text
stringlengths
146
47.7k
बुकर उपाध्यक्षबाट अपदस्त गर्न लेखकहरूको आग्रह: बेरोनेस निकोल्सन बुकर पुरस्कारकी उपाध्यक्ष बेरोनेस निकोल्सनलाई उनको पदबाट बर्खास्त गर्न लेखकहरूको एउटा समूहले बुकर पुरस्कारसमक्ष आग्रह गरेका छन्। उनी समलिङ्गीहरूप्रति अति नै पूर्वाग्रही भएको बताउँदै उनीमाथि कार्बाही गर्न बुकरसमक्ष आग्रह गरिएको द टाइम्स पत्रिकाले जनाएको छ। ७८ वर्षीया निकोल्सन बुकर पुरस्कार स्थापना गर्न सहयोग पुर्याउने सर माइकल केइनकी विधवा हुन्। त्यही हैसियतले उनी बुकरकी उपाध्यक्ष बनेकी हुन्। उनी सांसद पनि हुन्। ट्वीटरमार्फत् उनले समलैंगिक विवाहका सन्दर्भमा उनले संसदमा विपक्षमा मतदान गरेको खुलासा भएपछि उनीमाथि कार्बाहीका लागि एलजिबिटी अभियन्ताहरूले आग्रह गरेका हुन्। एलजिबिजी लैंगिक अल्पसंख्यकहरूको समुदाय बुझाउने छोटकरी रूप हो। यसअघि पनि उनले बेलायती ट्रान्सजेन्डर अभियन्ता मुन्रो बर्गड्रफलाई ‘अनौठी प्राणी’ भनी सामाजिक सञ्जालमा टिप्पणी गरेकी थिइन्। उपन्यासकार डेमियन बार लगायतका व्यक्तिहरूले उनको पुरस्कार निर्णय गर्ने ठाउँमा रहेको सहभागिता अल्पसंख्यकहरूका लागि खतरनाक भएको भन्दै उनलाई हटाउने अभियान नै शुरू गरेका छन्। उनले ट्वीटरमा भनेका छन्, ‘एउटा गे लेखकका हिसाबले उनले जसरी होमोफोबिया बढाउन मद्दत गरिरहेकी छन्, त्यस हिसाबले उनी सो पुरस्कारको बोर्डमा बस्ने कुनै नैतिकता छैन।’ यता पुरस्कारको कार्यालयले भने उपाध्यक्ष निकोल्सनको धारणा उनको निजी भएको र निजी धारणा व्यक्त गर्ने छुट भएको जनाएको छ। यसअघि सन् २००९ मा पुरस्कार सञ्चालन गर्ने संस्थाको ट्रस्टीबाट उनले राजिनामा दिएकी थिइन्। संस्थाले त्यसयता उनलाई पुरस्कारको बोर्ड उपाध्यक्षका रूपमा राखेको थियो। उपाध्यक्षको पुरस्कार सञ्चालन तथा फाउन्डेसनको दैनिक क्रियाकलापमा कुनै भूमिका हुँदैन। यता निकोल्सनले भने आफू होमोफोबिया नरहेको र यदि कसैले यही धारणा व्यक्त गरेकै कारणले बोर्ड उपाध्यक्षबाट हटाउन खोज्छ भने त्यो सबैभन्दा ठूलो गल्ती हुने भन्दै धम्क्याएकी छन्। आफ्नो कुन चाहिँ भनाइका कारण होमोफोबिक देखियो भन्ने कुनै प्रमाण पेश नगरी चर्चामा आउन केहीले लगाएको आरोपमा आफूले कुनै दम नदेखेको उनले गार्डियन पत्रिकालाई बताएकी छन्। ‘अ ब्रिफ हिस्ट्री अफ सेभेन किलिङ्स’ उपन्यासबाट बुकर पुरस्कार हात पारेका मार्लन जेम्सले भने आफ्नो गल्ती मान्नुको साटो निकोल्सनले उल्टै धम्क्याएकोमा खेद प्रकट गरेका छन्। उनले भने, ‘गम्भीर किसिमको टिप्पणी गर्नेहरूलाई यो मेरो निजी धारणा हो भन्ने छूट छैन किनभने उनीहरू ठूलो निर्णयकर्ताका रूपमा ठाउँमा बसिरहेका छन्। यो दुर्भाग्य हो।’ यसअघि पनि जेके रोलिङ यस्तै टिप्पणीका कारण विवादमा परेकी थिइन्। #जेके रोलिङ #द टाइम्स
चिउराको बोट: मन चंगा त घरमैँ गंगा भन्ने श्यामहरि पण्डित आफू जातमा ‘जैसी भ\u200cए नि भैँसीसम्म नछोएको’ विद्वता आफैँ बताउँथे । आफूलाई जुनसुकै विधामा पारंगत ठान्ने उनी राजनीतिदेखि धर्मकर्मसम्मको व्याख्या गर्न सक्थे । चिया दोकानदेखि जाँड भट्टीसम्म उनको रूप बारे सबैको चर्चा नै सुनिन्थ्यो । आफ्ना बारेमा जे जस्ता हुन्, चर्चा चलेको उनलाई पनि मन पर्थ्यो । भण्डारीलाई भडारी, देवकोटालाई देउकोटा, ढुङ्गानालाई ढ्वाँनु, र सापकोटालाई साउकोटा बोल्ने यिनै पण्डितको बोलीको नक्कल गर्दै युवाहरू उनलाई पडित भन्थे । त्यसो त उनले अंग्रेजीलाई औँरेजी, ईङ्लिशलाई ईन्लिश भन्थे भनेर अब भनिरहनु नपर्ला । चिया पसलमा आफूलाई अंग्रेजी साहित्यका शेक्सपियर मान्ने उनको अंग्रेजी सुनेर चिया सर्काउँने पनि थुप्रै हुन्थे । एकदिनको कुरा हो, चिया पसलमा अर्काको नामको चिया खाइरहेका उनले घटना सुनाउँन शुरू गरे । “आज ब्यान गाडीको ठक्करबाट अन द ‘सपट’ दुईजना टक्लक्कै मरेको आँखाले देखेँ ।” मरेको कुरा सुनाउँदा अरू सबै हाँसे । उनी अझै थप्दै थिए, “बस ‘सटेशन’ मा मैँले देखेको कुरा पत्याउँदैनौ ।” भन्दाभन्दै झन् हाँसोको उल्लास भयो भने चियावालाले चिया उम्ली पोखिएपछि मात्रै थाहा पायो । कुराकै क्रममा फेसबुकमा भर्खरै पोष्ट गरेको नातिनीको फोटोलाई ‘कुति’ भनेकोमा उनलाई साह्रै रीस उठेछ, उल्टै ‘तेरा तीनपुस्ता कुत्ती’ रिप्लाई दिएको भन्दैगर्दा झनै अट्टहास चल्यो । ‘अन द स्पट, स्टेशन र क्यूटी’ को यो गतिपछि उनको अंग्रेजीले अझ बढी गति लिँदै जान थाल्यो । संस्कृत र नेपालीमा पनि आफूलाई अब्बल ठान्ने उनको आँटलाई सम्मान गर्न राज्यले त्रिशक्तिपट्ट नै ब्यूताउँनुपर्ने हो । कसैको बोलीबाटै ह्रस्व र दीर्घ पनि छुट्याउँन सक्ने खुबी भ\u200cएका खुबीलाल काका पनि थिए । आँ गर्दा अलंकार बुझ्छु भन्ने उनले एक दिन आँ गर्दा चुरोटको ठुटो उल्टो तानेको कुरा पनि छँदैछ । भन्थे “अघिल्लो शन्शरबार ब्यान तीन छाकको खाना दारेपछि कुम्भकर्ण तरिकामा घुर्दै निदाइछु ।” हुन त कुम्भकर्ण कानकै सिरानी हालेर अर्को कानको सिरक बनाई ओड्थे भन्छन् । छिप्पड र गँठरो घिरौँला जत्रो नाकै सिरानी हाले पनि के भो र । कुरा खुबीलाल काकाकै । छोरी ब्या गर्ने बेला ज्वाईँसाप त माड्साप पो हुन् भन्दा दुई चोटी ‘साप’ लाउन मिल्ने कि नमिल्ने भनेर जस्ताघरे ‘तिम्सिनु’ लाई सोधेछन् । त्यसो त सके डाक्टरसाप, ड्राइभरसाप, हल्दारसापलाई, झनै सके सापका पनि बाप माड्सापलाई छोरी दिनुपर्छ भन्थे । माड्सापकी स्वास्नी नपढे नि लोकलाजले पढाउँछन्, जाँडको लात्ती त हान्दैनन् भन्ने तर्क राख्थे उनी । तीन पुस्तादेखि यही गाउँमा बसी लुगा सिउने पेशा गरेका बहादुर बाजे आफू तीन कोशबाट कपडाबारे जान्ने बताउँथे । गाउँमा आजकल ब्राह्मण, क्षत्री, तामाङ, मगर आदीले पनि कपडा सिलाउँन थालेता पनि बहादुर बाजेले माटो र थुकको चिन्ह लगाउँदै पर्खाल परैबाट नापो लिन सक्ने भ\u200cएकाले उनकोमा ग्राहकको कमी छैन भनी सित्तैको विज्ञापन मन्दिरदेखि धारोसम्म, चिया दोकानदेखि किरानासम्मआफैँ बजाउँथे । रक्सी उहिल्यै छोडेकोले त्यसको नाम लिँदा पनि दुई आखीभुईँ जोड्थे । कुनताका बुहारी चटपटे खाकी भन्दै माइली काकी भात खाने बेलाँ चटपटे खाएर भात खेर ग\u200cएको भनी भैँसी गोठमा पुगेर सराप्थिन् । भैँसी पनि सहमति भ\u200cएझैँ टाउको हल्लाउँथ्यो । हुन त माथ्लाघरे कसारे बज्यै पनि ‘गाईले कुरो बुझेर टाउँको हल्लाउँछिन्’ भन्थिन् । भैँसीलाई पुरूष र गाईलाई महिलावाचक सम्मान सुनेर व्याकरण जान्दछु भन्ने करन कर्ण सर पनि दङ्गै पर्दथे । असारे, बेसारे र कसारेकै चर्चा हुन्छ गाउँठाउँमा । कुरा कसारे बज्यैकै । परारैसाल छिमेकीको ब्यामा जाँदा मट्याङ्ग्रे कसार टपरीमा, अञ्जुलीभरीकाचाहिँ पोल्टामा हालिछन् । घर जानेबेला घरबेटीले दुइदुइटा कसार हातमा राखिदिएकोमा जुरूक्क उठ्दा पोल्टोले कोल्टो फेरेछ । भ\u200cए भरको कसार भैँमा फ्यात्तै । त्यसपछि तिनलाई तीन दिनसम्म ज्वरो आयो भन्थे । आजकल चिउराको बोट खोज्ने म बबुरो आफ्नै सोझासिधा छरछिमेकीको खेदो खनेर व्यंग्य गर्न थाल्याछु । यस्ता व्यंग्य त नफुर्दे नि हुँने गाँठे । चुनाव जित्या नेता हो र ? गाउँ फर्की जानु पर्छ नि हाम्लाई । हेटौँडा #संप्रस पौडेल #हेटौँडा
मजस्तै महरु: महेश्वर शर्मा पारि भञ्ज्याङको रमेश दश वर्षअघि परदेश लागेको हो माथिल्ला घरे विजयको पासपोर्टमा भिसा लागेपछि उसले विजय उत्सव नै मनाएको हो आफ्नै घर छाउन जीवनले घर छोडेकै हो मेरो देशको छानो छाउन मजस्तै महरुले देश छोडेकै हुन्। मजस्तै महरु छातिमा देश टाँसेर बाँचिरहेछन् परदेशमा उता देश दुख्दा परदेशका महरुको पनि देश दुख्छ उता देशको हृदय भत्किंदा यता महरुको पनि हृदय भत्किन्छ उता देश रुँदा परदेशका महरुको पनि आँखा रसाउँछ यी महरु यस्तै छन् भन म के गरुँ? मेरो घरको दलिन, पिँढी मझेरी र आँगन भरि महामारीको आक्रान्त बोकेर सिङ्गो घर काँपिरहँदा परदेशका महरुको हृदयको घर पनि काँप्दोरहेछ। भन के गरुँ ? यी महरु यस्तै छन् अचेल घरको पिँढी कुरेर बसेकी मेरी आमा मेरो बा, मेरी श्रीमतीले मेरो सानो छोरालाई सम्झाइरहेछन् र भनिरहेछन् तिम्रो बा भोलि आउनुहुन्छ र हामी सँगै हुनेछौँ मेरो छोराको भोलि कहिल्यै आएन भने? परदेशका महरुले यस्तै सोधिरहेछन् भनिरहेछन् परदेशका महरुको भोलि कहिले आउला? उता घरको छानो छाउनु छ बा आमालाई दुई छाक खाना खुवाउने जोहो गर्नु छ श्रीमतीलाई नयाँ लुगा हालिदिनु पर्नेछ सानो छोरालाई खेलौना किनिदिनु पर्नेछ पेटभरि खान पुग्ने एक हल मेलोको बारी आफ्नो बनाउनु छ यत्ति सपना पूरा गर्नु छ तर परदेशका महरुको जीवन नै बाँचेन भने? हरेक बिहानको सूर्य उदयमा आफ्नै सन्ततिको मुस्कान मिसिएको पारिलो घामको पर्खाइमा रमाउने परदेशका महरुको सपना कतै स्खलित भयो भने? बा आमाको भोको पेट कसले भर्ला घरको छानो कसले छाउला मेरो देशको छानो कसले छाउला? अध्यक्ष अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यु साउथ वेल्स, अस्ट्रेलिया #अस्ट्रेलिया #महेश्वर शर्मा
व्यग्रता: विमल किशोर श्रीवास्तव अश्रु भएर नयनहरुबाट तिम्रो बग्न पनि सक्दिनँ न त रक्तकोसिकाहरुबाट तिम्रो सन्चारित हुन सक्दछु, रगत भएर धड्कन बनेर मुटुबाट तिम्रो धड्किन पनि सक्दिनँ यद्यपि तिमी मेरो शरीरको अकाट्य अङ्ग भएको आँकलन गर्दछु। सुगन्ध भएर श्वासभित्र तिम्रो प्रवेश गर्न पनि सक्दिनँ न त आफ्ना भवनाहरु उजागर गर्न सक्दछु, जादुगर भएर सुमधुर धुन बनेर आवाजमा तिम्रो जोडिन पनि सक्दिनँ तथापि तिम्रो आत्माको उपस्थिति आफ्नोमा महसुस गर्दछु। छाल भएर इच्छाको सागरमा तिम्रो डुबुल्की मार्न पनि सक्दिनँ न त चपलतामा तिम्रो सम्लग्न हुन सक्दछु, मायावी भएर प्रवचक बनेर चाहनाहरु आफ्ना तिमीलाई व्यक्त गर्न पनि सक्दिनँ तथापि हरकदम तिम्रै समर्थन पाएको म भान गर्दछु। मन्द पवन भएर कोमल शरीरमा तिम्रो स्पर्श गर्न पनि सक्दिनँ न त चुम्बन गर्न सक्दछु तिमीलाई, भवरा भएर सहयात्री बनेर सुखदुःखमा तिम्रो साझी हुन पनि सक्दिनँ तथापि सदैव तिम्रो प्रेम, दर्शन प्राप्त गरेको अनुभव गर्दछु। विराटनगर #विमल किशोर श्रीवास्तव #विराटनगर
ए जिन्दगी: अरूण पाैडेल ए जिन्दगी सधैँजस्तो आज पनि उदायो सूर्य तर म बिल्कुल अञ्जान छु आजकल कुन बेला उदाउँछ सूर्य कुन बेला अस्ताउँछ सूर्य म बिस्ताराबाट मेरो समयमा उदाउँछु घाम आफ्नै सयममा उदाउँदो हो घरमै छँदा बिहानै उठेर घर बाहिरको खाटमा बसी चिया पिउदै गर्दा मोठ माथिबाट जाँदै गरेको घामको झुल्को मसम्म आउँथ्यो सायद म पनि बिरानो भएँ सायद घाम पनि बिरानो भएर होला आजकल बिहानीका पारिला घामहरु मलाई छुन आउँदैनन् आउन त आउँछन् मात्र तेजिला प्रकाशहरुले पोलेर जान्छन्। ए जिन्दगी खोइ कस्तो हुन्छ भाग्य कहाँ हुन्छ भाग्य कोही घरदेश छोडेर विदेशका भव्य महल देख्नुलाई भाग्य सम्झन्छन् कोही आफ्नै माटोमा पसिनाको कमाई खानु भाग्य सम्झन्छन् विदेशका भव्य महल, रेलका लिक र डिब्बाहरू हेरेर मात्र जिन्दगी चल्थ्यो भने म पनि मेरो घरको एउटा कोठामा ठूलो पोस्टर बनाएर टाँस्ने थिएँ। म यता विदेशका चिल्ला बाटोहरुमा ट्याक्स तिरेर हिँड्छु उता मेरो घरको आँगनमा दुबो र मोथे उम्रन्छ बा-आमाको हातमा ठेला उम्रन्छ सम्झिदा आफ्नै जिउमा काँडा उम्रन्छ भन ए जिन्दगी उता घरको आँगनमा मोथे र झार हुर्किरहँदा मेरो सरकार लाश र रेमिटेन्ससँग फुर्किरहँदा अनि म कसरी भाग्यमानी हुन सक्छु? जिन्दगीका उधारो हिसाबहरु मिलाउने व्यस्ततामा धेरै कुराहरु छुटेका रहेछन् ए जिन्दगी, थाहा छ तँलाई? आफ्नै पिँढीमा बसेर आकाश नहेरेको धेरै वर्ष भएछ जून नदेखेको वर्षौं बितिसकेछ र, तारा नगनेको पनि धेरै वर्ष भएछ। ए जिन्दगी म त्यही अभागी हुँ समयले बिस्तारै बिहानीको पारिलो घामबाट छुटायो जून देख्ने समयहरुबाट छुटायो तारा गन्दै सुत्ने रातहरूबाट छुटायो र, समयले यसरी छुटायो कि आफ्नै घरको आँगनबाट छुटायो। चितवन, नेपाल हालः जापान उपाध्यक्ष, अनेसास जापान #अरुण पौडेल #चितवन
अछुत पाठशाला: हिमलाल श्रेष्ठ समय रोकिएको हो किजस्तो लाग्छ। जति बेला मेरा कलिला हातहरुले कनिकुथी ‘क’ लेख्थ्यो, जति बेला मेरो कलिलो मस्तिष्कमा एक युग परिवर्तनको अमीट छाप बस्नु पर्थ्यो, जति बेला मेरा भावनाले संसार विचरण गर्ने भन्थ्यो, जति बेला मेरा पाइलाहरुले संसार नाघौँ भन्थ्यो, मलाई मेरो कपुरी ‘क’ लेख्ने धुलौटो संसार चियाउने ऐनाजस्तो लाग्थ्यो। मलाई मेरो पाठशाला देवभूमिझैँ लाग्थ्यो र मलाई ‘क’ घुमाउन सिकाउने हसिना बेगम मलाई संसारकै उत्तम आमा जस्ती लाग्थ्यो। समयले राम्रोसँग पाइला चाल्न नपाउँदै एक दिन मैले त्यो दिनसम्म कहिलै नभोगेको अनि नसोचेको अनौठो घटना घट्यो। अनकन्टार पहाडी खोंचहरुको एक खोंचमा मेरो सानो पाठशाला थियो। होनहार समाजसेवीहरुले अन्धकारलाई चिरेर उज्यालो छर्ने भन्दै खोलिदिएको पाठशालामा वर्षौंदेखि पढाउने गर्थिन्- हसिना बेगम। न राम्रो तलब, न पेन्सनको व्यवस्था। न कुनै आकर्षक सुविधा! एउटी नारी हुनुको परिचय– धैर्यताको अब्बल नमुना। रातोदिन खटेर पाठशालाको अनि भविष्यका उज्ज्वल ताराहरुको पथ प्रदर्शक बनिरहिन्। त्यो दिन एउटा कालो दिन, न्याय मरेको दिन, सत्यले असत्यसँग हारेको दिन। म शिशु छँदा घटेको त्यो घटना सम्झदा अझै पनि मलाई भाउन्न भएर आउँछ, कहाली लागेर आउँछ। भिडहरुले कसरी संवेग गुमाउँछ, लहैलहैमा कसरी मानिसहरु विवेक गुमाउँछन् भनेर अझै पनि मलाई उदेक लागेर आउँछ। त्यो दिन ‘पाले सर’ जसले दैनिक फलाम पिटेर आरनमा बनेको घन्टी टिङटिङ बजाउने गर्थे, आइपुगेकै थिएनन् र घन्टी बजेकै थिएन। एक हुल मानिसहरु आए र हसिना बेगमको चुल्ठो समातेर गलहत्याउँदै लखेटे। हामी बालकहरु डरले अनि आसुरी समयको छनक सम्झेर कक्षाभित्र भएका सबै साथीभाइ गुजुल्टो परेर बस्यौँ। पछि गाउँका भद्र भलाद्मी बसेर छिनोफानो भयो रे भन्ने सुनियो– हसिना बेगमलाई पाठशालामा भएको माटोको घैंटोमा भरिएको पानी छोएको आरोपमा पाठशालाबाट निकालिएको हल्ला फैलियो। नभन्दै त्यो दिनदेखि मैले मेरो पाठशालामा अनि देखे-घुमेको ठाउँमा कतै पनि हसिना बेगमलाई देखिनँ अझै पनि समय त्यहीँ रोकिएको जस्तो लाग्छ– हसिना बेगमले हारेको समय। बाल मनोविनोदमा सामाजिक न्यायले हारेको समय। शिक्षाको उज्यालोभित्र गुम्सिएका छुत अछुतका अँध्यारा अध्यायहरु- अझै टाउको उठाउँछन्। #डा. हिमलाल श्रेष्ठ #भक्तपुर
बाबुरामले ढालेका सालका रूखहरू: वि.सं. २०२६ सालतिरको कुरो हो । यो पंक्तिकारको दिमागमा त्यतिबेलाको धमिलो दृश्य सलबलाइरहेको हुन्छ । यदाकदा घुमिरहन्छ । विद्यालयको आँगनमा दुईवटा पंक्तिबद्ध लाइन उभिएका थिए । एउटा पंक्तिमा केही अग्ला विद्यार्थीहरू थिए भने अर्काको साना अनि होचा । दुवै पंक्ति आमने–सामने थिए । होचा विद्यार्थीहरूले आफ्नो हातमा फूलको माला लिएका थिए । उनीहरूले पालैपालो आफ्नो सामुन्ने उभिएका अग्ला विद्यार्थीहरूलाई लगाइदिए । वरिपरि उभिएका शिक्षक र विद्यार्थीले सकुञ्जेल ताली बजाए । आँगनको छेउमा उभिएको यो पंक्तिकारले पनि सकुञ्जेल ताली बजायो तर थाहा छैन किन बजायो । त्यसको तीन–चार महिनापछि स्कूलमा अर्को खैलाबैला भयो । हाहाकार मच्चियो । स्कूल नजिकै छात्रावास थियो, छात्रावासमा झन् चर्काचर्की पर्यो । कोही झ्यालबाट कराउन थाले, कोही छात्रावासबाट कराउँदै विद्यालयको आँगनसम्म आए । उफ्रन थाले । तर यो पंक्तिकारलाई थाहा छैन, यिनीहरू किन उफ्रिए । त्यही दिन दिउँसो विद्यालयका हेडमास्टरले आफ्नो रेडियो स्कूलमा ल्याए, अनि बजाए । रेडियोले दिउँसोको समाचार भनेको मात्र थियो, तत्काल विद्यार्थीहरू उफ्रन थाले । सबै शिक्षक खुशी भए । कहिल्यै नहाँस्ने हेडमास्टरको अनुहार पनि उज्यालो देखियो । उनी मुसुक्क हाँसे । तर शिशु–कक्षामा पढ्ने यो पंक्तिकारलाई थाहा भएन, विद्यार्थी किन उफ्रिए । हेडमास्टर किन मुस्कुराएँ । साँझ स्कूल बिदा भएर यो पंक्तिकार घर आयो । तर पंक्तिकार सधैंको भन्दा निकै खुसी थियो । किनकि आज उसले स्कूलमा रेडियो देख्यो, बजेको सुन्यो । यही खुशी दाइहरूलाई सुनायो, दिदीहरूलाई सुनायो । अनि सासै नफेरी आमा–बुबालाई पनि भन्यो । तर कोही पनि आश्चर्य मानेनन् । कसैले पनि चासो देखाएनन् । किनकि त्यतिबेला पूरै गाउँ–बस्ती नै अर्को खुशीमा सामेल भइसकेको थियो । त्यो दिन बाबुराम २०२६ सालको एस.एल.सी. मा बोर्ड फष्ट भएका थिए । स्कूलको छेउमा उभिएर ताली बजाउने यो पंक्तिकार आज नगेन्द्र न्यौपाने भएको छ भने माला लगाएर घरतिर जाने विद्यार्थीमध्येका एउक विद्यार्थी डा. बाबुराम भट्टराई भएका छन् । मलाई पछि थाहा भयो । नौ कक्षाका विद्यार्थीले दश कक्षाका विद्यार्थीलाई बिदा गरिएको दृश्य थियो त्यो । तर मैले त्यतिबेला बुझेर हो वा नबुझेर बेस्सरी ताली बजाएँ । रेडियो नेपालबाट बाबुरामको नाम सुन्दो पनि ताली बजाएँ । तर मलाई अहिले पछुतो लाग्छ । किन मैले उफ्री–उफ्री ताली बजाएँ । किन मैले मेरा कलिला हातलाई आफैँले पिटेँ । किनकि जुन दिन स्कूलमा ताली बज्न शुरु भयो, अनि जुनबेला रेडियोले बाबुरामको नाम सुनायो, त्यो दिनदेखि लुइँटेल स्कूलवरिपरिका सालका रुखहरू ढल्न थाले । त्यहाँ अलक्षण पस्यो । एकातिर स्कूल बढाउने नाममा सालको बोटहरू काटिनु अर्कोतिर सबै विद्यार्थीलाई बाबुराम बनाउने भुत पस्नु– स्थानीय विद्यार्थी सखापै हुन थाले । गोरखा जिल्ला अन्तर्गत यो गाउँमा लुइँटेलहरूको बाक्लो आवादी भएकोले यो गाउँको नाम नै लुइँटेल गाउँ रहन गयो । त्यस्तै कागजमा नाम जे लेखे पनि स्कूलको नाम पनि लुइँटेल स्कूलबाट चिनिन थाल्यो । यो स्कूलको अलिकति माथितिर अर्चले भन्ने अर्को गाउँ छ, यहाँ श्रेष्ठहरूको बाक्लो बस्ती छ । श्रेष्ठ गाउँभन्दा माथि परियारको गाउँ, परियारको गाउँभन्दा माथि विश्वकर्माको, अनि फेरि श्रेष्ठको । उनीहरू आपसमा मिलेर नै बसेका छन् । श्रेष्ठको घरमा टाढा–टाढाका विद्यार्थीहरू विशेषतः बाहुन क्षेत्रीहरू डेरा लिएर बस्ने गर्थे । डेरा लिएर बस्ने विद्यार्थी साथै डेरा दिने घरवाला मात्र होइन, पूरै बस्तीको एउटै उद्देश्य थियो– ‘सबै विद्यार्थीलाई बाबुराम बनाउनु साथै आफ्नो गौरव बढाउनु ।’, त्यसैले स्थानीय अभिभावक न आफू पढ्न स्कूल गए न आफ्ना छोरा–छोरीलाई स्कूल जानुपर्छ भन्ने ज्ञान नै दिए– उनीहरूले केवल दिए– “तिमीहरू पढ्न कमजोर छौ, तिमीहरू बाबुराम बन्न सक्दैनौ । यो स्कूल तेजिलो विद्यार्थीले मात्र पढ्ने हो, तिमीहरूले पढ्ने होइन ।” कठैबरा ! आफ्ना आमा–बाबुले नै आशा मारेपछि कलिलो दिमागले स्कूललाई राक्षसले बास गर्ने ठाउँ सम्झन थाल्यो । तर उनीहरूले हरेस खाएनन् । घिस्रिँदै भए पनि स्कूल गइरहे । तर स्कूलमा शिक्षक र हेडमास्टरकै अपमान र हिनताबोध थपिन थालेपछि उनीहरूको स्कूलको ढोका सदाको लागि बन्द भयो । स्कूलका हेडमास्टरदेखि पिउनसम्मकै शक्ति नै सबै विद्यार्थीलाई बाबुराम बनाउन कँसिएपछि मध्यमस्तरका विद्यार्थीले आँट नै गरेनन् । हिम्मत हरायो । उनीहरू एउटै विकल्प दिनभरि पाखा–पखेरामा चहार्ने, कि त माछा मार्ने अनि साँझतिर घरतिर फर्कने । जसरी आफ्ना छोराछोरीको दिनचर्यामा परिवर्तन भएको थियो स्वतः अभिभावकको दिनचर्यामा पनि परिवर्तन आयो । उनीहरूले आफ्नो घरमा डेरा गरेर बस्ने सबै विद्यार्थीलाई इन्जिनियर, डाक्टर बनाउन कँसिए । तर आफ्नो छोरा–छोरीले हलो र कोदालो समात्न थालेको पत्तै भएनन् । बिहान उठ्नासाथ पानी लिन जानु, भात पकाउनु अनि जुठाभाँडा माज्नु उनीहरूको दैनिकी बन्यो । तर आफ्ना छोराछोरीहरू बरालिँदै हिँडेको ख्याल नै गरेनन् । लुइँटेल स्कूलको उत्तरपट्टि नेपालको इतिहास बोकेको लिगलिगकोट दरबार छ, जहाँबाट नै नेपाल बन्यो । त्यस्तै दक्षिणपट्टि बाइसे राजाहरूमध्ये मगर राजाको दरबार छ– देउकोट दरबार । अनि पश्चिमतिर विशाल पालुङ्गटारको मैदान छ भने अलिपर रागीनासकोट दरबार । रागीनासकोट दरबारमा नै राजा नरहरि शाह र द्रव्य शाह जन्मेका थिए । कठैबरा ! यो ऐतिहासिक धरोहर बोकेको भूमि, वर्षेनी सालका रुखहरू ढलेको देख्दा कति दिक्कलाग्दो होला ! तर ती रुखहरू ढलिरहे, किनकि त्यहाँ त्यो प्रथा बसिसकेको थियो । हरेक विद्यार्थीलाई बाबुराम बनाउने निउँमा कतिको भविष्य भताभुङ्ग भयो । बाबुराम बन्ने नाममा धेरैले चुटाइ खाए । धेरैको हातमा सुम्ला परे । धेरैले स्कूल नै छाडे । हेडमास्टरको छायाले समेत तर्साउन थाल्यो । विद्यार्थीहरू सपनामा बरबराउन थाले । समयलाई कसले रोक्न सक्छ र ? विश्व परिवर्तनलाई कसले नियन्त्रण गर्न सक्छ र ? अब लुइँटेल स्कूलबाट सबैलाई बाबुराम बनाउने रोग निर्मूल भयो । त्यहाँको राक्षसरूपी चिन्तन हरायो । वरिपरिका सालका बोटहरू हुर्कन पनि पाए । वातावरण हराभरा भयो । स्थानीय बालक–बालिकाहरू झोला बोकेर हिँडेको देखिन थाल्यो । सबैले लामो सास फेरे– “यस्तो पो लुइँटेलको रमणीय दृश्य ।” तर विडम्बना ! सालका रुखहरू फेरि ढल्न थाले । पहिला बाबुरामको नाममा ढल्थे, सबै विद्यार्थीलाई प्रथम श्रेणीमा उत्तीर्ण गराउने निउँमा काटिन्थे, अब बाबुराम आफैँले रुख काट्न थाले । नेपाललाई नयाँ नेपाल बनाउने निहुँमा कलिला बोट निमोठिन थालियो । जनयुद्धको नाममा विद्यार्थीको भविष्य अँन्धकार बनाइयो । उनीहरूको काँधमा बन्दुक भिराइयो । कठैबरा ! एकपछि अर्को गर्दै लुइँटेल गाउँको विनाश हुँदै गयो, तर निरीह लुइँटेलवासीले प्रतिकार गर्न सकेनन् । उनीहरूको अवस्थामा सुधार आएन । सयौं कुखुराको मासु खुवाएर एउटा स्याललाई चिडियाखानामा पाल्नु कुनै औचित्य हुँदैन । यस धर्तीमा सबै जनावरको आफ्नो–आफ्नो अस्तित्व हुन्छ, आ–आफ्नो तरिकाले जिउन पाउनुपर्छ । यसको मतलब मैले बाबुराम दाइलाई स्याल पक्कै भनेको होइन । तर मैले के चाहिं भनेको हुँ भने तपाईंको लागि कलिला बालकले किन बलिदान दिनुपर्ने ! निहत्था विद्यार्थीको भविष्य अँन्धकार किन बनाइनुपर्ने ! त्यसकारण तपाईं स्कूलको मात्र होइन, पूरै लुइँटेल बस्तीको ऋणी हुनुहुन्छ । तपाईंले ऋण चुक्ता गर्न पर्छ । तर तपाईंले सक्नुभएन ! तपाईं असफल हुनुभयो । स्कूलको आँगनमा उभिएर ताली बजाएको मलाई अस्ति भर्खरजस्तो लाग्छ, तर त्यतिबेला शिशु कक्षामा पढ्ने कलिलो बालक म– अहिले मेरो कपाल फुलेर सेतै भएको छ, म जागिरबाट अवकाश लिने तरखर गर्दैछु । तपाईंभन्दा तीन कक्षा तल पढ्ने मेरो दाज्यू महेन्द्र न्यौपानेले डाक्टर पेशाबाट अवकाश लिएको धेरै वर्ष भयो । साठी वर्ष पार गरेको कुनै पनि व्यक्तिको शरीरका नसाहरू कमजोर हुन्छन् । उनीहरूको कार्य सम्पादन गतिलो हुँदैन । यो भनाइ मेरो होइन । नेपाल सरकारको पनि होइन । यो विश्वमान्य सत्यता हो । त्यसकारण तपाईंले अवकाश लिनुपर्ने पहिल्यै हो । तर अझै ढिला भएको छैन । बरु तपाईंलाई मेरो के अनुुरोध छ भने तपाईंका अन्य सहकर्मीलाई पनि उत्प्रेरणा दिनुहोस्– उहाँहरूलाई पनि अवकाश लिने सल्लाह गर्नुहोस् । आराम गरेर बस्नुहोस् । समाज भड्काउने र जनतालाई बिथोल्ने बेला होइन यो । नेपालमा नै तपाईंभन्दा धेरै बुद्धिजीवी र जोशिला व्यक्तिहरू उत्पादन भइसकेका छन् । तर दूर्भाग्य ! हालसालै तपाईंले आफ्नो थर नै फेर्न लाग्नुभएको भन्ने कुराले म स्तब्ध भएँ । थर फेर्न त्यति सजिलो छैन– जति माइकको अगाडि बोल्न र समाज बिथोल्न । थर फेर्ने काम नगर्नुहोस्, बरु तपाईं आफ्नो सोच बदल्नुहोस् । दलित वर्गलाई दलित नबनाउनुहोस् । उनीहरूको इज्जत गर्न सिक्नुहोस् । उनीहरूको आर्थिकस्तर उकास्नतिर लाग्नुहोस् । किनकि तपाईं एउटा व्यक्ति दलित बन्दैमा सम्पूर्ण दलित वर्गको समुन्नति हुँदैन । (दलित शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु ।) #नगेन्द्र न्यौपाने
यता लेखौँ कि य/ता ?: नेपाली भाषाको शब्दभण्डारमा संस्कृत स्रोतबाट आएका तत्सम र तद्भव शब्दहरूको सङ्ख्या दुईतिहाइभन्दा पनि बढ्ता छ तर त्यस्ता शब्दहरूलाई व्यवस्थित गर्ने नेपाली नियम वा पद्धतिको परिचयात्मक वर्णन गर्ने विषयमा हाम्रा नेपाली पाठ्यपुस्तकहरू र नेपाली भाषाका विशेषज्ञहरूले समेत प्रायः मौन धारण गर्दै आएका छन् । यस परिस्थितिमा संस्कृतको जगमा नेपाली भाषाको प्राध्यापक र शिक्षकका रूपमा आपूmलाई उभ्याउने अवसर नपाएका धेरैजसो गुरुहरू आफैँ अन्योलमा रहेका हुन्छन् र सकेसम्म संस्कृत स्रोतका शब्दहरूको निर्माणप्रक्रिया सिकाउनै नपरे हुन्थ्यो र विद्यार्थी वा कुनै प्रयोक्ताले समेत यस्ता शब्दका बारेमा कुनै जिज्ञासा नै नराखिदिए हुन्थ्यो भनेर तर्किने गर्छन् । संस्कृत स्रोतका शब्दको निर्माण प्रक्रियाको शिक्षणबाट गुरुहरूले नै आफूलाई पन्छाउने परिस्थितिमा विद्यार्थी, लेखक, पत्रकारलगायत समस्त नेपाली भाषाका प्रयोक्ताहरूको लेखनमा विशेष गरी तत्सम शब्दमा बढ्ता गल्तीहरू दोहोरिरहँदै जानु अस्वाभाविक होइन । यसका लागि प्रयोक्ताहरू सदैव जिज्ञासु र सचेत भइरहनु अति आवश्यक छ । संस्कृत स्रोतबाट नेपालीमा आएका ‘ता’ प्रत्यय अन्तमा हुने तत्सम शब्दहरूको लेखनमा प्रयोक्ताहरूले अज्ञानकै कारण बारम्बार गल्ती शब्दहरू दोहोर्याइरहेका हुन्छन् भने बढ्ता प्रयोगमा आइरहेका त्यस्ता गल्ती शब्दहरूलाई पनि विद्वान्हरूले प्रमादवश प्रयोगमा ल्याइदिँदा सर्वसाधारण प्रयोक्ताहरू सही शब्द पत्ता लगाउनबाट वञ्चित हुँदै गएका छन् । उदाहरणका लागि ‘यता’ अन्तमा हुने गाम्भीर्यता, माधुर्यता, चातुर्यता, बाहुल्यता, आधिक्यता, सान्निध्यता, सामञ्जस्यता, तादात्म्यता, तात्पर्यता, धैर्यता, वैमनस्यता, सौन्दर्यता आदि अनुपयुक्त शब्दहरूलाई लिन सकिन्छ । संस्कृतको पाणिनीय व्याकरणका रूपमा विश्वप्रसिद्ध ‘अष्टाध्यायी’ को पाँचौँ अध्यायको पहिलो पाउअन्तर्गत १२३ औँ र १२४ औँ सूत्रका रूपमा ‘वर्णदृढादिभ्यः ष्यञ् च’ र ‘गुणवचनब्राह्मणादिभ्यः कर्मणि च’ नामक दुई सूत्र पढिएका छन् । यी दुवै सूत्रले ष्यञ् (य) प्रत्ययको विधान गर्छन् । ष्यञ् (य) प्रत्यय विधान गर्ने यी दुवै सूत्र त्व र तल् (ता) प्रत्यय विधान गर्ने ‘तस्य भावस्त्वतलौ’ सूत्रका सन्दर्भमा आएका हुन् । त्यसैले ष्यञ् (य) प्रत्यय नभएका अवस्थामा तल् (ता) प्रत्यय पनि हुन सक्छ तर एउटै शब्दमा लगातार ष्यञ् (य) र तल् (ता) दुवै प्रत्यय लाग्दैनन् अर्थात् ‘यता’ होइन ‘य’ वा ‘ता’ लेख्नुपर्छ भन्ने आधार मुख्यतः यिनै तीन सूत्रले दिन्छन् । संस्कृतका ष्यञ् (य) र तल् (ता) दुवै तद्धित प्रत्यय हुन् । ष्यञ् (य) प्रत्ययमध्ये ‘य’ मात्र प्रकृतिभूत शब्दमा गाँसिन्छ भने तल् (ता) प्रत्यय अन्तमा हुने शब्द स्त्रीलिङ्गमा प्रयोग गरिने भएकाले ‘तल्’ प्रत्ययलाई नेपालीमा ‘ता’ प्रत्यय भनेर बुझ्दै आइएको हो । संस्कृतमा ‘ष्यञ्’ प्रत्ययमा पढिएको ‘ञ’ वर्णको लौकिक र वैदिक दुवै प्रयोजन छ । लौकिक प्रयोजनका रूपमा प्रकृतिभूत शब्दको सुरुमा रहेका स्वरवर्णको वृद्धि गर्नु हो । ष्यञ् (य) प्रत्यय लाग्दा त्यही प्रत्ययको ञकारलाई आधार मानेर प्रकृतिभूत शब्दमा रहेका अ, इ/ई र उ/ऊ वर्णका स्थानमा क्रमशः आ, ऐ र औ वृद्धि हुन्छ । उपर्युक्त उदाहरणमा आएका गम्भीर, मधुर, समीप, बहुल, अधिक, सन्निधि, समञ्जस, तदात्मन् र तत्पर शब्दको सुरुमा रहेका अकारका स्थानमा ‘आ’ वृद्धि भई गाम्भीर्य, माधुर्य, सामीप्य, बाहुल्य, आधिक्य, सान्निध्य, सामञ्जस्य, तादात्म्य र तात्पर्य शब्दहरूको निर्माण भएको हो । त्यसैगरी विमनस र धीर शब्दका इकार र ईकारका स्थानमा ‘औ’ वृद्धि भएर वैमनस्य र धैर्य शब्द निर्माण भएका हुन् भने सुन्दर शब्दका उकारको ‘ऐ’ वृद्धि भई सौन्दर्य शब्दको निर्माण भएको हो । एउटै अर्थमा रहेका दुवै प्रत्यय एउटै शब्दमा लगाउनु गल्ती मानिन्छ । त्यसैले गाम्भीर्य वा गम्भीरता, माधुर्य वा मधुरता, सामीप्य वा समीपता, बाहुल्य वा बहुलता, आधिक्य वा अधिकता, धैर्य वा धीरता, सौन्दर्य वा सुन्दरताजस्ता शुद्ध शब्दको प्रयोग गर्नमा विशेष ध्यान पुर्यायाउनुपर्छ । त्यसैगरी अनुपयुक्त ठानिएका सौहार्दता, अज्ञानता र कौतूहलता शब्दको सट्टा सौहार्द, अज्ञान र कौतूहल वा कुतूहलता शब्दको प्रयोग गर्नु आवश्यक छ । नजानेर वा नबुझेर गरिएको पाप जानेपछि वा थाहा पाएपछि नष्ट हुन्छ तर ‘सज्ञानेन कृतं पापं वज्रलेपो भविष्यति’ अर्थात् जानेबुझेर गरिएको पाप वा गल्ती वज्रलेप हुने भएकाले त्यसलाई सच्याउन वा प्रायश्चित्त गर्न निकै गाह्रो हुन्छ । नेपाली भाषामा धेरैजसो गल्तीहरू जानेबुझेका विद्वान्हरूले बेवास्ता गरिदिएर प्रयोगमा ल्याइदिन्छन् र त्यसकै सिको गरेर सर्वसाधारण प्रयोक्ताहरूको लेखनमा गल्तीहरू दोहोरिँदै जान थालेका हुन् । तसर्थ ‘दोषा वाच्या गुरोरपि’ अर्थात् गुरुहरूका पनि दोष वा गल्तीहरू औँल्याउन सक्नुपर्छ भन्ने मान्यतालाई आत्मसात् गरेर हरेक नेपाली भाषाका प्रयोक्ताहरू सचेत भइदिने हो र गुरुहरूले प्रयोग गरेकै शब्दहरू मात्र शतप्रतिशत शुद्ध छन् भन्ने कुरामा आफूलाई सीमित नराखी अध्ययन, अनुसन्धान र पुनर्मूल्याङ्ककनतर्फ ध्यान दिँदै जाने हो भने नेपाली भाषाका तत्सम शब्दमा प्रयुक्त यस्ता किसिमका गल्तीहरूलाई क्रमशः निराकरण गर्दै जान सम्भव देखिन्छ । – सहप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय #डा. मतिप्रसाद ढकाल
सम्झनाको दराज: मसँग पुराना सामान धेरै भए । स्वभावैले एकजना लेखकसँग सबैभन्दा बढी हुनेभनेको पुस्तक नै हो । मेरा जीवनकालमा काठमाडौंभित्रै पनि म सातपटक सरेको रहेछु । प्रत्येकपटकको बसाइँ सराइमा सबैभन्दा धेरै हुने नै पुस्तकहरू भए । समयले, प्रविधिले पुरानो भएपछि त्यसलाई व्यवस्थापन गर्नुपर्दोरहेछ । त्यहीक्रममा मैले पाएको सामान र स्मृतिका बारेमा लेख्न शुरु गरेको छु । पुरानो कुरामा किन अल्झिन्थें म पनि ? कुदेको छु नयाँ चिजबिजमा, नयाँ लुगा, नयाँ साथी, नयाँ ग्याजेट, नयाँ पुस्तक । अझ प्रविधिले त नयाँ नकिनी नमिल्ने बनाएको छ । खैर, यो कुरा पछि गरौंला । म आज पुरानो सामानको व्यवस्थापन गर्न बसेको छु पूरै दिन छुट्टी लिएर । म पसें फाल्नका लागि पुरानो सामान राख्ने कोठामा । स्नेह सायमि यो मेरो बाको फोटो । सानो काठे फ्रेममा रहेको श्यामस्वेत फोटो । क्या बान्की परेको अनुहार । मेरो बा मभन्दा धेरै राम्रो हुनुहुन्थ्यो । त्यतिबेला कुनै फोटो स्टुडियोमा गएर खिचाउनुभएको होला । यस फोटो र फ्रेमले मेरो घरको भित्तामा उचित स्थान पाएन । किन यसलाई पुरानो दराजभित्र कोचेर राखिएको छ ? फ्रेम नराम्रो हुँदैमा, फोटो खुइलिँदैमा मेरो बाको महत्त्व कसरी घट्यो मेरै घरमा । ओहो ! कसले राखिदिएछ यसलाई फाल्ने सामानको लिस्टमा । मेरा बाले कति रहर गरेर स्टुडियो जानुभयो होला ! कतिपटक, के मेरो फोटो बन्यो ?, भनेर कामको सिलसिलामा शहर जाने बेलामा सोध्न जानुभयो होला ! लिएर आएपछि आफैँले बनाउनुभएको घर, जुन घरमा मैले मेरो पूरा बाल्यकाल र युवावस्था बिताएँ, त्यो घरको बैठक कोठाको लिउन लगाएको भित्तामा झुण्ड्याउनु भयो होला । त्यही फोटा मैले देख्दैआएको हुँ । मेरा बाको स्मृतिको चिनो । म पुरानो कुरा भनेर कसरी कुनामा थन्क्याउन वा फाल्न सक्छु । बरु नयाँ प्रविधि लगाएर ठूलो बनाउँछु । यसरी बाको फोटो सुरक्षितसाथ राखेँ । पुरानो दराजमा केही लुगाहरू रहेछन् । त्यसमध्ये खुइलिसकेको, भुवाभुवा आएको ‘भी’ सेपको हातले बुनेको स्वेटर रहेछ । यसलाई पनि फाल्ने सूचिमा पो राखेको रहेछ । अति पुरानो, कसैलाई दिइहाले पनि लाउन नमिल्ने भनेर लेखिएको छ । यो त फाल्नै नहुने स्वेटर हो मेरो । नराम्रो भयो,पुरानो भयो, खुइलियो,भुवा निस्क्यो, मलाई ठीक हुनै छोड्यो, अलिअलि च्यात्तियो पनि, तैपनि मैले हरेक साल गर्मी महिनामा सुकाएर पट्याएर सुरक्षित राख्थेँ । के स्वेटरको भौतिक प्रयोग मात्र हुन्छ ? यो स्वेटर त मेरो प्रेमको चिनो । उनले आफ्नै हातले महिना दिन लगाएर बुनेर उपहार दिएकी । मैले बिहे हुनुभन्दा अघिको हिउँद यही स्वेटर लगाएर काटेको थिएँ । त्यो यस्तोबेला थियो जुनबेला मेसिनले स्वेटर बुन्ने चलन आइसकेको थियो । त्योभन्दा अघि त धेरैले ऊन किनेर घरघरमै स्वेटर बुन्थे । जे होस्, यो मेरो विशेष स्वेटर हो, जसलाई म फाल्न चाहन्नँ । यो स्वेटरको बायाँपट्टि अंग्रेजी अक्षर एल पनि बुनिएको छ । हामीले बुनेको मायाको न्यानो अझै छ यो स्वेटरमा । अहँ, यो फालिदैन । एउटा मोटो फाइल, दर्जनभन्दा बढी कापीहरू एउटा कुनामा असरल्ल फालिएको छ । के रहेछ भनेर हेरेको त अपूरा कथा र कविताहरू पो छन्, कुनै दिन यसलाई पुनर्लेखन गर्नुपर्ला भनेर राख्यो राख्यो तर कति वर्षदेखि फेरि पल्टाएर हेरेको छैन । त्यो कागज मिलाउनेलाई के थाहा, ती छरपस्ट कापी र कागजहरू मेरा लागि कति महत्वपूर्ण छन भनेर । हेरेँ , हेरेरै रिंगटा लाग्यो । कहिले मैले यसलाई समय दिने कहिले मिलाउने ? मिलाउँला नि कुनैदिन भनेर राख्यो, फेरि फर्केर हेरिएन । यसपटक पनि फाल्न पनि मन लागेन र दोहोर्याएर हेरेको पनि छैन । तैपनि मैले फेरि सर्सति हेरेँ र राखेँ । यसैमा फेला पर्यो “चौतारो बोल्यो” कविता संग्रह । मेरो पहिलो कविता संग्रहको अन्तिम प्रति । उबेला छाप्ने र बाँड्ने न हो । मेरा प्रकाशक राजन कार्कीले साझा प्रकाशनले वितरण गर्छ भनेर पाँच सय प्रति बुझाएको रे ! बुझाएको बुझाएकै भयो । बाँकी पाँच सय प्रति बाँडेरै सकियो । २०३६ सालमा प्रकाशित त्यो संग्रहको श्रेय त मित्र सम्पादक राजन कार्कीलार्ई नै जान्छ, उनकै जोडबलले जो छापियो । त्यतिखेर १९ वर्षको थिएँ, बागबजार छापाखानामा छापिएको थियो । छापाखानाका साहुजी सारै नरम र हँसिलो हुनुहन्थ्यो । राजनजी स्रोतस्वीनी नामक साहित्यिक पत्रिका पनि चलाउनु हुन्थ्यो । अझ त्यो पुस्तकको मुखपृष्ठ बनाउन जाँदाको स्मृति पनि ताजै छ । म र राजनजी मुखपृष्ठ बनाउन घण्टाघरको अमात्य जिंक ब्लकको कार्यालय घण्टाघर गयौँ । त्यहाँ एकजना कलाकार हुनुहुँदो रहेछ, पातलो ज्यानको । उसो त म पनि पातलै थिएँ । मलाई लाग्छ, ती कलाकार मभन्दा पनि दुब्ला थिए । मुखपृष्ठको कला “चौतारो बोल्यो” कवितामै आधारित भएर बन्यो । जस्तै चौतारो, भाँच्चिएको खुट्टा आदि । अलि मूर्त अलि अमूर्त । कला बनिसकेपछि परिचय गरियो, उनको नाम रहेछ मोहन खड्का, घर रविभवन । उनको नामभन्दा पनि ठेगानाले आकर्षित गर्यो । रविभवन भनेपछि झसङ्ग भइयो, कुन घर ? त्यसबेला यो सडकै सडकमा पनि खासै घर थिएन । घर त गन्न र सम्झन मिल्ने संख्यामा थियो । म नैकाप, राजनजी तीनठाना बस्ने । हामी दुवैजना रविभवनकै बाटो भएर जानुपर्ने । उतैतिरको भन्ने थाहा पाएपछि मोहनले पारिश्रमिक लिन मान्नु भएन, भन्नुभयो– यो मेरो उपहार नै भयो । त्यसदिनपछि मोहनजीसँग मेरो लामो दोस्ती चल्यो, उहाँको अन्तिम दिनसम्म । उहाँमात्र होइन, उहाँको पूरै परिवारसँग सम्बन्ध रह्यो । उहाँले पछि क्यालिग्राफिक स्टुडियो नामक ग्राफिक डिजाइन केन्द्र खोल्नुभयो, जहाँ धेरै लेखक प्रकाशकहरूसँग भेट हुन्थ्यो । अहिले सुन्दर बस्नेतजीको टाइम्स क्रियशन जस्तै । अँ, त्यो कविता संग्रह मसँग भएको अन्तिम प्रति थियो । वास्तवमा त्यो मेरो प्रति पनि थिएन । मैले त्यहीबेला लक्ष्मीलाई उपहार दिएको प्रति थियो । त्यसमा सानो नोट लेखेको थिएँ, “तिमी मेरै हौ म तिम्रै हुँ , यो पुस्तक पनि तिम्रै हो, तैपनि उपहार भनेर दिएको छु ।” यति लेखेर मैले हस्ताक्षर गरेको प्रति मसँग एकप्रति पनि नभएपछि आफैँले हेर्नको लागि लक्ष्मीसँग मागेको थिएँ । उनले पनि उनको दराजबाट निकालेर फोटाकपी गरेर फिर्ता गर्ने शर्तमा दिएकी थिइन् । पुरानो र उबेलै न्युजप्रिन्टमा छापिएको हुनाले अलि खुइलिसेकेको नै थियो । तर आज यो पुस्तक त फाल्ने सामानको लटमा पो राखिएको रहेछ । म कसरी फाल्नसक्छु ? हेर्दाहेर्दै एउटा मोटो गाता भएको मोटो पुस्तक फेला पर्यो । ओहो ! यो पुस्तक त मैले २०३१ देखि २०३३ सालसम्म आइकम पढ्दा किनेको । युवा पाठकहरू तपाईँहरूले भन्नुहोला, के हो आइकम भनेको ? आइकम भनेको अंग्रेजी शब्द त हो, तर त्यसको अनुवाद “म आउँछु” भनेको चाहिँ होइन । त्यतिखेर एसएलसी पास गरिसकेपछि पढ्ने विषयलाई इन्टरमिडीएट इन कमर्श भनिन्थ्यो, त्यसलाई छोटकरीमा आइकम भनिएको हो । जस्तै, आइए भनेको इन्टरमिडीएट इन आर्टस, विज्ञान पढ्नेलाई आइएस्सी अर्थात इन्टरमिडीएट इन साइन्स । कमर्श पढ्दाको मजा र गारो विषय हो लेखा अर्थात एकाउण्ट, बुक किपिंग । त्यतिखेर ब्याट्लिब्वाइले लेखेको भारतमा प्रकाशित पुस्तक सबैभन्दा मोटो नै यही थियो । यो पुस्तक महंगो र नभइन हुने । बडो मुश्किलले किनेको । त्यतिखेर अहिले जस्तो झोलामा पुस्तक राखेर बोक्ने चलन थिएन । हातैमा बोक्ने हो । यो पुस्तक बोकेपछि, पढैयाजस्तो देखिन्थ्यो । त्यो पुस्तक एकपटक सररर… पल्टाएर हेरेँ । पुस्तकभित्र एउटा चिटिक्क परेको पिपलको पात रहेछ । मासु नभएको अस्थिपञ्जरजस्तै पातको भाग नभएको डांठैडांठको बुट्टेदार पात । सम्झें, पहिले पहिले पुस्तकमा यसरी पातको चिनो राख्ने चलन थियो र पुस्तकको बीचमा सहपाठीहरूलाई, म तिमीलाई प्रेम गर्छु, भन्ने सन्देश दिने एउटा बाहाना पनि । उसो त पुस्तक सापटी लिएर वा दिएर प्रेमपत्र नै हातले लेखेर पठाउने पनि चलन थियो । त्यो कक्षामा, त्योबेला, यी कुराबाट अलि अनभिज्ञ थिएँ म । मैले बुक किपिंगको नयाँ पुस्तक किनें र धेरै महिला र पुरुष साथीहरूलाई सापटी दिएँ । तीमध्ये कसैले राखेको होला त्यो पिपलको पात । त्यसरी पात राखेर महिनौंसम्म प्रतिक्रिया कुर्ने पनि चलन थियो अरे । यो कुरा त मैले ५ वर्षपछि थाहा पाएँ । एकजना त्यतिखेरकै सहपाठीमार्फत् । मैले सोधें– “त्यतिखेर नै किन नभनेको त ?” “त्यतिखेर तँ सानै थिइस्, सबै भन्दा कान्छो, पुस्तकमा पीपलको पात र पत्र पठाएको पनि होस् नगर्ने, पत्र पनि थियो त्यो मैले निकालेँ र पत्रको जवाफ मैले नै दिएँ । पीपलको पातचाहिँ तँलाई नै छोडिदिएँ । किनभने, निकालेको भए त्यो पातलो पात बिग्रन्थ्यो । तेरो लबसब गर्ने उमेर थिएन, त्यसैले तैैंले बुझिनस् । तँबाहेक लब गर्न, केटी जिस्क्याउन हामी छँदै थियौं नि !” मलाई त्यतिखेरको पब्लिक युथ क्याम्पस, धोबिचौर, फूल फुलेको सुन्दर बगैंचा, त्यतिखेरको जहिले पनि रिसाएको जस्तो देखिने कडा क्याम्पस प्रमुख ऐश्वर्यलाल प्रधानांग, मेरा सहपाठीहरू एकपटक सर्रर…. याद आए । यस्तो सुन्दर यादको श्रोत त्यो पुरानो पुस्तक फाल्न मन लागेन । #स्नेह सायमि
कथाकारले फिर्ता गरिन् बाह्रखरीको पुरस्कार: साहित्यपोस्ट ‘उत्कृष्ट कथा’ प्रतियोगिताकी एक जना प्रत्यासीले बाह्रखरी बुक्सको व्यवहारको विरोध गर्दै आफूले पाउने पारिश्रमिक फिर्ता गरेको घोषणा गरेकी छन् । उत्कृष्ट २५ भित्र परेकी काठमाडौं पेप्सीकोलाकी कथाकार कल्पना श्रेष्ठ ‘कलापुञ्ज’ ले बाह्रखरी बुक्सले विवादित विषयमा कुनै पनि चासो नराखेको र त्यसलाई सामाधान गर्नतिर नलागेको देखेपछि पारिश्रमिक फिर्ता गरेकी हुन् । यसलाई उनले आफ्नो फेसबुकवालमा पनि राखेकी छन् । ‘प्रतियोगिता नै बहिष्कार गर्ने यो मेरो क्रान्तिकारी मनसुवा होइन । स्वच्छ प्रतियोगिताको मापनले मानिसलाई सृजनात्मक बनाउन प्रेरणा मिल्छ ।’ फेसबुकमा श्रेष्ठले लेखेकी छन्, ‘जो कोहीलाई पनि अन्तष्करणले आफ्नै आत्मालाई ठग्नु जस्तो पीडादायी सायद अरु केही नहोला ।’ बाह्रखरी बुक्सलाई इमेलमार्फत् पारिश्रमिक फिर्ताको जानकारी गराएपछि उनले साहित्यपोस्टसँग सम्पर्क गरेकी थिइन् । ‘म बैंकमा काम गर्ने एउटी सचेत महिला हुँ । यो मैले कसैको दवाब र प्रभावमा परेर गरेकी होइन ।’ उनले साहित्यपोस्टसँग भनिन्, ‘साहित्यको गरिमा बचाउनु पर्छ र आयोजक जिम्मेवार हुनुपर्छ भनेर सानो प्रयास गरेकी हुँ । यसो गर्दा मेरो साहित्यिक भविष्य खतरामा पनि पर्न सक्छ तर म मानसिकरुपमा सबै कुराका लागि तयार छु ।’ उनले आफूसँग प्रतिस्पर्धामा सामेल २२ जनामध्ये केहीले पारिश्रमिक फिर्ता गर्न लागेको जानकारी पनि गराइन् । ‘हामी फरक फरक ठाउँबाट त्यहाँ प्रतिस्पर्धाका लागि पुगेका थियौँ, त्यसैले धेरैको धेरैसँग परिचय थिएन । तर यही प्रकरणले केही साथीहरुसँग भेट गरायो । सबै जना असन्तुष्ट हुनुहुन्छ । कोही बोल्न सक्नुहुन्छ, कोही सक्नुहुन्न ।’ उनले भनिन्, ‘यही कारण पनि मेरो ५ हजार रकम फिर्ताको कुरा सानो होला तर यसले ठूलो संकेत गरेको छ, जुन आयोजकले बुझ्नुपर्छ ।’ आफ्नो फेसबुक बालमा पनि उनले आयोजकप्रतिको व्यवहारलाई लिएर असन्तुष्टि पोखेकी छन् । ‘विवादित विषयमा मैले केही निर्णायक मित्रहरुसँग आन्तरिक जिज्ञासा राखेको हुँ । आयोजकबाट चित्तबुझ्दो जवाफ नआएछि मैले यो पुरस्कार नलिने निर्णय गरेकी हुँ ।’ कल्पना कलापुञ्ज युवा पुस्ताकी सक्रिय लेखिका हुन् । उनको सञ्जिवनी नामक उपन्यास शिखा बुक्सबाट प्रकाशित भैसकेको छ । #कल्पना श्रेष्ठ ‘कलापुञ्ज’ #बाह्रखरी
जिम्मेवार लेखन र पाठकीय सत्ता: मेरो यो लेख, आफैँप्रति लक्षित छ । भनौँ, यो मेरो, मैसँगको आत्मसाक्षात्कार हो । त्यसैले, अधिकांश लेखकहरू, यहाँ मैले व्यक्त गरेको कुरासँग सहमत नहुने सम्भावना मैले प्रस्टै देखेको भए पनि, निजी अनुभव भएकोले आफ्नै मनोवेगको विचरनका लागि लेखेका हुँ । म भूमिकाहरूमा धेरै नै विभाजित मान्छे हुँ । हुन त सबै मान्छे विभिन्न मोडमा, विभिन्न भूमिकामा विभाजित छ । तर, म यो लेख एक सर्जकको हदमा लेखिरहेको छु, समालोचक वा समीक्षकको हदमा होइन । मलाई मेरा सिर्जनाको प्रेम छ, र त्यो नै मेरो अनुहार हो । मेरो समालोचनाप्रति मलाई कुनै प्रेम वा लोभ छैन, र समालोचक भनिनुमा कुनै सहजता पनि छैन । त्यसैले, यो एक सर्जकको विचार हो । महेश पौड्याल पछिल्लो समय सञ्चार माध्यम तथा सामाजिक सञ्जालामा केही लेखकहरूले, आफूलाई पाठक, समीक्षक, समालोचक र मिडियाले वेवास्ता गरेको भनेर असन्तुष्टि पोखिरहेका छन् । आवरणमा उनीहरूका आक्षेप जेजे भए पनि, सारमा उनका आरोप यी हुन्ः १. हामी अब्बल सर्जक हौँ । हामीलाई पाठक, अन्य लेखक, प्रकाशक, समीक्षक तथा समालोचकहरूले पढेनन् । २. साहित्यमा गुट धेरै भए । गुटका कारण नेपोटिज्म बढ्यो । त्यैले, हामीले हुर्कनै पाएनौँ । ३. साहित्यमा एउटाले गोडमेल गरेर, बोकेर सेना बनाउँछ, र गुणगान गराउँछ । ४. मिडियाले हामीलाई स्थानै दिएन । आफू पनि एक सिकारु लेखक भएका नाताले अन्य लेखकहरूको पीडा र असन्तुष्टिले मलाई पनि स्वतः संवेदनशील बनाएको छ । तर, साहित्यको फाँटमा यस्ता असन्तुष्टि सर्वकालीक हुन् । यी सधैँ रहन्छन् कुनै पनि युगमा, कालमा, समयमा । त्यसैले, यस्ता असन्तुष्टिको अघिल्तिर उभिएर म अचेल दुई विषयमा निर्मम चिन्तन गर्न थालेको छु । पहिलो, हामीले चाहेजति परिमाणमा समयले किन पढिरहेको छैन हामीलाई ? दोस्रो, यी गुनासा सर्वकालीक हुन् यदि भने, हामीले यिनलाई दरकिनार गरेर कसरी अगाडिको बाटो तय गर्ने ? प्रथमतः यत्तिका धेरै असन्तुष्टि बोकेका हामी आफैँ गैरजिम्मेवार र घमण्डी लेखक हौँ । हामीले बुझ्नु त पर्छ नि — कुनै पनि समयमा, कुनै पनि प्राज्ञिक समुदायमा भएका “सबै” मान्छे र सबै “पाठक” निधेष गर्न तम्सिएर बसेको हुँदैनन् । पाठकहरू, समीक्षक, समालोचक र पत्रपरित्रकाहरू पनि आआफ्नै बुझाइ, रुचि, आग्रह, चिन्तन र दर्शन बोकेर बसेका हुन्छन् । आआफ्नो रुचिको विषय किन्छन्, पढ्छन् । एउटा सर्जकको लेखनमा साँच्चै नै कुनै विलक्षणता छ भने, यसै समुदायको कुनै न कुनै घटकले उसको विलक्षणताको पहिचान गर्दछ, र उसलाई जीवित राख्दछ । तर, कतैबाट पनि त्यस प्रकारको सम्बोधन भएन भने, त्यसका दुई कारण हुन्छन्— कि सिर्जना नै दुर्वल छ, कि त त्यसलाई समाजसामु सम्प्रेषण गर्ने माध्ययम गलत छ, र त्यो पुग्नुपर्ने ठाउँमा पुग्दै पुगेन । मेरो सिर्जनाका सन्दर्भमा म यी दुवै कुरामा प्रस्ट र विश्वस्त छ । हामीले पाठक समुदायलाई सत्तोसराप गर्नुमा कुनै पनि तुक छैन । एक गैरजिम्मेवार लेखकको स्वभाव हो त्यो । भोलि पनि हामीलाई चाहिने पाठक समुदाय त्यही वा त्यस्तै होइन ? आज यति अभद्र बनेर प्रस्तुत भएपछि भोलि पाठकले के कारणले पढ्ने हामीलाई ? दोस्रो, हाम्रो सिर्जना सम्प्रेष्य भएन, बजार पाएन, उचित प्रोत्साहन पाएन, चर्चामा गएन वा ध्यान तान्न सकेन भने, एउटा सर्जक आफूतिर बढी फर्केर आत्मचिन्तन गर्नु जरुरी छ । उदाहरणका लागि, हामी कवि हौँ भने, र कविता लेखिरहेका छौँ भने, आफूलाई सोध्नु जरुरी छ दुई प्रश्न । एक, पाठकले हाम्रो सिजना किन पढ्ने ? र, दुई, आफू बौद्धिक आवाज हुँ भन्ने कुरा समाजमा स्थापित गर्नलाई मैले केके गरेँ अहिलेसम्म ? कविलाई उदारणका रूपमा राखौँ । हाम्रो त्यो समय र जमाना होइन, जब पाठक र लेखक दुवैको सङ्ख्या समीति थियो, पाठकको ज्ञानतन्त्रमा पहुँच पनि सीमित थियो, र साहित्यको नाममा, हाजमोलाले जस्तो जो आयो त्यही पचायो गर्थे सबै । अचेल, हरेक पाठक सचेत छन्, बौद्धिक छन् । ऊसँग विश्वकै ज्ञानकोशसँग सिधा जोडिने सामथ्र्य छ । ऊ, विविध पनि छ, विभाजित पनि बढी छ । उसको रुचि र चाख पनि उसै गरी बाँडिएको छ । यस्तो स्थितिमा उसले, आफूले पढ्ने लेखकलाई सयौँ कोणबाट मूल्याङ्कन गरेरै मात्रै पढ्न । उसको मूल्याङ्कनमा हामी खरो उत्रन सकेनौँ भने पढ्दैन । हामीले भ्रमको खेती गरेर अब पाठक अल्मल्याउन सक्ने समय छैन । हामी कविता लेखिरहेका छौँ भने, हामीलाई पाठककले, कम्तीमा चार कोणबाट मूल्याङ्कन गर्छ । उसले सोध्छ— १. तपाईं कवि । तपाईंलाई विश्व कविता, काव्यिक आन्दोलन, तिनका सैद्धान्तिक विकास, तिनका क्रमिक रूपमा आउँदैगरेका परिवर्तनहरूका बारेमा के कति थाहा छ ? कति पढ्नुभाछ ? छैन भने, तपाईँसँग स्वरूप र कथ्य दुवैको पुनरावृत्ति गर्ने सम्भावना हुन्छ, जसले गर्दा पाठकको नजरमा तपाईं बासी र असान्दर्भिक ठहरिनु हुने छ । अथवा, तपाईंको कविता निजी भावना हो, र त्यस निजी भावनामा पाठकले आफ्नो पनि भावको समानधर्मिता भेटेन भने पढ्दैन । २. तपाईं नेपाली कवि । नेपाली कविताको ऐतिहासिक विकासक्रसँग आफूलाई कतिको परिचित गराउनु भाको छ ? छैन भने, तपाईंको असान्दर्भिकता स्वतः सिद्ध हुन्छ । ३. तपाईं आजको समयको कवि । आजको विश्व कहाँ खडा छ ? आजको समयका अनौपचारिक तर मानव–हितका निर्देशक सिद्धान्त केके हुन् ? विश्वको इतिहासमा, राजनीतिमा, विज्ञानमा, वातारवरणमा, वा ज्ञान र अध्ययनका अन्य आयाममा केके भइरहेको छ ? त्यसको पनि तपाईंलाई आधारभूत कुरा थाहा छ भन्ने कुरा तपाईंले पाठकसामु प्रमाणित गर्नुभाको छ ? छैन भने, तपाईंको ज्ञानमाथि पाठकको प्रश्न र शङ्का हुन्छ । त्यसैले, तपाईंलाई उसले पूर्ण रूपमा पढ्दैन । समालोचक रेमण्ड विलियम्सले भनेजस्तो, समयको पनि मुड हुन्छ, मनस्थिति हुन्छ, त्यसको एक मूल सांस्कृतिक भँगालो हुन्छ, र अनुभूतिको आफ्नै संरचना हुन्छ । विश्व तथा राष्ट्रिय परिवेशसँग परिचित नभएको कविले उक्त संरचना समात्न सक्दैन । त्यसो भयो भने पाठकले पढ्दैन । ४. कवितामा कुराको, बिम्बको र प्रतीकको पुरानावृत्ति अति नै पट्टयारलाग्दो हुँदै गएको सत्य हो । यस स्थितिमा, प्रत्येक कविका लागि विशेषज्ञताको कम्तीमा एउटा क्षेत्र चाहिएकै छ, जहाँबाट उसले नयाँ कुरा प्रशोधन गरेर ल्याउन सकोस् । तपाईंको विशेषज्ञता वा गहन अध्ययनको “अर्को” क्षेत्र कुन् हो ? कि, कुनै पनि छैन ? छैन भने, नयाँ कुरा आउँदैन । पाठकले पढ्दैन । हरेक पाठक, समीक्षक र समालोचक राम्रो सिर्जनको खोजीमै हुन्छ । त्यो उसका लागि पनि खुसीको कुरा हो । एउटा प्राप्ति हो । कोही कसैको दुस्मन होइन । सबैलाई सुन्दर साहित्यको रसपान गर्ने अभिलाषा हुन्छ । तर पनि, कहिल्यै उसको रोजाइमा परिएन भने, समस्या आफूमा नै छ, उसमा होइन । यस कुरामा म प्रस्ट छु । सञ्चारमाध्यमको प्रश्नमा— म आफू थुप्रै संचारमाध्यमको छनोटबाट बाहिरिएको छु । मेरा धेरै धेरै रचना रद्दीको टोकरीमा परेका छन् । मैले हरेकपल्ट सोचेको छु — मेरो साधना पुगेन, स्तर पुगेन, ध्यान पुगेन । होला, कतिपय पत्रिका सन्दर्भमा पूर्वाग्रह भयो होला । उक्त पत्रिकाको सम्पादक अथवा संयोजकको गुड बुकमा म परिनँ होला । तर, त्यो अपवदा हो । सबैसँग दुस्मनी त कहाँ हुन्छ ? धेरैतिरबाट बन्देजमा पर्नुभनेको मेरो लेखनको दुर्वलता हो । अर्को तरिकाबाट पनि सोच्नुपर्छ । कुनै पत्रिकाले रचना छापिदिएरै मात्रै कवि वा साहित्यकार भइन्छ भन्ने समय गयो । उहिले उहिले, रचना, रूपरेखा, अभिव्यक्ति, रचना गरिमा, मधुपर्क आदिमा छापिएपछि कवि होइने चलन थियो । हाम्रो समयमा पनि कान्तिपुर, नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट, नागरिक आदिमा छापिएपछि लेखक होइन्छ भन्ने कतिपयको विश्वास छ । तर, यो सत्य होइन । यिनमा छापिए पनि, अन्त्यमा त्यो फोटो बनेर, लिङ्क बनेर आइपुग्ने फेसबुकमा वा ट्विटरमा हो अचेल । फेसबुक वा ट्विटरबाटै पढिन्छ, सेयर गरिन्छ । प्रतिक्रिया पनि त्यहीँ दिइन्छ । त्यसैले, पत्रिकाले छापेन भन्ने गुनासो गरिरहनुपर्ने समय पनि होइन यो । सबै लेखक, अचेल, आफैँ पनि सञ्चारमाध्यम । सबै सम्पादक । सबै प्रकाशक । रोइलो किन ? फेरि अधिकांश पत्रिका नाफामुखी र व्यवसाय हुन् । उनको आफ्नै आग्रह छ । आफ्नै लेखकको समुदाय छ, सम्प्रदाय पनि छ । मुद्दा वा एजेन्डा छन्, जसको निकट लेखक तान्छन् । तर, पत्रिकैमा छापिएर लेखक होइन्छ भन्ने जमाना नै होइन । यसमा धेरै चिन्ता लिइरहनुपर्ने जरुरी छैन । भोलि संचारमाध्यमले आफैँ खोज्दै आउनुपर्ने हैसियत आफूले बनाउनुपर्ने हुन्छ । आखिर, उसलाई पनि त राम्रो सामग्री चाहिएकै हुन्छ ! नत्र, उसको पनि त पब्लिक रेटिङ घट्छ । घटेकै छ । नाम नलिऔँ, कतिपय दैनिक पत्रिकाको पाठकसङ्ख्या घटेर अचेल केही सयमा सीमित हुन पुगेको छ । कहिले बन्द हुन्छन् यस्ता पत्रिका, थाहै छैन । कतिपय बन्द हुन पनि थालिसके । आफैँ रुग्ण छन् । तिनलाई के भन्ने? फेरि, त्यहाँ डेस्कमा रहेको संयोजकको जागिर आफैँ अस्थायी छ । एक अस्थायी व्यवस्थामाथि स्थायी धारणा टाँसेर आफैँलाई दुःखी बनाइरहनुभन्दा भोलि पनि उज्याले हुन्छ, र एउटा नयाँ घामको उदय हुन्छ भन्ने कुरामा मलाई मेरै मनले विश्वास गर्न सिकाइरहेको छ । अब आयो कुरा गुट वा नेपोटिज्मको । गुटहरू हुन्छन्, किनकि हाम्रो एउटा स्वभाव हुन्छ, बानी हुन्छ, आग्रह हुन्छ, दुव्र्यसन हुन्छ, चिन्तन् हुन्छ, राजनैतिक झुकाव हुन्छ, भन्न मिल्ने प्रकृति हुन्छ, भन्न नमिल्ने सन्दिग्धता हुन्छ । हामी विशुद्ध लेखक भए त नहुनुपर्ने नि त, यी सबै । किन भए त ? किनकि, हामी लेखक पनि मान्छे हौँ र मान्छे हुनुका सतगुण वा दुर्गुण हामीसँग पनि हुन्छन् । र हाम्रोे जस्तो बानी र सोच छ, त्यस्तै साथी हुन्छन् । हामी पियक्कड हौँ भने, साथी त्यस्तै । हामी अन्य कुराका दुव्र्यसनी हौँ भने, हाम्रो समूह त्यस्तै । माक्र्सवादी हौँ भने त्यस्तै । जातिवादी हौँ भने, यस्तै । होइन, गुट हुनुहुँदैन भन्ने हो भने, हामी आफ्ना सबै गुण र अवगुण फुकालेर विशुद्ध लेखकमात्रै बनेर प्रस्तुत हुन सक्छौँ ? सक्दैनौँ भने, हामी गुटका सदस्य बनिरहनु अवश्यम्भावी छ । सक्छौँ भने, हामीले एक्लै हिँड्ने आँट गर्नुपर्छ । त्यस्तो एक्लै हिँड्ने आँट भएको सर्जक, वास्वतमा सही सर्जक हो । उसलाई न गुट चाहिन्छ, न समूह । उसलाई आफ्नै सिर्जनाप्रतिको आत्मविश्वासले कालजयी बनाउँछ । हामी गुट बनाउने पनि, देख्ने पनि सबै सबै खण्डित लेखक हौँ । हामी क्षेत्रका, जातका, पार्टीका, लिङ्गका, वर्गका, मुद्दाका सैनिक हौँ । म पनि । अनि, हामी सबैका आआफ्ना गुट हुँदैनन् ? यत्ति हो — गुटलाई लोकतान्त्रिकरण गरौँ । उदार बन्न सिकाऔँ । अन्य स्वभाव र विचारका सर्जकलाई निषेध गर्नुहुँदैन भन्ने संस्कार सिकाऔँ । एकअर्काका कमजोरीमा निर्मम बनौँ, र सच्याऔँ । अनि हुन्छ काम । नत्र केही पनि हुँदैन । यति कुरा मेरो आत्माले मलाई बताउन थालेको छ अचेल । जहाँसम्म नेपोटिज्मको प्रश्न छ — नेपोटिज्म त छ । तर त्यो पाठकले गर्ने होइनन् । त्यसले लेखकको लोकप्रियता कतै पनि रोक्दैन । नेपोटिज्म गर्ने भनेको — सरकार, प्रतिष्ठान, गुठी, संस्थान, संस्था वा संगठनले दिने पुरस्कार, सम्मान, प्रतिनिधित्व, नियुक्ति आदिमा हो । प्रतियोगिताहरूमा हो । पाठ्यक्रमहरूमा हो । प्रकाशनहरूमा हो । होस् । यो दुःखद हो । पीडादायी कुरा हो । तर पनि, यसैमा दुखेसो गरिरहेर के हुन्छ ? कति वर्ष कराउँदा सच्चिन्छ प्रज्ञाप्रतिष्ठानको प्राज्ञ नियुक्तिको प्रक्रिया ? प्रतिभा पुरस्कारको छनोट विधि, मोती पुरस्कारको कसी ? जति कराए पनि सञ्चिदैन । कराउन पनि छोड्नु हुँदैन । आफ्नो सिर्जना यात्रा, पाठकको हृदय जित्ने उपक्रम पनि छोड्नु हुँदैन । पाठकको सत्ताभन्दा ठूलो, एउटा लेखकका लागि अर्को सत्ता छैन । र, पाठक कमाउने काममा नेपोटिज्मले छुन पनि सक्दैन । अब, यस प्रकारका भाँडस पोख्ने हामी गैरजिम्मेवार लेखक हौँ भनेको कुरामा फर्किन्छु । त्यसलाई पुष्टि गर्छु । विरोधमा उभिइदिन, विद्रोह गरिदिन, भएन भन्दिन, औँलो उठाइदिन — सजिलो छ । खरो पनि होइन्छ, बलियो पनि । तर, सिर्जना ? कुरा छुट्छ । एउटा जिम्मेवार लेखकले, माथि सोधिएका तमाम प्रश्नका उत्तर आफूभित्र खोज्छ । उससँग, अन्य दसजना कविहरूलाई प्रेम गरेर, साथ लिएर, प्रोस्तसाहन दिएर, अगाडि ल्याएर, कवि व्यक्तित्वको निर्माणमा योगदान दिएको अनुभव हुन्छ । बजारमा, फलानाले साथ र सहयोग दिएर हामी अगाडि बढ्न सक्यौँ भनेर खुल्लमखुल्ला भन्न सक्ने दसौँ सर्जक हुन्छन् । पक्का हुन्छन् । कतै सिन्को भाँचेका छैनौँ भने हुँदैनन् । एउटा जिम्मेवार लेखकसँग, पाठकले देखाएको ऐनामा काम गर्ने धैर्य र आत्मविश्वास हुन्छ । ऊ, गुट, उपगुट र व्यवस्थाले जति उपेक्षा गरे पनि, पाठकहरूसँगको सिधा सम्बन्धमा निकै लोकप्रिय हुन्छ । ऊ, क्षणिक सोच्दैन । ऊ दूरगामी सोच्छ । म यो जातको, क्षेत्रको, लिङ्गको, धर्मको वा वर्गको भएकोले कसैले अगाडि आउन दिएनन् भन्नेजस्तो रोइलो गरेर ऊ भिक्टिम कार्ड खेल्ने मान्छे होइन । यी तमाम कार्ड राजनीतिमा काम लाग्छन्, तर साहित्यमा लाग्दैनन् । पाठकको जात हुँदैन । त्यसैले, लेखकको पनि जातको कुनै सान्दर्भिकता हुँदैन । पाठको बृहत्तर समुदायले जातका आँखाले हेर्दैन हामीलाई । अँ, मुद्दामा लेखेको हो भने, त्यस मुद्दाले जोडेका केही पाठक र त्यसलाई सम्बोधन गर्नुपर्ने सरकारबीचको कुरा हो त्यो । बृहत् सामाजिक सरोकारको विषय हो भने, सिर्जनाको कलापक्षभन्दा पनि, उठाइएको मुद्दाको कथ्यपक्षले ध्यान तान्छ, तानिनु पनि पर्छ । तर, उक्त मुद्दा वा एजेन्डा सम्बोधित भएको भोलिपल्ट उक्त सिर्जनाको सान्दर्भिकता रहँदैन । त्यसमा, उक्त लेखक पुनः पाठक र प्राज्ञिक समुदायमाथि खनिनुको कुनै पनि तुक हुँदैन । सारमा — हजार असन्तुष्टिका पुलिन्दा बनेर बाँचेका हामी धेरै लेखकहरूसँग कुनै पनि दृष्टि छैन । केवल कुण्ठा छ हामीसँग । अस्तु । #महेश पौड्याल
हामी आफ्नै संसारमा रमाइरहन्छौ: नूरन राई “जुदु” लामलश्कर लागेर हिडिरहेका बिद्यार्थीहरुको झुन्डमा म पनि हिडिरहेको हुन्छु ठीक साडे आठ बजी बिधालयको गेटमा बिद्यार्थीहरु अनि अरु-अरु म पनि त्यहाँ उभेको हुन्छु। अहो! कति मनोहर दृश्य हेर हेर कोहि गाडीबाट उत्रन्दैछन, अनि कोहि उतार्दैछन्, कति राम्रा र बलिया बिद्यार्थीहरु चिटिक्क युनिफर्ममा सजिएर असहाय कलिला हातहरुबाट आफ्नो स्कुल ब्याग र खाजाहरु थुत्दै स्कुल गेटभित्र पसेपछि उसकै ब्याग बोकिदिने ती कलिला असहाय साथीलाई गेटबाहिर नै छाडिराखेर “बाइ बाइ” भन्दै गरेको म खुबै चाख मानेर हेर्दैछु। तब सुट-टाइ र रङ्ग-बिरङ्गी साडीहरुमा सजिएका सर र मिसहरुलाई म जत्रै मेरो साथीले “गुड मर्निङ्ग सर” “गुड मर्निङ्ग मिस” भन्दै अङ्ग्रेजीमा कुरा गरेको सुन्दा आह! म कति आनन्दित छु र चकित पनि छु। कसरी? हन कसरी बोलेको होला हौ अर्काको भाषा त्यसले? कसरी जानेको हौ अङ्ग्रेजी कुरा म जत्रै त्यो मान्छेले? मैले चाहिँ किन नजानेको होला भनी आफै सोचिरहन्छु अनि यसरी सोच्दासोच्दै एउटा यस्तो उत्तर आफैमा पाउँछु ए….साच्ची अङ्ग्रेजी बोल्न त सुट-टाइ पो लाउनुपर्छ होला है, स्कुल पो धाउनुपर्छ होला है। यसरी यस्तो सोच्दासोच्दै कल्पनाको यानमा उड्दाउड्दै मभित्र एउटा स्फुर्ती संचारित हुन्छ अनि यस्तै कल्पनामा उड्दाउड्दै साथीको ब्याग बोकेर हिड्दाहिड्दै साथीसितको मेरो सिमित यात्रा स्कुलको गेटसम्म पुगेर टुङ्गिन्छ। तब स्कुल ड्रेसमा सजिएका साथीहरू स्कुलको गेटभित्र पसेपछि मेरो अर्कै साथीहरू हुन्छ मेरो अर्कै संसार हुन्छ। हामीले बोकिल्याएका स्कुल ब्याग र खाजाहरु गेटभित्रका साथीहरूलाई थम्याएअपछि हामी गेटभाहिरकाहरु कोहि चेखवको बान्का भएर कोहि स्लमडगका जमाल र सलिमहरु भएर अझै कोहि राज सरको काली केटी भएर चाचा नेहरुको न्यानो काख खोज्दै मदर टेरेजाको प्रेमिलो स्पर्श खोज्दै खेतबारीको कान्ला-कान्लामा मालिक हजुरको चोठा-कोठामा आफ्नो भविष्य खोजिरन्छौ सुनौलो भाग्य कोरिरहन्छौ दिवास्वप्नमा घोरिरहन्छौ अनि यसरी स-साना हामी आफ्नै संसारमा रमाइरहन्छौ। दार्जीलिङ
आस्था/अनास्था: मिलन कुमार बान्तवा ( राई) युगौं देखि समाधिस्थ ढुङ्गामा कसैले प्राणजस्तो केही हालिदिएपछि मूर्तिमा कसैले हृदयजस्तो केही भरिदिएपछि उभिरहेछ या बसिरहेछ एउटा असहाय बिचरा निर्धो ईश्वर! पूजारीहरूका लोभी आँखाहरू बाजको चालमा पल्याकपुलुक हेर्दै थिए त्यही हूलमा फेरि कतिका कामुक आँखाहरू एकदेखि अर्को यौवनतर्फ फालाकफिलिक गर्दै थिए तर अँहँ देखेन कसैले पटक्क मेरो ईश्वरले देख्न नसकेका सोचेर, सम्झेर गरेका अनगन्ती पापहरूको या त सुनियोजित तरीकाले गरेका अक्षम्य घोटालाहरूको अर्थात् दूधमुखे बालकहरूको भाग्यमा लात मारेर आफ्ना खल्ती भरेका अपराधहरूको त्यो पनि होइन भने एउटी असहाय अबलाको निर्ममतापूर्वक बलात्कार र हत्यापछि प्रायश्चित्त गर्न आइपुगेका अनेकौं पापी हृदयहरूको ताँती मन्दिरकै वरिपरि। नसोचीकन नै पुगेछु म पनि त्यही ईश्वरकहाँ प्रेमको पाठ सिक्न भनी नबुझीकन नै पुगेछु म पनि त्यही ईश्वरकहाँ आफ्नो भाग्यको उँचाइ नाप्न भनी। तर कस्तो विडम्बना नि! मेरो ईश्वरको नगीच पुग्नसाथ म त निख्रिएँ म त प्रेमशून्य पो भएँ भाग्यहीन बटुवाझैँ एकलास बाटोको एकलो यात्री पो भएँ अल्पिए मेरा सहयात्रीहरू हराए मेरा तमाम आफन्तहरू बिलाए मेरा जहान बालबच्चाहरू यसरी म एकलो एकलो भएँ यसरी म दुनियाँदेखि बेग्लो बेग्लो भएँ। तरै पनि छ नि आस्था त ईश्वरमाथि त्यो त कहिल्यै मर्ने होइन तरै पनि छ नि विश्वास त ईश्वरमाथि त्यो त कहिल्यै ढल्ने छैन मैले त केवल ढुङ्गामा ईश्वर छैन भनेको ईश्वरभित्र ढुङ्गा छैन भनेको आस्थाको दीयो निभाउने निकृष्ट पूजारीहरूमा धर्म छैन भनेको विश्वासको पर्खाल तोड़्ने हृदयहीन ढुङ्गामा ईश्वरको कुनै चिह्न नै छैन भनेको।
शताब्दीको पुरुष: सूर्यको उज्यालोलाई छेकेर एउटा बन्द कोठामा मेरो लोग्ने भनौंदो प्रवेश गर्छ म सुत्ने ओछ्यानमा र, मुस्कुराउँछ छेउमा आइपुग्छ शरीर मन आत्मासम्मको कुरा गर्न थाल्छ मेरो आलिंगनमा टाँसिन आउँछ अनि एउटा मीठो चुम्बन दिन्छ त्यसपछि औधी प्रेम गर्छ भुल्दै जान्छ परमात्माको प्रेमबाट अर्कै लोकमा गएको अनुभव गर्छ ऊ । सुम्सुमाउँछ छामछुम गर्छ केही समयपछि संभोग गर्छ र, उसको विर्यबाट मेरो पेटमा गर्भधारण हुन्छ म गर्भवती हुनेछु सारा प्रसव पीडा सहेर जन्मिन्छ नवजात शिशु जो आजको युगलाई परिवर्तन गर्न सक्छ विपी जस्तो पनि हुन सक्छ महात्मा गान्धीजस्तो पनि हुन सक्छ जे होस् यो युग परिवर्तन भएर नै छाड्छ त्यसैले त्यो बन्न सक्छ शताब्दीकै एकमात्र युगपुरुष । #अमित संग्रौला #शताब्दीको पुरुष
समय र तिमी: म सानो हुँदाको झन सानी तिमी तिमी सानी हुँदाको केही ठूलो म । त्यो अपरिपक्व समयको परिपक्व आकर्षण यो परिपक्व समयको अपरिपक्व प्रेम । त्यो अपरिपक्व समयको परिपक्व आकर्षणमा ति अपरिभाषित सम्बन्धका आत्मिय भावहरूमा ति मीठा स्पर्षका संकोचहरूमा ति ढल्दै गरेका बसन्तमा तिनै बसन्त नियाल्दै तिमी सोध्ने गथ्र्यौ, वसन्त कहिले आउँछ ? म सम्झन्छु ! त्यो अपरिभाषित सम्बन्ध त्यो अघोषित प्रेम त्यो वाल्य मिलनका अतृप्त उन्मादहरू तिनै मिलन सँगका विछोड र, ति विछोडमा अनायासै झरेका केही थोपा आँसु अनि आँसु सँगै बगेका कयाँै भावनाहरू मलाई भन्नु छ तिमीसँग समय सँगै बदलिएका तिम्रा स्वघोषित आधुनिक विचारहरूसँग तिम्रो मुस्कानमा अडिएको मेरो सन्तुष्टीसँग समयका अन्तरालले जन्माएका प्रेमका नयाँ परिभाषाहरू सँग मलाई भन्नु छ, हो मलाई भन्नु छ प्राकृतिक फन्को सँगै वर्षेनी फेरिने नयाँ पालुवाहरू सँग आउँदैन मेरो बसन्त । तिमिलाई थाहा कहिले आउँछ मेरो बसन्त ? त्यो ढल्दै गरेको बसन्त सँगसँगै हुर्किदै गरेको गृष्ममा प्रचण्ड तापसँगको निसास्सिने वायुमण्डलबाट तिमीलाई स्पर्श गरेर निस्केको तातो वायु तिम्रो स्निग्ध चेहरा हुँदै मसम्म आइपुग्दा बसन्त आउछ । तिम्रा तिनै अबोध चेतनाका अनुत्तरित चेतनशील प्रश्नहरूले मेरा मौनतामा लुकेका असिमित प्रेमहरू तिम्रा चक्षुमा टल्किँदा बसन्त आउँछ । #विनोद भट्टराई #समय र तिमी
उज्यालोतिर: हेरिरहेछु युगको पेण्डुलमलाई नियार्दै क्षणहरूका दिनचर्या । गुफाभित्रबाट निस्सासिँदै कालचक्रको विषालु पथलाई पर सार्दै सर्प बेरिएका शरीर लिएर स–साना कागजका नौकाहरू अन्धकारको बहावले धकालिँदै अग्रसर छन् । बाटो बिराएका जुनकीरीहरू अँध्यारोका सुसेलीलाई नै बाटो ठान्न बाध्य छन् । अन्धकारले सिकाएको कोरियोग्राफी हात खुट्टाहरूमा उनिएर मनभित्रको समाजतन्त्रमा तलमाथि गरिरहँदा जिब्रोमा प्राण चेपेर बसिरहेछ समय। पर्खाइको उपवास सहेर बसिरहेको भुइँको शरीर अनि अनन्तताको त्रिभुजमाथि घर बनाएको यौटा पार्थिव निद्रा माटोको तल्लोपेटमा प्रहार गरी मृत्युको रिहर्सलमा व्यस्त छ । म भने पर्खाइमा छु समयको नाडीमा बाँधिने एउटा रूद्राक्षको । #उज्यालोतिर #बिलोक शर्मा
डम्बरको गीत: चन्द्रसूर्य झण्डा फरर मेची महाकाली जय जय नेपाल जय जय नेपाली ।। जहाँ जन्मेँ त्यहीँ फुलेँ यो मेरो प्यारो नन्दन खाऊँ सञ्जीवनी बुटी, लाऊँ यहाँकै चन्दन हे आमा, मल यहीँ जल यहीँ, बनूँ मैँ माली जय जय नेपाल जय जय नेपाली ।। किन जन्म्यौ भनी कसैले सोधे जन्मेँ मर्नलाई मर्नुअघि जन्मभूमिका लागि केही गर्नलाई हे आमा, हासूँ यहीँ नाचूँ यही, बजाऊँ मै ताली जय जय नेपाल जय जय नेपाली ।। #डम्बर बिकेल
पाकिस्तानी कवि फना सेयदको कविताः 'समय': विगतका प्रत्येक स्मृतिहरू अदृश्य समयको गहिरो कुवाभित्र रहन्छन् सुषुप्त धेरै केही पलका प्रकाश किरणहरू छोपिएका छन् कुनै सुनौली गलबन्दीभित्र तीमध्ये केही प्रतिविम्बित गर्छन् पीडाका केही अमिट तस्बिरहरू र अङ्कित हुन पुग्छन् आँखाको भुँवरीमा नाच्दै हृदयको सिलोटमाथि । प्रकाश र छायाँको यो खेल वर्तमानका प्रत्येक क्षणले हेरिरहन्छन् पीडाका भीमकाय चट्टानहरू सान्तवनाका मृदुल प्रकाश किरणहरू भविष्यलाई तुलोमा राख्छन् र जोखिदिन्छन्.. ! एउटा फकिरजस्तै तुवाँलोमा बेरिएर समयको यस कालो कुवाभित्रबाट चिहाउँछ विगत । वर्तमानका प्रत्येक पलहरू हेर्छन र चिन्तन गर्छन् । अनुवादक – महेश पौड्याल #परविन फना सेयद
जन–आन्दोलनको भार काँधमा बोकिहिँडेको एक कविता: आन्दोलनमा कविता प्रयोग हुनु स्वाभाविक नै हो । इतिहासको पाना पल्टाउने हो भने कविताले नै आन्दोलनको प्रतिनिधित्व गरेको पाइन्छ । कविता कसैको लागि अस्त्र बन्न सक्छ, कविता कसैको लागि उत्प्रेरणा बन्न सक्छ । समाजमा कवितालाई हेर्ने दृष्टि फरक रहे पनि वास्तवमा कविता समाजको ऐना नै हो । जब कसैले अग्रसर भएर आफ्नो कुरा राख्न सक्दैन, त्यहाँ कविताको सहयोग लिइन्छ । सरकारलाई प्रश्न गर्न होस् वा सत्ता नै च्यूत गराउन किन नहोस्, त्यहाँ कविताको भूमिका निकै गहिरो रहेको पाइन्छ । कविताले कुनै युग, कुनै सत्ता, कुनै समय, कुनै आन्दोलन वा कुनै परिवर्तनको प्रतिनिधित्व गर्दछ । कवि श्रवण मुकारुङ कविता बिसे नगर्चीको बयान वाचन गर्दै श्रवण मुकारुङ को बिसे नगर्चीको बयान नामक कविताले वि.सं २०६२ सालबाट नेपाली कविता जगतमा राम्रो हस्तक्षेप राख्दै आएको छ । यही स्थान किन र केका लागि पाएको थियो ? भन्ने प्रश्न पनि मुख्य रहन्छ । आन्दोलनताका लेखिएका कयौँ कविता पाठकको मस्तिष्कमा मृत भइसेकेका छन्, तर आन्दोलनताका नै लेखिएको यस कविता भने किन मान्छेको मस्तिष्कमा जीवित छ ? हामी बिसे नगर्चीको बयानमा के छ भन्ने कुराको खोज गर्नेछौँ । यस कविता नै ६२ र ६३ आन्दोलनको प्रतिनिधि कविता बनेर किन उभियो ? प्रस्तुत छ कविता बिसे नगर्चीको बयान – बिसे नगर्चीको बयान मालिक ! म यो गोरखा राज्यमा अढाई सय वर्षपछि बौलाएँ । मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु खोइ मेरो पैताला कहाँनिर छ ? कहाँनिर छ बिसे नगर्ची ? मालिक ! म बौलाएँ । मैले त महाराजको सेवा गर्नुपर्ने इतिहासको रक्षा गर्न यो गोरखकालीको पाउ छोएर नुनको सोझो हुनुपर्ने अढाई सय वर्षपछि आज के भयो मलाई ? यो बिसेलाई दशा लाग्यो मालिक ! म बौलाएँ । नाथे मेरी स्वास्नी न हो मारिएकी नाथे मेरी छोरी न हो बलात्कृत भएकी नाथे यो बिसेको झुप्रो न हो जलाइएको यतिमै यो बिसे उफ्रिनुपर्ने ? थुइक्क बिसे । म बौलाएँ मालिक ! म बौलाएँ । मेरो हात भाँचियो अब म हजुरका भारदारहरूलाई लवेदा सिउन सक्दिनँ नर्सिङ्गा फुक्न र सनाई बजाउन अथवा कुनै मङ्गलगान वा मृत्युगीत गाउन सक्दिनँ मेरो खुट्टा भाँचियो अब म हजुरको राज्यको पहरा गर्न सक्दिनँ मेरो दिमागै ठीकमा छैन अब म ठिक्कले बोल्न सक्दिनँ मालिक ! म बौलाएँ । मालिक ! यो गोरखा राज्यअघि उभिएका हिजोका ती अग्ला अग्ला पहाडहरू आज कसरी यस्तरी होचाहोचा भए ? हिजोका ती सग्ला र कल्कलाउँदा यहाँका मानिसहरू आज कसरी यस्तरी खुनी र कुरूप भए ? यो दरौँदी किन उल्टो बगेको देख्छु ? यो दरबारै किन खण्डहर जस्तो देख्छु ? म बौलाएँ मालिक ! म बौलाएँ । मालिक ! हजुरको तरबारले टाउको काट्छ कि फूल ? भ्रममा परेँ म हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे ? भ्रममा परेँ म यस राज्यलाई प्रजाले बनायो कि राजाले ? भ्रममा परेँ म अढाई सय वर्षदेखि म तपाईंसमक्ष छु मालिक ! म कसरी आतङ्ककारी हुनसक्छु ? म केवल बौलाएँ मालिक ! बौलाएँ । हो, मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला रक्सी खाएर यो देश मैले पनि आर्जेको हुँ भनेँ हुँला भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनेँ हुँला मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई मेरो नाङ्गो आङ देखाएँ हुँला बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरेँ हुँला मालिक ! मान्छे बौलाएपछि आफैँसित पनि निहुँ खोज्दोरहेछ अढाई सय वर्षदेखि मैले तुनेका थाङ्नामा हुर्केका मेरा दरसन्तानहरू कहाँकहाँ पुगे? मैले खोज्न चाहेँ हुँला मेरा औँलामा खोपिएका छ्यान्द्रा र बगेका रगतहरूले मलाई उक्सायो तरबारले आर्जेको मुलुकभन्दा मैले धागोले उनेको मुलुक विशाल ठानेँ हुँला मालिक ! यस माटोको इतिहाससँगै म हजुरको राष्ट्रमा छु म कसरी अराष्ट्रिय हुन सक्छु ? म साँच्चै बौलाएँ मालिक ! साँच्चै बौलाएँ । मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु खोइ मेरो पैताला कहाँनिर छ ? कहाँनिर छ बिसे नगर्ची ? मालिक ! म बौलाएँ । वि.सं २०६२ र ६३ को जन–आन्दोनलाई नजिकैबाट हेर्नेहरूलाई यो कविता पक्कै पनि मस्तिष्कमा याद बनेर रहेको हुनुपर्दछ । यो कविता वि.सं २०६२ सालमा सुरुको आन्दोलनलाई भरछेक गर्नको लागि लेखिएको थियो । आन्दोलनको समयमा स्वतन्त्र रेडियोमाथि दमन भइरहेको बेला “स्वतन्त्र रेडियो बचाऊ अभियान” कार्यक्रममा कविहरूलाई कविता लेख्न अनुरोध गरियो । त्यही अनुरोध कवि श्रवण मुकारुङलाई पनि पुगेको थियो । कविले अनुरोधलाई स्वीकार्दै बिसे नगर्चीको बयान शीर्षकमा कविता लेखे र बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा उनले पहिलोपटक बिसे नगर्चीको बयान कविता सुनाएका थिए । कवि भन्छन्– “मैले बिसे नगर्चीको बयान कविता जन–आन्दोलनको संघारमा नै लेखेको थिएँ ।” श्रवण मुकारुङ कविहरूलाई एकाबद्ध हुनको लागि आह्वान नगरिएको भए सायदै यस कविताको जन्म हुन्थ्यो या हुँदैन थियो, कवि यसै भन्न सक्दैनन् । उनको बिसे नगर्चीको बयान शीर्षकमा नै उनको कविता सङ्ग्रह प्रकाशित छ । र पछिल्लो समयमा अत्याधिक बिक्री हुने मध्ये उनको यस सङ्ग्रह पनि पर्दछ । कवि भन्छन्–“मैले यस कविता लेखेपछि यस कवितालाई कतिपटक वाचन गरेँ, मलाई थाहा छैन ।”, उनले यस कविता सयौँपटक सुनाएका छन् । जसको लेखाजोखा छैन । आन्दोलनको समय यस कविता नेपालका सबै पत्रिकामा प्रकाशित भएको थियो । आन्दोलनमा उनको यस कविता पम्पप्लेटको रूपमा पनि प्रयोग भएको थियो । टि–र्सटमा यस कवितालाई प्रिन्ट गरेर प्रयोग भएको पनि कविलाई सम्झना छ । बिसे नगर्चीको बयान कविता बोकेर कवि देश विदेश कविता सुनाउन पुगेका छन् । नेपालकै धेरै जिल्लामा उनको एकल कविता वाचन कार्यक्रम आयोजना भएको छ । अहिले जसरी टिकट काटेर कविता सुनाउने चलन बढिरहेको छ, त्यसको बीजारोपण भने कवि श्रवण मुकारुङले नै गरेका थिए । यस कविताले लोकतन्त्र माग्ने जनतालाई आन्दोलनको समयमा एक भाषा दिएको थियो । मान्छेहरूले यसै कविताको भाषामा उभिएर आफ्नो आवाज प्रस्तुत गरेका थिए । प्रस्तुत कविताको बारे मदन पुरस्कार विजेता दिनेश अधिकारी भन्छन्–“यस कविताले दुई कुरा बोल्दछ । पहिलो कुरा के हो भने, यस कविताले आदिवासीको आवाज दिएको छ । एकताको धागो यस कविताले बोलेको छ भने अर्को कुरा समाज परिर्वतनको सन्देश दिएको छ ।” बिसे नगर्चीको बयानका कविको नयाँ कृति बजारमा आउने तयारीमा छ । उनको आगामी कृतिको लागि हार्दिक शुभकामना । #निरज दाहाल #श्रवण मुकारुङ
क्वोरिन्टन कविता अभियान उचाइमा: सामाजिक सञ्जालमा सुरू भएकाे सरकारविराेधी कविता अभियान उत्कर्षतिर पुग्न थालेकाे छ । क्वारेन्टाइनकाे पीडा देखाउन सुरू भएकाे सरकारविराेधी कविता अभियानमा देशका चर्चित कविहरू पनि जाेडिन थालेका छन् । देशमा अनेक समस्या रहे पनि त्याे समाधान गर्न छाडेर नेताहरू सत्ताकाे साँघुराे खेलमा लागेकाे भन्दै उनीहरूले विराेध सुरू गरेका हुन् । सुरूमा याे काेराेना महामारीमा केन्द्रित थियाे । काेराेना महामारीकाे विषयमा सरकारले गरेकाे बेवास्ताबाट सुरू भएकाे याे अभियान अहिले भाेकमरी, क्वारेन्टाइनमा भइरहेका समस्या, भष्ट्राचार, सत्ताकाे चलखेल र नेताहरूकाे भ्रष्ट बुद्दीमा केन्द्रित हुन थालेकाे छ । यसलाइ कविहरूले क्वारेन्टाइन पाेयट्री नाम दिएका छन् । अभियानकर्ताहरूले एउटा पाेस्टर बनाएका छन्, जसमा सिलाइएकाे अाेठलाइ युवाहरूले च्यात्ने प्रयास गरिरहेकाे देखाइएकाे छ । ‘एक दिनमा पाँच सयभन्दा बढी कविता पाेस्ट हुन थालेका छन् । याे स्तरकाे कविता अभियान यसअघि कुनै पनि मुभमेन्टमा देखिएकाे थिएन ।’ साहित्यपाेस्टका काव्य विभागका काेअर्डिनेटर निरज दाहालले भने, ‘कविहरूले यसलाइ शालीन विद्राेहकाे नाम दिएका छन् ।’ कोरोना महामारीको चरम अवस्थामा सरकारले गरेको बेवस्थालाई मध्यनजर गर्दै कविहरूले आफ्नो प्रश्न कविताको माध्यमबाट उठाएका छन् । पाँच सयभन्दा बढी कविता एकै पटक पोस्ट भएको छ भने अझै पोस्ट हुने क्रम जारी नै छ । ‘हाम्रा अावाजहरूलाइ अब कुनै पर्खालले छेक्ने छैन’ पाेस्टरमा लेखिएकाे छ । सुरूमा याे केही पीडित कविहरूकाे सामान्य अभियान थियाे तर यसलाइ पाका र नाम चलेका लेखक–कविले साथ दिएपछि यसले उचाइ लिएकाे हाे । अभियान अघि बढ्दै गएपछि यसलाइ साझा राजनैतिक पार्टीनिकट लेखक–कविले नेतृत्व दिन थाले । यसमा थपिए नेपाली कंग्रेसनिकट लेखक–कविहरू । अहिले यसमा सरकार पक्षका लेखक कवि पनि मिसिएका छन् । ‘याे अभियानलाइ राजनीतिक रंग दिन खाेज्नु गलत हाे ।याे स्वतस्फूर्त अभियान हाे ।’ याे अभियानमा मिसिएका अर्काे दल विवेकशील नेपालीनिकट एक कविले भने, ‘जब कुनै अभियान चल्छ, त्यसमा कसैकाे न कसैकाे नाम जाेडिनछ । यसले स्वतन्त्र अभियानलाइ प्रभावित पार्छ ।म कुनै दलनिकट भएर याे अभियानमा जाेडिएकाे हाेइन ।कविका रूपमा विद्राेह गरेकाे हुँ । त्यसैले पनि नाम नराखिदिन अनुराेध गर्दछु । ‘ कतिपयले सामाजिक सञ्जालभरि किन कविता पाेस्ट भइरहेका छन् भन्ने नबुझिकनै यसमा साथ दिइरहेका छन् । कतिपयले पाेस्टर र कविताकाे शैली मनपरेर साथ दिएकाे बताएका छन् । अभियानकर्ताहरूले अाज दिनभरि पनि याे अभियानले निरन्तरता पाउने अाशा राखेका छन् । प्रस्तुत शालीन विद्राेही कविहरूका केही प्रतिनिधि कविताहरू:
समय र तिमी: म सानो हुँदाको झन् सानी तिमी तिमी सानी हुँदाको केही ठूलो म । त्यो अपरिपक्व समयको परिपक्व आकर्षण यो परिपक्व समयको अपरिपक्व प्रेम । त्यो अपरिपक्व समयको परिपक्व आकर्षणमा ती अपरिभाषित सम्बन्धका आत्मिय भावहरूमा, ती मीठा स्पर्शका संकोचहरूमा ती ढल्दै गरेका वसन्तमा तिनै वसन्त नियाल्दै तिमी सोध्ने गर्थ्यौ, ‘वसन्त कहिले आउँछ?’ म सम्झन्छु, त्यो अपरिभाषित सम्बन्ध त्यो अघोषित प्रेम त्यो वाल्य मिलनका अतृप्त उन्मादहरू तिनै मिलन सँगका विछोड र, ती विछोडमा अनायासै झरेका केही थोपा आँशु अनि आँशुसँगै बगेका कयौँ भावनाहरू । मलाई भन्नु छ तिमीसँग, समयसँगै बदलिएका तिम्रा स्वघोषित आधुनिक विचारहरूसँग तिम्रो मुस्कानमा अडिएको मेरो सन्तुष्टीसँग समयका अन्तरालले जन्माएका प्रेमका नयाँ परिभाषाहरूसँग मलाई भन्नु छ, हो मलाई भन्नु छ प्राकृतिक फन्कोसँगै वर्षेनी फेरिने नयाँ पालुवाहरूसँग आउँदैन मेरो वसन्त । तिमीलाई थाहा छ, कहिले आउँछ मेरो वसन्त ? त्यो ढल्दै गरेको वसन्त सँगसँगै हुर्किदै गरेको गृष्ममा प्रचण्ड ताप सँगको निसास्सिने वायुमण्डलबाट तिमीलाई स्पर्श गरेर निस्केको तातो वायु तिम्रो स्निग्ध चेहरा हुँदै मसम्म आइपुग्दा वसन्त आउँछ। तिम्रा तिनै अबोध चेतनाका अनुत्तरित चेतनशील प्रश्नहरुले मेरा मौनतामा लुकेका असीमित प्रेमहरु तिम्रा चक्षुमा टल्किँदा वसन्त आउँछ । सप्तरी, कञ्चनरूप १२ #विनोद भट्टराई
नयाँ राजा र जुलाहाहरू: पिताजी बडो कुशल कथावाचक हुनुहुन्थ्यो । पख्नुस् है पाठकवृन्द, यस कथालाई अर्कै ठाउँबाट पो उठान गर्नुपर्छ कि ! हो, धम्मे दाइ कपडा सिलाउने काममा निक्कै सिपालु थिए । अँ, बरू यो उठान ठीक भयो कि ! हाम्रो गाउँभरि र अरू गाउँहरूमा पनि बाली उठाउने गरी कपडा सिलाउँथे उनी । सुलीकोटको अलिकति पूर्वबाट सुकिलो घाम, एक जुवा माथि उठिसक्ता पनि त्यसको ठीक तल पाङ्ग्राङ र अझै तल कालीगण्डकी क्षेत्र उज्यालो हुनै बाँकी रहेजस्तो–कम हरियो र बढी कालो वनभित्र लुकिरहेको प्रतीत हुन्थ्यो । तल गण्डकीको एकोहोरो स्वाँ आवाज आइरहन्थ्यो । यसको एकाध घण्टापछि मात्र चुचुरो उज्यालो भएका–उत्तरको माइको थान र उत्तरपश्चिमको हाँडीकोटको बीच गल्छेँडोबाट कुहिरो उठ्थ्यो र धम्मे दाइ हाम्रो पूर्वतिरको पिँढीमा आफ्नो कल अगाडि राखेर कपडा सिलाउन बस्थे । एउटा अव्याख्येय सौन्दर्य जस्तो, कुतूहलजस्तो, अलिअलि भयमिश्रित रोमाञ्च जस्तो, एउटा रहस्यमय निरन्तरता जस्तो, क्रीडामय बाल्यकाल गुजार्थ्यौँ हामी त्यस गाउँमा । “सुती कपडाका धेरै फाइदा छन्,” पिताजी भन्नुहुन्थ्यो, “यो जाडो–गर्मी दुवै अवस्थाका लागि हितकारी हुन्छ !” नाक चुच्चो र लामो, फुलेका दाह्री र जुँगाको बीचमा हाँसिरहँदा देखिने अलि ठूला दाँतहरू, पातला–सेता रौँहरू भएको सानो कपाल, कालो फ्रेमसहितको चस्माभित्र तीक्ष्ण आँखाहरू, समग्रमा उज्यालो र निर्मल अनुहार, अलिकति बढेका सफा नङ सहितका पातला औँलाहरू, हातमा जयदयाल गोयन्का वा हुनमान प्रसाद पोद्दारद्वारा लिखित कुनै गीताप्रेसी पुस्तक भएको – ऋषिजस्तो देखिने मान्छेलाई हामी पिताजी भन्थ्यौँ । पूर्वतिरको पिँढीमा धम्मे दाइले कपडा सिलाउँदा त्यसको ठीक पश्चिमको पिँढीमा खाँबोको अडेस पारी सिरानी ढाडमा पारेर पिताजी बस्नुहुन्थ्यो । मेरा दौँतरीहरू – इन्दु, हरि वा दिवाकर दाइहरू सर्ट र हाफप्यान्ट लगाउँथै । ती आधुनिक कपडाहरूको मलाई पनि बडो रहर हुन्थ्यो तर पिताजी मेरा लागि भित्री हालेको भोटो तयार गरिदिनुहुन्थ्यो जुन मेरो घाँटीदेखि कुर्कुच्चासम्म पुग्ने “वन पिस” नै हुन्थ्यो । पिताजी बडो विश्वासपूर्वक भन्नुहुन्थ्यो, “यो हितकारी छ।” “बाले त्यसै भन्नुहुन्न,” आमा पिताजीको अभिव्यक्तिमा समर्थन गरिहाल्नुहुन्थ्यो। अनि त अलिकति मन खुम्चिए पनि म भोटो लगाउन विवश हुन्थेँ । पिताजी अत्यन्त संवेदनशील मानिस भएकाले उहाँलाई के थाहा थियो भने भोटो मेरो प्रिय पहिरन होइन तर पनि भोटो तयार हुन्थ्यो र पहिलोपटक धम्मे दाइले नै कपडा मलाई लगाइदिन्थे र भन्थे–‘नाच ।’ पाठकवृन्द, हो, अब यो चाहिँ ठीक ठाउँ हुन सक्छ, जहाँ अघिको वाक्य लेखेर कथा सुरु गर्न सकिन्छ –‘पिताजी बडो कुशल कथावाचक हुनुहुन्थ्यो ।’ नयाँ–नयाँ किसिमका कपडाहरू वा सुविधाहरूप्रति आकर्षित हुनु हामी बालबालिकाका निम्ति सहज स्वभाविक थियो तर पिताजी यस्ता कुराहरूको आकर्षणले मानिसलाई ठीक गन्तव्यमा पुग्न दिँदैन भन्ने विश्वास गर्नुहुन्थ्यो । धम्मे दाइ घरमा भएको अवधिमा कपडा–विषयक कथा भन्नु प्रासङ्गिक पनि भएकाले सायद पिताजीले यो कथा छान्नु भएको थियो । “डेनमार्कका तत्कालीन राजा अन्य विलासिताका साथै कपडाका बडो सौखिन थिए,” कथा सुरु भएको थियो, “राजालाई दिनहुँ नयाँ किसिमको आकर्षक पोसाक लगाउने इच्छा हुन्थ्यो । उनी प्रायः राजसभाका बैठकहरूमा भन्दा पनि आफ्नो निजी शृङ्गार कक्षमा राखिएको ठू्लो दर्पणअगाडि उभिएर पोसाक परिवर्तन गरिरहन मन पराउँथे। त्यस राज्यमा गरिबी, भोकमरी, बलात्कार भ्रष्टाचार व्याप्त थियो । मानिसहरू झाडापखालासम्मको औषधी नपाएर मरिरहेका थिए । तर भ्रष्ट आफन्त र अनैतिक मन्त्रीहरूद्वारा घेरिएका नक्कले महाराजलाई यी कुनै कुराको पर्वाह थिएन । प्रजाहरूको वास्तविक दुरवस्था र राजाको ध्यानकर्षण विपरीत ध्रुवमा थिए। मन्त्रीहरू, राजपुरोहित, राजवैद्य, राजज्योतिष र विदेशी कूटनीतिज्ञहरू सम्मिलित सभामा समेत उनी अनुपस्थित रहन्थे । उनी त प्रायः दर्पणअगाडि दायाँ- बायाँ फर्केर आफ्नै छायाँ हेरी आत्मप्रशंसामा मग्न रहन्थे ।” पिताजीको काखमा सिरकभित्र घुस्रिरहेको मलाई जाडो महिनाको तातोले लट्ठ्याउँदै थियो । खरको छानामाथि, आँपको रूखमाथि, आँगनमा छपाइएका ढुङ्गाहरूमा वर्षाको पानी बज्न थालेको थियो र पिताजीको कथावाचनको मधुर स्वरले अर्कै लोकबाट प्रतिध्वनित सङ्गीत जस्तो भएर मलाई कहिले विपना र कहिले सपनाको पिङमा झुलाइरहेको थियो । खै कतिखेरदेखि हो, अहिले म निकै राम्रो तर पुरानो राजदरबारभित्र पसेको थिएँ । मेरो हात समाएर मलाई हिँडाइरहेका मानिसलाई मैले सोधेँ, “तपाईँ को हुनुहुन्छ ?” “ह्यान्स ख्रिस्चियन एन्डरसन,” तिनले भने । मलाई तिनको नाउँ अनौठो र अप्ठेरो लाग्यो । तिनी नाक चुच्चो परेका, पातला, पुरानो खालको कोट र गलबन्दी बेरेजस्तो घाँटीमा मात्र बेरिने टाई लगाएका गोरा मानिस थिए । तिनको निधारको देब्रेपट्टिबाट टुपीसम्मै तालु खुइलिएको थियो र कानमाथि बाँकी रहेको कपाल चाहिँ लामो तर घुम्रिएको थियो । “यो कुन ठाउँ हो ?” मैले सोधेँ ! सबैकुरा नयाँ, रहस्यमय र रोमाञ्चक थियो तर सम्भवतः तिनको अनुहारमा देखिने सज्जनताले हुनसक्छ– मलाई डर लागिरहेको थिएन । “यो डेनमार्कको ऐतिहासिक दरबार हो,” तिनले भने, “यहाँ तिमीलाई एउटा नाटक हेर्नका निम्ति तिम्रा पिताजीले नै पठाउनुभएको हो। तिमी नाटकप्रेमी, कथाप्रेमी बालक हौ अतः तिमीलाई मेरो कथामा नाटक हेर्ने अवसर प्राप्त होस् भन्ने उहाँको इच्छा छ ।’’ “ए,” मैले भनेँ । मेरो इच्छा र मनोविज्ञानका प्रति पिताजीको यति सूक्ष्म चासो छ भन्ने बोधले म निकै खुसी भएँ र पिताजीप्रति कृतज्ञ भएँ । ————— एउटा दृश्य यस्तो थियो : (दरबारको मूलद्वारमा द्वारपाल उभिएको छ र त्यहाँ दुई नवागन्तुक अधबैंसेहरू आइपुग्छन् । भोटो, सुर्वाल, पटुका, फेटा र चुच्चे जुतामा तिनीहरूको व्यक्तित्व सुन्दर देखिन्छ ।) अधबैँसे १: (द्वारपालसँग) “हामी नयाँ–नयाँ डिजाइनका आकर्षक कपडाहरू बनाउने दूरदेशबाट आएका जुलाहा हौँ, यसै वर्ष हामीले एउटा अद्भुत र सुन्दर पोसाकको आविष्कार गरेकाले महाराजको दर्शन गरी सो कुराको निवेदन गर्ने अभिलाषाले यहाँ आएका हौँ।” अधबैँसे २: “अनि हामीले हालसालै के थाहा पायौँ भने यस देशका महाराज नयाँ–नयाँ र महङ्गो पोसाक, गाडी र विमानको सौकिन होइबक्सन्छ। गाडी र विमान त उहाँले धेरै ठाउँमा पाइबक्सेला तर हामीले बनाउने जस्तो पोसाक महाराजले यस पृथ्वीमा कतै पाइबक्सने छैन।” अधबैँसे १: “यद्यपि यो ज्यादै महङ्गो छ तर अभूतपूर्व छ ।” (द्वारपाल नवागन्तुकहरूलाई रोकिन इसारा गर्दै भित्र जान्छ र पर्दा बन्द हुन्छ ।) अर्को दृश्य यस्तो थियो : (राजाका अगाडि उनै दुई जुलाहाहरू हात जोडेर उभिएका छन्। राजाले मुकुट लगाएको छ र राजदण्ड पनि लिएको छ।) राजा : “मैले तिमीहरूको प्रस्तावबारे मेरो द्वारपालबाट सुनेँ तर यस पोसाकका विशेषताहरूबारे तिम्रै मुखबाट पनि केही सुनूँ ।” जुलाहा १ : “महाराज ! यो पोसाक निकै महङ्गो हुनेछ र अभूतपूर्व रूपमा विशिष्ट हुनेछ, भव्य र सुन्दर हुनेछ ।” जुलाहा २ : “महाराजका लागि हामीले तयार गर्ने यस पोसाकको जुन अर्को विशेषता छ – त्यो पनि अद्भुत छ ।” राजा: “जस्तो कि ? भन भन ।” जुलाहा २ : “जस्तो कि, यो पोसाक ती व्यक्तिहरूले देख्न सक्ने छैनन् जो वास्तवमै मूर्ख छन् र आफूहरूले गरिरहेको कामका निम्ति अयोग्य छन् ।” राजा : (एकछिन घोत्लिएर) “आहा, यो त गज्जब कुरा भन्यौ, पोसाकको भव्यता त छ नै, त्यसबाहेक यसै पोसाकको माध्यमबाट मैले आफ्ना मन्त्री र कर्मचारीहरूमध्ये को–को मूर्ख र आफ्ना कामका निम्ति अयोग्य छन् भन्ने पनि त थाहा पाउने भएँ।” जुलाहा २ : “हो महाराज, प्रस्ट छ, जुन मन्त्रीले या कसैले यो कपडा देख्ने छैन, त्यसलाई उसको पदबाट हटाउन महाराजलाई कुनै दुविधा हुने छैन।” (मन्त्रीहरूतिर हेरेर ऊ खिस्स हाँस्छ। राजाले खुसी भएर मन्त्रीहरूतिर हेरेको र मन्त्रीहरूले मुखामुख गरेको देखिन्छ ।) जुलाहा १ : “महाराज, फेरि बिन्ती गरेँ, यो निकै महङ्गो हुन्छ, केही सामग्री हामीलाई तत्काल उपलब्ध गराइपाऊँ – जस्तै : एक भारी रेसमको धागो र एक धार्नी जति सुनको मसिनो तार सुरुमै आवश्यक हुन्छ।” राजा : “त्यसको फिक्री नगर, त्यो तत्काल उपलब्ध गराइनेछ।” —————– “उठ् त ,” पिताजी मलाई हल्लाइरहनुभएको थियो— ‘यसरी सुतेर के सुन्छस् त कथा ?” वहाँले भन्नुभयो । “नाइँ, म सुनिरहेको छु त,” मैँले भनेँ, “एन्डरसनले भन्ने कथा र हजुरले भन्ने कथा उही त हो, अलिअलि फेरिएला, एन्डरसनले आफ्ना पिताजीबाट कस्तो सुनेका थिए कुन्नि!” “कपडाको त्यो अद्भुत विशेषता एक कान, दुई कान र मैदान भएको थियो, ठूला-साना सबैलाई थाहा भएको थियो,” पिताजीले पुनः भन्नुभयो, “जो मुर्ख छ र आफ्नो काममा अयोग्य छ त्यसले त्यो कपडा देख्न सक्तैन, अर्थात् इमानदार र बुद्धिमान् व्यक्तिले मात्र त्यो देख्न सक्छ भनिएको थियो। दरबारको उत्तरपश्चिम कुनामा रहेको एउटा निकै ठूलो कोठामा ती दुई जुलाहाहरूलाई तान राख्ने र कपडा बुन्ने सुविधा दिइएको थियो र ती जुलाहाहरू दिन नभनी रात नभनी काम गरिरहेका छन् भन्ने खबर राजाले पाइरहेका थिए । “नव वर्षको समारोहमा म ती कपडाहरू लगाएर जानेछु, सुन!,” राजाले आफ्ना विशिष्ट सल्लाहकारसँग भने, “तिमी राजसभाका सर्वश्रेष्ठ बुद्धिमान् पनि हौ, एकचोटि जाऊ र कपडा बुनाइको निरीक्षण गर ।’’ यसैगरी केही मन्त्रीहरूलाई पनि पठाइएको थियो र सबैले त्यस अद्भुत कार्यको प्रशंसा बोकेर आएका थिए। तर ती कुनैले पनि त्यो कपडा देख्न सकेका थिएनन् यद्यपि आफूले देख्न नसकेको रहस्यलाई प्रत्येकले आफैंभित्र गोप्य राखेर बुद्धिमान् भएको स्वाङ गरेका थिए। नववर्षको दिन जुलाहाहरू कपडा लिएर महाराजको दरबारमा आफैँ पुगे। उनीहरूले राजाको शृङ्गारकक्षमा पुगेर राजाले लगाइराखेको पुरानो कपडा फालिदिए अनि लगत्तै नयाँ अद्भुत कपडा लगाइदिए । ‘दायाँ फर्किबक्स्योस् महाराज,’ भने । ‘बायाँ फर्किबक्स्योस् महाराज,’ भने । कपडा तानतुन पारेको, मिलाएको झैं पनि गरे। तर राजाले आफूलाई चरम नाङ्गो देखे । त्यहाँ उनले पनि कुनै कपडा देखेनन् । उनको सातो उड्यो । के उनी मात्र मूर्ख थिए ? आफ्नो कामका निम्ति अयोग्य थिए ? सल्लाहकार, मन्त्री आदिले देखेको भनेर जुन कपडाको भव्य सौन्दर्यको वर्णन गरेका थिए, त्यही कपडा राजाले नदेख्नु उनका निम्ति ज्यादै ठूलो लज्जाको विषय थियो र राजाले कसैसँग पनि भन्न सक्ने विषय थिएन । “महाराज कस्तो लाग्यो त हाम्रो आविष्कार ?” जुलाहाले सोध्यो । “हँ ? अँ अँ, कपडा निकै राम्रो र अद्भुत नै लाग्यो,” महाराजले भने । नववर्षको समारोह हेर्न सडकमा निस्केका हजारौँले महाराजलाई एकैचोटि देखे र आश्चर्यचकित भए – राजाको शरीरमा कपडाको धरोसम्म थिएन । तर सबैले मन्त्री र सल्लाहकारहरूले जस्तै भनिरहेका थिए – आहा ! यस्तो राम्रो पो कपडा !’ कसैलाई मुर्ख र अयोग्य साबित हुनु थिएन । जोनाथन नाम गरेको नागरिकले आफ्नो फुच्चे छोराले पनि त्यो भीडबाट राजालाई देखोस् भन्ने लागेर उसलाई आफ्नो काँधमाथि चढाइराखेको थियो । “बाबा, राजा त नाङ्गै छन् त!”‘फुच्चेले सजिलैसँग कराएर भन्यो । “के भन्छ यो ?” जोनाथनले डराएर हप्कायो। छेउमै उभिएका दुई युवतीले खितित्त हाँसेर भने, “ठिकै त भन्दै छ!” “के भन्छ यो बच्चा – सुन है,” एउटा बूढो सेतै दाह्री फुलेको मानिसले भन्यो, “बच्चाले झूटो बोले होला त ?” बिस्तारै त्यहाँ हाँसोको फोहोरा छुट्यो–हजारौँ मानिसहरू एकैचोटि हाँसिरहेका थिए । राजा बीच सडकबाट हिँडिरहेका थिए । महिलाहरूको ठूलो समूहबाट नाराबाजी भएझैँ सुनियो– ‘नकच्चरो राजा नाङ्गै !’ राजाले आफ्नो शरीर हेरे – त्यो बिल्कुल नाङ्गो थियो। जुलाहाहरू सुन र रेसमको भारी लिएर हिँडिसकेका थिए ।” ———— पिताजी बितेको धेरै वर्ष भयो, एन्डरसन त अझै अगाडि बिते। म आफैँ पनि बूढो हुन लागेँ । दुई जुलाहाहरूको चम्किलो, चतुर अनुहार, तिखा–छरिता जुँगाहरू र छटेल आँखा मैँले झन्डै बिर्सिसकेको थिएँ । अस्ति मात्र हो, जागिरबाट फर्किँदा ठीक त्यस्तै अनुहारहरू महाराजगञ्ज दरबारदेखि बालुवाटार दरबारसम्म भित्र बाहिर गरिरहेको देखेँ। मलाई भयानक डर लाग्यो–मेरो प्रार्थना छ–ती दुवै दरबारहरूबाट नयाँ–नयाँ राजाहरू कपडा लगाएरै निस्कून्। #डा. दीनबन्धु शर्मा
घोषणा: पृथ्वी रिसाइन्! कहिले सुनामी बनेर, कहिले कट्रिना बनेर, कहिले कामिन भूकम्प भएर, कहिले थर्काइन्- बाढीपैरो बनेर, कहिले प्रचण्ड आगो ओकलिन्, कहिले चिसिइन्, बरफ बनेर। मानवीय अतिका विरुद्ध संकेत गरिरहिन् । मान्छेले मात्र नदेखेझैं नबुझेझैं गरिरह्यो सदियौँसम्म। यो कोरोना अन्तिम चेतावनी हो। मान्छेहरुलाई सम्झाउने बुझाउने अवसर हो। आफ्नो अमूल्य धर्तीलाई पूजा गर्ने बेला हो। ८४ लाख योनिहरू सबैको साझा घर हो यो। मान्छे फगत तिनमा एउटा सानो प्राणी मात्र हो। किन धर्तीको विनाशमा यति धेरै लम्केको मान्छेको जात? वनस्पति जलचर कीट पतङ्ग सबैको अस्तित्व बिर्सिएको? जंगलहरु फ़ाँड्यो। पहाडहरु फोर्यो। धर्तीलाई छियाछिया पारेर छेड्यो। जमिनमुनि-जमिनमाथि आकाश-पाताल सबैले नपुगेर अब चन्द्रमा, मंगल ग्रह सबैमा आफ्ना कर्तुतहरु बढाउँदै छ- दिन दुई गुणा रात चौगुणा। कोरोनाले विश्व नै त्राहिमाम भएर घरभित्र लुकिरहँदा मान्छेले अब त चेत्यो कि भन्ने लागेछ प्रकृतिलाई। मान्छेले अब त सिकेछ कि पाठ भन्ने लागेछ धर्तीलाई। मान्छे अब पूरै बदलियो भन्ने घोषणा गरेछ सफा आकाशले। सङ्गलिएका खोला खोल्सा, निस्फिक्री डुलिरहेका वनचर, थलचर सबै सबैलाई यो अनुपम शान्ति देखेर मनुवा यसरी बदलिएर आफ्नै आदिम लयमा फर्किएको घोषणा गरे। यता मान्छेका बस्तीमा सभा सम्मेलन गर्न नपाए पनि प्रविधिको प्रयोगले जुम मिटिङहरु भए। विज्ञहरुले कार्बन न्यूनीकरण, नवीकरणीय ऊर्जा, साइकल लेन, इलेक्ट्रिक गाडी, सादा जीवन, योग, प्रकृति प्रेमका गीत गाए। कविहरु जुर्मुराए आआफ्ना धर्ती प्रेम लिएर छन्दमा बेछन्दमा सबै सबै निस्किए। धर्ती तीन छक्क पर्यो, यो अप्रत्याशित मान्छेको प्रकृति प्रेम र धर्तीको पूजा देखेर। शनै शनै जब-जब लकडाउन खुल्न थाल्यो अनि देखियो शहर बजारमा भीड, रमाइला सामुन्द्रिक किनारका सुन्दर बीचमा मान्छेको जात ओइरियो। खायो पियो मोज गर्यो। लाखौँको संख्यामा थुप्रिएको त्यो हुलले गरेको विरूप दृश्य भोलिपल्ट पत्रिका र टेलिभिजनमा देखाइयो। फोहोरको डङ्गुर, मिल्क्याइएका क्यान, स्न्याकका पोका, बियर र रक्सीका सिसाहरुको डङ्गुरले मान्छेलाई जिस्क्याइरह्यो। धर्ती, आकास, हिमाल, वनजंगल सबैले एकआपसमा कानेखुसी गरेर घोषणा गरे, यो मान्छेको जात कहिल्यै बद्लिँदैन, कहिल्यै सुध्रदैन। (लेखकले नवीकरणीय ऊर्जामा बेलायतबाट विद्यावारिधि गरेका छन् ।) #बेलायत #रामहरि पौड्याल
‘पोहोर साल खुशी फाट्दा’ गीतको संरचनात्मक अध्ययन: नवीन पौड्याल आमुख गीतका तीन गायन, वाद्यवादन र लेखन गरी तीन पक्ष रहेका हुन्छन् औ यी तीनै कुराहरूको कुशल र सफल संयोजनाबाट मात्र असल गीतको निर्माण हुन्छ। गीतका तीन पक्षमध्ये लेखन पक्ष कमजोर भयो भने गीत नै कमजोर भइदिन्छ। गीतकारले सुन्दर भावधाराका गीत लेखे त्यो गीत असल हुन्छ। गीतमा विरह भाव सबैभन्दा प्रभावकारी मानिन्छ। मान्छेभित्रको पीर वेदना, पीडा, संवेदनालाई गीतले सबैभन्दा बढी अभिव्यक्ति दिन सक्छ। हिन्दीका एक कवि सुमित्रानन्दन पन्तको प्रसिद्ध उक्ति छ- वियोगी होगा पहला कवि आह से उपजा होगा गान निकलकर आँखों से चुपचाप बही होगी कविता अनजान मनको औडाहालाई व्यक्त गर्न गीत सबैभन्दा सशक्त माध्यम हो। आफ्ना प्रियजनको विछोड़को पीडाबाट धेरै कविका अमर काव्यको सिर्जना भएको इतिहास पाइन्छ। गीतमा संरचना, विषयवस्तु, लयविधान, बिम्बविधान, संगीतात्मकता, दृष्टिविन्दु, भाषा, शैली, अलङ्कार, संवेग, कल्पना, जस्ता तत्वहरू हुन्छन्। त्यसैगरी गीतमा सरलता, आत्मनिष्ठता, असीमता, एकलता, गेयमाधुर्य, संक्षिप्तता, भावुकता, वैयक्तिकता, आत्मपरकता, अभिव्यक्तिमय निश्छलता, सहजाभिव्यक्ति, सम्बोधन, संक्षिप्तता इत्यादि जस्ता विशेषता रहेका हुन्छन्। यसमा शब्दहरूको ध्वनिगत आरोह-अवरोहको मिठा संयोजन गरी लय उत्पन्न गरिन्छ। यस लयमा गेयता हुन्छ जुन संगीतमा आधारित हुन्छ। यसमा केही घटक वा अवयवबाट संगठन गरिएको हुन्छ। गीतमा आदि, मध्य र अन्त्य गरी तीन भाग हुन्छन्। आदि भाग गीतको स्थायी हो भने मध्यभाग अन्तराका रूपमा पाइन्छन्। अतः गीत स्थायी र अन्तरामा संरचित हुन्छ। गीतको स्थायीले कुनै भाव वा रागको उठान गर्छ भने अन्तराहरूहरूले त्यस स्थायीलाई पुष्टि गर्दै अघि लान्छ। गीतका केही प्रमुख तत्त्वहरूमा भाव वा विचार, उद्देश्य, भाषा र शैली हुन्छन्। यसमा आत्मनिष्ठता हुन्छ, जुन वैयक्तिक भएर पनि परिणतः निर्वैयक्तिक हुन्छ। यीनै वभिन्न कारण र विशेषताले गीतलाई कविताभन्दा पृथक बनाउँदछन्। २. विषय प्रवेश गायिका अरूणा लामा नेपाली सांगीतिक जगतमा अरूणा लामा एउटा अजर अमर नाम हो। उनको जन्म सन् १९४५ मा घुम पहाड दार्जिलिङमा भएको थियो। उनको बाबुको नाम सूर्यबहादुर लामा र आमाको नाम सनमाया लामा थियो। उनी स्नातकसम्म अध्ययन गरी दार्जिलिङको ट्राइबल अफिसमा कार्यरत थिइन। एघार वर्षको उमेरदेखि नै गाउने गर्थिन्। सन् १९६३ मा आफ्ना सङ्गीतकार प्रेमी शरण प्रधानसित उनको बिहा भएको थियो। शरण प्रधानको सङ्गीतमा अरूणा लामाका गीत चम्केका थिए। यद्यपि बिहा गरेको एघार वर्षमा सन् १९७४ मा शरण प्रधानको निधन भयो। यस निधनले अरूणा लामाको जीवनमा ठुलो उतार-चडाउ आयो। त्यसपछि उनको गायन नै विरह-व्यथालाई पोख्ने माध्यम बन्यो। उनको स्वर नै विरह र पीडालाई सठिक रूपमा समेट्न सक्ने उत्कृष्ट मानिन्छ। केही गीतकारहरूले लेखेका विरह भावका धेरै गीतहरू आफ्नो पतिको निधनपछि गाएकी हुन्। राजेन्द्र थापा, अम्बर गुरूङ, गोपाल योञ्जन, विश्व वल्लभ, नरेन्द्रराज प्रसाइँ, गणेश रत्न आदिले लेखेका गीतहरूले अरूणा लामाको आफ्नो पतिपीडाको वियोगलाई सठिक सम्बोधन गर्न सकेका छन्। यसै क्रममा “पोहोर साल खुशी फाट्दा’, ‘भाग्यले खुशी फाटेर लग्यो’ (शब्द विश्व वल्लभ), ‘कैले काँही मलाई तिम्रो याद आउँछ’ (शब्द- नरेन्द्रराज प्रसाइँ), ‘एक्लै बस्दा सधैं मलाई’, ‘भेट्नु र छुट्नु के हो र?’, ‘उदास मेरो जीवनकथा’, ‘विरहले रोएको रातमा’ (नरेन्द्रराज प्रसाइँ), ‘चौतारीमा बसेर रून पाउँ’ (शब्द- गणेश रत्न), ‘हाँसी हाँसी जलिरहेछु’ (शब्द नरेन्द्रराज प्रसाइँ)। नेपाली समाजमा अरूणा लामालाई ‘स्वरसाम्राज्ञी’ को उपाधि दिएको छ भने उनको सम्झना राख्नका लागि बिजनबारी, दार्जिलिङमा सालिग पनि स्थापना गरिएको छ। २० सितम्बर, २००२ मा उद्घाटन भएको उक्त सालिगको अनावरण अम्बर गुरूङले गरेका थिए। उनी काठमाडौं गएर धेरै गीत गाइन् र रेडियो नेपालको माध्यमले विश्वभरिका नेपाली समाजमा छाइन्। उनको स्वरमा अलौकिकता, सुमधुरता, प्राकृतिकता पाइन्छ। काठमाडौंमा उनको सम्मानमा तीनपटक अरूणा लामा सङ्गीतमय साँझ आयोजना भएको थियो जसमा मूल आयोजकहरूक्रमैले गोपाल योञ्जन, अम्बर गुरूङ र नरेन्द्रराज प्रसाइँ थिए। नरेन्द्रराज प्रसाइँको आयोजनाले उनलाई राम्रो आर्थिक सहयोग भएको थियो। (राजेन्द्र थापाबाट पाएको फोनवार्ताको सूचना अनुसार) उनलाई गोर्खा दक्षिणबाहु चौथो को मान पदवी प्रदान गरिएको थियो। गीतकार राजेन्द्र थापा ३. ‘पोहोर साल खुशी फाट्दा” गीतको प्रसङ्ग – राजेन्द्र थापाद्वारा लिखित अम्बर गुरूङको संगीतमा सन सत्तरको दशकमा लोकप्रिय गीत नेपाली जनमनमा छाएको थियो। नेपाली सङ्गीत क्षेत्रमा एउटा सबैभन्दा उत्कृष्ट गीतका रूपमा यसलाई पनि मान्न सकिन्छ। अरूणा लामाको स्वरमा रहेको यो गीत अजर अमर बनेको छ। बालवृद्ध सबैका निम्ति मनले छुने यस गीतको शब्दको अर्थ कोमलता र संवेदना शक्ति बेजोडको छ। यस गीतका गीतकार राजेन्द्र थापाका अनुसार यो गीत दुइ चरणमा लेखिएको थियो। पछिल्लो चरण इलामको सोक्तिममा बसेर असार २७ गते, २०३१ मा लेखेको बेलामा संयोगवस् अरूणा लामाको पति शरण प्रधानको मृत्यु भएको ५७ दिन पहिले भइसकेको थियो। यदयपि यो कुरा गीतकारलाई थाह थिएन। सरस्वतीले नै कथा सुनाए जस्तो भयो। यो गीतलाई त्रिभुवन विश्वविद्यालयको नेपाली स्नातकोत्तर मा पाठ्यक्रमा राखिएको छ। यही गीतलाई नै अनुवाद गरेर नेपालका लागि भारतका राजदुत एन पी जैनले प्रकाशित गररेको नेपाली प्रतिनिधि कविताको हिन्दी अनुवादमा पनि सङ्गहीत छ। (राजेन्द्र थापाले यस पंक्तिका लेखकलाई फेसबुक मेसेन्जरमा दिएको लिखित जानकारी अनुसार, ०६ जून, २०२०) यस गीतले गर्दा उनी एकाएक चर्चित भइन्, नेपालीको जनमानसमा छाइन्। रेडियो नेपालमा यो बढी मात्रामा प्रशारण भएको हो। संसारभरिका नेपालीहरूले रूचाएका नेपाली गीतको कोटिमा पर्दछ। ४. रचनाकार राजेन्द्र थापा – नेपाली सांगीतिक क्षेत्रमा केही गीतकारहरूको स्थान अति उल्लेखनीय रहेको छ । तीमध्ये राजेन्द्र थापाको नाम विशिष्ट स्थानमा रहेको छ। उनले धेरै मात्रामा गीत लेखेको छन् औ जति लेखेका छन् ती गुणात्मक छन्। गीतमा हुनुपर्ने सबै गुणले युक्त छन्। २०२६ मा आफुले लेखेको गीत रेकर्ड गर्ने थापा प्रायः प्राय सबै सांगीतिक मोड र हाँचका गीतहरूको रचयिता हुन्। ‘पर लैजाउ फूलहरू’, ‘पोहोर साल खुशी फाट्दा’ ‘दिलमाया दिलमाया खै कसको भूल’, क्या दामी भो” ‘तिम्रो त्यो लजालु’ जस्ता भावगम्भीर गीतहरूको रचना गरेका छन्। उनका गीतहरू प्रेमधोज प्रधान, अरूणा लामादेखि लिएर हालसम्मका युवा गायकहरूले पनि गाइरहेका छन्। उनी आफु कलेज पढ्दादेखि गीत लेखनमा लोकप्रिय भइसकेका थिए। साठीको दशकमा उनी प्रसिद्ध भइसकेका थिए। उनी अहिले पनि नेपाली चलचित्र र मुक्त रूपमा गीत लेखिरहेका छन्। गीतमा उनले विभिन्न विषयलाई लिएर गीत रचना गरेका छन्। मानिसको पीडा विरह भावलाई उनले राम्ररी अभिव्यक्त गरेका छन्। ५. मूल गीत र गाइएको गीत – गीतकारले मूलमा लेखेको गीत भने गाइएको गीतभन्दा लामो छ । यसमा स्थायी र अन्तरा गरी जम्मा पाँचवटा पद र उन्नाइस पंक्ति रहेको छ। यो गीत जम्मा तीन खेपको अलग अलग समय र स्थानमा बसेर लेखिएको हो भनेर गीतले एक अन्तर्वार्तामा भनेका छन्। उनले लेखेको मूल गीत यस्तो छ- पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालें त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें यसपालि त मनै फाट्यो केले सिउने? केले टाल्ने हो? आँसु झारी कोही रून्छन् बेदनालाई धोएँ भन्छन् धुँदाधुँदै मन फाटी आँखाभरि रोएँ भन्छन् आँखाभरि रोएँ भन्छन् मुटुभरि रोएँ भन्छन् आँखा फाटे सिउँथें बरू तर मन सिउने केले हो (यो अन्तरा गीतमा असमावेश) सुख के हो? दुःख के हो? मनले खोज्ने खुशी के हो? भावीले निधारमा कर्म लेखिदिने मसी के हो? कर्म लेख्ने मसी के हो? भाग्य तोक्ने कसी के हो ? कर्म फाटे जोँड्थे बरू मन जोड्ने केले हो? (गीतमा यो तेस्रो अन्तरालाई दोस्रो अन्तरामा राखिएको छ) सास फेरे जस्तो लाग्छ, तर भन्छन् मरी सकिस् तेरो भाग्य यति नै हो, भोग चलन गरी सकिस्। सलहको भाग्य मेरो मर्ने बाँच्ने ठेगाना छैन। भाग्य फाटे जोड्थेँ बरू तर मन सिउने केले हो? (गीतमा यो तेस्रो अन्तरलाई पहिलो अन्तरामा राखिएको छ) लुछिएको थिचिएको थिलो थिलो मान्छे म है रगतपच्छे भई भई बाँच्न खोज्ने कस्तो म है निष्काषित जीवनलाई शिकायतको हकै हुन्न जीवन फाटे सिउँथें बरू तर मन सिउँने केले हो (यो अन्तरा गीतमा असमावेश) गायनमा उतारिएको गीत – गायनमा सुबिधाका निम्ति मूल गीतका दुइ अन्तरालाई हटाएर अनि पहिलोलाई दोस्रो अनि दोस्रोलाई पहिलो अन्तरा बनाइएको छ। यसमा एक अन्तरा र दुईवटा पद गरी जम्मा तीनवटा पद र एघारवटा पंक्ति समावेश गरिएको छ। पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालें त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें यसपालि त मनै फाट्यो केले सिउने? केले टाल्ने हो? सास फेरे जस्तो लाग्छ, तर भन्छन् मरी सकिस् तेरो भाग्य यति नै हो, भोग चलन गरी सकिस्। सलहको भाग्य मेरो, मर्ने बाँच्ने ठेगाना छैन। भाग्य फाटे सिउँथेँ बरू तर मन सिउने केले हो? सुख के हो? दुःख के हो? मनले खोज्ने खुशी के हो? भावीले निधारमा कर्म लेखिदिने मसी के हो? कर्म लेख्ने मसी के हो? भाग्य तोक्ने कसी के हो ? कर्म फुटे जोँड्थे बरू मन जोड्ने केले हो? ६. पूर्व सन्दर्भ- गायिका अरूणा लामाको पति शरण प्रधानको निधनले उनलाई धेरै विचलित तुल्यायो। शरण प्रधान उनका आड थिए, आफैं सङ्गीतका दक्ष थिए। दुईजना मिलेर धेरै गीत संयोजन र रेकर्ड गरेका थिए। उनको निधनले उनलाई धेरै शोकित बनायो। ती दुईको दाम्पत्य जीवन दस वर्षजति मात्र रह्यो। त्यति छोटो समयमा पनि दुईजनाबाट केही गीतहरू सिर्जित भएका हुन्। त्यति बेला नै राजेन्द्र थापाले अरूणा लामाकै स्थितिलाई लिएर लेखेको लाग्ने गीत रचे- ‘पोहोर साल खुशी फाट्दा’। मूल रूपमा यो गीत गी कारले अम्बर गुरूङलाई दिइराखेका थिए। पति वियोगको केही महिनापछि अरूणा लामाकाठमौं जाँदा अम्बर गुरूङको घर गाइन्। त्यहाँ पतिवियोगको चर्चा हुँदा अम्बर गुरूङले एउटा गीत पढेर सुनाए। त्यो गीत यसले अरूणा लामालाईयति छोयो कि म यो त गाउँछु भनिछन्। यो गीत त नारायण गोपाललाई गाउन दिन्छु भन्दा होइन म गाउँछु कि गाउँछु भनिछन्। भोलिपल्ट बाध्य भएर अम्बर गुरूङ राजी भएर रेडियो नेपाल लगेछन्। बेलुकीपख रेडियो नेपालका प्रायः कर्मचारी पनि घर हिँडिसकेका रहेछन्। बजाइदिने कोही नहुँदाको स्थितिमा सि के रसाइली आइपुगेछन्। सिके रसाइली, अम्बर गुरूङ, किशोर गुरूङ, मदन परियार आदि भेला भएर यो गीत थोरै वाद्यवादनको संयोजनबाट एकै दिनको रेकर्डमा भएको थियो भन्ने जानकारी राजेन्द्र थापाले फोनमार्फत् दिएका हुन्। गीतको शब्दभित्रको मार्मिकता, भाव गहिराइ र तीब्र संवेदनशीलता पाइन्छ। अक्षर र शब्द संयोजन पनि अत्यन्त कुशलतासँग गरिएको छ। यसमा विछोड़को पीडाको घनीभूत संवेदना छ। पीडाको तीब्र विरह वेदना छ, करूण रसको प्रबलता पाइन्छ। यसका प्रत्येक पंक्तिमा एउटा प्रस्ताव प्रसङ्ग र त्यसको पुष्टि पाइन्छ- पूर्व वाक्य (प्रस्तावक) उत्तर वाक्य (पुष्टि) अर्थ सापेक्ष पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालें समस्या र निवारण त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें समस्या र निवारण यसपालि त मनै फाट्यो केले सिउँने केले टाल्ने हो? समस्या उठान सास फेरे जस्तो लाग्छ, तर भन्छन् मरी सकिस् विपर्यास (मरेतुल्य) तेरो भाग्य यति नै हो भोगचलन गरि सकिस् विपत्ति (मरेतुल्य) सलहको भाग्य मेरो मर्ने बाँच्ने ठेगान छैन अनिश्चितता भाग्य फाटे सिउँथे बरू तर मन सिउने केले हो? समस्या उठान सुख के हो? दुःख के हो? मनले खोज्ने खुशी के हो? समस्या उठान भावीले निधारमा कर्म लेखिदिने मसी के हो? समस्या उठान कर्म लेख्ने मसी के हो? भाग्य तोक्ने कसी के हो ? समस्या उठान कर्म फुटे जोँड्थे बरू मन जोड्ने केले हो? विकट समस्याको अनिश्चितता ७. भाव – गीतमा स्वकथन र परकथन दुवै पाइन्छ। गीतमा कथायिकाले आफ्नो पीडामय विषाद्लाई कुनै काल्पनिक श्रोतासित संवाद गरिएको छ। आफ्नो भाग्य खोसिएको जनाउन परकथनलाई पनि आधार लिइएको छ। त्यो काल्पनिक र अदृश्य समाजले आफुअघि प्रतिद्वन्दी भएर आइदिन्छ। आफु जिउँदै भएको लाग्दासमेत त्यसले “तँ त मरी सकिस्, तेरो भाग्य यति नै हो, भोगचलन गरिसकिस्” भन्छन्। यहाँको जीवनको गहिरो चिन्तन छ। उमेर जतिनै भए पनि भोग चलन गरिसकेपछि मरेतुल्य होइन्छ। सास फेर्नु मात्र जीवितता होइन। भाग्य र खुशीभन्दा मन अझ प्रबल हुन्छ। मन मर्नु भनेको मरणवृति हो। मनको बलमा जीवन बाँच्छ, मन मरे तनलाई कुनै औषधीले जाती पार्न सक्दैन। आशा, भरोसा गुमेपछि मान्छेमा चरम विरक्ति र विरह जाग्दछ। प्रस्तुत गीतमा वर्ण, शब्द, वाक्य सबैको कुशल संयोजनले गात्मक तत्त्व सिर्जना भएको छ। गीतमा गति, विराम, भाव, वर्ण आदिबाट लयको सिर्जना भएको छ। यसमा विषयोन्मुखता विषयात्मक केन्द्रीयता पाइन्छ। यहाँ एउटै विषय रहेको छ मन फाटेको । त्यो फाटेको मनलाई सिउने कुनै साधन छैन। ८. गीतको संरचना- राजेन्द्र थापाद्वारा रचित यस गीतको संरचना, शब्दशय्या, अलङ्कार गेयात्मकता आदिका पक्षमा अब्बल रहेको छ। यसमा रहेका एकेक वर्ण, शब्द, वाक्य आदिको सुगठित र सघन संरचनात्मक स्वरूप पाइन्छ। यसमा तीन पंक्तिको स्थायी (मुखड़ा) पाइन्छ। ८.१. आलङ्कारिकता- प्रस्तुत गीतमा अनुप्रास, रूपक, दीपक, अतिशयोक्ति जस्ता अलङ्कार रहेका छन्। प्रत्येक पंक्तिमा अलङ्कारका विभिन्न रूप पाइन्छन्। पूर्व-उपवाक्य उत्तर-उपवाक्य अर्थ-सन्दर्भ आलङ्कारिक लक्षण अलङ्कार पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालें खुशी कपडासमान फाट्नु र मनले धागो सिउनु उपमेय खुशी र मन उपमान कपडा र धागो समासोक्ति त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें माया फाट्नु र मनले सिउनु उपमेय माया र मन उपमान कपडा र धागो समासोक्ति यसपालि त मनै फाट्यो केले सिउँने केले टाल्ने हो? मनै फाटे सिउने अन्य वस्तु छैन उपमेय मन उपमान उपमान कपडा उपमा सास फेरे जस्तो लाग्छ, तर भन्छन् मरी सकिस् सास फेरेजस्तो र मरेतुल्य सास फेर्नु तर मरेतुल्य विरोधाभाष तेरो भाग्य यति नै हो भोगचलन गरि सकिस् भाग्य समाप्तिपछि भोगचलन समाप्ति उपमेय भाग्य उपमान खाद्यवस्तु स्वाभावोक्ति सलहको भाग्य मेरो मर्ने बाँच्ने ठेगान छैन मर्नु र बाँच्नु दुवै एक क्षणिक उपमेय मान्छे उपमान सलह दुवैको जीवन क्षणिक दीपक भाग्य फाटे सिउँथेँ बरू तर मन सिउने केले हो? भाग्य जोडिएला तर मन जोडिन्न उपमेय भाग्य उपमान कपडा सिउन निषेध निदर्शना सुख के हो? दुःख के हो? मनले खोज्ने खुशी के हो? सुख, दुःख र खुशी अनिश्चितता सन्देह भावीले निधारमा कर्म लेखिदिने मसी के हो? कर्म नै भाग्य हो कर्मरूपी किताब लेख्ने मसी लोकोक्ति कर्म लेख्ने मसी के हो? भाग्य तोक्ने कसी के हो ? कर्म र भाग्य अनिश्चित सन्देह कर्म फुटे जोँड्थे बरू मन जोड्ने केले हो? कर्म र मन ठोस वस्तु समान अतिशयोक्ति ८.२. आन्तरिक लय- प्रस्तुत गीतका प्रत्येक पंक्तिमा ४+४+४+४ अक्षरको एउटा यति (विश्राम) गरी जम्मा १६ अक्षर पाइन्छन्। एक उच्चारमा (स्वास प्रवाहको एक झोंक्का) मा उच्चारित हुने हुँदा गायनको दृष्टिले सुगम मानिन्छ। यस गीतको आक्षरिक संरचना कसिलो छ। चार-चार अक्षरको एउटा विश्राम रहेको पाइन्छ। यसमा वार्णिक छन्द नपाए तापनि यसभित्र आन्तरिक लय, गेयात्मकता र आक्षरिक समानता पाइन्छ। यति यति यति यति अक्षऱ अक्षऱ अक्षऱ अक्षऱ अक्षऱ अक्षऱ अक्षऱ अक्षऱ संख्या पो होर् सा ल खु शी फाट् दा ज तन् ग री मन् ले टा लेँ १६ त्य ही सा ल मा या फाट् यो त्यस् लाई प नि मन् ले टा लें १६ यस् पा लि त म नै फाट् यो के ले सिउँ ने के ले टाल् ने १६ सा स फे रे जस् तो लाग् छ त र भन् छन् म रि स किस् १६ ते रो भाग् य य त्ति नै हो भो ग च लन् ग रि स किस् १६ स ल ह को भाग् य मे रो मर् ने बाँच् ने ठे गान् छै न १६ भाग् य फा टे सिउँ थेँ ब रू त र म न सिउ ने के ले १६ सु ख के हो दुः ख के हो मन् ले खोज् ने खु शी के हो १६ भा वी ले नि धार् मा कर् म ले खि दि ने म सी के हो १६ कर् म लेख् ने म सी के हो भाग् य तोक् ने क सी के हो १६ कर् म फु टे जोड् थेँ ब रू म न जोड् ने के ले हो १६ ८.३. भाव सम्प्रेषण – यस गीतका शब्दहरूलाई भाव सम्प्रेषणका आधारले अध्ययन गर्न सकिन्छ। यहाँ फाट्ने कुराहरू हुन् छन्। खुशी फाट्यो माया मन भाग्य फाटे → सिउँथेँ कर्म फुटे → जोड्थेँ गीतका प्रत्येक पंक्तिमा सङ्कटावस्था रहेका छन्। ८.३.१. रहनीको प्रयोग – रहनी भनेको गीतको थेगोसमान हो जसले वण, शब्द वा वाक्य प्रसङ्ग जोड्ने, लय मिलाउने थपना शब्द वा अक्षर हो। हा हा हो हो ओ ए हुँ आदि रहनी हुन्। यस गीतमा हो भन्ने रहनी दुई ठाउँमा पाइन्छ। के ले टाल्ने र मन सिउँने के ले भन्ने प्रसङ्गहरूमा “हो’ लाई रहनीका रूपमा पाइन्छ। टाल्ने पछि हो अनि सिउने केलेको पछि हो भन्ने रहनी स्वतः आएको छ। ८.३.२. लोकोक्ति प्रयोग- यस गीतलाई मिठास बनाउन समाजमा चलनमा रहेको लोकोक्तिको प्रयोग पनि पाइऩ्छ। ‘माया फाट्नु’, ‘सलहको भाग्य’, ‘भावीले निधारमा लेख्नु’, ‘कर्म फुट्नु’ जस्ता हाम्रो समाजमा चलेका लोकोक्ति पाइन्छ। मायाको बन्धन टुटे ‘माया फाट्नु’ भनिन्छ। ‘सलहको भाग्य’ भन्नाले जीवनको क्षणिकता बुझिन्छ। करोडौं सलहमा एउटा सलह मर्दा केही फरक नपर्ने भावबोध हुन्छ। ‘भावीले निधारमा लेख्नु’ भन्ने आमधारणा हो। मान्छे जन्मेको छैटौं दिन भावीले निधारमा भाग्य लेखिन्छ भन्ने भनाइ उल्लेखनीय छ। ‘कर्म फुट्नु’ पनि भाग्य नहुनु, केही हासिल नगर्नु भन्ने बोध हुन्छ। ८.३.३. विपरीतधर्मी शब्द प्रयोग – यसगीतमा परस्परमा विपरीत अर्थ भएका दुई शब्दलाई जनाउने सन्दर्भ पाइन्छ। सुख र दुःख, मर्ने-बाँच्ने शब्दद्वारा भाव सम्प्रेषण गरिएको छ। ६. उपसंहार – राजेन्द्र थापाले रचेको र अम्बर गुरूङले संगीत भरेको र अरूणाले लामाले गाएको पोहोर साल खुशी फट्दा भन्ने गीत अत्यन्तै लोकप्रिय बनेको छ। मानिसको विरह व्यथा, पीडालाई यसले तीव्र रूपमा उतारिएको छ। मानिसको भाग्य, खुशी र मन फाटेको दुःखद् अवस्थाको चित्रण पाइन्छ। समस्या र निवारण, समस्या उठान, विपर्यास, विपत्ति, अनिश्चितता, विकट समस्याको अनिश्चितता जस्ता अर्थसापेक्ष रहेको यस गीतमा रहेको छ जसले पीडाका चरम अवस्थलाई सङ्केत गरेको छ। समानता, वैपरीत्य जस्ता परिपाटी अपनाइएको छ। गीतका निम्ति चाहिने सम्प्रेषण जगाउन वर्णदेखि लिएर शब्द, उपवाक्य वाक्य स्तरसम्म सचेतता अपनाइएको छ। माया फाट्नु, भाग्य र कर्म फुट्नु, निधारमा कर्म लेखिनु आदि हाम्रा जनमानसमा रहेको लोकविश्वासलाई समेत गीतमा प्रस्तुत गरिएको छ। गीतका प्रत्येक पंक्तिमा चार चार अक्षरको एउटा यति बनाइएको छ जसले गर्दा गीतमा श्रुतिमाधुर्य र गेयातमक्ता झल्केको पाइन्छ। #नवीन पौड्याल
नवोदित नवनीत आदित्य वाइबा- आमाकी लोकअवतार\xa0: नवीन पौड्याल नेपाली लोकसङ्गीतको क्षेत्रमा हीरादेवी वाइबाको विशिष्ट स्थान छ। उनले तामाङ सेलो लयमा नेपाली सङ्गीतमा ठूलो योगदान दिएर अमर बनेकी छन्। उनका गीतहरूले नेपाली जनजीवनलाई छोएको छ, छाएको छ, तुल्याएको छ। उनका सेलो र अन्य लोकलयका गीतहरू सुन्ने स्रोताहरू आनन्दले तरङ्गित हुन्छन्। उनका गीतमा हाम्रो आफ्नो अलिखित इतिहास छ, भूगोलका अनेकौं तह छन्। हाम्रा अतीतका ती पुर्खाले भोगेका प्राकृतिक जीवनको झलक पाइन्छ। मुजुरको नाचसित रमाएका, खान लाउनको डोहोडोहोसित बाँचेका, माया पिरतीका विभिन्न पाटासित साँचेका अनुभव अभिव्यक्त छन्। उनका गीतमा युवक-युवतीका धुकधुकी छन्, आशा र निराशाका रागभाव छन्। खुशी र सुस्केराका सुसाइ छन्। अवर्णनीय अनुभति छन्। जातीय जीवनका रमाइला पत्र, पक्ष र पृष्ठभूमि छन्। उनका केही लोकप्रिय गीतहरूमध्ये यी प्रमुख हुन्। ●फरिया ल्यादेछन् तै पनि राता घनन। ●धनकुटाको डाँडैडाँड़ा चल्यो हुलाकी नि राजै। ●राम्री त राम्रो कति राम्री मार्\u200dयो नी मार्\u200dर्यौ अँखियोँ गाजलुले। ●नाचन झिल्के नाचन बारूली कम्मर भाँचन ●उँधो जाँदा चितुचाँगे फूल ●छुइयामा हाहा छुइयामा हा हिरादेवी वाइबा उनका गीतमा ओखलडुङ्गा, धनकुटा, नेपाल (काठमाडौं), पाटन, चौतारा, भोजपुर, काशी जस्ता नेपाली जनजीवनका स्थान ब्युँझन्छन्, फरिया, झुम्के बुलाकी जाग्छन्। समलाका भाकामा लाहुरेका मनोभाव झल्किन्छ। खरसाङको अम्बोटे कमानका वाइबा परिवारकी छोरी हीरादेवी वाइबाले आफ्नो परम्परालाई अघि बढाइ लोकप्रिय बनाएकी हुन्। हाम्रा चेलीबेटीका पीडा, प्रेमका विभिन्न रागभाव, सुस्केरीहरूलाई प्रतिनिधित्व गरेकी छन्। नेपाली जनजीवनले हिमाल, पहाड र मधेसको उकाली हिँड्दाका सुख-दुःख पसिना र संघर्षको गाथा छ। हीरा बाइबाको गायनको बिँडो थाम्ने उनकै छोरी अझ प्रखर भएर निस्केकी छन्- नवनीत आदित्य वाइबा। उनको गायन पनि आमाकै लोकगीतलाई अघि बढाउँदै त्यसको सँगसँगै आफ्नै मौलिकलाई पनि विकसित गरेकी छन्। नवनीतको गलामा पनि ठेट नेपाली लोकलयका सरिता बगेको छ। आमा र उनको स्वरमा केही साम्य र केही वैषम्य पाइन्छन्। नवनीतले आफ्नी आमा हीरा वाइबाकै पुराना लोकगीतलाई ब्युँझाउने काम गरेकी छन्। आमालाई साँचो श्रद्धाञ्जलि अर्पण गरेकी छन्। नयाँ पुस्ताका युवा पिँढीलाई हाम्रो मौलिक लोक गीत-संगीतलाई अझ लोकप्रिय, सञ्चरण र पुनर्ताजगी बनाइदिएकी छन्। यद्यपि आमाका गीतको पुनर्जागरण गर्दै आफ्नै पनि मौलिक गीतहरू अझ मिठा मिठा गाएकी छन्। उनको गायकीमा आमाको स्वरको छायाँ छ, बाजे एस. एम. वाइबाको परम्परा छ। उनले आमाको लोकगायनलाई उत्थान गर्दै आफ्नै मौलिक मार्ग पनि बनाउँदै विकसित गरेकी छन्। उनको स्वर लहरीमा अलौकिक जादू छ, आनुसांगिक आनन्द पाइन्छ। बालकले आमाको काखमा लुटुपुटु गर्दाको न्यानोपन पाएझैं अवर्णनीय र नैसर्गिक आनन्द र तृप्ति पाइन्छ। उनको स्वरलहरीमा पनि आफ्नो गोर्खाली जातीय संगीतको नैसर्गिक परितृप्ति, जातीय संवेदना, सभ्यता संस्कार ब्युँझिन्छ। उनका गीतहरूभित्र हाम्रा इतिहास पाइन्छ, लुवाइखुवाइको झलक पाइन्छ, संस्कृतिका आन्तरिक पहलु पाइन्छ। हाम्रो पृष्ठभूमि, चिन्तन अवस्था-व्यवस्था, लोकजीवन आदिको झलक पाइन्छ। मौलिक र ठेट भाषाको सुगन्ध पाइन्छ। हिमालको फेदीमा बसोबासो गर्ने गोर्खालीजनको दुःख, सङ्घर्षको गाथा पाइन्छ। भाषामा गाईको खाँटी दुध पिउँदाको परितृप्ति पाइन्छ। पहाडको चोखो सरिताको कलकल र झरनाको प्रवाह छ, वनमा चराचुरङ्गीको मिठो चिरबिर कलरवको प्राकृतिक समीपता पाइन्छ। पहाडको चाँप-गुराँसको जङ्गलको परम सौन्दर्यको झल्को पाइन्छ। उनको गलामा कोइलीको कुहुकुहुको मिठास छ, न्याउलीको विरहीपन पाइन्छ। उनका गीत सुन्दै गर्दै हाम्रो कल्पनालहरीले वनजङ्गल विचरण गर्छन्। इतिहासका ती अलिखित पाटाहरूमा पुग्छौं, दर्शनका ती अवर्णनीय र अलिखित पन्नाहरूमा पुग्छौं। लोकसुस्केराका आनन्दका तालमा डुब्छौं, आफ्नोपनको न्यानोपनमा झुल्छौं। च्याङबा र मैच्याङका प्रेम-प्रीतिका आनन्द र उच्छवासका भावनानजिक पुग्छौं। ● झिल्के नाचेको देखेर डम्फू बजाइ नाचौं नाचौं लाग्दैछ। ● निष्ठुरी निष्ठुरी तिम्रो त माया मो गर्छु, मेरो त माया कसले पो गर्ला। ● ए स्याङबो सहनैको सङ्केतले सम्झायो सैबैलाई ● मालीमा गाईको दुध बेग्लै न मधेस जानु न भोट जानु न मरी जानु न गरिखानु मुगलानको देशमा लै लै म एक्लै। ● ढिकी कुटी चामल ढाँटा ओखल कुटी पिठो जिउडाल तिम्रो डाँफे जस्तो बोली वचन अति मिठो। ●एक मुरी धान कुटी कुटी ए लै लै पसलभरि बियाँ म त ओल्लो घर थियाँ। पल्लो घरको निम्तो बाँड्दा। सैबैज्यूको निम्तो बाँड्दा। ● के के तिपाङ्गे सैबै आँगनीमा पैसा छैन के पो तिपाङ्गे नवनीत आदित्य वाइबा यी प्रत्येक गीतमा एकेकवटा डिस्कोर्स पाइन्छ। यी गीतभित्र धेरै कुरा समेटिएका छन्। मानव जीवनमा माया प्रेम, बसाइ सराइ, घर गृहस्थी, आफन्त, साइनोको ठूलो प्रभाव हुन्छ। यी तत्त्वहरूबीच बाँच्दाका उतार चढाउमा नै मानिसको जीवन रहेको हुन्छ। प्रकृतिले पनि मान्छेलाई बचाइराखेको हुन्छ। धेरै प्रभाव पारेको हुन्छ। उहिलेदेखि मुगलान आएर बसेका युवक-युवतीका अन्तर्निहीत र आन्तरिक प्रेम र यसबाट उब्जेका विभिन्न भाव पाइन्छ, उनीहरूका धुकधुकी छाम्न सकिन्छ। लोकविश्वास, लोकधर्मका विभिन्न पाटाहरू छन्। नेपाल, भारत र तिब्बतस्थित ती उच्च स्थानमा रहेका जनजीवनको धुक्\u200cधुकी छ। उनका गीतमा डाँफे-मुनाल, कलचुँडा र जुरेलीका बुलबुलझैं सहज र स्वाभाविक लय छ। गलामा वैचित्र्य, वैविध्य, सुमधुरता पाइन्छ। तामाङ सेलो र अन्य लोकधुनको मिश्रणबाट नयाँ र अझ मिठो लय सिर्जना भएको छ। उनका गीतले हाम्रो हृदय आनन्दतिरेकले गद्\u200cगद् हुन्छ। प्रकृतिको न्यानो काखमा लुटुपुटु गर्न पुग्छौं। उनको शब्दोच्चारणमा स्पष्टता, स्वरमा मार्मिकता र ठेटपन पाइन्छ। गर्मीका दिनमा हिँडेर देउराली पुगेपछि सिर्सिर हावाको आनन्द अनुभूत हुन्छ। नवनीतले आमाको गीतहरूलाई पुनर्जागरण गर्नका साथै आफ्नै मौलिक गीत पनि अझ मिठो गरी गाएकी छन्। मानव संवेदना, अतीतप्रेम, कल्पनाको प्रबलता र लोकसंवेदनालाई समात्न सकेकी छन्। आमालाई श्रद्धाञ्जलि नामक एउटा परिवारिक परियोजनालाई कार्यान्वन गर्दै आफ्नी आमा र आफ्ना मौलिक लोकगीतलाई अघि बढाएकी छन्। उनले शुरूमा आमाका सातवटा गीतलाई लिएर नयाँ गरी गाएकी छन्। उनले यस अभियानलाई अघि बढाउँदै सन् २०१७ मा काठमाडौंमा कुटुम्ब ब्याण्डको आयोजनामा आफ्नी आमा र आफ्ना गीतहरूको प्रत्यक्ष कार्यक्रममा गाइसकेकी छन्। उनले विशाल सम्भावनाको ढोका उघार्दै आमालाई र समग्र गोर्खालीलाई अलौकिक गायनद्वारा डोहोर्\u200dयाएर लान सक्नेछिन्। उनलाई शुभकामना छ। #नवनीत आदित्य वाइबा #नवीन पाैड्याल #हिरादेवी वाइबा
कथा जीवन हो—जन्मोत्सव विशेष: माया ठकुरी को आज जन्मदिन । सन् १९४६ जुलाई २ मा भारतको लखनउमा जन्मिनुभएकी माया ठकुरी नेपाली साहित्यको उँचो नाम हो । उहाँका ७ वटा कथा संग्रह प्रकाशित छन् । प्रस्तुत छ, नेपाली साहित्यका लागि विशिष्ठ कथाहरु दिनुभएकी ठकुरीसँग भगवती बस्नेत ले जन्मदिनको अवसर पारेर गर्नुभएको कुराकानी । आज भोलि केमा व्यस्त हुनुहुन्छ ? सधैंको लेखक पढ नै हो । घरेलु कामहरु पनि छन् । त्यसै त हो नि । जसरी अरुको चलेको छ, मेरो पनि त्यस्तै हो । आफ्नो जन्म ठाउँ र बाल्यकालका कुरा के के सम्झिनु हुन्छ ? म भारतको लखनऊमा जन्मिएँ, आर्मी अस्पतालमा । जन्मिएको ठाउँ मैले देखेको छैन, सुनेको मात्रै हो । खासमा मेरो बुवा भारतीय सेनामा हुनुहुन्थ्यो । आर्मीमा भएकाले उहाँको जहाँ जहाँ सरुवा हुन्थ्यो, हामी पछिपछि लाग्दथ्यौँ । पछि गएर मेरो बाल्यकालचाहिँं भारतको मेघालय अन्तरगतको शिलोङमा हुर्केबढेको हो । तपाईँको कर्मथलोको बारेमा केही बताइदिनुस् न । विवाहपछि नेपाल आएँ । नेपालमा धेरै ठाउँका स्कूलमहरूमा काम गरें । गण्डकी बोर्डिङ स्कूल (पोखरा), त्रिभुवन हाई स्कूल (त्रिशुली), अनि जनता माध्यमिक विद्यालय पाल्पा । यसरी धेरै वर्ष टिचिङ पेशा अपनाएर बसें । र, यसका साथसाथै मैले आफ्नो लेखनलाई पनि निरन्तरता दिइरहें । तपाईंँले कथा विधामा गहकिलो काम गर्नुभएको छ । पाठकहरूले यहाँको कथा साहित्यलाई यसरी सम्झिदिँदा यहाँलाई कस्तो लाग्छ ? कथाको सुरुवात हिन्दीबाट भएको हो । सायद नाम ‘इक पागल’ थियो क्यारे ! त्यो स्थानीय प्रकाशक कहाँ पठाएँ । त्यसमा आफ्नो ठेगाना पनि दिएको थिएँ । पठाएको धेरै दिनपछि मलाई चिठ्ठी आयो । उनीहरूले कथा पनि फर्काइदिएका थिए । उनीहरूले पत्रमा के भनेका थिए भने, कथाको विषयवस्तु राम्रो छ । तपाईँले प्रयास पनि राम्रो गर्नुभएको छ । तर हाम्रो विचारमा तपाईँले यो आफ्नो भाषा नेपालीमा लेख्नुभएको खण्डमा झन् राम्रो हुन्थ्यो । नेपाली मातृभाषा भएकी युवतीले हिन्दीमा गरेको प्रयास थियो सायद । यो कुरा उनीहरुले बुझे । सायद मेरो हिन्दी भाषा राम्रो थिएन, त्यसैले उनीहरूले सीधै नराम्रो नभनिकन घुमाएर नेपालीमा लेख्न सिफारिस गरे । त्यसबाट मलाई नेपालीमा लेख्ने हौसला मिल्यो जस्तो लाग्छ । म राम्रो लेख्छु । लेखेको कुरा बाहिर ल्याउनुपर्छ भन्ने कुरा कुन उमेरमा थाहा भयो ? हाम्रो बेलामा रचनाहरू पत्रपत्रिकामा आउनु निकै ठूलो कुरा हुन्थ्यो । त्यो बेला बौलाही कविता सुरुमा छापेकी हुँ । निकै पछिसम्म त्यो कविता मैले लेखेको भनेर कसैले पनि पत्याउँदैनथे । कविता लेख्ने भएका कारण मलाई बिग्रेकी केटी भन्थे । निकैपछि मलाई समीक्षक लीला लुइँटेलले भन्नुभयो, ‘दिदी तपाईँको पहिलो बौलाही कविता पढेको थिएँ । त्यो कहाँ छ ?’, त्योबेला मलाई निकै खुसी लाग्यो । यत्रो वर्षपछि पनि मैले लेखेको कािता कसैले सम्झिएको रहेछ । त्यसपछि त्यो कविता खोजेँ, कहाँ पाउनु र ? तर त्यसको चार लाइन अहिले पनि थाहा छ । बौलाही बौलाही भन्छौ दुनियाँ, बौलाही भई त्यो किन कसरी बौलाही ऊ साँच्चै थिई त तिरस्कार तिम्रो किन सही रोई होली केहीक्षण त्यो हृदयको पीर खप्न नसकी हाँसी होली केहीक्षण त्यो तिम्रो बालपनदेखि अनि भन त किन कसरी कहलाही त्यो बौलाही तपाईंको साहित्यकाररितामा कथा मात्र लेख्नुभयो । यसको केही कारण छ कि ? डि.आर. सुब्बा मेरो बुबा सँगसँगै पल्टनमा हुनुहुन्थ्यो । छोरी जस्तै माया गर्नु हुन्थ्यो । मैले लेखेको देखेपछि म छापिदिन्छु भनेर प्रोत्साहन दिनुहुन्थ्यो । त्यो कविता उहाँले नै छापिदिनु भएको हो । गोर्खा पल्टनमा त्योबेला नेपाली संगीत कला समिति थियो । त्यहाँ सदस्यता दिएर नृत्य, गायन र साहित्य सिकाइन्थ्यो । उहाँले माया ठकुरीलाई पनि सदस्य बनाउनु पर्छ भन्नु भयो । त्यहाँका केही महिलाहरुले आपत्ति जनाए । बिग्रेकी केटीलाई सदस्यता दिने हो भने हामी राजीनामा दिन्छौं, भनेर विरोध भयो । तर डि.आर. सर र गोविन्दनारायण प्रधानले, माया ठकुरीमा क्षमता छ उनलाई ल्याउनु, भनेर भनेपछि म त्यो नेपाली संगीत कला समिति भर्ना भएँ । त्यही बेलादेखि नै लेखाइको क्रम बढ्यो । समय आजजस्तो थिएन । महिलाहरुले ठूलो स्वरले बोल्न हुँदैनथ्यो, साँझ भएपछि घरबाहिर निस्कन पाइँदैनथ्यो । त्यस्तो बेलामा मैले जे देखें महिलाहरूमाथि र मेरो आफ्नै परिवारमा मेरा मुमा र हामीमाथि जुन प्रकारको व्यवहार भएको थियो, ती सबै कुराले मलाई लेख्न प्रेरित गरेकोले मैले जानी नजानी शब्दहरू जोड्दैजोड्दै कथा लेख्न थालेको हो । तपाईं गायिका पनि हुनुहुन्छ । तपाईंको सबैभन्दा मन पर्ने गीतचाहिं कुन हो ? त्यतिबेला महिलाहरूले गीतको माध्यमबाट आफ्नो दुःख व्यक्त गर्थे । त्यही देखेर मैले पनि गाउँन थालेकी हुँ । स्वर राम्रो छैन, तैपनि थोरै गाउँछु । चेलीले माइत फर्किन पाउँथिनन् त्यतिबेला । कैयौं वर्षसम्म उनको माइतीसित भेट हुने थिएन । त्यो युगमा जब आँगनको डिलमा काग आएर काँ, काँ…गथ्र्यो, त्यतिबेला चेलीले मनको भावना यसरी पोख्थीः आँगनको डिल बसी काली कौवा काँ काँ२, के केमा समाचार ल्यायो बरिलै२, त्यो कागले त बोल्दैन अब त्यो चेली आफैँ मनमन गुन्छे र भन्छिन्ः एकमा समाचार कागजुको चिर्कटो२, दोसरी समाचार तिमीलाई लिन हो२ कागले यसो भन्यो भनेर चेलीले सोंच्छिन् ।महिलाहरूले जहिल्यै पनि माइतिलाई घुक्र्याउँछन् नि । त्यसैले त्यो चेलीले फेरि भन्छिन्ः मेरो माया हुँदो हो त बाबा लिन आउँदा हुन्२, कागजुको चिर्कटोले जान्न बरिलै२, यसो भन्दै भन्दै चेलीले दाइ, भाइ, मामा आएको भन्ने कल्पना गर्छिन् । वास्तवमा कोही पनि आएको हुँदैन । यसरी चेलीले माइतबाट बाबा, आमा, दाइभाइ तीजमा आफूलाई लिन आए हुन्थ्यो भन्ने चाहना राख्छिन् । अहिले तपाईँहरूले नारीमुक्तिको कुरा गर्नुहुन्छ । उतिबेलाका नारीहरू पिल्सिएका भए पनि, दबिएका भए पनि ती नारीहरूले पनि कताकता आफ्नो सिर्जनामार्फत् आफ्नो मुक्तिको आवाज उठाउँदा रहेछन् भन्ने अहिले आएर मलाई बोध हुन्छ । कथा तपाईँको लागि के हो ? कथा हामी सबैको जीवन हो । कथाले जीवन बोलेको हुन्छ । यो काल्पनिकभन्दा पनि वास्तविक जीवनमा आधारित अक्षर अक्षर जोडेर व्यक्त गर्छौँ, ती सबै वास्तविक जीवनमा आधारित भएका कुरा हुन् । जसलाई हामी साहित्यकारहरु कथाको रुप दिन्छौं । मैले भन्दैआएको छु, जे जति कथा लेखेको छु ती सबै कथाहरूमा कतै न कतै म उपस्थित भएको हुन्छु । चाहे त्यो त्यसको चारित्रिक भूमिकामा होस्, चाहे संवादमा होस्, चाहे त्यसको भावनात्मक पक्षमा होस् । कतै न कतै म त्यहाँ उपस्थित भएको हुन्छु । मेरा कथा हजारौं विद्यार्थीहरूले कोर्समा पढेका छन् । कोही त बूढा पनि भइसके । कतिपयले हामीले पढेका थियौं, हामीले पढाएका थियौं भनेर भन्छन् । अहिले पनि उनीहरूको मप्रतिको मायामा कहिल्यै पनि कमी आएको छैन । एकपटक प्रोफेसर डा. नेत्र एटमले एकपटक मलाई भन्नु भयो, ‘दिजू हजुरलाई मेरा विद्यार्थीहरूले मृगतृष्णाका बारेमा कुरा गर्न भेट्ने भनेका छन्‘, भन्नु भयो । अनि वहाँले विद्यार्थीहरूलाई लिएर आउनुभयो, एकेडेमीमा । अनि एकेडेमीको चउरमा बसेर ती विद्यार्थीहरूले मलाई सोध्न थाले । मलाई विद्यार्थीहरूले कथाकारिताको बारेमा नसोधिकन कथाका ती पात्रका नाम लिंदै ती कहाँ कहाँ छन् भनेर सोध्न थाले । अनि मलाई लाग्यो, यो कथाको पात्र त अहिले पनि विद्यार्थीहरूले खोजिराखेका पो रहेछन् । र, गर्दागर्दा अरुले पनि कथाका पात्रहरूलाई खोज्न थाले । अहिले पनि कतिले भन्छन्, त्यो सानो बुबा खै ? त्यो तुषार मल्लिका खै ? अनि हिजोअस्ति पनि को को बहिनीहरूले, मेरो त आँखाबाट आँशु आयो त्यो पढेर, भनेर लेख्नुभएको थियो । गुरु दक्षिणा पढेर आँशु आएको रहेछ । यस्तै अरू थुप्रै कथाहरू पढेर विद्यार्थीहरूले मलाई यसै भन्ने गर्छन् । र, यस्तो सुन्दा मलाई एकदमै खुशी लाग्छ । केही न केही भए पनि मैले मानिसहरूको मनलाई छुन सकेको रहेछु भन्ने लाग्छ । तपाईंका कथाहरू बंगाली, तामील, जापानी, अंग्रेजीमा अनुदित छन् । नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्नका लागि कस्तो सल्लाह दिनु हुन्छ ? मेरा कथाहरू विभिन्न भाषामा छन् । अंग्रेजीमा मेरो कथासंग्रह अर्चना थापाको अक्षर क्रियसन छ । त्यहाँबाट अबलेसड गड भन्ने ईश्वरले पनि सिमान्तकृतलाई याद गर्दैनन् भने जस्तै भयो नि । त्यो किताब अर्चना थापाले पहिलोचोटि प्रकाशित गर्नुभएको हो । त्यसपछि अहिले सांग्रिलाले त्यो किताबको दोस्रो संस्करण निकाल्दैछ । र, मेरा कथाहरू धेरै अनुदित भएर अरुअरु ठाउँहरूमा गएका छन् र पढाइ भएका छन् । कथा विधामा आउन चाहने नवप्रतिभाहरूलाई कस्ते सन्देश दिन चाहनु हुन्छ ? म के भन्छु, भने हतार नगर्ने के । के गर्ने भने पहिले आफ्नै देशको कुन विधामा जान चाहनु हुन्छ, तपाईँलाई त्यसको विधागत अध्ययन गर्नै पर्छ । पहिले त आफ्नै देशको गर्नु पर्याे नि ! आफ्नो देशको अध्ययन नगरेर अरे अरेको भरमा हिंड्नु हुँदैन । आफ्नो देशको राम्ररी अध्ययन नगर्ने उपरको बेलायतको र पेरिसको अध्ययन गरेर त भएन । हामीलाई फलाना फलानाको पढें भन्नमा गर्व गर्छौं के । त्यो पढेको पनि राम्रो हो, पढ्नु पनि पर्छ । तर पहिला त आफ्नै देशको पढ्नुप¥यो । नवलेखकहरूलाई पनि म यहीँ भन्छु । एक दुईवटा पुस्तक लेख्नेबित्तिकै उसको भन्दा मेरो राम्रो छ, म किनै जान्छु भन्ने भ्रम पाल्नु भएन । #भगवती बस्नेत #माया ठकुरी
एक्लै हिँड !: रवीन्द्रनाथ टैगोर तिम्रो गुहारमा कसैले मद्दत गर्दैन भने तिमी एक्लै हिँड है ! एक्लै हिँड ! एक्लै हिँड !! एक्लै हिँड है !!! हो, तिमी एक्लै हिँड ! एक्लै हिँड !! एक्लै हिँड है !!! तिम्रो गुहारमा कसैले मद्दत गर्दैन भने तिमी एक्लै हिँड ! एक्लै हिँड !! एक्लै हिँड है !!! तिमीसँग कोही पनि बोल्दैन भने हो, अभागी ! कोही बोल्दैन भने अर्कैतिर फर्केर सबैले तर्साउँछन् मात्र भने तिमी निडर ! तिमी स्वतन्त्र ! एक्लै आफ्नै कुरा गर हो, तिमी स्वतन्त्र एक्लै कुरा गर ! तिम्रो गुहारमा कसैले मद्दत गर्दैन भने तिमी एक्लै हिँड है ! सब फर्किए, हो सबै फर्किए भने हो, अभागी ! सब फर्किए भने निष्पट्ट रातमा चूक घोप्टिँदा पनि हो, कसैले नियाल्दैन भने काँडा र पत्थरले खुट्टा छर्छरी पार्दै एक्लै हिँड है ! तिम्रो गुहारमा कसैले मद्दत गर्दैन भने तिमी एक्लै हिँड है ! जूनकीरीले पनि साथ दिँदैन हो, अलिकति पनि आश दिँदैन भने बरु आँधी हुरीले फरिको लतार्छ भने बाल आफ्नै मनको ज्योति, एक्लै हिँड है ! कविताका अनुवादक केदार वाशिष्ठ हुन् । (रवीन्द्रनाथ ठाकुर (टेगोर) महान् बङ्गाली कवि र सन् १९१३ मा साहित्यतर्फको नोबेल पुरस्कार विजेता हुन् । गीताञ्जलि काव्यका लागि उनलाइ नोबेल पुरस्कार दिइएको थियो । ‘एक्ला चलो रे’ उनको प्रसिद्ध गीत हो । विपन्न वर्गको पीडाबोध गराउने अत्यन्त मार्मिक यो गीत धेरै भाषामा अनुवाद भएको छ । नेपाली भाषामा पनि भएका होलान् तर ती नखोजी आफैँले भावानुवाद गर्न मन लाग्यो र यसलाई यहाँहरु समक्ष प्रस्तुत गरेको हुँ । अनुवादक) #केदार वाशिष्ठ #रवीन्द्रनाथ टैगाेर
लीलाको गजल: उता सीमा मिचेदेखी निन्द्रा लाग्दैन सुत्ने बेला यता अंशबण्डामा लड्दैछ थाक्दैन सुत्ने बेला ।। अरे सरकार निन्द्रामा छ बुझ चिच्याउनु व्यर्थ छ काल आओस् कुम्भकर्ण अंह जाग्दैन सुत्ने बेला ।। लागेसी अनिकाल घरमा चाडैं सुत्ने आमालाई हेक्का छ भोको पेटले खाना माग्दैन सुत्ने बेला ।। रात पर्छ म उठ्छु र बन्दुक सुताउँछु सिमानामा होईन भने दुश्मनले बाँकी राख्दैन सुत्ने बेला ।। म सपनादेखी डराउँछु तैपनि हर रात आउने सपनालाई थाहा छ यो मान्छे भाग्दैन सुत्ने बेला ।। #लिला ब्लोन #लिलाको गजल
चमेरा मान्छेहरू: दिनको उज्यालोमा लुक्छन् रातको अँध्यारोमा देखिन्छन् जब साँझ पर्छ अनि घरकाखुला झ्याल ढोकाबाट भित्र पसेर कोठा—कोठा, चोटा—चोटा सबै विचरण गर्छन् चमेराहरू। स्थिर आकृतिलाई आफैंतिर आइरहे झैं मान्छन् कालो छाया देख्दा तर्साउने भूतझैं ठान्छन् आफ्नै आँतका साथीहरूसँग पलपलझस्किरहन्छन् जीवनका हरेकपल यसरी नै भ्रम बाँच्छन् चमेराहरू। अभिनयगर्न साह्रै सिपालु हुन्छन् प्रकृतिले दिएको आफ्नो स्वरूप प्रयोग गरेर दुश्मनलाई छक्याउँछन् हेर्दा चरा जस्ता पनि देखिन्छन् जन्तु जस्ता पनि लाग्दछन् किनकिउनीहरू आफैमाभ्रमहुन् उनीहरू भ्रमकै रूपमा जन्मेकाहुन् शक्तिशाली बिरालोले झम्टिँदा हेर्नुस् बिरालो दाइ! म त मूसो होइननिभनेर आफ्नापखेटा देखाउछन् र सजिलै जोगिन्छन् हिंस्रक बाजले आक्रमण गर्दा हेर्नुस् बाजदाइ! म त चरा होइननिभन्दै मुखकादाँत देखाउँछन् र बाजबाटपनि बँच्तछन् तर म सोच्दछु बाज र बिरालोसँगै भेटिए भने साँच्चै के भन्दाहुन् चमेराहरू? बाज र बिरालोरूपी मान्छेहरू सँगै भेटिए भने के गर्दाहुन् चमेरा मान्छेहरू? #चमेरा मान्छेहरू #शरण खत्री ‘मृदुल’
सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !: (संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । — डा. विप्लव ढकाल) १. समान–अन्तर उपेन्द्र सुब्बा (उपेन्द्र सुब्बा) बाउले नपढेर दुःख पाए मैले पढेर दुःख पाएँ । गाउँमा— बाउ हलो जोतिरा’छन् म सहरमा टाउको जोतिरा’छु । गरेर खानलाई बाउसँग संसार छ भोकभोकै मर्न तयार मसँग अहङ्कार छ । बाउले नपढेर दुःख पाए मैले पढेर दुःख पाएँ । २. हल्लिनु धर्मेन्द्र विक्रम नेम्बाङ (धर्मेन्द्रविक्रम नेम्वाङ) हल्लिनु भनेको पुरानो अवस्थामा खलबल आउनु । हल्लिनु भनेको पुरानो व्यवस्थामा खलल आउनु । हल्लिनु भनेको यथास्थितिलाई धक्का दिनु । हल्लिनु नयाँ विज्ञानको सुरुवात हुनु । हल्लिनु भनेको मक्किएको टुक्रिनु, चुटिनु, अलमलिनु, उल्टिनु, विघटन हुनु । पुरानो उखेलिनु, नयाँ परिस्थिति आउनु । हल्लिनु भनेको अस्थिर बन्नु । हल्लिनु भनेको पुरानो विस्थापन नयाँ आमन्त्रण । हल्लिनु ज्ञान, चेतना, धरातल, कुण्ठा, मुटु, छाती, मगज, पृथ्वी आदि इत्यादि । हल्लिनु भनेको हिल्लिनु । ३. नयाँ वर्ष स्वप्निल स्मृति (स्वप्निल स्मृति) गाउँमा— पूरै एक वर्ष भयो राजधानीबाट अझै आइपुगेन झाडावान्ताको ओखतीबाहेक हेलिकप्टर ल, चाँपको हाँगामा कति चाँडो आइपुगेछ नयाँ वर्ष ! ४. याद चन्द्रवीर तुम्बापो (चन्द्रवीर तुम्बापो) आफू— भेलबाढी बनिदिन्छ, र हामीलाई बगर बनाएर जान्छ ! ५. दुरी (राबत) राबत एउटै बोटको फरक हाँगामा फुलेको फूलझैँ एउटै परिधिमा रहेर पनि तिम्रो र मेरो मिलन नचुँडिएसम्म सम्भव छैन । #डा. विप्लव ढकाल
शरदका नजरमा प्यासीः पछिल्लो पुस्ताका एक जिम्मेवार कवि: सहरमा कि त सलहको चर्चा छ कि कोरोनाको । जनजीवन सरल र सामान्य हुनुको साटो झन् जटिल हुँदै जाने सङ्केतहरू देखिँदै छन् । आम मानिस खुट्टो खोच्याउँदै हताश भावमा गाँस, बास र कपासकै मियो वरिपरि घुमिरहेका छन् निरन्तर । सहज परिस्थितिमा त सीमित वृत्तमाबाहेक कविता पढ्ने, पढाउने, चर्चा–परिचर्चा गर्ने बौद्धिक अभ्यास र परम्परा नरहेको हाम्रोतिर अहिलेको अवस्थामा कविता मान्छेको केन्द्रबिन्दु र महत्वभित्र पर्ने कुरै भएन । तै पनि कविताका विभिन्न मञ्चहरू अनावरण भैरहेकै छन् र कविताका पाठकहरू वर्तमान विषमतालाई कविता या साहित्यको सिटामोलले मत्थर पार्ने प्रयास गरिरहेकै छन् । शरद ऋतु सत्तरीको दशकको शुरूआतदेखि नै नेपाली साहित्यमा कविताको सबैभन्दा पछिल्लो पुस्ताले आफ्नो उपस्थिति देखाउन थालिसकेको हो । २०७५ सालको अन्तिममा यही पुस्ताका सत्रजना कविको संयुक्त कविताकृति ‘अनुहारको भीड’ बजारमा आयो । यस कविताकृतिको प्रकाशनमा नेतृत्वदायी भूमिका खेलेका यही पुस्ताका सशक्त कवि नवीन प्यासी यसै संग्रहका सम्पादक समेत हुन् । प्रसिद्ध समकालिन अफ्रिकन–अमेरिकन कवि निक्की जियोभानीको विचारमा कविले जस्तै कोलाहलयुक्त कोठामा पनि शान्ति भेट्टाउँछ र त्यही स्थितिमा उसले सृजना गर्छ । कवि नवीन प्यासी काठमाडौंको होहल्ला र कोलाहलसित जुझ्दै कविताको स्केच कोरिरहेको छ । ऊ कलाको मिहीन मसीले समय, सम्बन्ध र संवेदनाहरू कविताको पटागिंनीमा निरन्तर पटाक्षेप गरिरहेको छ । लाग्छ, कवि नवीन प्यासी आफ्नै हस्ताक्षर सहितको कविताको छुट्टै डिक्सन निर्माण गर्ने यात्रामा छ । अहिले नै धेरै भन्न नसकिए पनि यति चाहिँ भन्न सकिन्छ कि उसकै समकालिन कविहरूका कवितासित नाम छोपेर सराबर गरेर राख्ने हो भने पनि पाठकले उसका कविताहरू सजिलै भेट्टाउँछन् । ‘तिमीसँग भेट नभएको भए’ शीर्षकको एउटा कवितामा ऊ भन्छ, आँसुले छातीमा हिर्काएर जाने थिएन शब्दहरू घाँटीसम्म आएर अड्कने थिएनन् झरीले रुझेको कागज जस्तो हुने थिएन ओठ बेपत्ता हुने थिएनन् ओठको कुनाबाट मुस्कानहरू ऊ वियोग, बिछोड र वेदनालाई मात्रै कविताको क्याप्सुल बनाएर बेच्दैन । उसका कवितामा समयचेत, बोध र कर्तव्यका पाटाहरू पनि कलाको भ¥याङ उक्लिएरै आइपुगेका हुन्छन् । उसलाई थाहा छ, नाफाखोर बजारले उत्पादन गरेको कथित ब्राण्डेड वस्तु जस्तो होइन कविता । समाजको आन्तरिक संरचनाको जोड–घटाउमा कविताको निकै ठूलो महत्व हुन्छ । माथिकै कवितामा अगाडि ऊ लेख्छ : तिमीसँग भेट नभएको भए आउँदैनथ्यो यत्रो दुःखलाई छिचोल्ने साहस तिमीले मलाई यति बलियो बनाएर छाडेकी रहिछौ कि, तिमीसँग भेट नभएको भए उहिल्यै मरिसकेको हुन्थेँ म । जब भावनाले विचार र विचारले शब्द पाउँछ तब कविता बन्छ भन्ने कवि रोबर्ट फ्रस्टको भनाइ प्यासीको कविता र उसका कवितावृत्तिसित मेल खान आउँछ । ऊ बेअर्थ कवि भनिनकै निम्ति कविता लेख्दैन । अन्तर्यमा गहन विचार र बोध समाहित गरेको ऊ बाहिरबाट हेर्दा चञ्चल किशोर लहर जस्तो पनि देखिन सक्छ । युवावयमै कविता खेतीमा परिपक्व उत्रिएको कवि नवीन प्यासी वर्तमानका पदिृश्य र मरुभूमि झैँ बाँचिरहकेका मानिसका कथा उतार्न माहिर छ । ‘एउटा मानिसको कथा’ यो समय बाँचिरहेका मानिसहरूका कथा हो । राज्यको एकैखालको आर्थिक, सामाजिक र राजनीतिक संरचनाभित्र बाँधिएका मानिसका व्यथा पनि उस्तै नै हुन्छन् । ऊ यति निरीह मानिस हो कि जुनसुकै बेला पनि ऊ बेपत्ता हुनसक्छ जुनसुकै बेला पनि उसको नाक–कान काटिन सक्छ जुनसुकै बेला पनि उसको मुटुमा बारूदको गन्ध भेटिन सक्छ कवितामा आत्मरति र आत्माभिमानमा रमाउने कविहरूको झुण्ड बाक्लै छ बजारमा । यद्यपि यो समयका केही इमान्दार कविहरू समयको भुलचुक बिना हिचकिचाहट आफ्नो खातामा हाल्छन् । कवि प्यासी भन्छ: यो जीवन शून्य सहरमा झुट बोलेर बाँच्ने कोसिस गरिरहेको म दम्भ देखाएर बाँच्ने कोसिस गरिरहेको म दुखेको कुरा गर्न नजानेको म खुसी देखिने अभिनय गरिरहेको म ‘शासन’ शीर्षकको कवितामा ऊ आन्दोलनकारीले भत्काउन बिर्सेको व्यस्त चोकको पुरानो शालिकले अझै औँला उठाइरहेको देखेर उसमा अझै सत्ताको भोक बाँकी रहेको देख्छ । यो छोटो कविताले सिङ्गो शासकिय चरित्र र इतिहासमाथि बलियो धावा बोलेको छ । नवीन प्यासी नवीन प्यासी पछिल्लो पुस्ताको एउटा जिम्मेवार कवि हो । कविताका लागि चाहिने ‘सिरियसनेस’ उसमा छँदैछ । यद्यपि उसका कविताले विचारको नुतन र गहकिलो आकाशमा विचरण गर्न बाँकी नै छ । चेतना र चिन्तनगत आयाममा जीवन, प्रकृति, सौन्दर्यका नवीनतम आलोकहरू खोज्न बाँकी नै छ । कवि नवीन प्यासी मौलिक तर बलियो विश्वदृष्टिकोणसहित माझिएर आउन बाँकी नै छ । खैर, भर्खरै त यात्रा शुरू भएको छ । भविष्य त उज्वल छँदैछ । यार मनहरू भिज्ने गरी कविता लेखिरहनू । तिमीलाई शुभकामना । नवीन प्यासीको कवितामाथि टिप्पणी गरिएका कविताहरू यसप्रकार छन् । १. शासन आन्दोलनकारीले भत्काउन बिर्सेको पुरानो शालिक व्यस्त चोकमा उभिएर अझै पनि औँला उठाइरहेको छ सायद, उसमा सत्ताको भोक अझै बाँकी छ । २. एउटा मानिसको कथा लाग्छ– ऊ माटोको गिलास हो जो भर्खरै समयको हातबाट छुटेर मार्बलमा बजारिएको छ लाग्छ– ऊ कसैको औंला झुक्किएर ठोक्किएको पुरानो सारंगीको एक्लो तार हो जसले आफ्नो मृत्युको गीत आफैं गाउनुपर्छ कुनै मानिसको आत्महत्याले हाँगा थर्थराएर खसेका थोपाहरुको सरसराहट जसरी शासकविरूद्ध फाासीको तख्ताबाट निस्किएको अन्तिम आवाज जसरी जल्नुअघि झिलिक्क बलेको बिजुलीको बल्ब जसरी हारेको ठानेर हुन्छ या जितेको ठानेर उसले आफ्नो मृत्युको गीत आफैं गाउनुपर्छ चीत्कारमा आनन्द लिन कुनै कलिलो हातले फर्सीको फूलमा छोपिन सक्ने कीरा हो ऊ धूलो र माकुराको जालोले छोपिएको कसैको प्रतिविम्बको प्रतीक्षामा बााचेको ऊ ऐना पनि हो र ऊ कुवा पनि हो जसको छातीमा जून मुस्कुराइरहेको बेला पहेंलो पात खसिदिँदा मात्र पनि कच्याककुचुक हुन सक्छ ऊ हात काट्छ र प्रेमपत्र लेख्छ ऊ भट्टी छिर्छ र आफ्नै हातले निधार हिर्काउाछ ऊ महागीमा उभिन्छ र बजार भाउ सुनेर मात्र फर्कन्छ ऊ भूकम्पले आधा चिथोरेको घर सम्झन्छ ऊ दुःखले धुजा–धुजा बनाएको आमाको अनुहार सम्झन्छ ऊ यति निरीह मानिस हो कि जुनसुकै बेला पनि ऊ बेपत्ता हुन सक्छ जुनसुकै बेला पनि उसको नाक–कान काटिन सक्छ जुनसुकै बेला पनि उसको मुटुमा बारूदको गन्ध भेटिन सक्छ कहिलेकाहीँ भने भनिहिँड्छ ऊ, ‘यो सहर मेरो पनि हो यो सहरमा मेरो सपना धरहरा भइसकेको छैन’ र पनि ऊ निरीह मानिस हो वर्षौंदेखि सुनसान घरसँग जसरी –जीवनको छनक दिने वृद्ध खोकीहरु –जीवनको आनन्द दिने केटाकेटी चिल्लाइहरु –धिपधिप गर्दै मधुरो बल्ने दियो –सााझ/बिहान धुरीबाट आकाश उक्लने धूवाँहरु केही–केही छैनन् ऊसँग ऊ कुनै चुल्ठोमा सिउरिँदै गर्दा फूलको थुंगोबाट खसेको एउटा पत्र हो ऊ कुनै युवतीको छातीबाट खसेको कमिजको टाँक हो ऊ जे पनि हो ऊ उज्यालो बोकेर गइरहेको घाम हेर्दै टोलाइरहने फुल्न खोजिरहेको आरुको रुख हो ऊ मध्यराति बतासको ठोक्काइले चुइा… चुइा… गरिरहने गाउाको कुनै एक्लो घरको चुकुलबिनाको ढोका हो ऊ कुनै समय बिहानै–बिहानै चारा टिप्न आइपुग्ने परेवाले बिर्सेको आँगन हो ऊ तोक्माको संगीत सुनेर बाँचेको पुरानो बाटो हिाडेर आएको पौताला पनि हो ऊ यति मात्रै होइन ऊ विष खोसिएको सर्प हो ऊ भाषा र आवाज खोसिएको सुगा हो ऊ जंगल र स्वतन्त्रता खोसिएको बाघ हो कहिलेकाहीँ म उसलाई बेस्सरी सम्झन्छु खडेरीमा बिरूवाले वर्षात सम्झिए जसरी नवविवाहित महिलाले सिरानी अंगालेर निदाए जसरी झुक्किएर आमाले मरेको सन्तानलाई पनि खाना पस्किए जसरी उसलाई म बेस्सरी सम्झन्छु यो जीवन–शून्य सहरमा झूट बोलेर बाँच्ने कोसिस गरिरहेको म दम्भ देखाएर बाँच्ने कोसिस गरिरहेको म दुखेको कुरा गर्न नजानेको म खुसी देखिने अभिनय गरिरहेको म कहिलेकाहीा केही क्षण फुर्सद निकालेर जब त्यो निरीह अनुहार सम्झन्छु जब यत्रो संसारमा मसँग मात्र परिचित त्यो मानिसलाई सम्झन्छु मैले ऐना अगाडि उभिनुपर्छ। ३. तिमीसँग भेट नभएको भए तिमीसँग भेट नभएको भए उदास लाग्ने थिएनन् साँझहरू विफल हुने थिएनन् आत्महत्याका प्रयासहरू लेख्ने थिइनँ हाम्रो सम्बन्धको आयुभन्दा धेरै ‘सुसाइड नोटहरू’ आँसुले छातीमा हिर्काएर जाने थिएन शब्दहरू घाँटीसम्म आएर अड्कने थिएनन् झरीले रुझेको कागज जस्तो हुने थिएन ओंठ बेपत्ता हुने थिएनन् ओंठको कुनाबाट मुस्कानहरू तिमीसँग भेट नभएको भए बिथोल्ने थिएनन् विगतहरूले जन्मिने थिएनन् सपनाहरू भेट्दिनँ थिएँ तिम्रो हाँसोमा जीवनका बाँकी खुसीहरू तिम्रा आँखाबाट देख्दिनँ थिएँ हिँड्नुपर्ने बाँकी बाटाहरू तिमीसँग भेट नभएको भए अल्झन्न थिएँ म तिम्रो पैतालामा र पछ्याउँदिन थिएँ तिमीलाई सुदूर-सुदूरसम्म पुग्नका लागि तिम्रो गरम सासहरूले निथ्रुक्क भिज्ने थिइनँ म तिम्रा औँलाहरू मेरा कपालहरूमा दगुर्दैन थिए तिमीसँग भेट नभएको भए- एउटा यात्रा आफूखुसी हिँडिरहन्थ्यो एउटा मान्छे आफूखुसी बाँचिरहन्थ्यो तिमीसँग भेट नभएको भए छुटिने त्रासले निस्कदैनथे सुस्केराहरू कसैलाई गुमाउने भयले धड्किदैनथ्यो मुटु प्रेमको तापले यसरी पग्लिदैन थिएँ म फेरि यसो सोच्छु – तिमीप्रतिको गुनासोहरूलाई परै राखेर सोचिबस्छु म… तिमीसँग भेट नभएको भए आउँदैनथ्यो यत्रो दु:खलाई छिचोल्ने साहस तिमीले मलाई यति बलियो बनाएर छाडेकी रहिछौ कि, तिमीसँग भेट नभएको भए उहिल्यै मरिसकेको हुन्थेँ म । #नवीन प्यासी #शरद ऋतु
हिमाल र आमा: रातो टोपी, रातै लपेटा बाँधेर क्रान्ति गर्न हिँडेका बाले आमाको पटुकीसम्म रातो रहन नदिएपछि छेउको अपि सैपालमाथि डाहा लाग्न थाल्यो त्यसको कम्मरमुनि राताम्य गुराँस कसरी फुल्न सक्छन् ? #दीपक ढकाल #हिमाल र आमा
जन्मदिन विशेषः हरिभक्त कटुवालका दुई कविता: कुनै वाद र मान्यतालाई अँगालो नहाली कविता लेख्ने कवि हुन् हरिभक्त कटुवाल । उनको जन्म १९३५, जुलाई २ (वि.स. १९९२ असार १८ गते) असम राज्यमा वीरबहादुर कटुवाल र विष्णुमाया कटुवालको छोरोको रूपमा भएको थियो । हरिभक्त कटुवाल इतिहासले सम्झिरहने अनेकौं कविता कृतिहरुमध्ये एक हो– हरिभक्त कटुवालको “यो जिन्दगि खै के जिन्दगि” कविता संग्रह (२०२९), जसले उनलाई चर्चाको शिखरमा पुर्यायो । सोहि कविता संग्रहलाई ‘स्वदेश फर्किएपछि (३२ वटा कविता)’ र’ प्रवासबाट (२९ वटा कविता) गरी आफ्ना कविताहरुलाई दुई भागमा विभाजन गर्दै कटुवालले ‘यो जिन्दगी खै के जिन्दगी” मा आफ्ना कुरा मार्फत् यो पनि भनेका छन्– भोलि म नरहुँला र जो रहेनछन् उनीहरुकै हातमा यो जिन्दगी समर्पित छ । आधुनिक नेपालि कविताका प्रखर सर्जक कवी हरिभक्त कटुवालले युगान्तकारी चेतना, सौन्दर्य र लयात्मकतालाई समातेर कविता लेखेकै हुनाले पनि होला उनी अत्याधिक प्रशंसित कविमध्ये पर्दछन् । उनको मृत्यु १० सेप्टेम्बर १९७९ (वि.सं. २०३७ भदौ २५ गते) ४५ वर्षको उमेरमा क्षयरोग र अल्सरका कारणले भएको थियो । उनको जन्मदिनको सम्झना स्वरूप उनैका दुई कविता हामी प्रस्तुत गर्दैछौँ । १. मुक्त मुक्त त ढुंगा हुन्छ न उसको दुख्ने मुटु हुन्छ म देख्ने आँखा हुन्छ कसैले पर्खाल लगाए पर्खाल बन्छ सडक बनाए सडक बन्छ सायद त्यसैले त्यसको पूजा हुन्छ उ ईश्वर बन्छ । २. दाइ कविता ! खै कविता ! यस सहरमा ओहर दोहर गर्ने आकृतिहरूमा कविता खोजेर धेरैपल्ट निराश भएको छु भाइ ! तर सधैं मेरै जस्ता ति अनुहारहरू पनि अल्झिरहेको पाएको छु दाल, भात, डुकुकै समस्यामा । मानौं हामीले बिर्सिसकेका छौं मानिस हुनुको अर्थ र खटनभन्दा पनि हामि केही सोच्न सक्देनौं कुनै घेरा नाघेर हामि कतै फड्कन सक्दैनौ अनि यहाँ कविता कहाँ पाउनु भाइ ? कविता त कतै भोकाएको ज्यामीको अनुहारमा होला जो राजमार्गमा दिन दिनभरी ढुङ्गा फोरिरहेको हुन्छ अथवा कतै उनी लाहुरेको उदास अनुहारमा होला जो आफ्ना बाल बच्चा बिर्सेर रातभरि दर्बानी गरिरहेको हुन्छ होइन भने, सारंगी रेटेर बह बिसाउने कुनै गाइनेको अनुहारमा होला जो कुनै पर्यटकबाट पाँच पैसा पाउँदा पचास पल्ट निहुरिरहेको हुन्छ । तर म एक बेफुर्सदी मान्छे – थोरै कवी बढी जागिरे जसलाई कविता खोजिहिड़ने फुर्सद नै छैन अनि म कविता कहाँ पाऊ ?- के दिउँ ? बरु यस्तो लागिरहेछ यसबेला आफैंलाई कुन म्युजियमको एक कुनामा थन्को लगाईदिउँ आफ्नै जिन्दगी र लेबिल टाँसीदिऊ ठुला ठुला अक्षरमा ‘यो हरिभक्त कटुवाल हो जो मृत्युको डरले सधैं भागिहिंड्छ यो त्यही कटुवाल हो जो स्वस्ती गरेर भए पनि आफ्नो जागिर जोगाउनैमा तल्लीन छ ।’ नोटः प्रस्तुत सामाग्री केही अनलाइनको सहयोगार्थ तयार पारेका हौँ । #हरिभक्त कटुवाल
फोटो कविता प्रतियोगिता ७ का लागि कविता आह्वान: विमल नेपाल साहित्यपाेस्ट साहित्य क्षेत्रकाे यस्ताे पत्रिका हाे, जसले लेखक–कविहरूका उत्कृष्ट रचना मात्र प्रकाशित गर्दैन, नव प्रतिभाहरूलाइ फल्ने फूल्ने वातावरण पनि तयार पार्दछ । यसै सन्दर्भमा साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको सातौँ संस्करणका लागि कविता आह्वान गरिएको छ। याे फाेरम नव प्रतिभा एवं चर्चित कविहरूकाे संयुक्त फाेरम हाे, जहाँ ताेकिएकाे विषय र तस्बिर दिएर कविता लेखनकाे प्रतिस्पर्धा गराइन्छ । अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका तस्बिर हेरी कविता लेख्ने यो प्रतियोगिताका छ वटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । सातौँ संस्करणका लागि तल प्रकाशित तस्बिर हेरी तलको कमेन्ट बक्समा सहभागीहरूले कविता पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागी हुनेहरूले यसअघि यसै पेजमा कविता नराखेर साहित्यपाेस्टकाे फेसबुक पेज, इमेल ठेगाना र अन्य माध्यमबाट कविता पठाउनु भएका कारण ती कविता प्रतियोगिताभित्र नपरेको साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले जानकारी दिएका छन्। याे प्रतियाेगितामा कविता पठाउन यसै पेजकाे तल कमेन्ट बक्समा तस्बिरसँग मिल्दाे कविता पठाउनु पर्ने निर्णायक मण्डलले जनाएकाे छ । प्राप्त कविताहरू मध्येबाट तीन वटा उत्कृष्ट रचनाहरु प्रत्येक साता चयन गरिनेछ। यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो-कविता स\u200cंग्रहका रुपमा प्रकाशित गरिनेछ ।उत्कृष्ट कवि–कवयत्रीहरूलाइ सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार पनि अर्पण गरिनेछ । यस प्रतियोगिताका लागि कविता पठाउने मिति आउँदो शनिबार अर्थात असार २० गते राति १२ बजेसम्म रहेको छ। प्राप्त कविताहरूलाइ विज्ञ एवं स्वतन्त्र कवि एवं समीक्षकहरूकाे रहाेबरमा भाेलिपल्ट २१ गते कविताको नजिता प्रकाशन गरिनेछ । यसपटककाे फाेटाे र कविताकाे विषय रहेको छः आधुनिक नारी अथवा नारी साैन्दर्य यी दुबै विषय मध्ये तल दिइएकाे तस्बिर मध्ये एक, जुन कुराले कविकाे मन छुन्छ, त्यही विषयमा रचना पाेस्ट गर्न सक्नुहुनेछ । हेर्नुहोस् तस्बिर र तल कमेन्ट बक्समा कविता पोस्ट गर्नुहोस्ः #फोटो कविता प्रतियोगिता
सभासद् हराएको सूचना\xa0: बाँकेको टन्टनापुर गर्मीमा म कोहलपुर बसपार्कमा काठमाडौं जाने गाडीको टिकट काट्ने लाइनमा थिएँ । बिचौलियाहरू मुखमा गुट्खा च्यापेर यात्रुलाई ‘कहाँ जाने ?’ भनेर सोधपुछ गर्दै थिए । म भने बिचैलियाको सिकार पर्नुभन्दा पहिले नै अघि सरेर टिकट काट्ने लाइनमा बसिसकेको थिएँ । गर्मीले सबैको मुहार आगोको फिलिङ्गोजस्तै रातो बनाएको थियो । लाइनमा अगाडि उभिएका सबै दिक्दार देखिन्थे । सबैको अनुहार उदास थियो । सबै मलामी आए जस्ता भावशून्य देखिन्थे । काउन्टरमा काम कछुवाको गतिमा हुँदै थियो । कोही पछाडिबाट जोरजोरले कराइरहेका थिए । कोही भने लाइनमा ठेलम्ठेल गर्दै घुस्न खोज्दै थिए । म एक्लै सब दृश्य हेर्दै मनमनै कहिले काठमाडौं पुगिएला र म्यानपावरको एजेन्टलाई भेटिएला भन्ने सोचिरहेको थिएँ । विशाल दत्त भट्ट मोटामोटी आज तीन महिनाभित्र सातौंपटक काठमाडौं जादै थिएँ । म्यानपावर कम्पनीले पनि विभिन्न बहानामा बोलाइरहन्थ्यो । छुट्टिने बेलामा एउटै कपीपेस्ट बिदावारी हुन्थ्यो, “भट्टजी, अब तयार हुँदै गर्नुहोला है । चाँडै भिसा लाग्छ ।” हिजो बिहानै म्यानपावरकी स्टाफले फोन गरेर भनेकी थिई, “हेल्लो विशालजी, हजुरलाई मनोहर सरले बोलाइस्या छ । भोलि नै काठमाडौं आउनु पर्यो । अनि सुन्नु त ! बाँकी रहेको पेमेन्ट पनि गर्दिनुहोला है । उता कम्पनीबाट रेस्पन्स आइसक्यो ।” हिजो दिनभरि लाएर खाना नखाईकन चिनेको नजिकका आफन्तसँग ऋण काढेर पैसा जोहो गरेको थिएँ । राती निद्रा पनि राम्रोसँग लाग्नै पाएन । मन एउटा सिनेमामा झैँ दृश्यहरू अविरल खेलाउँदै रह्यो । कसरी सपनाहरू सजिँदै जान्छन् ? कसरी बिपना भत्किएर पनि जान्छन् ? कसरी रूखले पालुवा हाल्छ ? कसरी हरियो पात सुकेर पनि झर्छन् ? कसरी हावामा आशाको महल ठडिन्छ ? कसरी आशाको महल तासको महलझैँ ढल्न पनि पुग्छ ? “ए भाइसाब क्या हुवा ?”, ढाडमा धपधपाउँदै एउटाले मलाई अघि सर्न लायो । म झसङ्ग भएर अगाडि सरेँ । लाइनको लम्बाइमा कति पनि कमी आएको थिएन । त्यसपछाडिको मान्छेलाई भने मेरो अगाडि खाली रहेको डेढ फुटको पनि लोभ लागिरहेको थियो । मैले खल्तीमा रहेको नोकिया मोबाइल झिकेर समय हेरेँ । दिउँसोको दुई बज्ने लागेको थियो । नाडीमा बाँधिएको घडीलाई निकै ग्लानि भएको हुँदो हो, लाचार भएर मेरो पसिनाले निथ्रुक्कै भिजेको अनुहारमा हेरिरह्यो । काउन्टरका कर्मचारी खाजा खाने समय भएको भन्दै निस्किए । कोही एक शब्द बोल्न सकेनन् । गर्मीले आलस्य बनाएको पनि हुनसक्छ, या त बोल्ने मुडमा कोही थिएनन् । ठिक त्यसै समय त्यहाँ हातमा एउटा थर्मसमा चिया र प्लास्टिकमा केही चाउचाउ, बिस्कुट, पाउरोटी, चुरोट, गुट्खा बोकेर एउटा अधबैंसे महिला आइपुगिन् । “ए नास्ता ले बे ?”, ती महिलाले मतिर हेर्दै थर्मस भएको हात थोरै उचाल्दै प्रश्न गरिन् । उनको त्यो प्रश्न नभएर आफ्नो घरमा बेलुका बालबच्चालाई खुवाउने दाल चामलको व्यवस्था गरिदिन अनुरोध थियो । मैले थोरै आँखा उचाल्दै हुन्छ भनेँ । उनले मलाई एउटा प्लास्टिकको गिलासमा चिया हालेर दिइन् । “अरू काई देबे ?” मलाई चियासँग पाउरोटी खान मन लाग्यो । “यसको कति रुपैयाँँ हो ?”, पलास्टिकभित्र भएको पाउरोटीलाई चोर औंलाले देखाउँदै प्रश्न गरेँ । “दस रुपैयाँ लेबे ।” मैले एउटा पाउरोटी मागें । तिनले एउटा पत्रिकाको टुक्राले च्यापेर मलाई पाउरोटी थमाइन् । मैले थोरै मुस्कान थपिदिँदै पैसा दिएँ र चियाको सुर्को लिएँ । उनी खुसी हुँदै अर्को मान्छेतर्फ सोध्दै गइन् । चिया र पाउरोटी खाँदै त्यसै लाइनमा बसिरहेँ । चियामा चोप्दै पाउरोटी खानाले पाउरोटीभन्दा अगाडि चिया सकियो । प्लास्टिकको गिलास नजिकै रहेको ‘फोहोर मलाई’ लेखिएको बाल्टीमा खसालिदिएँ । पाउरोटी अलिकता बचेकाले हातमा लिएर बिस्तारै खाई नै रहेँ । अन्तिमपटक बचेको सानो ठुन्को पाउरोटीलाई मुखमा हालेर हातमा भएको पत्रिकाको टुक्रा हेर्न थालेँ । केही विज्ञापन र सूचनाहरू थिए । कुनैबेला जागिर खोज्न पत्रिकामा विज्ञापन र सूचना हेर्दै विभिन्न कम्पनीका फोन नम्बर संकलन गरेको याद आयो । एक महिनामा कमाइ हुनेभन्दा बढी पैसा त तिनै कम्पनीमा फोन गर्न र जागिरबारे बुझ्नमै खर्च भएको थियो । अझ कुनै कम्पनीमा पुगेर तीन सयदेखि पाँच सयसम्मको फम भरेरसमेत आएको थिएँ । ती सबैले तपाईँ छानिइनुभयो भने सम्पर्क गरौंला भन्दै पठाएका थिए । म कुनैको पनि छनोटमा पर्न सकिनँ क्यारे ! महिनौं बितिसक्दा पनि फोन आएको थिएन । पछि पछि त आश र विश्वास दुवै मरेर गयो । हातमा भएको पत्रिकाको एउटा सूचनामा आँखा गयो । कालो बोल्ड अक्षरमा लेखिएको थियो ‘ सभासद् हराएको सूचना !’ म तीन छक्क परेँ । जीवनको पच्चीस बसन्त पार गरिसक्दा पनि पहिलोपटक यस्तो सूचना देख्दै थिए । त्यस शीर्षकलाई दोहोर्याइतेर्याई हेरेँ । त्यो त्यही नै थियो, जुन म पढिरहेको थिएँ । मलाई त्यस अनौठो सूचनाले असमञ्जसको अवस्थामा धकेलिदियो । काउन्टरका कर्मचारी खाजा खाएर आइपुगेछन् । पछाडिबाट ठेलमठेल सुरु भैहाल्यो । मैले त्यस पत्रिकाको टुक्रालाई जतनसाथ पट्याएर पाइन्टको अघिल्लो खल्तीमा राखें । बिस्तारै बिस्तारै गरेर लाइनमा अगाडि बढ्दै गरेँ । सम्झँदै बिरक्त लाग्ने ती कर्मचारीहरूको अगाडि पर्दै काठमाडौंसम्म जाने गाडीको टिकट काटेर त्यस काउन्टरबाट ओझेल परें । गाडीको समय हुन अझै डेढ घन्टा जति बाँकी थियो । बस्ने बाहाना खोज्दै नजिकको एउटा सानो चिया पसलमा गएर चिया मगाएँ । चियापत्ती बिटभरि लागेर बाफ छोड्दै उम्लिरहेको भाँडोबाट एक कप चिया सानो सिसाको गिलासमा खन्याएर आधा तालु खुइलिसकेका एक जना अधवैंशे मानिसले म बसिरहेको टेबलमा ल्याएर टक्राए । उनको अनुहार देख्दा साह्रै दया पलाएर आयो । खाली रहेको चिया पसलमा म गएर बसिदिँदा उसलाई हिउँदमा सूर्य उदाएजस्तो आभास भएको हुँदो हो । आफ्नै टुक्राटाक्री सपनाहरू साँच्दै चियाको सुर्को तान्न थालेँ । तातो चिया मुखभित्र पुगेपछि थाहा भयो, चियाभन्दा तातो मन्द बगिरहेको हावा थियो । हुन पनि शीतल ओत खोज्दै बस्न चिया नै उपयुक्त माध्यम थियो । यसो खल्तीमा भएको अघिको पत्रिकाको टुक्रा निकालेर दृष्टिपात गर्न थालेँ । “असारेमास सकिनै लाग्दा सारा गाउँलेले चुनेर पठाएका सभासद् निकै लामो समयदेखि फरार छन् । गरिबका रक्षक, जनताका साथी, सबैका परम मित्र, आशाको किरण मानिएका सभासद् हराएको र जति प्रयास गर्दा पनि आजसम्म नभेटिएकोले भेट्टाउनुहुने महानुभावले हाम्रो गाउँको जोसुकैलाई पनि सम्पर्क गरिदिन सक्नुहुनेछ । उक्त कुरालाई मध्यनजर गर्दै यो सूचना प्रकाशन गरिएको छ ।” दोहोर्याई तेहेर्याई त्यही कुरा पढिरहेँ । केहीबेर पढेपछि मात्र विश्वास लागेको थियो । हुन त पहिलोचोटि पढ्दा विश्वास नलागेर दोहोर्याएको होइन, तैपनि दोहोर्याउँदा मात्रै चित्त बुझ्न पुग्यो । निम्न बेहोराको सभासद् हराएको हुनाले देख्नुहुने मित्रहरूले सम्पर्क गरिदिएर सहयोग गरिदिनु होला; रातो मुहार, लामो जुँघा, भ्यात्त बाहिर निक्लेको भुँडी, अग्लो कद र बोल्दा प्रायःजसो खोकेको स्वाङ पार्ने बानी भएको र कपाल पनि फुलेर सेतै भएको । देख्दा निकै सोझो र दयालु देखिने, बानी बेहोरा भने ठिक विपरीत भएको । नाकको प्वाल नै छोप्ला जस्तो गरी बाक्लो जुँगा पालेको र निधार र तालुसँगै जोडिएको । झ्याप्प हेर्दा अलि सामान्य जस्तो देखिए पनि असामान्य जायजेथाका धनी । देख्दा निकै अल्छी तर बोल्नमा भने नौ डाँडा उछिन्ने खुबी भएको । बोल्दा प्रायः जसो आफ्नो योगदानको मात्र कुरा गर्ने, तर यथार्थमा सिन्को नभाँचेको । कहिलै काम नगरे पनि आफ्नो गहकिलो भाषणले सबैको मन जित्न सक्ने हैसियत भएको । बोलेरै जित्न सक्ने र जस्तोसुकै परिस्थितिमा कुरा मिलाउन सक्ने खुबी भएको । यस्तै यस्तै बहुमुखी प्रतिभा भएको एकमात्र महापुरुष आफ्नो गाउँ छोडेर अन्यत्र लाग्दा हामी सबै जनताको बिल्लिबाठ भएको छ । विगत चौध-पन्ध्र महिना पहिलै हामी सबैले आफ्नो समस्याको समाधान खोज्दै आफ्नै सुख-दुःख साट्नका लागि भनेर प्रतिनिधित्व गर्नका लागि चुनेको मसिहा आफ्नै सुख-दुःखमा रमाउन पुगे । र उक्त समयपछि निजले सारा गाउँलाई वास्ता नगरी चट्ट छाडेर गाउँबाट फरार रहेका छन् । उहाँले त्यसरी छोडेर जाँदा सारा गाउँको बीचल्ली भएको छ । उहाँ त्यसरी हामी माझबाट एकाएक टाढिँदा सारा गाउँ नै टुहुरो भएको छ । हाम्रो एक मात्र आशाको किरण हुनुहुन्थ्यो उहाँ । त्यसकारण सबै देश-विदेशमा रहनुहुने दाजुभाइ तथा दिदीबहिनीहरू आआफ्नो ठाउँबाट खोजी कार्यमा सहयोग गरिदिनहुन विनम्र अनुरोध गर्दछौँ । चुनाव भएको एक महिनापछि सम्पर्क विहीन हुनुभयो र धेरै सोधखोज गर्दा पनि आजसम्म सम्पर्कमा आएका छैनन् । चुनाव लगत्तै सारा गाउँबासीको सारा आशा उनमै केन्द्रित थियो । अब साँच्चिकै हामी सबैको दिन फेरिएको छ भन्ने लागेको थियो, तर उक्त कुरा पूरा हुनै पाएन । यदाकदा सुनेका हौं, तर ठ्याक्कै यही हो या होइन भन्ने यकिन चाहिँ छैन, कि उहाँ राजधानीतिर भेटिनुहुन्छ अरे । राष्ट्रिय दैनिक पत्रपत्रिकाले बेलामौकामा उहाँबारे समाचार सम्प्रेषण गरिरहेको हुन्छ । फलानो नेता राजधानीको फलानो फलानो फाइभस्टार होटेलमा भेटिनुभयो अरे । हाम्रो स्वर्गजस्तो प्यारो गाउँ छोडेर कृत्रिम फाइभस्टार होटेलमा उहाँ रम्नुभएको समाचार सुन्दा मन कटक्क खान्छ । कुनैबेला एउटा पत्रिकाले खबर छापेको थियो, फलानो नेताले आफ्नो गृहजिल्लाको विकासमा केन्द्रित भएर राजधानीको हायात होटलमा भव्य कार्यक्रम आयोजना गरे । त्यस समाचार पढेर हामी सारा गाउँबासी साह्रै मर्माहत भयौँ । फाइभस्टार होटलमा गरेको कार्यक्रमले कसरी गाउँको विकास हुन्छ ? हामी आफ्नै जनप्रतिनिधि प्रति एकपटक संदिग्ध हुन बाध्य भयौं । हामीले आफ्नो लागि चुनेको प्रतिनिधि कतै डलर खेतीको मोहमा त फसेनन् ? हामीलाई आत्तिन बेर लागेन । भन्नेहरूले त नानाथरी कुराहरू फुक्दै हाम्रो कानसम्म ल्याए पनि । हामीले कहाँ सजिलै ती कुराहरू पत्यायौँ र ! पत्याउनलाई पनि कुरामा वजन चाहियो नि ! अब कुरा पनि कस्तो भने, फलानो नेताले काठमाडौँमा अलिसान बङ्ला जोडे अरे, फलानो परियोजनामा करोडौं भष्टचार गरे अरे, फलानो कोषबाट करोडौं हिनामिना गरे अरे, सम्पत्ति विवरण सामान्य देखाएर श्रीमतीको नाममा विदेशी बैंकमा करोडौं राखेका छन् अरे ! हावा कुरा पत्याउदै हिँड्ने हो भने त भोलि हामीलाई मान्छे नै होइनन् भन्देलान् । हामी कोही पनि त्यस झुठो समाचार पत्याइहाल्दैनौँ । जे जस्तो भए पनि उहाँप्रति हाम्रो विशेष सम्मान र भरोसा छ । कसरी उहाँ यसरी हामीलाई छोडेर अलप हुन सक्नुहुन्छ ? उहाँ आफ्नै जन्मथलो नआएर त्यो बिरानो मुलुकमा कसरी रहन सक्नुहुन्छ ? उहाकै कारणले हामीले धेरै कुराहरू सिक्दै गयौं । हामीलाई कुनै मतलब नभएको राजनीतिप्रति थोर-बहुत चासो दिन थाल्यौं । उहाँको वाक्पटुतामा हामी सबै कायल हुन्थ्यौँ । उहाँको हरेक कुराले हाम्रो मन छुन्थ्यो । उहाँको गहकिला भाषणले हामीलाई उहाँमा पूर्ण विश्वस्त बनाइदिन्थ्यो । हामी सारा गाउँबासी उहाँमा परजीवी हुँदै गयौं । जुन कुरा हामीसँग थिएन र जुन कुराको हामीलाई खाँचो थियो ठिक त्यसै कुराको आश्वासन हामीलाई उहाँबाट प्राप्त हुन्थ्यो । हामीले कहिलै सोचेका थिएनौँ, हाम्रो दैनिक जीवनभन्दा माथि राजनीति, न्याय र अधिकार जस्ता कुराहरू पनि थुप्रिएका छन् । हामीले आफ्नै बारेमा बेवास्ता गरेका कुराहरूबारे उहाँ हामीलाई सचेत गराइरहनुहुन्थ्यो । उहाँको राष्ट्रभक्तिपूर्ण वक्तव्यले हामीलाई बारम्बार आफू हुनुको पहिचान हस्तान्तरण गरिरहन्थ्यो । उहाँका कुराहरूले तातो रगत भुलुक्कै उम्लिएर आउँथ्यो । नशा नशा तरङ्गित हुन्थे । आफ्नै गाउँको अभिभावक मानिएका व्यक्ति त्यसरी एकाएक हराउनु साँच्चिकै असाधारण र असामान्य कुरा रहेको हामी नकार्ने पक्षमा छैनौं । हामी असह्य गाउँबासीलाई भैरहेको धर्ती एक्कासि भासिनु जस्तै भएको छ । सधैँ आश्वासन दिएर मनोबल उच्च पारिदिने व्यक्ति हामीबाट अलग भैदिँदा जिजीविषा खस्कँदै गएको छ । जीवनमा बाँच्नका लागि केवल गाँस, बास र कपास मात्र अपुग हुँदा रहेछन् । केबल खानु र लाउनु मात्र जीवनको परिभाषा होइन । जीवन बाँच्नु मात्र पर्याप्त छैन । यसलाई अर्थपूर्ण बनाउनुपर्छ, तब मात्र बाँच्नुको औचित्य हुन्छ । अब त यी कुराहरू सुन्दा पनि आफैंमा हास्यास्पद लाग्ला, तर यसको अर्थ कति गहन छ भनेर घोत्लिएर पत्ता लगाएको दिन, स्वयमलाई हाम्रो अवस्था सम्झिएर निकै ग्लानि र सहानुभूति प्रकट हुन सक्छ । यस अवस्थासम्म पुग्दा हाम्रो बीचल्ली भएको छ । साना भन्दा साना खुसीहरू पलायन भएर अन्त जाँदै छन् । पक्कै उनको आँखाले कुर्सी मात्रै देख्छन् र आफूलाई पनि प्रभावशाली नेताकै लहरमा गन्छन् । उनको दिमागभरि गोबर भरिएको छ, तर पनि हामी उनलाई फूल जत्तिकै मन पराउँछौं । उहाँ जे जस्तो भए पनि हाम्रो सुख-दुःखको संगम हुनुहुन्छ । हाम्रो खुसीको तप्काहरू प्रत्यक्ष अप्रत्यक्ष उहाँसँग जोडिएका छन् । समय निकै बलवान् छ । तर उसले चाहेको खण्डमा मानिसलाई बलवान् र कायर दुवै बनाउन सक्छ । हामीले चुनावमा उहाँलाई केबल उहाँको खुसीको आर्जनको लागि चुनेका हैन । हाम्रो दु:-खसुखको प्रतिनिधि गर्न छानेका हौं । के अब पनि हामीले इमान्दारिताको ढोङलाई सहेरै बस्ने ? अझ पनि लाचार भई बस्नु के हाम्रो लागि हितकर छ ? कृपया यो मान्छे जहाँ, जस्तो अवस्थामा फेला परे पनि हामीलाई जानकारी गराइदिनुहुन हजुरहरूसँग विनम्र अनुरोध गर्दछौं । हाम्रो निभ्न लागेको दियोको सलेदो फेरिन सक्छ । अस्ताउन लागेको घाम पुनः उदाउन सक्छ । सुक्न लागेको दुबो फेरि मौलाउन सक्छ । बगेको खोला त बाह्र वर्षमा फर्किन्छ भन्छन्, कतै उहाँको मन पनि फेरिएर आफ्नो जन्मभूमिलाई सम्झिएर आइहाल्नु पो हुन्छ कि ?” सुन्दा पनि कस्तो अपत्यारिलो कुरा ! गाउँकै सभासद् हराएर गाउँबासीको बीचल्ली । यो नमिल्दो शीर्षक र प्रसङ्गबीच एउटा नमिल्दो अमिलो र ठसठसी गन्हाउने गन्ध आइरहेको थियो । पत्रिकाको टुक्रामा भएको विवरण पढेर सकेपछि मैले त्यसलाई त्यसै फ्याँक्ने हिम्मत गर्न सकिनँ । त्यसका हरेक शब्द र वाक्यले मलाई राम्रोसँग छोएको थियो । पाउरोटीको चिल्लो लागेर लतरपतर भएको त्यस पत्रिकाको टुक्रालाई झोलाको एउटा खल्तीमा राखेर चियाको पैसा तिरेर त्यहाँबाट हिँडेँ । मलाई बित्यास पर्यो । गाडी हिँड्न करिब एक घण्टा जति थियो । चिया पसलमा पनि अनायासै बसिरहन मन लागेन । गाडीमै गएर बसिरहन उपयुक्त लाग्यो । गाडी खोजेर आफ्नो टिकट अनुसारको सिटमा गएर बसेँ । मनमा कुराहरूको दोहोरी नै चल्न थाल्यो । म आफूलाई त्यस पत्रको हराएको सभासद् जस्तै लाग्न थालेँ । म पनि आफ्नो सारा समाज छोडेर परदेश पलायन हुने प्रयासमा थिएँ । एक हिसाबले म आफ्नो मातृभूमिलाई छल गर्दै थिएँ । हराएका सभासद् र ममा केबल एउटै भिन्नता थियो । सभासद् आफ्नै स्वैच्छाले आफ्नो मातृभूमिबाट टाढिएका थिए म भने आफ्नो विवसताले टाढिँदै थिएँ । हामीबीच एक घनिष्ट द्वन्द्वात्मक प्रक्रिया चलमलाइरहेको थियो । म पनि उनै हराएको सभासद्कै समकक्षीमा परेछु । #विशाल दत्त भट्ट
लेकाली सल्लाहकारमा मनोनित: राधेश्याम लेकाली लेकाली सल्लाहकारमा मनोनित अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई मनोनयन गरिएको फेस्टिवलका अध्यक्ष डा. विजय पण्डितले बताएका छन् । मेरठ लिटरेचर फेस्टिवलले भारत र नेपालमा अन्तर्राष्ट्रियस्तरको साहित्यिक फेस्टिवलको आयोजना गर्ने गर्छ । क्रांतिधरा साहित्य अकादमीले दुई ओटा मुख्य साहित्यिक कार्यक्रमको आयोजना गर्ने गर्छ । जसमध्ये पहिलो मेरठ लिटरेचर फेस्टिवल भारतमा र दोस्रो इंडो नेपाल लिटरेचर फेस्टिवल नेपालमा । यस संस्थाले पर्यावरण संरक्षण र साहित्यिक सेवामा विगत दस वर्षदेखि निरन्तर कार्य गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष डा. विजय पंडित संस्थापक अध्यक्ष पनि हुन् । यसले विश्वभरिका साहित्यिक तथा सामाजिक विभूतिहरुलाई जोडेर राख्दै आएको छ । मेरठ लिटरेचर फेस्टिवलको मुख्य उद्देश्य ‘वसुधैव कुटुंबकम’ को भावनाका साथ सम्पूर्ण विश्वमै साहित्यको माध्यमबाट मनसित मन जोडनु, एकअर्काको लेखनका बारे जानकारी गराउनु, अनुवाद, प्रकाशन, विचारको आदान-प्रदान, परस्पर सहयोगको भावना, पठन-पाठन एवं साहित्यको दायरा विस्तार गर्नु तथा नवोदित र गुमनाम लेखकलाई वरिष्ठ साहित्यकारहरुको सानिध्यमा एक अन्तर्राष्ट्रीय मञ्च प्रदान गर्नु रहेको छ । क्रांतिधरा मेरठमा प्रत्येक वर्ष आयोजना गरिने तीन दिवसीय अन्तर्राष्ट्रिय साहित्यिक आयोजना क्रांतिधरा मेरठ साहित्यिक महोत्सव (मेरठ लिटरेचर फेस्टिवल) मा सम्मान चयन समितिद्वारा चुनिएका साहित्यिक विभूतिहरुलाई निम्न सम्मान प्रदान गर्ने गरिन्छ : १. संत गंगा दास स्मृति सम्मान २. गीतकार भारतभूषण स्मृति सम्मान ३. शायर हफीज़ मेरठी स्मृति सम्मान ४. पं. मुखराम शर्मा स्मृति सम्मान ५. आदिकवि भानुभक्त आचार्य स्मृति सम्मान (नेपाली साहित्यकारका लागि) #राधेश्याम लेकाली
अमर न्यौपानेको औपन्यासिक यात्राः आरोह अवरोह: अमर न्यौपाने समकालीन नेपाली उपन्यास संसारको सर्वपरिचित नाम हो । उनी सरल र छोटा वाक्य तथा सटिक अभिव्यक्तिमा आख्यानभित्र काव्यात्मक बिम्ब सिर्जना गर्न सक्ने कुशल शैलीका कारण पाठकहरु माझ लोकप्रिय छन् । पहिलो उपन्यास पानीको घाम (२०६६) मा नवीन प्रयोगको हस्तक्षेपकारी भूमिकामा देखापरेका उपन्यासकार न्यौपाने पछिल्लो उपन्यास गुलाबी उमेर (२०७६) सम्म आइपुग्दा विषय, विचार र शिल्पको विविधतामा फैलिएका छन् । यस लेखमा उनले गरेको औपन्यासिक यात्रा र त्यसले प्रदान गरेको मूल्यको खोजी गरिएको छ । पानीको घाम उपन्यासमा पश्चिम तराई (नेपालगञ्ज) का समसामयिक स्थानीय विविधतालाई समेटिएको छ । त्यसमार्फत (लोकलबाट युनिभर्सल) सर्वव्यापी, सर्वकालिक जीवनका बहुआयामिक पक्ष उजागर गरिएको छ । औपन्यासिक शिल्पको परम्परालाई भत्काएर नवीन आख्यान संरचनाको खोजीमा यस उपन्यासको उल्लेखनीय भूमिका देखिन्छ । जीवन जीवन्त सेतो धर्ती (२०६८) उपन्यासमा मध्यपहाडी (गण्डक क्षेत्र) जीवनका मध्ययुगीन परिवेशलाई आधुनिकता प्रदान गरिएको छ । बालविधुवा नारीको उजाड जीवनका माध्यमबाट जीवनवादी दृष्टि प्रस्तुत गर्नु यस उपन्यासको उपादेयता रहेको छ । उनको पहिलो उपन्यासमा रहेको नेपालगञ्जको भाषिक शैलीको जीवन्तता दोस्रो उपन्यासमा गण्डकी क्षेत्रतिर सरेको छ । यी दुवै उपन्यासमा स्थानीय भाषिक प्रयोगको मिठासले उपन्यासलाई जीवन्तता प्रदान गरेको छ । उपन्यासकार न्यौपानेको तेस्रो उपन्यास करौडौं कस्तुरी (२०७२) हो । सुदुर नेपालगञ्जबाट सुरु भएको उपन्यासकार न्यौपानेको औपन्यासिक यात्रा पोखरा, चितवन हुँदै यस उपन्याससम्ममा काठमाडौं आइपुगेको छ । केन्द्रबाट सीमान्ततिर यात्रा गर्ने समकालीन प्रवृत्तिका विपरीत उनको लेखन सीमान्तबाट केन्द्रतिर उन्मुख छ । यसमा चर्चित कलाकार हरिवंश आचार्यको जीवन–छायालाई विषय बनाइएको छ । नवीन विषयको खोजी र वैचारिक अभिव्यक्तिका दृष्टिले उनको यो उपन्यास शीर्ष स्थानमा रहेको छ । न्यौपानैको करोडौं कस्तुरी उपन्यासमा शिक्षाप्रतिको परम्परागत रुढ धारणालाई रोचक कथा–शिल्पका माध्यमबाट प्रस्तुत गरिएको छ । ‘जे भए पनि पढ्नु नै पर्छ’ भन्ने आमधारणाका कारण शुष्क बन्ने गरेको सिर्जनात्मक अन्तरक्षमतालाई हरिवंश आचार्यको जीवन्त कथाका माध्यमबाट यसमा गतिलो झापड हानिएको छ । आमनेपालीहरु माझ कलाकार हरिवंश आचार्य आफैँ मा रोचक नाम रहेको सन्दर्भमा यसमाथि उपन्यासकार न्यौपानेको कलात्मक शिल्प कुँदिएपछि कुनै पनि कलाकारिताले यसलाई माथ गर्न सक्ने अवस्था देखिँदैन । मदन पुरस्कार अर्पण समारोहमा उपन्यासकार न्यौपानेले व्यक्त गरेको विचारअनुसार भन्ने हो भने यस उपन्यासमा दर्शन र विचार अनुभूति एवम् कलाभित्र छोपिएर आएको छ । यस प्रकारको जीवन्त कथाको कलात्मक प्रयोग नेपाली उपन्यास परम्पराका लागि नवीन आदर्श हो । गुलावी उमेर (२०७६) उपन्यासकार न्यौपानेको पछिल्लो उपन्यास हो । सेतो धर्ती उपन्यासमा अठहत्तर वर्षे वृद्ध बालविधावाको कथा छ भने करौडौं कस्तुरीमा छपन्न वर्षे पाको उमेरको मान्छेको कथा छ तर यस उपन्यासमा तेह्र वर्षे किशोरीको कथा रहेको छ । यस हिसाबले हेर्दा उपन्यासकार न्यौपानेको विषय छनोट अधोमुखी देखिन्छ । उनका औपन्यासिक विषयले माथिल्लो उमेरदेखि तल्लो उमेरतिरको यात्रा गरेको छ । उपन्यासकार न्यौपानेको विषय छनोट मात्र अधोमुखी छैन, उनको औपन्यासिक प्रवृत्ति पनि त्यस्तै प्रकारको रहेको छ । पानीको घाम उपन्यासले विनिर्माणवादको उत्तरआधुनिक प्रवृत्तिलाई आत्मसात् गरेको छ । त्यसपछि सेतो धर्ती यथार्थवादी प्रवृत्तितिर फर्किएको छ भने उनको पछिल्लो उपन्यास गुलाबी उमेर वि. सं. १९९३ बाट रुपनारायण सिँहबाट आरम्भ भएको स्वछन्दतावादी प्रवृत्तितिर प्रवृत्त रहेको छ । भावनाको उन्मुक्त उडान र पे्रमिल संसारको कथा प्रस्तुत गर्ने स्वच्छन्दतावादी उपन्यास लेखनका माध्यमबाट युधिर थापा र प्रकाश कोविद आदिका उपन्यासहरुले नेपाली उपन्यासको पाठक बढाउने काममा महङ्खवपूर्ण योगदान दिएका थिए । उपन्यासकार न्यौपानेको पछिल्लो उपन्यास त्यसै परम्पराको निरन्तरताका रुपमा देखापरेको छ । हाल यसको नेतृत्व सुबिन भट्टराईका उपन्यासहरुले गरिरहेका छन् । यसरी नेपाली उपन्यास परम्परामा नवीन प्रयोगको हस्तक्षेपकारी भूमिकाबाट प्रवेश भएको उपन्यासकार न्यौपानेको औपन्यासिक प्रवृत्ति उत्तरआधुनिकतावादी प्रवृत्तिबाट आधुनिकता हुँदै पूर्वआधुनिकतातिर उन्मुख पश्चगामी रहेको छ । उपन्यासकार अमर न्यौपानेको पश्चमुखी प्रवृत्ति उनको पहिलो उपन्यास पानीको घामबाट नै पहिल्याउन सकिन्छ । उनको यो उपन्यास ‘कथान्त’ शीर्षकबाट आरम्भ भएको छ भने ‘कथाराम्भ’ शीर्षकमा पुगेर अन्त्य भएको छ । यसरी अन्त्यबाट सुरु गरी आरम्भमा टुङ्ग्याउने उनको प्रवृत्ति पश्चगामी रहेको छ । पानीको घाम उपन्यासका सम्बन्धमा रमण घिमिरेले ‘शैली, प्रस्तुति र वाक्य गठनको मौलिकतामा लेखक आकाशकै घाम हुन’ भनी उनको मौलिक लेखनको प्रशंसा गरेका छन् । करोडौं कस्तुरी उपन्याससम्मको सन्दर्भमा उपन्यासकार न्यौपाने शैलीशिल्पका साथै विषय र विचारको मौलिकताका हिसाबले पनि उज्यालो घाम नै बनेर रहेका छन् तर गुलाबी उमेरमा आइपुग्दा उनको मौलिकता कमजोर बन्न पुगेको छ । उपन्यासकार अमर न्यौपानेका उपन्यासमा चित्रकार अमर न्यौपानेको समेत आभास पाइन्छ । उनका उपन्यासमा हरेक कथामा घटना वर्णनभन्दा कथापरिवेशको कलात्मक चित्रण र पात्रको मनोदशालाई सशक्त ढङ्गले उठान गरिएको हुन्छ भन्ने गुरुङ सुशान्तको टिप्पणी यथार्थपरक रहेको छ । उनको यसै शैलीका कारण ऋचा भट्टराईले उनलाई जादुगर भनेकी छन् । कुशल चित्रकारले कुची र रङ खेलाएर सुन्दर चित्र बनाएजस्तै उपन्यासकार न्यौपाने भाषिक कौशलताबाट शाब्दिक बिम्ब निर्माण गर्न खप्पिस छन् । गुलाबी उमेर उपन्यासमा जीवनका विभिन्न अवस्थालाई रङको प्रतीकका माध्यमबाट चिनाएका छन् । उनको यो कला बाह्यपरिवेशको चित्रणमा जत्तिकै पात्रको आन्तरिक परिवेश चित्रणमा पनि सशक्त छ । यस कारण उनका सबै उपन्यासमा पाठकलाई तान्न सक्ने अद्भूत चित्रकारी क्षमता रहेको छ । अमर न्यौपानेको औपन्यासिक कलाले पाठकलाई मात्र नभएर समालोचकलाई समेत चकित तुल्याउने गरेको छ । सेतो धरती उपन्यासका सम्बन्धमा समालोचक गौतमको कथन यस प्रकारको रहेको छ : ‘अत्यन्त सरल, सुबोध र कलात्मक शैलीमा लेखिएको यो (यस) उपन्यासमा कहीँ कतै पनि थपघट गर्ने ठाउँ छैन । मलाई अचम्म लागिरहेछ, कसरी लेखे होलान् लेखकले यस्तो सुन्दर उपन्यास !’ गौतमले भनेझैँ उपन्यासकारको यस प्रकारको क्षमता पानीको घामभित्रको जटिल प्रयोगमा पनि रहेको छ भने सेतो धरतीको सरलतामा पनि रहेको छ । यो कौशलता करौडौं कस्तुरीको स्वाभाविक प्रयोगमा पनि उत्कृष्ट रहेको छ । यसरी जटिल प्रयोगदेखि सरल उपन्यासमा पनि पाठक समालोचकलाई चकित पार्न सक्ने जादुगरी क्षमता उपन्यासकार न्यौपानेमा रहेको छ । पाठक समालोचकहरुलाई चकित तुल्याउने उपन्यासकार न्यौपानेको कलाले पछिल्लो उपन्यास गुलाबी उमेरमा पनि निरन्तरता पाएको छ । उनको शब्द खेलाउन सक्ने क्षमताले पाठक समालोचकलाई विगतझैं चकित बनाएकै छ भने उपन्यासको शिथिल कथानक संरचनाले समालोचकहरुलाई झन् आश्चर्य चकित बनाएको छ । नेपाली उपन्यास परम्पराले उपन्यासकार न्यौपानेबाट अघिल्ला उपन्यासको तुलनामा यति कमजोर उपन्यासको आशा गरेको थिएन । गुलाबी उमेर किशोरी पात्रको यथार्थ मनोदशामा केन्द्रित रहेको छ । कुमारी लामाको कथनअनुरुप उनले ‘पुरुष लेखक भएर नारीमनको भावना, इच्छा र आकाङ्क्षालाई दुरुस्तै प्रस्तुत गर्न’ सकेका छन् । यसमा उपन्यासकारले पहिले नै सफलता प्राप्त गरिसकेका थिए । उपन्यासकार न्यौपाने कुनै वाद वा सिद्धान्तको नियमभित्र बाँधिन चाहने लेखक होइनन् । यो उनको लेखकीय धर्म हो । यसमा मैले उनको पछिल्लो उपन्यासलाई केही साहित्यिक सिद्धान्तको तराजुमा जोख्ने प्रयास गरेको छु । यो मेरो समालोचकीय धर्म हो । कथानकीय संरचनाका दृष्टिले हेर्दा गुलाबी उमेर उपन्यासको पूर्वार्ध भागको कथानक शिथिल गतिमा अघि बढेको छ । यस उपन्यासको प्रमुख पात्र तथा समाख्याता काठमाडौं आउनुअघिसम्मको लामो पृष्ठभूमिमा उपन्यासकारको शब्द खेलाउने कलात्मक क्षमता मात्र रहेको छ । त्यति लामो भागमा द्वन्द्व र कौतुहल पक्ष कमजोर छन् । यसमा उपन्यासकारले शाब्दिक शिल्पमा मात्र ध्यान दिएका छन् । उपन्यासकी पात्र ऋचा गुलाबी उमेर (किशोर उमेर, टिन एज) को भावनामा स्वतन्त्र छे । उनको चेतनालाई उत्तरआधुनिक स्वतन्त्र भावनाले छोपेको छ । ऊ आफ्नो मन लाग्दी गर्न नपाउँदा घर छाडेर बाहिर बस्न थालेकी छ । ऊ विदेशमा रहेका बुबालाई विश्वासमा लिनका लागि वास्तविकतालाई लुकाउँछे र अनेक बहाना बनाउँछे । यस क्रममा उसले जीवनमा एकपछि अर्को गल्ती गल्ती गर्दै जान्छे । तर पनि उसको चेतना सक्रिय हुन सकेको छैन । उनले विश्वास गरेको प्रेमीले धोका दिएपछि र जीवनमा अनेक हण्डर खाएपछि उसको चेतना खुल्न थालेको छ र प्रायश्चित गर्दै घर फर्किएकी छ । यो पछिल्लो समय सहरीया युवायुवतीहरुमा देखापर्न थालेको उत्तरआधुनिक प्रवृत्ति हो । उपन्यासकारले उत्तरआधुनिक विषयसँग फ्रायडको परम्परावादी पितृरथी ग्रन्थीलाई मिसाउने दुश्साहस यसमा गरेका छन् जसले गर्दा उपन्यास कमजोर बनेको छ । फ्रायडका अनुसार व्यक्तिमा अन्तरनिहित यौतवृत्तिका कारण छोरीको झुकाव बुबातिर हुन्छ भने आमासँग प्रतिशोधी सम्बन्ध रहेको हुन्छ । उनको यस धारणालाई उत्तरआधुनिकतवादी चिन्तनले खण्डन गरिसकेको सन्दर्भमा यस उपन्यासमा उत्तरआधुनिक विषयमा परम्परागत धारणा थोपर्ने प्रयास गरिएको छ । ऋचा उत्तरआधुनिक जीवनबचाइ र किशोर भावनाबाट धोका पाएपछि पश्चात्ताप गर्दै घर फर्किन्छे तर घरमा आएर पुनः आमाका विरुद्ध उसले अर्को गम्भीर गल्ती गर्न पुग्छे । उसले घर आएपछि आमाको पूर्वप्रेमीसँगको गोप्य सम्बन्ध थाहा पाउँछे । प्रेमीसँग लिभिङ टुगेदरमा बस्न सक्ने उत्तरआधुनिक चेतना भएकी ऋचाले यस कुरालाई सहन सक्दिन । त्यसका लागि उपन्यासकारले बाध्यात्मक परिस्थिति सिर्जना गर्न धेरै मिहिनेत पनि गरेका छन् तर घटना क्रमले उसको पितृरथी ग्रन्थीको प्रबलताका कारण उसले बुबालाई आमाको गोप्य सम्बन्ध बढाइचढाइ सुनाइदिएको प्रस्ट गराउँछ । यसै कारण आमाले घर छाडेर गएपछि ऋचाले बुबाको एकलौटी माया पाउन सक्ने परिस्थिति सिर्जना गरी अर्को ‘इडिपस रेक्स’ निर्माण गर्ने प्रयास गरिएको छ । ऋचाले किशोर अवस्थाको उन्मुक्ततामा आफ्नो जीवन सखाप पारिसकेकी छ भने परिपक्व उमेरमा प्रवेश गर्दैगर्दा उसले आमाबुबाको सम्बन्ध पनि समाप्त गरिदिएकी छ । यसरी उसले गरेको एकपछिको अर्को गल्ती उसका लागि क्षम्य छैन । तर उपन्यासकारले ऋचामाथि फ्रायडको पितृरथी ग्रन्थी थोपरेर स्वभाविक छाडिएका छन् । वर्तमान अवस्थामा कुनै पनि छोरी आमालाई लखेटेर बुबासँग खुसीसाथ बस्न सक्दिन । वास्तवमा ऊ आत्महत्याका लागि योग्य छे । त्यसो गराउन सकेको भए उपन्यास वियोगान्त (ट्रेजिक) बन्न पुग्ने थियो र पाठकको मनमा गम्भीर भाव उमार्न सफल हुने थियो । यसले पात्रलाई पनि न्याय दिलाउन सक्थ्यो । उपन्यासकारले किशोर उमेरप्रति सहानुभूति देखाउने क्रममा पात्रलाई न्याय गर्न सकेका छैनन् । किशोरी पात्र भावनाको स्वछन्द उडानमा उड्न सक्छ तर परिपक्व लेखक भावनामा बग्न सक्दैन । उसले लेखकीय चेतनाको लयलाई छाड्न सक्दैन । चेतनाको लय छाडेर पात्रको भावनासँगै उड्ने प्रयास गर्दा उपन्यासको सन्देश प्रवाहमा बाधा उत्पन्न हुन्छ । उपन्यासकार न्यौपानेले क्रोचेको कलासम्बन्धी सिद्धान्तको खण्डन गर्दै वास्तविक जीवनजगत्लाई पहिलो तहको कला, व्यक्तिको मानसिकतामा रहेको कल्पनालाई दोस्रो तहको कला र बाहिर प्रस्फुटित कलालाई तेस्रो तहको कला मानेका छन् । उनका विचारमा तेस्रो तहको कला कलाकारको अनुभव र अनुभूतिसँग अन्तरघुलन भएर आउने भएकाले यो पहिलो र दोस्रो तहको भन्दा विशिष्ट हुन्छ भन्ने विचार व्यक्त गरेका छन् (मदन पुरस्कार अर्पण समारोह मन्तव्य) । उनको पछिल्लो उपन्यासमा अनुभूतिको अन्तरघुलन कमजोर देखिन्छ । त्यसै गरी यस उपन्यासमा गरिएको प्रयोग पक्ष पनि कमजोर रहेको छ । यस उपन्यासका बिचबिचमा ‘प्रतिकथन’ शीर्षकमा लेखकको उपस्थिति प्रस्तुत गरी यसलाई अनौपचारिक र अधिआख्यानात्मक प्रकृतिको बनाउने प्रयास गरिएको छ । तर ती ‘प्रतिकथन’हरुलाई उपन्यासबाट झिकिदिए पनि यसले उपन्यासको कथानक संरचना र विचारमा कुनै प्रभाव पार्न सक्दैन । यदि कथानक र विचारसँग जोडिन सकेन भने उपन्यासमा गरिएको प्रयोग कमजोर हुन पुग्छ । यस उपन्यासमा गरिएको प्रयोग पनि कमजोर रहेको छ । सेतो धरतीमा मध्यकालीन बालविधावको विषयलाई आधुनिकता प्रदान गरी समालोचकलाई चकित बनाएका उपन्यासकार न्यौपानेले करोडौं कस्तुरीमा जीवित पात्रको पुनर्लेखन गरी पाठक समालोचक मात्र नभएर स्वयम् पात्र हरिवंश आचार्यलाई नै चकित बनाएका थिए । गुलाबी उमेरको कमजोरीले भने सिङ्गो नेपाली उपन्यासलाई नै चकित तुल्याएको छ । अमर न्यौपाने नेपाली उपन्यास परम्परामा नवीन सम्भावना बोकेर उदाएका एक नक्षत्र हुन् । उनले सपलताको एउटा शिखर चुमिसकेका छन् तर साहित्यको शिखर हिमालयको जस्तो निश्चित हुँदैन त्यसलाई निरन्तर उचाल्दै लान सकिन्छ । उपन्यासकार न्यौपाने हेरक पाइलामा नवीन उचाइ थप गर्दै निरन्तर उकालो चढिरहन सक्ने क्षमतावान् आरोही हुन् । उनको भाषिक अभिव्यक्तिको कलात्मक क्षमताले नेपाली उपन्यासमा एउटा नवीन मार्ग निर्माण गरिसकेको छ । इतिहास र पुराणका पात्रहरुको धेरै पुनर्लेखन भइसकेको भन्दै जीवित पात्रको पुनर्लेखनमा रुचि देखाउने उपन्यासकार न्यौपाने आफ्नै औपन्यासिक पथ निर्माण गरी नेपाली उपन्यास परम्परामा योगदान गर्ने क्षमता राख्छन् । उनलाई अरुको विरासत बोकिरहन जरुरी छैन । अन्त्यमा लक्ष्मीप्रसाद देवकोटाको यस मननीय विचार प्रस्तुत गर्दै यो सानो आलेख टुङ्गाउँदछु : ‘जब तिमी लोकप्रियता र देखावटमा लाग्दछौ, तिमी बोक्रे कवि या बोक्रे लेखक बन्दछौ । विचार आत्मा हो, शब्द शरीर हो, अलङ्कारादि वस्त्रभूषाहरु हुन् । जब तिमी शब्द र अलङ्कारका पछि दगुर्दछौ तब तिमी साहित्यिक भलादमी बन्दछौ । जनताको आधुनिक रुचिले तिमीलाई शिर चढाउँछ तर फुस्रा बाबाका छातीमुनि पनि विचित्र शृङ्गार रहेको हुन्छ । … तिमी प्रसिद्ध हुन हतपताउँछौ पैसा जस्तै नाम पनि सच्चा तवरले कमाउनुपर्छ तर तिमीलाई प्रशंसा प्रेमले मात्र कर्म क्षेत्रमा ल्याउँछ । रङ्गी चङ्गी भडकले आउँछौ, तिमी हृदयमा आसन जमाउँदैनौं, आँखा मात्र तिरिमिर्याउँछौं । भित्र हेर्न छाडेर बाहिरको विचार गर्नासाथ तिमी साहित्य देशमा गल्लीको बोक्रे भलादमी बनिहाल्दछौ ।’ #अमर न्यौपाने #जीवन जीवन्त
आख्यान र निबन्धको दोसाँधमा जीवाश्म: संस्कृति, साहित्य, भाषा र माटो जानेर–नजानेर, चाहेर–नचाहेर, बुझेर–नबुझेर बचाइराखेका लाखौँ मुटुमा समर्पण गरिएको शीतल गिरीको जीवाश्म ओरिएन्टल पब्लिेकेशसन, काठमाडौँले बजारमा ल्याएको छ । समर्पण पढ्दा नै यस कृतिको विषयवस्तुको आँकलन गर्न सकिन्छ र कृतिको उद्देश्य बुझ्न सकिन्छ । आख्यानको तुलनामा निबन्ध बढी स्वतन्त्र हुन्छ । आख्यानमा केही बन्धन कसिला हुन्छन् तर निबन्धमा स्वच्छन्दता बढी हुन्छ । निबन्धमा हुने आख्यानात्मकता र आख्यानमा हुने निबन्धात्मकतामा भिन्नता हुन्छ । यसकारण कतिपय अवस्थामा निबन्धात्मक तत्व भएको आख्यान र आख्यानात्मक तत्व भएको निबन्ध कहिलेकाहीँ निकटको जस्तो भएर पनि निकट हुन सकेको हुँदैन । आखिरमा निबन्धको आयाम वृद्धि हुँदै जाँदा आख्यानकै स्वरुप ग्रहण गर्ने हुन्छ । यसकारण पनि लघु आयामका कतिपय आख्यान र निबन्धमा कहिलेकाहीँ असमञ्जयस उत्पन्न हुन्छ । सञ्जय मित्र राष्ट्रियताको दृष्टिकोणले पनि जीवाश्म महत्वपूर्ण कृति हो । यस करिब सम्पूर्ण निबन्धले ऐतिहासिक विषयवस्तुमा भौगोलिक राष्ट्रियतालाई वर्णन गरेका छन् । वर्तमानमा भूगोलसित राष्ट्रियता अत्यधिक घुलमिल देखिएको विश्व परिदृश्यको आलोकमा यो कृति निकै चहकिलो देखिन्छ । गर्विलो, दर्विलो प्रागऐतिहासिक विषयवस्तुमा माटोको सुगन्ध पाइनु यस कृतिको विशेषता बनेको छ । इतिहासलाई पनि कतै आख्यान र कतै निबन्ध तथा कतै दुवैको स्वादमा प्रस्तुत गरेर गिरीले तथ्य र तर्कको मिश्रणमात्र गरेका छैनन्, अनुमानको पनि सही निकास दिएका छन् । कृतिको तौल निबन्धहरुको निष्कर्षले बढाएका छन् । अधिकांश निबन्ध काठमाडौं केन्द्रित ऐतिहासिक तथा पुरातात्विक विषयवस्तुमा आधारित छन् । काठमाडौँ उपत्यकाको सम्भवतः पहिलो बासिन्दा भेडापाल हुन् । उनीहरुको आफ्नै विशिष्ट संरचना र जीवनशैली थियो । भारतको विभिन्न ठाउँसम्म समृद्ध व्यापार थियो, आफ्नै संगठन थियो र संस्कृति थियो । महिषपाल शासकको विषयमा त नेपालको औपचारिक इतिहासले पनि धेरै कुरा भनेको छ । यद्यपि महिषपाल शासनको धेरै पक्षमाथि अझै प्रकाश पर्न बाँकी नै छ, तर पनि यस वंशको बारेमा कतिपय कुरा ज्ञात हुन्छ । काठमाडौँ उपत्यकामा भेडापालभन्दा उन्नत र धेरै संख्यामा महिषपालको प्रवेशले पुरानो जाति नयाँमा समाहित भयो भनिएको छ । यी दुवै जाति गणप्रधान र गणको प्रमुख महिला हुने किसिमका थिए । विक्रमको ४५६० वर्ष पूर्वताका उपत्यका आसपास माछामार जातिको आगमन भएको मानिएको छ । साँगाबाट सिन्धुली, रामेछाप आदि ठाउँतिर माछामारहरु लागे । यिनीहरु उपत्यका छेउछाउमा बाक्लै संख्यामा रहेका थिए । कीर्तिपुर भेगमा रहेको मत्स्यगाउँभन्दा बाहेक अहिले कुनै प्रमाण छैन । यसो भन्नुको तात्पर्य यो पनि हो कि मत्स्यगाउँ माछामार जातिले बसालेको गाउँ हो जसले आज उनीहरुको परिचय खोजिरहेको छ । उपत्यकामा गोपालहरुको पनि लामो समय शासन चलेको पाइन्छ । गोपालहरुको ठूलो समूहले यस क्षेत्रको वातावरणमा गरेको सिंचाइले उनीहरुलाई इतिहासको अमर पात्र बनाइदिएको छ । तथागतको उपत्यका आगमनपछि नै बौद्धधर्मको प्रचार भएको हो ? तथागत र उनको धार्मिक यात्रा उनको जीवनमा व्यापक विस्तार भइसकेको थियो । अनेकन अनुयायीहरु थिए । विरुपाक्षलाई नेपाल उपत्यकाको प्रथम उपासक भनिएको छ । कलिंगको युद्धपछि सम्राट अशोकमा आएको परिवर्तनको कथा इतिहासमात्र होइन । यसको महत्व अनेक कोणबाट केलाइएको पाइन्छ । सम्राट अशोकले आफ्नो राज्य परित्याग गरे । भिक्षु बने । सिद्धार्थ गौतम युवराज भएर राज्यत्याग गरेका थिए र अशोक चाहिँ सम्राट भएर बुद्धपथगामी भएका थिए । उनी काठमाडौँ आउँदा छोरी चारुमतीलाई पनि लिएर आएका थिए । नेपालको इतिहासमा पनि सम्राट अशोकको नाम श्रद्धाले लिइन्छ । चारुमतीले बसोबास गरेको क्षेत्र अचेलको चावहिल (चावेल) हो भन्दै एउटा सुन्दर चित्रण गरिएको छ यस विषयवस्तुलाई । भौगोलिक परिवेश पटना (पाटलीपुत्र)को भए पनि सन्दर्भ नेपाल र नेपालीको छ । त्यहाँको अशोक वाटिकामा लाग्ने हाटमा नेपाली सामानको ठाँट आफ्नै हुन्छ । र त सम्राट चन्द्रगुप्त मौर्यले मुक्तकण्ठले सामानको प्रशंसा गर्दछन् र नेपालीको इमानदारीपनको आफैँले बखान गर्दछन् । सधैँ बहस र चर्चामा आइरहने नेपालको राष्ट्रिय सम्वत् विक्रम सम्वत् हो । कतिपयले यसलाई नेपालको मौलिक सम्वत् मानेका छन् त कपियले बाहिरबाट आएको ठानेका छन् । जीवाश्मले नेपालकै सम्वत् रहेको किटान गरेको छ । पुनर्जन्मा र प्रतिभा पढेपछि याज्ञवल्क्यप्रति पहिलेको धारणा नै बदलिन्छ । पुनर्जन्माको प्रतिभाको विषयमा यसले धेरै कुरा खोलेको छ । जनकको सभामा पनि कहिलेकाहीँ अन्याय हुन्थ्यो भन्ने भाव यसले दिएको छ । आभीरलाई मुलतः ग्वाला जाति भनिएको छ । समयक्रममा आभीरहरु पहाडका विभिन्न ठाउँमा विभिन्न थरले चिनिएको आभीर निबन्धले मानेको छ । मातृभक्त मानदेवलाई इतिहासले असल राजाको रुपमा स्वीकार गरेको छ । यसै गरी भृकुटीबारे पनि नवीन किसिमले अन्वेषण गरिएको छ । भृकुटीमाथिका केही परम्परागत धारणामा यस कृतिले नवीन प्रकाश पारेको छ । लिच्छविकालीन एकजना कवि बुद्धकीर्तिको विषयमा सोधखोज गरिएको रचना हो कवि बुद्धकीर्तिको सत्य । पशुपति क्षेत्रमा एउटा शिलालेखमा प्राप्त कविताले बुद्धकीर्तिको कवित्वको परिचय दिएको र उनीबारे धेरै सोधखोज गर्नुपर्ने बताइएको छ । काठमाडौँबाट एउटा निबन्ध डोटीतिर मोडिएको छ । स्वतन्त्र र शक्तिशाली राज्यको रुपमा रहेको सिंहपुरमा प्रतिभाको कदर हुन्थ्यो । निबन्धको आख्यानको प्रस्तुति बडो मिठो छ । सकेसम्म अरनिकोमाथि न्याय गरिएको छ र अरनिकोमाथि प्रकाश पारिएको छ । नेपालदेखि चीनसम्मको यात्रा र सफलताको गाथालाई सम्मानपूर्वक प्रस्तुत गरिएको छ अरनिको र आदर्श भन्ने निबन्धमा । अर्को निबन्ध मोडिएको छ सिञ्जातिर । क्राचल्लको उदारता र बुद्धिमानी तथा वीरताले गर्दा उनको यश सर्वत्र फैलिएको बताइएको छ रुद्र सिंहको मुक्तिमा । रुद्र सिंहलाई पराजित गरी फेरि राजा बनाएको र रुद्र सिंहले पनि धर्मको निर्वाह गरेको आख्यानात्मक प्रस्तुतिमा मौलिकता रहेको छ । देउसी भैलोको गीतमा आउने बलिराजको खोजी गरिएको निबन्ध हो – देउसी–भैलो, बलिराज र इतिहास । निबन्धकारले जुम्लाका राजा बलिराज भएको ठम्याएका छन् । रौतहटको राजदेवी मन्दिरको स्थापनाको सेरोफेरोमा केन्द्रित छ – राजदेवी र नर्मदा । नर्मदा विलक्षण प्रतिभा भएकी नर्तकी हुन् । यी नृत्यांगनाले गर्दा तत्कालीन मकवानपुर र कान्तिपुर राज्यमा मनोमालिन्य भएको उद्घाटना गरिएको छ । टिस्टुङ कोटमा प्रचलित बार वर्षे नाचको इतिहास कोट्याइएको छ । शुद्ध ऐतिहासिक विषयवस्तु हो – लाचार महारानी । महारानी राजराजेश्वरीप्रति सहानुभूति राखेर मूल्यांकन गरिएको र उनी कसरी अन्यायमा पर्न विवश भइन् भन्ने बताइएको छ । जोसमनी सम्प्रदाय र लखन थापामा राणा शासनका संस्थापक जंगबहादुर राणाको विरुद्ध एक किसिमको आन्दोलन गर्ने पात्रको रुपमा लखन थापालाई चिनाइएको छ । उनलाई फाँसी दिइएको थियो । विवाह र व्यक्तित्वभित्रको आख्यान बडो सुन्दर छ । दुई संस्कृतिका दुई पात्रहरु भीमसेन र हिडिम्बाबीच भएको प्रेम र विवाहलाई रोचकतासाथ प्रस्तुत गरिएको छ । हिडिम्बपुर नेपालको कुनै ठाउँ भएको बताइएको छ । यो ठाउँ सम्भवतः वर्तमान हेटौँडा हो । यसै गरी साहित्य र सहिदमा मकैखेतीका सर्जक कृष्णलाल अधिकारीमाथि न्याय गरिएको छ । उनलाई प्रथम साहित्यिक सहिद मानिएको छ । पूर्वी नेपालको विद्रोहिणी योगमायाको चरित्र, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारिएको निबन्ध हो – योगमाया र जलसमाधि । उनको जलसमाधिप्रति सहानुभूति त छैन तर उनको जुनीलाई नै विद्रोहको पर्यायको रुपमा स्वीकार गरिएको छ यसमा । र, सहिद गंगालालको सहादतको इतिवृत्तमा केन्द्रित निबन्ध मृत्युको वरदानमा उनीप्रति सहानुभूति प्रकट गरिएको छ । श्रद्धा र सम्मान व्यक्त गरिएको छ । वर्तमानको उनको त्यागप्रति गर्व भएको बताइएको छ । उनीप्रति श्रद्धाले शिर निहुराइएको छ । सलाम अर्पण गरिएको छ । यसरी ऐतिहासिक भूगोल, ऐतिहासिक पात्र, संस्कृति आदिलाई विषयवस्तु बनाइएको पच्चीसवटा निबन्धको कृति जीवाश्म आफैंमा महत्वपूर्ण छ । इतिहास, संस्कृति, दर्शनमा रुचि हुनेका लागि यसले धेरै खुराक दिनेमात्र होइन, अनुमानको तथ्यगत पुनर्सिर्जन र तथ्यको अनुमानगत पुनर्सिर्जन गर्नुपर्ने पनि यसले बताउँछ । अन्धताभन्दा वैज्ञानिक चिन्तन र प्रामाणिक तर्कले कतिपय पुरातन रुढ चिन्तनमा पुनर्विचार गर्ने विषय पनि यसको उपलब्धि हो । साहित्यको एउटा विधा निबन्ध हो र यस कृतिको मूल्यांकन ऐतिहासिक आलोकमा नै गरिनु पर्दछ । प्रागऐतिहासिक विषयवस्तुको चिरफार गर्ने कला र क्षमतामा निपुणतातर्फको कृतिकार शीतल गिरीको यात्राको यो एउटा महत्वपूर्ण उपलब्धि हो । #सञ्जय मित्र
गजल: सुरक्षा लामिछाने नसिकाएनि समाजले छोरालाई बलात्कारी बन्नुपर्छ बाध्य छन् छोरी बलात्कारीसँग पनि आभारी बन्नुपर्छ! बा बिन्ती गर्छन् तिमी असल छोरी नबने पनि हुन्छ यत्ति सम्झ सासू-ससुराकी असल बुहारी बन्नुपर्छ! जीवनमा यस्तोसम्मको परिस्थिति पनि आउँदोरहेछ कहिलेकाहीँ त आफ्नै देहको समेत व्यापारी बन्नुपर्छ! अब पुरुषको जीवन स्थापनामा लाग्नु भन्दा पहिले आफ्नै अस्तित्व टेकाउन सक्ने सौम्य नारी बन्नुपर्छ ! #पोखरा #सुरक्षा लामिछाने
विजयकुमारले सम्झाइदिएको मृत्यु: केही वर्षअगाडि मेरो दिमागमा मृत्युबाहेक अरू केही घुम्दैन थियो । म जतिबेला पनि मृत्यु सम्झन्थें । मलाई लाग्थ्यो, म मर्दैछु । मेरो मृत्यु छिटै हुँदैछ । सारा संसार आफू कहिल्यै मर्दिन भन्ने सोचले बसेको बेला म भने अहिले मर्छु कि भरे मर्छु भन्ने दोधारमा बसेको थिएँ । किन एक्कासि मेरो मानसपटलमा मृत्यु आयो ? मैले जानिनँ, तर घुमेको चाहिँ मृत्यु नै थियो । बानेश्वर ३ नं. गेट छेवैमा रहेको नर्थन लाइट एभिएसन एकाडेमीमा विद्यार्थी रहेर हवाइजहाजको मापन गरिरहेको बेला बङ्लादेशबाट काठमाडौँ आउँदै गरेको ‘ बमबार्डियर डाश एच क्यु ४००’ विमान दुर्घटना हुँदा मैले आँखैअगाडि देखेको अहिलेसम्मकै सबैभन्दा भयानक मृत्यु थियो । त्यसो त मेरा आँखामा कहिल्यै बिर्सन नसक्ने मृत्यु अरू पनि छन्, चाहे त्यो मोरङको बक्राहा खोलाले बगाएको केटीको शरीर होस्, चाहे बिर्तामोडको मुक्ती चोक र काठमाडौँको तीनकुनेमा बाइक ठोक्काएर केही सेकेण्डमै ज्यान गुमाएका मान्छेहरूको शरीर होस् । यो मृत्यु बिर्सन पहिले मेरो मृत्यु हुनुपर्छ । निरज दाहाल यसरी म मृत्युको नजिकै भएँ । त्यसको लगत्तै म सडक दुर्घटनामा परेँ, बस् मलाई यति नै काफी भैदियो कि अब म मर्दैछु भन्ने कुरामा कुरा खेलाएर बस्न । यसबाट मलाई निस्कनु थियो वा मृत्युबाट मलाई उठ्नु थियो | सकारात्मक सोचले म आफैँ भरिनु थियो, त्यो मैले बुझेको थिएँ । तर कसरी ? जीवनमा यी ‘क’बाट आउने प्रश्नहरूले निकै सोचमग्न बनाएर छाड्छन् । त्यो समयको दौरान मैले अनेकन भिडियो हेरेँ, हातमा गन्न सकिने अनेकन किताब सुम्सुम्याएँ । मेरो दिमागमा मृत्यु हट्न सकेन । जुनदिन गीता मेरो हातमा पर्यो– त्यही दिन हो मैले मृत्यु बुझेको । मृत्यु भुलेर म आफ्नै समयमा व्यस्त रहेको बेला अक्षरमा होस् या कुरामा आफ्नो बेग्लै पकड भएका लेखक तथा कार्यक्रम प्रस्तोता विजयकुमारले दिशानिर्देश टिभीमा कार्यक्रम ल्याएका छन् । उनले उठाएका मुद्धा वा विषय साँच्चै नै मनन् योग्य छ । यो सत्य हो । मैले जीवनमा धेरै पढेको पुस्तकमध्ये उनैको खुसी पनि एक हो । पृष्ठ नम्बर १ बाट पृष्ठ नम्बर ३२६ सम्म पढ्नको लागि म पुनः बसेँ भने त्यो मेरो दशौँ बसाइ हुनेछ । तर पुस्तकभित्र रहेका २९ वटा खण्डलाई पटक पटक हेरेको कुरा सायदै म अनुमान लगाउन सक्दिनँ । शूक्ष्म कुरालाई प्रस्तुत गर्ने शैली उनको गज्जबकै रहेको छ । यही कुरा मलाई मन पर्छ । म एक पाठकको नाताले उनको प्रस्तुतीलाई प्रश्न गर्नसक्छु तर उनको जीवनशैली र व्यत्तित्वलाई प्रश्न गर्ने अधिकार ममा छैन । विजय कुमारको अनुहार नेपाली दर्शकमा खासै नौलो होइन र नेपाली पाठकमा उनको नाम कुनै गुमनाम नाम पनि होइन । पुस्तकको पत्रपत्रमा एक विचारधारा रहेका विजयकुमारले भावी दिनमा पुस्तक लेख्लान् कि नाइँ ! त्यो जान्न इच्छुक एक जमात पनि रहेका छन् । दिशानिर्देश टिभीमा उनले ल्याएको एक कार्यक्रमले मेरो दिमागलाई १५ वर्ष पछाडिको एउटा घटनालाई सम्झन बाध्य बनाएको छ । त्यो समयमा परिवारसँग मैले खोलेको कुरा आज यहाँ शब्दमार्फत सबैसँग खोल्दैछु । तपाईँले यो कुरा पढिरहँदा नौलो लाग्न सक्छ, त्यसैले एउटा अनुरोध– युटुबमा दिशानिर्देश टिभी सर्च गर्नुहोस् । त्यहाँ “ मृत्यु र जीवनबारे एक अविस्मरिणय संवाद एपिसोड दुई ” आउँछ । त्यो हेर्नुभयो भने यहाँको कुरा तपाईँलाई बुझ्न सजिलो हुन्छ । विजयकुमार मान्छे मरेपछि कहाँ जान्छ ? साँच्चै आत्मा छ कि आत्मा भनेको भ्रम मात्र हो ? यदि आत्मा यतैकतै घुम्ने हो भने उसको स्वरूप कस्तो हुन्छ ? भलै भौतिक रूपमा नदेखिएला तर ध्यानबाट हेर्न मिल्छ कि नाइँ ! मेरो मानसपटलमा अक्सर घुम्ने प्रश्नहरू यी हुन् । हामी मृत्युसँग किन डराउँछौँ ? हामीलाई थाहा छ कि हामी अमर रहन सक्दैनौँ । एकदिन न एकदिन त हामी जानु नै छ तर जाने कुरालाई किन हामी पछाडि पछाडि धकेलिरहेका छौँ ? डरकै कुरामा स्वामी आनन्द अर्हत भन्छन् कि डरले केही दिँदैन । उनको आशय सायद डर भनेको बेकार हो यसले केही दिन सक्दैन भन्नु पो हो कि ? तर मलाई लाग्छ डरले धेरैकुरा दिन सक्छ । आजकाल म सोच्ने गर्छु कि यदि हाम्रा नेतृत्वकर्ता जनतासँग डराइदिएको मात्र भए, देशको स्वरूप नै पो अर्कै बन्ने थियो कि ? मलाई जहाँसम्म लाग्छ जीवनमा डराउनु आवश्यक छ, तर कति डराउने भन्ने कुराको मापन चाहिँ कसरी गर्ने ? किनकि नेपालमा प्रचलित एउटा उखान छ – ‘ वनको बाघले खानु छैन , मनको बाघले खाइसक्यो । ’ डरले मान्छेलाई भूइँमा पछार्न सक्छ । डराउने मात्रा कति हो ? यो खोज्न जरुरी छ । एउटा कथा छ । जघन्य अपराधमा मृत्युदण्ड फैसला सुनाइएको एक कैदीलाई भनियो, ‘ अब तिमीलाई मृत्युदण्ड दिइनेछ । र , त्यो मृत्युदण्ड विषालु सर्पले डसाएर दिइनेछ । ’ उनलाई एक अँध्यारो कोठामा लगियो । आँखामा पट्टी बाँधियो । एउटा कुनामा राखियो । केही समयपछि उनको खुट्टामा केहीले घोचेजस्तै गरियो । उनले घोचेको थाहा पायो । यत्तिनै बेला आँखाको पट्टी खोलियो । उनले देखेँ, खुट्टाकै नजिकबाट एउटा सर्प भाग्दैछ । कैदीले सोचे- सर्पले डस्यो । विषालु सर्पले डस्न लगाइनेछ भनिएको थियो । उनी डराएरै मरे । वास्तवमा उनलाई सर्पले डसेकै थिएन । यसरी हामीलाई मनको बाघले दिनानुदिन मृत्युको मुखमा लगेर छाडेको छ । उक्त भिडियोमा एक च्याप्टर मृत्युमा पसेर फर्केको अनुभव भन्ने छ । त्यो भिडियो सुरु भएको ९:०५ मिनेटबाट सुरु हुन्छ । यो अनुभव धेरैले गरेका छन्, त्यो धेरैमा म पनि पर्दछु । शरीरलाई आत्माले छाडिसकेपछि पुनः आत्मा शरिरभित्र आएको अनुभव मलाई पनि छ । मैले मृत्युलाई बहुत नजिकबाट हेरेको छु । आफ्नो मान्छेले छाडेर जाँदा परिवारमा कुन तहसम्म चोट पुग्छ । त्यो मैले भोगेको छु । जेठ महिना लिच्चीको मौसम । गाउँघरमा जे जति भए पनि पहिले बेच्ने र उब्रेको चाहिँ खाने चलन हुन्छ । मधेसी मूलका मान्छेलाई पहाडी मूलकाले अक्सर सामान बेच्ने गर्छन् । सायद सौदाबाजीमा सहज हुने भएकाले होला । घरमा एउटा लिच्चीको बोट थियो । चिचिला लागेदेखि नै मेरो आँखा र लिच्चीको फलसँग संवाद भइरहन्थ्यो । चिचिला बिस्तारै बढेर युवा र प्रौढ भयो । काँचो लिच्चीलाई मैले आफन्त सम्झेँ र खाएँ । मलाई त्यो बेला लागेको थियो आफन्तले दुखाउँदैनन् तर त्यो सोच र अहिलेको भिन्नताको फरक म ओकल्न सक्दिनँ । व्यापारी आएपछि लिच्चीको अन्तिम संस्कार गरियो । म हजुरबुवाको प्रिय थिएँ । अरू नाति जन्मेसकेको भए पनि । आफ्नो थर बोकेर जन्मनेमा म परिवारको पहिलो बच्चा भएर नजिक भएँ । हजुरबुवासँग मेरो जीवनको हिस्सा कम बिते तापनि किस्सा भने अनेक छन् । हजुरबुवाको आदेश अनुसार लिच्चीको केही झुप्पा घरको लागि राखियो । मेरो हजुरबुवाको गोजीमा भेटिने मौसम अनुसारका फलफूल, मिस्री र सरकारले दिएको वृद्धभत्तामा पनि मेरो एकल हक थियो । हजुरबुवा हुन्जेल बरफ बेच्न आउनेसँग विनम्रताको आँखा मैले कहिल्यै झुकाउनु परेन । कुनै पसलको अगाडि गएर चकलेटसँग दोहोरो संवाद गर्नु परेन । आजकाल ती सबै सम्झना भए । लटरम्म लिच्चीको बोट एक्कासि कसैको नाङ्गो शरीरझैँ भयो । मेरा आँखा अर्कोसाल जेठका लागि तयार भए । केही दिनमा लिच्चीको झ्याङबाट फुत्त चार वा पाँच दाना लिच्चीले घाम हेर्न निस्किए । त्यो सबैभन्दा पहिले दाइले देख्यो । दाइ माइलाको नाति, म कान्छाको । उमेरले दाइ भए पनि, ऊ अहिले पनि मेरो साथीझैँ छ । बालकको आँखा कहिल्यै अघाउँदैन । दाइले लिच्ची देखेपछि बोलायो र भन्यो – “ लिच्ची छ खाम यार । ” लिच्चीकै छेवैमा रहेको सुपारीबाट म जाने र दाइ रूखबाट जाने भयो । लिच्चीको दानाचाहिँ रूखको टुप्पोमा थियो । म सुपारीको रूखबाट जाने भएँ । सुपारीको रूखमा चड्ने कुरामा मेरो नाम गाउँमा नामुद छ । पहिले म टुप्पोमा पुगेँ र झर्न पनि म नै पहिले झरेँ । तर सुरक्षित तरिकाले होइन । सुपारीको बोटबाट लिच्चीतर्फ बढ्दा खुट्टाले काँचो हाँगामा टेकेछु, तर समाउँदा हाँगा सुकेको परेछ । धरती र आकाशको दूरी पनि थाहा पाइनँ । उक्त भिडियोमा डा. बसन्त पन्तले केही कुरा गरे जुन कुराले मेरो मष्तिस्क पुनः पछाडि फर्कियो । मैले आजसम्म यो कुरा मेरो परिवारलाई बाहेक अरूलाई खुलेर बताएको थिइनँ । साच्चै मान्छेको मृत्यु भएपछि पनि बाँच्न सक्छ, यो मैले भोगेको छु । वा भनौँ मैले मृत्युको मुख देखेको छु । बोटबाट खसेपछि चार घण्टा लगातार बेहोस हुँदा मैले महसुस गरेका कुराले आजकाल पनि मलाई झस्काइरहन्छ । म त्यहीँ छु । मैले आफैँलाई देखेको छु तर त्यो भीडले मलाई किन देख्न सकेन ? त्यो भीडबाट किन कोही बाँसको कुरा निकाल्दैछ ? कोही किन शङ्खको कुरा झिक्दैछ ? मेरा परिवारका सबै सदस्य किन मेरो नाम लिएर चिच्याउँदैछन् ? समय पुगेर मर्नु र समय नपुगी मर्नुको भिन्नता के हो ? मेरो परिवारले यही सोच्यो । मेरो लागि किनेको नयाँ स्कूलको झोला कसले बोक्छ ? भलै अरूले त बोक्लान तर मैले त पाउँदिन नि ! मान्छे परिवारबाट छुटिनुको पीडा मेरो आँखाले देखेको छ । मलाई लाग्छ समय नपुगी मर्नु भनेको नयाँ कपडा किन्नेबित्तिकै च्यातिनुजस्तै हो । म परिवारको लागि नयाँ थिएँ । तर च्यातिएको कपडालाई त सम्झनाको लागि राख्न सकिन्छ , मृत शरीरलाई कसरी राख्ने ? आफ्नो शरिरभन्दा बाहिर रहेर आफूलाई नै हेर्न सजिलो छ तर त्यो माहोललाई सम्झनचाहिँ औधी गाह्रो हुन्छ । खुसी हुँदा मान्छे कतिसम्म रुन्छ र दुःखी हुँदा मान्छे कतिसम्म रुन्छ । मैले एकैपटक अनुभव गरेँ । “म अब छैन” भन्दा मेरो परिवारको आँखामा आएको आँसु र “म अब छु” भन्दा मेरो परिवारको आँखामा आएको आँसु । यो मेरो जीवनको नौलो अनुभव कलिलो दिमागले भोगेको छ । मैले त्यो बेला अस्पताल किन लगिएन भनेर सोचेकै थिइनँ । अबोध दिमागलाई अस्पताल थाहा पनि थिएन । गाउँले मानेको केही वृद्धले नाडी छाम्दैमा मृत्युको निर्णय लिन कसरी सक्छन् ? जन्म र मृत्यु सत्य छ । यो कसैगरे पनि टार्न सकिन्न । केहीहदसम्म जन्मलाई रोक्न सकिन्छ । तर मृत्युलाई ? अहँ सकिन्न । म पनि आफ्नै मृत्यु देखेको मान्छे हुँ । धेरै पछि यो कुरा सम्झाइदिने दिशानिर्देश कार्यक्रम र प्रस्तोता विजयकुमार पाण्डेप्रति आभारी छु । हरि ॐ #निरज दाहाल #विजयकुमार
सपनाभित्र सपना: आँखाभित्र कैद भएका थुप्रै सुन्दर सपनाहरू मान्दैनन् बिदा लिएर जान । बिपना हुने सङ्केतसम्म नदेखिँदा सपनै सपनामा बित्ने पो हो कि जीवन शङ्का मात्र लागिरहन्छ मनमा । जीवन र मृत्युको लुकामारी सपनामा खेल्दै र भोग्दै समयका पर्खाइहरू एकपछि अर्को गर्दै ओइलिएका फुलहरू झैँ फुतुक्क झर्दा पनि मुसुक्क हाँस्नु पर्ने बाध्यता जीवनको शाश्वत सङ्केत सपनामा देख्दा मजै हँुदोरहेछ । एकपछि अर्को गर्दै थुप्रै सपनाका श्रृडखलाहरू कोही विपनासँग, कोही कल्पनासँग दुरुस्त भएर तर्साउँदै, तर्सँदै, बिर्साउदै, बिर्संदै कहिले जीवनसँग कहिले मृत्युसँग सपनाभित्र पनि जीवन अकर्मण्य भइरहँदा अर्कै सपना देख्न मन लाग्छ । सपनाभित्रै पनि अर्कै सपना देख्न मन लाग्छ । #अजित आचार्य #सपनाभित्र सपना
हाइपोथेटिकल फिजिक्स: फोहोरी जुत्ता हिँड्दैन अचेल काठमाडौंको आङलाई अँगालो मारेर सक्कली तीनपानेमा नक्कली भाषण मिसाएर बोल्दैन आजभोलि महेन्द्रको सालिक । मङ्गली भाउजू अचेल बुझ्दिनन् कविता जुँगामा जुम्रा पारेर मख्ख छन् मङ्गले दाइ फेरि सुनाउन खोज्छन् कविता उहिले कै सुरूमा भ्वाङ पारेर डस्नामा हेरिरहेछु म उनीहरुको टेबुलको बासी भात र ताजा तीनपाने रहर लागेर बोल्न हुइँकिन्छु मै पनि माइतीघर हुँदै सिंहदरबारसम्म । नेपथ्यका कार्यक्रम संचालक सुरुवाल फुस्किसक्दा पनि कपाल उखेलेर नरम भाषण बजाउँदैछन् । गोपालको खेतको आली रमेश दाइको स्टकोट भिरेर निदाइरहेको छ । व्यस्त छन् मिलाउन सङ्ग्रहको सेटिङ सातु खाएका दुब्ला साहित्यकार । एक हल मेलो जोतेर सिनेमाका गब्बरलाई दुई झाप्पु लगाएको हेर्न पुग्छन् गोरु लिएर रामजी काका । घरकि सुत्केरी स्वास्नी र गर्भवती पाडीसँग नबोली स्वानलाई आलिङ्घन गर्छन् पोहोर सालका बेहुला दाजु । नटेकी भुइँमा फेल गराउँछु अब न्युटनलाई । नहेरी चस्मामा फर्काउँछु अब यी चैते हुरी बतासलाई अनुमति नलिई आज । जसले बर्षौँदेखीको आङ उडाएको छ , पुरै पुस्तकालय उडाएको छ ।। #रविन्द्र ढुङ्गेल #हाइपोथेटिकल फिजिक्स
नियत: उनी चतुर थिए । आफूलाई अरू भन्दा निकै बाठो सम्झन्थे । शक्तिहात परेपछि त झन् उनको बठ्याईंको कसैले मेसो नै पाउन सक्दैनथ्यो । त्यस्तै भयो । पुनःशक्तिमापुगेपछि उनी अलि बढी नै बठ्याईं गर्न थाले । सजग गराउंदा गराउंदै पनि उनी आफ्नो शैली सुधार्न तयार भएनन् । देख्नेहरू उनको शैलीको आलोचना गर्थे तर उनी भने आफ्नो मात्रहोइन नजिकका र आसेपासेको आलोचना समेत सुन्न नसक्ने हुंदै गए । उनी आफूलाई सबैकुराको ठेकेदार र ज्ञाता ठान्दथे र बेलाबेलामा आवश्यकताभन्दा बढी बोल्थे । एकदिनको कुरा हो आफ्नै साथीहरू उनका विरुद्ध खनिए । कारण थियो उनको उही मेसो नपाई बोल्ने बानी । साथीभाइ, छिमेकीदेखि पाहुनासम्मलाई विभिन्न किसिमका कपोलकल्पित र भ्रामक आरोप लगाएपछि साथीहरू उनीसंग रिसाउनु स्वाभाविक थियो । उनीमाथि दबाब पयो । बह ुप्रतिक्षीत बैठक बस्यो । बैठकमा उनको कार्यशैली र कार्य क्षमतामाथि नै प्रश्न उठ्न थाल्यो । एउटाले भन्यो ‘काग बाठो भएर के जाति खाएझैं नहोस्’ अर्कोले चेतावनी दिंदै भन्यो ‘बाठो खान्छ तीन बल्ढ्याङ चरितार्थ नहोस्’ कुनामामौन बसिरहेका उनी एक्कासी जङ्गिए– ‘ फुटाइदिउं ?’ #नियत #विनोद नेपाल
नवपुस्ता: कोही नयाँ नयाँ चरा हेर्दै; कोही छोराछोरीसँग रमाउँदै: देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । देश तीन महिनादेखि लकडाउन (बन्दाबन्दी)मा छ । आंशिक रूपमा बन्दाबन्दी खुल्दै गए पनि त्रासदि उस्तै छ। रोगको त्रासभन्दा अमानवीय तथा हिंसात्मक समाजको दिसाको चिन्ता भारी बनिरहेको छ। यस्तो बेला नवपुस्ताका उदीयमान साहित्यकार, कलाकारहरू तथा समाज रूपान्तरणका संवाहक के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । हामी यस स्तम्भमा नवपुस्तालाई सुन्ने छौँ: आयुष भट्टराई : आयुष भट्टराई “सिक्नु पनि त एक काम हो ! म अहिले सिकिरहेको छु ।” लकडाउनको समय छ । यसो सोच्दा कोठामा थुनिएर बसेको पनि तीन महिना भैसकेछ । सुरूसुरूका दिनमा केही अफ्ठ्यारो महसुस भयो । तर म सधैँ कोठामा मात्र थुनिएर बसिनँ । दिनचर्या कसरी बितिरहेको छ ? भन्ने प्रश्नमा सरासर मेरो दैनिकि के हुन्छ भने , सानो किराना र ग्यास पसल छ, म परिवारलाई केही समय त्यता दिन्छु । कहिलेकाहीँ खाना बनाउँन सघाउँछु । केही समय सामाजिक सञ्जालले लिएर जान्छ । केही समय फिल्म, सिरिज लौजान्छन् । केही समय ध्यान, योग र व्यायामलाई दिइरहेको हुन्छु । खाने र सुत्ने त जसको पनि हुन्छ । मेरो केही समय किताब पढ्ने काम हुन्छ भने केही समय केही लेखिरहेको पनि हुन्छ । समंग्र दिन यसरी बितिरहेको हुन्छ । केही गरिएन भन्दाभन्दै धेरैथोक गरिसकिन्छ एकदिनमा । मलाई एक्लोपन केहीहदसम्म मन पर्छ । नगरकोटीको किताबमा कतै एकबेला पढेको थिएँ , “If you don’t celebrate your aloneness you are the most boring person in the world . I am alone I love my aloneness.” मलाई यो भनाइले पनि एक्लोपनालाई माया गर र आफैँसँग रमाऊ भन्ने कुरा सिकायो । कति परिवार घर आउन नपाएको र परिवारभन्दा टाढा रहेको बेला, म परिवारसँगै बस्छु र छु । मैले आफूलाई र मेरो परिवारले पनि यस कुरामा भाग्यमानी ठान्नु पर्छ । मलाई मैले बाँचिरहेको जिन्दगी एक तरिकाले मज्जा लाग्छ । किनकि कति मानिसहरू मलाई हेरेर म जतिको मात्र हुने सपना देखेर बाँचिरहेका छन् । कति आफ्नै भोगाइ, कति देखेर, कति पढेर र कति फिल्म हेरेर मैले आजसम्म बुझेको कुरा यति हो । नवपुस्तामा युवाहरूले के गरिरहेका छन् ? भन्नेमा मलाई लाग्छ,- केही न केही गरिरहेका छन् । तर कसैलाई उनीहरूले बुझ्न खोजिरहेका छैनन् । सिक्न खोजिरहेका छैनन् । अगिल्लो पुस्तालाई सम्मान गरिरहेका छैनन् । युवाहरूलाई म जान्ने र मभन्दा जान्ने कोही छैन भ्रमले च्यापिरहेको छ । र आफैँलाई चिन्न खोजिरहेका छैनन् । त्यसमा मलाई दुःख लाग्छ । युवाहरूले देश बुझ्न जरूरी छ । भविष्य बुझ्न जरूरी छ । नवपुस्ताले धेरै कुरा बुझ्न जरूरी र बाँकी छ । हामी हरेक आफू चिनाउन हतार गरिरहेका छौँ । मलाई आफैँलाई ‘म यो हुँ’ भनेर चिनाइहाल्ने बेला आएको छैन जस्तो लाग्छ । हामीले सुरूमा त आफैँलाई चिन्न जरूरी छ | त्यसपछि मात्र अरूलाई चिनाउनुपर्छ भन्ने सोच लिएर म बाँचिरहेको छु । त्यही आफैँलाई अहिलेसम्म राम्ररी चिन्न नसकेको र धेरै कुरा सिक्न बाँकी रहेकोले म हरेकपल्ट केही सिक्न खोजिरहेको हुन्छु । त्यही केही सिक्ने प्रकृयामा मैले केही सिरिज, केही फिल्महरूमा हेरेँ । केही किताबहरू पढेँ र आफैँलाई केहीहदसम्म बुझ्ने कोसिस गरेँ । लक डाउनको समयमा मैले केही सिरिजहरू हेरेँ, जसमध्ये केही हिन्दी, केही इंगलिस सिरिजहरूले दिनहरू राम्रै बिताएका हुन्थे । फिल्महरू पनि त्यस्तै दिनको एकको दरले हेर्दा सात-आठ दर्जन हेरियो होला । दश-पन्ध्रवटा किताब पढेँ होला, त्यसमा केही नयाँ र केही पूराना, पहिले पढिसकेका किताब फेरि पढेको छु । एकहप्ता जति भयो होला, अहिले भने केही फिल्म हेरेको छैन । केही समय केही हास्यब्यंग लेख, केही कथाहरू लेखिरहेको हुन्छु । र त्योभन्दा पनि बढी अनलाइनमा केही न केही हरेकदिन पढिरहेको हुन्छु । अरूले हेर्दा मैले केही पनि गरिरहेको छैन, तर म केही गरिरहेको छु । सिक्नु पनि त एक काम हो । म सिकिरहेको छु । मैले कतै सुनेको छु– जसरी हतियारलाई राम्रो बनाउन बारबार धारको जरूरी पर्छ, त्यसरी नै दिमागलाई धार लगाउन किताब पढ्नु जरूरी हुन्छ । म किताब पढ्न मन पराउँछु, र दिमागलाई धार लगाइरहन्छु । किताबहरू साथी हुन् जस्तो पनि लाग्छ । फिल्म हेर्न मन पराउँछु । सबैभन्दा ठूलो कुरा त सिक्न मन पराउँछु । अन्त्यमा, युवापुस्ता के गरिरहेका छन् भन्दा हामीले भन्न जरूरी छ- “हामीले सिक्न धेरैकुरा बाँकी छ । अहिले हामी धेरैकुरा सिक्ने बाटोमा छौँ ।” र म पनि त्यही भन्छु, “सिक्नु पनि त एक काम हो ! म अहिले सिकिरहेको छु ।” रेणुका जिसी खतिवडा: रेणुका जिसी खतिवडा “जीवनमा सबैभन्दा बढी गरेको काम के ? – पढ्ने र पढाउने ।” ४ वर्ष हुँदा बाबाको हात समातेर विद्यालय टेकेका पाइलाहरू १२ वर्षपछि विश्वविद्यालय टेक्नुपर्ने बेलामा पुन: विद्यालयमा फर्किएँ । भूमिका बद्लियो । चुलबुले विद्यार्थीलाई पर्फेक्ट शिक्षक बन्नु थियो । बन्ने पर्यत्न जारी नै छ । बिगत १४ वर्ष देखिको एकैखालको दैनिकीदेखि घरिघरि आफैँ आजित हुन्थेँ । केही वर्षयता म आफ्नै दैनिकीबाट अलिक समय ब्रेक खोजिरहेकी थिएँ । यसकारण पनि मेरा लागि लक डाउन अवसर बनेर आयो । दौडधुपवाला जिन्दगीमा झ्याप्प ब्रेक लाग्यो । तर कोरोना माध्यम बनेर आओस्, मेरो कामना थिएन । न त घरभित्रै बसिरहनु रोजाइ नै थियो । तर समय जे आयो त्यसैलाई अवसर ठानियो । आफ्नो हिसाबले सदुपयोग गर्ने प्रयासमा नै छु । जिन्दगीको पूर्णता नै अपूर्णताभित्र भेटिन्छ । यही सोचेर चित्त बुझाउँदै छु । जागिर ,घरव्यवहार र छोराछोरी तेहोरो भूमिकामा बाँधिदा जति नै प्रयास गर्दा पनि कहीँ न कहीँ केही न केही छुटेको जस्तो, अपुरो जस्तो भान भइरहने रहेछ । दुई सन्तानको आमा भएर पनि आमा हुनुको सम्पूर्ण आनन्द महसुस गर्न पाइनँ कि त ! अक्सर यही लागिरहन्छ । “आज त साहराले मम्मा भनिन्, नानी त आज उभिएकी, बाबुले आज यसो गरे, उसो गरे ।’’, उनीहरूको पहिलो बोली, पहिलो उभिएको, हिँडेको दृश्य या यस्ता धेरै पल समाचारका रूपमा दोस्रो मानिसका मुखबाट सुन्दा आमा मन चसक्क हुन्थ्यो । जे छुट्यो, त्यो त सकियो । जे छ त्यसलाई सार्थक बनाउन त सकिन्छ नि ! बन्दाबन्दीको यो समय छोराछोरीको रंगमा रंगीएको छ । छोरीको टिकटक, खेल , पैदलयात्रा या अन्य रहरमा उसको साथी बनेर हिँडिरहेकी छु । ‘बी’ र ‘डी’मा झुक्किने छोरासँग स्पेस र ग्रहहरूको बारेमा यति धेरै ज्ञान रहेछ, सुनिरहेकी छु । उसको स्पेस मोहसँगै कथा मोह पनि अनौठो छ । उमेरले ६ को दैलो टैक्दै गरेको उसले हिन्दी ,अंग्रेजी र नेपाली मिश्रित भाषामा अनौठा कथा सुनाउँछ । मामुको पिठ्यूमा चढेर ‘हट घोडा हट’ गर्दै या काँधमा चढेर ‘म बिगर भएँ’ भन्दै उसले भन्छ “मामु आप तो वन्डरफुल ओमन हो ।’’, म सधैँ यस्तै भैरहन सकूँ ! लक डाउनले सामाजिक दूरी बढाए पनि आत्मीक दूरी भने कम गरेको छ । यादमा मात्र आइरहने देश विदेशका प्यारा आफन्तसँग धित मरुन्जेल कुराकानी भएको छ । जन्म गाउँका पाखापखेरामा घन्किएका भाकाहरू ग्रुप च्याटमा घन्केका छन् । आफ्नै भाग्य भेट्न हतारहतार दौडिरहेका साथीहरू बिसौनीमा बसेर गफिरहेका छौँ । प्रतिकूलतालाई अनुकूलतामा ढाल्दै विभिन्न सेमिनार र भर्चुअल साहित्यिक गोष्ठीहरू भ्याए जति उपस्थित भएकी छु । केही कविता, केही गजल र केही कथा सृजना गर्न भ्याएकी छु । सबैभन्दा बढी एक्सपेरिमेन्ट गर्ने ठाउँ त भान्छा पो रहेछ ! भान्छामा पस्नेबित्तिकै आत्तिने म स्वादले तानिने भएकी छु । यसअघि नपाकेका परिकार पाकेका छन्, यसअघि पाकेका परिकार फरक तरिकाले पाकेका छन् । छतमा तरकारी, फेसबुकमा स्टाटस र तस्विर अनि युट्युबमा आफूले जानेको खेती जताततै गरेका छौँ । ‘हम दो हमरा दो’वाला परिवार छ । नियमित आम्दानीको ठूलो हिस्सा ठप्प छ । चिन्ता होइन, चिन्तन गरिरहन्छौँ । समयभन्दा बलवान अरू के नै छ र ! जिन्दगी आफ्नो हो । यो समय फेरि आउनेवाला छैन । पूरा गर्न सक्ने जति रहर बाँच्ने प्रयासमा छौँ। आखिर जिन्दगी त यत्तिकै पनि त बितिजान्छ । मेरा लागि पुस्तक पढ्नु आफूलाई मीठो लाग्ने खानेकुरा खानुजस्तै हो । व्यस्तताका बाबजुद पनि पुस्तक पढ्न समय हुन्छ, छ । अझै लक डाउनले यो क्रमलाई ह्वात्तै बढाइदियो । मनभरि पात्र बोकेर अर्को कुरामा मेरो ध्यान जाँदैन । जतिसुकै लामो किन नहोस्, आख्यानलाई एकै बसाइमा सिध्याउनुपर्छ । लक डाउनका सुरुवाती दिनमा नै हरेक दिन एक-एक पुस्तक पढेँ । घरमा भएका मध्ये नपढेका पुस्तकहरू थोरैमात्र थिए । हंस, घामकिरी, लाइफ अ बटरफ्लाई, लेभ टोल्सटोइका विश्वप्रसिद्ध कथालगायतका कृति पढिसकेपछि केही कवितासंग्रहहरू दोहोराएँ । केही उपन्यासहरू पनि । देशको कारण होस्, परिवेशको कारण होस् , सम्बन्धहरूका कारण या यावत कारण मन त दुखिरहन्छ । दुखिरहने मनलाई ठ्याक्कै पेनकिलरको काम गर्छन् कुनै किताबहरूले । र त मोहन मैनालीको ‘देखेको देश’ र नयनराज पाण्डेको ‘यार’ दोहोराएर पढिरहन्छु । पुस्तक पढ्ने माहोलमा छोरी पनि समावेश भैसकेकी छिन् । गौरी खण्डकाव्य, एलिस इन द वन्डरल्यान्ड र केही बालकथाहरू उनले पनि पढिसकिन् । मैले भने भर्खरै सत्यजित रोयका कथाहरू पढेर सकेकी छु । चार वेद र पारिजातका संकलित रचनाहरू पालो पर्खेर ¥याकबाट टुलुटुलु हेरिरहेका छन् । कोरोनाको परिधि सँगै भय र चिन्ताको परिधि पनि बढिरहेको छ । हरेक दिन बढिरहेका संक्रमित र मृत्युको संख्या त छँदै छ, सँगसँगै मन भतभत पोल्न दिनहुँ नयाँ नयाँ समाचार आइपुग्छन् । अन्नबाली र घरका छत नै नाश गर्नेगरी आएको असिनादेखि राजु सदा को मृत्युसम्म आइपुग्दा पटक-पटक दुखेको छ मन । आफूले धेरै आश गरेको कम्युनिष्ट सरकारको कमाउनिष्ट प्रवृतिले आक्रोशित बनाइरहन्छ । व्यवस्था मात्र परिवर्तन भएर अवस्था परिवर्तन नहुने रहेछ । संकटको यो घडीले थुप्रै मुखुन्डाधारीको वास्तविक रूप उदाङ्गो पारेको छ । सुनेकी छु, हरेक विनाशले पूराना मानकहरू भत्काएर नयाँ मानकहरू स्थापित गर्छ । आशा छ यो विषम परिस्थितीले पनि पक्कै सम्भावनाका नयाँ ढोकाहरू खोल्ने छ । बिकेश कविन: बिकेश कविन “ मेरो लकडाउन प्रकृति , पुस्तक , कविता , खोज आदि इत्यादिसँगै केही कुरा सिकेर बित्यो “ देशभरि लक डाउनको घोषणा हुनुभन्दा अघिसम्म म नियमित रूपमा इटहरीको ’इटहरी मेट्रीक्स’, साथसाथै छेउछाउका गाउँबस्ती अनि वनजङ्गल र खोलाहरूतिर चरा हेर्न जानेगर्थेँ । यो क्रममा थुप्रै नुतन चराहरू देख्न पाइयो, जुन चराहरू इटहरी चोकआसपास देख्न असम्भवप्रायस् छ । सरकारले देशभरि लकडाउनको घोषणा गर्यो । त्यसपश्चात् विशेषगरी घरमै समय व्यतीत गर्नथालेँ । लकडाउनले गर्दा वातावरण शान्त र प्रदूषणरहित बन्यो । बाटाहरूमा मान्छेहरू देखिएनन् । देखिए त केवल विभिन्न प्रजातिका सुन्दर चराहरू जो उन्मुक्तसाथ आफ्नो प्रकृतिरूपी घरमा मज्जाले माधुर्य गीत गाइरहेका थिए । देखिए त केवल वसन्तमा रमाइरहेका वृक्षहरू । कोइली चरा (एसियन कोयल) जसलाई सामान्य अवस्थामा इटहरीका भित्री गाउँहरूमा देख्न पनि मुस्किल पर्थ्यो, त्यसलाई गाउँहरूमा मात्र होइन, इटहरीको अति व्यस्त रहने मुख्य चोकहरूका वृक्षहरूमा बसेर ’कुहु……कुहु…..’ गाइरहेको सुन्न पाइयो । कुथुर्के (ब्लु थ्रोटेड वारबेट) चरा जुन इटहरी सहरमा देखिनु दुर्लभप्रायस् हो, यसलाई पनि लक डाउनको बखतमा भारी सङ्ख्यामा देख्न पाइयो । यसको आवाज मज्जाले सुन्न पाइयो । यी चराहरूका अतिरिक्त गाजले सुनचरी, कालोटाउके सुनचरी, फ्राप्रे चरा, ढोडे गोकूल, भद्राई चरा आदि आदि इत्यादि चराहरूलाई पनि इटहरीका चोकचोकमा, गाउँगाउँमा देख्न पाइयो । सुन्न पाइयो । यी चराहरूलाई एकैपटकमा देख्न र सुन्न लकडाउन महत्वपूर्ण समय रहेछ नत्रभने अन्य अवस्थामा यी चराहरू सजिलै देखिँदैनन् । अझ सहरतिर त अन्य सामान्य चराहरू पनि देख्न मुस्किल नै पर्छ । लकडाउनको सुरुवाती दिनमा कवि भूपी शेरचनका कवितासङ्ग्रहहरू घुम्ने मेचमाथि अन्धो मान्छे र भूपी शेरचनका कविताहरू (शिव रेग्मीद्वारा सम्पादित कवितासङ्ग्रह) दोहार्याएर पढेँ । यसका अतिरिक्त कवि शेरचनमाथि लेखिएका विभिन्न लेखकहरूका संस्मरण, विचार, आलेख आदि इत्यादि पढेँ । कवि भूपीबारे केही खोजहरू गरेँ । उनका केही दुर्लभ फोटोहरू साथसाथै उनको जीवनको अन्तिम अन्तर्वार्ताको भिडियो पनि फेला पारेँ । वास्तवमा भन्ने हो भने मेरा लकडाउन दिनहरू भूपीमय भए । कवि भूपीका अतिरिक्त अन्य कविहरूका केही कवितासङ्ग्रहरू पढेँ । ध्रुवचन्द्र गौतमको मदन पुरस्कार प्राप्त सुप्रसिद्ध उपन्यास ’अलिखित’ पढेँ । लेनसिंह बाङ्देलको मा\u200cलिक उपन्यास ’लङ्गडाको साथी’ पढेँ । यसका अतिरिक्त अन्य केही पुस्तकहरू साथसाथै सङ्कलन गरिएका म्यागेजिन, आलेख आदि इत्यादि पनि पढेँ । साथसाथै, लकडाउनको अवधिमा कोरोना भाइरस, महामारी, बालबालिका आदि केन्द्रीत केही कविताहरू पनि लेखेँ । समग्रमा भन्नुपर्दा, मेरो लकडाउन प्रकृति (चरा, रुख, खोला आदि), पुस्तक, कविता, खोज आदि इत्यादिसँगै केही कुरा सिकेर बित्यो । #आयुष भट्टराई #नवपुस्ता #बिकेश कविन #रेणुका जिसी खतिवडा
मनोवैज्ञानिक कथाः महिला हराएको सूचना: योजना अर्कै थियो जीवनको, भयो अर्कै । सास फेर्नैका लागि बाँच्नु र नबाँच्नुको फरक के ? सानी मनसँग दोहोरो संवाद गरिरहिछे । ऊ पच्चीस वर्षे बूढी आइमाई हो, सम्बन्ध र व्यवहार दुवैमा । विश्वास सबैबाट टुटिसकेको छ । जवानीका जाँगरहरू अहिले नै सेलाइसकेका छन् । ऊ टाढा छे आफन्तबाट अनि आफ्ना पुराना क्रियाकलापबाट । आज मर्निङवाक सुरु गरेको पन्ध्रौँ दिन हो सानीको । साँढे पाँच फिट अग्ली, पचास किलोकी एउटी लुखुरी आइमाई दिनहुँ घन्टौँ किन हिँड्छे ? यही कुराले चकित हुन्थी ऊ स्वयम् । मनभित्रै मरिसकेका सपनाका लासहरूको व्यवस्थापन सहजै हुन्छ भन्ने उसको अनुमान थियो । तर अहँ, त्यो बसन्ती हावाले मनको औडाहामा शीतलता सिञ्चन गरेन । सिथिल उल्लास ब्युतिएन फेरि र पहिले नै उजाडिएका आकाङ्क्षा पाउलिएनन् । छातीमा पाँच वर्षे छोराको अघोर माया छ । स्वाँ….स्वाँ…..सास बढ्दै छ । हिँडाइले ? बाँकी जीवनको चिन्ताले ? कि कलेजोमा सजाएको त्यो अबोध सन्तानको मायाले ?, “हरे ! धड्कन चलुन्जेल मातृत्व मर्दोरहेनछ ।” सुशीला खनाल चार बजेको अँध्यारो, सुनसान बाटो, त्रसित मन अनि उसको भाग्य र जीवनका साइनाहरू । स्पोर्टस् सुजले बानेश्वर जित्छ । फेरि रिप्ले हुन्छ विगत आतङ्क । बुबाआमाको हृदय चहराएको थियो छोरी जन्मँदा । बालिका र युवती आफैँमा दुखेका थिए । परिवारमा छोरी र बिहेको साइनो निकै आत्मीय हुँदोरहेछ । जे भयो नराम्रो भएको थिएन । वर्ष दिनपछि संसार रङ्गाउँदै छोरो धर्तीमा आएको थियो । जिन्दगी मात्र होइन संसार नै पूर्ण भएको आभाष भएको थियो त्यसबखत । जन्मनेबित्तिकैको छोरो मनमनै पुलुक्क हेरी उसले । छेउमा आफूलाई चौबन्दी र फेटामा ठम्याई । “मेरो मुटुको टुक्रो……! मैले नै तिम्रो जीवनको हरियाली फाँडिदिएँ । अपहेलित नारीत्व र लत्याइएको पत्नीत्वको खिचातानीमा मैले मातृत्वको संरक्षण गर्न सकिनँ । सरी बाबु ! सरी छोरा !”, उसका पाइला अडिए । गोडा लल्याकलुलुक भएर आए । ऊ टुसुक्क बसेर दसै औँलाले आँखा छोपिरही । केही समयपछि उठी र चिसा हत्केला लुगाको फेरमा दलेर पाइला बढाई । व्यथाहरू भित्र हुन्छन्, तापनि अनुहारमा देखिन्छन् । त्यो मिर्मिरे बिहानीले सानीको अनुहार नियाल्दै थियो । आकाशमा चरा गाउनगाउन लाग्दै थिए । क्षितिजमा घाम आउनआउन लाग्दै थियो । रगतका भुल्कामा छोराले आमा….! आमा….! भन्दै थियो । त्यही पनि सानीले आफूलाई एक्लै ठानी । मनमनै उसले भनी, “आफ्नो जीवन अव्यवस्थित हुनेले अर्काको जीवनको व्यवस्था गर्न सक्तैन ।” यहाँ आफ्नै छोराले ‘अर्का’को परिचय पायो । मन दरो बनाई, “अरूलाई मार्नुमा र आफू मर्नुमा कुनै फरक छैन । कमिला र किरा त आफ्नो पूरा आयु बाँच्छन् ।”, सानीभित्रको मान्छे अलिकति जाग्यो । उसले बाच्ने अठोट गरी । मरेर बाँच्ने होइन, बाँचेरै बाँच्ने । अचानक उसको गन्तव्य परिवर्तन भयो । बाटो अझै चकमन्न थियो; मन पो कोलाहलमय थियो त । सानीले यसो आफूले भिरेको झोला सुम्सुम्याई । उसलाई लाग्यो; झोला हलुङ्गो छ, तर जीवन भने सारै भारी छ । झोलामा अलिअलि सामान छ, तर यता पेट पूरै खाली छ । “आफ्ना बासँग पनि अनि छोराका बासँग पनि मागेरै खाएकी थिएँ । यदाकदा बात पचाउने पनि बानी छँदैछ । मागेरै भए पनि खाउँला ।”, उसले दुई दिनदेखिको भोको पेट छामी । सानी सहिद गेटलाई देब्रे हातपट्टि पारेर अगाडि बढ्दै थिई । गाडी गुडेको आवाज आयो । आफैँलाई जित्नजित्न लागेको ट्याक्सीलाई रोकी । सानीः दाइ ! कलङ्की जाऊँ है । ड्राइभरः हुन्छ । सानीः कति पैसा ? ड्राइभरः पाँच सय । सानीः घटाउन मिल्दैन दाइ ? ड्राइभरः तपाईँको एक रातको त मागेको छैन त !– च्याँठियो । लान्छना डाइजेस्ट गर्ने सामाजिक आमासय ‘सानी’ थपक्क ट्यक्सीभित्र पसी । उसलाई कसैले यही बात लगाउँदा रातभरि रुनुपरेको थियो । त्यही बातले सम्बन्ध छोडायो र घर पनि उजाड्यो । बिहानको छ बजिसकेको छ । सडकका बत्तीहरू निभ्न नसकेर जलिरहेझैँ लाग्छन् । बजारका सटरहरू अलिअलि गर्दै खुल्दै छन्, तर सानीका समग्र साइना र सम्बन्धका ढोकाहरू सदासदाका लागि बन्द हुँदै छन् । अब ऊसँग बेग्लिएर बस्न कसैले रहर गर्ने छैन । “के म अब मेरो निजी सम्पत्ति ‘अस्मिता’ जोगाउन सकूला ? म उस्ती कि मेरो भाग्य उस्तो ?”, यी प्रश्न कसैलाई नसोध्ने बाचा मनले मनसँग ग¥यो । अब सानीको मन अझै दरो बन्न खोज्यो । कलङ्की चोकपारि गाडीहरूको भीड छ । सडकछेउको फोहोरको थुप्रोमा कुकुरहरू जीवन रक्षाको सङ्घर्ष गर्दै थिए । “हो, बाँच्नुपर्छ । आफ्नो बाँच्ने अधिकारको सुरक्षा आफैँले गर्नुपर्छ; हरेकले ।”, सानीले पत्रिकामा बेरेको मेटासिटको सानो सिसी बिस्तारै निकाली अनि कसैले नदेख्ने गरी फोहोरको थुप्रोतिर मिल्काइदिई । फेरि आफ्नो पुरानो सामसुङ (ई फाइफ) मोबाइल निकाली । डाटा अन गरेर सबैभन्दा पहिला फेसबुक डिएक्टिभेट गरिदिई । त्यसपछि मोबाइलबाट सिम निकालेर त्यही फोहोरको थुप्रोमा हुत्याइदिई । अब अरूका नजरमा ऊ कहीँ थिइन, तर वास्तवमा दुनियाँ हराइसकेको थियो अनि ऊ मात्र बाँकी थिई उसका लागि । “जाने हो अन्टी ?”, मयुर यातायात छेउमा थियो । “हो ।”, ऊ गाडीमा पसी र भनेकै सिटमा गएर बसी । गाडीले आफ्नो वेग लियो । उसले पनि आफ्नो मनोवेग रोक्न सकेकी थिइन । “मलाई काठमाडौँले त्यसरी नै रुचाएन जसरी मायालुले मेरो माया रुचाएको थिएन । निठुरी दैवले छोराकी आमा नरुचाए जस्तै नेपाल आमाको काखले मलाई नरुचाउला अब ।”, जसजसलाई बिर्सन खोज्यो सबभन्दा बढी उसैलाई सम्झिँदो रहेछ मनले । सानीका आँखा भल्भल्ती बगिरहे । गाडीले थानकोट काट्यो । मृत्युदण्ड भोग्न हतकडीसहित अगाडि बढिरहेको निर्दोष अपराधीझैँ सानी पनि गन्तव्यहीन यात्रातर्फ अगाडि बढिरहेकी थिई । ऊसँग भाव थियो, भाषा थिएन । अनुभुति थियो, शब्द थिएन अनि आँसु थियो, मूल्य थिएन । छेउमै बसेको मान्छे कान्तिपुर पत्रिका हेरिरहेको थियो । ऊ ‘चीनमा कोरोनाको कहर’ शीर्षकको समाचार पढिरहेको थियो अनि सानी मृत्युसँग डराएको उसको अनुहार । लगत्तै सानीका आँखा पत्रिकाको ‘मानिस हराएको सूचना’मा परे । सूचना र समाचारहरू त नयाँ नयाँ हुन्छन् दिनहुँ । केही दिनपछि त्यही पेजको त्यही ठाउँमा आउनेछ; महिला हराएको सूचना: नाम : सानी शर्मा उमेर : पच्चिस वर्ष वर्ण : गहुँगारो उचाई : साँढे पाँच फिट ………. #सुशीला खनाल
'लार'माथिको यौनिक र सामाजिक दृष्टिकोण; प्रश्न र टिप्पणीको हद !: मुना चौधरीको कथा ‘लार’ले बाह्रख्रही कथा प्रतियोगिताको पुरस्कार जितेपछि सामाजिक सन्जालभरि ‘लार’लाई यौन कथा/पोर्न कथा भन्ने टिप्पणीहरूले छ्यापछ्याप्ती देखिएका छन् । ‘पुरस्कार जित्न यौन कथा लेख्नु पर्नेरहेछ’, ‘निर्णायकलाई यौन कथा मन पर्दोरहेछ’, भन्ने जस्ता टिप्पणीहरू पनि धेरै आइरहेका छन् । यदाकदाचाहिँ यो ‘प्रपोगान्डा’ प्रचारबाजीको लागि बाह्रखरीले नियोजित रूपमा चालेको भन्नेहरू पनि छन् । निश्चय नै, प्रतियोगीले नियम उल्लंघन गरेको थाहा पाएपछि पनि बाह्रखरीको अझैसम्म कुनै प्रतिक्रिया नआउनुमा फरक मत राख्न र औंला उठाउन पाइन्छ । साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले साहित्यपोस्टमा जुन २९ मा लेख्नुहुन्छ, “काग कराउँदै जान्छ पिना सुक्दै जान्छ जस्तै गरिरहेको छ बाह्रखरीले” | बाबु साहेब कान्तिपुर पत्रिकाका प्रधान सम्पादक रहिसकेका नारायण वाग्ले, रुचाइएका लेखक अमर न्यौपाने र अघिल्लो वर्ष यही पुरस्कार जितेकी बिना थिङ तामाङको निर्णायक क्षमतामाथि प्रश्न गर्न पनि पाइन्छ । प्रश्न विजेता कथाकार मुना चौधारिको गल्तीमाथि पनि गर्न पाइन्छ । तर ती प्रश्न र टिप्पणीहरूको हद कहाँसम्म ? एउटा गल्तीको सजायस्वरूपमा उठाइएका प्रश्नहरूको घनत्वले अर्को गल्ती गरिरहेछ भनेचाहिँ त्यसको जिम्मेवारी कसले लिन्छ ? यो लेख पुरस्कार विजेता कथा ‘लार’माथिको यौनिक र सामाजिक दृष्टिकोण, कथामाथिका प्रश्न र प्रश्नले उब्जाएका अन्य प्रश्नहरूमाथि केन्द्रित छ । सामाजिक सन्जालमा कथामा अश्लिलताको कारण दुई अनुच्छेदभन्दा पढ्न नसकेको भन्ने टिप्पणीहरू ज्यादै हाँस्यास्पद छन् । मोबाइलमा ‘भिपिएन’ राख्दै गोप्य फोल्डर बनाएर पोर्न मुभी/तस्बिर बोकिहिँडेका हामीहरूले नै अश्लील र श्लीलको कित्ताकाट गरिरहेछौं । सामाजिक सन्जालमा कथामा अश्लिलताको कारण दुई अनुच्छेदभन्दा पढ्न नसकेको भन्ने टिप्पणीहरू ज्यादै हाँस्यास्पद छन् । मोबाइलमा ‘भिपिएन’ राख्दै गोप्य फोल्डर बनाएर पोर्न मुभी/तस्बिर बोकिहिँडेका हामीहरूले नै अश्लील र श्लीलको कित्ताकाट गरिरहेछौं । यौनलाई शारीरिक र मानसिक आवश्यकता भनेर व्याख्या गरिसकेको युग पनि बूढो बन्न लागिसक्यो । बरु अबको समय दुई वर्षसम्म श्रीमान् विदेश र श्रीमती स्वदेश रहनुपर्ने (वा जुनसुकै छुटिएर रहनुपर्ने) परिस्थितिमा कसरी विधिसम्मत यौनिक आवश्यकता पूरा गर्न सकिन्छ भनेर बहस हुनुपर्ने हो | बिडम्बना ! त्यो हुन सकेको छैन । हामीलाई यौन चाहिन्छ, तर खुलेर यौन चाहिन्छ भन्न सक्दैनौँ । त्यसैले देशभरि अँध्यारोमा सुखरीहरू दिशागर्ने बहाना बनाएर घरबाट निस्किनुपर्छ, देवेन चिया पसलमा बाइक छोडेर गाउँ छिर्नुपर्छ अनि ‘लार’मा भेटिनुपर्छ । कथामा देवेनले सुखरीलाई पूर्ण यौन सन्तुष्टि दिन नसकेपछि सुखरीमा भएको छटपटाहटमा सुन्दर तरिकाले बुनिएको छ, तर हाम्रो ध्यान त्यता खिचिँदैन । हामीलाई त लागिरहन्छ कि यौन केवल पुरुष वर्गको सन्तुष्टिको माध्यम हो । महिलाहरू यौनमा सहभागी केवल पुरुष वर्गलाई सन्तुष्टि दिनका लागि हुनुपर्छ, उनीहरू आफूचाहिँ यौन सन्तुष्टिबाट टाढा रहे पनि केही फरक पर्दैन भन्ने हाम्रो मानसिकतालाई हाम्रै टिप्पणीहरूले उदाङ्गो पारिदिएका छन् । बरु हामी त सामाजिक सन्जालको भित्ताभरि दाइजो विरोधी प्लेकार्डहरू टाँसेर आफ्नै बिहेमा दाइजोको बार्गेनिङ गर्नमा रुचि राख्छौं र आफ्नो रुचिमा पोख्त छौं । साथसाथै सुखरी देवेनसँग आएको भोलिपल्ट सुखरीले बच्चीलाई दूध चुसाउन नपाएका कारण वा कथाको सुरुमा नै सुखरीको स्तनबाट उछिट्टिएका दूधका छिर्काहरूको कारण बच्चासहितकी एक महिलालाई यौनमा सरिक हुनुअघिका अफ्ट्याराहरूलाई हामी नजरअन्दाज नगरी हिंडिदिन्छौं ! कथाको अर्को पाटोमा सुखरी र देवेनले बिहे गरेपछि देवेनका बुवा-आमालाई दाइजो लिन नपाइने भो भन्ने मानसिकताले हिर्काएर सुखरीलाई बुहारी स्वीकार्न नसकेको कुरा छ | हाम्रो ध्यान त्यता पनि जाँदैनं । बरु हामी त सामाजिक सन्जालको भित्ताभरि दाइजो विरोधी प्लेकार्डहरू टाँसेर आफ्नै बिहेमा दाइजोको बार्गेनिङ गर्नमा रुचि राख्छौं र आफ्नो रुचिमा पोख्त छौं । साथसाथै सुखरी देवेनसँग आएको भोलिपल्ट सुखरीले बच्चीलाई दूध चुसाउन नपाएका कारण वा कथाको सुरुमा नै सुखरीको स्तनबाट उछिट्टिएका दूधका छिर्काहरूको कारण बच्चासहितकी एक महिलालाई यौनमा सरिक हुनुअघिका अफ्ट्याराहरूलाई हामी नजरअन्दाज नगरी हिंडिदिन्छौं ! कथाकार मुना चौधरी दाइजोकै केन्द्रबिन्दुको चपेटामा परेर सुखरी छ महिनासम्म नोकर्नीजस्तो बस्नुपरेको छ । आफूलाई ज्यादा विस्वास गरिरहेको श्रीमान्, आफ्नै जस्तो माया लाग्ने आफ्नी छोरी र आफ्नो कर्तव्यमा रहेको परिवार र समाजलाई त्यागेर सुखरी जुन सुखको लागि देवेनसँग आएकी थिइन् बिस्तारै त्यो सुख पनि सुखरीले पाउन छोडिन् | पश्चातापको मानसिक आगोमा जलिरहँदा देवेनको सहारा नपाएकी सुखरीले यौन तृप्तिको शारीरिक आगोमा जलिरहँदा देवेनबाट झन् ठूलो हिंसा भोगिरहेकी छन् । पश्चाताप र हिंसाको चपेटामा परिरहेकी सुखरीमाथि पाठकहरूको पनि कतै सहानुभूति देखिदैन । बरु उनीमाथि हामीले एउटा चरित्रहिन महिलाको उपाधि भिराइदिएका छौं, र उनीमाथि अर्को हिंसा गरिरहेका छौं । रात-विरात आफ्ना सबै-सबै कुराहरू त्यागेर देवेनसँग सुखरी भाग्नुपर्ने परिस्थितिको दोषी को-को छन् ? हाम्रो फितलो सामाजिक व्यवस्थालाई हामी दोषी किन देख्दैनौं ? एक विवाहित महिलासँगको अबैध सम्बन्ध राखिराखेको देवेनको दोष कति हो ? हामीलाई यी कुराहरूमाथि रुचि र चासो हुने विषय भएन । हामीलाई त सबै दोष र गल्ती केवल सुखरीको चरित्रमाथि थुपारिदिएर उम्किनु छ । कथाको अन्त्यमा सुखरी आफूलाई न्याय दिलाइछोड्ने अठोठका साथ निस्किन्छे | भोलिपल्ट बिहान एउटी महिलाको मृत रगताम्मे नाङ्गो लास भेटिन्छ । लेखकले त्यो लाश सुखरीकै हो भनेर ठ्याक्कै नभनिदिएर चतुर्\u200dयाइँ गर्दैछिन् वा अरू केही ? त्यो लेखक नै जानून् । तर पाठकले त्यो लाश सुखरीको बाहेक अरूको हो भनेर शङ्का गर्नुपर्ने केही छैन । हामीले फेरि बुझ्न सक्छौं, आफूमाथि परेको मानसिक र शारिरिक अन्यायको विरुद्धमा हिंडेकी नारीमाथि अर्को कति ठूलो अन्याय हुन्छ । आँकलन गर्न सक्छौँ, देशैभरि यस्ता सुखरीहरूमध्ये कतिले न्यायको लागि मुठ्ठी कस्लान्, कति आफूलाई कमजोर बनाएर पासोमा झुन्डिएलान् वा बाढीमा होमिएलान् ? कथामाथिको यो यौनिक र सामाजिक यो बहसलाई यहीँ छोडेर अब केहिबेर कथामाथिका टिप्पणी र प्रश्न, ती प्रश्नहरूले उठाएका अरू प्रश्नहरूमाथि जोड दिऊँ । ‘लार’लाई यौन कथा/पोर्न कथा भन्न पाइनु, निर्णायकको निर्णायक क्षमतामाथि लगातार प्रहार गर्न पाइनु, कथाकारको गल्तीमाथि प्रश्न गर्न पाइनुको हद कहाँसम्म हो ? हामीले गरेका प्रश्नहरूको सीमा कहाँसम्म हो ? बाह्रखरीले आफ्नो गल्तीलाई स्विकार्दै/समीक्षा गर्दै/माफी माग्दै र आफ्नो गल्तीबाट अन्याय भएका सबैलाई उचित सामाजिक न्याय दिलाउँदै, फेरि गल्ती नदोर्याउने कुरामा प्रतिबद्द बनाउन वा त्योभन्दा माथि बाह्रखरीले गरेको गल्तीमाथि टेकेर ऊमाथि अर्को सुनियोजित प्रहार गर्न | हाम्रा प्रश्न हरूको हद कहाँसम्म हो ? लेखक मुना चौधरीलाई आफ्नो गल्तीलाई स्वीकार/ प्रयाश्चित र आफू नियम मिचिएको कथा प्रथम भएकोले उक्त पुरस्कारमाथि आफ्नो हक दावी नगर्नको लागि सुझाव र दवाव दिन वा उनले गरेको गल्तीमाथि टेकेर उनीविरुद्ध र लेखकीय जीवनविरुद्ध लगातार प्रहार गरिरहन | एउटा गल्तीको सजाय त्यस गल्तीको उचित सजायसम्म पुगेर सकिन्छ । गल्तीको भारभन्दा बढीको सजायलाई नेपालको संविधानले पनि स्पस्ट रूपमामा अस्वीकार गरेको छ । अनि प्रश्न गर्नेहरू को-को हौँ ? घटनामा साँच्चिकै गल्ती भएको देख्नेहरू ? अरूका टिप्पणीहरू पढेर आफ्नो धारणा बनाउनेहरू ? र कथाको दुई अनुच्छेदभन्दा पढ्न नसकेको पनि भन्ने र कथालाई यौनकथा पनि भन्नेहरू ! हाम्रा तल्लोस्तरका टिप्पणीहरूले लेखक मुना चौधरीको सामाजिक जीवनमा कस्ता प्रभाव पारिरहेका छन् ? उनमा जन्मेको विचलनको आकलन गर्नेचाहिँ हामी कसले हो ? पश्चाताप र हाम्रा टिप्पणीहरूको दोहोरो चपेटामा परेर मुना चौधरी सुखरीको बाटोमा भाँसिइन् भने दोषी को-को हुने हौँ ? कुरा स्पष्ट गरौं । #बाबु साहेब #मुना चौधरी
कति झुन्डिराख्छस् फेसबुकमा ?: “कति झुन्डिराख्छस् फेसबुकमा ? केही काम छैन ?” आजभोलि धेरैले मलाई गर्ने प्रश्न यिनै हुन् । बेला बेलामा मैले पोस्ट गरिराख्ने स्टाटसहरूका आधारमा मानिसहरू मलाई यसरी “जज” गर्ने गर्दछन् । तर के मैले उनीहरूले सोचेझैं सामाजिक संजाललाई “काम न काज”सँग प्रयोग गरिरहेको छु त ? मलाई आफ्नो लेखनकर्मलाई सहयोग पुग्ने हिसाबले पाठकसँग नजिक हुन, आफ्नै समवयका साथीहरूका पीरमर्का बुझ्न र विषयवस्तुबारे थाहा पाउन सामाजिक संजालले सघाएको छैन र ? हात्तीलाई पेटमा मात्र छामेर हात्ती भित्तोजस्तो हुँदो रहेछ भन्नेहरूलाई सामजिक संजालको यो पाटोको ज्ञान नै कहाँ र ! हामी आजकल धेरै समय सामाजिक संजालमा बिताउँछौँ । फेसबुक, ट्विटर, इन्स्टाग्राम अनि टिकटक हाम्रा जीवनशैली बनिसकेका छन् । हामी एक घण्टा कुनै किताब पढ्यौं भने कति धेरै पढिएछ भन्ने ठान्दछौं । तर चार घण्टा च्याट गरेर बस्यौँ भने कति छिट्टै मोबाइलको चार्ज सकिएछ भनेर दिक्क मान्दछौँ । हामी धेरैलाई आजभोलि इन्टरनेट नै फेसबुक भएको छ, इन्टरनेट नै युट्युब भएको छ । तर इन्टरनेटको महत्व कति छ, र यसको उपादयता कति छ भनेर के हामीले आफूलाई जिज्ञासु बनायौं त ? फेसबुक धेरै चलायो भनेर अरूलाई खिस्याउनेहरू पनि फेसबुकमै भेटिन्छन् । टिकटकलाई उडाउनेहरू पनि टिकटकका भिडियो हेरेर रमाइलो मानिरहेका भेटिन्छन् । यदाकदा मान्छेहरूले भनेको सुन्न पाइन्छ, कति धेरै फेसबुक चलाउँछ यो, बिग्रिने भयो । कामै यसको त टिकटक बनाउने छ, बिग्रिसकी । कोही युट्युबले ‘बिग्रिन’ आँटेका छन् भने कोही इन्स्टाग्रामले । तर हरेकपटक नयाँ नयाँ प्रविधि हामीलाई बिगार्न हैन सपार्न आएका हुन्छन् । यो हामीलाई ज्ञान हुँदैन । सुरेश बादल हामी सानो छँदा रेडियोको मुन्तिर बसेर पढिरहेका हुन्थ्यौं । त्यतिबेला ध्यान जत्ति सबै रेडियोतिर हुन्थ्यो अनि हामी किताबको एउटै पाना समाएर अल्मलिरहेका हुन्थ्यौं । त्यतिबेला हामी बिग्रिने गर्थ्यौं । तर रेडियोले दिएका सूचना, ज्ञान र मनोरन्जन के हामीलाई स्कूले कोर्सका किताबहरूले मात्र दिन सक्थे र ? रेडियो नभएको भए कहाँ सुन्थ्यौं होला हामी साना हुँदा इजरायल र प्यालेस्टाइनको युद्ध र संकटका कुरा ? फ्रान्सका राष्ट्रपति ज्याक सिराक र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनका बारेमा रेडियो सुनेरै ठूला भएका हैनौं र हामी ? रेडियो नहुँदो हो त सुनौलो गुलाफ र संगिनी सुईका बारेमा कहाँ थाहा पाउँथे होला र दूरदराजका महिलाहरूले । रेडियोले नै त हो नि हामीलाई साथीसँग मनका कुरा गर्न सिकाएको । युवा र किशोर अवस्थाका जिज्ञासा र खुल्दुलीहरू मेटाएको । समयसँगै हामीलाई बिगार्न भनेर टिभी आयो । हामी टिभी हेर्दा होमर्क गर्न बिर्सिन्थ्यौँ । लेख्न पढ्न बिर्सिन्थ्यौं । टिभीमा आउने फिल्म, टेलिफिल्म अनि गीतहरूले हाम्रा उत्पादनशील समय कब्जा गरिदिन्थे । तर आजभोलि लकडाउनका कारण टेलिभिजनहरूले विभिन्न कक्षाका पाठ्यसामग्री देखाइरहेको, अडियो भिजुअल कक्षा संचालन गरिरहेको देख्दा प्रविधि कहिल्यै दोषी हुँदैन, प्रयोग गर्ने ढंग हाम्रो कस्तो छ त्यसले हो बिगार्ने कि सपार्ने भन्ने यथार्थको महशुस गराएको छैन र ? टिभीले हामीलाई रारा ताल देखाएन र ? हिँड्न नसक्नेहरूलाई दृश्यमार्फत् नै गोसाईकुण्ड घुमाएन र ? कुवाको भ्यागुतोझैं आफनो घर गाउँमा बसेकाहरूलाई सारा संसार देखाएन र ? हामीकहाँ आजकल ‘युटुबे’हरूको आतंक छ । भाइरल गराएर पैसा बटुल्ने चाहनामा, भ्युज बढाएर डलर कमाउने आशामा आजभोलि समाचार र सूचना हैन काण्डहरू प्रसारित भैरहेका छन् । हामी केही युट्युबरका प्रोपोगान्डाबाट दिग्भ्रमित हुँदैछौँ भने केही चाहिँ तीनै युट्युबरलाई गाली गरेर बसिरहेका छौँ । के हामीले कहिल्यै पनि युट्युबमा इतिहासका चाखलाग्दा विषयहरूका बारेमा बनेका डकुमेन्ट्रीहरू हेर्यौं ? के हामीले नयाँ नयाँ परिकारहरू पकाउने विधिहरू सिक्यौं ? युट्युब हेर्दै तपाईं भिडियो एडिट गर्न सिक्नहुन्छ, सिनेमा बनाउन सिक्नहुन्छ, कसरी इजरायलले आधुनिक खेती गर्यो, अस्ट्रेलियामा कसरी पशुपालन गरिन्छ, ब्युटी पार्लर जान नसकेको अवस्थामा कसरी शृंगार गर्न सकिन्छ, के हामीले कहिल्यै युट्युबलाई यसरी उपयोग गर्यौँ त ? हामी फेसबुकलाई च्याट गरेर समय नाश गरेकै आधारमा गाली गरिरहेछौं । रातदिन च्याट गरेर अर्काको श्रीमती फकाउने, फेक आईडी बनाएर कसैलाई ठग्ने इत्यादी गरेकै अधारमा फेसबुक कहाँ अभिशाप हुन सक्छ र ! यसले त हामी विभिन्न खण्ड-खण्डमा बाँडिएकाहरूलाई एउटा समाजमा ल्याएर राखिदिएको छ । आज सामाजिक संजाल नहुँदो हो त, फेसबुक नहुँदो हो त, कसले कल्पना गर्न सक्थ्यो र निम्न वर्गले पनि आफ्नो सशक्त आवाज उठाउन सक्छ भनेर । सन् २०१० को ट्युनिसियाबाट शुरु भएको अरबको क्रान्तिमा, इजिप्टका होस्नी मुबारक, लिबियाका गद्दाफीहरूले वर्षौं पुरानो शासन त्यही एउटा फेसबुक स्टाटसले शुरु गरेको क्रान्तिकै कारण छोड्नु परेको हैन र ? आजकल हरेक मान्छे आफैँ पत्रकार भएको छ । आफैँ सामाजिक अभियन्ता भएको छ । ब्लग लेखेर आफैँ लेखक, सम्पादक र प्रकाशक भएको छ । प्रविधिको शक्तिले हामीलाई व्यक्तिगत तवरमा बलशाली बनाएको छ । हिजो चिया अड्डामा चल्ने गन्थनहरू आजकल च्याटरुमका कारण झन् सजिला भएका छन् । यही लकडाउनकै अवधिमा पनि ठूल्ठूला होटलका सेमिनार हलमा हुने गरेका भेलाहरू “जुम”का वेबिनार बैठकहरूमा सम्भव भएका छन् । फेसबुक केटाले केटी खोज्ने र केटीले केटा रोज्ने थलो मात्र हैन । यो त तपाईंले आफूलाई चिनाउने मन्च पनि हो । फेसबुक नहुँदो हो त म आफैँले पनि आफ्नो लेखन क्षमता यति चाँडो र यति सघन ढंगले ठूलो जनमानसमा पुर्याउन समय लाग्थ्यो होला । इन्स्टाग्राम पनि केवल आफ्ना फोटाहरू टाँसेर अलि अलि आएका लाइकहरूमा दङ्ग पर्दै आत्मरतिको आहालमा डुबुल्की मार्ने बहाना मात्र हैन । तपाईं कलात्मक फोटोग्राफी गरेर मिल्दो, सुहाउँदो अनि सटिक ह्याशट्यागहरू राखेर आफ्नो कलालाई सिमाना नघाउन सक्नु हुन्छ । के टिकटक गीतका बोलहरूमा ओठ चलाएर लिपसिंक गर्दै यस्सै आफैँ रमाएर बस्ने भाँडो मात्र हो त ? यसले आफूलाई ब्राण्डिंग गर्न पनि त मद्दत गर्दछ । तपाईंलाई आफ्नो व्यवसाय बढाउन कुनै सेलिब्रिटीबाट विज्ञापन गराउनु पर्दैन । टिकटकमा आफ्नो सिर्जनशीलता प्रदर्शन गरेर आफूलाई आफैं सेलिब्रिटी बनाउन सक्नुहुन्छ, आफ्नो व्यवसाय प्रबर्धन गर्न सक्नु हुन्छ । चोयाका सजावट सामाग्रीहरू, बाँसका सामाग्रीहरू कलात्मक तवरले बनाएको सटिक भिडियो टिकटकमा राखिदिनुस् त, कति अर्डर आउँदोरहेछ, थाहा पाउनु हुनेछ । थरिथरिका डिजाइनमा लुगा सिलाएको देखाउनुस् त, कसरी कुशल फेसन डिजाइनरमा दरिनु हुनेछ थाहा पाउनु हुनेछ । नाच्न, अभिनय गर्न यदि आफूमा त्यो फरक कला छ भन्ने विश्वास भए तपाईंको प्रगतिलाई कसैले रोक्न सक्दैन । तपाईंलाई स्वान्तसुखायकै लागि, आफ्नै खुशीका लागि मात्र चलाउने रहर हो भने, चलाउनुस् तर आफ्नो सिर्जनात्मक समय खेर नफ्याँकी । प्रयोगकर्ताको प्रयोजन र उद्धेश्य बरु खराब हुन सक्ला, तर प्रविधि कहिल्यै आफैंमा खराब हुँदैन । #सुरेश बादल
महिला बनेर युएईका तीन सयभन्दा बढी स्टेजमा नाँचेका पुरुषको कथा\xa0: कुबेर राईले गाएपछि कोही अर्कै गायक स्टेजमा आयो । उसको गीत रक्सी पिएपछिको मात लागे झैँ कुबेर दाइको जस्तो थिएन । बरू हातका औंलाहरू गीतको मादकतामा आफसेआफ चले झैँ लाग्ने । निदाइरहेका पैतालाहरू एक्कासि उठेर हिँडे झैँ लाग्ने, कुनै पूर्वेली लोकधूनमा कम्मर मर्काउँदै-मर्काउँदै आइन् ऊसँगै एउटी सुन्दरी …! जीवित खड्का मगर आफ्नो आँखा अलिक लोभी छन्, सुन्दर मान्छे देख्यो कि फलामका मसिना टुक्रा-टुक्राहरू आफूसँगै तानिरहने चुम्बकजस्ता । छि: कस्तो लोभी आँखा के मेरा ? कत्तिखेर फुत्त निस्केर मेरै अनुहारबाट उनै युवतीको हात समाइ छमछम नाँच्न पुगिसकेछ । मुकदर्शक म, मेरै आँखा नाँचिरहेको हेर्दै थिएँ, कसैले मलाई कोट्याए झैँ लाग्यो, मित्र शिशिर रहेछन्- “सरकार ! त्यो आइमाई बनेर स्टेजमा नाँच्ने केटामान्छे हो नि !” (नामको बदलामा ‘सरकार’ सम्बोधन गर्ने शिशिरको बानी) “हँ…., के भन्नुन्छ ?” — म झस्किएँ “नपत्याए चन्द्रलाई सोध्नूस !” गत फेब्रुअरी ७ तारिखका दिन, किराँत-राई यायोख्खा, शाखा युएईले आफ्नो यले सम्वत् ५०८० सालको उपलक्ष्यमा आबुधाबीको कुनै एउटा हलमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । म गएँ साथीहरूको पछि, साथीहरू मनोरञ्जनको पछि । असलमा म जानूको रहस्य थियो कुबेर राईको पछि । साथीहरू पूल भैदिए मैले सहजै माइखोला पार गरेँ । कुबेर दाइको गायनले मात्रै नभई उनले बाँचिरहेको सादगी जीवनबाट समेत प्रेरित म; त्यसैले उनलाई हेरूँ लाग्यो, देखूँ लाग्यो, यही भएर देख्नै गएँ । यहाँ दुई-पाँच हजार मान्छेले चिन्नुमात्रै पर्छ, एउटा कलाकारले आफ्नो लाइफ स्टाइलमा पूरै युरिया खनाइदिन शुरु गर्छ, कहाँको अर्गानिक कलाकार पाउनू ? उनमा भने त्यसो थिएन, गाउँकै पारा । गाउँकै सुवास । तर यो सब भईकन यो कुरा दुखको साथ भन्नुपर्छ; कुबेर, राष्ट्रव्यापी आधुनिक गायन प्रतियोगिता- २०५२ सालमा प्रथम भएको गायक (अहिलेका शिखर गायक रामकृष्ण ढकाललाई पछारेर), त्यसपछि भने उनको संगीतयात्रामा प्रथम त के कुरा, दोस्रा-तेस्रासम्म भएनन् । होला, यिनको आफ्नै व्यक्तिगत कमजोरीहरू पनि तर उनको प्रतिभालाई राष्ट्रले नचिनेकै हो भन्छु म । ओहो… कुबेरको कुरा गर्दैगर्दा गर्ने कुरा गर्नै बिर्सेछु, अब गर्छु- आजभन्दा झण्डै अठार वर्ष पहिले लमजुङ जिल्ला, अर्चलपोट गाउँको गुरुङबस्तीबाट आकाशमा उडेको एउटा जहाज युएईमा ल्याण्डिङ गर्यो । जहाजबाट ओर्ल्यो युवक र होटेलमा काम पायो, तर कैदी भएर त्यो युवक चारदिबारभित्र हराउन चाहादैनथ्यो । ऊ उन्मुक्त आकाशमा चराहरू झैँ उड्न चाहान्थ्यो । मान्छेले चराहरूको आकाश हेरेर आनन्द लेऊन् भन्ने चाहान्थ्यो । हो, खास कुरा ऊ नाँच्न सिपालु, नाँच्न चाहान्थ्यो | युएईभरि नाँचेर नाम कमाउन चाहान्थ्यो । ऊ जान्ने भएदेखि नै नाँच्न थालेको रे ! र, मसित कुरा गर्दागर्दै उसले यतिबेला भने आफ्नो बाल्यकाल सम्झेको छ-“मेरी आमा आफ्नो जमानाकी कुशल नृत्याङगन्ना, गाउँठाउँमा कहलिएकी, त्यसैले आमा नै मेरो गुरुआमा । आमाबाहेक मैले कहीँ कतै नृत्यसम्बन्धि तालिम नलिईकन आज म जहाँ छु आमाकै आशिर्वादले छु । अँ, म सानो छँदा खुब नृत्य प्रतियोगिता भैरहन्थ्यो स्कूल-स्कूलहरूमा । यहाँसम्म कि निकै टाढा-टाढासम्म जानुपर्दथ्यो । म हिँड्न सक्दिनथेँ, गुरुहरूले बोकेर लैजानुहुन्थ्यो मलाई । स्कूलमा म कहिले दोस्रो भइनँ । उतिबेलै बालकलाकार भएर म लमजुङभरि फैलिएको थिएँ ।” सपना देख्नु मात्रै पर्छ, मान्छेलाई सपनाले आफैँसँग दोहोर्याउँछ । भयो पनि त्यस्तै । अन्ततः उसको सपनाको शुरूवात त्यसदिन भयो, जब सन् २००५ मा, तमु समाज युएईले आयोजना गरेको एक कार्यक्रममा पहिलोपटक उसले स्टेजमा खुट्टा उचाल्यो । अनौठो कुरा यो थियो कि, एउटा युगल गीतमा महिला भएर नाच्नुपर्ने । जोडी साथीले उसलाई अनुरोध महिला कलाकार नपाएर गरेको रहेछ । उक्त नृत्यपछिको प्रतिक्रिया उसले यसरी भन्छ- “सुरुमा अप्ठ्यारो महसुस गरेँ, यद्यपि साथीको अनुरोधलाई हार्न सकिनँ । तर हाम्रो नृत्यपछिको त्यो माहौल यसरी तात्यो कि म शब्दमा भन्न सक्दिनँ । त्यसपछि मेरो व्यस्तता बढ्दै गयो । युएईका हरेक संघसंस्थाहरूले निम्तो दिन थाले । बिडम्बना ! म आफ्नो असली परिचयसहित नाँच्नै पाइनँ । महिलाको भेषमा स्टेजमा उक्लेपछि चौतर्फी प्रशंसा र वाहवाहीमै आनन्द आउन थाल्यो मलाई ।” अठार वर्ष पहिले होटेलमा काम गर्न आएको त्यही युवक, उसले आज युएईका विभिन्न सहरमा तीन सयभन्दा बढी स्टेजमा आफ्नो कला देखाइसकेको छ । यहाँसम्म कि, नेपाली संघसंस्थाहरूमा मात्रै नभएर युएईको राष्ट्रिय दिवसमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा होस् या बहुराष्ट्रिय कम्पनीहरूले आयोजना गरेको अन्तरदेशीय सांस्कृतिक कार्यक्रमहरूमा समेत नेपालको प्रतिनिधित्व गर्दै मौलिक नृत्य प्रस्तुत गर्ने अवसर पाएको छ । अँ, अब सस्पेंस खोलूँ क्यार ! विगत पन्ध्र वर्षदेखि महिला बनेर नाँच्ने चर्चित कलाकार हुनुहुन्छ लमजुङका दीपक गुरुङ । किराँत-राई यायोख्खाको कार्यक्रममा उहाँको नृत्य हेरेपछि मैले दीपकजीको फेसबूक आइडी खोजेँ-भेटाएँ, केही लेखूँ लाग्यो र केहीदिन च्याट गरेँ । छुट्नेबेलामा, मेरो अन्तिम प्रश्न थियो- “तपाईं दीपक बनेर स्टेजमा कहिले देखिनुहुन्छ ?” “कहिले दीपा, कहिले दीपिका, कहिले फुलमाया र कहिलेदिलमाया बन्दैमा फुर्सद छैन मलाई | खोइ ! कहिले हो कहिले … हाहाहाहा !!” #जीवित खड्का मगर #दीपक गुरुङ
युट्युबबाट चित्रकला सिकेकी शर्मिलाका परिपक्क स्केचहरू\xa0: स्याङ्जाकी शर्मिला खनालले अहिलेसम्म चित्रकलाको कुनै औपचारिक प्रशिक्षण लिएकी छैनन् । उनी स्वअध्ययन, लगनशीलता र मेहनतले निकै सुन्दर मुहार स्केचहरू गर्छिन् । शिक्षाले म्यानेजमेन्टको विद्यार्थी हुन् उनी । हाल पृथ्वीनारायण क्याम्पस, पोखरामा अध्ययनरत शर्मिला खनालको स्केचमा परिपक्व आर्टिष्टको छनक पाइन्छ । जीवित खड्का मगर ‘कुनै औपचारिक ज्ञान नलिई, कसैलाई गुरु नमानी, यो कसरी सम्भव छ ?’, भनेर सोध्दा उनले भनिन्- ‘मलाई सानैदेखि चित्रकलामा रूचि थियो । तर औपचारिक रूपमा चित्रकला सिक्ने कुनै श्रोत पाइराखेकी थिइनँ मैले । चित्र भने कोरिरहन्थें । १२ कक्षाको परीक्षा दिएपछि, स्केचमा बढी ध्यान दिन थालेँ । कसरी जान्ने ? कसरी सिक्ने ? मभित्र अनेकन तर्कनाहरू आइरहन्थे । यस्तैमा एकदिन आइडिया आयो- युट्युब हेर्ने । युट्युब हेर्दै म घन्टौंसम्म अभ्यास गरिरहन्थें । कयौंपटक त समयमा खान बिर्सेकी छु । समयमा सुत्न बिर्सेकी छु । यद्यपि, अहिले पनि यो क्रम चलिरहन्छ । लगत्तै, स्केच आर्टिष्ट कृष्ण मर्सानी सरसँग फेसबुकमा एड भएँ, पछि भेटेँ पनि । उहाँ नै पहिलो प्रेरित व्यक्तित्व हुनुहुन्छ मेरो । यसरी फेसबुकमा अन्य आर्टिष्ट साथीहरूसित पनि जोडिइरहेकी छु । नयाँ नयाँ कला, नयाँ नयाँ ज्ञानगुन र उहाँहरूबाट सुझाव-सल्लाहहरू पाइराखेकी छु । त्यसो भएर स्केचमा धेरै सुधार आएको छ भन्ने लाग्छ । उप्रान्त पढाइ र चित्र सिर्जनालाई सँगसँगै अगाडि बढाउने विचार छ । त्यसो त अचेल चित्र स्केच गरेर अलि-अलि आम्दानी पनि गर्न लागिरहेकी छु ।’ अत्यन्तै मेहनेती, शर्मिला बहिनीको इच्छाशक्ति र लगनशीलता देखेर मलाई महान विचारक शिव खेराको भनाइ साभार गर्न मन लाग्यो- ‘जित्नेले छुट्टै काम होइन, हरेक काम छुट्टै ढंगले गर्छ ।’ अब हेरौं, शर्मिला खनालका पेन्सिल स्केचहरू- #जीवित खड्का मगर #शर्मिला खनाल
निबन्ध प्रतियोगिताको अन्तिम म्याद साउन १५ सम्म: महाकाली नदीको उद्गम भूमि लिम्पियाधुरासहितको ३ सय ३५ वर्ग किलोमिटर नेपालको नक्सामा पहिलोपटक समेटिएको छ । जेठ ५ गते नेपाल सरकारले आधिकारिक रुपमा यसको निर्णय गरेको हो । सीमा क्षेत्रमा वर्षौंदेखि थिचोमिचो सहेका नागरिकका विषयमा दर्जनौँ पुस्तक लेखिएका छन् । सयौँ लेख लेखिएका छन् र हजारौं जनताले दुःख सहेका छन् । यसका कथाहरु अनगिन्ती छन्, जसलाई संकलन गर्न सकिएको छैन । वषौँदैखि मिचिएको भूमि नक्सामा समेटिनु भने स्वागतयोग्य कुरा हो तर यसलाई प्राप्त गर्न राजनैतिक र कूटनीतिक दुई खाले गम्भीर तत्परताको खाँचो छ । यसका लागि सबै नेपाली एकजुट हुनु अहिलेको आवश्यकता हो । एकजुट हुने हो भने मिचिएको भूमि प्राप्त गर्न गाह्रो छैन । किनभने सम्पूर्ण ऐतिहासिक दस्तावेजहरु नेपालका पक्षमा छन् । केवल नेतृत्वले खुट्टा कमाएका कारण यो मुद्दा पछाडि धकेलिएको मात्र हो । केहीलाई लाग्न सक्छ, भारतसँग हामीले किन निहुँ खोज्ने ? हामीले निहुँ खोजेका होइनौँ, आफ्नो अधिकार मागेका हौँ । हजारौँ नेपालीहरुले गोर्खा रेजिमेन्टभित्रको अङ्ग भएर भारतका लागि लडाईँ लडेका छन् । अंग्रेजका लागि हजारौँ र स्वतन्त्र भारतका लागि पनि सयौंले ज्यान दिएका छन् । आज आफ्नो हक माग्दा ऊसँग दुश्मनी गरेको कसैगरी पनि ठहर्दैन । बरु चुप लागेर बस्नु हाम्रो निरीहता झल्कन्छ । यसका लागि सबैले आ–आफ्नो पक्षबाट काम गरिरहेका छन् । हामी लेखक–कविहरुले अक्षरबाट हाम्रो लडाईंलाई जारी राख्नेछौँ । यो लडाईं यतिबेला अझ बढी आवश्यक र मुखर चाहिएको छ । यसका लागि साहित्यपोस्ट र शिखा बुक्स पब्लिकेसन्सबीच एउटा निबन्ध संग्रह प्रकाशन गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार नेपाली वीरता, सौर्य र स्वतन्त्रताका विषयमा लेखिएका २० वटा निबन्धहरुको कृति २०७७ सालको बडा दसैंको अवसर पारेर प्रकाशन हुनेछ । यी निबन्धहरुमा सीमा अतिक्रमण, सिमानाका जनताले पाएको दुःख, नेपाली नेताहरुको निरीहपन, गोर्खा सैनिकको वीरता, ऐतिहासिक तथ्य र त्यसको विश्लेषण, ठूला देशले साना देशलाई गर्ने व्यवहारहरु, शक्ति र सत्ताको बलमा तथ्यहरुको ठाकछोप गर्ने प्रवृत्ति, छिमेकी राष्ट्रहरुले बेलाबेलामा छर्ने भ्रमहरु, विदेशमा भइरहेको सीमा विवाद र त्यसबाट पार पाएका ऐतिहासिक अनुभव आदि विषयमा लेखक–कविहरुका आलेख, निबन्ध, अनुभूतिहरु समेटिनेछन् । यस अभियानमा सबै लेखकहरुको सक्रिय सहभागिताको आशा राखिएको छ । यसमा देशका प्रतिष्ठित निबन्धकारहरुका रचना त समेटिने छन् नै, पाठकहरुबाट आएका रचनाहरु पनि सहभागी गराइने छन् । यसका लागि हामीले केही नियमहरु बनाएका छौँः १) यो अभियानमा सहभागी हुन पठाइने निबन्ध २ हजार ५ सय शब्दभन्दा लामो बनाउन पाइने छैन । २) प्राप्त निबन्ध निम्नलिखित विषयमध्ये एकमा केन्द्रित हुनुपर्नेछः क) नेपाली सीमाका पीडा ख) अतिक्रमित नेपाली भूमिका ऐतिहासिक दस्तावेज ग) नेपाल एकीकरणका लागि नेपाली सेनाले देखाएको कौसल र युद्धरणनीति घ) अंग्रेज र भारतीय सेनामा गोर्खाली सेनाले देखाएको बहादुरी र पीडाका गाथाहरु ङ) छिमेकीको होचो अर्घेलो च) नेपाली नेताको निरीहपना छ) दासता नभोगेको देश नेपाल ज) पदका लागि देशको बलिदान झ) भौगोलिक चेपले दिएको सौन्दर्य र कुरुपता ञ) सानो नेपालभित्र ठूलो भारत आदि । (यो शीर्षक होइन, केवल विषय हो ) ३) पुस्तकमा २० वटा निबन्ध समावेश गरिनेछ । लेखकले आत्मपरक वा वस्तुपरक जुनसुकै शैलीमा कलम चलाउन स्वतन्त्र हुनेछन् । दुवै थरिका निबन्धमा तथ्य र कलाको मिश्रणको अपेक्षा भने गरिनेछ । ४) पुस्तक २०७७ सालको बडा दसैंको उपलक्ष्यमा शिखा पब्लिकेसन्सबाट प्रकाशन हुनेछ । ५) पुस्तकमा समावेश भएका निबन्धका प्रत्येक निबन्धकारहरुलाई आकर्षक पारिश्रमिक उपलब्ध गराइनेछ । ७) पुस्तकमा उत्कृष्टतम रचनाहरु मात्र प्रकाशन हुनेछन् । पुस्तकमा समावेश हुन नसकेका अन्य स्तरीय रचनाहरु भने क्रमशः साहित्यपोस्टमा प्रकाशन हुँदै जानेछन् । ८) पुस्तकलाई अडियो र इबुकमा पनि प्रकाशन र प्रशारण गरिनेछ । अडियो र इबुकको अधिकार साहित्यपोस्टमा रहनेछ भने छापा–पुस्तकको अधिकार शिखा बुक्समा रहनेछ । ९) पुस्तकका लागि भनेर पठाइएका रचना अन्य पत्रपत्रिकाहरुमा दिन पाइने छैन । १०) सङ्ग्रहमा बढी भन्दा बढी युवा पुस्ताका लेखकहरुको रचना परुन् भन्ने हाम्रो चाहना छ । यद्यपि देशका स्थापित लेखकहरुबाट आएका रचनाहरु पनि यसमा समेटिने छन् । पुराना पुस्तासँगै नयाँ पुस्ताको संलग्नताले राष्ट्रियताको साहित्यिक लडाईँ बलियो हुनेछ भन्ने हाम्रो विश्वास छ । ११) साउन १५ गतेसम्म साहित्यपोस्टको इमेल [email protected] मा आएका रचनालाई मात्र यो प्रतियोगितामा समावेश गरिनेछ । विषयमा स्पष्टसँग ‘निबन्ध प्रतियोगिता’ उल्लेख गर्नुपर्नेछ । १२) पुस्तकका लागि रचनाको छनोट स्वतन्त्र र विज्ञ साहित्यकारहरुबाट गरिनेछ । यसमा साहित्यपोस्ट र शिखा बुक्सको कुनै पनि हात रहने छैन । आउनुहोस्, राष्ट्रियताका लागि लेखेर योगदान दिऔँ ।
महामारी झल्काउने कला: महामारी र विश्वव्याधि मानव जीवनमा सदियौँ र हजारौँ वर्षदेखि छ भन्ने कुरा हाम्रो जीवनशैलीबाट थाहा हुन्छ। सरसफाईलाई हाम्रा सबै धर्मशास्त्रहरूले निकै महत्त्व दिएको खास कारण महामारी र सरूवा रोग नै हुन्। हिन्दु धर्ममा बिहान सबेरै उठ्नु, शौच गर्नु, स्नान गर्नु, खाना खाँदा ओप्सानी हाल्नुजस्ता कुरा सरसफाईसँगै सम्बन्धित कुरा हुन्। मुस्लिमहरूले पनि दिनमा चार पटक प्रार्थना गर्छन् र हरेक पटकको प्रार्थनामा सरसफाईलाई प्रमुखताका साथ महत्त्व दिइएको पाइन्छ। यस्ता उदाहरण अन्य धर्मशास्त्रमा खोज्दा पाइन्छ। मैले यहाँ चर्चा गर्न खोजेको भनेको महामारीको आतंक साहित्यमा मात्र सीमित थिएन। महामारीका बारेमा इतिहासमा उल्लेख भएका कयौँ घटनाहरू छन्। तिनलाई पछि साहित्यले पनि ठाउँ दियो। तर चित्रकार र कलाकारहरूले पनि त्यस क्षणलाई कैद गर्न कुनै कसर छाडेका छैनन् र तीमध्येको एउटा दृश्य यही हो, जसलाई Gaetano Giulio Zumbo (1656-1701)ले जीवन्तता दिएका छन्। इटालेली मूर्तिकार गेटानो गिउलियो जुम्बो १६५६ मा जन्मिएका थिए। बारोक युग भनेर चिनिने समयमा उनले मैनबाट निर्माण गरिने मूर्तिहरूलाई लोकप्रिय बनाएका थिए। उनको मूर्तिकलालाई हिजोआज वैज्ञानिक नमूनाका रूपमा मात्र होइन, त्यो समयको जिज्ञासु कालका रूपमा पनि हेर्ने गरिन्छ। उनका सिर्जनामा मानिसका अंगप्रत्यंगलाई सजीव बनाइएको पाइन्छ। उनले यस किसिमको मूर्तिकला कुनै गुरू थापेर सिकेका थिएनन्, आफैँ सिकेका थिए। मैनको रंगीन मूर्ति बनाउने र त्यसलाई लोकप्रिय गराउने मूर्तिकारका रूपमा पनि उनलाई चिनिन्छ। उनको कामलाई फ्लोरेन्सको टक्सनीस्थित ग्रान्ड ड्युकले यति रूचाए कि उनलाई आफ्नो छत्रछायाँमा राखेर मूर्तिहरू बनाउन लगाए। उनले बनाएका मूर्तिहरूमध्ये शृंखलाबद्ध पाँच मूर्ति निकै चर्चित मानिन्छ। यी कलाकार कति रहस्यमयी छन् भने २०१३ मा रूपर्ट थम्सनले त उनैलाई प्रमुख पात्र बनाएर ‘सेक्रेसी’ उपन्यास नै लेखे। खैर, यहाँ बताउन खोजेको चाहिँ यो चित्रले त्यो बेलाको अन्योलपूर्ण अवस्था, मृत्युको भय र विभत्सता प्रकट गरेको छ। उनी जन्मनु केही वर्षअघि (१६२९-१६३१) इटालीभरि प्लेगको महामारी फैलिएको थियो। जसका कारण त्यस अवधिमा २ लाख ८० हजारभन्दा बढी मानिसको ज्यान गएको थियो। उनी जन्मिएकै साल पनि इटालीको दक्षिणी भेग नेपल्समा फैलिएको महामारीका कारण साढे १२ लाख मानिसको ज्यान गएको थियो। सन् १६५६ मा फैलिएको नेपल्स महामारीका बारेमा बनाइएको चित्र त अद्भूत नै देखिन्छ । त्यहाँ सो महामारीका बेला रोगीहरूलाई गरिब बस्तीमा पठाउने र रोग नलागेका धनीहरूलाई एउटा बेग्लै व्यवस्थाका साथ राखिएको थियो। खासगरी गरिब बस्तीमा महामारी फैलिएका कारण पनि गरिब बस्तीका मानिसहरूलाई मुख्य चोक, धनीमानी हिँडडुल गर्ने ठाउँमा आउजाउका लागि प्रतिबन्ध लगाइएको थियो। सोही भयावह दृश्य यस दृश्यले पस्किएको छ। एउटा भनाइ नै छ, जब जब महामारी फैलिन्छ- महान् सभ्यताहरू ढल्छन्। रोमन साम्राज्य ढल्नुको मुख्य कारण बेलाबेलामा फैलिने यस्ता महामारी पनि एक हो भन्ने धारणा राख्ने इतिहासकारहरूले त्यसबारेमा त किताब नै लेखेका छन्। ‘द फेट अफ रोमः क्लाइमेट, डिजिज एन्ड इन्ड अफ एम्पायर’ पुस्तकमा काइल हार्परले सोही कुरालाई जोड दिएका छन्। #अदृश्य
मेरी दोस्री आमा: आँखा चिम्लेर एकछिन आमा नभएको, आमाको न्यानो काख गुमेको कल्पना गर्दा साँच्चिकै मन छियाछिया भयो । चिम्लिएका आँखाहरू अनायाशै रसाए । मुसलधारे पानीमा शरीर भिजेकोजस्तो प्रतित भयो । टाउकोभित्र सारा संसारले एकैपटक थिचेजस्तो, फिल्महरूमा हुने ठूला ठूला युद्घ, बम र बारूदका आवाजहरू आएजस्तो साँच्चिकै मन यसरी अत्तालियो कि के गरुँ के नगरुँजस्तो , यो धर्तीमा टेकेजस्तो नटेकेजस्तो , आँधिबेहेरीजस्तो वेग सहित कताकता भूमरीमा परेजस्तो । दशैंका दिन खोला पार गर्न फड्के पार गराई हजुरआमाले अँसुरोको फूल खेलाउन दिइ पुनः दिदीलाई फड्के तार्न खोज्दा चिप्लिएर ८।९ महिनाको दुधे बच्चा छँदै आफ्नी आमालाई गुमाएकी मेरी आमाको कहानी सुन्दा लाग्छ मेरी आमाले आमाको वास्सल्य प्रेम कस्तो हुन्छ भन्ने अनुभूती गर्नै पाइनन् । आमाको अत्यन्तै कष्टप्रद, दुःखदायी दिनहरू बितेको कुरा कोही कसैले सुनाउँदा पनि आमाकाप्रति व्यक्त गर्ने शब्दनै पाउँदिन । जीवनमा धेरै संघर्ष ,दुःख र पीडाबोध गरेकी मेरी आमाले खुशी, शुख, र आनन्दको बसाई कस्तो हुन्छ भन्ने अनुभूति सायदै गरेकी छैनन् । तरपनि आफ्ना पीडाहरूलाई छाँयामा राखेर मेरी आमाले छोराछोरीको मुस्कानलाई आनन्द र खुसी ठानिन् । अभावै अभावको जीन्दगीमा केही खुसी बटुल्नको लागि बाबाले ठूलो त्याग र संघर्ष गर्नुभयो । कहिले जंगलमा आरा चलाउने त कहिले मुगलान पसेर २।४ पैसा कमाउने गर्दागर्दै आफ्नो माटोमा बसेर पौरख गर्ने सोचका साथ पसल गर्न थाल्नुभयो । बाबाको एक्लो संघर्षलाई साथ दिनको लागि मेरी आमा पनि सँगै हुनुभयो । गाउँमा अहिलेजस्तो घरघरमा खानेपानी थिएन । खोलाको पानी पिउनुपर्ने बाध्यता थियो । खाना पकाउनको लागि अहिलेजस्तो घरघरमा ग्याँस थिएन आमाले दिनभरी वनमा गएर डोकाभरी दाउरा खोजेर ल्याई सुइय गर्दै पानी समेत नपिई पेटीमा टुसुक्क बस्दै बहिनीलाई अमृत पिलाएको सम्झिँदा त्यतिखेर अरू केही गर्न नसकेपनि आमा तिर्खा लागेको होला ल पानी पिउनुस् भनेर भनेको भए आमाको त्यो हृदय कति रसाउँथ्योहोला । आमाको दिनभरीको थकाई पक्कै पनि एक निमेशमै दुर हुन्थ्यो होला । यस्तै घरघरमा सौचालय थिएन । खोलाको किनारमा कतै छेल पारेर सौचालय जानुपर्ने त्यो पनि झिसमिसेमा । बिहानै झिसमिसेमै उठ्ने सौचालयका लागी खोलामा जाने र फर्केर आउँदा बाल्टीमा खानेपानी ल्याउने बाबाको नित्यकर्म थियो । एकदिन सधैं आउने समयभन्दा अबेर भएको आमाले सोचिरहेकै बेला खोलाको नजिक ठूलो आवाजका साथ पहिरो गएको सुनिसकेपछि आमा झसङ्ग हुनु भएछ र खोलातिर जाने विचार गर्नु भएछ । वर्षाको समय रातभरी मेघगर्जन सहित पानी परिरहेकोले खोला सधैंभन्दा ठूलो आएको रहेछ । आमा बाबालाई खोज्न जाने क्रममा पानी ल्याउने ठाउँमा खाली बाल्टी देख्नुभएछ । अनि शौचालय गर्ने ठाउँतिर पनि सबै सुनसान नै देख्दा अलि आत्तिनु भएछ । यताउती चारैतिर नजर लगाउँदा कतै नदेखेपछि त्यसमाथि अझै पहिरोले खोला झन् यतै यतै आएको देखिसकेपछि मनमा के के अनेकथरी सोच्नु भएछ ओठ तालु सबै चिसा भएछन् । बाल्टी माथि नै छ । शौचालयको लागि आएको मान्छे सौचालय गर्दैगर्दा बढेको खोलाले लगेहोला भन्ने कमजोर अनुमान गरिसकेपछि हिजो ८।९ महिनामा मलाई मेरी आमाले छोडेर गइन । जसोतसो यो जिन्दगी कटाइरहेकी थिएँ । आज मेरा श्रीमानले पनि मलाई छोडेर गए अब म के का लागि बाँच्नु, किन बाँच्नु ? म पनि उनैलाई भेट्न जान्छु यो दुनियाँमा मेरो के नै छ र ? को नै छ र भन्ने अनेकन तर्कनाहरू मनमा खेलाउँदै अब यो संसारबाट टाढा हुन मेरी आमा खोलामा फाल हाल्नका लागि ढुङ्गामा चढिसकेपछि हाम फाल्नै लाग्दा कताकताबाट घरमा सुतिरहेका १ छोरा र २ छोरी सम्झिनु भएछ । हिजो सुत्ने बेलामा बाबाआमासँगै सुतेका छोराछोरी बिहान उठ्दा न बाबा छ न आमा छ, बाबा आमा भन्लान् कसैको आवाज नसुन्दा ती अबोध बच्चाहरूको सहारा को होला, ती केटाकेटी के गर्लान् , उठेपछि के खालान् कसो गर्लान् भन्ने सोचाई अकस्मात् आएपछि त्यो फाल हाल्न उक्लेको ढुङ्गाबाट तल्तिर झरी रन्थनिदैं माथि पानी लिन राखेको बाल्टीनिरै आएर मुर्छित हुनुभएछ । #मेरी दोस्री आमा #हरि चालिसे एबिसी
कर्तुत उसको, क्रन्दन आफ्नाको: आमा जानी नजानी फुँदा गाँसेरै भए पनि कहिले सुनेका, कहिले आफैँ गुनेका कथाहरूका कोक्रामा दुःख पुछिएका मजेत्रो ओढाएर पलेटीका चट्टाने चोटबाट कलिला मस्तिष्क जोगाउन भुस बेरेर बनाइएका पटुकीका सिरानीमा आँखीझ्याले फरिया बिच्छ्याएर मझेरीमा ढल्किँदै तिम्रो समुज्वल स्वास्थ्य र दीर्घायुको कामनामा जाग्राम बसेका यी नयन आज सदाका लागि ज्योति गुमाएर जलबिन्दुले ढाकिदिँदा म दुःखी छैन छोरा ऊ दिनहरूमा तिम्रै लागि भोक प्यास आफैँमा खिचेर निद्रा पस्किएर थालमा जाग्राम बनेका मेरा यी आँखाहरू बरू आज पनि दृश्य खिच्न सक्थे भने म जिउँदै मर्थेँ सायद साँच्चै, ती उँगेका नयनहरूले आज दृश्य गुमाउँदै गर्दा अहोभाग्य मानिरहेछु अहोभाग्य मानिरहेछुु । बुबा वंशको बत्ती निभ्ला भनेर निचोरेर पसिना, कसेर पटुकी एक हल गोरुका ऋण बोकेर जम्मा गरेको बूढ्यौलीको धन पोकोले जसोतसो पूजाका जोरजाम गरी भाकलमा बली चढाएका काला बोकाका श्रापले भत्किएको मेरो भाग्यको पर्खालमा साँच्चै, मर्मतका मलम बोकेर धर्तीमा तिम्रै पहिलो आगमनले फाटेको यो मनमा होलीको उत्सव थपेकै हिजै झैँ लाग्छ तर तोतेबोलीमै तिमी यति ठूला भएर ती लालाबालामाथि पुरुषत्व देखाउने भइसकेको सुन्न नसक्ने गरी हे भगवान्, किन निदाएनन् मेरा कानहरू किन जागे चेतनाहरू ? किन फैलिँदैछन् कपुत लहराहरू किन सुन्यौ वंशका नाममा स्वार्थन्धी धृतराष्टे बनेका मेरा भक्तिहरू । बहिनी कोेरोनाका त्रासले आधा मरिसकेकी म क्वारेन्टाइनका अनेक कहर काट्दै केही दाजुभाइका आश्वासन सुन्दै लडखडाएका योजना बुन्दै दिदीबहिनीका ममताका स्पर्शमा सुन्दर बिहानी मनैमा फुलाउँदै पर्दे भित्तामा भुनभुनाएका भमराबाट जोगिने अनेक उपाय रच्दै विश्वासिला लाग्नेका मनमा आफ्ना त्रासका मलम खोज्दै कोरोनारूपी भोको हुङ्कार कल्पेर जाग्राम बस्थेँ म । आमा र बाबुका पोल्टोमा सिरानी राखेपछि वर्षाैँको तिर्सना मेटाएर जवानीले फक्रँदै स्वदेशको भूमि सिञ्चेर नङ्ग्राले च्यापेका आहारामै झुपडीमा गाँस साटासाट गर्दै बचेरा र उनमै संसार भुलाउने धोको बुनेर सन्त्राससँग पौठेजोरी खेल्दै थिएँ । एकाएक, किन राक्षसी बनेर सिंहनादका हुँकारमा तँछाडमछाड गर्दै लुछिदियौ ? तिम्री धर्तीले नै पोसिएकी थिएँ म उनैका लाम्टा चुसेर रसिली बनेकी थिएँ शिक्षाका उज्याला डालामा चेतनाले टेक्न नभ्याउँदै निमोठी दियौ मुनालाई तिम्रा जवानी हावाका उन्मादले ध्वस्त बनेपछि यो लहरा लहरियोस् कसरी ? मनसँगै गुमे एकमुठी विश्वास हिजै जोडेका काँचा भाँडाझैँ दाजुबहिनीका नाता फुटेपछि जाग्राम बने अविश्वासहरू कलङ्कित दाजुका ध्वनिहरू निराशाका भेलहरू सबैसबै रहरहरू साँच्चै हाम्रा अस्तित्वहरू । #अम्बिका अर्याल #कर्तुत उसको #क्रन्दन आफ्नाको
म नाङ्गै हिँड्नेछु: म दिशा दिशामा छरिएर हुरीझैँ रुमलिएँ भूमरीहरूमा फसेँ । जलेर रौरवको ज्वालामा शेष रहेको मेरो अस्तु स्वीकार्छौ देव ? मलाई स्वर्गको सौरभ नसम्झ । तिमीले सिकाएका कोमल स्वरहरू मैले आफ्नो गलामा भर्न सकिनँ कागझैँ कर्कष स्वर आफ्नो मैले भुलेर भुल्न सकिनँ तिमीले दिएका प्रत्येक क्षमाहरूलाई मैले अवमुल्यन गरेको छु तिमिले दिएको पियुषको प्याला आफुले नपिएर अन्यत्र कतै फालेको छु । म त त्यही पूरानो काग हुँ देव किमार्थ मलाई अबोध नसम्झ । श्रीङ्गारभित्र लुकेको मेरो विरुप अनुहारले अचेल मलाई सोध्न थालेको छ “तिमी आफैँसङ्ग किन भाग्छौ ?“ म डराउँछु प्रश्नहरूले, मेरो आत्मविडम्बना म जल्छु लज्जा बोधले अनि भन्छु आफैँलाई जुनदिन म मेरा सबै ईमान जमान पखालेर छाती साहस ले भर्नेछु जब म आफ्नै भरमा उभिन सक्नेछु र जब आफ्नै आँखाले हेर्न सक्नेछु त्यसदिन म आकासझैँ आवरणविहीन नाङ्गै हिँड्नेछु । #म नाङ्गै हिँड्नेछु #सुबास बजगाइँ
आयु: मुर्दाघरहरू बनाउनुअघि घाटहरू तयार पार्नुअघि चिहानहरू खन्नुअघि लास गन्ने कर्मचारीहरू नियुक्त गर्नुअघि आँधीको बेगसरी आउने घामका किरणहरूभन्दा छिटो फैलिने त्यो कुन भाइरस हो ? सरकार रोकथामको तयारी गर्दै थियो । खानेकुरा सकिए पनि भोकै नबस्नू पैसा नभए पनि खान नछोड्नू मजदुरी गर्न नजानू रोगप्रतिरोधक क्षमता बढाउनू साबुनपानीले हात धुनू घरमै बस्नू ! सरकारले उर्दी जारी गरेकै थियो । सरकारको निर्देशन नमानेर घरबाहिर निस्कने को हो ? को हो त्यो ? जसले सरकारको आलोचना गरिरहेछ ! को हो त्यो ? जस्ले आफ्नो आयु बढाउनलाई सरकारको आयु घटोस् भनिरहेछ ! को हो त्यो ? जसले सरकारसँग गुहार मागिरहेछ ! को हो त्यो ? जसले सरकारसँग आश गरिरहेछ ! को हो त्यो ? जसले कोरोनालाई दोष दिँदै प्राण त्यागिरहेछ ! भोको छु भन्ने को हो ? रोग सार्ने को हो ? सरकारको बिरोध गर्ने को हो ? सरकारले खाद्यान्न र ओषधोपचारको तयारी गर्दैछ । म सरकारको आलोचना गर्दिनँ ! म सरकारको बिरोध पनि गर्दिनँ ! बरू यो क्वारेन्टिनभित्रबाट जूनतारालाई साक्षी राखेर यो धरतीलाई छोएर तातोपानी र जाउलो आउनुअघि सिटामोल र जीवनजल पाउनुअघि सर्पबाट जोगिएर झुल्केघामले देख्नुअगावै म सरकारलाई मेरो आयु दान गर्न तयार छु ! सरकारले भव्य तयारी गरोस् । #आयु #विवेक धिमाल
म हुँ ‘अक्षर’: कोठे जीवन मन पर्दैन किनकिन, लाग्छ साह्रै घिन म हुँ अक्षर, तिम्रो साथ खोज्छ धेरै बेर, मलाई चिन । बाहिरी संसार प्यारो , भित्र हुँदा लाग्छ साह्रै अप्ठ्यारो सुरुमा नाता जोड्न गाह्रो, अनि फुट्छ ज्ञानको मूल धारो । बनि सबैको दर्पणछायाँ घुम्न मन लाग्छ दायाँबायाँ मलाई ठम्याउन, ज्ञान पाउन, देखाऊ ममा सधैं माया । सबैको न्यानो साथ पाउँदा, जीवनभरी प्रयोगमा आउँदा सार्थकता त्यहीँ झल्किन्छ जब मलाई व्यवहारमा ल्याउँदा । त्यतिबेला ठान्छु भाग्यमानी, चाबी बन्न सक्दा ज्ञानको खानी नगर कसैलाई हानी, तिमीले त्याग्नुपर्छ पुराना नराम्रा आनीबानी । चाहाना मेरो यस्तो, निरर्थक नबनोस, नहोस् कसैको जीवन सस्तो भनी जानुन जीवन कस्तो, आफ्नै हातमा लगाम् भएको घोडा जस्तो । पहिलेको जमानामा, मान्थे मलाई आमा, पुज्थे सबैले शिरोधार्य गरी अहिले पैसासँग दाज्छन्, मात्र आयश्रोतको साधन, मुटु पोल्छ घरी घरी । बिहानभरी हली दाइसँग, दिउसो स्कुलको उमंग, पाउथें आफैँमा रंग उदास थिएन जीवन मेरो, ढकमक्क फुल्याथ्यो सेरोफेरो र त थिएँ दंग । माटोको सम्बन्ध थियो, थियो सम्बन्ध जिन्दगीको हर पल हर क्षेत्र व्यावहारिक जीवन, सक्षम हुन्थेनन् ती जन, नखुल्दा ज्ञानको नेत्र । अहिले मलाई चिनेनी, मेरो साथमा हिनेनी, खुसी हुन्न म त्योबेला जब गुन्द्रुकको बोट कस्तो प्रश्न गर्छ यस्तो मेरो आफ्नै प्रिय चेला । सम्बन्ध टुटेको छ अहिले, साथ दिन्नन कसैले, स्कुले चारघेरामा सीमित खाली औपचारिकता, छैन निकटता, मलाई स्वीकार्छन् मात्र पु¥याउन रीत । चुरीफुरी, पार गरे नि सफलताको दूरी, अन्त्यमा चिप्कन्छु कागजी बोक्रोमा कतिले उक्काउँछन्, प्रयोगमा ल्याउछन्, कतिले फ्याक्छन् डस्टविनको टोक्रोमा । #प्रकाशकुमार सिग्देल #म हुँ ‘अक्षर’
मुरारीराजका हाइकुहरू: १. आँखाको भाखा बुझ्नु नि कहिले त बोल्नै पर्छ र ? २. रक्सीले छुन्न प्यून पाए ती ओठ मात्थ्यो कि मन ! ३. भैगो पर्दैन त्यसै राम्री देखिन्छौ शृङ्गार किन ? ४. तिम्रो सामीप्य प्रेमका कुराहरू छर्लङ्गै रात ! ५. बगैंचा भित्र तिमीलाई देखेर लजाए फूल ! #मुरारीराज मिश्र #मुरारीराजका हाइकुहरू
समय: समय सबैसँग परिचित छ र पनि यसलाई परिभाषित गर्न र बुझ्न गाह्रो छ किनकि यो अमूर्त छ । समयले परिवर्तनसँगै आफ्नो प्रतिनिधित्व गर्दै हुन्छ जसरी पृथ्वीको चौतर्फी चन्द्रमाको गोलाकार गति हुन्छ हो,समय बित्दै जानु वास्तवमै अन्तरिक्षको अवधारणासँग जोडिएको हुनुपर्छ । समय भनेको त भविष्यमा हुने घटनाहरूको प्रगति हो रहेछ जुन, एकै दिशातर्फ लम्किन्छ समयसँगसँगै अगाडि बढ्न जरुर सकिन्छ तर फर्किन कठिन छ यहाँ किनकि जुन बित्यो त्यो समय हो जसलाई फर्काएर ल्याउन सकिँदैन हो,समय त निरन्तर आफ्नैै गतिमा अघि बढिरहेको हुन्छ । मान्छे समयलाई घडीर क्यालेन्डरको साथ अनुसरण गर्दै छ घन्टामिनेट र सेकेन्डमा आधारित छ समय योत परिस्थिति अनुसार बदलिरहन्छ आफ्नै गति र मानसिकताको आधारमा । जब मान्छे प्रतीक्षामा हुन्छ समय ढिला हुन्छ जब ऊ विलम्ब चाहन्छ समय छिटो हुन्छ जब मान्छे खुसी हुन्छ समय छोटो हुन्छ जब मान्छे दुःखमा हुन्छ समय अनन्त भइदिन्छ अल्छीका लागि समय लामो हुन्छ परिश्रमीका लागि समय अनमोल छ प्रेमीका लागि त समय सुखद र सुन्दर भैदिन्छ यसरीनै मान्छे र समयका बिचमा लुकामारी चलिरहन्छ । वास्तवमा समयलाई मात्र दोष के दिनु र यो भएन त्यो भएन भनेर दोष त मान्छे स्वयंमा हुन्छ किनकि मान्छेले समयको गतिलाई बुझ्दैन बगेको खोला फर्किँदैन समयले पर्खिँदैन भनेझैँ बितेका हरेक पल र क्षण चाहेर पनि फर्काउन सकिदँैन समयको तालमेल कहाँ हुन्छ र मान्छेका भावना र मनोविज्ञानसँग त्यसैले त भनिन्छ समय अनन्त छ र अमूल्य छ अझ यसलाई अमूल्य बनाउनु पर्छ । #गरिमा पाण्डेय #समय
अङकुरको गजल: रुझाएको साउने झरी सम्झना छ तिमीलाई जीवन भरि सम्झना छ ।। गाँजलुले आँखा सजाएर हेर्ने अझै पनि ति सुन्दरी सम्झना छ ।। ताराजुन हेरि अघाएको रातमा केवल तिम्रै घरि घरि सम्झना छ ।। उत्ताउलो भइ जे जे गरेको थे तिमीसँगको मन् परी सम्झना छ ।। तिम्रो याद सँगै जागि राख्छु राति सधैँ भरि यसै गरि सम्झना छ ।। #अङकुर चन्द #अङकुरको गजल
मुक्तक प्रतियोगितामा यो साता भवानी, विनोद र सुदेश सर्वोत्कृष्ट: साहित्यपोस्ट साहित्यपोस्ट विद्युतीय पत्रिकाको खुला मुक्तक प्रतियोगितामा भवानी तिमल्सिना, विनोद पौडेल र सुदेश पन्त सर्वोत्कृष्ट हुनुभएको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर एवं साहित्य अन्वेषी लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा बसेको पाँच सदस्यीय टोलीले रीतपूर्वक प्राप्त भएका ३३ मुक्तकहरूमध्येबाट सबैभन्दा बढी अंक प्राप्त गर्ने तिमल्सिना, पौडेल र पन्तका रचनाहरूलाई सर्वोत्कृष्ट घोषित गरेको हो । गएको सातादेखि सुरु भएको यो खुला प्रतियोगितामा अघिल्लो साता मिना चौलागाईँ, मिलन समीर र रेहित सैजु सर्वोत्कृष्ट हुनुभएको थियो । यो साता चित्रा पौडेल, रामबहादुर परियार, गोपाल खनाल, प्रकाश खड्का र अमर त्यागीले पनि निकै राम्रो अंक प्राप्त गर्नुभएको निर्णायकहरूले जनाउनुभएको छ । ‘हामीलाई उत्कृष्ट छान्न सजिलै भयो । तर उत्कृष्टहरूमध्ये तीन सर्वोत्कृष्ट छान्न निकै गाह्रो भयो ।’ साहित्यपोस्टकी सम्पादक निशा केसीले भन्नुभयो, ‘एकभन्दा कम अंकले मात्र चित्रा, रामबहादुर, गोपाल, प्रकाश, भवानी र अमरजस्ता मुक्तककारहरू पछि पर्दा दुःख पनि लाग्यो । प्रतिस्पर्धामा जर्ज हुन गाह्रो हुन्छ भन्ने कुराको अनुभव पनि गर्न पाइयो ।’ डा.लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा रहेको उक्त मुक्तक प्रतियोगिताको निर्णायकहरूमा पद्मकन्या कलेजकी उपप्राध्यापक ज्ञानु अधिकारी, मुक्तककार राजन सिलवाल र साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी रहनुभएको थियो । चार जना निर्णायकहरूको निर्णयलाई साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले सहजीकरण गर्नुभएको थियो । ‘तोकिएको नियममा रहेर ३३ मुक्तक प्राप्त भएका थिए । तोकिएका नियमबाहेक पनि सय वटा जति मुक्तक प्राप्त भएका थिए ।’ प्रधानसम्पादक कोइरालाले काव्य विभागलाई भन्नुभयो, ‘धेरैजसो मुक्तकहरू इमेल र साहित्यपोस्टको फेसबुक पेजमा आएका थिए । ती असाध्यै राम्रा भए पनि नियम विपरित भएकाले प्रतिस्पर्धामा परेनन् । जसले हामीलाई असहज पनि बनायो ।’ दुई सातादेखि सुरु भएको मुक्तक तोकिएको विषयमा केन्द्रित रहेर त्यही पेजको तल मुक्तक राख्नुपर्ने नियम बनाइएको छ । सुस्त इन्टरनेट सेवा र नियम बुझाउन नसकेका कारण पनि मुक्तकहरू इमेल र फेसबुकमा आएको हुनसक्ने आँकलन गरिएको छ । नेपाली नेता, नेपाली राजनीति र नेपाली जनता गरी तीनवटा विषय दिएर मुक्तककारहरूलाई मुक्तक आह्वान गरिएको थियो । ती मुक्तकहरूमध्ये रीत पुगेका, मुक्तकका सबै अङ्ग बलिष्ठ भएका र मुक्तकको गहिराइ छुन सफल भवानी तिमल्सिना, विनोद पौडेल र सुदेश पन्तका रचनाहरू सर्वोत्कृष्ट भएका हुन् । ५० साता चल्ने यो प्रतियोगिताबाट हरेक साता सर्वोत्कृष्ट हुने मुक्तकहरूलाई समेटेर वर्षका चर्चित मुक्तकसंग्रह प्रकाशन गर्ने योजना छ । हरेक साता तीन मुक्तकका दरले एक वर्षमा उत्कृष्ट हुने ४ सय ५० मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरू छानेर त्यस्ता श्रष्टालाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार दिने योजना पनि बनाइएको छ । अर्को साताको मुक्तक प्रतियोगिता शनिवारबाट सुरु हुने साहित्यपोस्टले जनाएको छ । नयाँ तीन विषय पनि समाचारसँगै घोषणा गरिनेछ । विजेताहरूलाई साहित्यपोस्ट, काव्य विभाग हार्दिक बधाई ज्ञापन गर्दछ । साथै मुक्तक प्रतियोगितामा भाग लिने सबैमा आभार प्रकट गर्दछ । अब बढौँ यो साता पहिलो हुने उत्कृष्ट तीन मुक्तकहरू : ============== ================ #भवानी तिमल्सिना #मुक्तक प्रतियोगिता #विनोद पौडेल #सुदेश पन्त
सन्दीपाको गजल: के देख्यौ त्यो मुहारमा मुसुक्क हाँस्यौ साँच्चै पयौँ कि प्यारमा मुसुक्क हाँस्यौ ।। बर्बराई एकोरिँदै टाढासम्म हेरि हेरि आफ्नै होला संसारमा मुसुक्क हाँस्यौ ।। ठूलै भीड आँखा धमिलो देखिएको बेला बह अनि मनको भारमा मुसुक्क हाँस्यौ ।। बुझ्नलाई केही क्षण कोसिस गरेँ मैले कहानी भनेर बिस्तारमा मुसुक्क हाँस्यौ ।। आशाको बीज बोकी भौतारिएको व्यक्ति चाह रहिछ घरबारमा मुसुक्क हाँस्यौ ।। #सन्दीपाको गजल
साहित्यपोस्टलाई लेखिकाको पत्र : मैले पुरस्कार यसकारण अस्वीकार गरेँ...: सम्पादकज्यू, साहित्यपोस्ट । सबैभन्दा पहिले त भाषा र साहित्यलाई मात्र केन्द्रमा राखेर पनि पत्रिका निकाल्न सकिन्छ भन्ने सोच राख्नु भएकोमा तपाईं एवं तपाईंको सम्पूर्ण टिमलाई बधाइ दिन चाहन्छु । यो नाफाखोर दुनियाँमा नाफा नहुने यो क्षेत्रमा लाग्ने हिम्मत देखेर म नतमस्तक भएकी छु । म सामान्य लेख्न रुचाउने तर साहित्यकी पाठक हुँ । एक महिना यता म तपाईंकी पाठक भएकी छु । राजनीति र अनेक भाइरल सामग्री छाडेर केही समय भए पनि तपाईंहरुको फरक दुनियामा नियमित पस्न थालेकी छु । सम्पादक ज्यू, म त्यही साहित्य प्रेमी हुँ जसले बाह«खरी बुक्सले आयोजना गरेको कथा प्रतियोगितामा भाग लिएकी थिई र उत्कृष्ट २५ को ५ हजार रुपैँया थाप्न अस्वीकार गरेकी थिई । यसरी अस्वीकार गर्दा मैले तपाईंहरु मध्ये कसैसँग सम्पर्क राखेर यो खबर सुनाएकी थिएँ र त्यो तपाईंहरुका लागि समाचार भएछ । म जस्ती सामान्य लेखिका पनि समाचार हुने यो ठाउँले मलाई खुसी तुल्यायो । सञ्चारमाध्यम त्यही हो, जसले आवाजविहीनको आवाज बोल्छ । नेताका पखाला लागेको समाचार छाप्ने सञ्चारमाध्यम भन्दा साहित्यकारका पक्षमा उभिने तपाईंको सञ्चारमाध्यम मलाई निको लाग्यो र केही लेख्दैछु । खासमा जब त्यो समाचार छापियो, साथीभाइहरुबाट विभिन्न किसिमका कुरा आए । कतिले पैसा फिर्ता गर्ने भए प्रतिपर्धामा भाग लिएको भने । कतिले यस्तो जोमिखयुक्त कुरामा किन हात हालेको भने । साहित्यपोस्टको समाचार र मेरो फेसबुक स्टाटसले जे जति प्रश्न उब्जायो, त्यसले मलाई यो पत्र लेख्न बाध्य बनायो । कल्पना श्रेष्ठ कल्पपुञ्ज सम्पादक ज्यू, स्मरण रहोस्, बाह्रखरी प्रतियोगिताको पहिलो संस्करणमा पनि नियम विपरीत पूर्व प्रकाशित सृजना पुरस्कृत भएको सर्वविविदै छ । जसमा साहित्यकार अनुपम रोशीले आफूले सम्पादनसहित अनलाइनमा छापेको कथा तथा वार्तालापका स्क्रिनसटलार्ई सप्रमाण पेश गर्दा पनि पुनः विचार भएको थिएन । अघिल्लोपटक नै आयोजक बोलिदिएको भए आज यी सब दोहोरिने थिएनन् । अघिल्लोपटक न लेखक न आयोजक कोही बोलेनन् । पहिलो पटक भएर वा निच मार्ने आम प्रवृत्तिका कारण यो प्रकरण त्यत्तिकै सेलाएर गयो । यति ठूलो प्रतियोगिता गरेपछि यसखाले प्रवृतिलाई हतोत्साहित गरिनुुपथ्र्यो । लेखकले आफ्नो असावधानी वा लापरबाहीका कारण प्रतियोगिताको मर्ममाथि हुन पुगेको आघातका लागि आयोजक तथा पाठकसँग क्षमा माग्नुपथ्र्यो सार्वजनिक रूपमा । लेखकको यही माफीनामामा टेकेर आयोजकले एक पटकलाई माफी पनि दिनुपथ्र्यो सार्वजनिक रूपमा । यो भयो पनि होला तर सार्वजनिक गरिएन । सार्वजनिक नभएकै कारण यसमा थिति बस्न सकेन र फेरि बेथिति दोहोरिएर आइदियो । माफी माग्नु, आत्मआलोचना गर्नु भनेको त असाध्यै ठूलो साहस हो जो सबैसँग हुँदैन । शायद हाम्रा लेखक÷आयोजकसँग पनि यो साहस थिएन । सानो हुन कसैलाई मन हुँदैन र माफीले सानो बनाउने थिएन भन्ने कुरा हामीले बुझ्नै सकेनौं । प्रतियोगिताका नियम बन्धनकारी हुन्छन्, हुनैपर्छ । यसलाई उत्तिकै शर्तसहित पालना पनि गरिनु पर्दछ । नियम राखेर पालना नगर्ने हो भने प्रतियोगिता भनिनु पनि हुँदैन । नत्र किन सम्पूर्ण लेखकहरूलाई भ्रम सृजना गरी खुल्ला कथा प्रतियोगिता भन्ने ? किन नियमका बुँदाहरूराख्ने ? मेरो जिज्ञासा । र, यो पटकको बाह्रखरीले आयोजना गरेको दोस्रो संस्करणको प्रतियोगितामा पनि आयोजक आफैले बनाएको नियम उल्लङ्घन गरी पूर्व प्रकाशित भएको सृजनालाई पुरस्कृत गरियो । अब यहीँनेर मलाई सोध्न मन लागेको कुरा चाहिँ प्रतियोगिताका शर्त तथा नियममाथिको यसप्रकारको लापरबाही तथा मजाक प्रकृति कि प्रवृति ? यिनै कारणले नै मैले आफूले प्राप्त गरेको १२ खरी कथा प्रतियोगिता २०७७ मा समावेश २२ उत्कृष्ट कथामध्येको मेरो कथा ‘हल्कावेद २०९५’ ले प्राप्त गरेको पुरस्कार अस्वीकार गरेकी हुँ । योग, ध्यानको सामान्य साधक पनि भएकोले म शालिनतामा विश्वास गर्छु । यो मेरो कुनै व्यक्ति,संस्थासँगको अहम्को लडाइँ होइन । मात्र सचेत नागरिकको हैसियतले नेपाली साहित्यको मानक बचाउनको निम्ति गरेको प्रयास मात्र हो । यसलाई सकारात्मक नकारात्मक जे सोच्नु हुन्छ तपार्इंको अन्तरमनलाई साक्षी राखेर सोचिदिनुहुन अनुरोध गर्दछु । यो कसैको हारजितको खेल होइन । मेरो ब्रह्मले पनि भन्छ, आयोजकले नेपाली कथाका निम्ति त्यति धेरै प्रायोजक जुटाएर, प्रचार गरेको यो प्रतियोगिता वास्तवमै प्रशंसा गर्न योग्य छ । साहित्यमा यस किसिमको काम हुनु खुसीको कुरा हो । हामी कहीँ कतै चुकेका छौं भने प्रतियोगिताका मानकलाई, मापदण्डलाई स्थिर राख्न चुकेका छौं । र, यो सुधार्न नसकिने भूल पनि होइन । यति ठूलो सर्जाम जुराएर नेपाली कथाको श्रीवृद्धिका निम्ति गरेको कार्य सराहनीय छ । यस्ता कार्यक्रम हुनु जरुरी छ । साहित्यका अन्य विधामा पनि यसप्रकारका निजी स्तरका प्रतिस्पर्धा हुन आवश्यक छ । यसले नेपाली साहित्य, नेपाली वाङ्मयलाई नै उकास्ने हो । तसर्थः आयोजक यी कुराबाट बिचलित हुनेछैन भन्ने मैले पूर्ण विश्वास लिएकी छु । मेरो व्यक्तिगत रूपमा प्रथम भएको कथा र त्यसकी लेखिकासँग कुनै वैरभाव छैन । न कथाको विषय वा स्तरका नाममा टिप्पणी गर्ने हैसियत राख्छु । यो विवादसँग सम्बन्धित विभिन्न लेखमै प्रतिकृया दिएकै छु कि “लेखकले त्यो कथा लेख्नु नै गलत झै उहाँमाथि खनिनु सर्जकको दायित्व होइन । यसरी भविष्यमा उहाँको सृजनालाई समाप्त पार्ने खेल पनि नरचिओस् ।” तसर्थः मेरो प्रतिस्पर्धा म आफैसँग हो अरूसँग होइन । त्यसो भए प्रश्न उठ्छ, किन पुरस्कार अस्वीकार ? म प्रतियोगिता नै बहिस्कारको पक्षधर होइन । केवल उठेका प्रश्नहरुको जबाफ किन दिइदैन ? किन यो मौनता ? यी कुराहरु आउँदै गर्दा निम्न प्रश्नहरु उठेका छन् । — विषयगत रुचिको विषयमा अझ कार्यरत बैंकमै पनि म परीक्षा÷प्रतियोगितामा सहभागी भएकै छु । जसले मेरो लेखन र योग्यताको मापन गरी नै रहेको छ । स्वच्छ प्रतिस्पर्धाले नयाँ सृजनाहरूको खोजी गर्छ । यो हुनु जरुरी पनि छ । — उहाँहरू जस्तै अग्रजबाट हामीजस्ता सिक्दै गरेका सिकारु कलमधारीहरूले के सिक्ने ? — यस्तो बलमिचाइ नै समस्याको समाधान हो त ? — भविष्यमा हाम्रो उर्जावान सन्ततिले के सिक्दै जान्छन् त ? — गल्ती हुन्छ तर त्यो दोहोरिनु प्रवृत्ति होइन र ? अहिलेको परिस्थितिमा लाग्ला कि राजनीतिक शासकहरूको सत्ताको बागडोर परिवर्तनको खेल चरम उत्कर्षमा पुग्दै गरेको समयमा यो विषय पनि लुप्त हुनेछ । यी कुरा हावाले बडारेर लग्नेछ । त्यसपछि तंै चुप मैं चुप । बिस्कुन सुक्दै जान्छ, घामपनि अस्ताउँदै जान्छ । यस्तै हुँदै गए, अन्तमा बौद्धिक क्षेत्र नै अनिर्णयको बन्दी हुनुपर्ने अवस्था रहेन र ? अरूले बोल्दै जाउन् र हामी हेर्दै जान्छौं भन्ने आशयले उत्तरदायित्व वहन कहाँ रह्यो र? सामाजिक, राजनैतिक तथा अन्य धेरै विसंगति र बेथितिबारे खबरदारी गर्ने मनोबल भएको बौद्धिक वर्गबाटै जवाफदेही नहुने हो भने हरेकको मनमा वितृष्णा त रहने नै भयो । यही नै सर्वोपरि भए पनि इतिहासमा बसेको खिलले मात्र समय समयमा घोचिरहनु सिवाय केही हुने छैन । हाम्रै सन्ततिले हामीलाई प्रश्न गर्ने छैनन् र ? हामीलाई नैतिक आचरण सिकाउने ओ अभिभावकहरू ! पहिले आफू निष्ठावान भएर देखाउनुहोस् र हामीलाई नैतिक शिक्षा दिनुहोस् । हामीले हस्तीसँग होइन प्रवृतिसँग प्रश्न चिन्ह खडा गरिरहेका हौं । इतिहासको गर्तमा बिलाउने यी पलको स्मरण हुँदा सम्बन्धित पक्षको अन्तरआत्माले आफैलाई चित्त बुझाउन सकिएला र ? सम्पादक ज्यू, सम्बन्धित पक्षसँग मैले यही विषयमा पटक पटक प्रश्न गरेकी थिएँ । इमेल लेखेर, फेसबुक स्टाटस लेखेर र सम्बन्धित निर्णयकहरुलाई कुरा गरे । तर कसैले मेरो कुरा सुनेन । प्रश्नको जबाफ दिन आवश्यक ठानिएन । साहित्यका राम्रो कामको प्रसंसा र गलत कुराको विरोध गरिएन भने अहिले उठ्दै गरेको यो क्षेत्र पुनः सुस्ताउन थाल्नेछ । यहि कारण स्थापित हुन पुगेको नजिर परिवर्तन गरेर पुनः थिति बसाउने जिम्मेवारी हाम्रै काँधमा छ । तसर्थः त्यही जिम्मेवारीबोधले नै मलाई यो कार्य गर्न पे्ररित गरेको हो । आन्तरिक रूपमा आयोजकबाट मलाई प्राप्त मेलको केही अंशसहित यसैमा मैले जिज्ञासा उठाएको छु– ‘यही असार ८ गते उत्कृष्ट २५ कथा २०७७ को डिजिटल तथा अडियो भर्सन भर्चुअल रूपमा सार्वजनिक गर्दैगर्दा पनि बाह्रखरी बुक्सले असहज परिस्थितिका कारण उत्कृष्ट हुन सफल २५ कथाकारलाई समयमै जानकारी गराउन नसकेको हुँदा वैशाख १२ पछिको अवस्थामा केही शर्तमा आँखा चिम्लिनुपरेको र शर्त खुकुलो बनाइएको उल्लेख गरेका थियौँ । तसर्थः यस परिस्थितिमा निर्णायक समूहको निर्णय सर्वोपरी मान्दै प्रथम, द्वितीय र तृतीयसहित उत्कृष्ट २५ कथा हामीले घोषणा गरेका हौँ ।’ बाह«खरीले सार्वजनिक रुपमा दिएको उल्लेखित विषयमा ध्यान आकृष्ट भएको छ । निर्णायक समूहको समझदारी एवं केही शर्तमा आँखा चिम्लिनुपरेको र शर्त खुकुलो बनाइएको उल्लेख गर्नुभएको विषय पुरस्कार घोषणा गरेको दिनमा मात्रै लाइभमा जानकारी गराइएको थियो । सो पूर्व आधिकारिक बाह्रखरी कथा प्रतियोगिताको बाह्रखरी मिडियामा तथा अन्य कतै पनि सार्वजनिक सूचनामा प्रकाशित नगरिएकोले यी उल्लेखित कुरालाई आधिकारिक मान्ने कुनै आधार रहेन । डिश होम बाह्रखरी कथा प्रतियोगिता– २०७७ को सर्त तथा नियमको तेस्रो र चौथो बँुदामा उल्लेख गरिएका छ— ‘पुरस्कारका लागि पठाइएका कथा अप्रकाशित र अप्रसारित हुन पर्नेछ । एवम् प्रतियोगिताको नतिजा सार्वजनिक नहुन्जेल कथा कतै प्रकाशन तथा प्रसारण गर्न पाइने छैन । छनोट परेको कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।’ पुनः स्मरण रहोस् ‘प्रतियोगिताको नतिजा सार्वजनिक नहुन्जेल’ भन्ने वाक्यले प्रतियोगिताको नियमलाई स्पष्ट बाँधेको छ । मेरो जिज्ञासा सो प्रकाशित नियमलाई आन्तरिक सल्लाहले अदलबदल गर्न मिल्ने भए खुल्ला प्रतियोगिताको नियम भनेर सार्वजनिक सूचनामा किन निकालिएको होला ? त्यसैले यी विषय कति नियमसंगत हुन प्रश्न उठ्नु त स्वाभाविकै रह्यो । अझै पनि हामी आशावादी छौं कि आयोजकमार्फत आएको मेलको अर्को एक अंशलाई कोट गर्न चाहें– ‘सार्वजनिक रूपमा जवाफ दिन कति जरुरी छ वा छैन भन्ने विषयमा हामी छलफलमै भएकाले सार्वजनिक प्रस्टीकरण नआएको हो ।’ यी आधारलाई सकारात्मक मान्दै प्रतियोगिता आयोजक तथा निर्णायक पक्षद्वारा सम्पूर्ण सर्जकहरूलाई जवाफदेहीका साथ निर्णायक सम्बोधन हुनेछ भन्ने आशा राख्दछु । अन्यथा, मैले पुरस्कार अस्वीकार गरेको सार्वजनिक गरेपछि मलाई विविध आरोप तथा लाञ्छना लगाउने काम भएको छ । मलाई अधैर्य, आफ्नै सृजनालाई विश्वास गर्न नसक्ने, आफैं आफ्नो इज्जतको धज्जी उडाएको, भोलि मिडिया बहिस्करणमा पार्ने जस्ता अघोषित धम्की दिँदै मानसिक रूपमा दबाब दिने किसिमले आन्तरिक म्यासेज आइरहेको छ । (ती कुनै दिन काम लाग्छ भनेर सम्हालेर राखेको सम्पादक ज्यूलाई जानकारी गराउन चाहन्छु ।) नत्र मैले आफ्नो आचरण स्पष्ट पार्न पनि आयोजक एंव निर्णायक बीच भएको प्रतियोगी छनोट हुनु पूर्व आन्तरिक असहमतिको बहसबारे नामै इंकित गरिएका ती गोप्य सूचनाको स्कृनसर्ट सार्वजनिक गर्न बाध्य हुनेछु । जसले निर्णायक समूहको निर्णय सर्वाेपरी हो भन्ने जिकिरलाई स्वतःखण्डन गरिदिन्छ । तपाईंको पाठक कल्पना श्रेष्ठ कल्पपुञ्ज #12khari #bises #kalpana #patra #sanibar #saturday #utkristakatha
जन्मोत्सव विशेषः तुलसी दिवससँग अन्तरंग: आजकल के गर्दै हुनुहुन्छ ? अहिले त तपाईँलाई इन्टरभ्यू दिइरहेको छु । योचाहिँ ठट्टा गरेको । खासमा अहिले मेरा पहिले लेखिएका कविताहरूको नयाँ एउटा कवितासंग्रह निकाल्ने तयारीमा छु । त्यसबाहेक विभिन्न क्षेत्रमा साहित्य , संस्कृति , लोकवार्ताको क्षेत्रमा अंग्रेजी र नेपालीमा लेखिएका विविध लेखहरूको संकलन गरेर नेपालीमा र अंग्रेजीमा छुट्टाछुट्टै दुइटा अर्को पुस्तकको तयारीमा छु । मेरा कविताहरूको अंग्रेजी अनुवादको प्रकाशन पनि गर्ने तयारीमा छु । अनि मेरा पुराना प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित भएका नेपाली लोककथाको अध्ययन , धिमाल लोकसंस्कृति , धिमाल लोकधर्म र लोकसंस्कृति आदि जति पनि पुस्तकहरू छन्, तिनीहरू अनि मेरो नेपाली तुलसी दिवशको कविताको नयाँ संस्करण पनि निकाल्ने तयारीमा छु । यी आउँदो दुई वर्षभित्र पूरा हुनेछन । अन्तरवार्ताकार भगवती बस्नेत कृति प्रकाशनबाहेक अ रू कुरा नि ? हामीले अहिले लोकवार्ता र लोकसंस्कृति समाजबाट हरेक वर्ष राष्ट्रिय र अर्को वर्षमा अन्तरराष्ट्रिय नेपाली लोकवार्ता र संस्कृति कङ्ग्रेस गर्छौँ । यो वर्ष, आउँदो वर्ष हामीले नेपाललाई सिर्जनशील क्षेत्रबाट चिनाउनु आवश्यक भएको छ र कवितालाई कनेक्टिभिटी मान्छेलाई र मान्छेसित सम्बन्ध स्थापना गर्नमा सदुपयोग गर्नुपर्छ भन्ने मुलभूत उद्देश्यले र नेपाललाई कविताको माध्यमबाट संसारलाई चिनाउने दृष्टिकोणले हामी विश्वभरि एउटा वर्ड पोएट समिट गर्ने पक्षमा छौं । यहाँले कविता लेख्नुभएको मात्र छैन, कवितामा विशिष्टता नै हाँसिल गर्नुभएको छ । यहाँले लेख्ने कविता, वाचन गर्ने शैली सबैले रुचाएका छन् । वास्तवमा कविता के रहेछ नि ? कविता के रहेछ भन्ने जवाफ दिन सजिलो पनि छ । अप्ठेरो पनि छ । कवितालाई कविताकै रूपमा लिन प ¥ यो । अनि सजिलो हुन्छ । हो चाहिँ के भने मान्छेले मान्छे मान्छे हुनुको कारण मैले चाहिँ दुइटा विशेषतालाई ध्यानमा राखेको छु । त्यो के हो भन्दा एउटा मान्छेले आफूलाई अभिव्यक्त गर्न चाहन्छ । अर्को, मान्छेले आफ्नै संस्कृति विकसित गर्छ । संस्कृति र अभिव्यक्ति , अभिव्यक्तिचाहिँ भाषिक अभिव्यक्ति, साहित्यचाहिँ भाषासँग सम्बन्धित छ । त्यस्तै रेखा , रंगचाहिँ चित्रकलासँग सम्बन्धित छ । ध्वनि सङ्गीतसित सम्बन्धित छ , अथवा सिर्जनाहरूका माध्यमहरू फरक फरक छन् । र , साहित्यको सिर्जनाचाहिँ प्रत्यक्षरूपले शब्द अथवा भाषासँग सम्बन्धित छ । मान्छेले अभिव्यक्त गर्ने सन्दर्भमा भाषासँग सम्बद्ध भएर अभिव्यक्त जो गर्छ, जसलाई हामी निबन्ध भन्छौं , नाटक भन्छौं , उपन्यास भन्छौं अथवा खण्डकाव्य भन्छौं , काव्य-महाकाव्य भन्छौं , अनि कविता भन्छौं । कवितमा पनि आजकल गद्य कविता अथवा छन्द कविता अनि विविध प्रकारका कविताहरू पनि छन् । तर कवितालाई मैले प्रायः भन्ने के गरेको छु, मान्छेले अहिलेसम्म आर्जन गरेको भाषिक अभिव्यक्तिको सबैभन्दा माथिल्लो तहको कलात्मक अभिव्यक्ति कविता हो । यहाँले विभिन्न समयमा प्रध्यापन गर्नुभयो र विदेशमा पनि विभिन्न पदमा रहेर साहित्य र संस्कृतिको क्षेत्रमा काम गर्नुभयो | यहाँको स्वदेश र विदेशको क्षेत्रमा काम गर्दाको अनुभवहरू हामीलाई सुनाइदिनोस् न ! एउटा रमाइलो पक्ष के छ भने, ‘कविता लेखेर के हुन्छ ?’ अथवा ‘साहित्यमा लागेर के हुन्छ ?’ भनेर मानिसहरू सामान्य ढंगले भन्ने गर्छन् । मचाहिँ साहित्यमा लागेर धेरै कुरा हुनसक्छ भन्छु । कविता लेखेर पनि धेरै कुरा हुनसक्छ भन्ने पक्षमा छु । कविताकै नाममा अथवा लोकवार्ता र संस्कृतिको संरक्षरण, प्रवर्दन , अनुसन्धान र अध्ययनकै क्रममा संसारभरि, विशेषगरिकन तीन चौथाई संसार घुमिसकेको छु । त्यसकारण कविताले के गर्दैन भनेर जवाफ दिने क्रममा म आफैँ पनि एउटा उदाहरेकण छु भन्ने पक्षमा छु । र , यसरी संसारैभरि नेपाली कविताको प्रचार-प्रसार, नेपाली कवितालाई अनुवाद गर्ने अथवा नेपाली कविताहरूको सम्बन्धमा चर्चा र परिचर्चा गर्ने क्रममा अन्य भाषाका अन्य संसारका कविहरूका सम्पर्कमा आउनुभएको छ | त्यसले मलाई के लागेको छ भने चिन्तन र सोचमा एउटा बिस्तार आएको छ , नवीनता आएको छ । त्यो दृष्टिकोणले अनि आफूलाई चाहिँ एउटा गुफामा बसे जस्तो होइन, ठूलो एउटा विश्व मैदानमा पुगे जस्तो अनुभव पनि मैले गरेकोछु । कविताको पक्षमा चर्चा गर्दाखेरि कहीँकहीँ अनुवाद , अंग्रेजी अनुवाद वाचन पनि गरिएको छ । तुलसी दिवश १९८५ जर्मनीमा उनन्चासौं कङ्ग्रेस भएको थियो, त्यसको विशिष्ट अतिथिमा आमन्त्रण आएको थियो, र त्यहाँ संसारभरिका साढे सात सय कवि र लेखकहरू सम्मिलित थिए । तिनमा पन्ध्र जना ‘गेस्ट अफ अनर’ थिए, जसमा एकजना म पनि थिएँ । विश्वका विशिष्टि कवि/लेखकहरू अथवा यता एशिया-अफ्रिकाबाट जाने , उता अमेरिकाबाट आउने , यूरोपबाट आउनेहरू सबै थिए । अनि विविध विषय र विविध क्षेत्रमा कार्यपत्रको प्रस्तुति , कविता वाचन आदि पनि भएको थियो र एउटा विश्वविद्यालयले कविता वाचनको लागि हामीलाई बोलाएको थियो । हामी पुगिसकेपछि आयोजकहरूले के भने भने, ‘हामी अनुवाद गरिएको कविता सुन्दैनौं तपाईँहरूको । बरु तपाईँहरूको आफ्नै भाषाको कविता सुन्छौं ।’ धेरैजसोले अनुवाद गरेको लिएर गएका मैले चाहिँ अनुवाद गरिएकैमा पनि नेपाली पनि राखेर लिएर गएको थिएँ । मलाई त खुशी लाग्यो । अनि अरूहरूले पनि अनेकप्रकारले अनि आफ्नै किताबहरू पनि लिएर गएको हुँदाखेरि कविता वाचन भयो । मैले नेपालीमा कविता वाचन गरें । नेपालीमा कविता वाचन गरिसकेपछि मलाई त्यतिबेला के लाग्यो भने भाषा भनेको डिक्सनेरीको शब्दकोषीय अर्थ लगाउनु मात्र एउटा विशेष पक्ष होइन रहेछ । कविता के हुन्छ भने, त्यो बडिल्याङ्वेजले अनि त्यो भाषामा शब्दावलीमा भएको सङ्गीतको धूनहरूले पनि आफ्नै प्रकारले कम्युनिकेट सञ्चारित हुँदोरहेछ भन्ने कुरा त्यहाँ मलाई अनुभव र अनुभूत भएको छ । यहाँ लोकवार्ता र संस्कृति समाजको अध्यक्ष हुनुहुन्छ । लोकवार्ता र संस्कृति समाजले आजसम्म गरेका केही उल्लेखनीय कार्यहरू के – के छन् ? बताइदिनोस् न । लोकवार्ता र संस्कृति समाजको स्थापना धेरै अघि हुनु पर्थ्यो । तर हामीसित यो देश नै जीवित लोकवार्ता अथवा लोकसंस्कृतिको संग्राहलय जस्तै नै छ । अनि विविध संस्कृतिको समन्वय , विविध संस्कृतिको आ-आफ्नै प्रकारको भूमिका हामीकहाँ छ । देशको यो सांस्कृतिक विविधता हाम्रा राष्ट्रिय सम्पदा नै हो । हरेक जातिको , हरेक भाषाभाषीको, हरेक क्षेत्रको आ-आफ्नै प्रकारको नाँचगान छन् , आ-आफ्नै प्रकारको रीतिरिवाज र रहनसहन छन् । आ-आफ्नै प्रकारका लुगाफाटा र गरगहना छन् । आफ्नै प्रकारका खानाहरू छन् । भन्नुको अर्थ के हो भने, आफ्नै विश्वास र आस्थाहरू छन् , प्रचलन छन् , नांचगान मात्र होइन चाडपर्व उत्सवहरू छन् । यी सबै देख्दाखेरि, मैले अघि नै भनेँ, यो आफैँमा एउटा जीवित सांस्कृतिक संग्रहालय जस्तो छ । तर हाम्रो सबै जातजातिको लोक सांस्कृतिक लोकवार्तागत अध्ययन , संकलन , संरक्षण र प्रवद्र्धन भने उपयुक्त ढंगले जति हुनुपर्ने त्यति हुन सकेको छैन । यहाँ सबैभन्दा सानो उमेरमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बन्ने व्यक्ति हुनुहुन्छ । सबै भन्दा सानो उमेरमा आफू प्राज्ञ बन्न पाउँदाको एउटा गौरव कस्तो थियो, त्यो बेला ? कति वर्षको हुनुहुन्थ्यो ? त्यो अनुभव बताइदिनु हुन्छ कि ! म त अचम्म पर्छु त्यो बेलाको , साँच्चै भन्नुहुन्छ भने मेरो एउटा किताब पनि निस्केको थिएन । केही कविताहरू मात्र निस्केका थिए । त्यसो त मैले एकेडेमीको पदक पनि प्राप्त गरिसकेकै थिएँ । मैले २०१८ सालदेखि ०२३ सालसम्म निरन्तर राष्ट्रिय पुरस्कार हरेक वर्ष पाएको छु । मचाहिँ यता धनकुटा क्याम्पसमा पढाउँथें । बी.ए. मात्र पास गरेको थिएँ | यहाँ पनि म पद्मकन्यामा पढाउन आउँदाखेरि नेपाली पनि पढाउँथें भने अर्कोतिर नेपाली लोकसङ्गीत पनि पढाउने गर्थें । लोकसङ्गीत त्यसबेलासम्म विश्वविद्यालयको सङ्गीतको पाठ्क्रममा समावेश गरिएको थिएन । यहाँले ‘ सिर्जनशील साहित्यिक समाज ‘ को स्थापना गर्नुभएको थियो । कुनैबेलामा सिसासको नाउँबाट यो संस्थाले निकै प्रसिद्धि कमाएको थियो । अहिले यो संस्था निस्कृय छ नि ! किन होला ? ‘ सिर्जनशील साहित्यिक समाज’ स्थापना गर्नुको पछाडि पनि मूलभूत कारण के थियो भने, अर्थशास्त्र लेख्ने पनि लेखकै भए , अखबार लेख्ने पनि लेखकै भए । उपन्यास लेख्ने पनि लेखकै भए । तर यी भिन्न विधा हुन् । कथा , उपन्यास , नाटक , कविता यी सिर्जनशील क्षेत्र भए । तर अन्यचाहिँ विषयगत । विषयतग विशेष गरेर निश्चित क्षेत्र, त्यसमा सिर्जनशीलता भन्नेभन्दा विषयगत ज्ञानको बढी भूमिका निर्वाह हुन्छ । हामीले के भन्ठान्यौं भने, तपाईँलाई याद छ कि छैन कुन्नि !, यो नेपाली साहित्य वा यो विभिन्न हाम्रो भाषाको साहित्य पढाउँदाखेरि के राखिएको छ, एउटा नाटक राखिदिएको , एउटा उपन्यास राखिदिएको , खण्डकाव्य/महाकाव्य , कविता , कथा , निबन्ध राखिएको हुन्छ | हगि ! अब त्यो निबन्धमाथि लेखिएको लेखलाई अथवा निबन्धचाहिँ पढ्नुपर्ने, त्यो पढेर मार्क पाउने । निबन्ध लेखे बापत पाइदैनथ्यो । अनि सिर्जनशील लेखक भनेर अलगगरि हेर्न पनि मान्छेहरूमा चेतना विकसित भइसकेको थिएन । त्यसकारण हामीले के भन्ठान्यौं भने, एमए नेपालीमा एउटा डिसर्टेशन लेख्न पेपर हुन्छ, त्यसमा चाहिँ सिर्जनशील लेखन पनि समावेश गर्नु जरुरी छ अथवा उपन्यास लेखेर , कवितासंग्रह निकालेर , नाटकै लेखेर या निबन्धहरू नै लेखेर , कथाहरू नै लेखेर पनि कोर्स गर्न पाइनु पर्ने, बाहिरतिर चाहिँ ‘क्रिएटिभ राइटिङ’को कोर्स चाहिँ छ । अब क्रमशः हामीकहाँ पनि विभिन्न भाषाको विभिन्न बिषयमा विभिन्न क्रिएटिभ राइटिङको कोर्स शुरु गरिनुपर्छ भन्ने दृष्टिकोणले केही समय हामीले वर्कशपहरू पनि गरियो । तर त्यसलाई युनिभर्सिटीमा समावेश गर्न र गराउनका निमित्त आवश्यक हुन्छ र गर्नुपर्छ । यहाँको विचारमा लोकसंस्कृति , कला , साहित्य र जीवन के हो ? अघि मैले भने जस्तै संस्कृति र भाषाचाहिँ स्वयं मान्छेले निर्माण गरेको हो । र , मान्छेचाहिँ कुन हावापानीमा, कुन भौगोलिक क्षेत्रमा, कुन सामाजिक/सांस्कृतिक पृष्ठभूमिमा हुर्कन्छ, त्यहींबाट उसको विश्वास र आस्था निर्माण हुन्छ | र व्यक्तित्वको निर्माण हुन्छ । त्यो दृष्टिकोणले हामीले जहिले पनि आफूलाई मान्छे हुनुको मूल कारण अर्को उसको सिर्जनशीलता पनि हो । र , ऊचाहिँ के हुन्छ भने, सिर्जना गर्ने प्रतिभा हो । तर यो प्रतिभाचाहिँ कहिलेकाहीँ कुण्ठित हुन्छ । कहिलेकहीँ विकसित हुन पाउँदैन र हामीले त्यो विकसित हुने उपयुक्त अवसर अथवा आवश्यक पर्ने त्यो हावा र पानी उपलब्ध गराउनु पर्छ | त्यस्ता प्रतिभाहरूलाई हामीले जहिले पनि प्रोत्साहित गरेर अगाडि बढाउने प्रयत्न र कोसिस गर्नुपर्छ । नयाँपुस्तालाई कस्तो किसिमको सल्लाह , सुझाव र सन्देश दिन चाहनुहुन्छ ? म गुरू हुने पक्षमा त छैन । तर मैले अनुभव र अनुभूत गरे अनुसार अरूलाई चिन्नुभन्दा पहिले आफैँलाई चिन्नु जरुरी छ । अरूलाई चिन्ने चश्मा हेरेर होइन, आफ्नो अनुभव र अनुभूतिबाट हेरिनुपर्छ । त्यो दृष्टिकोणले आफूलाई चिन्नु , भनेको आफ्नो संस्कृतिसँग परिचित हुनु, त्यसका विशेषताहरूसँग परिचित हुनु , त्यसका आफ्नोपनहरूसँग परिचित हुनु अनिवार्य आवश्यकता छ । त्यस दृष्टिकोणले हामीले हाम्रै परम्परा , संस्कृति , रीतिरिवाज र रहनसहनमा मरिमेट्ने, सति जाने भनेको होइन , संस्कृति भनेको स्थिर वस्तु होइन । त्यो गतिशील वस्तु हो र सधैं परिवर्तन भई नै रहन्छ । हो , उसको गतिचाहिँ अलि धिमा , ढिलो हुन्छ, त्यो परिवर्तनको प्रक्रिया Speed up धेरै Speed को हुँदैन । तर अब हामीले चाहिँ संस्कृतिको नाममा झ्याल ढोका थुनेर बस्ने समय होइन । अब झ्याल-ढोका उघार्नुपर्छ | अबको समय डिजिटलबाट संसारभरि पुग्ने हो, बाहिरको पनि ल्याउने हो र भित्रको पनि बाहिर लाने हो । भित्रबाट बाहिर लैजाँदा आफूसित के छ भन्ने कुरा राम्रोसँग परिचित नभैकन जान नसकिने भएकोले त्यसैसँग परिचित हुने प्रयास कविहरूले पनि , स्रष्टाहरूले पनि , सिर्जनशील व्यक्तिहरूले पनि , सङ्गीतकारहरूले पनि , कलाकारहरूले पनि गर्नु आवश्यक छ । #भगवती बस्नेत
तीन प्रश्न: लियो टोल्सटोय एक पटक एउटा राजाको मनमा प्रश्न उब्जियो। उसलाई लाग्यो, उसले उब्जिएका यी तीन प्रश्नका उत्तर खोज्यो भने उसले जान्नुपर्ने केही बाँकी रहने छैन। पहिलो प्रश्नः कुनै पनि कार्य गर्ने सबैभन्दा उपयुक्त समय कुन हो? दोस्रो प्रश्नः कस्ता व्यक्तिसँग काम गर्नु सर्वोचित हुन्छ? तेस्रो प्रश्नः हरेक समय गर्नुपर्ने कार्य कुन चाहिँ हो? राजाले घोषणा गर्यो, जुन व्यक्तिले यी तीन प्रश्नको सही उत्तर दिनेछ, उसलाई ठूलो पुरस्कार दिइनेछ। यो सुनेर धेरै मानिस राजहमल गए र सबैले बेग्लाबेग्लै उत्तर दिए। पहिलो प्रश्नको उत्तरमा एउटा व्यक्तिले भन्यो, ‘राजाले एउटा समय तालिका बनाउनुपर्छ र त्यसमा हरेक कार्यका लागि निश्चित समय तोक्नुपर्छ। यसो भएमा हरेक काम सही समयमा हुनेछ। अर्को मानिसले राजासँग भन्यो, ‘सबै कार्य गर्ने अग्रिम निर्णय गर्नु उचित हुँदैन र राजाले भोगविलासको कामलाई तिलाञ्जली दिएर हरेक कामलाई व्यवस्थित रूपमा गर्नेतर्फ पूरा ध्यान केन्द्रित गर्नुपर्छ।’ फेरि अर्को मानिस आयो र भन्यो, ‘राजाका लागि हरेक कार्यलाई दूरदर्शितापूर्वक गर्नु असम्भव नै छ। त्यसैले राजाले विज्ञहरूको एउटा समिति बनाउनु पर्छ, जसले हरेक विषयलाई परख गरेर मात्र राजालाई जानकारी दिनुपर्छ कि त्यो कार्य हुन बेला गर्नुपर्छ।’ अनि अर्को मानिसले भन्यो, ‘केही विषयको निर्णय त तुरून्त लिनुपर्ने हुन्छ र परामर्शका लागि समय नै हुँदैन। तर ज्योतिषि र भविष्यवक्ताहरूको सहयोग लिएर राजाले चाहेका खण्डमा कुनै पनि घटनाको पूर्वानुमान लगाउन सक्छन्।’ दोस्रो प्रश्नको उत्तरका लागि कुनै किसिमको सहमति देखिएन। एक व्यक्तिले भन्यो, ‘राजाले प्रशासकहरूप्रति पूरा विश्वास गर्नुपर्छ।’ अर्कोले भन्यो, ‘राजाले पुरोहित र संन्यासीहरूप्रति पूर्ण विश्वास गर्नुपर्छ।’ कसैले भन्यो, ‘चिकित्सकहरूमाथि सधैँ विश्वास गर्नुपर्छ।’ अर्कोले योद्धामाथि विश्वास गर्न सुझायो। तेस्रो प्रश्नको जवाफमा पनि विविध किसिमको उत्तर पाइयो। कसैले भन्यो, ‘विज्ञानको अध्ययन सबैभन्दा महत्त्वपूर्ण हुन्छ।’ अर्कोले धर्मग्रन्थको अध्ययन सर्वश्रेष्ठ भन्यो। त्यस्तै सैनिक कौशलमा निपुणता हुनु सबैभन्दा जरूरी छ भन्दै अर्कोले दाबी गर्यो। राजालाई तीमध्ये कुनै पनि उत्तर ठीक लागेन। त्यसैले कसैलाई पनि पुरस्कार दिइएन। केही दिनसम्म चिन्तनमनन गरेपछि राजाले एक जना महात्माको दर्शन गर्ने निश्चय गरे। त्यो महात्मा एउटा पर्वतमा बनेको कुटीमा बस्थ्यो र सबैले उसलाई परमज्ञानी मान्थे। राजाले के थाहा पायो भने त्यो महात्मा पर्वतबाट झरेर कहिल्यै पनि तल आएको छैन र राजसी व्यक्तिहरू कसैलाई पनि भेटेको छैन। त्यसैले राजाले साधारण किसानको भेष धारण गरेर निस्किए। पर्वतको फेदमा आफ्ना सेवकलाई प्रतीक्षा गर्न आदेश दिँदै राजा महात्माको कुटीतर्फ लाग्यो। महात्माको कुटी पुग्दा त महात्मा कुटीसँगैको सानो बगैँचामा कोदालो चलाइरहेको रहेछ। महात्माले राजालाई देख्यो र टाउको हल्लायो। त्यसपछि खन्न मग्न रह्यो। बगैँचामा काम गर्न महात्माका लागि निकै कठिन थियो। ऊ निकै वृद्ध भइसकेको थियो। कोदालो चलाउँदा उसको श्वास फुलेको थियो। राजा महात्मा छेउ पुग्यो र भन्यो, ‘म तपाईंसँग तीन प्रश्नको उत्तर जान्न आएको हुँ। पहिलोः कुनै पनि कार्य गर्ने सबैभन्दा उत्तम समय कुन हो? दोस्रोः कुन व्यक्तिका साथ काम गर्नु सर्वोचित हुन्छ? तेस्रोः जुनसुकै बेला गर्न सकिने कार्य के होला?’ महात्माले राजाको कुरा ध्यानपूर्वक सुन्यो र काँध थपथपायो। यसपछि ऊ कोदालोले खन्न थाल्यो। राजाले भन्यो, ‘तपाईं गल्नु भएजस्तो छ। दिनुस् कोदालो, म तपाईंलाई सघाउँछु।’ महात्माले धन्यवादसँगै कोदालो पनि दियो र एउटा रूखमुनि सुस्ताउन बस्यो। केही समय खनेपछि राजा महात्मातर्फ फर्कियो र अघि सुनाएका तीन प्रश्न पुनः दोहोर्यायो। महात्माले राजाको प्रश्नको उत्तर दिएन र उठ्दै भन्यो, ‘अब तिमी केहीबेर आराम गर, म चाहिँ बगैँचामा काम गर्छु।’ तर राजा सुस्ताउन मानेन। खन्ने क्रम जारी राख्यो। खन्ने क्रममा एक घण्टा बित्यो, दुई घण्टा बित्यो, साँझ पर्यो। राजाले कोदालो राख्यो र महात्मालाई भन्यो, ‘म त तपाईंसँग तीन प्रश्नका उत्तर सोध्न आएको थिएँ तर तपाईंले मलाई त्यसको जवाफ दिनुभएन। अब घर जाने बेला हुन लाग्यो, कृपया मलाई मेरा प्रश्नको जवाफ दिनुभए म घर जाने थिएँ।’ महात्माले राजासँग भन्यो, ‘तिमीले कोही दौडिएको आवाज सुनिरहेका छौ?’ राजाले आवाज आएतिर टाउको घुमायो। दुवैले जंगलबाट एक मानिस उनीहरूतर्फ दौडदै आइरहेको देखे। उसले आफ्नो पेटमा लागेको घाउलाई हातले दबाइरहेको थियो। घाउबाट रगत निकै बगिरहेको थियो। घाइते व्यक्ति राजा र महात्मा दुवै जना नजिक आयो र भूइँमा डङ्ग्रङ्ग ढल्यो। यसपछि ऊ बेहोस भयो। राजा र महात्मा दुवैले देखे- घाइतेको पेटमा कुनै हतियारको गहिरो घाउ थियो। राजाले तुरून्त उसको घाउ सफा गरे र आफ्नो कपडा च्यातेर उसको घाउमा बाँधिदिए। यसो गरेपछि रगत बग्न कम हुन थाल्यो। कपडाको त्यो टुक्रा चाँडै नै रगतले भरियो। त्यसपछि राजाले त्यसमाथि अर्को कपडा बाँध्यो। यो कार्य त्यतिञ्जेलसम्म दोहोरिइरह्यो, जबसम्म रगत बग्न कम हुन थालेन। केही समयपछि घाइते व्यक्तिलाई होश आयो। उसले पानी माग्यो। राजा कुटीसम्म पुगेर उसका लागि पानी ल्यायो। सूर्य अस्त भइसकेको थियो। वातावरण चिसिन थालेको थियो। राजा र महात्माले घाइतेलाई उठाए र कुटीभित्रको ओछ्यानमा सुताइदिए। घाइते आँखा बन्द गरेर चुपचाप सुतिरह्यो। राजा पनि पहाड चढ्नु र बगैँचाको काम गर्नुले थाकेर चुर भएको थियो। ऊ कुटीको ढोका छेउमा बस्यो र बस्दाबस्दै उसलाई निद्रा लाग्यो। बिहान जब उसको आँखा खुल्यो, सूर्य निकै माथिसम्म फैलिएको थियो। पर्वतमा दिव्य आलोक फैलिएको थियो। एक पलका लागि त राजाले नै भुल्यो कि ऊ कहाँ आइपुग्यो र किन आइपुग्यो। उसले कुटीभित्रको ओछ्यान हेर्यो। घाइते व्यक्ति चारैतिर विस्मयपूर्वक हेरिरहेको थियो। जब उसले राजालाई देख्यो, उसले ज्यादै नरम स्वरमा भन्यो, ‘मलाई क्षमा गर्नुहोला।’ ‘तिमीले के गरेका छौ र माफी मागी रहेका छौ?’ ‘तपाईंले त मलाई चिन्नु हुन्न तर म तपाईंलाई चिन्दछु। मैले तपाईंलाई मार्ने प्रतिज्ञा लिएको थिएँ किनभने गएको युद्धमा तपाईंले मेरो राज्यमा आक्रमण गरेर मेरा आफन्त मार्नु भएको थियो र मेरा सारा सम्पत्ति हत्याउनु भएको थियो। जब मैले तपाईं यो पर्वतमा तपाईं एक्लै यी महात्मासँग भेट्न आउँदै हुनुहुन्छ भन्ने थाहा पाएँ, मैले तपाईंको हत्या योजना बनाएँ। म लुकेर तपाईं फर्कने प्रतीक्षा गरिरहेको थिएँ तर तपाईंका सेवकले मलाई देखिहाले। उनीहरूले मलाई प्रहार गरे। म आफ्नो ज्यान जोगाउनका लागि यहाँ आइपुगेँ र तपाईंसामु बेहोस भएँ। म तपाईंको हत्या गर्न उद्यत थिएँ तर तपाईंले मेरो जीवन रक्षा गर्नुभयो। म ज्यादै लज्जित छु। यो उपकारको मोल कसरी चुकाउँ? म जीवनपर्यन्त तपाईंको सेवा गर्छु, मेरा सन्तानहरूले पनि सदैव तपाईंका कूलको सेवा गर्नेछन्। मलाई माफ गर्नुहोला।’ यो सुनेर राजा हर्षित भयो कि उसको एउटा कामले शत्रुमै रूपान्तरण भयो। राजाले यसअघिको आक्रमणका लागि क्षमा मात्र मागेन, यसअघि लुटेको सम्पत्ति फर्काउने वचन पनि दियो र उसको उपचारका लागि आफ्ना सेवकमार्फत निजी चिकित्सकलाई पनि बोलायो। सेवकलाई निर्देशन दिएपछि राजा महात्माछेउ आफ्ना प्रश्नको उत्तर जान्नका लागि पुनः पुग्यो। उसले देख्यो, महात्मा अघिल्लो दिन खनिएको ठाउँमा बिउ रोपिरहेको छ। राजाले प्रश्न सम्झायो। महात्मा बिउ रोपिसकेर राजाछेउ पुग्यो र भन्यो, ‘तपाईंका सारा प्रश्नका उत्तर पहिल्यै दिइसकिएको छ त!’ ‘कसरी?’ राजाले चकित हुँदै भन्यो। ‘हिजो तपाईंले मेरो वृद्धावस्था देखेर बगैँचामा मलाई नसघाउनु भएको थियो भने तपाईं फर्कंदै गर्दा लुकेर बसेको शत्रुको शिकार हुनुहुने थियो। त्यो बेला तपाईंलाई मसँग अझै केही बेर बसेको भए हुन्थ्यो भन्ने लाग्थ्यो। त्यसैले तपाईंका लागि हिजो बगैँचामा काम गर्नु नै उचित समय थियो। उपयुक्त कार्य थियो। तपाईं हिजो जुन व्यक्तिसँग भेट्नु भयो, अर्थात् मलाई भेट्नु नै सर्वाधिक महत्त्वपूर्ण व्यक्ति थिएँ। र, सबैभन्दा आवश्यक कार्य मलाई सहयोग गर्नु थियो। पछि जब घाइते व्यक्ति यहाँ आइपुग्यो, त्यो बेला उही महत्त्वपूर्ण व्यक्ति थियो। उसको घाउ सफा गर्नु नै महत्त्वपूर्ण कार्य थियो र उचित प्रकारले तपाईंले पट्टि बाँधिदिनुभयो। तपाईंले त्यसो नगर्नु भएको भए अधिक रक्तस्रावका कारण उसको मृत्यु हुन्थ्यो। उसको मृत्यु भएको भए तपाईंहरूबीच मेलमिलाप हुने थिएन। त्यसैले त्यस क्षण त्यो व्यक्ति सर्वाधिक महत्त्वपूर्ण थियो र उसको सेवा गर्नु सबैभन्दा आवश्यक कार्य थियो।’ ‘स्मरण रहोस्, केवल समय नै सर्वाधिक महत्त्वपूर्ण हुन्छ र त्यो समय नै यही हो, यही क्षण हो। क्षणको सत्ता हुन्छ, यसैको प्रभुत्व हुन्छ। सबैभन्दा महत्त्वपूर्ण व्यक्ति त्यही हो, जुन तपाईंको नजिक हुन्छ। तपाईंको अघिल्तिर हुन्छ। किनभने हामीलाई के थाहा छैन भने अर्को क्षण हामी कहाँ हुन्छौँ, कोसँग हुन्छौँ र कस्तो परिस्थितिमा हुन्छौँ। अर्को क्षणमा अन्य व्यक्तिसँग व्यवहार गर्न ज्युँदै हुन्छौँ कि हुँदैनौँ भन्ने पनि हामीलाई थाहा छैन। अनि, सबैभन्दा आवश्यक कार्य जुन तपाईंको नजिकका व्यक्तिको जीवनलाई सुखशान्तिपूर्ण बनाउने प्रयास नै हो। किनभने यही नै मानव जीवनको उद्देश्य हो।’ #अदृश्य #लियो टोल्सटोय
भतिजीको किताबका कारण राष्ट्रपति तनावमा: मेरी एल ट्रम्प अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एउटा नयाँ पुस्तकका कारण पुनः विवादमा तानिएका छन्। ट्रम्पकी ५५ वर्षीया भतिजी मेरी लिय ट्रम्पले लेखेको पुस्तक ‘टु मच एन्ड नेभर इनफः हाउ माई फ्यामिली क्रिएटेड द वर्ल्ड्स मोस्ट डेन्जरस म्यान’का कारण राष्ट्रपति ट्रम्प विवादमा परेका हुन्। हुन त यो पुस्तक तयार हुँदै गर्दा मेरीले धेरै वर्षअघि अर्बपति डोनाल्ड ट्रम्पसँगको सम्पत्ति विवादका बेला एउटा सम्झौता गरेको र सो सम्झौताका कारण यस्ता घरेलु कुरा यतिबेला खुलासा गर्न नपाउने भनी अदालतमा मुद्दा हालेका छन्। गएको साता मुद्दा हाल्नेबित्तिकै पुस्तकलाई तुरून्त स्थगन गर्न स्थानीय अदालतले आदेश दिएको थियो। तर मेरीले पुस्तक प्रकाशन स्थगनको कुनै कारण नरहेको स्पष्टीकरण पेस गरेपछि पुस्तक प्रकाशन स्थगन रद्द गरिएको थियो। यता मेरीले भने आफ्ना काका राष्ट्रपति ट्रम्पले धोका दिएर आफूसँग सम्झौता गरेको र अहिलेको अवस्थामा सो सम्झौता काटेर यो पुस्तक प्रकाशन गर्न सकिने स्पष्टोक्ति दिएकी छन्। पैसा भनेपछि मरिहत्ते गर्ने काका डोनाल्डले कसरी पैसा कमाए भन्ने भित्री कुराको खुलासा गरिएको यो किताब र सम्झौतासँग कुनै लेनदेन नरहेको पनि उनले बताएकी छन्। यो पुस्तक यही जुलाई महिनाको अन्त्यताका बजारमा ल्याउने तयारी भइरहेको छ। पुस्तक बजारमा ल्याउन नदिन डोनाल्ड ट्रम्प परिवारका अन्य सदस्यले गत साता नै दुई वटा मुद्दा अदालतमा हालिसकेका छन्। पछिल्लो पटक डोनाल्डका कान्छा छोरा रोबर्टले पुस्तक बजारमा ल्याउनबाट रोक्न मुद्दा हालेका छन्। गएको मंगलबार न्युयोर्कको डचेज काउन्टीले पुस्तकलाई केही समय प्रकाशन रोक्न अनुरोध गरेको थियो। यतिबेला पुस्तकको मुद्रण कार्य भने धमाधम भइरहेको छ। पुस्तकको ई-बुक यसअघि नै बजारमा आइसकेको छ, जुन अमेजन डटकममा बेस्ट सेलर भइसकेको न्युयोर्क टाइम्स पत्रिकाले जनाएको छ। मेरी एल. ट्रम्पद्वारा लिखित पुस्तक पुस्तकमा डोनाल्ड ट्रम्पका पिता फ्रेड ट्रम्पको सन् १९९९ मा निधन भएपछि आफ्ना भतिजा-भतिजीले पाउनुपर्ने आर्थिक अधिकारबाट व्यापक रूपमा कटौती गरेको तीतो पोखेकी छन्। मेरीका बुबा फ्रेड जुनियर सन् १९८१ मा ४२ वर्षकै उमेरमा बितेका थिए। फ्रेड जुनियर लागू पदार्थको नराम्रो समस्यामा फँसेका थिए। हजुरबा भन्दा पहिल्यै बितेका मेरी र उनकी आमाले हजुरबा फ्रेड सिनियरबाट राम्रै अंशको अपेक्षा गरेका थिए। तर फ्रेड सिनियरको निधनपछि अवस्था यति बिग्रियो कि पाउनुपर्ने रकम पनि नपाएको गुनासो पुस्तकमा छताछुल्ल भएको छ। मेरी र उनका भाइ फ्रेड ट्रम्प तृतीयले पछि काका ट्रम्पविरूद्ध सम्पत्तिको अधिकारका लागि मुद्दा हालेका थिए। मुद्दा यति तिक्ततापूर्ण तरिकाले लडियो कि पछि एउटा गोप्यतासम्बन्धी सम्झौतामा गएर टुंगियो। अहिलेको ट्रम्प अडान सोही बेला गरिएको सम्झौताको कुरा हो। तर मेरी ट्रम्प भन्छिन्, ‘त्यो बेलाको सम्झौता र किताबमा उल्लेख गरिएका चिज फरक कुरा हुन्। त्यसले किताब प्रकाशनलाई असर पुग्ने छैन।’ पुस्तकको भविष्य के होला भन्ने चासोका कारण यतिबेला अनलाइनमा पुस्तक बिक्री ह्वात्त बढेर बेस्ट सेलरको तेस्रो नम्बरमा उक्लिएको छ। लेखिका मेरीले सार्वजनिक महत्त्वको पुस्तकलाई सामान्य अवस्थामा लाग्ने कानुन लगाएर प्रकाशन रोक्न नमिल्ने जिकिर गरेकी छन्। अदालतले पुस्तकबारे आउँदो जुलाई १० मा पूर्ण फैसला दिने अपेक्षा गरिएको छ। यता प्रकाशक सिमोन एन्ड सुस्टरले पनि प्रकाशन स्थगन नगर्न अदालतलाई लिखित अपिल गरेको छ। पत्रकार अच्युत कोइरालाले राष्ट्रपति डोनाल्ड ट्रम्पको जीवनी लेखेका छन्। पैसा भनेपछि मरिहत्ते गर्ने ट्रम्पको जीवनी पढ्नु एउटा रोचक अनुभव हुने र जीवनमा सफल हुनका लागि कयाैँ अनैतिक कार्य गर्ने ट्रम्पले यो पुस्तक प्रकाशन रोक्नबाट अनेक हतकण्डा अपनाउन पछि नपर्ने तर त्यहाँको सशक्त न्याय प्रणालीका कारण यो नरोकिने बताएका छन्। मेरी ट्रम्पसँग डोनाल्डको तिक्ततापूर्ण सम्बन्धबारे एउटा पूरै अध्याय छुट्याइएको पनि उनले जनाएका छन्। अच्युत कोइराला लिखित अमेरिकी राष्ट्रपति ट्रम्पको जीवनी (यो पुस्तक मोबाइल नं. ९८४१३५५८६५ मा फोन गरेर घरमै मगाउन पनि सक्नुहुन्छ या आवश्यक जानकारी लिन सक्नुहुन्छ ।) #अदृश्य #डोनाल्ड ट्रम्प
एकादेशका लेखक केशवराज पिंडाली\xa0: गोबिन्द गिरीको साहित्य निर्माता तीसको दशकमा साहित्यकार हुन मधुपर्क र रूपरेखामा छापिनुपर्छ भन्ने अघोषित मान्यता थियो । दुवै पत्रिका पाठकीय आकर्षणको शिखरमा थिए । मधुपर्क सरकारी प्रकाशन थियो, रूपरेखा निजी । तर दुवैमा प्रवेश पाउन सहज थिएन । ती पत्रिकामा प्रकाशित लेख रचना र नामको तौल हेर्दैखेरि रचना पठाउन आँट गर्न गाह्रो थियो । अरू पत्रपत्रिकामा रचनाहरू प्रकाशित गरेर पूर्ण अभ्यास गरेपछि सबैभन्दा राम्रो लागेको रचना ती पत्रिकामा पठाउने जमर्को गर्दथे किंवा गर्दथ्यौं त्यो दशकमा । गोरखापत्रको शनिबारीया र मधुपर्कको लेख रचना सम्पादन एकछत्र रूपमा केशवराज पिंडालीले गर्ने गर्दथे । तर किन हो कुन्नि ? उनी नयाँ पुस्ताका लेखक/कविलाई फुटेको आँखाले हेर्न रुचाउन्नथे । नयाँ लेखकका रचनालाई गोरखापत्र र मधुपर्कमा छिर्नै दिंदैनथे । त्यो उनको रवैयाले तरुण पुस्ताका लेखक/कविहरू उनीप्रति उग्र थिए । तर गर्नै के सकिन्थ्यो र ! राजाको सक्रिय शासन, पञ्चायतको जगजगीको बेला । सरकारी पत्रिका, मुर्मुरिनु र पिठ्यूपछाडि धारे हात लाएर गाली गर्नु र साँझ एकआपसमा बसेर सत्तोसराप गर्नुको विकल्प थिएन । एकाधपल्ट केही लेखकहरूको समूह डेलिगेसनको रूपमा गएको पनि सुनें मैले, तर त्यसले पनि केही काम गरेन । गोविन्द गिरी प्रेरणा उनको सम्पादनकालमा नयाँ लेखकको रचना छापिएको एकै व्यक्ति मात्र थिए, केश पथिक । उनको कथा प्रकाशित भएको थियो अपवादको रूपमा । घटराज भट्टराईले लेखेका लेखकहरूको जीवनीमूलक लेख भने निरन्तर प्रकाशित हुन्थे । मधुपर्कका त्यसताकाका अङ्कहरू हेर्दा स्वनामधन्य लेखकका रचनाहरू नियमित देख्न पाइन्थे, योचाहिँ पाठकको लागि खुशी र प्रशन्नताकै विषय हुन्थ्यो । साप्ताहिक पत्रपत्रिकाहरू र नीजि क्षेत्रका साहित्यिक पत्रपत्रिकामा आफ्ना रचनाहरू प्रकाशित गरिसकेपछि एकदिन बडो हिम्मत गरेर आफ्ना कथा/कविता बोकेर गोरखापत्र संस्थानको माथिल्लो तलाको केशवराज पिंडाली बस्ने कोठामा पुगें । नमस्कार टक्र्याएँ । तिनी पान चपाउँदै आफ्ना दुवै खुट्टा टेवलमाथि राखेर बसिरहेका थिए । मेरो दस औंला जोरी नमस्कारको प्रतिक्रिया पुलुक्क मतिर हेर्नुसिवाय अरू केही भएन । मैले विनम्रतापूर्वक, “मैले रचना ल्याएको थिएँ प्रकाशनार्थ” भनें । उनले चिउँडो उठाएर भने, “छाडेर जानूस्, उपयुक्त भए छापिन्छ।”, उनको चिउँडोले टेबुलतिर इशारा गरेको थियो । मैले टेबुलमा रचना राखिदिएँ । अब त्यहाँ उभिइरहनुको कुनै तात्पर्य थिएन, मैले पुन: दस औंला जोडेर, “हस् त नमस्ते !” भनेँ | मेरो यो बिदाई अभिवादनको उनले कुनै प्रत्युत्तर दिन आवश्यक ठानेनन् । उनको आँखा सामुन्नेको झ्यालबाहिरतिर थियो, मतिर थिएन । एकप्रकारको अपमान, ग्लानी लिएर म गोरखापत्रको कम्पाउण्डबाट बाहिरिएँ । मान्छेको जातै सायद आश गर्ने खालको हुन्छ कि क्या हो ! मैले निकै हप्ता गोरखापत्रको शनिबारीय अंक हरेक हप्ता भूगोल पार्कमा टाँसिएको ठाउँमा हेर्न गएँ, मेरो नाम र रचना कहिल्यै आएन । पछि आश मारें । त्यो त्यत्तिकै भो । अनि एक साल साहित्यिक पत्रिका निकाल्ने हुटहुटी जाग्यो, र गोरखापत्रकै कम्पोजिटर ज्ञानु सिंहले दर्ता गरेको “स्वदेश” पत्रिका लव गाउँले र म भएर निकाल्ने अठोट गर्यौं । ज्ञानुले पनि सहर्ष सहमति जनाए । शुरुवात “गाइजात्रा अङ्क”बाट गर्ने सल्लाह भयो र रचना को-कोसँग माग्ने भनेर लिस्ट बनाउन शुरु गरियो । पहिलो नम्बरमै केशवराज पिंडालीको नाम राखियो र रचना माग्न म जाने भएँ । योक्रममा उनीसँग हिमचिम होला र गोरखापत्रको प्रकाशनमा प्रवेश पनि पाइएला कि भन्ने पनि थियो । म फेरि पुगें गोरखापत्रको माथिल्लो तल्ला केशवराज पिंडालीको कोठामा । मेरो शिष्टाचार उस्तै थियो र उनको पनि उस्तै थियो, बदलिएको थिएन। मैले ‘गाइजात्रा अङ्क’का लागि रचना माग्न आएको बताएँ । उनले भने, “पैसा ल्याउनुभएको छ ? कति ल्याउनु भा’को छ । मलाई १०० रुपैयाँ चाहिन्छ एउटा लेखको । रेडियो नेपालले थोरै दिने भएकोले मैले त्यहाँ दिन छाडें ।” उनको कुरा सुनेर म हक्क न बक्क भएँ । १०० रुपैयाँ २०३७ सालमा ठूलो कुरा थियो । गोरखापत्रले नै २५।३० रुपैयाँ पारिश्रमिक दिने जमानाको कुरा थियो । “१०० रुपैयाँ लिएर आउनोस् अनि दिउँला !”, उनले भने । म झस्किएँ र सुकेको ओठमुख लिएर कोठाबाहिर निस्किएँ । रचना मागेर सम्बन्ध बढाउँला भन्ने मेरो महत्वाकाँक्षामा तुषारोपात भइसकेको थियो। त्यसपछि म तेश्रोपल्ट उनको कोठामा जाने अवसर नै पाइनँ । केशवराज पिंडाली एकदिन न्यूरोड पीपलवोटमा हल्ला आयो, केशवराज पिंडाली गोरखापत्रको सम्पादकबाट हटे । यो समाचार डडेलोझैं फैलियो र युवापुस्ताका लेखक/कविहरूले खुसीयाली नै मनाए । साँच्चै त्यसपछि मात्र युवा लेखकहरूको ठूलो जमातले गोरखापत्र संस्थानका प्रकाशनहरूमा निर्वाध प्रवेश पाए र एक किसिमको नयाँ लहर आयो, एउटा नयाँपुस्ताको औपचारिक र मान्यताप्राप्त उदय भयो । पत्रकारिताको सन्दर्भमा गोरखापत्रको सम्पादक पदमा जानुअघि उनले त्यसको पृष्ठभूमि नेपाल र कलकत्ताबाट बनाइसकेका थिए । केशवराज पिंडालीले आफ्नै सम्पादनमा २०१२ सालमा “विकास” साप्ताहिक तथा वि.सं. २०१८ तिर कलकत्ताबाट “नेपाल आव्हान” साप्ताहिक निकालेका थिए । केशवराज पिंडालीको रचनागत ख्याति “खै खै” ले चुल्याएको हो । त्यो उनको माष्टरपिस रचना थियो । साथीभाइमा ठट्टा गर्दै “खै खै” भन्ने चलनसमेत यसले ल्याएको थियो । एउटा लेखकको लागि यो गर्व र सन्तोषको विषय हो। यो कृति नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०१७ सालमा प्रकाशित गरेको थियो । यो कृति प्रकाशित भएको करिब एक दशक अवधिसम्म पनि उनको पहिचानको एक्लो सूचक यही “खै खै” नै भैरह्यो । २०२६ सालमा “एकादेशकी महारानी” प्रकाशित भएपछि यो उपन्यासले नेपाली पाठकको ध्यान तान्यो । साहित्यिक जगतमा एकप्रकारको खलबली नै मच्चाइदियो । किनभने यस किसिमको विषयवस्तुमा यसअघि कुनै उपन्यास लेखिएको थिएन । कतिपयले यस उपन्यासलाई केशवराज पिंडालीको आत्मकथात्मक उपन्यास हो भनेर पनि चर्चा गरे । यो चर्चालाई पिंडालीले भने इन्कार गरे, तर यो चर्चा हुनुका आधार भने बलिया नै थिए । केशवराज पिंडाली श्री ३ मोहन शम्शेरकी छोरीको प्राइवेट सेक्रेटरीको रूपमा राणाको दरवारमा काम गर्न पुगेका थिए । ती छोरीको विवाह भारतको उडिसामा भयो र विवाहपछि पिंडाली पनि उनको साथमै उडिसा पुगे । त्यो बसाईको अनुभव “एकादेशकी महारानी”को लागि आधारभूमि भयो । शाही नेपाल चलचित्र संस्थानले चलचित्र निर्माणका लागि कथा माग गरेको थियो । उनले “एकादेशकी महारानी” बुझाए । तर पछि यसलाई फिलिम बनाउने कुरा अघि बढेन । यसको सुटिंगका लागि भारत पनि जानु पर्ने, त्यसो गर्दा लागत बढ्ने भएकोले बरु अर्को कथाको लागि आग्रह गरियो र उनले नयाँ उपन्यास लेखे- “अन्तदेखि शुरू” । यस उपन्यासको आधारमा चलचित्र त बन्यो तर एउटा आक्षेप लाग्यो- यो फिलिम हिन्दीको ‘कोरा कागज’सँग मेल खान्छ भनेर । यसलाई पनि उनले इन्कार गरे । २०१७ सालको राजनैतिक सङ्कटपछि केशवराज पिंडाली काँग्रेसी नेताहरूका साथ भारतमा निर्वासनमा थिए । त्यो निर्वासन कालमा उनले काँग्रेस पार्टीको मुखपत्र “नेपाल आव्हान” सम्पादन गरेका थिए नेता कृष्णप्रसाद भट्टराईको साथमा । तर त्यसलाई ईन्दिरा गान्धीको सरकारले प्रकाशनमा प्रतिबन्ध लगाइदिएपछि त्यहीबेला उनले भारतमा निर्वासनको समयमा लेखेका थिए । अनि २०२६ सालमा नेपाल फर्कदा साथै लिएर आएका थिए र त्यसै साल साझा प्रकाशनबाट प्रकाशित भएको थियो । उनले त्यस उपन्यास आत्मकथात्मक भएको अस्वीकार गरे पनि र प्रमुख पात्र दीनानाथ उनै भएको चर्चा अस्वीकार गरे पनि सो उपन्यास ६० प्रतिशत कल्पना र ४० प्रतिशत तथ्यमा आधारित भएको भने स्वीकारेका छन्, मैले उनीसँग २०५० सालमा लिएको प्रत्यक्ष अन्तरवार्तामा । उनको “अन्त्यदेखि शुरु” उपन्यासको कथा पनि कुनै राणा प्रधानमन्त्रीको छोरीको जीवनगाथा भएको पनि आफैंले स्वीकारेका थिए । पछि उनले अरू २ वटा उपन्यास लेखे जसको पृष्ठभूमि विदेशको रहेको थियो । उनले गोरखापत्रबाट अवकास पाएपछि केही लामै समय आफ्ना छोराहरूसँग क्यानाडा र अमेरिकामा बिताएका थिए । उनका पछिल्ला उपन्यास त्यसै बसाईका अनुभवका उपलब्धी हुन् । २०२६ सालमा भारत निर्वासनबाट फर्किएपछि उनी कुखुरा पालेर बसे । प्रधानमन्त्री किर्तिनिधि विष्टसँग उनको राम्रो मित्रता थियो । एउटा लेखक, पत्रकार कुखुरा पालेर बसेको विष्टलाई जँचेन । उनले राजालाई बिन्ती गरे । उनको लागि उपयुक्त ठाउँ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान हुन सक्थ्यो, तर त्यसको पुनर्गठन भैसकेकोले त्यहाँ मिल्ने अवस्था भएन र गोरखापत्र संस्थानमा साहित्यकै कामका लागि उनी नियुक्त भए, गोरखापत्रको शनिबारीया र मधुपर्क साहित्यिक मासिकको सम्पादनको जिम्मेवारीसहित । पछि गोरखापत्रबाट निवृत् भएपछि चाहिँ उनको संलग्नता पत्रकारितामा भयो । केशवराज पिंडालीले साप्ताहिक विमर्शसँग लामो समय सम्बद्ध रहे । सो पत्रिकालाई हरिहर विरही समूहले सञ्चालन गरेको थियो पछि, उनी निमित्त सम्पादक थिए र नियमित स्तम्भमात्र उनको प्रमुख जिम्मेवारी थियो । डिल्लीबजारको बाटुले घरको विमर्श कार्यालयको सम्पादकको कक्षमा उनी शोभायमान हुन्थे नियमित रूपमा । तर यही पत्रिकाले उनलाई सात महिना जेलको हावा खुवाइदियो । नेपाली राजनीतिमा पञ्चायतकालमा रसियाली कम्युनिष्टप्रति झुकाव भएका मकवानपुर जिल्लाका राजनितिज्ञ रूपचन्द विष्ट, उनले बोल्ने शैली र भाषाको तिख्करता र अर्ध अमूर्तताले गर्दा चर्चित थिए । उनी कवितात्मक शैलीमा पर्चा लेख्थे र त्यो पर्चा बेची हिंड्थे । पर्चामा लेखिएका कविताजस्ता लाग्ने उनको मौलिक शैलीका अभिव्यक्तिलाई उनले कविता भनेर बिभिन्न पत्रपत्रिकाले प्रकाशित पनि गर्दथे । त्यसै क्रममा उनको “होशियार” शीर्षकको विद्रोही अभिव्यक्ति कविताका रूपमा विमर्शमा छापियो । त्यही कविताका कारण दशैंको मुखमा उनलाई आफ्नो घरबाटै गिरफ्तार गरियो । शुरुमा २ हप्ता हनुमान ढोकामा प्रहरी हिरासतमा सहित उनी सात महिना जेल परे । यो बेग्लै कुरा हो, ‘मेरो कविता छाप्नेलाई किन जेल हालेको, लेख्ने म हुँ, मलाई जेल हाल’, भनेर रूपचन्द विष्टले सरकारसित आक्रोश व्यक्त गरेपछि उनलाई पनि जेल हालियो, तर उनलाई जेल हाले पनि केशवराज पिंडालीलाई तत्कालै छोडिएन । जेलको बसाइको क्रममा उनले खासै केही पनि लेखेनन् । तर जेलबाट मुक्त भएपछि भने उनले आफ्नो स्तम्भमा जेलका अनुभव र अनुभूतिलाई प्रशस्त लेखे, झण्डै एउटा पुस्तक नै निकाल्न पुग्ने जति सङ्ख्यामा । केशवराज पिंडालीको “गोदिप्रसाद वदेहाम” शीर्षकको एउटा व्यंग्य लेख निकै चर्चित भयो । साहित्य जगतमा त्यो जन-जनले बात मार्ने विषय बन्यो । कारण थियो, उनले त्यो व्यंग्य लैनसिहं वाङ्देललाई लिएर लेखेका थिए । त्यसको खुलासा समालोचक डा.तारानाथ शर्माले गरिदिएपछि त्यो निबन्ध खोजीखोजि पढिएको थियो । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको रूपमा जाने पिंडालीको मनसुवा र ठूलो धोको थियो । तर परिस्थितिवश उनलाई त्यो जुरेन । त्यसैले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू र प्राज्ञहरूलाई उनी बेलाबेलामा चिथोरिरहन्धे, कोपरिरहन्थे, व्यंग्यको माध्यमले । आफ्नो लेखनका लागि राष्ट्रिय रूपमा त्रिभुवन प्रज्ञा पुरस्कार, बालचन्द्र पुरस्कार, वेदनीधि पुरस्कार, भैरव पुरस्कार, वासुदेव लुईंटेल पुरस्कार लगायतका पुरस्कार प्राप्त गरेका थिए । तर अच्युतरमण अधिकारीले आफ्नो सम्पादन/प्रकाशनमा प्रकाशित हुने “उन्नयन” पत्रिकाको एउटा बृहत् विशेषाङ्क जुन निकाले उनको सम्मानमा, त्यो विभिन्न कोण र दृष्टिकोणबाट निकै महत्वपूर्ण थियो । त्यो विशेषाङ्कको विमोचन पनि निकै भव्यताकासाथ सम्पन्न गरिएको थियो । जनस्तरबाट गरिएको यो उनको जीवनकालको निकै ठूलो सम्मान थियो । यो सम्मानले उनी निकै खुशी भएका थिए । उनी ‘बिकारका लागि म काँचो पिंडालु हुँ, कोक्याउँछु, अविकारका लागि म पाकेको पिंडालु हुँ’ भन्ने गर्थे । साँचो अर्थमा उनको व्यंग्य लेखन काँचो पिंडालु थियो भने उपन्यासहरूचाहिँ पाकेको पिंडालु । उनको यो स्वभाव जीवनपर्यन्त रह्यो । खासमा केशवराज पिंडालीका नाममा प्रख्यात भए पनि उनको औपचारिक नाम थर केशवप्रसाद लामिछाने थियो । उनी कृष्णराज लामिछानेका सुपुत्रका रूपमा वि=सं १९७१ माघ १६ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मेका थिए । तर उनको पुर्ख्यौली धादिङका पिंडा भन्ने ठाउँका भएकाले उनले आफ्नो नाममा थरको साटो पिंडाली राखेका थिए। जीवनको उत्तरार्धमा उनलाई प्रोस्टेट क्यान्सर भएको थियो र उनी वि.सं २०५५ साल जेठ २६ गते परलोक भए । केशवराज पिंडालीका दुई छोरा र एक छोरी भए पनि उनको साहित्यिक बिंडो उनकी छोरी कुन्दन शर्माले थामिन् कवियित्रीको रूपमा, जो २०१७ सालमा पञ्चायतको विरुद्ध निक्लेको जुलुसमा सामेल भएकी थिइन् । उनको विवाह भारतको दिल्लीमा भएकोले उनको नेपाली भाषाको लेखन उनको क्षमता अनुसार अघि बढ्न सकेन, तथापि एउटा कवितासङ्ग्रह भने साझा प्रकाशनबाट प्रकाशित भएको छ । २ जुलाई २०२०, बृन्दावन, भारत । #केशवराज पिंडाली #गोविन्द गिरी प्रेरणा
संस्मरण : दुई हप्ता लामो कोरोनासँगको लडाइँ जितेपछि .....: आज संसारभर कोरोना कोभिड-१९ नामक रोगको महामारी फैलिएको छ । आज अर्थात् जुन महिनाको अन्तसम्ममा संसारभर एक करोडभन्दा बढी मानिस यस रोगबाट संक्रमित भइसकेका छन् भने पाँच लाखभन्दा बढी मान्छेको देहान्त नै भइसकेको छ । म बसोबास गरेको देश अमेरिकामा मात्र पच्चीस लाखभन्दा बढी मान्छे संक्रमित छन् भने एक लाख अठ्ठाईस हजारभन्दा बढी मान्छेको देहान्त भइसकेकोछ । हाम्रो देश नेपालको सतहत्तरै जिल्लामा यो रोगको संक्रमण फैलिसकेको छ । लक डाउन र एकान्तबास बसेको पनि करिब चार महिना पुगिसकेको छ । तर पनि यो रोगको संक्रमण झन् झन् बढ्दै छ । संसारभरका मान्छे सबै त्रस्त छन् र यसबाट बच्ने उपायको खोजीमा निरन्तर लागिपरेका छन् । तर पनि आजको मितिसम्म पनि यस रोगको खास औषधि पत्ता लगाउन विश्व समर्थ भइसकेका छैनन् । तर खोजी जारी छ । भन्छन्, अर्को वर्षको सुरुतिर यस रोगको निदानको औषधि बनिइसक्ने छ । आशा गरौँ अनि विश्वास राखौं, त्यतिन्जेलसम्म अति धेरै मानवीय क्षति नहोस्, अनि यो महामारीको तेज घट्दै जाओस् । बसन्त श्रेष्ठ कोरोना भाइरसको संक्रमणबाट विश्व आक्रान्त बनिरहँदा म पनि अछुतो रहन सकिनं । करिब दुई हप्ता अस्पतालमै उपचार गरेर म भर्खर यस रोगबाट मुक्त भएको छु । यसै सन्दर्भमा मैले भयोगेको कोरोनालाई यस संस्मरणमा समेट्ने जमर्को गरेको छु । सायद दिनको दुई बजिसकेको हुनुपर्छ । इस्वी सम्वत् २०२० मई महिनाको सत्र तारेख, जेठा छोराको फोन आयो । भन्यो, “ज्वरो आएको कारणले घर आउँदैछु ।” मलाई तत्कालै अनुमान भयो, कोरोनाको संक्रमण भएछ भन्ने र उसलाई एकान्तबास राख्ने तयारि गर्न थाल्यौं । ऊ भाेलिपल्ट डाक्टरकोमा गयो । दुई दिनसम्म उसलाई ज्वरो आई नै रह्यो । हामीले सकेसम्म एकान्तबासको नियम पूर्णरूपमा पालना गर्यौं । त्यसको दुई दिनपछि अर्थात् उन्नाईस तारेखमा मलाई हल्का ज्वरो आयो । मैले टायनल लिएँ । ज्वरो आउन बन्द भयो । फेरि दुई-तीन दिनपछि ज्वरो आउने-जाने भएको कारणले आफू पनि सङ्क्रमित भइयो कि भन्ने ठानेर जचाउन गएँ । समय दिनको एक बजेको थियो, जब मलाई चिकित्सकले जाँचे, तुरुन्तै इमरजेन्सी एम्बुलेन्स बोलाए । अक्सिजन दिए र अस्पतालमा भर्ना गरे । मलाई मेरो स्थिति त्यति नाजुक भएको जस्तो अनुभव नै भएको थिएन । अस्पतालको सघन उपचार कक्षमा करिब दुई हप्ता उपचारपछि बल्ल मलाई अस्पतालबाट फर्किने अनुमति दिइयो । म भर्जिनिया राज्यमा बस्छु । यस राज्यमा मार्च महिनाको सुरुसम्म पनि त्यति महामारीको संक्रमण फैलिसकेको थिएन । तर आमनागरिकको सुस्वास्थलाई ख्यालमा राखेर कार्यस्थल बन्द गर्ने कार्य सुरु भइसकेको थियो । त्यही समयमा मेरो काम पनि अनिश्चित कालको लागि बन्द गर्ने जानकारी प्राप्त भयो । मार्च महिनाको मध्यबाट नै मेरो कामको कम्पनी बन्द भएपछि म पूरै घरमै थिएँ । मेरो पूरै परिवार कोरोना संक्रमणबाट बाँच्न विभिन्न घरेलु विधि प्रयोग गर्न तल्लिन भयौं । ज्वानो, बेसार र अदुवा राखेर उमालेको तातो पानी दिनको दुईपटक पिउने नियम बसायौं । भिक्स राखेर तातो पानीको बाफ दिनहुँ जसो लिने गर्न थाल्यौं । मेरो न्यूयोर्केली मित्र ससांग लामाले भने झैं त्यसरी बनाएको तातोपानी एक ठूलो घ्याम्पोभन्दा बेसी पिइयो नै होला । कोही बाहिर गएर आयो कि सानेटाइजर लाउने, हात धुने, मास्क लाउने गर्न थालियो । हामी (श्रीमती र म)ले किनमेल गर्न जान पनि धेरै कम गर्यौं । बाहिरफेरको काम सबै नै छोराहरूले नै गर्न थाले । घरको बसाइ मच्चिदै गएपछि टेलिभिजनमा महाभारत, पाकिस्तानी टेली सिरियल र केही नेपाली चलचित्र छानीछानी हेर्न थालियो । पढ्नमा बीपीका सबै पुस्तक फेरि दोहोर्याइयो । मदनमणि दीक्षितको “माधवी” फेरि सुरु गरियो । सोचेथें, दुई वर्षपछि निवृतिभरणको समय भएपछि बुबाको बारेमा एउटा किताब लेख्न सुरु गर्नेछु । बुबाको बारेमा अरू विद्वानवर्गले लेखेका पुस्तक “नारायण मान स्मृति ग्रन्थ” पहिले नै प्रकाशित भइसकेको छ । तर बुबाले आफ्नो जिल्लाको विकासको लागि शैक्षिक क्षेत्रमात्र नभएर सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रमा पनि कस्तो योगदान दिनुभएको थियो भन्ने यथार्थ र ऐतिहासिक दस्ताबेजसहितको एउटा पुस्तक तयार गर्ने योजना थियो । लक डाउनले समय प्रसस्त भएको कारणले त्यो पनि लेख्न सुरु गरियो । करिब-करिब पच्चीस पेज पनि सकिएको अवस्थामा छ । ईष्टमित्रले यस समयमा निम्ता नगरेका पनि होइनन् । तर समय र स्थिति त्यति अनुकूल नभएको र आफ्नो उमेरले पनि विशेष ख्याल राख्नुपर्ने भएकोले कहींकतै पनि गइएन । यसरी नै धेरै सतर्कताका साथ हाम्रो दैनिकी र महामारीसँग लड्ने तयारीमा हामी तम्तयार थियौं । तर दैवको खेल भनौं या समयको या यसलाई यसो भनौँ, मैले नै कतै सुरक्षित उपायलाई अलिक बेवास्ता गरें र गल्ती भयो, थाहा नै भएन । मेरो जेठा छोरा बबिन एक-दुई दिनपछि नै ठीक हुँदै गयो । त्यसको दुई-तीन दिनपछि नै मलाई हल्का ज्वरो आएको थियो । त्यसबेला मैले सोचेको थिएँ- यो कोरोना महामारीले मेरो घरमा एक हप्ता अब ताण्डब मच्चाउने भयो । त्यसपछि त ठीक भइहाल्छ । किनकि हामीसँग यो भाइरससँग लड्ने क्षमता छ, दिनभरि मसलादार तातोपानी र भिक्सको बाफ लिएपछि यो गइहाल्छ नि | तर सोचे जस्तो भएन । बबिनलाई दुई-तीन दिनपछि नै ठीक हुँदै गए पनि विद्यालाई संक्रमण भयो । उनलाई पनि दुई-तीन दिनपछि नै ठीक हुँदै गयो । पछि बबिन, ब्रायन र विद्या, म अस्पतालमा हुँदा नै संक्रमण मुक्त भइसकेका थिए । तर मलाई ज्वरो पुरै बन्द नभएर आउने-जाने भएपछि नै घरपरिवारको जोडले नै भाइरस जाँच्न गएको थिएँ । तर त्यहाँबाट एम्बुलेन्समा अस्पतालको आपतकालीन कक्षमा पुर्याइएको थिएँ । अस्पतालको आकस्मिक कक्षमा एक्सरेदेखि सबै जाँच गरेपछि करिब आधा घन्टामै मलाई अस्पतालको ३२५ नम्बर कोठामा स्थान्तरण गरियो । त्यसपछि सुरु भयो मेरो जीवन-मरणको लडाइँ । प्रत्येक घण्टा-घण्टामा डाक्टर र नर्सको उपस्थिति अनि रगत र सुइँको उपचार । चार दिनसम्म त म चेत भए पनि अचेतकै स्थिति रहें । दुईतिरको हातमा नै सुइँ रोपिएका छन्, नाकमा अक्सिजन र प्रत्येक घण्टामा रगत जाँच र औषधिको सेवनले जीउले लत्तो छोडिसकेको भान हुन्थ्यो । दिन र रात एकनासले चल्दै थियो । सिर्फ आँखा चिम्म गरेर पल्टिरहनुसिवाय अर्को उपाय थिएन । सपना र कल्पना कहिलेकहीं त छुट्याउनै गाह्रो थियो । थुप्रै कथा, कविताका खाका कल्पनामै तयार हुन्थे । अस्पतालको शैय्यामा मेरो दिवंगत बुबा-आमालाई सपनामा थुप्रैपटक देखें । घर-परिवारका धेरै सदस्यलाई पनि देखें । तर सबै परिवारलाई देख्दा हाम्रो नेपालको पहाडको घरमा नै देखें । तर त्यसमध्ये पनि एउटा सपना बारम्बार दोहोरिरह्यो र मलाई अचम्म लाग्यो । अहिले पनि त्यो बारम्बार आइरहेको दृश्यले पटक-पटक सोच्न बाध्य बनाउछ । सपना यस्तो थियो; म ठूलो समुन्द्रको जहाजमा छु । गोधूली साँझको समय छ । मेरो ठीक अगाडि करिब छ फुटको दूरीमा एउटा सानो बालक कालो लुगा लाएर उभिएको छ । ऊ एकनासले डुब्न लागेको दूर क्षितिजतिर एकटकले हेरिरहेछ । म उसलाई भेट्न पाइला चाल्न कोशिस गर्छु, तर मेरो पाइला चलिरहेको छैन । म उसलाई बोलाउन चिच्याउँछु, तर ऊ निरन्तर बेवास्ता गरेर क्षितिज हेरिरहन्छ । जति कोशिस गरे पनि म सफल हुन्न । त्यो बालक न मतिर फर्कन्छ न म उसलाई भेट्न नै सकिरहेको हुन्छु । सपना त्यति मात्र हो । तर मलाई हुबहु यही नै सपना निरन्तर दिन आइरह्यो । हरेक पटक ब्युँझेपछि सोच्थेँ- आखिर यो सपना दोहोरिनुको कारण के होला ? कुनै अनर्थको सामना त गर्नुपर्ने त छैन मैले ? अलिअलि डर । अलिअलि रहस्य । धेरै अन्यौल नै थियो । आखिर सपना के हो ? यो किन आउँछ ? आममानिसहरू सपनाका फलहरू भन्ने गर्छन् र त्यसमा विश्वास पनि गर्छन् । तर सपनाको फलबारेमा मलाई त्यति विश्वास लाग्दैन । जुन आमरूपमा धेरैले हरेक सपनाको शुभ-अशुभको फल भन्ने गर्छन् । जहिले पनि र अहिले पनि मलाई सपना केही होइन भन्ने नै लागिरह्यो । तर रहस्यमयचैं लाग्छ । अनुसन्धानकर्ताले भन्ने गर्छन्, सपना त्यो आउँछ जुन कुरा मान्छेले देखेको हुन्छ, भोगेको हुन्छ या सुत्नअघि सोचेको हुन्छ । तर मैले जीवनमा यस्ता कति सपना देखेको छु जुन न त मैले देखेको थिएँ न त मैले सोचेको नै । तर मैले अस्पतालको शैय्यामा देखेको सपनाले मलाई सोच्न बाध्य बनायो कि यसमा कुनै कारण या रहस्य पो छ कि ! त्यसैले मैले अस्पतालमा देखेको सपना एकपटक होइन, तीन-तीन पटक देखें । आखिर त्यो के होला या केको संकेत पो हो कि ? अब मेरो यो उत्तरार्धको जीवनमा यसले अर्को रहस्य थपिदिएको छ । कोरोना माहामारीमा जुन संक्रमण भइरहेको छ, त्यसको खास औषधि छैन । भनौं अहिलेसम्म पत्ता लागेको छैन । त्यसैले मेरो चिकित्सकहरूले ममा पनि थुप्रै औषधिको प्रयोग गरे । कुन औषधिले कतिको फाइदा-बेफाइदा गर्छ त्यसको जाँचको लागि पटक-पटक रगत लिन्थे । एन्टिबायोटिक, स्टेरायड र अरू थुप्रै औषधि निरन्तर चलाए । चलनचल्तीमा यो बिरामीलाई चलाउने मुख्य औषधि रेमेदिसायेर सुरु गर्न मेरो अनुमति मागे तेश्रो दिन । तर त्यसले मेरो कलेजोलाई असर पार्न थालेकोले त्यो बन्द गरे । यसरी विभिन्न औषधिको प्रयोग ममा भई नै रह्यो । करिब एक हप्तापछि मात्र स्वास्थमा अलिअलि औषधिले असर गर्न थालेको महशुस गरें । त्यसपछि अक्सिजनको लेभल अलि घटाउँदै लान थाले । करिब दुई हप्ता अस्पतालको शैय्यामा पल्टेर बस्दा खुट्टाले भुइँ टेक्न सक्दैन थियो । खुट्टा जाम नहोस् भनेर दुई खुट्टामा नै नेल ठोके जस्तोगरि भाइब्रेटर जोडिएको थियो । जसले मेरो खुट्टाको मसलहरू जाम हुनबाट रोक्नमा मद्दत गर्दथ्यो । एकप्रकारले मसाज थियो त्यो । तर म उभिन पनि सक्ने अवस्थामा थिइनँ । अस्पताल बसेको करिब दुई हप्तापछि बल्ल घर जाने अनुमति दिए । अस्पतालबाट छुट्ने अघिल्लो दिन फिजिकल थेरापिस्ट आएर मेरो जाँच गरिन् । उनले उभिनको लागि लट्ठी आवश्यक पर्छ भनी एउटा लट्ठी दिएन् । अस्पतालबाट छुट्ने दिन त्यहाँका स्वास्थकर्मीले मलाई अत्यावश्यक पर्ने अक्सिजनको सिलिण्डर बोकाए, हातमा लट्ठी थमाइदिए । मेरो जीउमा हड्डी र छालाबाहेक केही थिएन । सोचें, सार्है शरीर गलेछ । आँखाबाट आँशु तप्पतप्प रसाउँदै बगे । अति नै भावुक बनेछु त्यस समय । मेरो शरीरको अवस्था बीस वर्ष बढी भएको महशुस गरें । ह्वील चेयरमा राखेर मलाई अस्पताल बाहिर निकाले । दुई हप्तादेखि नदेखेका मेरा दुई छोराहरू अस्पतालबाहिर मलाई पर्खेर बसिरहेका थिए । यत्रो दिनपछि देख्न पाएको खुसी उनीहरूको मुहारमा थियो । एउटा वृद्ध मान्छे, दुब्लो पातलो, झ्वास्स दारी-जुँगा पलाएको अनि नाकमा अक्सिजन लाएको, हातमा लठ्ठी बोकेर ह्विल चेयरमा आइरहेको देखेर उनीहरूको मनमा कस्तो विचार आयो होला ! म भन्न सक्दिनँ । म फर्केर आएकोमा ती अवश्य नै खुसी त भए होलान्, तर मेरो अवस्था देखेर तिनको मनले अझ के सोचे होलान् ! म अहिले सोच्ने गर्छु । घरमा विद्या झ्यालबाट हेरेर पर्खिरहेकी देखें । फेरि आँखा रसाएर आयो । करिब तीस वर्षमा यही एकपटक होला, यति लामो हाम्रो देखाभेट नभएको । फेरि आँखा रसायो । तर मन थामेर रोकें । पार्किङ्ग लटदेखि मलाई दुइटा छोराले दुईतिर समातेर (बोकेर) घर पसाए । घरभित्र पसेपछि लामो सास फेरेर थचक्क बसेँ । परिवारलाई संयुक्त देख्न पाउँदा एकछिन त मैले मेरो स्वास्थस्थिति नै बिर्सें जस्तो भयो । अनि मन-मनमा भनें- धन्य हौ तिमी परमात्मा ! जसले मलाई बचाएर घर फर्कन सफल बनायौ । अहिले म रोगमुक्त बने पनि कमजोरीको कारण स्वास्थलाभ गरी घर नै बसेको छु । कसैको जीवनको पूरा आयु कति हुन्छ ? थाहा छैन । तर लामो जीवन जिउन कसलाई पो रहर नलाग्ला र ? म पनि नयाँ जीवन पाएकोमा धन्य भएको छु । रहर लागेको छ, नयाँ-नौलो केही गर्ने । अधुरा काम चाँडै सम्पन्न गर्ने । अनि बाँकी जीवन माया, प्रेम र शुभेच्छा बाँडेर बिताउने आदर्श प्रतिबद्धता बोकेको छु । हेरौं, कति सफल हुन्छु । अस्तु ! भर्जिनिया, अमेरिका #बसन्त श्रेष्ठ
पुर्खाले छाडेको देश टेक्दै गर्दाको क्षण: ‘नेपाल त्यही हो,’ भीम पाण्डेले खोला पारिको बाक्लो बस्ती देखाएपछि मेरो आँखा घरि–घरि काँकडभिट्टा भनिने परको त्यो बस्तीतिर गइरहन्थ्यो । नेपाल आउन यति धेरै सङ्घर्ष गरेपश्चात आफ्नो आँखाअगाडि नेपाललाई देख्नुको अनुभव बेग्लै हुँदोरहेछ । हुन त त्यो खोलापारि र वारिमा के नै फरक हुँदो हो र ? तर नेपाल देख्ने बित्तिकै खुसीले मन भावविभोर हुँदै थियो । जति जति पाइला अघि बढ्थे, मन उडेर काठमाडौं, पोखरा नजाने कुन-कुन ठाउँको नाम याद आइरहन्थ्यो । बच्चादेखि सुनेका नामहरु यहाँ अटेसमटेस हुँदै बाहिर आइरहेका थिए । नेपाल र भारतको सिमाना भएकाले ओहोर दोहोर गर्ने मानिसको घुइँचो थियो । बाइक, रिक्सा, साना–ठूला गाडीहरू पनि हामीले रिजर्भ गरेको गाडीलाई जित्दै अघि बढ्ने प्रयास गर्थे र त्यहाँ कोकोहालो मच्चिन्थ्यो । यात्रुहरूमा धेरैजसो बंगालीहरु थिए । कतै-कतै नेपाली बोली पनि सुनिदै थियो । यसले मलाई ती आवाजतिर तानिहाल्ददथ्यो । मेरो बाल्यकालदेखिको एउटा सोच, कोही नेपाली बोल्छ भने ऊ आफन्त हो । आफ्नो नाताबाहेक मैले अरुले नेपाली बोलेको कहिल्यै सुनिनँ । ठूलो भएपछि जब गोर्खा समाजमा जान थालेँ, ती सबै एउटै गोर्खाली परिवारका सदस्य हुनुहुन्थ्यो । यसर्थ नेपाली बोल्ने सबै मेरालागि नातेदार नै हुन् । त्यसैले पनि नेपाली सीमा आउन थालेपछि भिडमा कतैकतै नेपाली आवाज सुन्नेबित्तिकै मेरो आँखा त्यतैत्यतै जानुको कारण यही थियो । नेपालको सीमा छुवुन्जेलसम्म मलाई नेपालका सबैले दुई हात पसारेर स्वागत गर्छन् भन्ने लागिहाल्दथ्यो । जसले नेपाली बोल्यो, उसलाई भन्न मन लाग्दथ्यो, म बर्मादेखि तपाईंलाई भेट्न आएको । तर कसरी भन्ने ? उनीहरुको अनुहार गौर गरेर हेर्थें र अर्को आवाज आएतिर फर्कंन्थे । अर्कोतिर पनि नेपाली बोलेको आवाज आउँथ्यो । भारतीय सिमानाको अन्तिममा पनि यात्रुहरुलाई ठाउँठाउँमा कडा निरीक्षण गर्ने रहेनछन् । दुई देशको अन्तर्राष्ट्रिय सिमानामा यो स्वभाविक पनि हो तर यो नेपाल-भारत सम्बन्धका कारण होला, सोचेजस्तै लामो समय लाग्ने खालको थिएन । तै पनि मलाई हतार लाग्दथ्यो । सामान्य लगेज हेर्ने दुई मिनेट पनि कति समय लाग्दैनथ्यो । तर मेरालागि त्यो दुई घन्टाको समय महसुस हुन्थ्यो । हाम्रो गाडीका ड्राइभरले सिलीगुडीबाटै हामी बर्माबाट आएको थाहा पाएका थिए । र, उनले मेरो हडबड र नेपाल प्रतिको लगाबबाट मेरो मनस्थिति बुझिसकेका थिए । यही कारण उनी बाटाभरि बर्माका विषयमा सोधपुछ गरिरहेका थिए । जब उनी बर्माका विषयमा एउटा प्रश्न सोध्थे, हामी नेपालका विषयमा चारवटा प्रश्न गर्दथ्यौँ । जस्तो उनीहरुलाई हामीले सोधेका थियौँ, ‘नेपालमा धिताल गाउँ कहाँ छ ?’ साथी सरगम धितालले नेपालमा धिताल गाउँ छ भन्ने सुनेकी रहिछन् । उनलाई त्यो गाउँ पुग्ने इच्छा थियो । तर ड्राइभरलाई नेपालकाकाँकडभिट्टा र त्यसपछिका दुई चार नेपाली गाउँ मात्र थाहा रहेछ । ‘हामी धनगढी साहित्य महोत्सव जाँदैछौँ यहाँबाट कति टाढा पर्छ ?’ अझ धनगढीको नाम त उनले सुनेकै रहेनछन् । केही वर्ष गाडी चलाएका र थोरै-थोरै नेपाली बुझ्ने ती बंगाली ड्राइभरलाई हाम्रो बारेमा धेरै चासो देखिन्थ्यो तर हाम्रा प्रश्नले उनको केही पनि लागेन । ‘तपाईंहरु कसैगरी पनि नेपाली देखिनुहुन्न । म यहाँ गाडी चलाएको यत्तिका वर्ष भयो तर तपाईंहरुजस्तो नेपाली देखेकै थिइनँ,’ ड्राइभर दाइले पुनः मन थाम्न नसकेर प्रश्न गरेका थिए । उनको विचारमा म केही काली र नाकमा फुली भएकाले म भने नेपालीजस्तो देखिन्थेँ । ‘किन ? नाकमा फूली लगाएको कारणले हो कि मलाई मात्रै नेपालीजस्तो देख्नु भो ।’ ‘हो तपाईं चैँ नेपाली देखिनुहुन्छ । अरु छुट्याउनै नसक्ने । न नेपाली, न बंगाली । थाहै भएन,’ उनले मधुदी र सरगमको अनुहार एक एक गरेर हेरे । त्यसपछि मेरो अनुहारमा अडिए । नेपाल प्रवेश गरिरहँदा आफू नेपाली जस्तो देखिन्छु भन्दा निकै खुसी लाग्यो । मलाई नेपालमा निकै राम्रो स्वागत हुनेछ भन्ने विश्वास पनि मनमा पलायो । ‘अब सुरु भयो मेची पुल,’ पुलमा गाडी प्रवेशपछि ड्राइभर दाइले भने, ‘यो खोलाको बीचमा नेपाल र भारतको बोर्डर छुट्टिन्छ । यता हाम्रो भारत, उता तपाईंको नेपाल ।’ खासमा नेपाल पनि हाम्रो त कहाँ हो र ? तर उनले तपाईँको नेपाल भनिदिँदा पनि खुसी लाग्यो । मेची पुल निकै लामो रहेछ । मैले सुनेका नेपाली नदीहरुमध्ये, मेची, कोसी, गण्डकी, त्रिशूली र महाकाली हुन् । अँ बाग्मती पनि नदी नै होला । सानैदेखि सुनेका यी नदीहरुमध्ये यतिखेर हामी एउटा नदी हुँदै नेपालभित्र छिर्दैछौँ । हामीले पुल टेक्नेबित्तिकै नमस्कार गरेका थियौँ । हाम्रालागि नदी देवता हुन्, देख्नेबित्तिकै नमस्कार गर्न मन लाग्छ । त्यसमाथि नेपालका नदी त हाम्रालागि साक्षात ईश्वर । पुल जति लामो थियो नदी त्यति ठूलो लागेन । पानीको तुलनामा बालुवाको नदी भन्दा ठिक होला । बर्माको एरावती नदी कता हो कता ठूलो ! तर पुल तर्दै जाँदा काँकरभिट्टा नजिकिँदै जान थाल्यो । काँकरभिट्टा नपुग्दै मेरो मनस्थितिले गरेको प्रसन्नता न भनिसाध्य छ, न लेखिसाध्य ! मेरा खुसीहरू मन हुँदै आँखामा पुगेर टिलपिलाए । नेपाल आमाको काखको अनुभव गर्दै लामो स्वास फेरेँ । नेपाल भित्रिदा त्यहाँको स्वच्छ हावा जो हिमालको सुगन्ध छर्दै फैलिएको थियो, त्यसले भरपुर आनन्द दिई स्वागत गरिरहेको थियो । नेपालतिरको बोर्डरमा जताततै नेपाली बोलेको मात्रै सुनियो । यता पनि नेपाली, उता पनि नेपाली । यस्तो नेपाली बोल्नेहरुको भिड कहिल्यै देखेको थिइनँ र हाम्रो कल्पनामा यस्तो कुरा आउँदैन पनि ! गाडीबाट उत्रिएर मैले नेपाली भूमि छोएर दर्शन गरेँ । अरु साथीहरुले पनि यसै गर्नुभयो । यो हाम्रो अनजानमै गरेको कार्य थियो । सायद सय वर्षपछि आफ्नो पितृभूमिप्रति यो श्रद्धा अर्पण थियो । मैले मनमनमा धन्यवाद दिएँ, बर्मामा नेपाली भाषा बचाउने अग्रज साहित्यकारज्यूहरुलाई । जसले हामी जस्ता चौथो पुस्ताका नेपालीहरुलाई नेपाली बोल्न लेख्न सिकाउनु भयो र यही नाताले हामी यहाँ आइपुग्यौँ । हाम्रा पुर्खाहरू सय वर्षअघि आफ्ना स–साना छोराछोरी दायाँ–बायाँ च्यापेर कुम्लो कुटुरोसँगै पैदल हिँडेर हामी यता आएकै बाटो बर्मा भित्रिएका भन्ने कुरा पटक-पटक सुनेकी थिएँ । आज सय वर्षपछि झण्डै त्यही बाटो गाडी चढेर एउटा सम्मानित कार्यक्रममा आउँदै थियौँ । यो भाषा नबचेको भए म यहाँ आउन सम्भव थिएन । आए पनि आफ्नो भनेर आउन सम्भव थिएन । पराइ भएर पराइ देशमा गएजस्तै हुनुपर्दथ्यो होला । नेपालबाट किन यति धेरै नेपाली बर्मा छिरे भन्ने कुरा पटक-पटक सुन्ने गरिन्छ । अनेक हण्डर खाएर हाम्रा पुर्खा बाँचे र हामीलाई बचाए । कोही सैनिक भएर सिमानामा लड्दै आफू मरे तर परिवार बचाए । कोही ९० सालमा आएको भूकम्पमा सबै गुमाएपछि दिक्दार लागेर महिनौ हिँडेर बर्मा पुगे र आफ्ना सन्तानलाई बाँच्न सक्ने खेत जम्मा गरिदिए । कोही पारिवारिक अंशबण्डामा अन्यायमा परेपछि जीवनभर गाउँ फर्कन्न भन्दै कसम खाएर बर्मा पुगे र उतै बिलाए । कोही राणाहरुको मुखे कानुनको भरमा चार भञ्ज्याङ् कटेपछि बर्मा हानिए । कोही राजनैतिक शोषण र दमनको सिकार भएर भागे । कोही बेचिएर बर्मा पुगे । कोही मुग्लान जान्छु भनेर हिँडेको मान्छे कहाँ आएँ भन्ने थाहै नपाइ बर्मा पुगे । नेपालबाट बर्मा पुग्नेहरुको इतिहास लेखिने हो भने कति विरह र करुण गाथा बन्छ, नेपालमा कसैले कल्पना गरेको छैन । कल्पना गर्नेहरुले लेख्ने आँट गरेका छैनन् । ठूला मानिसहरुको इतिहास लेखिने समयमा यी प्रवासीने नेपालीहरुको तथ्य कसले खोज्ने ? कसले लेख्ने ? विदेशी भइसकेका यी नागरिकहरुको बारेमा अब कसले चासो राख्ने ? मेची पुल त्यो बेला थिएन, बाटोहरु पनि यी थिएनन् । ती ठूला नदी तरेर, ठूला पहाड अप्ठ्यारा बाटाहरु हिँड्दै कसरी हाम्रा पुर्खा त्यति टाढा पुगे होलान् ? विषम परिस्थिति झेल्दै, रुँदै यो सिमाना छाड्नेहरुका सन्तान हामी यही माटोमा टेक्न सिमानासम्म आइपुगेका छौँ । ‘मेरो बुबाले काँधमा बोकेर मेरी मामा र ठूली आमालाई डोर्याउँदै चामल रासनसहित बाटामा पकाउँदै खाँदै दुई महिनाको हिँडाइपछि यहाँ आइपुगेका हौँ,’ हजुरआमाले आमालाई भनेको कथा पुनः आमाबाट मैले सुनेको कुरा मलाई सम्झना हुन्छ । एउटै कथा हजुरआमाले आमालाई सयौँ पटक सुनाउनु भएको थियो । यस्ता कथा हजुरबुबाबाट बुबा र बुबाबाट हामी हुँदै यो कथा बर्माका हरेक बच्चाले सुनेका छन् । हरेक बर्मेली गोर्खालीलाई आफ्नो इतिहास बिर्सेलान् कि भन्ने चिन्ता छ । हजुरआमा पटक-पटक नेपाल पुग्ने इच्छा राख्नु हुन्थ्यो । आफू नेपाल पुग्न नसके पनि यी नाति-नातिनाले नेपाल नबिर्सियून् भन्नु हुन्थ्यो । सायद यही कारण यो कथा हामीसम्म जस्ताको तस्तै आइपुगेको छ । हामीले पनि बिर्सनु छैन, नेपाल छाडेका कथाहरु किनभने आगामी पुस्तालाई सुनाउनु छ । हजुरआमाले आमालाई सुनाएको जीवनकथा आमाले मलाई सुनाउँदा मलाई ती दन्तेकथाझैं लाग्थ्यो । आमाको सुनाउने शैली पनि रमाइलो थियो । सायद आमाको कथा सानैदेखि सुनेर हुन सक्छ, मलाई यस्ता कुरा भन्न र लेख्न मन पर्छ । ‘आमा, हजुरबुबा किन नेपाल छाडेर बर्मा आउनु भाको ?’ ‘त्यो बेला बर्मामा नुन चाल्दा पनि सुन पर्छ भन्थे रे नि त ! नुन चाल्दै पैसा कमाउँदै गर्न आएका रे । बुझिस् ?’ ‘अनि कति पैसा कमाउनु भयो त ?’ म आमाको कुरामा छक्क पर्दै प्रश्नमाथि प्रश्न गर्थें। आमाले मुसुक्क हाँस्दै जाने जति जवाफ दिनु हुन्थ्यो । आमाका ती कुरामा कति सुनेका कुरा थिए होला, कति साँच्चै इतिहास थिए होलान् ! तर अनौठा कुरा सुनाउनु हुन्थ्यो । ‘किन रुनु भएको ?’ सीमा गुरुमाले मलाई हल्लाएर सोध्नुयभो । म त भिडमा पनि एक्लो भएर पुरानो इतिहास सम्झिरहेकी थिएछु । “हैन, आँखा कहिलेकाहीँ बिनाकारण रसाउँछन्,’ मैले कुरालाई टार्न खोजेँ । मैले सबै-सँगै यात्रारत साथीहरुलाई हेरेँ । टिम लिडरलाई हेरेँ । उहाँहरूको अनुहार हिमालयमा सूर्यको पहिलो किरण पर्दाको जस्तो चम्किलो थिए । म मात्रै अनावश्यक भावुक भइरहेको रहेछु । यो त खुसीको क्षण पो हो त ! सायद उहाँहरुले पनि मनमा आफ्ना पिता पुर्खाका कथा-व्यथा यहाँ आएर सम्झनु भयो होला । आखिर हामी सबैको पितृभूमि हो यो । सबैका आआफ्ना कथा छन् । फरक यत्ति हो, कसैका समयको कालान्तरमा बिलाउँदै गए भने कसैका ताजै छन् । उहाँहरू पनि भावनामा बग्दै हुनुहुन्थ्यो होला मजस्तै । तर कोही पनि आफ्ना भावना देखाउन सकिरहेका छैनन् । सायद भिडमा भएका कारण पनि यसो भएको हुनसक्छ । नेपालको मायामा चुर्लुम्म डुबेर आफ्ना पितापुर्खाहरूबाट सुनेका जीवनकथा, उपकथाहरूले ब्यूँझाइरहेका होलान् । बर्मा बसे पनि नेपालमै बसे पनि, हुन त हामी नेपाली नै हौँ। जाति प्रेम हाम्रो रगत बनेर शरीरको अङ्ग अङ्गमा दौडिएको छ। सायद यही कारण होला, बर्माको दुःखमा हामी दुःखी हुन्छौँ नै तर नेपालका उतारचढाव र सङ्कटमा पनि परबाट चिन्तित हुन्छौँ । प्रवासिएको डेढसय वर्षपछि पनि नेपाली भाषा संस्कृति जिउँदै राखेका छौँ । नेपाल प्रतिको माया पनि उसैगरी मौलाएको छ आज पनि । परैबाट भए पनि एकपटक नेपाल हेर्ने चाहना सबै म्यान्माली नेपालीमा हुन्छ । अझ त्यसमा हामी नेपालकै काखमा लुटपुटिन पुगेका आफूलाई भाग्गेमानी नसम्झेर पुग्दै पुगेन । आज २३ तारिख, मेरा यी अनुभूतिको साक्षी बनेको यो दिन । मेरो जीवनको सुन्दर दिनमध्ये पर्छ आजको दिन । त्यसैले डायरीमा ठूला अक्षरले लेखिएको छ, नेपाल प्रवेश गरेको दिन । हामीले नेपाली सिनेमा हेर्दाको नेपाल, नेपाली कथा उपन्यास पढ्दा कल्पना गरेको नेपाल । पिता पुर्खाबाट सुने जानेको नेपाल । सबैसबै नेपाल र नेपाली जनजीवनका काल्पनिक परिवेशलाई अब चाहिं आँखाले छुने र मीठा-मीठा अनुभवले भकारी भर्ने योजनाका थियो मेरो । काँकरभिट्टा पुगेपछि त्यहाँ एकएक दृश्य बटुल्नतिर लागेँ म । बजार फरक थियो तर अपनत्व थियो । फेसन पनि फरक थियो तर त्यो आफ्नै जस्तो लाग्दै थियो । हरकोही नेपाली बोल्दैथिए काँकडभिट्टा बजारभरि, त्यो मलाई संगीतजस्तै प्रिय लागिरहेको थियो । म बर्माको बजारमा जसरी स्वतन्त्र र गौरवपूर्ण तरिकाले भित्रैदेखि स्वतन्त्र महसुस गर्छु, ठिक त्यही अनुभूति भएको थियो मलाई । यो पनि मेरो देश हो, यही भावना मनभरि आइरहेको थियो । कहाँ मनिपुर, कहाँ डिमापुर कहाँ नेपालको काँकडभिट्टा ? ती बर्माका नजिक थिए तर परदेश जस्तै लाग्दथे । मनमा एक प्रकारको डर र त्रास थियो । तर यहाँ नेपाल आइपुग्नेबित्तिकै खुसीको कुनै सीमा छैन । आफन्त भनेको सायद यही होला । ‘लौ धेरै फोटो नखिच, अब अध्यागमन कार्यालयमा गएर कागज देखाउनु पर्छ ।’ टिम लिडर भीमजीले भनेपछि हामी कार्यालयतिर लाग्यौँ । जब भिसा लगाउने कागजपत्र देखाउन थाल्यौँ, तब पो थाहा भयो- हाम्रो खुसी कर्कलाको पानीजस्तो रहेछ…। #नेपालदेखि बर्मासम्म #रिता लामाकार्की
खगराज बरालको 'सिकाइ र सहयोग' बजारमा \xa0: साहित्यपोस्ट सांग्रिला बुक्सले बन्दाबन्दीअगाडि नै मुद्रण भएका पुस्तक क्रमश: बजारमा ल्याउने भएको छ । सांग्रिला बुक्सका संचालक मणि शर्माका अनुसार बन्दाबन्दीअघि १० बालबालिका सम्बन्धि पुस्तकसहित १३ ओटा पुस्तक मुद्रण भएर तयार भएका थिए, तर बजारमा पठाउनुअघि ‘लकडाउन’ शुरु भएकाले बजार पठाइएको थिएन । “अब क्रमैसँग अड्किएका पुस्तक र अन्य नयाँ पुस्तक पनि बजारमा उपलब्ध हुनेछन् ।” मणि शर्माले साहित्यपोस्टसँग भने, “बन्दाबन्दीअघि दश विभिन्न शीर्षकका बालबालिकाका पुस्तक र खगराज बरालद्वारा लिखित ‘सिकाइ र सहयोग’ शिक्षा सम्बन्धि पुस्तक, जीवनप्रसाद राईद्वारा लिखित ‘समृद्दिका आधार’ र यात्रीप्रकाश पाण्डेको उपन्यास ‘सइन’ प्रेसबाट आइसके पनि बजारमा पठाउन सकिएको थिएन, अब आइतबारबाट क्रमैसँग यी पुस्तक बजारमा पठाइने छ ।” आइतबारबाट सांग्रिला बुक्सले खगराज बरालद्वारा लिखित पुस्तक ‘सिकाइ र सहयोग’ बजारमा उपलब्ध गराउने छ । शर्माका अनुसार यो पुस्तकलाई थुप्रै अनलाइनसँगको सहकार्यमा सांग्रीला बुक्सले इ-बुक फर्म्याटमा समेत उपलब्ध गराएको छ । साथै, अमेजन, बार्न्स एन्ड नोबल जस्ता साइटमार्फत संसारका जुनसुकै ठाँउमा रहनुभएका पाठकले समेत पेपरब्याक संकरण पुस्तक प्राप्त गर्न सक्ने छन् । ‘सिकाइ र सहयोग’ पुस्तक सिकाइका प्रारूप– सुनाइ, बोलाइ, पढाइ र लेखाइका बारेमा बृहत जानकारी दिने पुस्तक हो । लेखकले शिक्षा मन्त्रालय अन्तर्गत विभिन्न विभाग र मन्त्रालयमा रहेर काम गर्दा शिक्षासम्बन्धि सैद्धान्तिक र व्यवहारिक समस्या र चुनौतीसँग आफूले सामना गर्नुपरेका अफ्ठ्यारा र तिनका सम्भावित निराकरणका बारेमा पुस्तकमा सरल तरिकामा वर्णन गरेका छन् । पुस्तकका सन्दर्भमा लेखक भन्छन् – “सिकाउने शैलीमा शिक्षण सिकाइका विषयहरू कमै समेटिए, शिक्षा सेवामा लामो समय काम गर्दा कार्यक्षेत्रमा देखिएका, भोगिएका कुराहरू समेटिएको अघिल्लो पुस्तकमा नअटाएका र शैक्षिक प्रक्रियासम्बद्ध विषय ‘सिकाइ र सहयोग’ पुस्तकमा उल्लेख गरेको छु । अघिल्लो पुस्तकले झैँ यो पुस्तकले पनि पाठकहरूलाई फरक स्वाद दिने मात्र होइन ज्ञानको सीमासमेत फराकिलो पार्ने समेत विश्वास लिएको छु ।” लेखक बराल हाल नेपाल सरकारका सचिवका रूपमा कार्यरत छन् । उनका यस अघि करिब एक दर्जन विभिन्न विषयका पुस्तक प्रकाशित छन् । लेखकको यसअघि ‘सिकाउने शैली’ पुस्तक सांग्रिला बुक्सद्वारा नै प्रकाशित छ । ‘सिकाइ र सहयोग ‘ पुस्तकको मूल्य नेपाली रुपियाँ तीन सय पन्चानब्बे रहेको छ । #खगराज बराल
मानव बस्तीको कालो इतिहास: तेरो आगमनले ल्याएको हाम्रो दूरुत्वलाई चियात्न खोज्ने हाम्रो जीवनलाई निःशब्द स्थिति बनाउने सन्त्रासभित्र डुबाउने तेरो आगमनलाई हाम्रो मौनताको आगोले सल्काउँदैछौ हाम्रो भीडभाडलाई च्यातेर हाम्रो समयलाई खोसेर तँ नरमाउदा हुन्छ अब हामी लुकेर ढुकेर तेरो हत्याको खाडल खन्दैछौ तेरो अदृश्य शरीरलाई हाम्रो एकता र संकल्पले ढडाउँछौ मानवजातिको हात बाँधे भनेर खुसी नहुँदा हुन्छ हाम्रो कुट्टे कोदालोलाई खोसे भनेर नरमाए हुन्छ । तेरो आगमनले हाम्रो आस्था र विश्वासमा आगो लगाइस् हाम्रो दैनिक जीवनको सार्थक दिनहरू खोसेर हामीलाई मृत्युको घण्टी झुण्डाउने तेरो आगमनलाई हामी लकडाउनको बुट्टी बाँधेर क्वारेन्टिनको मोज मारेर तेरो मृत्युको आगो तापिरहेका छौ अनुहार लुकाई अदृश्य रुपमा आक्रमण गर्ने तेरो दानव रुपलाई मान्छे बस्तीमा दूरी राखेर निर्मम हत्या गर्दैछौँ तेरो आक्रमणलाई मान्छेको बस्तीले चूपचाप रही घरभित्रै लुकेर एउटा लडाई जित्दैछौ मानवबस्तीले संकल्प गरिसक्यो हाम्रो संसारबाट तेरो उठीबास हुनेछ तँ भिसाबिना आएको छस् तँ भिसा बिनानै जानुपर्छ तेरो आक्रमण,तेरो संक्रमण मानवजाति निम्ति कालो इतिहास बनेको छ । #मानव बस्तीको कालो इतिहास #सुकरात दियाली
काठमाडौँ मइन्टोल: फोक्सो भरिने धुलो र धुवाँ पिलाएर हरेक क्षण हरेक दिन बाँचिरहेछ प्राचिनता . अभाव पखाल्न आउनेहरूले दान दिएको समयमा आफ्नो कर्तुत छोपेर आवरणमा पल्काउन उसले गर्नु परेन कुनै विज्ञापन . कतिसम्म भने – स्वीकारेन कहिल्यै आफ्नो सन्तान उसले मलाई ठानेन मित्रसम्म पनि . मितेरी लाउँछ ऊ प्रदुषण बोकेर अनि होमिदिन्छ जबरजस्ती अभावका घुट्कीसँग .। बालकहरूका सन्दर्भमा – कहिल्यै सुनाएन लोरी काठमाडौँले कोक्रामा सुताएर बोलाउन जानेन कहिल्यै बात मार्न चौतारीमा बिसाउँ भनेन कहिल्यै पीडाका ढाकर . गाँस भनेन कहिल्यै भारापर्मको प्रेम बाँड भनेन कहिल्यै सहयोग र सद्भाव लाऊ भनेन कहिल्यै सुख दुःख बाँडेर आरती सात पुस्ता केलाएर केलाङ नाच्दै चुई….पकन्दी लयमा जानेन कहिल्यै सेवारो . सट्टामा – जिउँदा किचकन्नी र ख्याकहरूले तर्साउँदा जोखाना हेर्ने चार गेडा अक्षता बिनै चितामा सुत्ने बनायो आवरणको खोल ओढाउँदै मइन्टोलको भ्रमित उज्यालो देखाएर . सट्टामा – एक्लै खायो प्रसाद एक्लै पूजा लाएर उसले प्रसादका नाउँमा – चखाएन कहिले पनि एक पित्को अपुङ्गोसम्म . जान्यो घण्टी बजाउन हरेक प्रातः र सन्ध्यामा नित्सेका निर्जीव देउता ब्र्यूत्याउन बिडम्बना ! ब्यूत्याउन सकेन मानवता काठमाडौँले .। दम र खोकीले छाती दुखेर पल्टेको बेला दिएन पाखनबेद र बूढो ओखतीका टुक्रा . उसकै छातीमा घस्रँदा – घस्रँदै गानोगोला गएका दिन पिलाएन हड्चौर र ज्वानाको झोल काठमाडौँले . र उज्याला सपना बोकेर आउनेहरूलाई होमिरह्यो घोक्रो अँठ्याएर अँध्यारा विपना र चिताको वेदीमा . मष्तकमा श्रीखण्ड घसेर मौकामा छुरा धस्छ काठमाडौँ अभावका घण्टीहरूले अनाथ ब्यूझाउँन बाहेक चिनेन ईश्वर काठमाडौँले . सप्ताहमा डाकेर जानेन प्रसाद बाँड्न काठमाडौँले . आयु थपेर बाँच्नेहरूलाई दिएन बुटी काठमाडौँले . सट्टामा – सजिलै मार्न सक्छ तर दिँदैन लास ढाक्ने कात्रो र घाट काठमाडौँले . सुरक्षाको अनुभूतिमा – सुरक्षित बनायो आफ्ना चोकहरू तर जोगाउन जानेन कहिले छोरीचेलीको अस्मिता . चन्द्रागिरि र शिवपुरीको फोक्सो चुसेर बागमती डकार्छ ऊ पिसाबमा विष्णुमती बगाउँदै . जाहेर गर्छ ग्रिनसिटीको विज्ञापन विकास, समृद्धि र भाषणका ठेलीमा काठमाडौं मइन्टोल हो ।. जहाँ – नागरिकहरू लोभिएर भकाभक मर्ने गर्छन् अनागरिक भई . उज्यालोमा अभाव बोकेर अन्धकारमा बाँच्ने राजधानी आफैँमा अन्योलग्रस्त भविष्यको मन्त्र जपेर धमिरा भइरहेछ घुसखोरी , कालो बजारी र अन्यायको . न्यायको नाउँमा गुप्ताङ्गमा पिलो बोकेर पठाउँछ ऊ माग्नेहरूलाई पीडा थपेर . एक टुकी न्यायको उज्यालो माग्न आउनेहरूलाई बिना लाज सरम नै सयौँ मुठी अँध्यारो थपेर अन्याय गर्छ काठमाडौँ . बाँच्नसम्म त – कहीँ कतै सडक र पेटी छन् तर मरेको दिन – न घाट दिन्छ न चिहान खन्ने खाल्डो नै लाग्छ कहिले त मर्नभन्दा बाँच्नै सजिलो हुन्छ . बिडम्बना ! बाँच्न पनि पटक – पटक मरेतुल्य हुनुपर्छ काठमाडौँ नगरीमा . अँ त त्यस्तै हो मेरा आस्थाका सङ्कल्प ढलेका दिन अन्धकार अभावका काइमा चिप्लेर म मरेँ भने जुठो पनि लाग्दैन काठमाडौँलाई ।. उसकै पवित्र अङ्ग स्वयम्भुनाथ काखमा बुद्धकै अगाडि मान्छेहरू मारिइरहेछन् सत्यको पराकाष्ठ नाघेर . ब्यारेकका पेटीमै बलात्कार भइरहेछन् कुमारीहरू . एम्बुस र धरापमा पड्काइरहेछ दूधमुखे बालकहरूलाई आमाको काखबाट खोसेर . लुटिन्छन् विमानिस्थलबाटै परदेशीका पसिनाका थोपाहरू . रोजगारीमा विज्ञापनका कामुक ट्याटु खोपेर बेरोजगार उत्पादन गर्ने भट्टीहरूमा पुतलीझैं मरिरहेछन् शैक्षिक मृत्युहरू मानवियता बिर्सेर पीडा र सङ्कटमा शोकधून बजाइरहेछन् मन्दिरका पुजारी तिनीहरूसँगै बढिरहेछन् धार्मिक मृत्युहरू . गिदीमा घरको याद बोकेर साहुका ब्याजको सपना देख्दै पुतली भइरहेछन् बौद्धिक मृत्युहरू . कस्तो पत्थरिलो हृदय छ ऊसँग बाँच्न रहर गर्नेहरूलाई चिता निर्माण गर्न सक्छ तर जिउँदाहरूलाई कहिले पनि सञ्चो बिसञ्चो सोध्दैन उसले . नाति पुस्तालाई खाडीमा गाडेर अलपत्र पार्न सिकाउँछ हजुर आमाहरूलाई वृद्धालयमा . छोरा पुस्तालाई मन्दिरभित्र ढुङ्गा पुज्न लाएर भीख माग्न सिकाउँछ हजुरबाहरूलाई परिवारविहीन बनाएर . धुवाँ , धुलो र दुर्गन्धको मोहनी लाएर रोगी भूत बिरामी वर्तमान अर्ध मृत्यु भविष्य बाँचेको काठमाडौँ सबैलाई मइन्टोलमा पुतली मरेझैँ मार्न ठिक्क छ खोक्रो आकर्षणमा . जुठो बारेन उसले मरेकाहरूको नाउँमा एक छाक नुनसम्म पनि मर्नेका नाउँमा बजाएन शोकधून उसले सट्टामा – आर्यघाटमा नयाँ लास नपाउँदा पशुपतिको पेटीबाट मान्छेको मृत्यु प्रार्थना गर्दै बुख्याँचा जलाउँन सिकायो मुखमा अमृत पिलायो आफूले अनि पैतालाका जाङबाट जहर ओकल्नुको विकल्पमा मानवता र नैतिकतालाई भकुरेर कैफियत आयु बाँच्नेहरूलाई एक घुट्को हर्दीपानी पिलाउन जानेन उसले नैवेद्य चढायो दुङ्गाका देवताको मुखाकृतिमा तर भोकाहरूको टपरीमा सातु चढाउन जानेन उसले पस्मिना ओढायो लाज नलाग्ने देउतालाई तर नाङ्गाहरूको अङ्ग छोप्ने भोटो दिएन उसले . अनिकालमा कन्दमुल खाएर छेरौटी लाग्दा दिएन आधा गिलास जीवनजल काठमाडौँले .। ढुङ्गाका चट्यान छातीमा दसै नङ्ग्राले चिथोर्दा पनि चुल्हो बाल्न हम्मे – हम्मे पार्छ काठमाडौँले . सिमामा स्वागतको मइन्टोल झुन्ड्याएर घरमा भोटे कुकुर देखाएर तर्साउने संस्कार छ काठमाडौँमा . शरण लिन आउनेलाई मरण गर्छ उसले . प्राचिनताका गर्भबाट आधुनिकता जन्माएर लात बर्सायो उसले संस्कार र संस्कृतिलाई . हुँदा – हँदा शैक्षिक मृत्यु गराएर समय बेच्ने ठाउँको अभावमा जम्मा भएको बाउको धनीपुर्जा चर्को साहु ब्याजमा बन्धक राखी ब्याजसम्म तिर्न नपाई राता बाकस भरिएर आउन बाध्य बनायो उसले . म यत्तिमात्र भन्छु – उसले सन्तान नस्वीकारेपछि अझै पनि पाहुना नै छु म कुन पुस्ताको ऋणको लोन तिर्दै बसेको . अभावका फोस्रा सपनाहरू तुहाएर म्याद सकिएको औषधीझैं बाँचेका छन् यायावरहरू मइन्टोल काठमाडौँमा पुतलीहरू आएर भकाभक मरेझैँ . अचेल मइन्टोल र काठमाडौँ घाट ः मण्डप लाग्न थालेको छ मृत्यु बोलाउने सुन्दरता !! #आरपी गाउँले #काठमाडौँ मइन्टोल
गुँड: भन त कागिनी यो गुँड छोडेर कसरी जाऊँ ? यतिका वर्षसम्म हामीले हाम्रा छिमल सन्तानहरू यहीँबाट र्हुक्यायौँ रूख वृद्ध भयो, चट्याङले हान्यो, उसका हाँगा खंग्रङ्ग सुके अनि के भयो त ? मन त भने हरियै दुबो छ तिमी पनि त हरेक साँझ, बत्ती बाल्नु अघि आमा ! भनेर कोही अए कि त कान ठाड्ठाडो पार्छौ पश्चिमैतिर हतकेलाले घाम छेकेर हेर्छौ अनि आफ्नै छेउमा धुमिल छाँया निहाल्दै प्रतिबिम्व खोज्छौ जो गए त गए मुटुमा तिर्सना दिएरै गए तिम्रो अन्तरमनको असीम पुकार जस्तै, सायद, यो रूखलाई छैन र ? #गुँड #साबित्री चौधरी
'फोटो कविता प्रतियोगिता- ७' को नतिजा प्रकाशित: साहित्यपोस्ट साहित्यपोस्ट डटकम र विमल फोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो–कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ । यो साता नवीन अभिलाषी ‘नारी सौन्दर्य’, आरपी गाउँलेको ‘आधुनिक नारी’ र बीएस नीरवको ‘नारी सौन्दर्य’ गरी तीनलाई उत्कृष्टमध्येबाट सर्वोत्कृष्ट चयन गरिएको छनोट समितिले जनाएको छ | छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरूमध्येबाट सर्वोत्कृष्ट तीन कविता चयन गरेको हो । प्रतियोगिताको रीत पुर्याई २० वटा कविता प्राप्त भएका थिए भने नियमविपरीत १४ वटा थप सिर्जनाहरू प्राप्त भएका थिए । नियमविपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले जनाएको छ । कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरी सबैलाई सर्वोत्कृष्टका रूपमा छनोट गरिएको छ । सबै उत्कृष्ट भएकाले यसो गरिएको निर्णायक मण्डलको भनाइ छ । फोटो कविता प्रतियोगिताको आठौँ शृंखला भोलिदेखि शुरू हुनेछ । यस्ता छन् पुरस्कृत कविताहरूः #फोटो कविता प्रतियोगिता
भर्चुअल लघुकथा गोष्ठी सम्पन्न: काठमाडौं / लघुकथा समाज नेपालले विशेष लघुकथा गोष्ठीको भर्चुअल आयोजना गरेर देश विदेशमा रहेका स्रष्टाहरूलाई एकै ठाउँमा रचना वाचन गर्ने वातावरण बनाएको छ । शनिबार साँझ ६ बजेदेखि बेलुकी साढे ७ बजेसम्म आयोजना गरिएको विशेष लघुकथा गोष्ठीको प्रारम्भमा सहजकर्ता छविरमण सिलवाल र समाजका अन्तर्राष्ट्रिय संयोजक कृष्ण बजगाईले विश्वका कुनाकुनामा रहेका नेपाली लघुकथाकारहरूलाई एकै ठाउँमा ल्याउने प्रयत्नस्वरुप यो काम भएको बताउँदै नेपाली साहित्यमा यसले विशेष महत्त्व राख्ने उल्लेख गरे । कार्यक्रमको सुरुआतमा स्रष्टा यादव खरेलले मृत्यु शास्वत सत्य भएको सन्देश प्रवाहित गर्ने ‘मरण’ शीर्षकको लघुकथा वाचन गरे । अर्का साहित्यकार अशेष मल्लले ‘लघुकथा’ शीर्षकमा चोटिलो लघुकथा वाचन गरे भने हाल अमेरिकामा रहँदै आएका साहित्यकार तथा गायक हिरण्य भोजपुरेले ‘भुइँचालो’ शीर्षकको लघुकथा वाचन गरे । पोखरामा रहेका साहित्यकार सरुभक्तले ‘प्रमिथस्त मान्छेहरू’ शीर्षकको लघुकथा सुनाए । उनले प्रस्तुत लघुकथामा आफूले प्रमिथस मिथलाई पुनर्लेखन गरेको बताए । कार्यक्रममा कथाकार भागीरथी श्रेष्ठले ‘दृष्टिकोण’, विधान आचार्यले ‘कुरुवा’, किशोर पहाडीले ‘जीवनको पराजय’, नारायण तिवारीले ‘न रिसाउनु होला’ शीर्षकको लघुकथा वाचन गरे । त्यसैगरी भारत मणिपुरका देवीप्रसाद थापाले ‘संविधान’, दार्जीलिङका एगम पाख्रिनले ‘फेसबूकमा’, अमेरिकाका विश्वराज अधिकारीले ‘जनता के भेडा हुन् ?’, क्यानडाका कुसुम ज्ञवालीले ‘राष्ट्रवादी’, मलेसियाका राजु क्षेत्री अपुरोले ‘ठूलो मान्छे’, बेलायतका कृष्ण बजगाईले ‘महँगीको हत्या’, धर्म सापकोटाले ‘निर्मलीको चिया पसल’ र डा. कपिल लामिछानेले ‘नयाँ अवतरण’ शीर्षकको लघुकथा वाचन गरे । लघुकथा समाजको कार्यसमितिका तर्फबाट सुमन सौरभले लघुकथा वाचन गरे । कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतमले वाचन गरिएका लघुकथामाथि समीक्षात्मक टिप्पणी गरे । उनले वाचन गरिएका १७ वटा लघुकथा सबैले समाज, जीवन, दर्शन र मनोविज्ञानलाई समेटेको उल्लेख गर्दै लघुकथाको भावभूमि, शैली र कथ्यको चर्चा गरे । लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठले भर्चुअल रुपमा नै भए पनि समाजले काम गरिरहेको बताउँदै यसलाई निरन्तरता दिने बताए । #लघुकथा समाज नेपाल
फेरिएको छ रे मेरो गाउँ: मेरो गाउँको शिरमाथि छहरे खोला असार मास बत्तिने सिगार्चे खोला यी दुवैको संगम प्यारो घट्टे खोला कुर्लिएको देखेँ मैले सम्हाल्ने को होला ? बालपनका साथीसँग घुम्दै गरेको ठूलीबेशी, अल्छी ढुङ्गा डुल्दै गरेको जन्मेँहुर्कें त्यहीँ सिकेँ जिन्दगीको भोगाई गाउँबेशी, खेतीबारी परिवारलाई सघाई सीप सिकेँ, ज्ञान लिएँ त्यही प्यारो ठाउँ अझै पनि सम्झनामा ताजा छ मेरो गाउँ ज्ञानको पुञ्ज मेरो प्यारो स्कूल कन्ठेश्वर तीर्थ व्रत धर्म गर्ने पूज्य शैलुङश्वर उत्तरतिर शैलुङमुनि दगली त्यो भिर पूर्वपट्टि ढुईगाउँ र दोरम्बा हो शिर पश्चिमतिर सिगार्चे गाउँ सधैँ हाम्रो साथ दक्षिण भने ठूलीबेसी घान झुल्ने फाँट थामचौर, स्कुलडाँडा च्यानखोला प्यारो शिवालय, माईथान त्यो रखे राख्ने डाँडो ऐँसेलु र चोत्रो टिप्दै काफल गेडी खाको दाउरा घाँस घरबेशी हिँड्दा माया लाको सफल जीवन खोज्दै हिँड्यौँ हामी युवा सबै प्यारो गाउँ शून्य भयो भन्थे आमा बाबै दुई दिन हिँड्नुपर्ने शैलुङे त्यो डाँडा भारी बोकी सामल लिन हिँड्थ्यौँ हामी सारा पाखाटोल पाँच घर पाँच दाजुभाइ सबै मिली बस्ने गर्थे सबै हाइहाइ कोलडाँडा भिरकुना त्यो थामघर तल्लो गाउँ डिउटोल अनि भैँसीआल सिरानघरका हाम्रा काका जान्थे लाहुर पाठक बस्ती सधैँ हाम्रो पुज्य बाहुन फलेकका घरका छाना सबै टल्कने टिन गए भन्छन् साथीभाइ हिजोका दुःखी दिन हररर मोटर गाडी जान्छन् अब लिन मेरो साथी भन्दै थियो पर्दैन अब हिँड्न सबै युवा घर फर्के गाउँ बनाउने धुन धान झुलाई, मकै फलाई निकाल्ने रे सुन स्कुल बन्यो, कलेज खुल्यो धेरै छ रे सेवा युवाहरु घर फर्के गाउँ विकासमा टेवा आमाबाबा हाँसी खुसी सकियो रे रोपाईं मंसिरमा बटुल्ने छन् यो असारको कमाई हिजो राति सपनीमा टोकरपुर गाउँ साथीभाइ भन्दैथिए फेरिएको छ ठाउँ साथीभाइ भन्दैथिए फेरिएको छ ठाउँ । कटुन्जे, भक्तपुर #मनोजकुमार कँडेल
समाज परिवर्तनका संवाहक : गुरु–गुरुआमा: गुरुब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः गुरु: साक्षात् परब्रह्माः तस्मै श्री गुरवे नमः । गीता सापकोटा असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकटगरि मनाउने गरिन्छ । ‘गु’ को अर्थ अन्धकार ‘रु’ को अर्थ प्रकाश हुन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकार नाश गराउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । अर्थात् अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तिलाई गुरु भनिन्छ । हिन्दू धर्मशास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रुपमा मानेको पाइन्छ । ज्ञानरुपी उज्यालो र त्यसको महत्वको चित्रण जुनसुकै धर्म समुदायको भएको पाइन्छ । मानिसलाई ज्ञान, सीप ग्रहण गर्नका लागि गुरु र गुरुतत्वको आवश्यक हुन्छ । सनातन धर्मावलम्बी र बौद्ध धर्मावलम्बीहरुले धर्म तथा ज्ञानको बाटो देखाउने गुरुप्रति आजकै दिन आभार व्यक्त गर्ने गर्दछन् । आजको दिन विद्यार्थी वा चेलाचेलीहरुको लागि ठूलो उत्सवको दिन हो । यस दिन विद्यार्थीहरुले आफ्ना गुरु गुरुआमालाई मीठामीठो खान दिने र उपहार दिएर खुसी बनाउने गर्दछन् । शिक्षकहरुले पनि आफ्ना चेलाचेलीहरुलाई टीकाअक्षता लगाइदिएर शुभकामना व्यक्त गर्दछन् । द्धापर युगको अन्त्यतिरदेखि गुरु पूर्णिमा मनाउन थालिएको पाइन्छ । गुरुमार्फत् प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार व्यक्त गर्दै गुरुपूर्णिमा मनाउने गरिन्छ । गुरुबाट प्राप्त ज्ञानको पथमा सधैँ अगाडि बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्ति गर्ने दिनको रुपमा हर्षोल्लासका साथ गुरुपूर्णिमा मनाइन्छ । विशेषगरि यसै दिन आचार्य वेद व्यासको जन्म भएको हुँदा वैद्धिक कालदेखि नै व्यास जयन्ती मनाउने प्रचलन रहेको पाइन्छ । व्यास जयन्तीलाई नै हिन्दुधर्मावलम्बीहरुले गुरु पूर्णिमाका रुपमा मनाउने गरिएको हो । उनी वेदवेदान्त, अठार पुराण, उपनिषद् जस्ता ग्रन्थका साथै महाभारतका रचयिता पनि थिए । आजकै दिन गौतम बुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश दिनुभएको दिन परेकाले यसै दिनलाई धर्मचक्र प्रवर्तक दिवसका रुपमा बौद्ध धर्मावलम्बीहरुले पनि गुरुपूर्णिमा मनाउने गरेको पाइन्छ । पहिला गुरु भन्नाले गायत्री मन्त्र सिकाउने, दीक्षा दिने र धनुर्वाण सिकाउने व्यक्तिलाई मात्र बुझिन्थ्यो । अहिले गुरुको परिभाषा विशाल भएको छ । हिन्दू मान्यताअनुसार विद्यालय र विश्वविद्यालयका शिक्षकका साथै संगीतलगायत ६४ कला सिकाउने, गायत्री, दीक्षामन्त्र वेदमन्त्र दिने आचार्य, उमेर, बुद्धि, बल र अनुभवले पाका व्यक्तिहरु जसले हामीलाई स्वास्थ्यवान्, नैतिकवान् र चरित्रवान् बन्न सिकाइरहेका हुन्छन् । त्यसैले विद्यालय र विश्वविद्यालयमा औपचारिक शिक्षा दिने शिक्षक शिक्षिकाहरुका साथै हाम्रा पिता, हजुरबा, हजुरआमा, दाजुदिदी, काकाकाकी आदि परिवारका सदस्यहरु पनि हाम्रा पूजनीय गुरु हुन् । उहाँहरुबाट निरन्तर हामीले जीवनमा मार्गदर्शन पाएका हुन्छौँ । अहिलेको युग विज्ञान र प्रविधिको युग भएको छ । आजको युगमा एकलव्यले जस्तो द्रोणाचार्यको प्रतिमूर्ति बनाएर त्यसैलाई गुरु थापेर ज्ञान लिनुपर्ने दिन रहेन । गुरुदक्षिणाकै रुपमा औँला काटेर ज्ञान लिनुपर्ने पनि छैन । तर गुरुत्वका प्रेरणा र प्रोत्साहनले वर्तमान समयमा नैतिकवान् र चरित्रवान् व्यक्तित्व बन्न प्रेरित हुनुपर्ने देखिन्छ । वर्तमान परिप्रेक्ष्यमा आधुनिक शिक्षा प्रणालीले र विज्ञानको चमत्कारले गुरुविना नै म संसार हल्लाउन सक्छु भन्ने अहम् बढ्नसक्ने खतरा देखिन्छ, तर गुरुविनाको चेलो भनेको लिकविनाको रेल जस्तो हुन्छ । जस्तोसुकै विज्ञानको चमत्कार भए पनि हामीलाई मार्गदर्शन गर्ने आमाबुबा र कुशल शिक्षकको खाँचो सधैँ भइरहेको हुन्छ । यसका लागि हामीले विद्यालयदेखि नै शिक्षाको महत्व र शिक्षकको महत्वका बारेमा बालबालिकालाई सचेत गराउनु पर्छ । सकारात्मक प्रभाव पार्न सक्नुपर्छ । भौतिक साधन र शैक्षिक सामग्रीको प्रचुरताले मात्र शिक्षण सिकाइमा उल्लेखनीय परिवर्तन ल्याउन सकिँदैन । जबसम्म ती साधनहरुको समुचित प्रयोग गर्ने व्यक्तिमा सक्षमता हुँदैन । तबसम्म भौतिक वस्तुको कुनै अर्थ रहँदैन । यसका लागि योग्य शिक्षकको खाँचो हुन्छ । विद्यालयमा बालबालिकालाई पढाउने गुरुमात्र भएर भएन । गुरुभित्र गुरुत्व हुनुपर्छ । गुरुत्व छ भने मात्र शिक्षकले विद्यार्थीलाई सकारात्मक प्रभाव छोड्न सक्छ । उसका सकारात्मक र नकारात्मक पक्षको पहिचान गरेर सही मार्ग दर्शनका लागि समर्पित बन्न सक्छ । उसको प्रतिभा पहिचान गरी सक्षम नागरिक बन्न प्रेरित गर्नसक्छ । यस्ता गुरुप्रति विद्यार्थीहरुमा सम्मानको भाव अङ्कुराउन थाल्छ । फाबेलले ‘विद्यार्थीलाई बिरुवा, शिक्षकलाई माली, विद्यालयलाई बगैँचा’ भनेका छन् । शिक्षक सधैँ समाज र विद्यार्थीका लागि पदप्रर्दशक हो । समाज निर्माणमा शिक्षकको ठूलो हात रहेको हुन्छ । त्यसैले शिक्षक समाजको परिवर्तनको संवाहक हुन् । यस्ता शिक्षकहरुप्रति सम्मानको भाव प्रकट गर्नु हामीले सभ्य संस्कृतिको निर्माण गर्नु हो । गुगल र युट्युब लगायतका इन्टरनेटका शिक्षण सामग्रीलाई अध्ययनको स्रोत मान्ने अहिलेको नयाँपुस्ताहरुका लागि गुरुपूर्णिमा संस्कार र संस्कृतिको जर्गेना गर्न सिकाउने महत्वपूर्ण दिन हो । संसार जति नै आधुनिक र व्यवसायमुखी भए पनि सीप प्राप्त गर्नका लागि कसै न कसैका माध्यमबाट हामीले प्रेरणा र प्रोत्साहन पाएका हुन्छौँ । यसैले गुरुपूर्णिमाका अवसरमा विद्यालय, विश्वविद्यालय एवम् विभिन्न संघसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति सम्मान अर्पण गर्ने गरेको पाइन्छ । यो परम्परा सधैँ चलिरहनु पर्छ । यसले हाम्रा बालबालिकामा सकारात्मक भावनाको विकास हुन्छ । असर र चरित्रवान् मानव विकासका लागि यस्ता संस्कार र संस्कृतिमा नयाँपुस्तालाई हौसला दिनु अति आवश्यक छ । जसले हाम्रो मौलिक संस्कृतिको सम्बद्र्धन हुनुका साथै सभ्य समाजको विकासमा सहयोग पु¥याउँछ । टीकाथली, ललितपुर #गीता सापकोटा
अवसर: प्रकाशकुमार शर्मा “डार्लिङ आऊ‚ आज बर्नमाउथ बिचमा मस्ती गरौं,” सचिवको छोराले आफ्नी गर्ल फ्रेन्डसमेत रहेकी मन्त्रीकी छोरीलाई गरेको भिडियो कल रिसिभ नभएपछि टेक्स्ट म्यासेज पठायो । “बेबु‚ म तिमीलाई लन्च टाइममा कल गर्छु है,” उताबाट यस्तो लेखिएको सन्देश प्राप्त भयो । बेलायत यतिखेर गर्मीले धपक्क बलेको छ । त्यहाँका स्वास्थ्यमन्त्रीले मानिसहरूलाई सामाजिक दूरीको पालना गर्न र समुद्री बिचहरूमा भिडभाड नगर्न आग्रह गरे पनि त्यसलाई धेरैले टेरेका छैनन् । बाध्य भएर सरकारले स्वास्थ्य सावधानीको पालना नभए “गैरजिम्मेवार र स्वार्थीहरूको भीड” लाग्न नदिन बिचहरू बन्द गर्ने चेतावनी दिनुपरेको छ । हाम्रो नेपालका मन्त्री र सचिवका छोरा र छोरीहरू पनि त्यहीँ छन् पढ्ने बहानामा । खासमा उनीहरू पढाइ कम तर मोजमस्ती ज्यादा गर्छन्; दुवै नवधनाढ्यका सन्तान जो परे ! राजधानी काठमाडौंको ब्रिटिस कलेजमा सँगै ‘ए लेभल’ पढ्दा अङ्कुराएको ती दुईको प्रेम नेपाल छाड्ने बेलासम्ममा अपरिपक्व नै थियो तर नेपाल छँदै अङ्ग्रेजी संस्कृतिको हावा लागिसकेका तिनीहरूलाई बेलायती जीवनशैलीले उन्मुक्ति दिएको छ प्रेम मौलाउने र अभिव्यक्त गर्ने । सचिवको छोराको एप्पलको आइफोनमा स्काइपमा भिडियो कल आएको सङ्केत धुन बज्छ । “बेबु‚ आज अलिक बिजी थिएँ तर तिमीले भन्छौ भने म आउँछु,” उताबाट मन्त्रीकी छोरीले ह्याम्बर्गरसँग बियरको चुस्की लगाउँदै भन्छे‚ “तिमी आइसबक्समा ड्रिङ्क्स राखेर लेराउनू‚ म स्न्याक्स ल्याउँछु ।” दिनभरि ती दुईले बिचमा खुब मस्ती लुटे र साथमा गरे नेपालको बद्ख्वाइँ । बेलायत कोरोनाको कहरले आक्रान्त हुँदा पनि आफूहरू यसरी निस्फिक्री भई बिचहरूमा घुम्न पाएको‚ वैयक्तिक स्वतन्त्रताको उच्चतम उपभोग गर्न पाएको तर नेपालले त्यति लामो समय भयानक ‘लकडाउन’ गरे तापनि भाइरस झन् भित्रभित्रै फैलिइरहेको भन्दै मजाक उडाए । अहिले झन् ‘लुजडाउन’मा स्थिति भयावह भएको भन्दै सरकारी तैयारीमाथि व्यङ्ग्य गरे । तर तिनीहरूले के सोच्न सकेनन् भने व्यङ्ग्य तिनीहरूका आफ्नै बाबुहरूको भइरहेको थियो किनभने राजनीतिक भर्ति र सार्वजनिक प्रशासन दुवैतिर तिनीहरूकै बाबुहरू नेतृत्व तहमा थिए । आफ्ना छोराछोरीले फेसबुक तथा इन्स्टाग्राममा बिचबाट पोस्टिएका फोटो र भिडियोहरू नेपालमा तिनका आमाहरूले भोलिपल्ट बिहानमात्रै देख्न पाए (किनकि उनीहरूले तस्बिर पोस्टिँदा नेपालमा मध्यरात भइसकेको थियो) र छोराछोरीको प्रीति देखेर दङ्ग परे । तर मन्त्री र सचिव बाबुहरू भने केके जाति मिटिङ भन्दै दिनभरि व्यस्त रहे । दिनभरिको भागदौडपछि मन्त्रालयमै गुपचुप तरिकाले राखिएको बुफे डिनरपछि मन्त्री र सचिव दुवैले ह्विस्कीको चुस्की लिँदै ‘भित्री भलाकुसारी’ पनि गर्न भ्याए । यो ‘गुपचुप बुफे पार्टी’मा मन्त्री र सचिवको ‘भलो चिताउने ?’ केही पत्रकारहरू पनि सामेल थिए किनभने आज डिल फाइनल भएको ठेक्काको कमिसन तिनीहरूसम्म पनि पुग्नेवाला थियो । अघिल्लो पटक भनेजति हिस्सा नपाउँदा तिनीहरूले मन्त्री र सचिवलाई आच्छुआच्छु खेलाएका थिए । पहिले मिलिजुली सरकार छँदा पनि पद हत्याउन सफल भएको मन्त्रीले वर्तमान सरकारमा पनि मन्त्री बन्न सफल भएपछि त्यस समय सहसचिव रहेको यस सचिवलाई हित्तचित्त मिल्ने हुँदा विधि र प्रक्रिया मिचेरै आफ्नो मन्त्रालयमा तानेको थियो । अलिक फुर्सद पाएका हुनाले अहिले दुवैले फेसबुक नोटिफिकेसन चेक गर्ने मौका पनि पाए । कुटिल हाँसो हाँस्दै सचिवले आफ्नो छोरा र मन्त्रीकी छोरीको बर्नमाउथ बिचको मस्तीका फेसबुक फोटाहरू देखायो । ती दुईको दिनभरिको कर्मचारी प्रशासक र राजनीतिक प्रशासकको सम्बन्ध बुफे डिनरपछि जारी मदिरा पानसँगै मेटिइसकेको थियो । आफ्नी छोरीको सचिवका छोरासँगको गहिरिँदो सम्बन्धप्रति इङ्गित गर्दै मन्त्रीले सचिवलाई भन्यो‚ “ए सचिव‚ आज सदर भएको सामान खरिदको टेन्डरबाट आउने कमिसनमा मलाई दश प्रतिशत हिस्सा बढाऊ है ।” “किन मन्त्रीज्यू ? तिमी हाम्रो पूर्वसर्तलाई भुल्देछौ है !” सचिवले जङ्गिँदै ह्विस्कीमा दुई टुक्रा आइस थप्यो । मन्त्रीले सचिवको मुखैमा उसको चोर \u200dऔंलो लगेर स्वर सानो पार्न सङ्केत गर्\u200dयो र भन्यो‚ “मेरी छोरी लाने तिम्रै छोराले हो क्यारे; दाइजो चाहिन्न र तिमीलाई ?” “मन्त्रीज्यू‚ तिमी हदभन्दा बाठो भइसक्यौ,” सचिव हाँस्यो । “तिमी कर्मचारीहरूले त सिकाएको हो नि‚ ‘जाँठा’ हो !” मन्त्रीले बोलीमा लत्तो छोड्यो । अलिक पर बसेर तिनका हाकिमहरू कतिखेर उठ्लान् र तिनलाई घर पुर्याएर आफ्ना घर गई सुत्न पाइएला भनी ढुकी बसेका तिनका ड्राइभरहरूले ‘जाँठा हो’ भनेको सुने र सबै कुरा नबुझे पनि हाँसेँ, घृणायुक्त हाँसो । एक्लै पर बसी सुरापान गरिरहेको मन्त्रीको पिए भने दङ्ग थियो; आजको डिलको थुकछिटो मात्रै उछिट्याउन पाए पनि काठमाडौंमा कतै घडेरी जोड्न पाइने लालसाले । मन्त्री र सचिव दुवैका पत्नीहरू सरकारी निवासमा पर्खिरहेका थिए, साँझको भूजाका निम्ति श्रीमानहरूलाई । उसो त मन्त्रीज्यूको पिए र सचिवको ड्राइभरले दुवै जनाका श्रीमतीहरूलाई तिनका हाकिमहरू बाहिरै ‘डिनर’ गरेर आउने हुनाले अलिक अबेर हुनसक्ने जानकारी गराएका थिए । तर पनि पत्नीहरूलाई यसैगरी पर्खाउने बानी पारिएको थियो । लर्खरिँदै गाडीबाट झरेका सचिवज्यूलाई शयनकक्षसम्म छोडेर तिनको ड्राइभर साइकलमा हान्नियो आफ्नो डेरातिर । “हजुर भूजा अलिकति पनि नखइस्सिने ?” सचिवज्यूकी पत्नीले दबेको स्वरमा सोधी । सोध्न मन त उसलाई आज भएको ठेक्कापट्टा पनि मन्त्री र सचिवकै इन्ट्रेस्टवाला कम्पनीले पाएको भनी दिउँसैदेखि मिडियामा आएको खबरबारे पनि थियो तर आँट गरिन । तर आज सचिवज्यूको चेहरा खुलेको थियो‚ “तिमी खाऊ” भन्यो नभए बिचरीले कति थोक सुन्नुपर्थ्यो । सचिवकी पत्नी पतिका लुगा खोलिदिएर भान्सातिर लागी । एकैछिनमा टबेल बेह्रेको सचिव पत्नीलाई पछ्याउँदै भान्सामै पुग्यो; खुशी उसमा अटाइनआटाइ भएको थियो । “तैंले छोराले मन्त्रीकी छोरीसँग बिचमा घुमेका फोटोहरू हेरिस् ?” “अँ देखें । यस्तो महामारीमा पनि किन त्यस्तो भिडभाडमा जानुपरेको तिनीहरूलाई !” “त्यही फोटो हेरेर मुले मन्त्री मलाई ठेक्कापट्टाबाट आउने कमिसन बढा भन्छ । ‘साले’ले मेरो छोरासँग त्यसकी छोरीको बिहे गराइदिनलाई खर्च मागेको अरे,” नशाले चूर सचिवलाई के बोलेँ भन्ने कुराको पनि हेक्का थिएन । सचिवज्यूको चेहरा खुश देखेर सचिव पत्नीले हिम्मत गरेर सुझाव दिने आँट गरी‚ “हजुरहरूलाई कति खानु परेको हो ? मिडियामा छ्याप्छ्याप्ती त्यही दश अर्बको चर्चा छ । लेखा समितिले पनि छानबिन गर्दैछ अरे; आज फेरि अर्को ठेक्का पनि…?” पत्नीलाई हस्तक्षेप गर्दै सचिव उफ्रियो‚ “चुप लाग् ‘जाँठी’; जान्नी हुन्छे ! त्यसरी नखाएको भए तेरो छोराले बर्नमाउथ बिचमा मस्ती गर्न पाउँथ्यो ? तँ सपिङ् गर्न बैंकक जान पाउथिस् ? काठमाडौंमा ठडिन्थे यी तीन तीनवटा आलिसान महल ? बढ्ता हुन्छे । त्यस्ता जाबा लेखा समिति होऊन् कि अख्तियार; पैला पनि पैसाको बुजोले साम्य पारेकै हो यसपालि पनि पारिन्छ ।” यत्तिकैमा सजिवज्यूको मोबाइलको घन्टी बज्यो । उतबाट मन्त्रीजीले उत्साहित हुँदै बोल्यो‚ “ए सचिव‚ तिम्रो छोरा र मेरो छोरीको जोडी गज्जब मिल्छ अरे; मेरी मन्त्रानीले भनेकी । आउने जनवरीसम्ममा तिनीहरूको पढाइ पनि सकिएला । फेब्रुअरीमा बोलाएर फागुनमा धुमधाम बिहे गरिदिनुपर्छ है तिनीहरूको । अँ सुन‚ मेरो कमिसन दश प्रतिसत पक्का बढाउनुपर्छ है यसपालि । दाइजो त पक्कै चाहिन्छ तिमीलाई‚ हैन ?” श्रीनगर, सल्यान #प्रकाशकुमार शर्मा #सल्यान
समुद्र र सम्भोग: गणेश खड्का भन्छन्- समुद्र शान्त, सन्तोषी र स्थिर छ समुद्र शान्त, सन्तोषी र स्थिर छ शान्त, सन्तोषी र स्थिर छ सन्तोषी र स्थिर छ र स्थिर छ स्थिर छ छ कुनै भङ्ज्याहालाई कसैले अर्ती दिंदा भनिदिन्छ – मान्छे त समुद्रजस्तो शान्त, सन्तोषी र स्थिर पो हुनुपर्दछ त ! होइन रहेछ, सगरमाथाको भूपरिवेष्टित देशबाट हेर्दा मात्र समुद्र शान्त, सन्तोषी र स्थिर देखिएको रहेछ जस्तो कि कुनै अग्लो रुखको टुप्पोबाट हेर्दा कुदिरहेको नदी पनि सुतिरहेको जस्तो देखिन्छ l एकै ठाउँमा बसिरहेर पनि चार पाउ फालिरहने अक्टोपसजस्तो समुद्र भित्री अङ्ग मात्र शान्त राखेर बाहिरी सबै अङ्ग साह्रै चलायमान पार्दोरहेछ मस्तिष्कमा असाध्यै सौम्य देखिने समुद्र मनमा उत्तिकै चञ्चल र उच्छड रहेछ विचरा समुद्र कुण्ठाग्रस्त मन लिएर विवश बाँच्दोरहेछ जमिनको भीमकाय खाल्डोमा थुनिएको समुद्र न भाग्ने कुनै बाटो छ, न जाने कहीँ ठाउँ छ शान्त, सन्तोषी र स्थिर देखिनु त समुद्रको बाध्यता पो रहेछ! पृथ्वीले आफ्नो गर्भमा सृष्टि कालदेखि नै पालेर राखेको छिप्पिएको भ्रूण रहेछ समुद्र, यौन कुण्ठा र उत्तेजनाले भित्रभित्रै जलिरहेको नपुंसक लोग्नेकी लाटी स्वास्नीले रहर दबाएरै समाजको अगाडि चित्त बुझाएजस्तो समुद्र आफ्नै आँखाको अगाडि माछा, अक्टोपस, लब्स्टर, प्राउन, पानी कछुवा…आदिले गरेको सम्भोग हेर्दै आफ्नो यौनाङ्गको विद्रोह थाम्न नसकी मुर्मुरिएर आगो हुँदोरहेछ ! कहिल्यै समुद्र नदेखेका र देवताहरुले समुद्र मन्थन गरेर अमृत निकालेको पौराणिक कथा पढेका र सुनेकाहरुले मात्र समुद्रलाई ठेकीभित्रको दही सम्झेका रहेछन् यथार्थमा समुद्र यौन तृष्णाले खरिएको विकासे साँढेजस्तो हुँदोरहेछ वीर्य थैली ओभर लोडले रन्केपछि आफ्नै वरिपरिका जीवात्माहरुको सम्भोग क्रियाको डाहाले उम्लेर बेलगाम घोडाझैं उर्लिंदोरहेछ समुद्र सुनामी, टाइफून र अन्यान्य डिजास्टरको रुप धारण गरेर चकचकी गर्ने समुद्र कामुकताले पागल भएपछि आँखै नदेख्दोरहेछ त्यही भएर पो समुद्रले टापुहरुका स्तन च्यापच्याप समातेर छिल्लिंदै भाग्दोरहेछ ! यस्तो लाग्छ,… समुद्र उखुम सेक्सी हुनपर्छ भियग्रा र यार्सागुम्बाभन्दा हजारौं गुणा बढी यौनवर्धक सी क्युकम्बरको नियमित सेवनले अरु सप्पै प्राणीभन्दा हजारौं गुणा बढी पावरफुल हुनुपर्छ समुद्र सम्भोगमा र त आफ्नो तटमा नाङ्गो हनिमून मनाउनेहरुको खुल्ला सम्भोग हेरेर भावावेगमा जलन र उत्तेजनाले राँकिदै, छाल उरालेर चार पाउ फाल्दै बिकिनीमा स्नोर्केलिङ र डाइभिङ खेल्न आएका कुइरेनीहरुको गुप्ताङ्गमा झ्यापझ्याप वेभले हानेर सुसाउँदै दगुरेर जाँदोरहेछ समुद्र अनि पsssर पुगेर एकान्तमा हस्तमैथुन गरिसकेपछि पो बल्ल जगतको आँखाअगाडि शान्त, सन्तोषी र स्थिर हुँदोरहेछ समुद्र… ! इटहरी-४, सुनसरी-नेपाल हाल: फ्रिगेट आइल्याण्ड, सेसेल्स #गणेश खड्का #सुनसरी
म एक भ्यागुतो: डीडी पन्त समयमा ठिक्कै परेको झरीले अन्नबाली पसाउँछ असमयमा झिक्कै परेको झरीले सास्तीका भिर पहरा खसाउँछ हे ख्वामित! हे प्रभो! यसपालि त हजुरको ओठे झरी बर्षिएको बर्षियै छ गाउँगर्खा सबै तर्सिएको तर्सियै छ त्यही सुसाउने झरीले गर्खाबासीका आङजति रुझिसके पुरिएर कोलाहलमा त्यसैको मधुर असारे भाका पनि त्यसै त्यसै ओझेल परिसके । तर मलाई त हजुर झरी प्रभाव नास्ति भ्यागुतो न हुँ कुवाको आफ्नै सामर्थ्यको भ्रममा एकाध बित्ता उफ्रिरहन्छु बाहिर निस्कनुको लालसामा एकनास ट्यारट्यार गरिरहन्छु ।। हजुर म एक भ्यागुतो हुँ जमेको पानी त देख्नै हुँदैन प्रजातीय धर्मको नाममा अनायास प्यारव्यार गरिरहन्छु न समय जान्दछु, न सन्दर्भ बुझ्दछु र पो मान्छेलाई पनि आफ्नो जस्तै ठान्दछु कहाँ ठट्यौली, कहाँ रत्यौली स्थान \u200cऔ काल जान्दिनँ म र त मान्छे मुलाको गाली खाइरहन्छु म ।।। महेन्द्रनगर-१०, कञ्चनपुर #कञ्चनपुर #डी. डी. पन्त
जिन्दगीको पहिलो चक्काजाम: बर्माको सीमासम्म फोन र म्यासेन्जरको समस्या थिएन, त्यसैले चाहिएको समयमा पनि नचाहिएको समयमा पनि, काम भएकासँग पनि नभएकासँग पनि कुरा गरिन्थ्यो । सायद नेटवर्कको भ्यालु के हो बुझिसकेका थिएनौँ । जसले याद गर्दथ्यो, उसैलाई पहिले गरिन्थ्यो । यसो गर्दा आमासँग कुरा गर्न छुटिरहेको थियो । आमाहरु चाहीँ याद गर्छन् तर प्रविधिसँग जानकार नहुँदा फोन गर्दैनन् । जब भारतीय सीमामा राधाकृष्णको मन्दिरमा खान खाएर बाहिर निस्कियौँ, मोबाइल नेटवर्कले साथ छाड्यो । जब नेटवर्कले साथ छाड्न थाल्छ, आफ्ना निकट याद आउँछन् । सायद मानिसले अन्तिम समयमा आफन्त याद गर्नुको कारण पनि यही होला । कमजोर नेटवर्कका बीचमा मैले आमा र बैनीलाई याद गरेँ । ‘नेपाल पुग्यौ ?’ फेरि आमाले त्यही कुरा सोध्नुभयो । आमाको हतारोमा नेपाल प्रतिको अनुराग राम्रैसँग पाउँछु । मैले केही भन्न सकिनँ, नेपाल पुग्न बाँकी छ भनेर उहाँलाई निरास बनाइहाल्न मन लागेन । तर फोनमा बैनी बोलेको सुनियो, ‘दिदी भर्खर इण्डियाको बोर्डर पुग्नुभयो । अहिले कहाँ नेपाल पुग्नु र ?’ बैनीले आमालाई जिस्क्याइरहेकी थिइन् । ‘अब फोन गर्दा नेपालबाट गर्छुहोला,’ मैले आश्वासनको स्वरमा आमालाई भनेँ, ‘अब चाँडै पुग्छु ।’ आमाबाट बैनीले फोन लिएपछि यात्रामा के गर्नुहुन्छ, के गर्नुहुन्न सम्झाउन थाली । ‘औषधि लिन नबिर्सनू, बीच बीचमा वाइफाइ जोडेपछि म्यासेज छाड्नु…’ आदि इत्यादि । घरमा म ठूली छोरी, करिब करिब अभिभावक म नै हुँ तर मेरी बैनी सधैँ मेरो अभिभावक बन्न खोज्छे । अर्तिउपदेश दिन थाल्छे । म उसको कुरालाई हस् हस् भनेर मानेको अभिनय गर्छु । फोन राखेपछि मलाई पनि लाग्यो, अब हामी नेपालको नजिकै छौँ । तर हाम्रो टोली नेता भीमजीले मेरो कुरा सुनेपछि भन्नुभयो, ‘सबै कुरा ठिक भयो भने पनि नेपालको बोर्डर पुग्न दुई दिन लाग्छ । कहाँ नजिक छ र नेपाल ?’ भीमजीले दुई दिन भनेर लामो रास्ता भएको बताउन खोज्नु भएको थियो तर मेरोलागि त्यो दुई दिन दुई घन्टा जस्तो पनि महसुस भएन । कतै जान लागेको यात्रुका लागि बस आएर छेउमा रोकिँदा पनि गन्तव्यमा पुगेको अनुभूति हुन्छ । मलाई त्यस्तै लाग्यो । भारतको बाटोभरिका लागि घरसँग र नेपालसँग सम्पर्कमा रहन भारतीय सिम लिने कि भन्ने कुरा चल्यो तर दुई दिनका लागि किन पैसा खर्च गर्ने ? भीमजीले मन्दिरमै एउटा सिमको जुगाड गरिसक्नु भएको थियो । त्यसले नै नेपाल र बर्मा दुवै ठाउँमा सबैले कन्ट्याक्ट गर्न सकिन्छ । यही कुरामा सहमति भयो । एक प्रकारले नेटवर्कहरुबाट टाढा रहेर स्वतन्त्र हुने मौका पनि थियो यो । हामी सबैले स्वीकार गर्यौ । मनभरि पितृभूमिको माया सङ्गालेर दिउँसोको एक बजे हामी पुनः दुई वटा ट्याक्सी चढ्यौँ । जनवरी महिनामा पनि गर्मी महसुस भयो । गर्मीले नै बताउँदै थियो, हामी तातो इलाकामा प्रवेश गर्दैछौँ । पहाडी बाटोमा, जाडो मौसममा पनि गर्मी हुनु मेरालागि अनौठो कुरा थियो । अघि र पछि गर्दै कुत्दैछन् हामीलाई बोकेका दुई गाडी । एउटामा हामी नारीवादी र अर्कोमा पुरूषवादी बाँडिएर बसेका थियौँ । हामी आफ्नै गफमा मस्त भयौं । अघि टमू आउँदा कल्पना गरेको बाटोसँग बल्ल पो साक्षात् भो । पक्की सडकको निर्माण कार्य भइरहेकाले घरि उचालेर थ्याच्च पछार्ने । दाँयातिर हुत्याएर लाने, बाँयातिर सोरेर ल्याउने, घरि दिनको उज्यालोलाई अन्धकार पर्ने धूलो चिरेर एकनासले हुइँकिएको गाडी र बाटोको होडबाजीले भने मेरो ज्यान थिलोथिलो पार्न कुनै कसर छोडेन । पहाडका मनोरम दृश्य आँखामा कैद गर्दै हामी आफ्नो रमाइलो धूनसँगै लागिपरेकै थियौं । छेउछाउ ठूला ठूला चट्टान र गहिरा खाईहरूको टेडोमेडो डरलाग्दो बाटो हुँदै सुन्दर फाँटतिर लम्किन थाल्यो हाम्रो गाडी । सर्सौंको पहिँलो फूलले त्यो फाँट हेर्न लायक बनाएको थियो । दृश्य निकै सुन्दर भएकाले यी लोभलाग्दा दृश्य फोनमा क्याप्चर गर्न कत्ति ढिला गरिनँ । यही गतिको तछाँडमछाँडमै बाटो छेउका साना ठूला घर, मन्दिर र, बजार पछि छाड्दै करिब पाँच बजेतिर हामीलाई.ल्याएका दुई वटा गाडीले मणिपुर बस स्टपमा छोडिदिए । हामीलाई राति २ नबज्दै डिमापुर पुग्नुपर्ने रहेछ । एकपल्ट राम्रोसँग मणिपुरको राजधानी इम्फाल हेर्न नपाइकनै हिँड्नुपर्ने भयो । हतारमा टोली नेता भीम पाण्डे गाडीको बन्दोबस्त गर्नतिर लाग्नु भयो । नयाँ सडक, नयाँ देश र नयाँ परिवेश बुझ्न कठिन थियो हाम्रोलागि । टेलिभिजन र सिनेमाहरुमा इण्डियाका बारेमा थाहा नभएको होइन, तर यहाँ हिन्दी बोलेको नसुन्दा र बोर्डका अक्षरहरु पनि फरक हुँदा हामी अर्कै कुनै मुलुक पुगेको भान भइरहेको थियो । यस्तो बेलामा भीमजीको साथ अभिभावकको साथ अनुभव भइरह्यो । [bs-quote quote=”नागाल्याण्डमा यस्ता हड्ताल पटक पटक हुन्छ भन्ने सुनिएको थियो । कति दिन यसरी बस्नुपर्ला, यही रात कि अन्य धेरै दिन र रात ? सम्झदैँ मुटु फुलेर आयो ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] खासमा डिमापुरबाट सिलिगुढीसम्मको टिकट भारतीय सीमामै काटिएको थियो । त्यही राति डिमापुरबाट दुई बजेको रेल थियो । मोरेमैँ रेलको टिकट काटिएको कारण रेल स्टेसन नजिकै होला भन्ने अड्कल काटेको थिएँ । तर हामीलाई चार घन्टापछि जुन ट्याक्सीले इम्फाल छाडेका थिए, त्यो ट्याक्सीवालाले राति २ बजे नागाल्याण्डको डिमापुर स्टेसन पुग्न कठिन छ भनेर डर देखाइदिएको थियो । यो कुरा हामीले भीमजीलाई सुनायौँ । यसकारण पनि भीमजी चिन्तित हुँदै नयाँ गाडी खोज्न थाल्नु भएको थियो । गाडी बुझेर, बुकिङ् गरेपछि पाण्डेजीले भन्नुभयो, ‘चिन्ता गर्नुपर्दैन, राति एक बजेसम्म हाम्रो गाडी डिमापुर पुग्छ । गाडीबालाले पूरापूर आश्वासन दिएकाे छ ।’ इम्फाल बस स्टपमा एक घण्टा जतिको पर्खाइपछि हाम्रो बस डिमापुरतिर लाग्यो । मणिपुर बसस्टपको साँझको घुइँचो, अस्तव्यस्त परिस्थिति र वातावरण नै रिसाएर फुलेजस्तो गुम्म थियो । हिजो रातिदेखि लगातार गाडीमा हामी हिँडिरहेकाले हामी पनि त्यही चालमा ढलिसकेको थियौं । बस स्टार्ट भएपछि मैले बसका यात्रुहरु हेरेँ । मलाई सबै नेपाली अनुहार जस्तै लागे । सायद पहाडी अनुहार भएकाले त्यसो लागेको हुनसक्छ । वा नेपाल जान लागेका कारण मनमा त्यस्तो भाव आएको हुन सक्छ । बस केही क्षणअघि बढेपछि कानमा नराम्रो खबर ठोक्किन आयो । सँगै एउटा सुनसान ठाउँमा गाडी पनि रोकियो । सेनापति भन्ने जगामा स्थानीय सरकारको विरोधमा केही नारीवादीहरुले चक्काजाम गराएका रहेछन् । चक्का जाम भनेपछि हामीलाई चिन्ता लाग्नु स्वाभाविक थियो । हामीले सोधपुछ गर्न चाह्यौँ तर भाषाको सीमितताका कारण यति मात्रै थाहा पायौँ कि यहाँ सरकारसँग स्थानीय विद्रोहीहरुको बेला बेलामा झगडा परिरहन्छ र बेला बेलामा चक्का जाम पनि भइरहन्छ । अब हामी यताकतै बास बस्नु पर्छ । यो स्थिति रातभर रहन पनि सक्छ । कुनैपनि बस पाँचबजेबाट न यता पस्न पाउँछ, न उता छिर्न नै । म रिस्क लिएर जान चाहन्न ।’ डाईबर दाइले हामीलाई हिन्दीमा त्यहाँ भएको समस्याबारे अवगत गराए । ड्राइभरको कुरा सुनेर हामी रुनु न हाँस्नु भयौँ । डिमापुर जानेले छिचोल्नु पर्ने एउटा सानो सहर रहेछ सेनापति । पहिला त मलाई पनि मधू दीलाई झैं सेनापतिमा चक्काजाम हुँदैमा हामी बाटामा बस्नुपर्छ जस्तो लागेको थिएन । तर गाडीको जाम र ड्राइभर आफ्नो सिटबाट अलप भएपछि भने हाम्रो टेन्सन बढ्दै गयो । उसै पनि शरीर थाकेको थियो, त्यसमाथि बीच बाटामा आइपरेको यो अप्ठ्यारोले मन नै थकाइदियो । [bs-quote quote=”हुन त ड्राइभरलाई बीच बाटोमा जाम छ भन्ने कुरा थाहा रहेछ तर हामी जस्ता व्यक्तिले टिकट क्यान्सिल गर्छौ भन्ने लागेर उसले भनेको रहेनछ । यो एकप्रकारले हामीमाथि भएको अन्याय थियो । मणिपुरमा हुँदै यो कुरा भनिदिएको भए हामी अरू नै तरिका अपनाउँथ्यौँ भनेर ड्राइभरलाई भने पनि अब त्यसको कुनै अर्थ थिएन । बरु हामी हामीबीच यो कुरा गर्दै मनलाई बहल्यायौँ ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] हुन त ड्राइभरलाई बीच बाटोमा जाम छ भन्ने कुरा थाहा रहेछ तर हामी जस्ता व्यक्तिले टिकट क्यान्सिल गर्छौ भन्ने लागेर उसले भनेको रहेनछ । यो एकप्रकारले हामीमाथि भएको अन्याय थियो । मणिपुरमा हुँदै यो कुरा भनिदिएको भए हामी अरू नै तरिका अपनाउँथ्यौँ भनेर ड्राइभरलाई भने पनि अब त्यसको कुनै अर्थ थिएन । बरु हामी हामीबीच यो कुरा गर्दै मनलाई बहल्यायौँ । हाम्रो रेल छुट्ने भो भन्ने चिन्ता र रातभर सडकमै रात गुजार्नु पर्ने भयले हामी दुःखी थियौँ । उसै पनि मलाई हिजोदेखि नै निद आएको छैन । निद पूरा नभएपछि त्यसको असर मन र शरीरमा पर्छ । यही कारण अरुभन्दा बढी मलाई दिक्क लागेको थियो । आफ्नो माग पूरा गराउन अरुलाई दुःख दिने कुरा बर्मामा कल्पना गर्न पनि सकिँदैन । अघिसम्मको खुसी यहाँ गाडी रोकिने कुराले हराउँदै गयो र बदलामा चिन्ता, तनाव र रिस बढ्दै गयो । तर हामी के नै पो गर्न सक्थ्यौँ र ? हामीसँग ड्राइभरलाई फकाउनुबाहेक अर्को उपाय थिएन । हामीले आधा नेपाली आधा हिन्दी भाषा मिसाउँदै ड्राइभर दाइलाई सडकमै बास नबस्न अनुरोध गर्यौँ । उनलाई हामीले फकाउँदै भन्यौँ, ‘बस बिस्तारै हाँकेर सेनापतिसम्म पुगौँ । त्यहाँ बस्न खान राम्रो पाइन्छ, यो बाटोमा बस्दा हामीलाई नराम्रो लागिरहेको छ ।’ यो कुरा हामीले पटक पटक भन्यौँ र हाम्रो अवस्था बुझिदिन अनुनय विनय गर्यौँ तर ड्राइभर दाइले हाम्रो कुरा बुझ्दा रहेनछन् । केवल मुन्टो हल्लाएर बुझेको अभिनय मात्रै गरेका रहेछन् । एकजना यात्रुले हाम्रो समस्या मात्रै होइन, हाम्रो भाषाको अन्तर्य सुनेर अनुवाद गरेपछि मात्र ड्राइभरले केही बोले तर के बेलो हामीले थाहै पाएनौँ । निकै बेरपछि ड्राइभर दाइ बीच सडक बस रोकेर नजिकैको होटलभित्र पसे । अरु यात्रुहरु पनि खाना खाने तयारी गर्न थाले । हामीलाई खाना खाने जाँगर चलेन । खाना रुचोस् पनि कसरी ? चिन्ता र भयले नै हाम्रो पेट भरिएको थियो । हेर्दा हेर्दै रातको ८ बज्यो, ९ बज्यो । अब हाम्रो अनुरोध, अनुनय विनय पनि बेकार जान थाल्यो । हामी पूर्ण रुपमा गल्न थाल्यौँ र परिस्थितिसँग सम्झौता गर्न थाल्यौँ । ड्राइभर अझै दुकानमै थिए । हामीलाई ड्राइभरको नियतमाथ नै शंका लाग्न थालिसकेको थियो तर हाम्रा लिडर भीम पाण्डे भने ड्राइभरलाई अझै पनि फकाउन अझै प्रयत्नशील हुनुहुन्थ्यो । रातको १० बजेतिर म, सरगम, मधू र सीमा गरी चार जना युवतीहरु बोटलको पानी किन्न नजिकै एउटा किराना पसलतिर लाग्यौं । त्यहाँ पानी कसरी माग्ने, हाम्रो भाषा कसरी बुझाउने भनेर सल्लाह गर्दैथियौँ, दुकानबाट एउटी महिलाले के चाहियो नानी हो भनेर नेपाली भाषामा सोधिन् । यो रातमा यो भाषा हाम्रालागि मरभूमिमा तिर्खाएको बेला पाएको पानीसरह भयो । हामीले ड्राइभरमाथिको शंका बतायौँ र नेपाल जान लागेको कुरा पनि बतायौँ । ती नेपाली दिदीले भन्नुभयो, ‘उता स्थिति साँच्चै नै खराब छ नानी हो, चिन्ता गर्नुपर्दैन । पुलिसले नै गाडी रोकेका हुन् । ड्राइभरले सही जग्गामा रोकेका हुन् ।’ नेपालीहरु नपुगेको ठाउँ कहाँ छ होला ? यो सुनसान ठाउँमा नेपालीहरुले दुकान थापेर बसेका छन् । गरिखाएका छन् । नेपालीहरु जहाँ गए पनि बाँच्न सक्छन् भन्ने यो प्रमाण थियो । नेपालीको दुकान भन्ने थाहा पाएपछि हामीले पाण्डेजी, ढकालजी सबैलाई बोलायौँ । यो विरोनो ठाउँमा नेपाली बोलेर केही क्षण हाम्रो तृष्णा मेटियो । हामीले पानी किन्यौँ र त्यहीँ खाजा खायौँ । यसले हामीलाई शरीरमा ऊर्जा दियो । त्यसपछि तिनै दुकान मालिकको सहारामा हामीले ड्राइभरलाई थर्काउँदै भन्यौ, ‘प्रहरीले नै गाडी रोकेको हो भन्ने कुरामा हामीलाई विश्वास छैन । प्रहरीकै अघि गाडीलाई लिएर हिँड ।’ यो रातमा यसरी बस्नुको अर्थ पनि थिएन । डराएर पनि केही हुनेवाला थिएन । जे हुन्छ अब आँखा अगाडि हुन्छ भनेर हामीले ड्राइभरलाई कर गरेपछि बल्ल गाडी स्टार्ट भयो । यद्यपि यी सबै कुराको जानकारी हामीले नेपालमा पर्खीबस्नु भएको ज्ञान सरलाई दिइरहेका थियौँ । हामीसँग टिम लिडरससँग एउटा मात्र भारतीय सिम थियो । यसमा डाटा चलाएर हामी पल पलको कुरा ज्ञान सरलाई भनिहेका थियौँ । परबाट हाम्रो कृयाकलाप ध्यान दिइरहनु भएको छ भन्ने लागेर पनि होला हाम्रो डर केही कम भइरहेको थियो । तर घरमा भने यो कुरा जानकारी गराउन सकेनौँ । साधारण नेटवर्कका कारण हाम्रो जे जति समय खर्चिएको थियो, सबै ज्ञान सरका लागि मात्र थियो । फेरि प्रतिकूल परिस्थितिमा घरमा जानकारी गराउनु चिन्ताको कारण मात्र हुन्थ्यो, त्यसैले आवश्यक अवस्थामा बाहेक हामीले डेटाको पैसा खर्च गर्न चाहेनौँ । हामीलाई के ढुक्क थियो भने ज्ञान सरलाई सबै कुराको जानकारी गराउन सकियो भने हामीलाई अप्ठ्यारो पर्न दिनु हुने छैन । रातको ११ बजेतिर बल्ल गाडी हिँड्यो । करिब एक घन्टाजति बस सरासर हिँड्यो । चक्का जाम छ भन्ने कुरा हामीलाई विश्वास लागेन । नत्र एक घन्टा कसरी गाडी हिँड्या त ? हामी एक आपसमा कुरा गर्न थाल्यौँ । हामीलाई ड्राइभरको नियतमाथि झन बढी शंका लाग्यो तर जसै हामी सेनापतिको मुखमा पुग्यौं, त्यहाँ प्रहरीहरूको गस्ती थियो । सम्पूर्ण रोडलाई बन्द गरिएको थियो र प्रहरीको टुक्रीले अन्य बसहरुलाई पनि रोकेका थिए । हाम्रो बस अघि बढ्न खोज्यो । तुरुन्तै सिठ्ठी बजाएर गाडी रोक्ने कडा आदेश प्रहरीले दिइहाले । प्रहरीले गाली गर्दै ड्राइभरलाई केही भने । ड्राइभरले हामीलाई देखाएर केही भन्यो । त्यसपछि प्रहरी हामी छेउ आएर कहाँ जाने, कहाँबाट आएको भनेर धेरै कुरा सोधे । हामीले यथार्थ कुरा भनेपछि उनले पनि भने, ‘बिहानसम्म गाडी खुल्ने सम्भावना छैन । उता खतरा छ, त्यसैले बिहानसम्म यहीँ बस्नू ।’ डिमापुर समयमै पुग्ने र रेल चढेर सिलुगुडीसम्म पुग्ने सपना तत्कालै ध्वस्त भयो । हुन त रेल छुट्ने अनुमान हामीले गरिसकेका थियौँ तर पनि गाडी हिँडेकाले केही आशा थियो । प्रहरीले नै सुरक्षाका लागि बाटो बन्द गरेको बताएपछि रेल छुट्ने पक्का भयो । त्यति मात्र होइन, अब कति दिनपछि नेपाल पुगिन्छ, त्यसको केही ठेगाना भएन । गाडी अलिकति अगाडि पुगेर सुनसान ठाउँमा रोकियो र ड्राइभर सुत्यो । हाम्रो टोली भने निरास र हतास एक आपसमा गुनगुन गर्दै रात बिताउन थाल्यौँ । अब काटिसकेको रेलको पैसाको माया भन्दा पनि रेल छुटेकोमा चिन्ता थियो । त्यो भन्दा पनि समयमा विश्व नेपाली साहित्य महोत्सवमा पुग्न नससकिने भन्ने चिन्ता सुरु भयो । नागाल्याण्डमा यस्ता हड्ताल पटक पटक हुन्छ भन्ने सुनिएको थियो । कति दिन यसरी बस्नुपर्ला, यही रात कि अन्य धेरै दिन र रात ? सम्झदैँ मुटु फुलेर आयो । [bs-quote quote=”जनवरीको २६ तारिख हामी धनगढी पुग्नु थियो । आज २२ तारिखमा हामी नागाल्याण्डको सीमा क्षेत्रमा रहेको सेनापति सहरको छेउमा रात गुजार्दैछौँ । चिन्ता बढेपछि निद गायब हुनु स्वभाविक नै हो ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] जनवरीको २६ तारिख हामी धनगढी पुग्नु थियो । आज २२ तारिखमा हामी नागाल्याण्डको सीमा क्षेत्रमा रहेको सेनापति सहरको छेउमा रात गुजार्दैछौँ । चिन्ता बढेपछि निद गायब हुनु स्वभाविक नै हो । राति कुन बेला हो, अगाडिबाट लाइट बालेका केही बस आइरहेको देखिन थाल्यो । पक्कै गाडी खुल्यो होला भन्ने लागेर हामीले मस्त निदाएको ड्राइभरलाई उठायौँ । हामीलाई जुन किसिमको हतारो थियो, निदाएको ड्राइभरलाई हुने कुरै भएन । उसले निद्रालु आँखा मिच्दै बस हाँक्न थाले । बाटामा प्रहरीहरु थिए र थिए धुँवा र धुलोको समिश्रण । खासमा यसरी रातविरात चक्का जाम हुनु मेरालागि अनौठो थियो । प्रहरीले अघि बढ्ने सङ्केत गरेपछि गाडीले गति लियो । यही बीचमा देखेँ, सडकमा टायर बलिरहेको दृश्य, जाउरा र मुडाको आगो र व्याप्त अनौठो गन्ध । मैले त यस्तो दृश्य हिन्दी सिनेमाहरुमा मात्र हुन्छ भन्ने ठानेको थिएँ, यहाँ त आँखैले देख्न पाएँ । विस्तारै पूर्वतिर उज्जालोको लालीमा देखियो । स–साना र घुमाउरो बाटो हुँदै बस अघि बढ्यो । थकाइले शरीर चुर थियो । निद्रा त लागेको थिएन तर हामी शरीरलाई बसको मोडले जता लैजान्छ, उतै छाड्न स्वतन्त्र छाड्न बाध्य थियौँ । अब त हड्ताल हुने ठाउँ आउँदैन होला, आए पनि त्यस्तै केही समस्या नहोस् भन्दै कामना गर्दै अघि बढ्यौँ । बिहान ८ बजेतिर डिमापुर सहर प्रवेश गरेपछि भने मन केही हलुको भयो । डिमापुर त्यही सहर थियो, जसले हामी त्यहाँ पुग्नुपूर्व नै हामीलाई बोकेर सिलिगुडी पुर्याउनु पर्ने रेललाई हामी पुग्नुपूर्व नै पठाइसकेको थियो । अब अर्को रेल कहिले जान्छ, कहिले हामी रेल चढ्छौँ केही थाहा थिएन । केवल रेल चढ्न कहिले पाइएला भन्ने कल्पना मात्र थियो । गाडीबाट उत्रिएपछि थाहा भयो, अर्को रेल भोलिपल्ट दुई बजे जान्छ । हामीसँग झण्डै १६ घन्टा थियो । खाना नखाएको पनि करिब १६ घन्टा भएको थियो । भोक त थिएन, शरीर भने निकै थाकेको थियो । भीमजीको सल्लाहानुसार होटल बुक गरियो । नुहाइधुवाइ गरेर सुत्ने प्रयास गरियो तर होटलमा पनि कसैलाई निद्रा परे जस्तो लागेन । किनभने शरीरलाई मात्र विश्राम भएर हुन्न रहेछ, मनलाई पनि विश्राम चाहिने रहेछ । मन तबमात्र खुसी हुनेवाला थियो, जब हामी नेपाल पुग्थ्यौँ । उसै पनि डिमापुरमा खानाको बन्दोबस्त राम्रो हुन्न । फोहोरी सहरको उपनाम पनि दिइएको रहेछ, यो सहरलाई । अघिल्लो दिन राधाकृष्ण मन्दिरको खाना अझै पेटमै छ भन्ने ठानेर हामीले दिनभरि डिमापुरको होटलमा बितायौँ । भोलि बिहानको २ बजे हामीलाई लिन रेल आउँछ भन्ने आशा गर्दै, अब केही दिनमै नेपाल पुगिन्छ भन्ने कल्पना गर्दै हामी कुरिरह्यौँ । #बर्मादेखि नेपालसम्म #रीता लामाकार्की
अज्ञात कोरोना: बर्माको दोस्रो ठूलो सहर मान्डले हरेक दिनजस्तै बिहानैदेखि व्यस्त भयो । दुई वर्षयता मैले यो सहरलाई आफ्नो जीविकोपार्जनको थलो बनाएकी छु । अब म यो सहरको व्यस्तताको अङ्ग बनेकी छु । दूर गाउँ मोगोकको च्यापिनबाट आएकी मलाई यो सहरले राम्रोसँग चिन्दैन तर उसको गतिलाई चिन्नु र बुझ्नु मेरो बाध्यता बनेको छ । हामी एउटा सानो घरमा स–परिवार बस्न थालेका छौँ । यही घरमा वरपरका टोल–छिमेकीलाई खाद्यान्न सहितको खिर्चिमिर्ची सामग्री पाउने दुकान छ । यो त्यही दुकान हो, जसले मलाई साहित्यिक भेटघाट र रचना सिर्जनाबाट वञ्चित बनाइरहेको छ । जब मनले चाहेको भाषा र साहित्यको काममा हातमुख जोड्नु पर्ने यो दुकानको व्यस्तताले अल्झाउँछ, मानिस कसरी पैसाको दास हुन विवश छ, सम्झना आउँछ । जनवरी ९ ,२०२० सदाझैँ फरक थिएन तर निद्रा खुल्दा मन र शरीर दुवै हलुका अनुभव भइरहेको थियो । मनमा एक प्रकारको आनन्दको लहर दौडिरहेको भन्नुपर्ला । लामो समय यही अवस्था कायम रहिरह्यो, खाना खाने बेलासम्म पनि । बेलाबेला मलाई अकारण यस किसिमका खुसी अनुभव हुन्छ । आज पनि यस किसिमको अनुभव हुन थाल्यो, मैले बारम्बार प्रश्न गरेँ, मन किन खुसी छ ? तर खास कारण फेला पार्न सकिरहेकी थिइनँ । बिहानको काम सकेपछि म सामाजिक सञ्जालमा जोडिएँ । च्यापिन शाखाको शिक्षा विभागसँग मेरो पुरानो नाता छ । मान्डले भए पनि म यो शाखाको ग्रुप इनबक्सबाट जोडिएकै हुन्छु । वाइफाई अन भएपछि सुरुमा यही च्यापिन शाखाको ग्रुप म्यासेज देखियो । त्यहाँ एउटा निमन्त्रणा लेखिएको थियो । साथमा एउटा लेटरप्याड पनि । जहाँ नेपालको सुदूर पश्चिमाञ्चल साहित्य समाज धनगढी, कैलालीले गर्ने साहित्य महोत्सवमा बर्मेली लेखकहरुलाई आमन्त्रण गरिएको थियो । पत्रले भनेको थियो, ‘नेपालमा विश्व नेपाली साहित्य महोत्सव २०७६ हुँदैछ । त्यसमा बर्मेली नेपाली साहित्यकारहरुको अनिवार्य उपस्थितिको लागि अनुरोध गरिएको छ । मेरा पुर्खा नेपाली तर मेरा लागि नेपाल त्यति नै अपरिचित छ, जति चन्द्रमा । रातमा दूरबाट चन्द्रमा त देखिन्छ तर त्यहाँ जान सकिँदैन । चन्द्रमाका बारेमा पढ्न त सकिन्छ तर त्यहीँ गएर अनुभव गर्न सकिँदैन । त्यो पत्रले मलाई त्यही दूर चन्द्रलोकमा बोलाएजस्तो लाग्यो । मैले त्यो पत्रको भाव बुझ्न दोहोर्\u200dयाई तेहेर्\u200dयाई पढेँ । त्यसमा स्पष्टरुपमा नेपालको साहित्यिक भ्रमणमा आउन निम्तो दिइएको थियो । लेटरप्याडको तल च्यापिन शाखाबाट एकजना अनिवार्य उपस्थिति हुनू भन्ने च्यापिन शिक्षा विभागका सचिव रोशनजीको म्यासेजले नेपाल जान सक्ने अवसर छ है भनेर मलाई नै सङ्केत गरेजस्तो, नेपालले मलाई नै बोलाएकोजस्तो, कस्तो कस्तो मन तानिएर नेपालै पुगौँजस्तो आकर्षित भएँ म । रोजीरोटीको खोजीमा म च्यापिनबाट माण्डले सरिसकेकी छु । मेरालागि त्यो पत्र ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार’जस्तै भयो । अहो, जोड गरेँ भने म नेपाल जान पाउँछु तर कसरी ? भर्खरै व्यवस्थित हुन थालेको व्यापार र घरलाई कसरी छाड्न सक्छु ? दूरबाट देखिरहेको चन्द्रमा जाने प्रस्ताव सहितको रकेट त आयो तर त्यहाँ चढ्ने तयारी बिल्कुलै रहेनछ । मन खिस्रिक्क भयो । एकछिनपछि सुदूर पश्चिमाञ्चल साहित्य समाजको त्यही पत्र केन्द्रीय शिक्षा विभागले सार्वजनिक फेसबुकमा राख्यो, विभागको भनाइसहित । त्यहाँ पनि नेपाल जान चाहने साहित्यकारहरुका लागि अवसर भन्ने कुरा लेखिएको थियो । म साहित्यकार त भैसकेकी छैन तर यहाँ लेखिएका शब्द शब्द मेरै लागि हुन् भन्ने लाग्न थाल्यो । अचानक मनले निर्णय गर्\u200dयो, अवसर पाए म नेपाल जान्छु । यो अवसरका लागि प्रयास गर्नैपर्छ । त्यसपछि थाहा भयो, बिहानदेखि शरीर र मनले दिएको खुसीको सङ्केतहरु । नेपाल जाने निर्णयपछि नयाँ-नयाँ व्यवहारिक कठिनाई आउँछन् भन्ने बुझेरै मैले मनका कुरा घरका सदस्यलाई भनिनँ । पहिले जाने कुरालाई यथार्थमा परिणत गर्नु थियो । म साहित्यकार त भैसकेकी छैन तर यहाँ लेखिएका शब्द शब्द मेरै लागि हुन् भन्ने लाग्न थाल्यो । अचानक मनले निर्णय गर्\u200dयो, अवसर पाए म नेपाल जान्छु । यो अवसरका लागि प्रयास गर्नैपर्छ । त्यसपछि थाहा भयो, बिहानदेखि शरीर र मनले दिएको खुसीको सङ्केतहरु । नेपाल जाने निर्णयपछि नयाँ-नयाँ व्यवहारिक कठिनाई आउँछन् भन्ने बुझेरै मैले मनका कुरा घरका सदस्यलाई भनिनँ । पहिले जाने कुरालाई यथार्थमा परिणत गर्नु थियो । मैले थप कुरा बुझ्न माेगाेककी साथी सरगमलाइ फाेन गरेँ । उनी मसँगै नेपाली भाषा र साहित्यमा डिप्लाेमा पढेकी मित्र हुन् । अझ हाम्राे ब्याजकी टपर पनि । मैले नेपाल जानका लागि पाएकाे निम्ताे र मेराे वर्तमान अवस्था बारे जानकारी गराएँ । उनले हौसला दिँदै भनिन्, ‘यो राम्रो अवसर हो, यसलाई गुम्न नदिऔँ । बरु विभागलाई आफू जान चाहेको कुरा जानकारी गराइहालौँ । नत्र छुट्न सक्छ ।’ उनले आफू लगायत बाँकी पाँच जना यही कार्यक्रमका लागि नेपाल जानका लागि प्रयासरत भएकाे बताइन्। यसबाट पनि थाहा भयाे, सुचना सबैतिर पुगिसकेकाे छ । यस्ताेमा सयौं लेखक कवि र भाषासेवीमध्ये थोरैलाई मात्र यो अवसर जुर्न सक्थ्यो । यसका लागि कामको मूल्यांकन पनि हुनेवाला थियो । दुई वर्षदेखि म संस्थामा सक्रिय छैन । नेपाली भाषा र साहित्यको कुनै पनि सेवा गर्न सकेको छैन । यस्तो बेलामा यसले दिने सुविधा लिन अघि सर्नु कता-कता नैतिकताले दिँदैन कि ? तर सरगमले हौसला दिँदै अवसरलाई सदुपयोग गर्न अनुरोध गरेपछि पुनः भड्किएको मन शान्त भयो । साहित्यलाई माया गर्नु र यसको सेवामा कार्यरत रहनु फरक कुरो हो । हाललाई म पहिलो वर्गमा थिएँ, जसले यो अवसर नपाउन पनि सक्थ्यो । पत्रानुसार साहित्य महोत्सव प्रारम्भ हुन एक महिना बाँकी थियो । परिस्थितिको विचार गर्दै केही दिनपछि शिक्षा विभाग प्रमुख ज्ञानबहादुर थापा सरसँग म्यासेन्जरमा कुरा गरेँ । उहाँ नेपाली भाषा पाठ्यक्रमलाई अन्तिम रुप दिन नेपाल पुग्नु भएको थियो । उहाँ उतै बसेर बर्माबाट आउने साहित्यकारहरुलाई नेपालको भ्रमण गराउने तारतम्यमा लाग्नु भएको रहेछ । च्यापिनमा सक्रिय रहँदा साहित्य लेखिरहन हौसला दिनुहुन्थ्यो । वहाँसँग म सन् २०१८ मेतिर टाउँजीअन्तर्गत यकसकको एक मात्र संस्कृत पाठशालामा आयोजित नेपाली साहित्य शैक्षिक तालिममा सहयोगार्थ सहभागी भएकी थिएँ। मैले यिनै कुरा गरेर उहाँलाई आफू सम्मेलनका लागि योग्य भएको प्रमाणित गर्ने प्रयास गरेँ । वहाँले यस्तो अवसरमा अचुक उपस्थिति हुनुपर्छ भनी हौसला दिनुभयो, वहाँ प्रसन्न भएको मैले महसुस गरेँ। मेरो खुसीको ठेगाना रहेन । ‘म नेपाल जाने,’ ज्ञान सरसँग कुरा सक्ने बित्तिकै म खुसीले चिच्याएँ । पसलमा काम गरिरहेकी बैनीले फनक्क फर्केर बर्मेली भाषामा भनी, ‘दिदीले नेपाल गएको सपना देखेजस्तो छ ।’ ‘होइन, साँच्चै नै जाने । भर्खरै ज्ञान सरसँग कुरा भयो ।’ ‘के भन्छे यो ?’ आमा भान्साबाट निस्कदै बोल्नुभयो, ‘अचानक नेपाल जाने कुरा कसरी निस्कियो ?’ मैले यत्रो दिनसम्म लुकाएर राखेको कुरा बेलिबिस्तार लगाएँ । परिवारका सबै सदस्यहरुले साँच्चै नै पत्याउनु भएन । परिवारको आर्थिक बोझ मेरो टाउकोमा छ । यस्तोमा मैले दुकान छाडेर नेपाल गएँ भने के हुन्छ, कल्पना बाहिरको कुरा छ । छोरी भए पनि यो घरमा अन्तिम निर्णय मेरो हुन्छ भन्ने मलाई पनि थाहा छ र उहाँहरुलाई पनि । मेरो अनुहारमा देखिएको खुसी र आत्मविश्वासले उहाँहरु अचम्ममा पर्नु भयो । नेपालबाट आएको पाँचौँ पुस्तापछि परिवारकी एउटी सदस्य नेपाल जाने कुरा डढेलो झैँ आफन्तकोमा फैलियो । मेरा आमा–बुवा, दिदी र आफन्तहरुलाई साहित्य भनेको के हो, थाहा छैन । तर छोरी लेखपढ गर्न मन पराउँछे भन्ने थाहा छ । यही लेखपढले मलाई नेपालसम्म पुर्\u200dयाउँदैछ भन्ने थाहा पाएपछि त्यसको महत्त्व पनि बढ्यो । मेरा बुबाका हजुरबुबा नेपाल जान भनेर आधा बाटासम्म पुग्नु भएको थियो रे ! खै के भएर फर्कनु भयो । उहाँ फर्कनु भएको भए हामी सबै नेपालमै हुन्थ्यौँ सायद । त्यसपछि मेरा हजुरबुबा पनि नेपाल फर्कने भन्दै बित्नु भयो रे । त्यसपछि त नेपाल दूरको कथा जस्तो हुँदै आयो । पछिल्लो पुस्ता पनि आफ्नो पितृभूमिका रुपमा नेपाललाई सम्झन्छ । सायद यही कारण हो, मेरो नेपाल यात्राको सम्भावनालाई धेरैले उपलब्धिका रुपमा लिनुभयो । उहाँहरूकाे अनुहारले खुसीले बताइरहेकाे थियाे, मैले तयारी थाल्दा हुन्छ । यही क्षणबाटै मेरो साहित्यिक यात्राको श्रीगणेश भयो । काेराेना चीनबाट संसारयात्रा गर्दैथियाे, हामी बर्माबाट नेपाल छिर्ने याेजना बनाउँदै थियाैँ । क्रमशः अर्काे साता… #बर्मादेखि नेपालसम्म #रीता लामाकार्की
नेपाल जाने तयारी गर्दा: ‘तिमी नेपाल जाने हो र ?’ छिमेकी म्यान्माली साथी दुकानमा आएका बेला उत्सुक भएर सोधी । मैले स्वीकृतिमा मुन्टो हल्लाएँ । उसको अनुहारमा एक प्रकारको आश्चर्य र अविश्वसनीय दुवै खालको भाव फैलियो । मैले उसको अनुहारबाट केही कुरा पढिहालेँ । म्यान्माली गोर्खालीहरु जीवनमा एकपटक भए पनि नेपाल जान चाहन्छन् । नेपालका बारेमा सुन्दा सुन्दै धेरैको बाल्यकाल र जवानी बितेको छ । पुराना पुस्ता त नेपाल जान्छु भन्दाभन्दै यहीँ बितेका छन् । त्यसैले हाम्रा लागि यो कुनै आश्चर्यको कुरा होइन । तर म्यान्मालीहरु पनि जीवनमा एकपल्ट भए पनि नेपाल पुग्न चाहन्छन् । बुद्धको जन्मस्थल लुम्बिनीमा टेके मात्र पनि उनीहरु बुद्ध भगवानलाई भेटेको महसुस गर्छन् । लुम्बिनी पुगेर फर्कनेहरुको यहाँ मानमनितो नै फरक भएको मैले देखेकी छु । हालै परिचय भएकी मेरी छिमेकीले पक्कै पनि यो कुरा गाउँघरमा सुनाउने छे भन्ने कुराले मलाई दिनभरि हौसला दिइरह्यो । साँझ आमाले पशुपतिनाथको महिमा सुनाउनु भयो । मेरी आमालाई नेपाल भन्नेबित्तिकै स्वास्थानी र पशुपतिनाथ याद आउँछ । हजुरआमा भन्नु हुन्थ्यो, ‘नेपाल जान भाग्गेमा लेखेर ल्याउनु पर्छ ।’ आमाले त्यही कुरा मलाई भन्नुभयो । हजुरआमाका साथीसंगीहरु उनीहरुका आमा–बाका पछि लागेर नेपाल छिर्नु भयो रे । धेरैपछिसम्म उहाँ नेपालको कुरा सम्झिबस्नुहुन्थ्यो रे । आज उहाँ हुनु भएकी भए नातिनी नेपाल जाने कुराले कति खुसी हुनुहुन्थ्यो भन्दै आमाले बिगतका कुरा सम्झिरहनु भयो । म नेपाल जाने कुराले मभन्दा आमाको भावुकता बढेको मैले महसुस गरेँ । नेपालका लागि हिँड्ने समय अझै एक महिना बाँकी थियो तर आमाको व्यवहार यस्तो थियो, मानौँ म भोलि नै घर छाड्दैछु र पर्सी नै नेपाल पुगिहाल्छु । मैले उहाँलाई भिसा लिनुपर्ने, साथीभाइसँग भेटघाट गर्नुपर्ने धेरै काम बाँकी रहेको बताएपछि आमा बल्ल शान्त हुनुभयो । पर्सीपल्टदेखि मेरो तयारीमा तीव्रता बढ्यो । हाम्रो समूहमा को को जाँदै हुनुहुन्छ, सबैको नाम मलाई थाहा थिएन । के के तयारी गर्नुपर्छ, त्यो पनि थाहा थिएन । यसका लागि मैले शिक्षा विभागमा सम्पर्क राखेँ । नेपाली भाषाका लागि दिन रात खटिरहेको मान्मा देशीय गोर्खा हिन्दु महासंघ अन्तरगतको शिक्षा विभागले मलाई नेपाल जान अवसर दिएको थियो । यो संस्थासँग जोडिएर नै मैले नेपाली भाषा राम्रोसँग लेख्न र बोल्न थालेकी थिएँ । यही संस्थाअन्तरगत नेपाली भाषामा डिप्लोमासम्म अध्ययन गर्ने र साहित्य प्रतिको लगावलाई बाहिर ल्याउने मौका पाएकी थिएँ । यसले लगाएको गुण सम्झँदा पनि म भावुक हुने गर्छु । शिक्षा विभागबाट मसँग जान लाग्नु भएका साथीहरुको नाम न टोलिफोन प्राप्त भयो । तीमध्ये एकजना सरगमसँग केही दिनअघि सम्पर्क भैसकेको थियो । अर्का एकजना हुनुहुन्थ्यो, भागवत सर । भागवत सरबाट थाहा भयो, उहाँहरु दुवैको पासपोर्ट बनिसकेको रहेछ । उहाँले चाँडै पासपोर्ट बनाउन आदेश जस्तो भनाइ राख्नु भयो । भागवत सर नेपाली साहित्य डिप्लोमाका प्राध्यापक हुनुहुन्छ । उहाँहरुकै मिहिनेतका कारण हामी जस्ता पछिल्लो पुस्ताले भाषा र साहित्यका धेरै कुरा सिक्न पाएका छौँ । उहाँले दाेस्राे पटककाे ब्याचबाट साहित्य डिप्लोमा गर्नुभएको थियो । उहाँले स्नातक कक्षा सुरु भएको पाँचौँ संस्करण यता अध्यापकको कार्यवार वहन गरिरहनु भएको छ । आज नवौं ब्याचमा पनि उहाँ आफ्ना अन्य आय आर्जनको बाटो छाडेर आय नहुने भाषा र साहित्यमा लागिरहनु भएको छ । यसपटकको यात्रामा उहाँ पनि हामीसँगै नेपाल यात्रामा हुनुहुन्छ भन्ने कुरा थाहा पाउँदा म हर्षले गद्गद भएँ । ‘मोगोकबाट मधु पासपोट बनाउन माण्डले आउँदैछिन्, तिमी र मधुले सँगै बनाउँदा तिमीलाई सुविधा हुन्छ,’ भागवत सरले आदेश जस्तो भनाइ राख्नुभयो । मलाई झन् खुसी लाग्यो किनभने मधु दिदी मोकोगकी राम्रो गजलकार हुनुहुन्छ । उहाँले हामीभन्दा अघि नै डिप्लोमा सकेर भाषा र साहित्यको सेवा गरिरहनु भएको छ । केही वर्ष यतादेखि उहाँसँग चिनजान छ । भागवत सरसँगै मधु दिदी पनि हामीसँग जाँदै हुनुहुन्छ भन्ने खबरले मनमा झन् खुसी बढ्यो । मैले उहाँसँग सम्पर्क गरेर यो खुसी प्रकट गरेँ र भागवत सरको कुरा सुनाएँ । उहाँले पनि पासपोर्ट बनाउन चाँडै हिँडिहाल्ने कुरामा सहमति जनाउनु भयो । पातलो जिउडालकी मधु दिदी हँसमुख हुनुहुन्छ । म प्रेमपूर्वक उहाँलाई मधुदी भन्छु । उहाँको व्यवहारमा सधैँ अपनत्व देख्न पाइन्छ । त्यसैले यो यात्रा निकै सुखद् हुने अनुमान झन् दोब्बर हुन थाल्यो । पछि छुट्ला भनेर भनिहाल्न मन लाग्यो, मधुदी पनि नेपाली भाषा र साहित्यकी तेस्राे पटककी स्वर्णपदक विजेता हुनुहुन्छ । हाम्रो यात्रामा एकसे एक साहित्यका विद्वानहरु भेला हुनु भएको थियो, म सामान्य केटी कसरी यो टिममा अँटाए हुँली भनेर भगवानलाई धन्यवाद पनि दिएँ । जनवरी र फेब्रुअरी महिना माण्डलेमा सबैभन्दा राम्रो मौसम देख्न पाइन्छ । गर्मी महिनामा चालीस डिग्री सेल्सियससम्म तामक्रम पुग्ने मान्डले यो बेला शितल हुँदै थियो । केही दिन यो शितल मौसम अझ गाढा हुन थाल्यो, मानौँ पहाडबाट झरेकी मधुदीलाई ऊ विरानो महसुस गराउन चाहँदैन । पासपोर्ट बनाउने दिन म बाल्किनीमा बसेर घाम ताप्दै थिएँ । मधुदीको फोन आयो । उहाँ त हिजै माण्डले आइसक्नु भएको रहेछ । ‘म त हिजै आईं, पासपोर्ट आज बनाऔँ है,’ उहाँले फोनमै हतार देखाउनु भयो । म हतारमा उहाँले बोलाएको ठाउँमा पुगेँ । बर्मामा माेगाेक निवासीहरूले पनि माण्डलेमै अाएर सरकारी काम गर्नुपर्छ । कहिलेकाहीँ प्रशासनिक काम गर्ने ठाउँ नजिक हुँदा पनि सजिलै हुने रहेछ । मधुदी ७ घन्टाको यात्रा गरेर पासपोर्ट बनाउन आउनु भयो । म भने एकैछिनमा उहाँको अघि पुगेको थिएँ । बर्मेली टोली सामान्य प्रश्न र सरकारी कागजात पेश गरेपछि पासपोर्ट अप्लाई भयो तर पासपोर्ट हात लाग्न भने एक साताको समय लाग्ने रहेछ । जाडोको समय भए पनि काम सकिँदा उज्यालै थियो । यो समयलाई सदुपयोग गर्दै मधुदी र म कुदोट फया (माण्डलेस्थित बर्माकै प्रसिद्ध बुद्ध मन्दिर) दर्शन गर्न पुग्यौँ । उहाँ पहिलो पटक यो मन्दिरमा पुग्नु भएका कारण उहाँको खुसी हेर्न लायक थियो । म भने फुर्सद हुनेबित्तिकै यहाँ पुग्ने भएकाले मलाई सामान्य लाग्छ । हामीले फयामा बसेर एकछिन नेपालका विषयमा कुरा गर्\u200dयौँ र काल्पनिक उडान भर्\u200dयौँ । उहाँका लागि पनि नेपाल मेरो जस्तै सपनाको देश थियो । उहाँको परिवार पनि उहाँ नेपाल जाने कुराले उत्साहित हुनु भएको कुरा थाहा भयो । हुन पनि कुन त्यस्तो गोर्खाली–नेपाली परिवार होला, जसले नेपालको नामले तरङ्गित गर्दैन ? समय नजिकिँदै जाँदा हाम्रो सात जनाको सानो टोली म्यान्माको चार कुनाबाट तयार हुन थाल्यो । यति बेलासम्म हामीसँग सातौं ब्याचबाट नेपाली साहित्य डिप्लोमा गर्ने राजन ढकाल पनि जाने कुरा थाहा भयो । उनी हाल प्यींउल्वीमा नवौं ब्याचका प्यींउल्वीन्का विद्यार्थीहरुलाई अध्ययन गराउँछन् । उनको एउटा गजल सङ्ग्रह प्रकाशित छ । तर जब जब मैले यो गजल संग्रह पढ्न नपाएको गुनासो गर्छु, उनी चाँडै उपलब्ध गराउने आश्वासन दिन्छन्, जो अहिलेसम्म मैले पढ्न पाएको छैन । जे होस्, यही बहानामा उनको र मेरो कुरा हुने गर्दथ्यो । तर उनी पनि हाम्रो टोलीमा सामेल हुने कुरा मेरा लागि सुखद् हुन पुग्यो । जनवरी २६ तारिख विश्व साहित्य सम्मेल सुरू हुने निश्चित थियो । हामी भने १९ तारिखअघि यात्रा अघि बढाउन सक्ने अवस्थामा थिएनौँ । कारण थियो, नवौं नेपाली साहित्य माध्यामिक परीक्षाको तयारी । मबाहेक सबै जना गुरुबा गुरुमा हुनुहुन्थ्यो । समयमै परीक्षा सक्ने र समयमै नेपाल पुग्नुपर्ने बाध्यताका कारण हामीले कामको बाँडफाँड गर्यौँ । यसका लागि म र सीमा गुरुमाले भिसाको काम गर्ने र बाँकीले परीक्षा सञ्चालन गर्ने कुरामा सहमति भयो । सीमा साँवा लिम्बु गुरूमासँग पनि मेरो पुरानै परिचय हो । नेपालीहरुको ठूलो बस्ती रहेको मिचिनामा बस्ने सीमा केन्द्रीय शिक्षा विभागको सहसचिव हुनुहुन्छ । त्यसबाहेक म्यान्मारको महान चाड हौरीमा आयोजन गरिने नेपाली शिक्षण शिविरकी प्रमुख शिक्षिका पनि । म्यान्माको किरात संघकी सचिव हुनुअघि उहाँले आठौँ ब्याचमार्फत नेपाली साहित्यमा डिप्लोमा गर्नु भएको थियो । सन् २०१७ मा भएको प्यींउल्वीस्थित दुर्गा भवनमा भएको शैक्षिक तालिममा गाँसिएको हाम्रो मित्रता अझै कायम छ । सीमा गुरुमा भिसा अप्लाई गर्न मिचिनाबाट माण्डले आउनु भयो । माण्डले यस्तो सहर हो, जसलाई नटेकी बर्माको अर्को सहर पुग्न सकिँदैन । मध्य बर्मामा रहेकाले पनि एउटा राज्यका मानिस यहाँ आउनै पर्ने बाध्यता छ । यहाँ आयार्जनका स्रोत पनि प्रशस्त छन् । कतिपय जिल्ला अञ्चलास्तर सरकारी काम यसैको अधीनमा छन् । यसैको केन्द्रमा पर्छ माण्डले । मोगोकजस्ता नेपाली बस्ती बाक्लो भएको सहरबाट पनि युनिभर्सिटी पढ्न यहीँ आउनु पर्छ । राजधानी याङ्गुन देशको पुछारमा थाइल्याण्ड नजिकै भएकाले पनि देशका सबैजसो शहरी आवश्यकता माण्डलेले पूरा गर्दै आएको छ । सीमा गुरुमा भारतको भिसाको लागि यहाँ आउनुको कारण पनि यही थियो । नेपालको भिसाका लागि भने राजधानी याङ्गुन पुग्नुपर्दथ्यो तर एउटा कार्यक्रममा अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक सङ्घ केन्द्रीय अध्यक्ष सागर घिमिरेसँग भेट भएपछि भने उहाँले हाम्रो टाउको हलुका बनाइदिनु भयो । ‘म रंगुन जाँदैछु, त्यहाँ मैले चिनेको राजदूत भीम उदासजी हुनुहुन्छ । त्यसैले भिसाको काम म गर्दिन्छु । हतार भएकाले तपाईंहरु अरु काम गर्नुहोला, नत्र भ्याइँदैन ।’ अध्यक्ष नै भिसाका लागि रंगुन गएपछि हामीलाई निःशुल्क भिसा मिलेछ । नेपालमा हुने साहित्य सम्मेलनमा सहभागी हुने कारणले पनि निशुल्क भिसा मिलेकाे थाहा भयाे । अध्यक्ष ज्यूले याे कुरा फोनमै सुनाउँदा हामी खुसी भयौँ । नेपालले हामीलाई माया गर्छ भन्ने यो संकेत थियो । यो कुरा नेपालमा रहनु भएका हाम्रा शिक्षा प्रमुख ज्ञान सरलाई सुनायौँ । त्यसपछि परीक्षामा लाग्नुभएका सबै साथीहरुलाई पनि । यसरी नेपालको भिसाको काम पनि सकियो । ठीक एक सातापछि परीक्षाको काम सकेर सबैजना माण्डले भेला हुनुभयो । यो जनवरी १९ तारिख बिहान ११ बजेतिरको समय थियो । अब भारतको भिसा लगाउनुपर्ने थियो । यहीँ भेट भयो, हाम्रो यात्राका सबैभन्दा महत्त्वपूर्ण व्यक्ति भीम पाण्डे । उहाँ एक–दुई पटक नेपाल गैसक्नु भएका कारण हाम्रो पथप्रदर्शक पनि हुनुहुन्थ्यो । मैले उहाँलाई पहिलो पटक भेटेका कारण नमस्ते बाहेक अरु कुरा सोध्ने आँट थिएन । तर नेपाल पुगिसकेको व्यक्ति भएकाले मेरो ध्यान उहाँतिर अलि बढी खिँचिएको थियो । सायद उहाँले नेपालका बारेमा केही भन्नुहुन्छ कि भन्ने आशा मनमा थियो । उहाँ केन्द्रीय सांस्कृतिक विभागको प्रमुख हुनुहुन्छ भन्ने कुरा पनि त्यही बेला थाहा भयो । उहाँ मेचिनामा नेपाली भाषा र साहित्य अध्यापन गराउनु हुँदाे रहेछ । हामी पूरा तयारीका साथ लगेजसहित भारतको काउन्सिलर अफिस गएका थियौँ । समयमै भिसा हात पर्यो भने चाँडै निस्कनुपर्छ भन्ने योजनाका साथ तर भिसा लिन महाभारत भयो । इण्डियन काउन्सलिड्ले सबैलाई फरक फरक ठाउँमा राखेर निकै बेर केरकार गर्\u200dयो । अनेक प्रश्न सोध्यो । अन्त्यमा त्यही दिन भिसा नमिल्ने जानकारी दिइयो । बरु भोलिपल्ट ३ बजे मात्र बोलाइयो । खासमा हामी भारतको बाटो हुँदै नेपाल छिर्दैथियौँ । सम्भवतः भारतको बाटो हुँदै नेपाल छिर्ने हामी पहिलो टोली थियौँ । र, उनीहरुका लागि पनि यो फरक अनुभव थियो । त्यसैले पनि हाम्रालागि धेरै सोधपुछ भयो । #बर्मादेखि नेपालसम्म #रीता लामाकार्की
एक प्रकाशकको चुपचाप बिदाइ: सारा म्याकलच्लन क्यानडास्थित हाउस अफ अनन्सी प्रेसकी पूर्व अध्यक्ष तथा प्रकाशक हुन्। अनन्सीले केही राम्रा क्यानडेली लेखकहरू उत्पादन गरेको छ, जसले ख्याति बटुलेका छन्। यसमा लिन कोएडी, लिसा मुर, तान्या टेलगा, एलिक्स ओहलिन, प्याट्रिक डेविट, गिल एडम्सनजस्ता सफल लेखक पनि पर्छन्। यत्ति धेरै लेखकहरूले पत्याएको एउटा सानो पब्लिकेसन हाउसकी प्रकाशक तथा अध्यक्ष साराले गएको जनवरीमा नै कम्पनीबाट बिदा लिने घोषणा गरिसकेकी थिइन्। बीचमा कोविद १९ रोगको आतंकका कारण उनको बिदाइ पनि सामान्य बन्न पुग्यो, ‘जूम’ बिदाइ। यो बिदाइ अनलाइन भएकाले रोनाधोना मुक्त पनि भयो। पछिल्लो समय साना प्रकाशन गृहलाई दवाव छ- तिनीहरू नाफामा पनि चल्नु छ र सँगैमा ठूला प्रकाशन गृहहरू पेइन्गुइन रेन्डम हाउस, ह्याचेट लिभ्र, हार्पर कोलिन्स, म्याकमिलन, सिमोन एन्ड सुस्टर, म्याक्ग्रहिल्स, पियर्सन एडुकेसन, स्कोलास्टिक, हग्टन मिफिनजस्ता कुस्त नाफा कमाउने कम्पनीले साना प्रकाशकहरूबाट राम्रा र सम्भावना भएका लेखकहरू जोगाउनु पनि छ। यस्तो बेलामा उमेरमा ६० लागेपछि प्रकाशन संस्थाबाट बिदाबारी भएकी साराका लागि कम्पनीको दैनन्दिनीबाट मुक्त भएकी छन्। उनी भन्छिन्, ‘एउटा स्वतन्त्र प्रकाशक भएर राम्रा किताब निकाल्नु गाह्रो छ। निकालिए पनि महत्त्वाकांक्षी लेखकहरूले पहिलो पुस्तक साना प्रकाशकबाट निकाल्नेबित्तिकै ठूला प्रकाशककहाँ फड्को मारिहाल्छन्। कहिलेकाहीँ यस्तो देख्दा दिक्क पनि लाग्छ किनभने तिनलाई लेखकका रूपमा उभ्याउन साना प्रकाशकले ठूलो मिहिनेत गरेका हुन्छन् तर त्यो मिहिनेतको फल पनि चाख्न पाउँदैनन्।’ उनको ईशारा चाहिँ क्यानडाका सम्भावनायुक्त लेखकहरू सिला हेटी, जोइ ह्विटफल र रल हेजजस्ता लेखकको थियो, जुन अलि चर्चामा आउनेबित्तिकै ठूला प्रकाशकको आँखामा परिहाले र तिनले पनि मौकामा चौका हान्न बिर्सिएनन्। यसरी कम्पनीबाट हाम्फाल्नुलाई उनले त्यति नराम्रो रूपमा लिन्नन्, भन्छिन्, ‘हामीले उनीहरूलाई ठूला मल्टिनेसनल कम्पनीले दिए जति दिनसके उनीहरू किन जान्थे र?’ तर कम स्रोतका बाबजुद पनि साना कम्पनीले बढी विविधतायुक्त पुस्तक पस्कन भ्याउने, त्यसका लागि गहन मिहिनेत गर्ने गरेको उनको धारणा छ। ठूला प्रकाशकहरूले पनि मिहिनेत त गर्छन् तर उनीहरूको ध्यान बढी व्यापार केन्द्रित हुने उनको बुझाइ छ। ‘हामीजस्ता साना कम्पनीको पुँजी भनेको लेखकहरूसँगको निजी सम्बन्ध हो,’ उनी भन्छिन्, ‘हामीसँग पैसा कम होला तर ज्यादै संवेदना बुझेर काम गर्छौं। हामीले उनीहरूलाई अग्रिम रूपमा ठूलो रकम दिन नसकौँला तर हरेक वर्ष किताब बिक्रीबाट आएको रोयल्टी राम्रै दिन्छौँ। यसले लेखक र प्रकाशक बीचको सम्बन्ध दरिलो बनाउँछ, निजात्मक सम्बन्ध बनाउँछ। र, सबै लेखक पैसाकै लागि मात्र पनि काम गर्दैनन्। तिनीहरू सम्बन्धको महत्त्व बुझ्छन् भन्ने लाग्छ।’ उनले कयौँ लेखकले वर्षको १० लाख डलरसम्म रोयल्टी लग्ने लेखकहरूसँग काम गर्न पाएकामा खुसी व्यक्त गरिन्। तिनै लेखक अलि बढी पैसा पाउने भएपछि कम्पनी छाडेर गएका पनि छन्। उनी त्यसलाई सामान्य नै मान्छिन्। उनले अहिले बिदा लिएको कम्पनीमा १६ वर्षअघि छिरेकी थिइन्। जम्मा पाँच कर्मचारी र १० लाख डलरबाट शुरू गरेको यो कम्पनीमा अहिले ३८ कर्मचारी र ८० लाख डलरको व्यापार गर्न सफल भएको छ। यो तहमा ल्याउन सकेकामा उनले सन्तुष्टि व्यक्त गरिन्। तर यो वर्ष भने कम्पनी पूरै घाटामा जाने उनको आँकलन छ। जब एउटा सक्रिय प्रकाशकले कम्पनीबाट बिदा लिन्छ, त्यो बेला उसले कस्ता कुरा छुटाउँछु होला जस्तो लाग्छ त ? सारा भन्छिन्, ‘कम्पनी चलाउञ्जेल पनि राति अचानक ब्युँझन्थेँ र कम्पनीमा यो बिग्रियो भन्ने लाग्थ्यो। अहिले पनि कहिलेकाहीँ झट्ट ब्युँझन्छु र कम्पनी छाडेँ भन्ने नै बिर्सन्छु। त्यो तनाव मैले यतिबेला मिस गरिरहेकी छु।’ #अदृश्य #प्रकाशक
गुरु पूर्णिमाको दिन 'प्रवासी प्रवाह'को आठौँ शृङ्खला: गैर आवसीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्धन समितिद्वारा संचालित अनलाइन कार्यक्रम “प्रवासी प्रवाह” आठौँ शृंखला असार २१ गते गते तदानुसार जुलाई ५ तारिक बेलुका ८ बजे सम्पन्न भयो । विश्वमा छरिएर रहेका सम्पूर्ण नेपाली भाषीहरुलाई प्रवासी प्रवाह कार्यक्रममा सहभागी गराएर उनीहरुका सिर्जनाका प्रवाहलाई प्रवाहित गर्नु कार्यक्रमको उद्देश्य रहेको समितिले जनाएको छ । आठौँ शृङ्खला गुरु पूर्णिमाको अवसरमा नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाका सबै आदरणीय स्रस्टाहरुमा सम्मानसहित यसपालिको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सुप्रसिद्ध कवि तथा संस्कृतिविद् तुलसी दिवसको उपस्थिति थियो । लोक वार्ता र संस्कृति समाजका अध्यक्ष समेत रहेका दिवशले जहाँ नेपाली पुगेका छन्, त्यहाँ सानो नेपाल पुगेको भन्दै विश्वभर छरिएका नेपालीले नेपाली भाषा र संस्कृतिलाई विश्वभर पुर्याउनु पर्नेमा जोड दिए । ‘प्रवासी प्रवाह’ले विभिन्न महादेशमा रहेका नेपालीहरुले त्यहाँ भएका साहित्यिक गतिविधिहरु बुझ्ने र त्यहाँका सर्जकका सिर्जनालाई सुन्ने सुनाउने काम गरेकोमा उनले खुशी व्यक्त गरे । उनले वाहवाही र ताली पाउनका लागि मात्र नभई कविता मनका भित्री भावना उजागर गर्नुपर्ने र वाचनशैली राम्रो बनाएर त्यसलाई जीवन्त पार्नुपर्ने सुझाव दिए । यस क्रममा उनले केही कविता समेत वाचन गरेका थिए । अमेरिकाबाट साहित्यकार गोबर्धन पूजाले अमेरिकाको साहित्यिक गतिविधिका बारेमा जानकारी दिँदै कविता वाचन गरे । नर्वेबाट कवि तथा साहित्यकार विष्णुमाया विभुले नर्वेमा दुई हजारको संख्यामा नेपालीहरु रहेको र साहित्यिक गतिविधि पनि जारी रहेको जानकारी गराइन् । उनले आफ्ना गज़ल, गीत र मुक्तक सुनाएकी थिइन् । मलेसियाबाट दीप दर्शनले पनि मलेसियामा पहिलेको जस्तो साहित्यिक गतिविधि कम भएको बताउँदै आफ्ना गज़लहरु सुनाए । युगान्डाबाट तेजेन्द्र ‘विवश’ले युगान्डामा थोरै साहित्यकार भए पनि साहित्य गीतसंगीतलाई मन पराउने धेरै नेपालीहरु भएको जनाउँदै आफ्ना गीतहरु गाएरै सुनाएका थिए । प्रवासी प्रवाह अनलाइन कार्यकमको संचालन भगवती बस्नेतले गरेकी थिइन् । #प्रवासी प्रवाह
उत्तमप्रसाद पन्तलाई योगमाया अभियान सम्मान: उत्तम बाबु पन्त नेपाल स्रष्टा समाजले येगमायाका विषयमा अध्ययन अनुसन्धान गरी पुस्तक प्रकाशन गरेका शिक्षाविद् उत्तमप्रसाद पन्तलाई योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान प्रदान गर्ने भएको छ । २५ हजार १ सय ११ रूपैयाँ राशिसहित पन्तलाई अभिन्नदन गरिने स्रष्टा समाजले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । समाजका अध्यक्ष विधान आचार्यले जारी गरेको प्रेस विज्ञप्तिअनुसार समाजले २०७७ सालमा प्रदान गर्ने योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान तोया गरूङलाई प्रदान गर्ने निर्णयसमेत गरेको छ । सम्मानको राशि २५ हजार १ सय ११ रूपैयाँ रहेको छ । त्यसैगरी पाल्पाका इन्द्रा गहतराजलाई दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान प्रदान गरिने भएको छ । उक्त सम्मानको राशि ११ हजार १ सय ११ रहेको छ । योगमायाले तत्कालीन राणा सरकारसँग समाज सुधारको माग गर्दै आफ्ना ६८ अनुयायीका साथ वि.सं. १९९८ असार २२ मा उत्सर्ग गरेकी थिइन् । यसै दिनको सम्झना गर्दै लेखन एवं अनुसन्धानमार्फत समाज सुधार गर्ने स्रस्टाहरूलाई स्रष्टा समाजले सम्मान गर्दै अएको छ ।
फोटो कविता प्रतियोगिता ८ का लागि कविता आह्वान: विमल नेपाल साहित्यपाेस्ट साहित्य क्षेत्रकाे यस्ताे पत्रिका हाे, जसले लेखक–कविहरूका उत्कृष्ट रचना मात्र प्रकाशित गर्दैन, नव प्रतिभाहरूलाइ फल्ने फूल्ने वातावरण पनि तयार पार्दछ । यसै सन्दर्भमा साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको सातौँ संस्करणका लागि कविता आह्वान गरिएको छ। याे फाेरम नव प्रतिभा एवं चर्चित कविहरूकाे संयुक्त फाेरम हाे, जहाँ ताेकिएकाे विषय र तस्बिर दिएर कविता लेखनकाे प्रतिस्पर्धा गराइन्छ । अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका तस्बिर हेरी कविता लेख्ने यो प्रतियोगिताका सात वटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । आठौँ संस्करणका लागि तल प्रकाशित तस्बिर हेरी तलको कमेन्ट बक्समा सहभागीहरूले कविता पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागी हुनेहरूले यसअघि यसै पेजमा कविता नराखेर साहित्यपाेस्टकाे फेसबुक पेज, इमेल ठेगाना र अन्य माध्यमबाट कविता पठाउनु भएका कारण ती कविता प्रतियोगिताभित्र नपरेको साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले जानकारी दिएका छन्। याे प्रतियाेगितामा कविता पठाउन यसै पेजकाे तल कमेन्ट बक्समा तस्बिरसँग मिल्दाे कविता पठाउनु पर्ने निर्णायक मण्डलले जनाएकाे छ । प्राप्त कविताहरू मध्येबाट तीन वटा उत्कृष्ट रचनाहरु प्रत्येक साता चयन गरिनेछ। यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो-कविता स\u200cंग्रहका रुपमा प्रकाशित गरिनेछ ।उत्कृष्ट कवि–कवयत्रीहरूलाइ सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार पनि अर्पण गरिनेछ । यस प्रतियोगिताका लागि कविता पठाउने मिति आउँदो शनिबार अर्थात असार २७ गते राति १२ बजेसम्म रहेको छ। प्राप्त कविताहरूलाइ विज्ञ एवं स्वतन्त्र कवि एवं समीक्षकहरूकाे रहाेबरमा भाेलिपल्ट २८ गते कविताको नजिता प्रकाशन गरिनेछ । यसपटककाे फाेटाे र कविताकाे विषय रहेको छः राजनीतिमा खेल हेर्नुहोस् तस्बिर र तल कमेन्ट बक्समा कविता पोस्ट गर्नुहोस्ः
आत्महत्या: नवीन प्यासी सुसाइड नोटमा लेखिएको छ- ‘यदि अर्को जुनी सम्भव छ भने म मानिस भएर जन्मन चाहन्छु’ । प्रमाणको नाममा उसको घाँटी रेटिएको छ छ मुखमा अलिकति फिँज र छेवैमा तरकारी काट्ने चक्कु ! मानिसहरू भनिरहेछन्- ‘यस्तो प्रतीभाको कसले हत्या गर्यो ? यो आत्महत्या होइन, हत्या हो’ ऊ पेन्टर थियो- रङहरूमार्फत पोत्थ्यो निसास्सिँदो विचारहरू ऊ कवि थियो- कवितामार्फत लेख्थ्यो हजार पैतालाले थिचेको मुस्कान ऊ संगीतकार थियो- सूरमार्फत निकाल्थ्यो गहिरो पीडाको मेलोडी ऊ मानिस थियो- आवाजमार्फत बोल्थ्यो मानिसको पक्षमा । संविधानको धारा-उपधारा थिएन उसका लागि न थियो कुनै आरक्षण थिएन कुनै पार्टीको घोषणापत्रमा नक्कली आस्वासन किनभने ऊ भोट बैंक थिएन किनभने दर्ता थिएन उसको नाम निर्वाचन आयोगमा । ऊ नागरिक थिएन यो देशको बनेको थिएन नागरिकता । थियो त- सधैं सधैं उसलाई गिज्याइरहने समाज थियो त- सधैं सधैं विवाहको प्रस्ताव ल्याइरहने परिवार थियो त- सधैं सधैं प्रश्न गरिरहने साथीभाइ । ऊ भनिहिँड्थ्यो- नागरिकतामा मेरो फोटो कस्तो देखिएला ? रुन छाडेको थियो, सक्किएको थियो आँखामा आँसु दुख्न छाडेको थियो, ढुंगो बनिसकेको थियो मुटु किनभने, मानिस भएर बाँच्न खोजिरहेको ऊ तेस्रो लिंगी थियो । #आत्महत्या #नवीन प्यासी
नारी सौन्दर्य: नारी तिम्रा अवयव सबै मोहनी रूप कस्तो धर्ती सारा जगभरी कतै हुन्न लौ मोल सस्तो ब्रह्मा आफैँ थकित नभमा गाउँदा गीत तिम्रो मान्छे आफैँ चकित जगमा पाउँदा प्रीत तिम्रो ।। हिँड्दा खुट्टा छमछम गरी नर्तकी चाल आहा ! गाला चिल्ला छलछल गरी केसको छाल आहा ! लाली चढ्दा अधरभरि नै लोभिने बन्छ मौरी नारी प्यारी मदकल सुरा सर्वदा रम्य गौरी ।। मान्छे कस्ती चमचम गरी चम्किने दिव्य आभा मान्छे हौ या गगनचर हौ मस्तले खान कावा तिम्रो लज्जा पनि बनिदिने सार सौन्दर्य चाला खोली दिन्छ पुरुष नरको बन्द धीरत्व ताला ।। नारी तिम्रो तनमन सबै शुद्धताको निवास फक्री चट्ट लहलह बनी फैलिदिन्छ्यौ सुवास आमा बन्छ्यौ सुललित तिमी छर्न न्यानो पियार रम्छन् बच्चा दूधरस लिई बाल क्रीडा विहार ।। गर्मी बढ्दा हिमसरि भई शीत ठण्डी हिमाल जाडो लागी लुगलुग बने अग्नि ज्वाला कमाल सारा राम्रा चिजबिज सबै आरसी मान्छु तिम्रा होलान् केही अवगुण कतै शील नै छान्छु तिम्रा ।। #नारी सौन्दर्य #सुदेश पन्त
मनसँग कुराकानी: चाहिँदैन प्यार अब किन्तु म म रहन सकिनँ म को हु ? मलाइ नै थाहा छैन कसलाई थाहा छ ? जसले मेरो अस्तित्व स्विकारेन कसले? जस्ले अस्तित्व देखाएको थियो मतलब ? मलाइ थाह छैन पागल भैइस् ? बनाए कसले जसले मान्छे बनाएको हो उसले उफ ! बुझिन के भनेको ? उस्ले नि यही भन्दै थियो कसले ? जसले मलाइ बुझेन भन्न के चाहान्छस् ? शब्द बाहिर को कुरा त्यो भनेको के हो ? मैले भन्न चाहेको कुरा बुझाउन् सक्छस् ? बुझ्न लाई दिल टुटेको हुनुपर्छ तेरो टुटेको छ ? मेरो दिल छैन दिल बिना को मान्छे हुन्छ र ? म मान्छे होइन को होस् ? त को होस् ? मान्छे को रुपमा छस् त ? भन्न को होस् ? हा हा हा हा भ्रम हुँ म फगत भ्रम हँु कसरी ? म म छैन कहाँ गइस् ? सबैको जाने ठाउँ कहाँ ? त जहाँ जान्छस् म , म कहाँ जान्छु ? तँलाई थाहा होला मलाइ थाहा छैन भन् ? मलाइ पनि थाहा छैन । भन? अन्तिम सत्य लाई भेट्न के हो? सत्य हो बुझिनँ सत्य हो बुझिदैन त पागल भइस् ? बनाए कसले ? जस्ले मान्छे बनाए कसले ? जसले अस्तित्व देखाएर स्विकारेन अस्तित्व बिना को होस ? मलाई थाहा छैन । तँलाई के थाहा छ ? अब मलाइ प्यार चाहिँदैन । #दिपेश उप्रेती #मनसँग कुराकानी
बर्माका साहित्यकार थापालाई 'गोपाल पाण्डे' पुरस्कार: साहित्यपोस्ट ज्ञानबहादुर थापा बर्माका नेपालीभाषी साहित्यकार ज्ञानबहादुर थापा ले गोपाल पाण्डे ‘असीम’ पुरस्कार प्राप्त गरेका छन् । विगत २५ वर्षदेखि नेपाली भाषा र साहित्यमा निरन्तर लागिरहेका थापाले नेपाली शिक्षा परिषद्ले दिने ५० हजार राशीको पुरस्कार प्राप्त गरेका हुन् । उनका झण्डै एक दर्जन भाषा र साहित्यका पुस्तकहरु प्रकाशित छन् । थापा बर्मामा भाषा र साहित्यमा सक्रिय रहेको अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक सङ्घ, शिक्षा विभाग प्रमुख पनि हुन् । थापा ऐरावती साहित्यिक पत्रिकाका प्रमुख सम्पादक हुन् भने साहित्यपोस्टका बर्मा संयोजक पनि हुन् । उनी बर्मामा नेपाली साहित्यकार जन्माउने अभियानमा पनि लागेका छन् । २०५० सालेखि साहित्यकार गोपाल पाण्डे असिमको नाममा नेपाली भाषा र साहित्यको सेवा गर्ने श्रष्टालाई शिक्षा विभागले यो पुरस्कार दिँदैआएको छ । त्यसैगरि आदिकवि भानुभक्त पुरस्कारको पनि घोषणा भएको छ । यो वर्ष एक लाख रुपैयाँ राशीको उक्त पुरस्कार मुकुन्द शर्मा चालिसेले प्राप्त गरेका छन् । २०५४ सालदेखि दिन थालिएको यो पुरस्कार पनि भाषा र साहित्यमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई दिने गरिएको छ । यी दुवै पुरस्कार साउन ३२ गते एक सार्वजनिक कार्यक्रममा वितरण गरिने योजना छ । साहित्यपोस्ट विद्यूतीय पत्रिका उहाँहरुको उत्तरोत्तर प्र्रगतिको कामना गर्दछ । #ज्ञानबहादुर थापा
कथा: मृत्यु ढोल नपिटी आयो: सत्तरी वर्षमा पनि भीष्म बाजे जवान डकार्थे । उसै पनि उनका कान छिटा, आँखा तीखा । फट्किनु पर्दा लब्रकलब्रक कुनै तरुण-तरुणी सैपरी तीव्रतर फड्कन्थे । हितैषी दामोदरलाई उ.. पर छोडिदिन्थे, र पछि फर्केर कम्मरमा हातको टेका लगाई भन्थे- “नाथु यो ठाडे भीर त उमेरमा झिमिक्क गर्दा पो त ! अँ, टेर्दिनँ अझै, सोर्है आना ! हेर कहाँ छोड्यो यो अल्छी ?” भीष्म बाजे ‘हाहा हूहू’ गर्दै तलतिर बुटाबुटीमा रल्लिरहेका दामोदरलाई माथि पुगेर सुनाउन लागे । दामोदर तल भिरालोमा उभिएर एउटा खुट्टा माथि टेकाई उसैगरि खुई… गर्दै उभिएका थिए । सायद उनी थाके । उनले हातको इशाराले भने, “पख् पख् मुढेँ ! म आइपुगेँ, तबैतारे !” बिमल सिटौला पुराना बूढाहरूलाई सत्य युगको दूध, दही र घिउले घच्चघच्याउछ भनेझैँ भीष्म बूढाको बोली र गराइमा दम झल्किन्थ्यो । तर दामोदर बूढामा त्यो थिएन । दुवैका आँखाका किनारमा मुजुक्क परेर अनुहारको गतिपति थिएन । चिउडो खस्केको थियो । बाहिरी सल्लक खुम्चिएर एकै ठाउँमा देखिन्थ्यो । हत्केलाको विपरितपट्टि छाला कालो र लत्रेको थियो । देखिने जति रौँ सबै सेतै । पहिरनमा सेतो कमिज परिधान गरेका, तर गोबर/सोतर सोर्दा र चुनदेवी मन्दिरछेउको चिया पसलमा समकालीनहरूसँग बसेर हात माड्दै गफ्फिदा टाटैटाटा । यधपि जीवित एउटै थियो, भीष्म बूढाको गफको हाँक, बेजोडको ! पहिले-पहिले अति शुरा थिए रे भीष्म बूढा ! दर्जन लैना चौपाय पालेका, बिहान सबैभन्दा छिटो मन्दिरछेउको पसलमा दूध ल्याइपुर्याउँथे रे ! कम्तिमा पर्वतेनी साहूनीलाई एक कपमा तीन चम्चा चिनी थप्न लगाई-लगाई चिया पिउँथे, र एक बिहानभरि बढो हाँक बढाएर कुरा गर्थे रे ! सबै गोपाल-महेशपालहरूसँग । त्यसपछि मात्र, अबेर दामोदरसँग यसरी नै नारिंदै घर फर्कन्थे रे ! दूधको ट्याङ्का उनले कहिल्यै छुटाउँदैनथे । तर, आजभोलि हप्तामा एक-दुई दिनमात्र धाउँछन् उनी । त्यो पनि छिमेकी हितैषी दामोदर पाण्डेसँग मन मिल्दा । नमिल्दा अकेलै अकेलै । अरूबेला उनका कान्छो छोरा हरिमर्दनले जिम्मा लिन्छन् । तर, दूधको रकम बुझ्न भने उनी नै । त्यसदिन, सँगसँगै हिँडेका उनीहरूमा भीष्म माथि ठमठमाएर पुग्दा दामोदर बूढाको मनमा वराध हिनताबोध भयो- “साँच्चै अशक्त भएछु अब ता !” उनले जिब्रो फट्कारे- “मेरो छेउमा बढाउछ हाँक, उमेरले मेरो उमेर नाघिसक्यो । दुई मुख जोड्दा हेरिनसक्नु छ । अझ फुर्ति गर्छ । तबैतारे ! अझ अल्छी रे मलाई !” दामोदर बूढा माथि थुम्कोमा आफूउपर गिल्ला गरिरहेका हितैषी भीष्म बूढाको बारेमा यस्तै मनोगणन्ते कुरामा अल्झिएका के थिए, एक्कासि कावा खाएर ढले । दूधको ट्याड़्का हल्लाउदै भीष्म बूढा हतारमाओर्लिए तल । “ए..ए.. के भयो तँलाई एक्कासि !”, उनी नजिकै आइपुगे । भकुल्ले शरीरलाई उनले यता र उता चलमलाए । कोनि के के गरे उनले ! दामोदर बूढाले आँखाका पटल खोले । एकछिन मूक देखिए उनी । लाटोसुधो जस्तो । आँखा झिमिक-झिमिक गरे । अनि मात्र भिष्म बूढा बोले, गल्ती प्रायश्चित गर्दै- “भोलिदेखि तँलाई मैले साथी ल्याएछु भने त मरिजाऊँ ! यस्तो गर्न मिल्छ यो निर्जनमा ? आफ्नो झन्नै खरी झरे ! तैँले परिवञ्चनामा मलाई कुन दिन खाद्छस् र मेरो हालत त्यही बलबहादुरको जस्तो बनाउछस् । सोर्है आना !” “ए लौ लौ, तबैतारे !”, दामोदर बूढाले आधा शरीर उठाएर खुई गरे र सञ्जीवनी बुटी दिने भीष्मलाई श्लाघा गरे- “तँ थिस् र त म बाचेँ बा ! तँ थिइनस् भने आज मेरो परान यही लामाटारे भीरमा जान्थ्यो ।” केही गम्किएर केही हाँक बढाएर भीष्म बूढा बोले- “तँलाई मैले धेरैचोटि त्राण गरेको छु । त्यो त माथि जगन्नाथलाई थाहै छ नि !”, यस्तै उस्तै ती व्यथित एरुण यौवनका कुरा गर्दै दुई बूढाहरू सँगसँगै उकालो लागे । त्यतिखेरै बिहानले ज्योतिको मुस्लो पायो । कलिलो घाँमको प्रकाशमा उनीहरूको काय तप्न त पाएन, किनकि उनीहरू पूर्वी दिशाको उकालो चढ्दै थिए । पछाडि पर घाँममा कुनै वस्तुको टलक देखियो । भीष्म बूढाले अड्कल काटिहाले, “ए ! को लम्किदै छ तलबाट । देख् त !” दामोदर बूढाका कौतुक नजर तल झरेनन् । बरु माथि चढ्नै बले गरे उनी । कुनै विसान नगरी उनी चढेको चढै थुम्कोमा पुगे । फेरि कावा खाए । हो, उनी फेरि ढले । तर, भीष्म बूढा कोनि के को क्षुधित भएर, कुनै अहेरी झैँ बिराजमान भए । उनले यो थाहा पाए कि ती कुनै स्त्री नै हुन् । उनी त फर्किए आएको बाटो । “नानी कहाँ पुग्नुपर्ने ?”, उनले लम्बेजिब्रो पोखरीबाहिर नचाए । बढो भड्किलो तरहले अहम्ता पोख्दै ती स्त्री बोलिन्, “माथिल्लो गाउँ बाजे ।” अचानक भीष्म बाजेले तीन पहर पछाडि सारे, दाईने हात अनुहारमा घुमाउँदै । “अनि नानी ? यति विघ्न भारी बोकेर पार गरौली त यो डाँडो ? खै लेऊ यो झोला म बोकिदिन्छु ।”, भीष्म बाजेले सबैभन्दा ठूलो झोला आफ्नो आङमा चढाइहाले । उनी भन्दै थिइन्, “सक्नुहुन्न बाजे यो त ! यो हाते झोला चै समाउनू ।” अहँ, टेरेनन् भीष्म बूढाले । स्त्रीलाई आफू अघि बढाएर उनी पछिपछि लागे । बूढा भन्दै थिए- “के भन्छौ हौ नानी, अझै जवानै छु नि ! सोध न त्यहाँ पुगेपछि, यो गाउँ हाँक्ने को हो भनेर ?” स्त्री त थुम्कोमा किन्चितै कष्टले आइपुगिन्, तर भीष्म बाजे आएनन् । दामोदर बूढा तब मात्र होसमा आइपुगे जब ती स्त्रीलाई नजिकै देखे । दामोदर बूढा उठेर छटपटाउन थाले । हितैषी भीष्मको परोक्षमा, न कि स्त्रीको आगमनमा । स्त्रीले नै भनिन्, “बाजे मेरो सामान बोकेर आउने बाजे त हराउनुभयो त ….. !” दामोदर बूढा अचम्ममा त परिहालेनन्, तर भीष्मको लुप्ततामा असमञ्जसतामा निसार भैरहे । उनले भीष्मलाई खोज्दै जाँदा तल रूखमा अल्झिएको देखे । निकै दुरुह अवस्था देखे उनले हितैषी भीष्मको । ती लोभना स्त्री पनि पछिपछि आउँदै थिइन् । भीष्म बाजेको शरीरको एक वृक्षको ठुटोमा लत्रेको गति देखेर चिच्याइन् । दामोदर बूढा एकदमै कान्तिहिनताको स्थितिमा पुगे । उनले नजिकै गएर अर्ध वृत्तकार आकारमा भएको शरीरलाई छोए । मुखमा जल पनि हालिदिए । तर, उनको श्वास उडिसकेको थियो । उनले ती स्त्रीउपर हेर्दै एकदमै निसाहार भएर भने- “मृत्यु पनि ढोल पिटेर नआउने रहेछ नानी !” #बिमल सिटौला
एक यात्राको कथाः चभ: चरिकोट गाउँबाटै २०४० सालको प्रवेशिका परीक्षामा राम्रो अंक ल्याउनेमा श्री कालिन्चोक माध्यमिक विद्यालयको पहिलो विद्यार्थी भयो उद्गम नेपाल । मध्यम वर्गीय परिवार भए पनि छोरा छोरीलाई पढाउनु पर्छ भन्ने मानसिकता उद्गमका बा–आमामा थियो । बाबा शिक्षित थिए । आमा पनि अनपढ नै त हैनन् । सिजन अनुसारका दुई तीन थरी नगदेबालीको पनि राम्रै उब्जनी हुन्थ्यो । उद्गमले पनि आफ्नो पढाइको समय बाहेक कृषिकर्म पनि गरेकै हो । उद्गमका बा चरिकोटे नेपालबाट चिनिन्थे काठमाडौँ खाल्डोमा । आफ्नो नगदेबाली लिएर उनी काठमाडौँका नेवार बस्तीहरूमा पुग्थे । बाहिर अन्य सबैले काठमाडौँ भने पनि भक्तपुरमा उनको व्यापार राम्रो थियो । चरिकोटेको समानमा खोट हुन्न भन्थे । विश्वास थियो उनी माथि कैफियत गर्दैनन् भन्ने । भक्तपुरका नारायण कंसाकारसँग पहिलो भेट २०३० सालतिर चरिकोटमै भएको थियो । नारायण कंसाकार धातुको व्यापार गर्थे । दुई भरिया नयाँ भाँडाकुँडा बोकेर नारायण कंसाकार दोलखा चरिकोटतिर दशपन्ध्र दिन घुम्थे । नयाँ भाँडाँकुँडाहरू बेचबिखन साथै पुरानासँग साटफेर गरेर फर्किन्थे । बर्षको एकपटक दोलखा पुग्दा उनै चरिकोटेको घरमा दुई तीन दिन बस्थे । यसरी नारायण कंसाकार र चरिकोटेको चिनजान सँगै चभ भएका थिए । मोती भुजेल दश वर्षपछि चरिकोटे छोरा उद्गमको उच्चशिक्षाको लागि सँगै काठमाडौँ गए । पहिला नगदेबाली बेच्न घरघरै जानु पथ्र्यो भने, अहिले नगदेबाली खोज्न घरघरै आउँछन् । गाउँमै चरिकोट कृषि सहकारी खुलेको छ । सहकारीले नै उचित दाम दिएर संकलन गर्ने गरेकाले चरिकोटेलाइ सजिलो भएको हो । दश वर्षमा धेरैनै परिवर्तन भएछ भक्तपुरमा । भक्तपुर दरबारक्षेत्र वरपरका चोकहरू पनि हराएछन् । कतै सरकारी कार्यलय भवनहरू बन्दैछन् त कतै व्यापारीक कम्प्लेक्स बनिसकेका थिए । कुमारी चोकबाट भित्र छिरेपछि मुखैमा थियो नारायण कंसाकारको घर । अहिले पत्ता लाउन धौ धौ परेको छ चरिकोटेलाई । दश वर्ष पहिला देखेका पुराना इट्टाका घरहरू नै छैनन् । बेलपत्रको रूख र चौतारी बनाएको कुमारी चोकमा शितल बसेकामध्ये एकजनालाई चरिकोटेले नारायण कंसाकारको घर सोधे । एन.के. किचन लेखेको ठूलो होर्डिङ बोर्ड झुण्डिएको घर देखाइदिए । आफ्नो पुख्र्यौली पेशात गरेका रहेछन्, अहिले पनि तर पहिला जस्तो आफ्नो उत्पादन भन्दा बढी मेशिनले बनाएका समानहरू बेच्दा रहेछन् । नारायण कंसाकार पसल मै थिए । धेरैपछि देखेर होला चरिकोटेलाई ठ्याक्कै ठम्याउन सकेनन् । चरिकोटेले नै आफ्नो परिचयसँगै नमस्कार गरे । आफ्नो छोरा उद्गमलाई पनि परिचय गराए । नारायण कंसाकारले चरिकोटेका बाउ छोरालाई नै पसलभित्र बोलाए । उद्गमको पढाइ सोधे । राम्रो अंक ल्याएर प्रवेशिका उत्तीर्ण गरेको सुनेर खुसी भए । आफ्नो छोरी निला कंसाकारले पनि प्रवेशिकामा राम्रो अंक ल्याएर उत्तीर्ण गरेको कुरा सुनाए । चरिकोटेले छोरा उद्गम अब सहरमै बसेर उच्च शिक्षा अध्ययन गर्ने कुरा सुनाए , “ कंसाकार दाजुले सहयोग गनुपर्छ है ?” चरिकोटेले हाँस्दै भने । प्रतिउत्तरमा नारायण कंसाकारले पनि हाँसोमै जवाफ दिए – “ भैहाल्छ नि हौ ! यो उद्गम र निला एउटै कलेजमा पढ्छ । मेरो घरमा त डेरा छैन होय, काकाको डेरा छ चिन्त्या नलिन । एउटै कलेजमा म साइन्स पढ्ने ऊ पनि साइन्सनै पढ्ने हुन्त ।”, उद्गमले मनमनै कुरा ग¥यो । निला हातमा सानो फाइल च्यापेर भित्र पस्दै थिइन उद्गम र निलाको आँखा जुध्यो कुरा हुन सकेन । निला काठमाडौँ एक कलेजमा इन्ट्रान्सको इक्जाम दिएर आएकी रहिछन् । “मैया इक्जाम छुजुल बालाँ” – नारायण कंसाकारले छोरीलाइ सोधे । “बालाँ जुल ।”, छोटो कुराकानी भयो बाउ छोरीको । उदग्मले पनि बुझ्यो परीक्षा राम्रै भएछ भन्ने । निला माथि तलामा उक्लेको हेरिरह्यो उद्गमले । निलाले उद्गम र उसका बाबुतिर खासै ध्यान दिइनन् । पसलमा सधैं कोही न कोही भइनै रहन्छन् पनि । चरिकोटेलाई कतै देखेको जस्तो जस्तो त लाएको हो निलालाई तर होस भन्दै मनमै कुरा थुनिदिइन् । छोरी के बिषय पढ्ने हुन, उद्गम साइन्स पढ्छु भन्छ । चरिकोटेले सोधे । आफ्ना दुई छोरा व्यापारमा लागि सकेपछि आफ्नो एक सन्तान डाक्टर बनाउने नारायण कंसाकारको ईच्छा पनि छोरीलाई साइन्सनै पढाउने हो । हाम्रो कंसाकारमा पहिलो छोरी डाक्टर बनाउने मन मेरो होय, छोरीको पनि मिलेर ल्याछ ऊ पनि साइन्स पढ्छ । कंसाकारले बोले । काठमाडौँका कलेजहरूमा धमाधम इन्ट्रान्स इक्जामहरू चलिरहेको हुँदा फेरी छुट्न सक्ने भन्दै दुई दिन पछि उद्गमलाई एक्लै पठाइदिन्छु दाजुले सहयोग गर्नुपर्छ है म त आउँदिन । चरिकोटेले झोलाबाट सानो पोको दिँदै भने – “हुन्छ होय ! यती म गरी दिन्छ तिमी चिन्त्या नलिन् । तिमीले म भाँडा बेच्न दैलेख चरिकोट पुग्दा कम्ता सहयोग गरेको म बिर्सेको छैन होय ! तिम्रो घरको दालभातले मलाई गाली दिन्छ । जिन मनु ख ः ।” दुई दिन अघि देखेको केटा आज फेरी पसलमा देखेपछि निलालाई मनमा जिज्ञासा त जागेको तर खासै लेना देना नभएकोले होस् भनि दास्रो पटक पनि मनको कुरा मनमै थुनिदिइन् । केहीबेर पछि नारायण कंसाकारले छोरीलाई बोलाएर उद्गमसँग परिचय गराए । उद्गम निलाको अजाको घरमा डेरागरी बस्ने बन्दोबस्त निलाकै बाबाले मिलाई दिएका थिए । उद्गम र निला एउटै कलेज पढ्ने भए । बिहान बेलुका आ–आफ्नो पढाइ आफैँ गरे पनि दिउँसो कलेजमा भने उद्गम र निला सँगै हुन्थे । उद्गम खासै बाहिर निस्कदैन । निलाका अजा अजीलाई उद्गमले पनि अजा अजी नै भनेर संम्बोेधन गर्छ । नेवारी परम्परामा धेरै चाडवाड मनाउने हुँदा घरमा धेरै परिवार नभएकोले सानातिना काममा उद्गमले सहयोग गर्ने गरेको छ । निला पनि अजाअजीको घर आइरहन्छिन् । उद्गम र निला मिल्ने साथी त थिएनै अब मन मिल्ने साथि पनि भए । निलाको माथि घरमा पाकेको खाजा लिएर तल अजाको घर जान थालिन । दुबैको पढाइ राम्रो थियो । कलेजमा पनि उनीहरू सबैका प्रिय थिए । कलेजका सबै साथीहरूसँग राम्रो व्यवहार गर्थे । चभ जोडी भनेर जिस्क्याउने कलेजका केटाहरूको ग्रुप पनि थियो । तर उद्गाम र निलाले खासै बाल दिँदैनथे त्यो कुरामा । एक वर्षपछि कलेजले रिजल्ट निकाल्यो । उद्गम र निलाले कलेज टप गरे । फाइनलमा पनि चभ जोडी अगाडि । केटाहरूले कुरा गरेको सुने पनि नसुने झैं गर्यो उद्गमले तर निलाले भने पछाडि फर्केर आँखा तरेकै हो । “ ओए ! हेर्न चभले आँखा तरी यार हामीलाई ”– लामोकपाल पालेको केटाले भन्यो । एक दिन कलेजबाट घर फर्कदैं गर्दा उद्गमले निलालाइ आउने एक हप्ते कलेज बिदामा चरिकोट घुम्न जाने प्रस्ताव राख्यो । बेलुका बुवा र माङ सँग सोधेर जवाफ दिन्छु भनिन् । घर पुगेको पनि धेरै बेर भए पनि निलाको केही जवाफ आएन । भोलिपल्ट सँगै कलेज निस्के पनि निलाले कुरा नगरे पछि उद्गमले सोध्यो – “के भन्नुभयो बुवा र माङले ?”, निलाले कुरा नबुझे झैं गरिन – के कुरा ? कलेज बिदामा चरिकोट घुम्नजाने कुरा के । उद्गमले छिटो बोल्यो । बुवाले हुन्छ भन्नुभयो माङले केही बोल्नु भएन । फेरि एकपटक सोध्छु माङसँग । त्योदिन पनि बेलुकासम्म निलाको जवाफ आएन । होस् ! जान मिलेन होला यस्मा यती धेरै किन सोची बस्ने भनेर उद्गमले पनि बिर्सियो । कलेज छुट्टीको अघिल्लो दिन खासै पढाइ भएन । ग्रुप ग्रुपका साथीहरू प्रोग्राम बनाउँदै थिए । कोही पोखरा जाने । कोही रारा त कोही सौराह जाने नेमलिष्ट पनि बनाए । पहिला पहिला पनि नाम लेखाउनेहरू पनि घर गए पछि खबरै गर्थेनन् र छुट्थे । उद्गम र निलाले कुनै ग्रुपमा पनि नाम टिपाएनन् टिपाउनै पर्छ भन्ने पनि त होइन । उद्गम त आफ्नै घरगाउँ चरिकोट जाँदै थियो । “ ओए ! केटा हो चभ ग्रुप कहाँ जाने भयो नाम टिपाउन पाए हुने दुई जनामा एकजना थपे मज्जै हुन्छ ।”– त्यही लामोकपाल पाल्ने केटाले फेरि पनि जिस्केर बोल्यो । यसपाली उद्गमलाई रीस उठ्यो । सिधै जाइ लाग्यो । ओइ भुस ! तैँले जेलै जोरी खोज्ने ल ! आइज आज । हात हालाहाल भयो । एक दुई झापड खायो । तँ भुस भुस नै होस् । निलाले उद्गमको हात समातेर पर लगिन् । आज बचिस् बिदापछि पख, तँ ! चरिकोटेको पखेंटा काट्न सकिनँ भने मेरो नाम भुषण हैन । जित्नेले वर्तमानमा जित्छ । हार्नेले सधैं एक्स्ट्रा समयको माग गर्छ । त्यसै गर्यो भुषणले । भुषण गायक उसको नाम भए पनि ऊ आफैंले गायक हटाएर संगीत झुण्ड्याएको थियो । त्यसैले साथीहरू उसलाई भुस भन्थे ऊ रिसाउन्नथ्यो । आज उद्गमले तँ भुस भुसनै होस भन्दा रिसायो । कुनै शब्दहरू यस्ता हुन्छन् मायाले भन्दा केही फरक पर्दैन तर रीसमा भन्दा ठूलो फरक पर्छ । पागल पनि त्यस्तै शब्द हो । हातै त नछोड्नुपर्ने, उसले भनी । “ धेरैपटक मुख छोड्नु भन्दा एकचोटी हात छोडेको जाती । हातले दिएको चोट निको हुन्छ तर बचनले दिएको चोट निको हुँदैन निला ।” उद्गम सिरियस भएर बोल्यो । उद्गम र निला कलेजबाट बाहिर निस्के । बाटोमा कुरै गरेनन् दुबै जनाले । आ–आफ्नो घर पुगे । आज निलाको घरमा गुठी पूजा रहेछ । सबै जनाले गुठीको प्रसाद खाँदै थिए । निलाले उद्गमलाई आफ्नै घरमा प्रसाद खान आऊ भने पनि उद्गम पहिला आफ्नै डेरामा गयो । घरमा अजाअजी र अरू पाहुना पनि थिए । अजिले गुठी पुजाको प्रसाद खान बोलाएपछि उद्गम बाहिर आयो । प्रसादमा एक प्याला घरपाला ऐला पनि थियो । प्रसाद फाल्नुहुन्न भनेर उद्गमले पियो । केहीबेरमा निला उद्गमलाई लिन कोठामै आइन् । माङले भनेको गुठी पुजाको प्रसाद खान हिँड् रे । तिमीले बोलाए जान्छु माङलेमात्र बोलाको भए जान्न । के भनेको उद्गम आफैँले त यस्तो बोली कहिल्यै बोलेकै हैन । आज तिमीले ऐला पियौ ? निलाले सोधी । हैन गुठीको प्रसाद खाएँ । निलाको हातसमातेर कुर्सीमा बसाल्दै हाँसेर जवाफ दियो । उनीहरू गए । उद्गम एक्लै प्रसाद लिइरहेको थियो । यताउता निलालाई हेर्यो दखेन । पछि जब देख्यो च्याप्प निलाको हात समात्यो । छोड ! के गरेको अरुले देख्छ नि ! तिमीलाई ऐला लागेजस्तो छ । कलेज कम्पाउण्ड र बसमा बाहेक घरमा पहिलो पटक उद्गमले निलाको हात समातेको हो । पहिलोपटक थोरै मातेको हो उद्गम । भोलिपल्ट दश बजे निला उद्गमको कोठामा जाँदा उद्गम सुतिरहेको भए पनि ढोका खुल्लै थियो । निलाले उद्गमलाई उठाइन् । तिमी फ्रेस भएर आऊ खुसीको कुरा सुनाउँछु । उद्गमले ओडेको बल्याङकोट हटाउँदै निलाले भनिन् । के कुरा हो सुनौन कुरा सुनेरै फ्रेस भइन्छ कि । उद्गमले निलाको नाकैमा हात पुर्यायो । छि ! निलाले नाक खुमच्याइन् । म पनि साथीसँग कलेज बिदामा घुम्नजाने भए नि ! निलाले उद्गम ढोकाबाट भित्र पस्दै गर्दा सुनाइन् । ल बधाइ छ । कुन ग्रुपसँग कहाँ जाने प्लान भयो त ? उद्गमको बोलीमा खुसी थिएन । चभ ग्रुपसँग चरिकोट । निला औधी खुसी थिइन् । उद्गम पनि खुसी हुँदै भन्यो – “ भोलि जाने हो तयारी गर्नू ल ।” निला नानी उठ्ने बेला भएन ? ल तातो दूध । उद्गमको आमाले निलालाई उठाउँदै भनिन् । उद्गम पनि उठिसकेको थियो । पहिलो बिहान भीमेश्वर मन्दिर दर्शन गर्न निस्के उद्गम र निला । भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल हो । किरातकालमानै यो मन्दिरको निर्माण भएको अनुमान छ । निला तिमीलाई थाहा छ ? देशमा संकट आउनुपूर्व भीमेश्वरको मूर्तिमा संकेतको रूपमा पसिना आउने गर्दछ भन्ने । उद्गमले भनेको कुरामा निलाले आश्चर्य प्रकट गरिन् । तिमीले विश्वास गर्छौ ? धेरै पटक मिलेको छ भनेर बाबा आमाले सुनाउने गर्नुहुन्छ । म त पत्याउँछु । भीमेश्वरको दर्शन गरे टिका प्रसाद लिए । भोलि फेरी कालिञ्चोक भगवतीको दर्शन गर्न जाने है ? आज जस्तो अबेरसम्म नसुत्नू ल । उद्गमले भन्यो । दोस्रो दिन अलि छिठो निस्के घरबाट । कालिञ्चोक भगवतीको किम्बदन्ती सुनेको छौ निला तिमीले ? उद्गमले मन्दिर परिसरमा पुगेर सोध्यो । छैन भन्ने आशयमा मुन्टो हल्लाइन निलाले । काभ्रेको पलानञ्चोक भगवती, काठमाडौंको शोभा भगवती, पोखराकी विन्ध्यवासीनी भगवती , पाथीभराकी देवी भगवती र अन्य भगवती समेत सात भगवती दिदीबहिनी हुन् रे । धार्मिक दृष्टिकोणले कालिञ्चोक भगवतीलाई मनको इच्छा पूरा गर्ने भगवतीको रुपमा लिइन्छ । त्यसैले अधुरा कामहरू पूर्ण होस भनि कालिञ्चोकको भाकल गर्ने र भाकल पुरा गर्न त्यहाँ पुग्नेहरूको संख्या उल्लेख्य छ । शनिबार परेकोले भक्तजनको भीडभाड थियो । कालिन्चोक डांडांबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरू हेर्दै उद्गम र निलाले दोस्रो दिनको धेरै समय बिताए । उद्गमले जस्तै निलाले पनि उद्गमकी आमालाई भान्छामा सहयोग गरिन् । माया गरिन् निलालाइ आमाले । दुई दिन मात्रै बिदा बाँकी थियो उद्गम र निला चरिकोटबाट भक्तपुर फर्के । नारायण कंसाकारले छोरीलाई भने – “ तिमी अस्ती घुमेका ठाउँमा मैले यहाँ देखि भरिया बोकाएर दुई दिन हिंडेर भाँडा बेचेको ।” चरिकोट घुमेर आए पछि निला एकदम खुशी देखिन्छन् । मन मिल्ने साथी छ उद्गम । कलेज सुरु भएको पनि हप्ता दिन भयो । लगभग सबै जसो साथीहरु कलेज आइसके तर भुस आएको छैन । निला भुसलाइ त देखिदैन । उद्गमले कलेजको गेट तिर हेर्दै भन्यो । किन भुसको न्यास्रो लाग्यो । निलाले उद्गमलाइ जिस्काइन् । हैन तेस्तो र पनि साथी हो । कलेजको पढाइ रप्तारमा चलिरहेको छ । पढाइ किन छुटायो भनेर नि । दोस्रो वर्षको रिजल्टमा पनि उद्गम र निला टप भए । पहिला पहिला चभ जोडी भनेर गिज्याउनेहरू अब चभ जोडी जस्तो बन्नु पर्छ भन्न थाले । उद्गम र निलाको बारेमा न कलेजबाट न घरबाट कही कतैबाट पनि कम्प्लेन छैन । घरमा पनि अब दुबै जना आफँै बुझने छन भनेर खासै अबरोध छैन । कलेजबाटै राम्रो प्रशंसा कमाइरहेको चभ जोडी प्रति सबैले नमन गर्छन् । यही चभ जोडीले उपत्यकाका अन्य दश कलेजलाई पछि पार्दै आफ्नो कलेजको नाम पहिलो रेङकमा राख्न सफल भएको उपलक्ष्यमा कलेजले कम्पाउण्ड भित्र चभ पार्क पनि बनाएको छ । जहाँ गर्मीमा शितल हुन्छ ,जाडोमा पार लाग्छ । त्यही बसेर घण्टौ सम्म कोर्षको डिस्कस गर्छन विधार्थीहरू । चभ पार्कमा बसेर एक दिन भुसले गितार बजाउँदै थियो । “ के सोचें मैले के भयो अहिले ”.भन्ने ट्युनमा । राम्रो गिटारिस्ट हो ऊ । उद्गम र निला मन लागेको ठाउँमा घुम्छन् । गएको शुक्रबार,शनिबार उद्गम र निला नगरकोटमा बास बसे । नगरकोटको बास पछि उद्गम र निलाको बसाइ पन्ध्रदिनमा एकचोटी नयाँनयाँ ठाउँहरूमा हुँदै गयो । तेस्रो सेमिस्टरको रिजल्ट आउन महिना दिन लाग्ने भनेर सूचना टाँस गर्दै कलेजले तिन हप्ताको बिदा सूचना टाँस गरिदियो । लामो बिदा परेकोले उद्गमले थाइलेण्ड घुम्नजाने प्रस्ताव राख्यो । निलाको थाइलेण्ड हैन वाइलेण्ड पोखरा र अन्नपुर्ण बेशक्याम्प जाने प्लान पास भयो । वाइलेण्ड पोखरा पुगे । पोखराको फेवातालमा बोटिङमा रमाए । तालबाराहीको दर्शन गरे । विन्ध्यबासिनी मन्दिरको दर्शन र महेन्द्रकेभ घुम्नको लागि पछिको समय छुट्टयाए । ट्रेकिङमा चाहिने समानहरू किने । लेकसाइड ट्रेकीङसपका साहुजी भन्दै थिए तपाईँहरू अन्नपुर्ण बेशक्याम्प ट्रेक जाँदै हुनुहुन्छ भने एकजना गाइडको साथ जानुहोस सुरक्षित भइन्छ । ह्या गाइड नलाने आफू खुसी घुम्नै पाइँदैन । सेल्फ ट्रेक एडभेन्चर पनि रमाइलो पनि । निलाले साहुजीलाई धन्यवाद दिइन् । पोखराबाट हेर्दा देखेको माछापुछ्रे हिमाल, गङगापुर्ण, हिमचुली र अन्नपुर्ण हिमालहरु बिहान उठ्दा आँखै अगाडी देख्दा निला त वा क्या फिदा । निला मात्रै होइन उद्गम पनि फिदा फिदा भयो । चिया नास्ता गरेर रुकस्याक ब्याग बोक्न हतार गर्ने काँध र सुलसुल गर्ने खुट्टा आज चल्न खोज्दैन । काखैमा हिमश्रृङखला आँखैमा सुन्दरता अनि सँगै चभ । बिहानको खाना खाएर मात्रै हिडे घान्द्रुकबाट । होटल साहुनीले छोमरोङ पुग्ने लामा,छोटा तिन बटा रुट देखाए पनि बाटामा लालीगुराँस टिप्दै कानमा सिउरेर कामरुङ,कोटडाँडा झिनुडाँडा हुँदै छोमरुङ पुगे । छोमरुङ कटेजमा रुकस्याक ब्यागले सुख पायो । थाकेका उद्गम र निला जस्तै उनीहरू सँगै ट्रेक आएको रुकस्याक पनि पल्टियो । सामुन्द्रिक सतहदेखि २१७० मिटर उचाइमा रहेको छोमरोङ पुग्दा निलालाई थोरै अनइज्जी फिल भयो । छोमरुङ कटेजका मालिकले दिएको सल्लाह अनुसार उद्गमले निलाको स्वास्थमा त्यती ख्याल गर्यो जति कटेजमा भएको भोटे कुकुरले मालिकको गरेको थियो । “आर यु ओ के ?”, उद्गमले निलाको दुबै हात समातेर भन्यो । म ठीक छु । ट्रेक एडभेन्चर त हुनै पयो नि होइन ? निलाले आफु खुसी र ठीक भएको कुरा गरिन् । भोलिदेखि झन् झन् उचाइमा जादैछौ हामी कुनै अफ्टेरो ? उद्गमले निलालाई सैनिक मेजेरले जवानलाइ जस्तो केरकार गर्यो । नो चभ । निलाले जवाफ दिइन् । चभ अहिले उद्गम र निलालाई पनि मन पर्ने वोर्ड भएको छ । भोलि बाट केही दिन पाँच घण्टाको हिँडाइ पछि बास बस्ने भनेर हिजो राती छोमरोङ कटेजमा बनाएको सेड्युल फेल भएको छ । छोमरोङ खोला तरे पछिको सिन्वा गाउँबाट उद्गम र निलाको चभ ग्रुपमा एउटा नयाँ सदस्य थपियो । हेर्दा कुकुर जस्तो देखिए पनि कुकुर होइन । नौलोे निखर सेतो हिमाली जनवार । एकछिन निला डराएकी हुन् । उद्गमले त्यसको कान, गर्धन र ढाडमा हल्का रब गयो । चभ,चभ भन्दै उसैलाई उसको नाम हो भनेर सिकायो । चभ भनेर बोलाएपछि आउने भयो । चभले गर्दा सेड्युल बिग्रियो । निलाले त त्यसलाई त्यतै छोड्ने भनिन् । उद्गमले पनि पहिला गएकै बाटो फर्केर बाटो मुनी लालीगुराँसको रुखमा छोडेर आयो । पाँच मिनेट पछि चभले उद्गम र निलालाई भेट्टायो । ल आयो चभ । उद्गम पछि फर्केर बोल्यो । होस् अब हामी सँगै लाने । निलाले पनि सहमति जनाइन् । दोभानमा चभलाई देखेर होटल हिमालयनका मालिकले सोधे आजसम्म नदेखिएको नौलो जनावर कहाँबाट आयो ? सिन्वाबाट पछि लागेको हो । छोड्न मान्दैन उद्गमले रुकस्याक ब्याग बिसाउँदै भन्यो । अचम्म त चभ घरि दुई खुट्टाले हिड्छ त घरि चार खुट्टाले । चभ पनि उद्गम र निलाको बीचमा दोभानकै होटलमा बस्यो । हिजो जस्तो आज २६०० मिटर उचाइमा पनि उनिहरूलाई कुनै असजिलो महसुस भएको छैन । एडभेन्चरमा रमाइरहेका छन् । पर्यटन सूचना केन्द्रमा नाम टिपाउँदा पनि बिना गाइड एबिसि घुम्दा अफ्ठयारो परे यहाँ खबर गर्नुहोला भनेका थिए । तर अहिले चभ उनीहरूको गाइड जस्तै भएको छ । घरि अघि अघि त घरि पछि पछि हिंड्छ । अलि छिटो अगाडि पुग्यो भने कुरेर बस्छ । डेस्टीनेशनको दिन दोभानदेखि एबिसि, बिहानैदेखि खुसी छन् उद्गम,निला र चभ । यात्रा सुरु गरे । पहाडको बीचैबाट बगेको मोदी नदीको दुईतिर डरलाग्दा अक्करे भीर छन् । चट्टानी पहाड छन् । आकाशैबाट झरेजस्ता देखिने झरनाहरू हेर्दै हेर्र्दैै रमाइरहेको मन हिमपहिरो देख्दा अमिलो भइदिन्छ । एडभेन्चर निलाको आवाज आयो । टक्क रोकिए दुबैजना । अगाडि लाग्यो चभ । चभको पाइला पच्छयाउँदै पछि पछि लागे उद्गम र निला, मानौं चभ उनीहरूको गाइड हो । गाइडले भनेको नमानी आफ्नो मनमानी गर्यो भने सिधै तल मोदीमा पुग्नुको विकल्प छैन । सकुसल एबिसि पुगेपछि चभलाई धन्यवाद भन्यो उद्गमले । डेस्टीनेशन नजिक नजिक छ । चिसोले गर्दा निलाको आवाज राम्रो खुलेको छैन । खाना पछि एक एक कप जिन्जर टि पिए । चभ भने केही खानै मान्दैन । जति खुसी निला र उद्गम थिए त्योभन्दा बढी खुसी त्यो नौलो जनावर देखेर अचम्म परेका थिए एबिसिका होटल मालिकहरू । जब जब सामुन्द्रिक सतहबाट ३७०० मिटरभन्दा माथि लाग्दै थिए उद्गम, निला र चभ । बाटोभरि माया गर्यो उद्गमले निलालाई । चभ पनि उफ्रीरहेको छ । ऊ किन यति धेरै खुसी छ । थाहा छैन कसैलाई । वाउ ४१३० मिटर उचाइमा हामी वाउ, निला खुशीले चिच्याइन दुबैहात माथि गरेर उद्गमले पनि निलालाइ त्यो सेलेव्रेटमा साथ दियो । चभ पनि उनीहरूको खुसीमा रमायो । ३६० डिग्रीमा हिउँचुली, अन्नपूर्ण साउथ, गंगापूर्ण र अन्नपूर्ण हिमाल हिमालकै आँगनबाट हेर्दा स्वर्गको अनुभूत गरे एकछिन आँखा चिम्ले मनशान्त बनाए लामोसास ताने पहिला आँखाले देखेको स्वर्गलाई अन्तर आत्मामा कैद गरे । एकछिनपछि आँखा खोली हेर्दा त्यहाँ अचम्म भयो । चभले आफ्नो आमा पायो । स्तनधारी आमाले धेरै दिनपछि बिछोडिएको आफ्नो सन्तान पायो । चभले दूध चुसेको हेरिरहे उद्गम र निलाले । खुसी हुँदै आमाको पिठ्युँमा चढेर हिमालको फेदी तर्फ चभ गएको हेरिरहे उद्गम र निलाले । #एक यात्राको कथा #मोती भुजेल
पुरानो डेट सम्झेर: ‘पुरानो मायालाई बाटोमा भेट्दा आँसु बरर, मुटुमा मेरो भक्कानो फुट्यो कलेजो थरर…!’ मलाई मनपर्ने भाइ विधान श्रेष्ठले गाएको शब्दबाट अभिप्रेरित भएर म आज जीवनको मध्यमा आफ्ना पुराना दिनहरू सम्झिरहेछु । प्रेम दिवसको सान्दर्भिकता आत्मसात गर्ने क्रममा भ्यालेन्टाइन डेका दिन मैले लेखेँ, ‘गजब भो मैले पनि मायाको अनुभव गरेँ, परेलीमा अल्झिएर आँसुको दहमा झरेँ,’ तर, यो गजलको बाँकी सेरहरू मैले चार दिनपछि मात्र पूरा गरेको थिएँ । कारण यो लेखाइ मेरो तत्कालीन भ्यालेन्टाइनप्रति समर्पित थियो, र सोको अनुभवको दोस्रो चरण मैले चार दिनपछि मात्र पार गर्ने मौका पाएको थिएँ । ‘के भयो यो किन भयो ? तिम्रो माया बुझ्न खोज्दा, भक्कानिँदै, मूच्र्छा पर्दै कतिपटक ज्युँदै मरेँ ।’ यो सन्दर्भ समयानुकूल मेरो जीवनको ११ औँ संस्करण हो । तर, यसभन्दा अघिका थुप्रै प्रसङ्गहरू मलाई रोमाञ्ेिचत र अभिप्रेरित पार्न सहायक थिए । किशोरवयमा सबभन्दा मनपर्ने, स्कुल सँगै पढ्ने केटी साथी थिइन्, सुशीला । त्यो बेला भ्यालेन्टाइन डे मनाउने र सबभन्दा नजिक मानेको साथीलाई डेटको उपमा दिने प्रचलन थिएन । २०४० सालतिर नयाँ वर्ष, विजया दशमी आदि मौका पर्खँदै पोस्टकार्डमा हिन्दी, अङ्ग्र्रेजी वा नेपाली रूपान्तर सायरी लेखेर प्रेम अभिव्यक्त गर्ने साङ्केतिक तरिकाले किशोरा जीवनशैलीमा ठाउँ हस्तक्षेप गर्न थालेको थियो । त्यसमा पनि एकजनालाई मात्र पोस्टकार्ड दिँदा अरूले थाहा पाउँछ, जिस्क्याएर हैरान पार्छन् भन्ने सघन भय हुन्थ्यो । त्यसबाट जोगिन उनको सहेली समूहलगायत केही केटा साथीलाई पनि पोस्टकार्ड दिएको थिएँ, विषयलाई सामान्यीकरण गर्दै । मनमा, बुझ्नुपर्नेले कुरा बुझुन् र नबुझ्नुपर्नेले नबुझुन् भन्ने आशय हुन्थ्यो । म उनलाई माया गर्थेँ । म कक्षा ‘प्रथम’ भएकाले पिकनिक वा कतै शैक्षिक भ्रमणमा जाँदा उनी पनि मेरो साथ चाहन्थिन् । भावुक मनले व्यवहार–विश्लेषणपछि उनका मनमा पनि मेराप्रति केही छ भन्ने लख काट्थ्यो । तर, परिस्थिति थियो कि साथीभाइले जिस्क्याउने स्थिति बन्दा पनि म न आफ्ना कुरा भन्न सक्थेँ, न उनले नै खुलेर केही बताइन् । ती दिनहरूमा आफ्नो पहिलो प्रेमका बारेमा सोच्दा म आफूलाई निकै सुधारिएको, संयमित, भलादमीजस्तो पाउँथे । भेटमा कथम्कदाचित् प्रेम र शरीर सुख प्राप्तिको गफ गरेँ भने उनले मन दुखाउलिन् भन्ने डरले म आफैँमा सीमित हुन पुग्थेँ । एक प्रकारको आत्मरतिको स्थितिमा म थिएँ । पछि, उनका बारेमा चासो राख्दै उनको गाउँसम्म पनि पुगेको थिएँ । तर, उनको बिहे भैसकेको जानकारी लिएर त्यहाँबाट खाली हात फर्केको थिएँ । उनलाई सम्झिँदा म अहिले पनि रूपनीमा पश्चिमबाट जाने बस रोकिने स्टेन्ड सम्झिन्छु, जहाँ म उनीतिर फर्केर बिदाइको हात हल्लाइरहेको थिएँ । सम्झनाका केही शब्द उनकै लागि हुन्, जसलाई मैले २०४२ सालमा त्यही स्टेन्डमा ‘बाई ! बाई !’ भन्दै बिदा दिएको थिएँ । लगत्तै फर्केर हेर्ने साहस पनि थिएन त्यो बेला । जतिबेला मैले फर्केर हेरेँ, उनलाई अन्नपूर्ण बसले निकै पर पु¥याइसकेको थियो । साँच्चै एउटा साथीको सम्झनाले निकै फरक पार्दोरहेछ जिन्दगीमा । अन्नपूर्ण बससँग जोडिएको मेरो किशोरवयको अर्को कथा पनि छ । सानोमा कसैले ‘तिमी कोसँग बिहे गर्छाै ?’ भनेर सोधेमा म सहजै विमलातिर देखाइदिन्थेँ रे ! उमेर पुगेपछि उनीसँग पनि भेट र फोटो साटासाट भयो । मलाई भेट्नेबित्तिकै बिचरी लाजले रातो हुन्थिन । तर, मैले उनमा आफूले दीर्घ मित्रताका लागि खोजेकी केटीको प्रतिमूर्ति देख्नै सकिनँ । मनले मानेन । त्यो बेला मसँग शिक्षकको जागिर र पढाइको घमन्ड थियो । जागिर प्रारम्भका दिनमा साहित्यिक अभिरुचि र पत्राचारको सिलसिलासँगै जयन्ता धेरै नजिक भइन् । इनरुवा डुल्न र घरमै भेट्न पनि आइन् । सुनसरीतिरकै कुनै केटासँग घरजम गर्ने उनको इच्छा थियो । पत्रमित्रता हुँदै मन नजिकिए पनि शरीरको कुरामा भने आँट गर्न सकिनँ । मेरो अवधारणामा बसेकीजस्ती पातली, अग्ली नभए पनि उनको सामीप्यता मेरो गजलमा बान्की भर्न सहायक बन्यो । पहिलो भेटमा उनीसँग छुट्टिएपछि लेखेको थिएँ, ‘तिमी नै भन सपनामा भ्रमहरू पालेर के गरुँ ?, महल भयो खण्डहर जब गमला साँचेर के गरुँ ?’ यस्ता अनेकौँ भावनामय शब्द लेखेर मनका कुरा पछिसम्म पनि आदान–प्रदान भइरहन्थ्यो । हालैका दिनमा पनि उनीसँग भेट भएको थियो । विराटनगरमा एउटा कार्यक्रममा भेट हुँदा फोटो खिच्ने कुरा आयो । उनले ‘ल ! तिमीले कति नजिक आएर फोटो खिच्न सक्छौ, खिच,’ भनिन् । यो कुरा सुन्नेको प्रतिक्रिया चाहिँ म तपाईलाई पछि सुनाउँछु । पत्रमित्रता ती दिनहरूमा अचेलको नेटमित्रता, मुहार पुस्तिका जत्तिकै प्रिय माध्यम थियो नजिक हुने । दैनिकजसो हुलाकीलाई चिया खुवाउन अलग्गै पैसाको जोहो गर्नुपथ्र्याे । पत्रमित्रताकै माध्यमबाट लक्ष्मीसँग पनि मेरो निकटताको सम्बन्ध रह्यो । केटी भए पनि केटाजस्तो बानी–व्यवहार देखेर मैले उनलाई मित्रतामै सीमित राख्न चाहेँ । घर आउने–जाने गर्थिन् । सायद उनले पनि मेरो मनोदशा बुझेकी थिइन् । मेरो परिवारमा हामीबीच मित्रताको मात्र साइनो भएको प्रष्टीकरण दिने गर्थिन् । बबितासँग घरजम सुरु भएको पहिलो दिन पनि सोही अनुभूति दिलाउन आएकी थिइन् । उनी आज पनि बिहे नगरी बसेकी छन् । चर्चित छन् । मित्रता अझै पनि छ । धेरै साथीहरूलाई थाहा छ । जागिरको सिलसिलामा पहाडको एउटा बेँसीमा गोमासँग भेट भयो । जागिर, तराईको केटो, परिवारको पनि सहमति भएको आधारले बिचरी मेरासामु लल्याकलुलुक भइन् । घर फर्किदै गर्दा दोबाटोको चौतारीसम्म सँगै आएर उनले प्रेममय सायरीहरूसहितको पत्र र पाँच रुपैयाँ पैसा मेरो हातमा हालिदिएकी थिइन् । पत्र पढेर, बिचरीको मलाई प्रभावित गर्ने तरिका देखेर खुसी भएको थिएँ । पहाडकी केटीले त्यतिसम्म आँट गर्नु, मलाई गजब लागेको थियो । उनले दिएको पैसाले किनेको ‘मधुपर्क’ अझै पनि मेरो घरमा छ । सायद मेरो खोजी अर्कै केही थियो । उनमा पनि मन बस्न सकेन । बाटोमा यात्राको क्रममा एकदिन सरस्वती भेटिइन् । बहादुरामा राति सँगै, संयोगले एउटै सिरकमा बास प¥यो । सामान्य औपचारिकताबाहेक केही भएन । भोलिपल्ट बिहान लाजले शिर निहुराउँदै चार घन्टा जति अझ अगाडि, सिस्नेरी फेदी पुगेपछि हाम्रो बाटो छुट्टिएको थियो । उनको परिस्थिति अलग थियो, मेरो अलग । उनी कुनै स्कुलकी कक्षा १० की छात्रा थिइन्, म कुनै स्कुलको शिक्षक । हाम्रो कुरा मिल्थ्यो पनि होला, तर यात्रामा उनका बुबा साथै थिए । बाटोको कुरा बाटोमै सकियो । तर, सम्झना सकिएको छैन । कलेज पढ्दाका दिनमा कुसुमसँग भने नोट साटासाट गर्ने, एकान्तमा घन्टौ सँगै बस्ने, सिनेमा हेर्न जाने, फोटो खिच्ने हुँदाहुँदै निकै नजिकिएछ । मेरो साहित्यिक लेखन मन पराउने उनले मलाई ‘फन्टुस’ संज्ञा दिएकी थिइन् । एकदिन साँझमा बस स्टेन्ड चोकमा भेट भयो । कुरै कुरामा ‘तिम्रो फन्टुससँग बिहे गछ्र्याै कुसुम ?’ भनेर सोधेँ । उनले सजिलै ‘यस विषयमा बुबासँग कुरा गर, बुबाआमाले जसलाई दिनुहुन्छ त्यसैसँग जान्छु’ भनिन्न् । उनको जवाफले म अवाक बनेँ । कारण म जैसी केटालाई पहाडका बाहुन बाबुआमाले छोरी देलान् भन्ने मलाई लागेन । त्योभन्दा अघि म उनको पहाड घर गएको पनि थिएँ । पछि गइनँ । पाँच वर्षपछि भेटमा, ‘तिमीले मेरो बुबासँग कुरै गरेनौ, गरेको भए पक्कै पनि मलाई सोध्नुहुन्थ्यो र कुरा मिल्थ्यो,’ भन्थिन् । त्यो बेला मैले तिम्रो पो जवाफ चाहेको थिएँ, तिम्रो बुबाको हो र ! भन्दै आफ्नै बचाउको तर्क राखेको थिएँ । घटना जे भए पनि हाम्रो सम्बन्ध नहुनु रहेछ, भएन । बिचमा एकदिन उनको फोन आयो । ‘के हो सुविद, अचेल हामीलाई सम्झिँदा पनि सम्झिँदैनौ त ?’ फोनमा उनको गुनासो थियो । ‘नसम्झेको त होइन तर सम्झना सार्वजनिक हुँदा तिम्रो व्यक्तिगत जीवनमा खलल पुग्ला भनेर ध्यान नदिएको मात्र हो !’ मेरो स्पष्टीकरण थियो । ‘तिमीसँग बोलेर जित्न गाह्रो छ फन्टुस !’ उनले खाटा बसेको घाउतिर लक्षित गरिन् । थप २० मिनेट जति अन्तक्र्रिया चल्यो । सारमा उनको भनाइ थियो, ‘हामीले अहिलेका केटाकेटीले जस्तो लभ गर्न जानेनछौँ, त्यो बेला ।’ पछिल्लो पटक फोनमा कुरा हुँदा धान रोप्दै थिइन् । ‘फन्टुस फिक्सन’ उपन्यास लेख्दै छु !’ उनलाई थाहा नै छ यो कुरा तर पनि सन्दर्भ अघि बढाउन केही न केही भन्नु नै थियो । ‘लु, राम्रो !,’ उनले भनिन्, ‘तर, जे पायो त्यही नलेख है फेरि, मार्दिन्छु नि !’ ‘म जे पायो त्यही लेख्छु जस्तो लाग्छ हो तिमीलाई ?’ मैले ठट्यौली प्रश्न सोधेँ । ‘त्यो त विश्वास छ !’ उनले भनिन् । यसको अपडेट यति हो अहिलेलाई । युवा दिनहरूमा दीपा आइन् । पारिवारिक वातावरण र जातपात मिलेको थियो । तर, तिनीसँग पनि कुनै उल्लेख्य सम्बन्ध बन्न सकेन । तिनले मैले दारी पालेको देखेर मलाई ‘बूढो’ उपमा दिएको कहिल्यै भुल्दिनँ । यसैबीच, स्वेता थिइन् एउटी, यात्राकी साथी । उनीसँग लुकीलुकी खुब घुमियो । हाँस्न, बोल्न र साथ दिन सिपालु थिइन् । कोसीका गङ्गेटिक डल्फिन, गोलघर र स्ट्रिट मोटरसाइकल पनि साक्षी हुन्, हाम्रो डेटिङको । तर, परिस्थिति यिनीसँग पनि अनुकूल भएन । त्यसैगरी, १२ वर्षअघि १४ फेब्रुअरीका दिन साथीहरूबाट नम्बर पाएर प्रभालाई ‘ह्याप्पी भ्यालेन्टाइन !’ भन्दै एसएमएस पठाएको थिएँ । तीन दिनपछि फोन गरिन् । फोन र एसएमएसबाटै मित्रता कायम राख्ने बाचा–बन्धन भयो, भेट नगर्ने अघोषित सहमतिसहित । मलाई विषय जुनसुकै होस्, तर्क गर्नेसक्ने केटीसाथीको खोजी रहन्छ । उनले दुई वर्ष करिब त्यो ग्यापलाई पूरा गरिन् । विराटनगर, इटहरी, पोखरा, काठमाडौँ जहाँ भए पनि उनले मेरो आवश्यकता अनुकूलको समयमा झर्काे मानेको कहिल्यै थाहा भएन । फेसबुकमा मेरो प्रोफाइल हेरेपछिको एकदिन, काठमाडौँमा आफैँले दैनिक तरकारी पकाउनुपर्ने जीवनमा प्रवेश गरेको थाहा भयो । समयले उनलाई आफ्नै दुनियाँमा व्यस्त बनाइरहेको छ, मलाई आफ्नै । अर्काे एउटा डेटको अनुभव पनि छ मसँग । जुनुबाट परिचय भएर पशुपति कैलासडाँडामा डेटिङसम्म आउँदा थाहा भयो, उनको नाम हेमा रहेछ । फलैँचामा मेरो बसाइ केटाको जस्तो तर उपस्थिति दाजुको जस्तो भयो सायद । उनले व्यावहारिक कुरा गरिन्, मैले आदर्शका । वरिष्ठ उप–सम्पादक पद र नामका कारण अरू सामान्य केटाजस्तो हुन नसक्ने तर इमान्दारीपूर्वक मित्रता कायम राख्ने बाचा गरेर हाँसी–खुसी छुट्टिएको भोलिपल्टदेखि उनको फोन र म्यासेज आउन छोड्यो । घटनाले छोइएर लेखेँ, ‘मेरो चोखो मायालाई बिटुलो पा¥यौ तिमीले, आँखाबाट आफूलाई ओरालो झा¥यौ तिमीले ।’ उनले खोजेको मान्छे म थिइनँ सायद । सम्झना नासो छोडेर उनी टाढिइन् । एक प्रकारले जे भयो, राम्रै भयो । सुवानीको कथा जे छ, छँदै छ । तपाईलाई जस्तै उनलाई पनि थाहा छ म फन्टुस फिक्सन लेख्दै छु । यसबाहेक अरू उल्लेख गर्न अयोग्य भ्यालेन्टाइन अनुभव पनि केही छन्, मेरो नामसँग समयले जोडेका । कतै आफूले अस्वीकार गरेका, कति आफू अस्वीकृत भएका । तिनका बारेमा पनि पछि मौका मिलाएर चर्चा गर्ने मन छ । जीवनका ‘सेता–काला दिनहरू’ लेख्दा कतिसम्म इमान्दार हुन मन लाग्ला थाहा छैन । यो लेखाइको शीर्षक मैले सुरुमा ‘असफल भ्यालेन्टाइन’ राखेको थिएँ । सुनेर साथीहरूले तर्क गरे प्रेम असफल कहिले हुँदैन । प्रेममा प्राप्ति नै हुनुपर्छ भन्ने होइन । प्राप्तिको व्यग्रतामा त स्वार्थ लुकेको हुन्छ । चाहनामा प्रेमले न्यून ठाउँ पाउँछ । अनि, ‘पुरानो डेट ?’ पदमजी गौतमले भने, ‘डेट त झन् जुन बेला सम्झियो, त्यही बेला रिफ्रेस हुने कुरा हो, पुरानो कसरी हुन्छ ?’ ००० [email protected] #सुविद गुरागाई
याैन-मनाेविज्ञानमाथिकाे कथा: ऊ: घरपरिवार र बाआमाको न्यानो मायाले मलाई उहिले छोडेको हो । रहरले छोड्यो वा बाध्यताले, म बुझ्न सक्दिनँ । मेरा बा मधुमल्लाकै भ्याग्रे खोलामा जाल थाप्थे । पानी जमेका तलाउतिर माछाका भुरा बटुल्थे । अनि हामी चार दिदी–बहिनी र एक भाइको पेटमा चारो हाल्थे । आमा बालाई सघाउँथिन् । मेरो आँखैअघि दुई दिदीको बिहे भयो । ती नरोइकन पोइको हात समातेर गए । देउती र मैनाले आफ्ना दुःख र अभावका डाला बाआमाकै घर छोडे । शैला दिदीलाई जोगबनीपारिको टिप्पुवाले टिप्यो । उनको भाग दुःख पनि खाप्पियो । मेरा तीन दिदीहरू अभावको भुमरीबाट तरे । बाँकी चार सदस्यमा त्यो बाँडियो । सबैभन्दा गह्रुंगो भारी बाको टाउकामा थियो । त्यसैले उनी बिहान उजेलो नखस्दै बाहिरिन्थे । र, साँझ छिप्पिएर काठ भएपछि फिर्थे । लक्ष्मण वियोगी भाइ र मेरो उमेर ६ वर्ष फरक छ । म १८ वर्षकी भइसकेँ । अब मलाई चार वर्षअघि सिलाइदिएको फ्रक काम नलाग्ने भाको छ । दिदीहरूको जडौरी पातलो टिसर्टले मेरो छातीको इज्जत छोप्न सकेको छैन । मेरो छाती कँसिलो हुँदै गएको छ । पाखुरा र पिँडौला मोटाउँदैछन् । मैले लगाउने कपडा साँघुरिँदै छन् । मेरो कम्मरमाथि र मुनि बैंशको तरेली परेको छ । मसँग गतिलो एक जोर कुर्ता सुरुवाल छैन । समाते च्यातिने फ्रक र टिसर्टले मलाई पाउ छोपौं कि घाउ छोपौं हुन्छ । … दुई दिनअघि म मधुमल्लाबाट झिकाइएँ । एक दिन विराटनगर बसेँ । त्यहाँ मेरो जाँच लिइयो । म जाँचमा पास भएँ । र, काठमाडौँ लैजान ठिक्क पारिएँ । घाँस खान नपाएर भोकाएकी पाठी हरियो देखेर लोभिएँ । दिन घर्किँदै थियो । म रहरको झोला काखी च्यापेर तेर्सै–तेर्सो बसपार्कतिर हिँडेकी थिएँ । सँगै थिए, सुलोचना र सुमना दिदी । म घरकी र टोलकी कान्छी । अब सुलोचना दिदी, उनका लोग्ने, सुमना दिदी र काठमाडौँका टोलेहरूकी पनि कान्छी भएँ । मेरो नाम बसुधा हो । तर, मधुमल्ला हुँदै विराटनगर र काठमाडौँसम्म म कान्छी नै भएकी छु । बाको माछा थाप्ने जालबाट बसाइँ गएर अर्को किनारमा पुगेकी छु । त्यहाँ भोकले पेट बटार्दैन । अभावले भाँडा बजाउँदैन । दाल, चामल र तरकारीको रास हुन्छ । म आफैं त्यसको रखनधरन गर्छु । पकाउँछु, ख्वाउँछु र खान्छु । कैले कसो मजदुरीको ब्याज बाआमालाई पनि पठाउँछु । बाआमा पनि खुसी भाको थाहा छ । भन्छन् रे– ठूलै घरमा पुगिछ, कान्छी । अब खान–लाउनले मर्दिन ! मेरा छातीका फूलले मसँग गुनासो गर्दैनन् । नितम्ब, जाँघ, तिघ्रा र पिँडौंला सुकिलो सुरुवालमा लुकेका छन् । अझ खुट्टामा पाउँजु छन् । म भाग्यमानी रैछु । रछ्यानमा फालिएकी माझीकी छोरी यस्ती भएँ । यहाँ मैले जूनको कल्पना गरे जूनै पाएँ, घाम सोचे घामै । आज मसँग पेटलाई चाहिने र बजारमा पाइने सबै थोक छ । जवानी धोई पखाली गरेर चम्काउने चिजको खाँचो छैन । तर, म खुसी हुन सकेकी छैन । त्यहाँ फुक्काफाल भएर बैंशको फक्रिँदो बगैंचा हेर्ने देउराली छैन । देउरालीबाट अझ टाढा हेर्ने क्षितिज छैन । त्यसैले कहिले काहीँ म निस्सासिन्छु । पाक्छु र आफैंले निचोरेर पीप बगाउँछु । म दुई पानी मिचेर चौलानी फालेको चामलझैं सेती छु । छतमा बस्दा बाटो हिँड्ने ठिटाले डेरा आँखा लाउँछन् । म मस्किदिन्छु । ठिटाहरू सन्तुष्टिको चरमोत्कर्ष कल्पिँदै लम्किन्छन् । अस्ति विराटनगरबाट सुलोचना दिदीको भदाहा आथ्यो । उसले पनि मलाई तिर्खालु आँखाले हेथ्र्यो । उसका काला गुच्चाजस्ता आँखा मेरो छातीका दुइटा गुलाबमा टासिइरहन्थे । ऊ अघाउन्जेल गुलाबको सुगन्ध पिउँथ्यो । र, भन्थ्यो– कान्छी दिदी भोक लाग्यो । केही दिनमा भदाहा गयो । उसको हेराइमा क्षणिक उत्तेजना थियो । उसमा तिर्खा थियो, तिर्खा मेटेपछि खोलो बिर्सिने नियत । भोक मेटेपछि थालै मिल्काउने उसको कुटिलता मैले राम्रो बुझेकी थिएँ । घर छोडेको दिन नै मैले उसको अनुहार बिर्सिदिएँ । … सुलोचना दिदीका आठ र दुई वर्षका छोरा छन्, समिप र सलोन । तिनको स्याहारसुहार, कपडा धोउ, खाना पकाउ, ख्वाउमै मेरा दिन बल्ने र निभ्ने गर्छन् । दिदीका लोग्ने, जसलाई मैले भिनाजू नातो लाकी छु । उनी पेशाले डाक्टर हुन् रे ! कस्ता डाक्टर, कहाँ काम गर्छन् ? मैले कहिले चासो लिइनँ । त्यो खोजीनीतिमा मेरो सरोकार थिएन । तर, सधैं जिल्लातिर डुलिहिँड्थे । घरमा थपिएका छन्, भिनाजुका बाआमा । म यी साराका लागि खटिनुपर्छ । घोटिनुपर्छ र खिइनुपरेको छ । कहिले काहीँ त लाग्छ– म नोकर्नी हुनकै लागि दुःखी मझिनीको कोखबाट जन्मेँछु । भिनाजु छिल्लिएका छन् । लत्रिँदै र ओइलाउँदै गएका दिदीका फूलबाट उनका आँखा मेरो कँसिलो छातितिर बसाइँ सरेको चाल पाउँछु । उनी कान्छी भन्दै आफ्नो हात मेरो छातीमा पु¥याउन भ्याउँछन् । म ‘ह्या भिनाजु’ भन्दै कुइनाले बोसे भुँडीमा हान्दिन्छु । घरि घरि आँखा तर्दिन्छु । अनि उनी अलि हच्किन्छन् । दिदी आर्मी अस्पतालकी नर्स हुन्, पद कर्णेल रे । भ्याउँदा मलाई निकै सहयोग गर्छिन् । माया गर्छिन्, आफ्नै छोरी जस्तै । तर, प्रायः दिदीको ‘नाइट ड्युटी’ पर्छ । रातभरि खटेर बिहान आउँछिन् । अनि आधा दिनसम्म सुतिरहन्छिन् । यस्तोबेला म एक्लैले आकाश थाम्नुपर्छ । यही परिधिभित्र पौडिँदै मैले जीवनको जंघार तर्न बाँकटे हानिरहेकी छु । … ऊ यो घरमा आएदेखि मलाई एक्लै आकाश बोकूँ–बोकूँ भाको छ । म कसरी यति हलुंगी भएँ ? उसमा के त्यस्तो जादू थियो र ! दुई बीस उमेर छेउ पुग्दा ज्यानमा यतिविधि काउकुती लागेको । उन्मादको नशालु हुरीले जवानीको झ्याल खोलेको छ । सिरसिरे बतासले मेरो भावना उडाएर शैलुङतिर पु¥याएको छ । यसको मुली कारण उही हो । म ठोकुवा गर्न सक्छु । अग्लो कद, केही लाम्चो अनि साँघुरो मुहार । आँखामा चेन्जेबल चस्मा, छड्के कोरेको चिल्लो कपाल, निकै मिलाएर लगाएको सर्ट–पाइन्ट र गहुँगोरो वर्ण । उसको हुलिया यत्ति हो । उमेर अन्दाजी अठार–बीस वर्ष । त्यो खाइलाग्दो केटोले एक झपटमै मेरो मुटुमा मोहनी वाण हान्यो । समिप र सलोनको ट्युसन मास्टर भएर आयो, ऊ । तर, मलाई हृदयको खिल झिकिदिने डाक्टर आएझैँ हुन्छ । भोलिदेखि उसको पढाउने रुटिन सुरु हुँदै थियो, बेलुकी ५ देखि ६ बजेसम्म । समिप कक्षा चार र सलोन भर्खर अक्षर चिन्दैछ । ऊ दुवैलाई खुब चनाखो गरी पढाउँछ । ख्याल राख्छ । कहिले त दुई–चार चड्कन हान्छ पनि । यो उसको गतिलो बेतनको लालच हुन सक्छ । पिटेको देख्दा मेरा कन्सिरी तात्छन् । किनकि दिदीका छोरा मेरा पनि छोरा भएका छन् । उनीहरू आमालाई भन्दा ज्यादा मलाई माया गर्छन् । र त मेरो कुमारी मातृत्व उनीहरूमा खनिएको छ । म पुरुषसँगको संभोगबिना आमा भएकी छु । यति कल्पिँदा पनि मन उत्फुल्ल हुन्छ । म उसलाई उसकै ठाउँमा राखेर नियाल्छु । स्वच्छ भावना, बेदाग अनुहार र स्वार्थको रौंसम्म फेला पार्दिनँ । म उसकी पनि कान्छी भएँ । ऊ कान्छी पछाडि दिदीको फुर्को जोड्छ । म बच्चाहरूकी जस्तै उसकी पनि कान्छी दिदी भएँ । तर, उसले ‘दिदी’ भन्दा हृदयको भित्तो नीलकाँडाले कोतरेझैँ हुन्छ । ऊसँग फर्केर नबोलौं हुन्छ । ऊ ट्युसन कोठामा छिर्दा कहिलेकाहीँ बच्चा हुँदैनन् । त्यसको रिस ममाथि खन्याउँछ । ऊ दिदी–भिनाजुलाई खुब आदर गर्छ । सम्मान गर्छ । राम्रो पढाउन नसके गाल पर्छ भन्ने उसको भावना म प्रस्ट बुझ्छु । घरमा कोही नहुँदा ऊ मलाई घरायसी काममा सघाउँछ पनि । यहाँनिर म उसलाई स्वार्थहीन अनुहार पाउँछु । म पुरुष (ऊ) सुगन्धमा लट्ठिँदै गाकी छु । वैंशका खुड्किला उक्लिरहेकी छु । यौवनका फूलले मेरो शरीर ढकमक्कको बगैंचा भाको छ । अझ उसको आगमनले मेरो मन एक तमासको हुन्छ । म निस्फिक्री उडिरहेकी छु, क्षितिज ताकेर उडेकी चरीझैँ । मैले आफूलाई छाम्न, मुसार्न थालेकी छु । छातीको वजन टिसर्टले कसिलो पारेर ऐन अगाडि उभिन्छु । आफ्नै अनुहारको वैजनी रंग हेरेर आफैँ लजाउँछु । ममा किन यस्तो उखर्माउलो बढेको हो ? म किन यति निर्लज्ज भाकी छु ? मभित्रको यो चर्तिकला दिदीले थाहा पाइन् भने ? भिनाजु वा घरका अरूले देखे भने ? अनि टोले गफको गतिलो मसला भयो भने ! म झसँग हुन्छु । अनि सम्हालिने प्रयास गर्छु । किन ऊ मेरो उमेरमा बहार बनेर आयो होला ! म चकित र दिग्भ्रमित हुन्छु । ऊ झरी बनेर आयो । मेरो बाँझो र निरस वदन रसिलो भयो । उसको सेचनले ममा बोट उम्रियो । कोपिला लायो । र, पूर्ण तारुण्यले भरिएको फूल फक्र्यो । बिस्तारै ममा गुलाबको बगैंचा बन्यो । अपसोच यो बगैंचा उसले देखे पनि नदेखेझैँ गर्छ । यतिबेला ममा पीडाको बाढी उर्लेर आफैंलाई बगाउँछ । ऊ आएदेखि मेरो जीवनले गन्तव्यको नयाँ गोरेटो फेला पारेको छ । दिनरात कल्पनाको क्यानभासमा म प्रेमको कुचीले उसको सुकिलो अनुहार कोरिरहन्छु । सपना र विपनामा उसकै सम्झनाको झोलुंगोमा हल्लिरहन्छु । अनेकगरि आफ्नो मुहार ऊ समक्ष प्रदर्शित गर्छु । मानौं– मेरा लागि ऊ खुला प्रदर्शनी केन्द्र हो । त्यहाँ मेरो प्रेम, यौवन, वैंश र उन्मादका स्टल छन् । तर, ऊ ती स्टल हेर्दै नहेरी अगाडि बढ्छ । मलाई निराश पार्छ । अनि म पानीबिनाको माछी झैँ छटपटिन्छु । ऊ एकोहोरे छ । आउँछ, बच्चाहरूसँग बोल्छ । एक घन्टा पढाउँछ । चिया–खाजा दिए खान्छ । नत्र लुरुक्क निस्कन्छ र भन्छ– कान्छी दिदी म गएँ है । म उसको दाँजोमा आफूलाई उभ्याउने चेष्टा गर्छु । ऊ चम्किलो । सल्काइलो, पढेलेखेको छ । म पाँच कक्षा पढेकी माझीकी छोरी । ऊ त मेरो सपना मात्र हो, आकाशको तारा । जसलाई मैले कहिले छुन सकूला र ! ऊ मेरा लागि सागरको मणि हो । ममा पौडिने कला छैन र टिप्न पनि सक्दिनँ । म फगत एउटा कल्पनाको रेलमा कुदिरहेकी छु । त्यो कहाँ पुग्छ ? कहाँ रोकिन्छ ? कुन प्लेटफार्ममा मलाई झारिदिन्छ ? म फेरि रित्तो प्लेटफार्म कुरेर कति दिन बाँचिरहुँला वा एक्लै आफ्नो बाटो समातौंला ? यी सबले मेरो हृदय भरिएर आउँछ । अनि म कोठामा एक्लिन्छु । गलाबाट धेरै बेरसम्म हिक्क–हिक्क थामिदैन । एक मन विरक्त लाग्छ, उप्रति आक्रोस पनि– मेरो शिथिल यौवनको समुद्रमा ढुंगा फाल्दिएकोमा । ऊ एक्कासी किन आयो, बहार बनेर ! जवानीको खोरियामा पानी पारिदियो । त्यहाँ फूलैफूलको फूलबारी बनाइदियो । मलाई उसको कल्पनाले कहिले त रात–रातभरि निद्रा पर्दैन । … म भान्छामा एकोहोरिरहेकी हुन्छु । बाहिर पानी पर्न लागेको मेसो पाउँदिनँ । हावा–हुण्डरीले एकैछिनमा पानीका थोपा खसाल्छ । ऊ कताबाट दौडिँदै आइपुग्छ । छतमा सुकाएका कपडा पोको पारेर कोठामा ल्याएर फ्याँक्छ । अनि ऊ ममा गालीका असिना झार्छ– पानी आउने थाहा भएपछि लुगा उठाउनु पर्दैन ? यो घरका मान्छेको ताल नै अर्कै … म उसका गाली सुनिरहन्छु । गुलिया लाग्छन्, सानैमा बासँग विराटनगर जाँदा खाएको जलेबी जस्तै । उसको मायालु आरिस ममा खनिएको म आनन्द मानेर स्वाद लिइरहन्छु । साँच्चै आज ऊ मेरो मान्छे जस्तै भएको छ । ऊ घरकै मालिकजस्तो के–के कुरा फलाकिरहन्छ । म उसका हरेक शब्द सितारको धुन मानेर सुनिरहन्छु । मलाई कम्ता आनन्द आउँदैन । जीवनमा पहिलोपटक कसैले आफ्नो ठानेको अनुभूति हुन्छ । हुन पनि ऊ यो घरको सदस्य नै भएको छ । हरेकक्षणमा घरको रेखदेख गर्छ । घरमा पाकेको मीठो–मसिनो उसका लागि छुट्टिँदैन । दिदी–भिनाजु विदेश जाँदा वा फर्किँदा घरकालाई जस्तै उसलाई केही न केही आइपुग्छ । उसको गुनगुन अझै चलिरहन्छ । कोठामा पसेर लुगा मिलाउन खोज्छ । म पनि त्यतै छिुर्छु । अचानक उसको दाँहिने हातले मेरो छातिमा स्पर्श गर्छ । मलाई स्वर्णिम आनन्दले लठ्याउँछ । शरीरभरि खुसीको काउकुती सल्बलाउँछ । मैले यो क्रिया अन्तरहृदयले स्वागत गरिरहेकी हुन्छु । यतिबेला रेडियो कान्तिपुरमा तारादेवीको सुमधुर गीत बजिरहेको हुन्छ — हे कान्छा ऽ ऽ ऽ ऽ ठट्टैमा यो वैंश जान लाग्यो … कोठाबाट फुत्त निस्केको ऊ कति बेला हिँडिसक्छ, थाहै हुँदैन । बाहिर निस्केर च्याउँछु । उसलाई नदेख्दा खल्लो लाग्छ । चिया पनि ख्वाउन पाइनँ । मन दुःखी हुन्छ । आज आफ्नो मान्छे रिसायो भन्ने मलाई ठूलो पीर पर्छ । दिनका पखेटा पलाउँदै गए । झर्दै गए, बसन्तमा झरेका पातझैँ । आजदेखि ऊ, ऊबाट ‘मेरो ऊ’मा पदोन्नति भएको छ । दिन सकिएर रातको बिर्को खुल्छ । म आफ्नो निजी खाटमा ढल्किन्छु । रात निदाउँदै जान्छ । मलाई उसको सम्झना र कल्पनाले बेस्कन बिउँझाउँछ । यतिका वर्षसम्म एक्लै सुतेको ओछ्यानमा आज एक्लो महसुस भएको छ । खाटका दुवै किनार खुला चौरझैँ बेवारिसे छन् । कुन्नि किन मलाई निद्राको सनासोले च्याप्नै सक्दैन । म खाटको बीचमा छु । दुवै किनारमा हसिलो अनुहारमा मेरो ऊ मुस्काइरहेको हुन्छ । म उसलाई पर्खिरहन्छु, अव्यक्त भावनामा डुबेर । मेरो छातीको मखमली गुलाबको तन्नामाथि उसलाई सुताएर । रातसँग बिन्ती गर्छु– ऊ आओस् । मेरो वैंशको बगैंचामा निष्फिक्री डुलोस्, भमरा बनेर । मेरो शरीरका हरेक अंगमा उसकै मात्र हक लागोस् । ऊ जीवनको सहयात्री बनोस् । सुख बाँडोस् । दुःख साटोस् । मलाई कहिल्यै एक्लो हुन नदेओस् । मेरो घर बसेको देखेर बाआमा भन्लान्– भाग्यमानी रैछे, कान्छी । दुःखी माझीकी छोरीले राजकुमार पाई । अब त सजिलै सास जाला … … ‘कान्छी ए कान्छी … के भयो यसलाई आज ? किन उठ्न ढिलो गरेकी ?’, दिदीको आवाजले झस्किएँ । उठेर ढोका खोलेँ । ‘किन, सन्चो भएन ? मलाई डिउटी जान ढिलो भइसक्यो । माथि आइज ।’, बे्रक फास्ट बनाएर दिदीलाई दिएँ । खाएर उनी डिउटी गइन् । मेरो ज्यान शिथिल थियो, मन मुर्झाएको । बिहानी कर्म गर्ने ममा जाँगर थिएन । असिनाले चुटेको खेतीझैँ म छरिएर असरल्ल थिएँ । मलाई हिजोदेखि एउटा अनौंठो कल्पनाले डोर्याइरहेको छ । सायद त्यो सत्यको धेरै टाढा थियो । जसोतसो बिहान ढल्यो । समिप र सलोन स्कुल गए । म टोलाइरहेँ । हृदयले पुकारा गरेँ, उसैलाई । उसले मेरो मुटुमा कुन बल्छी हान्यो । म रातभर बल्छीमा अल्झिएकी माछीझैँ छटपटाइरहेँ । उसले ममा अनौंठो रोगको बीऊ रोपिदियो । अब मलाई छिटो दिन बितोस् भन्ने लाग्यो । किनकि, साँझ परेपछि ऊ आउँथ्यो । आगो दन्केको मेरो हृदय पानी खन्याएर शान्त पाथ्र्यो । जब म भित्र–बाहिर र बार्दली–छत गरिरहन्छु तब बाटो हिँड्ने अल्लारेहरू मास्तिर आँखा फ्याँकेर जिस्किन खोज्छन् । मलाई तिनका आँखा झिकेर गुच्चा खेलूँ झैँ हुन्छ । घाम अग्लो न अग्लो बिजुलीको पोलमा ठोक्किएर पश्चिमतिर सरे । अब ऊ आउने बेला भइसकेको हुन्छ । मेरा व्याकुल आँखाले उसको बाटो हेर्छन् । साँझ छिप्पियो । तर, ऊ आएन । मलाई मर्नु न बाँच्नु हुन्छ । हिजोको कुनै अन्जान भावावेशले उसलाई रोक्यो कि ? वा ऊ यो घर नफर्किने भयो ? मेरै कारण रोकियो कि ? ऊ किन आएन ? उसका पाइला कता मोडिए ? प्रश्नै प्रश्नका झीरले मुटु घोचिरह्यो । म भगवानभक्तिमा साह्रै लीन छु । आजसम्म मेरो भक्तिबाट खुसी भएर भगवानले मलाई अदृष्य शक्ति दिए हुने । यो शक्ति लगाएर म उसलाई खोज्थेँ । परीझैँ उडेर सहरका कुनाकुना चाहर्थेँ । र, फर्काउँथेँ उसका पाइला । अनि कहिले नभाग्ने गरी मुटुमा लुकाएर राख्थेँ । अहँ, ममा कुनै दैवी शक्ति आएन । लाग्यो, कलियुगका भगवान निष्ठुर रैछन् । काँडैकाँडाको टाँडमा पिल्सिएर मैले रात काटेँ । भोलिपल्ट पनि उसले यो घरतिर पाइला मोडेन । मलाई पक्का भयो । ऊ मेरै अन्जान क्रियाले विचलित भयो । हप्तादिन मैले उसको अनुहार हेर्न पाइनँ । म रोगाएर ओछ्यान परेको बिरामी भएँ । बिहानै दिदीले मेरो अनुहार जाँचिन्, ‘हैन कान्छी तँलाई के भयो ? सन्चो छैन भने हस्पिटल जानुपर्यो । केही भन्दिनस् । बोल्दा पनि बोल्दिनस् ।’ मेरा ओठमा थोरै कृतिम हाँसो लिपियो, ‘केही भाको छैन हो दिदी । राति अल्लि निद्रा परेन । त्यति हो । के भाको छ र !’ … ‘के छ कान्छी दिदी ? सबै ठिक छ नि !’ मलाई अज्ञात भूतले तर्सायो । यसरी हप्तादिनपछि ऊ झुल्कियो । हात–खुट्टाका रौं ठाडा भए । मेरा नसामा सररर खुसी र उन्माद प्रवाह भयो । उसलाई अँगालोमा बेरेर डाँको छोडेर रोऊँ रोऊँ भयो, तर सकिनँ । बिस्तारै सोधेँ– कहाँ हराउनु भो यत्रो दिन ? ‘काम थियो, त्यही भएर आउन सकिनँ ।’, उसले त्योभन्दा बढी बोलेन । कोठामा छि¥यो । बच्चाहरू उफ्रिरहेका थिए । ‘के छ केटा हो ? म नहुँदा तिमोरलाई त मस्ती भयो होला नि !’ ऊ ढोका थुनेर पढाउन थाल्यो । मैले चिया खाजा बनाएर दिएँ । उसले केही नबोली खायो । कति दिनपछि मैले मेरो मान्छेलाई ख्वाउन पाएँ । उसले खाजा खाइनसकुन्जेल म बसिरहेँ । बच्चाहरू होमवर्क गरिरहे । आत्मा बोल्यो– मेरो प्रिय मान्छे, अब मेरो हृदयको ढोका फोरेर तिमी कहीँ नजानू । तिमीबिनाको जीवन म कल्पना गर्न सक्दिनँ । के मलाई घाइते बनाएर तिमीले बाटो मोड्न सक्छौ ? मेरो आत्माको कुरा सुन्यो कि कुन्नि ? मेरो ऊ मतिर फर्केर मुसुक्क हाँस्यो । भगवान ! मेरो संसार झल्मलायो । मैले उसको त्यो एक टुक्रा मुस्कान अञ्जुलीमा थापेर पिएँ । जुन नसाको बाटो हुँदै कलेजीमा पुग्यो । कल्पिएँ, यो जन्म–जन्मान्तरसम्म बसिरहोस् । ‘ल म गएँ है ।’ यत्ति भनेर ऊ निस्क्यो । बाटोमा पुगेर माथि हे¥यो । दुवैका आँखा जुधे । उसले फेरि एक थुँगा मुस्कान मतिर फ्याँक्यो । म हर्षविभोर भएँ । मलाई लाग्यो– साँच्चै भगवान रैछन् । उनले मेरो पुकार सुने । ‘मेरो मान्छे’ले मेरो आत्मा सुन्यो । म दुखेको महसुस ग¥यो । र, त दुखेको घाउमा मलम लगायो । बीचका दुई–तीन दिन फेरि ऊ आएन । त्यतिन्जेल मैले उसको मुस्कान कल्पेर चित्त बुझाएँ । चौथो दिन ऊ फरक मुद्रामा देखा प¥यो । घरमा दिदी भिनाजु पनि थिए । बन्द ढोकाभित्र दिदी र उसका केही कुरा भए । म डर र पीडाले थर्थराएँ । कि उसले मेरा अबोध क्रियाको बेलीविस्तार सुनायो ? वा मेरो चरित्रको पसल फिँजायो ? मैले केही बुझिनँ । बन्द कोठाभित्रका गुनगुन भित्ताले मात्र सुन्यो । मेरा कानले ठम्याउन सकेनन् । दिदी–भिनाजु र बाच्चाहरूको अनुहार मलीन देखियो । भिनाजुले हजार–हजारले भरिएको सानो मुठो उसको हातमा राखिदिन्छन् । उसले जतनले आफ्नो निमेक खल्तीमा राख्छ । र, अगाडि लम्किन्छ । बच्चाहरूले बाई–बाई सर भन्दै हात हल्लाए । दिदी–भिनाजुले दुःख माने, ‘माया नमार्नुहोला सर, आउँदै गर्नुहोला ।’, भिनाजुका बाआमा पनि मलीन मुद्रामा उभिए । साँच्चै दुई वर्षमा ऊ यो घरका सबैको प्यारो भएको रैछ । दिदीसँग बुझ्दा अब ऊ यो घरमा नफर्किने रहेछ । डेरा सरेर अर्कै ठाउँ जाने भएछ । सुनेर मेरो मन भाँच्चियो । वेदनाको झटारोले हानेर मुटु टुक्राटुक्रा भयो । उसले फर्केर मतिर हेर्यो । मेरा ओठ खुलेनन् । नसा–नसामा रगत जम्यो । मुटुको धड्कन रोकिएझैँ भयो । ऊ लमक–लमक लम्किँदै अझ अगाडि बढ्दै गयो । यता मेरो हृदयमा बनेको ‘प्रेम घर’को ढोकामा सधैंका लागि भोटे ताल्चा झुन्डियो । #लक्ष्मण वियोगी
जोगिनी छहराको गीत: तीर्थराज भट्ट अपि-सैपालको शीतलता, झिल्मिला र घोडाघोडीको रङ, सेतीकिनारका मनोरम फाँट, इत्यादि रामबहादुर दाइ, यी सबै कुरासँग तिम्रो के साइनो हगी ? अपिकै आँगनमा भए पनि तिम्रो झुपडी झिलमिलाकै पानीले मेटाए पनि तिर्खा सेतीका फाँटहरुमै खियाए पनि दश नङ्ग्रा यिनले शायदै ठाने होलान् तिमीलाई आफ्नो ! विश्राम नै पो कहिले पायौ र- जिन्दगीलाई चोया चोयामा बुन्दा, सपनाहरुलाई आरनमा धार लाउँदा, दमाहा बजाउँदा मालिकको छोराको जन्तीमा ? तिम्रा फेरिएका भूमिकाहरुले पनि फेर्न सकेनन् तिम्रो मयलचाटो र कछाड !! अचेल, तिम्रो नाममा युद्ध लडेको कमरेड दरबारको छतमा कबाबको स्वाद लिँदै दशैं मनाइरहेछ ! कहिल्यै हटेन त्यो विवशताको नाम्लो कपाल झरिसक्दा पनि तिम्रो शिरबाट कहिल्यै उज्यालिन पाएन विशु र गौरा पर्वहरुमा खप्तडका पाटनहरु जस्तो तिम्रो निधारले । तिमी बोकिरह्यौ जीर्ण खल्तीमा बडो जतनले मतदाता परिचय पत्र नागरिकता प्रमाणपत्र । त्यो झुपडी र आँगनको लालपुर्जा त मिल्नै सकेन, र पनि चुनावहरुमा आफ्नो काँचुली फेरिरहने नैपालका ठालु र गवाँजका मुखियाहरुले गरिरहे लिलामी तिम्रा अभिमत र श्रमको गरिरहे अस्वीकार तिम्रा नागरिक हकहरु । मैले पत्तै पाइनँ, काली र सेतीमा अविरल उर्लिरहने तिम्रा आँखाबाट बगेका आँशु रहेछन् ! मैले बल्ल बुझ्दैछु, मेरै गाउँ छेउको जोगिनी छहराले अविराम सुसाइरहने तिम्रै पीडाको गीत पो रहेछ ! #तीर्थराज भट्ट
चितवनका घिमिरे र पौडेल पुरस्कृत: रामबाबु घिमिरे चितवन साहित्य परिषद्को आयोजना र खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानको प्रायोजनमा २०७७ सालको चितवन साहित्य परिषद् खेमलाल साहित्य पुरस्कार निबन्धकार रामबाबु घिमिरेलाई प्रदान गर्ने निर्णय गरिएको छ । घिमिरेको निबन्ध ‘केन्द्र र परिधि’ कृति र निबन्धकार घिमिरेको साहित्यिक व्यक्तित्वलाई मूल्यांकन गर्दै उक्त पुरस्कार दिने निर्णय भएको चितवन साहित्य परिषद्ले जनाएको छ । सामाजिक एवं साहित्यिक व्यक्तित्व जीवा लामिछानेद्वारा आमा–बुवाको नाममा स्थापना गरेको संस्थामार्फत ५० हजार ४५ रुपैयाँको उक्त पुरस्कार दिने निर्णय भएको जनाइएको छ । प्रकाश पाैडेल माइला परिषदको नारायणगढस्थित कार्यालयमा बसेको बैठकले प्रतिभा पुरस्कार जापानमा बसेर नेपाली साहित्यमा विशिष्ट योगदान गर्ने प्रकाश पौडेल ‘माइला’लाई दिने निर्णय गरेको छ । नेपाली साहित्यमा हाइकुमा विशेष योगदान दिएको तथा अन्तर्राष्ट्रियरुपमा नेपाली साहित्यलाई उचाइमा पुर्याएको कारण पौडेललाई १५ हजार ४५ रुपैयाँ बराबारको प्रतिभा पुरस्कार दिने निर्णय गरेको हो । यो संस्थाले गोविन्दराज विनोदीको ‘शूर्पणखा’ र बलराम अधिकारीको ‘इरेजर’लाई पुरस्कृत गरेको थियो । त्यसैगरी सीमा आभासको ‘म स्त्री अर्थात् आइमाई’, केशवराज आमोदीको ‘उषा अनुरुद्द’ र भूपिन खड्काको ‘मैदारो’ पनि पुरस्कृत भैसकेका छन् । यी पुरस्कार आउँदो भानु जयन्तीमा प्रदान गरिने नियमित तालिका भए पनि लकडाउनका कारण अहिलेको अवस्था प्रतिकूल भएको र अवस्था अनुकूल हुनेबित्तिकै प्रदान गरिने परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले साहित्यपोस्टलाई बताएका छन् । #चिसाप पुरस्कार
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) युके अध्यक्षमा लारा: लक्ष्मी थापा राई (लारा) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूके अध्यक्षमा लक्ष्मी थापा राई (लारा) निर्वाचित भएकी छिन् । कोभिड- १९ का कारण आयोजना गरिएको भर्चुअल सातौँ अधिवेशनबाट लारा अध्यक्ष चुनिएकी हुन् । यसअघि उनी अनेसासमा उपाध्यक्ष थिइन् । निर्वाचन आयुक्त तथा संस्थाका सल्लाहकार डा. रूपक श्रेष्ठले लाराको अध्यक्षतामा ११ सदस्यीय सातौं कार्यकारी समिति गठन गरेका हुन् । जसमा उपाध्यक्ष राज श्रेष्ठ, महासचिव सन्तोष कार्की, कोषाध्यक्ष सचिन गुरुङ, सदस्यहरूमा सारादेवी गुरुङ, सेमन्त राई, भरत राई, माया गुरुङ, नृपेश उप्रेती, शुलभ श्रेष्ठ र मन्जु भण्डारी निर्वाचित भएका छन् ।नवनिर्वाचित अध्यक्ष लारालगायत सम्पूर्ण पदाधिकारीहरू र सदस्यहरूले संस्थाप्रति कटिबद्धका साथ वफादार रही जिम्मेवारी वहन गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । विश्व कोभिड–१९ बाट प्रभावित भएका कारण अनेसास यूके च्याप्टरले आइतबार, ०५ जुलाई २०२० को दिनमा ‘भर्चुअल’ माध्यमबाट संस्थाको सातौँ अधिवेशन सम्पन्न गरेको हो । अनेसास यूके च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनलाई संस्थाकी उपाध्यक्ष लाराले स्वागत मन्तव्य दिएकी थिइन् । भर्चुअल अधिवेशनमा कोषाध्यक्ष सचिन गुरुङले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । महासचिव सन्तोष कार्की र कोषाध्यक्ष गुरुङले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । सल्लाहकार डा. रूपक श्रेष्ठले अधिवेशन सफलताका लागि शुभकामना दिए । दुई चरणमा गरिएको कार्यक्रममा पहिलो चरणमा अधिवेशन तथा दोश्रो चरणमा कविता वाचनको कार्यक्रम रहेको थियो । पहिलो चरणमा बुँदागत केही विषयहरूमा छलफल भएपश्चात् अध्यक्ष सुमलकुमार गुरुङले अनेसास, बेलायत च्याप्टरलाई आफ्नो दुई कार्यकालको अवधिमा सहयोग पुर्याउने संस्थाका सबै पदाधिकारीहरू, सदस्यहरू तथा सल्लाहकारहरूलाई धन्यवाद दिए । दोश्रो चरणमा कविता वाचनको कार्यक्रममा भरत राई, सेमन्त राई, नृपेश उप्रेती, मन्जु भण्डारी, सन्तोष कार्की, राज श्रेष्ठ, सारादेवी, डा. रुपक श्रेष्ठ, सुनिल संगम, सुमल गुरुङ, माया गुरुङ, शुलभ श्रेष्ठ तथा सचिन गुरुङले सहभागीता जनाएका थिए । #अनेसास
अभाव: एकहुल मानसिक तनावहरू धनको अभाव लिएर अन्नको अभाव लिएर मस्तिष्कको द्वार हुँदै सुटुक्क पस्छन् धनबहादुर बड़ाको झुप्रोमा अनि चसक्क चसक्क बिझाउँन थाल्छ रात दिन उनको मुटुमा । त्यति नै बेला उता एक हुल मानिसहरू राहत वितरण गर्दै गरेको तस्बिर लिइरहेका हुन्छन् । बाहिर दर्किरहेको असारे झरीमा आफ्नो अन्न गोडगाढ गरेर आफ्नो ढुकुटी भर्न खोज्छन् तर असफल बन्छन् । फेरि हर्षित हुन्छन् उनी सरकारको एक वाहन घोषणा सुनेर फेरि कुलो खन्न थाल्छन् तर उनको खेतीमा नआइ कुलो टुङ्गिन्छ उनको पसिना त्यसै बग्दछ त्यसैले हतास बन्छन् उनी । हतासिएर मन्दिरको सिँड़ीमा पुग्छन् एक छाक खोज्दै खोज्दै जहाँ एक हुल मानिसहरू फलफूल र भेटीहरू चड़ाइरहेका हुन्छन् एउटा निष्प्राण ईश्वरमाथि त्यसपछि महसुस हुदँछ उनलाई एउटा मानव र निर्जीव ढुङ्गाको भिन्नता । खुला आकाशमा उडि़रहेको त्यो पन्छीहरूलाई हेर्न थाल्दछन् र विवश मानव जीवनलाई हेर्दछन् अनि तुलना गर्छन् अन्यासै उनको मुखवाट वाक्य फुट्दछ म त्यही विवेकशील प्राणी हुँ र ? उनिहरु त्यही विवेकशील प्राणी हुन र ? अनी त्यो पन्छी साँच्चै अबोध हो र ? #अभाव #शंकर शर्मा
दौड: मैदान छ, धावक छ तर छैन कुनै गन्तव्य जीत या हार के चाहन्छ न त यसको नै छ ज्ञात बस् ! उसलाई दौडनु छ हो दौडिरहनु नै छ । खै ! भाग्न हो कि भगाउन ऊ अनविज्ञ छ हो उसले नसोचेको होइन रोकिएर उसले नहेरेको होइन तर चिहानभन्दा टाढा केही थिएन । कहिले दुःख का उकाली चढ्दै त कहिले सम्बन्धका पहाड नाघ्दै पसिनाका नदी तर्दै अनि कर्तव्यका पाना पढ्दै ऊ त्यही दौड दौडदै छ । अझ खासगरी जिन्दगीले उसलाई त्यही दौड दौडाउँदै छ । मतलबले दौडिँदै छ या त बेमतलवले यो त ऊ पनि जान्दैन पुग्नुपर्ने कहाँसम्म हो अँहँ चिता बाहेक अरू केही देख्दैन फाटेको मन सिलाउँदा सिलाउँदा तुहिनै लागिसक्यो समय साक्षी छ । धर्तीलाई उठाएर हिँड्दा हिँड्दा धर्तीमै समाविष्ट हुन लागिसक्यो आफ्नो लागि मात्रै भए त ऊ हिँड्थ्यो होला तर अरू कसैको सपना बचाउनलाई ऊ दौडिँदै छ । पसिनाको नदी तर्दा तर्दा थाकेका उसका कोमल पाउहरू अझै रगतकै नदी तर्न तयार छन् । कर्मको यो परीक्षा दिँदा दिँदै थाकिसकेका हातहरू अग्नि परीक्षा दिन तत्पर छन् कसैको सपनाको सहर किनियोस् भनेर आफ्नै सपना बेच्ने सहर ऊ खोज्दै छ कसैलाई लम्बी आयु मिलोस् भनेर हरपल समयसंग आफ्नै आयूको लिलाम ऊ गर्दै छ । आखिर जिन्दगी हो नै यति र ? अरू नै कसैको लागि सास अल्झाइरहनु पर्ने दुःख सँग सुख साटिरहनु पर्ने आखिर कस्तो दौड हो यो जिन्दगीको नचाहेर पनि दौडिरहनुपर्ने देउता भेट्न ढुङ्गा पुजिरहनु पर्ने अनन्त आकाशमा सपना बेच्ने सहर खोजिरहनु पर्ने ? #जमुना बन #दौड
नयाँ स्तम्भ: फोटो कविता प्रतियोगिता: साहित्यपोस्ट भाषा र साहित्यको सम्पूर्ण पोर्टल हो । यसमा लेखक–कविका सिर्जनालाई मात्र स्थान दिइँदैन, रचना गर्ने वातावरण पनि तयार गरिन्छ । यसै सन्दर्भमा पहिलो पाइलाका रुपमा अगाडि आएका छन्, चर्चित फोटोपत्रकार विमल नेपाल र उनको संस्था www.bimalphoto.com । अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि उनी फोटोपत्रकारिता गर्छन् । हार्वर्ड युनिभरसिटी छेवैमा फोटो स्टुडियो खोलेका उनले केही समय पानासोनिक युएसको लुमिक्स क्यामेरा विभागमा विशेषज्ञ भएर काम गरेका थिए । नेपालमा आर्थिक पत्रकारिता गर्दागर्दै फोटोग्राफीको अध्ययन गर्न अमेरिका गएका उनका तस्बिरहरु नेसनल जियोग्राफिक लगायतका प्रतितिष्ठित पत्रिकाहरुमा छापिएका छन् । www.sahityapost.com र www.bimalphoto.com को संयुक्त आयोजनामा हरेक शनिबार एउटा तस्बिर राखिनेछ । उक्त तस्बिरलाई आधार मानेर सर्जकहरुले कविता लेखेर तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ । ती मध्येबाट हरेक साता तीन वटा उत्कृष्ट रचनाहरु चयन गरिनेछ । यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो-कविता स\u200cंग्रहका रुपमा प्रकाशित गरिनेछ । हरेक शुक्रबार प्रकाशन गरिने यस फोटो कविता प्रतियोगिताको समयावधि त्यसै हप्ताको शुक्रबार रातको बाह्र बजेसम्म रहने छ । यस पहिलो हप्ताका लागि आउने शुक्रबार, जेठ ९ गते रातको १२ बजेसम्म प्राप्त कवितालाई यस प्रतिस्पर्धामा समावेश गरिने छ । हेर्नुस् फोटो अब तपाईंको मनमा कस्ता भाव आए, त्यसलाईं कविताको रूपमा तल कमेन्ट बक्समा पोस्ट गर्नुस् । #फाेटाे कविता