्माण गर्न सक्छ छातीमा उसको परेड खेल्छन् बाँदरहरू सुसाउँछन खहरेहरू लाटोकोसेरो गीत गाँउछ फ्याउरोले भाखा फेर्छ त्यो अनन्त समयान्तरमा फेरि परिचय खोजिरहन्छ त्यो निर्जीव पत्थर । #तुलसीराम खरेल #निर्जीव पत्थर |
लघुकथाः मर्निङ वाक: विनोद नेपाल स्वास्थ्यका कारण प्रातः भ्रमण गर्नैपर्ने बाध्यता छ । प्रातः भ्रमणमा जांदा देखिने दृष्यहरु प्रायः उस्तै नै हुन्छन् । आकलझुक्कल नयां देखिने बाहेक मानिसहरु पनि उनै हुन्छन् । सबै आआफ्नै धुनमा हुन्छन् । कोही यतिविधि सिंगारिएका हुन्छ्न्, लाग्छ ती कुनै उत्सव, समारोह वा कार्यक्रममा सहभागी हुन जांदैछन् । कोही हल्का दौडने, कोही बेस्सरी नै दौडने,कोही छिटोछिटो हिंड्ने र कोही सांच्चिकै टहल्न हिंडेजसरी शरीरलाई कुनै मर्का नपर्ने वा शरीरले चालै नपाउने गरी हिंड्ने । अझै कति त ठाउंठाउंमा गफगाफमा सहभागी हुंदै र चिया पिउंदै र आराम गर्दै हिंड्ने पनि देखिन्छन् । दौडने,छिटोछिटो हिंड्नेहरु फूर्तिला र छरिता देखिन्छन् । जो शरीरले चालै नपाउने गरी हिंडेका हुन्छन् तिनको शरीर नै भद्दा हुन्छ । यसरी पनि के हिंड्नु ? देखाउनका लागि हिंडेजस्तो । असाध्यै खुलदुली लागिरहेको थियो । एक विहान आंटेरै आरामसंग हिंड्ने मध्येका एकलाई भनें ‘विहान विहान सधै निस्कनुहुन्छ,टहल्नुहुन्छ, अब त चिसो पनि लागिसक्यो,ननिस्के पनि हुंदो हो नि’ ‘के गर्नु ? सुगर छ, प्रेसर छ, डाक्टर कहां गईरहनुपर्छ | डाक्टरले मर्निङ वाक जाने गर्नुभा छ कि छैन ? भनेर सोध्छ | के जवाफ दिनु ? यो उमेरमा आएर झुट पनि के बोल्नु ? त्यसैले हिडेको नि बाबु ।’ #विनोद नेपाल |
सुधाका तीन मुक्तक: १ कोरोनाको यो त्रास माझ अन्तिम सत्य तिमी हौ खास हलाहल बिष पिउने तिमी हे निलकण्ठ सम्हाल आज ।। २ मान्छेसँग मान्छे डराउने दिन आयो ज्वरो आए रुंदै कराउने दिन आयो आँखाले नै नदेखिने सानो जीवाणुले सिङ्खो विश्वलाई हराउने दिन आयो ।। ३ बुझ्नै कठिन् भो हुँदै गो भयानक किन आयो होला यो व्याधी अचानक कतै प्रकृति नै रिसाएको हो कि ? सजाय पो हो कि इश्वरको आक्रामक ।। #सुधा बासकोटा ढकाल #सुधाका तीन मुक्तक |
'धरोहर'को धुकधुकी सुन्दा: तुलसीराम खरेल कथाकार देव भण्डारी कालिम्पोङ क्षेत्रका गतिला लेखकमा गनिन्छन् । उनका उपन्यास, कथासंग्रह र कवितासंग्रहहरु प्रकाशित छन् । सन २०१७ मा प्रकाशित भएको ’धरोहर’ नामक कथासंग्रह उनको सबैभन्दा कान्छो कृतिको रुपमा रहेको छ । कथा क्षेत्रमै कलम चलाउन मन पराउने कथाकारको सन् १९७६ मा सबैभन्दा पहिलो कृति प्रकाशित भएको थियो । यथार्थपरक कथाहरुको रचना गरेर घटनाक्रमहरुलाई फनक्कै घुमाउँदै एउटा दह्रो फैसला सुनाउन सफल छन् कथाकार । कालेबुङकै वरिपरिका घटनाहरुलाइ टपक्कै टिप्न खप्पिस कथाकारका कथाहरुमा स्थानीयताको सुगन्ध मगमगाइरहेको पाइन्छ । उनका कथाहरुमा कालेबुङको छेउबाट कंचनजङ्गा मुस्कुराइरहेको देखिन्छ, कालेबुङकै पुरानो सडकमा फ्याक्रे बेचिरहेकी गुरुङशेनीको फरिया टल्किन्छ, मैनाचरीले टिष्टा तरेर सिक्किमतिर हानिएको दृश्य देखिन्छ अनि अंग्रेज शासनकालको पीडाले भतभति पोलिरहेको भावनाले पाठकको मुटु गाँठो पार्छ । ‘धरोहर’ सन् २०१७ मा बजारमा आएको एउटा कथासंग्रह हो । यसमा जम्मा १७ ओटा कथाहरु समाविष्ट छन् । सुनको चेन, खोलावारि खोलापारि, दाइँ, बाँध, शीतको सपना, किन रुन्छ माइलो, फेरि हतार, कंचनजङ्गा र त्यो मान्छे, धरोहर, गरीबको भाग्य,युवती हराएको सूचना, मिसकल, बुवा, हजार रुपियाँको पिज्जा, यथार्थ, लकाइँ डाँडा, गिटारको धुन, उही कुइरी केटी, साम्यजस्ता कथाहरु शीर्षकमा अटाएका छन् । एउटी आँटिली केटी प्रमुख पात्र छे प्रमुख कथा धरोहरमा । एउटा अदम्य उत्साह, त्याग र समर्पणको भावना बोकेकी केटीलाई नै एउटा धरोहर बनाएका छन् कथाकारले । ’गिटारको धुन’ कथा संग्रहको चाखलाग्दो कथा हो । कथामा कलकत्ताको ग्रेट ईष्टर्न होटेलको नामुद गिटारिष्ट कालेबुङका कान्लाहरुमा घाँस दाउरा गर्ने व्यक्तिमा परिणत भएको घटनाहरु जोडेर कथाकार एउटा डरलाग्दो जीवनको मोड देखाउन सफल छन् । पाठकलाई मानिसको जीवनका अपत्यारिला मोडहरुमा पुर्याएर जीउ जिरिङ्गपार्दै फेरि मुल सडकमा गुडाउन मनपराउने कथाकारले कथा लेख्दा निकै मिहिनेत गरेको कुरा बुझ्न गाह्रो हुन्न । ’उही कुइरी केटी’ नामको कथामा कथाकारले चाडपर्वहरु तीज, दशैँ, तिहारको मौलिक नेपालीपनको राम्रो ब्याख्या गर्न भ्याएका छन् । नेपाली विवहा पद्धतिलाई विदेशीले खुसी भएर स्वीकारेका कुराले फूलबुट्टा भेटेको अनुभव हुन्छ । कालिम्पोङ र त्यहाँबाट देखिने पहाड, हिमाल र मौलिक नेपाली परिवेशले तानेर अष्ट्रेलिया निवासी काइल चेष्टरटन भिक्टोरियालाई ’काँइली’उपनाम दिएर धेरै वर्ष टाँसेर राख्न सक्षम भएको छ । ’गरीबको भाग्य’ नामक कथाले यथार्थता बोलेको छ । सिमाहीन गरीबीको पीडामा परेको परिवारकी एउटी सानी नानीका अनेकौँ अनुत्तरित प्रश्नहरुले पाठकहरुलाई नमज्जाले दुखाउँछ । ’युवती हराएको सूचना’मा कथाकारले पुरानो कालेबुङ बजारको मज्जाले ब्याख्या गर्न भ्याएका छन् । ’साम्य’ नामक कथामा कथाकारले एकजना तरकारी बेच्न बेलाबेला देखापर्ने केटीलाई बाइस वर्षअघि मरिसकेकी कोकिलासँग हुबहु तुलना गरेर पुनर्जन्मको आभास गराउन पुगेका छन् । कथाकारले कथामार्फत “जन्मने अवश्य मर्छ, मर्नेको जन्म नित्य छ“ गीता दर्शनको रुपमा लेख्दै पुनर्जन्म सिद्धान्तलाई पुष्टि गर्न खोजेकाछन् । उनका कथामा जागिरेले विभिन्न स्थान घुम्दै जाँदा डेरा खोज्ने अप्ठेरोसँग जुधेको देखिन्छ । आधुनिक युवायुवतीले सामाजिक संजालको दुरुपयोग गरेको भेटिन्छ । कालिम्पोङ र दार्जिलिङका बिग्रेका केटाहरु र फटाहाहरुले दिनेगरेका दुख कष्ट छरपष्ट देखिन्छन् । घटनाक्रमहरुलाई बुनेर दर्शन चिन्तनको धारणालाई कलात्मक पाराले प्रस्तुत गर्न कथाकार खप्पीस भएको देखिन्छ । कालेबुङ, जोरथान, सिलगढी, रिनाक बजार, रङ्ली बजारकै सेरोफेरोले प्राथमिकता पाएको कथासंग्रहले क्षेत्रीय र आञ्चलिक घेरा तोड्न नसकेको आभास पाइन्छ । शताब्दी प्रकाशन कालिम्पोङले प्रकाशन गरेको कथासंग्रह १२४ पृष्ठको छ । नेपाली भाषाको दार्जिलिङ्गे बोलचालका शब्दहरुले प्राथमिकता पाएका छन् ।खातिर गर्नु, खिलाउनु, किरायाको घर, ज्यू, हजुर आदि बोलीचालीका शब्दहरु टपक्कै टिपिएका छन् । स्थानलाई जग्गा, फोटोलाई नक्साजस्ता बढी प्रयोग हुने स्थानीय जनजीवनका नेपाली शब्दहरुको बचाउ गर्न भ्याएका छन कथाकारले । [email protected] #तुलसीराम खरेल |
सन् २०२१ का लागि अमेरिकी पेन अवार्ड आह्वान: साहित्यकारहरूको अन्तर्राष्ट्रिय संस्था पेन अर्थात् (Poets, Essayists and Novelists)को अमेरिका च्याप्टर अर्थात् पेन अमेरिकाले सन् २०२१ का लागि विभिन्न पुरस्कारहरूका लागि पुस्तक समावेश गर्न आव्हान गरेको छ । पुरस्कारहरू दुई समूहमा रहेका छन्, पुस्तक पुरस्कार र योगदानका लागि पुरस्कार । पुस्तक समूहमा ३ हजारदेखि ७५ हजार डलरसम्मका १२ पुरस्कारहरू रहेका छन् । तर उदीयमान कथाकारलाई दिइने पुरस्कार भने १२ जनालाई २ हजारका दरले दिने गरिन्छ। त्यसैगरी योगदानका लागि दिइने पुरस्कारहरू १ हजार डलरदेखि ५० हजार डलरसम्मका ५ पुरस्कार रहेका छन् । पुस्तक पुरस्कारका लागि प्रकाशक तथा एजेण्टले पुस्तक समावेश गर्न सक्नेछन् । यस वर्ष कतिपय पुरस्कारहरूको राशिमा वृध्दि गरिएका छन् । पेन अमेरिकाले हरेक वर्ष “पेन वर्ल्ड भ्वाइसेस” नामक सप्ताहव्यापी साहित्य सम्मेलन गर्दै आएको छ, जसमा नोवेल पुरस्कार विजेता लगायत विश्वका विभिन्न मुलुकका सम्मानित एवम् चर्चित साहित्यकारहरूलाई निमन्त्रणा गर्ने गर्छ। सन् २०२१ का लागि पेन अमेरिकाले ३ लाख ५० हजार पुरस्कारको रूपमा वितरण गर्दैछ । सन् १९२२ अप्रिल १९ मा पेन अमेरिकाको स्थापना न्यूयोर्कमा भएको थियो तर साहित्यिक पुरस्काहरूको स्थापना भने सन् १९६३ देखि शुरू गरेको थियो । विश्वमा भएका १०० भन्दा बढी पेन सेण्टरहरूमध्ये अमेरिकाको सबैभन्दा बलियो सेण्टर हो जसमा ७२०० भन्दा बढी उपन्यासकार, कवि, निबन्धकार, नाटककार, पत्रकार, सम्पादक, प्रकाशक लगायत सम्बध्द छन् । स्थापनाकालमा पेन ले पोयटस्, एस्सेइस्ट र नेभेलिस्टस् ( कवि, निबन्धकार, उपन्यासकार) लाई मात्र समेटिने भए पनि पछि यसले अन्य विधा र क्षेत्रलाई पनि समेटेको हो। विला क्याथर, युजिन ओ निल, रोबर्ट फोर्स्ट, एलेन ग्लास्गो, एडविन आर्लिंटन रोविन्सन, रोबर्ट बेन्चले संस्थापक रहेको पेन अमेरिकाको प्रथम अध्यक्ष वुथ टार्किंगटन थिए । पेन अमेरिकाले समग्र अमेरिकी साहित्यलाई ठूलो प्रभाव पार्दछ । पेन को मुख्य “आवाज” फ्रि एक्सप्रेसन हो, वाक स्वतन्त्रता वा अभिव्यक्ति स्वतन्त्रता । यसका लागि पेनले विश्वका कुनै पनि लेखकलाई परेको संकटको लागि आवाज उठाउॅंछ र पेन अमेरिका यसमा अग्रणी छ । पेन अमेरिकाकी वर्तमान अध्यक्ष जेनिफर एगान छिन् । #पुरस्कार #पेन अमेरिका |
विरोधाभाषको मिठो तनाव: गम्भीर विषयमा प्रवेश गर्ने कुनै योजना थिएन आज । अनौपचारिक छटामा गफ्फिदै थिएँ तिमीसित । मनमा न कुनै करको कहर थियो, न त बौद्धिक दबाबको बोझ नै ! हल्कापाराले त्यत्तिकै तिम्रो बातमा बात मिलाइदिइरहेकी थिएँ । तनावमुक्त अनुभूति म रमाइरहेकी थिएँ । गफैगफको सिलसिलामा एकाएक गम्भीर विषयमा प्रवेश गर्यौ तिमी । एकपछि अर्को गर्दै अजङ्ग अजङ्गका प्रश्नहरू उठाउन थाल्यौ । जीवनबारे जीवनसितै उत्तर नभएका प्रश्नहरू मेरा अगाडि तेर्स्याउन थाल्यौ । अनुभूतिको लय पूरै फेरियो मेरो । छिनको छिनमै मन कहाँबाट कहाँ पुग्यो ! तिम्रो प्रश्नको प्रभावले मनभित्र बेग्लै हलचल मच्च्याइदियो; रोमाञ्चको नयाँ उभार मेरो मनभित्र सिर्जाई दियो । “प्रश्नहरूको बाढी पानीको बाढीभन्दा शक्तिशाली हुन्छ,” कवि मातृका पोखरेलको कविताको हरफ अनायास सम्झिन पुगेँ मैले । जीवनमा जब-जब लस्कर बाँधेर प्रश्नहरू मसित जोरी खोज्न आउँछन्, यस्तो अवस्था मलाई अत्यन्तै रोमाञ्चक लाग्छ । प्रश्नहरूसित भिडिनु पर्दा वा भिड्न पाउँदा जुन किसिमको रन्थन मनमा उभरिन्छ, रन्थनको त्यस्तो उभार मलाई अत्यन्त प्रियकर लाग्छ । यद्यपि उठेका, उठाइएका सबै प्रश्नहरूको उत्तर भेट्टाउन सम्भव छैन जीवनमा, यो यथार्थ आफ्नो ठाउँमा छ नै, तर पनि प्रश्नहरू मलाई असाद्धै मनपर्छन् । प्रश्नहरूको लखेटाइका कारण उत्तरको खोजी गर्ने उद्वेलन मनमा जसरी अनायास जागृत हुन्छ, त्यो जागृति आफैँमा एउटा मिठो आनन्दको अनुभूति हो । त्यही आनन्दमा डोरिँदै–बेरिँदै मन अनायासै चिन्तनमननको एकाग्र मुडमा अवतरित हुनपुग्छ, त्यो अवतरण आफैँमा एउटा ठूलो प्राप्ति हो जस्तो अनुभूति हुन्छ मलाई । म ठान्दछु, एकाग्रताको त्यो अवस्था एक प्रकारको ध्यानको अवस्था हो । ध्यान चाहे त्यो ‘ओम्’ जपको लयसँगसँगै तानिएर मनमा उत्पत्तिएको दिव्य आनन्दको अनुभूति होस् या प्रश्नहरूको लखेटाइले मनभित्र सिर्जिएको रोमाञ्चक रन्थनको उभार, आखिर ध्यान भनेको ध्यान नै हो । ध्यानले कुनै न कुनै ज्ञानको उज्यालोमा अवश्य पुर्याउँछ मान्छेलाई । ध्यानले सधैं नै ज्ञानको उज्यालोतर्फ उन्मुख हुन उत्प्रेरणा दिलाउँछ मान्छेलाई । प्रश्नहरूको उपस्थिति मलाई औधि प्रियकर लाग्छ । प्राध्यापन पेसाको प्रभाव पो हो कि ? थाहा छैन । तर जे होस्, प्रश्नहरूको आतंक औधि रोचक लाग्छ मलाई । कक्षामा पनि प्रश्न सोध्ने विद्याथीहरूलाई नै बढी मन पराउँछु म, न कि म एकोहोरो बोलिरहुँ र विद्यार्थीहरूचाहिँ कापीमा घोप्टिएर मलाई टिपिरहुन् । त्यस्तो कक्षामा पढाउन उभिनपर्नु मेरा लागि धेरै नै दिक्क लाग्ने कुरा हुन्छ । त्यसैले कक्षामा सुरुमै विषयबारे विद्यार्थीहरूलाई तिनका जिज्ञासाहरू बोल्न लगाएर र बीचबीचमा प्रश्न गर्न उक्साएर म आफैँ नै आफूलाई त्यस्तो दिक्क लाग्ने स्थितिको बन्दी नबनाउन प्रयास गर्छु । कक्षाको मात्र कुरा होइन, अन्यत्र पनि प्रश्न उठाउन चासो देखाउने मान्छेमै अनायासै मेरो ध्यान बढी आकर्षित हुन्छ । आँखामा आँखा जुधाएर प्रश्न गर्न सक्ने मान्छे मलाई बढी मन पर्छ । त्यो भन्दा पनि कति हो कति, बढी मन पर्छ मलाई त्यस्तो मान्छे जो जीवनमा कतै जवाफ नै नभएको प्रश्न उठाउन साहस गर्छ, उत्साह देखाउँछ । जस्तो किः तिमी । तिमी मेरी प्रिय विद्यार्थी , कक्षामा मैले चाहे जस्तै गरी आँखामा आँखा जुधाएर प्रश्न सोध्थ्यौ मसित अघि । अहिले त आफैँ गुरुमा बनिसक्यौ तिमी । र, पनि बखत बखतमा मसित प्रश्न गर्न छाडेकी छैनौ तिमीले । मित्रवत् सानिध्य मसित तिम्रो, तिम्रा हरेक प्रश्न प्रियकर लाग्छ मलाई । किनकि तिम्रा प्रश्नहरू प्रायः गरी जीवनसित जोडिएका हुन्छन्, दर्शनले छोइएका हुन्छन् । कुरै कुराको सिलसिलामा आज पनि त्यस्तै दार्शनिक स्पर्शको प्रश्न उठायौ तिमीले । आजको तिम्रो प्रश्नले मेरो मनमा उमारेको अनुभूतिको प्रारम्भिक तरंगलाई सम्बोधन गर्नका लागि सुरुमा कवि मातृकाको कविताको एउटा उद्धरण अगाडि सारेँ मैले । ‘प्रश्नको बाडी’ शीर्षकको उनको कविताको पुछारको अंश हो त्यो हरफ । त्यो कविता मूलतः राजनीतिक विषयसम्बद्ध हो । मुलुकको समसामयिक राजनीतिक वस्तुस्थितिमा छाएको विकृति तथा विसंगति एवं नेतृत्वतहमा देखिएको गैरउत्तरदायी चरित्रप्रतिको आक्रोशको स्वर हो त्यो कविता । अझ तोकेरै भन्नु पर्दा, जनतालाई काम छउञ्जेल भाँडो काम सकिएपछि ठाँडोको व्यवहार गर्ने वा गर्न दुस्साहस गर्ने क्रान्तिकारी राजनीतिक जत्थाका नेतृत्व तहलाई तिनका आफ्नै कार्यकर्ताहरूको कडा औंला उठाई हो, त्यो कविता । यस मानेमा बिल्कुल राजनीतिक आशयको हो मातृकाको उक्त कविता । जीवन दर्शनसित सम्बन्धित तिम्रो प्रश्नका अगाडि मैले सुरुमै राजनीतिक विषयकेन्द्री कविताको हरफ सम्झनुलाई ‘अलि नमिल्ने कुरा भयो’ भन्ने पो ठान्यौ कि ? त्यस्तो नठान्नु तिमीले । बरू कविताको त्यो हरफलाई आफ्नो प्रश्नसित मिलाएर बुझ्न बल गर्नु । बुझ्नु तिमीले, ‘नमिल्ने’ भन्ने कुरा केही पनि छैन यहाँ । आवश्यकता हो, मिलाएर बुझ्न अक्कल पुर्याउनु, मिलाएर बुझ्न ध्याउन्ना गर्नु बस् ! त्यसो गरे वा गर्न सके सबै कुरा मिलेकै मिलेको मात्र देखिन्छ यहाँ । नमिलेको कुरा पनि नमिलेकै अवस्थामा ‘मिलेकै त छ नि’ भन्ने जस्तो भान भैदिन्छ हामीलाई । यस्तो भान हुनु याथार्थमा हामी मान्छेहरूको विशेषता पनि हो र बाध्यता पनि हो । प्रत्येक क्षण आफ्नै भागको आयु चपाउँदै जीवनमा निरन्तर अगाडि बढिरहनु पर्ने नियति च्यापेर आएका हामी मान्छेले जीवनमा सधैँ सबै कुरो मिलेकै मिलेको मात्र देख्न–हेर्न खोज्नु कहाँ सुहाउने कुरा हुन्छ र ? तिम्रो प्रश्नमा प्रवेश गर्नुपूर्व यहाँ यतिका भूमिका बाँधेँ मैले । नठान्नू , यसो गरेर मैले आफ्नो बौद्धिकता प्रदर्शन गर्न खोजेकी हुँ । बरू बुझ्नू, तिम्रो प्रश्नको प्रभावअगाडि आफ्नो सीमा सोझै कबुल्न नसकेर मैले आफूभित्र एक्कैछिन शक्तिको आराधना गरेकी हुँ । नभन्दै, यति भूमिका बाँधिसकेपछि बल्ल आँट आयो मलाई, तिमीसित आँखामा आँखा जुधाएर यो भन्न कि ‘मसित तिम्रा यी प्रश्नहरूको कुनै त्यस्तो किटानी उत्तर छैन । अझ मसित मात्र होइन, तिम्रा यी प्रश्नहरूको अन्तिम उत्तर यहाँ कसैसित पनि छैन, कहीँ पनि छैन ।’ तिमीले सोध्यौंः ‘यो जीवन के हो ? किन यसमा दुःखको स्थायी बास तर सुखचाहिँ आक्कल झुक्कल मात्र ? पीडाको अविरल वर्षा तर आनन्दचाहिँ बाछिटा मात्र ? जीवनमा कहिले खाएको विष पनि त्यत्तिकै छलिन्छ तर कहिले भने खाँदैनखाएको विषसमेत लागेर अग्घोसित छटपटाउन बाध्य भइन्छ, किन ? सोच्तै नसोचेको कुरा पनि कहिलेकाहीँ त्यत्तिकै भागमा आइपर्छ, फेरि कहिले भने आफ्नो भागमा आइसकेको जस्तो लाग्ने खुशी पनि बिना कारण त्यत्तिकै हातबाट चिप्लिजान्छ । यस्तो किन हुन्छ जीवनमा ? के हो आखिर यो जीवन ? आँसु हो कि उत्सव हो यो ? के हो यसको परिभाषा ?’ साँच्चै नै गम्भीर प्रश्नहरू उठायौ तिमीले आज ! बुझ्नु तिमीले, यस्ता प्रश्नहरूमा छलफल त अवश्य गर्न सकिन्छ तर सार केही निकाल्न सकिन्न । ‘ढाँटहरू’ अवश्य रचना गर्न सकिन्छ तर सत्य कुरा किमार्थ ठम्याउन सकिन्न । त्यसैले आज तिम्रा यी प्रश्नहरूलाई लिएर छलफलमा पस्नुअघि म केही कुरामा तिमीलाई सुरुमै सजग गराउन चाहन्छु । सुन, यस्ता प्रश्नहरूबारे सोच्ने बानी गर्न थालियो भने जिन्दगीभर यस्तो बानीबाट पन्छिन मन लाग्दैन, तर्किन मन लाग्दैन, चुँडिन मन लाग्दैन, छुट्टिन मन लाग्दैन । बुझ्नु तिमीले, रक्सीको लत भन्दा पनि कडा हुन्छ चिन्तनको लत । यस्तो लतलाई समाएपछि यसलाई यदि आफ्नो बोधमा सही ढंगले व्यवस्थापन गर्न सकिएन भने मनको सन्तुलन खलबलिन सलबलिन पनि बेर लाग्दैन । त्यसैले मेरो पहिलो सल्लाह छ तिमीलाई– जीवनबारे यो हदसम्म गम्भीर नबन्नु नै जाति ! होइन, ‘गम्भीर बन्छु’ नै भन्ने तिम्रो अडान हो भने ‘आफ्ना यी प्रश्नहरूको किटानी उत्तर कतै पनि भेट्टाउन सम्भव छैन’ भन्ने तीतो सत्यप्रति पूर्ण सजगता राखेर मात्र यस्ता प्रश्नहरूप्रति जागरुक बन्नु तिमी । तिमीलाई थाहै छ, जीवन दुई ‘प्लस दुई बराबर चार’को गणितमा बुझिने शास्त्र होइन । जीवनको गणित नितान्त बेग्लै छ, अत्यन्त कठिन छ, अमूर्त छ । जीवन अव्याख्येय छ । पार पाइनसक्नुको रहस्यमय विज्ञान हो यो जीवन । प्रकृति आविष्कारक हुन्, यो रहस्यमयी विज्ञानको । झर्नका लागि फुल्ने अनि फुल्नकै लागि झर्ने एउटा फूलको कथाजस्तै रहस्यमय हो यो हाम्रो जीवन । यसलाई रोचक कथा मानेर पढिदिए ‘यो साच्चै नै रोचक कथा हो’ जस्तो लागिदिन्छ । होइन, ‘झर्नकै लागि फुल्न पर्नु जीवन त वास्तवमा पीडा पो हो त !’ भन्ने कोण उजाए फेरि उही जीवन ‘अत्यन्त पीडादायी कथा’ जस्तो जँचिदिन्छ हामीलाई । यो त फगत कोणको कुरा मात्र हो । वास्तविकतामा चाहिँ जीवन के हो ? यसबारे कहिल्यै पूरा भेउ पाउन सकिन्न । न सुरुको कथा थाहा हुन्छ, न अन्त्यको कथा भन्न आफू बाँकी भइन्छ दुनियाँमा । जन्मनुअघि पनि अँध्यारो, मृत्युपछि पनि अँध्यारो, हरेक मान्छेको जीवन दुई सघन अँध्यारोको बीचमा च्यापिएर अडेको एउटा क्षणभंगुर यथार्थ हो । केही समयका लागि ‘झिलिक्क’ बलेको फगत एकटुक्रा उज्यालो हो यो जीवन । जन्मेपछि नमरुञ्जेलसम्मको एउटा अवधिको नाम न हो आखिर हरेकको जीवन ! सार र निस्सार दुवै तत्त्व सँगसँगै मुछिएर अस्तित्वमा अवतरित भएको मान्छेको जीवनबारे गहिरिएर विचार गर्ने हो भने साँच्चै नै द्विविधामा परिन्छ । घरि यो ‘केही’ हो जस्तो पनि लाग्छ , घरि यो ‘केही पनि होइन’ जस्तो पनि भान भइदिन्छ । ‘हो’ र ‘होइन’ दुवै तत्त्व एकै साथ अटाएको यो जीवनप्रति तिमीजस्तै म पनि बखत बखतमा खूब अलमल्लिने गरेकी छु । तर रमाइलो कुरा के भने त्यस्तो ‘अलमल’ कहिल्यै झिँजो लाग्दैन मलाई । बरु उल्टै त्यस्तो पलमा जीवनलाई अझै नजिकबाट बोध गर्न सकेको आभाषले म पुलकित हुने गर्छु । आफू आफैँभित्र कतै गहिरोसित छोइएको अनुवभ गर्छु र सिर्जनात्मक बन्न प्रेरित हुन्छु । जीवनबारे अलमलिएको त्यस्तै एउटा क्षणमा मैले ‘जीवन’ शीर्षकमा एउटा कविता रचेकी थिएँ । त्यो कवितामा जीवनबारेको आफ्नो बुझाइलाई मैले अभिव्यक्ति दिएकी छु । त्यो कविता यहाँनिर तिमीलाई सुनाउनु शायद प्रासंगिक नै होला भन्ठान्छु म । सुनः जीवन देखेँ देखेँ जस्तो लाग्छ हेर्न केही भ्याइँदैन प्रश्नैप्रश्न जताततै उत्तर कतै पाइँदैन भीडहरूमा एक्लो–एक्लो आफैँलाई आफू नौलो जीवन खोई यो कस्तो कस्तो ? घरि केही हो कि जस्तो घरि यो केही पनि होइन जस्तो । अन्त्यपछिको सुरु हो कि सुरुबाटै अन्त्य हो यो अनिच्छाको प्राप्ति हो कि प्राप्तिको इच्छा हो यो कहिले अत्यासको भीर जस्तो कहिले उत्साहको उकालो यो जीवन खोई यो कस्तो कस्तो ? घरि केही हो कि जस्तो घरि यो केही पनि होइन जस्तो । हाँस्न खोज्दा आँसु झर्छ पुछ्न खोज्दा रसाउँछ तड्पाउँछ/बिझाउँछ भाग्न खोज्दा पच्छ्याउँछ कहिल्यै तृप्त नभइने जीजिविषाको शूल जस्तो जीवन खोई यो कस्तो कस्तो ? घरि केही हो कि जस्तो घरि यो केही पनि होइन जस्तो । अभिशाप हो स्वतन्त्रताको कहाली आफ्नै चेतनाको अरोजाईको रोजाई यो जिम्मेवारीको कबुल जस्तो न खा’को विष हो यो न ला’को प्रित हो नजन्माको सन्तानको माया मोहको रित हो यो जीवन खोई यो कस्तो कस्तो ? घरि केही हो कि जस्तो घरि यो केही पनि होइन जस्तो । (साभारः मधुपर्क , २०६५ साउन) जीवनबारे थुप्रै रेडिमेड परिभाषाहरू पढ्न पाइन्छ । संसारभरिका कैयन् विद्वान् लेखक, दार्शनिक चिन्तकहरूले जीवनबारेमा एकसेएक परिभाषा बनाएर हाम्रो अगाडि टक्य्राइदिएका छन् । तिनै परिभाषाहरूमध्ये कुनै एउटा परिभाषालाई टपक्क टिपेर यहाँ त्यसैबारेमा मात्र छलफल गर्ने हो भने पनि तिम्रा प्रश्नहरूलाई सम्बोधन गर्न काफी हुन्थ्यो होला । तर म त्यसो गर्दिनँ, गर्न चाहन्नँ पनि । त्यसो गर्नु ढाँट हुन्छ । त्यसो गर्नु तिमीप्रति मात्र होइन, मैले म आफैँप्रति पनि ढाँट गरेको ठहर्छ । किनकि त्यस्ता रेडिमेड परिभाषाहरू कुनै पनि आफैँमा पूर्ण होइनन्, पूर्ण छैनन् । तिमी नै भनन, एउटा जीवन विषयलाई लिएर जब अनेक विद्वान्हरूले अनेक किसिमका परिभाषा पस्केका छन् भने तीमध्ये कुनलाई ‘सही हो’ ठानेर टिप्नु हामीले ? आखिर ती सब परिभाषाहरू सम्बन्धित विद्वान्हरूका आआफ्ना बुझाईका सीमा न हुन् ? बनिबनाउ त्यस्ता परिभाषाहरू केवल कामचलाउ बुझाईहरू मात्र हुन जीवनबारेका । आजसम्म ज्ञानको दुनियाँमा कसैले पनि जीवन विषयमा सर्वस्वीकार्य कोण निर्माण गर्न सकेको छैन । सबैले एकमुखले सहमति जनाउन सक्ने परिभाषा खोइ र आजसम्म कसैले बनाउन सकेको ? र, यदि कसैले ‘बनाउँछु’ भनेर तम्सिए पनि त्यो कुनै हालतमा सम्भव हुने कुरा होइन । तर्क त हरेकले दिएका छन् कि तिनले बनाएको परिभाषा नै जीवनको वास्तविक परिभाषा हो भनेर । तर यस्तो विषयमा तर्क काफी हुन्न , अनुभवको पत्यार बढी महत्त्वपूर्ण ठहर्छ । अर्काको विश्वास जित्न सक्नु एउटा कुरा हो तर अनुभव कसैको पनि अर्को कुनै व्यक्तिले जित्न सक्तैन । एउटा मान्छेको अनुभवभित्र अर्को मान्छे कुनै हालतमा पनि छिर्न सक्तैन, भलै त्यो जतिसुकै नजिकको मान्छे किन नहोस् ! कसैलाई कुनै एउटा चिन्तकले अघिसारेको विचारमा विश्वास लागिदिनु र त्यसको पक्षमा उसले आफ्नो तर्क र बुद्धिसमेत खर्चेर वकालत गर्दै हिँड्नु एउटा कुरा हो, त्यो उसको रोजाइको कुरा हो । त्यसमा ठाडै केही भन्न नमिल्ला पनि । तर पनि मेरो भनाइ के भने – जब बनिबनाउ परिभाषाहरू कुनै वास्तविक सत्य नभई केवल सम्बन्धित परिभाषकहरूका आआफ्ना बुझाइहरू मात्र हुन् भने त्यो बोक्नु नै किन ? यदि ‘बुझाइ’ नै बोक्नु छ भने किन अर्काको बोक्नु ? आफ्नै बुझाइ बोक्नु सही हुन्छ नि ! होइन र ? कलेज विश्वविद्यालय तहका परीक्षाहरू पास गर्न अवश्य नै अर्काले बनाइदिएका त्यस्ता बनिबनाउ परिभाषाहरू घोक्नु पर्छ होला, घोकेरै मात्र पास गर्नु सकिन्छ होला त्यस्ता परीक्षाहरू तर जीवनको परीक्षा घोकेर पास भइन्न । तिमीलाई थाहै छ, जीवनको परीक्षा हरेकले भोगेरै पार गर्नुपर्ने हुन्छ । म ठान्छु, बनिबनाउ सिद्धान्त र शास्त्रहरू सबै बौद्धिकताका मानक हुन् । जीवन वस्तुतः बुद्धि र तर्कले समग्रमा ठम्याउन सकिने विषय होइन । तिमीले भनेको जस्तै यो जीवनमा सोच्तै नसोचेको खुशी एकाएक हात लाग्छ कुनै बेला, अनि फेरि कुनै बेला हात परिसकेको खुशी पनि त्यत्तिकै माछा चिप्लिएजस्तै गरी हातबाट चिप्लिएर सुलुत्त झरिदिन्छ । आखिर किन ? जीवनमा मान्छेले बखत बखतमा बिना दोष दण्डको भागी हुन बाध्य हुनु पर्ने किन ? त्यस्तो बेला किन उसले आफ्नो सफाई दिन नपाउने ? यो जगतमा आइसकेपछि हरेक व्यक्ति आफ्नो जीवनका यावत् पलहरू र परिणामहरूप्रति पूर्ण रूपमा उत्तरदायित्व निर्वाह गर्नु बाध्य बन्छ, तर प्रश्न के भने किन उसको जन्ममा चाहिँ उसको स्वेच्छाको हक चल्दैन । आखिर किन ? कुनै पनि बेला जे पनि भैदिनसक्ने अनिश्चितिको बन्दी किन सधैं बन्नुपरेको मान्छेले ? आखिर मर्नु नै छ भने जन्मन्छ नै किन मान्छे ? किन मृत्युलाई कसैले पनि नाघ्न सक्तैन ? आदि यावत् प्रश्नहरू जीवनका अनुत्तरित प्रश्नहरू हुन् । यद्यपि यी प्रश्नहरूलाई हल गर्न विभिन्न दर्शनहरूमा विभिन्न तर्कहरू अगाडि सारिएको पाइन्छ, कारणहरू बुझाउन प्रयास गर्न खोजिएको भेटिन्छ तर त्यो सबै प्रयास केवल ज्ञानको गुठरी मात्र सिद्ध भएका छन् । सम्बन्धित चिन्तकका आआफ्ना ज्ञानका सीमाहरू हुन् ती । यी प्रश्नहरूबारे अकाट्य उत्तर कसैले पनि ठम्याउन सकेको छैन, कुनै तर्कले पनि यी प्रश्नहरूको मुख सदाका लागि थुन्न सक्दैन । मान्छेको जीवनबाट अस्थिरता र अनिश्चितताको भय सदाका लागि उप्काएर फालिदिन सक्ने तागत आजसम्म कुनै तर्कले बोक्न सकेको छैन, कहिल्यै सक्तैन पनि । तर्कहरू जीवनको गहिरो सत्यबाट भाग्ने बञ्चना मात्र हुन् । जीवनका यावत् अनुत्तरित सवालको हल तर्कबाट कहिल्यै निसृत हुनसक्तैन । एक प्रकारले भन्ने हो भने तर्कहरू फगत ढोंग मात्र हुन् सुन्दर आवरणका । सत्य हो केवल अनुभव मात्र । अनुभव भन्दा तीखो सत्य अरू केही छैन जीवनमा । व्यक्तिलाई उसको अनुभव र भोगाईले सिकाएको जस्तो गरी जीवनको चोटिलो पाठ अरू कसैले सिकाउन सक्तैन, पढाउन सक्तैन । जीवनको दुर्दमनीय अत्यास अर्थात् अस्थिरता र अनिश्चितताको कहालीलाई थेग्न हरेकले आफ्नै अनुभवका आधारमा आफूभित्र आफैँ आफ्नो ‘आड’ निर्माण गर्नु पर्छ, गर्न सक्नु पर्छ । म त भन्छु – विचार सबैको पढ्नु, सबैको विचार सुन्नु , त्यो पढाइ र सुनाइलाई आवश्यक मात्रामा मनमा गुन्नु पनि, तर अन्धो भएर कदापि कसैको विचार पछाडि नकुद्नु तिमी । आफ्नो ‘आफू’ लाई कदापि नहराउनु; नअल्पाउनु तिमी । आफ्नो अनुभव र भोगाइले सिकाएको पाठलाई तिमी कदापि कम नआँक्नु । जीवन भोगाइलाई नै मुख्य साक्षी बनाएर जीवन विषयक आफ्ना तमाम प्रश्नहरूबारे आफ्नो बुझाइ तिमी आफैँ ठम्याउन बल गर्नु । तिमी मेरी प्रिय विद्यार्थी, मन मिल्ने साथी पनि हौ तिमी मेरो । तर के गर्नु, चाहेर पनि म तिम्रो अनुभवभित्र पस्न सक्तिनँ । तिम्रो अनुभवको तहमा उत्रिएर तिम्रा प्रश्नहरूको उत्तर म तिम्रा लागि तयार पारिदिन सक्तिनँ । तिम्रा लागि म आफू जीवनको रेडिमेड परिभाषा बन्न सक्तिनँ । अझ नढाँटी भन्ने हो भने, आफ्नै लागि पनि म जीवनको त्यस्तो कुनै औपचारिक परिभाषा बनाउन सक्तिनँ । म त केवल अनुभव मात्र गर्न सक्छु आफ्नो जीवनलाई । केवल बोध मात्र गर्न सक्छु आफ्नो जीवनलाई । र, जीवनले मलाई सिकाएको जीवनबारेको मेरो बुझाइ मात्र तिमीलाई बताउन सक्छु, तिमीलाई सुनाउन सक्छु । मेरो बुझाइमा यो जीवन अनगिन्ती विसंगतिहरूको भीडमा सधैँ संगतिको खोजी गरिबस्ने गर्ने एउटा अद्भुतको साहस हो; आशाको रहरलाग्दो अनुहार हो । दुःख जीवनको जग हो, सुख यसको जलप । त्यसैले त दुःखमा पनि सधैँ सुन्दर देखिन्छ जीवन; सधैं सुन्दर (जस्तो) लाग्छ जीवन ! प्रश्नहरू जीवनको उकुसमुकुस र अत्यासहरूलाई खुकुलो पार्ने एउटा मिठो कला हो । अनि जीवनमा आफू ‘हुनु’को बोध पनि हो त्यो । जीवनमा प्रश्न उठाउन सधैँ आँट गरिरहनु पर्छ । प्रश्न रस हो । प्रश्न तरंग हो जीवनको एकरसतामा । प्रश्न गर्न छोड्नु भनेको जीवन सकिएको वा सकिदै गएको कुराको संकेत हो । त्यो संकेतलाई प्रश्नको बलले सकेसम्म ठेल्दै पछाडि धकेल्न बल गर्नु पर्छ हरेकले । प्रयासमा सफल भइएला वा नभइएला, त्यो बेग्लै कुरा हो तर इमानदार प्रयास गर्न कदापि छोड्नु हुन्न जीवनमा । यो कुरा मलाई जीवनले नै हो सिकाएको, जीवनले नै हो बुझाएको । यो जीवनलाई छाम्दा कहिलेकाहीँ त मलाई अचम्मै पनि लाग्छ ! भय पनि यसैभित्र छ, भर पनि यसैभित्र । अत्यास पनि यसैभित्र छ, आश्वासन पनि यसैभित्र । पीडाको पोखरी हरदम यसैभित्र छड्किरा’छ, खुशीको मूल पनि यसैभित्र फुटिरा’छ । कसरी यसले आफूभित्र एक्कै साथ परस्पर विपरीत पात्रताका तत्त्वलाई समान सन्तुलनमा उचालिबस्न सकेको होला ? लाग्छ, यो जीवन आफैँमा एउटा घाउ हो र आफैँमा त्यो घाउको औषधि पनि । जीवनबारेको आफ्नो बुझाइलाई सारमा अभिव्यक्ति दिनु पर्दा म भन्छु– जीवन यथार्थमा विरोधाभाषको एउटा मिठो तनाव हो । तनाव ! तर मिठो ! मिठ्ठो तनाव !! #डा. ज्ञानू पाण्डे |
श्रीमान् अर्थात् बूढा: ’पापा ! हिजो आज तपाईं धेरै नै मोबाइल मै व्यस्त रहन थाल्नुभएको छ । मैले धेरै याद गरिरहेकी छु । के चल्दैछ, भन्नुहोस् त ?’ बेडमा सँगै बसिरहेकी आफ्नी श्रीमतीले धेरै दिनको धैर्यतापछि मात्र शंकास्पद तरिकाले प्रश्न सोधेको चाल पाएका श्रीमान् चाहिंले अलि असजिलो मान्दै जवाफ फर्कायो,’त्यस्तो केही हैन मैयाँ । साहित्य लेखिराको छु मोबाइल मै ।’ यति जवाफ पाउनेबित्तिकै श्रीमतीले व्यङ्ग्य कसिन्,’अँ ! होला झैं लाग्यो ! लेख्दा मुसुमुसु पनि हाँस्नुपर्छ होला नि उसोभए, हैन ?’ श्रीमतिको कसिलो व्यङ्ग्ले भरिएको प्रश्न खस्न नपाउँदै फसाद पर्यो भन्ने मनमनै सोच्यो र आफ्नो बचाउ गर्दै श्रीमानले थप्यो, ’कुरा पनि हुन्छ नि साथीभाइहरूसँग ।’, यति जवाफ पाउनासाथ हत्तारिएझैं श्रीमतीले फेरि प्रश्नको वर्षा गर्न थालिन्, ‘साथी कि साथिनी? बिहान सबेरै बिउँझेदेखि ओछ्यान भित्रै घुस्रेर चलाको छ मोबाइल, चियानास्तादेखि खाना खाँदासमेत मोबाइलमै व्यस्त, हुँदाहुँदा अहिले सुत्ने बेलामा समेत मोबाइल लिएर बस्नुभएको छ । आखिर के ले गर्दा यस्तो मोबाइलमै टासिने बनायो तपाईलाई भन्नुहोस् त ? यसरी पनि काम चल्छ ? थाहा छ कति रात भयो तपाईंले मलाई नछुनु भएको ? भन्नुस् त ?”, रून्चे स्वरमा अलि चर्को हुँदै गएको आवाज निकालेर श्रीमानलाई घच्घच्याउँदै भनिन् श्रीमतीले । श्रीमतिको आवाजलाई सानो बनाऊ भन्दै श्रीमान हडबडाउँदै जवाफ फर्काउन खोज्दै थिए । श्रीमतीले फेरि बीचमै रोकेर आफ्नो पीडा पोख्न थालिन्, ’कसको नाममा फुरिरहेछ आजकल कविता अनि गजल भन्नुहोस् त ? फेसबुकमा लगातार आइरहेछन् तपाईंका कविता अनि गजलहरू । को हो त्यो ? म पनि चिनुँन । कसको नाममा फुरिरहेछन् यी सबै ? कहिले रूपको वर्णन छ, कहिले चालको । मेरोभन्दा पनि राम्रो रूप र चालढाल भएकी कोही भेट्नुभयो कि के हो ?’, यति सुनिसकेपछि श्रीमानलाई के भनुँ कसो गरूँ भयो र केही भनेर त चुप लगाउनै पर्छ भन्ने सोच्दै बोल्यो, ’मैयाँ! तिमीलाई थाहा छ त, म साहित्य पढ्छु अनि लेख्छु । अनि किन ममाथि शंकाको घेरा भन त ? कल्पनामा डुबेर लेखिन्छन् कविता, गीत, गजल, कथा, उपन्यास ! सबै साहित्य यथार्थमा भोगेर मात्र लेखिन्न । किन बुझ्ने कोशिस गर्दैनौ ? भन त?’ “बुझ्नु छैन मलाई केही । तपाईँमा आएको यो साहित्य रचेर अघि बढ्ने परिवर्तनले मलाई भने खरानी नबनाओस् है पापा ! भन्देको छु ।”, सुँक्कसुँक्क गर्दै यति कुरा भनेर श्रीमति आफ्नो ठाउँमा गएर सुत्ने तरखर गरिन् । श्रीमान भने यसरी श्रीमतीले धम्की नै दिएर चेतावनी दिनुपर्ने गरी आफू मोबाइलमै व्यस्त भइसकेको चालै नपाउने स्थितिमा पुगिसकेकोमा एकछिन त ट्वाल्ल परेर बस्यो । एकछिन अघिसम्म कति मज्जाले कुरा गर्दै थियो श्रीमान् मेसेन्जरमा । दुई तीन हप्तामै मज्जाले खुलेर कुराकानी गर्ने महिला मित्र भेटेका थिए । सामान्य कुराकानी गर्दागर्दै नजिकबाट बुझिसकेका थिए एकअर्कालाई । तपाईंबाट तँ भनेर सम्बोधन गर्न थालिसकेको थियो उसले साथीलाई । अनि उसलाई पनि सहजै बुढा भनेर सम्बोधन गर्ने भइसकेकी थिई साथी । ट्वाल्ल पर्दापर्दै श्रीमानको मुटु जोडजोडले धड्किन थालेको थियो । श्रीमतीले आफूले नयाँ महिला साथीसंग गफ गरिरहेको चाल पाएको हो कि झैं भान भएको थियो उसलाई। हुन पनि सधैंभरी उसले श्रीमतीलाई केही लेखिरहेकै छु भन्थ्यो। लेख्थ्यो पनि । लेखेर फेसबुकका भित्ता गीत, गजल, कविता अनि कथाले नरङ्ग्याएको पनि होइन । तर नयाँ साथीसंग गफ गर्न थालेपछि वरिपरिका सारा कुरा विर्सने हुँदै गएको थियो । थप नयाँ सिर्जना गर्न उर्जा मिलिरहेको अनुभव गर्दैथ्यो श्रीमान । नयाँ केही सिर्जना गर्न त नयाँ मान्छेहरूसंग अनुभव अनि भावना साटासाट गर्नुपर्छ भन्ने मान्यता राख्थ्यो । फेसबुक साथीको कुरा सुनेपछि उसले नयाँ भावले भरिएका रचनाहरू लेखिरहेको थियो । धरै वर्षको मेहेनतपछि भेटेका हुन् उनले फेसबुकमा मनमिल्ने, कुरा मिल्ने साथी । कहाँ सबै लोग्नेमान्छे र आईमाई मान्छेबिच सहजै प्रगाढ मित्रता गासिन्छ र ? तर श्रीमान र उनको फेसबुक साथीबिच भने गज्जबकै दोस्ती जमिरहेको प्रष्ट थियो । उनीहरू मेसेन्जरमा कुरा गरेर लामो समय बिताउँथे। हुन पनि मेसेन्जरमा लामो समयसम्म अनेक विषयमा कुरा गरिरहँदा अनेक भाव झल्कन्थ्यो श्रीमानको मुहारमा। खुशीले मन्त्रमुग्ध भएको अनुहार लगाएर कुरा गरिरहेको देख्दा सशंकित हुँदै श्रीमतीले हेरेको हो धेरैपटक श्रीमानलाई । श्रीमान श्रीमतीबीचको भर्खरैको ठाकठुक अघि पनि उनीहरू मेसेन्जरमा कुरा गरिरहेका थिए । केही मिनेटको चकमन्नतालाई चिर्नेगरी मेसेन्जरमा पिलिक्क नयाँ मेसेज आएको देखेर झल्याँस्स भयो श्रीमान । हत्त न पत्त मेसेज पढ्यो श्रीमानले,’बुढा ! कता हराउनुभएको ? कत्ति मज्जा आइरहेको थ्यो यो विषयमा कुरा गर्दा । हजुर कत्ति मज्जाको बुढा क्या । मैले किन भेटिनँ होला पहिल्यै ? उफ्फ्फ्फ्फ ।’ पढ्नेबितिक्कै केही सोच्न नसकेजस्तो भयो श्रीमान । मेसेजको जवाफ नफर्काई हत्त न पत्त मोबाइल स्वीच अफ गरेर पल्टियो ऊ पनि श्रीमतीलाई सरी भन्दै । जसै बिहान भयो श्रीमती ब्युँझिइसकेपछि खुशीले तनक्क जिउ तन्काउँदै उठिन् । श्रीमानतर्फ मायालु भावले हेरिन् । ऊ भने मस्तले निदाइरहेको थियो । केही हप्ता देखिको बिहानको निद्रा भंग गरिदिने फेसबुके साथीलाई सायद उसले सपनामा देखेन त्यो रात । र ब्युँझेन बिहान सबेरै । श्रीमान मस्तले सुतेको मौका पारेर श्रीमतीले श्रीमानको मोबाइल हातमा लिइन् । अफ रहेको मोबाइल अन गरिन् । स्क्रिन लक गरिएको थिएन । श्रीमान श्रीमतीबीच विश्वासको नाता धेरै वर्षअघि देखि कायम थियो । मेसेन्जर खोलेर उनले नयाँ मान्छेको नाम खोजिन् र एकैछिनमा भेटिन् पनि । इन्बक्स खोलेर हेर्दा त रातभरि आफ्नै भएको श्रीमान खै कहिलेदेखि हो अरूकै बूढा भएको पो भेटिन् उनले । त्यसै दिनदेखि श्रीमानले आफ्नो स्टाटस अपडेट नगर्ने र श्रीमतीले पनि आफ्नो पुरानै स्टाटस पाइरहने गरी सम्झौता गरे, र श्रीमती आफैँले श्रीमानबूढा भनेर बोलाउन थालिन् । #दीपक श्रेष्ठ |
पर्खाल नाघिरहेको सहर ', "नचाहेरै उभिन्छन् पर्खालहरू पाइलामा । मनबाट पर्खाल ढालेर पुल निर्माणमा जुटोस् मान्छे । परिवर्तनलाई इख्याउने आदिम सहरमा भेटियून् सबैको मनसम्म पुग्ने सडकहरू । उज्यालो हुनु अघिदेखि नै ब्युँझिइसकेको छ लोमन्थाङ । भेडाहरू, चौँरीहरू, खच्चरहरू, घोडाहरू, कुखुरा र कुकुरहरूले बस्तीमा बिहान ओर्लिसकेको सङ्केत दिँदैछन् । चैत्य, छोर्तेन र गुम्बाहरूबाट फैलिइरहेछ धूपको मुस्लो र पर परसम्म स्पर्श गरिरहेछ मान्छेका नाकका पोराहरूमा । आङदुङ , स्यामा , सुर्की पहिरेर ठिम्बु र ज्यन्जेन भिर्ने महिलाहरू भेटिन्छन् बाटा, गल्ली र चोकहरूमा । स्यामु , फुङ्स्यो , केनम् भिरेर घप्टी हल्लाउँदै हिँडिरहेका पुरुषहरू पनि भेटिन्छन् सहरका कुनाकानी, सडक र साँघुरा गोरेटाहरूमा । बिहान हुनु अघिदेखि नै गुञ्जायमान छ सहर बौद्ध मन्त्र र बौद्ध स्तुतिहरूमा । सहर होइन कुनै विशाल तीर्थस्थल लाग्दैछ लोमन्थाङ । मन्त्र जप्दै र स्तुति गाउँदै समय बरबाद पारेर मात्र कहाँ मिल्छ र शक्ति ! कहाँ भेटिन्छ र शान्तिको सुवास !! काम नगरी मन्त्र जपेर मात्र माला बनाउनुको के अर्थ छ र जिन्दगीको । बिहानभर मन्त्र जप्न र माला गन्न छोडेर जाँगर नउमारेसम्म जय र स्तुतिले मात्र उम्रन सक्तैन कुनै सिर्जना । जाँगर र प्रार्थना दुवैमा अब्बल देखिन्छन् लोमन्थाङवासीहरू । हाम्रा चार पाइला लोमन्थाङ चिन्न रौसिएका छन् बिहानैदेखि । चार आँखाले हेरेर अघाएका छैनन् मायालुलाई । खुसी छन् मायालु, आँखाहरूद्वारा नूतन सहरको स्पर्श पाउँदा । माया निस्फिक्री फैलिएको छ सहरभरि । सहरका हरेक बार्दली, सिकुवा, छाना, आँगन, भित्ता र चोटा कोठामा फैलिइरहेछ मायाको सुगन्ध । माया पूजा, माया खुसी, माया रङ र माया गति बनेर फैलिइरहेछ सहरभरि । बैँसका चिल्ला पातहरूमा सल्बलाइरहेछ माया निरन्तर । मायाको स्पर्शमा मस्किँदै हिँडिरहेछौँ हामी मानेहरू घुमाउँदै । हामी मिस्टिक होटलबाट बाहिरियौँ र केही उत्तरतिर बढ्यौँ । थुम्का नै थुम्काहरू पर्खाल बनेर उभिएका छन् लोमन्थाङका । थुम्काहरू चैत्यहरू जस्ता छन्, प्रकृतिले मिहिनेतसाथ बनाएका । गोलाकार र चुलिँदै उकालिएका । थुम्काका चुचुरामा लिङ्गो गाडेर दाच्योहरू फहराइदिएका छन् मान्छेहरूले । प्रकृतिमा कृति थपिदिएपछि साँच्चै सुहाएको छ दृश्य । थुम्काहरूमा हरियोपरियो छैन । केवल छन् पहेँला थुम्काहरू । बौद्ध वस्त्रले ढाकिए जस्ता, धानको थुप्रो थुपारे जस्ता । प्राकृतिक चैत्यहरूबाट फैलेको हावाले शान्त र शालीन बनाइरहेछ मान्छेहरूलाई । हामी दुई भने सहरभरि छरिएर रहेका छोर्तेन र चैत्यहरूलाई छुँदै हिँडिरहेछौ, छापे मानादेखि बिटुमिनका ड्रम जत्रा मानेहरू चार हातले घुमाउँदै हिँडिरहेछौँ । त्यो शान्त प्रदेशमा शान्तिको मुटुमा रहेर यात्रा गर्दा धर्म होइन शान्तिको अनुभूति गरिरहेछु मैले । मेरी शान्ति घामभन्दा चहकिलो बनेर खुलेकी छिन् मलाई पाएर । हामी पर्खालको किनारैकिनार हिँडिरहेछौँ । कुनै समय पर्खालबाहिर कुनै घरहरू बनाउन पाइँदैनथ्यो भन्दै हुनुहुन्थ्यो सुरेन्द्र दाइले । अहिले पर्खालबाहिर पनि फैलँदै रहेछ लोमन्थाङ सहर । सन् १३८० मा अमे पालले लोमन्थाङ सहर बसाए र सहरबाहिर पर्खालले घेरे— मैले पढेको थिएँ इतिहास । लोमन्थाङ बजारलाई घेरेको छ बाक्लो र अग्लो पर्खालले । पर्खालका बिच बिचमा सुरक्षाकर्मीले निगरानी गर्ने बुर्जाहरू पनि छन् । उत्तरपूर्वमा रहेको ठुलो ढोका नै सहर प्रवेश गर्ने द्वार हो । हिमाली क्षेत्रका पर्खाल र द्वारहरूले सुरक्षा र समृद्धिको झल्को दिन्छन् । सहरको शोभाका लागि, सहरको सुरक्षाका लागि र सहरको सम्मानका लागि बनाइयो होला लोमन्थाङ पर्खाल । अहिले पनि अग्लो, सेतो र बलियो ढङ्गले उभिइरहेछ पर्खाल । माटाका बाक्ला गारा भएका घरहरू र ठुलो र बाक्लो पर्खालले घेरिएको छ लोमन्थाङ । ‘पर्खाल भित्रको राजधानी’ नामले पनि चिनिएको छ लोमन्थाङ । हामीले सहरको उच्च भागमा उक्लिएर हे¥यौँ, कतै कतै पर्खालमै उक्लिएर पनि हे¥यौँ । सहरबाहिर असङ्ख्य रहेछन् ढुङ्गे पर्खालहरू— बस्ती छेक्न बनाइएका, बाली छेक्न बनाइएका, बिरुवा छेक्न बनाइएका, वायु छेक्न बनाइएका र बस्तु छेक्न बनाइएका । ती नाङ्गा पाखाहरूमा पर्खाल नै पर्खाल पो फलाएका रहेछन् मान्छेहरूले । त्यसो त मार्फाबाट उकालो लागेदेखि नै पर्खाल नै पर्खालका प्रशस्ती देखिन थालेका हुन् मुस्ताङभरि । पर्खालको कोलाजभित्र कुतकुति रहेछ लोमन्थाङ । कसैका लागि अवरोध हो पर्खाल । कसैका लागि विभाजन हो पर्खाल । कसैका लागि सीमा हो पर्खाल । कसैका लागि सुरक्षा हो पर्खाल । मुटुभरि हराभरा बनिरहेको मायालाई कसैले नगरोस् आक्रमण र कहिल्यै नचुहियोस् कतै पनि । प्रेमी प्रेमिकाहरू हृदयदेखि नै गर्दैछन् मखमली पर्खालको आह्वान । छोर्दे गुम्बाको बाहिरपट्टि पर्खाललाई दायाँ पारेर हिँडिरहेछौँ हामी । बाक्लो कुहिरो फुसफुसाए झैँ झर्न थाले जलकण ।’ पानी पर्यो, पानी पर्यो’— नौलो परिवेश महसुस गर्दैछन् लोमन्थाङवासी । कि हिउँ कि शुष्क वायुबाहेक केही नभेटिने लोमन्थाङमा पानीका छिटा सगुन र आशा बनेर बर्सिदैछन् । धुलो नउड्ने गरी भिज्दा ताजा र तरुनो देखिदैछ भुईँ । ‘पानी पर्यो, असिना झर्यो दाइको रुमाल भाउज्यूलाई मन पर्यो’ मैले ठुलै स्वरमा गाएछु गीत । हाम्रै पछिल्तिर आइरहेका तिन बहिनीहरू खित्का छोडेर हाँसे र उनीहरूकै भाषामा के के भने । म भने अलि लजाएँ र गीत गाउँ नै छोडिदिएँ । ‘ए… ए… ए… ए’— हिँड्दाहिँड्दै दुवै जनाले झ्याप्प समात्यौँ एकअर्कालाई । एकै डल्लो पारेर छोर्तेनको छेको लाग्यौँ । छोर्तेन हाम्रा लागि पर्खाल नबनिदिएको भए हामी दुईको आन्द्रा उधिन्थे होलान् भालाजस्ता सिङधारी झोपाहरूले । सहरका साँघुरा गल्लीहरूमा कहिले कुकुरको झम्टाइमा, कहिले झुमा, झोपा र घोडाहरूको ठेलमठेल र पेलमपेलमा पर्नु सामान्य भएको छ । पर्खालभित्रका गल्लीहरूमा उकुसमुकुसिएर उछिट्टिए जस्ता लाग्छन् ती जनावरहरू । टासिदेले, वेलकम टु लोमन्थाङ, दावा याङ्गेन प्लस मिङ्मार ग्याल्बो, पासाङ वाङ्मो प्लस फुर्पु छिरिङ, ल्हाक्पा ग्याल्जेन प्लस पासाङ छोमो, विलियम गोल्डमेन प्लस क्याथेराइन फिसर, रूपा बराइली प्लस जीवन निरौला, शत्रुधन यादव प्लस रमा घिमिरे, आइ लभ यु सुमित, आइ लभ यु माया, आइ अलवेज लभ यु मधु, श्रीप्रसाद सुवेदी, २०७१।२।९, बुद्ध भगवान्को कसम म तिमीलाई हृदयदेखि माया गर्छु सुमिना, नयाँ नेपाल गणतान्त्रिक नेपाल, लभ यु लोमन्थाङ, गणतन्त्र चाहिँदैन, राजा मास्न पाइँदैन— यस्तै यस्तै लेखिएका छन् पर्खालका भित्ताहरूमा । त्यसबाहेक ‘नौ हाते पटुकीलाई बार हाते सारी, एउटी थिई मोटी काली त्यसले माया मारी’, ‘उकालो डाँडामा राम्रो रानीवन, फिरन्ते यो गरिबको ज्यान मात्रै हो धन’, आनीबानी हेर्ने होइन रूपै हेर्छन् केटा, घुस खाने नेताज्यूको बार हातको फेटा’– यस्तै यस्तै पनि कति लेखिएका छन् कति । अझ तिब्बती भाषामा लेखिएको त हामीलाई कालो अक्षर भैँसी बराबर नै भयो । कता कता ट्रक साहित्य जस्तो पनि लाग्छ भित्ते साहित्य । समाजको सोच र चेतनालाई पनि केही हदसम्म बोकिरहेछ भित्तो । बिचरा भित्तो युगौँयुगदेखि लोमन्थाङवासीहरूको मेला जात्रा हेरिरहेछ, झगडा मिलाप हेरिरहेछ, राम्रा भन्नेहरूका नराम्रा कर्तुत पनि हेरिरहेछ, कयौँलाई छेकिरहेछ, कयौँलाई सेकिरहेछ, आफू भने जसले जे लेखे पनि सहिरहेछ, जसले जे देखाए पनि हेरिरहेछ, जसले जति किला ठोके र ठेले पनि चुप लागिरहेछ । शासनले, प्रशासनले र शक्तिको आडमा बबन्डर मच्चाउने निरीह मान्छेको स्वरूप जस्तो पनि छ भित्ता । समयको धरहरा बनेर उभिरहेछ लोमन्थाङ पर्खाल । प्रत्येक इँटा र ढुङ्गाहरूमा मान्छेको स्पर्श नभै बन्दैन पर्खाल । इतिहासको चाङ पनि हो पर्खाल । भित्ता भेटिनेबित्तिकै मनका कुण्ठाहरू लेख्न तम्सन्छ मान्छे । स्नानागारहरूमा, शौचालयहरूमा, मन्दिर, चर्च र मस्जिदका भित्ताहरूमा लेखिएका सङ्केतहरूले खोलिरहेछन् इतिहासमा रहस्यहरू । इजिप्टका पिरामिडका भित्ताहरूमा कोरिएका मानव सभ्यता अङ्कित चित्रहरू, अमेरिकाको उचिता माउन्टेनका गिर्जाघरका भित्ताहरूमा टाँसिएका प्रेम, भगवान् र मान्छेका गतिशीलताका चित्रहरू, म्यान्माको स्वेडगँउँ पगोडा छेउछाउमा लेखिएका पुकार र प्रार्थना, वासिङ्टन डी.सी.को लिङ्कन मेमोरियल पार्कमा सिंगमरमरमा लेखिएका वीरता, बहादुरी र मानव बन्ने सूत्रहरू र हाम्रै तिलौराकोटका गाराहरूमा कोरिएका समयका तस्बिरहरू छोएका क्षणहरू उदाउँछन् मेरो मानसपटलमा । चित्रहरू हुन् वा लेखौट, समय र घटनाका तूलफुल बनेर टाँसिन्छन् समयका पर्खालहरूमा । कसैका लागि अवरोध, कसैका लागि सुरक्षा, कसैका लागि रहस्य, कसैका लागि प्रतिष्ठा, कसैका लागि आदि र कसैका लागि अन्त्य बनेर उभिइरहेछन् पर्खालहरू । आनन्दलाई भाग्न नदिन र दिग्दारीलाई भित्रिन नदिन उभ्याइने गरिएको छ पर्खाल । पर्खालको सहारामा चलुन्जेल कहाँ स्वतन्त्र बन्न सक्छ र कोही पनि । स्वतन्त्रताका जरा र हाँगाहरू दूर क्षितिजसम्म दौडाइरहेको बेला पर्खालका भित्ताहरूमा ठोक्किनु गतिमै गोलमाल सिर्जना हुनु हो । मान्छेका मनहरूमा पर्खाल ठडिन थाल्यो भने मनहरू नै उभिन्छन् विद्रोहमा र ढालिदिन्छन् पर्खालहरू गल्र्याम्गुर्लुम् । बर्लिन पर्खालको अवशेषअघिल्तिर उभिएपछि थाहा पाएथेँ मैले कुनै बेला — स्वतन्त्रताभन्दा ठुलो केही मान्दैन मान्छेले । मान्छे विरुद्ध उभिएका पर्खालहरू टिकेको देखेको छैन मैले आजसम्म । नारायणहिटी होस् वा केशरमहल, बागदरबार होस् वा बबरमहल, हरिहर भवन होस् वा रवि भवन, सिंहमहल होस् वा फोहरा दरबार सबैका पर्खालहरू निरीह बने मानव सागरको वेगमा ठोक्किएर । दरवारका शेरहरु सर्प जसरी सुलुसुलु बगेर बाहिरिए समयसंगै । पर्खाल ठड्याउन लालायित बन्नुभन्दा किन आकर्षित बन्दैन मान्छे पुल निर्माण गर्न ? मन मनका पर्खालहरू ढालेर पुल जोडेको हेर्न रमाउँछु म । पर्खाल नाघेर मनहरूलाई दरबारका चोटा कोठा र बार्दलीहरूमा उभ्याएको देखेँ मैले जापानमा । मान्छेका आस्थाहरू च्यापेर मान्छेसँग निर्बाध अङ्कमाल गरिरहेको भेटेँ मैले रानी एलिजावेथलाई वकिङ्घम दरबारको पर्खाल बाहिरसम्म । दरबारअघिल्तिर पर्खाल नभएपछि कति मजाले सुमसुम्याइरहेछन् मान्छेले आफ्ना आस्थाहरूलाई बेल्जियम र नेदरल्यान्डमा । प्राप्तिको पवित्र प्राण मानिरहेछन् मान्छेहरूले पर्खाललाई लोमन्थाङमा । चीनको ग्रेटवाल गाइँगुइँ गर्दैछ भेटेका हरेकसँग इतिहासका चिल्ला पत्रहरू पल्टाउँदै । युरोपेली र अमेरिकीहरू पर्खाल निर्माण गर्नु सट्टा बगैँचा बनाउन आतुर छन् । पर्खाल व्यक्तिवादी सोचको संरक्षक हो । स्वार्थको सहारा हो । डर र शङ्काको सुमसुम्याई पनि हो । जति जति ईष्र्या, लोभ, मोह र अहङ्कार बढ्छ मान्छेमा त्यति नै ठुला ठुला बनाउन थाल्छ मान्छेले पर्खाल । लोमन्थाङ पर्खालकै छेउमा उभिएर सोचेँ मैले । ‘कसैको प्रेम पनि कसैका लागि पर्खाल बन्न सक्छ’– पर्खाल दर्शन बनाउन खोज्नु हुँदैछ मित्र पनि । पवित्र भयो भने प्रेमको स्तम्भ बन्न सक्छ पर्खाल । नेपालको धरहरा होस् या आग्राको ताजमहल दुवै हुन् प्रेमको बलिया पर्खाल । बौद्ध सम्पदा, राजा र जनतालाई घेरोभित्र पारिरहेछ पर्खालले लोमन्थाङमा । हजारौँ वर्षको हिउँ खपिरहेछ, हावा सहिरहेछ, घाम खपिरहेछ । उस्तै उस्तै देखिँदादेखिँदै सधैँ परिवर्तनशील छ संसार । लोमन्थाङका आरोह र अवरोहको निर्दोष साक्षी बनिरहेछ पर्खाल । अप्ठ्यारा, पीडा र अवरोध भनेकै पर्खाल हुन् जिन्दगीका । जिन्दगीमा तह तहका पर्खालहरू छन् । पर्खालहरू छन् र पो जोस, जाँगर र सपनाहरू छन् जिन्दगीका । प्रेम पनि त पर्खाल हो एउटा, अथवा एउटा बाँध हो, जो निश्चित सर्त र खुसीहरूका बगैँचामा फक्रने गर्छ । कयौँ पर्खालहरू त आफैँ बनाइरहन्छौँ मनमा हामीहरू । दिग्दारीहरू, असन्तोषहरू र चिडचिडाहटहरू कसै गरी नपसून् मनमा भन्ने जारी हुन्छ अभिप्राय । गतिशीलता, कार्यमा सजगता, परिवारको ढाडस, मित्रहरूको आत्मीयता, प्रेमको सामीप्यता र औषधीका सहाराहरू पर्खाल बनेर उभिन्छन् । ‘ठिक समयमा उपयुक्त पर्खाल निर्माण गर्नुमा विशेष महत्त्व रहन्छ । पर्खाल निर्माण गर्नु, पर्खालको सुरक्षा गर्नु, पर्खाल कमजोर पार्नु र पर्खाल भत्काउनु यत्तिकैमा त चलिरहन्छ जिन्दगी । जिन्दगी भनेको पर्खाल सिर्जना र विनाशको खेल पो रहेछ । कति काम सोचेर सम्पन्न गर्न सकिँदैन, कति ठाउँ चाहेर पुग्न सकिँदैन । इच्छामा भाँजो आइ पर्नु पर्खालबाहेक के हो र अरू ? लोमन्थाङ पर्खालको पश्चिमी कुनामा पुग्दा पर्खाल दर्शनमा डुबिसकेका थियौँ हामी । ‘टासिदेले’ — पर्खाल छेउकै साँघुरो गल्लीबाट निस्कँदै गरेका दुई बहिनीहरू हामीलाई नै लक्षित गरी हाँसेपछि हात जोडेँ मैले । ‘नमस्कार’, कहिले आउनुभएको हजुरहरू पहिला पनि आउनुभएको थियो कि ?’— हृदयदेखि नै खुलेर मुस्काउनुभयो बहिनीहरू । खुला पर्वत जस्तै खुला दिल हुनु र हावा झैँ खुलेर हाँस्नु कति सुन्दर बानी छ लोमन्थाङवासीमा । लोमन्थाङ पर्खालभित्र घरहरू मात्र होइन असङ्ख्य पर्खालहरू रहेछन् । कुनै पर्खालमा घोडा, खच्चर र भेडाहरू थुनिएका छन्, कुनैमा डुङ्डुङी गनाइरहेछन् मलमूत्रहरू, कुनैमा हरिया रुखहरू र कुनैमा ढुङ्गा छापिएका आराम कक्षहरू देखिन्छन् । केही छैन भने घर घरलाई मज्जैले घेरिएका छन् पर्खालहरूले । ‘तपाईँले बोक्नुभएको झोला र यी पर्खालहरू उस्तै उस्तै लाग्छन् मलाई’— आङफुटी बहिनीको रङ्गीन झोलालाई इङ्गित गरेँ मैले । ‘दुवै उस्तै त हुन् नि आफ्नोलाई छोप्ने अरूलाई रोक्ने । आखिर वस्त्रहरू पनि पर्खाल हुन्, शरीर पनि हृदयका लागि पर्खाल हो, घर पनि पर्खालहरूको जमात हो, ताला पर्खालको पहिलो भेट हो’— आङफुटी र पेम्पा साङ्मोका तर्कहरूमा खुसी भयौँ हामी सबै । एउटा मुस्कान र केही शब्दको साटासाटले तोडिँदोरहेछ मान्छे बिचको पर्खाल । परिचित होस् वा अपरिचित जोसुकैसँग पनि जुनेली मुहारमा अघि सर्ने, जोसँग पनि मनका कुरा खोलेरै बोल्ने पर्खाल विनाको व्यवहार छ लोमन्थाङेहरूको । पर्खाल नै पर्खालका घेराहरूमा बसेर खुला चउर झैँ हल्किनु विशेषता नै छ उनीहरूको । ‘ओठहरूबाट मन्त्रहरू खसेको सुनिँदैन, हातहरूमा माने घुमेको देखिँदैन, बौद्ध आस्थाको सहरमा तपाईँहरू मात्र देखिनुहुँदैछ अपवाद’— दरबारको दायाँ मोहडामा कोट्याएँ मैले बहिनीहरूलाई । ‘यहाँको माटाका हरेक कणमा शान्तिका जमरा जमजमाईरहेछन् । हावाको हरेक गतिमा घुलिएको छ शान्ति र सुगन्ध । शान्त संसारमा उदाउँछ घाम । शान्ति छोड्न परेकामा विरक्तिदै अस्ताउँछ ऊ । हिउँ, पर्वत, हिमनदी र ढुङ्ग्याने आकृतिहरूमा कोरिएका छन् शान्ति नै शान्ति । प्रकृतिले नै बनाएको छ करोडौँ चैत्य, गुम्बा र छोर्तेनहरू यहाँ । प्रकृतिले नै हुर्काइरहेछ असीम शान्ति । मान्छे स्वयं क्रुर, अपराधी र अन्यायी नबन्ने हो भने बुद्धको पुकारा गरेर समय बरबाद बनाइरहनुको के अर्थ ! बुद्धमूर्ति र उनका छोर्तेनहरू उभ्याइरहनुको के अर्थ ? मान्छेले संसार नबिगार्ने हो भने शान्ति पुकार्नुको आवश्यकता छैन । हामी पुकारबाट होइन आचरण सुधारबाट शान्ति ल्याउने अभियानमा छौँ । बहिनीहरूको दर्शन पक्का मानववादी थियो । मानववादी अभियन्ता मित्र भने मिस्टिक होटलमै रहनुभएकाले सुन्न पाउनुभएन त्यो कुरा । लोमन्थाङ बजार पश्चिमबाट पूर्वतिर बिस्तारै ओरालो झरेको छ । उत्तरतिर पहेंलपुर डाँडा नै डाँडाको बिचमा एउटा अर्को अग्लो डाँडो छ । त्यसमा दाच्यो र लुङ्दरहरू फर्फराइरहेछन् । माथितिरबाट कुहिरो क्रमशः झरिरहेछ ध्वजा पताकाका अक्षरहरू कोट्याउन । त्यो केसरजोङ किल्लाको भग्नावशेष रहेछ । केसरजोङ किल्लामा चढेर लोमन्थाङको सर्वाङ्ग नियाल्ने इच्छा उर्लेको थियो तर त्यहाँ पुग्न झन्डै तिन घण्टा हिँड्नुपर्ने कुरा बुझेपछि किल्लालाई आँखैले कन्याएर चित्त बुझाउनुबाहेक अरू केही उपाय सुझेन । अलि पर कोरेलापारि तिब्बत भेट्ने बाटाको रेखा प्रष्ट देखिन्थ्यो । इच्छा भएर पनि तिब्बतका विशाल मैदानहरू चाहार्ने अभियानलाई समयले पर्खाल लगाइदियो । समयको पर्खालका अगाडि सबैले निरीह नबनी सुख्खै छैन । मलाई लाग्यो— एक समय यी सारा पर्खालहरू नाघेर पर परसम्म पुग्ने छ लोमन्थाङ । कयौँ पर्खालहरू नाघेर लोमन्थाङमा अलिकति आफ्नो रङ्ग दिइरहेछ तिब्बतले । लोमन्थाङ र तिब्बतको रङ एकै ठाउँमा मिसिएर उत्पत्ति हुन्छ एउटा नयाँ रङ । त्यो रङमा साँध सीमाना र पर्खालहरू फिका बन्ने छन् र मेटिने छन् उबडखाबडहरू । त्यस रङमा सल्बलाइरहने छन् केवल ‘मान्छे’ नामका मान्छेहरू । अब पर्खाल उभिएर विभाजन गर्न सक्ने छैनन् मान्छेलाई, फरक रङ, फरक आकृतिको दुहाइ दिने मान्छे विरुद्धका दुस्साहसहरूले । होटल मिस्टिक हिमालयन, लोमन्थाङ #दामोदर पुडाशैनी 'किशोर' #लोमन्थाङ |
आविष्कारको सानो भेटीः साहित्य संग्रहालय: नेपाली साहित्यमा चासो राख्नेहरुका लागि ‘साहित्य संग्रहालय’ परिचित वेबसाइट हो। यहाँ सबैजसो साहित्यकारहरुका सामग्रीहरु एक साथ पाइन्छन्। प्रायः साहित्य अनुरागीहरू यस वेबसाइटका बारेमा जानकार भए पनि यसका संचालकबारे बेखबर छन्। किन यो संग्रहालय तयार हुँदैछ, धेरैका लागि यो चासोको विषय रहँदैआएको छ। यही चासो अमेरिकामा रहेका साहित्यकार कृष्ण कुशुमलाई पनि लाग्यो। सोधखोजको क्रममा फेला परे, आविष्कार भारतीलाई। भारती तिनै व्यक्ति हुन्, जसले साहित्य संग्रहालय चलाइरहेका छन्। डेढ दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका आविष्कार पेशाले सूचनाप्रविधिका इन्जिनियर हुन्। स्कुले दिनदेखि नै उनमा साहित्यको रुचि रहेछ। लामाभन्दा छोटा रचनामा पूर्णता पाउने लघुकथा, हाइकु, सेन्यु मुक्तक र कवितामा रूचि छ र उनी तिनै कुरा सिर्जना गर्छन्। उनको ‘टुसाएको मन’ हाइकु र सेन्यू संग्रह प्रकाशित छ। साहित्य संग्रहालय के हो? यो वेबसाइट सुरु गर्न केले प्रेरित गर्यो ? ‘साहित्य सङ्ग्रहालय’ अन्तर्जालमा छरपष्ट रचनाहरुलाई एउटा थलो दिउँ भनेर सुरु गरेको एकल प्रयास हो। धेरै वेब पत्रिकाहरुमा साहित्यिक रचनाहरु छापिन्छन् तर विभिन्न कारणले ती बन्द भइदिन्छन्। जसले गर्दा लेखकको सामग्री प्राप्त गर्न कठिन हुने देखियो। यसरी ती सामग्री हराउनु भाषा र साहित्यका लागि राम्रो होइन भन्ने लाग्यो। अर्को कारण, म पराइ भूमिमा छु। यहाँ नेपाली साहित्यका किताब, रचनाहरू पाउन सन् २०१२ सम्म निकै गाह्रो थियो। कसैले केही लेखेको थाहा हुन्थ्यो तर केही दिनपछि भेट्टाउन गाह्रो भएपछि सुरुमै संकलन गर्न थालेँ । तर दैनिक जम्मा गर्दै जाँदा यो भण्डार बन्न पुग्यो र वास्तवमै संग्रहालय बन्न थाल्यो। सन् २०१३ मा यसलाई ब्लगबाट सुरु गरेको थिएँ तर यो यति ठूलो हुँदै गयो कि यसका लागि बेग्लै वेबसाइट नै बनाउनु पर्यो । सन् २०१६ देखि यसलाई वेबसाइटमा परिवर्तन गरेर चलाइरहेको छु। तर बाहिर धेरैलाई यो कुरा थाहा छैन, किन होला ? यो पूर्णतः अव्यावसायिक र नाफारहित काम हो। त्यसैले प्रचार-प्रचार गर्नु उपयुक्त लाग्दैन। फेरि म काम गर्न रुचाउने मान्छे हुँ। मलाई साहित्यले धेरै दिएको छ। असल मान्छे बनाएको छ। त्यसैले यो मेरो तर्फबाट नेपाली साहित्यलाई सानो भेटी मात्र हो। सबै विधालाई समान रुपमा संग्रह गर्नु भएको रहेछ। अहिलेसम्म कति रचना संकलित भए त? आजको मितिसम्म (असार १ गते) ४ हजार ६ सय ९४ लेखक कविका करिब २० हजार रचनाहरू सङ्कलित भएका छन्। सुरुमा कथा, कविता, लघुकथा, गजल, मुक्तक, हाइकु, एकाङ्की र निबन्ध मात्र संकलित भएका थिए। त्यो पनि एउटा रहरबाट संकलन गर्ने कार्य प्रारम्भ भएको थियो। पछि जसैजसै अन्य विधाका बारेमा बुझ्दै गएँ, मन रौसेर आयो। ती विधाका बारेमा पनि बुझ्ने चाहना झन् बढेर आयो। त्यसपछि अन्य विधाहरु पनि थपिदै गए। कुन विधाका कति रचना संकलन भएका छन्, त्यसको डेटा छ ? साहित्यका १ सय ८३ विधाका रचनाहरू संकलित छन्। नेपाली काव्यअन्तर्गत महाकाव्य, खण्डकाव्य, शोककाव्य, लघुकाव्य, गद्यपद्य कविता, छन्द कविता, गीति कविता, केस्रा, गजल, गेडी, छेस्का, ताङ्का, तियाली, मुक्तक, रुबाई, लिमरिक, सिजो, सेदोका, सेन्र्यू, हाइकु, देउडा गीत, नेपाली गीत, नेपाली पप गीत, नेपाली प्यारोडी गीत, नेपाली भजन, रोइला र चुड्का, लोकगीत, स्वदेश गान आदि रहेकाछन्। यी विधाका सङ्ख्या लगभग बाह्र हजार छन्। नेपाली गद्यअन्तर्गत नेपाली कथालाई मैले विभिन्न उपविधाहरु बनाएर संकलन गरेको छु। जसमा सामाजिक, आधुनिक, लोक, हास्य, मनोविश्लेषणात्मक, यौन, जातक, नैतिक, पौराणिक गरी फरक-फरक संकलन गरेको छु। त्यसैगरी पत्र साहित्य, पुस्तक अंश, मनोवाद र स्वगत, लघुकथा, सूत्रकथाका साथसाथै २५ वटा नेपाली उपन्यास–लघुउपन्यास पनि सङ्कलन गरिएको छ। यस विधामा चार हजार ५ सय रचना संकलित छन्। निबन्ध–प्रबन्धअन्तर्गत एक हजार वटा रचनाहरू जम्मा भएका छन्। जसमा निबन्ध, विचार मन्थन र चिन्तन, संस्कार–संस्कृति परिचय, इतिहास, कार्यपत्र, खोजपत्र, शोधपत्र, पुस्तक समीक्षा, विभिन्न साहित्यिक लेख, समालोचना, कृति–व्यक्तित्व समीक्षा, स्थान परिचय, अनुभूति, नियात्रा–यात्रा संस्मरण, संस्मरण, स्रष्टा चिनारीजस्ता सामग्री रहेका छन् । नाटक–रङ्गमञ्च नेपाली साहित्यको कम लेखिने तर अभिन्न अङ्ग हो। यस विधाअन्तर्गत पचहत्तर वटा रचना एकाङ्की, नाटक, प्रहसन र रेडियो नाटकमा सङ्कलन गरेको छु। बाल साहित्यको पनि बाल उपन्यास, बाल एकाङ्की, बाल कथा, बाल कविता, बाल गजल, बाल गीत, बाल नाटक लगायत लगभग तीन सय पचास रचना सङ्कलित छन्। यीबाहेक विश्व साहित्यबाट नेपालीमा अनुदित र नेपालीबाट अङ्ग्रेजी भाषामा अनुदित रचनाहरूलाई छुट्टै विधाअन्तर्गत राखिएको छ। यस्ता रचनाहरु चार सय एक्काइस पुगेका छन्। त्यसैगरी नेपालमा बोलिने अन्य भाषाका रचनाहरु पनि संकलन भएका छन्। रचना कसरी संकलन गर्नुहुन्छ ? मैले अन्य वेबसाइटमा प्रकाशित भएका रचनालाई संकलन गर्ने हो। त्यसबाहेक वेबसाइटमा भएको इमेलमा प्राप्त हुने रचनालाई पनि स्थान दिन्छु। यसलाई मैले मेरो फुर्सदको समय मात्र नभएर दैनिक केही समय छुट्ट्याउने गरेको छु। मैले कम्प्युटर चलाउन जानेदेखि नै कतै नेपाली रचना भेट्यो कि त्यसलाई नोटप्याडमा राखिरहेको हुन्थेँ। साहित्य सङ्ग्रहालयमा एक चौथाई रचनाहरू पुराना किताबबाट आफैँ टङ्कण गरेर राखेको पनि छु। जहाँबाट प्राप्त भएको रचना हो, त्यसको स्रोत लगभग सधैँ खुलाएको हुन्छु । पब्लिक डोमेनमा रहेका रचनाहरू साभार गरेर सङ्कलन गर्ने गर्छु। वेबसाइटमा फुटकर रचना मात्र छैनन्, केही त पूर्ण पुस्तकहरु पनि संकलन गर्नु भएको छ। सिंगो पुस्तक राखेपछि रोयल्टी पनि दिनुपर्ला। कसरी व्यवस्थापन गरिरहनु भएको छ? हो, केही पूर्ण पुस्तक पनि छन्। केही उपन्यास, लघु–उपन्यास, महाकाव्य, खण्डकाव्य, शोककाव्य, कविता सङ्ग्रह, समलोचना सङ्ग्रह पनि छन्। यीमध्ये धेरैजसो पब्लिक डोमेनमा रहेका र रचनाकारले साभार गरेर राख्नु भन्नु भएकाले राखेको हुँ। केही पुस्तक प्रतिलिपि अधिकार ऐन, २०५९ को दायराअनुसार कसैको कानुन हकदाबीबाट बाहिर पेरिसकेको मानेर सङ्कलन गरेको हुँ। कसैले लेखस्व खोज्नु भयो भने वा आपत्ती जनाउनु भयो भने म ती हटाउने छु तर आजसम्म कसैले पनि त्यसो भन्नु भएको छैन। परदेशको बसाई चुनौतीपूर्ण नै हुन्छ तैपनि आम्दानी नहुने साहित्य सेवा गरिरहनु भएको छ। यी काम गर्दा के कस्ता कठिनाई भोग्नु पर्यो? परदेशमा घरदेशको न्यास्रो ज्यादा लाग्दोरहेछ। जसरी आमा–बा अनि देशका यादले मनमुटु रन्किन्छ, त्यसैगरी आफ्नो भाषामा बोल्न नपाउँदा र लेख्न–पढ्न नपाउँदा–नभ्याउँदा अर्कै नमज्जा लाग्ने रहेछ। त्यही न्यास्रो मेट्न यो काम गरेको हुँ। यसै कारण धेरै कठिनाई भोग्नु परेन तर यसलाई बचाइराख्न केही खर्च त लाग्छ। एक्लो प्रयासमा यसलाई थेग्न केही भारी भयो। यो समस्यालाई पनि कसैगरी पन्छाएँ। कहिलेकाहीँ लेखकहरुले आफ्नो रचना त्यहाँ राखेको भनेर गाली पनि खानु परेको छ। खासमा यो व्यावसायिक नहोस्, लेखकका रचना मात्र संकलन होऊन्, धेरै जनामा नपुगोस् भन्ने चाहना छ। नत्र लेखकलाई गाह्रो हुन्छ भन्ने बुझेको छु। गाली खाँदा पनि मेरो गुनासो नहुनुको कारण पनि त्यही हो तर धेरैबाट हौसला पाएको छु। त्यसबाहेक सामाजिक र पारिवारिक कारणले आजभोलि धेरै रचनाहरु राख्न छुटाएको छु। परदेश होस् या आफ्नै देश, परिवार, काम र अन्य सामाजिक कृयाकलापमा ढल्किँदा धेरै रचनाहरूलाई यहाँ राख्न पाएको छैन। यो सम्झँदा भने नमज्जा लाग्छ। तपाईं आफैँ लेखक। आफ्नो मौलिक लेखनलाई संकलक र सम्पादक व्यक्तित्वले ओझेल पारेको अनुभव हुँदैन ? म लघुकथा, मुक्तक, सेन्र्यु तथा हाइकु र फाट्टफुट्ट गीतमा कलम चलाउँछु र आफ्नो लेखन पनि जारी छ। सिर्जनाको वातावरण पाएको बेला उम्रिन दिन्छु। साहित्य सङ्ग्रहालयले मेरो मौलिक लेखन कार्यमा केही असर गरेको छैन। बरू यत्तिका रचना-भावना पढेर मलाई र मेरो लेखनलाई खारिन मद्दत गरेकोझैं महसुस हुन्छ। कति समय यस्तो पनि आयो कि ‘ह्या किन म एक्लै यो सङ्कलन गरिरहेछु? आखिर कसलाई पो काम लाग्छ र? आखिर के पो फाइदा हुन्छ र?’ भन्ने सोच आयो तर मनोबल सधैँ पाठक र रचना प्रेषण गर्नुहुने साहित्यकार एवम् साहित्यभोगीहरूले उकासी रहनुभयो र मलाई अगाडि बढ्न अदृश्यरुपमा हौस्याइरहनुभयो । मसँग धेरै कृति र फुट्कर रचनाहरू इमेलहरुमा प्राप्त भएका छन्, जुन थप्न बाँकी नै छ। साहित्य संग्रहालयलाई आगामी दिनमा कसरी अघि बढाउने सोचमा हुनुहुन्छ? आगामी दिनमा यसको एउटा छुट्टै मोबाइल एप होस् र सहज तरिकाले सबैसामु नेपाली साहित्यका चम्किला मोतीहरू छर्न सकियोस् भन्ने मनमा छ। तर धेरै साथीहरूले यहाँका रचना प्रयोग गरेर एन्ड्रोइड एप बनाउनु भएको छ। तर ती साथीहरुले धेरै विज्ञापन राखेर झन् भद्दा र पैसा कमाउने भाँडो बनाउनु भएको छ। यो मलाई बिल्कुलै मन परेको छैन। आगामी दिनमा साहित्य सङ्ग्रहालयलाई सर्वसुलभ बनाउन एउटा एप बनाउन मन छ। दोश्रो, नेपाली साहित्यकर्मीहरूको वैयक्तिक विवरणको पूर्ण डाटाबेस बनाउने रहर पनि छ। तपाईंको हाइकु र सेन्यू संग्रह ‘टुसाएको गगन’ आएको छ । पाठकबाट कस्तो प्रतिक्रिया पाउनु भयो ? मेरो पुस्तक ‘टुसाएको गगन’ नोभेम्बर २, २०१९ मा नेपाल र अमेरिकामा एक्कै दिन लोकार्पण भएको थियो । यो ५२५ हाइकु र सेन्र्यु सङ्कलन भएको पुस्तक हो। हाइकु अनि सेन्र्यु अन्य विधा भन्दा कमै पढिने विधा हो जस्तो लाग्यो तर पनि यसका प्रकाशक ‘शब्दार्थ प्रकाशन’का अनुसार यसको बिक्री सन्तोषजनक भयो । देशमा के कस्तो मूल्याङ्कन भयो भनेर पछ्याउन अलिक मुश्किल हुँदो रहेछ तर पनि समीक्षकहरूले राम्रो मन्नु भएको देखें । अमेरिकामा जतिले पढ्नु भयो, सबैले राम्रो मान्नु भयो । यस पुस्तकको जति लेखस्व आयो, त्यो रकम सिन्धुपाल्चोकको एक विद्यालयमा टिफिन भन्ने कार्यक्रमका लागि समर्पण गरेकोछु र भविष्यमा पनि गर्नेछु । अन्त्यमा आफूलाई भन्न मन लागेको तर मैले समेट्न नसकेका कुराहरु केही छन् कि? साहित्य सङ्ग्रह मैले कुनौटोमा बसेर थुपार्दै लगेको थुप्रोलाई घुन लाग्न नदिन साथ दिने सबैलाई हार्दिक धन्यवाद। यस साहित्य सङ्ग्रहालयको सङ्कलनलाई अभिलेखालयको रूपमा अगि बढाउने सोचमा साथ पाउनेछु भन्ने आशा राखेको छु। गल्ती मनिसबाटै हुने हो। यसमा धेरै त्रुटिहरू हुनसक्छन्। यसलाई सच्याउन मद्दत माग्दछु। के गर्दा यो अझ चुस्त होला सुझाव दिनुहुनेछ भन्ने विश्वास राखेको छु। #आविष्कार भारती #कृष्ण कुसुम |
दक्षिण कोरियाली कविताः कफी: (कवि ओ साय्–योङको जन्म सन् १९४२ मा दक्षिण कोरियामा भएको हो । उनका कविताका एक दर्जन र आलोचनाका आधा दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित छन् । सन् १९८४ मा उनले कोरियाली आधुनिक कवितामा पुर्याएको योगदानका लागि सर्वोच्च बुद्धिष्ट सम्मान “नेकोन अवार्ड” प्राप्त गरे । उनी क्यालिफोर्निया विश्वविद्यालयमा आमन्त्रित प्राध्यापक समेत रहेका थिए । उनको यो कविता अङ्ग्रेजीमा प्रकाशित “फ्लार्वस लङ फर स्टार्स” नामक कविता सङ्ग्रहबाट अनुवाद गरिएको हो ।– अनुवादक ) कफी म तिमीलाई माया गर्छु भनेर लेखूँ ? म तिमीलाई घृणा गर्छु भनेर लेखूँ ? नोटबुकको पानाअगाडि कलम हल्लिन्छ म काँपिरहेको हातले एक कप कफी पिउँछु यो गुलियो छैन यो तीतो छैन तिनीहरूमा विशेष स्वाद मिसिएको छ अलिकति चिनी हालेकाले यो ठिक्कको स्वादको छ मलाई कालो कफी मन पर्दैन कपमा चिनी पग्लिएजस्तै गरी मेरो चेतना विवेकको कपमा घोलिन्छ राति एक्लै कफी पिउँदै नेटबुकको खाली पाना अगाडि म आफूलाई हेर्छु । अनुवादक – भीष्म उप्रेती #ओ साय्–योङ #भीष्म उप्रेती |
श्रममा भेदभाव नगरौँ: मान राख्छ कर्मको जसले नित्यनै कर्म गर्दछ । कर्मवीर ठूलो बनि बसुन्धरा ऊ भोग्दछ ।। जो गर्छ कामलाई हेला ठूलो र मसिनो भनी दुर्गती निश्चित हुन्छ भासिन्छ दरिद्री बनी ।। हुँदैन प्रगती कहिलै अल्छी र कामचोरको । देखिएन सुखद कहिलै गर्दैनन् काम जोरको हँुदैन सानो र ठूलो सृष्टिमा काम जुन छ्न । नगरी परिश्रम कडा को पार्छ सुन कन्चन ।। विविधता सबैभन्दा सुन्दर छ हेर कंदर । बगँैचा बगैचँै मात्र हुन्थेन अती सुन्दर । सयपत्री राम्रो लाग्छ केतुकी जब फूल्दछ । गुलाब फूललाई हेरी मान्छेको मन भुल्दछ ।। कुसमाकर सुन्दर बन्छ तुशारे शिशिर हुँदा । चन्द्रको महत्व बड्छ अँध्यारो निसाले छुँदा ।। सुन्दरता शब्दको अर्थ खुल्दछ कुरुपता सित । तसर्थ मित लाउनु मिहिनेती माहुरी सित ।। जो गर्छ कामलाई प्रीत भलो छ उसको सदा । छान्दछ कामलाई जसले बड्द्छ्न उसका व्यथा ।। नखेली माटोको मैलो बन्दैन रास धानको । नलाग्दा माड भुँडीमा के हुन्छ तिम्रो मानको ।। बनाउने सानो हुने भोग गर्ने तिमी ओजक । छोड यो पातकी कुरा नबन तिमी शोसक ।। नगर्नु कहिलै भेद कामका बीचमा पनि । कृष्ण युद्ध लडेकाथे अर्जुनका सारथी बनी ।। #श्रममा भेदभाव नगरौँ #सुरेश जोशी |
सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्सः शृङ्खला २: (संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तकजस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्व साहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । छोटा कविता कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैँमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । नेपाली छोटा कविताहरूको यस शृङ्खलामा पाँच कविका पाँच कविता समावेश गर्ने क्रममा चर्चित कविहरू श्रवण मुकारुङ, रमेश क्षितिज, मनु मञ्जिल, भीष्म उप्रेती र भूपिनका कविता रहेका छन् । – डा. विप्लव ढकाल) श्रवण मुकारूङ १. जङ्गली फूल श्रवण मुकारुङ गाउँ सहर वा नगरतिर मलाई— जङ्गली फूल भन्छन् तर जङ्गलमै त मेरो नाम अर्कै छ । रमेश क्षितिज २. कुभिण्डे दह रमेश क्षितिज राजकुमारी जस्ती युवती जून ओर्लिन्छे आकाशबाट कहिले यो कुना, कहिले ऊ कुना रातभरि नुहाइरहन्छे यो पोखरीमा— निर्वश्त्र, निर्वश्त्र ! जुनेलीको जादुगरी छडीले छोएर बिउँझाउँछे छेउमा सुतेको राजकुमार पहाड र बिहानीको रेशमी रुमाल सुकाएर डाँडामा हराउँछे आफू— कहाँ हो कहाँ ! दिनभरि झोक्राएर पहाड हेरिरहन्छ यही ऐनामा आफ्नो उदास अनुहार ! मनु मञ्जिल ३. घोडा मनु मञ्जिल घोडाको सोचलाई कुटेर यसरी दास बनाइएको छ, यसरी लास बनाइएको छ कि ऊ मुक्ति नै लगामसहितको खोज्छ, स्वर्ग नै तबेलासहितको खोज्छ ! भीष्म उप्रेती ४. सूचना भीष्म उप्रेती ‘‘कृपया फूललाई नछुनु होला’’ फूलबारीमा सूचना टाँगिएको थियो । सम्झेँ— काँडालाई पनि त छुनु भएन, घोचिहाल्छ ! भूपीन ५. सपना भूपीन मानिसका सपनाहरू बच्चाको शरीरजस्ता ! र विपना उनीहरूले लगाएका कपडाजस्ता । सपनाहरू जो बढ्छन् हर्लक्क कुनै बच्चाझैँ । तर वर्ष दिन नबित्दै उनीहरूका कपडा छोटा भैसकेका हुन्छन् लगाउन मुस्किल हुने गरी । लगाऊँ दुनियाँ हाँस्छ नलगाऊँ नाङ्गै भइन्छ । (कवि विप्लव ढकाल (२०२४ ,भोजपुर– याकु, मारिङ ) ले कवितामा विद्यावारिधि गर्ने क्रममा छाेटा कविताकाे पनि अध्ययन गरेका थिए । उनका निर्जन बन्दरगाह , कालो मध्यान्तर, प्रोफेसर शर्माको डायरी , च्याउको जङ्गल जस्ता कवितासङ्ग्रहहरू प्रकाशित छन्। त्रीचन्द्र कलेज काठमाडाैंमा अध्यापन गर्ने ढकालले दर्जन बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन्।) सूक्ष्म अर्थात् स्मार्ट कविता पठाउने ठेगाना [email protected] #डा. विप्लव ढकाल #सूक्ष्म कविता अर्थात् स्मार्ट पोइम्स |
राजिनामासँगै बुझाइएको एउटा चर्चित कविता: हरेक रचनाको इतिहासमा एक श्रमिकको कथा लुकेर बसेको पाइन्छ । यस पृथ्वीमा श्रमिक नहुने भए यो पृथ्वी कस्तो बन्ने थियो अनुमान लगाउन सकिँदैन । र, जहाँ श्रमिक हुन्छ त्यहाँ मालिक हुन्छ । श्रमिक र मालिकको सम्बन्धको अन्तर खोज्ने हो भने त्यहाँ एक नदीको दुई किनारजस्तो भेटिन्छ, चाहेर पनि जोडिन नसकेको । म मालिक भन्ने अहं हर कोही मालिकमा भेटिन्छ । नेपालमा जब हरेक वर्षको मे १ तारिख आउँछ, रमेश सायनको “जागिर” शीर्षकको कविता सबैले पढ्न खोज्छन् । के छ र त्यो कवितामा? किन खोजिन्छ ? कविता लेखेर श्रमिकको हित हुन्छ र ? प्रश्न उठ्ला । मजदुर दिवसको दिन यो कविता खोजिनु सामान्य नै मानिन्छ तर किन खोजिन्छ? श्रमिकको हकहितको कुरा उठ्नु, थाँति रहनु र सधैँ उठिरहनु एउटा नियति बनिरहेको परिप्रेक्ष्यमा यो कविताको सान्दर्भिकता सधैँ उत्तिकै देखिन्छ तर श्रमिकको हितमा के के भए र के के भइरहेका छन् ? मुख्य प्रश्न नै यही हो । कविताले कसरी आफ्नो मालिकलाई आफ्नो जागिरसँग जोडेको छ भन्ने कुरा कवि रमेश सायनको यो ‘जागिर’ कविताबाट पुष्टि भएको पाइन्छ । किन खोजिन्छ उनकै कविता मे एकमा, यो कविता सिर्जनाका पछाडि कुनै कथा छ कि? त्यसअघि पढौँ उनको यो बहुचर्चित कविताः जागिर रमेश सायन म एक निजी कम्पनीको कारिन्दा हुँ यो शहरको थुप्रै भोक र अभावको ईश्वर हो, मेरो मालिक । एकदिन मालिकसँग भनेँ — मालिक, तपाईँ मेरो भोकको ईश्वर हो तपाईंकै वरदान हो यो जीवन यसपालि जन्मदिन धुमधामले मनाउँछु कामबाट बिदा दिनुस् । मालिकले भन्यो — मेरो कृपाले तिमी धेरै वर्ष बाँच्छौ यो पल्ट थुप्रै काम छ अर्को वर्ष मनाउला जन्मदिन मैलै हुन्छ भनेँ । फेरि एकदिन मालिकसँग बिन्ती गरेँ — मालिक, तपाईँ भोकको ईश्वरको पनि ईश्वर हुनुहुन्छ तपाईंकै दयामा सजियोस् एउटा घर प्रेमिकासँग बिहे गर्नु छ मलाई बिदा दिनुस् । मालिकले भन्यो – लगनहरू अझै आउँछन् यो पल्ट थुप्रै काम छ कुनै अर्को लगनमा बिहे गर मैले फेरि हुन्छ भनेँ । एकदिन म जिन्दगीसँग औधि थाकेँ र भनेँ — मालिक, तपाईँले मेरा भोक र अभावहरू टारिदिनुभयो धन्य छ तपाईँलाई अब मलाई मर्न दिनुस् मालिकले भन्यो — ठीक छ आज थुप्रै काम छ सप्पै सक र भोलि मर । ओहो, कति सशक्त कविता भन्ने तपाईंलाई लागेन? यो त हरेक शहरिया कामदारहरूको नियति हो भन्ने तपाईंलाई लागेन? प्रस्तुत कविता लेख्दा कवि कुनै एक निजी कम्पनीमा काम गर्थे । कविलाई लाग्छ, जागिर खानु भनेको आफ्नो निजी जीवन बाँच्नलाई हो । वास्तवमा नै निजी जीवनमा आफ्नो मात्र हक रहेको हुन्छ तर अधिकांश श्रमिकको जीवन भने सास आफ्नो, जीवन मालिकको झैँ रहेको हुन्छ । विंस २०७० सालमा लेखिएको यस कवितामा कविले आफ्नो गुनासो पोख्दै मालिक कस्ता हुन्छन् भन्ने कुरालाई व्याख्या गरेका छन् । उनी आफ्नो मिहिनेत र स्वतन्त्रतामा विश्वास राख्ने भएकाले नै यो कविता जन्मिएको कवि रमेश सायन बताउँछन् । कवितामा पोखिएका पीडा सत्य हुन् । कविले आफ्नो निजी जीवन चलाउनको लागि जागिर खाएका थिए । माघमा बिहे गर्छु भन्दा पनि “यो महिना काम छ, तिमी फागुनमा बिहे गर,” भन्ने उत्तर पाएपछि उनले काम छाड्ने निर्णय गरेका थिए । राजिनामा लेख्दै गर्दा फुरेको यो कविता उनले राजिनामा बुझाउँदा पेश गरेका थिए। उनले राजिनामा सँगै आफ्ना मालिकलाई “यो तपाईँका लागि लेखिएको कविता हो” भन्दै राजिनामाको अन्तिम फाइलमा हालेर बुझाएका थिए । आफ्नो मालिकका लागि लेखिएको कविता पछि सबै किसिमका मालिकका लागि लेखिएको बुझिएला भन्ने कविले सोचेका थिएनन् । श्रमिक भनेको ज्याला लिएर मात्र श्रम गर्ने होइन । तलब लिएर जागिर खाने पनि श्रमिक नै हुन् भन्ने सोच राखेका कविले कुनै म्यानेजर र तल्लो स्तरको जागिरेलाई पनि एकै नजरले हेर्ने गरेको बताउँछन् । हामीले श्रमिक कसलाई भनिरहेका छौँ भन्ने कुरा मुख्य हो । उनी थप्छन्, “चिल्लो गाडीमा हिँड्ने म्यानेजर पनि त श्रमिक हो नि, उसको पनि त मालिक छ !” कवि नवराज पराजुलीलाई घत परेको कवितामध्ये ‘जागिर’ पनि एक हो। कवि पराजुली भन्छन्, “म कविता एकदम प्रेडिक्ट गरेर पढ्छु तर रमेशको कविता पढ्दा मैले जे प्रेडिक्ट गरेको थिएँ, त्यो मैले सोचेको र कविताले कहेको खुराकमा निकै अन्तर भेटेँ। यो कविता पढिसके पछि मैले के सोचेँ भने ‘जसले अहिले यो कविता पढे तर जागिर खाएका छैनन् र जुन दिन जागिर खानेछन् र आफ्नो मालिक पहिले कतै पढेको कवितामा झैँ भेट्नेछन् तब उनीहरूले यो कवितालाई सम्झनेछन् ।’” कवि रमेश सायनले आफ्नो जीवनमा धेरै मालिकसँग काम गरे । उनले कोरियामा लामो समय काम गरेका छन् । कोरियामा उनले नेपालमा जसलाई राजिनामा दिएका थिए, त्यस्तै मालिकसँग उनले करिब पाँच महिना दैनिक १८ घण्टाको दरले काम गरेको अनुभव रहेको बताउँछन् । कविले नेपालमा जागिर खाँदा पाएको मालिक र कोरियामा पाएको मालिक एउटै स्वाभावको भने नरहेको बताउँछन् । उनको भनाइ छ, “यदि नियममा रहेर मालिक उपस्थित भयो भने संसारका कुनै पनि श्रमिक आफ्नो मालिकसँग दिक्क हुँदैनन्।” रमेश सायनको यो ‘जागिर’ कविता उनको कविता सङ्ग्रह ‘भागेर भूगोलभरि’मा सङ्ग्रहित छ । साथै, ‘छुटेका अनुहार’ संस्मरणका लागि उनले पद्यश्री पुरस्कार पनि प्राप्त गरेका छन् । #कविताको कथा #निरज दाहाल #रमेश सायन |
राजमार्गमा बगेका आँसुहरू: यो राजमार्गमा छाला डढाउने टकटकउदो घाम ओडेर बडो मुस्किलले हिँड्नु निदाउन खोज्दा आँखामाथि टहटह जुन आएर बसिँदिदा बढेको वैचनी र छट्पटी भक्कानिएर आँखाबाट छुटेका अश्रुधाराहरू पटपटी पाईतलाहरू फुटेर चुहिएका रगत शरणार्थी जस्तै भोक भोकै आफ्नै देशका सडकहरूमा भौतारिनु कलेटी परेको छोराछोरीहरूको निलो ओठ र उनीहरूको आशातीत अनुहारहरू कसरी बुझ्न सक्छौ तिमी यी यावत पिडाहरू ? निसंकोच ! आदेश मात्र जारी गर्छौ सडकहरू बन्द गर ! घरभित्रै बस ! शिरोधार्य गरेकै हौ त तिम्रा आदेशहरू हाम्रा अँध्यारा कोठाका चुल्हो बलुञ्जेल सहेकै हौ त भोकले रिंगटा लागेर नढलुन्जेल ! रोगले भन्दा भोकले मार्ने भएपछी असह्य भएर पो निस्किएका हौँ जीवन खोज्न राजमार्गको लम्वेतान यात्रामा । घरभित्र कैदी बनाएर राखुञ्जेल खै त ! देखेको ? आगो बलिरहेको पेटहरू औषधिबिना छटपटाइरहेका दिर्घरोगीहरू दूध चुस्न नपाएका तिर्खालु बालकहरू न त देख्यौ हरेक दिनराज मार्गमा बगिरहेको आँशुहरू या नियतवश नै देख्न नचाहेको हौ ? बरु सुनाइरह्यौ तिम्रो सफेद झूट भोकले कोही मर्नुपर्दैन रोगले कोही मर्नुपर्दैन बेरोजगार कोही बस्नु पर्दैन तर यथार्थमा खोजिरहिरह्यौ हाम्रो लाशलाई ओडाउने कात्रो र पुर्ने खाल्डोहरूमा कमिसन दिने ठेकेदारहरू । यो राजमार्गको कठिन यात्रामा चालिएका हरेक पाइलैपिछे हरेक दुःखी यात्रीका मस्तिष्कभरी गुन्द्रुक झैँ गुम्सिएका अनगिन्ती अनुत्तरित प्रश्नहरू छाल झैँ उर्लेकाछन् छन् र खोज्ने छ एकदिन अनुत्तरित प्रश्नका हरेक जवाफहरू अथवा, जवाफ खोज्दा खोज्दै यी आँसुहरू अनियन्त्रित भेलमा परिणत भएर थाहा छैन कुनदिन पुनः फर्कने हुन् यहि राजमार्ग हुदै तिम्रो राजधानी । #राजमार्गमा बगेका आँसुहरू #सुनील बाबु श्रेष्ठ |
स्पन्दनको गीत: मेरो रगत कालो भो रातो गरी फर्काइदेऊ मान्छेसँग बराबरी गराई मात्र पठाइदेऊ ।। भेरी नदी सललल तिम्रो याद झललल कतिन्जेल सोस्ने हो भेलले रगत भललल समाजको मैलो ऐना सफा गरि बनाइदेऊ मान्छेसँग बराबरी गराई मात्र पठाइदेऊ ।। कस्तो होला बन्दी जीवन खुल्ला सगरैमा अझैँ कस्तो होला भाग्य टुट्दा गाउँ घरैमा मेरो लागि मेरै कुलको माया प्रीति जन्माइदेऊ मान्छेसँग बराबरी गराई मात्र पठाइदेऊ ।। #स्पन्दन बिनोद #स्पन्दनको गीत |
गजलको मैदानमा बञ्जाराको साहस: फूलद्वारा लुटिँदा म परदेशमा थिएँ तिम्रो सिँउदो भरिँदा म परदेशमा थिएँ । जुगौँ लगाई बनाएका सपनाका मन्दिरहरू पालैपालो भत्किँदा म परदेशमा थिएँ कस्ती भाकी थियौ होली तिमी बेहुलीमा तिमी रुँदै अन्मिँदा म परदेशमा थिएँ कहाँ पो भर हुँदो रहेछ र समयको जूनको आकार बदलिँदा म परदेशमा थिएँ । २०५६ सालबाट गजल लेखन सुरू गरेका लोकेन्द्र बञ्जाराका मधुपर्क र आँकुरा पत्रिकामा त्यो समयमा दुई गजल छापिएका हुन् । रचना छापिएपछि पैसा पाइन्छ भन्ने हेक्का उनलाई थिएन । अहिले ठूला पत्रकार भएका एकजनाले त्यो पैसा म निकालेर लैजाऊँ ? भनेपछि उनको चेत खुलेको थियो । त्यसै समयमा लोकेन्द्र र अन्य साथीहरू मिलेर पूर्वाञ्चलको दमक आसपासमा रहेर गोजीबाट पैसा निकालेर साहित्यिक कार्यक्रमको आयोजना गर्थे । त्यो बेला हवाई पत्रिकाको लहर थियो । देशका विभिन्न जिल्लाबाट सयौं हवाई पत्रिकाहरू निस्किन्थे । झापाको दमकबाट लोकेन्द्रले पनि साहित्याकाश भन्ने हवाई पत्रिका निकाल्ने गर्थे । द्वैमासिक रूपमा निस्कने सो ४ पन्ने पत्रिका करिब १८ अङ्कसम्म निकाले उनले । अहिलेको जस्तो फेसबुक र अनलाइन पत्रिकाहरू केही थिएनन् तर रेडियो नेपालका विभिन्न प्रसारण केन्द्रहरू र एफएम रेडियोहरूले लोकेन्द्र बञ्जाराका गजल र साहित्याकाश पत्रिकालाई जहिल्यै स्थान दिन्थे । त्यही पत्रिकामा नियमित रचना प्रकाशित हुने सर्जकहरू जस्तोः बुद्घिसागर, महेश कार्की क्षितिज, सुन्दर कुरुप, ज्ञानु विद्रोही, निर्दोष डेबिट, पुष्प अधिकारी अञ्जली आदि देशले चिन्ने साहित्यकार भएका छन् । पूर्वाञ्चलमा रहेर लोकेन्द्र र उनका साथीहरूले नेपाली गजलको उन्नयनका लागि पूर्वाञ्चल गजल मञ्च भन्ने संस्था गठन गरेका थिए । गजलको विस्तार र उत्थानका लागि यस संस्थाले केही वर्ष धेरै साहित्यिक गतिविधि गर्\u200dयो । लोकेन्द्रको विदेश प्रस्थान र गजलको सपना देश छोडेर म नि हिँडेँ भाग्य खोज्न अरबतिर जिउँदो लाश बनी हिँडेँ भाग्य खोज्न अरबतिर । बाध्यताको जञ्जीरले कस्दै कस्दै ल्याएपछि विवश सम्झेँ अनि हिँडेँ भाग्य खोज्न अरबतिर । गजल लेखन प्रक्रियामा आएका सम्पूर्ण सर्जकलाई संस्थागत गर्न भने लोकेन्द्र र उनका साथीहरूले सकेनन् किनभने लोकेन्द्र र अन्य साथीहरू निम्न वर्गीय परिवारमा जन्मेका मान्छे थिए । उनीहरू जुटेर पनि एक दिन गाँस, बास र कपासका लागि फुट्नु नै पर्ने भयो । पत्रिका, साहित्यिक संस्था र गजल लेखनले मात्र परिवार चल्ने अवस्था रहेन । त्यसपछि गजल लेख्ने कलम झोलामा राखेर लोकेन्द्र दुबईतिर हानिए । प्रकाश आङदेम्बे फिल्मतिर लागे । आआफ्ना बाटामा लागेर पनि सहयात्रा छोड्न चाहिँ छोडेनन् उनीहरूले । लेखन सुरूमा पत्रिकामा नाम छपाउने रहरबाट आदत बनिसकेको थियो । दुबईमा करिब एक दशक बस्दा लेखेका गजलहरूको सङ्ग्रह उनले जैतुन (२०७४)नाम दिएर निकाले । यस अघिको उनको पहिलो गजल सङ्ग्रह ‘आँखाभरि सपना’ (२०६२) हो । लोकेन्द्रले विदेश पुगेर न त घरदेश बिर्से न त गजललाई । उनले विदेश बाध्यता माने तर आफूले रोपेको साहित्यको सपनाको बिरुवा उनले कहिल्यै बिर्सेनन् । लोकेन्द्र प्रस्ट वक्ता पनि हुन् । उनले नढाँटी भनेका छन्, “हातमा ठेला नै उठ्ने तातो खाडीको बालुवा चालेर आएको मान्छे म, गजल नै धेरै लेख्छु यसैमा दिल बस्यो, दिल छोडेर कहाँ जानु ? गजलकै लागि केही गरूँ भन्ने मनमा लागेर आउँछ ।” त्यसो त दुबई बसाइका क्रममा लेखेका केही मनपर्ने गजलहरू मोबाइलबाटै गुमाएको नमिठो घटनाले उनलाई हरेक क्षण चिमोटिरहन्छ । परदेश बस्दा एउटा राम्रो गजल सिर्जना गरौँ भन्ने भन्दा पनि लेखनको लत नछुटोस् भन्नका खातिर कामले अत्यन्तै थाकेर बोल्न नसकेको अवस्थामा पनि जस्तो आउँछ त्यस्तै गजल मोबाइलमा नोट बनाएर राखेको यथार्थ उनीसँग छ । नेपाली गजल लेखनमा युवाहरूको चासो फूल नराम्रो कहाँ हुन्छ चुन्न जान्नुपर्छ गजल झिल्के कहाँ हुन्छ सुन्न जान्नुपर्छ यो जिन्दगी गणितको विषयजस्तै हो घटाउन, जोड्न, भाग गर्न, गुन्न जान्नुपर्छ अवसरले मान्छेलाई कहिल्यै पर्खिँदैन समय छँदै यसलाई ड्याम्म थुन्न जान्नुपर्छ ढोका बन्द भयो भने झ्याल खुल्न सक्छ सपनाको बुट्टे रुमाल बुन्न जान्नुपर्छ । कति लेखकहरूले गजल नै नभएको रचनालाई पनि गजल भनेर नामकरण गरिदिँदा आफूलाई दुःख लागेको अनुभव उनी सुनाउँछन् । गजलको क्षेत्रमा आफूलाई यसरी अरूले चिन्नुका पछाडि आफ्नो सङ्घर्षलाई उनले बिर्सेका छैनन् । आफूले पनि साहित्यको यात्रा थालनी गरेको यही गजल लेखनबाट नै हो भन्ने कुरा निर्धक्क भन्छन् । गजल लेखनबाट साहित्य यात्रा प्रवेश गरेका सबै स्रष्टा गजल लेखनमा टिकिरहन सक्दैनन् र सकेका छैनन् भन्ने उनको बलियो तर्क छ । किनभने गजललाई सतहीमा बुझ्नेले गहिरिएर बुझेकै हुँदैन । रदिफ र काफिया मात्रै चिनेर गजल बन्न सक्दैन । काफियाको सही प्रयोग गर्न सकिएन भने गजल केवल भावना मात्रै बन्छ, गजल बन्न सक्दैन । प्रेम प्रणय र शृङ्गार हुँदै गजल अब सडकदेखि सदनसम्म पुगिसकेको यथार्थ छ । उनी अबको लामो समय नेपाली साहित्य गजलप्रधान रहने उनी देख्छन् । लोकेन्द्र बञ्जाराका गजलहरूको अध्ययन लोकेन्द्र बञ्जाराले दुई गजल सङ्ग्रह ‘आँखाभरि सपना’ र ‘जैतुन’ (२०७३) प्रकाशित गरिसकेका छन् । विषयवस्तु चयनमा सचेत भएर गजल लेख्ने लोकेन्द्रले अर्थपूर्ण शेर समायोजन गर्दै समाजमा भएका विकृति विसङ्तिलाई पनि आफ्ना गजलको विषय बनाउने गर्दछन् । उनका गजल प्रेम विषयमा पनि लेखिएका छन् तर प्रेमका गजलमा पनि उनले समाज र दर्शनलाई सँगै लैजान बिर्सिएका छैनन् । विदेशिनु पर्ने युवाहरूको साझा समस्यालाई उनले गजलको मुख्य विषयवस्तु बनाउने गर्दछन् । रदिफ काफिया प्रयोगका दृष्टिले पनि लोकेन्द्र सचेत देखिन्छन् । फर्कें भने भनुम्ला जीवनको गहिराइ कति रहेछ म भीरको ढुङ्गो रहेछु मैले झर्नु त नियति रहेछ । तेरो आफ्नो के छ ? भन्छन् सोध्छ्न् यही देखाउँछु म जस्ता गरिबहरूको आँसु पनि त सम्पत्ति रहेछ । क कसलाई थाहा छ ठीकै छ थाहा नहुनेले बुझ्नुस् कि पहिरोको एउटा समानार्थी शब्द पिरती रहेछ । बाबु खसे, आमा हिँडिन् म थलिएँ अरू के गर्छस् ? ओई जिन्दगी, उठाइदे मलाई तैले गर्नु यत्ति रहेछ । यहाँ समाख्याताका रुपमा आएका लोकेन्द्र जीवनको गहिराइलाई प्रस्तुत गर्दैछन् । “फर्केँ भने भनुम्ला जीवनका गहिराई कति रहेछ” भन्दै गजलको उठान भएको छ । गजलकार अथवा समाख्याता कहाँ गएका हुन् भनेर गजलमा स्थान सन्दर्भ त आएको छैन तर पनि हरेक रचनाबाट हरेक पाठकले संज्ञान सन्दर्भ बुझ्न जरुरी हुन्छ । संज्ञान सन्दर्भ भन्नाले कुनै पनि सङ्कथन पढिसकेपछि लेखकले के भन्न खोजेको हो भन्ने कुरा पाठक स्पष्ट हुनु हो । “म भीरको ढुङ्गो रहेछु मैले झर्नु त नियति रहेछ” भन्दै समाख्याताले आफूलाई ढुङ्गासँग तुलना गरेका छन् । गजलकारले यहाँ भीरको ढुङ्गोलाई क्षणिक रूपमा मात्रै अडिएको देखेका छन् । यो झर्छ अडिन सक्दैन भन्ने विचार गजलकार राख्दछन्, ढुङ्गालाई गजलकार लोकेन्द्रले स्थीर आँखाले देखेका छैनन् । गरिबीको अर्को नाम लोकेन्द्र आँसुलाई देख्छन् र आफ्नो सम्पत्ति नै आँसु हो भन्ने कुरामा उनी दृढ रहन्छन् । बाबुको मृत्युपछि आमाले घर छोडेको अनि समाख्याता जीवनसँग आजित भएर परदेश गएको छ र ऊ फर्केर आएपछि आफ्ना जीवनका कहानीहरू सुनाउन चाहन्छ तर कहानी सुनाउन चाहेको पात्र यही हो भन्ने कुराको जानकारी छैन, त्यो सम्बोधित पात्र नेपाल पनि हुन सक्दछ । भाग्यसँग ठोकिएर जसले आफ्नो ठेस देख्यो उसैले त पसिनाको रङ्ग पनि विशेष देख्यो । हातका औंलाहरू रोप्दै पग्लिएर सकिनुमा किसानले परिश्रमको जगमा श्रीगणेश देख्यो । बाँच्नै केही नजान्नेले पनि आफू बाँचे जस्तै भरियाले भीरमै भारी अड्याउने अडेश देख्यो । मेरो एउटा सँधियारलाई सम्झाउनु छ अब केही किन मेरो आँगन उसले जहिल्यै उपनिवेश देख्यो? यही देशलाई सराप्दै ऊ गएको थ्यो विदेश जाँदा राम्रो पुगी नसकी नै झल्झली यै देश देख्यो । बञ्जारा गजलमा पीडा लेख्न रुचाउँछन् । पीडाको आकार र प्रकार नभएकै कारणले मान्छेले यसैबाट सत्व ज्ञान प्राप्त गर्दछन् भन्ने विचार लोकेन्द्रको हो । “भाग्यसँग ठोकिएर जसले आफ्नो ठेस देख्यो,” भन्दै गजलको उठान गरेका लोकेन्द्र भाग्य भन्दा पनि ठूलो कुरा ठेस मान्छन् । त्यो ठेस गरिबीको हो । जब एउटा मान्छेलाई अभाव पर्छ त्यसपछि त्यो अभाव पूर्ति कसरी गर्ने भन्ने विषयमा उसभित्र तनाव उत्पन्न हुन्छ र ऊ परिस्थितिको दबाब सामना गर्न पसिनाको पहाड उचाल्न र पसिनकै नदी बगाउन तयार हुन्छ । र त, गजलकार भन्छन्- उसैले त पसिनाको रङ पनि विशेष देख्यो ।” यहाँ समाख्याता आफ्नै वरिपरिको भौतिक सन्दर्भ प्रस्तुत गर्छन् । किसानले पसिनाको जगमा श्रीगणेश देख्नु, भरियाले भीरमा भारी अड्याउने अडेस देख्नुमा लोकेन्द्रको गजलको भौतिक परिवेशको मुहान नेपाली गरिब मान्छेका पसिनाको थोपा थोपामा छ । कहिलेकाहीँ उनका गजलको विषय सिमाना पनि पुग्छ । नेपालको सिमाना मिचिँदैछ र त्यो मिचाइलाई मजस्तै नेपालीले रोक्नुपर्छ भन्ने विचार गजलकार लोकेन्द्रको छ । तर लोकेन्द्र छिमेकीसँग प्रेमपूर्ण व्यवहार गर्छु भन्दै गजलमा यसो भन्छन्ः मेरो एउटा सँधियारलाई सम्झाउनु छ अब केही किन मेरो आँगन उसले जहिल्यै उपनिवेश देख्यो लोकेन्द्रले गजलमा लेख्ने विषय नै देश हो, माटो हो र युवाहरू विदेसिनुपर्ने बाध्यताको पाटो पनि हो । लोकेन्द्र बन्जाराको गजल लेखनलाई नजिकबाट चिनेका गजलकार, समालोचक एवम् पत्रकार घनेन्द्र ओझा यसरी लेख्छन्,“उनको लेखनको विशेषता भन्नु नै प्रस्तुतिको कोमलता, विषयवस्तु चयनको सचेतता, लयमा सचेतता, अर्थपूर्ण शेर संयोजन, रदिफ प्रयोगमा विविधता, काफिया प्रयोगमा सचेतता आदि हुन् । त्यो भन्दा बढी नेपाली गजलमा बढ्दो अराजकताबाट निकै टाढा रहेर यस्ता विवाद र बहसबाट अलग्गै रहेर सुन्दर सिर्जनामा लागिरहनु उनको महत्त्वपूर्ण स्वभाव ईर्ष्यालाग्दो छ ।” हातमा नाङगो तरवार छ उसको त्यसैमा अन्धो संसार छ उसको ऊ सधैँ फूलको चुँड्दछ डाली कति कमजोर आधार छ उसको । झिँगा उसलाई मन पर्दैनन् माकुरीसँग प्यार छ उसको उठ न जाग हे शोषित पीडित हामीमा अत्याचार छ उसको । (जैतुन,पृ.६४) पाथी थिएँ मानो भएँ परिस्थितिले आफैँमा विरानो भएँ परिस्थितिले । (जैतुन,पृ.६१) भन्ने मनै छैन यार के भन्नु भन्दिनँ दुःखको समाचार के भन्नु भन्दिनँ पौरखीको निधारमा नेपालको माटो लागोस् म नेपाली मेरो पाउ सधैँ असल बाटो लागोस् । (आँखाभरि सपना) हामी खेद्ने तिमी भाग्ने समय आउँछ हेर्दै गर हाम्ले दिने तिम्ले माग्ने समय आउँछ हेर्दै गर । (आँखाभरि सपना) कोही मान्छे देशलाई खुसी दिन जन्मिन्छन् कोही मान्छे सबैको हाँसो लिन जन्मिन्छन् । (जैतुन,पृ.७) मान्छे बेच्छन् मान्छे किन्छन् तिम्रो शहरमा मलाम गाको पैसा लिन्छन् तिम्रो शहरमा । (जैतुन, पृ.१५) लोकेन्द्र बन्जाराका गजलहरूमा विद्रोहको आवाज समेटिएको हुन्छ । देशलाई अधोगतिमा लैजानेहरूप्रति उनको आवाज र विद्रोही चेतना कोमल भावमा आएको हुन्छ । समय एउटै रहँदैन कुनै दिन देशले काँचुली फेर्छ अनि शोषक सामन्तीहरूको दिन सकिन्छ भन्दै समानताको पर्खाइमा पनि बन्जाराले आम नेपालीहरुको आवाज उठाएका छन् । आँखाभरि सपना र जैतुन यी दुई गजल कृतिहरूमा आफ्नो गजल क्षमतालाई बन्जाराले पस्किसकेका छन् । जैतुन गजल सङ्ग्रहका लागि उनले मोतिराम सेतुराम गजल पुरस्कार अनाममण्डली २०७३ प्राप्त गरिसकेका छन् । नेपाली गजललाई राम्ररी चिनेका बन्जाराका गजलहरू माया प्रेम, समाज, देश र संस्कृतिकै वरिपरि घुमेका छन् । विकृति विसङ्गति र विदेसिएका युवाहरूको घर देशको मायालाई सभ्य ढङ्गमा गजलमा समेट्न सक्नु लोकेन्द्र बन्जाराको गजल लेखनको विशेषता हो । लोकेन्द्रका गजलहरू सशक्त हुँदाहुँदै पनि केही गजलहरूले गहिरो भाव बोक्न नसकेको आभास पनि हुन्छ । काफिया मिले पनि, संरचना मिले पनि गजलले खोजेको भावको तह पूरा हुन बाँकी रहेको आभास पनि भेटिन्छ, जस्तैः मुटुभरि चोटैचोट आँखाभरि पानी दैव पनि मैलाई हान्छ ढुङ्गा छानीछानी । (पृ.५१जैतुन) मलाई खालि आँखा तर्छ तिम्रो नयाँ मान्छे वचनपिच्छे खिसी गर्छ तिम्रो नयाँ मान्छे । (पृ.४६जैतुन) घाम नै पग्लिन्छ तिमीलाई देखेर समय रोकिन्छ तिमीलाई देखेर । ( पृ.५६) माथि साक्ष्यका लागि टिपिएका गजलहरू गजलको नियममै लेखिएका छन् । लोकेन्द्र बञ्जाराको गजललेखनको तह प्रस्तुत गजलांश भन्दा माथि हुनुपर्ने हो, यो कुरालाई गजलकारले विचार पुर्\u200dयाउनुपर्ने देखिन्छ । अबका दिनमा लोकेन्द्र बञ्जाराका गजलहरूमा दार्शनिक पक्ष उच्च रहनुपर्ने देखिन्छ । चाउचाउ गजल लेखन गर्ने अनि हराउने अहिलेका युवाहरूका लागि बञ्जाराले गजलमा फरक धारको बाटो तयो गर्नुपर्ने देखिन्छ । कुनै लेखकले लेखेका कृति पढेपछि हरेक मान्छेले आफ्नो भावना हो भन्ने समानधर्मिता महसुस गर्न सकेपछि मात्र लेखक सबैको हुन्छ । गजलमा पनि त्यो समानधर्मिता कायम हुनुपर्छ । लोकेन्द्रको गजल पढेपछि जो कोही मान्छेले आफूलाई त्यो रचनामा भेटोस् । बञ्जाराका प्रेम गजलहरूका तुलनामा देश, समाज र संस्कृति विषय समेटिएका गजलहरू सशक्त रहेका छन् । #महेश क्षितिज #लोकेन्द्र बञ्जारा |
हतार: पानीलाई छोडिदिनु थियो अलिकति तिर्खा वतासलाई बाँडिदिनु थियो अलिकति शीतल ढुंगालाई दिनु थियो अलिकति वजन धर्तीलाई अलिकति माटो । संकटमा परेको साथलाई अलिकति साथ अभरमा परेको बेला सेवा गर्ने हात हातलाई अलिकति हात दिनु थियो । प्रेमलाई छोइदिनु थियो प्रेमिल स्पर्श । बिर्सिएर सबै सबै बिर्सिएर हत्केलामा पत्थरको मुटु बोकेर कहाँ हिँडिरहेको हो यो अहंकारको जुलुस ? पिएर बैषम्य बिष किन मातिएको हो यो हत्यारा सोच ? उभ्याएर बाटाभरि अदेख तगाराहरू दिन दहाडै यसरी किन सल्बलाई रहेका अँध्याराका ख्याकहरू खाली खाली आएका यि हातहरूलाई यो व्रम्हाण्ड नै बोकाएर कुल्चिएर भूईँ फूलहरू हतारलाई पनि हतार हुने गरी कता हिडिरहेको हो यो लस्कर ? #सुरेन्द्र देवकोटा #हतार |
सन्दीपाका तीन मुक्तकहरू: १. मेटिदैन विधिको विधान बुझिदिने कसले भएपछि पीडा अन्जान बुझिदिने कसले दिल खुसी भए पो मीठो लाग्छ सबैकुरा भित्र आँसु बाहिर मुस्कान बुझिदिने कसले ।। २. बसिरन्छ्न हेरिहेरी चर्को नबोल बगाउदै गङ्गा भेरि चर्को अबोल भित्ताको नि कान, हुन्छ रे सुनेको छु छिमेकीले सुन्लान फेरी चर्को नबोल ।। ३. डोरी पहिल्याउँदै ललाटसम्मको भारी दाउरा अनि खाटसम्मको असह्यय भयो चोट जिन्दगीको अब तय गर्नुछ सफर घाट सम्मको ।। #सन्दीपा पौडेल #सन्दीपाका तीन मुक्तकहरू |
सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ ई-बुकमा आउँदै: लेखक सुजीव शाक्य ईबुक ‘अर्थात् परिवर्तन’का साथ व्यवसायका सबै क्षेत्रलाई झैँ नेपाली प्रकाशन व्यवसायलाई पनि कोरोना महामारीले प्रभावित पारेको छ । यति हुँदाहुँदै पनि यही अप्ठ्यारो र अनेक संकटसँगै नेपाली प्रकाशन उद्योगलाई यो समयले ई-कमर्सको नयाँ क्षितिज निहार्ने र ई-प्लेटफर्ममा अवतरण हुने अवसर पनि प्रदान गरेको छ । नियमित परम्परागत छापा संस्करणका साथसाथै विभिन्न अतिरिक्त माध्यमहरूबाट समेत आफ्ना प्रकाशनलाई पाठकसामु ल्याउने प्रयासमा पब्लिकेशन नेपालयले काम गर्दै आएको छ । फलस्वरूप, नेपालयबाट प्रकाशित सबै किताबहरू हाल अमेजन, बार्न्स एंड नोबल लगायतका माध्यमहरु मार्फत् संसारभर उपलब्ध छन् । साथै, अँग्रेजी भाषाका पुस्तकहरु ‘ई-बुक’का रुपमा किन्डलमा पनि उपलब्ध छन् । अन्तर्रास्ट्रिय ‘ई-बुक’ का माध्यमहरुमा विद्यमान, नेपाली भाषाको स्वीकार्यतामा समस्याका कारण नेपाली कृतिहरू ई-किताबका रुपमा व्यापक हुन सकिरहेका थिएनन् । साथै नेपाल भित्र खरिद गर्दाको भुक्तानी समस्या यथावत नै छ । ‘विगतमा हामीले, यहीं विकास गरिएका विभिन्न ई-बुकका प्लेटफर्मलाई प्रयोग गर्ने प्रयत्न नगरेका होइनौं. तर, ती सबै माध्यममा केही न केही प्रविधिक कमजोरीहरू रहे र दुर्भाग्यबस प्राय प्लेटफर्महरु निरन्तरत रहन सकेनन’ नेपालयका किरण कृष्ण श्रेष्ठ भन्छन् । ‘माहामारी बीच आइपरेको लकडाउनको दौरान, इन्टरनेट मार्फत पुस्तकको अर्डर लिएर घर दैलोमा पुर्याउने सेवा दिंदै आएको बिक्रेता मध्धेको ‘थुप्रै’ ले ‘ई-बुक’को नयाँ अवधारणासहितको समाधान लिएर आयो र हामी यससँग सन्तुष्ट भयौं । तत्कालै, हाम्रा सबै प्रकाशनहरू ‘थुप्रै’को ‘प्लेटफर्म’मा अपलोड गरेका थियौँ । यो बन्दाबन्दी बीचको करिब एक महिनामै, हाम्रा प्रकाशनका हजार भन्दा बढी प्रति पुस्तकको ई-बुक प्रती पाठकहरूले किनेका छन् । यो निकै उत्साहजनक नतिजा हो,’ किरणले प्रष्ट्याए । यही सम्भावनालाई विस्तार गर्दै नेपालयले आफ्नो आउँदो नयाँ प्रकाशनलाई यही माध्यमबाट प्रारम्भमै ‘ई-बुक’ मार्फत् सार्वजनिक गर्ने योजना बनाएको छ । र, यो योजना, आर्थिक टिप्पणीकार सुजीव शाक्यद्वारा लिखित ‘अर्थात् परिवर्तन’ रहेको छ । यो किताब ‘ई-बुक’मार्फत् सार्वजनिक हुने नेपालयको पहिलो प्रकाशन हुनेछ । सुजीव शाक्यको अर्थतन्त्रमा आधारित नेपाली पुस्तक, ‘अर्थात् अर्थतन्त्र’ नेपालयबाटै प्रकाशित छ भने अंग्रेजीमा लेखिएको, ‘अनलिसिङ नेपाल’ र ‘अनलिसिङ द वज्र’ पेंगविन प्रकाशन बाट प्रकाशित छ । ‘मेरो नयाँ पुस्तक ‘ई-बुक’ मार्फत् नेपाली पुस्तक बजारमा आउन लागेको कुराले म उत्साहित छु,’ लेखक सुजीव शाक्य भन्छन् । ‘मेरो पुस्तकको शीर्षकमै परिवर्तन अंकित छ, पुस्तक बजार पनि परिवर्तनतर्फ अग्रसर छ । पुस्तक बजारका निम्ति यो एउटा नयाँ आरम्भ हो । ‘ई-बुक’ को बिस्तार मार्फत् नेपाली पुस्तक बजारले नयाँ आयाम भेट्ने छ भन्ने कुरामा म आशावादी छु,’ सुजीवले थपे । संयोगबस, नेपाली अर्थतन्त्रको सकारात्मक सम्भावनाको सेरोफेरोमा लेखिएको यो पुस्तक, नयाँ नेपाली आर्थिक वर्षको प्रारम्भ संगै सार्वजनिक हुने भएको छ । ‘यस क्रममा एउटा थप प्रयोग पनि गर्दैछौं’ नेपालयका किरणले भने । ‘पुस्तक विमोचन हुनु भन्दा पहिले हामी यस पुस्तकको केही अध्यायलाई एकल अध्यायको रुपमा सार्वजनिक गर्ने छौं,’ ‘यो सम्भावनालाइ हामीले संगीतमा प्रयोग हुँदै आएको नमूनाबाट टिपेका हौँ । संगीत क्षेत्रमा एल्बम सार्वजनिक हुनुभन्दा पहिले कुनै एउटा गीतको एकल गीत वा सिंगल ट्रयाकमात्र सार्वजनिक गरिएको हामीले देख्दै आएका छौं । त्यस्तै अनुरुप, हामी पुस्तक सार्वजनिक गर्नुभन्दा पहिले किताबका ४ वटा अध्यायलाई छुट्टाछुट्टै सार्वजनिक गर्ने छौं ।’ किरणले थप प्रष्ट्याए । एकल अध्यायलाई साप्ताहिक रुपमा सार्वजनिक गरिने छ जसको शुरुवात बिहिबार, असार ४, २०७७ (१८ जून, २०२०) बाट हुनेछ । ‘थुप्रै’ को एपमार्फत् पुस्तकको एकल अध्याय पन्ध्र रुपैंयामा पढ्न सकिन्छ भने पूरै पुस्तक सार्वजनिक भएपछि २५० रुपैयाँमा उपलब्ध हुनेछ । एकल अध्याय किनेर पढ्नेले पूरै पुस्तक किन्दा पहिलेको रकम छुटको रुपमा कट्टी गरिने व्यवस्था एपले गरेको छ । ‘ई-बुकको यो प्रयोग सम्पूर्ण नेपाली पुस्तक बजारका निम्ति अगुवा प्रक्षेपण हुनसक्छ,’ लेखक सुजीव शाक्यले भने । ‘अर्थशास्त्रको विद्यार्थीको दृष्टिबाट हेर्दा, सम्पूर्ण नेपाली पुस्तक उद्योगका निम्ति म यसलाई एउटा अवसरका रुपमा देख्छु ।’ यो एकल अध्याय खरिद गर्ने पाठकले पुस्तकका अध्यायहरु पढ्दा संगसंगै लेखकले आफैँ वाचन गरेको ‘अडियो’ पनि सुन्न सकिने गरी प्राविधिक तयारी गरिएको छ । ‘एपमा भएको यो अडियोले हाम्रो आगामी कामको झलक दिनेछ, हामी अब हाम्रा सबै नेपाली पुस्तकहरुलाई संस्थागत रुपमा ‘अडियो बुक’ को संस्करणमा ल्याउने प्रयासमा छौं,’ नेपालयका किरणकृष्ण श्रेष्ठले प्रकाश परे । असार ४ गते (१८ जून) विहीबारदेखि साप्ताहिक रुपमा एकल अध्याय सार्वजनिक हुने पुस्तक ‘अर्थात् परिवर्तन’ असार ३० गते (१४ जुलाई) पूर्ण रुपमा ‘ई-बुक’ मार्फत् सार्वजनिक हुनेछ । #किरणकृष्ण श्रेष्ठ #नेपालय #सुजीव शाक्य |
छुट्टिनुअघि: सुमन घिमिरे आज, मलाई सम्झन मन लाग्यो मलाई फर्कन मन लाग्यो त्यही पुरानै स्थानमा जहाँ तिम्रो र मेरो पहिलो भेट भएको थियो। पहिलो भेटमै वा पहिलो हेराईमै मैले अहिलेसम्म कुनै पनि चिज मन पराएको थिइनँ तर तिमी देखेपछि, म तिम्रो प्रेममा हारेँ, तिमीमा त्यस्तो के जादु थियो म त तिम्रो प्रेम वासनामा डुबेर खै कसरी माया गर्छु भन्ने आँट गरेँ, प्रतिउत्तरमा, तिमीले स्वीकार्यौ। हप्ता बित्यो महिना बित्यो वर्ष नै बित्यो । हाम्रो प्रेम कहानीमा कथाहरुको पाना थपिंदै गए यस्तो कि हाम्रो प्रेम कहानी एउटा गतिलो उपन्यास नै बन्यो । न मैले याद गरेँ न तिमीले याद गर्यौ, उपन्यासका पानाहरु बिस्तारै बिस्तारै उप्कदैँउप्कदैँ गएछ्न्, अन्त्यमा त्यो उपन्यासको बाहिरी गातो मात्र बाँकी रहेछ। आज तिमी जाने दिन, छुट्टिनुअघि आँखा अतृप्त नहुन्जेल तिम्रो तस्बिर फेरि कैद गर्न मन थियो तर, तिमीलाई भेट्ने एउटै बाटो कालिखोलाको पहिरोले बन्द गर्देको छ, तिमीलाई भेटेरै बिदा गर्ने, कथा मात्र भयो । पीर पो लाग्न थालेको छ, उमेर बढेसँगै, कुनै दिन भेट्नै नसक्ने भएँ भने, तिमीलाई चिन्नै नसक्ने भएँ भने, मनमा यस्तो कुरा खेल्छ कि छुट्टिनुअघि भेटेको भए ? #सुमन घिमिरे |
चिनामा सहिद लेखिएको छ: रूपक अधिकारी हामी यस्तो युग बाँचिरहेका छौं जसको परिकल्पनामा सहिदहरु सहादत भएनन् गल्तीको तिल पेलेर निस्किएका कांग्रेस र कम्युनिस्ट भएका छन् अब सहिद बन्ने पालो त मेरो पनि थियो आजै चिना हेराएर म पनि आन्दोलन गर्न निस्कनेछु । मेरो मुखबाट मानौं अपशब्दको वर्षात् भएको छ कपटीहरु हल्ला गर्न तँछाडमछाड गर्दै अघि बढिरहेका छन् सहिदको रङ कस्तो हुन्छ थाहा छ ? भेडाहरुले मलाई सोधेका हुन् कि आफैँलाई मैले बुझेकै छैन तेरो स्वभाव हेर शान्त छ शालिन छस् खै, अनुहारमा रगतको रङ देखिएको ? उनीहरु आवाजमा वजन राखेर प्रश्न गर्छन् हे पटमुर्ख महोदय, तपाईं भ्रममा नबाँच्नुहोस् सहिदको रङ नीलो हुन्छ आकाश जस्तै फराकिलो, मिजासिलो जब तपाईंले यो बुझ्नुहुनेछ ज्योतिषीले ढोका उघाइदिनेछन् हामीमा स्वभावको अभाव नरहोस् चिनामा गणेशमानको नाम लेखिएको छ अब सहिद हुन तपाईंले मर्न पर्दैन सपनाका आँखामा सहिदको रङ रातो नभए पनि सहादत मिल्नेछ । रुपक अधिकारी गौरादह -१ , झापा #झापा #रुपक अधिकारी |
उनी: तिलकराज चुँदाली आक्रोशको व्यङ्गवाँण हान्दिनन् उनी रिसाएको बेला, कुटुरो बान्दिनन् उनी। सरल र सुखद् छ उनले बुनेको संसार छलछाम र तिकडम जान्दिनन् उनी। सियोले झैँ जोडजाड गर्ने बानी उनको कैंची बन्नुमा बहादुरी ठान्दिनन् उनी। खै के सोची चलाउँछन्, फोहोर कतिले मुख छोपी रछानमा, ढुंगा हान्दिनन् उनी। पौरखको आर्जन चलाउँछिन् जतनले टुटाएर साथ, वैभव छान्दिनन् उनी। #तिलकराज चुँदाली |
यमलोकबाट बिसे नगर्चीहरु: म, बिसे नगर्ची, बडामहाराज सरकारको सेवक, “मैले उठाएको एक -एक रुपियाँबाट किनेको हतियारले जितेको गोर्खा राज्य, ‘विशाल नेपाल’ झन्डै २६० वर्षपछि याद आयो, अचानक ब्युझिएँ चीरनिन्द्राबाट !!” हो, बांगे सार्की पनि छटपटाइरहेर सोध्दैछ… किन अझै पनि नेपाल राज्यमा हामी ‘मान्छे’ भएनौँ ? उस्तै छ हाम्रो हाल मेरो देश नेपाल l हाम्रा सन्तान दरसन्ततिहरुले बराजुको कपडा सिलाइदिएकै हो, गर्ने कम गरे नि नगर्ने काम गरे नि, जता पायो त्यतै प्वाल पारे पनि, जसो तसो बाबुसाहेबको लाज छोपेकै हो खै, कहाँ गल्ती भो कुन्नी ? आफ्नै सीपले बनाएको हतियार आज आफ्नै हत्यारा बन्यो ! आफ्नै हातले बुनेको कपडा आफ्नै पासो भयो ! सेवा त गरेकै हो महाराजाहरुको, निःसन्देह आदेश पालना भएकै हो राणासाबहरुको, बन्दुक बोक्ने र गोली ठोक्ने पनि गरेकै हो, जिन्दावाद र मुर्दावादमा अगाडि लागेकै हो, कसो पर्यो कुन्नी ! आज आफ्नै कमरेडसाबले खिसिट्युरी गरिबक्स्येछ बरजुहरुलाई बाबुसाहेब र बाबुसाहेबलाई महाराजा बनाएकै हो, एक गिलास र दुइटा फिर्का चौटामा आफू भर्याङ बनेर माथि पुराएकै हो, खै कहाँ गल्ती भो कुन्नी ! आफ्नै साहेबले औरिकाको कुरा गर्नु भएछ यमलोकमा त हिटलरसाब, मुसोलिनी, बिन लादेन लगायत धेरै हुनुहुन्छ, यहुदी, हुतु र तुत्सीको, रोहिंग्या, काला र गोराको नि कुरा सुन्छौँ, अब्राहम लिंकन, मार्टिन लुथर, कार्ल मार्क्स, महात्मा गान्धी, पुष्पलाल सबैको कुरा सुन्छौँl बाबुसाहेब कमरेडहरु भनिसिन्थ्यो: “संसारमा मानिस मात्र एक अन्तर्राष्ट्रिय जाति हुनेछ”, खै कहाँ गल्ती भो कुन्नी ! बाबुसाहेबले चित्त दुखाउनु भयोl फेरि मनिराम गाइने र बिसे नगर्ची उत्तेजित हुन थाले, खबरदार ! खबरदार !! खबरदार !!! त्यो बबुरो नवराजले बाबुसाहेबको छोरी मन पराएको न हो… उफ !! विभेद !! असमानता !! अमानवीय क्रुर ! नरसंहार !! हामी आफ्नो सीपमा बाँचेका मान्छे, सपनालाई सिरानीमा राखी साँचेका मान्छे, हजुरहरुको बहादुरीको सामना गर्न नसकौंला, हजुरको मर्जी बक्स भएअनुसार तलुवा बन्न नसकौंला, बिन्ती बन्द होस् यो अन्याय र अत्याचार, अब कुनै निर्मला बन्न नपरोस्, नपरोस्, नवराज बिक जस्ता छोरा गुमाउनु, कुनै सम्झनालाई एसिड आक्रमण नहोस्, बिन्ती हामी मानव नै हो बराजु जस्तै, बाबुसाहेबको जस्तै रगत, उस्तै भावना, बिन्ती बुझ्नु मानव नै एक मात्र जाति हो हामी पनि मानिस नै होl (भुसाल श्री जनकल्याण मा.वि. बौद्ध, काठमाडौँमा शिक्षण गर्छन्।) #अर्जुन प्रकाश भुसाल #काठमाडौँ |
"प्रेम साहित्यमा यौन आउनु स्वाभाविक हो": नवपुस्ताका लेखक कृष्ण आचार्य पेशाले पत्रकार हुन्। उनको अप्रिल फुल नामक प्रेमिल उपन्यास प्रकाशित छ भने विभिन्न सञ्चारमाध्यममा लेख तथा रचना पनि निरन्तर प्रकाशित भइरहेका छन्। प्रस्तुत छ, उनै पत्रकार तथा उपन्यासकार कृष्ण आचार्य सँग साहित्यपोस्ट का लागि कृष्ण ढुङ्गेल ले नवपुस्ता, पत्रकारिता, प्रेमिल आख्यान लेखनलगायत विविध विषयमा गरेको अन्तरङ्ग संवादको सम्पादित अंशः सुरु वर्तमानबाटै गरौँ, लक डाउनका दिनहरू कसरी बिते, बिताउँदै हुनुहुन्छ ? लक डाउन म, हामी वा नेपाली जनताले मात्र भोगिरहेको संकट होइन । सिंगो विश्वले नै यसको सामाना गर्नुपरेको छ । त्यसैले मन त्यति धेरै उथलपुथल नहुँदो रहेछ । सायद, नेपालमा मात्र यस्तो संकट निम्तिएको हुन्थ्यो भने पक्कै त्यसको प्रभाव फरक हुन्थ्यो होला । कोभिड–१९ संक्रमणबाट आफूलाई सुरक्षित राख्ने सबैभन्दा उत्तम उपाय भनेको ‘होम क्यारेन्टिन’ हो । म पनि सुरुवाति दिनदेखि नै यसको अभ्यास गरिरहेको छु । परिवारसँग समय बिताउँदाको खुसी र आनन्द महसुस गर्न पाएको छु । आफ्नै केही अपूरा कामहरू पनि सिध्याउने अवसर पाएँ । पढ्न नभ्याएर थन्किएका केही पुस्तकहरूमा नजर डुलाउन पाएँ । तपाईँ उपन्यासकारभन्दा पहिले पत्रकार, सामान्य अवस्थामा भन्दा कोरोना माहामारीका बेला नेपालको परिपेक्षमा पत्रकारहरूले कतिको जोखिम मोल्नुपर्ने हुँदोरहेछ ? काम गर्न कत्तिको सहज रहेछ ? जति जोखिम स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई छ त्यति नै जोखिम पत्रकारलाई पनि छ । जिम्मेवारी र भूमिका सबैको फरक–फरक भए पनि उत्तरदायित्व सबैको एउटै हो– समाज र जनता । पत्रकार पनि दिन–रात फिल्डमा खटिनु परिरहेको छ । पत्रकार सम्मेलन होस् या बालुवाटार वा माइतीघरको प्रदर्शन, पत्रकार पुगेकै छन् । मजदुर–श्रमजीवीको आवाज प्रवाह गर्न होस् या क्वारेन्टिनको भद्रगोल अवस्थाबाहिर ल्याउन, पत्रकारको उपस्थिति देखिएकै छ । यसमा सुरक्षाको कुरा आउँछ । अर्को कुरा, मिडिया हाउसमा आइरहेको आर्थिक मन्दीका कारण संचार माध्यमहरू संकटमा छन् । संचार माध्यमहरू संकटमा पर्नुभनेको श्रमजीवी पत्रकारको रोजिरोटी संकटमा पर्नु हो । त्यसैले जागिरको पनि जोखिम छ । यति हुँदा हुँदै पनि कोरोना महामारीले पत्रकारितामा एउटा नयाँ अभ्यासको विकास गरेको पाटोलाई भने सकारात्मकरूपमा लिनुपर्ने हुन्छ । त्यो हो, ‘वर्क फ्रम होम’ । पत्रकारहरू, त्यसमा पनि नवपुस्ताका पत्रकारहरू एउटै संस्थामा लामो समयसम्म टिकिरहेको पाइँदैन । किन होला ? अवसरले गर्दा नै हो । त्यो अवसर पैसा, मिडिया हाउस र नयाँ प्रयोगसँग जोडिएको हुन्छ । पहिलो, उसले पाइरहेको तलबभन्दा अर्को ठाउँमा ५ या १० हजार बढी तलब आउँछ भने त्यो अवसर किन गुमाउनु भन्ने हुन्छ । दोस्रो, काम गरिरहेको मिडिया हाउसभन्दा अवसर प्राप्त मिडिया हाउसमा आफ्नो करियर बढी सुरक्षित देख्छ भने उसले फड्को मार्छ । तेस्रो, भनेको नवपुस्ताको नयाँ प्रयोग गर्ने चाह हो । हरेकमा नयाँ सोच र क्षमता हुन्छ, ऊ आफूले काम गरिरहेको स्थानमा यी कुरा दबिरहेको महसुस गर्छ र त्यहाँबाट हिँड्छ । कसैको लहलहैमा लागेर र सम्बन्धका आधारमा एउटा मिडिया छाडेर अर्कोमा जानेहरू पनि छन् । नवपुस्ताको विषयवस्तुको ज्ञान र लेखन शैली अघिल्लो पुस्ताभन्दा फरक छ । विज्ञान तथा प्रविधिको प्रयोगमा अब्बल छन् । त्यसैले मिडिया हाउस पनि उनीहरूलाई प्रयोग गर्न चाहन्छ । काम लगाउन सजिलो र खट्ने, मेहनत गर्ने बानीका कारण पनि उनीहरू मिडिया हाउसहरूको नजरमा परिरहेका हुन्छन् । तपाईँ उपन्यासकार पनि, पत्रकारिता गर्नु र स्वतन्त्ररूपमा लेखक कर्म गर्नु के कति रूपमा सामान र के कति रूपमा फरक पाउनुभएको छ । तुलनात्मकरूपमा कुन चाहिँ गाह्रो काम हो ? पत्रकारितामा समाजको सत्य, तथ्य घटनालाई उजारण गर्ने काम गरिन्छ । उपन्यास लेख्नुभनेको घटनाक्रममा प्लटको प्रयोग गरेर लम्बाउने वा आफैँ कुनै घटना रच्ने काम हो । भन्नुको मतलब, दुवैको धरातल एउटै हो, तर प्रस्तुति फरक हो । मैले उपन्यासमा पात्रको छनोट गर्दा गरिबलाई धनी बनाइदिन सक्छु, रामलाई श्याम बनाइदिन सक्छु, बलात्कारीलाई मृत्युदण्ड दिन सक्छु, आफैँलाई आकासमा वायुपङ्खे घोडामा उडाउन सक्छु, तर पत्रकारितामा त्यसो गर्न मिल्दैन । गरिबलाई गरिबकै रूपमा प्रस्तुत गर्नुपर्छ, रामलाई राम नै लेख्नुपर्छ, बलात्कारीको भेद खोल्नेबाहेक उसलाई सजायको दायरा तोक्न मिल्दैन, आफूलाई हवाइजहाजमा चढाउनुपर्छ (हाँस्दै) । उपन्यास कल्पना हो भने समाचार सत्यता । उपन्यास सत्य घटनामा आधारित भए पनि त्यसलाई ‘फिक्सनाइज’ गरिएको हुन्छ । समाचारलाई त्यसो गर्न मिल्दैन । साहित्यको विभिन्न विधा भएजस्तै परिकारिताको पनि विधा हुन्छ । कोही समाचार लेख्छन्, कोही फिचर लेख्छन्, कोही स्टोरी लेख्छन् । समाचार लेख्न जति सजिलो छ, फिचर र स्टोरी लेख्न त्यति नै गाह्रो छ । साहित्यमा पनि ‘नन–फिक्सन’ लेख्न जति सजिलो छ, त्योभन्दा गाह्रो ‘फिक्सन’ लेख्न छ । अर्थात, पत्रकारिताभन्दा साहित्य गाह्रो छ, साहित्यमा पनि सबैभन्दा गाह्रो भनेकै उपन्यास लेख्न हो । एउटा उपन्यास तयार पार्न कम्तिमा पनि १ वर्ष समय लाग्छ । तपाईँको उपन्यास ‘ अप्रिल फुल’ बाट कस्तो पाठक प्रतिक्रिया पाउनुभयो ? स्वतन्त्ररूपमा लेखेरैमात्र बाँच्न सकिने कुरामा कतिको आशावादी हुनुहुन्छ ? एउटा लेखकका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै पाठकको प्रतिक्रिया रहेछ । सायद, पाठकले मेरो उपन्यासलाई प्रेम नगरेको भए म अर्को उपन्यास लेख्ने आँट गर्दिनथेँ होला । लेखे पनि अब मैले ‘अप्रिल फुल’ भन्दा अब्बल कृति लेख्नुपर्छ भन्ने दबाब महसुस गर्दिनथेँ होला । मैले यो पुस्तक विशेष गरी युवा पुस्ता, त्यसमा पनि किशोर–किशोरीको मनोभाव, मनोविज्ञान र जीवन समेटेर लेखेको थिएँ । उहाँहरूले मिठो प्रतिक्रिया दिनुभयो । अहिले नेपाली साहित्यमा लेखेर मात्र बाँच्ने लेखक ८–१० जना हुनुहुन्छ । यसको सिधा अर्थ के हो भने नेपाली साहित्यकारहरूको अझै लेखेरमात्र बाँच्न सक्ने अवस्था आइसकेको छैन । फेरि बाँच्नु भनेको आफूमात्र बाँच्नु पनि होइन नि ! आफूसँगै आफ्नो परिवारलाई पनि बचाउनुपर्यो । आफ्नो हरेक आवश्यकता र जिम्मेवारी पूरा गर्न सक्ने हैसियत बन्नुपर्यो । यदि बाँच्नु आफूमात्र बाँच्नु हो र साँझ–बिहानको छाक टार्नु हो भने त्यो भने सम्भव छ । वर्षमा एउटा पुस्तक ३–५ हजार प्रति बिक्री भयो भने राम्रै पैसा हात पर्छ । लेख–रचना छाप्ने थुप्रै ‘प्ल्याटफर्म’ छन् । त्यहाँबाट पनि केही रकम आउँछ । तर, भोलि दुःख, बिरामी पर्दा कसैसँग हात फैलाउने अवस्था आउँछ भने लेखेरमात्र बाँच्न सकिन्छ भनेर किन धाक दिनु र ! अर्को पुस्तकको तयारी के छ ? विषयवस्तुको बारेमा केही सोच्नुभएको छ ? अर्को पुस्तकको लेखन तथा सम्पादनको काम सकिएको छ । २०७७ सालभित्रै पाठकको हातमा पर्नेछ । दशैंअगाडि नै प्रकाशन हुने सम्भावना पनि छ । प्रकाशकसँग यसबारे कुराकानी हुँदै छ । विषयवस्तुको कुरा गर्दा लेखकको रुचि र दख्खल जे कुरामा छ उसले त्यसमै लेख्ने हो । मैले हिजो प्रेमका विषयवस्तु लेखेँ र त्यसलाई आम पाठकले मन पराइदिनुभयो । यसबाट के प्रमाणित भयो भने मैले प्रेमलाई विषयवस्तु बनाएर लेख्दा न्याय गर्न सक्दो रहेछु । मेरो जुन प्रकारको भाषा, शैली र प्रस्तुति छ त्यो प्रेम लेख्नकै लागि होजस्तो म आफैँलाई पनि लाग्छ । बरु यसका आयामहरू फरक हुन सक्लान् । प्रेम एउटा नदी हो । नदीमा पानी र ढुङ्गा मात्र हुँदैन नि ! डुङ्गा चलाएर जीवीका चलाउनेको जीवन पनि नदीसँगै जोडिएको हुन्छ । नदीमा पौडी खेलेर आनन्द लिनेहरू मात्र हुँदैनन्, नदीमा आत्महत्या गर्नेहरू पनि हुन्छन् । कसैलाई नदी सुसाएको, आफ्नै तालमा बगेको, बढ्दो बहावसँगै छालहरू फालेर अघि बढेको मन पर्ला, तर त्यही नदीले कटानी गरेर कसैको सर्वस्ब लुट्दा उसलाई कस्तो पीडा होला ! कसैले नदीको जल खाला, कसैले नदीमा मुत्र विसर्जन गर्ला । यसरी, एउटा नदीका अनेकन कथा छन् र नदीसँग जोडिने मानिसका फरक–फरक घटना र अनुभव । त्यस्तै, प्रेम पनि निकै व्यापक छ । प्रेमका पनि अनेक कथा, व्यथा र आयामहरू छन् । र, सबैभन्दा महत्वपूर्ण कुरा यी कथा, व्यथा र आयामहरू समाजसँग जोडिएका छन् । त्यसैले प्रेम लेखेर सकिने विषय होइन । एकखाले बौद्धिक जमातले त प्रेम र प्रणयका विषयमा लेखिएका साहित्यलाई ‘ यौन साहित्य’ को ट्यागसमेत भिराइदिएको छ नि ! क्यानडाका अनुसन्धानकर्ताले सन् २०१२ मा मस्तिष्कको एक भागको अध्ययन गरेका थिए । जसले भावना (इमोसन)लाई नियन्त्रण गरेको हुन्छ र त्यहाँबाट यौन चाह प्रकट हुन्छ । उनीहरूले भावना र यौन चाह आउने ‘इन्सुलर कोर्टेक्स’ बाट हो भन्नेमा स्पष्ट प्रमाण प्रस्तुत गरेका छन् । हामी प्रेम नभएको अवस्थामा पनि यौन छनौट गर्न सक्छौँ, तर यस्तो अवस्थामा भावनालाई नियन्त्रण गर्न गाह्रो पर्न सक्छ । यौन चाह र प्रेमले तपाईंको दिमागमा उस्तै खाले प्रतिक्रिया प्रवाह गरिरहेको हुन्छ । त्यसैले तपाईं प्रेम दर्शाउँदा यौन चाहलाई पनि नियन्त्रण गर्न सक्नुहुन्न । अथवा, यौन चाह प्रकट गर्दा म प्रेम प्रकट गरिरहेको छु भन्ने लाग्न सक्छ । यसको मतलब प्रेम र यौन मस्तिष्कका दुई फरक अनुभव होइनन् । त्यसैले प्रेम साहित्यमा यौन आउनु पनि स्वाभाविक हो । प्रेम साहित्यमा यौनकर्मलाई प्रोत्साहन गर्ने, समाजलाई गलत दिशामा लैजाने सन्देश दिने काम सायद कसैले गरेका छैनन् । हामीले प्रेमलाई यौन र समाजसँग जोडेर त्यसका सकारात्मक र नकारात्मक पाटो केलाउने प्रयास गरेका छौँ । मान्छेको जीवनजस्तै साहित्यमा प्रेम र यौन बगेको छ । मेरो पुस्तकको कुरा गर्दा मैले वर्तमान समय र समाजको चित्र र चरित्र उतार्ने प्रयास गरेको छु । प्रेम, यौन र मदिराको प्रयोगले मैले रचना गरेका पात्रको जीवनमा अनेकन उतार–चढाव आएका छन् । मेरो पुस्तक पढ्ने युवा पिढीले प्रेम, यौन र मदिराको लिमिटेसन के भन्ने कुरा मज्जाले बुझ्न सक्छन् । यसले समाज र परिवारमा पार्ने असरबारे जान्न पाउँछन् । मैले सामाजिक परिवेशमा कथा बुनेको हुँ । समाजमा के हुँदै छ र युवा पुस्ताले कुन बाटो समाउँदै छन् भन्ने कुरा कथामा छ । यसो गर्दा विकृति फैलाएको भयो कि सचेतना ? प्रेम लेख्दा ‘यौन साहित्य’ हुन्छ भने कसैले राजनीतिलाई विषय बनाएर लेख्छ भने त्यसलाई ‘भ्रष्टाचार साहित्य’ भन्ने त ? अपराध लेख्नेलाई ‘हत्यारा साहित्य’ भन्ने ? यति हुँदाहुँदै केही नवपुस्ताले विषयवस्तुको गहनता नबुझी लोकप्रियताका लागि यौनलाई चर्चाको माध्यम बनाएको कुरालाई भने नकार्न सकिँदैन । प्रेम नै लेखेर स्थापित भएका लेखकका रूपमा सुविन भट्टराईलाई लिने गरिन्छ । उनीपछिका नवपुस्ताका लेखकहरूलाई उनकै बाटो पछ्याएको आरोप छ । तपाईँ पनि भट्टराईले बनाइदिएकै बाटोमा हिँड्नु भएको हो ? बाटो एउटै होला विचार, धारणा र दृष्टिकोण फरक हुनुपर्छ । एउटै बाटोमा हिँड्ने मान्छेहरू एउटै विचार बोकेर हिँड्दैनन् । प्रेम लेख्नेहरूको बाटो प्रेम नै हो । राजनीतिक बाटोबाट हिँडेर प्रेम लेख्न सकिँदैन । मैले माथि नदीलाई प्रेमसँग जोडेर हेरेको थिएँ नि । यहाँ पनि सोही कुरा लागू हुन्छ । प्रेमको आयाम, विषय, घटनाक्रम, काल–खण्ड, परिवेश निकै गहिरो र फराकिलो छ । जसरी समुन्द्रबाट एक गिलास पानी झिक्दैमा समुन्द्र सुक्दैन त्यसैगरी एक, दुई वा १० जनाले प्रेम लेख्दैमा यसको मुहान वा विषयवस्तु समाप्त हुँदैन । लेख्ने र लेखिनुपर्ने प्रेमका विषय धेरै छन् अझै । ‘फिक्सन’ भनेको भाषा, शैली र प्रस्तुति पनि हो । जुन हरेकको फरक–फरक हुन्छ । मेरो उपन्यास ‘अप्रिल फुल’ को कुरा गर्दा मैले प्रेम र यौनलाई समाजसँग जोडेर लेखेको छु । डान्सबारमा काम गर्ने युवतीको मनोविज्ञान, बुबा–आमाको सपना बोकेर सहर छिरेको युवकको मनोदशा, परिवारले आफ्ना छोरा–छोरीको मनोभाव नबुझ्दा उत्पन्न हुने परिणाम, प्रेममा भएको पीडा, विछोड र त्यसले उब्जाउने परिस्थिति मेरो उपन्यासका मुख्य विषय हुन् । भाषा, शैली र प्रस्तुति पनि मेरो मौलिक छ । त्यसैले कसैले खनेको बाटोमा हिँड्नु र उसको पाइला पछ्याउनु फरक कुरा हुन् । पाइला चाहिँ पछ्याउनु भएन । विषय तथा घटनाक्रममा नयाँपन र मौलिकता हुनुपर्यो । सुविन भट्टराईले प्रेमको विषयमा लेखेर नेपाली साहित्यमा उपन्यासलाई प्रेम गर्ने पाठकहरू बढेका छन् र ती पाठकहरूले हाम्रो पुस्तक पनि पढेका छन् । यसमा युवा पुस्ताले उहाँलाई धन्यवाद दिनै पर्छ, सम्मान गर्नै पर्छ । उहाँले प्रेमको बाटो खन्नुभयो अब हामीले त्यो बाटोको संरक्षण, संवद्र्धन गर्ने र त्यसलाई फराकिलो पार्ने काम गर्नुपर्छ । मेरो आगामी पुस्तकमा पाठकहरूले त्यसको अनुभव गर्नु हुनेछ भन्ने विश्वास मलाई छ । युवा हुनुहुन्छ, नवपुस्ताको कुरा गरौँ । तपाईँ लगायत नवपुस्ताको साहित्य लेखन लहड मात्र हो कि उनीहरू वैचारिक तथा गम्भीररूपमै साहित्यमा होमिएका छन् ? यो पुस्ताले नेपाली साहित्यलाई नयाँ उचाइ दिन सक्ला त ? सबै गम्भीर भएर साहित्यमा लागेका छैनन् । कोही रहरले त कोही लहडले लागेका छन् । धेरैमा एउटा पुस्तक प्रकाशन गरेपछि सेलिब्रेटी भइन्छ भन्ने भ्रम छ । यसो हुँदा लेखनमा गहनता र वैचारिक पक्ष कमजोर हुने भइहाल्यो । कमसल रचना आउँदा पाठकहरू पनि भड्किने सम्भावना हुन्छ । लेखक पनि फ्रस्टेड हुन्छ । नवपुस्ता प्रतिको विश्वासमा संकट आउने अवस्था आउँछ । अहिले भइरहेको यही हो । केही राम्रा सिर्जनाको बीचमा धेरै लहडमा आएका सिर्जनाहरू मिसिनु गम्भीररूपमा साहित्यमा लागेका नव पुस्ताका लागि दुःखद् छ । यसमा लेखक आफ्नै र यस्ता सिर्जना छाप्ने प्रकाशन गृहको पनि कमजोरी छ । यदि सबै आ–आफ्नो ठाउँबाट गम्भीर भएर लेखनमा लाग्ने हो भने यो पुस्ताले नेपाली साहित्यलाई एउटा उचाइमा पक्कै पुर्याउने छ । अहिलेको अवस्थामा भने यसै भन्न सकिन्न । पत्रकारिताको अनुभवमा, नवपुस्ताका साहित्यकारहरूको शक्ति र कमजोरीहरू के– कस्ता पाउनु भएको छ ? नवपुस्ता पनि गुट र उपगुटमै त अल्झिरहेका छैनन् ? साहित्यमा सबैभन्दा ठूलो शक्ति भनेको लेखन नै हो । तर, भाषा, शैली र प्रस्तुति मात्र भएर पुग्दैन । एउटा लेखकमा आफूले लेख्ने विषयवस्तुमा राम्रो पकड र ज्ञान हुन आवश्यक छ । विज्ञान तथा प्रविधिको विकासले हातमै संसार छ । यसको प्रयोगले सहजै पकड र ज्ञानमाथि कब्जा जमाउन सक्ने अवस्था छ । र, विस्तारै नव पुस्तामा यो अभ्यास भइरहेको पनि छ । यति हुँदाहुँदै पनि लेखनको प्राविधिक पक्षमा यो पुस्ता निकै कमजोर छ । कुनै पुस्तक र लेखकको समीक्षा गर्ने भनेको उसले लेखेको पुस्तकमा प्राविधिक पक्ष कत्तिको बलियो छ भन्ने आधारमा हो । लेखनमा यसलाई ‘टेक्निकल इरर’ भन्ने गरिन्छ । मलाई धेरैले पुस्तक सम्पादन गर्ने जिम्मा दिनुहुन्छ । उहाँहरूको लेखन र विषयवस्तु गज्जब हुँदाहुँदै पनि मलाई यस्तै कुराले निराश गराउँछ । यसलाई नव पुस्ताले सुधार गर्ने हो भने उनीहरूको कृति अब्बल आउने पक्का छ । यो समस्या किन देखिएको हो भने हामी राम्रा पुस्तक मात्र पढ्न खोज्छौँ । नराम्रा भनिएका पुस्तक पनि पढेर तिनमा रहेको कमजोरी केलाउने काम पनि गर्ने हो भने यो समस्या धेरै हदसम्म हट्ने विश्वास मलाई छ । अर्को कुरा प्रकाशित भएका नवपुस्ताका केही पुस्तक डायरीको छिपोटजस्ता छन् । उपन्यासमा हुनुपर्ने प्रस्तुति, शैली र क्रमबद्धता नै छैन । गुट र उपगुटमा लाग्ने भनेको अवसरको खोजीमा हो । नव लेखकले सम्पर्क स्थापित गर्न कुनै गुटको सहारा लिनुपर्छ । गुटमार्फत आफूभन्दा अग्रजबाट केही जान्ने, सिक्ने अवसर प्राप्त हुन्छ । तर, कुनै गुट एउटा गुटको आलोचना र अर्कोको पक्षपोषण गर्ने खालको हुनु हुँदैन । गुट साहित्यिक प्रतिस्पर्धाको माध्यम हुनु हुँदैन । ज्ञान र अनुभवहरू आदान–प्रदान गर्ने अवसर हुनुपर्छ । गुट कसैलाई तल खसाल्न र कसैलाई माथि उठाउन क्रियाशील हुनु हुँदैन । नयाँ र पुराना साहित्य सिर्जनाको छलफल तथा समीक्षा गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यको चर्चा गर्ने साथीहरूको समूह हुनुपर्छ । भोलिको साहित्यिक यात्राको बारेमा के सोच्नु भएको छ । निरन्तरता दिनुहुन्छ ? भविष्यमा के, कस्तो मोड आउने हो अगामी यात्रा पनि त्यहिँबाट निर्धारण होला तर, परिस्थिति सबै ठिक भए साहित्य लेखनमा मेरो कलम पनि रोकिने छैन । एउटा पुस्ताले प्रेम लेख्ने लेखकलाई साहित्यकार मान्दैन भन्दैमा म प्रेम लेख्न छाडेर राजनीति लेख्ने काम भने गर्दिन । म प्रेम लेख्छु यसको मतलब यो होइन कि मलाई राजनीतिको ज्ञान छैन । पत्रकारितामा मैले हरेक विषय र विधामा कलम चलाइरहेको छु । मैले लेख्ने पाठकका लागि हो र पाठकले जबसम्म मलाई स्वीकार्नुहुन्छ तबसम्म म पाठककै लागि लेख्नेछु । #अप्रिल फुल #कृष्ण आचार्य #कृष्ण ढुङ्गेल |
नवपुस्ता: कसैलाई सामाजिक रोगको त कसैलाई प्रवासी मायालुको चिन्ता: देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । देश अढाई महिनाभन्दा लामो समयदेखि लकडाउन (बन्दाबन्दी)मा छ । आंशिक रूपमा बन्दाबन्दी खुल्दै गए पनि त्रासदि उस्तै छ। रोगको त्रासभन्दा अमानवीय तथा हिंसात्मक समाजको दिसाको चिन्ता भारी बनिरहेको छ। यस्तो बेला नवपुस्ताका उदीयमान साहित्यकार, कलाकारहरू तथा समाज रूपान्तरणका संवाहक के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । हामी यस स्तम्भमा नवपुस्तालाई सुन्ने छौँ: सम्पदा रिजाल: “म निसास्सिरहेकी छु “ सम्पदा रिजाल मलाईचाहिँ लकडाउन चामलका गेडा, झुलका प्वाल गन्दै समय कटाउनुपर्ने फुर्सदी भएर आएन । बरु सामान्य अवस्थामा बचेखुचेको समय पनि काटिदिने भएर आयो । लकडाउनको सुरुवाती समय त्रासद थियो । मेडिकल सामाग्री आइपुगेको थिएन । हरेक दिन भष्टाचारका फेहरिस्त पढ्दै सुरु हुन्थ्यो । संक्रमण देखिइसकेको थियो । सबैभन्दा धेरै त आफ्नै सुरक्षाको भय थियो । लकडाउन लम्बिदै जाँदा चासो र चिन्ताका बुँदा पनि लम्बिँदै गए । जैविक रोगको चिन्ता बिस्तारै सामाजिक रोगहरूमा सर्यो । यसै पनि २४ सै घण्टा कामका लागि तयार रहन पर्ने, बढ्दो संक्रमण, व्यक्तिगत सुरक्षा सामग्री अभाव आदिले एक खालको मानसिक दबाब छँदै थियो । त्यसमाथि महामारी व्यवस्थापनको संवेदनाहीनता, भोका मजदुरहरूको लस्कर, नाकामा छेकिएका नागरिक, भोकै मरेका मलर सदा, सूर्यबहादुर तामाङ, सामाजिक रोगले हत्या गरेका नवराज विक र उनका साथीहरू/ अंगिरा पासीजस्ता घटनाले स्वासबन्दीको मास्क दिनदिनै बाक्लिंदै गयो । यी सबै छोप्न निरन्तर बजिरहेको चुच्चे नक्साको विज्ञापन, बेला बेला जारी भएको आँसुको निषेधाज्ञाले यो बाक्लो मास्क झनै कस्यो । स्वास्थ्यकर्मी भएका कारण पेशागत दबाब पनि थिए नै । बेला बेला ताली पाएर, छातिमा हात राखेर गाएको राष्ट्रगानको समर्पण पाएर, दीप प्रज्ज्वलनको मनोबलले सम्मान त पाएकै हो । तर अचम्म ! सम्मान आफैं निसास्सियो यसपालि । अनुदार संघीय अभ्यासको चपेटा त पहिलैदेखि थियो । संकटमा अझै सग्लो अनुहार देखियो । विकेन्द्रीकृत संरचना र केन्द्रिकृत अभ्यासको बीचमा चेप्टिएर झनै निसास्सिएँ । संघीयताका हिमायतीहरू संघीयताको अभ्यासमा चाहिँ कति अनुदार रहेछन् भन्ने पेसागत अनुभव पनि भयो । निस्साहट आफैंमा छट्पटी हो । बेचैनी हो । बेचैन भएपछि ध्यान कतै केन्द्रित हुँदैन । एउटै काम निरन्तर गर्न सकिन्न । निरन्तर पढ्ने-लेख्ने काम पनि गर्न सकिएन । पढ्नुको मज्जा काँचो किताबको गन्ध पनि हो । घत परेका लाइन कोर्नु पनि हो । इबुक्समा त्यो सम्भव भएन । यसकारण पनि अल्छी गरियो अलि । केही कविताका किताब पढ्ने, साथीहरूले फाट्टफुट्ट सुझाएका फिल्म हेर्नेबाहेक खासै केही गरिएन । मलाई चाहिँ यो बन्दाबन्दी स्वासबन्दीजस्तो पनि लागिरहेको छ । म निसास्सिरहेकी छु । हुन त यो समय समाजवाद, सामाजिक न्याय, सामाजिक सद्भाव, समानता आदिको मुखुण्डो उतारेर नाङ्गिएको व्यवस्थाको विकल्प सोच्ने, चिन्तन गर्ने समय पनि हो । ढिलै भए पनि युवा जमात यो व्यवस्थाको स्वासबन्दी मास्क च्यात्न सडक निस्कदै छ, तर सरकारको असंवेदनशीलताको विरुद्धमा उत्रिएको यो युवा जमातले पनि रुकुम हत्याकाण्डको मुद्दालाई एउटा साँघुरो कुनाको एकान्तबासमा थन्क्याइदिएको छ । मलाई आशा छ, यो प्रतिरोधी जमात संरचनात्मक जडताका विरुद्ध पनि उभिनेछ । यो समय पनि बितेर जानेछ । ईश्वरा सिवा: “अब त अति भयो, हैन र ? हाम्रै पालामा जातीय असमानता हटाउन पहल गरौँ न है !” ईश्वरा सिवा अचानक आएको बन्दाबन्दीको खबरले अमूक बनायो । वार्षिक छुट्टीमा घुम्न जाने योजना विफल भयो । एकातिर समय कसरी कटाउने भन्ने पीर, अर्कोतिर प्राइभेट जागिर ‘झ्वाम’ हुने हो कि भन्ने चिन्ता । सुरुवाती दिनहरू घरधन्धामै सीमित रहेँ । म त्यसै पनि एकान्तप्रेमी, झन् कोरोनाको त्रासले घरबाहिर निस्कने हिम्मत जुटेन । चार दिबारभित्र कैद शरीर, फुर्सदिला र पट्यारलाग्दा दिन अनि अनिदो रात । समय नहुँदा पो फेसबुक/टिभीमा झुन्डिन मन हुँदो रहेछ । फुर्सदमा त रमाइला लाग्ने चिजहरूले पनि आकर्षण गुमाउँदा रहेछन् । आफ्नो मायालु त प्रवासमा । उहाँलाई कतै भाइरसले आक्रमण गरिहाल्छ कि भन्ने सोच बारबार आइरहने । सपना पनि भयंकर देखिन थाल्यो । मन त्यसै बेचैन भैरह्यो । विश्वभर दैनिक हजारौँको संख्यामा मृत्यु भएको समाचारले झन् झन् आक्रान्त बनाइरह्यो । ‘भो, अब त संहालिनुपर्छ’, भन्ने ठानेर घरको सरसफाई र करेसाबारी स्याहार्न थालें । पकवानमा विशेष रुचि भएकोले विभिन्न रेसिपीहरू खोजीखोजी मनपर्ने परिकार बनाएँ । परिवारसँग बसेर खाएँ । केही जाँगर बढ्न थालेसँगै आफूलाई सिंगारेर सेल्फी लिने र टिकटकमा भिडियो बनाउँदै साथीहरूसँग बाँढे । यसो गरिरहँदा खुसीको सीमा बढ्न थाल्यो । बल्ल बुझें, आफ्नो लागि वर्षौँदेखि दिन नसकेको समय त यो विपद्को घडीले पो जुराएछ ! अनलाइन अध्ययन मेरो लागि बिल्कुल नयाँ विषय हो । आफू अध्ययनरत कलेजबाट भर्चुअल क्लास गराउने सूचना मिल्यो । उत्साहसँगै कौतुहलता पनि छायो । वास्तविक जस्तो नहुने पो हो कि भनेर आतिएँ पनि । तर केही हदसम्म ठिकै हुने रहेछ । साथीहरूसँग सरसल्लाह पनि गर्न मिल्ने, होमवोर्क गर्न पनि मिल्ने । बडा गज्जब लाग्यो । यसैबीच आफ्ना विद्यार्थीहरूलाई पनि अनलाइनमा पढाउनु पर्ने भयो । आफैँले भर्चुअल क्लास संचालन गर्न पनि जानियो । साहित्यमा सानैदेखि रुचि भएको अनि थोरबहुत लेख्ने पनि गरेकीले केही थान गजल र कविता पनि सिर्जें । राजनीति र साहित्यसम्बन्धी पुस्तकहरू पढ्न पनि मन पर्छ । लकडाउनमा तीन वटा पुस्तकहरू पढें । आन्तोन चेखबका कथाहरू, मनोक्रान्तिको नवसफलता शास्त्र र सुनिता दनुवारको आँसुको शक्ति । उनलाई पढिरहँदा साँच्चै आँसु पनि बगे । बाल्यकालमै बलात्कृत, बेचिएर मुम्बैको कोठी पुग्नु, यौनधन्धाको कहर अनि उन्मुक्ति । उफ ! आङ नै सिरिङ्ग भैरहेको थियो । प्रकृतिले त सुन्दर र कोमल शरीर दिएर विभेद गरेकै छ, झन् त्यसमाथि पितृसतात्मक जालो । महिलाहरूको लागि हरेक बाटो अप्ठेरो छ, हगि ! सुनिताले जुन विषम परिस्थिति र पीडालाई शक्तिमा बदलिन् अनि उनीजस्ता कयौँ नारीको उद्दार गरिन नि, त्यो आँट र क्षमता हरकोहीमा हुँदैन । रुकुम हत्या प्रकरणपछि म लगभग एक हप्ताभन्दा बढी विक्षिप्त बनिरहेँ । अन्तरजातीय प्रेम स्वीकार्न तयार नभएपछि ६ जना युवाहरूको हत्या गरियो । यस्तो क्रूर अमानवीय घटनाले मेरो मथिंगलमा भूकम्प ल्यायो । कुनै बेलाका आफ्नै भोगाइहरू तरोताजा भए । एक्लै बसेर धेरैपटक रोएँ पनि । हत्याजस्तो आपराधिक घटना हुँदा पनि अधिकांशले खिल्ली उडाएको देख्दा म झनै प्रताडित बनेँ । पोस्टमार्टम रिपोर्ट आयो । डुबेर मरेका र प्रकृति मुचुल्कामा शवको घाउ नदीमा बग्दा घिस्रेर भएको भनियो । पीडकहरूको बयान र पोस्टमार्टम रिपोर्ट एकआपसमा बाझियो । अदालतमा बयानभन्दा प्रमाण चाहिन्छ । तत्काललाई आजन्म कैदको मुद्दा दर्ता गराएर जनआक्रोश ठन्डा बनाउने अनि अन्तिममा फैसलाताका अपराधी छुटाउने प्रपन्च रचिएको छ । मदन-आश्रित हत्याकाण्ड, दरबार हत्याकाण्ड र निर्मला हत्याकाण्डझैँ रुकुम नरसंहार पनि पर्दामै विलीन हुने पो हो कि ? न्याय हराइरहने कहिलेसम्म ? कैलालीको क्वारेन्टाइनमा बलात्कार भयो । अपराधी जो सुकै भए पनि कानुनबमोजिम कार्वाही हुनै पर्छ । तर यतिबेला बलात्कारीहरू दलित समुदायका हुन् भनेर फेसबुक/ट्विटरमा युवाहरू पूर्वाग्रही बनिरहेका छन् । रुकुम घटना जातीय नस्लीयबादीहरूले गराए भनेर जब-जब दलित समुदायले आवज उठाए, धेरैलाई पाच्य भएन छ । त्यसकारण बलात्कारीहरू दलित समुदायको हुनासाथ कुन्ठा पोखिरहेका छन् । अझै पनि जात व्यवस्था अधिकांश युवाहरूको रगतमा बगिरहेको रहेछ भन्ने यो गतिलो उदाहरण हो । अब त अति भयो, हैन र ? हाम्रै पालामा जातीय असमानता हटाउन पहल गरौँ न है ! बन्दना भट्टराई: “मलाई लेख अथाह मनपर्छ तर आउँदैन । सिक्ने क्रममा छु, सायद” बन्दना भट्टराई लकडाउन भइसकेपछि झापाबाट हामी सबै पढ्न गएका विद्यार्थी आ-आफ्नो जिल्ला फक्यौं । लकडाउनको अवधिभर मैले माटोसँग खेल्ने मौका पाएँ, परिवारसँग रम्ने वातावरण पाएँ । साहित्य नियाल्ने मौका पाएँ र देशको राजनीति बुझ्ने अवसर पाएँ । यो अवधिमा शारीरिक रूपमा मानिस कैदी भए पनि मानसिक रूपमा चाहिँ सधैँ ऊर्जाशील नै देखापर्यो । हाम्रो स्वभाव भनेको नयाँ कुरा देख्न खोज्नु, नयाँ कुरा पत्ता लगाउन खोज्नु हो । मानिसलाई विश्रामभन्दा यात्रा मनपर्ने कुरा पनि हामीलाई थाहा छ । यात्रा आखिर मलाई पनि किन नपर्नु ? यात्राले नै हो मानिसलाई आफूसँग परिचित गराइदिने । जीवन शून्य भएपछि पनि उसको राम्रो पक्ष सधैँ जीवित हुन्छ र मृत्युपछि पनि एउटा यात्रामा जान्छ । समुद्री यात्राबाट कोलम्बसले अमेरिका पत्ता लगाए । बालक ध्रूव ईश्वरको खोजीका लागि यात्रामा निस्के र धूर्वलोकका अमर राजा भए । निल आर्मस्ट्रङ पहिलो चन्द्रलोकको यात्री बन्न पुगे । साहित्य यात्रा हेर्ने हो भने भानुभक्त, बालकृष्ण सम, देवकोटा कलम बोकेर निस्की अमर साहित्यकार बन्न पुगे । ठूला ठूला दार्शनिकहरूले जीवनलाई यात्रासँगै दाँजेर हेर्नुको कारण पनि सायद यही थियो होला ! मानिसले धर्तीमा आँखा उघारेपछि उसको यात्रा प्रारम्भ निश्चित छ । हामी यति बेजोड गतिमा नदी जसरी हिँड्दै थियौँ कि प्रकृतिले बीचमा ठूलो ढुङ्गा तेर्साएर बाटो टक्क रोकिदियो । सागरसम्म पुग्न बाँकी नै छ अझै । यो अवधिमा आफूलाई धेरै नजिकदेखि नियाल्ने अवसर पाएझैं लाग्छ । जीवनमा रोकिँदा पनि छुट्टै यात्रा चलिरहँदो रहेछ । मेरो जन्म सायद एक संयोग थियो । म अरूजस्तै एक सामान्य केटी हुँ । म पृथ्वीरूपी सुन्दर बगैंचाको एक जिम्मेवार माली हुँ । पुर्खाहरूको इज्जत थामेर भविष्यमा आफूसँगै धेरैलाई बाटो देखाउनु छ । यो अवधिमा बुझेको समाज, अझै छुवाछुत, अझै महिला हिंसा देख्दा मुटु नै अमिलो हुन्छ । ऐनले जातभात र छुवाछुतको अमानवीय कुप्रथालाई कानुनीरूपमा निवारण गरे बावजूद पनि अझै ओल्ला घरको बिर्खे दमाइले पल्लो घरको पुरेत बाको घरमा मझेरी देख्न पाएको छैन । अझै पोख्रेल काकीको घरमा कोदाली बोकेर काम गर्न गएकी माया सुनार अलग बसेर च्याँख्ला खान बाध्य छिन् । एउटै ईश्वरका सन्तानहरूको प्रेममा समाज बाधा यसरी बन्छ कि प्रेमले अन्तिममा मृत्युदण्ड भोग्नै पर्छ । यो त मैले बुझेको समाज भयो । अर्कोतिर मुलुकले आजसम्म शासकीय परिधिमा विभिन्न स्वरूपहरू संग्रहित गर्दै आएको छ । विगतको लामो इतिहासदेखि नै यो देशले विकासको गति पकड्न सकिराखेको छैन । सायद विकासको लागि हरेक विचार शुद्धीकरण हुन आवश्यक छ । सामाजिक, आर्थिक, जातीय, शासकीय, सबै पक्षको सही रुपान्तरण भएपछि सायद राष्ट्रले नयाँ काँचुली फेर्न सक्थ्यो होला । साहित्यकार सर वाल्टर स्टकले आफ्नो कविता देशभक्तिमा स्पष्ट भनेका छन्- आफ्नो देशलाई माया नगर्ने मानिस एकै जन्ममा पनि दुई पटक मर्छ । र जहाँ देशभक्ति छ त्यहाँ भ्रष्टाचार, कालाबजारी हुन सक्दैन । यदि हुन्छ भने देश एक्लो छ, बुझें हुन्छ । देश एक्लो हुनु भनेको जन्मभूमि रुनु हो, र जुन देशलाई मात्र आँसु लाग्छ त्यो देश देश हुँदैन । मसानसरह हुन्छ । मलाई लेख अथाह मनपर्छ, तर आउँदैन । सिक्ने क्रममा छु, सायद । साहित्यमा भाव हुन्छ। म भावप्रेमी मान्छे । कविता पढ्दै गर्दा भावमा र शब्द खुब नियाल्छु । कुनै एक विद्वानले पनि भनेका छन् -“ कवि कविता होस्, कवि होस् कविता । तब पो कविता कविता जस्तो हुन्छ ।” साह्रै मन परेको थियो मलाई यो भनाइ । विद्यालयमा अध्यनरत हुँदा नेपाली गुरुले भन्नु हुन्थ्यो- “तिमीमा कवित्व भावना छ, लेखनमा उतार्नु है।” तर मलाई भने लेख्नभन्दा पढ्न रमाइलो लाग्ने । यो अवधिमा पनि थुप्रै रचना पढेँ । हेलन केलरको ’द स्टोरी अफ माइ लाइफ’ नामक आत्मकथाको किताब अपाङ्गहरूको लागि मात्र नभएर सबै मानिसहरूको लागि प्रेरणाको स्रोत रहेको छ । साथै डेथ अफ सेल्सम्यान, गीता, जीवन काँडा कि फूल, द काइट रनर साथै विभिन्न चलचित्र, सिरिज हेरेँ । जसमा कुनै मनोरञ्जनात्मक थिए भने कुनै प्रेरणादायी । अन्त्यमा, म आफैँमा विचार हुँ, भावना हुँ, आत्मबल र विश्वास हुँ । क्षितिजलाई कहिले भेट्न सकिँदैन भन्छन्, तर म आफ्नो उद्देश्य लिएर क्षितिजसरह फैलन चाहन्छु, भेट्न चाहन्छु र अँगाल्न चाहन्छु । #ईश्वरा सिवा #नवपुस्ता #बन्दना भट्टराई #सम्पदा रिजाल |
म बुद्धु, तिमी ज्ञानी: सरकारले लकडाउन केही खुकुलो बनाएपछि महिनौँपछि आज निस्केको छु बाहिर । यस बीचमा डेराबाहिर ननिस्किएको त हैन तर सामान्य तरकारी लिन, दुध किन्न, ताजा हावा खाउँ न भनेर टपक्क मास्क लगाएर घरबाट थोरै तल मात्र निस्किएको थिएँ । पेट भरिने गरेर, चित्त बुझ्ने गरेर, भोक नै मेटिने गरेर भने आज निस्किएँ किनकि म आज महिनौँ दिनमा चिया अड्डामा चिया पिउन भनेर निस्किएँ । समाचारहरुले छ हजार बढी मान्छे संक्रमित भएको बताइरहँदा मान्छेहरु कोरोनाको त्रासबाट फुत्किएर बाटोमा हिँडिरहेका देखिए । मान्छेलाई मृत्युभन्दा स्वतन्त्रता प्यारो हुन्छ यसै भनिएको हैन रहेछ । भलै देशभित्र त आवत जावत छ होला, अरु सुविधाहरु पनि छन् होला तर दशकौंदेखि आफ्नो देशभित्र बन्दीझैं जीवन बिताइरहेका उत्तर कोरियाली जनताहरु कसरी बाँचेका होलान् भनेर मलाई महसुस भयो । भौतिक लकडाउनसँगै मानसिक अनि वैचारिक लकडाउन कति भयावह हुन सक्छ होला भनेर कल्पना गर्दा पनि मलाई नरमाइलो लाग्छ । पातला बस्तीहरु छिचोलेर बाक्लो घाँस भएको चौरमा पुग्दछु । ठाउँ तपाईंहरुलाई त्यति जरुरी छैन । काठमाण्डूको भित्री शहरबाट फुत्किएर रिंगरोडबाहिर निस्किएपछि लगभग सबै दिशाहरुमा उस्तै खुल्ला ठाउँ, जंगल, चौर, झरनाहरु तपाईं पाउन सक्नुहुन्छ । म उत्तरको भेगमा बस्छु । चौरबाट नजिकै देखिने नागार्जुन जङ्गल, शिवपुरीको डाँडा हेर्दा मन चङ्गा भएर आउँछ । रङहरुमा पनि मानसिकता बदलिदिने ताकत हुने रहेछ । म मनोविज्ञानको विद्यार्थी त हैन, न त मलाई चित्रकला अनि रङहरुको ज्ञान छ । तैपनि मलाई लाग्छ, प्राकृतिक हरियो रङले मस्तिष्कको मसाज गरिदिन्छ, गर्मीमा शितल र जाडोमा न्यानोपन भरिदिन्छ । चौरमा फुटबल खेल्न आएका केटाहरु छन् । जोडले हल्ला गरिरहेछन्, तर खुल्ला ठाउँका हल्लाहरु हावामै मिस्सिएर सकिँदा रैछन् । साँघुरा ठाउँमा भए पो हल्लाले पनि अस्तव्यस्त बनाउँछ जिन्दगी । चौरको छेउमा साँझमा कसरत गर्न भनेर कुदिरहेका केटीहरु देखिन्छन् । पातला ट्राउजर अनि स्लिभलेसमा छन् । मलाई महिलाहरुका लुगाका नाम खासै आउँदैन । हामीले लगाउने स्याण्डोजस्तै लुगा होला त्यो तर शरीरमा टपक्कै टाँसिएको हुँदोरहेछ । मलाई ती कुदिरहेका केटीहरुको अनुहार र जिउडाल देखेर अचम्म लाग्यो । यसरी कुनै शिल्पकारले काठमा अति नै संयमित भएर बसिलाले तासेर, रामो र छिनुले खोपेर कुँदेको मुर्तिभन्दा पनि सटिक जिउडाल अनि भर्खर किनेर ल्याएका नयाँ थालझैं बेदाग अनुहार भएका केटीहरुले कस्ता केटाहरुसँग बिहे गर्छन् होला ? के मजस्ता झुसे केटाहरुको भाग्यमा होलान् त यिनी सुकिला सुन्दरीहरु ? भए पनि मैले यस्तो चिनियाँ माटाका मुर्तिहरुलाई नचर्किने गरेर जतन गरेर राख्न सकूँला त ? गुमाउने डर त सधैँ सुन्दर अनि मूल्यवान कुराहरुकै हुने रहेछ । सोचहरुले मलाई प्रश्नहरुको दहमा लगेर चोबल्दिन्छन् । सधैँ यत्तिकै तन्दुरुस्ती र सुन्दरतालाई मुट्ठीमा लिएर समयलाई एकै ठाउँमा किलो ठोकेर रखिरहलान् कि कुनै घरकी बुहारी बनेर आफैँ व्यवहारको गोठमा थुन्लान् त यी अप्सराजस्ता केटीहरुले ? के यिनीहरुका गाला पनि चाउरिएलान् त कुनै दिन ? आधा पानी भरेको बेलुनझैं झोल्लिएलान् त कुनै दिन यिनीहरुका पनि छाती ? पाउरोटीका पिसझैं फुँदा पर्लान् त यिनीहरुका पनि पेट ? चौरको छेउमा कुदिरहेका उनीहरुमध्ये एउटीको नजर उनीहरुतिरै एकोहोरिएको मेरा आँखाहरुमा पर्छ । मलाई लाज लाग्छ । लाजभन्दा बढी डर लाग्छ । तर उनीहरुको यौवन र वैंशलाई जोकोहीले यसरी नै नियाल्छ भनेर उनीहरुलाई थाहा हुँदो हो । या त्यसरी नियाल्ने म मात्र पनि हुँदो हुँ, किनकि मैले यतिबिघ्न सुन्दर केटीहरु प्रत्यक्ष नदेखेको पनि त महिनौँ भैसक्यो । म त चिया पिउन निस्केको मान्छे, खै के सुरले हो चौरको छेउमा प्रकृतिमा विचरण गर्न मस्त भएछु । आज चियाभन्दा पनि दुधचियाकै रङजस्तो रातो हुँदै गएको क्षितिज हेर्न मन लाग्यो । त्यो क्षितिजबाट फैलिएर आकाशका पानाभरि पोतिएको गोधुलीको रातो रङ हेर्न मन लाग्यो । यसले पनि मलाई बेग्लै आनन्द दिएर गयो । मलाई लाग्यो, सिन्दुरे रङ पनि त मगजको मसाज गर्ने रङ रहेछ । तर मलाई त्यो सिन्दुरे रङको यादले मगजमा शान्ति हुँदैन, जुन रङ कसैले उनको सिउँदोमा पोतिएको तस्बिर पठाउँदा देखेको थिएँ । मलाई सोध्न मन थियो उनलाई, यदि अर्कैको सिन्दुर लगाउने तयारी गर्दै थियौ भने किन भनिनौ मलाई ? किन बताइनौ मेरो जीवनमा साँझ नै नआई एकैचोटी अँधेरी रात आउँदैछ भनेर ? के फेसबुकमा ब्लक गर्दैमा सबैथोक सकिएको थियो र ? जिन्दगी त यथार्थतामा बाँच्नुपर्छ । हत्केलाहरुले नाडी छामेर, ओठहरुले निधार छामेर, अँगालोले छाती कसेर बाँच्नु पर्छ जिन्दगी । नाथे बुढीऔंलाले च्याटमा लेखेर अनि त्यसैले ब्लक गरेर कहाँ अर्थपूर्ण हुन्छ र जिन्दगी ! च्याटका सस्ता इमोजीभन्दा कैयौँ गुणा बलिया हुन्छन् छातीका संवेगहरु, ओठका हाँसोहरु, कण्ठका भक्कानाहरु, आँशुका लहरहरु । चौरबाट उठेर अर्को छेउको चियापसलमा पस्छु । साथीहरु छैनन् साथमा, न त उनी नै । केवल टेबल र कुर्सीमा यादहरु हल्ला गर्दै बसिरहेका छन् । लामो लकडाउनपछि भर्खर तंग्रिन लागेको चिया पसलको कुनामा चिया उम्लिरहन्छ । मेरो मन भने सुदूर अतितमा पुग्दछ, जतिबेला उनको जुठो चिया पिएको दोस्रो भेटको अपराह्नमा म डेरामा बसिरहेको हुन्छु । ‘फुर्सद भए भेटौं न आज पनि,’ सन्चो बिसन्चो, खाना, खाजा इत्यादि औपचारिकता सजिलै निभाएपछि फोनमा यति भन्न भने अलि सकस नै भएथ्यो उनीलाई । ‘कहाँ ?’ फुर्सद छ, छैन भन्नलाई त दिमागले सोच्नु पर्थ्यो होला तर मन न थियो गौप्राणी, सिधै भेट्ने ठेगाना सोधिदियो । ‘चिया अड्डामा, तर हिजो हजुरले बोलाएको ठाउँमा हैन । आज मेरो च्वाइस,’ उनी हल्का लाडिएर बोलेकी थिइन् । मलाई त्यो लाडप्यार अनि त्यो नखरा नै प्रिय लागेको थियो । उनको स्कुटरको पछिल्लो आसनमा बस्न भनेर लोकल बसको चालक पछाडि उभिएर, कहाँ आइपुग्यो भनेर हेर्न बेला बेलामा निहुरिँदै, ठाउँहरु नियाल्दै नियाल्दै पुगेको थिएँ चक्रपथ । भाटभटेनी अगाडिको सडकछेउमा स्कुटरमा बसेर दुई खुट्टाहरुले भुइँमा हल्का टेकेर स्कुटर थाम्दै हेल्मेट लगाएको टाउको अररो गर्दै पछाडि हेरिरहेकी थिइन् उनी । मेरो उपस्थिति हुनासाथ उनका ओठहरुले मुस्कानको चित्र कोरिदिए । त्यो चित्र फैलिएर हामीसँग सँगै चाबहिल हुँदै बानेश्वर पुगिसकेको थियो । ‘आज यता पिउने है चिया ?’ उनले स्कुटरको डबल स्ट्याण्ड लगाउँदै गर्दा मेरा आँखाहरुले ‘द मटका’ भनेर लेखेको साइनबोर्ड टाउको उठाएर हेरिसकेका थिए । पुराना यादका सिलसिलालाई तोड्न मेरो अघिल्तिर भर्खर चियाको कप आइपुग्छ । म फिस्स हाँसेर पसलेलाई नबोलिकन धन्यवाद भन्छु । आज यो कपलाई म निष्फिक्री कप नै भन्न सक्छु । नत्र त त्यसदिन, हाम्रो दोस्रो भेट अनि दोस्रो चियाको दिन, दुवै कपबाट मैले नै चिया पिएपछि भनेको थिएँ, ‘यो कपमा हाम्रो पनि नाम लेखेर राखिदिउँ ।’ मेरा आँखाहरुले चिया अड्डाका भित्ताको सोकेसभरि पुराना कपहरुमा नाम लेखेको देखिसकेका थिए । ‘कप हैन, यसलाई मटका भन्छन् बुद्धुराम ।’ मैले त्यसैदिन पहिलोपटक माटोको कपमा चिया पिएको थिएँ । उनीबाट मेरो न्वारन भएर बुद्धुराम भन्ने नयाँ नाम पाएको थिएँ । अनि उनको पनि त नयाँ नाम जुरेको थियो । ‘ज्ञानी । म बुद्धु भए तिमी ज्ञानी ।’ उनको हाँसो थापागाउँको ओरालो हुँदै बिजुलीबजारको पुलसम्मको ट्राफिक जाम जत्तिकै लामो थियो । म फेरि यादको कान्लो ओर्लिएर वर्तमानको तल्लो सुर्कोमा आइपुग्छु । एक्लो औंलाले बोकेको कप अनि एक्लो ओठले पिएको चिया रित्याएर म घर फर्किन्छु । लामो लकडाउन केही खुकुलिए पछिको पहिलो चिया । पैसा तिरेको पिएको पहिलो चिया । मनमा गुलियो खेलाउँदै फर्किन्छु । साँझ मेसेजमा कोरियन नायिकाको गुडियाजस्तो अनुहार लिएर निक्की झुल्किन्छे । हाई, हेलो अनि खानपानका औपचारिक कुराहरु सोधिसकेपछि ऊ मुख्य मुद्दामा आउँछे । ‘लेखकसँग त केही बोल्नै नहुने है ? एक एक शब्द दुरुस्तै लेख्दिने ।’ ‘किन केही गल्ती गरेँ र मैले ?’ ‘गल्ती हैन, मिठो अपराध गर्नुभाछ ।’ ‘बुझिनँ ।’ अज्झ, हेरन स्वाङ पारेको !’ ‘…’ ‘मेरै बारेमा लेख्दिनु पर्छ त ? जे बोल्यो त्यही लेख्दिने सिधै ? कथा केही पाउनु भएन ? तपाईंले लभस्टोरीहरु पनि आफैँ सबैसँग लभ गर्दै त्यही दुरुस्त लेख्नु हुन्छ कि क्याहो ?’ कति धेरै प्रश्नहरु, कति ठूलो आरोप लगाई उसले । मसँग उसलाई दिने कुनै स्पष्टीकारणहरु हुँदैनन् । स्विकार्नु नै वेश लाग्यो । यति गर्दिए वादविवाद गर्नु पनि परेन, पन्छिन पनि सजिलो । ‘तपाईंले भनेका सबैकुरा सत्य हुन्, अबदेखि सधैँ तपाईंले जे भन्नु हुन्छ त्यही कथा लेखिदिन्छु । सजिलो भयो मलाई । न त कल्पना गर्नुपर्ने, न त अर्थोक कुराको झन्झट ।’ ‘खुब, रिसाउनु भयो कि क्याहो ? सरी म जिस्किएको ।’ ‘सरी भन्ने हो भने त जिस्किएको मतलब नै भएन नि,’ म थोरै फ्लर्ट गर्छु । ‘हिहिही’, ऊ लेखेरै हाँस्छे । मलाई यो फेक आईडी मन पर्न थालिसकेकी छ किनकि ऊ इमोजी नराखी कुरा गर्छे, ‘एउटा कुरा बताऊँ ?’ ऊ सोध्छे । ‘प्लिज…’ ‘तपाईंको चिया अड्डामा केही पनि हुँदैन, तैपनि पढौँ पढौँ लागिरहन्छ ।’ ‘कस्तो केही पनि हुँदैन भन्नाले ?’ ‘पुरै पढिसक्दा पनि गुदी केही हुँदैन । तैपनि नरोकिई पढ्न मन लाग्छ ।’ ‘तपाईंको प्रेम हो यो । खासमा मैले त के लेख्छु र, सबै तपाईंकै कुरा त लेख्ने हो ।’ ऊ बेस्सरी हाँसेको देखाउन हाहाको लश्कर नै टाइप गरिसक्छे, र सोद्छे, ‘चिया अड्डाको तेस्रो भाग कहिले लेख्नु हुन्छ ?’ ‘लेखिसकें ।’ ‘मतलब ?’ ‘यही च्याट हुबहु छाप्दिने हो अब । बरु चौथो भाग के लेख्ने सोच्दैछु,’ यति टाइप गर्दा के भएर हो, नेट चल्दैन । कति मिठो च्याट हुँदैथ्यो । पापी इन्टरनेट ! तत्काल मलाई एउटा लाइन फुर्छ, ‘मायाप्रेमका लागि धनसम्पत्ति हैन, मन चाहिन्छ भन्ने पुराना कुरा हुन् । प्रेमका लागि त नकाटिने अनि फुर्तिलो इन्टरनेट चाहिन्छ !’ #चिया अड्डा #सुरेश बडाल |
महिलाले बोल्न र हिँड्नसमेत डराउनुपर्ने; यो कस्तो लोकतन्त्र ?: समाज परिवर्तनशील छ । परिवर्तित समय, सोच, चिन्तन र विचारले हाम्रो जीवनशैलीमा ल्याएको परिवर्तनलाई हामी नकार्न सक्दैनौं । एकाइसौं शताब्दीमा आइपुग्दा हाम्रो समाजले धेरै फड्को मारिसकेको छ । हिजोको ढुङ्गे युगबाट समाज परिस्कृत भएर यहाँसम्म आइपुग्दा मात्र हामी मानव भएका छौँ । शताब्दीऔं अघिको समाज र वर्तमान समाजमा आकाश पातालको फरक छ । सामाजिक परिवर्तनसँगै मान्छेको सोचाइ र बौद्धिकतामा पनि आमूल परिवर्तन आइसकेको छ । यसलाई हामीले कसरी उत्कृष्ट र मर्यादित बनाउने भन्ने विषय हाम्रो मानसपटलमा जटिल प्रश्नको रूपमा रहेको छ । परिवर्तनको संघारमा उभिएको समाजलाई देश र समाजको समग्र विकाससँग जोड्नका निम्ति राज्यले बनाउने नीति, कार्यक्रम र योजनाले सामाजिक तथा आर्थिक समृद्धिको बाटो लिन सक्छ । देश विकासको गतिमा डोर्याउनका लागि सबैको समान सहभागिता जरुरी हुन्छ । समृद्ध मुलुकको प्रतिबिम्ब विशेषत: महिला र पुरुषको उच्च सहभागिता हो तर समान सहभागितालाई वाक्य र बोलीमा जोडिरहँदा मलाई मेरो समाज र देशको समसामयिक परिस्थितिले घच्घच्याउन थाल्छ । नेपाली समाज हिजोको ढुङ्गे युगबाट यहाँसम्म परिवर्तन भएर आइपुग्दा पनि नारीप्रतिको पितृसत्तात्मक सोच भने ज्युंका त्युं छ । नारीहरू सङ्कुचित सोचको घेराबन्दीबाट उम्कन सकेका छैनन् । बेलाबखत नारी हकअधिकार र उन्मुक्तिका कुरा गरे पनि, समयले जतिसुकै फड्को मारे पनि, नारीहरू पितृसत्तात्मक अवस्थाबाट माथि उठ्न सकेको अवस्था देखिदैन । परापूर्वकालदेखि पुरुषप्रधान समाजमा नारीहरू पुरुषार्थको सिकार भइरहेका छन् । हरेक तवरले कमजोर छन् नारीहरू भन्ने नराम्रो सोचको खोल ओढेको छ समाजले । विगतभन्दा वर्तमानमा नारी समानताका निम्ति केही पहल भए तापनि ती केवल अक्षरहरूमा मात्र सीमित छन् । नारी समानताका निम्ति न्यायोचित रूपमा नीति निर्माण हुन भने सकेको छैन । संस्कृति रिजाल नारीप्रति पुरुषले हेर्ने दृष्टिकोण नै साँघुरो रहेको देखिन्छ । समाज बदल्यौं, व्यवस्था बदल्यौं, तर नारीप्रतिको दृष्टिकोण बदलिएन । विकसित देशहरूमा महिला र पुरुषबीच कुनै प्रकारको विभेद गरिदैन, तर नेपालको सन्दर्भलाई जोड्ने हो भने आज पनि नारीहरू सामाजिक, सांस्कृतिक, परम्परागत, आर्थिक, बौद्धिक हिसाबले शोषित बनिरहेका छन् । कुसंस्कारको जन्जिरभित्र जकडेर विगतमा नारीलाई जिउँदै मार्ने नेपाली समाजले आज पनि उन्मुक्ति र स्वतन्त्रताको श्वास फेर्न दिएको छैन । जहाँ नारी र पुरुषबीच विभेद गरिदैन, उस्तै सामाजिक अधिकार दिइन्छ । त्यहाँ सामाजिक, आर्थिक रूपले महिला पुरुषको समान सहभागिता र बाहुल्य हुन्छ । नेपालको आधा जनसंख्या महिलाले ओगटेका छन् । तर हरेक तह र पदमा ८० प्रतिशतभन्दा बढी पुरुषकै बाहुल्य छ । राज्यले आरक्षणको रूपमा केही प्रयास नगरेको पनि होइन, तर नीति निर्माण र तहमा पुरुषकै हालीमुहाली रहेको छ । प्रेमका नाममा हिंसा जन्मदै छन्, पारिवारिक प्रेम र सद्भाव टुट्दै छ । यसले देखाउँदैछ कि परिवर्तनका नाममा हाम्रो समाज कता मोडिदैछ ? सामन्ती समाजमा महिला चौघेरामा मात्र सीमित थिए। अहिले महिलाका आवाज बुलन्द हुन थालेका छन् । समान सहभागिताका लागि समान योग्यता, सीप र अवसरको खाँचो छ । नयाँ संविधानले महिलाको लागि अवसरका विभिन्न क्षेत्रलाई फराकिलो पारिदिएको छ । केन्द्रीय र प्रदेश संसदमा महिलाहरूको उपस्थिति बढाएको छ । समावेशीकरणको सिद्धान्त स्थापित भएसँगै राजनीतिक सचेतनामा वृद्धि भएको छ तर यति मात्र पूर्ण छैन । महिलाले हरेक क्षेत्रमा आफैँ निर्णय गर्न सक्ने क्षमताको विकास हुन सक्नुपर्छ । महिलामा आएको गतिशीलताले मात्र परम्परागत अवस्थाबाट एक पाइलाअगाडि बढाउन सक्छ । वास्तवमा महिलाहरू सामाजिक, आर्थिक, राजनीतिक लगायत सबैजसो छेत्रमा भेदभावपूर्ण व्यवहार भोगिरहेका छन् । महिलामाथि हुने हिंसा, बेचबिखन, बलात्कार, अपहरण, लैंगिक विभेद र शोषणजस्ता विकृतिबाट आज पनि महिलाहरू पीडित भएर बाँचिरहेका छन् । परम्परागत कुसंस्कार छोरा र छोरीबीच गरिने भेदभावले पनि यो कुरीतिको जड उखेलिन सकेको छैन । महिलाहरूले पुरुषसरह मजदुरी गर्दा समान ज्याला पाउँदैनन् । शारीरिक बनावटको भिन्नताका कारण उनीहरूबीच रूप, भाव, शक्ति, सामर्थ्यमा भिन्नता आएको हो । तसर्थ शारीरिक बनावटको भिन्नताको कारण महिलामाथि हुने भेदभावको अन्त्य हुनुपर्छ । विगतमा सतीप्रथाको नाममा आफ्नो श्रीमानको चितासँगै जिउँदै जलेर नारीहरूले मर्नुपर्थ्यो । सतीप्रथाको अन्त्य भए पनि नेपालमा छाउपडी, बोक्सी, छुवाछूत, कुमारी, दाइजो तथा बालविवाह जस्ता प्रथा अझै अशिक्षित ठाउँहरूमा छन् । छाउ भएको बेला १३-१४ वर्षको बालिका हुँदादेखि छाउघरमा बस्नुपर्ने पीडाबाट आज पनि नेपालका पश्चिमी भेगका महिलाहरू गुज्रिरहेका छन् । महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गर्ने चलन नेपाली समाजमा विद्यमान नै छ । समानताका खोक्रा भाषणले मात्र नारी स्वतन्त्रता जन्मिदैन, बिगुल फुकेर मात्र हुँदैन, व्यवहारिकतामा लागू हुनुपर्छ । यौन व्यवसाय, सर्कस लगायत विभिन्न प्रयोजनका लागि भारत तथा खाडी मुलुकहरूमा वर्षेनी लगभग पाँच हजार महिला तथा बालबालिका बेचिने तथ्यांक सार्वजनिक हुँदैआएको छ । त्यस्तै रोजगारिका लागि खाडीलगायत विभिन्न देश पुगेर घरेलु श्रमिकका रूपमा काम गर्ने महिलाहरूको शोषण पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । हामी विभेदको जालोमा बाँचिरहेका छौँ । जहाँ महिला वर्ग अन्यायले थिचिएका छन्, हिंसामा परेका छन् । देशमा दिनानुदिन बढेको बलात्कार, जबरजस्ती करणीलगायत हिंसाले महिला त्रासमा छन् । देशमा जति नै महिला नेतृत्व उदाए पनि महिला हिंसाका घटनामा भने कमी आउन सकेको छैन । कहीँ प्रतिशोध र व्यक्तिगत दुस्मनीका कारण किशोरीमाथि एसिड फ्याँकिएका छन् त कहीँ दाइजो नल्याएको निहुँमा महिला जिउँदै जलाइएका छन् । पारिवारिक हिंसा, सामाजिक हिंसाले गर्दा देश मन्दविषको सिकार हुन पुगेको छ । राजनीतिक रूपमा देशले ठूलो फड्को मारेको छ । देश संघीयतामा गइसकेको छ । राष्ट्र प्रमुख महिला भए पनि आम महिलाले अनुभूत गर्न पाएका छैनन् । महिला हिंसा अन्त्यका लागि महिलालाई सामाजिक, राजनीतिक क्षेत्रमा समान अवसर र शिक्षामा प्राथामिकता दिन जरुरी छ । महिलाहरूलाई पुरुषसरह विकास कार्यमा सहभागी बनाउनका लागि महिला सशक्तिकरणको धारणाको विकास १९८० मा गरिएको थियो र पनि महिलाहरूले शिक्षा, रोजगारी तथा सार्वजनिक र राजनीतिक जीवनमा सहभागीताको अध्ययन गर्दा महिलाको संख्या न्यून छ । भारतकी इन्दिरा गान्धी, बेलायतकी मार्गरेट थ्याचर, अर्जेन्टिना इसाबेला पेरोल, इजरायलकी गोल्डा माएर लगायतका महिला नेतृहरूले पनि आफ्नो देशमा उत्कृष्ट नेतृत्व प्रदान गरेका थिए । श्रीलंकाकी चन्द्रिका वन्दरानायके कुमारातुंगा, पाकिस्तानकी बेनजिर भुट्टो, बंगलादेशकी शेख हसिना र खालिदा जिया, म्यानमारकी आङ साङ सुचीजस्ता महिला नेतृहरू आज पनि विश्व इतिहासमा आआफ्नो प्रभुत्व जमाइरहेका छन् । यी र यस्ता तथ्यहरूले महिलाहरू नेतृत्वका निम्ति पुरुषभन्दा केही कम छैनन् भन्ने कुराको पुष्टि गर्छ । तर जब महिलाहरू परिवर्तन र विद्रोहको आवाज लिएर उठ्छन, अन्यायका पहाडले थिचिन्छन् । विश्व इतिहासलाई हेर्दा, क्यानडाजस्तो विकसित देशमा पनि सन् १९३० सम्म महिलाहरू निर्वाचनमा मतदान गर्न, कुनै सरकारी ओहदा धारण गर्नबाट बन्चित हुनुपरेको थियो । त्यहाँ बेलायतका महिलाहरू पनि पुरुषसरह सिनेटमा नियुक्त हुन सक्छन् भनी निर्णय गरेपश्चात मात्र त्यहाँका महिलाहरूले आफ्नो राजनीतिक अधिकारको प्रयोग गर्न पाएको देखिन्छ । यसरी विश्व समुदायमा महिलालाई विभेदयुक्त समाजको सिकार बनाइएको थियो । अहिले नारी स्वयमले आवाज उठाउन थालेका छन् । धन, पद, शिक्षा-दिक्षा, सामाजिक क्षेत्र, घर, बजार सबै ठाउँमा नारी अधिकार र स्वतन्त्रताको आवाज बुलन्द बन्दै गएको छ । सरकार र न्यायालय मूकदर्शक बनेर रमिता हेरिरहन्छ । महिलाले हिँड्न, बोल्न डराउनुपर्ने अवस्था छ । अत्याचार चुपचाप सहनुपर्छ । आखिर यो कस्तो लोकतन्त्र हो ? देश विकासको क्रममा हाम्रो समाज पुँजीवादी भएको छ । पुँजीवादको चर्को दमनभित्र महिलाहरू नै सबैभन्दा बढी पिसिएका छन् । नारी शोषणविरुद्ध नारी उन्मुक्तिका निम्ति नेपालमा भएका इतिहासका प्रयासलाई हेर्दा, १९७७ सालमा चन्द्र शमशेरले सती प्थाको अन्त्य गरे । पितृसत्ताले महिला जैविक हिसाबले कमजोर हुने भनी व्याख्या गरियो । बौद्धिक हिसाबले पनि दोस्रो तहमा राख्ने भनी व्याख्या गरियो । राजनीतिमा बाध्य, आर्थिक गतिविधिमा होइन, घरेलु र अनुत्पादक ठाउँमा सीमित गरिदै लगियो । सन् १९१७ ताका रुसमा गाँस र बासको नारा थपेर अरू आन्दोलनको उठान भयो । त्यसरी नै अन्तर्राष्ट्रिय महिला आन्दोलनको रूप ठूलो बन्दै गयो । अनन्त: सन् १९१० मा क्लारा जेडियन रोजालग्ज वर्गको अगुवाइमा कोपेनहेगनमा भएको दोस्रो अन्तर्राष्ट्रिय श्रमिक महिलाहरूको सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने निर्णय गर्यो । राजनीतिक परिवर्तन भए पनि आज महिला उत्पीडन भयावह अवस्थामा रहेको छ । मातृशक्तिलाई राज्यले हरेक तह र तप्कामा पुरुषसरह समान हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता हो । नेपालले महिला बिरुद्द हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धी अन्तराष्ट्रिय महासन्धी अनुमोदन गरिसकेको छ । पक्ष राष्ट्र भएका कारण महासन्धिमा उल्लेखित सबै प्रकारका प्रावधान पालना गर्नु राज्यको दायित्व हो । नेपालको संविधान २०७२ ले महिलाहरूलाई थुप्रै हक अधिकारको व्यवस्था गरेको छ । संविधानको मौलिक हक अन्तर्गत धारा ३८ को महिला हकमा प्रत्येक महिलालाई लैंगिक भेदभाव बिना समान वंशिय हक हुने, महिलाले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुने, महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोबैज्ञानिक हिंसाजन्य कार्य वा शोषण गर्न नहुने, यदि त्यस्तो कार्य भएमा कानुन बमोजिम दण्डनीय हुने र पिडितलाई कानुन बमोजिम क्षतिपुर्ती पाउने हक हुनेछ भन्ने व्यवस्था रहेको छ । महिला अधिकार कागजी दस्तावेजमा मात्र होइन व्यवहारिकतामा पनि सुनिश्चित हुनुपर्छ । जबसम्म अन्धविश्वासी समाजले नारीहरू माथि जबरजस्ती लादिएका कु प्रथाको अन्त्य हुन सक्दैन अनि स्वयम् नारीहरू बन्द पर्खाल भित्रको चार किल्लालाई तोडेर बाहिर आउन सक्दैनन तबसम्म नारी मुक्ती र परिवर्तनका बाटाहरू सम्भव छैनन । जसरी अहिले आएर सती प्रथा, सुसारे प्रथा जस्ता कुप्रथाहरूको उन्मुलन भयो त्यसरी नै नारी माथि लादिएका सबै कुप्रथा र शोषणको अन्त्य हुन जरुरी छ । तब मात्र परिवर्तनका मार्गहरू प्रश्स्त हुनेछन् । #महिला अधिकार #संस्कृति रिजाल |
साहित्यपोस्ट-बुकाहोलिक्स अनलाइन कविता प्रतियोगितामा सर्वोत्कृष्ट भए, कुमार शर्मा: साहित्यपोस्ट डटकमसँगको सहकार्य, बुकाहोलिक्सको आयोजना तथा किताबयात्राको प्रायोजनमा लकडाउन अनलाइन कविता प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा अनलाइनमार्फत पठाइएका कविताहरूको चयन, छनोट र सर्वोत्कृष्टता घोषित गरिएको हो। प्रतियोगिताका लागि ३७४ कविता प्राप्त भएका थिए भने २१६ कवितालाई प्रतियोगिताको पहिलो चरणका लागि योग्य मानिएको थियो। दोस्रो चरणका लागि ३५ कविता छनोट गरी वाचन गराइएको थियो। ती ३५ कविताहरूमध्येबाट कुमार शर्माको ‘गन्तव्य’ शीर्षकको कवितालाई सर्वोत्कृष्ट घोषित गरिएको हो। तल पढ्नुहोस्, सर्वोत्कृष्ट भएको कुमार शर्माको कविता घामका पाइलाहरूले देखाए भने बाटो कुनै दिन त्यही बाटो भएर आउनू त्यही बाटो म आउँदा झमक्क रात परेको थियो आफ्नै पाइलाको चिन्ह बस्यो बसेन मैले चाल पाइनँ अझै जीवितै रहेछ पाइला भने नकुल्चिनू बरू खुसुक्क कानमा गएर भनिदिनू कि गन्तव्य उसलाई पर्खिरहेछ आफ्नै पाइलाको पर्खाइ निकै अत्यासपूर्ण हुन्छ। उत्कृष्ट १२ कविताका वाचनहरु सुन्नुहोस् । #कविता प्रतियोगिता #कुमार शर्मा |
जन्मदिनमा मृत्यु उपहार: विहानैदेखि दिशाहरू खुलेका थिए। हराभरा वातावरणमा रमाइरहेका थिए प्रकृतिका अनेकन पंक्षीहरू। अँध्यारो छहारीलाई पन्छाएर सूर्यका किरणहरूले बिस्तारै धर्तीमा उज्यालो छर्दै थिए। शून्यतामा विलीन हुने मेरो मन आज विहानैबाट यिनै प्रकृतिका सुन्दरतामा रमाइरहेको थियो। एकाविहानै नित्य स्नान सन्ध्या पछि म एकान्तमा बसेर बितेका जीवनका अनुभूति अनि आउँदो परिवेशको कल्पना गरेर सूर्यको गतिलाई नियालि रहेको थिएँ । “आखिर जीन्दगीको रथ भन्नु नै त्यही सूर्यको गति त थियो । मान्छेको जन्म र मृत्युको समय यही सूर्यको गतिले तोकिदिएको हुन्छ । आज बालक भएको व्यक्ति भोलि युवा अनि वृद्ध हुँदैजान्छ। सायद सूर्य नउदाउने अनि नअस्ताउने भए मान्छेको जन्म अनि मृत्युको समय यकिन हुँदैन थियो होला ! अझ भनुँ भने त सूर्यको उदाउने अनि अस्ताउने गति नभइदिने हो भने पृथ्वी नै रहँदैन होला । यस्तै सोचमा डुबिरहेको थिएँ म । तर यसमा यथार्थ भने थिएन। किनकि सूर्यको गति होइन, त पृथ्वीको गतिले दिन र रातलाई छुट्याएको हुन्छ। घरको छतमा बसेर यस्तै विचारमा मन लगाई कता कता हराइरहेको थिएँ । तलबाट आमाले बोलाउदै भन्नू भयो, “ के गर्दै छस् ? तेरो आज जन्मदिन हो । विहानै मन्दिर पूजा गर्न जानुपर्दैन ?” ओहो आज मेरो जन्मदिन पो हो । म आफैँले भुलेको थिएँ कि मेरो आज जन्मदिन हो । ‘ल ल हुन्छ’, भन्दै घरबाट पूजा सामाग्री लिएर नजिकैको मन्दिरमा गएँ । सायद जवानी बढ्दै गएपछि जिम्मेवारी थपिदै जान्छ । अनि आफ्ना रहरहरू सकिदै जान्छन् । सायद यसैले गर्दा होला मैले आफ्नो जन्मदिन पनि भुलेको । समय मान्छेको लागि मात्रै होइन, हरेक सजीव वस्तुको लागि नाशवान् छ । त्यसैले धर्तीमा रहेका हरेक सजीव वस्तुको आयु दिन प्रतिदिन घट्दै गइरहेको छ। “बितेका पलले वर्तमानलाई मजबुत बनाउदै आउँदो भविष्यलाई सफल बनाइदिनु भन्दै”, मन्दिरमा भगवान् समक्ष प्रार्थना गरेँ । अनि घर आउँदा धेरै मान्छेहरू भेला भएका थिए | सायद मलाई जन्मदिनको शुभकामना दिन होला। घरमा आउने सबै अतिथिगणहरूले जन्मदिनको व्यापक शुभकामना दिन थाल्नुभयो। जन्मदिन विशेष उत्सवका रुपमा मनाइरहेको थिएँ । मैले यो जन्मदिन घरमा धेरै वर्षपछि मनाइरहेको थिएँ । त्यसैले होला सायद गाउँका सबै मान्छेहरूले जन्मदिनको शुभभाव प्रकट गरिरहनुभएको थियो मलाई । विहानैबाट घरमा बडो उत्सव चलिरहेको थियो । आमाले भान्सामा विभिन्न मिठाईका परिकारहरू बनाउन थाल्नुभयो। बुबा-दादाहरू घरमा आएका अतिथिलाई स्वागत गरिरहनुभएको थियो। गाउँको मेरो मिल्ने साथी रमेश पनि आइपुग्यो । आएका अतिथिहरूले विभिन्न उपहारहरू दिन थाल्नुभयो। फोनबाट, सामाजिक सञ्जालबाट पनि धेरैले जन्मदिनको शुभकामना प्रकट गर्नुथाल्नु भयो। त्यो जन्मदिनको उत्सवलाई प्रकृतिले पनि साथ दिएकी थिइन् ।त्यही साथसँगै मैले आफ्नो एकवर्ष बुढ्यौली उमेरलाई स्वीकार गर्दै थिएँ । त्यही उमङ्गमा मनमा काडा बिज्ने गरी नयाँ नम्बरबाट कल आयो, “तपाई झट्टै कोशी अस्पताल आउनु |” कसलाई के भयो भनेर मन आत्तियो। अघिसम्मको उज्यालो अनुहारलाई अब अँधेरी औंशीले छाया पार्दियो। अनि त्यो उत्सवबाट हराउँदै म र रमेश बाईकमा कसैलाई थाहा नै नदिई दुई घन्टाको यात्रा गरी कोशी अञ्चल अस्पताल पुग्यौं । त्यहाँ पुग्दा बिहानको १० बजेको थियो । अनि अघि आएको नम्बरमा कल गरेर सोध्यौं, बेड नम्बर कति भनेर ? जवाफ आयो “१०९” । कोठाअगाडि एक जना युवती निराश भएर बसेकी थिइन् । सायद मलाई फोन गर्ने अन्जान व्यक्ति ऊ नै थिई होला । सोधि हाले, “हजुरले नै यो नम्बरबाट एमेर्जेन्सी कल गर्नुभएको ?” हो रहेछ | उनको अनुहार हेरेँ । अँध्यारो औशीको जस्तो थियो । सायद कतै ठुला घटना भएको थियो होला । अनि सोधिहालें, “को हो ? कसलाई के भएको हो ?” आफ्नो अक्मकिएको स्वरमा वाफ दिदै भनी उसले,“मेरो साथी ।” “बुझिन मैले”, भन्दिहालें । ऊ बोली; म उसको साथी हो । विहानै, ‘आज साथीको जन्मदिन छ । उसको घर जानू पर्छ है ! तयारी गर’ भनेर भनेकी थिई । अनि सबै तयारी पूरा गरेर म र ऊ लकडाउनलाई छल्दै, लुक्दै उसको स्कुटीमा आउँदै थियौं । उर्लबारीको ती बाटोहरूमा आउदै गर्दा उसले आफ्नो साथीको बयान गर्दै थिई, ‘साच्चै नि ऊ सारै मिलनसार छ यार । साथीका हरेक दुखकष्टमा उसैले साथ दिन्थ्यो । हामी स्कुले जीवनदेखिका साथी थियौं । स्कुलका हरेक क्रियाकलापमा उसको सक्रियता बडो प्रशंसनीय थियो । हरेक राम्रो मान्छेको पछाडि नराम्रो मान्छे हुन्छ । त्यस्तै उसलाई पनि नराम्रो सोच्ने मान्छे भेटिन्थे । त्यस्तामा उसको व्यवहारलाई हेरेर मैले नै धेरै साथ दिन्थे । उसको क्रियाकलापमा साथ दिँदै गर्दा उसलाई कुन समयमा मन पराउन थालें । आफैँलाई थाहा भएन । अनि उसलाई भन्ने आँट पनि आएन। मनको कुरा उसलाई कहिल्यै खोलिन् । आफ्नै सम्झेर साथ दिइराखें ।बिस्तारै स्कुले जीवनहरू बित्दै जान थाले। बिचैमा अपत्याउदो तरिकाले कसैलाई थाहा नै नदिई ऊ गाउँ छोडेर सहर पस्यो। र कयौं वर्षपछि अहिले घर फर्किएको छ ।’, यस्तै भन्दै उसले साथीको बडो प्रशंसा गर्दै थिई । बीच बाटामा आइपुगेर हामीले बर्थ डे गिफ्ट किन्यौं ।अनि फेरि गफ गर्दै जाँदा मैले झट्ट नाम सोधेको थिएँ । उसले भनेकी थिई, “लक्ष्मण ढुङ्गाना“ । यस्तै गफ गर्दै आउँदै थियौं । एक्कासी उसका हात खुट्टाहरू नचल्ने भए, खोकीले ग्रस्त बनायो । स्कुटी चलाउँदा चलाउँदै उसका हातहरू काप्न थाले ।हेर्दाहेर्दै कुदिरहेको स्कुटीबाट झ्याप्पै लड्यौं हामी । अनि तत्काल एम्बुलेन्स बोलाएर अस्पताल ल्याइपुर्याएको | सोधेँ, “नामचाहिँ के हो नि उनको ?” “सहाना सुवेदी”, उनले नम्र स्वरमा भनी । मैले काहिँकतै नाम सुनेको जस्तो लाग्यो । हेर्दा हेर्दै आफन्तजनहरू पनि आइपुगे । अनि त्यो भिडमा एक जना परिचित महिला पनि थिईन्। आउने बित्तिकै सोधिहाले, “हजुरको कसलाई के भएको छ र !” ती महिलाले जवाफ दिइन्, “मेरै छोरी हो ।” छोरी भन्नेबित्तिकै याद आयो । ऊ त सानैमा मसँगै पढेकी साथी रहिछ । बल्ल सम्झना आयो अतितको । प्रेम त आफ्नै आँखाअगाडि घुमिरहेको रहेछ, तर म भने वास्तै नगरी कता कता डुलिरहेँ । जन्मदिनको उत्सव एकातिर थियो मनमा भने अर्काेतिर बिरामीको गम्भीर अवस्था। त्यही अस्पतालमा बिरामीको अवस्था के कस्तो छ भनेर बुज्दा बुज्दै दिउँसोको ३ बजेछ । केही समय पछि त्यहाँको वातावरण फरक भैइदियो । रुवावासी हुन थाल्यो। रोईकराईले वातावरण नै रोदनमा गुञ्जियो। त्यही अपरिचित युवतीलाई गएर सोधेँ, ‘के भयो र ! किन रुनुभएको भनेर ।” मलीन स्वरमा भनी उसले“ साथीको मृत्यु भयो “ म स्तब्ध भएँ । एकाएक हात खुट्टाहरू काप्न थालेँ । मुखमा आवाज नै बन्द भयो। हातखुट्टाहरू लुला भए। आखाबाट एक थोपा आशु भुँईमा तप्प खस्यो। त्यहाँ के भइरहेको छ केही थाहा पाईन। एक घन्टा पछि बल्ल मेरा खुट्टाहरू हलचल भए। त्यसको बीचमा त्यहाँ के के भयो केही थाहा पाईन। बिरामीलाई हुन चाहिँ के भएको रहेछ भन्ने विषयमा मेरो ध्यान केन्द्रित भयो। मृत्यु भएको करीब द्ध घन्टा पछि रिपोर्ट आयो बिरामीलाई कोरोना भाईरस लागेको रहेछ भनेर । रिपोर्ट हेर्दा छक्क परेँ । सामान्य अवस्थामा रहेको व्यक्तिलाई एक्कासि यो कोरोना भाईरसले ज्यान नलिनु पर्ने भन्ने मनमा सोच आयो। फेरि कतै डाक्टरको लापरबाहीले ज्यान गएको त होईन भन्ने कुरा पनि मनमा आयो । अनि यता त्यता सबै आफन्तजनहरूको कुरा सुन्दा कोरोना भाईरस नै लागेको हुन सक्छ भन्ने निचोडमा पुग्यौं । आखिर जीन्दगी भन्नू नै मृत्युको खेल रहेछ । कुन बेला के आउछ मान्छेलाई कुनै अत्तोपत्तो नहुने। आज कसैको मृत्यु भयो भनेर शोक गर्याे। भोली आफ्नैको पालो आउछ । यात्रा पनि बडो अचम्मको छ जीन्दगीको । यसरी उत्सवले सुरु गरेको जीवनलाई मृत्यु उपहार दिएर मेरो जन्मदिन बिदाइ भयो । |
लघुकथाः चक्काजाम: हरिप्रसाद भण्डारी प्रदूषणको प्रमुख कारण देखाएर सरकारले पुराना गाडीहरू चल्न नदिने निर्णय ग¥यो । निर्णय आउनासाथ नयाँ गाडीका मालिकहरू खुसी भए र सरकारी निर्णयको प्रशंसा गरे । सो निर्णय पुराना गाडीका मालिकहरूलाई मन परेन । उनीहरू दुःखी हुँदै विरोधमा उत्रिए । पहिले ज्ञापनपत्र दिए, जुलुस निकाले, विरोध गोष्ठी गरे तर सरकारले वास्ता गरेन । उल्टै सुरक्षाकर्मीलाई सक्रिय पारेर दमन ग¥यो सरकारको रबैया देखेर गाडी मालिकहरू आक्रोशित भए । विरोधका अन्य कार्यसँगै चक्काजाम गर्ने निर्णय भयो तर सरकार हो, सुशासनका लागि सडकको विरोध त रोक्नै प¥यो । निर्णयको परिणाम यस्तो भयो— चक्काजामको कार्यक्रमद्वारा गाडी मालिकहरूले पुराना गाडी नचलाएर परोक्ष रूपमा सरकारी निर्णयको समर्थन र पालना गर्दै थिए । तर चक्काजामको कार्यक्रम असफल गराउने उद्देश्यले सरकारी पक्ष भने उनै पुराना गाडी चलाउन दबाब दिइरहेको थियो । |
घर फर्केका पाइला: डा. पुष्करराज भट्ट त्यो परिवारमा दुई जना श्रीमान–श्रीमती मात्र थिए । नयाँ पुस्ता सब विदेशमा । वरपर दाजुभाईको घर थियो । आपतविपतमा काम लाग्ने दाजुभाई नै थिए । एक दिन साँझपखको कुरा हो, बुढाले छिमेकतिर हल्ला भए जस्तो ठाने । “पहिला त कुनै हल्ला सुनिँदैनथ्यो, आज के को हल्ला हो यो ?” बुढाले बुढीसँग सोधे । “कोरोना के कोरोना….? बुढीले भान्साबाटै भनिन् । “कोरोना ? कोरोना पनि यसरी बोल्छ र ?” बुढाले अचम्म माने । “होइन, कोरोनाले बोल्दैन । कोरोनाको डरले सब घर फर्केका छन नी ! कोरोना संसारभरि फैलिएको छ । यसैका डरले तपाईँका भतिजाका घरपरिवार अनि गाउँभरका जवान मान्छे सब घर फर्केका छन् नी । चाडबाड जस्तो हुने भयो !” बूढीले सारा वृतान्त बताइन । “लौ गजब भएछ त । वषौंपछि आफन्त भेटघाट हुने भयो ।” बुढाले अचम्म मान्दै भने । बिहान उनको घरमा ठूलो भीड देखियो । दाजुभाइका छोराबुहारी, नातिनातिना सब भेटन आएका छन् । “लौ राम्रै भयो । महामारीको बहानामा भेट त भयो ।” बुढाले सन्तोक माने । “हामी त सुख खोज्न गएका बडाबा ! दुःख पो पाइयो । यस्तो होला भनेर सोचिएको थिएन ।” एउटा भतिजाले आँसु झार्दै भन्यो । “धेरैपछि घर आयौ, राम्रै भयो । लामो यात्राबाट आएका छौ । यात्रामा अनेक यात्रुसँग भेट भयो होला । एकपटक चेकजाँच गराऊ । आफ््नो र आफ्ना परिवारको सुरक्षाको लागि पनि जरुरी छ ।” बुढाले आफ्नो कुरा राखे । “कति वर्षपछि घर आएका छन् । आफन्त, दाजुभाइ, साथीसँगी भेटन पाएका छैनन्, चेकजाँच गराऊ, के भन्न लाग्नुभएको हो ?” बुढी रिसाइन् । “जीवन रहे न घरपरिवार, आफन्त, साथीभाइ हो । जीवनै नरहे केही रहँदैन । आफू र आफ्नाका लागि पनि यो जरुरी छ ।” उनी बोल्दै गए । #डा. पुष्करराज भट्ट |
निजगढ एयरपोर्टको स्वागत: प्लेनबाट जेट ब्रिज (सुरूङजस्तो पुल) हुँदै एयरपोर्ट परिसरभित्र छिर्दा त मात्मा हतप्रभ भयो । त्यही स्थिति थियो पुण्यप्रसादको पनि । “म पछिल्लो पटक काठमाडौँ आउँदाको एयरपोर्ट र अहिले आउँदाकोमा कुनै समानता देखिएन । ल, खुल्ला आकाशमा झर्नुपरेन, बसमा पनि चढ्नुपरेन,” मात्माले ट्वाँ पर्दै भन्यो । हो नि भन्दै पुण्यप्रसादले समेत समर्थन जनाए । चारैतिर पल्याकपुलक मुन्टो घुमाउँदै आँखा चाक्लो पार्दै पुण्यप्रसाद बरबराउन थाले– बाप रे ! एम्स्टर्डम एयरपोर्टजतिकै विशाल रहेछ यो एयरपोर्ट । चारैतिर झिलिमिली । यात्रीहरूको भीडभाड पनि उत्तिकै । भौतिक संरचना त झनै अकल्पनीय ! काठमाडौँ हवाईअड्डा त हुनै सक्तैन । कहाँ स्कटलैन्डको चिटिक्क प्याकिङ गरिएको वाइन र कहाँ पुनः प्रयोग गरिएको पुरानो बोतलमा बिहारी ठर्रा ।” “मोराहरूले नेपालको एयरपोर्टमा अवतरण गर्न ठाउँ नपाएर कलकत्तातिर ल्याएर झारेका हुन् कि क्या हो ?” पुण्यप्रसादले शङ्का जाहेर गरे । दुवैजना अताल्लिएर दायाँबायाँ हेर्न थाले । हडबडाउँदै सँगैको एकजना युवा यात्रीलाई पुण्यप्रसादले सोधे– “ऐ भइया ! हमनी के पिलेन कौन से कन्ट्रीमा लैन्ड किया है ? ई नेपाले के ही एयरपोर्टवा ह नु ?” यात्री त आँखा तरेर उनलाई हेर्न थाल्यो, मानौँ उसलाई गिज्याउन खोज्दै छन् । बरबराउँदै ऊ लुइँलुइँ अगाडि बढ्यो । मात्मा पनि आश्वस्त थिएन । ठ्याक्क उसका आँखा अम्बानी एन्ड ग्याङसित जुधे । पछिपछि उनीहरू पनि आउँदै थिए । मन नलागे पनि ऊ सोध्न बाध्य भयो, “अम्बानी ! इज इट काठमाडौँ एयरपोर्ट ?” “होइन मित्र, यो निजगढ एयरपोर्ट हो । तिमीहरू धेरै दिनपछि नेपाल आएजस्ता छौ । अचेल समुद्रपारिका सबै प्लेन काठमाडौँ नगएर निजगढ एयरपोर्टमै अवतरण गर्छन् । केही वर्षमात्र भएको छ, यो एयरपोर्ट सुरू भएको ।” दुवैजना रनभुल्लमा परे । “लौ मार्यो, त्यसोभए काठमाडौँ पुग्न के गर्नुपर्ला ?” पुण्यप्रसादले सुधो मुहार लाउँदै सोधे । “डोन्ट वरी मित्र, किङ अम्बानी इज हियर,” अम्बानीले मात्माको कुममा हात राख्तै आश्वस्त गर्न खोज्यो । उसको आँखामा अंशमात्रको धुर्त्याइँ देखिएन । उनीहरू अम्बानी एन्ड ग्याङको पछिपछि लागे । अध्यागमन विभाग (इमिग्रेसन लबी) लेखिएको एक विशाल कक्ष थियो । कक्षमा सयौँ बन्द ढोकाहरू थिए । प्रत्येक ढोकाको छेउमा कम्प्युटर राखिएका थिए । यात्रीहरू तिनै कम्प्युटरअगाडि पुगेर कुन्नि कुनकुन बटन थिच्थे, छेउको गेट खुल्थ्यो र उनीहरू लुइँलुइँ बाहिरिँदै थिए । “लौ मार्यो, हामीले आगमन फारम कता पाउने हो ? फारम राखिएको कतै देखिएन । अध्यागमन फाँट अथवा फाँटमा बस्ने अधिकारी पनि कतै देखिएनन् । अब के गर्ने हो ?” मात्माका आँखा पुण्यप्रसादतिर फर्किए । पुण्यप्रसाद त झनै चिन्तित थिए– “डियर, यस्तो कम्प्युटराइज्ड मेकानिज्मबारे त मलाई केही ज्ञान छैन ।” उनीहरू अलमलिएको देखेर अम्बानीले भन्यो– “तपाईंहरू किन अलमलिनुभएको ? लाइनमा लागेर कुनै एउटा कम्प्युटरसम्म पुग्नोस् न । कम्प्युटरमा आफ्नो पासपोर्ट नम्बरमात्र भर्नुपर्छ, अन्य कुरो कम्प्युटर आफैँले गर्नेछ ।” यसो भन्दै अम्बानीले मात्मातिर फर्किँदै झटारो हान्यो– “मात्मा, तिमी त पढेलेखेका नागरिक हौ, तिमी पनि अलमलिन्छौ भने हामी नेपालीको खै के गति हुने हो !” गणेशप्रसाद लाठ मात्मा त अक्क न बक्क भएको थियो । “हरे, उल्टोपल्टो हानियो भने लफडामा फसिन्छ कि ?” उसको ढुकढुकी बढेको थियो । तर अम्बानीलाई केही भनेन । आफ्नो दुर्बलता अरूका अगाडि किन उजागर गर्नुपर्यो ? आफूहरू कम्प्युटरसम्म पुग्दापुग्दै आफूभन्दा अघिका यात्रीहरूको कामकार्बाही नियाल्दानियाल्दै उसले थुप्रै कुरा बुझिसकेको थियो । उसले पुण्यप्रसादलाई साउती गर्यो– “ए ! कुरा बुझेँ मैले, यी कम्प्युटरले नै इमिग्रेसन अफिसरको काम गर्दा रहेछन् । पासपोर्ट नम्बर भर्नेबित्तिकै कम्प्युटरको स्क्रिनमा सम्बन्धित यात्रीको फोटो, भिजा विवरण प्रकट हुँदोरहेछ । सम्बन्धित यात्रीले कम्प्युटरमास्तिर राखिएको सूक्ष्म स्केनरसित आँखा गडाउनुपर्दो रहेछ । कम्प्युटरले आँखाको रैटिना जाँच्दोरहेछ । आफ्ना दसै औँलाको छाप दिनुपर्दो रहेछ । सबैथोक ठीक छ भने छेउको गेट स्वतः खुल्दो रहेछ ।” “क्या गजब । यस्तो टेक्नोलोजी त हाम्रो जेएपी एयरपोर्टमा त थिएन,” पुण्यप्रसादले मात्मातिर हेरेर अचम्म मान्दै भने । “खै के हो, के हो ? पप्पा त हरबखत एउटै रटान गर्थे– नेपाल गरिब मुलुक हो । खत्तम छ,” मात्माले अनौठो मुख बनाउँदै भन्यो । पुण्यप्रसादको ध्यान कम्प्युटर स्क्रिनको एक कुनामा गयो । “नेपाली आप्रवासी सङ्घबाट उपहारस्वरूप प्रदान” भनेर स्टिकर टाँस गरिएको थियो । यी कम्प्युटरहरू दानमा आएका हुन् भनेर उनले बुझे, तर केही भनेनन् । अध्यागमनको औपचारिकतापश्चात् उनीहरू झिटीगुन्टा सङ्कलन गर्ने क्षेत्रमा पुगे । त्यहाँ दुई दर्जनभन्दा बढी बैगेज कन्भेयरहरू लहरैसित जडान भएका देखिए । “ठम्याउनै नसक्ने गरी विशाल नै रहेछ, यो नयाँ एयरपोर्टको बैगेज क्लेम एरिया पनि,” बर्बराउँदै पुण्यप्रसाद दायाँबायाँ हेर्न थाले । अलि पर बैगेज कन्भेयर नम्बर २१ निर अम्बानी देखा पर्यो । उनीहरूले कुरा बुझिहाले । हस्याङफस्याङ गर्दै अम्बानी नजिक पुग्यो । “कहाँ अड्किनुभएको तपाईँहरू ? आधीभन्दा बढी यात्रीले आफ्नो झिटीगुन्टा बोकेर हिँडिसके,” अम्बानीले हाँस्तै भन्यो । “होइन, हामी त हिँड्याहिँड्यै छौँ, एकछिनका लागि बाथरूममात्र पसेका थियौँ,” पुण्यप्रसादले आफ्नो कमजोरी लुकाउँदै मुख खोले । ‘छ्या, मैले यो अम्बानीलाई सुरूसुरूमा भेट्दा ठग हो भनेर शङ्का गरेको थिएँ, मोरो त सहयोगी नै रहेछ,’ मात्माको मनमा ग्लानिभाव उब्ज्यो । आफ्नो ग्लानिभावको भर्पाई गर्ने अभिप्रायले उसले अचम्म मानेजस्तो मुख बनाउँदै भन्यो– “अम्बानी ! यसभन्दा अघि म आफ्ना बा–आमासँगै काठमाडौँ आउँदा त एयरपोर्टमा आफ्नो लगेज पाउन घण्टौँ कुर्नुपरेको थियो । यहाँ त लगेज पो यात्रीलाई कुरेर बसेका छन् ।” “अले, त्यो काठमाडौँ एअरपोर्टको कथा हो, यहाँको होइन । उहिलेका कुला खुइलिए । तपाईँ यतिखेल नयाँ नेपालमा हुनुहुन्छ,” धमिराले मुस्काउँदै सम्झाउने प्रयास गर्यो । नजिकै ट्रलीहरू लामबद्ध गरेर राखिएका थिए । मात्माले झिटीगुन्टा हाते ट्रलीमा राखेर ट्रली धकेल्न खोज्यो । “अरे, यो धकेलुवा गाडी होइन, बटन थिचेपछि आफैँ गुड्न थाल्छ,” धमिराले जानकारी गरायो– “यता हैन्डलमा भएको यो बटन तपाईँले थिचे पुग्छ । टल्ली बिस्तारै गुड्न थाल्छ । जहाँ लैजाने हो, त्यतातिल हैन्डल घुमाउँदै जानोस् ।” “पैदल हिँड्ने मन छैन भने पनि टल्लीको फेदतिल हेल्नोस् नि । एकजना मान्छे उभ्न सक्ने प्लेटफल्म उल्टो पालेल ठड्याइएको छ । त्यसलाई घोप्ट्याउनोस्, त्यसैउपल उभिन पनि सक्नुहुन्छ । यो टल्ली बडो दमदाल छ, यात्रु ल समान दुवैलाई समेत गुडाउँदै लैजान सक्छ,” धमिराले खित्त हाँस्तै तोते स्वरमा थप जानकारी दियो । मात्माले ट्रलीको प्लेटफर्मलाई ठीक पारेर हैन्डलमा जडित बटन थिच्यो । ट्रली साँच्चिकै सामान्य गतिमा गुड्न थाल्यो । बटनबाट हात हटाउनेबित्तिकै ट्रली टक्क रोकियो । क्या गजब, यस्तो बैट्री–अपरेटेड ट्रली त मैले सानफ्रान्सिस्कोमा पनि देखिनँ,” पुण्यप्रसादले हर्ष प्रकट गरे । “नेपाल अविकसित मुलुकहरूको क्लबमा सबैभन्दा जेठो देश हो, भन्छन् सबैजना । कुन्नि मैले त बुझ्न सकिनँ, कस्तो गरिब देश हो नेपाल ?” अचम्म मानेजस्तो मुख बनाउँदै मात्माले भन्यो । पुण्यप्रसादका आँखा ट्रलीको हेन्डलमा लेखिएका शब्दमा टिकेका थिए– “मित्रराष्ट्र जापानबाट सप्रेम उपहार प्राप्त ।” उनले यसपटक पनि मुख थुनेका थिए, तर लेखिएका शब्दबाट आँखा हटाउन सकेका थिएनन् । धमिराले उनको मन ठम्याइसकेको रहेछ । “दाजु, हाम्लो देश दानदातव्यबाट चल्ने देश हो । तल यसपटक जापानीहलुले साल्है कन्जुस्याइँ गले, टल्ली त दिए, तल गुडाइदिने मान्छे दिएनन्,” उसले हाँस्तै तोते गुनासो पोख्न पनि भ्यायो । बाहिरी गेटतिर हिँड्दै गर्दा एक कुनामा बाक्लै भीडभाड देखियो । उदास, क्लान्त अनुहार भएका मानिसहरूको भीडभाड । माथि भित्तामा बोर्ड झुन्ड्याइएको थियो– डेड बडी कलेक्सन काउन्टर, शव सङ्कलन स्थल । “यो कस्तो खाले काउन्टर हो ?” मात्माले अचम्म मान्दै सोध्यो । “सुनौलो भविष्यको खोजीमा बिदेसिएका तर स्वयम् नै अतीतको पोको भएर कफिनमा फर्किएकाहरूको सङ्कलन काउन्टर हो । दिनहुँ दर्जनजति कफिन आउँछन्, आफन्तहरू रीतपूर्वक टैक्स बुझाएर लैजान्छन् । भीडभाड तिनै आफन्तहरूको हो,” फिस्स हाँस्तै अम्बानीले जवाफ फर्कायो । उसको हाँसोमा अनौठो तिक्तता थियो । “अरे, लाश बुझ्न पनि टैक्स तिर्नुपर्ने ?” पुण्यप्रसादले आँखा चाक्ला पार्दै सोधे । “टैक्स त तिर्नैपर्छ नि, सर । अन्यथा यो देश कसरी चल्नु ? नागरिक जीवित होस् अथवा मुर्दा, टैक्स तिर्नु हरेक नागरिकको कर्तव्य होइन र ? प्रत्येक कफिनको धेरै होइन, एक हजार डलर त हो । एउटै परिवारको एकभन्दा बढी कफिन छ, भने पच्चीस प्रतिशत छुट पनि छ,” अम्बानीले सम्झाउने प्रयास गर्यो । मात्मा र पुण्यप्रसाद हतप्रभ भई त्यही काउन्टरतिर घोरिएर हेरिरहे । धमिराले मुख खोल्यो– “हाम्लो सल्काल साल्है उदाल छ । विदेशबाट अङ्गभङ्ग भएल फल्किएकाहलुसित कुनै पनि पल्कालको टैक्स लिँदैन, शतपल्तिशत छुट ।” मात्माले मनको हुटहुटी थाम्न सकेन, “बाफ रे ! यो अलि अनौठो भएन ?” धमिराले हाँस्दै फर्कायो, “केको अनौठो हुनु हजुल ? केही सालअघिसम्म कफिनमा कुनै टैक्स थिएन, बलु कफिनमा आउनेहलुको पलिवाललाई आल्थिक सहयोग पनि दिइन्थ्यो । पछिपछि सल्कालको उदाल्ताको दुलुपयोग हुन थाल्यो, कफिनको गन्ती जथाभावी बढ्न थाल्यो । अनि सल्कालले पनि के गलोस् ल ?” मात्मा थप बहस गर्न चाहेन, केही नभन्दै अगाडि बढ्यो । “तिमीहरू, काठमाडौँ रेलमा जाने हो कि सटल बसमा अथवा टैक्सीमा ?” अम्बानीले हिँड्दाहिँड्दै सोध्यो । “खै, हामीलाई त खास ज्ञान भएन, वी आर फस्ट टाइम इन दिस एयरपोर्ट । सस्तो र सुन्दर र आरामदायी जुन हुन्छ, त्यसैमा जाने,” मात्माले सुधो मुख लाउँदै फर्कायो । “त्यसोभए ट्रेन नै ठीक हुन्छ । तिमीले भनेजस्तो त हुने नै भयो, चाँडै पनि पुगिन्छ,” अम्बानीले दाहिने हातको औँठालाई थम्स अपको मुद्रा दिँदै निर्णायक स्वरमा भन्यो । उनीहरू ट्रलीसहित विशाल लिफ्टमा पसे । एउटा लिफ्ट थियो र ! लहरै चारवटा थिए । जसले जुन लिफ्टमा ठाउँ पाए त्यसैमा पसेका थिए । लिफ्टभित्र समेत चिल्लो स्टिलको प्लेटमा कुँदिएको थियो– ‘मित्रराष्ट्र दक्षिण कोरियाबाट उपहारस्वरूप प्राप्त ।’ पुण्यप्रसाद लेखिएको पढेर मुस्काए, तर मुखले केही भनेनन् । भुइँतल्लामा पुगेर उनीहरूले हाते ट्रली त्यागेर बैट्री कारमा चढ्नुपर्ने भयो । रेलवे स्टेसन पुग्न दस मिनेट पनि लागेन । अम्बानी, “ल मात्मा, झिक त बीस हजार रूपियाँ ।” मात्मा छक्क पर्यो । उसले भन्यो, “केका लागि ?” अम्बानीले भन्यो, “तिमीहरू दुवैजना जाने होइन काठमाडौँ ?” “बाप रे ! त्यहीँ काठमाडौँ पुग्न एक जनालाई दस हजार रूपियाँ ? मेरो पालामा वीरगन्जबाट काठमाडौँ गइयो भने एक सय लाग्थ्यो, अहिले पाँच सयभन्दा बढी लाग्नु नपर्ने ।” पुण्यप्रसादले हत्तपत्त यसो भन्दा अम्बानीले आफ्नो हाँसो रोक्न सकेन । “दाजु ! तपाईंले कुन इतिहासको कुरा गर्नुभएको ? उहिलेका कुरा खुइलिएको छ कहिले हो कहिले ! आजको जमानामा सय रूपियाँमा फुटपाथे चिया पनि पाइँदैन । चियाको के कुरा गर्नु, सडकमा बसेर माग्नेले पनि सय रूपियाँ लिन मान्दैन । तपाईँहरू सटल बसमा जाने हो भने चार हजार मात्र लाग्छ तर समय दोब्बर लाग्छ । टैक्सी त झनै महँगो छ, कम्तीमा चालीस हजार तिर्नुपर्छ । तपाईँहरू विदेशी पासपोर्टधारी पर्नुभयो, अन्यथा भ्याट र सेवा शुल्क पनि जोडिन्थ्यो,” अम्बानीले हाँसो रोक्दै भन्यो । “स्विमिङ पुलमा छिरिसकेपछि पानीसित डराएर भएन,” मात्माले मुख बिच्क्याउँदै एक डलरबराबर नेपाली रूपियाँ दुई सयको हिसाब लगाउँदै दुई सय डलर बुझायो । टिकट भेन्डिङ मेसिनमा अम्बानीले दुई सय डलर छिराएर कुन्नि कुनकुन बटन थिच्यो, दुईटा टिकट लिपिस्टिक क्रिम पाउडर लगाएर फुत्त बाहिर आए । “लौ, हजुर, अतिथिहरूका टिकट त भए । हामी पनि लाग्छौँ आफ्नो बाटो,” भन्दै बिदा माग्ने अभिप्रायले अम्बानीले दुवै हात जोर्यो । “किन ? तिमी हामीसँगै जाने हैन र ?” पुण्यप्रसादले अचम्म मान्दै सोधे । “होइन दाजु, हामी सडक बाटोबाट जाने । उतैबाट गाडी आएको छ,” हात जोड्दै अम्बानी उल्टो दिशातिर हिँड्यो । केही सेकेन्डमै ऊ पुनः फर्कियो । “ल ! मैले त तिमीहरूलाई मेरो फोन नम्बर दिनै बिर्सिएँछु । नेपालमा कुनै काम परे मलाई सम्झनू,” भन्दै उसले आफ्नो भिजिटिङ कार्ड दुवैजनातिर अगाडि बढायो । नेपाली कागजमा बनाइएको कार्डको रङरूप आकर्षक थियो । नामः अम्बानी नेपाली, जी.एम., पुण्यपवित्र निर्माण कम्पनी प्रा.लि. भनेर लेखिएको थियो । फोन नम्बर र इमेल आइडी त हुने नै भए । “वाओ, तिमी त ठूलो मान्छे रहेछौ । तिम्रो विषयमा मैले अनाहकमै न्यून मूल्याङ्कन गरेछु,” मात्माले प्रसन्नता व्यक्त गर्दै भन्यो । अम्बानी लजायो । “बिचराहरूलाई के थाहा यो कार्ड त फगत हात्तीको देखाउने दाँतजस्तै हो,” मनमनै गम्यो उसले । “केको ठूलो मान्छे हुनु ! सप्पै ईश्वरको कृपा हो,” हाँस्तै जबाफ फर्कायो अम्बानीले । लगत्तै पुण्यप्रसादले समेत आफ्नो भिजिटिङ कार्ड अम्बानी र धमिरालाई दिँदै भने– “मित्र धमिरा, ए सरी धर्मराज ! खै, तिम्रो सम्पर्कसूत्र त मैले पाइनँ नि ।” धमिराले पाकेट छाम्दै भन्यो– “खै, मेलो काल्ड त सकिसक्याजस्तो छ, अम्बानीकै काल्डमा मेलो मोबाइल नम्बल टिप्नू नि ।” कार्डको हैसियत नभएको धमिराले झुटो बोलेर आफ्नो इज्जत जोगायो । “अनि सबैको सम्पर्कसूत्र माग्ने, आफ्नो चाहिँ लुकाएर राख्ने ?” अम्बानीले झटारो हान्यो । “ए हे, अँ त नि ! झन्नै भुलेको !” मात्माले हाँस्तै फर्कायो । “पेपर कार्ड त मैले बनाएको छैन । बरू तिमीले मेरो क्युआर कोड स्क्यान गरे हुन्थ्यो नि । फोन नम्बर सुरिनामी हो, तर नेपालमा समेत मज्जाले काम गर्छ । केही गरी सम्पर्क भएन भने ह्वाट्सअपमा मैसेज गर्नु, म फोन फर्काइहाल्छु । अमेरिकातिर आयौ भने सुरिनाम पनि छिर्नु है ?” यति भन्दै मात्मा आफ्नो मोबाइलको स्क्रिन चलाउन थाल्यो । #गणेशप्रसाद लाठ |
रूश्दीको जन्मदिन आज: द सटानिक भर्सेसले बदलेको जीवन: भारतको बम्बइमा १९ जून १९४७ मा जन्मेका अहमद सल्मान रुश्दी जो सल्मान रुश्दीमा रुपमा प्रख्यात छन, आफ्नो चौथो उपन्यास ” द सटानिक भर्सेस” सन् १९८८ मा प्रकाशित भएपछि विश्वब्यापि चर्चाको पात्र बने, यो उपन्यासमा मुश्लिम धर्मका गुरुको चरित्र हत्या भएको भन्दै जब ईरानका धार्मिक नेता आयातुल्ला खोमेनीले मृत्यु दण्डको ” फतवा” जारी गरे । यसको लगत्तै यसले विश्वब्यापि ध्यान आकर्षण गर्यो । कट्टरपन्थी मुश्लिमहरुले खोमेनीको समर्थनमा आफ्नो मत जाहेर गरे भने अभिव्यक्ति स्वतन्त्रताका पक्षधर पश्चिमा राष्ट्रहरुले रुश्दीको वचाउ गरे । यही पुस्तक र रुश्दीको कारण ईरानसँगको कुटनैतिक सम्बन्ध कतिपय मुलुकले विच्छेद गर्न समेत पछि परेनन् । रुश्दीको प्राण रक्षाका लागि बेलायत सरकारले निकै ठूलो धनराशी खर्च गर्नुका साथै सुरक्षा प्रबन्ध गरेको थियो, भारतमा जन्मे पनि उनी बेलायती नागरिक भएका कारण । त्यसो त ” द सटानिक भर्सेस” को विवाद हुनुअघि उनका दुई उपन्यास पनि विवादास्पद भएका थिए । उनको ” मीडनाइटस् चिल्ड्रेन” भारतको स्वतन्त्रताको पृष्ठभूमि रहेको छ र यो उपन्यासमाथि मुद्दा समेत परेको थियो । त्यसै गरी “शेम” उपन्यासमा पाकिस्तानको पृष्ठभूमि छ र यो पनि उत्तिकै बिबादास्पद बनेको थियो । तर यी पूर्बबर्ती २ उपन्यासको बिबाद भन्दा ” द सेटेनिक भर्सेस” को विवाद विराट थियो र यसले विश्वलाई नै प्रभाव पारेको थियो । उनी आफैं पनि लुक्दै भाग्दै ज्यान जोगाउनु पर्ने स्थितिमा पुगेका थिए । उनको यो पुस्तक कैयन् देशका कैयन शहरमा सार्बजनिक रुपमा जलाईए । यो पुस्तक प्रकाशन, अनुवाद लगायतमा संलग्नहरुलाई भौतिक आक्रमण गरियो, गम्भिर घाइते बनाइयो तथा कतिलाई मारियो पनि । १३ जुलाई १९९१ मा जापानी अनुवादक हितोशि इगाराशीलाई टोक्यो नजिकै हत्या गरिएको थियो । इटालेली अनुवादक एटोरे काप्रओलोलाई मिलानको उनकै घरमा ३ जुलाई १९९१ मा अनेक पटक छुरी हानेर गम्भिर घाइते तुल्याएका थिए । नर्वेली प्रकाशक वीलीयम निगार्डलाई ११ अक्टोवर १९९३ मा ओश्लोमा तीन पटक गोली हानिएको थियो । गोली प्रहारबाट उनको ज्यान जोगिए पनि उनले कैयन् महिना अस्पताल बस्नु परेको थियो । २ जुलाई १९९३ मै तुर्की अनुबादक अजिज नेशिनलाई लक्षित गरी शिवासको होटल हादिमकमा आगो लगाइएको थियो र सो आगलागीबाट ३७ जना हताहत भएका थिए। यति हुँदाहुँदै पनि रुश्दी ११ अगस्त १९९३ मा लण्डनको बिश्व विख्यात रङ्गशाला वेम्बली स्टेडियममा पहिलोपल्ट सार्बजनिक रुपमा देखा परेका थिए । रुश्दीको हत्या गर्नेलाई २० लाख डलरको ईनाम घोषणा गरिएको थियो । पछि यो रकम बढाएर २५ लाख डलर पुर्याइयो, त्यसपछि २८ लाख डलर र सवभन्दापछि ३३ लाख डलर पुर्याइएको छ । कतिपय देशमा प्रतिबन्धित ” द सटानिक भर्सेस” अझै पनि कतिपय देशमा यथावत प्रतिबन्धित नै छ भने कतिपय देशमा फुकुवा भएको छ । तर प्रतिबन्धित भए पनि ती मुलुकहरुमा स्मगलिङ गरेर पुस्तक पुर्राईएको छ र विश्वब्यापि पाठक बढ्ने क्रम जारी छ । शुरुमा यो पुस्तक भारतमा प्रतिबन्धित भएको थियो भने वेलायतमा सार्वजनिक रुपमा जलाइएका थिए । भारतको मुम्बई र बेलायतको किङ्गस कलेज क्याम्ब्रिजमा शिक्षित रुश्दी क्याम्ब्रिजबाट कानून अध्ययन गरेका पिता अनिश अहमद रुश्दी र शिक्षिका नागिन भट का छोरा हुन् र हुन् कश्मिरी मुशलमान । रुश्दीले ४ पटक विहा गरे । उनकी पहिली श्रीमती क्लारिसा लाउड थिइन् र उनीसँग सन् १९७६ देखि १९८७ सम्म दाम्पत्य जीवन कायम रह्यो । उनकी दोश्री श्रीमती अमेरिकी उपन्यासकार मरिन विगिन्स हुन् । उनीहरुले १९८८ मा बिहा गरे र १९९३ मा पारपाचुके गरे । उनको तेश्री विहा एलिजावेथ वेष्टसँग १९९७ देखि २००४ सम्म टिक्यो । रुश्दीले चौथो विहा भारतीय अमेरिकी नायिका, मोडेल तथा रियालिटी शो कि प्रश्तोता पद्म लक्ष्मीसँग भएको थियो । तर यो विहा २ जुलाई २००७ मा अन्त भयो । उनको पहिली पत्नीवाट सन् १९७९ छोरा जाफर भएको थियो भने तेश्री श्रीमतीवाट १९९७ मा छोरा मिलान भएको थियो । उनको ” मीड नाइट चिल्ड्रेन्सले १९८१ को बुकर पुरस्कार पाएको थियो । यो उपन्यासलाई बुकरले २५ औं तथा ४०औं वार्षिकोत्सवका अवसरमा पनि पुरस्कृत गरेको थियो । त्यस्तै उनले गोल्डेन पेन अवार्ड, पेन पिण्टर प्राइज, हान्स क्रिश्चियन एण्डरसन लिटरेचर अवार्ड, अष्ट्रियाको स्टेट प्राइज फर लिटरेचर, स्वीस फ्रिथिंकर्स एवार्ड, हार्भर्ड युनिभर्सिटीबाट आउट स्टैण्डिङ लाइफ टाइम एचिभमेण्ट इन कल्चरल ह्युमानिजम , सेण्ट लुइस लिटरेरी अवार्ड लगायतका मान, सम्मान, पुरस्कार आदि पाएका छन् । तर यी सब भन्दा माथि यिनले विश्वब्यापि पाठक पाएका छन्, यो सवभन्दा ठूलो पुरस्कार हो । उनी अहिले अमेरिकाको न्यूयोर्क शहरको म्यानहाटनमा बस्छन् । #गोविन्द गिरी प्रेरणा #सल्मान रुश्दी |
को थिइन् अप्सरा उर्वशी ? ', "परिवर्तन प्रकृतिको नियम । मिलनपछि विछोड अनि विछोडपछि मिलन प्रकृतिको नियति हो । परिवर्तनको प्राकृतिक नियम प्रेममा पनि लागू हुन्छ । कुनै दिन पुरुरवाप्रति आशक्त भएकैले श्राप व्यहोरेकी उर्वशीको हृदयले एक दिन त्यसै पुरुरवाका लागि यस्ता कटुवचन ओकल्छ– हे पुरुरवा ! उषाले बिहानीको साथ छोडेजस्तै मैले पनि तिम्रो साथ छोडिसकेकी छु । जसरी गतिवान् वायु कसैको हुँदैन, त्यसै गरी म पनि अब तिम्रा लागि अप्राप्य छु । हे पुरुरवा ! ध्यान दिएर सुन । स्त्रीहरूसँगको मैत्री कहिल्यै स्थायी हुँदैन । स्त्रीहरूको मन हिंस्रक जनावरहरूको झैं निष्ठुर हुन्छ । मैले त चार वर्षसम्म तिमीसँग रात बिताएको छु । कम्तीमा दिनको एकपटक सम्भोगको आनन्द पनि लिएको छु । यी सबैबाट तृप्त भएरै तिमीबाट पर हुन खोज्दै छु । मानव मनको मीठो गरी पहिचान गर्न सक्षम छन् उर्वशीका यी शब्द । मनको तहमा बाँच्न थालिसकेपछि नित्य नवीनताको खोजी हुन स्वाभाविकै हो । सोही भाव उर्वशीका भनाइमार्फत प्रकट भएका छन् । कुरा यत्ति हो कि पुरुरवामा उर्वशीप्रतिको मोह अझै बाँकी थियो भने उर्वशीको मन पुरुरवाबाट अघाइसकेको थियो । कथामा यसपछाडिका अनेकौं कारण दिइए पनि मूलतः यसमा मानव मनोविज्ञानकै सार छ, परिवर्तनशीलताकै परिपाक छ अनि प्रेमको वियोगान्त नियतिकै प्रकटीकरण छ । सार त के हो भने संसारका हरेक कुरा असार छन्, जसबाट प्रेम अछुतो छैन । ऋग्वेद कालीन समयमै गाथा गाइएकी प्रसिद्ध अप्सरा हुन् उर्वशी । ऋग्वेदमा उर्वशीको एक संवादात्मक सूक्तिमा थुप्रै ऋचा छन् । उर्वशी शब्द ऋग्वेदमा थुप्रै पटक आएको छ । तीमध्ये केही स्थानमा उर्वशी शब्द व्यक्तिवाचक अर्थमा आएको छ । सातौ मण्डलमा यीबाट वशिष्ठ उत्पन्न भएको बताइएको छ भने दशौ मण्डलमा उर्वशी पुरुरवा संवाद छ । उर्वशी जन्म एउटा प्रसंग छ, नरनारायण ऋषि बदरिकाश्रममा तपस्या गरिरहेका थिए । उनीहरूले इन्द्रपद लेलान् भन्ने डरका कारण इन्द्रले वसन्त, काम एवं मेनका, रम्भा, घृताची आदि १६ हजार पचास अप्सरालाई तपभंग गराउन पठाए । उनीहरूले तपस्यारत नरनारायणका अगाडि हावभाव, कटाक्षसहित कामुक अभिनय गर्न थाले । तर उनीहरूको त्यस्ता किसिमको कृत्यले नरनारायणलाई प्रभाव पारेन । बरु नरनारायणले इन्द्रको मनसुवा बुझे । अनि नारायणले आफ्नै तिघ्राबाट एउटी सुन्दरीको उत्पत्ति गरे । तिघ्राबाट उत्पन्न ती सुन्दरीका अगाडि अप्सराहरूको रूप छायामा प¥यो । उनीहरू लाज मानेर भागे । अप्सराहरूबाट यस्तो घटना सुनेपछि इन्द्र नरनारायणको शरणमा पुगे र माफी मागे । नरनारायणले ती सर्वश्रेष्ठ सुन्दरी इन्द्रलाई नै दिइपठाए जो इन्द्रलोककी उच्च स्थानप्राप्त अप्सराका रूपमा स्वर्गमा बस्न थालिन् । अर्को प्रसंग विष्णुपुराणमा छ, पुराणपुरुष विष्णुअवतार नरनारायण गन्धमादन पर्वतमा तपस्या गरिरहेका थिए, तपस्या भंग गराउनका लागि इन्द्रले मदनसेना पठाए । उनीहरूले गायन, नृत्य, संगीत आदि अनेकौं प्रकारले तपस्वी नारायणलाई मोहित बनाउने प्रयास गरे, तर सबै प्रयास बेकार गयो । नरनारयणले उनीहरूलाई अत्यन्त मधुर शब्दले आदरसहित सोधे, यहाँ तपाईंहरू के कति कारणले आउनुभएको हो ? यो सुनेपछि कामादिले लज्जित भएर मुन्टो निहुराए । यत्तिकैमा उनीहरूले देखे कि नारायणको तिघ्राबाट १६ हजार एकाउन्न अप्सरा उत्पन्न भए जसमध्ये उर्वशी सर्वश्रेष्ठ सुन्दरी थिइन् । संस्कृतमा तिघ्रालाई उरु भनिन्छ, नारायणको उरुबाट जन्म भएकाले यिनको नाम उर्वशी रह्यो । पद्मपुराणले यिनलाई कामदेवको उरुबाट उत्पन्न भएको भनेको छ । प्राचीन साहित्य एवं पुराणमा उर्वशीलाई सौन्दर्यको पर्यायकै रूपमा वर्णन गरिएको पाइन्छ । विशेष गरेर वेद तथा पुराणमा उर्वशी र पुरुरवाको प्रेमलाई अत्यन्त महत्वका साथ दर्शाइएको छ । संस्कृत साहित्यका महाकवि कालिदासले आफ्नो नाटक विक्रमोर्वशीयमा पुरुरवा र उर्वशीकै कथालाई आधार बनाएका छन् । आधुनिक नेपाली साहित्यमा सिद्धिचरण श्रेष्ठले उर्वशी र अर्जुनको प्रसंगलाई आधार बनाई उर्वशी खण्डकाव्य लेखेका छन् । ज्योतिषीय दृष्टिले उर्वशीको राशि वृश तथा राशि स्वामी शुक्र हुन् । यस दृष्टिले पनि स्वभावतः बाह्य आवरण दर्शनीय हुन्छ । शरीर सुपुष्ट एवं आकर्षक हुनाका साथै स्वाभिमान, स्वच्छन्दता एवं शीतलता पहिलो नजरमै दृष्टिगोचर हुन्छ । स्वभाव मेहेनती, लगनशील, सहयोगी, धैर्यशाली, आत्मकेन्द्री तथा आवेगी पनि हुन्छन् । उर्वशी वेदपुराणादि ग्रन्थमा वर्णित आर्यावर्तका विख्यात ऋषिद्वय अगस्त्य र वशिष्ठकी माताका रूपमा समेत चिनाइएकी छन् । उर्वशीलाई देखेर स्खलित भएका मित्रावरुणका वीर्य घडामा राखिएको र त्यसबाटै अगस्त्य र वशिष्ठ ऋषि जन्मिएको कथा पुराणमा वर्णित छन् । यो प्रसंगबाट उर्वशीप्रतिको सम्मान तथा उनको अवर्णनीय सौन्दर्यको विषयमा थाहा पाउन सकिन्छ । अर्जुन एकपटक स्वर्गलोकमा घुम्न गएका बेला उर्वशीको रुप देखेर अर्जुन मोहित भएका थिए । अर्जुनलाई उर्वशीले पनि मनपराएकी थिइन् तर अर्जुनले उर्वशीको प्रेमप्रस्ताव अस्वीकार गरेका थिए । आफ्नो प्रेम अस्वीकार गरेको रिसले उर्वशीले अर्जुनलाई युवती भएर जन्म लिन परोस् भनि श्राप दिएकी थिइन् । प्रेममा बिछोड हुन मानव जातिमा ज्ञानको प्रवेश भएपछि र प्रेममा पर्न थालेदेखि नै सुरु भएको कुरा हो । यस्ता अनेकौं प्रेमको साक्षी इतिहास छ । तिनैमध्ये एक प्रेमको उदाहरणका रूपमा पुराणहरूमा वर्णित पुरुरवा र उर्वशीको प्रेम पनि पर्छ । अलौकिक सौन्दर्यकी धनी अप्सरा उर्वशी तथा एक पूर्ण मानव पुरुरवाबीचको प्रेम कहानीले वेदपुराणहरूका पाना तरंगित छन्, अनुप्राणित छन् । उर्वशी र पुरुरवाको प्रेम चन्द्रपुत्र बुध र सूर्यपुत्र वैवस्वत मनुकी पुत्री इलाका पुत्र पुरुरवा अथाह शक्ति एवं शौर्यले सम्पन्न थिए । उनी आवश्यक पर्दा स्वर्गमा गएर देवतालाई पनि सहायता गर्थे । दैत्यलाई स्वर्गबाट भगाउँथे । बुधपुत्र पुरुरवाको जवानीप्रदत्त सुन्दरता कुनै देवताभन्दा कम थिएन । चोलाले मानव भए पनि देवपुरुषका यावत् गुण उनमा विद्यमान थिए । एउटा प्रसंग छ, एक दिन धर्म, अर्थ र काम तीन पुरुषार्थले पुरुरवाको परीक्षा लिने विचार गरे । उनीहरू मानव रूप धारण गरेर पुरुरवासमक्ष आए । पुरुरवाले तीनैजनालाई सम्मानपूर्वक उपहार प्रदान गरे । अर्थ र कामलाई दिएका उपहार धर्मलाई दिएभन्दा आधा थियो । आफूहरूलाई धर्मभन्दा कम महत्व दिएको देखेर अर्थ र काम रुष्ट भए । अर्थले पुरुरवालाई दरिद्र हुने श्राप दियो भने कामले स्त्रीवियोगको पीडा सहनु पर्ने श्राप दियो । धर्मले चाहिँ पुरुरवालाई लामो समयसम्म पृथ्वीको शासन गर्ने र उत्तराधिकारीहरूको निरन्तरता भइरहने वरदान दिए । यही कुराले पुरुरवाको भावी जीवन निर्देशित रह्यो । एकपटकको कुरा हो, पुरुरवाको सहयोगले युद्ध जितेपछि देवराज इन्द्रले पुरुरवाको सम्मानमा एक नृत्य कार्यक्रमको आयोजना गरे । नाचमा प्रमुख नायिका थिइन् उर्वशी । जसको सौन्दर्यको प्रशंसामा सारा देवलोक खनिन्थ्यो । नाचको क्रममा संयोगले उर्वशी र पुरुरवाको आँखा जुध्यो । सुन्दर अनि सुगठित शरीर, आकर्षक वक्षस्थल, मनोहारि कम्मर, सुपुष्ट नितम्ब एवं कठोर स्तन । नृत्यको तालसँगै नाचिरहेका अप्सराको अंगप्रत्यंगमा मोहक जादू थियो । उनको हेराइमा पुरुष मन भुतुक्कै हुन्थ्यो ! आँखा जुधेपछि दुवैमा प्रेमको अंकुर फुट्यो । दुवै आलिङ्गनको प्यासले पीडित भए । नाचको समाप्तिपछि पुरुरवाले संकोचका कारणले त्यो प्यासलाई व्यक्त गर्न सकेनन् भने उर्वशीले स्त्रीसुलभ लज्जाका कारण मुख खोल्न सकिनन् । मनको कुरा मनमै रहेपछि तड्पिरहेको मन बोकेर पुरुरवा मत्र्यलोक फर्किए भने उर्वशी स्वर्गमै रहिन् । पुरुरवालाई भेट हुन्छ कि भनी उर्वशी मत्र्यलोकको भ्रमणमा निस्कन्थिन् । त्यस्तै एउटा भ्रमणमा मौका पारेर केशी दानवले उर्वशीलाई अपहरण गर्यो । उर्वशी रुनकराउन थालिन् । त्यो पुकार पुरुरवाले सुने । उनले केशीसँग युद्ध गरी उर्वशीलाई मुक्त गरे । केशीबाट फुत्केकी उर्वशी स्वर्ग त फर्किन् तर तिनको मन मत्र्यलोकमै छुट्यो । उनीहरूको मिलन हुन सकिरहेको थिएन । एक दिन स्वर्गमा नाट्यमुनि भरतले लक्ष्मीनारायणको नाटक खेलाउँदै थिए । नायिका थिइन् उर्वशी । एउटा संवादमा नारायणलाई ‘पुरुषोत्तम’ भनेर सम्बोधन गर्नुपर्ने थियो । उर्वशीले पुरुषोत्तम शब्द बोल्दा मुखबाट ‘पुरुरवा’ फुत्कियो । नारायणको नाम लिनुपर्ने ठाउँमा मरणशील मनुष्यको नाम लिएको देख्दा नाट्यमुनि भरत औधी रिसाए । ऋषिले तत्काल उर्वशीलाई मनुष्य भएर मत्र्यलोकमा भ्रमण गर्ने श्राप दिए । उर्वशीका लागि यो श्राप ‘के खोज्छस् काना आँखो’ भनेझै भयो । उता इन्द्र उर्वशीलाई गुमाउन चाहँदैनथे । त्यसैले इन्द्रले उर्वशीको श्राप घटाइदिए । मत्र्यलोकमा आएकी उर्वशीको पुरुरवासँग भेट भयो । जब आफ्ना अगाडि उर्वशीलाई पुरुरवाले देखे । दुवैको नमरेको प्यास जागृत भयो । एकअर्कामा मन्त्रमुग्ध भए । पुरुरवाले उर्वशीसमक्ष विवाहको प्रस्ताव राखे । उर्वशी पुरुरवाको प्रेममा चुर्लुम्म त डुबेकी थिइन् तर मत्र्यलोकमा केही दिन बस्दैमा उनलाई स्वर्गको सुखसयलको याद आउन थालिसकेको थियो । उनी अन्यमनस्क थिइन् । तसर्थ उनले पुरुरवाका अगाडि दुई शर्त राखिन् । उर्वशीको प्रेम सशर्त रह्यो । उर्वशीले स्वर्गबाट आउँदा भेडाका पाठाहरू सँगै ल्याएकी थिइन् । पहिलो शर्तस्वरूप पाठाको रक्षाको जिम्मेवारी लिनुपर्ने बताइन् र भनिन्– ‘जुन दिन यसको रक्षा गर्न सक्नुहुन्न त्यो दिन म छोडेर जान्छु ।’ पुरुरवाजस्तो शक्तिशालीलाई भेडाका पाठाको संरक्षण गर्नु कुनै ठूलो कुरा थिएन । तुरुन्तै सहमति जनाइहाले । उर्वशीले दोस्रो शर्त अघि सारिन्– ‘तपाईलाई सहवासको अवस्थामा बाहेक अरू समय निर्वस्त्र देख्न नपरोस् । जुन दिन मैले तपार्ईलाई सम्भोगका समयबाहेक नांगो देख्छु त्यो दिन हाम्रो सम्बन्ध टुंगिनेछ ।’ यो शर्तमा पनि पुरुरवाले मञ्जुरी जनाए । विवाह भयो । दुवै एकअर्कामा हराएर यौवनको रसपान गर्नमा मग्न रहन थाले । सन्तान पनि जन्माए । उता स्वर्गमा इन्द्रलाई उर्वशीविनाको नृत्य फिक्का लाग्न थाल्यो । उनी उर्वशीलाई स्वर्गमा कसरी ल्याउने भनेर मात्र सोच्न थाले । उर्वशीको सम्झौताका विषयमा इन्द्र पनि जानकार थिए, तसर्थ उनले उर्वशीले राखेका शर्तबाट फाइदा उठाउने सोच बनाए । एकदिन मध्यरातको समय । पुरुरवा र उर्वशी यौनक्रीडामा लिप्त थिए । चुम्बकमा फलाम टाँसिएजसरी उनीहरूको शरीर जोडिएको थियो । ओठमा ओठ, स्तनमा छाती, योनीमा लिंग अनि तिघ्रामा तिघ्रा जोडिएको थियो । कामदेवको वेगले दुवैलाई छोपेको थियो । शरीरका अंगप्रत्यंगबाट रस निसृत भइरहेका थिए । उनीहरू सम्भोगको अलौकिक रसास्वादनमा लिप्त थिए । अचानक भेडाका पाठाको आवाजले यौनक्रीडामा अवरोध ग¥यो । मरुभूमिमा प्यासले तड्पिएका समयमा थोरै पानी पिउँदा अझ बढी प्यास बढेझैँ त्यो आवाजले कामप्यास झन् बढ्यो । पुरुरवालाई अँगालोमा कस्दै उर्वशीले पाठाको संरक्षण गर्न आग्रह गरिन् । पुरुरवालाई यस्तो बेलामा छुट्टिन गारो भइरहेको थियो । पुरुरवा छुट्टिन नमानेपछि उर्वशीले धकेलिन् र पुरुरवालाई आफूबाट अलग गराइन् । मन नमान्दानमान्दै अलग भएका पुरुरवा झटपट पाठा बचाउन नांगै दौडिए । तत्क्षण आकाशमा बिजुली चम्कियो । पुरुरवाको नग्न शरीर उर्वशीले देखिन् । उनको प्रतिज्ञा समाप्त भयो । उनी अन्तरध्यान भइन् र स्वर्ग गइन् । उर्वशीको वियोगमा पुरुरवा विक्षिप्त बने । जहाँ पनि उर्वशीको खोजीमा रहन थाले । पागलजस्तै भएर हिँड्न लागे । उता स्वर्गसुधामा भुलेकी उर्वशी गर्भवती थिइन् । उनलाई आफ्नो प्रियतमको माया लाग्यो र भेट्नको लागि पृथ्वीमा आइन् । पुरुरवाले प्रिया, अब छोडेर नजाऊ भनेर उर्वशीसँग अनुनयविनय गरे । उर्वशीले गर्भको सन्तान दिनका लागि मात्र आफू धर्तीमा आउने वाचा गरिन् । एक पटकको दर्शनका लागि पनि पुरुरवा एक वर्षसम्म उर्वशीलाई कुरिरहे । समयको कुनै कालखण्डका प्रेमविषयक यस्ता कथा आज पनि उत्तिकै सान्दर्भिक किन लाग्छन् ? समयले ल्याएको परिवर्तनमा उत्निखेरको समाज आज पनि किन बौरन खोज्छ यस्ता कथामार्फत ? किन त भन्दा आज पनि उसैगरी प्रेम पलाइरहेकै छ, पुरुरवाले उर्वशीलाई फकाउने, सम्झाउने, भावनाको दोहन गर्ने, परस्परको समस्या हल गर्नेजस्ता उपाय आज पनि भइरहेकै छ अनि आजका मानवमा पनि अनुरागको धर्मले उतिबेलाझैं आफ्नो धर्म छाडेको छैन । #दीपक दाहाल 'वत्स' #शास्त्रका कुरा |
अधुरा पोट्रेटहरू: सृजनलाई भेट्नुअघि मेरो चित्रकलाप्रतिको धारणा नै बेग्लै थियो । म सोच्थें, “लेखकले कलम चलाएझैं कुचीकारहरूले कुची चलाउने त हुन् ! कुची चलाउँदा जे बन्छ, त्यसलाई एक वा अनेक अर्थ र नाम दिएर बयान त अरूले नै गरिदिने हुन्, त्यसमा चित्रकारको केही भूमिका हुँदैन । महत्त्व हुँदैन । अस्तित्व पनि हुँदैन ।” तर, म गलत रहेछु । म गलत रहेछु भन्ने बुझ्न ऊसँगको मेरो पहिलो भेट नै काफी थियो। सन्देश, मेरो बालसखा । ऊ र म आज पनि सँगै छौं। साथै छौं र त जीवनका हरेक दु:ख-सुख बाँड्न पाएका छौं । स्कूल, कलेज र विश्वविद्यालयसम्मको पढाइ हामीले सँगै सकेका थियौं । ऊ नेपाली साहित्य पढ्थ्यो, म अंग्रेजी । यसकारण पनि उसको र मेरो गफगाफका धेरै विषयहरू साझा हुन्थे । मनोज रेग्मी एकदिन उसले मलाई आफ्नो एउटा साथीकोमा लिएर गयो । उसको त्यो साथी चित्रकार रहेछ । तर, सडक दुर्घटनामा परेर हलचल गर्न नसक्ने हुँदा घरमै आराम गरिरहेको रहेछ । उसलाई के भएको थियो ? मलाई थाहा थिएन। सन्देशले मलाई उसको बारेमा केही पनि भनेको पनि थिएन । म त बस् सन्देशको पछिलागेर उसको घर पुगेको थिएँ। जब म सन्देशसँग उसको कोठामा पुगें, ऊ बिस्तरामा पल्टिरहेको थियो । उसको कोठाको भित्ताभरि थरीथरीका पेन्टिङहरू टाँसिएका थिए । टाँसिएका मध्ये कति त विश्वविख्यात आर्टिष्टहरूको मास्टरपिसका कपीहरू पनि थिए। नयाँ ठाउँमा जाँदा मान्छेले त्यो ठाउँको हरेक कुरा मज्जाले नियाल्छ । त्यो दिन मेरो लागि त्यो कोठा पनि नयाँ नै थियो । त्यसैले मैले कोठाको हरेक सामान मजाले नियालेँ । उसको कोठा नियाल्ने क्रममा मेरो आखाँ बेडको छेउमा राखिएको एउटा बेडसाइड टेबलमा गएर रोकियो । टेबल पुरै औषधि र जुसले भरिएको थियो। त्यही टेबलको एउटा कुनामा सानो फ्रेम गरेर राखिएको दम्पतीको फोटो थियो। कोठाभरि रङ, पिसाब र औषधिको ककटेल गन्ध फैलिएको थियो। नाकको पोरा नै परपर्याउने कडा गन्ध। अस्पतालको छनक दिने गन्ध। कोठाको एउटा कुनाको टेबलमा खुला मुख भएका केही सिसीहरू थिए, जसमा विभिन्न आकारका कुचीहरू माथि फर्काएर राखिएका थिए। टेबलमा रङहरू चुहिएका टाटाहरू थिए। कतै रङ लत्पतिएको सुतीका टालाहरू असरल्ल छरिएका । भित्तामा पनि रङका मसिना छिटाहरू देखिन्थे । केही रङका बट्टाहरू मिलाएर टेबलको अर्को कुनामा राखिएको थियो । केही बट्टाका बिर्कोहरू थिएनन् । टेबलको एउटा छेउको स्ट्याण्डमा एउटा स्ट्रेचरमा क्यान्भास थियो। क्यान्भासमा एउटा अधुरो पोट्रेट थियो, जसमा अनुहारको आकार मात्र बनाइएको थियो—आँखा, नाक, ओठ र अन्य भागहरू बिनाको पोट्रेट। पूर्वतिरको झ्याल नजिकको खाटमा एउटा आकार लम्पसार थियो, जुन घरिघरि तल माथि गरेजस्तो देखिन्थ्यो। सायद उसको स्वास फेराइको लयसँगै उसले ओडेको च्यादरले आफ्नो धर्म निभाएको हुनुपर्छ। टाढाबाटै अनुमान लगाउन सकिन्थ्यो कि उसको स्वासको गति असामान्य थियो। खाटमुन्तिर पिसाबको कृत्रिम थैली झुन्ड्याइएको थियो। “सृजन, ओइ सृजन !”- सन्देशले बोलायो। “ हँ, को हो? यता खाट नजिक आउनु न। म आफैं फर्किन सक्दिनँ !”- स्थिर रहेर नै उसले जवाफ दियो। “म हो के, सन्देश ! कस्तो छ अहिले तँलाई?” “ए तँ होस् ! कतिबेला आइस् ? म त आफैं फर्किन नसक्ने अवस्थामा छु यार, कि तँ यता आएर मलाई त्यतापट्टि फर्किन मद्दत गर, कि तँ नै यता आइज !” सन्देश हतपत ऊ फर्केतिर गयो र उसले ओडेको च्यादर तल सारिदियो। अनि आफ्ना दुवै हातले तानेर खाटमा आडेस लगाइदिएर राख्न खोज्यो। मैले उसको पछाडि एउटा सिरानी राखिदिएँ। “तिमीहरू पनि बस न ! एकजना ऊ त्यो कुर्सीमा बस, एकजना त्यो मोढा तानेर बस,” कुर्सी र मुढा आफ्ना कलेँटी परेको ओठ चुच्चो पारेर देखाउँदै उसले भन्यो। “उहाँलाई त मैले चिनिनँ नि?” हामी बसेपछि मतिर उसले हेर्दै सोध्यो। “ए…ऊ? ऊ मेरो साथी, मनोज। मेरो बच्चैदेखिको साथी।” सन्देशले मेरो परिचय दियो। उसले नि आफ्नो परिचय दिदैं भन्यो- “म सृजन है! म सन्देशको क्लासमेट्, मास्टर्सको !” हामीले आफ्नो परिचयसँगै एकअर्कासँग आतिथ्यता पनि साट्यौं। “कसरी भयो यार यो सब? मैले त बल्ल हिजो थाहा पाएँ। अफिसको कामले फिल्ड भिजिटमा तीन महिनाको लागि लोमान्थाङतिर गएको थिएँ। त्यहाँ त नेट र फोन पनि राम्रोसँग नचल्ने रहेछ। केही थाहा पाइनँ । हिजो मात्र फर्केको। घरमा आउनासाथ थाहा पाएँ। अनि बिहानै भेट्न आको !”, सन्देशले आफ्नो प्रश्न र उसले सोध्न सक्ने प्रश्नको उत्तरको पेटारी एकैपटकमा खोल्यो। सन्देशको कुराले ऊ गम्भीर भयो। उसको कलेटी परेका ओठ जिब्रोले भिजायो। अनि सुस्केरा हाल्दै भन्यो-“खै कसरी भयो भनूँ! जिन्दगीमा कहिल्यै नसोचेको घट्ना घट्यो, यार!” एकछिन त्यो अधुरो पोट्रेट हेरेर टोलाएपछि उसले थप्यो, “जीवनमा एकैपटक धेरै कुराहरू गुमाएँ यार मैले ।” उसले यति भनिसकेर माथिल्लो दाँतहरूले तल्लो ओठ टोक्यो। एक्कासि उसको अनुहार कालो भयो। उसका आँखाबाट एकाएक अश्रुधारा बग्न थाले। सन्देश आफू बसेको ठाउँबाट जुरुक्क उठ्यो र उसलाई अंकमाल गरेर सुम्सुम्यायो। एकैछिनमा सृजन सम्हालिएपछि सन्देश फेरि अघिकै ठाउँमा आएर बस्यो। एकैछिन कोठामा शान्ति छायो। भित्तेघडीको हरेक सेकेन्ड-सेकेन्ड सुईं सर्दा आउने टिक्-टिक् आवाजले त्यो शान्त वातावरणलाई बिथोल्ने प्रयास भने गरिरहेको थियो। “त्यो दिन म र सुधा मनकामना दर्शन गर्न भनेर हिंडेका थियौं। त्यो बिहान आकाश धुम्म थियो। पानी पर्ला पर्ला जस्तो थियो, तर परिसकेको भने थिएन। आमाले, ‘अर्को दिन गए हुँदैन?’, भन्दै हुनुहुन्थ्यो। सुधाले, ‘भगवानको दर्शन गर्न आँटिसकेको के फर्किनु’, भनिन्। त्यसैले हामी हिँड्यौँ।” ऊ फेरि रोकियो। कतै हरायो। कुममा आँसु र सिँगान पुछ्यो र थप्यो, “मुग्लिङ पुग्दा सिमसिम पानी परिरहेको थियो। सुधाले जाडो भयो चिया खाऊँ भनिन्। मैले बाइक छेउ लगाएँ। हामी चिया पिउन एउटा चिया पसल छिर्यौं। चिया पिएर लगभग बीस मिनेटपछि हामी त्यहाँबाट निस्कियौं। हामी कुरिनटार नजिक पुगेका थियौं। सुधाले मेरो कान नजिक मुख ल्याएर, ‘आइपुगियो अब त, केबलकार नि देखिसक्यो’, मात्र के भनेकी थिइन्, विपरीत दिशाबाट एउटा टिपर अनियन्त्रित हुँदै हामीतिर आयो। बाइक स्पिडमै थियो। मैले केही सोच्नै सकिनँ। झ्याप्प डिस्कब्रेक हानें। बाइक चिप्लियो। बाइक सिधै गएर टिपरमुनि छिर्यो। टिपर मेरो घुँडाभन्दा तलको भागमा चढ्यो। म बेहोश भएँ। मलाई सुधाको बारेमा केही थाहा थिएन। पछि होश आउँदा म हस्पिटलको बेडमा थिएँ। मेरा दुवै खुट्टा काटिएका थिए। देब्रे हात भाँचिएको थियो। “होशमा आउँदा म असिम पीडामा थिएँ, तर झ्वाट्ट सुधालाई सम्झिएँ। आमालाई सुधाको बारेमा सोध्दा आमा भक्कानिएर कोठाबाहिर निस्किनु भयो। त्यति नै बेला मैले लख काटेको थिएँ। पछि रमेशले, ‘भाउजूको निधन त घट्नास्थलमै भएको’ भन्ने सुनायो। उनको टाउको माइलस्टोनमा गएर बजारिएको रहेछ ।” यति भनेर ऊ त्यो अधुरो पोट्रेट हेरेर टोलायो। त्यतिबेला उसका आँखा, आँखा कम पानीको मूलझैं देखिन्थे। सन्देश उठेर उसलाई सम्झाउँदै भन्यो, “के गर्छस् यार ! हुने हार, दैव नटार भनेजस्तो । हाम्रो हातमा केही पनि छैन। जे लेखेको छ, त्यो हुन्छ, हुन्छ। जे भयो भयो। अब तैंले आफूलाई सम्हाल्नुपर्छ। हुन त संसारमा सहानुभूति दिनुजस्तो सजिलो केही छैन। आफूलाई नपरी पीडाको मर्म थाहा हुँदैन पनि। तर, तैंले तेरो परिवारको खुशीको लागि भएनि आफूलाई सम्हाल्नु पर्छ। तँ बलियो हुनैपर्छ। अब तैंले नै सबैलाई सम्हाल्नु पर्छ। मलाई पनि तेरो चोटले मर्माहत तुल्याएको छ। तर तँ चिन्ता न ली, हामी छौं।” यति भनिनसक्दै सन्देशका आँखाभरि आँशुले अड्डा जमाइसकेका थिए, उसले आफूले लगाएको सर्टको बाहुलाले त्यो अड्डा पुछ्यो। केहीसमय अघिसम्म उसको बारेमा केही थाहा नभएको मान्छे म, मेरो पनि आँखा अघि नै रसाइसकेका थिए। यहाँनेर मैले महसुस गरेँ, मान्छेले चिने-जानेको वा आफ्नो घनिष्ठ मान्छेको मृत्यु वा भनौं पीडामा मात्र होइन, उसले हरेक मान्छेको दु:खमा एउटा मानवीय संवेदनाको मर्यादामा आँशु चुहाउँछ। एकछिनमा हामी सबै सम्हालियौं। “तिमीहरू जुस, चिया केही लिने ?” सृजनले सोध्यो। हामीले ठिकै छ भनेर खाएनौं । मलाई त्यो अधुरो पोट्रेट कस्को होला ? भन्ने मात्र ध्याउन्न थियो। “त्यो पोट्रेटचाहिँ कसको हो नि?” मेरो छुच्चो मुखबाट फुत्किहाल्यो। मेरो त्यो प्रश्नले उसको अनुहारको रङ नै फेरियो। केही छिनको गफगाफपछि केही हदसम्म संग्लिएको अनुहार फेरि मेरो प्रश्नले धमिलो अनि कालो देखियो। ओठ थरथराउन थाल्यो र आँखा भरिएर आए। दुईथोपा आँशु खसे र उसले ओडेको च्यादरले उसका आँशु सोसिदियो। मलाई भने व्यर्थ सोधेछु भन्ने लाग्यो। म र सन्देश पछुतो मिसिएको हेराइले एकअर्कालाई हेर्यौं। “त्यो पोट्रेट मेरी सुधाको हो, जुन म उनलाई उनको जन्मदिनमा उपहार स्वरूप दिन चाहन्थें। उसलाई सरप्राइज दिन नै मैले उसको मुहार अधुरो राखेको थिएँ। तर…….”, ऊ रोकियो। ऊ रोकिएपछि मैले सोधेँ, “अब यसलाई यसै अधुरो छोड्नुहुन्छ त? पूरा गर्नुहुन्न?” उसको केही प्रतिक्रिया नआएपछि म नै फेरि सुरु भएँ, “म हजुरको स्थिति महसुस गर्न नसके पनि पीडा बुझ्न सक्छु। जुन व्यक्तिलाई अगाध प्रेम गरिन्छ उसलाई गुमाउँदा हरेश खाने होइन, उसबाट प्रेरणा लिनु पर्छ। हजुरले यो पोट्रेट पूरा गर्नुभयो भने उहाँको आत्मा पक्कै पनि खुशी हुनेछ। तपाईंको मनको बोझ पनि पक्कै हल्का हुनेछ।” यति भनिसकेपछि आफैंलाई अलि बढी नै बोलेझैँ लाग्यो। एकछिन पोट्रेट हेरेर टोलाएपछि उसले गम्भीर हुँदै भन्यो, “मुड नै छैन यार अब त! बन्दै बन्दैन। हातै सर्दैन। आँखामा उनैको अनुहारको हाँसो झल्झली आउँछ। केही कुरामा पनि मन जाँदैन। सुतिरहन, रोइरहन मात्र मन लाग्छ। डर पनि लाग्छ। बेलाबेला तर्सिन्छु। राति ऐंठन हुन्छ। ब्युँझदा पसिनाले लिछिप्प भिजेको हुन्छु। सपनामा सुधाले आफूतिर बोलाउँछिन्। हात दिन्छिन्। म समात्न खोज्छु, सक्दिनँ। हररात सपनामा देख्छु। विपनामा पनि हरेक कुरामा उनैको सम्झना गाँसिएको छ। कसरी बिसर्न सकिएला र खै?”- यति भनिसकेर उसले लामो सुस्केरा हाल्यो र सिरानीमा राखेको टिस्यू बक्सबाट टिस्यू निकालेर आँसुले भरिएका आँखा र बगिरहेको नाक पुछ्यो। “यदि उहाँ हुनुभएको भए तपाईंको यो हालत देखेर पक्कै पनि खुशी हुनु हुने थिएन। त्यसैले अब तपाईंले जीवनलाई एउटा दिशातिर लानै पर्छ। जीवनलाई गति दिनै पर्छ। त्यो नै सबैको लागि राम्रो हुन्छ। सुरुसुरुमा धिमा भए पनि पछि बिस्तारै जीवनले गति लिन्छ। बाइक पनि त एकैपटक माथिल्लो गियरमा कहाँ दौडिन्छ र! हरेक कुराले गति लिन समय लिन्छ। हाम्रो जीवनले पनि बिस्तारै गति लिन्छ, लय समात्छ अनि हामीलाई एउटा यात्रामा लिएर जान्छ।” उसलाई साथ र सकारात्मक कुराहरूले प्रभाव पार्न सकिन्छ भन्ने मेरो ठम्याई थियो। सोहीअनुरूप म उसलाई दुवै कुराहरूबाट जीवनलाई फेरि प्रेम गर्न हौसला दिँदै थिएँ। चिनजान भएपछि म दिनहुँ उसलाई भेट्न थालेँ। दिनदिनै भेट हुदाँ हामी झन् आत्मिय हुँदै गयौँ। यसक्रममा म उसमा आएको आमूल परिवर्तन महसुस गर्न सक्थेँ। एकदिन उसको कोठाबाट बाहिर निस्किदा आमा ढोकाबाहिर उभ्भिरहनुभएको रहेछ। मलाई देख्नासाथ कारुणिक पारामा भन्नुभयो, “मैले लाख कोशिश गर्दा पनि सामान्य रूपमा फर्काउन नसकेको उसलाई तपाईंको साथले धेरै ठूलो प्रभाव परेको छ। ऊ दिन-प्रतिदिन सामान्य जीवनमा फर्किदैं छ। म हजुरप्रति आभारी छु, बाबु!” आमाको कुराले मलाई साह्रै भावुक बनायो। मैले आमाको हात मेरो हातमा लिएर भनेँ, “आमा तपाईं चिन्ता नलिनुहोस्, ऊ अब धेरै ठीक भैसकेको छ। उसको अनुहारमा चमक र हातमा फेरि जीवन जिउने चाह बढेर आएको छ। म अहिलेलाई जान्छु है, आमा?” ” हस्, आउँदै गर्नु है?”- आमाले आशावादी स्वरमा भन्नुभयो। ” भैहाल्छ नि, आमा!”- यति भनेर म घर फर्किएँ। म स्कूल पढाउँथे। स्कूल सकिएर घर आएपछि फ्रेस हुन्थेँ र उसको घर जान्थेँ। यसरी उसको घर जाने एउटा रुटिन नै बनिसकेको थियो। एक साँझ म उसको कोठामा पुग्दा ऊ औंलाहरूको बीचमा कुची राखेर हावामा केही आकृति कोरेझैं गर्दै थियो। मलाई देख्नासाथ उसले केही अफ्ठ्यारो मानेझैं गरी कुची लुकायो। “मलाई खुशी लाग्यो तपाईंको हातमा ब्रस देखेर!” -मैले कोठामा छिर्नेबित्तिकै भनें। उसले अनुहारमा असुहाउँदो मुस्कानले मेरो कुराको प्रतिक्रिया दियो। केही बोलेन। प्रायः हामी बीचमा चित्रकला र रङको महत्त्वको बारेमा कुरा हुन्थ्यो। कुरा गर्दा गर्दै सृजन कहिलेकाहीँ हराउँथ्यो। भावुक हुन्थ्यो। फेरि आफूलाई सम्हालि पनि हाल्थ्यो। उसले पेन्टिङ गर्दा डिटेलमा विशेष ध्यान दिन्थ्यो। चित्रकलाको बारेमा ऊ घण्टौं बोल्न सक्थ्यो। तर, उसमा त्यो अधुरो पोट्रेटमा कुची चलाउने आँट भने अझै पलाइसकेको थिएन। एकसाँझ उसले मेरो चित्रकला प्रतिको रुचिबारे सोध्यो। मेरो चित्रकलासम्बन्धी ज्ञानका बारेमा सोध्यो। चित्रकलामा रङको महत्त्वको बारेमा सोध्यो। म उसको जिज्ञासालाई मेरो अल्पज्ञानले पूरा गर्न खोजिरहें। मलाई अलिअलि ज्ञान त थियो, तर त्यो ज्ञानले उसको मस्तिष्कले भण्डारण गरेको ज्ञानलाई छोयो कि छोएन त्यो त मलाई थाहा भएन। तर, प्रयास भने गरेकै हो। मेरो कनिकुथी व्याख्या सुनिसकेपछि उसको मुहारमा एउटा सन्तुष्टिको भावको झल्को देखिन्थ्यो। उसले हातमा लिएको ब्रस हावामा चलाउँदै सोध्यो, “मलाई तपाईंको एउटा फोटो दिन सक्नुहुन्छ?” “किन?”- मैले सोधेँ। “काम छ,” उसले यति मात्र भन्यो। मैले पर्समा राखेको पासपोर्ट साइजको फोटो देखाएर सोधेँ, “यो हुन्छ?” “उमम..अलि सानो रै’छ, तर चल्छ! दिनुस्!” उसले मेरो हातबाट फोटो लिएर हेर्दै भन्यो। त्यसपछि म त्यहाँबाट निस्किएँ। यता स्कूलमा वार्षिक परीक्षा चलिरहेको थियो। उत्तरपुस्तिका यथासक्दो छिटो सकेर बुझाउन सके केही समय फुर्सद मिल्ने थियो। यो बिदाको अन्तरालमा पढ्ने भनेर केही किताबहरू किनेर पनि ल्याएको थिएँ। उत्तरपुस्तिका जाँच्ने क्रममा म यति व्यस्त भएँ कि एक हप्तासम्म घरबाहिरै निस्किन सकिनँ। एक हप्तापछि उत्तरपुस्तिका र प्राप्ताङ्कको लेजर स्कूलमा बुझाएपछि मेरो त्यस वर्षको कर्म सकिएको थियो। काम सकिएको दिन मलाई सृजनको याद आयो। म दिउँसोतिर उसको घर गएँ। उसको कोठामा पुग्दा ऊ ह्विलचेयरमा एउटा क्यान्भास अगाडि बसिरहेको थियो। म नाम बोलाउँदै उसको कोठामा छिरें, तर उसले कुनै प्रतिक्रिया जनाएन। म नजिक गएर हेरें। उसको दाहिने हात छातीको देब्रे पाटोमा थियो। औंलाहरूको बीचमा ब्रस अझै अल्झिरहेको थियो। अगाडिको क्यान्भासमा एउटा अर्को अधुरो पोट्रेट थियो। भुँइमा मैले दिएको फोटो झरेको थियो। मैले अनुमान गरेँ, मैले दिएको फोटोबाट सायद ऊ मेरो पनि पोट्रेट कोर्दै थियो। मैले निदाएको होला भन्ने सोची बोलाएँ। झक्झक्याएँ। तर, उसको शरिर शिथिल र चिसो थियो। मेरो होशले ठाँउ छोड्यो। मैले आफूलाई सम्हालेर एम्बुलेन्सलाई फोनसम्म गर्न भ्याएँ। एम्बुलेन्स आउनुअघि आमालाई पनि बोलाएँ। आमा सृजनलाई त्यो हालतमा देख्नासाथ बेहोस नै हुनुभयो। केही समयमा एम्बुलेन्स आइपुग्यो। आमा र सृजन दुवैलाई अस्पताल लगियो। म पनि बाइक लिएर अस्पतालतिरै हुँइकिएँ। अस्पतालमा सृजनलाई हेर्नेबित्तिकै डाक्टरले मृत घोषित गर्यो। उसको मृत्युको कारण मेजर हार्टअट्याक थियो भनेर पनि डाक्टरले खुलायो। उता आमाको अझै होश आएको थिएन। सृजनका आफन्तहरूलाई छिमेकीले खबर गरिदिएछन्। सबैजना हस्पिटलमा जम्मा हुन थाले। मलाई भने त्यहाँ बस्न मनै भएन, त्यसैले निस्किएँ। बाटोभरि उसको कोठामा बाँकी रहेका ऊजस्तै चिसा पोट्रेटहरूले मलाई झस्क्याइरहे। उसले यो संसारसँगै दुइटा अधुरो पोट्रेट पनि छोडेर गएको थियो। एउटा सुधा र अर्को सायद मेरो, जुन अब सधैं अधुरो नै रहनेवाला थिए। यो सबको बीच सोचेँ, हामीले जीवनभर जति कर्म पूरा गरे पनि, अन्त्यमा जीवन अधुरैअधुरा कर्महरूको संगम त रहेछ नि ! #मनोज रेग्मी |
मातृभूमिमा मातृत्वको आभास: सुगम सौन्दर्यको अनुपम प्राकृतिक छटाहरूले सुसज्जित ती मनोरम दृश्यमा अनमोल प्रत्येक समय र पलाको मापक गौरीशंकर हिमालको काखैमा रहेको च्छोरोल्पा तालको तटमा सुमधुर भएर नाचिरहेको तामाकोशीको किनारमा एक टकले अडिक भएको मेरो मातृभुमि साच्चै नै रामायणमा भएको लक्ष्मणलाई मन परेको लङ्काभन्दा कम रहेनछ भन्ने भान आजको बन्दाबन्दिमा भईरहेको छ । हिजोसम्म एक झलकमात्रै हेर्न भ्याएको आधाउधि किसिम किसिमका आकृतिअरू आज भने प्रत्येकलाई नियालेर छर्लङ्ग भएकी छुँ । लाग्छ, हिजो निदाएकी म आज भने ब्युझेकी छुँ । मेरो मातृभुमि साच्चै नै सुर्यको परावर्तित किरणमा वारि र पारिका गाउँबस्तीका प्रतिबिम्बलाई स्पष्ट रूपले मनमोहक बनाउने स्वस्फूर्त निर्देशक पनि बनिसकेछ के गर्नु मलाई नियाल्ने फुर्सद पो रहेनछ त उफ् मैले कति बेवास्ता गरेकी रहेछु । त्यसैले पनि त होला नि प्राकृतिक स्वरूपले नै मातृत्वको आभास कुनै हालतमा हराउन भने दिएको छैन । शिरैमा स्वर्ण ताजले सुसज्जित भएर ठिङ्ग उभिएर पाण्डवका दाजुभाइमध्येका भिमसेन एक टकले मेरो मातृभुमिमा आएका आँचलाई पदवि दिन तम्तयार भएको छ । साच्चै नै दुई देवलबीचको मेरो मातृभुमि, अनवरत यात्रापछिको गन्तव्य जस्तै छ । कैयौं समयपछि आजमात्रै राम्रोसँग मेरो मातृभुमिको तस्बिर हेरिरहेकी छुँ जसलाई अदृश्य र दृश्यरूपी मस्तिष्क र कापीका पानाहरूमा उतारिरहेकी छुँ । यसरी नै हिजो आज विनाआवाजका चलचित्रहरू विनासिनेमाघरको पर्दा अगाडि दर्शक भएर एक्लै पनि हेरेर मुस्कुराइरहेकी छुँ । वास्तव मै हो हिजोको दिनहरूमा मैले मेरो मातृभुमिलाई कार्यव्यस्तताले दिन नसकेको समय अहिलेको समयमा दिन भ्याएकी छुँ । त्यसैले प्रशस्त समयको प्रयोग गरेर मेरो मातृभुमिको मायालाई जस्ताको तस्तै सारेकी छु । मभित्र चित्रकारको छाप भने कुनै पनि समयमा लगाएकी छैन तर पनि बन्दाबन्दीले गर्दा मनोचित्रकार भने अचम्मैले भएछु, मेरो मातृभुमिमा रहेको चासो र गुनासोको स्तम्भ चित्रमा खडा रहेर जीवन्त मानचित्रमा उतार्न भने अग्रसर भएकी छु । विगतका दिनमा म निरन्तर दौडेका ती दायाँ र बायाँका सिढीहरूमा पटकपटक लडे पनि होला तर हिजोआजका दिनहरूमा भने म फुर्सदिलो भएर पनि ती बाटाहरूमा लड्ने र दौडने आँट गर्दै गरिन । सायद, हिजो म हिड्दा, दौडदा र उफ्रदा ती सिँढी र बाटाहरूमा लडिरहँदा जुरुक्क उठ्न आँट, साहस र धैर्यताका बीजहरू बिजारोपण गरेको थियो तर आज ती बीजहरू हरिया भईसके जसलाई मलजल र गोडमेल गरे पुग्छ । त्यसैले त होला नि, म पनि त्यतैतिर केन्द्रित भएर नभ्याएकी हुँ । तर पनि मैले गरिरहेको कार्यहरू मेरै मातृभुमिको माधुर्यताको सुमधुर भाकाहरूमा प्रखर मायावी बनेर ती लावण्य फाँटहरूमा झुल्लिन भने पटक्कै पनि बिर्सेकी छैन । प्रत्येक बिहानीको सौर्यकिरणसँगै परावर्तित ती छायाँ मानसपटलमा प्रविष्ट गर्न भने कदापि भुलेकी छैन । यहीँ ठाउँ नै मेरो प्रवीण प्रवक्ता हो जसले मैले कैयौं वर्षमा पनि नसुनेका कथा, लेख तथा साहित्यिक रचनाहरूलाई सुन्ने मौका दिएको छ । कहिल्यै नआएका व्यवधानलाई पनि पहिलो प्राथमिकतामा राख्न तल्लीन बनाएको छ । कुनै पनि हालतमा नभेटएका वाङ्मय भने अनेक तरहका मिष्टभाषी भएको छ । भावपरक भातृत्व र मनस्ताप मातृत्वलाई भने यी दिल र दिमागमा मानसिक तृप्तिका लागि पनि दृढ संकल्पको प्रहार बनाएकी छुँ । यहीँ ठाउँले सिकाएका पाठहरूबाट मनमानी त मैले गरेकी नै छैन होला, गरे पनि त्यो मेरो विवशता बन्ने छ । हिजो गरेको क्रोधित सवालमा नपाएको जवाफ आज विनम्रताको विकल्प बनेको छ । त्यसैले त बेहिसाब बनेकोस्पर्श मेरो निम्ति स्मारक बनेको छ । कहिल्यै नदेखिएका क्षितिजमा नाचिरहेको बादललाई पनि हर्न भ्याएकी छु । मेरो मातृभुमिको प्राङ्गणमा मेरी प्यारी जननीले झेल्नुभएको सास्ती र गर्नुभएको साह्रो परिश्रम अति नै अत्याचार र अन्याय भन्न नसुहाउला तर दुखको वेदना र अनुभुतीको अडकाउ भने पक्कै पनि हो । त्यसैले त विवशताको अंगालोमा छ रतिराग चाहे यो पूर्ण वा अपूर्ण, दखल भएको वा नभएको नै किन नहोस् । मेरो मातृभुमि नियाल्ने ती सन्झ्यालहरू कम होलान् तर आँखा भने हजारौँ छन् । बालापनदेखिको मेरा यी स्वप्नरूपी आँखाहरू मेरो मातृभुमिभित्रै मौलाएका छन् । त्यसैले मातृभुमिमा मातृत्वको आभास भने निरन्तर अनुपम र जीवन्त नै बन्ने छ, चाहे त्यो यिअपमयधल भएरै होस् वा खुलेरै पनि। मेरो आधिकारिक अख्तियारी मेरो मातृभुमिसँगै जोडिएको छ। मसँग भएका सक्रिय वा निष्क्रिय जस्तो सुकै पाटाहरू हरहमेसा मेरो मातृभुमिसँगै सम्बन्धित छन् जसको परिपुर्ति अरू कसैले गर्न सक्दैनन् । म रिसाउँ वा खुसाउँ, रोउँ वा कराउँ सुन्ने र बुझ्ने कमै होलान् तर मेरी जननी र मेरो मातृभुमि मात्रै हो यसबारेमा माहिर भएको । त्यसैले बन्दाबन्दीको सुरूदेखि अन्तिमसम्म मातृभुमि र मातृत्वको आभास भने भईनै रहने छ यसमा म विश्वस्त हुने नै छुँ । त्यसैले हरेकपटक यी नै शब्द मनन गर्नेछु | जय! माँ, जय! मातृस्थल ।। जय! जननी, जय! जन्मस्थल ।। #करूणा श्रेष्ठ |
तीन हाइकु: भ्रष्ट नायक कोरोनाको भूमरी नर्कको बाटो !! वुद्धको देश कोरोनाको कहर शान्तिको खोजी !! स्वतन्त्र प्रेस लोकतान्त्रिक मियो सत्ता धमिरा !! #वसन्त पराजुली |
बिन्ती छ टुट्न नदेऊ: मायाको बाँध हुँ म बिन्ती छ फुट्न नदेऊ ! नजरको साँध हु म बिन्ती छ लुट्न नदेऊ !! म एक्लै केही होइन, अधुरो तिमी बिना ! दिलको त्यो माँझ हु म सकेसम्म उठ्न नदेऊ !! विश्वासको काँध हु म बिन्ती छ टुट्न नदेऊ !! छामे हुन्छु ढुकढुकीमा, नखोज्नु है दायाँ-बायाँ ! म त हुँ नि जुनीजुनी बनिरहने तिम्रै छाँया !! तिमीलाई नै दिउँलाग्छ हिमालको हाँसो चोरी ! झरनाझैँ बगूँ लाग्छ पहराको छाती फोरी !! तलाउ यो जिन्दगीको बिन्ती छ सुक्न नदेऊ ! विश्वासको काँध हु म बिन्ती छ टुट्न नदेऊ !! तिम्रो यादमा भुल्दाभुल्दै कतै म हराएँ कि ! बिछोडको कल्पनाले कतै म डराएँ कि !! यो मनलाई थुम्थुम्याउँदै सुनाउँदैछु आफ्नै कुरा ! तैपनि पापी मनले चलाउँदै छ मनमा छुरा !! खुसी यी परेलीका आँसुलाई लुट्न नदेऊ ! विश्वासको काँध हुँ म बिन्ती छ टुट्न नदेऊ !! चुम्ने मन छ निलो आकाश चंगा र धागो बनी ! सुन्दर याम जिन्दगीको पर्खेको छु गनी-गनी !! उदाउँदो बिहानीलाई बादलले लुट्न नदेऊ ! विश्वासको काँध हुँ म बिन्ती छ टुट्न नदेऊ !! #शुभाष चन्द्र पोख्रेल |
समयको बाटो: जीवनको परिभाषा के हो ? यो प्रश्नको उत्तर हरेक मान्छेले आआफ्नै शैलीमा दिन सक्छन् । कसैले दुःखको पहाड नै जीवन हो भन्लान् । कसैले जीवन त खुसीको बहार हो भन्लान् । कसैले जीवन सुख र दुःखको च्यापबाट उम्रिएको रुख हो भन्लान् । तर, मलाई लाग्छ —जीवन सबैको एउटै खालको हुन नसक्नु नै यसको विशेषता हो । मान्छेहरूले आफ्ना छोराछोरीलाई कोही मान्छेको उदाहरण दिँदै त्यही मान्छेजस्तो हुनू भन्दै आशीर्वाद दिन्छन् । तर, तिमी तिम्रो आफ्नो परिचयमा रमाउन र बाँच्न सक्नू भनेर थोरैले मात्र आशीर्वाद दिन्छन् । मलाई मेरो बुबा र आमाले दिएको आशीर्वाद चाहिँ असल बन्नू भन्ने हुन्थ्यो । मलाई जीवनले सिकाएको कुरा नै आपूmमा खुला हृदय हुनु र इमानदार रहनु हो । म यही मार्गमा हिँडिरहेँ । प्रेम शाश्वत कुरा हो, मैले परिभाषा दिनु नै पर्दैन । प्रेमसम्बन्धी पनि धेरै मान्छेले आआफ्ना धारणा राखेका हुन्छन् । ती व्यक्तिपिच्छेका प्रेमसम्बन्धी धारणामा म सहीछाप गर्दिनँ । प्रेम त आपूmले अनुभूत गर्नुपर्ने कुरा हो । एउटा व्यक्तिले गरेको प्रेमको परिभाषा अर्को मान्छेको जीवनमा लागु नहुन पनि त सक्छ । गुरुप्रसाद मैनालीले लोग्नेस्वास्नीको झगडालाई परालोको आगो भनेर कथा लेखे तर इन्द्रबहादुर राईले लोग्नेस्वास्नीको झगडा परालको आगो मात्रै होइन यो त भुसको आगो पनि हो यसले विकराल रुप लिन्छ भनेर कठपुतलीको मन शीर्षकको कथा लेखे । प्रेम र विवाह फरक कुरा हुन् । विवाहको परिभाषा पनि सबैले आआफ्नै पारामा दिएका छन् । अरुले विवाहको परिभाषा जसरी बुझेका छन् मैले पनि त्यही बुझेको छु । मैले विवाह नगरी बस्ने सपना पनि देखेको थिएँ । साहित्यमै लाग्छु । कविता, गीत, मुक्तकमै म डुब्न चाहन्छु । एक्लो जीवन बिताउँछु भन्ने मेरो विचार थियो । नेपाली समाज र संस्कृतिलाई बोकेका कविताहरू लेख्छु । मेरो चाहना थियो— ‘मेरा कविता र गीतलाई सुन्ने वा पढ्ने मान्छेले आफ्नो अनुभूति प्राप्त गर्न सकुन् ।’ तर, हरेक मान्छेको जीवन निजी भए तापनि कति कुराहरू आपूmले सोचेर मात्र नहुँदो रहेछ जिन्दगीमा । गीत, कवितामा समाज र संस्कृतिको छाप भए जस्तै मान्छेमा पनि सामाजिक घेराले बाँधेको हुँदो रहेछ । मैले आपूmलाई समाजको अगाडि सामाजिक मान्छेको परिचयलाई प्रस्तुत गर्नका लागि आफ्नो निर्णयलाई तोडिदिएँ किनभने मान्छेको जन्म, विवाह र मृत्यु भनेका मान्छेका यिन्त्रणमा नहुँदा रहेछन् । विवाहको बन्धन मैले स्वीकार गरेँ । सत्र वर्षकै उमेरमा पनि मेरो घरमा मेरो विवाहको कुरा चलेको थियो तर त्यो प्रसङ्ग प्रसङ्गमा मात्रै सीमित रह्यो पूरा भएन । विवाह गर्न उमेर पुगेका केटा हुन् या केटी हुन् उनीहरूलाई अप्ठ्यारो परिरहन्छ । मान्छेहरूले बेलाबेलामा विवाहको कुरा निकालिदिन्छन् । किन विवाह नगरेको ? कोहीसँग सम्बन्ध पो छ कि ? आदि जस्ता साझा प्रश्न हुन्छन् विवाह गर्न उमेर पुगेका केटाकेटीका लागि । अझ विवाह गर्न केही ढिला हुनुपर्छ मान्छेले अनेक कुरा काट्न थाल्छन् । मलाई पनि त्यस्तै भएको थियो । साथीभाइ एवम् आफन्तले त यसले बिहे नगर्ने भयो भनेर ठोकुवा गरिसकेका थिए । साथी भाइहरूले त केके भनेर जिस्काउथे पनि । गीत, कविता अथवा साहित्यका अन्य विधा लेख्न मुड आउनु परे जस्तै विवाहका लागि पनि मुड नै चल्नुपर्ने रहेछ । मेरो जीवनमा पनि भयो त्यस्तै नै । यता गयो किन बिहे गरिनस् ? उता गयो किन बिहे गरिनस् ? यी प्रश्नहरूका साझा उत्तर मैले बिहे गरिदिनुसँग जोडिएका थिए । र, मैले आफैसँग निर्णय गरेँ— ‘म बिहे गर्छु ।’ मेरो निर्णय एक कान दुई कान मैदान भयो । आफन्त, साथीभाइ र घरपरिवारका लागि मेरो निर्णय खुसीको पहाड बन्यो । म ४६ वर्षमा बेहुलो बनेँ । मेरो विवाहमा खुसी हुने मेरी आमा हुनुन्थेन । उहाँ २०२६ सालमै परलोक भइसक्नु भएको थियो । मेरो विवाह राजविराजकी २६ वर्षीया भैरवी बस्नेतसँग भयो । मेरी मिससेकी फुपू मेरा मामाले विवाह गर्नु भएको हुनाले उनैसँग विवाहको कुरा चल्दै गयो । सामान्य चिना मिलाउने काम भयो । कुरा चलेको करिब डेड हप्तामा नै मेरो बिहे भयो । मेरी श्रीमती पनि शिक्षित छिन् । उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट आइए उत्तीर्ण गरेकी छन् । साहित्यका छोराछोरी जन्माइरहेको म र मेरी श्रीमतीले दुई छोरा रूपेन्द्र र रमेन्द्रका बाबुआमा हुने सौभाग्य प्राप्त ग¥यौँ । मेरी मिसेसले मेरो मनोविज्ञानलाई बुझेकी छिन् । विवाहपछि कति मान्छेको सम्बन्ध राम्रो नभएको मैले सुनेको छु । साहित्यमा लागेका मान्छेहरूको पनि सम्बन्ध बिग्रिएको मैले देखेको छु । यस्तो किन हुन्छ ? सायद भोग्नेहरूलाई सबै थाहा होला । मैले त विवाह नै बूढो भएपछि गरेँ तर हामी श्रीमान् र श्रीमतीमा कहिल्यै पनि नराम्रो भएको थाहा छैन । आपूm राम्रो सोचको भयो भने अरुले पनि त्यही राम्रो सोच राख्छन् । मनदेखि नै सकारात्मक भावना हुने हो भने सम्बन्ध दिगो हुन्छ । लेखन एउटा तर घरमा र घरका मान्छेसँग चाहिँ फरक व्यवहार भयो भने त्यहाँ समस्या उत्पन्न हुन्छ । मान्छेले आपूmलाई जब बिर्सिन्छन् तब सम्बन्धको अर्थ पनि बिर्सिन्छन् । मेरो जीवनमा श्रीमतीको आगमन भएपछि लेखनमा मैले कहिल्यै बन्दी भएको महसुस गर्नु नै परेन । मान्छेहरू भन्छन्— ‘बिहेपछि लेखन ठप्प भयो यार । घरायसी व्यवहारले म त बन्दी भएँ । अब लेख्न सक्दिनँ, कतै हिँडडुल गर्न सक्दिनँ ।’ मेरो हकमा यस्तो कहिल्यै भएन र हुँदैन पनि । घरको वातावरण त आपूmले पोे बनाउने हो त । वैवाहिक जीवनको कुरामा भने म भाग्यमानी छु । मैले के लेख्छु भनेर मेरी श्रीमतीले विचार गर्छिन् । कोही कसैको बानी घरमा आएका श्रीमान्का साथीभाइलाई सम्मान नगर्ने हुन्छ । तर मैले मेरी श्रीमतीमा यस्तो कहिल्यै देखेको छुइनँ । घरमा आएका मेरा साहित्यिक मित्रहरूलाई सधैँ हाँसेर स्वागत गर्छिन् । चिया, खाजा दिनका लागि उनले कहिल्यै झन्झट मानिनन् । श्रीमतीको प्रशंसा गरेको होइन मैले यथार्थ बोलेको हुँ । वास्तवमा म बिहे गरेपछि झनै स्वतन्त्र भएको छु । एक पटक टेलिभिजनको अन्तर्वार्तामा सञ्चारकर्मी नरेश भट्टराईले सोधेका थिए— ‘भाउजूको यादमा अथवा भाउजूलाई हेरेर कति रचना गर्नु भयो ?’ मैले हाँसेर उत्तर दिएको थिएँ— ‘मेरी मिसेसलाई हेरेर तिमी आहा क्या राम्री छौ, तिमी यस्ती राम्री, उस्ती राम्री छौ भन्दै गीत, कविता र मुक्तक मैले लेखेको छैन । अझै भनौँ न, मेरी मिसेसको प्रशंसा गर्दै लेख्ने चेष्टा नै गरिनँ । हुन त मान्छेले यसरी पनि आफ्ना सिर्जना त गर्छन् । रूप, शरीरको प्रशंसा गरेर कविता, गीत पनि लेख्छन् । मैले त्यसरी लेखेँ भने त्यो मेरो मात्र कुण्ठा होला, अरूलाई मन नपर्न सक्छ । साहित्य भन्ने कुरा त लेखकले लेखेपछि पढ्ने पाठकले पनि त्यहाँ आपूmलाई पाउन सकून् भन्ने मेरो अभिमत हुन्छ । आफ्नी मिसेसको प्रशंसा र माया त मनमा नै भइहाल्छ नि । म कल्पनाको शक्तिलाई यथार्थसँग ढाल्न चाहन्छु । मिसेसलाई पनि मेरो कल्पनाशक्ति नै मन पर्छ । उनको चाहना पनि मेरो श्रीमानले आफ्ना साहित्यिक रचनामा मेरो बारेमा लेखिदिनुहोस् भन्ने नै छैन ।’ मेरी मिसेसलाई पनि मसँगै राखेर गरेको अन्तर्वार्तामा नरेशले मेरो कल्पनाशक्तिको तारिफ गर्दैमेरी मिसेससँग प्रश्न साधेका थिए यसरी — ‘भाउजू, रत्न दाइ कवितामा हार्ड, गीतमा एकदमै सफ्ट हुनुहुन्छ तर तपाईँसँग चाहिँ कस्तो हुनुहुन्छ ? यति ठूलो साहित्यकर्मीको जीवन चाहिँ कस्तो छ ?’ मेरी मिसेसले पनि हाँसेर यसरी उत्तर दिएकी थिइन्—‘उहाँ लेखनमै व्यस्त रहनु हुन्छ । घर मैले चलाएकी छु । उहाँको लेखनमा मैले कहिल्यै पनि बाधा गरेकी छुइनँ । मलाई थाहा छ उहाँ लेख्नकै लागि जन्मिनु भएको हो । उहाँको परिचय पनि लेखनमै छ । उहाँले लेखेका गीत, कविता एवम् मुक्तहरू मलाई सुनाउनुहुन्छ । मलाई पनि सुनेर आनन्द लाग्छ । उहाँ एउटै शब्दका लागि धेरै समय घोटिइरहनु हुन्छ । चार, पाँच वटा डाइरी अगाडि हुन्छन्, तिनैमा घोत्लिइरहनु हुन्छ । यहाँनेर मिलेन, त्यहाँनेर मिलेन भनेर एकोहोरो रूपमा लागेको देखेर मलाई यो साहित्यमा कलम चलाउन कठिन हुँदो रहेछ भन्ने लाग्छ । उहाँका रोमाण्टिक गीतहरू मलाई ज्यादै मनपर्छ । म कहिलेकाहीँ उहाँलाई प्रश्न पनि सेध्ने गर्छु—‘तपाईँले यति राम्राराम्रा रोमाण्टिक गीत लेख्नु भएको छ । म तपाईँको जीवनमा आउनु भन्दा पहिले तपाईँको कुनै केटीहरूसँग सम्बन्ध चाहिँ थिएन ?’ उहाँ हाँस्दै भन्नु हुन्छ— ‘हत्केलामा गीत लेखिदिनू भनेर आउनेहरू त कति थिए कति । तर म लभ गर्दै हिँडिनँ ।’ वास्तवमा उहाँले भने अनुसार उहाँलाई प्रेमप्रस्ताव राख्ने केटीहरू धेरै थिए रे । तर उहाँको बानी नै फरक खालको छ । केटीहरू घुमाउँदै समय काट्ने उहाँसँग फुर्सद नै भएन । केटीहरूले पठाएका प्रेमप्रस्ताव उहाँका लागि महत्त्वको विषय नै भएनन् । फेरि उहाँको स्वभाव कडा खालको छ । बिहे भएको यत्रो वर्ष भइसक्दा पनि यस्ता केटीहरूको विषयमा मैले कुनै शङ्का गर्नै परेन । साँच्चै भन्नु पर्दा उहाँको चरित्रमा प्रश्न गर्ने ठाउँ छैन । उहाँ चोखो मान्छे हुनुहुन्छ उहाँकै गीतजस्तै । लेखन उहाँको आत्मसन्तुष्टि हो, चित्त बुझाउने ठाउँ पनि हो । उहाँलाई परिवार र साहित्यमा एउटा रोज्नु प¥यो भने कुन रोज्नु हुन्छ भनेर प्रश्न सोध्ने हो भने उहाँले परिवार होइन साहित्य नै रोज्नु हुन्छ किनभने साहित्यको क्षेत्रमा उहाँले धेरै कुरा भोगिसक्नु भएको छ र लेखिसक्नु भएको छ । दुनियाँले रत्नशमशेर थापा भनेर चिन्छन् । यो परिचय स्थापित गर्नका लागि सानोतिनो मेहेनतले त काम गर्दैन । उहाँको चर्चा, नाम अनि जुन ख्याति छ त्यो कुरा नै मेरो लागि सन्तुष्टिको कुरा हो । उहाँका साथीहरू सबै पियक्कड हुनुहुन्थ्यो रे । भूपी शेरचन र नारायणगोपालको बारेमा उहाँले सधैँ कुरा गर्नु हुन्छ । उहाँले भनेको सुन्दा त म छक्क पर्छु । भूपी शेरचन र नारायणगोपालसँगै हिँड्दा, बस्दा उहाँले कहिल्यै पिउनु भएनछ । उहाँले यो रक्सी भन्ने कुरा पिउन सिक्नु नै भएन । उहाँको राम्रो बानी भनेको हरेक कुरालाई मनले नै कन्ट्रोल गर्न सक्नु हुन्छ । यदि कन्ट्रोल नगर्ने हो भने त्यो अल्लारे बेलामा साथीहरूको लहैलहैमा लागेर जाँड रक्सी पिउनु पर्ने हो नि तर उहाँ गर्न नहुने र खान नहुने कुराबाट टाढै रहनु हुन्छ । यो कुरामा म एकदमै भाग्यमानी छु । चुरोट चाहिँ पिउने उहाँको आदत छ । तर, खास चुरोटले उहाँलाई असर गरेको छैन । जाँड रक्सी नखाएकै कारण उहाँ आजसम्म पनि निरोगी जीवन बाँचिरहनु भएको छ । उहाँ घुम्न जान भन्दा पनि घरैमा बसेर पढ्न र लेख्न रुचाउनु हुन्छ । उहाँको चाहना र इच्छा विपरीत गएर म घुम्न जाऔँ पनि भन्दिनँ । कसैको भोज एवम् निम्तो मान्न चाहिँ हामी जान्छौँ । उहाँ आस्तिक हुनुन्छ, धर्मकर्म पनि गर्नुहुन्छ तर हरेक दिन मन्दिर जाने, धर्मकर्मका नाममा तडकभडक उहाँ कहिल्यै गर्न चाहनु हुन्न । धर्मकर्म भनेको पवित्र मनले पो गनु पर्छ त भन्ने उहाँको विचार छ ।‘ हो म यस्तै समयको बाटो हिँडिरहेको छु । हरेक बिहान उदाएको घाम हेर्दा बढ्ने खुसीको क्षेत्रफल घाम अस्ताउँदा, डरले खुम्चिन थालेको छ अचेल । (थापाको प्रकाशोन्मुख संस्मरण “घुम्तीमा नआऊ है” बाट) #रत्नशमशेर थापा |
मानव हुँ कसरी भनौँ ?: यो समाजमा विभिन्न कारणले मानव कहलिएको छु मानवरुपी परिचय नै मैले दिएको छु तर पनि यो स्वार्थी संसारमा मानव हुँ भन्न खोज्दा शब्द नै ओठबाट टाढा भाग्छ त्यसैले त आज म मानव हुँ भन्न डर लाग्छ । यो जीवनमा एक मुठ्ठी सास कहिले सम्म थाहा छैन कसैलाई हरेक पल काट्ने प्रयत्न स्वार्थमै ध्यान छ सबैलाई रोजेर हिँड्छन् अनेकौ पाइलाहरू मिल्दछ जहाँ धन कहिले बलात्कार कहिले के अरुलाई मारी लुटी रमाउँछ यिनका मन भन यस्तो अवस्थामा मानव हुँ भनेर भनम् म कसरी ? स्वार्थमै जीवन कटाउने जनातमा भनम् मानव हुँ कसरी ? स्वच्छ सफा पवित्र यी आत्मामा केवल स्वार्थ खराबको राज भएको छ धर्म छाडी केवल अधर्मीको यत्रचत्र बास भएको छ स्वार्थीको लागि हराभरा जीवन त दीन दुखीलाई केवल लास भएको छ निस्वार्थ साचो सत्य सबै आज छलकपटको दास भएको छ । वचन लगाई सधै दुःख अरूलाई दिन्छन् सोच्दैनन् मन चित्त दुखाउँछ कस्तो रीत यो सृष्टिको धर्मी, सत्यता, निस्वार्थीलाई मारी झुटा अधर्मीलाई सँधै लुकाउँछ जन्मदेखि मरणसम्म देख्ने यो संसार चल्न प्रकृतिले सिकाउँछ सहयोगीभन्दा मान्छे आज छलकपट पीडा कष्ट अनि दुखाई दिन रुचाउँछ यस्तो व्यवहारबीच म मानव हुँ कसरी भनौँ ? मानवता नै हराएको देश भेषमा कसरी पहिचान गराउँ ? मानव त हुँ तर जिउदो लास जस्तै छु । भाला, हातहतियार साथ हिँड्छन् बोकेर जहिल्यै पनि यो स्वार्थी भावनामा टाढा छैनन् मानव कहिल्यै पनि दोषी मजाले बच्छन् निर्दोषीलाई यो दोष खास भएको छ कुनै पल पाउला न्याय मैले भन्दै बस्ने आश भएको छ । असत्यलाई हाई हाई अनि सत्यताको नास भएको छ तर पनि खै यो ज्यान के ले बनेको छ कुन्नी सबै सहेको छ रोगले गलेझैँ मन मुटु तन सबै वेदनाको पोको भएको छ स्वार्थीको जमातमा आज न्याय नपाउने जस्तै भएको छ त्यसैले त दिनानुदिन झन् झन् अपराध बढेको छ स्वार्थले भरपुर्ण संसारमा कसरी हुँ भनम् म मानव ? भन त कसरी भनम् म ? म कयौं पटक आफैलाइ प्रश्न गर्छु के म साँच्चै मानव जस्तो छु त ? यो संसारमा त मानवता हराइसकेको छ कसरी म गर्व गरौँ मानव जस्तो छु त ? चेत भएर नि अचेत भई निर्मम हत्या गर्छन्, कुट्छन् शारीरिक सुखका लागी आफ्नै छोरीको ईज्जत लुट्छन् यहा नाम, रुपको मानव छन् तर मानवता छैन त्यसैले मलाई मानव हुँ भन्न आफैँमा घिन लाग्छ मानवता नै नभएको सहरमा भनम् त भनम् कसरी मानव आफैँले ? #जीवन पाण्डे #मानव हुँ कसरी भनौँ ? |
उज्जवलको गजल: आउँछ मुस्कान गुलाबी ओठमा हजुर अब केही त, नयाँ सुखद समाचार बनेर । कुराउनुको नि सीमा हुन्थ्यो होला नि बस्नु पर्यो हजुर, निरीह बिमार बनेर । बानी तिम्रो शेर बन्ने रै छ थाहा भो मै सोझो नै परे, किन तिम्रै शिकार बनेर । बाहाना तिम्रो जो थियो ठीकै थियो मै किन एकोहोरो, बसे हजुर लाचार बनेर । फूल हाँसेको हेर्ने मान्छे पनि किन अब हाँगै काट्छ हजुर, खै किन अत्याचार बनेर । हराउँछु तिम्रो यादमा नै भन्नेको पनि देखियो हजुर, रेट्न आउँछन् तरबार बनेर । #उज्जवल बस्नेत “ह्रदय“ #उज्जवलको गजल |
देश: वषौँदेखी अर्काको खेतको आली धस्दै आएको विरेलाई मालिकको खेतको सिमाना थाहा छ जी हजुरी र मर्यादाको सिमाना थाहा छ भोक र उत्पीडनको सिमाना थाहा छ गरिबी र मजबुरीको सिमाना पनि थाहा छ । तर, अफसोच् उसलाई देशको सिमाना थाहा छैन आफ्नो भन्ने केही छैन, राष्टृयताको सिमाना थाहा छैन भूगोल जान्दैन ऊ, अहँ ! कूटनीतिको सिमाना थाहा छैन । इतिहास पढेको छैन, समयको सिमाना थाहा छैन दुई गाँस खान पाइने लोभमा मात्रै भोट हालेको हो अहँ ! राजनीतिको सिमाना थाहा छैन । उसका लागि जम्मै भूगोल त्यही मालिकको खेत जति मात्रै हो । जम्मै इतिहास भोककै पीरले आफ्नी स्वास्नी अर्कैसँग पोइल गाको विगत जति मात्रै हो । जम्मै राजनीति पेटको भोक शान्त पार्न गर्नुपर्ने श्रमको पराकाष्ठा जति मात्रै हो । आज बिहान मालिकको घरको रेडियोमा सुनेको हो देशको सिमानाका कुरा । राष्ट्रयता र इतिहासका कुरा लिम्पियाधुरा, लिपुलेक र कालापानीका कुरा नेपालको नयाँ नक्शाका कुरा,नेपाली स्वाभिमानका कुरा यी सप्पै सप्पै कुरा सुनेर उसलाई पनि बुझ्न मन लाग्दो हो वर्षौँबाट जोतेको खेत आफ्नो भएन त्यो लिम्पियाधुरा,लिपुलेक र कालापानी कसको हुदो हो?? आफ्नो देशभित्रै आफू आफू भैएन त्यो राष्टृयता कस्तो हँदो हो? सम्पतिको नाममा त्यही एउटा हस्तलिखित नागरिकता बाहेक केही रहेन, त्यो स्वाभिमान कस्तो हुँदो हो ? अनि, भोको पेटले कहिल्यै सपना देख्न सकिएन साँच्चै त्यो अघाएपछि देखिने सपनाको रङ कस्तो हुँदो हो ? #देश #प्रदिप खतिवडा |
यो मन “इरी” मै बहकियो: आज फेरि छालसंगै खेलियो “इरी” हुँदैकोशी, बाग्मतीमा मन यो बहकियो पानीसँगै माया मुटुभरि छछल्कियो । खै किन हो किन पानीमा नै मन बहकियो परपरसम्म आँखाले भ्याएसम्म पानी नै हेरौँ लाग्यो त्यो नि लोवाकालो जे होस शान्त वा उर्लदो भेल वा छाल खै कि नहो त्यसै त्यसै मन पर्यो पानीमा नै मन बहकियो माछा र हाँस सँगै खेल्दै पुरै यौवन भिजाउँदै जिस्कदै, नाच्दै पानीमा दगुर्ने मन गर्यो सेता खैरा झुण्ड झुण्डमा उड्ने पानी चरीमै मन उडिगयो स–साना बालबालिका हुँदै नव युवा भई पानीमै रम्ने मन गर्यो यो मन “इरी” मै बहकियो । चिसो चिसो उत्तरी हावासँगै म मस्त पानीमा पानीको लहर हेर्दै । यो मन लहरियो त्यसै त्यसै खै कताकता यो मन काउकुतियों यो मन “इरी” मै बहकियो । #यो मन “इरी” मै बहकियो #सुरेन्द्रराज भण्डारी |
क्वारेन्टाइन र देश: म अहिले क्वारेन्टानमा छु र परीक्षा दिएको छु जीवनको थाहा छैन, कहिले आउाछ रिजल्ट मृत्युपछि आउछ की मृत्युअघि यस्तो पनि लाग्छ कहिलेकाही म रिजल्टका लागि मृत्यु कुरिरहेको छु । यो क्वारेन्टाइन हो यहाँ जोड जोडले खास्नु हँुदैन दुखे पनि दुख्यो भन्नु हुँदैन रोए पनि चिच्याएर रुनु हुँदैन यहाँ हरेक समय दाऊमा राख्नुपर्छ आफ्नो इज्जत झिमिक्क निदायो भने मात्र हुने छ जीवन ध्वस्त त्यसैले निदाए जस्तै मात्र गर्नुपर्छ तर निदाउँनु हुँदैन यो क्वारेन्टाइन हो यहाँ भोक लाग्यो भन्न मिल्दैन तिर्खा लाग्यो भन्न हुदैन दिसा पिसाब लाग्यो केही भन्न हुँदैन यहाँको नियम भावनाले चल्दैन यहाँको मन मुटुले चल्दैन केवल लठ्ठीले चल्छ यहाँको शासन सिमानाको पर्खाल भन्दा अग्लो छ कोरोना पर्खाल त्यही पर्खालभित्र खुम्चिएको यो मन । यहाँको प्रत्येक छाक भातमा कमिसन मिसिएर आउँछ र हामी केही छाक भात खान्छौ केही छाक कमिसन खान्छौ क्यारेन्टाइनको यात्रा लामो छ जीवन देखी चिहानसम्म र यो लामो यात्रामा नबिराइकन र नथाकिकन लगातार हिँडिरहन्छ भ्रष्टाचारको पाइला सँगसँगै यहाँ हरेक रात जीवनको मोलमोलाई हुन्छ र हामी केही रात जीवन सुत्छौ केही रात मृत्यु सुत्छौ । मलाई थाहा छ म जति कहरमा बाँचेको छु त्यो भन्दा सयौ गुणा ठूलो कहरमा बाँचेको छ मेरो घर फरक यत्ति हो कि म अहिले क्वारेन्टाइनमा छु मेरो घर भोक भोकै लकडाउनमा बसेको छ । म सोचिरहन्छु क्वारेन्टाइन यस्तो भएर देश यस्तो भएको हो कि देश यस्तो भएर क्यारेन्टाइन यस्तो भएको हो तर जे पनि देशको अनुहार र क्वारेन्टाइनको अनुहार उस्तै उस्तै लाग्छ मलाई । #क्वारेन्टाइन र देश #चन्द्र जी.एम |
५० हजारभन्दा बढी चित्र कोर्ने दीपकका उत्कृष्ट म्यानुअल: दीपक गाैतम तपाईंले पढ्ने गरेको कान्तिपुर दैनिकमा हरेक दिन कम्तिमा दुई–तीन वटा चित्र राख्ने गरिएको कुरा याद गर्नुभएको छ ? कुनै समाचारमा चित्र, कुनै समाचारमा कार्टुन र कुनैमा मुहारचित्रहरु… । भोजपुर दिङ्लाका दीपक गौतमले १६ वर्षको अवधिमा मात्र कान्तिपुरका लागि ५० हजार चित्र कोरिसकेका छन् । २०६१ सालदेखि कान्तिपुरमा इलुस्टे«टर र कार्टुनिस्टका रुपमा प्रवेश गरेका दीपकले कान्तिपुरका विचार पृष्ठ, कोसेली र बालकोसेलीका लागि चित्र र कार्टुनहरु बनाउने गर्छन् । उनको दाबीलाई पत्याउने हो भने उनका हातबाट ७५ हजार जति चित्र र कार्टुन बनिसकेका छन् । त्यसमा ५० वटाभन्दा बढी बालबालिकाका पुस्तकहरुमा पनि उनले चित्रहरु कोरिसकेका छन्। ‘ती मेरा व्यावसायिक काम हुन्,’ दीपकले साहित्यपोस्टसँग भने, ‘खासमा एउटा कलाकारको काम भने उसले गरेका म्यानुअल चित्रहरुमा देखिन्छन् ।’ यसपटक लकडाउनका बेला उनले धेरै समय घरमै बसेर काम गरे । अफिसमा कामका चाप नभएका कारण उनले लकडाउनका अवधिमा सुन्दर चित्रहरु कोरेका छन् । यिनै चित्र पठाउँदै दीपकले भनेका छन्, ‘एउटा कलाकारले वास्तविक सन्तुष्टि यस्ता चित्रहरुबाट प्राप्त गर्छन् । मलाई पनि यी चित्रहरुले बढी सन्तुष्टि दिएका छन् ।’ #दीपक गाैतम |
'मौन क्रन्दन'को अनलाइन विमोचन: काठमाडौँ/डा. सावित्री श्रेष्ठको कथा संग्रह “मौन क्रन्दन”को अनलाइन विमोचन आज शनिबार सम्पन्न भयो। तीन दशकदेखि नेपाली साहित्य क्षेत्रमा संलग्न डा. श्रेष्ठ अक्षलोक साहित्यिक पत्रिकाकी सम्पादकसमेत हुन्। विशेषगरी महिला अधिकार र महिला तथा सिमान्तकृत वर्गको आर्थिक उत्थानका विषयवस्तुमा रहेर कलम चलाउँदै आएकी श्रेष्ठले कोविद १९ द्वारा सिर्जित विशेष परिस्थितिलाई मध्यनजर गरी अनलाइन विमोचन गरिएको हो। विमोचनमा साहित्यकार कृष्ण बजगाईं, पद्मावती सिंह, वासुदेव अधिकारी, अश्विनी कोइराला, तथा डा. लेखप्रसाद निरौलाले कथावस्तुको विश्लेषण गरेका थिए। यस बाहेक कार्यक्रममा विभिन्न साहित्यकार, साहित्य पारखी, बुद्धिजीवी, प्राध्यापकहरुको समेत सहभागिता थियो। कार्यक्रममा अक्षलोक साहित्यिक पत्रिकाका प्रधान सम्पादक प्रा. सिद्घिश्वर मान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रम सञ्चालन पुस्कतको कभर डिजाइनर सञ्चार विशेषज्ञ स्वर्णिमा श्रेष्ठले गरेकी थिइन्। अनलाइनमा जुममार्फत कार्यक्रम सम्पन्न भएको थियो। #डा. सावित्री श्रेष्ठ #माैन क्रन्दन |
विषालु बतास: लकडाउनको नाममा बनाएर घरमै कैदी चराजस्तो उडान भर्ने मनलाई अड्याउन हम्मे हुँँदै गर्दा . सूर्यले शतिm प्रदशर्न गर्दै ओकलेर आगो सल्काउँदैछ घरको धूरी, छत . उस्तै धोकेवाज निस्कियो बतास पनि तातो तिरले भेदन गर्दैछ शीरमै . यो माक्स बतासकै मुखमा लगाइ दिन पाए कसरी डुल्थ्यो होला परजिवी अनाहकमा मान्छेको गला दबाउँदै यी पञ्जा बतासकै हातमा लगाइदिन पाए कसरी छुन्थ्यो होला मान्छेको फोक्सो . गाइ गोठ जस्ता आइसुलेसन र आइसीयु, भेन्टिलेटरमा यो छद्मभेषी बतासलाई राखिदिएर फरार हुन पाए मान्छे मृत्युको शोकधुन रेटी हिँड्दैन थियो होला समय .। #ईश्वरी कार्की वर्षा #विषालु बतास |
सिक्किमेली शिव र पटियाला पेग: शिव प्रधानको नामसँग हल्का परिचय भए पनि, उनका रचनासँग परिचय भए पनि उनीसँग सम्पर्क भने थिएन । उनको बारेमा अरु क्यै थाहा थिएन, सिक्केमेली साहित्यकार हुन् भन्ने बाहेक । अविनाश श्रेष्ठ त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययनरत थिए र त्यो समय उनले असम र काठमाडौंबीच पुलको काम गरिरहेका थिए । नेपाली साहित्य परिषद असमसँग सम्बध्द थिए र सो परिषदको मुखपत्र र उताका साहित्यकारका कृतिहरु मात्र होइन, नेपालका साहित्यकारका साहित्यिक कृतिहरु पनि उनले त्यस समयमा सो संस्थाबाट प्रकाशित गराएका थिए । यसै सिलसिलामा मुद्रणकार्यका लागि उनी वनारस गइरहन्थे र त्यहाँ स्वभावतः मुद्रण कार्यका लागि जाने नेपालीहरुसँग उनको भेटघाट र बसउठ हुनु स्वाभाविकै थियो । एकपल्ट वनारसबाट फर्केपछि उनले भने, “गिरीजी, तपाईं त समालोचना पनि लेख्नुहुन्छ, यौटा समालोचना दिनुस् न, सिक्किमका शिव प्रधानले बृहत् समालोचना निकाल्दैछन् । उनले मसँग पनि सहयोग मागेका छन् समालोचनाहरु संकलनका लागि !” तर के कसो भएर हो, मैले समालोचना दिन सकिंनँ, त्यत्तिकै भयो । अचानक एक दिन थाहा भो शिव प्रधान काठमाडौं आएका छन् । मैले थाहा पाउनेबित्तिकै सम्पर्क गरेँ । उनले खुशी भएर भोटे बहालमा उनी बसेको होटलको नाम ठेगाना बताउँदै भने, “जयदेव भट्टराई पनि आउँदैछन्, एकैपल्ट भेटौं त्यही समयमा ।” उनले दिएको दिन र समयमा म पुगें भोटे बहालको होटलमा । जयदेव पहिल्यै पुगिसकेका रहेछन् । म पुगेर अभिवादन गरिसकेपछि उनले भने, “भाइहरुलाई म चिया मगाउँछु है !” हामीले मुण्टो हल्लायौं । केहीबेरमा दुई गिलास चिया आयो अनि उनले भने, “मेरो त यस्तो चिया छ ।” यसो भनेर उनले त ह्विस्की गिलासमा हाले क्वार्टर साइजको बोतलबाट र चुस्की लगाउन थाले । साहित्यिक कुराकानी शुरु भयो । विशेष उनी जयदेवसँग कुराकानी गर्दै थिए । शायद पहिलेदेखि सम्पर्क थियो कि ! अनि केही बेरमा उनले सुटकेशबाट यौटा ढड्डु किताब निकालेर त्यसमा उपहार लेखेर जयदेवलाई दिए । त्यो किताब थियो, त्यही “बृहत् समालोचना”, जसमा प्रकाशनार्थ अविनाशले मलाई समालोचना दिनका लागि आग्रह गरेका थिए । त्यो किताब देखेपछि म आफू त्यो पुस्तकमा आफ्नै कारणले छुटेकोमा मनमनै चुकचुकाएँ र आशालाग्दो पाराले उनीतिर हेरेँ, कतै मलाई पनि यौटा त्यो “बृहत् समालोचना” को पुस्तक दिइहाल्छन् कि भनेर ! तर उनले सुटकेशमा हात घुसारेर पिंधतिरबाट यौटा पातलो पत्रिका जस्तो किताब निकालेर मलाई दिंदै भने, “ यो चाहिँ भाइलाई !” मेरो अनुहार खिस्रिक्क भयो । उनले मेरो हातबाट त्यो पुस्तक लिंदै भने, “भाइ, यो किताब त्यो भन्दा धेरै महत्त्वपूर्ण छ । यो नेपाली भाषाको आन्दोलनको किताब हो, यो कितावको अन्तमा केही हरफ कविता छन्, ती कविताका तिनै हरफहरु नै यो पुस्तकको मुटु हो । ल हेर्नु होस् ।” यति भनेर तिनले मलाई त्यो स्यानो पुस्तक हातमा दिए । मैले पुछारको पातो पल्टाएर हेरें । शिव प्रधानले त्यो किताबको मुटु भनेको ती कविताका हरफहरु मेरै कविताका हरफहरु रहेछन् । २०३६ सालको सडक कविता क्रान्तिमा पढेको र त्यतिबेलै कतै प्रकाशित कविताको अंश रहेछ । त्यो मेरो लागि अभूतपूर्व आश्चर्यपूर्ण सुखद् अनुभूतिको क्षण थियो । यसरी शिव प्रधानसँग मेरो पहिलो प्रत्यक्ष भेट र चिनाजानी अविष्मरणीय बन्न पुगेको थियो । दोस्रोपल्ट उनीसँग मेरो भेट होटल शंकरमा साहित्यिक पत्रकार संघले आयोजना गरेको कथा दिवस र मैनाली कथा पुरस्कार वितरण समारोहमा भएको थियो । मैले आफ्नो कथा लेखनको २५ औं वर्षमा सो पुरस्कार पाएको थिएँ । सोही समारोहमा रमेश विकल तथा शिव प्रधानलाई सम्मान गरिएको थियो । हामीले एउटै मञ्चमा साथै बस्न पाएका थियौं । त्यसपछि उनीसँग एकैपल्ट सिक्किमको राजधानी गान्तोकमा भेट भयो, उनकै निवासमा । नकुल सिलवाल र मैले “नेपाल-भारत साहित्य संस्कृति अध्ययन-भ्रमण” गरेका थियौं । सो सिलसिलामा सिक्किम पुगेपछि हामी सोध्दै खोज्दै पुग्यौं उनको निवास । बिहानको समय थियो । सिक्किम साहित्य परिषदमा टीकाराम ढुंगेलको हातबाट चिया पिएर हामी त्यता लागेका थियौं । स्टेसनरी र पुस्तकको दोकान रहेछ तर कोही देखिएनन् पसलमा । “शिव दाइ ! शिव दाइ हुनुहुन्छ ?” मैले सोधेँ । “ को हो भाइ ? म पछाडि छु आउनुहोस् न !” उनको चिरपरिचित आवाज दोकान र पछाडिको कोठालाई छेक्न टाँगिएको पर्दाबाट आवाज आयो । हामी पछाडि गयौँ । पछाडिको कोठा एक प्रकारको गोदाम जस्तो रहेछ । पुस्तक र स्टेसनरीका सामानहरुको अनि पुस्तकको र्याकमा ह्विस्कीको फुल बोतलबाट यौटा गिलासमा हाल्दै रहेछन् । उनले हाँस्दै भने, “ए लौ भाइहरु पो आउनु भएछ ! ल भाइहरु पनि लिऊँ । म त यी पटियाला पेग लिँदैछु ।” यति भनेर उनले हामीलाई पनि पनि चियाको गिलासमा चिया हालेजस्तै गरेर ह्विस्की हालेर दिए । नकुलजी र म अकमक्क पर्दै एकअर्कालाई हेर्न थाल्यौं । “सिक्किममा ह्विस्की खानुपर्छ भाइ । यहाँ खूप सस्तो छ । सिक्किमेहरुले देश बेचेबापत सस्तो मोलमा रक्सी खाएर झुल्न सरकारले राम्रो व्यवस्था गरेको छ ।” हामीले संकोच मानेर लियौं । बिहान-बिहानैबिना सितन हामीलाई बडो मुस्किल भयो पटियाला पेग सक्न । यसै बीच साहित्यका कुरा पनि गर्न लाग्यौं । हामीले हाम्रो भ्रमणको उद्देश्यको बारेमा बतायौं । उनले भने, “भोलि त गान्तोकमा कोही पनि त भेटिन्न हो भाइ ! कश्यपजीको भोलि १३औं दिन । सारा मान्छे उनको निवासतिर लाग्छन् । सिएम (चिफ मिनिस्टर) पनि जान्छन् । अँ बरु भाइहरु पनि उतै जाऊँ । पुण्य र म जान गाडी लिएका छौं, तपाईंहरु पनि सँगै जाऊँ । सिएमसँग त्यहाँ भेट्न पनि सजिलो हुन्छ । पुण्यको राम्रो छ । उसले मिलाउँछ ।” र, भोलिपल्ट हामी चार जना लाग्यौं कश्यप निवास । त्यहाँ सिएम अर्थात् सिक्किमका मुख्यमन्त्री पवन चामलिङसँग पनि संक्षिप्त भेट भो र त्यसपछि त्यो दिनभरि, रात नपरुन्जेल हामीले कति ठाउँमा पस्यौं, तोङ्वादेखि पटियाला पेगसम्म, समोसादेखि सुकुटीसम्म के र कति खायौं, पियौं त्यसको कुनै लेखो नै भएन । शिव प्रधानसँगको त्यो दिनको सहयात्रा अविस्मरणीय भयो । काठमाडौंमा बगर फाउण्डेसन नेपालको तर्फबाट शिव प्रधानलाई बगरको वार्षिकोत्सवका अवसरमा सम्मान गरिएको थियो । नेपाल-भारत साहित्य संस्कृति अध्ययन भ्रमणका सहयात्री मित्र नकुल सिलवालको अध्यक्षतामा रहेको बगर फाउण्डेसन नेपालमा म पनि जोडिएको थिएँ । उनलाई त्यसरी नेपालमा सम्मानित गर्न पाउँदा नकुलजी र म दुवैलाई सन्तोष लागेको थियो । साहित्य पेसा होइन लगाव हो । साहित्य भाषा प्रतिको प्रेम हो । संस्कृतिको जगेर्नाको जग हो । संसारभर फैलिएका नेपालीहरुले सिर्जना गर्ने साहित्य भनेको नेपाली साहित्यको अस्तित्वको जगेर्ना हो, भाषाको अस्तित्वको जगेर्ना हो, संस्कृतिको अस्तित्वको जगेर्ना हो । त्यसरी जगेर्ना गर्ने मध्यकै एक थिए शिव प्रधान । उनले आफ्नो जीवन नेपाली भाषा साहित्यका निम्ति अर्पित गरेका थिए । उनले नेपाली भाषामा लेखे, नेपाली पुस्तक सम्पादन गरे, नेपाली पुस्तक प्रकाशन गरे । अशेष मल्लले एमएमा लेखेको “तेस्रो आयाम” को थेसिसलाई उनले किताबको रुपमा प्रकाशन गरेका थिए । मैले जानेसम्म उनी नेपाली भाषाका पुजारी थिए, तर पटियाला पेग उनको रुचि र कमजोरी दुवै थियो । अहिले शिव प्रधान छैनन् तर उनले नेपाली भाषा साहित्यका लागि गरेको योगदानको इतिहास जीवित छ । उनले लेखेका कृतिहरुको इतिहास जीवित छ । अनि संगत गर्नेहरुको मनमा उनी अझै जीवित छन् । #गोविन्द गिरी प्रेरणा #साहित्य निर्माता #सिक्किम |
साहित्यकार अंगुरबाबा जोशी रहिनन्: प्रसिद्ध शिक्षाविद् तथा साहित्यकार अंगुरबाबा जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ। १७ वर्षअघि घाँटीको क्यान्सर देखिएको उनलाई पछि पुनः स्तन क्यान्सर पनि भएको थियो। उनको न्युरो अस्पताल महाराजगञ्जमा उपचारका क्रममा आज दिउँसो निधन भएको जनाइएको छ। शिक्षाविद्को रुपमा समेत प्रसिद्ध जोशीका कल्पना (कथा संग्रह), डा. बलराम जोशी सम्झनाको सँगालो, मुक्ति मुक्तकमाला (सूक्तिहरू), के लेखूँ?, भाव तरङ्ग (कविता), क्यान्सरको वरदान (आत्मानुभाव), चिन्तन (लेख र अन्तरवार्ता संग्रह), क्रन्दन, सुख के, किन र कसरी (दर्शन), दीक्षा (सूक्तिहरू), अक्षर साधना र गोधूलि (आत्मकथा) प्रकाशित छन्। उनलाई २०७२ सालमा मदन पुरस्कार गुठीले जगदम्बाश्री पुरस्कार समेत प्रदान गरेको थियो। नेपालमा छात्रा शिक्षाको क्षेत्रमा उनको योगदान स्मरणीय मानिन्छ। उनकै अगुवाईमा काठमाडौँमा पद्मकन्या क्याम्पस स्थापनामा भएको थियो। गेरू रङको सारी पद्मकन्या क्याम्पसको ब्रान्ड बनाउने श्रेय पनि उनैलाई जान्छ। सन् १९३२ अगस्त १५ मा काठमाडौँ डिल्लीबजारमा जन्मिएकी उनले २००७ सालमा एसएलसी पास गरेकी थिइन्। ११ वर्षको उमेरमा बलराम जोशीसँग विवाह भए पनि उनले विवाहपछि पतिसँगै बनारसबाट राजनीतिशास्त्र र संस्कृतमा शास्त्रीसम्म अध्ययन गरेकी थिइन्। त्यसपछि उनले बेलायतबाट कानुन अध्ययन गरी पहिलो महिला अधिवक्ता बन्न सफल भएकी थिइन्। उनको खातामा पहिलो क्याम्पस प्रमुख बन्ने श्रेयसमेत सुरक्षित छ। उनका दुई छोरी प्रभा र ज्योति तथा एक छोरा किरणराज जोशी तथा बुहारी रूपा जोशी छन्। उनको शनिबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ। #अंगुर बाबा जोशी #निधन |
बालुवाद्वारा चित्र बनाउने नेपालकै पहिलो चित्रकार: कसैले चितौनलाई नयाँ शब्दमा परिभाषित गर् भन्यो भने, –‘सिर्जनाको नदी’ भन्नेछु म । जो, नारायणघाटको छेउ भएर बगिरहने नारायणीझैँ गहिरो छ । यो न कहिले थाकेको छ, न कहिले सुकेको छ । बगिरहन्छ मात्र । अगर, भेगीय मूल्यांकन गर्नुपरे, देशलाई कला-साहित्यमा चितौनले ठूलो गुन लगाएको छ । धिपधिपे कुनै अँध्यारो कोठामा बलिरहेको टुकीजस्तो । कलाकर्ममा लागिरहेको मान्छे एउटा जो छ, यहीँ चितौनमा ध्यानमग्न बुद्धजस्तो । उसलाई देशले चिन्नु र नचिन्नुमा केही गुनासो छैन । बस् ! सिर्जनाकर्ममा लागिरहनुछ । जसरी चराले चुच्चोमा एउटा-एउटा कुनै मसिनो खर बोकेर गुँड बनाएजस्तो । उसले पनि दैनिक सिर्जनाको गुँड बनाउन भुर्र कहिले यता उड्छ, कहिले भुर्र उता उड्छ । र, कहाँकहाँबाट ससाना खरको टुक्रा थूँडको चुच्चोले च्याँप्छ र बनाउँछ मेहनतको गुँड । फुल पार्छ । बचेरा निस्काउँछ-हुर्काउँछ । फेरि गुँड बनाउन उडिरहन्छ, तलतल बगिरहेको नारायणी, नारायणी माथिमाथि पखेटाले बनाएर पुल । ** अँ, म अहिले चितौनका चित्रकार प्रकाश थापा को कुरा गर्दैछु— तीस वर्षभन्दा लामो अनुभव संगाल्नुभएका प्रकाश दाइसित यो क्षेत्रमा केही यस्ता अनुभूतिहरू छन् रे बिर्सिनै नसकिने । जस्तो कुनै प्रेमीले बिर्सिन सक्दैन आफ्नो प्रथम प्रेमिकालाई । त्यस्तै नबिर्सेको एउटा कुरा दाइकै मुखबाट, म तीनकक्षा पढ्दादेखि चित्रप्रति रूचि राख्दोर’छु भाइ ! कापीको पन्ना सकिएपछि घरका भित्तामा, दलानमा, आँगनछेउको छपनी ढुंगामा जता पायो उतै अंगारले चित्र बनाइरहन्थेँ । तर कुनै पन्चेको अनुहारमा मोसो दलेजस्तो घरै विरूप भएपछि बाआमा रिसाउनुसम्म रिसाउनु हुन्थ्यो । खुब गाली गर्नुहुन्थ्यो । पिट्नु चैँ हुन्थेन, सायद कान्छो छोरा भएर माया धेरै लाग्दो हो, कुन्नी ! ( भित्र स्मृतिको तख्तामा धुलैधुलोले पुरिएको धेरै पुरानु कुरा टक्टकाउँदै हाँस्नुहुन्छ दाइ । हाहाहा ) पछि, सात कक्षा पढ्दै गर्दा जुनियर रेडक्रस सर्कलद्वारा आयोजित अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा प्रथम भएपछि भने, दाइलाई चित्रको धङधङी नशा लाग्यो रे ! ** त्यसपछि दाइको संघर्ष शुरु भएछ– एसएलसी पास गरेपछि ललितकला क्याम्पस, काठमाडौँमा चित्रकला पढ्न पुगेँ, भाइ ! मैले ७ कक्षा पढ्दादेखिनै रंग-ब्रस चलाउन थालिसकेको थिएँ, स्केच मज्जाले कोर्ने भैसकेको थिएँ । क्याम्पसमा वर्षभरि एउटै काम दोहोर्याइरहँदा, हेरिसकेको कुनै पुरानु फिलिमजस्तो पुनः हेर्दा वाक्क लागेझैँ मलाई वाक्क पो लाग्यो र, क्याम्पसको पढाइलाई गोली हान्दिएँ अनि प्राइभेट पढ्न पोखरा हान्निएँ । ** पोखरामा आर्ट् सिक्न जाँदाको रमाइलो किस्सा — खासमा म पोखरा जानुको कारण, त्यहाँ केही नाम चलेका स्थापित आर्टिष्टहरू हुनुहुन्थ्यो । म उहाँहरूसित संगत गर्न चाहन्थेँ । दुर्गा बराल सरसँग वाटर कलर सिक्न चाहन्थेँ, उहाँलाई भेटेँ पनि । तर बाराम्बार भेट्दा पनि उहाँले सिकाउने कुनै संकेत पाइनँ मैले । अन्त, निरास भएर भुर्तेल सर कहाँ गएँ । यसो कुरो बुझ्दा यी दुई बूढाहरूको शीतयुद्ध रहेछ जस्तो लाग्यो । कन्नो पछाडि एकार्काले अर्काको कुरा काटिहाल्ने । शत्रुको मित्र शत्रु नै हुन्छ भने झैँ, भुर्तेल सरले दुर्गासरको कुरा काट्दै केही ज्ञान दिनुभो मलाई । त्यतिले नपुगेर आलोक सरकोमा गएँ-त्यस्तै भयो । पछि बुझ्दै जाँदा म पोखरामा बसोस् भन्ने चाहना रहेनछ, कसैको । ** प्रायः आर्टिष्टहरू ईर्ष्यालु हुन्छन् । अरूको प्रशंसा गर्दैनन् — चित्र सिक्ने क्रममा धेरै थरीका मान्छेहरूलाई भेटेँ । कोही एकदमै मूडी । कोही एकदमै लाछी । कोही एकदमै आत्मप्रशंसक । अरूको राम्रो चित्रलाई राम्रो कहिले भन्दै नभन्ने । बरू खोट कहाँ छ भनेर खोजिरहने कुनै जमिनदारको हर्तालू मुन्सीजस्तो । हतोत्साहित गरिरहने । त्यही दिक्क भएर चितौन फर्केँ । फर्केपछि, यहाँको एक साप्ताहिक पत्रिकाको फ्रन्टपेजमा ‘प्रथा’ नामले कार्टून बनाउन थालेँ । चित्रहरू ग्यालरीमा दिने र विदेशतिर चित्रहरू पठाउन थालेँ । राम्रै थियो तर त्यसताका माओवादीको द्वन्द्वकालमा व्यवसाय शिथिल भएपछि विदेशतिर लागेँ र दुई वर्षपछि फर्केँ । हो, तिमीले भनेझैँ बालुवाको चित्र नेपालमा बनाउने प्रथम चित्रकारमै हुनुपर्छ । यो प्रयोगात्मक कला हो । खाडीमा साढे तीन वर्ष बस्दा बालुवाको प्रयोग त्यहीँबाट शुरु गरेको हुँ । त्यहाँ काम गर्दा जसले मेरो बालुवाको काम देखे, उनीहरुबाट पाएको हौसलाले यसलाई निरन्तरता दिएँ । नेपालमा पछि आएर २०७१ सालमा ३४ जना स्थानीय कविहरुको मुहारचित्र बालुवाबाटै तयार गरेँ । र, एक्जिविसन गरेँ । जसलाई मूलधारका मिडियाहरूले राम्रै प्रमोट गरिदिए । ** पुरस्कारको कुरा गर्दा — ओहो ! भाइ, त्यो अहोभाग्य पाउनलाई चाकरी र झन्डाको राजनीति गर्नुपर्छ, जो मैले गरिनँ । जति पुरस्कार पाएको छु, प्रतियोगितामा जितेर पाएको छु । ** भन्नुपर्ने केही दुई कुरा दाइ ? चित्रकार बाँच्नका लागि चित्र बिक्री हुनुपर्छ । अहिले नेपाल देश गरिब बनाएरै भए पनि जनता धनी भएका छन् । ५० लाख घटीमा एउटा घर बन्दैन त्यसमा कम्तिमा एउटा चित्र राख्ने चेतना विकास भए, हामीलाई नभए पनि हामी पछिका चित्रकारलाई सजिलो हुन्थ्यो कि भन्ने लाग्छ । **** केही पुरस्कारहरू — * प्रथम – अन्तर विद्यालय चित्रकला पोष्टर प्रतियोगिता । २०४१ (जुनियर रेडक्रस सर्कल ) * प्रथम — अन्तर जिल्ला स्तरीय चित्रकला प्रतियोगिता । — २०४८ । ( रेयुकाइ संघ, नेपाल । ) * प्रथम — चितवन महोत्सव — २०६९ एक्जिविसन– एकल एक्जिविसन आठौँ पटक । सामूहिक धेरै पटक । जापानमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी । #जीवित खड्का मगर #प्रकाश थापा |
साउन १५ सम्म प्रतियोगिताको म्याद थपियो: महाकाली नदीको उद्गम भूमि लिम्पियाधुरासहितको ३ सय ३५ वर्ग किलोमिटर नेपालको नक्सामा पहिलो पटक समेटिएको छ । जेठ ५ गते नेपाल सरकारले आधिकारिक रुपमा यसको निर्णय गरेको हो । सीमा क्षेत्रमा वर्षौंदेखि थिचोमिचो सहेका नागरिकका विषयमा दर्जनौँ पुस्तक लेखिएका छन् । सयौँ लेख लेखिएका छन् र हजारौं जनताले दुःख सहेका छन् । यसका कथाहरु अनगिन्ती छन्, जसलाई संकलन गर्न सकिएको छैन । वषौँदैखि मिचिएको भूमि नक्सामा समेटिनु भने स्वागतयोग्य कुरा हो तर यसलाई प्राप्त गर्न राजनैतिक र कूटनीतिक दुई खाले गम्भीर तत्परताको खाँचो छ । यसका लागि सबै नेपाली एकजुट हुनु अहिलेको आवश्यकता हो । एकजुट हुने हो भने मिचिएको भूमि प्राप्त गर्न गाह्रो छैन । किनभने सम्पूर्ण ऐतिहासिक दस्तावेजहरु नेपालका पक्षमा छन् । केवल नेतृत्वले खुट्टा कमाएका कारण यो मुद्दा पछाडि धकेलिएको मात्र हो । केहीलाई लाग्न सक्छ, भारतसँग हामीले किन निहुँ खोज्ने ? हामीले निहुँ खोजेका होइनौँ, आफ्नो अधिकार मागेका हौँ । हजारौँ नेपालीहरुले गोर्खा रेजिमेन्टभित्रको अङ्ग भएर भारतका लागि लडाईँ लडेका छन् । अंग्रेजका लागि हजारौँ र स्वतन्त्र भारतका लागि पनि सयौंले ज्यान दिएका छन् । आज आफ्नो हक माग्दा ऊसँग दुश्मनी गरेको कसैगरी पनि ठहर्दैन । बरु चुप लागेर बस्नु हाम्रो निरीहता झल्कन्छ । यसका लागि सबैले आ–आफ्नो पक्षबाट काम गरिरहेका छन् । हामी लेखक–कविहरुले अक्षरबाट हाम्रो लडाईंलाई जारी राख्नेछौँ । यो लडाईं यतिबेला अझ बढी आवश्यक र मुखर चाहिएको छ । यसका लागि साहित्यपोस्ट र शिखा बुक्स पब्लिकेसन्सबीच एउटा निबन्ध संग्रह प्रकाशन गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार नेपाली वीरता, सौर्य र स्वतन्त्रताका विषयमा लेखिएका २० वटा निबन्धहरुको कृति २०७७ सालको बडा दसैंको अवसर पारेर प्रकाशन हुनेछ । यी निबन्धहरुमा सीमा अतिक्रमण, सिमानाका जनताले पाएको दुःख, नेपाली नेताहरुको निरीहपन, गोर्खा सैनिकको वीरता, ऐतिहासिक तथ्य र त्यसको विश्लेषण, ठूला देशले साना देशलाई गर्ने व्यवहारहरु, शक्ति र सत्ताको बलमा तथ्यहरुको ठाकछोप गर्ने प्रवृत्ति, छिमेकी राष्ट्रहरुले बेलाबेलामा छर्ने भ्रमहरु, विदेशमा भइरहेको सीमा विवाद र त्यसबाट पार पाएका ऐतिहासिक अनुभव आदि विषयमा लेखक–कविहरुका आलेख, निबन्ध, अनुभूतिहरु समेटिनेछन् । यस अभियानमा सबै लेखकहरुको सक्रिय सहभागिताको आशा राखिएको छ । यसमा देशका प्रतिष्ठित निबन्धकारहरुका रचना त समेटिने छन् नै, पाठकहरुबाट आएका रचनाहरु पनि सहभागी गराइने छन् । यसका लागि हामीले केही नियमहरु बनाएका छौँः १) यो अभियानमा सहभागी हुन पठाइने निबन्ध २ हजार ५ सय शब्दभन्दा लामो बनाउन पाइने छैन । २) प्राप्त निबन्ध निम्नलिखित विषयमध्ये एकमा केन्द्रित हुनुपर्नेछः क) नेपाली सीमाका पीडा ख) अतिक्रमित नेपाली भूमिका ऐतिहासिक दस्तावेज ग) नेपाल एकीकरणका लागि नेपाली सेनाले देखाएको कौसल र युद्धरणनीति घ) अंग्रेज र भारतीय सेनामा गोर्खाली सेनाले देखाएको बहादुरी र पीडाका गाथाहरु ङ) छिमेकीको होचो अर्घेलो च) नेपाली नेताको निरीहपना छ) दासता नभोगेको देश नेपाल ज) पदका लागि देशको बलिदान झ) भौगोलिक चेपले दिएको सौन्दर्य र कुरुपता ञ) सानो नेपालभित्र ठूलो भारत आदि । (यो शीर्षक होइन, केवल विषय हो ) ३) पुस्तकमा २० वटा निबन्ध समावेश गरिनेछ । लेखकले आत्मपरक वा वस्तुपरक जुनसुकै शैलीमा कलम चलाउन स्वतन्त्र हुनेछन् । दुवै थरिका निबन्धमा तथ्य र कलाको मिश्रणको अपेक्षा भने गरिनेछ । ४) पुस्तक २०७७ सालको बडा दसैंको उपलक्ष्यमा शिखा पब्लिकेसन्सबाट प्रकाशन हुनेछ । ५) पुस्तकमा समावेश भएका निबन्धका प्रत्येक निबन्धकारहरुलाई आकर्षक पारिश्रमिक उपलब्ध गराइनेछ । ७) पुस्तकमा उत्कृष्टतम रचनाहरु मात्र प्रकाशन हुनेछन् । पुस्तकमा समावेश हुन नसकेका अन्य स्तरीय रचनाहरु भने क्रमशः साहित्यपोस्टमा प्रकाशन हुँदै जानेछन् । ८) पुस्तकलाई अडियो र इबुकमा पनि प्रकाशन र प्रशारण गरिनेछ । अडियो र इबुकको अधिकार साहित्यपोस्टमा रहनेछ भने छापा–पुस्तकको अधिकार शिखा बुक्समा रहनेछ । ९) पुस्तकका लागि भनेर पठाइएका रचना अन्य पत्रपत्रिकाहरुमा दिन पाइने छैन । १०) सङ्ग्रहमा बढी भन्दा बढी युवा पुस्ताका लेखकहरुको रचना परुन् भन्ने हाम्रो चाहना छ । यद्यपि देशका स्थापित लेखकहरुबाट आएका रचनाहरु पनि यसमा समेटिने छन् । पुराना पुस्तासँगै नयाँ पुस्ताको संलग्नताले राष्ट्रियताको साहित्यिक लडाईँ बलियो हुनेछ भन्ने हाम्रो विश्वास छ । ११) साउन १५ गतेसम्म साहित्यपोस्टको इमेल [email protected] मा आएका रचनालाई मात्र यो प्रतियोगितामा समावेश गरिनेछ । विषयमा स्पष्टसँग ‘निबन्ध प्रतियोगिता’ उल्लेख गर्नुपर्नेछ । १२) पुस्तकका लागि रचनाको छनोट स्वतन्त्र र विज्ञ साहित्यकारहरुबाट गरिनेछ । यसमा साहित्यपोस्ट र शिखा बुक्सको कुनै पनि हात रहने छैन । आउनुहोस्, राष्ट्रियताका लागि लेखेर योगदान दिऔँ । #निबन्ध #प्रतियोगिता #साहित्यपोस्ट |
प्रत्येक साता मुक्तक प्रतियोगिताः वर्षको अन्त्यमा उत्कृष्ट पुस्तक: साहित्यपोस्टले हरेक साता मुक्तक प्रतियोगिता गर्ने भएको छ । विज्ञ समालोचक एवं मुक्तक विधामा नाम चलेका व्यक्तिहरुको रहोबरमा मुक्तक प्रतियोगिता सुरु गरिएको प्रधानसम्पादक अश्विनी कोइरालाले जनाउनु भएको छ । हरेक साता तीन मुक्तककारका तीन–तीन मुक्तक छानेर वर्षको अन्त्यमा उत्कृष्ट मुक्तकहरुको संगालो प्रकाशन गरिने जनाइएको छ । त्यसैगरि पुस्तकको डिजिटल कपि साहित्यपोस्टमा पढ्न र सुन्न समेत पाइने जनाइएको छ । ‘साताभरि जम्मा हुन आएका मुक्तक मध्ये विज्ञ टोलीले उत्कृष्टताका आधारमा तीन मुक्तककारका तीन–तीन मुक्तक छनोट गर्नेछ ।’ साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसीले भन्नुभयो, ‘प्रत्येक मुक्तकको पूर्णाङ्क पाँच हुनेछ । पाँचजनाको छनोट समितिले दिएको नम्बरको आधारमा उत्कृष्ट एक–एक व्यक्तिका तीन–तीन मुक्तकहरु चयन हुनेछन् ।’ मुक्तकका निर्णायकहरुमा चर्चित समालोचक, साहित्य अन्वेषक प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतम रहनु भएको छ । त्रिभुवन विश्वविद्यालयमा दुई दशकदेखि अध्यापनरत गौतमका दर्जन बढी अनुसन्धानात्मक–समालोचनात्मक कृति प्रकाशित छन् । गौतमले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गर्नुभएको छ । नेपाली साहित्यमा मुक्तकको पहिलोपटक सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने व्यक्ति पनि गौतम नै हुनुहुन्छ । अर्का निर्णायकमा ज्ञानु अधिकारी रहनु भएको छ । समालोचनामा विशेष रुचि राख्ने ज्ञानुका १५ कृति प्रकाशित छन् भने ६ वटा फरक विषयमा अनुसन्धान गर्नुभएको छ । पद्मकन्या क्याम्पसमा अध्यापनरत ज्ञानु नेपाली साहित्यकी चर्चित समालोचक मध्ये पर्नुहुन्छ । तेस्रो निर्णायकमा राजन सिलवाल रहनु भएको छ । २०४४ सालदेखि मुक्तक लेखनमा सक्रिय साहित्यकार राजनसिलवालको ‘दुई हजार सोह्र पाइला’ नामक मुक्तक संग्रह प्रकाशित छ । अन्य दुई जना निर्णायकहरुमा साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी र प्रधानसम्पादक अश्विनी कोइराला रहनु भएको छ । वर्षका उत्कृष्ट मुक्तकका पुस्तक प्रकाशन हुने यो प्रतिस्पर्धामा भाग लिन चाहने व्यक्तिले तोकिएको विषयमा यसै पेजको मुन्तिर आफ्ना तीन मुक्तक पोस्ट गर्नुपर्नेछ । हरेक साता विषय तोकिने र त्यसैको आधारमा प्राप्त हुने उत्कृष्ट मुक्तकलाई छानिने निर्णायकहरुले जनाएका छन् । ५० सातापछि फरक फरक विषयका सर्वोत्कृष्ट मुक्तकारका ४ सय ५० मुक्तकको पुस्तक निस्कनेछ । उत्कृष्ट मुक्तककारलाई पुस्तकसहित आकर्षक पारिश्रमिक पनि उपलब्ध गराइनेछ । त्यतिमात्र हाेइन, छानिएका उत्कृष्ट ५० मुक्तककारका मुक्तकहरू मध्ये पनि सर्वात्कृष्ट मुक्तकहरू छानिनेछन् । ‘वर्षको अन्त्यमा एउटा कार्यक्रम गरेर सर्वाेत्कृष्ट मुक्तककारहरुलाई सार्वजनिक अभिनन्दनसहित पारिश्रमिक एवं पुस्तक उपहार दिइनेछ ।’ सम्पादक निशा केसीले साहित्यपोस्टसँग भन्नुभयो, ‘असाध्यै राम्रा मुक्तकहरु पनि फेसबुकमा हराएर गइरहेका छन् । यस्ता प्रतियोगिताले त्यो समस्या अन्त्य गर्ने र राम्रा रचनाले पुस्तकमा ठाउँ पाउनेछ ।’ पहिलो प्रतियोगिता यहि समाचारसँगै सुरु भएको छ । यो साताको तीनवटा विषय यस प्रकार रहेका छन् । पहिलो मुक्तकको विषय सीमा विवाद, लिम्पियाधुरा–कालापानी, देशभक्ति अथवा नेपालको नयाँ नक्सा दोस्रो विषय कोरोना, कोरोनाका कारण मृत्यु, कोरोनाका कारण संसारमा आएको परिवर्तन तेस्रो विषय आर्थिक शंकट, गरिबी वा मजदुरको दुःख — सहभागीहरुले प्रत्येक विषयमा एक एकवटा मुक्तक तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ । — मुक्तक चतुष्पदीय हुनुपर्नेछ । यसका प्रथम, दोस्रो र अन्तिम हरफको अनुप्रास मिलेको र तेस्रो हरफ स्वतन्त्र हुनुपर्नेछ । — प्रत्येक मुक्तकको पूर्णाङ्क पाँच रहेको छ । प्रत्येक मुक्तकले संरचना, भाव, सटिकता, मौलिकता र नविन कथ्यका आधारमा एक एक नम्बर प्राप्त गर्नेछन् । — पूर्ण वा आंशिक नक्कल गरिएका मुक्तकलाई प्र्रतियोगितामा सामेल गरिने छैन । — यसअघि प्रकाशन भैसकेका मुक्तकलाई पनि प्रतियोगितामा सामेल गरिने छैन तर फेसबुकमा राखिएका मुक्तक स्वीकार गरिने छन् । — तर अप्रतियोगी मुक्तकका हकमा भने चतुष्पदीयबाहेक माथिका कुनै पनि नियम लागू हुने छैन । यो साताको प्रतियोगिता अहिल्यैबाट सुरु भइ अर्को साताको बुधवार, असार १० गते रातको १२ बजेसम्म रहनेछ । पुनः स्मरणका लागि यो साताको विषय यस प्रकार रहेका छन्ः पहिलो मुक्तको विषयः सीमा विवाद, लिम्पियाधुरा–कालापानी, देशभक्ति वा देशको नयाँ नक्सा दोस्रो मुक्तकको विषयः कोरोना, महामारी, महामारीका कारण विश्वमा आएको परिवर्तन तेस्रो मुक्तकको विषयः गरिबी, मदजुरको व्यथा, आर्थिक मन्दी वा आर्थिक अवस्था आदि । (तल कमेन्ट बक्समा असार १० गते बुधबार रातको १२ बजे अगाडि नै आफ्ना तीन वटा मुक्तक पोस्ट गर्नुहोस्) #साहित्यपोस्ट मुक्तक प्रतियोगिता |
चेतना र सङ्घर्षकी प्रतिमूर्ति: गीता सापकोटा युगले मान्छे जन्माउँछ भने मान्छेले युग जन्माउँछ भन्ने शास्वत विचारको सूचक बनेकी नेपाली नारी रत्न हुन्, अङ्गुर बाबा जोशी । वि.सं. १९८९ भदौ ३० गतेका दिन काठमाडौँको डिल्लीबजारमा माता दीपकुमारी पन्त र पिता पीताम्बरप्रसाद पन्तकी सुपुत्रीका रुपमा जोशीको जन्म भएको थियो । तत्कालीन समयमा नेपालमा बालविवाह प्रथा थियो । त्यस प्रथाबाट अङ्गुरबाबा पनि अछुतो रहन सकिनन् । उनको ११ वर्षको उमेरमा बलराम जोशीसँग उनको विवाह भएको थियो । शिक्षित र सम्पन्न पारिवारिक वातावरणमा उनको विवाह भयो । पारिवारिक वातावरणले पनि उनका जीवनले काँचुली फेर्ने अवसर पायो । आफ्नै सासूको प्रेरणा र सहयोगका कारण उनले विवाहपश्चात् श्रीमान् का साथ पढ्ने र बढ्ने मौका पाइन् । फलस्वरुप उनले विद्यालयीय शिक्षा हुँदै स्नातकोत्तरसम्मको अध्ययन गरिन् । अङ्गुरबाबा जोशी नेपालमा नारी शिक्षा र नारी चेतनाकी प्रेरणाकी स्रोत नै थिइन् । उनले आईए सम्मको शिक्षा उनका श्रीमान् बलराम जोशीका साथ नेपालमा गरिन् । त्यसपछि स्नातक तहको अध्ययनका लागि श्रीमान् कै साथ भारतको वनारसमा गइन् र आफ्नै जीवनसाथीसँग सहपाठी भएर उनले अध्ययन गरिन् । उनले त्यहाँ ऐच्छिक विषय राजनीतिक शास्त्र र संस्कृत शिक्षा पढिन् र स्नातक तहको औपचारिक शिक्षा पूरा गरिन् । त्यसपछि स्नातकोत्तर तहको शिक्षाका लागि बेलायत जाने अवसर पाइन् । तत्कालीन समयको बेलायत सरकारबाट प्रदान गरिने कोलम्बो प्लानअन्तर्गतको छात्रवृत्ति पाउन सफल भएपछि उनले बेलायतबाट राजनीति शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरिन् । त्यसपछि नेपाल फर्किएर पद्मकन्या कलेजमा पढाउन थालिन् । उनले पद्मकन्या कलेजमा पढाउने मात्र होइन, त्यस मन्दिरलाई फुलाउने र फलाउने काममा पनि ठूलो योगदान दिइन् । त्यतिबेलासम्म नेपालमा छोरीहरुका लागि शिक्षा प्राथमिकतामा थिएन । नेपाली समाजमा छोरीलाई हेयका दृष्टिले हेरिन्थ्यो । छोरा जन्मे काखा, छोरी जन्मे पाखा भन्ने रुढिग्रस्त समाज थियो । विद्यालयीय शिक्षाका लागि पनि सबै छोरीले अवसर पाउँदैन थिए । चाँडै विवाह गरेर पराइ घर पठाउने चलन छँदैथियो । समाजमा शिक्षाको चेतना पुगिसकेको थिएन । अङ्गुरबाबा जोशीले पद्मकन्या कलेजमा पढाउन थालपछि काठमाडौँ र आसपासमा रहेका जिल्लाहरुका गाउँमा गएर घरघरमा छोरीबुहारीलाई पढाउनुपर्छ भन्ने चेतना फैलाइन् । नारीका लागि जनचेतना फैलाउन उनले नेतृत्व लिइन् । पद्मकन्या कलेज नितान्त नारीहरुकै कलेज हो । त्यहाँ नारीहरुले सुरक्षित वातावरणमा पढ्न पाउँछन् भन्ने विश्वास दिलाइन् । उनकै विश्वासले बिस्तारै छोरीहरुलाई पढाउने वातावरण सिर्जना हुँदै गयो । उनले पद्मकन्या क्याम्पसमा लामो समयसम्म प्राध्यापन गरिन् । त्यस अवधिमा १२ वर्ष उनी क्याम्पपस प्रमुख पनि भइन् । उनले नारीहरुले मात्रै पढाइने यस क्याम्पसमा छात्राको सङ्ख्या वृद्धि गर्न र छात्राहरुको पोशाक (गुन्यू चोली) व्यवस्थापन गर्न अग्रणी भूमिका खेलिन् । अहिलेसम्म पनि पद्मकन्या क्याम्पस नितान्त छात्राहरुको क्याम्पसको रुपमा विकसित भएको छ भने त्यही पोशाकलाई मान्यता दिइएको छ । [bs-quote quote=”उनी सामाजिक योद्धा पनि हुन् । उनले चितवनको देवघाटमा गार्गी कन्या गुरुकुल संस्थाको स्थापना गरिन् । जहाँ समावेशी रुपमा दलित महिलाहरुलाई पनि वेद पाठ गराइन्छ । यसको उनी संस्थापक संरक्षक नै हुन् ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] अङ्गुरबाबा जोशी मूलतः प्राध्यापक हुन् । यसका साथै उनी सामाजिक योद्धा पनि हुन् । उनले चितवनको देवघाटमा गार्गी कन्या गुरुकुल संस्थाको स्थापना गरिन् । जहाँ समावेशी रुपमा दलित महिलाहरुलाई पनि वेद पाठ गराइन्छ । यसको उनी संस्थापक संरक्षक नै हुन् । बाल्यकालमै विवाह बन्धनमा बाँधिएकी जोशी पारिवारिक जिम्मेवारीबाट अछुतो रहेर अगाडि बढेकी होइनन् । उनले सासूको प्रेरणा र अनुकूल वातावरणले उच्च शिक्षाका लागि मौका पाइन् । यो नेपाली समाज र समाजका नारी वर्गका लागि उदाहरणीय पक्ष हो, यद्यपि उनको पारिवारिक दायित्व पनि उत्तिकै थियो । दुई छोरी र एक छोराकी आमा बनेर होस् वा बुहारीको भूमिका निर्वाह गरेर होस्, उनका जीवन सङ्घर्षपूर्ण पक्कै थियो । नेपाली समाजमा घर चुलोचौका र छोराछोरीका जिम्मेवारीहरु नारीकै पेवा जस्तै प्रायः अहिले पनि छन् भने त्यतिबेला उनी पनि पक्कै यस्ता कुराबाट पन्छिएर शिक्षा, जागिर र समाजसेवाको क्षेत्रमा सफल बनेकी होइनन् । उनीभित्रको दृढ इच्छाशक्ति र आत्मविश्वासले उनलाई कर्ममा डोहोर्\u200dयाइरह्यो । उनी अघि बढ्दै गइन् । यसमा पारिवारिक साथसहयोगले पनि पक्कै भूमिका खेल्यो । फलतः उनी बौद्धिक समाजमा नारी हस्तीका रुपमा चिनिदै गइन् र आज चेतना र सङ्घर्षकी प्रतिमूति बन्न सफल भइन् । अङ्गुरबाबा जोशी आम नेपालीका लागि नै प्रेरणाकी स्रोत हुन् । उनमा भएको दृढ आत्मविश्वास र साहसले क्यान्सर जस्तो प्राण घातक रोगले पनि पटकपटक हार खानु परेको थियो । उनलाई पहिले घाँटीको क्यान्सर र पछि स्तन क्यान्सर भएको थियो । दुई पटकसम्म यस्तो डरलाग्दो रोगलाई जित्न उनी सफल भइन् । उनको यो अद्भूत क्षमताले आम मानिसहरुलाई साहसी पाठ सिकाउँछ । अङ्गुरबाबा आध्यात्मिक चिन्तनमा निकै विश्वास गर्थिन् । यसले उनीभित्र सकारात्मक ऊर्जा थपिँदै गयो र गरेका कार्यमा सफल हुँदै गइन् । आज सङ्घर्षकी प्रतिमूर्ति बन्न सफल भइन् । पारिवारिक जीवन, प्राध्यापन, समाजसेवाका साथै उनले सिर्जना यात्रा पनि त्यति नै दरिलो बनाइन् । वि.सं. २०३१ सालमा ‘कल्पना’ नामक कथासङ्ग्रह लिएर साहित्यका क्षेत्रका उदाएकी जोशीका क्यान्सर वरदान, वृद्धा अवस्थाः जीवनको श्रीपेच, दीक्षा नामक कृतिहरु प्रकाशित छन् । उनका यिनै बहुमुखी कार्यको उच्च कदर गर्दै नेपाल सरकारले र अन्य संघसंस्थाले उनलाई पटकपटक सम्मान गरेको पाइन्छ । उनले प्राप्त गरेका राष्ट्रिय स्तरका सम्मान तथा पुरस्कारहरुमा महेन्द्र विद्याभूषण प्रथम (इ.सं. १९६१), गोरखा दक्षिणबाहु दोस्रो, त्रिशक्ति पट्ट तेस्रो, शुभराज्याभिषेक पदक २०१३, २०३१), दीर्घसेवापदक, रत्नश्री सुवर्ण पदक, गद्दी आरोहण रजत महोत्सव पदक, जगदम्बा श्री पुरस्कार आदि रहेका छन् । यसरी अङ्गुरबाबा जोशी नेपाली नारीहरुका लागि मात्र नभएर आम समुदायकै लागि चेतनाको दियो बाल्ने अग्रणि व्यक्तित्व हुन् । समाज विकासका लागि शिक्षा महत्त्वपूर्ण कुरा हो यसमा पनि एउटा घरलाई शिक्षित बनाउन आमाको भूमिका ठूलो हुन्छ त्यसैले नारीलाई पनि शिक्षा र चेतनाको प्रकाश अति आवश्यक छ भन्ने चेतना भएकी अङ्गुरबाबाले आफू मात्र होइन सिङ्गो नेपाली समाजका नारीहरुलाई शिक्षाको उज्यालो दिनको लागि सङ्घर्ष गरिन् । आफू कलेजको प्राध्यापक भएर समाज र समाजका नारीहरुका माझ शिक्षाकै ज्योतिका लागि चेतनाको दियो लिएर हिँडिन् । समावेशी रुपमा वेद पढ्न पाउने वातावरण मिलाइन् । सिर्जनाका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान दिइन् । जीवनभरि सङ्घर्ष गरिरहिन् र आम मानवका लागि आत्मविश्वास र दृढ अठोट सफलताको प्रतीक हो भन्ने पाठ सिकाएर २०७७ जेठ ६ गते ८८ वर्षको उमेरमा सधैँका लागि यस धर्तीबाट अस्ताइन् । उनको देह लीला समाप्त भए पनि उनले जीवनभर गरेका महत्त्वपूर्ण कार्यहरुले उनी हामीमाझ सधैँ उदाइरहने छिन् । #अंगुर बाबा जोशी #गीता सापकोटा |
किन भयो, असार ९ को कविता महोत्सव स्थगित?: नेपाल प्रज्ञा प्रतिष्ठान, तस्बिर साैजन्यः टिएचटी फाइल तस्बिर काठमाडौँ/नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने कविता महोत्सव यस वर्ष केही समयका लागि स्थगन गरिएको प्रतिष्ठानले जनाएको छ। हरेक वर्ष असार ९ गते कविता दिवसको अवसर पारेर प्रतियोगिता आयोजन गर्दै सर्वोत्कृष्ट कविता छनोट गरिरहेको प्रतिष्ठानले कोविद १९ रोगका कारण सिर्जित असहज अवस्थालाई मध्यनजर गर्दै कविताको परिणामलाई केही समय पछाडि धकेलेको हो। प्रतिष्ठानका काव्य विभाग प्रमुख हेमनाथ पौडेलले कविता महोत्सवलाई महोत्सवका रुपमा नै मनाउने उद्देश्यका साथ केही समयका लागि स्थगन गरिएको बताए। केही आलोचकहरुले भने अहिलेको प्रविधिको जमानामा मान्छे भेला गरेर गर्नुभन्दा प्रविधिकै सहयोग लिँदा उपयुक्त हुने धारणा फेसबुकतिर राखेका छन्। ‘कविता भनेको वाचन पनि हो र जूम वाचन त्यति प्रभावकारी देखिएको छैन,’ पौडेलले प्रविधिको अप्ठेरो खुलाउँदै भने, ‘कहिले इन्टरनेटले धोका दिने, बेलाबेलामा डिसकनेक्ट हुनेजस्ता समय हामीले देखिरहेका छौँ। भोलि जूममा कार्यक्रम भयो भने पनि प्रभावकारी भएन भनेर आलोचना हुन्छ। त्यसैले हामीले प्रत्यक्ष वाचनलाई बढी महत्त्व दिन खोजेका हौँ।’ त्यसो त उनले बन्दाबन्दी अझै लम्बिए, त्यो पनि एउटा विकल्प हुने बताए। उनले भने, ‘तर कविता भनेको वाचन पनि हो, त्यो वाचन प्रभावशाली नहोला भन्ने डरका कारण प्रविधिमा भर नपरेका हौँ।’ गएको वर्षदेखि कविता महोत्सवमा लोकसेवा आयोगजस्तै कवितालाई नम्बर दिने शैली अपनाएर पौडेल चर्चामा आएका हुन्। लामो समयदेखि कविता महोत्सवमा धाँधली भयो भन्ने आवाज सुन्दै आएका पौडेलले उनी कविता विभाग प्रमुख भएयता यही नियम बसालेका छन्। गएको जेठ २५ सम्म आएका कवितालाई यतिबेला लाहाछाप लगाएर मूल्याङ्कनका लागि राखिएको र वाचनपछि वाचन र लेखन दुवैको नम्बर जोडी सर्वोत्कृष्ट कविता चयन गर्ने परिपाटी मिलाइएको पौडेलले बताए। ‘पहिलेको मेरो अनुभव के रह्यो भने, कविता त जसले पनि लेखिदिन्छ,’ उनले यसो गर्नुको कारण खुलाउँदै भने, ‘अरूका लागि कविता लेखिदिने, अरूका कविता ल्याएर पुरस्कृत हुने कुरा पनि नसुनिएको होइन। वाचनले भने वास्तविक सर्जकको भावना प्रतिबिम्बित हुन्छ भन्ने मान्यताका साथ यस्तो नियम हामीले राखेका हौँ।’ विवाद कम हुने अपेक्षा त्यसो त कविता महोत्सव सधैँ विवादमा पर्ने गरेको छ। यो नयाँ नियमपछि त्यस्तो विवाद कम होला भन्ने अपेक्षा पौडेलको छ। पोहोर पनि कवितालाई लोकसेवा आयोगजस्तो बनाइएको भन्दै आलोचना नभएको भने होइन। पूर्व प्राज्ञ अमर गिरीले पनि आफ्नो कार्यकालमा कविता महोत्सवलाई विवादमा पारिएको अनुभव गरे। अहिले कविता महोत्सव स्थगनलाई विवादमा पारिनुलाई भने उनले उचित देखेका छैनन्। उनी भन्छन्, ‘पहिले पनि अवस्था खराब हुँदा महोत्सव रोकिएको हो, अहिले पनि कोविद १९ रोगका कारण केही समय स्थगन भएकोलाई हामीले अन्यथा लिनु हुँदैन।’ केही मानिसहरु प्रतिष्ठानले जे गरे पनि विवादमा ल्याउने गरेको उनले देखेका छन्। गिरी भन्छन्, ‘जसले एकेडेमीका कुराहरुलाई विवादमा ल्याउन खोज्नु हुन्छ, वास्तवमा उहाँहरुले नबुझी यस्ता कुरा गर्नुहुन्छ भन्ने लाग्छ।’ कुनै खास रुचिबाट निर्देशित व्यक्तिहरूबाट विवाद झिक्ने गरेको गिरीको बुझाइ छ। ‘त्यस्तो विवाद चलाउने वा टिप्पणी गर्नेहरुमा कविता महोत्सवमा सहभागी भएका वा सहभागीसँग जोडिएका नै बढी देखेको छु,’ गिरी भन्छन्, ‘कतिपयमा एकेडेमीप्रति ज्यादै नकारात्मक सोच पनि पाएको छु। उहाँहरुले वास्तविकता नबुझी टिप्पणी गर्ने गरेको पनि पाएको छु।’ त्यसो त कतिपय कुरा ‘जेनुइन’ पनि आउने गरेको गिरीले बताए। कतिपय अवस्थामा परिणाम पहिल्यै बाहिर आएको कुरामा उनको सहमति छ। संस्थाबाट कमजोरी भएपछि आएका टिप्पणीलाई उनले सकारात्मक लिनुपर्ने र ती कुरा सच्याउनुपर्ने गिरीको धारणा छ। यता पाैडेल भने यही कुरा सच्याउन पोहोरसालबाट नयाँ नियम बसालिएको बताउँँछन्। यत्तिका वर्षपछि पनि एकेडेमी अब कविता प्रतियोगितामा नै अल्झन नहुने गिरीको निजी धारणा छ। गिरी भन्छन्, ‘एकेडेमी त अनुसन्धान गर्ने संस्था हो, त्यसमा जोड दिनुपर्छ। प्रतियोगितामै नअल्झिए ठीक जस्तो लाग्छ।’ तर उनले जोड दिँदै भने, ‘कविता प्रतियोगितामा लगाइने पार्टीगत कुरा हावि हुने, कमजोर कविता पुरस्कृत गरिने कुरामा भने मलाई त्यत्ति धेरै विश्वास लाग्दैन। यो आरोपका लागि मात्र आरोप लगाइने गरेको मैले पाएको छु।’ को हुन् काव्य प्रमुख पौडेल? यतिबेला कविता प्रतियोगिताको मुख्य बागडोर सम्हालिरहेका प्राज्ञ हेमनाथ पौडेल मूलतः समालोचक हुन्। उनी रत्नराज्य लक्ष्मी क्याम्पसमा कविताको प्राध्यापन गर्छन्। कवितामा नै पिएचडी गरेका पौडेलका आधा दर्जन समालोचनाकै किताब छन्। फाट्टफुट्ट कविता लेख्ने भए पनि उनको चिनारी कविका रुपमा भन्दा समालोचकका रुपमा सशक्त छ। कति कविता सहभागी? यस पटकको महोत्सवमा पाँच सयभन्दा बढी कविता प्रतियोगितामा सामेल गरिएका छन्। गएको जेठ २५ गतेसम्म आइपुगेका कवितालाई प्रतियोगितामा सामेल गरिएको हो। नियम नपुगी आएका कवितालाई प्रतियोगितामा समावेश नगरिएको पौडेल बताउँछन्। #नेपाल प्रज्ञा प्रतिष्ठान |
फोटो कविता प्रतियोगिता ५ को नतिजा प्रकाशित: साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो-कविता आह्वान गरिएकाेमा याे साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट चयन गरेको छ । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरू मध्येबाट सर्वोत्कृष्ट कविताहरू चयन गरेको हो । प्रतियोगिताको रीत पुर्याई १६ वटा मात्र कविता प्राप्त भएका थिए भने नियमविपरीत १७ वटा थप सिर्जनाहरू प्राप्त भएका थिए । नियम विपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले जनाएको छ । कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरिएको निर्णायक मण्डलले बताएकाे छ । सबै उत्कृष्ट भएकाले यसाे गरिएकाे निर्णायक मण्डलको भनाइ छ। याे साता प्रभात रावतको ‘जीवनयात्रा’, दुर्गा गौतमको ‘समय र यात्रा’ तथा रूपा थापाको ‘सूर्योदय र शहर’ सर्वोत्कृष्ट चयन भएका हुन्। छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ । अर्काे फाेटाे-कविता प्रतियाेगिता आजै साँझदेखि शुरू हुनेछ । यस्ता छन् पुरस्कृत कविताहरू…। #फोटो कविता प्रतियोगिता |
हजुर, उहाँ अहिले माननीय मन्त्री: मेरो एक साथी मेरा ति कोठाहरूमा लुरुलुरु आउँथ्यो दिनमा भन्दा रातमा बढँ विचरण मनपराउने ऊ मलाई झलझली याद छ क्रान्तीको कुरा गथ्र्यो साधारण, सरल, कर्मयोगी मान्छे त्यती सुकिलो, मुकिलो, रातो पिरो पनि भेटिदैनथ्यो साझा बस, ट्याक्सी भन्दा खुट्टा लम्काएको मन पराउँथ्यो । राज्य कहिल्यै गरिबको हँुदैन यी राज्य संयन्त्रहरू प्रहरी, सेना, अदालत, कानून सामन्तीहरूको सुरक्षा अनि संरक्षणको लागि हो सर्वहाराहरू हो, जंजिरमा कति बाँधिन्छौं ? स्वतन्त्रताको लागि उठौं, राज्य प्राप्तीको लागि उठौं “गाँउ गाँउबाट उठौं, बस्ती बस्तीबाट उठौं हतियार लिएर उठौं, जंजिर चुडाउन उठौं” हो यस्तै भाषण रुचाउने त्यो मेरो साथी । हिजोआज कोठामा होइन टेलिभिजनमा भेटछु, छापामा देख्छु रेडियो तरंङ्गमा कुर्लिरहेको सुन्छु खै के अपराध गरे मेरो प्रिय साथीले ? ति राज्य संयन्त्रहरू उनको परिभाषामा सामन्तीको सुरक्षा कवच तिनै प्रहरी, सैनिक, अदालत अनि कानूनले चरैतिर घेरिएका छन् राता अनि प्रफुल्ल अनुहारमा कालो चिल्लो कारमा सररर हुइँकिरहेको देख्छु लाग्छ राज्य सत्ता तिनको मुठ्ठीमा छ । पद प्रतिष्ठा कुर्शी खराब की व्यक्ती कसरी बुझ्ने खोई ? सिद्धान्त, आर्दश, भाषणलाई सलाम गर्ने कि व्यवहार, कर्म र उपलब्धीलाई ? मेरो मानसपटल स्तव्ध छ जब त्यो साथी मन्त्री बन्नुलाई मात्र मन्त्री बन्नुलाई महान क्रान्ति सम्झिरहेको देख्छु मन उद्धेलीत हुन्छ अनि सोच्छु कसरी मेरो साथी अतित बिर्सन सक्छन् ? ऊ कसरी ति गरिबलाई दिएको बाचा त्यो समाजलाई दिएको क्रान्तिकारिता मन्त्रीपदसँग साट्न सक्छ ? मजदुरी गरी बाँचेका मलर सदा मजदुरी खोसिएर भोकै मृत्युवरण गर्दा कसरी सक्छ निदाउन ? परिवारको एक छाँक जोहो गर्ने जागिर गुमाउँदा एक छाँक खाने र खुवाउने आधार नदेखेर आत्मदाहा गर्ने सिद्धार्थ आउजीहरू बारे सुन्दा ऊ कसरी चिल्लाकारमा हुइँकिन सक्छ ? दुई छाँक मात्र जोहो गर्न भारत जान बाध्य विरेन्द्र यादवहरूले आज आपm्नै देशको माटो स्याहार्न फर्कदा रोक र भोकले बाटोमै प्राण त्याग्नु परेको विवसता किन बुझ्न सक्दैनन ऊ ? ५० वर्षीय वृद्ध यमप्रसाद खनाल हुन या ६ वर्षीय बालक या २० वर्षे यूवक उपचार विना क्वारेन्टाइनमा मरिरहँदा किन चासो राख्दैन ऊ ? यी हजारौं दुखी आत्माको चिच्याहाटबीच साथी सम्झिनुहोस् अनि सुध्रिनुहोस् छ भने तागत यही बेला हो, शौर्य बढाउनुहोस् भोलि अर्को नेपालीको मृत्युको दुःखद समाचार सुन्नु नपरोस तिम्रो म जस्ता शुभचिन्तकहरूले छैन तागत, फगत त्यो झण्डा हल्लाएर हजारौं आत्माहरूको सराप नबोक्नुहोस् गरिबको नाममा तपाई नव सामन्तीहरूको सुरक्षा कवच नबन्नुहोस् यही सल्लाह छ मेरो प्रिय साथीलाई । तिनै मेरो साथी अहिले माननीय मन्त्री हो साँच्चै भनेको हजुर उहाँ अहिले माननीय मन्त्री । #उहाँ अहिले माननीय मन्त्री #मनोज कुमार कँडेल #हजुर |
छन्द बचाऊँ अभियान र मेरा अनुभूति: स्पन्दन बिनोद लामो काव्यिक इतिहास बोकेको हाम्रो नेपाली र संस्कृत छन्दको संरक्षण र विकासमा “छन्द बचाऊँ अभियान -२०५३“ ले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । छन्द बचाऊँ अभियान नै चलाएर छन्दलाई विश्वव्यापी रूपमा फैलाउन र यसको प्रभाव विश्वभरका साहित्यकारहरूमा पार्न सक्रिय रूपमा लागिरहनु भएका आदरणीय अग्रज छन्द अभियन्ता माधव वियोगीज्यू छन्द प्रेरणाका अनुपम दृष्टान्त मान्न सकिन्छ । जुन अभियानका प्रभावले हालसम्म दर्जनौं संस्थाहरूले छन्द अभियान चलाएको पाइन्छ । विशेष गरी युवा वर्गहरूमा छन्दको मोह पुन जागृत भएको महसुस मैले गरेको छु । २०५२ सालमा गोरखापत्रमा कविता छापेर आफ्नो काव्य यात्रा शुरू गरेको म सानै उमेरमा परदेश बसाइ सरे पनि नेपाली भाषा र साहित्यमा निरन्तर साधनारत छु । यस छन्द बचाऊ अभियानको प्रभाव नेपालमै रहदाँ २०५६ र ५८ तिरको समयमा गुरुकुलबाटै भएको हो। अनाममण्डलीको बहर गजल स्थापनाकालदेखी सहयात्रा र गुरुकुल अनि बाल्मिकी क्याम्पसमा हुने छन्द कविताका कार्यक्रमले विशेष रूपमा मेरो मनमा छन्दको सुवास छरेको हो । यस “छन्द बचाऊँ अभियान-२०५३” का कारण परदेशमै रहँदा पनि धेरै थोरै छन्द ज्ञान र अग्रजहरूसँग साक्षात्कार गर्ने मौका मिलेको छ। यसको प्रत्यक्ष प्रभाव म जस्ता छन्द साधक र अभियन्तामा पर्ने गरेको छ । यसले नेपाली छन्द भाषा साहित्यलाई विश्वब्यापी गराउन महत्वपूर्ण भूमिका खेलेको छ र यसको श्रेय आदरणीय अग्रज अभियन्ता माधव वियोगीज्यूलाई जान्छ । लामो समयसम्म लण्डन बसाईको क्रममा पनि शास्तृय छन्दका गजल लेख्ने कोही कतै भेटिएन तर कही कतैबाट फेसबुकले छन्द कवितामा कलम चलाईरहेका गोपाल मन्डने दाजुसँग चिनजान गरायो। लामो समय लण्डन बसेर हाल पोर्चुगल बस्दै गर्दा थुप्रै संघ संस्थाहरूसँग हातेमालो गरेर नेपाली भाषा साहित्यलाई विश्व जगतमा जीवितै राख्ने अथक प्रयास भइरहेको छ । छन्दका गजल होस् या छन्दका कविता लेखेर पाठक र श्रोतामाझ सामाजिक संजाल तथा साहित्यिक कार्यक्रममा पुगिरहनुले पनि विश्व जगतमा “छन्द बचाऊँ अभियान-२०५३” अभियानले पारेको प्रभाव प्रष्ट हुन्छ। बेला बेलामा नेपाली छन्द बहस चलाउने गरेको छु, सामाजिक सन्जालबाट छन्द साहित्यकारहरूको आलेख लिने र सम्पर्क गर्ने पनि गरेको छु ।साथै छन्दमै साधनारत सर्जकहरू बिच समन्वयता कायम गरि निरन्तर यसको विकास र संरक्षणमा एकल रूपमै लागिरहेको छु। तर राज्यमै केही अभियन्ताले अकविलाई कवि भनिनू र गुट र राजनीतिका आधारमा छन्दकवि भनी वाचकलाई धमाधम झूटो इतिहास लेख्न खोज्नुले राष्ट्रिय स्तरमा महान अभियन्ता माधव बियोगीज्यू र परदेशमा रहेका म जस्ता छन्द अभियन्ताको मनमा पीडा र क्रोध उब्जेको छ। नेपालमै वर्षौँदेखि नेपाली छन्द आकासका नक्षत्रहरूको सम्मान गरिनु पर्छ र परदेशका असल छन्द सर्जकको पहिचान गरि आलेख तयार गरिनु पर्छ भन्ने मेरो मान्यता रहेको छ। छन्द कविता वाचन गर्नेलाई पनि केही अग्रजहरूले प्रखर छन्द कवि भनिदिनु, भाषागत त्रृटी राखेर छन्दका कार्यक्रम गरिनु र अग्रज छन्द अभियन्ताहरूको बेवास्ता गरिनुले केही नकारात्मक प्रवृत्ति मौलाउन खोजेको हो कि भन्ने युवा वर्गको गुनासो छ । अबको युगमा युवाले वाचन मात्र गर्ने वा अरुलाई भाव सम्पादन गराई गद्य कवितालाई पद्य बनाई वाचन गर्ने वाचकलाई छन्द कवि भन्ने गलत प्रवृती रोक्ने छन् र नेपाली छन्द अभियानका अग्रजको सम्मान गर्नु अत्यावश्यक हो भन्ने चेत गराउने छन्। मेरो दुई दसक भन्दा अघि सुरु भएको छन्द साधना निरन्तर रहेको छ र जिवन्त यसको अभियान जारी राख्नेछु। नेपाली भाषा, साहित्यको श्री बृद्धीका लागि छन्द अभियन्ता भै परदेशबाटै गलत प्रवृतीको चिरफार गर्दै अग्रजको सम्मान गर्दै निरन्तर छन्द साहित्य सिर्जनातर्फ सम्पूर्ण नेपालीलाई चेत दिलाई रहनेछु र आफू पनि लागिरहने छु। आफ्नो चेत मनस्थितिले छन्दको अभियानमा जीवनका पलहरू व्यतित गरी रहेको मैले हालसम्म सयौं छन्द कविता र छन्द गजलका साथमा छन्द गीत र छन्द मुक्तक लेखी सकेको छु । धेरै भन्दा धेरै समाचार पोर्टलमा र पत्रिकामा निरन्तर छापिएका छन् । हाल म महाकाव्य लेखनको तयारीमा साधनारत पनि छु । परदेशमा रहेकाले नेपाली भाषा, व्याकरणको कम ज्ञान हुनु र नेपालमा रहने नेपाली स्रष्टाहरूको परदेशमा बस्ने नेपाली सर्जकप्रति राख्ने हेय दृष्टिकोणले पनि नकारात्मक प्रभाव पर्ने गरेको छ । कुनै पनि परदेशमा रहेका छन्द अभियन्तालाई राष्ट्रले सम्मान वा पुरस्कृत गरेको पाइँदैन । यस्ता धेरै उदारणहरू छन् जसले विश्व बजारमा नेपाली छन्द साहित्यको अभियान लिएर हिड्ने म जस्ता सर्जकलाई ठेस लागिरहेको छ । तर औँलाले गन्न मिल्ने केही छन्द सर्जकहरू निरन्तर रूपमा लागिरहनु भएको छ। जस्तै पोर्चुगलबाट मैले हरेक कार्यक्रममा “छन्द बचाऊँ अभियान-२०५३” बारे बोल्ने र छन्दकै रचना सुनाउने गरेको छु । संस्थागत रगपमा अनेसास पोर्चुगलबाट यो कार्य निरन्तर भैरहेको छ।केही सिक्न चाहने विश्वभरका युवाहरूलाई पनि सामाजिक सन्जाल मार्फत छन्द प्रशिक्षण दिइरहेको छु। यसरी नेपाली छन्दको प्रभाव विश्वभर सकारात्मक रूपमा अघि बढेको छ भने परदेशमा रहेर निरन्तर छन्दमा कलम चलाउने म जस्ता नेपाली छन्द अभियन्ताहरूको आलेख नराखिनुले छन्द अभियन्ताको भविष्य अन्योलमय देखिन्छ। “छन्द बचाऊँ अभियान- २०५३” को प्रस्तावमा नेपाल सरकार,पन्चाङ्ग निर्णायक समितिले अभियान आरम्भ भएको दिन वैशाख ८ गतेलाई छन्ददिवसको मान्यता दिएपछि छन्दका पारखी र अन्य सबै देश विदेशमा रहने नेपालीलाई गौरवको अनुभूति भएको छ ।छन्ददिवस र अन्य दिनमा पनि हामीले कम्तीमा यौटा छन्द रचना सामाजिक संजालमा राख्नुले पनि छन्द र छन्द दिवसप्रति मान्छेको चासो अझ बढ्दै गएको महसूस मैले गरेको छु, सबैले गरेका छन् । परदेशमै रहेर नेपाली छन्दसँग हातेमालो गर्दै दुई गजल संग्रह पनि प्रकाशित गरेको छु । युवा पुस्तामा केही गायकर गायिका र सामान्य साहित्य अनुरागीहरूको पनि छन्द वाचन मोहले पनि परदेशमा छन्दको विकास तीब्र गतिमा अगाडि बढेको पाइन्छ । त्यसो त मैले स्वयम् पोर्चुगलका प्राय सामाजिक कार्यक्रममा समेत छन्दका कविता वाचन गर्ने गरेको छु र जनसमुदायले सधै प्रेरक प्रतिकृया दिनुलाई सकारात्मक प्रभावको रूपमा लिएको छु । २०१८-२०२० मा अनेसास पोर्चुगलको महासचिव भै रहँदा थुप्रै साहित्यिक कार्यक्रम र बहसमा छन्द समेटेको थिएँ। २०२०-२०२२ सम्मको लागि अनेसास पोर्चुगलको अध्यक्ष निर्वाचित, मैले नेपाली छन्दको अभियान अगाडि बढाई टेवा दिई रहेको छु । हरेक नेपाली अमर अग्रजहरूको जन्मजयन्तीमा गरिने कार्यक्रममा पनि म अनेसाससँग आवद्ध भएदेखि नै निरन्तर छन्दको प्रशिक्षण गर्ने र गराउने क्रम निरन्तर रहेको छ । जसमा “छन्द बचाऊँ अभियान-२०५३” र अग्रज अभियन्ता माधव बियोगी ज्यूले प्रेरक भूमिका खेलेको पाएको छु । केही समय अघि नेपाली छन्द आकाशमा रूमल्लिएको विषादयुक्त बादलको विरूध्द लेखेको थिएँ । कसैले छन्दको नाममा धावा बोल्छ र अग्रजका कामको मूल्याङ्कन नगरी आफ्नै मात्र बखान गर्छ भने त्यस्तो प्रवृत्तिका विरूध्द म बुलन्द आवाज उठाई रहने छु । जसले अहम् हटाई सद्भावको विकास गर्ने विश्वास पनि लिएको छु । केही छन्दकै हिमायती हुँ भन्नेको अहमता र आफन्तवादका कारण थोरै यसको गरिमा खस्किएको महसुस मैले गरेको छु। छन्द अभियानमा लाग्दा आफूलाई पहिले पहिले भाव आएन वा छन्द सन्द भनेर नउफ्री भन्ने जस्ता बाधा अड्चन थुप्रै आए पनि बिस्तारै निरन्तर सामाजिक संजाल र बिभिन्न संघ संस्थाका कार्यक्रममा बोल्ने क्रममा छन्द कविता बाचन गरे पछि वाह वाही पाउन थालेको छु। यूरोपमा पोर्चुगलबाट म बाहेक अरू छन्द अभियन्ता मैले देखेको छैन र यदि भए पनि छन्दको साधना प्रचुर देखिन्न। पछिल्लो समयमा यहाँका केही संघ संस्थाले साना बालबालिकाहरूलाई नेपाली भाषा प्रशिक्षणमा खेलेको भूमिकालाई पनि सकारात्मक रूपमा लिन सकिन्छ। साथै केही परिचित साहित्यकारहरू जस्तै सुनिल सँगम, वाई वी गुरुंग यस “छन्द बचाऊँ अभियान-२०५३” कै प्रेरणाबाट पिंगल छन्द अभ्यासमा लाग्नु भएको छ। यस अभियानले हामी जस्ता सक्रिय छन्द साधकलाई वाद्गुट्राजनीतिबाट बाहिर राखेर राष्ट्रिय सम्मान दिन सकोस् र छन्द साहित्यको विश्वव्यापिकरणमा हाम्रो योगदानको कदर होस् भन्ने आशा पनि व्यक्त गर्दछु। #स्पन्दन बिनोद |
जुरेलीको प्रेम: आए एक जोडी जुरेली बसे रमाए मेरो आँगनमा प्रेम दर्शाए, अलि घुक्र्याए प्रेमले नै एक आपसमा । ठुस्स परेर भाले उड्यो पोथीले पनि मुन्टो घुमाइ एकछिनमा भाले आयो पोथीले प्रेम बर्साई माया साटासाट भयो मीठो आलाप भयो फुर्र उडेर भाले गयो पोथीको विरह चल्यो । पोथी उडेर पछ्याई छोड्दिन भनेर हक जताइ फेरि दुबै सँगै आए एकआपसमा बहुत रमाए । बन्दाबन्दीले मान्छे खुम्च्यो प्राणी सबले ठाउँ पाए तेरो मेरो केही नहुनेले खुल्ला रुपमा बिचरित भए । बर्चस्व खातिर सँग्रह सुरक्षा के यही हो मानव अभिष्ट ? जुरेली जस्तै स्वतन्त्र हुन रोक्छ किन हाम्रो अभिष्ट ? अस्तित्व सबको एक समान श्रृष्टिकर्ताको नजरमा आऊ मिलेर बगँैचा सजाउँ भाइचाराको मर्ममा । #जुरेलीको प्रेम #दीपकराज सापकोटा |
सन्तोषको गजल: पढेर नसकिने अनेकौं समाचार छन् आफूलाई बेचिदेऊ भनी लम्पसार छन् । रंगिन दुनियाँमा रंगिन सपना बोकी दुई दिनलाई आउने जाने हजार छन् । तिम्रै मनसँग खेलेर तिम्रै आँखा सामु तिम्रै बदनाम हेर्न मानिस तयार छन् । दानीहरुको मेला लाग्ने तिम्रो सहरमा न्याय रोज्नेहरू पो यहाँ दोषी करार छन् । सबै छन कमाउन धन्दा अनेकौं यहाँ मायाकै किनबेच हुने पनि व्यापार छन् । #सन्तोषको गजल |
डल्ला फोर्दै जाऔँ: कान्ला कान्ला सिर्जनाको रेखा कोर्दै जाऔँ गह्राभरी जाँगर पोखी डल्ला फोर्दै जाऔँ । स्वाभिमान थिचिन्छ कि थिच्न दिनुहुन्न साँध किल्ला मिचिन्छ कि मिच्न दिनुहुन्न सगरमाथा जस्तै उच्च शिर हुनुपर्छ यो देशलाई जोगाउने वीर हुनुपर्छ । आकाश छुन धौलागिरी अझ अग्लो हुन्छ हिउँ पग्ली पहाड र तराईलाई धुन्छ हिमाल, पहाड, तराईलाई एकै ठाउँमा घोलौँ जब एउटा होस्टे भन्छ अरू हैँसे बोलौँ । पाखुरीमा हिम्मत र आँट जुटाएर हत्केलामा डाँडाकाँडा पहाड उठाएर नेपालको माटोलाई जोगाएर राखौँ अन्तै जाला गौरव हाम्रो सम्हालेर राखौँ । मेची, कोसी, गण्डकीलाई अँगालोले छोपी यो पानीले यै खेतको टारी, खेत रोपी कान्ला कान्ला सिर्जनाको रेखा कोर्दै जाऔँ गह्राभरी जाँगर पोखी डल्ला फोर्दै जाऔँ । #डल्ला फोर्दै जाऔँ #रमेशचन्द्र घिमिरे |
भ्रम: शरद ऋतु फेरि आइपुग्न लाग्यो पारिजातका फूलहरू फेरि फुल्न थाल्यो । उही ऋतु उही पारिजातको सुगन्ध सँगसँगै बिदा गरेका थियौँ भुलेका त छैनौ होला ! मबाट कतै धेरै टाढा लैजान खोज्यौ होला आफूलाई हरेक यादहरूसँग पनि सम्बन्ध तोड्न खोज्यौ होला हाम्रो ऋतुलाई घृणा गर्न थाल्यौ होला पारिजातका सुगन्धबाट भाग्न थाल्यौ होला । तिमीलाई स्पर्श गर्ने हावाहरू मलाई नै चुमेर आउँछन् तिमीसँग ठोक्किने पानीका हरेक थोपासँग म परिचित छु । तिमीलाई न्यानो दिने घामले मेरो शीतलता चोरेको छ तिमीलाई शीतल दिने जूनले मेरो न्यानोपन हरेको छ । भन्थ्यौ नि, तिमीदेखि यति टाढा जान्छु न त्यहाँ कुनै ऋतुको मूल्य हुन्छ न त कुनै पारिजात नै फुल्छ अनि कसरी आउँछ तिम्रो याद ? सुन त त्यहाँ हावा त चल्छ नि पानी त पर्छ नि घाम लाग्दैन ? अथवा जून देखिँदैन ? उसको याद अझै आउँछ भन्दा माथि–तल होइन दायाँ–बायाँ मुन्टो हल्लाउँछौ रे तिमी भ्रममा छौ प्रिय तिमीले मलाई सम्झिन बिर्सेको छैनौ तिमीले त मलाई बिर्सिन बिर्सेको छौ । #भ्रम #युनिशा अर्याल |
रात: हेर्दा त कति सुनसान र अन्धकारले भरिपुर्ण छ यो रात एक चोटी चट्ट आफ्नो सयन कक्ष बाहिर नियालौँ त केवल शुून्यता हुन्छ हाम्रो चक्छु भन्दा अगाडि यो रातमा । न कुनै हर्षको गान न त कसैको बहकिलो शान छ त केवल शुन्यताको भिमकाय भानस यो रातमा आहा कति यथार्थ छ यो रात त्यो उज्यालो दिनभन्दा सत्य, यहाँ सोच्छ दिन भन्दा त कैंयौं गुणा यथार्थ हुन्छ त्यो बादल शुन्य रातको प्रविर्ती । सायद यो धाराको कथा रात विहीन भएको भए विज्ञान यति बलवान हुन असमर्थ हुन्थ्यो अनि दर्शन अस्तित्व विहीन आखिर यो ब्रम्हाण्ड भन्दा कैंयौं कोष पर हाम्रो मस्तक पुर्याउने यो रात त हो ! यहाँ कल्पनालाई शिखर सम्म लग्ने साँच्चै रात एक रोमाञ्चित साथ हो । तर सरलताको कुनै निसान हुदैन मित्र, यो रातमा यो रातमा त केबल अनुमान नै हुन्छ सच्चा सरलता । साच्चै ! कति सुनसान र अन्धकारले भरिपूर्ण छ है यो रात एक चोटी चट्ट आफ्नो सयन कक्ष बाहिर नियालौँ त केवल शून्यता हुन्छ हाम्रो चक्छु भन्दा अगाडि यो रातमा #राजेन्द्र ओझा (नयन) #रात |
खराब सपना होस्: ध्यानमा बस्न खोज्छु आँखाभरि चित्र आइरहन्छ प्रश्न उठिरहन्छ चलाउने को होला ? त्यो प्राकृतिक शक्तिलाई युगौँ देखि शान्त त्यो विषाणुलाई यति उग्र रिसाउने पारेर बिच्क्याउने को होला त्यसलाई ? संसारै कब्जा गरेर देखाउँदैछ ऊ आफ्नो शक्ति अदृश्य छ आफू यी सादा आँखाले के पत्तो लाउँनु ? औषधि उपचार कहाँ छ र पाउँनु ? सर्वत्र फिजाई आफ्ना सेनाहरू एक एक गरी आक्रमण गर्दैछ सखाप पार्छु भन्दैछ यो धराको मानवको अस्तित्व अवतारै लिई आएको हो की ? यो कलियुगमा मान्छेको ज्यादति अति र खति सुधार्न पो आएको हो की ? विवेकहीन मान्छेहरू पशु पङ्छीलाई चिथोर्न त पल्किएकै थिए यो विषाणु त उल्टो देखियो जो मान्छेलाई नै पछार्न पल्कियो ।। यति कडा महामारी कहिले भोगेको थियो र मान्छेले ? मान्छे उन्नति गरेँ भन्छ विकासको शीखर चढेँ भन्छ आफैँले आफूँलाई वरिष्ठ ठान्छ तर आज त नतमस्तक छ ! यी आँखा खोल्नै मन छैन यी अत्यास लाग्दा मानव मृत्युका खवरहरू कुनै खराब सपना होस् यो सुन्दर संसारका पवित्र आत्माहरू अनि मेरो सौम्य, शान्त, स्वर्गीय गाउँघर यो अदृश्य विषाणुको आतङ्कले कदापि सखाप नहोस् ।। #बैजयन्ती पोखरेल |
अद्भूत रारा ! जहाँ नपुगे जीवनमा 'सौन्दर्यको मोक्ष' प्राप्त हुँदैन: समुन्द्र सतहबाट २९९० मिटर उचाइमा अवस्थित राराको सौन्दर्यले हरकोहीको मन हर्छ । अद्भुत छ रारा ! सौन्दर्य पारखीका लागि भव्य तीर्थ भन्दा पनि हुन्छ। जहाँ नपुगे जीवनमा ‘सौन्दर्यको मोक्ष’ प्राप्त हुँदैन भन्दा उत्तम हुन्छ । चारै तिर हरियो जंगज ! बीचमा नीलो ताल ! जुन पाँच किलोमिटर लम्बा र तीन किलोमिटर चैडामा फैलिएको छ । जुन कुनाबाट हेरे पनि नीलो दहमा हिमालको छायाँ लैबरी लेख्छ । बादलले पानीमा डाइभ हान्छ । हेरेर आँखा अगाउँदैन । तालबाट उत्पति हुने पानीको संगीत सुनेर कान थाक्दैन । जति हेरो, उति हेरिरहूँ लाग्छ । सयौं मान्छेको सपना हो, रारा पुग्नु । नेपालगन्जबाट सिधै हवाइजहाज चढेर मुगुको ताल्चा विमानस्थल पुग्न सकिन्छ तर हवाइजहाजको टिकट पाउनु चानचुने कुरा हैन है। अथवा, हवाइजहाज पाउनु भएन भने नेपालगन्ज वा कोहोलपुरबाट बस चढेर सुर्खेतसम्म जान सकिन्छ ! जसको समय दुई घण्टा तीस मिनेट हो । सुर्खेतबाट सार्वजानिक बस चल्छ, कर्णालीको तिरैतिर ! जुन बसले झन्डै चौबिस घण्टा यात्रा गर्छ र पुग्छ मुगुको ताल्चा वा गमगडी । गमगडीबाट दुई घण्टा र ताल्चाबाट एक घण्टाको पैदल यात्रा हो रारासम्मको । रारा किनारमा खान बस्न दुई होटल छन् । राराको खास सौन्दर्य हेर्ने हो भने राराको किनारा हैन, मुर्मालेक (मुर्माटप) पुग्नै पर्छ । जहाँबाट राराको सिंगोरुप देख्न सकिन्छ । जहाँबाट कर्णालीका पाँच जिल्ला र सुदूरपश्चिमका दुई जिल्ला नांगो आँखाले हेर्न सकिन्छ । जहाँबाट सिमानामा उभिएका अनुशासित सिपाहीजस्ता सुन्दर हिमाल चारैतिर बडो अनुशासित भएर उभिएको देखिन्छ । मुर्मालेक पुगिएन भने राराको यात्रा अधुरो हुन्छ । हिमाल र राराको अद्भूत सौन्दर्यको गहिराईमा एकैपल्ट डुब्ने हो भने मुर्मा जानै पर्छ । जहाँ डब्बल डोजमा मज्जा लिन सकिन्छ । यात्रामा सडक मार्गको प्रयोग गर्ने हो भने एक रात ताल्चा वा गमगडीमा बास बसेर थकाई मार्न सकिन्छ । भोलिपल्ट बिहान उठेर चिसो बतासको लहरमा आनन्द लिँदै ताल पुग्न सकिन्छ । दिनभर ताल घुमेपछि साँझ मुर्माटपतिर लागे हुन्छ । बीचमा असाध्य सुन्दर र आत्मिय मान्छेहरु बस्ने गरेको साह्रै सुन्दर गाउँ भेटिन्छ । गाउँमा एक रात बास बसेर स्थानीय रहनसहन र स्थानीय भोजनको स्वाद चाख्दै रात बिताउनु कम्ता काइदा हुुन्न । भर्खरैै होमस्टेको सुरुवात भएको छ गाउँमा । लोकल प्रेम र आत्मियताले हुरुक्कै बनाउँछ । भोलिपल्ट बिहान गाउँलेसँग बिदाबारी भएर मुर्माटपतिर लाग्ने हो भने झन्डै डेढ घण्टामा सजिलै अन्तिम उचाइमा पुगिन्छ । रहर पुगुन्जेल मुर्मालेकबाट हिमाल र राराको आनन्द लिएपछि त्यही दिन ताल्चा वा गमगडी झरेर आराम गर्न भ्याइन्छ । भोलिपल्ट नेपालगन्ज वा सुर्खेत फर्कन बस वा हवाइजहाज चढ्ने व्यवस्था मिलाउँदा हुन्छ । काठमाडौँबाट रारासम्मको खर्च हवाइजहाजबाट यात्रा गर्दा न्यूनतम तीस हजारदेखि चालीस हजार हाराहारी हुन जान्छ । सार्वजनिक बसमा यात्रा गर्ने हो भने न्यूनतम पन्ध्रदेखि बीस हजारसम्म प्रतिव्यक्ति पर्न जान्छ । तर राराको सौन्दर्य पैसासँग तुलना हुनै सक्दैन। साहित्यकार रमेश सायन ठाउँहरु घुम्न र फोटोग्राफीमा विशेष रुचि राख्छन् । उनको संस्मरणात्मक कृति छुटेका अनुहारले पद्मश्री पुरस्कार प्राप्त गरेको छ । सबै तस्विरहरु साहित्यकार सायनले खिचेका हुन् । #रमेश सायन |
बाँसुरीवाला: ईगम खालिङ कंशलाई आफ्नो मृत्युको भयले कतै नै कतैबाट सताइरहन्छ । कति महासुरहरूलाई उनले कृष्णको वध गर्न पठाउँछ, तर उल्टा तिनीहरूको वध कृष्णले गरिदिन्छन् । एकदिन चिन्तित कंशको सामु इच्छासुर र अहमासुर अचानक प्रकट हुन्छन् । तिनीहरूले कंशलाई कृष्णको वध गरी शुभसमाचार लिएर चाँडो फर्कने कुरा सुनाउँछन् । तिनीहरूका शक्ति अनि आत्मबल देखेर कंशको विश्वास अझै बढेर जान्छ । कंशले तिनीहरूलाई गोकुल शीघ्र गएर कृष्णको वध गरी फर्कीआउने आशीषस्वरूप आज्ञा दिन्छ । इच्छासुर अनि अहमासुरले रूप परिवर्तन गरेर कृष्णलाई गोकुलभरि खोज्छन्, तर भेटाउँदै-भेटाउँदैनन् । पछि वृन्दावनभित्र खोज्दै जाँदा पो तिनीहरूले कृष्णलाई यमुनाको किनारस्थित एउटा वृक्षको फेदमा बसेर टोलाइरहेका देख्छन् । तिनीहरूले कृष्णलाई पछिबाट आक्रमण गर्ने निर्णय लिन्छन्, अनि चालमारेर अघि बढ्छन् । तिनीहरू जस्तो कृष्णको नजिक पुग्छन्, त्यस्तै कृष्णले बाँसुरी बजाउन थाल्छन् । त्यो बाँसुरीको धुन यति मधुर अनि अलौकिक थियो कि तिनीहरू कुनै समय लिइबिना नै त्यसमा डुबिपठाउँछन् । त्यस धुनमा तिनीहरू परमाणुभन्दा पनि सूक्ष्म भएर प्रकाशको रफ्तारको गतिभन्दा पनि तेज रफ्तारमा सम्पूर्ण भाव अनि अभावहरूको यात्रा गरिपठाउँछन् । जन्म र मृत्युको रहस्यको दर्शन गर्दै साथै पृथ्वी, सौरमण्डल, अनि आकाश-गङ्गा हुँदै ब्रह्माण्डको एउटा अद्भुत यात्रा गरिपठाँउछन् । जब कृष्णले बाँसुरी बजाउन बन्द गर्छन् तब तिनीहरू सिधै चौरासी लाख जुनिबाट झस्कन्छन् । कृष्णको वध गर्नको सट्टा उनका चरणस्पर्श गरेर तिनीहरू त्यहाँबाट निस्कन्छन् । उता वृष्णिको मथुरामा कंशले ती दुई महासुरहरूले खुशीको खबर ल्याएर फर्किन्छन् भन्ने आशामा पर्खिरहन्छ तर तिनीहरू कहिल्यै फर्की आउँदैनन् । [email protected] #ईगम खालिङ |
यी किशोरीको डायरी पढेपछि...: मलाई कुनैपनि किताब पढ्न सुरु गरिसकेपछि सकभर छिटो सकिहालौँ लाग्छ तर एनी फ्य्राङ्कको ‘द डायरी अफ अ योङ गर्ल’लाई करिब पच्चिस दिन लगाएर सकेँ। यो त्यति धेरै समय लगाउनुपर्ने किताब त होइन, तर मलाई लाग्यो। मैले पढेको उक्त किताब ६०औं संस्करणको थियो। सायद आजसम्म सबैभन्दा धेरै पढिएका किताबहरुको सूचीमा यो पुस्तक पनि अगाडि नै आउँदो होला। पढिसकेपछि मलाई पनि यो निकै राम्रो पुस्तक रहेछ भन्ने लाग्यो। त्यस्तै ज्ञानबर्धक र मर्मस्पर्शी पनि। [bs-quote quote=”सामान्य रुपमा हेर्ने हो भने यो केवल एउटा किशोरीको डायरी मात्रै लाग्न सक्छ तर पढ्दै जाँदा यसका धेरै पत्रहरु खुल्दै जान्छन्, जसका कारण यसलाई एउटा डायरीको रुपमा मात्र सीमित राखेर पढ्न सकिंदैन। यो डायरी विश्व इतिहासको त्यो कालो कालखण्डको सबुत हो, जसमा यहुदीले यहुदी भएकै कारण अनेकौं यातना र नरसंहार भोग्नुपरेको थियो।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] सामान्य रुपमा हेर्ने हो भने यो केवल एउटा किशोरीको डायरी मात्रै लाग्न सक्छ तर पढ्दै जाँदा यसका धेरै पत्रहरु खुल्दै जान्छन्, जसका कारण यसलाई एउटा डायरीको रुपमा मात्र सीमित राखेर पढ्न सकिंदैन। यो डायरी विश्व इतिहासको त्यो कालो कालखण्डको सबुत हो, जसमा यहुदीले यहुदी भएकै कारण अनेकौं यातना र नरसंहार भोग्नुपरेको थियो। विशेषतः यो डायरी एनीको परिवार तानशाह हिट्लरद्वारा निर्देशित नाजी आर्मीको नरसंहार छल्न जर्मनबाट भागेर नेदरल्यान्डमा लुकेर बस्दा लेखिएको हो। उनीहरु यसरी एउटै घरमा लुकेर बसेको अवधि दुई वर्षको छ— सन् १९४२ देखि १९४४ सम्म। उक्त समयावधिमा एनीले गोप्य ठाउँमा लुकेर बस्दा दिनहुँजस्तो भोगेका, सुनेका, पढेका र मनमा लागेका कुराहरु टिप्दै जाँदा यो डायरी तयार भएको हो। यो किताबका केही पत्रहरु, जुन मैले किताब पढ्दै जाने क्रममा मनन गरेको थिएँ, यहाँ चर्चा गर्न चाहेँ— एनी र उनको परिवार जर्मनबाट भागेर नेदरल्यान्डमा शरण लिन पुग्दा उनी जम्मा १३ वर्षकी थिइन्। हामी सबैलाई थाहा भएकै कुरा हो, यो उमेरमा किशोरकिशोरीहरु अलि बढी चुलबुले र जिज्ञासु स्वभावका हुन्छन्। शारीरिक र मानसिक विकासको दृष्टिकोणले पनि एउटा महत्त्वपूर्ण कालखण्ड हो, टिनएज। तर यही सिक्ने, खेल्ने र रमाउने उमेरमा कुनै एउटा घरमा बाहिरै ननिस्की लामो समय लुकेर बस्नुपर्दा एनीले भोगेका र त्यो दुई वर्षको अन्तरालमा अनुभव गरेका तमाम शारीरिक तथा मानसिक परिवर्तनहरुको सँगालो हो यो किताब। जब मान्छे आफ्नो कुरा कसैलाई व्यक्त गर्न असमर्थ हुन्छ, उसले भित्रभित्रै कुण्ठा पाल्न थाल्छ। कालान्तरमा त्यस्ता कुण्ठाहरु मानसिक रोग बनेर निस्कन्छन्। यद्यपि एनीको अभिव्यक्त हुने तरिका अलग छ। उनका अनुसार, यदि तपाईं कसैसँग आफ्नो कुरा खुलस्त भन्न सक्नुहुन्न भने त्यस्तो अवस्थामा कागज र कलमको सहारा लिनु नै उत्तम विकल्प हुन सक्छ। उनले एक ठाउँमा लेखेकी छन्—आवेगमा आएर मुखमा आएका सबै कुरा आफू अगाडिको मान्छेलाई ओक्ल्नुभन्दा बरु कागजमा लेखेर रिस पोख्नु राम्रो। कागज जस्तो धैर्यवान् र सहनशील—जसले तपाईंको सबै कुरा धैर्य गरेर सुनोस् अनि पचाओस्—मान्छे कदापि हुन सक्दैन। यो डायरी कोविद १९को महाव्याधिको क्रममा पढेका हुनाले पनि मैले यसलाई हामी बन्दाबन्दीको बेला घरमै बस्नुपरेको स्थितिलाई पनि जोडेर हेर्न खोजेँ। यी दुई परिस्थितिमा फरक यत्ति छ कि, हामी घरमै बसेर विषाणुबाट बच्दै थियौं, एनी र उनको परिवार मानवताको शत्रुको रुपमा आएको खुद मानवरुपी दानवबाट। यद्यपि कोरोनाको भन्दा हिटलरद्वारा रचित नरसंहार कैयौं गुना बढी कहालीलाग्दो र अमानवीय थियो। हामीले पनि बन्दाबन्दीमा घरै बस्दा धेरै अप्ठेरा परिस्थितिहरु भोग्यौं, धेरै कुरा गुमायौं पनि। त्यस्तै एनी फ्य्राङ्क, उनको परिवार र समस्त यहुदीहरुले पनि धेरै कुरा गुमाएका थिए। धेरै कष्टकर दिनहरु भोगेका थिए। हरदिन सुनिने गोलीका आवाजले गर्दा उनीहरुले श्वासभन्दा बढी मृत्युभय फेरेका थिए। उनीहरुमा पनि अरुसरह जीवन जिउने चाह थियो, तर यहुदी भएकै कारण उनीहरु त्यसबाट पुरै वञ्चित हुनुपर्यो। त्यस्तै डायरीमा एनीले उनी र उनको आमाको बीचको चिसो सम्बन्ध र बुबासँगको सुमधुर सम्बन्धको पनि धेरै नै चर्चा गरेकी छिन्। उनलाई सधैं लागिरह्यो—उनकी आमाले उनलाई कहिल्यै माया गरिनन्, कहिल्यै बुझिनन् र बुझ्ने कोसिस पनि गरिनन्। फेरि कहिले उनलाई लाग्थ्यो— आमाको स्वभाव आफैँमा त्यस्तो होइन, परिस्थितिले गर्दा अलि झोंक्की र चिढचिढे भएकी हुन्। उनी सबै कुरामा अलि दुविधामा देखिन्छिन्। हुन त उनको उमेर नै त्यस्तै थियो। यद्यपि धेरै ठाउँमा उनको आमा प्रतिको दृष्टिकोण त्यति राम्रो देखिदैन। कहीँकहीँ उनी बुबा ओटोसँगको आत्मिय सम्बन्धमा पनि शंका व्यक्त गर्छिन्। उनी बुबालाई प्रेम गर्छिन् र ओटो पनि उनलाई हुरुक्कै गर्छन्। यहाँनेर बुबाछोरीको सम्बन्धलाई मनौवैज्ञानिक अवधारणा ‘इलेक्ट्रा कम्प्लेक्स’को दृष्टिकोढबाट पनि हेर्न सकिन्छ। बीचमा एउटा चिठीको प्रसंग छ, एनले ओटोलाई लेखेको। उक्त चिठी पढिसकेपछि बुबा ओटोले चित्त दुखाउँछन्। त्यो चिठीपछि बाउछोरीको सम्बन्ध केही चिसिएको पाइन्छ। यो चिठीको प्रसंग निकै मार्मिक छ किनभने चिठीमा एनीले आफूलाई आफूखुशी बाँच्न र निर्णय लिन दिनू भनी बुबालाई वचन लगाएकी हुन्छिन्। यो कुरा ओटोले सोचेका पनि हुँदैनन्, त्यसकारण उनलाई त्यो चिठीले निकै मर्माहत तुल्याउँछ। त्यस्तै उनीहरुसँगै त्यही घरमा लुकेको एउटा अर्को परिवार छ, भ्यान डनको। उनीहरु तीन जना छन्—मिस्टर भ्यान डन, मिसेज भ्यान डन र उनीहरुको छोरा, पिटर। एनको मिसेज भ्यान डनसँगको सम्बन्ध पनि त्यति राम्रो हुँदैन। उनी जहिल्यै एनीको कुरा नकार्छिन्, जुन एनीलाई पटक्कै मन पर्दैन। मिस्टर डसेलसँग एउटै कोठामा बसे पनि ऊसँग पनि एनीको राम्रो सम्बन्ध हुँदैन। उनकी दिदी मार्गोट र पिटरबाहेक एनको सबैसँगको सम्बन्ध त्यति राम्रो नभएको हामी पढ्दै जाँदा बुझ्न सक्छौँ। [bs-quote quote=”डायरीमा पिटरसँग आफू नजानिदो पारामा नजिक भएको कुरा पनि उनले स्वीकार गरेकी छन्। यद्यपि उनीहरुको उक्त सम्बन्ध प्रेम हो या आकर्षण मात्र भन्ने कुरामा भने दुवै विश्वस्त छैनन्। उनीहरुको पहिलो चुम्बनको प्रसंग, पिटरसँग खुल्न मन पराउने एनीको स्वभाव, पिटरको साथमा सहज महसुस गर्ने र पिटरलाई बारम्बार सपनामा देखिरहने कुराहरुको बयानले उनी पिटरलाई प्रेम त गर्थिन् तर विश्वस्त थिइनन् भन्ने कुरा दर्शाउँछ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] बा-आमासँग सम्बन्ध नराम्रो भए पनि छोरा पिटरसँग भने उनको नजिकको सम्बन्ध स्थापित हुन जान्छ। डायरीमा पिटरसँग आफू नजानिदो पारामा नजिक भएको कुरा पनि उनले स्वीकार गरेकी छन्। यद्यपि उनीहरुको उक्त सम्बन्ध प्रेम हो या आकर्षण मात्र भन्ने कुरामा भने दुवै विश्वस्त छैनन्। उनीहरुको पहिलो चुम्बनको प्रसंग, पिटरसँग खुल्न मन पराउने एनीको स्वभाव, पिटरको साथमा सहज महसुस गर्ने र पिटरलाई बारम्बार सपनामा देखिरहने कुराहरुको बयानले उनी पिटरलाई प्रेम त गर्थिन् तर विश्वस्त थिइनन् भन्ने कुरा दर्शाउँछ। उनीहरु बीच जस्तै अन्तरंग कुराकानी पनि सहजै हुन्थ्यो भन्ने कुरा पनि उनले डायरीमा खुलाएकी छन्। उनीहरुका केही बाहिरी सहयोगीहरु पनि छन्, जसले उनीहरुलाई रासन ल्याउनेदेखि लिएर धेरै कुरामा सहयोग गरेका हुन्छन्। यस्तो समयमा पनि सहयोग गर्नेहरुप्रति एनी सधैं कृतज्ञ छिन्। लामो समय एकै ठाँउमा बस्दा जस्तोसुकै प्रगाढ सम्बन्धमा पनि केही खट्पट् परिहाल्छ भन्ने कुरा पनि यहाँ बयान गरिएका फरक-फरक प्रसंगहरुबाट बुझ्न सकिन्छ। नेपालीमा उखानै छ नि— एउटै बिस्तारामा सुतेपछि गोडा लागिहाल्छ नि! त्यस्तै अवस्था त्यहाँ पनि रहेको कुरा यो डायरी पढ्दा थाहा लाग्छ। यस्तै उनको मानसिक स्थितिमा आउने परिवर्तन, उनको झोँक्की र मनमौजी स्वभाव पनि पढ्दै गर्दा बुझ्न सकिने कुराहरु हुन्। एनीको पठनपाठन र लेखनीमा विशेष रुचि भएको देखिन्छ। उनले लेखक हुने सपना पालेकी रहिछन्। यसैक्रममा उनले केही कथाहरु पनि लेखेकी थिइन्। उनी ती कथाहरु छद्म नाममा भए पनि छपाउन चाहन्थिन् तर प्रतिकूल समयका कारण उनी आफ्नो सपना दबाउन बाध्य हुन्छिन्। यद्यपि उनको स्वभाव आशावादी छ। उनलाई विश्वास छ— यो सबै एक दिन सकिन्छ र उनीहरुको जीवन पहिलेजस्तै सामान्य स्थितिमा फर्किन्छ। त्यसैले एनीको सकारात्मक र आशावादी सोच एकदम प्रशंसनीय छ। उनीहरु लुकेर बसेका भए पनि जन्मदिन र चाडहरु आफ्नो स्थितिअनुसार मनाइरहेका हुन्छन्। बाहिरी संसारको जीवन र भित्री संसारको जीवनको दुई तहमा विभाजित भए पनि उनीहरु आफ्नो गच्छेअनुसार उपहार लिने-दिने र फरक-फरक खानाका परिकारहरु बनाएर खाने गर्छन्। तर कहिलेकाहीँ खानाको अभावमा एउटै कुरा बारम्बार पकाएर खानु परेको कुराहरु पनि एनीले खुलाएकी छन्। एनी नयाँ भाषा र नयाँ कुरा सिक्न हरदम उत्साहित थिइन्। उनी आफूलाई आत्मविश्वासी र स्वावलम्बी भन्न रुचाउँछिन्। यसरी जस्तोसुकै प्रतिकूल परिस्थिति भए पनि हामी सधैँ सकारात्मक सोच राखेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश यसै डायरीबाट ग्रहण गर्न सकिन्छ। कहीँ कहीँ एकदम झिना-मसिना घट्नाहरु पनि बयान गरेकाले केही अल्छी लाग्छ तर उनलाई डायरी लेख्दा आनन्द आउने हुँदा र उनको उमेरलाई मध्यनजर गर्दा ती कुराहरु सहजै पचाउन सकिन्छ। अर्को महत्त्वपूर्ण कुरा के छ भने, पाना पल्टाउँदै जाँदा उनको लेखनीमा आएको वैचारिक परिपक्वता र गाम्भीर्यता पनि महसुस गर्न सकिन्छ। यी त डायरीमा बयान गरिएका मुख्य कुराहरु मात्र हुन्, यीबाहेक अन्य स-साना कुरा, झ्यालबाट आकाश चिहाउने, टाढासम्म हेर्दाका अनेकन् अनुभूतिहरूले पनि पाठकको मन हुँडल्ने क्षमता यो डायरीमा छ। जे होस्, एनी फ्य्राङ्कको डायरीबाट सिक्न सकिने धेरै कुराहरु छन्। इतिहासका घटना र उनको घर-परिवारमा घटेका घटनाहरुको प्रसंगहरु सँगसँगै लेखिएको यो डायरी साँच्चै नै पठनीय छ। एनी फ्य्राङ्क कसैगरी जीवितै हुन्थिन् भने गएको जुन १३ देखि ९१ वर्ष पुगेकी हुने थिइन्। त्यो उमेरमा यसरी रोचक तरिकाले डायरी लेख्न सक्ने एनी जीवितै हुन्थिन् भने कति धेरै साहित्य कत्थिन् होला भन्ने डायरी पढ्दै गर्दा मनमा उब्जिन्छन्। क्यानबेरा, अस्ट्रेलिया #मनोज रेग्मी |
२ लाख रुपैयाँ पुरस्कार राशिको अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना: गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदले दुई लाख रुपैयाँ राशिको गैर आवासीय नेपाली अन्तर्राष्ट्रिय साहित्य पुरस्कारको स्थापना गर्ने भएको छ। एनआरएन आइसीसीको नेपाली भाषा,साहित्य,संस्कृति तथा सम्पदा समितिले यस्तो पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो। शनिबार सम्पन्न समितिको बैठकले पुरस्कारका लागि आवश्यक नीति,नियमावली र स्रोत व्यवस्थापन गर्न समितिका अमेरिका क्षेत्रका सह-अध्यक्ष महेश्वर पन्तलाई संयोजकको जिम्मेवारी दिएको छ। प्रवासमा रहेका गैर आवासीय नेपालीहरुले प्रकाशन गरेको उत्कृष्ट कृतिलाई नगद राशिसहित स्वर्णपदक प्रदान गर्ने गरी प्रत्येक दुई वर्षमा पुरस्कार प्रदान गरिने संयोजक पन्तले जानकारी दिए। पुरस्कारका संयोजक पन्तले पाँच सय अमेरिकी डलर प्रदान गर्ने बैठकमा जानकारी गराएका छन्। समितिका अध्यक्ष एवं एनआरएन आइसीसीका पूर्व कोषाध्यक्ष हिक्मत थापाको सभापतित्वमा बसेको शनिबारको बैठकले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीलाई अन्तर्राष्ट्रिय भाषा दिवसका रुपमा मनाउन विश्वका सबै नेपाली भाषा, साहित्यसँग सम्बन्धित संघ-संस्था र साहित्यप्रेमीहरुलाई आह्वान गर्ने र समितिले पनि एक विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ। भानु जयन्ती असार २९ गते पर्दछ। समितिको दोस्रो पूर्ण बैठकले समितिका सदस्य गौतम दाहाल (अमेरिका) लाई समितिको संचार संयोजक मनोनित गरेको छ। यसैगरी समितिकी सदस्य सचिव भगवती बस्नेत संयोजक रहेको अनलाइन साहित्यिक कार्यक्रम ‘प्रवास-प्रवाह’को सह-संयोजकमा समितिका सदस्य नृपेश उप्रेती (बेलायत) र सदस्यहरुमा विकास विष्ट (अमेरिका) र निमेष गिरि (युएइ)लाई मनोनयन गरेको छ। दुई महिना पहिले (अप्रिल) मा गठन भएको यो समितिको गत महिना सम्पन्न पहिलो बैठकले गैर आवासीय नेपाली नियात्रा संग्रह, गजल संग्रह र प्रवासमा रहेका नेपाली लेखक/साहित्यकारहरुको अभिलेखीकरण प्रकाशन गर्ने निर्णय गरेर काम गर्दै आएको छ। यी विषयमा पनि समितिको दोस्रो बैठकमा हालसम्म भएका उपलब्धिबारे समीक्षा र छलफल भएको थियो। बैठकमा विशेष आमन्त्रितका रुपमा सहभागी भएका समितिका वरिष्ठ सल्लाहकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गैरआवासीय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानले विदेशमा नेपाली भाषा र साहित्यको प्रवर्द्धन गर्न मिलेर जानुपर्नेमा जोड दिए। उनले प्रज्ञा प्रतिष्ठान संघले गर्ने सबै कार्यक्रमहरुलाई सहयोग गर्न तयार रहेको बताए। त्यसैगरी बैठकमा समितिका सल्लाहकार एवं संघका पूर्व अध्यक्ष जीवा लामिछानेले सन २०१३ मा संघ र प्रज्ञा प्रतिष्ठानबीच भएको सहमतिअनुसार प्रवासमा नेपाली साहित्यको प्रवर्द्धनका लागि अगाडि बढाउनु पर्नेमा जोड दिए। बैठकमा समितिका सल्लाहकार रमेश पौडेल ( नेपाल ), सहअध्यक्षहरु महेश्वर पन्त (अमेरिका), हरि पौडेल ( युरोप ), बेलु काजी थापा ( एसिया ) र निश्चल पि एस लिम्बू ( मध्यपूर्व) को उपस्थिति रहेको एनआरएन आइसीसी, नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका मिडिया संयोजक गौतम दाहालले बताएका छन्। कार्यक्रममा सदस्यहरु तीर्थ सङ्गम राई ( कतार), नृपेश उप्रेती ( बेलायत ), कृष्ण कुसुम ( अमेरिका) र गौतम दाहाल (अमेरिका) को सहभागिता रहेको थियो । बैठकको संचालन सदस्य सचिव भगवती बस्नेतले गरेकी थिइन्। #गैर आवासीय नेपाली अन्तर्राष्ट्रिय साहित्य पुरस्कार |
म ब्यूँझदा पाे दुख्छ तपाईंकाे छाती: लु भयाे म अब तपाईँसँग कुनै प्रश्न गर्ने छैन आँखा चिम्लने छु र यावत अनुत्तरित प्रश्नहरु अँध्याराेमा अँध्याराेसँगै जलाइदिने छु र म माैन उभिने छु आफ्नै सपनाकाे वृत्तमा काेही हुने छैनन् मेराे वरिपरि तपाईं भरि केवल लमतन्न सडक लाै भयाे अब कुदाउनाेस् कालाे घाेडा निस्फिक्री अबाेध छातीहरुमा म केही बाेल्ने छैन मात्र चिम्लने छु आँखा र हराउने छु आफैँबाट टाढा म अब कुनै प्रतिवाद गर्ने छैन काेर्नाेस् बतासकाे छातीभरि काला अक्षरहरु सारा आकाश तपाईकै हुने छ उड्नाेस् बाईपंखी घाेडामा या नाच्नाेस् आफ्नै पागल सपनाहरुकाे वृत्तमा म ब्यूँझदा पाे दुख्छ तपाईंकाे छाती र चिथाेरिन्छन् तपाईंका सपनाहरु लाै भयाे म निदाइदिने छु ढुक्कले कुदाउनाेस् अब तपाईंका घाेडाहरु म मात्र किन उभिरहूँ तपाईंका विपक्षी गाेलार्धमा किन काला प्लेकार्ड लिएर उभिरहूँ जीवनभर समयकाे किनारमा तपाईंले टेक्दा दुख्दैन अरुकाे छाती भने म मात्रै किन दुख्नुकाे पीडामा उभिरहूँ भयाे, अब म माैन पल्टिने छु तपाईंका सपनाहरुका घाेषणापत्रहरुमा कुदाउनाेस् रथहरु कति कुदाउनु हुन्छ मेराे अबाेध छातीमा यति भए सायद तपाईंकाे त्रिलाेकीय सम्राट बन्ने सपना पूरा हाेला र हिरण्यकशिपु सपना अझ लम्बिने हाेला केही समय याे अभागी धर्तिकाे एक कुनामा । #अशेष मल्ल |
प्रवासी प्रवाहको छैटौँ श्रृंखला सम्पन्न: गैर आवसीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्धन समितिद्वारा संचालित अनलाइन कार्यक्रम “प्रवासी प्रवाह”को छैटौँ शृंखला असार ७ गते (जुन २१) मा सम्पन्न भयो। विश्वमा छरिएर रहेका सम्पूर्ण नेपाली भाषीहरुलाई प्रवासी प्रवाह कार्यक्रममा सहभागी गराएर उनीहरुका सिर्जनाका प्रवाहहरुलाई प्रवाहित गर्न यस कार्यक्रमको उद्देश्य रहेको छ। एक घण्टा भन्दा बढी चलेको यस कार्यक्रममा अतिथि साहित्यकारका रुपमा नेपालबाट वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीको उपस्थिति थियो। गीतकार अधिकारीले गैर आवासीय नेपाली संघ भाषा साहित्य संस्कृति तथा सम्पदा प्रवर्धन समितिले विगतदेखि अनुवाद शुरु गरेको र त्यसलाई नेपाल प्रज्ञा प्रतिष्ठान र अन्य संघसंस्था मिलेर निरन्तरता दिनुपर्ने साथै उत्कृष्ट कृतिहरुलाई अनुवाद गरी विश्वभर पुर्याउनुपर्ने सुझाव दिएका थिए। समितिका युरोप उपसंयोजक हरि पौड्यालले चार दशकदेखि युरोपमा रहेको र भइरहेका साहित्यिक गतिविधिबारे जानकारी गराए। उनले आफ्ना केही कवितासमेत प्रस्तुत गरेका थिए। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको अभिलेख राख्न पौड्याललाई संयोजकसमेत तोकिएको छ। उनले धेरै डाटा सङ्कलन भएको बताउँदै सर्जकहरुलाई आफ्नो परिचय पठाउन आग्रहसमेत गरे। अमेरिकाबाट कवि पदम विश्वकर्मा सहभागी भएका थिए। उनले एउटै उद्देश्य बोकेर हिँडेका साहित्यिक संघसंस्थाहरुबीच समन्वय गरी अघि बढे साहित्यको विकास गर्न सकिने धारणा व्यक्त गर्दै ‘रुकुम’ शीर्षकको कवितासँगै अन्य कविता पनि प्रस्तुत गरेका थिए। कतारबाट तीर्थ सङ्गम राईले त्यहाँका साहित्यिक गतिविधि बारे बताउँदै १० वर्षदेखि मोबाइल लाइब्रेरी, साहित्यिक डबली तथा अन्य कार्यक्रम चलाइरहेको जनाए। करिब ६ लाख नेपाली रहेको मध्यपूर्वमा नेपाली साहित्यले फल्नेफुल्ने अवसर पाएको र गज़ल लेखनमा धेरै सर्जकहरु रहेको जानकारी गराएका थिए। उनले केही कवितासमेत पाठ गरेका थिए। यस्तै एनआएएनए ब्राजिलका अध्यक्ष गणेश गुरुङले त्यहाँ १०० जनाको संख्यामा नेपाली रहेका र व्यापार-व्यवसाय गरिरहेको जानकारी दिए। कोविद १९ को प्रभाव अमेरिकापछि ब्राजिलमा परिरहेको बताउँदै दिनमा ४ घण्टा मात्र बजार खुल्ने गरेको जनाए। कार्यक्रमको अन्त्यमा अथिति दिनेश अधिकारीले गैरआवासीय नेपाली संघ भाषा साहित्य संस्कृति तथा सम्पदा प्रवर्धन समितिले चलाएको प्रवासी प्रवाह कार्यक्रम अत्यन्त प्रभावकारी रहेको भन्दै प्रशंसा गरे। विभिन्न महादेशबाट सहभागिता रहेको हुनाले फरक देशको फरक अनुभव सुन्न पाउँदा रमाइलो लागेको उनको भनाइ थियो। यस कार्यक्रमको संचालन भगवती बस्नेतले गरेकी थिइन्। #प्रवासी प्रवाह |
छन्दकविता पुनर्जागरण गराउँदै 'छन्द तरङ्ग': नेपालमा बन्दाबन्दीको अवस्था चलिरहेका समयमा नेपाली छन्दकवितालाई विश्वव्यापीकरण गर्ने अभियानको थालनी गरिएको छ । विगत दुई वर्षदेखि काठमाडौँको लेखनकुञ्जमा सञ्चालित मासिक शृङ्खला ‘छन्द–तरङ्ग’ बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेपछि रूपन्देहीमा रहेको छन्दवादी समाज नेपालसँगको सहकार्यमा प्रविधिको सदुपयोग गर्दै अन्तर्राष्ट्रिय अभियानको थालनी गरिएको हो । डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको कविजोडीले यसको संयोजन गरिरहेका छन्। कार्यक्रमको सञ्चालन कविराज पौडेलले र प्रविधि संयोजन अमेरिकाबाट परशु तिमल्सिनाले गरिरहेका छन् । २०७७ जेठ ७ गते नेपाल, अमेरिका, क्यानाडा, बेलायत, अस्ट्रेलिया, जापान, इजरायल, म्यान्मा र भारत गरी नौवटा देशका दश जना नेपाली छन्दकविहरूलाई प्रस्तुत गरेर सुरु गरिएको यस अभियानको पाँचौँ शृङ्खला गत असार ३ गते नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत् प्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । हालसम्ममा एक दर्जनभन्दा बढी देशमा रहेका ५० जना नेपाली छन्दकविहरूका एक सयभन्दा बढी छन्दकविताहरू प्रसारण भइसकेका छन् । नेपाली छन्दकवितालाई विश्वव्यापीकरण गर्ने र शास्त्रीय छन्दका निर्माता आचार्य पिङ्गललाई विश्वमा स्थापित गराउने उद्देश्यका साथ प्रस्तुत कार्यक्रमको थालनी गरिएको कुराको जानकारी कार्यक्रमका संयोजक प्राज्ञ डा. देवी नेपालले दिएका छन् । नेपाल भन्छन्, ‘आचार्य पिङ्गलबाट निर्मित शास्त्रीय छन्दहरूको प्रयोग संस्कृत भाषामा त प्रशस्त भएको थियो तर त्यसपछिका हिन्दी, मैथिली, भोजपुरीलगायतका भारोपेली परिवारका र नेवारीलगायतका भोटचिनियाँ परिवारका भाषाहरूले सुरु सुरुमा शास्त्रीय छन्दलाई महत्त्वका साथ प्रस्तुत गरे पनि अहिले ती भाषाहरूले पिङ्गल छन्दलाई छोडिसकेका हुनाले अब पूर्वीय जगत्मा नै शास्त्रीय छन्दलाई बचाउने मूल जिम्मेवारी नेपाली भाषाले पाएको छ । अहिले नेपाली भाषामा ३०० भन्दा बढी शास्त्रीय छन्दको स्वाभाविक प्रयोग भइरहेको हुनाले हामी यस तथ्यलाई गिनिज बुकमा लेखाउने लक्ष्यका साथ अभियानमा जुटेका छौँ ।’ हरेक हप्ता फरक फरक देशबाट दशजना कविहरूलाई छनोट गरी तिनका पनि स्तरीय र मानक कविताहरू प्रस्तुत गराउनु कठिन कार्य भए पनि अभियान पाँचौँ शृङ्खलासम्म विनाव्यवधान सञ्चालन भएकोमा नेपालले खुसी प्रकट गरे । यस कार्यक्रममा कविता वाचन मात्र नभई हरेक शृङ्खलामा एकजना विशिष्ट कविलाई प्रमुख अतिथिका रूपमा उभ्याइन्छ र छन्दकवितासम्बन्धी उनका विशेष भनाइहरू सुनिन्छ । कार्यक्रमको थालनीमा डा. देवी नेपालले छन्दकविताको महत्त्व, इतिहास, उपयोगिता, सम्भावना र चुनौतीका बारेमा विशिष्ट जानकारीहरू प्रस्तुत गर्ने र अन्त्यमा डा. रामप्रसाद ज्ञवालीले कविताको सौन्दर्य शास्त्रीय चिन्तन प्रस्तुत गर्ने परम्परा रहेको छ । सञ्चालक कविराज पौडेलले पूरै कार्यक्रम छन्दमा नै सञ्चालन गर्ने गरेका छन् । यसबाट श्रोताहरूलाई सैद्धान्तिक ज्ञान, सूचना र मनोरञ्जन एकैसाथ प्राप्त हुने गरेको हुनाले अत्यन्त उपलब्धिमूलक रहेको र यो हजारौँ श्रोता तथा दर्शकहरूको प्रिय कार्यक्रम बनेको प्रतिक्रिया कवि विक्रम पवन परियारले बताए । यस अभियानमा वरिष्ठ कविहरू रमेश खकुरेल, कोषराज न्यौपाने, भुवनहरि सिग्देल र प्रा. जगत् उपाध्याय प्रमुख अतिथिका रूपमा र डा. घनश्याम परिश्रमी, डा. नवराज लम्साल र मित्रलाल पंज्ञानी अतिथिका रूपमा आइसकेका छन् । जेठ १० गते बुधबार प्रस्तुत हुने यस अभियानको छैटौँ शृङ्खला भने फरक प्रकृतिको रहेको छ । यसपटक भने नेपालको सङ्घीय संरचनाअनुसार सातै प्रदेशबाट एक नारी स्रष्टा र एक पुरुष स्रष्टा गरी १४ जना र उपत्यकाबाट दुईजना गरी जम्मा १६ जना छन्दकविहरू प्रस्तुत हुँदै छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न हुने उक्त शृङ्खलामा सिङ्गो देशको आवाज सम्प्रेषण हुने कुराको जानकारी आयोजकहरूले दिएका छन् । यसरी नै आगामी जेठ १७ गते हुने सातौँ शृङ्खला भने समावेशी छन्दकवि सम्मेलनका रूपमा सञ्चालन गरिने भएको छ । सामान्यतः छन्दकविता ब्राह्मण र क्षेत्रीहरूको मात्र अभिव्यक्तिको माध्यम हो भन्ने नेपाली समाजको धारणामा परिवर्तन ल्याउन यस प्रकृतिको कार्यक्रम गर्न लागिएको र उक्त शृङ्खलामा नेपालको संविधानमा जनजाति, दलित, मधेसी, थारू, मुसलमान आदि भनी वर्गीकरण गरिएका समुदायका एक दर्जन कविहरूका छन्दकविताहरू प्रस्तुत हुने कुराको जानकारी कार्यक्रमका संयोजक डा. देवी नेपालले दिएका छन् । उनको भनाइ छ, ‘केही नयाँपनका साथ प्रस्तुत हुने हो भने प्रशस्त श्रोता र दर्शकहरूको माया पनि पाइँदो रहेछ र थप काम गर्ने हौसला पनि प्राप्त हुँदो रहेछ । त्यसैले जस्तोसुकै परिस्थिति आइलागे पनि छन्दकवितालाई विश्वव्यापीकरण गर्ने र नेपाली कविताको मौलिक चिनारीका रूपमा रहेको छन्दकवितालाई उचाइमा पुर्\u200dयाएरै छाड्ने हाम्रो अभियान रोकिनेवाला छैन । हामी अब भने यस अभियानलाई हरेक महिनाको पहिलो आइतवार नेपाली समयअनुसार साँझ छ बजे मासिक रूपमा वर्षैभरि सञ्चालन गरिरहने छौँ ।’ #छन्द तरङ्ग |
यात्राको नयाँ थालनी: आऊ तिम्रो र मेरो नयन जुधाऊँ र, बनाऊँ एउटा सुरूङ र, पुगौँ त्यो विशाल समुद्रभित्र जहाँ गहराई छ रहस्य छ जहाँ म छैन स्वयम् तिमी छैनौ रिक्तताको उपस्थितिमा जिन्दगी अर्थहीन बनेको छ आऊ तिम्रो र मेरो नासिका जुधाऊँ र, पुर्याऊँ यी लामा श्वासहरू एक अर्काको मस्तिष्कमा जहाँ जीवन छटपटी रहेको छ मिलन बिना संवाद बिना समर्पण बिना त्यहाँ मात्र तिक्तता छ मित्रताको अनुपस्तिथिमा जिन्दगी अर्थहीन बनेको छ आऊ तिम्रो र मेरो वक्ष जुधाऊँ र सुनौं धक धक धक र बुझौँ यी धड्कनको अर्थ जहाँ मात्र ध्वनि छ संगीत छैन जहाँ व्यग्रता छ प्रेम छैन जहाँ मात्र उदास निःश्वास छ जता हेर्यो विरक्तता छ र जिन्दगी अर्थहीन बनेको छ भयो त्यस अघिको रुचिहीन यात्रा मेरो उद्देश्य होइन म त कालान्तरदेखि प्रेमको अर्थ खोज्दै हिँडेको एउटा मनुवा ! #एलबि क्षेत्री |
अलिखित: आफ्नै माटोमा गुमनाम बाँच्नेहरूको दुर्दान्त कथा: “जुन समाजले विद्रोह गर्न सक्दैन, त्यो हराएर जान्छ वा नष्ट भएर जान्छ ।” डा. ध्रुबचन्द्र गौतमको उपन्यास “अलिखित” को लगभग सारांश हो यो। लगभग मात्रै यस कारण कि उपन्यासमा विद्रोह त भएकै छ तर त्यो विद्रोह, विद्रोहीहरूले नै बुझ्न सकेनन् | र ती सबै नष्ट भएर गए। आजभन्दा झन्डै ४० वर्ष पहिले लेखिएको यो उपन्यासलाई वि. सं. २०४० सालमा मदन पुरस्कार दिइएको थियो । तर यस्तो भइदियो कि, उपन्यासको कथा लेखिएको मितिको ४० वर्षपछि पनि उहीँ र उस्तै छ, जहाँको कथा लेखिएको थियो । दीलिप बान्तवा अर्थात् उपन्यास तराईको कुनै देहाती गाउँको कथाको सेरोफेरोमा लेखिएको छ। जहाँ गाउँको शासक बनेर जिम्दार/जमिन्दार बसेका छन्। उनका वरिपरि प्रसस्तै उनका चाकडिबाजहरू छन्। गाउँमा रैतिहरूलाई कज्याउन उनले कुनै कसर बाँकी राखेका छैनन्। आकाशमा घाम जुन रहेसम्म आफ्नो अवस्था यस्तै हो भन्ने मानेर वा आफ्नो जुनि नै यस्तै हो भन्ने मान्यतामा रैतिहरू आनन्द मानेर बसेका छन्। अलिकति सयल वा आराम पाए भने उनीहरू आफ्नो बानी बिग्रीने डरले नियमित लयमै रहन रुचाउँछन्। यही पृष्ठभूमिमा सो गाउँमा भौगर्भिक उत्खननका लागि काठमाडौंले खटाएका ११ जना युवाहरू सरकारी कर्मचारिका रूपमा गाउँ पुग्छन्। कोही कहिल्यै तराई नझरेका, कोही कहिल्यै गाउँ नटेकेका र कोही त कहिल्यै काठमाडौं नछोडेका ती युवाहरूले तराईको सो देहाती गाउँमा देखेका कुराहरूमा केन्द्रीत छ कथा। ती युवाहरूले बढी देखे मात्रै, किनकि त्यहाँका मान्छेहरूको नियतिमा उनीहरू मुकदर्शक मात्रै बनिरहेको देखिन्छ। मध्य तराईको विरगञ्जमा जन्मिएका लेखकले त्यही भूगोलको कथालाई अत्यन्तै मार्मिक बान्कीमा प्रस्तुत गरेका छन्। कथोपकथनका साथै दृष्यहरूलाई बिम्बमार्फत प्रस्तुत गर्दा थप प्रभावपूर्ण बनेको छ। कथा खासगरि दुई गाउँबिचको अन्तरविरोधमा केन्द्रित छ। धरमपुर र बिरहेनपुर-बरेवा । अन्तरविरोध पनि के भन्नू र ! बरू धरमपुरले अर्को गाउँलाई गरेको उत्पिडनको साक्षी हो यो उपन्यास। यी दुई गाउँहरू शासक र शाषितका रूपमा रहेका छन्। यथार्थमा यस्तो छ कि बिरहेनपुर-बरेवा गाउँ औपचारिक/आधिकारिक/कानुनी रूपमा अस्तित्वमा छैन कैँयौँ वर्षदेखि। त्यहाँमा मानिसहरू अनागरिक भएरै बाँचिरहेका छन्। अर्थात यो कथा हाम्रो सिमानाका तमाम नागरिकहरूको वर्तमानको कथा हो भन्न सकिन्छ। Land Swap हुनुअघि भारत-बंगलादेशको विवादित भूमिका नागरिकहरू वा भनौँ नेपालले हाल दाबी गरिरहेको लिम्पियाधुरा, लिपुलेकतिरका नागरिकहरूको स्थिति जस्तै । उल्लेखित ठाउँका नागरिकहरूको सामाजिक स्थिति र कानुनी अधिकारका कुराहरू कतिसम्म असान्दर्भिक हुन्छन/हुनसक्छन् भन्ने कुरा यो उपन्यासको कथाले प्रष्ट पारेको छ । अझ अर्को कुरा त धरमपुर गाउँ जो कानुनी रूपमा अस्तित्वमा छ उसले बिरहेनपुर गाउँलाई आफ्नो रैती ठान्छ । त्यहाँका घरहरूमा आगो झोस्न, लुटपाट मच्याउन वा जुनसुकै हदको अमानविय हर्कत गर्न धरमपुरबासीलाई छुट छ वा भनौँ त्यो उनीहरूको अधिकार हो। बिरहेनपुरले कानुनी रूपमा आफ्नो अस्तित्व नै नभएपछि कहाँ गएर न्याय मागोस् ? त्यसका लागि त्यहाँका मान्छेहरूलाई न त सोच्ने तागत नै छ न त फुर्सद र चेतना नै । बरू उनीहरू त दोर्हनतल पोखरीको गर्भमा भासिएको भनिएको अगणितीय धन प्राप्त गर्न लालयित देखिन्छन् | जसका बारे पुस्तान्तरित किंवदन्तिमा सुन्दै आईरहेका छन् र सोही धन प्राप्तिमा उनीहरू त्यो पोखरीमा डुबुल्की मार्न तम्सिन्छन् बरू । धरमपुरका जिम्दार विश्वनाथको नेतृत्वमा दबाइएको बिरहेनपुर-बरेवा गाउँमा आफ्नो वर्तमान नियतिभन्दा पर सोँच्ने अधिकार कसैलाई छैन। त्यसैको अपवादमा ईनरहवा, सुनरहवाहरू अगाडि आउँदा जिम्दारको निशानामा परे। समग्रमा गरिबी, अभाव, अशिक्षा, अन्धविस्वास संगसंगै गुमनाम बाँचिरहेको बिरहहेनपुर-बरेवा गाउँ एकदिन एक्कासी भौतिक रूपमै हराउँछ अर्थात भनौँ भूगोल मात्रै बाँकी छोडेर त्यहाँका पशुतुल्य बाँचिरहेका मानिसहरू बेपत्ता हुन्छन्, वा पारिन्छन्? कथाले निस्कर्ष त दिएको छैन तर भौगर्भिक उत्खननका लागि गाउँ पुगेको टोलिले भने निस्कर्ष निकाल्छ कि संघर्ष नगर्नेहरू केवल नामेट मात्रै भइरहन्छन् | त्यसैले व्यवस्थित संघर्ष गर्नुपर्दछ। चार दशकअघिको यो कथालाई आज पनि नेपालको नक्सामा राखेर हेर्ने हो भने फेरबदल भएको पाइन्न। चालीस वर्ष समय छोटो त हुँदै होइन। चीन, जापान, कोरिया वा थुप्रै समृद्ध मुलुकहरू चालीस वर्ष (सन् १९६० देखि २००० सम्म) कै अवधिमा अकल्पनीय बिकासको फड्को मार्न सफल भएको तस्विर हाम्रै सामुन्नेमा छ। तर हाम्रो स्थिति चालीस वर्षमा पनि उस्तै देखिन्छ। किनभने यहाँ कैँयौँ धरमपुरहरूले बिरहेनपुर-बरेवाहरूलाई उस्तै गरी कज्याइरहेका छन् भने एउटा बिहेभोजमा गाईको मासु पकाएको अत्तु थापेर एक जना विरोधी मुसलमानलाई ठेगान लगाउने जिम्दार विश्वनाथको उत्तराधिकारीहरू सर्वात्रै देख्न सकिन्छ यतिखेर पनि। भूगोलमा बसेर पनि देशको नक्साभित्र परिचयबिहिन बाँचिरहेका गाउँहरू अनगिन्ती भेट्न सकिन्छ आज पनि। ती ११ जना शिक्षित र सचेत युवाहरूले त्यो गाउँमा केही परिवर्तन ल्याउन सक्थे, जागरुक बनाउन सक्थे, तर कर्मचारीहरू आफूलाई तोकिएको कामबाहेक अन्य झमेलामा फँस्न चाहन्नथे | त्यो बेला भन्नू मात्रै होइन अहिले पनि यो प्रवृति त जिवितै छ। नत्र भने बिरहेनपुर-बरेवा किन परिचयबिहिन गाउँ भयो ? राष्ट्रियताबिहिन कसरी बनाइयो ? भन्ने कुराहरू पनि उत्खनन् गर्न सक्थे ती ११ जनाले र तिनको हैसियतले सो गाउँलाई परिचय दिलाउन नि सक्थे | तर एउटी बिरही महिलाले आफूमाथिको अत्याचार खप्न नसकी गाउँलाई सरापेको आधारमा परिचयबिहिन भएको किंवदन्तिमै ११ जनाले पनि सदर गरेको देखिन्छ । नेपाललाई सतिले सरापेको किंवदन्ती सुनाएर हामी कहिल्यै पनि समृद्ध बन्न सक्दैनौँ भन्ने पौराणिक खालको मान्यता स्थापित गर्न खोजे जस्तै पुरै गाउँ नै आफ्नो दु:खको अन्त्यका लागि दोर्हन्तल पोखरीमा डुबेको अदृष्य-दृष्य स्वीकार गरिएको छ। अर्को कुरा मान्छेहरूमा चेतनाको जलपले मात्रै फरक देखिने हो, नत्र अन्तर्मनको मनोदशा भने उस्तै हुन्छ भन्ने तर्क पनि गर्न खोजिएको देखिन्छ । नत्र भने उत्खननका लागि आएक ११ जना युवाहरूमध्येका एक युवाले आफूलाई पनि दोर्हन्तलमा समाधिस्थ गर्नुपर्ने थिएन होला । भुपु जिम्दार वर्तमान प्रधानपञ्च बनेर गाउँको मुख्तियारी चलाए जस्तै हामी कहाँ पनि जिम्दारीप्रथाबाटै प्रधानपञ्चहरू बने, उनै जिम्दारहरू पञ्चायतपछि गाविस अध्यक्ष बने, आज तिनै गाउँपालिकाको हर्ताकर्ता भएका छन् । व्यक्ति फेरिए, पुस्ता फेरिए तर प्रवृति उस्तै छ। सत्तामा हुनेहरू आफूले प्रयोग गरेका मान्छेहरूको उपादेयता सकिएपछि तिनैलाई दुत्कार्छन् भन्ने पनि देखियो । जिम्दार विश्वनाथ कै निर्देशनमा आफ्नै विस्वासपात्रकी छोरीलाई बेपत्ता बनाइदिए। अहिले हाम्रोमा पनि त कञ्चनपुरकी निर्मला पन्त होऊन् वा भोजपुर प्याउलीका तीन जना बालबालिका होऊन् । तिनका अत्याचारिहरू कतै यतै घुमिरहेका होलान् तर तिनका परिवार आफ्नो ठेगानाबाट अन्तै सर्न बाध्य छन् | जसरी बिरहेनपुर-बरेवा आफूमाथिको अन्याय खप्न नसकेर कतै अलप भयो। समग्रमा अलिखित त्यतिबेलादेखि यतिबेलासम्मका ती मानिसहरूको कहिल्यै नलेखिने दर्दको कथा हो ,जो मान्छे भएर मान्छे जस्तै जुनी बाँच्न पाएका छैनन् । र एउटा यस्तो दलिल पनि हो, जसले भन्छ, “जुनसुकै युग वा समयमा होस् वा व्यवस्थामा त्यहाँ जरुर शासक र शिषित वर्ग विद्यमान हुन्छ ।” यो कुरालाई ती ११ जना भौगर्भिक उत्खननकर्ताहरूले भेटेका एउटै प्रयोजनका तर फरक फरक वर्गहरूले प्रयोग गर्ने वस्तुहरूबाट दर्शाउन खोजिएको छ। #दीलिप बान्तवा |
पाठकको पाठक: म बच्चा हुँदा मेरा काका हिन्दी जासुसी उपन्यासको यति ठूलो प्रशंसक हुनुहुन्थ्यो कि मोटा मोटा जासुसी उपन्यास पढेर उहाँका आँखा नै बिग्रिएका थिए। उहाँका चार सन्तान जन्मिसकेका थिए तर जासुसी उपन्यास पढ्न कहिल्यै छुटेनन्, भलै हामीले ती उपन्यास उठायौँ भने उहाँले बेलाबेलामा पिट्टा पनि लगाउनु हुन्थ्यो। त्यो बेलामा हामी यति कलिला थियौँ कि ती मोटा किताबमा के थियो भनेर खोज्नुको साटो, काकाले बीचको पत्ता निकालेको थाहा पाउँदैनन् होला भनेर च्यातेर निकाल्थ्यौँ र कागजको नाउ बनाउँथ्यौँ। त्यो नाउलाई वर्षाले ल्याएको सानोतिनो बाढीमा बगाउँथ्यौँ। पछि जब हामीले केही पढ्न जान्न थाल्यौँ, स्कुल जान थाल्यौँ अथवा टिनएजमा प्रवेश गर्न थाल्यौँ, काकाले ती उपन्यास पढ्न छाडिसक्नु भएको थियो। अवशेषका रुपमा केही उपन्यासहरु थिए घरमा र ती किताबलाई उहाँ विरक्तिका भावले हेर्नुहुन्थ्यो। तीमध्ये एउटा थियो, सुरेन्द्र मोहन पाठकको कुनै जासुसी उपन्यास। मलाई सुरेन्द्रको नाम किन याद आयो भने उपन्यासको नाउँभन्दा उनको नाउँ ठूलो अक्षले पुस्तकमा कुँदिएको थियो। त्यो उपन्यास पढ्न थालेपछि मलाई रोकिने कुनै चाह भएन। भलै ती घटना मलाई वास्तविक लागे पनि अलिअलि हावा लागिरहेकै थियो। कुनै बन्द कोठामा हिरो थुनिएको थियो, ग्यासका कारण ऊ बेहोस हुन थालेको थियो र अकस्मात उसको साथीले हिरोलाई जोगाउँछ। यस्तै केही कथा थियो। जिन्दगीले हुत्याएर कहाँकहाँ पुर्याउँँछ। किताबको मोह त जन्मियो तर जासुसी उपन्यासमा कहिल्यै रुचि जागेन तर पनि जब–जब मोटा किताब म सम्झन्छु, सुरेन्द्र मोहन पाठकको झल्को आइहाल्छ। जीवनमा पहिलो पटक मोटो किताब भन्ने बित्तिकै उनै सुरेन्द्र मोहन पाठकको जो देखेको थिएँ! उनको जीवनीको एउटा अंश कतै पढेको थिएँ, जुन तपाईंसमक्ष राख्न चाहन्छु। विमल सिरिजको चौथो उपन्यास ‘पैंसठ लाख की डकैती’ बजारमा आयो। प्रकाशकले अप्रशन्नता जनाए। खासमा सुनील सिरिज सबैभन्दा बढी चल्ने गरेको थियो तर त्यसका बाबजुद उनले विमल सिरिज निकालेका थिए। प्रकाशकले सुरेन्द्रलाई सुनील सिरिजकै उपन्यास देऊ भनेर करकर गरिरहेका थिए। यसअघि छापिएका उपन्यासले उनलाई आफ्नो गोडामा उभिने पर्याप्त आधार दिइसकेको थियो। त्यसैले छाप्ने भए छाप नछाप्ने भए पछि लेखौँला भनेर उनले प्रकाशकलाई बेवास्ता गरेझैँ गरे। भारी अनिच्छाले प्रकाशकले सन् १९७७ मा ‘पैंसठ लाख की डकैती’ बजारमा ल्याए तर त्यहाँ एउटा बेइमानी प्रकाशकले गरिदिए। ‘विमल सिरिज’ छापिएको हुनुपर्नेमा ‘सुनील सिरिज’ लेखिएको थियो। गुनासो गर्दा प्रकाशक याकूबले नसुनेझैँ गरे। पाठकले उपन्यासलाई यति मन पराए कि मेरा सारा गुनासा छू मन्तर भएर गयो। प्रकाशकले फोनमा भनेछन्, ‘हेर सुरेन्द्र, यो उपन्यास पाठकले यति रुचाए कि अब सुनील सिरिज छाडेर यसैलाई अघि बढाऊ।’ त्यसपछि विमल सिरिजको पाँचौँ उपन्यास ‘ग्याङवार’ लेखेर प्रकाशकलाई पाण्डुलिपि बुझाए। छापिएर आउँदा त्यो उपन्यासको नाम ‘आज कत्ल होकर रहेगा’ थियो। सुरेन्द्र यति रिसाए कि उनलाई लाग्यो, यो जत्तिको बेइमानी अरु के होला? छापिएर आई त सक्यो! बजारमा पुगी त सक्यो! एउटा संघर्ष गरिरहेको दुई पैसे लेखकसँग पाकेट बुकका प्रकाशकहरुले यस्ता ज्यादती त गरिरहन्थे नै! सुरेन्द्रले फेरि पनि आफ्नो मनलाई सम्झाए– दूध दिने गाईको लात्ती पनि सहनुपर्छ। विमल शृंखलाको यो उपन्यासलाई पनि पाठकले रुचाए। खासमा के भयो भने लेखनीको हिसाबले अघिल्लो भन्दा यो राम्रो थियो। शुरुका तीन शृंखला विमल सिरिजलाई पाठकले उति रुचाएका थिएनन् तर चौथोपछि त यसलाई साँच्चिकै रुचाउन थाले भन्ने लाग्यो। गाइड पकेट बुक्समा उनका पाँच उपन्यास छापिए, सुनील सिरिजका तिनमा थिएनन्। दुई वटा विमल सिरिज थिए र अन्य तीन वटा थ्रिलर उपन्यास थिए। त्यो बेला जेम्स हेडली चेजको अंग्रेजी उपन्यासको धुम थियो। चेजका उपन्यास कसैले नक्कल गरी बजारमा ल्याएको थियो र चेजको उपन्यासले पकेट बुक्सको इतिहासमा बिक्रीको कीर्तिमान नै ल्याइदिएको थियो। गाइड पकेट बुक्सले विभिन्न पत्रिकामा विज्ञापन गरी चेजका उपन्यासको आधिकारिक प्रकाशक आफू भएको र अरुले छापे कार्बाही गर्ने धम्कीयुक्त विज्ञापन प्रकाशन गरिरहेको हुन्थ्यो तर मेरठको कुनै प्रकाशकले चेजको एउटा अनुवाद छापेर बजारमा ल्याउनेबित्तिकै त्यो हारालुछ हुन थाल्यो। यो देखेपछि गाइडले फेरि विज्ञापन छपायो तर कसले टेर्ने? बद्लिँदो मौसम देखेर गाइड पकेट बुक्सले पनि चेज निकाल्ने प्रकाशकलाई मुद्दा हालेन। यही मौका कुरिरहेका ससाना प्रकाशकहरुले चेजका हिन्दी अनुवादको बाढी नै ल्याइदिए। यसपछि दिल्लीका प्रकाशकहरु खासगरी साधना र डायमन्डले चेजका अनुवादहरु छाप्न थाले। त्यसपछि तिनै छापिएका उपन्यासको नक्कल कयौँ प्रकाशकले छापेर बेच्न थाले। सुरेन्द्रले गाइड पकेट बुक्सका लागि अनुवाद तयार गरेका उपन्यास नै बढी बिक्री भए किनभने सुरेन्द्रलाई विश्वास थियो, जासुसी उपन्यास कसरी लेख्नुपर्छ र अनुवाद कसरी गरिनुपर्छ भन्ने उनले बुझेका थिए। चेजको अनुवाद गर्ने लेखकका रुपमा सुरेन्द्रको नाम निकै फैलियो। कतिसम् मभने मेरठका ती प्रकाशकले त उनले अनुवाद नै नगरेका किताबमा पनि सुरेन्द्रद्वारा अनुवादित भनेर लेख्नसमेत थाल्यो। सुरेन्द्र भन्छन्, ‘त्यसको फाइदा भने प्रकाशकले पाउन सकेन किनभने पाठकले दुई चार पेज पढ्नेबित्तिकै थाहा पाइहाल्थे, यो अनुवाद सुरेन्द्रको पक्कै होइन।’ चेजका अन्य उपन्यासहरुको बाढीले देखायो, गाइड बुक्स चेजको एक्लो अनुवाद अधिकार पाउने खेलाडी हो भन्ने दाबी गलत रहेछ। तर त्यतिञ्जेल गाइडले कमाउनुपर्ने कुस्त रकम कमाइसकेको थियो। चेजका ८८ उपन्यास छापिएका थिए। तीमध्ये कतिपय त भारतमा पाइँदैन थिए तर ती सबै उपन्यास गाइड पकेट बुक्ससँग थियो भन्ने गाइँगुइँ चल्थ्यो। गाइडका लागि चेजका उपन्यास सुरेन्द्रले गरिरहेकै थिए। पैसा राम्रै आए पनि यसबाट उन्मुक्तिका लागि पवन पकेट बुक्स र शनु पकेट बुक्सका लागि जासुसी उपन्यास उनले लेखिरहेका थिए। साधना पकेट बुक्सका प्रकाशकहरु पनि सुरेन्द्रको खोजीमा थिए। कुन बेला राम्रो उपन्यास यसले लेख्ला र छापूँला भनी कुरिरहेका थिए। पछि शनुका लागि चेजका उपन्यास अनुवाद गर्ने ब्रह्मप्रकाश त्यागी (साधनाका लागि चेजको अनुवाद गर्दा उनले नाम परिवर्तन गर्थे र प्रकाश भारती भनी लेख्थे)सँग भेट भयो। एउटा उपन्यास अनुवाद गरेबापत भारतीले चार सय भारु पाउँथे। उनीसँग हिमचिम बढ्यो। एक दिन सुरेन्द्रले प्रकाश भारतीलाई भने, ‘हरेक प्रकाशक चेजको उपन्यास खोज्छन् र नयाँ अनुवाद छाप्न चाहन्छन्। तर नयाँ उपन्यास पाउन कठिन छ। कतै नपाइने एउटा उपन्यास तिमीलाई दिन्छु र तिनलाई आफ्नो फिस बढाउन भन।’ नभन्दै प्रकाश साधनामा गए। र, उपन्यास देखाउँदै भने, ‘यो कतै फेला पा¥यौ भने तिमीलाई सित्तैमा अनुवाद गरेर दिन्छु। पारेनौ भने १२ सयभन्दा कममा तिमीलाई यो उपन्यास दिन्नँ।’ साधना पकेट बुक्सले एक हजार दिन्छु भन्यो। उपन्यास छापिएर बजारमा आउँदा पक्का भयो, अन्य प्रकाशककहाँ यो उपन्यास थिएन। यसको मूल अंग्रेजी किताब नै पाउनै मुस्किल हुने त्यो समयमा अनुवाद पाउनु कहाँबाट? प्रकाशक र अनुवादक दुवै जना यति खुसी भए कि त्यो प्रकाशको अनुहारमा झल्किन्थ्यो। पछि उपन्यासको बिक्रीबाट खुसी भएको प्रकाशकले दुई हजार रुपैयाँ दिए, कबोलिएको रकमभन्दा दोब्बर। यसबाट प्रकाश सुरेन्द्रबाट निकै उपकृत महसुस गर्न थाल्यो। यसपछि गाइड पकेट बुक्सका लागि सुरेन्द्रको नामबाट प्रकाशले अनुवाद गर्न थाले। गाइडले प्रत्येक उपन्यास अनुवाद गरेबापत १५ सय दिन्थ्यो। टाइपिङ फिस काटेर सबै पैसा प्रकाशलाई दिने गर्थे। प्रकाश खुसी थियो। उसले सुरेन्द्रले भनेको मान्न थाल्यो। तर सुरेन्द्र पनि कम बाठा थिएनन्। उनले उपन्यासको पहिलो अध्याय अनुवाद गर्थे। त्यसपछिको बाँकी अनुवादका लागि प्रकाश भारतीलाई दिन्थे। उनले काम सकेर जब टाइपिङका लागि पठाउँथे, आफूले अनुवाद गरेको पहिलो अध्याय पनि जोडिदिन्थे। उपन्यास पाठकले पहिलो च्याप्टर सुरेन्द्रको स्तरीय अनुवाद पढेपछि पूरै अनुवाद उनकै हो भन्नेमा विश्वस्त हुन्थ्यो। त्यो जमानामा सबैथोक सस्तो थियो। बढीमा दुई सय रुपैयाँमा टाइपिङ हुने जमाना थियो। यसरी चार पाँच पटक यस्तो सिलसिला चलिरह्यो। गाइडले अनुवादबापत १५ सय दिन्थ्यो, त्यसमा टाइपिङ र पोस्टेजका दुई सय रुपैया ँतिरेर बाँकी पैसा प्रकाश भारतीलाई दिन्थे। एक पटक आइतबारको दिन प्रकाश भारती सुरेन्द्रलाई भेट्न भनी गयो। उसले भन्यो, ‘गाइडमा मैले चिठ्ठी लेखेर चेजका पछिल्ला पाँच वटा उपन्यास मैले अनुवाद गरेको हुँ। त्यसैले सुरेन्द्रको साटो मलाई काम दिनुस् भनेको थिएँ तर याकूब भाइले त सुरेन्द्र मोहन पाठकलाई मैले सबै जिम्मा दिएको हुँ। उसले मान्यो भने हुन्छ।’ सुरेन्द्रले भने, ‘किन यस्तो गर्यौ भाइ तिम्ले?’ ऊ केही बोल्न सकेन। पछि साधना पकेट बुक्सको कसैले सुरेन्द्रलाई सुनायो, ‘गाइड पकेट बुक्सले अनुवाद गरेको तीन हजार दिन्छ, तिमीलाई त आधा मात्र दिएछ।’ गाइड पकेट बुक्सका मालिक याकूब अल्पशिक्षित थियो। अनुवादबारे मूल्याङ्कन गर्न ऊ असक्षम थियो। उसको व्यापार गुजरातको अहमदावादमा थियो र अनुवाद गराउनका लागि दिल्लीभरिमा मान्छे खोज्नुपर्थ्यो। यस्ता काम प्रायः कुनै प्रकाशकको पत्नीले गर्थी। पत्नीले नसके साला–सालीले गर्थे। ती पनि फेला परेनन् भने साथी वा भतिजा भतिजीले गर्थे। तर यस्ता काममा मोटो फिस लिने तर निगर्तिलो अनुवाद गर्ने भएकाले हैरान भइरहेका थिए। सुरेन्द्र मोहन पाठकले यसअघि एक दुई उपन्यास छापेको र ती उपन्यास देखेको याकूब भाइले पहिलो पटक भेटेर अनुवादक खोजिदिन आग्रह गरेको थियो। क्षमतावान् मान्छे खोजिदिने आश्वसन पनि उनले दिएका थिए। यसै क्रममा भूपेन्द्र कुमार स्नेहीसँग उनले कुरा गरे। आकर्षक रकम सुनेपछि उनी तयार भएका थिए। स्नेहीले अनुवाद त गरे तर चाँडो काम सक्ने हेतुले उनले आधा काम मात्र गरे। मूल कथाबाट कताकती कयौँ कुरा गायब थिए। यो थाहा पाएपछि प्रकाशक नै डुब्ने स्थिति आयो। यस्तोमा याकूब भाइले त्यसको जिम्मा सुरेन्द्रलाई नै लगाएका थिए। एउटा लेखक अनुवादमा उत्रियो भने के हुन्छ भन्ने कुरा यहीँ प्रमाणित भयो। चेजका सारा उपन्यास उनले पहिले नै पढिसकेका थिए। त्यसैले गाइड पकेट बुक्सबाट यो पुस्तक चाहियो भन्ने कुरा भएपछि शुरुमा उनले उपन्यास पढिरहनै पर्दैनथ्यो। उनी नपढी अनुवाद थालिहाल्थे। प्रकाशकहरु अनुवादकबाट हैरान भएका थिए, त्यसैले उनीहरु अरुलाई विश्वास गर्नै चाहन्न थिए। उनीहरु सुरेन्द्रले हेरेपछि कुरा पक्का हुन्छ भन्नेमा विश्वस्त भए। पहिले अन्य अनुवादकबाट हार खाएका उपन्यास पनि उनैको जिम्मामा आउन थाल्यो। यसपछि चेज अनुवाद गरेर राम्रै कमाई गरुँला भन्ने प्रकाश भारतीको सपना सपना नै रह्यो। साधना पकेट बुक्सले उनको अनुवाद फिस चार सयबाट पाँच सयमा बढाइदियो। अन्य ठाउँमा प्रकाशले प्रयास नगरेका होइनन् तर उनले खास सफलता हात पारेनन्। तापनि सुरेन्द्रसँग प्रकाश भेट्न आइरहन्थे र सोध्थे, ‘तपाईंसँग अझै पनि चेजको नयाँ उपन्यास अन्त कतै नछापिएको छ भने दिनु न।’ ‘छ नि! मसँग अझै कयौँ किताब छ,’ सुरेन्द्रले चिढ्याउन भन्थे। ‘मलाई दिनु न! अहिले त झन् बढी पैसा दिन्छु भनिरहेका छन्।’ ‘सरी यार, मैले त अर्कैैलाई दिइसकेँ। तिमी ढिला आयौ।’ ‘कसलाई दिनुभयो?’ ‘जब अनुवाद बजारमा आउँछ, त्यतिबेला नाम पढ्नू, कसले गरेको भनेर।’ यसलाई चेजको चमत्कार नै भन्नुपर्छ, सन् १९८० र ९० को दशकमा चेजका उपन्यासलाई कयौँ भारतीय प्रकाशकले यति निचोरे कि त्यसको कुनै जवाफ छैन। अहिले पनि हिन्दीमा जसले चेज पढेको छ, उसले मूल लेखक चेजभन्दा पनि अनुवादकलाई सम्झिरहन्छ। (सुरेन्द्र मोहन पाठकको पुस्तक ‘हम नहीँ चंगे… बुरा न कोय’को सम्पादित पुस्तक अंश।) #अदृश्य |
'यात्रामा पुस्तक लिएर हिँड्दा एक्लोपन महसुस हुँदैन': जीवा लामिछा ने नेपाल साहित्य जगतका लागि मात्र नभएर व्यावसायिक क्षेत्रको लागि पनि सुपरिचित नाम हो । व्यापारको शिलशिलमा उनी युरोप बस्छन्, तर पनि नेपाली साहित्यमा गहिरो लगाव राख्छन् । विभिन्न विधामा कलम चलाए पनि उनको विशेष पहिचान नियात्रामा छ । उनको नियात्रा संग्रह सरसर्ती संसार प्रकाशित भइसकेको छ भने ‘देश देशावर’ चाँडै फाइन प्रिन्टबाट बजारमा आउँदैछ । प्रस्तुत छ, व्यवसायी तथा साहित्यकार जीवा लामिछाने सँग साहित्यपोस्ट का लागि कृष्ण ढुंगेल ले गरेको अन्तरंग साहित्यिक संवादको सम्पादित अंशः रूस र जर्मनीमा बस्नुहुन्छ । व्यापार–व्यवसायका र विभिन्न संघ-संस्थाहरुको दायित्व पनि उत्तिकै छ । लेखपढलाई पनि समय दिएको देखिन्छ । समय कसरी मिलाउनु हुन्छ ? अंग्रेजीमा एउटा भनाइ छ नि, ‘इफ देयर इज विल देयर इज वे”, चाहना भयो भने उपाय निस्किहाल्दो रहेछ । प्रकृतिबाट हामी सबैले बराबर समय पाएका छौं- २४ घण्टा । आफ्नो रुचिअनुसार सबैले त्यही २४ घण्टा समय व्यवस्थापन गर्ने हो । मानिस जिउने आफ्नो खुसीका लागि पनि हो । जुन काममा मानिसको रुचि हुन्छ र जे गर्दा खुसी-सुखी हुन सकिन्छ, त्यही काम गर्नुपर्छ । प्रत्येक मानिसका आफ्ना-आफ्ना रुचि हुन्छन्, कसैको फुटबल हेर्ने बानी हुन्छ, कसैको टेनिस, ब्याडमिन्टन खेल्ने । मेरो विशेष रुचिका क्षेत्र यात्रा र साहित्य अध्ययन हुन् । म यसैमा रमाउँछु । सामान्यतः नेपाली व्यवसायीको साहित्यमा उति रुचि राखेको देखिँदैन । तपाईं भने ठीक विपरीत देखिनुहुन्छ । सफल उद्यमीभित्र साहित्यको रस कसरी पस्यो होला ? मलाई त्यस्तो लाग्दैन । साहित्यमा रुचि हुने व्यवसायी म मात्रै होइन, अरु पनि धेरै हुनुहुन्छ । सफल उद्यमीको रुपमा परिचित अग्रज दाइहरु; वसन्त चौधरी, द्वारिका श्रेष्ठ आदि स्थापित लेखक हुनुहुन्छ । साहित्यलाई धेरै योगदान गर्नु भएको छ । साहित्य अध्ययन मेरो सानैदेखिको बानी हो । त्यतिबेला पाठ्यपुस्तकबाहेक पढ्नका लागि अहिलेजस्तो सामग्री उपलब्ध हुँदैनथे । थोरै पुस्तक उपलब्ध हुने त्यो जमानामा जति उपलब्ध हुन्थ्यो, म ती सबै पढ्ने गर्थें । काठमान्डू आएर कलेज पढ्न थालेपछि पुस्तक अलि सहजै उपलब्ध हुन थाल्यो । त्यतिबेला पुस्तकालयमा बसेर पढ्ने गरिन्थ्यो । रुस गएपछि पनि यो कायमै रह्यो । यात्रामा पनि म पुस्तक लिएर हिँड्ने गर्छु । यस्तो गर्दा मलाई एक्लोपन महसुस हुँदैन । धेरै खालका लेख लेखिरहे पनि तपाईंको पहिचान नियात्रा लेखनमा छ । पहिलो पुस्तक ‘सर्सर्ती संसार’ले नै एउटा उचाइ पायो । सामाजिक सञ्जालमा पनि सक्रिय हुनुहुन्छ । यसको कारण के होला ? त्यस्तो धेरै त मैले के नै लेखेको छु र ? सामाजिक सञ्जालले अहिले निक्कै सजिलो बनाइदिएको छ । मनमा लागेका केही कुराहरु छोटकरीमा सार्वजनिक गर्न सकिने प्लेटफर्मका रुपमा मैले सामाजिक सञ्जाललाई उपयोग गर्छु । एउटा पूर्ण आर्टिकल लेख्नका लागि निक्कै समय खर्चिनु पर्छ, त्यति समय नै कहाँ हुन्छ र ? सामाजिक सञ्जालमा भने लागेका कुराहरु छोटकरीमै झटपट सेयर गर्न पाइयो । नियात्रा मलाई मनपर्ने विधा हो । म यात्रा गर्न रुचि राख्ने भएकाले पनि यसै विधामा लेख्न मलाई सहज लाग्छ । सरसर्ती संसार मैले रहरै-रहरमा लेखेको हुँ र यो एक औसत पुस्तक हो तर पाठकहरुले यसलाई मन पराइदिनुभो । नेपालय प्रकाशन गृहबाट यो चौथो पटक प्रिन्ट भैसकेको छ । ई-बुक प्रकाशन गर्ने अनलाइन पोर्टल ‘थुप्रै डट कम’ को ई-बुक शृंखलामा पनि सरसर्ती संसारले निक्कै राम्रो रिस्पोन्स पाएको सूचना पाएको छु । यसले मलाई थप उत्साहित बनाएको छ । समकालीन नेपाली नियात्रामा जुन किसिमको एकरसको थियो, त्यसलाई तपाईंको पुस्तकले विविधता दियो । नियात्रामा फरकपन ल्याउनुपर्छ भनेर सोच्नुभएको थियो कि लेख्दालेख्दै यस्तो भयो ? नियात्रा लेखन अनुभूतिजन्य विषयमा नै केन्द्रित हुनुपर्छ भन्ने मान्यता छ, त्यो सही पनि हो । यात्रा गर्दा मलाई घुम्ने ठाउँको भूगोल, राजनीति, त्यहाँका मानिसको रहनसहन आदि विषयमा जान्ने उत्कट चाहना हुन्छ । गाइडबाट होस्, यात्रामा भेटिएका मानिसबाट होस् वा अन्य माध्यमबाट म सकेसम्म त्यस्ता सूचना संकलन गर्ने प्रयास गर्छु । मलाई रुचि लाग्ने त्यस्ता विषयहरु आमपाठकलाई पनि सायद रुचिकर होलान् भन्ने लागेकोले मैले ती विषयहरुलाई यात्रा अनुभवमा समेट्ने गर्छु । अनि अर्को कुरा, नियात्रा लेखनमा व्यक्तिगत कुराहरुमा मात्रै धेरै फोकस गर्न मलाई मन पर्दैन । फरकशैली बनाउने भन्दा पनि लेख्दै जाँदा यस्तै धार बन्यो । ‘सरसर्ती संसार’मा विवरणात्मक पक्ष बढी भयो भन्ने कुरा पनि आएको छ । घुमेका ठाउँको विषयमा केही जानकारीमूलक कुराहरु र घुम्दाका अनुभूतिहरुलाई सकेसम्म मैले एकाकार गर्ने प्रयास गरेको छु । नेपाली साहित्यको अन्तर्राष्ट्रियकरका विषयमा जोडतोडले कुरा उठेको देखिन्छ । तपाईंले धेरै कृतिको अनुवाद गरेको कुरा साहित्यपोस्टमार्फत थाहा पाइयो । अरुले पनि यस्ता काम गरिरहनु भएको छ तर त्यसले उचित परिणाम ल्याएको छैन । किन होला ? बोलीचालीको नेपाली भाषा तथा श्रुति परम्पराको इतिहास पुरानो भए पनि रुसी, अंग्रेजी, फ्रेन्च आदि साहित्यको तुलनामा नेपाली साहित्य लेखन त्यति पुरानो होइन । नेपालजस्तो अल्पविकसित तथा पाठकको दायरा कम भएको देशमा हाम्रा अग्रजहरुको जुन साहित्यिक उचाई थियो, छ; त्यो हाम्रालागि निकै गर्वको विषय हो । नेपाली भाषाका हरेक विधाका उत्कृष्ट कृतिहरुको अन्तर्राष्ट्रिय भाषामा अनुवाद हुने हो भने हाम्रो सुगन्ध विदेशमा फैलिने थियो । तर मूल भाषामा लेखिएका ती कृतिहरुको विश्व भाषामा अनुवाद हुन नसकेकोले नेपाली साहित्य बाहिर त्यति चर्चामा नआएको हो । [bs-quote quote=”रुसी, अंग्रेजी, फ्रेन्च आदि साहित्यको तुलनामा नेपाली साहित्य लेखन त्यति पुरानो होइन । नेपालजस्तो अल्पविकसित तथा पाठकको दायरा कम भएको देशमा हाम्रा अग्रजहरुको जुन साहित्यिक उचाई थियो, छ; त्यो हाम्रालागि निकै गर्वको विषय हो ।” style=”default” align=”left” color=”#dd3333″ author_name=”जीवा लामिछाने” author_job=”नियात्राकार” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/06/jiwa-lamichhane.jpg” author_link=”https://www.facebook.com/profile.php?id=100005958273979″][/bs-quote] पछिल्लो समयमा केही कृतिहरुको अनुवाद हुन थालेको छ । अंग्रेजीलगायत अन्य प्रचलित विश्वभाषामा लेख्न सक्ने लेखकहरुको उदय भैसकेको छ, यो सुन्दर पक्ष हो । नेपाली साहित्यलाई अनुवादका माध्यमद्वारा व्यापक रुपमा विश्वमा फैलाउनु जरुरी छ । मैले व्यक्तिगत रुपमा केही थालनी गरेको थिएँ । कवितातर्फ ‘सेलेक्टेड नेपाली पोएम्स, (अनुवादक डा. तारानाथ शर्मा–१९९८) गीतिकवितातर्फ ‘सेलेक्टेड नेपाली लिरिकल पोएम्स (अनुवादक रविन शर्मा–२००१) निबन्धतर्फ ‘सेलेक्टेड एस्सेस (अनुवादक गोविन्दराज भट्टराई- २००३) र वानीरा गिरीको ‘कारागार’ उपन्यासलाई अनुवाद गराएर प्रकाशित गरेको थिएँ । यसका लागि सरकारी तथा गैरसरकारी साहित्यप्रेमी संस्थाहरुको अभियान जरूरी छ । स्तरीय अनुवाद हुनुपर्छ । डायास्पोरिक लेखनलाई कसरी नियालिरहनु भएको छ ? डायास्पोरा लेखन संख्यात्मक र गुणात्मक रुपमा फस्टाइरहेको मैले महसुस गरेको छु । प्रवासी नेपालीहरुले साहित्यका विविध विधामा निरन्तर कलम चलाउँदै आएका छन् । यो लेखनलाई गम्भीर, गुणस्तरीय तथा मानक लेखनको रुपमा सुदृढ गरेमा स्वदेशी तथा विदेशी साहित्यमा छुट्टै पहिचान स्थापित हुनेछ । पहिलो पुस्ताको डायस्पोरा भएकोले हामीलाई जन्मदेश र कर्मदेश दुवै ठाउँको अनुभूतिलाई समेटेर लेख्न पाउने अवसर छ । पुरस्कार सर्जकका लागि ठूलो प्रोत्साहन हो । नेपालको विश्वसनीयमध्ये एक पद्मश्री पुरस्कारको स्थापना पनि गर्नुभयो। तर किन स्थापना गर्नुभयो? साहित्य र कलाको विकास बिना गतिशील समाजको निर्माण र यसको सर्वाङ्गीण विकास सम्भव छैन । शिक्षित र सभ्य समाज निर्माण र रुपान्तरणमा सर्जकहरुको ठूलो योगदान रहेको हुन्छ । यस्ता सर्जकहरुलाई केही प्रोत्साहन होस् भन्ने उद्देश्यले वि.सं. २०६३ सालदेखि पद्मश्री पुरस्कार स्थापना गरिएको हो । मोफसलका सर्जकको उत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने गरी यसको सुरुआत भएको थियो । २०६६ सालदेखि भने यसको दायरा फराकिलो बनाइएको छ । पद्मश्री साहित्य पुरस्कार कृतिलाई र पद्मश्री साधना सम्मान दीर्घसाधना गर्नुहुने सर्जकलाई प्रदान गरिदै आएको छ । यस वर्षदेखि दुवै पुरस्कारको राशि वृद्धि गरी ३/३ लाख रुपियाँ हुने निर्णय गरिएको छ । तपाईंका दुई छोरा सानैदेखि लेख्नुहुँदो रहेछ । उहाँहरुको अङ्ग्रेजी पुस्तक प्रकाशन भएको देखियो । भावी पुस्तालाई पनि यतातिर आकर्षित गर्न खोज्नुभएको हो ? बच्चाहरुका लागि पहिलो विद्यालय आफ्नो घर र पहिलो शिक्षक आमा-बाबु हुन् भन्ने चलन छ । सबै बाबुआमा आफ्ना सन्तानले प्रगति गरुन्, राम्रो संस्कार पाऊन् भन्ने चाहना राख्छन् । हामीले पनि बच्चाहरुलाई सकेसम्म गुड प्यारेन्टिङ दिने प्रयास गर्यौं । साहित्यमा मेरो विशेष रुचि भएकोले सानैदेखि उनीहरुलाई पनि मैले पढ्नका लागि इन्करेज गर्दै गएँ । उनीहरुको पुस्तक पढ्ने आदत बस्दै गयो, अनि बिस्तारै लेख्न पनि थाले । उनीहरुको एज ग्रुपले मन पराउने खालका लेखहरु सानैदेखि लेख्ने गर्थे । टिचरहरुबाट पनि उनीहरुलाई प्रेरणा मिल्न थाल्यो । बेलाबेलामा काठमाडौँ पोस्ट, रिपब्लिका, दि हिमालयन टाइम्सजस्ता पत्रिकाहरुले पनि स्थान दिएको हुँदा उनीहरु उत्साहित हुँदै गए । उनीहरुले सानो छँदा डायरीमा लेख्ने गरेका कुराहरु समेटेर सन् २०१२ मा हामीले पुस्तक प्रकशित गरिदिएका थियौं । त्यतिबेला अनुरागको उमेर १४ वर्ष र अनुकृतको १२ वर्ष थियो । अहिले त उनीहरु केही म्याच्योर पनि भइसके । तपाईंको दोस्रो पुस्तकको चाँडै पाठकले पढ्न पाउने चर्चा सुनिएको थियो । पुस्तकको कभरसमेत सार्वजनिक भएको थियो तर अहिले त्यसको चर्चा छैन, कारण के होला ? मेरो दोस्रो नियात्रा संग्रह ‘देश देशावर’ फाइनप्रिन्ट प्रकाशन गृहबाट प्रकशित भएर आइसकेको छ । चैत्र महिनाको सुरुमा यसलाई सार्वजनिक गर्ने मिति तय भैसकेको थियो तर कोभिड-१९ ले सिर्जना गरेको विषम परिस्थितिका कारण यसलाई लोकार्पण गर्न सकिएको छैन । अब कहिले सार्वजनिक गर्ने भन्ने विषयमा प्रकाशकसँग छलफल गरेर छिट्टै निर्णय गर्नेछौँ । धेरै नेपाली लेखकहरुको संगत गर्ने, उनीहरुलाई हौसला दिने व्यक्तिमा तपाईंको नाम अग्रपंक्तिमा पर्दोरहेछ । संगत गरेकामध्ये तपाईंलाई बढी प्रभावित पार्ने साहित्यकारहरु को-को हुन् ? मलाई मन पर्ने धेरै लेखक, साहित्यकारहरु हुनुहुन्छ । हरेक विधामा विशिष्ट पहिचान बनाउनु हुने स्रस्टाहरुसँग मैले संगत गर्ने अवसर पाएको छु । उहाँहरु सबै मेरालागि प्रेरणाको स्रोत हो । धेरै साधकहरुबाट मैले स्नेह र सद्भाव पाएको छु । उहाँहरुबाट प्राप्त प्रेम र सद्भावले मलाई लेखनमा र यस क्षेत्रमा केही योगदान गर्न ऊर्जा प्रदान गरेको छ । अन्त्यमा, साहित्यपोस्ट पढ्ने गर्नुहुन्छ ? यसका राम्रा पक्ष के लाग्छन् ? यो संस्थाले आफूलाई कहाँ-कहाँ सुधार गर्नुपर्छ भन्ने लाग्छ ? यस प्रकृतिको विद्युतीय पत्रिकाको आवश्यकता धेरै जनाबाट महसुस हुँदै आएको थियो । त्यो भ्याकुम तपाईंहरुले पूरा गर्नु भएको छ । एक महिनादेखि नियमित रुपमा साहित्य पोस्टमा प्रकाशित सामग्रीहरु पढ्दै आइरहेको छु । स्तरीय सामाग्री प्रकाशन र यो पोर्टलको सस्टेनेबिलिटीका लागि साधन, स्रोत महत्त्वपूर्ण पक्ष हो । त्यसैले यसलाई सामाज सेवाका रुपमा नभई व्यावसायिक रुपमा चलाउने प्रयास गर्नुहोला । नयाँ काम भएकाले सुरुमा केही कठिनाई हुन सक्छ तर राम्रो कामको सुरुआत भएकाले सहयोगी हातहरु अवश्य मिल्नेछन् । तपाईंहरुको मिसन सफल होस्, मेरो शुभकामना । आमासँग भलाकुसारी गर्दै नियात्राकार जीवा लामिछाने #जीवा लामिछाने |
उपल्लो थलोः\xa0 पढ्नैपर्ने पुस्तक: उषा थपलिया अरू पुस्तकभन्दा यात्रासम्बन्धि पुस्तक पढ्न लगभग आधा नै बढी समय चाहिन्छ मेरा लागि । उपन्यास , कथा र अन्य आख्यानका झैँ सरर दौडिदैनन् हरफहरू । भौगोलिक होस् या सामाजिक अनि सुन्दर प्रकृति होस् या प्रकृतिले खडा गरेका असंख्य कठिनाई , लेखकले गरेका प्रत्येक वर्णनभित्र आफैँ विचरण गर्ने लालसा जागिहाल्छ । लेखकका कठिनतम् भोगाइमा दुःखी , उल्लासमा रोमाञ्चक , वर्णित प्रकृतिको सुन्दरतामा लठ्ठ अनि यात्रा र स्थानीय जनजीवनका कष्टप्रति समवेदित हुन सकिएन भने ती पुस्तक पढ्नुको के मज्जा ? यस्तै लाग्छ मलाई । पढ्न हरबखत प्रेरित गरिरहने एक अग्रजमार्फत् केहीअघि पीडिएफ भर्सनको यात्रा सम्बन्धि एक पुस्तक इनबक्स भित्रियो । पुस्तकको नाम- उपल्लो थलो । लेखक- मोहन मैनाली । खोजपत्रकारिताका लागि ख्याती कमाएका लेखकबारे धेरथोर जानकारी त थियो नै , धेरै वर्षअघि उनकै विषयको एक सेसन लेक्चर सुनेको यादसमेत जुरमुरायो । तर कृति पढ्ने मेसो जुरेको थिएन । पीडिएफ पाउनुअगावै बुकाहोलिक्समा उनीसँगको साक्षात्कारसम्बन्धि जानकारी हुँदाहुँदै पनि सहभागि हुन सकिनं । पुस्तक पढिसकेको थिएँ भने केही जिज्ञासाकासाथ चाँजोपाँजो मिलाउँथे होला , पुस्तकमा सरसर्ती आँखा दौडाउँनेबित्तिकै यस्तै सोचाई आईहाल्यो । लेखकसम्बन्धि यिनै विशेषताका कारण २ सय ७१ पृष्ठको पुस्तकले पनि धेरै समय लिने मैले सुरुमै ठम्याएको थिँए । त्यसमाथि पीडिएफ अनुभव पहिलो थियो । पन्ना फट्कार्दै पुस्तकको भौतिकरूप पढ्नुमा जति मजा पिडिएफले नदिने रहेछ । तैपनि कसैको सदासयले लकडाउनमा जे अवसर जुटेको थियो त्यसप्रति अनुगृहित नहुनु कसरी ? उत्तरी गोरखाका जटिल समस्या र त्यसको समाधानका लागि भैरहेका केही प्रयासबारे भिडियो रिपोर्ट तयार गर्न ३ चरणमा भएका कठिन यात्राको विवरण पुस्तकका तीन खण्डमा पाइन्छ । चौथो खण्डमा मानसरोवरको यात्रा पनि कम रोचक छैन । तर गोरखा यात्राअन्र्तगतका खण्डमा मात्र यो आलेख केन्द्रित छ । उत्तरी गोरखाका दुःख , अप्ठेरो , संगती , विसंगती , सम्भावना , भैरहेका प्रयास आदि समेटेर भिडियो डकुमेन्ट्री बनाउन खोजपत्रकारीता केन्द्रले २०५१ , ०५२ र ०५९ मा गरेको सतत् प्रयास नै पुस्तकको मुल विषयवस्तु हो । पहिलो यात्रा मंसिरको ठण्डीमा , दोस्रो र तेस्रो यात्रा मध्य साउन र भदौरे झरीमा । हरेक पटकको यात्राका उस्तै प्रतिकुलता । तत्कालीन समयका असजिला र गह्रुंगा क्यामरा , ट्राईपड , व्याट्री , डेक , जेनेरेटर , एक डोको टेप , २७\\२८ दिने यात्राका लागि पाँच छ जना यात्रीका तमाम सर्जाम । यी सबैका लागि ५ जना भरीयाको लस्कर । बर्खाको झरी , चिप्लो बाटो , ठाउँठाउँमा उर्लने भेल , अनि हिउँदको ठण्डीमा अप्ठेरो लेकको यात्राका कष्ट प्रत्येक हरफले झल्काउँछन् । स्थानीयका दुःख-दर्द , प्राकृतिक सुन्दरता , भौगोलिक विकटतालगायतका दृश्य बेलाबेलामा कैद गरिरहन उपकरणलाई साथमै बोकेर हिँड्नुपर्ने यात्रीका बोझ पाठक आफैँले थेगेको आभास भैदिन्छ । अझ उहियाबाट अघि लागेपछि अत्यन्तै ठण्डीका लागि आवश्यक खानेबस्ने सामान , पकाउने भाँडाकुँडा र दाउरासमेत बोकेर हिँड्नुपर्ने स्थिति सजिलो कसरी हुन सक्थ्यो ? लेकसम्बन्धि धेरै जानकारी नभएकोले नै होला पैदलयात्रा सुरु भएदेखि गोरखाको सुदुर उत्तर , जहाँबाट हिमाल नै दक्षिण दिशातर्फ पर्दछ , पाँच हजार एकसय मिटर उचाईसम्मका सबै यात्रा विवरण रोमाञ्चक लागे, तर स्थानीयका दुःख कष्टको वर्णन भने उत्ति नै पीडादायी । भ्रमण यताको २५ वर्षे अवधिमा अवस्था परिवर्तन केही भएकै होला, तर मस्तिष्कले भने त्यो ठाउँका लागि अहिले पनि त्यही तस्वीर हुबहु देखिरहेको छ । माथिको अत्यधिक चिसो लेक र तलको औल , दुवैतर्फ भेडा ओहोर – दोहोर गराउँदा भेंडा गोठाला जुत्ताविहिन । लेकको आलु बोकेर तल झर , आलुसँग साटिएको अन्न बोकेर फेरि माथि चढ । उकाली र ओराली दुवैमा थाप्लोको गह्रुँगो भारी कहिल्यै नछुट्ने महिला र बालबालिका जुत्ताविहीन । तिनका चरचरी चिरिएका पैताला र कुर्कुच्चा पाठक आफ्नै आँखाले प्रत्यक्ष देख्दछ । ६ महिना हिउँ जमेर बस्ती खाली हुने लेकका तल्ला भेगमा खानेपानीको हाहाकार पत्याउनै गारो । मन भारी बनाउने एक पानी प्रसंग पढिसकेपछि नपत्याउनु कसरी ? टाढाबाट ल्याएको एक गाग्रो पानी घरमा राखेर मेला गएका फौदसिंह कार्कीको गाग्रो साँझ घर फर्कदा रित्तो हुन्छ । बाटा छेउको घर भएकाले बटुवाले खाएरै सकिदिन्छन् । फेरि लिन जाने अवस्थै रहन्न । पानीको अभावमा ‘ डिनर ’ कालागि भुटेको मकै भन्दा अर्को विकल्प देख्दैनन् उनी । मकैले खानाको गर्जो त ट ¥ यो तर रातको समयमा सुख्खा मकैले जगाएको छोराछोरीको प्यास कसरी मेटिदिने ? कार्की समक्ष अर्को विलखबन्द आईलाग्यो । अन्ततः केराको दाम्चो काटेर निकालिएको रसलाई पानीको नाममा पिलाउनु भन्दा अर्को उपाय निक्लेन । के त्यसले ति लालाबालाको प्यास मेट्ने सामथ्र्य राख्यो होला त ? एक बाबुको मनस्थिति कस्तो हुँदो हो त्यतिवेला ? पाठक सुस्केरा हाल्न बाध्य हुन्छ । हिमालबाट ६ महिनाका लागि तल्लो भेक भेंडा खेदिरहेका गंगाबहादुर गूरुङ एकाएक कृतिकारको समुहलाई आफ्नो अन्तरवार्ता लिइदिन जोडबलसहितको आदेश दिन्छन् । आफूभित्रका उकुस – मुकुसरुपी पत्र फिजाँउनकैलागि उनी त्यो हदसम्म उक्लिएका थिए । कुरा ओकल्ने अग्रसरता धेरै ठूलो तर माग या आकांक्षा भने अति सामान्य । भारी बोकेर हिड्न मिल्ने गोरेटो बाटोको निर्माण , जसले भारी बोकेर हिंड्दै गर्दा साँघुरो बाटोकै कारण भीरबाट खसेर मृत्युवरण गर्ने मान्छेको मृत्यु श्रृङ्खला अन्त्य गरोस् , एउटा हाईस्कुल ÷ छात्रावास , सामान्यस्तरको प्राथमिक उपचार केन्द्र । यो उनको मात्र नभएर उत्तरी गोरखाका १५ वटै गाविसबासीको प्रतिनिधि आवाज थियो । यी न्यूनतम आधारभूत आवश्यकता परिपुर्तिकालागि प्रजातान्त्रिक सरकारलाई के जनताले सन्देश पठाई रहनु पर्ने थियो र ? अहिलेको अवस्था के कस्तो छ , थाहा छैन । यदि अझैँ पनि समय अनुसारको परिवर्तन स्थानीयबासीले अनुभूत गर्न पाएका छैनन् भने तीन दशकदेखि प्रजातान्त्रिक र डेढ दशकदेखि लोकतान्त्रिक भनिएको सरकारको यो जति ठूलो लज्जा अरू के होला ? उपस्वास्थ्य चौकी भएका ठाउँको हालत त्यस्तै लाजमर्दो । हाकिमहरू नबिराई मासिक तलब थाप्ने तर सातआठ महिनामा एकपटक मात्र कार्यालय पुग्दा हुने । त्यहाँ बसिन्जेलको तीनचार दिन जाँडरक्सी सहित भरपुर मनोरञ्जन गर्ने अनि फेरि हिडिहाल्ने । अझ उदेकको कुरा , कार्यालय पुगेको दिन भोलीपल्ट बिरामी जाँच्छु भन्दै मान्छे जम्मा पार्न तल्ला कर्मचारीलाई आदेश दिने हाकिम , भोलीपल्ट बिरामी लाईनमा बसिसकेपछि हाकिमले बोलाएको भन्दै झोला बोकेर जिल्ला सदरमुकाम हानिन समेत सरम मान्दैनन् । हाकीमका यस्ता रवैयाका कारण तल्ला तहका स्वास्थ्य कर्मचारी र स्थानीयको विवशता आफैँ अनुमान गर्न सकिन्छ । त्यस्तै नमुनाको अर्को स्वास्थ्य चौकी जहाँ , दुईवर्षदेखि स्वास्थ्यचौकी हाकिरहेका थिरबहादुर खत्री स्थानीय सबैको नजरमा डाक्टर तर स्वास्थ्य मन्त्रालयले दिएको नियुक्तिपत्रमा उनको पद ‘ पियन ’ । अन्यत्रका स्वास्थ्य चौकीको हालत पनि प्रायः उस्तै । केटाकेटीको पोलियो थोपा खुवाउने कार्यक्रम धरी स्वास्थ्य कर्मचारीको जाँड र मोजमस्तीको अवसरमा परिणत भैदिँदा उत्तरी गोरखाका २५ प्रतिशत बालबालिका १ वर्ष नपुग्दै मर्ने गरेको तथ्य पुस्तकमा पाईन्छ । घाँटीमा झुण्ड्याईने जडिवुटीकै बुटीले मात्रै अरू बालबालिकालाई बचाएको रैछ है ? उल्लेखित तथ्यबाट पाठकले अनुमान गर्ने नै यही हो । शिक्षा क्षेत्रको अवस्था त्यस्तै दुरुह । शिक्षकहरूको मासिक तलब पाकिरहने , मसलन्द खर्च गईरहने तर विद्यालयमा शिक्षक वस्दै नबस्ने । स्कुल खुलेको ३४ वर्षमा एक विद्यार्थीले ५ कक्षा पास गर्दा शिक्षकहरूकालागि उत्सव मनाउने विषयवस्तु भैदिने । शिक्षकको चरम लापरवाहीकै कारण ०३३ सालमा खुलेको स्कुलका कुनैपनि विद्यार्थीले २०५२ सालसम्म ३ कक्षा पास नगरेको अवस्था लगायतका धेरै शैक्षिक विसंगती पुस्तकले उजागर गरेको छ तर यी कुनै पनि तथ्यप्रति जिल्ला शिक्षा कार्यालय लगायत अन्य तालुक केन्द्रिय निकाय चिन्तित र जागरुक बनेको देखिएन । समग्र जनजीवन नै कष्टप्रद भएका स्थानमा महिलाका पीडा अझ चोटीलो हुनु अनौठो भएन । पुस्तकभित्रको एउटै प्रसंगले आममहिलाको अवस्था चरितार्थ गर्ने खुवी राख्दछ । खोर्लाबेशीमा घुँडाघुँडा अग्लो कोदोबालीभित्र टुक्रुक्क बसेर महिलाहरू टण्टलापुर घाममा दुवै हातले कोदो गोडिरहेका । कोदोको पातले नाङ्गा पाखुरा पाछेर बनाएका घाउ र ति घाउमा टन्टलापुर घामको रापसंगै नुनिलो पसिना बग्दा हुने चरचराहटप्रति मत्लव राख्ने र्फुसद उनीहरूसँग छैन । पुस्तकभित्र यी कर्मयोगी महिलाहरूको वर्णनले , ‘ दशनंग्रा खियाई ’ को वास्तविक तस्वीर पाठककै आँखामा ठोक्किन आईपुग्छ । अझ आधाजसो महिलाका पिठ्युँमा थाङ्ना सहितका स – साना कोक्रा र कोक्राभित्र सुताईएका बच्चा । खपिनसक्नु गर्मीले बच्चा रोएपछि कामकै दौरान शरीर हल्लाएर बच्चा फुल्याउने कोशिस , नफुलिनेलाई कोक्रो विसाएर दुध चुसाउने तत्परता अनि मातृममत्वको गर्व झल्काउदै मकैको खोष्टामा बेरिएको सुर्तिको सर्कोबाट अथाह दुःखवीच मुस्काउन सक्ने खुवी । महिलाका भुक्तमान प्रष्ट्याउन अहिलेसम्म महिलाअधिकार संस्थाहरूले जति कारुणीक तस्वीरहरू प्रचारमा ल्याए र त्यसका आधारमा जति चुरीफुरी गरेपनि खोर्लाबेशीको त्यो दृश्यबिना महिला जिम्मेवारीका विषयवस्तु प्रष्ट्याउन के कुनै जेण्डरविज्ञ सफल भए होलान् त ? टिभीका स्क्रिनमा भेडाका बथान देख्दा हेर्नेहरूकालागि त्यो केवल मनोरञ्जनको दृश्य बनिदिन्छ । त्यसभित्रको पीडा गोठालालाई भन्दा अरू कसलाई थाहा होला ? हिउँदमा लेकको तुसारोबाट बच्न औल झर्ने र बर्खामा औलको गर्मीबाट जोगिन लेक चढ्ने । हरेक वर्षको अनिवार्य उपक्रम हो यो । ती अग्ला ठाउँमा वर्षमा फेरिने ऋतुहरू जम्मा दूईवटा मात्रै । अन्यत्रकालागि छुट्ट्याईएका बाँकी ४ ऋतुहरू हिउँद , बर्खाकै चेपुवामा परेर सकिन्छन् । यी दुई याम ‘ पानी फेरिने ’ कारण साना पाठाहरू ज्वरोले ग्रसित हुने गर्दछन् । मान्छेकै स्वास्थ्य निकायको त्यो हविगत हुने ठाउँमा पशु उपचार केन्द्रको भर पर्ने कुरै भएन । आफूले जानेका जडीबुटी खुवाएर पाठा जोगाउने प्रयत्नमा लागिपर्छन् गोठालाहरू । त्यसले केही काम गरे मात्र हो , नत्र सालमा एउटा भेडा बढाउन पनि मुश्किल पर्नेरहेछ । पुस्तकभित्र भुक्तभोगी गोठालाको रूपमा देखा परेका छन् स्थानीय उरसिंह गुरुङ । नौ वर्षको उमेरमा गोठका नौ – दशवटा भेडाबाट चरन सुरु गरेका गुरुङले उनान्सत्तरी वर्षमा आईपुग्दा भेडाको संख्या ६० – ७० वटा मात्र पु ¥ याउन सके । जीन्दगीभरीको आर्जन यो भन्दा अरू केही थिएन । पुस्तकभित्रको यो प्रसंगले सोचमग्न बनाउँछ पाठकलाई । मान्छेका मात्र हैन , ति भेकमा पशुका दुःख पनि कति कति ! स्यालाको जंगल विनास भएर जति पनि काठ निस्कन्छन् , त्यसको गन्तव्य तिब्बत हुने गर्दछ । तिब्बती बजारमा काठ पु ¥ याउने सबै जिम्मेवारी चौंरीमाथि । ढाँडको दुबैतर्फ चारचार वटाको दरले कसिने फलेक । ६ दिनको यात्राकोलागि मान्छेका खानेकुरा , भाँडाकुँडा , ओढ्ने ÷ ओछ्याउने , पाल लगायत यावत सामाग्री र चौंरी स्वयंका खानेकुरा , सबैको भार थेग्नुपर्ने केवल चौंरीले । त्यसमाथि कठिन र १५ हजार फिटको उकालो यात्रा । तिब्बतमा काठ बेचेर किनिएका चामल र पिठोका बोरा फर्कदा पनि चौंरीका ढाँडमाथि यथावत । तिनकालागि उकालो जति सास्तीपुर्ण ओरालो पनि उस्तै । कठिन ओरालोमा पनि ढाँडमाथिको भारीले खुट्टा थरथराउँदै झरेका चौंरीको वर्णन पुस्तकमा जसरी गरिएको छ , त्यसले असैह्य वेदना उमाल्छ । विरगञ्जबाट रक्सौल जाँदा आफू चढेको टाँगा तान्ने घोडाप्रति उस्तै स्नेह जाग्दथ्यो । मालिकले घोडामाथि कोर्रा बजार्दा प्रहार आफैँले खेपेको अनुभूतिसहित घोडा नकुट्न मालिकप्रति चर्को स्वर निस्किहाल्थ्यो । अनि घोडालाई धेरै भार नपरोस् भन्ने हेतुले आफ्नो शरीरलाई हदैसम्मको हलुँगो बनाउन आफूले खेपेको सकस पुस्कत पढ्दा स्मृतिमा आईरह्यो । मान्छे सरह पशुप्रति पनि मेरै जस्तो स्नेह जाग्ने जो कोहीलाई भेंडाचांैरीका दुःखपुर्ण नियतीले पक्कै विक्षिप्त बनाउँछ । त्यति दुःखसाथ तिब्बत पु ¥ याएका काठ सस्तो दरमा बेच्नुपर्ने बाध्यता , एकभारी काठ बेच्दा आएको पैसाले आधाभारी अन्न मात्रै किन्न सकिने । स्थानीयबासीको यो विवशता उस्तै चोटिलो लाग्दछ । लार्केभञ्ज्याङ्मा विरामी साथी रुँङ्दै जीवन मृत्युवीच कृतिकारले झेलेको संघर्ष उस्तै संवेदनशील लाग्दछ । नजिकैको धरतीमा ल्याण्ड गर्दै गरेको हेलिकप्टर झैँ मनासलुबाट खस्ने हिमपहिरोको भयंकर आवाज खेप्दै एक्लै बिरामी साथी कुर्नुको त्रासद चित्रण मजासँग गरिएको छ । तर पुस्तकभित्र यात्री र स्थानीयका दुःखका फेहरिस्त मात्र छैनन् । प्राकृतिक सुन्दरताको मनमोहक वर्णन छ , हिँड्नेहरूलाई रुझाउला झैँ बाछिटा फाल्दै छङ्छङ बग्ने सेता झरना छन् , हावामा बयेली खेल्दै झुल्ने करुका मनमोहक बालाहरू छन् । पुङ्गेन गुम्बामा लगाइने मित-मितनीको अनौठो बान्की वर्णन छ । दुःखदर्दलाई भुलाउन मद्दत गर्ने मौलिक पाराका गीत , नाच र जमघटका प्रसंग छन् , हातमा अलिअलि पैसा खेलाउन दिने जंगलका जडीबुटी चर्चा छन् , भुइँलाई रंगिन बनाएर बादलसंगै बयेली खेल्ने सुन्दर फूलका गलैचाहरू छन् । जिङ्ग्रिङ्ग बोटका मनमोहक लालीगुँरासहरू छन् । लालीगुँरासको कुरूप बोट र सुन्दर फूलबीचको अन्तरविरोध सम्बन्धमा आफ्नो मनभित्र जे कुरा खेल्ने गर्दछ , लेखकको विवेचना दुरुस्त पाउँदा पुस्तकभित्रको गुँरासप्रसंग अझ बढी रोचक लाग्यो । मामाघर नमोबुद्ध जाँदा होस् या दामनको बाटो हुँदै राजधानी बाहिरिदा , गुँरासको थुङ्गाले मन प्रफुल्ल बनाईहाल्छन् तर बोटमा आँखा पर्ने बित्तिकै प्रफुल्लित मन क्षणभरमै भरङ्ग भैहाल्ने । न काठकालागि काम लाग्ने सुरिला रुख , न त छायाँ दिने झ्याम्म हागाँविगा , न त हावाको बहावसंगै झुलेर शितलता दिने सुकोमल पातहरू नै । सानोतिनोे काटकुटकोलागि हतियारकै काम गर्ला झैँ कडा अनि धारिला पात र जतासुकै गाँठागुँठीले भरिएको जिङ्ग्रिङ्ग स्वरूप । आफ्नो कुरूप शारिरीक बनावटप्रतिको अथाह वेदनामा सँधै विक्षिप्त भए झैं लाग्छन् हरेक गुँरासका बोटहरू । ‘ कतिमा राम्रो मयुर पङ्खी , पाउ देख्दै भरङ्ग…. ’ गुँरासको बोट देख्नासाथ आमाको यो गीतिअंश सँधै याद आउने गर्दछ । “ सुुन्दर प्वाँख र अपुर्व नाच्ने कलाले मयुर जति मनमोहन देखिन्छ , त्यसका खुट्टा त्यत्तिकै कुरूप हुन्छन् , आफ्नो खुट्टा देखेर उ आफैँ लजाउँछ रे ” । गीतको अंश सम्वन्धमा आमाको स्पष्टोक्ति हो यो । मयुरको नाच र सुन्दरतामाथि कुनै शंका छैन , तर आमाले भने झैँ उसका खुट्टाप्रति ध्यान दिएर हेर्ने मेसो अझैँ जुरेको छैन । यदि यस्तै हो भने गुँरास र मयुरको नियतीमा तात्वीक भिन्नता के रह्यो र ? यस्तै सोचेँ ति हरफहरू पढ्दा पनि मैले । स्थानीय बोलीचालीमा प्रयोग हुने विशेष शब्दहरूको अर्थ पाठकले बुझ्नेगरी स्पष्ट पारिएको छ । यसले पाठकलाई छुट्टै स्वाद दिलाउँछ । सुन्दर र सुन्दै पृथक लाग्ने गाउँ-ठाउँका नामहरू मलाई झैं सबै पाठकलाई पक्कै प्रिय लाग्नेछ । आफैँ पदयात्रामा सामेल भए सरह ठाउँठाउँका स्थानीय मौलिक परिकार र पेय पदार्थको स्वाद चाखेको अनुभूतिसमेत गर्न पाइन्छ । स्थानीयबासीन्दाको जीवन भोगाइलाई केही सहज बनाउन विकास निर्माणको परियोजना चलाएका संघसंस्थाको योगदान पुस्तकमा मजाले दर्शिएको छ । सरकारले ध्यान दिने हो भने पर्यटन प्रवर्धनबाट उत्तरी गोरखाको कायापलट हुने सन्देश सायद सरकारी निकायले पुस्तकमार्फत् ग्रहण गरिसकेको हुनुपर्छ । लोभलाग्दा प्राकृतिक छटाहरू अन्तराष्ट्रिय जगतमा समेत फैलाउन कृतिकार सफल भएको जानकारी पनि पुस्तकमा पाउन सकिन्छ । विभिन्न भौगोलिक प्रतिकुलताका बिच आफ्ना अनेकौं छटा फिँजाउदै उत्तरी गोरखाकी सुन्दर प्रकृति जसरी हाँसेकी छिन् , उसैगरी दैनन्दिन जीवनका अनेकौं कष्ट झेलेर थोरै खुशीमा समेत रमाउन त्यहाँका बासिन्दाले प्रकृतिबाटै सिकेका छन् । यसको स्पष्ट चित्रण पाठकलाई गराउन सक्नु पुस्तकको अर्को दर्विलो पक्ष ठानेकी छु मैले । यिनै उल्लेखित विभिन्न कारणले गर्दा ‘ उपल्लो थलो ’ कृति जन्माउन लेखकले धेरै गारोसारोको सामना गरे होलान्, तर कृतिलाई पढ्नैपर्ने पुस्तकको कोटीमा पु ¥ याउन लेखकले कुनै कसर बाँकी नराखेको निश्कर्ष निकाल्न मलाई भने गारो भएन । सबैलाई एकपटक पढ्न अनुरोध गर्दछु । #उपल्लो थलो #उषा थपलिया |
छिरिङ्को साइकल: ” ह्या अंकल, आउनु न भन्या ! “, छिरिङ्ले दोस्रोपटक बोलायो । मलाई उसको कुरा टार्न निकै गाह्रो भइरहेको थियो । पसलका साहुजी मतर्फ नै हेर्दै थिए । हत्तपत्त चियाको पैसा तिरेर उसको पछि लागेँ। छिरिङ्को उमेर ८ वर्ष हो । म छब्बीस । मलाई उसले अंकलभन्दा पनि दाइ भनेर बोलाए हुन्थ्यो जस्तो लाग्छ। तर पनि उसले मायै गरेर भनेको भएर खासै दु:खमनाऊ गर्दिनँ। छिरिङ् घरभित्र छिर्छ । म उसलाई बाहिर पर्खन्छु। घरको एक्लो छोरो भएर होला, छिरिङ्ले सबैको माया पाएको छ। अस्तिको हप्ता मात्रै उसकी आमाले उसलाई जन्मदिनमा एउटा साइकल किनिदिइन्। ऊ त्यही लिन त भित्र गएको हो। छिरिङ्लाई साइकल चलाउन आउँदैन। त्यसैले मलाई सिकाइदिन भन्छ। उसका साथीहरू निमा र दोर्जेलाई भने साइकल चलाउन आउँछ, तर छिरिङ् उनीहरूलाई गुहार्नेवाला छैन। तिनीहरू छिरिङ्लाई सधैं चिढ्याइरहन्छन। अस्ति फुटबल खेल्दा पनि उनीहरू छिरिङ्लाई जानीजानी लडाएर कुट्न खोज्दै थिए, धन्न म नजिकै थिएँ र उसलाई जोगाए। पछि आँसु पुछ्दै ऊ भन्दै थियो, “पख न, मेरो बाबा आएपछि तिमेरूको बारे सब भन्दिन्छु।” बिचरा छिरिङ् ! उसले आफू जन्मेदेखि नदेखेको उसको बाबा आउन अझैँ कति वर्ष लाग्ने हो ! छिरिङ्लाई उसका हजुरबा/ हजुरआमाले हुर्काएका हुन् । उसकी आमा र दिदीले पनि उसलाई आफूभन्दा बढी माया गर्छन्। तर पनि किन हो ऊ, मसँगै बढी हौसिन्छ। म यो ठाउँमा आएको पनि कति नै पो भयो र ? कहिलेकाही त लाग्छ, कतै उसले मलाई आफ्नो बाबुको स्थान त दिइरहेको छैन ? छिरिङ् मलाई निकै माया गर्छ । उसो त म पनि उसलाई कम्ति माया गर्दिनँ। “अंकल, जाम न!”, छिरिङ् छेउमै बसी मलाई बोलाइरहेको रहेछ । म भने फेरि टोलाउन पुगेछु। आठ-दश महिना जति नै भयो, यस्तो हुन थालेको । धन्न वरिपरि कोही थिएनन्, र देखेनन्। नत्र लाजैमर्दो हुन्थ्यो। छिरिङ्को साइकल मेरा लागि सानै हो। तर उसका लागि भने त्यही पनि ठुलो। म ह्यान्डल समात्छु। छिरिङ् आफैँ पछाडिको सिटमा चढ्छ। माथिबाट छिरिङ्की हजुरआमा हामीलाई नियालिरहेकी रहिछन्। म उनीलाई हेरी फिस्स हाँसेजस्तो गर्छु, अनि बिस्तारै साइकल अघि बढाउछु। छिरिङ् मलाई कस्सेर समात्छ्, अनि पछाडिबाट जोडजोड्ले चिच्याउन थाल्छ, “बाटो छोड्, बाटो छोड्, आ होई …~~~ ” ================ ४/५ दिन भयो.. यसरी छिरिङ् र म दिनहु साइकलमा घुम्न थालेको। ऊ आफू साइकल चलाउन सिक्नुभन्दा पनि मेरो पछाडि बस्न नै मज्जा मान्छ। मलाई पनि यो गर्मीको मौसममा साइकल चढी साझपख सल्लेरी वनको बाटो हावा खान जाँदा आफ्नै बाल्यकालमा पुगेसरह भान हुन्छ । यत्तिकै होइन होला, मेरा बाले मलाई, “त सधैंभरि बच्चै हुने भइस्” भनेका । हुन पनि मलाई मेरा उमेरका मानिसभन्दा साना भुराहरू नै प्रिय लाग्छन्। मेरा आफ्ना उमेरका साथीहरू पनि त्यति छैनन्। साच्चै, किन होला है ? शायद बच्चाहरू बनावटी नहुने भएर हो कि ? .. मलाई बच्चाहरूको हाँसो निश्चल लाग्छ । प्रकृतिको वरदानझैँ लाग्छ, बच्चाको हाँसो… ! “अंकल !” छिरिङ् एक्कासी चिच्याउँछ । म फेरि टोलाएछु । अगाडि हेर्छु, भीषण मोड अनि मोडसँगै गहिरो ओरालो ! हत्तपत्त ब्रेक लगाउन खोज्छु, सक्दिनँ। साइकल वेगले हुत्तिन्छ र अलि पर एउटा रूखमा गई ठोक्किन्छ। हामी दुवैजना छेउमा पछारिन्छौ । म हतासिदै छिरिङ्लाई हेर्छु । धन्न केही भएको रहेनछ । साइकल पनि जोगिएछ। छिरिङ् मलाई हेदै हाँस्न थाल्छ । म पनि उसलाई हेर्दै हाँसिरहन्छु । बिस्तारै उठ्छु, अनि कपडा टक्टकाउछु । छिरिङ्लाई पनि धुलो लागेको रहेछ, झारिदिन्छु। यसो हेर्छु, अगाडि दुइटी केटीहरू यही बाटो हुँदै आउँदै रहेछन्। हत्तपत्त छिरिङ्लाई राखेर साइकल कुदाउनै के लागेको थिए.. कानैमा आवाज आइहाल्यो, “हामी पनि बस्न मिल्छ होला कि !” हेर्छु, छिरिङ्कै दिदी रहिछे। नक्कली ! खुब जिस्काउछे मलाई ! साथी पाउदा मात्र यस्ती हो, नत्र एक्लै पर्दा आँखा जुधाउन पनि डराउछे। कम्ताकी छे मोरी ! म चुपचाप साइकल अघि बढाउँछु। पछाडि उनीहरूको हाँसो गुन्जन्छ। साइकलको पांग्राको चालसँगै मेरो मुस्कान पनि बिस्तारै खुल्न थाल्छ। एक्कासि वनैभरि हावा चलेझैँ लाग्छ, मुटुमै स्पर्श गर्नेगरी । मनमनै सोच्छु, “छिरिङ् नभाको भए त उसैलाई पछाडि राख्थें!” फेरि सोच्छु, ” छिरिङ् नहुँदो हो त यो साइकल पनि त हुने थिएन !” अन्तिममा मनैले ढाडस दिन्छ,”साइकल नै पनि किन चाहियो र, मनैमा राखुला नि !” म फिस्स हाँस्न थाल्छु। फेरि सोच्छु, “थुक्क, यही डाइलग अघि नै दिन पाको भए..!” फेरि आफैँसँग मुर्मुरिन्छु। म आफैँ त्यसै मक्ख पर्छु। छिरिङ् फेरि कराउछ, “अंकल……..!!!” #संसार तिवारी |
बोल्टनको ४४० भोल्टको किताब: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सुरक्षा सल्लाहकार जोन आर. बोल्टनले प्रकाशन गर्न लागेको संस्मरणात्मक पुस्तकको सार्वजनिक वितरण रोक्न ट्रम्पले अदालतलाई गुहारेकामा अदालतले पुस्तक प्रकाशन र वितरण नरोक्न आदेश दिएको छ। पुस्तक पहिल्यै सारा संसारभर पुगिसकेको र यसले पुर्याउनुपर्ने क्षति पहिल्यै पुर्याइसकेका कारण यसको वितरण स्थगन गर्नुपर्ने कुनै औचित्य नरहेको भन्दै अदालतले राष्ट्रपति ट्रम्पको अनुरोधलाई अस्वीकार गरेको हो। त्यसो त कोलम्बिया डिस्ट्रिक्ट कोर्टका न्यायाधीश जोयस सी. लाम्बर्थले सुरक्षा सल्लाहकारका रुपमा पहिले काम गरिसकेका बोल्टनको सिर्जनाले देशको हित रक्षा गर्न चुकेको र कतिपय गम्भीर सूचनासमेत पुस्तकमा उल्लेख गरेको भन्दै २० लाख डलर धराैटीमा राख्न आदेश दिएका छन्। न्यायाधीश लाम्बर्थले १० पृष्ठ लामो धारणामा यी कुरा उल्लेख गरिएको छ। गम्भीर सूचना उल्लेख गरिएको भए पनि पुस्तक प्रकाशन र वितरणको स्थगन नहुने निर्णय गरेका छन्। ‘द रुम ह्वेयर इट ह्यापेन्ड’ पुस्तकमा डोनाल्ड ट्रम्पको सुरक्षा सल्लाहकारका रुपमा बोल्टनले काम गर्दाका बखत भएका, देखेका र सुनेका कुराहरु समेटिएको पुस्तक हो। त्यसो त ती गतिविधिहरुमध्ये अधिकांश ट्रम्पविरोधी खेमाका मिडियामा पहिलेदेखि प्रकाशित हुँदै आएका कुरा नै हुन्। खासगरी द न्युयोर्क टाइम्स र वासिङ्टन पोस्टले ट्रम्पको नीति तथा क्रियाकलापमाथि पहिलेदेखि नै टिप्पणी र आलोचना गर्दै आइरहेका थिए र ती गतिविधिलाई नियमित रुपमा प्रकाशन गर्दैआइरहेका थिए। आफूप्रति अति आलोचित भएको भन्दै उनले द न्युयोर्क टाइम्स पत्रिकाका ह्वाइट हाउस संवाददातालाई नियमित पत्रकार सम्मेलनमा सहभागी हुन नदिने, सहभागी भए पनि नियोजित रुपमा बेइज्जती गर्नेजस्ता कार्य गर्दै आइरहेका थिए। ट्रम्पले पुस्तक बजारमा आएपछि असन्तुष्टि पोख्दै ट्वीटरमा लेखेका छन्, ‘बोल्टनले पुस्तकमा गोप्य दस्तावेजहरु खुलासा गरेर देशलाई क्षति पुर्याएका छन्। यस कार्यका लागि उनले भोलिका दिनमा निकै ठूलो मूल्य चुकाउनुपर्नेछ। यस्तो काम भविष्यमा हुनुहुँदैन।’ उनको पुस्तक बजारमा ल्याउने तयारी भइरहँदा राष्ट्रपतीय कार्यालय तथा जस्टिस डिपार्टमेन्ट दुवैले पुस्तक रोक्न आग्रह गरेका थिए। पुस्तकलाई सिमोन एन्ड सुस्टरले बजारमा ल्याएको हो। यसअघि प्रकाशकले ह्वाइट हाउस सूत्रलाई पुस्तकमा कहाँ तिनीहरुको आपत्ति हो जनाउन आग्रह गर्दा कुनै प्रतिक्रिया दिएको थिएन। यस पुस्तकको समीक्षा गरिरहेका नेसनल सेक्युरिटी काउन्सिलका अधिकारी माइकल टि. एलिसले अकस्मात गएको साता मात्र किताबको ६ ठाउँमा आपत्तिजनक जानकारी हालिएको र यसले देशको सुरक्षालाई खतरा पु¥याउने बताएका थिए। एलिसको आपत्तिपछि बोल्टनका वकिलले उनी किताब समीक्षा गर्ने तहमा यसअघि नभएकाले उनको आपत्ति नै आपत्तिजनक रहेको बताएका थिए। पुस्तकमा आपत्तिजनक सूचनाहरु रहेकोमा भने अन्य ६ जना सुरक्षा अधिकारीहरुले न्यायाधीशसमक्ष बताएका थिए। अदालतले अझै पनि पुस्तकमा राष्ट्रिय सुरक्षाका कुरा राखिएका छन् कि भन्नेबारे गहन अध्ययन गरिरहेको बताएको छ। त्यसैले बोल्टनका तर्फबाट २० लाख डलरको धरौटी जम्मा गर्न लगाएको हो। अदालतले भनेको छ, ‘यदि बोल्टनले लेखेका कुराहरु राष्ट्रिय सुरक्षामा खतरा पैदा गर्ने अवस्था आएको हो भने उनी कानुनी कार्बाहीको भागिदार हुनेछन् तर होइन भने उनको धरौटी फिर्ता हुनेछ।’ अमेरिकी संविधानले कुनै पनि प्रकारको सूचना प्रकाशनका लागि रोकतोक नगर्ने बताएको छ तर देशको ठूलो ओहदामा काम गरिसकेका र सेक्युरिटी क्लियरेन्सको सुविधा रहेकाहरुको सन्दर्भमा भने यस्ता कुरा लागू नहुने र त्यस्ताको हकमा कुनै गडबडी पाइए रोयल्टी जफत गरिने र नियमसम्मत तरिकाले प्रकाशनका चिजबिज हेरिने चलन छ। साथै, उनीहरूमाथि कानुनी कार्बाहीसमेत हुनेछ। तर ती सबै कुरा पुस्तक बजारमा आइसकेपछि हुने हो, पुस्तक बजारमा नआइ हुनेछैन। केहीले भने न्यायाधीश लाम्बार्डले सरकारी तर्फबाट केही छानबिन हुन सक्नेतर्फ सकारात्मक देखिएकामा भने आपत्ति जनाएका छन्। कुनै पनि पुस्तक प्रकाशन हुनुअघि नै प्रशासनलाई हेर्न दिनु पनि आपत्तिजनक रहेको केहीको टिप्पणी छ। चाेरीका किताब छ्याप्छ्याप्ती यसैबीच मार्चमा नै बजारमा ल्याउने तयारी गरिएको यो पुस्तक ल्याउन ढिलाइ भएको र ह्वाइट हाउसले रिभ्यु गर्ने भन्दै ढिलाइ गरेपछि प्रकाशक सुमन एन्ड सुस्टरले अमेजनडटकममा डिजिटल बुक सार्वजनिक गरेकाे थियो। गएकाे एक सातादेखि अमेजनमा नम्बर एकमा रहेकाे यो पुस्तककाे पाइरेटेड संस्करण जतासुकै पाइन थालेपछि यतिबेला सर्वत्र चर्चा हुन थालेको छ। यो पुस्तक पढ्ने भए यहाँ क्लिक गर्नुहोस् र डाउनलोड गर्नुहोस्। https://dropgalaxy.com/824-learn-about-the-tax-deduction-of-mortgage-insurance-premiums.html |
जब विष्णुमतीमा शिर गिँडियो...: त्यो बेलाको मृत्युदण्ड वि.सं. १९०९ चैत्र १५ गते शनिबार, काठमाडौँ खत्री जातको एउटा सिपाहीलाई हत्याको अभियोग लागेको थियो। हत्या भएको दश दिनपश्चात् उसको शिर छेदन गर्ने मिति तय भैसकेको थियो। शनिबार र मंगलबार अशुभ बारहरु भएको हुँदा मृत्युदण्ड सो दिनहरुमा मात्रै दिने गरिन्थ्यो। स्वयम्भुनाथ जाने बाटोमा पर्ने विष्णुमति खोलासँग मिसिने सानो खोल्सोको दायाँ किनार नै त्यस्ता दण्डहरु दिने स्थानको रुपमा प्रयोग गरिन्थ्यो। सो क्षेत्रमा खोला मोडिने हुनाले त्यसको किनार र नजिकको पहाडबीच केही जमिनको भाग रहेको थियो, जो मृत्युदण्ड दिनको निम्ति प्रयोग हुन्थ्यो र पहाडको केही उच्च भागमा रहेर सर्वसाधारणले पनि सो तमासाको दृश्य हेर्न सक्दथे। मृत्युदण्ड संचालन गर्ने अधिकारप्राप्त अधिकारीलाई मेरो उक्त तमासामा संलग्न हुनको लागि भएको हिचकिचाहट बारेमा पुर्वसूचना दिइएको थियो र अभियुक्तको भावना भन्दा पनि मेरो सहजतालाई ध्यानमा राखी जुन बेलामा मैले उक्त अपराधीको शिर छेदन भएको हेर्न चाहन्छु सोही बेलामा टाउको गिँडिने र म मैदानमा आएपश्चात् मात्रै सो व्यक्तिको शिर छेदन हुने जानकारी गराइएको थियो । मृत्युदण्ड सूर्यास्त हुनु दुई घण्टा अघिको लागि निर्धारण गरियो र समयको ख्याल राख्दै करिब चार बजेतिर म मैदानमा पुगेँ। तर समय केही हेरफेर भएको हुँदा म दुई घण्टासम्म कुरिरहेँ। करिब एक दर्जन जति अरु व्यक्तिहरु पनि कुरिरहेका थिए। त्यस क्षेत्र हुँदै ओहोर दोहोर गरिरहेका अलि धेरै संख्यामा रहेका व्यक्तिहरुले भने कुरेर बसिरहनुको खासै औचित्य नरहेको महसुस गरेजस्तो देखिन्थ्यो। सूर्यास्त हुनै लाग्दा एउटा सानो भिडले भने कैदी आउँदै गरेको अनुभूति दिलायो। कैदीलाई वास्तवमा चार बजे नै जेलबाट निकालिएको रहेछ र पछाडि डोरीले हात बाँधी सहरको प्रमुख स्थानहरुमा परिक्रमा गराइएको रहेछ। त्यो परिक्रमा गर्दा एक जना व्यक्तिले भने उसले कसुर के हो र उसलाई अब के दण्ड हुने वाला छ भनेर ठूलो स्वरमा कराउँदै सूचना दिने जिम्मेवारी पाएको हुँदोरहेछ। त्यसो गर्दा करिब तीन सय जना व्यक्तिहरु जम्मा भएर त्यही कैदी तथा सरकारी सिपाहीहरु सँगसँगै मैदानतर्फ आएका रहेछन्। सँगै आएका मानिसहरु यताउता हेरेर भुइँमा पलेँटी कसेर बस्न थाले र सरकारी अदालतका एउटा अधिकारी मलाई आएर सलाम गरे र मैले (अपराधीले होइन) धेरै बेरसम्म कुर्न परेकोमा क्षमा मागे। अपराधीलाई निर्धारित ठाउँमा जान लगाइयो। उसको वरपर पोर्\u200cयाह जातका २० जना व्यक्तिहरु थिए, जसलाई त्यस्तो मृत्युदण्डका कार्यहरुको जिम्मेवारी दिने गरिन्थ्यो। उनीहरुले उक्त कार्यको निम्ति खोला किनारको अलि समथल भूभाग खोजे, उसलाई सोही जमिनमाथि घुँडा टेकेर निहुरन भने- त्यो जमिनमा त्यही स्थानमा मृत्युदण्ड दिइएका अघिल्ला अपराधीहरुको हड्डीहरु पुरिएका थिए। मृत्युदण्ड पाउने व्यक्तिले त्यो सबै कुराहरुमा खासै ध्यान दिइरहेको थिएन। उसको अनुहारमा थोरै चिडचिडापन तथा केही रिस देखिन्थ्यो तर ऊ केही पनि बोलिरहेको थिएन। कम्मर वरपरको कपडाबाहेक उसका अरु सबै वस्त्रहरु उतारिएका थिए। उसलाई मुन्टो निहुरी परेर बस्नको निम्ति आदेश दिइयो, उसले स्वीकार्यो। उसका हातहरु पछाडि बलियो गरी बाँधिएको थियो र उसको कपाल चुल्ठो पारी टाउकोमा बाँधिएको थियो। दुईतीन जना आएर बडो व्यावसायिक ढंगले उसको टाउको यता-उता सोझ्याउन लागे। उनीहरु कुन ठाउँमा कुन कोणबाट कत्तिको जोडले प्रहार गर्दा आफ्नो क्षमताको उच्च प्रदर्शन भई आफूलाई दिइएको जिम्मेवारी उच्चतम रुपमा पूरा गर्न सकिन्छ भनेर हिसाब-किताब गर्दैथिए र त्यसो गरिरहँदा उनीहरु शान्त देखिन्थे। त्यति भैरहँदा अब केही क्षणमा विचराको विस्मात र रहस्य समाप्त हुनेछ भनेर म सोच्दै थिएँ। तर उखानमा “जुन काम सबैको हो, त्यो काम कसैको पनि होइन” भनेजस्तै ती बीस भन्दा बढी मानिसहरुमध्ये कसैले पनि हतियार बोकेर आएका रहेनछन्। त्यहाँ हेर्न बस्नेहरु कसैले पनि आफ्नो खुकुरी दिन चाहिरहेका थिएनन्। केही क्षणमा भिडबाट दुईतीन वटा खुकुरी दिइयो। अब कुरा ती खुकुरी धारिलो छन् कि छैनन् भन्नेमा पुग्यो। तीमध्ये एउटा अलि राम्रो खुकुरी रोजियो र हतियार चलाउने व्यक्तिले उक्त खुकुरीमा केही धार लगाएपश्चात् “काम गर्छ” भन्यो। उसले ढुंगामा धार लगाउन थाल्यो, बेलाबेलामा धारलाई औँलाले छोएर महसुस गर्दै, पुन: धार लगाउँदै, धेरैजसो समय गफ गर्दै र हाँस्दै गरिरह्यो। यतिबेला अभियुक्त निहुरी परी घुँडा टेकेर बसिरहेको थियो र वरपर के-के भैरहेको छ, सबै सुनिरहेको थियो। कैदीको विषयमा भैरहेको हेल्चेक्र्याइँले होइन कि साँझ पर्न लागेकाले एकैछिनमा अँधेरो हुने र सो दृश्य राम्रोसँग हेर्न पाइँदैन कि भनेर अब भीड अलि अधीर हुन लागेको थियो। खुकुरीको धार लगाइसकेपछि सो कार्बाहीको नेतृत्व गरिरहेका अदालतको कर्मचारीलाई निरीक्षण गर्न दिइयो। सायद एउटा युरोपेली दर्शक पनि त्यहाँ रहेको छ भन्ने उसलाई आदेश मिलेको र उचित ढंगबाट कार्बाही सञ्चालन गर्नपर्ने बाध्यता भएकाले होला उसले उक्त खुकुरी कार्बाहीका लागि अयोग्य भएको ठहर गर्यो। त्यसले गर्दा अझै केही अबेर भयो र भिडबाट “छिटो गर्नपर्ने, नत्र अँधेरो हुने” जस्ता स्वरहरु आउन थाले। अन्त्यमा आफ्नो अनिच्छा माझ पनि भिडबाट ठूलो तालीको गडगडाहटबीच सोही कार्बाहीमा समाबेस भएको एउटा सिपाहीले आफ्नो तरबार प्रस्तुत गरे। उक्त तरबार हतियार चलाउने व्यक्तिलाई हस्तान्तरण गरियो। जसले सो तरबारको धारलाई बडो कलात्मक हिसाबले महसुस गर्दै त्यो तरबार उच्चकोटीको भएको घोषणा गर्दै गर्वका साथ त्यसलाई उचालेर अभियुक्त नजिक पुग्यो, जो करिब पैंतालिस मिनेटदेखि निहुरी नै रहेको थियो। सन्तुलन ठीक रहोस् र निहुरेर घुँडा टेक्दा अगाडि नपल्टियोस् भनी करिब दुई-तीन मिटरको डोरी उसको कुहिनो भन्दा माथि पछाडि ढाडतिर लगेर बाँधियो। त्यो डोरी बाँधिसकेपछि अभियुक्तको शरीर थोरै अगाडितिर ल्याइयो र पछाडिबाट डोरीले समाइयो; उसको टाउको सिधा गरी राखियो र तरबार घाँटीमाथि एकैछिन राखेर निसाना लिइयो, हावामा उचालियो र चट्याङ्गको बेगमा तरबार तल हुत्त्याइयो। त्यो व्यक्तिको शरीर र शिर त्यही क्षणभरमा नै अलग भैहाल्यो। पछाडिबाट समातिएको डोरी छोडियो, शिर बिनाको शरीर आफ्नै शीरमाथि बजारियो र घाँटीबाट रगतको फोहरा निस्कियो | दुई-तीन वटा अत्यन्तै चरम छटपटाहट र आँखीभौँ एवं आँखाका अस्वभाविक चालपश्चात् आँखाको डरलाग्दो टोलाहटसँगै सबै समाप्त भयो। सो कार्बाही पक्कै पनि उच्च स्तरमा सञ्चालन गरियो। यद्यपि त्यो ढिलाई, कैदीको मनस्थितिको बारेमा पनि सोच्दिए हुन्थ्यो भन्ने मेरो कुण्ठा, त्यहाँ उपस्थित व्यक्तिहरुको कैदी उपरको बेमतलबीपना जस्ता कुराहरुले भने अवस्थालाई साह्रै घिनलाग्दो बनायो। सोचनीय त के पनि थियो भने त्यहाँ उपस्थित तीन-चार सय जना मानिसहरुमध्ये मैले एक जना पनि महिला देखिनँ। शिर शरीरबाट अलग भएपश्चात् शिर अलग गर्ने व्यक्तिको तारिफमा त्यहाँ तालीको गडगडाहटमाझ “वा-वा” को स्वर गुन्जायमान भयो र सो व्यक्ति नायकको शैलीमा आफ्नो कार्यसम्पादन उपर गर्व गर्दै यताउता फर्किदै थियो। तरबार सफा गरियो र सिपाहीलाई फिर्ता दिइयो। आफ्ना बुबाले अंग्रेजविरुद्ध लड्दा प्रयोग गरेका खानदानी तरबार ती सिपाहीले गुमाउन चाहेनन्। त्यो तरबार एकदम राम्रो र धारिलो थियो। ढलेको लासको ओरपर कोही पनि गएनन् र कसैले पनि शव छुने प्रयत्न गरेनन् र त्यहाँको चलनअनुरुप स्याल, गिद्द, कुकुर इत्यादिलाई खानको निम्ति भुइँमा नै छोडियो र भिड लाखापाखा लाग्न थाल्यो। जंगबहादुर बेलायतबाट फिर्ता भएपश्चात् यस्तो मृत्युदण्ड अहिले विरलै हुने गर्छन् र यदि भैहालेमा पनि ज्यान मार्ने मुद्दा इत्यादिमा परेका सीमित व्यक्तिहरुलाई मात्र मृत्युदण्ड दिने गरिन्छ। अपराधसम्बन्धी दण्डहरुमा हुने सजायको कठोरतामा उनले परिवर्तन गरेका छन् र अपराधीको शरीरका अंगहरु काटिदिने जस्ता सजायहरु त हटाई नै सकेका छन्। वि.सं. १९०८ पश्चात् मैले सुनेको त्यस्तो खालको सजाय भनेको जम्मा एक जना व्यक्तिलाई दिइएको थियो र सायद त्यो व्यक्ति त्यस्तो सजाय प्राप्त गर्न लायक नै थियो। त्यो व्यक्ति गाउँगाउँमा गएर जंगबहादुरले देवीलाई १५० जना नाबालकहरुको बलि दिन आफूलाई खटाएको, ऊ बच्चाहरु छान्नको निम्ति गाउँ आएको र कसैले मोटो रकम उसलाई घुस दिएमा उसले उनीहरुको बच्चालाई छोडेर अरुको बच्चा लैजाने भन्दै गुप्त प्रचार गर्दै हिँडेको रहेछ। त्यो व्यक्ति समातिएछ र टुनाखलको भरी सभामा पेश गरिएछ। सभामा उसको कसुरको बारेमा बताइएछ र सभाबीच नै उसको जिब्रो काटिएछ र पछि उसलाई ती ती जिल्लामा हिँडाइएछ, जहाँ उसले गएर त्यस्तो झूटो बोलेको थियो। जिल्लामा भएका अरु व्यक्तिहरुलाई पनि त्यस्तो किसिमको झूटो व्यवहारले कस्तोसम्मको सजाय आकर्षित गर्न सक्छ भन्ने चेतावनीस्वरूप पनि यो कार्य सम्पादन गरिएको थियो। ब्राह्मण जातिलाई भने मृत्युदण्ड दिइँदैन। उसको कपाल चारपाटे मुडिन्छ, सुँगुरको मासु खान लगाइन्छ, भित्री मासुहरु जस्तै पेट, आन्द्रा इत्यादि खुवाइन्छ, रक्सी पिउन लगाइन्छ र उसको जात झारी, सिमाना कटाई देश निकाला गराइन्छ। महिलाहरुलाई पनि मृत्युदण्ड दिइँदैन, उनीहरुलाई कैदमा राखिन्छ, जात झारिन्छ, नाक काटिन्छ, दासी बनाइन्छ, देश निकाला गरिन्छ तर कहिले पनि मृत्युदण्ड भने दिइँदैन। नाक काट्ने काम भने सरकारको भन्दा पनि निजी मामिला हुने गर्छ। ज्यादाजसो परपुरुषसँग लागेको थाहा पाएको महिलाको श्रीमानले उसको श्रीमतीको नाक खुकुरीले काटिदिने र घरबाट निकालिदिने चलन छ। हाम्रो बेलायती रेजिडेन्सको सुरक्षाकर्मी हवल्दार कहर सिंहले मलाई एकदिन एउटा खुकुरी देखायो, जसबाट उसले आफ्नो श्रीमतीसंग सम्बन्ध राख्न खोज्ने एक जना व्यक्तिलाई काटेको बतायो। त्यस बेलामा ऊ त्यही खुकुरीले मुला काटेर बडो आरामसँग मुला खाइरहेको थियो। मैले सोधेँ, “अनि तिमीले आफ्नी श्रीमतीलाई चाहिं के गर्यौ त?” उसले भन्यो, “मैले त्यसको नाक काटिदिएँ र त्यसलाई दैलोबाट बाहिर निकालिदिएँ…खान नपाएर मर्ली भनेर मैले त्यसलाई पाँच रुपियाँ दिएँ !” त्यस्तो घटनामा गरिने भनेको बाबुले छोरा-छोरी आफूसँग राख्नु हो र उसले पनि त्यस्तै गरेको थियो। महिला भने आफ्नो जात, बच्चा, दर्जा, घर, नाक र सबै चिजबाट वञ्चित हुन्छिन्। हेनरी एम्ब्रोज ओल्डफिल्डको किताब स्केचेज फ्रम नेपाल भाग-१ को अध्याय १९ बाट साभार गरिएको, प्रकाशित सन् १८८० अनुवादक ध्रुव अधिकारी इतिहास अध्ययनमा रुचि राख्छन्। उनी हाल चेपाङ् जातिको उत्पातिको विषयमा शोध अनुसन्धान गर्दै छन्। उनका कार्यहरू http://chepangchautari.wixsite.com/home मा हेर्न सकिन्छ। #ध्रुव अधिकारी #स्केचेज फ्रम नेपाल #हेनरी एम्ब्रोज ओल्डफिल्ड |
'लार' कथाले जित्यो एक लाख राशिको पुरस्कार: मुना चौधरी बाह्रखरी कथा प्रतियोगिता २ को विजेता मुना चौधरीको कथा ‘लार’ भएको छ। दुई वटा मूल्याङ्कन समितिबाट छानिएका कथाहरूबाट ‘लार’ प्रथम भएको हो। दोस्रोमा श्रेयज सुवेदीको ‘बेजोडा’ तथा तेस्रोमा दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ रहेको एक कार्यक्रमका बीच जानकारी गराइएको थियो। प्रथम कथाले एक लाख नगद, सिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो र तेस्रो हुनेले क्रमशः ६० हजार र ४० हजार रूपैयाँ प्राप्त गरेको छ। प्रतियोगिताका लागि ६ सयभन्दा बढी कथा प्राप्त भएकामध्ये ५२ कथा छानी तिनलाई पनि विशेष मूल्याङ्कन समितिबाट प्रथम, द्वितीय र तृतीयसँगै अन्य २२ उत्कृष्ट कथा पनि छनोट गरिएको थियो। अविनाश भट्टराई, कर्मसही घर्ती मगर, कल्पना श्रेष्ठ कल्पपुञ्ज, कृष्ण कुसुम, खगेन्द्र गिरी, गोपाल झापाली, जनकऋषि राई (चाम्लिङ), त्रिभुवनचन्द्र वाग्ले, दीपक लोहनी, नन्दलाल आचार्य, नारायण लामिछाने, मनोज अज्ञात, महेन्द्र उपाध्याय, मोहन सङ्ग्राम, रत्न प्रजापति, रामदेव पाण्डे, वसन्त आचार्य, समीक्षा खतिवडा, डा. सुनिता तिमिल्सिना, सोमनाथ दाहाल, शिवराज योगी र क्षितिज समर्पणका कथाहरू उत्कृष्ट ठहर गरिएका छन् । उत्कृष्ट यी २२ कथाकारहरुलाई प्रमाणपत्रसहित जनही पाँच हजार रुपैयाँ नगद प्रदान गरिने बाह्रखरीले जनाएको छ। बाह्रखरीको आन्तरिक मूल्याङ्कन समितिमा कथाकार राजेन्द्र पराजुली, वरिष्ठ पत्रकार गोविन्द अधिकारी, राजेश खनाल र अक्षर काकाले आएका ६ सय बढी कथा छनोट गरेका थिए भने वाह्य मूल्याङ्कन समितिमा रहेका नारायण वाग्ले, अमर न्यौपाने र बिना थिङले ५२ कथाहरूमध्ये उत्कृष्टहरूको मूल्याङ्कन गरेका थिए। पुस्तक बाह्रखरीको वेबसाइटबाट सित्तैमा डाउनलोड गर्न सकिने पुरस्कार छनोट समितिका संयोजक राजेन्द्र पराजुलीले बताए। पुस्तक यहाँबाट डाउनलोड गर्नुस्ः https://baahrakhari.com/utkrista_katha #मुना चौधरी |
…र यसरी फुलिरहेछ ईन्द्रकमल: खेमराज पोखरेल म एक नम्बर प्रदेशको हुँ । ऊ ७ नम्बरको हो । ऊ खाँटी बाबुसाहेब । यो धङ्धङीमा ऊ हुर्कियो, बाँच्यो । मलाई समाजले दलित भन्यो । म दलित भनिने हेपाइस्को चेपमा, विभेद र कुण्ठामा हुर्किएँ । बाँचे । पढेँ । म आफैँ आफूलाई ‘दलित’ भनेर अपरचुनिटी भजाउने दाउमा लागेँ । नेपालमा छँदा हामी कहिल्यै भौतिक रूपले भेटिएनौँ । तर नभेटे पनि ऊ र म सारमा क्षेत्रको नाममा, जातको नाममा, धर्मको नाममा, राजनीतिको नाममा, भाषा र भाषिकाका नाममा खुब जुध्यौँ । बेस्सरी जुध्यौँ अनि फेरि हामी लुसुक्क ‘बेटर लाइफ’ खोज्दै अमेरिका छिर्यौँ । अमेरिका छिरेपछि एउटा फाइदा भयो हामीलाई । ऊ अहिले मेरो मिल्ने साथी हो । उसका र मेरा बिचबाट क्षेत्रको, जातको, धर्मको, राजनीतिको, बाबुसाहेब र दलितको तथा भाषा र भाषिकाको विभेदीय पर्खाल हट्यो । हामीमा अब विल्कुल नेपाली फिलिङमात्र बाँकी रह्यो । हामी साँच्ची बराबर भयौँ । यो अनुभवले मलाई बल्ल नेपाली हुनुको गर्व बोध भएको छ । गाउँले र समाजले चिन्ने उसको नाम जेठा बाबुसाहेब हो । प्रमाणपत्रमा केशवजी जङ्ग शाही हो । समाजले चिन्ने मेरो नाम निरे दमाइँ हो । प्रमाण पत्रमा भने निर्मल बहादुर नेपाली हो । अमेरिकामा हामी एउटा कम्पनीमा काम गछौँ । जागिर छ । समान छ । नेपालको परिभाषामा भन्ने हो भने स्तरीय छ । जतिसुकै स्तरीय काम गरे पनि अमेरिकामा हामी आफूलाई दुई नम्बर नै ठान्छौँ । डायस्पोरिक मर्म बोकेका छौँ । यही मर्मभित्र हामी बिनाभेदभाव आफन्तिएका छौँ । अमेरिकामा रहँदा बस्दा हामी निकै बिजी भयौँ । जीवन बाँच्न गर्नुपर्ने सङ्घर्ष कस्तो हुन्छ भन्ने अमेरिकामै चाल पायौँ । नेपालमा त के थियो र घर पुग्दा दुवैजनाका घरमा भात पाकेकै हुन्थ्यो । फरक उसको घरमा मसिनो र फरफराउँदो हुन्थ्यो होला, मेरो घरमा मोटो र गिलो हुन्थ्यो होला । तर अमेरिका आएपछि हामीमा केही विभेद र फरकहरू छैनन् । त्यसैले त हामी अलि आमभन्दा भिन्न भएका छौँ । आमबाट निस्केर विशेष भएका छौँ । यो यही विशेषको सनकमा हामी धेरै फेसबुक चलाउने मान्छेको औकात नाप्थ्यौँ । मौका मिल्यो भने खिसिट्युरी पनि गथ्र्यौँ । धेरै फेसबुक चलाउनेहरू फुर्सदिला, वाइह्यात र सतही मान्छे हुन् भनिठान्थ्यौँ । यद्दपि हामी दुवैका निर्जीव फेसबुक अकाउण्टहरू छन् । संसारसँग जोडिन ऊ र म दुवै कहिलेकाहिँ फेसबुकका पानालाई कर्सरले स्वार्र तान्थ्यौँ । अरूका सामग्री हेथ्यौँ । लिन्थ्यौँ । हाम्रा अनुकुलका सामग्री नभए –उफ कस्ता कस्ता वाइह्यात सामग्री पोस्ट गरेका मान्छेले भनेर दिक्क हुन्थ्यौँ । लेखक कवि भनाउँदाहरूले पनि ताइँनतुइँका कुरा किन पोस्ट गरेका हुन् भन्थ्यौँ । कसैकसैले त फाँइफुट्टा र भुइँफुट्टा आग्रह पूर्वाग्रह स्टाटस हालेर गमक्क परेका देख्थ्यौँ । कथित विद्वताका, कुण्ठाका र असफलताका भडाँसहरू पोखिएका देख्थ्यौँ । हामी त्यो अवस्थामा मान्छेलाई फेसबुके भनेर हियाउथ्यौँ । तर ऊ अहिले धडाधड लामा–लामा स्टाटस हाल्दै छ । फेसबुकमा कहर हाल्दै छ । पीडाको धुकधुकी हाल्दै छ । मान्छेका, मान्छेका प्रवृतिका सार हाल्दै छ । सम्वेदनाका, रुवाइहरूका र चित्त दुःखाइहरूका ब्यथा हाल्दै छ । उसले आफूलाई फेसबुकका पानाभरि छताछुल्ल पारेको छ । छरेको छ । पोखेको छ । म फेसबुकको पानामा आएका उसका कुरा देखेर विह्वल भएको छु । कोरोनाको लकडाउनमा घरभित्र कैद छौँ हामी । उसको पीडामा सान्त्वना दिन उसको घर जान मिल्दैन । त्यसैले मैले उसलाई सान्त्वना दिने अभिप्रायले फोन गरेको थिएँ । फोनमा औपचारिक सान्त्वना सकेपछि मैले उसलाई भनेको थिएँ– “केशव, यी सबै कुरा यसरी विस्तारमा फेसबुकमा किन हालेको ?, समवेदना शान्तिका लागि त बरु मान्छेलाई भन्नु नि आफ्ना पीडा, साथीभाइलाई भन्नु नि । आफन्तलाई भन्नु नि । किन छताछुल्ल पोखियौ फेसबुकका पानामा यार ?“ उसले निकै दिग्दारी भावमा जवाफ दिएथ्यो– “निर्मल, म पनि त्यही ठान्थेँ । तर अहिले लागिरहेको छ कि कहाँ छन् साथीभाइ !, कहाँ छन् मान्छे !!, कहाँ छन् आफन्त !!! औपचारिक फर्मुलामा बाँचेको रहेछ मान्छे । कहाँ छ समय मान्छेलाई अर्काका कहर सुन्न ! अर्काका पीडा सुन्न !! अर्काका समवेदना सुन्न ! मान्छेलाई त आफ्नै स्याँसाँहार र फुस्याँहारले गलित बनाइदिएको रहेछ । विकासले मान्छेलाई यन्त्र बनाइदिएको रहेछ । व्यक्तिवादी दर्शनले मान्छेलाई एकलै उभ्याइदिएको छ । बल्ल थाहा पाएँ कि यन्त्रमा कहाँ सम्वेदना हुन्छ र ! मैले यो बेला यस्तै अनुभूत गरेँ यार । एउटा फेसबुक रहेछ जम्मा । जो जसले जे लेखे पनि पोष्ट हुन दिन्छ । कसैले सुनोस् वा नसुनोस्, कसैले पढोस् वा नपढोस्, कसैलाई राम्रो लागोस् वा नलागोस्, जसलाई जे भन्न मनलाग्छ –भनोस्, परवाह गर्दैन । आफ्नो बह पोख्न त पाइयो नि ।“ उसको जवाफ सुनेपछि म पनि घोरिन थालेको छु । यो मेरो साथी किन यस्तो भनिरहेछ । एकछिन मान्छे भएकोमा म आफैँभित्र मान्छे खोज्न थालेको छु । हो त साँच्ची म कहाँ मान्छे हो र ! परिवेशको आवश्यकता पूरा गर्दै यन्त्र भएको हाडमासुको एउटा थुप्रो न हुँ म पनि ! साह्रै दिग्दार लागेर आएको छ । अनि उदाशी र वैरागी भावमा उसको फेसबुक प्रोफाइल खोलेको छु र उसका स्टाटसहरू पढ्न थालेको छु । मे ३ , २०२० खेमराज पोखरेल बुवालाई हन्हनी ज्वरो आइरहेको थियो । नाकबाट सिँगान बगिरहेथ्यो । खोकि लागिरहेथ्यो । अक्सर बुवालाई यस्तो भइरहन्थ्यो । बेसार हालेर उमालेको तातो पानी खानुहुन्थ्यो । त्यसमा तुलसीपत्र पनि हाल्नुहुन्थ्यो । अलिकति नुन हाल्नुहन्थ्यो । खानु हुन्थ्यो । राति सुत्ने बेलामा दूधमा बेसार हालेर सधैँ पिउनु हुन्थ्यो । बिहान उठेर रामदेव बाबाको अनुलोम विलम गर्नुहुन्थ्यो । उहाँको जिन्दगी यसैगरी चलेको थियो । बुवालाई ज्वरो पनि आएको हाच्छिउँ पनि आएको र लहरे खालको खोकी पनि लागेको हुनाले यो पल्ट हामीले डाक्टरकोमा पुर्याउने विचार गर्यौँ । कोरोनाको लकडाउन भएकाले एम्बुलेन्सलाई फोन गर्यौँ । तत्काल एम्बुलेन्स आयो । धन्न छ अस्पताल, धन्न छ सरकार, एम्बुलेन्स सजिलै आयो । नेपालमा भएको भए यो एम्बुलेन्स कहाँ यत्ति छिट्टै पाउनू ! धन्य छ भगवान । मे ४ , २०२० हिजो बुवालाई अस्पताल लगेको आजसम्म केही खवर आएन । कोरोना लागेको हुनसक्ने भएकाले परिवारका हामी कसैलाई अस्पताल जान दिएनन् । एम्बुलेन्समा आएका डाक्टर, नर्स सबै अर्को अन्तरिक्षबाट आएका एलियन जस्ता सेतै थिए । नाक, कान, मुख, आँखा तथा पूरै शरीर छोपिएको थियो । हामीसँग टाढै बसेर उनीहरूले बुवालाई लगे । हामीलाई पनि १५ दिन घरमै क्वारेन्टाइन बस्नु भन्ने सल्लाह दिएर गए । ‘ज्वरो आयो, हाछिउँ आयो वा खोकि लाग्यो भने हामीलाई फोन गर्नुस्’ भनी हिँडे । हामी पनि सम्भावित कोरोना प्रकोपले आतङकित थियौँ । पहिले पहिलेका डाक्टर तथा नर्सहरू उनीहरूको सेतो एप्रोनमा सौम्य र शान्त देखिन्थे । दयालु भगवानजस्ता लाग्थे । तर अहिले आएका एलियन टाइपका डाक्टर र नर्स त अपहरणकारी शैलीका लाग्दथे । तर पनि सोचेँ –यी महान हुन्, यत्रो कोरोनाको जगजगी छ सहरमा, विश्वमा । तर उनीहरूले त आफ्नो ज्यानको बाजी लगाएर हाम्रो सेवा गरिरहेका छन् । धन्य छन् यिनीहरू । धन्य छ भगवान । मे ५ , २०२० अस्पतालबाट फेसबुकमा बुवाको मेसेज आएको थियो । हामी आत्तिएका थियौँ । तर बुवा मेसेज लेख्दै हुुनुहुन्थ्यो न आत्तियौ तिमीहरू । मलाई केही हुन्न । यहाँ राम्रो व्यवस्था रहेछ । डाक्टर, नर्सहरूले चौबीस घण्टा ड्युटी दिएका छन् । हेरचाह गरेका छन् । खानपीनको पनि राम्रो व्यवस्था छ । ओढ्ने ओछ्याउने पनि गजबको छ । सुग्धर सफा उस्तै राम्रो छ । यहाँ अरू पनि बिरामीहरू राखिएको छ । तर हामी अलग अलग छौँ । वाइफाइको पनि राम्रो व्यवस्था छ । अस्पताललाई ध्वनि प्रदूषणबाट जोगाउन बोल्न मनाही छ । तर फेसबुकमा च्याट गर्न भने जत्ति पाइन्छ । बिर्सिएका साथीभाइ, इस्टमित्र तथा आफन्तसँग खोजिखोजी च्याट गर्न पाइएको छ । यो फेसबुकले त संसारलाई एकदम सानो गाउँजस्तो बनाएछ । आफन्तसँग चिनाएर नजिक पनि बनाइदिएको छ । हिजो डडेल्धुरामा माल्दाइसँग च्याट गरेको थिएँ । मलाई ‘बल्ल बिराम लागेर अस्पताल पुगेर सम्झिस्’ भन्दै रुनुहुन्थ्यो । अनुहार हेरेको त निकै बूढो हुनुभएको रहेछ । उता पनि क्वारेन्टाइनमै घरभित्र बसेका छन् रे । सञ्च–सुबिस्तै छ रे । अस्पताल भनेको त यस्तो पो हुनु पर्दछ । मे ६ , २०२० अस्पतालबाट फोन आएको थियो । बुवालाई कोरोना पोजिटिभ देखियो रे । ‘तर नडराउनु, निको हुने सम्भावना धेरै छ’ भनेका थिए डाक्टरले । हामी घरभरिका एकै ठाउँमा बैठक कोठामा भेला भएर बेस्सरी रोयौँ । कोरोना पोजिटिभ भन्ने कुरा सुनेपछि हाम्रो घरमा प्रलय भयो । हामी निरीह थियौँ । परिवेश निरीह थियो । हामी अस्पताल जान पाउन्न थियौँ । यो बेला हामीसँग कोही थिएनन् । भगवान भरोसा गर्नुभन्दा अरू कुनै उपाय थिएन । यो बेला जति निरीह र विवस हामी कहिल्यै भएका थिएनौँ । हाम्रो परिवार वैष्णव धर्म मान्दछौँ । अघिपछि शिव र देवीलाई नमान्ने हामी यतिबेला गुहार मागिरहेका छौँ । लगातार तेत्तीसकोटी देवता भाकिरहेका छौँ । बिर्सिसकेका मष्ट कूल देवतालाई पनि सम्झिरहेका छौँ । अमेरिकामा बसेका हुनाले दिमागमा जिससको पनि चित्र आएको छ । जिससको पनि प्रार्थना गर्न थालेका छौँ । जिससको मात्र होइन अल्लाहलगायत संसारका सबै धर्मका सबै देवतासँग गुहार मागेका छौ– हे प्रभु ! बुवालाई निको होस् । मे १० , २०२० अस्पतालबाट फोन आएको थियो । आज बुवाको अवसान भयो । कोरोनाले परमधाम लग्यो । लास हामीलाई दिँदैन रे । अस्पतालले नै लासको व्यवस्थापन गरिदिन्छ रे । यो कुरा सुनेर हामी परिवार मर्माहत भएका छौँ । बेस्सरी रोएका छौँ । रुनका लागि पनि कोही छैनन् । मेरी बूढी र म मात्र सोफामा बसेर रुँदै छौँ । हाम्री एउटी ४ वर्षे छोरी छे । ऊ हजुरबाकी अत्यन्त प्यारी छे । हामी रोएको देखेर ऊ हामीलाई भन्दैछे , ह्वाइ आर यू क्राइङ मम ? ह्वाइ आर यू क्राइङ पापा ? ह्वेर इज ग्य्राण्डफा ? हामी उसलाई रोएर नै भन्दै छौँ- नो मोर ग्य्राण्डफा, नानी । ऊ फेरि सोध्छे- ह्वाट ह्यापेन ? हामीसँग कुनै उत्तर छैन । बुवाको लासलाई सदगत पनि गर्न पाइएन । हामी परम्परागत सनातनीय प्रचलनभन्दा अर्कै बैकुण्ठे गथ्र्यौँ । किनकि बुवा वैष्णव हुनुहुन्थ्यो । तर अहिले हामी विह्वल भएका छौँ । नुन बारेर बसेका छौँ । अनलाइन सेतो सर्ट र प्यान्ट मगाएको छु । आएपछि सेतो लुगा लगाउँछु । योभन्दा बढी केही गर्न पनि पाउने कुरा नै भएन । हे भगवान् ! मे ११ , २०२० आज बुवा स्वर्गे हुनुभएको दोस्रो दिन भयो । घरमै बसेर चोखोनितो गरेका छौँ । अरू केही गर्न पाइने अवस्था होइन । बुवाको लासलाई सरकारी गोदाममा हजारौँ लाससँग राखिएको छ । सम्झिरहेको छु त्यो गोदाममा हिन्दु, इसाइ, इस्लाम, यहुदीलगायत सबै भाषा, धर्म, सम्प्रदायका लासलाई एउटै गोदाममा स्टोर गरिएको छ । कुनै विभेद छैन । कुनै देवता वा चलनले आएर केही भनेका छैनन् । बुवा भन्नु हुन्थ्यो म मरेपछि एउटा राम्रो वैकुण्ठे गरिदे है । सरासर स्वर्ग पुगिन्छ । भगवानभित्र समावेश हुन पाइन्छ । त्यसपछि जरामरणको अन्त्य हुनेछ । फेरिफेरि जन्मिनु, फेरिफेरि मर्नु पर्दैन यो भव सागरमा । तर त्यसो भएन । राम्रो वैकुण्ठे त परै जाओस् लास हेर्न र छुन समेत नपाइने र बाबाले भन्ने गरेका म्लेक्ष र अम्लेक्षको पनि केही विभेद भएन । यो कुरा भने मनभरि सोचिरहेको छु । यो कोरोना कहरमा वैकुण्ठे गर्ने कसरी !! मे १२ , २०२० आज बुवा स्वर्गे हुनुभएको तेस्रो दिन भयो । यो बेला बुवाका यादहरू आइरहेका छन् । मेरो बुवा सामान्य हुनुहुन्थ्यो । पत्रपत्रिकाले हेडलाइन बनाउने नाम थिएन मेरो बुवाको । कम पढेलेखेको हुनुहन्थ्यो । डोटीको झिग्रानामा घर थियो । कहिलेकाहिँ खप्तड जान बास बस्न आउने यात्रुबाहेक त्यहाँ कोही सुकिला मुकिला पुग्दैनथे । उही प्याङ्खरको खेतीपाती गर्नुहुन्थ्यो । गाई पाल्नु हुन्थ्यो । गोठ बस्नु हुन्थ्यो । मान्छे निकै समाजसेवी र पौरखी हुनुहुन्थ्यो । चार गाउँले पत्याउँथ्यो । असल हुनुहुन्थ्यो । मान्छे मेरो बुवालाई आँखामा राखे नबिझाउने भन्थे । त्यो दुर्गममा उहाँले स्कुल, बाटो खोल्न सक्रिय भूमिका खेल्नु भएको थियो । कसैको मरुपरुमा उहाँ पुगिहाल्नु हुन्थ्यो । चाहिएको सहयोग गरिहाल्नुहुन्थ्यो । मलाई काठमाडौँमा राखेर पढाउने चेत थियो उहाँको । पहाडको हावापानी उहाँ भौतिकरूपले पनि निकै बलियो हुनुहुन्थ्यो । मान्छे मेरा बुवालाई भन्थे ‘एक झमट त बाबुसाहेबलाई देखेर काल पनि भाग्छ, बाघ पनि तर्सिन्छ’ । तर आज यो परदेशको ठाउँमा आँखैले नदेखिने कोरोनाको भाइरसले बुवालाई लगेको छ । कस्तो निरीह हुँदोरहेछ मान्छेको जीवन ! कस्तो निर्दयी भयौ नि भगवान ! मे १३ , २०२० आज बुवा बितेको चौथो दिन भयो । साथीभाइका फोनहरू आइरहेछन् । मलाई सम्वेदना दिइरहेछन् । जीवनमरणका कथाहरू, भवितव्यहरू सुनाइरहेछन् । संसारको रित बुझाइरहेछन् । जन्मेपछि मर्नु पर्ने कुरा निश्चित भएको ज्ञान दिइरहेकाछन् । म सुनिरहेको छु । बुझिरहेको छु । तर मलाई लागिरहेको छ मान्छेहरू औपचारिक भइरहेछन् । कोही कोही त मेरो बुवाको उमेर सोध्छन् । म भन्दछु ६५ । अनि उनीहरू यसरी भन्दछन् कि मानौँ ६० कटेको मान्छे मर्नु स्वाभाविक हो । मानौ ६५ वर्ष भएकाले मेरा बुवाले मर्नु ठिक थियो । मैले अब आफ्ना बुवाको मृत्युलाई पनि ठिक मान्नु पर्ने कुरा घुमाउरो पाराले बताउँथे मान्छे । म छक्क परिरहेको छु कि खोई मान्छेको सम्वेदना ! कस्तो अब्डेरो बनायौ नि भगवान यो मान्छेको सृष्टि ! मे १४ , २०२० आज मेरो बुवाले परमधाम यात्रा गर्नु भएको पाँचौँ दिन हो । कोठाको एकाछेउमा बनाइएको कोरामा बसेर म बुवालाई अघोरै सम्झिरहेको छु । काठमाडौँमा इन्जिनियरिङ सक्दा नसक्दै मलाई अमेरिकाको इडिभी परेको थियो । मैले आफू अब अमेरिका जाने कुरा गर्दा बुवाले भन्नु भएको थियो ः इन्जिनियर भएर नेपालका गाउँपाखामा बाटो बनाउँछ, यो झिग्रानामा मोटर बाटो ल्याउँछ मेरो छोरोले भनेको त अमेरिका पलायन हुने पो कुरा गर्छ । भैगो छोड्दे त्यो डिभीसिभी । तँ एक्लो छोरो होस् । शैलेश्वरी देवीको कृपाले सिलगडीमा घडेरी किनिदिएको छु । दिपायलमा पनि घडेरी बैना गरेको छु । काठमाडौँमा पनि एउटा घडेरी छँदैछ । तँलाई के नपुग्दो छ र !, देशको सेवा पो गर्नुपर्छ । त्यो अमेरिकामा के छ ! न बिहेका जन्ती छन् त्यहाँ, न मर्दाका मलामी छन् । ओल्लो कोठा पल्लो कोठा परदेश हुने सभ्यतामा के जानू त ! यहाँ त चार गाउँले मात्र होइन, जिल्लाले पनि चिन्छ । राम्रो काम गरिस् भने त जिल्लाले मात्र होइन देशले नै चिन्दछ । नेपाली भइरहनुको आनन्द नै बेग्लै हुन्छ । तर मैले मानिनँ । म अमेरिका आइछाडेँ । मे १५ , २०२० आज मेरो बुवा स्वर्गवास हुनुभएको छैठौँ दिन हो । कोठामा एक्लै बस्दा त्यसै त्यसै एकसूरा हुँदोरहेछ जिन्दगी । त्यसमाथि बुवाको कोरामा बस्दा र कोही आफन्त साथीभाइ आउन नपाउँदा त झन् कहर भएको छ जिन्दगी । बाल्यकालमा बुवाले बोकेर एक घण्टाको बाटो सिलगडी झारेको सम्झना आएको छ मलाई । तिनताक मेरो आमाको मृत्यु भएको थिएन । बुवा आमालाई भन्नुहुन्थ्यो ः यो अहिले पो चिचिलो छ, हेरचाह गर्नुपर्छ । भोलि त यसले हामीलाई मात्र होइन पुरै देशको सेवा गर्छ । यसलाई अहिले मलजल गर्नुपर्छ । त्यसको केही वर्षमै आमा बित्नु भयो । बुवा एक पाखे हुनुभयो । कैयौँ मान्छेले फेरि अर्को बिहे गर्ने सुझाव दिए । तर कुनै हालतमा मान्दै मान्नु भएन । मे १६ , २०२० आज मेरो बुवा स्वर्गवास हुनुभएको सातौँ दिन हो । बुवाको म एक्लो छोरो । म कुनै हालतमा नेपाल नफर्केकाले बुवा एकदम निराश हुनुहुन्थ्यो । ‘तैले मेरो लास हेर्न र सदगत गर्न पनि नपाउने भइस्’ भन्नु हुन्थ्यो । बुवाले पनि कुनै पनि हालतमा अमेरिका नआउने अड्डी लिनुभएको थियो । मैले नै धेरै फकाएर एकपल्ट अमेरिका हेर्न त आउनु भनी उहाँलाई कर गरेको थिएँ । बल्ल उहाँ राजी हुनु भएको थियो । र अमेरिका आउनु भएको थियो । हामी धेरै खुसी भएका थियौँ । मेरी छोरी हजुरबासँग एकदम खेल्ने साथी भएकी थिई । मलाई लाग्दै थियो कि अब नातिनीको मायाले उहाँलाई अमेरिका तान्न सजिलो हुनेछ । बुवा पग्लिँदै हुनुहुन्थ्यो । तर दैव लागे । उहाँ आएकै बेलामा कोरोनाको शिकार बन्नुभयो । अहिले मलाई पछुताउ लागेको छ । मैले बुवालाई अमेरिका नबोलाएको भए पनि त हुन्थ्यो नि ! मे १७ , २०२० आज मेरो बुवा स्वर्गवास हुनुभएको आठौँ दिन हो । म सम्झिरहेको छु कि बुवा सधैँ मलाई असल मान्छे बन्नुपर्छ भन्नु हुन्थ्यो । चार गाउँले असल भन्ने हुनुपर्छ भन्नु हुन्थ्यो । पैसा जाबो त जसले पनि कमाउँछ । आफन्त, साथीभाइ तथा देशको लागि छाहारी हुनसक्नु पर्छ भन्नुहुन्थ्यो । मान्छेलाई मान्छेजस्तो ठान्ने हुनुपर्छ भन्नुहुन्थ्यो । चराचर जगतमा दयावान हुनुपर्छ, दानदातब्य, सहयोग, परोपकार र मान्छेलाई पर्दा काँध थाप्ने खालको हुनुपर्दछ भन्नुहुन्थ्यो । आफूले मात्रै खान त चराले पनि खाएको छ, मान्छेको चोला पाएका छौँ हामीले, मानवधर्म निकै ठूलो धर्म हो, मान्छेले असल भनून्, अनि पो जीवन हो त भन्नु हुन्थ्यो । मे १८ , २०२० आज मेरो बुवा स्वर्गवास हुनुभएको नवौँ दिन हो । कोरोनाले बनाएका लासहरूलाई हजारौँको सङ्ख्यामा जम्मा पारेर एकान्त जङ्गलमा लगेर एउटै खाल्डामा गाडिएको समाचार सुनेपछि म झन् विह्वल भएको छु । कस्तो देस्यान लाग्यो, मर्दा पनि आफन्तले लास छुन, सदगत गर्न नपाउने ! मैले कल्पना गरेँ कि त्यही लासको डङ्गुरमा मेरा बुवाको पनि लास थियो होला । रुनुबाहेक अरू केही गर्न सकिने कुरा थिएन । धर्म, पैसा, शक्ति र आफन्त सबै नाकाम थिए । लाचार थिए । निरीह थिए । यस्तो बेला मलाई बोध भइरहेछ यो सांसारिक ङार्रङुर्रको के अर्थ होला ! मे १९ , २०२० आज मेरो बुवा स्वर्गवास हुनुभएको दसौँ दिन हो । हिन्दु विधिअनुसार कपाल खौरनु थियो । कपाल खौरिदिने कोही थिएनन् । धन्य छिन् मेरी जीवन सँगिनी, उनले रेजरको सहायताले खौरी दिइन् । यदाकदा उनले मेरो आँखीभुइँ कैँचीले मिलाइदिन्थिन् । तर आज यस्ता पनि दिन आउँदा रहेछन् । आमा बितेको धेरै वर्ष भएको थियो । बुवालाई पनि बिताउँदा ममा एकाएक टुहुरो भएको, अनाथ भएको र निरीह भएको अुनभूति हुँदैछ । यस्तो अवस्थामा मैले गौर गरेर श्रीमतीको अनुहारलाई हेरेको छु । पश्चिमी प्रचलनअनुसार श्रीमती भनेको सेक्स पार्टनर हो, मन बुझाउने साथी हो, कर्म मिलाउने सहकर्मी हो । तर हिन्दु मान्यताअनुसार श्रीमतीमा तीन रूप हुन्छन् भन्ने पढेको थिएँ । प्रवल अग्नि–ज्वाला शान्त पारिदिने यौन पार्टनर, दुःख सुखमा सधैँ साथ दिने दर्बिलो साथी र आमालेझैँ माया गर्ने आमाको प्रतिमूर्ति पात्र । त्यसैले यो बेला मलाई पश्चिमी मान्यता पटक्कै मन परेको छैन । आज मेरी श्रीमतीले आफ्नो तीनै रूप मलाई देखाएकी छिन् । अरूले जे सुकै भनोस् । श्रीमान्–श्रीमतीलाई अर्धाङ्ग–अर्धाङ्गिनी भनिएको बल्ल बुझ्दैछु । धन्य मेरी श्रीमती । मे २० , २०२० आज मेरो बुवा स्वर्गवास हुनुभएको एघारौँ दिन हो । आज एकाएक मेरा दिमागभरि झिग्राना आएको छ । झिग्राना वनपाखाभरि उन्मुक्त भएर हाँसेको, नाचेको, दगुरेको याद आइरहेछ । ऐसेलुको झ्याङ भित्र– भित्र छिरेर काँडाले कोतर्दै ऐसेलु खाएको याद आइरहेको छ । त्यो बेला जीवन कस्तो उन्मुक्त थियो । त्यो जीवनको आनन्दको अनुभूति गरिरहेको छु । त्यो रमाइको मूल्य नाप्दै छु । खप्तडको वनमा फुलेका जङ्गली लालीगुराँस फुलेको सम्झिएको छु । आहा ! त्यो जीवन । त्यो मेरो थियो । तर यहाँ यी गुडिरहेको सभ्यता मेरो होइन । यिनमा मेरो कुनै उच्छवास जोडिन्न । मे २१ , २०२० आज मेरो बुवा स्वर्गवास हुनुभएको बाह्रौँ दिन हो । मेरो बुवा देशलाई ‘आमा’ भन्नुहुन्थ्यो । बुवाको अवसान भएको सुनेपछि झिग्राना मात्र होइन पूरै डोटी जिल्ला नै शोकग्रस्त भएको छ रे । बुवाको आत्माको शान्तिको लागि शैलेश्वरीमा दीपप्रज्वलन गरेका छन् रे । झिग्रानामा एउटा सडकको नाम बुवाको नाममा राख्ने निर्णय गरेका छन् रे । यो सुनेर बुवाप्रति गर्वले मेरो छाति चौडा भएको छ । आफ्ना ठाउँ,े आफन्त र देश भनेको आफ्नो हो । यहाँ त पल्लो घरको मान्छेलाई पनि थाहा छैन कि मेरो बुवा खस्नु भएको छ भनेर । खासमा बुवाको लास त वेवारिसझैँ भयो भने मरेपछिको सदगतको पनि के काम हुँदोरहेछ भन्ने लागिरहेको छ । नेपाल आमाको काखमा रहेको झिग्रानामा मेरो बुवा अब कहिल्यै कहिल्यै मर्नु हुन्न । एउटा सन्तोष लागेको छ । मे २२ , २०२० आज मेरो बुवा स्वर्गवास हुनुभएको तेह्रौँ दिन हो । अमेरिकामै भएका भुटानी पण्डितजीले जुम प्रविधिले शुद्धशान्ति गरिदिनु भयो । मैले एकमुष्ट दक्षिणा क्रेडिटकार्डबाट जम्मा गरिदिएँ । हेर्दाहेर्दै बुवाको काम सकिएको छ । रातको समय छ । आफ्नै घरको फ्रन्ट यार्डमा निस्किएको छु । आकाश, पाताल बादल र परिवेश अँध्यारो भएकोजस्तो भएको छ । टुहुरो भएको महसुस गरेको छु । लागिरहेको छ कि कोही आफन्त वा बिराना छैनन् । आफूलाई माया गर्ने आफ्नो देश छैन । कोही साथी वा परचक्री छैनन् । एकदिन सबै छोडेर जानु पर्ने रहेछ । माया, काया, देश, परदेश सबै छोडेर जानु पर्नेरहेछ । पानीका फोकाजस्तो प्वाक्क फुट्ने रहेछ जीवन । यस्तो कल्पना गर्दागर्दै जुनेली रातमा मधुरो पिलपिल गरिरहेको ध्रुवतारालाई आकाशमा खोजिरहेको छु । मे २३ , २०२० आज मेरो बुवा बित्नु भएको चौधौँ दिन हो । हिजो शुद्धशान्ति सकियो । सेतो लुगा फालेर रङ्गिन लुगा लगाएको छु । परदेशको ठाउँमा सधै सेतो लुगा लगाइरहन सम्भव छैन । मेरी छोरी मेरो काखमा आएर बसेकी छिन् । उनका अनेकौँ प्रश्न, जिज्ञाशा र आग्रह छन् । प्रकट गर्छिन् । उनका प्रश्नहरू यस्ता हुन्छन् ः – के अब ग्य्राण्डफा कहिल्यै फर्केर आउनुहुन्न ? – ग्य्राण्डफालाई एञ्जेलले किन लगेको पापा ? – के सबै मान्छेलाई एञ्जेलले लैजान्छ पापा ? – पापा तपाईँ एञ्जेलसँग नजानु ल । र म सोफामा पल्टिएर आँगनको ईन्द्रकमल फूललाई एकोहोरो भएर हेरिरहेको छु । सेताम्य फुलेको छ । सुवास छरेर वातावरण नै सुवासित मुग्ध पारेको छ । जिन्दगी अनुभूत गर्दैछु । पुराना फूलहरू, पातहरू तथा हाँगाहरू ओइल्याएर, पहेँलिएर र मक्किएर झरेका छन् । देस्यान लागेर मरेका छन् । झरेका छन् । उही ईन्द्रकमल फूलको बुटोमा कलिला सुकोमल मुना–पातहरू, सुन्दर डाँठहरू तथा उर्जावान पूmलका कोपिलाहरू पनि देख्दछु । आखिर यही रहेछ जीवन । जन्मनु र कर्म गर्नु । कर्म गर्नु याने ईन्द्रकमल फूललेझैँ सुवास छरेर मगमगाउनु । र सनैसनै बुढिनु र विलिन हुनु । छोरी संसारका रित, खेल, झेल तथा बेमेललाई थाहा नपाएकीले अलमस्त खेल्न थालेकी छिन् । मैले थाहा पाएर नै छोरीलाई काखमा लिएको छु । उनका आँखामा ईन्द्रकमल फूलको कोपिला देख्दै छु । र हेरिरहेको छु कि यसरी पो फुलिरहने रहेछ ईन्द्रकमल ! मे २४ , २०२० सान एण्टोनियो, अमेरिका #खेमराज पोखरेल |
मिसन खरमयुर ', "‘नमस्ते ! म राजकुमार । तपाईंलाई चराहरूको स्वर्ग कोसीटप्पुमा स्वागत छ ।’ वर्ड–वाचर राजकुमार सिंहसँग पहिलो भेट २४ आरडीको हावा महलनेर भएको थियो । उनी स्थानीय संरक्षण कार्यकर्ता रहेछन् । चराको फोटो खिच्न चाहने सौखिन पर्यटकहरू आएका बेला घुमाउने, चरा चिनाइदिने, अतिथि सत्कारको व्यवस्था मिलाउने गर्दा रहेछन् । ‘नमस्ते !’ जवाफमा मैले यति मात्र भनेँ । मलाई सबै कुरा नौलो लागिरहेको थियो र त्यसरी आफूलगायत सेरोफेरोको वातावरण नौलो हुनुको आनन्द लिइरहेको थिएँ । म को हुँ ? म कहाँको हुँ ? सोधीखोजी गर्नुपर्ने कुनै आवश्यकता अनुभव भइरहेको थिएन । ‘महोदय, तपाईंको परिचय ?’ दाहिने हात अघि बढाउँदै राजकुमारले सोधे । मैले हात मिलाएँ मात्र । केही बोलिनँ । वास्तविकतामा म को हुँ, के हुँ आफूलाई नै थाहा नभएपछि म के बोल्नु ? ‘विष्णुप्रसाद,’ म चुप लागेको देखेर गुलाबीले भने । ‘इन्ट्रेस्टिङ, आफ्नो नाम पनि अर्काले भनिदिनुपर्ने !’ ‘इन्ट्रेस्टिङ त तपाईं हुनु हुँदोरहेछ । चराहरूको पनि स्वर्ग हुन्छ र ?’ म बोलेँ । उता श्रीलङ्का टप्पु, यता कोसीटप्पु माझमा कोसी नदी, गरैया धार । विशेष–विशेष प्रजातिका चराहरूका लागि चर्चित ठाउँ । गुलाबीसँगको कुराकानी, राजकुमारसँगको पहिलो भेट अनि हिजो माछा इञ्जिनियरले भेटेको किताब बेलुका आगाको उज्यालोमा हल्का र बिहान ५० पाना जति हेरेको भरमा यति जानकारी भइसकेको थियो । तर, यो चराहरूको स्वर्ग भन्ने पदावली चाहिँ मेरा लागि नौलो थियो । ‘अब चराहरूको स्वर्ग भने पनि चराहरूको राजधानी भने पनि नेपालमा संसारभरिका चराहरूले यो जत्तिको मन पराएको ठाउँ अर्को छैन । जहाँसम्म स्वर्गको कुरा छ, यो ठाउँ सौखिन र व्यावसायिक बर्ड–वाचरहरूका लागि पवित्र तीर्थस्थल हो । हिन्दूहरूको पशुपतिनाथ, मुसलमानहरूको मक्का–मदिना, बौद्धहरूको लुम्बिनी, इसाइहरूको जेरुसलम भनेजस्तो ! विश्वमै दुर्लभ गुलाबी टाउके हाँस र सानो खरमयुर यहाँ सजिलै देख्न पाएर धन्य–धन्य भएका धेरै पर्यटकहरू छन् ।’ राजकुमारको धाराप्रवाह जानकारी गुलाबी र मैले ट्वाल्ल परेर सुनिरह्यौँ । ‘अस्ति जर्मनीबाट आएको फोटो पत्रकारहरूको एउटा टोलीले, मैले तित्रिगाछी तालनेर गुलाबी टाउके हाँस देखाइदिएँ भनेर खुसी हुँदै यो बाइनाकुलर नै उपहार दिएर गए । उनीहरूको कार्ड पनि दिएर गए,’ उपहार पाएको बाइनाकुलर घाँटीमा झुन्ड्याइरहेका राजकुमारले पर्सबाट कार्ड निकाल्दै भने । ‘यस्तो वाइनाकुलर र तपाईंलाई कामलाग्ने एउटा किताब त उहाँ दाइसँग पनि छ,’ मैले गुलाबीतिर देखाउँदै भनेँ । ‘कुन किताब हो हेरुँ त ।’ [bs-quote quote=”‘ओहो ! यो त हेल्म फिल्ड गाइड्स पो रहेछ । संसारका चराहरूका बारेमा विशेष जानकारी दिने किताब । कोसी क्याम्पमा बसेका गेस्टहरूले हाम्रो किताब र बायनाकुलर घारीमै छुट्यो भन्दै थिए । फोटो खिच्न खरमयुर खोज्दै खर–घारीतिर गएका थिए रे ! नजिकै अर्ना देखेर सब भागाभाग भएछन् । कहाँ भेट्नुभो तपाईंहरूले ?’” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] गुलाबीले झोलाबाट बाइनाकुलर र किताब निकालेर राजकुमारलाई दिए । ‘ओहो ! यो त हेल्म फिल्ड गाइड्स पो रहेछ । संसारका चराहरूका बारेमा विशेष जानकारी दिने किताब । कोसी क्याम्पमा बसेका गेस्टहरूले हाम्रो किताब र बायनाकुलर घारीमै छुट्यो भन्दै थिए । फोटो खिच्न खरमयुर खोज्दै खर–घारीतिर गएका थिए रे ! नजिकै अर्ना देखेर सब भागाभाग भएछन् । कहाँ भेट्नुभो तपाईंहरूले ?’ ‘हिजो हाम्रो केटाले भेटाएर ल्याए’थियो,’ गुलाबीले ठेटी मिसाउँदै भने, ‘माछा इन्जिनियरले एउटा बच्चा तित्रा पनि पक्डेछ । त्यसकै छेउमा भेटेछ यो पनि ।’ ‘भन्न त अर्ना देखेर भागेको भने कि विष्णुप्रसाद सर !,’ राजकुमारले रमाइलो पाराले भने, ‘यहाँका सबै भैँसीहरूको सिङ लामै हुन्छ । देखे होलान् कुनै झर्ना चर्दै गरेको । चरा खोज्दै आ’को कुइरेका लागि के अर्ना के झर्ना !’ … त्यसपछि सुरु भयो मिसन खरमयुर । दुर्लभ सानो खरमयुर बारेको खोजी । सङ्कटापन्न चरा । स्थानीय भाषामा बच्चा तित्रा । राजकुमारका अनुसार बच्चा तित्रा, खरमयुर, खर मुजूर जे भने पनि यसको अङ्ग्रेजी यसको नाम बेङ्गाल फ्लोरिक्यान हो । प्राणी–शास्त्रमा हर्बरोप्सिस बेङ्गालेन्सिस भनिन्छ । ग्रुइफर्मिस अर्डर ओटिडी परिवारमा पर्ने अति दुर्लभ र भुइँमा नै गुड लगाउने यो पन्छीको सङ्ख्या नेपाल, भारत, क्याम्बोडिया र भियतनाममा गरी पुग–नपुग हजारको सङ्ख्यामा होला । यसका दुई उपप्रजाति छन् । क्याम्बोडिया र भियतनाममा ब्लान्दिनी उपप्रजाति पाइन्छन् भने भारत र नेपालमा बेङ्गालेन्सिस उपप्रजाति । गेरु–मैला, छिर्केमिर्के, घाँसकै रङसँग मिल्दो–जुल्दो, लामो घाँटी, लामो खुट्टा हुने यो चराको सङ्ख्या नेपालमा ६५ देखि सय वटासम्म रहेको अनुमान गरिएको छ । राजकुमारको खरमयुरसम्बन्धी जानकारी गजबको रहेछ । हामीले चाख मानेर सुनेको देखेर उनी धाराप्रवाह बोल्दै गए । कोसीटप्पु वन्यजन्तु आरक्ष, कोसी ब्यारेज क्षेत्र, चितवन, बर्दिया राष्ट्रिय निकुन्ज, शुक्लाफाँटा आरक्षको विशेषगरी सिरुले ढाकिएको घाँसे मैदान र सिमसार यस चराको मुख्य बासस्थान हो । घाँसेमैदान घट्दै जानाले संसारभरिमै यसको सङ्ख्यामा छिटोछिटो कमी आउँदै छ । बच्चा कोरल्ने बेला नेपाली भू–भागमा देखिए पनि केही समयपछि प्रायः हराउने हुँदा खरमयुर नेपालका लागि ग्रीष्म ऋतुमा ढिलोगरी आउने आगन्तुक चरामा गनिन्छ । अति सङ्कटापन्नको सूचीमा समावेश खरमयुरका लागि कोसीटप्पु विश्वमै परिचित ठाउँ हो । बच्चा कोरल्नका लागि कोसीटप्पु खरमयुरको रोजाइको गन्तव्य हो भन्दा फरक पर्दैन । … ‘सर्वहारी खरमयुरहरू आहाराका बेला प्रायः स्थिर हुने र विचार पुर्\u200dयाएर आफ्नो चाल चल्ने गर्छन्,’ राजकुमारले भने, ‘यिनको अर्को विशेषता चाहिँ निकै रमाइलो छ ।’ ‘कस्तो रमाइलो ?’ मैले सोधेँ । ‘बच्चा कोरल्ने बेलामा खरमयुरका भालेहरू कहिले जमिनमा उफ्रँदै, कहिले हावामा उड्दै विभिन्न खालका आकर्षक नाचहरू देखाउने गर्छन्,’ उनले भने । ‘प्रकृतिको विचित्र लीला,’ मैले भने, ‘पोथीले दुःख बेहोरिरहेका बेला भालेहरू खुसी हुने कुरा साँच्चिकै रमाइलो रहेछ ।’ ‘तपाई त कवि पनि हो कि क्या हो ?,’ राजकुमारले सोधे । ‘खोइ !,’ म फिस्स हाँसे मात्र । आफ्ना बारेमा केही थाहा नभएको मान्छेले आफू कवि हो कि के हो कसरी भन्नु ! [bs-quote quote=”‘खरमयुरलाई कोसीटप्पुमा लामो समयसम्म टिकाउन सक्यौँ र त्यो कुरा संसारभर पुर्\u200dयाउन सक्यौँ भने,’ राजकुमारले आफ्नो जानकारी बिट मार्दै भने, ‘हाम्रो क्षेत्र पनि चितवनको सौराहाभन्दा कम हुने छैन ।’” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] ‘खरमयुरलाई कोसीटप्पुमा लामो समयसम्म टिकाउन सक्यौँ र त्यो कुरा संसारभर पुर्\u200dयाउन सक्यौँ भने,’ राजकुमारले आफ्नो जानकारी बिट मार्दै भने, ‘हाम्रो क्षेत्र पनि चितवनको सौराहाभन्दा कम हुने छैन ।’ ‘बाफ रे ! बच्चा तित्राको यति धेरै महत्त्व रहेछ,’ राजकुमारको कुरा सुनेर छक्क परेका गुलाबीले भने, ‘हामीलाई त के थाहा, केटाहरूले मारेर ल्यायो भने पकायो दारुसँग खायो ।’ ‘बन्दर क्या जाने अदरखका स्वाद,’ राजकुमारले एउटा चल्तीको हिन्दी उखान भने । ‘बन्दर–सन्दरको कुरा होइन, हामीलाई थाहा नभएर मात्र हो,’ गुलाबीले प्रतिवाद गर्दै भने, ‘अब हामी पनि दुर्लभ चराहरू मार्दनौँ, केटाहरूलाई पनि नमार्न भन्छौँ । बरु अरू कुन–कुन चराहरू छन्, मार्न नहुने ?’ ‘मार्न त कुनै चराहरू पनि मार्न हुँदैन, कानुन लाग्छ,’ राजकुमारले भने । ‘गाउँले केटाहरूले कानुनले भनेको मान्दैन बरु हामीले भनेको मान्छ,’ गुलाबीले भने, ‘बच्चा तित्राबाहेक अरू जोागउनुपर्ने चराहरू कुन–कुन हुन् ?’ ‘गुलाबी टाउके हाँस, रेडिसियल डक (चखेवा), हाँडीफोर गरुड (काकाकुल), डङ्गर गिद्ध …’ ‘गिद्ध र काकाकुल त हामी खाँदैनौँ, घिन लाग्छ,’ राजकुमार बोल्दा–बोल्दै गुलाबीले भने, ‘जोगाउनुपर्ने चराहरू त हामीलाई चिनाउनुपर्छ नि !’ ‘यही त विडम्बना छ,’ राजकुमारले गुलाबीलाई उल्लाउँदै भने, ‘कोसीटप्पुको मधुवन–शुक्रबारे क्षेत्रमा हरेक चरा गणनाका बेला करिब एक दर्जनको सङ्ख्यामा रेकर्ड हुने गर्छन्, तर गाउँलेलाई त्यसको महत्त्व थाहा छैन ।’ … ‘अघि अर्ना कि झर्ना के भन्दै हुनुहुन्थ्यो नि ?’ राजकुमार र गुलाबीको रमाइलो कुराकानी केही बुझे–बुझे जस्तो केही बुझ्न खोजे जस्तो गर्दै मैले सोधेँ । ‘मुख्य रूपमा कोसीटप्पु जङ्गली भैँसी अर्नाको बासस्थानका लागि संरक्षित नेपालको एक मात्र ठाउँ हो । तर, विचराहरूको अनुवांशिकी नै सङ्कटमा परेको छ । वनटप्पुमा चर्न आउने झर्नाहरूका कारण वास्तविक अर्नाको पहिचान हराउँदै गएको छ,’ राजकुमारले भने । ‘कसरी ?’ मैले सोधेँ । यी सबै कुरा म पहिलोपल्ट सुनिरहेको थिएँ । राजकुमारका कुरा थप रुचिकर हुँदै थिए । म आफू पनि पहिचानको सङ्कट बेहोरिरहेको भएर होला । [bs-quote quote=”‘वनटप्पु वन्यजन्तु आरक्ष घोषणा हुनुभन्दा अघिदेखि नै रघु बहरखेरका सन्तान र अरू गाउँलेहरूले गाई–भैँसी चराउने चरन क्षेत्र हो । मुख्य वन क्षेत्रबाट गाउँले भैँसीहरू निकाल्न आजसम्म कुनै माइकलालको तागत पुगेको छैन । सयौँ घरेलु भैँसीसँग दुई–तीन सय अर्ना मिसिएपछि के हबिगत हुन्छ ? तपाईं आफैँ सोच्नु न !'” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] ‘वनटप्पु वन्यजन्तु आरक्ष घोषणा हुनुभन्दा अघिदेखि नै रघु बहरखेरका सन्तान र अरू गाउँलेहरूले गाई–भैँसी चराउने चरन क्षेत्र हो । मुख्य वन क्षेत्रबाट गाउँले भैँसीहरू निकाल्न आजसम्म कुनै माइकलालको तागत पुगेको छैन । सयौँ घरेलु भैँसीसँग दुई–तीन सय अर्ना मिसिएपछि के हबिगत हुन्छ ? तपाईं आफैँ सोच्नु न !’ कुरैकुरामा मैले बुझेँ, कोसीटप्पुलाई स्थानीय भाषामा वनटप्पु भनिँदो रहेछ । राजकुमारले झर्ना भनेको चाहिँ घरेलु भैँसीहरूलाई दिइएको उपमा रहेछ । ‘गरैया टप्पुतिर त अर्ना पाडा समातेर तालिम दिने र भारततिर लगेर महँगो दाममा बेच्ने तालिम–केन्द्रहरू पनि छन्,’ गुलाबीले राजकुमारको होमा हो थप्दै भने । ‘तिमीहरू त्यही चरा मार्दै, रक्सी खाँदै बस । तालिम केन्द्रमा के–के हुन्छ रमिता हेर्दै बस । त्यस्ता तालिम केन्द्रमा दूध–दही जति पनि फ्रिमा खान पाइन्छ भन्ने सुनेको छु, त्यही खाऊ बस ।’ हुन त गुलाबीले राम्रै कुरा भनेका थिए जस्तो लाग्छ । तर, गुलाबीको कुरा सुनेर राजकुमार बिच्किहाले । ‘माछा इन्जिनियर र आफूलाई माछा मार्नेहरूको नेता भन्छौ तर कोसीमा जनकपुर काँटी माछा सिद्धिन लागिसके चिन्ता केही छैन,’ उनले भने । ‘त्यो त हो, हामी गरिब मान्छेले जति भने पनि सरकारले सुन्दैन त के गर्नु !’ गुलाबी पनि यो कुरामा क्षुब्ध नै रहेछन् । ‘हैट्, यस्तो आपसमा झगडा हुने कुरा नगरौँ हामी । बरु सरकारले केही गरे पनि नगरे पनि संरक्षणका लागि आफ्ना तर्फबाट के गर्न सकिन्छ, गाउँलेहरू मिलेर खोजी गरौँ,’ मैले कुरैकुरामा तातेको वातारण सामान्य बनाउन सहजीकरण गर्दै भनेँ, ‘अरू गाउँलेहरू भेला गरेर भोलि छलफल गर्दा राम्रो हुन्छ । अहिलेलाई जाऔँ, कुरामा धेर अल्झियो भने तपाईंलाई नै माछा मार्न ढिलो हुन्छ फेरि ।’ ‘ले, हम्रा आरु जाइछियै अखनी, तुँ ई किताब ले । कुइरेके खुबके घुमा, बैठ । (हुन्छ, अब हामी जान्छौँ, तँ यो किताब ली, कुइरेलाई मजाले घुमाउँदै बस्,’ यति भनेर गुलाबी तित्रीगाछी तालतिर लागे । किताब राजकुमारलाई दिँदै, वायनाकुलर घाँटीमा भिर्दै म पनि गुलाबीको पछि–पछि लागेँ । राजकुमार भन्दै थिए, ‘ताल जाने बाटोमा अलि होस् गरेर जानुहोला है । शोभाकलीको माया सम्झेर आसामबाट आएका मत्ताहरू त्यतैतिर देखिएका थिए हिजो ।’ #फन्टुस फिक्सन #सुविद गुरागाई |
कथाः ऊ पनि काठमान्डु: “ लभ यू डार्लिङ…” उसको मधुर आवाजले मेरो शरीरमा सनसनी फैलाई रहेको थियो । “मी टु डियर..” मैले पनि सकिनसकी उसलाई जवाफ दिएपछि आत्तिदै फोन राखेकी थिएँ । मलाई किन किन आभास भैरहेको थियो कि मेरो चारैतिर घण्टीका मधुर स्वरहरु गुन्जिरहेका छन् । मेरो मुटुको धुकधुकी बढीरहेको थियो । म खुला चौरमा लडिबुडी खेल्दै जोडजोडले चिच्याउन चाहिरहेकी थिएँ । धेरैदिन पश्चात मेरो मनका खुम्चिएका प्वाँखहरु फड्फडाउँदै साँगुरो कोठाबाट निस्केर आकाशमा हावासँगै बत्तिन खोजिरहेका थिए । मेरो शरीर मेरो अधिनमा थिएन । शिरदेखि पैतालासम्म मेरो शरीरभित्र एक प्रकारको रासायनिक प्रतिक्रिया भैरहेको थियो, जसले मलाई आनन्द दिई रहेको थियो । म शरीर भित्रका हर्मोन ग्रन्थीहरुसँगै स्खलित भैरहेकी थिए । म आफ्नो जीवनमा नयाँ परिवर्तनको स्वाद चाख्ने अभिलाषाले काकाकुल बनिरहेकी थिएँ । लामो समयको प्रतीक्षा पश्चात मेरो मनमा साउने झरी वर्षदै थियो । [bs-quote quote=”हाम्रो जोडीलाई देखेर अन्य जोडीहरु हतप्रभ र विस्मित हुने थिए । ईर्ष्याले तीनका आँखाहरु जल्ने थिए । डाहाले तिनका मनहरु कुँढिने थिए । हामी भने सबैलाई बेवास्ता गर्दै दुई लताहरु एक आपसमा बेरिएझैँ गरी बेरिंदै मान्छेका आरिसे मनमाथि चट्याङ पार्दै नयाँ सडकमा भेटिने उन्मत्त साँढे र गाई बनेर हल्लीखल्ली मच्चाउने थियौं, सबैलाई आतंकित पार्ने थियौँ ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] साँझ ऊ मलाई लिन गल्स होस्टेलमा आउँदै थियो । तर मेरो मन ऊ नआउँदै हामी भन्दा पनि अघिअघि दगुरिरहेको थियो । मेरो मन अहिले नै उसको मोटरबाइकमा चढेर काठमाडौँका सडकहरुमा चिप्लेटी खेल्न उद्देलित थियो । हाम्रो जोडीलाई देखेर अन्य जोडीहरु हतप्रभ र विस्मित हुने थिए । ईर्ष्याले तीनका आँखाहरु जल्ने थिए । डाहाले तिनका मनहरु कुँढिने थिए । हामी भने सबैलाई बेवास्ता गर्दै दुई लताहरु एक आपसमा बेरिएझैँ गरी बेरिंदै मान्छेका आरिसे मनमाथि चट्याङ पार्दै नयाँ सडकमा भेटिने उन्मत्त साँढे र गाई बनेर हल्लीखल्ली मच्चाउने थियौं, सबैलाई आतंकित पार्ने थियौँ । म ओछ्यानमा लम्पसार परेँ र तकियाले आफ्नो मुख छोपेँ । मधुर कल्पनाहरुको बोझले म थकित बनिसकेकी थिएँ । ओछ्यानमा लम्पसार परेर तकियाले मुख छोप्नु मेरालागि विशेष कारण हुन्थ्यो । साथीहरुले जिस्क्याए मलाई । होस्टेलका मेरा खास–खास साथीहरुले मलाई वरिपरिबाट घेरे र ‘नयाँ ब्वाई-फ्रेन्ड फेला पारिस् कि क्या हो’ भन्दै तकिया तान्न थाले । म लाजले भुतुक्कै भएँ । म केही बोल्न सकिरहेकी थिइनँ । तर मेरो लाली चढेको अनुहारले बताइरहेको थियो कि तिनीहरु साँचो बोलिरहेका थिए । “को हो ऊ ? के उ ह्याण्सम छ ? ” “कारवाला त होइन ऊ ?” “हामीलाई पनि चढा है कारमा ।” “अब त तेरो हातमा महँगो मोबाइल हुने भो है ।” साथीहरुका थुप्रै प्रश्नबाट बेखबर म कल्पनामा ऊसँगै कहाँ कहाँ पुगिरहेकी थिएँ । म एकै छिनमा नगरकोटको टावरमा झुण्डिरहेकी हुन्थेँ त लगत्तै मनकामनाको केबुल कारमा चढिरहेकी हुन्थेँ । म स्वप्निल तन्द्रामा नै ऊसँग लाहुरी भन्ज्याङ पुगेँ, दामन पुगेँ, ककनी गएँ र गएँ धुलिखेलका मनोहर रिसोर्टहरुमा । मैले ऊसँगै किंग्स वेमा धीत मरुन्जेल सपिङ गरेँ । बेकरी क्याफेको मम, विम्पीको बर्गर, फायर एण्ड आइसको पिंज्जा, जाभाको कफी र निराजालको आइसक्रिम चाख्दै हामीले एकअर्काका आँखाका तलाउमा डुब्दै-उत्रदै मिठा मिठा बात मारिरहेँ । म जब स्वप्निल तन्द्राबाट जागेँ, मैले पाएँ कि म होस्टलको ओछ्यानमा नै पस्रिरहेकी छु । मलाई उसको मायाले सताउन थाल्यो । मलाई ऊसँग कुरा गर्न मन लाग्यो । मैले मोनाको मोबाइल खोसेँ र उसको नम्बर डायल गर्न लागेँ । मोना रिसले मुर्मुरिँदै थिई, ‘तेरो ब्वाइफ्रेण्डले रिचार्ज गरिदेला नि मेरो मोबाइल, धेरै लामो कुरा नगर है । फोन बिजी देखेर मेरो ब्वाइफ्रेण्डले ममाथि शंका गर्ला । मोबाइलमा उसको स्वर सुनेर म फेरि नर्भस हुन थालेँ । ऊ भनिरहेको थियो, ‘म साँझ आउँछु । तिमीलाई डिस्को लग्छु, होटलमा लन्च खान लग्छु है ?’ मैले हवस मात्र भन्न सकेँ । मैले अघि तन्द्रामा देखेका सपनाहरु बोलिरहेको थियो ऊ । “सुन्यौ? भोलि हामी क्याम्प फायर गर्न नगरकोट जाने, टावरमा उभिएर हिमाल हेर्ने, पर्सि – निकोर्सि मनकामना जाने । त्यसपछि…” म मन्त्र मुग्ध भएर उसलाई सुनिरहेकी थिएँ । ऊ उन्मुक्त हाँसो हाँसिरहेको थियो । मैले पनि बल्ल बल्ल भन्न सकेँ, ”साँझ मलाई लिन छिट्टै आउ है ।” उसको तातो अँगालोमा कस्सिने इच्छाले म ऐले नै पग्लन थालिसकेकी थिएँ । म दिनभर ओहोरदोहोर गरिरहेँ । म हाँसे, खितखिताएँ । मेरो हँसाईमा स्वच्छन्दता थियो । खोरबाट मुक्त भएको कुकुरले थुतुनो उचाल्दै जोडजोडले ह्वाङ्ग ह्वाङ्ग गर्दै भुकेझैँ म पनि होस्टेलको छतमा उभिएर आकाशतर्फ हेर्दै चिच्याउन थालेँ । मेरो गतिविधिले कसलाई के असर गरिरहेको छ, मलाई पर्वाह थिएन । म मात्र आफ्नो मन भित्रको उत्साह र उमंगलाई बाहिर छताछुल्ल पोखिरहेकी थिएँ । मलाई ऊसँग फेरि बात मार्न मन लागिरहेको थियो । म साँझसम्म ऊसँग कुरा नगरी बस्न नसक्ने अवस्थामा थिइनँ । मसँग मोबाइल फोन भएको भए कति जाती हुन्थ्यो ! म उसलाई मिसकल दिनेथिएँ । ऊ पनि मलाई मिसकल दिने थियो । म रिसाउँदै उसलाई एसएमएस गर्ने थिएँ । सम्भवतः ऊ पनि मलाई एसएमएसमै जवाफ फर्काउने थियो तर अफसोच म मोबाइलविहीन थिएँ । होस्टलका प्रायः धेरै केटीहरुसँग मोबाइल थियो तर केही केटीहरु मजस्तै थिए । मैले लाज मानीमानी गीतासँग मोबाइल मागेँ । उसले मलाई मोबाइल दिनु त कता हो कता ममाथि व्यङ्ग्य कस्दै भनी, आफ्नो ब्बाइफ्रेण्डसँग माग न मोबाइल । एउटा मोबाइल दिन नसक्नेसँग केको फ्रेण्डसिप गर्छेस् हँ?’ म हीन भावनाले ग्रसित भएँ । गीताका कटु शब्दहरुले मलाई एकै छिनमा आकाशबाट भुईंमा पछारेको थियो । म ओछ्यानमा घोप्टो परेर सोच्न थालें कि काठमाण्डूलाई पाउने लालसाले मलाई जतिसुकै गाँजे पनि मैले अझै काठमाण्डूलाई पाउन सकेकी छैन । काठमाण्डू यानि मेरो प्रेमी वा ‘ब्वाइफ्रेण्ड’ को स्तरमा पुग्न मैले आफू पनि काठमाण्डूजस्तो वन्ने प्रयास गरेँ । तर अँहँ, अहिलेसम्म म आफ्नो सपनाको राजकुमार काठमाण्डूझैँ काठमाण्डू बन्न सकिनँ । म काठमाण्डू बनिसकेको भए म अहिले यहाँ हुँदिन थिएँ । मैले लामो सुस्केरा हालेँ । [bs-quote quote=”मेरा हरेक प्रेमीहरू काठमाण्डू बनेर मेरो जीवनमा आए । तिनीहरुले मलाई पनि काठमाण्डू बनाउन खोजे । मैले पनि चाहेँ कि म काठमाण्डू नै बनूँ तर अँहँ, म काठमाण्डू बन्न सकिनँ । अझै पनि यो अभिजात्य काठमाण्डूले मलाई स्वीकार गर्न सकेको छैन । यो उत्ताउलो काठमाण्डूले मलाई कहिल्यै स्थिर बन्न दिएन । काठमाण्डूको अँगालोमा भट्किदै म उसका हरेक परीक्षाहरुबाट गुज्रिसकेकी छु । तर पनि उसले मलाई पत्याइरहेको छैन ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] मेरा हरेक प्रेमीहरू काठमाण्डू बनेर मेरो जीवनमा आए । तिनीहरुले मलाई पनि काठमाण्डू बनाउन खोजे । मैले पनि चाहेँ कि म काठमाण्डू नै बनूँ तर अँहँ, म काठमाण्डू बन्न सकिनँ । अझै पनि यो अभिजात्य काठमाण्डूले मलाई स्वीकार गर्न सकेको छैन । यो उत्ताउलो काठमाण्डूले मलाई कहिल्यै स्थिर बन्न दिएन । काठमाण्डूको अँगालोमा भट्किदै म उसका हरेक परीक्षाहरुबाट गुज्रिसकेकी छु । तर पनि उसले मलाई पत्याइरहेको छैन । मलाई सधैँ लागिरह्यो कि काठमाण्डूले मलाई लखेट्न खोजिरहेको छ । म भक्कानो छोड्दै रोएँ । म किन किन निसास्सिन थालेँ । मैले भुलेँ, बिहानीपख मात्र ऊसँग भएका मिठा र प्यारा वार्तालापहरु । ऊ पछिल्लो काडमाण्डू हो, जसले मलाई साँच्चै नै माया गर्न खोजेको जस्तो देखिरहेकी छु म । उसको अनुहारमा तैरिरहेको अबोधपनले मलाई उसप्रति चुम्बकीय आकर्षणको अनुभव गराइरहेको थियो । ऊ काठमाण्डू हो तर अन्यभन्दा सर्वथा भिन्न । ऊ मलाई माया गर्छ । मैले उसबाट खोजेको सबैभन्दा विशेष कुरो यही नै थियो । म मेरो प्रेमी अथवा काठमाण्डूको बारेमा सोचिरहेकी थिएँ, जसले मलाई सभ्य मान्छे बन्ने कला सिकाउँदै थियो । ऊ मलाई सँगै हिँड भनिरहेको थियो । तर आफू भने बेतोडले दौडिरहेको थिए । म उसको गतिलाई समात्न सकिरहेकी थिइनँ । म आफू काठमाण्डू बन्न ठमेल र झोछेँका गल्ली र गल्छेडाहरुमा ऊसँगै घुम्न चाहन्थेँ । फाइभस्टार होटलका मेनुमा आफ्ना गोरा औँला घुमाउन चाहन्थेँ । मलाई मन लाग्थ्यो कि म रातभर नाचूँ, डिस्को थेकमा रेड वाइनको चुस्की लिंदै र काठमाण्डू पनि मेरो कम्मर समात्दै रातभर नाचोस् । चिल्लो कारमा बसेर ओठमा चुरोट च्याप्दै र काखमा बसेको सेतो पमेरियन डगको जिउ सहलाउँदै म पनि काठमाण्डूसँगै जाउँ भिभिआइपीहरुका लन्च र डिनर पार्टीहरु अटेन गर्न । तर काठमाण्डूहरु सबै धोखेवाज र फटाहा निस्के मेरा लागि । सस्ता क्याबिन रेष्टुरेन्ट र होटेलमा मलाई टोक्द, चिथोर्दै, लछार्दै पछार्दै काठमाण्डूले मलाई जहिले पनि आफ्नो स्तरमा पुग्नबाट रोकिरहयो । म वर्तमानमा फर्किएँ । मेरा लागि वर्तमान प्यारो थियो । म आफूलाई ताजा महसुस गर्दै उठेँ र बाहिर छतमा आएँ । मेरो मन उसको प्रतिक्षामा व्याकुल बनिरहेको थियो । म छतमा नै ओहोरदोहोर गर्दै बसिरहेँ । साँझ पर्यो । बिजुली बत्तिहरु बले । मेरा आँखाहरु होष्टेलको गेटमा ऊ झुल्किने आशामा व्यग्र बनिरहेका थिए । गेटबाहिर मोटर र मोटर साइकलको घ्यार्रघुर्र आवाज सुनिन थाल्यो । होटलबाट एक एक गरी केटीहरु बाहिर निस्कन थाले । मैले अनुमान गरेँ कि तिनीहरु आ–आफ्ना प्रेमीहरुसँग डेटिङमा गए हुन् । मैले अबेरसम्म छतमा उभिएर नै उसको प्रतिक्षा गरेँ तर ऊ आएन । वाचा गरेअनुरुप ऊ मलाई लिन आएन । मेरा आँखाबाट बर्बरी आँशु झर्न थाले । मेरा आँखा अझै पनि उसको बाटो हेरिरहेका थिए । – ‘ऊ किन आएन ?’ मेरो मनले साउती गर्यो । – ‘ऊ काठमाण्डू हो, त्यसैले आएन ।’ – ‘काठमाण्डूलाई साथी बनाएर आफू पनि काठमाण्डू बन्ने रहरमा तँलाई धेरै काठमाण्डूहरुले धोखा दिए तर अझै तँ चेतेकी छैनस् । काठमाण्डू धेरै फाष्ट छ । तँ अझै पनि उसको पछि लागिरहे एक दिन तँलाई यस काठमाण्डूले नगरवधु बनाएर दिल्ली, मुम्बई र बैंककका कोठीहरुमा समेत घुमाउने छ । फर्की, फर्की, आफ्नो धरातलमा फर्की,’ मेरो सचेत मन मलाई झक्झकाउँदै थियो । “काडमाण्डू मेरो सपना हो । म काठमाण्डूलाई हासिल नगरी बाँच्न सक्तिनँ,” मैलै चिच्याएर भनेँ । होस्टेल अगाडिको घरको झ्यालबाट एउटा बूढो लोग्ने मान्छे मलाई हेर्दै मुस्कुराइरहेको थियो । ऊ भव्य बंगलामा रहन्थ्यो । ग्यारेजमा दुईतीन वटा कार थिए । दुई ठुल्ठूला बुलडगहरु उसको वरिपरि घुमिरहेका देखिन्थे । आधा दर्जन नोकरहरु घर भित्र र बाहिर गरिरहेका थिए । आँगनमा थरी थरीका फूलहरु थिए । ऊ फूलको प्रेमी प्रतित हुन्थ्यो । मैले पनि उसलाई हेरें । उसको मुस्कान प्रगाढ भयो । मलाई के गरुँ के नगरुँ भयो । ऊ अब मलाई हातले ईशारा गर्न थालेको थियो । मैले आश्चर्यचकित भएर उसलाई हेरेँ । मैले बल्ल चिन्न सकेकी थिएँ कि ऊ पनि काठमाण्डू नै थियो– मेरो प्रिय काठमाण्डू, मेरो सपनाको काठमाण्डू, मैले हासिल गर्न चाहेको काठमाण्डू । म पनि उसलाई मुस्कुराउँदै ईशारा गर्न थालेँ । #महेश विक्रम शाह |
जन्मदिनको अवसरमा तारानाथ शर्मासँग अन्तरंग: अन्तरवार्ताकार भगवती बस्नेत नियात्रा लेखनका सुरुवाताकर्ता, यसै विधामा मदन पुरस्कार प्राप्त लेखक तारानाथ शर्मा आज ८६ वर्ष पुगे । स्मरण शक्ति कमजोर छ भन्दाभन्दै पनि उनले पुराना केही अनौठा कुराको सम्झना गरका छन् । साहित्यपोस्टका लागि भगवती बस्नेतले गरेको कुराकानीको मुख्य अंशः दिनहरू कसरी बिताउँदै हुनुहुन्छ ? पहिले पढाउँथे अमेरिकातिर । अहिले भने आफैँ पढ्दैछु । मिसिगन स्टेट युनिभर्सिटी भन्ने अमेरिकी विश्वविद्यालयमा भाषा विज्ञान पढाउँथेँ । अहिले भर्खरको विद्यार्थी जस्तै पढ्दैछु (हाँसो) । तपाईं नियात्रा विधाको शिखर स्रष्टा मानिनु हुन्छ । पहिले तपाईंको पालामा लेखिने नियात्रा र अहिले लेखिने नियात्रामा के फरक पाउनु हुन्छ ? हरेक विषयमा सुधार र परिष्कृत हुँदैछ । नियात्रामा पनि त्यही भएको छ । अब के भने लेख्दालेख्दै जान्ने पनि भइयो, घुम्न पनि घुमियो संसारभरि । म नगएको कुनै देश छैन । त्यसो भएको हुनाले अलिकति धेरै जानियो र धेरै लेखियो । विदेशमा धेरै घुमियो र स्वदेशभित्र पनि घुमेको छु । स्वदेश घुम्ने कुनै पनि उपाय थिएन । अनि मैले एउटा कुरा चाहिं यसो विचार गरें- पहिला पहिला परीक्षा सञ्चालन हुन्थ्यो । परीक्षा सञ्चालन हुँदा परीक्षा नियन्त्रक भनेर ठाउँठाउँ पठाउँथ्यो सरकारले । त्यहाँ जानलाई मान्छे मान्दैनथे । म त जहाँ पनि गएँ । त्यसले गर्दा मैले सबै देशका ठाउँ-ठाउँका कुरा थाहा पाइयो । नियात्रा भनेको त आफैँ यात्रा गर्दा पाठकहरू पनि सँगसँगै हिँडून्, उनीहरुलाई पनि आफूलाई हिँडेजस्तो अनुभव होस् भन्ने अनुभूति दिने हो । ठीक छ । राम्रै छ । नियात्राको विकास भएकै छ । यहाँले न्वारान गर्नुअघि यस्ता लेखौटलाई यात्रा वर्णन भनिथ्यो । तपाईं आफैले नियात्रा भन्ने विधा दिनुभयो । कस्तो अनुभव गर्नु भएको छ ? मलाई साह्रै नै गौरवको अनुभूति भएको छ । बडो रमाइलो लाग्छ । तपाईंलाई खरो समालोचक पनि भनिन्छ । तत्कालीन राजा मवीवि शाहका रचनामा समेत खरो आलोचना गर्नु भएको पढ्न पाइयो । यसैकारण जेलसमेत जानु परेको थियो भन्ने सुनिन्छ । सत्य के हो ? यो झुटो कुरा हो है ! महेन्द्रको बारेमा लेखेर म जेल गएको त होइन । महेन्द्रसँग आवातजावत खुब थियो । उहाँकी श्रीमतीलाई पनि मैले पढाएको हो, पद्मकन्यामा । म त शिक्षक, आलोचक, सुधार होस् भनेर लेखेँ । त्यो कुरा उहाँले बुझ्नु भएको हो । यस अर्थमा लेखेकै कारण जेलमा पठाएको होइन । म जेल गएको उहाँलाई थाहै थिएन । बरु प्रोफेसरलाई किन थुनेको भनेर तुरुन्तै ‘ऊ’ गरिदिनु भएको हो । थुनिदिनु पर्ने प्रसंग केही त पक्कै थियो होला, के थियो ? कारण के हुनु । विभिन्न विषयमा स्वतन्त्ररुपले लेख्थें नि म त । समालोचना गर्थें । भाषा किन बिग्रियो भनेर लेख्थेँ । झर्रो कुरा लेख्नुपर्छ भन्थेँ । त्यो कुरा एकथरिलाई मन परेन र उजुरी दिए । त्यसैले पक्राउ परेँ । त्यो अर्कै कुरा हो तर राजाको विषयमा लेख्यो भनेर बात आयो । यसरी कुरा बङ्गिन गयो । जेल गएको पनि हो । राजाको कविताको आलोचना पनि गरेको हो तर त्यसैको आधारमा भने होइन । त्यसरी अरुलाई पोल्नुहुन्न । समालोचना र साहित्य सिर्जनामध्ये तपाईंलाई कुन विधा बढी सहज लाग्छ ? समालोचना पनि साहित्य नै हो । साहित्य भनेको साहित्य नै हो तर यी दुवै बेग्लाबेग्लै हुन् । समालोचना भनेको कसैले लेखेको कृतिलाई कस्तो छ त्यसले समाजमा कस्तो प्रभाव पार्छ ? त्यो मात्र हो । मैले सहजताको कुरा गरेको । कुन लेख्दा सहज हुन्छ ? जे लेख्यो, त्यही सहज । मन लागेको कुरा लेख्दा सहज । अब कनेर लेख्दा असहज । तपाईंले बालकृष्ण समको कृतिको समालोचना गरेपछि उहाँसँगको निकटता अझ बढ्यो भन्ने सुनिन्थ्यो । आलोचना गरेपछि त दूरी बढ्नुपर्ने होइन र ? असल मानिस आलोचनालाई महत्त्व दिन्छन् । म बनारसबाट भरखर भरखर एमए पास गरेर आएको थिएँ । त्यही बेलादेखि नै कडा लेख्थें । उहाँसँग मेरो राम्रो थियो, भेटघाट भैरहन्थ्यो । म ठूल्ठूला लेखकहरूसित पनि खुब राम्ररी बोल्थें । पद्मकन्या पढाउन थालेपछि रानी मेरी विद्यार्थी भइन् । त्यही बेला राजाले अंग्रेजी पत्रिका ‘द राइजिङ नेपाल’मा तारानाथ शर्मालाई ल्याउनुपर्छ भनेर आफनी श्रीमतीसित पनि कुरा गरेछन् । मलाई सुटुक्क रानीले यो कुरा भनिन् । मलाई त फाइदै भयो । मेरो अंग्रेजी ठिकै खालको थियो, त्यहाँ गएपछि राम्रो हुन थाल्यो । समको ‘चिसो चुल्हो’का केही कुरा चित्त बुझेको थिएन । मैले ‘चिसो चुल्होः झुसिलो डकार’ भनेर लेखिदिएँ । थाहा थिएन, समले मलाई के गर्नु हुन्छ । नेपाली साहित्यमा मैले तीनजनालाई ईश्वरजस्तै मान्छु म । एउटा देवकोटा, अर्का बाककृष्ण सम र अर्का चाहिं लेखनाथ पौड्याल । राइजिङ नेपाल पत्रिकामा गएपछि कहिले अमेरिकी एम्बेसी, कहिले ब्रिटिस एम्बेसी अनि कहिले अन्य एम्बेसीहरूले पनि सम्पादकहरू र राम्रा समालोचकहरुलाई समारोहहरूमा बोलाउँथे । एकदिन एउटा समारोहमा एक्कासि समलाई देखें । मलाई नजिक जान गाह्रो भयो । आफूले भगवान् मानेको मान्छेलाई आफ्नो अगाडि पाउँदा नबोलौँ पनि कसरी ? आफूले मानेको मान्छेलाई नमस्कार गर्छु भनेर गएँ । ऊ परबाट देख्नेबित्तिकै उहाँले ए तारानाथजी भन्दै बोलाउनु भयो । अनि म त झन् अब गाली गर्नुहुन्छ क्या हो भनेर छेउमा पुगेँ । ठीक भन्नु भयो तारानाथजी तपाईंले बुझ्नु भयो भनेर उहाँले भन्नुभयो। चिसो चुल्हो झुसिलो डकारै हो नि ! अरुले नबुझ्ने कुरा पनि आफ्नो फूर्ति देखाउनका लागि बुद्धि देखाउनलाई मैले खुब जान्ने भएर लेखेँ । वास्तवमा त्यो होइन के, मैले सबैले बुझ्ने गरिकन उनीहरूको स्तरमा पो लेख्नुपर्छ । जे पायो त्यही लेख्नु हुन्छ मैले ? म त छक्क परेँ । अनि नमस्कार गरेँ । तारानाथजी यसो गरौं न, भोलि बिहान तपाईं दस बजे मेरोमा आउनुस् न, ल, तपाईंले मेरो ठाउँ त देखेको छ नि ? आउनुहोस् भन्नु भयो । अनि म एकदम खुशी भएर भोलि बिहान गएको त उहाँकै श्रीमतीलाई भुजा पकाउन लाएर भुजा खुवाउनु भयो । अनि त्यहीँ छलफल गर्यौं अनि प्रत्येक दिन गएर छलफल गर्न थालें । दुई तीन घण्टा दुई तीन घण्टा गरेर त्यहीँ खाने त्यहीँ लेख्ने गर्न थालेँ । कहिलेकाहीँ दिउँसो पनि जान्थेँ । उहाँसँगको सामीप्यताले गर्दा मैले सम र समका कृति भन्ने लेखेँ । यसरी नै यी त्रिमूर्तिहरूलाई रिझाउन सकिन्छ भन्ने लाग्यो । देवकोटा, लेखनाथको पनि सामिप्यतामा रहेर उनीहरुको बारेमा पनि लेख्ने विचार थियो तर उहाँहरुसँग बस्ने त्यस्तो सौभाग्य, त्यस्तो मौका पाइनँ । म नजिक त गएँ तर उहाँहरूको घरमा गएर छलफल गर्ने मौका पाइनँ । बाल्यकालका कुरा के-के सम्झनुहुन्छ ? त्यो बेला बाहुनको छोरोले संस्कृत पढ्नतिर ध्यान दिनुपर्छ भन्ने थियो । त्यसैले बुबाले त्यतातिर लगाइदिनु भयो । संस्कृत पढेपछि पाणिनीको व्याकरण जानेँ । त्यही बेला रुद्री, चण्डी, गर्दैगर्दै गएर वेद पनि पढें । पूरा वेद पढदा वेद मन्त्र पनि पढें । वेद मन्त्र पढिसकेपछि मलाई बुबाले अब तैँले अंग्रेजी पढ्नुपर्छ बुझिस् भन्नु भयो । किन बुबा ? भनेको त ‘हेर, जुन दिन तैंले अंग्रेजी मातृभाषा भएका विद्यार्थीलाई अंग्रेजी पढाउँछस् त्यस दिन मेरो आत्माले सन्तुष्टि पाउँछ र म स्वर्ग जान्छु बुझिस्’ भन्नु भयो । तैंले त्यै गर्नुपर्छ भन्नुभयो । अनि उहाँले नै दार्जिलिङमा अंग्रेजी स्कुलमा भर्ना गरिदिनु भयो । अब झर्रोवादी आन्दोलनका बारेमा केही बताइदिनु न? झर्रोवादी भनेको शुद्ध हुनुपर्छ भन्ने हाम्रो थियो किनभने म त बाहुनको छोरो, संस्कृत पनि पढेको सानैदेखि, शुद्ध नेपाली बोल्थेँ, शुद्ध नेपाली लेख्थेँ । अनि साथी भेटेँ मैले बालकृष्ण पोखरेल । बालकृष्ण पोखरेल र म शुद्ध नेपालीका अभियन्ताहरू हौँ । गर्न गरिसकेपछि अब त्यसलाई विशुद्ध नेपालीमा गर्नु वा भन्नु पर्छ भन्थेँ म चाहिँ संस्कृतबाटै । त्यतिबेला हामी बनारसमा बिए पढ्दै थियौँ सँगै । अनि त्यहीँबाट झर्रो नेपाली भन्यौँ र पत्रिका पनि निकाल्यौँ । त्यै पत्रिका निकालेर झर्रो प्रयोग गर्दागर्दै अनि हामी झर्रोमा चलेको हो । यहाँहरूले शुरु गर्नु भएको त्यो झर्रोवादी जुन लेखन वा आन्दोलन थियो अहिलेसम्म पछ्याइरहेकाछन् । आफूले शुरु गरेको आन्दोलन वा आफूले शुरु गरेको कुराहरू अहिलेका पुस्ताहरूले पच्छ्याइरहँदा यहाँलाई कस्तो अनुभूति हुन्छ ? सारै राम्रो भा‘छ । हाम्रो नेपाली भाषालाई त्यसै गर्नुपर्छ नत्र त हिन्दीले पेल्छ हामीलाई । भन्न चाहिँ हामी हिन्दी पनि जान्दथ्यौं । अब त्यो हुँदैन, हिन्दीले हामीलाई पेल्छ, भाषा नै विलिन हुने डर हुन्छ, नेपाली भाषा पो हाम्रो शुद्ध भाषा हो । पृथ्वीनारायण शाहको देन हो यहाँ, यहाँका ठुलठूला राजाहरू अथवा हाम्रा लेखकहरूले पनि त्यै गरेका छन् भने हामीले किन अर्काको पच्छ्याउने ? हुँदैन, हामीले नेपाली नै शुद्ध गर्नुपर्छ, हाम्रा बाबा-आमाले गाउँगाउँमा जे गरे त्यै गर्नलाई झर्रो नेपाली गरौं भनेर झर्रो नेपाली गरेको हो । यहाँ प्रगतिशील लेखक संघको संस्थापक पनि हुनुहुन्छ । अनि प्रगतिशील लेखक संघले नेपाली साहियकारहरूलाई लेखनमा कत्तिको सहयोग पुर्याएको छ त? प्रगतिशील भन्नाले त्यहाँ दुइटा कुरा छन् । एउटा त शुद्ध नेपाली हुनुपर्छ भन्ने अर्को चाहिँ प्रगतिशील भन्ने बित्तिकै कम्युनिस्ट हुनुपर्छ भन्ने । हामी त सानामा धेरै कम्युनिस्टबाट प्रभावित थियौं । त्यसो हुनाले हामी यो सामन्तीहरूलाई मन नपराउने, धनीहरूलाई मन नपराउने, यिनीहरूले जनतालाई हेप्छन् भन्ने भएको हुनाले, त्यस्तो किसिमले हेरिन्थ्यो नि त । त्यसैले भाषालाई मात्र शुद्ध गर्ने होइन, जनताको पनि भाषा हुनुपर्छ र त्यो भाषाले जहिले पनि जनताकै पक्ष लिनुपर्छ, जनतन्त्रको पक्ष लिनुपर्छ भन्ने हाम्रो विचार थियो । त्यसैले त्यतातिर लाग्यौ हामी । पत्रिकामा पनि त्यै लेख्थ्यौं । प्रगतिशील लेखक संघका लेखक र साहित्यकारहरूलाई केही सहज भएको छ ? अथवा केही फाइदा पुर्याएको छ ? एकदमै धेरै फाइदा पुर्याएको छ । त्यसले गर्दा धेरै लेखकहरू निक्ले, जन्मे । त्यो आफ्नै भयो नि, नजिक हो नि त्यो । यहाँ नेपालदेखि बेलायत, अमेरिकासम्म पढ्न पुग्नु भयो । यहाँले नेपालको पढाइ र विदेशतिरको पढाइको स्तर कस्तो पाउनु भयो नि ? विदेशतिर त पढाई असाध्यै राम्रो हुन्छ । उनीहरूको भाषा हुन्छ त्यहाँ । भाषाको कुरा हो, त्यहाँ अरु विषय त आफ्नो किसिमले विषयलाई अगाडि बढाउने हो भने त के फरक पर्छ र ? केही फरक पदैन । तर नेपाली त्यति अगाडि बढ्न सक्दैनन् अरुसँग । नेपाली अरुसित कम्पिटिसनमा अगाडि कहाँ बढ्न सक्छ र ? अंग्रेजीसित सक्छ र ? सक्दैन । अंग्रेजी संसारभरिका मान्छेहरूले पढ्छन्, हाम्रो नेपाली हामी नेपालीले मात्र हो । अन्त्यमा यहाँले ‘बेलायततिर बरालिंदा’ नियात्रा संग्रहभित्रको केही महत्त्वपूर्ण कुरा बताइदिनु हुन्छ कि? बेलायततिर बरालिंदा भन्ने त्यो त बरालिंदा भनेको मात्र हो । रमाइलोसँग घुमेको भनेको हो । त्यसलाई झर्रो पारेको हो । त्यसलाई भरिसक्के हिन्दी र संस्कृतसँग नमिलोस्, अलिकति नेपाली जनताले बुझ्ने किसिमको भाषा होस् भन्ने गरेको मात्र हो । त्यो नेपाली भाषा राम्रो होस्, शुद्ध होस्, सबैले बुझून् र त्यसमा चाख लिऊन् भनेर मेरो स्वभाव अनुसारको काम गरेको हुँ । नेपालीपन राख्छु त्यहाँ, हिन्दीको त्यति प्रभाव हुँदैन त्यहाँ, संस्कृत शब्दहरू पनि भरिसक कम प्रयोग हुन्छ, त्यसपछि त्यो झर्रो नेपाली लेखन भयो, बुझ्नु भो नि ! कुनै समयमा यहाँ ताना सर्माको नामले सुपरिचित हुनुहुन्थ्यो । अहिले तारानाथ शर्मा लेख्न थाल्नु भएको छ । किन होला ? यो के हो भने उही झर्रोवादमा तारानाथ किन लामो गरिरहनु भनेर ताराको ता र नाथ ना र झर्रोपनका लागि सर्मा लेखेर ताना सर्मा भएको हो । तानाश पनि लेखें केही समय छोटकरीमा । अब नयाँले मेरो नामलाई नेपाली छ्यास्मिसे शैलीमा लेखिदिन थालेका हुन् । अब तारानाथ शर्मा नै भइसकेँ । (हाँसो) #भगवती बस्नेत |
निर्वेदमाथि एक दृष्टि: गतवर्षको भदौ अन्तिम साता शैलेन्द्र अधिकारीले ‘उपन्यासको काम सकियो, अब चाँडै आउँछ’ भन्दा मलाई अचम्म लागेको थियो । उपन्यास लेखन अलि बढी साधनासँग सम्बन्धित छ । शैलेन्द्रको चञ्चलता देख्दा उपन्यास तयार भएको कुरा पत्याउन अलि गाह्रो प¥यो । जब विमोचनका लागि निम्ता आयो अनि नपत्याई भयो र ? लेखनकुञ्जमा निर्वेद विमोचनको कार्यक्रममा सहभागी भई पुस्तक किनेर ल्याए पनि पल्टाएको थिइनँ । आज पढ्छु भन्यो, भोलि पढ्छु भन्यो, पढ्ने समय भने मिलेकै थिएन । दुई बसाइमा निर्वेद आद्योपान्त पढेपछि लाग्यो – पुस्तक पढ्न ढिला गरिएछ । निर्वेद विरक्ति, वैराग्य, ग्लानि, घृणा तथा निराशा बुझाउने सञ्चारी भाव हो । यसले व्यक्तिका मनका चरम व्याकुलता, निरीहता, अकर्मण्यता तथा हीनताजस्ता संवेगका कारण उत्पन्न हुने भावलाई सङ्केत गर्छ । कष्ट, दरिद्रता, आफन्तजनको विरोधजस्ता कुराहरूबाट उत्पन्न हुने विकारसँग सम्बन्धित छ निर्वेद । साहित्यशास्त्रमा शान्त रसको स्थायीभावको रूपमा रहेको निर्वेदको मूलमा आध्यात्मिक तथा तार्किक विचार रहन्छ । सम्पूर्ण अभिलाषाहरूको त्याग निर्वेद हो । निर्वेद शब्दलाई हेरिसकेपछि अब शैलेन्द्र अधिकारीको उपन्यास निर्वेदको चर्चा गरौँ । प्रभाती किरण उपन्यासका विभिन्न अङ्गहरूमध्ये कथानक र कथाकथनको विशिष्ट भूमिका रहन्छ । उत्कृष्ट विषय लिएर पनि कथा भन्ने ढङ्ग पुगेन भने त्यो उपन्यास पाठकको मनमा बस्न सक्दैन । वर्तमानमा नेपालीमा सबैभन्दा बढी स्रष्टाको ध्यान उपन्यास लेखनमा केन्द्रित छ । उपन्यास नलेखी साहित्यकार भइँदैन भन्ने मानसिकता बढेको छ । विगतमा उपन्यास लेख्ने थोरै थिए, पढ्ने धेरै थिए । अहिले लेख्ने पनि उत्तिकै बढेका छन् त्यसैले पाठकले छान्ने मौका पाएका छन् । शैलेन्द्र अधिकारी यही बजारी प्रतिस्पर्धाको समयमा निर्वेद लिएर उपस्थित भएका छन् । निर्वेदमा मूलतः दुई वटा कथानक जोडिएका छन् – एउटा आदित्यको अर्को नवराज अर्थात् निर्वाणानन्दको । काठमाडौँको पशुपति क्षेत्र, भारतको हरिद्वार तथा धादिङका केही क्षेत्रलाई परिवेशको रूपमा उभ्याइएको निर्वेदमा शैलेन्द्र अधिकारीले आफ्नै जन्मथलो आसपासका क्षेत्रलाई निर्वाणानन्दको जीवनी कथनका क्रममा उठाएका छन् । जीवनको सार के हो ? भन्ने प्रश्नको वरिपरि कथावाचक र कथाको नायकलाई खेलाएर सारमा जीवनको सार सुखप्राप्ति हो जो अमूर्त छ भन्नु नै यो उपन्यासको सार हो । कसैले सांसारिक मोहमायालाई सुख ठान्ला, कसैले यो झमेलाबाट मुक्त हुनुलाई । सम्पत्ति आर्जनलाई सुख मान्ने कि ज्ञान आर्जनलाई यस्तै द्वन्द्व मानवीय मनका उत्पादन हुन्, तिनै उत्पादनको व्यवस्थापानमा केन्द्रित छ निर्वेद । जोगीको जीवन कस्तो हुन्छ भन्ने कुराको अध्ययनका लागि आश्रम पुगेको आदित्यले आश्रमको जीवनबाट धेरै कुरा सिक्यो । निर्वाणानन्दको जीवनकथा पढेपछि ऊ मानसिक रूपमा विचलित भयो । निर्वाणानन्द अर्थात् नवराज परिवारमा माया नपाएको छोरो, असफल प्रेमी, जीवनबाट हार खाएर सन्न्यास ग्रहण गरेको पात्र, सन्न्यास जीवनमा आदर्श गुरुको रूपमा परिचय बनाउँदै गरेको, आश्रमको उत्तराधिकारी बन्न सक्ने व्यक्ति आखिरमा किन समाधिस्थ भयो ? उपन्यासमा खोजिने कुरा यही हो । यही विषयको सेरोफेरोमा शैलेन्द्रले शब्दका सुन्दर बान्कीहरूद्वारा विषयको उठान गरेका छन् । विषयको व्यवस्थापन, पात्रहरूको क्रियाशीलता तथा प्रस्तुति आकर्षक छ । आदित्यको कथा रैखिक ढाँचामा बगेको छ भने निर्वाणानन्दको कथा वृत्तकार्य छ । आदित्यले जोगीको जीवन बु¤न आश्रममा पुग्न अनेक उपाय ग¥यो । काठमाडौँको मात्र नभएर हरिद्वारको आश्रम र त्यहाँको परिवेश नियाल्न तथा सन्तजीवन बु¤न अवसर पायो । ऊ जसलाई पढ्न चाहन्थ्यो, जसको साथ लागेर हरिद्वार पुगेको थियो ऊ चप्पलमा विलय भएको दृश्य हेरेर स्तब्ध भयो । कोही हुँदा र नहुँदा कसैलाई फरक पर्छ कि पर्दैन भन्ने कुरा उसले हरिद्वारको आश्रममा देख्यो । त्यहाँ सन्न्यासीहरू आत्मकेन्द्री थिए, उनीहरूलाई कोही हुनु र नहुनुले फरक पर्दैनथ्यो । निर्वाणानन्द आश्रममा नभेटिँदा कसैलाई कुनै असर परेन । सन्न्यास ग्रहणको अर्थ बु¤दै गरेको आदित्यले जब निर्वाणानन्दको ल्यापटपमा उसको कथा पढ्यो । उसले समाधि लिनुको कारण हे¥यो त्यसपछि जीवनसँग हारेर मृत्युवरण गर्ने होइन जीवनको सुन्दरता अनुभूत गर्ने निर्णयमा पुग्यो । यो नै निर्वेद उपन्यासको बलियो पक्ष हो । जोगीको जीवनको बारेमा जोगी नबनीकन अध्ययन गर्न चाहने व्यक्ति सोचेजस्तै जोगी बनेन तर जोगीको जीवनको सम्पूर्णपक्ष खोतल्यो । जीवनबाट हार खाएर मोक्षका लागि, मुक्तिका लागि अझ भनौँ निर्वाणका लागि सन्न्यास ग्रहण गरेको व्यक्ति त्यसमा पनि टिक्न सकेन र आत्मिक मात्र होइन कायिक रूपमै विलीन भयो । यहाँ सम्झनुपर्ने कुरा उपन्यासको जीवनदृष्टि के हो ? भन्ने हो । संसार भुलभुलैया हो, भ्रम हो त्यसैले सांसारिक मोहजालबाट मुक्त नभई मुक्ति मिल्दैन भन्ने पूर्वीय दर्शनको सेरोफेरोमा रहेर संसार आपूmले जे सोच्यो त्यही हो, जस्तो सोच्यो त्यस्तै हो त्यसैले हाम्रो दर्शनले सिकाउने ‘अहम् ब्रह्मास्मी’ आफैँ ब्रह्म भएपछि आफ्नो जीवनको निर्णय गर्ने जिम्मेवारी पनि आफ्नै हो । जीवनलाई जसरी बुझिन्छ त्यसरी नै बाँच्ने हो । आफ्नो जीवन आफैँले कोरेको राजमार्ग हो, यसमा कुन गतिमा कसरी गाडी कुदाउने भन्ने निर्णय पनि आफ्नै हुन्छ । शैलेन्द्रले निवार्णानन्दले लिएको समाधि र आदित्यले रोजेको सांसारिकता देखाएर ‘कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि’ चरितार्थ गरेका छन् । निर्वेदमा जीवनका विविध पाटाहरू समेटिएका छन् । सहरी जीवनको कोलाहल, विनिमयमा आधारित प्रेम, आश्रमको सात्विक जीवन, ग्रामीण जीवनका अनेक रङ, बाल्यकालीन चञ्चलता यसका सौन्दर्य हुन् । कथावाचन सुललित छ । पात्रहरूको जुलुस लगाएर कथालाई बोझिलो बनाइएको छैन । छोटा वाक्य, संवादको प्रचुरता, कथानकको मिश्रित प्रस्तुति, कथ्य भाषा प्रयोगको मोह शैलेन्द्रका प्राप्ति हुन् । गजल, कविता र समालोचना लेखिरहेको मान्छे यसरी सूक्तिपूर्ण भाषामा कथावाचन गर्न सक्दो रहेछ भन्ने कुरा उपन्यास पढेपछि थाहा हुन्छ । नेपाली उपन्यासमा केही नामहरू हस्तक्षेपकारी भूमिकामा थिए । केहीले उपन्यासको नाममा यौन र आँसु बेचे । केही जात र क्षेत्र लेख्नमा मस्त रहे । केही विनिर्माणको नाममा अनेक उपद्रो गर्नमा लागे । खासमा एउटा लेखक आफ्नो लेखनमा इमानदार हुनुपर्छ । भौतिकवादको विद्यार्थी शैलेन्द्र अधिकारीले पूर्वीय दर्शनलाई केन्द्रमा राखेर उपन्यास लेख्दै गर्दा आफ्नो दृष्टिकोण बिर्सिएका छैनन् । निर्वेदमा आदित्यलाई मुखपात्र बनाएर उसको माध्यमबाट आफ्नो विचार प्रस्तुत गरेका छन् । आदित्यलाई सांसारिक जीवनमा अझ सङ्घर्षको, द्वन्द्वको बाटो रोजाएका छन् । यति हुँदाहुँदै पनि उपन्यास पढिसकेपछि केही कुरा छुटेको जस्तो लाग्छ । भौतिकवादी स्रष्टाले नवराजको पिताको मनमा डेरा जमाएर बसेको भ्रम चिर्न सक्नुपथ्र्यो त्यो भएको छैन । कुनै मोडमा पुत्रप्रतिको आफ्नो व्यवहारका कारण पितामा ग्लानि देखाएको भए सुनमा सुगन्ध थपिन्थ्यो । निर्वाणानन्दको कथामा कतैकतै मुक्त प्रसङ्गहरू पनि आएका छन् । निर्वाणानन्दले समाधि लिए । कारण जे माने त्यो अलि कमजोर जस्तो देखिएको छ । जुन ग्लानि उनमा देखाइएको छ त्यसलाई चरममा पु¥याउन सकिन्थ्यो । त्यसो त उनी ‘अहम् ब्रह्मास्मी’ बु¤दै गरेका पात्र हुन् । आदित्यको कथालाई निर्वाणानन्दको भन्दा बढी न्याय मिलेको छ । केही सीमाहरू रहे पनि शैलेन्द्र अधिकारीले नेपाली आख्यानको क्षेत्रमा पहिलो उपन्यासबाटै गहकिलो पाइला चालेका छन् । ठाउँठाउँमा निर्माण गरिएका सूक्तिहरू, विचारहरू ओजपूर्ण छन् । उपन्यास पढ्न सुरु गरेपछि राख्न मन नलागोस् । पाठकलाई त्यस्तो बनाउने उपन्यासमा प्रयोग हुने भाषा र कुतूहलतापूर्ण प्रस्तुतिले हो । यसमा शैलेन्द्र अब्बल देखिएका छन् । मुद्राराक्षसले भने कतैकतै सताएको छ । हजारौँ माइलको यात्रा पनि पहिलो पाइलाबाटै आरम्भ हुन्छ भनेझैँ यो शैलेन्द्रको आख्यान लेखनको पहिलो पाइलाले लामो यात्रा तय गर्ने कुरामा म ढुक्क छु । पुस्तक : निर्वेद लेखक : शैलेन्द्र अधिकारी विधा : उपन्यास प्रकाशक : शिखा बुक्स पृष्ठ : २५१ मूल्य : रु. ३५० #निर्वेद #प्रभाती किरण |
\xa0प्रेमको उत्सर्ग: लक्ष्मी उप्रेती अहा ! प्रेम यो संसारको शाश्वत र सुन्दर शब्द। जहाँ प्रेम छ त्यही जीवनको सारमा उज्वल प्रकाश देखिन्छ । उदासीन भएर हराएँको बेला अन्तर आत्मा देखि नै मुस्कुराएर बज्ने तरङ्गित संगीतको मीठो धुन प्रेम । प्रेम स्निग्ध हो, तर निर्बन्ध हुनै नसक्ने फराकिलो प्रकृति जस्तै । प्रेम प्रकृति जस्तै भयो भने त सर्वोच्च मानिन्छ। यदि प्रेम नहुनु हो त संसार कस्तो हुन्थ्यो होला कल्पना गरौ त। प्रेमको न कुनै उमेर हुन्छ न कुनै सिमा। अन्तहिन अनन्तको नजानिने मीठो तृष्णा। नाता बिना पनि गहिरो आभासमा छचल्किने नाताको प्रतिछाया प्रेम । मीठो अनुभूतिमा समर्पण त्यागको उत्सर्ग अनि अपुरो अधुरो जीवनमा खुसिले भरिने अलौकिक आनन्द। यही रहस्यबाट नै आउछ प्रेममा अनुकम्पा। प्रेम योजनावद्व प्रस्तुत हुन कहिले सक्दैन। यदि भएको कसैले भन्छ भने त्यो त अभिनय मात्र हो। प्रेम प्रेम नै हो। कुनै मानक बेगर कुनै कामना बेगर मनको कोलाजमा प्रसारित हुने प्रेम बिभिन्न रूपमा उद्घाटित हुन्छ। दृश्यमा बिभिन्न प्रेमका तारतम्य सम्बन्धमा अनेकन् नयाँ नयाँ प्रेमका आयम संवेदनामा छरिरहने प्रेमका अपार अनुभूति…….. आदि आदि। तर आज म यहाँ प्रेमका यी सम्पूर्ण आयमहरूमा बहकिन्न। बहकिए भने यो लेखको अन्त नहुन सक्छ। अरू त के मातृत्वमा छलाङ नमारी कल्पनाको बैसाखी टेकेर बिना नामको प्रेमलाई लिएर पृथक रूपमा भरिदै पोखिन्छु। समयसँगै बग्ने र बगेर नरित्तिने मीठो अनुभूतिमा संसारको अनुपम उपहार प्रेमको तरङ्ग । कसैसँग नजिकिएर मुस्कानको लय मिसाउनु एकअर्कालाई बुझेर मौनताको भाषा बोल्नु प्रेम हो सायद । यही आभासमा रमाएर जीवन उत्सर्ग गर्नेहरू कति छन् कति। जसले प्रेमलाई प्रेम नै मानेर चुपचाप जीवन बाँच्नुमा तरङ्गित र मर्नुमा निस्सार भए । जीवन अनेकन यात्राको अर्को नाम हो भने प्रेम जिन्दगीको प्रतिछाया। एउटा बाटो आउछ फेरि अर्को मोडिन्छ, तर जीवन रहुन्जेलका यायावर हामी हाम्रो यात्राको अन्त कहिले हुन्न। त्यस्तै प्रेम पनि एकपछि अर्को आउने जाने गर्छ समयको कठघरामा। तर यो पनि सत्य हो, जुन प्रेम आफूसँग नभए नि पुजा गर्न लायक हुन्छ, त्यो प्रेम त जहाँ रहे पनि मुस्कुराई रहेको हुन्छ। हजारौं चिन्तक, दार्शनिक, कलाकार, लेखकहरूको जीवन पढेर अनुभूत गर्न सकिन्छ प्रेमको सौन्दर्यलाई । त्यस्तै प्रेममा डुब्ने मानिसहरूका कथा व्यथा हजारौं आयममा उद्घाटित भइरहेछन्। त्यसमा केही कति बिचलन भए भने कोही कति संयम पनि भए। हजारौं कोसको दूरी तय गरेर प्रेमलाई प्रेमिल रंग दिने पनि मान्छे नै हुन भने आफ्नै समिपमा प्रेम हुँदाहुँदै उजाडिने मान्छे पनि कम छैनन्। प्रेमको परख गर्न सक्नेले जीवनमा केही छुटे पनि कहिले बिचलनको सामना गर्नु पर्दैन। प्रेम आफैँ भित्र उब्जने एउटा सुन्दर फूल जस्तै क्षितिजको अतृप्त दृश्य जस्तै उज्यालो घामको सुकिलो चेतना जस्तो भएर निर्माण भयो सायद। प्रेमलाई अलिकति बुझेर नै होला यसबेला म प्रेमको उन्मुक्त आकाशमा निर्वाद हिँडिरहेछु । जहाँ कसैले मलाई रोक्न सकेनन्। मेरो प्रेमलाई खोस्न सकेनन् र मेरो हृदयको गति छाम्न सकेनन्। प्रेमको नाम अर्को भन्ने कुनै शब्द नै छैन। तथापि बिम्ब र प्रतिकसँगैसँगै उडान भरेर जून फूल र आकाश घर्तीका सारा सौन्दर्यमा अडिएर निर्विवाद प्रेमको क्षितिजमा पुग्न हो सायद। तर कसैले प्रेमलाई उपहास पनि गरिरहेको पाइन्छ । यसो हुनुमा जीवनबिहिन भएका अनेकन सन्दर्भ सोचे भने म दुखेर व्यर्थमा तनाव हुन्छ । जीवन प्रेम प्रेम जीवन। म प्रेमालाप गरिरहेछु कल्पनामा प्रेमको त्यहीँ आकार खोज्दै जुन आकारले जीवन बदलिदियो। समयसँग सम्झनाहरू सलल बग्छन् । यदि ती दिनहरूमा तिमी भेट नभएको भए अहिले म हुन्थेँ होला र ! मेरा अनिदा रातहरू अत्यासिला दिनहरू उफ ! तिमीलाई सापट दिएर म सन्च हुन सक्ने बरफ जमेको मेरो जीवनको पिरामीड। मेरा संवेदनालाई जतनले सुम्सुम्याएर अस्तित्वको गर्तमा हिडाउने तिमीलाई सम्बोधन गर्ने कुनै शव्द भेट्दिनं। अनि जीवनको अर्थ बुझाउँने तिम्रो महानतालाई प्रिय भन्न नसकेर अनर्थमा आफूलाई चिथोरिरहेछु। त्यही प्रेमको छायाँमा शीतलता को अनुभूत गरिरहेछु। यति भनेपछि यात्रामा भेतिएँर कही समय पछि छुट्नेहरूलाई जस्तै बिर्सिएर रमाउने सक्दिनँ म। तिमी के गर्छौ ? मलाई थाहा छैन | तर अब मलाई अपुरो हुनुमा, अधुरो हुनुमा आफूसँग र तिमीसँग कुनै गुनासो छैन, कुनै …..। मेरो प्रेम मेरो मष्तिष्कमा चेतना बनेर अनवरत बगिरहन्छ। यो भनेर प्रेमलाई विश्वास गराउने मेरो सामर्थ्य छैन र म दुस्साहस पनि गर्दिनँ। कहिलेकही एकाएक प्रेमको छायाँमा रूमलिदै फर्किन्छु । जीवन त हरेकले सोचे भन्दा फरक हुने रैछ। मेरो पनि हिजोभन्दा फरक छ तिम्रो पनि फरक फरक। तर यो मलाई थाहा छैन कि प्रेमको अनुबंदनमा को कति नजिक र को कति टाढा छ। जबजब प्रेमको धुन गुन्जन्छ, तबतब मन नाच्दै अतितको पर्दामा स्वाट्ट हामफाल्छ। त्यसबेला शून्यता बिच पनि धेरै हाता लागेर प्रेमिल आवाजले उन्मुक्त आकाशमा बिचरण गराउछ । हरेक मान्छेहरू पनि प्रेम जस्तै सुन्दर र पवित्र हुन् सके त प्रेमीहरू साँच्चै सारगर्भित र शक्तिशाली हुन्थे ! यो संसार कति राम्रो हुन्थ्यो ! प्रेम विश्वासमा न अडेको छ । म प्रेमलाई विश्वास गर्छु भनेर प्रदर्शन गर्नु प्रेमको खिल्ली उडाउनु हो जस्तै लाग्छ कहिले त । वर्षौँ भेट नहुँदैमा प्रेम नटुङ्गने आनन्दको आस्था जस्तो हो कि कस्तो कस्तो । नजिकैको रेडियोबाट नारायण गोपालको मृदुल आवाजको गीत गुञ्जिएर मेरो हृदयका तार झनझनाउछन्। तिमीलाई भुल्दा म एक्लो परेछु तिमीलाई सम्झे तिमी साथ आयौ। ………………… कन्चन पुडासैनीका शब्द। कति राम्रो प्रेमको गहिराइमा पुगेर नै लेखे हुन् सायद। स्वरले प्राण भरेर शाश्वत बनेको गीत आहा। ममा एकाएक तिम्रो समिप अनुभूत भइरहेछ। यो कस्तो तृष्णा हो कि भ्रम हो भनिदेउन। प्रेमका बारेमा अनेकन जिज्ञासाहरू छन् तर रहस्यमय पारेर समयकै गर्तमा छाडेर अघि बढ्नुको विकल्प के नै हुन्छ र ? प्रेमको मौन भाषा भित्र हरेक प्रश्नको उत्तर नभेटिदो रहेछ। समयले नै दिएको प्रेमको चोटका उत्तर पनि समयले नै दिनेरहेछ । जीवनका उकाली ओराली हिडेका ती हाम्रा पाइतालाका डोबहरू मेटिएपनि बाटो अझ फराकिलो भएका छन्। एकअर्कालाई छाम्दै दुख सुख बाडेर मुस्कुराएका हाम्रा ती सम्झना हरे ताजै छन्। हामी बिच आकर्षकको जलप भित्र पनि प्रेम नै भएर होला कुनै पर्खाल भएन। लामो समयसंम हामीले पर्खाल बिहिन जीवन रमाइलो मानेर बितायौं । हाम्रा परिस्थिति फरक थिए तर एउटै बनेर दुवैको परिस्थितिमा भरिने र रित्तिने सिलसिला चलिइ रयौं । के यो नै हैन र प्रेमको सौन्दर्य। सम्झनाको आखिझ्यालबाट हामीले गाएका गीत हामीले लेखेका कविताका सर्ग हामीले अनुभव गरेका दुखसुख हामीले हिडेका बाटो प्रेमको सुन्दर पिरामिड जस्तै थियो सायद। फरक जीवनको याचना हामीमा कहिल्यै गर्ने कामना भएन। र त जस्तै अभावमा पनि तिमीलाई बिरानो बनाउन सकिन। जुन समयको गर्तमा भरिएर हृदयमा छचल्किदा परेली भिझेर बग्छ । तर त्यो पानीमा पनि तिम्रो प्रेम नै मग्मगाउँछ। प्रेमको अनुभूति नहुनु हो भने त मान्छेहरू भिडमा एकलिए झैँ म पनि हरक्षण उदासीन एक्लो एक्लो हुन्थेँ होला। आड र भरोसाको उचाइमा निश्छल भावले पुर्\u200dयाउन कसले सक्छ र ? अह कथा नाटकमा जस्तो आवेगमा जीवन बगाउन सजिलो छैन्। विश्वासको यान्त्रिक पुल बनेर जीवनपथमा साथ दिने सर्वोच्च आस्था हुन्छ प्रेमको शाश्वतता। त्यही शाश्वतता भित्र आफूलाई भेटने खोजको सिलसिला प्रेम भयो सायद। मैले म भित्रको मलाई आविष्कार तिम्रो रहर र वलले गरे । मेरो जीवनको लयमा अर्थ भेटे र आफूमा उज्यालो खोज्ने ध्याउन्नमा लागे तिम्रै लागि ठानेर तर मेरा लागि तिमी हार्दै गएको पत्तै पाइन । अन्ततः तिमीले हारेउ की मैले जिते थाहा छैन तर तिम्रो प्रेरणा म कसरी भुल्न सक्छु र ? । फरक अस्तित्वको आकाश बनाएर प्रेमको अनुभूत गर्नु भनेको दर्शन हो या तपस्या ? थाहा नपाएर प्रेम पढिरहे। तर जति पढे पनि सार बिनाको प्रेमको के अस्तित्व र ? अनाम सौन्दर्यको झन्कार प्रेम बिनासर्त म बनाउन अनेक यत्न गरेर उत्साहको पखेटा टासिदियो। मेरो प्रेरणा पूञ्ज सिङ्गो आकाश बनेर हरपल साथ दिदै मुस्कुराई रहयौ र मलाई पनि मुस्कुराउँने बनायौ । लाग्दछ तिमी नहुनु हो त म म हुन्नथे तिमी भएरनै ममा म भएको आभासमा अलौकिक सुखभोग गरिरहेछु। प्रेमको भाषा प्रेमको भाका प्रेमको अर्थ तिम्रा आँखाबाट नै कण्ठ पारे । तिम्रो साथमा शक्ति संचय गरेर जीवन उर्जाशील बनाए सायद। यदि तिमी नहुनु हो त यो सम्भव हुन्थ्यो होला भन त। यो जीबन जीउनुको सारतामा पनि यसबेला तिमीलाई भित्र कतै लुकाएर संवेदनामा बगिरहेछु। कति ठाउँमा क्रम भङ्ग भए पनि मलाई ब्यूझाउने धङधङिले उचालिरहेको पाउछु। तिमी आफ्ना अभिमानका अंकुसहरू भत्काएर निश्छल भावमा रमाउँथ्यौ। समयकै कुरा हो तर मेरो लागी तिमी बारम्बार बदल्नु परेका तितो यथार्थमा अहिले चुलिएकी छु तिम्रै यादमा। हामी साँच्चिकै प्रेमको सौन्दर्य वोध गरेर रमाएका रहेछौं ती दिनहरूमा चाहे प्रिष्ठभूमी जुनसुकै रंगको किन नहोस। प्रेमको रंग मिसिएको गीत बजिरहेको छ। सुनेर मुटु कम्पित भइरहेछ। म दूर भएर के भो म अभिशाप छाएर के भो यति रोए जिन्दगीमा कि फेरि रोएर के भो। …………………………. तिम्रो हात छुटेर के भो नयाँ हात पाएर के भो यति खोज्छु सम्झनालाई कि बिर्सि सकेर के भो ……………………….. म दूर भएर के भो अम्बर गुरुङका प्रेमिल आवाज र सङ्गीतको तरङ्गमा आफूलाई बिर्सिदै हराएँछु । हो, साँच्चै हराएँ अनि बिस्तारै भेतिएँ झन प्रेममा दबदबाउदै । हो, आज पनि म रोइरहेछु, तर यो रूवाई मौन छ र भित्रभित्रै प्रेममा मीठो राग भरेर उमङ्ग फुलाइरहेछु। किन आज प्रेमका यति मीठा-मीठा गीतहरू बजिरहेछन् ? कतै आज प्रेमदिवस त होइन ? प्रेममा अधुरो-अपुरो हुनेका लागि होला प्रेमदिवस त ! मलाई त सधैं प्रेमदिवसको आभास दिने तिम्रो सम्झना नै काफी छ। जब प्रेम नबुझेर म बरफ जम्दै प्रेमको पिरामिड हुन्थेँ तब जीवनमा अनेकन तगारो पार गराउन उद्देलित तिम्रो प्रेमिल अनुनयविनयका पदचापहरू। जब प्रेम केही बुझ्दै गएँ, तब तिम्रो सम्झनामा पग्लदै पानी पानी भइरहेकी छु। जसले मलाई रोमाञ्चित गराइरहेछ। अँध्यारो पन्छाएर पुरै उज्यालो रोसनी छर्ने प्रकाशनको अन्देखी यन्त्र तिमी नै हौ जस्तो लाग्छ, किन मलाई ? मौन प्रेमालाप गर्ने स्निग्धताका प्रतिक चेतनाको सारत्व । मेरा यात्राका अभिछिन्न यात्री। तिम्रो प्रेमलाई बिर्सिएर म आफूलाई सम्झनु व्यर्थ हुँदैछु, यो समयको तारतम्यसँगै । हो, अहिले लाग्छ तिमीलाई अलिकति भए पनि खुशी दिन सकूँ, जुन यसबेला मसँग छ । तिमीलाई उचाइको शिखरमा आरोहण गराउने मेरो अभिष्ट जाग्दो छ। तर शब्दमा मात्र सीमित अर्थमा सम्भव पाइरहेकी छैन् । तिम्रो याद मैले आफूभित्र भित्रै सिन्चेर राखेको सदियौं पछि तिमीलाई सुनाउन यसबेला अधिर छु। मलाई किन यो सदिच्छा जाग्यो अचानक, तिम्रो समिपमा बसेर अलिकति प्रेमका र धेरै जीवनका कुरा गर्ने । हुन त तिमीसँगको प्रेमलापको संवाद नभेटे पनि चुपचाप गरेर नै पूर्ण भएको आयमले भरिएकी हुन्छु । तर पनि अनाम सौन्दर्यको स्पर्शको लालित्यमा तिमीसँग रमाउने चाहना एकतमासले भइरहेछ। हामी भेट्न अवरोधका तगाराहरू छैनन् । भेटने सम्भावनाका थुप्रै मार्गहरू त हामीले बनाएकै छौं। अहं, असम्भव छँदैछैन । तर भेट्नुको चैचै पनि सम्झनाको तृप्तिले पूरा भएर रहेन जस्तो लाग्छ। तिमीलाई सम्बोधन गर्न नपाएर प्रेमिल धुनहरू छरपस्ट भए झैँ लाग्दै छ । कतिकति शब्दका असरल्ल श्रोतहरू छन् । तर प्रेमको अर्को कुन नाम सुन्दर हुन्छ होला र ? त्यसैले म यसबेला प्रेमको नाममा प्रेमभन्दा पृथक शब्द खोजिरहेछु। थाहा छैन, मैले खोजेको पृथक शब्द कुन रूपमा कसरी अवतरण हुने हो वा होइन ? हेरौं। #लक्ष्मी उप्रेती |
सपनाहरू: ज्योति मिश्र भनिन्छ, सपनाले मान्छेलाई हौसला दिन्छ र सपना जतिका सुन्दर केही हुँदैनन् । तर हरेक ठाउँमा यो सिद्धान्त लागु हुँदैन्। अफिस जाने क्रममा सधैँ एक जना दिदीसँग आफ्नो बच्चालाई स्कुल पुर्याउन जाँदा बाटोमा भेट्नु हुन्छ । हामी सगैँ आ-आफ्नो गन्तव्यतिर जाने गर्छौँ । हामी आज पनि सँगै गयौँ । जादैँ गर्दा हामी प्रायः एकअर्काको बारेमा कुरा गर्ने गर्छौँ । आज हामी घरबाट चाँडै निस्केकोले अरू दिनको भन्दा अलिक धेरै कुरा गर्यौँ । म अफिसको ड्रेसमा कोट लगाएर जाँदा उहाँ मलाई हेरेर अलिक भाबुक हुदैँ, ‘म पनि आज तिमी जस्तै आफ्नो खुट्टामा उभेको हुन्थेँ’, भन्नुभयो । पहिला पहिला त खासै केही भन्नुभएन, तर पछि अलि कर गर्दा उहाँले सुनाउनुभयो, उहाँ पढ्नमा साह्रै ट्यालेन्टेड हुनुहुन्थ्यो । क्लासमा जहिले फस्ट आउने र अरू क्रियाकलापमा पनि साह्रै एक्टिव । अर्थशास्त्रमा मास्टर्स गरेर प्रोफेसर बन्ने सपना थियो उहाँको । तर तेत्रो ट्यालेन्ट भएर पनि उहाँलाई बिहे गर्न कर लगाउन थालियो। केटीले अन्त्यमा घर-परिवार त चलाउने हो । फेरि धेरै पढाउने स्थिति नभएको र पढेर जागिर गर्ने समाजको वातावरण नभएको भनेर बिचमै पढाइ रोकी बिहेको जिम्मेवारी काँधमा बोक्न विवश बनाइयो । खै किन न किन ? उहाँसँग कुरा गर्दा आफ्नो स्थिति पनि उहाँले भनेको भन्दा खासै फरक नभएको लाग्यो। म जहिले आफ्नो कतिपय सपना पूरा हुन नसकेकोमा आफूप्रति र आफ्नो परिस्थितिप्रति गुनासो व्यक्त गर्थें । एक मध्यम वर्गीय परिवारमा जन्मिएकी केटी ! मध्यम वर्गीय र त्यसमा पनि मधेसतिर जन्मिएकी । भनिन्छ,यी कुरा सपनाले बुझ्दैनन्। सपनाले न त धर्म बुझ्छन् न त परिवेश, न त उमेर बुझ्छन् न त समाज। सपना त त्यो चिज हो जुन कतिखेर जिन्दगीमा अमूल्य भइहाल्छन्, त्यो थाहा नै हुँदैनन्। तर वास्तविकता त भनाईबाट पर पो हुँदो रहेछ ! यदि तपाईं मध्यम वर्गीय परिवारको ठूलो बच्चा हुनुहुन्छ भने त पक्कै तपाईँको परिस्थिति तपाईँको सपना माथि हावी हुने गर्दछ । जब तपाईँको अार्थिक र पारिवारिक स्थितिको चादर सपनाको खुट्टाभन्दा ठूलो भएको महशुस हुन्छ, त्यतिबेला तपाईँसँग सपना पूरा गर्नुभन्दा पनि धेरै प्राथमिक कुरा अर्कैअर्कै लाग्ने गर्दछन्। त्यसपछि कति सपना हेरिन्छन् र कति छोडिन्छन्। पछिपछि सुनौलो भविष्यका लागि दीर्घकालीन नभई वर्तमानको परिस्थिति अनुसार अल्पकालीन सपना हेरिन थालिन्छ । माथि मैले मधेसको कुरा किन गरेँ भने, यताको वातावरण पहाडको भन्दा अलिक फरक छन् । यतातिरको बाटो मान्छे हिँड्न फराकिलो भए पनि सपनाका लागि साह्रै साँघुरो छन्। यहाँ छोरी मान्छेलाई स्वतन्त्रता त्यो नयाँ नयाँ चल्न सिकेको बच्चा जत्तिकै दिइएको हुन्छ, जसलाई आमाबुबाले एउटा आँगनमा जति दगुर्न मन छ, दगुर्न सक्छौ भनेर सिमा छुट्याइदिएका हुन्छन्। एक-दुई वटा अपवादबाहेक केटीको कद उसको श्रीमानले के काम गर्छन् भन्ने कुरासँग दाँजिन्छ। बच्चा छँदा कसैले, ‘ठूलो बनेर के बन्छौँ ?’, भनेर सोध्दा डाक्टर बन्ने भन्ने म पनि पछिपछि डाक्टर पढ्ने अार्थिक स्थिति नरहेको र सरकारी स्कुलमा पढेर राम्रो नम्बर ल्याएर पनि डाक्टरको स्कलरसिपको लागि तयारी गर्न पनि गाह्रो हुने थाहा पाएपछि नर्स बन्ने सपना बोकेर पढ्न थालियो । सधैँ गाउँको सरकारी स्कुलबाट पढेको म नर्सको स्कलरसिपको लागि पनि कहिकतैबाट कसैले केही पत्ता नलगाइदिएपछि त्यो सपना छाडेर गाउँमै म्यानेजमेन्ट पढ्न थालेँ । १२ सकाएर बि.बि.ए. पढ्छु भनेको त बुबाले बि.बि.एस् पढ्दा तेरो र बाबुको दुइटै जनाको पढाइको खर्च चल्न सक्ने नत्र धेरै भार हुन्छ भन्दा मैंले नि हस् भनेर बुबाको कुरामा सहमति जनाएँ । पछिपछि मेरो सपना म केही बन्ने हैन्, बस् आफ्नो खुट्टामा उभिन सक्ने भयो । ममीले त जहिले नि, जसरी भए पनि तँ आफ्नो सपना पूरा गर्न भन्ने हौसला दिइराख्नु हुन्थ्यो, तर बुबाले कहिल्यै म छु भन्ने आँट देखाउनुभएन । त्यतिखेर उहाँको आफ्नै कुनै समस्या रहेको हुन सक्छ । बुबाले चाहेको भने गर्न नसक्ने केही थिएन, तर सायद मेरो बुबा पनि छोरीलाई बस् अलिक पढाएर राम्रो केटा खोजेर बिहे गरिदिने मानसिकताबाट ग्रसित हुनुहुन्थ्यो । ममीले एक्लै सक्नुभन्दा पनि धेरै गर्नुभयो, तर एक्लै उहाँले त्योभन्दा बढी के नै गर्नसक्नुहुन्थ्यो र ! कहिलेकाही लाग्छ, यदि म पनि काठमाडौं या अरू कुनै सहरमा भएको भए लाख बाटो हुन्थे होला मेरो सपना पूरा गर्ने। न समयको सिमा हुन्थ्यो न त समाजको तानाबाना । न मलाई कसैको कुरा काट्ने डर हुन्थ्यो न कसैको कुराको पीर । आज पनि म जब-जब कोही बुबालाई आफ्नो बच्चाको उज्जवल भविष्यको सपना आफ्नो आँखाबाट हेरेको देख्छु, साह्रै खुशी लाग्छ त्यो बच्चाको लागि | र सोच्छु, त्यो बच्चा कति भाग्यमानी रहेछ। तर जब कुनै कारणले कसैको सपनाको बाटो छेकेको देख्छु, चाहे त्यो असामयिक बिहे होस् या अरू कुनै कारण, त सोच्छु कि म पनि त भाग्यमानी नै रहेछु, कमसेकम बुबाले साथ नदिदाँ बाटो पनि छेक्नु भएन नि ! के भो त ? मेरा धेरैजसो सपना परिस्थितिको बली चढे, तर कमसेकम मलाई सपना देख्ने छुट त थियो । बुबाले कहिले मेरा हात थामेर मसँग हिँड्नु भएन, कमसेकम मलाई मेरो बाटो चुन्ने छुट त थियो । भलै मलाई आफ्नो सपना पूरा गर्न धेरै बाटो आधा हिंडेर फर्किनुपर्यो, तर कमसेकम म आज जे छु, आफ्नो मिहिनेतले भएको आत्मसन्तुष्टिमा त छु । लाग्छ, मसँग जुन बाटो छ म त्यसैमा भाग्यमानी छु। अन्ततः यो बुझ्न पुगेछु कि खुशी सानोतिनो कुरा र सफलतामा पनि पाउन सकिन्छ | बस खोज्न जान्नुपर्छ। जिन्दगीमा अगाडि बढ्नलाई अनेकन बाटो छन् । एक बाटो बन्द हुँदा जिन्दगी सकिदैन्, बस् जरूरी छ कि हामी अर्को बाटोको खोज गरम् । #ज्योति मिश्र |
अन्धकार सडकमा: हातमा राके पुल्ठो बोकेर त्यो अन्धकार रातहरूमा विद्रोहको नारा गुञ्जाउँदै नित्य जुलुस हिँड़ने गर्छन त्यो भ्रष्टाचार नेता विद्ध त्यो सरकार विरुद्ध कहिले त त्यो संविधान कै विरुद्ध जातको आडमा आफन्तको आडमा झण्डाको आडमा अड़ेसिएर सुटुक्क छिर्नेहरूको विरुद्ध नित्य नै यो जुलुसले खलबली मचाइरहेका हुन्छन् कानुन आफ्नो हात लिने विरुद्ध गरिब जनता नचाउने विरुद्ध झूटो आश्वासन विरुद्ध छल र कपट विरुद्ध प्रत्येक रात जुलुसमै बित्दछ असन्तुष्टि र असन्तोकको जुलुस भोक र प्यासको जुलुस आफूभन्दा सानोलाई ज्यु ज्युको जुलुस आफु सडÞिएर अरूलाई बाटो छोडनुपर्ने जुलुस धैर्य र प्रतिक्षाको जुलुस यस्ता हजारौ जुलुस लिएर म हिँडिरहेको हुन्छु त्यो अन्धकार रातहरूमा एउटा राको बोकेर जसले मेरो मन र मस्तिष्कलाई मेरो वर्तमान र भविष्यलाई मेरो इच्छा आकांक्षाहरूलाई डडाएर खाक पारिसकेको छ तर पनि म त्यसलाई निभ्न नदिई अझै प्रज्जवलित बनाएर म कसैको खोजमा नित्य हिँडिरहेको छु त्यो अन्धकार सडकहरूमा । #अन्धकार सडकमा #शंकर शर्मा |
बर्बरिक दृष्टि: सुनकोशीको पानीले निर्मल बनाएर देह र आत्मा खोपेका थियौं हामीले चट्टानमा एक अर्काका नाम अनि पैतालाको डोब बनाउँदै तातो बालुवामा हिँडेका थियौ बगरको बाटो जहाँ हिँडेका थिए होलान् असंख्य पाइलाहरू नवीन यात्रा, नवीन संकल्प, नवीन उत्साह भरिएर वचनका कवचले सुरक्षित बनाएर प्रेम सम्बन्ध सुनकोशीको कलकल संगीतमा विभोर हुँदै फुकेका थिए होलान्, प्रेमको बाँसुरी भरेका थिए होलान् जीवनमा संगीतको धुन पोतेका थिए होलान् अनुहारमा गुराँसका रंग ओ प्रिय..!!! उचालेर फूलको थुंगा जसरी म भित्रको संसार तिमीले त्यसदिन जितेका थियौ एउटा प्रेम युद्ध त्यही दिनदेखि मैले बिर्सेकी थिएँ स्वरंग..! घर फर्कने बाटो..! टेकेको धरातल..! बाँचेको समय…! र सुनकोशीझैं तिमीमा समाहित भएर अविरल बगिरहेँ लाग्यो बग्नु जीवन हो सङ्लनु जीवन हो संगीतमय हुनु जीवन हो समाहित हुनु जीवन हो तर होइन रहेछ प्रेमको शाश्वत अर्थ कुनै ताजमहलमा रहेन छ रोमियो जुलिएटमा रहेन छ सिरि र फरियादमा रहेन छ लैला मजनुमा रहेन छ प्रेम कहाँ छ ? यहाँ त प्रेमको समर छ सदियौदेखि चलिरहेको छ प्रेमको समर मिलन, बिछोड वियोगान्त, संयोगान्त हार र जित!! शब्दका अनेक शस्त्रअस्त्रको प्रयोग गरेर प्राप्त गरिन्छ प्रेमको राज्य र फेरि अर्को राज्यको तयारीमा निस्किन्छ मान्छे अनेकौ हाउभाउ र कटाक्षको अस्त्र बोकेर ओ, कृष्ण, अर्को विश्वयुद्ध नहुने घोषणा गरेका हैनौ तिमीले ? साँच्चै यी आँखाले तिमीलाई अघाउन्जेल हेर्न पाएकै थिइन छातीमा शिर राखेर मनभरी निदाउन पाएकै थिइन तिमी फेरि अर्को समरको तयारीमा छौ तिखार्दै छौ भ्रमका औजारहरू जसरी तिखारेका थियौ सुनकोशीको बगरमा चुमेर मेरा पैताला बनाउँदैछौ योजनाहरू जसरी खोपेका थियौ चट्टानमा मेरो नाम ओ कृष्ण चलाउ तिम्रो सुदर्शन चक्र पहिला म माथि वा, म दिनेछु शिर, बर्बरिकले जसरी सक्छौभने झुन्डयाइदिनु मेरो शिर रणआकाशमा अबको तिम्रो प्रेम समर म बर्बरिक दृष्टिले हेरिरहेको हुनेछु तिम्रो लिलामय क्रूरता र भोगिरहेको हुनेछु एउटा प्रेम सजाय ! #निसा केसी #बर्बरिक दृष्टि |
डम्बरको गीत: आयो कोरोना धरतीमा बाँच्ने कसोगरी घरभित्र भोकमरी बाहिर महामारी । संसारमा सबैसँग माया गाँस्ने मन छ नजिक भई हात समाई हाँस्ने मन छ छायो कोरोना संसारमा हाँस्ने कसोगरी घरभित्र भोकमरी बाहिर महामारी । दुनियाँमा सबैसँग मिली बाँच्ने मन छ अँगालो हाली कम्मर भाँची नाच्ने मन छ धायो कोरोना दुनियाँमा नाच्ने कसोगरी घरभित्र भोकमरी बाहिर महामारी । #डम्बर बिकेल #डम्बरको गीतडम्बरको गीत |
सपनाको खेती: एस.एल.सी.मा गाउँभरिमै राम्रो नतिजा ल्याएपछि, बाले सोधे, “के बन्छस् छोरा ?“ “डी.एफ.ओ. बन्छु“, भनेँ । आमाले सोधिन्, “के बन्छस् छोरा ?“ “डाक्टर बन्छु“, भनेँ । गुरुले सोधे, “के बन्छस् केटा ?“ “वैज्ञानिक बन्छु“, भनेँ । छिमेकीले सोधे, “के बन्छौ बाबु ?“ “सरकारी हाकिम बन्छु“, भनेँ । उनले सोधिन्, “के बन्छौ तिमी ?“ उनको चित्त बुझाउने उत्तर दिन सकिनँ । आज उनी कता छिन् बेखवर छु म म भने सपनाको खेती गर्ने शिक्षक भएको छु । #रमेश प्रभात #सपनाको खेती |
साधनाको गजल: देशभक्तिको गीत गाउनलाई, भट्टिभित्र छिर्यो दिनभरको थकान मेटाउनलाई, भट्टिभित्र छिर्यो ।। प्रेमिकाले नि छाडी उसलाई टुच्छ लाउछ थापाएर फेरि उसैलाई बिर्साउनलाई, भट्टिभित्र छिर्यो ।। आफ्ना अनि आफन्त सब गुमाइसक्यो त्यही कारणले बुझ्दिनँ म खै के पाउनलाई, भट्टिभित्र छिर्यो ।। आमाले भात अल्नै खाइन नुन किन्न नसकेर ऊ भने पैसा सकाउनलाई, भट्टिभित्र छिर्यो ।। #साधना तिवारी #साधनाको गजल |
क्लासिक कथा : ऊ पर्खिरही: :::: १ :::: “तिमीलाई पराई हातमा सुम्पिसकेका छौं छोरी ! अब हामी के पो गर्न सक्छौं र ? जसका खट्टा धोई शिर चढायौं उससँग कचकच गर्न, झगडा गर्न अथवा मुद्दा खेल्न हामीहरूलाई सुहाउँदैन । हो, तिमीलाई खान-लाउन दुःख हुन्छ भने निर्धक्क भएर भन्ने गर्नू, वर्षको एक-दुई छाल लुगा र चार-पाँच सय दामका लागि धन्दा नमान्नू !” कान्छी आमाले भनेकी थिइन् । नगिचै चिया पिइरहेका कान्छा बा पनि सबै कुरा कान थापी सुनिरहेका थिए र भनेका पनि थिए- “छोरी, यो तिम्रो व्यक्तिगत मामिला हो । हामीहरूले बाहिरबाट हस्तक्षेप गर्दा कुरो झन् बिग्रेला । ‘लोग्ने-स्वास्नीको झगडा परालको आगो’ भन्ने त उखान नै छ । बिस्तारै परिस्थिति मिलाउँदै गर, सब ठीक भइहाल्ला ।” “यो लोग्नेमानिस भनेको जात यस्तै हो । यिनीहरूलाई बच्चाहरूजक्तिकै स्याहार चाहिन्छ र गोरुको नाकमा मधेसतिर राखेजस्तै नकेल पनि चाहिन्छ । बाँकी तिमी आफैँ जानिफकार छु्यौ ।” कान्छी आमाले कान्छा बालाई केही सुनाउनुपर्ने पनि थियो क्यारे ! रम्भाका आमा-बाबु ऊ सानै छँदा परलोक भएका थिए । कान्छ बा र कान्छी आमाले नै उसको लालनपालन गरेका थिए, पढाई-लेखाई एक जना पल्टनमा लप्टनको तालिम लिन भनी छानिएको लायक युवकसित बिहे पनि गराइदिएका थिए । कान्छा बा- आमालाई दोष दिने कुनै ठाउँ थिएन तापनि सानो छँदादेखिन् आजसम्मन् केही न केही यस्ता स-साना प्रसङ्ग अवश्य पनि आएका थिए जब उसले महसुस गर्नुपर्ने हुन्थ्यो कि ऊ भतिजी मात्रै हो र कान्छा बा र कान्छी आमाका आफ्नै सन्तानहरू पनि छन् । तर यस कुराको बोझ उसको मनमाथि परेको थिएन । ऊ जान्दर्थी कि मातृ-पितृविहीन बालकहरूले पराईको त के आफ्ना निकटतम सम्बन्धीहरूको आश्रयमा बस्दा पनि निकै पो भोग्नुपर्छ । त्यससित दाँज्ने हो भने ऊ कान्छा बाकहाँ रानीजस्तै गरी बसी भन्दिए पनि हुन्छ । त्यो दिन माइतबाट फर्किदा उसले अवश्य नै आफ्ना आमा-बाबुलाई सम्झेकी थिई। यता सुद्युम्नसित खटपट भइराखेको महिना दिनभन्दा बढी समय भइसकेको थियो । ऊ रिसाएर माइत गएकी थिई। कान्छा बाहरूको हस्तक्षेप र सानो प्रतिरोधले सुद्युम्न सही बाटोमा आउला भन्ने आशा पनि उसको मनमा थियो, तर उसको आँसु देखिसकेपछि पनि माइतीको प्रतिक्रिया असंवेदनशील नै देखिएको थियो । ऊ सोच्न थालेकी थिई- ‘व्यक्तिगत मामिला रे ! जेसकै करो पनि कसै न कसैको व्यक्तिगत मामिला त भइहाल्छ नि ! आफ्नो कायरता, आलस्य र कुनै झन्झटमा नपरन मनस्थितिलाई लुकाउनु नै व्यक्तिगत मामिलामा हस्तक्षेप नगर्ने भनी सैद्धान्तिक खोल चढ़ाइन्छ। त्यस बेला उसलाई लागेको थियो- ‘यस संसारमां आफन्त नातेदार भन्ने शब्द हे निरर्थक भइसकेको छ । सायद सबैका लागि जिन्दगी नट र नटीले हिँड्ने डोरी भडसकेको छ जहाँ हरेक पाइला बडो विचार पुऱ्याई राख्नुपर्ने हुन्छ । अर्काको दु:ख-कष्टमा सहयोग गर्ने कुरो छोडौं, त्यतातिर राम्ररी हेऱ्यो भने पनि खुट्टा चिप्लिएर खसिने डर हुन्छ ।उसको मनमा फेरि सबाल उठेको थियो- ‘के निरर्थक आहारनिद्वाको सानो जिन्दगी जिउन नै अर्जनले मस्त्यवेध गरेजस्तो एकाग्रकता चाहिने भो त ? अनि उद्देश्य चाहिँ कुन त ?’ जे दोस तर आज कसैले अर्काको समस्यामा जिब्रो चलाएर मात्र पनि हात हाल्न खोज्दो रहेनछ भ्न्ने करो उसका अगाडि प्रस्ट भएको थियो । एक्कासि उसले सम्झेकी थिई- ‘आमा-बाबु भइदिएका भए… उसलाई एकछिन त लागेको थियो, हो न हो उनीहरू पनि कान्छा बा-आमाले गरेझै केही शाब्दिक सहानुभूति मात्र देखाएर चुप लागिदिन्थे कि |’ तुरुन्तै उसले सोचेकी थिई- ‘होइन, आमा-बाबु भएका भए केही न केही अवश्यै गर्थे. । त्यसैले भनिन्छ। कि यस संसारमा सबै कुरा फेरि पनि भेटिन्छन्, तर आमा-बाबु भेटिंदैनन् ।’ कुरो के थियो भने दुई-महिना भयो होला सुद्युम्न ढिलो घर आउन थालेको थियो, त्यो पनि रक्सीले मात्तिएर । थप रम्भाका ‘हेर-हेर यसको अनुहार..’ जस्ता वाक्यहरूले फजित गर्न पनि थालेको थियो । हँदा-हुँदा हातसमेत चलाउन थालेको थियो । यस खटपटमा रम्भाको कुनै गल्ती छैन । गल्ती भए ऊ पतिका गोडा समातेर माफी माग्थी होला, ऊ निर्दोष थिई र छ । :::: २ :::: कति राम्ररी चलिरहेको थियो उसको घरबार ! लोग्ने-स्वास्नी आपसमा औधी माया गर्थे। सुद्युम्न कप्तान भइसकेको थियो। तर रम्भालाई सधैं याद रहन्छ कि जब बिहेकै पहिलो दिनपछि सुद्युम्नले रातिको खाना खाइसकेपछि सुनाएको थियो- “भोलिदेखि हाम्रो प्यारासुटबाट ओल्लिने तालिम सुरु हुँदै छ ।” रम्भालाई आज पनि याद छ कि उसले आत्तिदै भनेकी थिई- “छ्या:, हवाईजहाजमा उड्दा त जहाज खस्ने पो हो कि भन्ने विचार आउनासाथ पसिना निस्किन थाल्छ, सासै रोकिएला जस्तो हुन्छ । तपाईलाई डर लाग्दैन त्योबिधी माथिबाट हाम फाल्न ? प्यारासुट नउघ्रे के हुन्छ ?” “जिन्दगी जान्छ नि !” नाटकीय भावका साथ सुद्युम्नले भनेको थियो- “हाम फाल्न अनकन गरे प्रशिक्षकले लात्तले हिक्काई फालिदिन्छ । नोकरी नै यस्तो गरेपछि डर लाग्यो भन्न पाइन्छ र ?” “होइन, तपाईं यो नोकरी छोडिदिनोस्।” “केटाकेटी करा नगर । आर्मीको कुरो, बीच तालिममा नोकरी छोड्छु भन्यो भने झ्यालखानामा जाकिदिन्छन् ।” यति भनी सुद्युम्न निदाएको थियो, तर ऊ भने सुत्न सकेकी थिइन । प्यारासुट नउघ्रेको कल्पना त छोडौं, सुदुम्नको डरले पहेंलो भएको अनुहार सम्झेर मात्रै पनि ऊ अतालिएकी थिई। पतिका खराटाहरूका बीच ऊ भुइँमा बसी प्रार्थना गर्न थालेकी थिई- “हे प्रभो ! सुद्युम्नलाई बचाऊ । एउटा ज्यान न चाहिएको भए उसको सद मेरै ज्यान लेऊ !” यो प्रार्थना कति बेरसम्म दोहोऱ्याएपछि र सत्यवान्-सावित्रीको कर सम्झेपछि मात्र उसलाई केही धैर्य भएको थियो। सुद्युम्नको तालिम निर्विध्न समाप्त भएर पनि ऊ कप्तान भइसकेको थियो। उनीहरूका बीचमा एउटी सानी खेलौनाजस्ती बच्ची पनि आइसकेकी थिई। रम्भालाई लाग्थ्यो कि रूउसको लोग्ने र सानी एउटा सानो तर दुर्भेद्य प्रेमको लिहाफभित्र बसेका छन । उसलाई लाग्ध्यो कि यो सब खुसी उसको बिहान-बेलुकीको प्रार्थनाको फल हो। हन त अब प्रार्थनाका लागि ऊसित समय हुँदैनथ्यो आलस्यले र घरगृहस्थीले गर्दा तर पनि सम्भना भएका बेला ऊ ईश्वरलाई धन्यवाद दिने गर्थी। त्यस दिन अड्डाबाट घर फर्किदा सुद्युम्न आफूसित एउटी अट्ठाइस-तीस वर्षकी आकर्षक महिलालाई लिएर आएको थियो । चिया पिउँदै सुद्युम्नले परिचय गराउँदै महिलालाई विमान-परिचारिका र नाउँ चाहिँ रसना बताएको थियो । चिया पिइसकेपछि महिलालाई आफ्नो गाडीमा घर पुन्याइदिन भनी सुद्युम्न निस्केको थियो । कुरैकुरामा महिला अविवाहित भएकी र छिमेकमा नै मोटरको पन्ध् मिनेटको बाटोमा बसोबास गरेकी भन्ने कुराको रम्भाले चाल पाएकी थिई। यत्तिकैमा रम्भाकी साथी उमा आइपुगेकी थिई। धेरै समयदेखि यहीं बसेकी हुनाले उमालाई घर-छिमेकका टोल र टोलेहरूबारे सबै कुराको जानकारीथियो। उसले सोझै सोधेकी थिई- “रसनाको अर्थ थाहा छ तिमीलाई ?” “जिब्रो होइन त !” रम्भाले जवाफ दिएकी थिई । “जिब्रोको काम चाट्ने हो । यो रसनाले पनि तिम्रो पतिलाई आइसक्रिमजस्तै चाटेर छोडिदेली, होस गर !” बिस्तारै रम्भाले थाहा पाएकी थिई कि रसना एक अत्याधुनिक विचारकी अविवाहित प्राणी थिई, प्राणी यस कारण कि महिलाभन्दा कता हो कता विवाहित भएको भान हुन्छ भने कुमारी भन्नका लागि कौमार्य जरुरी हुन्छ । अत: रसनालाई अत्याधुनिक अविवाहित प्राणी मात्र भन्न सकिन्थ्यो। श जब सुद्युम्न धेरै रातिसम्म मात्र घरतिर आउन थाल्थ्यो त्यो पनि रक्सीले मात्तिएर तथा जब रम्भाका कानमा रसना र सुद्युम्नको सम्बन्धबारे हने गरेको चर्चाका केही शब्द पर्न थाले, उसले सुद्युम्नसँग-सोधपुछ गरी । सुद्युम्नको मुखको टुप्पामा केही न केही बहाना बसेकै हुन्थ्यो। यसपछि रम्भाले सुद्युम्नलाई सही बाटोमा ल्याउन हल्का प्रतिरोधको बाटों अपनाएकी थिई। उदाहरणका लागि उससँग कुरा नगर्ने, रातिको खाना तताएर सुघुम्नका अघिल्तिर राखिदिने तर आफू नखाने, छुट्टै ओछ्यानमा सुत्ने; तर यस प्रतिरोधको त उल्टै फल पो निस्केको थियो। राति रक्सीले मात्तिएर ढिलो घर आएपछि चुपचाप बसका रम्भालाई उसले खसाल्ने रं अपमानित गर्ने प्रयास गर्न थालेको थियो । नबोली बसेकी रम्भालाई घचेट्दै ‘हेर-हेर, यसको अनुहार दूई पैसाको जस्तो छैन, ठसक यत्रो’ भन्नेजस्ता अपमानजनक वाक्यांशहरू प्रयोग गर्न थालेको थियो । हँदा-हँदा हातसम्म पनि छाड्न लागेको थियो । यति मात्र होइन, अब त रक्सीको मातमा रसनासँगको आफ्नो सम्बन्ध चीकार गर्दै बरबराउने गथ्थ्यो- ‘म पनि स्वतन्त्र, तँ पनि स्वतन्त्र । कुनै मन परेको मानिससँग उठबस गर् न, म केही भन्दिनँ । बुझिस्, म त्यति ठूलो दिल राख्छ । अनि ठूलो विकल्प जुटाइदिएझै भन्ने गथ्यों- ‘नभए पारपाचुके लिऊँ न, झन्झट नै सिद्धिन्छ । रम्भा जप लागेर मनमनै सोच्थी- ‘हरे, स्वतन्त्रताको नाममा कसरी आफ्नो अपराधलाई लुकाएको ! अनि मनमनै आक्रोशित हुँदै सोच्थी- ‘कस्तो बुझ पचाएको । तिम्रा लागि त चारै दिशा रवला छन् तर बिहेपछि मेरो स्वतन्त्र हुने कुनै पनि सम्मानजनक उपाय त छँदै छैन। बार प्रारम्भमा रम्भालाई आस लागिरहन्थ्यो कि तमाम आफन्त र चिनजानका व्यक्तिहरूमध्ये कुनै एक त आइदेला र सुद्युम्नसँग उसको मेलमिलाप गराइदेला । सुद्युम्नलाई हप्काएर भनिदेला- ‘गल्ती आफू गछौं, दण्ड स्वास्नीलाई दिन्छौ ? बन्द गर आजदेखि यो अत्याचार !’ त्यतिका आफन्तमध्ये कुनैले त रम्भाको पीडा र निर्दोषिताबारे बुझाउने प्रयास गर्ला, कसैले त सम्झाइदेला कि सुद्युम्न र उसको परिवारलाई रसनाले पचाइदिन सक्छे, केही अरू परिवारहरूलाई पनि सखाप पारेको प्रस्ट उदाहरण सु्युम्नका सामुन्ने राखिदेला, कसैले सम्झाइदेला कि रम्भा पनि चानचने आइमाई होइन, उसको अनुहारमा आँखा परे बटौनेहरूसमेत एकछिन अड्ने गर्छन् । यस्ती सुन्दरी पतिव्रता तनमनले समर्पित श्रीमतीको उपेक्षा गर्नु कति अनुचित हो भनी सम्झाइदिने कोही त आउला कि भनी उसले आस गरिरही, तर कोही कतैबाट आइपुगेन र ऊ उपेक्षा र अपमानलाई जिन्दगीकै अङ्ग ठानी चुपचाप बसिरही । दुःखको यस विशाल मरुभूमिमा सानी बच्ची नखलिस्तानजस्तै थिई जसका निम्ति ऊ जस्तै नारकीय जीवन पनि बाँच्न बाध्य थिई। :::: ३ :::: त्यस राति सुद्युम्न घर आएको थिएन । रम्भालाई नियास्रोभन्दा बरु एक रात अपमानबाट उम्केजस्तो लागिरहेको थियो । अर्को बिहानी छिमेकी उमा हतारिँदै आई अतालिएजस्तो र उसले भनेकी थिई- “खबर राम्रो छैन । सुद्युम्नलाई त जेलमा राखिएको छ रे !” “किन के भयो ?” “उसको जिम्माको लाखौंको सरकारी रकम हिनामिना भएको पाइयो रे !” “होइन, घरमा त आधा तलब मात्र ल्याउने गर्नुहुन्थ्यो ।” “लाटी । रसना छँदै छ नि ! यो सब उसके करामत हो।” एकछिन पर्खी भनेकी थिई- “जमानत पनि नहुने रे !” “कति सम्झाउँदा पनि त्यस डङ्किनीको साथ छोड्न मानेनन्, यस्तो त हुनु थियो ।” रम्भाले भनेकी थिई, तर उमालाई उसको स्वर अस्वाभाविक लागेको थियो र ‘थप कुरो थाहा पाए खबर गरुँला’ भन्दै उमा बिदा भएकी थिई । साँच्चै भन्ने हो भने एकछिन त रम्भाले आफ्नो मनको कुनै कुनामा सन्तोष लागेको पनि महसुस गरेकी थिई। सुद्युम्नले उसमाथि गरेको अत्याचारको दण्डस्वरूप नै विधाताले जेल पठाइदिएको हो कि भन्ने उसलाई लागेको थियो, तर एकैछिनपछि यी सबै कुराकी मली नै र खती त रसना हो भन्ने कुरा उसको समझमा आयो र सोच्न थाली कि सुद्युम्न बिचरो सुधो मानिस, उसलाई रसना राक्षसीले फसाएकी थिई । ठिक्ककी आइमाइले समेत आँटी नै हाली भने कुनै पुरुष चोखो बस्न सक्दैन भने रसनाजस्ती नखरमाउलीको जाल काट्न त सबैलाई गाहै पथ्थ्यो। उसको लोग्ने बिचरो एक्लै जेलमा छ। लाम्खुट्टेले भूँ-भूँ गरेको सुने पनि निदाउन नसक्ने, ठिक्कको नुन-मसला नभए खाना पनि खान नसक्ने बिचराको जेलमा के हालत होला भन्ठानी ऊ विह्वल हुन थालेकी थिई । सु्यम्नको अतालिएको अनुहार सम्झिँदा उसलाई खपिनसक्नु भएको थियो र उसको मनमा लोग्नेप्रतिको सम्पूर्ण कटुता हराइसकेको थियो। रुझेका परेला लिई ऊ सुद्युम्नलाई भेट्न गएकी थिई । धेरै बिन्तीभाउपछि बल्ल भेट्न पाउँदा आफूले कल्पना गरेअनुसार नै सुद्युम्नको अनुहार देखा पर्दा रम्भा जोर-जोरले रुन थालेकी थिई । सुद्युम्नले रम्भाको हात समात्दै गहभरि आँसु काढी भनेको थियो- “मैले तिमीलाई धेरै दुःख दिएँ र पाप गरेको फल यही हो, नत्र ममाथि लगाएको आरोप भने एकदमै झूटो हो । म झ्यालखानाभित्र बाँच्न सक्दिनँ, म मर्छ । रम्भा, मलाई यहाँ नराख । जे गरेर पनि छुटाऊ ।” यसपछि त गत दुई वर्षदेखि रम्भाको दिनचर्या नै दिनदिनभरि सेनाका ठूला अफिसरहरू, मन्त्रीहरू र प्रभावशाली व्यक्तिहरूको ढोका चहार्न् नै भइसकेको थियो । छोरीलाई उमाको जिम्मा लगाई ऊ दिनदिनभरि भोकै-तिरखै हिँडिरहन्थी । सुद्युम्न उसको हो, उसको मात्रै हो भन्ने विचारले उसलाई उत्साह दिन्थ्यो र भोक-प्यास र यहाँसम्म कि अपमानसम्मको पनि वास्ता गर्दिनथी। ठूला मानिसहरूलाई भेट्न जाँदा घण्टौं के दिनभर कुर्दा पनि धेरैसँग त भेटै हुँदैनथ्यो। उसको बराबर धाउने तपस्याबाट आजित भएर कुनैले भेटे पनि पूरा कुरा नसूनेर ‘ठीक छ, तपाईंको काम भइहाल्ला’ भनी टार्थे । रम्भा बुझ्थी कि यस्ता खोक्रा आश्वासनको केही अर्थ हुँदैन । हो, एक दिन उसको भेट एक जना भर्खर पदासीन मन्त्रीसँग भएको थियो। त्यस मानिससँग संवेदनशीलता अझै भरिसकेको थिएन । अत: उसले सबै कुरो ध्यान दिएर सुन्यो र भनेको थियो- “तपाईंको दुःखी र निर्दोष अनुहार हेर्दा जे पनि गरिहालौं लाग्छ, तर हामी सबै कानुनले बाँधिएका छौं । मलाई लाग्छ, तपाईंका पतिले दुई वर्ष जेलको सजाय भुक्तान गरिसकेपछि अब धेरै बस्न परोइन होला । पैसो तिरे छोड्न पाइन्छ होला। मेरो कानुनको अभ्यास छुटेको धेरै भो । तपाईं एउटा वकिलसित सल्लाह लिनुहोस्, केही परे फेरि भेट्नुहोला ।” मन्त्रीले टेलिफोन गरिदिएबमोजिम ऊ एक जना वरिष्ठ वकिलकहाँ गएकी थिई र निःशुल्क सल्लाह पाएकी थिई कि सरकारी तहबिलमा दुई लाख रुपियाँ दाखिल गर्न सके उसको लोग्ने दुई महिनामा नै छुट्न सक्थ्यो । रम्भाले वकिलकहाँबाट फर्किदा देखेकी थिई कि एउटा ठूलो पसलबाट रसना र एक जना अर्के फौजी अफिसर बाहिर निस्केका थिए र दुई जना नै हाँसखेल गर्दै गाडीमा चढेका थिए । घर पुगी उमालाई यो कुरा बताएपछि उसले सोधेकी थिई- “रसनाले त्यस अफिसरसित बिहे गरेकी पो हो कि ?” “अहँ, ऊ किन बिहे गरेर बाँधिन्छे ? ऊ अब नयाँ अफिसरलाई चाट्दै छे, ख्वाप्पै निलेर मात्रै छोड्छे होला। त्यसपछि अर्को भेट्टाउन के गाहो छ र ?” उमाले जवाफ दिएकी थिई। ते सद्यम्नसित पनि सल्लाह गरी पंचहत्तर हजारका गहना बेची। एक लाख पच्चीस हजारमा घर बन्धकी राखी सरकारी रकम दुई लाख दाखिल गरेकी थिई अनि सुद्युम्नको जेलबाट छुट्ने दिन गन्न थालेकी थिई । अझै डेढ महिनाजति बाँकी थियो । मन मान्दैनथ्यो र ऊ दिनदिनै सुद्युम्नलाई भेट्न जाने पनि ग्थी। झ्यालखानाबाट छुट्ने भनी निर्धारित भएको अघिल्लो दिन भेट्दा उसले भनेकी थिई- “भोलि दस बजेतिर । क्यारे । म लिन आउँछु नि !” हाँस्दै सुद्युम्नले भनेको थियो- “पदैन, म आइहाल्छु नि । बरु तिमीले घरमा मेरो मधामसित स्वागतको तयारी गर्नू ! मलाई झुट्टे फसाउने दुस्मनहरूको मुटुमा सियो पस्ने छुट्नुहुन्छ गरी तरखर गर्नू !” आज सुद्युम्नको जेलबाट छुट्ने दिन हो । माला, दही, माछा, चिउरा र मिठाई- रम्भाले आफूले जाने-बुझेसम्म कुनै त्रुटि रहन दिएकी छैन । आफ्ना केही संगिनीहरूलाई पनि बोलाएकी छ । एघार बजिसक्दा पनि सुद्युम्न आइपुगेन । ‘ढिलासुस्ती त हाम्रो संस्कारै हो’ भन्दै फेरि आउने कुरो गरी रम्भाका सँगिनीहरू आ-आफ्ना घरतिर लागे । हुँदा-हुँदा एक बज्यो। रम्भाले झ्यालखाना टेलिफोन गरी बुझ्दा सुद्युम्नलाई बिहान दस बजे नै छोडिसकेको खबर पाई । एकातिर ऊ आशङ्कित र लाजले आहत भई भनी अर्कातिर सुद्युम्नलाई पो केही भयो कि भन्ने चिन्ता पनि लाग्न थाल्यो । हुँदा-हुँदा झमक्कै साँभझ पर्यो, ऊ किङ्कर्तव्यविमूढ भई बसी नै रही। यत्तिकैमा उमा आई र दुःखी स्वरमा भनी- “छोडिदेऊ रम्भा, दिनभरि भोकै छयौ, केही खाऊ ! सुद्युम्न त उहिले नै रसनाको घरमा पसेको, अहिलेसम्म निस्केको छैन रे ! मलाई लाग्छ, ऊ आज घरमा आउँदैन पनि होला।” रम्भाले शून्य आँखाले चारैतिर हेरी । पला-पलाका हिसाबले अँध्यारो थपिँदै गइरहेको थियो । #लोकेन्द्रबहादुर चन्द |
पुस्तक चर्चाः खिनौराको यात्रा: सरिता अर्याल आज किताबहरू मिलाउँदै थिएँ, धेरै पहिले सरसरती पढेर राखेको किताब हात लाग्यो । आफूले भ्रमण गरेर फर्केको देश बेलायत सम्झें । नियात्राकार गीता रेग्मी ले लेखेको किताब सम्झें । धेरै पहिलेदेखि किताबको र्याकको मात्र शोभा भएर बसेको त्यही नियात्रा संग्रह पश्चिमाहरूको देशमाझ दोहोर्याएर पढें । यो लकडाउनले गर्दा पढने मौका जुराइदियो । महिला नियात्राकारलाई घर र यात्राको बिचमा तालमेल मिलाउन कतिसम्म गाह्रो हुन्छ भन्ने कुरा पहिलो शीर्षक अन्तरगत रहेको यात्रा आरम्भको सेरोफेरोमा शब्दहरूको बिस्कुन नै सुकाइदिएकी छन् नियात्राकार गीता रेग्मीले । घरमा छोरीले नखाने भने तापनि सन्तानलाई नखुवाई खाना नखाने आमा पश्चिमाहरूको देशमा पुग्नासाथ पुर्णरुपमा नियात्राकार हुन पुग्दछिन् । थाकेको शरीर डोराउछिन् र बाहिरको दृश्य हेर्न पुग्छिन् । यसले देखाउँछ एउटा नियात्राकारमा कस्ता कस्ता स्वभावहरू लुकेर बसेका हुन्छन् भन्ने कुरा । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको साहित्यिक कार्यक्रममा भाग लिन बेलायत पुगेकी लेखकले आफूले भोगेको र अनुभव गरेको विषयवस्तुलाई प्रत्येक पाठकको आफ्नै भोगाइ र अनुभवसँग साक्षात्कार गराउन सफल भएकी छिन् । नदेखेको अर्थात् सहभागी नभएको साहित्यिक समारोहमै उपस्थित भएजस्तो अनुभव गराउन लेखिका सफल भएकी छिन् । तीन दिने सो समारोहका साना साना कुरालाई पनि टिपेर अक्षरको माला बनाएकी छन् लेखक रेग्मीले । शेक्सपियरलाई भेट्न गएकी नियात्राकारले कलम कापी बोकेकी थिइन् या आँखाले नै सबै तस्बिर खिचेकी थिइन् ? भन्न सकिन्न, तर उनले नियात्रा वर्णनमा अचम्मलाग्दो गरी केही कुरा पनि छुटाएकी छैनन् । बालमस्तिष्कमा आफ्नै बुवाले सुनाउनुभएका शेक्सपियरका नाटकका पात्रलाई जीवन्त बनाएर निरुत्तरित प्रश्नहरूको ओइरो लगाएको देख्दा उनी शेक्सपियरको घरभित्र पुगेर कतिसम्म गहिराइमा पुगिछन् भन्ने प्रष्ट हुन्छ । बेलायती सरकारले होस् या जनताले नै होस् शेक्सपियरलाइ दिएको सम्मान हेर्दा आफ्नै आदिकवि र महाकविलाई सम्झेर नमिठो मन बनाउँदै फर्किएकी छिन् लेखिका । शेक्सपियरको जन्मस्थान जाँदाआउँदाका साथीहरूमा नेपालका पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार प्रदिप नेपाल पनि साथै हुँदा देशको राजनीतिका तितामिठा कुराले पनि उनलाई पिरोलेको देखिन्छ । बेलायतमा घुम्दा जंगबहादुरलाई नसम्झने सायद नै कोही नेपाली हुन्छ होला । त्यसमा पनि लेखकपछि परेको देखिदैन । रानी भिक्टोरियालाई दिएको उपहारको प्रसंगले यात्रा संस्मरणलाई रोचकता दिएको छ । हामी नेपालीहरू आफ्नै संस्कार र संस्कृतिमा हराउने गर्दछौँ । नेपाली महिलाको लागि तिज महत्वपूर्ण चाडको रूपमा लिने गर्दछौँ । त्यही तिजको बेलामा लेखक देशबाहिर हुँदा आफ्नै घर, समाज सम्झिन पुग्नु,नयाँ ठाउँ घुम्नुभन्दा पनि मन्दिर जान पाए हुन्थ्यो भन्ने चाहना देखाउनुले ,लेखकलाई कतिसम्म संस्कृति र संस्कारले अंगालेको रहेछ भन्ने कुरा देखाउछ । यो प्रसंग लेखकको मात्र होइन समग्र महिलाहरूको हो । लेखक त प्रतिनिधि पात्र मात्र भएकी छन् । लेखकले आफूलाई देखाएर विदेशमा भएका नेपाली महिलाहरूको भावनालाई उजागर गरिदिएकी छन् । यो लेखकको लेखकीय विषेशता हो । लेखकीय कला र शैली हो । जसले पाठकलाई तानिरहेको छ । पेरिस पुगेको मानिस आईफिल टावरमा नचढी त को पो फर्किएका होलान र ? तर पेरिस नपुगेका नेपालीलाई पनि राम्रोसित टावरमा चढाउन सफल भएकी छन् लेखक । युरोपको इतिहास नपढेकाको लागि क्रान्ति र युध्दको केन्द्र बिन्दु भर्साइल दरबारमार्फत् केही जानकारी दिन पनि सफल भएकी छन नियात्राकार रेग्मी । बेल्जियम, नेदरल्याण्ड र जर्मनीको यात्रा छोटो छ, नियात्राकारले ती देशको माटोमा टेकेर छोटोमा भए पनि पनि पाठकलाई आफूसँगसँगै डुलाउने कोशिस गरेकी छन् । आफूले जसरी हेरिन् त्यसरी नै प्रस्तुत गरेर आफ्नो इमान्दारिताको परिचय दिएकी छिन् । भुपरिबेष्ठित देशमा जन्मी हुर्की बढेका धेरै नेपालीले समुद्र देखेका हुँदैनन् । नियात्राकार रेग्मी स्वयमले समुद्रमा पुग्दाको अनुभूति जीवन्त प्रस्तुत गरेकी छिन् । उनको लेखनकला यहाँ पनि देखिन्छ । नियात्राकारले पश्चिमाहरूको मुलुकमा पुगेर त्यहाँका विषयवस्तुलाई मात्र टिपेकी छैनन्, उनले एउटा नियात्रा पढ्ने पाठकका लागि रसास्वादन गरिदिन त्यहाँको सामाजिक, राजनैतिक, प्राकृतिक ऐतिहासिक कुराहरूलाई पनि समावेश गरेकी छिन् । जसले गर्दा पुस्तक पठनीय र संग्रहणीय छ । पहिलोपल्ट बेलायतमा पाइला टेक्ने जंगबहादुर राणा थिए । अहिले बेलायतमा लाखौं नेपालीहरूले टेकिसकेका छन् । जंगबहादुरको बेलायत यात्राबाट शुरू भएको लेखनले धेरै पुस्तकहरू पनि हाम्रो सामु आइसकेका छन् । ती पुस्तकहरूको प्रतपस्पर्धात्मक दौडमा कुनै कोणबाट हेर्दा पनि पछि नपर्ने देखिन्छ गीता रेगमीको पश्चिमाहरूको देशमाझ नामक नियात्रा संग्रह । नेपालमा पूर्व मेचीबाट पश्चिम महाकालीसम्म पुग्दा नेपाली भाषामा धेरै फरक लवज र शब्दहरू छन् ।उच्चारण पनि अलग अलग गरेको पाइन्छ । पश्चिमाहरूको देशमा पनि नियात्राकारले प्रयोग गरेका शब्दहरू कतिको अर्थ सबैले बुझ्दैनन् । “काला र गोराको बिचमा टुरिष्ट बनेर आएका हामी खिनौरा बनेर एउटा कुनामा बसिरह्यौ ।”, खिनौरा जस्ता केही शब्दले कतैकतै पाठकलाई के भनेको होला भनेर सोच्न बाध्य बनाउछ । समग्रमा भन्नू पर्दा पश्चिमाहरूको देशमाझ नियात्राकारले बुनेका अक्षररूपी माला पाठकको मन मस्तिष्कमा सजाउन सफल भएकी देखिन्छिन् नियात्राकार गीता रेग्मी । #गीता रेग्मी #सरिता अर्याल |
एक नामुद वैद्यको कथाः हाछ्यूँ: देवेन्द्र पौडेल बेसारमुनि एकाएक नाम चलेका वैद्य थिए । उनले नजानेको कुरा केही पनि थिएन । गफ पनि उस्तै गर्थे , गफशास्त्रमा विद्यावारिधि गरेजस्तै । सबै कुरा जानेजस्तो गर्थे । पहिले कुनै बेला रातो राजनीति गरे । केही समय त विद्रोहतिर पनि लागे । चौधपन्ध्र वर्ष जेल पनि बसे । पछिपछि रातो राजनीतिबाट धैँसे राजनीति गर्न थाले । वाकपटुताको अस्त्र प्रयोग गरी राजनीति र शासनको नेतृत्व सम्हाल्न पुगे । आजकाल उनी नामुद वैद्य भएका छन् । एक दिनको कुरा हो , कुशासनमा (कुश आसन) बसेका बेसारमुनिको जडीबुटी कारखाना अगाडि कमिसनमुनिहरु जम्मा भए । आफ्ना अगाडि विन्तिभाउका साथ साक्षात्कार भएका कमिसनमुनिहरुलाई उनले सोधे , “ के भइरहेको छ लोकमा ?” जवाफमा वरिपरि रहेका किन्नर , किन्नरी , नाग , यक्ष , गन्दर्धहरुले भने , “ हे बेसारमुनि ऋषिवर ! मान्छेहरु त प्लेकार्ड बोकेर बेसार घसी सडकमै सुत्न थाले । उनीहरुको भनाइ छ , वैद्यले बेसारको मात्र कुरा गरे , पिसिआरको कुरा गरेनन् , भोकको कुरा गरेनन् , शोकको कुरा गरेनन् , स्ट्यान्ड – अप कमेडीको कुरा गरे । अब हामी सहन्नौँ । रोग र भोकका बेला बेसार र पानीले भुलाउन खोज्ने अपराधी , भन्न थाले । हरसम्भव उपाय लगाउँदा पनि चित्त बुझाउन सकिएन । उनीहरुका कुरा सुन्दासुन्दा हामी त तनावमा छौँ । तोरी कतै फुलेको छैन , पहेँलै भएर धानका बाला कतै झुलेका हैनन् , तर बर्खामासमा पनि सडक र बजार त थामिनसक्नु पहेंलपुर हुन थाल्यो ऋषिवर । हजुर त हास परिहासमा हुनुहुन्छ । बेलाबेलामा कथा सुनाउनु हुन्छ । कहिले भैँसीका कथा , कहिले राष्ट्रवादका मिठा कथा । उनीहरुको मुख थुन्न सकिने यस्तै कुनै अचुक कथा सुनाउनु होस् । “ “ त्यसोभए तिमीहरु आज के कथा सुन्न चाहन्छौ , निसंकोच भन्न सक्छौ । “ “ हे बेसारमुनि ! आज हजुरको नामको कथा सुन्न हामी आतुर छौँ , र यो तामझामयुक्त दुई – तिहाईको संसारको सृष्टि कसरी भयो ? हजुरको वाहीवाहीको राज के हो ? यस विषयमा जान्ने इच्छा छ । हजुरबाट मर्जी भएमा भोलिका दिनमा विलासपथ पछ्याउन हामीलाई सहज हुनेछ । हामीमाथि कृपा गर्नुहोस् । हजुरको बेसारप्रिय मुखारविन्दबाट यो कथा सुन्न पाएमा हामीले आफूलाई भाग्यमानी सम्झने थियौँ । तत्पश्चात् छेउमा राखिएको सानो डब्बाबाट एक फाँक बेसार मुखमा हालेर तातोपानीले घुटुक्क पार्दै ऋषिले भने , “ हे मुनिहरु , मलाई लाग्दैन तिमीहरु यति धेरै लाटा छौ , मैले थाहै नपाए जस्तोगरी बसिरहँदा तिमीहरुले केके गरिसक्यौ भन्ने सुन्दैछु । हुन त कसले केके गर्छ , कहाँ कार्पेट फेर्छ , बत्ती फेर्छ , कहाँ गलैँचा ओछ्याइन्छ , कहाँ उपचारका नाममा कसले कति कुम्ल्याउँछ , त्यो मेरो सरोकारको विषय पनि होइन । मेरो सरोकारको विषय त सपना बाँड्ने हो । पानीजहाजका सपना , हावाबाट बिजुली निकाल्ने सपना , घरघरमा पाइपलाइनबाट ग्यास पु ¥ याउने सपना । त्यसैले सपना देखाउन सिक , मोनोरेल गुडाउने सपना देखाउने भाइ – भतिजहरुबाट पनि केही सिक , कोही भोकै मर्नु पर्ने छैन भनी राख , कोही भोकै मरेका समाचार आउँदा नसुनेजस्तो गर , भोकै हिंड्ने मान्छेलाई नदेखेजस्तो गर , मान्छेले सुइको पाउने गरी काम नगर , पाइहाले भने ध्यान अन्यत्र मोडिदेऊ , आफ्नो दाउ आउँदैन भने भेटघाट , बैठक पनि अल्मल्याऊ , कसैलाई सबैभन्दा माथिको कुर्ची देखाइदेऊ । कसैको घर बिगार्न , मान्छे चोर्न परे पनि पछि नपर । सबै कुरा जानेको जस्तो गर , केही कुरा बिग्रिहाल्यो भने थाहै पाइन भन्न नबिर्स । आफ्नो कुरा जस्तै होस् , मैले भनेको , भर्खरै भनेको , सुन्नुभएन भन्दै मेरा गोरुको बाह्रै टक्का गर्न नछोड । बेलाबेला तिलस्मी कुरा गरिदेऊ । मैलै पनि सुरु – सुरुमा नक्सलवादी बनेर मन जितेँ । गायत्री मन्त्र जपेर तमोरमा पौडी खेलेँ , राष्टवादको खोल ओढेर महाकालीलाई अरुको जिम्मा लगाएँ । परिवर्तनका बेला सिन्को नभाँचे पनि , बयलगाढाको यात्राले पाताल पुगिन्न भने पनि , नाकाबन्दीका बेला चर्कोचर्को फूर्ति लाउनाले सबैतिर मेरो जयजयकार गरिन थाल्यो । परिणामस्वरुप आज दुई – तिहाईको सृष्टि फलिफाप भएको छ । तिमीहरु एक चित्त भई सुन , अब मलाई सपनाका कुरा गर्नु छैन । म मात्र स्वस्थ रहेर हुन्न , सबैलाई स्वस्थ र निरोगी नेपाल बनाउनु पनि मेरो कर्तव्य हो । संसारले पत्ता नलगाएको कुरा मैले पत्ता लगाएको छु । मैले भर्खरै पञ्चतत्वको खोज गरेको छु । मेरा पञ्चतत्वमा जल , तेज , पृथ्वी , वायु र आकाश होइन मेथी , बेसार , अदुवा , ज्वानो र हिमालबाट ठोक्किएर आएको चिसो हावा रहेका छन् । यिनीमध्ये धेरै महत्व बेसारको छ । बेसारको यही महिमाले आज मैले बेसारमुनिको उपाधि पाएको हुँ । म पनि आजसम्म यही बेसारको उपचारले हट्टकट्ट छु । मेरै बेसारको प्रभावले सर्वत्र हरियो हुनुपर्ने वर्षा ऋतु पनि पहेंलो भएको छ । दश अर्बको लगानी बेसारमै सकिएको छ । बेसारकै चमत्कारले दुई – तीन जनाबाहेक कोही पनि महामारीले मरेका छैनन् । ती मरेकाहरु पनि बेसार पानी खाएर हाछ्यूँ गर्न नजानेर मरेका हुन् । कोही निमोनियाले होला , कोही पेट दुखेर होला , कोही मुटुका बिरामी थिए होलान् । ती त त्यसै जाने खाले मान्छे हुन् , कोरोनाले त छोएको मात्रै हो । कतिपयले तातोपानीसँग खाने बेसार शरीरमा घसेर बेमौसमको नाटक गर्दैछन् अरे , कतिपयले मेरो यस्तो गम्भीर कुरामा मजाक उडाए अरे । उनीहरुलाई भनीदेऊ , घसेको बेसारको कर तिर्ने समय घर्कँदै छ । आजलाई एउटा अर्को कुरासम्म भनूँ , यो सृष्टि बेसार – पानीको अदृश्य लीला मात्र हो । यो सबै भोटको गुरुदक्षिणा दिने एकलव्यहरुका निम्ति सिर्जना गरिएको भ्रम हो । उनीहरुलाई भ्रमित तुल्याउनु मेरो धर्म हो । जसरी सपनामा देखिएका अनेकौँ दु : ख – सुखको अनुभव जागा भएपछि केही पनि रहँदैन , मेरा सपनाहरुको अनुभव पनि त्यस्तै हो । हे मुनिहरु , तिमीहरु पनि एकाग्र मनले बेसार पानी खाऊ , भोको दुनियाँ तर्सने गरी हाछ्यूँ गर , असार साउनमा मात्र होइन , फागुनसम्म पनि बेसारपानी खाँदै हाछ्यूँ गर्दै जाऊ । वाफ लिन नबिर्स फेरि । अरुले के भन्छन् , त्यसको पछि नलाग । “ कथा सकिएको थिएन , ठिक त्यसैबेला समाचारले भन्दै थियो , आज बेसारपानी खाएर हाछ्यूँ नगरेका कारण कोरोना भाग्न नपाउँदा दुई जनाको निधन भएको छ । “ पत्रकारले कति चाँडो थाहा पाएका “ , बेसारमुनि बोल्दै थिए । अरु सबै प्रतिक्रियाविहीन मुद्रामा बेसारमुनिको अनुहार ट्वाल्ल पर्दै हेरिरहेका थिए । #देवेन्द्र पौडेल |
‘सुम्निमा’भित्र वर्णशङ्कर संस्कृतिको अवधारणा: लेखन, अर्थगत विश्लेषण र त्यसको सार्वजनिकीकरण साहित्यिक क्याननहरूका एकलौटी अधिकार होइनन् । चक्रव्यूह सञ्चेतना (Labyrinth Conscience) ले नेपाली साहित्यिक समालोचनाको क्षेत्रमा उपागमगत विविधीकरणको अभियानलाई प्रयोग सहित अगाडि बढाइरहेको छ । अर्थहरूमा वैकल्पिकताको मर्मलाई चक्रव्यूह सञ्चेतनाले प्रधान महत्त्व दिन्छ । ‘वस्तुता’ को वकालत गर्दै एकात्मक सत्यको हवाला दिने तेस्रो आयामेली आन्दोलन अत्यन्तै रुढ र पुरातनपन्थी भएको कुरा प्राज्ञिक वृत्तमा सबैले महसुस गरिरहेका छन् । ऐतिहासिक सन्दर्भसँगको जन्मजात नाता विच्छेद लीलालेखनको गम्भीर भूल थियो र छ । समालोचनाको रुग्ण क्षेत्रमा लीलालेखनले पनि केही गरेन । तेस्रो आयामसँग त धेरै वैचारिक अपूर्णताहरू थिए । ती अपूर्णताहरूलाई त्यही छोडेर इन्द्रबहादुर राई लीलालेखनतिर हाम फालेपछि वैरागी काइँला र ईश्वर बल्लभ बौद्घिक निरीहतासहित तेस्रो आयामेली नाम धारण गर्दै बिना परिमार्जन र बिना सैद्घान्तिक परिपक्वता तेस्रो आयामेली नै भइरहे । यो ऐतिहासिक दुर्दशाको ठूलो नोक्सानी नेपाली साहित्यिक समालोचनाले बेहोर्नुपर्\u200dयो । सृजनाको क्षेत्रमा धेरै उपलब्धिहरू हासिल भए तर समालोचना चाहिँ विश्वविद्यालयका प्राध्यापकहरूको सूत्रपरकताभित्र नराम्रोसित कुँजियो । चक्रव्यूह सञ्चेतनाले प्रायोगिक समालोचनाको क्षेत्रमा पर्याप्त काम गरेर अहिले नै देखाइहाल्न नसके पनि यसले एउटा स्पष्ट दृष्टिकोण अगाडि सारेर नेपाली साहित्यिक समालोचनाको विद्यमान प्रथाप्रचलनलाई स्पष्ट मार्गनिर्देश भने गरेको छ । समालोचना सृजनशील पठन हो, त्यसैले पठनलाई सिद्घान्तपरक बनाऊँ भन्नु नै चक्रव्यूह सञ्चेतनाको मूलभूत समालोचकीय आग्रह हो । चक्रव्यूह सञ्चेतना अन्तर्गत ऐकिक पद्दतिको बिस्तार गरी पाठतत्त्व (Text) भित्रका अर्थहरूलाई परिवर्तित सन्दर्भका आधारमा उजागर गर्नु आजको आवश्यकता हो । ‘बनारसी इन्टेलिजेन्सिया’ अन्तर्गतको पुरातनवादी संस्कृत पृष्ठभूमिबाट आएका नेपाली विषयका अघिल्लो पुस्ताका प्राध्यापकहरूमा नवीन चेतनाको सञ्चार हुनु जरुरी छ । अथवा उनीहरूमा यो चेतना नभए पनि डराइहाल्नुपर्ने स्थिति भने छैन । समालोचना र प्राध्यापनको क्षेत्रमा प्रवेश गरिरहेको युवापुस्ताले भने अवश्य पनि हामीले प्रस्तुत गरेको दृष्टिबिन्दुलाई राम्ररी नियालेर आफूमा पनि त्यो चेतना ग्रहण गर्दै आफूलाई परिस्कार गरिरहेको छ । यो अत्यन्तै प्रशंसायोग्य काम हो । [bs-quote quote=”धेरैले विश्वेश्वरलाई फ्रायडवादी यौनविज्ञानको दर्शनलाई नेपाली सृजनात्मक लेखनमा कुशलतापूर्वक प्रयोग गरेर देखाउने साहित्यकारको रूपमा चिन्दछन् । उनले पनि आफूलाई साहित्यमा अराजकतावादी भएको बताएका छन् । उनले आफ्नै बारेमा जे भने पनि उनको मान्यतालाई यही बिन्दुमा पूर्णविराम दिन मिल्दैन ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] यो सैद्घान्तिक चर्चाको विषयलाई यही छोडेर विश्वेश्वरप्रसाद कोइरालाको उत्कृष्ट उपन्यास ‘सुम्निमा’ माथि चक्रव्यूह सञ्चेतना अन्तर्गत वर्णशङ्कर संस्कृतिको ऐकिक उपागमबाट विश्लेषण गरौं । धेरैले विश्वेश्वरलाई फ्रायडवादी यौनविज्ञानको दर्शनलाई नेपाली सृजनात्मक लेखनमा कुशलतापूर्वक प्रयोग गरेर देखाउने साहित्यकारको रूपमा चिन्दछन् । उनले पनि आफूलाई साहित्यमा अराजकतावादी भएको बताएका छन् । उनले आफ्नै बारेमा जे भने पनि उनको मान्यतालाई यही बिन्दुमा पूर्णविराम दिन मिल्दैन । उनको लेखनको बारेमा बोल्ने अधिकार उनलाई थियो होला तर सर्वाधिकार भने होइन । कतिपय विश्लेषकहरूले विश्वेश्वरको राजनैतिक दर्शन र साहित्यिक दर्शन दुई फरक विषयहरू हुन् भन्दै तिनमा सम्बन्धगत समानता नरहेको आशय व्यक्त गरेको पाइन्छ तर यो सोचाइ एकदमै गलत हो । विश्वेश्वरको चिन्तन— चाहे त्यो साहित्यिक होस् वा राजनीतिक— मा मध्यमार्गी दर्शन पाइन्छ । त्यो मध्यमार्गी दर्शन प्रशस्तै अन्तरविरोधहरू भएका दुई विपरीत अस्तित्वहरूबाट जन्मिएको वर्णशङ्कर उपज (Hybrid Product) हो । सुम्निमाको सन्दर्भमा पस्नुभन्दा पहिले केही राजनैतिक सन्दर्भलाई साहित्यिक सन्दर्भसँग जोडेर अगाडि बढ्नु उपयुक्त ठहर्ला । राजनीतिमा जब सृजनशीलता मर्छ, विचारहरूलाई गत्यात्मक शक्ति नमानेर रुढ अवधारणा मानिन्छ । सूत्रहरू घोकेर सम्भाव्य वैकल्पिकताहरूलाई निषेध गरिन्छ र विचारकहरूका चिन्तनलाई बेवास्ता गरेर उनीहरूका मूर्तिमा माला मात्र चढाइन्छ । यो खतरा नेपाली चिन्तन परम्पराका एक शक्तिशाली प्रतिभा विश्वेश्वरप्रसाद कोइरालामाथि पनि पर्न सक्छ । नेपालमाताका छोराछोरीहरूमध्ये विश्वेश्वर नै प्रथम भए जसले समाज, अर्थनीति, संस्कृति, राजनीति र साहित्यका क्षेत्रमा समन्वयवादी चिन्तनलाई अगाडि सारेर नेपालको लागि उपयुक्त राष्ट्रिय दृष्टिबिन्दु निर्माण गरे । उनको बहुचर्चित प्रजातान्त्रिक समाजवादको सिद्घान्त पुँजीवादी धारणा र साम्यवादी धारणा बीचको वैचारिक समागमबाट निस्किएको वर्णशङ्कर उपज हो । यही दर्शनको पितृप्रभावमा परेर चालीसको दशकको उत्तरखण्डमा एक प्रभावशाली वाकपटु युवा राजनीतिज्ञ मदन भण्डारीले जनताको बहुदलीय जनवादको सैद्घान्तिक प्रारूप तयार गरेर शक्तिशाली नेपाली कम्युनिष्ट समुदायलाई समन्वयको राजनैतिक राजमार्गमा ल्याइपुर्\u200dयाए । जनताको बहुदलीय जनवाद पनि परस्पर विरोधी राजनैतिक मान्यताहरूकै बीचबाट जन्मिएको अर्को वर्णशङ्कर चेतना हो । यही श्रृङ्खलामा अर्को एउटा कडी थपिन पुग्छ । करिब एक दशक लामो सशस्त्र जनयुद्घको उद्यम सम्पन्न गरेर शान्तिपूर्ण राजनैतिक प्रतिस्पर्धामा रूपान्तरित भएको पूर्व क्रान्तिकारी शक्ति नेकपा माओवादीले पनि एक्काइसौं शताब्दीको जनवाद भन्दै कोइराला र भण्डारीको वैचारिक उत्तरदान (Ideological Legacy) कै प्रभावमा अर्को सान्दर्भिक वर्णशङ्कर चेतना जन्माएको छ । विश्वेश्वरको संलग्नता कुनै एक दल विशेषसँग जोडेर हेर्नु भन्दा पनि महत्त्वपूर्ण कुरो चाहिँ उनले प्रतिपादन गरेको मध्यमार्गीय दार्शनिक चिन्तन हो । उनको मध्ममार्गको चिन्तन उनको अवशानपछिका कयौँ वर्षहरूमा पनि उत्तिकै उपादेयतापूर्ण रहेको छ । उनी संलग्न राजनैतिक दलका मान्छेहरूले नै उनको ‘स्पिरिट’ बुझे बुझेनन्, त्यो आफ्नो ठाउँमा छ । विश्वेश्वरले दिएको मध्यमार्गीय चिन्तनको उपहार भने यो राष्ट्रका लागि ठूलो गुनको रूपमा रहिरहनेछ । यसरी नेपाली चेतनामा मध्यममार्गको उठान र विस्तार क्रममा विश्वेश्वरले अग्रज (Precursor) को भूमिका निर्वाह गरेका थिए । नेपाली समाजमा मध्यमार्गी चेतना बोक्नेहरूका लागि विश्वेश्वरप्रसाद कोइराला एक आद्यरूप (Archetype) हुन् । [bs-quote quote=”‘सुम्निमा’ उपन्यासले ‘पोलिटिकल करेक्टनेस’को दृष्टिबाट थुप्रै आरोपहरू खेप्नु परेको छ । दुई ध्रुवबाट प्रश्न उठ्ने गरेका छन् कि किराती देवीलाई नाङ्गो देखाइएको छ र ब्राम्हण संस्कृतिलाई अतिरञ्जित रूपमा खिल्ली उडाइएको छ । ऐतिहासिकतासँग मात्र जोडेर हेर्ने हो भने यी दुई तर्कहरू आ—आफ्ना ठाउँमा आफ्नै हैसियतका होलान् तर प्रतीकात्मक रूपमा बोध गर्दा कोरा प्रकृतवाद र उडन्ते आदर्शवाद दुई परस्पर विरोधी अतिवाद हुन् ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] सर्वप्रथम २०२७ सालमा प्रकाशित ‘सुम्निमा’ उपन्यासलाई उपन्यासकार स्वयंले प्रतीकात्मक अर्थमा बुझ्नुपर्ने आशय व्यक्त गरेका छन् । सुम्निमालाई किरातीहरू आराध्यदेवी मान्दछन् । उपन्यासमा उनलाई नाङ्गी मान्छेको रूपमा गरिएको प्रक्षेपण (Projection)लाई कतिपय विश्लेषकहरूले सांस्कृतिक अतिक्रमणको रूपमा लिएको पाइन्छ । यसैगरी सोमदत्तलाई ढोंगी र उपहासमय पात्रको रूपमा प्रस्तुत गरिनुलाई पनि एक थरी विश्लेषकहरूले ब्राह्मण संस्कृतिमाथि गरिएको खुल्लमखुला खिल्लीको रूपमा लिएका छन् । यसरी ‘सुम्निमा’ उपन्यासले ‘पोलिटिकल करेक्टनेस’को दृष्टिबाट थुप्रै आरोपहरू खेप्नु परेको छ । दुई ध्रुवबाट प्रश्न उठ्ने गरेका छन् कि किराती देवीलाई नाङ्गो देखाइएको छ र ब्राम्हण संस्कृतिलाई अतिरञ्जित रूपमा खिल्ली उडाइएको छ । ऐतिहासिकतासँग मात्र जोडेर हेर्ने हो भने यी दुई तर्कहरू आ—आफ्ना ठाउँमा आफ्नै हैसियतका होलान् तर प्रतीकात्मक रूपमा बोध गर्दा कोरा प्रकृतवाद र उडन्ते आदर्शवाद दुई परस्पर विरोधी अतिवाद हुन् । सुम्निमा उपन्यासले यी दुई अतिवादी सोचहरूमाथि परिस्कारको आवश्यकता औंल्याएको छ । अन्तरसांस्कृतिक सम्मिलनको यो कालखण्डमा सुम्निमा उपन्यासले प्रदर्शित गरेको आग्रह झनै बढी महत्त्वपूर्ण भएको छ । एक्काइसौं शताब्दीको यो पूर्वार्द्धमा वर्णशङ्करता (Hybridity) भाषा, संस्कृति, रहनसहन, फेसन र वंश विस्तारको तहसम्म फैलिएको छ । मिखायल बाख्तिनलाई सम्झिदै उनको ध्वनिमहोत्सव (Heteroglossia) को ऐकिक समालोचकीय नमूना प्रयोग गर्ने हो भने उपन्यासकार कोइरालाले प्रकृतिको स्वतन्त्र प्रवाह र संस्कृतिको स्वनिषेधकारी उद्यमका वाणीहरूको सहचार्यलाई उपन्यासमा खेल्न दिएका छन् । सुम्निमाले सोमदत्तका मानवीय प्रकृतिविरोधी यावत अतिरञ्जनाहरूलाई आक्रमण गर्छे । सोमदत्तका संकीर्ण ब्राह्मणवादी चिन्तन र प्रथाप्रचलनलाई खिसिट्युरी गर्छे । उपन्यासकारले सुम्निमाको यो स्वतन्त्रतामाथि लगाम लगाएका छैनन् । त्यसकारण उपन्यासकार विश्वेश्वरमा कतिपयले ब्राह्मणवादी अहङ्कारको मनोविज्ञानले काम गरेको भनेर लगाएको आरोप त्यति जायज लाग्दैन । सुम्निमामा व्यवहारिकताको बाहुल्य छ । उनीसँग पदार्थवादी सांसारिक चेतना छ तर सोमदत्तमा उडन्ते आदर्शवाद छ । प्रकृतिमाथि निर्मम दमन छ । सुम्निमा प्रकृति (Instinct) लाई स्वतन्त्र छोडिदिन्थे भने सोमदत्त जहिले पनि दबाउन खोज्छ । यी दुई पात्रहरूमध्ये एउटी सांसारिक छे अर्को असांसारिक छ । एउटी सहज, स्वाभाविक र प्राकृतिक छे भने अर्को असहज, अस्वभाविक र अप्राकृतिक छ । सोमदत्तले मानवीय प्रकृतिलाई निर्मम दमन गरे पनि ऊ प्रकृतिको उपस्थिति र आभाषलाई निर्मूल पार्न सक्दैन । ऊ पराजित हुने युद्घमा मूर्खबहादुर (Daredevil) भएर लाग्दछ । सोमदत्त ‘माता’ शब्द प्रयोग गर्दै आफ्नो पाण्डित्य प्रदर्शन गर्छ र त्यसलाई देवभाषा भन्दछ । सुम्निमा ‘आमा’ शब्द प्रयोग गर्दै जनजीवनको भाषा रुचाउँछे । सुम्निमा मानव भएर मानवकै रूपमा रहन चाहन्छे र भन्छे,— “त्यसो भए मान्छे भएर मान्छेको बोलीमा किन बोल्दैनौ तिमी ? द्यौताको चलन गर्नुहुँदैन मान्छे भएर । मानिस भएपछि मानिसकै चलन गर्नुपर्छ, सोमदत्त । ”(७) उपन्यासमा राजपुत्रले सूर्यदत्तको ब्राह्मण परिवारको तपस्यामा कुनै पनि विघ्नबाधा नपरोस् भनेर किरात र भिल्लहरूलाई गोवध र अरु किसिमको हत्या नगर्न राजाज्ञा जारी गरेको सन्दर्भ पनि छ । भिल्ल युवक आर्यहरूसँग युद्घको पक्षमा भए पनि सुम्निमाका बाबु किराती बिजुवा साम्प्रदायिक सद्भाव कायम गर्दै मिलेर बस्नुपर्ने बताउँछन् । उनी भन्छन्— “….युद्धको सल्लाह सर्वनाशको सल्लाह हो ।” (१२) विश्वेश्वरको दर्शन समन्वयकारी छ । उनी आर्य र मङ्गोललाई प्रतिनिधित्व गर्ने यी भिन्न जातिहरू व्राह्मण र किरातको बीचमा आनुवांशिक समीकरण गराएर एउटा छुट्टै वर्णशङ्कर संस्कृतिको निर्माण गराउन चाहन्छन् । पूँजीवाद र समाजवादको समन्वयबाट प्रजातान्त्रिक समाजवादको राजनैतिक दर्शन निर्माण गरेजस्तै संस्कृति र अनुवंशको क्षेत्रमा पनि उनी त्यही समन्वयवादी दृष्टिकोण अगाडि सार्दछन् । [bs-quote quote=”सुम्निमा र सोमदत्तका संकथनहरू (Discourses) एक अर्कामा विपरीत जस्ता लाग्दछन् । सुम्निमासँग व्यवहारिक र सौन्दर्यपरक दृष्टिकोण छ । ऊ प्रकृति र चराचर जगतमा विद्यमान सौन्दर्यलाई अनुभूत गर्न र त्यसमा रमाउन सक्छे तर सोमदत्त वर्णाश्रमको वकालत गर्ने कट्टर हिन्दूवादी धर्मदर्शनबाट यसरी प्रशिक्षित छ मानौं कि सौन्दर्य चिन्तन भनेको पाप हो, अधोगतितिरको प्रस्थानविन्दु हो ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] सुम्निमा र सोमदत्तका संकथनहरू (Discourses) एक अर्कामा विपरीत जस्ता लाग्दछन् । सुम्निमासँग व्यवहारिक र सौन्दर्यपरक दृष्टिकोण छ । ऊ प्रकृति र चराचर जगतमा विद्यमान सौन्दर्यलाई अनुभूत गर्न र त्यसमा रमाउन सक्छे तर सोमदत्त वर्णाश्रमको वकालत गर्ने कट्टर हिन्दूवादी धर्मदर्शनबाट यसरी प्रशिक्षित छ मानौं कि सौन्दर्य चिन्तन भनेको पाप हो, अधोगतितिरको प्रस्थानविन्दु हो । ऊ उग्र प्रत्ययवादी सोचको सिकार भएको छ । अर्कोतिर सुम्निमा भने प्रकृतिको नियममाथि विश्वास गर्छे । ऊ भन्छे,—“पर्कितिले मिलाएको रयाङ्ठ्याङ्लाई कहाँ—कहाँका धर्मका अमिल्दा कुरा ल्याएर बित्थामा किन भत्काउन खोज्छौ ?” (१७) बाजको आक्रमणबाट परेवालाई बचाएपछि सुम्निमा उक्त परेवाको सौन्दर्यको प्रशंसा गर्छे भने सोमदत्त चाहिँ त्यसको प्राणरक्षा भयो भन्छ । सुम्निमामा स्वायत्तता छ । भावनाको सहज प्रवाह छ तर सोमदत्तमा उकुसमुकुस छ । दमित मनोकाङ्क्षाको डङ्गुर छ । फ्रायडेली पदावली सापटी लिएर भन्दा इडमाथि जबर्जस्त दमन छ । सुपरइगो (पराहाम्) ले असफल थिचोमिचो गरेको छ । संकीर्ण व्राह्मणवादी सङ्कथन (Parochial Brahministic Discourse) ले उसको चेतनलाई कथित सभ्यताको जञ्जिरभित्र जकडेर राखेको छ । तर यति हुँदाहुँदै पनि उसको अवचेतन (Unconscious) परम्परागत व्राह्मणवादी चेतनसत्ताको साँध मिचेर अगाडि जान्छ र सुम्निमासँगको कामभावनाले भित्रभित्रै पिरोलिन्छ । मानिसको सम्पूर्ण मानसको दशप्रतिशत मात्र चेतनाले निर्देशित हुन्छ, बाँकी नब्बे प्रतिशत चाहिँ अवचेतनले निर्देशित हुन्छ भन्ने तथ्यलाई पुष्टि गर्न प्रयोग गरिने दशभाग मध्ये एक भाग मात्र पानी बाहिर निकालेर तैरिने आइसबर्गको फ्रायडेली बिम्ब यहाँनिर स्मरणीय हुन आउँछ । बाल्यकालका अनुभवहरूबाट वयस्क उमेरमा पनि व्यक्ति विच्छेदित हुन सक्दैन । बाल्यवस्थामा सँगै खेलेका साथी, त्यसमा पनि विशेष गरी विपरीत लिङ्गीप्रतिको आकर्षण आजीवन अकाट्य रहने भाव फ्रायडले व्यक्त गरेका छन् । फ्रायडको मतमा “वास्तवमा, हामी कुनै पनि कुरोलाई तिलाञ्जली दिन सक्दैनौँ । हामी एउटाको स्थानमा अर्कोलाई प्रतिस्थापन मात्र गर्छौँ । जे त्यागियो जस्तो लाग्छ, त्यो त्याग नभएर अर्को वैकल्पिकको व्यवस्था भएको हुन्छ” (७१३: फ्राइड) । यही विकल्प र प्रतिस्थापनको नियम अनुसार सोमदत्त सुम्निमासँग शारीरिक सहचार्य स्थापित गर्न नसके पनि विकल्पको रूपमा धर्मपत्नीसँगको यौनसमागमको क्षण सुम्निमाको छवि (इमेज)सँग मनोरञ्जन लिन्छ । सुम्निमा शरीरको प्रशंसा गर्छे भने सोमदत्त आत्माको गुणगान गर्छ । तर यी दुवैको दृष्टिकोण अपूर्ण छ । न त शरीर नै सम्पूर्ण हो न त आत्मा नै । यी दुवै एक अर्काका परिपुरक हुन् । एउटा सन्तुलित समाजको निर्वाहका लागि यी दुवैको यथेष्ट महत्वबोध जरुरी हुन्छ । सोमदत्त भन्छ, “आत्मा नित्य छ, शरीर क्षणभङ्गुर, त्यसैले नित्यको सेवन गर्नुपर्छ र अनित्यको त्याग” (२४) । सुम्निमा भन्छे, “….जुगजुगान्तरसम्म, सधैँभरि रहिरहने कुरोलाई जोगाएर राख्नका लागि के काम हेरचाह गरिहनु पर्\u200dयो र ! त्यो त सधैँभरि छदैछ नि ! रच्छे नहुनेलाई पनि रच्छे गर्नुपर्छ …..”(२४) [bs-quote quote=”विश्वेश्वरले यो वर्णशङ्कर संस्कृतिको चेतनालाई उहिले नै आवश्यक ठाने । यो चेतना अहिले सुरु हुँदै गरेको गणतान्त्रिक युगको सफलताका लागि पहिलो अनिवार्य शर्त हो ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] नेपालमा गणतान्त्रिक राज्यव्यवस्थाको सूत्रपातसँगै सुम्निमा उपन्यासको वैचारिक चेतको महत्त्व झनै बढेको छ । एक्काइसौं शताब्दीको समाजमा एकात्मक सोच, व्यवहार र कार्यशैलीले अग्रगतिलाई सुनिश्चित गर्न सक्दैन । आजको विज्ञान र प्रविधिले सम्पन्न समाज कैयौं शताब्दी पुरानो कविलातन्त्री समाज पनि होइन । आजको समाज जातीय एवम् साम्प्रदायिक समन्वय र सद्भावबाट मात्रै शान्त र व्यबस्थित रहन सक्छ । असमावेशी र एकाधिकारवादी शैलीको अव आएर कत्ति पनि गुञ्जायस छैन । जातीय पृथकतावादी सोचले न त हिजोको समाजमा सौन्दर्य ल्यायो, न त आजकोमा सम्भव छ, न त भोलि नै हुनेछ । विश्वेश्वरले यो वर्णशङ्कर संस्कृतिको चेतनालाई उहिले नै आवश्यक ठाने । यो चेतना अहिले सुरु हुँदै गरेको गणतान्त्रिक युगको सफलताका लागि पहिलो अनिवार्य शर्त हो । निराहार, निर्जला भएर अतिशय कठोर जीवन यापन गर्ने क्रममा सोमदत्त डरलाग्दो आकृतिमा परिणत हुन्छ । भास्सिएका आँखा र कंकालजस्तो शरीर भएको सोमदत्तलाई देखेर केटाकेटीहरू डरले भाग्छन् । सुम्निमाको तरुनी बिम्बले उसलाई सधैँ लखेट्छ । ऊ भन्छ,— “यो धुकधुकी नथामिउञ्जेल सुम्निमाले मलाई छाड्ने भइन” (३१) । सुम्निमा नैसर्गिक प्रकृतिको प्रतीक हो । सुम्निमा नैसर्गिक स्वभाव हो । त्यसैले सोमदत्त त्यसबाट मुक्त हुन सक्दैन । नैसर्गिकताबाट मुक्त हुन सक्ने भए आदिम ऋषिहरू देवत्वको किनारा छुइसकेपछि पनि पुनः शारीरिक सुखको नदीमा चिप्लेर झर्दैनथे । प्राणीमानसमा अवचेतनको राज्य छ । त्यो राज्यमा काम, क्रोध, लोभ, मोहका बलिया किल्लाहरू छन् । कामवासनाको परिपूर्तिको आवश्यकतालाई कठोर अनुशासनात्मक छडीले निषेध गरे पनि त्यसको मानसिक संलग्नतालाई कसैले निमिट्यान्न पार्न सक्दैन । सोमदत्त पनि आखिर रक्तमांस (Blood and Flesh) भएको सांसारिक प्राणी हो । सोमदत्त आफ्नी पत्नी पुलोमासँग शरीरतत्त्वको बोधविहीन समागम गर्नुपर्ने मान्यता राख्छ । उसका लागि नारी र पुरुष शरीरको समागम चरमानन्द (Orgasm) का लागि होइन, यसले त वंशविस्तारको पुर्ख्यौली प्रचलनसँग मात्र सरोकार राख्दछ । यो एकलकाँटे संकीर्ण व्राह्मणवादी सोचबाट ऊ उम्कन सक्दैन किनकि ऊ अनुदारवादी गुरुकुल सङ्कथनको एकोहोरो घोकाइबाट अन्ध भएको छ । ऊ पुलोमालाई भन्छ,—“ब्राम्हणी ! पुत्रपाप्तिका हेतु सम्पन्न हुने शारीरिक समागममा शरीरतत्त्व रहँदैन, तिमीले यो बुझेकी नै छ्यौ । शरीरतत्त्वको बोध भएर शारीरिक सुखको अनुभव हुन थाल्यो भने समागमको कर्तव्यहेतु लोप भएर जान्छ, धर्म विलीन हुन्छ र धर्मको विलीयमानको त्यो स्थितिमा रहन्छ केवल पाशविक वृत्ति मात्र” (३८) । सोमदत्तलाई पुत्रलाभ नभएपछि उसले बिजुवासँग सम्पर्क गर्छ । किराती बिजुवाले आफ्नी छोरी सुम्निमालाई सोमदत्तको मनुवालाई रिझाइदेऊ भनेर अह्राउँछ । फ्रायडेली व्याख्याअनुसार बिम्बहरू नतोदर (Concave) र उन्नतोदर (Convex) गरी दुई किसिमका हुन्छन् । योनि नतोदर बिम्ब हो भने लिङ्ग उन्नतोदर बिम्ब हो । यो व्याख्या अनुसार दह योनिको प्रतीक हो । सुम्निमाले सोमदत्तलाई प्रकृतिमा फर्काउनका लागि मनुवा दहमा लैजान्छे । सोमदत्तको रिसाएको मनुवालाई पुनरागमन गराइदिन्छे । मनुवा भनेको यो सन्दर्भमा नैसर्गिक यौनचेत भनेर बुझ्न सकिन्छ । मनुवा दहमा पुगिसकेपछि सोमदत्त भन्छ,— “चारैतिरबाट वनस्पतिहरूले सुरक्षित यो सुरम्य खाडल, मलाई माताको गर्भको स्मरण लाग्छ र यहाँको यो सरोवरको जल त्यो जीवनरस सदृश लाग्छ जसबाट गर्भमा शिशु पोषण प्राप्त गर्छ” (५०) । सुम्निमा उपन्यासका पात्रहरू आफ्नो बिखण्डित स्व (Fragmented Subjectivity) लिएर बाँचेका छन् । सुम्निमा र सोमदत्त बाल्यकालीन प्रेमीप्रेमिका हुन् । यी दुवै जनाको दिलमा एकअर्काको तस्वीर अमीट रूपमा कुँदिएको थियो र छ । सोमदत्त आफ्नो कथित उच्च जातीय खान्दानबाट तल झर्न नसकेर सुम्निमासँग विवाह गर्न सक्दैन । सुम्निमासँग भने त्यस्तो जातीय भेदको भाव पाइन्न । ऊ सोमदत्तलाई भन्छे,— “…फेरि, मेरो दुल्हा तिमीजस्तै छ, ऊसँग रात बिताउँदा तिमीसँगै छु जस्तो लाग्छ । यस्तै सपनालाई अँगाल्दै त हिँड्नुपर्छ नि बाँच्नु छ भने …” (५६) । सोमदत्तकी श्रीमती पुलोमाको पतिभक्तिमा कुनै प्रश्न उठाउन मिल्दैन, तर ऊ आफ्नो बाल्यकालीन भिल्ल साथीलाई सम्झन्छे । ऊ लामो श्वास फालेर भन्छे, “कहाँ होला त्यो भिल्ल आजकाल ?” (५८) पुलोमाको अवचेतनमा भिल्ल युवकको प्रभाव तीक्ष्ण छ । [bs-quote quote=”आफ्नी सह–सत्यावती पुलोमालाई बिर्सनु तर बाल्यकालको ऐतिहासिक गर्तबाट सुम्निमाको बिम्बलाई टिपेर त्यही बिम्बात्मक किरातीनी शरीरसँग भावनात्मक तहमा एकाकार हुनु सोमदत्तको मानसिक रण्डोपन हो । उसको कठोर तपस्या र यौनमा शरीरत्वको बोध हुनुहुँदैन भन्ने मान्यता त केवल परम्पराले लगाइदिएको छद्म आवरण मात्र हो ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] सोमदत्त पनि आफ्नी ब्राम्हणपत्नी पुलोमासँगको रात्रीकालीन रतिक्रीडामा आफू किरातीनी सुम्निमासँग परमानन्दमा लीन भइरहेको भ्रम महसुस गर्दछ । उसको शारीरिक अस्तित्व पुलोमाको अङ्गप्रत्यङ्गसँग उपस्थित छ तर मानसिक अस्तित्वचाहिँ पार्थिव रूपमा अनुपस्थित सुम्निमासँग जोडिन पुग्छ । यो विरोधाभाष नै सोमदत्तको दर्शनको पराजय हो र प्रकृतिको विजय हो । आफ्नी सह–सत्यावती पुलोमालाई बिर्सनु तर बाल्यकालको ऐतिहासिक गर्तबाट सुम्निमाको बिम्बलाई टिपेर त्यही बिम्बात्मक किरातीनी शरीरसँग भावनात्मक तहमा एकाकार हुनु सोमदत्तको मानसिक रण्डोपन हो । उसको कठोर तपस्या र यौनमा शरीरत्वको बोध हुनुहुँदैन भन्ने मान्यता त केवल परम्पराले लगाइदिएको छद्म आवरण मात्र हो । सोमदत्त र पुलोमाबीचको शारीरिक समागमले उनीहरूमा रत्तिभर पनि एकत्व स्थापित गर्दैन । यी दुवै पात्र आ–आफ्नै बाल्यकालीन प्रेमपात्रहरूलाई सम्झन्छन् । सोमदत्तको छोरो जन्मिन्छ । सुम्निमाकी छोरी जन्मिन्छे । सोमदत्त र पुलोमाको शारीरिक समागमबाट छोरो जन्मिन्छ । तर यो समागमको मानसिक आयाम फरक छ । सोमदत्तको भावनामा सुम्निमा छे । पुलोमाको भावनामा भिल्ल छ । सुम्निमाको भावनामा आफ्नो लोग्नेको सट्टा सोमदत्त छ । यस्तो प्रकारको जटील यौनमनोविज्ञानको चक्रव्यूहमा पात्रहरू फसेका छन् । यहाँ जात, सम्प्रदाय र धर्मका सीमारेखाहरू भञ्जित छन् । सचेत अथवा असचेत रूपमा पात्रहरू वर्णशङ्कर संस्कृतिको रचना गर्दछन् । पात्रहरूको सचेतता अथवा असचेतता आफ्नो ठाँउमा होला, उपन्यासकार कोइराला भने जातीय सहअस्तित्वको दार्शनिक धरातलबाट वर्णशङ्कर संस्कृतिको सम्भावनालाई सङ्केत गरिरहेका छन् । सोमदत्त मर्नु अगाडि आफ्नो जीवनलाई बिफल सम्झन्छ । उसलाई यो बिफलताको आभास सम्भवतः यस कारणले हुन्छ कि ऊ प्रकृतिको अह्रावटलाई स्वच्छन्दतापूर्वक पालना गर्न सक्ने अवस्थामा रहेन । उसको सम्पूर्ण जीवन विखण्डित र विभाजित भएर बित्यो । उसले कसैलाई आजीवन प्रेम गर्\u200dयो तर त्यसको सहज र खुला अभिव्यक्ति दिन सकेन । सिग्मण्ड फ्रायड, ओशोजस्ता विद्वानहरूको आशय रहेको छ कि यौनेच्छा र प्रेमको अस्वभाविक दमनले सृजनात्मकता मर्दछ र जीवन भारपूर्ण हुन्छ । सम्भवतः यही नियम सोमदत्तका सन्दर्भमा लागू हुन्छ । सोमदत्तको छोराले बाबुको मृत्युपछि उसका सम्पतिहरू लगौंटी, धोती, कमण्डलु, मुजको डोरी, पीरा, कुशासन केही पनि जगेर्ना गर्नुपर्ने आवश्यकता महसुस गर्दैन । यस हिसाबले ऊ सांस्कृतिक रूपान्तरणतिर लहसिई सकेको छ । उसलाई सुम्निमाले आफ्नै गाउँ लैजान्छे । सुम्निमाकी छोरी र सोमदत्तको छोरो अन्तरजातीय प्रेम गर्छन् । सुम्निमा ती दुवैलाई आफ्ना पुर्ख्यौली र जातीय शैलीबाट अलि फरक भएर समन्वय कायम गर्न सिकाउँछे । मातापिताको पुस्तामा रहेको अन्तरजातीय अनुवांशिक मिश्रणको तीव्र चाहलाई कार्यरूप दिन असफल भए पनि छोराछोरीको पुस्तामा त्यो परियोजना सफल भएको छ । सुम्निमाले आफ्नो मृत्युभन्दा अगाडि नातिको अनुहार देख्न पाई । त्यो नाति अनुवांशिक रूपमा किरात र व्राह्मण दुई जातिबीचको रगतको मिश्रणबाट जन्मिएको वर्णशङ्कर सन्तान हो । सुम्निमाले आफ्नी छोरी र ज्वाइँ (सोमदत्तको छोरो) लाई सधैँभरि सम्झौताको जिन्दगी हिँड्न सिकाई । उसले भनी,— “….आज तिमीले एउटी किराती छोरीलाई आफ्नी पत्नी बनायौ… छोरीले पनि तिम्रो कुरा बुझेर आफ्नो बाटो केही छाड्न तयार हुनुपर्छ । त्यस्तै तिमीले पनि सम्झौता गर्ने प्रयत्न गर्नुपर्छ, आफ्नो बाटोलाई केही छाड्न तयार भएर । तिमीहरूको भलो होस् । तिमीहरूका सन्तान सम्झौताको बाटो झिक्न सक्ने होऊन् ।” (९४) [bs-quote quote=”सूर्यदत्तको छोरो सोमदत्त र बिजुवाकी छोरी सुम्निमाले आफूहरूलाई अवचेतनको तह हुँदै चेतनको तहसम्म अपनाउन चाहन्छन् । सोमदत्त कठमुल्लावादी धार्मिक जडताभित्र बाँचे पनि उसको अव्यक्त मनले हरेक समय सुम्निमालाई खोज्छ । सुम्निमाकी छोरी र सोमदत्तको छोरोले आफ्नी आमा र बाबुको अधुरा सपनालाई साकार रूप दिन्छन् र अन्तरजातीय रक्तमिश्रणको नयाँ परम्परा सुरु गर्छन् ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] विश्लेषणबाट हामी के पाउँछौँ भने सूर्यदत्त (सोमदत्तको पिता) र किराती बिजुवाको पुस्ताले ब्राम्हण रगत र किराती रगतलाई मिसाउने परिकल्पना नै गरेको थिएन । सूर्यदत्तको छोरो सोमदत्त र बिजुवाकी छोरी सुम्निमाले आफूहरूलाई अवचेतनको तह हुँदै चेतनको तहसम्म अपनाउन चाहन्छन् । सोमदत्त कठमुल्लावादी धार्मिक जडताभित्र बाँचे पनि उसको अव्यक्त मनले हरेक समय सुम्निमालाई खोज्छ । सुम्निमाकी छोरी र सोमदत्तको छोरोले आफ्नी आमा र बाबुको अधुरा सपनालाई साकार रूप दिन्छन् र अन्तरजातीय रक्तमिश्रणको नयाँ परम्परा सुरु गर्छन् । सोमदत्त र सुम्निमाको वर्णशङ्कर नातिनातिना पुस्ताले यो प्रयोगलाई निरन्तरता दिन्छन्, दिँदैनन् वा दिए दिएनन् उपन्यासकार आफैँ अनभिज्ञ छन् । चतराबाट खोटाङ जिल्लाको रावाखोलातिर लागेको त्यो वर्णशङ्कर शाखाको पछिल्लो कहिरन इतिहाससँग सुरक्षित छैन । हाम्रो समाजमा अहिले पनि रक्तशुद्घतावादी दर्शनमा विश्वास गर्ने कैयौं मानिसहरू छन् । विश्वेश्वरप्रसाद कोइरालाले आदिवासी जनजाति संस्कृति र व्राह्मण संस्कृतिको बीचमा विवाहको सामाजिक संस्थामार्फत वर्णशङ्कर जाति र संस्कृतिको निर्माण गर्ने मध्यमार्गी समन्वयवादी दृष्टिकोण अगाडि सारेका हुन् । यो दर्शनमाथि कतिपय व्राह्मण असहमत छन् । उनीहरूको विचारमा अन्तरजातीय रगतको सम्मिश्रणले ब्राम्हणहरूको जातीय शुद्घता नामेट हुन्छ । कतिपयले किरातीहरू व्राह्मणहरू जति सभ्य र सुसंस्कृत हुँदैनन् भन्ने अहङ्कारपूर्ण तर्क पनि अगाडि सार्छन् । त्यसैगरी कतिपय किरातीहरू यस्तो तर्क गर्छन् कि आर्य रगत शक्तिशाली हुन्छ । जब यो मंगोलियन अथवा अन्य कुनै रगतसँग मिसिन्छ यसले आदिवासी जनजातिको वंशाणुगत विशेषताहरूलाई न्यूनीकरण गरेर आफ्नो प्रभुत्व कायम गर्दछ । अर्को शब्दमा भन्दा उनीहरू Super Gene Theory को तर्कलाई अगाडि सार्दछन् । संख्यात्मक हिसाबले ठूलो जातिसँग रक्तसम्बन्ध स्थापित गर्दै जाँदा अल्पसंख्यकहरूको विशिष्ट जातीय पहिचान, अनुवांशिक विशेषता र मौलिक संस्कृति धराशायी हुँदै जाने भन्ने पनि उनीहरूको तर्क रहेको छ । वर्णशङ्करवादीहरू भने यस सम्बन्धमा के तर्क अगाडि सार्दछन् भने संस्कृति भनेको गतिशील विषय हो । यो भूतकालमा जम्मा भएको खजाना मात्र होइन । संस्कृतिको निर्माण वर्तमानमा पनि भइरहेको हुन्छ र भविष्यमा पनि हुनेछ । सिद्धान्तकार होमी के.भाभा उत्तरऔपनिवेशिक समय सन्दर्भमा संस्कृतिहरू एकअर्कासँग मिसिएको ठान्दै “संस्कृतिहरूको शुद्धता वा जन्मजात मौलिकताको दावी बचाउ गर्न नसकिने कुरो हो” भन्दछन् । (यास्क्रफ्टमा उद्यृत, ६१) । नेपाली समाजको सन्दर्भमा पनि दर्जनौँ संस्कृतिहरूको सङ्गम भेटिन्छ । बहुसांस्कृतिक समाजमा तिनीहरू एकअर्कालाई प्रभाव पार्ने र एकअर्काबाट प्रभावित हुने क्रम जारी थियो, जारी छ, जारी रहनेछ । सुम्निमा र सोमदत्तका सन्तानहरू पनि वर्णशङ्कर संस्कृतिको दायरालाई फराकिलो पार्दै जानेछन् । अन्नबाली, फलफूल, चराचुरुङ्गी र जनावरमा अन्तरजातीय, अन्तरउपजातीय परागसेचन र वीर्यसेचनले अर्को उन्नत जातिको विकास भइरहेको छ भने मानव जातिमा पनि यसको प्रयोग गरेर जातीय र सांस्कृतिक तनाव, द्वन्द्व एवम् टकरावलाई मत्थर पार्दै वर्णशङ्कर जाति र संस्कृतिको विकास गर्नुपर्ने हुन्छ । जे होस्, अन्तरजातीय विवाह मार्फत् निर्माण गरिने वर्णशङ्कर संस्कृतिको विषय अबको समयसन्दर्भमा एउटा सांस्कृतिक मात्र नभएर प्राज्ञिक, सामाजिक, राजनैतिक र वैज्ञानिक वंशशास्त्रसँग समेत जोडिएको जल्दोबल्दो विषय हो । भूमण्डलीकरणको दुनियाँमा जातीय समन्वय र अन्तरद्वन्द्वका रूपहरू तीव्र रूपले निर्मित, विनिर्मित र पुनर्निर्मित हुने प्रक्रियामा छन् । जातीय समन्वय तथा आध्यात्म र भौतिकताको बीचमा समन्वयको ध्वनि यस उपन्यासमा पाइन्छ । शरीर र आत्माको छुट्टाछुट्टै एकलकाँटे महत्व देखाउने अतिवादी दर्शनबाट बिचलित भएर उपन्यासकार कोइरालाले दैहिक र आत्मिक दुनियाँको समन्वयमा जोड दिएका छन् । प्रजातान्त्रिक समाजवादको जीवनदर्शन भनेको पनि पुँजीवादी र साम्यवादी दर्शनका चरमताहरूलाई कटौती गरेर स्थापित गरिएको सन्तुलित दृष्टिकोण हो । राजनैतिक दर्शनको सोझो अभिव्यक्ति उपन्यासमा नभए पनि त्यही दर्शनको मध्यमार्गी मर्म घुमाउरो शैलीमा छचल्किएको छ । विश्वेश्वरप्रसाद कोइरालाले मिथक र यथार्थको गोधूलि चेतनाबाट अभिप्रेरित भएर लेखेको यस उपन्यासमा अर्थका अरु कैयौं सम्भावनाहरू छन् । यति हुँदाहुँदै पनि वर्णशङ्कर संस्कृतिको चेतना वृहत् रूपमा उजागर गरिनुपर्ने एउटा समालोचकीय इकाइ हो । [bs-quote quote=”यो लेखमा मैले वर्णशङ्कर संस्कृतिको ऐकिक उपागमलाई प्रयोग गरेँ । त्यही बेला जातीय प्रतिनिधित्वको एकाइ, आत्मा र शरीरको द्वैतवादी दर्शनको एकाइ, प्रकृति र संस्कृतिबीचको द्वन्द्वको एकाइ, लैङ्गिक अहंको एकाइ, बिम्ब उपस्थितिको एकाइ, यौनमनोविज्ञानको एकाइ लगायतका ऐकिक नमुनाहरू आ—आफ्नो अस्तित्वको दाबी गर्दै अगाडि आएको महसुस गरेँ । मैले नचिनेका, नबुझेका र खुट्याउन नसकेका अरु एकाइहरू त्यहाँ हुन सक्छन् । चक्रव्यूह सञ्चेतनाको घोषणापत्रमा भनिएजस्तै समालोचना निरन्तरगामी परियोजना हो ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] पाठक महोदय ! समालोचक भएर सिद्धान्तपरक पठन गरिरहँदा मैले एउटा अप्ठ्यारो महसुस गर्ने गरेको छु । एउटा एकाइबाट विश्लेषण गरिरहेको बेला अरु एकाइहरू पनि एक अर्कामा उछिनाउछिन् गर्दै समालोचकसँग आफ्नो पहिचान र उजागरको माग राख्दछन् । यो लेखमा मैले वर्णशङ्कर संस्कृतिको ऐकिक उपागमलाई प्रयोग गरेँ । त्यही बेला जातीय प्रतिनिधित्वको एकाइ, आत्मा र शरीरको द्वैतवादी दर्शनको एकाइ, प्रकृति र संस्कृतिबीचको द्वन्द्वको एकाइ, लैङ्गिक अहंको एकाइ, बिम्ब उपस्थितिको एकाइ, यौनमनोविज्ञानको एकाइ लगायतका ऐकिक नमुनाहरू आ—आफ्नो अस्तित्वको दाबी गर्दै अगाडि आएको महसुस गरेँ । मैले नचिनेका, नबुझेका र खुट्याउन नसकेका अरु एकाइहरू त्यहाँ हुन सक्छन् । चक्रव्यूह सञ्चेतनाको घोषणापत्रमा भनिएजस्तै समालोचना निरन्तरगामी परियोजना हो । चक्रव्यूह सञ्चेतनाको नजरमा हरेक पाठतत्त्व (Text) स्वयंमा अर्थहरूको चक्रव्यूह हो । सिद्घान्तपरक पठन गर्न सक्ने पाठकहरू र समालोचकहरू यसभित्र एकाइको सहाराले कुशलतापूर्वक प्रवेश गरेर कुशलतापूर्वक बाहिर निस्कन सक्छन् । काव्यिक आल्हाद यही पसाइ र निस्काइमै अन्तरनिहित छ । ‘रिच्युअलिष्टिक’ समालोचकहरू भने प्रभाववादी, जीवनीपरक, विवरणात्मक र सूत्रपरक प्राध्यापकीय शैलीमा अल्झेर एक्काइसौं शताव्दीको प्राज्ञिकतलाई घाटा लगाइरहन्छन् । अर्थ महोत्सव– जिन्दावाद !!! Semantic Carnival – Jindabad !!! सन्दर्भसूचीः Ashcroft, Bill, Gareth Griffiths, and Helen Tiffin. Key Concepts in Postcolonial Studies. London : Rouledge, 1998. Freud, Sigmund.”Creative Writers and Daydreaming.” Critical Theory since Plato. ed. Hazard Adams.Rev.ed.Fortworth : HBJC,1992. कोइराला, विश्वेश्वरप्रसाद—सुम्निमा, ललितपुरः साझा प्रकाशन, २०६३ । #सुरेश हाचेकाली |
को हुन् आमा?: आमा ती हुन्, जसले हामीलाई जन्म दिइन् जसले हामीलाई पिता चिनाइन् जसले हिंड्न सिकाइन् आमा ती हुन्, जसले हामीलाई संघर्ष गर्न सिकाइन् सत्यताको मात्र बाटो अँगाल्न सिकाइन् जस्ले मर्यादा र कर्तव्यको पाठ सिकाई, हामीलाई शिक्षित र संस्कारी बनाइन् आमाको हुन् भनेर फेरि पनि तिनी सोध्ने गर्छौं, अझै आमा हुनुको परिभाषा खोज्छौ? जस्ले सिर्फ दिन, त्याग्न र सहन जानिन् नौ महिनासम्म गर्भ मा राखी, आफू मरे तुल्य भई, तिमीलाई जीवन दान दिइन् शरीरमा बगेको रातो रगतको धारा, तिम्रो मुटुको ढुकढुकी हुन् आमा जुन धर्तीमा उभिएका छौ, ती धर्ती हुन् आमा… तिमी, तिमी हौ भनेर परिचय गराउने हुन् आमा जुन नाममा गर्व गर्छौ तिमी, त्यो नाम दिने हुन् आमा सृष्टिको पहिलो नाम हुन् आमा मलाई भनी देऊ, आमा बिना के अस्तित्व छ तिम्रो? जुन तिमी मेरो भन्छौ, त्यो सबै आमाको आशीर्वाद हो तिमी त केही छैनौ, फगत खाली… विराटनगर #भारती पोखरेल #विराटनगर |