text
stringlengths
146
47.7k
मैले वियोगहरु रचेर लेखेँ: भएर लेखेँ कति कति सहेर लेखेँ मैले वियोगहरु रचेर लेखेँ तिमीलाई हेरेर लेखेँ आफूलाई खोलेर लेखेँ म भित्र मलाई खोजेर लेखेँ पाएर आफूलाई भुलेर लेखेँ मैले वियोगहरु रचेर लेखेँ । #विराटनगर #सुशान्त थापा
भोक: चौकामा राखेका रित्तो भाँडाकुँडा र चिसो चुल्होले गिज्याउँदै मतिर हेर्न थाले भने एकमुठी जाउलोको आशामा कयौँ पटक सूर्यले उदाउँदै अस्ताउँदै गर्दा मेरो खाली पेटमा कुनै सूक्ष्म जीवाणु ताण्डव गर्न थाले भने मैले त जसोतसो सहुँला तर यो भर्खरै माम भन्न सिकेको कोखाइ कोखाइ गराएर दुई चम्चा माड निल्न सक्ने भएको मेरो छोरो उसलाइ के भनेर सम्झाउँला ? मैले दैनिक न बलेको चुल्होतिरै देखाउनु कि ? वा फेरि कसौडिमा एक मुठी चामलमा दुई मानो पानी राखेर देखाउँनु ? कि उसकी हजुरआमाले म नहुँदा उसलाई सुताउन आफ्ना हातका बुढी औला चुसाए झैँ उसलाई सुताउन आज फेरि औलानै चुसाउँला ? मैले त जसोतसो सहुँला भन्नेले त भन्छन नि ! अँ भन्नेले त भन्छन नि दाल, चामल, नुन, तेल घरघरमै छ भनेर तर पसल नपुग्दै वरैबाट मेरो खल्तीको पैसा डरायो भने ? मैले वर्षौं लगाएर जोगाएको मेरो अस्तित्वको धरोहर नै हरायो भने ? मैले त जसोतसो सहुँला तर यो भर्खरै ताते ताते गराउँदा दुई पाइला चाल्न सकेको मेरो छोरो उसलाई कसरी सम्झाउँला ? मैले दिनौदेखी नखाएको मलिन अनुहार देखाउनु कि या फेरि मलिनतालाई लुकाउदै फुस्रो हाँसो देखाउनु ? कि म नहुँदा ऊ रोयो भने उसलाई हँसाउन उसको बाबाले आफ्ना दाह्रीले उसको कलिलो गालामा काउकुती लाइदिए झैँ अहिले फुल्याउन काउकुतिनै लगाउनु ? तर यसपटक उसका कलेटी परेका ओठले मेरा औँला च्याप्न सकेनन भने काउकुती लाउदा खित्का छोडेर हाँस्ने मेरो छोरो काउकुती पनि अल्झो लागेर मौन रह्यो भने कसो गर्नु नि ! मैले ? साँच्चै कसो गर्नु नि ! मैले ? #एबी भट्टराई #भोक
तीन महिना मसानघाटमा बस्नु नै मेरो ज्ञानको टर्निङ् प्वाइन्ट हो - सञ्जिव उप्रेती: डा. सञ्जिव उप्रेती सामान्य मानिसका लागि अबुझ जस्तै देखिन्छन् । उनका कुरा यति सामान्य छन् कि धेरैले पत्याउँदैनन् र उनी सुल्झिन नसकेको घटना जस्तै हुने गर्छन् । उनी चरासँग कुरा गर्छन् । रुखहरुलाई अंगालो हाल्छन् । घन्टौ एकान्तमा बस्छन् र एक्लै एक्लै मुस्कुराउँछन् । उनी आजको एक हजार वर्षपछि नेपालीले दाल भात र तरकारीको साटो गँगटो खाएको कुरा यथार्थमा देख्छन् र त्यसको सजिव ब्याख्या गर्छन् । पानी र अक्सिजनको हाहाकार भएपछि पृथ्वीवासीले अर्बौ अर्ब डलर खर्च गरेर स्पेस यात्रा गरेको र अर्को पृथ्वी भेट्न नसकेको प्रयास सम्झन्छन् र चिन्तित हुन्छन् । उनलाई देशको सीमाका लागि करोडौं रुपैंया खर्च गरेको देख्दा हाँस उठ्छ । सम्य हुने नाममा सयौं पृथ्वी नष्ट गर्ने औजार बनाएको देख्दा निन्द्रा गायब हुन्छ । २५ वर्ष त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी भाषा र साहित्य पढाएपछि केहि वर्षअघि डा. सञ्जिव उप्रेतीले अवकाश लिए । समय अगावै जागीर छाड्नुको कारण खुसीको खोजी थियो । यो खुसीको खोजीमा उनी त्यही गर्छन्, जसले उसलाई सन्तुष्टि दिन्छ । यही सन्तुष्टिको खोजीमा यसपटक उनले ‘हंष‘ उपन्यास बजारमा ल्याएका छन् । यसअघिका नेपाली उपन्यासहरु मान्छेलाई केन्द्रमा राखेर लेखिएका थिए । यो उपन्यासले हाँसले आफूलाई केन्द्रमा राखेर मान्छेले गरेका उपद्रोका पोल खोलेको छ । उपन्यासमा अनेक चरा चुरुङ्गी र प्रकृतिले मानिसको ठालु प्रवृत्तिलाई कसरी सहिरहेका छन् भन्ने कुरा पढिरहँदा पाठक पटक पटक झस्कन्छन् । १२ वर्षअघि उनले ‘घनचक्कर‘ उपन्यास लेखेर मानिसमा भएको पागलपनको कथा सुनाएका थिए । कतिपय पाठकले यो उपन्यास पढेपछि उनलाई कुनै मानसिक समस्या भएको कि भन्ने प्रश्न गरेका थिए । उपन्यासले बौद्धिक जगतमा विभिन्न किसिमका बहस छेडेको थियो । आम पाठकले भने उपन्यास जटिल भएको भन्दै पुर्नलेखनको माग गरे । केही वर्षअघि यसलाई उनले पुर्नलेखन गरेर बजारमा ल्याएपछि उपन्यास यसरी पुर्नलेखन गर्नुहुन्छ कि हुन्न भन्ने बहस पनि छेडियो । व्यवहारमा अत्यन्तै सरल उप्रेती साहित्यकार कृष्ण धरावासीका बालशखा पनि हुन् । हामीले उनको लेखन र बाँच्ने कला बुझ्न उनको बालपनबाटै कुरा सुरु गर्यौं । तपाईं किन यति एकलकाँटे ? बाल्यकालसँग यो एक्लो रहने स्वभावको कुनै सम्बन्ध छ ? पक्कै छ । सबैभन्दा पहिले त म राजस्थानमा जन्मिएँ । किनभने दोस्रो विश्वयुद्धको सिपाही भएर मेरा हजुरबुवा भारततिर लाग्नु भएको रहेछ । त्यतैका नेपाली परिवारसँग विवाह गरेपछि मेरी आमा जन्मनु भयो, उतै पढ्नुभयो । मेरा बुवा डाक्टरी पढ्न राजस्थान जाँदा उहाँहरुको भेट भयो, प्रेम भयो । त्यहीँ विवाह भयो र म जन्मिएँ । पढाइपछि बुवा सरकारी जागीरे भएर कैलाली जानुभयो, हामी उतै गयौं । त्यसपछि भोजपुर पुग्नुभयो, हामी उतै पुग्यौं । जागीर छाडेर निजी क्लिनिक खोलेपछि भने हाम्रो स्थायी बसोबास झापामा भयो । यो एकलकाटेँ बानीको विकास कसरी भयो त ? म एक्लो छोरो । जन्मिएँ राजस्थानमा तर त्यो स्मृतिमा छैन । कैलालीमा दुई वर्ष बसेका झल्याकझुलुक स्मृतिमा छन् । तर भोजपुरको ४ वर्षे बसाइ भने राम्रोसँग याद छ । यी वर्षहरुमा मेरा कुनै साथी भएनन् । म एक्लै एक्लै वन–जंगल चाहार्थे । खोल्साहरुमा पस्थेँ । आमाले मलाई स्वतन्त्र रहन दिनु हुन्थ्यो । सायद बालकलाई कुनै दबाब र प्रभावमा राख्नुहुन्न भन्ने उहाँ बुझ्नुहुन्थ्यो । यो बेला म घन्टौं प्रकृतिलाई हेरेर बस्ने भैसकेको थिएँ । विद्यालय टाढा भएकाले घरमै आमा र बुवाले मलाई पढाउनु भयो । एकैपटक झापामा ४ कक्षामा म भर्ना भएको थिएँ । सायद यो एकाकीपन अहिले पनि कायम छ । यो वर्ष कृष्ण धरावासीसँग दोस्तीको ५० वर्ष मनाउँदै हुनुहुन्छ । पहिलो भेट सम्झना आउँछ ? जस्ताको तस्तै । हाम्रो विद्यालयमा त्यो बेला एक कक्षादेखि पाँच कक्षासम्म काठको तक्ता ओछ्याइएको एउटै हलमा पढाइ हुन्थ्यो । छुट्टा छुट्टै पाँचवटा समूहमा भूँइमा पलेटी मारेर विद्यार्थीहरु बस्थे र कुर्सीमा छडी लिएर सरहरुले कक्षा सञ्चालन गर्नुहुन्थ्यो । त्यो मेरो विद्यालयको पहिलो अनुभव थियो । त्यो दिन लहरै मिलाएर राख्दा मेरो छेऊमा जो साथी देखियो, उ नै कृष्ण धरावासी थियो । पहिलो पटक आफ्नो जस्तो कदकाँठीको व्यक्तिसँग बोेलेको, साथी बनाएको र मित्रवत सम्बन्ध राखेको पहिलो व्यक्ति थियो ऊ हुन पुग्यो । ठ्याक्कै ५० वर्षपछि पनि त्यो प्रथम मित्रता अहिले पनि उस्तै छ । कस्तो नरम सम्बन्ध भने, हिजो अस्ति मात्रै ऊसँग बोलचाल भएको जस्तो । डा. सञ्जिव उप्रेती सामान्य मानिसका लागि अबुझ जस्तै देखिन्छन् । उनका कुरा यति सामान्य छन् कि धेरैले पत्याउँदैनन् र उनी सुल्झिन नसकेको घटना जस्तै हुने गर्छन् । यस्तो लंगौटी साथीलाई पनि तपाईंहरु ‘तपाईं‘ सम्बोधन गर्नुहुन्छ, अनौठो होइन ? तिमी सम्बोधन गर्दथ्यौं । एसएलसी पास गरेर उनी क्याम्पस पढ्न इलाम गए । प्रथम विद्यार्थीले डाक्टर बन्नुपर्छ भन्ने सामाजिक मान्यता लिएर म चाहीँ काठमाडौं आएँ । एक वर्षपछि दसैंमा हाम्रो भेट भयो । उनी त क्याम्पसको संगतमा साथीहरुलाई तपाईं भन्न थालेछन् । अब उनले तपाईं भनेपछि मैले तिमी भन्ने कुरा आएन । उमेरले जेठा पनि हुन् । बाध्यतापूर्वक तपाईं भन्न सुरु गरेँ । तर तपाईं त देखिने कुरा हो, हामी तँ स्तरकै साथी हौं । तपाईंहरुको साहित्यिक यात्रा विद्यालयदेखि नै सुरु भएको हो ? कस्तो थियो दुबैको साहित्यिक स्तर ? हाम्रो दोस्ती जमिरहनुमा सायद साहित्यले पनि काम गरेको थियो । मेरी आमा साहित्य, कला र संगीत तीनवटै विधामा रुची राख्नुहुन्थ्यो । राजस्थानी संस्कार सायद उहाँमा परेको थियो । भोजपुरमै हुँदा उहाँले मलाई कमिक्सहरु पढ्न दिनुहुन्थ्यो । फुर्सदको समयमा उहाँ हिन्दी र अङ्ग्रेजीका जासुसी र रोमान्टिक पुस्तक पढिरहनु हुन्थ्यो । त्यसका कथाहरु पनि सुनाउनु हुन्थ्यो । झापामा जसै कृष्णसँग भेट भयो, उनी लेख्न रुचाउने रहेछन् । स्कुलमा हुने कार्यक्रमहरुमा हामी दुबैले कविताहरु सुनाउँन थाल्यौं । हामी कौरब र पाण्डब खेल खेल्थ्यौं । त्यसमा हामीले जिद्दि गरेर पाण्डबको पक्ष लिन्थ्यौं । किनभने अरु कुरामा विद्यालयका दादा केटाहरुलाई जित्न सकिदैनथ्यो । जित्ने यो राम्रो माध्यम थियो । यसले महाभारतका पात्रहरुसँग परिचय गरायो । अलि पछि हामी पात्रहरुका बारेमा कुरा गर्न सक्ने भयौं । फरक के थियो भने उनी कुशल संघठनकर्ता थिए । साहित्यिक कार्यक्रम गर्थे । म भने एकलकाँटे भएर डुलिरहन्थे । उनका साथी धेरै थिए तर मेरो साथी भने उनीमात्रै रहे । तपाईं अस्कल पढ्दा पनि पशुपति आर्यघाटतिर गइरहनु हुन्थ्यो रे । प्रेम गर्ने उमेरमा बैराग्य कसरी पलायो ? मेरो बुवा ओशोका पुस्तकहरु पढ्नुहुन्थ्यो । १६–१७ वर्षको उमेरमा मैंले पनि ती पुस्तक पढ्न थालेँ । आध्यात्मिक पुस्तक पढ्ने क्रममा एउटा अनौठो पुस्तक मैंले हात पारेँ—अटोबायोग्राफी अफ योगी । यो पुस्तकले यति गहिरो छाप छाड्यो कि मलाई भौतिक जीवनभन्दा आत्यात्मिक जीवन बढि रसपूर्ण लाग्न थाल्यो । यहि रनाहमा कलेज छाडेर आर्यघाटतिर जान थालेको हुँ । तीन महिना त म पूर्णरुपमा आर्यघाटको भष्मेश्वरमै बसेँ । त्यो पनि १७ वर्षको उमेरमा । योगी हुनुपर्ने मान्छे, प्राध्यापक हुनुभयो । के कारण रह्यो ? मेरो मनमा जुन योगीहरुको कल्पना थियो, आर्यघाट बस्ने क्रममा ध्वस्त हुनपुग्यो । योगीहरु पनि तँ बढि भगवानको नजिक कि म, तेरो साधना बढि कि मेरो, तँ ठूलो योगी कि म, तेरो सिद्धान्त राम्रो कि मेरो भन्ने प्रतिस्पर्धा, इष्र्या र अहंकार हुँदो रहेछ । अध्यात्मभित्र त झन् कहालीलाग्दो कलह देखेँ । आज पनि म विभिन्न सप्रदायमा ध्यानका विधि सिक्न जान्छु । हरेक सम्प्रदायले के दाबी गर्छन् भने मेरो बाटो भएर मात्र मुक्त भइन्छ, यो नै अन्तिम सत्य हो । अब भन्नुस्, यो भन्दा झुट अरु के हुनसक्छन् ? त्यही भएर खगोल विज्ञान र भविष्य विज्ञानमा रुची राख्न थाल्नु भएको हो ? जीवन सहजरुमपा बुझ्न यो पनि तरिका हो । जस्तो हाम्रो बिसाल ब्रम्हाण्डभित्र हाम्रो आकाश गंगा कति सानो छ, तोरीको गेडा जस्तो । हाम्रो आकाशगंगाभित्र हाम्रो सौर्य मन्डल कति सानो छ, तोरीको गेडा जस्तो । हाम्रो सौर्य मण्डलभित्र हाम्रो पृथ्वी कति सानो छ, तोरीको गेडा जस्तो । हाम्रो पृथ्वीभित्र हामी कति कमजोर छौ, कमिला जस्तो । यो बिसाल ब्रम्हाण्डमा हामीले पाएको ज्ञान, धन, ऐश्वर्य जे जति छन् ती सबको कति अर्थ छ ? मानव भएर हामीले जे गर्नुपर्ने हो, गरिरहेका छौं ? यसले बाँच्ने तरिका सिकाउँछ जस्तो लाग्छ । भनेपछि के का लागि बाँच्ने त ? मानिसको बाँच्ने आफ्नै प्रयोजन हुन्छ । मेरो प्रयोजन खुसी हुने हो । आजको पूँजीवादी युगमा बाँच्नका लागि कुनै कुरा उत्पादन गर्नु पर्छ । त्यसलाई बेच्न जान्नु पर्छ र यस्तो व्यक्ति मात्र बाँच्न सक्छ । तर म भने त्यस्तो ठान्दिन । मेरालागि उत्पादन भनेको खुसी हो । मैले यत्रो वर्ष प्राध्यापन गरेँ, पैसा पनि पाएँ तर पैसाका लागि भन्दा खुसीका लागि त्यो काम गरेँ । पैसाका लागि गरेको भए डाक्टरी गर्थे हुँला । बुवासँग माफी मागेर अंग्रेजी साहित्य पढ्नतिर लाग्नुमा यही खुसी कारण यही खुसी थियो । समयअगावै जागीर छाड्नुमा पनि कारण यही छ । आज म डुलन्ते भएर हिँड्छु पुस्तक लेख्छु भने त्यो पनि खुसीका लागि । मसँग बाँच्ने यो मात्रै आधार छ । तपाईंकी जीवन संगीनी अर्चना थापाले महिलावादका विषयमा विद्यावारिधि गर्नुभयो । तपाईंले चाहीँ पुरुषवादका विषयमा ? यो विपरित विषय चयन गर्नुको कुनै कारण छ ? महिलावाद र पुरुषवाद एकअर्काका विपरित होइनन् । पुरुषवादले महिलाको र पुरुषवादले महिलाको विरोध गर्दैनन् । यी एकअर्काका सहयोगी विषय हुन् । मैले अध्ययन गर्दा पाएँ, पुरुषमाथि धेरै दबाब छ । उसले परिवार पाल्नुपर्छ, उसले नाम, नाम र ऐश्वर्य कमाउनु पर्छ भन्ने सामाजिक दबाब छ । यो नेपाल जस्ता अविकसित मुलुकमा मात्र होइन, विकसित मुलुकमा पनि छ । यहि कारण पुरुषहरुलाई महिलाका तुलनामा बढि मुटु रोग, उच्च रक्तचाप, तनाब र अप्ठ्याराहरु छन् । यो अध्ययन गर्दा यसलाई कसरी कम गर्न सकिन्छ भनेर पनि खोज गरेँ । यता अर्चनाले महिलाहरुले भोग्नु पने समस्याहरुको अध्ययनलाई नयाँ दृष्टिबाट हेरिन् । यसो गर्दा कतै न कतै महिलावाद र पुरुषवाद मिलेर समाजलाई राम्रो दिशा कसरी दिन सकिन्छ भन्ने निष्कर्ष पनि निस्कियो । म यसलाई विपरित विषय मान्दिन, होइन पनि । तर तपार्ईंहरुका रुचि र सोचहरु भिन्न छन्… हो, भिन्न छन् । उनी बढि सक्रिय, कामप्रति बढि जिम्मेवार र सामाजिक छन् । एकैठाउँ बसेर घन्टौं काम गर्न सक्छिन् । म सक्दिन । दुबैजना लेखक पनि हुनुहुन्छ । लेखनमा सहयोग, एकअर्कामा प्रतिस्पर्धा वा इष्र्या जस्ता कुराहरुको अनुभव गर्नुहुन्छ ? हामी एकअर्काका पहिलो पाठक हौं । र, ठूला आलोचक पनि । प्रतिस्पर्धा वा इष्र्या भन्ने कुरा चाहीँ हुन्न । आफूले धेरै राम्रो लेखेँ भनेर सुनाएको बेला भयंकर आलोचना हुँदा चित्त दुख्छ तर एक दुई दिनसम्म बोलचाल बन्द पनि हुन्छ । त्यो आलोचना आफ्नै भलाइका लागि हो भन्ने थाहा पाएका कारण दुखाइ कम भएपछि स्वतः सम्बन्ध पहिले जस्तै हुन्छ । हामी एकअर्काका शुभचिन्तक र प्रेमी हौं भनेर कसरी भन्न सक्छौं भने एकअर्काको राम्रो पक्ष अघि बढाउन तुरुन्तै काम गर्छौ । जस्तो जुन दिन मैंले उनको कथा सङ्ग्रह ‘कठपुतलाको मन‘ पढेँ । त्यसको बजार प्रतिक्रिया पनि राम्रै आयो । त्यसपछि मैले आफ्नो पुस्तक उनलाई छाप्न नदिने निर्णय गरेँ । जवकी उनको प्रकाशन गृह अक्षर क्रिएसनबाटै मेरा पुस्तक पनि छापिन्थे । यसो किन गरेँ भने उनी प्रकाशक भन्दा लेखिका हुनुपर्छ । मेरो मात्र होइन, उनको पुस्तक पनि व्यवशायिक प्रकाशन गृहबाट आउनु पर्छ । यसो गर्दा उनी प्रकाशकको भूमिकाबाट लेखिका हुन पाउँछिन् । त्यस्तै नीति उनले पनि लिन्छिन् । तपाईं अस्कल पढ्दा पनि पशुपति आर्यघाटतिर गइरहनु हुन्थ्यो रे । प्रेम गर्ने उमेरमा बैराग्य कसरी पलायो ? मेरो बुवा ओशोका पुस्तकहरु पढ्नुहुन्थ्यो । १६–१७ वर्षको उमेरमा मैंले पनि ती पुस्तक पढ्न थालेँ । आध्यात्मिक पुस्तक पढ्ने क्रममा एउटा अनौठो पुस्तक मैंले हात पारेँ—अटोबायोग्राफी अफ योगी । यो पुस्तकले यति गहिरो छाप छाड्यो कि मलाई भौतिक जीवनभन्दा आत्यात्मिक जीवन बढि रसपूर्ण लाग्न थाल्यो । यहि रनाहमा कलेज छाडेर आर्यघाटतिर जान थालेको हुँ । तीन महिना त म पूर्णरुपमा आर्यघाटको भष्मेश्वरमै बसेँ । त्यो पनि १७ वर्षको उमेरमा । कहिलेकाहीँ को ठूलो विद्वान, को बढि बौद्धिक भन्ने द्वन्द्व हुँदैन ? आफूलाई ठूलो, बौद्धिक र बुझेको ठान्नु पनि रोग नै हो । यो ब्रम्हाण्डका बिषयमा हामीले कति नै कुरा जानेका छौं र ? यो विशाल ब्रम्हाण्डमा हामीले थाहा पाएका कुरा कस्तो छ भने शून्यका पछाडि दशमलब राखेर जतिवटा शून्य राखेर अन्त्यमा एक लेख्दा पनि धेरै हुन्छ । सय वर्षअघिसम्म हामीसँग हवाइजहाज थिएन । १० वर्षअघिसम्म हामीलाई इन्टरनेट चलाउन आउँदैनथ्यो । मानव शरीरलाई समेत हामीले पूर्णरुपमा जान्न सकेका छैँनौ । त्यसैले यो सोच नै निरर्थक छ । अन्त्यमा लेखनका बारेमा केही प्रश्न छन् । जस्तो तपाईंले ‘घनचक्कर‘लाई पुर्नलेखन गर्नुभयो । यसको विरोध पनि भयो, के भन्नुहुन्छ ? पुर्नलेखन गर्नुहुन्न भन्नुको अर्थ, मैले १० वर्षअघि सोचेको कुरा आज पनि ठीक छ भनेर जिद्दी गर्नु हो । जवकी १० वर्षमा मैंले त्यस विषयमा कति नयाँ कुरा थाहा पाएँ, त्यसलाई सच्याउने कि नसच्याउने ? जो सच्चिदैन, ऊ जड हुन्छ । उसै पनि विश्व साहित्यमा पुर्नलेखन नै नभएका होइनन्, यस्ता सयौं उदाहरण छन् । महाभारतका पात्रमाथि लेख्नु, ऐतिहासिक विषयमा लेख्नु, एउटा साहित्यकारले लेखेका विषयमा अर्को साहित्यकारले लेख्नु अति सामान्य कुरा हुन् । मैले आफैले अर्को मकैको खेती नामक नाटक लेखेँ । त्यो राणाकालमा कृष्ण अधिकारीको मकैको खेती पुस्तकको पुर्नलेखन हो । अर्को कुरा मैंले पुस्तकका विषयवस्तु चलाएको होइन, भाषामा सरलता ल्याउने प्रयास मात्रै गरेको हुँ । घनचक्कर उपन्यास लेख्नुअघि मैंले अंग्रेजी भाषामा धेरै लेखेँ । नेपाली लेख्दै जाँदा सरल भाषामा पनि ती कुरा भन्न सकिँदो रहेछ भन्ने बोध भएपछि पुर्नलेखन गरेको हुँ । तपाईंले सिद्धान्तका कुरा लेखेर नेपाली लेखकलाई विश्व साहित्यमा चलेको विभिन्न सिद्धान्तको ज्ञान दिनु भयो । तर कतिपयले के भन्छन् भने तपाईंका पुस्तकहरु आफैँ सिद्धान्तमा छैनन् । के भन्नुहुन्छ ? म सिद्धान्तबाट मुक्त हुन आख्यान लेख्छु । खुसी उत्पादन गर्न लेखिएका कुराभित्र सिद्धान्त नहुन सक्छ । खुसी हुन बाहिरी बुद्धि आवश्यक पनि छैन । #सञ्जीव उप्रेती
अनलाइन समारोह : 'सबैभन्दा पछि' पाएर 'सबैभन्दा धेर' रमाउन पाउने हामी भाग्यमानी: कृष्ण धरावासी गत वैशाख पच्चिस गते पृथ्वीमा छैटौं नेपाली आख्यान दिवस मनाइयो (पृथ्वीमा किनभने त्यसलाई संसारभरिका नेपालीहरूले तात्तातै आफ्नै हत्केलाहरूबाट देख्न पाए) । २०७० सालदेखि निरन्तर मनाइँदै आएको यो दिवस यसपालि कोरोना भाइरस संक्रमणका कारण भर्चुअल कन्फरेन्सद्वारा पूरा गरियो । दिउँसो दुई बजेदेखि सुरु हुने भनिएकोमा नयाँ प्रविधि (जुम) को प्रयोग गर्न व्यवस्थापन गर्दागर्दै तीन बजेको थियो । सहभागीहरू समयमै उपस्थित भए पनि कार्यक्रम सुरु हुन समय लाग्ने भएपछि आपसमा अनौपचारिक सम्वादमा रमाइरहेका थिए । सामान्यतः जुममा केहीपल्ट अन्तर्वार्ता दिएको अनुभव भए पनि यति धेरैको सामूहिक सहभागितामा मैले भाग लिएको थिइनँ । अनौपचारिक सम्वादमा सबैले एकआपसमा कोरोना कहरको अनुभव भनिरहेका थिए र यस बीचमा आफूले गरिरहेका कामहरूको जानकारी पनि गराइरहेका थिए । ल्यापटपको भित्ते सभाकक्षमा सबैले बोलिरहँदा निकै हल्ला भइरहेको थियो र कुरा जुधेर नबुझिने भएका थिए कानहरू । यसै पनि लेखककविहरू एकान्तबासी नै हुन मन पराउने वर्गमा पर्ने हुन् । सामान्य बेलामा पनि प्रायः एकान्त खोज्दै कताकता पुगिरहनेहरूलाई अहिलेको यो बाध्यात्मक एकान्तता उत्पादनशील र सिर्जनात्मक नै रहँदै आएको सूचना पाइएको थियो । त्यहाँ उपस्थित अधिकांश लेखकहरू नयाँ सिर्जना वा पुराना कृतिहरूको पुनर्पठन गरिरहेका थिए । आख्यान विशेष कार्यक्रम भएकाले अधिकांश आख्यान क्षेत्रकै श्रष्टाहरूको उपस्थिति थियो । आफ्नै घरको कम्प्युटरको भित्तामा रमाइरहेका अधिकांश लेखकहरू यो नयाँ प्रविधिसँग खेल्न नजानेर हैरान भइरहेको बताइरहेका थिए । कतिपय पुराना पुस्ताका अग्रजहरू अझै पनि कम्प्युटरमा टाइप गर्न हात नबसेको र हातैले लेख्न सजिलो हुने बताइरहेका थिए भने कति नयाँ पुस्ताकाहरू कम्प्युटरमा हात बसिसकेकोले अब त लेख्नै पो नजानिने हो कि जस्तो हुन थालेको अनुभव बताइरहेका थिए । बाध्यात्मक कारणबाट प्रविधिसँग घुल्नै पर्ने यो अवस्थामा लेखकहरूलाई फेरि एकपल्ट अतिरिक्त प्राविधिक ज्ञान आर्जन गर्नै पर्ने संकट आइसकेको रहेछ । कार्यक्रममा वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतम, सनत रेग्मी, वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, ध्रुव सापकोटा, कृष्ण धरावासी, लेखक तथा पत्रकार पुरुषोत्तम दाहाल, नारायण तिवारी, गोपाल अश्क, रोशन थापा निरव, विपिन शर्मा, समालोचकहरू डा. कुमार कोइराला, डा. ज्ञानु पाण्डे, कवि नारायण सापकोटा, देवराज मिश्र, प्रतिमा निरौला, कविता खनाल आदिको उपस्थिति थियो । कतिपयले जुममा आफूलाई जोड्न नजानेकाले उपस्थित हुन नसकेको पनि बुझियो । कार्यक्रमको महत्त्व आफ्नै ठाउँमा हुँदाहँदै पनि यो यान्त्रिकताले धेरैलाई अल्मलाइरहेको थियो । हलमा लहरै बसेजस्तो भएर मेरो कम्प्युटरमा भने एकपल्टमा नौ जनालाई मात्र देख्न सकिरहेको थिएँ । बेलाबेला अनुहारहरू स्क्रिनमा देखिने हराउने पनि भइरहेका थियो । आ–आफ्ना घरमा आरामले बसेर गफ गर्न पाइरहेकोमा कसैमा पनि कार्यक्रम कतिबेला सकिएला भन्ने हतार देखिदैन थियो । ध्रुब सापकोटा दाइ र मैलेचाहिँ अरूलाई देखाइदेखाइ चियाखाजा पनि खायौं । त्यसमा आयोजकले पैसा तिर्नु परेन । हलमा लहरै बसेजस्तो भएर मेरो कम्प्युटरमा भने एकपल्टमा नौ जनालाई मात्र देख्न सकिरहेको थिएँ । बेलाबेला अनुहारहरू स्क्रिनमा देखिने हराउने पनि भइरहेका थियो । आ–आफ्ना घरमा आरामले बसेर गफ गर्न पाइरहेकोमा कसैमा पनि कार्यक्रम कतिबेला सकिएला भन्ने हतार देखिदैन थियो । मलाई लाग्छ, यो कार्यक्रम गरेबापत विगत वर्षहरूको तुलनामा आयोजक संस्था पूरै नाफामा रह्यो किनभने उसले एककप चिया पनि पियाउनु परेन । हल बुक गर्नु पनि परेन, कुर्सी मिलाउने, ब्यानर टाँस्ने, माइक खोज्ने, प्रमुख अतिथि पर्खिने, आसन ग्रहण गराउने, खादा ओडाउने, पानसमा दीप प्रज्जवलित गर्ने, पानी बाँड्ने आदि केही काम गर्नु परेन र त्यसमा लाग्ने खर्च चोख्खै बाँच्यो । आयोजकलाई कम्तीमा पचास हजार त नाफै भयो होला । हामी आयोजकलाई पनि माइक्रो, नेपाल यातायात वा ट्याक्सी भाडा खर्च चर्लक्कै जोगियो । परिवार पनि खुशी नै भए । घरैबाट कार्यक्रममा सहभागी हुन पाइने भएपछि बिहानैदेखि हतार गरेर, लुगा छानेर, जुत्तामा पालिस दलेर, कपाल मिलाएर, ऐना अघि पटकपटक उभिइरहनु परेन । आफ्नै घरको चिसोतातोमा परिवारका सबैले सुन्ने गरी फुर्तिसँग भाषण गर्न पनि पाइने, मज्जा पो हुँदोरहेछ त ! सुरूमै देखिनु भएको थियो डा. ध्रुवचन्द्र गौतम । पछि कुरा बुझ्दै जाँदा कार्यक्रम नै उहाँकै घरबाट सञ्चालन भइरहेको रहेछ । अर्को मज्जा त झन् के भने दिक्क लागेमा आफैले आफ्नो कम्प्युटर बन्द गर्यो, घरको घरै । बीचैबाट कार्यक्रम मन नपरेर निस्केर अनेक हण्डर खाँदै थाकेर लखतरान परी घर आइपुग्नु पनि नपर्ने । चाहिएका जति मानिसलाई बोलायो, सम्वाद गर्यो, युट्युब, फेसबुक वा अन्य प्रकारका डिभाइसहरूबाट लाइभ गर्यो संसारभरि पुगिहाल्ने । चाहिएको सूचना पठाउने हो । विज्ञापन गर्ने हो । भै त हाल्यो ! अरुखाले बाह्रसत्ताइस कुरा अब किन गरिरहनु पर्यो ! सरोकार हुनेले आफ्नै हातको मोबाइल खोलेर हेर्छन्, मन नपर्नेले देखिदै गरेको पनि अफ गर्छन, कुरै सकियो । अब सबै कुरा आफ्नै हातमा आइपुगेछ । सबै कुरा आफ्नै निर्णयमा निर्भर भएछ । मैले जानेको थिएन, भूल भएछ भन्न पनि नपाइने भएछ । फेरि हिजो हेर्न नपाए आफ्नो फुर्सदमा खोलेर हेर्न, सुन्न पनि हुने । प्रविधिले यति सजिलो बनाएछ कि अब हामी सबै त्यसैको निर्देशनमा चल्ने सजीव रोबाेट बन्ने अभ्यासमा रहेछौं । जे होस्, यो कार्यक्रमको प्राविधिकताबाट मलाई प्रशन्नता मिल्यो । उद्घाटन, मन्तव्य, कार्यक्रमको जानकारी आदि कर्मकाण्ड सकिएपछि केही आख्यान पुरस्कारहरू घोषणा गरिए । मलाई लाग्छ, ती पुरस्कारका निम्ति छानिएका प्रतिभाहरूमा एक जनामात्र त्यो घोषणा सभामा उपस्थित थिए । सायद अरुले पछि फेसबुक वा युट्युबबाट थाहा पाए होलान् । सम्भवतः उनीहरू आफ्नै मोबाइलको स्क्रिनमा आफ्नो अनुहार हेरेर पुलकित भए होलान् । सो समारोहमा वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमले स्थापना गर्नु भएको ‘दीप गोविन्द स्मृति सम्मान कोष’बाट यस वर्ष सम्मानित हुनेहरूमा नगेन्द्रराज शर्मा, अञ्जना वस्ती भट्टराई र बिनु सुबेदी थिए । प्रविधिले यति सजिलो बनाएछ कि अब हामी सबै त्यसैको निर्देशनमा चल्ले सजीव रोबाेट बन्ने अभ्यासमा रहेछौं । दोस्रो सभा अन्तर्क्रियाको थियो । अन्तर्क्रियाको शीर्षक थियो ‘आजको परिस्थितिमा साहित्य पठन संस्कृति ।’ हरेकपल डटकमका साहित्य संयोजक मनोज न्यौपानेले संचालन गरेको सो अन्तर्क्रियामा माथि उल्लेखित सबै नामहरू उपस्थित थिए । बहसमा कृति हिजोका र आजकाको चर्चा हुँदै पाठकहरू सामाजिक संजालमा अल्झिन पुगेकाले पुस्तकको बजार खस्किदै गएको र मानिसहरूको व्यस्तताका कारण अब मोटा किताबहरू पढ्न रूचि गर्न छोडेको भन्ने पनि थियो । मानिसहरू अधिकांश समय सिसाको भित्तामा टाँसिन थालेकाले अब कानले सुन्ने र डिभाइसमा हेरिने किताबतिर बढी आकर्षित हुँदै गइरहेको पीर पनि पोखियो । पुस्तान्तरमा लेखन, पठन र विषयबस्तुको छनोटमा आएको धारका पनि चर्चा उठे । कसैको चिन्ता थियो–सामाजिक संजाल र इन्टरनेटबाट हुने पठन, स्तरीय लेखन र अध्ययनका लागि नकारात्मक पो होलान कि ! तर कसैको मत थियो–हरेक कुरा अभ्यास हो । अभ्यासले जेलाई पनि कालान्तरमा सजिलो बनाउँदै लैजाने गर्छ । अन्तर्राष्ट्रिय तहमा पुस्तक पठनका वैकल्पिक माध्यमहरू पनि चर्चामा थिए र सुन्ने किताबहरू अबका लोकप्रिय माध्यम हुने विचार पनि आए । संयोगले त्यसै दिन नेपालमा पहिलोपल्ट व्यावसायिक रूपले सुन्ने किताबको उत्पादन र बिक्री गर्ने गरी साहित्यपोष्ट डटकम को पनि उद्घाटन भएछ । कार्यक्रमले झन्नै तीन घण्टा समय दिंदा पनि दिक्क लागेन किनकि म र सनत दाइचाहिँ मज्जाले भुईँमा खुट्टा पसारेरै बसेका थियौं तर त्यो दृश्यलाई सकेसम्म स्क्रिनमा आउनबाट रोक्न खोज्थ्यौँ । मैले यसप्रकारको औपचारिक समारोहमा भाग लिएको यो पहिलो अनुभव हो । अब अर्कोपल्टदेखि यो कुनै अनौठो लाग्ने छैन । संसारमा उहिल्यैदेखि चलेर थोत्रिसकेका कुरा हामीलाई सधैँ नयाँ हुन्छन् । सबैभन्दा पछि सबैभन्दा धेर रमाउन पाउनु पनि सौभाग्यकै कुरो हो । ढिलै भए पनि कमसेकम आउन त आयो ! अनलाइन साक्षात्कारमा आफ्ना अनुभव सुनाउँदै लेखक कृष्ण धरावासी #कृष्ण धरावासी
एउटा देश जो सबैको हो: यात्रा मानवसभ्यताको सबैभन्दा महत्त्वपूर्ण विषय हो । आज संसारभरि छरिएका मानिसहरू सृष्टिक्रममा एकैचोटी संसारभरि नै समानुपातिक रूपमा उब्जेका होइनन् । कुनै एक विशेष ठाउँमा उत्पत्ति भई विस्तारै फैलिदै गएर विश्वभरि छरिन पुगेको मानिन्छ । हुन पनि मानिस एकै ठाउँमा रमाउन चाहने प्राणी होइन । कालान्तरमा सिकारको खोजीमा उनीहरू नयाँनयाँ ठाउँतिर सर्दै गए । कृषि युगमा प्रवेश गरेपछि पनि उत्पादनशील क्षेत्रको खोजी गर्दै अघि बढ्दै गए । एउटा ब्यक्ति मात्र होइन, सिंगो समुदाय नै बसाईं सरिरह्यो र निरन्तर यात्रा गरिरह्यो । कुनै व्यक्तिभित्र रहेको यात्रा गर्ने इच्छा उसको व्यक्तिगत मात्र नभई मानव परम्पराको एक नश्लीय प्रवृत्ति पनि हो । आज संसारमा जुन विकास भएको छ, मानिसका बीचमा जुन अन्तरसम्बन्ध स्थापित भएको छ, ती सबै कुरा यही यात्रीय मानसिकताको उपज हो । पश्चिमी सभ्यताको केन्द्र मिश्रलाई मानिन्छ भने पूर्वको सभ्यताका लागि सिन्धु घाटीलाई आधार मानिन्छ । यिनै दुई सभ्यताबाट मानिस संसारभर छरिएको अनुमान छ । यो हिंडिरहने संस्कृतिलाई साहित्यले चरैवेती चरैवेती भनेको छ । मानिस एक वा दुई पुस्ताभन्दा बढी एक ठाउँमा अडिएको कमै पाइन्छ । विश्वको कुनै ठाउँ वा देशको मान्छे पनि त्यो सदाकालदेखि त्यहीँको होइन र सदाकालसम्म त्यो त्यहीँ रहँदा पनि रहँदैन । दुईचार सय वा हजार वर्षको इतिहासलाई नै पुरानो मानेर स्थान वा देश विशेषमाथि गौरव गरेको भेटिन्छ, तर त्यसको स्थायित्वको निर्धक्कता कसले लिएको हुन्छ । आजको पछिल्लो विकासलाई चरम सम्झिरहेको मानवसभ्यताले अनेकौ युद्धहरूको रचना गरी लाखौंलाख मानिसहरूलाई घरबार विहीन बनाई आफ्नो थातबास छोड्न बाध्य गराई रहेको पनि छन् । अनि त्यसरी शरणार्थीको रूपमा हिँडिरहेका लाखौँ मानिसको लस्करले गरिरहेको यात्रा अर्को नयाँ सभ्यताको सुरूवात पनि त हो । व्यक्तिगत रूपमा यात्रा गर्नेहरूको त कुनै तथ्यांक नै हुँदैन । कहिले को कहाँ पुगेर के गरिरहेको छ भन्ने कुरा आजको प्रविधिको व्यवस्थित युगमा पनि थाहा पाउनु संभव छैन । यात्रासँग जोडिएका अनुभव र अनुभूतिले नै नयाँ समाजको स्थापना र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ । साहित्यले यस्ता यात्राहरूलाई रोचक ढंगले सम्झने गरेको छ । साहित्यका विभिन्न विधाहरू अनन्त यात्रीय लेखनमै केन्द्रित छन् । कथा, उपन्यास, निबन्ध, नाटक, काव्य आदिमा वर्णन गरिएका अधिकांश विषयवस्तु र घटनाहरू यात्रामा नै हुन्छन् । कथावस्तुसँग जब पात्र एक ठाउँबाट अर्को ठाउँमा पुग्छ, त्यहाँ यात्रा नै प्रमुख भएर आउँछ । हामी हाम्रो नेपाली साहित्यका दुई सर्वलोकप्रिय कृतिहरू मुनामदन (काव्य) र बसाईं (उपन्यास) लाई सम्झन सक्छौं । दुवैमा पात्रहरूको यात्रासँग जोडिएको पीडा र वेदना उल्लेख गरिएको छ । साहित्यलेखन जब विविधतापूर्ण हुँदै गयो, नयाँनयाँ उपविधाहरू जन्मदै गए । सजिलोको लागि विधा भन्जन हुँदै जाँदा निबन्धभित्र पनि संस्मरण नियात्रा आदि भनिन थालियो । यात्रासंस्मरण र नियात्रामा पनि फरक देखिन थाल्यो । बृहत्तरबाट सूक्ष्मतातिर बढिरहेको आजको युगले हरेक चिजमा कोणिकता खोजिरहेछ । नेपाली साहित्यमा पनि पछिल्लो कालमा यात्रा र नियात्रा लेखनले विशेष महत्त्व पाउन थालेको छ । साहित्यका पाठकहरू यात्रा साहित्यतिर क्रमशः आकर्षित भइरहेका छन् । आजको विश्व विज्ञान र प्रविधिका कारण जसरी साँगुरिँदै गएको छ, त्यसै गरी विश्वग्रामको नवसभ्यताले पनि मानिस अझ बढी विचरणको मनोकामना राख्दछ । व्यापार, शिक्षा, स्वास्थ्य, रोजगारी आदिका कारण एक देशबाट अर्को देश, एक महादेशबाट अर्को महादेश पुगिरहेको छ मानिस । तर कुनै पनि देशको कानून तथा भौतिक आकर्षणले मात्र मानिसलाई बाँध्न सकेको छैन । त्यही भएर ऊ एक ठाउँमा अडिन पनि सक्दैन । दुःखले मात्र मानिस बसाई हिंड्ने हैन । सुखले पनि उसलाई एकै ठाउँ बस्न दिँदैन । जब मानिस सम्पन्न हुन्छ उसलाई भौतिक सुविधाहरूले आकर्षित गर्न थाल्छ र ऊ गाउँबाट सहर, सहरबाट विदेशतिर लाग्दै जान्छ । कृष्ण धरावासी नेपालबाट अधिकांशले गर्ने यात्रा भनेको बृहत्तर भारत, पाकिस्तान र बाङ्लादेश सम्मको थियो । त्योभन्दा टाडा भनेको बर्मा र भोटसम्म मात्र थियो । पहिलोपल्ट देशभन्दा धेरै टाडाको यात्रा गरेको भनेको जङ्गबहादुरको बेलायत यात्रालाई नै मानिन्छ । त्यही संस्मरणलाई नै पहिलो नेपाली यात्रासंस्मरण पनि भनिन्छ । अधिकाँश मानिसहरू जहाँ–जहाँ पुग्थे, त्यही–त्यही कुनै पेशा गरी थन्किन्थे । नेपाली साहित्यको इतिहास नै कति लामो छ र ! आधिकारिक रूपमा भानुभक्तलाई आदिकवि माने अनुसार नै हिसाब गरे पनि दुई सय वर्ष र केही बढी मात्र छ । यो छोटो साहित्यिक इतिहास बोकेको हाम्रो भाषाले धेरै परदेखि यात्रा साहित्यको कुरा गर्न पनि सक्दैन । फाट्टफुट्ट जेजस्ता लेखाईहरू आउँदै गरे पनि आधुनिक नेपाली साहित्यले ठूलो स्वरबाट चर्चा गरेको महत्त्वपूर्ण यात्रा साहित्यको कृति डा. तारानाथ शर्माको ‘बेलायततिर बरालिंदा’ नै हो । त्यो कृति मदन पुरस्कार पाएका कारणले मात्र होइन, अझै पनि उत्तिकै उत्कृष्ठ छ । यात्रा साहित्यमा हुनुपर्ने गुण र विशेषताका गरगहनाले झकिझकाउ भएकै कारणले त्यो कृतिले यस्तो सम्मान पाएको छ । २०२६ सालमा प्रकाशित भएर पनि त्यसले निकै वर्षसम्म अरू यात्रा कृतिहरूसँग खासै भेट गर्न पाएन । फाट्टफुट्ट केही साहित्यिक पत्रपत्रिकाहरूमा आन्तरिक पर्यटकीय निबन्धहरू प्रकाशित भए पनि धितमर्दो कृति पाउन निकै फर्किनु पर्यो । खासमा २०४६ सालभन्दा अघिसम्म नेपालीहरूलाई भीसा लिनुपर्ने मुलुकहरूमा जाने उस्तो सुविधा थिएन । हिँड्दै नहिँडेपछि के लेखिनु ? पचासको दशकदेखि नेपाली लेखनमा यात्रा साहित्यले एकाएक फड्को मा¥यो । प्रजातन्त्र आएपछि नागरिकले प्राप्त गरेका मौलिक हकहरूमा एक ठाउँ र अर्को ठाउँतिरको आवागमन पनि प्रमुख थियो र त्यसपछि खुलेको ढोकाबाट निस्केका मानिसहरू विश्वभरी विचरण गर्न थाले । आज नेपाली साहित्यमा गर्व गर्न लायकका यात्रा कृतिहरू पढ्न पाइन्छ । खास गरी वैदेशिक रोजगारी र अवसरको खोजीमा देशबाट बाहिरिनेहरूको दवाव जति बढ्दै गयो उति नै यात्रा अनुभवहरू सार्वजनिक हुँदै गएका छन् । आजको विश्वमा कुनै एउटा त्यस्तो देश छैन, जहाँ नेपाली नपुगेका हुन् । विदेश पुगेपछि खासै साहित्यमा रुचि नभएको मानिस पनि लेखक हुन थालेको छ । डायस्योरिक भावुकताले प्रायः हरेक मानिस देश सम्झिन वाध्य छ । पूर्वी मुलुकहरू जापान, कोरिया, इन्डोनेसिया, मलेसियादेखि चीन, अष्ट्रेलिया, अफ्रिका, युरोपिय मुलुकहरू र अमेरिका भरी छरिएका नेपालीहरूले गीत, गजल, कविता, कथा, उपन्यास संगसंगै राम्रा यात्रा संस्मरणहरू पनि प्रस्तुत गरिरहेका छन् । त्यही क्रममा केही वर्षअघि मेरो हातमा आइपुगेको थियो— साहित्यकार राजेन्द्र अर्यालको नियात्रा कृति “माल्भा”। यो कृतिका अधिकांश लेखहरू अमेरिकासँग सम्बन्धित छन् । असीको दशकदेखि फाट्टफुट्ट नेपालीहरू अमेरिका प्रवेश गर्न थालेको भेटिन्छ । त्यसबेला अमेरिका छिर्नेहरू खासमा नेपालका हुनेखाने परिवारका बिग्रिएका छोराहरू धेरै थिए । तिनीहरूले अमेरिकामा गएर पनि खासै तरक्की गर्न सकेनन् । तर नब्बेकोे दशकदेखि पढ्नका लागि गएका विद्यार्थीहरूले भने त्यहाँको शिक्षा प्राप्त गरी राम्रो आर्थिक तथा बौद्धिक प्रगति पनि गर्न सके । सन् १९९५ देखि सुरु भएको डिभी चिट्ठाबाट सन् २००० सम्म डीभी पर्नेहरू अमेरिका गइहाल्ने उच्च आकांक्षा नभए पनि त्यत्तिकै भरेको परिहाल्यो भन्दै गए । थोरै नेपालीहरूको समूदायमा वैदेशिक कष्टसंग स्थापित हुने संघर्षमा जुटे । सन् २००० पछि रहरले नै डीभी भर्ने र पर्नेहरू जान थाले । त्योभन्दा पछि देशभित्रको बेथिति, बेरोजगारी, उग्रराजनीतिक प्रदूषण, अराजकता आदिहरूबाट दिक्क हुनेहरू विभिन्न माध्यमले अमेरिका छिरिरहेका छन् । अमेरिका पुगिसकेपछि त्यहाँको वातावरणसँग मिल्न परिरहेका कठिनाई र संघर्षका कथाहरू उनीहरू विभिन्न माध्यमबाट भनिरहेका छन् । अब नेपालमा रहेकाहरूलाई पनि अमेरिका रहस्यको मुलुक रहेन । त्यस मुलुकसँग रहेका काल्पनिक आकर्षणहरू पनि विस्तारै सामान्य हुँदै गएका छन् । अमेरिकाभित्र पसेपछिका समस्या र संघर्षका कथाहरू धेरैले लेखेका छन् । त्यहाँका सरसुविधा र भोगविलासका कथाहरू पनि धेरैले लेखेका छन् । कसैले अमेरिकामाथि एकदम नै नकारात्मक कुराहरू ब्यक्त गरेका छन्, कसैले अत्यधिक सकारात्मक कुराहरू । राजेन्द्र अर्यालले भने “माल्भा” नियात्रा कृतिमा त्योभन्दा फरक कुराहरू लेखेका छन् । सामान्यतया अमेरिकाका साधन, सुविधा, विकासका झलकहरू सबैले लेख्ने उस्तै हो, तर अर्यालले तिनै कुराहरूभित्रको अमेरिकाको मर्मलाई खोतल्ने खुब प्रयत्न गरेका छन् । खासमा धेरैजसो अमेरिकाको यात्रा संस्मरणहरू त्यहाँका बाटाघाटा, सहर, समुद्र किनार, यातायात, प्राकृतिक वातावरण आदिका प्रशंसाहरूमा केन्द्रित भेटिन्छन् । अर्यालजीले भने तिनैभित्र पनि अमेरिकाको समाजको भित्री तत्त्वको खोजी गरेका छन् । त्यहाँको चाडपर्व, आदिवासी इतिहास, सामाजिक परम्परा, संस्कार, खाद्य संस्कृति, मानवीय सम्बन्ध, पशुप्रेम, सकारात्मक चेत, ब्यापारिक शैली, ऐतिहासिक गौरव, शिक्षा, राजनीति आदिको एकदम नै मिहिन पाराले चर्चा गरेको छन् । अल्छी नगरी र सक्ने हतार नबोकी लेखिएका यी संस्मरणहरू कयौं अमेरिकाबासीहरूलाई पनि जानकारी मुलक हुन सक्छन् । हरेक निबन्धभित्र पाइने पठन विशेषता भनेको त्यहाँसँग नेपालको तुलना हो । कयौं कुरा त्यहाँका भन्दा नेपालका राम्रा र कयौं कुरा नेपालका भन्दा त्यहाँका राम्रा भेटिन्छन् । खासमा त्यहाँका मानिसमा पाइने सकारात्मक शोच यी निबन्धहरूको वास्तविक पूँजी हो । तर उनले कुनै लेखमा पनि नेपाललाई बिर्सिएको छैन । लेख्दै गर्दा कतै पनि आफूलाई गाह्रो बनाएर नबिसाइएको हुँदा पाठकले राजेन्द्र अर्यालको अहंदेखि झर्किनु पर्दैन । अत्यन्त सरल र जिज्ञासु प्रस्तुति कृतिको सुन्दर पक्ष हो । सबैभन्दा मनपर्ने कुरा त के हो भने उनको लेखनमा पाइने तटस्थता हो । कहीँ पनि आफ्ना नीजि विश्वास र आस्थालाई थोपर्ने प्रयत्न गरेको भेटिदैन । कतै पनि कुनै आग्रह र पूर्वाग्रह नबोकेका यी यात्रा निबन्धहरू पाठकका निम्ति घर बसीबसी अमेरिका बुझ्न उपयोगी हुनेछन् । उसो त यसभित्र अमेरिका बाहिरका संस्मरणहरू पनि छन् । यूरोप भ्रमणका लेखकहरू भने बडो विवरणात्मक पाइन्छन् । अमेरिका एउटा त्यस्तो देश हो जो सबैको हो । त्यस देशभित्र बसेका संसारभरिका मानिसहरूको अन्तर सम्बन्धमाथि लेखकले मिहिन अध्ययन गरेको भेटिन्छ । मिसिएर पनि उत्तिकै पृथक देखिने त्यहाँको विशेषताबाट लेखक रमाएको देख्दा पाठक पनि संगसंगै रमाइरहेको हुन्छ । यात्रासँग जोडिएका यी निबन्धहरू आख्यानात्मक आकर्षण बोकेर आएका छन्, जसले पाठकलाई पढ्न थालेपछि लगिरहन्छन् । लेखकमा हुनुपर्ने मूल शक्ति नै त्यही हो । राजेन्द्र अर्याल यसमा सफल छन् । #कृष्ण धरावासी #राजेन्द्र अर्याल
पारिको मान्छे: मिम बहादुर परियार म सीमा रक्षक, मातृभूमिको सेवक, अहोरात्र दुस्मनको, गाली सहेर, लात खाएर, जङ्गे पिलर अङ्गालेर बसेको, तिम्रो नजरको, पारिको मान्छे । म मधेसको देशी, तातो हावा खान्छु, धोती गम्छा लगाउँछु तिमी पहाडको चिसो खान्छौ, टोपी लगाउँछौ, बीचमा सुरक्षित छौ, शुद्ध कथित बोल्छौ, म कालो वर्णको पारिको कालसँग, दिनहुँ पौँठेजोरी खेल्दै, अशुद्ध बोल्दै, चुनौती दिँदै साँधको साथी भएको तिम्रो नजरको पारिको मान्छे । मेरो भाषा भेषभुषा, रुपरङ पारिकासँग मिल्नु गल्ती हो ? म सिमानामा जन्मिनु पाप हो ? सदियौँदेखि रोटी र बेटीको सम्बन्ध चल्नु अपराध हो र? सीता, जनक र बुद्धलाई किन पुजेको ? किन विभूति प्रदान गरेको ? उनीहरू पनि सिमाकै थिए, उनको चालन रुपरङ पारिकासँग मिलेकै थियो, कस्तो दोषी चस्मा तिम्रो, आफ्नालाई विदेशी ठान्ने, तराईलाई पराई मान्ने । तिम्रो आफ्नो मान्छे, कथित शुद्ध बोल्छ जो पारि बस्छ, पारिकै नुनपानी खान्छ, जय हिन्द भन्दै, जनमन गान गाउँछ, रुपरङ मिल्छ, भाषा मिल्छ, ऊ तिम्रो प्यारो भयो, आफ्नो भयो, म हुनसकिनँ, कारण तिम्रो मानसिकता हो, एकल नश्लवादी चरित्र हो । म धर्तीपुत्र अन्न फलाउँछु, समथल भूभागमा पसिना बगाउँछु, हिमाल पहाड तराईमा पुगोस् भनेर, तर तिमी मलाई पाइला-पाइलामा छेक्छौँ, सामाजिक यातना दिन्छौं, अपशब्द बोल्छौँ म निरीह भएर सहन्छु, तिम्रो नजरको, पारिको मान्छे। म बोल्छु, विष्फोट हुन्छु अब, मेरो आँसुले, चित्कारले तिमीलाई छोएन, सिमानामा बगेको मेरो रगत तिमीलाई पोलेन, मेरो प्रेम सद्भाव तिमीले कहिल्यै बुझेनौँ, अब म भित्रको लाजले लाज मानिसक्यो, म लड्डु अब । तर तिम्रो जस्तो मेरो लडाइँ होइन, जात, रङ, टोपी र भूगोलसँग, मेरो लडाइँ सत्रुसँग हुन्छ, सिमाना मिच्नेसँग हुन्छ, मातृभूमि रक्षाको लागि हुन्छ। मलाई धोती र टोपीसँग मतलब छैन, मलाई नेपाल आमासँग मतलब छ, सीमासँग मतलब छ, म लड्छु, मर्छु सीमारेखाभित्र अन्तिम सास फेर्छु। तिमीलाई मतलब भएको रङसँग वस्त्रसँग लड, अझै मलाई सामाजिक यातना देऊ, पारिका सँग तुलना गर, तिम्रो सोच त्यस्तै छ, आफ्नालाई पराइ ठान्ने, अझै निरन्तरता देऊ, हार्दिक शुभकामना । #मिमबहादुर परियार
कोरोना गीत: संसारमा कोरोनाले गर्नु गरेको छ महामारी कठै मान्छे मर्नु मरेको छ कस्तो आपत कस्तो बिपत् त्रासैत्रास छायो संसार जित्ने मान्छेले नि झुक्ने दिन आयो सबैको मनभित्र पीर पर्नु परेको छ महामारी कठै मान्छे मर्नु मरेको छ धनि-गरिब ठूलो-सानो कहाँ भन्दो रै’छ पत्तै नपाई सल्किएर काल बन्दो रै’छ एकबाट अर्कोलाई सर्नु सरेको छ महामारी कठै मान्छे मर्नु मरेको छ संसारमा कोरोनाले गर्नु गरेको छ महामारी कठै मान्छे मर्नु मरेको छ #सुनिल संगम
बचपन: आएर कतैबाट थाहै नपाउने गरेर चिमोट्छ कहिल्यै नदुख्ने गरेर चिमोट्न म न छ तर ऊ मेरो नजिक छैन मात्र यादले चिमोटिरहन्छ । केही कुरा महसुस गर्न बढ्नु पर् छ ? तलब बढ्दा खुसी भएजस्तो हैन उमेर बढेकोमा पछुतो लाग्ने दिन आउँछ । कुनै चित्रकारको चर्चित चित् रजस्तो चित्रकलामा मात्र आकृति देखिन्छ आजभोलि मेरो पूरानो एल्बमको फोटो फ्रेममा छुटेको छ बचपन । आएर आँखै अगाडि कसैले सुनाइदियो भने ताराबाजी लैलै चि मुसी चि कुखुरी काँ बासी भात खा बस बस रे ! बसुन्धरा बहिनी काग दाजै काग दाजै यो मन फुत्त उडेर उतै पुग्छ जहाँ पुगेपछि मलाई फर्केर आउँन मन लाग्दैन । यादहरूको बाटे गह्रामा कसैले उखु रोपिदिएको छ आज भोलि त्यो उखु चिनी भएको छ मलाई चिनीसँग भन्दा बढी उखुको याद आउँछ । किनकि उखुमा मेरो बचपन अल्झेको छ । आजकाल मलाई कसैले -कुनै आकृतिमा -कुनै शब्दमा -कुनै चलायमान दृश्यमा मलाई अल्झेको देख्यौ भने सम्झनू ” ऊ बचपनमा फर्केर एउटा गीत गाउँदै बसेको छ । ” #बचपन #रबिन शर्मा
म तिम्रो सपना पुरा गर्ने छैन: म तिम्रो सपना पुरा गर्ने छैन कविताको फिचर तस्बिर म तिम्रो सपना पूरा गर्ने छैन तिम्रो सपना फुल्ने टाकुरादेखि धेरै तल थियो त्यो अन्तिम पदचिह्न जहाँसम्म तिम्रा उमेरका पाइलाहरू उक्लिन सके। तिम्रो सपना र धोकोबीचको दूरत्व नाप्न मेरा तरुण पाइलाहरूलाई उत्तरदायित्वको बोझिल जुत्ता पहिऱ्याउन अस्वीकार गरिरहेछु। हो बाउ! म तिम्रो सपना पूरा गर्ने छैन। तिम्रो वीर्यमा मेरो जीवनको सूत्र अनि नाक नक्शाको वंशाणुसँगै जात धर्म पनि आएको हो तर वीर्यमा सपना हस्तान्तरण हुन सक्दैन जीवनजस्तै सपना पनि निजी हुन्छ नितान्त निजी। एउटा वीजबाट जीवन प्रस्फुटित हुनु भनेको सृष्टिले आफूलाई एउटा माध्यम भएर अभिवक्त गरेको हो तर त्यो जीवनको मालिक्याइँ न माटोको हुन्छ न त त्यो पैतृक वृक्षको। एउटा वृक्षले आफ्नो मञ्जरीलाई दिन सक्ने नै छत्रछायाँ हो मौलाउन आफ्ना पातहरू खसाएर पोषण दिनसक्ने हो अनि आफ्ना हाँगाहरूमा अधिकारका केही जुरेलीहरूलाई आशका गुँड बनाउन दिनसक्ने हो तर त्यस मञ्जरीलाई जरा गाँजेर बाँच्ने सिद्धान्त बलजफ्ती गर्न सक्दैन। हो! त्यो मञ्जरी त्यही वृक्षको विस्तार हो तर जीवनको होइन सपनाको होइन ऊ पृथक् छ, स्वच्छन्द छ आफ्नै अस्तित्व लिएर आएको छ छुट्टै अस्तित्व लिएर उभिएको छ। अनि एउटा वृक्षले आफ्नो मञ्जरीलाई “आफू” हुनु दिन नै निःस्वार्थ प्रेम हो अनि एउटा मञ्जरी आफ्ना जराहरूमा उभिन सक्नु वृक्षको सार्थकता हो। तसर्थ ए बाउ ! म तिम्रो सपना पूरा गर्ने छैन।
रमितेको आँखामा.... रमिताहरू: रमितेको आँखामा रमिता को फिचर तस्बिर अदृश्य छालहरू उठ्दैछन् माथि माथि बगरै बगर भएर बालुवाको थाक थुप्रिन्दैछन् माछा माछा भ्यागुता भन्दै नानीहरू खेल्दैछ मेरा यी आँखाहरू रमिता हेरिबस्छ पोहोर परार अस्तित्वका सपनाले सिलाएर झुण्डाएको झण्डाहरू च्यातिएर हावामा विंवश हल्लिरहेका छन् घरको आगँनमा नानीहरू बाघ चाल खेल्दैछन् त्यहि बाघचाल माथि मेरा यी आँखाहरूले रमिता हेरिबस्छ कोहि रूख चढ्दैछन् आकाशतिर टाउकोउठाएर टाउको हराएका मान्छेहरू जस्तै समशान घाटबाट जम्बिहरू हुलका हुल शहर पस्दैछन् मेरा यी आँखाहरूले रमिता हेरिबस्छ खुट्टापट्टिबाट भव्य महलहरू गलछेड़ाबाट रूखहरूको नारा जुलुस चल्दैछ बनमारा र तितेपातेले जोखना हेर्दैछ फगत … यी आँखाहरूले रमिता हेरिबस्छ घोडाहरू रेस मैदानमा सतरञ्जको तयारी गर्दैछन् नानीहरू लाते भुकुण्डो खेल्दैछन् त्यही सतरञ्जको दाऊपेचमाथि मेरा यी आँखाहरू रमिता हेरिबस्छ एउटा अर्को महाभारत लेखिन्दैछ तर यसमा मामाहरू दुवै छन अनि उस्तै उस्तै छन् कंस र सकुनी फगत … आँखामा विभ्रान्ती नपाली एउटै आँखाले रमिता हेरिबस्छ । #ratoghar #sahityapost #रातोघर #साहित्यपोस्ट #सुमित्रा थामी अविरल
लुं हीटी: जीवनका रंग शृंखला ७ लुं हीटी । लुं भनेको सुन, हीटी भनेको धारा । सुन्दै अपत्यारिलो । कान र घाँटीको सुन त कानै चुँडिने गरी र घाँटी नै छिन्ने गरी लुटेर लैजाने, सुन प्राप्तिका लागि आफ्नै नजिककाहरुबाटै भयानक अपराध भइरहने शहर हो, अहिलेको काठमाडौं । यस्तो शहरमा पनि बीच चोकमा खुल्ला ठाउँ थियो र त्यहाँ सुनको धारा थियो भन्दा कसरी पत्याउनु ? म सगौरव उल्लेख गर्न चाहन्छु, मैले पनि लुं हीटी अर्थात् त्यो सुनको धारामा आजभन्दा चालीस वर्षअघि नुहाउने अवसर प्राप्त गरेको छु । काठमाडौंको भित्री शहरमा कति हीटीहरु थिए, म त्यो तथ्यांक लेख्न बसेको होइन तर काठमाडौंको पुरानो टोलका कतिपय नामहरु नै हीटी अर्थात् धारासँग जोडेर नामकरण गरिएको छ । पहिलो त यही नै भयो लुं हीटी, पछि यसलाई सुन्धारा भनियो । अर्को हीटी हो, नारायणहीटी । राजदरबारको नाम नै नारायणहीटी दरबार हुन गयो । त्यस्तै अरु केही नामहरु छन्, मरुहीटी, क्वहीटी, थंहीटी आदि । हरेक हीटीको आआफ्नै कथा र अर्थ छ । काठमाडौंको घना बस्तीमा झण्डै तीन इन्चको पाइपबाट आउने जत्तिको पानी, एउटै ठाउँमा तीनदेखि नौ वटा धारा भएको चौबीसै घण्टा निरन्तर बहिरहने, मुख जोतेरै पिउन मिल्ने स्वस्थकर पानीको स्रोत र व्यवस्थापन कसरी गरे होलान् ? अहिले परनिर्भर सोच, कार्यक्रम र बजेट सम्झने हो भने त कुनै विदेशी प्रविधि र ऋण नलिइकन कसरी सम्भव भयो होला त्यो पानीको आन्तरिक व्यवस्थापन ? त्यो कलात्मक धारा ? त्यो स्तरको सरसफाई ? त्यसको इन्जिनियरिङ के थियो होला भन्ने लाग्न सक्छ । म सोध्छु आफूलाई, हामीले कहिल्यै गहिरोसँग हीटीको बारेमा चिन्तन गरेका छौं ? अहँ छैनौँ । हीटी चिन्तन काठमाडौं शहरको नशा थियो । सभ्यताको सूचक थियो तर सबै हीटीहरु नशाविहीन बनाइए र कतिपय त पुरिए । हुन त पुराना सभ्यताको चिन्तन र सोच नपुरिकन विदेशीकरण हुन सक्दैनथ्यो । हाम्रो शिल्प नढालिकन विदेशी शिक्षाको हालिमुहाली हुन सक्दैनथ्यो । तर विदेशका राम्रा कुरा ग्रहण गर्न पनि त्यतिखेरदेखि सत्तासीनहरुले आफ्नो राम्रो कुरा त बाँकी राखे हुने नि ! हामी खत्तमै हौं, हाम्रा पुराना सीप र शिक्षा खत्तमै हो भनेर आत्मसमर्पण नगरेको भए यी हीटीहरु अहिले पनि संसारको सुन्दरतम र हेर्नै पर्ने वस्तुको रुपमा टिकिरहन्थ्यो । हामीहरुले आधुनिकीकरणको निहुँमा हाम्रा पुर्खाले बनाएर छोडी गएको हीटीको पानी, परम्परा र चिन्तनमा डोजर लगायौं । लुं हीटी थियो । लुं हीटीसँगै रैथाने किसानहरुको उब्जाउ भूमि थियो । विभिन्न कालमा सत्ताले किसानको हातबाट ती जमीनको सरकारीकरण भयो । जुन उद्देश्यका लागि सो जमीन कब्जा गरिएका थिए, त्यो उद्देश्य एकातिर, त्यही जमीन कब्जा गर्ने र त्यसको दुरुपयोग गर्ने उद्देश्य हावि भयो । आजको काठमाडौं मलको भवन बनाउन, सुन्धारामा आउने पानीको स्रोत बिगारियो । त्यसबेला स्थानीय जनताले विरोध पनि गरेका थिए तर ती आवाज दबाइए । अहिले त्यत्रो ऐतिहासिक लुं हीटीको पानीको स्रोत र निकासको बाटो बिगारेर बनाएको काठमाडौं मलको अव्यवस्था र लुछाचुँडी हेरेर भन्न सकिन्छ, काठमाडौंको बारेमा निर्णायक भूमिका खेल्नेहरु कस्ता थिए होलान् ? यो विषयमा कुनै वास्तुविद, कुनै समाजशासास्त्रीले अध्ययन, अनुसन्धान गरेर विद्यावारिधि गरे हुन्छ । म जब स्कूल पढ्थेँ, पानीसँग खेल्ने दुई वटा विकल्प थिए मसँग । एक खोलामा पौडिनु, अर्को हीटीमा नुहाउनु । न थियो स्विमिङ पुल, न थियो बाथरुम । पुरुष हुन या महिला, कि खोलामा कि धारामा नुहाउने हो । त्यहीँ नुहाउने, त्यहीँ लुगा धुने, त्यहीँ सुकाउने र घर आउने । सबै हीटीहरु सार्वजनिक थिए । यात्रु हुन् या रैथाने, घरधनी हुन् या डेरावाल, सबैका लागि हीटीहरु खुल्ला थियो । त्यो नै काठमाडौं शहरको पुरानो सभ्यता, सम्पन्नताको प्रतीक, सामाजिकीकरणको अभ्यास, प्रेमको परम्परा, मिहिनेतको प्रतिफल, सार्वभौमिकताको समय, थियो । जसरी हावा निःशुल्क छ आज, पहिले पानी पनि निःशुल्क थियो । पहिला हुनसम्मको फोहोर गर्ने, अनि शुध्दीकरण गर्ने । त्यसैलाई विकास मान्ने । अहिले पानीको प्लास्टीकीकरण र निजीकरणले कहाँ छौं त्यो त भोगिरहेकै छौं । #जीवनको रङ #स्नेह सायमि
अशुद्ध लेखेर विज्ञापन गर्न पाइन्छ ?: नेपाली भाषाको शुद्धीकरणका लागि विद्यालय एवम् विश्वविद्यालयका कक्षाहरूमा पढाइएको भन्दा नियमित रूपमा दिनहुँ प्रकाशित हुने गरेका पत्रपत्रिकाहरूले नेपाली भाषाका प्रयोक्तालाई बढ्ता प्रशिक्षित गरिरहेका हुन्छन् । नेपाली विषयमा पनि अनिवार्य नेपाली विषय पढ्दा परीक्षामा शुद्धाशुद्धिका लागि सोधिने अधिकतम ५ नम्बर पूर्णाङ्कको तयारी गर्न विद्यार्थीलाई एकदुई पिरियडभन्दा बढ्ता समय उपलब्ध हुँदैन तर सदैव पढिरहने पत्रपत्रिकामा प्रयोग गरिएको भाषाले विद्यार्थीलाई मात्र होइन नेपाली भाषाका समस्त प्रयोक्तालाई प्रभावित गरिरहेको हुन्छ र त्यही प्रभाव नै शुद्ध ठहरिएर उनीहरूका मनमस्तिष्कमा बसिरहेको हुन्छ । त्यसैले नेपाली विषयका पाठ्यपुस्तकमात्र होइन नेपाली भाषाका माध्यमबाट प्रकाशित हुने सबैजसो पत्रपत्रिकाहरूको भाषासमेत शुद्ध र स्तरीय हुनु आवश्यक छ । डा.मतिप्रसाद ढकाल शब्दस्रोतका दृष्टिले नेपालीमा प्रयुक्त तत्सम, तद्भव र आगन्तुक तीन प्रकारका शब्दहरूमध्ये संस्कृतबाट जस्ताको तस्तै नेपालीमा आएका तत्सम शब्दहरूको वर्णविन्यास वा शुद्धाशुद्धि लेखनका विषयमा हालसम्म कुनै किसिमको विवाद रहेको छैन । त्यसैगरी संस्कृतबाट जस्ताको तस्तै वा परिवर्तन भएर आएका बाहेकका अन्य स्वदेशी वा विदेशी भाषाबाट नेपालीमा आएका आगन्तुक शब्दका बारेमा पनि सुरु र बीचमा ह्रस्व लेख्ने तथा आगन्तुक शब्दमा ऋ, ञ, ण, श, ष, क्ष, त्र र ज्ञ वर्णको प्रयोग नगर्ने विषयमा प्रायः सबै नेपाली भाषाशास्त्री सहमत रहेका छन् । संस्कृतबाट परिवर्तन हुँदै नेपालीमा आएका तद्भव शब्दका विषयमा आंशिक विवाद कायमै रहे पनि पत्रपत्रिकामा प्रयुक्त तद्भव शब्दका विषयमा धेरैजसो पाठकले अशुद्धिको आरोप पनि लगाएका छैनन् । नेपालका सबैजसो पत्रपत्रिकाहरूले आआफ्नै शैली पुस्तिका निर्माण गरेर त्यसैलाई आधार मानी आआफ्ना पत्रपत्रिकाको भाषासम्पादन र प्रकाशन गर्दै आएका छन् तर विज्ञापनको भाषा सम्पादन नगरीकन प्रकाशन गर्नुपर्छ भन्ने अघोषित व्यवहारले गर्दा पत्रपत्रिकामा विज्ञापनको भाषाले नेपाली भाषालाई जसरी लेखे पनि हुन्छ वा यसरी अशुद्ध लेख्न छुट छ भनेर विज्ञापन गरिरहेजस्तो बुझाइ धेरैजसो पाठकहरूमा रहेको छ । विज्ञापनको भाषा अशुद्ध नै हुनुपर्छ वा विज्ञापनको भाषालाई सम्पादन नै नगरीकन प्रकाशन गर्न सकिन्छ भन्ने अघोषित व्यवहारबाट मुक्त हुन नेपालका राष्ट्रिय दैनिक पत्रपत्रिकाहरूको गम्भीर ध्यानाकर्षण हुनु अत्यावश्यक छ । यस आलेखमा नेपालबाट दैनिक रूपमा प्रकाशित हुने कान्तिपुर दैनिक, नागरिक दैनिक र गोरखापत्र दैनिकमा २०७७ असार १ गते प्रकाशित विभिन्न प्रतिनिधि विज्ञापनमा प्रयुक्त अशुद्ध भाषाका बारेमा चर्चा गरिएको छ । कान्तिपुर दैनिकले धेरै वर्षदेखि विज्ञापन आह्वानका लागि प्रयोग गर्दै आएको वर्गीकृत विज्ञापनमा नै भाषिक अशुद्धि भेटिन्छ । एउटै पृष्ठमा ‘बर्गिकृत विज्ञापन’ र ‘बर्गीकृत विज्ञापन संकलन काउन्टरहरू’ दुवै शीर्षकमा प्रयुक्त ‘बर्गिकृत’ र ‘बर्गीकृत’ दुवै शब्द अशुद्ध हुन् र तिनको सट्टा ‘वर्गीकृत’ शब्दको प्रयोग गर्नुपर्छ भनेर ध्यानाकर्षण गराइदिने कुनै भाषासम्पादकहरू कान्तिपुर दैनिकभित्र हालसम्म जन्मिएका रहेनछन् । दैनिक रूपमा यसरी अशुद्ध ‘बर्गिकृत’ र ‘बर्गीकृत’ शब्दलाई पढिरहने पाठकले निश्चय नै ‘वर्गीकृत’ शब्दलाई अशुद्ध नठह¥याउलान् भन्न सकिँदैन । नेपालमा सर्वाधिक बिक्री हुने कान्तिपुर दैनिकले दिनहुँ यसरी आफ्नै विज्ञापनमा अशुद्ध शब्दको विज्ञापन गरिरहेको नेपाली पाठकहरूले कहिलेसम्म टुलुटुलु हेरेर बसिरहने ? कान्तिपुर दैनिकमा प्रकाशित यमकुमारी ढकालको श्रद्धाञ्जली विज्ञापनमा ज्यूको, पूण्य, चीरशान्ति, दुःखद् र समवेना अनुपयुक्त शब्दको सट्टा क्रमशः ज्यूकी, पुण्य, चिरशान्ति, दुःखद र समवेदना उपयुक्त शब्दको प्रयोग गर्ने विषयमा कान्तिपुर दैनिकले बेवास्ता गरेको देखिन्छ । यसरी अशुद्ध शब्दको प्रयोग गर्नाले मृतकप्रति वास्तविक श्रद्धाञ्जली व्यक्त हुन सक्तैन भने त्यसले कान्तिपुरका समस्त भाषाप्रेमी पाठकवर्गबाट कान्तिपुर पत्रिकाले प्राप्त गर्ने वास्तविक श्रद्धाभाव पनि क्रमशः गुम्दै जाने कुरा सुनिश्चित छ । कान्तिपुर दैनिक पत्रिकामै प्रकाशित मण्डनदेउपुर नगरपालिकाको आर्थिक प्रस्तावसम्बन्धी सूचनामा सूचना बमोजिम, नयाँगाउ, विद्युतिय, खोलिएकोमा, मुल्याङ्कन, बमोजीम, भएकोले, सारभुत र जानकारीको लागि शब्दहरूको सट्टा क्रमशः सूचनाबमोजिम, नयाँगाउँ, विद्युतीय, खोलिएकामा, मूल्याङ्ककन, बमोजिम, भएकाले, सारभूत र जानकारीका लागि शब्दहरूको प्रयोग गरिनुपर्दथ्यो तर सरकारी कार्यालयसँग सम्बन्धित उपर्युक्त विज्ञापनमा पनि अशुद्ध भाषाको प्रयोग गरिनुले सम्बन्धित कार्यालय र कान्तिपुर दैनिक नै नेपाली भाषाप्रति संवेदनशील नभएको कुरा स्पष्ट हुन्छ । कान्तिपुर दैनिक पत्रिकामै प्रकाशित चन्द्रपुर नगरपालिकाको बोलपत्रसम्बन्धी सूचनामा खरिदको लागि, आहृवान, सूचना अनुसार, रितपुर्वक, बोलपत्रहरु मध्ये, सोलुशन, सारभुत, पेश, मु.अ., कर सहित, भएकोले, सम्वन्धित र जानकारीको लागि शब्दहरूको सट्टा क्रमशः खरिदका लागि, आह्वान, सूचनाअनुसार, रीतपूर्वक, बोलपत्रहरूमध्ये, सोलुसन, सारभूत, पेस, मू.अ., करसहित, भएकाले, सम्बन्धित र जानकारीका लागि शब्दहरूको प्रयोग भइदिएको भए पाठकवर्गले कान्तिपुरजस्तो धेरैले पढ्ने पत्रिकामा भाषा स्तरीय र शुद्ध हुन्छ भनेर कान्तिपुर दैनिक पत्रिकाकै प्रशंसा गर्ने थिए । कान्तिपुर दैनिक पत्रिकासँगै छुट्टिभिन्न भएर त्यसकै प्रतिस्पर्धामा आपूmलाई पाठकवर्गमाझ लोकप्रिय बनाउँदै आएको नागरिक दैनिक पत्रिकाको विज्ञापनको भाषा पनि कान्तिपुर दैनिककै जस्तो अशुद्ध देखिन्छ । प्रतिस्पर्धामा जानका लागि विज्ञापनको भाषाप्रति बेवास्ता गरिनुपर्छ भन्ने केही छैन बरु विज्ञापनको भाषाप्रति शुद्धीकरणको प्रयास गर्दै गएको भए नागरिक दैनिक पत्रिकाप्रति भाषाप्रेमी पाठकवर्गको अवश्य पनि आदरभाव रहने थियो । नागरिक दैनिकमा प्रकाशित बराहताल गाउँपालिकाको बोलपत्र स्वीकृतसम्बन्धी सूचनामा स्विकृत, सम्बन्धि, आव्हान, सूचना अनुसार, रितपुर्वक, बोलपत्रहरु मध्ये, तपशिल, मूल्यांकित, सारभुत, स्विकृति, प्रयोजनको लागि, जानकारीकोलागि र भ्याट सहित शब्दहरूको सट्टा क्रमशः स्वीकृत, सम्बन्धी, आह्वान, सूचनाअनुसार, रीतपूर्वक, बोलपत्रहरूमध्ये, तपसिल, मूल्याङ्कित, सारभूत, स्वीकृति, प्रयोजनका लागि, जानकारीका लागि र भ्याटसहित शब्दहरूको प्रयोग गर्ने विषयमा नागरिक दैनिकको ध्यान जान सकेको देखिँदैन । नागरिक दैनिकमै प्रकाशित टोखा नगरपालिकाको सिलबन्दी दरभाउपत्रसम्बन्धी सूचनामा तपशिल, शिलवन्दी, भएकोले, रितपूर्वक, आव्हान, वृस्तृत, जानकारीको लागि, साईट, गर्नुहुन समेत, खरिद सम्बन्धी र पेश शब्दहरूको सट्टा क्रमशः तपसिल, सिलबन्दी, भएकाले, रीतपूर्वक, आह्वान, विस्तृत, जानकारीका लागि, साइट, गर्नुहुनसमेत, खरिदसम्बन्धी र पेस शब्दको प्रयोग गरिनुपथ्र्यो । नागरिक दैनिकमै प्रकाशित सूची दर्तासम्बन्धी सूचनामा प्रयोजनको लागि, ईजाजत, रजिष्टर्ड, दिन भित्र, आफुले, कार्यको लागी, छुटाछुट्टै, पेश, कार्वाही, छपाई सम्बन्धि, स्टेशनरी, सामाग्री, मेशिन, रिफीलिङ्ग, एण्ड, सम्बन्धि, सामुहिक र सम्पति अशुद्ध शब्दहरू प्रयोग भएका छन् । तिनको सट्टा क्रमशः प्रयोजनका लागि, इजाजत, रजिस्टर्ड, दिनभित्र, आपूmले, कार्यका लागि, छुट्टाछुट्टै, पेस, कारबाही, छपाइसम्बन्धी, स्टेसनरी, सामग्री, मेसिन, रिफिलिङ, एन्ड, सम्बन्धी, सामूहिक र सम्पत्ति शुद्ध शब्दहरूको प्रयोग गर्नबाट पनि नागरिक दैनिक चुकेको नै देखिन्छ । नेपालको सबैभन्दा जेठो र नेपाली भाषाका लागि मानक पत्रिका मानिने गोरखापत्र दैनिक पत्रिकाका अधिकांश विज्ञापनहरू भाषासम्पादन गरिएरै प्रकाशन गर्ने गरिएको पाइन्छ भने केही विज्ञापनमा गोरखापत्रले पनि कान्तिपुर र नागरिक दैनिककै सिको गरेर अशुद्ध शब्दहरूको प्रयोग गर्न अग्रसर हुँदै गएको देख्ता पाठकवर्ग झनै अन्योलमा पर्दै जानु अस्वाभाविक होइन । गोरखापत्र दैनिकमा प्रकाशित जङ्गी अड्डाको संशोधित सूचनामा आपूर्ति सम्बन्धी, दोश्रो, आव्हान, सेनाको लागि, कल्याणकारी तर्पm, समुह, गर्नको लागि, गरिएकोमा, हुंदा, जानकारीको लागि, पेश र पुर्व अशुद्ध शब्दहरूको प्रयोग गरिएको छ । तिनको सट्टा क्रमशः आपूर्तिसम्बन्धी, दोस्रो, आह्वान, सेनाका लागि, कल्याणकारीतर्पm, समूह, गर्नका लागि, गरिएकामा, हुँदा, जानकारीका लागि, पेस र पूर्व शुद्ध शब्दहरूको प्रयोग गरिनुपथ्र्यो । सूचना र विज्ञापनको वर्तमान जमानामा धेरैजसो पाठकहरूको ध्यान पत्रपत्रिकामा प्रकाशित सूचना र विज्ञापनमा नै बढ्ता जाने गर्दछ । त्यसैले गोरखापत्र, कान्तिपुर, नागरिकजस्ता दैनिक पत्रिकाहरूले छापा माध्यममा र विद्युतीय माध्यममा समेत आआफ्ना विज्ञापनहरूको भाषालाई बेवास्ता गरी अशुद्ध शब्दहरूको प्रयोग गर्ने परिपाटि पूर्णतः बन्द गर्नुपर्छ । अहिलेसम्म जीवित रहिरहेका भए प्राज्ञ चूडानाथ भट्टरायजस्ता नेपाली भाषाका चिन्तकले पत्रपत्रिकाको विज्ञापनको अशुद्ध भाषालाई नै आधार बनाएर न्यायालयको ढोका ढक्ढक्याउने थिए होलान् । आगामी दिनमा पत्रपत्रिकाहरूले आफ्नो विज्ञापनको भाषा पनि सम्पादन गर्नुपर्छ भन्ने दिशातर्पm ध्यान दिन बेवास्ता गरिरहे भने निश्चय नै चूडानाथ भट्टरायजस्तै कुनै भाषाचिन्तकले उनको मार्ग नपछ्याउलान् भन्न सकिँदैन । स्थानीयस्तरका चितवन पोष्ट दैनिक, विजय खबर साप्ताहिकजस्ता पत्रिकाहरूले त आफ्नो समाचार र लेखरचनामा जस्तै विज्ञापनको भाषामा पनि शुद्धीकरणको सचेतता अवलम्बन गर्दै आएका छन् भने राष्ट्रियस्तरका ख्यातिप्राप्त पत्रिकाहरूले आफ्नो विज्ञापनको भाषामा शुद्धता कायम गर्ने दिशामा यथासमयमै सचेत हुनु अपरिहार्य छ र यसका लागि पाठकवर्गले समयसमयमा भाषिक शुद्धताका लागि सम्बद्ध पत्रपत्रिकाहरूको ध्यानाकर्षण गराइरहनु पनि आवश्यक देखिन्छ । – सहप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय #डा. मतिप्रसाद ढकाल
मायामा तिम्रो: मा यामा तिम्रो गहिराई खोज्दै आफै डुबेछु । म त तिमीलाई भुल्नै छोडेछु । अगि अगि तिमी बाटो देखाउँदै हिड्यौं म त तिम्रो छायामा परेछु । म त तिमीलाई भुल्नै छोडेछु । #मायामा तिम्रो
समालोचकको नजरमा सीमा आभासको कविता: सीमा आभासको कविताकारिता वक्ररेखामा कुद्छ । सतहमा देखिने शब्दसंयोजन र अन्तर्यमा भेटिने भावार्थमा ठूलो अन्तर भेटिन्छ । यस अर्थमा उनको कविताको लाक्षणिक र व्यञ्जनात्मक सामथ्र्य उच्च कोटिको छ । उनको कवितामा प्रायःजसो नारीका अनुभाव, आक्रोश र विद्रोहहरू पोखिएका हुन्छन्, तर कतै पनि उनी, कविताको मर्यादाभन्दा बाहिर आएर निर्णयात्मक हुङ्कार गर्दिनन् । इतिहास, मिथक, स्थापित मूल्य, लैङ्गिक व्यवस्था र सामाजिक मूल्यविधान माथिका प्रतिप्रश्न हुन् उनका अधिकांश कविता । विविध सङ्कथनमार्फत् मान्छे–मान्छेबीच तथा नरनारीबीच व्यवस्थाले खडा गरेको विभेदका पर्खालहरूको उच्छेदन उनको कविताकारिताको मूल ध्येय हो जस्तो लाग्छ । यहाँ सीमा आभासका तीन कविता प्रस्तुत गरिएको छः “घोडा दौड”, “चिमाल हुनुभो हजुरआमा”, र “ऊ ईश्वर फुटाइरहन्छ” । यी तीनै कविता नारी हुनुका तीतामीठा अनुभवको चित्रणमा समिर्पत छन् र सबै कविताले समाज र इतिहासमा व्याप्त दृष्टिदोषहरूलाई प्रश्नको घेरामा राखेर कुनै न कुनै प्रकारको विद्रोहलाई नाटकीकरण गरेका छन् । “घोडा दौड” कवितामा एक नारीपात्रको सम्भावित यात्राको चित्रण छ, जसमा इतिहासले गलत र निहित स्वार्थको साधानाका लागि प्रयोग गरेका उपकरणहरूको प्रयोग गरी इतिहासकै विपठन गर्नुपर्ने आवश्यकतालाई औँल्याइएको छ । इतिहासभरि अरुको दमन र आफ्नो स्वार्थसाधनाका लागि प्रयोग गरिएका घोडा र तरबारलाई नवीन परिप्रेक्ष्यमा एउटी नारीको अधिकार र जागरणको अभीष्टमा प्रयोग गरिनुपर्छ भन्ने सन्देश दिइएको छ । यसरी, समाज, इतिहास र शासकीय सङ्कथनले निर्माण गरेका विभेदकारी व्यवस्थाको विनिर्माण यस कविताको अन्तर्कथ्य हो । “भगवानको नग्न तस्विर छातीमा टाँसेर धर्म नमान्न पनि सक्छु” भनेर उदघोष गर्ने पात्र निश्चितरूपमा विद्रोही हो । आफूमात्र होइन, एउटा समग्र समुदायलाई यस विद्रोहका लागि तयार रहन सो कवितामा अपिल गरिएको छ । भनिएको छः “सुत्केरी महारानीहरु हो, समात लगाम ! सहरको मस्तिष्क थर्कने गरी कुदाऊ घोडा ।” अपिलको उत्कर्षमा भनिएको छः “कुदाऊ घोडा आर्यघाटतिर नङ्ग्याएर चितामा ओछ्याइएपछि गुहार माग्दै भागेका सतीहरुलाई वर्षाएका ढुङ्गाहरु कुनकुन हुन्, चिन ।” र इतिहास, यी र यस्तै यस्तै अत्याचार र विभेदको दस्तावेज हो भन्ने सङ्केत कविताले गरेको छ । यस अर्थमा, यो कविता नवइतिहासवाद, विनिर्माणवाद र नारीवादको त्रिवेणी हो र समयको विपठन कसरी गर्न सकिन्छ भन्ने कुरामो एउटा सुन्दर उदाहरण पनि हो । “चिमाल हुनुभो हुजुरुआमा” एक वृद्ध नारी पात्र हजुरआमाको वीरत्वको चित्रणमा केन्द्रित कविता हो, जसमा प्रकृतिको सामीप्यमा प्रलयहरूलाई आत्मबलले जितेर पाको उमेरमा अवतरित भएकी हजुरआमाको भव्य चित्रण छ । वीर रसको प्राधान्य रहेको कविताले हजुरआमा सङ्घर्षका कथामा अदम्य साहस र धैर्यको अध्याय जोडेको छ । हजुरआमालाई कतै चिमाल, कतै गुराँस र कतै हिमालका रूपक-अलङ्कारहरूबाट चित्रित गर्दै अतिशयोक्ति अलङ्कारको प्रयोग पनि कविले गरेकी छन् । लेख्छिन्, “वहाँ उभिएपछि थर्कमान हुन्छ निराकार पनि वहाँ हिँड्दा एकछिन अडिन्छ पृथ्वी पनि सात सूर्य नै ओर्लिन्छन् यी जिउँदो पितृको आशीक थाप्न पनि ।” तर, यसरी हजुरआमाको भव्य र सकारात्मक र कलात्मक चित्रण गरेकी कविले एक ठाउँ हजुरबालाई कविताको अन्तर्यमा तानेकी छन्, र नकारात्मक चित्रण गरेर खलपात्र तुल्याएकी छन् । लेख्छिन्, “हजुरआमाको निधारबाट खटक खटक गर्दै हिँड्थे हजुरबाका पाइला ती पाइलाका डोबहरु हजुरआमाका निधारका टीका बन्थे ।” यसो गरिदिँदा लैङ्गिक सवालमा सीमा अभासको कवि व्यक्तित्व किन सम्यक हुन सकेन भन्ने प्रश्न भने पाठकको मनमा उब्जिन सक्छ । तेस्रो कविता “ऊ ईश्वर फुटाइरहन्छे” मा पनि, उसै गरी एक श्रमिक महिलाको चित्रण गरिएको छ, जो पत्थर फुटाउँछे, आफ्नो जीवन धान्छे र आफ्नो बालकको पनि पालनपोषण गर्छे । अन्य कवितामाजस्तै, यहाँ पनि यी नारीपात्र विभेदको शिकार हुन् । “जूनघामलाई नानीको बाउ भनेपछि अपराधीलाई झैँ घरबाट निकालिएकी” एक आमा हुन् उनी । कविताको प्रस्तुति मायावी यर्थाथजस्तो लाग्छ, जसमा एक नश्वर पात्रको सांसारिक दैनिन्दिनीलाई मिथकीय र चामत्कारिक लाग्ने अतियथार्थवादी प्रतिबिम्बसँग अन्तर्घुलन गरिएको छ । भनिएको छ— सलसली हुर्किरहेको यो जूनलाई बादलको मजेत्रो ओढाएर इन्द्रेणीले पिठ्यूँमा बाँधेर घामको डल्लो फुटाउन हम्मर उचाल्छे घामले फुटाएका पसिनाका बुँदहरु जमाएर गिट्टी बनाउँछे । उनको मिहिनेत जारी छ । उनी विभिन्न प्रयोजनका लागि, हात्केलामा ठेला उठाएर पनि ढुङ्गा फुटाइरहेकी छिन्, र गिट्टी बनाइरहेकी छिन् । समाजबाट निष्काशित भएर तथा एकल महिला भएर पनि, आफ्नो पौरखले जीवन धानिरहेकी उनलाई, उनको मिहिनेत र आत्मबलको जस दिन तयार नभएको “निर्जन दुनियाँ” ईश्वर फुटाइरहेको आरोप लगाएर आफ्नो ईर्ष्या वा असन्तुष्टिको विरेचन गर्दछ । सीमाका कविताको सामर्थ्य भनेको उनको बिम्बविधानको रेञ्ज हो, जो मिथक, इतिहास, समाज र निजी जीवनका अनेक कुइनेटालाई स्पर्श गर्ने ल्याकत राख्छ । उनी याथर्थवादी कथ्यलाई लाक्षणिक प्रस्तुति दिएर कवितालाई बहुअर्थी बनाउन खप्पिस कवि हुन् । इतिहास र समयसँग विमति राख्ने र तर्क तथा विद्रोह गर्ने उनको तरिका काव्यिक त र बौद्धिक छ । तर, उनको दोष भनेको, लैङ्गिक प्रश्नहरूमा उनी थाहै नपाई एकाङ्गी पनि भइदिन्छिन्, र सधैँ समान्यीकरणको हतारोमा देखिन्छिन् । कविताको शिल्पको हकमा “खुर्पे जून” र “भोकको लय” जस्ता अतिप्रयोगबाट क्लिसे हुन थालेको वाक्यांशबाट उनले निवृत्ति लिएर नयाँ वाक्याशंको अविष्कारतिर लागे उनकै कविता बढी आलोकित हुन्थ्यो । सीमा आभासका तीन कविताः १ . घोडा दौड घोडेजात्राको दिन टुँडिखेलका घोडा छाँदेर जानुछ महाराजाका ढोकासम्म । देखाउनुछ लट्टा परेको कपालको चुल्ठो सुनाउनुछ बर्जित शब्दहरु एकएक गरी हेर्नुछ बादलका गुजुल्टाहरु पन्छाएर कहाँबाट कसले झार्दोरहेछ ममाथि चट्याङ । घोडाको पिठ्यूँमा उभिएको, म हुँ नाङ्गो अवतार । भगवानको नग्न तस्वीर छातीमा टाँसेर धर्म नमान्न पनि सक्छु नसक्न सक्छु, धर्मले डढाएका मेरा औ“लाहरु काटेर ममाथि लेखिएको इतिहासलाई ढोग्न । दायाँ खुट्टो कानूनको कुममा बायाँ ईश्वरको कुममा राखेर जानुछ इतिहास सजाइएको संग्रहालय त्यसको ढोकैमा झुण्डिएको तस्वीरमा मेरैजस्तो केरमेट अनुहार कसको हो ? बौलाहाजस्तै देखिने श्रीपेच महाराजलाई नाघेर टुँडिखेलका घोडामा बसी पार गर्नुछ भद्रकाली घुम्नुछ उपत्यकादेखि गोरखादरबारसम्म । यिनै घोडामा चढेर चोभारको गल्छे“डोसम्म पुगी हेर्नुछ कस–कसका अनुहार बगाई ल्याएको छ, यो पानीले । स्वयम्भुको टुप्पोमा उभिएर सोध्नुछ ‘मञ्जुश्री ! कहाँ छ चोभार काट्ने तिम्रो खड्ग ?’ आज मलाई चाहिएको छ त्यहि शक्तिशाली हतियार । हतियार खोज्दै हिँडेको म आइपुगेको छु नाङ्गा मूर्ति अगाडि यही बेला चक्रपथमा देखाइदिनुछ नाङ्गो परिक्रमा, नाङ्गो उत्सव । यो नाङ्गोपन हेरेर लाज नमानुन बाटो हिँड्नेले, जून–ताराले दरबार र मूर्तिहरुले जेल र न्यायालयले यहाँका तीर्थधाम र पवित्र नदीहरुले । यी घोडामा चढेर फेरि पुग्नुछ, महारानी र राजकुमारी पस्ने, निस्कने ढोकामा कुँदिएको नागराजाको चित्र हेर्न । जान्नुछ, यी ढोकामा लाउने आग्लो कस्तो थियो ? गोल्चे र खरमस कसले बनाएको थियो ? यी साँघुरा ढोकामाथि झुण्डिएको चम्मरको केश कसको हो श्रीपेचमा जडित हिराहरु कसका आँसु जमेर बनेका हुन ? सुत्केरी महारानीहरु हो समात लगाम ! शहरको मस्तिष्क थर्कने गरी कुदाऊ घोडा कुमारीजात्राको दिन टुँडिखेलमा लहरै उभिएर हेर केके लेखिएको रहेछ रगतको मसीले हाम्रो निर्वस्त्र शरीरमा । यी भब्य दरबारका भित्ता कस्का मयलले टल्किएका हुन ? नारायणहिटीको पर्खालवरिपरि घुम्ने नग्न मृतआत्मा कहाँका हुन ? कुदाऊ घोडा आर्यघाटतिर नङ्ग्याएर चितामा ओछ्याइएपछि गुहार माग्दै भागेका सतीहरुलाई वर्षाएका ढुङ्गाहरु कुनकुन हुन, चिन । यहीबेला उत्रिय पशुपतिमा नाङ्गा पार्वतीमाता । शिवरात्रीको दिन भाङले बेस्मारी मातेर कराउँदै भन मेरा दौँतरीहरु ए भस्मदेव ! चढ घोडाको ढाडमाथि कुद इतिहासको सुरुङतिर । फलोफूलो कह देवका देव ! केके देखेका छौ हिजोदेखि आजसम्म ? २. चिमाल हुनुभो हजुरआमा बिहानै घाम उभिएको हिमशिखरलाई टिपेर शिरबन्दीझैँ सिउरिनु भो सिउँदोमा कपालमै हिमाल चुल्याएर, उभिनु भो सेतै छातीभरि फक्राउनु भो अनेकौँ सुनगाभा इन्द्रेणी बेरेर हातभरि लगाउनु भो चुरा जिन्दगीका धमिला जंघारहरु प्यूँदाप्यूँदै हजुरआमा कहिल्यै नछचल्किने सेतो सागर हुनु भो । यौटा काँधमा लिखुले लेखेको भाग्य बोकेर अर्को काँधमा दुधकोशीले लेखेको कर्म बोकेर मोलुङ खोलाले बगाइरहेको बैंश च्याप्प समात्नु भो र, सौभाग्य बनाई झुण्ड्याउनु भो गलामा सुनकोशीको तिरमा उभिएको सतीसालले झैँ हजुरआमाले ढाडमा थेग्नु भो गर्भिणी धरतीमाथिको भेलपहिरो । खुर्पेजून टिपेर नाकमा फुली लगाउनु भो घामका यूँहरु जडेर बुलाकी टल्काउनु भो जंगली लहरा बेरेर माडबारीका बुट्टा बनाउनु भो पैतालाका चक्ररेखा ढुंगाले रगडेर मेट्तै हजुरआमा पौरखको बाटो एक्लै हिँडिरहनु भो । हिउँलाई पिँधेर आँसुमा मुछि सातुझैँ भरपेट खानु भो बगाई लैजान खोज्ने बाढीलाई मोइझैँ स्वाट्टै पिउनु भो हुरीलाई पछ्यौरीमा थापेर छिचिमिरालाईझैँ किचिपिची पार्नु भो ठिहीमा काँडाका खराउ लाएर कोसौँकोस टाढासम्म हिँड्नु भो भाग्यको लय मिलाउँदामिलाउँदै हजुरआमा शास्त्रीय गान हुनुभो । धर्तीलाई पोल्टामा बोक्ने हजुरआमाकै केशमा नुहाएर पवित्र बग्छ रोशी पनि वहाँ उभिएपछि थर्कमान हुन्छ निराकार पनि वहाँ हिँड्दा एकछिन अडिन्छ पृथ्वी पनि सात सूर्य नै ओर्लिन्छन् यी जिउँदो पितृको आशीक थाप्न पनि । हजुरआमाको निधारबाट खटक खटक गर्दै हिँड्थे हजुरबाका पाइला ती पाइलाका डोबहरु हजुरआमाका निधारका टीका बन्थे हजुरबा अन्तर्ध्यानमा गएपछि उक्कियो त्यो निधार । निधारबाट आकाशतिर झरेको हजुरआमाको टीका पूर्णेको जून भएछ जून छुन अग्लिँदाअग्लिँदै हिमाल फुलेझैँ सेतै फुल्ने चिमाल हुनु भो हजुरआमा चिमालझैँ सेतै फुल्ने हिमाल हुनु भो हजुरआमा । ३. ऊ ईश्वर फुटाइरहन्छे जूनघामलाई नानीको बाउ भनेपछि अपराधीलाई झैँ घरबाट निकालिएकी गाउँबाट विस्थापित ऊ नदी किनारमा ताराहरु जम्मा पारेर गट्टा खेलाउँछे नानीलाई पानी खुवाउँछे जूनको कचौराबाट सूर्यमण्डल बनाउँछे उसले खेल्ने भकुण्डोलाई । नानीकै मुहारबाट उदाउँछ घाम ऊ रुँदा होस् या खुसी हुँदा बन्छन देवताका हजार रुप । पहिलो पटक कुन कालिगढले कुँद्यो होला भगवान् ? कुन भक्तले, कुन मितिमा, चढायो होला फूल ? कसले राख्यो होला चुपचाप बस्नु भनेर मन्दिरमा ? बालक चन्द्रमालाई छातीमा टाँसेर सोध्छे, यो पत्थरमा लुक्ने भगवान कहिलेसम्म बाँचिरहन्छ, मान्छेको शरणमा ? सलसली हुर्किरहेको यो जूनलाई बादलको मजेत्रो ओढाएर इन्द्रेणीले पिठ्यूँमा बाँधेर घामको डल्लो फुटाउन हम्मर उचाल्छे घामले फुटाएका पसिनाका बुँदहरु जमाएर गिट्टी बनाउँछे । गिट्टीकै आकारजत्रा ठेला हत्केलामा उठाएर मन्दिर बनाइने ढुङ्गा रोशी थाकेर बगरमै छोडिएका ढुङ्गा भगवान पुजिने अनेकौँ ढुङ्गा गिट्टी बनाएपछि यो निर्जन दुनियाँ भन्ने गर्छ ऊ ईश्वर फुटाइरहन्छे । #महेश पौड्याल #सीमा आभाष
सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !: (संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । — डा. विप्लव ढकाल) नेपाली सूक्ष्म कविताहरूको यस शृङ्खलामा मोहनहिमांशु थापा, रत्नशमशेर थापा, कृष्णभक्त श्रेष्ठ, उपेन्द्र श्रेष्ठ र पुष्कर लोहनीका कविता रहेका छन् । १. सहरका आँखाभरि (मोहनहिमांशु थापा) म जङ्गली म जङ्गलको मान्छे ! म आफूलाई जङ्गलमा एक्लै राखेर राम्रा राम्रा सहर हेर्न आउँछु तर सहरमा तिमीलाई आँखाभरि राख्दा नराख्दै म सहर भरिभरि हुन्छु । म जङ्गली म जङ्गलको मान्छे ! रत्न शमशेर थापा २. जूनको चपरी (रत्नशमशेर थापा) सपना देख्छु तिर्खालु बाज बकैनाको बूढो रुखमनि मेरो पैताला ठुँगिरहेछ । ब्यूँझेर हेर्छु दलिनको कापामा माकुरा निली जालो ओढेर कालो माउसुली उँगिरहेछ । बाहिर तरकारी बारीमा जूनको चपरी जुरोमा बोकी कनफट्टा साँढे रुँगिरहेछ । ३. गिद्धले पहिले आँखा ठुङ्छ (कृष्णभक्त श्रेष्ठ) गिद्धले पहिले आँखा ठुङ्छ रङ्गी बिरङ्गी देख्ने ती आँखाहरू गिद्धले जथाभावी ठुङ्छ कुहेको लाशको छातीमाथि नाचेर गिद्धले मनमानी ठुङ्छ गिद्धले पहिले आँखा ठुङ्छ आँखाले नै हेरेर जथाभावी ठुङ्छ गिद्धले पहिले आँखा ठुङ्छ । ४. हामीले हेर्दाहेर्दै (उपेन्द्र श्रेष्ठ) नोटेसन स्वरबद्ध सङ्गीत बाँसुरीको एउटा पर्दा उघ्रिन्छ, अनि देखिन्छ दृश्य एउटा नाटक— ओथेलोको ! औँलाले घाँटी स्पर्श गर्दा पियानो चित्कार्छ र रुन्छ वातावरण एउटा अवलाको समाप्त हुन्छ जीवन, अन्त हुन्छ कथा एउटा आवेशमा, एउटा क्रोधमा एउटा सिर्जना, एउटा कलाकारको हाम्रा सामु— हेर्दाहेर्दै !! ५. कौडी (पुष्कर लोहनी) घोप्टो कौडीको कोमलता र सुन्दरता देखेर हरेक युवती ईष्र्याले निधार खुम्च्याउँछन् डाहाले छटपटिन्छन् साँच्ची नै आफ्नो प्रतिद्वन्द्वी ठानेर । हरेक युवती लाजले सरमाउँछन् ठाडो कौडी देखेर अनि आफू नै नाङ्गो उभिएझैँ लाग्छ । यहाँ मोर्चा भैसकेको छ त्यसैले हरेक युवती घृणाले हेर्छन् कौडीलाई आफ्नै सौता ठानेर । #डा. विप्लव ढकाल #सूक्ष्म कविता अर्थात् स्मार्ट पोइम्स
रामबहादुर: रामबहादुर कविताको फिचर तस्बिर सेतै फुलिसकेका दाह्री र कपालले पनि भन्न थालीसकेका छन् अब त उसलाई _’रामबहादुर !!.. ज्योत्सना घतानी, डुवर्स अब आराम गर्ने समय तेरो’ तर ती फुस्रै भएका कपालका तलतिर मन जस्तै नमिठो गरि खुम्चिएका मस्तकका रेखाहरूमा कहाँ विश्राम भनेर लेखिएको छ र उसको निम्ति ।। आफ्नो जिन्दगीको भोगाइका सङ्घर्षहरू निल्नु न ओकल्नु जस्तै भइसकेको छ उसलाई आजभोलि ।। ऊ त्यो घर अघिको बूढो बकैनोको रूख देख्दैछौँ नि.. उसको जिन्दगी पनि तेस्तै सङ्घर्षका चोटहरूले पत्रैपत्र भई सकेको छ अभाव र वेदनाका रुख्खा झ्याउहरू लागेर।। शरीरका हाडहरूले पनि मासु छोड्न थाली सक्यो तर उसको शरीरले भने अझै पसिना चुहाउन छोडेको छैन।। खस्रै भएर फुटेका छन् हातका औंलाहरू तर औजारहरूले भने साथ छोडेका छैनन्।। बल-तागत पनि ओईल्याउन थालिसके अब त तर जिम्मेवारी थाम्ने खाबो भने अझै बनिसकेकै छैन।। थाहा छ… अक्षरहरूले पनि भाग्यले जस्तै ठगेका छ्न उसलाई.. पोहोर साल नै त हो उसले माईला बाजेबाट थोरै पैसा ऋणमा लिएको साहु भन्दा ब्याज दोब्बर भैसक्यो बुझाएको तर नि छैन अझै उसको उधार चुक्ता भएको ।। हेर्दाहेर्दै उसको शरीर पनि अब त उसले लाउने त्यान्द्रो जस्तै भैसक्यो तर नि सास ओक्येलेर आगो निल्ने सीप भने मजाले जानेको छ उसले ।। आजसम्म हजारौँ फलामहरू पगाल्न सक्यो उसको कौशलले तर मान्छेको मनलाई भने कहिल्यै पगाल्नै सकेन।। कयौँ मुर्तीहरू पुज्न योग्य बनायो उसले तर आफू भने कहिले सम्मानको धरी योग्य बन्न सकेन नाम र पुरस्कारहरूको त कुरै छाडौँ।। आजभोलि सपनाहरूले भरिएका उसका आँखाहरूलाई पनि निराशाको बादलले ढाकी सकेको छ। अब त कल्पना धरी गर्दैन ऊ कति सुन्दर र भरिला रहरहरू थिए उसका ती पनि अब त अनुहार जस्तै चाउरी पर्न थाली सके।। हुन त कुनै पुँजीपतिको जस्तो महँगो गाडीघोडा र फ्याक्ट्रीहरूको रहर होईन उसको न त कुनै लालची नेताको भाषण झै कसैलाई झुठो आश्वासन देखाउने मनोवृत्ति नै छ।। उसको जिन्दगीको अभिलाषा भनेको नै मान्छे भएर मान्छे जस्तै जिउन पाउने समान अधिकार हो।। आफुले दिएको सम्मानको बद्ला आफ्नो लागि सम्मान होस्। अन्यायको विरूद्धमा अब एकजुट भएर उठ्ने आवाजको हो। ठुला भनाउदाहरूबाट अब कोही तिरस्कृत नहुन भन्ने कामना हो अनि ऊ जस्तै हजारौँ रामबहादुरहरूलाई मात्र रामबहादुरको हैसियतले व्यवहार गरि मजदुरी भेदभावको समाजमा अन्त्य सङ्गै श्रम र श्रमिकको सम्मान होस् भन्ने हो। रामबहादुरको अभिलाषा।।
बाडुली: बाडुलि कविताको फिचर तस्बिर आशिष लिम्बू गाउँलाई अचानक बाडुली लागेको दिन सायद सम्झेको हुदो हो आसुको थोपा झार्दै गाउँ छोडेर परदेश हिडेकी कुनै गाउँकी छोरीले जो अहिले मारि रहेकी छिन् दिनको दिन एउटा एउटा सपना। सायद पठाको हुदो हो सम्झना भखर डिउटी सकेर खाना खादै गरेको कुनै सहरको होटलमा काम गर्ने छोराले जसको अंगालोमा छ अहिले अनिकालको हुरीबतास। या त सम्झेको हुदो हो सिमानामा मरिसकेको कुनै लाहुरेको जिउदो आत्माले देउरालीमा पाती चढाएर थुप्रै थुप्रै भाकल गरेर सिमानाको रक्षा गर्नु हिडेको जो कहिले गाउँ फर्केनन् फेरि कुनै साँझ गाउँलाई अचानक बाडुली लागेको बेला सम्झेको हुदो हो चौतारीमा बसेर अनेकौं कसम खाएर पनि जो कहिले एकअर्काको लागि भएनन् छुटी सकेको कुनै प्रेमिल जोडीले एतिबेला देब्रे छातीमा हात राखेर मन भित्र भित्रै लेख्दै मेटाउँदै लेख्दै मेटाउँदै होला अनेक अनेक बिछोडको कबिता सायद सम्झेको हुदो हो गाउँकै बाटो हिड्दै हिड्दै गएको एउटा यात्रीले जसले बिर्सेको होला भन्ज्याङमा फुलबुट्टे रूमाल सम्झ्यो होला पधेरीमा पानी भर्ने साइली दिदीले गएको थियो कुनै दिन रूदै रुदै आफ्नै माइती गाउँ छोडेर मलाई लाग्छ सायद आज राती पनि बाडुली खेल्दै खेल्दै निदाउछ होला गाउँ किन कि यो समय मेरो मुटुमा बेस्सरी उर्लिएको छ गाउँ सम्झेर सम्झनाका छालहरू। -कालेबुङ
गङ्गाजल: हाम्रा प्रभुको चित्त असल हाम्रा प्रभुको नियत असल असली दूधको कुण्ड पसेर नित्य नुहाउने प्रभु असल कमण्डलु लिई गङ्गाजलको स्वस्ती गर्दछौं हाम्रा प्रभुको बमबम भोले बमबम शङ्कर प्रभुले रक्षा गरेको चराचर । प्रभु पाउमा मन मुटु चढाई बुद्धि बिवेक स्वभिमान चढाई चरण जल शीरमा सिँचन गर्छौँ मर्जी होस् प्रभु ईज्जत अर्पण गर्छौं औंसी रातमा जुन छ भन्नुस् आहा कस्तो टहटह भन्छौँ देख्दिन अरे ! त्यहीँ छ त भन्छौ हेर्न जानेनौ, चस्मा फेर त भन्छौ नदेखिए नी जुन छन त छ नि भन्छौ एक एक असुरलाई ठीक पार्छौँ ज्ञान प्रभुबाट सुरू हुन्छ विज्ञान प्रभुमा समाप्त हुन्छ ज्ञान सुन्छौँ, ताली ठोक्छौँ विज्ञान सुन्छौँ, सही हो भन्छौँ कल्पनासम्म त गर यार ! भन्छौँ सपनासम्म त देख यार ! भन्छौँ तिमीले बुझेनौ, दिमाग लगाउ भन्छौँ । ए ! कल्पना लोकका सृष्टिकर्ता ए ! सपना लोकका पालनकर्ता करुणाको त्यो नजर उठाऊ भक्तको जिन्दगी सफल बनाऊ मनबान्छित फल देऊ, हे ! त्रिगुणस्वामी अन्न, धन, मान देऊ, सदा दुखियारी हामी कैलाशपति महादेवको जय ! #गङ्गाजल #योगेन पौडेल
समाप्त: गिदीको गमलामा गाडिदेऊ बीउ विषालु विचारका नियाल झिंगाहरूको सम्भोग गन लाम्खुट्टेका अण्डाहरू टोक तिमी आफ्नै गर्दन बौलाहा कुकुरलेझैँ । भाँसिदै जाऊ आफू उम्रेकै माटोमा निसासिँदै जाऊ ? आऊ काँटी ठोकिदेऊ निधारमा मेरो र झुण्डाइदेऊ उपहार पूरानो भित्तेघडी म सुईहरूको टिकटिकमा लठ्ठिएर समय बिताइदिन्छु जिन्दगी बिताइदिन्छु मेरा निर्णयहरू या मैले लिएका निर्णयहरू जिन्दगी के यत्ती हो र ? आउ नजिकै त फेरि लिपिदिन्छु म हलुका हातले तिम्रो योनीमा मेरो आँगनको रातो माटोले मेरो गाउँमा विहानै ढोका लिप्ने चलन छ जाऊ बरू वनवास तिमी यहाँ तिम्रो सट्टा पनि म पाप गरिदिन्छु यो मृत्यु अघिको वैतरिणी म एक्लै एक्लै तरिदिन्छु रुद्रको अक्ष घाँटीमा मेरो भय कुन कालको अब गरौँ ? मोहबाट क्षय हरक्षण म किन व्यर्थ मोक्षको कामना गरौँ ? #समाप्त #सुभाषिस पराजुली
‘विमुखता’ कथासङ्ग्रहका कथाहरूलाई केलाउँदा \xa0: डा. राजकुमारी दाहाल प्राचीन भारतीय ग्रन्थहरूमध्ये रामायण र महाभारतप्रति विद्वानहरूको विशेष आकर्षण रहेको पाइन्छ | यी ग्रन्थहरूलाई नयाँ नयाँ प्रकारले व्याख्या गर्ने, पुनर्पाठ गर्ने, पात्रहरूका चरित्रगत विशेषताहरूलाई केलाउने जस्ता कार्य विभिन्न भाषा साहित्यमा भइरहेका छन् | भारतीय साहित्यमा सीता-राम, राधा-कृष्ण, द्रौपदी-अर्जुन, उर्मिला-भरत आदिका कथालाई आधार मानेर अनेकौ कृतिहरूको रचना भएको पाइन्छ | युग अनुरुप यी चरित्रहरूलाई कवि/ लेखकहरूले भिन्न भिन्न रुपमा प्रस्तुत गरेका छन् | भक्तिकालमा यी चरित्रहरूलाई भक्ति भावनासहित प्रस्तुत गरिएको पाइन्छ भने श्रृङ्गारकालमा लेखिएका कृतिहरूमा यी चरित्रहरूको प्रस्तुतिकरणमा युगअनुरुप परिवर्त्तन भएको पाइन्छ | आधुनिककालमा यस्ता पौराणिक चरित्रहरूलाई नयाँ परिप्रेक्ष्यमा प्रस्तुत गरिएको छ अनि कथावस्तुमा नयाँ अर्थको अन्वेषण गरिएको छ | आधुनिककालमा पौराणिक आख्यान र मिथकहरुको यथार्थपरक पुनर्व्याख्या तथा पुन: संरचना गरिएको छ | तेलुगु भाषाकी सशक्त नारीवादी लेखिका पोपुरी ललिता कुमारी भारतीय साहित्यमा भोल्गा नामले परिचित छन् | उनले कथा, कविता, उपन्यास, नाटक, लेख, अनुवाद जस्ता विधाहरुमा कलम चलाएकी छन् | उनले आफ्ना लेखनका माध्यमबाट नारीवादी र प्रगतिवादी विचारधाराहरू प्रस्तुत गरेकी छन् अनि पौराणिक आख्यानहरूलाई खोतल्ने काम गरेकी छन् | तेलुगु भाषामा लेखिएको भोल्गाको प्रसिद्ध कथासङ्ग्रह ‘विमुखता’ सन् २०१५ सालको साहित्य अकादमी पुरस्कार प्राप्त कृति हो | हिन्दी भाषालगायत भारतका विभिन्न भाषामा यस कृतिको अनुवाद भइसकेको छ | सिक्किमकी वीणाश्री खरेल प्रधानले नेपाली भाषामा भोल्गालिखित ‘विमुखता’ कृतिको अनुवाद गरेकी छन् | ‘विमुखता’ कथा सङ्ग्रहमा ‘समागम’, ‘मृष्यमयनाद’, ‘सैकत कुम्भ’, ‘विमुखता’ र ‘बन्धित’ गरेर जम्मा पाँचवटा कथाहरू परेका छन् | रामायणकी सीतासँग सम्बन्धित यी कथाहरू नारीका जीवन भोगाइ र जीवनवृत्तलाई लिएर नारीकै केन्द्रीयतामा रचना गरिएका छन् | ‘समागम’ कथामा रामद्वारा नाक काटिएकी कुरूपा शुपर्नखा र रामद्वारा परित्याग गरिएकी सीताका हृदयका वेदना र व्यथा समान छन् | सीता र शुपर्नखा दुवैले त्यस अपमान र कष्टलाई जितेर जीवन सार्थक बनाउनमा प्रकृतिको अनन्त रहस्यमाझमा आफैँलाई समाहित गरेका छन् | रामद्वारा नाक काटिएर कुरूप बनेकी शूपर्नखालाई आफ्नो अपमान र वेदना भुल्न प्रकृतिले नै सिकायो | यसैले उ भन्छे, “त्यस प्रतिकारको ज्वालाबाट बाहिर निस्केर पुन: सौन्दर्यसित प्रेम गर्नुको लागि रूप अनि अरूपको सारलाई बुझ्नको लागि मैले आफैँ नै आफूसित एक ठूलो युद्ध लड़नु परेको थियो अनि त्यस युद्धमा मेरो साथ दिएका थिए, यी अनन्त प्रकृतिले | प्रकृतिले सुन्दर अनि कुरूपताको कुनै भेदभाव गर्दैन |” सत्य अनि सुन्दरताको गुढ रहस्यलाई हाम्रा सतही हृदयले बुझ्न र वाह्य चक्षुले देख्न असमर्थ छन् | यसका निम्ति तप, ध्यान, मानसिक एकाग्रता, तटस्थता, निस्पृहता आवश्यक हुन्छन् | मानव चरित्र निर्माणको एउटा मुख्य आधार प्रकृतिको उदारता र सहायकता पनि हो | प्रकृतिले मानव जीवनलाई सुख, शान्ति र समृद्धि प्रदान गर्नुका साथै आफ्नो उदारता अनुरूप मानव हृदयलाई पनि उदार बनाउँदछ, जसको फलस्वरूप स्वार्थ र सङ्कीर्णतादेखि माथि उठेर मानवमा उदात्त भावनाको स्फुरण भएको पाइन्छ | ‘मृष्मयनाद’ कथामा अहिल्या, सीता र रानी कौशिल्याका चरित्रबाट नारी हृदयको कोमल भावनालाई समग्र रूपमा नारी हृदयले मात्र बुझ्नसक्छ भन्ने विचार व्यक्त गरिएको छ | इन्द्रले गौतम ऋषिको भेषमा आएर अहिल्याबाट आफ्नो कामना पुर्ति गर्दछ, त्यसैसमय गौतम ऋषि आइपुग्छन् र सत्य कुरो प्रकासमा आउछ | पत्नीको चरित्रमा शंका गर्दै गौतमले उसलाई त्यागी दिन्छ ; सत्य जानेर अहिल्या जड़वत बन्छिन | अहिल्या ढुङ्गा बनेको कथाको पछाडीको सत्य बुझ्ने कति पुरुष हृदय छन् होला र? समाजले दोषी इन्द्रलाई देवताको आसनमा राखेर पुज्ने गर्छ र सत्य नबुझी श्राप दिने गौतमलाई महर्षिको उच्च स्थानमा राख्छ, अनि निर्दोष अहिल्याको शीलतामा शंका गर्दै उसलाई पतिता ठान्छ | यसैले सीताले ‘सत्य के हो ?’ भनेर सोधेको जवाफ अहिल्याले यसरी दिन्छिन्- “ सबैको अ-अफ्नो सत्य बेग्ला बेग्लै हुन्छन् , सत्य अनि असत्यको निर्णय गर्ने शक्ति यो संसारमा कसैसँग छ ?” प्रजालाई विश्वास दिलाउनका निम्ति रामले सीताको अग्निपरीक्षा लिन्छन् | आदर्श र मर्यादा रक्षार्थ गर्भवति पत्नी सीतालाई जङ्गलमा बाल्मीकि आश्रममा छाडिदिन्छन् र उसैलाई समाजले पुरुषोत्तम मान्दछ | तर सीता भन्छिन्, “म रामको लागि दोषीको स्थानमा उभिए, स्वयंका लागि होइन्” | कुनै पनि व्यक्तिको प्रतिष्ठाको आकलन उसको जीवन-मूल्यद्वारा गरिन्छ | जीवन सत्य र आदर्शद्वारा संचालित हुन्छ, अनि यसैद्वारा जीवन-मूल्य स्थापित हुन्छ | कुनै पनि नारीले आफूलाई पूर्णरूपले समर्पित गरे पनि पुरूषमा अझ बेसी पाउने इच्छा सदैव रहेको देखिन्छ, सीताले जब यस सत्यलाई बुझिन तब उनमा नारीत्वको आत्मसम्मान जागृत हुन्छ अनि राममा आत्मसमर्पित हुनुको सट्टा आफूलाई भूमिपुत्री मानेर धरतीको गर्भमा विलिन हुन्छिन् | ‘सैकत कुम्भ’ कथामा रेणुकाले परपुरुषलाई हेर्दा मात्र पतिव्रत भङ्ग भयो भनेर क्रोधित जमदग्नि ऋषिले आफ्नो छोरा परशुरामलाई आमाको शिर काट्ने आदेश दिन्छन् अनि छोराले पिताको आज्ञा पालन गर्दै आमाको शिर काट्छ, आधा शिर काटिएपछि ऋषिको क्रोध शान्त हुन्छ र छोरालाई रोक्छन् | पौराणिक कथामा यसलाई पौरुषेय कार्य ठानिएको छ | धेरै महिनासम्म मृत्युसित संधर्ष गरेर अनि वनका अदिवासी स्त्रीहरूको सेवाले रेणुका बाँच्छिन | पति र पुत्रबाट त्यागिएकी रेणुकाले आफ्नो आत्माबल,कर्मठता र स्वावलम्बनले स्वाभिमान अर्जन गरेकी छन् | स्वाभिमानले नै कुनै पनि नारीलाई नौनी जस्तो कोमलताबाट फलाम जस्तो कठोर बनाउनसक्छ | ‘विमुखता’ कथामा रामायणको कथामा ओझेलमा परेकी भरतकी पत्नी उर्मिलाको कथा पाइन्छ | रामायणकी मुख्य नारी पात्र सीता झै उर्मिलाले पनि लक्षमण आफ्ना दाजु र भाउजुसित वनवास जाँदा चौध वर्ष एकलै विरहिणी भएर एकान्तवास गरेकी थिइ | लक्षमण वनवास जाँदा उर्मिलाको विचार जान्ने आवश्यकता बोध कसैले गरेनन, न उसलाई एकवचन सोध्ने काम नै गरियो | रामसित वनवास जाने सीताको त्यागलाई समाजले उच्च दृष्टिले हेर्ने गर्छ तर उर्मिलाको व्यथालाई अदेखा गर्छ | उर्मिलाको वेदना व्यथालाई यस कथामा प्रस्तुत गरिएको छ | शुरूमा क्रोधवश उर्मिलाले आफैँलाई कोठाभित्र थुनेर राखेकी थिइन तर त्यही एकान्तवासबाट बिस्तारै उनले इर्ष्या, द्वेष, प्रेम माझको भेद बुझिन | अधिकार र बन्धनबाट मुक्त भएर नै मानिसले आफ़्नो अन्तरआत्मालाई चिन्न सक्छ र आफ्नो अस्तित्व बुझ्न समर्थ बन्छ भन्ने गुढ रहस्य बुझ्न सकिन अनि सीतालाई पनि बुझाउन सफल बनिन | यसैले लव र कुशलाई रामले स्वीकारे पछि एकली भएकी सीतालाई ‘ लोकको सामु आफू निर्दोष भएको प्रमाणित गरेमा पटरानीको पद प्राप्त हुनेछ’‘ भन्ने सन्देश पाँउदा पनि उनले कुनै उद्वेग, पीढा, कष्ट र अपमान बोध गरिनन् | ‘बन्धित’ कथामा कर्त्तव्य र प्रेम माझको द्वन्द्वमा राम फसेका छन् | वंश परम्पराअनुसार जेष्ठपुत्रलाई प्राप्त हुने राज्यधिकारलाई स्वीकार गर्नु नै रामको पहिलो कर्त्तव्य थियो | आर्यधर्म, क्षत्रीयधर्म, राजधर्म निर्वाह गर्नुपर्दा रामले चाहेर पनि आफ्नो हृदयको कुरा सुन्न सकेनन् यद्धपि पटक पटक सीताले रामको मर्यदा रक्षा गर्नकै निम्ति अपमान सहेर अग्निपरीक्षा दिनु, गर्भवती अवस्थामा वन जानु, लव र कुशलाई हरेक क्षेत्रमा सक्षम बनाएर रघुवंशको उत्तराधिकारीका रूपमा रामलाई सुम्पिनु जस्ता कार्य स्वीकार गरेकी थिइन् | अनुवादको प्रवृत्ति र प्रकृति :- सन् २०११ मा प्रकाशित तेलुगु भाषामा लेखिएको भोल्गाको विमुखता कथा सङ्ग्रहले सन् २०१५ को साहित्य अकादमी पुरस्कार प्राप्त गरेको हो | यो कथा सङ्ग्रह विभिन्न भाषामा अनुवाद भएको छ | यसको अङ्ग्रेजी अनुवाद ‘द लिबरेसन अफ् सीता’ लाई अनेकौं विद्वानहरूले चर्चा गरेका छन् ; अनि सन् २०१३ मा वीणाश्री खरेल प्रधानले यस कृतिलाई नेपालीमा अनुवाद गरेकी हुन् | आफ्नो अनुवाद कार्यमा वीणाश्री खरेलले हिन्दी भाषामा अनूदित ‘विमुखता’ लाई स्रोत भाषाको रूपमा लिइएकी छन् भने नेपाली भाषा लक्ष्य भाषाको रूपमा रहेको छ | मूल भाषाबाट कुनै अन्य भाषामा गरिएको अनुवाद कृतिबाट अनुवाद गरिए त्यसलाई परोक्ष अनुवाद भनिन्छ अर्थात् कुनै पाठ वा कृतिलाई मूल भाषाबाट अनुवाद गर्नका साटो मध्यवर्ती पाठबाट अनुवाद गरिएमा त्यो परोक्ष अनुवाद हुन्छ | भोल्गा रचित ‘विमुखता’ मूल तेलुगु भाषामा लेखिएको छ अनि वीणाश्री खरेलले हिन्दी भाषामा गरिएको अनूदित पाठबाट नेपालीमा अनुवाद गरेकी हुन् यसैले यस अनुवाद कार्यलाई परोक्ष अनुवादको उदाहरण मान्न सकिन्छ | अनुवादक वीणाश्री खरेलको अनुवाद पाठमा मूल पाठमा दिइएको सामग्री वा सन्देशको पूर्ण प्रेषण भएको पाइन्छ | सरल र सरस भाषाशैलीको प्रयोगले कृतिको मूल आशय सम्प्रेषणीय बनेको छ | कतिपय ठाँउमा उनले झर्रो भाषा प्रयोग गरेका करणले अनुवाद प्रभावकारी पनि बनेको छ | जस्तै: ”मेरा प्रिय राम ! सीतालाई एकपल्ट अधाउञ्जेल आँखाभरि हेर्छु (पृ.३६); “निभेका अङ्गार हरर जल्यो” (पृ.९४); भारी बिसाएको स्थितिलाई शरीरले प्रथमपल्ट अनुभव गर्यो” (पृ. १०१); त्यससमय सीतालाई आफ्नो आँखामा लुकाएर राखेका थिए रामले” (पृ.१०२); “रामकी आँखाकी नानीलाई अपहरण गरेर लाने राक्षस त्यति कोमल पनि थिएन” (पृ. १०३); केहीदिनपछि त्यो घाउ थाक्नेछ” (पृ. १०५); त्यही घाउलाई अझ नुनचुक दलेर गहिरो काटेर, सीतालाई वन पठाइदिए” (पृ.१०५); रामको ढुङ्गा बनेको मन पग्लिने सम्भावना छ” (पृ.१०६) इत्यादि | यद्धपि यस पाठमा कतिपय व्याकरणिक त्रुटिहरू पनि पाइन्छन् | जस्तै: “सीताको आँखा दीयो जस्तै प्रज्ज्वलित थिए” (पृ.१८); “आमा त्यो बघैंचा जति सुन्दर छ, त्याहाँकी मालिकनी त्यति नै कुरूप छ” (पृ. १९); “लवले कुशको राय जान्न चाह्यो” (पृ. २०); “यसरी किन आन्दोलित हुनुभएको?” (पृ.४३ ); “पूर्णरूपले मनलाई प्रचालन गर्न सक्नेछु” (पृ. ५०) इत्यादि | निष्कर्ष, पौराणिककालका नारीका जीवन भोगाइ र जीवनवृतलाई लिएर नारीकै केन्द्रीयतामा यस सङ्ग्रहको रचना भएको छ | शारीरिक बनावट अनि मानसिक र भावनात्मक रूपमा कमजोर ठानिने नारीले समयका चुनौतिहरूलाई स्वीकारेका छन् | परिस्थितिसँग तालमेल स्थापित गर्नमा पुरूषहरूको तुलनामा अधिक दह्रिलो र धैर्यवान् सिद्ध भएका छन् यस कथाका नारीहरू | स्वअस्मिताका लागि सचेत भइ आत्मनिर्णय लिनसक्ने नारीहरूको वर्णन छ | यस कृतिले विभिन्न दृष्टिकोणमा मानवीय चिन्तनका भिन्न भिन्न आयामहरू उद्घाटित गरेको छ अनि उत्तरआधुनिक वैचारिक धरातलमा उँभिएर परम्पागत मूल्य र मान्यताको विरोध गर्दै नवीन मूल्यहरू स्थापना गरेको छ | यस कृतिका नारी पात्राहरूका मनमा भएका आत्मगौरवको भावना आधुनिक नारीका मनका भावना हुन् | भारतीय नारीहरूको अघि सैद्धान्तिक र व्यावहारिक अनेकौं प्रश्नहरू छन् | नारी अस्तित्वको निम्ति लडाइँ कसैको व्यक्तिगत लडाइँ होइन अनि पुरूष जाति विरुद्ध लडाइँ पनि होइन | पितृसत्तात्मक मानसिकताविरुद्ध यो एउटा सामाजिक लडाइँ हो | वर्तमान समयमा नारी भावनामा क्रान्तिकारी परिवर्त्तन आएको छ | आजका नारीको आफ्नै व्यक्तिगत सत्ता र पहिचान छ | आधुनिक नारी आफ्नो मूल्य र महत्त्वप्रति सचेत छन् एवम् वौद्धिक धरातलमा आफ्नो छुट्टै व्यक्तित्व बनाइराख्न सचेष्ट छन् | #डा. राजकुमारी दाहाल #वीणाश्री खरेल प्रधान
छन्दकविता हराउनुमा पाठकले छन्द पढ्न नजान्नु, सुन्न मात्र जान्नु मुख्य समस्या हो: छन्द कवितामा तपाईंलाई रूचि छ भने मनोज भण्डारी कुनै नौलो नाउँ होइन तर कवितामै रूचि छैन भने चाहिँ पछिल्लो छिमलका यी कविका बारेमा तपाईंलाई परिचय दिलाउनै पर्ने हुन्छ। “ईश्वरलाई चिठी” कविता सङ्ग्रह प्रकाशित भएयता नै मनोजको चर्चा नयाँ पुस्ताका चर्चित छन्द कविको रूपमा परिचय स्थापित भइसकेको छ । वाचनमा बलियो पकड राखेका कारणले नै उनलाई छन्द कवितामा रूचाइएको पाइन्छ । युवापुस्तामा छन्दको मोह घट्दै गइरहेको अवस्थामा उनको लोकप्रियताबाट यो विधा संकटापन्न छ भन्नेहरूलाई एउटा जवाफसमेत बन्न पुगेको छ । आफ्नो विशेष वाचन शैलीले मोहित पार्न सक्ने कवि भएकै कारण मनोजलाई यतिबेला विभिन्न काव्यगोष्ठीहरूमा भ्याइनभ्याई हुने गरेको छ । प्रस्तुत छ, उनै मनोज भण्डारीसँग साहित्यपोस्टका लागि निरज दाहालले गरेको अन्तरङ्ग संवादको सम्पादित अंशः छन्द कविता लेखिरहनुभएको छ । पहिलो सङ्ग्रह “ईश्वरलाई चिठी” प्रकाशित छ । भन्छन्, पहिलो सङ्ग्रह एउटा कविका लागि अगाडिको बाटो तय गर्नका लागि प्रस्थानविन्दु पनि हो । कस्तो प्रतिक्रिया पाउनुभयो ? अगाडिको बाटो कस्तो देखिरहनुभएको छ ? राम्रा प्रतिक्रिया पाएँ । किताब छापिइसकेपछि लोकप्रिय भएमा म फलानो किताबको लेखक हुँ भन्ने, नभए मेरो फलानो किताब छ भन्ने । यिनै दुई कुरा रहेछन् । मैले दुवै भनेँ । अरू धेरै फरक मलाई परेन । छन्द कविका रूपमा परिचय स्थापित गर्नुभएको छ । तपाईंको वाचन पनि विशेष देखिन्छ । तपाईंको पृष्ठभूमि र प्रेरणाबारे अलिकति बताइदिनुस् न? मेरा बुवाको स्वर मीठो छ । माइला बा आफ्ना बैँसमा गजब कविता लेख्नुहुन्थ्यो । दुवैको अलिअलि आनुवंशिक गुण सरेको होला । देवघाटका गुरु र साथीहरूकै देन हो, मेरो कविताको उत्थान चाहिँ । एक जना हरि दाइ हुनुहुन्थ्यो, उहाँ नै हो मलाई छन्दको बिउ रोपिदिने । गायन चाहिँ मेरो कामचलाउ नै हो । देवघाट छँदा सच्चिदानन्द गुरुसँग थोरै सङ्गीत सुँघ्न पाएँ । अझै धेरै सिक्नुपर्ने छ । छन्द कवितामा समर्पित हुनुभएको छ । छन्दकै जगमा टेकेर यहाँसम्म आएको हो नेपाली कविता । बीचमा गद्यको भेलबाडीमा नेपथ्यमा पनि पर्यो छन्द तर के अहिले छन्दको बेला आएको हो ? यसअघि छन्द कविता नेपथ्यमा पर्नुका कारण के होला जस्तो लाग्छ ? पाठकले छन्द पढ्न नजान्नु, सुन्न मात्र जान्नु नै मुख्य समस्या हो जस्तो लाग्छ । प्रविधिले कवितालाई हातबाट कानमा पुर्याइदियो । छन्दकविता फेरि बजारमा आयो । छन्दकविले कविता नलेखेर छन्द मात्रै लेखे । यो अर्को कारण हो । एकथरि समालोचकहरू अपवाद बाहेकका छन्द कविहरू विचारको नवीनता वा उच्चतामा भन्दा पनि छन्द, गण, लय आदि उपकरणमा अल्झिए, र कविता परम्परागत भासबाट मुक्त हुनै सकेन भन्छन् । यसमा तपाईंको कुनै टिप्पणी ? सही हो । यसमा मेरो सहमति छ । तपाईंको प्रश्नमा “अपवाद बाहेकका” नभएर “थुप्रै” भएको भए राम्रो सुनिने रहेछ । धेरैजसो छन्द कविहरू संस्कृत वा नेपाली भाषा र पूर्वीय वाङ्मयकै विद्यार्थी छन् । सबै कवि उस्तैउस्तै पृष्ठभूमिबाट आउँदा कविताको कथ्य पनि उस्तै हुने डर हुँदैन र ? छन्द कविहरू अन्तर्राष्ट्रिय परिवेशबाट किन विमुखजस्ता देखिन्छन् ? यहाँको प्रश्नले मलाई बोल्नै दिएन । घाउमै अँठ्याइदिनुभयो । मैले पहिचान गर्न नसकेको समस्या तपाईंले समात्नुभयो । धन्यवाद । हामी आफूले पढेकोमा घमण्ड मात्रै गर्ने, त्योबाहेक पनि संसार छ भन्ने नठान्ने भयौं । यो सब अध्ययनशीलताको कमी हो । यो मेरै कथा हो । देवनागरीमा लेखिने बाहेकका साहित्य त मैले पढेकै छैन भने पनि हुन्छ । अनि म कसरी विश्वसित प्रतिस्पर्धा गर्छु ? विश्व कहाँ पुग्यो भन्ने मलाई कसरी थाहा हुन्छ ? [bs-quote quote=”त्यो कार्यक्रम अन्तर्राष्ट्रिय हो । कवि अन्तर्राष्ट्रिय हुन् । कविता अन्तर्राष्ट्रिय होइनन् । अन्तर्राष्ट्रिय शब्दको कसरी व्याख्या गर्ने भन्ने हो ? म पनि दुई देशमा बस्ने कवि, अन्तर्राष्ट्रिय कवि भैगएँ नि ! तर मेरो कविताको स्तर अन्तर्राष्ट्रिय छैन । त्यसैले म अन्तर्राष्ट्रिय कवि होइन ।” style=”default” align=”left” color=”#dd3333″ author_name=”मनोज भण्डारी” author_job=”छन्दकवि”][/bs-quote] पछिल्लो समय प्रविधिबाट थुप्रै कविगोष्ठी भइरहेका छन् । छन्दविशेष गोष्ठी पनि भए । कविता सुनियो । “अन्तर्राष्ट्रिय” भनिए पनि धेरैजसो कविताको स्तर खासै छैन । यस्तै कविताले नेपाली छन्द कविताको गरिमा बढाउला ? (हाँस्दै) ती कार्यक्रमहरूका बारेमा तपाईंको गलत बुझाइ रहेछ । मेरो पनि थियो । त्यो कार्यक्रम अन्तर्राष्ट्रिय हो । कवि अन्तर्राष्ट्रिय हुन् । कविता अन्तर्राष्ट्रिय होइनन् । अन्तर्राष्ट्रिय शब्दको कसरी व्याख्या गर्ने भन्ने हो ? म पनि दुई देशमा बस्ने कवि, अन्तर्राष्ट्रिय कवि भैगएँ नि ! तर मेरो कविताको स्तर अन्तर्राष्ट्रिय छैन । त्यसैले म अन्तर्राष्ट्रिय कवि होइन । जानकारहरू भन्छन्, पूर्वीय दर्शनका अधिकांश कुरा भारतीय कविताले लेखिसक्यो । अन्तर्राष्ट्रियकरण पनि गरिसक्यो । वेद, पुराण, महाभारत, रामायण वा उपनिषद्का कुरा पश्चिममा पनि पुगिसक्यो । नेपाली कविता कहाँनिर टेकेर मौलिक हुन सक्छ जस्तो लाग्छ अबका दिनहरूमा? पूर्वीय दर्शन दुवैको साझा सम्पत्ति हो । यो भारतको मात्रै होइन । यो कुरा संसारलाई बुझाउन सकिने अवस्था छैन । अब पूर्वीय दर्शनलाई संसार Indian Philosophy भन्छ । हाम्रो शास्त्रीय सङ्गीतलाई Indian Classical Music भन्छ । भारतले पूर्वको सबै जस आफूले लिएको छ । यो बडो विडम्बना हो । यो हाम्रो निष्क्रियताले भएको हो । थप कुरा, हामीसित त्योबाहेक के छ त ? वेद भारतले हाम्रो भन्ला, त्रिपिटक तिब्बतले हाम्रो भन्ला । हामीसित मुन्धुम त छ नि ! कविताका लागि हामीसित हाम्रा चोख्खा कुरा छन् । यसो भनेर पूर्वीय दर्शनलाई भारतको जिम्मामा छोडिदिने त ? यो पनि त हुँदैन । हाम्रा आफ्ना जति त सबै आफ्ना हुन् । यसमा पनि virgin इँट्टा छन् । तीबाट पनि हाम्रो कविताको घर बनाउन सकिन्छ । संस्कृत प्रशिक्षण पनि गरिरनुभएको छ । कस्तो देख्नुहुन्छ संस्कृतको वर्तमान र भविष्य ? वर्तमान ठिकठिकै । भविष्य उज्ज्वल छ । संसार संस्कृत खोज्दै नेपाल आउनेछ । भारतले गन्ध पनि नपाएको संस्कृतको खजाना हामीसित छ तर अनुसन्धान र प्रकाशन हाम्रो साह्रै लोइरो छ । गर्दै गरौँ, गरेपछि हुन्छ । तपाईं कतिपय अनुज कविहरूलाई बाटो देखाइरहनुभएको छ । नयाँ पुस्तासँग तपाईंको आशा वा विश्वास कस्तो छ ? नयाँ पुस्तासित आगो छ । त्यो आगोले अँध्यारोमा उज्यालो बनाइदिन्छ । आफू त्यो आगोबाट बच्नु चाहिँ जरुरी छ । छन्दकविता गुरुशिष्य परम्परामा टिकेको छ । गुरुसँग सबै दुहुन शिष्यले सक्नुपर्छ । त्यसका लागि अलिकति धैर्य चाहिन्छ । आफू बलियो नभई प्रचारप्रसारमा जानु एउटा रोग हो । यसबाट मुक्त हुनु पर्यो । अरू गजब छ । कवितामा यहाँका भावि योजना के छन् ? मेरो भावि योजना लेखन नै हो । किताबबारे मेरो सोच छैन । भएछ भने हेरौंला पनि । शास्त्री पढ्दाताका महाकाव्य सुरु गरेको थिएँ । बनारस जानुपर्यो, अनि छुट्यो । समय भएछ भने त्यता पनि सोचुँला । #छन्दकविता #निरज दाहाल #मनोज भण्डारी
फोटो कविता प्रतियोगिता ६ का लागि कविता आह्वान: विमल नेपाल साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको छैटाैँ संस्करणका लागि कविता आह्वान गरिएको छ । अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका तस्बिर हेरी कविता लेख्ने यो प्रतियोगिताका पाँच संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । छैटौँ संस्करणका लागि तल प्रकाशित तस्बिर हेरी तलको कमेन्ट बक्समा सहभागीहरूले कविता पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागी हुनेहरूले यसअघि यसै पेजमा कविता नराखेर फेसबुक, इमेल तथा अन्य माध्यमबाट कविता पठाउनु भएका कारण ती कविता प्रतियोगिताभित्र नपरेको साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले जानकारी दिएका छन्। प्राप्त कविताहरू मध्येबाट तीन वटा उत्कृष्ट रचनाहरु चयन गरिनेछ । यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो-कविता स\u200cंग्रहका रुपमा प्रकाशित गरिनेछ । हरेक आइतबार कविताको नजिता प्रकाशन गरिनेछ भने यस प्रतियोगिताका लागि कविता पठाउने मिति आउँदो शनिबार अर्थात् असार १३ गते राति १२ बजेसम्म रहेको छ। यसपटककाे फाेटाे र कविताकाे विषय रहेको छः विदेशमा नेपाल सम्झेर पाैरख गरिरहेका पाैरखी मन । जसलाइ याे तस्बिरले संकेत गरेकाे छ । हेर्नुहोस् तस्बिर र तल… …कमेन्ट बक्समा कविता पाेस्ट गर्नुहाेस् । #फोटो कविता प्रतियोगिता
दि डार्क हाउस: बिपिन अर्याल जीवनमा होस् सम्हालेदेखि मैले खुसीको साथ एकपल पनि बिताउन सकिनँ । छ वर्ष हुँदा आमाले छाडिन्, न कहिल्यै आमाको खुसी नै महसुस गर्न पाएँ जीवनमा,आफ्नो भन्ने बामात्र थिए । बाको माया पनि दैवले चुडेर कन्छी आमासंग गाँसिदियो । भगवानले मेरो भाग्य बनाउँदा सायद दुःखको चुली मात्र पुर्पुरोमा भरेका रहेछन्, त्यसैले आज यस्तो दिन देख्नु पर्यो । सारा दुःख किशोरावस्थामा नै भोग्नुपर्यो, जतिबेला खेल्ने कुद्ने रहर हुन्छ । घरवरिपरि गाउँ नै जम्मा भएको थियो । बालाई तुलसीमठमा ’बोलाए हजुर’ भन्ने भावमा राखिएको थियो । हरेकको अनुहारमा अचम्म र दुःखको अनुभूति थियो । यो माइलाले कसरी आत्महत्या गर्न सकेको होला ? आफ्नो परिवारलाई पनि सम्झेन यसले, एउटी भएकी छोरी र माईली के आधार बाँच्लान ? केही वर्षअघि ठूलीले पनि संसार छाडिन् । यिनका परिवारले अघिल्लो जन्ममा कस्तो पाप गरेका रहेछन् नि बाबै, यो जन्ममा यतिका दुःख भोग्नु परेका ! म पिँढीमा अर्धमृत मुद्रामा थिएँ । बज्रपातले भक्कानिएको जस्तो । पानीबाट झिकेको माछा बगरमा छट्पटाएजस्तो । मेरा आँखाहरुमा डर थिए । कहालिलाग्दो कहर र बिडम्बनाको बाढीले मेरा मनभित्रको डरका बाँध भत्काउनुको सट्टा, झनै बलियो बनाएको थियो । समाजले बालाई आत्महत्याको दोषी ठहर्याएको थियो । बाले आत्महत्याको कल्पना पनि गर्न सक्दैनथेँ, “मेरा बा सहनशक्तिका प्रतिमुर्ति थिए । आखिर अति भएपछि मुर्तिले पनि चल्न बाध्य हुनेरहेछ ।“ वर्षाको समय थियो । बा राति खेतमा पानी मिलाउन गएका थिए । आकाशबाट भीषण पानी परिरहेको थियो । म रेडियोमा गित सुन्दै थिएँ । माथिल्लो कोठाबाट असहज चिच्याहट आइरहेको थियो । म बिस्तारै माथिल्लो कोठामा पुगेर ढोकाको चरबाट चिहाएँ । आमा गैरपुरुषसंग अर्धनग्न अवस्थामा सिरकभित्र गुटमुटिएकी थिइन । मेरा आँसुका ढिक्का बरर…. खस्न लागे । म आफ्नो कोठामा पुगेर सुतेको भान बनाएँ । त्यतिकैमा बा घर आइपुग्गे र सरासर माथि पुगे । बा पुग्नासाथ, म पनि पछाडि गइरहेको थिएँ । वास्नाको आगोमा लिप्त हुने किराहरूलाई डर र इज्जतको त्रास हुँदोरहेनछ । राक्षस भनेका पौराणिक कथाको खराब शक्ति भएको पात्रमात्र रहेनछ, दया माया नभएपछि मन्छे नै राक्षस बन्ने रहेछ । ती राक्षसहरूले बाको घाँटीमा पासो लगाए । बा छट्पटाइरहेका थिए, हातले पासो समाते, खुट्टा तलमाथि गर्दै जीवनको भीख मागिरहेका थिए बा । म डरले चिच्याउँदै भाग्न लागेको थिएँ, मलाई पनि समाते र घटनाको पोल खोले मारिदिने धम्की दिए । हरेक दिन बा अनि आमालाई सम्झदै एक वर्ष बित्यो । शरीर खिइएर हाड मात्र बाँकी थियो । घरको कामकाज सबै मैले नै गर्नु पथ्र्यो, नगरे कहिले तातो पानी त कहिले चुरोटका ठुटाले शरिरमा पोलिदिन्थे । नरोएको रात थिएन । रक्सीको मातमा दुवै जान मेराअगाडि नै गलत हर्कत गर्न थाल्दथे । प्रत्येक दिन घिनलाग्दो घटना दोहोरिइरहन्थो । आफूले गरेका हरेक पापको आरोप आमाले मलाई लगाउँथिन् । सुन्दरता खोज्न बत्तीमा आउँदा किराहरू बत्तीको तातोले जलेर मरेझैं, मैले हरेक खुसी खोज्दा आफू जलेर मर्नु पथ्र्यो । ईश्वर हुन्छन् भन्ने भीडलाई म र मैले पाएका सजाय एकाएक दिन चाहन्थेँ । अब गाउँमा हल्ला फैलने डरले आमाले मेरो विवाह त्यो पुरुषसंग गर्ने निर्णय गरिन्, जोसंग आमा हरेक दिन वास्नाको सागरमा डुबुल्की मारी रहन्थिन् । समाजमा मलाई चरित्रहिनको संघा दिएर आमाले मेरो बिहे राक्षससंग गराइदिइन्, त्यसलाई घरज्वाँइ राखेर आफू मोजमा बस्ने षड्यन्त्र रचेकी थिइन् । बाको हत्यारासंग बिहे गर्ने अथवा आत्महत्या गर्ने मेराअगाडि यी बाहेक अरु कुनै बिकल्प थिएन । मैले आत्महत्या गर्ने निर्णय गर्दै थिएँ, तर मैले सम्झिएँ । माकुराको बच्चाले आफू ठुलो हुँदैगएपछि माउलाई नै खाएको । यतिकैमा आँशु खस्न थाल्यो । त्यो रात मैले आफ्नो आँखाबाट खस्दै गरेको एउटा आँशुको थोपालाई प्रश्न गरेँ, “तिमि कहाँ जाँदै छौ ?“ आँसुले जवाफ दियो, “तिम्रो आँखामा निकै कहालिलाग्दो दृश्य छ । म त्यो हेरेर एकछिन पनि बस्न सकिनँ ।“ मेरा बाको निर्मम हत्याको दृश्य आँशुले पनि हेरेर बस्न सकेनछ, सायद । मैले बाको आत्मालाई न्याय दिने पुनः निणर्य गरेँ । भोलिपल्ट मेरो विवाह भयो । विवाहमा स्त्रीले गर्ने सारा श्रृङ्गार मैले गरेको थिएँ, तर मसंग विवाह गर्दा स्त्रीमा हुनुपर्ने कुनै गुण भने थिएन । थियो, त केवल बाको हत्यारासंग बदला लिने अठोट । विवाह सम्पन्न भयो राति, उनीहरु मस्तीमा थिए । मलाई खाना बनाउन लगाई आफूहरु उत्सव मनाइरहेका थिए । म पनि उनीहरुको मृत्युअघिको उत्सव मनाइरहेको थिएँ । खानामा विष मिलाइदिएँ । खाना खाएर सक्नासाथ उनीहरू आफ्नो कोठामा गए । म नजिकैको काठ चिर्ने बन्चरो हातमा लिएर उही कोठामा पुगेँ । जहाँ बालाई तिनीहरुले हत्या गरेका थिए । उही कोठामा दुवै रगत वाक्दै थिए । पानी पुकारी रहेका दुवैलाई मैले बन्चरो प्रहार गरे नारीको कालीरूप झल्कने गरी । रातो सारीमा जताततै रगत थियो । रिसको आवेग पनि डरलाग्दो भाव रहेछ, यसले कुनै पनि समयमा कुनै पनि सम्बन्धलाई निमेषभरमै खत्तम पार्दोरहेछ । ‘म आजबाट स्वतन्न्त्र भए’, भन्दै खुसी उत्सव मनाउँदै थिएँ । बाको आत्मा सायद त्यो कोठाबाट सिमलको भुवासरि उठ्दै थियो । मैले धेरै पहिले गर्नुपर्ने काम अहिले गरेँ । अन्यायले न्याय पायो । म बा, आमाको साथमा जान चाहन्थेँ । उनीहरुको मायाको काखमा गुटमुटिन चाहन्थेँ । फेरि एकपटक पुनर्जन्म चाहन्थेँ । यो पटक भने म आमाको जीवनभरिको साथ चाहान्छु । मेरो जीवनले अर्थ बटुल्यो अब जीवनको रहर थिएन । मैले पनि घरबाट हामफालेर आफ्नै आँगनमा देहत्याग गरेँ । #बिपिन अर्याल
प्रकृति: मेरो सुगन्धले मात्तिएर ती काँड़ाहरू मलाई पर्खाल लाएर घेर्न निस्किएका छन् मेरो स्नेहले मात्तिएर ती काँड़ाहरू मलाई बाँड्Þन निस्किएका छन तर म त स्वतन्त्र छु ती वायु र नदीहरू झैँ कस्तो बुझ्न नचाहेको ती काड़ाहरूले म नै उसको सृष्टि हुँ भनेर म नै उसको बाककच्ने आधार हुँ भनेर । #प्रकृति #शंकर शर्मा
सपनाको फूल: भर्खर त हो नि ताते ताते गरी सारेको पहिलो पाइला तिम्रो साथ र अलिकति हौसलाले बाटो म पहिल्याउन सकूँला पक्कै, लडेर फेरि उठ्न सकूँला हिमालको शालीनता माथि झुकेको क्षितिज पहाडको तरेली अनि समथरको ती बस्ती खुट्याउन म आफैँ सकूँला तर, को पसेछ कुन्नि बगँैचामा घाइते छन् मेरा सपनाका फूलहरू इन्द्रेणीको रंग अलिकति सापटी लिएर जूनको शीतल मुनि सुम्सुम्याउँदैछु एक अन्जुली फूल राखेर अघिल्तिर भर्दैछु हृदयमा आफ्नै ब्यथाको रङ । #सपनाको फूल #सावित्री चौधरी
'ज्ञान र विद्रोह' नै युवाहरूको बाटो हो: नवीन प्राचीन युवापुस्ताका लोकप्रियमध्येका एक कवि हुन् | उनी हाल क्यानाडा बस्छन्, तर देश\\समाजमा विद्यमान विभिन्न कु(संस्कार), विभेद तथा राजनैतिक घटनाक्रमप्रति आलोचनात्मक भएर लेख्छन्\\बोल्छन् | उनको कविता संग्रह ‘उभिएर एक्लै ‘ प्रकाशित भएको करिब पाँच वर्ष पुगिसकेको छ | प्रस्तुत छ, युवापुस्ताका लोकप्रिय कवि नवीन प्राचीन सँग जात व्यवस्था, नवपुस्ता र उनीहरू भूमिका, साहित्यलगायत विषयमा साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेल ले गरेको अन्तरंग संवादको सम्पादित अंश; प्रवासमा बस्नुहुन्छ , देशको समसामयिक घटनाप्रति आलोचनात्मक देखिनुहुन्छ । देश भनेको के रहेछ ? परिभाषाहरूको ठेली पल्टाउँदा त यसको सहज जवाफ भेटिएला । व्यक्तिगतरूपमा चाँहि तपाईँको अवचेतनसम्म कुनै ठाँउ, भाषा, समुदाय र संस्कृति लगायत…लगायत… अनेक सूक्ष्म र बृहद् कुराहरूको तपाईँमाथिको प्रभाव र त्यसप्रति तपाईँको लगाव नै मानसिक तहमा तपाईँको देश होला । यसको सबैभन्दा छोटो जवाफ सायद यही हुन सक्ला । पछिल्लो समय जाति व्यवस्थालाई लिएर सञ्जालमा अभियान नै चलाइरहनुभएको छ । रुकुममा घटित विभत्स नरसंहार पहिलो त थिएन , तर तपाईँलाई यसले बढी चिमोटेको हो ? जात व्यवस्था र विभेदले जकडिएको समाजमा रुकुम र रुकुमजस्तै नरसंहार कुनै अनपेक्षित घटना होइनन् । हामीले विभेदलाई जसरी संस्थागत गरेका छौँ, समयसँगै यसका विष्फोट अझ भयानक हुन सक्छन् । इमान्दार भएर भन्नुपर्दा म बढी झस्किएको चाहिँ रुकुम घटनासँगै सुरुभएको यसको ब्याख्याबाट हो । समाज खुकुलो, समावेशी र उदार हुँदै गरेका भाष्य जबर्जस्ती स्थापित गराइँदै गएका बेला मेरो अपेक्षा थियो, चेतनशील भनिएका युवा र बुद्धिजीवी एकठाउँमा उभिएर आफ्ना कमजोरी स्विकार्नेछन्, हाम्रो संरचना र यसले आफूसमेतलाई पारेका कुप्रभावबारे आफ्ना सहजताबाट बाहिर आएर खुला छलफल गर्नेछन् । सदियौँको विभेदमा जान र अन्जानमा आफ्नो संलग्नताका निम्ति सम्बन्धित समुदायसँग माफ माग्नेछन् । तर, कुनै पनि सामान्य चेत हुने न्यायप्रेमी नै तर्सिने गरी जसरी सामाजिक संजाल तात्यो, र कथित लेखक, अभियन्ता र बुद्धिजीवीहरू आफ्नो वर्चश्व जोगाउन कि गलत ब्याख्या कि मौनताको सहारा लिन थाले, त्यसले मलाई चुप लागेर बस्न दिएन । यो घटनाले उदांगो पारेको छ, हाम्रो समानता र न्यायको लडाइँ अझै कति लामो छ । अहिले बाहुनवाद वा ब्राह्मणवादलाई लिएर पनि बहस उठिरहेको छ । गैरदलित र दलित भनी कित्ताकाट गरेरै सञ्जालमा चर्को बहस पनि चलिरहेकै पनि छ । बाहुनवादले कुनै एक समुदायलाई लक्षित गर्यो पनि भनिन्छ नि ! तपाईँलाई के लाग्छ ? यो ब्राम्हणहरूले हिन्दु वर्ण र जात व्यवस्था अन्तर्गत इतिहासमा पाएको शिक्षा, ज्ञान प्राप्ति र ब्याख्यामाथिको झण्डै-झण्डै एकल स्वामित्वको अधिकार र त्यसका आधारमा राज्यमा पारिएका प्रभाव र संरचनागत हस्तक्षेपको विरासतमा सिर्जना भएको विशेषण हो । ब्राम्हणवाद अब कुनै समुदायमा मात्र सीमित छैन । यो शब्दले सबै ब्राम्हणहरूलाई अनि ब्राम्हणहरूलाई मात्रै पनि प्रतिनिधित्व गर्दैन । अहिले एकै समुदायभित्र हुनेगरेका विभेदको पनि चर्चा चुलिएको छ । विभेदकै कुरा गर्दा त ब्राह्मण र क्षेत्रीमा पनि छ । फरक समुदाय र एकै समुदायमा हुने विभेदबीच के तात्विक भिन्नता छ ? विभेद ब्राम्हण क्षेत्रीमा मात्रै हैन, ब्राम्हण भित्रै र परिवार भित्रै पनि छ । व्रतबन्ध गरेको ब्राम्हण र व्रतबन्ध नगरेका ब्राम्हणकै सामाजिक हैसियत फरक छ नि । हाम्रो समाजको हरेक तहमा विभेदले आफ्नो खुट्टो पसारेको छ । यो विभेदको जरो कहाँ छ ? यसको ऐतिहासिकता के हो ? भन्ने खोजी नगरी, निष्कर्ष ननिकाली हामी बहसको चुरोमा पुग्न सक्दैनौँ होला । एकै समुदायभित्रै हुने विभेद ‘तुलनात्मक रूपमा नरम’ मानिएको होला । फरक समुदायमा त दलन, घृणा र हिंसाकै रूपमा नै देखिइरहेकै छ । युवालाई जोडौँ, हाम्रो नवपुस्ता जाति व्यवस्थाको आधारमा हुने विभेदका विरुद्धमा एक भएको हो ? सञ्जाल हेर्दा त त्यस्तो लाग्दैन । कारण के हुन सक्छ ? तपाईँलाई जस्तै मलाई पनि त्यस्तो लाग्दैन । विभेद हुनुपर्छ भनेर खुलेर भन्ने हिम्मतचाहिँ केही कम भएको होला, तर विभिन्न (कु)तर्कको सहायता लिएर आफ्ना कुण्ठा र शासकीय अहं र वर्चश्वप्रेमचाहिँ छरपस्ट प्रकट गरेको देखिन्छ । यसो हुनुको पहिलो कारण त विषयप्रति प्रष्ट ज्ञान नहुनु नै होला । अहिलेको पुस्ता धेरै हदसम्म लाईक र कमेन्ट संख्याका आधारमा आफ्नो स्कृनसम्म आइपुग्ने कुरालाई नै ज्ञानको सम्पूर्ण स्रोत मान्छ । यसले सहि जानकारी र आलोचनात्मक चेत विस्तारमा खडा गरेको बाधा चिर्न नसक्नु अर्को समस्या होला । केहीबाहेक नयाँ पुस्ताको नियत नै खराब होला भन्नेचाहिँ मलाई लाग्दैन । तर हामीले धेरै कुरामा संरचनागत सुधार र हस्तक्षेप गर्न आवश्यक रहेछ भन्ने कुरा उनीहरूले गरेका बहसका प्रकृतिबाट थाहा पाउन सकिन्छ । परिवर्तनका लागि युवापुस्ताको भूमिका अहम हुन्छ । रुकुममा घटेको जस्तो विभत्स घटनाको पुनरावृत्ति हुन नदिन युवाले के गर्नुपर्छ ? पहिलो कुरा त हाम्रो समाजमा यस्ता घटना ‘किन’ घटिरहेका छन् भनेर सोच्न सुरु गर्नुपर्छ । यसले हामीलाई विषयको गहिराइतिर लान सहयोग गर्छन् । अर्को कुरा, सम्पूर्ण जडता (आफ्नैसमेत) का विरुद्ध उभिने साहस गर्नुपर्छ । ज्ञान र विद्रोह नै युवाको बाटो हो । त्यसले मात्र समाजलाई अघि लैजान्छ । विभेदको पहिलो स्कूल भनेको परिवार हो । सञ्जाल विद्रोह गर्नेहरू परिवारमा विद्रोह गरिरहेका छन् ? सञ्जालमा स्टाटस लेखेकै भरमा परिर्वनत सम्भव छ ? सञ्जालमा लेखेकै भरमा परिवर्तन सम्भव छैन । तर लेख्नु वा व्यक्त हुनु एउटा खुट्किलोचाहिँ अवश्य हो । त्यो तपाईँको विचारको दिशा कतापट्टि छ भन्ने कुराको संकेत हो । त्यसले तपाईँको आदर्शपट्टिको पाइलालाई सहयोग गर्छ । कुनै पनि कुरा व्यवहारमा लागू हुनुपूर्व तपाईँ सैद्धान्तिक रूपमा स्पष्ट हुनुको महत्त्व अत्यन्तै धेरै हुन्छ । तपाईँ जहाँ हुनुहुन्छ र सक्नुहुन्छ त्यहाँबाट सुरु गर्नुहोस्, भलै त्यो सामाजिक संजाल नै किन नहोस् । त्यसले तपाईँलाई बिस्तारै परिवारलगायत अन्य ठाउँसम्म विद्रोहको लागि तयार हुन कुनै न कुनै रूपमा सहयोग गर्छ । साहित्यको कुरा गरौँ, तपाईँको कविता संग्रह उभिएर एक्लै आएको पनि करिब पाँच वर्ष पुग्यो । कविता नै पनि छिट्फुटबाहेक पढ्न पाइनन् । लेख्न कम्ति गर्नुभएको कि पुस्तकको तयारीमा लाग्नुभएको हो ? म उसै पनि कम नै लेख्छु । अल्छि छु । धेरैले मैले लेख्ने नै कुरा लेखिरहनुभएको छ, र भनिरहनुभएको छ भने मैले त्यसैको मजा लिएर स्विकार्दा भैगयो भन्ने लाग्छ । भर्खरै यसो नोटबुकमा हेर्दा केही कविताहरू जम्मा भए जस्तो लागेको छ । विस्तारै तिनमा केही काम गर्ने सोच्दैछु | तर मेरो गति शंखेकिरासँग मिल्छ । देशमा आएका ठूला परिवर्तनका एक हिस्सा साहित्य, त्यसमा पनि कवि र कविताहरू पनि थिए । अबको समाजले परिवर्तनका लागि कस्तो साहित्य मागेको छ ? तपाईँलाई लाग्छ, कविताले मात्र परिर्वतन सम्भव छ ? समयले मागेको बारेचाहिँ मलाई अलि कम नै थाहा हुन्छ । समयलाई तपाईँ के दिन चाहनुहुन्छ, त्यो दिनुस् भन्ने हो । तपाईँ समाजको कुन क्षेत्रमा र कुन तहमा हस्तक्षेप गर्न चाहनुहुन्छ भन्ने कुरामा तपाईँको प्रश्नको जवाफ फरक पर्ला । बृहत् समाजलाई सिधा हस्तक्षेप र सम्बोधन गर्ने कुरामा राजनैतिक र सामाजिक मुद्दा महत्वपूर्ण होलान् । बिस्तारै अथवा परोक्ष ढंगले समाजलाई हस्तक्षेप गर्ने सवालमा समाजको शुक्ष्म इकाई व्यक्तिलाई एक्लै अथवा व्यक्तिगत तहमा सम्बोधन गर्ने उपाय प्रभावकारी होला । तपाईँको पहिलो वाक्यमै दोश्रो प्रश्नको जवाफ छ, सायद । कविताले मात्र अथवा कुनै पनि ‘मात्र’ ले बृहत् परिवर्तन सायद सम्भव छैन । आफैँ पनि युवा हुनुहुन्छ । नवपुस्तासँगको संगत पनि राम्रै देखिन्छ । अहिलेका साहित्यका नवपुस्तालाई कसरी हेरिरहनुभएको छ ? विश्व साहित्यमा हस्तक्षेप राख्न सक्छन् ? सामाजिक संजालको ‘वाह’ संस्काररलाई कमेन्टको बजारे अतिरंजना र स्वार्थी अग्रजहरूको अति प्रशंसा, आलोचना र मौनतालाई सामान्य कुरा मानेर निजत्वको विकास र साधनामा ध्यानदिने हो भने समय अब हामी जस्तै विषयका विविधता र गहनता भएका मुलुकका युवाको हो । #कृष्ण ढुङ्गेल #नवीन प्राचीन
आँशुका हकदार: आज म मलाई छोडेर जाने ज्ञानीका कुरा गर्दिनँ । न त आजभोलि च्याटमा आएर हरेक पल केके-केके गन्थन गरिरहने निक्कीका कुराहरु सुनाउँछु । मत आज चिया पसलमा बसेर सुनेका गफहरुको फेहरिस्त पनि यहाँ राख्दिनँ । पछिल्लो हप्ता बलिउड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबरले संसारलाई नै स्तब्ध बनाएको थियो । त्यसपछि देखिएको सामाजिक संजालका प्रतिक्रियाहरुले हामीलाई फेरि मानसिक स्वास्थ्यका कुराहरुमा सोच्न बाध्य बनायो । मलाई पनि आज यसैको बारेमा केही कुराहरु गर्न मन लाग्यो । जब-जब कुनै चर्चित सेलिब्रिटीले आत्महत्या गरेको खबर आउँछ तब मानिसहरु भावुक बन्न पुग्दछन् । सहानुभूतिका शब्दहरु, श्रद्धान्जलीका फूलहरु संजालभरि चढाइएका देख्न पाइन्छन् । आँशुका थोपाहरुले इन्स्टाग्राम र फेसबुक भिजेका पाइन्छन् । अर्काथरी मान्छे हुन्छन्, जो यसलाई केवल ढोंगका रुपमा हेर्दछन् र भन्छन्, “बाँचुन्जेल बाँच्न दिएनौ, कहाँ दुखेको छ सोध्ने चेष्टा गरेनौ, अहिले आएर गोहीका आँशु खसाल्छौ ?” केही मान्छेहरु त अझै भन्छन्, “यहाँ खान नपाएर कति मान्छे मरेका छन् । हाम्रै देशमा पनि आत्महत्या गरेर कति मान्छे मरेका छन्, तिनीहरुले चाहिँ तिमीले खसाल्ने आँशुहरुमध्ये दुईचार थोपा पनि डिजर्भ गर्दैनन् र ?” [bs-quote quote=”हरेक मृत्युहरु उत्तिकै दुःखदायी हुन्छन् तर आफ्नो ठानेको मान्छेको मृत्यु ज्यादा अप्रत्यासित लाग्दो रहेछ । हामीले पर्दामा हेरिरहेको, हामीलाई अनेक कर्महरुबाट प्रेरणा दिँदै आएको मान्छे अस्ताउँदा अलि बढी नै दुख्दो रहेछ ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] हो त, तिनीहरु पनि हाम्रा आँशुहरुका हकदार हुन् । तिनीहरुका समस्या पनि हाम्रा लागि सेलिब्रिटीहरुकाझैं चर्चायोग्य हुन् । तर जसरी कोही देखिरहेको आफ्नो मान्छे यो दुनियाँबाट अस्ताउँछ, जब आफूलाई हरतरहले प्रभाव पारेको मान्छे कहिल्यै नफर्किने लामो यात्रामा जान्छ, तब हामीलाई त्यस वियोगले ज्यादा पोल्दछ । हरेक मृत्युहरु उत्तिकै दुःखदायी हुन्छन् तर आफ्नो ठानेको मान्छेको मृत्यु ज्यादा अप्रत्यासित लाग्दो रहेछ । हामीले पर्दामा हेरिरहेको, हामीलाई अनेक कर्महरुबाट प्रेरणा दिँदै आएको मान्छे अस्ताउँदा अलि बढी नै दुख्दो रहेछ । मलाई सुशान्तको अन्त्यले यसकारण पनि झस्कायो कि उनको ‘सोनचिडिया’ भन्ने फिल्म मैले उनको मृत्युको दुई दिनअघि मात्र हेरेको थिएँ । आत्महत्त्या विश्वव्यापि रोग भएर बसेको छ तर हामी आत्महत्या गर्नेलाई कायर भनिरहेछौं । जिन्दगीको भागदौडबाट अत्तास्सिएर उम्किन खोज्ने काँतर भनिरहेछौं । के कहिल्यै सोध्यौं हामीले उसलाई, तिम्रो जिन्दगी किन हाम्रोभन्दा फरक छ भनेर ? हामीसँग माया गर्ने परिवार छ, खान लगाउन दुःख छैन, हाँस्न खेल्न बन्देज छैन । मनका कुरा सुनिदिने मान्छे छन् । हाम्रो वरिपरि भएर पीरहरु हिँड्नै मान्दैनन् । कष्टका बादलहरु कहिल्यै हाम्रा छतमाथिबाट मडारिँदैनन् । त्यसैले त हामीलाई सजिलो छ, फ्याट्ट जजमेन्टल भएर भनिदिन, “केही दुःख थियो भने त सुनाए भैहाल्थ्यो त परिवारलाई, झुण्डिनै पर्थ्यो र ?” उसले मर्नुअघि बाँच्ने उपायहरुका बारेमा सोचेन होला र ? थाहा थिएन होला र उसलाई, यो जीवन कतिबिघ्न रमाइलो छ भनेर ? बाँचेको भए उसले पनि त हेर्ने थियो होला कोरोनापछि कस्तो होला यो संसार भनेर । हेर्ने थियो होला, आफ्ना सपनाहरु पुरा भएको क्षण । के उसलाई रहर थिएन होला र पुरा आयु बाँचेर आफ्ना सन्ततिहरुले डाँडाकाँडा ढाकेको हेर्ने ? जसरी मलाई विश्वकप फुटबलकै लागि भए पनि अर्को अनि अर्को, अनि फेरि अर्को गरेर चार-चार वर्षको किस्तामा बाँच्नुपर्छ जस्तो लाग्छ, के उसलाई पनि डार्क भन्ने नेटफ्लिक्स सिरिजको तेस्रो सिजन कस्तो आउला भन्ने कौतुहलता मनमै राखेर मर्ने मन थियो होला र ? कति सुन्दर कृतिहरु जन्मिनै बाँकी थियो दुनियाँमा । ती सबै सबैको रसस्वादन नगरी कसैलाई त्यस्सै कहाँ जाँगर चल्दो हो र गर्धनमा डोरीको माला पहिरिएर आफ्नै स्वासनली अँठ्याउन ? मलाई हरेक पल मृत्युको भयले अत्याउँछ । बाटो काट्न लाग्दा हुत्तिएर आएको गाडीले अचारजस्तो पिसेर जान्छ कि भनेर डराउँछु । कतै अग्लो ठाउँमा पुगेँ भने लडेर मरिएला कि भन्ने डर लाग्छ । आजभोलि कोरोनाले मरिएला भनेर भिडभाडमा जान मन लाग्दैन, घर छोड्न मन लाग्दैन । त्यति मात्र कहाँ हो र, रातदिन स्यानिटाइजर दलेर बस्न मन लाग्छ, साबुनपानीले हात धोइरहन मन लाग्छ । यतिबिघ्न बाँच्ने अभिलाषा रहेको हुन्छ मान्छेमा । यसरी ठ्याक्कै मजस्तै गरी जिन्दगीलाई माया गर्ने मान्छे कसरी एकैपटक मृत्युलाई अँगाल्न पुग्छ होला ? [bs-quote quote=”त्यो मनमा कुनै भिषण पहिरो नगई त पक्कै उसका सपनाहरु पुरिएनन् होला । मुटुको पिँधमा प्वाल नपरी त पक्कै उसका जिउँदा आकांक्षाहरु चुहिएनन् होला । नत्र त किराफट्यांग्रा समेत बाँचेको दुनियाँमा, चराहरु समेत शिकारीको फन्दामा पर्छु कि भनेर ज्यान जोगाउन लागिपरेको दुनियाँमा, एनिमल प्लानेटका डकुमेन्ट्रीमा झैं मृगहरु समेत बाँच्नकै खातिर चितुवासँग रेस जितेर कुदेको संसारमा, जीवनको मूल्य बुझेको चेतनशील मान्छेले चाहिँ कसरी घुटुक्क मेटासिड पिएर ढल्न सक्ला र ? कसरी सक्ला नदीको उर्लंदो भेलमा आफूलाई हेल्न ?” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] त्यो मनमा कुनै भिषण पहिरो नगई त पक्कै उसका सपनाहरु पुरिएनन् होला । मुटुको पिँधमा प्वाल नपरी त पक्कै उसका जिउँदा आकांक्षाहरु चुहिएनन् होला । नत्र त किराफट्यांग्रा समेत बाँचेको दुनियाँमा, चराहरु समेत शिकारीको फन्दामा पर्छु कि भनेर ज्यान जोगाउन लागिपरेको दुनियाँमा, एनिमल प्लानेटका डकुमेन्ट्रीमा झैं मृगहरु समेत बाँच्नकै खातिर चितुवासँग रेस जितेर कुदेको संसारमा, जीवनको मूल्य बुझेको चेतनशील मान्छेले चाहिँ कसरी घुटुक्क मेटासिड पिएर ढल्न सक्ला र ? कसरी सक्ला नदीको उर्लंदो भेलमा आफूलाई हेल्न ? वैज्ञानिकहरुले ब्रह्माण्ड बुझे, धरती, आकाश, चन्द्रमा अनि ग्रहहरु बुझे तर बुझ्न अपरम्पार त मान्छेको मन पो रहेछ ! डाक्टरहरुले घाउको इलाज सिके, दुखाईको ओखती बनाए, निको पार्न नजानेको त मनको दुखाई पो रहेछ ! मान्छेको मन जत्तिको कमलो चीज संसारमा अरु हुन्न रहेछ । अनि मान्छेकै मन जत्तिको कडा वस्तु पनि अरु रहेनछ संसारमा । जब मन चाहिने भन्दा कमलो हुन जान्छ, तब मान्छे कम्जोर हुने रहेछ । जब मन चाहिनेभन्दा ज्यादा कडा हुन जान्छ, तब यसले अरुलाई दुखाउँदो रहेछ । यति कठोर पनि नबनूँ ताकि कसैको मन भाँच्नु परोस् । त्यति कोमल पनि नबनौं कि आफैँलाई सम्हाल्न नसकियोस् । मनलाई कलिलो मकैको घोगाजस्तै कोपर्नु पर्ने कोमल पनि नबनाऊँ, छिप्पेको मकैजस्तै टोक्नै नसक्ने पनि नबनाऊँ । मन त हरियो मकैजस्तै सुस्तरी छोडाएर आफ्नो नजिकको मान्छेसँग बाँडीबाँडी खान सकियोस् न ! मनका भावनाका दानाहरु कसैसँग बाँड्नु भनेको हृदयको घोगा निख्रिनु हो । मन खोयाजत्तिकै खाली हुनु हो । मनबाट कुण्ठा, रोष, पश्चातापहरु निख्रिएर आफू हलुङ्गो हुनु हो । कसैको मनलाई नदुखाउँ बरु भावना बुझिदिने चेष्टा गरौँ । शरीर त नश्वर हुन्छ । यो कुनै न कुनै दिन नाशिनु त छँदै छ । तर हरेक नश्वर शरीरभित्र ईश्वरजस्तो आत्मा बसेको हुन्छ । त्यस आत्मालाई कदापि नरुवाऊँ । रुँदै-रुँदै शरीर छोडेर हिँडेको आत्माले सधैँभरि गुनासोको कुम्लो बोकेर भड्किरहेको हुन्छ । त्यसैले सबैको भलो गरौँ । आजलाई यत्ति भनें । निक्कीका गन्थन अनि ज्ञानीका यादहरुको पोकोपुन्तुरो फेरिफेरि खोल्दै गरौँला नि । हुन्न ? #चिया अड्डा #सुरेश बडाल
प्रेमको दूरी: – हाम्रो भेट कहिले हुन्छ ? – लकडाउन खुलेपछि । प्रतिदिन लकडाउनकै गुनासो । कोठाभित्र थुनिएर प्रेमी÷प्रेमिकालाई सम्झनुपर्ने दिन पनि आउनेछ भनेर कसले सोचेको थियो र ? ‘लकडाउन भनेको के हो ?’, भन्ने थाहा नपाएको विश्वले लकडाउन, क्वारेन्टाइन, आइसोलेसन, कोरोनाजस्ता शब्दहरू थाहा पायो । मर्म बुझ्न पायो । हरेक देशको शब्दकोषले केही नयाँ शब्दहरू पाए । विश्व नै घरभित्र थुनियो÷थुनिइरहेको छ । अहिले कोरोना भन्ने भाइरस जताततै कफ्र्यू लगाएर आफू खुलाआम डुलिरहेको छ । अटेर गर्नेहरुलाई बिरामी बनाउँछ । अझ ज्यानैसम्म लिने गरेर दौडिरहेको छ । यो समयमा सबैभन्दा व्यस्त कोही छ भने त्यो कोरोना भाइरस नै हो । उसलाई मान्छेहरु कतै लुखुरलुखुर हिँडिरहेको मन पर्दैन । खुसुक्क उसैभित्र छिरेर उसको घरभित्र पुग्छ, र बिठ्याई गर्दैमा फुर्सद फुर्सद पाउँदैन । घरबाट टोल, टोलबाट गाउँ, गाउँबाट अर्को गाउँ । यस्तै यस्तै….. कोरोनाको जति बलियो सञ्जाल आजसम्म कुनै भाइरसको थिएन, सायद । प्रकृतिको संरक्षणमा जुटेको शक्तिशाली भाइरस । अटेरी मनुष्यहरुलाई तह लगाउने भाइरस । एउटा भाइरसले सृष्टिमाथि धावा बोल्ने अटेर मनुष्यलाई नै त्राहीमाम बनाइरहेको छ अहिले । लकडाउन खुलेपछि पनि खुलेर भेट्ने वातावरण हुने छैन । माक्स हामीबाट छुट्ने छैन । टाढैबाट हाइ–हेल्लो गर्नेछौँ । धेरै चल्ने र फोहोर हुने हातहरुलाई साबुनपानीले धोइरहनेछौँ । सिमाना पौडेल – नयाँ माक्स ?, उसले पठाएको फोटो हेर्दै सोधेँ । कोरोनाले इन्टरनेट नै चलेको हुन्थेन भने हामीले आफ्नो प्रेम कसरी जताउँथ्यौ होला ? बाहिर निस्कन पनि नमिल्ने, फोन, इन्टरनेट पनि नचल्ने…… कति सम्बन्धहरु ध्वस्त हुन्थे होला ? कति मजबुत बन्थे होला ? परेवाको खुट्टामा आफ्ना भावनाहरु पठाएर कुरिबस्दाको गुम्फन कस्तो हुन्थ्यो होला ? छिनछिनमै म्यासेज गरिरहने अनि उस्तै रफ्तारमा रिप्लाई नआउँदा दिनभरि मुर्मुरिएर बस्ने मलाई वर्षौँवर्ष एउटा सन्चो, बिसन्चोको खबर सुन्नको लागि प्रतीक्षा गरिरहँदा कति सकस लाग्दो हो ? कतै आत्महत्या….. ? होइन, होइन । मैले जस्तो परिस्थितिमा पनि आफूलाई बचाउनुपर्छ । वातावरणअनुसार अनुकूल हुनुपर्छ । डार्विनको जीव विकास सिद्धान्तले बताएजस्तै वातावरणअनुसार अनुकूल हुन नसक्नेहरु नासिएर जान्छन् । अहँ, मलाई त्यसरी नासिनु छैन । – अब साँच्चै नभेट्ने हो हामी ? म आफ्नो कमजोरीहरु लुकाएर उसलाई पटकपटक सोधिरहन्छु । भोलिको कुरा के थाहा ? म्यासेजको रिप्लाई ढिलो आउँदा अब कहिल्यै योसँग बोल्दिनँ भनेर कसम खान्छु । फेसबुकभरि उसको नाममा लेखिएका स्टाटस र ट्वीटहरु सबै डिलिट गर्दिऊँ जस्तै हुन्छ । ओहो ! उसैलाई बिर्सिएर म के लेख्न सक्छु ? उसलाई नभेटेर कुन गन्तव्य पक्रन सक्छु । संकल्प छिनमै खरानी हुन्छ । ‘मेरो गन्तव्य तिमी हौँ । तिमीले भेट्दिनँ भने पनि हाम्रो भेट हुन्छ ।’, लेख्छु र मेट्छु । किन यस्तो लेख्ने ? मेरो म्यासेज ढिलो पठाउने ? सरी पनि नभन्ने ? मेरो इगो दुख्छ । प्रेमभन्दा पनि बढी म मेरो इगो बचाउने कोसिसमा रहन्छु । म किन यति स्वार्थी छु ? उसलाई प्रेम गर्छु भनेर भनिरहँदा भित्रबाट आवाज आउँछ । मोह सकिएपछि बल्ल प्रेम सुरु हुन्छ । मोहबिना प्रेम ? मैले यस्तो अभ्यास कहिल्यै गरेको छैन जिन्दगीमा । म आफूलाई नदुखाईकन मात्रै उसलाई प्रेम गर्न चाहन्छु । म दुखेको दिन उसलाई पनि दुःख दिन्छु । पटकपटक फोन, म्यासेज, गुनासाका गुम्फनहरु, आक्रोशहरु….. सबैसबै पोख्छु । सबैभन्दा बढी माया मैले मलाई गर्छु । – फोन काट्न बाध्य नबनाउनू । बरु म्यासेज गरिरहनू । फुर्सदमा म आफैँ फोन गर्छु । फोनले कतिन्जेल बोकिरहला मेरो चिन्ता ? फोन नहुँदो हो त….. अहँ कल्पना गर्नै नसकिने कुरो । उसलाई नभेटेको पनि वर्ष दिन भयो । वर्ष दिन भयो ? आश्चर्यमा नपर्नुहोला । प्रेममा हुँदा समय बितेको पत्तो हुँदैन । एकैछिन छुट्टिनुपर्दा एक जुग बितेको जस्तो लाग्छ । समय टक्क अडिएजस्तो । जतिबेला टक्क अडिनुपर्ने थियो, त्यसबेला छिटोछिटो कुदिरहन्छ समय । प्रेमको ठूलो दुश्मन हो समय । उसँग भेट हुँदा कति छिटो रात पर्छ । उसँग भेट नहुँदा दिनहरु कति लामा हुन्छन् । समयलाई हामीसँग केको दुश्मनी होला ? कस्तो वाहियात प्रश्न गरिबस्छु म । प्रेममा परेपछि सानासाना वाहियात कुराहरु पनि कति महत्वका हुन्छन् भन्ने कुरा अझ राम्रोसँग लकडाउनमा लक हुँदा थाहा पाएको छु । झिनामसिना ठानिएर हेला गरिएका शब्दहरु उसले बोल्दा कति महत्वका बन्छन् । कति उत्साह र आशाले भरिएका बन्छन् । उसले पठाउने म्यासेजहरु फगत बान्की परेका अक्षरहरु मात्रै होइनन्, ती उसको हृदय बोकिआएका प्रेमका निशान छाप हुन् । तिनै अक्षरहरु मेरो हृदयमा पस्छन् र उसैको भावसँग मिल्ने सजातीय गुणहरु भएका शब्दहरु बोकेर मेरो औँलाका टुप्पाहरुमा आइपुग्छन् । टुक टुक टुक……. म उसलाई म्यासेज पठाउँछु । मेरो हृदयमा उसका लागि कति हजार शब्दहरु होलान् ? उसको हृदयमा मेरो लागि कति हजार शब्दहरु होलान् ? भिडियो कलमा हेराहेर मात्रै गरेर पनि बुझ्ने उसका र मेरा आँखाहरुले कुन विश्वविद्यालयको डिग्री लिएका होलान् ? उसको हेराइले मेरो मनमा ल्याउने भुँइचालो कति रेक्टर स्केलको होला ? परबाट उसले पठाउने यादका लहराहरु कति झाँगिन्छन् होला ? सम्झनाका लहराहरुलाई टेको दिने सम्बन्धका आधारस्तम्भहरु कतिको मजबुत होलान् ? कुन यन्त्रले नाप्ने होला ? उसको मनभित्र मबाहेक अरु केही छ कि छैन ? म नजोडिएको कुनै स्मृति, कुनै इतिहास छ कि छैन ? ‘हिजो भर्खर भेटिएकी हौँ । मेरो बाल्यकालमा तिमी थिइनौँ । त्यसरी एकलौटी दाबी गर्न मिल्छ ? फेरि तिमी भेटिएकी मान्छे हराउन पनि सक्छ्यौ ।’, यस्तो उसले लेख्न मिल्दैन । म बुझेर पनि नबुझेजस्तो गरेर मन दुखाएर बस्छु । प्रेमी एकलौटी नै चाहिन्छ मलाई । किस्ताकिस्तामा प्रेम नगर्नू । कतै नबाँडिनू तिमी । प्रेममा मोह मिसिएर दुषित भए पनि त्यसले त्यति असर गर्दैन । जति असर अहिले कोरोनाले विश्व अर्थतन्त्रलाई गरेको छ । – बच्चाजस्तो नबनू । धेरै सताएपछि उसले भन्छ । बच्चा हुनु भनेको सुन्दर कुरा हो । बच्चाहरु जिद्धी हुन्छन् । जिद्धी नबन्न भनेको हुनसक्छ । प्रेमले दुखाउँन चाहँदैन । प्रेम न तिमीले मलाई गर्छौ न मैले तिमीलाई । तर तिमीले माया गर्छु भन्दा मलाई स्वर्गीय आनन्द मिल्छ । ठ्याक्कै तिमीलाई पनि यस्तै हुन्छ कि ? प्रेमका आवरणले छोपिएका चाहानाका अनगिन्ती बादलहरु उसको अनुहार देख्नेबित्तिकै फाटेर गहिरो मुस्कान छर्छन् । मैले उसलाई समग्रतामा प्रेम गर्दो रहेछु । टुक्रटुक्रा बनाएर हेर्दा त्यहाँ मेरो प्रेमको सानो झिल्का पनि देख्न छोडेँ । त्यहीँ दिनदेखि उसलाई मैले पठाइरहने ‘आइ लब यु’ लेख्न बन्द गरेँ । झुठो किन पठाइरहनु ? ‘धेरै सम्झिरहेकी छु । मिसिङ्ग यु सो मच ।’, सधैँ आई लब यु भनेर म्यासेज पठाइरहने उसले त्यहाँ पनि प्रेमको सुगन्ध भेटेछ क्यारे । ‘आई लब यु ।’, उसको म्यासेजले म मुसुक्क मुस्कुराउँछु । उसको हृदय सबै पढ्न सक्छु भनेर दाबी गर्ने म आफ्नै हृदयको चाल बुझ्न सकिरहेको छैन । पहिला मैले आफैँलाई बुझ्नुपर्यो । उसले मलाई बुझेन भनेर के गुनासो गरिरहनु ? – हाम्रो भेट कहिले हुन्छ ? – भेट्न मन छ ? उसले गर्ने र मैले गर्ने प्रेमको दूरी कति टाढा होला ? दुई हृदयको दूरी मेटाएर एउटै बनाउन मैले कति माइल यात्रा गर्नुपर्ला ? उसले कति माइल हिँड्नुपर्ला ? हामी दुबैले एकअर्कालाई भेट्टाउन कति माइल दगुर्नुपर्ला ? कहिले भेटिउँला हामी ? ‘नभेटिकन भेट्न सम्भव छैन ।’ भौतिक दूरी त मेट्न सकिएला । लक डाउन पुरै खुलेपछि भेट होला । तर हाम्रा आँखाले देख्न नसकेका एउटा लामो यात्रा, जसलाई महसुस मात्रै गर्न सकिन्छ । त्यो दूरी कसरी मेटिएला ? हाम्रो अनन्तको यात्रा अन्त्य भएर कहाँ मिसिएला ? हाम्रो दूरी बढे पनि हृदयको दूरी मैले भेट्नै नसक्ने गरी टाढा नबनाउनू । तिमीलाई भेट्ने चाहाना राख्नु भनेको दूरी मेट्ने मेरो प्रयास मात्रै हो । दूरीको कुरा नबुझे रुकुमको नवराज बि.क.को हत्या सम्झनू । समाजको नियम छ, ‘प्रेम नगर्नू ।’ मुख छोपेर हिँड्न बाध्य छन्, प्रेम गर्ने जोडीहरु । प्रेमको दूरी मेट्न कहाँ सजिलो छ बाबै ! प्रेम गर्ने आँट त गरिहाल्यौ । प्रेमको दूरी नामेट पार्ने आँट छ कि छैन तिमीमा ? समाजको आफ्नै खालको अभिमान छ । समाजको अभिमानमा धक्का नपुर्याई प्रेम गर्न सक्छौ भने गर्नू, नभए भेरीमा बगिरहेको जातियताको रगत सम्झनू । जातियताको रङ्ग मात्रै होइन, त्यो प्रेमको रङ्ग पनि हो । प्रेमद्धेषी समाज छ, बहुत ख्याल पुर्याउनू । प्रेमको दूरी बढाउन सजिलो छ, घटाउन होइन । #सिमाना पौडेल
नवपुस्ताः कोही आमासँग हस्तकला सिक्दै, कोही हजुरआमा हेर्दै जनयुद्ध सम्झिदै: देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । देश तीन महिनादेखि लकडाउन (बन्दाबन्दी)मा छ । आंशिक रूपमा बन्दाबन्दी खुल्दै गए पनि त्रासदि उस्तै छ। रोगको त्रासभन्दा अमानवीय तथा हिंसात्मक समाजको दिसाको चिन्ता भारी बनिरहेको छ। यस्तो बेला नवपुस्ताका उदीयमान साहित्यकार, कलाकारहरू तथा समाज रूपान्तरणका संवाहक के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । हामी यस स्तम्भमा नवपुस्तालाई सुन्ने छौँ: भेषराज बुढाथोकी : “ मन रून्छ , आँशु दुई आँखाले बगाउँछन् । “ भेषराज बुढाथोकी लक डाउनले देशलाई छुनुभन्दा अगाडि मैँले मेरो देशलाई छोएँ, आफ्नो माटोलाई धेरैपछि छुने अवसर मिल्यो । क्या गज्जब छ माटोको सुगन्ध ! देशको नक्सा देखेपछि, घर फर्किने नक्सा देखेपछि, गाउँ फर्किने बाटो देखेपछि ज्यान बिदेशमा हुँदा हर्लक्कै हुर्केका पीडा, अभाव र दुःखका बिरूवा ओइलिए, धेरै दिनसम्म पानी नपाएको धान जस्तै । छि ! कस्तो सम्झेँ, मैँले फेरि उतै जानुछ, यहीँ बाटो भएर ! लकडाउनले मलाई बच्चा बनायो । म नाबालक जस्तै भैगए छु । मैँले गल्ति गर्दा या कहीँकतै चकचक गर्दा मेरा हजुरबा भन्नुहुन्थ्यो, “ब्याउली आन्या भन्या नातीनुतिनो धेक्न्या छियाँ । तँ अझैँ आफूलाई छोराछोरी हौं सुच्तो । सुदैको ।” बेला बेला सोच्छु, ल ठीक छ म बच्चा होइन | युवक हुँ तर मेरो मन त अझै बच्चाको जस्तै छ नि ! बचपनमा म बुवाको पछि पछि लाग्थें । ठीक यो समयमा पनि म बाको पछि पछि लागिरहेकै छु । बाको पैतलामा पैतला मिलाइरहेकै छु । बाको काँधमा काँध मिलाइरहेकै छु । पछ्याइरहेछु बाको बाटो । बाको बाटो पछ्याउँदा देखिन्छन्, फुटेका पैतलाहरू, खिइएका नङ्ग्राहरू, च्यातिएका लुगाहरू । ठीक त्यसै गरी च्यातिएका छन् ,मेरा कैयौँ सपनाहरू ! यो समयमा मलाई खोज्नेहरू मलाई घरमा सायदै भेट्छन् । म घरमा बिरलै भेटिन्छु । म भेटिन्छु त गैरीखेतको आलितिर, बाटुलीचौरमा बाख्राहरूको माँझमा, बथान डाँडामा बासित । धेरै जसो समय म प्रकृतिसंग बिताइरहेको हुन्छु आजभोलि । यहीँ बेला क्या मज्जाले पलाइरहेछन्, प्रकृतिका सुन्दर पखेटाहरू । क्या मनमोहक देखिन्छ आकाशको हुलिया । आकाश कहिल्यै नथाक्ने रहेछ बादलका ढिस्काहरू बोकेर । ठीक म जस्तै तिम्रा यादहरूको भारी बोकेर म पनि कहिल्यै थाक्दिनँ । बेला बेला पिढीबाट चाँदनी नियाल्छु । धेरै चिजहरू टाढाबाट नै सुन्दर देखिने रहेछन् । आकाशमा चाँदनी अनि धर्तिमा तिमी । तिमी सुन्दर छ्यौ सुन्दर रहीरहन मबाट टाढै रहनु प्रिय अज्ञात ! अलि पहिला गजलकार बाबु त्रिपाटीको “बा” गजल संग्रहका केही गजलहरू पढेँ । अनि यहीँ समयमा मैँले “मेरा बा”लाई पढेँ । बालाई सरसरती पत्रिका पढे जस्तै गरी पढेको पहिला नै हो, लक डाउनमा मैँले बालाई पढ्नुभन्दा पनि अध्ययन गरेँ । बाको अनुहार हेरेर म बल्ल बुझ्दैछु, संसारको सबभन्दा ओजनदार वस्तु त खाली गोजी पो र’छ ! लक डाउनमा मैँले खेतीपातीको काम मात्रै गरिनँ । केही नयाँ काममा पनि हात हालेँ । मेरा बाले बीस वर्षपछि एउटा काम फेरि दोहोर्याउनु भयो । निगालोका चोयाबाट डोको डालो बुन्न थाल्नुभयो । बीस वर्षअगाडि बा डोकोडालो बुन्नुहुन्थ्यो पछि बीचमा छोड्नुभयो अनि अहिले फेरि थाल्नुभयो । कस्तो अचम्म ! बीस वर्षसम्म पनि डोको डालो बुन्नु नबिर्सेका मेरा बा । अनि मेरा बाको छोरोचैँ, बिहान केको तरकारी खाएँ, बेलुका बिर्सिने, बेलुका केको तरकारी खाएँ, बिहान बिर्सिने । यहीँबेला मलाई प्लस टुमा बायोलोजी पढाउने सरको भनाई याद आउँछ । उहाँ हाँस्दै भन्नुहुन्थ्यो, “बिर्सनु भनेको स्वस्थ हुनु हो । स्वस्थ मान्छेले बिर्सन्छ ।” बुवाले डोको डालो बुनेको देखेर मैँले पनि हात हालेँ तर सकिनँ । मलाई आउँदैआएन, त्यो काम । लकडाउनले मलाई व्यस्त बनायो या लकडाउनमा म व्यस्त भएँ । खैर, जेसुकै भए पनि मलाई यो समयमा फुर्सद छैन । बेला बेला फुर्सद निकालेर मेरा आँखाहरुलाई किताबमा दौडाएकै छु । मेरा औँलाहरूलाई लेखनीको कम्मरमा समातेर नचाएकै छु, डायरीका सेता पानातिर । यो बेला रेडियो मेरो सारथी बनेको छ । यो समयमा मैँले तीन-चारओटा किताब पढेर सक्काएँ । लेखक, नेता तथा विश्लेषक प्रदिप नेपालको ‘आमाको मन’ उपन्यास पढेँ । प्रदिप नेपालको नाम धेरैपटक धेरैको मुखारबिन्दुबाट सुनेँ, खोजेँ र पढेँ उहाँकै पुस्तक । यस उपन्यासभित्र मैले मेरी आमाको मन भेट्टाएँ । युद्धका काँडाहरूले घोचेका नेपाली मनहरू यहीँ पुस्तकभित्र अटाइएको पाएँ । यो पुस्तक पढेपछि यसले मलाई फेरि लेखक तथा कानुन व्यवसायी हर्क कठायतको किताब ” देशले हारेको युद्ध” दोहोर्याएर पढ्न सिफारिस गर्यो । जनयुद्धका बाछिटाहरूले कैयौँ सर्वसाधारणको बल्न लागेको आगो निभेको कथा यस उपन्यासभित्र छ । धेरै प्रतिष्पर्धामा हारेर पनि जित्न सकिन्छ भन्ने कुरा मैँले “देशले हारेको युद्ध” बाट सिकेँ । जति बेला म जनयुद्धको अनुहार सम्झिने कष्ट गर्छु त्यती बेला मेरी कान्छी हजुरआमाको कोख रित्तो भएको, काइँला काकाले आजसम्म घर फर्किने नक्सा नेदेखेको पिरलोले मन अमिलो भैजान्छ । हृदय छियाछिया भैजान्छ । मन रून्छ, आँशु दुई आँखाले बगाउँछन् । यो बेला मैँले केही फुटकर कविता लेखेँ । लेखन यात्राको गति बढाउन सकिनँ । कामको चाप, थकान आदि आदि कारण बने । लकडाउनमा बृक्षारोपण गरेँ । पन्ध्र ओटा जति टिमुरका बोटहरू रोपे । धेरै वर्षपछि हजुरआमाको बुढो हातले पनि मेरो सहारा खोज्यो । अफ्ठ्यारोमा म हजुरआमाको बलियो लट्ठी भैगएछु । यहीँ बेला सम्झिन्छु, आमा किन चाँडै मरिन् भनेर रुनेहरू अनि आजसम्म आमा किन मरिनन् भनेर रूनेहरू ! मेरी आमा फूल प्रेमी हुनुहुन्छ । हुन त फूल मन नपर्ने कसलाई होला र ? बच्चा मन नपर्ने कसलाई होला र ? आखिर फूल पनि त बच्चा हो । आमालाई बारीको आलीतिर फूल रोप्न सहयोग गरेँ । आमाले फूल हुर्काउन गरेँको मेहेनत सम्झिन्छु र सोच्छु मेरी आमाले आफ्ना बच्चाहरू हुर्काउन झन् कति मेहेनत गर्नुभयो होला ? बारीको छेउतिर ढकमक्क फुलेको गुलाफ छ । योबेला गुलाफका सबै पात झरे तर गुलाफ मजाले फूलेको छ । पात झरे पनि उसले फूल्न बिर्सेको छैन । उसले आफ्नो अस्तित्व जोगाई राखेकै छ । तर हामी मान्छे जन्मन्छौं, आमा बिर्सन्छौँ | हुर्किन्छौं भुगोल बिर्सन्छौं | उभिन थाल्छौँ देश बिर्सन्छौं । भूमिका थारु : “ आमा औधी खुसी हुनुभएको छ । “ भूमिका थारु लकडाउनले यतिबेला हामी सबैको दिनचर्या बदलिदिएको छ । एकदिन पनि घरबाहिर ननिस्की बस्न नसक्ने मेरा केही दिन त छट्पटीमै बित्यो । तर बिस्तारै आफूलाई घरभित्रै कैद पार्नुको बानी पार्दै लगें । स्वीकार्दै गएँ, अहिलेको परिस्थिति अनि समयलाई । र, यही लकडाउनको समयले नै त हो ! मलाई आफूले गर्न चाहेका तर गर्न नपाएका काम गर्न अवसर जुराइदियो । अचेल म आमासँग थारू हस्तकला सिक्दैछु । ढकिया, सुप्लीलगायत थारु हस्तकला बनाउने यो बर्खाको महिना निकै उपयुक्त समय मानिन्छ । मैले यसप्रति देखाएको रुचिले आमा औधी खुसी हुनुभएको छ । लकडाउन हुनुभन्दा अगाडि नै मेरी हजुरआमा काठमाडौं आइपुग्नुभएको थियो । लकडाउनका कारण गाउँ फर्किन पाउनुभएन । अहिले उहाँसँगै धेरै समय बिताउने गरेँकी छु । उहाँले आफ्ना जिन्दगीका पानाहरु पल्टाउँदै सुखदुःखका कथाहरू मलाई सुनाउनु हुन्छ । ध्यान दिँदै सुन्ने गरेँकी छु । अझै कयौँ कथाहरू सुन्न बाँकी नै छन् । मलाई लाग्छ, यो लकडाउन जति लम्बिएको छ, त्योभन्दा बढी हजुरआमाका कथाहरू लम्बिन्छन् होला । दैनिक बिहान क्याम्पसको अनलाइन कक्षा लिएर गमलाको फूलमा पानी हाल्नु, त्यसको स्याहार सुसारमा जुट्नु अनि फक्रिएको फूललाई हेर्दै ऊसँगै मुस्कुराउनु मेरो नियमित दिनचर्या जस्तै भइसक्यो । हामीले यही लकडाउनको बेला कौसी खेती पनि ग¥यौँ । त्यसैले बाहिरको तरकारी किनेर खानु परेको छैन । आफैँले फलाएको तरकारी आफ्नै हातले टिप्न पाउनुको मजा नै बेग्लै क्या ! यही बीचमा केही कथा, उपन्यासका किताबहरु पढेर सकाएँ । केही कथा, कविता लेख्ने प्रयास गरेँ । बुवालाई देखाउँदै उहाँका सुझाव मनन गदै लेखनीमा सुधार गर्दै छु । केही अल्झिएका काम फेरि नियमित गर्दैछु । बुवासँगै दिनमा एउटा चलचित्र भए पनि हेर्न छुटाएकी छैन । अचेल किताब, कलम, डायरी अनि प्रकृति नै मेरा सबैभन्दा मिल्ने साथी भएका छन् । दिन ढल्किएपछि हररोज कौसीमा गई कौसीबाट हरियै देखिने नजिकको जंगल नियाल्छु ,आकाशमा बनेका छिनको छिनमै बदलिरहने आकृतिहरू हेरी टोलाइरहन्छु र आफ्नो घर फर्किदै उडिरहेका चराहरुलाई आँखाले नभ्याउनजेलसम्म हेरिरहन्छु । यो मेरो बानी नै भइसक्यो । लाग्छ, यतिखेर प्रकृतिले निर्धक्क भई सास फेर्न पाएको छ । आकाश पनि स्वतन्त्र भई उडिरहेको छ, चराजस्तै । अहिलेको समयलाई स्वीकारेर अघि बढ्नुबाहेक हामीसँग अरू कुनै विकल्प छैन । यो समयलाई रचनात्मक बनाउनु त छँदै छ, तर जहिले पनि व्यस्त रहने हामी आफ्नाबारेमा अध्ययन गर्ने यो जत्तिको सहि समय हामीले अघिपछि चाहेर पनि सायद पाउने छैनौँ हेला । विष्णु उपरकोटी : “ विविध पुस्तकहरूको अध्ययन र दलित आन्दोलनको तलाउमा डुबेको छ लकडाउन” विष्णु उपरकोटी मेरो लागि मसँगका दौँतरीहरू र अहिलेसम्मका नवपुस्तामा प्रकाशित भएका मित्रहरूको दिनचर्याभन्दा पृथक ढङ्गबाट लक डाउनलले पाइला चालिरहेको छ । बिगत केही वर्षदेखि अध्ययनको क्रममा म खोटाङ (मेरो घर खोटाङ हो) जिल्लाको सदरमुकाम दिक्तेल बस्दै आएको छु । यसर्थ लकडाउन(बन्दाबन्दी) सुरु हुँदाको समयमा पनि म दिक्तेल नै थिए । लकडाउन सुरु भएपश्चात् क्याम्पस पनि कोरोना भाइरस (कोभिट-१९) को त्रास कम भएर अर्को सूचना नआएसम्म बन्द भयो । केहीदिन कोठामै बसेर साहित्यिक र राजनीति पुस्तकहरू अध्ययन गरेँ । एक्लै, कलेज पनि बन्द, खाना पकाएर खाने अनि पढ्नेबाहेक अन्य सक्रिय काम केही हुन सकेन । त्यसपछि घर (रावाबेसी गाउँपालिका) आएँ । सदरमुकामबाट घर आउछु भन्ने थाहा पाइसकेपछि अन्य अध्ययनशील साथीहरूसँग सेयर गरेर केही धार्मिक र साँस्कृतिक पुस्तकहरू पनि जम्मा पारेँ, साथसाथै नेपालमा वर्ण व्यवस्थासम्बन्धि आहुतिका युटुबमा प्राप्त भएसम्मका भिडियो र ४०-४१ वटा हिन्दी चलचित्र पनि डाउनलोड गर्न भुलिनँ, साहित्यिक पुस्तक त थिए नै । कविता, मुक्तक लेखेँ, चलचित्रहरू पृथक-पृथक थिए | जसअन्तर्गत भावनालाई गतिशील बनाउनुका साथै सामाजिक संजालमा पनि साहित्यिक तथा राजनीतिक आर्टिकलहरू पढेर बडो आनन्दको महशुस गरिरहेको थिएँ । कोरोना भाइरसको चपेटामा परेर ज्यान गुमाउनेको सङ्ख्या दिनानुदिन बढेकाले मनमा केही त्रासका तरङ्गहरुले नछुएको भने पक्कै थिएन । यद्यपि गाउँ त क्वारेन्टाइन (संगरोध)नै जस्तो लाग्दथ्यो । बस्यो, खायो, भिडियो हेर्यो,पढ्यो ,बेलुका-बेलुका गाउँका दौँतरीहरू भेला पार्यो, राजनीतिक गफ चुट्यो | यसरी बडो आनन्दका साथ दिनहरूको संख्याले बिट मारिरहेकै थियो । त्यतिकैमा जेष्ठ १० गते शनिबारका दिन जातीय भेदभावको पराकाष्ठा नाघेर जाजरकोटका नवराज बि.क.सहित ६ जनाको पश्चिम्रुकुमको सोतीमा जगन्य जातीय नरसंहारको घटनाले मन भतभती पोल्यो । मनलाई एकत्रित गर्नै गाह्रो भयो । तत्काल दलित समुदायबाट मन्त्री भएका पुर्वमन्त्रीहरू र केन्द्रिय नेताहरू साथै जिल्लास्तरका नेताहरूसँग फोन र सामाजिक संजाल फेसबुकको माध्यमबाट कुरा भयो । मस्तिष्क आक्रोशमै थियो । केहीदिनपछि नेपाल सरकारका पुर्वगृहन्त्री तथा जातीय नरसंहार भएको जिल्लाका सङ्घीय सांसद जनार्दन शर्माको राजनीतिक स्थिति विवरणले त झन मन कन्ट्रोल हुने अवस्थामै थिएन । दुई चार दिनपछि सो घटनालाई सहि छानबिन गराएर दोषीउपर कडाभन्दा कडा कारबाहीको माग गर्दै केन्द्रमा संघर्ष समिति तयार भयो, र दबाब कार्यक्रम सुरु भयो | साथसाथै हामीले पनि खोटाङमा संघर्ष समिति बनाएर लक डाउनको समयमा सरकारले तोकेको मापदण्डलाई ध्यानमा राखेर शारीरिक दूरी कायम राख्दै चरणबद्ध आन्दोलन गर्न थालियौं, र हाल गरिरहेकै छौँ । त्यसले गर्दा अध्ययनमा केही समस्य तथा बाधा उत्पन्न त गर्यो, नै यद्यपि “खानेमुखलाई जुँगाले छेक्दैन” भन्ने उखानको प्रायोगिक सङ्ख्या बढाउदै कविता र मुक्तक लेख्ने क्रम र विविध पुस्तक अध्ययन गर्ने क्रम जारी नै रह्यो । म भाषाको विद्यार्थी तर पनि भाषामा गहिरो अध्ययन गर्नबाट भने चुकिरहेको छु या भनौं कम्जोर आधारको प्रतिकुल प्रभावमा भाषाको ज्ञानले मस्तिष्कमा सन्नाटा छाइरहेको बेला मैले सम्मानित गुरु तथा अभिभावकका रुपमा आदरणीय महेश पौढ्यालज्युलाई भेटेको छु । उहाँबाट मैले भाषाको केही बिशिष्ट ज्ञान् हासिल गर्ने ऐतिहासिक मौका प्राप्त गरिरहेको छु, र यो लकडाउनमा ब्यक्तिगत फाइदा भैरहेको छैन भन्न सकिन्न । अन्ततः पहिलो चरणको दबाब कार्यक्रम सकिएर गाउँमा आएर घरायसी र सामाजिक काममा रमाइरहेको छु । अबको केही दिनमै दोस्रो चरणको दबाब कार्यक्रम अथवा मान्छेले मान्छे बन्न मान्छेहरूसँग आग्रह गर्ने कार्यक्रमलाई अघि बढाउन सदरमुकाम जानेछु । साथसाथै जगदीश घिमिरेको, “अज्ञानीलाई आफ्नो ज्ञान् थाहा हुन्छ भने ज्ञानीलाई आफ्नो अज्ञान । ज्ञानी मान्छे आफ्नो अज्ञानको खोजी गर्दछ । जान्नु भनेको आफ्नो अज्ञानता जान्नु हो । धेरै जान्नुभनेको धेरै जान्न बाँकि छ भनेर जान्नु हो । अज्ञानी बोल्छ ज्ञानी सुन्छ |” भन्ने भनाइलाई आधार बनाएर धेरै अध्ययन गर्ने मन छ । #नवपुस्ता #भूमिका थारु #भेषराज बुढाथोकी #विष्णु उपरकोटी
मुक्तक प्रतियोगितामा मीना, मिलन र रोहित प्रथम: साहित्यपोस्ट विद्यूतीय पत्रिकाले गत सातादेखि सञ्चालन गरेको मुक्तक प्रतियोगितामा मीना, मिलन र रोहित प्रथम भएका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर एवं साहित्य अन्वेषी लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा बसेको पाँच सदस्यीय टोलीले काभ्रे पाँचखालकी मीना चौलागाईँ, कर्दिखोला स्याङ्जाका मिलन समीर र रामेछापका रोहित सैजुलाई प्रथम घोषणा गरेको हो । डा.लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा रहेको उक्त मुक्तक प्रतियोगिताको निर्णायकहरुमा पद्मकन्या कलेजकी उपप्राध्यापक ज्ञानु अधिकारी, मुक्तककार राजन सिलवाल र साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी रहेका थिए । चार जना निर्णायकहरुको निर्णयलाई साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले सहजीकरण गरेका थिए । ‘तोकिएको नियममा रहेर २३ मुक्तक प्राप्त भएका थिए । तर नियम बिपरित झण्डै सय मुक्तक प्राप्त हुँदा हामीलाई उत्कृष्ट मुक्तक छान्न ठूलो सकस प¥यो ।’ प्रधानसम्पादक कोइरालाले भने, ‘धेरैजसो मुक्तक इमेल र साहित्यपोस्टको फेसबुक पेजमा आएका थिए । ती असाध्यै राम्रा भए पनि नियम विपरित भएकाले प्रतिस्पर्धामा परेनन् । जसले हामीलाई असहज पनि बनायो ।’ गएको सातादेखि सुरु भएको मुक्तकका विषयमा केन्द्रित रहेर त्यही पेजको तल मुक्तक राख्नु पर्ने नियम बनाइएको छ । सुस्त इन्टरनेट सेवा र नियम बुझाउन नसकेका कारण पनि मुक्तकहरु इमेल र फेसबुकमा आएको हुनसक्ने आँकलन गरिएको छ । गएको साता तीनवटा विषय दिएर मुक्तककारहरुलाई मुक्तक आह्वान गरिएको थियो । पहिलो नम्बरमा सीमा विवाद, दोस्रोमा कोरोना महामारी र तेस्रोमा अहिलेको बिग्रदो आर्थिक अवस्थालाई आधार बनाएर विषय दिइएको थियो । जसमा केन्द्रित रहेर झण्डै सय जना कविहरुका रचना प्राप्त भएका थिए । ‘नियम संगत रहेर आएका रचना मध्येबाट हामीले उत्कृष्ट चयन गरेका हौँ ।’ साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसीले भनिन्, ‘पहिलो अंकको प्रतिस्पर्धाले हामीलाई हौसला दिएको छ । निकै राम्रा मुक्तक प्राप्त भएका छन् ।’ ५० साता चल्ने यो प्रतियोगिताबाट प्रथम हुने मुक्तकहरुलाई समेटेर वर्षका उत्कृष्ट मुक्तक संग्रह प्रकाशन गर्ने योजना छ । हरेक साता तीन मुक्तकका दरले एक वर्षमा उत्कृष्ट हुने ४ सय ५० मुक्तकहरु मध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरु छानेर त्यस्ता श्रष्टालाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार दिने योजना पनि बनाइएको छ । अर्को साताको मुक्तक प्रतियोगिता शुक्रबारबाट सुरु हुने साहित्यपोस्टले जनाएको छ । नयाँ तीन विषय पनि शुक्रबार समाचारसँगै घोषणा गरिनेछ । अहिलेलाई पढ्नुस् पहिलो साता पहिलो हुने उत्कृष्ट तीन मुक्तकहरु…
परजीवी: बर्खामा बादलले धरतीलाई नुहाएपछि धरतीले आफ्नो पोसिलो स्तनपान गराएपछि धरतीको गर्भबाट निस्कन्छन् दियो बलेझैं बिरुवाहरू अनि मौका छोपेर उम्रन्छन् असंख्य परजीवी च्याउहरू च्याउहरू हलक्क बढेर आउँछन् बिरुवालाइ नाघेर धरती ढाक्ने दुश्प्रयास गर्छन् आडम्बरको छाता ओडेर जब रितिन्छन् सामलको भकारी सिद्धिनछन् च्याउहरू कृपया उनीहरू आफ्नो खाना आफैँ बनाउन सक्दैनन् । #परजीवी #प्रदिप लामा
नयाँ रोग ‘कोरोना’: कस्तो हो यो रोगपनि, भित्र–भित्रै पोल्ने । मान्छेबाट मान्छेमा नै, सर्दै–सर्दै जाने ।। कोरोनाको रोगदेखि सबैजना तर्से कहाँबाट आयो भन्दै काम गर्नै बिर्से । घरभित्रै बसिकन दूरी कायम गर्ने जथाभावी नगरेरै योगा गर्न थाल्ने ।। रूघा–खोकी लाग्न नदि तातो–तातो खाने माक्सलाई प्रयोग गरी यताउता जाने । सेनिटाइजर् प्रयोग गरी हात धँुदै गर्ने सफाइमा ध्यान दिई रोग निको पार्ने ।। कस्तो हो यो रोगपनि, भित्र–भित्रै पोल्ने । मान्छेबाट मान्छेमा नै सर्दै–सर्दै जाने ।। #नयाँ रोग ‘कोरोना’ #नारायणप्रसाद न्यौपाने
सम्भोग र कविता: तेज विनोद एउटा नाङ्गो पानामा निर्वस्त्र कलमको स्पर्षले सर्वाङ्ग कम्युटरको भित्तामा मेरा निर्लज्ज औंलाहरु शब्दसँग अंकमाल गरिरहन्छन् । म शब्द खोज्छु पङ्ति मिलाउँछु वाक्य बनाउछु कहिले शब्दले म आफैलाइ अँठाउँ छन्, कहिले तिनै शब्दले अरुलाइ नङ्ग् याउँछन् । मेरा पाठकहरुलाइ आकर्षित गर्नका लागी कहिले विस्तारै कहिले अकस्मात शब्दका प्रहारहरु गहिराइमा पुग्छन् तर पनि सन्तुष्टि मिल्दैन, र अझै गहिराइमा जाउँजाउँ लाग्छ । घरी विस्तारामा घरी घरको सोफामा, घरी भुइँमा गुडिरहेको गाडीमा, समुन्द्रको किनारमा र बगैँचामा विहान, बेलुका र रातभरी म भोगिरहन्छु ति शब्दहरुलाइ र स्खलित हुन्छु अनगिन्ती शब्दहरुसँग अरु सुन्दर शब्द जन्माउनको लागी कहिले मान्छेहरुको भिडमा र कहिले एकान्तमा जोस र जाँगरका साथ तागत रहे सम्म सपनाकी राजकुमारीसँग संभोग गरे जस्तै मन तृप्त नहुन्जेल लेखि रहन्छु यस्तै रोमान्टिक कविताहरु ।
मनु मञ्जिलका दुश्मनहरू: “ दुश्मन” हामीले सुन्न नचाहने शब्द र हामीमाझ जरो गाडेर बसेको शब्द हो । नेपाली शब्दकोशले दुश्मनलाई जसरी व्याख्या गरे पनि यो शब्द शब्दकोशमा मात्र सीमित रहन सक्दैन । यो शब्द त हृदयमा बस्छ र मस्तिष्कलाई उचालिरहन्छ । मनु मञ्जिल मान्छे जतिसुकै सामान्य बन्न खोजे पनि मान्छे एक प्रतिस्पर्धामा रहेको हुन्छ । प्रतिस्पर्धी आफूमा नै पनि बन्न सक्छ । दुश्मनीको बीजारोपण नै प्रतिस्पर्धाको सुरुवात हो । त्यसैले मान्छेको दुश्मन आफैँ हुन पनि सक्छ । हुन त दुश्मनी जात र धर्मबीच पनि छ । दुश्मनी त सीमामा पनि छ । यी सबै कुरालाई मध्यनजर गर्ने हो भने दुश्मनीको पनि प्रकार हुने रहेछ । देशको दुश्मनी र छिमेकको दुश्मनीको प्रकार एकै होइन तर पीडा भने एकै हो । हामीले अनेकौँ मान्छे जीवनमा पाएका हुन्छौँ । ती मान्छे सबै हितैषी, मित्र बन्न सक्दैनन् । हृदयमा अलिकति म ठूलो वा म राम्रो भन्ने भाव त आउँछ नै । यही भावमा रुमलिएको व्यवहारलाई हामी दुश्मन भनेर हिँडिरहेका छौँ । कवि मनु मञ्जिलले दुश्मन कविता लेख्नु अगावै थुप्रै कविता लेखेका थिए । तर उनलाई ‘दुश्मन’ कविताले नै किन उचाइ दियो ? दुश्मन कवितापछि मात्र उनी नेपालीभाषीमाझ किन कवि भनेर चिनिन थाले ? के थियो दुश्मनमा र लगभग तीन करोड जनसङ्ख्या भएको देशमा उनकै दुश्मन कविता एक करोडभन्दा बढी हेरियो ? प्रस्तुत छ कवि मनु मञ्जिलको दुश्मन कविता – दुश्मन मेरो एउटा दुश्मन छ जो मलाई फोहोर जत्तिकै घृणा गर्छ तर म उसलाई फूल जत्तिकै मन पराउँछु । ऊ मेरो अनुहारमा घाम नउदाउनू भन्छ मेरो बगैँचामा वसन्त नआउनू भन्छ मेरो घरको झ्यालढोकाबाट हावा नपस्नू भन्छ मेरो आँगनमा फूलले नमग्मगाउनू भन्छ । मेरा बालबचेराले उसले सुन्ने गरी नकराउनू भन्छ उसलाई दुख्ने गरी नरमाउनू भन्छ ऊ आफ्नो घरको बार्दलीमा बस्छ र परबाट बाटो हिँड्ने जो कोहीलाई मनमनै मेरो घर नपस्नू भन्छ कोसेली वा उपहार बोकेका कोही नपसून् भन्छ मन्दिरबाट आशीर्वाद लिएर फर्केका बुढाबुढीलाई मेरो घर अगाडिको चौतारामा नबसून् भन्छ । उसलाई मेरो घरमाथि चरा बसेको मन पर्दैन जून मेरो छानामाथि बसेको मेरो खेतबारीमा भाग्य लहलह झुलेको आँपका रूखमा आशाका फूलहरु फुलेको कुलाको पानी मेरो गैह्रीखेतमा डुलेको उसलाई केही मन पर्दैन । यो बर्षात किन मेरो घरको छानो भत्काउँदैन ? पल्लो गाउँको खोलो किन मेरो घरको बाटो आउँदैन ? आगो किन यसरी अँगेनामा चुपचाप छ ? किन झिल्को जूनकीरी जस्तो माथिमाथि उड्दैन ? किन केही जलाउँदैन ? ऊ मेरो सपनामा मरुभूमि पसोस् भन्छ मेरो घरमा आँधी आएर बसोस् भन्छ राति चोर आएर भकारीमा घुसोस्, मेरो ओठबाट मुस्कान उडेर बालुवामा गई खसोस् भन्छ तर म उसलाई फूल जत्तिकै मन पराउँछु । यत्रो दुनियाँमा ऊ बाहेक अरू मेरो साथी सगोत्री, आफ्नो अर्को ठूलो सानो, परिचित अपरिचित एउटै कतै कोही छैन जसले आफ्नै रहर र सपना भुलेर फूल, जून र चराहरू भुलेर घर, धरती र आकाश भुलेर मबारे यति बिघ्न सोचोस् मलाई यति बिघ्न सम्झोस् दुश्मन नहुनु भनेको त आफूतिर हरदम फर्किरहने जीवनको एउटा रमाइलो पाटै नहुनु रहेछ म उसलाई फूल जत्तिकै मन पराउँछु । कवि मनु मञ्जिलले प्रस्तुत कविता २०५६ सालमा लेखेका हुन् । कविता इटहरी आसपास नै बसेर लेखे पनि यस कविताको भ्रूण भने रौतहटमा बनेको थियो । कवि २०५६ सालमा इटहरीबाट आफ्नै जन्मथलो रौतहट पुगेका थिए । माओवादी द्वन्द्वको त्रासमा समय बाँचिरहेको थियो । ज्वाइँ आफ्नै ससुराली जाँदा होस् वा आफन्त अलि टाढाबाट पाहुना लाग्न आउँदा होस्, त्यहाँ सबैले शंका र हेयले हेर्ने समय थियो । कवि त्यो समय घर जाँदा कतिपटक चेकिङमा परे यसै भन्न सक्दैनन् । जो पनि शंका घेरामा रहेको हुँदा कविको हृदयमा केही कुराहरू खेलेका थिए । मनु मञ्जिल त्यस समयमा रङ्गकर्मी थिए भने उत्कृष्ट नाटक बनाउँथे होला, चलचित्रकर्मी थिए भने उत्कृष्ट चलचित्र बनाउँथे कि ! तर उनी त कवि थिए । देखेको र भोगेको दृश्यलाई उनले कवितामा उतारे र दुश्मन कविताको जन्म भयो । उनको यस दुश्मन कविता आफ्नो सङ्ग्रह ‘ल्याम्पपोस्टबाट खसेको जून’मा पनि समावेश छ । जब आफ्नो जन्मथलोबाट उनी कर्मथलो इटहरी फर्किए, बिहानीपखको लामो वाकमा निस्कदै गर्दा आफ्नै गाउँठाउँ नै समयले वैरी बनाइदिएकोमा क्षुब्ध भइरहे । हरदमझैँ त्यो बेला पनि उनको हातमा डायरी थियो । कवि भन्छन्, “जब मलाई कुनै कुराले हिट गर्छ, म लामो वाकमा निस्कन्छु । त्यो वाक १०, ११, १२ किलामिटरको पनि हुन सक्छ ।” यसै क्रममा उनको हृदयमा ‘दुश्मन’का हरफहरू उफ्रन थालेका थिए । उनीले ती हरफलाई च्याप्प समाउँदै डायरीमा टाँस्दै थिए । यसै क्रममा उनको भेट प्राध्यापक दिनेश पौडेलसँग भयो । कविलाई लाग्छ कि यदि दिनेश पौडेलसँग भेट नभएको भए, दुश्मन कविता अर्कै कुनै क्षेत्रबाट बगेर लेखिने थियो । “दुश्मन कविता यति चर्चित हुनुमा प्राध्यापक दिनेश पौडेलको पनि हात छ,” कवि हँसिलो मुहारमा भन्छन् । गाउँमा देखेको दुश्मनीलाई कविले कवितामा उतारे । यदि उनी गाउँ नगएको भए र प्राध्यापाक दिनेश पौडेल नभेटिएका भए सायद दुश्मन कविता कतै अल्झने थियो । कविलाई यस कविताले एक नयाँ उचाइ दिएको भने पक्का हो । यस कुरामा कवि मनु मञ्जिल सगौरव स्वीकार्छन् । दुश्मन कवितामा किस्सा पनि अनेक जोडिएका छन् । किस्सा नं १. एकदिन कवि मनु मञ्जिल आफ्नै घरमा बसिरहेका थिए । पाँचथरबाट एक शिक्षक आए । ती शिक्षक टुसुक्क बस्नेबित्तिकै आउनुको कारण खोेले ‘तपाईँको ल्याम्पपोस्ट कविता संग्रह मलाई पाँच वटा चाहिएको छ । पाइन्छ ?’ त्यसबेला कविले भनेका थिए, ”पाइन्छ किन नपाइनु? तर पसलमा पाइन्छ ।” शिक्षकले अनेक प्रयास गरेर खोजे पनि पुस्तक नपाएपछि कविको घरमा पुगेका थिए । त्यसैले भने, ”पसलमा त भेटिनँ । तपाईंसँग कति वटा छ ?” कविले भने, ”मसँग जम्मा पाँचवटा छ ।” शिक्षकले भने, ”दिन मिल्छ भने पाँचै वटा दिनुस् । मिल्दैन भने म फोटोकपी गरेर ल्याउँछु ।” कविले एउटा किताब शिक्षकलाइ थमाइदिए । फोटोकपी गरेर शिक्षक एकैछिनमा फर्किए । त्यसपछि कविलाई उनको किताब फिर्ता दिए । कविलाई अचम्म लागिरहेको थियो किनभने कुनै पनि पाठकले अहिलेसम्म खुरन्धार गरेर उनको कविता खोजेको थिएन । कविले भने, ”किन यति दुःख गर्नुभयो ?” शिक्षकले भने, ”मेरो गाउँमा मेरा पाँचजना दुश्मन छन् । ती प्रत्येकलाइ यो कविता दिनु छ र पढाउनु छ ।” किस्सा नं २ कविले साल बिर्सिए । झापाको धरमपुरमा राष्ट्रकवि माधवप्रसाद घिमिरे आउने कार्यक्रम थियो । इटहरीबाट कवि मनु मञ्जिल पनि आफ्नो कविता सुनाउन भनेर झापा पुगेका थिए । प्रमुख अथितिलाई पर्खनु पर्ने भएकाले उनीहरू बाहिर चौरमा बसिरहेका थिए । एक जना महिला उनीहरू बसेको ठाउँमा आइन् र भनिन्, ”मनु मञ्जिल भनेको को हो ?” साथीहरूले छेउमै बसिरहेका कविलाई देखाए । त्यो बेला मनुको हातमा ‘ल्याम्पपोस्टबाट खसेको जून’ कविता सङ्ग्रह छँदैथियो । ती महिलाले कवि मनु मञ्जिलको हातबाट किताब खोसेर सोधिन्, ”दुश्मन कविता यहाँ छ ?” कविले छ भने । महिलाले भनिन्, “मैले रेडियोमा सुनेर कण्ठस्थ पारेकी छु । मलाई यो कविता मन पर्छ । मैले तपाइँकाे यो किताब पूजाकोठामा राख्ने गरेकी छु।” कवि त ट्वाँ ! किस्सा नं ३ वि.सं. २०६२ तिर कवि मनु मञ्जिललाई सिक्किम सरकारले कार्यक्रमको लागि निम्तो दियो । उनी त्यहाँ पुगे । जब उनी हलमा प्रवेश गरे, त्यहाँ आएका मान्छेले ‘दुश्मन’ भनेर धेरैपल्ट भने । त्योबेला न सञ्जाल, न युट्युब, कविलाई आफ्नो कविता यति अघोरै मन पराइएको देखेर अचम्म नै लाग्यो । कवि मनु मञ्जिललाई जुनै कार्यक्रममा पनि ‘दुश्मन’ सुन्ने अफर आइरहन्छ । जब उनी ‘दुश्मन’ भन्ने कविता सुनाउँछन्, उनलाई “म कुनै नयाँ कविता सुनाउँदैछु” भन्ने ऊर्जा प्राप्त हुन्छ रे ! कवि भीष्म उप्रेतीको नजरमा “दुश्मन” कविता एउटा पुस्तालाई नै प्रतिनिधित्व गर्ने कविता हो । आम मानिसको जीवनलाई कवितामा उतारेपछि दुश्मन कविताको उचाइ बढेको हो भन्ने उनलाई लाग्छ । “हरेकको दुश्मन छ, सायद मेरो पनि होला,” कवि भीष्म भन्छन्, “यो हाम्रो समाजको घटना हो । त्यसैले म पनि कवि भएकाले मेरो दिमागमा यो प्लट किन आएन भन्ने कुरा सोच्दछु ।” यिनै ‘दुश्मन’ कविले लेखेको निबन्ध सङ्ग्रह चाँडै नै बजारमा आउँदैछ । उनलाई हाम्रो अग्रिम शुभकामना । #निरज दाहाल #मनु मञ्जिल
केही मीठो बात गर .....: मैले ती कतै छोडिआएका दोस्तीका पदचाँपहरू र संगीतप्रतिको मेरो सम्मोहन किन उस्तै छ ? खै किन मलाई ती छोडिआएका आवाजहरू नारायण गोपालका झैँ लाग्छन् ? मलाई थाहा छैन । कृष्ण ढुङ्गेल संगीतको शक्तिबारेमा बडेबडे मानवहरूले भनिसकेका छन् । फेरि त्यही कुरा दोर्याएर जीवनसँग म अर्काे मजाक गर्न चाहान्नँ । संगीत बुझ्नु र संगीतले छुनु पनि त नितान्त फरक कुरा रहेछन् नि, हैन ? तपाईँलाई हैन भन्न छुट छ । तर, म संगीतको सुत्र नजान्ने मान्छे, संगीतले मनलाई छुने मान्छे । समयः रातको १२ बजे स्थानः आफ्नै ओछ्यान शब्दः कालीप्रसाद रिजाल साथमा नारायण गोपाल । केही मीठो बात गर, रात त्यसै ढल्किँदैछ । भरे फेरि एकान्तमा रुनु त छँदैछ । नारायण गोपाल मेरो दुःखका साथी हुन् । सुखका साथीहरू खासै मेरो सम्झनामा आउँदैनन् । कल्पनामा छाउँदैनन् । र, मेरा लागि एक शब्द गाउँदैनन् । खै किन दुःखमा दोस्तीको आयतन साँघुरो बनेर आउँछ ? मलाई थाहा छैन । साथी र संगीत मलाई उस्तै लाग्छन् । जुन संगीत वा गीतले साथीको काम गर्दैन त्यो के संगीत ? जुन साथीमा संगीतको शक्ति हुँदैन, त्यो के साथी ? म साथीको अगाडि भोलिलाई सजाएका सपना साटिदिन सक्छु । म संगीतसँग प्रेमिकालाई सम्झेर आँसु झारिदिन सक्छु । तपाईँलाई पनि यो कुरा थाहा नै छ, हामी हाँसिदिन जोकोहीको अगाडि सक्छौँ । हामीलाई बोलिदिन विशेष सम्बन्ध चाहिँदैन् । तर, आँसु त्यति सजिलै झर्ने कुरा होइन । सजाएका सपनाहरू न नारायण गोपाल गुञ्जिरहेको मोवाइसेट जस्तो मात्र नै हो । यिनीहरूले त आत्मीयता खोज्छ । विनम्रता खोज्छ । र, खोज्छ निकटता । मान्छे सम्बन्धमा अरू खै के के खोज्छन् ? मलाई थाहा छैन । सत्ते, रुन बहुत गाह्रो काम हो । रुनुमा पनि कसैको बहुपासमा आँशु खसाउनु सबैभन्दा गाह्रो काम हो । अँ, हाँस्न जहीँतहीँ सकिन्छ । रुन कहाँ कहाँ सकिन्छ ? रुन त एकान्त चाहिन्छ । बाथरुमको सावर चाहिन्छ । आफू सर्वाङ्ग नाङ्गो हुनसक्ने साथी चाहिन्छ । बिर्सिएर हिँड्छु भन्दा पनि आफैँसम्म पुर्याइदिने शब्द चाहिन्छ । र, चाहिन्छ कसैलाई सम्झाइदिने संगीत । रमाइलो कुरा गर, सपनाको कुरा गर । सँगसँगै बिताएको, सम्झनाको कुरा गर । दुःख छोड दुःखलाई त जिन्दगानी छँदैछ । …………………. नारायण गोपाल मेरो विगत र भविष्यका साँची छन् । उनीसँग बिताएको विगतलाई सम्झेर धेरैपटक हाँसेको छु । धेरैपटक रोएको छु । सपनाको कुराले भावुक बनेको छु । अँ … उनीसँग सबैभन्दा धेरै प्रेमिकाको सम्झना र सपनाको भूमरीमा रुमल्लिएको छु । खै किन सम्झना र सपना सधैँ एकै स्वरूपमा आउँदैनन् ? मलाई थाहा छैन । मैले माथि नै भनिसकेँ, मलाई संगीत र साथी उस्तै लाग्छ । साथी रक्सीको सितन हो । संगीत यादको सितन हो । र, रक्सी र यादको कक्टेल मलाई सबैभन्दा मनपर्ने ड्रिक्स् हो । तर खै किन पिउँदापिउँदैको गिलास मैले कहिले साथीको नाममा रित्याएँ त कहिले उसको नाममा छाडेँ ? मलाई थाहा छैन । संगीत कलाको एक उच्चतम शिखर हो भनेर धेरैले भनिसकेको कुरा हो । म फेरि त्यही मूर्खता गर्न चाहान्नँ । बरु थोरै साथीको बारेमा भन्न सक्छु । प्रेमिकाको बारेमा भन्न सक्छु । नढाँटी भन्नुहोस् त, यदि तपाईँ आफ्नी प्रियतमा निदाएका बेला उसका ती निर्दाेष देखिने अनुहारमा हराउनुभएको छ भने कतिबेर हराउनुभएको छ ? एक घण्टा, दुई घण्टा वा तीन घण्टा । तपाईँलाई पनि थाहा छ, संगीतमा हिसाब हुँदैन । प्रेममा समयको सीमितता हुँदैन । मलाई समय र हिसाब उस्तै लाग्छ । ट्युबर्गलाई घुट्क्याइरहँदा एक बिन्दुमा पुगेपछि मात स्थिर बन्छ । त्यो मात स्थिर बनेपछि छोडिआएका सम्झनाका पदचाप र सजाएका सपनाका पखेटाहरूका मातले मातेको हुन्छु । साथीलाई सँगसँगै मताएको हुन्छु । आफ्नो सम्झनाको आधी हिस्सा साथीलाई बोकाएर उसको सपनाको आधी हिस्सा आफूले लिएको हुन्छ । खै किन आफ्नै सपना पनि आफ्ना हुँदैनन्, साथीका सम्झनाले पनि निदाउन दिँदैनन् ? मलाई थाहा छैन । तपाईँलाई पनि थाहा छ, साथीबीच यस्तो औँचोपैँचो कुनै नैलो कुरा होइन । तर साथी र साथ भन्नु समयको गतिशीलता पनि रहेछ । हिँड्नै पर्ने । कही पुग्नै पर्ने । तर साथीको साथ बिना नै मुस्काउनु वा रुनु छ भने, नारायण गोपाल सुन्नुहोस् । सत्य, नारायण गोपाल तपाईँको बाल्यकालको साथी जत्तिकै छन् । आऊ नाचौँ अध्याँरोमा जुनकीरी नाचे जस्तै बतासमा उडौँ आज सिमलको भूवा जस्तै दुई कमद साथ हिँडै, छुटिनु त छँदै छ । ……….. यदि तपाईँ सधैँ सँगै हुनुलाई साथ ठान्नुहुन्छ भने गतल हुनुहुन्छ । साथीले जीवनभरको साथ निभाउन जरुरी छैन । बस, साथीसँग बिताएको पल जीवनभर रहनुपर्छ । सम्झनुहोस् त, तपाईँका कति साथीहरू अहिले साथमा छन् ? अनि यो पनि सम्झनुहोस् त, कुैन स्टेसनमा छुटेका कति साथीहरूको याद मनमा छ ? जीवनका स्टेसनहरूमा कतै छुटिगएका अनुहारहरू मेरा आँखामा छन् । यादहरू मनमा छन् । तर खै ती अनुहारहरू अहिले कहाँ छन् ? मलाई थाहा छैन । बाल्यकालका साथीहरू त सबै कतै हराएका छन् । भनिन्छ, संसारमा खरबौँ मानिसहरू छन् । तर, यो भनिदैन कि खरबौँ मानिसका आफ्नै आफ्नै संसार पनि छन् । हो, मेरा तमाम साथीहरू आआफ्नै संसारमा हराइगए । म आफ्नै संसारमा अल्झिरहे । तर, साथ हुनु र याद हुनु बिल्कुल फरक कुरो रहेछ । बाल्यकाल बाँकी रहेन, बाल्यकालका साथी कतै बिलाइगए । मात्र उनीहरूको याद बनेर गुञ्जिरहे नारयण गोपाल । लाग्छ, नारायण मेरा ती तमाम साथीहरूका कम्बो हुन् । नारायण गोपाल अहिले भौतिक रूपमै मसँग भएका भए सबैभन्दा बढी कसलाई सम्झिन्थे होला ? मलाई थाहा छैन । साथी कहाँ कहाँ जोडिएनन् र ? भट्टराई होलीमा बल्छी खेल्दा । भूतेनी खोलामा पौडी खेल्दा । शिक्षकलाई छलेर अग्लो पर्खाल नाघी स्कूल बकं गर्दा । बाँसझ्याङमा लुकेर आमनेसामने भई पहिलोपटक मैथुन गर्दा । कण्डमलाई बेलुनझैँ फूलाएर भलिबल खेल्दा । एकै केटीलाई पालो बाँधेर प्रेमपत्र लेख्दा । रातमा कसैको एकझल्कोको लागि अर्काे गाउँसम्म विवाह र पुराणको नाममा कुद्दा । अनि बिस्तारै कलेज, जागिर र जिम्मेवारी । भो, सबै कुरा म यहाँ लेख्न सक्दिनँ । साथीहरू कहाँ कहाँ पो छोडिएनन् र ? सरकारी स्कुल र अंग्रेजी स्कुलले कही पर्खाल बनाइदिए देस्तीहरूमा । कही बसाइँ सराई बनिदिए भेल । केहीसँग झगडा गरिए, अनेक बाहानाहरूमा । केही गाउँका लोकल स्टेसनहरूमा छुटे । र, धेरैलाई विमानस्थलले छुटाइदियो । अरू खै कहाँ कहाँ छुटे ? मलाई यकिन छैन । संसारमा विमान नहुने हो भने आधी दोस्तीहरू बँच्थे होला है ? दुई कदम सँगै हिँडु र छुट्नु मित्रताको सुन्दरता नै पो हो कि ? मलाई यस्तै लाग्छ थालेको छ । सिमलको भुवाजस्तै उडेर फरक फरक ठाउँमा पुग्नु नै त याद बढाउनु हैन ? मलाई होझैँ लाग्न थालेको छ । अनि त्यही सुन्दरता र यादमा लपेटिएर संगीतसँगै बहकिनु नै जीवन त हैन ? मलाई हो जस्तै लाग्छ थालेको छ । अँ … हररात अनेक साथीको रूपमा आउँछन् मेरो ओछ्यानसम्म नारायण गोपाल । सम्झाउछन् विगत, रुझाउँछन् आँखा र दिलाउछन् आत्मीयता । प्रिय ! थाहा छ तिमीलाई, अहिले म तिमीलाई सम्झेर उही नारायण गोपालअघि मात्र रुने गरेको छु । तिमीसँग सजाएका सपनाहरू तिमीबाहेक उही नारायण गोपालअघि मात्र खोल्ने गर्छ । नारायण गोपाल बिल्कुल मेरा बाल्यकालका साथी जस्तै छन् । म रुन्छु, उनी आफ्नो हत्केलाले आफ्नै आँशु पुछ्छन् । मेरा सपनाका उडाउनमा उनी पनि प्रशन्नताका उडान भर्छन् । उनी भैतिक रूपमा नरहेरै पनि खै किन मसँग संवाद गर्छन् ? मलाई थाहा छैन ।
काठमाडौँमा एकदिन: पशुपति मन्दिर परिसरमा हामी घाटतर्फ फर्किएर उभिएका थियौँ । सबैको नजर भर्खरै घाटमा तेर्साइएको लासमाथि थियो । कसको लास भन्ने विषयमा हामी अनविज्ञ थियौँ, तर लास एक महिलाको हो भन्ने कुराको प्रमाण कात्रोभन्दा बाहिर फिँजिएको कपालले पेश गरिरहेको थियो । लासका खुट्टा बागमती नदीमा चिस्याउन हालेझैँ देखिन्थ्यो । हामी मन्दिरपछाडिको अग्लो ठाउँबाट तल हेरिरहेका थियौँ । घाटवरिपरि केहीथान मान्छेको भीड देखिन्थ्यो । उनीहरू आँखामा केही अञ्जुली आँसु बोकेर बसेका थिए । चित्कारसँगैै कोहीका आँखाले आँसु थाम्न सकिरहेका थिएनन् । उनीहरूको गाला हुँदै भुइँमा बग्रेल्ती आँसु चुहिरहेको थियो । यो दृश्यले तिनीहरू मृतकका निकटका लाग्थे । बिपिन भारद्वाज अग्निस्थापना विधि सकेपछि पुरोहितले दागबत्ती एक युवकको हातमा थम्याइदिए । करिव एक्काईस–बाईस वर्षको त्यो युवक सायद मृतकको छोरो हुनुपर्छ । शून्यता सोचमा उसले लासलार्ई आगो थम्याइदियो । उसका आँखाले लासलाई अन्तिमपटक हेर्न चेष्टा गरेनन् । सायद सकेन । ऊ फनक्कै फर्केर अर्को कुनामा गएर घोप्टे पर्यो । टायर र सुख्खा दाउराको आडमा आगोले आफ्नो रूप बढाएर देखायो । धुवाँले घाटको अनुहार धमिलो भयो । एकसर्को धुवाँ हामीसम्म पनि आइपुग्यो । आन्द्रै बटार्ने खालको गन्ध मिसिएको धुवाँ हामीले नचाहेरै पनि निल्यौँ । सन्देशले माक्स लगाउँदासम्म मैले आफ्नो गोजीबाट रुमाल निकालेर मुख छोप्न भ्याइसकेको थिएँ । रुमालमा पोतिएको पर्फ्युमको मोहकले दुषित गन्धलाई जित्न सफल भयो । यो चानचुने रुमाल नहुँदो हो । कसैको यादको बुट्टा यसमा स्पष्ट देखिन्थ्यो । सायद कोही खास सम्बन्धको धागोबाट बुनेको हुनुपर्छ । यसलार्ई अति सुन्दर तरिकाले प्रयोग गर्नुमा नै यसलार्ई न्याय मिल्थ्यो । अति दुषित गन्ध रोकावटका निम्ति यसको प्रयोग गरेर यसको दुरूपयोग मबाट हुनु कुनै गल्तीभन्दा पनि अग्लो भुल थियो । भनिन्छ, लासबाट निस्केको धुवाँ सबैभन्दा घातक हुन्छ । यसले शरीरलार्ई ठूलो क्षति दिलाउँछ । मैले आफूलाई बचाउने सुरमा रुमालको बेसुर प्रयोग गरेको थिएँ । हामी भीडलार्ई छिचोल्दै निस्कन लाग्यौँ । क्यामेरामा हुबहु दर्दनाक दृश्य कैद गर्दै रमाइरहेका कुहिरेहरूलार्ई हेर्दैहेर्दै हामी पशुपतिको जङ्गलतर्फ निस्कयौँ । आफूलार्ई चोट नलागुन्जेल मानिसले ऐयासम्म शब्द चिनेको हुदोरहेनछ भन्ने सोच ममा तत्काल पलाईो । हामी त्यतैबाट मित्रपार्क निस्कियौँ । पुरानो खुइलिएको खागीका कपडाजस्तै देखिने बाटामा हामी पोखिन पुग्यौँ । लाग्छ, चाबहिल चोकदेखि गौशालासम्मको यो बाटो वर्षौँदेखि यही रङमा सझिएको हो । काठमा अनेकौँ रङ लेपन गर्दासमेत खुइलिएर टाटेपाङ्ग्रे प्राइमर देखापर्नु झैँ हो यो दूरीभित्रको सडकको रोग । महानगर यातायातलार्ई हातको इशारा देखाउँदै हामी चाबहिलपट्टिबाट रिङरोडमा बेरिन सुरु भयौँ । बिहान हेर्दा तल उभिएको घडीको घण्टा सुइ सिधा माथि उक्लिसकेको थियो । यो अर्थमा हामी मध्यान्तरको तातो धुलोमा रनभुल्ल थियौँ । बेलाबेला सहचालकले ठाँउको जानकारी गराइराख्थे । सुकेधारा, धुम्बाराही, महाराजगन्ज, बसुन्धारा आदि नाम कानमा बजिरहन्थ्यो । गाडी रोकियो । प्रायः सिटमा रित्तिने सुर चढ्यो । ढोकामा उत्रने यात्रुहरूको भीड देख्दा बसपार्क पुगेको सजिलै अडकल काट्न सकिन्थ्यो । अगाडि पछाडि छुटिएर बसेका सन्देश र म फेरि एकै सिटमा जोडिन पुग्यौँ । मनमा अनेकथरि कल्पना गर्दै हामी अघि बढ्यौँ । गाडीभन्दा कयौँ छिटा थिए हाम्रा सोचहरू । कोठमा पुगेर बिहानदेखिका जुठा भाँडा देख्न भ्याइसकेका थिए यिनीहरूले । यात्रारत हामी एकान्तकुनामा पुगेर उत्रीयौँ । रिङरोडको एक फन्को आज अपूरै रह्यो । सायद पूर्णिमा र औँशीबिचको चन्द्रमाको आकारजत्रो छाप हाम्रो यात्राबाट बन्यो । एकान्तकुनाबाट जाउलाखेल हुँदै पुल्चोक इन्जिनियरिङ कलेज छिचोलेर हामी प्रायः पाटनढोका पुग्थिऊँ । पाटन बहुमुखी कलेज हेरेर त्यहाँबाट गल्ली हुँदै लगनखेल बजार निस्कन्थ्यौँ । यो अर्थमा रिङरोडको एकचक्करभन्दा दोब्बर उल्झिएको देखिन्थ्यो हाम्रो यात्रा । चाबहिलबाट सिधै कोटेश्वर हुँदै पनि लगनखेल पुग्ने सवारी नपाउने होइनन् । तर यसमा सहजता थियो । हामी जोखिमलार्ई यो अर्थमा स्वीकार्न तयार थियाँै कि चाबहिलदेखि एकान्तकुना पुग्दासम्म गाडीको सिटमा पाएको आनन्द त्यहाँदेखि पुल्चोक पुग्दासम्म खर्च गर्थिऊँ । पुल्चोक कलेजका छात्राहरूको रूपको दर्शनले पाटनढोकासम्म पुग्ने उर्जा मिल्थ्यो । पाटन बहुमुखी क्यामपसमा कसैसँगको भेटले त झन् अमर जीवन जिउने रहर टुसाउँथ्यो । यतिमात्र हैन, कोठामा पुगेर मोबाइलको पेडोमिटरले नापेको लम्बाइको स्क्रीनसट अरू साथिलाई पठाएर गह्रौं धाक लगाउनुमा छुट्टै मजा जो थियो । लगनखेलको वल्लो छेउमा कृष्ण दाइको नेवारी खाजा पसल नपुगी सुनमा सुगन्ध मिल्दो थिएन । हामी बिहान जुनै ठाँउका लागि निस्किए पनि, जतैबाट फन्को लगाए पनि यात्राको बिट भने कृष्ण दाइकोमा नै टुङिन्थ्यौँ । हामी कृष्ण दाइसँग सम्बन्धको हिसावले निकटामा पुगेका थियौँ । भान्सामा खाजा बनाउनेदेखि जुँठो भाडा माझ्नेसम्मको दिमागमा हाम्रो अनुहार बसेको थियो । टेवल नम्बर सात हाम्रो पेवाभन्दा पनि आफ्नो थियो । कोही अरू ग्राहक बसेको भए कृष्ण दाइ आफँै आएर मुस्कुराउँदै ग्राहकलार्ई अर्को सिटमा सारेर हामीलाई बस्ने वातावरण मिलाइदिन्थे । सायद अंक सात लक्की अंक भएर हामी सधै त्यसमा बसेको लाग्थ्यो कृष्ण दाइलाई । तर असलमा म ऐनाप्रेमी थिएँ । ऐनाको अगाडि उभिएपछि समयसँग चिनजानै हराउनेगरी म टोलाउथेँ । म आफैँमा आफूप्रति यति प्रेम थियो कि आँखा नगलुन्जेल ऐना हेर्नसक्ने क्षमता ममा थियो । टेवल नम्बर सातबाट सामुन्ने पर्नेगरि ठूलो ऐना राखिएको थियो । यसमा म आफ्ना बाटुला आँखालार्ई आँखाले नै हेर्न सक्थेँ । आफ्नो ठूलो निधारभित्र अँटेको भाग्यको आकारको कल्पना गर्नसक्थेँ । यी ऐनाभित्रका नजर नि मलाई यति मजबुत आकारमा हेर्थे कि लाग्थ्यो मलाई खुब रुचाँउछ्न । यो पसलमा खाजा के खाने भनेर मगाइराख्नु जरुरी थिएन । हाम्रो निरन्तरताले काम गर्ने भोला दाइलाई सहजता प्रदान गरेको थियो । दुई कप स्पेसल दूध चिया र दुई प्लेट मःमको भार थेग्ने बानी हाम्रो आगमनसँगैै टेवलमा थियो । मःम र चिया आएको करिब पन्ध्र मिनेटपछि दुइटा सूर्य चुरोट लिएर कृष्ण दाइ आफैँ आए । टेवलमै बाँधेर राखिएको लाइटरको सहायतामा मैले आगो सल्काएँ । बेलाबेला एस्ट्रेमा ठोकाउँदा खरानी उढ्थ्यो त धुवाँ फोक्सोसम्म ठोकिएर प्रतिसेकेन्ड प्रतिघन सेन्टिमिटर उड्थ्यो । पिउने चुरोटको संख्या निर्धारण कति वजनका यादलाई मेटाउनु छ भन्ने उचाइमा नाप्ने गरिन्छ । बेलाबेला भारी तनावमा बट्टाबट्टा नै चुरोट किनेको दिन यसमा लेखिएको ’धूम्रपान स्वास्थका लागि हानिकारक छ’, भन्ने अक्षर देख्दा मर्ने दिन नजिक आएछ भन्ने लाग्थ्ये । “तँ ज्यादा चिन्ता लिन्छ्स् ! मभन्दा तँ नै छिठो मर्छ्स ! एक चिन्ताले मर्छ्स, अर्को चुरोटको असरले । यो अर्थमा तेरो आयु दोब्बर छोटिँदैछ !“ सन्देशले बारम्बार यस्ता वाक्य ममाथि नतेर्सियाएको होइन । र ऊ म जति धूम्रपान नगर्ने पनि होइन । म पनि त हो है ! को भाकामा फिस्स हाँसो हाँसिदिन्छु । यो सम्वादमा पूर्णबिराम सजिलै लाग्छ । लगनखेल बजारबाट भित्र पुराना नेवारी अनुहारका गल्ली हुँदै हामी च्यासल पुग्छौँ । त्यहाबाट देब्रे करिव दुई मिनेटमै एउटा पुरानो शैलीको घरको गेट खोलिन्छ । सन्देश सरासर भित्र पस्छ । म भने गेट लगाएर मात्र भित्र छिर्छु । म भित्र पुग्दासम्म ताल्चा खुलिसकेको हुन्छ । सन्देशले ढोकाभित्र ठेलेर ढोकैछेउको स्वीज थिच्छ । कोठाको एकभित्तामा टाँसिएको सि.एफ.एल. उज्यालो रूपमा मुस्कुराउँछ । ढोकै पछाडी दुबैले आआफ्ना जुत्ता फुकालेर राख्छौँ । मोजालाई त्यसैमा लुक्ने ठाउँ मिल्छ । पालैपालो बाथ्रुममा राखिएका काला ड्रामबाट पानी उघाएर बहुत जतनसात खुट्टा भिजाउँछौ। खाटमा लडिबडी गर्दै सुतेका सिरकले दुबैलाई पालैपालो हेर्छ। त्यसपछि म सन्देशलाई हेर्छु। उ फेरि सिरकलाई हेर्छ। एक चक्कर हेर्ने कार्य पूरा भएपछि उ अनुभवी कपडा पसलेझै सिरक पट्याउँछ। म अर्को कुनामा थुपारिएका जुठो भाडा देख्छु, एकटकले हेर्छु, अनि छुन्छुपनि। बटुकामा गुन्द्रुकका टुक्रा कताकता टासिंएको भेटिन्छ। यसको अमिलोपन सम्झन्छु । अनि आमा सम्झन्छु । गाँउबाट कोसेली पोक्याएर पठाएको उनको गुन पनि याद आइहाल्छ । मन घर सम्झेर भावुक बन्न नपाउदै क्रमबद्ध रूपमा कुकर मस्काउने पालो आउँछ। यस अर्थमा यो अन्तिम मुस्किल कार्य हो । उता सन्देशले आलुको बोक्रा तास्ने काम सकिएको देखिन्छ। सानो गिलासले चामल कुकरमा हाल्ने बेलामा उ मतिर पुलुक्क हेर्छ । म भोकको निर्धारण गर्छु। आँखाको चाल बुझ्नमा उ माहिर छ। एक र आधा गिलास चामल कुकरमा हालेर धोएपछि उ औला चोबेर पानीको मात्रा नाप्छ। कुकरमा बिर्को लगाउदा चनाखो भएर कागजको टुक्रा बिर्कोको बिँडमा अडकाउन बिर्सदैन। ध्यानसंग यति गर्नु उसमा भोकको मात्रा ज्यादा छ भन्ने बुझिनु हो। पालो हेर्नेहो भने म तरकारी बनाउन बाध्य हुन्छु। अचानक आँखा रसाउँछ्न । यो कसैको यादमा बगेको आँसु होइन। बरु यो प्याजमा भएको सल्फरको करामत हो भन्ने मलाई दस कक्षामा पढाउने गुरुले बताएको याद आउँछ। कोठाको भान्से हुनुमा दस कक्षामा त्यो बेलाका राम्राराम्रा केटिसाथीलाई पालैपालो सम्झ्ने फुर्सदसम्म निकाल्न मुस्किल पर्छ। कुकरले एक सिटि मार्छ। म ग्याँस मार्छु। यतिन्जेल सन्देशलाई मोबाइल चलाएर खाटमा पल्टने अनुमती यो अर्थमा छ कि बेलुकाको भाँडा माझ्दा उसलाई मबाट कुनै सहयोग मिल्दैन। खाना पस्कने काम मबाट हुन्छ। ऊ हात धोएर मुढामा बस्छ। हात धुनु अधि उसले खाटको डसना ध्यानपुर्वक पल्टाएर खाना राख्ने ठाउँ बनाउँछ। मुढामा बसेर खाटमा राखेर खाना खाने कार्य हामीबाट सुरु हुन्छ। उ आफ्ना हातले खाइरहँदा मभने चम्चाको सहायता लिने गर्छु ।यो क्रम धेरै अघिदेखि चल्दै आएको सम्झना छ। कति अघिदेखि हो भन्ने सम्झ्ना भने छैन। यो गर्मी महिना हो भन्ने कोठाको एककुनामा घुमिराखेको टेवल पंखाको आवाजले भुल्न दिदैन। अर्को छेउमा अन्डा राख्ने कार्टुन बाल्नुले पनि लामखुट्टे लाग्दोरहेछ भन्ने संकेत पक्कै गर्ला। भित्तामा झुण्डिएको क्यालेन्डर केही बोल्न बोल्न खोजेझै देखिन्छ। सायद बोली भए घरभाडा दिनेबेला भन्यो भन्थ्योहोला । सम्झिन्छु, यसले नि घरबेटिलेझैँ नेवारी टोनमा बोल्थ्यो होला, “ओ केटा हो मैना मर्यो ट ! घरभाडा टिर्नी होइन ? बट्टिको पनि धेरै उठेको होला ! ढिलोको भोलिसम्म डिनु है !“ घरबेटी भन्नेबित्तिकै मलाई यही बाक्री, टोन अनि बुढाको चाउरिएको अनुहार याद आउँछ । बत्तीको बिल ज्यादा उठ्छ भन्ने ख्याल बूढाले यादमै सम्झाएपछि पंखा नमारिकन बस्नै सक्दिनँ । मारेर पनि बस्नै सक्दिनँ । बिकल्पमा भुइँतलाकै भए पनि झ्याल खोलिन्छ । यो एकदमै जोखिम कार्य हो । च्यासलको गल्लीमा रातभरि मातेर हिन्ने मान्छेको होहल्ला नसुनिने होइन । हल्ला गर्ने भन्दा पनि हल्ला नगरी हिन्नेबाट ज्यादा डराउनु जायज छ । धेरैपटक झ्यालबाट डन्डा छिराएर कोठामा झुण्डियाइएका पाइन्ट अनि सर्टहरू नतानिएका होइनन् । एकपटक त कोठाभित्रै सन्देशले सर्प पनि भेटेको याद छ । छिमेकी कोठका सबैले झ्यालबाट आएको हुनसक्ने बताएका पनि थिए । सन्देशले भाँडा माझीसक्दा मैले झुल लगाएर खाटलाई बेहुलीजस्तै सजाउन सफल भएँ । आज बुधबार हुनुमा यो समयको उपभोग गरेर घुम्ने समय निकाल्नमा खर्च गरियो । बुधवार ढिलो बार भनेर हामी प्रायः सबै काम बार्ने गर्छौँ । बुधबार हाम्रो दैनिकीको कुनै कार्य सम्पन्न नहुने दिन हो । भोलि फेरि कलेजले गाँज्नेछ । ती ठुल्ठूला किताबले पिरोल्नेछ्न । आफ्नो दैनिकीले समाउनेछ । घरबाट आएका फोनहरूको जवाफ दिनुपर्ने छ । र यो जिन्दगीमा फेरि यस्तै बुधवार आउन अब हामीले अर्को बुधवार कुर्नुपर्ने छ । #बिपिन भारद्वाज
मेरो अपहरण: यात्रामा आधारित फिल्म हेरे जस्तो नियात्रा: नियात्राकार सरिता अर्यालको ‘मेरो अपहरण’ जति पढ्दै जान्थें मेरो आङ जिरिङ भएर आउँथ्यो । एक महिला लेखिकाले आफ्नै जीवनमा भोगेको त्यो जीवन कति कहालीलाग्दो छ ! माओवादीले जनयुद्ध चलाइरहेको समयमा पत्रकारको रूपमा कालीकोट पुगेकी अर्यालले त्यो समयमा उनले भोगेको अनुभूति नियात्राको रूपमा प्रस्तुत गरेकी छन् । उनले लेखेको उक्त पुस्तक निजात्मक नियात्रा हो, तर पनि पुस्तकको स्वरूपमा सार्वजनिक भएपछि अब यो उनको नीजि भएन । सबैको नियात्रा भएको छ । सावित्री पराजुली खनाल रिपोर्टिङको लागि कालीकोट पुगेकी पत्रकार तथा लेखक अर्यालले उक्त ठाउँमा जाँदा आफूले जे देखिन, जे भोगिन्, त्यसलाई इमान्दरीपूर्वक प्रस्तुत गरेकी छन् । आफूसंगै सम्पुर्ण पाठकका साथै हामी जस्ता कालीकोट नपुगेकाहरूलाई पनि आफूसंगै घुमाउन उनी सफल भएकी छन् । पुस्तक पढ्दा लाग्दछ , यात्रामा आधारित कुनै फिल्म हेरिरहेकी छु । लेखिका अर्यालले कालीकोटको यात्रा शुरू गरेदेखि घर नफर्कदा सम्मको बाटोमा भोगेका साना-ठूला घटनाहरू नछुटाईकन उतार्न सफल भएकी छिन् । लेखनीमा मिठास छ । मिठासको कारण होला जुनसुकै शीर्षक वा पेज पढ्दा पनि बोर लाग्दैन । लेखिका सरिताको कलमको जादुगरी यसैमा देखिन्छ । सरिता अर्याल एउटी कुसल पत्रकार हुन् । पत्रकारबाट साहित्यकार भएकी हुनाले पनि होला घटनालाई हेर्ने, विश्लेषण गर्ने र प्रस्तुत गर्ने शैली विशुध्द नियात्राकार लेखकको भन्दा फरक छ । यो उनको लेखनमा पाइएको विशिष्टता हो । ‘मेरो अपहरण’मा पत्रकारको आँखाले देखिन् र साहित्यकारको मनले लेखिन् | त्यसैले गर्दा कृति पठनीय बन्न सक्यो । मनले लेखिएकै कारणले होला, सबैको मनभित्र ‘मेरो अपहरण’ बस्न सकेको छ । मेरो अपहरण पढिसकेपछि हरेक पाठकले नियात्राकार सरिता अर्याल र ‘मेरो अपहरण’ लाई आफ्नो मुटुको कुनामा राख्न सक्ने छन् । यो अमीट छाप अपहरणले छोडेको छ । तत्कालीन माओवादी द्वन्दले नेपाली समाज थिलोथिलो भएको थियो । थिलोथिलो भएको समाज पढ्ने रहर जस्लाई पनि थियो । तर रहरले मात्र त्यो समाज पढ्न कहाँ सकिन्थ्यो र ? त्यो समयमा ग्रामीण समाजभित्र पसेर पढ्न हिम्मत चाहिन्थ्यो । काठमाडौंमा बसेर सम्पादकको भूमिकामा रहेकी सरिताले आँट गरिन् र सफलता पनि चुमिन् । उनले त्यतिबेला काठमाडौंको छलकपट र चाप्लुसी समाजलाई छोडेर यथार्थ रिपोर्टिङको सपना च्यापेर कालीकोट पुगेकी थिइन् । त्यो बेला आफूले चलाएको पत्रिकामा नयाँ र बिलकुल भिन्न किसिमको समाचार दिने हेतु मात्र थियो उनीसँग । तर त्यतिबेला त्यै समाचार पनि समाचार बन्न सकेन । अहिले त्यही घटना विवरण नियात्राको रूपमा प्रकाशित भएर आयो । कालीकोट माओवादी द्वन्दको उद्धगम स्थलमध्यकै एक हो । द्वन्दकालको माओवादी इलाका भनेर चिनिएको क्षेत्रमा एउटी महिला रिपोर्टिङ गर्छु भनेर प्रवेश गर्नु समान्य कुरा थिएन । त्यै असामन्य कुरो अहिले ’’मेरो अपहरण’ को नामले हाम्रो हातमा आएको छ । लाग्छ, अहिले उनले सबैलाई चकित पार्न सफल भएकी छन् । तत्कनलीन समयमा भर्खरै शान्ति सम्झौता भएको थियो | त्यही मौका छोपेर सरिता अर्याल कालीकोट गएकी थिइन् । पत्रिकाको लागि केही नयाँ सामग्री खोजेर र पठनयोग्य बनाएर पत्रकारितामा उचाई थप्ने हेतुसंगै पाठकलाई खुशी पार्न मात्र उनी कालीकोट गएकी हुन् । उनको साथमा अरू दुईजना साथी पनि थिए । जब उनीहरू कालीकोटतर्फ लागे, त्यतिबेलादेखि नै उनीहरू माओबादीको निगरानीमा परे । शान्ति सम्झौता भए तापनि कालीकोटका कर्णालीपारीका गाउहरूमा उनीहरू कै राज थियो । त्यहाँ उनीहरूले आफ्नो इलाका भनी माखो छिर्न दिएका थिएनन् । त्यस्तो अवस्थामा त्यहाँ जानुभनेको सानो कुरा थिएन । शान्ति सम्झौता भए तापनि त्यहाँको गतिविधि उस्तै थियो । राम्रोसँग नबुझी त्यहाँ जानुभनेको लेखकको अलि मुर्खता नै थियो या जिद्दिपना ? माओवादी नेतालगायत त्यहाँका बासिन्दाले उनलाई भनेको कुरा, देखाएको व्यवहारसँग डिलिङ गर्न सक्नु उनको ठूलो आँट हो । अपहरण पढ्दै जाँदा उनीमा एक बिरंगनाको चरित्र भेटिन्छ । आँटी लेखिका, नवीन श्रोतकी प्रेरणा | माओवादी द्वन्द्वको जरोमा पुगेर गरिएको खोज तथा जिज्ञासा यसमा पाइन्छ । लेखनमा स्पष्टता र रोचक शैली ‘मेरो अपहरण’को विशेषता हो । प्रत्यक्षकथन, शृङ्खला बद्ध शीर्षकहरू, कथात्माक प्रस्तुति । सामाजिक मनोविज्ञान, युद्ध, महिला र समाज परिवर्तनको अध्ययन तथा अवलोकनसहितको प्रस्तुतिले लेखिका अर्याललाई परिपक्क देखाएको छ । क्रान्ति र समाजरूपान्तरणको सपना काँचझैँ झर्यामझुरुम भैसकेको अहिलेको अवस्थामा प्रस्तुत नियात्रा पढ्दा र त्योबेलाको सकसपूर्ण जीवन सम्झदा अहिले पनि आग सिरिङ हुन्छ । शीर्षकहरू जस्तै कालीकोट पुग्ने रहर, ट्रकमा उडेर मान्म, गाई गोठे अस्पताल, विस्थापितका पिडा, कहालीलाग्दो पुल,सान्नी गाउँकी सुकी, आक्रमक युवती, भाटे कारवाहीको अन्तरकथा, जीतबहादुरको रत्याली सपना, ट्वबाटइकै चिन्ता (कालीकोट तिरको भाषा), जोशिला दुई किशोर, अचानक बन्दी, महिला जागरणको उत्कर्ष, जनसरकारको कठघरामा, कमरेड युद्वका कुरा, दोस्रोपटक जनअदालतमा, सीता शाहीले सुनाएको कथा, पिंजडा तोडेको त्यो दिन, भरोसाको त्यो माला, र खुल्ला आकाशको अंगालोमा जस्ता शीर्षक समेटिएको कृतिमा शीर्षकहरू आफैँ बोलेका छन ।सम्पादन नपुगेको र भाषिक परिमार्जनको कमी स्वभाविक लाग्यो । कही स्थानीय भाषा र लवज समेट्न खोज्दा अलमल देखिए पनि लेखनकलाले जितेका कारण गौण बनाइदिएको छ । द्वन्द्वको कारण र त्यसले समाजमा पारेको असरबारे गम्भीर रूपमा नलिएको जस्तो लाग्यो | शान्ति प्रकृयामा आएर शासनसत्तामा बसिसकेको माओवादीले कालीकोटलाई कस्तो बनाएको होला भन्ने पाठकको जिज्ञासा पनि समेट्न सकेको भए सुनमा सुगन्ध हुने थियो । लेखिका सरिता यहाँनेर चुकेकी छन् । तर उनको लेखन चतुर्यले त्यो कुरा सम्झिन दिएकी छैन । नियात्रा, संस्मरणको नाममा लेखिएको उपन्यास भनिदिएको भए यति पनि भन्ने ठाउँ रहने थिएन । अन्तमा, ‘मेरो अपहरण’ महिला सचेतना जगाउन, दूरदराजमा बसोवास गरेका नेपालीको जीवन कहर थाहा पाउन, समाजशास्त्रीय अध्ययन गर्न खोज्नेहरूलाई निर्देश गर्न, र भाषा, साहित्य, संस्कृति र समाजमा व्याप्त अशिक्षा, गरिबीमाथि बुझ्न र बुझाउन सफल देखिएको छ । #मेरो अपहरण #सावित्री पराजुली खनाल
तिम्रो र मेरो लकडाउन: चीनको उहान सहरबाट सुरू भएको कोरोनाभाइरसको त्रासदीले सारा संसार छोपिदिँदा संक्रमण अरू नफैलियोस् भनेर आफ्नै घरमा केही समयको लागि तिम्रो लकडाउन सुरू भयो । बच्चा र आमामध्ये एउटालाई मात्र बचाउँन सक्ने चिकित्सकको कुरा सुनेर आफू मरेर मलाई जन्मदिने मेरी आमाको मृत्युपछि अर्की बिहे गरेर बाबा अर्कै भइदिँदा सौतेनी आमाबाट जव म बेचिए बम्बैको कालकोठीमा मेरो लकडाउन सुरू भयो । तिम्रो लकडाउन हरेक अखबारका पानामा छ मेरो लकडाउन फगत कविता र गानाहरूमा छ तिमीलाई सम्भावित मृत्युबाट बचाउँन संसारले रक्षक बनेर हात फैलाएको छ मलाई भने त्यही संसारले भक्षक बनेर पलपल मेरो जवानी मैलाएको छ । तिम्रो लकडाउनमा झरेको आँसु र मेरो लकडाउनमा झरेको आँसुको रंगमा समानता भएपनि रसमा आकाश पातालको भिन्नता छ तिम्रो आँसुमा मृत्युको भएछ मेरो आँसुमा जीवनको भएछ । तिम्रो लकडाउनको अन्तनिश्चित छ मेरो लकडाउनको अन्तअनिश्चित छ तिम्रो लकडाउनको सीमा भाइरसको अन्तसँग जोडिएको छ मेरो लकडाउनको सीमा मेरो जीवनको अन्तसँग जोडिएको छ । म चाहन्छु तिमीलाई तिम्रो लकडाउनबाट छिट्टै बाहिर निस्कनु परोस् मलाई भने मेरो लकडाउनबाट जीवितै बाहिर निस्कननपरोस् किनकीतिम्रो लकडाउनको दुनियाँमा मान छ मेरो लकडाउनको दुनियाँमा अपमान छ तिमीले लकडाउनबाट मान कमाएका छौ मैले लकडाउनबाट बदनाम कमाएकी छु । तिम्रो लकडाउन अन्तमात्र होइन अन्तिम भइदियोस् विज्ञानले यस्तो चमत्कार गरिदियोस् कि फेरि कहिल्यै मानिसले घर भित्रै बन्धक बस्नु नपरोस् तिम्रो जस्तै मेरो लकडाउन पनि अन्तिम भइदियोस् मानवमा मानवता मौलाओस् महिलाप्रतिको विषालु नजरको अन्त होस् ता कि फेरि म जस्तै अरू कुनै चेली यसरि कालकोठीभित्र लकडाउनमा बस्नु नपरोस् । #तिम्रो र मेरो लकडाउन #प्रेम लामिछाने
नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औँ वार्षिकोत्सवका सन्दर्भमा: आज नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औँ वार्षिकोत्सवको दिन । आजकै दिन २०१४ साल असार ९ गते नेपाली साहित्य कला एकेडेमीका नामबाट यस नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना भएको थियो । पछि ऐन जारी हुँदा नेपाल एकेडेमीको नाम पाएको यो प्रज्ञा–प्रतिष्ठान बिचमा रोयल नेपाल एकेडेमी र नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै २०६२\\०६३ को लोकतान्त्रिक गणतन्त्रात्मक आन्दोलनको सफलतापछि जनभावनाअनुरूप २०६४ मा जारी ऐनअनुसार हाल नेपाल प्रज्ञा–प्रतिष्ठानका रूपमा सञ्चालित छ । नेपालका भाषा, साहित्य, कला, दर्शन, इतिहास, संस्कृति, पुरातत्त्व, सङ्गीत, समाजशास्त्र, मानवशास्त्र, विज्ञान आदि विषय र तिनका विभिन्न विधा–उपविधाहरूको अध्ययन–अनुसन्धान, विमर्श र प्रकाशन गर्ने र नेपालको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार समेत गर्ने उद्देश्यले स्थापित यो नेपाल प्रज्ञा–प्रतिष्ठान हाल भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र जस्ता पाँचओटा विषय क्षेत्रमा विशिष्टीकृत भएको छ । हाल यी पाँचओटा विषय क्षेत्रका ११ ओटा विभागहरू क्रियाशील छन् । यी प्रत्येक विभागअन्तर्गत वार्षिक रूपमा अध्ययन–अनुसन्धान, गोष्ठी, कार्यशाला, अन्तरक्रिया एवम् प्रकाशनका कार्यहरू भइरहेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापनाको ६२ औँ वर्ष पूरा गरी ६३ औँ वर्षमा प्रवेश गर्दै गरेको वर्तमान अवस्थासम्म आइपुग्दा यसले नेपाली वाङ्मयका क्षेत्रमा युगीन महवका अनेकौँ कामहरू सम्पन्न गरिसकेको यथार्थ सर्वविदित नै छ । अहिले हामीले नेपाल चिनाउने बृहत् ग्रन्थ ‘नेपाल दर्पण’ लेखन कार्यको प्रारम्भ गरेका छौँ । हरेक प्रदेशका सम्पूर्ण पक्षहरू समेटिएका एक एक ग्रन्थ र ती सबैको एउटा सिङ्गो रूप ‘नेपाल दर्पण’ तयार गरी त्यसलाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशन गर्ने राष्ट्रिय गौरवको योजनाको सम्पन्नता अहिलेको हाम्रो मूल अभीष्ट रहेको छ । यसरी नै महाकवि देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने, ‘नेपाली बृहत् शब्दकोश’लाई युगानुकूल प्रविधिमुखी बनाउन एपमा लैजाने, ‘नेपाली बृहत् शब्दकोश’को परिमार्जित दसौँ संस्करण प्रकाशन गर्ने, नेपालका सम्पूर्ण साहित्यकारहरू र कलाकारहरूको परिचयात्मक ग्रन्थ साबिकको ‘साहित्यकार–कलाकार परिचयकोश’ लाई परिमार्जनसहित ‘लेखक–कलाकार परिचयकोश’ का रूपमा प्रकाशन गर्ने, लगभग डेढ लाख शब्दहरू समेटिएको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रकाशन गर्ने, नेपाली भूमिमा उत्पत्ति भएका सम्पूर्ण दर्शनहरू समेटिएको ‘नेपाली दर्शन’ ग्रन्थ प्रकाशन गर्ने, पहिले प्रकाशन भएका तर हाल अप्राप्य ऐतिहासिक सामग्रीहरूलाई खोजी गरी पुनः प्रकाशन गर्ने तथा विभिन्न मित्रराष्ट्रहरूसँग सांस्कृतिक तथा साहित्यिक सम्बन्ध विस्तार गरेर नेपाली वाङ्मयलाई विश्वव्यापीकरण गर्ने जस्ता दूरगामी प्रभाव पार्ने खालका कामहरूलाई हामीले योजनाबद्ध तरिकाले अगाडि बढाएको कुरा समस्त वाङ्मयप्रेमीहरूका माझमा राख्न पाउँदा गौरवबोध भएको छ । वर्तमान परिवेशमा विश्वव्यापी रूपमा देखापरेको कोरोना भाइरस (कोभिड १९) को महामारीबाट वाङ्मय क्षेत्र पनि निकै प्रभावित भएको छ । यसै बिचमा पनि हामीले सुरक्षाका विधिहरूलाई अपनाउँदै अनुसन्धान, सम्पादन र प्रकाशनका कामहरूलाई निरन्तरता दिइरहेका छौँ । तर यसै सङ्क्रमणका अवधिमा नै आएको नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औँ वार्षिकोत्सवलाई भने हामी सदा झैँ विभिन्न कार्यक्रमहरूका साथै राष्ट्रिय कविता महोत्सवको आयोजना गरी भव्यताका साथ सम्पन्न गर्ने अवस्थामा छैनौँ । यही विषम परिस्थितिका कारण नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औँ वार्षिकोत्सव समारोह र राष्टिय« कविता महोत्सव– २०७७ सहज अवस्था नआएसम्मका लागि स्थगित गर्नुपरेको कुरा सार्वजनिक सूचनामार्फत पहिले नै सबैमा जानकारी गराइसकिएको छ । राष्ट्रिय कविता महोत्सवका लागि तोकिएको समयभित्रमा प्राप्त ५०२ ओटा कवितालाई हामीले सिलबन्दी र लाहाछाप गरी सुरक्षित रूपमा राखेका छौँ । अनुकूल समयमा नेपाल प्रज्ञा–प्रतिष्ठानले महोत्सवको आयोजना गरी सम्बन्धित कविताहरूको समुचित मूल्याङ्कनका साथै पुरस्कार प्रदान गर्ने कुरा सम्बन्धित सबैमा अवगत गराउँदछु । अन्त्यमा, यस्तो विषम परिस्थितिमा पनि हाम्रा योजनाहरूमा साथ र सहयोग गर्ने नेपाल सरकार, संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालय, हाम्रो अनुसन्धान र सम्पादनको कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण विद्वद्वर्ग, हाम्रा कामहरूप्रति निरन्तर चासो राख्नुहुने शुभचिन्तकहरू, हाम्रा योजनाहरूलाई सुसूचित गरेर हौसला प्रदान गर्नुहुने पत्रकार मित्रहरू, आफ्नो कामलाई कर्तव्यनिष्ठ भएर पूरा गर्ने प्राज्ञ परिषद् र आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरिरहने कर्मचारीहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औँ वार्षिकोत्सवका अवसरमा समस्त नेपालीहरूमा सामाजिक र भौतिक दुरी कायम गर्दै स्वस्थ रहौँ, सुरक्षित रहौँ, सिङ्गो मानव जातिमाथि आइलागेको विश्वव्यापी सङ्कटको समाधानमा सबै एकजुट भएर लागौँ र विश्वमानवता एवम् बन्धुत्वको रक्षा गरौँ भन्ने आह्वानसहित हार्दिक शुभकामना व्यक्त गर्दछु । गङ्गाप्रसाद उप्रेती, कुलपति #नेपाल प्रज्ञा प्रतिष्ठान
प्रेम: रूपक अधिकारी म प्रेमको मैदानमा अपहेलित भैसकेको छु विप्लवको गोरेटोमा मेरी अर्धाङ्गिनी एउटा चुम्बन कथा सुनाउँछे मदिरामा लठ्ठ परेर बहकिँदै जाँदा उसलाई त्यति याद छ कि त ऊ त्यति मात्र सुनाउन चाहन्छे त्यति मात्र सुनाउन सक्छे सैतानको लिवासमा म उसको धोका परीक्षण गर्न सक्थे पोजिटिभ निस्कन सक्थ्यो तर मैले त्यसो नचाहनुमा कारण प्रेम थियो र, मैले त्यही अध्यायपछि मैदानमा हार्दैहार्दै गैरहेँ । प्रेमको कोलाहल सुन्दा उदेक लाग्न थालेको छ यो संसारमा हुँदै नभएको प्रेममा किन गीत लेखिन्छन् यहाँ बुहारीलाई भन्दा बढी पीडा त ज्वाईंलाई हुन्छ मलाई ससुरालीले आफ्नो घर नछोडेकामा पीडा दियो सासुको हातबाट शल्यक्रिया हुँदा आँत कैले लिलाम हुन्छ पत्तै लाग्दैन ससुराले मलाई मगजको बिरामी हौ भनी अपहेलनाको बाण हान्दा बिरामीनै बनाउने उनकी छोरीको कर्तुत मुटुकै डस्टबिनमा राख्दा डिप्रेसनको रजस्वला भएको चैँ हो र, त्यही अध्यायपछि मैले मैदान छोड्दै छोड्दै गैरहेँ । आई लभ युको बजारमा म छाती ठोकेर भन्न सक्छु माफ गर्नुस् महोदय तपाईंको प्रेम कात्रोजस्तै छ ज्युँदो रहुन्जेल कैले ओढ्ने साहस राख्न सक्दिनँ । गौरादह – १, झापा #झापा #रूपक अधिकारी
धर्तीको स्वर्ग: तिलकराम पोखरेल आमाले सानामा सुनाउने कथाकी पात्र एकदम मन पर्थ्यो मलाई भेट्ने रहरमा हुर्किदैँ आएँ बाबाले सुनाउने गीतभित्रको क्षितिजमा रमाउने आशाले फुर्कदैँ गएँ एकदिन खोज्छु पक्का भन्दै विद्वानका उपमाहरूले नाति फकाउने हजुरआमाको स्वरचित वाक्यहरूमा सपनाको रङ् पोत्दै खेल्ने गर्थेँ वर्तमानमा मर्न सजिलो छ बाँच्न त गाह्रो भन्ने छिमेकी ठाइँलाको त्यो उक्ति सुन्दासुन्दा जवानीलाई घिसार्दै ल्याएँ र परदेशलाई सुम्पिदिएँ आज विश्व कारागारमा छ संसार दिउँसै अन्धकार खाँदै विलाप गरिरहेको छ विलासको लालसले घचेटिएको मसँग चिट्ठी आउँछ यहाँ सबै ठीकै छ भकारीमा धान छ बारीमा सब्जी छ नदीमा पानी छ त्यसपछि तेरो चिन्ता छ यहाँ हामीलाई डढाउने दाउरा प्रशस्तै छ तर दाग दिने तँ छैनस् दुधालु गाई छ अन्तिम सासमा पिलाउने तँ छैनस् खेतको लेखाजोखा सबै तेरो नाममा गरिदियौँ औँलाको छाप हान्ने तँ छैनस् बरू फर्केर आइज महल नभए नि घर छ तेरो पिरले बाँच्नु विष खाएर छट्पटाएको अवस्थामा छौँ यहाँ व्यथामा छैँ हामी चिट्ठीमा आमाको नाम देखेँ त्यहाँ परी बसेकी थिई चिट्ठीको छातीमा बाबाको क्षितिज देखेँ त्यसका शब्दमा हजुरआमाको आँसु देखेँ र ठाइँलाको आवाज पनि भेटेँ सबै त्यहाँ छोडेर यहाँ के गर्दैछु म ??? घर धर्तीको स्वर्ग रहेछ पछुताउने मौका पाएँ म पछुताउने मौका पाएँ #तिलकराम पोखरेल
सुबासका दुई गजलहरु: (१) सुबास अधिकारी अगाडि हेर्दा अघि बढ्नै नसकिने कहालीलाग्दो भिर छ पछाडि फर्कदा बिर्सनै नसकिने तिम्रो याद आउने पिर छ घरीघरी भित्र कतै च्वास्स च्वास्स घोच्ता सम्झना हुन्छ, हृदयमा कुनैबेला रोपिएर खिया लागेको तिखो झिर छ घातमाथि घात भएर जिन्दगीमा ठुलै बज्रपात परे पनि म आफ्नै खुट्टा टेकेर उभिएको साक्षी मेरै ठाडो शीर छ कतै बलियाो लडेको, कतै कमजोर अघि बढेको दुनियाँमा कसले कसरी भन्न सक्छ, जिन्दगी तेरोभन्दा मेरो वीर छ ? कहिले काम गर्न दौडनुपर्ने कहिले काम छोडेर भाग्नुपर्ने ! भागदौड गरेर जिउनुपर्ने दुनियाँमा जिन्दगी कसको थिर छ ? (२) पुग्छु माथि म पनि, माथि पुग्ने गरी तिमी माथि चढ्छौ भने झर्छु तल म पनि, तल झर्ने गरी तिमी माथिबाट लड्छौ भने भएर दिनमा देव रातमा दानव हुने चरित्र तिम्रो ठिक भएन गनाउँछु म पनि दुर्गन्धित भई, बिग्रने गरी तिमी सड्छौ भने निस्कदा यात्रामा नबिर्सनु बार्दलीमा झुन्डिएको छाता ओड्न पोल्छ मलाई पनि भतभती तातो घाममा तिमी डड्छौ भने हिड्छौ भने सिधा भएर सिधा बाटो पुग्ने तिमी ठाउँ सुन्दर छ लाग्छु अघि म पनि, अघि बढ्ने गरी तिमी अघि बढ्छौ भने बने कुख्यात डाकु रत्नकार कसरी विख्यात साधु वाल्मीकि ? ल्याइदिन्छु पुस्तक तिम्रै लागि, रुचिपूर्वक तिमी पढ्छौ भने। #सुबास अधिकारी
शिक्षणपछि समाजसेवामा समर्पित स्याङ्जाली: शिक्षण आफैँमा एउटा समाजसेवा हो तर जीवनभर शिक्षण गरेर पनि नअघाएका शिक्षासेवीहरू अवकाशको जीवनलाई पनि सेवामै बिताउने निर्णयमा पुगेका छन्। तिनै समाजसेवीहरूसँग साहित्यपोस्ट स्याङ्जाका प्रतिनिधि शम्भु अर्याल र यामकान्त खनाल ले सोधेको प्रश्नको उत्तर पहिलो शृङ्खलामाः उर्वरशील उमेरमा व्यापार-व्यवसाय अन्य आयमूलक क्षमता र सम्भावना छाडेर जीवनको प्रारम्भमा शिक्षण पेशा तथा गुरूजस्तो गरिमामय कर्मबाट समेत अवकाश लिएर निरन्तर समाजसेवामा अहोरात्र जीवनभर खटिइरहनुभयो । समाजसेवामा तपाईंले त्यस्तो के देख्नुभयो ? अहोरात्र समाजसेवामा खटिरहँदा तपाईंले यो समाजमा के बुझ्नुभयो ? विगतमा हाम्रो समाज कस्तो थियो ? अहिले कस्तो छ र कस्तो समाजको परिकल्पना गरिरहनुभएको छ ? मोहन रेग्मी गण्डकी प्रदेश विधायन समिति सभापति मोहन रेग्मी हाम्रो सामाजिक परम्परा भविष्यको योजना बनाएर चल्ने भन्दा पनि दैनिकीहरु चलाउँदै जाँदा अगाडि जे आउँछ सामना गर्दै जाने प्रकारको छ। कृषिमा आधारित समुदायमा म जन्मेको हुँदा सामान्य गुजाराका लागि समस्या थिएन। मान्छेका आधारभूत आवश्यकता लागि सानो हुँदा अप्ठेरो परिवेशमा हुर्कन परेन। आमा २२ वर्षको हुँदा बाबा गुमाउनुको वज्रपात र सानै हुँदा दिदीको अवसानले अभिभावक गुमाएर टुहुरो हुनुको नियास्रो अहिले पनि बाबाको ममताको अभाव खड्किरहेको विगतको बालपना वर्तमानमा झल्झल्ती आइरहन्छ । अत्यन्तै माया गर्ने छरछिमेक, आफन्त, इष्टमित्र र नजिकै रहेको मावलीहरू भएर पनि बाबुबिना एउटी आमालाई दुई जना छोराछोरी हुर्काउनु त्यतिबेला नबुझेर स्वाभाविक लागे पनि जति बुझ्ने भएँ उति कहाली लाग्दै गयो। परिस्थितिले ममा सानैदेखि विद्रोही भावना विकास हुँदै गएको रहेछ। सानैदेखि नै समाज, देश र बाहिरका दमन उत्पीडनहरूमा म निकै चासो राख्थेँ । कुनै पनि कुरामा स्पष्ट धारणा बनाउने बानीले गर्दा म कसैको प्यारो र कसैको तारो बन्न थालेँ। जीवनको प्रारम्भमा स्वभावका कारण समाजमा कैयौंपटक गलत प्रयोग पनि भएको छु। परिणाममा म रक्सी, चुरोट, जुवातास र गलत सङ्गतबाट पर रहने परिस्थिति बनेछ। यिनै परिवेशहरूबाट माध्यमिक तहसम्म शिक्षा पूरा गर्दा समाजका कमजोर पक्षहरूलाई सुधार्न प्रयास गर्दागर्दै म पञ्चायती व्यवस्थाको विरोधी नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा पुगेछु। मैले चाहेको शोषणमुक्त समाजको स्थापनाका लागि कमरेड पुष्पलालले पार्टीको अभियान चलाएको थाहा पाएँ। विद्यार्थी सङ्गठनमार्फत पार्टीको सम्पर्कमा आई मनमोहन अधिकारी र साहना प्रधानले नेतृत्व गरेको कम्युनिष्ट पार्टीको बनारसमा सम्पन्न सारनाथ सम्मेलनमा सहभागी बन्ने अवसर प्राप्त भयो र नेपाल कम्युनिष्ट पार्टीको सदस्य बनेँ। सँगसँगै आफ्नो अध्ययनलाई निरन्तरता दिँदै स्थानीय विद्यालयमा पहिलो पटक प्राथमिक तह र पछि निम्न माध्यमिक तहको स्थायी शिक्षक बनेँ। विद्यालयमा असाधारण बिदा लिएर पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्दै थिएँ। २०४३ सालमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सभापतिमा चुनाव लडेँ । विद्यालय व्यवस्थापन समितिको बैठकमा चुनाव लडेको पर्चालाई विषय बनाएर व्यवस्था विरोधी विद्यार्थी संगठनको उम्मेदवारको आरोप लगाएर शिक्षण पेशाबाट अवकाश गरियो। यस कार्यले मलाई पञ्चायतको विरोध पार्टीको सम्बद्धता समय र ऊर्जा मिल्यो। नेपाल राष्ट्रिय शिक्षक संगठनका मित्रहरूले अवकाशको विषयमा विरोध गर्न खोज्दा मलाई त्यसो गर्न मन लागेन। पार्टी सम्पर्क र विद्यार्थी संगठन सँगै पोखरा रामघाट कालिका माविमा केही समय शिक्षण गरेँ। शिक्षक बनिरहँदा सामाजिक कामका लागि समयको अभाव हुँदा पुनः शिक्षक पेसाबाट अवकाश लिएँ । पहिलेको समाजमा मैले स्वतन्त्रता पूर्णरूपमा बन्देज थियो । एकदलीय पञ्चायती व्यवस्थाको गन्नेमान्ने व्यक्तिहरूको मात्र हालिमुहाली चल्थ्यो। उनीहरुका आफन्त मात्र शक्ति र सत्तामा जान्थे। रोजगारी उनीहरुकै अधिनमा हुन्थ्यो। अहिलेको समाजमा क्षमताअनुसार व्यक्तिलाई जुनसुकै क्षेत्रमा पनि समान अधिकार छ। सानोठूलो जातभातको विभेद अन्त्य भइसकेको छ। मान्छेले मान्छेलाई सम्मान गरोस्। भेदभावरहित समाजको कल्पना गर्दछु। दिलिप प्रताप खाँण नगरप्रमुख, वालिङ नगरपालिका दिलिप प्रताप खाँड जन्मदेखि मृत्युसम्म जीवन जीवन्त गतिशील र सार्थक हुनुपर्छ। मेरो आफ्नो बुझाइमा जीवन भनेको नै गतिशीलता हो। केही नगरेर स्थिर रहनु भन्दा केही न केही केही गरिरहेको उद्यमशीलता मलाई मनपर्छ। जो सक्रिय छ, त्यो सफल हुन्छ। प्रयास यस्तो साधना हो, जसले मान्छेलाई पटकपटकको असफलताबीच कुनै न कुनै दिन सफलताको उचाइमा पुर्याइदिन्छ। मैले जे बुझेँ, त्यो नै अन्तिम सत्य होइन। विभिन्न पेशा व्यवसाय गर्दै अगाडि बढ्नु मान्छेको कर्तव्य हो। पेसा, व्यवसाय, रुचि, दिनचर्या, सेवा आदि सबै साधन हुन्। साध्य होइनन्। साध्य त सत्यको साक्षात्कार हो। मान्छे यो व्रह्माण्डको शक्तिशाली ब्रह्मको उपज हो। तसर्थ मान्छेभित्र त्यस्तै अलौकिक शक्ति हुन्छ। हरेक मानव केवल मान्छे मात्र होइन, आत्मारुपी ईश्वर हुन्। चेतन मानव आत्मा देख्छ। बुद्ध बन्छ। विज्ञान बन्छ। तपाईंले मेरो कर्मलाई समाजसेवाको रुपमा बुझ्नुभएको रहेछ। मैले राजनीति गरेजस्तो लाग्दैन। समाजसेवा गरे जस्तो पनि लाग्दैन। हरेक मानवलाई मानवीय व्यवहार गरेर सत्यको साक्षात्कार गर्ने मेरो प्रयत्न रहिरहनेछ। त्यस्तो गर्न सकिरहेको छु कि छैन, साक्षात्कार गर्नका लागि मुमुक्षु बन्ने व्यष्टि प्रयत्न मात्र हो। जब म शिक्षण पेशामा संलग्न थिएँ, समाजमा निकै विभेद थियो। सानो-ठूलो, धनी-गरिब, जतीय, वैचारिक स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक विभेद। संसारमा केही मुलुकहरू यी विभेदहरुबाट स्वतन्त्रता प्राप्त गरिसकेका थिए। हामीहरू यी विभेदहरूबाट माथि उठ्न प्रयत्नरत थियौं। अहिले सबैले व्यवहारमा उतार्न सके कानुनी रुपमा यी सम्पूर्ण विषय हामीले प्राप्त गरिसकेका छौँ। शिक्षण पेशा गर्दागर्दै सामाजिक जिम्मेवारी थपिंदै गयो । शिक्षण पेशा छाडिदिएँ। स्वतन्त्रता, समानता, रोजगार, व्यापार र व्यवसायको बुद्धिमूलक शिक्षित र स्मार्ट समाजको परिकल्पना गर्दछु। कृष्ण खाँण समाजसेवी कृष्ण खाँण परिस्थितिले सानो छँदा बुबा-आमाको मायाबाट वञ्चित रहेको म हजुरबुबा र हजुरआमाको संरक्षणमा हुर्किएँ। उस समय हजुरबुबा-हजुरआमाको समाजमा निकै निकट सम्बन्ध थियो। घरमा ठूलो फलफूल बगैंचा थियो। हजुरबुबा-हजुरआमा बगैंचामा फलेको फलफूल पहिला आफू खानुभन्दा वरिपरि छिमेकीलाई दिनुहुन्थ्यो। घरभन्दा पर सम्बन्ध राख्ने हजुरबुबा-हजुरआमाको कारणले सानैदेखि म समाजको प्रत्यक्ष सम्पर्कमा रहेँ। सबैसँग परचित बन्न मेरो लागि यो अवसर थियो। नजिकैको रणवीर जनहित माध्यामिक विद्यालयमा मैले शिक्षा हासिल गरेँ। स्कुलमा सामाजिक कार्य नामको अतिरिक्त छुट्टै डिपार्टमेन्ट थियो। त्यसमा सधैँ प्रथम हुन्थेँ। यो डिपार्टमेन्टले उस समयको सामाजिक निर्माण र महामारी जस्तो प्रकोपमा काम गर्थ्यो। ठाउँठाउँमा शिविरहरु बनाएर मान्छेहरूको उद्धार गरिन्थ्यो। अहिलेजस्तो सुविधा सम्पन्न कहाँ थियो र? जीवनजलको सट्टा नून, चिनी, पानी घोलेर हैजाको बेला जीवनजल बनाएर वालिङको भकुण्डे कृषि सहकारीमा खडा गरिएको शिविर अहिले पनि स्मरण छ । आठ कक्षा पास भएपछि पूर्णामृत भवानी माध्यमिक विद्यालय गएँ। त्यहाँ मेरो दिलिप प्रताप खाँण लगायत नयाँ साथीहरूसँग सम्पर्क भयो। दिपावलीमा देउसी भैलो खेलेर जम्मा भएको रकम सबै समाजसेवामा लगाइन्थ्यो। जब म उच्चशिक्षाको समय अवधिमा थिएँ, घडेरी खार्दा, खानेपानीको लागि खाडलहरू खन्दा, बाढी पहिरोमा चोटपटक लाग्ने र मान्छेहरु पुरिने बगाउने सम्मका दुर्घटना हुन्थे। त्यस्ता मान्छेहरुलाई उद्धार गर्न मनबाट नै आउँथ्यो। एसएलसी पास भएपछि अतिरिक्त समयमा मैले निःशुल्क गणितको ट्युसन पढाउँथेँ। बिजुली बत्ती थिएन, त्यतिबेला मैन्टल, लाल्टिन बालेर पढाउनु र पढ्नु पर्थ्यो । राजनीतिमा भन्दा समाज सेवामा काम गर्ने मेरो चाहना हो। प्रारम्भमा मैले पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अध्यापन सुरु गरेँ। २०४४ सालतिर आफूलाई पढाएका गुरूहरुले पायोनियर बोर्डिङ स्कुल स्थापना गर्नुभएको थियो, उहाँहरूको आग्रहमा केही समय त्यहाँ पढाएँ। अध्ययन र अध्यापन सँगै चलिरहेको थियो। पढाउन छोडेर अध्ययनको लागि जान्छु भनेर धेरै नै जमर्को गर्दा पनि अग्रज गुरुहरूले पढाउन नै सुझाव दिनुभयो। २०४८ सालमा भुवनबहादुर पौडेल प्रअ भएर आउनुभयो। स्कुलको आवश्यकताले दिलिप प्रताप खाँणलाई बोलाउन भन्नुभयो। त्यसबेला म अनेरास्ववियुमा काम गर्थें। वामपन्थी पृष्ठभूमिको भएकाले नेपाली कांग्रेसमा आस्था राख्ने दिलिपलाई ल्यायो भनेर आरोपसम्म खेप्नु पर्यो। मैले भने, त्यस्तो केही सोचेको थिइनँ । २०४६ सालको आन्दोलनमा १९ दिन प्रदेश सभा सदस्य मेखलाल श्रेष्ठ म लगायतका साथीहरु जेल पर्यौं। माफ मागे छोडिदिन्छौँ भन्दा माफी नमागेपछि प्रजातन्त्रको घोषणा भएपछि मात्र छोडेको भर्खरै जस्तो लागिरहन्छ। २०५४ सालको निर्वाचनमा लक्ष्मीपति पौडेल र पदमा अर्याल लगायतका जिम्मेवार व्यक्तिहरूले जागिर छाडेर मेयर अथवा उपमेयर पदमा उठ्न भन्नुभयो। मैले स्पष्टसँग भनेको थिएँ, सम्पूर्ण जीवन नै समर्पण गरेका अग्रजहरु हुँदाहुँदै प्राथमिकता उहाँहरुलाई दिनुपर्छ भनेपछि मेयर पदमा गुरु भेषराज शर्मा र उपमेयर पदमा मानकाजी श्रेष्ठलाई जिल्ला कमिटीले सिफारिस गरी पठाएको थियो। सामाजिक दवावले पछि फेरि जिल्लाले भेषराज गुरूको ठाउँमा मेरो नाम राखेर पठाइदिएछ। सबैले शिक्षण छाडेर उमेदवारी स्वीकार्नुपर्छ भनेपछि स्कुल छाडेँ। सक्रिय राजनीति गर्ने मेरो चाहना होइन, कार्यकर्ताहरुले नै मलाई अगाडि लगाउनुभएको हो। त्यतिबेला संयुक्त परिवार हुन्थ्यो। बाजे, बा, नाति पुस्ता सँगसँगै हुन्थ्यो। हिजो परिवार र समाजमा दया, माया, करुणा, सद्भाव थियो, अहिले मान्छेमा संवेदनाहरु हराउँदै गइरहेको छ। सेवा गर्नु कर्तव्य हो। अधिकार खोज्न पहिला कर्तव्यको बोध हुनुपर्छ। आफूले कति कमाएँ भन्दा पनि अप्ठेरोमा अरुलाई कति साथ दिन सकिरहेको छु भन्ने लाग्छ। मान्छेको रूपमा जन्म लिएपछि मान्छे-मान्छेबीच सानोठूलो, उँचनिच, सानो जात र ठूलो जात हुँदैन। मान्छे सबै समान हुन् सबैको समान अस्तित्व अधिकार र कर्तव्य छ। जाति र धर्मको नाममा यदि समाजमा विभेद हुन्छ भने समाजको सबैभन्दा ठूलो ध्वंस लाग्छ मलाई। विभेदरहित समाजको परिकल्पना गर्दछु। श्यामकृष्ण श्रेष्ठ अध्यक्ष, वालिङ नगरपालिका वडा नम्बर ६ श्यामकृष्ण श्रेष्ठ आम्दानी र सेवाको तुलना हुनै सक्दैन। आम्दानी व्यक्तिविषेश र स्वयं भलोसँग सम्बन्धित विषय भयो, सेवा सामाजिक। आफू र आफ्नो परिवारको पालनपोषण त सम्पूर्ण जीवात्माहरूले गरिरहेका छन्। अँध्यारोपछि उज्यालो हुन्छ। घाम लाग्छ। पुनः रात पर्छ। ताराहरू उदाउँछन्। यतैकतै मनुष्यको अस्तित्व छ। जीवनको भिडमा विचारले मान्छे मान्छे बनेको हो र त्यस्तै बन्न सक्नुपर्छ। हुन त पहिला आफू बचेर अरूलाई बचाउनुपर्छ भन्ने अन्तिम सत्यबाट म पनि बाहिरिन सक्दिनँ। आफू रहे बल्ल अरूको उद्धार गर्न सकिन्छ। यतैकतै मान्छेमा दुःख छ। समस्याहरू, अप्ठेराहरू छन्। त्यसमा साथ दिन समाजसेवामा लागेँ। यसो भन्दै गर्दा म साध्य होइन, साधन हुँ। मैले आफ्नो अध्ययनसँगै अध्यापनमा लागेको हुँ। पढाउनु पनि सेवा थियो तर समाज बुझ्दै जाँदा उस समयमा आफूमाथि आइलागेका कामहरूले सामाजिक जिम्मेवारीको कर्तव्य थपियो। बल्ल मलाई महसुस भयो, म र मेरो परिवार पर पनि संसार छ। समस्या, दुःख र अप्ठेराहरु छन्। अनि मात्र मैले शिक्षण पेशा छाडेर समाजसेवामा लागेको हुँ। समाजको कुरा गर्दा अहिले र उस समयको समाजमा धेरै नै भिन्नता थियो। पढेलेखेका मान्छेहरु कमै हुन्थे। व्राह्मण समुदायमा बनारस गएर संस्कृत पढ्ने चलन थियो। राजनैतिक चेतना कम थियो। अधिकांश परिवारको कृषि मेलापात दैनिक हुन्थ्यो। गाई गोरु चराउन गौचरन हुन्थ्यो। मोटरेवल बाटाहरू अति कम थिए। टाढासम्म पैदल हिँड्नुपर्थ्यो। अधिकांश घरहरू ढुङ्गा र माटोले बनेका हुन्थे। एकदलीय पञ्चायती व्यवस्थाको नीति, नियमअनुसार समाज शासित थियो। अमेरिकामा पनि रंगभेद थियो। हाम्रो समाजमा व्यवहारिक रुपमा अहिले पनि जातीय विभेद छ। यो समाजको सबैभन्दा खतरनाक विष लाग्छ मलाई। जसरी पहिला तीनजुरे खरै हुनेले बाजा बजाएर दाइँ गर्थे, नहुनेहरुलाई छाक टार्न गाह्रो पर्थ्यो। कानुनी रुपले विभेदको अन्त्य गरे पनि व्यावहारिकरुपमा अहिले झन् ठूलो खाडल छ। पावरमा पुगेकाहरुले नपुगेकाहरुलाई। बढी आम्दानी हुनेहरूले नहुनेहरूलाई। ठूलो जातले सानो जातलाई गरिने वर्गीय विभेद अहिले पनि समाजमा प्रत्यक्ष नदेखिने तरिकाले कायम नै छ। एउटै परिवारका सदस्य भएर पनि आर्थिक रुपले सबलले निर्बललाई हेप्ने परम्परा समाजमा जताततै देख्न सकिन्छ। एउटै सम्बन्ध, आफन्त र इष्टमित्रहरूमाझ सबलले निर्बललाई हेप्ने प्रवृत्ति लेनदेन, साँधकिला, उत्सव, चाडपर्व जताततै कायम छ । सभ्य र समृद्ध समाजका लागि वर्गीय विभेदको अन्त्य हुनुपर्छ । अहिले समाज शिष्ट र सभ्य छ। लगभग सबै साक्षर छन्। अधिकांश पढेलेखेका छन्। उनीहरुलाई आफ्नो अधिकार र कर्तव्यको स्वयंमा ज्ञान छ। फेसबुक, म्यासेन्जर, ट्वीटरजस्ता अनलाइन सञ्जालहरुले गर्दा विश्व ग्लोबलाइज्ड भइसकेको छ। एउटा मोबाइलको भरमा संसारको दिनचर्या नियाल्न सकिन्छ। अहिले हामीले आफ्नो अधिकार प्राप्त गरिसकेका छौँ, चाहे त्यो जनजाति होस्, महिला होस् या पुरुष। व्यवहारमा लागू गर्नु मात्र आजको आवश्यकता हो। मार्क्सवादी चिन्तनलाई अनुसरण गर्दै मार्क्सवादी दृष्टिकोण समाजमा लागू गर्ने मार्क्सवादी सैद्धान्तिक समाजको परिकल्पना गर्दछु म। जहाँ मानव जातिको समान अस्तित्व, श्रमको उचित मूल्य, शिक्षा, स्वास्थ्य, रोजगार, आवास, कम्तिमा पनि मान्छेको आधारभूत आवश्यकता हुन्। यसबाट कोही पनि वञ्चित हुन नपरोस्। #यामकान्त खनाल #शम्भु अर्याल #स्याङ्जा
भिन्नता: १. हुन्छ ? २. हुन्छ । १. के हुन्छ ? २. सबै हुन्छ हजुर । १. के खोजिस् त ? २. के खोजें?, अँ केही होइन । १. केही नभए के खोजिस् त ? २. हजुर यस्सै । (निर्दाेष कपाल यस्सै कनिन्छ ।) १.बुझेँ, ला पैसा, ७० रूपियाँ । २. पैसा, ७० रुपियाँ ? १. अनि के त ? २. हजुरसँग त…… १. के मसँग…? मसँग ७० करोड छ । यतिले दरबार चल्दैन मोरा ! पात्र १ . बैंक सम्झेर अमेरिकातिर बाङ्गियो र घर फर्किंदा एक किलो सुन छिरायो । फेरि घर नपुग्दै बैंक सम्झियो र उतै मोडियो । पात्र २. श्रीमती सम्झ्यो र घरबार चलाउन चुरा पसल छिर्याे । चुरा किन्न नसकेर आधि किलो नुन किनेर घरतर्फ सोझियो । घर नपुग्दै श्रीमतीको खाली हात संझियो । बाँकी पैसा मन्दिरमा चढायो र वरदान लिएर घर पुग्यो । #जगन्नाथ पाैडेल #भिन्नता
अहम्: खोलाको तेज आवाजलाई सुनेर बगरको दुई ढुङ्गाले त्योभन्दा ठूलो आवाज निकाल्ने सोचेँ आवाज निकाल्न बेसरी ठोकिए र चक्नाचुर भए । #अहम् #प्रवेश आचार्य
अब्स्ट्रयाक्ट कलाकार: सेमी-अब्स्ट्रयाक्ट पेन्टिङहरू\xa0\xa0: झ्यालका सिसाहरू फुटेका, केही टुटेका । घरि रोक्किने घरि चल्ने लिवर ड्यामेज् इन्जिन । सहरले थोत्रो बनाउनू बनाएर पठाइदिएको ऊसँग बुटवल-तम्घास सडकमा गुड्ने मोटरझैँ बूढो एउटा कम्प्युटर थियो । र एकदिन कविताको डायरी बोकेर गुडिरहेको साइकल, कम्प्युटर खोज्दैखोज्दै सामाखुसीको गल्लीमा पुगेर रोकियो | अचानक …! जीवित खड्का मगर “बस्नोस् न, म सुमित्रालाई उठाइदिन्छु । उनीहरूको अझै उठ्नेसमय भएको छैन, दुई बहिनी सुतिरहन्छन् दस-बाह्रबजेसम्म । यिनलाई के-को पीर छ र जीवित जी ! पीरको भारी बोकीहिँड्ने गधा म छँदै छु । कस्ता लोग्ने पाउलान् भन्ने पीर मलाई । लोग्नेले वचन लाउलान् कि भन्ने पीर मलाई । यस्ता अल्छेनीले के गरी खालान् भन्ने पीर मलाई । यदि देखिने भए देख्नुहुन्थ्यो तपाईंले मभित्र पीरको यो भारी कति गह्रौं छ ? “, पानी पर्नुअघिको अँध्यारो आकाशझैँ अनुहार बनाएर बालचन्द्र सर दोस्रो तल्लातिर भुत्भुताउँदै उक्लिनुभो । यसो घडी हेरेँ, बिहानको नौ बजिसकेको रहेछ । गुल्मीको ठूलो लुम्पेकमा नाम भएको राना परिवार । डिग्री पास गरेका बालचन्द्र राना, काठमाडौंमा गेस्ट हाउसका मालिक । अर्का डिग्रीवाला उहाँको भाइ, गाउँमा बोर्डिङ स्कुल खोलेर बसेका । लाड-प्यारमा हुर्केकी सुमित्रा र नूपा बालचन्द्र सरकी बहिनीहरू । सहरका तमाम युवाहरूलाई कामुक आँखाको झ्यालखानामा कैदी बनाएर हिँड्ने खालकी युवती होइन ऊ । आफ्ना सखीहरूले अनुहारभरि कस्मेटिक शोरुम खोलिबस्दा, ऊ भने मदमस्त युवतीमा हुनुपर्ने भए जति श्रृंगारपटार आफ्नै पेन्टिङलाई बनाएकी छ । त्यसैले हरदिन क्यानभासको ऐनाअघि उभिरहन्छे । आफैँले आफैँलाई रंग र ब्रसहरूले मेकप गरिरहन्छे । ( यो कुरा एकसट्ठी सालतिरको) ==================== प्रत्येक घरजसो नेता । प्रत्येक घरजसो कलाकार । विपक्षीलाई देखिनसहने आ-आफ्नो समूह । लोकलदेखि जिल्ला, जिल्लादेखि केन्द्र, सबैतिर पहुँच भएका कलाकार र नेतैनेताको गाउँ हो- ठूलो लुम्पेक । उतिबेला यही गाउँको धर्मपुर हाइस्कूलमा पढाउँथेँ, मूर्तिकार भुवन थापा । भुवन सरको प्रोत्साहनले एसएलसीपछि सुमित्रा चित्रकला पढ्न काठमाडौं आई । भर्ना भइ ललिकला क्याम्पस र चित्र विधाबाट एम.एफ.ए (मास्टर्स अफ फाइन आर्ट) पास गरी । अहिले मोफसलमा बसेर स-साना बालबालिकाहरूलाई चित्र सिकाउँदै, ऊ आफू पनि चित्रकर्ममा समर्पित, प्रदेश नम्बर पाँचभरिकै गर्विलो प्रतिनिधि, त्यही महिला कलाकारको नाम जो फाइन आर्टबाट ऊ मात्रै मास्टर्स गरेकी छे । “हुबहु चित्र कोर्नू सिर्जना होइन, कलाकारिता हो । अस्वीकार होइन, उत्पादन हो । बाहिरी सौन्दर्यको वर्णनमात्रै हो”, सुमित्रालाई यो लाग्छ कि, कलाको असली सौन्दर्य भित्र कतै अँध्यारोमा लुप्त हुन्छ । त्यसलाई बुझ्न, त्यसलाई उत्खनन गर्न गहिराईमा नपुगी सम्भव छैन । त्यसैले उसको स्वभाव पनि अब्स्ट्रयाक्ट जस्तो छ । त्यसो त बीसौँ शताब्दीभन्दा पहिलेका कलाकारहरू यथार्थवादी चित्र नै बनाउँथे । जब सन् १९१० मा रूसी कलाकार वासिली क्यान्डिस्कीले संसारकै पहिलो अमूर्तचित्र सिर्जना गरे, उनले आफ्नो चित्रमा रंग र भावहरूको संयोजन गरिदिए, कलाकारहरूलाई लाग्यो- यसरी पनि चित्र बन्दोरहेछ । जब अमूर्त चित्रको प्रभाव बढ्दै जान थाल्यो, त्यसपछि कलामा विषयवस्तुका मान्यताहरू छाडिदै आए र प्रयोगात्मक चित्र सिर्जनाहरू हुँदैआए । जस्तो, पिएट मोंद्रीयानले आफ्ना चित्रहरूलाई घनवादमा आधार बनाएर, रचना सौन्दर्यलाई वस्तु निरपेक्षतिर विकसित गर्दै गए भने, सेजान, मोने, वान गोग, सिग्नाक, बोन्नार आदि कलाकारहरू प्रभाववादी चित्रहरूको गहिरो खोजमा लाग्दै गए । नेपालका प्रथम आधुनिक कलाकार को हुन् ? यसको जवाफ अहिलेसम्म नेपाली कला क्षेत्रमा सर्वमान्य प्रमाणीकरण हुन सकिरहेको छैन । एकथरि कलाकारहरूले लैनसिंह बाङदेललाई नेपालका प्रथम आधुनिक कलाकार मान्छन् भने, अर्का समूह गेहेन्द्रमान अमात्यलाई । त्यसो त गेहेन्द्रमान स्वयं आफूलाई स्वघोषित प्रथम आधुनिक कलाकार मान्दैआएका छन् । यद्यपि, कला समिक्षक रमेश खनालको विश्लेषण यस्तो छ, “जब हामी आधुनिक कलाको कुरा उठाउँछौँ, तब इ.स. १८५० अघिका कलाकारहरूलाई भुल्नू हुँदैन । पश्चिमा शैलीमा वस्तुवादी चित्रहरू बनाउने राजमान सिंहका हजार चित्रहरू ब्रिटिस म्यूजियम, लण्डन, फ्रान्सको म्यूनिट म्यूजियममा संकलन गरिएका छन् । त्यसो हुनाले चित्रमा देखिएको पश्चिमा शैलीको प्रभाव नै नेपाली आधुनिक कलाको थालनी हो भन्नु पर्दछ । त्यसोर, बाङदेल र गेहेन्द्रमानभन्दा धेरै पहिला चन्द्रमान मास्के र तेजबहादुर चित्रकारले पनि पश्चिमा शैलीको अध्ययन गरेर राणाहरूका जीवनीपरक चित्र बनाए ।”, यसरी प्रथम आधुनिक कलाकारको नाम बहसमै रहे पनि, नेपालमा आधुनिक चित्रहरू भने बनिदैआइरहे । जसमा कालिदास, बालकृष्ण सम, केशव दुवाडी, गेहेन्द्रमान अमात्य, लैनसिंह बाङदेल, उत्तम नेपाली, उर्मिला गर्ग, शशी शाह, लक्ष्मण श्रेष्ठ, वत्स्यगोपाल वैध, कृष्ण मानन्धरलगायत रमेश खनालहरू नेपाली आधुनिक कलाको विकासका लागि समर्पित नामहरू हुन् । ================= सेमी-अब्स्ट्रयाक्टमा सुमित्रा : शब्दमा आगो लगाएर कविहरू कविताको आवाज बोल्छन्, गीतको हृदय पगालेर गायकहरू संगीतको आवाज बोल्छन्, त्यसरी नै ऊ एउटी कलाकार जो रंगैरंगको घना जंगलमा पुगेर रंगहरूको आवाज बोल्दै आइरहेकी छ । उसको आवाज सुन्नेहरू कसै न कसैले एकदिन जरूर खबर लिएर आउनेछन् कि फैलिएर त्यसको प्रतिध्वनि कति टाढासम्म पुगिरहेछ ? यसैले पनि ऊ, झ्यालबाट कुनै सुन्दरीले आधा अनुहार छोपेर दूर क्षितिजतिर हेरिरहे झैँ, हराइरहेका अनुहारहरूको खोजीमा कतै दूर हेरिरहन्छ । हो, उसको बाटो अलग छ । अलग यसर्थमा कि मूर्त र अमूर्तशैलीको बीचबाटोमा ऊ आफ्नो गन्तव्य हिँडिरहन्छ । हिँड्दाहिँड्दै बाटोमा उसले वर्षौंदेखि पानी खोज्दाखोज्दै ओठ सुकेर लडिरहेका ढुंगेधाराहरू देख्छ । तिर्खाले छटपटाइरहेका वस्त्रहीन इनारहरू देख्छ । धमिराले खाइसकेर, अवशेष बाँकी पौराणिक हस्तकलाहरू देख्छ । अनि दुख्छ, जोरसँग दुख्छ, भित्रैसम्म दुख्छ उसलाई । र, यो देशलाई उसले रंगहरूको भाषामा खबरदारी गर्छ, “यी हाम्रा अमूल्य सम्पदा हुन्, संरक्षण गरौँ ।” “कहिले युवतीका अनुहारहरूमा एसिड खन्याउने कुरूप औंलाहरूको क्रुरताप्रति घृणा गर्छ, कहिले शक्तिको उन्मादमा कुनै भ्रष्टमान्छेको पछिल्तिर उभिइरहेका चाकरीबाजहरू देखेर घृणा गर्छ । आखिर घृणा पनि दुखेरै भएको हो नि ! हैन र, जीवित जी ?” उसले दुखेका कुरा गर्दागर्दै एकदिन आफू सबैभन्दा बढी दुखेको कुरा सुनाई, “पछिल्लोपटक भुकम्प आउँदा प्रत्यक्षदर्शी थिएँ म । ती जो दृश्यहरू हेरिनसक्नूको थियो । कहीँ मरेका लासहरू यत्रतत्र, कहीँ बाँच्ने आशामा भग्नावशेषबाट दर्दले उठिरहेका करुणामयी हातहरू । जसले म सबैभन्दा बढी दुखेँ । त्यस्तै अर्को एउटा हृदयविदारक घटना, प्रदेश नं ५ को क्षेत्र बाँडफाँडमा ठूलो आन्दोलन भयो । मानव सागर उर्लियो । कैयौं निर्दोष मान्छेको ज्यान गयो । सोंचे,- ‘हामी बुद्धको देशमा बुद्धलाई नै टुक्राटुक्रा पारिरहेछौँ ।’ साँच्चै, जीवित जी ! मलाई यी दुई घटनाले धेरै विक्षिप्त बनायो । र, मैले आफ्ना भावनाहरूलाई क्यानभासमा उतार्ने कोशिश गरेँ ।” ================== त्यसो त आजसम्म सुमित्राका पेन्टिङहरू एकल/सामुहिक गरेर थुप्रैपटक प्रदर्शनी भैसकेका छन् । उसलाई थुप्रै संघसंस्थाहरूले सम्मान-अभिनन्दनसमेत गरिसकेका छन् । उसले स्वयं कैयौंपटक प्रतियोगिता जितेर अवार्डहरू हात पारिसकेकी छे । तर एकदिन भैरहवाको जहाजमा, काठमाडौं ओर्लिएको उसको तस्बिर फेसबूकमा देखेँ मैले । मनमा कौतुहलता लाग्यो । खासमा त्यो विशेष एकदिन, केशव दुवाडी स्मृति प्रतिष्ठानले कलाकर्ममा विशिष्ट योगदान पुर्याएवापत अधिराज्यभरिबाट तीनजना स्रस्टाहरूलाई ‘ललितकला प्रतिभा पुरस्कार’द्वारा अभिनन्दन गर्ने कार्यक्रम रहेछ । जसमध्येमा एक थिई सुमित्रा । ऊ सम्मान-ग्रहणपछि, उसैगरि काठमाडौंबाट भैरहवा ओर्ली | मैले मनमनै विगत सम्झेर मुसुक्क हाँसे, “दस-बाह्र बजेसम्म निसंकोच सुत्ने त्यस्ती सुत्वै केटी आज यहाँसम्म आइपुगी । अझै धेरैमाथि पुगोस् !” खुसी लाग्यो, गर्व लाग्यो । तत्काल म्यासेजमा बधाईसहित लेखेँ- मख्खै हो ? मिठाई खुवाउनु पर्दैन ? खुवाउँला’नि, जीवित जी ! हाहाहा ….! हाहाहा ….! #जीवित खड्का मगर #सेमी-अब्स्ट्रयाक्टमा सुमित्रा
समय र म\xa0: सँघारमै आएर अँध्यारो नपोखिएको पनि होइन घरको धुरीबाट भाले नबासेको पनि होइन दुवैथोक भएकै हो साँझमा जाग्न सकेनछु प्रभातमा निदाउन सिकेनछु कुम्भकर्ण बनेछु वर्तमानसम्म समयले मलाई ओछ्यानमा छोडेर चन्द्रमा टेकिसकेछ । #मेनुका चापागाईं “मेनू” #समय र म
मुक्तकको रचनाविधान: विषयप्रवेश मुक्तक कविताको लघुतम रूप हो र यसको प्रथम सैद्धान्तिक चर्चाको थालनी संस्कृत साहित्यबाट भएको हो । सैद्धान्तिक दृष्टिले साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी चार विधा छन् र यी चार विधाका पनि धेरै भेदोपभेदहरू छन् । तीमध्ये मुक्तक कविताको एउटा रूप वा प्रभेद हो । कविताका पनि लघुतम (मुक्तक), लघु (फुटकर कविता), मध्यम रूप (खण्डकाव्य÷लामो कविता), बृहत् (महाकाव्य) गरी चार रूप हुन्छन् र मुक्तक सबैभन्दा सानो अर्थात् लघुतम प्रभेदभित्र पर्छ । मुक्तक मूलतः कविता नै भएकाले कविताकै परिभाषा र तत्वहरूबाट यसलाई चिनाउन सकिन्छ तापनि यसको आफ्नै परिभाषा पनि छ र कविताकै जस्तो आङ्गिक लघुसंरचक घटकहरू छन् तापनि ती घटकहरूको विन्यास मुक्तकमा पृथक् किसिमले हुन्छ । वर्तमान समयमा मान्छे व्यस्त छ र मनोरञ्जन तथा आत्मतुष्टिका अनेकौँ विकल्पहरू छन् । पहिलेजस्तो लामालामा महाकाव्य पढ्ने धैर्य र फुर्सद आजका मान्छेमा नभएको हुँदा पनि हिजोआज स्वादिलो चटनीको स्वाद दिने मुक्तक निकै लोकप्रिय रहेको छ । मुक्तकका समधर्मी रुवाइ, क्वाट्रेन हाइकू, ताङ्का आदि कवितात्मक प्रभेदहरू लघुरूपका कविता भए पनि ती मुक्तक नै चाहिँ होइनन् भन्ने कुरा मुक्तकका परिभाषा, तत्व, अभिलक्षण आदिबाट थाहा हुन्छ । मुक्तकको आयामिक संरचनाका सम्बन्धमा केही मतान्तरहरू देखिए पनि यसको मानक रूप चतुष्पदी नै हो भन्ने कुरा मुक्तकका सम्बन्धमा लेखिएका केही ग्रन्थहरूबाट समेत स्पष्ट हुन्छ । वर्तमानमा मुक्तकका नाममा अनेकौँ किसिमका द्विपदीदेखि सप्तपदीसम्मका रचनाहरू देखिए पनि ती सबैमा मुक्तकीय अभिलक्षणहरूको उपस्थिति देखिँदैन । आयामिक संरचनाका दृष्टिले चतुष्पदी हुनु र विचार÷भाव÷कथ्यको प्रस्तुतिका दृष्टिले उत्तरोत्तर पछिल्ला पङ्क्तिहरू तीव्र र तीव्रतर हुँदै जानु मुक्तकको अभिलक्षण हो । मुक्तकको रचनाविधान के हो भन्ने बारेमा आएका अभिमतहरूको चर्चाका साथ मुक्तकको रचनाविधानको विशुद्ध सैद्धान्तिक निरूपणतिर यो आलेख अभिमुख छ । मुक्तक शब्दको व्युत्पादन र अर्थ मुक्तक तत्सम शब्द हो । संस्कृतको मुच् धातुमा क्त प्रत्यय लगाउँदा मुक्त शब्दको निर्माण हुन्छ र त्यही मुक्त शब्दमा संस्कृतकै कन् प्रत्यक्ष लगाउँदा मुक्तक शब्दको निर्माण हुन्छ । यसरी मुक्तक शब्दको व्युत्पादन प्रक्रिया यस किसिमको देखिन्छ ः मुच् + क्त् = मुक्त + कन् = मुक्तक । नेपाली प्रचलनमा भने मुक्त + क = मुक्तक गरी यस शब्दलाई व्युत्पादन गर्ने प्रचलन छ । संस्कृतको मुच् धातुले सामान्यतया कुनै बन्धनबाट मुक्त गर्नु र स्वतन्त्र हुन दिनु भन्ने अर्थ दिन्छ (आप्टे, सन् १९९९ः ८०२) । यस मुच् धातुबाट बनेको मुक्तक शब्दले साहित्यको पारिभाषिक रूपमा काव्यको एउटा स्वतन्त्र किसिमको रचनाप्रकार भन्ने अर्थ बुझाउँछ । मुक्तकका कोशीय र तात्पर्यगत गरी दुई किसिमका अर्थहरू देखाउन सकिन्छ । कोशीय अर्थ १. स्वयम् आफैमा पूर्ण एक पृथक् श्लोक । (आप्टे, सन् १९९९ ः ८०३) २. कथासूत्रमा नउनिएको परस्पर क्रमिक सम्बन्ध नभएको, कुनै एउटा भावलाई पूर्ण रूपले बुझाउने पद्य वा कविता (ज्ञवाली, २०४० ः६०४) । ३. कथासूत्रमा आबद्ध नभएको, हृदयका भावलाई प्रतिबिम्बित गर्ने प्रभावकारी निरपेक्ष स्वतन्त्र कविता (पोखरेल र अन्य,२०४२ ः १०८१) । ४. कथासूत्रमा आबद्ध नभईकन, हृदयगत भावलाई स्वतन्त्र रूपले अभिव्यक्त गर्ने गद्यकविता (शर्मा, २०५७ ः १०७४) । ५. एकै पद्यमा पूरा हुने काव्य (पाण्डेय, २०५७ ः १००६) । ६. पद्य वा गद्यमा लेखिएको छोटो र मार्मिक कविता (अधिकारी र भट्टराई, २०६१ ः ८०८) । ७. अनुभूतिको अतिसङ्क्षिप्त अभिव्यक्ति भएको लघुत्तम कविता, फुटकर कविता (चापागाईँ, २०६२ ः९५८) । ८. प्रायः चारै चरणको कुनै विषयमा लेखिएको स्वतः सम्पूर्ण रचना वा चारै चरणमा पूरा हुने विषय (भट्टराई, २०६३ ः ७४५) । ९. छन्दको बन्धनमा नलेखिएको स्वतन्त्र कविता, कथासूत्रमा नबाँधिएको स्वतन्त्र अभिव्यक्ति भएको कविता (बराल, २०६८ ः ६००) । यी कोशीय अर्थहरूले पारिभाषिक अर्थ पनि वहन गर्छन् । पारिभाषिक अर्थ वहन गर्छन् भन्नाको अभिप्राय यी परिभाषा पनि हुन् भन्ने देखिन्छ । उपर्युक्त अर्थहरू विशुद्ध शब्दकोशहरूबाट लिइएको हुँदा परिभाषाले वहन गर्ने स्पष्टता र विशिष्टता कोशीय अर्थहरूमा पाँइदैन । मूलतः साहित्यका लक्षणग्रन्थहरूमा दिइएका वा साहित्यशास्त्रमा प्रस्तुत गरिएका परिभाषालाई खास परिभाषा मान्नु समीचीन हुन्छ । उपर्युक्त कोशीय अर्थहरूमा पनि एकरूपता पाइँदैन र यी कोशीय अर्थ पनि संस्कृत काव्यशास्त्रबाट निर्दिष्ट छन् । उपर्युक्त कोशीय अर्थहरूमा देखिएका मतान्तरहरू निम्नलिखित छन्ः १. स्वयम् पूर्ण एक पृथक् श्लोक, २. परस्पर निरपेक्ष पद्य वा कविता, ३. निरपेक्ष स्वतन्त्र कविता, ४. कथासूत्र नभएको स्वतन्त्र गद्यकविता, ५. एकै पद्यमा पूरा हुने काव्य, ६. गद्य वा पद्यमा लेखिएको छोटो र मार्मिक कविता, ७. अनुभूतिको अतिसङ्क्षिप्त अभिव्यक्ति भएको लघुत्तम कविता, फुटकर कविता, ८. चार चरणको रचना वा कविता, ९. छन्दको बन्धनमा नलेखिएको स्वतन्त्र कविता । उपर्युक्त मतमतान्तरको निष्कर्ष यस्तो देखिन्छः \uf076 १,५,७ र ८औँ क्रमका मतहरूले आयाम वा आकारगत आधारलाई लिएका छन् । \uf076 २ र ४ क्रमका मतहरूले निरपेक्षता र लयगत आधारलाई लिएका छन् । \uf076 ३ क्रमको मतले निरपेक्षतालाई आधार मानेको छ । \uf076 ६ क्रमको मतले लय र आकारलाई आधार मानेको छ । \uf076 ९ क्रमको मतले लय र स्वतन्त्रलाई आधार मानेको छ । तात्पर्यगत अर्थ उपर्युक्त कोशीय अर्थहरू भित्रैबाट तात्पर्यगत अर्थहरूसमेत खोज्न सकिन्छ तापनि तात्पर्यगत अर्थ कोशीय अर्थभन्दा विशिष्टीकृत हुन्छ । यही तात्पर्यगत अर्थले निश्चित सैद्धान्तिक आधार प्राप्त गरेर स्थापित भएपछि त्यो परिभाषाका रूपमा देखिन आउँछ । मुक्त शब्दले मुक्त वा स्वतन्त्र भन्ने अर्थ दिन्छ र स्वतन्त्र भन्नाले आफैमा पूर्ण, स्वयंपूर्ण वा कुनै पनि पक्षसँग सापेक्ष सम्बन्ध नभएको भन्ने बुझिन्छ । त्यहीँ मुक्त शब्दमा ‘क’ जोडिँदा बन्ने मुक्तक शब्दको तात्पर्य कवितासँग छ र यसले कविताका लघुतम, लघु, मध्यम र बृहत् रूपमध्ये लघुतम रूपलाई बुझाउँछ । यसबाट मुक्तक शब्दले कविताको सबैभन्दा सानो रूपलाई बुझाउने भएको हुँदा यसको तात्पर्यगत अर्थले साहित्येतर वा कवितेतर सन्दर्भलाई बुझाउँदैन । यस आधारमा मुक्तकको तात्पर्यगत अर्थलाई स्पष्ट पार्दा निम्नलिखित निष्कर्ष देखिन्छः (१) मुक्तक साहित्यका प्रमुख चार सैद्धान्तिक विधामध्ये कविताको एउटा उपविधा हो । (२) मुक्तक शब्द पारिभाषिक हो र यसले कविताको निश्चित स्वरूपको संरचनालाई बुझाउँछ । मुक्तकको परिभाषा कविता सर्वप्राचीन विधा हो र मुक्तक पनि कविताकै एक प्रभेद भएकाले यसलाई पनि सर्वप्राचीन कवितारूप मानिन्छ । मुक्तक मूलतः पूर्वीय अवधारणा भएकाले यसका परिभाषा, व्याख्या र स्वरूपहरू पनि पूर्वीय संस्कृत साहित्यमा नै प्राप्त हुन्छन् । पाश्चात्य साहित्यमा मुक्तकका रूपमा आउने द्विपदीदेखि षट्पदीसम्मका कवितारूपहरू देखिन्छन् । नेपाली र हिन्दीमा चाहिँ संस्कृत साहित्यबाट अनुप्राणित र प्रभावित मुक्तकचिन्तन देखिन्छ । संस्कृत, अङ्ग्रेजी र नेपाली साहित्यमा देखिएका मुक्तकका प्रमुख परिभाषालाई यसप्रकार देखाइन्छ ः (क) संस्कृत साहित्यमा मुक्तकसम्बन्धी परिभाषा पूर्वीय संस्कृत साहित्यमा मुक्तकका बारेमा चिन्तन गर्ने प्रथम विद्वान् छैटौँ शताब्दीका भामह हुन् । भामहदेखि तेरौँ चौधौँ शताब्दीका विश्वनाथसम्मका काव्यचिन्तकहरूले मुक्तकसम्बन्धी केही चर्चा गरेका छन् । संस्कृत साहित्यमा प्रचलित मुक्तकसम्बन्धी केही प्रमुख परिभाषलाई कालक्रमिक आधारमा यसप्रकार देखाइन्छ ः (१) ‘पूर्वापर प्रसङ्गमा नबाँधिएको अनिबद्ध गाथा र श्लोकलाई मुक्तक भनिन्छ’ (भामह, २०१९ ः१०) । (२) ‘मुक्तक, कूलक, कोश र सङ्घातहरू सर्गबन्ध (महाकाव्य) कै अंश हुन्’ (दण्डी, २०१५ ः १५) । (३) ‘मुक्तक अनिबद्ध (पूर्वापर प्रसङग्मा नबाँधिएको) रचना हो’ (वामन, २०३३ः४१) । (४) ‘सहृदयमा चमत्कार उत्पन्न गर्ने एक श्लोकी कवितालाई मुक्तक भनिन्छ’ (वेदव्यास, १९५८ ः२२) । (५) ‘मुक्तकले पनि प्रबन्धकाव्यले जस्तै रससञ्चार गर्न सक्छ’ (आनन्दबर्धन, २०२८ ः १८१) । (६) ‘पूर्वापर निरपेक्ष भएर पनि जसले रसचर्वणा गराउन सक्दछ, त्यसलाई मुक्तक भनिन्छ’ (अभिनव गुप्त, (लोचन टीका), २०२१ ः१२३) । (७) ‘एकै छन्दमा वाक्यार्थ समाप्त हुने रचनालाई मुक्तक भनिन्छ’ (हेमचन्द्र, सन् १९३४ ः ४०८) । (८) ‘निरपेक्ष र छन्दोबद्ध एक श्लोकको पद्य रचनालाई मुक्तक भनिन्छ’ (विश्वनाथ, २०२० ः ५४७० । संस्कृत साहित्यका उपर्युक्त परिभाषाहरूका आधारमा हेर्दा विभिन्न विद्वानहरूका बीच पूर्णयता मतैक्य पाइँदैन । भामहदेखि विश्वनाथसम्मका आचार्यहरूका परिभाषाहरूमा प्रस्तुत भएका मुक्तकका प्राथमिकतामा पर्ने प्रमुख अभिलक्षणहरूलाई यस प्रकार देखाइन्छः (१) पूर्वापर निरपेक्षता – भामह, वामन, अभिनव गुप्त, विश्वनाथ आदि । (२) निरपेक्षता र एक श्लोकी रचना – वेदव्यास, विश्वनाथ आदि । (३) रससञ्चारको सामर्थ्य र चमत्कार– आनन्दवर्धन, अभिनव गुप्त आदि । (४) महाकाव्यको अंश– दण्डी (५) एक छन्दमा वाक्यार्थ समाप्ति – हेमचन्द्र । (ख) पाश्चात्य साहित्यमा मुक्तक सम्बन्धी परिभाषा मुक्तक मूलतः पूर्वीय अवधारणा र चिन्तन भए पनि पाश्चात्य साहित्यमा प्राचीन ग्रिसेली काव्यपरम्परादेखि नै मुक्तकीय संरचना र ढाचाँका कविताहरू लेखिने गरेको पाइन्छ । सफ्फोका केही प्रणयगीत र कमेडी नाटकका बीचबीचमा प्रयोग हुने हास्यव्यङ्ग्यात्मक कविताहरू चतुष्पदीदेखि षट्पदीसम्मका पनि हुने गरेको उल्लेख पाइन्छ । छोटा कविताबारे लेखिन थालेको भने आधुनिक कालदेखि मात्र हो । पाश्चात्य साहित्यमा चरण वा पाउअनुसार कविताको प्रभेदगत नामकरण गरिएको छ र द्विपदीदेखि सप्तपदीसम्मका प्रभेदहरूका लागि पृथक् पृथक् नाम दिइएको छ; जसलाई यसप्रकार देखाइन्छः Couplet (कप्लेट)– द्विपदी कविता Terset/Triplet (टर्सेट/ट्रिप्लेट)– त्रिपदी कविता Quatrain/ Tetraxtich (क्वाट्रेन/टेट्राक्स्टिच)– चतुष्पदी कविता Limerick (लिमेरिक) –पञ्चपदी कविता Sestet/Sestina/Sixain (सेस्टेट/सेस्टिना/सिक्सेन)– षट्पदी कविता Rondelet (रोन्डेलेट) – सप्तपदी कविता (मरफिन र अन्य, सन् १९९८ ः ३१९) । यी भिन्नभिन्न नाम दिइए पनि सबै खाले कवितामा समतुकान्त वा विषमतुकान्त भने अपेक्षित ठानिएको छ । नेपालीमा प्रचलित मुक्तकसँग अतिसान्निध्य राख्ने र मुक्तकको मानक स्वरूपसँग अतिनिकट देखिने रूप भने क्वाट्रेन नै हो । पाश्चात्य साहित्यमा कप्लेटदेखि रोन्डेलेटसम्मका कवितारूपलाई लघुतम रूपका कविता मानेर चर्चा गरिएको छ र क्वाट्रेनलाई युरोपेली साहित्यमा लोकप्रिय कविता रूप मानिएको छ ।टेट्राक्स्टिच र क्वाट्रेन दुवै शब्दको प्रयोग भएको पाइए पनि बहुप्रलनका आधारमा यहाँ क्वाट्रेन शब्द नै प्रयोग गरिएको छ र मुक्तकसँगको अतिनिकटस्थ कविताप्रभेदका रूपमा क्वाट्रेन सम्बन्धी केही मुख्य परिभाषाहरूलाई यसप्रकार देखाइन्छः (१) ‘दोस्रो र चौथो चरणमा अनुप्रास मिलेको चतुष्पदी कविता नै क्वाट्रेन हो’ (कडन, सन् १९९२:९२७)। (२) ‘पहिलो, दोस्रो र चौथो चरणमा अन्त्यानुप्रास मिलेको र तेस्रो चरण अन्त्यानुप्रासमुक्त वा पहिलो र तेस्रो तथा दोस्रो र चौथो चरणमा अन्त्यानुप्रास मिलेको चतुष्पदी कवितालाई क्वाट्रेन भनिन्छ’ (ओस्बी, सन् १९९५:१४) । (३) ‘अनुप्रासयुक्त वा अनुप्रासमुक्त चारचरणमा लेखिएको कविता रूपलाई क्वाट्रेन भनिन्छ’ (मरफिन र अन्य, सन् १९९८:३१९) । (४) ‘अङ्ग्रेजी र आधुनिक युरोपेली साहित्यमा प्रायः प्रयोग गरिने र अनुप्रासरहित वा अनुप्रासहितको चतुष्पदी कवितालाई क्वाट्रेन भनिन्छ’ (बालडिक, सन् २००७:२१०) । अङ्ग्रेजी साहित्यका उपर्युक्त परिभाषाले चतुष्पदी कविता ‘क्वाट्रेन’को अन्तर्वस्तु वा भावको उत्कर्षका बारेमा कहीँ पनि र केही पनि सङ्केत गरेका छैनन् । आयामिक संरचना र अन्त्यानुप्रासमा नै यी परिभाषाहरू केन्द्रित देखिन्छन् । उपर्युक्त परिभाषाहरूबाट निम्नलिखित निष्कर्ष प्राप्त हुन्छ: (१) ‘क्वाट्रेन’ चतुष्पदीय हुन्छ । (२) यसको दोस्रो र चौथो चरणमा अनुप्रास हुन्छ । (३) यसको पहिलो र तेस्रो तथा दोस्रो र चौथो चरणमा अनुप्रास हुन्छ । (४) यो अनुप्रासयुक्त र अनुप्रासयुक्त दुबै हुन्छ । पाश्चात्य साहित्यका अन्य त्रिपदी र पञ्चपदी कविताहरू मुक्तकका केही नजिक देखिए पनि चतुष्पदीभन्दा ती पृथक् देखिन्छन् र मुक्तकीय विशेषता तिनमा केही न्यून देखिन्छन् । (ग) नेपाली साहित्यमा मुक्तकसम्बन्धी परिभाषा नेपाली समालोचनामा मुक्तकसम्बन्धी परिचर्चा केही पछिल्लो समयदेखि मात्र हुन थालेको पाइन्छ । लगभग साढे पाँच दशक लामो नेपाली मुक्तकचिन्तन परम्परामा केही समालोचक र कवि÷मुक्तककारहरूले मुक्तकलाई विभिन्न रूपमा परिभाषित गरेका छन् । नेपाली समालोचक र मुक्तककारहरूका केही प्रमुख परिभाषालाई यसप्रकार देखाइन्छ ः (१) ‘निबन्धाकार नबनेकोलाई मुक्तक भन्दछन्’ (सिग्द्याल, २०१६ ः १०७) । (२) ‘कविताको लघुत्तम रूप जीवनको कुनै न कुनै एक क्षणको चुट्किलो र छरितो अभिव्यक्ति हो’ (त्रिपाठी, २०३१ ः४) । (३) ‘त्यस लघुत्तम प्रसङ्ग मुक्त र स्वतन्त्र प्रकथनलाई मुक्तक भनिन्छ, जसमा कुनै स्पर्शी सन्देश हुन्छ वा कविताको ढाँचाको एक आवृत्तिमा प्रेषित हुन्छ’ (शर्मा, २०३८ ः १६१) । (४) ‘कतैकतै चार गहकिला पङ्क्तिले त्यति भन्दछन्, जो चालीसले भन्न सक्दैनन्’ (देवकोटा, २०४०ःङ) । (५) ‘सुरुमा चार हरफको रूप लिएर तुकमा लयको माधुरी दिने मुक्तक आजभोलि रूपमा खुम्चने र फुक्ने पनि गरेको छ । ….यसर्थ समयको उभार अनुसार छोटो, तिखो र भरिलो अभिव्यक्ति नै मुक्तक हो’ (शर्मा, २०५० ः ख) । (६) ‘अर्थवत्तायुक्त पदको एकान कविता नै मुक्तक हो’ (बराल, २०५१ ः ख) । (७) ‘सूक्तिमय, साङ्केतिक एवम् प्रगीतात्मक हुने र एक आवृत्तिमा भावसम्प्रेषित गर्न सक्ने लोकप्रिय कवितामय अभिव्यक्ति मात्र मुक्तक हो’ (पराजुली, २०५५ ः ६३८) । (८) ‘लयात्मक रूपमा जीवन र जगत्का अनुभवलाई कलात्मक र रागात्मक रूपले अँगाल्दा स्वयम्मा पूर्ण रहने लघुत्तम एकाईलाई मुक्तक भनिन्छ ’ (खनाल, २०६१ ः १) । (९) ‘मुक्तक भनेको सङ्क्षिप्तता भावसघनता र स्पर्शसामथ्र्य नै हो’ (श्रेष्ठ, २०६५ ः क) । (१०) ‘मुक्तक भनेको पूर्वापर प्रसङ्गमुक्त, स्वयम्मा पूर्ण र सारगर्भित त्यस्तो लघुतम काव्य रूप हो, जसमा सर्जकले देखेभोगेका जीवनगत सन्दर्भहरूबाट उत्पन्न भाव वा विचारका उन्मेषहरूलाई लयमय बनाएर चोपिला र चोटिलो भाषामा झ्याप्प भनिएको हुन्छ’ (पौडेल, २०६८ ः ९०) । (११) ‘सामान्यतया एउटै मूलभावलाई आनुप्रासिक संयोजनका साथ चार पङ्क्तिमा प्रस्तुत गरिएका कवितालाई मुक्तक भनिन्छ’ (लुइटेल, २०६८ ः ६) । (१२) ‘चमत्कारपूर्ण कथ्य, मनोमस्तिष्कलाई शीघा्रतिशीघ्र प्रभाव पार्ने धारिलो तथा तीक्ष्ण व्यङ्ग्य रहेको कविताको लघुत्तम रूपलाई मुक्तक भन्दछन्’ (चापागाईँ, २०६९ ः ७३) । (१३) ‘पूर्वापर सन्दर्भनिरपेक्ष एक काव्यात्मक अनुच्छेदमा रहने दुईदेखि सात चरणसम्मको एकल आवृत्तिमय कलात्मक बान्कीको पूर्ण तथा हृदयस्पर्शी लघुत्तम कवितालाई मुक्तक भनेर भन्न सकिन्छ’ (पराजुली, २०६८ ः ६) । (१४) ‘चार पङ्क्तिभन्दा कम या बढी भए पनि चार पङ्क्तिका केन्द्रमा प्रस्तावना, उत्सुकता र पूर्णता भएको कविताको लघुतम रूप नै मुक्तक हो’ (शर्मा, २०६९ ः ९०) । (१५) ‘एकै श्लोकमा पूर्ण र समाप्ति भइकन पनि कम शब्दावलीले एकै झट्कामा चामत्कारिक तवरले गहन भाव प्रहार गरी पाठक मनमा आल्हाद पुर्याउनु समकालीन मुक्तकको खास पहिचान तथा वैशिष्ट्य हो’ (घिमिरे, २०६९ ः ११) । नेपाली साहित्यका उपर्युक्त परिभाषाहरूका आधारमा हेर्दा उपर्युक्त विभिन्न समीक्षक तथा स्रष्टाहरूका बीच पनि मतैक्य पाइँदैन । सोमनाथ सिग्द्यालदेखि वर्तमानसम्मका स्रष्टा÷समीक्षकहरूका परिभाषाहरूमा अभिव्यक्त भएका प्रमुख अभिलक्षण र उनीहरूले प्राथमिक रूपमा स्वीकार गरेका मान्यताहरूलाई यसप्रकार देखाइन्छः (१) कविताको लघुत्तम रूप/एकाइ, छोटो कविता– मोहनराज शर्मा, वासुदेव त्रिपाठी, नरेन्द्र चापागाईँ, सरुभक्त, मुरारि पराजुली, श्रीधर खनाल आदि । (२) चतुष्पदी वा एकश्लोकी संरचना– लक्ष्मीप्रसाद देवकोटा, ईश्वर बराल, खगेन्द्रप्रसाद लुइटेल, गोविन्दप्रसाद (सुकुम) शर्मा, बादल घिमिरे आदि । (३) पूर्वापर निरपेक्षता, निर्बन्धता र स्वतन्त्रता– सोमनाथ सिग्द्याल, मोहनराज शर्मा, नरेन्द्र चापागाईँ, विष्णुप्रसाद पौडेल, मुरारि पराजुली आदि । (४) भावसघनता, प्रभावोत्पादकता र चमत्कारिता– नरेन्द्र चापागाईँ, तीर्थ श्रेष्ठ, विष्णुप्रसाद पौडेल, सुकुम शर्मा, बादल घिमिरे आदि । (५) एकल आवृत्तिमा भावसम्प्रेषण – कृष्णप्रसाद पराजुली , मोहनराज शर्मा, मुरारि पराजुली आदि । (६) स्वयम् पूर्णता – नरेन्द्र चापागाईँ, श्रीधर खनाल आदि । (घ) मुक्तकको निष्कर्षात्मक परिभाषा र व्याख्या पूर्वीय, पाश्चात्य र नेपाली साहित्यका उपर्युक्त परिभाषालाई हेर्दा विभिन्न समालोचक तथा स्रष्टाहरूले भिन्नभिन्न मान्यता तथा अभिलक्षणलाई आधार बनाएर मुक्तकलाई परिभाषित गरेको देखिन्छ । पूर्वीय संस्कृत साहित्यका आचार्यहरूले पूर्वापर निरपेक्षता, एकश्लोकी वा चतुष्पदी संरचना, रससञ्चार–सामथ्र्य, महाकाव्यांश र एकवाक्यार्थ समाप्तिलाई मूल आधार मानेका छन् भने पाश्चात्य साहित्यमा मुक्तकभन्दा पनि मुक्तकीय संरचनाका कविताको उल्लेख पाइन्छ र एकपदी, द्विपदी, त्रिपदी, चतुष्पदी, पञ्चपदी र षट्पदीसम्मका कविता रूप पाइन्छन् । यस्ता भिन्नभिन्न रूपका कवितालाई त्यहाँ भिन्नभिन्न नाम दिइएको छ तापनि अङ्ग्रेजीमा क्वाट्रेन ९त्तगबतचबष्ल० भनिने चतुष्पदी कविता नै पूर्वीय मुक्तकका रूपमा देखिन्छ । नेपालीमा चाहिँं पूर्वीय संस्कृत साहित्यका परिभाषा र पाश्चात्य वा अङ्ग्रेजी साहित्यका परिभाषालाई आधार बनाएर एवम् केही आफ्नै मौलिक विशेषता समेत समावेश गरी मुक्तकलाई चिनाइएको छ । नेपाली साहित्यमा विशेषतः कविताको लघुतम रूप वा एकाइ, छोटो कविता, चतुष्पदी वा एकश्लोकी रचना, पूर्वापर निरपेक्षता, निर्बन्धता, स्वतन्त्रता, भावसघनता, प्रभावोत्पादकता, चमत्कारिता, एकल आवृत्तिमा भावसम्प्रेषण र स्वयम्पूर्णता आदि अभिलक्षणलाई आधार बनाएर मुक्तकको परिभाषा गरिएको पाइन्छ । उपर्युक्त संस्कृत, अङ्ग्रेजी र नेपालीका परिभाषाहरूलाई आधार बनाएर र मुक्तकका सिद्धान्त समेतका आधारमा मुक्तकलाई यस किसिमले परिभाषित गर्नु उपर्युक्त हुन्छ ः एकल आवृत्तिमै भावलाई सघनता, प्रभावोत्पादकता र चमत्कारिताका साथ तीव्रतम रूपमा अभिव्यञ्जित गर्ने पूर्वापर सम्बन्धनिरपेक्ष, स्वयम्मा पूर्ण प्रायः चतुष्पदी संरचनामा आबद्ध, कविताको लघुतम प्रभेदलाई मुक्तक भनिन्छ । यस परिभाषाका आधारमा मुक्तकलाई समग्रतः पहिचान गराउने आधारहरू यसप्रकार छन्: (१) मुक्तकमा भावको सघन, प्रभावोत्पादक, चामत्कारिक र तीव्र अभिव्यक्ति हुन्छ । (२) मुक्तक पूर्वापर सम्बन्धनिरपेक्ष हुन्छ र यो स्वयम्मा पूर्ण हुन्छ । (३) मुक्तकमा भावको एकल आवृत्ति हुन्छ र प्रायः यो चतुष्पदी संरचनामा आबद्ध हुन्छ । (४) मुक्तक कविताको लघुतम प्रभेद हो । (१) मुक्तकमा भावको सघन, प्रभावोत्पादक, चामत्कारिक र तीव्र अभिव्यक्ति हुन्छ । मुक्तक पनि कविताको एउटा प्रभेद भएकाले यसमा पनि कवितामा जस्तै भाव÷विचार÷ अनुभूतिको प्रतिपादन हुन्छ । भाव वा विचारको यही अभिव्यक्ति मुक्तकको केन्द्रीय कथ्य पनि हो । यही भाव मुक्तकको भित्री अर्थ र मुटु पनि हो । यस्तो भाव वा विचार मुक्तकमा बीजबिन्दुका रूपमा आएको हुन्छ । मुक्तकमा यस्तो भावको सामान्य र तरल अभिव्यक्ति नभएर सघन वा अत्यन्त खँदिलो अभिव्यक्ति हुन्छ । त्यस्तो सघन अभिव्यक्ति पनि अत्यन्त प्रभावोत्पादक, चामत्कारिक र तीव्र हुनु मुक्तकको निजत्व हो । (२) मुक्तक पूर्वापर सम्बन्धनिरपेक्ष हुन्छ र यो स्वयम्मा पूर्ण हुन्छ । मुक्तकमा भाव÷विचार÷अनुभूति वा अन्तर्वस्तुको पूर्वापर सम्बन्ध हुँदैन । पूर्व वा अघिल्लो श्लोक वा प्रसङ्ग र अपर वा पछिल्लो श्लोक वा प्रसङ्गसँग कुनै सम्बन्ध नहुनु नै पूर्वापर सम्बन्ध नहुनु हो । मुक्तकभन्दा माथिल्लो वा ठुला आयामका कवितामा एउटा श्लोक वा पङ्क्तिपुञ्ज र अर्को श्लोक वा पङ्क्तिपुञ्जका बीच सापेक्ष सम्बन्ध हुन्छ । यही सापेक्ष सम्बन्धका कारण त्यस्ता कवितामा श्लोक वा पङ्क्तिपुञ्जहरू परस्पर अनुस्यूत हुन्छन् तर मुक्तकका प्रत्येक श्लोक वा पङ्क्तिहरू पूर्वापर सम्बन्धनिरपेक्ष हुने भएकाले जति सानो रचना भए पनि मुक्तक स्वयम्मा पूर्ण हुन्छ । यही स्वयम्पूर्णता नै मुक्तकको परिचय हो । चार पङ्क्तिमा सम्पूर्ण भाव, विचार वा अनुभूति प्रस्तुत गरिने भएकाले मुक्तकको स्वयम्पूर्णता ठोस, कसिलो, भरिलो समेत हुन्छ । यस आधारमा मुक्तक कविताको स्वायत्त एकाइ समेत हो । (३) मुक्तकमा भावको एकल आवृत्ति हुन्छ र प्रायः यो चतुष्पदी संरचनामा आबद्ध हुन्छ । भावको एकल आवृत्ति हुनु पनि मुक्तकको पहिचान हो ‘छन्द वा कविता ढाँचाको एउटा आवृत्ति पूरा हुनासाथ एउटा मुक्तक सिद्ध हुन्छ । अर्को आवृत्ति हुँदा कि अर्को मुक्तकको अस्तित्व देखिन्छ कि त्यो मुक्तक कोटिको रचना देखिन्न’ (शर्मा, २०३८ ः १६२) । भावको एकल आवृत्ति भनेको नै रैखिक ——— र वृत्तात्मक ० विस्तार हो र यस्तो विस्तार अत्यन्त छोटो हुन्छ । पङ्क्तिगत आयामका दृष्टिले यो चतुष्पदी संरचनामा आबद्ध हुन्छ र यो यसको मानक अभिलक्षण पनि हो । द्विपदी, त्रिपदी वा पञ्चपदी आयाममा वितरित मुक्तकहरू देखिए पनि मुक्तकको आदिचिन्तन पूर्वीय समीक्षाशास्त्रमा एकश्लोकी रचनालाई मुक्तक भनिने र एकश्लोकमा चार पाउ हुने भएकाले पनि चतुष्पदी हुनु मुक्तकको खास र विशिष्ट पहिचान हो भन्ने देखिन्छ । (४) मुक्तक कविताको लघुतम प्रभेद हो । शास्त्रीय मान्यता अनुसार कविताका लघुतम, लघु, मध्यम र बृहत् गरी चार रूप हुन्छन् । यी चार रूप मध्ये मुक्तक सबैभन्दा सानो अर्थात् लघुतम रूप हो । लघुतम रूपको कविता भएकाले नै यसमा भावको विस्तार हुँदैन र विस्तार भइहाले पनि त्यो अन्यन्त छोटो, छिप्र वा त्वरित् किसिमको हुन्छ । कविताको मुक्तकभन्दा सानोे कुनै रूप नहुने भएकाले यसलाई लघुतम रूपको कविता भनिएको हो । मुक्तकभन्दा साना द्विपदी, त्रिपदी कविता देखिए पनि ती मुक्तक नभएर मुक्तकीय संरचनाका कविताका रूप हुन् । मुक्तकको संरचना र आयाम संरचना भनेको बनोट हो र आयाम भन्नाले सामान्यतया आकारप्रकार भन्ने बुझिन्छ । यसको बनोट छरितो किसिमको हुने भएकाले र कसिलो समेत हुने भएकाले भावगत तीव्रता र संरचनागत परिपुष्टताका साथ सन्तुलन हुनु मुक्तकको बाह्य–आन्तरिक संरचनात्मक विशेषता हो । आयामगत दृष्टिले अधिकांश समीक्षक तथा मुक्तककारहरूले शास्त्रीय विधानअनुरूप नै चतुष्पदी संरचना र आयामलाई नै स्विकारेका छन् तापनि यस किसिमको संरचना नै सर्वमान्य हो भनेर किटान गरिएका स्थिति भने नेपालीमा कम देखिन्छन् । खास गरेर दुई पङ्क्तिदेखि सात पङ्क्तिसम्मको आयामिक संरचनामा रहेका कवितालाई मुक्तकका रूपमा मानेर यसको संरचना र आयामलाई लचिलो बनाइएका स्थितिहरू भने धेरै देखिन्छन् । मुक्तकको आयामिक संरचनाका सम्बन्धमा नेपाली समीक्षक तथा स्रष्टा÷मुक्तककारहरूका प्रमुख केही दृष्टिकोणहरू यसप्रकार छन् ः (१) ‘यो लघुतम आकारको काव्यात्मक अभिव्यक्ति हो । यो घटीमा दुई र बढीमा सात पङ्क्तिसम्ममा संरचित देखिन्छ तर अधिकांश मुक्तक चार पङ्क्ति भएका फेला पर्छन् । मुक्तकमा चार हरफभन्दा बढी पङ्क्तिहरू हुनुहुँदैन भन्ने कुरा कडिकडाउ छैन तर यसका संरचनामा पङ्क्तिको जति वृद्धि हुन्छ त्यति नै यो मुक्तकभन्दा इतरकोटिको हुने सम्भावना बढ्छ’ (शर्मा, २०३८ ः १६२) । (२) ‘मुक्तक लोकप्रिय हुनाका साथै प्रायः चतुष्पदी रचनाका रूपमा प्रसिद्ध छ । यसप्रकारको कविता रचनामा पहिलो, दोस्रो र चौथो पाउ समतुकान्त र तेस्रो पाउ भिन्नतुकान्त रहेको पाइन्छ । …..कतिपय सन्दर्भमा भने यसको संरचनात्मक स्वरूपमा विविधता पनि आइरहेको छ’ (पराजुली–क, २०६९ ः २४) । (३) ‘आज हामी जसलाई मुक्तक भन्छौँ, त्यसको स्वरूप पूर्ण चतुष्पदीय पहिलो, दोस्रो र चौथो हरफमा तुक मिलाइएको हुन्छ तर कालकम्रिक रूपमा दुई पङ्क्ति वा एक श्लोकदेखि बढीमा पाँच सात पङ्क्तिसम्म रचना गरिएको पाइन्छ’ (जोशी, २०६९ ः २९) । (४) ‘एक वा दुई श्लोकसम्मका कविताहरू सानो आकारका भइकन पनि स्वयम्मा परिपूर्ण रहेका पनि पाइने हुनाले त्यस्ता स्वरूपलाई मुक्तकका प्रारूपका रूपमा लिन सकिन्छ’ (चापागार्इँ, २०६९ ः ७४) । (५) ‘मुक्तक चार हरफमा पूर्ण हुन्छ । ….चार हरफमा संरचित पहिलो, दोस्रो र चौथो हरफमा अन्त्यानुप्रासविहिन रहेको नियमसङ्गत रूपमा रचिएको मुक्तकलाई औपचारिक तथा दुईदेखि पाँच हरफसम्म प्रयोग गरिएको र अत्यानुप्रासको तालमेल नमिलाइएको मुक्तकलाई अनौपचारिक मान्न सकिन्छ’ (नेपाल, २०६९ ः ६१) । (६) ‘मुक्तक कविताको लघुतम संरचना हो । यो सामान्यतः चार चरण वा हरफमा लेखिन्छ । संस्कृतका एकश्लोकी संरचना र रुवाइ ढाँचाका मुक्तकले त्यसैलाई देखाएका छन् तर न्यूनतम दुईदेखि पाँच सात हरफसम्म पनि मुक्तक लेखिन सक्ने मानिन्छ’ (पौडेल ः २०६८ ः १९) । (७) ‘मुक्तकको न्यूनतम चरण दुई चरण हो भने अधिकतम चरण सात चरणसम्म हो’ (पराजुली, २०६९ ः १०) । (८) ‘मुक्तकको संरचना या आयाम चार हरफमा पूर्ण हुनु हो । यो आयाम चार हरफ हुँदै बढीमा सात हरफसम्म विस्तार भएको र तीनदेखि एक हरफसम्म खुम्चिएको पनि पाइन्छ । शास्त्रीय आधार भने चार हरफमा पूर्ण हुनु नै मुक्तक हो’ (शर्मा ः २०६९ ः ८७) । (९) ‘यथार्थतः मुक्तक चार हरफभन्दा कम वा बढी पङ्क्तिमा संरचित हुन सक्दैन’ (घिमिरे, २०७० ः १३४) । उपर्युक्त दृष्टिकोणहरूबाट मुक्तकको आयामिक संरचना दुईदेखि सात पङ्क्तिसम्म विस्तारित हुने कुरा देखाइएको छ र निम्नलिखित चार दृष्टिकोणहरू अगाडि आउँछन् ः (१) मुक्तक दुईदेखि सात पङ्क्तिसम्ममा विस्तारित हुन्छ । (२) मुक्तक एक वा दुई श्लोकसम्म विस्तारित हुन्छ । (३) मुक्तक दुईदेखि सात पङ्क्तिसम्म विस्तारित भए पनि चार पङ्क्ति वा चरण रहनु शास्त्रीय मान्यता हो । (४) मुक्तक चार हरफको आयाममा नै विस्तारित हुन्छ वा चतुष्पदीय नै हुन्छ । मुक्तकको आयामिक संरचनाका सम्बन्धमा प्रस्तुत उपर्युक्त दृष्टिकोणहरू मूलतः संस्कृत साहित्यको मुक्तकका शास्त्रीय मान्यता, अरबी रुवाइका शास्त्रीय मान्यता र नेपाली मुक्तक लेखनका प्रचलनहरू समेतका आधारमा आएका देखिन्छन् र नेपालीमा यी चार किसिमकै मान्यताका मुक्तकहरू लेखिएका छन् । संस्कृत साहित्यको मान्यतालाई अनुसरण गर्नेहरूले एकश्लोकी आयामिक संरचनाका चतुष्पदी मुक्तक लेखेका छन् भने अरबी रुवाइको शैलीमा मुक्तक लेख्नेहरूले पनि पहिलो, दोस्रो र चौथो चरणलाई समतुकान्त र तेस्रो पाउलाई विषमतुकान्तको प्रयोग गरी चतुष्पदी मुक्तक नै लेखेका छन् र यस किसिमको आयामिक संरचना शास्त्रीय मान्यता पनि हो । मुक्तकमा अनुभूतिको एक झोक्का प्रस्तुत गरिने र चार पङ्क्ति वा चरणभन्दा माथि हुने बित्तिकै अनुभूतिको विस्तार हुने भएकाले त्यहाँ मुक्तकीयता भत्किने स्थिति हुन्छ । पहिलो चरण वा पङ्क्तिले विषयको उठान, दोस्रो पङ्क्ति वा चरणले विषयको विकास, तेस्रो पङ्क्ति वा चरणले उत्कर्ष र चौथो पङ्क्ति वा चरणले विषयको/विचारको/कथ्यको/अनुभूतिको रहस्योद्घाटन वा पटाक्षेप गर्ने मुक्तकको शास्त्रीय विधानका आधारमा पनि मुक्तक चतुष्पदी आयामिक संरचनामा आबद्ध हुनु उपयुक्त हुन्छ । मुक्तक शास्त्रीय वार्णिक मात्रिक छन्दजस्तै वा रुवाइ छन्दजस्तै बद्धलय संरचना भएको कविता–प्रभेद भएकाले पनि यसलाई चतुष्पदी आयामिक संरचनामा रहेको कविताका रूपमा मान्नु युक्तिसङ्गत देखिन्छ । द्विपदी कवितामा भावको उठानपश्चात् एकैचोटि बैठान हुने र त्रिपदी कवितामा भावको उठान र विकासपछि उत्कर्षमा पु¥याउने स्थिति नभईकन बैठान हुने भएकाले यस्ता कवितामा भाव/विचार/अनुभूतिले थोरै पनि खेल्ने अवसर पाउँदैनन् । मुक्तकका दोस्रो र तेस्रो पङ्क्ति वा चरणमा अनुभूतिले÷विचारले÷भावले थोरै खेल्ने ठाउँ पाउँछ र चौथो चरण वा पङ्क्तिले बाजी मार्छ । कुनै पनि साहित्यिक रचनाहरूको सृजना भइसकेपछि तिनै रचनाहरूलाई आधार बनाएर साहित्य सिद्धान्तहरूको निर्माण गरिने भएकाले र त्यो प्राचीनकालदेखिकै परम्परा समेत भएकाले चतुष्पदीभन्दा इतर आयामिक संरचनाका कविता–प्रभेद (२–७ पङ्क्तिसम्मका)लाई मुक्तक होइनन् भनेर सोझै भन्न नसकिए पनि दुई तीन पङ्क्तिमा भाव÷विचार÷अनुभूतिलाई बढी खुम्च्चाउनु पर्ने र पाँच सात पङ्क्तिसम्म लैँजादा भावको तीव्रता र पटाक्षेपणमा ह्रास आउने सम्भावना भएकाले पनि मुक्तकको चतुष्पदी आयामिक संरचना मानक सिद्ध हुन आउँछ । मुक्तक बद्धप्रकृतिको कविता–प्रभेद भएकाले प्रयोगका नाममा जथाभावी लेख्नु मुक्तकको सैद्धान्तिक अनुशासनभित्र पर्दैन तर भाव/विचार/कथ्यको उत्तरोत्तर आरोह र रहस्योद्घाटनका साथ पटाक्षेप गर्न सके मुक्तलय वा गद्यकवितात्मक लयढाँचाका मुक्तकलाई तीनदेखि पाँच छ वा सात पङ्क्तिसम्म तन्काउन सकिन्छ र भाव÷विचार÷कथ्यको उत्कर्ष र पटाक्षेपपछि विस्तार भइदिनाले मुक्तकीयता हराउने सम्भावना अत्यन्त प्रबल हुन्छ । थोरै वा सीमित पङ्क्तिभित्र धेरै भाव/विचार/अनुभूतिलाई समेट्नु पर्ने भएकाले मुक्तक सृजना गर्नु चुनौतीपूर्ण हुन्छ । चार पङ्क्तिको आयामिक संरचनाका कविता लेख्दैमा ती सबै मुक्तक हुँदैनन् । मुक्तकका आङ्गिक संरचक घटकहरू मुक्तक कविताकै एउटा प्रभेद भएकाले आधारभूत रूपमा कविताका उपकरण वा तत्व नै मुक्तकका पनि उपकरण वा तत्व हुन् । मुक्तक एउटा पूर्ण संरचना हो र यस संरचनाको निर्माणका लागि चाहिने उपकरण नै मुक्तकका आङ्गिक संरचनक घटक हुन् । मुक्तकका तत्व÷उपकरण वा लघुसंरचक घटकहरूका सम्बन्धमा भने समीक्षकहरूका बीच तात्विक मतान्तर पाइँदैन । मुक्तक अङ्गी हो भने मुक्तक बन्नका लागि आउने लघुसंरचक घटकहरू अङ्ग हुन् । यिनै लघुसंरचक घटक वा अङ्गहरूको कुल योगबाट एउटा पूर्ण रचना मुक्तकको निर्माण हुन्छ । समग्रमा मुक्तकका आधारभूत संरचक घटक वा तत्वहरूलाई सङ्क्षेपमा तल चर्चा गरिन्छ ः (क) अन्तर्वस्तु (भाव/विचार/अनुभूति/कथ्य) अन्तर्वस्तु मुक्तकको आधारभूत संरचक घटक वा तत्व हो । यो मुक्तकको सारभूत अंशका रूपमा रहने हुनाले यसलाई सबैभन्दा महत्वपूर्ण घटकका रूपमा मानिन्छ । मुक्तकमा अन्तर्वस्तु अमूर्त र सूक्ष्म हुने भएकाले भाव, विचार, अनुभूति वा केन्द्रीय कथ्यका रूपमा यो आएको हुन्छ । मुक्तकमा अन्तर्वस्तुको व्याप्ति नहुने भएकाले यो सूक्ष्म रूपमा रहेको हुन्छ । यस्तो भाव/विचार/अनुभूति/कथ्यका रूपमा आउने अन्तर्वस्तुलाई मुक्तककारले जुनसुकै क्षेत्रबाट पनि चयन र ग्रहण गर्न सक्छ । जीवनजगत्का यावत् भोगाइ र अनुभूति, ज्ञानविज्ञानका यावत् विषय, प्रकृति, संस्कृति, प्रेम, राजनीति, पछ्रिल्लो समयका निर्मित संस्कृतिका विषयहरू आदि जुनसुकै अन्तर्वस्तु पनि मुक्तकमा रहन सक्छन् । (ख) परिवेश मुक्तकमा वर्णित, चित्रित वा सङ्केतित स्थान, काल र परिस्थितिको समष्टि रूप नै परिवेश हो । मुक्तकमा यस्तो परिवेशको वर्णन र चित्रण सम्भव नहुने भएकाले परिवेशको सूक्ष्मातिसूक्ष्म सङ्केत मात्र मुक्तकमा हुन्छ । स्थानिक र कालिक परिवेशभन्दा पनि सुखदुःख आदि मानसिक संवेगजन्य पारिस्थितिक परिवेशको सङ्केत मुक्तकमा देखिने भएकाले परिवेश पनि मुक्तकको लघुसंरचक घटक हो । (ग) उद्देश्य मुक्तकले प्रस्तुत गर्न खोजेको मुख्य प्रयोजन नै उद्देश्य हो । प्रयोजनबिना मुक्तक रचना गरिँदैन । वर्तमान सन्दर्भमा यथार्थको प्रकटीकरण मुक्तक सृजनाको मुख्य उद्देश्य बन्न पुगेको देखिन्छ । तसर्थ उद्देश्य पनि मुक्तकको आधारभूत लघुसंरचक घटक हो । (घ) सहभागी र दृष्टिबिन्दु मुक्तकमा सहभागिता जनाउन आउने व्यक्ति नै सहभागी हो । परम्परित भाषामा यसलाई पात्र भनिए पनि चरित्रको विकास नहुने भएकाले मुक्तकमा पात्रको सामान्य सहभागिता मात्र हुन्छ, त्यसैले ‘म’÷वक्ताका रूपमा वा ‘ऊ’÷ नामधारी पात्रका रूपमा सहभागीको सहभागिता रहेको हुन्छ । मुक्तकको भावलाई पाठकसमक्ष उपस्थापना गर्ने पद्धति दृष्टिकोण हो र मुक्तककारले ‘म’ वा ‘ऊ’ सहभागीका माध्यमबाट केन्द्रीय विचारलाई उपस्थापना गर्दा क्रमशः आन्तरिक र बाह्य दृष्टिबिन्दुको प्रयोग हुन्छ; तसर्थ सहभागी र दृष्टिबिन्दु पनि मुक्तकका लघुसंरचक घटक मानिन्छन् । (ङ) लय मुक्तकमा ध्वन्यात्मक आरोहअवरोहको स्थितिबाट लयको उत्पादन हुन्छ र लयले नै मुक्तकलाई साङ्गीतिक बनाउँछ । लय ध्वनिप्रवाहको ढाँचा हो र लयको उत्पत्ति गति, यति, प्रवाह एवम् विरामहरूको पारस्परिक तथा क्रमिक योगबाट हुन्छ (गौतम, २०६६: ५७६) । मुक्तक कविताकै प्रभेद भएको र लय कविताको अनिवार्य तथा निजी तत्व भएकाले मुक्तकको पनि यो अनिवार्य तथा निजी तत्व हो । मुक्तकलाई अन्य कवितेतर विधाबाट छुट्याउने तत्व पनि लय नै हो । मुक्तक बद्ध र मुक्त दुबै लयमा लेखिन्छ । शास्त्रीय वार्णिक वा मात्रिक छन्द, रुवाइको आगन्तुक लय र लोकलयमा लेखिने मुक्तकहरूमा बद्ध लय हुन्छ र यस्ता लयका मुक्तकमा प्रायः वर्ण, मात्रा/अक्षर आदिको समान वितरण हुन्छ भने मुक्त लयका मुक्तकमा तिनको समान वितरण हुँदैन । मुक्तकमा रहने अनुप्रासिकता/तुकबन्दीले पनि लयको उत्पादनमा विशिष्ट भूमिका खेल्दछन् । बद्ध लयका मुक्तकमा बाह्य लय र मुक्त लयका मुक्तकमा आन्तरिक लयको व्यवस्थापन हुन्छ । शास्त्रीय वार्णिक/मात्रिक, छन्दका मुक्तक लेख्ने परम्परा अहिले केही न्यून भएकाले रुवाइ शैलीका मुक्तक र गजल शैलीका मुक्तकहरू वर्तमानमा बढी लेखिएका छन् र तिनमा उक्त आगन्तुक लयढाँचाकै प्रयोग देखिन्छ । मुक्त लयढाँचा पनि मुक्तकको प्रचलित लयढाँचाका रूपमा देखिएको छ । (च) भाषाशैलीय तत्त्व मुक्तक पनि कविताकै प्रभेद भएकाले कविताकै भाषा मुक्तकमा पनि प्रयोग हुन्छ । कविताको भाषा लाक्षणिक वा व्यञ्जनात्मक, अनेकार्थक, अलङ्कृत, विचलनयुक्त, कलात्मक, ध्वन्यात्मक, शब्दसौन्दर्यात्मक, लयात्मक, न्यूनविराम चिन्हित, कसिलो र अस्पष्ट हुने (शर्मा, २०५५:२४) भएकाले मुक्तकको भाषामा पनि पूर्णतया यी विशेषता रहन्छन् । मुक्तक छोटो हुने र थोरै शब्दमा धेरै भन्नुपर्ने भएकाले मुक्तकको भाषा अझ बढी ध्वन्यात्मक, प्रभावोत्पादक, चामत्कारिक, वक्रोक्तिमूलक र सघन हुन्छ । शैली भनेको मुक्तक लेख्ने तरिका हो । मुक्तक कसरी लेखिन्छ भन्ने कुरा शैलीले बताउँछ । भाषा मुक्तक लेख्ने माध्यम हो भने शैली तरिका हो र यी दुईका बीच जहिले पनि नजिकको सम्बन्ध हुन्छ । तसर्थ भाषाशैलीलाई रूपविन्यास भनिन्छ । शैली अन्तर्गत धेरै कुरा पर्दछन् तापनि मूलतः मुक्तककारले चयन, विचलन, समानान्तरता, विपर्यास, बिम्बीकरण, उक्तिवैचित्र्य, मानवीकरण आदिका माध्यमबाट विशिष्ट शैलीको निर्माण गर्ने भएकाले यिनलाई शैली निर्माणका घटक मानिन्छ (गौतम, २०६९: १०२) । व्यङ्ग्यात्मकता, बिम्ब, प्रतीक र अलङ्कार मुक्तकका विशेष शैलीय तत्त्वहरू हुन् । स्रष्टाका मानसपटलमा रहेको भावलाई अभिव्यञ्जित गर्ने चित्रात्मक भाषा बिम्ब हो । बिम्बले मुक्तकको भावलाई बढी सम्मूर्तित बनाउँछ । ‘कुनै सूक्ष्म कुरा अभिव्यक्त गर्नका लागि कुनै स्थूलवस्तुको चयन गर्नु प्रतीकविधान हो’ (ऐजन) । मुक्तकले कुनै घटनाको वर्णन नगरी सूक्ष्म रूपमा सङ्केत मात्र गर्ने भएकाले मुक्तकका लागि प्रतीकको प्रयोग निकै महत्वपूर्ण हुन आउँछ । अलङ्कार कविताको शोभाकारक तत्त्व हो । मुक्तकको अर्थमा चमत्कृति पैदा गर्ने र शब्दचमत्कारका माध्यमबाट पनि अर्थलाई उत्कर्षमा पुर्याउने अलङ्कारले मुक्तकलाई बढी सौन्दर्यात्मक बनाउँछ । शब्दालङ्कार र अर्थालङ्कार गरी अलङ्कार दुई किसिमका हुन्छन् । शब्दका माध्यमबाट चमत्कार उत्पन्न गर्ने अलङ्कारलाई शब्दालङ्कार र अर्थका माध्यमबाट चमत्कार उत्पन्न गर्ने अलङ्कारलाई अर्थालङ्कार भनिन्छ । मुक्तकमा यी दुवै किसिमका अलङ्कार रहेमा मुक्तक विशिष्ट बन्दछ । लय शैलीअन्तर्गत नै पर्दछ तापनि यो मुक्तक कविताको निजी तत्त्व भएकाले यसको पृथक् चर्चा गरिएको छ । मुक्तकमा पाइने १,२ र ४ पङ्क्तिका बीचको अन्त्यानुप्रासीयता समानान्तरता र अलङ्कार दुवै हो । यसबाट पनि मुक्तकको लयसौन्दर्यमा अभिवृद्धि हुन्छ । मुक्तकको वर्गीकरण मुक्तक यति नै प्रकारका हुन्छन् भन्ने कुनै निश्चित सैद्धान्तिक आधार छैन र विभिन्न आधारमा विभिन्न किसिमले मुक्तकलाई वर्गीकरण गर्न सकिन्छ । कतिपय अध्येताहरूले चरणवितरणगत, स्रोतगत, छन्दगत, अन्त्यानुप्रासगत, विषयगत, विचारगत, भावगत, परम्परागत र कथागत आदि आधारमा मुक्तकको वर्गीकरण गरेको (पराजुली–ख, २०६९ ः १०) पाइन्छ तापनि मूलतः निम्नलिखित किसिमले मुक्तकको वर्गीकरण गर्दा बढी समीचीन देखिन्छ र अन्य धेरै प्रकारहरू यसैभित्र समाहित हुन सक्ने देखिन्छ । मुक्तकको वर्गीकरणका प्रमुख आधारहरू यसप्रकार छन्ः (क) स्रोतका आधारमा (ख) अन्तर्वस्तुका आधारमा (ग) लयसंरचनाका आधारमा (घ) उक्ति ढाँचाका आधारमा (क) स्रोतका आधारमा मुक्तक कुन भाषिक, क्षेत्रीय वा परिवेशगत स्रोतबाट आएका छन् भन्ने कुरा स्रोतले देखाउँछ , नेपालीमा प्रचलित स्रोतका आधारमा हेर्दा लोकसाहित्यिक स्रोत, संस्कृत शास्त्रीय स्रोत र आगन्तुक स्रोत गरी तीन किसिमका मुक्तकहरू बढी प्रचलित छन् । गाउँखाने कथा, उखान, लोकोक्ति, अड्को थाप्ने सिलोक, लोकगीतहरूका स्थायी चरण, भजन आदि पनि मुक्तकीय संरचनाका हुन्छन् र यस्ता मुक्तकहरूलाई लोकसाहित्यिक स्रोतबाट लिइएका मुक्तकका रूपमा लिन सकिन्छ । संस्कृत साहित्यका एकश्लोकी पूर्वापर सम्बन्ध निरपेक्ष कविताहरू पनि मुक्तक नै हुन् र ती संस्कृतका शास्त्रीय छन्दमा लेखिएका हुन्छन् । संस्कृतका सूक्ति र सुभाषितका प्रभावमा लेखिएका यस्ता मुक्तकलाई संस्कृत शास्त्रीय स्रोतबाट लिइएका मुक्तकका रूपमा लिन सकिन्छ । अङ्ग्रेजीका चतुष्पदी कविता (Quatrain) को प्रभावमा लेखिएका मुक्तक, अरबी स्रोतको रुवाइका ढाँचामा लेखिएका मुक्तक, उर्दू फारसीका गजल र सायरीको ढाँचामा लेखिएका मुक्तक र जापानी हाइकू ताङ्का आदिको ढाँचामा लेखिएका मुक्तकलाई आगन्तुक स्रोतका मुक्तकका रूपमा मानिन्छ । यस्ता मुक्तकहरू तत्तत् लयसंरचनाका ढाँचामा लेखिएका हुन्छन् । (ख) अन्तर्वस्तुका आधारमा मुक्तकलाई अन्तर्वस्तुका आधारमा पनि वर्गीकरण गर्न सकिन्छ । मुक्तककारले जीवनजगत् र ज्ञानविज्ञानका यावत् क्षेत्रबाट मुक्तकका लागि अन्तर्वस्तुको ग्रहण गर्छ । भाव÷विचार÷अनुभूति÷कथ्यका रूपमा आएका यस्ता अन्तर्वस्तु असङ्ख्य हुन्छन् र यो वर्गीकरण अन्तर्वस्तुको प्रवृत्तिगत वर्गीकरण पनि हो । जीवन, जगत्, प्रकृति, संस्कृति, राष्ट्र, समाज, व्यक्ति, आर्थिक, राजनीतिक समस्या, नीति, आदर्श, दर्शन, सुखदुःख, प्रेम, करुणा, भय, आतङ्क आदि मानवीय संवेगहरू, युगीन राजनीतिक तथा सामाजिक विकृति र विसङ्गतिहरू, शोषण र अनाचारहरू, धर्म, वर्ण, लिङ्ग, जाति आदिका अनेकौँ समस्याहरू र विषयहरू आदि र यीसँग सम्बन्धित धेरै कुराहरू मुक्तकको भाव÷विचार÷अनुभूति÷कथ्यका रूपमा आएका अन्तर्वस्तु हुन् । अन्तर्वस्तुका आधारमा गरिने यो वर्गीकरण निकै लामो हुन सक्छ । (ग) लयसंरचनाका आधारमा मुक्तकलाई वर्गीकरण गर्ने अर्को मुख्य आधार लयसंरचना पनि हो । यद्यपि स्रोतका आधारमा गरिएको वर्गीकरणबाट पनि लयगत भिन्नता देखिन्छ । मूलतः लयसंरचनाका आधारमा मुक्तकका मुक्त लय र बद्ध लय गरी दुई किसिमका लयसंरचना देखिन्छन् । निश्चित शास्त्रीय छन्दानुशासनमा रहेर लेखिने मुक्तकहरू बद्ध लय संरचनामा देखिन्छन् भने गद्यकवितात्मक ढाँचामा लेखिने मुक्तकहरू मुक्त लयसंरचनामा देखिन्छन् । संस्कृत शास्त्रीय छन्दका मुक्तकहरू, रुवाइ शैलीका मुक्तकहरू, विभिन्न गीति लयसंरचनाका मुक्तकहरू बद्ध लयका मुक्तक हुन् भने लयगत÷छन्दगत निश्चित अनुशासनमा नबाँधिएका मुक्तकहरू वा गद्यकवितात्मक ढाँचाका मुक्तकहरू मुक्तलयका मुक्तक हुन् । (घ) उक्तिढाँचाका आधारमा पाठकसमक्ष भावलाई उपस्थापित गर्ने कथनपद्धति नै उक्तिढाँचा हो । मुक्तककार स्वयम् वक्ता वा समाख्याता भएर ‘म÷हामी’का माध्यमबाट र ‘ऊ’ वा कुनै नामधारी सहभागिका माध्यमबाट भाव प्रस्तुत गर्ने कथनपद्धतिका आधारमा क्रमशः आन्तरिक दृष्टिकेन्द्रीय उक्तिढाँचा र बाह्य दृष्टिकेन्द्रीय उक्तिढाँचा गरी दुई किसिमका उक्तिढाँचाहरू हुन्छन् । प्रथमपुरुष दृष्टिबिन्दुमा लेखिएका मुक्तकमा आन्तरिक दृष्टिकेन्द्रीय ढाँचा र तृतीय पुरुष दृष्टिबिन्दुमा लेखिएका मुक्तकमा बाह्य दृष्टिकेन्द्रीय ढाँचा हुन्छ । मुक्तक र मुक्तकीय संरचनाका अन्य कविता रूप हिजोआज मुक्तकका नाममा लेखिने कतिपय रचनाहरू मुक्तकभन्दा इतर प्रकृतिका हुन्छन् । चार पङ्क्तिको सिङ्गो रचना हुनेबित्तिकै मुक्तक नामले प्रकाशित गर्ने परम्पराका कारण मुक्तक सृजनामा विचलन आएको देखिन्छ । माथि भनिएझैँ मुक्तकमा क्रमशः प्रत्येक पङ्क्तिले भावलाई उत्कर्षमा पु¥याएर पटाक्षेप गर्नुपर्छ । ‘मुक्तकको पहिलो पदले विषयवस्तुको उठान, दोस्रो पदले विषयवस्तुको व्याख्या (विकास ?), तेस्रो पदले चौथा पदले अभिव्यक्ति दिनुपूर्व कौतूहल उत्पन्न गराउँछ भने अन्तिम (चौथो) पदले लक्ष्यभेदन गर्दछ’ (घिमिरे, २०७० ः १३७) । यो स्थिति भएन भने चतुष्पदीय आयामिक संरचनाको हुँदैमा त्यो मुक्तक बन्दैन । मुक्तक नै नभए पनि मुक्तकजस्तै वा मुक्तकका समधर्मी र मुक्तकीय संरचनाका केही कवितारूपलाई मुक्तकका सापेक्षमा यसप्रकार देखाइन्छ ः (क) मुक्तक र लोकरचना (सिलोक/झ्याँगा, चुट्का, रोइला, उखान, गाउँखाने कथा) (ख) मुक्तक र सूक्ति तथा सुभाषित (ग) मुक्तक र रुवाइ (घ) मुक्तक र हाइकू तथा ताङ्का (ङ) मुक्तक र अन्य कविता रूप (दोहा, गजलका सेर आदि) । (क) मुक्तक र लोकरचना (सिलोक/झ्याँगा, चुट्का, रोइला, उखान, गाउँखाने कथा) कवितात्मक लोकरचनाका रूपमा रहेका सिलोक, झ्याँगा, चुट्का, रोइला, उखान, गाउँखाने कथा आदि लोकरचना–प्रकारहरू मुक्तक त होइनन् तर लोकसाहित्यिक सामग्रीमा मुक्तकीयता खोज्नुपर्दा यी लोकरचनाहरूमा प्राप्त गर्न सकिन्छ । अड्को थाप्ने र प्रश्नोत्तरात्मक किसिमको देखिने झ्याँगा सिलोककै एउटा स्वरूप भएकाले र चतुष्पदी समेत हुने भएकाले मुक्तक र सिलोक/झ्याँगाका बीच समता भेटिन्छ । चुट्का भजन, रोइलाजस्ता गीतका स्थायी पदमा मुक्तकीय तत्वको उपस्थिति देख्न सकिन्छ भने कतिपय दुईदेखि चार पङ्क्तिका उखान र गाउँखाने कथाहरूमा पनि केही रूपमा मुक्तकीय अभिलक्षण देखिन्छन् । (ख) मुक्तक र सूक्ति तथा सुभाषित सूक्ति तथा सुभाषित पद्यहरू संस्कृत वाङ्मयमा प्रशस्त पाइन्छन् । खास गरेर वेद, पुराण र उपनिषद्हरू सूक्ति र सुभाषितहरूका दृष्टिले निकै समृद्ध छन् । यस्ता सूक्ति तथा सुभाषितहरू प्रायः नीतिचेतनासँग सम्बद्ध रूपमा देखिन्छन् । यस्ता सूक्ति तथा सुभाषितहरू एकपदी, द्विपदी र चतुष्पदी रूपमा देखिन्छन् र यी पूर्वापर प्रसङ्गनिरपेक्ष हुने भएकाले र स्वयम्मा अर्थपूर्ण समेत हुने भएकाले यी मुक्तकको निकट हुन्छन् । अधिकांश सूक्ति तथा सुभाषितहरू चतुष्पदी हुने भएकाले पनि मुक्तकसँग सूक्ति–सुभाषितहरूको निकटता देखिन्छ । (ग) मुक्तक र रुवाइ रुवाइ अरबी–फारसी कविता रूप हो । ‘प्रत्येक रुवाइ चतुष्पदीय श्लोकसंरचनामा आबद्ध हुन्छन्, जसका पहिलो, दोस्रो र चौथो पङ्क्ति अन्त्यानुप्रासयुक्त हुन्छन् । यस अनुरूप यसको अन्त्यानुप्रासिक योजना बबदब हुन्छ । रुवाइको पहिलो तीन हरफहरूमा अलङ्कार (प्रायःउपमा) को प्रयोग गरिएको पाइन्छ तर यसको चरमोत्कर्ष र सम्पूर्ण भाव एकैचोटि अचानक चौथो हरफमा गएर खुल्छ’ (भुजेल, २०६९ ः ९३) र यसर्थ भावको क्रमशः उत्तरोत्तर उत्कर्ष र संरचना दुबै दृष्टिले रुवाइ र मुक्तकका बीच अत्यन्त निकट सम्बन्ध रहेको देखिन्छ र मुक्तक एवम् रुवाइका धेरै अभिलक्षणहरू मिल्छन् वा समान छन् । नेपालीमा लेखिएका पछिल्लो समयका धेरै मुक्तकहरू रुवाइकै संरचनात्मक ढाँचामा देखिन्छन् र अहिले यो ढाँचा लोकप्रिय समेत रहेको छ । यति हुँदाहुँदै पनि मुक्तक र रुवाइका बीचका विभेदक अभिलक्षणहरू यसप्रकार देखिन्छन्: (१) मुक्तक संस्कृत साहित्यको कविता रूप हो भने रुवाइ अरबी फारसी कविता रूप हो । (२) मुक्तक र रुवाइ दुबै बद्धलयमा लेखिए पनि संस्कृत साहित्य शास्त्रीय छन्दका मुक्तकमा वर्ण र मात्राको समान वितरण पाइन्छ भने रुवाइको तेस्रो चरणमा प्रायः वर्ण र मात्राको समान वितरण पाइँदैन । (३) संस्कृत शास्त्रीय छन्दका मुक्तकमा १,२ र ३,४ वा चारै पाउको अन्त्यमा अन्त्यानुप्रास हुन्छ भने रुवाइमा १,२ र ४ चरणमा अनुप्रास हुन्छ । (घ) मुक्तक र हाइकू तथा ताङ्का अशंतः मुक्तकीय संरचना भएका र मुक्तकका निकट मानिने कविता प्रभेदमा हाइकू र ताङ्का पनि देखिन्छन् । हाइकू जापानी बद्धलयमा लेखिने त्रिपदी रचना हो भने ताङ्का चाँहि चीनबाट सुरु भएर जापानमा विकास र विस्तार भएको हाइकूजस्तै बद्धलयमा लेखिने पञ्चपदी रचना हो । हाइकू र ताङ्का दुबै कविताका लघुतम रूप भएकाले र चरणगत भावोत्कर्षका दृष्टिले मुक्तककै समधर्मी कविताका रूपमा देखिए पनि भावको उठानदेखि पटापेक्षसम्मको तीव्रता मुक्तकमा मात्र हुन्छ र हाइकू तथा ताङ्कामा त्यो तीव्रता न्यून हुन्छ । हाइकु ५+७+५ अक्षर गरी जम्मा १७ अक्षरको संरचनामा लेखिन्छ भने ताङ्का ५+७+५+७+७ अक्षर गरी जम्मा ३१ अक्षरको संरचनामा लेखिन्छ । यी पृथक् रूपका रचना भए पनि मुक्तकका निकटस्थ वा समधर्मी कविताप्रभेद मानिन्छन् र यी पनि कविताका लघुतम रूप नै हुन् । (ङ) मुक्तक र अन्य कविता रूप मुक्तकसँग निकट देखिने अन्य कविता रूपमा मूलतः दोहा र गजलका द्विपदी सेरहरू बढी देखिन्छन् । दोहा पनि द्विपदी भएकाले यी दुवै रचनामा भावको उठान र बैठान मात्र हुन्छ र भावोत्कर्षका लागि आधार हुँदैन । त्यसैले अशंतः यी कविता मुक्तकीय स्वरूपका देखिए पनि मुक्तकसँग यिनको त्यति निकटस्थ सम्बन्ध देखिँदैन । सायरी पनि कविताको लघुतम प्रभेदका दृष्टिले मुक्तको केही निकटवर्ती देखिए पनि यो द्विपदी रचना हो र अर्थोत्कर्षको भने यसमा ख्याल गरिएको पाइन्छ । कविताको लघुतम रूपभित्र कुण्डली पनि पर्दछ । यो हिन्दीमा प्रचलित बद्धलयात्मक ढाँचाको षट्पदी रचना हो । यो मात्रिक छन्दमा लेखिन्छ र नेपालीमा यसको न्यून प्रयोग पाइन्छ । यी प्रभेदहरूका अतिरिक्त छोटाछोटा पाँचसात पङ्क्तिसम्मका गद्यकविता पनि कविताको लघुतम रूपभित्र पर्ने हुनाले मुक्तकका निकट देखिन्छन् । यस्ता छोटा गद्यकवितालाई नवमुक्तक पनि भनिएको पाइन्छ (त्रिपाठी, २०४६ ः४२) । यी कविता–रूपहरूका अतिरिक्त पछिल्लो समयमा नेपालीमा प्रचलित एक लाइन कविता, सूत्रकविता, टुक्रा, छेस्का, अणु, छर्रा आदि नाम दिएर कविता लेखेको देखिए पनि त्यस्ता लेखनको कुनै सैद्धान्तिक आधार र कविताको न्यूनतम आधारभूत तत्वको समेत उपस्थिति नदेखिने हुँदा ती प्रयोगका लागि मात्र गरिएका प्रयोगजस्ता देखिन्छन् । समग्रमा भन्नुपर्दा पूर्वीय संस्कृत साहित्यको मुक्तकसँग अरबी–फारसीको रुवाइ र अङ्ग्रेजीको क्वाट्रेनले जुन किसिमको अतिनिकटस्थ सम्बन्ध राख्छन् अन्य कवितात्मक प्रभेदहरूले कविताका लघुतम रूप भए पनि त्यति निकटस्थ सम्बन्ध राखेको पाइँदैन । मुक्तक र मुक्तककाव्य मुक्तककाव्यले मुक्तकसामान्यलाई अभिव्यञ्जित गर्छ भने मुक्तकले यसको विशिष्टीकृत रूप वा मुक्तकविशेषलाई बुझाउँछ । पूर्वीय संस्कृत समीक्षाशास्त्रमा शतककाव्य, स्फुटकाव्य, ऋतुकाव्य र एकश्लोकी मुक्तदेखि पाँचश्लोकी कूलकसम्मका काव्यरूपहरूलाई मुक्तककाव्य भनिन्छ । शतककाव्य, स्फुटकाव्य र ऋतुकाव्य पनि आख्याननिरपेक्ष हुने भएकाले र तिनका प्रत्येक श्लोकहरू प्रायः पूर्वापर प्रसङ्गरहित हुने भएकाले तिनलाई मुक्तककाव्यका रूपमा मानिएको पाइन्छ । वर्तमान नेपाली साहित्यमा सूत्रकाव्य र सूत्रकविता कृतिहरू प्रकाशित भइसकेका र तिनलाई समेत पृथक्पृथक् मुक्तकसङ्ग्रहका रूपमा चर्चा भइरहेका सन्दर्भमा ती कृतिलाई मुक्तक÷मुक्तकसङ्ग्रहका रूपमा मान्नु युक्तिसङ्गत देखिँदैन र मुक्तककाव्यका रूपमा तिनलाई राख्नु बढी उपर्युक्त हुन्छ । वेदका ऋचा वा मन्त्रहरू, देवीदेवताका स्तुति वा स्तोत्रहरू, सुभाषित पद्य र सूक्तिहरू, समस्यापूर्तिहरू, द्विपदीदेखि सप्तपदीसम्मका मुक्तकीय संरचनाका÷ढाँचाका कवितात्मक प्रभेदहरू आदि सबै मुक्तककाव्यभित्रकै प्रभेदहरू हुन् । संस्कृत साहित्यमा मुक्तककाव्य र प्रबन्धकाव्य गरी दुई किसिमका काव्यभेद देखाइएको छ । आख्यानसापेक्ष खण्डकाव्य महाकाव्यलाई प्रबन्धकाव्य अन्तर्गत र आख्याननिरपेक्ष वा खण्डकाव्य महाकाव्यबाहेकका काव्यलाई मुक्तककाव्य अन्तर्गत राखिएकाले यी दुई प्रबन्धकाव्य रूपबाहेका सबै काव्य मुक्तककाव्य हुन् तर मुक्तक होइनन् । मुक्तककाव्यका धेरै प्रभेदहरू अन्तर्गत भने मुक्तक पनि पर्दछ । यसबाट मुक्तक र मुक्तककाव्य पृथक् कवितारूप हुन् भन्ने स्पष्ट हुन्छ । ‘यसर्थ मुक्तककाव्यभित्रका सम्पूर्ण लघु तथा लघुत्तम बनोटका रचना मुक्तक हुन सक्दैनन् । मुक्तक एक श्लोकी रचना हो । सामान्यतया एक श्लोक भन्नाले चार हरफ भन्ने बुझिन्छ’ (घिमिरे, २०७० ः१३३) तर मुक्तककाव्यको आयाम दुई श्लोकी युग्मकदेखि आकारप्रकारका दृष्टिले खण्डकाव्य समकक्षी कोषकाव्य/शतककाव्यसम्म तन्किन्छ । यसबाट पनि मुक्तक र मुक्तककाव्य पृथक्पृथक् आयामिक संरचनाका काव्यरूप हुन् भन्ने स्पष्ट हुन्छ । मुक्तकका अभिलक्षण मुक्तकका सम्बन्धमा दिइएका उपर्युक्त परिभाषा, संरचना, तत्व, वर्गीकरण आदिका आधारमा मुक्तक के हो भन्ने कुरा स्पष्ट भइसकेको छ र नेपालीमा संस्कृतशास्त्रीय मुक्तक, रुवाइयत ढाँचाका आगन्तुक मुक्तक तथा मौलिक नेपाली लोकलयका र अन्य संरचनात्मक ढाँचाका मुक्तकहरू समेत प्रचलित छन् । मुक्तकका शास्त्रीय सैद्धान्तिक मान्यता र वर्तमानका मुक्तकका स्वरूपका आधारमा तिनका प्रमुख अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ः (१) मुक्तक कविताको लघुतम रूप हो र यो स्वयम्मा पूर्ण सङ्कथन हो । (२) मुक्तकमा एउटै केन्द्रीय विचार, भाव र कथ्यको अभिव्यक्ति हुन्छ र यो पूर्वापर प्रसङ्गबाट निरपे्रक्ष हुन्छ । (३) यो सिद्धान्ततः चतुष्पदी आयामिक संरचनामा आबद्ध हुन्छ र मुक्त तथा बद्ध दुबै लयढाँचामा लेखिए पनि मूलतः यो बद्ध लयढाँचामा लेखिने भएकाले यसमा साङ्गीतिक गुणको विद्यमानता हुन्छ । (४) यो समतुकान्त र विषमतुकान्त दुबै किसिमले लेखिन्छ र चार समवृत्त पदमा संरचित हुनु यसको निजत्व पनि हो । (५) यसमा वृत्तात्मक किसिमको वर्तुलित विस्तार हुन्छ र भावको तीव्रता र एकोन्मुखता हुन्छ । (६) यसको पछिल्लो चरणले विषय वा भावको उठान, दोस्रो चरणले भावको विकास, तेस्रोले भावको उत्कर्ष र कुतूहलता एवम् चौथो चरणले रहस्यको पटापेक्ष गरी लक्ष्यभेदन गर्दछ, तसर्थ चौथो चरणलाई बीजवाक्य वा विचारवाक्य भनिन्छ । (७) यो मूलतः व्यङ्ग्यात्मक, व्यञ्जनात्मक, लाक्षणिक, उक्तिवैचित्र्ययुक्त, सघन, चमत्कारपूर्ण, प्रभावोत्पादक र तीव्र किसिमको हुन्छ । (८) यसको भाषा अत्यन्त खँदिलो हुन्छ र भावप्रक्षेपणमा तीव्रता हुन्छ आदि । निष्कर्ष मुक्त शब्दमा कन् प्रत्यय लागेर बनेको मुक्तक शब्दले पारिभाषिक रूपमा कविताको लघुतम प्रभेदलाई बुझाउँछ । पूर्वीय संस्कृत साहित्यमा पूर्वापर निरपेक्ष स्वयम्मा पूर्ण एकश्लोकी रचनाका रूपमा परिचित मुक्तक अङ्ग्रेजी साहित्यको चतुष्पदी कविता क्वाट्रेनसँग तुलनीय छ र अरबी फारसी रुवाइसँग पनि यो निकट देखिन्छ । एकल आवृत्तिमै भावलाई सघनता, प्रभावोत्पादकता र चमत्कारिकताका साथ तीव्रतम रूपमा अभिव्यञ्जित गर्ने पूर्वापर सम्बन्धनिरपेक्ष, स्वयम्पूर्ण तथा प्रायः चतुष्पदी संरचनामा आबद्ध, कविताको लघुतम प्रभेदलाई मुक्तक भनिन्छ । यस्तो मुक्तक दुईदेखि सातचरणसम्म विस्तार भएको पाइए पनि सिद्धान्ततः यो चतुष्पदी रचना हो र यसको मानक रूप पनि चतुष्पदी हुनु नै हो । मुक्तक धेरै लघुसंरचक घटकहरूको योगबाट बनेको पूर्ण र स्वतन्त्र सङ्कथन हो । यो अन्तर्वस्तुका रूपमा आउने भाव÷विचार÷कथ्य÷अनुभूति, परिवेश, उद्देश्य, दृष्टिबिन्दु, सहभागी, लय र भाषाशैलीय तत्वजस्ता संरचक घटकहरूबाट बनेको हुन्छ । यस्तो मुक्तकलाई स्रोत, अन्तर्वस्तु, लय र उक्तिढाँचाका आधारमा वर्गीकरण गर्न सकिन्छ । मुक्तक अतिसन्निकटस्थ रूपमा अङ्ग्रेजीको क्वाट्रेन र अरबीको रुवाइसँग तुलनीय छ भने केही छोटा लोकरचना, सूक्ति, सुभाषित श्लोक, हाइकू, ताङ्का, दोहा, छोटा गद्यकविता आदिसँग पनि अंशत तुलनीय देखिन्छ । यी लघुतम कवितारूप र कोशकाव्य शतककाव्यहरूलाई संस्कृत साहित्यमा मुक्तककाव्य भनिने हुनाले मुक्तककाव्य कविता–रूपहरूको समष्टि बोधक शब्द हो भने मुक्तकचाँहि त्यसभित्रको एउटा प्रभेद भएको हुनाले व्यष्टिरूप हो । पूर्वापर प्रसङ्गनिरपेक्षता, स्वयम्पूर्णता, चतुष्पदीयता, एकोन्मुखता, भावको तीव्रता, चरणहरूको उत्तरोत्तर उत्कर्षता, व्यञ्जनात्मकता, उक्तिवैचित्र्य, व्यङ्ग्यात्मकता, ध्वन्यात्मकता, सघनता, प्रभावोत्पादकता नै मुक्तकका प्रमुख अभिलक्षण हुन् । हिजोआज मुक्तकका नाममा र प्रयोगका नाममा मुक्तकको सामान्य सैद्धान्तिक अनुशासनसमेत अतिक्रमण गरेर लेखिएका छोटा रचनालाई मुक्तक भन्न सकिँदैन र मुक्तक अरुजस्तै स्वतन्त्र विधा हो भनेर यसको स्वायत्तता स्थापित गर्न खोज्नु पनि हास्यास्पद हुन आउँछ । कुनै पनि विधा÷उपविधाको रचना अतिप्रचलित र लोकप्रिय हुँदैमा स्वतन्त्र विधा हुँदैन । मूलतः सैद्धान्तिक रूपमा कविता, आख्यान, नाटक र निबन्ध गरी चार विधा छन् र मुक्तक कविता विधाको लघुतम रूप वा प्रभेद हो । छोटो आयाममा बृह्त भाव वा विचारको अभिव्यक्ति प्रस्तुत गर्ने भएकाले मुक्तक विस्तृत व्याख्याको अणुवत् झिल्को हो र गागरमा सागर अटाउने क्षमता मुक्तकमा हुन्छ र हुनुपर्छ । तीव्रता, कौतूहल, प्रभावोत्पादकता, चमत्कारिकता, वेधकता र रहस्यमूलकता नै मुक्तकको लोकप्रियताका आधार हुन् । वर्तमानको व्यस्त समयमा लामालामा खण्डकाव्य महाकाव्य पढ्ने धैर्यशील पठनसंस्कृति हराउँदै जान थालेका बेला चटनीको स्वाद दिने कवितारूप मुक्तकको महत्ता अझ बढ्दै जाने देखिन्छ । प्रमुख सन्दर्भ सामग्री अज्ञात, कपिल, समालोचनाको सन्दर्भ, चितवन: चितवन साहित्य परिषद्, २०५४ । अधिकारी, हेमाङ्गराज र भट्टराई, बद्रीबिशाल, सम्पा., प्रयोगात्मक नेपाली शब्दकोश, काठमाडौँ: विद्यार्थी प्रकाशन, २०६१ । अब्राम्स, एम्.एच., अ ग्लोसरी अफ लिटेररी टम्र्स, पाँचौ संस्क, दिल्लीः प्रिज्म बुक्स, सन् १९९५ । अभिनव गुप्त, ध्वन्यालोक लोचनटीका, व्याख्या, सत्यव्रत सिंह, वाराणसीः चौखम्बा विद्या भवन, २०२१ । आनन्दवर्धन, ध्वन्यालोक, व्याख्या, आचार्य विश्वेश्वर, वाराणसीः ज्ञानमण्डल लि. २०२८ । आप्टे, वामन शिवराम, संस्कृत हिन्दी कोश,सातौँ संस्क., वाराणसीः नाग प्रकाशन, सन् १९९९ । ओस्बी, इयान, लिटरेचर इन इङ्गलिस, क्याम्ब्रिजः क्याम्ब्रिज युनिभर्सिटी, सन् १९९५ । कडन, जे.ए., सम्पा., डिक्सनरी अफ लिटरेरी टम्र्स एन्ड लिटरेरी थ्योरी, तेस्रो संस्क., लन्डनः पेङ्गुइन ग्रुप, सन् १९९२ । खनाल, शशिधर, मुक्तक परिचय एवम् नेपाली मुक्तक, शिवपुरी सन्देश, (९/२५, २०६०), पृ.२–५ । गौतम, लक्ष्मणप्रसाद, समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण, दोस्रो संस्क., ललितपुर: साझा प्रकाशन, २०६८ । …………………….., समकालीन नेपाली कविताका प्रवृत्ति, काठमाडौं: पैरवी प्रकाशन, २०६८ । …………………….., उत्तरवर्ती नेपाली समालोचना: केही प्रतिरुप, काठमाडौं, पैरवी प्रकाशन, २०६८ । …………………….., कविताको सैद्धान्तिक विमर्श, काठमाडौं, पाठ्यसामग्री प्रकाशन, २०६९ । घिमिरे, बादल, नेपाली मुक्तकमा मनपरी प्रयोग र प्रस्तुति, भानु (५०/१६७/२०७०), पृ. १३१–१३७ । ……………..,सम्पा., समकालीन नेपाली मुक्तक, काठमाडौं डिकुरा पब्लिकेसन, २०६९ । चापागाईँ, नरेन्द्र, नेपाली मुक्तक कविता: संरचना, प्रवृत्ति र भावी दिशा, रत्न बृहत् समालोचना–प्रायोगिक खण्ड, सम्पा., राजेन्द्र सुवेदी र लक्ष्मणप्रसाद गौतम, काठमाडौं: रत्न पुस्तक भण्डार, २०६९ । जोशी, कुमारबहादुर, मुक्तक र समकालीन नेपाली मुक्तक, समकालीन नेपाली मुक्तक, बादल घिमिरे,सम्पा., काठमाडौ: डिकुरा पब्लिकेसन, २०६९, पृ.२९–३३ । दण्डी, काव्यादर्श, टीका., रामचन्द्र मिश्र, वाराणसी: चौखम्बा प्रकाशन, २०३३ । नेपाल, शैलेन्दुप्रकाश, मुक्तक नेपाली परिप्रेक्ष्यमा, समकालीन नेपाली मुक्तक, पूर्ववत् । पराजुली, कृष्णप्रसाद, मुक्तक, नेपाली साहित्यकोश, सम्पा., ईश्वर बराल र अन्य, काठमाडौं: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५५ । पराजुली, मुरारि, समकालीन मुक्तकका प्रवृत्तिहरु, काठमाडौं: भुडीपुराण प्रकाशन, २०६९ । पौडेल, विष्णुप्रसाद, मुक्तक सिद्धान्त र पोखरेली मुक्तकका मूल प्रवृत्ति, पोखरा: सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, २०६८ । बाल्डिक, च्यारिस, कनसाइन डिक्सनरी अफ लिटेटरी टर्म्स, यु.के: अक्सफोर्ड युनिभर्सिटी प्रेस, सन् १९९५ । भण्डारी, मुक्तिप्रसाद, सम्पा. समकालीन स्याङ्जाली मुक्तक, स्याङ्जा गजल सङ्गम, २०७० । भामह, काव्यालङ्कार, भाष्य, देवेन्द्रनाथ शर्मा, पटना: विहार राष्ट्रभाषा परिषद्, २०१९ । भुजेल, धनेन्द्र, रुवाईका अन्तर्तलमा नेपाली मुक्तक, समकालीन नेपाली मुक्तक पूर्ववत् । मरफिन, रोज र रे सुप्रिआ, द बेडफोर्ड ग्लोसरी अफ ब्रिटिकल एन्ड लिटेररी टर्म्स, न्युयोर्क: म्याकमिलन प्रेस, सन् १९९८ । लुइटेल, खगेन्द्रप्रसाद, कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौं: नेपाल प्रज्ञा प्रतिष्ठान, २०६० । वामन, काव्याङ्लकार, सूत्रवृत्ति, व्याख्या, विश्वेश्वर, वाराणसी: चौखम्बा प्रकाशन, २०३३ । विश्वनाथ, साहित्यदर्पण, सम्पा., सत्यव्रत सिंह, वाराणसी: चौखम्बा विद्या भवन, २०२० । वेदव्यास, अग्निपुराणोक्तं अलङ्कारशास्त्रम्, टीका (?), मुम्बई: खेमराज श्रीकृष्ण दास, सन् १९३४ । शर्मा, गोविन्दप्रसाद, सम्पादकीय, प्रयोग, (२/२/६, २०५०) । शर्मा, मोहनराज, समकालीन नेपाली मुक्तक: पहिचानका केही बुँदाहरु, मधुपर्क, (१४÷६–७, २०३८) पृ. १६१–१६४ । ……………….., समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडौं: नेपाल प्रज्ञा प्रतिष्ठान, २०५५ । शर्मा, सुकुम, मुक्तक: सामान्य टिपोट, समकालीन नेपाली मुक्तक पूर्ववत् । सिग्द्याल, सोमनाथ, साहित्यप्रदीप, विराटनगर: पुस्तक संसार, २०१६ । हेमचन्द्र, काव्यानुशासनम्, टीका, शिवदत्त शर्मा, मुम्बई: खेमराज श्रीकृष्ण दास, सन् १९३४ । (लामाे समयकाे अनुसन्धानबाट तयार गरिएकाे याे कार्यपत्रलाइ पहिलाेपटक साहित्यपाेस्टले सार्वजनिक गरेकाे हाे । कुनै पनि सञ्चारमाध्यमले लिखित अनुमति बिना यसलाइ साभार गर्ने, ताेडमाेड गर्ने वा अंश प्रकाशित गर्ने कार्यमा राेक लगाइएकाे छ ।) \uf02a\uf02a\uf02a #कसरी लेख्ने #प्रा.डा.लक्ष्मणप्रसाद गौतम
नेपाली साहित्यका सुशान्त राजपुत: विक्रम पवन परियार गएको साताभर मिडिया, सामाजिक सञ्जाल, व्यक्तिगत कुराकानीमा बलिउड अभिनेता सुशान्त राजपुतको चर्चा चुलिइरह्यो। उनी नातावाद र परिवारवादको शिकार भएका टिप्पणी यत्रतत्र भइरहे। यस्तो बेलामा मलाई भने नेपाली साहित्य क्षेत्रमा कयौँ सुशान्त राजपुतको सम्झना भइरह्यो, जो साहित्य क्षेत्रको संघर्षमा लेखकीय आत्महत्या गर्न बाध्य भइरहेका छन्। जसलाई न समाउने हाँगो छ, न त धाप र धैर्यका लागि थम्थम्याउने हात! नेपाली साहित्यमा केही आत्महत्या निकै विरक्तलाग्दा छन्। खासगरी हास्यव्यंग्यका अप्रतिम उचाइका भैरव अर्याल, प्रतिभाशाली नकुल सिलवाल तथा स्तम्भकार भरत भुर्तेलको आत्महत्याले साहित्य क्षेत्रलाई सधैँ झस्काइरहन्छ। यी नाम कुनै संघर्षशील नवप्रतिभा थिएनन् तर उपेक्षा, संवेदनाहीनता र गुटबन्दीको शिकार अवस्य भएका थिए। यसबाट भन्न सकिन्छ, गुटबन्दी, नातावाद-कृपावादले भर्भराउँदा लेखकको ज्यान त जान्छ नै त्योभन्दा बढी कयौँ सिर्जनाको त्यसले ज्यान लिन्छ। अहिले पनि कयौँ नयाँ पुस्ता यसैको शिकार भइरहेका छन् तर कोही पनि यसबारे बोल्न तयार छैनन्। कयौँ नयाँ पुस्ता उपेक्षा र संवेदनाहीनताको शिकार भएकाले खुलेर लेख्न सकिरहेका छैनन्। एउटा स्वस्थ छलफल, संवाद र वादविवादको वातावरण सिर्जना हुन सकेको छैन। त्यसैले त कुनै अखबार, साहित्यिक पत्रपत्रिका तथा प्रकाशन गृहमा नयाँ पुस्ताले सहज प्रवेश पाउन सकेको छैन, उसका सिर्जनाले बिनापूर्वाग्रही टिप्पणी र धारणा पाउन सकेको छैन। तर यसबारे कोही बोल्न तयार छैनन्। हामीलाई काेही रिसाइदेला र नस्वीकार्ला भन्ने चिन्ता छ । नेपालजस्तो देशमा नातावाद र परिवारवाद अत्यधिक छ। त्यो भन्दा खतरनाक छ, कोटरीवाद। यो कुरा त नेपालमा वितरण गरिने पुरस्कार अझ बढी देखिन्छ। यसै कारण पनि राम्रा साहित्य नेपालमा जन्मिएका छैनन्। आफ्नो दौराको फेर समाउनेले जस्तोसुकै झ्याँस लेखे पनि ‘वाह, दामी, म त हुरूक्कै भएँ’ भनी सस्तो विश्लेषण गरिदिन्छन्। यस्तो प्रवृत्तिले नेपाली साहित्यको स्तर चुलिन्छ? फेरि केही अग्रजहरू यस्ता छन्, जाे नेपाली साहित्यकाे विरासत आफू नै हुँ भन्ने ठान्छन्। आफूले लेखेकाे कविता, कथा, गीत, गजल, मुक्तक नै मानक हो भन्दै खोक्दै हिँड्छन्। तिनको अहंको चुली हेर्दा पनि उदेकै लाग्छ। यस्ताे भनिरहँदा अनुजका कमजाेरी छैनन् भनेकाे हैन । अनुजहरूकाे कमजाेरी त छन्, तर तिनका कमजोरी वस्तुगत आधारमा हुँदैन, सम्बन्धका आधारमा हुन्छ। अनुजहरू पनि कसैको फेरो समातेर हिँड्न पाए सगरमाथाकाे आराेहण नै पाे गरिहाल्छु कि भन्ने भ्रम पनि छ। जति नै राम्राे लेखे पनि स्थान पाउन गाह्राे छ नेपाली साहित्यमा । भनसुन गर्नुपर्ने, सोर्सफाेर्स लगाउनु पर्ने, चाप्लुसी गर्नु पर्ने अवस्था नै छ। तपाईंको कोटरीमा नभएकाहरूलाई दुई शब्द मिठो बोलिदिनुस्। तिनलाई बेवास्ता नगरिदिनुस्। तपाईंका बेवास्ताका कारण नयाँ पुस्ताका कयौँ सिर्जनाले आत्महत्या गरेका छन्, कयौँ सम्भावित लेखकले सधैँका लागि यो क्षेत्र नछिर्ने कसम खाएका छन्। तपाईंकाे समूहमा नभएकालाई पनि सम्मान तवरले बाेलिदिनुस्, नतर्कनुस्। तपाईँहरू भन्नुहुन्छ, राम्राे लेखेपछि नाम अगाडि आइहाल्छ नि ! यसरी कमजाेर व्याख्या नगरिदिनु हाेला। मान्छे हाे जसले पनि आश गर्छ। कुनै दिन तपाईँले पनि आश गर्नु भएकाे थियाे। नबिर्सनु कि कुनै दिन तपाईं पनि यही धरातलमा हुनुहुन्थ्यो। म नेपाली साहित्यलाई राजधानीमा बसेर नियालिरहेकाे छु। जहाँ लेखकले लेखकलाई नै विभेद गरिदिन्छन्। खाेक्राे आदर्श बोकिरहेको पुस्ता देखिरहेको छु, जसको लेखनकाे ताैल अनुज पुस्ताले पनि मज्जाले नापिसकेका छन्। हावामा नेपालकै वरिस्ठे कवि/साहित्यकार नठानिदिनुस्। तपाईं जति नै महान् लेखक भए पनि तपाईंको विचार सडेगलेको छ भने तपाईंलाई साहित्यकार नै मान्न सकिन्न। तपाईं चाप्लुसी र चम्चे बनेर साहित्यलाई आफ्नाे पेवा कति दिन ठान्नुहुन्छ? के याे साहित्य भन्ने जिनिस तपाईंकाे मात्रै हाे ? तपाईंको आँखाले नयाँ पुस्ताका रचनालाई राम्राे देख्नु हुन्न? यस्तो सोचको गुलामबाट साहित्यकाे विकास हुँदैन। यतिसम्म पढिरहँदा मलाई पनि भन्नु हाेला, यसले कुण्ठा पोख्याे तर कुण्ठा नसम्झिनुहाेला। किनकि याे वास्तविकता हाे, कुण्ठा हैन। मलाई तपाईंहरूकाे फेर समातेर, हजुरिया गरेर चिनिनु छैन। म आफ्नै लेखनबाट चिनिने छु। तपाईंहरू जति जना याे लेख पढेर बिच्किनु हुन्छ बिच्किनुस्, तपाईंलाई फरक पर्दैन भने मलाई पनि फरक पर्दैन आवश्यक पर्दैन। जहाँजहाँ प्रतियोगिता हुन्छ त्यहाँ त्यहाँ जज हुने यिनै लेखक हुन् जाे आफूलाई महान् लेखक मानिदिन्छन् । हैन हाै तपाईं अग्रजहरू नै नेपाली साहित्यकाे मानक लेखक हाे र भन्या? तपाईंले जज गर्ने बित्तिकै शक्तिशाली साहित्य हुन्छ र भन्या ? यदि तपाईंको जजमेन्टले उत्कृष्ट मानेकाे रचनाले नेपालकाे प्रतिनिधित्व गर्न सक्दैन भने किन निर्णायक भूमिकामा बस्नु हुन्छ ? साहित्यकाे समालाेचक तपाईं हैन, असल पाठक समालाेचक हुन्। केही अग्रज साहित्यकारहरू छन्, जसले यतिबेला नेपाली साहित्यलाई एक्लै हाँकी रहेकाे महसुस गरिरहेका छन् । साहित्यलाई उमेरले भेदभाव गर्दैन तर नेपाली साहित्यमा भइरहेकाे छ। एकले राम्राे लेख्याे भने आरिस गरिहाल्छन्। कसरी पछाराैँ भनेर याेजना बनाइहाल्छन् । त्यसैले तपाईं उसकाे अनुहार नहेर्नुस्, रचनालाई माया गर्नुस्। उसकाे क्षमता र प्रतिभालाई स्वीकार गरिदिनुस्। तपाईं अग्रजहरूले त्यति गरिदिनु भयाे भने कसैको रचनाले आत्महत्या कसैले गर्दैन। तपाईंभन्दा सानाे भाइबहिनीले तपाईं भन्दा पनि उत्कृष्ट रचना गरेकाे छ भने उसकाे अनुहारकाे रङ नहेरी रचनाकाे मूल्यांकन गरिदिनुस्। कसैकाे रचना कमसल देख्दादेख्दै कसैकाे सेताे तिघ्रा, उठेकाे छाती र फुकेकाे हिप देख्दैमा ‘वाह कविता, आहा कथा’ नभनी दिनुस्। त्यसले साहित्यकाे विकास हुँदैन। अग्रजकै रचना उत्कृष्ट हुन्छ भन्ने कसैलाई लाग्छ भने तपाईं भ्रममा हुनुहुन्छ। पहिला आफ्नाे मानसिकतालाई वास गर्नुस् अनि मात्रै अरूकाे रचनालाई मूल्यांकन गर्नुस् तब मात्रै तपाईंकाे मूल्यांकन सही हुन सक्छ। जीवन अाराेह अवराेह धेरै गरियाे तर हरेस खाएकाे छैन र कहिल्यै खाँदिनँ पनि। नेपाली साहित्यमा, राष्ट्रिय पत्रिका देखि जुनसुकै मिडियामा पनि नेपाेटिजम लागू भएकाे छ । याे नेपाेटिजमकाे जरा जबसम्म उखेलेर फालिन्न तबसम्म याे समस्या रहिरहनेछ । काेही मुसुक्कै हाँसिदिएकै भरमा कवि भएका छन्, कथाकार भएका छन् । तर जाेसँग दम छ, ऊ पछाडि परिरहेकाे छ । भनौँ, पछाडि धकेलिएका छन् । यस्ताे प्रवृत्ति अझै कति वर्षसम्म चल्ने हाे हेर्नु छ । तपाईं आयाेजना गर्नुहुन्छ अनि फलानाेलाई पुरस्कार दिनुपर्छ आफैँ भन्नु हुन्छ भने किन निर्णायक राख्नु हुन्छ? एकपटक पुरस्कार पाउना साथ अर्काे वर्ष तिनै व्यक्तिलाई किन निर्णायक बनाउनु हुन्छ? पुरस्कार पाउना साथ जज गर्न सक्ने भैसकेका हुन्छछन् ? लेख्नु, समालोचना गर्नु वा मूल्यांकन गर्नु / पढ्नु वा पढाउनु फरक विषय हुन् भन्ने कुराकाे हेक्का किन नभएकाे आयाेजकलाई ? साहित्य केटाकेटीले खेल्ने भाडाकुँडी खेल हाे र ? कम्तिमा आयाेजकले बुझ्नु पर्दैन ? आयाेजकले भनेकै मान्ने साहित्यकारलाई निर्णायक बनाउने चलन किन हट्दैनन् ? के आयाेजककाे यस्ताे कार्यशैलीले साहित्यले विश्व साहित्यमा प्रतिस्पर्धा गर्न सक्छ ? नेपालमा चिनिएका साहित्यकारहरू नभएका हुन् ? छन् त हाम्रै आँखा अगाडि ! सुरासुन्दरीहरूकाे पछि लाग्ने केही साहित्यकारहरूले साहित्यलाई फाेहाेर गरिरहेका छन् । हामीले नियाली रहेका छन् । रातारात साहित्यकार बनाइदिन केही पत्रकार केही साहित्यकार लागिपरेका छन् । लाग्नुस्, तपाईंको स्वतन्त्रता हाे तर स्वतन्त्रता हाे भन्दैमा साहित्यलाई दुरुपयोग पनि नगर्नुस् । साहित्यलाई माया गर्नेहरू जति हुनुहुन्छ उहाँहरूले नेपाेटिजम प्रयाेग गर्नु हुनेछैन भन्ने पूर्ण आश गरेकाे छु । नेपाली सहित्य र लेखकलाई तपाईंकाे सही समालोचनाकाे खाँचाे छ तर इग्नाेर हैन । र, अन्तमा के भन्न चाहन्छु भने लेखनमा ग्रुपिजम गर्नुस् / गराैँ तर नेपाेटिजम नगराैँ । आफ्नै छाेराछाेरीले पनि राम्रो लेख्न सकेनन् भने वाह नभनिदिनुस् । वाह ! दामी भन्नाले यात्रा असहज हुन सक्छ । मिहिनेत गरौँ । मिहिनेतकाे फल मिठाे हुन्छ । जय साहित्य !! रामेछाप #विक्रम पवन परियार
भानुका कलाकारितामा गणेशका अनेक अवतार: चिसंखुगढी गाउँपालिका ओखलढुंगामा जन्मिएका भानु भट्टराई पहिले पत्रकारिता पढ्न चाहन्थे तर समयले उनलाई सिर्जना कलेज अफ आर्टमा पुर्याइदियो र पढ्न थाले चित्रकला। उनलाई ‘गणेश’माथि विभिन्न प्रयोग गर्न निकै मनपर्छ। उनले विभिन्न माध्यममा सयौँ गणेशका पेन्टिङ, स्केच, ड्रइङ बनाइसकेका छन्। पेन्टिङबाहेक डिजिटल मिडियामा काम गर्न उनलाई रमाइलो लाग्छ। गणेशका चित्र बनाउँदा उनलाई बडो आनन्द आउँछ। उनलाई अलौकिक ऊर्जा पाएको अनुभूत हुन्छ। यस्तो आनन्द उनले अन्त कतै आजसम्म पाएका छैनन्। त्यसैले त उनलाई भगवान् गणेशको मात्र चित्र कोर्न मन लाग्छ। उनी आफ्नो कलाकारितामार्फत गणेशलाई अनेक अवतार दिइरहन्छन्। सानैदेखि कलाकारितामा रूचि राख्ने भट्टराई व्यवसायी पनि हुन् तर उनी व्यावसायिक काम अरूलाई जिम्मा लगाएर कलाकारिताको यात्रामा अनवरत यात्री बनिरहेका छन् । दर्जन बढी बाल पुस्तकमा चित्र भरेका भट्टराई हाल हिमाल मिडियामा कला संयोजकका रूपमा कार्यरत छन् । उनका कला सिर्जना साहित्य पत्रिका मधुपर्कमा पनि बेलाबेलामा प्रकाशित हुने गरेका छन्। प्रस्तुत छ, उनै भट्टराईले क्यानभासमा कोरेका गणेशका अनेक अवतारः #भानु भट्टराई
मार्दी हिमाल - कम खर्च, कम समय र कम जोखिममा देखिने स्वर्गको टुक्रो: मार्दी हिमाल ट्रेक जुनसुकै बेला गर्न सकिन्छ तर अक्टोबर र मार्च भने सुविधाजनक यात्रा हुन्छ । यो हिमालको पदयात्रा कम सुनिएको भए पनि असाध्यै सुन्दर पदयात्रा छ । रोचक कुरा के छ भने यो यात्रा अन्य हिमाल जस्तो गाह्रो पनि छैन । खर्चका हिसाबमा पनि यो कम खर्चिलो छ भने समयका हिसाबमा पनि काठमाडौँबाट पाँच दिनको यात्रामा सम्पन्न गर्न सकिन्छ । काठमाडौँबाट पोखरा गएपछि काँडे जाने बस पाइन्छ । पोखरादेखि बागलुङ जाने राजमार्गको बाटोमा पर्छ काडे ।काँडेबाट अष्ट्रेलियन बेस क्याम्पसम्म पैदल यात्रा गर्न पर्छ । यसका लागि औसतमा डेढ घण्टा हिँडेपछि पुगिन्छ । सो रात अष्ट्रेलियन बेस क्याम्पमा बस्दा उपयुक्त हुन्छ । त्यहाँबाट हिमालहरु र पोखरासम्मको दृष्य एकै पटक देखिन्छ भने सूर्योदयले पनि मन हर्छ । अष्ट्रेलियन बेस क्याम्पबाट हिँडेपछि त्यो दिनको बासको लागि फोरेस्ट क्याम्प पुगिन्छ तर अलिक राम्ररी हिँडियो भने रेस्ट क्याम्पसम्म पुग्न सकिन्छ । बास बस्न र खानाका लागि भने फोन गरेर जाँदा सजिलो पर्छ । रेस्ट ग्याम्पसम्म पुग्दै गर्दा बाटो भरी विभिन्न प्राकृतिक सौन्दर्य रसस्वादन गर्न पाइन्छ । रेस्ट ग्याम्पपछि हामी हाइ क्याम्पका लागि यात्रा गर्दछौँ । त्यस बीचमा आउने बादले डाँडा त्यो पदयात्राको अर्को सुन्दर ठाउँ हो । यहाँबाट हाइ क्याम्प जाँदै गर्दा देखिने फूलहरुको दृष्य वास्तवमै पदयात्राको थकान मेटाउने किसिमका हुन्छन् । हाइ क्याम्पबाट २ घण्टा हिँडेपछि भ्यु पोइन्ट पुगिन्छ भने भ्यु पोइन्टबाट २ घण्टाको यात्रामा मार्दी बेस क्याम्प पुगिन्छ । यहाँ प्रयोग भएका सम्पुर्ण तस्विरहरु मोचन भट्टराईले खिचेका हुन् । घुम्न रुचाउने भट्टराई सौखका रुपमा फोटो खिच्ने गर्दछन् । #मार्दी #मोचन भट्टराई
मुक्तक प्रतियोगिताको दोस्रो चरण आजैदेखि: हरेक साता गरिने मुक्तक प्रतियोगिताको दोस्रो चरण सुरु भएको छ । गएको सातादेखि सुरु भएको यो खुला प्रतियोगितामा पाठकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । साहित्यपोस्टका अनुासर प्राप्त मुक्तकहरुलाई विज्ञ समालोचक एवं मुक्तक विधामा नाम चलेका व्यक्तिहरुको रहोबरमा छानिनेछ । यसरी छानिएका तीन मुक्तककारका तीन–तीन मुक्तकहरुलाई वर्षको अन्त्यमा उत्कृष्ट मुक्तकहरुको संगालो प्रकाशन गरिने छ । त्यसैगरि पुस्तकको डिजिटल कपि साहित्यपोस्टमा पढ्न र सुन्न समेत पाइने जनाइएको छ । त्यसैगरि उत्कृष्ट मुक्तकहरु मध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरुलाई सार्वजनिक अभिनन्दनसहित आकर्षक नगद पुरस्कार पनि प्रदान गरिने छ । मुक्तकका निर्णायकहरुमा चर्चित समालोचक, साहित्य अन्वेषक प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतम रहनु भएको छ । त्रिभुवन विश्वविद्यालयमा दुई दशकदेखि अध्यापनरत गौतमका दर्जन बढी अनुसन्धानात्मक–समालोचनात्मक कृति प्रकाशित छन् । गौतमले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गर्नुभएको छ । नेपाली साहित्यमा मुक्तकको पहिलोपटक सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने व्यक्ति पनि गौतम नै हुनुहुन्छ । अर्का निर्णायकमा ज्ञानु अधिकारी रहनु भएको छ । समालोचनामा विशेष रुचि राख्ने ज्ञानुका १५ कृति प्रकाशित छन् भने ६ वटा फरक विषयमा अनुसन्धान गर्नुभएको छ । पद्मकन्या क्याम्पसमा अध्यापनरत ज्ञानु नेपाली साहित्यकी चर्चित समालोचक मध्ये पर्नुहुन्छ । तेस्रो निर्णायकमा राजन सिलवाल रहनु भएको छ । २०४४ सालदेखि मुक्तक लेखनमा सक्रिय साहित्यकार राजनसिलवालको ‘दुई हजार सोह्र पाइला’ नामक मुक्तक संग्रह प्रकाशित छ । अन्य दुई जना निर्णायकहरुमा साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी र प्रधानसम्पादक अश्विनी कोइराला रहनु भएको छ । यो साताको तीनवटा विषय यस प्रकार रहेका छन् । पहिलो मुक्तकको विषय नेपालको राजनीति (यसलाई छुने जुनसुकै विषय वा घटना) दोस्रो मुक्तककाे विषय नेपाली नेता (यसलाई छुने जुनसुकै घटना वा विषय) तेस्रो मुक्तककाे विषय नेपाली जनता (यसलाई छुने जुनसुकै विषय वा घटना) नियमहरु — सहभागीहरुले प्रत्येक विषयमा एक–एकवटा गरि तीनवटा मुक्तक तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ । — मुक्तक चतुष्पदीय हुनुपर्नेछ । यसका प्रथम, दोस्रो र अन्तिम हरफको अनुप्रास मिलेको र तेस्रो हरफ स्वतन्त्र हुनुपर्नेछ । — प्रत्येक मुक्तकको पूर्णाङ्क पाँच रहेको छ । प्रत्येक मुक्तकले संरचना, भाव, सटिकता, मौलिकता र नविन कथ्यका आधारमा एक एक नम्बर प्राप्त गर्नेछन् । — पूर्ण वा आंशिक नक्कल गरिएका मुक्तकलाई प्र्रतियोगितामा सामेल गरिने छैन । — यसअघि अनलाइन,छापा वा कुनै पनि स्मारिकाहरुमा प्रकाशन भैसकेका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन । तर आफ्नो फेसबुकमा वालमा राखिएका मुक्तकहरु भने स्वीकार गरिने छन् । यो साताको प्रतियोगिता अहिल्यैबाट सुरु भइ अर्को साताको विहीबार असार १८ गते रातको १२ बजेसम्म रहनेछ । पुनः स्मरणका लागि यो साताको विषय यस प्रकार रहेका छन् पहिलो विषय नेपालको राजनीति (यसलाई छुने जुनसुकै विषय वा घटना) दोस्रो विषय नेपाली नेता (यसलाई छुने जुनसुकै घटना वा विषय) तेस्रो विषय नेपाली जनता (यसलाई छुने जुनसुकै विषय वा घटना) यो खुला प्रतियोगिता हो । यसका लागि यही पेजको तल कमेन्ट बक्समा आफ्ना तीनवटा रचना पोस्ट गर्नुपर्नेछ । प्रत्येकको विषयमा एउटा मात्र मुक्तक स्वीकार गरिनेछ । जे गर्छौ भाषा र साहित्यका लागि गर्छौ, जे गर्छौ मनदेखि गर्छौ
लकडाउनमा रवि मिश्रका डिजिटल कलाहरू: पेन्टिङ र धेरै जस्ता विषयहरूका लागि लकडाउन विरक्ति हो । बाहिर कतै निस्किन नपाउँदा, भित्र रहँदा खेल्ने आँधिबेहेरीको विरेचन हो । सेल्फ एक्स्प्रेसन हो । जसमध्ये धेरै विषयहरू मजदुर र दलितका छन् । अरु विषय पनि कोभिड-१९ र लकडाउन आसपासका छन् । कार्टुनका अलावा मैले तीन प्रकारका डिजिटल कला सिर्जना गरेँ पेन्टिङ, इलुस्ट्रेसन र लाइन आर्ट । पेन्टिङमा मैले मेनुअल पेन्टिङमा झैँ ब्रस स्ट्रक र क्यानभाष, टेक्स्चर इफेक्ट दिएको छु । जसले गर्दा त्यो डिजिटल अन स्क्रिन आर्ट होइन क्यानभासमै ब्रस चलाइबनाएको जस्तो देखाउने प्रयास गरेको छु । दोस्रो इलस्ट्रेसन, जसमध्ये केही नयाँ पत्रिकाको लागि बनाएको र केही सेल्स एक्स्प्रेसन त केही खाली समयको उपयोग थियो । तेस्रो लाइन आर्ट थियो । जसमध्ये केही एउटै लाइनले क्वारक्वार कोरेर आकृति नबनाउने प्रयास गरेका क्विक स्केचहरु छन् । केही अलि मिहिनेत गरिएका छन् । चित्रहरू आइप्याडमा बनाइएका हुन् । अडोब फ्रेस्को, प्रोकृयट, स्केचबुक, पेन्टर आदि मैले इन्जोइ गर्ने सफ्टवेर हुन् । (रवि मिश्र नेपालका चिनिएका कार्टुनिस्ट हुन् ।) #रवि मिश्र
रोल्पा सुइनाः रोल्पालीका सपनाहरूको संग्रह: खरो आलोचनाका कारण चिनिने सरोनरले पल्पसा क्याफेदेखि सगरमाथाको गहिराईसम्म कतै पनि साहित्यको स्तर नभेटर लिएको नाम हो, ‘रोल्पा सुइना’ । उनले नाम नलिएको भए सायद पढ्ने हुटहुटी बढ्ने थिएन होला । पल्पसा क्याफे र सगरमाथाको गहिराई दुबै मन परेका कृति थिए । ती कृतिहरूभन्दा राम्रो भनेपछि त नपढी धरै पाएन । रमण पनेरु कति कृति राम्रा हुन्छन् । कृति लेख्ने उति मन खाँदैनन् । केही कृतिभन्दा लेख्ने बढी मन पर्छन् । नवीन विभाषको बुकाहोलिक्समा श्रष्टासँग साक्षात्कार अन्तर्गतको कार्यक्रम हेर्ने मौका पनि पाइयो । ट्वीटरमा उनका भिडियोहरू त हेरिरहेकै हो । कहिले स्थानीय बाजा त कहिले स्थानीयका दुःखहरू युट्युबमा निरन्तर हालिरहन्छन् । जनयुद्धताकाका सांस्कृतिक कार्यक्रमको भिडियोहरू पनि हाली नै रहन्छन् । त्यसैले कृति पढ्दा ती मनुवाको झल्को पनि बारम्बार आइरहेको थियो । सजिलोगरि भन्दा यी मान्छे मन परे । यिनका प्रयास पनि मन परे । लाटो पहाड पढ्ने क्रममा कथा खोज्दै गर्दा बसन्त बस्नेतको लाटो पहाडमाथिको मन्तव्यसम्म पुगेको थिएँ (यदि लाटो पहाड पढ्नुभएको छैन भने त्यो भिडियो हेरेर पढ्नुस्, गज्जब हुनेछ । पढिसकेको भए पनि फेरि भिडियो हेर्नुस्, तपाईंले के पढ्नु भयो र के भएन त्यहाँबाट जान्नु हुनेछ । त्यसैले रोल्पा सुइनाको मापनका आधार पनि गुरुप्रसाद मैनालीका कथा मापनको आधार जस्तै समान हुन सक्दैन । सायद बसन्त बस्नेतको त्यो भिडियोले त्रिशुलीवारिको ‘रोल्पा सुइनामा’ भएको उस्तै अर्को ‘लाटो पहाडको’ कथा बुझ्न पनि मद्दत गर्नेछ ।) मलाई लाग्छ, ‘रोल्पा सुइना’ भूगोल चिनाउन लेखिएको ग्रन्थ हो । ‘रोल्पा सुइना’ एउटा ओझेलमा परेको मानव समाज चिनाउन लेखिएको कथासंग्रह हो । कथासंग्रह पनि के भनौँ, यो एउटा व्यथासंग्रह हो । हामीले नदेखेका दुःख यसमा पढ्न पाइन्छ । मलाई मात्र हो या अरुलाई पनि हो, यो पढिरहँदा परिवेश मनमा रहन्छ दुःख सम्झनामा रहन्छ तर पात्रका नामहरू खासै सम्झनामा रहँदैनन् । पात्र निर्माणमा खासै बल गरेको देखिँदैन । परिवेश नै नायक छ । परिवेश नै खलनायक छ । रोल्पा भन्नेबित्तिकै माओवादीको जन्म थलो भन्ने एक किसिमको छवि जनयुद्धमा हुर्केका र त्यो भोगेकाका मनमा आउँछ । त्यही ठाउँका सुइना (सपना) यो कथासंग्रहमा संग्रहित छन् । सुइना तुहिँदाका गुनासा संग्रहमा संग्रहित छन् । सुइना व्यापारीहरूमाथिको प्रहार संग्रहमा संग्रहित छ । यस्तै प्रशस्त कुराहरू यो कथा संग्रहमा पढ्न सकिन्छ । कथा मात्रै सायद नभेटिएला । इमान्दार भएर भन्नु पर्दा यो पठन त्यति सहज थिएन । यो पढ्दै गर्दा अन्य पुस्तक पनि पढिभ्याएँ । यसका लागि अलि बढी समय लाग्यो । यो परिचित समाजको कथा नभएर होला । यसको भाषा परिचित भाषा नभएर होला । यसका पात्रहरू कोही न कोही जस्ता लागेर होला । खै किन हो यो पठन त्यति सहज भएन । सामान्यतया औषधीका क्याप्सुलहरू तीता हुन्छन् । तर ती क्याप्सुललाई गुलियो पत्रले बेरिएको हुन्छ । मुखमा हाल्न सजिलो होस् र पेटमा जाँदा पत्र गलेर औषधीले काम गरोस् भन्ने धेय हो सायद । ‘रोल्पा सुइना’मा त्यो पत्रको अभाव भने खड्की रह्यो । पात्र निर्माण या कथा भने जस्तो गरेर व्यथा भनेको भए गज्जब हुन्थ्यो । दिपक रौनियारको ‘सेतो सूर्य’ले जस्तो सामान्य घटनालाई अघि सारेर रोल्पा लेखेको भए हुन्थ्या भन्ने लागिरह्यो । फेरि बसन्त बस्नेतको लाटो पहाडमाथिको मन्तव्य याद आयो । यो हाम्रा मानकमा अटाउन पर्ने कथा होइन कि लाग्यो । अनि गुनासो छोडेँ । मलाई यो पुस्तकको बारेमा प्रतिकृया लेखौँ कि नलेखौँ भएको थियो । नलेखौँ लेखकलाई बाचा जस्तै गरेको थिएँ । लेखौँ भने पुस्तकसँग असहमतीहरू पनि थिए । मलाई यो पुस्तकको तुलना पल्पसा क्याफे र सगरमाथाको गहिराइसँग गर्न मन लागेन । यो फरक हो । यो बरु लाटो पहाड र दमिनी भिरसँग तुलना गर्न मिल्ने पुस्तक हो । बरु यसको तुलना ऐनासँग गर्न सकिन्छ । बरु यसलाई ऐलानीसँग दाँजेर हेर्न सकिन्छ । तर यो ती सबै भन्दा फरक पनि छ । पढ्दापढ्दै रुकुम घटना भयो । त्यसपछि समाज बाँडियो । कसैले किशोरीको उमेर अघि तेस्र्याए । कसैले किशोरीले अनिक्षा गर्दागर्दै बलजफ्ती गर्न जाँदा भएको दुर्घटना भने । यस्तै किसिमको पूर्वाग्रही कुराहरू यत्रतत्र सर्वत्र बाँडियो । यस्तो भनियो कि नेपालमा छुवाछुत नै छैन । अनि याद आए रोल्पा सुइनाका यी पंक्तिहरूः ‘स्हप्पै पइल्या कुरा हुन थालिगो । माउभादी युद्धकालमा माउभादी डरले हो कि करले, याँका बाउन, बाउसाप र हुन्याखान्याले हाम्लाई हेप्न कम भया छियो । अहिले त फेरि हेप्न थाल्या छन्, हामी दलितलाई । हामी दुःखी दाल्द कन हुने केई नाइ । माउभादी फरक हुन्छ भन्या सोच्याका छियौँ । तर, यो पनि याँका बाउसाप, बाहुन, हुन्याखान्या र औल्यालकै भयो’ हो यिनै कुराले मलाई लाग्यो ‘रोल्प सुइना’ पढेर पनि यसका बारेमा लेखिएन भने गलत हुन्छ । यी पंक्तिहरू रुकुम घटनाका हकमा भविष्यवाणी सावित भयो । ‘माउभादी’ पनि ‘बाउसाप, बाहुन, हुन्याखान्या र औल्यालकै’ भए । यसम थप केही लेख्न मन लाग्यो । किताबमा प्रयोग गरिएको खस भाषाले पठन बेलाबेला अप्ठेरो बनाउँछ । हुन त प्रायः ठाउँमा तिनको अर्थ पनि लेखिएको छ । र पनि अर्थ पढ्दै किताब पढ्न अलि लय टुट्छ । यो अरुलाई पनि लाग्न सक्छ । तर सम्झनुपर्ने के हो भने यी रोल्पालीको पनि ‘नेपाली भाषा’ पढ्दा तपाईंलाई उनीहरूको भाषा पढ्दाकै सकस हुन्छ होला ! पठन पाठनदेखि सरकारी कामकाज सबै हुने त नेपालीमै हो । मुलधारमा आइने नै नेपाली भाषाले नै हो । पुस्तक पूरै खस भाषामै भएको भए के म पढ्न आँट्दो हुँ । तर रोल्पालीले औल्यालकै भाषामा भए पनि आफ्ना सपना पछ्याउन छोडेका छैनन् । त्यसैले उनीहरूको नेपाली भाषासँगको संघर्षको सम्मानका खाँतिर पनि यो पठ्दा अप्ठेरो नमान्नूस् । बरु सोच्नूस् उनीहरूलाई नेपाली भाषा कति कठिन हुन्छ होला ? अनि सोच्नूस् उनीहरूको खस भाषा नै नेपालको राष्ट्रिय भाषा भनीभन्दा कति अमिल्दो महसुस हुन्छ होला । नेपाली भाषामा खसको प्रभाव छ । तर त्योभन्दा बढी संकृतको प्रभाव छ । त्योभन्दा बढी हिन्दीका शब्द त्यसमा प्रयोग हुन्छन् । त्यसैले यो पढ्दाको भाषाको कठिनाइलाई पनि काव्यिक न्याय सम्झेर पढिदिनुहोला । यो पढेसँगै लेखकका कवितामा बढी रुचि लागेको छ । उनको निबन्धहरू बरु बढी पढ्ने मन लागेको छ । गैरआख्यानमा बरु रोल्पाका सुइना बढी सुन्दरसँग बुझिन्थे कि भन्ने लागेको छ । मान्ठा डराएको जुग पनि त गैरआख्यान थियो । त्यसले पनि कतिधेरै ‘कथाहरू’ भनेको थियो । त्यसैले कथा निर्माणको सकस लेखकलाई नपरोस्, बरु रोल्पा देखियोस् भन्ने अभिलाष पनि मनमा छ । आशा छ, ती कुराहरू पनि पूरा होलान् । अहिलेलाई पठन सुखद रहोस् भनियो ! जमाक ! ा #रमण पनेरु
जेके रोलिङलाई कार्बाही नगरेको भन्दै लेखकले छाडे एजेन्सी: प्रकाशक र लेखकका बीच पुलको काम गर्ने एजेन्सी बेलाबेलामा विवाद आइरहेका हुन्छन्। यस पटक भने लेखिका जेके रोलिङको विवाद साम्य हुने छाँट देखिएको छैन। पछिल्लो पटक उनका कृति प्रकाशन गर्न भूमिका खेल्ने एजेन्सी र अन्य लेखकबीच जेके रोलिङका विषयमा विवाद चुलिएपछि एजेन्सी छाड्ने घोषणा गरेका छन्। यस्तो घोषणा गर्नेमा फक्स फिसर, ड्रयु डेभिस र उग्ला स्टेफनिया क्रिस्टजोनुडटिर जस्ता लेखक रहेका छन्। खासगरी जेके रोलिङले पछिल्लो समय विवादास्पद अभिव्यक्ति दिएको र सो अभिव्यक्तिले ट्रान्स जेन्डर समुदायलाई गहिरो दुःख पुर्याएको भन्दै ती लेखकले अन्यलाइ साथ दिँदै एजेन्सी छाड्ने निर्णय गरेका हुन्। रोलिङको पछिल्लो बाल उपन्यास ‘इकाबोग’लाई बजारमा ल्याउने क्रम अघि बढाएपछि केही लेखकले एजेन्सीले रोलिङका बारेमा आफ्नो खास धारणा के हो स्पष्ट नपारूञ्जेल काम गर्न नसकिने भन्दै एजेन्सी छाडेको जनाएका छन्। हुन त यी लेखकहरू नाम चलेका भए पनि रोलिङको जत्ति किताब बिक्री नहुने भएकाले ती लेखकले कम्पनी त्यागे पनि कम्पनीको आम्दानीलाइ खासै असर पुर्याउँदैन। आम्दानीको मुख मात्र हेर्ने तर लेखकको विचारको आधार नहेर्ने र लैंगिक अल्पसंख्यकप्रति अनुदार धारणा राख्नेप्रति सहकार्य गर्नेप्रति आफू सँगै हिँड्न नसक्ने भन्दै ती लेखकले एजेन्सी त्यागेको जनाएका हुन्। यसका बारेमा ब्लेयर पार्टनरसिप नामक सो एजेन्सीले भने धारणा व्यक्त गरेको छैन। बरू रोलिङको नयाँ उपन्यास के कसरी बजारमा ल्याउने हो भनी काम अघि बढाइरहेको छ। खासमा भएको के थियो? लेखिका रोलिङले आफ्ना पिताले आफू जन्मने बेलामा छोरा पाउने आशा गरेको र एउटी स्त्रीका रूपमा हुर्कनु पर्नेमा छोराका रूपमा हुर्काएर आफ्नो मूल लिङ्गमाथि हिंसा गरेको भनी लामो निबन्ध लेखेकी थिइन्। सो निबन्ध पनि त्यो विवाद चर्किएपछि लेखेकी थिइन्, जब एउटा कम्पनीले महिलाको अस्तित्व नै नामेट पार्ने हिसाबले एउटा विज्ञापन बनाएको थियो। पिपल हु मेन्सुरेट अर्थात् नछुने हुने मानिस भनी बनाइएको विज्ञापनमा उनले आपत्ति जनाएकी थिइन्। नछुने हुनु महिलाको सबैभन्दा राम्रो प्रक्रिया भएको र पोलिटिक्कली करेक्ट र सभ्य देखिने नाउँमा महिलाकै अस्तित्व नामेट पार्ने कार्य भइरहेको भन्दै ट्वीटरमा टिप्पणी गरेकी थिइन्। सो टिप्पणीपछि फिल्म उद्योगदेखि लैंगिक अल्पसंख्यकहरूले उनको धारणाप्रति चर्को आलोचना गरेका थिए। यस सन्दर्भमा रोलिङको पुस्तक प्रकाशक तथा एजेन्सीले धारणा व्यक्त नगरेको भन्दै पछिल्लो समय लेखकहरूको समूहले एजेन्सी त्यागेको बताएका हुन्। #जेके रोलिङ #ह्यारी पोटर
गोपालको गजल: तिमी रोप्थ्यौ म साउथेँ छुट्टै पल थियो । मिठो लाग्ने तिम्रो हातको चिसो जल थियो ।। त्यो क्षण सम्झना भो आज दुबै कता कता ? मेला छुट्ने बेला आँखा आँसु भल थियो ।। पाए माग्थेँ म त्यही बालापन जिन्दगीको नपाइने समयको निर्मम छल थियो ।। गाउँ गाउँ झै छैन अचेल जमिन रुखो भाछ रसायनिक होइन छर्ने कम्पोस्ट मल थियो ।। हिलो खेल्दै रम्थ्यौँ आँप, लिचि खाइन्थ्यो कति पोको पार्न मखमली तिम्रै सल थियो ।। सरल, सहज लाग्थ्यो जीवन आज जटिल लाग्छ समस्याको हलमा रमाइलो छलफल थियो ।। #गोपाल खनाल
हटाऊँ कुबानी: कहाँ बन्छ नौनी नमथ्दै मदानी कहाँ बन्छ चेष्टा नरच्दै कहानी नबाँधूँ म औँला चलाऊँ सधैँ नै बहाऊँ पसानी फलाऊँ सधैँ नै ।। कहाँ फुल्छ टाँकी हिमाली धरामा कहाँ फल्छ बाली नरोपी गरामा सुहायो कहाँ के म रोपूँ विचारी हटाऊँ म लोसे कुबानी लघारी ।। कहाँ हुन्छ पीडा नघोची छुराले कहाँ बन्छ देसै बनौटे कुराले नपिर्नू नचिर्नू लगाऊँ दबाई सिँगारूँ यो देश कहौँला सवाई ।। कहाँ जाग्छ मेची नपाई इशारा कहाँ हिँड्छ काली नपाई सहारा जगाऊँ हिँडाऊँ पहाडी हिमाली बढाऊँ ल फड्को अगाडी समाली ।। कहाँ हट्छ मैलो नधोई कुवामा कहाँ बढ्छ मीठो नघोटी खुवामा पखालूँ ल घोटूँ सफा स्वादे पार्न नखोजूँ नसोचूँ निराशाले हार्न ।। #सुदेश पन्त
सुजानाको सौन्दर्य: अद्भूत सौन्दर्यकी धनी सुजाना उनको पति र छोरासहित आनन्दले जीवन बिताइरहेकी थिइन्। एक दिन सुजानाको गाउँमा न्यायालय चलाउनुपर्ने भयो र त्यसका लागि छिमेक गाउँबाट दुई जना न्यायाधीश आइपुगे। ती दुई जना न्यायाधीश सुजानाको सौन्दर्यबाट यति मुग्ध भए कि उनलाई दिनरात कसरी आफ्नी बनाउने भनेर घोत्लिन थाले। ती दुई न्यायाधीश शक्तिशाली थिए। तिनको वचन भूइँमा पर्न नपाउँदै आदेश कार्यान्वयन हुन्थ्यो। यति शक्तिशाली भएकाले ती न्यायाधीश पनि मैमत्त थिए। एक दिन तिनले देखे- सुजाना कुवामा एक्लै नुहाउँदैछिन्। यही मौकामा उनको सौन्दर्यको आश्वाद लिन उनीहरू कुवामा गए र सुजानासँग जबरजस्ती गर्न थाले। केही लोभ्याए, केही धम्की दिए। ती शक्तिशाली दुई जनाको कुरामा उनी लागिनन्। लाग्न पनि कसरी सक्थिन्? त्यसैले होहल्ला गरिन्। मानिसहरू भेला भए। उल्टै न्यायाधीशले सुजानामाथि आरोप लगाए- यो एउटा पुरूषसँग लहसिँदै थिई, हामीले देखेपछि उल्टै हामीमाथि जबरजस्ती गरिरहेको आरोप लगाउँदैछे। सुजानाले आफू कुनै पुरूषसँग लठारिएको गलत हो भन्दै थिइन् तर कसैले सुनेन। बरू त्यसको साटो पुरूषसँग लठारिएको आरोपमा उनलाई दण्ड सजाय तोके न्यायाधीशले। उनका पतिले पनि ती न्यायाधीशको निर्णयलाई विरोध गर्न सकेनन्। कथाले भन्छ, पछि एक जना ड्यानियल भन्ने व्यक्तिले सुजानाको ज्यान जोगाए। यो कथा बाइबलको हो र कसरी सुजानाको ज्यान जोगियो र ड्यानियलले कुन उपाय लगाए भन्ने कथा अलि लामै छ। हामी त्यता नजाऔँ तर त्यस कथामाथि बनाइएका चित्रहरू हेर्दा म भने सिद्धहस्त हातप्रति नतमस्तक हुन्छु। खासगरी यो चित्र मलाई अति मन पर्छ। कारण, यो चित्र बनाउने चित्रकार पनि महिला हुन्। उनले महिला मनोदशालाई यति मज्जाले उद्बोधित गरेकी छन् कि त्यो तहमा यही तस्बिरमा अरूले ल्याउन सकेका छैनन् भन्ने लाग्छ। यो चित्रकी चित्रकार Artemisia Gentileschi हुन्। सन् १६१० मा उनले यो चित्र बनाएकी थिइन्। उनका बुबा पनि त्यस बखतका चर्चित चित्रकार थिए। उनको पेन्टिङ स्कुलमा अध्ययन गर्न त्यो बेला अनेकन् विद्यार्थीहरू आउँथे। त्यो बेला महिलालाई चित्रकारिता गर्ने छुट थिएन तर प्रभावशाली बुबाको स्नेहले उनले त्यो सुविधा मात्र उपयोग गरिनन्, एउटा कालजयी सिर्जना पनि छोडेर गइन्। यो चित्रको सबैभन्दा ठूलो प्रभाव के भने यो कथालाई उनले पहिलो पटक चित्रमा उतारेकी थिइन्। हुन त बाइबलका कथालाई यसअघिका कयाैँ चित्रकारले महत्त्व दिएका थिए, चित्र बनाएका थिए, तर यो कथालाई यसरी उतारेका भने थिएनन्। आर्टेमिसियाले पहिलो पटक यो कथालाई एउटा स्वरूप दिएकी थिइन्, स्त्री हिंसा र महिलामाथिको यौन शोषणलाई मज्जाले उकेरेकी थिइन्। त्यसैले यो चित्रको विशेष महत्त्व छ। यो चित्र कति शक्तिशाली थियो भने यसपछिका कयाैँ चित्रकारहरूले यसलाई विविध संस्करणमा प्रस्तुत गरेका छन्। एउटा शक्तिशाली चित्रकाे प्रभाव पनि यही हो कि त्यसले अन्य सिर्जनाका लागि अन्य कलाकारलाई उक्साउँछ। आर्टेमिसियाको यो कृतिले पनि सयौँ वर्षसम्म पनि अन्य कलाकारलाई त्यस घटनामाथि चित्रण गर्न उक्साइरह्यो तर त्यो यति शक्तिशाली भने देखिएन। त्यो प्रभाव अन्य चित्रकारले दिन सकेनन्। एउटा कारण चाहिँ स्त्री नेत्रले जे देख्यो, सायद त्यो अन्य पुरूषहरूले देख्न सकेनन्। या यसो भनाैँ, पहिलो चित्र नै यति शसक्त थियो कि त्यसपछिका सिर्जना हामीलाई वा कला समीक्षकहरूलाई त्यो स्तरको प्रभाव छाड्न सकेन। अथवा, त्यो मेरो भ्रम मात्र पनि हुनसक्छ। तपाईंहरूलाई अरू नै केही लागेको पनि हुनसक्छ। त्यसैले मैले सोही भावभूमिमा कोरिएका अन्य चित्रहरू यहाँ प्रस्तुत गरेको छु। यी तस्बिरमध्ये तपाईंलाई कुन मन पर्यो, तल कमेन्ट बक्समा लेख्नुस् है? तपाईंहरूलाई यो कथाको पृष्ठभूमि के थियो भन्ने बुझ्न चाहनुहुन्छ भने तलको युट्युब भिडियोमा क्लिक गरी हेर्नुहोस्ः यसपछि कसले कसरी सुजानाकाे जीवन रक्षा गर्यो त ? बुझ्नका लागि यहाँ यो भिडियो हेर्नुहोस्ः #अदृश्य
तैल, जल र विविध विधामा पोखिएको कला: दुई साताअघि मात्र साहित्यपोस्टमा जीवित खड्का मगरकाे सिर्जना मुहारचित्रबारे एउटा रिपोर्ट प्रकाशन भएको थियो। सो रिपोर्ट प्रकाशनपछि उनको मुख्य रूचि नै मुहारचित्र बनाउने हो कि भनी केही साथीभाइलाई लागेको रहेछ र सोहीबारे प्रश्नसमेत गरेछन्। सोही भ्रम निवारण गर्न यस पटक उनले आफ्ना मनोहर सिर्जना साहित्यपोस्टमा पस्किएका छन्। उनी भन्छन्, ‘खासमा मुहारचित्र त पछि थपिएको एउटा रूचि मात्र थियो। मैले पहिलेदेखि नै तैलरङ, जलरङ, एक्रेलिक लगायतका माध्यमबाट चित्र बनाउने प्रयास गरेको थिएँ।’ यहाँ उनले केही छानेका सृजना पहिल्यै बनाएका चित्रमध्येका केही हुन् । चित्र बनाउने क्रममा विभिन्न थरीका चित्रहरूको अनुभव गर्ने उनले प्रयास गरे। फरकफरक माध्यमबाट फरकफरक चित्रहरू बनाउने प्रयासले केही सिक्ने अवसर मिल्दोरहेछ भन्ने उनको अनुभव छ। यस्तै क्रममा, अब्स्ट्र्याक्ट् , सेमी अब्स्ट्र्याक्ट चित्रहरू बनाउने प्रयास पनि उनले गरे। झट्ट हेर्दा यथार्थवादको झल्को दिने खालको तर पूर्ण यथार्थवाद नभएर, अथवा दृश्यहरूको सही ढंगले प्रतिनिधि नगरीकन रङ र भावनाको प्रतीकात्मक प्रयोग र कलात्मक माध्यमको अभिव्यक्ति प्रस्फुटनको प्रयास आफूले गरेको उनी बताउँछन्। तपाईंलाई कस्तो लाग्छ, प्रतिक्रिया पाऊँ है त! #जीवित खड्का मगर
आख्यानकार श्रेष्ठलाई पूर्ण-कृष्ण स्मृति साहित्य पुरस्कार: भागीरथी श्रेष्ठ यस वर्षको ‘पूर्ण–कृष्ण स्मृति साहित्य पुरस्कार’ स्थापित साहित्यकार भगिरथी श्रेष्ठलाई प्रदान गरिने भएको छ। विगत ५० वर्षदेखि आख्यान विधामा कलम चलाइरहेकी श्रेष्ठका एक दर्जन कृति प्रकाशित भएका छन्। श्रेष्ठ यसअघि मैनाली कथा पुरस्कार, रत्नश्री स्वर्ण पदक लगायत थुप्रै पुरस्कारबाट सम्मानित भइसकेकी छन्। उनका ‘मालती’, ‘एउटा यस्तो आकाश’ लगायतका उपन्यास तथा ‘मोहदंश’, ‘विभ्रम’ लगायतका कथासंग्रह प्रकाशित छन्। यो पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ। साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’ले २०७६ सालमा आफ्ना मातापिता कृष्णकुमारी श्रेष्ठ तथा पूर्णमान श्रेष्ठको स्मृतिमा तीन लाख रुपैयाँ अक्षयकोष राखी स्थापना गरिएको यो पुरस्कारलाई कैलाली जन पुस्तकालय धनगढीले सञ्चालन गर्दै आइरहेको छ। #भगिरथी श्रेष्ठ
सालिक र समय: केदार संकेत शताब्दीयौं पुरानो उस्कै छोराले ठड्याएको सालिक ईतिहासले रोपेको सालिक फेरी शताब्दीयौं पश्चात उस्कै नाती नातिनाले उखेल्दो रहेछन् समयले मान्छेलाई हैन मान्छेले समयलाई जिते पछि विश्वकै राम्रा छालाका खातिर पटक पटक संसारमा जुलुस भएर फिँजिदो रहेछ आगो भएर लप्किन्दो रहेछ र बस्दो हरेछ नश्लीय विभेदीकरणको राग रगतको कणकणमा निरन्तर । हिजो मात्र दास व्यापारी एडवर्ड कोलस्टनको सालिक ब्रिस्टलको बन्दरगाहमा बगाएर सेलाए जातिवादी फ्रान्क रिजोको सालिक फिलाडेल्फियाको शहरमा लडाए यस्तै विन्स्टन चर्चिलको सालिक पनि रेसिस्ट भन्दै हिजो झन्डैंले ढालेर थेम्समा फालिदिए ! सवैको प्रतिमा ढलुन् रित्तो प्रतीक ढलुन् विभूतीका समर्पित मूर्ति छन् भने अनन्त सम्म उभी रहुन् । इतिहासले भनिरहेछ कि सालिक बन्नु भनेको पुन: मृत्यु स्वीकार्नु हो । जुग जुग सम्म बाचिरहन त युग युग सम्म उभिरहन त दर्शनको चन्दन घोट्नु पर्दोरहेछ । खै: कहिले मरे प्लेटो कहिले मरे डेरिडा ? पिकासो र भिन्सिको कुचिलाई सोध्नु छ मैले एकदिन ।
भारत र नेपालको नेपाली भाषा: तुलनात्मक दृष्टि: रूपरेखा – नवीन पौड्याल भाषाको प्रकृति र प्रवृत्ति – भाषा मानिसको एउटा ठुलो सम्पत्ति हो। यसकै माध्यमबाट मानिसले आफ्नो भाव, विचार विनिमय गर्छ। मानिसले आफनो भावलाई बोलेर तथा लेखेर अभिव्यक्ति गर्छ। भाषा परिवर्तशील वस्तु हो। यो नित्य परिवर्तनको मार्गमा हिँडिरहेको हुन्छ। भाषा खासगरी आर्जित सम्पत्ति हो जो परिवेश र अनुकरणले सिकाउँछ। नेपाली भाषाको सामान्य परिचयात्मक अध्ययन – नेपाली भाषा एक समृद्धशाली भाषा हो। यो लगभग एक हजार वर्ष अघिदेखि प्रचलनमा आएको एउटा जीवन्त भाषा हो। यसका वक्ताहरू मुख्य गरी नेपाल र भारतमा रहेका छन् भने विश्वका केही देशहरूमा छरिएर बसेका छन्। नेपालको राष्ट्रभाषा, नेपाली गोर्खाली समाजको साझा भाषा, यता भारतका लगभग करोड गोर्खालीको मातृभाषा, भारतको संवैधानिक राष्ट्रभाषाको रूपमा रहेको छ। विश्वमा नेपाली भाषाको विस्तार र विकास बढ्दो देखिन्छ। युरोप अमेरिका, दक्षिणपूर्व एशिया र मध्य एशियामा नेपाली साहित्यिक सङ्गठनहरूको उपस्थिति र अस्तित्व देखिनाले अब यो भाषा विश्वव्यापी बन्ने क्रम देखिन्छ। नेपाली भाषाको मूलस्रोत संस्कृत हो। नेपाली भाषा यसकै परिधिमा रहिआएको छ। संस्कृतको लौकिक संस्कृत, प्राकृत र अपभ्रंश हुँदै यसको उत्पत्ति भएको देखिन्छ। संस्कृतबाहेक यसमा अन्य भाषागत स्रोत पनि ग्रहण गर्दैआएको छ। गङ्गोत्रीबाट उत्पन्न भएको मूल गङ्गा नदीमा अरू नदीहरू मिसिदै मिसिदै विशाल गङ्गा बनेझैं संस्कृतको मूलबाट बनिएको नेपाली भाषामा अन्य भाषाहरू पनि मिसिदै मिसिदै एउटा विशाल नेपाली भाषा विकसित भएको छ। संस्कृतबाहेक नेपाली भाषा छिमेकी भाषाहरू, आफ्नै जात-गोष्ठीका भाषा, युरोपेली भाषा र अरब-ईरानेली भाषाहरूबाट पनि शब्दादि ग्रहण गरी एउटा समृद्धशाली भाषा बनेको छ। यद्यपि जहाँबाट र जसरी उत्पत्ति भए पनि, जहाँबाट ग्रहण गरे पनि पनि यसको आफ्नै वर्ण व्यवस्था, वियाकरणिक विशेषता र मौलिकता रहेका छन्। हाम्रो उच्चारण पद्धति, लय र बलाघात प्रणाली आफ्नै किसिमको छ। भारतमा नेपाली भाषाको अस्तित्व – भारतमा नेपाली भाषाको वक्ताहरूको उपस्थिति पनि दुई सय वर्षदेखि प्रचलित छ। दार्जिलिङमा नेपालीभाषी भाषिका र नेपाली भाषाको भाषिका – विश्वमा नेपाली भाषा एउटै छ। यसको मानक स्वरूप, व्याकरण एउटै छन्। यद्यपि एउटै व्याकरण व्यवस्था र मानक भए तापनि वक्ताहरूको बोल्ने शैली भने ठाउँ विशेषको केही भिन्नाभिन्नै छ। नेपाली भाषा आफ्ना भाषिकाहरूले भरिपूर्ण भएको एक सुसम्पन्न भाषा हो। यसको व्याकरणगत मूल आत्म एउटै छ तर बाहिरी स्वरूप भने ठाउँ-ठाउँ विशेषको केही फरक देखिन्छ। नेपालका विभिन्न जिल्ला र अञ्चलमा पनि नेपाली भाषा एकै खालको भेटिन्न। बोल्ने तरिका, शैली, वक्ताको शारीरिक, मानसिक, शैक्षणिक, सामाजिक स्तर अनुरूपको बोली हुनाले भाषागत व्यापकता परिलक्षित हुन्छ। नेपाली भाषाको जति पनि भाषिका सर्वेक्षण भए ती जम्मै नेपालकेन्द्रित रहेका छन्। यद्यपि नेपाल र भारत दुवैतर्फ मिलाएर भाषिक सर्वेक्षण भएको छैन। बालकृष्ण पोखरेल आदिले भारतको नेपाली भाषिकालाई एउटै गोर्खाली उपभाषिका भनेर टुङ्ग्याएका छन् भने चूडामणि बन्धु, देवीप्रसाद गौतम लगायतको अध्येताहरूले पनि भारतको नेपाली भाषालाई नेपालको पूर्वीय नेपाली भाषिकाभित्र गाभेका छन्। यी विद्वानहरूको उक्त सर्वेक्षण र मतले भारतका दार्जिलिङ-सिक्किम, असम, देहरादुन आदितिर सबैलाई समेट्न सक्दैन। चूडामणि बन्धुले पश्चिमी भाषिका समूह, मध्य भाषिका समूह र पूर्वीय भाषिका समूहझैं भारतका विभिन्न प्रान्तमा बोलिने नेपाली भाषालाई पनि यसरी नै तीनवटा भाषिका समूहमा वर्गीकरण गर्न सकिन्छ। भारतमा बोलिने नेपाली भाषाका निम्ति अलग्गै अर्को निम्न किसिमले भाषिका निर्धारण गर्न सकिन्छ- पश्चिमाञ्चल भाषिका समूह – यस समूह देहरादून, भाक्सू, नैनीताल, दिल्ली, राँची आदितिर बोलिन्छ। यो समूह धेरै मात्रामा हिन्दीसित प्रभावित छ। मध्यमाञ्चल भाषिका समूह – यस मध्यमाञ्चल समूहमा दार्जिलिङ – सिक्किम, डुवर्स आदि प्रान्त पर्छन्। यी क्षेत्रको सम्पर्क भाषाका रूपमा नेपाली भाषा प्रचलित छ। यस भाषिका क्षेत्रमा एकातिर अंग्रेजी भाषाको प्रभाव र अर्कातिर अन्य छिमेकी भाषाहरूको प्रभाव देखिन्छ। यसमा अंग्रेजीका पछि हिन्दी, बाङ्ला र हाम्रा जात-गोष्ठीका भोट हिमाली वर्गका भाषाहरूको प्रभाव पनि देख्न-सुन्न पाइन्छ। पूर्वाञ्चल भाषिका समूह – पूर्वाञ्चल भाषिका समूहभित्र असमलगायत पूर्वाञ्चलका विभिन्न प्रान्तमा बोलिन्छ। यस समूह बढी असमीय भाषाबाट प्रभावित भएको पाइन्छ। असमे नेपालीहरू छपडीमा कुँयेरको खेती गर्दै गाखिर पनि निकाली बेबसाइ गर्छन्। सारले आज टान प्रश्न सोधो भनी गुनासो गर्छन्। नेपालको नेपाली भाषा र भारतको नेपाली भाषा – भारत र नेपालको नेपाली भाषा एउटै हो। नेपालको राष्ट्रभाषा नेपाली भएकाले प्रायः देशभरि बोलिने, लेखिने र सरकारी कामकाजको भाषाको रूपमा रहेको छ। यता भारतमा भने दार्जिलिङको पहाडी अञ्चलको सरकारी कामकाजको भाषा र सिक्किम राज्यको सरकारी मान्यताप्राप्त प्रमुख भाषाको रूपमा नेपाली भाषा रहेको छ। दार्जिलिङ र सिक्किमको प्रमुख भाषा, सम्पर्कको भाषा र चलनचल्तीको भाषा र पठन पाठनको भाषाको रूपमा पाइन्छ। दार्जिलिङको पहाडी अञ्चलका सबै विद्यालय र महाविद्यालयमा नेपाली भाषाको पठनपाठन हुन्छ भने धेरैवटा विद्यालयमा माध्यमको रूपमा पनि नेपाली पाइन्छ। कोशीय तुलना – नेपाली भाषा एउटै भए तापनि केही भाषिकागत भेदका आधारमा भिन्नता छुट्याउन सकिन्छ। केही शब्दहरूको मूल अर्थ एउटै भए तापनि भारत र नेपालको नेपालीभन्दा भारतको नेपाली शब्दको अर्थ भिन्नै देखिने गरेको पाइन्छ। ओर्लनु- झर्नु सकिनु- तुर्नु वर्णगत तुलना – नेपाल र भारतको नेपाली भाषा एउटै हुनाले दुवैतिरका वर्ण समान छन्। दुवैतिरका वर्ण तुलना गर्दा खासै फरक देखिन्न। यद्यपि य़ता भारतका शिशु कक्षामा वर्णमाला सिकाउँदा अहिलेसम्म ड़ ढ़ वर्णहरू सिकाइन्छ। हिन्दी वर्णमालामा यी तलथोप्ली ड़ र ढ़ रहेका छन्। भाषिक व्यवस्था वक्ताको इच्छामा निर्भर हुन्छ भन्ने मान्यता छ। पानी, मान्छे, घर भन्नु यी वस्तु र शब्द र वर्णमा केही सम्बन्ध छैन। वक्ताले मानेर ल्याएको मात्र हो। यसकै आधारमा हेर्नु हो भने यता दार्जीलिङ- सिक्किमका नेपाली भाषी समुदायलाई यदि ड़ र ढ़ प्रयोग गर्ने अभ्यास, सुविधा, अनुकूल र इच्छा रहेको छ भने यी दुई वर्ण स्वतः रहन्छन्। तलथोप्ली ड़ र ढ़ पदादिमा नआए पनि पदमध्य र पदान्तमा स्पष्ट परिलक्षित हुन्छन्। नेपाल र भारत (भारतको असममा तलथोप्ली ड़ र ढ़ बिनाको नेपाली वर्णमाला चलनमा छ) मा शब्दप्रयोग- नेपाल – भारत डाँडा- डाँड़ा डाडु- डाड़ु काँढा- काँढ़ा भड्डु- भड़डु गड्याङगुडुङ- गड़याङगुड़ुङ बडी- बड़ी वाक्यगत तुलना – कथ्यस्तरमा वाक्यको तहमा नै नेपाल र भारतको बोलीको भिन्नता छुट्टिन खोज्छ। नेपालका अधिकांश वक्ताहरूले केही व्याकरणिक नियम पालन गरेर बोल्न सक्छन्। संख्या नेपाल भारत १. अब हामी जान्छौं आबो हामी जान्छ। २. मैले काम सकेको छुइनँ। मैले काम नतुरी छ। ३. अब म जान्छु। आबो मो जान्छ। ४. आमा घर जानुभो। आमा घर गयो। ५. हामीले सबै खाना खायौं। हामीले डल्लै खाना खायो ६. गाउँमा कुकुर भुके। गाउँमा कुकुरहरू भुक्यो। ७. साथीहरू घर फर्किए। साथीहरू घर फर्कियो। ८. उहाँले योगदान दिनुभएको थियो। उहाँले योगदान दिएका थिएछ। ९. तपाईंले खाना खानुभो? तपाईंले खाना खायो? कथ्यगत तुलना – कथ्यको तहमा भने नेपाल र भारतको नेपाली भाषिका स्पष्ट छुट्टिन्छ। बोलीको तान, लय, शैलीदेखि लिएर व्याकरणगत सबै तहमा भाषिकागत भेद छुट्टिन्छन्। व्याकरणिक कोटिका रूपमा रहेका लिङ्ग, वचन, पुरूष, आदर, कारक आदिमा भारतको कथ्य स्पष्ट देखिन्छ। ९.१. आदर प्रयोगगत तुलना- आदर नेपाल भारत तँ तँ बजार जान्छस्। तों बजार जान्छस्। तिमी तिमी बजार जान्छौ। तिमी बजार जान्छ। तपाईं तपाईं बजार जानुहुन्छ। तोंपाई बजार जान्छ। उनी उनी बजार जान्छन्। उनी बजार जानुहुन्छ। उहाँ उहाँले राम्रो काम गर्नुभयो। उहाँले राम्रो काम गर्\u200dयो। ९.२. लिङ्ग प्रयोगगत तुलना- लिङ्ग नेपाल भारत पुलिङ राजु बजार गयो। राजु बजार गयो। स्त्रीलिङ तारा बजार गईन्। तारा बजार गयो। स्त्रीलिङ दिदी बजार गईन दिदी बजार गयो। पुलिङ रूखबाट पात झर्\u200dयो। रूखबाट पात झर्\u200dयो। ९.३. वचनगत तुलना – वचन नेपाल भारत एकवचन म बजार जान्छु। म बजार जान्छु। एकवचन तिमी बजार जान्छौ। तिमी बजार जान्छौ। एकवचन ऊ बजार जान्छ। ऊ बजार जान्छ। बहुवचन हामी बजार जान्छौं। हामेरू बजार जान्छ। बहुवचन तिमीहरू बजार जान्छौ। तिमारू बजार जान्छ। बहुवचन उनीहरू बजार जान्छन्। उनारू बजार जान्छ। ९.४. पुरूषगत तुलना – प्रथम पुरूष म बजार जान्छु। म बजार जान्छ प्रथम पुरूष हामी बाजार जान्छौं। हामी बजार जान्छ। द्वितीय पुरूष तिमी बजार जान्छौ। तिमी बजार जान्छ। द्वितीय पुरूष तिमीहरू बजार जान्छौ। तिमारू बजार जान्छ। तृतीय पुरूष ऊ बजार जान्छ। ऊ बजार जान्छ। तृतीय पुरूष उनीहरू बजार जान्छन्। उनारू बजार जान्छ। कालगत तहमा – भूतकाल हिजो हामी बजार गयौं। हिज हामी बजार गयो। वर्तमानकाल आज हामी बजार जाँदैछौं। आज हामी बजार जाँदैछ। भविष्यत्\u200cकाल भोलि हामी बजार जानेछौं। भोलि हामी बजार जान्छ। भारतको नेपाली भाषा र नेपाली भाषा – बेलायती अंग्रेजी र अमेरिकी अंग्रेजी समान? भारतको नेपाली र नेपालको नेपाली भाषा भनेको अमेरिकी र बेलायती अंग्रेजीसरह होइन। ती दुई भाषा पनि प्रायः एकै हुन्। यद्यपि अमेरिकाले बेलायतबाट आफूलाई भिन्न बनाउन- देखाउनु निम्ति त्यही अंग्रेजीलाई भाँचभुच पारेर, छोट्याएर, सरल बनाएर अमेरिकी बनाएको छ। बेलायतको अंग्रेजी व्याकरणिक शुद्ध, शास्त्रीयोन्मुख, औपचारिक हुन्छ भने अमेरिकी अंग्रेजी भने व्याकरणिक नियममा ध्यान नदिएको, नयाँपन, अनौपचारिक हुन्छ। हिज्जेगत र उच्चारणगत सरलता अमेरिकी अंग्रेजी हो। हाम्रोमा त्यो स्थिति पनि छैन। नेपाल र भारतको प्रायः नेपाली भाषा एउटै छ। कथ्यको तहमा मानक नेपालदेखि केही पर जस्तो देखिए तापनि भारत लेख्य तहमा भने भारत र नेपाल छुट्टिदैन। अमेरिकी सिकागो विश्वविद्यालय र बेलायती अक्सफोर्ड विश्वविद्यालयले आ-आफ्नो भाषागत वर्षविन्यास निर्धारण गर्ने जस्तो हाम्रो स्थिति छैन। यता भारतको नेपाली भाषाको निम्ति त्रिभुवन विश्वविद्यालय, काशी हिन्दू विश्वविद्यालय, उत्तर बङ्गाल विश्वविद्यालय र सिक्किम विश्वविद्यालय बराबरी छन्, उत्तिकै मानक केन्द्र बनेका छन्। भारतमा नेपाली भाषाको स्थिति – भारतमा विशेषगरी दार्जिलिङ सिक्किममा एक प्रकारको नेपाली भाषा विकसित भएको छ। माथि उल्लेखित व्याकरणिक त्रुटिहरू देखा पर्नुका पछि केही सामाजिक, राजनैतिक, आर्थिक र शैक्षिक कारणहरू रहेका छन्। प्रथमतः यहाँ सबै जातको फुलबारी भएकाले सबैको मिश्रित भाषिक प्रभावले गर्दा यहाँको कथ्य नेपाली भाषा व्याकरणबद्ध भएको छैन। अंग्रेजी विद्यालयको प्रभावको कारण पनि नेपाली भाषा बढी अमानक बोलिनु थालिएको हो। यदि कसैले शुद्ध नेपाली भाषा बोले समाजले यो मान्छे नेपालबाट आएको ठान्छ कि भन्ने संकोचको मनोवैज्ञानिक पृष्ठभूमि पनि हुनसक्छ। यसो हुँदो शुद्ध बोल्न जान्नेले पनि जबर्जस्ती आफ्नो भाषा बिगार्ने गरेको पनि पाइन्छ। कतिपय समाचार पत्रतिर देखिएको भाषिक त्रुटि भाषागत दक्ष सम्पादक, संवाददाता वा स्तम्भ लेखकको भाषिक कमजोरी हुन्छ। विद्यालयतिर दक्ष नेपाली भाषा शिक्षकको कमी, व्याकरण पढाइमा उदासीनता र लापरवाही आदिले पनि नेपाली भाषी वक्ताहरूमा व्याकरणिक त्रुटि भएको हुन्छ। दार्जिलिङ- डुवर्सतिर बसोबासो गर्ने अधिकाङ्श मानिसहरू विशेषगरी चियाकमानहरूबाट एकप्रकारको भाषिक व्यवस्था सिर्जित भएको देखिन्छ। चियाकमानसित सम्बद्ध वस्तु, व्यवस्था-प्रणाली, बढी मिश्रित समाज आदिका कारण अमानक बोलिने गरिन्छ। यता दार्जिलिङ-सिक्किमबाट प्रकाशित पुस्तकहरू वा लेखोट आदिमा देखिएका केही भाषिक त्रुटि पनि प्रभाव हो। निष्कर्ष – नेपाली भाषा एउटै छ। संसारमा जहाँ गए पनि भए पनि नेपाली भाषाको मूल स्वरूप एउटै छ, आत्म एउटै बनावट एउटै छ। नेपाली भाषा एउटै हो। नेपाल र भारतको नेपाली अलगअलग नभएर एउटै हो। भाषिका प्रयोगका दृष्टिले मात्र केही फरक छन्। यद्यपि कथ्यगत फरक हुन्। सामान्य रूपमा देखिएका लेख्यगत पार्थक्य भने व्याकरणिक र भाषिक ज्ञानको अभावको कारण हो। #नवीन पाैड्याल
बन्दाबन्दीले अड्किएका नेपालयका नयाँ पुस्तक अब बजारमा: बन्दाबन्दी (लकडाउन) पछिको जनजीवन र बजार केही खुकुलो भएसँगै नेपालयले छापिएर तयार भएका नयाँ पुस्तकलाई सिधै बिक्रीमा पठाउने निर्णय गरेको छ । गत अप्रिल महिनामा नेपालयले एक प्रेस विज्ञप्तिमार्फत् महामारीका कारण आफ्ना प्रकाशित पुस्तकहरू सार्बजनिक गर्ने कार्यक्रमहरू प्रभावित भएको जानकारी गराएको थियो । लकडाउनको गाम्भीर्यता सहजतातिर उन्मुख भएसँगै नेपालयले भुवन ढुंगानाद्वारा लिखित आख्यान ‘परित्यक्ता’ लाई सिधै बजारमा उपलब्ध गराएर आफ्नो कामको थालनी गर्ने भएको छ । “बजार केही खुकुलो भएसँगै, केही चहलपहल हुनु स्वभाविक हो, त्यसैले हाम्रा प्रकाशित पुस्तकका बारेमा प्रसस्त जिज्ञासाहरू आइरहेका छन् । अहिले व्याप्त एक्लो बसाइले पाठकमा पढ्ने भोक पनि अवस्यै बढेको हुनुपर्छ,” पब्लिकेसन नेपालयकी सैजन मास्केले भनिन्, ‘त्यसैले लकडाउनपछिको पहिलो चरणमा हामीले ‘परित्यक्ता’ पुस्तकलाई भौतिक रुपमै बजारमा वितरण गर्ने निर्णय गरेका छौं । यो किताब गतवर्ष नै प्रकाशित भएको हो, तर माहामारीका कारणले सार्वजनिक हुन पाएको थिएन ।” “ परित्यक्ता” एकालाप शैलीमा बाधिएको कृति हो । यस पुस्तकमा एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गरिएको छ; जसले एउटी छोरी, प्रिया, पत्नी अनि आमाको बहुआयामिक भूमिकामा अभिनय गर्दै बाँचेकी हुन्छे र पनि निरन्तर एकाकीपनको भावमा ठोक्किँदै बगेको झरना जस्तै हुन्छे । पुस्तकले एउटी महिला जो वास्तवमा समाजद्वारा तोकिएको भूमिकामा मात्र समाहित हुन बाध्य छे; समाजमा उसको निजत्वको पनि कुनै भूमिका छ कि छैन भन्ने प्रश्न गर्दछ । यो कृतिले महिलाले आफ्ना उद्देश्यलाई आफैंले पूरा गर्ने यत्न गर्नुपर्छ भन्नेतर्फ संकेत गर्छ । सन् १९७० ताकाको नामी साहित्यिक पत्रिका मधुपर्कबाट कथा लेखनमा प्रवेश गरेकी भुवन ढुंगानाको यो पहिलो उपन्यास हो । ढुंगानाले विश्वभारती महाविद्यालय (जसलाई अहिले शान्ति निकेतनको नामले पनि चिनिन्छ) बाट शास्त्रीय नृत्यमा स्तानक गर्नुका साथै त्रिभूवन विश्वविद्यालयबाट अँग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छन् । उनका ‘धर्म बिम्ब’ र ‘युद्धको घोषणा अघि’ शीर्षकका कथा सँग्रहहरू प्रकाशित छन् । ढुंगाना विपि कोइराला साहित्यिक सम्मान लगायत विभिन्न पुरस्कारबाट अलंकृत भइसकेकी छिन् । ‘केही समय विलम्ब भए पनि अब पुस्तक पाठकका हातमा जाने कुराले औधी खुशी भएकी छु,’ लेखक ढुंगानाले भनिन्; ‘जब तपाईं कुनै कृतिलाई सृजना गर्नुहुन्छ, त्यो कृति पाठकको हातमा पुगेपछि मात्र जीवन्त बन्छ भन्ने अनुभूति लेखकलाई भएको हुन्छ त्यसैले पुस्तक निर्माणको सम्पूर्ण प्रक्रियामा संलग्न लेखकलाई पुस्तकको पूर्ण रुप पाठकको हातमा पुगेको देख्दा उच्चतम आनन्द प्राप्त हुन्छ‘ ढुंगानाले खुशी व्यक्त गरिन् । ‘यो पुस्तकले नेपाली समाजमा व्याप्त पहिचान र लिङगका बारेमा विद्यमान तर्कको संवादमा नयाँ आयाम थप्नेछ । ढुंगानाको पुस्तकले लिंगको निर्धारित भूमिकाभन्दा माथि उठेर उत्पन्न हुने वैयक्तिक अस्तित्वमाथिको ध्यानलाई उजागर गरेको छ,’ पब्लिकेसन नेपालयकी सम्पादक भूषिता वशिष्ठले पुस्तकको वैचारिक पक्षलाई औल्याइन् । ‘यो संक्षिप्त कृतिले अंगालेको गेयात्मक कथ्य शैलीले नेपाली साहित्यिक जगतलाई नौलो पनको अनुभूति प्रदान गर्नेछ,‘ पुस्तकको शैलीमाथि भूषिताको टिप्पणी थियो । नेपालयले केही दिन पहिले ‘ई-बुक’मार्फत् आफ्नो पहिलो प्रकाशन सार्वजनिक गर्ने घोषणा गरेको थियो । यसै सिलसिलालाई आकर्षक रुपमा अगाडि बढाउनका निम्ति सुजीव शाक्यद्वारा लिखित ‘अर्थात् परिवर्तन’ पुस्तकका दुईवटा अध्याय सार्वजनिक भइसकेका छन् । ‘एकल अध्याय अथवा ‘सिङ्गल च्याप्टर’ सार्वजनिक गर्ने यो नयाँ प्रयोगलाई प्राप्त भएका सकारात्मक प्रतिक्रियाले हामीलाई निकै खुशी बनाएको छ,’ नेपालयकी सैजन मास्केले जानकारी गराइन् । भुवन ढुंगानाको परित्यक्ता नेपाली बजारका निम्ति रु. २७५ मा उपलब्ध छ । पुस्तक देशका सबै पुस्तक पसलहरूमा उपलब्ध गराइएको छ र ‘थुप्रै’मार्फत् ‘ई-बुक’को रुपमा पनि प्राप्त गर्न सकिन्छ । साथै अनलाइन बिक्रेता ‘अमेजन’ मार्फत् संसारभरका पाठकले यो पुस्तक प्राप्त गर्न सक्छन् । #नेपालय
शिव अधिकारी बिनाको सुनसान सुरुची टोल: गोबिन्द गिरीको साहित्य निर्माता नेपाली साहित्यको इतिहासमा २०३९ सालमा घटित २ वटा विशेष घटना मेरा लागि विशेष स्मरणीय छन् । यौटा घटना हो, नेपाली यौन मनोविज्ञान साहित्यका प्रवर्तक साहित्यकार विश्वेशवर कोइरालाको निधन । अर्को हो, नेपाली साहित्य जगतमा कोसेढुङ्गा स्थापना गर्न समर्थ साहित्यिक पत्रिका साझा प्रकाशनबाट प्रकाशनको आरम्भ । गरिमा पत्रिकाका परिकल्पनाकार तत्कालीन साझा प्रकाशनका अध्यक्ष कवि क्षेत्रप्रताप अधिकारी थिए । गरिमा नामाकरण उनैको प्रस्तावलाई कार्यान्वयन गर्दै भएको थियो । गोविन्द गिरी प्रेरणा गरिमा पत्रिका प्रकाशनको निर्णय भएपछि यसका लागि सम्पादक नियुक्त हेतु खुल्ला विज्ञापन गरियो । साझा प्रकाशनमा कार्यरत कर्मचारी र बाहिरका सबैले प्रतिष्पर्धा गर्न मिल्ने थियो । साझा प्रकाशनमा कार्यरत कवि शिव अधिकारी त्यो पदका लागि दावेदार भए र आवेदन गरे । वासु रिमाल यात्रीको साहित्यिक पत्रिका विदेहका सम्पादकको रूपमा काम गरिरहेका हुनाले साहित्यिक पत्रिका सम्पादनको अनुभव भएकाले उनी दह्रो उम्मेदवार थिए । उनी गरिमाको सम्पादक हुनेमा ढुक्कै थिए । तर क्षेत्रप्रताप अधिकारीको रोजाइमा उनी पर्न सकेनन् । सम्भवत उनको कार्यशैली र कर्मचारीगत कतिपय कुरा उनलाई मन नपरेको हुँदो हो वा अरू कसैप्रति बढी रोजाइको झुकाव हुँदो हो । त्यो अरू कोही थिए, पाटन क्याम्पसमा अध्यापन गर्ने, सडक कविता क्रान्तिका एक सहभागी कवि विष्णुविभू घिमिरे । यो नियुक्ति प्रकरणले शिव अधिकारीले आफ्नो स्वाभिमानमा धक्का पुगेको अनुभव गरे र उनले साझा प्रकाशनको साविकको पदबाट राजीनामा गरे । कुरा त्यतिमा रोकिएन । शिव अधिकारीले यो प्रकरणको विरोधमा पर्चा छापेर नयाँ सडक पीपलबोटमा वितरणसमेत गरे । यो उनको जीवनको टर्निङ पोइण्ट अर्थात् महत्वपूर्ण मोड सावित भयो । त्यो थियो उनको जागिरे जीवनको समाप्ति तथा स्वतन्त्र व्यावसायिक उद्यमि जीवनको आरम्भ । उनकी श्रीमती कवयित्री सरला विष्टका नाममा प्रकाशित लेखिका थिइन् । उनी राष्ट्रिय बाणिज्य बैङ्कमा काम गर्थिन् र त्यहीं कार्यरत कथाकार तथा दीपिका साहित्यिक मासिकका सम्पादक हरिशङ्कर अमात्यले प्रकाशित गरिदिएका थिए उनको कविता सङ्ग्रह “आकास बेली”, तर शिव अधिकारीको भने त्यतिबेलासम्म कुनै पुस्तक प्रकाशित भएको थिएन । झन् भएको जागिर छाडेपछि उनको आर्थिक अवस्था राम्रो थिएन । तर जागिर छोडेको केही समयपछि उनले आफैंले पहिलो कविता सङ्ग्रह प्रकाशित गरेका थिए “दिगन्त सारथी”, र आफैंले झोलामा राखेर साथी भाइहरूलाई बेचेका थिए । उनले यसै बीच पत्रकारितामा हात हाले र त्यसैलाई अघि बढाए । नेपाली काङ्ग्रेस निकट उनले ‘प्रो काङ्ग्रेस’ पत्रकारिता गरे । उनले शुरुमा ‘सुरुचि’ नामक खबर पत्रिका प्रकाशन गरेका थिए, पाक्षिक रूपमा | जसलाई उनले पछि दैनिक बनाए र अन्तमा साप्ताहिक बनाए | र सुरुचि नै शिव अधिकारीको पहिचान बन्यो, ब्राण्ड बन्यो । सुरुचि पाक्षिकका प्रकाशक स्वयम् थिए | सुरूचि दैनिकका प्रकाशक ‘सुरुचि प्रकाशन प्रालि’ थियो भने सुरुचि साप्ताहिकको प्रकाशक ‘सुरुचि प्रकाशन सहकारी संस्था लि.’ थियो । चालिसको दशकको साप्ताहिक पत्रपत्रिकाको रजगजको बेला सुरुचि थोरै सङ्ख्याका धेरै पढिने पत्रिकाको रूपमा प्रख्यात भयो । यस बीचमा उनको साहित्यिक लेखनले पनि गति लियो । उनी कवितामा मात्र सीमित भएनन् । उपन्यासहरू लेखे, पुँशचली, चेष्टा, आखेट । उनको “आखेट” उपन्यास निकै रुचाइएको थियो । उनले नाटक पनि लेखे । ईश्वर बरालको नेतृत्वको बेला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले उनको नाटक मञ्चन गर्यो र पुस्तकसमेत प्रकाशित गर्यो । तासको जामा र अरू तीन नाटक, त्रासदी मुद्राहरू, सिंहासन उनका प्रकाशित नाट्य कृतिहरू हुन् । उनी काङ्ग्रेसको दुई खेमामध्ये एक खेमामा थिए । उनी कम्युनिष्टलाई त यसै उसै पनि कोर्रा हान्ने शैलीमा कटाक्ष गर्थे, काङ्ग्रसकै विपरित खेमालाई पनि दोहोलो काढ्ने गरी आक्रामक लेखहरू लेख्थे । आफ्नै पत्रिकामा उनले लेख्ने कोलम एकदमै मन पराउनेहरूको एक जमात थियो भने पटक्कै मन नपराउनेको जमात पनि थियो । मन पराउने मानिसहरूहरूले उनको गद्य शैली, शब्द प्रयोग र ठेटिलो प्रस्तुति स्वाद मानेर पढ्ने गर्थे । मन नपर्नेहरूले पूर्वाग्रही, एकपक्षिय भनेर नाक खुम्च्याउँथे । पान उनको अम्मल थियो र हिन्दीमा कुरा गर्नु उनको अर्को रमाइलो पक्ष थियो । शिव अधिकार पछिल्लो समयमा शिव अधिकारीले नेपालका खान्दानी राणाहरूको परिवारका कथाहरू आफ्नो कोलममा पस्किन थालेका थिए । उनले त्यस स्तम्भ मार्फत राणाहरूको रोचक जीवन कथा र नयाँ तथ्यहरू पस्कँदै आएका थिए र एकपल्ट उनले मसँग भनेका थिए, “शुरुमा रुट पहिल्याउन गाह्रो भो, अब त झन्झन् रोचक कुराहरू र नयाँ नयाँ पात्रहरू लाइनमा छन् । पछि यसलाई पुस्तकको रूपमा निकाल्नु पर्छ ।” उनले लेख्दै गए, तर त्यसको पुस्तक निकाल्ने कार्ययोजना सफल नहुँदै उनी बितेकाले त्यो उनको किताब निकाल्ने सपना अधूरो नै रह्यो । ती रचनाहरू अखबारका पानाहरूमा इतिहास बनेर रहे । कहिलेकाहीं उनको राजनीतिक आशक्तिले बढी मुण्टो उठाउँदा एकप्रकारको एकलकाटे कुरा लेखिदिन पनि नहिच्किचाउने स्वभाव उनको कमजोरी थियो । नेपाली पुस्तक प्रकाशनको इतिहासमै सबभन्दा बढी आलोचित र विवादास्पद पुस्तक “आजका नेपाली कविता” को चौतर्फी आलोचना भयो, जसलाई मोहन कोइरालाले सम्पादन गरेका थिए र निकै विवादपछि प्रज्ञाप्रतिष्ठानले प्रकाशित गरेको थियो, नकारात्मक प्रकाशकीयसहित । कालिप्रसाद रिजाल जस्ता कवि र डा.केशव प्रसाद उपाध्याय जस्ता समालोचकले समेत आलोचना लेख छपाए । तर शिव अधिकारी एक्लैले मोहन कोइरालाको पक्षमा लेख्दा धेरैले त्यो लेखलाई रुचाएका थिएनन् । शिव अधिकारीले आफ्नो आस्थाको राजनीतिको नेताको हिसाबले विश्वेश्वर प्रसाद कोइरालाको जीवनीमूलक पुस्तक पनि लेखे र रत्न पुस्तक भण्डारबाट त्यो प्रकाशित भयो । यौटा लेखक कुन रचनाले कालान्तरसम्म चिनिन्छ, त्यो हम्मेसी अनुमान गर्न गाह्रो नै हुन्छ । एक सय एक महत्वपूर्ण, विद्वत्तापूर्ण रचना लेख्ने लेखक पनि अर्कै रचनाको ढाडमा टड्कारो बाँचिदिन्छन् । महाकवि देवकोटाले लेखेका सुलोचना, शाकुन्तल जस्ता महाकाव्य स्तरीयताको हिसाबले उच्च महत्वको छ, तर लोकप्रियतामा र जनप्रियतामा मुनामदनले सबैलाई उछिन्यो । महाकवि देवकोटा र मुनामदन पर्यायवाची बने । सुलोचना बनेन । शाकुन्तल बनेन । शिव अधिकारी कुन रचनाले चिनिएलान् ? कुन पुस्तकले उनको परिचय लामो समयसम्म बोक्ला ? त्यो भन्न मुस्किल छ । उनले गीति रचना एकदमै नगण्य गरेका छन् । उनलाई गीतकारको रूपमा चिनाउनु एकप्रकारको व्यङ्ग्य जस्तो पनि देखिएला । तर उनले लेखेको र योगेश बैद्यले गाएको एउटै गीत उनलाई कालान्तरसम्म चिनाउने रचना बन्ने हो कि भन्ने म अनुमान गर्दछु । उनको त्यो गीत कालजयी छ । कर्णप्रिय छ । त्यस गीतले बोकेको भाव सार्वकालीक छ । त्यो गीतका शब्दहरू यस प्रकार रहेका छन्: सपना भुलाई सारा आँसु पिएर जाऊ मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ जनम जनम नफुल्ने आँखा दिएर जाऊ एक सुर वाँसुरीको विन्ती सुनेर जाऊ सपना भुलाई सारा आँसु पिएर जाऊ मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ छन् प्रेमका निशाना दिलमा मिटाइ जाऊ एकलासको चितामा बत्ती निभाइ जाऊ सपना भुलाई सारा आँसु पिएर जाऊ मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ नातिकाजीको संगीतमा योगेश वीद्यले गाएको यो गीत चीरकालसम्म बाँचिरहने विश्वास लिन सकिन्छ । उनले लेखेका र प्रकाशित पुस्तक एकाधबाहेक हजारप्रति छापिएका हुन्, ती पनि अझै कतिपय पुस्तक पसल वा उनको घरमा पनि भेटिएलान्। तर यो गीतले यी हरफहरू लेखिरहँदासम्म २ लाख ३२ हजार श्रोता पाइसकेको छ । अल्पायुमै यो धरती छाडेका शिवले अनन्त आकाशबाट ती २ लाख ३२ हजार श्रोताहरूलाई कृतज्ञता जाहेर गरिरहेका होलान् । बानेश्वरको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको सामुन्नेको काठमाडौं भक्तपुर राजमार्गको दक्षिणमा यौटा गल्ली छ, जसको नाम हो, सुरुचि मार्ग । यो मार्गको नामाकरण शिव अधिकारीकै पहलमा भएको थियो, जुन टोलमा उनको घर थियो । एकपल्ट नेपाल भरि नै सडकको नामाकरणको लहर चलेको थियो । कतिले आफ्नै नाउँमा सडकको नाम राख्ने पहल गरे, गराए । कतिले आफ्ना पिता माताको नाम उज्यालो बनाउन नामाकरण ग\u200dरे । शिव अधिकारीले भने आफ्नो “ब्रेन चाइल्ड” सुरुचि पत्रिकाको नामबाट त्यो टोलको नामका लागि पहल गरे । त्यो घरमा एक विहान शिव अधिकारीलाई भेटेको र सरला भाउजुको हातबाट अन्तिमपल्ट चिया पिएको मीठो सम्झना अझै ताजा छ, चिसो चिसो मौसमको बेला । त्यतिबेला अहिले जस्तो हुलहुाल थिएन त्यो टोलमा । घरहरू पनि जोडिइसकेका थिएनन् । तर अहिले त्यो घरमा शिव अधिकारी भेटिन्नन् । उनको देहान्त भएको लामो समय भइसकेको छ । शरला भाउजू पनि अध्यात्म मार्गमा लागेर भारतको दिल्लीमा बस्न थालेको लामै समय भइसकेको छ । छोरीहरूले पनि आमालाई साथ दिएका छन् । फगत् सुरुचि टोल सुनसान छ, रित्तो रित्तो छ, ‘सुरुचि टोल’ नामाकरण गर्ने शिव अधिकारीको अनुपस्थितिमा । २६ जून २०२०, बृन्दावन, भारत । #गोविन्द गिरी प्रेरणा
उभिएर संगमनिर: बिहानको एघार बजिसकेको छ हामी नगरकोबिल पुग्दा । भोक पनि लागिसकेको छ निकै । बिहान पाँचै बजे छोडेका हौं त्रिवेन्द्रमको होटेल । कालो चिया पिउनु भन्दा बाहेक अरू केही उपलब्ध भएन बिहानबिहानै होटेलमा । सात बजे त हिंडेको हो रेल त्रिवेन्द्रमबाट । रेलमा हल्काफुल्का खानेकुरा खाए पनि पेट भरिने आडिलो नास्ता भने केही पाइएन । यिर्बानीका पोका देखेर नखाँदै हुडुल्किएर आएको थियो पेट । त्रिवेन्द्रमबाट दक्षिणपूर्व दिशातर्फ मुख बनाएर कुदेको हो हामी चढेको रेल । केरलको त्रिवेन्द्रमबाट तामिलनाडुको नगरकोबिल पुग्न चार घण्टा लाग्यो । यो बाटो पनि प्रकृतिले सुन्दर प्रकारले सिंगारेको रहेछ । जङ्गल, फाँट, बस्ती, खेत, शहर, नदी र सागरका अनुपम दृश्यहरूले चार घण्टाको यात्रालाई रमाइलो बनाइरहे । बाटोमा समुद्रका खण्डखण्ड जस्ता लाग्ने पानीका थुप्रै दहहरू पार ग¥यौं । विशाल जलराशीको माथिमाथि लामालामा पुल धेरै ठाउँमा पार ग¥यौं । कतै साँगुरा पुलमाथि साँगुरै गरी कुद्यो अजङ्गको रेल । नरिवल र केराका खेतीले मन लोभिइरह्यो । सुपारी, ताडका विरुवा र काँडेदार बुट्टयानहरू देखिए कतै कतै । रेलको झ्यालबाट कहिले दायाँ, कहिले वायाँ पोखिदैरहे आँखाहरू । तीव्रगतिमा दुगुरिइरहेको रेल भन्दा झन् तीव्र गतिमा दुगुरिरहे कुतुहल बोकेका अाँखा पनि । खगेन्द्र गिरि ‘कोपिला’ तमिलनाडु र केरलको सिमाना कहाँनिर हो? थाहै पाउन सकिएन । दुवै प्रान्तको जनजीवन, रहनसहन, खानपिन, भाषा, अक्षरका आकार, मौसम र भूगोल उस्तैउस्तै लाग्यो । फरक छन् केवल ठाउँका नाम र नामपाटीहरू । बिहानीपखको शान्त वातावरण नखल्बलिदै हामी पुगिहाल्यौं नगरकोबिल । ‘केही खाऊँ न है’, मसिनो स्वरमा बोलिन् बुनु । वान्ता आउँछ भनेर रेलमा चियाभन्दा बाहेक अरू केही खाइनन् उनले । अहिले आफ्नो भोक रोक्न सकिरहेकी छैनन् । खान त मलाई पनि मन नलागेको कहाँ हो र? तर वरपर कतै देखिएनन् खानेकुरा पाउने पसल । बुनुको आग्रहलाई नसुनेको जस्तै गरी हिडिरहेँ म । नगरकोबिलको रेल्वे स्टेशनको भीड छिचोलेर बाहिर आयौं । स्वामीज्यू कन्याकुमारी जाने सवारी साधन बुझ्न लाग्नु भो म भने खाने ठाउँ खोज्न लागेँ । बाटो वरपर पनि खाउँजस्तो केही देखिएन । टन्न भात रोटी खान पाए हुन्थ्यो भन्ने लागिरहेको छ तर यता केही देखिएन खानेजस्तो । भोकाएर तातिएको मनमा चिसो पस्यो । दिनभरि भोकै बस्नु पर्ने पो हो कि? आफूले बोकेका गृह कोसेली पनि सकिइसकेका छन् । एक ठाउँमा काक्रो देखिएपछि नखाइरहन सकिएन । यताका काक्रोको स्वाद हाम्रोतिरको जस्तो लागेन । बाटोमा फेरि नरिवल देखिए । फेरि लोभियो मन । नरिवलको रस र सेतो गुदी खाएपछि टन्न भैहाल्यो पेट । यहाँबाट सिधै दक्षिण दिशाको कन्याकुमारी पुग्न अरू बीस किलोमिटर कुद्नु छ अझै । सबै साधन पाइँदारहेछन् तर टेम्पो रोज्यौं हामीले । ग्रामीण भेग देखिन थाले बाटो वरपर । देव्रेतिर कालाकाला ढुङ्गा थुपारेजस्ता होचाहोचा पहाड देखिए । वरिपरि समतल खेतको बीचमा उभिएका यी पहाडहरू कतैबाट यहाँ ल्याएर थपक्क राखिएका शिवलिङ्गजस्तै लाग्दा रहेछन् । ‘प्राकृतिक स्तुप हुन् कि क्या हो?’ कुतुहल पोखियो मेरो मुखबाट । ‘दक्षिण भारतमा मन्दिरभित्र देखिने ठूलाठूला ढुङ्गाका मूर्तीहरू यस्तै पहाड काटेर बनाइएका होलान्’ निर्मलस्वामी अनुमान गर्न लाग्नु भो । ‘मन्दिर बनाएर उब्रिएका हुन् कि क्या हो यी ढुङ्गाहरू?’ बुनुले लगाइन् आफ्नै पाराको अनुमान । हुन पनि हो, पुरै पहाड नै एउटा सिङ्गो ढुङ्गोजस्तो दखिन्छ । यस्ता ढुङ्गालाई जहाँनिरबाट जसरी काटेर जुन आकृतिमा ढाले पनि भयो । ढुङ्गाको आकार जति ठूलो भए पनि मान्छेको सीपको अगाडि केही लाग्दैन । आफ्नो स्वरूप फेरेर कलाकारले चाहेको आकारमा बदलिनै पर्छ । नगरकोविलबाट आधा घण्टा कुदेपछि पुग्यौं कन्याकुमारी । बस्ने कोठा त स्वामीज्युले रामकृष्ण मिशनको आश्रममा फोनबाट नै बुक गराईसक्नु भएको छ । यो आश्रम त्यति सफा र सुविधासम्पन्न नभए पनि हिन्दी बोल्ने स्टाफ भएकोले केही सहज लाग्यो हामीलाई । आश्रमको तातो भात, पातलो दाल र आलुको तरकारीले भोक मात्रै मेटेन, धेरै दिनदेखिको खानाको तिर्खा पनि मेटाइदियो । कन्याकुमारी भारतको सबैभन्दा दक्षिणी कुनो हो । यसलाई पहिले केप कोमोरिन भनिन्थ्यो, यहाँबाट सोझै दक्षिणतिर फर्केर हेर्दा हिन्द महासागर देखिन्छ भने दायाँतिर अरब सागर र देब्रेतिर बंगालको खाडी पर्दछ । ‘कन्याकुमारीको पहिलो दर्शन कन्याकुमारी मन्दिरबाट शुरु ग¥यौं । पार्वतीको कन्या रूप मानिदोरहेछ यो मन्दिरलाई । माता पार्वतीले कन्याको रूपमा जन्म लिएर वाणासूर भन्ने राक्षसको वध गरेको हुनाले कन्याकुमारीको नाममा पुजित भएको मान्यता रहेछ । ‘श्रावणी शक्तिपीठम् भनिने यो मन्दिर बाउन्न ओटा शक्तिपीठहरू मध्ये एक हो’ मन्दिरका एक जना पुजारीले टुटेफुटेको हिन्दीमा भने । यसको बास्तुकला पनि ठ्याक्कै पद्मनाभ मन्दिरकै जस्तो हो तर उभन्दा यो धेरै सानो लाग्यो । मन्दिरमा मूर्ती, भित्ता, गोपुर र पर्खालहरूको आकार सबैमा द्रविड बास्तुकला छरिएको छ । हुन त धेरै छन् कन्याकुमारीमा हेर्ने ठाउँ तर सामुद्रिक जलकलालाई नै मानिदोरहेछ यहाँको मुख्य आकर्षण । थानुमलयम् मन्दिर, भगवती अम्मन मन्दिर, सनसेट भ्यूप्वाइन्ट, थीरपरप्पु वाटरफल्स र पदमनाभनपुर दरवार पनि यहाँका प्रकृति र कला झल्काउने आर्कषक धरोहर हुन् तर कन्याकुमारीको सामुद्रिक सौन्दर्यले लोभिएका धेरैजसो पर्यटकहरू यहाँ पुग्न बिर्सिदारहेछन् । हिन्दु र कृस्चियनको सङ्ख्या बराबरजस्तै भएपनि चर्चहरू धेरै देखिए यहाँ । दुई तले पदमनाभनपुरम् दरवार, पहलिो नजरमा दरवारभन्दा पनि कसैको पुरानो घरजस्तो लाग्यो । भवनका खपडावाला छतहरू कुनै दई तले छन् भने कुनै एक तले छन् । दरवारको वरिपरि न कुनै किल्ला देखियो, न कुनै पर्खाल । साधारण घरजस्तो लाग्ने यो दरवार त मुगल वादशाह र राजस्थानका किल्लामय दरवारको अगाडि झुपडीजस्तो नै ठानें मैले । दरवारको भित्री साजसज्जा र कलाको सङ्ग्रह भने भरिपूर्ण नै हो । अन्यत्रका राजाहरूका विपरित दक्षिण भारतका हिन्दु राजाहरूले दरवारभन्दा मन्दिरलाई बनाएका रहेछन् भव्य । त्रिवेन्द्रमको कनकक्कुन्नु दरवार र यो दरवार परिसरमा डुल्दै गर्दा मनमनमा भनिरहेँ म । आँखाअगाडि फैलियो विशाल समुद्रको जल सौन्दर्य । जहाँसम्म दृष्टि पुग्छ त्यहाँसम्म छ पानी नै पानी । आँखाले हेर्न सकिने छेउ र अझ त्यो भन्दा परको क्षितिजसम्म टम्म भरिएको छ पानी । नीलो रङको पानी दौडिदै छाल बनेर आउँछ र समुद्रको किनारमा सुतेका ढुङ्गाहरूसंग ठोक्किएर सेतो फिंज बनेर फर्किन्छ । समुद्री किनाराका काला ढुङ्गाहरू क्षणक्षणमैं समुद्रको पानीले नुहाएर झन् काला बनेका छन् । पानीको निरन्तर बदलिइरहेको यस दृश्यले आश्चर्यचकित बनाइ रह्यो आँखालाई । आकाशबाट सूर्यले तिखो वाण हानेझैं प्रहार गरिरहेको छ तेजिला किरणहरू । बतासिइरहेको समुद्री हावाको अगाडि निस्तेज बनेका छन् यी किरणहरू जतिसुकै तेजिला भए पनि । हावाले जिस्क्याएजस्तो गरिरहन्छ चञ्चल जललाई । शान्त तटहरू समुद्रको जलकला हेरेरै तृप्त छन् । आँखाले एकै ठाउँमा रोकिन मानेको छैन । मनले एउटै दृश्यमा थपक्क अडिन सकेको छैन । समुद्रका छालहरू आफ्नै लयमा सुसेलीरहेका छन् । छालहरूको भाषा विचित्र छ । समुद्रको यो चञ्चलताजस्तै समुद्री किनाराका वालुवा र ढुङ्गाहरूको मौनता पनि पढि नसक्नु छ । केप कोमोरोनको छेउछाउमा साना ठूला डुङ्गा र स्टिमरहरूको भीड देख्यौं । चढ्ने र उत्रिनेहरूको खलबलले पनि जित्न सकेको छैन पानीको छलछललाई । ‘जाऊँ चारबजे बन्द भै हाल्छ रे पारि जान’ कहाँबाट जानकारी बटुली हाल्नु भो स्वामीज्यूले । ‘साँझ हेरौंला यो जलकला त’ उहाँले हतार गराउनु भएपछि उठ्नु परिहाल्यो । लामो लाइनमा बिस्तारै हाम्रो पालो आयो स्टिमर चढ्ने । ठूलो स्टिमरमा हल्लिदैहल्लिदै पारि ग¥यौं । केप कोमोरिनको पारिपट्टि समुद्रको बीचमा दुईटा साना टापु देखिए । एउटा टापुमा स्वामी विवेकानन्द स्मारक छ भने अर्को टापुमा तमिल महाकविको विशाल ढुङ्गे प्रतिमा छ । मण्डप भएको स्मारक बढीमा एक एकड जत्रो होला । अर्को टापु भने त्यो भन्दा पनि सानो छ । स्टिमरले लगेर स्मारक भएको टापुको छेउमा उतारिदियो । यसलाई टापु भनौं कि समुद्रको बीचमा बसेको चट्टानी ढिस्को भनौं अलमलमा परेँ म । ढिस्कोमाथि बनाइएको स्मारकभरि रातो र कालो रङका शंखमरमरका अनेक आकृतिहरू बनेका छन् । कलाको सुन्दर टुक्रा यो टापुमा ल्याएर राखेजस्तो लाग्यो । स्मारकको भुइँ खण्डखण्ड पारेर सजाइएको छ । अनेक फूल र ससाना बोट पनि छन् । बाटोको बीचका खण्डखण्डमा हरियो दुबो सजाइएको छ तर त्यहाँ टेकेर, फूल टिपेर बिगारेका छैनन् कसैले पनि । ‘आत्थु कस्तो पोल्यो !’ भुइँ, पर्खाल, पटाङ्गिनी, पेटी र बस्ने बेन्चहरू सबै रातो शंखमरमरले बनेका छन् । दिउँसोको प्रचण्ड घामले निकै तातिएका छन् सबै । पदमार्गमा ओछ्याइएका चट्टानका टुक्रा र शंखमरमरहरू पनि रनक्क तातिएका छन् । जुत्ता चप्पल स्टीमरबाट ओर्लिने बित्तिकै खोल्न लगाएका थिए । नाङ्गै खुट्टा हिड्दै छौं हामी । रापिलो घामले सोझै आएर गाला र निधारमा डामिरहेको छ । तातिएको पदमार्गमा खालीखुट्टा हिड्न निकै गाहारो भो । रनक्क रन्किएका छन् पइतला पनि । मभने समुद्रको शीतल हावाको मृदु स्पर्शले लट्ठ परेको छु । यहाँका कलात्मक आकृतिहरूले हृदयमा अनौंठो झङ्कार थपिरहेका छन् । ‘थाह नपाए जस्तो गरेर ध्यानमा मन लगाउँदै हिड्यो भने खुट्टा तातो भुईँले पोले पनि थाह हुन्न’ अलि आध्यात्मिक पाराले मेरो आतुरतालाई व्यङ्ग हानिन् बुनुले । ‘म त ध्यान गर्न मात्र होइन घुम्न पनि त आएको हुँ नि यहाँ’ । स्मारकको वरिपरिको परिक्रमापथमा थुप्रिएको छ मान्छेको भीड । फोटो खिच्नेहरूको भीडमा मिसियौं हामी पनि । परपर फैलिएको समुद्रका छालहरूलाई पृष्ठभागमा पारेर केही फोटो खिच्यौं । उत्तरपट्टिको बस्तीलाई पछाडि पारेर पनि केही फोटो खिच्यौं, भिडियो बनायौं । क्यामेरामा अटाउन नसकेका स्मृतिहरूलाई मनको क्यामेरामा कैद ग¥यौं । स्मारकको बिचैमा अग्लो चुच्चो ढिस्कोजस्तो ठाउँमा मन्दिरजस्तै देखिने मण्डप छ । रातो छत र काला शंखमरमरको जग भएको त्यस मण्डपमा उक्लियौं हामी पनि । स्वामी विवेकानन्दको ध्यानस्थ मुद्राको ठूलो प्रतिमा देखियो । भित्रपट्टिको वातावरण एकदमै शान्त छ । मौन छन् सबै । कोही ध्यान पनि गरिरहेका छन् । त्यहाँको स्निग्ध वातावरणले शीतलियो मन पनि । आफै बन्द भए आँखा । तातिएको शरीर एकाएक सेलाएजस्तो भयो । बुनु पनि आँखा बन्द गरी ध्यानस्थ बनेर आफैमा डुबेकी छन् । निहुरियौं, ढोक्यौं, श्रद्धाका अञ्जुली चढायौं । जतिसुकै चञ्चल मान्छे आए पनि यहाँ मौन भई हाल्दारेछ । यहाँको मौनतामा छुट्टै शक्ति भेटियो । एक सय पच्चिस वर्षजति अघि स्वामी विवेकानन्दले आएर यही निर्जन टापुमा तीन दिन ध्यान गर्नु भएको थियो रे । उहाँकै सम्झना र सम्मानमा बनाइएको रहेछ यो स्मारक । विवेकानन्द रक मेमोरियल भन्दा रहेछन् यस स्मारकलाई । सन् १९६२ मा बन्न शुरु भएर १९७० मा तयार भएको जनाउ दिईरहेको छ शिलापट्टले । यो स्मारकबाट छेवैको अर्को टापुमा जान फेरि चढ्नु प¥यो अर्को स्टिमर । मैले त्यो कुनै ऋषिको मुर्ती होला भनेको त त्यो त तामिल भाषाका महाकवि थिरुवल्लुवरको मुर्ती पो रहेछ । टाढाबाट हेर्दा लामा दाडि पालेका ती महाकवि हाम्रा कवि शिरोमणी लेखनाथ पौडेलजस्तै लागे । कवि शिरोमणिलाई सम्झिएर यी महाकविलाई पनि ढोगेँ मैले । राजा स्वदेशमा मात्रै पुजिन्छन् कवि त विदेशमा पनि पुजिन्छन् भन्ने उक्तिको सम्झना आयो मनमा । यी महाकवि थिरुवल्लुवरको आकृति त कविभन्दा पनि ऋषिको जस्तै लागिरहेको छ । हुन त एक अर्कासंग जोडिन—जोडिन खोजेको जस्तो देखिन्छन् यी दुबै टापुहरू । पहिले जोडिएर बिस्तारै छुट्टिन—छुट्टिन खोजेको जस्तो पनि लाग्दछन् । वल्लो ढुङ्गोबाट पल्लो ढुङ्गामा फाल हालेर पनि वारिपारि गर्न सकिएला जस्तो लाग्छ । समुद्रका ढुङ्गाहरू निकै चिप्लो हुने भएकोले त्यसरी जान भने दिंइदो रहेनछ । ‘पुल बनाए पनि हुँदो हो नि’, गुनुगनु गर्दै छन् बुनु । महाकविको मूर्ती भएको टापु अलि साँगुरो लाग्यो । पुरै टापुलाई छोपेर त्यो विशाल मुर्ती उभ्याइएको रहेछ आकाशै छुने गरि । १३३ फिट अग्लो छ रहेछ यो मुर्ती । पुरै टापु नै छोपेर ठडिएको योे मुर्ती कसरी बनाइयो होला? यत्रा पत्थरहरू कहाँबाट ल्याइए होलान् यहाँ ? अनेक प्रश्नहरू उर्लिए मनमा । मानवद्वारा निर्मित भौतिक बस्तुले मानवलाई नै आश्चर्यमा पारिदिन्छन् । सन् १९९० मा बन्न शुरु भएर १९९९ मा पुरा भएको रहेछ यो मुर्तीको निर्माण । मूर्ती राखिएको मण्डपको भित्रभित्रै सिढी चढेर निकै माथिसम्म पुग्यौं । त्यहाँ मुर्तीको वरिपरि परिक्रमा गर्ने फराकिलो बार्दली बनाइएको रहेछ । बार्दलीबाट पनि परपरको महासागरका उन्मुक्त लहरहरू हेरिरह्यौं निकै बेर । समुद्रको नीलो पानीका छालहरू मुर्तीको मुन्तिरको भागमा ठोक्किएर उतै फर्किने गर्छन् । नीलो पानी एकैछिनमा सेतो रङमा बदलिएको दृश्यले मोहित बनाइरह्यो मनलाई । खरानी रङको पत्थर ताछेर बनाइएको छ यो मुर्ती । ‘यो अन्य कुनै पनि कविका निर्मित मुर्तीहरू मध्ये संसारको सबैभन्दा ठूलो मूर्ती हो’ एकजना मान्छे जानकारी गराउँदै छन् एउटा समूहलाई । तीन घण्टाको समय यी दुईओटा टापुको परिभ्रमणमा बितेको पत्तै भएन । सागरको शीतल बतासले सुसुलिरहेकै छ । हामीलाई फर्किन बोलाईहाल्यो स्टिमरले । स्टिमरमा एक जना बृद्धवयका स्वामीज्यूसंग एउटै सिटमा परियो । आन्ध्रप्रदेशबाट आउनु भएको रहेछ उहाँ । परिचय भो । श्रद्धापूर्वक ढोग्यौं उहाँलाई । हामीले नेपालबाट आएको भनेपछि निकै स्नेह पोख्नु भो । स्वामी ब्रहमानन्द सरस्वती रहेछ उहाँको नाम । कन्याकुमारी भारतमात्र होइन समग्र आर्याव्रतको पनि दक्षिणी पुछार हो । एकजना महान सन्त र महान कविको ज्ञान र प्रतिभाको संयुक्त स्पन्दन मगमगाइरहेको छ यहाँको सङ्लो बतासमा मिसिएर । यहाँको अनन्त आकाश र अनन्त सागर संयुक्त रूपमा साक्षी बनिरहेका छन् ती सन्त र कविका विराट गाथाको । छचल्किदै रहेको पानी पल्टाइरहेको छ त्यही गाथाका पानाहरू । भाभातुराई बीचमा देखिए नरिवलै नरिवल बेचिरहेका ठेलाहरू । हरिया र पहेंला नरिवलका थुप्राले फेरि मन लोभिई हाल्यो । नरिवलको रस पिएपछि अरू कुरा खाने, पिउने, भोक, तिर्खा मेटिंदोरहेछ । समुद्रकिनारमा टहलिने तिर्खा भने अझैं मेटिएको छैन । भाभातुराई बीचको वालुवामा हिड्यौं, बस्यौं, पल्टियौं, किनारैकिनार गान्धी मण्डप गयौं । अनि फक्र्यौ त्यही बाटो । ‘आम्मै झोला खै नि?’, एकाएक चिच्याइन् बुनु । ‘ओ हो कहाँ छुटे छ !’, विस्मित भएँ म पनि । खैरो रङको एउटा सानो झोला पिठ्युमा बोकेको थिएँ मैले । परिचयपत्र, टिकेट, चश्माको खोल, चार्जर, एअरफोन, बिस्कुट र मिनरलको वाटरको बोतल हुन्थ्यो त्यसमा । फोटो खिच्ने बेलामा एकछिन कतै राख्थेँ अनि बोकी हाल्थेँ । खै कहाँ बोक्न छुट्टयो? बिलौना र गनगन गर्न लागिन् बुनु । म पनि चिन्तित भएँ निकै । ‘अघि रक मेमोरियलबाट फर्किदा त साथैमा थियो, सायद नरिवल पिउने ठाउँमा छुट्टयो कि?’ ‘जाऊँ त्यतै खोजी हेरौं, भेटिइहाल्छ कि’, स्वामीज्यूका वाणिले अलिकति भरोसा जगायो । जताजता डुलेका थियौं त्यतैत्यतैका ठाउँहरूमा आँखा ओछ्याउँदै हिड्न थाल्यौं । नभन्दै झोला त समुद्री किनारको एउटा पर्खालमा टक्क बसिरहेको भेटियो । यो ठाउँमा आएर फोटो खिचेको, समुद्रछेउका चिप्ला ढुङ्गामाथि उफ्रिदै हामीले ओहोरदोहोर गरेको त एकघण्टा भन्दा बढी भैसकेको थियो । हराएको झोला भेटिनुको खुसी त छँदै थियो, यतिन्जेलसम्म पनि यस्तो हुलमुलमा एक्लो झोला जहाँको त्यही रहिरहेको भेटिनु पनि हाम्रोलागि आश्चर्यको विषय नै बन्यो । साँच्चै आज त हामी कहाँ आएका छौं? के गर्दैछौं? कहाँ हिड्दै छौं? भन्ने कुरा पनि बिर्सिएजस्तै भएका छौं । केही अरू पनि हेरौं, केही खाउँ र केही किनी पनि हालौं भनेर शहरभित्र पनि पस्यौं तर आँखालाई त्यही समुद्री किनारले तानीरह्यो । मनलाई त्यही समुद्री कुतुहलले बोलाइरह्यो । ‘चुल्हो सम्झि घरै फर्की आएस्’ भनेर चुल्होको माथिमाथि घुमाएको बिरालो जति टाढा पुगे पनि फर्केर त्यही चुल्होको नजिक घुस्रिन आइहाल्छ’ भन्ने आहान चरितार्थ भएजस्तै भएको छ आज हामीमाथि । अन्यत्र अडिनै मानेन मनले । स्वचालित यन्त्रजस्तै भए पइतलाहरू । पुगि हाले त्यही समुद्री किनारमा । समय घर्किरहेको छ आफ्नै लयमा । निरन्तर चलिरहेको छ समुद्रका जललहरहरूको चित्रकारी । सूर्य दक्षिण—पश्चिम दिशाको नैर्ऋत्य कोणतिर ढल्किदै गर्दा समुद्र पनि आफ्नो रङ बदल्न लाग्यो । दिनभरि हेरेको उही समुद्र, दिनभरि डुलेको उही तट बिस्तारबिस्तारैै अर्कैअर्कै रङले नुहाउन लागे । प्रकृतिको बिस्मयकारी परिवर्तन आफ्नै अगाडि प्रकट भएर नयन आवर्तन गरिरहेको छ । यो बदलिदै गरेको रङलाई के भनुँ? रातो भनुँ कि, स्वर्णिम भनुँ कि? कलेजी भनुँ कि? या गेरु रङ भनुँ ? प्रश्न मनमा खेल्दानखेल्दै आँखा अगाडिको रङले अर्को रङ फेरिसकेको हुन्छ । यता सहरलाई अँध्यारोले घेर्दै गर्दा उता समुद्र झन्झन् पहँेलिदै छ । आगोको भर्भराउँदो गोलो डल्लोलाई आँआँआँ गरेर पानीले बिस्तारै निल्दै गरेको दृश्यलाई निर्मिमेष हेरिरहे यी आँखाले । विष्मित भै रह्यो मन । उभिएर तीन ओटा सागरको संगमनिर, आज सूर्यका किरण र सागरका लहरहरूको मौन समागम पनि हेर्न पाइयो । सूर्यास्तका ती आखिरी दृश्यहरू हेर्दाहेर्दै यसरी डुबिएछ कि रातले कन्याकुमारीलाई ढाकिसकेको ख्यालै भएन । ‘जाऊँ अब थाकियो’, बुनुको क्लान्त स्वरले राम्रैगरि झस्किन पुगेँ म । #खगेन्द्र गिरि ‘कोपिला’
'त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार' शिक्षक मासिकलाई: यस वर्षको ‘त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार’ शिक्षक मासिकलाई प्रदान गरिने भएको छ । काठमाडौं विश्वविद्यालय अन्तर्गतको ‘त्रैलोक्यनाथ उप्रेती शिक्षा विकास केन्द्र’ले एक लाख नगद राशीको पुरस्कार शिक्षक मासिकलाई दिने घोषणा गरेको हो । १३ वर्षदेखि प्रकाशित हुँदै आएको शिक्षक मासिक शिक्षकहरूको मनोबल र दक्षता वृद्धि एवं शिक्षा सम्बन्धी पछिल्ला सीप, प्रविधि र चिन्तनहरूमा शिक्षकहरूको पहुँच बढाई सार्वजनिक विद्यालयको शिक्षण–सिकाइमा योगदानमा केन्द्रित छ । पुरस्कार २०१० सालमा गठित पहिलो शिक्षा आयोगका सदस्य सचिव तथा फ्रान्सका लागि पूर्व नेपाली राजदुत स्वर्गीय त्रैलोक्यनाथ उप्रेतीको नाममा स्थापना गरिएको हो । यो पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिन्छ । #शिक्षक मासिक
मान्छेले रीति बिगार्यो: चलाउ्न श्रृष्टि भनेर देवता बनाऔँ मानिस मान्छेले रीति बिगार्यो जाति बनायो अनेक जन्मिदा खेरि बालक जाति बोकेर आएन जन्मिए पछि के जाति पर्यो ऊ पत्तो पाएन ।। हुर्किदै थियो आमाको काख ममता पाउँदै लोटेर उठ्दै आँगनभरि दौडिन्थ्यो रमाउँदै छिमेकी बाजे आएर त्यहा के कुरा गर्दै थे दुगुर्दै बाबा भनेर छोयो त्यो सानो बाबुले ।। ती बूढा मान्छे रीसले चूर धकेल्दै लोटाये रुन पो लोग्यो आँशु नै झार्यो बाबाले उठाए आमाले झट्ट पिटिन किन बाजेला छोएको कसैले चासो लिएनन् बरै बालक रोएको ।। बाजेको हात कित्लीमा पानी खेतमा लैजान पोखेर पानी बगाए भने चल्दैन यो खान बाबा र आमा हात नै जोडी गल्ती भो भन्दै थे उफ्रिन थाले सुनेनन् बिन्ती सराप कन्दै थे ।। मनमा चल्यो कसरी जात सानो र ठूलो भो मान्छेले छुँदा कसरी पानी भयो र बिटुलो पसिना चल्छ चल्दैन पानी नचल्ने हो किन बसेर सोंचें टोलाएँ मात्र बुझ्न केही सकिनँ ।। देश मा ऐले कानुन लाग्छ छुवाछुत् नगर सजाए जेल हुननी सक्छ भेद्भाव नगर डरले मात्र हुदैन छराँै शिक्षा र सद्भाव भावना बुझी सबैमा गरौ क्षमा र आदर ।। जन्मिदा खेरि के जाति थियौ हामीले भुलेर स्वच्य र सत्य करुणा भए त्यो ठूलो मानिस सदियौँ देखि गडेको धृणा मिलेर उखेलौ विभेद त्यागी जाति को रीति सुन्दर बसालौ ।। #मान्छेले रीति बिगार्यो #युबराज भण्डारी
खुसीका गीत गाऊ: अघि युगदेखि समयका सीमारेखा पार गर्दै आइरहेका हामी मानव आफ्नो धरातल स्वीकार गर्दै छौ इतिहासका पदचाप पछ्याउँदै छौँ .। भूगोलका रेखाहरू कतै आफ्नै बाटोमा अल्मलिरहेका छन् कोरोनाको व्याधीले शक्तिराष्ट्र पनि आक्रान्त छन् । आशाको त्यान्द्रोमा समयको गीत गाइरहेका छन् . मान्छेको जीवन आज झ्यालभित्र सीमित छ हरेक दिन झ्यालबाट संसारका नयाँ आयाम खोज्नुपर्ने भइरहेको मान्छेको जीवन चिन्न समयले सहजै स्वीकार्ने छैन आशातीत उज्ज्यालोको खोजीमा असङ्ख्य जूनकीरीहरू दौडिरहेछन् . अन्धकारको दहमा डुबिरहेको मानवलाई हातको खाँचो छ तर आज मानव आफँै उज्ज्यालोको सुरक्षा गर्न सेकिरहेको छैन आफ्नो सुरक्षाका लागि मास्क र सेनेटाइजर लिएर अर्को मानवसित तर्सिदै छ दिन प्रतिदिन आफ्नो पहिचान गुमाउँदै छ । . त्यसैले,आऊ मानव कलम भएर आऊ सङ्घर्षको गीत गाऊ प्रेमले भक्तिभाव जगाऊ सधैँ झुकेर सलाम गर्ने हातहरूमा मित्रता बढाई वैरभाव हटाऊ मानव तिमी नै संसारको उत्तम प्राणी हौ भविष्यको उज्ज्यालो खोजी गर्न भग्नावशेषबाट भए पनि मनभरि कमलको फूल लिएर आऊ कोरोना त के संसारमा अरू प्रलय आउन सक्छन् तसर्थ आजका पुस्तामा शान्तिको भाव पैmलाऊ बिन्ती छ शान्तिका गीत गाऊ .। #खुसीका गीत गाऊ #बलदेव पन्थी
भारतीय स्टेसनमा नेपाली अनाउन्समेन्ट: होटलभित्र मध्यरातसम्म हामी सुतेनौँ । २ बजेको रेल समात्नु छ । अघिल्लो दिन छुटेको रेल आज छुटाउनु हुन्न, यो मनमा गढेको छ । बर्माबाट मिठाईका केही पोकाहरू बोकेका थियौं । यो आफ्नै खालको बर्मेली मिठाई हो । त्यसलाई मिनलर घुट्क्याएर निल्ने प्रयास गरिरह्यौं । दिउँसोदेखि नै यो उपक्रम चलेको हो । दिनभरि हौरीको महोत्सवमा धर्म सेवक र सेविका संघ म्यान्माद्वारा आयोजन गरिने शिविर प्रशिक्षणमा मिलेका छोटा मीठा अनुभवहरू सीमा र मधूबाट आश्चर्यपूर्वक सुनिरह्यौँ । स्रोता थियौँ, म र सरगम । हरक साल दिइने यस किसिमको प्रशिक्षमा हामी सहभागी हुन नसकेकोमा चुकचुक गरिरह्यौँ । ‘मलाई धर्म सेविका हुने अवसर कहिल्यै मिल्दैन, छक्क पर्छु ।’ सरगम भन्दैथिइन्, ‘मधु धेरै भाग्यमानी, त्यस्तो राम्रो काममा सरिक हुन पाइन् ।’ बीच बीचमा म पनि होमा हो मिलाउँदै सीमा र मधु दिदीहरूका कुरा दिनभरि सुनिरह्यौँ । हामी युवतीहरू होटलबाहिर नगए पनि बस्नेतजी, पान्डेजी र ढकालजीहरू रेलको टिकट लिएर आए । त्यसपछि सुरु भयो आन्तरिक साहित्यिक कार्यक्रम । सबैले आ–आफ्ना लेखहरूको वाचन र साहित्यको चर्चा गर्यौं । खासमा साहित्य कार्यक्रम गर्ने आइडियाचाहिँ भागवत् सरको थियो । हिजो आधारातदेखि मन र पेटमा ठाउँ ओगटेर बसेको पीर पन्छ्याउने माध्यम पनि भयो साहित्यिक कार्यक्रम । साझँ परिसकेको भोकले गाल्दै लग्यो । अघिल्लो दिन दिउँसो बर्मा–भारत सीमाको मन्दिरमा खाएको खानाले धेरैअघि ठाउँ छाडिसकेको थियो । बेला बेलामा मिठाइ र मिनरल वाटर हाम्रो पेटको साथी भइरहेको थियो । ‘केही त खानु पर्छ, भोलि पनि खान सुविधा हुने हो कि हैन ?’, बल्ल मधूदीले खाने कुराको चासो राख्नुभयो । ‘मैले बुझिसकेको छु ।’ पाण्डेजीले भन्नु भयो, ‘यही होटलमा आफ्नो रुचिको खाना पकाउन लगाए हुन्छ रे नि, कसो गर्ने ?’ हामीले हुन्छ भन्दा नभन्दै भीमजी खाना अर्डर गर्न तल झर्नुभयो । त्यसको एक घन्टापछि हामीले जसरी खाना खायौँ, त्यसको स्वाद अहिले पनि सम्झन्छु । भोक मीठो कि भोजन भनेर त्यसै भनिएको होइन रहेछ । खासमा त्यो खानासँगै भागवत् सरको घरबाट प्रेमले सबैका लागि पठाइदिनु भएको पिरो नहालेको अचारले खानाको परिमाण र स्वाद दुबै थपेको थियो । थपीथपी खानुको कारण भगवात् सरको जोकले पनि काम गरेको थियो । “यो कराई त लैजान पर्छ होला, मेरो छोरोलाई लिटो पकाउने मिल्ने रै’छ ।’, भर्खरै पिताजी हुनु भएका भागवत् सरले कराईको बाहानामा घर सम्झनुभयो । तर उहाँको भन्ने शैली साँच्चै नै अनौठो हुने गर्छ । यही कारण हामी मज्जाले हाँस्यौँ । खाना खाने टेबलमै हाम्रो लामो समय बित्यो । खासमा यो मध्यरातसम्ममा आफूलाई जगाउने बहाना थियो । भीमजीको योजनाबमोजिम रातको १२ तिर रेल्वे स्टेसन जान होटलबाट बाहिर निस्कियौँ । लामो यात्रामा निस्किएका हामी, त्यसमाथि युवतीहरूसहितको झुण्ड, लगेजहरू प्रसस्त थिए । यो मध्यरातमा कुल्ली पाउन गाह«ो थियो । यो कुरा भीमजीले बिहानै विचार गरेर स्टेसननजिकै होटल बुक गर्नुभएको रहेछ । बडो गाह«ो भए पनि हामी जसोतसो स्टेसन पुग्यौँ । करिब १ घण्टको पर्खाइपछि रेल भरिन थाल्यो । हामीलाई लागेको थियो, रेल ढिला पनि हुनसक्छ । भारतको रेल समयमा हिँड्दैन भन्ने सुनेकाले पनि त्यस्तो लागेको हुनसक्छ । तर ठिक दुई बजे हामीलाई बोकेर रेल हिँड्यो । रेल हिँड्न थाल्दा हामी मस्त निदाएछौँ । आँखा उघार्दा रेल आसामको कुनै जग्गामा हिँड्दै थियो । केही घन्टामै हामीले भारतको नागाल्याण्डलाई पिछे छाडिसके छौँ । आँखा मिच्दै गर्दा दायाँ–बायाँ हरिया खेत मैदान, नदी, गाईका गोठ, मन्दिर र बर्माको आफ्नै गाउँ सम्झना गराउने घरहरूले यात्रालाई आकर्षित गर्दै लग्यो । सिम नभएपछि कुराकानी बन्द थियो । पूर्णरुपमा हामी आफैँमा हराएका थियौँ । भीमजीसँग सीमकार्ड भएकाले उहाँ थोरै थोरै फारो गरेर नेपाल र म्यान्माको खबर पाइरहेका थियौँ । ‘यो वर्ष शंखाईमा मेला लागेन छ । कोरोनाले गर्दा कडाइ भयो रे ।’, निकैबेर मोबाइल चलाएपछि पाण्डेजीले भन्नुभयो, ‘अचम्म भयो ।’ यो हाम्रा लागि यो साच्चै नै अनौठो खबर थियो । कोरोना के हो भन्ने बारे खासै हामी जानकार थिएनौँ । रेलको भीडमा यात्रा गर्दैथियौँ । उता आफ्नो देशको सरकारले कोरोनाविरूद्ध विभिन्न काम गरिरहेको थियो । उसो त हामी आउँदा नै इमिग्रेसनमा तापक्रमको चेकअप र माक्स लाउने आदेश आइसकेको थियो । यसबाट हामीलाई कोरोनाको गम्भीरता केही महसुस नभएको होइन । फेरि शंखाईमा लाग्ने मेला रोकिने कुराले यसको थप गम्भीरता महसुस भयो । बर्मामा ब्रिटिस् राज चलेकै समयबाट स्थापना गरिएको सानो मन्दिर अहिले शिवधाम बनेको छ । यो नेपाली मात्रको नभएर बर्मेली र भायतीयहरूको पनि आस्थाको पुञ्जको हो । मान्डलेबाट लाश्यो आउजाउ गर्ने रेलले यस धाम नजिकै पुगेर हर्न नबजाए रेल आफैँ रोकिन्छ भन्ने विश्वास छ । यसलाई अन्धविश्वास नै भनिए पनि हेरक रेलले यो मन्दिर पुग्नुअघि चर्को हर्न बजाएर शिवजीलाई नमस्कार गर्छ । हिन्दु यात्रुहरू पनि नमस्कार गर्छन् । यही रेलको बाटो बनाउने क्रममा शिवजी प्रकट भएका हुनाले बर्मेलीहरूले पनि आस्था राख्छन् । हरेक साल बर्माका पदाधिकारी, कलाकारहरू निम्त्याएर उद्घाटन गरिने यस भव्य मेलामा केही वर्ष यता नेपालबाट पनि कलाकारहरूको स्वागतले मेला अझै भव्यता बढेको थियो । यसपाली भने कुनै पनि तामझाम भएन छ । मैले सानैदेखि चिनियाँहरूको बारेमा सुनेको छु । अलि ठूलो भएपछि पत्थर बेच्न म चीनको सीमाभन्दा ५० किलोमिटरभित्र पुगेको छु । चाइनिजहरूले हामीले कहिले नदेखेका किरा कांचै चपाउंछन् । यही कारणले कोरोना फैलिएको विश्वास हामीलाई थियो । तर यो सामान्य फ्लु चाँडै निको होला भन्ने लागेको थियो । तर सरकार किन डरायो भन्ने पनि लाग्यो । एकैछिनमा हामीले कोरोनाको कुरा बिर्सियौँ । किनभने रेलमा हाम्रो छेउको डिब्बाका भारतीयहरू हाम्रा साथी बनिसकेका थिए । खासमा बेला बेलामा हामी बर्मेली, हिन्दी र नेपाली गीत गाउँथ्यौ । अरु गीत नबुझे पनि हामीले गाएको हिन्दी गीतले भने उनहिरूलाई आकर्षित गरेको रहेछ । कुरै कुरामा हाम्रो टिम बन्यो र सुरु भयो अन्ताक्षरी खेल । अन्ताक्षरीपछि कथावाचन र कविता वाचन । फेरि हँस्यौली–ठठ्यौली । अन्त्यमा थाकेपछि पुनः रेलबाहिरको दृश्य । यसरी घन्टौँ घन्टा हामी यात्रा गरिरह्यौ । हाम्रो यात्रामा सबैभन्दा चुप कोही बस्न सक्छ भने ती राज ढकाल हुन् । यति लामो यात्रामा कहिलेकाहीँ उनी पनि सहयात्री छन् भन्ने कुरा थाहा नहुने । अहिलेसम्म चुपचाप बसेका राजनले अचानक भने, ‘मेरा बुवाआमाले म नेपाल जान्छु भन्दा पत्याउनु नै भएन ।’, सबै चुपचाप भएको कुरा सुनेर उनले भने, ‘पछि त टीका लगाएर आर्शिवाद दिएर पठाउनु भयो ।’ राजनजीको यो कुरा हाम्रो जस्तै थियो । हामीले कयौँपटक यो भनिसकेका थियौँ । तर यही कुरा भन्न उनलाई पूरापूर दुई दिन लागेको थियो । हामीले उनको अल्पभाषी शैली र नेपालप्रतिको भावनालाई सम्मान ग¥यौँ । किनभने यति दिनपछि उनले आफ्नो व्यक्तिगत कुरा गरेको यो पहिलो थियो । सायद हामी कुनबेला चुप लाग्छौँ र बोल्छु भनेर उनी दुई दिनदेखि पर्खेर बसेका थिए । रेल हिँडेको १२ घन्टापछि हामी सिलिगुरी रेल स्टेसनमा पुर्यायो । राजधानी एस्प्रेस भारतको राम्रो रेलमध्ये पर्छ भन्थे, हो रहेछ । भनेको समयमैँ त्यसले हामीलाई जलपाइगुडी भनिने रेल स्टेसनमा ल्यायो । बाहिर निस्कनेबित्तिकै रेलको माइकबाट नेपाली बोलेको सुनेँ । रेलसम्बन्धी सम्पूर्ण सूचना यहाँ अन्य भाषाका अतिरिक्त नेपालीमा पनि दिइने रहेछ । मलाई अचम्म लाग्यो, किनभने भारतमा सार्वजनिक ठाउँबाट यसरी नेपालीमा अनाउन्स गर्छ भन्ने थाहा थिएन । नेपाली भाषी भएको नाताले यसले मलाई खुसी दियो । बर्मामा यसरी सार्वजनिक ठाउँमा नेपालीमा अनाउन्समेन्ट कल्पना मात्र हो । ‘नेपालको बोर्डर आएको हो ।’, मैले भीमजीलाई रेलबाट नेपाली भाषामा बोलेको सुनेपछि सोधेँ । खासमा मलाई त्यो भाषा नेपालको प्रभाव हो कि भन्ने लाग्यो । ‘होइन, गाडीमा झण्डै एक घन्टाजति लाग्छ ।’ भीमजीले भन्नुभयो, ‘भारत भए पनि यहाँ नेपालीहरूको राज छ, भारतीय नेपालीहरूको । त्यही भएर ।’ हामी ट्याक्सी चढ्यौँ । भीडभाड, गाडीको बाक्लो आवतजावतका बीचमा कतै पनि नेपाली टोपी लगाएको मान्छे देखिनँ । नेपालीको राज किन भनेको होला ? मनमा कुरा खेलिरह्यो । पछि बुझेँ, हामी वेस्ट बंगालको दक्षिणी क्षेत्र हुँदै नेपाल प्रवेश गर्दै रहेछौँ । जहाँ बंगालीहरूको बसोबास रहेछ । नेपाली बस्ती सिलुगुडी र त्यसमाथिको पहाडमा रहेछ । गाडीले पानीटंकी भन्ने ठाउँमा पु¥यायो । जहाँबाट नेपाल प्रवेश गर्ने मेची पुल रहेछ । भारततिर मेची पुलेको छेऊमा इमिग्रेसन अफिसमा हामीले आफ्नो पासपोर्ट र भिसा देखाएर कागजी प्रक्रिया पूरा ग¥यौँ । ‘उ त्यो हो नेपाल ।’, भीमजीले मेचीपारि देखिएको बाक्लो बस्तीतिर देखाउँदै भन्नुभयो । हामीले लामो श्वास तानेर काँकडभिट्टातिर हे¥यौँ । #रिता लामाकार्की
'फोटो कविता प्रतियोगिता– ६' को नतिजा प्रकाशित: साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो–कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरूमध्येबाट सर्वोत्कृष्ट तीन कविता चयन गरेको हो । प्रतियोगिताको रीत पुर्याई १९ वटा कविता प्राप्त भएका थिए भने नियमविपरीत १५ वटा थप सिर्जनाहरू प्राप्त भएका थिए । नियम विपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले जनाएको छ । कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरी सबैलाइ सर्वोत्कृष्टका रूपमा छनोट गरिएको छ । सबै उत्कृष्ट भएकाले यसो गरिएको निर्णायक मण्डलको भनाइ छ । यो साता प्रवासी सुमनको ‘देश सम्झेर’, निशान पराजुलीको ‘पसिना बिक्ने बजार’ तथा विभुती पोखरेलको ‘परदेश’ सर्वोत्कृष्ट चयन भएका हुन् । छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ । अर्काे फोटो–कविता प्रतियोगिता भोलिदेखि शुरू हुनेछ । यस्ता छन् पुरस्कृत कविताहरूः #फोटो कविता
पोछा: जुग पुरानो चलनचल्तीको बाल्टिन फुटे पनि फालिएको छैन । यो पुरानो बाल्टिन भरिएको छ पोछाको पसिनाले पोछाको आँसुले । यही बाल्टिनभित्र चोबिन्छ पोछा निचोरिन्छ उसको जेलिएको लट्टा र निल्न लगाइन्छ संसारभरको दाग मैलो । भविष्यझँै अँध्यारा घरका कुना कुनामा घस्रिदाघस्रिदै गलिसक्यो उनको फलामको ढाड र सुन्नुपर्छ –“चाडै बुढी भएछौ ।” दागै दागको भुइँमाथि गर्दै ओहोर दोहोर परिसक्यो अनुहारमै पोते र सुन्नुपर्छ –“कति गर्छौ मेकअप ?” म व्याकरण नहेरिकनै भन्न सक्छु ’पोछा’ स्त्रीलिङ्ग शब्द हो । #अमिष शर्मा ’विशद’ #पोछा
किशनको गजल: बाटो लामो छ सफरको लागि हिँड्नु नै पर्छ अवसरको लागि ।। रंगिन छ दुनियाँ कसैको लागि कसैले हेर्छन यो नजरको लागि ।। बोल्दैनन् ईश्वरहरू मन्दिरभित्र पोखेकोछु पीडा पत्थरको लागि ।। घायल भएर छट्पटी रहेछ ऊ दुख्नुपर्छ मुटु असरको लागि ।। जिन्दगीसग हारेर मौन छु अचेल समयले पर्खेको छ प्रहरको लागि ।। #किशन पौडेल #किशनको गजल
पुस्तक चर्चा: फरक फरक स्वादका कथा: नेपाली साहित्यको इतिहासमा लघुकथाको आफ्नै महत्व छ । थोरै शब्दमा धेरै कुरा भन्न सकिने विधा लघुकथा हो । लघुकथाकारको भीडमा उभिएका छन् गणेश श्रमण । उनले ‘गुलियो काठमाडौँ’ शीर्षकको पहिलो लघुकथासङ्ग्रह निकालेका छन् । यसलाई शिखा बुक्सले बजारमा ल्याएको हो । यसमा सन्ताऊन्न वटा कथाहरु समेटिएका छन् । लेखकको बौद्धिक क्षमता यो कृतिमा प्रतिबिम्बित भएको छ । बालिका थपलिया श्रमण मूलतः कवि हून् । उनी निबन्ध पनि लेख्छन् । उनले २०६६ सालमा ‘शब्दक्रान्ति’ शीर्षकको कवितासङ्ग्रह प्रकाशित गरेका थिए । समसामयिक विषयले पुस्तकलाई गुलियो बनाएका छन् । समाजका विभिन्न किसिमका पात्रले उनका कथालाई पूर्णता प्रदान गरेका छन् । कथाका प्रसङ्गहरु रसिला छन् र विविधताले भरिपूर्ण छन् । ‘गुलियो काठमाडौँ’ शीर्षकको कथाले काठमाडौँको विशेषताको बारेमा बयान गरेको छ । वुबाले छोराछोरीलाई काठमाडौबाट फर्किदा गुदपाक कोशेली ल्याउदा केटाकेटीले काठमाडौँलाई गुलियो रहेछ भन्ने सोच्छन् । तातो कपडा ल्याउदा न्यानो रहेछ भन्ने सोच्छन् । तर तेस्रो पटक छोराछोरीलाई झुक्याएर जाँदा उनी त्रिशुलीमा बस दुर्घटनामा पर्छन र कहिल्यै फर्किन पाउदैनन् । रमाइलोसँग शुरु भएको कथाको वियोगान्त अन्त्य भएको छ । गुलियो स्वाद तितोमा परिणत हुन्छ । काठमाडौँ एउटा स्थान विशेष वा राजधानीको नाम मात्र होइन् यो हामीलाई वर्षौदेखि शासन गरिरहने सत्ता र प्रवृत्तिको प्रतीक पनि हो । यसभित्रका कथाहरुमा यी र यस्तै प्रवृत्तिप्रति व्यड्ग्य विद्रोह र समकालिन चेत पाइन्छ । कथाभित्र आफ्नै वरिपरि गाउँ शहरमा घटेका घटना, वातावरण र तिनमा देखिने मानविय प्रवृत्तिमा कलात्मक विद्रोहको स्वर पाइन्छ । हामीले बाँचेको युगको समयबोध पाइन्छ । यो कृतिलाई समाजशास्त्रिय दृष्टिकोणले पनि हेर्न सकिन्छ । यो किताबभित्रको ‘रावण’ शिर्षकको कथाले समाजमा सकरात्मक र नकरात्मक दुवै प्रवृत्तिका पात्रको भुमिकालाई छर्लङ्ग बनाएको छ । सबै कथाले कुनै न कुनै सन्देश बोकेका छन् । आत्मिक प्रेमको महत्वलाई दर्शाइएको छ ‘तुलसीको मठ’ शिर्षकको कथामा । ‘आमा’ शिर्षकको कथाले आमाको स्नेहको व्याख्या गरेको छ । दुई महिलाले एउटी बच्चीलाई आफ्नी छोरी भनेर तानातान गरेपछि निर्णायकले बच्चीलाई आधा आधा पारेर बा“ड्ने आदेश दिँदा एक महिला मौन रहन्छिन् र अर्की महिलाले बच्चीलाई त्यसो नगरी प्रतिवादी महिलालाई दिन आग्रह गर्छिन् र निर्णायकले उनी खास आमा भएको पत्ता लगाएर उनको हातमा बच्ची राखिदिन्छन् । आफ्नो सन्तानलाई दुखेको हेर्न नसक्ने आदर्श आमाको उदाहरण हो यो कथा । गणेशका छोटामिठा कथाले कुनै न कुनै सन्देश बोकेका छन् । यो किताबभित्रका पात्रहरुको अध्ययन गर्दा हाम्रै समाजका मान्छेहरुको झझल्को आउ“छ । राजनीतिक पक्षदेखि लिएर आर्थिक, सामाजिक र सांस्कृतिक पक्षको याद आउँछ । ‘मुख’ शिर्षकको कथाले राजनीतिप्रति व्यङग्य गरेको छ । ‘जति खाए पनि नअघाउने सडकको मुख पत्ता लगाउन म एकदिन सडक पछयाउदै हिँडे। अग्लो पर्खालले घेरिएको दरबारजत्रो भव्य महलमा पुगेर सडक रोकियो । मैले पर्खालको मुखबाट भित्र चियाएर सडकको वास्तबिक मुख हेरेँ र देखेँ मुखभित्र दुवै पक्षका अर्थात माथिल्ला र तल्ला दाँतहरु मिलेर सडकका ती पोखिएका आहारालाई चपाउँदै थिए । ‘घोषणापत्र’ कथाले मातृभाषा सबैले बुझ्न कठिन हुने भएकोले नेपाली भाषा नै सबैको लागि मान्य रहने यथार्थलाई खुलाउछ । उनले यसमा नेपाली हुनु र नेपाली भाषा बोल्नुको गौरवलाई दर्शाएका छन् । यो कृतिले गणेशलाई कुशल लघुकथाकारको रुपमा चिनाएको छ । लेखनशैलीमा मिठास छ । सामाजिक कुरितिप्रति व्यङ्ग्य र कटाक्ष प्रहार गरिएको छ । कथाहरुलाई प्रतीकात्मक ढाँचामा लेखिएको हुनाले बुझ्नको लागि एकछिन् सोच्नुपर्ने हुन्छ । समग्रमा ‘गुलियो काठमाडौँ’ कृति पठनीय छ । #बालिका थपलिया
प्रेमिल रङको हरित जवाफ: प्रेममा हुनुहुन्छ हो ? छु पनि, छैन पनि । (छैन भनुँ हजुर फेरि प्रश्न थप्नुहुन्छ । छ भनुँ फेरि मैले प्रेम गर्नै नहुने हो या गरेर ठुलै गल्ती गरेँ जसरी प्रवचन ओकल्नु हुन्छ ।) बिनु भट्टराई घर अगाडिको बाटो पिच हुँदै थियो । आमाले कामदारलाई घरि चिया, घरि सर्वत सोधी सोधी पिलाइरहनुहुन्थ्यो । आफ्नै छोराछोरी जस्तै मानेर हो न त उनीहरुको पसिना देखेर पुण्य कमाउन अवसर पाउनु भो या अब हिलोमा चप्पल पड्काउदै, हिलो छ्याप्दै हिँड्नु परेन भन्ने खुशीले हो, पत्तो पाइनँ । काम सकेर जाने बेलामा अलकत्रवाला टिनको ड्रम दिएर गएछन् । पिंधमा अलिकति अलकत्र बचेको पनि थियो, के गर्ने रहेछ कुनि ? पहाडमा भए त पिँढी लिपे बल्लियो हुँदो हो । “आइज स्यानी गेटभित्र लगेर राखौँ, फर्सी रोपुँला माटो भरेर”, भन्दै आधुनिक आँगनतिर घिसार्नु भयो, साथ दिएँ । रहस्य बुझिनँ । खेती नै गर्नुथ्यो भने बाबुबाजेकै पालाको आँखाले देखेर भित्ताले नापेर नसक्ने जमीन पहाडमा बाँझै छोडेर सहरीया बन्नु किन परेको हो ! खाइरहेको बानी दुहुँनो लाग्छ भन्ने चलन, पर बस्तीमा पुगेर बाले दुई लिटर दूधको जोहो गर्नु भएछ । बस्तीमा छिरेपछि पानी नै मिसाए पनि डेरीको भन्दा कसो राम्रो नहोला, र मर्निङवाकको बहाना पनि । बाले करीब आधा घण्टा हिँडेर दूध ओसार्न थाल्नु भो । आफैँले गाई पालेर आगोमा घोटिई घोटिई दूध तताएर खाने बानी लागेकी आमाले भात मुछेको पहिलो गाँस मै भन्नुभो, “हैन बूढामाउ ! दूधमा त दूधभन्दा पानी बढी रच, दूधले भात समातेन ।” या त किनेको भनेर आमाले शंका गर्नु भो या साँच्चिकै हो, थाहा भएन । आफूलाई छ र आठ कप दूध चिया सन्काउन पाए भो, खासै दूध परिक्षण प्रक्रिया आवश्यक लागेन । “दूधालु गाईको दुध पातलो हुन्छ, बिस्तारै बानी पर्छ“, भन्दै बाले तर्क पेस गर्नुभो । यो पनि साँचो हो या बिकल्प नभएपछि अवस्था स्वीकार्न लगाउनुभो, थाहा भएन । घुटुक्क निल्छ सुटुक्क भाग्छ, पत्तै पाइदैन । जब चिया पकाउन पुग्यो, डेक्ची रित्तो । बिरालोले पनि हक जमायो । त्यो पनि चोरेर हैरान पार्यो । भेटे मारदिन्थेँ भन्यो, चारकोष पर पुग्छ मलाई देखेपछि । सायद थाहा छ उसलाई, मेरो चियाप्रतिको लगाव र उसको दूधप्रति उस्तै हो भन्नेकुरा । उसको र मेरो दुश्मनी सौता बराबर भयो। कसो कसो एकदिन भेटेँ पनि दूध खाइरहेकै बेलामा, ढोका थुनेँ भाग्न नमिल्ने गरी । पिट्छु आज, नमारी छोड्दिनँ चियाको दुश्मन, भन्दै लाठी के समातेकी थिएँ आमा टुपुक्क आइपुग्नुभो, “बिरालो पिट्नु हुँदैन, हात काम्छपछि । ढोका थुनेर पिट्दा उस्तैपरे आँखा झिक्न बेर लगाउँदैन ।” म रोकिएँ । तैपनि रिसको वेगमा पुराण कहाँ सुन्नु ! क्रमशः बाले रोक्नु भो, भाइ टप्क्यो, उसलाई झन् बिरालो बाघको जेरोक्स लाग्छ भगाइदियो, “मलाई पिट बरु बिल्लुलाई केही नगर ।“ दूधले ढाडिएपछि ऊ दिनभर सानले सुत्छ, त्यो दिन बचेपछि लुक्न त्यही अलकत्रको ड्रममा छिरेछ । बाघ र बिल्लुको सान थाहै होला सबैलाई, अघाएपछिको अवस्था । लमतन्न परेर सुत्यो, सपना देखे पनि होला भोलि कसरी चोर्ने भनेर । घाम छिपिदै गएपछि अलकत्र पग्लिन शुरु भयो, उसको आफ्नै शरीरको तातोले पनि सूर्यमा सुगन्ध जोडे होला । अलकत्रमा आधा शरीर डुब्यो । सपना लामो देखेको हुनुपर्छ, साँझ झरी परेपछि बिउँझियो । सारा दुश्मनी बिर्सेर गुहार माग्यो, सबै जम्मा भएर उद्दार कार्यमा लागियो । कसैको जुक्तिले सफल भएन । केरोसिन तेलले शरीरका रौं खुइलिसकेर छालामा कति पोलेको होला ? अनुहार विलाप, इनोसेन्ट आँखा, आँसु झारिरहेछ, भोग्नेलाई भन्दा देख्नेलाई पीडा । कुनै उपाय नलागेपछि हेर्नुभन्दा माया मारेऊँं सबैले । भोलि घाम लागेर पग्लिने बेलासम्म ऊ बाच्दैनँ । सबैले छोडेर हिँडेपछि उसको क्रन्दन झन चर्कियो । घरको जुन कुनामा कान थुनेर बसे पनि सुनिन्छ । रात बितिसक्दा लामो संघर्ष पश्चात् शान्त छ ऊ……। परिवारभित्र उसले कति बलियो सम्बन्ध बनाएको रहेछ । उसमा चोर्ने कला थियो, बाँच्ने स्टाइल थियो, बाघको भान्जो मानिन्थ्यो, बिल्लु, मौसी, सहयोगी दुश्मन सबै उसका उपमा थिए । दार्शनिक पारामा आमा भन्नुहुन्छ, “बैगुनी ! मर्न पनि कति संघर्ष गर्नपरो, रातभर सुत्न सकिनँ । झन् उल्लाई कति गारो भयो होला ?“ उसको दुर्दशाबाट चहराइरहेकी म सोचिरहेछु, त्यो दिन मलाई नरोकेको भए मार्न सक्थेँ कि सक्थिनँ थिएँ होला या कुटिसकेपछि आफैँ रुन्थे होला ? तर अहिले रुन पनि सकेको छैन, खुशी हुन पनि सके छैन। जीवन आदत हो या प्रेम ! तपाईंको प्रेममाथिको प्रश्नको जवाफ छैन मसँग । यौन वा सन्तान उत्पादन प्रक्रिया जीवन र समाजको संरचना अन्तर्गतका अभिन्न पाटा होलान्, तर कसैले सोधिरहने प्रश्नको उत्तर हुनै सक्दैन । हामीले बाँचेको दैनिकीभित्र ससाना भईकन अथाह, अद्भुत, जिवन्त लाग्ने कुनै अपेक्षा र स्वार्थरहित प्रेम छचल्किरहेको छ । कति महशुस गर्न सकियो, त्यो पनि जीवन जिउने कला अन्तर्गत छ । त्योमाथि गरिने प्रश्नको जवाफले कस्तो व्यक्ति सन्तुष्ट रहन सक्ला, जो आजीवन आफ्नै वरपर यस्तै प्रेमका कलिला मुना अनुभूत गर्न सकेन, सुम्सुम्याउन जानेन्, मुस्कुराउन सिकेनन् …….. ! झन् जटिल प्रश्न त यहाँ पो खडा भइरहेछ स्वयं प्रश्नकर्तासँग……..? #बिनु भट्टराई
‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध प्रतियोगिताका विजेताहरूको घोषणा: जारी लकडाउनमा घरभित्रै बसिरहेका बेला आफ्नो गाउँको विषयमा निबन्ध लेख्न प्रोत्साहित गर्ने उद्देश्यले ‘पर्यटन प्रवद्र्धन मञ्च, नेपाल’ले आयोजना गरेको ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगिताका विजेताहरूको घोषणा गरिएको छ । मञ्चका संयोजक लीलाराम खड्काका अनुसार देशभरबाट प्राप्त ६७ वटा निबन्धबाट विज्ञ टोलीले उत्कृष्ट निबन्धहरू छनौट गरेको हो । प्रतियोगितामा गीता पौडेलको ‘सुपा देउराली’, रोशनी गुरुङको ‘याङ्जाकोट’ र बालिका थपलियाको ‘देउमाई’ शीर्षकका निबन्ध उत्कृष्ट घोषित भएका छन् । देउमाई इलामको गन्तव्य हो भने सुपादेउराली अर्घाखाँचीको । त्यसैगरि याङ्जाकोट कास्कीका गाउँ हो । विजेताहरूलाई जनही ७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ । उनीहरूलाई वित्तिय संस्थामार्फत् तुरुन्तै पुरस्कार रकम पठाइनेछ भने लकडाउन खुलेपछि प्रमाणपत्र प्रदान गरिने मञ्चले जनाएको छ। मञ्चले जेठ ३२ गतेभित्र गाउँघरको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक र सामाजिक पक्ष समेटेर १ हजार शब्दसम्मको निबन्ध इमेलमार्फत् पठाउन आव्हान गरेको थियो । ‘प्रतियोगिताबाट मञ्च हौसिएको छ । हाम्रो हिमाल, पहाड र तराई सबैतिर पर्यटकीय संभावना भएका थुप्रै ठाउँ छन् । त्यसैले ओझेलमा परेका गन्तव्यहरूलाई चर्चामा ल्याउन हामीले प्रतियोगिता गरेका हौं’, मञ्चका संयोजक खड्का भन्छन्, ‘आगामी दिनमा पनि हामी यस्तै कार्यक्रम गर्दै जानेछौं ।’ मञ्च युवा पर्यटनकर्मीहरूको संस्था हो । यसले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न लकडाउनपछि ‘जाऔं है दोलखा’ अभियान सुरु गर्ने जनाएको छ । #राम्रो गाउँ #हाम्रो गाउँ
मानव चरित्र खङ्गाल्ने पुस्तक: रूटगर बर्गम्यान एक दिन यस्तो भयोः म निकै सानो छँदाको कुरा हो। म मावलामा थिएँ। मेरो मामा अलि बदमास हुनुहुन्थ्यो। उहाँका बाल्यकालीन बदमासीबाट घरका हरकोही आजित थिए। उहाँले मलाई कुनै बदमासीका लागि उक्साउनु भयो। मैले पनि उहाँको उक्साहटमा केही बदमासी गरेँ। त्यसपछि मलाई मामाले भन्नुभयो, ‘तिमीले बदमासी गर्यौ, अब भागौँ। तिमीलाई म बचाउँछु।’ त्यसपछि हामी दिनभरि कताकता खेल्यौँ, डुल्यौँ। मध्य दिउँसो नाति केटो भोकायो भनेर हजुरआमा खोज्दै आउनुभयो, सोध्नुभयो, ‘किन हराएको? कहाँ गयौ?’ मामालाई थाहा थियो, यही प्रश्न सोधिनेछ। उहाँले पहिल्यै सिकाउनु भएको थियो, उत्तर के दिने! मैले भनेँ, ‘हजुरबाले मलाई हप्काउनु भयो। अनि रिसाएर भागेको। म अब यो घरमा कहिल्यै आउँदिनँ।’ मेरो जवाफ सुनेर हजुरआमा अवाक् हुनुभयो। उहाँले फकाउँदै घर लैजानुभयो र हजुरबालाई भन्नुभयो, ‘यस्तो भगवान् जस्तो नातिलाई तपाईंले किन गाली गर्नुभएको?’ उहाँले गाली नै गर्नुभएको थिएन त, के जवाफ दिनु? ‘मैले गाली नै गरेको छैन, नभए सोध न,’ हजुरबाले सामान्य हुँदै भन्नुभयो, ‘सोध न।’ मैले जीवनमा कहिल्यै नबोलेको झूट हजुरबा–हजुरआमाकै मुखेञ्जी बोलेँ, ‘तपाईंले गाली गर्नुभयो र म भागेको।’ गर्दै नगरेको कामको आक्षेप, त्यो पनि नातिबाट आउँदा हजुरबा पनि अवाक् हुनुभयो। मामा गायब नै हुनुहुन्थ्यो। उहाँलाई थाहा थियो, यसपछि घरमा के रडाको मच्चिन्छ र बुबाको सायद झटारै पो खाइएला कि? यो उमेरमा जब म यो एउटा ठूलो घटना सम्झन्छु, मावन चरित्रप्रति घोत्लिन्छु। के मान्छे जन्मदै झूट बोल्ने, दुष्ट चरित्रको र अरुलाई दुःख दिने किसिमको हुन्छ कि बनाइन्छ? अर्को एउटा बाल्यकालीन घटना पनि मलाई याद आउँछ। हाम्रो टोलमा कसैको केही हरायो। हाम्रा नजिकका नातेदार त्यसबेला हाम्रो घरमा पाहुना आएका थिए। उनको खुबी थियो, हामी बच्चाहरुले खेल्ने गुच्छा आँखाको नजिक ल्याउनुहुन्थ्यो र हराएको चिज कहाँ छ भनी सोध्नुहुन्थ्यो। बच्चाहरुले करिब–करिब ठीक जवाफ दिन्थे र हराएको माल फिर्ता हुन्थ्यो। उहाँले मलाई सोही किसिमको गुच्छा देखाउँदै सोध्नुभयो, ‘कसैको सामान हराएको छ, त्यो सामान यो गुच्छाभित्र कहाँ राखिएको छ भन्ने देखिन्छ। कहिलेकाहीँ त मान्छे नै पनि देखिन्छ। लु, अब हेरेर सत्यसत्य बताऊ, हराएको सामान कहाँ गाढेको छ?’ ‘जंगलमा,’ मैले गुच्छाभित्र अनौठा अनौठा चित्र देखिरहेको थिएँ र जवाफ दिएँ। ‘त्यो जंगल कहाँ छ? कताबाट जानुपर्छ?’ उहाँले सोध्नुभयो। ‘थाहा छैन,’ मैले भनेँ। करिब १५ मिनेट प्रश्न र जवाफको सिलसिला चलिरह्यो तर हराएको सामानको टुङ्गो लागेन। अन्तिममा उहाँले भन्नुभयो, ‘यो बाबु छिप्पिइसकेको रहेछ। यसले भन्न सक्तैन।’ त्यसपछि अरु नै कोही मेरो ठाउँमा बस्यो। आखिर उसले पनि सहीसही बताउन सकेन। हराएको सामान सायदै भेटियो होला। मैले बाल्यकालीन यी दुई घटना किन स्मरण गरेको भने त्यो बेला बालबालिकालाई भगवानको अवतार भनिन्थ्यो। उस्तै हो भने मैले मावलामा कुटाई नै खाने बदमासी गरेको थिएँ तर मलाई मावलामा भगवान मानिन्थ्यो, त्यही भएर छूट पाएँ। मैले दोस्रो घटनामा गुच्चाभित्र हेर्ने अवसर किन पाएको थिएँ भने म भगवानजस्तै निश्चल मानिन्थेँ, गुच्छाभित्र देखिएका दृश्यमा कुनै जोडघटाउ गर्दिनँ र जे जे देखेँ, त्यही बताउँछु भन्ने विश्वासमा त्यो अवसर पाएको थिएँ। यस्तो थियो हाम्रो सामाजिक मान्यता र विश्वास, जहाँ मान्छे जन्मदै सरल र निश्छल, निष्कपट हुन्छ। उता क्रिस्चियानिटीमा भने मान्छे जन्मदै पापी हुन्छ भन्ने मान्यता छ। डेनमार्कका लेखक रुटगर बर्गम्यान उनको नयाँ पुस्तक ‘ह्युमन काइन्डः अ होपफुल हिस्ट्री’ इतिहासदेखि विज्ञानसम्मका अनेकन उदाहरण र फुँदाहरु जोडेर मानव जातिका अनेक पक्ष खङ्गाल्ने प्रयास गरेका छन्। यो किताब कति पठनीय छ भन्ने कुरा स्वयं अर्का प्रख्यात लेखक युवल नोह हरारीले गरेको टिप्पणीबाट प्रस्ट हुन्छ। उनले भनेका छन्– ‘ह्युमन काइन्ड’ पुस्तकले मलाई मानव जातिको नयाँ पहलुबारे बुझाएँदै नयाँ दृष्टिकोणबाट हेर्न चुनौती थपिदिएको छ। लेखक बर्गम्यानले पुस्तक के हो भन्ने कुरा कुरा एन्टोन चेखबको एउटा चर्चित भनाइबाट प्रस्ट्याएका छन्– ‘व्यक्ति अझ राम्रो हुँदै जान्छ, जब तिमीले उसलाई ऊ कस्तो थियो भन्ने देखाउँदै जान्छौ।’ अर्थात् मानिसले आफ्नो प्रकृति र स्वः बिर्सिएको छ (बिर्सिरहन्छ) र अनेकन् नियम–कानुन, जात्रा–पर्वले बाँधेर उसलाई सम्झाइरहनुपर्छ कि ऊ कस्तो छ र कस्तो हुनुपर्छ। यही मूल सोचमा आधारित रहेर लेखक बर्गम्यानले यति विस्तृत उदाहरण पेश गरेका छन् कि पाठक हरेक अध्यायपछि अर्को अध्याय हाम्फाल्दै जान्छ। उच्च जातकी दुलही भित्र्याउँछु भनेर कस्सिएर गएका नवराज विक र उनका साथीहरुको हत्या हुनु, क्वारेन्टिनमा बसेका मानिस जीवन जल नपाई मर्नुजस्ता घटनाले हामीलाई हाम्रो क्रुरताका बारेमा उदाङ्ग पारिदिन्छ। यस्ता घटनाले हाम्रो समाजको चरित्र बुझाउँछ। त्यस्तै कोरोनाको संत्रासका बाबजुद पनि मानिसहरु बेफिक्री भएर हिँडिरहेको देखिन्छ। आखिर किन त्यस्तो हुन्छ? विभिन्न प्रयोगबाट मानिसको चरित्र औँल्याउँदा लेखकले कहिल्यै पनि त्यसलाई झिँजोलाग्दो बनाएका छैनन्। बरु सबै घटनालाई लेखक बर्गम्यानले सैद्धान्तिकीकरण गरिदिएका छन्, जसका कारण यसलाई विविध शास्त्रीय कोणबाट पनि हेर्न सहयोग पुर्याउँछ। कोरोनाबाट अहिले हरकोही किन डराउन छाड्यो? दोस्रो विश्वयुद्धताका हिटलरले बेलायतमाथि यति बम प्रहार गर्यो कि संसारभर साम्राज्य फैलाएको बेलायत भरे या भोलि नै ध्वस्त होला भन्ने धेरैको आँकलन थियो। तर जति बम विष्फोटको क्रम लम्बियो, यसमा सर्वसाधारण बेलायतीलाई नौलो कुरा लाग्न छाड्यो। बम विष्फोट हुँदै गर्दा केही छेउ लागे पनि केही समयपछि मानिसहरु सामान्य दैनिकीमा फर्कन थाले। बालबालिकाहरु बमकै छेउमा खेल्न थाले। ठीक यही कुरा कोरोना संत्रासका सम्बन्धमा पनि लागू हुन्छ। चैतको पहिलो सातापछि जब सरकारले बन्दाबन्दी घोषणा गर्यो, सबै मानिसहरु डराएर आजै मरिएला कि भोलि मरिएला भनेर रुन कराउन र तनाव लिन थाले। तर लकडाउन लम्बिदै जाँदा कोरोनाका कारण भन्दा अरु नै कारणले मानिसको मृत्यु हुने सम्भावना बढ्दै जाँदा बन्दाबन्दी खुकुल्याउन सरकार बाध्य हुन थाल्यो। नेपालको संविधान निर्माणका क्रममा जब भारतले नेपालमा नाकाबन्दी लगायो, नाकाबन्दीका कारण उत्पन्न हुने अभावले जनताले विद्रोह गर्ने ठानिएको थियो। यसको ठीक विपरीत नेपालीहरु पेट्रोल र अन्य चिजको अभावमा अझ मजबुत हुन थाले। देशप्रेम उम्लिएर आयो। लेखक बर्गम्यान तर्क गर्छन्, संकटले मान्छेलाई अझ बलियो, अझ करुण हुन सिकाउँछ। अरुप्रति ऊ नरम बन्छ। छिमेकीलाई ध्यान दिन थाल्छ। बाँच्ने नबाँच्ने ठेगान नभएको भूकम्पका बेलामा नेपालीहरुले के गरे? चौरमा भेला भए। सामूहिक रुपमा खाना बनाए। खाए। ख्वाए। गरिब, बालबालिका र गर्भिणीहरुलाई प्राथमिकता दिए। संकटले मानिसमा रहेको करुणा जगाउँछ। भूकम्प र यही बन्दाबन्दीमा पनि शुरुवाती चरणमा मान्छेहरु राहत बाँड्न दौडिए। त्यो भावनामाथि भलै हुनेखानेले पनि त्यसको दोहन गरे तर त्यो संख्या निकै न्यून थियो। प्रचार हुँदा वा समाचार बनाइँदा खराब प्रवृत्तिकै बढी बन्ने हुँदा मानिसहरुलाई जताततै खराबै खराब पो छ कि भन्ने लाग्छ तर होइन भन्ने तर्क लेखक बर्गम्यानको छ र त्यसका लागि उनले अनेकन् उदाहरण दिएका छन्। बर्गम्यानले दोस्रो विश्वयुद्धताका चर्चिल र हिटलर, रुजबेल्ट र लिन्डम्यानको उदाहरण दिँदै संकटपूर्ण घडीमा नेताहरुले कसरी आफ्नो एउटा संकथन निर्माण गर्छन् र त्यसमाथि सर्वसाधारणको भावनामाथि खेल्दै राष्ट्रवाद निर्माण गर्छन् भन्ने कुरा पनि देखाएका छन्। ती कुरा पढ्दै जाँदा ओलीको राष्ट्रवादको मूल कहाँनेर र कुन भावनामा अडिएको रहेछ भन्ने पनि थाहा लाग्दै जान्छ। यो त किताब पढ्दै जाँदा उब्जिएको एउटा भावना यहाँ प्रस्तुत गरेकाे हुँ, पछि कुनै समय यो किताबका रमाइला पक्षबारे लेख्ने नै छु किनभने यस्ता अनेकन उदाहरणहरुले यो पुस्तक भरिएको छ। #अदृश्य #ह्युमन काइन्ड
कविडाँडा साहित्य समाजले राष्ट्रिय कविता प्रतियोगिता गर्ने: चितवनको कविडाँडामार्फत देशभर साहित्य प्रवर्ध्दन गर्न खटिएको कविडाँडा साहित्य समाजले राष्ट्रिय कविता प्रतियोगिता गर्ने भएको छ । आफ्नो वार्षिक उत्सवको अवसर पारेर कविडाँडाले कविता प्रतियोगिता गर्न लागेको हो । भदौ १५ सम्म समय दिइएको उक्त प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार ६० रुपैयाँ, दोस्रो हुनेलाई १० हजार ६० र तेस्रो हुनेलाई ७ हजार ५ सय ६० रुपैयाँ र प्रमाणपत्रसहित अभिनन्दन गरिने कविडाँडा साहित्य समाजले जनाएको छ । कविडाँडाका अनुसार कविता भदौ १५ सम्म [email protected] मा पठाउनु पर्नेछ । त्यसैगरी कतै पनि प्रकाशन नभएको र दुई सय शब्दभन्दा कम शब्दमा लेखिसक्नु पर्ने नियम पनि बनाइएको छ । प्रतियाेगितामा फेसबुक र युट्युब जस्ता सामाजिक सञ्जालहरूमा प्रकाशित–प्रसारित कविताहरूलाई पनि मान्यता नदिइने नियम बनाइएकाे समाजले जनाएकाे छ । ‘कविताको मूल्याङ्कन तटस्थ र गोप्य निर्णायक मण्डलले गर्नेछ,’ कविडाँडा समाजका संरक्षक एलबी क्षेत्रीले भने, ‘छनोटमा परेका १० कविलाई मङ्सिर महिनामा कविडाँडाको वार्षिक उत्सवका अवसरमा, चितवनमा आमन्त्रित गरिनेछ । त्यही अवसरमा उत्कृष्ट तीन कविताको घोषणा पनि गरिनेछ ।’ कार्यक्रम अवधिभर खाना र निवासको व्यवस्था आयोजक समितिले गर्ने जनाइएको छ । नव प्रतिभाहरुलाई एक ठाउँमा राखेर साहित्यिक विमर्श गर्ने बहानाका रुमपा यसलाई लिइएको छ । गएको वर्ष पनि कविडाँडा समाजले राष्ट्रिय कथा प्रतियोगिताका साथमा देशका प्रतिष्ठित साहित्यिक व्यक्तित्वलाई निम्त्याएर भव्य कार्यक्रम गरेको थियो । #कविडाँडा #चितवन
कथा: बर्दी: आकृति तिमल्सिना २०७५ चैत २६ गते मंगलबार, पूर्णिमाको रात | चारै दिशा उज्यालो छरिएको थियो | जुनले वा भनौं बाहिरी संसार सर्वत्र उज्यालो थियो अनि अन्धकार मन । नयाँ वर्षको लहर छाउँदै थियो वा फेरि नयाँ घाउ कोरिदै थियो, यो निर्णय समयको | पुराना स्मृति ताजा गर्दै थिइन् श्वेता । चारजनाको परिवार, बुवा-आमा अनि श्वेता र सफल । पुलिसमा जागिरे थिए श्वेताका बुवा नकुल अनि साहेबकी मिसेस थिइन् अप्सरा । पुलिसको जागिर नगरे तापनि पुलिस अफिसर भएकी थिइन् अप्सरा । भर्खरै एस.पी.बाट एस.एस.पीमा बढुवा भएका थिए नकुल । अझैँ चर्को सलाम ठोकिदै थियो उनको आदर र सम्मानमा । प्रहरी निरीक्षक भएको १८ वर्षमा महोत्तरीको पोस्टिङ्बाट फर्किदा उनले आफूसगैँ पाँच वर्षको बालक सफललाई लिएर घर आएका थिए । दुब्लो शरीर,थोत्रा लुगा अनि भोकको पीडाले तड्पिएको अनुहारलाई हातमा समाएर घरको ढोका ढक्ढकाए उनले ।त्यस क्षणदेखि त्यो घर नै सफलको भयो, अनि सफल नै त्यो घरको । सफलले प्रवेश गरेको एक वर्षमै पुन: एक तह बढुवा भयो नकुलको । साँच्चिनै सफल बन्यो सफलको प्रवेश । त्यो वर्षबाट अप्सराका दुई सन्तान थिए, श्वेताको मन रुदैनथ्यो तिहारमा, नकुलको जिम्मेवारी बढ्दै थियो अनि एक्लो थिएन सफल । हँसिलो, फूर्तिलो अनि बढ्दै गरेको सफललाई देखेर अतीत सम्झिए नकुलले । उसको विगत र वर्तमान तुलनायोग्य नै थिएन । जमिन-आकाशको फरक पाए उनले। “बधाई छ, बाबा”भन्दै श्वेता र सफलले कागजमा बेरेर केही चिज उनलाई थमाइदिए,बाबुको बढुवाको खुशीमा । तुरुन्तै खोले नकुलले र्\u200dयाप गरेको गिफ्ट । नयाँ टाई रहेछ । “भोलि लगाउँछु ल”, खुशी बनाइदिए उनले छोराछोरीको मन । भोलिपल्ट बिहानै टाई लगाएको देखाउन उनी सफल र श्वेताको कोठामा छिरे । यही पलको प्रतिक्षा रहेको भाव दर्शाइरहेको थियो त्यो उत्सुक अनुहार। “राम्रो देखियो नि है !” छोराछोरीको मन बुझेझैँ गरी सोधे नकुलले । श्वेताले भर्खरै एस.एल.सी. परिक्षा उतिर्ण गरेकी थिइन् । उता सफलको भने स्कूले अनुभव सकिन अझैँ चार खुड्किला बाँकी थिए । पहिलो दिन थियो आज कलेज छान्ने, श्वेताको । विज्ञान विषयमा उच्च शिक्षा आर्जन गर्ने मनाशयले चलेको कलेजमा सिधै गइन् उनी । कलेज बुझ्नेभन्दा पनि रोजिसकेको कलेज छिर्ने काम गरिन् उनले । महँगो शुल्क, दुई-तीन जोर ड्रेस, एक जोर जुत्ता, पढ्ने किताब अनि लेख्ने कापी सबै-सबैको व्यवस्था भयो उनलाई । दिदिलाई कलेजको ड्रेसमा देख्दा औंला गन्यो फेरि सफलले । अझैँ चार वर्ष बाँकी । तीन महिना हुनै लागेको थियो, श्वेता कलेज पढन् थालेको । ४:३० भएको रहेछ समय । श्वेतालाई आज घर चाडैं पुग्नु थियो । भाइ सफललाई मध्यरातमा दिने सरप्राइजको तयारी गर्न । उनी बाटोको गिफ्ट पसलमा छिरिन् । केही भेटिनन् उनले भाइलाई मनपर्ने र आफूलाई दिन मन लागेको कुरा । अन्तिममा आफ्नो खल्तीले भ्याउने चकलेट किनिदिइन् बर्थडे ब्याइलाई । उसको ‘अल टाइम फेबरेट’। बिहान ढिला आँखा खुलेछ श्वेताको । आठ बजिसकेछ । सफललाई सरप्राइज दिने चक्करमा उनलाई भोलि पनि कलेज जानुपर्ने कुराको ज्ञात नै भएनछ । अनेकौं बहानाबाजी गरेर बल्ल-बल्ल जोगिइन् उनी ढिलो आएकोमा प्राध्यापकको क्रोध मिश्रित उपदेश सुन्नबाट । समयको चक्रव्युह निरन्तर चल्दै थियो अनि नकुल, अप्सरा, सफल र श्वेताको दैनिकी पनि । भर्खरै मात्र श्वेताले ११ कक्षाको बोर्ड परिक्षा दिएकी थिइन् ।१०-१५ दिन बिदा थियो उनलाई । उनी बाबासगँ कतै जाने प्लान बनाउदै थिइन्, सफललाई लोभ्याउन । तर अचानक नकुल अफिसको काममा जानुपरेकोले जिस्काउने मौका सफलले पायो । एक हप्ता बितिसकेको थियो नकुल अफिसको जिम्मेवारी लिएर कर्मक्षेत्रमा लागेको । उनको घरमा कुनै खबर आएन । पहिले त खासै अत्तालिएन उनीहरूको मन । किनभने नकुल काममा जाँदा फोन प्राय: अफ नै गर्थें । तर आज ४-५ दिनको अवधि ६-७ दिनमा परिणत भएको थियो । बिस्तारै सचेत भए नकुलको परिवारका आँखा । अप्सराले तुरुन्तै हवलदार रामलाई फोन लगाइन् । रामसमेत २-३ दिनबाट आफ्नो हाकिमको सम्पर्कमा नरहेको जानकारी दियो । अलिअलि चिन्तित मन चिन्ताको लोकमै डुब्यो । श्वेता र सफलले आफ्नी आमालाई आड भरोसा दिए । उनीहरूले भोलि बिहान बाबाको अफिसमा गएर बुझ्नु नै उत्तम ठाने। निकैबेरको पर्खाइ पछि बल्ल घाम झुल्केको भान भयो आज उनीहरूलाई | एकाबिहानै नकुलको कार्यकक्षमा पुगे उनीहरू । कतैबाट केही खबर मिलेन । श्वेताले बाबुको कार्यलयसँगै काम गर्ने प्रहरी निरीक्षक रमेशलाई यथार्थ बताइन् । निकै साहनुभूति देखाएर रमेशले २-३ वटा नम्बर हाने अनि मिसिङ रिपोर्ट लेखे । इमान्दार अफिसरको रूपमा परिचित नकुल ड्रग एन्ड स्मगलिङको केसमा थप जानकारी हासिलका लागि कोहोलपुर गएका थिए । आफ्नो चालक हवलदार रामलाई लिएर । तर बाटोमा राम बिरामी परेकाले उसलाई स्वास्थ उपचारको सल्लाह दिएर आराम गर्न लगाई नकुल एक्लै जाँचबुझका लागि गएका रहेछन् । इन्स्पेक्टर रमेशले पनि उनीहरूलाई अवगत भैसकेको भन्दा बढी जानकारी दिन सकेनन् । आशाले भरिएका ती नयन पुन: निराशामा बदलिए। आफ्नो पिताको खोजतलासमा ती अबोध बालबालिका कता-कता पुगेनन्; कतिलाई मात्र गुहारेनन् ती कट्कटिएका ओठले; ती आँखाले कति अश्रुधारा बगाए-बगाए नापो नै थिएन;कति फिजारिए ती हातहरू गन्ती नै भएन । बिस्तारै-बिस्तारै चिन्ताभन्दा पनि धेरै आक्रोश व्यक्त हुँदै थियो उनीहरूको भावमा । “कसरी प्रहरी निकायले आफ्नै कर्मचारीलाई पनि खोज्न असफल रह्यो ?” “किन आफ्नो सन्तानप्रति पनि न्याय दिन सकेन त्यो प्रशासनले?” “कहाँ हात चुके लाठी उठाउन ?” नकुलको उपस्थिति त परैको कुरा उनीहरूको सदस्य ठिक छ वा छैन भन्नेबारे समेत सूचना पाएका थिएनन् । कतिले खोजेझैँ नाटक गरे कतिले खोजीमा इमानदारीता देखाए; कतिले मौनता रुचाए, कतिले सहानुभूति जनाए । तर यी सबै प्रयास प्रयासमै सिमित रहे । न सत्य ल्याउन सके उनीहरूले न त नकुललाई नै। राष्ट्रको सम्मानित पेशाका सम्मानित पोस्टको कर्मचारीका बारेमा अलिकति कोमलता अनि धेरै कठोरता मिसिएको खोज थियो त्यो । अत्तो र पत्तो नदिई अचानक बिलाए उनी । दिनहुँ केही सत्य मिसिएका, केही तथ्य छुट्टीएका, केही मनगठन्ते, केही गाली मिसिएका हल्ला पर्थे उनीहरूको कानमा । नसुनौ भने पनि जबरजस्ती कानको जाली फुटाउने गरेर छिर्थे ती कथाहरू । तर सत्य कहिले परेनन् ती कानमा । सुन्छु भन्दा पनि सुनाइएनन् सत्य । कहीँ इमन्दारिको फल ज्यान गुमाउनुपरेको; कहीँ स्मग्लरहरूले बेपत्ता पारेको; कहीँ नकुललाइ मार्ने जाल सफल भएको त कहीँ पुर्वजन्मको फल । तर धेरै कथा र शंका नकुलको पेशाप्रतिको इमानदारीतालाई लिएर गरिने गरिन्थ्यो ।यही कारण बनेको थियो अप्सरा, श्वेता र सफलको चित्त बुजाउने बाटो, मन थाम्नै कठिन। बुबाको प्रतीक्षामा श्वेताले १२ कक्षा पास गरिसकेकी थिइन् । सफलले डि.एल.इ. उतिर्ण गरेका थिए । अप्सराले फोटो हेरेर दिन बिताउन थालेको पनि एक वर्ष बितिसकेछ । अनि अन्यायमा मिसिएको नाम “नकुल” अझैँ बेखबर थियो । न स्मगलर पक्डिए, न नकुल भेटिए, न तथ्य र सत्य खोलियो । कहिल्यै सल्भ नहुने फाइलमै सिमित रह्यो यो घटना । “कसरी कसैको लापत्तामा यत्तिका समय बित्दा पनि न आश भेटिन्छ न लास भेटिन्छ ?”, बारम्बार यी जवाफहिन नकारिएका प्रश्न गुन्जिन्थे अप्सरा, सफल र श्वेताको आहटमा । यस्तो अपत्यारिलो र आश्चर्यजनक घटनाले भोग्ने मात्र होइन सुन्नेहरूको पनि घात परेको थियो मनमा । सबभन्दा घात त श्वेताको मनमा पुगेको थियो । अप्सराले नकुलले न्याय पाउने आश छोडेकी थिइनन् । सफल प्रहरी बनेर बाबुको खोज गर्न चाहन्थे; कमी पूरा गर्न चाहन्थे । श्वेता मानसिक,शारीरिक रूपमा कमजोर थिइन्, सँगसँगै उनको मनमा घृणा भरिदै थियो । कसो-कसो अप्सरा र सफलले आफूलाइ अलिकति भए पनि सम्हाल्न जानेका थिए । तर श्वेताले त्योदिन कहिल्यै भुल्न सकिनन्; बर्दीमा सलाम ठोक्दै गरेका बाबुलाई सधैभरी आफ्नै आँखा अगाडि राखिन् । उनी आफैंलाई अवगत थिएन कि यो घटनाले उनलाई कतातिर मोड्दै छ, जब परिवारले थाहा पाए धेरै ढिला भैसकेको रहेछ । श्वेताका आँखा “इमानदारीता”प्रति सदैव आक्रोशित रहन्थे । हुँदा- हुँदा उनलाई प्रहरीप्रति नै रिस उठ्न थालेको थियो । बाटोमा बर्दिमा कोही प्रहरी देखे पनि बावु सम्झन्थिन उनले, प्रहरी इस्टेसन देख्दा गुहार र मागिएका भिख सम्झन्थिन् उनले । “प्रहरी “शब्दबाटै टाढा भाग्थिन् उनी । दया जाग्थ्यो उनको मनमा जब साना कलिला हत्केलाले प्रहरी पेशामा सम्लग्न बाबुलाई समाउथे । डर पलाउथ्यो उनको मनमा फेरि कुनै पत्नीको सिन्दुरमाथि अन्याय हुन्छ कि भनेर | छोराछोरीले बाबुको आभास बिर्सिन्छन् कि भनेर । “के यति धेरै समय बर्दीप्रति गरेको बफादारी ,इमान्दारी र समर्पण लायक थिएन बर्दीको मलिक खोज्न निम्ति ?” “के इमान्दारिताको किमत ज्यान हो ? के पाप हो देशलाई माया गर्नु ?” “के ‘न्याय’मात्र शब्द हो ?” जतिपटक आफ्नो बाबुको बर्दी हेर्थिन् उतिपटक यी प्रश्न जाग्थ्यो श्वेताको हृदयमा । कसरी भुलुन् उनी आजको दिन । प्रत्येक पल, प्रत्येक क्षण मस्तिष्कमा छाइरहन्थे “नकुल”। जिवनमा यतिका अनुहार देख्दा पनि त्यो अनुहार कहिल्यै भुल्न सकिनन् उनले; अन्तिम स्वाससम्म बाबुको न्यायका लागि तड्पिने छन् ती साथ छुटेका हत्केला अनि बगिरहने छ न्यायका लागि खोली ! #आकृति तिमल्सिना
पहिलो पटक नेपालीमा अनुवाद कथाः भागदौडमा मृत्यु: ::१:: भागदौडमा मृत्यु हुने परिवारजनहरूका लागि सरकारले पचास-पचास लाख आर्थिक सहयोग दिइने निर्णय गरियो। जसको परिवार भागदौडमा मरेका थिएनन्, तिनको घरमा वृद्धवृद्धालाई गाली गन थालियो कि घरका वृद्धवृद्धा कति विधर्मी र नीच भइसके, ‘दर्शन’ गर्न पनि जान सकेनन्। ‘चिन्ता नगर छोरा अर्को वर्ष जाउँला,’ ८० वर्षे बूढोले छोरोसँग भन्यो। ‘कहाँ जान्छौ बूढा?’ छोरोले सोध्यो। ‘दर्शन गर्न जान्छु।’ ‘भगवान् दर्शन गर्नका लागि नजानू नि… त्यसमा खर्च नै खर्च छ… पाइने भने सुक्को होइन !’ :: २ :: लाशलाई धर्मका आधारमा बाँडियो। हिन्दू लास, मुस्लिम लास, सिख लास र ईसाई लाशहरूलाई बेग्लाबेग्लै लाइनमा राखियो। आर्थिक सहयोग दिनेहरूले भनेका थिए, केवल ‘श्रद्धालुहरू’लाई मात्र आर्थिक सहयोग दिइनेछ। तमासा हेर्न पाउनेहरूलाई होइन। :: ३ :: आर्थिक सहयोग दिनका लागि बडो राम्रो व्यवस्था गरियो। यो ठीक त्यस्तै व्यवस्था थियो, जुन चुनावका समयमा दिइने सहयोग राशिका लागि व्यवस्था गरिन्छ। मतलब, हातहातैमा सहयोग राशि दिइएको थियो। नगदको चम्किला गड्डी हातैमा। सहयोग राशि बाँडिदै गर्दा गज्जब भयो। लासहरू घरबाट निस्कन थाले। लाशहरू घरहरूबाट कसरी निस्किरहेका छन् भनी सोधियो, जवाफ दिइयो कि, ती मरेका त त्यहीँ थिए तर कसरी उठेर घरसम्म आइपुगे कसैलाई थाहा भएन ! :: ४ :: सान्त्वना सन्देश लेख्नेहरूको माग त्यसै पनि देशमा निकै बढेको थियो तर यस घटनापछि त मागमा यस्तो उछाल आयो कि सुनको भाउ पनि पछारियो। यति सान्त्वना सन्देश लेखियो र छापियो कि देशमा कागजको कंगाली शुरू भयो, रत्तिभर कागज पाइन छाडियो। देशको संविधान छाप्न पनि पाइएन। :: ५ :: आर्थिक सहयोग किन दिइरहेको छ भन्ने बताउन पनि जरूरी कसैले ठानेनन्। लिनेहरूले पनि यो सहयोग रकम किन दिइरहिएको छ भन्ने पनि सोधेनन्। लिनेहरूलाई थाहा थियो, राशि दिनेहरूले केही मागे भने त्यही भोट त माग्ने हुन्, जसको कुनै मूल्य नै छैन। :: ६ :: जुन क्षेत्रमा दुर्घटना भएको थिएन, त्यहाँ निकै असन्तोष फैलियो। सर्वसाधारण सडकमा निस्किए। पसल लुटपाट भयो। बसमा आगो लगाइयो। रेलको लिक (पटरी) उखालियो। सडक छेउका रेलिङ भाँचिए। सरकारी कार्यालय जलाइयो। प्रहरीलाई गोली चलाउने अनुमति दिइएन किनभने त्यसबाट कति मानिस मर्थे? आन्दोलनले जब विकराल रूप लियो, त्यसपछि तय गरियो कि त्यस क्षेत्रमा जति पनि पुल छन्, तिनलाई मर्मत गरिने छैन। जति पनि पुराना घरहरू छन्, तिनलाई भत्काइने छैन। जति पनि ‘भाइरस’ छन्, तिनलाई हुर्कन र फैलिन सक्दो मद्दत गरिनेछ। जति पनि नयाँ घर बन्नेछन्, तिनमा यस्तो व्यवस्था गरिनेछ, जसबापत सर्वसाधारणलाई आर्थिक सहयोग दिन सकियोस्। जनहितमा यति निर्णय गरिसकेपछि बल्लतल्ल आन्दोलन शान्त भयो। :: ७ :: मर्नेहरूपछि घाइते हुनेहरूलाई सहयोग राशि दिने समय आयो। ठूलो संख्यामा गल्लीगल्लीबाट घाइतेहरू निस्कन थाले। केहीलाई लाग्यो, यति धेरै घाइते छन्, सबैले त सहयोग नपाउन सक्छन्। जो पहिले पुग्छ, उसैले पाउनेछ। यसपछि घाइतेहरूको दौड शुरू भयो। त्यसपछि तानातान, को अघि पुग्ने भन्ने र कसलाई पछार्ने भन्ने छिनाझपटी शुरू भयो। अगाडि पुग्नका लागि एकअर्कामा नै कुटपिट शुरू भयो। यसपछि जोसँग जे थियो त्यही निस्कन थाल्यो, चक्कु र पिस्तोल। घाइतेहरू भकाभक लड्न थाले। उनीहरूलाई थाहा थियो, मरे भने कम्तीमा शहीद त बन्छन्, कम्तीमा उनीहरूले स्वर्गमा ठाउँ त पाउँछन्! :: ८ :: जुन ठाउँमा भागदौड मच्चिएको थियो, त्यहाँका प्रशासकलाई सरूवा गरियो। प्रशासकले पत्रकारहरूलाई भने, यो कुनै नयाँ कुरा होइन। गएको वर्ष पनि यस्तै भएको थियो र प्रशासकको सरूवा भएकै थियो। त्यसभन्दा पहिले र त्यसको भन्दा पनि पहिले पिन यही भएको हो। यो त हरेक वर्ष हुने हो। यस्तो दुर्घटना भएन भने सहयोग राशि फिर्ता जाने हुन्छ र यसले जनतालाई नै ठूलो नोक्सान हुन्छ। यसले विकासको आँकडामाथि नै प्रभाव पर्छ। त्यस्तो नहोस् भनेर पनि हामी सचेत हुनुपर्छ। :: ९ :: टाढाटाढासम्म लाश बगेको थियो। ती सबैलाई किनारामा ल्याउन सम्भव थिएन। त्यसैले असल मानिसहरूले एउटा कम्पनी नै खोले, जसले टाढा टाढा बगेका लाशहरूलाई ल्याउने काम गर्न थाल्यो। हेर्दाहेर्दै यो कम्पनी पनि यति ठूलो भयो कि यसमा करोडौँ डलरको विदेशी लगानी हुन थाल्यो। एउटा सानदार अफिसमा एमबिए पास गरेको युवकले व्यवस्थापन हेर्न थाल्यो। यस्तोमा के सुनिश्चित गरियो भने, ‘फिल्ड’मा खटिने स्थानीय युवकलाई राखियो र तिनलाई आदेश दिइयो, हामी जति भन्छौँ, त्यति मात्र लाश ल्याउनू। :: १० :: एक स्त्रीको लाशका साथ त बडो अनौठो भयो। कयौँ मानिस आए र भन्न थाले, ‘यो त हाम्री माताजीको लाश हो। यसको वास्तविक हकदार हामी हौँ, हामीले सहयोग राशि पाउनुपर्छ।’ अर्को दिन अझै बढी मानिस आए र सहयोग राशिमा आफ्नो हक कायम गराउन खोजे। यसपछि त के थियो, हरकोही मानिस दाबी गरिरहेको थियो कि यो लाश उसकी आमाको हो। क्रमशः यो संख्या हजारौँ, लाखौँ, करोडौँमा पुग्यो। सहयोग दिने तनावग्रस्त हुन थाले र सोच्न थाले कि यो एउटी स्त्रीको करोडौँ छोरा कसरी हुन सक्लान्! कसैले अँधेरोमा तीर चलायो र भन्यो, ‘कतै यो भारत माता त हैन?’ (कथासंग्रह भिडतन्त्रबाट) असगर भारतका चर्चित व्यंग्य कथाकार हुन्। उनको ‘भिडतन्त्र’ कथा संग्रह हालै प्रकाशित भएको हो। उनले आधा शताब्दी लामो लेखनमा नाटक, कथा, उपन्यास, व्यंग्य संग्रह आदि प्रकाशित छन्। यी कथाकारकाे एउटा अर्को कथा संग्रह पढ्नुहुन्छ ? #अदृश्य #असगर वजाहत
सिमानाको खाडल: नारायण काफ्ले राता रात अवैध घोषित हुन्छन् कसैको उपस्थिति यहाँ सरकारले कानुन फेरेपछि, किन शङ्कालु नजरले हेर्छ मान्छेले मान्छेलाई हरेक प्रतिकुल परिस्थितिमा? घरी जात घरी धर्म र घरी-घरी उब्जिरहन्छ राष्ट्रीयताको प्रश्न यहाँ, र हुन्छ मान्छे मान्छे बीच भण्डाफोर! र लेखिन्छ घरी-घरी मान्छेकै बर्बर इतिहास। मलाई प्यारो लाग्थ्यो मेरो देशको नक्सा तर स्कुलमा भूगोल पढ्दा यति धेरै सिमानाहरू याद गर्नै गाह्रो लागेर मैले सरलाइ सोधे! “सर यति धेरै सिमानाहरू के का लागि? _सुरक्षाका लागि। हामीलाई के को खतरा छ सर? _दुश्मनको। हाम्रो दुश्मन को हो सर?” “_______” मैले जवाफ नै पाइनँ सायद मान्छेले मान्छेको दुश्मन पत्तो लगाएपछि रहँदैनन् यी सीमानाहरू! मलाई बताउनुस् त…! मेचीवारी चामलको दाना टिपेर मेचीपारी गुँड हाल्ने चरा कुन देशको ? समुद्री माछाको खाजा मधेसको मकैबारीमा खाना अनि पहाडी काफल खाँदै हिमालमा वास बस्न आउँने पन्छीको राष्ट्रियता के हो? किन जनावरहरू पासपोर्ट बिहिन फेरिरहन्छन् आफ्ना जङ्गलहरू? किन हुँदैन उनीहरू माझमा हैकमवादी युद्ध…? भो छोडी दियौँ यी कुराहरू… म त यो आपतकालमा पनि सिमाना पारिबाट जहाजमा स्वदेश भित्रने र स्वदेशमै अवैध घोषित हुने मान्छेको भिड बीचपनि एउटा सिमाना देख्दैछु जुन मानचित्रमा देखाइएको सिमाना होइन प्रतिकुल समयमा आफैँ स्पष्ट देखिएको सिमाना हो बीचमा ठूलो खाडल परेको छ हुनेखाने र हुँदाखानेहरू माझ, त्यसैले आउनुहोस् मित्र! एउटा नयाँ अभियान छेड्नलाई विचारका बलिया पाखुरासँगै आँटिला साहस बोकेर रोप्नलाई प्रत्येक मुटुमा प्रेम र सम्वेदनाका विरूवा र पुरिँदिउँ यी सिमानाका खाडलहरू भेदभावहिन चेतनाका कङ्क्रिट्हरूले! बाग्रकोट (डुवर्स) #ratoghar
हरिमाया: बिनु राई तिम्रो हातमा ठेला त्यसै कहा उठेको हो र पुसको ठिर्याउने जाडोमा झिसमिसे उज्यालीमा चियाको बोटलाई कलम गरेको निशानी हो तिम्रो हातको ठेला. अनि रातभरिको छात्ती दुखाईले सुत्न नसकेको बिसंचो तिम्रो शरीरलाई आरामको कति आवश्यकता थियो. बिहे भएर लोग्नेको घर आएकी तिमी कति सपनाहरू बुनेकी थियौ त्यस दिन गाउमा बेहुली हेर्न कसरी भीडले तिमीलाई ढाकेको थियो अनि लाजले तिम्रो मुहार कस्तो रातो भएको थियो त्यो दिनलाई मुटुमा कसरी बाधेर राखेकी छौ भन त हरिमाया. पोहोर साल पानी झरीमा साथीहरूसंग हास ठट्टा गर्दै मेलोपातमा ब्यस्त पल्लो घरकी कांछी च्याटियांगको प्रहारले कसरी मारिएकी थिइन संसारकै ठुलो गणतन्त्र देशको मीडियाको क्यामेरामा कैद हुन सकेन कांछीको लाश कांछी राष्ट्रीय समाचार किन बन्न सकेन? तिमीलाई थाहा छ, हरिमाया केवल प्राकृतिक घटना बनाएर दबाइंछ तिम्रा दुर्घटनाहरू यस्ता दिनौ घटनाहरू लावारिस बंछ यहा तिम्रो सपनाहरू बलात्कृत हुंछ तब के तिमी सहेर बस्छौ बाग्रकोट (डुवर्स)
बुक-हिलका नयाँ किताब साउन पहिलो सातादेखि बजारमा: धान दिवसको अवसरमा सबैमा शुभकामनासहित बुक-हिल पब्लिकेसनले आफ्ना नयाँ प्रकाशनका बारेमा जानकारी गराएको छ | विभिन्न कारणले सार्वजनिक गर्न रोकिएका ५ पुस्तकहरू साउनको पहिलो साताबाट बजारमा पठाउन लागेको प्रेस विज्ञप्तिमार्फत जनाइएको हो | अघिल्लो वर्ष प्रकाशन हुनुपर्ने नारायण ढकालको कथा सङ्ग्रह ‘तमस’ प्रकाशन हुन लागेका किताबमा नयाँ हो भने अन्य पुस्तकहरू ‘बुक-हिल’बाट प्रकाशन हुन लागेका पुनः मुद्रित किताब हुन् | “हामीले अघिल्लो वर्ष प्रकाशन गर्ने सूचीमा राखेका किताब कोरोना भाइरस, कोभिड-१९ को संक्रमणका साथै अन्यन कारणले प्रकाशन गर्न सकेनौं | अहिले पनि परिस्थिति सामान्य भएको त छैन तर बजारमा नयाँ किताबको अभाव देखेर यी किताब बजारीकरण गर्न लागेका हौँ |”, बुक-हिलका अध्यक्ष भूपेन्द्र खड्काले बताए | प्रकाशन हुन लागेका अन्य ४ किताबमा डा. तीर्थबहादुर श्रेष्ठको सचित्र रङ्गीन किताब ‘नेपाल नखुलेका पाटाहरू’, पिटर जे. कार्थकको साझा पुरस्कार-२०३४ प्राप्त उपन्यास ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’, सौरभको ‘असहमति-१’, र जगदीश घिमिरेको मदन पुरस्कार-२०६४ प्राप्त किताब ‘अन्तर्मनको यात्रा’ रहेका छन् | ‘आज धान दिवसको अवसर पारेर ‘मानो रोपे मुरी’ भन्ने भनाइलाई मनन गरी हामीले किताब प्रकाशन गर्ने घोषणा गरेका हौँ | हामीलाई विश्वास छ, यी लोकप्रिय किताबका नयाँ कलेवरले पाठकलाई आनन्दित पार्नेछ |”, विज्ञप्तिमा भनिएको छ | साथै, बुक-हिलले दशैंसम्ममा करिब आधा दर्जन नयाँ किताब प्रकाशन गर्ने लक्ष्य राखेको पनि विज्ञप्तिमा जनाइएको छ | #bookhill #बुक-हिल पब्लिकेसन
न्याय: आमा तपाईं बूढी हुनुभयो र हाम्रो परिवार गरिब छ आमा तपाईं पर्खिएर बसिरहनु त्यही घरमा म फर्खिएर आउनेछु अवश्य सातसमुन्द्र पारिको देशबाट हजुरको अनुहारको मुस्कान लिएर । आमा हामी दरिद्र छौ तर, इमान्दार छौ । आमा मेरो भिसा लाग्यो यसैले म ऐले वैदेशिक रोजगारको कामदार भएर जाँदैछु । पैसा कमाएर अनि स्वदेश आएपछी अर्को वर्ष नयाँ घर बनाउँला आमा अनि बुहारी पनि भित्र्याउला । तर अहिलेलाई म गएँ आमा म अब टाढाको भएँ । अहिलेलाई म गएँ आमा आफ्नु ख्याल राख्नु है पक्कै पनि र म चाँडै नै नेपाल फकिएर आउनेछु अर्को साल । सपनाहरू बोकेर एकसाथ ठूलो देशको सपना देखेर यस्तै यस्तै भनेर गएथ्यो सरकार मेरो छोरो तर अफसोच् आजसम्म पनि फर्किएन । फर्कियो केही दिनपछि मेरो छोरो विमानमा बसेर प्रवासको आकासहरू हुँदै हो फर्किएर आयो मेरो छोरो तर लास भएर बाकसभरी सजिएर फर्किरहेको कुनै नौजवान नेपालीहरू झँै गरेर। जन्तीहरू लिएर बेहुलो बन्ने सप्ना बोकेर गएथ्यो मेरो छोरो सरकार तर किन यसैको ठिक विपरीत सारा जन्तिहरू सहित एकचिहान भएर फर्कियो । गरिबहरूले स्वदेशमा रोजगार कैले पाउँछन् सरकार आफ्नु विचारले खाएको दुई जोडीहरूले चाहेको प्यार कैले पाउँछन् गल्ती गरियो समाज गल्ती गरियो रङ्गविभेद गरियो स्वतन्त्र उठान भरेर प्रख्यात प्रजातिको एउटा सेतो र रङ्गिन परेवासङ्गैसङ्गै आसमानमा उढिरहेको एउटा कालो परेवाको घाँटी काटियो र त्यो मेरो आफ्नै छोरो थियो । गुनेगारले सजाय कैले पाउँछन् पिडितहरूले न्याय कैले पाउँछन् न्यायधीस पुलिस र यसैले पनि उनिहरू पनि एकसाथ मेरो छोरोसँगैसँगै मारिए किनकि , उनिहरू सबै दलित थिए । म सुनिरहेथँे अदालत ! सन्चार माध्यममा आएर अनि बताएर आफ्नु वास्तविकता मृतक नवराज विककि आमा यस्तै आवाजमा रोइरहेकी थिइन् । #न्याय #सुजन बूढाथोकी
यस्तो पो हुँदो रैछ: दौड्दा दौड्दा दिक्क, चर्को घाम पसिनै पसिना एउटा पुरुष बूढेस कालको ज्यान साँचोमा ढाल्न पो रैछ । दौडाउँदा दौडाउँदा रिक्शा, चर्को घाम पसिनै पसिना अर्को पुरुष बूढेस कालको ज्यान चार जना जाहान पाल्न पो रै छ । चौडा छातीमा टुक्राएको सानो टालो मस्कदै ढल्कदै एउटी युवती स्वाद लिदै स्याम्पियन पिउंदपो रैछ । निहुरिएको मन्टो मा जोडेको ठूलो घुम्टो रुढिबादी बोझ सहँदै अर्की युवती पुख्र्यौली इज्जत धान्न पिल्सिदै ज्यूने पो रहेछ । आइफोन, ल्यापटप र ट्याब्लेटले नपुगेर एउटा बच्चा एक्स बोक्सको लागि पल्टिदै रुँदो पो रैछ । खाली खुट्टा ठिहिराउने जाडो ढुंगासंग खेल्दै अर्को बच्चा कागजको पुतली पाउँदा खुसीले रमाउँदो पो रैछ । कोशी ब्यारेजको ठूलो जलाशय जस्मा रोक्दै गरेको पानी हर साल हजाराँैको ज्यान खाने पो रैछ । कति महान गाउँको सानो पँधेरो जस्मा रुङ्ग्दै भरेको पानी आज सम्म कैयौँको ज्यान धानेको पो रैछ । उहिलेदेखि मन्दिरमा भगवानसँग फूल चढाउँदै माग्नेहरू आजसम्म पैदलै पैदल देखिंदा पो रैछन् अस्ति देखि नोट चढाएर माग्न थालेकाले हिजो कार चढेको देख्दा “शंका “ देउताले नि कतै घुस लिंदा पो रैछन् ? #यस्तो पो हुँदो रैछ #युबराज भण्डारी
मानवीय संवेदनाको कथा: फेची\xa0मर्\u200dयो\xa0!: कालो फलामे गेट ठेलेँ‚ चुइँय गर्दै खुल्यो । भित्र पसेँ अनि उसैगरी लगाइदिएँ । तर असावधानीवश यसले मेरो औंला च्यापिदियो, “ऐया !” दुखेको औंला मुखले चुस्दै कोपिलालाई बोलाएँ‚ “कोपिला‚ कोपिलाऽऽऽऽऽ ।” ऊ अलिक कान कम सुन्छे, त्यसमाथि सधैं भान्सामा काम गर्दा गीत सुन्न भनेर मोबाइलको एयर फोन कानमा घुसारेकी हुन्छे । औंला च्यापिएको दर्द भरिएको आवाज भरेर टाँठो गरेर फेरि कराएपछि बरन्डामा देखापरी । “के भन्नुभयो दाइ ?” जाँगरै नलागेजस्तो गरेर भनी । मैले सोधें‚ “फेची कहाँ गयो ? हिजो पनि त्यसलाई देखिनँ मैले यहाँ ।” “खै कहाँ गयो । मैले त झन् अस्तिदेखि देखेको छैना ।” यति भनेर ऊ हाँस्दै भान्सातिर लागि, म आफ्नो कोठातिर लागें। फेची लापता हुनुको दर्द केहीबेरलाई बिर्सेर म कार्यालयको काममा घोत्लिए, तर कुर्सीमा बस्दाबस्दै आफ्नो ढाड सोझ्याउनुपर्ने भइसकेछ | ढाड तन्काउन तल झरें । मिस्टर सङ आफ्नी सानी छोरी जोइसलाई साइकलमा राखेर आँगनमा यताउता घुमाउदै रहेछ । मलाई देखेर अडियो । हामी दुवैको मुखबाट सँगै निस्क्यो “गुड अफ्टरनुन ।”, दुवैजना मजाले हाँस्यौं । “टु मेन्टेन योर ब्याक ? (ढाड सोझ्याउन निस्किएको ?)” उसले सोध्यो । “एस मिस्टर सङ‚ इट इज माइ प्लाइट एण्ड आइ थिङ्क आइ क्यान्ट इस्केप फ्रम दिस इभर लाइफ । (हो मि सङ यस्तै छ मेरो हाल । जीवनभरि यसबाट म भाग्न सक्दिनँ होला ।)”‚ मैले भनें । ऊ केही बोल्न आँट्दै थियो सानी जोइसले बिथोली । “आप्पा फेचीगा… \u200d?” म कोरियाली भाषा बुझ्दिनँ, तर यतिचाहिँ बुझें, सानी नानीले फेचीको कुरा गर्दैछे । उत्तेजित भएको मिस्टर सङले मसँग सोध्यो‚ “हेइ प्रकाश‚ ह्वेर ह्याज फेची गन् ?” “आई अल्सो आस्कड सेम क्वेश्चन टु कोपिला ? रियल्ली‚ ह्वेर ह्याज फेची गन् ? (मैले पनि यही कुरा कोपिलालाई सोधेको थिएँ । साँच्ची‚ फेची कहाँ गयो ?)” एकचोटी मजाले हाँसेपछि उसले भन्यो‚”पर्ह्याप्स हि मेट हिज मेटिङ पार्टनर एण्ड वेन्ट समह्वेर टु मेड होम‚ हाहाहाहाहा । (सायद उसले घरबार बसाउन आफ्नी तरुनी भेट्यो होला र कतै गयो होला ।)” फेरि भन्यो, “जस्ट किडिङ्ग‚ हाहाहाहाहा ।(ठट्टा गरेको है।)” “मे बि एन्ड इट्स द सिजन फर मेटिङ्ग अफ डग ! (होला पनि‚ यतिबेला कुकुरले तरुनी खोज्ने मौसमै हो क्यार !)” जवाफमा मैले भनें । ऊ फेरि खिल्लिलाएर हाँस्यो । भएको के रहेछ भने उसले बाटोमा निस्किँदा भुस्याहा कुकुरका थुप्रै बगाल देखेको रहेछ; कतै पोथी कुकुर लखेट्दै दगुरिरहेका‚ कतै र्\u200dङ्यार–र्\u200dङ्यारर्\u200dङुर–र्\u200dङुर एउटी पोथी कुकुरको निम्ति टोकाटोक गरिरहेका त कतै यौनाङ्ग अड्काएर सडकमा रमिता देखाइरहेका । “ह्वाइ सो मेनी डग्\u200dस आर मुभिङ्ग अन द स्ट्रिट हियर ? माइ डटर्स स्केयर्ड टु गो टु द रोड । (यहाँ किन बाटोमा यतिका कुकुहरूहिँडिरहेका हुन्छन् ? मेरा छोरीहरू सडकमा निस्कनै डराउँछन् ।”) के जवाफ दिनु मैले । महिना दिन नाघिसक्यो ऊ नेपाल आएको; केमा मात्रै बेथिति छैन र यहाँ | उसले आफैँ बुझोस् यहाँको अराजकता‚ बरु मैले भनें‚ “मिस्टर सङ‚ इट लुक्ड लाइक इल । हाउ क्यान इट फाइट विथ योङ्ग डग एन्ड विन हिज पार्टनर ? (ऊ त बिरामीजस्तो देखिन्थ्यो । बिचराले तन्नेरी डाँगाहरूसँग भिडेर तरुनी जित्न सक्थ्यो र‚ मिस्टर सङ ?)” यसो ढाड सोझ्याउने उपक्रममा खुट्टा उफार्दै फेरि थपें‚ “कहाँ गयो होला यो फेची पनि ?” मेरो भाषा नबुझेर लिप्रिक्क ओठ लेप्र्याउदै ऊ सानी जोइसलाई साइकलमा राखेर आँगन बाहिर निस्क्यो । फेचीले घर छाडेको त मलाई कहिल्यै थाहा थिएन । दुई दिन भइसकेछ ऊ हराएको; मैले हिजै खोजीनीति गर्नुपर्ने ।कतै बाहिरगएको होला भनेर त्यति वास्ता गरिनँ । कसैले मारिदियो कि ? वा कसैले खानेकुरामा विष पो राखिदियो कि ? कतै झाङ्गमुनि कुइँकुइँ रुदै बसेको पो छ कि ? फेरि मैले कोपिलालाई कराउँदै बाहिर बोलाएँ । यसपाली ऊ एयरफोनका लहरा कानबाट झिक्दै बाहिर देखापरी । “कति गीत सुनेको ? फेचीको खोजी गर्नुपर्दैन ?” म झोक्किएँ । गम्भीर हुनुको साटो ऊ पनि गालामा लाली चढाउदै खितखिताई, “अब काँ खोज्न जान्छ म त्यल्लाई । गयो होला नि साँढे तरुनी खोज्न ।” मतिर नहेरी ऊ फेरि लहरो कानमा ठोसेर भित्रतिर लागी । “एकातिर डोजरले बाटो छेकेको थ्यो, आर्कातिर साँढे छाडा कुकर रमिता देखाइरहेका । आफ्ना दुइटै हातमा झोला थियो ।निस्किने बाटै पाएन । एकछिन उभिएको त उतापट्टि घरको छतमा चङ्गा उडाइरहेका रन्डाहरूले‚ “के हेरेको मैयाँ ?” भन्दैकस्तोकस्तो बोल्यो । “राँडाहरूको दिदीबैनी पनि छैना कि क्या हो ?” बैठक कोठातिरबाट कोपिलाले चिच्याउदै मलाई सुनाई । “छोडिदेऊ त्यस्ता पागलहरूका कुरा”, मैले पनि चिच्याउदै जवाफमा भनें‚ “पम्फा दिदी बस्ने घरमा पो गयो कि खोज्न जानुपर्दैन ?” अहिले त कानमा समेत रक्तिम आभा चढाइसकेकी कोपिला फेरि बाहिर निस्की‚ “त्याँ त जादैन अचेल । पम्फा दिदी डेरासरिसक्यो । एकदिन गा’को थ्यो रे ! पल्लो कोठाकी दिदीले छोराछोरीको मोजा काटिदेला भनेर दाउराले हानेर लखेटेछ ।” मैले सम्झिएँ, एकदिन बिहान यहाँ आउँदा दर्के झरी परेको थियो । साँझ जाँदा घाम झलमल लागे कसले छाताको खोजी गरोस् ।भोलिपल्ट यतालाग्दा बीच बाटोबाटै सिमसिम पानी पर्न थाल्यो झोला छामेको त छाता छैन; निथ्रुक्कै भएर फलामे ढोका खोलेरभित्र पसें । हातमा मेरो छाता च्यापेर कोपिला उभिएकी थिई । मलाई देखेर हाँस्दै खोलेर देखाई; गाइजात्राको व्यङ्ग्यकारले ओढ्नलायक बनाइदिएछ सत्र ठाउँ टोकटाक पारेर । कोपिलासँग पड्किएँ‚ “किन छोडेको साँढेलाई ?” “मैले हो त‚ आफैँ फुकेछ राति ।” उसले आफ्नो बचाउ गरी । हाम्रो हल्लाखल्ला सुनेर मिस्टर ‘ओउ’ तल \u200cओर्लियो । “कुल डाउन माई योङ फ्रेन्ड । आइ ह्याभ लस्ट मोर देन यु । लुक एट माई सुज ! पुअर मि ! माई एल्डर सन स्पेन्ड अल्मोस्ट २ लाखवन टु पर्चेज दिज् सुज फर मि बिफोर आइ डिपार्जर फ्रम कोरिया । (शान्त होऊ मेरा तन्नेरी साथी । तिमीले भन्दा धेरै त मैलेगुमाएको छु । बिचरो म‚ मेरो जेठो छोराले म कोरियाबाट हिँड्नुअघि यी जुत्ता दुई लाख कोरियन वन हालेर किनिदिएको थियो ।)” रुवाजति उडेका धुजाधुजा भएका जुत्ता देखाउदै उसले भन्यो । अनि हामी अबदेखि होसियार हुनुपर्छ भन्दै माथि उक्लिएका थियौं त्यो दिन । मलाई फेची पटक्कै मन पर्दैन । त्यसैले यसको नामको अर्थ के हो भनेर मैले मिस्टर र मिसेज ‘सङ’सँग कहिल्यै सोधेको पनि छैन ।यही वर्षमात्रै ऊ चारपटक बिरामी परिसक्यो । उसको डाक्टर आउने दिनमा म दीपक दाइलाई गुहार्छु । मलाई फेचीको गन्धै मनपर्दैन; वाकवाकी लाग्छ । तर त्यो फटाहा पशु चिकित्सक पनि मै जस्तो सिकसिके छ । उपचार गर्न आउँदा जे पनि हामीलाई लगाउँछ । एकदिन त ज्वरो नाप्न थर्मिमटिर फेचीको मलद्वारमा घुसार्न दीपक दाइलाई लगायो; मैले आँखै देखिनँ र पड्किएँ‚ “तपाईँको काम त्यसो भए के नी ? कुकुर छुन घीनाउने अनि केनल क्लबमा जागिर गर्ने ? वाहियात !” केटौले थियो बिचरा आत्तिएर त्यसपछि सबै काम आफैँ गर्\u200dयो । हुन पनि त्यसदिन फेचीले उधुमै गरेको थियो । कोपिला र दीपक दाइलाई छेउछाउ नै लाग्न दिएन किनकि उसले आफ्नो शत्रु आएको देखिसकेको थियो । मैले थाहा पाएसम्म फेचीले मन नपराउने तीनजना मान्छे छन् । त्यही उसलाई सुई घोच्ने चिकित्सक, दीपक दाइ र कोपिला । पहिलो दुई जनालाई त ऊ फुटेका आँखाले पनि सहदैन । कोपिलाले भने साँझ बिहान खाना खान दिने भएकाले उसको ज्यादतिमाथि पनि पुच्छर हल्लाउन बाध्य छ । केही सीप नलागेपछि त्यसदिन फेचीलाई फकाउने जिम्मा मेरै काँधमा आइलाग्यो । हजार दाउ लगाएर मैले उसको घाँटीमा बाँधेको साङ्ग्लो अड्काउने काँठी समात्न भ्याएँ । नटोकोस् भनेर मुख बाँध्ने जालो लिएर दीपक दाइ हामीतिर दौडियो । दीपक दाइ जालोमुखमा लगाउने उपक्रममा थियो । केभिन, त्यो चिकित्सक र अरु मिलेर उसलाई आँगनमा लडाए । आत्तिएको फेचीले दीपक दाइको ओठ र गालासम्मै भ्याउने गरी मुतिदियो । “छाडिदियो नि गङ्गाजल‚ भयौ सबै पवित्र अब !” घीनले सर्ट टक्टक्याउदै मैले भनें । बिचरो चिकित्सकले घीनाउदै फेचीको छालामा सुई रोप्यो । एकहप्तासम्म खानामा मिलाएर औषधि खुवाउने जिम्मा कोपिलाले पाई । ऊ यसैगरी हामीलाई सताउँछ । किन मलाई कुकुर बिराला मन पर्दैनन् थाहा छैन । यो फेची त झनै मन पर्दैन । उफ ! यसको खेलबाडको कसले बयान गरोस् । म यहाँ आइपुग्दा ऊ फुकै रहेछ भने मेरो हुर्मत लिन्छ । एक्कासी कताबाट आउँछ र हिलोमा डुबेका त्यसका खुट्टा मेरो टाउकासम्म पुग्नेगरी जाइलाग्छ । म सम्हालिन नपाउदै मेरो सर्ट–पाईन्टमा त्यसका नङ्ग्राका खुब राम्रा हिले बुट्टा कुँदिसकेको हुन्छ । क्रोधले म उम्लिन्छु अनि ऊ लत्याकलुतुक परेर खुट्टा चाट्न निहुरिन्छ‚ पुच्छर हल्लाउँछ‚ कुँइकुँइ गर्छ; मानौं मेरो लुगा बिगारिदिएकोमा माफी माग्दैछ । यताउति लठ्ठी खोजिरहेका मेरा आँखा त्यतिकै रोकिन्छन् । फन्किदै म भित्र पस्छु। ऊ मैलाई हेरिरहेको हुन्छ अझै माफी मागिरहेको शैलीमा । दिक्दार हुँदै म झोला बिसाएर बाथरुम छिर्छु ,लुगा पखालपुखुल पार्छु र नुहाएर काम सुरु गर्छु । घर जाने बेलामा पनि ऊ मलाई यसैगरी अप्ठेरोमा पार्छ । आँगनबाट निस्केर म जब फलामे ढोका बन्दगर्छु, ऊ गहिरो निद्रामा परेकोजस्तो स्वाङ्ग गर्छ । तर मैले दुई पाइला चालिनसक्दै फलामे ढोकामाथिबाट हाम फालेर बाटोमा निस्किन्छ; म झस्किन्छु ।बिन्दास् चालाले ऊ मेरो पछि लाग्छ । “फेची‚ घर जा ।” मलाई नसुने जस्तो गरेर ऊ झन् मेरो अघि पो लाग्छ ! बिजुलीको पोल देख्नै हुन्न् तुर्\u200dक्याइहाल्छ । मलाई रीस उठ्छ‚ हप्काउँछु; झन्अघिअघि दगुर्छ; म आज तेरो पछि लाग्न आएको हैन के भनेजस्तो गरी बेवास्ता गर्दै ! मूलबाटो निस्केपछि म फेरि चेतावनी दिन्छु‚ “बाटो काटेर मेरा पछि लागिस् भने तँ आज मरिस् ।” साँच्चै बाटोपारि पुग्दा ऊ मसित हुँदैन । उतै पल्लापट्टि केके सुँघिरहेको हुन्छ‚ मलाई देखेकै छैन जस्तो गरी । मलाई हल्का महसुस हुन्छ । टेम्पो आउँछ, म हात हल्लाउँछ‚ फेरि ऊ अकस्मात प्रकट भइदिन्छ‚ ‘ह्वाङ्ग ह्वाङ्ग’ गर्दै भुक्छ र टेम्पोको पछि लाग्छ । भित्रबस्ने ठाउँ नपाएर उभिनु पर्\u200dयो भने त झन् जात्रै देखाउँछ; शुभतारा स्कुलभन्दा माथि पुग्छ मेरो दुर्दशायुक्त बिदाइ गर्न । खानै आईहाल्छ क्यारे जस्तो गरेर टेम्पोका यात्रु डराउँछन् र यत्रा आँखाले मलाई हेर्छन् । यस्तो बदमास् कुकुर हराएकोमा म त झन् खुशी पो हुनुपर्ने तर किन बेचैन छु । राम्ररी मिलाएर ढुङ्गा छापेको आँगनमा शरद्\u200cकोपोषिलो घाम टल्केको छ । बारम्बार मेरा आँखा त्यही ठूलो फलामे गेटतिर गइरहन्छन् । कतैबाट त्यो गेट नाघेर घन्द्र्यामघुन्द्रुम गर्दै फेची आइहाल्छ कि जस्तो लाग्छ । उसलाई बाँध्ने ठाउँतिर हेर्छु, खालीखाली छ; अधीर भएर दीपक दाइलाई फोन लगाउँछु; व्यस्तको व्यस्त छ । कुनचाहिँ एफएममा फोन लगाएर सुर न तालको गाना सुनाउदैहोला; वाक्क लागेर रिडायल गर्नु छोडिदिन्छु । फेरि एकचोटि फेची बाँध्ने थलोतिर हेर्छु र ढाड तन्काउने बहानामा तल ओर्लिन्छु । फेचीको खोरमा उसको वाक्वाकी लाग्ने गन्ध जस्ताको त्यस्तै थियो; ठूलो बटुकोमा केही खानेकुरा पनि बाँकी नै थियो । तर फेची थिएन । मलाई त्यहाँ देखेर होला कोपिला पनि त्यही आई । “हेर त खाना पनि नखाइ हिँडेछ ।” केही गम्भीर भएर मैले भनें । “कम्ति मात्तेको छ त्यो फेची‚ मासुमात्रै खान खोज्छ; भात त छुदैछुदैना । मेडमले कैलेकाइँ हड्डी ल्याएर छोडिदिन्छ; जतासुकै जावोस् ।” यति भनेर ऊ घर पछाडि लागी; सायद लुगा धुन होला । ढाड तन्याकतुनुक पार्दै म बरन्डामा आएँ । तीनचार दिनअघि हुनुपर्छ, फेची यहीनेर सुतिरहेको थियो म आइपुग्दा । जुत्ताको धुलो टक्टक्याउदै फुकालें तर उसले आँखै उघारेन; मतिर हेर्दा पनि हेरेन । अचम्म लागेर मैले उसलाई बोलाएँ । यसो आँखा उघारेर हेर्\u200dयो अनि फेरि तत्काल बन्द गरिहाल्यो । मुन्टै उठाएन । उसको टाउको मुसार्न झन्डै पुगेका आफ्ना हातलाई झट्ट आफैँतिर खिँच्दै मैले केही कमलो स्वरमा फेरि बोलाएँ, “फेची !” मसिनो स्वरले कुइँय गर्\u200dयो तर आँखा उघारेन, न त मुन्टो नै उठायो । मैले कोपिलालाई बोलाएँ । तीनचारचोटि चड्का स्वरले बोलाएपछि ऊ आई । “फेचीलाई के भयो कोपिला ?” “खै के भयो, बान्नै हुन्ना रोएर तमास गर्छ । वरिपरिको मान्छेले कस्तो कराउँछ । अब त मैले बान्नै छोडिदियो । खानेकुरा पनि मिठोमिठो मात्रै खोज्छ ।” कोपिला भन्दै गई‚ “नबाने दीपक दाइ कराउँछ; फूल भाँचिदियो‚ गमला फोरिदियो तेरा डाम्नाले भन्छ ।बान्यो रोएर सताउँछ । मरे हुनेनी बरु । यी दुइटा कुकुरको के काम ।” साँच्चै यी दुइटा कुकुरलाई दीपक दाइ फुटेका आँखाले पनि सहदैन । सातामा तीन दिन ऊ हाम्रोमा फूल स्याहार्न आउँछ । बगैंचाको उत्तरपट्टि इनार वरपर उसले खुबै राम्रो दूबो हुर्काएको छ । तर फेची र उसको छोटेभाइ फुक्ने मौका पाए भने बिष्ट्याउन पनि त्यही जान्छन्, लडिबडि गर्दै खेल्न पनि त्यही । उसले धेरै मेहनत गरेर एउटा गमलामा एभोकाडो हुर्काएको थियो । कुनचाहिँले हो एकदिन फुकेको बेलामा बीचैबाट; भाँचिदिएछ झन्डै आधामिटर जति हुर्किसकेको बिरुवा । राँक्किएको दीपक दाइले मोटो बाँसको भाटो लिएर दुवैमाथि जाइलागेछ त्यो दिन । बिचरा सानोचाहिँलाई त पछाडिका खुट्टा समातेर झुन्ड्याएर चुट्ट्दै थियो । म बाहिर गएको थिएँ, फर्किदा आँगनमा गजबको तमासा देखें । “दीपक दाइ‚ बिचरालाई के गरेको ? के बिगार गर्\u200dयो र ?” मैले डाको लगाएँ । फ्यात्त कुकुर छाडेर ऊ उजुरी हाल्न तम्स्यो। चुटाइले थिलोथिलो भएका कुकुरहरू ज्यान चाट्दै खोरभित्र पसेर कुइँकुइँ गर्न लागे । “यो डेब्री (कोपिला) लाई नछाड् है भनेको किन फुकाउँछे त्यसका डाम्ना; मैले गू पनि सोहर्नुपर्ने ? यत्रो भैसकेको एभोकाडो कि गाँडो पनि भाँचेर मरेछ । यता फूल लगाउने भनेर ड्याङ्ग पारेर गा’को अस्ति लडिबडि गरेर‚ हगेर मरेछन् । अनि रीस उठ्दैन त ।” कोपिला किन चुप लाग्थी‚ “मैले फुकाको हो त । आफैँ फुक्छा‚ मलाई टेर्दैटेर्दैन । यो स्यानो त झन् मलसाँप्रो जस्तो छ, घरअगाडि र पछाडि कुद्छ; म त बान्नै सक्दैना । यो मेडमले पनि के गर्छगर्छ । दुइटा कुकुर ल्याएर बाँधिदेको छ । जति ख्वाए पनि नअघाउने स्यानो त । चामल कति छिटो सकेको भन्छ फेरि ।” “भयो भयो अब; चुप लाग । दीपक दाइ‚ अबदेखि यसरी कुटेको देखेमा म राम्रो मान्दिनँ है ।” मैले विवाद मिलाउने उद्योगमा भनें । “हजुरआमालाई यो सानोचाहिँ उनकै घरमा लैजान भन्नु न त ! फेचीभन्दा यो झन् बदमास् छ ।” असहाय भएको दीपक दाइले भन्यो । “उनीहरू बिचरा त्यहाँ कोलोनीमा बस्छन् । छिमेकीहरूले करायो भनेर कम्प्लेन गरेपछि यता ल्याएको अरे‚ फेरि कसरी लैजान भन्नु। कि त बाहिर कतै लगेर फ्याँकिदिनु पर्\u200dयो ।” निरुपाय मैले भनें । “याँ’चाहिँ कराउदैन रे ?”‚ कोपिला चट्टारिई‚ “पल्लो घरको बूढो मान्छेले अस्ति कस्तो गाली गर्\u200dयो मलाई । यतापट्टि अपिसको पालेहरूले सधैं जिस्काउँछ । यिनै डाम्नाहरूसँग जोडेर केके भन्छ ।” “तँ डेब्री उस्तै छेस् किन भन्दैनन् त’नि ! खुब भोगटे लग्दै खुवाउदै गर्छेस् रे ! कुनदिन यही बास बस्न आइपुग्छन् अनि थाहा पाउछेस् ।” दीपक दाइले पोल खोल्यो । “धेरै नबोल है दीपक दाइ तिमी जस्तो हैन हामी । केटी जस्तो स्वर पारेर आफैँ कोको केटासँग फोनमा आधाआधा घन्टासम्म कुरागरी बस्छ, यता आल्चाको बुटामुनि गएर । खुब मलाई भन्छ ।”‚ कोपिला पनि के कम हुन्थी र थपी‚ “सिताले मलाई भनेको दाइ, यो दाइले केटासँग लभ खेलेको रे । त्यो केटो बिचरा त कोटेश्वरमा यत्रो ठूलो फूल बोकेर आको रे यो दाइलाई देखेर भागेछ, फूलसुल फ्याँकेर ।” “चुप लाग् डेब्री ।”‚ भाटो बोकेर दीपक दाइ कोपिलातिर झम्टिन दौडियो। “भयो‚ चुप अब दुवैजना ।” मैले हस्तक्षेप गरें । काटेर खाए हुने नी बरु खान्छन् रे नि त यो जात ले त (कोरियनहरू कुकुरको मासु खान्छन् ।)” । अन्तमा तीतो पोख्दै दीपक दाइएउटा हातमा प्लाष्टिक बेरेर बगैंचातिर गू टिप्न हिँड्यो । पहिलेका कुरा सम्झेर के गर्नु, म फेरि वास्तविकतामा फर्कें‚ फेचीको खोजी जसरी पनि गर्नुछ आज । न दीपक दाइले पो कतै देख्यो कि, म फेरि उसलाई फोन लगाउँछु भन्दै माथि उक्लिएँ; फेरि उस्तै व्यस्त देखाउँछ उसको मोबाइल । कस्तो अजीवको मान्छे छ यो दीपक दाइ पनि, कति खर्च हुन्छ होला उसको फोनको महिनामा ? दिनमा २० ठाउँ गर्छ होला फोन एफएमहरूमा । एकाबिहानैदेखि आधारातसम्म कुन एफएममा कुनबेला लोकदोहोरी बजाउने कार्यक्रम बज्छ‚ कसले चलाउँछ उसलाई सबै कण्ठ छ । यहाँ काम गर्नआउँदा पनि कहिले गीत लेखिरहेको हुन्छ, एउटा कुनातिर लुकेर त कहिले अर्कोतिर उभिएर मच्चीमच्ची गीत गाइरहेको हुन्छ एफएममा । टाढैबाट म उसको गतिविधि नियाल्छु । कोपिला जिस्काउन जान्छे कहिलकाहिँ उसले एफएममा गीत गाइरहेको बेलामा । आवाज ननिकाली ऊ ओठैले कराउँछ कोपिलालाई‚ “उता जा डेब्री । तँ फक्रेको फूल ।” कोपिलालाई दीपक दाइले’फक्रेको फूल’ भनेको सुन्यो भने ऊ मूडमा छ भन्ने थाहा हुन्छ मलाई । उसो त ऊ सधैं मूडमा नै हुन्छ, सिवाय फेची र उसको साथीले बगैंचा नबिगारिदिएको अवस्थामा । बल्लबल्ल उसलाई फोन लाग्छ । आत्तिदै म सोध्छु‚ “दीपक दाइ‚ फेची हरायो । कतै देख्नुभयो ?” जवाफमा ऊ घोडा हिनहिनाएजस्तो गरी हाँस्छ । “किन हाँसेको वाहियात ।”‚ मलाई बेला न कुबेला ऊ हाँसेको फिटिक्कै मन पर्दैन । “अब मैले कसरी थाहा पाउनु । कात्तिक लाग्या थाहा छैन । गयो होला कतै अड्काउन !” ऊ फेरि उसैगरी हाँस्यो । मैले ढ्याक्क फोन राखिदिएँ । के सम्झेर हो कुन्नी, उसले कलब्याक गर्\u200dयो र भन्यो‚ “साँच्चै मलाई थाहा छैन दाइ । पम्फा बस्नेतिर गयो कि खोज्न जा भन्नु नि त्यो कोपिलालाई ।” “ल ल खोजौला ।” मलाई अघिको उसको जवाफले अझै चिढाइरहेको थियो तैपनि सोधें‚ “तपाईं आज आउने हो कि होइन ?” “आउँछु दाइ आउँछु, तीज बजेतिर ।” “ल ल ।” भन्दै मैले फोन राखें । गजब छ सम्बोधन पनि ऊ मलाई ‘दाइ’ भन्छ, म पनि उसलाई ‘दाइ’ नै भन्छु । उमेरको कुरा गर्दा ऊ मभन्दा पक्कै पनि जेठै होला, तर मैले कहिल्यै सोधेको छैन । ट्रिङ्ट्रिङ् फोनको घन्टीले मलाई फेरि वास्तविकतामा ल्यायो; हतारिदै उठाएँ । उताबाट आवाज आयो, “हेलो हजुरहरूकोमा कुकुर छ है‚ सर ।” “हजुर हजुर छ । तपाईँ को बोल्नुभयो ? हाम्रो कुकुर हराएको दुई तीन दिन भइसक्यो । तपाईँले फेला पार्नुभएको हो ?” मैले सासै नफेरि सोधें । “हो र हजुर ?” त्यो आवाजले भन्यो‚ “म त यहाँ माउन्ट भ्याली केनल क्लबबाट; हजुरको कुकुरलाई इन्जेक्सन दिने बेला भए छ | हाम्रो डेटाबेसले त्यही देखाउँछ । मैले त भोलि म एन्टिरेबिज भ्याक्सिन दिन आउँछु भन्नलाई गरेको ।” “कुकुर त हरायो, अब तपाईँ कसलाई सुई घोच्न आउने ? सानोचाहिँलाई लगाउने बेला भएको छैन होला ।” मैले चटारिदै भनें । “भेटिएपछि खबर गर्नुस् है हजुर ।” भनेर उसले फोन राखिदियो । काममा मनै लागेन आज । यो ढाडले पनि मलाई तीसै वर्ष नपुगी बूढो पारिदिएको छ; कुर्सी त शत्रु नै भयो । कहिले छतमा कहिले तल कहिले यता कहिले उता गर्दै ढाड तन्काउदै म फेचीकै कुरा सम्झिदै अलमलिएँ । कत्रो शून्य आज यो फेची हराउँदा; फेरि उसलाई बाँध्ने ठाउँमा गएँ । सबै कुरा उस्तै छन्; भर्खरै किनेर ल्याएको साङ्गलो टलक्कटल्किएको छ पश्चिम ढल्केको घामले, तर फेची छैन । म माथि उक्लिएँ र एकछिन् फेसबुकमा अल्मलिएँ । दीपक दाइ आयो । ऊ साइकल सधैं मेरै झ्याल तल राख्छ र “दाइ” भनेर मेरो ध्यान आफूतिर आकृष्ट गर्छ । तर आज चुपचाप लागेर ग्यारेज पछाडितिर गयो र कुटो‚ हँसिया केके हो बोकेर आयो अनि फेची बस्ने खोर अगाडि खनिखोस्री गर्न लाग्यो । मैले माथिबाट हेरी रहें केहीबेर तर मैले पनि बोलाइनँ । “तलाई डेब्री राम्ररी स्याहार गर्नुपर्दैन त कैले मर्\u200dयो अरे ?”‚ चड्का स्वरले दीपक दाइ कराउँदा मेरो ध्यान भङ्ग भयो । जर्\u200dयाकजुरुक उठेर झ्याल खोलें । “मलाई के थाँ त ।” मलाई झ्यालबाट हेरेको देखरेर मतिर हेर्दै कोपिलाले थपी‚ “दाइले त बिरामी छ भन्थ्यो । त्याँ परको घरमा गएर मर्\u200dयो रे अस्ति राति ।” म हाम फालेर तल तिनीहरू भएको ठाउँमा पुगें । “दाइ फेची मर्\u200dयो भन्छे त यो डेब्री त ।” दीपक अझै कुरालाई हल्कै बुझिरहेको थियो क्यार, “छी ! कस्तो यो दीपक दाइ त । अस्ति राति मरेको रे । हिजो फोहर उठाउन आउनेलाई त्यो आमाले आठ सय रुप्पें दिएर फाल्न लगायो रे ।” कोपिलाले भनी । “हाम्रो कुकुर मरेपछि हामीलाई खबर गर्नु पर्दैन रे ? को आमाको घरमा मरेको रे नि ?”‚ मैले सोधें । पश्चिमतिर देखाउदै कोपिलाले भनी‚ “उ त्यो घरको आमाले फाल्न लाको रे त्यही गएर मरेछ । हाम्रो गेटअगाडि ल्याएर छोडिदिन लाउँकी भनेको रे फेरि आफैँ पैसा तिरेर फाल्न लाएछ ।” “कस्तो रे रे भन्छ्यौ तिमी ? तिमीलाई चाहिँ कसले भन्यो ?” बगैंचाको डिलमा थकुक्क बस्दै झोक्किएर मैले सोधें । “यो घरमा बस्ने दिदीले ।” फेरि कोपिलाले पूर्वतिरको घर देखाई । यो ठूलो घरमा एउटी मोटी तामाङ्नी (सायद उसको श्रीमान पनि) काम गर्न बस्छे भन्ने मलाई थाहा छ, जसकी सानी गुडिया जस्ती राम्री छोरी हाम्रो घरको गेट खुल्लै देखि भने फुत्त बगैंचामा छिर्छे र मग्न भएर पिङ्ग खेल्छे । तर आमाचाहिँले देखि भने जगल्ट्याउदै लछारपछार पारेर लान्छे । “त्यो दिदीलाई कसले भन्यो नि यो कुरा ?”‚ दिक्क भएको मैले कोपिलालाई सोधें । कोपिला बोल्न नपाउदै हाम्रो गेट कुइँय गर्दै खुल्यो । त्यही मोटी आइमाइले गेटबाट आधा चियाएर भनी; सायद ऊ हाम्रो कल्याङ्मल्याङ् सुनिरहेकी हुँदिहो आफ्नो घरबाट‚ “त्यो आमाले मोलाई भनेको ।” उसकी सानी केटी आमाको च्यापबाट फुत्त निस्की र पिङ्गतिर दौडिई । दुई झड्को नखेल्दै त्यो तामाङ्नी दिदी च्याँठ्ठिइ‚ “ओइ आईजा ।” लुरुक्क पर्दै सानीकेटी आई र आमाको कुर्ताको फेर समाई । गेट यसो तादिदिएर तिनीहरू गए । “सञ्चो भयो‚ फ्याँक्नलाई पैसा पनि लागेन ।”‚ लामो घिच्रो तानेर दीपक दाइले भन्यो । ऊ अझै केही भन्नेवाला थियो तर मतिर हेर्\u200dयो अनि चुप लाग्यो । निहुरेर कुटोले केके खनिरहेजस्तो गर्\u200dयो; कोपिला भने केही नबोली उभिरही । केही समय त्यतिकै बित्यो । अचानक मेरो मुख बाट निस्क्यो‚ “दीपक दाइ ।” आत्तिएर जुरुक्क उठ्दै उसले भन्यो‚ “हजुर दाइ ?” “अब त्यो सानो कुकुरलाई यहाँ फेचीको ठाउँमा सारिदिनुस् । ग्यारेजअगाडि त्यसले कति नराम्रो दुर्गन्ध फैलाएको छ ।” मैले उठ्दैभनें । “हस् दाइ ।” कतिखेर बसेर फेरि काम गरिरहेको उसले कुटोले ड्याङ् फोर्दै भन्यो । केहीबेरमा उसले सानो कुकुरलाई साँङ्गलोले घिच्याउदै फेची बस्ने ठाउँमा ल्याएको मैले माथि झ्यालबाट देखें । “लु यही बस्, मर् अब ।” “तेरो बराजु मरिहाल्यो रे । अब तैं भइस् राजा !” “यताहुँदी हगिस् भने यो भेट्छस् नि !”, बाँसको भाटा देखाउदै उसले भन्यो । ठाउँ फेरिएर हो कि किन हो त्यो सानो कुकुर कुइँकुइँ कराइरह्यो । मैले फेसबुकमा स्टाटस् लेखें, “फेची मर्\u200dयो ! मेरो ………साथी !” #प्रकाशकुमार शर्मा
जसरी लाग्छ घाम चर्की छायाँ उस्तै हुन्छ !: मुक्तक – १ नदीसँगै सागर भेट्न बग्दोरहिछ पानी बेग बनी चट्टान रेट्न बग्दोरहिछ पानी तरानी हो पानी हेर पानी नै हो जीवन आँसु झर्दै पीर मेट्न बग्दोरहिछ पानी ! मुक्तक – २ करोडौं फूल फुले पनि बोट एउटै हुन्छ रङ्क रैती जो भए नि भोट एउटै हुन्छ पीडा दिने घाउ हुन्न दुखाई हुन्छ हजुर तन मन जहाँ लागे नि चोट एउटै हुन्छ ! मुक्तक – ३ कसरी मिल्थ्यो लय मनको सबैसँग हजुर किन चल्थ्यो अहं तनको सबैसँग हजुर फरक मास फरक फुल्छन् फूलहरू पनि कहाँ टिक्थ्यो रनक धनको सबैसँग हजुर ! मुक्तक – ४ दरिलो भए बायाँ पाङ्ग्रो दायाँ उस्तै हुन्छ जसरी लाग्छ घाम चर्की छायाँ उस्तै हुन्छ शङ्काले नै टुट्छ हेर जीवनको तार पनि जति गाढा मनको नाता माया उस्तै हुन्छ ! मुक्तक – ५ छड्किएपछि नतारी त माड किन सुक्थ्यो स्वाट्ट नपारी डबका त जाँड किन सुक्थ्यो कयौं कुरा त अप्रिय हुन्छन् कठोर बन्नुपर्छ चिरफार गरी नफाले त गाँण किन सुक्थ्यो ? मुक्तक – ६ भरिनुको खुसी कस्तो झुसिएको भाँडो हेर अग्लिनुको अर्थ के हो चुलिएको डाँडो हेर जीवनजस्तै छ प्रकृति पनि हेरी पाठ सिक मित्रताको गर्व कति फूलसँगैको काँडो हेर ! मुक्तक – ७ पर्खाइको स्वाद के हो बल्छी थाप्ने टाँगो हेर गुमाउनुको मोल के हो फल लाग्ने हाँगो हेर जिन्दगी नै बोझ बनाई जिउँछन् कायरहरू सहासको अर्थ के हो झर्झर झर्ने छाँगो हेर ! मुक्तक – ८ प्यासको पछि लाग्दालाग्दै आज भोगी बन्यौ अहंकारले जलेर भित्रभित्रै आज रोगी बन्यौ कसले रचायो भन दौडधुपको नटुङ्गिने खेल धनको पछि हिँड्दाहिँड्दै आज जोगी बन्यौ ! मुक्तक – ९ बाहिर एउटा भित्रभित्रै हजार लीला हुन्छन् हेर मुखाँ राम मस्तिष्कमा सेक्सी फीला हुन्छन् हेर कति गर्छौ भ्रमको रोपाइँ तथ्यसँग प्रमाण हुन्छ छोप्ने पर्दा खसेपछि ईश्वर पनि गीला हुन्छन् हेर ! मुक्तक – १० कसरी भरमा पर्नु हजुर मुखिया नै जाली भा’छ के को लाली भर्नु हजुर अनुहार नै काली भा’छ सकुनीहरूको बैठकमा पासाको नै खेला चल्छ कसको विश्वास गर्नु हजुर बगरे नै माली भा’छ ! प्रथा #प्रथा
सच्चा राष्ट्रवाद !: डा. मनमूर्ति भुर्तेल राष्ट्रवाद एक पुर्ख्यौली सम्पति, हामीले पहाडमा बाजेको कछाडसँगै पाएको आज जताततै गुञ्जिरहेछ राष्ट्रवाद विभिन्न उद्देश्यका परिभाषामाः व्यक्तिगत स्वार्थ- राष्ट्रवाद पारिवारिक स्वार्थ- राष्ट्रवाद पार्टीगत स्वार्थ- राष्ट्रवाद गुटगत स्वार्थ- राष्ट्रवाद साम्प्रदायिक स्वार्थ- राष्ट्रवाद कहीँ धोती राष्ट्रवाद, कहीँ फरिया राष्ट्रवाद, त कहीँ टोपी राष्ट्रवाद यी सब राष्ट्रवादहरुका बीच पेलिएको छ सच्चा नेपाली राष्ट्रवाद खोज्दै जाँदा पुरै नेपाली सिमाना देखेँ दक्षिणी सिमानामा, दशगजा नजिकै एक वृद्ध समूह च्यात्तिएको गन्जी, भ्वाङ परेको धोती र फाटेको चप्पलमा बाङ्गिएको लट्ठीले विदेशी क्रूर बन्दुकसँग निडर भिडिरहेका ! यो सच्चा नेपाली राष्ट्रवादलाई सलाम छ । सक्छौ दिन तिनलाई एक सेतो गन्जी ? सक्छौ दिन तिनलाई एक सफा धोती ? सक्छौ दिन एक जोर टिकाउ चप्पल ? शायदै सक्लाउ दिन बन्दुक त; सक्छौ दिन तिनलाई एक एकताको लट्ठी ? अनि भिड्दै गर्दा चाहिने एक काँध सहारा ? सक्छौ भने तिम्रो यो आत्मिय र सच्चा राष्ट्रवादलाई पनि सलाम छ । मास्को (रसिया) #डा. मन मुर्ति भुर्तेल #मस्को #रूस
मुना चौधरीको पक्षमा: कथाकार मुना चौधरी र बाह्रखरी उत्कृष्ट कथा प्रतियोगिता विगत एक सातादेखि चर्चामा छन् । अथवा यसो भनौँ, नेपाली साहित्य जगतले यी दुईलाई कतिसम्म चिथोर्न सकिन्छ, त्यतिसम्म चिथोरिरहेका छन् । सामाजिक सञ्जालमा आएका केही शब्द र प्रहार हेर्दा यो मुनाको अस्मितामाथि शाब्दिक बलत्कारकै प्रयास हुन थालेको पो हो कि भन्ने महसुस हुन्छ । त्यो पनि यस्ता व्यक्तिहरुबाट, जसले नारी अस्मिता र स्वतन्त्रताका कुरा आफ्ना साहित्यका पुस्तकभरि अटेसमटेस हुनेगरी भरेका छन् । अश्विनी कोइराला कुनै पनि विषयमा बहस अनिवार्य छ । यसले काममा निखर ल्याउँछ । सुरुका केही दिनमा सामाजिक सञ्जालमा आशा अनुरुप नै स्वस्थ किसिमका बहस पनि भएका थिए, तर बिस्तारै यो बहस तिरस्कार, घृणा र अपमानतिर उक्लदैँ गएको महसुस भएपछि नेपाली साहित्यको हीत चिताउने धेरैको ध्यान यो प्रकरणतिर मोडिएको छ । मुना चौधरी भाइरल हुँदैगर्दा साहित्य प्रेमीको मनमा प्रश्न उठेको छ, के बाह्रखरी अनलाइनले कथा प्रतियोगिता गरेर अपराध नै गरेको हो ? मुना चौधरीको कथाले अश्लील भाषाको हद नाघेकै हो ? निर्णायकका रुपमा बसेका मदन पुरस्कार प्राप्त दुई प्रशिद्ध लेखक नारायण वाग्ले, अमर न्यौपाने र गएको वर्ष यही प्रतियोगितामार्फत् प्रथम भएकी विना थिङ्लाई कथाको बारेमा सामान्य जानकारी नै छैन ? बाह्रखरी बुक्सका सम्पादकले राजीनामा दिनैपर्ने हदको अपराध गरेका हुन् ? माथिका केही जायज प्रश्नको जवाफ खोजिएन भने नेपाली साहित्यमाथिको यो दाग कहिल्यै मेटिने छैन । प्रतियोगिता र प्रतिस्पर्धा: बाह्रखरी कथा प्रतियागिताको आलोचनाका क्रममा केहीले उठाउँदै गरेको विषय हो, ‘साहित्यमा प्रतिस्पर्धा हुनु हुँदैन । यसले साहित्यको गरिमा बढाउँदैन ।’ — विश्व साहित्यमा सबैभन्दा प्रतिष्ठित कुनै पुरस्कार छ भने त्यो नोबेल पुरस्कार नै हो । अपवादको नियम जहाँ पनि हुन्छ । र, यो नियमलाई स्वीकार गर्ने हो भने विश्वका रहेक प्रसिद्ध लेखकलाई नोबेल पुरस्कार पाउने धोको रहन्छ । कुनै ख्याती प्राप्त लेखकले नोबेल पुरस्कार प्राप्त गरेनन् भने उनको मृत्युपछि पनि यति राम्रा लेखकलाई पनि किन यो समूहले सम्झेन भनेर अन्तत्वगत्वा नोबेल पुरस्कारकै महिमागान गरिरहेका हुन्छन् । यस्तै प्रतीक बनेको छ नेपालको हकमा मदन पुरस्कार । हरेक वर्ष मदन पुरस्कारको घोषणापछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा हुने टिकाटिप्पणीले पनि पुरस्कार, प्रतिस्पर्धा र नेपाली साहित्यबीचको अन्योन्याश्रित सम्बन्धलाई अस्वीकार गर्न सकिन्न । यही पुरस्कारका पाएका कारण धेरै लेखकहरुको पुस्तक बिक्रीले मानक छोएका छन् र उनीहरुलाई पूर्णकालीन लेखक हुन बल पुगेको छ । कतिको जीवन ‘मदन पुरस्कार प्राप्त लेखक’को ट्याग झुण्डिएकै कारण चलेको छ । धेरै प्रकाशकको ध्यान हरेक वर्ष आफ्नो गृहबाट प्रकाशित लेखकले यो पुरस्कारले पाए आफ्नो वर्षभरिको घाटा पुर्ताल गर्न सकिन्छ कि भन्ने चाहानामा केन्द्रित हुन्छ । राम्रा पुस्तकले मदन वा पद्मश्री पुरस्कार पाएन भने यति राम्रो पुस्तकलाई ती पुरस्कार किन दिइएन भन्ने प्रश्न उठ्ने गर्छ । प्रज्ञा प्रतिष्ठानले गर्दै आएको राष्ट्रव्यापी कविता प्रतियोगितामा भाग नलिने कवि कमै छन् । यही प्रतिस्पर्धाका धेरै प्रत्यासी आज नेपाली साहित्यका उँचा नाम भएका छन् । तर यसमा पनि विवाद उठ्ने गरेको छ, र कतिपय अवस्थामा यस्ता प्रतिस्पर्धाको आवश्यकता नभएको कुरा पनि उठ्ने गरेको छ । तर प्रतिस्पर्धा किन आवश्यक छ भन्ने कुरामा कसैको ध्यान गएको देखिँदैन । सामाजिक सञ्जालमा मदन पुरस्कार, राष्ट्रिय कविता प्रतियोगिता र बाह्रखरी प्रतियोगिताका विषयमा प्रश्न उठाउने कतिपय यस्ता व्यक्ति पनि देखिए, जसले आफ्ना पुस्तक मदन पुरस्कार वा पद्मश्री पुरस्कारको सूचीमा किन परेन भनेर अरुलाई बोल्न–लेख्न लगाएका छन् । (यसको प्रमाण साहित्यपोस्टसँग सुरक्षित छ ।) एकेडेमी र अन्य प्रतियोगिताका हकमा पनि धेरैपटक यस्ता चरित्र देखिएका हुन् । यसपटक पनि कथामा प्रतिस्पर्धा किन ? भनेर प्रश्न उठाउनेहरुको कमी थिएन ।तर उनीहरूले विद्यालयमा, कलेजमा, हाजिरी जवाफमा, वक्तित्व कलामा, लोकसेवा आयोगमा, प्राइवेट कम्पनीका जागिरहरुमा र अरु धेरै क्षेत्रमा आफूले जीवनभर प्रधिस्पर्धामा भाग लिएको थाहै नपाइकन प्रश्न उठाए । अनि कतिपयले आफूभन्दा ठूलो र मानेको साहित्यकारले प्रश्न उठाएको कुरा जायजै होला भनेर पनि साथ दिए । अनि कतिपयले मेरो कथा किन प्रथम भएन वा पुस्तकमा अटाएन भन्ने अाशायमा वा त्यस मनाेग्रन्थीबाट प्रेरित भएर पनि प्रश्न उठाए । प्रश्न उठाउने थोरै मात्र यस्ता लेखक थिए, जसको नैतिक धरातल दह्रो थियो । नत्र धेरै प्रश्नकर्ताहरु आफू कुन धरातलमा उभिएको छु र मैले किन यो प्रश्न उठारहेको छु थाहा नपाइकन प्रश्न उठाइरहेका देखिन्थे । यस्ता प्रवृत्तिले समग्र साहित्य क्षेत्रकै मानमर्दन गरेको छ र बाहिर बसेर हेर्नेलाई तमासा भएको छ । खास साहित्य त्यही हो, जो प्रतिस्पर्धाबाट माथि उठ्न सक्छ । तर साहित्य माथि उठ्न, साहित्यकारका रुपमा समाजमा स्थापित गर्न र साहित्यको वातावरण बनाउन यस्ता प्रतिस्पर्धाको आवश्यकता छ कि छैन ? त्यसतिर कमैको ध्यान गएको देखिन्छ । हरेक विद्यालय, कलेज, स्थानीय निकाय, साहित्यिक संघ संस्था, साहित्यिक पत्रपत्रिका, प्रज्ञा प्रतिष्ठान, बैंकिङ् र औद्योगिक प्रतिष्ठानहरुले विभिन्न साहित्यिक प्रतिस्पर्धा गर्नुपर्छ । समाजमा साहित्यकारहरुको गरिमा बढाउन एक लाखको होइन, विद्यालयमा दिइने एउटा चकलेट बराबरको पुरस्कारको पनि ठूलो महत्व हुन्छ । जति सुकै अस्वीकार गरे पनि यो वैश्यविक युगमा बाँच्न पैसा चाहिन्छ । पैसाका कारण मानव जीवनको मूल्य तोकिने युगमा साहित्यसँग प्रतिस्पर्धा, पैसा र स्टारडम जोडिनु यसको अपमान होइन, सम्मान हो । यो कुरा नबुझ्नु वा बुझ्न नखोज्नु समाजको गति नबुझ्नु हो । प्रतिस्पर्धा नै मानव जीवनको कारक तत्व हो भन्ने सामान्य ज्ञानको ख्याल नराख्नु हो । मुना चौधरीको कथा कति अश्लील: कथाकार मुना चौधरी —हामी त्यो युगमा छौँ, जहाँ मोबाइलमा समाचार पढिन्छ, साहित्य पढिन्छ र अश्लिल सिनेमा पनि हेरिन्छ । पहिले जस्तो साहित्य स–स्वर वाचन गर्ने दिन अब धेरै दूरको कथा भएका छन् । मुनाका कथा अश्लिल भयो भन्नु ठिक हो तर सबैका अघि त्यो साहित्य पढ्न सकिदैन भनेर कथा र कथाकारको अपमान गर्नुको कुनै तुक छैन । कथाको उदेश्य के हो ? कथाले दिने सन्देश के हो र सिराहको ग्रामीण इलाकामा जन्मे हुर्केकी एउटी कथाकारले यस्तो कथा लेख्ने हिम्मत कसरी गरिन् भन्ने कुरा चाहिँ महत्वपूर्ण हो । पहिलोपटक मुनाको कथा पढ्दा जो कोही पनि झस्कन्छ । खासमा जसरी शारीरिक समागमको वर्णन कथामा आएको छ, त्यसले सिधै ग्रामीण इलाकाको परालको टालभित्र हुनेगरेको एउटा यस्तो दृश्य झ्वाम्मै आँखाअघि ल्याइदिन्छ कि पाठक सिधै त्यसैमा डुबुल्की मार्न थाल्छ । यो कथाको मुख्य शक्ति नै त्यही हो र यसले प्रथम पुरस्कार प्राप्त गर्नुमा यो दृश्यको पनि हात हुनुपर्छ । यो कथा त्यही र त्यस्तै शारीरिक समागममैँ टुङ्गिएको भए अनर्थ हुने थियो र त्यो अश्लील सिनेमाको पटकथा बन्ने खतरा थियो । तर कथाले परदेश गएको लोग्नेको अनुपस्थितिमा हुने कामातुर अवस्था र त्यसले निम्त्याउने दुर्घटनालाई राम्रोसँग स्थापित गरेको छ । कथाकाे कलात्मक पक्षमा बहस हुनसक्छ । मातृभाषा थारु भएकी र मधेसमा हुर्किएकी एउटी महिला लेखकले आफ्नो समाजमा देखेको घटनालाई नेपाली भाषामा जसरी उतारेकी छन्, त्यसबाट कथा लेख्न कति गाह्राे छ भन्ने बुझेका जो कोही पनि (यदि तटस्थ हुने हो भने) प्रभावित हुन्छन् । डिजिटल कथासंग्रहमा उल्लेख भएको कुरा मान्ने हो भने निर्णय गर्नुअघिसम्म निर्णायक मण्डललाई कथाकारको नाम थाहा थिएन । तर यो कथा पढ्दा निर्णायकहरूलाई यो मधेसी महिलाले लेखेको हुनुपर्छ भन्ने अन्दाज भएको हुनुपर्छ । यति अन्दाज गर्न नसक्ने व्यक्ति कान्तिपुर जस्ताे पत्रिकामा २५ वर्ष टिक्न सक्दैन भन्ने कुरा त्यही संस्थामा लामाे समय काम गरेका कारण पनि म दाबी गर्न सक्छु । खासमा याे कथाले प्रथम पुरस्कार पाउनुमा कथाकारकाे नाम थाहा नभए पनि कथाकार प्रतिकाे साहनुभूतिको नम्बर पनि जाेडिएकाे थियो भन्ने कुरा सत्य हो । यहि साहनुभूति नै निर्णायकहरुको कमजोरी बन्न पुग्याे । तर मुना चाैधरीले बाह्रखरीकाे निर्णय नपर्खी नियम बिपरित जसरी नागरिकमा त्याे कथा पात्र र शीर्षक परिवर्तन गरेर छापिन्, त्यसबाट प्रथम पुरस्कार लिने नैतिक अधिकार भने गुमाएकै हुन् । अब उनी कसरी अघि बढ्छिन् वा कस्ताे स्पष्टिकरण दिन्छिन्, त्यसपछि मात्र उनकाे बारेमा फेसबुकमा अाएजस्ताे धारणा बनाउन सकिन्छ । नत्र हतारमा जसरी उनीमाथि हिलाे छ्याप्ने काम भएकाे छ, त्यसले सम्पूर्ण साहित्य क्षेत्रकै मानमर्दन गरेकाे छ। के निर्णायकहरु अयोग्य हुन् ? कथा सम्पादकले बाह्रखरीबाट राजीनामा दिने स्तरकै अपराध गरेका हुन् ? अब प्रश्न उठ्छ, अयाेग्यताकाे । समाजिक सञ्जालहरुमा र केही लेखहरुमा प्रतिष्ठित लेखकहरुले निर्णायकहरुको क्षमतामाथि नै प्रश्न उठाएको देखिन्छ । निश्चय नै जब कोही न्यायधीश बन्छ, केहीलाई मात्र न्याय हुन्छ, धेरैमाथि अन्याय हुन जान्छ । यो अदालतका न्यायधीशहरुभन्दा चर्को र आलोचनायुक्त काम हो । धेरैजसो अवस्थामा न्यायलयमा पक्ष र विपक्षी एक एक जनामात्र हुन्छन् । तर यस्ता प्रतिस्पर्धामा न्यायका रुपमा प्रथम हुने एकजना हुन्छन् भने अन्यायका रुपमा तल पर्ने सयौं व्यक्ति हुने गर्छन् । हरेकलाई आफ्नो सिर्जना राम्रो लाग्नु स्वभाविक हो । यस अर्थमा आफूमाथि अन्याय भएको महसुस हुनु मानवीय स्वभाव पनि हो । त्यो स्वभावमा कुनै विशिष्ट व्यक्तिले तिमीमाथि अन्याय भयो भनेर सामाजिक सञ्जाल र लेखहरुमा भनिदिँदा हो रहेछ भन्ने लाग्नु स्वभाविक हो । यसपटक न्यायधीशका रुपमा बसेका नारायण वाग्ले र अमर न्यौपाने यस्ता न्यायधीशहरु हुन्, जसले पाठकबाट धेरै माया पाएका छन्, तर मदन पुरस्कार पाएका कारण उनीहरुले लेखक–साहित्यकारको समाजबाट अदृश्य सत्रु पनि कमाएका छन् । उनीहरुसँगको प्रतिस्पर्धामा मदन पुरस्कार नपाउनेहरु, उनीहरुको साहित्य आफ्नो सिद्धान्त विपरित हुनेहरु, उनीहरुले लेखेरै पाएको लोकप्रियता नरुचाउनेहरु पनि साहित्यिक वृत्तमा धेरै छन् । यो स्वभाविक पनि होइन, किनभने आफूसँगै वा आफूभन्दा पछि साहित्यमा आएको व्यक्तिले पाएको सफलताले कहीँ न कहीँ ईष्र्या भाव उत्पन्न गराउँछ नै । अर्का निर्णायक लामाे समय कान्तिपुरमा रहँदा नारायण वाग्लेले धेरै अदृश्य शत्रुहरु कमाएका छन्, जसको प्रतिच्छाया यो निर्णयपछिकाे अाक्राेशहरूमा पनि देखिन्छ । अर्की कान्छी निर्णायक बिना थिङ, जो हिजोसम्म गुमनाम थिइन्, आज राष्ट्रियस्तरको प्रतियोगितामा निर्णायक भएर आउँदा कतिपय लेखकलाई अस्वभाविक लाग्नु स्वभाविक हो । यस्ता विभन्न भावहरू सामाजिक सञ्जालमा एकमुष्ठ देखिन्छन् । नत्र यी निर्णायकहरुमा कथाज्ञान नै छैन भन्ने किसिमले समाजिक सञ्जाल भरिने थिएन र लेखहरु लेखिने थिएन । अब प्रश्न उठ्छ, के बाह्रखरी कथा प्रतियोगिता दूधले नुहाएको स्वच्छ प्रतियोगिता नै थियो त ? निश्चय नै बाह्रखरी प्रतियोगितामा प्रसस्त कमी भएका थिए र छन् । जसका विषयमा सामाजिक सञ्जालमा पहिलो वर्षदेखि नै असल नियत भएका केही लेखक–कविहरुले जायज प्रश्न उठाएका थिए–उठाइरहेका छन् । ती प्रश्नलाई सुने पनि नसुनेझैँ गर्नु ती विद्वानहरुको सुझावहरुको अपमान थियो, हाे । हामीले गरेको ‘महान साहित्यिक अभियान’लाई प्रश्न गर्ने तिमेरु को हौ ? भन्ने किसिमको भाव अघिल्लोपटक पनि बाह्रखरी व्यवस्थापकले देखाएको गुनासो सुनिएको थियो । अघिल्लोपटक तेस्रो भएको कथाको पुरस्कार फिर्ता गर्ने नैतिकता न कथाकारले देखाइन् न बाह्रखरी व्यवस्थापकले त्यो हिम्मत ग¥यो । यो वर्ष पनि यत्रो विवाद हुँदा पनि बाह्रखरीबाट स्पष्टीकरणको दुई शब्द पनि सुनिएको छैन । यसपटक पनि बाह्रखरीले काग कराउँदै गर्छ, पिना सुक्दै जान्छ भन्ने व्यवहार देखाइरहेको छ । यो मौनताले सम्पूर्ण साहित्य जगत अपमान महसुस गरिरहेको छ । साहित्यिक पुरस्कारको घोषणा गर्नु, साहित्यको श्रीवृद्धि गर्छु भन्नु र उठेका प्रश्नको जवाफ नदिनुले साहित्यका नाममा जे गरे पनि हुन्छ भन्ने व्यवहार बाह्रखरीको व्यवस्थापनले देखाइरहेको छ । अर्कोतर्फ यो प्रकरणमा जसरी सार्वजनिक खुसी र खुचिङ्का भावहरु छरपस्ट भएका छन्, त्यसले राम्रो क्षमता भएकी मुना चौधरीको सार्वजनिक अपमान भएको छ । साहित्यमा नाम कमाएका र अब्बल साहित्यिक पत्रकार राजेन्द्र पराजुलीले राजीनामा दिनुपरेको छ । साहित्यमा नाम कमाउन सुरु गरेकी बिना थिङ् र मदन पुरस्कार प्राप्त दुई लेखकहरुको क्षमतामाथि प्रश्नहरु उठेका छन् । त्यसभित्र जम्माजम्मी एउटा मात्र गल्ती भएको छ, त्यो हो, गएको वर्ष नियम विपरित तेस्रो भएको कथाले पाएको पुरस्कार फिर्ता नगर्नु । र, यसपटक पनि छापिएकाे कथा पुरस्कृत भएपछि उठेकाे अावाजलाइ सम्बाेधन नगर्नु । अहिले पनि बाह्रखरी व्यवस्थापनले त्यो गल्ती सुधार गर्न सक्छ, जुन अहिलेसम्म हिम्मत गरेको छैन । मुनाले त्यही कथा अर्कोतिर छाप्न दिएर गल्ती गरेकी छिन् । पात्रको नाम र कथाको नाम परिवर्तन गरेपछि निर्णायकहरुलाई थाहा हुने कुरा पनि भएन । त्यस अर्थमा मुनाले त्यसको सजाय पाउनु पर्छ । तर यही आधारमा क्षमता भएकी मुनाको साहित्यिक जीवन नै समाप्त हुनेगरी अपमान गर्नुचाहिँ हुन्न । मुनाको जीवनमा एक लाखको महत्व पक्कै ठूलो होला । त्यस कारण उनले त्यो नलिने घोषणा गर्न नसक्लिन् । तर उनले पुुरस्कार फिर्ता गरे पनि नगरे पनि मुना चौधरी मेरो नजरमा हिम्मतिली कथाकार हुन् । जसले मधेसी समाज, वैदेशिक रोजगारको दुःखदायी पक्ष, महिलामा हुने यौन तृष्णा र त्यसले उब्जाएको परिणाम एक साथ देखाएको छ । अर्काे भन्नै पर्ने कुरा, केही दिनअघि यसै पत्रिकामा बाह्रखरी बुक्स र निर्णायकहरूका विषयमा वरिष्ठ साहित्यकार हरि अधिकारीकाे लेख छापियाे । त्यसकाे अर्थ अधिकारीका सबै कुरासँग साहित्यपाेस्ट सहमत छ भन्ने हाेइन । तर केहीले यहि लेख देखाएर साहित्यपाेस्टकाे नियतमाथि प्रश्न उठाउने काम गरेकाे र हाम्राे मानमर्दन गरिएकाे कुरा पनि थाहा भयाे । बुझ्नुपर्ने कुरा, नेपाली भाषा र साहित्यमा लागेका सबै हाम्रा हुन् । साहित्यपाेस्ट सम्झेर हरि अधिकारी जस्ता वरिष्ठ साहित्यकारले लेख रचना पठाउनु हाम्राे सम्मान थियाे र छाप्याैँ । हाम्रा विचार फरक हुनसक्छन् तर कसैले नेपाली साहित्यका लागि थाेरै पनि काम गरेकाे छ भने त्यस्ता सबै व्यक्तित्वहरूकाे विचार सुन्नु हाम्राे धर्म हाे । कसैप्रति अाशक्ति र वैरभाव हाम्राे ध्येय हाेइन । सबैकाे विचार सुन्ने र के ठिक हाे, के बेठिक हाे, हाम्रा विज्ञ पाठक सक्षम हुनुहुन्छ । नेपाली साहित्य फेसबुकमा मात्र नअल्झियाेस्, सबै प्रतिभाहरूले समानरूपमा रचनाहरू स्तरीय ठाउँमा प्रकाशन हुन् । त्यतिका लागि साहित्यपाेस्टकाे उदय भएकाे हाे । यस्ता प्लेटफर्म जति धेरै हुन्छन्, प्रतिभाहरूले उति धेरै ठाउँ पाउनेछन् । #अश्विनी कोइराला #मुना चौधरी
व्यंग्य गजलः सलह: सन्तोष समीप सलहको दाम बीस रुपैयाँ किलो तोकियो तर सरकार यो भाउ अलि ढिलो तोकियो कतिले बटुल्दै बटुल्दै सितन नै बनाए जे भए पनि स्वादमा भने रसिलो तोकियो गीतै बजाउनु भन्दा जन्तरले पो गर्छ कि सरकारी उपाय यी थोरै सजिलो तोकियो सलह फेमस भएपछि यस्तो पो लाग्दछ अझै यस्को दाम एभ्रेज भन्दा बिलो तोकियो केही हदसम्म बेरोजगारी अन्त गर्नलाई रोजगारी योजना अत्यन्तै मलिलो तोकियो। #सन्तोष समीप
सम्झनाको पुलिन्दा: बिपल घले मैले तपाईंहरूलाई सम्झाना पठाइनँ भने सम्झनुस् म उभिरहेको छु आँधीहरूबीच जो मलाई जरैदेखि खोजिरहन्छ उखेल्न। बिर्सिएको ठान्नुहुन्छ भने बुझ्नुहोस् म घेरिएको छु अग्ला अग्ला पर्खालहरूले जसलाई नाघ्नमै समय र श्रम साधिरहेको छु। बेपत्ता भएको बुझ्नुहुन्छ भने यति मानिलिनुस् मेरो अस्तित्वमाथि धावा बोलिरहेकाहरूसित म युद्धरत छु स्वअस्तित्व खातिर सङ्घर्षरत छु। टाढा भएको गन्नुहुन्छ भने सम्झनुस् म टाढा र नजिकको केलाइरहेको छु हिसाबकिताब र द्विविधामा परिरहेको छु। सम्झनुको अर्थ यदि साँच्चै बुझ्नुहुन्छ भने यति विश्वास गर्नुस् छुटिएदेखि यता यी आँधीहरू,यी पर्खालहरू, यी सङ्घर्षहरू,यी हिसाबकिताबहरू, यी सबैबीच पनि तर सधैं मनमा तपाईंहरूकै सम्झाना गरिरहेको छु। कालेबुङ
म जिउदो छु: एक खतर्नाक झुट: राकेश क्रान्तिकारी मेरो आकाशको घाम टुक्रा टुक्रा बनाउछ टालिदिन्छ मेरै झुप्रोको सिलिङमा र मेरो एक बटुको पसिना माग्छ म हासी हासी दिन्छु मेरो भित्तामा टल्लक टल्किरहने हिमाल एक एक गरि लुच्छ हालिदिन्छ मेरो गिलासमा र रगत माग्छ म निसंकोच दिन्छु। आँखा माथि उडिरहेको सपनाको प्वाख लुछीरहेछ सुस्तरी सुस्तरी म थाहै नपाए जस्तो हासिरहेछु । म जिउँदो छु। म यी हरेक गाडीको स्टेरिङमा देखिरहेछु भुगोलविद मोबाइल बेचिरहेछ इतिहासकार भाडा माजिरहेछ दर्शनशात्री । झ्यालखानामा सिट रिजर्भ गरेको मान्छे पसिरहेछ संसद भवन घुमाइरहेछ देशको गाडी बनाइरहेछ मेरो सपना कुच्याएर अचार बेचिरहेछ आलिसान महलमा र म मौन हेरिरहेछु हेरिरहेछु चे को उत्कृष्ट फिल्म। म देखिरहेछु बेचेर गुराँसको रङ्ग ठ्डाइरहेछ महल चुसेर मान्छेको रगत बनाइ रहेछ शरीर सपनामा देखेको हरेक सुन्दर तस्विरमा कोरिरहन्छ र बनाइरहेछ कुरुप आमाको स्तनबाट लुछीरहेछ अमृत र गरिरहेछ व्यवसाय दिदिको चन्चल्ता कोतरेर बैनी गन्जी च्यातेर छाटी रहेछ उन्मुक्तकाको गित । र म हालेर कानमा इयरफोन सुनिरहेछु प्रेमको अमर गित बाउको पाखुराहरु चुट्टाएर फ्याकिदेको छ समुद्रको किनारमा सहरको आलिसान होटेलमा। मैले फेर्ने सासको मुटुमा लाइरहेछ डढेलो र म ध्यानमग्न भएर गरिरहेछु गर्लफ्रेन्ड सित च्याट मेरो टाउकोमाथी चडेर लाइरहेछ घाममाथी बादल र म खिचिरहेछु सेल्फी र ढुक्क सित भनिरहेछु म जीउँदै म जिउँदो छु अर्थात यो भन्दा खतरनाक झुट अर्को के हुनसक्छ। कालेबुङ
अक्षर क्रान्तिः आत्मलाप शब्दहरूको: ‘तिमी को हौ ?’ ‘मलाई नै थाहा छैन ।’ ‘आफ्नो बारेमा आफैँलाई थाहा हुन्न ? तिम्रो उत्तर मन परेन ।’ ‘मन नपराउन पाइन्छ । उत्तर मात्र किन, मलाई समेत ।’ ‘तिमी घमण्डी रहेछौ ।’ ‘तिम्रो नजरको खेल हो ।’ ‘म तिमीसँग नजिकिन चाहन्थेँ तर तिमी त टिमुर्किएको जवाफ दिन्छौ ।’ ‘मलाई परिस्थितिले यस्तै बनायो क्यारे । तर म यस्तो बन्नै चाहन्नँ । पहिलोपटक आफूलाई कसैले यस्तो आरोप लगाएकोमा दुःखी छु ।’ अम्बिका अर्याल ‘मान्छे सबै प्रशंसाप्रेमी हुन्छन् भन्ने सुनेको थिएँ तर तिमी पनि ?’ ‘ममा मान्छेकै अंश छ, किनकि म मान्छेकै सिर्जना हुँ ।’ ‘सज्जन कि दुर्जन मान्छेको ?’ ‘ऊ आफूलाई सँधै सज्जन मान्छ ।’ ‘तिमी के मान्छौ ?’ ‘त्यो जति फटाहा थियो नि, त्यसभन्दा लाखगुना बेइमान अरू पनि देखेपछि ठिकै भनेको रहेछ भन्ठान्छु ।’ ‘त्यसो भए सापेक्षमै भर पर्ने रहेछ होइन त ? तिमीलाई घमण्डी देख्नु पनि अरूकै सापेक्षमा मेरो तुलना हुन पुगेछ क्यारे । सुरुमा जे लाग्छ त्यो क्षणिक भ्रम हुँदो रहेछ भन्ने तिमीले साबित गरिदियौ । तिम्रो स्वभाव अब मनपर्न थाल्यो । खुलेरै बोल्दा रहेछौ ।’ ‘यो सबै दृष्टिभ्रम पनि हुन सक्छ । धन्यवाद, कम्तीमा मलाई तिमीमाथि विश्वास जित्ने अवसर दिलाइदियौ अर्थात् मलाई पत्याइदियौ र मनपरायौ । यो मेरो सौभाग्य । धेरैले ममाथि अन्याय गरे । कसैमाथि म भने भरोसा राख्नै सक्दिनँ ।’ ‘किन ? के भयो र ?’ ‘मलाई सबैभन्दा पहिले मेरै जातकाले हेपे ।’ ‘मैले त सम्मान गर्दैछु त ।’ ‘त्यसैले त तिमी धन्य भयौ ।’ ‘अरूले के गरे त्यस्तो ?’ ‘मलाई मेरो जन्मदाताले रोगी बनाइदियो । मानसिक तथा शारीरिक दुवै हिसाबले । जीर्ण भएकै कारणले म हेपिएँ । त्यतिमात्र कहाँ हो र मेरो अस्तित्व र बजारमूल्य घटाउने पनि त्यही हो ।’ ‘कसरी ?’ ‘उसले पैसा नलाग्ने छापाखानामा मेरा शाब्दिक अवयवलाई चढाइदियो । सित्तैमा पाएकाले छापाखानाले पनि मेरा अवयवको मूल्य सजिलै घटाइदियो । हरेक शब्दमा उन्माद थियो, हरेकमा प्रेम थियो । विगतको सम्मान, वर्तमानको सम्मोहन र भविष्यप्रतिको चिन्तन बोकेका मेरा शाब्दिक अवयवलाई नराम्ररी पछारिदियो । सबैका नजरमा पर्नुपर्ने मेरा अङ्गप्रत्यङ्गलाई कुरूप पारिदियो ।’ ‘तिमी बढी भावनामा बग्यौ । हामी सजीव प्राणी होइनौ । जसका अवयव र अङ्गप्रत्यङ्गहरू कुरूप तथा सुन्दर हुन् अनि स्वस्थ र रोगी । यो के भनिरहेका छौ ? तिमी आफ्नो सोच बदल । मान्छेजस्तो बन्न नखोज । मान्छेले बनाएकाले तिमीमा मान्छेकै सोचहरू पलाएछन् ।’ ‘तिमी पनि अरू जस्तै भयौ । आफ्ना जातिको अस्तित्व आफैँ भत्काउँदैछौ । तिमी आफ्नो पहिचान, मूल्य र अस्तित्व बुझ्ने कोसिस गर ।’ ‘ल छाडिदेऊ यस्ता विमतिका कुरा । हामीहामी नमिले अरूले हेप्छन् । मान्छेले बनाएको उखान छ नि ‘भाइ फुटे गवार लुटे’ कि के रे ? त्यस्तै होला । तिम्रो कहानी रोचक लागिरहेको छ । अझै सुन्ने मन छ । अनि कसरी तिमीमाथि अन्याय भयो भन्दै जाऊ न । मलाई अचम्म पनि लागेको छ । हाम्रा जातिहरू यति सचेत हुन थालेकोमा खुसी पनि लागेको छ ।’ ‘सित्तैमा पाएको चिजलाई मान्छेले कतिसम्म अपहेलित गर्दोरहेछ । मलाई सबैभन्दा कमसल घरमा राखिदियो । साँच्चै मेरा अवयवलाई । उनीहरू क्यालकुलेटर लिएर हिसाबकिताब गरेका ग¥यै थिए । मेरो शीर्ष नाम लिएर । त्यो नाम मेरै जन्मदाता भनाउँदोले राखेको थियो । ‘अजरामृत’ । सुरुमा मन परेन । तर धेरैले उच्चारण गरेको सुन्दासुन्दा पाच्य भयो । मेरो पिताको उद्देश्य मलाई अजरअमर बनाउने र अमृतमय बनाउने थियो । धेरै राम्रो सोच उनको । फेरि कोही भन्थेः नाम अनुसारको काम हुन्न भन्छन् । यो पुस्तक पनि बजारमै बिलाउने भयो । यो सुनेपछि उनी कति दुःखी हुन्थे होलान् तर कसैले उनको कानमा पुग्न दिएन । सबै प्रशंसा गर्थे नयाँ पुस्तक खतरा आउँदै छ रे त हजुरको भन्दै । कतिले पाण्डुलिपिमै मलाई पढिसकेका थिए । म जुन अवयवमा निर्माण सम्पन्न भएँ अनि आफू पूर्ण कदमा उभिएँ त्यतिबेलै सन्तुष्ट थिएँ । सुझाव लिने उद्देश्यले लेखकले त मलाई कतै पठाएका थिएनन् तर त्यो प्रकाशकले महिनैपिच्छे घरघर डुलाउन थाल्यो । कसैले मेरो खुट्टा काटे, कसैले हातै काटे । एउटा मै जान्ने भनाउँदोले त नराम्ररी मुटुमै प्रहार ग¥यो । त्यो मान्छेको जस्तो रगतको डल्लो थिएन । शाब्दिक मुटु थियो । त्यसको गहिरो चोट निको हुन मलाई धेरै समय लाग्यो । लेखकको घरमा फर्केर आउन नपाएको भए म सायद मुटुविहीन भएर कति बाँच्दा हुँ र ? तर पनि प्रतीक्षाको दिन आयो । लेखकले शाब्दिक तथा आर्थिक मलम लगाउन अनेक अलङ्कार, विभूषण, बिम्ब, प्रतीकादि खर्च गरे । जुन उनको दिमागमा अटाइनअटाइ बसेका थिए । अनगिन्ति छन् उनीसँग । जेहोस् म धेरै समय पछि निको भएँ तर त्यसको ह्याङओभर त आजसम्म पनि छँदैछ ।’ ‘लेखकको हातबाट फेरि कहाँ पुग्नुभयो ?’ ‘त्यो पहिलो प्रकाशकसँग के कुरा मिलेन कुन्नि ? मलाई अर्कै प्रकाशकलाई जिम्मा लगाए । त्यहाँ त ममाथि कुनै काटछाँट गर्ने डाक्टरहरू आएनन् । म प्रकाशककै कम्प्युटरमा वर्षौँसम्म थुनिएँ । उसले कम्प्युटर खोल्दा मलाई हेरिदियोस् अनि मेरो शरीरले अमूर्तबाट मूर्त रूप लियोस् भन्ने प्रार्थनामा रहिरहेँ । साँच्चै उसले ‘अजरामृत’लाई बिर्सिएको पीडामा छटपटि पोख्यो । नराम्ररी भुलेको अभिनय ग¬¥यो । अरू लेखकले बारम्बार कृति प्रकाशित गर्नका लागि सम्झाउने र त्यसबाट वाक्क हुने भावसहित आफ्नी श्रीमतीसँग गुनासो पोख्न थाल्यो । एक वर्ष वितिसक्दा पनि किन ‘अजरामृत’का लेखकले केही भन्दैनन् । हामीले उनीमाथि अन्याय ग¥यौँ । इमान्दार मान्छेलाई यसरी धोका दिन हुन्न । अरूको महिनादिन कटायो भने कति गाली खाइन्छ । यो पुस्तक प्रकाशित हुन धेरै ढिला भयो । कति वृद्ध लेखकहरू त प्रेसमा गएको आफ्नो पुस्तक प्रकाशन नभएकै कारणले सास जान नसकेर छटपटाइरहेका हुन्छन् रे । ती लेखक पनि वृद्ध छन्, रोगी छन् । सुनेको छु आजभोलि हिँडडुल पनि राम्ररी गर्न सक्दैनन् रे । तिमीले मलाई सम्झाउनु पर्दैन ? यसरी प्रकाशकले पुस्तक बिर्सेकै पीडाले अतालिएको मैले पहिलोपटक देखेँ । त्यसपछि प्रकाशकले तुरुन्त मलाई पढ्यो । तीन दिन लगाएर । खुब चाख दिएर । तर उसले शाब्दिक अवयवमा भएका कमजोरी मात्र नियालेको रहेछ । पढिसकेपछि श्रीमतीसँग ममाथि देखिएका खोटका विषयमा घन्टौँ कुरा ग¥यो । फेरि त्यसलाई सच्चाउने जिम्मा कसलाई दिएर ममाथि अन्याय गर्ने हो भन्ने त्रास मनमा बढ्यो । मेरो जन्मदाताको साँच्चै अन्तिम अवस्था भएपछि उसले कतै दिएन ।’ ‘अनि के भयो ?’ ’उसले छापाखानामा लग्यो । सबैभन्दा सस्तो कागज कुन छ त्यसमा हतारहतार प्रिन्ट ग¥यो । कभर पनि डिजाइन गरिहाल्यो । रातो कभरमा निलो अक्षरले ‘अजरामृत’ भनी मेरो नाम ठूलो फन्टमा छपायो । सबैभन्दा महत्त्व नामलाई नै दिँदा रहेछन् मान्छेले भन्ने लाग्यो मलाई । मेरा अवयव वर्षौँसम्म बढ्न सकेनन् तर नाम भने अप्रत्यासित रूपमा मौलाएको देखेर अचम्म लाग्यो । वरपरका अन्य पुस्तकमाथि नजर परे । सबैका हाल उस्तै थिए । यसमा अरूले कस्तो महसुस गरे खै ? तर मैले हात्तीपाइले लागेको मान्छेको असुहाउँदिलो खुट्टा आफ्ना् शिर बनेको ठानेँ ।’ ‘म बन्डलका बन्डल कार्टुनमा बाँधिन थालेँ । एकबाट हजारमा परिणत भएर यसरी प्याकिङमा पर्दा अनेक पीडा भयो । शरीरका अवयवहरू टुक्रिएर सबैमा छरिएको अनुभूति भयो । तर हरेकमा म पूर्ण थिएँ र पनि यो चोट किन भइरहेछ भन्ने बुझ्नै सकिनँ । अब म कहाँ कहाँ पुग्ने हो ? त्यस रात म हरेक मसँगै कहिलेसम्म बस्न पाउँला भन्ने लाग्यो । ब्रह्मका हरेक सृष्टिहरू एकबाट फैलिएर अनेक हुँदा खुसी भएझैँ ती वृद्ध भोलिपल्ट अनेक मलाई सुम्सुमाउँदै मुस्कुराए । लठ्टी टेकेरै भए पनि कुप्रा र रुग्ण बूढा आफैँ आएर आफ्नो सन्ततिलाई मायालु स्पर्शले यसरी मुसार्लान् भन्ने मेरो कल्पना बाहिरको कुरा थियो । उनका हर्षका आँशुले म पग्लिएँ । त्यो स्पर्श हरेक ममा परे हुन्थ्यो भन्ने लाग्दालाग्दै उनी टाढिए ।’ ‘प्रकाशकले हजारौँबाट पाँचवटा ‘अजरामृत’लाई लेखककै घरमा पु¥याइदिए । ‘अजरामृत’ पुगेको दिन घरमै वृद्धको प्राण पखेरु उडेछ । धेरैले मैमाथि शङ्का गरे । त्यो नाम जुरेको पुस्तक घरमा नल्याएको भए वृद्ध अझै केही वर्ष बाँच्ने थिए । अलच्छिना पुस्तक रहेछ भनेर उनका आफन्तले सरापे । सायद म उनको घरमा नगएको भएर उनी बाँचिरहेका पो थिए कि ? मेरा प्रकाशकका चिन्ता पनि त यही सुनेथेँ मैले । म आफू उनको घरमा जान पाएर जति मनमनै गद्गद् थिएँ त्यो भन्दा लाखगुणा पश्चात्तापमा थिएँ । आफू नजानुपर्ने ठाउँमा पु¥याइएकोमा प्रकाशकसँग उत्तिकै क्रोधित थिएँ । एक सन्तानले दिने खुसीले पिताकै आयु मेटाउँदो रहेछ भन्ने शिक्षा मलाई मिल्यो । अब कसैका हातबाट यस्ता सन्तान नजन्मिए हुन्थ्यो भन्ने भान समेत भयो ।’ ‘यसपछि उनका आफन्तले उनैसँग ‘अजरामृत’ पाँचलाई तेह्रौँ दिनको पुण्यतिथिमा खोलामा बगाइदिए । कमजोर कागजमा अल्झिएको मेरो शरीर पानीले भिजेर जीर्ण बन्दै टुक्राटुक्रामा छरिए । संयोगले चारमध्ये एक किनारैको झाडीमा अल्झिएको थियो । घाम लागेपछि केही भिजेको भाग पनि सुकेको अवस्थामा बाख्रा गोठाले आएका एक बालकले टिपे । पुस्तकको नाम चर्को स्वरमा पढ्दै ओल्टाइपोल्टाइ हेरे । अनि मलाई लिएर साथीहरू भएकोमा दौडिए । सबै साथीहरूले तानातान गरे । अरू पनि भेटिएला कि भनेर त्यही खोला किनारमा नियाल्न थाले । अरू नष्ट हुँदै बगेका पुस्तक पुरै छिन्नभिन्न भइसकेकाले कसैले भेटेनन् । तीमध्ये बलियो र ठूलो साथीले मलाई भेट्नेको हातबाट खोस्यो र आफ्नै घरमा लग्यो ।’ ‘घरमा उसकी आमाले किताब कहाँबाट ल्याइस् भनेर केर्न थालेपछि उसले सत्य बतायो । खोलामा फालेको पुस्तकमा मसान आउने भन्दै उनले फेरि खोलैमा फाल्न लगाईन् । उसको चेहरामा पुस्तक खोसेको दिनमा जस्तो उमङ्ग थिएन । मन नलागेरे पनि फिल्ममा हेरेका सैतानका अनुहार पुस्तकमा देख्न थालेपछि उसले फेरि पानीमै मलाई फालिदियो । लेखकका घरबाट जसरी जन्म पाएँ उसैगरी अन्त्यष्टि पनि पाएँ । तर यतिबेला भने म प्रकाशकप्रति धन्य भएँ । किन उसले मलाई एकबाट अनेक बनाएको रहेछ भन्ने रहस्य आफ्नै पाराले बुझेँ । अनि प्रकाशकले प्याकेटमा राखेर विभिन्न सहरमा पठाएका पुस्तकका ममा रमाउन थालेँ ।’ ‘हरेक पसलेले मलाई पैसासँग साटेँ । कसैले कममा । कसैले बढीमा । मलाई पठाउन पाउँदा हरेक पसले खुसी हुन्थे । किन्ने पाठक पनि उतिकै हर्षित देखिन्थे । तर जुन पसलमा मेरो सङ्ख्या घटाउन सक्थेनन् ती भने अत्यन्त चिन्तित मुद्रामा देखिन्थे । मलाई जहाँ अँध्यारो कुना छ त्यतै कोचिदिन्थे । पुस्तकालयमा पुगेर भने म निकै हर्षित भएँ । मभित्र के छ नपढे पनि मेरो नाम धेरैले उच्चारण गरिदिन्थे । त्यसमै पनि खुसी हुन्थेँ म । यहाँ कम्तिमा मेरो मूल्यले नापजोख गर्ने त कोही हुन्नथे ।’ ‘जतिले मलाई पढे, सबैले अलगअलग अर्थमा मलाई अर्थाउन थाले । यसले म निराश भइनँ । म हरेकका मस्तिष्कमा अनेक बन्न सक्ने जादुगर पो रहेछु क्यारे भन्ने महसुस गरेँ । तर लेखकको मृत्युसँग जोडेर अलच्छिना पुस्तक भन्दै जसले सोचेर मलाई बोक्थ्यो, किन्थ्यो, अथ्र्याउँथ्यो तिनीहरूलाई पनि मिल्ने भए मेरै पिताकै हैसियतमा पु¥यादिन्थेँ झैँ प्रतीत हुन्थ्यो । अहिले म तिमीसँग छु । तिमीले पाउने र मैले पाउने सम्मानमा फरक छ । तिमी र म दुवै एकै प्रकाशकले उस्तै तरिकाले प्रकाशन गरेका पुस्तक । हाम्रो जन्मदाता फरक भए पनि उस्तै देखिन्छौँ । हामीमाथिको लगानी समान छ । किनकि हाम्रो लगानीकर्ता वा प्रकाशक एकै हुन् । तर तिमी डिक्सनरीका रूपमा सुरक्षित तरिकाले यस घरको पुस्तकालयमा सुरक्षित छौ । तिम्रो सामुन्नेमा सिर्जनाका पुस्तकका खातमा म छु । तिमी र म एकै कोठामा यसरी बसेको पनि वर्षौँ भइसक्यो तर वार्तालापमा जुट्न पाएका थिएनौँ । तिमी जहिल्यै व्यस्त रहन्थ्यौ । तिमीलाई यस घरका धेरैले प्रयोग गर्दछन् । बारम्बार पल्टाउन आइपुग्छन् । मलाई प्रकाशकका नातेदारका हैसियतले उपहारस्वरूप उनीहरूले यहाँ ल्याए । कसैले पढ्ने होइनन् । त्यसैले चुपचाप आफ्नो नियतिलाई स्विकारिरहेछु ।’ ‘धेरै मका अनेक पीडालाई यहीँबाट नियालिरहेछु । ममा व्यापक पीडा छन् । कुनै नालीमा डुबेका मका पीडा, कुनै चटपटे पसलमा च्यातिँदै गरेका मका पीडा, कुनै फोहोरको डङ्गुरमा फालिएका मका पीडा, कुनै दाउरा सल्काउन प्रयोग गरिएका पानापानामा जलेका मका पीडा, कुनै नचाहिँदो अर्थमा अर्थिएका मका पीडा, कुनै धमिराले चपाउँदै गरिएका मका पीडा, कुनै कसैका लोभी तथा भोगी नजरमा नपरेका मजस्तै मका पीडा । जेहोस् म अनेकमा छरिएर अनेक पीडामा विभक्त पुस्तक । तिमी जसरी सम्मान पाउन नसकेको पीडित पुस्तक । एकै जातभित्र पनि अनेक उत्पीडन र विभेदमा परेको मको पीडा तिमीलाई के थाहा ?’ ‘साँच्चै तिमीमाथि अन्याय भएको रहेछ । सृष्टि र दृष्टिका पीडा सहेछौ तिमीले । हाम्रा पीडा बुझिदिने कोही भए पो ? ठीक भन्यौ तिमीले । तिमीले आनन्दको जीवन देखे पनि मभित्र अनगिन्ति पीडा छन् । तिम्रो भन्दा नगन्य तर जटिल । ब्रह्माण्डको सर्जकले ब्रह्माण्ड सिर्जना गर्दा उसलाई के थाहा ? ब्रह्माण्ड सिर्जनामा मूर्त हुनै पो चाहन्थेन कि ? प्राणीहरूका सर्जकलाई के थाहा प्राणीका चाहना के थिए ? ऊ कुन रूपमा आउन चाहन्थ्यो ? कसको कोखमा बास बस्ने मनसाय थियो ? हामी पनि नियतिले यसरी नै सञ्चालित भइरहेका छौँ जसरी मानवलगायतका प्राणी बाध्य छन् । यसमा दोष कसलाई दिनु ? जेहोस् बुझेरै बुझ पचाउने प्रवृत्ति सबैको हुन्छ । हामी पनि त्यसबाट मुक्त हुन कहाँ सक्छौँ र ? नियन्त्रणविहीन भएर बाँच्न पनि असम्भव । नियन्त्रणबाहिर जन्मन पनि असम्भव । यो कस्तो खेल हो ? म त जति बुझेँ भन्ठान्छु उति रल्लिन्छु । आफैँमा अज्ञानता नै अज्ञानता छ । मलाई जानेर हो र ? घोकेर गिनिजबुकमा नाम लेखाउन उद्यत मानव देखेर अचम्म लाग्छ । कोही मेरै खेती गरेर बाँचेका छन् । मभित्रका दुईचार अर्थ जानेर आफूलाई सर्वज्ञझैँ ठान्ने र विद्यार्थी वा सिकारु सबैलाई मूर्ख बनाउने परिपाटीका मानव । अझ आश्चर्यका पात्र हुन् मेरा । आफ्नैले लगाएको आरोपको राप पनि छ मसँग । मेरा परिवारमा रहेका हरेक सदस्यहरू मेरा लागि समान हुन् । उहिल्यैको जमानामा जेठा सन्तान सर्वेसर्वा बन्ने मानवीय प्रवृत्तिको सिको गरेको आरोप मेरा अक्षररूपी सन्तानको छ । म के उत्तर दिऊँ उनीहरूलाई । अगिल्लो अक्षर क्यापिटल हुँदैमा के फरक पर्छ र ? तिमीहरू सबै मिलेपछि न केही अर्थयुक्त शब्द बन्छ । एक कहाँ पूर्ण हुनु ? भनेर कति सम्झाउन खोजेँ । अहँ, उनीहरू पटक्कै सम्झँदैनन् । मैले चाहेर उनीहरूको समस्याको समाधान कसरी गर्न सक्छु र ? सृष्टि, स्थिति र लयको यो खेलमा को छ जिम्मेवार ? मानवले त पत्ता नपाएर अलमलमा जीवन जिइरहेका छन् । आफ्नै बुद्धिको खेलबाट आफै उम्किन कोसिस गरिरहेछन् ? म विचरोले के उत्तर दिऊँ मेरा अक्षररूपी सन्तानहरूलाई ? त्यसैले तिमीभन्दा ठूला दुःख मसँग छन् । जसरी हुन्छ अब हामीमाथिका अत्याचार र उत्पीडनका विरुद्धमा जाग्नुपर्छ । मानवले हामीलाई जन्म दिएर उचित हेरचाह नगरी हाम्रो अस्तित्वमाथि खेलेको हुनाले खेद व्यक्त गर्दै एकसाथ अन्यायका विरुद्धमा अक्षररूपी सन्तानहरू र पुस्तकका वंशलाई लिएर उत्रनै पर्ने जरुरी देखेको छु मैले । तिमी, म अनि सिङ्गो पुस्तक जाति मिलेर हाम्रो उत्थानमा लाग्ने हो । पलायन हुने होइन । मानवका धेरै गुण हामीसँग मिल्छ भनेको छु नि मैले । उनीहरू त जातीय एकताका लागि सचेत भएर लागेका छन् । आआफ्ना अनेक मागहरू लिएर हातेमालो गर्दै विजय हासिल गरिरहेका छन् । हामी पनि एकजुट भएर लाग्यौँ भने सर्जक, प्रकाशक तथा वितरक एवम् पाठकले हामीमाथि गर्ने हस्तक्षेपबाट मुक्ति पाउनेछौँ । यसमा तिम्रो विचार के छ ?’ ‘तिम्रो विचारसँग म सहमत छु । आजैबाट हामी हाम्रो अभियानमा दत्तचित्त भएर लाग्नेछौँ । तिमी जागेझैँ सबैलाई जगाऊ ।’ जय अक्षर, जय पुस्तक । #अम्बिका अर्याल
मिथकमाथि लेखिएको समसामयिक कथाः 'पितामह': यो धेरै पुरानो कथा हो । यसलाई महाकथा पनि भन्ने गरिन्छ । द्वापरयुगदेखि यता विशेष चर्चामा रहेको यो कथा पहिलोपल्ट भगवान् श्रीकृष्णले आफ्ना प्रिय बन्धु अर्जुनलाई कुरुक्षेत्रमा सुनाएका थिए भनिन्छ । हस्तिनापुरमा सारथि सञ्जयले राजा धृतराष्ट्रलाई सुनाएका थिए । यस्तै यो कथा धेरैले धेरैलाई सुनाए । यस्तै सुनाउने क्रममा मलाई मेरा पिताजीले सुनाउनुभएको थियो । आज मैले मेरा सन्तानलाई सुनाउन खोजिरहेको छु । सबै समयमा सबैले आ–आफ्नो ज्ञानको बुझाइ क्षमताका आधारमा सुन्दै र समयको मागअनुरूप सुनाउँदै आइएको यो कथाको अहिले मैले बुझ्ने बेलाको सार यसप्रकार आएको छ– जिज्ञासु (एक)– “ए हजुर ! तपार्इँहरूले श्रीकृष्णलाई यता कतै देख्नुभयो ? हिजोसम्म शान्ति, मेलमिलाप भन्दै हिँडेका कृष्ण आज कुरा टुङ्गोमा पु¥याउने अन्तिम घडीमा कता हराए त ?” डा. नारायण चालिसे जिज्ञासु (दुई)– “यिनीहरूले पनि कृष्णको धेरै खिल्ली उडाए । धेरै अपमान गरे भन्ने सुनिन्छ ।” “अब भर्सेला परोस् शान्ति ! भर्सेला परोस् मेलमिलाप ! सबै आ–आफ्नै अहङ्कारमा अन्धा छन् । लडून्, मरून् । फर्किन्छु ।”, केही दुःखी र रिसाएका जस्ता कृष्ण सरासर मनमनै बोल्दै अघि बढे । यत्तिकैमा परबाट कृष्ण आउँदै गरेका देखिए । जिज्ञासु (तीन)– “ ऊ कृष्ण यतै आउँदै छन् । सोधौँ न के भइरहेछ ? दरवारका अधिकारीले पनि अघि खोज्दै थिए । तर कृष्ण त दरवारतिरैबाट आउँदै छन् !” जिज्ञासु (एक), “कृष्णले लीला गर्छन् नि !” बोलाइयो, कृष्ण ! कृष्ण !! केशव !!! तर उनी सरासर अघि बढे, राकिएनन् । बोलाएको सुनेनन् कि नसुने झैँ गरे, बुझिएन । जिज्ञासु (दुई), “तपार्इँले एउटा कुरा सुन्नुभयो ?” जिज्ञासु (एक र तीन) उत्सुक भएर, “के कुरा ?” जिज्ञासु (दुई) “लडाइँ हुने नै भयो रे !” एवंक्रमले उनीहरुबीच सम्वाद भइरह्यो – “तर कृष्णले अर्जुनको सारथि बस्न मानेनन् रे । उनले दुर्योधनको राज्यमा अतिथि बस्न पनि अस्वीकार गरे अरे । दुर्योधनकै कारण विदुरसँग पनि रिसाएका छन् अरे !” “ठिकै हो, जोगी नै बनिरहन किन सधैँ कृष्णलाई चुन्ने ? “ “अब फकिर कृष्ण मलाई पनि मन परेको छैन ।” “मलाई पनि ।” “मलाई पनि ।” “तर कस्तो कृष्ण चाहिएको हामीलाई ?” “दुर्योधनजस्तो !” “कृष्ण दुर्योधनजस्तो भए, दुर्योधन को जस्तो नि ?” “दुर्योधन युधिष्ठिरजस्तो ! सत्यवादी न्यायप्रेमी । ” “होइन जुवाडे ! सत्ता र स्वास्नी दुवै दाउमा थाप्ने !” “कि सत्ताको निम्ति स्वास्नी दाउमा थाप्ने ?” “स्वास्नीको दाउ सत्ताको निम्ति त ठिकै हो तर सत्ता नै दाउ थाप्ने युधिष्ठिर त के पाइएलान् र अहिलेको युगमा ?” “नारी अस्मिताको खिल्ली उडेको फेरि मलाई मन परेन ।” “तपाईँहरुलाई युधिष्ठिर सत्यवादी बनिरहने परम्पराको अन्त्य भएको लागेको छैन ?” “युधिष्ठिर दोषी हो भन्ने पक्षमा बोल्नेहरुको पनि कदर हुनुपर्यो ।” “अब सबै फेरिँदै छ । पहिलाजस्तो अब केही पनि छैन । बरु चरित्र मिश्रण भएको छ । । अब सबै नयाँ र नौलोमा,अनौठोमा छ ।” नगरका चोक चौराहामा पाण्डव र कौरवका बीचको खिचलोका बारेमा भिन्न भिन्न विचार सुन्नमा आइरहे । “हामीलाई पाँच गाउँ (शान्ति, संविधान, सत्तासुख, सम्पत्तिसुख र अन्यसुख) चाहिन्छ, अन्यथा हामी दुर्योधनलाई हस्तिनापुरबाट बढारिदिन्छौँ ।”, अर्जुनले स्वर्णधरा क्षेत्रबाट दरवारतर्फ फर्केर उद्घोष गरे । “महङ्गो कुरा मागे अर्जुनले । हिजोका अर्जुनले पनि यस्तै माग गरेका थिए र ?”, होइन त्यो युगका अर्जुनले त्यही युगको माग गरेका थिए । आजका अर्जुनले आजकै माग राख्नु पनि त्यति नौलो भएन । फेरि सत्ताको चरित्र पनि त यस्तै यस्तै हो नि ? मिल्दोजुल्दो । “दिनै नमिल्ने, यी पाँच गाउँ दिए के नै बाँकी बस्ला र दुर्योधनलाई ?” “………..।” अर्जुनले, स्वर्गको सुख पनि चाहिएको छैन । धर्तीको राजा हुनु पनि छैन । मलाई माफ गर कृष्ण !, भनेर गाण्डीव बिसाए भन्ने पनि सुनिँदै थियो त ? फेरि यस्तो निर्णय कसरी गरे ?” “कृष्णले यो युद्धमा अर्जुनको सारथि बस्न पनि मानेनन् रे रिसाएर भन्ने पनि सुनिँदै थियो अर्को समाचार ?” “त्यस्तै अर्जुन पनि विचार फेरेर उपस्थित भएका छन् । फेरि गाण्डीव उठाउने रहर जाग्यो रे भन्ने सुनिँदैछ । अनि युधिष्ठिर स्वयंलाई पनि सत्ताको रहर जाग्यो भन्ने पनि सुनिन्छ । द्रौपदीको हाँसोले रिसाएको दुर्योधनका कारणले हो कि ? मनमनै कुण्ठा बोकेर बसेका धृतराष्टको सत्ता र पुत्रमोहले हो ? वा सकुनीको प्रतिशोधको भावनाले हो कि ? द्रोणाचार्यको सर्वश्रेष्ठ गुरुताले हो ? युद्ध त हुने भयो भनिँदैछ । युद्धमा सबैले आफ्नो आफ्नो दाउ लगाएका छन् भन्ने सुनियो । यति सम्म कि पितामहले स्वयंले पनि सत्ताकुण्ठालाई अर्जुनका माभ्यमले पूरा गर्न चाहेका भन्ने सम्म पनि सुनियो ।” यस्तै भन्न त धर्मयुद्ध भनियो । कृष्णले नचाहेका भए युद्ध हुँदैनथ्यो पनि भनियो । कृष्णले युद्ध चाहेको पनि देखिएन , नचाहेको पनि देखिएन । पटक पटक नियतिका कुरा भए । कुरा अरु धेरै किसिमका भए । सायद धेरै किसिमका कुरा बाँकी रहने शास्त्रको नाम महाभारत हो जस्तो पनि देखियो । तर युद्ध धृतराष्ट्रले नचाहेका भए नहुने रहेछ जस्तो पनि बुझिन्थ्यो सारमा । अर्जुले राज्यलाई चुनौती दिनुपूर्वका केही सम्वादहरूको पनि त्यहाँ चर्चा सुनियो । एक दिन युधिष्ठिरले भाहरूलाई जम्मा पारेर भने रे, “भाइ हो, किन किन मलाई पुनः राज्यसत्ताको इच्छा जागेको आभास भइरहेछ । यो मेरो चरित्रसँग मिल्ने गुण होइन तर पटक पटक किन यस्तो इच्छा भइरहेछ ?” “दाजू भन्न नसकेको मात्र हो हामीलाई पनि सत्तारोहणको तीव्र इच्छा जागृत भइरहेछ ।” सबै भाइहरुले एकै स्वरमा आफूहरुको इच्छा पनि जाहेर गरे । “यसको निम्ति तयारी प्रारम्भ गरौँ त दाजू ?” “मेरो इच्छा भएको भन्ने कुरा बाहिर नआओस् । जनताको युधिष्ठिरप्रतिको विश्वास हराएर जान्छ ।” “यसलाई जनता कै इच्छा भन्न मिलदैन ?” “मिल्ला !”, अर्जुनले कुटनीतिक हाँसो हाँसे । “भाइ निकै चलाख छ । यसले कुनै न कुनै उपाय अपनाउने नै छ । फेरि केशव पनि त साथमा हुनुहुन्छ । नकुल र सहदेव पनि विज्ञ नै हुन् ।” “कार्य प्रारम्भ गरौँ त दाजु ?” “युक्तिपूर्वक गर ।”, युधिष्ठिरको आदेश अनुसार सत्तारोहणको अभ्यास प्रारम्भ भएछ । “दाजुश्री एउटा अनर्थ भइसकेको छ, कृष्ण हामीसँग छैनन् । हाम्रा सेना त सबै जम्मा छन,् तर हामी निशस्त्र जस्ता छौँ । के हामीले युद्ध जित्न सम्भव छ ?” “जितिन्छ, जितिन्छ ।” “तर दाजु कृष्णको कुटनीति दह्रो छ । यसपटक हामीलाई छोडेरै गए । यता हामीलाई उक्साए, उता दुर्योधनसँग सहकार्य गर्दैछन् भन्ने पनि सुनिँदै छ । कृष्ण नभएको युद्ध जित्न सम्भव छ र ?” “सम्भव छ । तर अर्जुन तिमी कृष्णसँग किन डराएका ? तिम्रा त उनी सखा नै हुन् । तिम्रो धनुर्विद्या भलिभाँती बुझेका कृष्ण अन्त्यमा हाम्रै पक्षमा हुनेछन् । त्यसमाथि यो कलियुगको महाभारत हो । यहाँ एउटा कृष्णको भरमा होइन अक्षौहिणी सेनाको भरमा राज्य जितिन्छ (सेनातर्फ देखाउँदै) । आवश्यकता परे यसपटक हामी कृष्णसँग पनि युद्ध गर्न तयार हुनुपर्दछ बुझ्यौ ?” दक्षिणतर्फ रहेका आफ्ना भाइहरुतिर फर्केर सुटुक्क बोले अनि चर्को स्वरमा उत्तरतिरका अक्षैहिणी सेनातर्फ फर्केर भने, “हामीले आधा युद्ध जितिसक्यौँ, अब आधा बाँकी छ । त्यो पनि छिट्टै जितिन्छ ।”(गडडडडडड ताली) “के भन्दै छन् यी युधिष्ठिर ? यो नाटक हो कि वास्तविकता ?” “यो नाटक पनि हो वास्तविक पनि हो ।” “दुवै कसरी हुनसक्छ ?” “जसरी युधिष्ठिर छन् ।” “युधिष्ठिार पनि नाटकै हुन् त ?” “रूपमा उनै हुन्, चरित्र फेरिएको आभास हुन्छ । परिस्थितिले त्यसै भन्दै छ ।” “युधिष्ठिरबाट यस्तो उग्र भाषण ? त्यो पनि कृष्णकै विरुद्धमा लड्ने कुरा ? कस्तो अचम्म ? युधिष्ठिर र युद्धको इच्छा ? अर्थात् मामाछोरा फुपूछोरा भाइभाइ ?” “अनि दुर्योधन र युधिष्ठिर भाइभाइ थिएनन् र ? त्यहाँ पनि त दुई भाइका छोरा हुन् ?” “यो स्वजनकै बीचको युद्ध हो । यहाँ आश्चर्य मान्नुपर्ने केही छैन ।” “कसले जित्ने ? कसले हार्ने ? अनि के पाउने ?” “जसले जिते पनि भाइले नै जित्ने हो । राज्य र सत्ताबाहिर जाने डर मान्नु पर्दैन ।” दूरदर्शन यन्त्रशालाबाट सञ्जयले दूरवीन घुमाउँदै खबरको प्रत्यक्षप्रसारण गरे, “युधिष्ठिरले युद्धको घोषणा गरे महाराज ।” “के भन्दैछौ सञ्जय ?” “युवराजको यस्तै इच्छा बुझिन्छ महाराज ।”, त्यसपछि टुँडिखेलतर्फको दृश्य प्रस्तुत गर्दै प्रसारण अघि बढाए । हतो वा प्राप्स्यसि स्वर्गं, जित्या वा भोक्ष्यसे महीम् म¥यौ भने सहिद हुने छौ, राज्यले कदर गर्नेछ, तिम्रो परिवारले क्षतिपूर्ति पाउने छन्, जित्यौ भने सिंहदरबार…। तस्मात् उत्तिष्ठ.. हे अक्षौहिणी सेना हो, उठ भीम, अर्जुन, नकुल, सहदेव । युद्धाय कृतनिश्चय, युद्धको निम्ति तयार होऊ । युधिष्ठिरले दोहो¥याएर भने, “भोक्षसे महीम् । ..महीम्…।” यस्तैमा सेतो आकृति जस्तो (छाया) देखापर्यो र हरायो । “हाम्रो यस विषयमा के विचार हो ? म त पाँच गाउँ दिऊँ भन्छु । आफ्नै भाइहरूलाई मारेर मैले के शासन गर्नुछ र ?” (दुर्योधन ) “तिमी दुर्योधन नै हौ त ? तिमी त अर्जुन बन्यौ जस्तो छ । हिजो अर्जुनले धनु फालेका थिए आज दुर्योधनले ।” “अर्जुनले इच्छा फेरेपछि कोही त अर्जुनको भूमिकामा हुनुप¥यो । त्यसैले म अर्जुन बनेको । के अभिनय मिलेन ?” मामा शकुनी, “तिमीलाई उपदेशको आवश्यकता प¥यो भाञ्जा । कृष्ण कता जानुभयो ?” “हिजो आफैँ राज्य छोडेर, देशलाई अप्ठ्यारो पारेर जाने, आज पुनः इच्छा जाग्यो भन्दैमा दिन सकिन्छ र ? सत्ता मागेर पाइने भीख पनि त होइन नि ?”(अरु भाइहरू) (सभामा गुरु द्रोणको प्रवेश) “हामीले कस्तो अप्ठ्यारोमा सत्ता समालेको ? बिर्सियौ दुर्योधन ?” “तर गुरु स्वजन भनेको स्वजन नै हो । त्यसमाथि ममा नैतिक बलको पनि अनुभव गर्दै छु । ती धेरै प्रतिस्पर्धामा अर्जुनसँग पराजित भएका सबै घटना ताजै पनि त छन् । मलाई ती दृश्यले बारम्बार झस्काइरहन्छन् । गुरुलाई त मेरो क्षमता थाहा छ नि ?” “दुर्योधन तिमीले धर्म र नीतिका कुरा गर्दै छौ । यो समय नीति र धर्मले चल्ने समय होइन । अनीति, अधर्म कलियुगस्य लक्षणम् ।” सभामा कर्णहरुको प्रवेश । “मित्र दुर्योधन किन शिथिल छौ ?” “ममा शासन गर्ने मोह रहेन अब मित्र कर्ण ।” “तर दुर्योधन, तिमी , तिमीमात्र कहाँ हौ र ? तिमी त हामी पनि हौ । हाम्रो इच्छा शक्ति कमजोर भएकै छैन । तिम्रो कसरी हुन्छ ? अनुभव गर ? अझ बढी अनुभव गर ?” दुर्योधन भित्र गए , केही समय हराए ,पुनः बाहिर आए र भने , “कर्णहरू, भाइहरू, साँच्ची ममा केही महत्त्वबोध भयो । तर सम्भव छ त ?” “सम्भव छ, तिमीले हुन्छ मात्रै भन, तिमी दुर्योधन हौ ?” “तर पनि मलाई दाजू युधिष्ठिरकै इच्छा मन प¥यो पाँच गाउँ ? दिऊँ भन्छु म त ?” “हामीमा मत विभाजन उचित भएन । कुरा ठिक भए पनि प्रक्रिया ठिक भएन ।” “हामीले पाँच गाउँको प्रस्ताव एकमतले अस्वीकार गर्छौँ । सत्तामा मोलाहिजा ? यो मिल्ने चरित्र नै भएन । त्यसमाथि जूवाको नशामा राज्य र स्वास्नी नै दाउ थाप्नेहरूप्रति फेरि विश्वास गर्न सकिएला र ?” “राजसी चरित्र देखाएकालाई हामी राज्य गर्नेहरूले अन्यथा नलिने हो कि ? हामी पनि कहाँ कम छौँ र ? त्यही जूवामा राज्य र स्वास्नी दाउ थाप्न नपाएका मात्रै त हौँ ? आखिर स्वास्नीको (भाउजू) दाउ जित्ने त हामी नै हौँ नि ?” “मामा शकुनी हुनुहुन्छ र सबै सम्भव भएको छ ।” “यसमा काकाहरूको समर्थन प्राप्त होला ?” “उहाँहरू पनि मूल धारमै हुनुहुन्छ । सत्ताको नुन खाएकाहरूको डर मान्नु पर्दैन । फेरि पाण्डवहरू हामीसँग जस्तै काकाहरूसँग पनि रिसाएकै छन् । पुनरागमनमा सहयोग गरेनन् भन्ने पाण्डवहरूको आरोप छ ।” “पितामह ?” “उहाँ हुनुहुुन्छ नि हाम्रैतिर ?”, एउटा कुटिल हाँसो । “एकातिर पाण्डवहरू उग्र भएर देखापरिरहेछन् । उता दुर्योधन छाड्दै छाड्दिन भन्छ । ऊ त मान्थ्यो होला भाइहरूले छाड्नै दिँदनन् । पाण्डवहरू पनि किन यति चकचके भएर सत्ताकै निम्ति मरिमेटेका ? त्यत्रो जंगलको कष्ट त सहेर बसेका हुन् । आज त राज्यमा सम्मानपूर्वक नै बसेका छन् । सुस्तसुस्त मिलिहाल्थ्यो नि । पाण्डवहरूले सही तरिका अपनाएनन् । हिजोको दुर्योधनको स्वभाव पाण्डवमा पनि देखिन थालेको छ । एउटै मूलको पानीको प्रभाव हो ।” “एता कृष्ण पनि रिसाएर टाढा टाढा हुँदैछन् । कृष्णलाई त हामी सबैले अपमान ग¥यौँ । आदर गरेर बोलाउने र गाली गरेर पठाउने नीति भयो हाम्रो । तैपनि यो पालि दुर्योधनलाई साथ दिने हाम्रो बाध्यता छ । तर पाण्डवहरुको स्वभाव पनि मनपर्दो भएन । दुर्योधनको नुन हाम्रो निम्ति महङ्गो उपहार हुने भयो ।” विदुरवाक्य सुनेका सबै सभासद्ले विदुरवचनको समर्थन गरे । “हस्तिनापुरका जनता हाम्रो निर्णय पर्खिरहेछन् । हामीबाट मात्र यिनको रक्षा सम्भव छ । राज्य दुर्योधनको भएपनि निर्णय हाम्रो सुन्ने इच्छा राख्छन् जनता ।”, विदुरले अठोट लिएको अनुहार पारे । दृश्यमा हस्तिनापुरवासी जनता देखापरे । एउटा सेतो छाया देखाप¥यो र हरायो । “त्यसो भए विदुर नीति पनि फेरिएको छ होइन त ?” “सबैको रूप, भूमिका र चरित्रमा मिश्रण देखापरेको छ । अलिअलि त पीतामहको डर मान्नुपर्ने ? कि पितामह पनि ?” “हो उहाँको पनि भूमिका फेरिएको छ ।” “तर ठूलो रुखको छहारी स्वस्थकर नै छ ।” “यी हस्तिनापुरवासी न्यायप्रेमी जनता हजुरको संरक्षकत्व चाहन्छन् ।” “हो हस्तिानापुरका यी सारा जनता मबाट मात्र सुरक्षित छन् । मैले यिनको साथ छोड्नुहुन्न । यी अनाथ हुनेछन् ।” दुर्योधनले अठोट लिएको अनुहार पारे । दृश्यमा हस्तिनापुरवासी जनता देखापरे । “जे भए पनि पितामह हामी सबेैले मानेकै व्यक्ति थिए । हामी पाण्डवहरूका त अभिभावक नै थिए । तर किन उनी पनि सशंकित व्यवहार गरिरहेछन् हिजो आज ?” “मनैबाट युधिष्ठिरले भने तर उनले भनेर गएका छन् । युधिष्ठिर तिमीहरूमाथि फेरि षड्यन्त्र हुन सक्छ । मैले त राज्य नै दिन पर्छ भनेको छु । विदुरसमेत मेरो कुरा काट्न थालिरहेछन् । आफू निक्लेरै जानुपरे पनि पाण्डवहरूलाई राज्यमा ल्याएरै छाड्छु भनेको थिएँ । ल्याएँ पनि । अब अडिने तिमीहरूको काम हो । युक्ति लगाऊ । युधिष्ठिर तिमीबाट उत्तराधिकारको अपेक्षा गरेको छु ।” “अब मेरो हातबाटमात्र सुरक्षित हुन सक्छ । यी सबै हस्तिनापुरवासी न्यायप्रेमी जनता मबाट मात्र सुरक्षित हुन सक्छन् ।”, युधिष्ठिरले पनि अठोट गरेको अनुहार पारे । दृश्यमा हस्तिनापुरवासी जनता देखापरे । “सुन्नुभयो तपाईँहरूले ? देख्नुभयो तपाईँहरूले ?” “के ?” “नयाँ हस्तिनापुरका नयाँ पाण्डवहरूका कुरा ? त्यस्तै नयाँ कौरवहरूका कुराहरू ? नयाँ र नौला वहाँहरूका कुराहरू ?” “त्यहाँ अक्षौहिणी सेनाहरू प्नि थिए । पाण्डव र कौरवहरूका नौला अनुहार र अनौठा कुराहरू त्यहाँ थिए । त्यहाँ उनीहरूले जनतालाई देखाएर प्रतिज्ञा पनि गरेकाजस्ता पनि लाग्थे । तर त्यहाँ हस्तिनापुरका जनता थिएनन् । “त्यहाँ हामीले हामीहरूलाई कहीँ कतै देखेनौँ ? तर युधिष्ठिर र दुर्योधनले मेरा जनता भनिरहेका थिए । त्यहाँ उनीहरूका जनतामात्र थिए । ती त हामी नभएको राज्यका कुरा थिए । त्यहाँ त हामी जनताको पक्षमा कुनै सम्वाद नै भएको थिएन ।”(व्यक्ति एक) “हो देखाइएका जनता, भनिएका कुरा सबै यिनीहरूका आफ्ना पक्षका थिए । हामी त अदृश्य र असान्दर्भिक छौँ त्यस सभामा । यो सबै हाम्रा लागि भएको भन्ने बुझनुभएको छ भने त्यो तपाईँको भुल हुनेछ ।”(व्यक्ति तीन) “हामी त जुत्ता हौँ, चप्पल हौँ, भुइँ हौँ, गुन्द्री हौँ, सिँढी हौँ, भकुण्डो हौँ ।”(व्यक्ति चार) “तर हामी अँठिनु, दबिनुको पीडा हामीलाई मात्र थाहा हुने । यो कस्तो अनौठो शासन हगि !” (व्यक्ति पाँच) “सुन्नुभो तपाईहरूले महाराजका कुरा ? दुर्योधनका कुरा ? हस्तिनापुरको सभामा आफूहरूलाई देख्नुभयो कतै ?”(व्यक्ति छ) “त्यहाँ त पाण्डव र कौरवको पक्षका केही सेना र उनका आफन्तहरू थिए । त्यहाँ त हामी कतै थिएनौँ ।” “त्यसोभए हामी को हौँ ? हामी त दुवैतर्फ थिएनौँ त्यहाँ ?” “ठिक बुझ्नुभयो । ती हामी हौइनौँ र त्यो हाम्रो सभा पनि होइन । त्यहाँ हामी देखिन मिल्दैन । ती त उनीहरूले बनाएका जनता हुन् । भएका जनता होइनन् । तपाईहरू यो भ्रममा नपर्नुस् हामी हुँ भन्ने नठान्नुस् ।” (एउटा समूह यसो भन्दै अघि बढ्यो ) केहीक्षणपछि – युधिष्ठिर, दुर्योधन र विदुर आदिको प्रवेश । उनीहरू सबै मिलाएर बनाइएका नायक र एकअर्काका प्रतिनायक जस्ता देखिन्थे । सबैका अनुहारमा कुटिल खालको हाँसो देखिन्थ्यो । “हामी एक थियौँ, छौँ र हुनेछौँ ।”, उनीहरूले सामूहिक स्वरमा बडो मिलाएको भाषमा मौलिकजस्तो गरी त्यसो भने । “तर हामी एक छैनौँ ।”, माथि उभिएकाहरूका पनि आँखा र कान ठाडा भए । उनीहरूले तलतिर फर्केर हेरे जता मौलिक जनता थिए । “हामी तपाईँहरूका राज्यमा नभएका जनता हौँ । त्यसैले एक हुन सकेनौँ ।” “हामी मौलिक जनता जिन्दावाद ।” एवंक्रमले जिन्दावाद चलिरह्यो, धेरैबेर ठूलो समूहबाट । अघि सभामा नदेखिएका धेरै जनता त्यहाँ देखापरे । “हामी जिन्दावाद ?” “…र उनीहरूले भने हामी खोई ?” “हामी युधिष्ठिर मान्दैनौँ !” “हामी दुर्योधन मान्दैनौँ !” “हामी विदुर मान्दैनौँ !” “…………..मान्दैनौँ !” “………….मान्दैनौँ !” यो अप्रत्यासित दृश्य हेर्दाहेर्दै ती सबैको अनुहारमा एकाएक परिवर्तन देखाप¥यो । युधिष्ठिर दुर्योधनजस्ता, दुर्योधन विदुरजस्ता, विदुर युधिष्ठिर जस्ता यस्तै के के जस्ता देखिन थाले । सबै भिन्न पनि थिए, उस्तैजस्ता पनि थिए तर आँफूजस्ता वा जनताका जस्ता कोही पनि थिएनन् । उनीहरूलाई आफूहरू असुरक्षित हुँदै गएजस्तो अनुभव भयो । उनीहरूले मुखामुख गरे र त्यहाँबाट उम्किने तर्खर गर्दैगर्दा – “ये यथा मां प्रपद्यन्ते तां तथैव …, मलाई जसले जसरी हेर्न चाहन्छ म त्यस्तै देखिन्छु ।” “यो त कृष्णको बोली हो !” “कृष्ण ! कृष्ण ! कृष्ण !!” “म युधिष्ठिर कृष्ण !” “म दुर्योधन कृष्ण !” “म विदुर कृष्ण !” “हामीले तपाईँलाई अपमान गर्ने भुल ग¥यौँ । हामीलाई गल्ती अनुभव भयो । कृष्ण हामी यहाँ छौँ ।” “म त तपाईँ नै हुँ युधिष्ठिर !?” “म त तपाईँ नै हुँ दुर्योधन !?” “म त तपाईँ नै हुँ विदुर !” कृष्ण जनतातिर फर्केर, “यिनीहरूले तपाईँहरूमाथि पनि धोका गर्न खोज्दैछन् । यिनीहरू यी होइनन्, यी जस्तामात्र लागेका हुन् । मेरो शान्ति र मेलमिलापको प्रस्तावलाई लत्याएर मलाई धोका दिए अब तपाईँहरूका आफ्ना बनेर धोका दिन खोज्दैछन् । म बन्न खोज्दैछन् । तर नियतिमाथि कसैको केही लाग्दैन । यिनीहरू जो हुन् ती होइनन्, जो देखिएका छैनन् ती हुन् । नियति जो जो लिएर आएको हो । नियतिमाथि प्रश्न नगर !” कृष्ण सरासर अघि बढे । सुरिलो स्वरमा बाँसुरी फुकेको ध्वनि गुञ्जिँदै टाढा हुँदै गर्दा एउटा अग्लो छाया यतैतिर फर्केर हेरिरहेको देखियो । सबैले एकै स्वरमा भनेको सुनियो, “पितामह ! पितामह ! पितामह !!” परिस्थिति विसम थियो । योबेलामा सबैले पितामहको अभाव अनुभव गरे । #डा. नारायण चालिसे
समालोचक हाचेकालीलाई प्रतिभा पुरस्कार: सुरेश हाचिकाले साहित्यपोस्ट डटकमका नियमित स्तम्भकार तथा प्रसिद्ध कवि, गीतकार, समालोचक सुरेश हाचेकालीलाई नेपाल सरकारले प्रदान गर्ने भाषा, साहित्य विधातर्फको प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ। चक्रव्यूह संचेतनाका अभियन्तासमेत रहेका हाचेकालीलाई भाषा-साहित्यमा पुर्याएको योगदानका लागि पुरस्कृत गर्न लागिएको हो। पुरस्कारको राशि ५० हजार रूपैयाँ रहेको छ। हाचेकाली त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजीका उपप्राध्यापक तथा सभ्यता अनुसन्धान केन्द्रका संस्थापक सचिवसमेत हुन्। असार १४ गतेकाे मन्त्रिस्तरको निर्णयबाट राजनीतिक तथा सांस्कृतिक परिवर्तन, भाषा, साहित्य, संस्कृति र नाटक विधामा अन्य श्रष्टाहरू पनि पुरस्कृत भएका छन् । यसरी पुरस्कृत हुनेहरूमा भाषा साहित्य विधा तर्फ राष्ट्रिय प्रतिभा पुरस्कार प्रा.डा. दयाराम श्रेष्ठ सम्भवलाई गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार अभि सुवेदी र प्रा. घनश्याम उपाध्याय कँडेललाई, भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार कवि त्रिभुवन चन्द्र वाग्ले छन् । पुरस्कृत अन्य स्रष्टाहरूमा मोहन सिटौला, केशव सुवेदी, पदमावती सिंह, मधुसुदन गिरी, भैरव रिसाल, तर्कना शर्मा, नवराज रिजाल छन् । त्यसैगरी २०७६ सालको साहित्य, संस्कृति र विज्ञान विधातर्फको पुष्पलाल राष्ट्रिय पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेको छ । यो आविष्कार केन्द्रका संस्थापक महावीर पुन हुन् । यसबाहेक संस्कृति, भाषा, ललितकला, सङ्गीत तथा नाट्य गरी चारै विधामा एक एक जनालाई जनही रु एक लाख राशिको राष्ट्रिय प्रतिभा पुरस्कार र ती प्रत्येक विधामा सात–सात जनालाई जनही रु ५० हजार राशिको प्रादेशिक प्रतिभा पुरस्कार पनि घोषणा भएको मन्त्रालयले जनाएको छ । #प्रतिभा पुरस्कार #सुरेश हाचेकाली
सफल विद्रोह: धेरै वर्षसँगै बिते । ऊ सुन्दर थिई मुहारले, मन्त्रमुग्ध पार्दथी व्यवहारले । उषा, सहपाठी । एउटै कक्षामा थिए, तर पनि सूर्य । उसको गुरू, अलि धेरै जानेको अक्षरका अंकहरू । उबेलाको फलामे ढोका, एसएलसी दिए दुबैले — एउटै पलङको टेबुलभरी किताब ओछ्याएर । सूर्य प्रथम, उषा द्वितीय, मनभरी शुभकामना र बधाई साटे दिनभरी, रातभरी । सूर्यको किरण छाइरह्यो उषाभरी । बादल निथ्रिने आशमा । अक्षरका माथिल्ला तहहरू आ–आफ्नै क्षमता र भव्यताले बिताए दुबैले । चाडपर्व र छुट्टीका दिनहरू भेटघाटका बहाना हुन्थे । पेटभरी घुम्थे, अघाउञ्जेल डुल्थे । उषा बीस कटेर एक्काइस पुगी । बिहेको कुरा चल्यो । उसले प्रस्ताव राखी आमासँग –“आमा मलाई सुर्य मनपर्छ । बालाई सम्झाउने जिम्मा हजुरको ।” आमाले बाबुसँग अक्षर भनिन् – “उषा सूर्यको लालिमाले उज्यालिन चाहन्छे, के छ हजुरको विचार ?”, बाबुले नाकमुख लोप्राए र भनेँ , “भुइँको सितो अगेंनोमा राख्नु हुन्न । यस्ता कुरा नगर मेरा अगाडि । जात मात्र मिलेर हुन्छ, धाक र रवाफ मिल्नु पर्दैन । नाथे ! घरघरको अधिया बेसाउने खेतालोको सन्तान !” विद्वान र धनवानको तुलनात्मक भीडन्तमा धनले जित्यो । उषाको बिहे अन्तै हुनेभो । सूर्य कतै सरकारी जागिरमा होमियो । जीवन पाङ्ग्रा अलग अलग । “छोरा, अलिकता धन पनि जोर्यौ ! अब बिहे गर्नुपर्छ ।”, बूढा बाबुको दशैँको टिकासँगैको आशीर्वाद र आग्रहमा सूर्य ब्युँझियो । उषासँगको अपुरो मिलन र पेशासँगको पूर्ण घुलमिलले गृहस्थ ओझेलमा परेको देख्यो । “ हवस् , जो आज्ञा पिताजी ! “साष्टाङ्ग दण्डवत गर्यो ।” कन्या खोज्नुस् माता ! म जोडी बाधिन चाहन्छु ।” आमासँग संभावित बुहारीको तस्बिर खोज्यो । आमाले चपक्क आँखा बन्द गरेर उहीँ उषालाई सम्झिन पुगिन् । त्यो रुप, त्यो मुहार, त्यो संस्कार, त्यो आदर ! छोराको रोजाईको प्रसंसामा थाक्दिनथिन् उनी । सूर्यको बिहे हुने भो । उसले कन्या हेरेन । योग्यता र सरलता जाच्यो । मामाघरमा बसेर पढे, बढेकी सुशील कन्या । आमाको रोजाई । परिवारसँगको समानता असमानता केलाएन । तर्क खोजेन, शक्ति रोजेन । उस्तै सुन्दर, प्रतिछाया उषाको । उही किरण देख्यो चन्द्रमाको उपस्थितिमा, सन्ध्याको सानिध्यमा । पूर्णिमाको रात आकाशमा चम्किएकी चन्द्रमा , धरतीको सुहागरातको बिछ््यौनामा टलपल टलपल ! घुम्टो खोल्यो । चन्द्रमाको उज्यालोमा उही उषाको किरण ! स्तब्ध भो ! किन ? कसरी ? के का लागि ? अनगिन्ती प्रश्नहरूले वातावरण कोलाहलमय भो । मैले तिम्रो लागि विद्रोह गरेँ प्यारा ! पर्खी बसेँ, जुनी जुनी ! माताज्युको आशीर्वचनमा । मैले जितें आज ! तिम्री हुन पाएँ ! धन्य मेरी आमा । #लक्ष्मीप्रसाद पौडेल #सफल विद्रोह
एउटा अव्यक्त सम्बन्धको कथाः 'लाहुरेकी स्वास्नी र देश': मानौँ, बाहिर सूर्यबाट आगो खसिरहेको छ । यस्तो बेला क्याफेमा छु । ‘कुलर छैन ?’, मैले सोधेपछि एउटा भाइले टेवल फ्यान चलाएर गयो । हावा तातै छ, तर राहत छ । टेवलमा कोल्ड कफी राखेर गएकी छ १७ वर्षे केटीले । अग्लो गिलासमा स्ट्रे राखेर दुईपटक सिनित्त पारेर तानेँ । मनै हररर भएर आयो । हातमा मोबाइल छ । अर्को हातमा भर्खर चुरोट सल्काएको छु । आफ्नै खबर छैन । तर मोबाइलमा खबरहरू छन् । मान्छेका सपना मिचिएका स्टाटसदेखि देशको सिमाना मिचिएका खबरहरू । बलात्कार र हत्याका राता शीर्षकले फेसबुक रंगिएको छ । नवीन अभिलाषी बलात्कारीकै श्रीमती बनाइदिएपछि रूपन्देहीको अंगिराले झुण्डिनु प¥यो । जसले बलात्कार गरेको छ, उसैसँग विहे ? रुकुममा नरसंहार भएको छ– अन्तरजातीय प्रेम रोक्न । भेरीको उर्लिदो छालहरूमा भेटियो ६ जना युवाहरूको मृत शरिर । सरकारविरुद्ध प्लेकार्डहरू आन्दोलित छन् राजधानीमा । सरकारले पानीको फोहोरा हानेका तस्बिर भाइरल छन् । सरकारले नयाँ नक्सा पारित गरेको छ । भारतका मिडियाहरूले बोलीको बन्दुक लिएर चिच्याइरहेछन् । यता घोराही बजार बन्द छ, र म पनि स्तब्ध छु । मौन छु । सडकको अलकत्रा पग्लिने गर्मीमा केही भोका छायाहरू चल्मलाइरहेका छन् । डोकोमा काँचा केराहरू, लिच्ची र आँप बोकेर, मास्कभित्र लुकाएर अनुहार, मानिसहरू छिटफुट हिँडिरहेछन् । अदृश्य शक्तिको त्रास कुल्चेर पनि मान्छे हिँड्न भने छोडेको छैन । यस्तोबेला सटर तानेर भित्र चिया पकाइरहेछ अहम्मद । ‘प्रहरी आउछ, क्याफे किन खोलेको ? भनेर थर्काउछ, एक छिनपछि आफँै चिया पिएर जान्छ, पैसा पनि दिदैनन् दाइ ।’, अहम्मदको कुराले म हाँसे । ‘दाइ, तपाईँ चिया किन पिउनुहुन्न ?’, चिया छानिरहेको छ अहम्मद । ‘गर्मी छ नि ब्रो !’ ‘अनि चुरोट किन सल्काउनु भएछ त दाइ ?’, मैले अहम्मदलाई हेरेँ । ऊ व्यंग्य हाँसो हाँसिरहेको छ । पछाडिको ढोकाबाट मनिषा आई । छाता बन्द गरी । मास्क चिउँडोमा छ । बाक्लो लिपिस्टिक पोतिएको ओठहरू तनक्क तन्काई, थिएटरमा पर्दा खुलेपछि झललल बत्ती बलेझैँ, एकैपटकमा सेता दाँतहरू देखिए । अर्कोपटक मन हरर्र…. भएर आयो । …………………………… मनकुमारी बूढा मगर दाङमा मनिषा भई । रोल्पाबाट दाङ झर्दा ऊ खाम बोल्थी । १० वटा वर्ष बाँचेकी मनिषाले सरकारी स्कूलमा नाम लेखाई । कक्षा १० पनि पास गर्न सकिन । विहे गरी । एकरात फोनमा आफ्नो विगत सुनाई, “युद्धमा बाउ मरे । तारे टोपी लगाएका हुलसँगै जंगल छिरेका बाउ त फर्किएनन् नै, खबर पनि आएन । आमाले किरिया गरेको पनि याद छैन । बेपत्ताको नाममा राज्यले पाँच लाखको चेक दियो । त्यो चेकले दाङ झा¥यो । अर्को पाँच लाखले घर बन्यो ।”, लद्याक पुगेको लाहुरेको स्मृति र बूढी आमालाई पालेर बसी मनिषाले । मनिषासँग अहिले बोर्डिङ जाने छोरो छ । चिम्सा आँखा, चेप्चो नाक, डल्लो अनुहार, ठ्याक्कै बाउ जस्तै । ‘धन्न बाउ जस्तै आएछ, नत्र त लाहुरेले मलाई माथ्र्यो पो ।’, मनिषाले ठ्टटा गर्छे अहिले । मलाई लाज लाग्छ । त्यस्तै आठ वर्ष पहिले । पहिलोपटक भेट्दा पनि उसँग छाता थियो । बैंकमा चेकबुक समाएर बसिरहेकी । गालामा चायाँ, नाकमा पहेँलो फुली, कानमा सुनकै बाली, कपाल पछाडि बानेकी उसलाई लुंगी र टिसर्टमा देखेपछि रोल्पाली हो भनेर कसले नचिन्ने ? सिउँदोमा काँचो सिन्दर थियो लाहुरेको । पेटमा बच्चा बसिसकेको थिएन । सादा मोबाइल सेटमा इन–कमिङ टोन बजिरहेको थियो । भोलुम सानो बनाई । उठाइन । एक लाख रूपैयाँको चेक मैले काटिदिएँ । मनकुमारी भनेर सिग्नेचर गरी । ‘आधा मलाई है त ?’, मैले जिस्काइदिएँ । मैले जिस्काएको उसले थाहा पाई । मुसुक्क हाँसी । मलाई उसका दाँत औधि मन परे । दाँत मात्र हैन, मलाई मनिषा नै मन पर्दै गई । मन पर्नु के महाभारत थियो र ? संसारको सहज कुरा भनेकै प्रेम न रहेछ । प्रेम र सौन्दर्य निरपेक्ष विषय रहेछन् । ……………………………… फ्ल्यासब्याकपछि मैले सोधेँ, ‘कस्तो छौ ?’ उसले आँखाले बोली । ‘एकदम ठिक छ’ भन्ने मैले बुझेँ । उसको अनुहार स्निग्ध आकाशजस्तो खुलेको छ, झरीपछि बादल फाटेजस्तो । खोला किनारको छिपछिपे पानीभित्र सुनौला किरणले छोइएर टल्किएका ढुंगाहरूजस्ता हँसिला आँखाहरू छन् । मोटो सरा भएको सिल्की कपाल टेवल फ्यानको हावामा लहरायो । ढाकाले बुनेको हाते ब्याग टेवलमा राखी । ‘के खाको ?’, उसले आवाज निकाली । उसको लवजबाट मगर टोन हराइसकेको छ । ‘रक्सी । खान्छौ ?’, मेरो झुटमा नाटकीय पारा थिएन । तर मनिषाले पत्याइन । तल्लो ओठ लेप्य्राई र मैले पिउँदै गरेको कोल्ड कफी हेरेर बोली, ‘हुन त के भर अचेल बाहुनभन्दा बढी को बिग्रेको होला !’, उसलाई थाहा छ, म कतिसम्मको जड्याहा छु । मैले मुस्कुराएर चुरोटको सर्को लिएँ । ‘तिमीहरू बिग्रिन बाँकी छैन नि त, अब हाम्रो पालो ।’, चुरोटको जल्दै गरेको मुख एस्ट्रेमा धसेँ । मनिषालाई चुरोटको धुवाँ मन पर्दैन, सम्झेँ । ‘खुसीले खुट्टा भुइँमा छैन त, के भयो त्यस्तो ?’, उसको उज्यालो अनुहार हेर्दै भनेँ । उसले आफ्ना खुट्टा हेरी । साँच्चै उसका खुट्टाहरू भुइँमा थिएनन् । कुर्सी अग्लो थियो, मान्छे होची । खुट्टाहरू झुण्डिएका थिए । मैले हाँसो थाम्न सकिनँ । ‘तपाईँलाई भेट्न पाएर खुसी नि ।’, मनिषा हाँस्दै बोली । पमलाई रुन मन लाग्यो । ३७ वर्षसम्म कसैले माया गर्छु भनेनन् । जीवनका उर्जाशील उमेर गाँजा तानेर सिध्याएँ । कसैले नतानसम्म भनेनन् । अहिले चुरोटको धुवाँ मनिषालाई मन पर्दैन भनेर निभाइदिन्छु । के भैरहेछ यस्तो ? ‘हिजो लाहुरे गयो ।’, लकडाउनले विदामा बसेको मनिषाको बूढो पल्टन फर्किएछ । भारत र चीनबीचको उग्रविवादले विदा बसेका गोर्खा सैनिकहरू भारत तानिए । मेरो मनमा चीसो पस्यो । तर मैले बुझिनँ, मनिषालाई लागेको कस्तो खुसी हो यो । सन्तापको भुंग्रोमा उफ्रिनुपर्ने बेला कुन उल्लासको सिरेटोले छोइरहेछ उसलाई ? ……………………………… बैंकबाट छुट्टिएपछि एकदिन विद्युतमा विल तिर्दै थिई । मुस्कुराउँदै गरेको त्यो आकृति अपरिचित थिएन । ती दाँतहरू मलाई सम्झना भए । फरक यति थियो, श्रृङ्गारले उसको सौन्दर्यको चमक बढी थियो । कपाल छोडेकी थिई, कुर्तामुनि जिन्स थियो । कानमा टप र ओठमा लिपिस्टिक । मानव सौन्दर्यको सम्पूर्ण अधिकार प्रकृतिले नारीलाई दिएको छ । हामी त बस् हेर्नका लागि मात्र जन्मिएका हौँ । अचम्मको कुरा त यो हो कि, उनीहरूले हामी जस्तालाई मन पराउछन् । उसका साना औँलाहरू इन्ड्रोइड फोनको स्क्रिनमा चल्मलाए । मेरो मोबाइल नम्बरका दश वटा अंकहरू सेभ गरी । र चिम्सा आँखाले बिदाइ । ती आँखाहरू मेरो मानसपटलबाट हराउन केही घण्टा लाग्यो । एक रात, झरी थामिएको थिएन । ६० एमएल÷९० एमएल गर्दागर्दै त्यो साँझ धेरै नै लठ्ठिएको थियो । एउटा अनौठो आवाजले मेरा आँखाहरू खुले । त्यो आवाज मोबाइलको थियो । झ्याल खुलै थियो, ढोका पनि बन्द थिएन । चीसो हावा कोठामा व्याप्त थियो । घडीले बिहानको तीन बजाउँदै थियो । र कहिल्यै नदेखेको नम्बर थियो मोबाइलमा बजिरहेको । ‘अस्पतालमा आउनूस् न ।’, आवाजमा हतासको लेपन थियो । तर अप्रिय क्रन्दन छुट्नुअघि सामान्यीकरण बनाउन खोजिएजस्तो । गहिरो पीडाले दबेको कुनै केटीको स्वर थियो । रनन्… दौडियो दिमाग र दाँत, आँखा, साना सुन्दर हात र मोबाइल स्क्रिनको स्मृतिले टक्क रोकियो । म १० मिनेटमा अस्पताल पुगेँ । प्रतिक्षालयमा उभिएकी थिई मनिषा । हातमा कागज र औषधिले भरिएको झोला थियो । आँखाहरू टिलपिल टिलपिल थिए । अनुहारमा पहिरो खसेजस्तो । मलाई देखेपछि उसका आँसुहरू बर्रर…. खसे । आँसु खस्नका लागि पनि आफ्नो मान्छे चाहिन्छ । ‘आमा…..’, यो शब्द लिएर उसले टाउको घुमाई र पर हेरी । पछ्याउराले आँसु पुछी । मलाई रक्सीले छोड्यो । …………………….. ‘मैले पनि खान्छु नि यो ।’, कोल्ड कफी अर्डर गरी मनिषाले । एक निमेषको मौनतालाई चिर्दै मैले सोधेँ, ‘किन पठायौ त बूढोलाई यस्तोबेला ?’ ‘झ्याउ लाग्छ, गए राम्रै भयो । मैले नजाऊ भनेर नजाने हो र ?’, बाँया हातका दुई औँलामा पहेँला औँठीहरू छन् । औँठीहरू खेलाउँदै मनिषाले बोली, ‘आफ्नै काम भए पो ! अर्काको काम हो, बोलाएपछि जानै पर्छ नि ।’ उही १७ वर्षे केटीले कोल्ड कफी लिएर आई । हातमै समातेर मनिषाले स्ट्र तानी । नाक खुम्च्याई । उसलाई मन परेन । स्ट्रमा रातो लिपिस्टिक लाग्यो । ‘हामी सधै बेचिएर बाँच्यौँ, भरिलो आयु र तातो पसिना बेचेर सुख किन्ने प्रचलन बस्यो, यसले मान्छे त सुखी भए, देश बदलिएन ।’, मैले भनेँ, ‘देशको हावामा श्वास फेर्नु, आफ्नै घरको चुलोमा खानुको अर्थ बेग्लै हुन्छ, अब नेपालमा केही गर्न भन ।’, मनिषालाई हेरेँ । ‘के गर्ने ?’ उसले प्रश्न गरी । ‘आफ्नो माटो भनेको आफ्नै हो, जे गरे पनि हुन्छ, के हुन्न ? तर नेपाललाई निल्न खोज्ने देशकै कारिन्दा बन्नु साह्रै निरिहपन लाग्छ मलाई ।’ ‘त्यसो भए तपाईँले किन केही नगरेको त ?’, मेरो अनुहार नीलो भयो । मैले मनिषालाई हेरेँ, उसको अनुहार तटस्थ थियो । ‘आलुको बिउ त कुहिएको पाउने देशमा अरू के हुन्छ ?’, स्ट्र तानी र फेरि बोली, ‘छोरा छोरी बढ्लान्, उनीहरूको भविष्य सोच्नु पर्दैन ? तपाईँको पो न जोई न कोई ।’, ऊ मुसुक्क हाँसी । म शालिक भए । ‘यहाँ बसेर चुरोट तान्नुभन्दा जानु भए हुन्छ दिल्लीतिर ।’, मैले उसलाई आँखा देखाएँ, तर उसले बोल्न छोडिन, ‘वर्षमा लाखौँ कमाए पनि विहे गर्ने पैसा त हुन्छ ।’, उसको कुराले मलाई कफीको सर्को छुट्यो । ‘अहम्मद ब्रो, पानी ल्याऊ यार ।’, मनिषाले दाँत देखाएर हाँसी, अहिले म तटस्थ देखिने नाटक गरेँ । ‘इण्डिया त म मुत्न मात्र जाने हो ।’, यति भनेर सडकमा आँखा पु¥याएँ । मलाई अहम्मदले हेरिरहेको रहेछ । ‘मान्छेको जीवनमा पैसाबाहेक पनि धेरैथोक छ । सपनाहरू छन्, सम्बन्ध र रहरहरू छन्, तर काँचो सिन्दुर र भोको देश छोडेर लाहुरे बन, पैसा कमाऊ, पठाऊ, न जीवनको रस, न मृत्युको ठेगाना ।’, मैले सोँधे, ‘मनिषा तिमीलाई लाग्दैन, तिम्रो बूढो तिमीलाई पाल्नमात्र संसारमा जन्मिएको हो !’ ‘यदि ऊ लाहुरे थिएन भने मैले घाँस काटिरहेको हुन्थँे, मकैको रोटी र ढिडो खाइरहेको हुन्थेँ ।’, मनिषाको आँखामा गम्भीरता देखियो, ‘न तपाईँसँग भेट हुन्थ्यो, न मैले यति धेरै कुराहरू बुझ्थेँ ।’ ‘पैसाले जीवनशैली बदलिएको हो, जीवन हैन ।’, मैले कुरालाई झन् गहिरो बनाएँ, ‘मैले माटो, देश र स्वाधिनताको कुरा गरेको हो, हाम्रो जीवन परिवर्तनका लागि हाम्रा छोराहरू सधैँ बाहिर पठाइरहने हो ?’ मनिषाका कुरा मलाई सतही लाग्छन्, उसलाई मेरा कुराहरू आदर्शमात्र लाग्दो हो । हाम्रो सोचको मुल फरक छ, टेकेको धर्तिको आकार पनि पृथक । ‘लाहुरे भएर के हुन्छ ?’ उसले छोटो उत्तर दिई, ‘पैसा हुन्छ, ईज्जत हुन्छ ।’ मैले कफी रित्याएँ, रित्तो गिलास साइडमा राखेर भनेँ, ‘आमाको गनाउने गुन्यूँ भए पनि आत्मीय हुन्छ, प्रेमिल लाग्छ । पैसा परिस्थितीले बनाउँछ, र त्यो ईज्जत समाजको सबै भन्दा मीठो भ्रम हो ।’ ‘जे सुकै होस् ।’ मनिषाले ह्याण्ड ब्याग निकाली र एक हजार रुपैयाँको नोट झिकेर अहम्मदलाई बोलाई । ………………………….. मनिषा लाहुरेको दोस्रो श्रीमती हो । आफन्तहरू भन्थे– मनिषाले जीवनमा समाउने बलियो हाँगो भेटी । ‘लाहुरे पाउनु किस्मतमा लेखेर आउनुपर्छ, पैसा छ, सुखसँग पाल्छ, अरू के चाहियो ?’, आमाले खोजेको केटा थियो लाहुरे । खै के नपुगेर जेठीले छोडेकी लाहुरे । मनिषासँगको कुराले मलाई धक्का लागेको थियो । नेपालमा लाहुरेहरूको इतिहास पढिरहेको थिएँ, गुगलमा । लाहुरको नाममा किन बेचिन्छन् नेपाली छोराहरू ? उसको घर, समाज र देशले बहादुरी किन बेचिरहेको छ ? राइफल बोक्ने लाहुरे होस् या खाडीमा काम गर्ने मजदुर ? के फरक छ ? कति दर्बिला प्रश्नहरू छन् । त्यत्तिकैमा म्यासेन्जर बज्यो । मनिषाले भ्वाइस मेसेज गरेकी रहेछ । उसले टेक्स्ट पठाउन जान्दिनँ । मैले सुनेँ । फोन गर्न भनेकी रहेछ । गरेँ । ‘दिउँसो कस्तो झ्याउ लाग्ने कुरा गरेको तपाईँले ।’ ‘धेरै कुरा तिमीले बुझ्दिनौँ मनिषा, लाहुरेहरू बेचिएका बहादुरहरू हुन् । उनीहरूलाई देशले बेचेको छ, शाषकहरूले बेचेका छन् । लोग्नेको रगत र मृत्युसँग तिमीहरूले सुख र सन्तुष्ट खोज्ने हैन, देशभित्रै काम गरेर सुख पाउने सोच राख्नुपर्छ ।’ ‘हैन, के सारो लाहुरेको पछि लाग्नुभएको हो तपार्इँ ? छोड्दिनूस् अब यस्तो कुरा ।’, मनिषाको कुराले म अड्किएँ । ‘अरे, पछि लागेको हैन यार ! भारत र चीनको विवाद छ, युद्धको हुन सक्छ अब । बूढो मरेपछि के गर्छौ ?’, मैले पनि झर्किएर बोलेँ। ‘तपाईँ के त ?’, यत्ति बोलेर ऊ हाँसी । उसको हाँसोको लय धेरै मानिसहरूको भन्दा फरक छ । देश र माटो त यस्तै भयो, आफ्नै सम्बन्धसँग पनि बेप्रवाह हाँसो । #नवीन अभिलाषी
खोजी: म खोज्दैछु मेरो हाँसो भित्रको दुःख बुझ्ने मेरो रीसभित्र माया देख्ने अनि मेरो मौनता भित्रको कारण खोतल्ने मान्छे अनि म सोच्दैछु कोही त होला मलाई पनि भन्ने तिम्रो भित्रको दुःख म बुझ्छु तिम्रो भित्रको माया म देख्छु इशारा मात्र गर न तिमी म मौनता भित्रको भित्र पनि खोतल्छु । म कोर्दै छु सपनाका महलहरू त्यो महल भित्रका हामी कल्पनामा सही कोर्दै छु तिम्रो र मेरो आकृतिहरू र पर्खाइमै छु कोही आएर भनोस् त मलाई तिम्ले जस्तै हाम्रो महल अनि आकृति मैले नि कोरेँ तिमीसँग नै तनमन जोडे म पर्खाइमा छु मलाई अथाहा माया गर्ने खोज्दैछु सँगै जीवन बिताउने मान्छे बूढेसकालको साहरा ।। #खोजी #जीवन पाण्डे
मिस यु सिकिया !: ठेठी भाषामा कनेल भनिने पहेंलो फूललाई हामी करबिरे भन्थ्यौं । त्यही फूलको रस चुसेर मेरो बालापन हुर्केको हो । विशेषगरी तराईमा पाइने यो फूलको फेदमा लुकेको रस महभन्दा कम मिठो हुन्न । साथीहरूमाझ म बाल–अन्वेषक, अगुवासरह थिएँ । सानोमा यो फूल यसरी चुस्नुपर्छ भनेर मैले धेरै साथीहरूलाई सिकाएँ । अथवा भनौं, मैले मिठो मानी–मानी चुसेको देखेर अजय, सन्तोष, विष्णु, लैलुन र अरू धेरै साथीहरूले करबिरे चुस्न जाने । तर, करबिरे फूलसँग मात्र होइन, समग्र मधेससँग मेरो कार्मिक सम्बन्ध कम स्मरणीय, लोभलाग्दो र मायालु छैन । २०२४ साल कात्तिक ५ गते आइतबार बिहान पाँच बजेतिर (दोस्रो पटक भाले भर्खरै बासेको थियो रे !) जैविक प्रक्रिया पूरा गरेर मेरो आगमन भएको भोलिपल्ट आमाले रोपिदिनुभयो, मेरो सालनालसहित रगत, बबिया वडा नम्बर ३ (सुनसरी)को माटोमा । यो पृथ्वीमा । जलेबिया मितबा (आमा भन्नुहुन्छ, उहाँ मेरो बुबाको गाँजा खाने साथी हो । विधिपूर्वक मित लगाइएको थिया रे !) को छोरा थियो, मिल्ने बालसखा, मुसलमान । उसको वास्तविक नाम के थियो थाहा छैन । सबै जना सिकिया–सिकिया भन्थे । म पनि उसलाई सिकिया नै भन्थें । सँगसँगै घर थियो । नाङ्गै कुद्थ्यौं । धूलो खेल्थ्यौं । सैजुन, सरिफा, कपास, मेवाका बुटाहरू चढ्थ्यौ । सेवइ खान्थ्यौं । आमाले कम्मरमा कन्दनी बाँधिदिनुभएको थियो, कन्दनीमा पुवाँलोका दाना जस्ता फलामका दाना झुन्ड्याइएको हुन्थ्यो । छुन्दु्रङ–छुन्दु्रङ बज्ने । एउटा टिनको बाकसको माथिपट्टिको भाग थियो, एकापट्टि डोरी बाँधेर गाडी भन्दै तान्थ्यौं । कहिले नहरको डिलमा, कहिले घरअगाडिको डगरमा झगडा पनि हुन्थ्यो । मिल्थ्यो पनि औधि, भात खानै बिर्सेर । कहिले झ्यानामती (मैले सिमीलाई दिएको नाम)को झ्याङतिर, कहिले बेलचन्डाको बोटमा लहसिन्थ्यौं । पटुवा घारीमा माछा मार्न जान्थ्यौं । तर, पटुवाघारीतिर जान एक प्रकारले प्रतिबन्ध नै थियो । त्यतातिर वनलाकड (सम्भवतः स्याल वा ब्वाँसो) आउँछ र बच्चालाई लान्छ भन्ने डर देखाइएको थियो । एकदिन केही खाली सिसि, केही टालाहरू र अरू खत्र्याङखुत्रुङ हालेर भाँडाकुटी खेल्ने भन्दै बाकसको बिर्को तान्दै थिएँ, ऊ घचेद्दै थियो । एउटा घरमै पालेको सँगसँगै खेल्ने खैरो–खैरो कुकुर पनि थियो, छेउमै सुतिरहेको । छेउमै घ्यारर्र आवाज आएको सुनेर बिचरा अत्तालिएछ कि क्या हो, मलाई क्याक्क पारिहाल्यो । सिकिया नौ दुई एघार भयो । म चिच्याउँदै रोएको सुनेर आमा आत्तिँदै–कराउँदै आउनुभयो । रगत, घाउ धोइदिनुभयो । घाउमा कपडा डढाएर, सिन्दुर फिटेर के–के लगाइदिनुभयो । त्यो बेला कुकुरले टोकेपछि रेबिज हुनु निश्चित थियो । अहिले जस्तो पाखुरामा तीन सुई लगाएर ढुक्क हुने जमाना थिएन । अनेक तीर्थ–व्रत गरेर, पूर्णिमा (चन्द्रमा) भाकेर पाएको छोरो । यस्तोमा अनिकालको बीउ जोगाउनुपर्ने आमाको मनोदशा र मेरो उपचारसँग सम्बन्धित गतिविधि उल्लेख्य थियो । कहिले इनरुवा कहिले विराटनगर धाएर, एक्काईस सुई लगाउनुप¥यो रेबिजको, त्यो पनि पेटमा । इनरुवामा एकजना ‘मुजिया’ डाक्टर (कम्पाउन्डर) थिए । तिनले पनि एक–दुई वटा सुई हानेको सम्झिन्छु । सुई र दबाइ खान भनेपछि म सानै देखि नडराउने मान्छे । सुई लगाउँदा अरू केटाकेटी झैं म नरोएको देखेर डाक्टरहरू पनि छक्क पर्थे । सुई लगाएको भोलिपल्ट भुँडी सुनिएर डमडम । दिनरात सेक्दाको दास्ती । आमा भन्नुहुन्छ, त्यही घटनापछि मैले जीउ लिन नसकेको हो । अहिले जलेबिया मितबाको छोरा सिकिया कहाँ छ, थाहा छैन । जिउँदो छ कि मरिसक्यो ? जिउँदो भए सायद उसले पनि मलाई सम्झिरहेको होला, विद्याधर, एउटा पहडिया बालसखाको रूपमा । मलाई अहिले पनि उसको सम्झना आउँछ, माया लाग्छ । बीचमा उसका बारेमा जानकारी राख्न नपाएकोमा धेरै पछुतो छ । त्यतिबेला म पत्रकार थिइनँ, कोट्याइ–कोट्याइ सोध्ने । जतिबेला पत्रकार भएँ, त्यतिबेला ऊ मेरो परिदृश्यबाट हराइसकेको थियो । मितबा पातलो–पातलो मान्छे, प्रायः चौकी (खाट)मा बसेको देख्थें, घुम्लुङ कम्बल ओड्न मन पराउने । गुइँठाको घुर ताप्न म प्रायः उहाँहरूकै आँगनमा पुग्थें । आफ्नै बाको चाहिँ त्यति स्पष्ट सम्झना छैन । बालाई ‘झ्याम्ले बुढा’ भन्थें रे ! काखमा गयो कि दारी दलिदिने भएकाले परपरै तर्किन्थें रे ! सायद यो पनि मरिहाल्छ भनेर त्यति वास्ता गर्दैनथे, बाबै । म छ वर्षको हुँदा–नहुँदा बाबै आफैं बाटो लागे, २०३१ साल असोजमा । १९९० साल फागुनका मान्छे, ४१ वर्ष पाँच महिनासम्म दुनियाँ देखे । मजाले चिलिम ताने, टिबि लगाए, तीन वर्ष खुन छादे । धरान, विराटनगर, फारबिसगन्ज कतैका डाक्टरले पनि बचाउन सकेनन् । टिबि हुनु भनेको मर्नु बराबर नै थियो त्यो बेला । अस्पताल धाउँदाका दिनहरू सम्झँदै आमा भन्नुहुन्छ, ‘विराटनगरमा त झन् देउता जस्ता डाक्टर आएका छन्, जान्ने–जान्ने छन् भन्थे, तर केही गर्न सकेनन् । खालि सुई लाउँथे, निको हुन्छ भन्थे ।’ मेरो बालसखा सिकियाको त्यस्तो नाम हुनुमा पनि एउटा कथा छ । सात–आठ जना छोराछोरीहरू लगालग मरेपछि बल्ल–तल्ल अडिएको रहेछ त्यो चाहिँ । त्यो पनि मर्छ भनेर बचाउने उपायस्वरूप उनीहरूको तल्कालीन जातीय परम्परा (सायद अन्धविश्वास)अनुसार एउटा ढक्कीमा हालेर सिक (घैला वा अरू भाँडा झुन्ड्याएर राख्न बनाइएको पटुवाको मोटो जालो)मा झुन्ड्याइएको थियो रे ! त्यसैले उसको नाम नै सिकिया भएको थियो । सिकिया मियाँ । आमाका अनुसार उहाँको पनि पहिलो पटक छोरा नै जन्मिएको थियो । जन्मिएको केही घण्टामैै गयो । त्यसपछि लगालग पाँच वटी छोरी भए । त्यसपछि अढाई वर्षको अर्को छोरा पनि काखमै गयो । अन्तिममा मेरो पालो आयो । यसो गर्दा पो बाँच्छ कि उसो गर्दा पो बाँच्छ कि ! छोरी–छोरी मात्र पाई भनेर, घर–समाज, पतिसमेतबाट हेपिएकी एउटी महिलाको ऊ बेलाको सकस र छटपटी अहिले वर्णन गर्न नसकिने । कतिपटक त बुबाले माथि टाँडबाटै हुत्याएर तल पु¥याइदिनुभएको थियो रे, गोबरको थुप्रोमा । त्यही क्रममा कसैले छोरा बचाउने उपाय सिकाइदियो । बेच्नुपर्छ । बेच्न त बेच्ने तर कसलाई बेच्ने ? किन्नेले मेरै हो भनेर लगिदियो भने आपत ! छिमेकी दिदी हरि चापागाईलाई बेच्ने सल्लाह भएछ । मभन्दा चार–पाँच वर्ष जेठी, उसले लगे पनि फरक नपर्ने ठानेर, पाँच रूपैयाँमा बेचिएछ । त्यसरी बेचिएकाले मलाई पनि जिस्क्याउँदा मान्छेहरू बेचे–बेचे भन्थे । मान्छेहरूले आमालाई मलाई बचाउने अर्को उपाय पनि सिकाएका रहेछन् । सिकाइएअनुसार उहाँले मलाई जुठेल्नामा पनि मिल्काउनुभएको थियो रे । आमा रिसाउँदा कतिपटक ‘जुठे मोरोे’ भनेको सुनेको छु । ती दिनहरूमा जमुवा बाधमा हाम्रो पनि थुप्रै खेत थियो । बुबालाई गाँजा खाँदै, राजमार्गमा काम गर्न आउने पहाडतिरका केटी–आइमाईहरूलाई जिस्क्याउँदै ठिक्क । सबै घर–व्यवहार, गोठ–खेत, बजार आमाले गर्नुपर्ने । धानको बोझ लादेर गोरुगाडी आफैं हाँक्नुपर्ने । भैंसी आफैं चराउनुपर्ने । २०२४ सालमा ठूलो रौदी (खडेरी) लाग्यो । वरपर घाँस पाइन छोड्यो । हाम्रो घरछेउको खेतमा धान पसाउने बेला भएको थियो । एकदिन सत्तेरतिरका यादवहरूले खेतमा लहलहाउँदो धान चर्न भैंसी हुलिदिएछन् । आमाले देखेर ‘धपाउन जानु न’ भन्नुभएछ । जवाफमा बुबाले ‘आ, को जान्छ तिनीहरूको लाठी खान,’ भन्दै कम्बल घुम्लुङ ओडेर पो सुत्नुभएछ । यी र यस्ता अनेकन स्मृतिहरूसँग म खुसी थिएँ, छु । कसैले माने पनि नमाने पनि, म पनि मधेसको एउटा भूमिपुत्र हुँ ! सोच्छु, मधेस अर्थात् मेरो मातृभूमिसँग कर्मले जोडिएको नाताको डोरी न मैले कहिल्यै चुँडाउन सक्छु, न मधेसले मलाई कुनै कुरामा हटक गर्न सक्छ । [email protected] #सुविद गुरागाई
इदी अमिन र मेरा दाँत: दाँतको सम्बन्ध न मान्छेको जन्मसित छ न त मृत्युसित नै । यो मान्छेभन्दा पछि जन्मिन्छ र मृत्युअघि नै अलप हुन्छ । त्यसो त सबैको मृत्युअघि यो कहाँ अलप हुन्छ भनेर प्रश्न पनि गर्न सकिएला, तर यहाँ म स्वाभाविक मृत्युको कुरा गरिरहेको छु । त्यसैले यो जिनिस जन्म र मृत्युको रहस्यबाट अलि टाढै छ । आज म शरीरको यही वैचित्र्य अङ्ग दाँतबारे केही अनुभव साझा गर्दैछु । मलाई हात्तीका दाँत देखेर त्यति डर लाग्दैन जति डर हिटलर, इदी अमिनका हिंस्रक दाँतको कहानी सुन्दा लाग्छ । विश्वको इतिहास हेर्दा ती औसत दाँत थिएनन् । मासु मात्रै होइन मान्छेका दाँत चपाउने दाँत थिए । हिंस्रक, निर्दयी र क्रुर तानाशाहका रूपमा यिनी विश्व इतिहासका पानामा कलंकित छन् । यस्ता दाँत दापभित्र खुकुरी बसेजस्तै ओठको आवरणमा लुकेका हुन्छन् । तिनका नामसमेत सम्झिँदा दन्त्यकथामा वर्णित ठूला दाह्रा भएका राक्षसको भयानक रूप मनमा जागृत भएर आउँछ । दीपसागर प्यासी संसारमा यस्ता खाले हिंस्रक दाँत अरू पनि धेरै छन् । तिनीहरूको क्रूरताको कहानी मानिसको मानपटलमा युगौँसम्म अमिट भएर रहेका होलान् । लाखौँ मान्छे र त्यसमा पनि खास गरी बालक, सुन्दर युवतीहरू अरु कुनै हतियारको प्रयोग नगरी यिनकै दाँतका तारा बने । कसैलाई भने यिनले गोहीको दाह्राभित्र पसाएर उसको शिकार बनाए । जसका मानवता विरोधी क्रूर व्यवहारलाई विश्वले थुकिरहेको छ । यस्ता केही पात्र विषयक अध्ययन एउटा बेग्लै पाटो बन्ला । यस कोणबाट हेर्दा दाँतलाई क्रूरताको प्रतीक पनि मान्न सकिएला । तर दाँतको मुख्य परिचय र विशेषता क्रूरता भने पक्कै होइन । क्रूरभन्दा पनि दाँतका मायावी विशेषता धेरै छन् । दाडिमको दानाजस्तै सुन्दर सजावट भएको यस अङ्गले मान्छेको जीवनशैलीलाई सहज गर्ने काम त गर्छ नै । सामान्य भाषामा भन्दा खानेकुरा समात्ने, काट्ने, फुटाउने अनि चपाउने, यिनै हुन् दाँतका मुख्य काम । त्यसैले कर्मका आधारमा यसका चार वर्ग छन्, टुक्राहा, दाह्रा, मकह्रा र बङ्गाह्रा । ध्वनि उच्चारण गर्ने, अनुहारको सौन्दर्य झल्काउने कार्य गर्नुका साथै यो खुसी अभिव्यक्त गर्ने माध्यम पनि त हो । यसको उपस्थिति निा मान्छेको रूप–सौन्दर्यले कहाँ पूर्णता पाउन सक्छ र ? यो अङ्ग निकै बलवान् छ । देख्दा सानो भए पनि यसभित्र शक्ति गहन रूपमा खाँदिएको छ । भीमसेनको गदा पनि यसलाई टुक्र्याउँदा एकपटक राम्रैसँग हच्केला । मुखको श्लेष्मिक कलाको रूपान्तरित अङ्कुर हो यो, जुन चुनाको लवणबाट संशक्त हुन्छ । यसको आफ्नै विज्ञान छ । बादलले जुनलाई ढाकेझैँ ओठको आवरणभित्र दाँतले दिने मुस्कानी छठा लुकेको हुन्छ । त्यसैले शक्ति र सभ्यताको परिचायक दाँतमा हिंस्रक र प्रेमिल दुवै गुण निहित हुन्छन् । मान्छे नाटकीय स्वभाव भएको प्राणी हो । उससँग देखाउन सक्ने अनेक कला छन् । हात्तीजस्तै उसका पनि देखाउने र खाने दाँत फरक छन् । कोही गँगटोजस्तै पेटभित्रै चपाएर भित्रभित्रै पचाउने गर्छन् । शक्तिकै कुरा गर्ने हो भने गोहीका दाह्राजस्तै आराले गर्ने जब्बर काम पनि यसले गर्न भ्याउँछ । कसैलाई रक्सीका बोत्तलको बिर्को खोल्न ओपनर नै चाहिँदैन । दाँतैले फुत्काई दिन्छन् । मासुको हड्डी कुरुमकुरुम चपाउनेका त कुरै नगरौँ । कोही भने भाइटीकामा माला उन्दा सामान्य धागोसमेत दाँतले काट्न सक्दैनन् । जसलाई भातको सिता चपाउन पनि निकै कसरत चाहिन्छ । यसको रूप तथा सामथ्र्य भिन्न भिन्न छ । कुनै कविको छोटो कविता पढेको थिएँ । सार यस्तो थियो– ‘शब्दका दाँत हुँदैनन् । शब्द जब काट्दछन् तब पीडा धेरै नै हुन्छ । कहिलेकाहीँ शब्दको घाउ यति गहिरो हुन जान्छ कि जीवनको अन्त्यसम्म त्यसले बनाएको घाउ पुरिएको हुँदैन ।’ कविताको भाषामा दाँतबारे कहिलेकाहीँ सोच्ने गर्छु,– हिमालका कुनै दाँत हुँदैनन् । तर हिमालमा हुने दिव्य सौन्दर्य दाँतमा समाहित हुन्छ । रातका पनि त दाँत होलान् ! जसले चपाउँछ अन्धकार र रातभित्रका सबै अँध्यारा जति निल्छ । तब न बिहानीको जन्म हुन्छ । नेपाली समाजमा घाँटी हेरी हाड निल्नु भन्ने उखान निकै प्रचलित छ । म त के भन्छु भने घाँटी हेरे पनि नहेरे पनि हाड चाहिँ ननिल्नु । यदि निल्नै मन भए दाँत हेरर हाड चपाउनु अनि निल्नु । फेसनको जमानामा दाँतलाई पनि त्यसको हावा लाग्नु स्वाभाविकै हो । शरीरका अङ्ग र सजावटका सामान चिटिक्क पार्न पालिस गरेजस्तै मान्छेहरू दाँतलाई पनि अनेक किसिमले टल्काउँछन् । कसैले सिल्भर पालिस गर्छन् भने कसैले गोल्ड पालिस । कसैकसैले त दाँत नै सुनचाँदीका राख्छन् । आखिर जति महङ्गा दाँत राखे पनि त्यसको काम चपाउने नै हो । सुनचाँदीमा न स्वाद हुन्छ न त सुगन्ध नै । मान्छे धनसम्पत्तिको तुजुक दाँतबाटै देखाउँछ । दाँतमा पर्खाल तथा काँडेतार लाउनु अचेल फेसनजस्तै भइसक्यो । जिब्रो बटारेर अङ्ग्रेजी लबजमा बोल्नेका लागि यो झनै काइदाको तरिका बन्यो । हात्तीका दाँतको चर्चा विभिन्न प्रसङ्गमा भई नै रहन्छ । जसमा गजदन्तमणि अर्थात् बहुमूल्य पदार्थ निहित हुन्छ, जसको आफ्नै विशेषता छ । मान्छेका पनि दाँतको रूप र गुण तिनकै जस्तो फरक फरक देखिन्छ । कोही एकदन्ते, कोही दोदन्ते, कोही चतुर्दन्त, कोही दाह्रे, कोही मुसेदाँते, कोही निर्दन्त, कोही छ्वाँके, कोही थोते आदि आदि । आखिर जस्ता दाँत भए पनि तिनले गर्ने कार्य र भाव भने समान प्रकृतिका हुन्छन् । खाना चपाउँदा, रिसाउँदा वा जाडोमा कटकटिँदा जे गर्दा पनि यिनले आफ्नो प्रभाव छाडिहाल्छन् । अनेक तालमा बाजा बजाउने दाँतको आफ्नै टिकटिके सङ्गीत हुन्छ । यसको प्रकृतिको जड तथा दन्तोत्पत्तिको प्रक्रिया भने एउटै छ । आफ्ना र पुर्खाका दाँतका बीचमा तुलना गर्छु कहिलेकाहीँ । जसको वंशाणुगत गुण हामीमा सरेका छन् । तर पुर्खाका दाँत हाम्रा भन्दा अति नै बलिया र सशक्त थिए । जब्बर ओखरका दाना दाँतैले मरक्क पार्थे । उनीहरूले दाँत माझ्ने आधुनिक साधनको प्रयोग पनि गरेनन् । दतिउनका रूपमा नीम, सिमाली, कदम आदिको प्रयोग गर्थे । हामीले अनेक मिसावट भएका नक्कली दन्तमञ्जन प्रयोग गरेकै कारण होला अहिले दाँतको पीडा भुग्तान गर्दैछौँ । सानोमा दाँत जतन गर्न भनी कहिल्यै ब्रस गरिएन । दाँत माझ्ने बहानामा टुथपेस्टको गुलियो र नुनिलो स्वाद चाख्न थपी थपी ब्रस गरिन्थ्यो । बाल्यकालदेखि नै दाँतसँग सबैका तीता मिठा अनुभव जोडिएका हुन्छन् । अघिल्तिरका दाँत टुटेका बेला बच्चालाई जिस्क्याउन खुबै मजा मान्छन् मान्छेहरू । जीवनमा धेरै बल केमा लगाइयो होला त भनेर यसो सोच्दा बच्चा हुँदा दाँती काटेका घटना स्मृतिमा आउँछन् । त्यस बेला साथीभाइसित दाँतले टोकाटोक गर्दै खुब दन्तादन्ति गरिन्थ्यो । बालयुद्ध मैदानमा पहिलो हतियार नै दाँत हुन्थ्यो । एकचोटि दाँतले जिउँदै बिजुलीको तारको बोक्रो निकाल्दा म करेन्ट लागेर बेहोस भएको थिएँ । होस फिरेपछि बुबाले बेस्मारी झपारेका थिए । त्यो दिनदेखि म बन्द तारलाई समेत छुन डराउँथे । लकडाउनका बेला मेरा दाँतले दुःखको महाराजा बनेर मुखमण्डलीको सिंहासनमा राज गरे । केरासमेत चपाउन नसक्ने भएका दाँतलाई मैले मुखभित्रै खुम्च्याएँ । बेलाबखत समस्या निम्त्याई रहने दाँतको केही महिनाअघि उपचार गरेर दुखाइ मत्थर के पारेको थिएँ लकडाउनको बेला फेरि बल्झिहाल्यो । अस्पताल क्षेत्र उच्च जोखिममा रहेर सन्त्रास फैलिएका बेला फलोअपमा जाने कुरा पनि भएन । मुखैभित्र हात घुसाएर उपचार गरिने भएकाले कोरोना त कुप्लुक्कै निलिने भैगो । कोरोनाको मारभन्दा त दाँतकै दुःख उचित ठान्दै सहेरै बसेँ । बरु ब्रुफेन निलेर त्यसैको रिगाइँमा एकछिन रनक्क हुनु नै जाती लाग्यो । दाँतलाई दुःखको महाराजा त्यत्तिकै भनिएको होइन रहेछ । दुखाइका बेला सिङ्गो संसारको दुःख एककट्ठा भएर आफ्नै दाँतमा आएर बसेको भान हुन्छ । एक न एक चोटी दाँतको फन्दामा मान्छे परेकै हुन्छ । यसको बेलिविस्तार यहाँ नलगाउँ । उति बेला डेन्टिस्टले एनिस्थेसिया गर्दा दाँतले पाउने चरम आनन्द सम्झेर वर्तमानको पीडा कहाँ भुल्थ्यो र ! दाँतले रिगाँउदा के गरुँ के गरुँ भएर म दाँतको एक्सरे हेर्छु । मान्छेलाई एक्सरे र हजारको नोटबारे ज्ञान होस् या नहोस्, एकपल्ट यसो माथि उठाएर भने जरुर हेर्छ । एक्सरेको आधा भागमा बादल लागेजस्तो छाया देखिन्थ्यो भने आधा खाली । मेरो अज्ञानता र कवि मनले त्यो भन्दा बाहेक अरु त्यहाँ के देखोस् ? मेरा घाइते दाँतलाई न धेरै तातो चल्छ न चिसो । यिनलाई मुम्बईको जस्तै हावापानी चाहिने । सोच्छु, यस्तो बेला मेरा दाँतले कोरोना चपाउँथ्यो या कोरोनाले मेरा दाँत । अलि कसेर श्वास फेर्दा पनि जरै हल्लिने दाँतको के सामथ्र्य होला खै ! अहिले इदी अमिनका दाँतका कथा सम्झिँदा मेरा दाँत डरले लुगलुग काँप्छन् । बुद्धि आउन बुद्धि बङ्गारा पलाएजस्तै डर र दुःख सहन गर्न पनि त्यस्तै बङ्गारा पलाउने भए कस्तो राम्रो हुन्थ्यो । अनि सोच्छु, इदी अमिनका पनि त बुद्धि बङ्गारा आए होलान् । यदि मान्छेको बुद्धिको बङ्गारा मात्रै होइन विवेकको पनि बङ्गारा पलाउने भए संसार कस्तो हुन्थ्यो होला ! #दीपसागर प्यासी
एक मजदुरको लक डाउन कथा: मृत्यु सजिलो छ !: चौबीस वर्ष भएछ यो सुकुम्बासी टोलको टहरोमा बसेको पनि । बसाई सहरको हो, तर वस्तुस्थिति बिल्कुलै भिन्न छ बस्तीको । टीनले छाएका सा-साना टहराहरू छन् वरिपरि । साँघुरो गल्लीमा हिँडिरहँदा कसका भान्छामा के पाकेको छ, सजिलै थाहा हुन्छ । कसैको घरमा रुवाबासी छ भने पनि वल्लोकुना पल्लोकुना सबै थाहा हुन्छ, र भीड जम्मा भैहाल्छ । म यता आउँदा सोह्र वर्षको थिएँ होला । माइक्रोबसको खलाँसी गरेका ती दिनदेखि नै म यहाँको बासिन्दा हुँ । नेपालभर कतै मेरो नाममा एक आना जग्गा छैन । पुर्ख्यौली सम्पत्तीका नाममा मैले मेरा बाबाट पाएको यही गरीबी मात्र हो । बाले उहिल्यै छाडेर गैहाले । उनले सायद मैले भन्दा धेरै गरीबी भोगेका कारण मलाई चाँडै नै छाडेर गएको हुनुपर्छ । आमाको त म मुहारसम्म पनि सम्झन्नं । शुक्र अस्तः बा बितेको ११ दिनमा आफू जन्मेको पश्चिम नेपाललाई छाडेर सहर छिरेको हुँ । भरियाको साथ लागेर पोखरासम्म आएपछि ट्रक चढेर काठमाडौं छिरेको थिएँ झिसमिसेमा । भोकले आन्द्रा झुत्ति खेलिरहेका बेला कलंकीमा एउटी चिया पसले आइमाईले चिया र बिस्कुट खान दिएकी थिइन्, जुन म कहिले पनि बिर्सन्नं । झुत्रे लुगा र मैलो अनुहार लिएर कलंकीतिर दिनभरि भोकै भौंतारिएको थिएँ । उस्तै लुगा लगाएका एकनासे स्कुले बच्चाहरू देखेर धेरैबेर टोलाएको थिएँ । अहिले ती सबै सामान्य लाग्छन, तर त्यतिबेला निकै अनौठो लागेको थियो । बिस्तारै घाम ढल्दै गए, ती आमैले दिएको चिया र बिस्कुटले पहिले नै धर्म छाडिसकेको थियो । पानी पिउनका लागि धेरै ठाउँ घुमेको थिएँ, तर गाउँमा जस्तो मैले बाँसका झाँगमुनि पलाएको पानीको मुहान कतै भेटिनँ । धेरैपल्ट, पानी पनि पिउन नपाउने कस्तो ठाउँमा आएछु भनेर आफैँलाई धिक्कारेको थिएँ । फेरि पनि तिनै आमैले पानी पिलाएर मलाई अर्को गुन लगाएकी थिइन् । दिन त बित्यो, गाडी गुडेको रमाइलो हेर्दै । जब रात पर्न लाग्यो तब मनमा चिन्ता शुरु भयो; कहाँ जाने ? के खाने ? खल्तीमा पैसा थिएन । झमक्क साँझ परेपछि म दिशाहीन बरालिइरहेको थिएँ । रात अलि छिप्पिएपछि भने मनमा डर पनि लाग्न थालेको थियो । सडका गुडेका गाडीको बत्तीको उज्यालोमा आफूलाई दिशाहीन घिसार्दै थिएँ । मसँग कुनै अन्य विकल्प थिएन । केहीपर पुगेपछि सडक किनारामा रोकिराखेको सानो गाडी देखें । यसो वरिपरि घुमेर हेरें, भित्र कोही रहेनछ । हल्का प्रयासले नै ढोका खुल्यो । मेरो रात काट्ने समस्या समाधान भयो । तर पेट भने भोकले दोब्रिसकेको थियो । यताउता हेरें, केही छ कि भनेर, तर केही भेटिनँ र उसै पल्टिएँ अलिक लामो सीट छानेर । कसैले जोडले बोलाएको आवाजले म बिउझिएँ । बिहान भैसकेको रहेछ । एकजना हेर्दै डरलाग्दो मान्छेले मलाई बोलाउँदै थियो | मेरो मनमा डर भरिएर आयो । म डराउँदै उठें । उसले मेरो बारेमा सोध्यो, मैले सबै कुरा डराई-डराई भनें । मेरो कुरा सुनेर मलाई उसैले त्यही गाडीमा खलासीको काम दियो । टन्न खान पाइने अनि हातभरि पैसा बोकेर बिन्दास जिउन पाइने हुनाले मलाई त्यो काममा एकदम रमाइलो लाग्दै गयो, र धेरै समय मैले त्यही काममा बिताएँ । दश वर्षसम्म मैले उसैको गाडीमा काम गरेँ । मैले काम गर्ने गाडी कलंकीदेखि कोटेश्वरसम्म गएर त्यही बाटो फर्कन्थ्यो । हप्तामा दुई दिन हाम्रो गाडीको पहिलो रुटको समय एउटै पर्थ्यो । त्यतिबेला भने यात्रुहरू प्रायः दोहोरिन्थे । यसै क्रममा मेरो भेट एउटी केटीसँग भयो । हरेक सोमबार र शुक्रबार म उसलाई मेरो गाडीमा बानेश्वरदेखि कलंकीसम्मको यात्रामा पाउँथे । पहिलो केही दिन त अरू सामान्य यात्रीलाई झैं उसलाई पनि व्यवहार गरें । तर एक महिना जतिपछि भने ऊ मसँग बोल्न थाली । उसको नाम रमा रहेछ । मैले पनि घर छाडेदेखि पहिलोपल्ट कसैलाई आफ्नो नाम बताएको थिएँ- पुरन भट्ट । गाडी साहूले जहिले पनि कान्छा भनेर बोलाउँथ्यो, आफ्नो नाम बिर्सिसकेको थिएँ । बोलचाल हुन थालेको दुई वर्षपछि मलाई रमाले उसको घरमा लिएर गई । शंखमुल सुकुम्बासी बस्तीमा उसको १ कोठाको घर थियो टीनले छाएको । घरमा बूढी आमा र रमा मात्र बस्थे । आमा बिरामी भएर काम गर्न नसक्ने भएपछि नौ कक्षाको पढाइ छाडेर रमाले असनको कुनै लुगा पसलमा चार हजार महिनामा काम गर्न शुरु गरेकी थिई । त्यो दिन अबेला साँझसम्म म रमाको घरमा बसेर फर्कें । हामी यसरी बेला बेला भेट्दै गर्थ्यौं । नियमित भेटले हामीलाई नजिक बनाइसकेको थियो । दिनहरू बित्दै थिए । धेरै दिन रमालाई मैले भेटिनँ । मेरो गाडीको रुट परेका बेला पनि ऊ मेरो गाडीमा आएको थिइन् । कामको व्यस्तताका कारण म उसको घर जान पनि सकेको थिइनँ । मेरो मनमा बेचैनी बढिरहेको थियो । तर म काम छाडेर जानसक्ने अवस्थामा पनि थिइनँ । त्यस्तै दश बाह्र दिनपछि मैले मलिनो अनुहारमा रमालाई देखें । काममा जान मेरै गाडीमा आएकी थिई । ऊ गाडीमा रहुन्जेल मैले उसलाई नै हेरिरहें । उसका अधरहरू केही बोल्न खोज्दै थिए तर मान्छेका अगाडि उसको हिम्मत जुटिरहेको थिएन । उनको मुहारको बेचैनी मैले राम्रैसँग पढ्न सकेको थिएँ । सुन्धारामा गाडी रोकिएपछि सबै उत्रिए । म रामलाई आशातित भएर हेर्दै थिएँ केही भन्छे कि भनेर । म अरू यात्रुसँग पैसा उठाउँदै थिएँ, अकस्मात रमा मलाई अंगाल्न आइपुगी । म अक्कबक्क भएँ । के भएको मैले ठम्याउन नपाउँदै रमाका आखाँबाट बलिन्द्रधारा आँशु झर्दैथिए । अरू यात्रुहरू हामीलाई अचम्म मानेर हेर्दै थिए । मैले बिस्तारै रमालाई आफूबाट अलग्याएर सडक पेटीमा लगेँ र सोधें- के भयो । उसले यी दिनहरूमा आफूले पाएको दुःखको बारेमा मलाई बताई । आमा बित्नुभएछ । एकपटक मात्र भेटेको भए पनि मलाई आमालाई सम्झेर नरमाइलो लागेर आयो । अब के गर्ने भन्ने हाम्रो कुरा हुँदै थियो । गाडी साहूले हाम्रो कुरा सुनिरहेको रहेछ । उसले मलाई पाँच सय दिएर छुट्टी बस्न भन्यो । मैले पैसा लिएर टाउको हल्लाएँ । रमालाई एउटा चिया पसलमा लगेँ । सबै कुरा सुने राम्रोसँग । मलाई पनि रुन मन लाग्यो तर म रुन सकिन । रमालाई भने आफ्नो काँधमा टाउको राखेर आँखा रित्तिउन्जेल रुन दिएँ । दश मिनेट जति पछि उसको रुवाई कम भयो । उसले बिस्तारै मलाई उसको घर जान भनी । हामी चियाको पैसा तिरेर बानेश्वरतिर लाग्यौं । उसको घरमा पुगेपछि हामीले अब के गर्ने भन्ने सल्लाह गर्\u200dयौं । हामीले बिहे गर्ने निर्णय गर्\u200dयौं । दुवै तर्फ आफन्त नभएकाले हामीले बगलामुखी मन्दिर गएर सामान्य बिहे गर्\u200dयौं । रिती अनुसार मैले उसलाई मेरो घर लिएर आउनु पर्ने थियो तर मेरे घर भनेपनि अफिस भने पनि त्यही गाडी थियो । म उसलाई त्यहाँ लिएर जान सक्दिन थिएँ । मैले उसलाई त्यो कुरा भनें उसले सहज उपाय दिई र मलाई उसले उसको घरमा भित्र्याई । साहूले दिएको पैसाले कति नै पुग्ने थियो र ! भोलिपल्टदेखि नै हामी दुवै जना आफ्नो काममा जान थाल्यौं । उसले बनाएको रोटी र अचार बोकेर म बिहानै निस्कन्थें । कान्छीको भात पसलमा खाएको मासु र भातभन्दा रमाको हातले बनाएका सुख्खा रोटी नै मेरा लागि प्रिय थिए । बिहे गरेको थाहा पाएर साहूले एक हजार तलब पनि बढाइदियो । होटेलमा खान नपरेपछि खानाबापत पाउने भत्ता पनि बचत गर्न थालें । दिनचर्या सामान्य बितेकै थियो । हाम्रो बिहे भएको तीन महिनापछि मैले काम गर्ने गाडीको बानेश्वर चोकमा ठूलो दुर्घटना भयो । मलाई त खासै ठूलो चोटपटक लागेन, तर गाडी साहूको भने निधन भयो । मलाई यस घटनाले ज्यादै मर्माहत बनायो । मेरो आफ्नै बाले छाडेर जाँदा पनि म त्यति टुकेको थिइनँ तर गाडी साहूको निधनले मलाई पूर्ण रूपमा टुटायो । अब के गर्ने भन्ने भविष्यको चिन्ताले सताउन थाल्यो । रमा एक जनाको कमाईले हामीलाई ज्यान पाल्न धौधौ नै पर्थ्यो । पैसा बचाउनका लागि भनेर रमा घरदेखि काम गर्ने पसलसम्म पैदल नै जानथाली । म घरमा दिनभरि सुतेर बस्थें । मनमा राम्रो त लागेको थिएन, तर हातमा अन्य सीप नभकाले मैले काम पाउन सकेको थिइनँ । एक दुई गाडी साहूसँग कुरा पनि गरेर हेरें, तर केहो जुगाड हुन सकेन । एकदिन बस्तीकै एकजना दिदीले, ‘बाटो बनाउने काममा ज्यामी चाहिएको छ जाने भए आऊ’, भनेर उतै लगिन् । दिनभरि सुख्खा काम गर्दा चारसय पाइने रहेछ । रमासँग सल्लाह गरेर त्यही काम थालें । एकदिन बिहानै टोलमा निक्कै हल्ला भयो । के रहेछ भनेर बाहिर निस्केँ । एउटा ठूलो डोजर आँ मुख बाएर हाम्रो बस्ती भत्काउन भनेर आउँदैरहेछ । सबै डराएर हल्ला गर्दै रहेछन् । पुलिसको पनि बाक्लै उपस्थिति थियो । हेर्दाहेर्दै हाम्रो लाइनको बस्तीका टहरा भत्काउन शुरु गर्\u200dयो । हामीलाई आफ्नो सामान झिक्नो मौका पनि दिइएन । रमा पानी थाप्न स्कूलको धारमा गएकी थिई । रमा पानी थापेर घर आउँदासम्म हाम्रो घरको अवशेष मात्र बाँकी थियो । म आवाजबिहीन भएर हेरिरहेको थिएँ । रमाको हातबाट पानी भरिएको गाग्रो भुइँमा झर्\u200dयो र ऊ त्यहीँ लडी । मलाई रमालाई उठाउन जाने होश पनि आएन । अकस्मात एउटा इँटाको टुक्रा उठाएर हावामा हुत्याएँ । डोजरको चालकको टाउकोमा गएर इँटा बज्र्यो । डोजर रोकियो तर त्यहाँ उपस्थित सबै पुलिसहरू मतिर हुत्तिएर आए । मलाई कर्\u200dयापकुरूप पारेर समाए । लात्ती र लौरो बर्साए । सक्ने अवस्थासम्म म प्रतिवाद गरिरहेँ । बस्तीका अरू आइमाई केटाकेटीहरू पनि ढुंगा लिएर पुलिसतिर आइलागे । मलाई छाडेर उनीहरू उता लागे । रमा म भए ठाउँ आई । केहीबेर दोहोरो भीडन्त कायम रह्यो । पुलिसका अरू गाडी आए र आइमाई केटाकेटी बाहेक हामी सबैलाई समातेर ट्रकमा कोचियो । छेउका पन्ध्र घर भत्किएका थिए । त्यति हुलदंगा भएपछि बाँकी घरहरू बचे । हामीलाई चौकीमा राखियो । खाने व्यवस्था पनि थिएन । सानो कोठामा पैंतालिस जनालाई राखिएको थियो । दुईदिन पछि कुन्नि कुन हो संस्थाले हामीलाई पानीजस्तो पातलो दाल र आधा पाकेको मोटादानाको चामलको भात दियो । सकी नकसी त्यो सबैले खाए । बाँच्नु थियो जसरी पनि मैले रमाका लागि र अरूले आफ्ना परिवारका लागि । छ दिनपछि पुलिस चौकी अगाडि कसैले नाराबाजी गरेको सुनियो । हाम्रो पक्षमा बोल्ने कोही त रहेछन् भनेर हामी थुनामा बस्दा खुशी भएका थियौं । पछि ती बाहिर कराउनेलाई पुलिसले समातेरभित्र ल्याएपछि पो थाहा भो, ती त हाम्रै परिवार पो रहेछन् । पुलिसले धरपकड गर्न छाडेन । बस्तीवालाहरूले पनि चौकीअगाडि धर्ना दिन छाडेनन् । पैंतालीस दिनको दोहोरीपश्चाट बल्ल हामीलाई कागज गरेर छाडियो, साँझपख । घर पुगें । टुक्रिएर छरिएका इँटा र जुटका बोरा बारेर घरलाई पुनः ठड्याइएको रहेछ । रमाको हिम्मत देखेर खुशी पनि लाग्यो । चौकीको खान्की र अनिद्राले गलेको शरीर रमाको काखमा ढलेको कतिबेरमा निदाएँ थाहै भएन । भोलिपल्टदेखि फेरि उही हातमुख जोर्ने समस्या अगाडि छँदै थियो । पुरानो ठेकेदारसँग काम माग्न गएँ, तर उसले काम दिएन । मलाई मात्र हैन, सुकुम्बासी बस्तीका कसैलाई पनि उसले काम दिएन । पापी पेटको सवाल थियो, हामीले बिद्रोह गर्न पनि सकेनौं । निराश भएर फर्कनुभन्दा अरू उपाय हाम्रो केही रहेन । एक हप्तापछि एकजना बस्तीकै भाइले फोहोर उठाउने काम दिलायो । मसँग काम रोज्ने न योग्यता थियो न शक्ति नै । जे काम पाए पनि गर्न म बाध्य थिएँ । काम शुरु गरें । फेरि हाम्रो जीवन पटरीमा फर्क्यो । बिहानै रिक्सा लिएर सिठी बजाउँदै घर घर गएर फोहोर संकलन गरिन्थ्यो, अनि छाँटेर बेच्न मिल्ने चिज कवाडीवालालाई बेचिन्थ्यो । कामको स्तर जस्तो भए पनि कमाईप्रति म सन्तुष्ट नै थिएँ । जीवनको रथ घस्रदैं थियो । यही क्रममा रमा दोजिया भई । अब मैले उसलाई काममा जान रोकें । मेरो कमाई अब हाम्रा लागि पर्याप्त नै थियो । जीवनमा अर्को खुशी थपियो, रमाले प्रसुति गृह अस्पतालमा छोरीलाई जन्म दिई । हाम्रो खुशीको सीमा रहेन । अस्पतालबाट फर्केपछि गच्छेअनुसार हामीले बस्तीका सबैलाई भोज खुवायौं । सबैले छोरीको नाम ‘पूर्णिमा’ राखे, हामीलाई पनि स्वीकार्य भयो । छोरी छ महिनाकी भइन्, रमा उनलाई लिएर नै काममा जान थाली, म आफ्नै काममा लागें । रमाइलोसँग हाम्रो जीवन बित्दै थियो । देशमा भने के के घटना बेला बेला भइरहेको थियो । के के कारणले देशमा आन्दोलन शुरु भयो । यी सबै कुरा बुझ्ने मसँग क्षमता पनि थिएन, न त समय नै । एकदिन दिउँसो अकस्मात सहरका यत्ति धेरै मान्छे आए कि मैले कहिले पनि त्यति धेरै मान्छे देखेकै थिइनँ । रमा काममा गएकी थिई, अब के हुने हो भनेर मलाई चिन्ता लाग्यो । दिउँसो खासै मेरो काम नहुने हुनाले म घरै थिएँ । रेडियोमा खबर सुनेपछि म रमालाई लिन भनेर उसको काम गर्ने पसलतिर लागें । म बानेश्वरबाट भीड छिचोलेर असनसम्म पुग्नै सकिनं । मसँग अरू कुनै उपाय थिएन, रमा र छोरीलाई जसरी नि मैले भेट्नै पर्ने थियो । तर मैले दिनको उज्यालोमा भेट्न सकिनं । साँझपख त्रिपुरेश्वरमा गोली चल्यो, भागाभाग भयो, त्यसमा म पनि परें । भाग्ने क्रममा मेरो खुट्टामा चोट लाग्यो । जसरी-तसरी घस्रेर अँध्यारो भएपछि मात्र म निराश भएर घर पुगें । घरमा रमा र छोरीलाई सकुशल देखेर मेरो दुखाइ आधा कम भयो । मनमा त दुखाइ थिएन तर खुट्टाका घाउ दुखेर रातभर सुत्नै सकिनं । रमाले खै के घरेलु औषधि लागाइदिई र खान पनि दिई । केहीबेरमा हल्का कम भएको महसुश भयो, र निदाएँ पनि । केहीदिन काम बन्द भयो । देशमा ठूलो उथलपुथल भयो, राजालाई हटाए रे ! भन्ने खबर आयो | तर हामीलाई त्यसले केही फरक पार्दैनथ्यो । काम गरे खाना पुग्ने, नत्र भोकै रहनुपर्ने हाम्रो परिवारलाई देशको कुनै राजनैतिक परिवर्तनले कहिले छोएन र छुँदैन पनि । पन्ध्र-सोह्र दिनपछि फेरि हाम्रो दैनिक जीवन सामान्य भयो । देशमा जे भए पनि हामीलाई केही असर परेन । काममा दुवै जना जान थाल्यौं । यसरी नै जीवन चल्दैथियो । समय बित्दै गयो । छोरी ठूली भइन् । दुःख-सुख हामीले नजिकैको सरकारी स्कूलमा उनलाई पढ्न पठायौं । हामी आफूले पढ्न नपाए पनि छोरीलाई पढाउन पाएकोमा खुशी थियौं । समय बित्न केहीबेर नलाग्ने रहेछ । पूर्णिमा अब तेह्र वर्षकी भइसकिन् । आज फेरि देशमा फैलिएको कोरोना रोगका कारण छोरीको स्कूल बन्द छ । रमाको काम गर्ने पसल पनि बन्द छ | तर मेरो फोहोर उठाउने काम भने बन्द छैन । बिहानै घर-घरै गएर फोहोर उठाउने काम हामी गर्दैआएका छौं । अस्ति बिहान पनि म सदाझैं काममा गएको थिएँ । बिहानभरि काम गरेर घर फर्कंदा खाना पाकेको थिएन । रमा र पूर्णिमा ओछ्यान मै थिए । काम केही नभएकाले सुतेका होलान् भन्ने लाग्यो । आफैंले खाना बनाएँ । खाना पाकेपछि उठाएँ दुवैलाई । दुवैले खाना खान इन्कार गरे । उनीहरूलाई त ज्वरो आएको रहेछ । सामान्य ज्वरोमा झैं मैले घरमा भएको ट्याब्लेट खान दिएँ, आमा छोरी दुवैलाई । ट्याब्लेट खाएर दुवै फेरि सुते । मलाई पनि खाना खान मन लागेन, म पनि भुँइमा ढल्किएँ । बिहानभरि काम गरेकाले मलाई निन्द्रा लागेछ । बिउझिदा साँझ पर्न थालिसकेछ । उठेर आमा छोरी दुवैलाई उठाएँ, तर ज्वरो त झन् बढेको रहेछ । ट्याब्लेटले काम गरेनछ । अब जसोतसो अस्पताल लानुपर्ने भन्ने लाग्यो । बाहिर निस्कें गाडीको लागि, तर कुनै पनि गाडी नचलेको हुनाले केही पाइएन । बस्तीकै एकजना दिदीको सहयोग लिएर मैलै आफ्नै फोहोर बोक्ने रिक्शामा बोरा ओछ्याएर आमा छोरीलाई राखेर अस्पतालतिर लगें । नीजि अस्पतालमा लाने हैसियत थिएन, त्यसैले वीर अस्पतालतिर लागें । बाटोमा धेरैले सोधे, ज्वरो आएको भनेपछि नजिक पर्न चाहेनन् | किन हो ? मैले कुरो बुझिनं । माइतीघर पुग्दा पुलिसले रोक्यो । ज्वरो आएर अस्पताल लान लागेको भन्नेबित्तिकै पुलिसले सहयोग गर्\u200dयो । म रिक्शा लिएर पछि-पछि लागें, आमा, छोरी र छिमेकी दिदीलाई पुलिसले गाडीमा राखेर अस्पताल पुर्\u200dयाइदियो । बस्तीमा पुलिसको कुटाइ खाएर चौकीमा थुनिन परेको दिनदेखि म पुलिससँग नजिक पनि भएको थिइनँ, तर त्यो दिन सहयोगी रूपमा पनि देखें । अस्पताल पुग्दा रात परिसकेको थियो । अस्पतालले बेड छैन भनेर बाहिरै राखिदियो । धेरै रात छिप्पिसक्दा पनि कोही हामीलाई सोधखोज गर्न नआएपछि गरीबको लागि सरकार रहेनछ भन्ने भावनाले मन कुँडियो । साथ आएकी दिदीसँग सल्लाह गरेर अर्को अस्पताल लाने निधो गर्\u200dयौं । भुइँमा लडिरहेका आमाछोरीलाई दुवै मिलेर फेरि रिक्शामा राखेर टिचिङ अस्पतालतिर लाग्यौं । पानीपोखरीको उकालोमा गाह्रो भयो, रिक्शा तान्न । दिदी तल \u200dओर्लेर पछाडिबाट धकेलिन, मैले बल्लबल्ल उकालो कटाएँ । राष्ट्रपति भवननेर पुगेपछि सेनाले रोकेर सोध्यो, बिरामी हो भनेर रिक्शा नरोकी कराउँदै कुदाएँ । सेनाले केही भनेन पनि । जवाफमा जाऊ भन्ने इशाराले हात हल्लायो मात्र । अस्पतालको गेटमा पुग्दा गार्डले रोक्यो । ज्वरो आएको बिरामी भनेर भित्रै जान दिएन । बिरामीलाई त दिएन दिएन, म डाक्टरलाई भेटेर आउँछु भन्दा मलाई पनि जान दिएन । चार घण्टा अनुरोध गर्दा पनि गार्डले भित्र जान दिएन । कुनै उपायले भित्र जान पाएको भए डक्टरसँग कुरा गर्थें भन्ने लागिरह्यो, तर मेरो सीप लागेन । रमाले पानी मागेको आवाजले मलाई झस्कायो । मैले उसलाई पानी पिउन दिएँ । छोरी अचेत नै थिइन् । रिक्शा रोकेर सडकको पेटीमा बसेको थिएँ । कतिखेर झपक्क आँखा लागेछन् थाहा नै भएन । ‘बाबू ! ए बाबू !’, भनेर कराएको आवाजले झस्किएँ । दिदी कराउँदै रहिछिन् । के भयो भनेर म हतार हतार उठेर रिक्शातिर हामफालें । दिदीले छोरी त शान्त भइछिन् भनेर देखाइन् । यसो निधारमा हात राखें, पूर्णिमालाई त \u200dऔंशीको कालो रातले छोपिसकेछ । कतिखेर हामीलाई छाडेर गइसकिछिन् । रमाको भने धुकधुकी बाँकी नै रहेछ । अब के गर्ने भन्ने कुरा हामीले सोच्न सकेनौं । त्यहाँ हाम्रो मद्दतको लागि कोही पनि थिएन । हाम्रो हँसिलो संसार कतिखेर उजाडियो थाहै भएन । दैव निष्ठुरी हुन्छ भन्थे हो रहेछ, भन्ने लाग्यो । बज्रपात पर्\u200dयो जीवनमा । तीन जनाको रमाइलो संसार छिन्नभिन्न भयो । दुःखीका लागि भगवान् पनि नहुने रहेछ भन्ने पक्का भयो । शवलाई यसै राखिरहनु ठीक थिएन । संस्कार गर्नै पर्\u200dयो । रिक्शा पशुपतितिर मोडें । पशुपति आर्यघाट पुग्दा झिसमिसे उज्यालो भएको थियो । सकिनसकी रमालाई रिक्शाबाट भुइँमा बस्न लगायौं । उसको ज्वरो कम भएको रहेछ । छोरीको शव निकालेर जमिनमा राखियो । खल्तीमा सय रुपियाँको एक नोटभन्दा केही थिएन मसँग । सँगै आएकी दिदीको पनि त्यही हालत थियो । हामी तीन जनासँग गरेर जम्मा दुई सय पचास रहेछ । दाहसंस्कारका लागि जोहो गर्नतिर लागेँ, तर हामीसँग भएको पैसाले पुगेन । छोरीको शव जमिनमा राखेर कुरेर बस्नुभन्दा हामीसँग अब अर्को बिकल्प रहेन । बिहान बित्यो, दिउँसो बित्यो, रात पर्\u200dयो । तर पूर्णिमाको दाहसंस्कार गर्न सकिएन । शवलाई कुरेर बस्दै गर्दै दुईचार जनाले पाँच दश रुपियाँ दिएर पनि गए, तर त्यसले केही हुनेवाला थिएन । भोलिपल्ट दुईचार जना भाइहरू क्यामेरा लिएर आए । हाम्रा दुःखलाई क्यामरामा कैद गरेर गए । तर सहयोग केही गरेनन् । दुनियाँबाट मानवता मेरी छोरीसँगै मरेको भान भयो । साँझपख एकजना बाहुन बाजे आएर सबै कुरा सोधे । हामीले बतायौं फेरि पनि । एकैछिन हाम्रा कुरा सुनेर उनी गए । दुई घण्टापछि शवको दाहसंस्कारका लागि चाहिने सामग्री लिएर हामीतिरै आए । विधीपूर्वक उनले शवदहन गरे । पछिमात्र हामीलाई थाहा भयो, सरकारले हाम्रा लागि त्यो व्यवस्था गरेको रहेछ, सित्तैंमा । जे होस् हामी बेरोजगार भएर भोकै बस्दा वा बिरामी भएर अस्पताल जाँदा हाम्रा लागि सरकार नभए पनि मरेपछि लाश जलाउन भने हाम्रा साथमा सरकार थियो । अब मर्न असजिलो नहुने पक्का भएको पूर्ण आभाष भयो हामी गरिबलाई । #शुक्र अस्तः