text
stringlengths
146
47.7k
ढुङ्गा पाे भएछु अचेल: ढुंगा पो भइएछ अचेल! ढुंगा हुनुको पीडा बाँचिरहेछु म। जीवनलाई सासौँदो राख्न सकिएन। ढुंगामा यो मनको हराभरा आवाद कसरी गर्न सकुँला खै? ढुंगाहरूबीच मानिस उभिन असहज लाग्ने रहेछ। ढुंगाहरूबीच प्रेम/स्नेह/भावना/सद्विचार/संवेदना/सहानुभूति निरर्थक बन्दो रहेछ। लक्खा! अन्ततः म पनि भइदिएँ ढुंगामा अनुवाद! ढुंगाको मुड्को उभेर ढुंगाका हात खुट्टा टेकेर, ढुंगाकै मन र मुटु राखेर, ढुंगाकै निर्जीव मस्तिष्क बाँचेर, खै म कसरी बनुँला मानवजस्तो प्रेमिल? यो कोलाज ढुंगाहरूको, चुपचाप-चुपचाप बहन्छ। ढुंगाहरूको स्पर्धा शान्त र स्वर्णिम छ। म नितान्त अनास्थामा गरमगरम हिँड्ने बबुरो आज कसरी भएँ आस्थाको ढुंगो? आफ्नै छायाँहरू पनि विरानो लाग्न थाल्यो। मोहमा नबाँधिएको यो मेरो विश्व कसरी बाँधियो मोहको लठ्ठो–साङ्लोमा? -म सपनामा छु या विपनामा? म सोच्छु, सोच्दै जान्छु। मेरा चाउँरिदै गएका मगजका तन्तुहरू निष्कृय नहोऊन्। सोच्न छोड्ने हो भने यो दिमाग पनि बेकामी फलाममा खिया लागेझैँ फलाम भुक्तानी हुँदै जान्छ। यो जीवनको पर्खाइको क्रम सासौँदो राख्नु छ। जीवित राख्नु छ। ज्वाज्वाल्यमान र तम्तयार राख्नु छ। यो पर्सिदै गएको जीवनको अंश रंगाउनु छ आफैँ। यो लखेट्याइमा कति दिन भाग्नु पर्ने हो, भागिरहनु पर्ने हो? जीवनको धुन रहेसम्म बाँसुरीमा फुकिरहने हो एउटा नयाँ लय। मृत्युले नछक्याएसम्म यो एक त्यान्द्रो घामसँग खेलिरहने हो –कपर्दी र यो शान्त जूनसँग गाइरहने हो प्रेमको गीत। म ढुंगो बाँचे भने पनि म ‘देशेमरुझ्याको प्वालबाट चिहाइरहने छु उत्सवहरूको महोत्सव।’ चिहाउनु र चिहाइरहनु पनि गतिशीलताको द्योतक नै त हो। ढुंगाहरू पनि स्थिर होइन, अस्थिर हुनु पर्दछ, चलमलाउनु, झलमलाउनु, सल्वलाउनु र खल्बलाउनु पर्दछ। ढुंगाले पनि देख्नु पर्दछ सपना नौरंगी। समय धेरै भयो जब म ढुंगा भएर बाँचे, बाँच्नुको एउटा नवीन उपक्रम रहेछ त्यो। आज म देख्दिनँ तिम्रा चिसा परेला। सुन्दिनँ तिम्रा मृत राग। हो, म छाम्न सक्दिनँ तिम्रो उमेरको उच्छवास। म ढुंगा भएछु- ढुंगा। ढुंगा निर्जीव, निष्प्राण। म पनि भएँ निर्जीव र निष्प्राण, उत्प्रान्त म ढुंगा नै भएँ। संसारका सम्पूर्ण ढुंगाहरूमा मेरो आस्थार्पण। निष्प्राण र निर्जीव ढुंगाहरूमा सम्मानार्पण। म आफ्नो अन्तिम अस्तित्व ढुंगाका गिर्खाहरूमा छामिरहेछु। – आडम्बर, भ्रम, झूट र छद्म रूप बोकेर बाँच्नुभन्दा म रूपान्तरण भैदिएँ ढुंगामा। म मानिस उदांगिएर ‘मान्छे’ बाँच्न सकिनँ। म बुख्याँचा अस्तित्वबाट उठेर ढुंगा जीवन बाँच्न विवश भएँ। बेकारको फुक्दै नफुक्ने निस्वासको गजुल्टो बाँच्नुभन्दा निर्जीव भैदिनु बेश। म देवकोटाझैँ- ‘उडी छुनु चन्द्र एक’ लेख्न असमर्थ छु। भूपिझैँ ‘चोकमा सब थोक’ देख्न असमर्थ छु। मसँग बिपी कोइरालाझैँ कथामा सिपी खोज्ने तागत छैन। न कि लेखनाथमाझैँ ‘उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र?’ भन्ने नैतिक बल नै छ। मैले एक्काइसौँ सदीको निर्बलियो लुते मानव भएर ‘बर्थ डे केक’ काट्नु छैन। स्वार्थको अनन्त गुजुल्टाहरूमा च्याँखे थापेर मानवताको हुर्मत काढ्नु छैन। मैले आफूभित्रको मानवता जिउँदै जलाउनु छैन। ढाँट्ढुँट गरेर कसैको आस्था भत्काउनु छैन। सग्ला मनहरू भाँच्नु छैन। बरु, मानवतामा हिलो छ्यापेर बाँच्नुभन्दा ढुंगा हुनु वेश– ढुंगा! – म भीरको एउटा ढुंगा हुन चाहन्छु। – म तीरको एउटा ढुंगा हुन चाहन्छु। भीरको हुँ या तीरको ढुंगा नै बाँच्न चाहन्छु। म मन्दिरको हुँ या मस्जिद या हुँ चैत्य वा चर्चको, केवल ढुंगा नै बन्न चाहन्छु। – मेरो मस्तिष्क ढुंगाकै होस्। – मेरो मन/मुटु ढुंगाकै होस्। – मेरो हाडाछाला/मासु ढुंगाकै होस्। – मेरो इन्द्रीय/अनेन्द्रीय ढुंगाकै होस्। अर्थात्, हुँ म सम्पूर्णस्वरूप ढुंगाको। हावाले फूलको सुवास टिपेरे वेग मारोस्, सूर्यले पुलुक्क पृथ्वी चिहाओस्, फूलले प्रेमको सपना देखोस् या जूनले रातको सन्नाटामा प्रेमको महफिल जमाओस्। उफ! म जीवनका सम्पूर्ण अन्तराहरूबाट सुदूर हुनेछु र बन्नेछु– ढुंगो। – जीवन त ढुंगाको पो सही। ढुंगाको कुनै सपना हुँदैन। ढुंगाको कुनै ईर्ष्या, लोभ र मोह हुँदैन। – ढुंगा–ढुंगाबीच चल्दैन आपसी द्वन्द्व। ढुंगा ढुंगीबीच चल्दैन साम्प्रदायिक लफडाबाजी। ढुंगा नै हो ईश्वर! ईश्वर पनि त सदियौंदेखि ढुंगा नै भएको छ, मौन-मौन र चुपचाप-चुपचाप हेरिरहेकै छ ढुंगाकै आँखाहरूबाट यी सबथोक। – ईश्वरको अनुहार र ढुंगाको अनुहारमा छैन तात्विक अन्तर! ढुंगा हामीले मानेको ईश्वर पनि हो। दार्शनिक नित्सेले उहिल्यै घोषणा गरेको ‘ईश्वरको मृत्युको घोषणा’ यतिबेला अर्थपूर्ण लागेको छ। यहाँनेर आइपुग्दा एउटा गजब संयोग जुरेको छ। मानिसबाट निरन्तर संवेदना झरेर/चोइटिएर/उछिट्टिएर/फूक्लिएर/ खिइएर/जलेर ढुंगामा परिणत हुँदैछ। ढुंगा भएपछि मानव, म कहाँ सग्लो मानव बाँच्न सक्छु र? – मानव ढुंगा हुनुमा पनि त अथक् प्रयास छ। वर्षौँदेखि मानव हुनुबाट भागेर, लुकेर, काँपेर भएको हो – मानवढुंगा। जब मानिस जड बन्छ, ऊ ढुंगो सिवाय केही हुन्न। जहाँ वय/विचार/चिन्तन मनन र समन्वय मृतप्राय: हुन्छ। सरल र सहजपन नै मानिसको उत्कृष्ट उपहार हो। मानिस–मानिसबीच अन्तरंग संवाद हुन सक्नु पर्दछ। विचार/सिद्धान्त/वाद/दृष्टिकोण केवल मानव मात्रले विनिमय गर्न सक्दछ। मानिस नै त हुन्, मानिसका मनमस्तिष्कमा अन्तहीन रंग उत्पन्न गर्न सक्ने। आखिर हार्दिक प्राणी त मानिस नै हुन्। मानिसले, मानिस मात्रको प्लेकार्ड झुण्ड्याएर हिँड्नु हुन्न भन्ने लाग्छ। किमार्थ बन्नु हुन्न मान्छे रोबर्ट, यद्यपि म बनेँ ढुंगा! कस्तो अनर्थ हो यो– जो गतिशील मानवताको कुरा गर्छ, उही ढुंगाको कल्पना गर्दछ, अचम्म मान्दो हो लोक। यतिबेला लाग्छ मेरा आँखाहरूमा कुनै आलोक छैन। मात्र चिसा जड खोपिल्टा भएका छन्। मन छैन–ढुंगा भएको छ। यी आँखा, मुख, नाक, कान वा मुस्कान केवल कसैका सुन्दर कला मात्र हुन्, कलाका लागि मात्र बनाइएका हामी केवल फाइन आर्ट हौँ या हौँ स्मृतिमा उभ्याइएका शालिकहरू! शालिक पनि निक्कै गरुंगो जीवन बाँच्छ बरु, चोक–चोकमा उभिएका यी शालिकहरू पनि जीवन बोकेर उभिएझैँ लाग्छन्। यिनीहरूमा छ बरु एउटा विशिष्ट आत्मा। म उडेका चराहरू हेर्छु, कति स्वन्त्र र सजीव छन्। आफ्नै घरको खैरे कुकुरको जवानी हेर्छु कति मस्तिको छ। मध्यरातमा जूनको उज्यालो आकाशबाट मेरो ओछ्यानसम्म आइपुग्छ। मसँगै रहन्छ धेरै समय। आहा! कति जीवन्त छ जून। यो शाश्वत सत्यलाई स्वीकार्छु– धत् म किन र के कारण बने ढुंगा? प्रश्न गर्छु निरन्तर आफैँलाई। घुम्छ टाउको ब्रह्माण्ड घुमेझैँ फनफन। म धेरैपटक वा कैयौँ घण्टा वा कैयौँ वर्षदेखि टोलाइरहेको छु। यो प्रश्न भित्रको विशाल सुरुङमा। मैले यो ब्रह्माण्ड धेरै बुझेको छैन। सायद मेरो यो (थोरै जिबीको मेमोरी पावर) मस्तिष्कमा निरन्तर खाइरहेको हुनुपर्छ भाइरसले। बडो विस्मय छ यो ढुंगो मनसँग। म मात्र कसरी भएँ ढुंगो या यो सम्पूर्ण ब्रह्माण्डका कोटी–कोटी मानिस नै बने ढुंगो? सबैमा देख्छु, मेरै नियति। उस्तै छ चालढाल, उस्तै छ आनीबानी, उस्तै छ रंगरूप। त्यसैले म सगर्व घोषणा गर्छु- हामी ढुंगो हौँ। हामी थोरै मानव र धेरै ढुंगो अर्थात् जड भएका छौँ। – हामी एक पेट अर्नी र थोरै धन दौलतभन्दा कत्तिमाथि छौँ, कत्तिमाथि तथापि स्वयं किन लालायित छौं निष्प्राण ढुंगो बन्न? – ढुंगो मानिसको लय हुँदै होइन। – ढुंगो मानिसको व्याकरण हुँदै होइन। – ढुंगो मानिसको मेरुदण्ड हुँदै होइन। चोरेर यी अनुहारहरू ढुंगो मुस्कुराइरहेछ। हामी लज्जावती झारझैँ लुकाइरहेछौँ ढुंगाको अनुहार। समयको वैशाखी टेकेर चिप्लिरहेछ मानवता। यी मानिसका उदास दिन, महिनामा बगिरहेछ नदीको संगीत। यति बेला हरेक मानिस भएको छ ढुंगामा रूपान्तरण। असमय किन बनिरहेछ मानिस ढुंगा? ओ! प्रियतमा अब कसरी गरुँ तिमीलाई प्रेम? ढुंगाकै मनले, ढुंगाकै आँखाले वा ढुंगाको स्पर्शले … । बोल किन चुपचाप बन्छौं तिमी ढुंगा। ढुंगाको पनि बेग्लै छ, अस्तित्व। संसारमा मानिस ढुंगामा रूपान्तरण हुनु र ढुंगा–क्रमश: मानवतामा प्रवेश गर्नु कस्तो संयोग हो यो? विपना पनि सपनाझैँ लाग्छ आज। आफैँलाई चिटिक्क चिमोट्छु, म सपनामा त छैन। सपनामा बाँच्न कति दिन सकिएला! भो म विपना नै चाहन्छु। म मानिस नै हुन्छु। ढुंगा निर्जीव र निष्प्राण हुन्छ। अहँ, म पटक्कै भोग्ने छैन ढुंगाजीवन। यो अन्यमनष्क जीवन कतिञ्जेल बाँच्नु, मानवबिना मेरो विकल्प म कदापि सोच्नै सक्दिनँ। म मानव हुँ, म मानव संस्करण नै बाँच्न चाहन्छु। ए, ढुंगाको संवेदना शून्य ईश्वर! मलाई मानिस बनाऊ, मानिस। म तिमीझैँ निरीह बाँच्न चाहन्न। झुले-२ दोलखा #श्रीबाबु कार्की उदास
“समयको आवाज” र मेनुकाः एक विश्लेषण: नेपाली छन्द कविताको क्षेत्रका मेनुका चापागाइँ “मेनू” को नाम नयाँ होइन । युवा वयमै उनका दुई सङ्ग्रह प्रकाशित छन् — “सालिक बोलिरहेछ” (२०७३) तथा “समयको आवाज” (२०७५) । कविताको फााटमा २०७४ सालमा विश्वव्यापि छन्द कविताको भिडियो प्रतियोगिता तथा २०७५ सालमा नेपाल प्रज्ञाप्रतिष्ठाने सालाना गर्ने गरेको राष्ट्रिय कविता प्रतियोगितामा तृतीय पुरस्कार पाएसँगै उनको कविताकारिताको राष्ट्रिय र अन्तराष्ट्रिय अनुमोदन भइरहेको कुरा प्रस्ट छ । उनको कविताफाँटमा जुन प्रकारको बलियो उदय भएको छ र सुरुवाती दिनमै जुन प्रभावकारिता देखिएको छ, त्यसबाट नेपाली छन्द कविताका पाठक र पारखीहरूको उनीमाथिको आशा र विश्वास उच्च हुनु स्वाभाविकै हो । तर, कविहरूको भीडमा, विशेष गरी छन्द कविहरूको समूहमा देखिने गरेका दोषहरूबाट उनले आफूलाई मुक्त राख्नु जरुरी छ । यस समीक्षामा मेनुका चापागाइँको कविता सङ्ग्रह “समयको आवाज” लाई आधार मानेर उनको शक्ति, समाथ्र्य तथा उनले ध्यान दिनुपर्ने केही कुरालाई निर्मम तरिकाले राखिएको छ । कर्मण्यवाधिकारस्ते माः फलेषु कदाचन । महेश पाैड्याल (क) शक्ति र सामथ्र्य १. छन्दमा महारथ भारतीय उपमहाद्वीपमै मरणासन्न भइरहेको छन्द परम्परालाई नेपाली कविहरूले अक्षुण्ण रोखेका छन् । यसमा युवा हाँचका छन्द कविहरूले यसमा प्राण भरेका मात्रै छैनन्, यसलाई वाचाल पनि बनाएका छन् र पाठकसम्म पु¥याएका पनि छन् । यस हाँचका कविहरूमा मेनुका चापागाइँको नाम एक महत्त्वपूर्ण नाम हो । उनको कविताकारिताको विशेषता के छ भने, यिनमा कतै पनि छन्द भङ्ग भएको, गण संरचना बिग्रिएको अथवा भाषिक त्रुटिका कारण व्याकरण, अर्थ, गति, यति वा लय भङ्ग भएको भेटिँदैन । संरचनाका दृष्टिले उनका छन्द कविता लगभग पर्फेक्ट छन् । “समयको आवाज” मा उनले प्रयोग गरेका छन्द हुन्ः उपजाति, भुजङ्गप्रयात, स्रग्धरा, शार्दूलविक्रीडित, पञ्चचामार, मालिनी, शिखरिणी, दुतपद, इन्द्रवज्रा, दिक्पाल, स्रग्विणी, तोटक र मन्दाक्रान्ता । यी लोकप्रिय र नेपाली छन्दकविताको फाँटमा अधिक प्रयोग हुँदैआएका छन्द हुन् र प्रभावशाली छन् । छन्द कवितामा संरचनागत निखारका लागि शब्दको ठूलो भण्डार, सङ्गीतको चेत, गति, यति र लयको ज्ञान तथा शास्त्रीय सूत्रहरूको स्पष्ट जानकारी आवश्यक हुन्छ, जुन मेनुका चापागाईंमा यथेष्ठ छ भन्ने प्रमाण उनका यी कविता हुन् । २. सूक्तिमयता सूक्तिमयता मेनुका चापागाइँको कविताकारितको एउटा सुन्दर पाटो हो, यद्यपि यो अलि कम छ । उनी यस्तै यस्तै सूक्तिहरूको जगमा काव्यिक उत्कर्ष भेट्न सफल हुने छिन् भन्ने विश्वास लिन सकिन्छ । छन्द कविता लेखिरहँदा अधिकांश कविहरूमा लघुगुरु र गणहरूको संरचना मिलाउन खोज्दा कथ्यपक्ष दुर्वल हुन जाने र कविता सिर्जना कम र पुरानो कुराको नयाँ “व्यवस्थापन” बढी हुँदै गएको सर्वत्र देखिँदै गरेको सन्दर्भमा यस्ता सूक्तिमय हरफहरूले कविताको प्राणप्रतिष्ठा बढाएका हुन्छन् । यहाँ थोरै छन्, तर सुन्दर छन् । केही उदाहरण यस्ता छन्ः यी सृष्टिकर्ता कति पौरखी छन् कर्तव्य आफ्नो रति बिर्सिंदैनन् (मनको यात्रा) छुरी छेक्नलाई छुरी नै उठाई कहाँ शान्ति भेटिन्छ मान्छे ढलाई ? (दायित्व) जिन्दगी प्रेममा जेलिने यन्त्र हो कर्मका शक्तिले चम्किने तन्त्र हो (प्रेम र जिन्दगी) यौटा जीवन दीप हो क्षणिक यो मुर्दा बनी निभ्दछ यौटा दीप जलेर कान्ति नछरे त्यो दीप बेकार छ । (चिता बोलिरहेछ) ३. विषय–वैविद्य मेनुको कविताको भावभूमिलाई दृष्टिगत गर्दा उनले आफूलाई विविध विषयहरूभित्र परिपक्व बनाउँदै लाने चेष्टा गरेको बुझिन्छ । मनोवेग, स्वदायित्वबोध, देशप्रेम, व्यथितिको विरोध, जन्मस्थानको माया, आत्मचिन्तन र सुधार, एकताको पक्षधरता, जागरणको अपिल, पश्चात्ताप, सहिदहरूप्रतिको उच्च आदर भाव, गोठालाको सम्मान, सत्ताधारीको गलत क्रियाकलापको विरोध, बृद्ध बाआमाको पीडा, स्वतन्त्रताको वकालत, छद्म व्यवहारको विरोध, मानवीय चरित्रको क्रमिक स्खलन, चाडपर्व, अर्ती–उपदेश, जीवनको क्षणभङ्गुरता आदिको चिन्तन, बालकहरूप्रतिको पे्रमभाव, आँट र बलको महिमागान तथा कवि हुनुको दायित्वबोध तथा भाषाप्रेम आदि विषय यस सङ्ग्रहले समेटेको छ । यी कथ्यहरूको मूल्याङ्कन गर्ने हो भने कवि मेनुकाको भावायतन वैयक्तिक, सम्बन्धात्मक र भावप्रधान विषयहरूमै केन्द्रित छ । उनले यी विषयहरूलाई समेट्नका लागि आमा, छारी, प्रेमी, बालबालिका, गुरु, सहिद, देशभक्त, नेता, दुस्मन, परदेशी आदि पात्रहरूको मनेविज्ञान अथवा उनीहरूको सामाजिक स्थानलाई आधार बनाएकी छिन् । यी विविध वय र परिस्थितिका मानिसहरूको मनमस्तिष्कको परख गर्न सक्नु उनको सुन्दर काव्यिक खुबी हो । ४. सकारात्मक सन्देश मेनुका चापागाईंको यो सङ्ग्रहले विविध सकारात्मक सन्देशहरूको पुञ्ज हो । यसमा गल्तीको प्रायश्चित्त गर्न, देशलाई माया गर्न, आँट गर्न, बाआमालाई माया गर्न, धैर्य गर्न, मिहिनेत गर्न, देश छोडेर नजान, गए पनि फर्केर स्वदेशमै आउन, असहायलाई सहयोग गर्न, भ्रष्ट र अत्याचारपूर्ण राजनीति र शासनव्यवस्ताको विरोध गर्न, बालबालिकालाई प्रेम गर्न, संस्कृतिको संरक्षण गर्न, समाजिक सञ्जालको समुचित प्रयोग गर्न, स्वर्थ भुलेर समता र प्रेमका लागि काम गर्न, उच्च काव्यिक रचना गर्न र भाषालाई प्रेम गर्न यी कविताले अपिल गरेका छन् । (ख) सीमाहरू १. परम्परित विषय र पुनरावृत्तिदोष मेनुकाले माथि उल्लेखित विविध विषयमा कविता लेखेकी भए पनि विषयवस्तुलाई हेर्ने उनको दृष्टि आम मानवीय दृष्टिकोण ने हो । उनले चलनचल्तीका विषयमा, साधारण, रैखिक र अविधात्मक अभिव्यक्तिहरूका कविता लेखिरहेकी छिन् । कविताको उत्कर्ष त्यसको सूक्तिमयतामा हुन्छ र नवीन रहस्योद्घाटनमा हुन्छ । त्यसले बोकेर ल्याउने नयाँ अर्थमा हुन्छ । त्यसको शब्दविधान, छन्द, गणविधान, बिम्व वा प्रतीकको प्रयोग सबै सबै कविताका उपकरण हुन् । यी उपकरणको आडमा, कुनै कविले स्थापित भइसकेको, सर्वस्वीकृत वा सार्विक सत्य, अथवा साधारण न्युजपेपर रिडरले देश र राजनीतिबारे बनाएको अवधारणामै कविता बनायौँ भने उक्त कविताको ओज कमजोर हुन जान्छ । आमाले सन्तानलाई गर्ने माया र उनीहरूबाट गर्ने अपेक्षा, देशवासीले देश वा जन्मभूमिप्रति गर्ने गौरव, राजनीतिले गर्ने भ्रष्टाचार र अन्याय आदि विषयमा केही नयाँ दृष्टि, विश्लेषण वा तर्क चाहिन्छ । नत्र, कविताको तेजोबध हुन्छ र त्यो गम्भीर विमर्शमा जाँदैन । कविता लेख्नका लागि चयन गरिएको विषयले नै त्यसमा नवीनता अथवा अविष्कारको संभावना छ वा छैन भन्ने बुझाउँछ । उदाहरणका लागि, शीर्षक नै “सहिदप्रति” भएपछि त्यसमा कविले सहिदको महानताको गुणगान गर्छ, र उनीहरूले देशका लागि गरेको बलिदानीको गरिमामण्डन गर्छ भन्ने कुरा बुछिन्छ । कविलाई सुन्तुष्टि त दिन्छ र पाठकलाई सहिदको सम्झना त दिलाउँछ, तर कविताको पटमा त्यसले नयाँ कुनै पनि ईंटा थप्दैन । यसमा यसरी सोच्नुपर्छ — सहिदको महानताको कुरा स्थापित भइसक्यो । अब नयाँ कविले, केही नयाँ पाटो थप्नु छैन त्यो विषय भने नलेख्दा पनि खासै आकाश खस्दैन । कुमारी विषय कति छन् कति ! र अर्को कुरा, सहिदबारे चलनचल्तीको बुझाइलाई चुनौती दिने गरी पूरक वा व्यतिरेकी केही कुरा छैन भने, त्यस कविताले न्याय गर्दैन । त्यो अब सिर्जना हुन सक्दैन । त्यो फगत पुरनरावृत्ति हो, अथवा कुराको नयाँ “व्यवस्थापन” हो । आखिर, सहिदको महानतामाथि दर्जनौँ कविता छन् देशमा । फगत अर्को छन्दमा उही कुरा पस्कनुको खासै तुक हुँदैन । यो एउटा उदाहरण हो, र यति नै काफी छ । भन्नुको तत्पर्य, यस्ता कविताले बौद्धिक पाठकलाई खासै न्याय गर्दैनन् । कविताको पठनपाठन, अध्ययन, अध्यापन र विमर्शमा डुबेका पाठकले उनका अधिकांश कवितामा पुरावृत्ति दोष भेट्टाउँछ । आखिर, राजनीतिले देश लुटेर खोक्रो पा¥यो भन्ने भावावेश, सबै एक हौँ, जुटौँ भन्ने आह्वान, राम्रो बन्नु अथवा गरिबको सेवा गर्नु भन्ने उपदेश, मेरो गाउँ, आमा र देश सबैभन्दा प्यारो, म पाखुरा बजाएर खान्छु तर झुक्दिनँ भन्ने आदि कुरामा नयाँपन बाँकी छैन, यद्यपि तिनले छुन त छुन्छन् । छुनु कविताको गन्तव्य होइन । नवीनताका साथ छुनु चाहिँ हो । आम मान्छेले सत्ता र राजनीतिले सबै स्वाहा पारेको कुरा गर्छ । एउटा संयमित चिन्तकले सत्ता र राजनीतिले खेलेको सकारात्मक भूमिकाको पनि अन्देखा गर्दैन, र समस्या छ भने, त्यसको मर्मकथाको उत्खनन र विश्लेषण गरेर अगाडिको बाटो देखाउँछ । अथवा, आलोचनाकै पनि नयाँ कुनै आयाम देखाउँछ । छन्द र गणविधानको ज्ञानको आडमा आम–आदमीको बुझाइ र पुनारो तर्कको पुनरावृत्तिले कविताको प्राणप्रतिष्ठा गर्छ भन्ने मलाई लाग्दैन । कविता जन्माउला, कवित्व उठाउँदैन । अझ छन्द कविता पुराना र परम्परित विषयको पुनरप्रयोग बढी हुने आरोप लागिरहेको बेला झनै सचेत हुनु जरुरी छ । मेनुकाको यस सङ्ग्रहमा पनि विषयवस्तुको पुरावृत्तिको दोष धेरै ठाउँमा छ । केही उदाहरणसहित अझै स्पष्ट भनौँ— मेनुकाः माटोमा पसिना बगे लहरिँदै फल्छन् सुनैका गुटी देवकोटाः माटो हो हुन त तथापि गहिरा आँखा हुने सज्जन दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण । मेनुकाः के होला यस लोकमा सहजले दम्भी सपार्ने विधि मेरो आँट तँ सोच् र पोख् कलमले यी मूर्खको औषधि जगन्नाथ गुरागाइँः दम्भी पाप लुकाई मर्छ विचरो हा नाम नामै भनी (फरक श्लोकमा) सबको औषधि दैवले रचिदियो बिर्सेछ कि मुर्खको मेनुकाः मेला नै त रहेछ जीवन घडी एक्लै रमाएँ किन? के नै लान्छ र देहले सँगसँगै मुर्दा बनेको दिन कैखर रत्नागिरवीः जर जमीं जेवर कुछ न साथ जाएगा खाली हात आया हैं, खाली हात जायेगा (अरूतिर पनि, कवितामा, गीतमा, भजनमा धेरै सुनिएको कुरा हो यो ।) मेनुकाः आफ्नै बन्धु भुटेर बाँच्नु भवमा खै सार नै के छ र? गीताः आफन्त मारी रणमा के भलो हुन आउला आततायी पनि बन्धु मार्नाले पाप लागला मेनुकाः थोपा एक बनेर जुट्छ जलको खोलो बनी बग्दछ लोकोक्तिः एक थुकी सुकी । सय थुकी नदी । मनुकाः यो चोला छ तयार सुत्न पथमा निर्लज्ज भोको बनी बेची खान्नँ कदापि राष्ट्र जननी भोकै परे तापनि । गोपाल योञ्जाः म आगो सहन्छु अन्याय सहन्न, म तृष्णा सहन्छु तिरस्कार सहन्न ….मेरो शिर उडाए बरू त्यो सहन्छु तर कोई पराया ले टेके सहन्न. २. एकाङ्गी दृष्टिकोण एकाङ्गी दृष्टिकोण यस सङ्ग्रहका कविताको अर्को दोष हो । यसबाट कविले जनसुनी विषयलाई काव्यिक विवेकको फिल्टरबाट चालेर प्रस्तुत गनुपर्ने प्राज्ञिक बोधलाई हतारोमा बिर्सेको बुझिन्छ । आम मान्छे राजनीतिलाई सम्पूर्णतामा नकार्छन्, विरोध गर्छन् । सबै राजनीति त्यस्तो कहाँ हुन्छ? अर्को, भावनाको बहावमा दुस्मनलाई निमिट्यान्न पारिदिन्छु भनेर भन्छन् । “तेरो नाश हुने छ यो समयका मौका त्यही खेलले” भनेर आफूलाई एक तिलस्मी पात्र बनाइरहँदाको व्यवहारिकता कति छ? व्यवहार र यथार्थ कहाँ त्यस्तो हुन्छ? फेरि, विदेश नजाऊ, सबै फर्क यतै भनिरहँदा छुन्छ छुनलाई । तर सत्य कहाँ त्यति सजिलो छ? सबै मान्छे चाहेर बिदेखिएका होइनन् । बिदेशिनुको विभीषिका वा बाध्यताको चर्चा बढी जरुरी छ र गम्भीर प्राज्ञिक चिन्तन र सामाजिक अथवा आर्थिक विश्लेषणको माग गर्ने सिर्जनाले यस्ता आमसोचाइ चिरेर, सत्य र यथार्थको नजिक पुग्ने, अथवा त्यसको वैकल्पित व्याख्या वा समाधानको बाटो खन्ने हो भने कवितामा बौद्धिक बहस गर्न सकन्छ । २. विवदास्पद तर्कहरू मेनुकाका कवितामा प्रश्न उठाउन मिल्ने, विवादास्पत उक्ति पनि उत्तिकै भेटिन्छन् । उदाहरण हेरौँः जवान बन्छ किन्तु ऊ स्वभाव लिन्न मानव चढेर मात द्रव्यको छिटै बनिन्छ दानव । (बालक) — प्रश्नः सबै बालक यस्तै हुन्छन् र? प्रेमका नेत्रमा मोज हो जिन्दगी (प्रेम र जिन्दगी) — प्रश्नः यहाँ प्रेमलाई वासनाको पर्यायको रूपमा हेरिएको छ । प्रेम फगत मोज हो र? आगो निभ्छ छिटै यहीँ समयका साहित्यको भेलले (आह्वान) — पश्नः साहित्यको आफ्नै सीमा हुन्छ । साहित्यले, हदै गरे, सचेत गराउने हो । यहाँ बिक्छ बोली सधैँ जालझेल हिँडे सत्य बाटो बिगारिन्छ खेल (यो के अचम्म?) — प्रश्नः सधैँ, सबैमा यस्तै छ त? राम्रा मान्छेको अवमूल्यन भएन? मेरो जीवन यो बितेछ नबुझी के हो भनी जीवन मात्रै भोगविलासनिम्ति धनमा सुम्पेर पापी मन (आत्मसमीक्षा) — प्रश्नः कति नै बाँचेकी छन् र जीवन । सबै “बितेछ” भन्नलाई? कल्पनामा भन्न नसकिने होइन, तर त्यसको विश्वासनीयताको पनि परख हुन्छ । ३ शब्द, अर्थ र हिज्जेका दोष खस्रा शब्दले गण विधान मिलेर पनि छन्दको ललित वातावरण र सङ्गीतमा खलल पु¥याएको छ । औँल्याइएका शब्दलाई यहाँ कमाभित्र राखिएको छ — — श्रद्धा चढाएँ मनको घडाको “पोको” फुकाएर सुभावनाको (मनको यात्रा) — “खोले खाऊँ” म आफ्नै रगत र पसिना सन्चिँदै खान पाऊँ — “पात्ले, ढाल्ने, धयेँरो”, कटुस खयरले लास मेरो जलाऊन् (छाप छोडूँ म यस्तो) — “ठसठस” जिउ उस्तै घाँस, विष्टा पारेर । (गोठालो) — तितरबितर “दाह्री” काट्नलाई बितेको (गोठालो) — “टुप्पी मुढेका” पद छन् “गिँडेका” (गुरुको अर्ति) — हावा “हुस्से” छिनभर त्यहीँ खेल्न थाले लडाइँ (रविले चुमेपछि) भाषागत त्रुटि र अर्थको पुरावृत्ति पनि कतै कतै भेटिएको छ । — मिलौँ बन्धु आऊ न आमा “बँचाऊँ” — (दायित्व) । यहाँ “बचाऊँ” हुन्थ्यो । फेरि, मिलेर गर्ने कुरो भएको हुँदा यो “बचाऔँ” हुनुपथ्र्यो । — शिल्पीले पथमा बसी दिनदिनै जुत्ता सिलाए पनि । “शिल्पी” को अर्थ जुत्ता सिलाउनेमा सङ्कुचन गरिएको । — मेरो आँट तँ सोच् र पोख् कलमले यी मूर्खको “औषधि” (आँट) । यहाँ “औषधि” लाई बिगार्नुपर्ने केही थिएन । — भर्दै भाव मिठा “समान महझैँ” यी छन्दका श्लोकमा । (पाइरहूँ हौसला) । यहाँ, “समान” र “झैँ” को एउटै अर्थ हुन्छ । एउटा आएपछि अर्को जरुरी हुँदैन । गण मिलाउन अरू नै केही सोच्नुपर्ने थियो । — खेतालमा पनि श्लोकमा डुबिरहुन कण्ठस्थ होस् ओठमा । (पाइरहूँ हौसला) । “कण्ठस्थ” र “ओठमा” एकै ठाउँ आउनु पुनरावृत्ति दोष हो । — प्रेम यो अस्त्र हो जिन्दगी “जोडने” (प्रेम र जिन्दगी) । “जोडने” हुनुपर्ने थियो । त्यसले, स्रग्विणीले माग्ने रगण बिगार्दैनथ्यो । — नहून् कदापि कष्टमा युवा र वृद्ध “शैशव” (कामना) । यहाँ “युवा” र “वृद्ध” नाम हुन् । यिनको साजमा विशेषण “शैशव” उभिन सक्दैन । केही पूरक विषय १. मनको यात्रा, दायित्व, मेरो घर, यो के अचम्म भो, भ्रूणको विन्ती, गुरुको अर्ती, श्रमान् सुन्नुहोस्, सन्तान, कामना, आहवान, घर फर्क युवा आदि कवितामा उपदेश छ । कहिले छोड्ने होला कविहरूले उपदेश दिन? २. कलिलै उमेर छ । कविता भर्खरै पाठकसमक्ष पुग्दैछन् । माथिका त्यत्तिका दोषहरू छँदैछन् । कविताले पुष्ट आकार दिन पनि बाँकी नै छ । गुरुकै वाणीमा सही, कविता यस्तो हुनुपर्छ भनेर लेखिएको छ कविता । आफ्नो काव्यिक महत्त्वाकांंक्षाका बारेमा “पाइरहूँ होसला” शीर्षकको कवितामा भनिएको छ — “रानो बन्न सकूँ कुनै समयमा साहित्यको घरको” अथवा “हाम्रा वेदऋचासमान बनिऊन् ती श्लोक यो लोकमा ।” रानो र वेदका ऋचाको महत्त्वाकांक्षा, अहिले नै, हतारो पो भयो कि? ३. एउटा “बिराएछु बाटो” शीर्षकको कवितालाई अपवाद मान्ने हो भने, देश, समाज, परिवेश वा जगतमा भएको सम्पूर्ण व्यथितिका लागि काविले आफूबाहिरेको — कुनै सरकार, राजनेता, प्रेमी, कुनै महाशय अथवा काल्पनिक नै सही अर्को व्यक्ति वा अवयवलाई जिम्मेवार मानिएको छ । तर, चिन्तनै गर्ने हो भने, हामी कविकलाकारले पनि देशको व्यथितिमा कतै न कतै, प्रत्यक्ष र परोक्ष रूपमा भूमिका खेलेका हुन्छौँ । इमान्दार काव्यकारिताका लागि त्यसको स्वीकृतिसहित आउनुपर्ने हुन्छ, र त्यसका लागि सपाट गालीगलोज र अर्तीउपदेशको पुरानो बाटो त्यागेर नयाँ, प्रतीकात्म, वक्र र परोक्षा शैली अवलम्बन गर्नु जरुरी छ । #समयको आवाज
कवि र कवितादृष्टि: समीक्षकको नजरमा कवि: ने पाली गद्य कविता लेखनमा युवाहरूले आफूलाई सक्रिय बनाइरहेका छन् । सक्रिय यस मानेमा कि नामका लागि मात्रै कविता लेखन होइन, कविताले जीवन जगत्लाई सम्बोधन गर्नुपर्छ भन्ने सत्य र तथ्य युवाहरूले बुझेका छन् । फरक शैली र दर्शनको टेकोमा रहेर शरद ऋतु कविता लेख्छन् । कविता लेख्नु भनेको भावना मात्रै ओकल्नु होइन । र, होइन कवितामा कवि शिक्षक बनेर अरू सबैलाई नैतिकता सिकाउने । केही समय अगाडि शरद ऋतु लगायतका सत्र जना युवाहरूको संयुक्त कवितासङ्ग्रह ‘अनुहारको भीड’ आएको थियो, जसबाट कवि शरदको कविता लेखनको वैशिष्ठ्य के हो भन्ने कुरा प्रस्ट भइसकेको छ । उनका अन्य कविताहरू विभिन्न अनलाइन मिडिया एवम् पत्रपत्रिकामा पनि प्रकाशित छन् । शरदले उठाउने कविताको विषय र शैली अलिकति नवीन हुन्छ। नवीन यस मानेमा कि उनले लेखेका कविता पढ्दै गर्दा पाठकले “म”को अनुभूति गर्छन् । रचना सफल हुनु भनेको नै कुनै पनि सिर्जनामा लेखकको मात्र तस्बिर नआउनु हो, त्यहाँ हरेक पाठकले म पनि रहेछु भन्ने कुरा बोध गर्न सक्नु हो। कवि शरदले ‘छोराको कविता’मा यसो भनेका छन्ः मेरो आँखाको जून निभिसक्यो शीर माथिको चरा उडेर कहाँकहाँ पुगिसक्यो बाबु अब सियो उन्ने तेरो पालो बाबु तँ मेरा खुसीहरूको महान् पर्व याद छ तँलाई ? कसरी तँ मेरो काँधमा टेक्थिस् र, हामी एकादशीको मेला भर्न जान्थ्यौँ ! (छोराको कविता) कविले कविताको विषय आफ्नै घर वरिपरिबाट टिपेका छन् । संस्कृतिका कुरालाई ध्यान दिनु शरदको कविता लेखनको राम्रो पक्ष हो । समाजसँग जोडिएर आएका संस्कृति र दर्शनको गहिराईमा पुगेर कविता लेख्ने शरदका कवितामा आक्रोश भने कतै पनि भेटिँदैन । शरदलाई थाहा छ, क्षणिक विषमा कविता लेख्यो भने एकैछिनका लागि त कवितालाई सबैले प्रशंसा गर्लान् तर त्यो कविता भोलिका दिनसम्मका लागि जीवन्त हुँदैन । त्यही भएर शरदले कविता सङ्ख्यात्मक रूपमा थोरै लेखेका छन् तर मनोविज्ञान र दर्शनको तहमा नजिक भएर लेखेका छन् । कविताले कविताकै धर्म बोलोस् । कविता पढ्दै गर्दा उपन्यास जस्तो वा कथा जस्तो लाग्यो भने त्यसको के मज्जा र ? अहिलेको समयमा यो समस्या पनि लेखकमा नरहेको होइन । यसको कारण छ, लेखकले मेरो लेखनको क्षेत्र के हो भनेर चिन्न नसक्नु । तर, कवि शरदका कविता पढ्दा लाग्छ, मैले नितान्त कविता नै पढ्दै छु । कवि लेख्छन्ः प्रिया, थाहा छ मलाई मानवीय प्रेम सबैभन्दा सुन्दर कुरा हो र यो पनि थाहा छ सबैभन्दा सुन्दर कुराहरू फस्टाउनका लागि यो दुनियाँको सबैभन्दा श्रमशील वर्गले सबैभन्दा कठोर परिश्रम गरेको हुन्छ र तिनीहरुकै आङका पसिना र मैलाहरूले माटोमा सबैभन्दा मीठो खुशी रोप्छन् । (प्रिया, के म तिम्रो प्रेमको योग्य छैन?) शरदका प्रेम कवितामा पनि समाजको खोल भेटिन्छ । उनी प्रेम कवितामा माया र प्रेमका वाचाबन्धन जस्ता कुरामा अलमलिन चाहँदैनन् । अरुले लेखिसकेका कुरालाई आफूले पनि त्यही कुरालाई दोहोर्याउनु भनेको लेखकले समयलाई चिन्न नसक्नु हो भन्ने कुरा शरदले बुझेका छन् । उनी प्रेमको कुरा पसिनासँग जोड्छन्, सीमान्तको आँसुसँग जोड्छन् र जोड्छन् मानवीय व्यवहारसँग । आखिर लेखकले लेख्ने त यही समाज हो । शरद समाज लेख्ने कवि हुन् । भद्दा रुखका उछिट्टिएका हाँगा बिँगाजस्ता विसङ्गत न्युरोन, डेन्ड्राइट्सहरु एउटै गुम्बज बनाएर बस्छन् जहाँ, समयको कुनै शिरा ओगटेर तिम्रो अस्तित्वको रक्तसञ्चार चलिरहेको छ लाग्छ, यो आकाश नै छेडेर भाग्ने अत्याधुनिक रकेट पनि पहिले तिम्रै सपनाहरुको उचाई नाप्दो हो । (नयाँ प्रेमयुगको आविष्कार) कवि शरदका कवितामा भएको सबल पक्ष भनेको वैचारिक पक्ष हो । उनी कवितामा के भन्दैछन् भन्ने कुरामा उनी स्पष्ट छन् । कवि आफ्नो विचारमा प्रस्ट भएन भने कविता दुर्घटना पर्न सक्छ । कुन्ठा र व्यक्तिगत चिन्ता मात्रै पनि कविताका विषय होइनन् । यी कुरालाई कवि शरदले बुझेका छन् । उनको लेखनमा पूर्वीय एवम् पाश्चात्य दर्शनको प्रभाव देखिन्छ। उनको यो कलाले अझ खारिने मौका पाओस् । सङ्ख्यात्मक हिसाबले भन्दा पनि गुणात्मक रूपले शरदले कवितालाई हेर्नेछन् । पाठकले गरेको अपेक्षा पनि यही रहेको छ । कवि शरद ऋतुका तीन कविताः १. छोराको कविता शरद ऋतु समयको अविश्रान्त लोरी सुन्दासुन्दै एक युग छुटिसकेछ निख्रिसकेछन् मेरा आवाजहरू बाबु अब गीत गाउने तेरो पालो यी धारिला खुट्टाहरूले चिर्दाचिर्दै यी नदीका बाढहरू बाढका खातैखातहरू एउटा याम आँखैअघि बाढको धमिलो पानी भएर बगिसकेछ रित्तिसकेछ गाग्राी बाबु अब पानी भर्ने तेरो पालो मेरै पैतालाले छापेर बनाएका हुन् यी बाटाहरू जहाँ तैँले भर्खरै पाइला अड्याउन सिकेको छस् मेरा पैतालाहरू त त्यतै छुटिगए मेरै नलीहाडहरू ताछेर उखेलेको हुँ काला वनहरू र थोरै हावा दिएको हुँ नानीहरूका कल्याङकुलुङलाई मेरा खुट्टाहरू त उतै छुटिगए बाबु मेरो जीवन फुलेको बागमा एउटा आफूभन्दा निकै सुन्दर फूल हुर्काएँ र, मेरा हातहरू पनि फुक्लिएर झरे मेरो आँखाको जून निभिसक्यो शीर माथिको चरा उडेर कहाँकहाँ पुगिसक्यो बाबु अब सियो उन्ने तेरो पालो बाबु तँ मेरा खुसीहरूको महान पर्व याद छ तँलाई ? कसरी तँ मेरो काँधमा टेक्थिस् र हामी एकादशीको मेला भर्न जान्थ्यौँ त्यतिखेर तेरो बा त्यो मेलाभन्दा अग्लो हुन्थ्यो बाबु तँ मेरा सारा उमङ्गहरूको मुहान याद छ तँलाई ? कसरी तँ भर्खरै किनिएको नयाँ फोनिक्स साइकलको अगाडिपट्टि टिरिङटिरिङ घन्टी बजाउँदै बस्थिस् र हामी पूरा सहर शयर गर्थ्यौं बाबु तँ मेरो कायामा हाँसेको वसन्त बीउ म ओछ्यान पर्दा तँ स्कुल जाने झोला खाटमुनि हुत्याएर खाटको खुट्टा समाउँदै आँसुले भिजेको ईश्वरमाथि न्याना प्रार्थनाहरू चढाउँथिस् बाबु तँ मेरो जीवनको अजम्मरी रुख तँ सोध्थिस् नि ‘बा कसरी यो तपाईंको मुटु यति दह्रो भएको ?’ तेरा जराहरू धसिएका छन् नि त यो मुटुभित्र !! बाबु अब मसँग छैनन् केही बाँकी बस् तँसँगै गुँडुल्किँदै आएको पक्की राजमार्गछेउ लठ्ठी टेकेर उभिएको जीर्ण घरजस्तो मुटु छ बाबु मेरो जीवनको पाउदान थामिइसक्यो मेरो जीवनको बाटो बलौटे माटोमा डोबिएको साइकलका टायर न हुन् डोबिँदै गयो पुरिँदै जान्छ तँ त अर्कै नयाँ शिराबाट खन्नु तेरो बाटो आफैँ हुनु आफ्नो जीवनको पथप्रदर्शक र टेक्नु गन्तव्य बाबु अब आफ्नो युगको अक्षर लेख्ने तेरो पालो…!! २. प्रिया, के म तिम्रो प्रेमको योग्य छैन? मेरै पसिनाको नीलो साम्राज्य ओढेर मुस्कुराइरहेको छ आधुनिक अपार्टमेन्टको पन्ध्रौँ तलामा मोनालिसाको एकाँगी नक्कल बाढीका ढुङ्गाहरूमा उध्याएको मेरै हड्डी झिकेर युद्धको हतियारले कोरिएका छन् सम्पूर्ण अहंहरूका वर्गान्तर मेरै दुःखका अपरिमित क्षेत्रफलहरू खोस्रिएर तन्किएका छन् ती ‘शान और शौकत’का अखडाहरू प्रिया, अब मेरा प्रश्नहरूको जवाफ दिने पालो तिम्रो हो भन के म तिम्रो प्रेमको योग्य छैन? यिनै पर्वत जस्ता ढाडहरूले बोकेरै ल्याएको हो यो युगलाई यहाँसम्म आफैँ जलेरै किन नहोस् पन्छाएकै हो समयको कालो तुषारो तिम्रो धपक्क बलेको रूपझैं सुन्दर बनाउन यो दुनियाँ ढक्ढक्याएकै हो पटक पटक मानवीय आस्थाको जब्बर ढोका प्रिया, त्यो साँघुरो पहरो फोरिरहेको मानवीरे तामाङको ज्यावल यही हो ती फुस्रे सडकहरूमा अलकत्रा ओच्छ्याइरहेको राजा चौधरीको तीनपत्रे धुलो टाँसिएको अनुहार यही हो कुरूप आस्थाहरुको बुई चढेर छादिरहेको शहरको एक कुनामा साहुसँग दस रुपैँयाको लागि बार्गेनिङ गरिरहेको रिक्सावालाको समस्त हाउभाउ यही हो जो तिमीले देखिरहेकी छौ ममा अन्याय ओकलेर सडकमा उभिँदा सन्की पुलिसको लात खाएको जीउ पनि यही हो प्रिया, थाहा छ मलाई मानवीय प्रेम सबैभन्दा सुन्दर कुरा हो र यो पनि थाहा छ सबैभन्दा सुन्दर कुराहरू फस्टाउनका लागि यो दुनियाँको सबैभन्दा श्रमशील वर्गले सबैभन्दा कठोर परिश्रम गरेको हुन्छ र तिनीहरुकै आङका पसिना र मैलाहरूले माटोमा सबैभन्दा मीठो खुशी रोप्छन् तिनै खुशीका लहराहरू समातेर न यो युग यति सुन्दर भएको हो! तर आज तिमी यदि थुक्छौ भने म उभिएको यो दरिद्र धरातललाई होच्याउँछौ भने मेरा मानव हुनुको अर्थमा उभिएका अभिमानहरुलाई खोक्रो बुर्का पहिरिएर अहंको कुल्चिन्छौ भने यति सुन्दर प्रेमको भाषा यो समय बढ्ने छैन अरु अघि टेक्ने छैन पाइला फेरि अर्को नयाँ शताब्दीमा प्रिया अब मेरा प्रश्नहरूको जवाफ दिने पालो तिम्रो हो म सडकमा जुत्ता सिउने एउटा साधारण आदमी अर्थात बिनयी चमार हुँ अब भन के म तिम्रो प्रेमको योग्य छैन ? ३. नयाँ प्रेमयुगको आविष्कार वैँशालु बतासको रसिलो ओठ छुँदै लहस्सिएको किशोरी सलको फेरोझैं सम्पूर्ण चेतना एकोहोरिन्छ तिम्रो अकलुषित आभाको आलोक पछ्याउँदै भद्दा रुखका उछिट्टिएका हाँगा बिँगाजस्ता विसङ्गत न्युरोन, डेन्ड्राइट्सहरु एउटै गुम्बज बनाएर बस्छन् जहाँ, समयको कुनै शिरा ओगटेर तिम्रो अस्तित्वको रक्तसञ्चार चलिरहेको छ लाग्छ, यो आकाश नै छेडेर भाग्ने अत्याधुनिक रकेट पनि पहिले तिम्रै सपनाहरुको उचाइ नाप्दो हो, त्यो राक्षसी ब्ल्याकहोलले ब्रह्माण्डको सम्पूर्ण उज्यालो निलिसक्नुभन्दा पहिले तिम्रा तृप्तिहरुको चुचुरो टेक्दो हो र, स्वयंको चाउरिएको आयतन सुम्सुम्याउँदो हो कोपिलाहरु तिम्रै ओठ छोएर आशीर्वाद माग्दा हुन् बतास तिम्रै बुई चढेर पहाड नाघ्ने साहस बटुल्दो हो जून तिमी नबिउँझदै मैलो च्यादरले ढाक्दो हो मुहार तिम्रै उजेलीले लिपेर पृथ्वीको भित्ता दिन फुक्दो त्यो मिर्मिरेको लालिमा लाग्छ, जहाँ तिमी उभिरहेकी छ्यौ त्यही समयको टुक्रालाई केन्द्रबिन्दु मानेर फनक्कै फन्का लगाउँछ अब यो पृथ्वीले र यावत पाखण्डी शास्त्रहरुलाई लल्कार्दै नयाँ युग टिपेर चम्कन्छ सूर्य जहाँ शासक या शासितहरुको ठाउँमा प्रेम दिने र लिनेहरु मात्रै रहन्छन् र हर रातको सुललित सम्भोगपछि एउटा नयाँ अध्याय बोकेर फुल्छन फूलहरु आऊ हामी प्रेमको अदिति गर्भबाट एउटा प्रेमी जन्माइदिऔं एउटी प्रेमिका जन्माइदिऔं जन्मिऊन् अगणित कर्महरु जन्मियोस् प्रेम धर्म जन्मियोस् प्रेमिल सभ्यता प्रत्येक आत्माहरु होऊन् प्रेमका ईश्वरहरु र कहीँ कतै नदेखिऊन् निरीह भक्तहरु आऊ अब यता आऊ हामी प्रेमयुगका प्रथम प्रेमीप्रेमिका बनौं । #निरज दाहाल #महेश क्षितिज #शरद ऋतु
मेरो भोको पेट !: टीकाराम विश्वकर्मा न त मेरो घर छ, न त बस्ने ठाउँ सडकमै हुर्किएँ, अनाथ मेरो नाउँ दिनरात भौँतारी हिँड्छु, खानाको खोजीमा कस्ले देलान् खानेकुरा, पैसा छैन गोजीमा । बोक्छु बोरा, माग्दै हिँड्छु थालमा बुझ्दैनन् मेरो पीडा, उल्टै हिर्काउँछ्न् गालामा झुत्रो लुगा खाली खुट्टा, शहर-बजार हिँड्ने धेरै दिन भो भोको पेट, मलाई कस्ले पो सम्झिने? जताततै दुःखकष्ट पीडा मात्र भेट्छु फ्याँकिएका खाना टिपी भोक मेट्ने गर्छु हिजो खोजी खाए आज के खाऊँ आहारा म जस्तोको टुहुरोको कोही छैन सहारा। गुमेको छ मेरो गाँस-बास-कपास कतैबाट न्याय पाइएला कि लाग्छ मलाई आश पढ्ने-लेख्ने मन छ तर कस्ले जिम्मेवारी लिने ? बेबारिसे बालक म, ब्यथा कस्ले बुझ्ने? सोलु दुधकुण्ड नगरपालिका 4, सोलुखुम्बु #टीकाराम विश्वकर्मा #सोलुखुम्बु
'प्रपञ्च' किन लेखेँ ?: प्रकाश कोइराला जनकपुरको बसाई, उखरमाउलो गर्मी । वि. सं. २०६५/०१/३० मा ‘आरुआरती’ खण्डकाव्य लोकार्पणपश्चात् गोरखापत्र राष्ट्रिय दैनिकमा समाचार आएपछिको उत्साह। बिहान र दिउँसो बोर्डिङ स्कूलहरूमा नेपाली, गणित र विज्ञान जुन विषय मिल्छ त्यही पढाउँदै पेटको जोहो गरिरहेको अवस्था। साथै, औपचारिक अध्ययनको लागि चर्को संघर्षको उस्तै अवस्था । यतिकैमा एकदिन रा. रा. ब. क्याम्पस, नेपाली विभाग प्रमुख स्थिरप्रसाद पराजुली गुरुले भन्नुभो, “महान् कवि पछि बन्दै गर्नू, उपन्यास लेख । काठमाडौँका प्रकाशकले छापिदिनेछन् र पकेट खर्च पनि दिनेछन् ।” वश मेरो मनमा भूत चढ्यो, उपन्यास लेख्ने । लेख्ने त लेख्ने के, लेख्ने र कसरी लेख्ने भन्नेबारे मनमा अनेक मन्थनपश्चात् अठोट गरेँ– उपन्यासभित्र उपन्यास शैलीको उपन्यास लेख्ने । वृत्ताकारीय शैलीमा लेख्ने । आफ्नै जनकपुर अञ्चलभित्रका कथा लेख्ने । मेरो पहिलो छनोटमा रामेछाप जिल्ला पर्यो । रामेछाप जिल्लाको ऐतिहासिक, सामाजिक परिवेशबारे अध्ययन र सोधखोज गरेँ । वास्तविक जीवनका पात्रहरूबारे खोज गरेँ । प्रेम गरेको अपराधमा गाउँबाट विस्थापित बन्न बाध्य भएर मधेस झरेका जोडीहरूको कथाले मेरो मनमा चस्स छोयो । यसरी उपन्यासभित्र आधा कथा रामेछाप र सिन्धुली जिल्लाका छन् भने आधा कथा धनुषा, महोत्तरी र सर्लाही जिल्लाका समावेश छन् । पञ्चायतकाल, बहुदल, सशस्त्र द्वन्द्वकाल, मधेस आन्दोलन र गणतन्त्रसम्मको कथानकलाई कथाभित्र कथा भन्दै पूरा गरेँ । सामाजिक यथार्थवाद, विसंगतिवाद, अस्तित्ववाद, सामाजिक मनोवैज्ञानिक यथार्थवाद र फ्रायडवादी यौन मनोविज्ञानको फ्लेभरमा भनिएका उपन्यासभित्रका पाठकहरूका जीवन संघर्ष समेटिएको घटना प्रधान उपन्यास तयार भो २०६६ सालभित्र तर जनकपुर बसेर उपन्यास छाप्ने बाटोप्रति म अनभिज्ञ थिएँ । वि. सं. २०७१ मा म काठमाडौँ बस्न आएँ । विद्यालय स्तरका मेरा गुरु राजेश थापाले उपन्यासको पाण्डुलिपि पढिसकेपछि भन्नुभो, “इतिहास धेरै समेटिएको छ तर नयाँ इतिहास पनि त होइन यो । कथा र शैली शिल्प राम्रो भए पनि इतिहासको वर्णनलाई धेरै नै छोट्याउनुपर्छ ।” हो, यही बिन्दुबाट प्रपञ्च पुनर्लेखनको थालनी शुरुभो । वि. सं. २०७२ मा आर्थिक जोहो गर्न विज्ञान शिक्षक बनेर धादिङ पुगेँ । अध्ययनको भोक ज्यूँका त्यूँ थियो । जागिर छोडेर २०७३ मा पुनः काठमाडौँ फर्किएँ र अधुरो अध्ययन जारी राखेँ । २०७४ दशैंतिहारसम्ममा ‘प्रपञ्च’को पुनर्लेखन पूरा गरेँ । २०७४ मंसिरदेखि प्रपञ्चको पाण्डुलिपि प्रकाशन गृहहरूमा कतै १४ महिना त कतै ७ महिना यताउता भौँतारिइरह्यो । कसैले पिडिएफ फाइल लेखक मित्रहरूसँग आदानप्रदान गरेर दुरुपयोग गरिदिए त कसैले पाण्डुलिपि नै हराइदिए । धन्न एकप्रति मसँग सुरक्षित थियो । धेरै पटक रातभरि रोएर बसेँ । सुरुमा उपन्यासको नाम “मुटुकी राजकुमारी” थियो । धेरै लेखकहरूले नाम फेर्न सुल्झाएको कारण सुहाउँदो नाम खोजेर “प्रपञ्च” जुराएँ । प्रकाशन गृहहरूको सुझावअनुसार काटछाँट गरेर ५५००० शब्दहरू हटाएँ, उपन्यासभित्रका । तर छाप्नको निम्ति उल्टो पैसा बुझाउनुपर्ने वा रोयल्टी नलिनुपर्ने शर्तहरू अघि सारिएपछि म पाण्डुलिपि फिर्ता लिन बाध्य भएँ । अन्त्यमा बिएन पुस्तक संसारले प्रपञ्च प्रकाशन गर्ने भयो । यतिबेलासम्म दुई वर्ष अरुनै प्रकाशन गृहमा भौतारिइसकेको थिएँ । अत्यन्त सास्तीका बीच मेरो उपन्यासकार बन्ने रहर पूरा भयो । वि. सं.२०७६ फागुन २४ गते शनिबार प्रपञ्च लोकार्पणको क्रममा मैले आफूले पाएको हण्डरप्रति खुलासा गर्दै आक्रोश पोखेको मन्तव्य नाइस नेपाली लिटरेचर नामक युट्युव च्यानलले प्रसारण गरेपछि मनकारी पाठकहरू र जिल्लाबासी शुभचिन्तकहरूले ‘प्रपञ्च’बारे चासो व्यक्त गर्दै पढेर यसको भाषाशैली, कथाशिल्प र इमान्दार प्रस्तुतीकरणको मुक्तकण्ठले प्रशंसा गरे । विमोचन कार्यक्रममा वक्ताहरुले पनि केही सुझावसहित उत्साहजनक अभिव्यक्ति दिएकाले मलाई लाग्यो, प्रपञ्च राम्रै बनेछ । उपन्यास विमोचन सँगसँगै कोरोना भाइरसको महामारीबाट बच्न देशमा लकडाउन सुरु भयो । प्रपञ्चले बजारमा आफ्नो उपस्थिति देखाउनै लाग्दा अर्को प्राकृतिक ठक्कर खानुपर्यो । तथापि लकडाउनपछि प्रपञ्चले आफ्नो शाख बढाउने नै छ भन्ने विश्वास मलाई लागेको छ । #प्रकाश कोइराला #प्रपञ्च
कति अल्झिनु: कति अल्झिनु अनुहारका आवरणहरूमा जात र वर्णले छुट्याई छुट्याई रगतका थोपा थोपाले बराबरी सिँच्छ नि सिँच्दैन र ? आज पोटोम्याकको किनारामा म, भेरीको पानी उसरी नै घुलेर बगिरहेको देखिरहेछु सभ्यता र भव्यताले फड्को मारेर के भो र यहाँ अन्तरमन साँगुरो गल्लीहरूमै भौतारिएपछि । यी गगनचुम्वी महलहरूको के अर्थ जब, मानव मूल्य छिँडीमै सडाइन्छ भने यी रक्षकका “बर्दीहरूको” के इज्जत जब, प्राणै खिचेर लैजान्छन भने । बोलेकै छन् बोल्नेहरू के गर्नु र सुन्नेले नसुने पछि लेखेकै छन् जान्नेहरूले के गर्नु र पढेर पनि नबुझेपछि । भो ! रोकिदिऊँ अब रगतको होली खेल्न रंग, जात, वर्ग भन्दै निम्छरोको घाँटी रेट्न मानव अस्थित्वको उपहास हामीले सदियौं उडायौं यहाँ रोग, भोक, गरिबीका खाल्डाहरू पुर्न धेरै बाँकी छन् । #कति अल्झिनु
दिन्न यो भूमि छुन: मेरो देश ,हिमाल पर्वत जहाँ हिऊँ सँधै झुल्दछन् पाखामा फूल फुल्दछन् जहीँ तहीँ बास्ना खुबै छर्दछन् ! १ नेपाली जनको अपार धन हो यो देश जलको धनी । हो रत्नै सरिको अमूल्य निधि यो दिन्न म बस्छु रमी । २ शोभा दिव्य धरा हो प्राण सरिको नेपालीको जीवन ! लैजाऊ बरू प्राण दिन्छु सहजै दिन्न यो भूमि छुन ! ३ सीमा सानो छ मेरो यो बगरको माटो अमूल्य हिरा ! दिन सक्दिन लौ चिमोटी म भूमि पारेर यस्को चिरा ! ४ माग्छौ लौ शीर यो झुकाई म बरू यस भूमिमा आखिर ! चढ्न लौ छु तयार म पनि बली यस देशका खातिर ! ५ यो हो देव भूमि यस विश्व भरमा छैन है मुल्य कुनै ! यस्का खातिरमा छिनाई बरू लौ दिन्छौ तीनकोटी शिरै ६ माटोमा नदी कलकल बगिकन सिञ्चन जलैले गरी ! धर्तीका मुखमा दिई खुसी खुबै नाचेकी हुन झैँ परी ! ७ पाखा पर्वत र तराई वनमा संजीवनी फल्दछन् देशका काखभरि खनिज कति छन् कुबेर नै बस्दछन ८ धर्तीबाट बगि कति हिम नदी देश उर्वरा पार्दछन् ! झर्ना कलकल बग्दछन जहीँ तहीँ भूमि सबै रम्दछन् ! ९ कस्तुरी मृग सावक हर घडी हिमालमा खेल्दछन् ! चौरी खर्क अनि ति लेकहरूमा पंख डोलाउँदछन् ! १० लस्कर शैल सबै यिनै धरणीको हरपल सुरक्षा गरी ! मानवका हित खातिरै भनिकन यो देव भूमिमा झरी ! ११ सूर्यको जव ज्योति पर्छ भूमिमा हिमाल मुस्काउँछिन् चन्द्रैको नव कान्ति छाई धरणी शोभा दिई हाँस्दछिन ! १२ खै तिम्रो भूमिको न लोभ छ कति सानै भूमिमा रमौ ! स्वर्गै लाग्दछ यो धरा हर बखत यहिँ नै म बाँचौँ मरौँ ! १३ मेचीको जलमा नुहाई शिर यो काली पुगौ मन धुन! यस्तो पावन यो भूमि अलिकति दिन्न तिमीलाई छुन ! १४ आऊ हेर्न र घुम्न यो शिव भूमि हिमाल हेरि कन ! शान्तिका दुतको यो जन्म भूमिमा गर्नु बसी प्रार्थना ! १५ नेपाली मनका अपार धनी छन् कुवेर झै छ मन !’ भूमि सानो छ मेरो यो जगतमा अनमोल रत्न धन ! #दिन्न यो भूमि छुन
रामकाजी कोनेका तीन मुक्तक: रामकाजी कोने काली नदी झुक्याउनलाई अर्कैतिर देखाएर मार्यो वार्ताका लागि वार्ता भन्दै वर्षौँ बिताएर मार्यो स्वार्थका ललिपपमा जग्गा धनीहरु नै भुलेपछि छिमेकीले लिपुलेकको लालपुर्जा आफ्नै बनाएर मार्यो। कटमेरो हैन सम्बन्ध हजुर गुलियो र पाक्ने होस् आफूलाई मात्रै छोप्ने हैन, अरुलाई नि ढाक्ने होस् दुई जिब्रे साथी हुनु भन्दा त नभएकै जाति हजुर दोस्ती त यस्तो होस् परिआउँदा गर्दन थाप्ने होस् । सम्झनाका हजार काउकुतीले हुँदैछु मगन मस्त नढाँटीकन भन्देऊन के छ तिम्रो मनको बन्दोबस्त तिम्रो त म छँदैछु नि मलाई कठै भन्ने को छ र ? सम्हालिदेऊ न सोल्टिनी नत्र म त हुन्छु अस्तव्यस्त। #रामकाजी कोने
बन्दी शरीर र दीप्त मन: अँध्यारो छैन, उज्यालो नै छ उज्यालोबाट तर पनि गुजमुज्ज परी देखा पर्छ एउटा अजिङ्गर र रोकिदिन्छ बाटो मानव विकासको कसले भत्काइदियो अगाडि हिँड्ने बाटो गम्रयाङगुम्रुङ कि हामी हिँड्न सकिरहेका छैनौँ ? हिंड्न नसकेर, रोकियो गति थुनियौं हामी आफ्नै बन्दी बनेर संगै थिए आफन्तहरू पनि र साट्यौं मनका कुराहरू मेट्यौं असमझदारीका मयलहरू पखालिए बिमतिहरू केही नयाँ सम्बन्धहरू बने केही नाताहरू टाढिए शायद, चिन्यौं आफैले आफूलाई । हो, हिंडिरहेको त्यही बाटो अचानक भत्कियो यसरी भत्कियो कि अगाडि न केही थियो न केही देखियो पछाडी पछ्याउँदै आएका असङ्ख्य आकृतिहरू जहीँको तहीँ रोकियो लाग्यो, अब प्रलय भयो फुल्दै गरेका यी फूलहरू खेल्दै गरेका यी ससाना नानीहरू अनन्त सपना लिएर मुस्कुराउँदै गरेका ती यौवनाहरू लाग्यो, सबै विलय भयो हिंड्दै गरेको यी बाटोहरू जसै एकाएक गर्लम्म ढल्यो ढल्यो त्यो बाटोसङ्गै मेरो जोबनको एउटा आयु ढल्यो अणु अणु केलाएर उठाएको मेरो इतिहासको एउटा खण्ड ढल्यो ढल्यो बढो जतनले सिङ्गारेको मेरो प्रेमको सुषुप्त त्यो “ताजमहल” ढल्यो …. एउटा क्यान्भास जहाँ कोरिएको छ एउटा बाटो बाटोमा देखिरहेछु एक नग्न आमा माटोमा देखिरहेछु एक धुलाम्य पिता नफर्कने यौवनको लालसामा कुप्रिरहेका बृद्धहरूको लामो लस्कर उता मुस्कुराउँदै गरेको एक कटु मुस्कान जो घाम चपाउने असम्भव दुस्साहस गरिरहेछ म देखिरहेछु पर नानीहरू यतै आइरहेछन् । [ प्रस्तुत कविता ‘शब्दपथ’को संयोजनमा चार कविहरू किशोर पहाडी, राजेन्द्र शलभ, विश्वविमोहन श्रेष्ठ र स्नेह सायमीले लकडाउनमा आ-आफ्नो कोठाभित्र बसेर संयुक्त तयार पारेका हुन्] #किशोर पहाडी #राजेन्द्र शलभ #विश्वविमोहन श्रेष्ठ #स्नेह सायमी
तस्बिर: रोशन वली हिजो एउटा तस्बिर देखियो कैयन मान्छे हाँसेको सहरमा उनले जीवनको माया मारिरहेको एउटा तस्विर भोक, तिर्खा, समस्यालाई भुलेर शान्त स्वभावमा झुन्डिएको थियो । दुधे शिशु र आमाको घाँटीमा एउटै डोरीले जोड-जोड्ले बाँधिरहेथ्यो आफ्नै बच्चाको माया थिएन जिन्दगीको आश पनि थिएन यस्तै-यस्तै नियतिमा हिजो एउटा तस्विर देखियो । कोही थिएन कि भन्दियोस् तिमी चिन्ता न लिएर बस् भोकले मर्नु पर्दैन म राहत लिएर आउँदैछु दुःख, सुख हातेमालो गर्दै जाउँला अतित, वर्तमान र भविष्य अङ्गाल्न सिकौं आँसुको भाषा बुझ्दैन डोरीले समाधानसित धैर्यता राख्दिन अन्तत मान्छे मृत्यु रोज्छ तैपनि मृत स्थानमा बत्ती चम्किरहेको हुन्छ बच्चाकोआँखामा आमाले हेरिरहेकी हुन्छे उसको स्वर कानमा गुन्जिरहेको हिजो एउटा तस्विर देखियो । मनमा व्यवहार केलाउँदै आँखा चिम्ली रहेकी निदाएको अभिनय उही समयसित उभिएको हावा चलिरहेको बाँचेर पनि मरिरहेको हिजो एउटा तस्विर देखियो । दुब्लो जीउमा घाँटीको हड्डीमाथि सुर्किएको मसिनु दोरा काखीमा दुधे बालक भोकको सिकारमा डोरीसँग बाँधिएको थियो मृत्यु रोज्न नि समयले एउटा मौका दियो र त उनी कहिल्यै नफर्किने गरी यात्रा तय गरेर कसैले नभेट्ने ठाउँमा आमाछोरा हिँडिरहेका छन् अब भोक लाग्ने छैन प्यासले दुःख दिने छैन शान्त चुपचाप मनको हिजो एउटा तस्विर देखियो। #रोशन वली
दिन्न यो भूमि छुन: शोभा खतिवडा (यो बयान हो मेरो जन्म भूमिको र पत्र पनि हो हाम्रा छिमेकीलाई किन नदिने यो भूमि तिनलाई भनेर ) ————— मेरो देश, हिमाल पर्वत जहाँ हिऊँ सँधै झुल्दछन्! पाखामा फूल फुल्दछन् जहिँ तहिँ बास्ना खुबै छर्दछन् ! १ नेपाली जनको अपार धन हो यो देश जलको धनि। हो रत्नै सरिको अमूल्य निधि यो , दिन्न म बस्छु रमि। २ शोभा दिब्य धरा हो प्राण सरिको, नेपालीको जीवन! लैजाऊ बरु प्राण दिन्छु सहजै दिन्न यो भूमि छुन!! ३ सिमा सानो छ मेरो यो बगरको माटो अमूल्य हिरा ! दिन सक्दिन लौ चिमोटी म भूमि पारेर यस्को चिरा !! ४ माग्छौ लौ शिर यो झुकाई म बरु यस भूमिमा आखिर ! चढ्न लौ छु तयार म पनि बली यस देशका खातिर !! ५ यो हो देव भूमि यस विश्व भरमा छैन है मुल्य कुनै! यस्का खातिरमा छिनाई बरु लौ दिन्छौ तीनकोटी शिरै ६ माटोमा नदी कलकल बगिकन , सिञ्चन जलैले गरी ! धर्तीका मुखमा दिई खुशी खुबै , नाचेकी हुन झैँ परी !! ७ पाखा पर्वत र तराई बनमा संजीवनी फल्दछन्! देशका काखभरि खनिज कति छन् कुबेर नै बस्दछन्!! ८ धर्तीबाट बगि कति हिम नदी देश उर्वरा पार्दछन् ! झर्ना कलकल बग्दछन जहिँ तहिँ , भूमि सबै रम्दछन् ! ९ कस्तुरी मृग सावक हर घडी हिमालमा खेल्दछन् ! चौरी खर्क अनि ति लेकहरुमा पंख डोलाउँदछन् !! १० लस्कर शैल सबै यिनै धरणीको हरपल सुरक्षा गरी ! मानवका हित खातिरै भनिकन यो देव भूमिमा झरी !! ११ सूर्यको जव ज्योति पर्छ भूमिमा , हिमाल मुस्काउँछिन्! चन्द्रैको नव कान्ति छाई धरणी शोभा दिई हाँस्दछिन !! १२ खै तिम्रो भूमिको न लोभ छ कति सानै भूमिमा रमौ! स्वर्गै लाग्दछ यो धरा हर बखत यहिँ नै म बाँचौँ मरौँ !! १३ मेचीको जलमा नुहाई शिर यो काली पुगौ मन धुन! यस्तो पावन यो भूमि अलिकति दिन्न तिमीलाई छुन !! १४ आऊ हेर्न र घुम्न यो शिव भूमि हिमाल हेरि कन ! शान्तिका दुतको यो जन्म भूमिमा गर्नु बसी प्रार्थना !! १५ नेपाली मनका अपार धनि छन, कुवेर झै छ मन !’ भूमि सानो छ मेरो यो जगतमा अनमोल रत्न धन !!
बालबालिकामाथि अत्याचार: सुशील बस्याल बालबालिका सडकमा सुत्नु परेको छ टुहुरो बनी अर्काको घरमा काम गर्न परेको छ अपहेलित भै काम गर्न बाध्य हेर्नुस् हजूर, निर्दोष बालबालिकामाथि अत्याचार भएको छ । पहुँचवाला जबर्जस्ती काममा लगाउँछन् काममा केही गल्ती भए सजाय दिलाउँछन् फकाई फकाई काम गराउँछन् त्यसैले त निर्दोषहरूमाथि अत्याचार भएको छ । शारीरिक यातना र मानसिक तनाव सबै सहेका छन् अधिकारका नियम सबै कागजमा सीमित रहेका छन् बालबालिका सडकमै रात गुजार्न बाध्य छन् हेर्नुस्त हजूर, निर्दोष बालबालिकामाथि कति अत्याचार भएको छ! मौन बस्न थाले संघ संगठन पनि भन्न डराउँछन् कर्मचारी जबर्जस्ती गरेको देख्दा पनि अन्याय अत्याचार सहन बाध्य छन् त्यसैले त निर्दोष बालबालिकामाथि अत्याचार भएको छ । बालअधिकार राजनैतिक विषय भएको छ संस्थाको काम कर्तव्य हात्ती देखाउने दाँत भएको छ गरिबीले छट्पटिँदा जे गर्न पनि तयार छन् त्यसैले त निर्दोष बालअधिकार नै अत्याचारमा परेको छ । सभ्य समाजको निर्माण गर्न प्रयास भएन हिंसा अत्याचार शोषण कम हुन सकेन बालबालिकाले टुहुरो उपनाम पाएका छन् त्यसैले निर्दोष बालबालिकामाथि अत्याचार भएको छ । हेपिएर भाँडा माझी बस्छन्, दुःख पाएर गर्जो टार्ने गर्छन् दिनदिन बस ठटाएर निर्दोष हुँदा पनि सजय भोग्या छन् त्यसैले निर्दोष बालबालिकामाथि अत्याचार भएको छ । देशका धेरै ठाउँमा बालमैत्री घोषणा भएको छ सडक बालबालिका मुक्त देश बनाउने खबर आएको छ बालअधिकारको हनन भएको छ त्यसैले निर्दोष बालबालिकामाथि अत्याचार भएको छ । सुशील बस्याल बगनासकाली ८ बराङ्दी बेलौतिखरक #सुशील बस्याल
कोरोना भर्सेस ह्युमन: रमेश लामिछाने हरेक दिन \u202c \u202aसमाचार पढछु सुन्छु, \u202c \u202aआज यति जनाको मृत्यु भयो, \u202c \u202aठूलो सङ्ख्यामा \u202c \u202aकोरोना सङ्क्रमित थपिए। \u202c \u202aकोरोना मानव जातिको लागि धेरै खतरा भयो। \u202c \u202aफेरि सुन्छु, \u202c \u202aमान्छे मानवबाट दानव बनेको\u202c \u202aकस्तो ह्रदयविदारक, \u202c \u202aकुटिकुटी मान्छे मारेको \u202c \u202aकालाले गोराको घाँटी निमोठेको \u202c \u202aनाबालिका बलात्कृत भएको \u202aमान्छेले मान्छे मार्नको लागि \u202c \u202aपरमाणु बम बनाएको \u202c \u202aअनि फेरि सुन्छु, \u202c \u202aफलफूलमा \u202c \u202aबिष्फोटक पदार्थ मिलाएर \u202c \u202aगर्भिणी हात्तीको हत्या गरेको\u202c \u202aजन्मिन नपाउँदै मर्नु परेको \u202aप्रकृतिको \u202c \u202aसुन्दर उपहारको विनाश गरेको।\u202c \u202aसबै सुनेर पढेपछि भन्नै कर लाग्छ \u202c \u202aसृष्टिको सबैभन्दा \u202c \u202aकुरुप सिर्जना मानिस हो \u202c \u202aजो अति नै क्रूर र संवेदनाहीन हुन्छ \u202a \u202c \u202aपृथ्वीको \u202c \u202aसबैभन्दा ठूलो भाइरस मानिस हो \u202c \u202aर त्यसको सानो समाधान \u202c \u202aकोरोना भाइरस हो। \u202c \u202aम सृष्टिकर्तासँग \u202aएउटै प्राथना गर्छु \u202c \u202aकि यो मानवता हराएको शहरमा \u202c \u202aमलाई मानव नबनाइदेऊ \u202c \u202aअनि मानवलाई दानव नबनाइदेऊ। जापान \u202c #जापान #रमेश लामिछाने
तँ र म – किन?: भावना उपाध्याय तँ र म— भन्ने यो शब्द, शब्दको खेल यसले बनाउँदो रहेछ आफूभित्रै एउटा सानो जेल हुँदैन शान्तिसँग कुनै मेल, नखोली त्यो गाँठो परेको मनको भेल म पनि त तिमीजस्तै, फरक के ? तर किन बन्न सक्दैनौँ हामी उस्तै? मलाई दैलो बाहिर खाना पस्किई खान्छौ तिमी किन भान्छाभित्र बसी? तिम्रा लुगा सुकिला; मेरा मैला, तिमी ठूलो; म सानु, तिमी धनी; म गरिब तिमी ब्राह्मण; म अछुत, डुम? तर बग्छ एउटै त्यो रातो रगत बस्ने थलो पनि त, एकै हाम्रो प्यारो नेपाल जगत ! गर्छौ कुरा आहिले ठूला तिम्रो चर्पी जाम हुँदा बोलाउँछौ मलाई नै सफा पार्नका लागि, त्यसबेला चाहिन्छ यहाँ अर्को क्रान्ति हटाउन यो भेदपूर्ण भाव तिम्रो दमनविरुद्ध बोलिनेछ गर्न आफ्नो व्यक्तिगत र सामाजिक लाभ तर म थाकिसकेकी छु छैन कुनै जोश जाँगर भोग्दाभोग्दै ती भेदभावपूर्ण व्यवहार रहेन अब तिमीहरुप्रति कुनै आदर, कदर… अब, म हैन, बोल्नेछन् तिम्रै सन्तति देखी अपराध यी छैन त्यो दिन अब पर जब तिम्रो हुँदैन कोही वरपर आउनेछु “मै” बोकी त्यो पवित्र गंगाजल लगाउन तिमीलाई यो जुनीबाट पार। #भावना उपाध्याय
मात्र एक छाक खोजिरहेछु: बिहान भालेको डाकसँगै ब्यूझेँ कोरोनाको लकडाउन निदाउन मन थियो चारै दिशा उल्ट्याङ पल्ट्याङ गरे अहँ निदाउनै सकिनँ । १ बर्षको छोरो चिच्यायो, छोरोको चिच्याइसँगै भोको छु, के पग्लिन्थ्यो र खाओस् बूढीको झर्किँदै गरेको निरस आवाज सुनेँ । भोकको कुराले होला पापी भूडिँ करायो छेउमै सुतेकी ८ बर्षकी छोरी मलाई कोट्याउँदै बाबा भोक लाग्यो । भतभत पेट पेल्यो, जुरुक्क उठेँ स्टोभ जलाउन पुगेँ स्टोभको दमको आवाजले होला बूढी चिच्याई एक हप्ता भयो तेल नभएको स्टोभ जल्दैन चामल पनि त छैन अँ अलिकती चिनी र चिया होला । बाबा चिया खान मन लाग्यो छोरीको मधुर आवाजले स्तब्ध भएँ स्टोभ जले पो पानी गिलासमा राखेँ चिनी र चियासँगै घोलँे छोरी लाऊ चिया खाँदै गर म खान लिएर आउँछु है, कुर्दै गर । सडकमा निस्किएँ, सुनसान सडक कुकुरहरू कुदिरहेका, चराचुरुङ्गीहरू नाँचिरहेका न हर्नको ककर्स आवाज, शान्त सुन्दर सहर मान्छेको त्यो भीड कहाँ हरायो ? लाग्यो मृत्यु पछिको सन्नाटा हो यो, मन विरक्तियो । हिजोझँै लम्किएँ लाइनमा बस्न ऊ त्यहाँ खान बाढिरहेको छ हो त्यही लाइनमा बस्न लम्किएँ घरमा छोरा छोरी परिवार सबै पर्खिरहेका छन् मलाई मात्र मात्र एक छाँक पेटभरी खाने आशमा मात्र एक छाक, हो मात्र एक छाक खोजिरहेका छन् । #मात्र एक छाक खोजिरहेछु
उज्वलको गजल: हर प्रहरमा अनौठो ,उन्माद भएर आउँछ किन हो किन आजकल ,स्पर्श चुमेर आउँछ ।। किन हो अनि कस्को, थाहा हुन्न मैदान त्यो कथित यादहरूले, पर्खाल त्यो घुमेर आउँछ ।। मोडेर गन्तव्य ,अनयासै मनमा छ भन्दै पागलै सरि आनन्द मनमा, झुमेर आउँछ ।। जीवन काँडा अनि फूल ,त्यो सुन्दर भन्दै हराएका पलअनि, स्मृतिमा त्यो गुमेर आउँछ ।। हर प्रहरमा अनौठो ,उन्माद भएर आउँछ किन हो किन आजकल ,स्पर्श चुमेर आउँछ ।। #उज्वल
आफ्नै खोजी: वर्षौँ पहिले झै मुस्कानले सुसज्जित ओठहरू माझ बसन्तमा पालुवा हाल्न बाँकी सपनाका बोटहरू माझ ! पहाडी आँधी, हिमाली सिरेठो मरुभूमिका तुफान,सामुन्द्रिक छालहरू माझ ! दैनिक सुकेर ओइलाउँदै गएका फक्रनु अगावै निर्वासित भएका कैयन रङ्गिन फुलहरू माझ मभित्रको “म“ खोजिरहेछु ! पीडाका ग्रन्थहरू माझ खुसीका काव्य रचना गर्ने ! खाली,शून्य प्रान्तहरू माझ पूर्णताका कृति रचना गर्ने ! वेतिथी, बिसङ्गतिहरूलाई पाखा लगाइ रितिथितिका स्वर्णिम भाव छर्ने ! मुर्दारुपी जिवित भनिने ईश्वरका मुर्तिहरू माझ सँधै हाँसिरहने सँधै नाचिरहने सँधै बोलिरहने सँधै बाँचिरहने मभित्रको “म“खोजिरहेछु ! चिहाउँदै आशाका दैलोबाट साहस बटुल्दै प्रेरणाका थैलोबाट ! नियाल्दै भरोशाका बिन्दुहरू एकिकृत गरी छरिएका भोकाप्यासाहरूको शैलीबाट ! उठ्न खोज्ने अनगिन्ती सासहरू फोहोर,डङ्गुरको मैलोबाट मभित्रको “म“ खोजिरहेछु!! ज्योती निभेका आँखाहरूबाट आज, भरे भन्दै कुरिरहेका भोकरुपी कालका काखहरूबाट जिन्दगी वर्णन गर्ने साहसी हरफहरू आफैँभित्र टुक्रिदै जोडिएका विश्वासका गाताहरूबाट सँधै उभिरहने सँधै हेरिरहने सँधै बोलिरहने सँधै बाँचिरहने मभित्रको “म“ खोजिरहेछु ! #आफ्नै खोजी
THE MY: आजसम्म यी आँखा मैले मेरो भन्नै सकिनँ जो दुनियाँसँग हरदम समागम गर्छ र गर्भवती हुन्छ अनि आफैँ थन्किन्छ कालो टोड्काभित्र ओथारा बसेर काड्छ, लाखौं बुँदहरुको बाक्लो डिम्मा यी आँखा भन्दा शालिन बलात्कारी अरु हुनै सक्दैनन् मेरो आँखाबाट दृश्य खोसिएपछि THE MY EYE भन्नै सकिनँ बाँच्नको लागि खानै पर्ने कि खानकै लागि बाँच्न पर्ने ?? मूर्दाघाटबाट उडेको नुनीलो धुवाँ खानै पर्ने हो भने यो मुख मेरो होइन जो लास निलेर अघाउँछ भने कसैको वेदना तनतनी चुसेर उसैका सामु पीडाको खिल्ली उडाउँदै हाँसिदिने, कसैको प्रगाढ ममता र स्नेह लुटेर धारिलो जिब्रोले आत्मियताको निर्मम हत्या गर्छ भने अँहँ होइन, हुँदै होइन यो मुख मेरो हुँदै होइन मेरो ओठबाट बोली लुछिएपछि THE MY MOUTH भन्नै सकिनँ आमालाई पाउले छुने नेपाली पाउ कहाँ छ ? जो पापको भागिदार हुनेछ मलाई पापी पाउ पालेर पाप गर्नु छैन जसले हरेक समय पाप गरिरहन्छ यो जमिन टेकेर,यही माटो टेकेर म धरतीलाई पुज्न चाहन्छु जो मेरी आमा हुन् मेरो पाउबाट पाप भइरहँदा पनि जमिन बाँडिएर म उछिट्टिए पनि THE MY MOTHERLAND भन्दै अझ चर्को नारा लगाउने मै हुँ । परिवर्तन गर्न निस्किएको एउटा बाठो कलम जसलाई आफ्नै हातले अठ्याएपछि के फुस्कन्थ्यो र दुनियाँ ? यसरी ज्याद्रो साङ्लाले टनटनी कसेर गोठमा एक हुल वस्तु बाँधे झैं कागजमा एक मुठ्ठी सास भरेर मेरो रुद्रघन्टीमा पासो लगाउने यी जल्लादी हत्केला म कसरी मेरो भनुँ ? मेरो हातबाट अधिकार खोसिएपछि THE MY HAND भन्नै सकिनँ । तिमीले तिम्रै लिपिमा “THE MY” भन्दा के हुन्छ, बुझ्दिनँ म मैले मेरो लिपिमा दमाई भन्दा कसैले बुझाउनु पर्दैन अब भन प्रिय पृथ्वी तिम्रो कुन खण्ड लाई “THE MY” भनुँ? तिमी मान्छेको कुन रंगलाई दमाई भन्छौ? #आमा #रोशन परियार
अनिलका तीन कविता: १. सगरमाथा मेरो दरिद्रता देख्न नसकेर ऊ एक नदी रोइदियो तर, मैले उसका आँसु पनि बाँध लगाएर बेचिदिएँ । २. सँगालिएको अतीत तिमीले धेरै पहिले पैसा भनेर दिएको पीपलको पात बालापनको खेल सम्झेर सजिलै भुलिदियौ म मूर्ख अझै त्यही पात लिएर सम्बन्धहरू किन्न बजारमा भौँतारिरहेछु । ३. अहिल्या एक मुठी माटो हातमा लिएर निर्मलालाई सम्झेँ अनायसै मुखबाट निस्कियो – “ हे ईश्वर ! किन यस्तो ? ” त्यही माटोबाट एउटा आदिम आवाज आयो – ” म पनि उत्तर पर्खिरहेछु ।” #अनिल खतिवडा
"त्यही रूखमा धेरै चरा बस्छन्, जुन झ्याँगिएको हुन्छ, लेखक त्यस्तै हुनुपर्छ": नेपाली साहित्य जगतमा सुबिन भट्टराई युवा पुस्तालाई केन्द्रमा राखेर कलम चलाउने स्वयं पनि युवा आख्यानकार हुन् । उनका अहिलेसम्म एक कथा संग्रह ‘कथाकी पात्र’ र चार उपन्यास ‘समर लभ’, ‘साया’, ‘मनसुन’ र ‘ प्रिय सुफी’ गरी जम्मा पाँच कृति प्रकाशित छन् । प्रस्तुत छ, उनै चर्चित आख्यानकार सुबिन भट्टराई सँग साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेल ले गरेको अन्तरङ्ग संवादको सम्पादित अंशः नेपाली साहित्य क्षेत्रमा नयाँ पाठक बढाउनमा तपाईँको विशेष योगदान रहेको छ भनी विश्लेषण गरिन्छ । यसको कदर नेपाली साहित्यले गर्ला कि नगर्ला ? यो त समयले मूल्यांकन गर्ला । तर साहित्यको विराट समुद्रमा एक अञ्जुली पानी मैले पनि भरेको छु जस्तो लाग्छ । पाठकहरूले पक्कै विश्लेषण गर्नुहोला । मेरो किताबबाटै आफ्नो पठन अभ्यास शुरु गर्नुभएका पाठकले त झन् सम्झिनुहोला । पाठकको सम्झनामा यसरी नै अटाउन पाएँ भने पनि मेरो लेख्नुले एउटा अर्थ राख्छ । प्रेम र प्रणयका विषयमा लेखिने साहित्यका बढी छन्, जसले नवपुस्तालाई सम्बोधन गर्छ । तर एउटा यस्तो जमात पनि छ, जसले प्रेम र प्रणयका विषयमा लेखिएका साहित्यलाई मूलधारको साहित्य नै मान्दैन । किन होला? संसारमै दुई किसिमका साहित्य छन् । राम्रो साहित्य र नराम्रो साहित्य । पाठक प्रेम र प्रणयका बढी छन् भन्नु गलत हो । पाठक राम्रा कृतिका बढी छन्, नराम्राका कम छन् । यो राम्रो र नराम्रो पनि व्यक्तिपिच्छेको अनुभव र निजी स्वादका कुरा हुन् । योभन्दा अरू त मान्छेले आफ्नै अनुकूलको व्याख्या र परिभाषा गर्ने हुन् । तर योचाहिँ साहित्य हो, त्यो चाहिँ होइन भन्नु आफैँमा मूर्खता हो । विश्वविख्यात कोलम्बियन लेखक ग्राबियल ग्रासिया मार्खेजको “लभ इन द टायम अफ कोलेरा” प्रेम र प्रणयकै कथा हो । त्यो आज पनि चर्चामै छ । जीवन्त छ । लाखौँ, करोडौँ पाठकले मन पराएका छन् । जोन ग्रीनको “फल्ट इन आवर स्टार्स” प्रेम कथा नै हो । गुड रिड्समा समेत ४.२१ रेटिङ्ग भएको यो किताब सर्वाधिक रुचाइएको पुस्तकमध्ये पर्छ । “प्राइड एण्ड प्रिजुडिस” कालजयी किताब हो । कुरा के हो भने, समय लाग्छ । राम्रो सधैँ राम्रो हुन्छ । [bs-quote quote=”हाम्रोमा मूल समस्या के छ भने, साहित्यलाई पनि प्रतिस्पर्धा बनाइदियौँ । साहित्य आफैँमा यति उदार छ कि जे जस्तो विषयमा लेखिए पनि, जसले लेखे पनि यसले स्वागतै गर्छ । कित्ताकाट गरिदिने त हामी भयौँ । यो सबको निर्णय त पाठकले गर्ने हुन् ।” style=”default” align=”left” color=”#dd3333″ author_name=”सुविन भट्टराई” author_job=”उपन्यासकार” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/06/subin-bhattarai-2.jpg” author_link=”https://www.facebook.com/subin.bhattarai.18″][/bs-quote] समर लभ निस्केको आठ वर्ष भयो । यो अझै पढिने पुस्तकमै पर्छ । साहित्य जीवन्त हुन यो समय केही होइन । अझै केही दशक कुरौँ । हाम्रोमा मूल समस्या के छ भने, साहित्यलाई पनि प्रतिस्पर्धा बनाइदियौँ । साहित्य आफैँमा यति उदार छ कि जे जस्तो विषयमा लेखिए पनि, जसले लेखे पनि यसले स्वागतै गर्छ । कित्ताकाट गरिदिने त हामी भयौँ । यो सबको निर्णय त पाठकले गर्ने हुन् । तँ लेखकै होइनस् भनेर समालोचक र तपाईँले सोध्नुभाजस्तै कथित मूलधारका लेखकले प्रत्यक्ष–परोक्ष छेडखानी, व्यंग्य, आक्रोश, ईष्र्या मप्रति निरन्तर पोखिरहेछन् । जसले आफूलाई कतै छुन्छ, हल्लाउँछ, सोच्न बाध्य तुल्याउँछ, निद हराम गर्दिन्छ, केही प्रेरणा र ऊर्जा दिन्छ, मेरो नजरमा त्यही साहित्य अब्बल साहित्य हो । फेरि यो मूलधारको साहित्य भनेको के हो ? प्रेमभन्दा बाहिरको विषयमा लेखिएको ? कि कम पाठकले पढेका ? कि एउटा निश्चित उमेर समूह वा वर्ग छ ? कि विश्वविद्यायलमा थेसिस कति जनाले गरेका भन्ने आँकडाअनुसार तय गरिएको हो कि ! कि पुरस्कार पाएका आधारमा ? यस्तो कुनै नियम कसैले तोकेको छ कि नाइँ ? कतिसम्म, कस्तो लेखियो भने मूलधारको ? के के समेटियो भने मूलधारको ? मेरो पहिलो पुस्तक कथाकी पात्र मूलधारको हो कि होइन ? मेरो पछिल्लो पुस्तक ‘प्रिय सुफी’ मूलधारको हो कि नाइँ ? अनि ‘समर लभ’ नि ? यो प्रश्न (खगेन्द्र संग्रौलाको शब्द सापटी लिएँ) साहित्यका ती तमाम फित्तावाल अमिनहरूलाई जो लेखकका र तिनका कृतिका चार किल्ला नाप्न कम्मर कसेर हिँडेका छन् । नयाँ पाठक के चाहन्छन् ? ‘समर लभ’ निकाल्दै गर्दाका पाठक र अहिलेका पाठकबीच के भिन्नता पाउनुभएको छ ? सरल छ । नयाँ हुन् या पुराना पाठक, ती राम्रा कृति चाहन्छन् । ‘समर लभ’ निकाल्दै गर्दाका पाठक पनि राम्रा कृति चाहन्थे, अहिलेका पाठक पनि राम्रा कृति चाहन्छन् । केही परिवर्तन भएको छैन । भनिहालेँ नि, राम्रो नराम्रोचाहिँ व्यक्तिपरक कुरा हुन् । हरेक कृतिका पाठक हुन्छन् । हरेक कृतिका विरोधी पनि हुन्छन् । तर धेरैभन्दा धेरै पाठकले, एउटा कालखण्डभरि चर्चा हुने, धेरै पढिने र मन पराएको कृतिलाई नै राम्रो भन्ने हो । पाठकहरू फेरिरहन्छन् । एउटै लेखकलाई सधैँ मन पराउन कोही पनि पाठक अभिशप्त छैन । कुनै पनि लेखकलाई हिजो हुरुक्कै गर्ने पाठकहरू आज सामाजिक सञ्जालमा विरोध गरिरहेका हुन सक्छन् । साथै नयाँ पाठक पनि जन्मिरहेका हुन्छन् । लेखकले पनि यो बुझ्नु पर्छ कि चढेर सगरमाथासम्म पुग्न सजिलै छ । त्यहाँ थर्पु हालेर बस्न सम्भव छैन । एउटा लेखकमा चाहिँ पुस्तकको संख्या तथा चर्चा बढ्दै जाँदा कस्तो परिर्वतन आउँदो रहेछ ? आफ्नै अनुभवको आधारमा छोटोमा बताइदिनुहोस् न ! पुस्तकका संख्या बढ्दै जाँदा, चर्चा बढ्दै जाँदा अलिक दबाब महसुस हुँदोरै’छ । पाठकहरूलाई आफूलाई मनपर्ने लेखकको कृति चाँडो चाँडो चाहिने । लेखकको रफ्तार त्यस्तो नहुने । शुरुवाती दिनहरूमा भन्दा परिश्रमको दायरा पनि फराक बनाउँदै लैजानुपर्छ । पहिलो वा दोस्रो पुस्तक लेख्दा जुन निस्फिक्री होइन्थ्यो, त्यो सधैँ रहन्न । जसै पाठकका संख्या बढ्छन्, तिनका अपेक्षा पनि बढ्छन् । त्यसलाई ठीकसित सम्बोधन गर्नु लेखकको चुनौती हो । एउटा जिम्मेवारीको बोझ थपिन्छ । केही लेख्नुअघि, कतै केही भन्नुअघि धेरैपटक सोच विचार गरेर भन्नुपर्ने, बोल्नुपर्ने हुन्छ । त्यही कुरा सामान्य मानिसले भन्नु वा लेख्नु र लाखौँ फलोअर्स भएका जिम्मेवार व्यक्तिले भन्नुमा आकाश र जमीनको फरक हुन्छ । तपाईँको कन्सियस लेभल नै अर्कै तहमा पुग्छ । यसले तपाईंको अभिव्यक्तिमाथि पनि केही हदसम्म अंकुश लगाइदिन्छ । त्यसो त कसैको मतलब नराख्न, कसैको नसुन्न पनि छूट छ, तर त्यसको परिणाम कति कुरूप हुन्छ भन्ने सहन आफूलाई तयार पार्नुपर्छ । ‘समर लभ’ले शिखरमा पुर्याएको सुबिन भट्टराईको साख त्यसपछिका पुस्तकहरूले जोगाउन सकेनन् भनेर पनि विश्लेषण गरिने गरेको छ । तुलनात्मक रूपमा पनि ‘समर लभ’ले जस्तो चर्चा तथा कमाई त्यसपछिका पुस्तकहरूले गर्न सकेनन् । किन यस्तो भयो होला ? चर्चामा त निश्चय पनि ‘समर लभ’ नै अघि छ । सुबिन भट्टराई भनेर यही कृतिले चिनायो । यो धेरै लेखकको समस्या हो पनि । मैले नेपालमा कन्सिस्टेन्टली सबै कृति उत्तिकै उम्दा लेख्ने लेखक विश्वेश्वरप्रसाद कोइरालाबाहेक अरू कोही देखेको छैन । मलाई धेरै मन परेको पुस्तक ‘घामका पाइलाहरू’का लेखक ध.च. गोतामेले ‘यहाँदेखि त्यहाँसम्म’मा बडो निराश बनाए । पारिजातको ‘शिरीषको फूल’बाहेक अरू पुस्तकले उतिसारो छुँदैन । मलाई मन पर्ने धु्रवचन्द्र गौतमलाई पनि धेरैले ‘अलिखित’बाटै सम्झिन्छन् । विजय मल्ल भन्नेबित्तिकै ‘अनुराधा’ आउँछ दिमागमा । राम्रो त उनका कथासंग्रह ‘परेवा र कैदी’, ‘एक बाटो अनेक मोड’, नाटक ‘कोही किन बर्बाद होस्’ आदि पनि छन् नि ! दौलतबिक्रम विष्टलाई ‘ज्योति ज्योति महाज्योति’ले नै चिनायो, यद्यपि ‘भोक र भित्ताहरू’ पनि राम्रै कृति हो । मदनमणि दीक्षित भन्नेबित्तिकै ‘माधवी’ दिमागमा आउँछ । वानीरा गिरीको ‘कारागार’ धेरै पढिएको किताब हो । ‘शब्दातीत शान्तनु’को कोही कुरा गर्दैन । अरू के कुरा गर्नु देवकोटाको ‘मुनामदन’ जति चर्चित भो, त्यसको दाँजोमा अरू चर्चित हुन सकेनन् । विश्वविख्यात लेखक पाउलो कोएलोका हरकिताबको कभरमा फ्रम द राइटर अफ ‘अल्केमिस्ट’ भनेर लेखिएको हुन्छ । यसैले हो उनलाई चिनाएको पनि । भन्न खोजेको के हो भने लेखकलाई एउटा कृतिले चिनाउँछ । त्यो धेरै चर्चित हुन्छ । अरूचाहिँ कमसल हुन् भन्न मिल्दैन । चर्चा कम भएको होला, तर स्तर कम भएको हुन पनि सक्छ, नहुन पनि सक्छ । ‘समर लभ’ सबैभन्दा चर्चित भो, दुई मत छैन । यसैले चिनाएको हो पनि । तर अरू कृतिका पाठक पनि छन् । ‘साया’ र ‘मनसुन’मा अलिक बढी आलोचना खेपेको हुँ । भन्नु नै हुन्छ भने ‘समर लभ’भन्दा धेरै प्रशंसा पाएको कृतिचाहिँ ‘प्रिय सुफी’ हो । यसभन्दा अघि ‘समर लभ’भन्दा राम्रो लेख्नुपर्छ भनेर आफूसित प्रतिस्पर्धा गरिन्थ्यो । अहिले ‘प्रिय सुफी’भन्दा राम्रो लेख्नु छ भन्ने दिमागमा आइरहेको हुन्छ । ‘प्रिय सुफी’ले बरु एउटा राम्रो कमब्याकचैँ गरेको हुँ भन्ने लाग्छ । डेढ वर्षमा यो कृति जति बिक्यो, त्यति बिक्न ‘समर लभ’लाई पाँच वर्ष लाग्या थियो । [bs-quote quote=”‘समर लभ’ले चिनाएको हुनाले पाठकहरूले सधैँभरि त्यै किताबका लेखकको नाउँबाट चिन्नेछन् ।” style=”style-2″ align=”left” color=”#dd3333″ author_name=”सुविन भट्टराई” author_job=”साहित्यकार” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/06/subin-bhattarai-1.jpg” author_link=”https://www.facebook.com/subin.bhattarai.18″][/bs-quote] विगतका पुस्तकमा विशेषगरी युवा वर्गको सकारात्मक प्रतिक्रिया पाएको थिएँ, ‘प्रिय सुफी’बाट दुई जेनेरेसन माथिका व्यक्तिबाट समेत राम्रो प्रतिक्रिया आउनेक्रम अझै जारी छ । बाँकी त समयले नै बताउला, यसको आयु कति हुन्छ । तर के चाहिँ लाग्छ भने, ‘समर लभ’ले चिनाएको हुनाले पाठकहरूले सधैँभरि त्यै किताबका लेखकको नाउँबाट चिन्नेछन् । तपाईँलाई आरोप लाग्छ, तपाईँको कलम प्रेम र प्रणयभन्दा टाढा पुग्न सकेन । ‘प्रिय सुफी’मार्फत् यो आरोपबाट जोगिन खोज्नु भएको हो ? आरोपबाटै जोगिनका लागि मात्रै त किन लेख्नु र ? मसँग भन्ने केही कथा थियो, त्यसैले लेखेँ । आरोप ‘प्रिय सुफी’ लेखेपछि आएको छैन र ? ‘प्रिय सुफी’लाई सस्तो यौन उपन्यास भन्नेहरू पनि छन् । पत्याउनुहुन्छ ? सकिन्छ हर आरोपलाई खण्डन गर्दै हिँड्न ? मसँग भन्न लायक कथा हुँदा म जे पनि लेख्छु । मैले जति वटा, जे विषयमा लेखूँ आरोपै लाउनेले त नपढीकन सस्तो प्रेम, सस्तो यौन नै भन्नेवाला छन् भन्नेमा म ढुक्क छु । तर पढेर केस्राकेस्रा केलाएर कसैले कन्भिन्सिङ तरिकाले आरोप लाउनुहुन्छ भने त त्यसको खुलेर स्वागत मात्र गर्दिनँ, अर्को पुस्तक लेख्ने बेला त्यस किसिमको आरोपलाई दिमागमा राखेर बसेको हुन्छु । तपाईँले लेख्न सुरु गर्दा तपाईँका अधिकांश पाठक फेसबुकमा थिए भने अहिले टिकटकमा छन् । तपाईँजस्तो नवपुस्तामा बहुचर्चित लेखकका लागि यो अवसर हो कि चुनौती ? कसरी ? पहिलो त मेरा पाठकहरू हरेक ठाउँमा छन् । चाहे त्यो फेसबुक होस, ट्वीटर होस्, या इन्स्टाग्राम होस् या तपाईंले भनेझैँ टीकटक । हर ठाउँमा छन् । यो चुनौती होइन । यो मेरा लागि सुखद् पक्ष हो । चुनौती त सधैँ राम्रो लेख्नु हो । त्यही रूखमा धेरै चराहरू आएर बस्छन्, जुन रूख झ्याँगिएको हुन्छ । हराबरा हुन्छ । लेखक त्यस्तै हुनुपर्छ । उसले आफ्नो कला र शिल्पको हरियाली बिछ्याउन जान्नुपर्छ । जिन्दगीको भागदौडमा दुःख र सन्तापले रापिएका पाठकलाई तपाईँले बिछ्याएको हरियालीले शितल बनाउन सक्नुपर्छ । एउटा लेखकको लागि योभन्दा सुखद् अनुभव अर्को केही हुन्न । तपाईँलाई फलो गर्ने पाठक मात्र होइन, तपाईँकै शैलीलाई पछ्याउने नवपुस्ताका लेखकहरू पनि प्रसस्त छन् । तिनीहरूलाई के सुझाव दिन चाहनुहुन्छ ? त्यसो त म नयाँ पुस्तालाई मबाट सधैँ प्रेरणा र ऊर्जा मिलोस् भन्ने चाहन्छु । धेरै नयाँ लेखकहरूलाई भन्छु, पढ्नूस्, बुझ्नूस्, तर शैली आफ्नै निर्माण गर्नूस् । कसैको पनि शैलीलाई नपछ्याउनूस् । तपाईँ कहाँ जाने ? बाटो आफैँ बनाउनूस् । तपाईँले निर्माण गरेको शैली तपाईँको ओरिजिनल हो । र, भाउ सधैँ ओरिजिनलकै हुन्छ । अहिले प्रिन्टेटभन्दा डिजिटल भर्सनमा मानिस रमाउन थालेका छन् । यस कुरालाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ? यो समयको माग होला जस्तो लाग्छ । तर महत्त्व प्रिन्टेडको पनि उत्तिकै छ । म इबुक पढ्नै सक्तिनँ । मलाई किताबका पन्ना फरर पल्टाउँदै, कागजको बास्ना सुँघ्दै पढ्दा मजा लाग्छ । अझ त्यो पन्ना पल्टिदाँको ख्यारर्र आवाज पनि सुन्न मन पर्छ । हातमा पुस्तक बोकेका मान्छे बिछट्टै सुन्दर लाग्छन् । अनि विभिन्न कोणबाट गरिने किताबको फोटोग्राफी अत्यन्तै मन पर्छ । यो सब इबुकमा कहाँ ? डिजिटलमा कहाँ ? तर जो इबुक पढ्नुहुन्छ, वहाँहरूको रुचिलाईचाहिँ सम्मान गर्छु । गिलासबाट पिए पनि बोतलबाटै पिए पनि पानीको काम त प्यास मेट्ने नै हो नि ! तपाईंको नयाँ पुस्तक पाठकले कहिले पढ्न पाउँछन् ? तपाईँलाई कोरोनाले कत्तिको प्रभाव पारेको छ ? लकडाउनले माहौल मात्र होइन दिमाग पनि केही हदसम्म लकडाउनकै अवस्थामा पुग्यो । यो समयभरि मैले लेखिनँ । लेख्न सकिनँ । तर अरू कामहरू गरेँ । जो उल्लेखनीय नै मान्नुपर्छ । तर अब सबै सहज हुँदैछ । बिस्तारै म पनि आफ्नो लयमा फर्किनेछु । थन्क्याइराखेका नयाँ पुस्तकको पहिलो ड्राफ्टको धुलो टक्टक्याउनेछु, जसरी कैयौँ दिनदेखि नखुलेको सटर खुल्दा व्यापारीले बडारकुँडार, साफसफाइ गर्छन् । अनि गर्न थाल्नेछु शब्दहरूका कारोबार । फाल्ने, छाँट्ने, नयाँ लेख्ने, मिलाउने, भत्काउने सिलसिला चलिरहन्छ तबसम्म जबसम्म आफूलाई चित्तबुझ्ने अवस्थामा पुस्तक पुग्दैन । त्यसका लागि केही समय त लागिहाल्छ । कति लाग्छ ? त्योचाहिँ भनिहाल्न सक्ने अवस्था अहिले छैन । अन्त्यमा, बन्दाबन्दीमा तपाईँले गरेका महत्त्वपूर्ण कामलाई कसरी सम्झनुहुन्छ ? बाह्र, तेह्र जनाको परिवारमा बसेको छु । जहाँ दुई वर्षको चकचके छोरा पनि छ । अब तपाईँ अनुमान लगाउन सक्नुहोला, म बन्दाबन्दीलाई कसरी सम्झन्छु होला, के गरेँ होला ? बाँकी त समय मिल्दा तीनवटा ‘स’मा बित्यो । सिरिज, सिनेमा र साहित्य । पछिल्लो महिना त साँझको समयमा एक डेढ घण्टा वाक पनि गरियो । परिवार ठूलो भएपछि समय त के हो र ! बिताउनै पर्दैन, खुर्रर खुर्रर दौडेको दौड्यै मुठ्ठीमै नआई, यस्सै सिद्धिन्छ । #कृष्ण ढुंगेल #सुविन भट्टराई
पश्चिममा थुनिएका नवकवि के गर्दैछन् ?: को विद १९ रोगका कारण जारी लकडाउनले जीवन अस्तव्यस्त बनाएको छ। बाँच्नका लागि आफैँले आफूलाई थुन्नुपर्ने अवस्था आएको छ तर यो समयमा कविताकर्ममा लागेका पश्चिम नेपालका युवाहरू कस्ता कविता लेख्दैछन्? के गर्दैछन्? सुर्खेतकी कवि प्रतीक्षा भन्छिन्, “लकडाउनको उद्घोष हुनुभन्दा ठीक दुई दिनअघि म काठमाडौँबाट घर सुर्खेत आएकी हुँ । यसरी अकस्मात घर आएको भने यो मेरो दोस्रो पल्ट हो। पहिलो पल्ट २०७२ सालको भुइँचालो जाँदा अहिले जसरी नै एक्कासि घर आएकी थिएँ। ऊबेला घर आउँदा पाठ्यक्रमका लगभग सबै किताबहरू बोकेर आएकी म केही पनि नपढी फर्किएकीले घर गएर पढिदैन भन्ने एउटा मेरो आफ्नै धारणा बनेको थियो। सोही धारणाअनुसार यस पटक घर आउँदा मार्क म्यानसनका दुइटा किताबबाहेक अरू कुनै पुस्तक मैले बोकिनँ। यसो त लकडाउन छोटो हुन्छ भन्ने मेरो अनुमान थियो तर अन्य धेरैको अनुमानजस्तै मेरो पनि अनुमानले फेल खायो। मैले लकडाउन हप्ता दिन नकट्ला भन्ने अड्कल काटेकी थिएँ तर बढेर तेस्रो महिनामा चलिरहेको छ। ” प्रतीक्षालाई लकडाउनले आफ्नो लेखनीमा खासै असर नगरेको अनुभव छ। नयाँ कविताहरू लेख्ने र लेखिसकेका पुराना कविता सच्याउने काम यो समयमा आफूले गरिरहेको उनी बताउँछिन्। कविताबाहेक उनले विभिन्न निजी अनुभवलाई पनि लेख्ने जमर्को गर्दैछिन्। यसअघि उनले यस्ता अनुभव लेख्ने प्रयास भने गरेकी थिइनन्। प्रतीक्षा लेख्छु भनेर बस्दिनन्। जब उनलाई कुनै विषयले छुन्छ, तब मात्र उनी लेख्ने जमर्को गर्छिन् । प्रस्तुत छ उनको एक कविता – भेदभावविरुद्ध अबका सन्तति ए ! मनमाया तिमीले सिलाएको लुगाले आफ्नो लाज छोप्नेहरू तिमीलाई छोएको आभाष गर्दैनन् भने सिलाउन बन्द गरिदेऊ तिमी तिनका लागि लुगाहरू ए ! बिर्खबहादुर तिमीले बनाएको सुन लाएर ढलकढलक ढल्किनेहरू आफ्नो पसिनाले त्यो सुन भिजुञ्जेलसम्म पनि तिमीलाई छोएको आभाष गर्दैनन् भने बनाउन बन्द गरिदेऊ तिमी तिनका लागि गरगहनाहरू ए ! बिमला तिमीले बनाएको धाराको पानी तिमिल्यै बनाएको घैँटोमा राखेर घटघट पिउनेहरूले अझै पनि ती वस्तुहरूमा तिम्रो उपस्थिति देख्दैनन् भने तयार गर्न बन्द गरिदेऊ तिमी तिनका प्रयोगमा आउने सरसमानहरू ए ! रामबहादुर तिम्रा सन्तान बलात्कृत हुँदा जात धर्म केही छुट्ट्याइँदैन तर अझै पनि तिमीलाई दलितकै नाममा भेदभाव गर्न रोकिँदैन भने सहन बन्द गरिदेऊ तिमी यस्ता अमानवीय व्यवहारहरू प्रायः सबैजना मेरो श्रमको मिहिनेत आनन्दले खान्छन् तर मेरो अस्तित्वको पर्वाह गर्न यदि हिच्किचाइरहन्छन् भने बन्द गरिदिन्छु म पनि आजैदेखि उनीहरूको लागि श्रम गर्न ए ! मनमाया बिर्खबहादुर बिमला रामबहादुर हाम्रो आत्मसम्मानमै यसरी बारम्बार घोचपेच गर्दा बुझ्नुपर्छ अब हामीहरूले आफू हेपिएको सम्मानका साथ बिना भेदभाव बाँच्न पाउनुपर्छ जस्ता कानुनहरूले बुझ्नुपर्छ हामीलाई गिज्ज्याइरहेको र त च्यात्ने आँट गर्नैपर्छ हामीहरूले हामी जिउँदो हुँदा पनि नचलबलाउने हामी मरेपछि समेत नझस्किने यी कानुनहरूलाई धारे हात लाउनैपर्छ अब हामीहरूले ‘जातीय भेदभाव रहित’को तक्मा भिराउने ती शासकहरूलाई तबसम्म जबसम्म कि सिक्नेछैन पाठ यो समाजले माया र सहिष्णुताको तबसम्म जबसम्म कि साँच्चिकै घुँडा टेक्ने छैन जातिवादले हाम्रो सामुन्ने ए ! मनमाया, बिर्खबहादुर, बिमला, रामबहादुर यति नगरे त हाम्रा लागि न त यो सरकारको कानुन काम लाग्नेवाला छ न त कुनै संघसंस्थाको प्रेस विज्ञप्ति न म जस्ताले लेखेका कथा, कविता काम लाग्छन् न यो सरकारको उच्चस्तरीय छानबिन समिति । त्यसैगरी कालिकोटका अर्का नवकवि हुन्– अर्जुन आचार्य । ‘उज्यालोका मालीहरू’ सङ्ग्रह प्रकाशन गरिसकेका उनले पश्चिमै बसेर कविता लेखिरहेका छन्। कवि अर्जुन भन्छन्, “यो समय देश एउटा महामारीको संकटबाट गुज्रिदै छ र हामी स्वयम् पनि आजभोलि एउटा बेग्लै समय बाँचिरहेका छौँ। लकडाउनको पालना गर्दै म पनि तपाईंहरू जसरी नै भौतिक रुपमा आफ्नो घरमा कैद छु । अहिले म सुर्खेत भए पनि मेरो वास्तविक जन्मथलो कालिकोट भएकाले बुबा, आमा, भाइ, बहिनी सबै जना लकडाउनअगावै गाउँ जानुभएको थियो र उतै रोकिनु भयो। अहिले घरमा दाइ र म मात्र छौँ। यस्तो फुर्सदिलो समयमा घरपरिवारसँग नहुनु अझ पीडादायक हुने रहेछ । तर प्रेमलाई आखिर के ले छेक्न सक्ला र? हामी धन्य छौँ कि प्रविधिले हामीलाई भौतिक रुपमा ना सही निकट त अवश्य ल्याएको छ। एक मानेमा परिवारसँग नै छु भन्न पनि मिल्छ ।” अर्जुनलाई यो लकडाउन एउटा साधनाका लागि समय मिलेजस्तो लाग्छ। यो समयमा उनले २५ वटा पुस्तकहरु पढेर भ्याइसके। थोरै तर आफूलाई मनपर्ने आधा दर्जन जति कविता पनि लेखे। साथीभाइहरूले सुझाएका केही हिन्दी अङ्ग्रेजी चलचित्र पनि हेरे। करिब ७,००० मिनेटको “सूर्यपुत्र कर्ण” नामक हिन्दी सिरियलबाट महाभारतलाई एउटा फरक आँखाबाट हेर्ने र कर्णलाई अझ बढी चिन्ने कोसिस गरेका कवि अर्जन यो कविता पढौँ: स्वामित्व घडीले देखाएको समय पनि स्वयं उसको होइन नदीले बगाएको पानी पनि आज ऊसँग छ भोलि समुद्रको हुनेछ पर्सि बाफको अनि बादलको यो सृष्टिमा त्यस्तो केही छैन प्रिया जसमा कोही एक मात्रको स्वामित्व रहोस् मसँग मेरो भन्नु त्यस्तो के छ र? म तिमीलाई सुम्पिऊँ आफ्नो ठानेको मुटु पनि अचेल तिम्रो नाममा धड्किन्छ म त केवल एउटा शून्यता बाँचिरहेको छु केवल एउटा विशाल शून्यता ! यसैगरी विज्ञान राज कार्की दैलेखका कवि हुन् । उनी उतै रहेर कविता कर्ममा लागेका छन्। उनी भन्छन्, “देशमा बन्दाबन्दी चलिरहेको छ । त्यस्को पूर्ण पालना गरेर आफ्नो भौतिक शरीरलाई दैलेखको जन्मघरमा बन्दी बनाएको छु। तर अभौतिक शरीर जस्तै मनलाई, अन्तर्मनलाई, मानसपटलाई र काव्य चेतलाई भने पहिलेभन्दा ज्यादा मुक्त बनाएको छु। फलस्वरुप जुन यो गुजारिरहेको समय छ, त्यसको लगभग समय म आफूलाई खर्चिरहेको छु। अध्ययनमा खर्चिरहेको छु। लेखनीमा खर्चिरहेको छु। हतारहतार सुर्खेतबाट हिँडदा मेरो झोलामा पाठ्यक्रमका कुनै किताब परेनन्। बरू परे अमला अधिकारिको आलय, धुव्रचन्द्र गौतमको अलिखित, काव्यकृति ‘अनुहारको भीड’ र ओशोका प्रवचनहरूको संग्रह ‘साइलेन्स द म्याजिकल डोर टु इटरनिटी’ । ती एक महिनाभित्रमा पढेर सकेँ । त्यसपछि के पढने ? केही दिन उल्झनमा बिताएँ। एकदिन यसो बुबाको लाइब्रेरीमा छिरेँ। ओल्टाइपोल्टाइ गर्दा ‘सुकरातको आत्मकथा’ फेला पारेँ । भोक यति थियो कि दुई तीन दिनमै सकिदिएँ । त्यसपछि साथीहरू, अग्रज दाइलाई भनेर केही बुकका पिडिएफ फाइलहरु प्राप्त गरेँ। हिजोआज त्यसैमा आँखा डुलाउँदैछु।” उनी अहिले गाउँमा छन्। बिजुलीको अभाव छ। ल्यापटप त यसै पनि नचल्ने भइहाल्यो, सोलारका कारण मोबाइल फोन भने चार्ज गर्नसम्म सकिन्छ। फुर्सदिलो समयमा केही फुरेको खण्डमा कापीमा कविता खेस्रा लेखेको उनी बताउँछन्। पुराना कविता सम्पादन र नयाँ कविता लेखनमा व्यस्त रहेका विज्ञानको यो कविता पढौँः प्रतीक्षालयमा दुइटा बेन्च प्रतीक्षालयमा काठका दुइटा बेन्च राखिएका छन् जसमध्ये एउटामा मानिस बसेको छ जसका आँखा निरन्तर कालोपत्रे सडकको कुनै एक भागलाई मात्र हेरिरहेका छन् जुन भागसँग उसको जीवनको महत्त्वपूर्ण भाग जोडिएको छ कि उसले कति विलाप गरेथ्यो आफ्नी प्रेमिकासँग आफूलाई घृणा नगर्न आफूलाई छोडेर नजान आफ्नो आँखामा भविष्य खोज्न आफ्नो ओठमा जोरले चुम्बन गर्न आफ्नो शरीरमा लिप्टिन आफूसँगै यो झुपडीमा बस्न आफूसँग यो जिन्दगी व्यतित गर्न नसम्झिन खोज्दा पनि आइरहेछ झलझली उसका आँखामा त्यो दृश्य उसकी प्रेमिका गएको दृश्य उसको प्राण गएको दृश्य तर सम्झिन खोज्दा पनि आइरहेको छैन उसको स्मृतिमा कि कसले बनायो झुपडीमाथि कालोपत्रे सडक ? कि कसले बनायो आफूमाथि नीलोपत्रे आकाश ? ऊ खाली हेरिरहेछ कालोपत्रे सडकको त्यो भाग जुन भागबाट पहिलो पल्ट ऊ गुमेको थियो जुन भागबाट अन्तिम पल्ट ऊ गुमेको थियो त्यसपछिदेखि ऊ उदास र निरस भएर बसिरहेछ प्रतीक्षालयको एक बेन्चमा प्रतीक्षा गर्दै कि कोही आउनेछ र खोज्नेछ उसलाई तर कोही आइरहेको छैन कोही आउने छैन कहिल्यै किनकी ऊ पृथ्वीमा बचेको अन्तिम मानिस हो किनकी ऊ पृथ्वीमा फँसेको अन्तिम मानिस हो । त्यसमध्य अर्को बेन्चमा चरो बसेको छ जसका आँखा आकाश हेरिरहेका छन् आकाशको छातीमा उडिरहेका बादलका बचेराहरू हेरिरहेका छन् ऊ खोजिरहेछ त्यो अन्तिम बादलको बचेरा जसलाई उसले अन्तिम पल्ट उडन सिकाएथ्यो र उसका आँखा आकाशको सम्पूर्ण फैलावटको अन्तिम क्षितिजसम्म हेरिरहेका छन् जहाँ सूर्य अवस्थित छ जुन छ, ताराहरू छन् जताततै नीलोपन छ उसलाई टडकारो सम्झना छ कि यी तिनै हुन्, जसलाई उसले धरतीतिर हेर्न सिकाएको थियो धरतीसँग मौन संवाद गर्न सिकाएको थियो उसले नै हो समुद्र र नीलोपनको उसले नै हो जून र जूनकीरीको उसले नै हो बादल र स्वतन्त्रता बीचमा जीवन चक्र मिलाएको तर एकदिन आकाशमा उसको उडाई अकास्मात निषेध गरियो पखेटा फटफटाउदा फटफटाउँदै आकाशमा उसले थाहा पायो कि ऊसँग पखेटा छैन, उफ् ! ऊ खस्यो तर संयोगवश प्रतीक्षालय नजिक खस्यो त्यसपछिदेखि ऊ छ्टपटाउँदै छटपटाउँदै बसिरहेछ प्रतीक्षालयको एक बेन्चमा प्रतीक्षा गर्दै कि कोही आउने छ र पखेटा दिनेछ ! तर कोही आइरहेको छैन कोही आउने छैन कहिल्यै किनकि ऊ पृथ्वीमा बचेको अन्तिम चरो हो किनकी ऊ पृथ्वीमा फँसेको अन्तिम चरो हो । #अर्जुन आचार्य #निरज दाहाल #विज्ञान राज कार्की
आऊ हामी, आगो फुल्ने रुख बनौं!: रवि रोदन हाम्रा आँखाहरु चिथ\u200dोरेर उनीहरु आकाशतिर हेर्दै चिच्याउँछन् र भन्छन् – आऊ हिर्काउँ यो घाम आऊ फुटाउँ यो घाम हाम्रो आङमा जब पनि पोखिने गर्छ तातो घाम ! गिद्धहरु आफ्ना आँखामा हरबखत आगो बोकेर हिँड्छन् #द्रोर्णाचार्यले निष्कासित गरेपछि नै हो #एकलव्य तलतिर घोप्टो मुख लाएर बसेको एकलव्यले औँली चुडायो र देखाइदियो अर्जुण र उसको रगत एउटै हो उनीहरुले पत्यानन् वास्तवमा एकलव्य निख्खुर कालो छ ऊ कुरुप छ #ऊ_एकलव्य हो #ऊ_जर्ज_फ्लोइड हो #ऊ_नवराज_विक हो #ऊ_दीपिका परियार हो #ऊ_दीपशीला सुनार हो #ऊ_जगत राम हो #ऊ_रामलाल हरिजन हो। जातीय विभेद रङभेदकै कारण घिच्रोमा घुँडाले बेस्सरी थिचेरै सडक बीच निर्दोष #जर्ज_फ्लोइडहरु मारिन्छन् त्यो अमेरिका यता भारतमा पनि छ नेपालमा पनि छ। घामबिनाको कालो संसारमा हामी सुतेकै ओछ्यानमा उनीहरु लुकेर आउँछन् र बलात्कार गर्छन् हाम्रो शरीर स्वाभिमान र त्यसपछि हाम्रो अनुहारमा तातै नुनिलो पिसाब फेर्छन्। विरोध गर्ने हाम्रा टाउकाहरु कुल्चेर हाम्रो लाशहरुमाथि उभिएर उनीहरु गीतार बजाउँछन्। सास फेर्न गाह्रो भएको छ हामी बाँची रहेको मुलुकभित्र सास लिन पाउनुपर्छ मर्न अघि बोल्न पाउनुपर्छ सबले #जर्ज_फ्लोइडले मर्नअघि बोले। लोकतन्त्रको बाघ गर्जिने यो मुलुकमा मजदुरहरु मारिन्छन् छोरीहरु लुटिन्छन् खोलाका बगरमा दलितहरुको हत्या गरिन्छ न्यायको नाममा अन्याय गरिन्छ सत्ता चुपचाप रमिता हेर्छ । हाम्रो छुटेको अनुहार अब कस्ले खोज्ने?? यो असमानताका साङ्गलाहरु चुँडिनुपर्छ लु बनौं न हामी विप्लवी अब बरु उनीहरुले बाघी घोषित गरोस् हामीलाई यो युद्धमा हामी होमिनै पर्छ आऊ हामी आगो फुल्ने रुख बनौं!! ( सिक्किम, भारत) #जर्ज फ्लोइड #नवराज विक #भारत #रवि रोदन #विभेद #सिक्किम
तिम्रो आकाशबाट: तिलक चुँदाली म उस्तै त छु केवल यी केश पाके धुमिल बने आँखा धर्मराउन लागे यी गोडा । म ओतिने ओत उस्तै त छ अझै तिमि ओत लाग्ने बेलाकै जस्तो केवल छानो धान्ने यी केही जोर भित्ताहरु सुनाउँछन् सुस्केराहरु अचेल । झुसिलकिरा थियौ सायद जानी-नजानी रङ्ग भरें उड्नै नमान्ने तिमिलाई कठोर बन्दै लात्ती देखाएं तिमी पुतली थियौ र त उड्यौ तिमी चरा थियौ र त उड्यौ। तिम्रो आकाशबाट धुजा परेका पातहरु यो खाली गुँड कमजोर यी गोडा रङ्ग भर्ने हातहरु कस्ता देखिन्छन होला कि कतै धुमिल धुमिल बन्दै अन्त्यमा मेटिन्छन् होला? #तिलक चुँदाली
मुटुको व्यथाले कक्रक्क भएपछि...: इतिहास यस्तो विषय हो, जो मेटाएर मेटाउन सकिँदैन । कुनै बेला शक्तिमै भएका कारण महान् भनेर पुजिएका राजा महेन्द्रलाई अहिलेको अवस्थामा सम्झनु पाप जस्तो ठानिने गरिन्छ । सत्ताको आफ्नो धर्म होला तर कवि मवीवि शाहलाई नसम्झनु भनेको सबै लेखक कविको अपमान हो । साहित्यपोस्ट सत्ता र शक्तिको भरमा कसैको इतिहास मेटाउने पक्षमा छैन । राजाका रुपमा उनको गुण दोष केलाउने हाम्रो काम होइन तर कविको रुपमा उनको सम्मान गर्नु हाम्रो धर्म हो । यसै सन्दर्भमा आज राजा महेन्द्रको सयौँ जन्मजयन्तीको अवसरमा आज दिनभरि नै उनका सामग्रीहरु पस्कने छौँ। स्मरण शृंखलाअन्तर्गत यो अर्को आलेखः राजा महेन्द्रका छेउमा रहेर कीर्तिनिधि विष्टले केही आनीबानी, रहनसहन र सौख आदिको पनि अध्ययन गर्ने मौका पाए । जसअनुसार राजा महेन्द्रका इच्छाहरूमा शिकार खेल्नु पनि एउटा सौख मानिन्थ्यो । त्यस मामलामा आफू मात्र सरिक नभई आत्मियहरूको एउटा जुलुस जस्तै भेला पारेर सौख बाँड्ने राजाको प्रवृत्ति थियो । वास्तवमा राजा महेन्द्रका लागि शिकार पनि एउटा खेल नै मानिन्थ्यो र त्यसमा कहिलेकाहीँ कीर्तिबाबुलाई पनि संलग्न गराउन उनलाई मन पर्थ्यो । त्यसै परिप्रेक्ष्यमा २०२२ सालमा राजा महेन्द्र शिकार खेल्न महाकाली अञ्चलको शुक्लाफाँटा जाँदा राजा महेन्द्रका साथ परराष्ट्रमन्त्री कीर्तिनिधि विष्टको पनि उपस्थिति थियो । शिकारको खेल एउटा रमाइलो खेल मानिए तापनि त्यस बेला त्यो खेल सँगसँगै एउटा भयङ्कर प्रसङ्गको उपस्थिति पनि भएको थियो । त्यसै बेला जङ्गलको माझमा राजा महेन्द्रलाई प्रथमबार हृदयाघात भएको थियो । त्यस समय उनका साथ कीर्तिबाबु रहेका थिए । राजालाई ह्दयाघात भएको ठाउँ एउटा मचान थियो जहाँ एउटा चकला मात्र बिछ्याइएको थियो । हृदयाघातपछि महेन्द्रलाई त्यही चकलामा सुताइएको थियो । त्यस घटनाबाट त्यहाँ निक्कै ठूलो हाहाकारको सिर्जना भएको थियो । त्यस घटनाले कीर्तिबाबुको जीउ पानी नै पानी भएको थियो । हुन त त्यहाँ राजाका साथमा अनुभवी बङ्गाली डाक्टर हल्डर पनि गएका थिए र उनले हत्तपत्त राजाका पाखुरामा इन्जेक्सन लगाइदिएका थिए । अनि समयको फेरो समाउँदै जाँदा राजाको अनुहारमा आशाको केही न केही प्रभाव देखा पर्न थालेको अड्कल कीर्तिबाबुलाई पनि भएको थियो । त्यस बेला राजा महेन्द्रलाई ठूलो पीडा भएको कीर्तिबाबु बताउँछन् । त्यही पीडामा राजाले निक्कै रन्थनिनुपरेको थियो । राजाको शरीरभरि खलखल पसिना आएको थियो । त्यस बेला राजा महेन्द्र कीर्तिबाबुका पाखुरा र नारीको बीच भागलाई सिरानी लगाएर सुतेका थिए। त्यसै बेला राजा महेन्द्रले उनलाई स्वतःस्फूर्त रूपमा भनेका थिए, “खोइ कीर्तिनिधि, अब के हुने हो; मलाई जे भए पनि मेरो देश बाँच्नुपर्छ । म मरे पनि मेरो देश बाँचिरहोस् ।” त्यसपछि राजा महेन्द्र मूर्छा परेका थिए । राजा महेन्द्रको ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ भन्ने संवेदनशील देशभक्तिको वाणी सुनेपछि कीर्तिबाबुको छाती छियाछिया भएझैँ दुःखी भएको थियो । नेपालीका अभिभावक, नेपालीका भरोसाका केन्द्र र नेपालका एक सजग सबल प्रहरी राजा महेन्द्रको त्यो स्थिति हेरेर कीर्तिबाबु विक्षिप्तको जस्तै मानसिकतामा बसिरहेका थिए । राष्ट्रको चिन्तामा हृदयको रोदन पोख्तापोख्दै त्यस बेला राजा महेन्द्र अचेत भएका थिए । राजा महेन्द्रको उपचारार्थ जङ्गलमा तत्कालै मुटुविशेषज्ञ डा.मृगेन्द्रराज पाण्डे पनि झिकाइए र उनी पनि त्यहाँ गएर राजाको उपचारमा सरिक भए । अनि केही दिनपछि अमेरिकाबाट पनि चिकित्सकहरू आए जसअनुसार अमेरिकन डा. मेटिङ्ग पनि राजा महेन्द्रको स्वास्थ्यउपचारमा केन्द्रित भए । डा. मेटिङ्ग अमेरिकन राष्ट्रपति हावरका विशेष चिकित्सक थिए । हावरलाई पटक, पटक हृदयाघात भएको थियो । अनि उनका भरोसा नै डा. मेटिङ्ग थिए । राजा महेन्द्रलाई केही आराम भएपछि उनलाई टीकापुर ल्याइयो । कर्णालीको भङ्गालोनगिचै राजा महेन्द्रका लागि काठको एउटा कुटी बनाइएको थियो । त्यहीँ नै राजाको सम्पूर्ण स्वास्थ्यउपचार गरिएको बेहोरा कीर्तिबाबु बताउँछन् । टीकापुरमा राजा महेन्द्रलाई स्वास्थ्यलाभ भएपछि त्यहाँ उपस्थित सबै जनामा उत्साहको वातावरण सिर्जना भएको थियो । राजालाई आराम हुन थालेपछि त्यहाँ उपस्थित व्यक्तिहरूको हर्षको सीमा थिएन । कीर्तिबाबुका अनुसार हरेक दिन त्यहाँ एउटा सानो कविगोष्ठीजस्तो पनि हुने गर्दथ्यो । एक दिनको त्यस्तै कार्यक्रममा एउटा क्यासेट पनि बजाइएको थियो । त्यो गीतकी रचयिता र गायिका रानी रत्न अर्थात् रञ्जना शाह भएको जानकारी त्यहाँ उपस्थित सबैले पाएका थिए । अनि भोलिपल्ट राजदम्पतीको राजधानी सवारी भयो । काठमाडौँमा राजा महेन्द्रको सवारी भएपछि राजधानीमा गाइँगुइँ हल्ला चल्यो, “कीर्तिनिधि विष्ट अलच्छिने मान्छे रहेछ । त्यो मान्छे राजासँग गएर राजालाई हृदयाघात भयो ।” त्यो बेहोरा बिस्तारैबिस्तारै राजाका कानमा पनि पुग्यो । त्यस बेला त्यस्ता अन्धविश्वासमिश्रित टिप्पणीले राजालाई पनि केही दुक्ख लागेजस्तो भनाइ सुनिन्थ्यो । केही समयपछि राजा महेन्द्र पुनः शिकार खेल्न जाने प्रसङ्ग निक्ल्यो र राजदरबारमा रात्रिभोजको आयोजना पनि गरिएको थियो । त्यस कार्यक्रममा राजाबाट कीर्तिबाबुलाई पनि राजदरबारमा बोलावट भयो । त्यस बेला उपस्थित सम्पूर्ण व्यक्तिहरूले सुन्ने गरी राजा महेन्द्रबाट एउटा शब्दावली प्रकट भयो, “ए कीर्तिनिधि, तिमी त अलच्छिना रे; तिमी मसँग हिँडेकाले मलाई हर्ट एटेक भयो; हगि? ल, फेरि म शिकार खेल्न जाँदैछु, तिमी पनि उहीं हिँड । तिमी धीरेन्द्रसँग आऊ है।” कीर्तिबाबु फेरि टीकापुर जङ्गलमा पुगे । त्यहाँ राजाले भेट्नेबित्तिकै विष्टलाई प्रश्न भयो, “कीर्तिनिधि, शिकार खेल्ने हैन त ?” त्यति मात्र होइन, त्यसै कालमा राजाबाट उनलाई कविता लेख्न पनि सुझाउ भयो । त्यसै प्रसङ्गलाई आधार बनाएर उनले भने “महेन्द्रको प्रेरणा पाएर मैले पनि दस वटा जति कविता लेखेको छु । एउटा कविताले त रत्नश्री स्वर्णपदक पनि प्राप्त गरेको थियो ।” अतिरथी सुरेन्द्रबहादुर शाहाको चिठीपत्रमा विष्टका केही कविता पनि रहेका छन् । तर कीर्तिबाबु कविता मात्र लेख्ने होइनन्; कुनै समयमा उनी अभिनयकलामा पनि लागेका थिए । त्रिचन्द्र कलेजमा पढेका बेला बालकृष्ण समको निर्देशनमा कीर्तिबाबुले नाटकमा अभिनय गरेका थिए । उनले त्यस बेला सेक्सपियरको नाटक जुलियस सिजरमा आफ्नो सशक्त भूमिका पूरा गरेका थिए । त्यसै बेला कमल दीक्षितले पनि ब्रुटस्को भूमिकामा अभिनय गरेका थिए । टीकापुरस्थित राजा महेन्द्रको सवारीशिविरमा सुरेन्द्रबहादुर शाहाले पनि एउटा नाटक मञ्चनको कार्यक्रम गरेका थिए । त्यस ठाउँमा बनाइएको मञ्चमा कीर्तिबाबुले पनि शाहाद्वारा निर्देशित अभिनय गरे । त्यस समय राजा महेन्द्रबाट पनि अभिरुचिपूर्वक त्यो नाटक नजर भएको थियो । नाटक सकिएपछि राजाबाट अर्को वाक्य प्रकट भयो, “मन्त्रीको अभिनय सबैभन्दा राम्रो लाग्यो ।” त्यति बेला त्यहाँ नाटकमा अभिनय गर्नेहरूमा राजा महेन्द्रको उपचारमा संलग्न डा.मृगेन्द्रराज पाण्डे र डा. सच्चेकुमार पहाडी पनि थिए । साथै त्यहाँ रहेका डा. लक्ष्मण पौड्याल र अरू डाक्टरहरूले पनि नाटकमा अभिनय गरेर आफ्नो कलाको प्रदर्शन गरेका थिए । कीर्तिबाबुले राजा महेन्द्रकै सङ्गतबाट कविता लेख्न थाले । राजा महेन्द्र बराबर अरूलाई आफ्ना कविता सुनाउँथे र आफू पनि अरूका कविता सुन्न चाहन्थे । एकपटक मोतीजयन्तीको उपलक्ष्यमा राजा महेन्द्रले कविताको शीर्षक ‘देशको माटो’ दिएका थिए । त्यस शीर्षकमा धेरैले कविता रचे । साथै कवि मवीवि शाहले पनि एउटा कविता रचेर कीर्तिबाबुका हातमा दिएका थिएः जसले बिर्स्यो देशको माटो, जिउँदै मर्यो त्यो जसले सम्झ्यो देशको माटो बाँच्यो सधैँ त्यो । मोती जयन्तीसम्बन्धी कविगोष्ठीमा राजाकै निर्देशअनुसार कीर्तिबाबुले नै राजाद्वारा रचित कविता वाचन गरेका थिए । #नरेन्द्रराज प्रसाई #मवीवि शाह #राजा महेन्द्र
\xa0मलाई मान्छे नभन: मैले दुइटा खुट्टा सुरेन उप्रेती टेकेर लुखुर लुखुर हिँड्दा अरूले तयार पारेको लगाएर लाज छोपेर उभिएर मेसिनजस्तै ट्याउँट्याउँ बोल्दैमा मलाई मान्छे नभन । थुतुनोमा रौँ पलाएपछि खौरन जानेँ भन्दैमा मेसिनले झैँ छाप्न र छापिएको बोलाउन जान्दैमा प्रोग्रामिङ गरेको रोबोटजस्तै भीर पाखा चहारेँ भन्दैमा मलाई मान्छे नभन । एउटा उन्माद राँगाले पनि साना बाच्छा र बाख्राहरूलाई सिङ रोपेर आन्द्रा निकाल्दैन रिसाएको कुकुरले पनि अरूका छाउराहरूलाई निर्दयी भएर लुच्छदैन रगत तन्तनी पिउँदैन म च्यूत भैसकेँ पशु र कीरा भन्दा पनि अझ धेरै तलको ।। कुनै सोच, विवेक र करूणारहित कलिला मुनाहरुमा नङ्ग्रा धसेर रमाउने क्रूर र हिँस्रक जनवार भन्दा तुच्छ प्रकृतिमा त्यस्तो कुन प्राणी होला र ? मेरो मगजमा कुनै सम्वेदना उम्रदैन भने चेतना नभएर माया ममता विवेक शून्य छ मने म कसरी मान्छे भएँ कि त मान्छेको परिभाषा फेर के गर्छौ यो एक्काइसौँ शताब्दीको फलाको हालेर कसैले पुस्तौँ अगाडि रेकर्ड गरेर छोडेको क्यासेट जस्तो अन गर्दा बर्बराउने मात्र भै सकेँ भो मलाई मान्छे नभन। अटवा, क्यानडा #क्यानडा #सुरेन उप्रेती
लाहुरे फूल: सुरेन्द्र लिम्बू परदेशी अतृप्त रहर बोकेर मनमा जब लाउने छौ मलजल पक्कै मौलाउने छ आँगनको डिलनेरि मैले रोपिछाडेको लाहुरे फूल । साँच्चै त्यो लाहुरे फूल ओइलायो भने त सम्झने छौ लाहुरे कसम ऊ कतै दुस्मनको घेरामा पर्यो कि ! बैरीको डेरामा पर्यो कि ! उषा, क्यैकथम् जल्न खोजे आस्थाका बिम्बहरू ढल्न खोजे विश्वासका प्रतीकहरू मुक्कुम्लुङ्मालाई शक्ति माग्नु हिमसाम्माङ्को भक्ति गर्नु बुख्याँचा देखेर कुनै त्रासको कहिल्यै हरेस नखानु । लाहुरे फूल क्याभानिल्सको मेक्सिकन फूल मात्रै होइन तिम्रोलागि आस्थाको पाति चढाउने विश्वासको देउराली हो जीवन-युद्धमा हिँडेको लाहुरेको जोखाना हेर्ने पवित्र फूल हो । उषा, यता गोर्खा राइफल्समा बेस्कन अठ्याउँदा तिम्रो सम्झनाले पोख्न नसकेर असीम माया लेख्न नसकेर मनका कुरा आजकल म आकासको अनन्त गहिराईसम्म अक्षरहरू ब्ल्याङ्क फायरिङको धुँवाझैँ लामबद्ध उडाई रहेछु “ए मेरा अक्षरहरू हो छुट्टी गरेर घर जाओ बरु शब्दकोषतिरै फर्क होइन भने किन मसँग टाढा हुन्छौ ? म अब लेख्न चाहन्छु अवोध चेतनालाई विनिर्माण गरेर नवचेतनाको लाहुरे फूल ।” नोट: लिम्बू भाषामा- मुक्कुम्लुङ्मा – कुम्भकर्ण हिमसाम्माङ् – घरको कूल देवता #सुरेन्द्र लिम्बू परदेशी
गाउँमा हराएको गाउँ: जीवित खड्का मगर सबेरै हल्लागर्दै ढिँकीजाँतोहरू मस्त निदाइरहेको घामलाई उठाइरहन्थे र घाम क्षितिज आमाको काखबाट उठेर आइनपुग्दै आँगनमा आइसक्थ्यो हिँडेर उकालैउकालो पँधेरीखोलाको पानी आइसक्थे आफ्नै हाँगाको पात बजाउँदै वनका बुटाहरू । लहलह हरिया खेतहरूमा सबेरै पुग्थ्यो पहाड र दिनभरि पसिनाको छहरामा नुहाएर बेसीदेखि शिखर उक्लिन्थ्यो सधैँ साँझमा । मुरलीको धून पछ्याउँदै गीतका हरफ बोकेर दिनभरि ग्वालाहरूसित गीत गाउँथे जंगलका चराहरू र साँझपख भोलि गाउने नयाँ गीतको धून बोकेर फर्किन्थे गुँडमा । टा…ढा, भीरको बाटो यतै गाउँतिर आइरहेको देखेर सुकिला मान्छे सायद लाहुर बोकेर आएकोझैँ आफ्नो लाहुरे छोरा सम्झेर जोर आँखा सधैँ मूलबाटोमा राखिर’न्थे वृद्ध बाआमाहरू । मेला हेर्न आएका तन्नेरी हिमालहरूले कुन्नि ! के-के कुरा गरिदिन्थे आँखैआँखाको भाषामा ? कि छेवैमा फक्रेको गुराँस लजाएर झन् रातो-रातो देखिन्थ्यो साँच्चै ! उतिबेला गाउँ फक्रिएको गुराँसजस्तै देखिन्थ्यो । तर अचेल यहीँ माटो खनेर बसेका घरहरू यहीँ माटोमा पाइला टेकेर उभिएका पहाडहरू अनायासै अपरिचितजस्तो लाग्न थाल्छ जहाँ गाउँको सुवास छैन, गाउँभन्दा पर … कहीँ हराएझैँ लाग्छ । दैलोमा सधैँ आइरहन्छ भेट्न सहरलाई छोएर आएको दलालजस्तो हावा र गाउँबाट गाउँको पहिचान उडाएर लै’रहन्छ । यता, आधुनिक सपना ओढेर फुर्सदमा सुतिरहेछ मैलो पहाड र पानी खोज्दाखोज्दै बगर भएकाछन् मूल नफुटेर ओठ सुकेका खेतहरू सुनिदैन हाँगाहाँगामा गाउँको गीत जहाजजस्तो उडेर कतै हराइरहेछन् जंगलका चराहरू बरू आफ्नै पीडाको घाउ ठुँगेर ठुटामा रोइरहन्छ एक्लो न्याउली । ओ, दूरदेशका पर्यटकहरू ! गाउँमा अहिले गाउँ हराएकोछ । #जीवित खड्का मगर
रारा कि अप्सरा?: इतिहास यस्तो विषय हो, जो मेटाएर मेटाउन सकिँदैन । कुनै बेला शक्तिमै भएका कारण महान् भनेर पुजिएका राजा महेन्द्रलाई अहिलेको अवस्थामा सम्झनु पाप जस्तो ठानिने गरिन्छ । सत्ताको आफ्नो धर्म होला तर कवि मवीवि शाहलाई नसम्झनु भनेको सबै लेखक कविको अपमान हो । साहित्यपोस्ट सत्ता र शक्तिको भरमा कसैको इतिहास मेटाउने पक्षमा छैन । राजाका रुपमा उनको गुण दोष केलाउने हाम्रो काम होइन तर कविको रुपमा उनको सम्मान गर्नु हाम्रो धर्म हो । यसै सन्दर्भमा आज राजा महेन्द्रको सयौँ जन्मजयन्तीको अवसरमा आज दिनभरि नै उनका सामग्रीहरु पस्कने छौँ। स्मरण शृंखलाअन्तर्गत मवीवि शाहको चर्चित कविताः देखेँ जसै तिमीलाई तस्वीरमा धेरै दिनअघि, मनमा अनि तनका दुवै आँखाले अस्ति मात्र टाढैबाट दूरबीन थपेर डाँडाबाट पारीबाट माथिबाट हिउँमा बसेर। अफसोस! तैपनि- कहाँ देखेँ र तिमीलाई दूरबीनका दूलाबाट न तिमीलाई, न तिम्रो गहिराइलाई, न सौन्दर्यलाई। पहिलो दृश्यमा देखेछु मैले ता तिम्रो सट्टा तिम्रो सुकोमल शरीरमाथि उफ्रिरहेका नाचिरहेका उर्लंदो छालमा डुबुल्की मारिरहेका उषाको लालीमा मध्याह्नको रिमझिममा परेको इन्द्रेनी डाँफेका प्वाँखमा वसन्तका रसिला कोपिलाहरू- सुसाएका सल्लामा साथै लेकका लालीगुराँस-थुँगामा अनि देखेछु अझै- सन्ध्याको सुनौलो वेला सम्पूर्ण- मेरा गीतहरू संगीतमा घोलिएका- देखेँ चकमन्न कालो रात छेडेर भर्खरै निस्केका चाँदका रश्मि पनि- अनि, अनि मात्र, अन्त्यमा देखेँ अनुहार मेरी प्रियाको, प्रिय वस्तुको सृष्टिको सम्पूर्ण सौन्दर्यमय राम्रो- रारा ! रारा !! रारा !!! देखेर अल्मलिएछु, सायद म आफैँ बेहोशले तिम्रो सुन्दरतामा। तैपनि तिमीलाई चिन्न सकिनछु, बोल्न सकिनछु, व्याख्या गर्न मेरो कलमै चलेनछ। त्यसैले अत्तालिँदै सोधेछु, कराएछु, चिच्याएछु ए! रारा! बताऊ! रारा भनेको तिमी को हौ? स्वर्ग कि अप्सरा? अथवा, इन्द्रको कोपले गर्दा झर्यौ पृथ्वीमा, धेरै वर्षअघिदेखि रहिआयौ यस सुनसानमा उपेक्षित? भन! भन- बिन्ति छ मेरो अथवा- स्वर्ग नै ठान्यौ तिमीले झुक्केर आई अनि बस्यौ यस पृथ्वीमा एसियाको धुकधुकीमा रारा- मा, नेपालमा नेपालीको यो प्यारो देशमा? पातली, कम्मर छिनेकी सुन्दरी युवती सरि कसरी जान्यौ, लागू भरेर, जादू गरेर ती ठूला परेली आँखा झिम्काउन, लोभाउन जसले हेर्छ तिमीलाई एकैचोटि मात्र पनि? कसले सिकायो भनन- ए रारा तिमीलाई प्रत्येक छालमा रत्न जड्न घोलेर पिलाउन, भुलाउन अमृतका घुड्का सासका घुड्कै पिच्छे? अनि, अनि सुखमय, शान्तिमय परमेश्वरको देन- प्राकृतिक सुन्दर दृश्यलाई घोचेर लालची आँखाको नानी छिचोली मनुष्यको न्यानो मुटुको भित्रसम्म पुग्न? या पठायो कसले तिमीलाई गीतमा संगीत भर्न कल्पनामा कविता कोर्न अनि छातीमा टाँस्सिन, टाँस्सिइरहन? हे पवित्र प्रकृतिका स्वामी! अझै जसले पृथ्वी, ग्रहादिलाई झुण्डयाई, रिङ्ग्याइरहेछ मनुष्यलाई पालैसँग सास फेराउँदैछ भनन यो के हो? के आज- विश्वको चोखो प्राकृतिक सुन्दरता छैन कतै अन्य संसारमा? बटुली सर्वस्व सुन्दरताको भण्डार सोहोरेर के खन्यायौ यसै रारा-मा? घोलेर मिलाई- पहिराई हिमगिरिका मुक्तहार गलामा हरियो सुखमय प्राकृतिक मानव-जीवनमा नेपालीमा- हाम्रै प्यारो नेपालको सूर्य-चन्द्राङ्कित ध्वजाको, स्वतन्त्र छायाँमा हिमालमा नेपालमा राम्रो रारा-मा? #मवीवि शाह
मोक्ष एकान्तवासमा: ऊ न त खुसी छ न त दुखी नै छ न श्वास न त निःश्वास को एहसास न राग कुनै व्यक्ति, वस्तु, विशेषप्रति न त द्वेष न कोही आफ्नो उसको न त कोही विरानो न अङ्गिकार गर्छ ऊ प्रगतिपथ न त निरंकुश पक्षधर न गर्छ क्रिया न जनाउँछ प्रतिक्रिया । उसका इन्द्रियहरू केवल विषयसंग साक्षात्कार गर्छन् ,तिसंग प्रलिप्त हुदैनन् । उसले कोही हाँसेको देख्छ, संगै संगै मुस्कुराइदिँदैन कोही रोडा रोदनमा पाउँछ, पत्थर दिल भैदिन्छ कोही उसैको तारिफ गरिदिन्छ, मतलब गर्दैन कोही वाक्वाणिर अश्त्र झटार्छ, द्रष्टा बनी हेर्दछ । ऊ बन्छ अध्य्ता जीवन, जगत, कला, राजनीति साहित्यको केही क्षण हेर्दा ती सृजित ज्ञान् को चर्मचक्षुदेखि पाउँछ भुमण्डल मिथ्या भेट्छ विवेकशील कहलिएको मानव मति र विवेक भ्रष्ट भैकन धन, यौन, तन सुखको भुल भुलैयामा रमाएको । ऊ पाउँछ आफ्नो पाञ्चभौतिक शरीर आत्माले छोडेको ठान्छ आफू जीवन् मरणको चक्रदेखि छुट्कारा पाएको योग ध्यानको बेला मात्रै हुने एकाग्रता छ उसमा छाएको एकान्त बासको यो अपुर्व अनूभव दिगो होस् छ उ चाहेको । कोही ठाने उसलाई फलानो एक्लियो,बौलायो कोही ठाने आत्मबोध,तत्वदर्शनमा लाग्यो ठीक ग¥यो आदि टीका टिप्पणी सुन्दा लाग्ने उसलाई रमाइलो यी येस्तै शब्द कोर्दै डायरीमा गर्दै छ बसी बियाँलो । #मोक्ष एकान्तवासमा
मेरो सरकार के भयो भयो ?: साँच्चै मेरो सरकार के भयो के भयो ? न कम्युनिष्ट भयो ? न सोसलिस्ट भयो ? न रक्षक भयो ? न शिक्षक भयो ? न खेलाडी भयो ? न त अभिभावक नै भयो ? वक्तव्यमा रुष्ट भयो कर्तव्यमा भ्रष्ट भयो खै के भनौँ मेरो सरकार के भयो के भयो ? गम्भीर भएर मन मनै सोच्छु मनन् पनि गर्छु र आफँैले आफँैलाई भन्छु कतै अभिभावकत्वबाट भागेको स्पष्ट भयो घाममा भोट हालेर बनाएको घाम जस्तै आफ्ना नै नभन्ने हतौडा जस्तै नचलाएसम्म नचल्ने कलम जस्तै औसीको जुन झैँ प्रष्ट भयो मेरो सरकार के भयो के भयो ? तिमी कुर्सी जोगाऊ देश त आफँै जोगिन्छ जनता नै एक जुट हुनुपर्छ एक वित्ता माटो मिचिदा भाइ भाइ लड्ने टुट्ने देशमा कयौँ सिमाना मिच्दा छिमेकीले मेरो सरकार टुलुटुल हेरी बस्ने भयो न रक्षक भयो न त कम्युनिष्ट भयो मेरो सरकार के भयो भयो देशव्यापी माहामारी छ सरकारमा गुटवन्दी भारी छ श्रमजिवी बिचल्ली भइरहेछ सरकार त्यसैमा रमाइरहेछ समाधानको त कुरै छाडौँ परिक्षण बर्षै नसकिने गरी घाम झैँ डाँडा पारी छ मानौँ विश्वको कुनै प्रसिद्ध खेलमा भाग लिइ गोल्ड मेडल नै लेराउनेझैँ दिन रात सत्ता, कुर्सीको खेलमा थपडी मारिरहेछ निरन्तर लडिरहेछ सेवा सुविधा पाकै छन् मात्र जनता, सर्वसाधरणमा दुख भयो मेरो सरकार न त खेलाडी भयो ? समानताका कुरा गर्दै हिँड्ने आफ्नाका कुरा आए पछि हट्ने काम गरेझैँ गरेर कयौँ लुट्ने पावरवाला न्याय बाट छुट्ने सधै हामी जनताका भए मन टुट्ने आफ्ना, पहुँचवालालाई छैन दिन दुखीलाई मात्र लाग्छ कानुन कानुन पनि नुन भनेझैँ भयो न असल शिक्षक भयो मेरो सरकार के भयो के भयो ? न कम्युनिष्ट भयो ? न सोसलिष्ट भयो ? राजनीति या त लाजनीति न नीति, नियम छ न समानता छ न त खुलेरै बोल्न पाईन्छ सकिन्छ मात्र जता ततै भष्ट्रचार छ के भनौ अब म लोकतन्त्र या त लुटतन्त्र लाग्यो दुवै भयो मेरो सरकार के भयो के भयो ? न कम्युनिष्ट भयो ? न सोसलिस्ट भयो ? न रक्षक भयो न त अभिभावक नै भयो ? वक्तव्यमा रुष्ट भयो कर्तव्यमा मात्र भ्रष्ट भयो । मेरो सरकार के भयो भयो ? #मेरो सरकार के भयो भयो ?
वेदनाका दुई कविता: वेदना राई १. हरियो आँखा मन्त्रमुग्ध मेरो संसारमा भोकमारी छैन लटरम्मै शब्दहरु फलेका छ्न् भुइँभरि आशाहरु उम्रेका छन् २४/७ गुन्जिरहन्छन् विचारका सङ्गीत यही सङ्गीतलाई लय दिन खोज्ने म हरियो आँखा । २. वैजनी शहर वैजनी रङमा शहरै लतपत भए पनि यहाँका घरहरुसँग वैजनीको लिनुदिनु केही छैन शहरै वैजनी भए पनि मान्छेहरुमा वैजनीको त्यान्द्रोसमेत भेटे त मार्दिनु! आउन र जानलाई गेट नभए पनि मान्छेहरु प्रायः थुनिएका भेटिन्छन् यो शहर कयौँको सपनाको प्रतिमूर्ति तर यस्को मिजास निमोठ्ने खालको छ शहर जुनसुकै रङमा लतपतियोस् सबैले देख्ने भनेको मात्र ‘ब्ल्याक एन्ड ह्वाइट’ यो शहरले जिउँदो सास भन्दा धेरै जिउँदो लास बोकेको छ त्यसैले शहरै हलुँगो छ अनुहार फुङ्ग उडेको अनि जाबो वैजनीले के रङ भर्न सक्थ्यो!! वेदना राई (कवि राई रंगकर्मी हुन्।)
अनसन ठीक कि अनशन ?: – डा.मतिप्रसाद ढकाल नेपाली भाषामा शब्दको ठीक र बेठीकको चर्चा नै किन गरिरहनुप¥यो ? भन्ने बुज्रुकहरू पनि भेटिन्छन् । शब्दकोश हेरेपछि ठीक र बेठीक शब्दको टुङ्गो लागिहाल्छ भन्ने उनीहरूको भनाइ रहेको छ । पढेलेखेको वर्तमान पुस्ताले ए, बी, सी, डी पढ्न थालेदेखि नै अङ्ग्रेजी डिक्सनरीको नाम सुनेको हुन्छ र पाठ्यपुस्तकसँगै त्यसलाई आफ्नो पढाइको अभिन्न अङ्ग बनाउँदै आएको हुन्छ तर ‘नेपाली शब्दकोश’को नाम त कतिपयले सुनेकै हुँदैनन् र सुनिहालेको भए पनि त्यसको प्रयोग गर्ने युवा पुस्ता वर्तमानमा भेट्न सिला खोजेझैँ खोज्नुपर्छ । डा.मतिप्रसाद ढकाल नेपाली शब्दकोश नै भेटिहाले पनि आफूले खोज्न चाहेको शब्द कहाँनेर छ ? भनेर पत्ता लगाउन वर्तमानको युवापुस्तालाई निकै गाह्रो पर्दै गएको अनुभूति मैले आफ्नै विद्यार्थीबाट थाहा पाउँदै आएको छु । त्यसैले नेपाली शब्दकोश हेरेर शब्दको ठीक र बेठीक पत्ता लगाउने पाठकहरू अत्यन्त कम भएका परिस्थितिमा असावधानीपूर्वक वा अज्ञानतावश बेठीक प्रयोग हुन गएका शब्दहरूका बारेमा यथासम्भव ठीक शब्दको प्रयोगका लागि विशेषतः लेखक, पत्रकार र पाठकहरूको ध्यान आकृष्ट गराउने सन्दर्भमा कुन शब्द ठीक हो ? भन्ने बारेमा विचार विमर्श गरिरहनु अत्यावश्यक र व्यावहारिक पनि देखिन्छ । आफ्ना मागहरू पूरा गराउन ‘अनशन’ बस्ने प्रचलन नौलो होइन । महाभारतमा दुर्योधनसमेत ‘आमरण अनशन’ बसेको उपाख्यान सुन्न र पढ्न पाइन्छ । देवीदेवताहरूसँग आफ्ना चाहनाहरू पूरा गराउन ‘उपवास’ बस्नु पनि अनशन नै हो । निर्जला एकादशीमा त पानी पनि नपिईकन उपवास बस्ने गरिन्थ्यो र अहिले पनि कतिपय महिलाहरूले तीज, शिवरात्रि आदिमा पानीसमेत नपिईकन उपवास बस्ने गरेको हामीले देख्तै आएका छौँ । पाक्षिक रूपमा एकदिन उपवास बस्नु स्वास्थ्यका लागि समेत लाभदायक नै मानिन्छ । त्यसरी बसिने उपवासहरू सात्त्विक प्रवृत्तिका हुन्छन् भने अनशन बस्ने आधुनिक प्रचलनमा क्रमशः तामसी प्रवृत्ति मौलाउँदै गएको पाइन्छ । ‘अनशन’ शब्द संस्कृतबाट नेपाली भाषामा प्रचलनमा आएको तत्सम शब्द हो । संस्कृतमा ‘अश्’ धातु खानु भन्ने अर्थमा छ । ‘अश्’ धातुदेखि भावार्थक ‘ल्युट्’ (अन) प्रत्यय लागेर ‘अशन’ शब्द बन्दछ । ‘अशन’ भन्ने शब्दले खाने प्रक्रियालाई जनाउँछ । संस्कृतमै ‘न अशन’ अर्थात् नखानु भन्ने अर्थमा नञ् तत्पुरुष समास भई र नुट् (न्) आगम भएपछि ‘अनशन’ शब्दको निर्माण हुन्छ । नेपाली शब्दकोशहरूले उपवास, खाना नखाने काम, आहारा परित्याग, खाना त्यागेर भोकै बस्ने काम आदिका रूपमा नेपालीमा ‘अनशन’ शब्दलाई अथ्र्याइएको पाइन्छ । ‘अनसन’ शब्दले हालसम्म कुनै पनि नेपाली शब्दकोशमा प्रविष्टि पाएको देखिँदैन तर यसको प्रयोग भने दिनानुदिन यत्रतत्र बढ्दै गएको देखिन्छ । ‘अनशन’ बस्ने धेरैजसो कार्यक्रमका ब्यानरहरूमा मात्र होइन स्थानीय पत्रिकाहरूले आफ्ना छापा संस्करणमा समेत ‘अनसन’ शब्दको प्रयोग गर्न रुचाउँदै आएका छन् । साथै कान्तिपुर दैनिक, नागरिक दैनिक, अन्नपूर्ण पोस्ट दैनिक, सेतो पाटी, रातो पाटी, उज्यालो, बिबिसी, खरीबोट आदि अनलाइन पत्रिकाहरूमा र युट्युबमा अपलोड गरिएका धेरैजसो भिडियोका शीर्षकमा पनि ‘अनसन’ शब्दको प्रयोग भएको देख्न सकिन्छ । हिन्दी शब्दकोशले समेत ‘अनसन’ शब्दको प्रयोग नगरेकाले यसलाई भाषान्तरको सादृश्य अनुकरणका कारण प्रयोग गरिएको होला पनि भन्न सकिँदैन । शब्दकोशमा नै नभएको र कुनै अर्थ दिन नसक्ने ‘अनसन’ शब्दको प्रयोग गर्ने दिशातर्फ प्रयोक्ताहरूको किन बढ्ता ध्यान गयो होला ? भन्ने बारेमा विचार गर्दा अज्ञानता र ‘अनशन’ शब्दको सादृश्यका कारण ‘अनसन’ शब्दको प्रयोग हुन गएको हो भन्ने कुरामा कुनै शङ्का छैन । विशेष गरी अनलाइन पत्रिकाहरूलाई ताजा समाचार प्रकाशन गरिहाल्ने हतारो हुने भएकाले सही शब्दको विचार गर्ने समय नभएर अनलाइन संस्करणहरूमा ‘अनशन’ शब्दको सट्टा ‘अनसन’ शब्द प्रयोग हुन पुगेको हुनुपर्छ । त्यस्तै ब्यानरहरू तयार गर्ने क्रममा सम्बद्ध संघसंस्थाहरूले समेत नेपाली भाषाका शब्दको प्रयोगमा विशेष सचेतता नअपनाइदिँदा पनि ‘अनसन’जस्ता अनुपयुक्त शब्दहरू प्रयोग हुन गएका हुन् । तसर्थ अनर्थक ‘अनसन’ शब्दको सट्टा सार्थक ‘अनशन’ शब्दको प्रयोग गर्दै जाने विषयमा सम्बद्ध प्रयोक्ताहरूको ध्यान आकृष्ट हुनु जरुरी देखिन्छ । – सहप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय #अनसन ठीक कि अनशन ? #डा. मतिप्रसाद ढकाल
झण्डाको माया: सानो हुँदा गोठालो जादा गाईबस्तु चराउँदा को हो भन्दै कोइली चरी वनभित्र कराउँदा मेरो साथ हुन्थ्यो सधै चन्द्र सूर्य मेरो झण्डा फहराउँथे उठाई माथिमाथि आफ्नै शिरभन्दा ।। घाँस काट्दा भीर पाखा एकान्तमा डराउँदा गाईका बाच्छा सल्लाघारी भञ्ज्याङमा हराउँदा जय भन्दै मेरो झण्डा उठाउँथे माथिमाथि डर भाग्थ्यो क्षणमै आउँथे हराएका पाठापाठी ।। उमेरसँगै झण्डाको माया झ्याङ्गियो लहराउँदै स्कुल, कलेज पढन पुगंँे हातमा झण्डा फहराउँदै अमर रहोस् झण्डा मेरोे चन्द्र सूर्य हुँदासम्म माथी उठिरहोस् सधै आकाश त्यो छुँदासम्म ।। आज मैले देशको झण्डा विदेशमा फहराउँछु जहाँ पुगु संसारमा मेरो झण्डा लहराउँछु आश गर्छु अन्तिम सास म यही झण्डा हेरी मरुँ तर शंका गर्छन् मलाई हिजो झण्डा च्यात्नेहरू ।। #झण्डाको माया
मेरो प्रेम यात्रा: तिमीले पहिले भनेकी भए अन्नत हुन सक्छ यो प्रेमको यात्रा म घरबाट सँदाको लागि बिदा भएर आउँथे । र त रसाइरहँदैनथ्यो आमाको आँखा बुढेसकालको लठ्ठि भाँचियो भनेर खेप्नु पर्दैनथ्यो भाइले एक्लै ऋणको भार बदल्नु पर्दैनथ्यो बहिनीहरूले हिँडिरहेको बाटो टोलाइरहनु पर्दैनथ्यो बुबाका एक थान आँखा भित्ताको तस्बिर हेरेर । अलमलिने थिएन कुरिरहेका साथीका गन्तव्य रोकिने थिएनन् बज्दा बज्दैका आँगनका मादल निस्किने थिएनन् चित्कार सिलोकको सट्टामा स्तब्ध हुने थिएनन् नाँचिरहेका खुट्टाका पाउजु तिमिले त घरमा घडा थापर आउन भन्यौ सौभाग्यको सिन्दुर र माला लिएर आउन भन्यौ त्यसैले म तिम्रो माया रंगिएर हातमा रातो गुलाफ र साथमा सहेली लिएर आएा समयले यसरी झुक्यायो कि ! न म तिमीसम्म पुग्न पाएँ न तिमी मसम्म आउन भ्यायौ न पश्चाताप तिमिले गर्न पायौ न मैले गर्न पाएँ म सोचिरहेछु !!! गेटैनिर तिम्रो पाउलाई स्वागत गर्न झुकेका लालुपातेका शिर उठे कि उठेन ? तिमीलाई चुम्न रगत बगाउदै लम्केको गुलाफका हाँगाको रगत थामियो कि थामिएन ? तिम्रो शिर सम्मको यात्रा निस्केका सयपत्रीका थुङ्गाहरू कहाँ अलमलमा छन् ? म सोचि रहेछु ! तिम्रो प्रेमको रफ्तारमा म सँगै बगेका ती गुलाफका बास्ना तिमीसम्म पुगे कि पुगेन ? विगतमा हामीले बिताएका साझा पलहरुम सँगै बगे कि अलिकति तिमीसँग पनि छ ? खैर ! जे होस् म तिम्रै अनन्त प्रेमको यात्रामा हुनेछु, आशा छ कुनै मोडमा हाम्रो भेट त्यो अलौकिक संसारमा हुनेछ । #उमेश
यौटा नाङ्गो कविता: केदार भण्डारी नाङ्गै उदाउँछ सूर्य आकाशमा धर्तीले सूर्यलाई नाङ्गै देखेर लाज लाग्यो भने घुम्टो ओडेर मात्रै उदाउँछु लाज छोपेर मात्रै अस्ताउँछु भन्यो भने यो ब्रह्माण्ड पनि त नाङ्गो नै छ यदि ब्रह्माण्डले आफ्नो लाज छोप्छु भन्यो भने नाङ्गो नै छ चन्द्रमा पनि यदि चन्द्रमाले लाजले आफ्नो मुख लुकाउँछु भन्यो भने के गर्छन् होला ती नाङ्गा ताराहरु? तिनीहरु आफ्नो लाज लुकाउँछ्न् कहाँ? नाङ्गै फुल्छन् फूलहरु कुनै दिन फूलहरुलाई लाज लाग्यो भने हावा पनि नाङ्गो छ नाङ्गै बहिरहन हावाले पनि लजायो भने कुनै दिन? तिम्रो सोच पनि नाङ्गो छ तिम्रो हेराई पनि नाङ्गै छ हे मानव! तिम्रो सोचमा तिम्रो हेराइमा जबसम्म कामुकता रहिरनेछ तबसम्म सबै नाङ्गै नाङ्गै हुनेछ अनि म लेखिरहने छु यौटा नाङ्गो कविता गौरादह नगरपालिका ६, झापा #केदार भण्डारी #झापा
केही बित्ता सपना: चन्द्र जिएम म सोचिरहन्छु कति लामो हुन्छ सपनाको बाटो कति फराकिलो हुन्छ सपनाको आकाश कति गहिरो हुन्छ सपनाको गहिराई म केवल अनिदो आँखाले सपनाकै मात्र सपना देखिरहन्छु सरकार सपना देख् भन्छ र, केही वर्ष बिराएर आउने चुनावमा केही लामा सपना लिएर आउँछ सपनाकै मतपत्रमा लेप्चे लगाएर सरकारमा छिर्छ र प्रत्येक वर्ष दोहोर्\u200dयाउँदै तेहोर्\u200dयाउँदै सपनाकै ब्रिफकेसमा सपनाकै बजेट भाषण सुनाउँछ । आज भोलि मलाई सरकारको हरेक लामा सपना जंगलमा स्याल कराएजस्तै लाग्छ कहिलेकाहीँ त यस्तो पनि लाग्छ मानौँ सरकार सर्प भएको छ र, रुखको दोद्रोमा पसेर सारीको बचेरा खाइरहेछ र जनता केवल सारी भएर बचेरा बचाउने सपना देखिरहेछन् यस कारण पनि मलाई सरकारको सपना, सपना जस्तै लाग्दैन केवल कर्कस बकबास जस्तो लाग्छ बरु यस्तो सपना, सपना जस्तो लाग्छ जस्तो कि स्कुलसम्म पुग्न टुइनमा झुण्डिदै पाल्लो किनारा सम्म पुग्ने साना नानी बाबुको आँखाको सपना जस्तो कि विष्टको ढोकाबाट केही पाइलाभित्र छिर्ने एउटा दलितको सपना जस्तो कि सुनैसुनको मुर्ति भएको मन्दिर बाहिर घाम र पानीलाई घर बनाएर ढुकिरहेको एउटा अपाङ्गको २ रुपैयाँको सिक्का पाउने सपना जस्तो कि चौबाटोमा भारी कुरेर बसिरहेको भरियाको भारी पाउने सबभन्दा ठूलो सपना जस्तो कि भर्खर शहर छिरेको एउटा गाउँलेको सडक काटेर पाल्लो किनारासम्म पुग्ने सपना जस्तो कि जंगे पिलरजस्तै युगौँदेखि सीमामा बसेको एक अनागरिकको नागरिकता पाउने सपना यी सबथोक मलाई साँच्चै सपनाजस्तै लाग्छ किन कि सबैभन्दा लामो लाग्छ मलाई त्यो केही हातको तुइन र विद्यालय बीचको दुरी सबैभन्दा लामो लाग्छ मलाई त्यो विष्टको घरको एक हाते ढोका सबैभन्दा गहिरो लाग्छ मलाई त्यो सुनैसुनको मन्दिर र, आँखा वा खुट्टा नभएको मान्छेको भोकको गहिराई सबैभन्दा गहिरो लाग्छ मलाई त्यो भारी बोकेको भोको भरियाको काँध र, उसकै काँधमा झुण्डिएको मालिकको भारी बीचको गहिराई यी सपना सबैभन्दा अग्ला लाग्छन् मलाई यी सपना सबैभन्दा लामा लाग्छन् मलाई यी सपना सबैभन्दा गहिरा लाग्छन् मलाई सरकार लामो लामो आशाको सपना देख् भन्छ म केवल छोटो सासको सपना-देख्छु सरकार उधारो विश्वासको सपना देश- भन्छ म हरेक छाक गास र एकसरो कपासको सपना देख्छु किनकि आजतक कसैले नाप्न सकेको छैन यी केही हात र केही बित्ताका सपना । #चन्द्र जिएम #रोल्पा
बर्माको पशुपतिनाथ मन्दिर: नगेन्द्र न्यौपाने म बर्माको पुरानो शहर प्यूँउल्वीनबाट अर्को शहर लोखु जाँदै थिएँ । वास्तवमा मलाई एक दिनको प्यूँउल्वीन बसाइले त्यति पर्याप्त थिएन । अझ एक–दुई दिन थप्न चाहन्थे । प्यूँउल्वीनको शितल हावापानी, शान्त वातावरण अनि स्वच्छ सडक । एक घण्टा ओरालोमा रहेको माण्डालेमा खपिनसक्नु गर्मी तर प्यूँउल्वीनको शितल हावापानी– वर्माको अलौकिक नमुना । सायद त्यही गुण भएर होला अंग्रेजहरूले प्यूँउल्वीनमा ठूला–ठूला निजी निवास निर्माण गरे । साथै मिलेको शहर बसाए । त्यसो त गोपाल भट्टराईज्यूले मलाई प्यूँउल्वीन शहर कहाँ नडुलाइदिनु भएको हो र ? उहाँले मलाई आफ्नो मोटरसाइकलमा राखेर मुख्य बजार र दुर्गा मन्दिर घुमाइदिनु भएको थियो । एउटा गोरखालीको होटेलमा हामीले दिउँसोको बर्मेली परिकारसमेत खाएका थियौं । प्यूँउल्वीनको अर्को रोचकता के छ भने प्यूँउल्वीनको पुरानो नाम “मेम्यो” हो । “मे” नाम गरेका अंग्रेजले बसाएको शहर भएकोले यसको नाम “मेम्यो” रहन गयो । “म्यो” को अर्थ बर्मेली भाषामा “शहर” हो । तर बीसौं शताब्दीको अन्त्यमा यो शहरले आफ्नो शताब्दी वर्ष मनायो र यही समारोहमा यसले आफ्नो पुरानो नाम पायो । अंग्रेज अफिसरको नामबाट चिनिने “मेम्यो” अब “प्यूँउल्वीन” भयो । यो शहरको नेपालसँग निकै कसिलो सम्बन्ध छ । राजा महेन्द्र र रानी ऐश्वर्यले सन् १९७१ को अप्रिल महिनामा यो शहरको भ्रमण गरेका थिए । साथ दिए त्यतिबेला परराष्ट्रमन्त्री र बर्माका लागि नेपाली राजदूत ज्ञानेन्द्रबहादुर कार्की । त्यतिबेला प्यूँउल्वीनमा गोरखाली पण्डित यज्ञप्रसाद भट्टराईको जोडबलले निर्माण भएको दुर्गा मन्दिर थियो । तर जब त्यो मन्दिरमा राजा महेन्द्रले भ्रमण गरे तब त्यो दुर्गा मन्दिरको स्वरूप नै बदलियो । राजा महेन्द्रले नेपालको पशुपतिनाथ मन्दिरको दर्शन गर्न नसक्नेहरूका लागि भनेर दुर्गा मन्दिरको आडैमा पशुपतिनाथको मन्दिर निर्माण गरिदिए । अब अर्को चाखलाग्दो के छ भने राजा महेन्द्रले स्वरूप दिएको पशुपति मन्दिरमा उनैका छोरा राजा वीरेन्द्रले वि.सं. २०४० सम्ममा सरोजरेणुः पंचमुखी प्रतिमा नेपालबाट पठाइदिएपछि यसको महत्त्व झन् बलियो भयो । यो शहरसँग मेरो व्यक्तिगत छुट्टै सम्बन्ध छ । म बर्मामा नै भएको बेला (२००९ अक्टोबर) नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुनगयो साथै उहाँको पनि प्यूँउल्वीनमा नै स्वागत कार्यक्रम राखियो । तर म त्यतिबेला प्यूँउल्वीनबाट माण्डले (अर्को शहर) आइसकेको थिएँ । बर्माका गोरखाली दाइभाइको साथ लागेर पुनः प्यूँउल्वीन गएँ र राष्ट्रपतिको कार्यक्रममा सामेल भएँ । यस प्रकार प्यूँउल्वीनमा मेरो दुईपल्ट भ्रमण हुन गयो । यसबारे अलगै अर्को लेख लेख्ने नै छु । आज म ऐतिहासिक र गरिमामय शहर– प्यूँउल्वीनबाट बिदा हुँदै थिए । बिहानको सामान्य खाना खाएर होटेलको लबीमा बसेको मात्र थिएँ । तीनजना गोरखाली मित्रहरू देखा पर्नुभयो । शुरुमा मलाई ज्ञान नै भएन कि मप्रति मित्रहरूको त्यति धेरै चाख छ, साथै उहाँहरूसँग सहज अनुभव गर्न सक्छु । वास्तवमा के भने कुनै एउटा नेपाली बर्मा मुलुकमा पसेको थाहा पाउनेबित्तिकै त्यो व्यक्तिप्रति गोरखाली बन्धुको विशेष ध्यान जानु नेपालीको लागि सौभाग्य नै हो । त्यो सौभाग्य मैले पनि पाएँ । अझ गोरखालीको स्वामित्वमा रहेको होटेलमा बसेपछि मेरो सौभाग्य अझ बलियो भयो । मैले पालैपालो उहाँहरूसँग हात मिलाएर परिचय गरेँ । उहाँहरू हुनुहुन्थ्यो– मनबहादुर खनाल, कासीराम न्यौपाने र कृष्ण पन्थी । सामान्य गफपछि हामीहरू बाहिर निस्क्यौ । मलाई त्यतिबेलासम्म थाहै थिएन, तर बाहिर निस्केर चाँदी रङ्गको गाडीमा सामान राखेपछि पो थाहा भयो उहाँहरूले आफ्नो निजी कार ल्याउनु भएको रहेछ । हुन त शंकरजीले रंगुनमा नै जानकारी गराउनु भएको थियो– “साथीहरूसँग भेट भएन भने गोरखालीको दूध ओसार्ने गाडी आउँछ, त्यसैमा जानु होला” तर उहाँहरूले त दूध ओसार्ने गाडी होइन, आफ्नो निजी कार पो ल्याउनु भएछ ! हाम्रो गाडी प्यूँउल्वीन शहरबाट पूर्व लाग्यो । र, केहीबेरको शहर गुडाइपछि ओरालो लाग्न थाल्यो । त्यो असीमित फाँट, हरियो खेतीपाती अनि फराकिलो सडकमा गुडेको हाम्रो गाडी– वास्तवमा मानव सभ्यताले प्राकृतिक सभ्यतासँग जोडेको सिङ्गो अस्तित्व थियो त्यो, अनि सुन्दरताको नमुना । हुन त मैले रंगुनदेखि प्यूँउल्वीनसम्मको बस यात्रामा यस्ता फाँटहरू कहाँ नदेखेको हो र ? यस्ता फाँटहरूमा आँखा नपरेका हुन् र ? तर अहिले देखिएको सडक वरिपरि हरियो खेती र पशुपालनको घाँसे मैदानले म उकुसमुकुसिन थालें, मेरा आँखा तिरमिराउन थाले । सायद त्यो उकुस–मुकुसलाई नेपालबाट बर्मा पसेका गोरखालीहरूले नियन्त्रण गर्न सकेनन् होला र उनीहरू बर्मा पसेपछि फर्केर गएनन् । उनीहरूलाई त्यो हरियो फाँटले लोभ्यायो, अनि लोभको औडाहालाई नियन्त्रण गर्न उनीहरूले घर–टहरा बनाउन शुरु गरिहाले । त्यहाँ खेती गर्न थाले । नेपालको ढुङ्गा र गेग्ग्रेनसँग खेलेका हातहरूले त्यो कमलो माटोमा चल्न थालेपछि उनीहरूले छोड्न सकेनन् । उनीहरू त्यहीँ रमाएर बस्न थाले । करिब एक घण्टाको यात्रापछि सडकको बीचमा लहरै चार–पाँच वटा जति ढोकाहरू देखिए । ती ढोकाहरूमध्ये एउटा ढोकाको मुखैमा गाडी चालक मानबहादुर खनालज्यूले गाडी रोक्नुभयो । तर गाडी रोक्नुको कारण बताउनु भएन बरु कुरोलाई अन्तै बटार्दै बोल्नुभयो– “यो माण्डाले र साङ्ग प्रदेशको सिमाना हो । यहाँबाट साङ्ग प्रदेश शुरु हुन्छ, यहाँबाट शुरु भएको साङ्ग प्रदेश ठ्याक्कै चीनमा जोडिन्छ ।” “अनि यहाँ किन गाडी रोकिएको त ! के यहाँ चेकिङ्ग हुन्छ ?” मैले सोधेँ । “यहाँ गाडी चेकिङ्ग हुन्छ कर पनि तिर्नुपर्छ,” भन्दै उनले गाडीलाई काउन्टरको नजिकै रोक्नुभयो तर पैसा तिर्नुभएन, काउन्टरमा उभिने व्यक्तिले पनि हामीलाई हात हल्लाउँदै जान इसारा गर्यो । मैले सोधिहालेँ, “खै त हामीले त पैसा तिरेनौँ त ?” “मेरो गाडी साङ्ग प्रदेशमा दर्ता भएको हो, साङ्ग प्रदेशको गाडीले आफ्नो प्रदेशभित्र पस्दा पैसा तिर्नुपर्दैन ।” भर्खरै नेपालमा संघीयताको कुरो चलिरहँदा बर्मामा चाहिँ पहिलेदेखि नै थियो । एउटै देशमा पनि कुनै गाडीले कर तिर्नुपर्ने । कुनैले नपर्ने ! म यो परिपाटीमा अभ्यस्त थिइनँ । मलाई केही अनौठो लागे पनि बर्मामा सामान्य नै थियो । प्रदेशअनुसार आफ्नै नियम छन् । हामीहरू अगाडि बढ्यौं । गाडीबाट देखिने टाढा–टाढासम्मको हरियो फाँट, अनि सडक वरिपरिको गाई–गोरुको विशाल–विशाल चरन देख्दा लाग्थ्यो, कृषिको विकास त्यसरी पो हुनुपर्छ, पशुपालनको स्याहारसुसार त्यसरी पो गर्नुपर्छ । अझ रोचकता यो थियो कि, हामीले त्यत्तिको सडक पार गर्दासम्म न टुटे–फुटेको सडक भेट्यौँ, न धुवा–धूलो । सफा फराकिलो ! केही अगाडि पुगेका थियौं, सडक दायाँ–बायाँ टिनका छाना भएका दुई–तीन तले घरहरू लहरै देखिए । घरका छेउछाउमा गोठ–कटेरा, लहरै मिलेका आँप र मेवाका बोटहरू अनि आँगनको डिलमा सुकाइएका राता–पहेँला पेटीकोट र साडीले नेपालको झल्को दिएको थियो । अनि वरिपरि हिँडडुल गरेका मान्छेको भेषभूषाले मलाई पक्का भयो र सोधिहालेँ । “के यो गोरखालीको बस्ती हो ?” “हो सर ! यहाँ गोरखालीको बाक्लो बस्ती छ । यस ठाउँलाई बम्बै भन्छन् ।” “बम्बै ?” “बम्बै ! तर यो भारतको बम्बै होइन । गोरखालीको बम्बै हो । बर्मेली भाषामा यो ठाउँको नाम “भाम्ब्बे” हो तर हाम्रो जिब्रोले यसलाई समाउन नसकेपछि हामीले बम्बै भन्न थाल्यौँ । यो कुरो बर्मेलीलाई थाहा छैन । हामी आफ्नैले राखेका यस्ता नामहरू बर्मामा थुप्रै छन् ।” बम्बैबाट उत्तर गुडेको गाडी “ओमतिमा” पुगेर देब्रे लाग्यो । केही साँघुरो हुँदै विशाल फाँटभित्र पस्यो । गाडीको झ्यालबाट देखिने उखु खेतीको बाक्लो आवादी । अनि बेला–बेलामा आउने पुल–पुलेसा, नाला नाग्दै “तौजे” पुग्यौँ । पुनः देब्रे लाग्नेबित्तिकै सडक छेउको एउटा लामो आकारको भवन अगाडि रोकियो । बाहिरबाट हेर्दा लाम्चो र साँघुरो देखिए पनि भित्र गएपछि पो थाहा भयो, त्यो घर त एउटा विशाल खाद्यान्न स्टोर (पसल) पो रहेछ! पसलमा निकै भीड थियो । ग्राहक बर्मेली, कामदारहरू बर्मेली, पैसा लेनदेन गर्न बर्मेली, सामान मिलाउने बर्मेली, झट्ट हेर्दा त्यो स्टोर बर्मेलीको देखिए पनि त्यसका मालिक थिए गोरखाली– गोपाल पाण्डे । कुनाको टेबुलमा केही लेखिरहेका गोपालजी हामीलाई देख्नासाथ आइहाले । शुरुमा मैले उनलाई गोरखाली हुन् भनेर चिन्न सकिनँ, अझ उनले मनबहादुरसँग पनि बर्मेलीमा नै कुरा गर्न थालेपछि त गोरखाली भएको शंका गर्न ठाउँ नै भएन तर उहाँ त शुद्ध गोरखाली हुनुहुँदो रहेछ । शुद्ध नेपाली भाषा बोल्नु हुँदोरहेछ । सामान्य परिचयपछि मैले गोपालजीलाई सोधेँ– “तपाईंको स्टोर त ठूलो रहेछ हगि !” “बजारको यो सबैभन्दा ठूलो पसल हो,” उहाँले केही उत्साहित भएर बोल्नुभयो । उनको स्टोरदेखि कता–कता गौरव लाग्यो । घमण्ड लाग्यो । त्यति टाढाबाट आएर पनि यसरी जमेर बस्नुमा म हर्षित भएँ । फेरि कता–कता डर पनि । म कमजोर बनेँ । केही वर्षअगाडि (सन् २०१२) कङ्गोमा भेटिएका नेपाली व्यापारीको दर्दनाक मानसिकता सम्झिएँ । त्यतिबेला मैले उनलाई सोधेको प्रश्न मेरो दिमागमा नाच्न थाल्यो । मैले उनलाई पनि यसरी नै सोधेको थिएँ । “त्यति टाढाबाट आएर पनि व्यापार निकै फष्टाएको छ हगि !” उनले निराश हुँदै जवाफ फर्काएका थिए, “व्यापार के फस्टाउनु ! अर्काको देशमा बसेर धन कमाउन गाह्रो छ । आफू भित्र बस्नुपर्छ, पैसाको कारोबार सबै कङ्गेलीकै नाममा छ । कङ्गोलीले हामी विदेशीले पैसा गनेको देख्न चाहँदैनन् ।” तर गोपाल पाण्डेको आशय त्यस्तो आएन बरु निर्धक्कसँग बोले– “सर ! बर्मेलीलाई कजाएरै खाइएको छ । मेरो कामदार सबै बर्मेली छन्, ग्राहक बर्मेली । अहिलेसम्म जमेर नै बसिएको छ । राम्रो काम गरेनन् र इमान्दारिता देखिएन भने आजै कामबाट निकालिदिन्छु । उनीहरूले गरेको कामको पारिश्रमिक दिएपछि कसले के गर्न सक्छ ?” फेरि केही गम्भीर भएर बोले– “सबैलाई मिलाएर राखेको छ ।” केहीबेर गफ गरेपछि हामीहरू त्यहाँबाट निस्कनै लाग्दा गोपालजीले रोकिने संकेत गर्दै बोल्नुभयो, “सर ! एकछिन पर्खनुहोस् त !” म रोकिएँ । उनले आफ्नो दराजबाट एउटा नोट कापी मेरो हातमा थमाउँदै बोले– “सर, लेखक हुँनुहुँदो रहेछ । अब यो नोट कापीमा लेख्नुहोला यो मेरो तर्फबाट उपहार ।” मैले त्यो नोट कापी निकै गौरव साथ झोलामा राखेँ । म बर्मा बसुन्जेल मसँग रह्यो । त्यसमा नै सबै टिपोट गरेँ । तौजेबाट हाम्रो गाडी देव्रे हानियो र दायाँबायाँका नेपालीको बस्ती पार गर्दै रामेश्वर धाम, लोखुको मुलद्वारभित्र पस्यो । चार–पाँच जना बटुकहरूले हामीहरूलाई घेरा हाल्न आइहाले । त्यतिबेलासम्म मलाई थाहा थिएन कि ! मनबहादुर खनालजीहरू अर्को कामले पनि त्यहाँ आउनुभएको छ भनेर । शारदा संस्कृत महाविद्यालय, रामेश्वर धामका श्री १००८ स्वामी डा. विष्णुबल्लमानन्दलाई भेट्ने कार्यक्रम बनाउनु भएको रहेछ । उहाँहरू हतार गर्दै स्वामीजीको निवासतिर गइहाल्नुभयो भने म चाहिँ महाविद्यालयका सहसचिव मनबहादुर घिमिरेको साथमा भएँ । मनबहादुर घिमिरे– एक सरल, मृदुभाषी अनि सोझो व्यक्तित्व । अब संस्कृत महाविद्यालय लोखु बसुन्जेल म उहाँके साथमा हुनेछु । उहाँले शुरुमा नै मलाई भन्नुभयो– “सर ! खाना तयार भएको छैन, बटुकहरूले तयार पार्दैछन्, म तपाईंलाई हरिद्वार, गंगासागर तथा लक्ष्मणझुला घुमाइदिन्छु ।” मलाई अचम्म लाग्यो र सोधिहालेँ– “हरिद्वार, गंगासागर, लक्ष्मणझुला त भारत होइन र ? कसरी आयो बर्मामा ?” उनी केही बोलेनन्, बरु मलाई अगाडि–अगाडि हिँड्ने इशारा गरे । हामीहरू पैदल नै ओरालो लाग्यौँ । हरिद्वार, गंगासागर नगएको व्यक्ति म, मेरो कौतुहल बढ्दै गयो । वास्तवमा मैले त्यहाँ हरिद्वार, गंगासागर मात्र देखिनँ, हिन्दुहरूका चारै धाम देखें । लक्ष्मणझुला, गौमुखीद्वार, शिवमूर्ति तथा भारतका सम्पूर्ण तीर्थस्थल त्यहीँ थिए । सय बिघा जमिनमा फैलिएको त्यो विशाल हरियाली, बीच–बीचमा बनेका सुन्दर आवास–गृह अनि बीच भागमा बगेको कृत्रिम गंगासागर । गोरखालीको त्यो उत्साह, त्यो मिहिनेत देख्दा लाग्थ्यो, त्यहाँ अद्भुत शक्तिको उदयमान भएको छ । विश्वका सम्पूर्ण देवी–देवताको आशीर्वाद लागेको छ । मैले अनुभव गरेँ– यो शारदा संस्कृत महाविद्यालय, महाविद्यालय मात्र नभई दानै–दानको महासागर रहेछ । दक्षिणै–दक्षिणाको नमुना रहेछ । व्यापारी होस् वा सामान्य किसान, शिक्षक होस् वा पशुपालक सबैले केही न केही दान गरेकै रहेछन् । बल्ल मेरो पालो आयो श्री १००८ स्वामी डा. विष्णुवल्लभानन्दलाई भेट गर्न । हामीहरू गंगासागरमा नै टहलिरहेको बेला एउटा बटुक छिटोछिटो हिँड्दै आयो र मलाई संकेत गर्दै मनबहादुर घिमिरेतिर हेर्दै बोल्यो– “उहाँ ! सरलाई लिएर जानुहोस् अरे ।” हामीहरू तीनैजना स्वामीज्यूको निवास पुग्यौ । शरीरमा पूरै पहेलो रङ्ग वस्त्र, अग्लो कद अनि गम्भीर स्वभाव मैले सोचेकोभन्दा मीठो अनुभव गरेँ– उहाँसँग । मेरो बारेमा केहीबेर पहिल्यै केही जानकारी पाइसक्नु भएको थियो उहाँले । म नेपालबाट आएको भनेपछि स्वाभाविक उहाँको चासो बढ्नु स्वाभाविक पनि थियो । अझ मनबहादुर घिमिरेज्यूले मलाई लेखक भनेर चिनाइदिएपछि उहाँ निकै उत्साहित हुनुभयो । मनबहादुर घिमिरेले मलाई लेखक मात्र भनेर चिनाइदिनु भएन, बरु केहीबेर अगाडि उहाँलाई दिएको उपहार मेरो किताब “दरबार बाहिरकी महारानी” स्वामीज्यूलाई दिनुभयो । स्वामीज्यूले लिनुभयो र खुशी हुँदै बोल्नुभयो– “यो किताब यो संस्कृत महाविद्यालयको पुस्तकालयमा रहन्छ ।” त्यो बेलासम्म खानाको लागि जानकारी आइसकेको थियो । हामीहरू हतारिँदै भान्साघरतिर लाग्यौँ । लामो आकारको जस्ताले छाएको भवन, बीच भागमा लहरै होचा–होचा टेबुलहरू अनि बस्नको कुसन । हामीले दिउँसो खाना त्यहीँ खायौँ र दिनभरि महाविद्यालय वरिपरि नै घुम्यौँ । त्यसो त दान–दक्षिणाले बनेको त्यो विशाल परिसर, अनि चन्दा र प्रसादले उभिएका ठूला–ठूला भवनहरू । आज मेरो रात चन्दाले बनेको भवनमा बित्यो । त्यही महाविद्यालयबाट स्नातक भएर गएका विद्यार्थीको दानबाट निर्माण भएको एउटा अजङ्गको आवास–गृहमा उपभोग गरेँ । त्यो अग्लो अनि ठूलो दुईतले घर । कोठै–कोठा भएको तला, तलैपिच्छे बाथरुम, अनि म एक्लो यात्रीले रोजी–रोजी पाएको बिछ्यौना । शुरुमा मैले निकै भाग्यमानी ठानें । कोठाको चुकुल लगाएर सुतेँ तर निदाउन सकिनँ । जब रात छिप्पिँदै गयो वरिपरिका झ्याल–ढोका आफैँ गफ गर्न थाले । आफू–आफूमा छलफल गर्न थाले । छानामा गुड बनाएर परेवाका जोडीहरू झगडा गर्न थालेपछि निदाउन सक्ने कुरै भएन, अझ आँगनमा मान्छे बोलेको आवाज आएपछि मलाई डर बढ्दै गयो । अघिसम्म गचक्क फुलेको मेरो भाग्य अहिले सामसुम्म भयो । मैले आफैँले आफैँलाई धिक्कार गरें । मनमनै सोच्न थालेँ– जस्तोसुकै सफा र उज्यालो भए पनि आफूलाई चाहिनेभन्दा बढी छ भने त्यसैले पोल्न थाल्दो रहेछ हगि ! आफूलाई आवश्यक पर्नेभन्दा बढी वस्तुले आफैँलाई तर्साउँदो रहेछ । एउटा कोठा भए पुग्ने म एक्लो व्यक्तिलाई सिङ्गो भवन नै पाएपछि त्यसैले अत्याउँदो रहेछ । म आधा रात ढल्किँदासम्म पनि निदाउन सकिनँ । #बर्मा #म्यान्मा
कलियुगकी शिखण्डी: यादहरूको भौतिक रूपलाई कैद गर्न मानिसले क्यामेराको आविष्कार गर्यो । टाढा भएका मानिसहरूसँग बोल्न टेलिफोनको आविष्कार गर्यो । मानिसका आवश्यकता पूरा गर्ने यी दुई उपकरणले मज्जाले पिट्यो विश्व बजारलाई । पछि क्यामेरा र टेलिफोनको विवाह भयो । दुई भिन्न विशेषता भएका मातापिताबाट दुवैका आंशिक गुण लिएर नितान्त नयाँ उपकरण मोबाइलले जन्म लियो । आजको बजार त्यही नूतन उपकरणले चुटिरहेको छ । फोन पनि गर्न मिल्ने र फोटो पनि खिच्न मिल्ने उक्त उपकरण हामी सबैको हात–हातमा पुगिसकेको छ । हामी त्यो नयाँ उपकरणलाई असाध्यै स्नेह गर्छौं । एकछिन यसबाट टाढा रहन सक्दैनौँ । हाइब्रिड चिजहरू मन पराउने मानिसको स्वभाव देखेर नै सायद दैवले मानिसको पनि हाइब्रिड बच्चा बनाएर नौलो प्रयोग गर्ने जमर्को गरे । र, फलस्वरूप यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको रचना गरे । तर अफसोस, भगवान्को रचना मानिसहरूले मन पराएनन् । मानिस अर्थात् पुरूष र महिला । किनभने प्रकृतिको त्यो सुन्दर रचनामा पुरूष तथा महिला दुवैका गुणहरू एकैसाथ आएका थिए । यसको मतलब यो होइन कि मानिसहरूले यस्तो सुन्दर रचनालाई सधैँ घृणा नै गरिरहने छन् । यस्तो समय पनि थियो जब देवकोटालाई पागलको संज्ञा दिएर पागलखाना पठाइयो । अहिले तिनै देवकोटा नेपाली साहित्यका पूज्य व्यक्तिमा स्थापित भएका छन् । प्रदिप बस्नेत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले पीडा र कष्ट खेप्ने दिनहरू पनि बिस्तारै घटिरहेका छन् । सुखी र उन्मुक्त भएर बाँच्ने दिनहरू आउँदैछन् उनीहरूका पनि । प्रकृतिले हरेक प्राणीको निर्माण निश्चित् उद्देश्य पूरा गर्न गरेको हुन्छ । भविष्यलाई कसले देखेको छ र ! दिन प्रतिदिन लेटेस्ट मोडेलका मोबाइल फोनहरू आविष्कार भई पुराना मोबाइल फोनहरू लोप भए झैँ पुरूष तथा महिला वर्गलाई पछाडि उछिनेर प्रकृतिका यी लेटेस्ट मनुष्यहरूको हातमा भोलिको राज्य सत्ता र शक्ति नपुग्ला भन्न सकिन्न । अहिले हामीले उनीहरूलाई स्वतन्त्र रूपमा बाँच्न र प्रगति गर्न बाधा पुर्याइरहे भोलि सत्ता र शक्ति उनीहरूको हातमा पर्दा हामीलाई नरकीय जीवन बिताउन बाध्य नपार्लान् भन्न सकिन्न । त्यसैले मानिस भएर जन्म लिएका हामी सबैले सहअस्तित्वको आलिङ्गनमा बाँधिएर प्रगतिका पाइलाहरू निरन्तर अघि बढाइरहनु नै श्रेयस्कर हुन जान्छ । प्रकृतिको विरूद्ध गएर जीत हाँसिल कदापि हुँदैन । त्यसैले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा पर्ने मानिसहरूलाई पुरूष तथा महिलासरह नै अधिकार तथा अवसरहरू प्रदान गरिनुपर्छ र उनीहरूका लागि सम्मानका साथ बाँच्न पाउने प्रबन्ध मिलाउनुपर्छ । यस्तै अनेकन विचारहरू उम्रिँदै गए मस्तिष्कमा जब ‘भूमिका’ पुस्तकका पानाहरू क्रमशः पल्टिँदै गए । जब पुस्तकको अन्तिम पानाको अन्तिम वाक्य पढिभ्याएँ, लाग्यो– तीन दिन बफ मःम नखाएर बेसै गरेछु । अर्थशास्त्रको कुरा गर्दा उपभोक्ता अधिशेष तब प्राप्त हुन्छ जब कुनै वस्तु खरिद गर्दा तिरेको मूल्यको तुलनामा उक्त वस्तुको उपभोग गर्दा पाएको सन्तुष्टि अधिक हुन जान्छ । ‘भूमिका’ पुस्तकबाट उपभोक्ता अधिशेष प्रचुर मात्रामा प्राप्त गर्न सकिन्छ । किनभने यस पुस्तकले उठाएको विषय नेपाली साहित्यमा नितान्त नवीन छ र तेस्रो लिङ्गी स्वयंले अनुभव गरेका तथा भोगेका कुराहरू पुस्तकमा आएका छन् । हाम्रो समाजलाई अझै पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू कस्ता व्यक्तिलाई भनिन्छ र यस वर्गमा पर्ने मानिसहरू कति प्रकारका हुन्छन् भन्नेसम्म पनि राम्ररी जानकारी भएको पाइँदैन । म आफैँलाई पनि पुरूष र महिलाबाहेक अन्य मानिसहरूको सूचीमा कस्ता व्यक्तिहरू पर्छन् भन्ने विषयको ज्ञान थिएन । सानो छँदा ‘छक्का’ र ‘हिजडा’ भन्ने शब्द समाजले नै लेखिदियो मस्तिष्कमा । लाग्थ्यो– पुरूष र महिला दुवैको लिङ्ग भएका मानिसहरू यस्तो सूचीमा पर्छन् । उनीहरूको अनुहार अलिअलि पुरूष र अलिअलि महिलाजस्तो हुन्छ । अनि कहिलेकाहीँ आफैँलाई प्रश्न गर्थें– योनि र लिङ्ग दुवै भएका मानिसले विवाह पुरूषसँग गर्दा हुन् वा महिलासँग ? अति नै कल्पनाशील भएर सोच्दा लाग्थ्यो– यस्ता मानिसहरूसँग अरूले विवाह गर्न नमान्ने भएकाले यिनीहरूको लिङ्ग अन्य पुरूषहरूको तुलनामा अलि लामो हुन्छ र लामै भएकाले आफ्नै योनिमा आफ्नै लिङ्ग पसाएर यिनीहरूले यौन सुख प्राप्त गर्छन् । यसो गर्दा बच्चा गर्भमा बस्छ कि बस्दैन होला ? यदि बसेर बच्चाको जन्म भए पुरूष जन्मिन्छ कि महिला ? के पुरूष र महिलाको त्यो ठिमाहा छातीबाट दूध निस्किन्छ होला त ? यस्ता अनेकन आँकलन गथ्र्यो मस्तिष्कले, तेस्रो लिङ्गीका विषयमा । यस्ता कुराहरू सम्झँदा आफूभित्रको अज्ञानताप्रति निकै अफसोस महसुस हुन्छ । बाह्र कक्षासम्म आइपुग्दा पनि विद्यालय तथा समाजले नपढाएको विषय भूमिका श्रेष्ठद्वारा लिखित पुस्तक ‘भूमिका’ले मज्जाले पढाइदियो र अनुभूतिसमेत गराइदियो । मभित्र रहेका सबै कौतूहलताहरू मेटाइदियो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा लेस्बियन, गे, बायोसेक्सुअल, थर्ड जेन्डर र इन्टरसेक्स गरी पाँच प्रकृतिका मानिसहरू पर्छन् र यिनीहरूको विशेषता एकअर्काबाट पृथक् रहेको कुरा पनि पुस्तकले छर्लङ्ग बनाउँछ । यस आत्मकथाको सुरूवात महाभारतको प्रसङ्गबाट भएको छ । राजकुमारी अम्बालाई शाल्व नरेशले अपनाउन अस्वीकार गरेपछि उनी वनमा गई महादेवको तपस्यामा लीन हुन्छिन् । र, महादेवकै वरदानअनुसार उनी राजा द्रुपदकी छोरी शिखण्डीको रूपमा पुनर्जन्म लिन्छिन् । तर छोरीका रूपमा जन्मिए पनि उनले महादेवबाट छोराको नाम र बहादुरीले प्रसिद्धि पाउने वरदान पाएकी हुन्छिन् । र, यिनै शिखण्डीले पछि आफ्नो स्त्रीत्व कुवेरका सहयोगी स्थुणाकर्णको पुरूषत्वसँग साटेको कुरा यस पुस्तकमा व्याख्या गरिएको छ । त्यतिमात्र नभएर धार्मिक कथाहरूका बृहन्नलारूपी अर्जुन, अर्धनारीश्वर तथा मोहिनीजस्ता पात्रहरूमार्फत् त्यसबेला यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महत्व देखाएर वर्तमानमा आफ्ना समुदायका मानिसहरूको अस्तित्व खोज्ने भरमग्दुर प्रयास गरेको छ यस पुस्तकले । तेस्रो लिङ्गी महिला, यस पुस्तककी लेखिका स्वयं कैलाशबाट भूमिकामा परिणत भएको र परिणत हुने क्रममा झेल्नुपरेका दुःख–कष्टहरूलाई बडो सुन्दर ढङ्गले पुस्तकमा उतारिएको छ । पुरूष लिङ्ग लिएर जन्मिएको कैलाशलाई दस–एघार वर्षको उमेरमा आफूभित्र स्त्रीसुलभ गुणहरू भएको ज्ञात हुन्छ । र उनी स्त्रीका पहिरन तथा श्रृङ्गार लगाई आफूलाई स्त्री देखाउने सक्दो प्रयास गर्छिन् । तर समाज र परिवारले उनलाई लिङ्गकै आधारमा व्यवहार गर्न बाध्य तुल्याउँछ । तिरस्कार र अवहेलनाले प्रताडित उनको स्त्रीमन यतिसम्म कुँडिन्छ कि उनी आत्महत्याको दुष्प्रयाससमेत गर्न पुग्छिन् । स्त्रीमन तर पुरूष शरीर भएकी उनलाई आफ्नो ब्रतबन्ध भएको सम्झिँदा आज पनि उत्तिकै पीडाबोध भएको महसुस हुन्छ । पछि नीलहिरा समाजमा आबद्ध भई आफूजस्ता अनेकन मानिसहरू देखेपछि उनीभित्र बाँचेर केही गर्छु भन्ने आत्मविश्वास पलाउँछ । र, उनी त्यसपछि जनचेतनामूलक विभिन्न कार्यक्रमहरूमा सहभागी हुन पुग्छिन् । त्यही संस्थामा सामान्य जागिर पाएकी उनले पछि वचत गरेको रूपैयाँबाट स्त्रीपना अभिवृद्धि गर्ने हार्मोनहरूको सेवन गर्न थालेको, स्तनको अकार ठूलो नभएपछि थाइल्यान्ड गएर स्तन ट्रान्सप्लान्ट गरेको, टस्टिस निकालेर फालेको र पछि रूपैयाँको जोहो गर्न सके लिङ्ग फ्याँकेर योनि ट्रान्सप्लान्ट गर्ने उद्देश्य भएको कुरा पनि पुस्तकमा कारूणिक लयमा प्रस्तुत गरेकी छिन् । ‘आफूलाई परिवर्तन गर्ने हो भने तिमी जुन रूपमा समाजमा चिनिन चाहन्छौ, त्यसैमा पूरै बदल आफूलाई ।’, पुस्तकभित्र उल्लेख गरिएको यस वाक्य अनुरूप नै उनले आफूलाई महिलाको रूपमा चिनाउन चाहेको कुरा बताएर आफ्नो चाहना पूरा गर्न दिन रात लागि परेको कुरा व्यक्त गरेकी छिन् । सामाजिक अभियन्ता भूमिकाले मिस पिङ्क टाइटल २००७ पनि प्राप्त गरिसकेकी छिन् । बारम्बार अपशब्दहरूको तिखो प्रहारबाट आहत भएकी लेखिकाले यस पुस्तकमार्फत् आफ्ना समुदायका मानिसहरूले पहिचान खुलाएर बाँच्न पाउनुपर्छ, र अन्य नागरिकसरह नै राज्यद्वारा दिइने सम्पूर्ण सेवा सुविधाहरू पाउनुपर्छ र राज्यसत्तामा पनि आफ्ना समुदायका व्यक्तिहरूलाई ठाउँ दिनुपर्छ भनेर चर्को आवाज उठाएकी छिन् । यस काममा सरकार र समाज दुवैका तर्फबाट सहयोगी भूमिका निर्वाह गरिन आवश्यक रहेको कुरा पनि उल्लेख गरेकी छिन् । पुरूष र महिला भएर बाँच्नसमेत कठिन हाम्रो समाजमा भूमिकाजस्ता यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू कसरी जीवन निर्वाह गरिरहेका छन् ? निकै चासो र चिन्ताको विषय हो । यसतर्फ सम्पूर्ण नेपालीहरूको ध्यान तानिन निकै आवश्यक छ । आफ्ना समुदायका मानिसहरूका पीडा र कुण्ठाहरूको प्रतिनिधित्व गर्दै प्रगतिशील सोचलाई अघि सारिएको यस पुस्तकले पाठकहरूको मन पक्का जित्नेछ । पुस्तकमा त्रुटि तथा कमजोरीहरू नभएका भने होइनन् । थुप्रै छन् । तर भूमिकाजस्ती उदाहरणीय मानिसको आत्मकथा नेपाली पुस्तक बजारमा आउनु नै हाम्रो समाजको वृहत् उपलब्धि भएको ठान्दछु, र यस्ती मानिसलाई हामीले प्रोत्साहन गर्नुपर्छ । मलाई लाग्छ, यस्तो स्वादको पुस्तक नेपाली बजारमा पहिलोपटक आएको हुनुपर्छ । साहसिली र हिम्मतवाली भूमिकालाई पुस्तकको सफलताको शुभकामना । यो पुस्तकलाई घोस्टराइटिङ नेपालले बजारमा ल्याएको हो । पुस्तक यति धेरै बिक्री होस् कि यसबाट पाउने रोयल्टीले उनको लिङ्ग परिवर्तन गरी महिला भएर बाँच्न चाहने आशा पूर्ण गरिदियोस् । #आत्मकथा #प्रदिप बस्नेत #भूमिका श्रेष्ठ #लैङ्गिक अल्पसङ्ख्यक
मायालुको साहित्यिक जजमानी: बचपनको कुरा: गाउँमा त्यही एउटा सामुदायिक विद्यालय थियो । काकाको छोरा र म छ वर्षको उमेर भएपछि कक्षा शिशुमा भर्ना भयौँ । त्यो समयमा घरमा नयाँ पाहुना आउँदा पनि ढोकाको चेपबाट लुकेर हेथ्र्यौ, डराउँदै । कक्षामा थुप्रै साथीहरू थिए । त्यसमध्ये हामी दाजुभाइलाई हर्केसँगै सिटमा राखिदिनुभएको थियो । विद्यालय भर्ना भएको केही हप्तापछि हर्केले डटपेन चो¥यो र उल्टै शिक्षक नभएको मौकामा पेन्सिलले घोचेर कक्षाबाहिर निकालिदियो । त्यही बेला एकजना शिक्षकले बाहिर निस्किएको निहुँमा झपार्दै टाउकोमा उनको साहिली र माइली औँला उत्तानो पारेर टकसिङ बजाउनुभयो । घरमा आपा–आमाले कहिले पनि पिट्नुभएको थिएन, बिनाकारण । हामी खूब रोयौँ । त्यो दिनदेखि त्यो विद्यालय जान दिनुभएन घरबाट । आपाले हामीलाई गाउँमा बोर्डिङ स्कूलको शाखा खोलेर पढ्ने व्यवस्था मिलाइदिनुभयो । बाँसले पातलो पारेर बारेको, टिन च्यापेको, दुईवटा कक्षासहितको थियो त्यो विद्यालय । हामी दुई घण्टा उकालो हिँडेर धाउँथ्यौँ । विद्यालयमा प्रयोग हुने ब्ल्याक बोर्ड, डेस्कबेन्चसमेत घरमै बनाएर लगिदिनुभएको थियो । त्यो समयको थोरै तलबले गर्दा नयाँ नयाँ शिक्षकरू फेरिरहनुहुन्थ्यो । गाउँमा थुप्रै शाखा खोलिँदै विद्यालय सरिरह्यो । हामी पनि सरिह्यौँ । ढिलो उमेरमा कक्षा पढ्न सुरु गरेको हुनाले कतिवटा कक्षा नपढी बुर्कुसी मारेका थियौँ । हामी पढ्ने भन्दै कविता ठुलो–ठुलो स्वरमा पढ्थ्यौँ । मैले एउटा सानो बाक्लो गाता भएको कपिमा मनपर्ने कविताहरु लेखेर राखेको थिएँ । प्रायः कितावका कविताहरु कन्ठस्थ हुन्थे । त्यतिबेला नेपाली किताव मेरो रोज्जा कितावमध्येमा पथ्र्याे । दाजुको नेपाली किताव पहिल्यै पढिसकेको हुन्थेँ । ऋजन मायालु आपा र आमाका कुरा : आपा घरमा दुई हप्तासम्म आउनुहुन्नथ्यो । जंगलमा चामल, तरकारी लगेर पाल लगाएर बस्नुहुन्थ्यो । विहानदेखि बेलुकीसम्म आरा तान्नुहुन्थ्यो । काठ चिर्नुहुन्थ्यो । वहाँका हात कक्रक्क परेका थिए । वहाँका हत्केलामा चिमोट्दा वहाँलाई दुख्दैन थियो । त्यही भएर वहाँका हात खुव मन पथ्र्याे । कमसेकम त्यही ठेलाले वहाँका हात दुख्दैन थियो । त्यसै ठेलाको आदेशले हाम्रो पेटको व्रत भंग हुन्थ्यो । घरमा भएको बेला दराज, टेवल, खाट आदि फर्निचरका सामान बनाएर बेच्नुहुन्थ्यो । कहिले नाम्लो बाट्नुहुन्थ्यो, डोको घुम, डालो बुन्नुहुन्थ्यो । कहिले खुकुरी, कर्दा आदि फलामको काम गर्नुहुन्थ्यो । सिमेन्ट र ढुङ्गाको काम गर्नुहुन्थ्यो । यतिसम्म कि हामीले विद्यालय जाँदा लगाउने कपडा पनि वहाँ आफैँले सिलाइदिनुहुन्थ्यो । गाउँले जीवनमा गर्नुपर्ने काममध्ये उहाँले नजानेको काम केही थिएन । आमा कहिल्यै विद्यालयको पाइला नटेकेको मान्छे । उहाँ पुल्ठो बाल्दै प्रौढ शिक्षा पढेकै भरमा गज्जबले लेख्नुहुन्थ्यो, गीत गाउनुहुन्थ्यो । उहाँले लिनुभएको महिला विकाश र रेशम खेतीको तालिममा लेखेर बाँकी रहेको कापीका पानाहरूमा गीत लेख्नुहुन्थ्यो । विशेष माहोल भएको समयमा आमा, आपा, दिवा, दिमा, देमाहरू मिलेर खुब मज्जाले स्वरमा स्वर मिलाएर दोहोरीजस्तो लैबरी गाउनुहुन्थ्यो । अहिले बुझ्दा प्रेमको दोहोरी चल्थ्यो । बेलाबेला खूब मज्जाले हाँस्नुहुन्थ्यो । हामी चाख मानेर सुन्थ्यौँ । त्यसको प्रभावले मलाई गीतले खूब तान्यो । अझै दुईवटा कापीहरू छन् । त्योबेला मनपर्ने गीतहरू लेखेर राखेको । अक्षर चिनाउन आपाले रत्नमाला, वर्णमालाका किताबहरू देखाउनुहुन्थ्यो । पढाउँदा निदाए खोयाले हान्नुहुन्थ्यो । हामी डराउँदै भित्रभित्रै हाँस्थ्यौँ । अक्षर चिन्ने भइसकेका हामी, आपाले दार्जिलिङ बस्दा ल्याउनुभएको किताबको कथा हामीलाई सुनाउनुहुन्थ्यो । कथा सुन्नेबित्तिकै म उक्त किताव खोज्न उहाँले मिलाएर राख्नुभएको किताबहरू छरपस्ट पारिदिन्थेँ । सेतो रुमाल भन्ने कथा सुनेर चार कक्षामा पढ्दा नै मैले त्यस कथाको पुर्नलेखन गरेको अझै याद छ । जजमानी: पढ्ने सिलसिलामा झापा झरेपछि “मुना” मासिक पत्रिका रोजाइमा प¥यो । फेला परेका दिन नै पढेर सक्थेँ । कमिक्स र अन्य बालकथाहरू खूब पढियो । पछि प्रकास कोविदका उपन्यास हात परेपछि लेखनलाई निरन्तरता दिन्छु र साहित्यकै जजमानी गर्छु भन्ने जमर्काे कसेँ । उनले प्रेमका पात्रहरू मात्र लेख्थे । उनले लेखेका सबै उपन्यासहरू मैले पढेर सकेँ । “अर्काे जन्म” त झन दश–पन्ध्रचोटि दोहो¥याएँ । आफूले किनेर पढ्ने क्षमता थिएन । पुस्तकालयको राम्रो व्यवस्था थिएन । साथीकोमा भएका र फेला परेजति सबै पढियो । पढाउने सामथ्र्य बोझ बन्न थालेपछि दाजु इलाम नै फर्किएर सामुदायिक विद्यालयमा भर्ना हुनुभयो । आमाले मङ्गलसूत्र बन्धकी राखेर थप एक वर्ष पढाउनुभयो मलाई । त्यो एक वर्ष बिताएपछि मैले पनि झापा छाडेँ । कोविदको जस्तो प्रेम: त्यसपछि पुरानै समय फर्कियो । दुई घण्टाको समय डेढ घण्टामा नै काट्न थालियो । दाजुहरू खूब पत्रमित्रता गर्नुहुन्थ्यो, विद्यालयको ठेगाना साटासाट गरेर । हुलाकी प्रत्येक हप्ता झोलाभरि चिठीपत्रहरू बोकेर आउँथे । दाइले लेख्ने चिठीहरूमा रुवाई, मुक्तक, कविताहरु भरेर सुन्दर अक्षरले लेखेर पठाउनुहुन्थ्यो । खासै चिठी नलेखे पनि नयाँ वर्षमा पोष्टकार्डचाहिँ खूब बाँडिहिँडेँ मैले पनि । पछाडि राम्रा राम्रा मुक्तक, रुवाई (अरूको चोरेरै भए पनि) मज्जाले लेखेर पठाउने गर्थेँ, आफ्नो मनले आफ्ना सम्झिनेहरूलाई । त्यो समयमा हवाई मासिक, त्रैमासिक र वार्षिक पत्रिकाको चलन नै चलेको थियो । हाम्रो घरमा पनि टाढा–टाढाबाट पत्रिका आइपुग्थ्यो । कोविदका उपन्यासमा जस्तै प्रेम खोज्ने उत्ताउलो उमेरको फड्को सुरु भएछ । प्रेममा परेँ । प्रेमका कविता, मुक्तक, गजल, गीत, कथा सवै लेख्न थालेँ । थुप्रै डायरी भरियो । दुईवटा उपन्यासको खाका सकियो । कतिवटा रात अनिँदो बिताएँ । पेवा अदुवा बेचेर मोबाइल किनेँ । मन ढुकढुक पार्दै फोन हानेँ । हातमा मोबाइल बोकेर म्यासेजको रिप्लाई कुरेर समय बिताएँ । प्रेमबाहेक उब्रिएको समयमा देशको अवस्थालाई हेरेर राष्ट्र सञ्चालकप्रति आक्राश पोखेँ । पछि प्रेमको धागो मात्र हातमा रह्यो । चङ्गा छुटेपछि विछोडको कविता लेखेँ । लेखे जति सबै बिछोडको । झोँकमा परेछन् दुईवटा डायरी । बच्चाले रिसमा खेलौना तोडेजस्तो जलाइदिएँ । आज के के लेखेको थिएँ खूब हुटहुटीले पोल्छ । हेर्न पाए हुन्थ्यो । अर्काे अध्याय: बिस्तारै अध्याय फेरियो । कोविदको प्रेम फिक्का लाग्न थाल्यो । पारिजात, विपि परका लाग्ने मलाई बिस्तारै प्रगतिवाद, समाजवाद, नारीवाद, विसङ्गती इत्यादिका अर्थहरूको खेल बुझ्न थालेपछि मज्जा आउन थाल्यो । कोविद चटक्क छाडे पनि तिनको जस्तो सरल भाषा छाड्न सकिनँ । प्रेमलाई मात्र कविता मान्ने, लेख्ने म विष्णुविभु, अशेष मल्ल, मनु मन्जिल पढ्न थालेपछि मानवीय चिन्तन, विद्रोह र मुक्तिको खोजी पनि हो कविता भनेर बुझ्न थालेँ । बुद्धिसागर, सरुभक्त, कृष्ण धरावासी साथै अग्रज र समकालीन पछ्याउन थालेँ । नेपाली साहित्यको विकाशमा पश्चिम साहित्यको ठूलो हात रहेको भए पनि तिनका कृतिहरू नेपालीमा नपाएको अवस्थामा दुःख गर्दै पढ्नुपर्ने बाध्यता थियो । शेक्सपियर, पाउलो कोहेलो, हेमिङ्वे, आदिको जीवनी पढेपछि पश्चिमी साहित्यको लत लाग्यो । पर्ल एस वर्गको “द गुड अर्थले” त हप्ता दिनसम्म रिँगटा छुटायो । चिनिया अमेरिकन लेखक गेलिंग यानको “द फ्लावर्स अफ वार” ले थला परेँ । प्रेममा होस् या युद्धमा, जो जति लडेर जिते पनि आखिर त्यो चोट मात्र हो भन्ने थाहा पाउँदा पाउँदै पनि माहोल र परिवेशले घाँटी ङ्याँकेपछि जिन्दगी खुल्ला मैदान बन्दो रहेछ, चोटसहितको । युद्धप्रति आकर्षित अमेरिकी अर्नेष्ट हेमिङवेको चर्चित उपन्यास “बूढो मान्छे र समुन्द्र”, जुन उपन्यासले मानवले जीवनभरि गर्नुपर्ने सङ्घर्षको चित्रण यसमा भन्दा राम्रो विरलै पाइएला । यसै उपन्यासलाई कल्पना गरेर “बूढो मान्छे र उसको नाउ” भन्ने कविता लेखेको थिएँ । अकालमा आपा आमाले गरेको दुःखसँगै बसेर महसुस गर्न पाएँ । त्यसैले होला आफूले गरेका सानातिना सङ्घर्षलाई दुःख भन्न मन लाग्दैन । श्रीमती पाएपछि, श्रीमतीको दरिलो भूमिकामा खरो उत्रिन पार्टनर आइपुगेपछि काठमाण्डौँको सङ्घर्षको दिनमा नै पहिलो कविता कृति “चुचुरो अनि स्वास्नीमान्छेहरू” जन्मियो । जुन मैले अँचिला काटेको रहेछु । पूरै प्रेमको खाटो बसेपछि जन्मिए पनि विमोचनको समयमा प्रमुख अथिति सम्माननीय व्याकुल माइलाले कविता सङ्ग्रहमा जवानीमा फुल्ने प्रेमका कविता अटाएनछन् भन्दा म झल्याँस्स भएँ । प्रेम बहुत सुन्दर लाग्छ, तर प्रेमपछिको झर्काे समयमा जन्मिएछ सायद । जोसँग पनि घुलमिल हुन समय लागे पनि पछि घनिष्ट हुने म, अंशियारीमा एघार कविका एकसय दश कविताको कृति “उज्यालोका मालीहरू”सँगै विमोचन भयो घनिष्ट सम्बन्ध । अंश बाँडफाँड गर्ने जिम्मा बाबा र मातेसँग मात्र छ । गुनासो: कोहीबेला त्यो मैले पढ्न सुरु गर्दा पहिलो पाइला टेकेको विद्यालय पुग्छु, र पहिले घटेका प्रत्येक घटना फनफनी आँखामा घुम्छ । कहिले हर्के सम्झिन्छु, कहिले ती शिक्षक सम्झिन्छु । शिक्षकप्रति खुब आदर पलाउँछ । सायद म त्यो विद्यालय पढेको भए बाल्यकालका साथीसंगी अरू नै हुन्थे । मलाई साहित्यको अमल लाग्थ्यो कि लाग्थेन होला ?? म यति बेला कता हुन्थे होला ?? आपा र मसँगै हिँड्दा नचिनेको कोही कोही मान्छेले दाजुभाइ भन्छन् । आजभोलि आपाको हातमा ठेला उठ्न छोडेको छ । कतिचोटि कविताहरू हिँड्दाहिँड्दै मस्तिष्कमा टाँगिन आइपुग्छन् । म हतार हतार रेकर्ड गर्छु । कतिचोटि बिम्ब बिर्सिएर अर्कै कविता बनेको छ । यतिबेला म जल्लाद भएको महसुस गर्छु । यस्तोसम्म भएको छु कि सोच्दासोच्दै कार्यालयबाट हिँडेपछि काहिलेकाहीँ घर आइपुगेपछि मात्र झस्किन्छु । बचपनमा नाम्लो बोकेर घाँस काट्न जाँदा घाँसै नकाटी कविता लेख्न घर आइपुगेको सम्झन्छु । बचपनमा त्यतैतिर धेरै रुमलिएर डुलेर होला लेखनको तत्व खोज्न चिहान, जङ्गल भौतारिन खासै रुचि लाग्दैन । बरु दिनभरि गर्मीमा खोलामा नुहाउनु, आँखा चिम्लिएर आफँैलाई माया गरिरहनु, लामो श्वास तानेर विश्राम गर्नु, नयाँ ठाउँ घुम्न जानु, सङ्गीत सुन्नु, खुल्ला आकाशमा बसेर लेख्न बस्नु, बहुत मनपर्छ । नोस्टाल्जिया हुँदै वालापनमा मैले गर्न नपाएका, भन्न मन लागेर भन्न नपाएका, खान मन लागेर खान नपाएका सवै कुरा तन्नेरी उमेरमै गर्न मन लाग्छ । प्रविधिको पहुँचबाट थाहा पाएर वा सुनेकै भरमा साहित्यिक कार्यक्रममा सहभागी हुँदा मञ्चबाट नाम उच्चारण हुँदा आनन्द मान्ने म, एउटा कविता वाचन गर्नुपर्ने ठाउँमा छोटो छ भन्दै दुई तीनवटा सुनाएर आएको घटना वेग्लै छ । घटना बेग्लै छ, एक रात रातभरि जङ्गलमै हिउँको चीसोमा बसेको । मलाई एक जना गुरुले भन्नुभएको कुरा अझै याद छ, लेख्ने भन्दैमा लेखक नाङ्गिनु हुँदैन । नाङ्गिए पनि कट्टुचाहिँ लगाउनुपर्छ । त्यतिसम्म चाहिँ कुनै दिन नाङ्गिने मन छ । झापाछेउमा बसेर झापा र इलामले नै नचिनेको म फगत एउटा उदाहरण हँु । एउटा पात्र हुँ शब्दको अखडामा होमिन्न खोज्ने, अक्षरजीवी हुन खोज्नेमध्येको । मजस्ता धेरै छन् साहित्यलाई साहित्यको आँखाले छेकबार गर्ने । मोफसलमा रहेर राजधानीलाई औँला ताकिरहेको छु । साहित्य जगतमा राजधानीमा राजाजस्ता धनी बस्नेले मोफसलको म फसल उमार्नेलाई एउटै नामले चिन्दो हो, तर छिचिमिराजस्तो थपक्क उडेर, पखेटा चुडाएर फेरि हराउनु पनि भएन । देवलमा बरू च्याउ नै उमार्छु । सङ्घर्षका नाममा लेख्ने काम जारी राखेको छु, लेखिरहने छु । #उज्यालोका मालीहरू #ऋजन मायालु #चुचुरो अनि स्वास्नीमान्छेहरू
पाँच सय वर्ष पुरानो इतिहासको साक्षी: अचानकसँग गएको यो चित्रकला इन्टरनेटमा पुलुक्क देखियो। सन् १५२० जुन ७ अर्थात् आजकै दिन (गएको साता) को घटनालाई इंगित गरी बनाइएको यो घटना भन्नाले बेलायती राजा हेनरी अष्ठम र फ्रान्सेली राजा फ्रान्सिस प्रथमको भेटघाटको अवसर हो। जसलाई क्याम्प अफ द गोल्डेन ब्रोकेडका रूपमा चिनिन्छ, जुन हालको फ्रान्सेली भूभाग कलाइसमा पर्छ। कलाइसको यो क्षेत्र पहिला बेलायती अधिनस्थ भूभागमा पर्थ्यो। बेलायतीहरू फ्रान्ससँग बेलाबेलामा झिकिकटक गरिरहन्थे र सोही अवसरमा त्यो बेला यो भूभाग बेलायती भागमा परेको थियो। बारम्बारको युद्धलाई किनारा लगाउन राजा फान्सिस प्रथम र हेनरी आठौँले जुन ७ देखि २४ सम्म (१७ दिन) यही ठाउँमा क्पाम्प गाडेर बसे ताकि झगडालाई किनारीकृत गर्न सकियोस्। त्यो बेला मुस्लिम सल्तनत (अटोमन अम्पायर) को बिगुल युरोपको मुटुमै पुगिसकेको थियो। हालको टर्कीबाट शुरू भएको उनीहरूको साम्राज्य उत्तरी अफ्रिका हुँदै दक्षिणी युरोप कतिपय भूभागमा पनि तिनले कब्जा जमाइरहेका थिए। यो भेला चाहिँ अटोमन शक्तिलाई रोक्न, आपसी वैरभाव अन्त्य गरी क्रिश्चियन साम्राज्यमाथि आइपरेको संकट समाधानका लागि गरिएको थियो। तर यो भेला चाहिँ फ्रान्सेली महान् कि बेलायती भनी ‘देखाउन’ गरिएको म्याराथनजस्तो प्रतीत हुन्थ्यो त्यो बेला। त्यो बेला फ्रान्सिस र हेनरी दुवै उही उमेरका, उस्तै प्रख्याति बटुलेका राजा भएकाले यी दुईमध्ये को महान् भन्ने जान्ने चासो सबैलाई थियो। दुवैलाई बराबरी देखाउन त्यो बेलाका मन्त्रीहरूलाई निकै गाह्रो भएको थियो। कोही कुनै भन्दा कम छैनन् र बढी पनि छैनन् भन्ने पार्नु निकै कठिन पनि थियो। फ्रान्सिस र हेनरीलाई बसालिएको ठाउँ पनि यति गणना गरी राखिएको थियो कि दुवैको ठाउँले एकअर्कालाई हेर्दा न होचो, न अग्लो, न धेरै ठाउँ न त साँघुरो, ठिक्क मिलाएजस्तो बनाइएको थियो। भनिन्छ, यी सबै कुरा त्यो बेलाका कार्डिनल वाल्सीले गरेका थिए। यहाँ रहुञ्जेलसम्मका लागि दुवै ठाउँमा उत्तिकै र उस्तै खेल, प्रतियोगिता, टेन्ट, गलैँचा, महोत्सव, संगीत लगायतको व्यवस्था गरिएको थियो। राजा हेनरीका लागि अस्थायी दरबार बनाइएको थियो, जसमा १० मिटर अग्लो पर्खालसमेत थियो। पर्खालमा चित्रकलाका अनेकन् उम्दा नमुना पेश गरिएको थियो। छानो फेब्रिकबाट बनाइएको थियो र त्यो पनि रंग्याइएको थियो। ‘दरबार’का वरिपरि २ हजार ८ सय टेन्ट खडा थिए ताकि दर्शन भेटका लागि निम्त्याइएकाहरूका लागि सबै किसिमको व्यवस्था मिलाउन सकियोस्। यहाँ १५ दिने भ्रमणमा दुवै देशका राजाले विविध प्रतियोगितामा भागसमेत लिए। धनुकाँणदेखि कुस्तीसम्म तिनले हेरे तर कहिल्यै पनि फ्रान्सिस र हेनरी साथी हुन सकेन। एकले अर्कोलाई को धनी र सक्षम भन्ने देखाउने होड थियो त्यहाँ। हेनरीलाई बढी त्यो देखाउनु पर्थ्यो। तथापि यो बैठकले त्यो बेलाको युरोपमा ठूलो प्रभाव पार्यो। त्यसो त यो भेटको दुई वर्षसम्म पनि आङ्ल-फ्रान्सेली युद्ध जारी रह्यो तर यो भेलाकै कारण दुई देशबीचको शान्ति सम्झौता गर्ने प्रस्थान बिन्दुसमेत भयो। बेलायती र फ्रान्सेली झगडा रोकिनुको अर्को कारण के पनि थियो भने एकअर्कालाई होचो देखाउनका लागि रचिएका अनेकन् तिकडम, आडम्बर प्रदर्शनका कारण फ्रान्स र बेलायत आर्थिक मन्दीमा परे। जसका कारण जारी युद्ध रोक्नु उनीहरूको बाध्यता पर्यो। यो चित्रले दुई शक्तिसम्पन्न देशका शासकको अहं प्रदर्शनको उच्च नमुना मात्र पेस गर्दैन, साथमा बेलायतले एक समय जितेको भूभाग दोहन गर्ने जग्गाका रूपमा परिचित कलाइस गुमाउनुको कारकका रूपमा समेत चिनिन्छ। हुन त त्यो फ्रान्सेली भूभाग थियो तर शक्तिले जितेको हुनाले त्यो भूभागप्रति बेलायतलाई कहिल्यै माया लागेन। स्थानीयप्रति कहिल्यै सहानुभूति प्रकट गरिएन। फेरि मुख्य भूमिभन्दा टाढाको क्षेत्र भएकाले जितिएको क्षेत्र भए पनि स्थानीयबासीलाई बेलायतको भरभन्दा फ्रान्सेलीकै भर बढी थियो। जग्गा बेलायतीले जिते तर त्यसलाई कहिल्यै आफ्नो भूभागका रूपमा माया गरेनन्। जसका कारण सम्झौता गर्नुपर्दा उनीहरूले त्यस भूभागलाई सहजै छाडिदिए। कहिलेकाहीँ देश भनेको भूभाग मात्रै हो कि त्यहाँका जनता पनि हुन् भन्ने कुरा उठ्छ। फाइदा मात्र लिने तर सुविधा नदिने शासक भए भने त्यस्ता शासकलाई जनताले पनि त्यागिदिन्छन् र शासकले पनि त्यस्तो ठाउँलाई झिँजोका रूपमा लिन्छन्। यो क्याम्प बसेको घटना पाँच सय वर्ष बितिसक्यो तर त्यसले बुझाउने सान्दर्भिकता भने सायदै बित्ला। #अदृश्य #इतिहास #चित्रकला
कविताको कथाः भिखारी र उनको 'नागरिकता': नागरिकता कुनै अबोध बालकको आँखामा, मात्र एक कागज हुनसक्छ । कुनै नौजवानलाई परदेशको बाटो बन्न सक्छ । कुनै प्रौढलाई भत्ताको एक आशा हुनसक्छ । कुनै विदेशीलाई सत्तासँगको लेनदेन बन्न सक्छ । तर समग्रमा हेर्ने हो भने नागरिकता एक चिनारी हो । राज्यसँगको सोझो सम्पर्क नै नागरिकता हो । नेपालको सन्दर्भमा नागरिकताको विषय एक अन्तरहृदयको घाउ पनि रहेको छ । जुन घाउ पुरानो खत बनेर हृदयमा बिझाइरहन्छ । संसदमा होस् या सञ्जालमा, नागरिकताको विषय कहिले केजीमा उठ्छ, त कहिले नोटमा। संविधानमा लेखिएको मापदण्डबाहिर रहेर कयौँ नागरिकता बनेका छन्, जसको लेखाजोखा अत्यन्तै कम भएको छ । तर प्रश्न भने उठिरहन्छन्। एउटा नागरिकताले भोको पेटलाई पनि धावा बोल्न सक्छ भन्ने उदारहण कोरोना महामारीमा कीर्तिपुरमा गरिएको राहत वितरण कार्यक्रमबाट पनि पुष्टि भएको छ । नागरिकता नै नभएपछि अति विपन्न वर्गका समुदायले राहत नपाउँदा सामाजिक सञ्जालमा ठूलै होहल्ला भयो। एउटा नागरिकताले देशको इतिहासमा नै उथलपुथल गराउन सक्छ । राज्य व्यवस्थालाई नै प्रश्न गर्न सक्ने हैसियत राख्दछ । एउटा सचेत कविले त्यही विषयलाई कसरी प्रस्तुत गर्न सक्छ भन्ने उदाहरण कवि बद्री भिखारीको ‘नागरिकता’ कविताबाट बुझ्न सकिन्छ । कविता ‘नागरिकता’ जब-जब देशमा नागरिकताको प्रश्न उठ्छ, तबतब उनको यस कविताले मानिसको हृदयलाई झङ्कृत पार्छ। वा, भनौँ जब कुनै पाठक काठमाडौँमा रहेको संसद् भवन अगाडि पुग्छ, उसले यस कवितालाई आफ्नो मस्तिष्कको पाना पल्टाएर पढ्न सुरु गर्छ । एकातिर एउटा रैथाने समुदाय छ, जसले पुस्तौँ संघर्ष गर्दा पनि नागरिकता पाएको छैन र देशभित्रै उपेक्षित व्यवहार भोगिरहेको छ। अर्कोतिर यस्तो समुदाय छ, जसले साम, दान, दण्ड, भेद प्रयोग गरी चाहेको समयमा चाहेजसरी थोकको भाउमा नागरिकता हासिल गर्न सक्छ। यिनै निराशा र तनावका बीच कवि बद्री भिखारीले रचेको ‘नागरिकता’ संविधानसभाबाट संविधान बनाउने क्रममा भएका विभिन्न आन्दोलनका समयमा निकै चर्चा बटुलेको कविता हो, यो। किन भिखारीको कविता यत्तिका चर्चित भयो ? लेखिनुको कारण के थियो ? यो कुरा खोतल्नुअघि उनको उही बहुचर्चित कविता ‘नागरिकता’ शीर्षकको कविता पढौँ: नागरिकता दिनुस् प्लिज ! मात्र, नागरिकता दिनुस् मेरो मान्छेको नागरिकता दिनुस् । के लिनुहुन्छ ? छानीछानी लिनुस् ग्वालियरको सर्ट पेन्टको कपडा बाटा कम्पनीका जुत्ता चप्पल चौधरी ब्रान्डको छाता इम्पोर्टेड लेदर ज्याकेट तपाईंको इच्छा जे छ, लिनुस् । मानिलिनुस् यो चाँदमलको गोदाम तपाईंकै हो मलाई थाहा छ, तपाईंको सगरमाथाले जाडो छेक्दैन लिनुस्, ओड्ने सिरक पनि लिनुस् ओछ्याउने सतरन्जा तन्ना जो छ लिनुस, अरू लानुस् तपाईं हिँड्न सक्नुहुन्न यो गाडी लानुस्, गाडी चलाउन सजिलो हुन्छ यो मोबिल, तेल लानुस् । तपाईं हिँड्नुहुन्छ जो पिच हामीले बनाएको हो तपाईंका नानी पढ्नुहुन्छ जो स्कुल हामीले बनाएको हो तपाईंको श्रीमतीलाई अस्पताल पुर्याउने एम्बुलेन्स हामीले दिएको हो तपाईंको भलो चाहने पुरानो दोस्त हुँ म प्लिज, मेरो मान्छेको नागरिकता दिनुस् । म तपाईंसँग और केही माग्दिनँ तपाईंको जमिन जो छ, तपाईं नै राख्नुस् तपाईंको घर जो छ तपाईं नै राख्नुस्, तपाईंलाई नै काम दिन्छ हिमाल राख्नुस् खोला नदी जो छ, तपाईं नै राख्नुस्। तपाईंसँग धन दौलत केही माग्दिनँ सिर्फ, मेरो मान्छेको नागरिकता दिनुस् तपाईं कुनै काम नगर्नुस्, तपाईंको लुगा हाम्रो मान्छेले सिलाउँछ! तपाईंको पाइखाना हाम्रो मान्छेले सफा गर्छ! तपाईंको दाह्री केश हाम्रो मान्छेले बनाउँछ! तपाईंको देश हाम्रो मान्छेले चलाउँछ, प्लिज ! मात्र मेरो मान्छेको नागरिकता दिनुस् । बस् ! तपाईंको सुरक्षाको लागि लाठी लानुस् बन्दुक लानुस्, तपाईं कुनै चिन्ता नलिनुस् मात्र आराम गर्नुस् तपाईंका खोला र नदीबाट हामी बिजुली निकालिदिन्छु तपाईं बिजुली ताप्नुस् र हावा खानुस् मामुली एउटा कागज न हो कागज हामी दिन्छु मसी हामी दिन्छु सिर्फ मेरो मान्छेको नागरिकता दिनुस्। बद्री भिखारीले यस कवितामा तराईको लवज मिसाएकाले नागरिकता कवितालाई अझ धेरै न्याय गरेको छ । खुल्ला सीमा भएकाले वर्षेनी यहाँ दक्षिणी छिमेकीले लिएको कानुनी रूपमा वा कानुन विपरीत नागरिकताहरू कौडीको भाउमा बिक्री भइरहेका छन् । कवि भिखारी बताउँछन्, “कवितामा लेखिएका सबै कुरा सत्य हुन् केहीलाई छाडेर ।” जिल्ला प्रशासन कार्यलयमा जागिर खाइरहेका कविलाई यस्तो दृश्यले हृदय भक्कानिन्थ्यो । देखेको दृश्यलाई उनले कवितामा उतारे र नागरिकता कविताको जन्म भयो । विसं २०६० सालमा बिराटनगर र सिरहामा बसेर लेखिएको यस कविताले जब जब देशमा नागरिकताको कुरा उठ्छ, यो कविता प्रतिनिधि बनेर संसद् भवन अगाडि उभिएर प्रश्न सोध्ने हैसियत राख्दछ । कविले जिल्ला प्रशासन कार्यलयमा जागिर खाँदा कुनै एक समुदाय (समुदायको नाम नखोल्ने शर्तमा ) जब उनीहरू कार्यलय आउँथे, त्यहाँ कर्मचारीले ठाउँ वा कुर्सी नै छाड्ने चलन जत्तिकै थियो । यो दृश्यले कविको हृदयलाई प्रश्न गथ्र्यो र उनी के गरौँ र कसो गरौँ भन्ने पीडामा नागरिकता कविता लेखे । बिराटनगर र सिरहामा बसेर पूरा गरेको यस कविता छापामा भने २०७४ सालमा अन्नपूर्ण पोष्टमार्फत आएको हो । यस कवितालाई कविले आफ्नो ‘समुद्र साउती’ कविता सङ्ग्रहमा पनि समावेश गरेका छन् । सरकारको नुन खाएर सरकारकै नीतिलाई व्यङ्ग गर्दा कविलाई आफ्नो कलमले साथ दिएको थियो । कविता लेखिसकेर पहिलोपल्ट कवि बद्री भिखारीले आफ्नै क्षेत्रका मिल्ने कवि साथी मनु मञ्जिल र देवान किराँतीलाई देखाएका थिए । कविता लेखेको समयमा नागरिकताको हाल प्रशासनले मात्र देखेको भएकाले अन्य कविले यस कवितालाई खासै वास्ता गरेनन् तर जब नागरिकता विधेयकको कुराहरू उठ्न थाले, उनको यस कविताले एकाएक चर्चा पायो । कवि भन्छन्, “मैले लेखेको यस कवितामा कल्पना छैन, जे देखेँ त्यसैलाई उतारेँ । यदि केही थपेको छु भने सामानका लिस्टहरू मात्र हुन् ।” कविलाई नागरिकताको प्रश्न उठ्दा खासै सरकारको दोष छ जस्तो पनि लाग्दैन उनलाई। यसरी नागरिकता बाँडिनुमा राजनीतिक दलको अदूरदृष्टि व्यक्तिको परिणाम हो जस्तो लाग्छ । किनकि बिराटनगर र सिरहामा जागिर खाँदा उनले राजनीतिज्ञले नागरिकताको लागि गरेको ठेलमठेल आफ्नै आँखाले देखेका छन् । नागरिकतालाई देशले गम्भीर रूपमा लिनुपर्छ भन्ने मान्यता बोकेका कविको आमाको लय कृति प्रकाशोन्मुख छ । #निरज दाहाल #बद्री भिखारी
श्रीकान्त वर्माको कविताः जो: श्रीकांत वर्मा सन् १९६० को दशकमा अमेरिकामा नागरिक आन्दोलन उचाईमा थियो । त्यो बेला अमेरिकी अश्वेत नागरिक मार्टिन लुथर किङ जुनियरले सो आन्दोलनलाई उचाइमा पुर्याएका थिए । आन्दोलनले अमेरिकी लेखक कविलाई मात्र छोएको थिएन, नेपाल र भारतका कवि पनि उत्तिकै आन्दोलित भएका थिए । यही बेला भारतीय कवि श्रीकान्त वर्माले त्यहाँ बिना कारण कुटपिटमा परेका, कालो वर्ण भएकै कारणले पाउनुपर्ने सुविधाबाट वञ्चित भएका वर्गको स्मरणमा यो कविता लेखेका थिए। उनको यो कविता ‘श्रीकांत वर्माकी प्रतिनिधि कविताएँ’मा प्रकाशित छ। नेपालमा छुवाछुत र जातपातका कारणले हत्यासमेत भएको अवस्थामा यो कविताले अमेरिकामा भएको नागरिक आन्दोलनको सम्झना दिलाएको छ। यति मात्र होइन, कविले त्यो बेला मच्चिएको सात समुद्र पारिको आन्दोलन र पीडितहरूलाई कसरी सम्झेका थिए भनी स्मरणसमेत दिलाएको छ। – सं. न्युयोर्कको सब वेमा निग्रो कुटिइरहेको छ! उसले पिटाई खानु नै थियो, ऊ निग्रो जो थियो! मियामीको समुद्र किनारमा निग्रो कुटिइरहेको छ! उसले पिटाई खानु नै थियो, उसले लालचपूर्ण नजरले जेनलाई जो हेरेको थियो, गोरी मेम जेनलाई हेरेको थियो! लस भेगासमा निग्रो कुटिइरहेको छ! उसल कुटाइखानु नै थियो, उसले जुवामा जितेको जो थियो! क्यालिफोर्नियामा निग्रो पिटिइरहेको छ, उसले पिटाई खानु नै थियो, उसले उत्तर दिएको थियो, ‘म निग्रो हुँ।’ तल हिन्दीमा मूल कविताः ‘जो’ न्युयोर्क के सब-वे में निग्रो पिट रहा है! उसे पिटना ही था, वह निग्रो था! मियामी की रेत पर निग्रो पिट रहा है! उसे पिटना ही था, उसने ललचायी आँखों से देखा था जेन को, जो गोरी थी! लास वेगास में निग्रो पिट रहा है! उसे पिटना ही था, वह जुए में जीता था! कैलिफोर्निया में निग्रो पिट रहा है! उसे पिटना ही था उसने उत्तर दिया था, ‘मैं निग्रो हूँ।’ #श्रीकांत वर्मा
मैले नचोरेको कलम !: जी वनमा कहिलेकाहीँ आफूले गर्दै नगरेको र बिराउँदै नबिराएको कामको सजाय पाइँदो रहेछ । नगरेको र नबिराएका त्यस्ता कामहरुको कतिपय सजायहरू समय क्रममा बिर्सँदै गए पनि केही घटनाहरूले भने जीवनभर पछ्याइरहन्छन् । अझ कहिलेकाहीँ यस्ता घटनाहरूको दुःखद् पक्ष भने त्यो घटनाका प्रत्यक्षदर्शीहरू आफूबाट टाढा हुन्छन् र आफूलाई अरूको अघि निर्दोष साबित गर्ने अवसर पनि पाइँदैन । मलाई बाल्यकालमा घटेको यस्तै एक घटनाले भने अझै पछ्याइरहन्छ । २०३३-३४ सालको कुरा हो । जागिरको सिलसिलामा मेरो बुबाको सुर्खेतमा सरुवा हुनुभयो । उहाँसँगै आमा, म, बहिनी र दुई भाइ सबैजना काठमाडौँबाट सुर्खेत गयौँ । कक्षा एकमा भर्खर पास भएकी म, वीरेन्द्रनगरस्थित एक प्राथमिक स्कूलमा सिट नभएको कारणले त्यहीँको जन व्यावसायिक मा. वि.मा एकैचोटी कक्षा चारमा भर्ना गरिएँ । निकै फरक थियो सुर्खेत मेरा लागि- मोटर नजाने, बिजुली बत्ती नभएको, २-४ वटा ठूला घरहरू बाहेक साना-साना घरहरू भएको । मेरो बुबाले कृषि विकासको लागि भारतको हरियाणाबाट थुप्रै विकासे गाई तथा काठमाडौँबाट विकासे कुखुराका चल्लाहरु लगेर त्यहाँ कृषकहरूलाई वितरण गर्नु भएको म अझै सम्झन्छु । काँक्रेविहार, बुलबुले ताल, देउती माईको मन्दिर आदि ठाउँमा गएको सम्झना अझै ताजै छन् मेरो दिमागमा । दुई वर्षे सुर्खेत बसाईपछि हामी फेरि काठमाडौँ फर्कियौँ र म डिल्लीबजारको पद्मकन्या स्कूलमा भर्ना भएँ । ६ कक्षा शुरु हुनेबित्तिकै बुबाले अङ्ग्रेजी र गणितका पुस्तकहरू ल्याइदिनुभएको थियो । मीनपचासको छुट्टीमै मैले करिब सबै किताब पढेर सकेँ । म अघिल्लो बेन्चमा नै बस्थेँ । मसँगै मेरा केही मिल्ने साथीहरू पनि बस्थे । हामीलाई विज्ञान पढाउने एकजना मिस हुनुहुन्थ्यो, अरू मिसहरूभन्दा अलि फरक र हेपाहा खालको । त्यही मिस एक दिन क्लासमा आएपछि मेरै छेउको डेस्कमा बसेर पढाउन थाल्नु भयो । मसँगै नजिकै बसेकी साथीको कलम मागेर लेख्नुभयो । त्यो क्लास सकियो र सबैजना घरतिर लागियो । भोलिपल्ट ती साथी जसको कलम मिसले लिनुभएको थियो, उनले मसँग कलम माग्दै भनिन्, “मिसले मेरो कलम हिजो तिमीलाई दिनु भएको थियो रे!” मैले सम्झिन खोजेँ तर दिएजस्तो लागेन । “हैन होला” भन्दै मैले सधैँ कलम राख्ने खण्डमा हेरेँ- त्यहाँ थिएन । मैले मिसले कलम आफूलाई नदिएको कुरा उनलाई बताएँ। उनी टाउको हल्लाएर अर्को तिर लागिन् । मलाई कलम दिएको र राखेको केही सम्झना थिएन । केही समयपछि मिस क्लासमा आउनु भयो । उहाँले कलम मलाई नै दिएको भनेपछि मैले आफ्नो ब्याग फेरि हेरेँ र मसँग त्यो कलम नभएको जानकारी गराएँ । त्यसपछि मिसले सबै जनाको ब्याग खोतल्न क्लासकी मनिटर साथीलाई अह्राउनुभयो । मिसले अह्राएपछि ती साथी उठेर मेरो छेउ आइन् र त्यो बेन्चमा बस्ने सबै भन्दा पहिलो साथीतर्फ लागिन् । तर एक्कासि उनको ब्याग नहेरेर मतर्फ आइन् र मेरो ब्यागभित्र हात हालिन् – म उनको यो व्यवहारले अचम्ममा पर्दै थिएँ, झन बढी आश्चर्यमा परेँ जब उनले मेरो झोलाबाट हात बाहिर निकालिन् । उनको हातमा त त्यही हराएको कलम देखियो । त्यो कलम कसरी त्यहाँ आयो, के भयो- म आफैँ रनभुल्लमा परेँ । मसँग त्यति बेला भर्खर बजारमा आएको चाइनिज कालो रङको दुई खण्ड भएको ब्याग थियो । माथिल्लो खण्डमा म सधैँ मेरा कलम, सिसाकलम आदि राख्ने गर्थें भने तल्लो खण्डमा किताब र कापीहरू राख्थें । एकैछिन अघि आफूले ब्यागभित्र हेर्दा नभएको कलम अहिले त्यो साथीले कसरी निकालिन् मैले अड्कल नै लाउन सकिनँ। सबै साथीहरूका आँखा मतर्फ भए । मेरा आँखा भने एक खालको लाज, आश्चर्य र अपमानले भुइँतिर । म कलम चोर भएँ । मिसले पनि “चोरले म चोर हुँ भन्छ र !” भनेर मलाई नै दोष लाउनुभयो । “मैले चोरेको हैन र मलाई थाहा छैन,” भनेर भन्न पनि सकिनँ । म त छाङ्गाबाट खसे झैँ भएकी थिएँ । दिमाग रन्थनियो । म मुनिको पृथ्वी भासिएर त्यहीँ बिलाउन पाए हुनेजस्तो भयो । आँखाबाट त्यसै बर्बर्ती आँसु झर्न थाले । क्लास सकियो । कसैको मुखमा नहेरी घर फर्कें । बाटो कसरी काटेँ, त्यो पनि थाहा छैन । साथमा बहिनी पनि थिई, उससँग बाटोभरि केही नबोलेर घर हिँडेको मात्र सम्झन्छु । घरमा कसैलाई केही भनिनँ। बुबा बाहिर जिल्लामै काम गर्नुहुन्थ्यो । बहिनी, दुई भाइ, आमा र म मात्रै काठमाडौँमा थियौँ । भाइ-बहिनी साना-साना थिए । आमालाई पनि केही भन्न मन लागेन । मेरो कुरा कसले पत्याउला भन्ने लाग्यो सुनाउन पनि । म भित्रभित्रै पिल्सिरहेकी थिएँ। आमालाई भनौं फेरि स्कूलको कुरा घरमा र घरको कुरा स्कूलमा नभन्नू भनेर सिकाइएको थियो । कसैलाई केही नभनेर आफैँ झन्-झन् त्यो अपमानको विष पिई रहेँ म । साँझ, मेरो अनुहार मलिन देखेर आमालाई के लागेछ कुन्नी नजिकै आएर “के भयो नानी तिमीलाई?” भनी सोध्नु भयो । पहिले त केही होइन भनी टार्न खोजेँ, तर पछि कर गरेपछि रुँदैरुँदै सबै कुरा भने । “अब म त्यो स्कूलमा पढ्दिनँ, मेरो कोही पनि साथीहरू हुन्नन,” भनेँ । “एक पल्टको चोर सधैँको चोर” भन्लान् भन्ने लाग्यो । आमाले मेरो मनोदशा कत्तिको बुझ्नुभयो कुन्नी तर तिमीले नगरेको कुरामा दोष पाइछ्यौ भन्दै मलाई मिहिनेत गरेर पढेपछि ती साथीहरू नै तिमीसँग साथी बन्न आउँछन् भनेर सान्त्वना दिनुभयो । “पढ्न जान्न भन्नु हुन्न र अहिले हामी स्कूल फेर्न पनि सक्दैनौं,” भनेर आमाले आफ्नो बाध्यता सुनाउनु भयो । “मरता क्या न करता ?” अरू उपाय पनि थिएन । जेठी छोरी, आमाको समस्या मैले नबुझेर पनि नहुने । भोलिपल्ट बिहानै आमा हाम्रो घर नजिकैको मीरा दिज्यू कहाँ जानुभयो र मैले भनेका सबै कुरा गर्नु भयो । उहाँ मैले पढ्ने स्कूलमै बिहानको क्लासलाई पढाउनु हुन्थ्यो । दिज्यूले त्यो कुरा स्कूलमा भनौँला भनेर मलाई सान्त्वना दिनुभयो र स्कूल जान छोड्न हुन्न भनी सुझाउनु पनि भयो । त्यसपछि वहाँले स्कूलमा त्यो कुरा गर्नु भयो वा भएन मलाई थाहा भएन र स्कूलमा पनि कसैले त्यो कुरा निकालेनन् । मैले त्यो वर्ष निकै नै मिहिनेत गरेर पढेँ र करिब दुई सय जनाको क्लासमा आठौं भए । अझ विज्ञान विषयमै सबैभन्दा धेरै नम्बर ल्याए । त्यो मार्कसिट मसँग अझै छ । [bs-quote quote=”त्यो बेलाका साथीहरू मेरो सम्पर्कमा पनि छैनन् । उनीहरूले त्यो घटनापछि के सोचे मेरो विषयमा त्यो पनि थाहा छैन । यदि कसैले चिन्ने भए अहिले के सोच्छन्, त्यो पनि मलाई थाहा छैन । घटना घटेको ४० वर्षभन्दा बढी भइसक्दा पनि त्यो घटनाले भने मलाई अझै दुःखित बनाउँछ ।” style=”default” align=”left” color=”#dd9933″][/bs-quote] त्यो बेलाका साथीहरू मेरो सम्पर्कमा पनि छैनन् । उनीहरूले त्यो घटनापछि के सोचे मेरो विषयमा त्यो पनि थाहा छैन । यदि कसैले चिन्ने भए अहिले के सोच्छन्, त्यो पनि मलाई थाहा छैन । घटना घटेको ४० वर्षभन्दा बढी भइसक्दा पनि त्यो घटनाले भने मलाई अझै दुःखित बनाउँछ । हाल म बसेको ठाउँमा यदि कोही बच्चाले कुनै गल्ती नै गरेछ भने पनि, त्यो कुरा अरूको अघि गरिँदैन- हाम्रो जस्तो गरी कसैलाई चोर साबित गर्न त कल्पना पनि गर्न सकिदैन । बच्चालाई उसको साथी भाइको अगाडि दोषी देखाउँदा त्यसको दीर्घकालीन नकारात्मक असर नपरोस् भनी खुबै ध्यान पुर्याइन्छ । विश्व प्रसिद्ध अमेरिकन-जर्मन मनोवैज्ञानिक एरिक एरिक्सनका अनुसार मनो-सामाजिक विकास (ह्युमन साइको-सोसल डेभलपमेन्ट) का तेस्रो चरण ५ देखि १२ वर्षको उमेरमा बच्चाहरू सामाजिक मागअनुसारको सीप तथा क्षमताको विकास गर्न चाहन्छन् । नयाँ कुरा सिक्ने, सीप विकासका लागि प्रयास गर्ने, गल्ती गर्ने, झूट बोल्ने आदि त्यो उमेरका बच्चाहरूमा देखिने सामान्य स्वभावजन्य कुराहरू हुन् । बच्चामा देखिने यो स्वभावलाई अभिभावक तथा शिक्षकहरूले सही तरिकाले बुझेर तदनुरूप बच्चालाई प्रोत्साहन गरेमा उनीहरूमा सकारात्मक ऊर्जा प्रदान हुन्छ र बच्चाहरू उद्यशील, रचनात्मक हुन्छन् । यदि त्यो विकास सम्भव नभए वा कुनै व्यवधान आएमा त्यसको उल्टो, नकारात्मक असर पर्छ बालबालिकामा । बच्चामा हीन भावनाको विकास हुन्छ जसको असर लामो समय सम्म रहन्छ, जस्तो कि मलाई त्यो घटनाले अझैसम्म कुनै न कुनै रुपमा असर पारे जस्तो लाग्छ । त्यस घटनामा मैले आफैँले झोलामा राखेर बिर्सेको होस्, मिसले मलाई नभनेर मेरो झोलामा राखिदिएको होस् वा साथीले मलाई जानाजान चोर साबित गर्न आफ्नै हातको कलम मेरो झोलाबाट निकाले जस्तै गरेको होस् (जुन मलाई होइन जस्तो लाग्छ)- सबै सम्भावनाहरूमा मेरो बालापनको कुनै दोष देख्दिनँ म । सानोमा यसो गर्नुहुन्न, त्यसो गर्नुहुन्न भनेर अनेक बाधा बन्धनमा बस्नुपर्ने बाध्यता जस्तै हुन्छ विशेष गरी छोरीहरूलाई–म पनि त्यही परिवेशमा हुर्किएँ । स्कूल, कलेज, विवाह, जागिर र जीवनका अन्य विभिन्न मोडहरूमा यस्तै खालका सीमा र परिधिभित्र रहेर हामीहरू करिब सबै नै हुर्किएका, बढेका हौँ । घरमा अभिभावक, स्कूलमा शिक्षक, समाजमा अग्रजहरू र सहपाठीहरूको प्रभाव हरेकको जीवनमा पर्छ नै । केही समयअघि तीनैजना छोरीहरूसहित म र मेरो श्रीमान् घुम्न निस्किएका थियौँ । भोक लागेर एउटा फास्ट फुड रेष्टुरेन्टमा छिर्यौं । सबैले आ-आफ्नो खानाको अर्डर गर्यौ । अरू सबैको अर्डर गरेअनुसार नै आयो तर मेरो भने भिन्दै । भाषाको कारणले या अरू कुनै कारणले होला भन्ने ठानेर मैले जे थियो त्यही खान थालेँ । फेरि अर्डर लिने केटीलाई पनि अप्ठेरो पो पर्ने हो कि भनेर मैले छोरीहरु र श्रीमान् लाई केही पनि भनिनँ तर पछि मैले मगाएको सुपभन्दा फरक सुपको स्वादले मेरो मुख बिग्रिदा छोरीले थाहा पाइन् । मैले सबै कुरा बताउनै पर्ने भयो । त्यसपछि मेरी छोरीले मेनेजरसँग कुरा गरिन् र उनीहरूले गल्ती महसुस गरेर मेरो अर्डर बराबरको पैसा फिर्ता दिए । कहिलेकाहीँ बोल्दा, अगाडि सरेर कुरा गर्दा या अन्य कुनै ठाउँमा गल्ती हुने हो कि भनेर एक प्रकारको डर लागिरहन्छ मलाई अहिलेसम्म । चाहे त्यो रेष्टुरेन्टको घटना होस् वा विदेश बसाईको क्रममा भएका अरू यस्तै मेरा अनुभवहरू होऊन्- कतै न कतै त्यो डरले काम गरिरहेको हुन्छ । हुन त त्यही “कलम हराएको” घटना मात्रैको असर त पक्कै पनि होइन मेरो डरमा, तर त्यो पनि एउटा प्रमुख घटना थियो भन्ने लाग्छ मलाई । अहिले छोरीहरू, उनीहरूको आत्मविश्वास र व्यवहार हेर्दा मलाई आफ्नो बिगतले बेला बेलामा घचघच्याउँछ । हुन त मैले अन्तर्राष्ट्रिय विश्वविध्यालयहरुबाट उच्च शिक्षा हासिल गरी हाल क्यानडाको प्रान्तीय सरकारको एउटा मन्त्रालयमा सम्बन्धित विषयमा काम पनि गरिराखेकी छु । अझै पनि घरी घरी त्यही कलमले पछ्याउँछ र त्यो आरोपले नराम्रोसँग घोच्छ । बारम्बार हामीले थाहै नपाएर वा जानेरै गर्ने कतिपय सानो गल्तीको सिकार जीवन भर कुनै निर्दोष बालबालिका बन्न सक्छन्– समयमै अभिभावक, शिक्षक र समाज पनि सचेत हुन जरुरी छ । भलै त्यो हराएको कलमले मलाई जीवनका आरोह अवरोहहरूमा घोचिरहे पनि यहाँसम्म पुग्न र ज्ञान भर्न भने भरपूर सघाएको छ– मैले त्यही कलम सम्झेर पढेँ, लेखेँ नथाकेर । मैले नचोरेको कलम ! टिमिन्स, क्यानडा #कमला रुपाखेती #क्यानडा
चौसठ्ठी वर्षमा प्रेम: विजय सापकोटा सिँ ढी चढ्दै गर्दा शेखरले प्रमिलाको हात च्याप्प समात्यो । टावर ब्रिजको तल्लो तलाको कर्मचारीले दिएको व्याख्यानलाई आधाआधीमै छाडेर अब उनीहरु माथि उक्लिन लागेका थिए । शेखरभन्दा अघि लागेकी प्रमिलाले आफूसँगै शेखर नउभिन्जेल उसलाई पर्खी । शेखरका हात ताता थिए, अघिपछिका जस्तै । उसका भने निकै चिसा । खै, किन हो प्रमिलाका हात सितिमिति तात्दैनन् । गर्मीमा पनि अरुका भन्दा चिसै रहने उसका हातलाई इंगित गर्दै शेखर सधैँ जिस्क्याउने गर्छ, ‘भित्र माया हुनेका हातमात्रै सधैँ न्याना हुन्छन् ।’ यतिखेर न्याना हातको त्यो मान्छेले प्रमिलाको हात समाउनु माया जाँच्न थिएन, त्यो त भर खोज्नलाई थियो । कारण– शेखरलाई उचाइदेखि डर लाग्छ ! रेलिङ नभएको सिँढी उक्लिँदा, छतमा चढ्दा अथवा झ्यालबाट बाहिर हेर्दा ऊ रिङटिन्छ । ६४ सक्नै लागेकी प्रमिला र भर्खरै ६४ वर्षमा टेक्दै गरेको शेखर । दम त थिएन तर बुढ्यौलीका कारण यति माथि सिँढी उक्लिनु सजिलो पनि थिएन । उनीहरु पूरै बाटो ढाकेरै उक्लिरहेका थिए । माथि टावरमा पुग्दा त्यहाँ झन्डै १५/१६ जना अनेक उमेर र रङका मान्छेहरु त्यहाँ आ–आफ्नो रुचि अनुसारको मनोरन्जनमा व्यस्त देखिए । कोही एक्लै, कोही युगल त कोही समूहमा । शेखर भित्तामा आड लिन पुग्यो । उसका गोडा कामेका त थिएनन् तर ती अघिपछिजस्तो सामान्य अवस्थामा पनि थिएनन् । प्रमिलालाई चाहिँ उचाइ मन पर्छ । ऊ यति उत्साहित भई कि उसको मुखबाट ‘बाफरे’ निस्कियो र ऊ एकैपटक सबै दृश्य हेरिभ्याउँछु झैँ हतारिँदै यता र उता हेर्न थाली । तर एकैछिनमा उसलाई के लाग्यो कुन्नी शेखरतिर फर्किई । विचरा शेखर ऊ झैँ उत्साही थिएन । ऊ आँखा नझुकाई त्यसको समदूरीतिर एकोहोरो ताकिरहेको थियो । ऊ यसरी उभिएको थियो, मानौँ उसले केही देखेको वा महसुस गरिरहेको छैन । हात अघि नै छुटिसकेको थियो । ‘ओहो, आफ्नो खुशी पाएपछि मान्छेले सहयात्रीको हात कति सजिलै छाड्दोरहेछ,’ प्रमिला आफ्नो गल्तीप्रति भावुक भई र गएर शेखरलाई च्याप्प समाती । ‘कति रमाइलो हगि !’ उसले शेखरको कानमा गएर फुसफुसाई । शेखरले टाउको हल्लाउन खोजेजस्तो मात्रै देखियो । ‘रिंगटा लाग्दैछ ?’ ‘हो । कस्तो कस्तो लाग्दैछ । भुइँचालो आएर हाम्रो धरहराजस्तै यो पनि गर्ल्यामगुर्लुम्म ढल्यो भने ..! त्यस्तो मात्रै आइरहेछ कल्पनामा,’ शेखरको स्वर पनि भासिएको जस्तो सुनियो । प्रमिलाले मायालाग्दो नजरले लोग्नेलाई हेरी तर यो उसको सधैँको समस्या थियो । प्रमिलाले शेखरको पाखुरालाई आफ्ना हातले बेरी अनि हप्काएझैँ गरी, ‘धत्…त्यस्तो कल्पना किन गर्छौ तिमी ? मरिएछ भने झन् गजब, सँगै त हुन्छौँ !’ शेखर केही बोलेन । ‘जिन्दगीभर उचाइदेखि भाग्यौ, अब यो उमेरमा किन डराउँछौँ ? यो उचाइ तिम्रो राजनीति, पद, मास्टरी वा लेखनको जस्तो हो र, जहाँबाट गिर्ने डर भइरहन्छ! डरायौ भने तिमीले यसको आनन्द पाउने छैनौ । त्यसलाई जित्यौ भने अरुको जस्तै तिम्रो मन पनि चंगा हुनेछ ।’ प्रमिला अघिपछिको भन्दा बिल्कुलै फरक बोलिरहेकी थिई । शेखर जिल्लियो र आफ्नो पुरानो समस्याबाट उम्किन खोजेझैँ गर्\u200dयो । ‘आँखा चिम्ल । लामो सास तान । अनि एउटा उडानको कल्पना गर र एकछिनपछि आँखा खोलेर हेर ।’ प्रमिलाले भनेजस्तै गर्\u200dयो शेखरले । सँगसँगै आफूलाई पनि दरिलो बनायो । वरिपरि सबैको अनुहारमा आनन्दको उज्यालो थियो । शेखरले आफ्नो पुरानो बानीलाई जित्यो । एउटा आवेगले उसले प्रमिलालाई झ्याप्प अँगालो हाल्यो । झन्डै ३७ वर्ष लामो सम्बन्धमा यो उनीहरुको पहिलो सार्वजनिक अँगालो थियो ! एकछिन उनीहरु त्यसैगरी बाँधिए, बिना धक बिना अप्ठ्यारो । यस्तो महसुस भइरहेको थियो मानौँ पहिलोपटक प्रेमीयुगल आलिंगन गरिरहेका छन् । एकैछिनमा प्रमिलाले आलिंगन मुक्त गरी आफूलाई तर शेखरको स्पर्शबाट टाढा नभागिकनै ऊ अघिल्तिर हेर्न थाली । ‘मास्टर साहेब, तिमी त साहित्यको मान्छे । धरती छाडेर यति माथिको हावामा तिमीले अलग्गै स्पर्श भेटेनौ ? रिभर थेम्सको फराकिलो पानी बगिरहेको छैन, स्थिर छ जस्तो लागेन तिम्लाई ? उताबाट आइरहेको पानीजहाजले नचाएका स–साना छालहरु, भर्खर हाम्रो आँखैअघिल्तिर उडेका सिगलहरु देखेर पनि तिमीलाई केही महसुस भएन ?’ शेखर दङ्ग पर्\u200dयो । यति लामो सहयात्रामा प्रमिलाको काव्यात्मक भाषा उसले पहिलो पटक सुनेको थियो । ऊ अर्थशास्त्रकी विद्यार्थी आफू अङ्ग्रेजी साहित्यको ! पढाइ सकेर दुवै कलेजको मास्टरीमा लागे र सँगसँगै रिटायर्ड पनि भए । कुनै समय ती दुई राजनीतिमा पनि सक्रिय थिए । तर दुईको विषयगत भिन्नतापछि व्यवहारिक जीवनमा पनि कायम नै रहिरह्यो । यद्यपि शेखरको साहित्य कल्पनाको उडान पटक्कै थिएन, त्यो सामाजिक र राजनीतिक दायित्वबोधले प्रेरित थियो । प्रमिला फाट्टफुट्ट साहित्य त पढ्थी तर खै किन हो कविता पढ्ने जाँगर भने उसले कहिल्यै चलाइन । त्यही प्रमिला यतिखेर जिस्केकी हो कि भनेर शेखरले पुलुक्क ऊतिर हेर्\u200dयो तर ऊ अघिपछिभन्दा फरक देखिन्थी । लन्डन आएको झन्डै डेढ महिनामा उसलाई आजको दिन सबैभन्दा उज्यालो लाग्यो । प्रमिलाको भावुकताले उसलाई पनि बिस्तारै छुँदै गयो । उसको चिउँडाले प्रमिलाको तिलचामले टाउकोलाई टेको लगाउन पुग्यो । प्रमिलाले पनि आफ्नो भावनासित तत्काल शेखरको चेतना गाँसिएको अनुभूत गरी । अनि लठ्ठिएका आँखा आफ्नो दृष्टिबिन्दुबाट नहटाई सुस्तरी भनी, ‘ए मास्टर, एउटा मीठो कविता भन न मेरो लागि !’ प्रमिलाको प्रस्तावमा शेखर एकाएक उत्तेजित भयो । उसले कविताका गेडा उन्ने प्रयास गर्\u200dयो, तर सफल हुन सकेन । फेरि यो वातावरण सुहाउँदो हुने किसिमको कुनै पंक्ति सम्झिने प्रयत्न गर्\u200dयो । तर दिमागमा केही आइरहेको थिएन । एकाएक उसको अवस्था यस्तो भयो जस्तो कि आफूले पटक्कै नजानेको र नबुझेको विषयमा बोल्नुपर्दा हुने गर्दछ । कविता पढ्नु, पढाउनु र लेख्नु उसको पेशा थियो । तर यहीबेलामा चाहिँ उसलाई त्यो लामो अनुभवले साथ दिइरहेको थिएन । एकाएक शेखर उदास भयो । ‘मास्टर मेरा लागि एउटा प्रेममय गीत गाइदेऊ न ।’ प्रमिला कविता छाडेर गीततिर लागी । ऊ उस्तै गरी लठ्ठिरहेकी थिई । शेखरले बडा जिम्मेवारीबोध गरेर गीत सम्झिने प्रयास गर्\u200dयो । उसले यतिबेला आफू खासै गीत नगुन्गुनाउने मान्छे हुँ भन्ने कुरा बिर्सियो एकछिन । तर उसको ओठसम्म आउने गरेर कुनै गीत नै गुन्जिएन दिमागमा । ‘अहो, यति लामो जिन्दगीमा एउटै पनि गीत जानिएनछ !’ शेखरको उदासी बढ्यो । ‘मास्टर ऊ त्यो काले केटाले आफ्नी मायालुलाई माया गरेझैँ मलाई पनि माया गर न प्लिज !’ प्रमिला अब शेखरतिर फर्किई । ऊ शेखरभन्दा होची थिई उसको घाँटीसम्म मात्रै आइपुग्थी । ऊ उसको छातीमा यसरी टाँसिई मानौँ ऊ शेखरको छाती उघारेर त्यहाँभित्र घुस्रिन चाहन्छे । शेखरले आफूभित्र अनौठो उत्तेजना पैदा भएको महसुस गर्\u200dयो । त्यो उसको नशा नशामा, रोम रोमपर्यन्त थथर्कियो । उसका प्रेमका इन्द्रियहरु जागृत भए । उसले प्रमिलले औँल्याएकी युगल जोडीतिर आँखा लगाएन । तर प्रमिलालाई कसिलोसित बाँध्यो र उसको निधारमा चुम्बन गर्\u200dयो । निधारमै सही ओछ्यानबाहिरको यो पहिलो चुम्बन थियो । शेखरको अँगालो कसिलो थियो । प्रमिला अलिकति पनि सक्रिय थिइन, ऊ हात गोडा छाडेझैँ शेखरको छातीकै भर गरिरहेकी थिई । उसलाई जिन्दगीको सबैभन्दा मीठो लाग्यो यो माया ! आनन्दले गह भरिएर आयो । उसका चाउरी परिसकेका गालाका खोल्सीमा आँसुका गेडा आफ्नो सुविधा अनुसार बगे । ‘म धन्य भएँ शेखर सर । प्रेम यति मीठो हुँदोरहेछ मैले यो उमेरमा आएर चाल पाएँ,’ प्रमिलाले आँसु पुछ्दै शेखरतिर हेरेर भनी । शेखरको अघिको उदासी सकिएकै थिएन । [bs-quote quote=”‘म धन्य भएँ शेखर सर । प्रेम यति मीठो हुँदोरहेछ मैले यो उमेरमा आएर चाल पाएँ,’ प्रमिलाले आँसु पुछ्दै शेखरतिर हेरेर भनी । शेखरको अघिको उदासी सकिएकै थिएन ।” style=”style-2″ align=”left” color=”#ddb577″][/bs-quote] शेखरलाई यो हाँसो मोहक लाग्यो । प्रमिलाको अनुहारमा पोखिएको उज्यालोले उसको अनुहारसम्म आएर उदासीलाई हटाइदियो । उसले आफ्नो खल्तीबाट पुरानो आइफोन झिक्यो–छोराले दिएको ! नातीले सेल्फी खिच्न सिकाएको थियो । प्रमिलालाई अँगालोमा बेर्\u200dयो र फोन उचालेर सेल्फी खिच्न लागेको तर हात कामेर हुँदै भएन । अनि नजिकैकी केटीलाई फोटो खिच्न लगाए उनीहरुले । ‘शेखर सर ! मेरो स्टाइल स्टाइलको फोटो खिचिदेऊ न । मलाई आज आफ्नो धेरै उमेर घटाउन मन लागेको छ ।’ प्रमिला उत्ताउलिइरहेकी थिई । शेखरले हाँसेर उसको उत्साहलाई स्वागत गर्\u200dयो । उसले जानी नजानी अनेक पोज बनाई । शेखरले हाँस्दै हाँस्दै खिचिदियो । कुनै कुराको धक मान्नुपर्ने अवस्था थिएन । बारीदेखि पारि पुग्ने पुलमा बीचमा सिसा राखिएको थियो । त्यहाँबाट तल झुकेर हेर्दा रिभर थेम्समाथिको तल पुलमाथि गुडिरहेका मोटर गाडी देखिन्थे । सुरुमा त त्यहाँबाट आफू रिंगटिँदै झर्ने पो हो कि भनेजस्तो डरको रोमान्चक अनुभूति पनि दिन्थ्यो त्यसले । प्रमिला त्यो सिसामाथि गएर थचक्क बसी, शेखरले छेउ छेउबाट हिँडेर त्यसलाई पार गर्\u200dयो । शेखरले जानेसम्मको प्रतिभा प्रयोग गरेर फोटो लिइदियो । पछि हेर्दा ती यति हाँसउठ्दा थिए कि शेखरले त थाम्नै सकेन । प्रमिलाले पनि पहिले मुख बिगारी, खिस्स हाँसी र भनी –‘कस्तो नसुहाएको है ! ठ्याक्कै बुढी भैँसी जस्तै !’ शेखरलेचाहिँ उसको आँखामा आँसु डब्डबाएको देख्यो । उसलाई आफूतिर तानेर उसले पुराना हिन्दी फिल्मको स्टाइलमा फेरि निधारमा चुम्बन गर्\u200dयो । ‘नेपाल गएपछि पनि मलाई यही स्टाइलको माया गर है मास्टर ?’ के सम्झेर हो शेखरले खिस्स हाँस्यो मात्रै । झन्डै आधी घन्टाभन्दा बढी बिताएपछि तल झर्ने सल्लाह भयो । अब उनीहरु चूपचाप सिँढी झरे र सडकको भीडमा मिसिए । शेखरले पुलको पारि थेम्स किनारतिर इशारा गर्दै भन्यो ‘हिँड एकैछिन त्यता गएर बसूँ, पुल पूरै देखिँदो पनि रहेछ ।’ अनि उनीहरु सडकबाट त्यतातिर झरे । घाम तापिरहेकाहरु, टावर ब्रिजलाई आफूसहित र आफूबाहेक क्यामेरामा कैद गरिरहेकाहरु, खाइरहेकाहरु, किताब पढिरहेकाहरु, बच्चाहरुसित रमाइरहेकाहरु, कुराकानी र प्रेमालापमा मग्नहरु अनि त्यही बाटो भएर आरपार गरिरहेकाहरु । चिनियाँ–जापानी मूलका एउटा जोडीको फोटोसेसन त्यहाँ चलिरहेको थियो । भुइँमा लत्रिने सेतो लामो ड्रेस लगाएकी गुडियाजस्तै केटी र हातमा फूल लिएको केटो आफ्नो फोटोग्राफरले भनेअनुसारका अनेक पोज दिइरहेका थिए । उनीहरु पनि एक छेउमा हरियो घाँसमाथि बसे । भोक लाग्ला जस्तो भइरहेको थियो । शेखरले पर गएर बदाम किनेर ल्यायो । खान लाग्दा त पूरै चिनी नै किरकिरी लाग्ने, उनीहरुले पहिलो फाँकोभन्दा दोस्रो मुखमा लान सकेनन् । ‘तिमी किन केही काम गर्नु अगाडि कुनै विचार नै गर्दैनौ शेखर सर ? कहिले ठूलो हुन्छौ तिमी !’ प्रमिलाले जिस्क्याउँदै भनी । शेखर मुसुक्क हाँस्यो र भन्यो,‘के थाहा पाऊँ त त्यो बदाम गुलियो छ भनेर! मैले त हाम्रातिरको जस्तो भन्ठानेँ नि ।’ ‘सोध्नु त पर्छ नि एकपटक के कस्तो हो भनेर ।’ ‘आ..छाड्देऊ न । दुई पाउन्डको बदाम नै त हो! कहिलेकाहीँ त अर्थशास्त्रलाई घरमै छाडेर हिँड्ने गर । बाइ द वे अव्यवहारिकता मेरो परिचय हो ।’ ‘मैले त्यसकै सजाय त भोगिरहेकी छु नि!’ ‘साँच्चै भनेको ? घरमा त भन्थ्यौ, तर यहाँ आएर पनि..?’ शेखर मलिन देखियो । प्रमिलाले शेखरको ओठको कुनामा झुन्डिएको बदामको धूलो झारिदिँदै भनी–‘चिन्ता नगर, मेरो माया त्यहीँ छ ।’ शेखर केही बोलेन । प्रमिलाले थपी–‘तर यसपालि एउटा कुराचाहिँ अनौठो लाग्यो । यस्तो बेपर्वाह मान्छेले यतिका पाउन्ड कताबाट ल्यायौ ?’ नेपालबाट आउँदा शेखरले दुई सय पाउन्ड साटेर ल्याएको रहेछ । तर त्यसको सुइँको उसले प्रमिलालाई दिएको थिएन । यता आएर पनि त्यो पैसा उसले निकालेको थिएन । अगस्टको दोस्रो साता उनीहरु लन्डन उत्रेका । दुईदिन छोराले लन्डन घुमाइदियो, अत्यन्तै कर गरेपछि एकदिन शेक्सपियरको जन्मघर स्टार्डफोर्ड पुर्\u200dयाइदियो । बाँकी समय घर कुर्नु, नातीलाई स्कुल लैजाने, ल्याउने गर्नु, बेलाबेलामा उसलाई पार्क लिएर जानुमा नै उनीहरुको समय व्यतीत भइरहेको थियो । कहिलेकाहीँ कुनै नेपालीको घरमा बर्थडे, एनिवर्सरीको निम्ता मान्ने अवसर पनि मिल्दथ्यो । उनीहरु घरदेखि झन्डै एक घन्टा परको लन्डनतिर आफैँ घुम्न जान चाहन्थे, तर छोरा बुहारी धरालो पाएको बेलामा बढीभन्दा बढी समय काम गर्ने अवसरलाई गुमाउन चाहँदैनथे । नाती साथ लगाएर बुढाबुढीलाई सेन्ट्रल लन्डनतिर घुम्न पठाउनु छोराबुहारीको नजरमा भरपर्दो र सुरक्षित दुवै थिएन । मन त धेरैतिर घुम्ने थियो । शेखरलाई यहाँका ग्यालरीहरुतिर, मौका मिले थिएटरतिर जाने मन थियो । बर्डसवर्थ र किट्स अनि डिकेन्सका म्युजियमतिर जाने मन पनि थियो । प्रमिलालाई लण्डन स्कुल अफ इकोनमिक्स, बैँक अफ इंग्ल्याण्ड म्युजियम पुग्ने धोको थियो । नेपालबाट आउने बेलामा अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालय पनि घुम्न पाइएला भन्ने आशा थियो । अनि दुवैलाई मन थियो जिन्दगीभर आफूले गुरु मानेका कार्ल मार्क्सको चिहानमा फूल चढाउन पुग्ने ! तर मनका यी कुनै इच्छा पनि पूरा भएका थिएनन् । छोराबुहारीको व्यस्ततालाई बाध्यताका रुपमा लिएर गुनासो पनि गरेका थिएनन् । तर यो बसाइमा सन्तुष्टि भन्दा असन्तुष्टि धेरै थियो । यस्तोमा आज बुहारी घरमा भएको मौका पारेर दुवैजना निस्केका थिए । तर कहाँ गइँदैछ, प्रमिलालाई पत्तो थिएन । एकैपटक शेखरले ट्रेन चढाउन लगेपछि पो प्रमिला जिल्लिएकी थिई । अन्तिममा ट्रेन स्टेसनको कर्मचारीले बताएको निर्देशनलाई नक्शामा चिनू लगाएर सोध्दै खोज्दै दुवैजना यहाँसम्म आइपुगेका थिए । यहीँ आएपछि उनीहरुले थाहा पाए कि पुलको टावरमा टिकट काटेर माथि जान मिल्छ । जहिल्यै अग्लो ठाउँमा जान डराउने शेखरले कर गरेरै टिकट काटेको थियो । \uf076 ‘मास्टर, तिमीजस्तो यति राम्रो मान्छेले मजस्ती छन्द न बन्दकी नेवार्नी केटीलाई किन मन पराएको ?’ ‘कोठाभाडा बचाएको नि,’ शेखरले आफ्नो नियमित ठट्टा दोहोर्\u200dयायो । ‘साँच्चै भनेको, तिमी युनिभर्सिटीका हिरो थियौ । मन्चमा तिमी उक्लिँदा केटीहरु सास थामेर तिम्रो उज्यालो अनुहार हेरिरहन्थे । तिनमा कति धनीका छोरीहरु पनि हुन्थे, कति सुन्दरी पनि हुन्थे…,’ प्रमिलाले शेखरतिर नहेरिकनै भनी, ‘साँच्चै, मसित बिहे गरिसकेपछि पनि तिमीलाई कुनै दिन सर्लक्क परेका राम्री आइमाईले आकर्षित गरेनन् ?’ शेखरलाई प्रमिलाको यो बर्बरले टाउको दुख्लाझैँ भयो । तर यो प्रमिलाको चित्त दुखाईको भाषा थियो । कारण, बुहारीसितको उसको चित्त दुखाई । बुहारी थिई पक्का धार्मिक । जति व्यस्त भए पनि उसको बिहानको सुरुवात नै पूजा पाठबाट हुन्थ्यो । हरेक मंगलबार उपवास हुन्थ्यो । उसले शायद आफ्नी सासूबाट यही भूमिकाको अपेक्षा गरेकी थिई । तर शेखर र प्रमिलाको जीवनशैलीमा ईश्वरको अस्तित्व कहिल्यै घुसेको थिएन । त्यसैले बुहारी सुरुदेखि नै असन्तुष्ट देखिई । अर्को कारण थियो, भाषा । बुहारी चल्तीको भाषामा निकै ‘सभ्य’ भाषा बोल्थी– ‘स्यो’ र ‘हजुर’ जोडिएको, उन्नतस्तरको । प्रमिला र शेखरको बीचमा चाहिँ स्योको कुरै छाडूँ तपाईँसम्म पनि कहिल्यै आएन । झन् ऊतिबेलै पारिजातको ‘पर्खाल भित्र र बाहिर’ पढेपछि त ऊ शेखरलाई मास्टर भन्न थालेकी थिई । अरुका अगाडि भने शेखर सर भन्ने गर्थी । त्यसकै सिको गरेर शेखर उसलाई ‘बाटुली’ भन्ने गर्\u200dथ्यो। बुहारीको विचारमा यो रुखो व्यवहार थियो, अपमान थियो । उसले भनेअनुसार नेपाली जमघटमा सासूको यस्तै किसिमको भाषाका कारण उसले धेरै ‘इम्ब्यारेस फिल’ गर्नुपरेको थियो । एकमात्रै छोरो, जसले पहिले आमाकै जस्तो सभ्य भाषा बोल्ने गर्\u200dथ्यो, आजकाल उनीहरुको संगतले बिग्रिएर तल्लोस्तरमा झरेको थियो । बुहारीको नजरमा यो उनीहरुकै प्रभाव थियो । शेखर त यस्ता कुराको वास्तै गर्दैनथ्यो तर प्रमिलाचाहिँ क्षुब्ध भइरहेकी थिई, विशेषगरी छोरासित । ‘सिंगो उमेर जुन संस्कृतिको विरुद्धमा लागियो, आज त्यही संस्कृति नअपनाएको भन्दै यति ठूलो अपमान ?’ एकदिन त ऊ छोरासित जंगिई पनि । छोरो आफैँ यता आउनुअगाडि आफूलाई मार्क्सवादीको हैसियतमा राख्थ्यो । आन्दोलन र गोष्ठीहरुमा धाउँथ्यो । पत्रिकामा लेखसमेत लेख्थ्यो तर उसले यतिबेला आमालाई सम्झाउने हिसाबले भन्यो, ‘आमा हामीले समाजमा बाँच्नुपर्छ । समाजअनुसार चल्न सकेन, परिवर्तन हुन सकेन भने गाह्रो हुन्छ । तपाईंको सिद्धान्त नेपालमा गफ लडाउनका लागि मात्रै काम लाग्ला, यहाँ लाग्दैन ।’ प्रमिला यति रिसाएकी थिई कि उसले छोरालाई थप्पडै लगाइदिने सुर कसिसकेकी थिई, तर ऊ हिँडिसकेको थियो । अनि सरासरी शेखरमाथि यो रिस पोखेकी थिई । शेखरले उसलाई सम्झाउँदै भनेको थियो, ‘हुन्देऊ, उनीहरुलाई आफ्नो हिसाबको जीवन बाँच्न देऊ । हामी बस्ने अब एकै महिना त रह्यो, बेक्कारमा ‘वर्गसंघर्ष’ नचलाऊ ।’ त्यो दिनदेखि प्रमिलाको छोराबुहारीसित दोहोरो कुराकानी शायद नै भयो । बुहारीको नजरमा यति धेरै पढेलेखे पनि, काठमाडौँमै जन्मे हुर्के पनि प्रमिला ‘पाखे’ र ‘असभ्य’ नै थिई । प्रमिलाको नजरमा बुहारी आफ्नो समयभन्दा धेरै पिछडिएको सोच राख्ने परम्परागत आइमाई थिई । एकअर्काप्रतिको यो असन्तुष्टि ती दुवै आ–आफ्ना लोग्नेलाई सुनाइरहन्थे । घटस्थापनाको अघिल्लो साँझ बुहारीले घुर्की लगाएकी थिई, ‘अरु काम नगरे पनि बुहारीको हातले उमारेको जमारा त नलगाउने होला नि !’ शेखर र प्रमिलालाई दशैँप्रति कुनै अनुराग र आपत्ति केही थिएन । छोरो सानो हुँदा उसका लागि भनेर जमारासम्म उमार्थे । छोरालाई टीका लगाइदिएपछि दुवैले एकअर्कालाई लगाइदिन्थे । त्यसबाहेक पूजापाठ वा ढोगभेट उनीहरुकहाँ चल्दैनथ्यो । तैपनि शेखरले बुहारीको चित्त दुखाउन चाहेन । जमरा राख्ने, त्यसमा धूपबत्ती बाल्ने सबै काम गरिदियो । तर दशैँको टीकाको दिन भने सासूबुहारीको लामो शीत युद्ध मैदानमा उत्रियो । छोरा बुहारी दुवैले छुट्टी लिएका थिए । नाति पनि स्कुल नगई बसेको थियो । बिहानैदेखि उठेर बुहारीले अनेक किसिमका परिकार तयार गरेकी थिई । प्रमिलाले घर सफा गरेकी थिई । टीका लगाइदिँदा शेखर र प्रमिलाको टीका लगाई देखेर बुहारी ठुस्किएकी थिई र टिप्पणी गरेकी थिई, ‘माइतमा त बुबाहजुरले कस्तो मज्जाले मन्त्र पढेर आशीर्वाद दिइसिन्थ्यो !’ खिस्स हाँस्दै शेखरले भनेको थियो, ‘लौ बुहारी हाम्रो माया, शुभेच्छा सबै मौनतामै छ भनेर सम्झनू है । यस्तो त मलाई केही आउँदैन । मन नदुखाए ।’ छोराले बाबुआमालाई ढोगेन, बुहारीले प्रमिलालाई ढोग्न निहुरिँदा प्रमिला स्वाट्ट किचेनतिर लागी । उनीहरुले नातिलाई हजुरबाहजुरआमालाई ढोग्नुपर्छ भनेर बुहारीले दबाब दिँदा पनि त्यसैगरी टारे । तर बुहारीलाई ढोगाएको प्रमिलालाई सही नसक्नुभएछ क्यारे, छोरालाई झपार्दै भनी, ‘तँलाई स्वास्नीलाई गोडा ढोगाउन अलिकति पनि लाज लागेन ? त्यो पनि हाम्रा अगाडि ?’ छोराचाहिँले अनुहार रातो बनायो । शेखरले भने यो देखेको नदेखेई गरेर फोटो खिच्न व्यस्त भएझैँ गरिरहेको थियो तर बुहारी चित्त दुखाउँदै रोई, ‘हजुरहरुसितको यो पहिलो दशैँ पनि किन यसरी ‘रुइन’ गरिदिसिन्छ मुमा हजुर ? पतिलाई श्रद्धा गर्नुपर्छ भन्ने संस्कार मैले सिकेको संस्कार हो । हजुरलाई आफ्नो लोग्नेलाई इज्जत दिन मन लाग्दैन भन्दैमा अरुलाई अपमान गर्न सिकाउने हक पनि छैन ।’ प्रमिलाले परिस्थितिलाई काबुमा ल्याउन खोज्दै भनी, ‘त्यसो भनेको होइन नानी । तर यो जमानामा लोग्नेको खुट्टा ढोग्नु त पक्कै पनि राम्रो कुरा होइन । लोग्नेस्वास्नीको सम्बन्ध बराबरीमा हुन्छ पो भन्न खोजेको ।’ बुहारीले रुँदै यो प्रसङ्गलाई आफू उनीहरुबाट नरुचाइएकीले हरेक कुरामा नकारात्मक आरोप लगाएको समेत भन्न भ्याई । उसले यतिसम्म भनी,‘अब आफूहरुजस्तै चेतनशील कुनै केटी खोजेर हजुरका छोराको बिहे गराइदिस्यो ।’ भड्किएको परिस्थितिलाई सम्हाल्नतिर नलागेर छोराले झन् आगो झोसिदियो, ‘यतिका वर्षपछि सपरिवार रमाइलो गरुँ भनेको… ..। हैन, तपाईँको ‘प्रोब्लम’ के हो आमा ? तपाईंलाई हामी प्यारो कि तपाईंको सिद्धान्त ?’ छोराबुहारी सबै चिजबिज यथास्थानमा छाडेर आफ्नो कोठा थुनेर बसे । प्रमिला पनि अर्को कोठातिर लागी । एकघन्टा जति पछि नाति लिएर छोराबुहारी बाहिर गए । शेखरको पूरै दिन ‘तिमी गलत छैनौ’ भनेर प्रमिलालाई विश्वस्त तुल्याउनैमा बित्यो । दिन ढल्ने बेलामा उनीहरुले चिया पाउरोटी खाए । टेबुलमा सजाएर राखिएका अनेकथरी परिकार जो बुहारीको फेसबुकवालमा प्रदर्शनीमा आइसकेका थिए, ती त्यतिका त्यतिकै भए । शेखरले तिनलाई फ्रिजमा थन्क्याइदियो । ३७ वर्षको लामो वैवाहिक जीवनमा पहिलोपटक शेखरले प्रमिलालाई पराजित अनुभूति गर्\u200dयो । \uf076 ‘तिमीलाई कुनै दिन पनि मैले स्वास्नीको माया गर्नै जानिनँ मास्टर ! तिमीलाई इज्जत दिन पनि जानिनँ । यतिका वर्षसम्म तिमीले कसरी मलाई झेल्यौ हँ ?’ प्रमिलाले शेखरको हात ओल्टाइपल्टाई गर्दै भनी । शेखरलाई प्रमिलाको गनगन पटक्कै मन परिरहेको थिएन । तर प्रमिलाको यी कुराको प्रतिक्रिया कसरी दिने भन्ने उसलाई तत्काल आएन । त्यसैले त्यसलाई टार्ने हिसाबले उसले भन्यो, ‘बाटुली, अब हामी अर्कोपटक यो ठाउँमा आउने सम्भावना छैन । त्यसैले यति रमाइलो दिनलाई नरमाइलो बनाउने मुर्ख्याइँ नगर न ।’ ‘कसरी माया गर्नुपर्छ, मलाई सिकाइदेऊ न है प्लिज,’ ऊ पारितिर हेरेर बर्बराइरही, यसो गर्दा उसका आँखा चिसा देखिन्थे, ‘अब कति नै बाँचिएला र, तर जति बाँचिन्छ तिम्री असल स्वास्नी भएर बाँच्न चाहन्छु ।’ यो सुनेर शेखर हैरान भयो । उसले अलिक ठूलो स्वरमा भन्यो, ‘आखिर तिमीलाई चाहिएको चाहिँ के बाटुली ? त्यत्रो संसारै बदल्छु भनेर हिँडेका मान्छेहरु त गन्दा नालीमा पौडी खेलिरहेछन् भने सामान्य चेतना भएको मानिस बदलिँदैमा यत्रो महाभारत सिर्जना गर्नुपर्छ ? बाटो अलग भयो भनेर त्यसलाई सहजरुपमा किन लिन सक्दैनौ तिमी ?’ प्रमिला अलिकति सम्हालिई । [bs-quote quote=”‘अब छोरालाई उसकै बाटोमा हिँड्न देऊ, तिम्रो चेतनाले मोड्न बलपूर्वक मोड्ने प्रयास नगर । यसले दुवै पक्षलाई दुःख हुन्छ,’ शेखरको शान्त स्वरमा भन्यो।” style=”style-2″ align=”center” color=”#ddb577″][/bs-quote] ‘अब छोरालाई उसकै बाटोमा हिँड्न देऊ, तिम्रो चेतनाले मोड्न बलपूर्वक मोड्ने प्रयास नगर । यसले दुवै पक्षलाई दुःख हुन्छ,’ शेखरको शान्त स्वरमा भन्यो, ‘मलाई चाहिँ हामीले बाँचेको जीवनप्रति गर्व लाग्छ । कम्तिमा आफूले बोकेको आदर्श हाम्रो जीवनव्यवहारमा पनि छ, यो भन्दा ठूलो गौरव के हुन सक्छ ? अझ हामीलाई माया गर्ने, आदर गर्ने हाम्रा विद्यार्थीहरु, असल शुभचिन्तकहरु सम्झिँदैमा पनि म उत्साहित हुन्छु । मलाई यसरी रुन्चे बन्न पटक्कै मन छैन बाटुली ।’ शेखरले प्रमिलाका आँखा पुछिदियो । ‘तिमी नचाहिने बोझ लिएर हिँडिरहेकी रहिछौ, मचाहिँ अर्कै किसिमको गुनासो गरिहिँड्दोरहेछु,’ शेखरले भन्यो । ‘कस्तो गुनासो ?’ ‘अघि तिमीले पुलमा कविता र गीतको कुरा उठाउँदा ममा अनौठो छट्पटी जन्मियो,’ उसले घाँटी सफा गर्दै भन्यो, ‘जीवनमा एकदुईटा कविता आफ्ना लागि लेखेको भए, एकदुई गीत आफ्ना लागि गुन्गुनाएको भए केही बिग्रन्थ्यो र ? समाजको गतिमा कुनै परिवर्तन या रुकावट आउँथ्यो होला त ?’ शेखरको यो कुरा प्रमिलाको मनमा गढ्यो । ‘हो त, यति लामो जिन्दगीमा नितान्त आफ्नै लागि अलिकति समय छुट्याएको भए के बिग्रन्थ्यो ?’ ‘हुन्देऊ, चिन्ता नलेऊ । माया गर्नलाई हामीसित अझै केही वर्षहरु छन्,’ प्रमिलाले शेखरको हात बलियोसित समाएर भनी । शेखर केही नबोली थेम्सतिरै हेरिरहेको थियो । थेम्समा हावाको झोँक्काले उठाइरहेका स–साना लहरहरु सबैतिर माया उर्लिएको काव्यिक अनुभूति उसलाई भइरहेको थियो । त्यसमा प्रमिला पनि गएर मिसिई । यतिबेला शेखरलाई पहिलो पटक प्रेममा परेको युवकले जसरी मीठो प्रेम कविता लेख्न मन लागिरहेको थियो । #प्रेमकथा #विजय सापकोटा
कच्चा उमेर, पक्का कला: सुमन विश्वकर्मा जम्मा १९ वर्षका भए तर उनको रुचि देख्दा मानिसले उनको उमेर बिर्सन्छन् । म्यानेजमेन्टमा प्लस टु गरिरहेका सुमन पढाइमा अब्बल छन् । यो पहिलो कुरा भयो । संगीतमा पनि उनको गहिरो रुचि छ । उनी सुरिला छन् । तर उनको उद्देश्य भने राष्ट्रिय फुटबल खेलाडी बन्ने छ । उनको अध्ययन, उनको गायन र उनको फुटबल कौशल चाँडै देखिने छ तर अहिलेलाई हेरौँ उनले बनाएका चित्रहरु । चित्रकलाको औपचारिक अध्ययनबिना नै उनका पेन्सिल चित्र निकै खुलेको देखिन्छ । कक्षा पाँचदेखि नै चित्र बनाउन थालेका उनीसँग भएका कलामध्ये कुन कला भविष्यमा बाहिर आउने हो, त्यो भने हेर्न बाँकी नै छ । अहिलेलाई उनका चित्रहरूकै स्वाद लिऔँः #सुमन विश्वकर्मा
अमीर सुन्दास, तिमीलाई नेपालको सलाम: हरहमेसा केही खोजिरहेको जस्तो, केही भनिरहेको जस्तो लाग्ने चहकिला गोलगोल आँखा उसको । पातलो अनुहार तर बुद्धको जस्ता कान । दाह्री उसको भर्खरै खेत रोपेको धान हो जस्तो कताकति उम्रेको, तर झ्वाप्प जुँगा देख्ता भुवन केसीको जुँगा हराएर उसकै ओठमाथि गाँसिन पुगे जस्तो । यतिमात्र हो र ? मोहन वैद्यवाला ब्रान्डेड क्याप र काँधमा झोला… लाग्छ, ऊ कुनै पार्टीको सक्रिय कार्यकर्ता हो । हो, ऊ कार्यकर्तै हो हुन त तर कुनै पार्टीको नभएर चित्र-मूर्तिको होलटाइमर कार्यकर्ता । यति मात्रै हैन, ऊ कवि/गीतकार/गायक/कथाकार/नाटककार धेरै कारहरूको एक्लो ड्राइभर पनि हो । मनलाग्दा बिन्दास पालैपालो लङ ड्राइभ गर्छ । यो कुरा अर्कै हो कि, मूर्तिकला र चित्रकलाको लोकप्रियताले उसको संगीत-साहित्य साधनालाई यसरी ओझेल पारिदिएको छ, मानौँ — कुनै अग्लो हिमालले आफ्नै आँगन वरिपरिको हराभरा र सुन्दर गाउँको सम्मोहनमा पुग्दै गरेको घामलाई छेकिरहेजस्तो । अमीर व्यस्त छ । साह्रै व्यस्त । उसलाई फुर्सद छैन, कसैसित बोल्नलाई । म्यासेन्जरमा, एकहरफ अमीरको जवाफ पाउन एक हप्ता कुर्नुपर्छ । म यसको साक्षी हुँ । र, म यसको विराट कला-प्रतिभाको प्रशंसक पनि । एकदिन म्यासेज गरेँ मैले — • अमीरजी, नमस्कार ! “तपाईंको बारेमा केही लेख्ने दुस्साहस गरेको छु, कृपया सहयोग गर्नुहोला !” अहँ ! उसको जवाफ आएन, एकहप्ता कुरिरहेँ । इग्नोर गरिरह्यो उसले मलाई। ” हैन, यो कस्तो ठिसमान्छे हो ? “– त्यसपछि म एक्लै भुन्भुनाउन थाल्छु । झोंक चल्छ त्यसपछि । अब भने, बिना औपचारिकता ठाडो म्यासेज लेखेँ — • हेलो, मिस्टर ! हेलो, सुन्नुभएन मलाई ? बल्ल छोटो जवाफ लेख्छ ऊ — “सुन्दैछु ..भन्नूस् ” यतिखेर भने, आफ्नै लज्जाले म भित्रको अहंकार आगोको कोइला भएर पानीमा उछिट्टिएझैँ एकैछिनमा चिसो भयो, उसले जब फुर्सत नपाएर जवाफ नदिएको कुरा मसित गरेपछि । मनमनै पग्लिएँ, डुबर्सको यो अनमोल रत्न, जोसित म नाथेको यत्रो घमण्ड ? जसको सुगन्ध फैलिएको छ दार्जिलिङ, आसाम, कालेबुङ, खर्साङतिर सर्वत्र । उसले बनाएको शालिकलाई हरदिन व्यस्त चोक-चोकमा हजारौं मान्छेले हेर्छन्, तिनै चोकबाट शालिकलाई हेर्न आएका मान्छेहरूलाई शालिकले पनि चुपचाप हेरिरहन्छ । र, हेर्नेहरूमा आधाभन्दा धेरै अनुहार एउटा, चरित्र अर्कै देखेर मौका छोपी फिस्स हाँस्छन् मूर्तिहरू । अनि, उसले बनाएका पोट्रेटको पनि कतै-कतै कथा त्यस्तै छ । ओ, दार्जिलिङको अमिर सुन्दास ! ओ, प्रिय कलाकार ! तिमी कन्चनजङ्घाको शिखर उक्लिँदैछौ म चियाबगानमा तिमीलाई होइन, तिमी हिँडेको बाटो हेर्नलाई तिम्रोबाटो पर्खिरहेको छु मलाई माफ गर ! …….. ……..! ऊ एकहप्तापछि फर्किन्छ ( म्यासेजमा ) र, देखाउँछ मलाई आफू हिँडेका बाटोहरू …! ••• चित्रमा अमीर — एउटा ठूलो पहाड जसको फेँदमा छ डुवर्स । घरीघरी पहाडले डुवर्सको मुटु कमाउनेगरी हिउँपंखा हल्लाउँछ अनि सिरक ओढेर सुत्छ डुवर्स । घरीघरी तराईले फ्याँकेको तातो हावा डुवर्सलाई पार्सल पठाउँछ अनि आँगनमा नाङ्गै सुत्छ डुवर्स । कहिले तातिने र कहिले चिसिने ठाउँ डुवर्सको चियाबारीमा जन्मेको हो, अमीर सुन्दास । अमीरको परिवार यही चियाबगानका मजदुर हुन् । ऊ आफ्नी आमाको पटुकीको फेर समातेर यही चियाबारीमा तातेताते गर्न सिक्यो । हिँड्न सक्ने भयो । बोल्न सक्ने भयो । अनि, बाग्राकोटको टी गार्डेन प्राइमरी स्कूलमा कखरा खोज्न हिँड्यो । सानोमा साह्रै उपद्रे स्वभावको थिएछ अमीर । चकचक नगरी बस्नै नसक्ने । स्कूलबाट घर आउँथ्यो आमालाई सताउँथ्यो । घरबाट स्कुल जान्थ्यो साथीसंगीलाई सताउँथ्यो । पढ्नु नपर्ने, किताबमा पन्नाहरूमा खुब केरकार गरिरहनुपर्ने । मान्छेका चित्रहरू देख्यो कि, जुँगा बनाइदिनु पर्ने । चस्मा लगाइदिनु पर्ने । आइमाई चित्रको निधारमा टीका लगाइदिनु पर्ने । यही चकचके स्वभावले ऊ बिस्तारै चित्र स्केचतिर आकर्षित भएछ । प्राइमरी स्कुल सकेर बाग्राकोट हाइस्कुल भर्ना हुँदासम्म उसलाई चित्र स्केच गर्ने लत लागिसकेको थियो । अमीर भन्छ, — ” म नौ-दस कक्षा पढ्दासम्म मज्जाले चित्र कोर्ने भइसकेको थिएँ । लाइभ स्केच गर्थेँ मान्छेका अनुहार । उनीहरू मलाई सय/दुईसय रूपैयाँ दिन्थे । त्यसो त कहिले गाडीका नम्बर प्लेट, कहिले मोटरसाइकलका नम्बरप्लेट लेख्थेँ । कहिले पोष्टरहरू बनाउँथेँ । कहिले वालपेन्टिङ-साइनबोर्ड लेख्थेँ । त्यसरी जम्मा भएको पैसा संगालेर मैले स्कूलको खर्च जोहो गर्थेँ । कापीकलम-लुगाफाटो किन्थेँ । दुःखले चल्थ्यो जिन्दगी । खासमा, मैले चित्र सिर्जना गरिनँ । काम गरेँ । काम गर्दागर्दै चित्रकला सिकेँ ।” यसरी कन्चनजङ्घाको शिखरमा संघर्षको खुट्किला टेक्दैटेक्दै उक्लिरहेको छ अमीर । ललितकला विश्वविद्यालयमा अध्ययन गरेको छैन उसले । यद्यपि, दार्जिलिङले उसको निधारमा कलाक्षेत्रको डिग्री-स्ट्याम्प लगाइदिएको छ । यो भन्दा ठूलो सर्टिफिकेट अरू के हुनसक्छ अमीरलाई ? डुवर्सका वरिष्ठ चित्रकार अजय थापाको चित्र-पाठशालामा भने उसले औपचारिक ज्ञान हासिल गरेको छ । उहाँलाई श्रद्धेय गुरु मान्छ । त्यसरी माझिँदै-माझिँदै परिपक्व भएर आएका अमीरले अहिलेसम्म सयौं मान्छेका अनुहारचित्र, भित्तेचित्र, किताबहरूका आवरणचित्र, पत्रपत्रिकाहरूका लागि कार्टुनचित्र लगायत स्थानीय चेतना कला निकेतन, स्कुलमा ससाना नानीबाबुहरूलाई चित्रकला र मूर्तिकला सिकाउँदै आइरहेको छ अहिले । ••• मूर्तिमा अमीर — दिनभरि मूर्ति बनाउँदा-बनाउँदा कहिलेकाहीँ दिक्दारी लाग्दो हो, अमीरलाई । पछिल्ला वर्षहरूमा चित्रकलाभन्दा मूर्तिकलामा धेरै व्यस्त छ अमीर । बिहान उठेदेखि बेलुकासम्म माटोसँग खेलिरहन्छ ऊ । कति मूर्तिहरू बनाउँदा उसलाई साह्रो गर्व लाग्छ रे ! कति मूर्तिहरू बनाउँदा उस्तो जाँगर चल्दैन रे ! अनि, गर्दागर्दैको काम छोडेर ऊ कवितामा आफ्ना अनुभूतिहरू उन्न थाल्छ — “मानिसजस्ता मान्छेको मूर्ति बनाएँ कहिले मूर्तिजस्ता मान्छेको मूर्ति बनाएँ कहिले ।” मूर्तिकारमा उसको कोही गुरु छैनन् । ऊ भुइँफुट्टा झाँक्रीजस्तै हो । जमीन फुटेर निस्केको पानीको मूलजस्तै हो । जो खोल्साखाल्सी, भीरपखेरामा बग्दाबग्दै खोलाझर्नाबाट नदीमा रूपान्तरित भएर निरन्तर बगिरहेको छ कहीँ दूर सागर भेट्नलाई । अमीर भन्छ — ” म आज मूर्तिकार हुनुको पछाडि एउटा आकस्मिक घटना छ । ८ मई, सन २०१० का दिन दार्जिलिङका विख्यात प्रगतिशील लेखक/कथाकार बद्रीनारायण प्रधान सरको आकस्मिक देहान्त भयो । उहाँ मेरो साहित्यिक गुरु पनि हुनुहुन्थ्यो । हामी विक्षिप्त भयौं । मैले बद्रीसरको सम्मानमा उहाँको पोट्रेट बनाएँ, चित्त बुझेन । मेरा साथीहरूले मूर्ति बनाउन सुझाए । अब कसरी बनाउने ? शुरुमा म हडबडाएँ तर हिम्मत हारिनँ । त्यसभन्दा पहिले माटो मुछेर मैले सानैदेखि चराका आकृतिहरू, लसुन-प्याजहरूका आकृतिहरू बनाउँदै आइरहेको थिएँ । टिष्टा बगरमा घन्टौं लगाएर बलौटे मूर्तिहरू बनाएको एउटा अनुभव पनि थियो मसित । तर एक्कासि मान्छेको मूर्ति पहिलोपटक बद्रीसरकै शालिकबाट शुरु गरेँ । काम त शुरु गरेँ तर बद्रीसरजस्तो देखिएन । ४/५ पटक बनाउँदै-भत्काउँदै गर्दैगर्दै महिनौं लगाएर बनाइछाडेँ अन्तमा । र उक्त मूर्तिलाई, जो-जो आउँछन् कम्तीमा सयजना भन्दा बढीमान्छेलाई सोधेँ, – ‘को जस्तो छ ?’ त्यसमध्ये अधिकांशले बद्रीसरजस्तो भनेँ । म हौसिएँ । त्यसपछि मान्छेहरूलाई लाग्यो, अमीरले मूर्ति बनाउँछ भन्ने कुरा । बिस्तारै अर्डर आउन थाले। हरेक मूर्तिहरू कसरी राम्रो गराउने भन्ने ध्याउन्ना भैरहन्थ्यो मलाई । आफ्ना कमजोरीहरूबाट सिक्दै-सिक्दै आइरहेँ । त्यसरी थाहै नपाई अहिले म चित्रकार कम मूर्तिकार पो ज्यादा भैसकेछु । अहिलेसम्म फरकफरक ६०/७० वटा मूर्तिहरू बनाइसकेछु । तीमध्ये भानुभक्त, देवकोटा, कटुवाल, अरूणा लामाहरूका मूर्ति उल्लेख्य छन् । एउटा मूर्ति एक लाखदेखि, तीन लाख भारूसम्ममा बिक्री हुन्छन् । अहिलेसम्म कलासिर्जनामा समर्पण भएबापत केही प्रतिष्ठित पुरस्कारहरू पाएको छु । सम्मान पाएको छु । पछिल्लो पटक सन् २०१८ मा लैनसिंह बाङदेल स्मृति प्रतिष्ठानद्वारा कलासाधनाको उच्च मूल्यांकन गर्दै लैनसिंह बाङदेल स्मृति पुरस्कारजस्तो विशिष्ट पुरस्कारद्वारा अभिनन्दित हुने सौभाग्य प्राप्त गरेको छु, खुसी लाग्छ । हौसला मिलिरहेको छ । प्रेरणा मिलिरहेको छ । ••• साहित्यमा अमीर — त्यसोर, ऊ आफ्ना कामहरूबाट फुर्सत निकाल्नै भ्याउँदैन अमीर । तर पनि कहिलेकाहीँ काम छोडेरै ऊ साहित्यको कार्यक्रममा पुगिहाल्छ । दार्जिलिङका नयाँ पुस्ताका चर्चित कविहरू राजा पुनियानी, मनोज बोगटीहरूसित राम्रो दोस्ती छ उसको । उनीहरूले पनि अमीरलाई लेख्न हौस्याइरहन्छन् । यद्यपि, बद्रीनारायण प्रधान सरको प्रगतिशील विचारधारा र मार्क्सवादी चिन्तनको बढी प्रभाव छ उसको सिर्जनामा । उसका कविता र गीतहरूले दुःखीहरूका आवाज बोल्छन् । सीमान्तकृतहरूका आवाज बोल्छन् । त्यसो त मार्क्सवादी प्रभाव र संगतले गर्दा सन् २००४, मार्च २८ मा पक्राउ परेर जेलमा दुई वर्ष बसेको छ । त्यहीँ जेलमा रहँदा नेपालका मोहन वैद्य र सिपी गजुरेलहरूसँग सानिध्यता बिर्सिनसक्नुको छ — अमीरको स्मृतिमा । (त्यसको कथा कुनै अरू नै दिन।) ••• संगीतमा अमीर — अमीरका फरकफरक विधाका फरकफरक खास साथीहरू छन् । गाना-बजाना गर्नुपर्यो भने, उसलाई अजय थापा, अजय खड्का, कुमार सुन्दास, आशा शर्मा जस्ता उसका संगीतप्रिय साथीहरूले साथ दिन्छन् । एउटा गरमागरम सांगीतिक माहौलको तरंग सिर्जनाको शुरूवात हुन्छ । हाँसो-रमाइलो हुन्छ । त्यहीबखत खल्तीबाट सधैँझैँ अमीरले आफ्नू एउटा पुरानु डायरी निकाल्छ । जहाँ आफूले लेखेका गीतहरूमध्ये आफूलाई मन परेको एउटा गीत छान्छ — “कलम काटी हातैमा ठेला’नि छाती दुख्छ सकिन्न मेला’नि चियाको बोटैमा बैनी ख्वै तिम्रो हाँसो ओठैमा —२ अनि, शुरु हुन्छ एउटा गम्भीर लय मधुरता । गम्भीर बनाउँछ धूनले । गम्भीर बनाउँछ गीत र स्वरले । कलाकारहरूलाई, श्रोताहरूलाई नोस्टाल्जिक बनाउँछ । मनभरि उही चियाबारीको कथा-व्यथाहरू उकुसमुकुस बनाएर फेरि भेट्ने वाचासहित छुट्टिने-भेट्ने क्रमहरू चलिरहन्छ । #जीवित खड्का मगर
सपना: २. ‘आज मैले तपाईंलाई सपनामा देखेँ ।’ एक्कासी कुनै अपरिचितले म्यासेज पठाउँदा अचम्म लागेको थियो । ‘ए हो र ?’ यी बाहेक अर्थोक शब्दहरु के नै हुन्छन् र अपरिचितलाई पस्किएर दिन । अपरिचित भनेर अपरिचित पनि हैन । आफ्नो फेसबुकमा जतन गरेर सजाएको मान्छे तर चिनजान पनि त भएको छैन । आफ्नो असली नाम नराखेको स्त्रीलिंगी फेसबुक आईडी अपरिचित नै त हो नि! फेसबुकको भित्तोमा सधैँ देखिराखेको भनेर भो त ? ‘के देख्नु भो ?’ ‘तपाईं सपनामा पनि चिया बेच्दै हुनुहुन्थ्यो ।’ यो कस्तो खालको कुरा हो ? के म बिपनामा ‘पनि’ चिया बेच्छु र ? ‘हाहाहा,’ म हाँसे । हाँस्न त अनेक बाटाहरु हुन्छन् फेसबुकमा । ताल तालका इमोजीहरु पाइन्छन् । छानी छानी टाँसिदिए भो तर मलाई लेखेरै हाँस्दिन मन लाग्यो । किनकि शब्दमा हाँस्नु भनेको पढ्नेहरुको कानमा दुरुस्तै आफ्नो आवाज गुन्जिनु हो । इमोजीको अनुहार त नमिल्न पनि त सक्छ । गीतै छ नि, नाम गुम जाएगा, चेहरा ये बदल जाएगा, मेरी आवाज ही पहचान है, गर याद रहे… ‘तपाईं जतिबेलै चियाका कुरा गरिरहनु हुन्थ्यो । अहिले त चिया अड्डा नै खोल्नुभो । त्यही पढेर हो वा केले हो, मैले त सपनीमा तपाईंलाई देखेँ । अनि कहिल्यै नबोलेको मान्छेसँग पनि बोल्न मन लाग्यो ।’ कति मीठो कुरा ! कसैको बिपनीमै पनि जान नसकेको म, कसैको सपनीमा जानु, कति रसिलो कुरा ! के मलाई छोडेर गएकी उनी, जो मलाई स्कुटरमा पछाडि राखेर काठमाण्डूका सडकहरुमा कुदाउने गर्थिन्, उनको सपनीमा पनि म पुग्छु होला त ? पुगेँ भने यदि, धेरै भयो नबोलेको भनेर फेसबुकको ब्लक खोलेर मेसेज गर्छिन् होला त ? ल मानौँ, आफ्नै आइडीबाट बोल्न, आफ्नै परिचयबाट भावनाहरु बताउन, संशय लाग्यो अरे, अहंकारले दिएन अरे । के कुनै फेक आइडीबाट बोलाउँछिन् होला त ? झसंग भएर झसंगिएँ म । के यो कोरियन नायिकाको तस्विर राखेकी निक्की नाम गरेको आइडीवाल उनी नै हुन सक्छिन् त ? ‘बिजी हुनुहुन्छ जस्तो छ । एनिवे, तपाईंको चिया अड्डाको चिया मीठो थियो है ! सपनामा पिएको अनि बिपनामा पढेको पनि । ह्याभ अ गुड डे ।’ यति लेखेर ओझेल परिसकिछन् उनी । मेरा हातहरु टाइप गर्न भन्दा पनि दिउरेमा उम्लिन ठिक्क परेको चियालाई कपमा खन्याउन व्यस्त भएँ । लकडाउनका कारण चिया अड्डाहरु बन्द छन् । घरैमा चिया पिउने बानी परेको छ । सोलिच्युड अर्थात् एकान्तवासमा बस्दा चिया अड्डाका हल्लाहरु ध्यान बिथोल्न आइपुग्छन् । उनका सम्झनाहरुले सताएर पुगेको थिएन र अब यो निक्कीको कौतुहलता थपियो मेरो मानसपटलमा ? ‘तपाईंको परिचय दिन सक्नुहुन्छ ?’ टाइप गरेँ तर सेन्ड गर्न हच्किएँ । गुड डे लेखेर गैसकी । के आत्तिएर खोजिनिति गर्नु जरुरी छ र ? लेखेको हरफ सर्लक्क मेटेपछि ‘यु टु ह्याब अ गुड डे’ लेखेर छाडिदिएँ । चियाको पहिलो घुट्को सुरुप्प निल्छु । अनि सम्झन्छु, ‘चिया नखाने साथीहरु भेट्दा अक्सर सोध्ने गर्छु, सास पनि फेर्छौ कि ब्याट्रीबाट चल्याछौ ?’ यस्तै स्टाटस लेखेको थिएँ कुनै दिन । कमेन्टहरुको भीडमा उस्तै हुलियाका एक दुई कमेन्ट थिए । ती कमेन्टहरुले भने, ‘चिया खाँदिनँ तर बाँचिराछु त ।’ [bs-quote quote=”चिया अड्डाहरु विश्वविद्यालय हुन्, जहाँ सिद्धान्त र दर्शनका छलफलहरु पनि हुने गर्दछन् । चिया अड्डा संचारगृह हो जहाँ खबरहरु संकलन गरिन्छन् र सूचना प्रवाह गरिन्छन् । र, कहिलेकाहीँ चिया अड्डाहरुमा बाहिर बताउन नसकिने भित्री चाहनाहरु पनि संकेतले नै व्यक्त गरिन्छन् र अँध्यारा कुनाहरु खोजेर जाने गर्छन् तिर्खालुहरु ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] कहिलेकाहीँ म सोच्ने गर्छु, सामान्य कुरा लेख्यो भने धेरैले बुझ्छन् तर म गलत रहेछु । मैले सामान्य लेखेकै कारण कहिलेकाहीँ मेरो भनाइको तात्पर्य पाठकले बुझेका नहुँदा रहेछन् । साहित्यमा अलंकारको प्रयोग हुन्छ । लाक्षणिक अर्थको महत्त्व हुने गर्दछ । शब्दमा पढ्नुभन्दा ‘रिडिङ बिटविन त लाइन्स’ भनेझैं शब्दले छोडेका खाली ठाउँका अर्थ बुझ्नुपर्छ भन्ने मलाई लाग्छ । मलाई चिया पिउनु भनेको चिया अड्डामा बसेर स्वतन्त्रताको उपयोग गर्नु हो जस्तो लाग्छ । के के हुँदैन चिया पसलमा ? राजनीति, समाज, खेलकुद, साहित्य, सिनेमा, यौनदेखि लिएर प्रेमसम्मका कुराहरु हुन्छन् । चिया अड्डाहरु संसद् हुन्, जहाँ सत्तापक्ष र प्रतिपक्षको बादविवाद चल्ने गर्दछ । चिया अड्डाहरु विश्वविद्यालय हुन्, जहाँ सिद्धान्त र दर्शनका छलफलहरु पनि हुने गर्दछन् । चिया अड्डा संचारगृह हो जहाँ खबरहरु संकलन गरिन्छन् र सूचना प्रवाह गरिन्छन् । र, कहिलेकाहीँ चिया अड्डाहरुमा बाहिर बताउन नसकिने भित्री चाहनाहरु पनि संकेतले नै व्यक्त गरिन्छन् र अँध्यारा कुनाहरु खोजेर जाने गर्छन् तिर्खालुहरु । मलाई चिया पसल सधैँ स्वच्छन्द हुने ठाउँ जस्तो लाग्यो । चिया मेरा लागि स्वन्तन्त्रता, समानता र लोकतन्त्रको उच्चतम प्रतीक जस्तो लाग्छ । चिया पसलमा कहिल्यै यो को हो भनेर सोधिँदैन । यसलाई फरक चिया दिउँ भनिँदैन । यसलाई मात्र अर्कै गिलासमा चिया दिउँ भनिँदैन । आजकल गणतन्त्र आएर होला हरेक चिया पसलमा अपारदर्शी चिनियाँ कपहरु प्रयोग हुन्छन् ! बरु उतिबेलाकै चिया पसलहरु ठीक थिए । कमसेकम भारतीय काँचका गिलास नै भए पनि ती पारदर्शी त थिए ! हातमा भएको चियाको कप रित्तिन लाग्दा रित्तिन लागेको त्यो पुरानो चियाको कपको याद आयो जो बानेश्वरको कुनै एउटा अड्डामा उनको भरिएको कपको छेउमा उभिएको थियो । ‘तिमीले त चिया पिएनौ त,’ सोधेको थिएँ । ‘पिएँ त दुई तीन घुट्को’ ‘बाँकी नपिउने ?’ ‘हजुरले पिएको हेरेरै अघाएँ,’ के यो फ्लर्ट थियो ? ङिच्च हाँसेर उनका आँखाहरुमा हेर्छु, ती रसिला थिए, न त जिस्किएजस्तो, न त मस्किएजस्तो । एकसुरले हेरेर टोलाएजस्तो । मानौँ मेरा आँखाहरु कतै सुदूरको क्षितिज हो र उनका आँखाहरु दुरबिन हुन् । नियालिरहेछन् मेरो नजरको गोधुलीलाई, जहाँ भावनाका गुलाबी रङहरु पोतेर भर्खर अस्ताएको छ एउटा एक्लोपनको घाम । तर मेरो एक्लोपनाको घाम आजकल जहिल्यै उदाइरहन्छ । बिहान, दिउँसो, साँझमा र रातमा पनि । रित्तो कप हातमा लिएर टोलाइरहन्छु, त्यसदिन ‘त्यसरी चिया खेर फ्याँक्न हुन्न’ भनेर मैले उनलाई झक्झक्याएर भनेका कुराहरु । ‘त्यसो भए तपाईं नै पिइदिनु न त,’ भनेर उनले भनेका कुराहरु । ‘साँच्ची ?’ त्यो चुनौती थिएन, बरु रहर थियो । [bs-quote quote=”सायद जीवनमा त्यति मीठो चिया कहिल्यै पिएको थिइनँ । सेलाएको थियो, चिसिएर तरको खोल बाक्लिएको थियो तर त्यो चियामा उनका ओठहरु खसेका थिए । त्यो कपमा उनका छापहरु बसेका थिए ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] सायद जीवनमा त्यति मीठो चिया कहिल्यै पिएको थिइनँ । सेलाएको थियो, चिसिएर तरको खोल बाक्लिएको थियो तर त्यो चियामा उनका ओठहरु खसेका थिए । त्यो कपमा उनका छापहरु बसेका थिए । ‘मानेँ मैले तपाईंलाई,’ भनेकी थिइन् उनले । उनको जुठो चिया पिउनु कुनै बहादुरी थिएन, यो उनलाई पनि थाहा थियो । आत्मा नै उर्लिएर त्यो चिया पिउने रहर मेरो आफ्नै थियो, यो मलाई पनि थाहा थियो । तर कठिन नलागेको चिजलाई कठिन छ भन्नु, साना-साना कुराहरुमा पनि ठूला खुशीहरु खोज्नु, आखिर यही नै त प्रेम रहेछ । भन्नेहरुले त जुठो खायो भने माया गाढा हुन्छ भनेर पनि भन्दिए तर यो फगत दोस्रो भेट थियो हाम्रो । र, हामी जुठो खाने भैसकेका थियौँ । के माया गाढा भयो त ? म त भन्छु, जति छिट्टो बस्छ माया, त्यति नै छिट्टो छुट्दो पनि रहेछ । #चिया अड्डा #सुरेश बडाल
भरिया बने देशको चर्चित चित्रकार: डिबी राई काठमाडौँ, पुतलीसडकदेखि रत्नपार्कको चोकसम्म बागबजारको गल्ली गल्लीमा आर्ट पसल, ढोकाढोकामा आर्ट पसल । जथाभावी रंगैरंग पोतिएका भित्ताहरू र भित्तामा उँघिरहेका पेन्टर असनबजारका कपडा व्यापारीझैँ । त्यही समय काम खोज्दै हिँडेको थियो एउटा अल्लारे केटा । वल्लो छेउ, पल्लो छेउ हिँड्दैजाँदा उसको आँखामा आइबस्यो चौतारी आर्ट । अधिकांश फुटपाथको नाङलो पसलमा खैनीचुरोट बेचिरहेझैँ लाग्ने स्तरको तर त्यो हेर्दैमा सो रूम जस्तो । जहाँ ढोकैनेर गोलो टेबल र टेबुलमुनि आधा कम्मर ढाकेर घुम्ने कुर्सीमा बसिरहेका थिए, भोलामणि हार्तम्छाली । भोला दाइको टाउकोमाथि सेम्पलै सेम्पलले ढाकिएको भित्ता तर अर्को भित्तामा बिपी कोइराला, मदन भण्डारी, पासाङ ल्हामू शेर्पाका पोट्रेटहरू । • ‘ए, भाइ ! के चाहियो ?’ – ‘काम पाइन्छ दाइ ?’ • ‘तिमी आर्टिस्ट हो ?’ – ‘हजुर !’ भोलादाइले अन्तरवार्ता लिनुभयो, पास भएँ म । संयोग, डिबीजीले चौतारीलाई छाडिजाने र छाडिगएको चौतारीमा म घुम्दै आउने । त्यही चौतारीमा उनले कोरेका पेन्टिङहरू देखेपछि मभित्र झन् कौतुहलता लाग्यो — “यति राम्रा चित्र बनाउने कस्ता मान्छे होलान् हँ ?” ( यो कुरा थियो सन्ताउन्न/अन्ठाउन्न सालतिरको।) काठमाडौँ बसुन्जेल यी मान्छेसित कहिले भेट भएन । त्रिसठ्ठी सालमा जब म गएँ साउदी अरब, उनी पनि लगत्तै उतै गएछन् । “उतै रैछ भेट जुरेको, साउदी अरबमा कुरेको, बल्लै भेट भयो ।” अब भेट मात्रै भएन, भेट भैरह्यो त्यसपछि । प्रायः विहीबार साँझमा उनी हाम्रो कम्पनीमा आउने । राग रमाइलो गर्ने । दारु पिउने । कहिले जान्थ्यौँ नजिकैको समुद्रमा रातभरि माछा मार्न । डिबीजी, राम्रो बाँसुरी बजाउने र माछा मार्न सिपालु । अगर उनी आर्टिष्ट नभएको भए यतिखेर कुनै रेकर्डिङ स्टुडियोमा बाँसुरी बजाइरहेका हुन्थे होलान्! त्यो पनि नभए, अरुण नदीमा जाल हानिरहेका जालहारी त पक्कै हुन्थे! केही वर्षको अरब बसाइपछि डिबी नेपाल फर्किए। विदेशी कलाको अनुभव र निखारताले उनका सिर्जनाहरू अँध्यारोमा टल्किने काँसको सामानझैँ झन्झन् उज्यालिँदै आयो । पेन्टिङमा उनले गरेको गहिरो अध्ययन र लगनशीलताले आज उनी नेपालका समकालीन चित्रकारमध्येका एक अब्बल चित्रकार मानिन्छन् । यही प्रसिद्धिले नै उनका चित्रहरू नेपालभन्दा बाहिर चाइना, इन्डिया, मेक्सिको, जापान, कोरिया, युएई, पाकिस्तान, चेक रिपब्लिक, अमेरिका, इन्डोनेसिया, बोलिभिया, फ्रान्स, बाङ्लादेश, थाइल्यान्ड लगायतका देशहरूमा सामूहिक प्रदर्शनी र बिक्री भइसकेका छन् । उनी स्वयं चित्र प्रदर्शनीको सिलसिलामा चाइना, इन्डिया, इन्डोनेसिया, बाङ्लादेश लगायतका देशहरूमा भ्रमण गरिसकेका छन् । त्यसोर, कुनै अग्लो पहाडको शिखरमा बसेर, जसरी आज उनले वरिपरिका दृश्यहरू क्यानभासमा पोतिरहेका छन्, त्यहाँ पुग्ने बाटो कुनै अक्करको भीरभन्दा कम्ता अप्ठ्यारो थिएन । र, पनि भीरको उकालो उक्लिरहे …! ••• फ्लास ब्याक : अति विकट जिल्ला संखुवासभा, नुम गाउँका डिबी राई सानैदेखि चित्र कोर्न र मूर्ति बनाउन भनेपछि हुरुक्कै हुन्थे । रातोमाटो खनेर मूर्ति बनाउने कोसिस गर्थे भने घरका भित्ताहरूमा अंगारले चित्र कोरिरहने बानी रहेछ उनको । उनी एक कक्षामा पढ्दा आफ्नो तीन कक्षामा पढ्ने दाइले ठूलो जुरोवाला गोरुको चित्र बनाएका रहेछन् । दाइको चित्र देखेर यति धेरै प्रभावित भएछन् कि सधैँ उनले गोरुकै चित्र बनाइरहन थालेछन् । उनी भन्छन्, “म रातभर टुकी बालेर चित्र बनाउँथेँ । गाउँमा मट्टितेल पाइन्नथ्यो । तेल-मट्टितेल रासनपानी सबै धरानबाट बोकेर ल्याउन बीस दिनजति लाग्थ्यो । बा’ले मट्टीतेल सकेकोमा साह्रो गाली गर्नुहुन्थ्यो ।” एसएलसीपछि, एकाउन्न सालमा डिबी राई काठमाडौँ आएछन् । सरस्वती क्याम्पसमा भर्ना भएछन् । त्यहाँ पढ्दापढ्दै उनले क्याम्पसमा पनि चित्रकला पढाइ हुन्छ भन्ने थाहा पाएछन् । आइकम सकेर २०५३ सालमा ललितकलामा भर्ना भएछन् । दुई वर्ष दुःखसुख पढेछन् । उनी भन्छन्, “हाम्रो परिवार ठूलो भएकाले घरदेखि पैसा मगाउन सम्भव थिएन । आफ्नो लागि आफैँ खर्च जुटाउन धेरै पटक खैरेहरूको भारी बोकेर डोल्पासम्म पुगेको छु । तीस/पैंतीस दिन भारी बोक्दा टाउकोमा नाम्लोको डोबै बस्थ्यो । पछि साइनबोर्ड/ब्यानर लेख्न सिकेँ र पढाइ खर्च जुटाउन भारी बोक्नु परेन ।” यसैक्रममा वरिष्ठ चित्रकार उमाशंकर शाहसँग भेट हुन्छ । उनको स्टुडियोमा निकै वर्ष काम गरे । बिएफएपछि ग्यालरीमा चित्र बनाउन थालेछन् । तर जनयुद्धका कारण देशको अर्थतन्त्र तहसनहस भएपछि पेन्टरहरूलाई बाँच्न गाह्रो भयो । उनी पनि अरब हानिए । मेरा मित्र डिबी राई बरू अभावमा सस्तो शारीरिक श्रम बेचे होलान् तर आफ्ना सिर्जनालाई कहिले सस्तो बनाएनन् । त्यसैले उनी गर्विलो स्वरमा भन्छन्, ” कलाकार पैसाको पछाडि नभएर कलाकारको पछाडि पैसा र मिडिया लाग्ने कलाकार बन्न सक्नुपर्छ ।” उनको कुरा सुनेपछि मलाई लाग्यो — दुःखको मार्तोल र छिनाको हजारौं चोट खाएर नै बन्दोरहेछन् सुन्दर मूर्तिहरू । डिबि. राईले पाएका पुरस्कार/सम्मानहरू ———————- * प्रथम — नेकआ. संघद्वारा आयोजित चित्रकला प्रतियोगिता — २०५९ * दोश्रो — २८३औं पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवस — २०६१ * दोश्रो — नेकसद्वारा आयोजित नेकस प्रथम राष्ट्रिय कला प्रदर्शनी — २०६२ * दोश्रो — योङ पिकासोद्वारा आयोजित खुल्ला चित्रकला प्रतियोगिता — २०७१ * दोश्रो — मकालु हिरक महोत्सव — २०७३ * टप ट्वेन्टी अवार्ड — अन्तर्राष्ट्रिय जलरंग महोत्सव — २०७४ * टप टेन अवार्ड — अन्तर्राष्ट्रिय जलरंग महोत्सव — २०७५ * टप थ्री कोन्टेन्ट अवार्ड — अन्तर्राष्ट्रिय जलरंग महोत्सव –२०७५ * दोश्रो — WS इन्डिया खुल्ला चित्र प्रतियोगिता — २०७६ * नेव्याक संघद्वारा बालकृष्ण स्मृति कला सम्मान — २०७६ * जवाहरलाल नेहरू कलाकेन्द्र राची, मूडस अफ कलरस सम्मान — २०७६
हिन्दू समाजमा ब्राह्मणवादी पितृसत्ता: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । यो लेख हामीले नयाँ पत्रिका को शनिबार अंक झन् नयाँ बाट लिएका हौँ । नयाँ पत्रिकाका लागि यो लेख सन्जोग ठकुरी ले तयार पारेका हुन् । यहाँ क्लिक गरेर यस लेखलाई नयाँ पत्रिका मै पढ्न पनि सक्नुहुने छ । =================================== शक्ति र पहुँचको केन्द्र पुरुष छन् र हुनुपर्दछ भन्ने मान्यता व्याप्त भएको समाज नै पितृसत्तात्मक समाज हो, जहाँ महिलाको व्यक्तिगत र सार्वजनिक जीवनमाथि पुरुषले विभिन्न तरिकाले हस्तक्षेप गरिरहेका हुन्छन् । ब्राह्मणवाद भनेको ब्राह्मणविरोधी सोच होइन, तर कसरी हाम्रो धार्मिक, सांस्कृतिक र सामाजिक मान्यताहरू निश्चित जातका मानिसका लागि फलदायी सिद्ध हुन पुग्यो र एकै समाजमा बस्ने अर्को समुदायमाथि थिचोमिचो भएको छ भनेर विभेदको जरो पत्ता लगाइएको सोच हो । हाम्रो हिन्दू धर्मको सामाजिक परिधिमा ब्राह्मणहरूलाई पहिलो दर्जाको नागरिकका रूपमा स्थापित गरिएको छ र महिला र शुद्रलाई तुच्छ जाति भनेर व्याख्या गरिएको छ । यही ब्राह्मणवादको जगमा जात, वर्ग र लैंगिक दृष्टिकोणको विश्लेषण नै यहाँ चर्चा गर्न खोजिएको ब्राह्मणवादी पितृसत्ता हो । यो शब्दलाई सबैभन्दा पहिले भारतका इतिहासकार उमा चक्रवर्तीले प्रयोगमा ल्याएका थिए । कसरी हिन्दू समाजमा ब्राह्मणवादभित्र पितृसत्ता गढेर रहेको छ भन्ने विषयमा तथ्यगत आधार प्रस्तुत गर्नुभएको इतिहासकार चक्रवर्तीले धर्म, आर्थिक रूपमा पुरुषप्रति निर्भर बनाइनु, परिवारको प्रमुख पुरुष बनाइनु, पुरुष समर्थित असल महिलाका मानकहरू स्थापित गरिनु र यस व्यवस्थाका विरोधमा उत्रने महिलालाई दण्डसजायको व्यवस्था गरी समाजमा यस व्यवस्थालाई स्थापित गर्न महिलाको (बाध्यात्मक) साथ पनि लिइएको बताउँछन् । नेपाल र भारतमा हिन्दुत्वको वर्चस्व छ फलस्वरूप यसका विचारले हाम्रो विचारधारा, संस्कार, दृष्टिकोण, व्यवहार सबैमा प्रभाव पारेको छ । मनु र कौटिल्य त्यस्ता हिन्दू दार्शनिक हुन् जसले हिन्दू समाजको निर्माणमा ठूलो प्रभाव जमाए र महिलाको धर्मलाई स्त्रीधर्म भनी व्याख्या गरे । स्त्रीधर्मका बारेमा हिन्दू धर्म र यसका मिथकहरूमा पनि थुप्रो उदाहरण भेटिन्छन् । ब्राह्मणवादी पितृसत्ताको सबैभन्दा बलियो र सर्वस्वीकार्य हतियार हो स्त्रीधर्म । ब्राह्मणवादी पितृसत्ताले महिला र दलित समुदायलाई संगठित रूपमा ठूला जातका पुरुषहरूको अधीनमा राख्दछ र उनीहरूको श्रम, सम्पत्ति, शरीर र जीवनमाथि नियन्त्रण गर्दछ । यस्तो नियन्त्रणका लागि महिलाको व्यवहार कस्तो हुनुपर्छ, स्त्रीधर्म भनेको के हो भन्ने व्याख्या शक्तिशाली ब्राह्मण पुरुषले गर्दछन् र महिलाहरूलाई पुज्य हुनका लागि आफ्नो जातका पुरुषप्रति आज्ञाकारी र शुद्ध हुनुपर्ने मान्यता अघि सार्दछ । यहाँ शुद्धतामा ठूला जातिकै पुरुषसँग सम्बन्ध स्थापित गर्नुपर्ने, कौमार्य र महिलाको यौनिकतामाथिको नियन्त्रण झल्किन्छ । समाजमा नियन्त्रणका अनेक तरिकाहरू माथिल्लो जातका पुरुषहरूले बनाएका हुन्छन् जस्तो कि सम्पत्ति र स्रोतमाथिको पहुँच आफ्नो हातमा राखेर उनीहरू सदैव महिला र दलित समुदायका पुरुषहरूलाई आफ्नो अधीनमा राख्दछन् भने यस्तो प्रक्रियालाई वैदिक मान्यता प्रदान गरी उनीहरू पुस्तौँपुस्तासम्म समाजको एउटा ठूलो हिस्सामाथि मानसिक र शारीरिक रूपमा रजाइँ गरिरहेका हुन्छन् । जातीय शुद्धताको नाममा संगठित रूपबाटै महिलाको यौनिकतामाथि नियन्त्रण गरिएको छ । दलित समुदायका पुरुषसँगको सम्बन्ध स्थापित गर्नबाट रोक्न महिलालाई घरबाट बाहिर जान नहुने, परिवारले निरन्तर निगरानी गरिरहनुपर्ने नियम बनाइन्छ । अनि फेरि यस्ता नियमको परिपालनाका लागि महिलालाई नै खास जिम्मेवारी तोकिन्छ । पितृसत्ताले जब महिलालाई मानसिक, सामाजिक, आर्थिक रूपले पुरुषको अधीनस्त बनाउँछ, तब कसरी महिला आफैँ पनि पितृसत्ताको पहरेदार हुन पुग्दछ भन्ने उदाहरण हो यो । अधिकांश रूपमा पुरुषले महिलाको शत्रु महिला नै हुन्छ भन्ने उदाहरण दिइरहँदा हामीले महिलामाथि पुरुषको स्रोत, पहुँच, यौनिकतामाथिको नियन्त्रणले उनीहरू बाध्यात्मक रूपले पितृसत्ताको पहरेदार हुन पुगेको कुरा बिर्सनुहुँदैन । मनु र कौटिल्यले त महिलालाई जाली, खराब, आफ्नो यौनिकता काबुमा राख्न नसक्ने, एकभन्दा बढी पुरुषसँग सहजै यौनसम्बन्ध राख्ने महिला खराब हुन्, पुरुषको हरदम नियन्त्रण आवश्यक भएको भनी व्याख्या गरेका छन् । जब पुरुष कोही महिलासँग यौनसम्बन्ध राख्दछ त्यसलाई जितको रूपमा व्याख्या गरिन्छ भने महिलाको यौनसम्बन्धले उसलाई समाजकै कलंकका रूपमा स्थापित गर्दछ । हिन्दू धर्मभित्रै नियोग भन्ने प्रथा पनि प्रचलनमा आएको पाइन्छ । जहाँ महिलाको प्रजनन क्षमताको प्रयोगका लागि पतिबाहेकका पुरुषसँगको संसर्गलाई स्वीकृति प्रदान गरिन्छ, तर यहाँ पनि पुरुषहरू नै विशेषाधिकारबाट सुसज्जति भएका हुन्छन् । अपोस्तम्भ धर्मसूत्र जसमा श्रीमान्ले आफ्नी श्रीमतीको अर्को पुरुषसँग यौनसम्बन्ध नहोस् भनी सुनिश्चित गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । अर्थात् महिला पुरुषहरू मात्र भन्ने थाहा पाउनासाथ आफ्नो सबथोक बिर्सेर सुम्पन तयार हुन्छन् भन्दै मनु प्रत्येक उमेरका महिलालाई पुरुषले नियन्त्रण गरिरहनुपर्ने कुरा बताउँछन् । ब्राह्मणवादी व्यवस्थाका चिन्तक तथा प्रवद्र्धक मनुले त मनुस्मृतिमा महिलामा झुटो बोल्ने, गहनामा अधिक लोभ हुने, रिस, क्षुद्रता, विश्वासघात र खराब आचरण महिलाको चरित्र भनी व्याख्या गरेका छन् । उनी भन्छन्, ‘कमजोरभन्दा कमजोर पुरुषले पनि श्रीमतीमाथि नियन्त्रण गर्नु आवश्यक छ । सृष्टिकर्ताले महिलालाई प्रदान गरेको प्रजनन शक्ति, यौनिकताजस्ता विषयमा प्रत्येक पुरुषले कडाइका साथ नियन्त्रण गर्नुपर्दछ ।’ महाभारतमा भीष्मले युधिष्ठिरलाई बताएको अष्टावक्र र उत्तराको कथाबाट पनि यो कुरा स्पष्ट हुन्छ । बौद्ध धर्मावलम्बीहरूमाझ परिचित जातक कथाहरूमा पनि महिलाको यौनिकतामाथि नियन्त्रण गरिनुपर्ने जस्ता विषय उल्लेख गरिएको पाइन्छ । असतामनता जातक, बन्दनामोक्खा जातक यसका उदाहरण हुन् । कौटिल्यको अर्थशास्त्रमा घरभन्दा बाहिर रमाउने श्रीमती र महिलालाई बाँसले, हातले वा कोर्राले दिनको तीनपटकसम्म पिट्न सकिने उल्लेख छ भने रमाइलो गर्न जानेजस्ता काम गर्नबाट समेत वञ्चित गरी महिलाको घरबाहिरको सार्वजनिक जीवनमाथि अंकुश लगाइएको छ र सबैभन्दा ठूलो अपराध भनेर घरबाहिर रात बिताउनुलाई भनिएको छ । जसका लागि जरिवानासमेत डबल हुने उल्लेख अर्थशास्त्रमा गरिएको छ । त्यसैगरी श्रीमान्बाहेकका पुरुषसँग भेट्नु, कुरा गर्नुलाई समेत दण्डनीय कार्यका रूपमा उल्लेख गरिएको छ । यी सबै महिलाको गतिशीलतामाथिको संकुचनका विधि हुन्, जुन आज पनि हाम्रो समाजमा विद्यमान छन् । महिलाका आवतजावतमा नियन्त्रण गर्न उपल्लो जातका पुरुषलाई राज्यबाट समेत यथाशक्य शक्ति प्रदान गरिएको थियो । कौटिल्यले जातको विषयमा कुरा गर्दा सबैभन्दा घृणित अपराध भनेको उपल्लो जातिको महिला र तल्लो जातिको पुरुषबीचको सम्बन्ध भनी व्याख्या गरेका छन् । यस्तो सम्बन्ध राखेमा महिला माथिल्लो जातबाट तल्लो जातमा झर्ने भनेका छन् । गौतरियाले तल्लो जातिका पुरुषसँग सम्बन्ध कायम राख्ने महिलालाई सबैको अघि सार्वजनिक बेइज्जत गर्नुपर्ने र पुरुषलाई भने तत्काल मार्नुपर्ने बताए भने वशिष्टले यस्ता घृणित कार्यबाट शुद्धीकरणका लागि महिलाको कपाल मुण्डन गरी नांगो शरीरसहित सहर घुमाउनुपर्ने बताएका छन् । यसरी महिलाको यौनिकतामाथि नियन्त्रण गर्न खास तीन रणनीतिहरू अपनाइए । पहिलो धर्म, संस्कारका नाममा भगवान्का कथा, पाप र धर्मका उदाहरण दिइयो । दोस्रो स्त्रीधर्म र पतिव्रता हुनुपर्दछ भनेर सिकाइयो जसका लागि सीता र सती सावित्रीजस्ता पात्र उभ्याइए र एकै जातमा प्रेम र विवाह गर्नुपर्ने मानक स्थापित गराइयो । तेस्रो महिला आफैँले आदर्श महिला हुनका लागि प्रेरित गर्न विभिन्न संस्कार र प्रथाको माध्यमबाट आत्मसात् गर्न बाध्य बनाइयो । फलतः पितृसत्तात्मक ब्राह्मणवादले महिलाको अधिकारमाथि विजय हासिल गर्दै गयो । परापूर्वकालदेखि नै महिलाको यौनिकतालाई नियन्त्रण गरिनुपर्ने र यसका लागि पुरुषहरू बढी जिम्मेवार हुनुपर्ने कुरा सिकाउँदै आइरहेको छ । महिलाको स्वतन्त्रतामाथि अंकुश राख्न ल्याएको पतिव्रता धर्मको अवधारणा ब्राह्मणवादी पितृसत्ताको अचुक र बलियो हतियार थियो जुन समाजमा गहिरोसँग स्थापित र स्वीकार्य गराउन उपल्लो जातिका पुरुष सफल भएका छन् । त्रिभुवन विश्वविद्यालय, लैंगिक अध्ययन विभागका प्रमुख प्रा.डा. बिन्दु पोखरेल भन्नुहुन्छ, ‘मनु एकातिर यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः, यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः अर्थात् जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ भगवान् प्रसन्न हुन्छन् भनेर उल्लेख गर्छन् र अर्कोतर्फ महिला भनेको पुरुषको अधीनमा बस्नुपर्ने र स्त्रीधर्म पालना गर्ने हुनुपर्छ भनी व्याख्या गर्दछन् । हामीले ब्राह्मणवादी पितृसत्तालाई यसरी नियाल्न आवश्यक छ ।’ यिनै व्याख्यालाई आधार मान्दै महिलाको यौनिकता काबु गर्न हाम्रो घरपरिवारमा छोरी कहाँ गइन्, कतिवेला आउलिन्, कोसँग भेट गर्ने र नगर्ने, कहाँ कसलाई भेट्ने र नभेट्ने, कुन जातिसँग सम्बन्ध बढाउने वा नबढाउनेजस्ता नियम बन्न पुगे । महिलाको यौनिकता काबुमा राख्ने पुरुष नै बलात्कारी, हिंस्रक पुष्टि भइरहँदासमेत यो अभ्यासले निरन्तरता पाइरह्यो । हाम्रो समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यकको स्विकार्यतामा भएको समस्या पनि ब्राह्मणवादी पितृसत्ताकै उपज हो । जब यो समाजमा जैविक लिंग पुरुष भएको व्यक्ति आफूलाई महिलाका रूपमा परिभाषित गर्न खोज्दछ, तब पुरुष जन्माएका कारण प्राप्त गरेको सम्मान गुम्ने डरले अभिभावक यो स्वीकार गर्दैन भने जब यौनांग योनी भएको व्यक्ति आफूलाई मानसिक र सामाजिक रूपमा पुरुष भनी परिभाषित गर्दछ तब ब्राह्मणवादी पितृसत्ताले डोहो¥याएको मान्यता र नियम उल्लंघन हुने कारण समाजबाट उनीहरू अलग्याइन्छ । त्यसैगरी महिला र महिला, पुरुष र पुरुषबीचको सम्बन्ध त यसले नस्विकार्ने भइहाल्यो । र यस्ता अस्विकार्यता यसरी स्थापित भएका छन् कि हामीले उनीहरूको जीवनमा हिंसा गरिरहेका छौँ, विभेद गरिरहेका छौँ भन्नेसमेत हामीलाई हेक्का हुँदैन । छोरीलाई कुन जातको केटासँग प्रेम गर्ने, कसलाई कहाँ भेट्ने, सन्तानले आफूलाई कसरी परिभाषित गर्ने, कुन लैंगिक समुदायका व्यक्तिसँग प्रेम गर्ने भन्नेजस्ता विषयमा अंकुश लगाउनु आफैँमा मानवअधिकारको गम्भीर उल्लंघन हो, तर ब्राह्मणवादी पितृसत्तामा हुर्किएका हामी यसको विरोध गर्न परै जाओस्, बरु मान्छे मार्न पनि पछि पर्देनौँ । यी सबैबाट हामी के निष्कर्षमा पुग्न सक्दछौँ भने हाम्रो समाजको सामाजिक, सांस्कृतिक र राजनीतिक व्यवस्था जात, वर्ग र लैंगिक विभेदको त्रिकोणीय सम्बन्धबाट प्रस्फुटित भएको छ जहाँ महिलाको कुनै पनि किसिमको अभिव्यक्ति खासगरी यौनिकता र यौनिक अभिमुखीकरणलाई धर्म, पाप, खराब, न्याय, संस्कार, जात, भाषा, इज्जत, सुरक्षा, मायाजस्ता नाममा नियन्त्रण गरिन्छ । यो नै हामी बाँचिरहेको आजको नेपालको ब्राह्मणवादी पितृसत्ताको स्वरूप हो । अतः रुकुममा भएको घटना दलित युवाको हत्या वा दलित अधिकारको विषय मात्र पनि होइन । यो त सदियौँदेखि महिलाले कसलाई प्रेम गर्न हुन्छ, कुन जाति, कुन वर्ग, कुन ठाउँ र उमेरका पुरुषसँग सम्बन्ध जोडिनुपर्दछ, कुन उमेरमा प्रेम गर्ने र प्रेमीलाई भेट्ने कि नभेट्ने, पुरुषसँग मात्र सम्बन्ध राख्ने भनेर ब्राह्मणवादी पितृसत्ता (ब्राह्मनिकल प्याट्रियार्की)ले महिलामाथि लादिदिएको विभेदपूर्ण नियमको उदाहरण पनि हो । यसलाई ब्राह्मणवादी पितृसत्ताको आँखाबाट पनि विश्लेषण गर्न उत्तिकै जरुरी छ । जातीय शुद्धताको नाममा संगठित रूपबाटै महिलाको यौनिकतामाथि नियन्त्रण गरिएको छ । दलित समुदायका पुरुषसँगको सम्बन्ध स्थापित गर्नबाट रोक्न महिलालाई घरबाट बाहिर जान नहुने, परिवारले निरन्तर निगरानी गरिरहनुपर्ने नियम बनाइन्छ । अनि फेरि यस्ता नियमको परिपालनाका लागि महिलालाई नै खास जिम्मेवारी तोकिन्छ । पितृसत्ताले जब महिलालाई मानसिक, सामाजिक, आर्थिक रूपले पुरुषको अधीनस्त बनाउँछ, तब कसरी महिला आफैँ पनि पितृसत्ताको पहरेदार हुन पुग्दछ भन्ने उदाहरण हो यो । अधिकांश रूपमा पुरुषले महिलाको शत्रु महिला नै हुन्छ भन्ने उदाहरण दिइरहँदा हामीले महिलामाथि पुरुषको स्रोत, पहुँच, यौनिकतामाथिको नियन्त्रणले उनीहरू बाध्यात्मक रूपले पितृसत्ताको पहरेदार हुन पुगेको कुरा बिर्सनुहुँदैन । ब्राह्मणवादी सामाजिक व्यवस्थामा एकातर्फ समाजको एउटा निश्चित जाति र समुदायलाई पानी पनि नचल्ने भन्दै हेय भाव राखिन्छ भने अर्कोतर्फ लैंगिक रूपमा महिला पुरुष समान नहुने बरु पुरुष र श्रीमान्ले श्रीमतीलाई तह लगाएर राख्नुपर्ने सोचलाई अघि सार्दछ जुन हाम्रो नेपाली समाजले पनि स्वीकार गरेको कुरा हाम्रा दैनिक घटनाहरूबाटै प्रस्ट हुन जान्छ । रुकुममा भएको घटना यही ब्राह्मणवादी समाजको एउटा अंश हो । ब्राह्मणवादी पितृसत्ताले दलित समुदायका पुरुष र कथित ठूला जातिका महिलामाथि खासगरी उनीहरूकोे यौनिकतामाथिको नियन्त्रण हजारौँ वर्षअघिबाट गर्दै आइरहेको छ । #सन्जोग ठकुरी
देशको नक्सा: सबैभन्दा सुन्दर आर्ट: आजको दिन इतिहास बनेपछि स्वर्ण अक्षरमा लेखिने छ । स्कूलमा पढाइने छ, सामाजिक शिक्षामा राखेर । इतिहास तथा भूगोल पढिरहँदा पनि आजको दिन छुट्ने छैन । लोकसेवा पढ्नेलाई त आजको दिन भविष्य बन्ने नै छ । साथै, अब स्कूले साना नानीबाबुमात्र हैन, हर एक नेपालीले सिक्ने छ खुकुरीको धार (लिपुलेक, कालापानी र लिम्पियाधुरा) साहितको नेपालको नक्सा कोर्न । जुन नक्सा देशको सबैभन्दा लोकप्रिय चित्र हो, सबैभन्दा सुन्दर नक्सा हो । केही समयअघि भारतले आफ्नो क्षेत्र बताउदै आएको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेट्दै नेपालले पनि आफ्नो राजनैतिक तथा प्रशासनिक नक्सामा उक्त भूभागलाई पहिलोपटक समेट्यो । स्वभावतः नेपाल भारतबीचको रोटीबेटीको सम्बन्ध चिसियो । कुनै पनि नक्सालाई विश्वमाझ पुर्याउन तथा थप वैधानिकता प्राप्त गर्ने भनेको निशान छाप हो । जसको लागि संविधान संसोधन हुन जरुरी थियो । नेपालको राजनीतिमा प्रत्यक्षरुपमा हस्तक्षेप राख्ने भारतको पक्षमा नेपालको नेत्तृव तथा पार्टीहरु एक ढिक्का भएर उभिनुभनेको एक दुर्लभ क्षण थियो । तर त्यो आर्ट आज हाम्रो संसदले पूरागर्याे । र सर्वसम्मतीले एउटा सुन्दर चित्र कोर्याे । देशको चित्र । देशको नक्सा । निसाना छाप । नेपालीहरुका लागि योभन्दा सुन्दर आर्ट अर्काे के हुन सक्ला ? (तस्बीरः इन्टरनेट तथा पत्रपत्रिका) #देशको नक्सा
पल्पसा क्याफे जसको स्वाद ढिलो गरि लिदा पनि मनमा बस्यो: “पल्पसा क्याफे” खै किन हो नाम सुन्ने बित्तिकै यो प्रेमकथामा आधारित उपन्यास होला भन्ने लागेथ्यो । पछि मदन पुरस्कार दिईयो, त्यतिबेलाको छापा सञ्चार माध्यमहरुमा पनि कुरुस्तै बिज्ञापनहरु देखिए । समिक्षाहरु छापिए । तर मेरो पुर्ब मान्यता “प्रेमकथा” भएकैले खासै रुचि लागेन । प्रेमकथामा आधारित कुनै पनि आख्यानात्मक सृजना (किताब, फिल्म) हरु खासै रुचिभित्र पर्दैनन् । त्यसैले मैले कुनै पनि समीक्षा कहिल्यै पढिनँ पनि । त्यो समय थियो जतिबेला सात राजनैतिक पार्टीहरु राजतन्त्र बिरुद्ध आन्दोलित थिए कान्तिपुरलाई आठौँ पार्टी/दल भनिन्थ्यो । त्यही कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्लेले लेखेको उपन्यास त्यसै पनि चर्चामा आईहाल्ने भयो, यस्तै सोँचेर नजरअन्दाज गरेँ सायद । प्रकाशित भएको डेढ दशकपछी पल्पसा क्याफेको कथालाई स्पर्श गर्न मन लाग्यो । किताब त मसँग थिएन । त्यसैले अनलाईन खोजी गरेँ । E-Book भेटेँ । तर पढिरहन समय नमिल्ने भएकोले काम गर्दै सुन्ने विकल्प छानेँ र अडियो भर्सन छनौट गरेँ । लगातार चार दिन सुनेँ समय मिलेको बखतमा र कथा सकियो । मैले समय मै नपढेकोमा निक्कै पछुतो लाग्यो । तर सोचेँ, सायद त्यतिबेला पढेको भए आज जस्तो कथाले मलाई नछुन नि सक्थ्यो कि? किनभने हामीले भोगेको वा बाँचेको समय, परिबेश र तिनले हामीमा उत्पन्न गराउने मनोदशाले हामीले पढ्ने वा परख गर्ने कृतिहरुको बिषयबस्तुमा फरक पार्ने गर्दछन् । त्यस कारण All is Well सोँचेँ । नारायण वाग्ले पुर्णकालिन पत्रकार भएर पनि पुर्णकालिन चित्रकारको आत्मपरक कथा भन्न सक्नु नै उपन्यासको पहिलो Strongness हो भन्ने लाग्छ । कथा हाम्रो पुस्ताले बिशेषगरी वि. सं. २०५५-६० को समयावधिमा बाँचेको समयको सजिव चित्रण हो । त्यो समयमा गाउँमा लछप्पै भेटिने लालसेनाहरु र तिनिहरुप्रतिको लहर, गाउँबासिहरुको मनस्थिती, कष्टकर दैनिकी एकातिर थियो भने अर्कातिर त्यो गतिबिधिले चुम्बकिय ध्रुबले चुम्बकिय बस्तुलाई आफुतिर ताने जस्तै खुम्चँदै गईरहेको राजनैतिक परिबेश र त्यसको माखेसाङ्लो । उपन्यासको केन्द्रिय कथा यहिँ सेरोफेरोमा दौडिएको छ । पढ्दै गर्दा निक्कै पर पटाक्षेप भईसकेका आफ्नै तत्कालिन भोगाईहरु “फ्ल्यास ब्याक” मा बैजनी रंगमा ओहोरदोहोर गरिरहे । मैले विशेष गरि “प्रेमकथा” को हाउगुजिले नपढेको यो उपन्यास यो पटक अलिकती चेत खुलेपछि पढेको हुँ । मदन पुरस्कार प्राप्त कृति भनेपछी यसमा पठनिय केही अवस्य हुनुपर्छ, यस्तै सम्झेर थालेको हुँ । नेपालमा बितरण गरिने विभिन्न पुरस्कारहरु बेलाबेलामा बिबादमा आईरहन्छन् नै त्यसो त । तर मदन पुरस्कार अलि कम बिबादित र नेपाली साहित्यकै दाजु पुरस्कार भएकोले पनि यो मनस्थिती बनेको हो । पुरस्कृत अन्य कृतिहरु समेत पढिसकेपछी अझ “कन्फिडेन्ट” थपिएर म यता तानिएको हुँ । कथाको रसास्वादन सकिदै गर्दा यस्ता कृतिहरु नेपाली साहित्यमा कमै लेखिएका होलान् भन्ने लाग्यो वा मैले भेट्न नसकेको पो हुँ कि! काठमाडौबाट अपहरण शैलिमा सिद्धार्थले दृष्यलाई पश्चिम नेपालको पहाडी गाउँ पुर्\u200dयाएपछी कथाको क्यानभासमा जनयुद्धको खास रङ् पोतिन थाल्छ । दस बर्षपछी आफ्नो जन्मथलो पुगेको दृष्य आफ्नो पुरानो दिनहरुमा हराउँदै देखिँदै गर्दा जनयुद्धको बाछिटाले छियाछिया बनाएको बस्तिहरु र त्यहाँका मानिसहरुको मनस्थितिको चित्रण गरिएको छ । निक्कै लामो समय दृष्यलाई लिएर जाने सिद्धार्थ पर्दामा देखिदैन तर एक्कासी एउटा छोटो दृष्यमा ऊ मारिन्छ तर कसरी? उसलाई मार्ने मानिसहरु को थिए? सरकारी सेना थिए वा आफ्नै पक्षका तर उसका बिपक्षी खेमाका? जनयुद्धका दौरान् त्यस्ता कैयन घट्नाहरु घटेका थिए पनि । आफ्नै सहकर्मिको हत्या गर्ने र शक्ति हत्याउने प्रचलन । बन्दुक अर्थात तागत । तागत आफ्नो साथमा भएपछी आफ्ना अगाडिका सबै चिजहरु पुड्का र बबुरा लाग्छन् सायद । तर सिद्धार्थ मारिनुको कारण कथाले खोल्दैन । सायद पाठकले अनुमान गर्नुपर्ने होला कि? त्यही ठाउँमा फेरि दृष्यलाई लिएर जाने केटिको अवस्था के भयो? कथा मौन छ । दृष्य उकालो चढ्दै गर्दा आफू जस्तै मान्छेसंग भएको जम्काभेट के थियो? के त्यो समयमा आतंकका कारण मान्छेहरुमा बनिरहेको मनस्थितिको प्रतिबिम्ब मात्रै थियो अर्थात मनले मात्रै देखेको दृष्य थियो वा दृष्यले साँच्चैको त्यस्तै दृष्य देख्यो? संयोगबस् दृष्य काठमाडौ फर्कदै गर्दा भेटिएकी पल्पसा यी अघिका भेटहरुमा पनि संयोगबस नै भेटिएकी थिईन् । र संयोगवस नै उनी दुर्घट्नामा पनि परिन् । सायद मान्छेको जिन्दगीमा हरेक घट्नाहरु संयोग नै संयोगले बनेका हुन्छन् भन्ने सन्देश होला यो । पल्पसा र दृष्य दुबैमा प्रेम अंकुराए पनि एक अर्कामा ब्यक्त हुन नपाउँदै प्रेमको अन्त्य भयो । सायद यो पनि चरम युद्धका बेला प्रेमले भोग्नुपर्ने नियतिको प्रतिबिम्ब होला । दृष्य काठमाडौ फर्किएपछी उसले बनाएको “पल्पसा सिरिज” को पेन्टिङ् र उसको गाउँमा आर्ट ग्यालरी सहितको सुबिधा सम्पन्न होटल वनाउने सपना तत्कालिन समयमा बाँचिरहेका मानिसहरुको शाङ्ग्रीला जस्तै सपना थियो क्यार । जसरी त्यो सपना बुन्दा बुन्दै एकदिन दृष्य सबैबाट अदृष्य भयो, बेपत्ता बनाईयो । कैयौँ श्रष्टा र सर्जकहरु त्यसै गरि बेपत्ता भएथे जसरी दृष्य अचानक आफ्नो आर्ट ग्यालरिबाट बेपत्ता भयो । पतिबर्तनको महान सपना बोकेको सिद्धार्थ, युद्धबाट पुरै बेखवर ब्यक्तिगत स्वतन्त्रताका लागि हिँडेकी एक युवती, कला र सृजनामा रमाउने एउटा श्रष्टा यी तिनै पात्रहरु मारिए, बेपत्ता बनाईए । युद्धकालिन समयको यो क्रुर बास्तविकता अत्यन्तै दुखद हो । जुन जुन चरित्रहरु बाँच्नुपर्थ्यो ती सबैले मर्नुपर्\u200dयो । त्यसैले होला सायद आज हामीले बाँचेको समय सार्थक हुन सकिरहेको छैन । हामीले भोगिरहेको ब्यबस्था अल्मलिए झैँ देखिन्छ ।
निहारिका: थोरै मैलिएर थोरै खिइएर वर्षौं पहिले झाडीमा हराएको क्रिकेट बलझैँ भेटिएको छ जिन्दगी । मैले जिन्दगीलाई अलिकति बुझ्न कति टाढा आउनुपर्यो मेरा आदर्श गलत थिए – म अन्धो थिएँ मेरो छाती कमजोर थियो – म निर्बल थिएँ मेरो मनको भकारी ठूलो थियो – म गलत थिएँ उ पर क्षितिजमा एउटा नौलो मान्छे पर्खिरहेको थियो मेरा फाटेका पैतालाले नजाऔं भो पनि भनेनन् आगो बलेको पेटले सोचौँ भो पनि भनेनन् गलेको पिठ्युले बसौँ भो पनि भनेनन् म जोराजोरले कस्सिदै पुगेँ त्यहाँसम्म जहां मलाई पर्खिरहेको नौलो आकृति थिएन अझै उक्लनु पर्ने उकालो थिएन अझै ओर्लनुपर्ने ओरालो थिएन बस् ! एउटा निर्मल पोखरी थियो कुनै आदिम देवकुण्ड हुनुपर्छ त्यहाँ आफ्नै छायाँलाई हेरेपछि त बिर्सिएछु म उज्यालो चाहान्छु या अँध्यारो ? माया चाहान्छु या मोह ? रस चाहान्छु या मोक्ष ? पूर्णता चाहान्छु या रिक्तता ? एकान्त चाहान्छु या शून्यता ? जीवन चाहान्छु या मृत्यु ? यो हारको अनुहार हो निहारिका मैले जित्नु भनेकै मेरो हार थियो मैले हार्नु नै मेरो हार हो मलाई स्वीकार्य छ – मैले जितेर पनि हारेँ म हारेर पनि जित्न चाहान्छु प्रेमी झैँ शिक्षक झैँ सहिद झैँ मेरो जिन्दगी त अनुत्तरित प्रश्न रहेछ मेरो प्रश्न त जिन्दगी रहेछ –जो अनुत्तरित छ भोक देखेँ – म लडिरहेँ मैले बुझिनँ – को सँग लडिरहेछु ? भोक सँग या अघाएकाहरूसँग विचार – व्यवहार गरिबी – शोषण अस्तित्व – अहम् अग्ला – चुचुरा होंचा – बुचुरा दरबार – सरकार म सबैसँग लडेँ यो जिन्दगीको बगरमा मैले बुझिनँ – म को सँग लडिरहेछु ? खोलासँग या खोलाले बगाएकाहरूसँग ? #निहारिका
'नेपाली संस्कृति तथा सद्भावना राजदूत' मानार्थ उपाधि दुई प्रवासी नेपालीलाई: नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले विभिन्न माध्यमबाट नेपाली संस्कृति तथा परम्परागत विश्वासहरूलाई विश्वसामु प्रस्तुत गर्दै आ-आफ्नो क्षेत्रबाट विशेष योगदान दिँदैआएका प्रवासमा बस्ने दुई जना नेपालीहरूलाई आज ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गरेको छ । नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिबाट सम्मानित हुने नेपालीहरूमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज नर्वेका अध्यक्ष विष्णुमाया विभू र म्यानमार निवासी अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघका अध्यक्ष सागर घिमिरे हुनुहुन्छ। नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानका अध्यक्ष तथा अन्तराष्ट्रिय नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार एवम् रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले हार्दिक बधाई तथा शुभकामना दिँदै बिष्णु माया विभू र सागर घिमिरेलाई नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको सदस्यता प्रदान गर्नुभएको थियो। यस अघि ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान पाउनेहरूमा दिनेश बाला श्रेष्ठ (ईटली), दीपक न्यौपाने (बेल्जियम), निर्मल अर्याल (फ्रान्स), बसन्त रानाभाट (स्पेन), बिजय थापा (अमेरिका), पुरू जोशी (दक्षिण कोरिया), जीवन प्रसाई (स्पेन), डा. एलिनी पोखरेल सुबेदी (पोल्याण्ड), योगिता थापा (बेल्जियम), लक्ष्मी लामा गुरुङ (दक्षिण कोरिया), मदन दवाडी (बेल्जियम), डा. मनमूर्ति भुर्तेल (रसिया), राजन काफ्ले (आयरल्याण्ड) मिलन घिमिरे (थाईलैण्ड) र बालहरि राई (लक्जेम्बर्ग) रहेका छन् । नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले विभिन्न माध्यमबाट नेपाली संस्कृति तथा परम्परागत विश्वासहरूलाई विश्वसामु प्रस्तुत गर्दै आआफ्नो क्षेत्रबाट विशेष योगदान दिँदैआएका प्रवासमा बसोबास गर्ने नेपालीहरूलाई मानार्थ उपाधिले सम्मान गर्दैआएको छ । #नेपाली संस्कृति #प्रवासी नेपाली
नवपुस्ता: कसैको बासँग संस्कृत संवाद; कसैको कमजोर सरकारमाथि बलियो विस्वास: देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । देश अढाई महिनाभन्दा लामो समयदेखि लकडाउन (बन्दाबन्दी) छ । बन्दाबन्दीका कारण सबै आफ्नै घरमा थुनिएका छन् । कोरोना संक्रमणको अवस्था झन् झन् विकराल बन्दै गइरहेकै छ । तर यो विषम परिस्थितिमा पनि नेपाली साहित्य तथा कलाको क्षेत्र निदाइहालेको भने छैन । बरु कारोनाबाट कसरी बाहिर आउने र आफूलाई कसरी सुसंस्कृत र परिष्कृत बनाउने भन्ने कुराको साधनामा छ । यस्तो बेला नवपुस्ताका उदीयमान साहित्यकार तथा कलाकारहरू के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । हामी यस स्तम्भमा साहित्य तथा कलामा संलग्न नवपुस्तालाई सुन्ने छौँ: राजु झल्लु प्रसाद: “कमजोर सरकारमाथि मेरो बलियो विश्वास छ” राजु झल्लु प्रसाद रातभर आकाश हेरिरहँदा बिहान भइरहेछ। बिहानभर सुतिरहँदा दिउँसो भइरहेछ र, दिनभर खानपिन र कसरत गरिरहेछु। मन, आँखा र पेट पनि अघाइरहको छ। एउटा समय थियो, फलानो-ढिस्कानो काम र जिम्मेवारी, भोक र थकान, निद्रा र आराम थिए। अब यतिखेर घडीजस्तै भएको छु, घडी मात्रै..समय जस्तो होइन। समयको गति कहिल्यै कम या तेज हुँदैन। समय यात्रारत रहन्छ। समय हिउँले चुसेको चट्टान टेकेर पनि बाँच्छ। चाहे त्यो लिपुलेक ढलोटका हिउँ सतह हुन् या अंकलको २ वर्षे छोरालाई बताइएको चन्द्रमाको सतह। समय- पग्लिरहेको मैन चुस्न आएका पुतलीका आङमा चढेर झर्..र्झ आवाज पनि निकालिरहेको छ। समय- चीलहरूसँग आकाशमा गुड बनाउन निस्कन्छ र, कटुयथार्थतासँग ठोकिएर पराजयको टुटुल्को सुमसुमाउँदै फर्की पनि रहेको छ। कहिले लाग्छ, समय पुराना अखबार पढिरहेछ, नयाँ बिहानीमा। युगौंदेखि सत्य परिमार्जित भइरहेको र गराइरहिएको वास्तविकतासँग पटक-पटक जम्काभेट हुँदा खिस्स दाँत देखाएर आफ्नो सुकेको ओठ जिब्रोले भिजाएर अघि घस्रिरहेको यो समय कहिलेकाहीँ ऐनामा मेरो अनुहार बोकेर पनि टुप्लुकिन्छ। त्यतिबेला लाग्छ, जीवनको आधारभूत आवश्यकता दारी काट्नु मात्रै होइन, गाला काटिनु पनि रहेछ। त्यतिबेला लाग्छ, जीवनको सम्भाव्यताहरू पर्खालको उचाइ नाघ्नु मात्रै होइन, गहिराइ नाघ्नु पनि रहेछ। त्यतिबेला लाग्छ, जीवनको सुन्दरताहरू त आफ्नै जिज्ञासाहरू रहेछन्, प्रश्नहरू रहेछन्, समीक्षा र मूल्यांकनहरू रहेछन्। समय चिसो भएर पनि बाँचेको छ। तातो रहिरहेर पनि बाँचेको छ। यत्ति हो, समय प्रयोजनहीन छैन। उसका आफ्नै काम-कुरा छन्, जुन ऊ लुखुरलुखुर गइरहेको छ। र, म ? म.. भूगोलका सतहका सुकिला, मायालु र दयालु चुम्बन, आलिंगन र कोखलाई मात्रै समय मानी हुर्कंदै आएको र कल्पदै आएको एउटा अनुहार चुपचाप सोचिरहेछु, समय विनाशका हुण्डरी, आगोका लप्का र अस्थिरता, आकस्मिकता र अनमियतता पनि समयको विप्लवी बिम्बहरू रहेछन्। अब कुरा घडीको रह्यो- हामी दुई दाजुभाइ एक-अर्कालाई हेरिरहेका छौं। गन्थनमन्थन जारी छ। गुनासो र दुखेसो उसको नि छ, मेरो पनि। उसलाई पनि निद्रा लाग्दैन, मलाई पनि। कहिले ऊ रातभर कविता सुनाउँछ, कहिले म बिहानभर उसले सुनाएको कविताको ह्याङ बोकेर विष्णुमति किनार हुँदै शंखमुल पुगेर फर्किन्छु। लामखुट्टे र गर्मी दुवैले टोकिरहेकै छन्। जूनकीरी र भ्यागुतो दुवैको आवाज कानसम्म ठोक्किरहेकै छ। मेघको गड्याङगुडुङ र कुकुरका भ्वाउँभ्वाउँ कानका भित्तामा बज्रिरहेकै छ। यतिखेर रोगव्याधिजन्य डर र त्रास मनमा सवार गरिरहेको छ तर म मानसिक रूपमा आफूलाई फुर्तिलो राख्न कोसिसरत छु। नेटफ्लिक्सले ठीकठाक खुराकहरू दिएर मलाई भनिरहेको छ, अब डाकु-ड्रामा हेर, रोमान्स हेर, हिस्टोरिकल मुभीहरू हेर। यो क्राइम, थ्रिलर र हरर जेनरा धेरै भयो तर अहँ.. असजिलो परिस्थिति र मनस्थितिजन्य मुभी र सिरिजहरू नै हेरिरहेको छु। कविताकोश भन्ने एउटा पोर्टल भेटेको छु। त्यहाँ लाखौँको संख्यामा विश्वभरका भाषामा अनुदित (प्राय: हिन्दीमा) कविताहरू छन्। ती कविताहरूको स्वाद फरक छ, लेखनशिल्प नयाँ छ, दृष्टिकोण र तीनले उठाएका सामाजिक मुद्दाहरू चाखलाग्दा छन्, चेतनाप्रदायक छन्। आफ्नै किताब ओडारबाट ‘सर्पदंश’, ‘सबै जातका फूलबारी’, ‘मैले देखेको नेपाल’, ‘ज्योति ज्योति महाज्योति’, ‘कट्टेल सरको चोटपटक’, ‘द गड अफ स्मल थिङ’ लगायतका किताबहरूसँगको संगत निको लाग्यो। कविता, निबन्ध र यात्रासंस्मणहरू पनि पढिरहेको रहेछु। अर्कोतर्फ, मेरो गीत-संगीतसँग पनि सम्बन्ध ठीक चलिरहेको छ। यस बीचमा एउटा इअरफोन बिग्रियो। ‘पैसा बोलता है’, ‘Five Hundred Miles’, ‘एसी लागी लगन’, चाहिँ म बारबार बजाइरहेको हुँदोरहेछु। त्यसबाहेक नुसरत अली खान साहब, मेटालिका, नाइट (नेपाली ब्याण्ड)का गीतहरू सुनिरहेको छु। अहिले, लक डाउन, क्वारेन्टाइन व्यवस्थापन, देश बाहिरका जनताको घर फिर्ती र सरकारका कामबीच तादाम्यता खोजिरहेको छु तर त्यसो भएको पाइरहेको छैन। अहिले, आत्महत्याको खबर, सुत्केरी महिलाको उपचारमा अभावमा मृत्यु, दीर्घरोगीहरूको मृत्युको संख्या वृद्धि, घरेलु हिँसा, भोकले मर्नुपर्ने कठोर वास्तविकता, साना व्यापारीको आक्रोश, कृषि सामग्रीको अभाव र यससँग इन्टरकनेक्ट अनेकन समस्याहरू बढिरहेको पाउँदा थप पीडा हुन्छ। तर यसको यथोचित सम्बोधन सरकारले गर्छ भनेर विश्वस्त छु। विश्वस्त नभएको क्षण मलाई थप पीडा हुन्छ, म यो जान्दछु। यस कारण कमजोर सरकारमाथि मेरो बलियो विश्वास छ। सुस्मिता जिज्ञासु: “कुनै साँझ नजिकैको कृष्ण मन्दिर पुग्छु र अबेरसम्म बसेर जीवनकथा सुनाउँछु” सुस्मिता जिज्ञासु पढाइको निहुँले घर छोडेर सहर हिँडेपछि दशैँ-तिहार र विवाह-व्रतबन्धमा मात्र गाउँमा फर्किने म यसपटक बन्दाबन्दी सुरु हुनुभन्दा दुई दिनअघि गाउँ फर्किएँ । सहरको व्यस्त दिनचर्यामा गाउँघरमा लकडाउनको उतिसारो प्रभाव छैन । वरपर डुलेर स्वच्छ हावा लिन पाइन्छ, वसन्तको पालुवासँग चराचुरुङ्गीको मधुर आवाज सुन्न पाइन्छ । वसन्त याममा गाउँमा बस्नुको मजै बेग्लै छ, जसको अवसर आजभोलि हुर्किएका युवाहरूलाई प्रायः मिल्दैन । यसपटक मैले फेरि आफ्नै हातले टिपेर ऐँसेलु र काफल खाएँ। कानले कोइलीको स्वर सुने। भर्खर पलाउन थालेका काब्रोका मुना, कोइरालोका फूल र वनभरिका पालुवाहरूलाई आफ्नो मलीन मुहार देखाएँ। सायद केँवरे धाराले, सल्लेरी वनपाखाले, खेतबारीले मेरो अनुहार बिर्सिसकेका थिए होलान् ! वर्षौँ भएको थियो आरु र आँप नुनखुर्सानीसँग नखाएको, आमाले साँधेको गुन्द्रुकको त्यान्द्रा दाँतमा नअड्काएको, मकैबारीको कलिलो बोडी टिपेर नखाएको, बहिनीसँग चुङ्गी र गट्टा नखेलेको, भाइसँग झगडा नगरेको। अनि त्यति नै भएको थियो, आमाको मैलो फरिया नधोएको र बुबासितै बसेर भागवत् नसुनेको । बन्दाबन्दीले यो अवसर फेरि जुटाइदियो। बाल्यकालमा हाम्फाल्ने गरेका कान्लाहरू देख्दा, स्कुल जाँदा अमला खाने गरेको जङ्गल देख्दा, घाँस काट्न जाँदा लुकामारी खेल्ने गरेको ठाउँ देख्दा, घरका अनार, केरा र नास्पातीका रूखहरू देख्दा बाल्यकाल चलचित्र बनेर अन्तर्मनमा नाचिरहन्छ। गाउँको यति सफा र विशाल आकाश छोडेर आफ्ना महत्त्वाकाङ्क्षाहरूको पिँजराभित्र कैद हुन सहर किन पस्छौँ होला हामी ? सागर छोडेर कुवामा रत्न खोज्न निस्केका तमाम नेपालीहरूको भीडमा म पनि हराएकी रहेछु । यो जीवनबोधले कहिलेकाहीँ आफैँलाई धिक्कार्न मन लाग्छ । वैशाखमा छरेका मकैका पिपिराहरूले जिन्दगी सिकाउँछन्, लहलहाउन थालेका फर्सीका मुन्टाहरूले सपना सिकाउँछन्, चिचिला लाग्दै गरेको नास्पाती, फूल खेल्दै गरेको अनार, पसाउन लागेको केरा यी सबै भन्छन्- ए सुस्मिता ! तेरो मुख किन मलीन हँ ? दिलको कुनाको अस्ताइसकेको घाम यिनीहरूलाई भेटेपछि पुनः उदाउँलाझैँ गर्दैछ । सहरमा कहाँ देख्न पाइन्छ र पाठाको स्वच्छन्द नाच अनि मधुर आवाज । पँधेराको ताजा पानी । आफ्नै घरको गाइभैँसीको शुद्ध दूध, दही र मोही । आमाले पकाएको मीठो खाना । बाबुआमासँग ठुस्किन, झर्किन र निहुँ खोजेर भोकै सुत्न । कुनै साँझ नजिकैको कृष्ण मन्दिर पुग्छु र अबेरसम्म बसेर जीवनकथा सुनाउँछु । कुनै बिहान फूलबारीमा पुग्छु र फुल्नै लागेका फूलहरू सुम्सुम्याउँछु। फेरि रुकुम सम्झन्छु। कुनै दिउँसो आमासँगै बसेर दुनाटपरी गाँस्छु र सङ्घर्षका कथा र आफ्नो बालापनका चकचकहरू सुनेर भावुक हुन्छु । कहिलेकसो माटोको बास्ना लिन खेतबारी पुग्छु र साँधको ढुङ्गा हाम्रैतिर ढल्किएको देखेर लिपुलेक र कालापानी सम्झन्छु। काले र गोरे भनेर झगडिरहेका कलिला नानीहरूलाई देखेर अमेरिका र अफ्रिका सम्झन्छु । यति धेरै बन्दाबन्दी होला भन्ने सोचिएन र किताब बोकिएन । बासित भएको श्रीमद्भागवत र कृष्णचिन्तन पढेँ। आफ्ना कृष्ण द्वारिका गइसकेको सम्झेर रोएँ। सामाजिक सञ्जालतिर ‘संस्कृतमयः नेपालः’ भन्ने समूहमा जान्छु र संस्कृत सिकेझैँ गर्छु । बासित संस्कृत श्लोकहरू सिक्छु र कण्ठ गर्छु । सञ्जालमा भेटिएका गीत, गजल र कविता पढ्छु र रमाउँछु तर आफ्नो हृदयमा भने यसबीच कुनै सृजना टुसाएको छैन। तर दुःख लाग्छ, लकडाउन खुल्नासाथ फेरि पनि यी तमाम भोगाइलाई यादको पिञ्जरामा कैद गरेर जानु छ, त्यही सहर । फेरि कुँज्याउनु छ, पखेटाहरूलाई । फेरि फस्नु छ, महत्त्वाकांक्षाको दलदलमा । जिन्दगी छोडेर जिन्दगी खोज्ने दौडमा फेरि पनि एकपटक निस्किनु छ, लकडाउन खुल्नासाथ । मनोज बिश्वकर्मा: “म जहाँ बस्छु, त्यहाँ आज पनि दलितको बिहेभोजमा गैरदलितले भान्सा नपकाए गाउँका वरिष्ठहरूको घाँटीबाट छिर्दैन” मनोज बिश्वकर्मा लकडाउनका शुरूवाती दिनमा यसमाथि भीषण हमलाहरू भए। दिन चरम अल्छीपूर्वक बितेकोमा चामलको दाना, गीतका शब्द, किताबका शब्द गन्नेको सङ्ख्या बढ्दो थियो । तर मलाई लकडाउनप्रति कुनै गुनासो थिएन । एक त म लास्टै अल्छी मान्छे हुँ । अर्को, यी दिनहरूमा गर्नुपर्ने कामको लम्बेतान लिस्ट मेरो अगाडि लम्पसार परेको थियो । अहिले पनि त्यही लिस्टकै सपिङ गर्दैमा दिन सखाप हुन्छ । जीवनमा भागदौड थिए। यसकै चपेटामा परेर सुन्दर भनिएका धेरै फिल्म फिल्मसमीक्षककै ‘सुन्दर’ शब्दमा कैद थिए । मैले तिनलाई कैद मुक्त गरिदिएँ । धेरै फिल्म यस्ता थिए, जसले मलाई म रून सक्छु भन्ने सम्झाए । धेरै फिल्महरू यस्ता थिए, जसले मस्तिष्कमा फिट गर्न चाहन्थे- दुनियाँलाई फरक ढङ्गले हेर्ने आँखा। धेरै फिल्म यस्ता थिए, जसले अझ नजिकबाट अनुभूत गराए- मानवीय सम्बन्ध, समाज र प्रेम । तपाईँ पनि यी मुभीचाहिँ हेर्नूहोस्- प्रकाश झाको ‘दामुल’, रोबर्ट बिनिग्नीको ‘लाइफ इज ब्युटिफुल’, एओन साङ्ग होको ‘ट्रेन टु बुसान’, Osama: A young Afgan girl hope to pass as boy to survive र Anjum Shahzad को Mah-e-mir । सिरिज मुभीहरूको खोजपड्ताल पनि गरियो । अरू त अरू, हालसालै २९ एपिसोडसम्मको पाकिस्तानी सिरियल ’कुर्बान’ पनि हेरेँ । सायद जीवनमै पूरै हेरेको यो पहिलो सिरियल हो । यसको एउटा क्लिप्स भेटेपछि पुरै हेर्ने हुटहुटीले तानेर युट्युबमा खोजेको थिएँ । फिल्म होला भन्ने शुरूवाती अनुमान थियो तर निस्किदियो सिरियल । हेर्ने मुड त गायब भइसकेको थियो । फेरि सम्झिएँ मेरो ‘फेबरेट मानिस’लाई सिरियल मन पर्ने कुरा । अनि हेरेँ । वर्गीय प्रेमको वरिपरि घुमेको छ, यो सिरियल । रूकुम हत्या प्रकरणपछिका दिनहरू निकै बिथोलिए । अन्तर्जातीय प्रेमसम्बन्धको कारण ६ जना युवाको हत्या हुन पुगेको घटना थियो त्यो । त्यो प्रकरणसँगै लेखक, कवि, बुद्धिजीवीको साँघुरो घेरा प्रस्ट हुँदै गयो । यिनको मुकुण्डो मात्र उत्रिएको थिएन, उनीहरू सम्पूर्णरूपले नाङ्गै घुम्दै थिए । यसको विरूद्धमा उभिनु थियो । उभिएँ । अनि उनीहरू मलाई ‘जातिवादी बन्यो’ भन्न थाले । म जहाँ बस्छु, त्यहाँ आज पनि दलितको बिहेभोजमा गैरदलितले भान्सा नपकाए गाउँका वरिष्ठहरूको घाँटीबाट छिर्दैन । म जुन स्कूलमा पढेँ, त्यहाँका साथीहरू घरको रूढिग्रस्त ज्ञानको संवाहक बनेर आएका हुन्थे । धेरै कहानी जस्ता लाग्ने घटना मैले झेलेर आएको छु । कुनै एनजिओ-आईएनजिओले भर्दिएको हैन जातीय विभेद मेरो मस्तिष्कमा । तपाईँको तथाकथित सभ्य समाजले दिएको हो । म सदैव यो विभेदको विपक्षमा हुन्छु । यसलाई जातिवादी भन्नुस् या मानवतावादी । यहाँ एउटा कुरा भन्नै पर्छ मैले, विश्वकर्मा भएकोले मेरो घरमै पनि दलितभित्रै हुने आन्तरिक विभेद थियो । केही बुझ्ने भएपछि महसुस गरेको थिएँ । अलि बु्झ्ने भएपछि चाहिँ यसविरुद्ध ‘घरेलु जनयुद्ध’ लडेँ । आमाबा’मा त्यो जातीय अहंको खोक्रो आत्मरति अहिले पनि होला ! तर त्यो ‘घरेलु जनयुद्ध’को उपलब्धि यो भयो कि मैले परियार केटी या सार्की केटी नै बिहे गरे पनि स्वीकार्नु हुन्छ । अबको पुस्ताले यस्तो ‘घरेलु जनयुद्ध’ लड्न जरूरी छ । #नवपुस्ता #मनोज बिश्वकर्मा #राजु झल्लु प्रसाद #सुस्मिता जिज्ञासु
म क्वारेन्टाइन जान्नँ: आज, सीमा नाका खुल्यो घर फर्किने हुटिहुटी चलेको बखत मैले बिर्सिदिएँ महिनौसम्म सिमानामा अलपत्र पर्नुको पीडा (अ)नागरिक हुनुको वेवास्ता सरकारी रवैया सुदूरको म गरिबमाथि यसको बावजुद पनि स्वःस्फूर्त चलायमान तन मन स्वदेश फिर्ताको झटपट हुण्डरी नाकामा उर्लेको जनसागरमा मेरो पदचाप बिलाउँछ । दश गज्जाको मार्च पाससँगै सरहद फैलिन्छ अँगालोमा स्पर्श विभोर छातीमा राष्ट्र गौरवको ढोल बज्छ । झिना झाम्टा बोकेर सर्तक म विश्व हल्लाउने कोरोनाको जाँचमा परेड खेल्छु । दायाँ घुम बायाँ घुम सर्तक बस् सरकार भन्छ क्वारेन्टाइन बस् क्वारेन्टाइनको कहाली कैरन सुन्दैछु पहिलो आवश्यत्ता मान्छेको सामान्य बन्दोबस्ती छैन रे ! त्यसैले जान्न म क्वारेन्टाइन गाँस, बास र कपासकै लागि पूर्खाहरूको कान्छो पुस्ता बाको काँध थाप्नु मेरो दायित्व दक्षिणको नाका हुँदै मजदुरी गर्न म दिल्ली पुगेको थिएँ अलिकति पुगिसरी भएको भए सायद, म पनि हवाइजहाजको बाटो हुँदै खाडी यूरोप वा अमेरिकाबाट फर्कन्थेँ होला सरकार, नतमस्तक भएर मलाइ पनि व्यवस्थित क्वारेन्टिनमा राख्न एयरर्पोट लिन आउँथ्यो होला चार छाकको मेजमानी चिसो छिँडीमाथि पराल, गुन्द्री या फोम ओच्छाएर भत्केको गोठ, टहरा, यात्रु प्रतिक्षालयमा गुन्द्रुक खाँदिए जसरी ती त सब परका कुरा स्टार होटलको चिटिक्क सफा कोठामा लचकदार बेडको बाक्लो गद्धामाथि नरम तकिया ओच्छाएर शान र शौक्तले म निर्धक्क सुत्दथे मेरो आसपास, मलाई जिउँदै टोक्न आउने लामखुट्टे, सर्प, बिच्छी, उडुस, झिँगाहरू दिनरात न भनेर भन्किन पनि पाँउदैन्थे किनभने, मैले भारू हैन रेमिट्यान्समा डलर, क्रोनर, रियाल पठाएको हो नि ! तर, बिडम्बना विधाताले मेरो भाग्यमा लेखि पठाएन बरू उसले गरिबी लेखिदियो भोक लेखिदियो अशिक्षित लेखिदियो विकट वञ्जर लेखिदियो दूरदराज पिच्छडिएको सुदूर लेखिदियो माटो सुगन्धले हरर उर्वरा उसको र मेरो रगत पसिनाले लुछुप्पै पारेर गह्रा अनि खेत फाँट सिंचित गरेकै हो फेरि, ऊ माथिको म तलको बीचमा गहिरो खाडल किन ? ऊ ठूलो म सानो ऊ धनी म गरिब ऊ काठमाडौं सहरको म विकट गाँउको ऊ एयरर्पोटबाट आएको म दक्षिणको नाकाबाट आएकै भरमा भेदभाव किन ? त्यसैले, सरकार म क्वारेन्टाइन जान्न त्यहाँ सरकारको भाषण गर्जिन्छ त्यहाँ सरकारको घोर पक्षपात देखिन्छ म मजदुर (हरू) दक्षिणको नाकामा रोग, भोक र शोकले थला परेर मरिरहँदा ममताको मल्हम हैन म सौतेनी आमाको सन्तान तह लगाउन सेना ठडिन्छ कालापानी, लिपुलेक, लिम्पियाधुरा रोइरहँदा निगरानी मलाई हुन्छ जाउँ भने नि क्वारेन्टाइन न जाउँ भने नि क्वारेन्टाइन सेवा न सुविधा अस्तव्यस्त भद्रगोल क्वारेन्टिन मान्छे मार्न खोलेको कारखाना जस्तो लाग्छ जाँच न पडताल मान्छेमात्र कोचेर के गर्छौ सरकार ? भूसको आगोसरी कोरोनासँगै अन्य रोग सल्कियो भने म सकुशल घर फर्किन सक्छु सरकार ? त्यसैले म जान्न क्वारेनटाइन क्वारेन्टाइन मेरो मृत्यू मलाई व्यग्र पर्खिरहेको छ । #म क्वारेन्टाइन जान्नँ
माफ गर है ! आमा: शान्तिका सेता परेवा उडाउने यी हातहरूमा चार कुने ती हरियै भएका हरियाली लिएर लामबद्ध भएको छु ती विशाल येन्त्रका पर्खाइमा । आफ्नै पाउका चालले टक टक टक टक गरि वीर धून बजाउँदै गर्दा नसुने झँै हिँड्नु परेको छ ती सेता विमानका अनकन्टार लक्षतिर । त्यो परबाट आएको विमान चडेर जाने परदेश कस्तो होला हगि ? जहाँ पराइभन्दा पनि आफ्नैदेखि डराउनु पर्ने ? आमा विमानवाट झरेर विधाताको वि पनि भन्न नपाउँदै विमानस्थलमै विधान गठन गरेर आफ्नाले देशको हाल सोधे भने ? माफ गर है ! आमा बिचल्लीमा परेका ती तिम्रा सन्देशहरू परका ती देशमा छाडे भने । मैले लगेका ती थोत्रा कपडाको कता कता लगेको धूलो यताउता हेर्दै कालापानीको धूलो त आफ्नै भयो होला है ? भनेर सोधे भने ? केवल आँखा बोल्नेछ माफ गर है लिपुलेक माफ गर है कालापानी नालापानीका बलभद्र जस्ता देशभक्तिका भक्तिथापाजस्ता उदाउन छाडिसके खुकुरी धार्ने बहादुरजस्ता । माफ गर है लिपुलेक माफ गर है कालापानी नालापानीका बलभद्र जस्ता देशभक्तिका भक्तिथापा जस्ता आश्चर्य ! फेसबुकमै विरोध गर्ने योद्धा कस्ता ? प्लास्टिकका भात खाने तिनीहरूले धानका भाउ सोधे भने ? केवल मन चिच्याउने छन् राजधानीमा बसेर राज गर्ने राजनेताले ! कसरी बुज्नेहुन , राजमाती चामलका भाउहरू ? स्याँ स्याँ गर्दै ती बोल्नै नसक्ने काकाले बाबु ! निर्मलाले न्याय पाहिन होला है ? सोधे भने ? माफ गर है निर्मला कसरी भनौ तिम्रो न्याय लेख्दै गर्दा न्यायधीशको न्याय लेख्ने कलम नै भाच्यो भनेर ? अरु सम्पूर्ण प्रश्नका जवाफ हुनेछन् केवल मेरा स्तव्ध ओठहरू किनकि कसरी भनुन मेरा औंलाहरूले तिमीले हात चलायका ती खेतहरूमा आज अर्कैले खुट्टा चलाउँदै छ भनेर कसरी बुझाउन यी आँखाहरूले नेपालआमाका गहभरी रहेका ती तिम्रा सम्झनाहरू । #माफ गर है ! आमा
रातोघरको साहित्य विमर्श र कविता वाचन: साहित्य कला र संस्कृतिका लागि विगत पन्ध्र वर्षदेखि समर्पित रातोघरले कोरोना र घरबन्दीको समयमा बिभिन्न डिजिटल प्रविधिको माध्यममा साहित्यिक विमर्श र कविता वाचनको कार्यक्रम संचालन गरिरहेको छ । रातोघरले केही समयदेखि साहित्यिक विमर्श र कविता वाचनको कार्यक्रमलाई भारतीय नेपाली साहित्यकारहरुमा केन्द्रित गरेको छ । मेसेन्जर समूह, जुमको माध्यमबाट सम्पर्क गरी हरेक दिन जस्तो कार्यक्रम चलिरहेको छ । यसका लागि रातोघरले दार्जिलिंग जिल्लाका शहरहरुमा रहनुभएका साहित्यकारहरुलाई सम्पर्कका लागि पहिलो प्राथमिकतामा राखेको छ । पहिलो साहित्यिक विमर्श शुरु भयो मिरिक शहरबाट । मिरिकका लागि सम्पर्क सूत्र हुनुहुन्छ, कवि नुहांग राई । उनी आफ्नो ठाउँमा आगो कविका रुपमा चिनिन्छन । उनले मिरिकमा रहनु भएका कविहरुलाई सम्पर्क गरेर संयोजनको भूमिका खेले । रातोघर विमर्शको क्रममा वाचन गरिएका कविताहरु क्रमशः साहित्यपोष्टमा प्रकाशित हुनेछ । #रातोघर #साहित्यिक विमर्श
सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !: डा. विप्लव ढकालको स्मार्ट पोयाम्स शृंखला १ नेपाली सूक्ष्म कविताहरूको यस शृङ्खलामा पाँच कविका पाँच कविता समावेश गर्ने क्रममा अग्रज पुस्ताका कविहरू बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल र भीमनिधि तिवारीका कविता रहेका छन् । बालकृष्ण सम १. एक टुक्रा (बालकृष्ण सम) मानिसकाे जात मानिस नै हो उसको अर्को जातै छैन मानिस उभिएको ठाउँ स्वदेश हो उसको विदेश कतै छैन अमानुषी व्यवहार पनि मानिसकै हाे कुनै राक्षस वा देवता छैन स्वर्ग नरक मानिसकै कृत्रिम स्थल हुन् अर्को त्यस्तो पत्ता छैन । २. दशैँताक (लक्ष्मीप्रसाद देवकोटा) लक्ष्मीप्रसाद देवकाेटा त्यो बोकाले खाइरहेछ खास घाँस ! हामीहरूको अर्कै यहाँ छ अनाज, काँढा, काँढा ! त्यो कालो छ, हामीहरूको सेतो रङ छ गाढा, गाढा ! क्या मात्तेको मोटो पशु छ छाडा ! आउला दशैँ ! त्यसको बलिदान ! हाम्रो उत्सव ! त्यो होला कति टाढा ? सिद्धिचरण श्रेष्ठ ३. पतकर सोहोर्ने आइमाई (सिद्धिचरण श्रेष्ठ) रुखहरूलाई हावाले नङ्ग्याइसक्यो वसन्त आएर कुचुकुचु लाउँदै, उनीहरूको शरीरमा पालुवा भरिदियो । वसन्त र रुखको आलिङ्गनले अब चाँडै नै फलफूलहरू जन्मने छन् तिनीहरूले फेरेको लुगालाई सोहोर्दै वनबालाहरूले— सरसर सरसर पतकर सोहोरिरहेछन् । ४. ‘…’ प्रति (गोपालप्रसाद रिमाल) गोपाल प्रसाद रिमाल कुन्नी (कुन अल्लारेपनमा) कुन जून लिपेको सरमा, कुन सूर्य फुलेको नभमा, कुन चरीको बोली फुटेको कुन फूल फुलेको वनमा, कुन पर्वतको काखमा, कुन शान्ति–नदी तटमा मैले चुनेथेँ घर ! अब ती घरका खर गहारा हुरी–भुँमरीमा घुम्छन्, हेर्न नसकी चुहिँदा यी आँखा पग्लिन्छन् ! थुनिन्छन् ! ५. द्रौपदीको सारी (भीमनिधि तिवारी) भीमनिधि तिवारी दुःशासनले जति थुते पनि थुति नसकिने द्रौपदीको सारी ! पक्का पनि श्रीकृष्ण गालाभित्र बसेका छन् बत्तीस ओटा सेता गाई चराएर ! सारीको पहाड पहिरो गएर कति दुःशासन छुराहरू थिचिएर मरे कति सडेर, गलेर अलपत्र परे यो दाह्री— कहिल्यै थुति नसकिने द्रौपदीको सारी ! (कवि विप्लव ढकाल (२०२४ ,भोजपुर– याकु, मारिङ ) ले कवितामा विद्यावारिधि गर्ने क्रममा छाेटा कविताकाे पनि अध्ययन गरेका थिए । उनका निर्जन बन्दरगाह , कालो मध्यान्तर, प्रोफेसर शर्माको डायरी , च्याउको जङ्गल जस्ता कवितासङ्ग्रहहरू प्रकाशित छन्। त्रीचन्द्र कलेज काठमाडाैंमा अध्यापन गर्ने ढकालले दर्जन बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन्।) सूक्ष्म अर्थात स्मार्ट कविता पठाउने ठेगाना [email protected] #डा. विप्लव ढकाल #सूक्ष्म कविता अर्थात् स्मार्ट पोइम्स
कविका रूपमा विवादित राजा महेन्द्र: गोबिन्द गिरीको साहित्य निर्माता कवि मविवि शाह राजा श्री ५ महेन्द्र वीर विक्रम शाह देवको साहित्यिक नाम थियो । उनका रचनाहरु मूलत गीति कविताहरु थिए र अधिकाँश गाइएका थिए । उनको जीवनकालपछि र विशेष पञ्चायती व्यबस्थाको अन्तपछि उनको नाम कविको रुपमा लिन छाडेको देखिए पनि नेपाली वाङ्मयमा उनको नाम विर्सनु, ईतिहासको यौटा महत्वपूर्ण पातोलाई विस्मृतिको गर्तमा धकेल्नु हो, जुन कुनै पनि कोण वा दृष्टिकोणबाट उपयुक्त होइन । मविवि शाहको कवि हृदय भावुक थियो, प्रेमिल थियो र राष्ट्रप्रेमी थियो । यो तीनै तत्वको एकिकृत व्यक्तित्व नै कवि मविवी शाहको सग्लो ब्यक्तित्व थियो । मविवी शाहको दूरदर्शिताको नमूना थियो, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान । यो प्रतिष्ठानको स्थापना र प्रतिष्ठानको वार्षिकोत्सवमा हरेक वर्ष हुने कविता महोत्सव उनकै प्रेरणाको मूर्त रुप थियो । स्थापना कालमा आफैंले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कुलपतित्व ग्रहण गरे पनि समयको क्रममा उनले आफू संरक्षक वसेर कवि केदारमान ब्यथितलाई पहिलोपल्ट जनताको छोरालाई कुलपतित्व हस्तान्तरण गरेका थिए । कविता महोत्सवमा पुरस्कृत कविताहरु श्रवण गर्नु, पुरस्कृत कविहरुलाई यथोचित सहयोग पुर्याउनु उनको अर्को विशेषता थियो । यसै क्रममा कविता महोत्सवमा पुरस्कार ग्रहण गर्न खर्साङबाट नेपाल आएकी कवयित्री बानीरा गिरिले आफूले नेपालीमा उच्च शिक्षा ग्रहण गर्न चाहेको र भारतमा त्यो उपलब्ध नभएको बताएपछि उनलाई महेन्द्र छात्रबृत्तिमा नेपाली भाषा साहित्यमा उच्च अध्ययनका लागि नेपालआमन्त्रण गरिएको थियो। त्यसपछि आजपर्यन्त नेपाली भाषा साहित्य अध्ययनका लागि भारतबाट नेपालीहरु हरेक वर्ष महेन्द्र छात्रबृत्तिमा अध्ययनका लागि आउने क्रम जारी छ । उनी नेपाली भाषालाई नेपाली भाषी नेपाल बाहिरका क्षेत्रमा प्रचार, प्रसार र दरिलो रुपमा स्थापित गराउने मनसुवा राख्तथे । कवि मविवी शाह अँध्यारोसँग लड्ने भन्दा दीयो वालेर अँध्यारो निर्मूल पार्नुपर्छ भन्ने विचारमा विश्वास राख्थे । त्यसैले नेपालको तराई क्षेत्रमा छिमेकी मुलुक भारतको हिन्दी भाषाको अतिक्रमण बढ्दै गएको देखि नेपाली भाषाको संरक्षणका लागि तराई छोएका सबै अञ्चलहरुमा अञ्चल प्रेसको स्थापना गरी नेपाली भाषामा अखवार प्रकाशन गर्ने र अञ्चल भरिका सबै सरकारी काम काजका सूचना र समाचार नेपाली भाषामा प्रकाशित गरी व्यापक तुल्याउने अभियान थालेका थिए। यो बेग्लै कुरा हो, उनको देहावसानपछि जजस्ले प्रेस चलाएका थिए, तिनले पोलेर खाइदिए । कवि भीम बिरागले अन्तिम नारायणी प्रेस र नारायणी पत्रिका जोगाएका थिए । पछि त्यो प्रेस पनि भीम विरागको हातवाट खोसिएपछि छिन्न भिन्न भई समाप्त भयो । देशका प्रतिभालाई चिन्नु र तिनको संरक्षण गर्नु उनको अर्को खुवी थियो । आफ्नो देशव्यापि दौडाहाका क्रममा उनले धेरै त्यस्ता प्रतिभाहरुलाई उध्दार गरेका थिए । अत्यन्त अप्ठ्यारो शारीरिक अवस्थाका कवि तथा गीतकार भीम विरागलाई उनले कलकत्ता पठाएर उपचार गराएका थिए । त्यसै गरी साहित्यकार डा .ध्रुवचन्द्र गौतमलाई काठमाडौंमा उच्च शिक्षा अध्ययनको लागि पनि कवि मविवी शाहले आर्थिक सहयोग गरेका थिए । त्यो सहयोग उनको देहान्त हुनुअघिसम्म निरन्तर थियो । राजा भएकाले उनलाई साहित्यको लागि समय छुट्याउन त्यति सहज थिएन, तर पनि साहित्यिक गतिविधिमा संलग्न हुन उनले समय निकाल्दथे । केदारमान ब्यथितको नेतृत्वमा भएका देशब्यापि साहित्य सेमिनारमा उनले चितवन र झापामा भाग लिएका थिए । चितवनमा भएको साहित्य सेमिनारको अन्तिम दिनको राती नारायणी नदीमा डुङ्गाहरु जोडेर, मइण्टोल बालेर भव्य कवि गोष्ठीको अभूतपूर्व आयोजना गरिएको थियो । त्यो गोष्ठीमा कवि मविवी शाहको पनि सहभागिता रहेको थियो । गोष्ठीको अन्त्यमा हावा हूरीले बबण्डर मच्चाएर पालहरु उडेको, मइण्टोल निभेको र डुङगाहरु पनि ढलपल भएको घटनाका साक्षी कविहरु अझै पनि त्यो रोमाञ्चक-कहालीलाग्दो क्षणको सम्झना गर्छन् । त्यसै गोष्ठीमा भाग लिन आएका कविहरुलाई कवि मविवी शाहले एक्ला एक्लै भेटेका थिए र ती कविले मागेका कुरा पुर्याइदिएका थिए । त्यही क्रममा माधव घिमिरेले चितवनमा तथा मोहन कोइरालाले हेटौंडामा जग्गा पाएका थिए । कसैले पैसा माग्थे । कसैले पद माग्थे । यही क्रममा त्यो सेमिनारमा भाग लिएर मविवी शाहसँग भेट गरेर केही नमागेका भीम बिरागले उनीसँगको सङ्गतमा त्तियवेलाको घटना मलाई बताएका थिए-” सबैले केही न केही माग्दा रहेछन् । मलाई त कलकत्तामा उपचार गरेर त्यत्रो उपकार गरिसकेको हुनाले दोहोर्राई दोहोर्राई के दिउँ भन तिमीलाई भन्दा पनि मैले केही चाहिन्न भनें ।” राजासँग भेटपछि जम्मा भएका कविहरु ककस्ले के मागे र के पाए हिसाव गर्दै थिए । भीम बिरागले केही नमागेकोमा सबले उनको उल्लीबिल्ली गरे । त्यो उल्ली बिल्लीले भीम बिरागलाई निद्रा परेन । मलाई जसले जिन्दगी दियो, उसलाई पो मैले केही दिनु पर्ने हो नि ! मैले अझै लिने हो र ? अनि उनले आधारातमा एउटा गीत लेखे: “जिन्दगी दियौ तिमीले, म के दिउँ तिमीलाई ? “ केदारमान व्यथितको मविवी शाहसँग राम्रो सम्वन्ध थियो । व्यथितलाई उनले फूटपाथवाट उचालेका थिए । नेपाली साहित्य संस्थानको मुखपत्र हिमानी मा प्रकाशनार्थ ब्यथितले कविता मागे । कविता प्राप्त भयो । प्रकाशित भयो । सबै प्रकाशित रचनाहरुको लागि पारिश्रमिकको ब्यबस्था थियो । कवि भए पनि मान्छे त राजा हो, देशको शासक, कसरी २५ रुपैयाँ पारिश्रमिक दिनु ? तर साहित्य संस्थानका सबैले कविको हैसियतले कविता लेखे बापत पारिश्रमिक दिनु हाम्रो कर्तब्य हो, लिनु नलिनु उनको ईच्छा हो भन्ने कुरा राखे बैठकमा । अनि त्यसपछि पत्रिका र पारिश्रमिक वोकेर केदारमान ब्यथित राजदरवार पुगे । राजासँग भेटघाटपछि संकोच मान्दै पत्रिका र पारिश्रमिक दिए । उनले पारिश्रमिक खुशीसाथ लिंदै भने-” यो हो मेरो सच्चा कमाई । ” केदारमान ब्यथित उनले त्यसरी पारिश्रमिक ग्रहण गरेकोमा दङ्ग परे । केही बेरपछि उनले सो पारिश्रमिक ” मेरो तर्फबाट संस्थाको लागि ” भन्दै रकम फर्काएका थिए । कम्तिमा पारिश्रमिकको रुपमा उनले स्वीकारेकोमा केदारमान ब्यथितले धेरै पछिसम्म यो प्रसङ्गलाई रोचक ढङ्गले सुनाउने गर्थे । जतिखेर कवि मविवी शाहका रचनाहरु निकै चर्चामा थिए र लेखन उत्कर्षमा थियो, तारानाथ शर्माले उनका रचनाहरु उर्दू गीत गजलबाट प्रभावित मात्र भएको नभई हरफहरु समेत मिलेको भनी कडा आलोचना लेखेर प्रकाशित गरे । त्यो समालोचनाले साहित्यिक बृत्तमा मात्र नभई दरवार र राजनीतिक क्षेत्रमा पनि हलचल मच्चायो । तारानाथ शर्मा गिरफ्तार भए र जेल चलान गरिए । तर जब कवि मविवी शाहले उनको कृतिको आलोचना गरे बापत उनलाई जेल हालेको भन्ने थाहा पाए, उनले आदेश दिएर जेलबाट मुक्त भएको डा.तारानाथ शर्माको कथन थियो । उनका रचनाहरुको बारेमा पुस्कर लोहनीले पनि आलोचनात्मक लेख लेखेर प्रकाशित गराएका थिए । आफ्नी पहिलो पत्नीको देहान्त पछि लेखिएको यो निकै मार्मिक रचना हो : ” भन लौ तिमी नढाँटी कसरी बुझाउँ यो दिल हेरेर तस्वीर खाली कसरी बुझाउँ यो दिल” देशमा व्याप्त धनी वर्ग र गरीव वर्गलाई लक्षित यो रचना त अर्को रचना आज पर्यन्त जनजिब्रोमा उखान वनेर अजर अमर भएको छ । गर्छिन् पुकार आमा रोइ कराई जोडले होईन भन्छिन् मेरो सन्तान थरिथरिका आज पनि फरक स्वभाव र चरित्र देख्ने वित्तिकै मानिसहरु “सन्तान थरिथरिका” भन्न पुगिहाल्छन् । प्रकृति देखि रमाउने कवि मविवी शाहको “रारा कि अप्सरा” सुन्दरतम् आधुनिक प्रकृतिवादी कविता हो। रारा तालमै पुगेर, त्यहाँको माटो स्पर्श गरेर, त्यहाँको तालको पानीमा हातले खेलाएर, देश र प्रकृतिलाई हृदयमा आत्मसात गरेर लेखिएको यो कविता उनको बेजोड कविताको नमूना हो । यसमा उनले राराको सौन्दर्यलाई अप्सराको सौन्दर्यसँग दाँजेका छन् : सृष्टिको सम्पूर्ण सौन्दर्यमय राम्रो- रारा ! रारा !! रारा !!! देखेर अल्मलिएछु, सायद म आफैं बेहोशले तिम्रो सुन्दरतामा । तैपनि तिमीलाई चिन्न सकिनछु, बोल्न सकिनछु व्याख्या गर्न मेरो कलमै चलेनछ। त्यसैले अत्तालिंदै सोधेछु कराएछु, चिच्याएछु ए ! रारा ! बताउ ! रारा भनेको तिमी को हौ ? स्वर्गकी अप्सरा ? परापूर्व कालदेखि नै राजसंस्था साहित्यको संरक्षक भएको पाइन्छ । दरवारमा कविता सम्मेलन गर्ने गरेको पाइन्छ । दरवारले राजकविको नियुक्त गर्ने गरिएको पाइन्छ । नेपालको सन्दर्भमा पनि यो परम्परा रहेको पाइन्छ । एकताका नायक बडा महाराजाधिराज श्री ५ पृथ्वी नारायण शाहको उपदेशलाई नेपाली साहित्यका इतिहासकारहरुले पहिलो साहित्यिक रचनाको रुपमा स्वीकारेको पाइन्छ । कवि मविवीशाहले राजाको रुपमा शासन गरेको समयमा उत्तरी छिमेकी राज्य चिनमा माओत्से तुङ्गको शासन थियो । यी दुवै शासक कवि थिए । माओलाई चिनको साँस्कृतिक क्रान्तिका लागि निकै कडा आलोचना गरिन्छ । राजा महेन्द्रलाई पनि प्रजातन्त्र मासेर पञ्चायती ब्यवस्था लादेको भनी आलोचना गरिन्छ । यी दुई शासक कविहरुको भेट चिनमा भयो, राजा महेन्द्रले चिनको राजकीय भ्रमणको बेला । तर यी दुईको काव्यिक विचारको आदान प्रदान भयो कि भएन त्यो चाहीं खोज र अनुसन्धानको विषय हो । १३ जुन २०२० , बृन्दावन , भारत । #गोविन्द गिरी प्रेरणा #मविवि शाह #राजा महेन्द्र
मलाई के को डर ?: मलाई के को डर ? बिचौलियाहरू साथी भएदेखि त मेरो खाजा खाने थलो नी पाँच तारे होटेल भएको छ ती जनता भोको होस् कि आधा पेट ? भँुडी बढेर मेरो चैं व्यायाम गर्ने बेला भएको छ तलब सँगसँगै टेबल मुनिबाट पनि आएकै छ सरकारी गाडीलाई अघि नै बोलाएको ओहो ! जिमखाना जान पनि ढिला भैसकेछ मलाई के को डर ? मैले त खोला बेचेर काठमाडौंमा बूढीको नाममा पोखरामा सालीको नाममा घर ठडाइसके भुकम्प आओस् कि बाढी ! कोष स्थापना गरेर टन्नै कमाइसके ती जनता टहरामा बसोस् कि खेतको आलीमा ? खोला मात्र होइन बालुवा बेचेर भएनी साथीलाई घर बनाइदिसके मलाई के को डर ? राजालाई फालेर महाराजा भएको म हजारौंलाई मारेर सत्तामा आएको म चुनावमा भोट हाल्ने टाउके गनिसके गाह्रोसाह्रो परे ठूला टाउके चिनिसके भाइ दिदी इष्टमित्र सबलाई मन्त्री बनाइसके मावली रिसाउलान् भनेर वडा प्रमुख बनाइसके ती जनता बेरोजगार होस् कि कोटाको लागि लडिरहोस् मेरा चिने जानेका चैं सबै बढुवा भैसके मलाई के को डर ? म त नाकाबाट सुन मात्र होइन सीमारेखा नै गायब पार्दिन्छु जाबो ह्याछिउँ आउँदा नि सिङ्गापुर उडिदिन्छु बैंकब्यालेन्स् मात्र किन जीवन वीमा पनि उतै गर्दिन्छु ती जनता लामखुट्टेले मरोस् कि कोरोनाले ? प्लेन चढेर आउनेलाई मात्र क्वारेन्टाइन बनाइदिन्छु किनकी म ! समृद्ध नेपाल बनाउन दिनरात खटिरहेछु । #प्रजा #मलाई के को डर ?
म खुब रोएँ: मुटु दुखेर रोएँ शिर झुकेर रोएँ भाग्य थुकेर रोएँ मुल सुकेर रोएँ नाम कुँदेर रोएँ एकान्तमा लुकेर रोएँ हो म खुब रोएँ किनकि हिँड्दै जादा ठेस लाग्यो शब्दरूपी वाण प्रहार भयो आफन्तबाट अपहेलना तिरस्कार पाएँ मेरै खुसीको लागि संसार छाड्न सक्छु भन्नेहरू वचनरूपी वाणहरूको वर्षा गरिदिए मेरै खुसी चाहनेले अरूलाई खुसी पारी बारबार मैलाई दुःखी गराइदिए बारबार मै सोझो माथि अनेकौँ औँला उठाइदिए हो म त्यसैले त रोएँ कराएँ चिच्याए तर अपसोच सुनिदिने साथ दिने न कोही रहे न त कोही नै आए हार पछि जीत आए अनि जीत पछि हार पनि देखँे सगै आफ्नै बनाएँ अनगिन्ती चोटहरू पनि भोगे देखँे त्यसैले त म खूब रोएँ । गलेर थाक्न नपाउदै अर्को पीडा आएँ रूवाइको न ठेगान न त कुनै छुटकारा नै पाएँ हरबार बस् पाए त केवल मौनता अनि नयन भरि बर्षा मन भरि चोट हाँसौ त कसरी हाँसौ कुनै बहाना नै पाइनँ त्यसैले खुब रोएँ । #म खुब रोएँ
दृष्टि: आमा जाउँ न भोलि बिहानै घाम ब्याउनु पूर्व त्यो हिमालमा गएर पोतिदेऊ रातो रगत र जन्मिउन् काला गिदीहरूको शिर छेदन गर्ने सपूत बा ! यसपटक जाँच गराऊ योद्धालयमा गएर एकथोपा वीर्य किन जन्मिन्छन् खाली तिम्रा वीजबाट नरपशु पातकी खरी जुकाहरू ? अनि लेख्नेछु म राता हिमालको रङ मेरी आमाको नछुने रगत हो अब कहिल्यै हुन्नन् मेरी आमा विधुवा ।
जेके रोलिङविरूद्ध कलाकार: गएको साता जेके रोलिङ पुनः विवादमा परिन्। उनले एउटा वेबसाइटमा महिलाहरूको पहिचान नापेट पार्ने किसिमको शब्द राखिएकोमा असन्तुष्टी पोख्दा विवादमा परेकी हुन्। उनले एउटा वेबसाइटमा पिपल हु मेन्सचुरेट अर्थात् महिनाबारी हुने व्यक्ति लेखेकोमा उनले असन्तुष्टि व्यक्त गरेकी हुन्। उनले महिलाको सबैभन्दा सुन्दरतम पक्ष उसको शुद्धताका लागि हुने महिनावारीलाई मान्दै महिलाहरूको एक मात्र पहिचानलाई सो वेबसाइटले खोस्न खोजेको अनुभूति भएको उनले टिप्पणी गरेकी थिइन्। उनले साढे तीन हजार शब्दको एक आलेख लेख्दै ट्रान्स जेन्डर हुनु वा त्यसको अस्तित्वमा आफूलाई कुनै समस्या भए पनि विभिन्न अधिकारका नाममा महिलाकै अस्तित्व संकटमा पार्ने गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन्। उनको यस भनाइपछि ह्यारी पोटर शृंखलामा अभिनय गरेका कलाकारहरू एकपछि अर्को गर्दै रोलिङको सो भनाइले आफूहरू आहत भएको र ट्रान्स व्यक्तिहरूको अधिकार कुण्ठित पार्ने किसिमको सोच उनको रहेको बताएका थिए। ह्यारी पोटरका ह्यारी अर्थात् ड्यानियल रेडक्लिफ, त्यस्तै एमा वाटसन र पछि रूपर्ट ग्रिन्टले पनि रोलिङप्रति रोष प्रकट गरेका छन्। हुन त रोलिङले आफ्नो प्रतिक्रिया लेख्नेबित्तिकै उनको सो भनाइप्रति ४५ हजार वटा प्रतिक्रिया आएका थिए। अधिकांशले रोलिङप्रति आक्रोश व्यक्त गरेका थिए। उनको सो भनाइलाई भने २ लाख २० हजार भन्दा बढीले लाइक गरेका थिए भने ३५ हजार बढीले रिट्विट गरेका थिए। प्रतिक्रिया जनाएकामध्ये अधिकांशले यसअघि उनले नै ट्रान्स व्यक्तिहरूमाथि उनले व्यक्त गर्ने न्याना शब्दहरूको धज्जी उडाएको भन्दै उनका अनेकन् ट्रोल बनाइएका छन्। #जेके रोलिङ
फोटो कविता प्रतियोगिता ४ को नतिजा प्रकाशित: साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो-कविता आह्वान गरिएकाेमा याे साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट चयन गरेको छ । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरू मध्येबाट सर्वोत्कृष्ट कविताहरू चयन गरेको हो । प्रतियोगिताको रीत पुर्याई १६ वटा मात्र कविता प्राप्त भएका थिए भने नियमविपरीत १७ वटा थप सिर्जनाहरू प्राप्त भएका थिए । नियम विपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले जनाएको छ । राम्रामध्येका सबैभन्दा राम्रा कविताहरूको छनोट ज्यादै दुरूह भएकाले यस पटक सर्वोत्कृष्ट तीन छनोट गरिएको छ । कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरिएको निर्णायक मण्डलले बताएकाे छ । सबै उत्कृष्ट भएकाले यसाे गरिएकाे निर्णायक मण्डलको भनाइ छ। याे साता प्रचण्ड भाष्करको ‘फूलकुमारी’, लीला ब्लोनको ‘नियति’ र चन्द्र जि एमको ‘जति सुन्दर हुन्छ फूल’ सर्वोत्कृष्ट चयन भएका हुन्। छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ । अर्काे फाेटाे-कविता प्रतियाेगिता आइतबार साँझदेखि शुरू हुनेछ । यस्ता छन् पुरस्कृत कविताहरू…। #फोटो कविता प्रतियोगिता
लघुकथा: राष्ट्रवाद: छोरीको पहिलो वर्षदिनको अवसरमा बालसखा राजेन्द्रलाई निम्तो दिन गएको थिएँ, उसको टेढेमेढे प्रवचन सुरु भइहाल्यो | आफू न पिआरवाला न राजनितीमा रुचि भएको मान्छे । “पि आर र जागिर पाएपछि देशभक्ति देखाउन राजनीति गर्नुपर्ने तपाईंको बाध्यता म बुझ्न सक्छु, तर यस्ता कुरा सुनाएर दिग्दार नबनाउनुस्”, मैले सिधैं भनिदिएँ । “तपाईं आफैँ विदेश आउनुभएको छ, किन गफ लगाउनु हुन्छ ?” ऊ झोक्कियो । मैले फ्याट्ट सोधेँ- “राजेन्द्र जी, पुलचोकमा इन्जिनियरिङ गरेको मान्छेले देशले लगाएको गुन देशमै बसेर फिर्ता गर्छु भनेर कहिल्यै सोच्नुभएन ? के पाउनुहुन्छ यो विदेशमा राजनीति गरेर ?” ऊ तर्क दिन हर प्रयास गर्दै थियो । चित्त नबुझेर फेरि मैले सोधेँ, “के दिनुभयो त तपाईँले राजनिति गरेर ?” ऊ अनुत्तरित भएको भाव स्पष्ट झल्किन्थ्यो । त्यति नै बेला खाम हातमा बुझाएर फर्किँदै गर्दा यसो सोचेँ, दिन त दिएकै छ नि, फेसबुकमा यत्रा गफ दिन कम फुर्सद चाहिन्छ र ! अझ पोस्ट गर्दा पैसा लाग्ने भए के गर्थ्यो होला, ऊ ? म गमिरहेँ । हाल: न्युजिल्याण्ड #राष्ट्रवाद #सञ्जय शान्ति सुवेदी
राजा महेन्द्र कि कवि मवीवि शाह?: इतिहास यस्तो विषय हो, जो मेटाएर मेटाउन सकिँदैन । कुनै बेला शक्तिमै भएका कारण महान् भनेर पुजिएका राजा महेन्द्रलाई अहिलेको अवस्थामा सम्झनु पाप जस्तो ठानिने गरिन्छ । सत्ताको आफ्नो धर्म होला तर कवि मवीवि शाहलाई नसम्झनु भनेको सबै लेखक कविको अपमान हो । साहित्यपोस्ट सत्ता र शक्तिको भरमा कसैको इतिहास मेटाउने पक्षमा छैन । राजाका रुपमा उनको गुण दोष केलाउने हाम्रो काम होइन तर कविको रुपमा उनको सम्मान गर्नु हाम्रो धर्म हो । यसै सन्दर्भमा आज राजा महेन्द्रको सयौँ जन्मजयन्तीको अवसरमा आज दिनभरि नै उनका सामग्रीहरु पस्कने छौँ। जसको पहिलो शृंखलाअन्तर्गत यो आलेखः ~~~ राजा महेन्द्रले तीन थोक चाहेका थिए । पहिलो नेपालको हित, दोस्रो नेपालको हित र तेस्रो नेपालको हित । उनी विश्वका अन्तरकुन्तर घुमे तर उनको मायाले कहिल्यै नेपाली पहाड नाघेन । उनको निम्ति स्वदेश नै विश्व थियो, विपना थियो, सत्य थियो, एक खँदिलो अस्तित्व थियो । उनलाई ‘पहाडका गर्खागर्खा’, ‘तर्राईका गरागरा’, ‘डाँडा, जल, पहरा, साल, सल्लो गुराँस’ मन पर्थ्यो । उनलाई सुनौला साँझमा नेपाली बादलमाथि तितरी पङ्खी उडेको, जुनेली रातमा कलकल गरी खोला बगेको, हरियो डाँडामा निर्मल झरना झरेको र रूपौला रङ्गको उच्च हिमाल टल्केको हेर्न मन पर्थ्यो । त्यति मात्र होइन उनले विश्वकै सौन्दर्य आफ्नै देशमा समेटिएको पनि देखे । महेन्द्र यस्ता राजा थिए, जसले विश्वको नजरमा नेपालको इज्जतलाई शिखरमा पुर्\u200dयाए । उनले देशविदेश भ्रमण गरे अनि जुनजुन भूमिमा पाइला टेके, त्यहाँका भूमिपुत्रहरूले उनको मुक्त हृदयले स्वागत गरे, मुक्त कण्ठले प्रशंसा गरे । महारानी एलिजावेथ द्वितीयाले स्वागत गर्दै उनीसित प्रेमपूर्वक हात मिलाउँथिन्, पण्डित नेहरू उनीसित हातेमालो गर्दै हिँड्थे, अमेरिकी सांसादहरू उनको सौम्य मुहार देखेर मख्ख पर्थे, क्रुश्चेवले भोजमा उनीसित दुईचार ख्यालठट्टा गर्थे, चाउ एनलाइले उनका कुरा आदरसाथ सुन्थे, टीटो र नासेरले उनीसित आत्मीयता बाँड्थे । अन्तरार्ष्ट्रिय पटभूमिमा उनले छोडेका यी सुन्दर बिम्बहरू थिए । यहाँ राजाकाे गुणगान गर्न खाेजिएकाे हेइन, कविका रूपमा हेर्न खेजिएकाे हाे । उनी एक उच्चकोटीका कवि हुन् । कविताकै क्षेत्रमा पनि उनी महान् छन् । उनका कविताहरूले धेरैपल्ट मेरा आँखा रसाएका छन्: कोही धनी असाद्धे कोही गरीब माग्ने सक्तिन देख्न भन्छिन् सन्तान थरी थरीका । कवि महेन्द्रले देशमा भयानक गरिबी देखे, जनता भोखानाङ्गा देखे अनि कविता लेखे । जब कविले आत्माको पुकार सुन्छन्, तब कवि इमान्दार हुन्छन् । अघि बेलायतमा भयङ्कर दरिद्रता थियो, प्रत्येक ओठमा वेदनाको सुस्केरा थियो, प्रत्येक अनुहारमा व्यथाको लहर थियो । यो कुरा विलियम ब्लेकले देखे अनि ‘लण्डन’ भन्ने कविता लेखे । महेन्द्र जस्तै संवेदनशील कवि अरू पनि हुन सक्छन् तर महेन्द्र जस्तै संवेदनशील व्यक्तित्व अरू मैले देखेको छैन । कवि मवीविको जन्म नारायणहिटी दरबारमा भएको थियो । त्यो दिन थियो १९२० को ११ जून । राजदरबारमा हर्ष र उल्लास थियो । पिता त्रिभुवनवीरविक्रम शाहदेव र माता कान्तिराज्यलक्ष्मीदेवीको प्रसन्नताको पारावार थिएन । युवराज महेन्द्र राजकीय परिवेशमा हुर्कन थाले । विज्ञ राजगुरुहरूले उनको अघि पूर्व र पश्चिमका ज्ञान र विज्ञानका ढुकुटी खोलिदिए । उनी नेपाली, अङ्ग्रेजी, संस्कृति साहित्यको संसारमा रम्न थाले । अङ्ग्रेजी र नेपाली कविका कविता कानमा आनन्द विभोर भएर विचरण गर्न थाले । सङ्गीतमा पनि दक्षता हासिल गरे । घोडा चढ्न शिकार खेल्नुमा पनि उत्तिकै निपुणता प्राप्त गरे अर्थात् उनले सम्पूर्ण राजोचित कला र कौशल आर्जन गरे । बीस वर्षको उमेरमा उनले बिहे गरे । युवराज्ञी इन्द्रराज्यलक्ष्मीदेवी थिइन् अति सुन्दरी, अति रमणीय, सरस्वती जस्ती सौम्य मूर्ति । युवराज महेन्द्रले वैवाहिक प्रेमको परमानन्द उपभोग गरे । उनको प्रेम अविच्छिन्न थियो, अटल थियो: मन मन्दिरकी रानी अब छमछम गर्दै आऊ म स्वागत गर्छ तिम्रो ! तर विधिको विडम्बना विचित्र छ । उनकी परीजस्ती अति सुन्दरी युवराज्ञी इन्द्र मरिन् । महेन्द्रमाथि यो वज्रपात थियो, कुठाराघात थियो । अनि उनले आँसुले कविता लेखे- तिमी ज्यान हौ यो जीउको तिमी प्राण जिन्दगीको । पछि महेन्द्रले युवराज्ञी इन्द्रकी बहिनी रत्नराज्यलक्ष्मी शाहलाई बिहे गरे । कविका आँखामा उनी मात्र सान्त्वनाकी मूर्ति हुन सक्थिन् । रानी रत्न पनि युवराज्ञी इन्द्रजस्तै परम सुन्दरी थिइन् । उनी साँच्चै सौन्दर्यकी साम्राज्ञी थिइन् । कृष्णमूर्ति लेख्छन्- ‘महारानी रत्नराज्यलक्ष्मी आर्य नारीत्वको प्रतीकस्वरूप पुष्प हुन् । पूर्वका मुलुकहरूमा उनी सबभन्दा सुन्दरी महारानी हुन् । उनको रूपरङ्ग जतिको सौम्य छ, हृदय पनि उत्तिकै पवित्र छ ।’ उनी राजा महेन्द्रकी अर्धाङ्गिनी थिइन्, सुखदुःखको सङ्गिनी थिइन्, सर्वस्व थिइन् । राजा सुन थिए, उनी सुगन्ध थिइन् । मलाई लाग्छ राजा महेन्द्रले ‘उसैको लागि’ युवराज्ञी इन्द्रलाई समर्पित गरेका हुन् भने ‘फेरि उसैको लागि’ उनले रत्नलाई अर्पित गरेका हुन् । सन् १९५६ मा राजा महेन्द्रको राज्याभिषेक समारोह सम्पन्न भयो । नेपालीहरूको निम्ति अति प्यारो, अति श्रद्धाको विषय केही छ भने त्यो हो राज्याभिषेक । कुनाकुनाबाट नेपालीहरू राजधानीमा ओइरिन थाले । विश्वका पन्ध्र मित्रराष्ट्रहरूका प्रतिष्ठित प्रतिनिधिहरू काठमाडौँमा आए । त्यस विशिष्ट मण्डलीलाई प्रज्वलित पार्ने भारतका डाक्टर राधाकृष्णन् थिए जो स्वयम् एक विशाल व्यक्तित्व हुन्, एक विज्ञ विद्वान् पनि । राजा महेन्द्रको राज्याभिषेक त्यस वर्षो सबभन्दा चर्चित अन्तर्राष्ट्रिय घटना थियो । अब राष्ट्रपिता त्रिभुवनको सपना साकार पार्न राजा महेन्द्र अघि बढे । १९६० मा उनले आम चुनाउ गराए । अठार महिनासम्म उनले सरकार चलेको हेरे, नेताहरूको चहलपहल देखे अनि जनताको आचरण पनि बुझे । प्रजातन्त्रको किल्ला तब सुरक्षित हुन्छ जब जनताले डर फाल्छन्, कर्तव्यको पालन गर्छन् र साहस प्रदर्शन गर्छन् । तिम्रै हो लेऊ नागरिक हक, काँधमा काँधै गरी सत्यता तिम्रो छ हतियार, डर नलेऊ क्यै कति ! अनि राजा महेन्द्रको निम्ति सत्य नै धर्म थियो । सेनेका भन्छन्- ‘राजाले डर मान्नु हुँदैन ।” अभयं अभित्राद अभयं मित्राद ! एकान्तमा बसेर महेन्द्रले सोचे होलान् देशमा अझै पनि प्रजातान्त्रिक मिजास आएको छैन । फेरि उनले जनताका खलबल सुने होलान् । पिताको आज्ञा थियो: जन आवाज सुनी सबै कामकाज गर्ने गर्नू । राजा महेन्द्रले सरकार र संसद् भङ्ग गरे । १९६० को १५ डिसेम्बरमा नेपालको राजनैतिक मैदानमा महेन्द्रको एक्लो अधिपत्य थियो । वयं राष्ट्रे जागृयाम पुरोहित ! राजा महेन्द्रले आफ्ना नातागोता, भाइभारदार लिएर एकछत्र शासन गर्न सक्थे । तर उनले त्यसो गरेनन् । उनले फेरि जनताकै हातमा शक्ति सुम्पे । जनतामाथि उनको कत्रो विश्वास थियो ! तुरुन्तै उनले देशवासीहरूलाई पञ्चायती प्रजातन्त्र प्रदान गरे । यो विश्वमै एउटा नौलो वस्तु थियो, एक अभूतपूर्व घटना थियो । राजा महेन्द्र विश्वभरि नै सबभन्दा चर्चित व्यक्ति भए । पञ्चायती प्रजातन्त्रको मूलमन्त्र हो शक्तिको विकेन्द्रीकरण अर्थात् जनताकेा हातमा शक्तिको प्रसारण । यही एकछत्र शक्तिको परित्यागमा राजा महेन्द्रको कत्रो महानता टल्केको थियो । उनको नीयतको सच्चाइ र उद्देश्यको विशुद्धता देखेर नेपालीहरूका शिर श्रद्धामा झुकेका थिए । देशमा समस्याहरू अन्तहीन थिए । गरिबहरूको हाहाकार र चीत्कार थियो, भूमिहिनहरूको सुँक्कसुक्क र सुस्केरा थियो, हुने र नहुनेमा आकाश, पातालको अन्तर थियो, रजौटाहरूको अत्याचार र मनमानी थियो, शिक्षाको क्षेत्र त्यस्तै अलपत्र थियो, यातायातको सुविधा थिएन, कला, साहित्य र सङ्गीत टाक्सिन लागेका थिए । राजा महेन्द्रले राष्ट्रिय योजना परिषद्को गठन गरे । मुलुकी ऐन र भूमिसुधार ऐन जारी गरे । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयको स्थापना गरे । रजौटाहरूको बिर्ताको उन्मूलन गरे । पूर्व पश्चिम राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजपथ तथा अरू राजमार्गहरूको निर्माण गरे । प्रशासनमा सुधार ल्याउन लोक सेवा आयोगको गठन गरे । यति मात्र होइन उनले भित्र र बाहिरका नेपाली प्रतिभाहरूलाई प्रोत्साहन दिए, उनीहरूलाई अनुकूल पद प्रदान गरेर आभूषित गरे । राजा महेन्द्रको निम्ति कोही प्यारो थियो भने त्यो थियो नेपाली । उनी थिए जनता जनार्दनका राजा । उनले आफ्नो चलन र व्यवहारले राजा र प्रजातको पर्खाललाई तोडे; म हुँ तिमी, तिमी मै हो नजानूँ भन्न तँ र म ! शेक्सपियरको शब्दमा उनी प्रत्येक इन्च नै राजा थिए । राजा महेन्द्रको प्रथम प्रेम थियो बालक, बालिका । एकपल्ट उनी एउटा स्कुलमा गए र एउटी सानी सुन्दरी बालिकालाई सोधे ‘भन त तिमीहरूलाई अमेरिकीहरूले के दिए -‘ बालिकाका आँखा चमचम गरी चम्के अनि मृदु स्वरमा भनी- ‘उनीहरूले हामीलाई सुन्दर सुन्दर गाडीहरू दिए । उनीहरू हाम्रा मित्र हुन् ।’ फेरि राजाले सोधे- ‘अङ्ग्रेजहरूले नि -‘ बालिकाले झट्ट भनी- ‘अहो ! उनीहरूका त हाम्री जस्तै अति सुन्दरी महारानी छन् ।’ बालिकाको सुन्दर केशराशि मुसार्दै राजाले फेरि सोधे- ‘अनि भारतीयहरूले नि -‘ मधुर कम्पित स्वरमा बालिकाले भनी- ‘अहो ! उनीहरूले त हामीले जस्तै श्री पशुपतिनाथलाई पुज्दा रहेछन् । उनीहरू हाम्रा दाइ हुन् !’ महेन्द्रले आफूलाई श्री पशुपतिनाथको चरणारविन्दमा समर्पित गरेका थिए । उनी भन्छन् प्रभुलाई चढाउने उनीसित केही छैन केवल नेत्र-जल छ: मनले धाएर आएँ प्रभु ! अब तिम्रै मन्दिर आएँ खाली हातले शान्ति आस ली धाई मन्दिर आएँ । अर्पणलाई जलपात्रसम्म नपाई बहँदो मन गङ्गाजलसाथ, दुई नेत्र भरीकन ल्याएँ । महेन्द्र हुन् जनताका संवेगशील, यौवनोत्फुल्ल, हिम्मती नेता ! अतिशय मानवीय, निर्भीक र देशका उद्धारक । सङ्कटका घडीहरूमा बारम्बार उनले आफ्नो अतुल्य राजनैतिक चातुर्यको प्रदर्शन गरेका छन् । उनको यही ऐतिहासिक भूमिकालाई चाँदनी शाहका निम्नोद्धृत पङ्क्तिहरूले अति सुन्दर ढङ्गमा सङ्केत र रेखाङ्कित गर्दछन्: तिमी चुक्थ्यौ त रुनेथ्यो इतिहास वीर नेपालीका गाथा र भाकाका तिमी झुक्थ्यौ त के हुन्थ्यो होला यहाँ स्थिति नेपालका डाँडा र पाखाको ! १९७२ को ३१ जनवरी नेपालीहरूका निम्ति दुर्भाग्यको दिन थियो किनभने त्यही दिन महेन्द्रले ईहलीला समाप्त गरे । मेचीदेखि महाकालीसम्म शोकको लहर फैलियो । त्यहाँबाट फैलिएर विश्वभरि फिँजियो । महेन्द्र गए तर उनी प्रत्येक नेपालीका घटघटमा विराजमान छन्। उनी चिरञ्जीवी छन्। (पैंतीस प्रसिद्ध पुरुष पुस्तकबाट संकलित याे लेख साहित्यकार नरेन्द्रराज प्रसाईंबाट प्राप्त भएकाे हाे । लेखक राजनारायण प्रधान दार्जिलिङस्थित सेन्ट जोसेफ कलेजका प्राध्यापक हुनुहुन्थ्यो।) #दार्जिलिङ #मवीवि शाह #राजनारायण प्रधान #राजा महेन्द्र
अपरिचित नेपाल, परिचित गीत: म्यान्माको उत्तर पूर्वी राज्य छिन हुँदै अघि बढेको एसियाली राजमार्गमा गाडी दौडिरहेको छ । हाँसो, ठट्टा, रमाइलो, फोन–फानपछि बिस्तारै साथीहरु उँङ्न थाल्नु भयो । मलाई भने खासै निद्रा परेन । कुनै चिन्ताले होइन, आदतले । लामो होस् या छोटो, गाडीमा मलाई हत्तपत्त निद्रा पर्दैन । सुन्सान रातमा गाडीको स्पिडसँग म बाहिरी वातावरणको अनुमान लगाउन थाल्छु । रातको अँध्यारोमा हाम्रो गाडी पहाड जस्तो ठाउँ वा जंगल जस्तो जग्गाबाट हिँड्दै थियो । टेडो–मेडो हुँदै घरी उकालिन्छ भने घरी एकतमासले ओरालिन्छ । घरी चकमन्न वन छिचोल्थ्यो त घुमाउते पारामा खाइ र खोल्सा नाघ्थ्यो । लामा–छोटा, नयाँ–पुराना पुलहरू कति हो कति ! तर त्यति दुःख भएन जति मैले कल्पना गरेकी थिएँ । खासमा ४ वर्षअघि यही जनवरीतिर म यही छिन् स्टेटको तमु नगरतिर जाँदै थिएँ । दिनको उज्यालोमा गाउँबस्ती र स–साना सहर छिचोल्दै गाडी अघि बढेको थियो । त्यो बेला डरले मेरा चिम्रा आँखा झन् खुम्चिन्थे । रहेक मोडमा मलाई आफ्नै खालको अत्यास लाग्दै जान्थ्यो । बाटो डरलाग्दो र साँघुरो थियो । उताबाट गाडी आउँदा यताबाट गाडीले साइड दिनुपर्ने वा कम्तीमा स्पिड कम गर्नुपर्ने बाध्यता थियो । त्यो बेला मलाई घरिघरि डरले सताउँदथ्यो । निद्रा नलाग्ने खास कारण त्याे कुरा मनमा गढेका कारणा पनि हुन सक्छ । अाज भने यो मध्य रातमा गाडीले केही मोडमा शरीरलाई ढल्काउनुबाहेक खासै केही गर्न सकेन । खोल्सा, खाइ, वन–जङ्गल उही भए पनि मध्य रातमा गाडीले स्पिडमा धेरै परिवर्रतन गरेन । एकतमासले हुइँकिरहेको बस बिना कुनै घच्याक् मच्याक्अघि बढ्दा मलाई लाग्दथ्यो, अब बाटो खराब आउने बेला भयो होला । तर बिहान हुन्जेलसम्म मैले डराउनु पर्ने कुने किसिमको अप्ठ्यारो अनुभव गरिनँ । मिर्मिरे बिहान भएपछि देखेँ, सडक साँच्चै नै नाम जस्तै एसियाली राजमार्ग नै थियो । नेपालदेखि भारत हुँदै बर्मा र थाइल्याण्ड जोड्ने यो बाटो राम्रो बनेको रहेछ । बर्मामा बसेका अधिकांश यात्रीहरू छिन् स्टेटको टमू हुँदै भारततिर पस्ने यही बाटोको उपयोग गर्नुको कारण पनि यही रहेछ । छिन म्यान्मारको सातवटा स्टेटमध्ये एक हो जो भारतको सिमानासँग जोडिएको छ । छिन जातिको बसोबासको मुख्य थलो रहेको यहाँ नेपालीहरुको पनि हजारौँको सङ्ख्यामा बसोबास छ । विशेषगरी छिनको मुख्य नगर कलेम्यो र टमूमा नेपालीहरूको बाक्ला बस्तीहरु छन् । यहीँ नेपाली पाठशालाहरु पनि छन् । चार वर्षपछि अहिले गाडीबाटै टमूको सानो सहरलाई हेर्न थालेँ । फाट्टफुट्ट बस्ती हुँदै गाडी बाक्ला घरतिर लाग्यो । सहर केही परिवर्तन भएको हो कि लाग्यो । त्यो बेला टमूस्थित कृष्णा मन्दिरको शताब्दी वर्ष मनाइँदै थियो । नेपालीहरुको पौरख सिञ्चित भएको मन्दिर सय वर्ष पुग्नु एउटा ठूलो उपलब्धि हो । यस्तो समयमा यसलाई भव्यता दिन टमूबासीले कुनै कसर छाडेका थिएनन् । जहाँ एक साता सप्ताह लागेको थियो । ठूला पुरस्कार राशिका विभिन्न प्रतियोगिता, युवा सम्मेलन र साहित्य सम्मेलनहरु आयोजन गरिएका थिए। युवा सम्मेलनमा अन्य खालका युवाहरुले भाग लिएका थिए । साहित्य सम्मेलनमा भने नेपाली साहित्य डिप्लोमा अध्ययनरत हाम्रो ब्याजले विभिन्न किसिमका भूमिका पाएको थियो । नेपाली भाषा डिप्लोमा भर्खरै सकेको मेरोलागि सार्वजनिक समारोहमा यस किसिमको भूमिका पाउनु निकै ठूलो अवसर भइदियो । म केही जान्दिन थिएँ । अरुको साथ लागेर मैले केही कुरा गरेँ, सिकेँ । भाषा साहित्यमा लाग्दा पनि सार्वजनिक समारोहमा यस किसिमको काम गर्न पाइन्छ भन्ने मेरो कल्पना थिएन, जुन अनुभव गर्न पाइरहेको थिएँ । मैले यसअघि बर्माबाहेक नेपाली भाषीलाई भेटेकी थिइनँ । बर्मा बाहिरका नेपालीले कसरी नेपाली बोल्छन्, मेरालागि कौतुहलको विषय थियो । त्यहाँ सिक्किम, दार्जिलिङ, मणिपुर र अन्य क्षेत्रहरुबाट पनि साहित्यिक टोलीहरुको उपस्थिति रहेछ । नेपालको काठमाण्डौंबाट लेखक त होइन, केही पत्रकारहरू पनि आउनु भएको रहेछ । त्यहाँ फरक फरक तरिकाले नेपाली बोल्ने मानिसहरु देख्दा निकै रामाइलो लाग्यो र नेपाली बोल्ने आत्मविश्वास पनि जाग्यो । नत्र के हुन्छ भने कुनै शब्द आएन भने हामी आफू आफू बर्मेली बोल्न थालिहाल्छौँ । यसले नेपाली भाषामा निखार आउँदैन र शब्दको कमी जहिल्यै पनि महसुस हुन्छ । तर यो सम्मेलनमा सबैले बोलेको नेपाली मेले राम्रैसँग बुझिरहेकी थिएँ, जसले मलाई आत्मविश्वास दिइरहेको थियो । अहिले उहाँहरु कहाँ हुनुहुन्छ, को को हुनुहुन्छ, सबैको नाम र चिनारी सम्झन सक्दिनँ तर उहाँहरुको बोली र अनुहार भने याद आइरहन्छ । यो अवसरका लागि मेरो मनबाट अहिले पनि टमू शाखाप्रति कृतज्ञताको अनुभव भइरहन्छ । टमु सहर सीमा क्षेत्र भएकाले पनि छिन जातिसँगै नेपालीहरुको आयको स्रोत व्यापार बनेको छ । आय बढेकाले पनि हुन सक्छ, यहाँका नेपालीहरुले आफ्ना भाषा र संस्कृति जोगाउन बढी नै खर्च गरेका हुन सक्छन् । टमूतिर नेपाली भाषा र संस्कृतिको विकासले पारी भारतको मनिपुरतिर पनि त्यसको प्रभाव परेको भन्ने सुनिन्छ । सत्य के हो मलाई थाहा छैन । पहिलोपटक सीमा पारि जाँदै गर्दा केही थाहा होला कि बुझ्न मन भने औधि नै छ । सहरको छेउमा एउटा रेस्टुराँको अघि गाडी रोकियो । मोबाइल हेरेँ, बिहान सात बजेको रहेछ । गाडी रोकिएपछि सबैको निद्रा बिस्तारै खुल्यो । गाडीवालाले छिटो गर्नु भन्दै थियो, तर हामी हात मुख धोएर खाजा खानुभन्दा हलुका मेकअप गर्न तिर लाग्यौँ । ‘बरु गाडी छुट्दा केही हुन्न, सिङ्गारपटार चाहिं नछुटाउने है!’ राजनले व्यङ्ग्य गर्दै भने, ‘केटीहरु भोकै बस्न राजी हुन्छन् तर मेकअप छाड्न मन गर्दैनन् ।’ सीमाले जबाफ फर्काउनु भयो, ‘नेपाल पो हिडेंको ! नसजिएर भो ?’ हतारमा खाजा खाएपछि हामी गाडी चढ्यौँ । गाडीका सबै यात्रु सीमा पार गर्नेहरु नै थिए । गाडी त्यसैगरी रिजर्भ गरिएको थियो । यही कारण तमु सहरलाई बाहिरबाटै परिक्रमा गर्दै गाडी करिब १० बजेतिर बर्मा–भारतको सिमानामा गएर रोकियो । ‘मेरो नाम त यहाँ पो रहेछ,’ सीमा दिदीले फेरि ठट्टा गर्नुभयो, ‘अब म यहीँ बस्ने, तिमेरु जाओ ।’ चञ्चले स्वभावकी सीमा दिदी बेलाबेला रमाइलो गरिरहनु हुन्छ । यसले यात्रालाई ताजा गराउँछ । ठीक १० बजे कार्यालय खुल्नेबित्तिकै हामी अध्यागमन भवन पुग्ने योजना थियो । यसो गर्दा चाँडै काम सकेर साँझसम्म मणिपुरतिरको राजधानी इम्फाल पुग्न सकियोस् । यही हतारका कारण हामीले टमूतिर छिरेर समय गुमाउन चाहेका थिएनौँ । धनगढीमा हुने विश्व नेपाली साहित्य सम्मेलन सुरु हुन अब केही दिन मात्र बाँकी थियो । यस्तो अवस्थामा समय गुमाउने अवस्था पनि थिएन । तर हामी यहाँ आएको टमूबासीलाई थाहा नहुने कुरै थिएन । हामीलाई बिदा गर्न टमू निवासी अर्जुन दहालजी धर्मपत्नीसहित अध्यागन कार्यालय नपुग्दै बाटो छेक्न आइपुग्नु भयो । ‘यसरी बाटो काटेर हिँड्न मिल्छ ?’ दाहाल सरले भन्नुभयो, ‘आज रात यतै बासौँ, भोलि जानुहोला ।’ हाम्रो टोली नेताले समयको अभावबारे राम्रोसँग कुरा बुझाएपछि भने उहाँहरु शुभकामना दिँदै फर्कनु भयो । तर उहाँहरुको सर्त थियो–फर्कंदा टमूमा कम्तिमा एक रात बस्ने र सबै जनालाई जम्मा गरेर नेपालको यात्रा कथा सुनाउने । हामीले मञ्जुर गर्यौँ । किनभने हाम्रो फर्कने बाटो यही थियो । के थाहा, चीनबाट संसारभर कोरोना भाइरस फैलँदैछ भन्ने कुरा ? हामीलाई उहाँहरुलाई दिएको वचन पूरा हुन्न भन्ने कुरा सयमा एक पनि थिएन । अध्यागमनमा सुरक्षा कडा थियो । बाहिरै बन्दुक जस्तो केही कुराले हाम्रो ज्वरो नापियो । मास्क लगाएर सुरक्षित साथ नेपाल पुग्नु भनेर अध्यागमनले भनिरहँदा पनि हामीले जीउ धनको सुरक्षा भन्ने मात्र बुझ्यौँ । केरेनाको गम्भीरता यसअघि हामीले बुझेका थिएनौँ। हामी जस्ता धेरैले त्यो बेला बुझ्ने कुरा पनि भएन । अध्यागमन बाहिर निस्कँदा ठूलो पहाड आँखाअघि ठोकियो । पहाडले घेरिएको भूमि सबै ठाउँ भारतीय सीमा रहेछ । पहाडवारी इन्डिया, पहाड कटेपछि बर्मा । पहाड र समथर भूभागका बीचमा बगिरहेकाे एउटा खोलाले भारत र बर्माको सिमाना छुट्याएको थियो । हामी बाहिर निस्कँदा इम्फालका लागि एउटा ट्याक्सी तयार थियो । एक हजार भारतीय रुपैयाँ तिरेपछि उसले इम्फाल लैजान तयार भयो । तर गाडी सिधै इम्फाल हिँडेन, मोरेको नेपाली बस्तीमा गएर रोकियो । त्यहाँको कृष्णा मन्दिरमा पाण्डे सरले खानाको बन्दोबस्त मिलाउनु भएको रहेछ । भारत र बर्मा दुवै सीमा छेउभरी छ नेपाली बस्ती । जहाँ धार्मिक वा अन्य पर्वमा नेपालीहरु भेला हुँदोरहेछन् । दुवै देशका नेपालीभाषीबीच बिहेबारी हुने गरेको सुनेकी थिएँ । यहाँ अएपछि थाहा भयो, पारि पनि नेपालीहरूको हेटल लगायत धेरै बिज्नेस पनि चल्रदाे रहेछ । नेपाल जाने कारणले हुन सक्छ, यहाँ हाम्रो मानमनितो राम्रो भयो । त्यसमाथि हाम्रो टोलीनेता पाण्डे सरका मामा नाता पर्ने मन्दिरका पूजारी हुनुहुँदोरहेछ । धार्मिक स्थल भएकाले उसै पनि खाना खान पाइन्छ नै । त्यसमाथि हामी टाढाका यात्रु, पेटभरि, थपीथपी हामीलाई खाना खिलाउनु भयो। भारतको यात्राभर यही खाना हाम्रालागि विशेष हुन्छ भन्ने कुरा थाहा थिएन । खाना खाएर पुनः ट्याक्सी चढ्यौँ । ट्याक्सीले पहाडको उकालो चढाउँदै गर्दा हामी पुनः नेपाली गीत गाइरहेका थियौँ । नेपाल अझै टाढा थियो तर अपरिचित नेपाल हाम्रालागि गीतका गेडाहरूमा थिए, जुन हामी गाउँदै थियौँ। #बर्मादेखि नेपालसम्म #रिता लामाकार्की
फोटो कविता प्रतियोगिता ५ का लागि कविता आह्वान: साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको चौथो संस्करणका लागि कविता आह्वान गरिएको छ । विमल नेपाल अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका तस्बिर हेरी कविता लेख्ने यो प्रतियोगिताको चार वटा संस्करणहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् । पाँच संस्करणका लागि तल प्रकाशित तस्बिर हेरी तलको कमेन्ट बक्समा सहभागीहरूले कविता पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागी हुनेहरूले यसअघि यसै पेजमा कविता नराखेर फेसबुक, इमेल तथा अन्य माध्यमबाट कविता पठाउनु भएका कारण ती कविता प्रतियोगिताभित्र नपरेको साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले जानकारी दिएका छन्। प्राप्त कविताहरूमध्ये हरेक साता तीन वटा उत्कृष्ट रचनाहरु चयन गरिनेछ । यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो-कविता स\u200cंग्रहका रुपमा प्रकाशित गरिनेछ । हरेक आइतबार कविताको नजिता प्रकाशन गरिनेछ भने यस प्रतियोगिताका लागि कविता पठाउने मिति आउँदो शनिबार अर्थात् असार ६ गते राति १२ बजेसम्म रहेको छ। (तस्बिरबारे: सूर्योदय, शहर, नदी, मान्छे र गन्तव्य) हेर्नुहोस् तस्बिर र कवितामा उतार्नुहोस्; अब तपाईंको मनमा उब्जेका भावनामा कवितात्मक पुट दिएर तलको कमेन्ट बक्समा पाेस्ट गर्नुहाेस् । याे प्रतियाेगिताका लागि यहीँ कविता राख्न अनिवार्य छ । #फोटो कविता
शंका: अनुप लामिछाने महेश लंका गाउँमा बस्छ । ऊ एक कृषक परिवारको सदस्य हो । आमाबुवाले खेती गरेर उसलाई विद्यालय पठाउँथे । चैते दशैं आएको थियो, कोरोना भाइरसले गर्दा देशैभरि लकडाउन भएको थियो । बुवाले घरमै एउटा घोर्ले खसी लडाउनुभयो । महेशले पनि खसीको मासुको थरी-थरी परिकार बनाउन आमालाई अनुरोध गर्यो, अनि मासु मज्जाले खायो। सधैँ झैँ रातको साढे ९ भएको थियो | सुत्ने बेला भएको थियो । महेशलाई कमजोरी भएजस्तो अनुभव भयो । “निन्द्रा लागेर होला” मनमनै महेशले सोच्यो, अनि सुत्यो । भोलिपल्ट विहानै बुवा सहर जानुभयो, अनि आमाले पिंडी पोत्न लाउनुभयो। सधैं सबेरै उठ्ने महेश अजैसम्म पनि उठेको थिएन। “कति सुतिस् तनि महेश । गोरु पहालाउन पर्ने, बाख्रालाई पानी दिएर चराउन लैजान पर्यो । उठ अब |”भन्दै आमा गोठतिर जानुभयो। दूध निकालेर आउँदासम्म गोरु गोठमै थियो, अनि बाख्रा खोरमै । आमा रिसाउँदै महेश सुतेको कोठामा जानुभयो । महेश खोक्दै सुतिरहेको थियो । कामेको थियो । आमा नजिक गएर महेशलाई झकझाकाउनु भयो । महेशको शरीर तातो भएको थियो । एसो निदारतिर छाम्नुभयो । महेशलाई हनहन्ती ज्वरो आएको थियो । सँगै रुगाखोकी पनि लागेको थियो। आमा आत्तिनुभयो। छिमेककी सरिता काकीलाई बोलाउनुभयो, अनि ज्वरो नाप्न लगाउनुभयो । ज्वरो १०३° रहेछ । महेश कामिरहेको थियो । सँगै रुगाखोकी पनि लागेको, सरिता काकी पछि हट्नुभयो, अनि महेशकी आमालाई पछाडि तान्दै, “ला! महेशलाई त कोरोना भाइरसले छोयो क्या हो ! कोरोना भाइरसको सबै लक्षण महेशमा छ ।” सरिता काकी सिटामोलको एक बरी दिएर त्यहाँबाट आतिदै जानुभयो । आमाले महेशका बाबुलाई फोन गरेर, “पैसाको जोहो गर्नुस् । महेशलाई सञ्चो छैन । अस्पताल लानुपर्यो”, भन्नुभयो । गाउँभरि हल्ला फैलियो । हामीलाई पनि महेशले कोरोना सार्न सक्छ भनेर एकैदिनमा गाउँलेहरु गाउँ छोडेर गए । गाउँ रित्तो भइसकेको थियो । महेशका बाबुले बल्ल बल्ल पैसाको जोहो गरेर गाउँमा आउनुभयो । महेशको स्वास्थमा थोरै सुधार आएको थियो । महेशका बाबु र आमाले महेशलाई अस्पताल लैजानुभयो । अस्पतालमा महेशमलाई आसोलेसनमा राखियो, र जाँच सुरु गरियो । दुई दिनपछि महेशलाई आसोलेसन वार्डबाट बाहिर निकालियो । डाक्टरले महेशका आमा बुबालाई बोलाउनुभयो अनि, “आत्तिनुपर्ने अवस्था छैन, सामान्य ज्वरो, रुगाखोकी रहेछ । जुन मौसम परिवर्तनका कारणले लागेको हो । कोरोना नेगेटिभ छ ।”भन्नुभयो । डाक्टरले पुन: भन्नुभयो, “आजकल सितिमिति यस्तै केस धेरै आएको छ । सबैजना सामान्य रुगाखोकी, ज्वरो लाग्नेबित्तिकै जाँच नै नगरी कोरोना लाग्यो भनेर त्रसित हुन्छन्, जुन कत्ति पनि उपयुक्त छैन ।” महेश र उसका आमाबुवाले सन्तुष्टि र खुसीका साथ शिर हल्लाए अनि डाक्टर साहेबलाई धन्यवाद दिँदै अस्पतालबाट निस्किए । महेशले गाउँ जाँदै गर्दा गाउँ शून्य भएको देखेर, “मलाई जाँच नै नगरी कोरोनाको शंका गर्दा गाउनै रित्तो भयो । शंकाले लंका जलायो | गाउँबासीलाई फोन गरेर भनिदिनु आमा कि मलाई कोरोना छैन”, भन्यो। #शंका
पुस्तक चर्चाः नयाँ पुस्ताका लागि गम्भीर पुस्तक ‘ब्याक बेन्चर’: ‘सबैभन्दा तीक्ष्ण दिमाग कक्षा कोठाका अन्तिम बेन्चमा भेटिन सक्छन्’ – सामान्य जस्तो लाग्ने यो भनाइको अन्तर्यमा पसेर भावार्थ खोतल्ने भने जोकोही मानिसलाई पनि यसले ४४० भोल्टको करेन्ट लगाइदिन सक्छ । पेशल आचार्य यो महान्वाणी भारतका पूर्व राष्ट्रपति स्व.एपिजे अब्दुल कलामको हो । कलाम भुइँ मान्छेको तह औ तप्काबाट स्वपरिश्रम र अतुल लगनले क्रमशः माथि उठेर अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारतमा ठूलो योगदान दिने त्यस्ता महापुरुषहरूमध्ये हुन् जसलाई भारतीय राजनीतिले सर्वसम्मत रूपले राष्ट्रपतिजस्तो उच्च गरिमामय स्थानमा पु¥यायो । उनी वैज्ञानिक, अनुसन्धाता, मोटिभेसन स्पिकर, प्राध्यापक, लेखक, सामाजिक अभियन्ता र राष्ट्रपति समेत भैसकेका बहुमुखी व्यक्तित्व हुन् । स्व.कलामको चर्चा यहाँ मुफ्तमा गरिएको होइन । यिनको महान्वाणी जो माथि ‘कोट’ गरियो त्यसैलाई समर्पणमा उद्धृत गरी आफ्नो निबन्धात्मक कृतिमा एकजना नेपाली निबन्धका क्रियाशील लेखकले एक दसक समय लगाएर निबन्धको कृति प्रकाशित गरेका छन् । कृतिको नाम –‘ब्याक बेन्चर’ र निबन्धकार हुन् – पेशल आचार्य । डिकुरा पब्लिकेसन, बागबजारद्वारा २०७६, माघमा प्रकाशित यो निबन्ध सँगालोमा २९ वटा आत्मपरक निबन्धहरू समेटिएका छन् । वरिष्ठ कवि÷निबन्धकार महेश प्रसाईंको बेजोड भूमिका रहेको यो कृति आकर्षक साजसज्जा र कलेवरमा रम्रिएको छ । २४० पृष्ठको यो किताबको मोल ३९९ रूपैयाँ राखिएको छ । ‘जीवन, जगत, प्रेम, यौन, इतिहास, दर्शन, वाङ्मय, कला, विकास, संस्कार, सन्तती, विवाह, सन्तान र भावी संसारका बारेमा विविध विषयानुभूति र तीर्यक चित्रणका साथ प्रस्तुत गरिएको’ कुरा लेखकले एक प्रश्नमा स्वीकारेका छन् । ‘ब्याक बेन्चर’ नामक यिनको टाइटल निबन्ध र सङ्ग्रहकै मुटु हो । यसका अलावा मिठो झन्झट, दुःख आफै दुख्ने गर्छ, शब्दका पछाडिपछाडि, असत्य मेव जयते, भार्या चिन्तन, सम्पादकको मृत्यु, कीर्तिपुरे जुत्ता, शम्भवामी युगेयुगे, समय बालापन फर्काइदे, कट्फर जिन्दगी र रित्तो गुँड र चरा नियतिजस्ता बेजोड आत्मपरक निबन्धहरू नयाँ पुस्ताका लागि अमिट कोसेली हुन सक्छन् । २०३६ सालको ‘सडक कविता क्रान्ति’मा कवि भवानी घिमिरेको कविता भन्ने अद्भूत शैली र विद्रोह चेतका कविताको नटुङ्गिने रागबाट सर्लक्कै प्रभावित बनेर नेपाली साहित्यमा उदाएका पेशल आचार्य रूचिले कवि, निबन्धकार र कथाकार तथा पेसाले शिक्षक र प्राध्यापक हुन् । उनले तीन दसकको शिक्षण र प्राध्यापनका दौरानमा हजारौं विद्यार्थीहरूलाई कक्षाभित्र र बाहिर सिकाए÷सुझाए । सोही पेसाले उनलाई आफ्ना कक्षाको अन्तिम सिटमा बस्ने विद्यार्थीहरूको हाउभाउ, प्रतिभा र अन्तर्आवाजलाई सुन्यो । अन्ततः यो कृतिको जन्म भयो । तीसको दसकको उत्तराद्र्धदेखि कविता विधामा देखापरेको नाम हो – पेशल आचार्य । २०२३ साउन १५ गते विराटनगर –४, बरगाछी, मोरङमा माता शोभा आचार्य र पिता श्याम आचार्यका तीन भाइ छोरामध्ये जेठा छोराका रूपमा जन्मेका आचार्यले त्रिविबाट नेपालीमा एम्ए र बीएड्को शिक्षा हासिल गरेका छन् । यिनको लेखन २०३६ सालबाट आरम्भ भएपनि प्रकाशन चाहिँ २०४० सालबाट भएको हो । यिनी स्थानीय, क्षेत्रीय र राष्ट्रिय पत्रिकाहरूमा विस्तारै कलम चलाउँदै खारिएर आएका लेखक हुन् । जमानामा लेटरप्रेसका ग्लाली प्रुफमा काम गरेका यिनलाई लेखनको सुखदुःख र प्रकाशनका ‘लगडधस्’ राम्रोसँग थाहा छ । २०६० सालमा ‘कमिलाको ताँती’ नामक बालकविता सङ्ग्रह प्रकाशित गरी कृति प्रकाशनको दौडमा सामेल आचार्यका बालकथा, कविता, निबन्ध, अन्तर्वार्ता, समालोचना र आत्मपरक निबन्धका गरी १० वटा किताब प्रकाशित भैसकेका छन् । यिनका ‘डुसी बाछी र भाइटीका’ तथा ‘किस्ताको कम्प्युटर’ नामका दुई कथाहरू कक्षा ५ र ६ मा विगत् एक दसक अघिदेखि कोर्समा पढाइ हुँदै आएका छन् । यिनले आधुनिक र राष्ट्रिय गीतहरू पनि लेखेका छन् । यिनका गीत सङ्स नेपालले यु ट्युबमा अपलोड गरेको छ । मुक्तक, छोक र हाइकूमा यिनी आफूलाई संक्षिप्तमा प्रस्तुत गर्न औधी मन पराउँछन् । यिनी बालसाहित्य र किशोर साहित्यमा तालिम समेत दिन्छन् । लेखन, सम्पादन, प्रकाशन र गोष्ठीमा यिनले उत्पे्ररित गरेका प्रतिभाहरूले यिनलाई ‘पि गुरु’ भनेर बोलाउँछन् । अध्ययन, लेखन र प्रशिक्षणमा समर्पित आचार्य रामेछाप जिल्लाका वर्तमान समयका सबैभन्दा पुराना नेपाली भाषा शिक्षक, साहित्यिक पत्रकार र लेखक हुन् । शिक्षण पेसामा रहेका आचार्य हाल मन्थली नमुना मावि मन्थलीको सहायक प्र्रअ पदमा रहेका छन् । नेपाली भाषा शिक्षक समाज र अनौपचारिक साहित्यिक मञ्च रामेछापका अध्यक्ष समेत रहेका आचार्यले परिवेश पुरस्कार – २०५१, कविता महोत्सव पुरस्कार, धरान – २०५५, उत्कृष्ठ कवि, बीबीसी, लण्डन – २०५४ र राष्ट्रिय शिक्षा पदक –२०६८ समेत प्राप्त गरेका छन् । पुस्तक प्रकाशनको माहोल पार्दै लेखकलाई पाँच प्रश्न गरिएको छ । प्र्रस्तुत छ सवाल÷जवाफ ः प्रश्न १) यहाँको साहित्य लेखनको मूल उद्देश्य के हो ? उत्तर : समाज र समयलाई कलात्मक शब्द चित्रमा उतारेर भविष्यका सन्ततीलाई विविध विधा र नामका दस्तावेजका रूपमा विचार सुम्पने चाहना । प्रश्न २) लेखेर के पाउनु भयो ? के गुमाउनु भयो ? उत्तर : मेरो विचारमा लेखनमा गुमाउनु पर्ने केही छैनन् । सबै पाउनु मात्रै छन् । लेख्ने मान्छेकै नाताले भलिभाँती समाज पढ्न पाएँ । नैरन्तर तरोताजा (अपडेट) हुने अवसर जो मिलेको छ । केही साथीभाइ पनि कमाएँ । विद्यार्थीलाई सकेको काउन्सिलिङ् गरेकै छु । धेरै लेखक र पाठकलाई नजिकबाट पढेको छु । एउटा जीवनमा यो भन्दा धेरै उपलब्धि अरू के हुन सक्छन् र ? प्रश्न ३) कति कृति प्रकशनमा आए, अझै कति बाहिर ल्याउने योजना छ ? उत्तर : १० वटा आए । ७ वटा बाल साहित्यका र ३ प्रौढ साहित्यका । बाल साहित्यका कृति अब छैनन् । प्रौढ साहित्यका चाहिँ सबै विधा गरी अझै ८÷१० वटै कृति छन् । कुनकुन आउँछन् अहिले नै भन्नु चाँडो हुनेछ । प्रकाशकले जे मन पराउँछन् ती अघि आउने रै’छन् । यो ‘ब्याक बेन्चर’ निबन्धसङ्ग्रह समेत १० वर्षका दौरानमा प्रकाशन भएको हो । अब २०७७ मङ्सिरतिर निबन्धकै कृति ‘पावर, मनी र सेक्स’ बजारमा आउँदै छ । प्रश्न ४) : पुरस्कारका सवालमा यहाँको धारणा जान्न सकिन्छ ? उत्तर : लेखन अनन्त इच्छा हो भने प्रकाशन नै प्रथम पुरस्कार हो । प्रश्न ५) : नयाँ लेखकहरूलाई लेखनका बारेमा के सल्लाह दिनु हुन्छ ? उत्तर : नयाँ लेखकहरू हामी पुरानाभन्दा धेरै उम्दा र चुजी छन् । तिनीहरूको विषयवस्तु पक्रने कला, लेखन शैली र अध्ययन हामीभन्दा धेरै उच्च स्तरको छ । अझ म त भन्छु ः यहाँ पुराना भन्दा नयाँ लेखकअघि, गुरुभन्दा चेलाअघि, बाबुभन्दा छोराअघि, नेताभन्दा जनताअघि र लेखकभन्दा पाठक अघि देख्छु । अहिले लेख्ने जो सुकैले पाठकलाई नजरअन्दाज गरेर लेख्यो भने त्यो टिक्दैन अनि बजारमा बिक्दैन । यो समग्रतामा हो । म केही पुरानै भए पनि सबै खाले नयाँहरूलाई असीम माया र ऊर्जाशील उत्प्रेरणा दिन्छु । दिइरहेछु । (आदरणीय पाठकहरू ! लेखक पेशल आचार्यलाई मोबाइल नम्बर ९८४४०४४०८३ र इमेल [email protected] र peshal Acharyaनामक फेसबुक अकाउन्टमा सम्पर्क गरी साहित्यिक संवादमा जोडिन सकिने छ ।)
लघुकथा: महान दाता: डा.पुष्करराज भट्ट “म त्यति सम्पन्न मानिस त होइन, तर दुई परिवारलाई एक हप्ताका लागि राहतस्वरुप रासन दिनसक्छु ।” सामाजिक सञ्जालमा यो सुचनासँगै सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर पनि दिइएको थियो । सामाजिक सञ्जालमा सूचना दिने व्यक्ति परिचित थियो । महामारीका बेला बन्द कोठामा निस्सासिएको मलाई यो खबरले उत्साही तुल्यायो । कोठामा भएको रासन सकिन लागेको थियो । काम गरेको ठाउँबाट केही पनि पाइएको थिएन । सूचनामा दिइएको नम्बरमा फोन गरेँ । धेरै पछि मात्र फोन उठ्यो । ”को हो फोन गर्ने ? यस्तो महामारीका बेला फोन आयो कि मलाई त रिस मात्र उठ्छ ।” उसले चिच्याउँदै भन्यो । ”म सुवास खनाल, तपाईँ हामी पहिले सँगै पढेको हौं । फेसबुकको स्टाटस देखेर फोन गरेको ।” मैले डराएर भनेँ । “ए, म त को भनेर ? यतिबेला त्यसै त डर छ, कतिबेला के हुने हो ? म त नयाँ नम्बर देखेर तर्सेको । अनि के छ त नयाँ खबर ?” उसले चिप्लो लगायो । “ठिकै छ,मानिस नचिन्दा त्यस्तै हो । नयाँ खबर के भन्नु ? कोरोनाले कोठाबाहिर जान पाएको छैन । केही समस्या परेर…..।” म संयमित बनँे । “फेसबुकमा राहतका अनेक घोषणा आएपछि मैले पनि स्टाटस राखेको हुँ । ख्यालख्यालमा गरेको कुरा साँचोे पो भएछ । हेर न, केही दिन अघिसम्म त राम्रै थियो, अहिले त म पनि संकटमा छु । जे भएपनि सुरक्षित रहनु, कोठामा बस्नु ।” यति भनेर मोबाइल फोन बन्द भयो । मैले पटकपटक प्रयास गरेँ, परिणाम स्विच अफ । अब मेरो दिमागमा बारम्बार यही शब्द गुञ्जिरहेछ “सुरक्षित रहनु, कोठामा बस्नु ।” #महान दाता
बृहस्पतिको गजल\xa0: पल पलमा भीडको लडाई, लड्दै बाँचेँम आजसम्म सत्ता यिनै नेताहरूलाई भन्दै साँचेम आजसम्म ।। के पायौँ खै ? सोझा साझा निमुखा यी जनताले भ्रष्टहरूकै देश लुट्ने तालमैं नाँचेम आजसम्म ।। सिङ्गापुर र स्विजरल्यान्डको, क्या ! सपना बाँडे कठै बहकिंदै यस्ता गफमा ! पौरख भाँचेम आजसम्म ।। सरकारलाई बुझ्ने मौका, कोरोनाले झनै दियो अब ढिला गर्नु हुन्न , धेरै जाँचेम आजसम्म ।। के पाएम खै ? सोझा साझा निमुखा यी जनताले अब ढिला गर्नु हुन्न , धेरै जाँचेम आजसम्म ।। #बृहस्पतिको गजल
ब्ल्याक आउट विद्रोह: राता झण्डा फर्फराउँदै निधारमा माक्सको हड्डीको चन्दन पोतेर बाटोमा मजदुरहरूको छाला ओछ्याएर ऊ हिँड्छ हत्कडी बाँधेर हाम्रा खुट्टाहरूमा । हामीले गाउँन थाले हाम्रा जिब्रामा किला ठोक्छ हामीले बोल्न थाले हाम्रा ओठमा ताल्चा झुण्डाउँछ हामीले लेख्न थाले हाम्रा हात काट्ने आदेश दिन्छ विद्रोही खुट्टामा गोली हान् भन्छ शून्य सन्नाटालाई शान्ति घोषणा गरेर ऊ हाम्रो चिच्चाहटलाई अशान्ति हो भन्छ प्रत्येक घाउहरूलाई हाँस्ने आदेश दिन्छ । कोदालो बोकेर आरन हिँडेको किसानसँग डराउँछ र सुनपानीमा चोबेर वाइड हड्डीका टुक्रा फ्याँक्दै ऊ सुँघ्न लगाउँछ आफ्ना पाल्तु कुकुरहरूलाई । हाम्रो हरेक विद्रोहमा ऊ डराउँछ मधेश मेरो हो भन्छ ऊ मधेशीसँग डराउँछ पहाड मेरो हो भन्छ ऊ पहाडी सँग डराउँछ नेपाल मेरो हो भन्छ झोलामा बम बोकेर सिमा नाघेको आतंकवादी जस्तो ऊ डराउँछ यो देशको प्रत्येक नागरिकसँग फुटपाथमा बसेर चिया पिउन डराउँछ आफौले व्यापार गरेको अस्पतालमा उपचार गर्न डराउँछ र रातारात उड्छ जाल बोकेर विदेशी स्याउला खोस्रन । ऊ बलात्कारलाई बहादुरी ठान्छ र शरीरमा छिर्का परेको खुनलाई क्रान्ति भन्छ ऊ डराउँछ कपालमा रातो रुमाल बाँधेको गोठालोसँग तर्सिन्छ घर छाडेर ओरालो हिँडेको परदेशीको निधारमा रातो अक्षता देखेर टाङमुनिबाट गाउँछ राष्ट्रिय गान पुच्छर हल्लाउँछ भुक्छ पछिपछि हिँड्छ पछिपछि हिंड्छ पुच्छर हल्लाउँछ भुक्छ हामीले लेखेका किताब पढ् भन्छ हामीले लेखेको इतिहास पढ् भन्छ हाम्रा भक्तिगाना गा भनेर सूचना दिन्छ हाम्रो विरुद्ध कविता नलेख् भन्छ ऊ डराउँछ हातमा माक्सका किताब देखेर घोषणा गर्छ बाघीहरूलाई देशद्रोही डरा भनेर डर देखाउँछ हामीलाई ऊ डराउँछ हनुमान चालिसा नभट्याउनेसँग ऊ डराउँछ स्कुल नजाने हरेक बालकहरूसँग । हामी हिँड्ने बाटोमा कर्फ्यू लगाएर इतिहासको लामो नमीठो साइरन बजाउँदै अगाडि पछाडि नन्दी भृंगि सुरक्षा राखेर कुनै अपराधी हिंडेजस्तो हिंड्छ इस्पातका मोटरमा मुख लुकाएर गाउँमा कुखुरा चोर्न आएको चोरजस्तो लुसुक्क परेर ऊ यो बाटैबाटो भएर हिँड्छ । श्रमिकहरूले उपहार ल्याएका खेलौना लुट्छ निर्धनहरूले ल्याएको मतपत्र च्यात्छ न्यायालयलाई भान्साघर बनाउँछ र पकाउँछ आफू अनुकूल रोटीहरू छाड्छ अपराधीलाई पैसामा दिनदहाडै किन्छ दिनदहाडै बिक्छ दिनदगाडै नांगिन्छ तपाईंलाई थाहा छ ऊ को हो? चिन्नुभएको छ भने ऊसंग मेरो भेट गराइदिनुहोला ऊ भर्खर मेरो एक भोट चोरेर भागेको छ । #काशीराम
युवा: जब वर्षिन हुन्छ, थोपा नभई धारो झर्छ छेडेर आकाश जब पुग्नुछ सागर भने वेगले दौडिन्छ चिरेर पहाड । शिरैदेखिको कालोमैलो फोहोर सब त्यो उठाएर कान्ला, ढिस्का, थुम्का नभनेर एकै सासमा माटो मात्र बनाएर । तर जब ऊ आराम खोज्छ बेँसीका बगरमा सुस्ताएर सास फेर्छ शान्तिले अनि बस्छ मनको बह फुकाएर । जब संहार्नु छ भने ऊ कसै, कतै, केही देख्दैन परिवर्तन चाहेकै रहेछ भने आदिदेवको पनि केही लाग्दैन । विराट, विशाल, बुलन्द आकार लिएर बग्छ केवल सुस्त लहर नसम्झ त्यो वेगले विश्राम लियो आगै लिएर बगिरहेछ नदि अझै यो । यस्का प्रत्येक छालहरूमा त बाछ्टिा रगतका मिसिएका छन् भूलले पनि नखानु पानी तिमी यसका आँतहरूमा त जागित्र जाग्छन् । मात्र छ सागरसम्मको यात्रामा.. नदि यो केही गरे रोकिन्न अब नदी यही युवा हो आजको जो बद्लेर आफू बदल्छ जगत यो । #युवा
लेखिकाको घर जोगाउन अभियान: जेन अस्टिनको घर तथा बगैँचा ‘एम्मा’, ‘प्राइड एन्ड प्रेजुडिस’ लगायतका चर्चित उपन्यासकी लेखिका जेन अस्टिनले आफ्ना प्रख्यात उपन्यास लेखेको घर यतिबेला संकटमा परेको घरको रेखदेख गरिरहेका हाउस म्युजिम चटन ह्याप्सायरकी लिज्जी डनफोर्डले बताएकी छन्। उनको घर हेर्नका लागि वार्षिक लाखौँ पर्यटक जाने गरेकामा कोविद १९ रोगका कारण आर्थिक संकटमा परेको र बन्द हुने अवस्थामा पुगेको उनले बताएकी हुन्। यसलगत्तै इतिहासकार लुसी वर्सली र टेलिभिजन प्रस्तोता एलन टिकमार्सले यो संग्रहालय बचाउन अभियान नै शुरू गरेका छन्। उनीहरूले कम्तीमा यो वर्ष संग्रहालय चलाउन आवश्यक पर्ने रकम ७५ हजार पाउन्ड रहेको र यति रकम नउठे, संग्रहालय मर्मतदेखि कर्मचारीलाई आवश्यक खर्च कटौतीमा पर्ने बताइएको छ। १७ औँ शताब्दीमा बनेको यो घर बेलायतभरिका पुराना घरहरूमध्ये क श्रेणीको घर भनी सूचीकृत गरिएको छ। यो घरमा जेन अस्टिन सन् १८०९ देखि उनको मृत्यु नहुञ्जेल १८१७ सम्म बसेकी थिइन्। यस संग्रहालयमा उनका निजी डायरी, चिठ्ठीपत्र, गरगहनादेखि अन्य किसिमका सामग्रीहरू राखिएका छन्। ‘यो घरमा रहँदा उनले ६ वटा उपन्यास लेखेकी थिइन्,’ वर्सलीले भनिन्, ‘अस्टिनको यस घरलाई उनका प्रशंसकहरूले पवित्रस्थलका रूपमा लिने गरेका छन्। यति महत्त्वपूर्ण स्थलको अवस्था दिनदिनै बिग्रेको खबरपछि हामीहरू चुप रहेर बस्न सकेनौँ। त्यसैले अस्टिनको घर अभियान शुरू गरेका हौँ।’ अभियान शुरू भएयता ५९ हजार पाउन्ड जम्मा भएको र थप रकम जुटाउन पहल भइरहेको वर्सली बताउँछिन्। उनी भन्छिन्, ‘यो संग्रहालय जोगाउनु ती सबै सामान्य पाठकहरूको कर्तव्य हो, जसले उनका सिर्जना पढेर प्रेरित भएका थिए। उनको घरलाई दुरूस्त राखेर उनीप्रति हामीले सम्मान प्रकट गर्न जरूरी पनि छ।’ #जेन अस्टिन #संग्रहालय
लेखन गाह्रो छ: जब शब्दहरू अर्थहीन भैदिन्छन् लेखिएको अर्थहरूमा मर्म हुँदैनन् अनि भाव जीवनको विशाल नदीमा डगमगाएको डुङ्गा जस्तै हुन्छ नलेखिएको कवितामा निःशब्द सास भरेर म सोच्छु । बिहानीको समय जब चराहरूको एक हुल मेरो आँखाबाट टाडिन्छन् भावहरू पनि तिनीहरु सँगै उड्न खोज्छन र मबाट दूर हुन्छन् तब लेखन गाह्रो हुन्छ । मेरो देशको चिन्ता जब मलाई लाग्छ तब लेख्न गाह्रो हुन्छ जब जमानामा प्रेम र मायाको काल्पनिक यथार्थ म देख्छु तब लेखन गाह्रो हुन्छ एउटा सानो प्रकाशको सहायताले म उज्यालो ल्याउन खोज्छु जीवनमा अनि जिन्दगी र जीवनको अर्थ नियालेर हेर्न खोज्छु तब लेखन गाह्रो हुन्छ जीवनको अर्थ भनेको जिउनुभन्दा अरु धेरै छ सायद त्यसैले नै होला लेखन गाह्रो छ लेखेर पनि महसुस गर्न नसके महसुस गरेर पनि लेख्न नसिके जीवनका घुमाउरा बाटाहरुमा हिँड्न नसिके लेखन गाह्रो छ । #लेखन गाह्रो छ ।
"प्रवासी प्रवाह"को पाँचौं शृंखला सम्पन्न: गैर-आवसीय नेपाली संघ भाषा साहित्य, संस्कृति तथा सम्पदा प्रवर्धन समितिद्वारा संचालित अनलाइन कार्यक्रम “प्रवासी प्रवाह”को पाँचौ शृंखला जेष्ठ ३२ गते, तदानुसार जुन १४ तारिक बेलुका ८ बजे शुरु भएको थियो । हरेक हप्ता संचालन हुने यस कार्यकमको पाँचौ श्रृंखलामा नेपालबाट नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा गैरआवासीय नेपाली संघ, भाषा साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका वरिष्ठ सल्लाहकार प्राध्यापक श्री गङ्गाप्रसाद उप्रेती, क्यानाडाबाट साहित्यकार डा. गोबिन्द सिंह रावत, बेलायतबाट कवि तथा साहित्यकार डा.सुधा श्रेष्ठ, अस्ट्रेलियाबाट पत्रकार साहित्यकार डा.भरत राज पौडेल, हङ्गकङ्गबाट कवि तथा साहित्यकार सुनीता गिरी अतिथिका रूपमा उपस्थित थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिले भन्नुभयो, “नेपाली भाषालाई अझ बलियो बनाउन, देशलाइ सम्वृद्ध पार्न हरेक परिस्थितिमा देशलाई सहयोग गर्न ‘एनआरएन’को अहम भूमिका रहेको छ | नेपालमा भन्दा नेपालबाहिर रहेका नेपालीहरू नै नेपालका ताकत बनेका छन् | नेपाली भाषा साहित्य, संस्कृतिलाई संसारभर फैलाउन “एनआरएन” भाषा साहित्य समितिद्वारा संचालित प्रवासी प्रवाह कार्यक्रम राम्रो प्लेट फर्म हो ।” त्यसैगरि अष्ट्रेलियामा एक दशकदेखि बस्दैआउनु भएको पत्रकार तथा साहित्यकार भरत राज पौड्यालले भन्नुभयो, “मिडियाले अहिलेको परिस्थितिमा कस्तो प्रभाव पारेको छ ? विश्वका मिडिया यस्तो महामारीका अवस्थामा के कसरी चलेको छ भन्ने कुरा मेरो अनुसन्धानको विषय हो ? अहिले तीन कुराले पत्रकारहरू आफ्नो स्वस्थ्य जोखिममा राखेर काम गर्नु परेको छ | अर्कोतर्फ अहिले विश्व एउटा रोगको महामारी र अर्को गलत सूचनाको महामारीको महामारीसँग संसार लडीरहेको छ |” पत्रकार पौड्यालले थप भन्नुभयो, “संसारभरि १६ वटा देशले मिडियालाई संकुचन गर्नको लागि लागि परेका छन् । आर्थिक क्राइसेसको बेलामा धेरै मिडियाहरु कमजोर भैरहेको बेलामा कडा कानुन लागू गर्न खोजेका छन् । अस्तिभर्खर अन्नपूर्ण पोष्टका सम्पादकले विभिन्न कारण देखाएर राजिनामा दिएका छन् । नेपालका विभिन्न मिडिया हाउसमा आफ्नो जागिर गुमाउदै छन् भन्ने सुनिन्छ ।” बेलायतबाट सहभागी हुनुभएकी डा. सुधा श्रेष्ठले ‘कोभिड १९’ को महामारी धेरै खेपे पनि सतर्कता अपनाएर बेलायत अहिले कसरी त्यसलाई नियन्त्रण गर्न सक्यो भन्ने कुरा बताउदै आफ्ना तीन थान कविता सुनाउनु भयो | क्यानाडाबाट सहभागी जनाउने कवि साहित्यकार डा. गोबिन्द सिंह रावतले २००४ देखि क्यानाडामा रहेर साहित्यिक संस्थामा काम गर्नुका साथै आफ्ना रचना सुनाउनुभयो । साथै उहाँले गैरआवासीय नेपाली संघ भाषा साहित्य समितिले गरेको प्रथम अन्तराष्ट्रिय सम्मेलनको बारेमा बताउनु भयो | साथै क्यानाडाको साहित्यिक गतिबिधि बारे जानकारी गराउनुभयो | त्यसै गरि लामो समयदेखि हंगकंगमा रहेर साहित्यिक कार्यक्रमको संयोजन गरिरहेको सुनिता गिरीले त्यहाँको साहित्यिक गतिविधिको जानकारी गराउदै आफ्ना सिर्जना सुनाउनुभयो | विश्वमा छरिएर रहेका सम्पूर्ण नेपाली भाषीहरूलाई प्रवासी प्रवाह कार्यक्रममा सहभागी गराएर उनीहरूका सिर्जनाका प्रवाहहरूलाई प्रवाहित गर्न यस कार्यक्रमको उदेश्य रहेको छ । यहाँहरूले विभिन्न देशका सर्जक र सिर्जना अनि त्यहाँका अनुभव अनुभूति सुन्न सक्नुहुनेछ । #प्रवासी प्रवाह
लालपुर्जा: सदियौंदेखि मुखियाले कब्जा गरेको आफ्नै पाटोबारीको हराएको प्रमाणित लालपुर्जा उसले भेट्टाएको छ । पुर्खाको बिर्ता पौरखको कमाइ पुरुषार्थको त्यो पाटोबारी उसको स्वाभिमान हो उसको पहिचान हो । बाजे बराजुका थोपा थोपा रगतले सिंचिएको त्यो सुन्दर पाटोबारीमा डङ्गरङ्ग पल्टेका माटोका प्रत्येक कणकणमा उसकै पूर्वजका पौरखी पसिनाको हरक मगमगाइ रहेको छ । अब गोडमेल गर्दै फसल सपार्नु छ हुर्काउनु छ अनि शक्ति र स्वाभिमानका वृक्षहरू जगाउनु छ । मुखियाको चङ्गुलमा परेको पाटोबारीको नीजि हैसियत र स्वामित्व खोस्नै बाकी छ । एउटा कुरा उसलाई राम्ररी थाहा छ मुखियाले पनि बुझेको हुनुपर्छ लालपुर्जाको रंग रातो हुन्छ रगतको रंग पनि रातो हुन्छ वीरताको निसानी पनि रातै हुन्छ । त्यसैले अब एकपटक मात्र एकपटक आफ्नै पाटोबारीका लागि रातो सङ्घर्ष । #लालपुर्जा
बजार: डिजिटल बजारमा सजाएको छु तिम्रो उत्ताराधुनिक मृत्युको बेरोजगार घाँटी सत्ताको सास्ती भोगेको तिम्रो टाउकोलाई म अचानोमा राख्दिनं अब बरू तिमीलाई म सहज मृत्यु दिन्छु, \u200cअर्थात् डिजीटल डेथ | नवउदारवादी बजारले तिम्रो भोकलाई हारालुछ गर्दै किन्न भीड लागेपछि हो यो मल्टीप्लेक्स शहरको जिब्रोमा खटिरा निस्केको | यो घोसे महानगरको मध्यभागमा ठिंग उभिएको मुखाल्नी तरूणीजस्तो सपिङ मलको दैलोमा तिम्रो बेइज्जत भएको अनुहारको विज्ञापन टाँसेर कमसेकम कुनै कम्पनीले आफ्नो पेटपाला त गर्दैछ | बजारले सखाप पारेको डिजिटल सपनाको एम्टी पाकेटमा के के खोजेर हैरान भएका किसानको आधाकल्चो निद्रा किन्न फेरि डल्लै अनलाइन बजारको दलाल गाउँ पसेका छन् | डिजिटल सपिङ्गको बुट्टेदार मासुको बट्टामा अर्डर गरेको कुनै अफ्रिकी बेरोजगार युवाको कुपोषित वीर्य चाख्न शहरको भर्जिन खोक्रो कुमारी सपना छटपटाइरहेका छन् | बजारले आजकल लाइभ बेचिरहेका छन् मासुको हाट | हावा थुनिएका शहरमा कैद भएको छन् पसिनाको श्वास र उज्यालो हराएको बजारमा लापता छन् सुकरातको एकजोर आँखा गन्तव्य हराएको आधावैंशे बाटोमा कैडा लागेको छ समयको खुट्टालाई बजारले थुतिसकेको छ छुराजस्तो धारिलो बस्तीको जिब्रो कानको प्वालमा उमारी दिएको छन् मसिनको जरा | सडकका कागजसम्मलाई एउटी अगति आईमाईको रजस्वलामा\u200c चोबेर रातो गुलाब उमार्छन् अनि बेच्छन् माया पिरतीको कालो बजारमा | बजारले बौलाहा बनाएको एउटा बडीबिल्डरको आधाकल्चो पाखुरा कराई हिँड्छ कसैको बजार बोकेको थाङने झण्डा बोकेर | हरेकथोकलाई चम्काएर यसरी अन्धो बनाइदिनु नै बजारको विशेषता हो युवाहरूको मस्तिष्कलाई चिहान बनाएर नचाइरहेछन् डिजिटल मृत्युको नृत्य | आउनोस्, अब तपाईं पनि मन्दिर छोडी डिजिटल ध्यान शिविर जहाँ आँखै खोलेर पनि मोक्ष प्राप्त हुन्छ ईश्वरहरू तपाईंकै अघि छमछम नाच्छन् किन कि अब\u200c ईश्वरहरूलाई पनि बजारले किडन्याप गरेको छ | #बजार
पुल: यी पुल भएर दिनहुँ हिँड्छन् मुला, फर्सी र आलुका सपनाहरू बजारसम्म पुग्छन् र दिनभरि दलाली मोलभावको ठक्कर खाएर साँझमा निराश फर्कन्छन् जसोतसो बल्छ बस्तीको बूढो चुल्होमा पिलपिले भोकको आगो अहिले कुच्चोका तन्नेरी पसिनाहरू पुल तर्ने रहरमा छन् केही तरूनी डुकुहरू पुल तर्नलाई सिङ्गारिएका छन् अलैँचीको महङ्गो सुस्केरा, केराको नक्कले आयु, घर मौरीको गुलियो स्वाद, मगमगाउँदो धानको स-साना पाइलाहरू जम्मै जम्मै अहिले पुल तर्ने झोँकमा छन् मलाई थाहा छ पुल तरेकै दिन यिनीहरूले पनि गुमाउने छन् आफ्नापनका गाउँले नाताहरू र, बन्ने छन् यिनीहरू कञ्जुस रुपियाँको फितलो विश्वास एउटा रहर न हो शहर आउनु जो आइसकेर फिक्का लाग्छ एउटा सपना न हो शहर पस्नु जो पसिसकेर दिक्क लाग्छ तर पनि यो पुल भएर दिनहुँ एउटा गाउँ शहर छिर्छ शहरको नाङ्गोपनलाई जैविक खास्टो ओढाएर ऊ आफू लाचार फर्किन्छ प्रिय पाठक, पुल पारि मुस्कान, फूल र प्रेम छ पुल वारि नाफा, व्यापार र धोका पुल पारि बादल झरना र खेतहरू छन् पुल वारि नाफाखोरी मानसिकताका अग्ला अग्ला हिमालहरू सत्य होला महाशय, पुल पारि मासूम एउटा गाउँ छ पुल वारि भयङ्कर बदमास शहर। #कालेबुङ #छेवाङ योञ्जन
महामारी\xa0 र सपनाहरू: समय गोलो सिसाको बाकसभित्र किलामा थुनिएका घडीका सुईहरू झैं जंजीरले बाँधेर बन्द कोठामा थुनिएको छ मान्छे युद्धका धुवाँको छायामा रुमिएका बालबालिका र बुढाबुढीहरू झैं यो मन्द महामारीको त्रासमा रुमिएको छ । समयकै साङ्लोमा ऊसंगै बाँधिएर बन्द कोठाका झ्यालहरूबाट चियाउँदै ति ज्यान हत्केलामा राखेर लड्न महामारीसँग डिउटीमा खटिएका सुरक्षाकर्मीहरू चिकित्सक, स्वयंसेवकहरू, संचारकर्मीहरू जो महान छन्, आफैँमा महान । महामारी भुसको मन्द आगोझैंँ फैलिरहेछ चारैतिर उसको देशबाट तिम्रो देश तिम्रो देशबाट मेरो देश उसको देशभरी तिम्रो देशभरी मेरो देशभरी हामी सबैको साझा देश संसारभरी । टेलीभिजनको पर्दामा देखाइएका पुर्दै गरेका लाशहरूका ढेरहरू रेडियोको तरगबाट सुनाइएका बढ्दै गरेका मृतकका गणनाहरू देखेर, सुनेर मनहरू आत्तिन्छन् हौंसलाहरू निसासिन्छन् । तर हार्ने छैनो डटी लड्ने छौं एकजुट भएर यो रोगका विरुद्ध यो महामारीका विरुद्ध यो धर्तीको माटोमा हाम्रो स्वामित्वका निम्ति यो पृथ्वीमा मानवजातिको अस्तित्वका निम्ति र एक दिन अवश्य परास्त गर्नेछौं । अनि हिँड्नेछौं, बिन्दास हाम्रा बाटाहरूमा अनि गुड्नेछौं, निर्वाध हाम्रा सडकहरूमा र उड्नेछौं, निस्फिक्र हाम्रा हवाईमार्गहरूमा जो भर्नुछ लाखौं सपना बोकेका करोडौं जिन्दगीहरूले हजारौं मिलको उडान । #महामारी र सपनाहरू
लेखक सपना होइन; लेखन अनुभूति हो: यदि लेखक बन्छु भन्ने सपना देख्नुभएको छ भने, आजैबाट त्यागिदिनुस । लेखक सपना हैन । लेखन अनुभूति हो । तपाईं सपना अरू केही देख्नूस् र अनुभूति केही भए, शब्दसँग खेल्न सक्नुहुन्छ भने लेख्नुस | लेख्न कहिल्यै नछोड्नूस । लेख्छु नै भनेर लाग्नुभयो भने धेरै कुरा गुमाउनुपर्ने हुन्छ । हरेक चुनौती सामना गर्न तयार छु । परेको खण्डमा सबै नातागोता पनि भुल्न तयार छु भन्ने ग्यारेन्टी गर्न सक्नुहुन्छ भने मात्र लेखक नै बन्छु भनेर लाग्नूस् । केही समय पहिला दक्षिण भारतमा एउटा चलचित्र बन्यो, जसको नाम World famous lover थियो । world famous lover भन्ने बेस्ट सेलर किताब र लेखकको कथा पस्कने प्रयासमा चलचित्र बनेको छ । वास्तवमा त्यहाँ मैले भन्ने जस्तै देखाइएको छ । लेखक बन्ने होडमा उसले धेरै कुरा गुमाउँछ । त्यसको लागि ऊ तयार पनि देखिन्छ । त्यहाँ धेरै कुरा देखाए पनि चलचित्रकरणले अन्त्य अलि फितलो महसुस भयो । म पनि लेख्छु । मैले पनि धेरै कुरा गुमाएको छु, र मैले त्यो अन्त्य कल्पना पनि गरें । हामी अक्सर फिलिममा र कथामा सुखद अन्त्य खोज्छौं । अन्त्य सुखद कसरी हुन सक्छ र ! भन्ने मेरो बुझाइ हो । मलाई कथा बग्दै एउटा मोडमा पुर्याएर मिलनको पाटोमा ल्याएको खासै निको लाग्दैन, तर यसो भनिरहँदा हरेक कथा मैले सोचेको जस्तै हुनुपर्छ भन्ने पनि छैन । कुनै कथा यस्ता हुन्छन् कि नफर्काउँदा जित हुन्छ, तर अहँ, हामीलाई त चाहिएको छ कि पाठक वा दर्शकले भनिदिऊन | धन्न उनीहरूको भेट भयो । क्या गजब यार !! चलचित्र हेर्दै गर्दा अब यस्तो हुनेछ, तर नभैदियोस् भनेर प्रार्थना गरें | अहँ, भएन | किनकि लेखकले पहिले नै लेखिसकेर तयार भएको कुरा हो, मैले सोचेर बदलिनेवाला थिएन । खैर जेहोस्, लेखकको कथा बोल्ने क्रममा भने कुनै कन्जुस्याइँ भेटिन्न । यो हरेक लेखक र पाठकले एकपटक हेर्नै पर्ने फिलिम जस्तो लाग्छ । यो फिलिम हेरिसकेपछि तपाईंले आफूमा भएको जुनुनलाई उजागर गर्न सक्नुहुनेछ । यो कुरा याद रहोस्, लेखक पेशा हैन, तर तपाईंको जुनुन सही छ भने भविस्य उज्वल छ । नेपालमा पठन संस्कृति बिकास भैरहेको छ | यही समयमा केही फरक लेख्नुभयो भने उदाहरण बन्न केही समय नै लाग्दैन । मेरो एउटा सानो कथा, सानो उमेरमा सुरु भैसकेको थियो । त्योबेला मैले के लेखें, र आज आएर के लेख्दैछु, तुलना गर्दै जाने हो भने समानता र भिन्नता बाराबरी भेटिन्छ । सुरुवातमा लेख्ने सपना देखेको मैले करिब दर्जन कथाहरू अपूरा गरेर छोडेको छु । एकदिन आफैँलाई प्रश्न गरें, कसको लागि लेख्दैछस् ? आँखा चिम गरें । लामो सास फेरें । कसैले आएर मेरो कानमा भनेझैं लाग्यो, “अरे कल्पनाको काखमा डुबेर सृजनाका औंला चलाउँदा दुनियाँको फिकर गर्छस् ? तैंले के लेख्छ्स ?”, त्यसपछि लेखक बन्ने उदाहरण खोज्दै हिँडे । त्यसबेला थाहा भयो शैली सिक्न सकिन्छ, कथा भन्नु आफैंले पर्छ । अन्तर्मनबाट जस्तो आउँछ त्यस्तै पोख्न सक्नुपर्छ । लेखक आखिर को हो त ? लेखक सबैभन्दा गहन अध्ययन गर्ने पाठक हो । जबसम्म पाठक बन्न सकिन्न, तबसम्म लेखक बन्न सकिन्न । लेखक हुनलाई पीडाको हद पार गरेको हुनुपर्ने, सर्वस्व गुमाएको हुनुपर्ने भन्ने छैन, तर जब लाग्नुहुन्छ हदको पनि हद पार गर्नुपर्छ । त्यो सामर्थ्य राख्न सक्ने पाठक नै भोलिको सफल लेखक हो । लेखकले व्याकरण हेर्दैन । भावना पोख्छ । भात खाने कुरा होस्, भोजन लिने कुरा होस् वा भुजा ग्रहण गर्ने कुरा । आखिर सबैले पेट भर्ने कुरालाई जनाउँछ । यस्तै हो लेखन पनि | अन्दाज फरक पर्छ । तपाईंले लेखेको कुरा कोही एक व्यक्तिले मात्र पनि मन पराउँछ भने सम्झनूस् तपाईं लेखक हो । तर यति भन्दैमा सबै कुरा बिर्सिएर लेखक बन्छु, म पनि सेलिब्रेटी भएँ भन्ने भ्रममा फस्नुभयो भने जिन्दगी आख्यानजस्तै बगिरहन्छ | र तपाईंले चाहेर पनि रोक्न सक्नुहुन्न । तर जब अन्तर्मनको आवाज कलमले टोपल्नुहुन्छ, र के लेखें ? कसका लागि लेखें ? कसैले गाली गरेकी ? कति ताली पाएँ ? आदि कुराहरू मतलब नगरी लेखिरहनुहुन्छ भने एकदिन तपाईं वाल्मीकी बन्नु हुनेछ । लेखनले सफलता दिन्छ, तर सफलता कमाउने दाउमा लेख्न बस्नुभयो भने आफैं अँध्यारोमा फस्नुहुनेछ । अन्त्यमा फेरि याद दिलाउन चाहें, सपना नबनाउनूस् र लेख्न नछोड्नुहोस् । #लेखन अनुभूति हो
'काला लेखकमाथि लेखकस्वमा पनि विभेद': अमेरिकामा यतिबेला ब्ल्याक लाइभ्स म्याटर आन्दोलन चलिरहेको छ। यस्तो अवस्थामा लेखक कलाकारले समेत आन्दोलनलाई साथ दिइरहेका छन्। एक जना लेखिकाले भने आफू श्वेत लेखिका भएकै कारण अन्य काला जातिका लेखकहरूभन्दा बढी रकम पाएको खुलासा गरेकी छन्। लिडिया केस्लिङले पहिलो उपन्यास द गोल्डेन गेटका लागि २ लाख डलर रकम अग्रिम रूपमै पाएको र यस्तो सौभाग्य कमै काला जातिका लेखकहरूले पाउने भन्दै आफ्नो धारणा राखेकी छन्। साथै उनले पहिलो पटक लेखनमा उत्रिएका काला उपन्यासकारहरूले उनीहरूले पनि बराबर किसिमको रकम पाउनुपर्ने पनि माग गरेकी छन्। यतिबेला विभेद हटाउन लेखकहरूले पहिलो उपन्यासमा पाएको रकम खुलासा गरिरहेका छन्। उनले ट्वीटरमार्फत सो रकम पाएको उल्लेख गरेकी हुन्। उनले लेखेकी छन्, ‘मेरो पहिलो उपन्यास छापिनुअघि नै मैले २ लाख डलर अग्रिम रूपमा पाएकी थिएँ। पुस्तक बिक्रीका हिसाबले त्यो रकम निकै नै धेरै थियो। उनले लेखेकी छन्, ‘मलाई के पनि थाहा छ भने काला जातिका लेखकहरूका पुस्तक मेरोभन्दा बढी बिक्री भएका छन् तर तिनले भने मैले जति पनि पैसा नपाएका हुन सक्छन्। मैले यो कुराको खुलासा तिनै कुराहरू बाहिर आऊन् भनी गरेकी हुँ।’ अमेरिकामा ब्ल्याक लाइभ्स म्याटर आन्दोलन चलिरहेका बेला अमेरिकाभरिका लेखकहरूले काला लेखकहरूले पनि उत्तिनै महत्त्व पाउनु पर्ने भन्दै अभियान शुरू गरेका छन्। टोची ओन्येबुची र एलएल म्याकिनीले प्रकाशन उद्योगले पनि विभेद हटाउन भूमिका खेल्नुपर्ने भन्दै यो अभियान शुरू गरेका थिए। अमेरिकामा जर्ज फ्लोइड नामक काला जातिका एक व्यक्तिलाई प्रहरी हिरासतमा मारिएको घटनापछि त्यहाँ ब्ल्याक लाइभ्स म्याटर आन्दोलन चलिरहेको छ। यसै सन्दर्भमा कतिपय लेखकहरूले चेतनाको दियो बाल्न लेखकहरूले खेलेको भूमिकाका बाबजुद पनि काला जातिका लेखकहरूको उन्नयनका लागि कमै बोलिएको भन्दै आलोचना हुन थालेपछि लेखकहरू बोल्न थालेका हुन्। ओन्येबुचीले भने, ‘प्रकाशकहरूले ब्ल्याक लाइभ्स म्याटरका नाउँमा विज्ञप्ति जारी गर्दै यस किसिमको आन्दोलनमा आफ्नो समर्थन रहेको बताए पनि उनीहरू स्वयंले काला लेखकहरूलाई उनीहरूको क्षमताका आधारमा दिइनुपर्ने पारिश्रमिक दिइँदैन। यस्ता ढोंगी प्रकाशकले विज्ञप्ति ननिकालेकै वेश।’ यस अभियानलाई सघाउँदै जेस्मिन वार्डले २०११ मा नेसनल बुक अवार्ड जितेको उपन्यास ‘सिङ, अनबरिड सिङ’का लागि आफूले १ लाख डलर अग्रिम भुक्तानी पाएको बताएकी थिइन्। उनको यो तेस्रो उपन्यास थियो। यसैगरी ‘रे जेनी’ उपन्यासकी अमेरिकी-कोरियाली लेखक पेट्रिसिया पार्कले पनि ट्विटरमा लेखेकी छन्, ‘प्रायः हामीले आफ्नै समुदायका व्यक्तिले के कस्तो रकम पाएका छौँ भनी खोतल्दा रहेछौँ। मैले जति पाएँ, मेरो समुदायका लेखकहरूले पाए जत्ति छ कि छैन भनी खोजिदोरहेछ। साहित्यिक एजेन्सी चलाइरहेका रयान फिचर हार्बेज भन्छन्, ‘सबै लेखकहरूलाई उनीहरूको क्षमताका आधारमा पारिश्रमिक दिने कुरामा ढिलाइ गर्न हुँदैन। तपाईं गोरो छालाको या कालो छालाको कारणले पाउनुपर्ने रकम घटबढ हुनुहुँदैन।’ #द गार्डियन #द टाइम्स #द न्युयोर्क टाइम्स
सास फेर्न गाह्रो भो: तिनीहरूको छालाको रङ सेतो छ सेतो हुनु राम्रै कुरा हो छालाको रङजस्तै मन पनि सेतो भए झनै कति राम्रो मेरो र मजस्तै लाखौँ मान्छेहरूको छालाको रङ कालो छ कालो रङ हुनु नराम्रो होइन कालो छाला ओढेका धेरैको मन सेतो छ यो धेरै राम्रो कुरा हो सेतो मनबाट सेतो नै सोच निस्कन्छ सेतो सोचले बनाउँछ संसारलाई सुन्दर बस्न लायक सास फेर्न लायक तर संसार निष्ठूर छ सेतो छालाभित्रको कालो मन, कालो सोच ख्याकभन्दा कुरुप छ सलहजसरी फैलेको छ त्यही सोच र सृष्टिका सुन्दरतालाई खाइरहेको छ चारैतिरबाट घेरेर राखेको छ त्यसले कालो छाला मेरो परिचय तिनीहरूको असीम घृणाको रङ जेसुकै पनि धेरै भए प्रतिरोध हुन्छ छोड, ठाउँ छोड अब यो खुल्ला प्रकृति मेरो पनि हो म जर्ज फ्लोइड, तिनीहरूको सेपमुनि मलाई सास फेर्न गाह्रो भो । #जर्ज फ्लोइड #भीष्म उप्रेती
'मधुपर्क' पहिलो पटक अनलाइन संस्करणमा: कोविद १९ रोगका कारण संसार नै बन्दाबन्दीमा रहेका कारण ‘मधुपर्क’कै इतिहासमा पहिलो पटक नयाँ अङ्क ६११ संयुक्त अङ्क (वैशाख, जेठ, असार २०७७) असार १ गते प्रकाशित भएको छ। रोचक के छ भने, यसलाई छापामा प्रकाशन नगरी अनलाइन संस्करण निकालिएको हो। www.gorkhapatraonline.com मा यसलाई पढ्न सकिने सम्पादक जयदेव भट्टराईले जनाएका छन्। सम्पादक भट्टराई र आलेख संयोजक अभय श्रेष्ठकै टोलीले यो संयुक्त अङ्क निकालेको हो। सम्पादन समूहका अनुसार यसलाई चाँडै नै छापा संस्करणमा पनि प्रकाशित गरिनेछ। मधुपर्कको यस अंकमा ‘बुद्ध दर्शन विशेष’ रहेको छ। जसमा ‘सिद्धार्थले किन दरबार छाडे ?: बीआर अम्बेडकर’, बुद्ध र मार्क्सको मिलनबिन्दुः तुल्सीदास महर्जन, बुद्धका प्रेरक वाणी र रोचक प्रसङ्ग, बुद्ध दर्शनमा अनात्माः डा. केशवमान शाक्य, बौद्ध सङ्घमा नारीः डा रीना तुलाधर, सुन्दर मधिकर्मी, योगेन्द्र प्रधान र सरस्वती प्रतीक्षाका बुद्ध दर्शन वा जीवनमाथिका कविता, बुद्ध दर्शनका प्रगतिशील पक्षः गोविन्द भट्ट, बुद्ध दर्शनमा करुणाः नेत्र आचार्य, अनित्य, दुःख र अनात्माः बसन्त महर्जन, क्रान्तिकारी तर समस्याग्रस्तः राहुल साङ्कृत्यायन, समीक्षाको कसीमा बौद्ध धर्मः सत्यभक्त, बुद्धका आर्य सत्य आदि आलेख संगृहित छन्। त्यसरी नै कवितामा गोविन्द वर्तमान, नीलकमल, राम विनय, रमेश श्रेष्ठ, भूपिन, सतिश त्रिपाठी ‘सार्थक, कृसु क्षेत्री, महेश रेग्मी, ज्ञान उदास, घिमिरे युवराज, उषा शेरचन, ठाकुर बेलवासे, रामेश्वर राउत मातृदास, लीलाराज दाहाल, साम्ब ढकाल, राजेशमान केसी, ज्ञानशाली पन्त जिज्ञासु, गोविन्द नेपाल, कमला रिसाल ज्योति, लीला अधिकारी, मुकुन्द पौडेल, ऋषि पाण्डे ‘शीलम’, उपमा आचार्यका प्रकाशित छन् भने गोविन्द गिरी प्रेरणा, मान्छेको स्वाद, रत्न प्रजापति, होमशङ्कर बास्तोला, विन्दु अधिकारी ढकाल, दुर्लभलाल सिंह आदिका कथा लघुकथाहरू छन्। यसरी नै हालै दिवंगत गीतकार रत्नशमशेर थापाबारे जयदेव भट्टराईको आलेख प्रकाशित छ। यसका साथै डा. डीपी भण्डारी, डा. कान्छी महर्जन, सृजन लम्साल, घनबहादुर थापा, डा. गोविन्दराज भट्टराई, रमेश गोर्खाली, जेबी दर्लामी, आत्माराम खरेल, रञ्जुश्री पराजुलीका लेख-निबन्ध, अनुभूति-नियात्राहरू संगृहित छन्। मूल्य रु २५ तोकिए पनि अहिले अनलाइनमा सित्तैमा पढ्न सकिने शब्दपथले जनाएको छ। #मधुपर्क
किताब महोत्सव भर्चुअल युगमा तानिदै: कोविद १९ रोगका कारण धेरै कुरामा अवरोध आउनु त स्वाभाविक थियो, पुस्तक प्रकाशक, वितरक, लेखक तथा लाइब्रेरी सञ्चालकहरूको सबैभन्दा ठूलो चाडमा पनि धक्का लागेको छ। संसारका सबैभन्दा ठूला पुस्तक प्रदर्शनी रोकिएका छन्। चाहे त्यो बेलायतको लन्डन बुक फेयर होस्, अमेरिकाको न्युयोर्कको बुकएक्स्पो नै किन नहोस्। त्यस्तै मार्चमा आयोजना हुनुपर्ने फ्रान्सको पेरिस बुक फेयर (मार्च), मेमा अमेरिकाको पेन फेस्टिभल (पेन वर्ल्ड भ्वाइसेज फेस्टिभल न्युयोर्क), अगस्त महिनामा आयोजना हुने आयरल्यान्डको एडिनबर्ग बुक फेस्टिभल सबै कार्यक्रम रोकिएका छन्। यी सबै पुस्तक महोत्सव तथा मेलामा नयाँ पुस्तक घोषणा हुने, लेखकहरूसँग साक्षात्कार गराइने हुनाले किताब व्यापारको महत्त्वपूर्ण अंगका रूपमा यी महोत्सव चिनिएका थिए तर कोरोनाभाइरसले ती सबै कार्यक्रम रद्द भए। यी सबै महोत्सव बन्द भए पनि संसारकै ठूलो किताब महोत्सवका रूपमा चिनिने जर्मनीको फ्य्राङ्कफर्ट बुक फेयर भने यथासमयमा नै जारी रहने बताइएको छ। आउँदो अक्टोबर महिनामा आयोजना हुने यो महोत्सवलाई सार्ने कुनै योजना नभएको मेला आयोजकहरूले बताउँदै आएका छन्। तर समस्या कहाँनेर छ भने कोविद १९ को डरका कारण संसारकै ठूला प्रकाशकका रूपमा रहेका हार्पर कोलिन्स, म्याकमिलन, सिमोन एन्ड सुस्टर, ब्लुम्सबरी तथा फ्रान्सेली कम्पनी हाचेटहरूले रोगको डरका कारणले आफ्ना कर्मचारीलाई सो मेलामा नपठाउने पूर्व जानकारी पठाइसकेका छन्। हालै बुकएक्स्पोले न्युयोर्कमा आफूले महोत्सव गर्न नभ्याएको अवस्थामा फेसबुक लाइभमार्फत विभिन्न कार्यक्रम आयत्रजन गर्यो। मे २६ देखि मे ३१ सम्म उसले विभिन्न किताब विमोचन मात्र होइन, छलफल कार्यक्रम गरेर महोत्सवको आत्मा मर्न दिएन। यस घटनासँगै केही विश्लेषकहरूले भने अबका दिनमा हुने महोत्सवको नयाँ शैलीका रूपमा अर्थ्याउन थाले। भलै सर्वसाधारणहरू महोत्सव हेर्न नरूचाउलान् तर फेसबुक लाइभमार्फत् उनीहरूले कार्यक्रम नछुटाउने रहेछन् भन्ने कुरा ठूलो दर्शक संख्याले समेत देखाएको छ। सो कार्यक्रम मध्ये एउटा बज प्यानलमा लेखक रोबर्ट जोन्स जुनियरसँग पुस्तक सम्पादक स्याली किमले अन्तरवार्ता लिएकी थिइन्। गएकै जनवरीमा पहिलो पटक उपन्यास बजारमा आएको थियो, द प्रोफेट्स नामबाट। तर कोरोना कहरका कारण पुस्तकबारे उति धेरै हल्ला हुन पाएन। त्यसको तलतल यही जुम मिटिङबाट सम्पन्न भयो। उपन्यासकार रोबर्ट भन्छन्, ‘महोत्सवमै यी सबै कुरा हेर्न गर्न पाएको भए, कति मज्जा आउँथ्यो होला तर कृत्रिम विमोचन नै सही, हामीले नराम्रो महसुस गरेनौँ।’ यता पुस्तक सम्पादक डेभिसले पनि अन्य सम्पादकहरूसँग घुलमिल गर्न पाइने रमाइलो अनुभव यस पटक छुटाइन् र खल्लो मानिन्। ‘यो महोत्सवमा मैले गएका २० वर्षदेखि भेटिरहेका किताब पसले, विभिन्न सम्पादकहरूलाई भेट्न पाइनँ। अचानक तपाईंले त्यो मित्रता टुटाउनु हुँदा कस्तो महसुस हुन्छ, तपाईं आफैँ कल्पना गर्नुस् त?’ तर सो अनलाइन महोत्सव कार्यक्रमको भिडियो भने चार लाखभन्दा बढीले हेरेकोमा आयोजक भने सन्तुष्ट छन्। सन्तुष्ट हुनुको कारण के छ भने अघिल्लो वर्ष यस महोत्सवमा जम्मा ८ हजार २ सय ६० पुस्तकप्रेमी र व्यापारीहरूले यहाँ भ्रमण गरेका थिए, अनलाइनमा हेर्नेको संख्या यस पटक भने सोचेभन्दा बढी भयो। तर पुस्तक पसले भेलेरी कोएलर भने कार्यक्रममा जान नपाउँदा खल्लो महसुस गरिन्। भन्छिन्, ‘त्यहाँ म २० वर्षदेखि गइरहेकी छु। त्यहाँ लेखकदेखि सबैसँग भेट्ने हुनाले नयाँ सोच पाइने मात्र होइन, लेखकहरूलाई निमन्त्रणा दिन पनि सजिलो हुन्थ्यो। अनलाइनले त्यो अवसर खोस्योजस्तो लाग्छ।’ तर पनि यस्तो संकटका बेला अनलाइनमार्फत् नै भए पनि नयाँ पाठक पहुँचका लागि भइरहेको कार्यको भने उनले सराहना व्यक्त गरिन्। सान एन्टोनियो पब्लिक लाइब्रेरीका निर्देशक रामिरो सालाजार भन्छन्, ‘यो भाइरसले वातावरणलाई निकै परिवर्तन गरिदिइसक्यो। अबका दिनमा लाइब्रेरीका कुरामा पनि परिवर्तन देखिने छन्। कतिपय कुरामा भर्चुअल कुराका प्रभाव देखिनेछन्। भर्चुअलले धेरै कुरा परिवर्तन हुनेछन् को अर्थ लाइब्रेरी नै विस्थापित हुने होइन।’ #किताब महोत्सव #द गार्डियन #द टाइम्स #द न्युयोर्क टाइम्स
आँखा: तिमीले मलाई देख्यौ, मैले तिमीलाई देखेँ तिम्रो मेरो एक जोडी सुन्दर आँखा सन्सारलाई देखाउँछ, हेराउँछ कस्तो गजबको आँखा दुईवटा आँखा छन्, संसार देखाउँछ एउटा मात्र आँखा छ, संसार देखिन्छ आँखै छैनन् र पनि संसार देख्न सकिन्छ । किनभने अनुभूतिले संसार देखिन्छ । अगाडि जे पर्छ सबलाई हेर्छ देख्नमा कुनै भेदभाव छैन आँखामा । आँखा त लोभी छन् पापी पनि छन् राम्रै देख्न खोज्छन् राम्रै हेर्न खोज्छन्। आँफैभित्रको मन पो हो त आँखालाई पनि भुलाउने, संसारलाई चिनाउने । आँखाले बोल्छ, भाषा चाहिँदैन मनमा के छ आँखामा देखिन्छ । कोमल छ, भावुक हुँदा आँसु रसाउँछ आफू रुन्छ, अरूलाई रुवाउँछ । आँखाभित्र ईष्या छ, डाह पनि छ प्रेम छ करुणा छ, र शान्ति पनि छ । घमण्ड होस् या क्रोध, लाज या संकोच सन्सारको अनुभूति मनमा आँखाबाट पढे पुग्छ गुरू खोज्नु पर्दैन, आँखालाई बुझे पुग्छ । #आँखा
एकसर्को मायापछि पहेँलपुर: माल्दिभ्समा बसेर कलम चलाइरहेका साहित्यकार जिएस पौडेलको दोस्रो उपन्यास बजारमा आउने भएको छ । बुलबुल पब्लिकेसन्सले बजारमा ल्याउन लागेको उनको यो उपन्यासको नाम ‘पहेँलपुर’ रहनेछ । ‘राजनैतिक आस्था भनेको मानसिक चक्रव्यूह हो, यसमा कुनै युवा पर्यो भने उम्कन गाह्रो हुन्छ भन्ने मेरो ठम्याई छ,’ पौडेलले साहित्यपोस्टसँग भने, ‘यसैलाई मैले उपन्यासको विषय बनाएको छु ।’ पहिलो उपन्यास ‘एक सर्को माया’बाटै पाठकमाझ लोकप्रिय भएका पौडेलको यो उपन्यास पढ्दा पहिलो उपन्यासको सिक्वेल जस्तो लाग्छ । ‘तर यो सिक्वेल होइन, केही पात्र र परिस्थिति मात्र दोहोरिएका हुन् । खासमा यो ‘एक सर्को माया’अघि नै ड्राप्ट भैसकेको थियो,’ पौडेलको भनाइ छ। पुस्तक तयारी अवस्थामा रहे पनि पाठकको हातमा भने कोरोनाको संकट सकिएपछि मात्र पुग्ने बुलबुल पब्लिकेसन्सले जनाएको छ । #जिएस पौडेल #पहेँलपुर
एक परिवारिक अन्तर्कथाः चिनारी: नागरिकबीच सामाजिक दूरी कायम गर्ने उद्देश्यले सरकारले बन्दाबन्दीकोे घोषणा गरेपछि अवकाश प्राप्त पूर्वसचिव शेखरजीको परिवारका सदस्य सबै तनावमा आए । तनाव काममा जान पाइन्न, कमाएर ल्याउन पाइन्न, के खानू, कसरी बाँच्नू ? भनेर होइन । बजारमा पैसाले सामान किन्न पाउने अवस्था रहेसम्म शेखरजीको परिवारलाई के खाऊँ, के लाऊँ भन्ने चिन्ता लिनुपर्ने आवश्यकता छैन । सुविधाका सामग्री छैन भन्नु केही छैन । एक्लै दोक्लै समय बिताउनुपर्ने पनि होइन । घरमूली शेखरजी, उनकी धर्मपत्नी शकुन्तलाजी, छोरो विजय, बुहारी नम्रता र नातिनी श्रेया गरी पाँच जनाको परिवार भएपछि घरमा बस्नटिक्नै गाह्रो पनि नहुनु पर्ने हो । समस्या परिवार सानो र ठूलोको हैन, समस्या घरमा कसैको कसैसँग कुरो नमिल्नुको हो । भनेपछि पूर्वसचिव शेखरजीको घरमा दैनिक झैँझगडा हुन्छ त ? हैन हैन । कुरो नमिल्नुको अर्थ झगडा पर्नु पनि त हैन नि । कुरो नमिल्नु र झगडा पर्नुबीच धेरै खुड्किला, श्रेणी हुन्छन् । शेखरजीको जस्तो शिक्षित र प्रतिष्ठित परिवारले दन्तबाझनद्वारा चित्त नबुझाइ प्रकट गर्ला र ? भित्रभित्र भुसको आगोझैँ सल्केको मनमुटाव न कसैले देख्छ, न कसैले भेउ पाउँछ । मीठो बोल्छन्, कसैले कसैलाई केही भन्दैन तर कसैको कसैसँग हित्तचित्त पनि मिल्दैन । सुषमा रिसाल सापकोटा शेखरजी सरकारी सेवाको उच्चतम पद सचिवबाट अवकाश पाएका, कसैलाई मान्छे गन्दैनन् । आफैँलाई पूर्ण ठान्छन्, आफ्नै संसारमा रमाएका छन् भलै उनको संसारमा आफ्नै घर भने पर्दैन । बस्ने, खाने, सुत्ने ठाउँ घर, कुराकानी, गफगाफ, सरसल्लाह बाहिरकासँग चल्छ । घरमा त उनको गफ सुन्न लायक पनि कसैलाई देख्दैनन् । के बुझ्छन् यिनीहरू ? यस्तो धारण राख्छन् । अरूलाई त खासै केही भन्दैनन् तर श्रीमतीलाई भने कचकच कचकच गरिरहन्छन् । श्रीमतीले बोलेकोमा पनि खोट देख्छन्, गरेको काममा पनि कमी देख्छन् । तिनले यसो गरौँ भनिन् भने उनी उसो गरौँ भन्छन् । श्रीमतीले १० खर्च गरे उनलाई धेरै लाग्छ, ५ खर्च गरे कञ्जुस्याइँ गरेको भन्छन् । पकाएर दिएको पनि एकथोक ठोस नलगाई खाँदैनन् । शकुन्तलाजी मुर्मुरिन्छिन् तर केही भन्दिनन् । ठोस लाउने बाहेक घरगृहस्थीको काममा सिन्कोसम्म भाँचिने आश पनि छैन उनलाई श्रीमान् बाट । शेखरजीलाई पनि के दोष दिनू ? उनलाई कसैले सिन्को भाँच्न लगाएको भए न जानून्! हुनेखाने बाआमाका पाँचपाँच छोरा खेर गएर बल्लबल्ल बाँचेका उनको बाल्यकाल पुल्पुलिएर बित्यो । वचन भुइँमा खस्न नपाई पूरा हुन्थ्यो । आमाको चौबीसै घण्टा छोराको खानपान, सरसफाइ, स्याहार, सुसारमा बित्थ्यो । अलिकति बिरामी भए भने रोएर हुरुक्कै हुन्थिन् । छोराको सुस्वास्थ्य र दीर्घजीवनको लागि व्रत, तीर्थ, पूजापाठ, झाकल, जान्ने, झारफूक के गरिनन् ? कसले के सिकाइदिएछ कुन्नी चोक बढार्न आउने मैचालाई पाँच रुपियाँमा छोरो बेचिन् । मैचाका पाँच छोरा तीन छोरी सबै सद्दे, सग्ला, थाम्मरथुम्मर छन् । उसको कमाइ त्यही हो, लोग्ने जहिल्यै जाँडले टिल्ल परेको हुन्छ, छोराछोरीलाई के खुवाउँदी हो ? उसको कोखै राम्रो रे ! त्यसैले उसैको छोरा बनाइदिए दुष्टात्माले आँखा लगाउन सक्दैनन् रे ! छोराको रक्षा होस् भनेर मैचाको छोराको जडाउरी भोटो मागेर पनि लगाइदिइन् । तैपनि शेखरजी पिलन्धरका पिलन्धरै नै रहे । जतिजति स्याहार्यो, उतिउति छोरो जिङ्ग्राउँदै गएको देखेर बाआमा चिन्तित हुनु स्वाभाविकै हो । एक थोक न एक थोकले कहिल्यै छाड्दैन । के गर्ने होला ? भनेर पुरेतबाजेसँग सोध्दा उनले बाबुको व्रतबन्ध गरिदिऊँ, ग्रहदशा पनि सप्रन्छ, रोग पनि काटिन्छ भन्ने सल्लाह दिए । बाले छोराको चिना तीन जन्मअघिको कुरा जस्ताको तस्तै भनिदिने भनेर नाम कमाएका ज्योतिषीलाई देखाए । ज्योतिषीले त्यही वर्ष लगन जुराइदिए । एउटा छोराको पहिलो शुभकार्जे धुमधामले गर्ने रहर भए पनि ज्योतिषीले कार्जे भड्किलोसँग नगर्न कडा निर्देशन दिएको कारण पाँच वर्षका शेखरजीलाई नारनथानमा लगेर टाकटुक पारेर जनै भिराउने र मन्त्र सुनाउने विधि पूरा गराए । उसै त खिनौरा शेखरजी धोती फेरेर, जप गरेर, भान्छामा चढेर अग्रासन हालेर भात खानुपर्ने नियममा परेपछि झन् झन् टाक्सिँदै गए । उनलाई मुख धुन त आउँदैनथ्यो भने आफैँ खाएर पेट भर्नुु त परै जाओस् । हातमा गाँस लिएर मुखसम्म लैजाँदा आधाभन्दा बढी भात पोखिन्थ्यो नै । सेलाएपछि छ झन् खानै सक्दैनथे । भोकभोकै पर्न थाले । आमालाई चिन्ता भयो । अक्कल झिकिन्, भान्छामै धोती फेराएर पिर्कामा बसालेर बल हाल्न लगाउने अनि भातको थाल तातो मकलमाथि राखेर छोरालाई काखमा लिएर फकाई फकाई खुवाउने । यसो गरेपछि बल्ल छोराको पेट भरिन थाल्यो । आमाको हातबाट भात खाएरै शेखरजी चौध वर्षका भए । व्यावहारिक जीवनमा जस्तो भए पनि पढाइमा शेखरजी अब्बल निस्किए । राम्रो नम्बर ल्याउँथे । बानीबेहोरा पनि राम्रो थियो । सबैसँग मिल्थे, शिष्ट भएर कुरा गर्थे । समय बित्दै गयो । शेखरजीले पढाइ सके, धनवैभवको कमी थिएन, इज्जतमात्र थप्नु थियो । सरकारी जागिरभन्दा राम्रो इज्जतिलो केही छैन भन्ने जमानाका न परे । लोकसेवा लडे, सफल भए र अधिकृतमा नियुक्ति पाए । अब आमा छोराको बिहेको सपना देख्न थालिन् । धेरैतिर कुरो चलाइन् । शेखरजीजस्ता भूत, वर्तमान, भविष्य तीनैथोक उज्ज्वल भएका केटालाई छोरी दिनेको के कमी ? अनेक ठाउँबाट कुरो आयो र अन्त्यमा सबैको मन जितेर शकुन्तलाजी शेखरजीकी दुलही बनेर भित्रिइन् । केही दिन छरछिमेक र नातागोताबीच शेखरजीले भाग्यमात्र होइन दुलही पनि नम्बरी पाएको विषय प्रमुख समाचार बन्यो । वास्तवमा नै शकुन्तलाजी लायक दुलाहाकी प्रतीभाशाली दुलही थिइन् । पद्मकन्या कलेजबाट राम्रो अङ्कमा स्नातक तह उत्तीर्ण गरेकी । साहित्यमा रुचि थियो । कथा, कविता, निबन्ध, नाटकसमेत लेख्थिन् । सानै उमेरदेखि वादविवाद, वक्तृत्व कला प्रतियोगितामा भाग लिएर पुरस्कार, प्रमाणपत्र जितेकी थिइन् । बिहेपछि पनि पढाइ जारी राख्ने, जागिर खाएर स्वावलम्बी बन्ने, गृहिणीमात्र भएर नबस्ने विचार थियो । तर हुन गयो त्यसको उल्टो । बिहे भएको अर्को महिना गर्भ बस्यो । जसो तसो पढाइ जारी राखिन् तर परीक्षाको बेलामा छोरो जन्मियो । तैपनि हरेस खाइनन् । अर्को वर्ष जसरी पनि जाँच दिन्छु भन्नेमा दृढ थिइन् तर त्यही बेला ससुराको निधन भयो । जाँच फुस्सा । बिस्तारै सम्हालिन खोज्दै थिइन्, छोरी जन्मिई । फेरि साहस बटुल्दै थिइन्, शेखरजीलाई संयुक्त राज्य अमेरिकामा विद्यावारिधि गर्ने अवसर प्राप्त भयो । छोरो पढ्न गएको वर्ष दिन पनि नबित्दै आमाले संसार छाडिन् । दाम्पत्यसँग सम्बन्धित यस्ता हरेक घटना वा उपलब्धिको प्रभाव शकुन्तलाजीलाई पर्यो । सन्तान जन्मनु उपलब्धि हो तर त्यसको प्रभाव उनलाई पर्यो । शेखरजीले विदेशमा पढ्ने मौका पाउनु उपलब्धि थियो, उनले आफ्नो पढाइलाई तिलाञ्जलि दिनुपर्यो । ससुराको निधनले लगभग विक्षिप्त भएकी सासू सम्हाल्ने जिम्मा छोराको भन्दा बुहारीको मानियो । छोराछोरीको पालपोषण, पढाइलेखाइ, घरव्यवहार, श्रीमान्को प्रगतिबाहेक केही बाँकी रहेन उनको जीवनमा । उनको तर्कशक्ति, धाराप्रभाव बोल्ने क्षमता, साहित्य चेत सबै एकादेशका कथा भएर छुट्दै गए, बिलाउँदै गए । साथीभाइ, नातागोता, आफन्त सबै बिर्सिन् । आफैँलाई बिर्सँदै बिर्सँदै गएर पूर्णकालीन गृहिणीमा अनुवाद भइन् । त्यहीँ चुर्लुम्म डुबिन् । पछिपछि त त्यहाँबाट उम्कने चाहना नै हरायो । छोराले पढाइ सकेर नोकरी गर्न थाल्यो । छोरी बिहे गरेर आफ्नै घर गई । शेखरजीले जागिरबाट अवकाश पाए । अब छोराको बिहे गरिदिन पाए जिम्मेवारी पूरा हुन्थ्यो भन्ने लागेर विवाह योग्य कन्यातिर ध्यान पुर्याउँदै थिइन्, छोराले दुलही छानिसकेको जनाउ दियो । उनले वज्र परेको महसूस गरिन् । बुहारी रोजेर ल्याउँछु भन्ने सोच पनि हावा भयो । जीवनमा केही कुरो आफ्नो इच्छाले हुँदैन भनेर लागेर खिन्न भइन् । खिन्नता दबाएर केटीबारे सोधिन् । छोराले उत्साहित भएर बतायो । ऊ काम गर्ने ब्याङ्कले बोलाएको बेलामा आएर कानूनी सल्लाह दिने स्वतन्त्र अधिवक्ता नम्रता । राम्री छ, असल छ, मेधावी छ, पढाइ पनि राम्रो, जागिर र कमाइ पनि राम्रो । सबैथोक राम्रो । अनि नराम्रो के त ? पहिल्यै भनेको भए अहिलेसम्म एउटा बच्चाको बाउ भैसक्थ्यो । छोराले भेद खोल्यो । जात अलिकति तलमाथि पर्छ । त्यो अति साधारण विषय हो भन्ने देखाउन खोज्दाखोज्दै पनि आमाको आँखामा हेरेर भन्न नसक्नुको अर्थ त्यसलाई उसले त्यति सानो विषय पनि ठानेको छैन भन्ने बुझ्न गाह्रो थिएन ? कसैको विरोध वा समर्थनको केही अर्थ थिएन । उनीहरूले निश्चय गरिसकेका थिए, अभिभावकलाई जानकारीसम्म गराउनु थियो, गराइहाले । त्यही वर्ष नम्रता दुलही भएर घरमा भित्रिइन् । शकुन्तलाजी खुसी भइन् कि दुःखी ? कसैले थाहा पाउन सकेन । तटस्थ भावले सबैथोक गरिन् । हाँस्नपर्ने ठाउँमा हाँसिन्, सरसामान छानेर किनिन्, रत्यौती पनि नाचिन्, तर कता कता के के नमिलेजस्तो लागिरह्यो । धुमधामले बुहारी भित्र्याइन् तर हृदयमा भने भित्र्याउन सकिनन् । बुहारी नम्रता छोराले बयान गरेजस्तै सबै दृष्टिकोणले उत्तम थिइन् । यो युगको प्रतिनिधि पात्र । कर्तव्यप्रति सचेत भैकन आफूलाई कीमार्थ बिर्सन नसक्ने । मीठो बोल्थिन्, आदर प्रकट गर्थिन् । घरायसी काममा चाख देखाउँथिन्, सघाउन खोज्थिन् तर उनको काम, उनको पेशा, व्यवसायसँग कुनै मूल्यमा सम्झौता गर्दिनथिन् । उनको जीवनमा सबैको उचित स्थान थियो, उचित व्यवहार गर्थिन् तर त्यसभित्र सिङ्गो आफूलाई पनि स्थापित गर्थिन् । बिहे भएको एक हप्तापछि अफिसबाट १० दिन बिदा मिलाएर छोराबुहारी हनिमुन मनाउन गए । बाबुआमालाई जानकारी दिए, तर अनुमति खोजेनन् । आफ्नो निर्णयमा कसैको रायसल्लाह आवश्यक देखेनन् । फर्केर आएपछि दुवै आआफ्नो काममा गए । शकुन्तलाजी जिल्ल परिन् । त्यो ठाउँमा आफूलाई राखेर हेरिन् । उनी विवाह भएर आउँदा जे सोच लिएर आएकी थिइन्, आज बुहारी त्यही गर्दैछिन् । उनले साहस देखाउन सकिनन्, अरूको आवश्यकतालाई प्राथमिकता दिँदा आफैँ बिलाइन् । अहिलेका दुलही घर सम्हाल्न र छोराछोरी पाउन मात्र बिहे गर्दैनन् । विवाहलाई धार्मिक भन्दा सामाजिक सम्बन्ध ठान्छन् । अर्धाङ्गिनी नभएर सहयात्री ठान्छन् । उनलाई यो नराम्रो पनि लागेको छैन । नम्रतामा उनले अफ्नै प्रतिच्छाया देखिरहेकी छन् । तर पनि के नमिलेजस्तो, के नपुगेजस्तो उनलाई लागिरहन्थ्यो । शेखरजी जसले जिन्दगीमा आफैँले एक गिलास पानी सारेर पिएनन्, खाएको ठाउँबाट चियाको कप उठाएर भान्छासम्म लगेनन्, एक मुठो रायोको साग किनेर ल्याएनन् भने अहिले आएर उनलाई घरको कोतेधन्दाप्रति के खाएर रुचि पलाउँदो हो ? ३२ वर्ष खाएको जागिरको ब्याजले नै पुगेको छ उनलाई, खान पनि गफ गर्न पनि । पेन्सनले उनको खर्च चलिहाल्छ, अनुभवले गफ चल्छ । राजा महेन्द्रको पालादेखि गणतन्त्र कालसम्मका सबैको नालीबेली थाहा छ उनलाई । हाम्रो पालामा भनेर पुराना कुरालाई तेलमसलामा लपेटीलपेटी गफ गर्न पाए भने न खानाको पर्वाह हुन्थ्यो, न सुत्नको । नयाँ मान्छेलाई खूबै स्वादिलो लाग्ने उनको गफ परिवारलाई भने अमन हुन्छ किनभने ती प्रत्येक कुरा कमसेकम एक सय एकपल्ट सुनिसकेका छन् सबैले । उसै पनि शेखरजी श्रीमती र छोरालाई यस्ता कुरा सुन्न लायक पनि ठान्दैनन् । छोरो पनि प्राकृतिक नियमको सिद्धन्तअनुसार बुवाभन्दा आमासँग नजिक छ, यद्यपि उसको दुवैप्रति अपार स्नेह र सम्मान छ । यसै पनि सन्तानसँग मित्रतापूर्ण सम्बन्ध हुनसक्छ भन्नेमा शेखरजीलाई विश्वास छैन । त्यसमाथि छोरालाई आलोकाँचो, अपरिपक्व नै ठान्छन् र अर्तिउपदेश दिइरहन्छन् । छोराले भने बाबुले दिएको सल्लाहविपरीत दुईपल्ट जागिर छाड्दै नयाँ ब्याङ्कमा नियुक्ति लिँदै गरिसक्यो । यस्तो तिहुन चखुवा प्रवृत्तिले जागिरमा क्षणिक लाभ देला तर पेशागत दक्षता हासिल हुँदैन भनेर उनले छोरालाई नसम्झाएका पनि होइनन् । तर ऊ पनि के कम ? शेखरजीको छोरो न हो ? आफूभन्दा जान्ने कसैलाई ठान्दैन । उसले हिसाबकिताब, जोडघटाउ नगरी यसो गरेन होला । मौकामा आउँछ, पर्खँदैन । प्राइभेट अफिसले फाइदा हुने देखेरै न मान्छे लिन्छ । राम्रो ठाउँमा जान पाइन्छ भने खोक्रो आदर्श च्यापेर किन बस्ने ? भन्ने धारणा छ उसको । बुबाजस्तो एकपल्ट सरकारी सिन्दूर लगाएपछि जिन्दगीभर उसैको सतमा बस्नुलाई ऊ आदर्श ठान्दैनन् । शेखरजीलाई त्योभन्दा पनि पीर कतै छोराले गलत काम त गरिरहेको छैन ? भन्ने छ । ब्याङ्कको जागिर, घर आउने ठेगान छैन । रातको खाना बाहिरै खाएर आउँछ । चुस्कीबिना बाहिरको खान पूर्ण मानिँदैन । यसरी दिनका दिन बाहिर खानु, पिउनु राम्रो हो र ? भन्यो भने ‘मेरो कामै यस्तै छ अफिसभित्र भन्दा बाहिरै धेरै काम बनाउनुपर्छ’ भनेर मुखमा बुजो लगाइदिन्छ । कोसँग सङ्गत छ, कस्तासँग उठबस छ ? थाहा छैन । पिउने कुरामा पनि लिमिटमै हुन्छु भन्छ । धेरै अबेर आएको दिन नम्रताले ढोका खोल्छिन्, लिमिटमा थियो कि अनलिमिटेड के थाहा ? छोरीको बाउ भैसकेको छोरालाई कति टोकस्नु ? राति मापसे छल्न भनेर ट्याक्सीमा आउँछ, बिहान अबेर उठ्छ, टयाक्सी लिएर गाडी लिन जान्छ । आएर खाना खान्छ, अनि अफिस जान्छ । शारीरिक व्यायाम शून्य । यस्तो दिनचर्याले स्वास्थ्यमा कस्तो असर पर्ला ? चिन्ताका विषयहरू यिनै हुन् । छोरो पनि बाबुजस्तै घरायसी काममा सरोकारै नराख्ने भए पनि विदेशमा पढ्न बसेको बेलादेखि चियाखाजासम्म बनाएर खान जान्दछ । हजुरबुवा, बाबा हेरी नातिनी नै काम गर्न जान्दछे बरु । तर शकुन्तलाजीलाई कसैले गरेको काम चित्त पनि बुझ्नुपर्यो नि ? नातिनीलाई काम लगाएकै मन पर्दैन । उनलाई त नम्रताले गरेको काम पनि मन पर्दैन । डौँठे पारा, हिँडेको पनि रिफेलजस्तो खुट्टा बजार्दै, काम पनि हडबड हडबड । कस्तो हतार ? भान्छामा ध्यान दिएर काम गर्नु नि ! उतै पानी पोखेको छ, उतै चामल छरेको छ, पाकेको कुरो खन्याएर त्यसैमा अर्थोक पकाए हुनेमा परिकारैपिच्छे भाँडा हालेको छ । भाँडा धेरै देखी भने धन्दा गर्नेले समेत ‘आज भाउज्यूले पकाएको हो ?’ भनेर सोध्छे । न तरकारीमा तेल, न दालमा नून, न ज्वानोमेथी डढेको हुन्छ, न आलु राम्ररी भुटिएको हुन्छ । ढङ्ग मरु कसो गरु ? मोबाइलमा फोन आएको तीन घण्टापछि कोठामा जाँदा थाहा पाउने शकुन्तलाजीलाई बुहारीले खाना पकाउँदा मोबाइल बोकेको, हेरेको, जवाफ लेखेको मनै पर्दैन । ध्यान जति त्यही ठाँडोमा छ, अनि केको खाना मीठो होस् भनेर मनमनै मुर्मुरिन्छिन् । नम्रताले सासूको भाव नबुझेकी हैनन्, तर उनलाई पनि त समस्या छ नि ! सासूले काम गरेको हेरिरहन पनि भएन, काम गर्न जाऊँ सासूलाई चित्तै बुझ्दैन । क्या फसाद ? सबैलाई आफ्नै पारामा ल्याउन खोज्नु समस्याको जड हो । उच्च रक्तचापको समस्या भएकी सासूकै लागि भनेर बुहारी सादा खाना बनाउँछिन् तर उनैलाई नून, तेल, मसला, पीरो ट्वाक्क चाहिन्छ । बुहारीले बनाएको खाना खल्लो लाग्छ । त्यही ट्वाक्क खाँदा खाँदा उच्च रक्तचापको औषधि बढेको बढ्यै छ । मैले गरेको चित्त बुझ्दैन भने किन गरिरहूँ ? भनेर नम्रता सकेसम्म अबेर घर आउने, बिहान पनि काम देखाएर छिटै निस्कने गर्थिन् । बिदाको दिन पनि खाना खायो, नुहाइधुवाई गर्यो, छोरीलाई चिटिक्क पार्यो, कि माइत हिँड्यो, कि सिनेमा हेर्न गयो, कि बजार घुम्न गयो गर्छिन् । सासूलाई बुहारी बुहारीलाई सासू देख्यो कि उकुसमुकुस हुन्थ्यो । सकेसम्म तर्कनै खोज्थे । जे जसो भए पनि लामो समय साथसाथै बिताउन नपरेकोले चलिरहेकै थियो तर एकअर्कासँग एक पल छुट्टिन नमिल्ने बन्दाबन्दी आइदियो । सबैले सबैलाई झेल्नै पर्ने भयो । शेखरजीलाई गफ गर्न नपाएमाथि पत्रिका नआउने पीर । शकुन्तलाजीलाई भान्छामा बुहारीलाई झेल्नुपर्ने पीर । नम्रतालाई सासूले काम गरेको हेरेर बस्न पनि नमिल्ने, काम गर्दा चित्त बुझाउन पनि नसक्ने पीर । छोरालाई साँझमा ठमेल र झमेलका रेष्टुरेन्टको रमझम छुट्ने पीर । नातिनी झन् केटाकेटी, उसै पनि चञ्चले । बिदामा बाबामामुले घुमाउन लैजान्थे, त्यो भएन भन्ने पीर । आयो दशैँ ढोल बजाइ, गयो दशैँ रिन बोकाइ भनेझैँ आयो बन्दाबन्दी पीर बोकाइजस्तो भयो । पहिलो दिन बिहान चिया पिएपछि सधैँझैँ गफ गर्ने थलोमा जान लागेको शेखरजीलाई छोराले किन बाहिर जानू ? भनेर रोक्न खोज्यो । उनी केको टेर्थे ? नकरा तँ ! भन्दै बाहिर निस्केका थिए, एकै छिनमा फर्केर आए । तपाईँजस्तो मान्छेले त कुरो बुझ्नुहुन्न भने अरूलाई के भन्नु ? भनेर पुलिसले मारसँग थर्काएछ । लुम्रुङ परेर घर आएर ल्यापटप खोलेर समाचार पढ्न थाले । बिहान सात बजेसम्म आँखा नखोल्ने छोराले पाँचै बजे बजार गएर सामान किनेर ल्याइसकेको थियो । नम्रताले भान्छाको भन्दा अर्थोक अर्थोक काम गर्ने मनस्थिति बनाइसकेकीले कुचो लगाउन, घर पुछ्न थालिन् । छोरो गमलामा पानी हाल्न थाल्यो । शकुन्तलाजीले पनि बुहारीले भान्छामा जे गरे पनि झेल्ने मनस्थिति बनाएकी थिइन् तर उनी सरसफाइमा लागेको देखेर खाना पकाउन थालिन् । बिहानभरि सुत्ने बाबा, अफिस हिँडिहाल्ने मामु घरको काममा लागेको देखेर नातिनी पनि सघाउन थाली । ऊ कामभन्दा धेरै हल्ला गर्दै थिई । हल्ला सुनेर शेखरजी बरण्डामा निस्के । उनलाई पनि त्यो खेलमा मजा आउँछ जस्तो लाग्यो । तल ओर्लेर बारीको झार उखेल्न थाले । काम गरेको भए पो जान्नू ? झार भनेर तरकारीका बेर्ना उखलेछन्, पछि चिनेर झारमा लुकाए । बाहिरको काम सकेर चारै जना माथि आउँदा खाना तयार भैसकेको थियो । सलाद काट्न बाँकी देखेर नम्रताले डिजाइन डिजाइन बनाएर काटिन् । आज पहिलो पल्ट शकुन्तलाजीलाई नम्रता भान्छामा हुँदा उकुसमुकुस भएन किनभने उनलाई पटक्कै गर्न मन नलाग्ने जति काम सबै तिनले गरिसकेकी थिइन् । खाना खाएपछि पनि छोरा, बुहारी, नातिनी जसले जे भेट्यो त्यही काम गरेर एकै छिनमा भान्छा सिनित्त परिदिए । बाहिरबाट काम गर्न आउनेलाई पनि नआउन भनेकोले सबै काम आफैँ गर्नुपर्ने थियो । बारीको काम धन्दा गर्नेले गरिदिन्थी भने बगैँचा मालीले स्याहार्थ्यो । यी सबै काम कसरी भ्याउने ? भनेर शकुन्तलाजी चिन्तित थिइन् । तर सबथोक एकदम सजिलोसँग सकिएको देखेर शकुन्तलाजी चकित पनि हर्षित पनि भइन् । यसरी पहिलो बिहान राम्रैसँग बित्यो । त्यसपछि सबै आआफ्नै काममा लागे । शेखरजी टिभी हेर्न थाले । छोरा र बुहारी ल्यापटपमा अफिसको काम गर्न थाले । नातिनी साथीसँग फोनमा कुरा गर्दै थिई, एकै छिनमा उसको स्वर मलिन भयो । टोलाउन थाली । भएछ के भने साथीले उसलाई आफैँले लेखेको कविता लय हालेर सुनाइछ । ऊ पनि कविता लेख्छे, तर उसका कविता साथीका जस्ता लयात्मका छैनन् । अनि परेन त पीर ? शेखरजीले नातिनीलाई लय हालेर कविता वाचन गर्न सिकाइदिउँला भनेर फकाउँदै किताबको र्याकमा देवकोटाको मुनामदन खोज्न थाले । तर के भेट्टाउँथे ? उनलाई के सामान कहाँ राखेको छ थाहै हुँदैनथ्यो । उनको आँखा मिलाएर राखिएको एक चाङ कापीमा पर्यो । उनले ती सबै उठाएर बैठकमा लिएर आए र पल्टाएर हेर्न थाले । शेखरजी एक हैन दुई हैन तीन छक परे । अति सुन्दर हस्तलेखनमा शकुन्तलाजीद्वारा रचिएका कथा, कविता, निबन्ध र नाटकका पाण्डुलिपि । अञ्चलस्तरीय, जिल्लास्तरीय, विद्यालयस्तरीय वक्तृत्व कला, वादविवाद, साहित्यिक प्रतियोगितामा विजयी भएर पाएका पुरस्कार, प्रमाणपत्रहरू । ओहो ? के हो यस्तो ? विवाह भएको छयालीस वर्ष बितिसक्दा पनि श्रीमतीसँग उनको चिनारी नै भएको रहेनछ । तिनको यो रूप त कहिल्यै उनको सामुन्ने आएको थिएन । आफ्नो व्यक्तित्वलाई कति घनीभूत बनाएछन् भने त्यसको छत्रछायामा श्रीमतीको अतित्व ओझेलमा परेर अदृश्य भैसकेको समेत उनले चालै पाएनछन् । कविता सिकाइदिन्छु भनेका हजुरबा अर्कैतिर लागेको देखी रुञ्चे अनुहार लगाएर बसेकी नातिनीलाई हजुरआमाले कारण सोधिन् । उसले बताएको समस्याको समाधान कसैसँग थियो त शकुन्तलजीसँग थियो । उनले नातिनीलाई काखमा लिइन् र लेखनाथको पिँजडाको सुगा कविता लयसहित वाचन गर्न सिकाउन थालिन् । लेखनाथ पौडेलले करुण रसमा लेखेको बालक बबुरो कवितालाई रौद्र रसमा गाएको सुनेकी नातिनी अचम्म मान्दै कविताको भाका टिप्न थाली । शकुन्तलाजीले कति सरल तरिकाले सिकाइन् भने एकै छिनमा नातिनीले भाका टिपी । साँझसम्म कवितै कण्ठ पारेर गाउन सक्ने भैसकेकी थिई । शकुन्तलाजीलाई आज आफ्नो जीवन सार्थक भएको महसूस भयो । नम्रताले बनाएको चियाखाजा खाएपछि नातिनीले शकुन्तलाजीलाई तानेर बैठकमा लगी र बालक बबुरो कण्ठ भयो कि भएन भनेर जाँच्न लगाई । नातिनी हजुरआमाबीचको दौत्य सम्बन्धले दङ्ग पर्दै छोराबुहारी पनि बैठकमा आए । त्यही बेला शेखरजीले उनीहरूलाई पाण्डुलिपि र प्रमाणपत्रहरू देखाए । अब आश्चर्यचकित हुने पालो छोराबुहारीको थियो । उनीहरू दुवै अफिसको कामै छाडेर पाण्डुलिपि लिएर पढ्न थाले । यी सबैबाट बेखबर शकुन्तलाजी नातिनीसँग व्यस्त थिइन् । छोराले एउटा सिङ्गै कथा पढेर सक्यो अनि भावुक भएर जन्मदातृलाई हेर्यो । मनमनै सोच्योः ओहो । ममीको यस्तो प्रतिभा ! उहाँको यो चिनारी, क्षमता कहाँ दबिएर बसेको थियो ? जहिल्यै कामको चटारोमा आफू भित्रको पारिजात फष्टाउन नपाएको कुण्ठा पलाएन उहाँमा ? पढाइ, लेखाइ त मौका पाए सबैले गर्छन्, तर लेख्ने जन्मसिद्ध क्षमता ? दबाउन सजिलो भयो होला ? तर पनि न गुनासो, न घुर्की । ओहो ममी ! कति अन्याय ! अँहँ अब यस्तो हुँदैन । अवकाश प्राप्त सचिव शेखरजीकी पत्नी, ब्याङ्कर विजयकी आमा, अभिवक्ता नम्रताकी सासू हैन, साहित्यकार शकुन्तलाजीको चिनारी पाउनेछ अब दुनियाँले । बालखमा आमासँग लाडिएझैँ छोराले पाण्डुलिपि देखाउँदै भन्योः ममी यो कसको ? शकुन्तलाजी अकमकिइन् र छोरालाई सोधिन्ः कहाँ भेटेछ यसले यो थोत्रो कापी ? शेखरजीले मुसुमुसु हाँस्दै भनेः यसले हैन मैले । तिमीले लुकाएर राखेको ठाउँमा मैले भेटेको ? शकुन्तलाजीले भनिन्ः लुकाएको हैन । बिहे अघि जन्मेको कर्णलाई कुन्तीले नदीमा बगाइदिइन्, मैले पोको पारेर एउटा कुनामा थन्क्याइदिएँ । कतिपल्ट कबाडीलाई दिन भनेर झिकेँ पनि, तर यिनले खान मागेका छैनन्, लाउन मागेको छैनन् भनेर फेरि राखेँ । कुरो यति हो । बुहारीले थपिन्ः कबाडीलाई दिने ? ममी म यस्तो लेख्न जान्ने भए अहिलेसम्म मेरो कतिवटा पुस्तक विमोचन समारोह भैसक्थ्यो होला । आफूलाई त होइन कुरा ठीक साँचो भन्न आउँछ, न्यायको नौ सिङले हान्न आउँछ । साहित्य पढ्न मात्र आउँछ, लेख्नसेख्न त त्यस्तै हो । छोराले अलि अड्की अड्की भन्योः घरको रुटिनमा अलिअलि चेञ्जफेञ्ज गर्नुपर्ला जस्तो लाग्यो ममी ? आज चाँडै उठेर बाहिर घुमेर आएर होला मलाई फ्रेस अनुभव भैरहेको छ । तरकारी, दूध किनेर झोला बोकेर आउँदा पहिलोपल्ट म पनि परिपक्व भएँ जस्तो लाग्यो । काँधमा जिम्मेवारी नआएसम्म गर्न मन पनि लाग्दैन, जान्दा पनि जानिँदैन । अब पहिलो पुस्ता आनन्दले बस्ने, दोस्रो पुस्ताले जिम्मेवारी सम्हाल्ने दिन आएछ ममी । बुहारीले आफैँ र दुलाहालाई पनि व्यङ्गय गर्दै भनिन्ः बिहानको कामको जिम्मा आयो भने छोराबुहारी पनि सप्रन्थे ममी । चाँडै उठ्नै पर्ने भए अलिअलि योगअभ्यास पनि हुन्छ । कसैकसैको राति अबेरसम्म घरबाहिर बस्ने, बिहानभरि सुतेर बिताउने बानी पनि छुट्थ्यो कि ? छोराले बुहारीलाई आँखा तरेर हेर्यो तर उनी बोल्न छाडिनन् । स्वरलाई एकदम नरम बनाएर भनिन्ः अबदेखि बिहान भान्छाको जिम्मा मेरो । त्यसो भए ममीलाई बिहान पूजापाठ गर्न, योगध्यान गर्न समय पुग्छ । बाँकी समयमा साहित्य साधनामा ! लेख्न मन नलागे पढेर बिताए भयो । हुन्न ममी ? म मीठो पारेर पकाउने कोसिस गरौँला नि ! ‘तिमीले ठीक भन्यौ नम्रता । बिहानभरि सुतेर हेर मेरो पेट ? घ्याम्पोजत्रो भैसक्यो । यसरी त भएन बा । भोलिदेखि आजैको टाइममा उठेर एक घण्टा तल चोकमा हिँड्छु, अनि बजार गएर सामान किनेर ल्याउने गर्छु । पछि पनि मेरो रुटिन त्यही हुनेछ ।’ शकुन्तलाजीका आँखा भरिए । छोराबुहारीलाई आफ्नो बाहेक घरको मतलबै छैन भन्ने उनको धारणा थियो त्यो गलत रहेछ । उनैले बिगारेकी रहिछन् । जिम्मा दिए पो गर्छन्, जान्दछन् ! कुखुराले चल्ला छोपेझैँ छोप्न खोजेपछि के जानून्, के सिकून् ? उनीहरूलाई अभिभावकको चिन्ता, फिक्री रहेछ । छोराबुहारीको वास्तविक रूपसँग आज उनकोे चिनारी भयो । उनी भावुक भएर भन्न थालिन् “बिहेअघि मेरो ज्यानप्राण नै यही थियो, अहिले घरगृहस्थीजस्तै ? लेख्ने र पढ्ने बाहेक मेरो केही उद्देश्य नै थिएन । त्यो बेलामा कहाँ कहाँबाट किताब खोजेर ल्याएर, मागेर ल्याएर, किनेर ल्याएर पढ्थेँ भनेर लेख्न थाल्यो भने पनि एउटा ठूलै शोधग्रन्थ तयार हुन्छ होला । अब ती सबै एकादेशका कथा हुन् । अहिले त मलाई यही पाण्डुलिपि देखेर पनि अचम्म लागेको छ । कविता वाचन, लेख प्रकाशन, वादविवादको तयारी गर्दै बितिरहेको समय कहिले गृहिणीमा परिणत भयो ? हेक्का पनि छैन । यो मैले लेखेको भनेर पत्यारै लाग्दैन अहिले त ।” शेखरजीले हातको लिएको पाण्डुलिपिलाई हेर्दै सोच्न थाले ः मेरो त आफ्नी जीवनसङ्गिनीसँग चिनारी भएको रहेनछ भने छोराबुहारीको के कुरा भयो र ? शकुन्तलाको यस्तो परिपक्व विचार, प्रभावशाली शैली, उद्देश्यपूर्ण लेखाइ पढेर होइन, जन्मसिद्ध लिएर आएको क्षमता हो । पढाइले त त्यसलाई तिखार्ने काममात्र गर्छ । कहिले सिकिन् यो सब ? कहाँ हरायो उनको यस्तो असाधारण तर्कशक्ति, त्यो विलक्षण साहित्य चेत ? बिरामी सासूससुराको स्याहारसुसार, छोराछोरीको पढाइ, रीतिरिवाज, नातागोता, चाडबाड, सचिवज्यूको चाकरीमा आउनेकोे स्वागतसत्कार, सामाजिक विधिव्यवहार, यस्तैमा बित्यो उनको सारा समय । कतिखेर लेख्ने, पढ्ने समय निकालून् ? अरूकै लागि जीवन उत्सर्ग गरिन्, आफ्नो लागि सोच्ने मौका नै पाइनन् । उनको त्याग, समर्पण त्यसको मूल्याङ्कन भयो कहिल्यै ? बुझ्नुपर्नेले समेत ध्यान नदिएपछि उनी के गरून् ? श्रीमतीको प्रतिभाले फक्रने, फष्टाउने वातवरण नपाउनुको जिम्मेवार आफैँलाई ठानेर शेखरजीले ग्लानी महसूस गरे । वास्तवमा उनी खराब मान्छे पनि होइनन् । श्रीमतीप्रतिको उनको व्यवहारलाई अभद्र, अशोभनीय भन्न मिल्दैन । न भोकमोकै राखे, न शारीरिक यातना दिए, न अपशब्द बोले, न रक्सी पिएर आएर कुटपिट गरे, न उनको चरित्रमा प्रश्न उठाएर मानसिक यातना दिए । पुरुषप्रधान सामाजको मूल्य मान्यतामा चले । परिवर्तित संसार स्वीकार्ने आवश्यकता देखेनन् । परिवारको पालनपोषणको जिम्मेवारी आफ्नै हो भन्ने सोचे, त्यसमाथि कहिल्यै पुनर्विचार गरेनन् । इमानदार सरकारी कर्मचारी उनले कमाएर ल्याएको सबै श्रीमतीको पोल्टामा हालिदिए । कसरी खर्च गरिन्, केमा खर्च गरिन्, पुग्थ्यो, पुग्दैनथ्यो, उनैको तजबिजले गरिन् ? तर श्रीमतीलाई पनि सक्षम बनाउने, कमाउने बाटोमा लगाउने, स्वावलम्बी बनाउनेबारे सोच्दै सोचेनन् । श्रीमान, श्रीमतीको संयुक्त कमाइले घर चलाउनु उनको नजरमा सम्मानित विषय भएन । एकताका शकुन्तलाजीले लोकसेवा दिने तयारी गरेको जस्तो लगेथ्यो, त्यो पनि हो, होइन ? याद छैन । कलकल बगिरहेको तेज जलधारा उनको जीवनमा गाँसिन आएपछि जमेर तलाउमा परिणत हुँदा पनि आपूm भने एक्लै बगिरहेछन् । जागिरमा सफलताको खुड्किलो चढ्दै जाँदा उनमा एक प्रकारको अहङ्कारले डेरा जमाउँदै गयो । उच्च तहका नीति निर्माताको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने ठाउँमा पुगेपछि त उनमा म नभए यो मुलुकै चल्दैन कि क्या हो भनेजस्तो भाव पलायो । त्यसलाई मलजल पु¥याउने काम ग¥यो शक्तिको वरपर झिँगाभैmँ भन्कने चाकरीबाजले । तिनका चिप्ला कुरा सुन्दासुन्दा उनको सोचको दायर पनि त्यही घेराभित्र सीमित हुन पुग्यो । अन्त ध्यानै गएन । अवकाश प्राप्त गर्दा उनी त्यही मानसिकतामा थिए । तर घर बस्न थालेदेखि अचानक चाकरीबाजको लस्कर बन्द भयो । उनले एक्लोपन महसूस गरे अनि आपूmजस्तै अवकाश प्राप्त व्यक्तिहरूको घेराबन्दीमा परे । त्यही समूसँग समय बित्न थाल्यो । घर उनको प्राथमिकतामा कहिल्यै परेन । अरूको कमजोरी खोज्दै, अरूलाई सपार्ने हुँदाहुँदै मान्छेले आफ्नै समस्या भएको थाहा पाउँदैन । आफ्ना कमजोरी, समस्या पहिचान गर्नेबाट समाधान पनि निस्कन्छ । शेखरजीले आफ्नो गल्ती देखे, त्यसलाई स्वीकारे । जे भयो भयो । बितेको फर्कँदैन । अब जीवनकोे सन्ध्याकालमा नै सही आफ्नो गल्ती सच्याउनेमा दृढ भएर शेखरजीले छोरालाई सम्बोधन गर्दै भने, “यसपाली ममीको जन्मदिनमा यो किताब छापेर उपहार दिनुपर्छ है बाबु ।” छोराले बाबुको समर्थन गर्दै भन्यो, “लकडाउन खुल्नेबित्तिकै पहिले प्रेसमा पाण्डुलिपि टाइप गर्न दिन्छु । यसपालीको बोनस ममीको किताब छपाउन समर्पण गरेँ है मैले त । कि कसो नम्रता ?” बुहारीले उत्साहित भएर भनिन्, “प्रेसमा किन दिनु ? हाम्रो अफिसको टाइपिष्ट नजिकै बस्छ । उसले लकडाउन खुल्दासम्म टाइप गरिसक्छ । त्यसपछि प्रेसमा दियो भने फटाफट छापिन्छ ।” शेखरजी जुरुक्क उठे र शकन्तलाजीनेर गएर भने, “लकडाउन कहिले खुल्छ कहिले ? त्यतिञ्जेलसम्म एउटा पाण्डुलिपि त म आपैmँ टाइप गरेर सक्छु ? बरु सबैभन्दा पहिले तिम्रो कुन रचनालाई पुस्तकाकारमा हेर्न चाहन्छ्यौ ? ल छान त ।”, शकुन्तलाजीले तृप्त नजरले सबैलाई हेरिन् र एउटा पाण्डुलिपि छानेर दिइन् । शेखरजीले ल्यापटप खोलेर काखमा राखे, फोल्डर बनाए र टाइप गर्न थाले । सेभ गर्दा कम्प्यूटरले फाइलको नाम माग्यो । उनले लेखिदिए ‘चिनारी ।’ #चिनारी #बन्दाबन्दी #सुषमा रिसाल सापकोटा
पासवर्ड – हर्दा बोल !: ‘हे भगवान् ! हे कृष्ण !’ कोसीको भुमरिएको पानीमा खस्दै गर्दा र भुक्लुक्क डुब्दै–उत्रिँदै गर्दा मैले सुवानी चिच्याएको यति मात्र सुनेको थाहा छ । त्यसपछि पुल्ठेगौँडामा के भयो ? केही थाहा छैन । म डुबेर बेहोस भइसकेको रहेछु । मलाई पौडी खेल्न आज पनि आउँदैन । सानोमा स्कुलबाट भागेर हामी सुनसरी खोलामा पौडी खेल्न जान्थ्यौँ । पानी उस्तो धेरै हुँदैनथ्यो । तर, चाहँदा डाइभ हान्न, नाक थुनेर डुबुल्की मार्न पुग्थ्यो । म, दिवाकर सापकोटा, कुबेर बज्राचार्य, अजय मण्डल, हेमनारायण पोद्दार, सुरज सुब्बा, राजकुमार शाही, सञ्जय लुइँटेल, हरिकृष्ण पोखरेल, सन्तोष तिवारी, विष्णु भट्टराई, सतनारायण महतो लगायत साथीहरू हुन्थे । यीमध्ये अहिले मैले सम्झिन खोजेको चाहिँ कुबेर बज्राचार्य हो । त्यो दिन हामी पुल वरपर त्यस्तै डुबुल्की मार्दै पानीभित्र लुकीडुम खेल्दै थियौँ । कुबेरको डुम हुने पालो आयो । ऊबाहेक सबै डाइभ हानेर पानीमा लुक्न थाल्यौँ । पानीभित्र डुबुल्की मार्न सक्ने डुबेर, नसक्ने खुट्टैले टेकेर डुमबाट परपर तर्किर्दै खेल्दै थियौँ । म एउटा हातले नाक थुनेर भित्रभित्रै हेलिन के लागेको थिएँ, कताबाट कुबेर आएर मलाई च्याप्प कम्मरमा समातिहाल्यो । ‘हुडुक…हुडुक…भयो–भयो छोड–छोड’ च्याप्प समातेर पानीमा गोडेपछि म अत्तालिएछु । ‘विद्याधर आउट… विद्याधर आउट…!’ ‘ल–ल आउट… हर्दा–हर्दा…!’ पानीभित्र नाक थुनेर कति बस्न सकिन्छ र ! छोड्छ भन्छु, छोड्दैन । अब त छोड्छ होला भन्छु, फेरि पनि छोड्दैन । त्यसरी लुकीडुम खेल्दा, बुढी कबडी वा सादा कबडी खेल्दा ‘भयो, भयो छोडिदे, आत्मसमर्पण गरेँ,’ भन्ने भाव जनाउने पासवर्ड थियो – हर्दा ! ‘हर्दा… ह… ह…!’ बोल्न पनि नसक्ने भइसकेँ । धन्न ईश्वरको कृपा भनौँ, मेरो बाँच्ने दिन । यत्रो दिन बाँच्नु पर्ने रै’छ, अझ कति बाँच्नु पर्ने हो ! के मर्थें ! कसोकसो गरेर कुबेरको हात फुस्कियो र सन्तोषलाई खेद्न थाल्यो । म त एकैचोटि अत्तालिएर, नर्भस भएर, खोलाको पिँध टेकेर जुरुक्क उठेछु । संसारै अर्को देखेँ । पूरै नर्भस । जसोतसो किनारको डिलमा पुगेर डङ्ग्रङ्ग लडेँ, उत्तानोचित । आधा घण्टा त बोली पनि आएन । सन्तोषले थाहा पाएछ । ‘ए, विद्याधर के–भो, के–भो,’ भन्दै छेउमा आएर बस्यो । दस मिनेट जति त्यत्तिकै भो । ‘केही होइन,’ जसोतसो सासले यति शब्द भनेछु । अनि घाम ताप्न पल्टिए जस्तो बहाना बनाएँ । के भन्नु ? उसले जानी–जानी गरेको भए पो । खेलमा ऊ पनि कुन सुरमा थियो, मारौँ भनेर त पक्कै समातेको थिएन । कसैद्वारा समातिएपछि वा बेसरी ङ्याकिएपछि समात्नेले चाँडै हार स्वीकार गरोस् र समातिनेले एकछिन अरू टिकिराखुँ, सजिलै हार किन स्वीकार गर्ने भन्ने बाल मनोविज्ञान हुन्छ । यस्तोमा समात्नेले ‘हर्दा बोल !’ भनेर खेलमा हार स्वीकार गर्न पर्याप्त मौका दिने अलिखित आचारसंहिता हुन्छ । ‘सडेल’ भनेर काम थाल्दा अलिअलि गल्ती भए पनि भुलचुक लिनेदिने हुन्थ्यो । तर, कुबेरले न सडेल भनेको थयो, न हर्दा बोल ! ‘जाऊँ हिडौँ अब, पुग्दापुग्दा पाँच घन्टीको बेला ठिक्क हुन्छ,’ सन्तोषले भन्यो । म पनि जुरुक्क उठेँ र भिजेको कट्टु खोलेर नीलो हाफ–पेन्ट लगाएँ । कुबेरले यो कुरा थाहा पायो कि पाएन, थाहा छैन । तर, त्यही दिन हो मैले पानीभित्र सास थुनेर, आँखा चिम्लेर पनि अलिकबेर बाँच्न सकिन्छ भन्ने थाहा पाएको । त्यसपछि म अरू–अरु पटक पनि सुनसरी वा कक्रु–कुरुवामा पौडी खेल्न जाँदा नाक थुनेर सास रोकेर कतिबेरसम्म पानीभित्र बाँच्न सकिन्छ भनेर समय लम्ब्याउने अभ्यास गरिरहन्थेँ । ००० बाल बेलामा पौडी खेल्न सिक्न खोजेको अनुभव पुल्ठेगौँडामा प्रयोग गर्नुबाहेक मेरो जिन्दगीमा त्यतिखेर अर्को कुनै विकल्प थिएन । आँखा चिम्लेको थिएँ । अन्धकार बढ्दै थियो । म किनारतिर पुगिन्छ कि भनेर हातखुट्टा पनि चाल्दै थिएँ । धमिलो–चिसो पानीले पनि आफ्नो काम गर्दै थियो । घरि भुमरीमा घुमाउँदै, घरि तलतिर हुत्याउँदै, मलाई जानु पर्ने बाटो देखाउँँदै थियो । तर, जारी कथा अनुसार म मर्ने बेला भएको थिएन । मात्रै बेहोस भएको थिएँ । यतिबेला भन्दा ठ्याक्कै स्वस्थानी कथाकी छिछि दूर–दूर गर्ने चन्द्रावतीको स्थिति । बग्दै दलदलमा लट्पटिँदै म यति पर पुगेर अड्किएँछु, जहाँ दिनभरि मलाई खोज्नेहरूको आँखा परेनछ । बुधबारको दिन थियो । राति एकाबिहानै जाल थाप्न आएका गुलाबी मुखियाको जालमा अल्झिएर म बाहिर आएँछु । हुने दिन । सोस माछा पर्यो, आज चाहिँ मधुवन हाटमा बेचेर रजियाको सबै उधारो तिर्छु भन्ने सोचेर जाल तानेको, हिलोले लत्पतिएको म बाहिर आएछु । मलाई केही थाहा छैन । यही पनि पछि मलाई गुलाबीले भनेको । त्यसपछिका पाँच वर्ष मैले बेहोस भएर बिताएँ । ठ्याक्कै त्यो फिलिमहरूमा हुन्छ नि ! कुनै ठूलो दुर्घटनामा परेर नायकले आफ्नो पुरानो कुराहरू सबै बिर्सिन्छ । र, त्यस्तो स्मृति फिर्ता नहुञ्जेलसम्म नयाँ परिवेशमा अर्कै बिन्दास जिन्दगी बाँच्छ । तपाईंलाई पत्यार लाग्दैन होला, भन्नका लागि भने जस्तो लाग्छ होला तर ठ्याक्कै त्यस्तै भयो मेरो जीवनमा पनि । शिवको लीला ! तपाईंलाई विश्वास लाग्दैन भने मैले जो–जो मेरा साथी भनेर अघि भनेँ, तिनीहरूमध्ये कसैलाई पनि म बीचमा पाँच वर्ष हराएको कुरा सोध्नुहोला । साला बहुलाहा भइसकेको छ, जे पनि भन्छ, भन्छन् । तिनीहरूले पनि पत्याउँदैनन् भने तपाईंलाई त विश्वास लाग्ने कुरै भएन । विश्वास नलागेर के गर्नु ? मैले जे भोगेँ, जे देखेँ, त्यो म क्रमशः भन्दै जान्छु । अनि पत्यार लाग्ला तपाईंलाई । अघि म पुल्ठेगौँडामा त्यसपछि के भयो भनेर भन्दै थिएँ । एक्चुअल्ली मलाई केही थाहा छैन, म पानीमा खसेपछि त्यहाँ के भयो ? यद्यपि विभिन्न फिल्महरू हेरेको आधारमा, उपन्यासहरू पढेको आधारमा म कल्पना गर्न सक्छु, एउटी प्रेमिकालाई आफ्नै कारणले प्रेमी त्यसरी आफ्नै आँखा अगाडि मरेको वा मर्दै गरेको देखेपछि के हुन्छ ? प्रहरीले लास पनि नभेटिएकाले बेपत्ताको सूचीमा राखेपछि त्यो दिन के भयो होला ? त्यसपछिका दिनहरू के भए होलान्, कसरी बिते होलान्, त्यो अहिले हामी कल्पना गर्न सक्छौँ । तर, सुवानीलाई नभेटी यसै भो भनेर भन्न सकिन्न । सिम्पल छ, त्यो कोसीमा खस्नुभन्दा अघि उनी म बुढेसकालको मायालाई कति माया गर्छिन् र त्यसका लागि उनी कति हदसम्म जान सक्छिन् भनेर थाहा पाउने प्रयास गरिरहेको थिएँ । र, त्यो प्रयास मेरो आजसम्म यथावत् छ । सुवानीको हालत त्यो दिन के भयो ? ००० हराएका दिनहरूमा म विष्णुप्रसाद भएँ । ती दिनहरूमा मैले जति पनि लेख लेखेँ, खोज अनुसन्धान गरेँ ती सबै विष्णुप्रसादका नाममा सार्वजनिक नै छन् । मेरो नाम विष्णुप्रसाद हुनुमा पनि एउटा विचित्रको संयोग छ । जसले मलाई जालमा पारेका थिए, उनी विष्णुका परमभक्त थिए । महाकवि देवकोटालाई लक्ष्मीको प्रसाद माने जस्तो उनले मलाई विष्णुको प्रसाद ठानेँ । र, रक्सी लागेका साथीहरूलाई जबर्जस्ती ताली बजाउन लगाएर मेरो नाम अनुमोदन गराए । भला, अहिले सोच्छु उनले त्यो नाम राखेर पनि राम्रै काम गरेछन् । किनकि मेरो टिप्पनको नाम पनि विष्णुप्रसाद नै थियो । चिसो छिप्पिसकेको थिएन । तर, कोसीबाट पानीको हरक आएर साँझ–बिहान चिसै हुन्थ्यो । पर्सिपल्ट गुलाबी मुखिया र उनका दुई जना दरपिया साथीहरू क्याम्प–फायर जस्तो बीचमा घुर बालेर बसेका थिए । म पूर्व फर्केर एउटा कर्चीले एउटा प्लास्टिक जस्तो केही कोट्याउँदै थिएँ । भर्खर छ बजेको थियो । उनीहरू शून्य समयपछि जाल लिएर पूर्वी डुबानतिर जानेवाला थिए । पुतपुताउँदो धूँवा आगो भएर हुर्रर बल्न खोज्दै थियो तर सकिरहेको थिएन । एकचोटि फू गरेर फुकेको त धूँवा म भएतिर बटारिएर आयो । भिक्स दले जस्तो पिरपिर गर्दै आँखाभरि आँसु भयो । ‘क्या हो, विष्णुप्रसाद सर ! सानोमा खोलातिर फर्केर खुब पिसाब फेर्नुभएको रै’छ । त्यही भएर धूँवाले निकै माया गर्दो रै’छ तपाईंलाई,’ राजन चन्द्रवंशीले मलाई जिस्क्याए । सबै गललल हाँसे । मलाई हाँस उठेन । सानोमा कुन खोलातिर फर्केर मैले पिसाब फेरेको थिएँ ? कहाँ बितेको थियो मेरो बालककाल ? को हुँ म ? कोसीको भङ्गालोले मलाई कहाँबाट बगाउँदै गरैयाटप्पु ल्याइपुर्याएको हो ? कति घण्टासम्म म बगे हुँला ? केही थाहा थिएन कसैलाई । मलाई जिस्क्याउने राजनलाई त झन् के थाहा ! त्यही बेला गुलाबीले एउटा सानो–सानो खरको मुठो घुरमा हाले । आगो ह्वार्रर हुर्केर झलमल्ल भयो । उज्यालोमा देखियो गुलाबी मुखियाको कान्छी पट्टिको जेठो छोरो – माछा इन्जिनियर ! उसको वास्तविक नाम विजयकुमार मुखिया थियो । चानचुन १० वर्ष । पहिलो दिन मैले यो भाइको नाम के हो ? भनेर सोध्दा गुलाबीले ‘माछा इन्जिनियर’ भनेर चिनाएका थिए । सिमसारमा, पोखरीतिर माछा मार्न, गङ्गटा समाउन सानैदेखि सिपालु भएकाले त्यसो भनेका रे ! स्कुलमा नाम लेख्न त लेखाइएको थियो तर उसको दुई–तिहाइ समय पानीमै बित्थ्यो । ‘माछामा पिएचडी गरेको छ यसले,’ गुलाबीले छोराको परिचयमा यस्तै शब्द प्रयोग गरेका थिए । कुरा सुनेर म फिस्स हाँसेको थिएँ । तर यतिखेर हाँस्नुपर्ने परिस्थिति थिएन । देब्रे हातमा एउटा चरो, दाहिने हातमा एउटा किताब र बाइनाकुलर समातेर माछा इन्जिनियर उभिएको थियो । चरो जिउँदै थियो । उँधोमुन्टो पारेर खुट्टा समातिराखेको थियो । ‘दिउँसो मधुवन गएको थिएँ । फर्किँदा आँपगाछीदेखि अलि वर खर–घारीमा पाँच–छ वटा चरा रहेछन् । समाउन खोजेको भागी हाले । यो सानो चाहिँ अत्तालिएर घारीमा अल्झियो । समाएर आउँदै थिएँ, घाटनेर ढुङ्गामा यो किताब र यो क्यामेरा राखेको रहेछ,’ कसैले केही सोध्नुअघि माछा इन्जिनियरले स्थानीय लवजमा बेलीबिस्तार लगायो । ‘धुर… क्यामेरा नै छे, दुरबिन छे,’ कैलु मलाहा बोल्यो । मैले सुरुमा बाइनाकुलर त्यसपछि चरा भएको हाततिर हेरेँ । चरो सानो–सानो, छिर्केमिर्के, लामो खुट्टा भएको अलि फरक खालको थियो । चुच्चो हेर्दा हाँस जस्तो, जीउ हेर्दा कुखुराजस्तो । तर, न हाँस न कुखुरा । ‘कुन चरा हो यो ?’ मैले सोधे । ‘बच्चा तित्रा,’ गुलाबीले भने । ‘ल, यो किताब तपाईंलाई काम लाग्ने रै’छ । चरो चाहिँ पोलेर खानुपर्छ । खोइ ल्या त हेरौँ के रै’छ यो,’ गुलाबीले छोराको हातमा झुन्डिरहेको बाइनाकुलर तान्दै भने, ‘हो त नि, दुरबिन त रै’छ नि । अस्ति राजकुमारको हातमा पनि यस्तै देखेको थिएँ ।’ त्यसपछि सुरु भयो मिसन खरमयुर । दुर्लभ सानो खरमयुरको खोजी । #फन्टुस फिक्सन #सुविद गुरागाई
मान्छेको मान्छे: म अर्थहरूसँग भौतारिइरहेको मान्छे म शब्दहरूको रहरमा ब्यप्त भई यो सहरको कहरमा गुम्सिएको मान्छे साहराहरू संचयबाट टाढा गई म अस्थिरतामा दिशा खोजिरहेको मान्छे । मेरो प्रेम भावबाट विचलित भइरहँदा म आँैशीमा जून खोजिरहेको मान्छे । जब आशाका किरणहरू ओसिएर जान्छन् अनि नदेखेका सपनाहरू छेदविछेद हुन्छन् म त्यही अङ्गभङ्ग मष्तिक लिएर अविश्वासको टुक्रोमा हिँडिरहेको मान्छे । अर्धपनमा बाडुल्की मार्दा अवचेतनाका आगन्तुकहरू अर्धचेत भइरहँदा म अधबैँसे समयमा आधार खोजिरहेको मान्छे म मान्छे आधा अधुरा मेरो चरमोत्कर्षण अपुरा पूर्णकालिन बिम्बमा म आदिम पराक्रमसँग जुधिरहेको मान्छे । म हराएको मान्छे म सपनाको मान्छे, म विपनाको मान्छे म भीडहरूको मान्छे म एकान्तको मान्छे म मूर्खहरूको मान्छे म सज्जनहरूको मान्छे अनि म मान्छेहरूको एक अनौठौ मान्छे । #मान्छेको मान्छे
पुस्तक परिचय: कथामा परदेशका पीडा: – रत्न प्रजापति हरेक मान्छेसँग कथा हुन्छ । कथा आफ्नै अथवा अरूका । तर सबैले कथा लेख्दैनन् । त्यसैले सबै कथाकार हुँदैनन्, बन्दैनन् । कथा लेख्नेहरू कथाकारका रूपमा चिनिन्छन् । नचिनिएका कथाकार पनि प्रशस्त छन् समाजमा । कथा लेख्दैनन्, तर सुनाउँछन् । कथा लेख्नेले पनि सबैले आफ्नो कथा लेख्दैनन् । धेरैले अरूकै कथा लेख्छन् । थोरैले मात्रै आफ्नै कथा लेख्छन् । आफ्नो कथा सार्वजनिक गर्न नचाहनु स्वाभाविक हो । कथाभित्र व्यथा पनि हुन्छन् । ती व्यथा अरूलाई सुनाउन नचाहनु पनि स्वाभाविक नै हो । सुनाउनुचाहिँ राम्रै हो । किनभने दुख बाँडे घट्छ, सुख बाँडे बढ्छ । कथा लेख्नेले घरदेशमा बसेर लेखेका छन् । परदेशमा बसेर पनि कथा लेखेकै छन् । लेख्नेका लागि धेरै कथा छन् घरदेशमा र परदेशमा पनि । आफ्नै जिन्दगीका कथा, समाजका कथा र देशदुनियाँका कथा धेरै लेखेका छन् कथा लेख्नेहरूले । अझ विभिन्न कारणले परदेशमा पुगेका र त्यहीं कर्म गरी बसेका कथाकारले पनि उतैको घटना, दुर्घटना, पात्र, चरित्र र परिवेशमा धेरै कथा लेखेका छन् । यसरी परदेशमा बसेर उतैका घटना, दुर्घटना, पात्र, चरित्र र परिवेशलाई कथावस्तु बनाएर लेखिएका कथाहरूको एकमुष्ट सँगालो हो ‘परदेशका कथा’ । विशेषगरी उत्तरी अमेरिकामा बसोबास गर्ने नेपाली कथाकारहरूले लेखेका दुई दर्जन कथाहरू यो सङ्ग्रहमा समेटिएका छन् । कथाकारमा वरिष्ठदेखिे कनिष्ठसम्म छन् । फरक–फरक भावभूमिका मीठा कथानुभूतिले सङ्ग्रहलाई पठनीय र सङ्ग्रहणीय बनाएका छन् । यन्त्रले चल्ने र यन्त्रझैं चल्नुपर्ने देशमा रहेर काम गरिरहेका नेपाली कथाकारले कथा लेख्ने फुर्सदचाहिँ कतिखेर पाउँछन् ? कथासङ्ग्रह पढ्नुअघि पाठकको मनमा यस्तो प्रश्न उब्जिन सक्छ । मासिक तलबभन्दा पनि दैनिक अझ घण्टे ज्याला थाप्ने श्रमजीवीहरूले श्रम गर्ने समय उबारेर कथा लेख्नुलाई आफ्नो भाषा र साहित्यप्रतिको माया र लगावको रूपमा लिनुपर्छ हामीले । यसरी विदेशमा बसेर पनि नेपाली भाषा र साहित्यलाई माया गरेकैले नेपाली भाषा र साहित्यलाई समृद्ध बनाउन मद्दत पुगेको छ । यसमा हामीले गर्व गर्नुपर्छ । ‘परदेशका कथा’ डायस्पोरामा बसेर लेखिएका डायस्पोरिक कथाहरूको सँगालो हो । कथाकार जुन स्थानमा बसेका छन् त्यही सेरोफेरोका कथा छन् सङ्ग्रहमा । अर्थात् फरक भावभूमिका फरक कथानुभूतिहरू छन् । जुन कथानुभूतिहरूले पाठकलाई फरक–फरक स्वादको रसास्वादन गराउने छन् । जुन स्थान र परिवेशमा बसेर कथा लेखे पनि कथाभित्रका सुख, दुख, आँसु, हाँसो, प्रेम र पीडाको अनुभूति त उस्तै नै हुँदारहेछन । ‘परदेशका कथा’ पढेपछि यस्तै महसुस हुन्छ । पुस्तक : परदेशका कथा विधा : कथा सम्पादक : कृष्ण कुसुम\\गणेश घिमिरे प्रकाशक : शिखा बुक्स संस्करण : प्रथम, २०७६ माघ पृष्ठ : २३९ मूल्य : ३७५\\- कथामा कल्पनाका उडन्ते गफभन्दा कथाकारले देखेका र भोगेका यथार्थलाई कथाको विषयवस्तु बनाइएकाले कथामा काल्पनिकता भन्दा यथार्थता झल्किन्छ । कल्पनाको रोमाञ्चभन्दा यथार्थको युगवोध गराउने क्षमता हरेक कथाले बोकेका छन् । द्वन्द्वको पीडा सबैतिर छन् भन्ने यथार्थलाई धेरैवटा कथाले बोलेका छन्, चाहे त्यो नेपालको होस् वा साल्भाडोरको । सबै खालका पीडितहरूको सपनाको देशचाहिँ अमेरिका नै बनेको यथार्थ पनि धेरैवटा कथाहरूले बोलेका छन् । नेपालको पूर्वलडाकूदेखि साल्भाडोरकी लडाकूसमेत अन्ततः अमेरिका नै पुगेका छन् । डायस्पोरिक जीवनशैली बुझ्न मद्दत गर्छ यो कथासङ्ग्रहले । प्रारब्ध अथवा नियति र कर्मले डायस्पोरामा बस्न पुगेका नेपालीका कथा र व्यथा पनि छन् सङ्ग्रहभित्रका कथाहरूमा । प्रेम, पीडा, विछोड, बाध्यता, बन्धन, यौन, शोषण, एकाकीपन, पहिचानको खोजी, अर्थमोह र जिजीविषा कथाहरूका मुख्य विषयवस्तु हुन् । सङ्ग्रहका कथाहरूले पाठकलाई रोमाञ्चित बनाउँछ । संवेदित बनाउँछ । सुखी बनाउँछ । दुखी बनाउँछ । कतैकतै यौनको आवेगले उत्तेजित पनि बनाउँछ । अनि धेरै पात्रहरूप्रति सहानुभूति पनि जगाउँछ । पाठकलाई अन्त्यसम्म तानिराख्न सफल छन् कथाहरू । पाठकको मनमा उत्सुकता जगाउँदै अन्त्यसम्म डो¥याउन सफल भएकैले पाठकीय अभिरुचिका दृष्टिकोणले कथाहरू सफल छन् । एउटै कथासङ्ग्रहबाट भिन्नभिन्न स्वादका कथाहरूको रसास्वादन गर्न पाउनु र डायस्पोराका विविध जीवनका पाटा र जीवनशैली बुझ्न पाउनु यो कथासङ्ग्रहको विशेषता हो । सङ्ग्रहका कथाहरूमा अग्रज कथाकारसँगै अनुज कथाकाका कथा पनि समेटिएका छन् । तर अनुज कथाकारका कथा अग्रज कथाकारका कथाभन्दा कुनै पनि कोणमा कम्तिका चाहिँ छैनन् है । बरु उम्दा पनि छन् कुनै–कुनै कथा । यो निकै सुखद पक्ष हो । कथा पढ्दै गर्दा अनुज कथाकारले नै कथा लेखनमा बढी मिहिनेत गरेको महसुस हुन्छ । सङ्ग्रहका केही कथाहरूले ‘हामी त यहाँ आएर फस्यौँ–फस्यौँ, अब तिमीहरूचाहिँ यहाँ नआओ है’ भनेर भन्न खोजेजस्तो अनुभूति पनि पाठकहरूले गर्नेछन् । धेरैजसो कथामा विदेशमा बस्दाका चुनौतीका कुरा मात्रै आएका छन् । त्यहाँ उपलब्ध हुने अवसर र त्यहाँका सकारात्मक पक्षहरूको चित्रण कथामा त्यति भएको पाइँदैन । कथामा दुखका कुरा मात्रै भनेर संवेदना र सहानुभूतिको अपेक्षा राख्ने होइन । सुखका कुरा पनि भन्नुपर्छ । यस्तो चाहिँ भएको देखिंदैन । सम्भवतः फन्ट परिवर्तन गर्ने क्रममा ध्यान नपुगेर होला, धेरै शब्दहरू बिग्रिएका छन् । यसले गर्दा पाठकलाई दाँतमा ढुङ्गा लागेको महसुस हुनसक्छ । कतैकतै त अर्थको अनर्थ लाग्नसक्ने सम्भावना पनि छन् । विशाल देशमा छरिएर रहेका नेपाली कथाकारका कथा सङ्ग्रह तयार पार्ने सम्पादकद्वय कृष्ण कुसुम र गणेश घिमिरेको प्रयत्न प्रशंसनीय र सराहनीय छ । कथासङ्ग्रह पठनीय र सङ्ग्रहणीय छ । #परदेशका कथा #परदेशका पीडा
शिक्षक हराएको सूचना: प्रकाशकुमार शर्मा “भन्नुस् कति कामले आउनुभयो ?”, त्यस महिलालाई केही अलमलिएजस्तो देखेर ड्युटीमा रहेको प्रहरी जवानले सोध्यो । महिलाको साथमा एउटा १२/१३ वर्षकोझैं देखिने केटो पनि थियो । दुवैका मुख मास्कले छोपिएका थिए । महिला केही बोल्न खोजी तर सकिन । जवानले सहयता कक्ष लेखिएको ठाउँतिर जान सङ्केत गर्\u200dयो । त्यहाँ पुगेर उसले दर्ता गराई; श्रीमान हराएको सूचना; नाम‚ वतन‚ हुलिया विवरणहरू टिपाउँदैजाँदा उसका आँखाबाट खसेका आँशु सेतो मास्कलाई छिचोलेर छातीमा टप्किए । साथ लागेको केटो छोरो रहेछ‚ “नरुनू मामु”, भन्दै पकेटबाट न्याप्किन झिकेर आँशु पुछिदियो । …………………………………………………………. सरकारले गत चैत १० गतेदेखि मुलुकलाई पूर्णरूपले लकडाउन घोषित गरिसक्नु पहिल्यैको फर्मानले मुलुकभरका शैक्षिक संस्थाहरू बन्द भइसकेका थिए । घरबाट उसलाई एकोहरो एउटै प्रश्न गरिरहन्थे, “कहिले आउने ?” ऊ अर्थात यस कथाको हराएको पात्र राजधानीको एउटा निजी शैक्षिक संस्थामा अध्यापन गर्थ्यो । खासमा उसलाई घर फर्किने मन थिएन । चीनको वुहान महिनौंदेखि देशका अरु भूभागबाट अलगथलग पारिएको उसलाई राम्रै हेक्का थियो । विश्वका अन्य मुलुकले गरेको बन्दाबन्दीको अभ्यासलाई हेरेर उसले के लख काटेको थियो भने नेपालले १ हप्तालाई गरेको यो बन्दाबन्दी त्यहीँ नै गएर टुङ्गिनेवाला छैन । “घर गएको दुईचार दिनसम्म त रमाइलै होला तर त्यसपछि ? उसको मनले आफैलाई प्रश्न गरिरहन्थ्यो । घर फर्किने भनेर झोलामा लुगाफाटो हाल्दै गर्दा पनि उसलाई यो प्रश्नले चिमोटिरह्यो । बिहान झिसमिसे नहुँदै उसले डेरा छोड्यो । चकमन्न सडकमा ट्याक्सी बत्तिदा पनि उसलाई फेरि उही प्रश्नले झस्कायो‚ “घर गएको दुईचार दिनसम्म त रमाइलै होला तर त्यसपछि ?” ठूलै जोरजुलुम गरेर उसले गाडीमा बस्ने ठाउँ पायो । “कता आइपुगिस् ?, राम्ररी आएस् ।, मास्क छ कि छैन ?, स्यानिटाइजर छुट्यो कि ?, “जहाँ पायो त्यहीँ पानी नकिन्नू‚ खाना नखानू ।”, पचासभन्दा बढी कलमार्फत आएका परिवार‚ आफन्त तथा शुभेच्छुकका सल्लाहसुझावलाई विना झर्को स्वीकार्दै र “हस् हुन्छ” भन्दै ऊ अबेर राति घर आइपुग्यो । साँच्चै त्यो पहिलो रात उत्सवमय थियो । भोलिपल्टदेखि त समाजमा देखा पर्नु नै थियो । “गाउँ आउन मन नगर्नीलाई कोरोनाले लखेट्यो ।” “अब आउनीहरूलाई त क्वारेन्टामा राख्नी हो गरे !” “बाइरबाट आ’गा मान्छ नु करुना हुन्छ गरे ।” “केइ दिनलाई बाइर कतै नानिस्की घरैमा बस्या राम्रो ।” यी र यस्तै प्रत्यक्षपरोक्ष प्रश्नहरू‚ सल्लाहहरू‚ चेतावनीहरू र व्यङ्ग्यहरूसँग ऊ जुधिरह्यो । उसले अनुमान गरेजस्तै भयो । लकडाउन एक साता अर्को साता गर्दै थपिँदै जाँदा जेठको महिना पनि त्यसै बित्ने छाँट देखियो । सुस्तरी सुस्तरी उसलाई लाग्न थाल्यो‚ “म आफ्नै घरमा हेपिँदैछु । छोराछोरीले पनि मलाई टेर्न छोडे ।” “सबैका छोराले शहर पसेको वर्षदिनमै प्रगति गरे; मेरो छोरो यत्रा वर्ष शहर बसेर क्या गर्\u200dयो ? त्यै प्राइवेट क्याम्पस पराउँछ त्यै पनि सरकारी भया एउटा कुरा । लकडाउन भैगो‚ तलबसलब पनि नाआउनी होला ।” एकदिन खाना खाँदै गर्दा बुबाले अप्रत्यासितरूपमा कुरा निकाले । उसलाई त्यो गाँस निलुँ कि ओकलुँ भयो । जवाफ ऊसँग थिएन चुपै रह्यो । राती सुत्दा अनायासै उसको मुखबाट खुइय सुस्केरा निस्क्यो । स्वास्नीले सोधी‚ “के भयो ? बुबाको कुराले नरमाइलो लाग्यो‚ हो ? “होइन ।”‚ भनेर ऊ कोल्टे फर्कियो । “बुबाका कुरा एकदमै ठीक हुन् ।” स्वास्नीले आगोमा घीउ थपी । तर ऊ अझै चुपचार नै रह्यो । “म स्वास्नी होइन ? मैले सोध्न मिल्दैन ? मलाई नबोलीनबोली सताउन ल्याको ?” अनेक घुर्कीको सामना उसले गरिरह्यो तर जवाफ दिने मन पटक्कै रहेन । हार खाएकी स्वास्नी रुँदै र केटाकेटी पिट्दै आफ्नो आक्रोश मत्थर पार्न थाली । ऊ हराउनु केही दिन अघिको रात “क्याम्पस पढाएर कसैलाई पुग्या छ ? सुनिताको बुढोले पनि त डिग्री पढेको हो; फर्निचर पसलबाट मालामाल भयो । गीताको बुढो पनि डिग्री होल्डर हो; हार्डवेर पसलले भैंसेपाटीमा बंगला ठड्याइसके अरे । नुमाको बुढो त्यही प्राइभेट क्याम्पस भनी रुँगेर बसेको भए त्यो महल ठडिन्थ्यो ? घरजग्गा कारोबार गरेर कहाँबाट कहाँ पुगिसके । फलानाले सेयर कारोबार गर्छ । फलानाको होलसेल छ । फलानाले मान्छे विदेश पठाउँछ । दिदी बहिनीका अगाडि भन्न मुख देखाउनै लाज भइसक्यो । यही बूढो घर कतिसम्म कुर्नि हो ?” स्वास्नीले एक होइन अनेक गुनासो एकसाथ गरी । “के अब म चोर्न जाम त ? जानेको त्यही कलम घोट्ने काम हो; त्यस कामको कमाइ यस्तै हुन्छ ।” जवाफमा उसले यत्तिमात्र भन्यो र कोल्टे फर्कियो र निदाएको बहाना गर्\u200dयो । अर्को तिर कोल्टे फर्केकी स्वास्नी निकैबेर आफैसित गनगन गरी‚ झर्किई र अन्तमा आफ्नै कर्मलाई सराप्दै रुदै निदाई । रातभर उसको मनले अन्तरसंघर्ष गरिरह्यो । स्नातकोत्तरको पढाई पूरा गरेपछि कामको लागि‚ कमाउनको लागि राजधानीमा गरेको संघर्ष सम्झिइरह्यो । खाएका हन्डर र पाएका ठक्करहरू सिनेमामा फ्ल्यासब्याकमा देखाइने दृष्यहरूजस्तै घुमिरहे । आफूसँगै संघर्ष सुरु गरेका दौंतरीहरू र आफ्नो पछिल्लो पुस्ताको तरक्की र असफलताहरूलाई पनि दाँज्यो । ……………………………….. दूधवालाले तलबाट चिच्याएपछि उसकी स्वास्नीको निद्रा खुल्यो । ओछ्यानमा लोग्नेलाई देखिन तर मतलब पनि गरिन | समय ढल्किँदै गएपछि भने उसको धैर्य टुट्न लाग्यो । बिहानभरि त उसले मर्निङवाकमा गएहोलान् वा कतै यतैउतै वैरागी भएर‚ “बग्ने खोलो वा सुसाउने सल्लो”, हेरेर बसेका होलान् भन्ठानी तर जब मोबाइल पनि स्विचअफ देखायो ऊ निकै आत्तिई र सबैतिर हारगुहार गरी । कसैले मेसो पाउन नसकेपछि ऊ पुलिसचौकीतिर दगुरी । “साँच्चै त्यो मास्टर कहाँ गयो यो बन्दाबन्दीमा ?” #शिक्षक हराएको सूचना
मानिसको सबैभन्दा ठूलो शत्रु ‘रिस र ईर्ष्या’: समाजका हरेक व्यक्तिको सबैभन्दा ठूलो शत्रु, रिस र ईष्र्या हो । यसले समाजमा कसैको पनि हित गर्दैन । यी दुबै मानिसका लागि हानिकारक छन् । रिस र ईष्र्या दुबै सबैको हृदयमा रहेको हुन्छ । तर, रिसलाई घमण्ड र आक्रोसको प्रतीकका रूपमा मानिन्छ भने ईष्र्यालाई सजग र प्रेरणाको प्रतीकका रूपमा पनि लिन सकिन्छ । समाजमा जसले एक अर्काको रिस गर्दछ उसले कहिल्यै पनि प्रगति गर्न सक्दैन । तर ईष्र्या लिएर आफूभित्रको कमी कमजोरीलाई औंल्याउन सके हरेक व्यक्तिले आफूलाई अझ सजगता अपनाएर अग्रसर हुन सक्दछ । अनि, आफ्ना कमी–कमजोरीलाई सुधार गर्दै झन उन्नति र प्रगति गर्न सफल रहेको हुन्छ । नारायणप्रसाद न्यौपाने रिस मानिसको डरलाग्दो शत्रु हो । यसको आवेगमा मानिसले के राम्रो र के नराम्रो केही पनि सोच्न सक्दैन । रिसले चुर भएको अवस्थामा कुनै पनि मानिस ठण्डा दिमागले सोच्न सक्दैन । आफ्ना अगाडि जताततै अन्धकार देखाइदिन्छ । को आफ्नो को पराई केही चिन्दैन । यसले हरेक मानिसको मस्तिष्कलाई नै खलल पु¥याएको हुन्छ । अनि व्यक्तिलाई अत्यन्तै बेचैन बनाएको हुन्छ । त्यसैले रिस उठ्यो भन्दैमा समाजको एक असल र सचेत व्यक्तिले आफ्नो रिसलाई देखाउनु हुँदैन । रिसलाई पैतालाले कुल्चिएर भित्रै दबाएर राख्न सक्नु पर्दछ । रिस देखाउनु भनेको अशान्त र आक्रोसमा आउनु हो । यसले कसैको पनि भलाई गर्न सक्दैन । हरेक कुनै पनि व्यक्तिभित्र रहेको रिस एक अर्कामाथि जाइलाग्ने खालको मानसिक प्रतिक्रिया हो । यसले समाजका कुनै पनि वर्गलाई फाइदा गर्दैन । जब मानिस आफूले भनेजस्तो नभएपछि रिसाउँछ, असन्तुष्ट रहन्छ । तब उसको मानसिक रुपमा मात्र नभई अनुहारमा समेत परिवर्तन हुन्छ । उसमा एक किसिमको डरलाग्दो स्वभाव देखिन्छ । यो अवस्थामा त्यस्तो व्यक्तिले पछिका लागि केही पनि सोच्नै सक्दैन र चाहदैन पनि । अनि के राम्रो के नराम्रो, के ठीक र के बेठीक, अनि को आफ्नो को पराई केही पनि छुट्याउन सक्दैन । अनि यस्तो अवस्थामा मानिसले जघन्य अपराधहरू पनि गर्न सक्दछ । सोच्दै नसोचेका र कल्पनै नगरेका घटनाहरू पनि घटाउन सक्दछ । त्यसैले रिस मानिसको ठूलो शत्रु हो, यसबाट बच्न र बचाउँन सक्नु पर्दछ । रिस उठ्नुको मूल कारण निराशा हो । हरेक व्यक्ति आ–आफ्नो कार्यमा लागेको हुन्छ । चिन्तनशील रहदै श्रम र पसिना पोखिरहेको हुन्छ । आफ्नो लक्ष्यमा पुग्नका लागि उसले अथक प्रयास गरेकै हुन्छ । अनि आफूले प्रयास गर्दागर्दै जुन खालको बाँधा अड्चन आउँछ र व्यक्ति असफल हुन पुग्दछ । अनि आफ्नो लक्ष्यमा पुग्न असफल भएको कुण्ठालाई उसले रिसद्वारा प्रकट गरेको हुन्छ । यस्तो रिस आफ्नो कमजोरीबाट भएमा आफैप्रति आक्रोसित भएको हुन्छ भने आफ्नो कार्यमा अरु कसैको बाधा अड्चनबाट भएको हो भने उक्त व्यक्तिप्रति नै रिस जगाएको हुन्छ । समाजका हरेक व्यक्तिमा रिसको भाव हुन्छ । कतिपय व्यक्तिले आफूभित्र रहेको त्यो रिसको भावलाई तुरन्त बाहिर प्रकट गर्न चाहदैनन् र भित्रभित्रै दबाएर राखेका हुन्छन् । अनि एक्लै भएको अवस्थामा निरास र कुण्ठित हुन पुग्दछन् । अनि, आफ्नो जीवनलाई संयमित बनाउन नसक्नेहरू शारीरिक रूपमा पनि कमजोर बनेका हुन्छन् । समाजमा त्यस्ता व्यक्तिले कसैलाई पनि दोष नदिई आफ्नो कमजोरीबाट आफैलाई हिनताबोध गर्न पुग्दछन् । अनि आफ्नो जीवनलाई नै बोझका रूपमा लिन पुग्छन् । जसलेगर्दा कहिलेकाही सोच्दै–नसोचेका घटनाहरू समेत घटाउँन पुग्दछन् । त्यसैगरी कसैले आफूभित्रको त्यो भावलाई तुरुन्तै अभिव्यक्त गर्न चाहन्छन् । आफ्नो खुबी, क्षमता र स्वभावलाई तुरुन्त देखाउँछन् । अनि आफ्नो कमजारी नहेरी अरूलाई मात्र दोष दिन्छन् । समाजमा यस्तो स्वभाव भएका व्यक्तिका साथी भाइहरू पनि अलिकम नै हुन्छन् । जसलाई कसैले पनि विश्वास गर्न सक्दैन । समाजमा त्यस्ता व्यक्तिलाई मूर्ख पनि भनिन्छ । जब मानिस आफूले समाजमा विभिन्न कार्यहरू गर्दा पनि सफल हुन सक्दैन, अनि ऊ निरास हुन थाल्छ । मानिस आफूले गरेका कार्यहरूमा निरास भएपछि सबभन्दा पहिला उसले आफ्नो कार्यमा बाधा अड्चन ल्याउने व्यक्तिमाथि जाइलाग्न थाल्दछ । त्यसबाट पनि ती बाधा अड्चनहरू हराएनन् । मानिसले छुटकारा पाउन सकेन भने त्यसले उसलाई अझ थप निरास बनाएको हुन्छ । अनि व्यक्ति आफैले आफै प्रति पनि रिस गर्न पुग्दछ र आफूलाई नै धिक्कार्न थाल्दछ । यसबाट व्यक्ति आफूले आफैलाई संयमित राख्न सक्दैन । अनि त्यो रिसको आवेगमा उसले आत्महत्या जस्ता घटनाहरू पनि घटाउन पुग्दछ । त्यसैले रिस हरेक मानिसलाई कमजोर बनाउने तत्व हो । यसबाट सधँै सजग रहन सक्नु पर्दछ । त्यसैगरी मानिसलाई अहित गर्ने अर्को तत्व हो ईष्र्या । मानिसलाई ईष्र्या पनि दुई कारणले हुने गर्दछ । जब कुनै पनि समाज वा संघ सस्थाबाट व्यक्ति आफूले पाउँदै आएको सुविधाबाट बञ्चित हुन चाहदैन । जब आफूले प्राप्त गर्न सक्दैन भने त्यसलाई अरू कसैले पनि प्राप्त गर्न नसकोस् भन्ने चाहन्छ । जब आफूले प्राप्त गर्न नसकेर अरुले त्यसलाई प्राप्त गर्न थाल्दछ । अनि, आफू त्यसबाट बञ्चित हुनु पर्दछ भने त्यसबेला उक्त व्यक्तिमा ईष्र्या पैदा हुन्छ । जस्तो पढ्ने विद्यार्थीका लागि कुनै बखत आफ्नो कक्षाकोठामा लिडरसीप (मनिटर) आफूले चलाइरहेको अवस्थाबाट अरुले लिदाको अवस्थामा होस् अथवा आफूले प्राप्त गरेको नतिजा, सम्मान र प्रतिष्ठालाई अरू कसैले प्राप्त गर्न थाल्यो, आफूलाई उछिनेर अगाडि बढ्यो भन्ने बोध हुन्छ त्यो अवस्थामा नै व्यक्तिमा ईष्र्या पैदा भएको हुन्छ । अनि यस्तो ईष्र्याबाट व्यक्तिले प्रेरणा पनि लिएको हुन्छ । जसले उसलाई आफ्नो कार्यप्रति अझ उत्साहित र मिहिनेती बन्नका लागि प्रेरित गरेको हुन्छ । भनिन्छ “ईख नभएको मानिस र विष नभएको सर्प” उस्तै हुन्छन् । जसरी मानव समाजमा सर्पको महत्व रहन गएको छ, त्यसैगरी एक सचेत व्यक्तिमा अरुले गरेका कार्यहरू प्रति ईख हुनु आवश्यक छ । यसले हरेक व्यक्तिलाई आफ्नो लक्ष्यमा पु¥याउँन ठूलो मद्यत गर्दछ । ईष्र्या कुनै पनि व्यक्ति विशेषले गरेको कार्यप्रति रहन्छ । अनि त्यसको भलो भन्दा पनि कुभलोको चाहना गरिन्छ । आफ्नो भन्दा कम उन्नति र प्रगति हुन सकोस् आफ्नो मात्र हित होस् अनि अरुको हानी नोक्सानी बढोस् भन्ने चाहना राखेको हुन्छ । त्यसैले हरेक समाजमा ईष्र्याले व्यक्तिलाई स्वार्थी बनाएको हुन्छ । समाजका हरेक व्यक्तिमा अरुलेभन्दा आफूले मात्र बढी गर्न सकूँ र राम्रो गर्न सकूँ भन्ने चाहना राख्नु राम्रो हो । यो भावना र चाहनाले व्यक्तिको साथसाथै समाजको पनि उन्नति र प्रगति भएको हुन्छ । जस्तो उदाहरणका लागि पढ्ने विद्यार्थीले आफ्नो कक्षा कोठामा प्रथम भएको विद्यार्थीलाई देखेर ईष्र्या गर्नेले स्वयं आफूलाई पनि प्रथम हुनका लागि प्रेरित गरेको हुन्छ । अनि, आफ्नो पढाइलाई पनि निरन्तर रुपमा अगाडि बढाएको हुन्छ । अनि, यस्तै विभिन्न किसिमका प्रतियोगितामा भाग लिने क्रममा पनि एकले अर्कोलाई उछिन्ने उत्प्रेरणा बढी जागृत गराएको हुँन्छ । यसले व्यक्तिको मात्र नभई विभिन्न संघ संस्था र समाजको पनि हित गरेको हुन्छ । यस्तो खालको ईष्र्यालाई रचनात्मक ईष्र्या भनिन्छ । त्यसैले समाजका हरेक व्यक्तिमा ईष्र्या होस् त रचनात्मक खालको हुन आवश्यक छ । न कि व्यक्तिवादी चिन्तनले समाजको हित हुन सक्दैन । समग्रमा समाजका हरेक व्यक्तिभित्र रिस र ईष्र्याको भावना रहेको हुन्छ । यो स्वभावले कसैको पनि हित र उन्नति गर्दैन । मानिस भित्रको रिस साह्रै खतरनाक हुन्छ । यसको प्रतिक्रिया बिनासकारी हुन्छ भने ईष्र्या त्यस्तो बिनासकारी हुँदैन । रिसलाई रचनात्मक रूपले उपयोगमा ल्याउन सकिदैन भने ईष्र्याको भावलाई रचनात्मक रूपमा उपयोग गर्न सकिन्छ । जसलेगर्दा समाजको एक सचेत नागरिकका लागि अरूले गरेको उन्नति र प्रगतिमा ईष्र्या गर्नु भनेको आफूले पनि त्यो भन्दा अझ बढी राम्रो गर्नुपर्छ भन्ने भावको बोध हुनु हो । यस्तो ईष्र्या सकारात्मक हो । यसले मानिसलाई प्रगति तर्फ उन्मुख हुन प्रेरित गर्दछ । त्यसैले रिस मानिसको सबैभन्दा ठूलो शत्रु हो भने ईष्र्या मानिसको हरेक कार्यमा प्रेरित गर्ने प्रमुख तत्व हो । समाजका हरेक व्यक्ति यी दुवैबाट सधैँ सजग रहनु आवश्यक छ । #रिस र ईष्र्या
बुर्ज खलिफाबाट दुबईलाई नियाल्दा: तीर्थ सिग्देलको प्रकाशोन्मुख कृति बुर्ज खलिफा, दुबई मलबाट सुरु भएको हाम्रो यात्रा कहिले पाम जुमेरातिर मोडिन्थ्यो त कहिले फरारी वल्र्डको रोलरकोस्टरमा । कहिले होटलहरुमा चीसो बियरसँग हिन्दी गीतको लाइभ सुन्दै मजा त कहिले डेजर्ट सफारीमा तातो बालुवासँग खेल्दै गरेको अनुभव । डेजर्ट सफारीसँगै बेली डान्स र ऊँटको सफारीसँगै बालुवामा बाइक राइडिङ । बालुवाको खानीबाट अस्ताउँदो सूर्यको निक्कै दुर्लभ दृश्य । दुबई मल पछाडि र बुर्ज खलिफाको अगाडि उभिएर वाटरडान्स हेर्दा मनै रमाउने । कुनै दिन आबुधाबी त कुनै दिन फूजेरा र शारजहाँ । जता पुगे पनि संसारमै नमूना विकासको अभ्यास भइरहेको दृश्य हाम्रा आँखामा कैद भइरहेका थिए । छिटो र छरितो शैलीमा मुलुकको विकास कसरी गर्ने भन्ने सिक्ने र सिकाउने थलोको रुपमा विकसित भइरहेको दुबईले गरेको प्रगतिको कथा त कुनै दिन यसरी लेख्नु नै थियो । मैले यसकै लागि दुबईका सकेसम्म सबै महत्वपूर्ण ठाउँ घुम्ने प्रस्ताव साथीहरुलाई गरेको थिएँ । र उनीहरुलृ स्वीकारेका थिए । झापाली भाइ मणिराम रामानुजदास पर्याप्त साथ दिएका थिए । एउटा सपनाको सहर । संसारकै तिव्र गतिमा विकसित हुँदै गरेको देश । विश्वमै सबैभन्दा बढी पर्यटक तान्ने मुलुक । ठूलो, अनौठा र भयानक चिजहरु निर्माण गरेर विश्वसँग प्रतिस्पर्धा गरिरहेको मुलुक । युएई सयर गर्ने हाम्रो सपना यसरी पूरा भइरहेको थियो । बुर्काको देशमा बेली डान्स ? धेरै रोमाञ्चक र रमाइलो क्रियाकलापहरूमा सम्लग्न हुनुभन्दा पनि बेडौइन शैली तम्बुमा दुई घण्टा खर्च गरेर बालुवाको सागरमा बेली डान्स हेर्नुको मजा बेग्दै थियो । डेजर्ट सफारीबाट फर्केपछि बालुवाको तम्बुभित्र बसेर बियर र स्न्याक्सको स्वादमा अफगानिस्तानी युुवतीहरुको बेली डान्स हेर्ने रहर पूरा भयो । बुर्काको देशमा बेली डान्स ? यो संसारमै प्रसिद्ध छ । हामीले सोचेको खाडी मुलुक, त्यसमा पनि मुस्लिम देश । हामी जे सोचेर दुबई पुगेका हुन्छौं, त्यसको ठीक उल्टो पाउँछौं । पर्यटकहरुका लागि सबै प्रकारका सुविधा दिने प्रचलन रहेछ, त्यहाँ । त्यो देखेर छक्क पर्छौं । जिन्दगी त्यो रफ्तार हो, त्यहाँ जो दौडन सक्छ । त्यही अगाडि जान्छ । भोलि कहिल्यै आउँदैन, आजको एकदिन नै जीवन हो । जति वर्ष बाँचे पनि जिन्दगीको गन्तव्य एक दिनले नै तय गर्छ । त्यो एकदिन, त्यो एकपलले भावी दिनको निर्धारण गर्छ । त्यही एकदिनले फैसला गर्नेछ, बाँकी जीवनको । त्यही एकदिन हामी त्यहाँ पुगेका थियौं । जिन्दगीमा कति दिनसम्म मरिमेट्नु ? कमसेकम केही दिनलाई भए पनि आनन्द लिन पाए हुन्थ्योजस्तो सबैलाई लाग्छ । हामी पनि यही लालसा बोकेर त्यहाँ पुगेका थियौं । त्यहाँको डेजर्ट सफारी संसारमै डरलाग्दो र जोखिमपूर्ण छ । डराइडराई हामीले डेजर्ट सफारी गर्यौं । ठूलो मरुभूमिभित्र तातो हावासँगै चिसो बालुवामा खालीे खुट्टाले हिँड्नुको मजा बेग्लै हँुदो रहेछ । शरीरले बाफ लिएजस्तो लाग्ने । हात खुट्टा र जिउ दुखेर लखतरान भएको बेला तातो पानीमा खुट्टा चोबेजस्तो, बाथरुममा पसेर तातेपानीले नुहाएजस्तो, समुद्रमा नुहाइसकेपछि बाहिर निस्केर बालुवामा ढाड फर्काएर सुतेजस्तो भान हुने । त्यहाँ हामी सबैले आकासमा उडेजस्तो गरेर फोटो खिच्यौं । जता हेरे पनि रातो र तातो बालुवाबाहेक केही देखिन्न । पारी साउदीको बोर्डर र त्यतातिर देखिएको सेतो पहाडले आँखा तानिरहन्थ्यो । पठानीहरु डेजर्ट सफारीका लागि माहिर मानिन्छन् । वर्षौँदेखि उनीहरुको कामै यही हो । ल्याण्डरोभर गाडीमा विदेशीहरुलाई बोकेर बालुवामा गाडी नै पल्टिने गरी कुदाउँदा पनि उनीहरुलाई डरै लाग्दैन । बरु हामीले शरीरमा बेल्ट बाँधेका छौँ । कमसेकम गाडी पल्टिए पनि लड्न त लडिदैन । कहिले बालुवाको पहाडको टुप्पोमा त कहिले तराईको फाँटमा हामी चढेको गाडीले लड्न चै लडाएन । डरै डर बोकेर झण्डै दुई घण्टाभन्दा बढी हामीले बालुवामा रैफाँडो गर्यौं । कतिबेला गाडी पल्टिएर मरिएलाजस्तो भएपनि हामीले डराउँदै डराउँदै, कराउँदै कराउँदै पठानीहरुको ड्राइभको प्रशंसा गर्यौं । जात, धर्म, संस्कार, संस्कृति एउटा कुरा हो । मान्छेले सोच्ने र भोग्ने अर्को कुरा हो । यस्तो भावना मनमा खेलिरहेको बेला अबुधाबीमा रहेको शेख जाइद ग्रेन्ड मस्जिदबाहिर टहलिँदै गर्दा एक हुल महिलाहरु देखिए । गोरागोरा अनुहार परेका तर सबैले बुर्का लगाएका । म छक्क परें । खासमा उनीहरु चाइनिज रहेछन् । बुर्का लगाएर मस्जिद आएका । यसको अर्थ मैले डेजर्ट सफारीमा गाडीको सफारी गर्नुअघि टाउकामा बाँध्न आग्रह गर्दै गाडी चालकले दिएको रुमाल सम्झिएँ । त्यो सब पर्यटक तान्ने योजना रहेछ । जहाँ जे पहिचान छ । खासमा पर्यटन त्यही हो । त्यो वस्तु र स्थानको प्रवर्धन नै पर्यटन हो । शेख जाइद ग्रेन्ड मस्जिद गैरमुस्लिमलाई पनि खुल्ला छ । यो उनीहरुको पर्यटन रणनीति हो । स्थानीयलाई बाहेक विदेशीलाई त्यहाँ जस्तोसुकै फेसन गर्न प्रतिबन्द छैन । नत्र सरकारले मरुभूमिमा बेली डान्स गर्ने अनुमति नै दिने थिएन । जहाँ अफगानी महिलाले देखाएको नृत्य हेर्न पर्यटकहरु तँछाडमँछाड गरिरहेका हुन्छन् । बाहिर देख्दा खुल्ला समाजजस्तो देखिन्छ । तर, हरेक मुस्लिम देशभित्र धर्मको शासन हुन्छ । पर्यटकहरुको आकर्षणका लागि त्यो कडाई नदेखिएजस्तो भए पनि त्यहाँ कानुन कडा छ । हामीलाई यात्रा गराउने रत्न भाइ भन्दै थिए, “सर…यो उनीहरुको पर्यटक तान्ने योजना मात्र हो । खासमा यहाँ शासन कडा छ ।” अकल्पनीय लाग्न सक्छ, यो दुबईको पर्यटक तान्ने योजना हो । देशको कानुन आफ्नो ठाउँमा छ । तर, पर्यटकहरुका लागि सबै सुविधा छ । डरको शासन हाम्रातिर यत्रतत्र सडकमा देखिने ट्राफिक न त्यहाँ थिए, न प्रहरी नै । केवल ट्राफिक कन्ट्रोलका लागि सडकमा जताततै राखिएको प्रविधिले चलेका छन्, सवारीका साधनहरु । रत्न भाइको अनुभवमा त्यहाँ डरको शासन चलिरहेको छ । खासमा डर पनि एकप्रकारले कानुन परिपालनका लागि जरुरी हुँदो रहेछ । हाम्रो देशमा न डर छ न कसैको भर छ । यदाकदा हाम्रो देशमा रक्षक नै भक्षक भएका घटना पनि छन् । खासमा त्यस्तो नहुनुपर्ने हो । कानुन र नियम भनेकै मान्नका लागि हो । त्यो पालन नगर्ने हो भने त्यसको कुनै अर्थ हुँदैन । दुबईका चौडा सडकहरु नाप्दै गर्दा देखिएका दृश्यहरुले हाम्रो देशको, खासगरी काठमाडौंको ट्राफिक समस्याको याद आउँछ । जहाँ न कानुन छ, न शासन छ । ट्राफिक आइल्याण्डमा एउटा ट्राफिक प्रहरीले सिटी फुकेको भरमा कसरी ट्राफिक कन्ट्रोल होला ? त्यहाँ कसैले पनि सडकमा ट्राफिक नियम उलंघन गर्दैन । राजपरिबारकै सदस्य किन नहोस् ? उसले पनि ट्राफिक नियम उलंघन गरेमा कारबाही भोग्नु पर्छ । कुनै कारणवश कसैले ट्राफिक नियम उलंघन गरेको भए त्यो सूचना तत्कालै त्यहाँ जोडिएको प्रविधिले पठाउँछ । र, त्यही सूचनाका आधारमा स्वतः उसको नाममा फाइन गरिन्छ । त्यो फाइनको बिल उसको घरमा वा कार्यालयमा पुग्छ । त्यसपछि उसले अनिवार्यरुपमा फाइन बुझाउनै पर्छ । हाम्रो मुलुकमा पनि यस्तो नियम बन्ला ? मलाई यता फर्केपछि यस्तो लाग्यो, हाम्रो देशमा यदि यस्तो नियम बन्ने हो भने काठमाडौंतिर चल्ने सवारीका साधनहरु र तराईतिरका कतिपय सार्वजनिक बस कति दिनसम्म सडकमा गुडिरहलान् ? मलाई लाग्छ, ती गाडीले फाइन तिरेर नै सक्ने छैनन् । कमसेकम एक महिनामा त उनीहरुले फाइन तिर्नकै लागि सवारीका साधन बिक्री गर्नुपर्ने हुन्छ । संसारमा कुनै पनि एउटै वादले मात्र विकास गरेको उदाहरण छैन । लोकप्रिय शासन पद्धति भनेको लोकतन्त्र हो । अहिलेको संसारकै सफल अभ्यासको रुपमा यसलाई लिइन्छ । लोकतन्त्र बिना विकास सम्भव छैन, लोकतन्त्र बिनाका देशले प्रगति गर्न सक्दैनन् भन्ने बुझेर बसेका हामीहरुको दिमाग त्यहाँ पुगेपछि मात्र खुल्छ । (प्रकाशोन्मुख नियात्रा संग्रह “एकदिनः समयकथा” बाट)
बबुरो मनुवा: शून्य समय ! न हतारो छ कहीँ पुग्ने न चटारो छ मैझारोको निर्जन यो बाटो लम्पसार छ एक्लै अपितु मनुक्खेकोे कोकोहोलोको प्रतिक्षामा छ । सायद बिर्सियो पनि होला स भयङ्कर पाइतालाहरूको गर्जन तछाड मछाड गर्दै भरदिन भररात आफैँलाई कुल्चिएको । कहिले कोमल कोमल पाइतालाको स्पर्शको यादमा होला कसैले प्रत्येक पाइलामा ठेस लाग्ने चाहाना गर्दा ऊ ती कोमल पाउमा सानो गिर्खा नपरोस् कामना गथ्र्यो । प्रकृतिको वात्सल्यलाई गिल्ला गर्दै अहंकारको पुष्पकमा विराजमान मनुक्खे आज कत्रो कष्टदायक घडीमा छ । क्षुद्र विचारको भरिया बनेको ऊ अन्तिम श्वासको घिटघिटोमा के अन्तस चेतनाबाटै अपसोसमा होला ? अदृश्य निर्जीवको हायलकाय छ सर्वत्र कसरी धकेलौँ मृत्युलाई एकपल पछाडि एउटा खोजमा छ बबुरो मनुवा । तर ऊ भाग्दाभाग्दै थाकेको छ थाक्दाथाक्दै भागिरहेछ , भागिरहेछ । फगत एक कायाका लागि एक गाँस काटेरै पनि आयु बढाउन भगिरथ प्रयत्नशीलमा छ ऊ । तर अझै सुकिसकेका छैनन् आशाका त्यान्द्राहरू के आकास ? के पाताल ? मडारिँदो छ क्रुद्ध आँधीको रुप देखिदैछ कालो बादल यत्र तत्र सर्वत्र ओहो ! सायद यस्तै भयंकर प्रलयकै प्रतिक्षामा थियो मनुक्खे । एक थान पेटका लागि मात्र एक थान हिजो ठेगान थिएन आराम विरामको दुई तिहाई काम चैथाई आराम पनि मुश्किल थियो शतप्रतिशत पट्यार लाग्दो छुट्टिमा छ आज मनुक्खे । #महेश फुयाँल
एघारौं दिशाको यात्रा: हिजो राति सपनामा म आकासमा तैरिरहेको रहेछु । म नजिकै एक जना मानिस हतार हतार सूर्य प्रकाशझैँ तेज गतिमा उडिरहेको देखेँ । उसको अनुहारमा व्याकुलता झल्कन्थ्यो भने उसका गहिरा गहिरा आँखाले गहनतम खोज अनि दृढता झ्ल्काउँथे । यद्यपि व्याकुल देखिए पनि अनुहारमा एक किसिमको दिप्ति थियो, जाज्वल्यमान आभा थियो वरिपरि । अनि बिल्कुलै नग्न कुनै वस्त्र थिएन शरीरमा । कति निर्दोष अनुहार बालकझैँ, म मन्त्रमुग्ध भएँ कति सुन्दर शरीर कुनै मूर्तिकारले वर्षौ मिहिनेत गरी घन छिनुले छाँटेको झैँ देखिन्थ्यो । अनि सोच्न बाध्य भएँ कि यत्रो विशाल आकास जसको न कुनै छेउछाउ नै देखिन्छ कहाँ जाँदै होला यो मान्छे फेरि यति हतार केका लागि ? मैले उत्साहपूर्वक सोधेँ, “मित्र कहाँ जाँदैछौ यति हतार हतार? सब ठीकठाक त छ ?” उसले अलि अप्ठेरो महसुस गर्यो उत्तर दिन, अलि अन्कनाएजस्तो, अविश्वास गरे झैँ बताउन नचाहेजस्तो अलि शंकालु नजरले उसले मेरा दुई आँखामा अपलक निहार्यो । फेरि उस्को मुहारमा एक कान्ति प्रष्ट झल्कियो । सायद बुझ्यो उस्ले मैले सोध्नकै लागि सोधेको थिइनँ, मात्र औपचारिकता थिएन प्रश्नमा गहिरो मुमुक्षा थियो । झिल्का झिल्का नै सही खरानी मात्र थिएन अँगेनामा, भित्रभित्र ज्वलन्त अङ्गारका झिल्काहरु थिए । श्वास चल्थ्यो सायद धुकधुकी बाँकी थियो अझै, बिल्कुलै ठण्डा भएको थिइनँ, मुटु धड्किदै थियो बन्द भैसकेको थिएन । उसको पारदर्शी नजरसामु जति नै खरानीले ढाके पनि झिल्काहरु लुकिरहन सकेनन् सायद, उसले निर्धक्क हुँदै उत्तर दियो, “म मन्दिर जाँदैछु मित्र ।” “मन्दिर जाँदैछौ ? ” मैले आश्चर्यचकित हुँदै उस्को उत्तर लाई पुन: प्रश्न बनाउँदै भनेँ, “अनि निर्वस्त्र जान्छौ, खै त पूजाको थाली, धुप, दीप ? खै वस्त्र, आभूषण, सजावट, शृंगार ?” उसले भन्यो, “मित्र मन्दिर जाँदा पनि आफूलाई वस्त्र आभूषण ले ढाकेर, आफ्ना कुरुपता ढाक्नलाई सजावट शृंगार गरेर जानू ? फेरि कहाँ छ त्यस्तो ठाउँ जहाँ म आफू हुन सकूँ, आफूलाई पूरा पूरा जस्तो छु त्यस्तै व्यक्त गर्न सकूँ ?” उसको कुराले म झसङ्ग भएँ मेरो आँखा खुले झैँ भयो । उसको प्रतिप्रश्नको कुनै उत्तर थिएन मसँग । मैले फेरि सोधेँ, “अनि खाली हात जान्छौ ? आराध्य देवलाई के चढाउँछौ नि मित्र ?” उसले मतिर हेर्दै भन्यो, ” के छ र यहाँ मेरो आफ्नो जीवन बाहेक मित्र, म मेरो जीवन चढाउँछु । प्रत्यक मुठ्ठी स्वास, मुटुका ढुकढुकिहरु, आशा र अभिलाषाहरु सबै सबै चढाउँछु । म निशब्द भएँ उसका शब्दहरूले, कति बेजोड थिए उसका शब्द, कुनै शास्त्री पण्डितले किताब कण्ठ गरेर भनेका शब्द थिएनन् । उसका शब्दहरु मात्र शब्दहरु थिएनन्, अनुभवको बल थियो शब्दमा । सुन्नेलाई चुनौती थिए उसका शब्दहरू । आज मैले कहिल्यै नसुनेको कल्पनासम्म पनि नगरेका वाणीहरु सुनेको थिएँ । अब म मात्र सुनिरहेको थिइनँ, उसका प्रत्येक शब्दहरु पिउन र उसले जिएझैँ जीउने आतुरता ममा पैदा भैसकेको थियो । म फेरि अर्को प्रश्न सोध्छु उसलाई, “अनि यत्रो आकाशमा कुन दिशा जान्छौ मित्र ? कुनै मार्ग विशेष पनि त देखिदैन ?” उत्तरमा उस्ले भन्यो, “एघारौँ दिशा, जीवन यात्राको कुनै पूर्वनिर्धारित बाटो हुँदैन मित्र, न कुनै राजमार्ग नै छ । बाटो त हिँडेपछि बन्छ जति हिँड्यो त्यति बन्छ। जान्छौ तिमी पनि ?” म झस्किएँ अरु कसैलाई पो भनेको हो कि दृष्टि घुमाएर यताउति हेरेँ । चारैतिर कोही थिएन निस्तब्धता थियो, चकमन्न बिल्कुल सुनसान । म डराएँ हल्का उस्ले भनेको सम्झेँ, “एघारौं दिशा,” “मार्ग त हिँडेपछि बन्छ !” मैले बुझिन कुरा दस दिशा त थाहा थियो मलाई तर एघारौं दिशा ? फेरि जति हिँड्यो त्यति बन्ने बाटो , यस्को मतलब प्रत्येक पाइला अज्ञातमा टेक्नु पर्ने भयो, म तिल्मिलाएँ, ममा भय पनि थियो तर श्रद्धायुक्त। चारैतिर कोही नदेखेपछि मैले मलिन स्वरमा सोधेँ -“को, म ? ” उसले बुझ्यो सायद मेरो भय, असमन्जस्यता । अलि कडा स्वरमा गर्जदै मेरो आखामा आँखा जुधाएर उसले भन्यो, “अँ तिमी, हिम्मत छ ?” उसले यति भन्नु मात्र के थियो उसकाे आँखाबाट बिजुलीको एक लप्का वर्षिएर ममाथि पार्यो । म छाँगाबाट खसेजस्तो भएँ । छिन्नभिन्न भएँ, एकातिर उजाडिएझैँ लाग्थ्यो अर्कोतिर बगैँचा बसाएझैँ लाग्थ्यो । भय पनि थियो उत्सुकता पनि थियो । कुनै रहस्यले छोपेझैँ म शून्यमा हराएझैँ भएँ । कतै मन्द मन्द सुमधुर बाँसुरी बजेझैँ सुनिन्थ्यो । फेरि मैले एकैछिनमा आफूलाई आफ्नै मनको एक कुनामा पाएझैँ लाग्यो । फेरि बिस्तारै बिस्तारै मैले उसलाई देखेँ उसको अधरमा मुस्कान थियो, मप्रति प्रेमको अटुट धारा ऊबाट वर्षिरहेको पाएँ । मेरा ओठहरुले पनि ऊप्रति कृतज्ञता महसुस गर्दै मुस्कुराएँ । अब मैले एघारौं दिशाको मतलब बुझिसकेको थिएँ । अनि पहिलो पहिलो पाइला अज्ञात भूमिहीन भूमिमा राखिसकेको थिएँ। फेरि ऊ देख्दा देख्दै शून्यमा बिलायो, यता म पनि निद्राबाट ब्युँझिएँ। हिजो म सपानाहरु भित्र हराएको थिएँ, सपनाहरु भित्र निसास्सिएको थिएँ। आज मभित्र सपनाहरु अकासिएका छन् । हिजो म विगतलाई सम्झदै रुनेहरुमा थिएँ तर आज म वर्तमानको आँगनीमा भविष्यका सुन्दर सुन्दर गीतहरुमा नाच्नेहरुमा छु । यहाँ मर्नकै लागि बाच्नेहरु छन् बाँच्नकै लागि मर्नेहरु पनि छन् । जसरी दिनको पर्दामा रात र रातको पर्दामा दिन लुकेको छ, के त्यसैगरी जीवनको पर्दामा मृत्यु र मृत्युको पर्दामा जीवन लुकेको छैन ? #सुबास बजगाईं
आधा सगरमाथा: विश्वविद्यालयको पहिलो आधावर्षे सत्र समाप्तिको नजिकै थियो । नयाँ ठाउँको नयाँ परिवेशमा खुबै रमाइलो भइरहेको थियो । यदाकदा परिचय हराउनुको सिवाय अन्य केही हराएको थिएन । बेला बेला देश चिनाइरहनु पर्ने र आफ्नो पहिचान स्थापित गरिरहनु पर्ने समस्याको अलावा त्यस्तो खास समस्या केही थिएन । देशको नाम भन्नेबित्तिकै सबैले अनुहारमा दया भाव देखाउँदै ‘आर्मेस् लाण्ड !’ भन्थे । हुँदाहुँदा कोसोभो जस्तो देशबाट शरणार्थीका रुपमा आएका बस चालकले समेत ‘आर्मेस् लाण्ड’ भनेर भन्थे । ‘आर्मेस् लाण्ड’ अर्थात् गरिब देश । सुन्दा मेरो अभिमान एकछिनलाई चकनाचुर हुन्थ्यो । देशमा छँदा कसैले मलाई गरिब भनेन । गरिखाएकै थिएँ । बाहिर आउँदा देशको नामसँग परिचय जोड्नु पर्ने बाध्यता आउँदा सधैँ गरिब भनेरै चिनिएँ । हो, तिनै घडीहरुमा लाग्ने गर्थ्यो देश भनेको देशै हो । हामी जति पर पुगे पनि या व्यक्तिगत रुपमा जति सफल भए पनि जबसम्म देश बन्दैन हामीलाई चिन्नेहरुले ‘आर्मेस् लाण्ड’का नागरिक भनेरै चिन्छन् । तर पनि केही तिक्तताहरुमाझ पनि हाँसेकै थिएँ । कक्षामा राम्रै परिचय बनाएको थिएँ । विश्वविद्यालयको औपचारिक पढाइ सुरु हुनुअघि जर्मन भाषाको दुई हप्ते कक्षामा भाग लिएको थिएँ । त्यसै कक्षाको अन्त-अन्ततिर देशको बारेमा सबैका सामु जर्मन भाषामा प्रस्तुति गर्नुपर्ने बेलामा दौरा सुरुवाल र ढाकाटोपीमा सजिएर जाँदा त खुबै मानमनितो पनि भएको थियो । मसँग फोटो खिचाउन खोज्नेहरुको घुँइचो नै लागेको थियो । त्यसै घुइँचोमा ऊ पनि सामेल थिई । ‘चिली ड्याङ्ग,’ उसले परिचयका लागि हात बढाउँदै आफ्नो नाम भनेकी थिई । ‘भरत भूर्तेल,’ ङिच्च हाँस्दै मैले पनि मेरो परिचय सुनाएको थिएँ । ‘बलत बुल्तेल,’ निकै कसरतपछि मेरो नाम समष्टिमा उच्चारण गरेकी थिई । त्यो पनि ‘र’ भन्नु पर्ने सबै ठाउँमा ‘ल’ उच्चारण गरेकी थिई, अनि ‘भ’का ठाउँमा ‘ब’ले काम चलाएकी थिई । निकै लामो प्रयास गरी सकेकीले मैले थप दुःख नदिने उद्देश्यका साथ उसको उच्चारण सही भएको भनेको थिएँ । बाउआमाले राखेको हुँदा खाँदाको ‘भरत भुर्तेल’ उसका लागि ‘बलत बुल्तेल’ बनेको थियो । त्यति भन्दाभन्दै पनि मुखको हाँसो भने रोकिएन । ‘हामी आउँदा नै विदेशीका लागि नाउँ उच्चारण सहज होस् भनेर अंग्रेजी नामहरु लिन्छौँ । मलाई यही मन पर्यो अनि यही लिएँ,’ उसले आफ्नो नामको बारेमा कथा सुनाएकी थिई । मेरो नामको कथा त सोझो थियो । बाउआमाले त्यही दिए । प्रमाण–पत्रमा त्यही दरियो । बरु उसले बिगारेकी हो । र, पनि मैले केही नभनी स्वीकारेँ । ‘हाम्रो भाषामा तिम्रो देशलाई निःबो अर् भन्छ,’ मैले ‘नेपाल, नेपाल’ भन्दा नचिने पछि तिब्बतको मुनिको देश भनेर चिनाएको थिएँ । प्रविधिको जमाना छ, मोबाइलमा देशको नक्शै देखाउन पनि के गाह्रो भयो र ! त्यति गर्दा उसले मलाई मेरो देशको चाइनिज नाम सिकाएकी थिई । निःबोअर् मलाई कताकता नेवार नेवार भनेको जस्तै लाग्यो । नेवार बस्ने ठाउँ भएकोले निबोअर पो भनेको हो कि जस्तो पनि मानेँ । ‘हामी हरेक विदेशी शब्दका लागि चाइनिज संस्करण खोज्छौँ ,’ उसले सफाइ दिँदै भनेकी थिई । उसले यसो भनिरहँदा मलाई हाम्रो देशका नयाँ पिँढीको सोचप्रति माया लाग्यो । बूढो पुस्ताले बोलेको अंग्रेजीको खिसी गर्नेदेखि लिएर भाषामा सकेसम्म अंग्रेजी मिसाउनुलाई नयाँ पिँढीले सामान्य मान्थ्यो । त्यो विकसित र सभ्य हुनुको परिचयजस्तै ठान्थ्यो । छेउमै त्यत्रो विशाल अर्थतन्त्र भएको देशमा भने हुँदाखाँदाको देशको नाम समेत स्थानीयकरण गरिन्थ्यो । त्यो त जर्मनीमा पनि अंग्रेजी भाषाको मनग्गे प्रभावका बाबजुद थुप्रै अंग्रेजी शब्दको जर्मन संस्करणहरु प्रयोगमा ल्याइन्थ्यो । सबैभन्दा प्रचलित र उल्था नगरिएको कम्प्युटरका लागि रेस्नर भन्ने शब्द प्रयोग गरिन्थ्यो । रेस्नरको अर्थ गणक या हिसाब गर्ने भन्ने हुन्छ । क्याल्कुलेटरलाई टासेन रेस्नर भनिथ्यो । हाम्रा देशमा दुवैको उल्था छैन । एउटा हो कि हो कि भन्ने जस्तो सुशांख्य जटिलताका कारण सामान्य ज्ञानको किताब घोक्नेबाहेक कसैलाई थाहा छैन । नभएका शब्द जन्माउन संस्कृतको साहारा लिनपर्ने भएकाले पनि नेपालीकृत शब्दहरु अलोकप्रिय भएका होलान् । नत्र दैनिक बोलीचालीका भाषाको शब्द टिपेका भए विदेशी शब्दको स्थानीयकरण सजिलो हुन्थ्यो कि ? ‘काठमाडौँलाई के भन्छ ?’ मनका तर्कना पञ्छ्याउँदै अलि रमाइलै होस् भन्नका लागि मैले थप प्रश्न सोधी हेरेँ । [bs-quote quote=”हुन त मेरो संसार नै कत्ति नै पो ठूलो थियो र ! उही पूर्व र पश्चिमको विभेद, हिमाल–पहाड–तराईको भौगोलिक भिन्नता, उपत्यका र उपत्यका बाहिरको विभेद, जातभातको विभेदमा अल्झेकाहरु माझको बसाइ न थियो !” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] ‘ज्यादमान्दु,’ उसले हौसिँदै काठमाडौँको चिनियाँ संस्करण सुनाई । आफ्नै देशको र राजधानीको नाम पनि फरक ठाउँमा फरक हुन सक्ला भन्ने मैले कल्पना गरेको थिइनँ । हुन त मेरो संसार नै कत्ति नै पो ठूलो थियो र ! उही पूर्व र पश्चिमको विभेद, हिमाल–पहाड–तराईको भौगोलिक भिन्नता, उपत्यका र उपत्यका बाहिरको विभेद, जातभातको विभेदमा अल्झेकाहरु माझको बसाइ न थियो ! चिलीलाई भेटेपछि मेरो देश प्रतिको माया झन्झन् बढेर आयो । उसले हरेक कुरामा देशको बारेमा सकारात्मक कुरा मात्रै गर्थी । देश र देशका शासकका बारेमा उसले कहिल्यै नराम्रो कुरा गरिन । ‘म पनि चिनीयाँ कम्युनिष्ट पार्टीको सदस्य हुँ । आस्थाले होइन, पछि काम पाउन सजिलो हुन्छ भनेर सदस्यता लिएकी हुँ,’ उसले आफ्नो राजनीतिक आस्थाका बारेमा सोध्दा जवाफ दिएकी थिई । छिमेकी देशकी हुनाले ममा पनि उसप्रति अलि आत्मियता जाग्यो । देशमा दक्षिणी छिमेकी प्रतिको भावना उति राम्रो छैन । विदेशमा त्यत्तिकै त थिएन र पनि सकेसम्म दक्षिणी भन्दा उत्तरी छिमेकीको संगतमै म बढी लहसिएँ । उसले त्यो दिन हामी दुवैको फोटो आफ्नो फोनमा कैद गरी । त्यही बहाना थियो मैले उसालाई फेसबुकमा फोटो पठाउन अनुरोध गरिहालेँ । ‘हाम्रोमा फेसबुक प्रतिबन्धित छ, वीच्याट चलाउँछौँ हामी त !’ उसले फेसबुक नभएको कुरा सुन्दा अचम्म लाग्यो । विकासमा हामीभन्दा उति अगाडि भएको देशको मान्छेको फेसबुक खाता नहुनु मेरो लागि अचम्मको कुरा थियो । त्यतिबेलासम्म मैले सम्पन्नता र विकासको परिचायक फेसबुक खातालाई पनि मानेको थिएँ । मैले आफ्नै खाता खोलेको दुई तीन वर्ष भएको थियो । ‘इमेल ? इमेल गर्दा पनि हुन्छ । इमेल त चलाउलान् नि तिम्रामा ?’ मैले खिसी गरेझैँ गरेर उसलाई सोधेँ । ‘हाहाहा… त्यो त चलाउँछन्, वीच्याटकै इमेल पनि हुन्छ,’ उसले जवाफ फर्काई । चिली ड्याङ्ग आधा वर्षे सत्रका लागि जर्मनी आएकी थिई । प्रत्येक आधा वर्षे सत्रमा ऊजस्ता थुप्रै चिनियाँहरु जर्मनी आएर पढ्दा रहेछन् । जर्मनीका अन्य विश्वविद्यालयहरुमा जस्तै हाम्रो विश्वविद्यालयले पनि विदेशी छात्रछात्राहरु सट्टाबट्टा गर्दोरहेछ । जर्मनीबाट चाइना जाने पनि उत्तिकै हुँदा रहेछन् । यो सब देखेर त मनमा नेपाली विश्वविद्यालयहरुसँग पनि यस्तै समन्यवय गर्न पाए त यिनले पनि नेपाल देख्दा हुन्, नेपालका विद्यार्थीहरुले पनि जर्मनी पढ्ने अवसर पाउँदा हुन् भन्ने भयो । फेरि यहाँको पढाइ आधा वर्षे सत्रहरुमा हुने नेपालको पढाइ एक वर्षे सत्रमा हुने हुँदा गाह्रो पो होला कि झैँ पनि लाग्यो । तर चाह्यो भने त शैक्षिक सत्र नै पनि आधा वर्षे बनाउन त किन सकिँदैनथ्यो ! देशको त्यत्रो राजनीतिक परिवर्तन भइसक्दा पनि शिक्षा क्षेत्रमा विश्वमा चलिआएको जस्तो व्यवस्था ल्याउँदा शैक्षिक अदलाबदलीका कार्यक्रमहरु पनि सहज हुने । [bs-quote quote=”विदेशमा छँदा यस्तै हो । जे राम्रो देख्यो, त्यो देशमा पनि भएको भए कस्तो हुन्थ्यो होला भन्ने लाग्दो रहेछ । यहाँका दुईतिर रुख भएका सडक देख्दा हाम्रा देशको दुईतिर तारका खम्बा र जालोहरुलाई यिनै हरिया रुख र तिनका पातले विस्थापित गर्न मन लाग्छ । यहाँको जस्तै फोहरमैलालाई कुहिने र नकुहिने मात्रै होइन, प्लास्टिक, जैविक, कागज, विद्युतीय औजार, लगायतको फरक-फरक वर्गमा छुट्याएर फोहरबाटै पैसो कमाउने योजना लागू गर्न मन लाग्छ ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] विदेशमा छँदा यस्तै हो । जे राम्रो देख्यो, त्यो देशमा पनि भएको भए कस्तो हुन्थ्यो होला भन्ने लाग्दो रहेछ । यहाँका दुईतिर रुख भएका सडक देख्दा हाम्रा देशको दुईतिर तारका खम्बा र जालोहरुलाई यिनै हरिया रुख र तिनका पातले विस्थापित गर्न मन लाग्छ । यहाँको जस्तै फोहरमैलालाई कुहिने र नकुहिने मात्रै होइन, प्लास्टिक, जैविक, कागज, विद्युतीय औजार, लगायतको फरक-फरक वर्गमा छुट्याएर फोहरबाटै पैसो कमाउने योजना लागू गर्न मन लाग्छ । अत्याधुनिक राजनीतिरहित विश्वविद्यालयका कक्षाहरु देशमा पनि होऊन् भन्ने लाग्छ । यहाँका गाउँघरका छानामा सोलार पाताले छाएजस्तै र खेत–खेतमा वायुमिल चलाएजस्तै नेपालमा पनि वैकल्पिक ऊर्जा श्रोतबाट देश उज्यालो बनाउन मन लाग्छ तर मन मात्रै लागेर नहुने ! चिली ड्याङ्गसँग पछिल्ला दिनमा पनि भेटहरु हुँदै गरे । जर्मन भाषाको कक्षाहरुमा त भेट हुन्थे नै, त्यसका अलाबा मेरा केही कक्षाहरुमा पनि ऊ उपस्थित हुन्थी । प्रायः चिनियाँ साथीहरुकै झुण्डमा बस्ने ऊ कहिलेकाहीँ भने मेरो छेउमा समेत बस्न आइपुग्थी । नभए म सधैँ एक्लो हुन्थेँ । सधैँ पहिलो बेन्चमा बस्ने भएकाले कक्षा कोठा नभरिँदाको अवस्थामा म एक्लै हुन्थेँ । कक्षा कोठा भरिएका बेला भने सबैभन्दा पछि कहीँ कतै विकल्प नपाएकाहरु र ढिला आएकाहरु मेरो साथी बन्न आइपुग्थे । चिली अन्य बेलामा पनि आइरहन्थी । आधा बाँडिएको सगरमाथाको नक्सा सन्धि गरिएको छाप सन्धिमा राजा महेन्द्र र चिनियाँ पक्षको हस्ताक्षर पछिल्लो बेच्नमा नबस्नुको पनि कथा छ । पछिल्लो बेन्चमा बस्ता कक्षाकोठाका सबैतिर ध्यान जाँदो रहेछ । कसले के गरिरहेको छ भन्ने चासोका कारण पढाउनेले के भनिरहेको छ भन्ने कुरामा कमै ध्यान जाँदोरहेछ । त्यसको अलाबा पहिलो बेन्चमा बस्दा न प्राध्यापकले केही भनी पो हाल्छन् कि भन्ने डरैले मात्रै पनि ध्यान दिन या ध्यान दिएजस्तै गर्न मन लाग्ने हुँदोरहेछ । त्यसैले मैले निकै पट्यार लाग्ने विषयहरुमा बाहेक अन्य विषयहरुमा सधैँ पहिलो बेन्चमै बसेँ । चिली बरु अलि अप्ठेरो मान्थी । ‘हामी चिनीयाँहरु अलि बढी नै लजालु हुन्छौँ, त्यसैले होला मलाई पहिलो बेन्चमा बस्न खासै मन लाग्दैन,’ ऊ पहिलो बेन्चमा सधैँ नआउनुको कारण भन्थी । ‘पछिल्लो बेन्चमा बस्यो भने म पढ्नै सक्दिनँ, अरुलाई हेरेरै समय कट्छ,’ म मेरो अघिल्लो बेन्चमा बस्ने कारण सुनाउँथे । ‘बाठा छौ है !’ ऊ मुस्कुराएर मलाई फुर्क्याउँथी । ‘तिमीलाई नेपाली खाना खुवाउँछु, आज फुर्सत छ ?’ हामी अलि निकै झ्याम्मिइसकेपछि मैले उसलाई खानाको निम्ता दिएको थिएँ । उसले सहर्ष स्वीकार्दै मेरोमा खाना आउने जानकारी दिई । ‘किन नआउनु ? खानको लागि त म जता पनि आउँछु,’ उसले हाँसो गर्दै भनेकी थिई । बोलाई त हालेँ तर के खुवाउनु के खुवाउनु भयो । भात त खुवाउने तर भातसँग के खुवाउने भन्ने भयो । अनि यसो जुक्ति निकालेँ । सामान्य दाल भात खुवाउँदा उसले भारतीय खाना भन्ली भनेर मैले पश्चिमको चोतोपल्यो खुवाउने निधो गरेँ । मुलाका गाना टर्किसका पसलमा जत्ति पनि पाइन्थे । तिनैलाई थिचेर भुट्यो अनि पीठो र बेसार पानीमा घोलेर बनाएको घोललाई हालेर उमाल्यो, गज्जब मीठो हुन्थ्यो । नुन, मसाला र खुर्सानी ठिक्क परेको बेलामा चौपट्टै मीठो हुन्थ्यो । अँ पाकी सक्दा चुक पनि हाल्नु पर्थ्यो । आउँदा ल्याएको गुन्द्रुक भिजाएर आलुसँग पछि फ्राई गरिँदिँदा पनि राम्रै तरकारी बन्थ्यो । त्यसमाथि दुई गेडा टमाटरलाई हल्का उमालेर नुन, चुक, खुर्सानी र हल्का मुम्फलीका दाना हालेर मिक्सरमा घोल्यो भने गज्जबको चट्नी तयार हुन्थ्यो । ‘ओ हो, यस्तो मीठो खाना मैले कहिल्यै खाएको थिएन,’ उसले खाना खाइसकेर प्रशंसाका पुल बाँध्दै भनेकी थिई । मैले खाँदा हरेकमा केही न केही कमी त महसुस हुँदै थियो तर उसले खाना स्वादिलो भएको घोषणा गरेपछि भने ढुक्कैले मीठै त भएछ भन्ने भयो । ‘पख म पनि तिम्लाई एकदिन खान बोलाउँछु,’ उसले मैले ख्वाएको तिरो तिर्नकै निम्ति भए पनि बोलाउने भई । ‘कैले बोलाउँछु भन्ने मलाई नै थाहा छैन, अलि कुर्नु पर्छ है ?’ चिली ड्याङ्ग चीनको एक सन्तान नीतिको उत्पादन थिई । बाबुआमाको एक्ली छोरी भएकाले उसलाई खर्चको कुनै समस्या हुँदैन थियो । बाबुको क्रेडिट कार्ड बोकेर ऊ बेलाबेला युरोपका विभिन्न देशहरुमा डुलिरहन्थी । कहिलेकाहीँ त उसको जीवन देखेर ईर्ष्या पनि लाग्थ्यो । ‘तिमी त अब लामै बस्छौ, जहिले गए पनि भैगो नि !’ ऊ मलाई सान्त्वना दिँदै भन्थी । म भने उसको जस्तै घुम्न पाए हुन्थ्यो भनेर कल्पिरहन्थेँ । [bs-quote quote=”नेपालका बारेमा जर्मन भाषाको कक्षामा जहिले जहिले नेपालका पर्यटकीय गन्तव्यका फोटोहरु गुगलबाट साभार गरेर देखाएँ, त्यहिले त्यहिले मलाई मैले आफ्नो देशका ती सुन्दर ठाउँहरुमा जान नपाएको मा ग्लानि महसुस भयो । दशौँ हजार परको युरोप यात्रा गर्ने आँट र साहस भएको मेरा लागि झापा र महेन्द्रनगरको करिब ११ सय चानचुन किलोमिटरको दुरी पनि निकै ठूलो बन्यो ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] हुँदो के रहेछ भने कुनै ठाउँमा लामो बस्यो भने त्यो ठाउँको वरपर पछि पनि घुमिन्छ भनेर नघुमिँदो रहेछ । नजिकको तीर्थ हेला भन्छन् नि, त्यस्तै हुँदोरहेछ । पछि कुनै दिन जाउँला नि भनेर टाढाकै ठाउँको सुर्ता मात्रै लिइँदोरहेछ । नेपालका बारेमा जर्मन भाषाको कक्षामा जहिले जहिले नेपालका पर्यटकीय गन्तव्यका फोटोहरु गुगलबाट साभार गरेर देखाएँ, त्यहिले त्यहिले मलाई मैले आफ्नो देशका ती सुन्दर ठाउँहरुमा जान नपाएको मा ग्लानि महसुस भयो । दशौँ हजार परको युरोप यात्रा गर्ने आँट र साहस भएको मेरा लागि झापा र महेन्द्रनगरको करिब ११ सय चानचुन किलोमिटरको दुरी पनि निकै ठूलो बन्यो । ‘औसतमा १५० किलोमिटर चौडा मेरो देशमा हिमाल, पहाड र तराई सबै किसिमका भूबनोट छ । दक्षिणबाट उत्तर तर्फको डेढ सय किलोमिटरको आकासे दुरी पार गर्दा ती सबै भूबनोट देखिन्छन्,’ विदेशीहरुलाई भने म सगौरव सुनाउँथे । आफैँ भने धनगढीबाट गोदावरीसम्म पुगेको थिएँ । अनि जर्मनीका लागि प्रक्रिया थाल्न काठमाडौँसम्म पुगेको थिएँ । त्यसबाहेक एक पटक क्याम्पसको भ्रमणका क्रममा पोखरासम्म पुगेको थिएँ । देश दर्शनका नाममा त्यत्ति हो । ‘पख न देश फर्कन त पाउँ, पचहत्तरै जिल्ला टेकेर आउँछु,’ मुस्किल छ भनेर जाँन्दाजान्दै मनमनै प्रण गर्थेँ । असम्भव त म भन्दैन किनभने पूर्व पश्चिम राजमार्ग गर्दै तराईका २२ जिल्ला त त्यसै छोइन्छन् । पहाडी जिल्ला पनि जाउँ भने मोटरसाइकलमा आँट्यो भने धेरैसम्म सकिन्छन् । ‘तिमीलाई खानाका लागि बोलाउने भनेको त्यसै भयो । माफ गर ल ! बरु यो शुक्रबार तिमी फुर्सदिला छौ भने एउटा निम्ता छ,’ उसले एक दिन विश्वविद्यालयमा भेट हुँदा भनी । आधा वर्षे शैक्षिक सत्र त हो ! बितेको के पत्तो हुन्थ्यो ? त्यो पनि जीवनमा यति धेरै कुराहरु एकसाथ भइरहेका थिए कि कहिले बित्यो पत्तै भएन । उसको पनि चीन फर्कने बेला हुन लागिसकेको थियो । म पनि परीक्षाको तयारीका लागि जुटेको थिएँ । अरु कोही भएको भए सायद म निम्ता स्वीकार्थिन हुँलाः चिली ड्याङ्गले बोलाएकी थिई । सहर्ष स्वीकार गरेँ । काम गर्ने ठाउँमा पनि अबेरसम्म कक्षा हुने भएकाले ढिलो आउने खबर गरेँ । काम त्यही त हो, दक्षिणी मित्रराष्ट्रको एक जनाको होटेलमा भाँडा धस्काउने थियो । ‘जर्मन भाषा आउँछ ?’ काम खोज्दै जाँदा उसले नेपाली भन्ने बित्तिकै अलि दयाभावका साथ सोधेको थियो । ‘त्यसो भए भान्सामा भाँडामाझ्ने काम मात्रै मिल्छ होला । हुन्छ ?’ उसले दया देखाउँदै विकल्प दिएको थियो । भाँडा माझ्ने काम किन नहुनु । जत्ति पनि हुन्थ्यो । दिनानुदिन युरो सकिँदै गइरहेको बेलामा खाना खाँदा समेत एक युरो बराबर सय रुपैयाँ भनेर हिसाब लाउँथे । हुन त अलि बढी नै हुन्थ्यो तर सयले गुणन गर्न सजिलो हुने भएकोले सयकै हिसाब चल्थ्यो । त्यसैले हिसाब धेरै बिग्रिनुअघि नै मस्काउने चम्काउने धन्दामा लागेको थिएँ । शुक्रबारका दिन कामको चाप अलि बढी नै हुन्थ्यो तर भाँडा मस्काउनेका लागि अलि ढिलो जाँदा समस्या पर्दैनथ्यो । आखिर होटेलका भाँडा आउने भनेको खाइसकेपछि हो । खाना खाने नै ६ बजे भन्दा अघि आउँदैनथे । त्यसैले साहुले पनि सकेसम्म चाँडो गर्नु भनेर मञ्जुरी जनायो । चीनबाट एक अर्धवार्षिक सत्रका लागि जर्मनी आएका चिनियाँ विद्यार्थीहरुले चिनियाँ साँझको आयोजना गरेका थिए । चिनियाँ नाचगान र प्रस्तुतिहरुका साथसाथै चिनियाँ परिकारहरु पनि राखिएको थियो । त्यसैमा उसले आफूले गरेको बाचा राख्नका लागि निम्ता गरेकी थिई । कार्यक्रममा चीनमा पढ्नका लागि गएका जर्मन विद्यार्थीहरुले समेत प्रस्तुतिहरु राखेका थिए । अरु धेरै कुरा याद नभए पनि उनीहरुले भनेको एउटा कुरा भने याद भयो, चीनमा जाँदा कण्डम बोकेर जानु पर्छ । उनीहरुले चीन जाने सुटकेसमा केके हाल्ने भन्दा कण्डम पनि सूचीमा राखेका थिए । शब्द देख्दै हेर्नेहरुको खित्का छुटेको थियो । पछि बुझ्दा त्यो अलि गहिरै मजाक थियो । चिनियाँ सामानको टिकाउपना माथि सधैँ प्रश्न खडा गर्ने गरिन्छ । त्यसैले जर्मनहरुले स्वदेशी कण्डम नै बोकेर जाने सल्लाह दिएका थिए । चिनियाँ प्रयोग गर्दा समस्यामा पार्न सक्छ भन्नेतर्फ संकेत गरेका हुनाले पनि हाँसो निकैबेर लम्बिएको थियो । [bs-quote quote=”प्रस्तोताले संसारको सर्वोच्च शिखर पनि चाइनामै रहेको भनेर बताउँदा बल्ल म निद्राबाट बिउँझिएको जस्तो भएँ । आफैँलाई होइन होला भन्दै मैले फेरि उसले देखाएको चित्रतर्फ नजर डुलाएँ । हैन भनेको त सगरमाथालाई नै हो । एकछिन त उठेर होइन भनौँ लागेको थियो । त्यत्रो भिड माझको एक्लो नेपाली भएकाले पनि बोलिहाल्ने आँट चाहिँ आएन । त्यसैले मनमनै भुट्भुटिँदै बसिरहेँ ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote] सबै ठीकै चलिरहेको थियो । कार्यक्रमको अन्तिममा चीनका बारेमा चिनियाँका तर्फबाट प्रस्तुतिको पालो आयो । चिनियाँहरुको सदाचारबाट सुरु भएर चीनको भूगोलसम्म कुरा पुग्यो । संसारकै पुरानो सभ्यताका रुपमा आफ्नो सभ्यतालाई चिनाउन चाहने चिनियाँहरु आफूलाई संसारकै केन्द्र मान्दारहेछन् । त्यसैले चीनको चिनियाँ भाषाको नाम च्वङ्गो रहेछ । प्रस्तोता चीनका बारेमा अन्य थुप्रै जानकारी दिइरहेका थिए । पट्यारजस्तै पनि लागिरहेको थियो अनि भोक पनि लागिरहेको थियो । प्रस्तुतिको पुछारतिर प्रस्तोताले संसारको सर्वोच्च शिखर पनि चाइनामै रहेको भनेर बताउँदा बल्ल म निद्राबाट बिउँझिएको जस्तो भएँ । आफैँलाई होइन होला भन्दै मैले फेरि उसले देखाएको चित्रतर्फ नजर डुलाएँ । हैन भनेको त सगरमाथालाई नै हो । एकछिन त उठेर होइन भनौँ लागेको थियो । त्यत्रो भिड माझको एक्लो नेपाली भएकाले पनि बोलिहाल्ने आँट चाहिँ आएन । त्यसैले मनमनै भुट्भुटिँदै बसिरहेँ । खाना खाने बेलामा चिली ड्याङ्ग पनि बाँड्नेहरुसँगै उभिएकी थिई । मलाई देख्नेबित्तिकै अलि बढी झुकेर अभिवादन र स्वागत गरी । ‘नि हाऊ !’ उसले चिनियाँ भाषामा अभिवादन गर्दा मलाई आज किन हो किन कर्कश सुनिन थाल्यो । ढाडे बिरालोले म्याउ गरेको जस्तो लाग्यो । सधैँ सुन्दर लाग्ने व्यक्ति एकाएक रिस उठ्दो लाग्यो । मेरो देशको गौरव चोरेकोमा ऊसित साह्रै रिस उठ्यो । सधैँ मेरो शीरको टोपी बनाएर राखेको सगरमाथामा आज एकाएक उसले र उसका साथीहरुले हमला गरेकी थिई । देशभक्तिको भावलाई एकछिनलाई पाखा लाएर पेटभक्तिमा लागेँ । भिडभाड हुनाले त्यो दिन खासै केही कुरा गर्न भ्याइएन तर मनमा भने गाँठो परि नै रह्यो । त्यै गाँठो फुकाउन एक जनासँगै उभिएर खाइरहेको चिनियाँलाई भनी थाहा गरेँ । ‘त्यो प्रस्तुतिमा अन्तिममा गल्ती भएको थियो, सगरमाथा नेपालमा छ । चीनमा होइन,’ मैले उसलाई चिनिया साँझका बारेमा प्रतिकृया दिने क्रममा सुरुमा प्रशंसा गर्दै अन्तिममा लगेर मेरो असन्तोष पोखेको थिएँ । पूरै दाँत देखाएर निश्चित अन्तरालमा टाउको ढिकिच्याउँ जस्तो झुकाउँदै गरिरहेको उसको मुहारको हाँसो मेरा अन्तिम कुराले उडाएको थियो । ‘साम्राज्यवाद मुर्दावाद! कमरेड माओ जिन्दाबाद !’ भन्ने नारा गाउने मुलुकका मान्छेले नै मेरो देशको सिमानामा गिद्दे नजर लाउलान् भन्ने सोचेकै थिएन । ‘हैन, त्यो त चीनमा छ,’ उसले जबर्जस्तीको हाँसो मुहारमा थोपर्दै मेरो जवाफ दियो । मैले पनि प्रविधिको फाइदा उठाउँदै एक हातमा कागजे प्लेट बोकेर अर्को हातको मोबाइलमा सगरमाथाको नक्सा उघारेँ । ‘देख्यौ नेपालमा छ, सानैदेखि त्यही पढिआएको आज एकाएक चीनमा पुर्याइदिएर !’ सिमानाको सगरमाथा देखाउँदै मैले उसलाई भनेँ । उसको पाहुना बनेर उसैको खाना खाइरहेको बेलामा अझ बढी अभद्र हुन मेरो नैतिकताले दिँदैन थियो । त्यसैले तिनै शब्दमा आफ्ना सारा रिस समेटेर व्यक्त गरेँ । ‘सिमानामा छ, नेपालभित्र त छैन!’ उसले नक्साको मेरो बुझाइलाई पनि चुनौती दिँदै भन्यो। मैले फेरि नक्सा हेरेँ । सिमानामै थियो । मलाई त्यो दिन गुगलदेखि रिस उठ्यो । मेरो देशको गौरव सिमानामा सारिदिनुमा पक्कै पनि कुनै ठूलो षडयन्त्र छ भन्ने निर्क्योल निकालेँ । कञ्चनपुरको महाकाली पारिको सिमाना पनि महाकाली वारि देखाएको जस्तै भएको हुनुपर्छ भन्ने भयो । भारतीय विस्तारवादी नीतिका कारण भारतीय सीमामा फेरबदल आएको भन्ने लाग्थ्यो । उत्तरको सीमामा पनि त्यस्तो समस्या छ भन्ने मैले कहिल्यै सोचेको थिइनँ । चिली ड्याङ्गले नबोलाउँदी हो त म त्यो दिन पनि थाहा पाउँथिनँ । स्वाद नमानी-नमानी पनि खाना सकेँ । चिनियाँ पोशाकमा सजिएकी चिलीलाई अन्तिममा भेटेर बिदा मागेर काममा गएँ । किनकिन ऊप्रति सदाझैँ आत्मिय बन्न सकिनँ । अलिअलि मनमा ग्लानि पनि भयो । आखिर सगरमाथा चोरेको कुरालाई म सहजतापूर्वक कसरी लिन सक्दो हुँ ? सगरमाथामा हमला भएकै भए पनि काम त गर्नु पर्थ्यो । त्यसैले मस्काउने र धस्काउने काममा आधा मन लाएरै भए पनि सक्काएँ । घर आउँदासम्म मानसिक र शारीरिक दुवै तरिकाले थाकेको थिएँ । ओछ्यानमा उत्तानो परेर सुत्दा भने मलाई फेरि उही साँझकै घटना सम्झना भयो । चिली ड्याङ्गले मबाट मेरो सगरमाथा खोसेकी थिई । वर्षौं मेरो भनी पढेको चुचुरो उसले आफ्नो नाममा गराएकी थिई । मन त्यसै किन मान्थ्यो ? त्यसैले ल्यापटप उघारेर फेरि नक्सा हेर्न थालेँ । ल्यापटपमा नक्सा मोबाइलमा देखिने नक्सा भन्दा फरक देखिएन । सगरमाथा सिमानामै थियो । चुचुरोको बीचबाट नेपाल-चीन सीमा छुट्याउने रेखा कोरिएको थियो । ‘सगरमाथा हाम्रो हो तर यी चिनियाँहरु आफ्नो भन्छन्,’ मैले एक दिन भान्सामा सँगै खाना पकाउन आएकी नोएमीसँग गुनासो पोखेको थिएँ । ‘कहाँ पर्छ र सगरमाथा?’ उसले प्रतिप्रश्न गरेकी थिई । ‘नेपालको उत्तरी सिमानामा पर्छ,’ मैले जवाफ फर्काएको थिएँ । ‘सिमानामा पर्ने त साझा हुन्छ होला, हाम्रो दक्षिणको बोडेन जे जस्तै,’ उसले मेरो पक्ष लिएको जस्तै गरी भनेको थिई । ‘तर सगरमाथा त हाम्रो हो, मैले सानोदेखि किताबमा पनि त्यही पढेँ । आजसम्म कसैसँग नबाँडेको सगरमाथा कसरी साझा हुन्छ ?’ म केही भाभुक बनेको थिएँ । जर्मनहरुका अघि व्यक्तिगत भावना राख्नु उति उचित मानिँदैन । न त उनीहरु नै सार्वजनिक ठाउँमा भावावेशमा आउने गर्छन् । सकेसम्म आफ्ना भावना गोप्य राख्न रुचाउँछन् । सार्वजनिक परिवेशमा उनीहरु भावना प्रकट गर्नु व्यक्तिगत गोपनीयता विरुद्धको कदम ठान्छन् । उसले मेरो भावुक प्रश्नको उत्तर दिइनँ । बरु केही नबोली त्यहाँबाट उम्किइ । बोडन जे भन्ने ठाउँमा त म पनि बेलाबेला गएकै हुँ। कन्स्टान्च ताल भनेर पनि चिनिने सो ताल जर्मनीको दक्षिणी सिमानामा पर्थ्यो। ताललाई जर्मनी, अष्ट्रिया र स्वीजरल्याण्डको साझा मानिन्थ्यो । तालको किनारै किनार दौडँदा यी तीनै देशको सिमाना टेकिन्थ्यो । सोही तर्कअनुसार नोएमीले सगरमाथालाई साझा बनाएकी थिई । म भने सगरमाथा बाँड्ने कल्पनासम्म गर्न सक्तिनथेँ । [bs-quote quote=”सम्झौतासँगै नेपाल चीन बीचका सीमासम्बन्धी सबै विवादको अन्त्य भएको भनेर नेपाल–चीन सम्बन्धको कोशेढुङ्गा भन्ने शीर्षकमा सम्झौता सहितको लेख नै लेखिएको रहेछ । सम्झौताको पुछारमा नेपालका राष्ट्रवादी छवि बनाएका राजा महेन्द्रको नाम थियो । त्यो सन्देश पढ्दा मलाई चिली ड्याङ्ग एकाएक नराम्री लागेको थियो ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote] ‘तिम्रो देशको राजा र हाम्रो देशको प्रधानमन्त्री ली साओछी बीचमा भएको सम्झौतामा सगरमाथा बाँडिएको हो,’ चिली ड्याङ्गले मेरो आपत्तिको जवाफमा भनी । उसका साथीहरुले सगरमाथा माथिको धावा नबोलेसम्म मलाई ऊ साह्रै मिजासिली लाग्थी । ऊसँगको सम्बन्ध नबिग्रियोस् भनेरै मैले निकै जतनसाथ आफ्नो आपत्ति उसलाई सुनाएको थिएँ । मैले सगरमाथा बाँडेको कुरा नपढेको जस्तै उसले पनि सगरमाथा बाँडेको कुरा पढेकी रहिनछ । तर झट्टै निचोडमा पुगेर प्रतिवाद गर्नुको साटो उसले सन् १९६१ अक्टोबर २० को पेकिङ्ग रिभ्युको ४२ औँ अंकको विद्युतीय कापीसहित मलाई सन्देश पठाएकी थिई । राजा रानीको १८ दिने चीन भ्रमणका बेला सो सम्झौता गरिएको रहेछ । सम्झौतासँगै नेपाल चीन बीचका सीमासम्बन्धी सबै विवादको अन्त्य भएको भनेर नेपाल–चीन सम्बन्धको कोशेढुङ्गा भन्ने शीर्षकमा सम्झौता सहितको लेख नै लेखिएको रहेछ । सम्झौताको पुछारमा नेपालका राष्ट्रवादी छवि बनाएका राजा महेन्द्रको नाम थियो । त्यो सन्देश पढ्दा मलाई चिली ड्याङ्ग एकाएक नराम्री लागेको थियो । चिली ड्याङ्गको त्यो सन्देश पढेर मेरो छटपटी निकै बढ्यो । मैले पनि सकेसम्मका स्रोतहरु जुटाउँदै नेपालको दाबी कायम गर्ने प्रयास गरेँ । एरिक हायरको ‘द प्राग्म्याटिक ड्रयागनः चाइनाज् ग्रयाण्ड स्ट्रयाटेजी एण्ड बाउण्डेरी सेटलमेन्टस्’ नामको पुस्तकमा पनि चिली ड्याङ्गले पठाएकै जस्तो कुरा लेखिएको पाउँदा मन झनै खल्लो भयो । बिपीको चाइना भ्रमणकै क्रममा माओले सगरमाथा बाँड्ने प्रस्ताव राख्दा सगरमाथा देशको लागि एकदमै संवेदनशील कुरा भएको भन्दै बिपीले पन्साए । पछि महेन्द्रले बिपीलाई अपदस्त गर्दै पञ्चायती व्यवस्था थालेपछि गरेको चीन भ्रमणका क्रममा बिपीसँगै आग्रह महेन्द्रसँग पनि गरिएछ । भारतीय दबाबको पूर्वाभासका कारण अन्तिम समय सम्झौताबाट बच्न खोजेका महेन्द्रले अन्तिममा गएर अक्टोबर ५, सन् १९६१ मा सम्झौतामा हस्ताक्षर गरेछन् । फरक फरक अनुमानहरु गरिए पनि नेपालले विवादित भूमिको ३०० वर्गमिल प्राप्त गर्यो भने चीनले ५६ वर्गमिल प्राप्त गर्यो । सगरमाथा भने माओले सुझाएअनुरुप दुई देशका बीच बाँडियो । २१ जनवरी, सन् १९६३ मा बेजिङ्गमा गएर अन्तिम सन्धि नियममा हस्ताक्षर गरियो तर पनि सगरमाथाका हकमा नेपालले अलि ढाकछोपको नीति नै लिइरह्यो । हङकङबाट नेपाल आउँदै गरेका तात्कालीन परराष्ट्रमन्त्रीले सगरमाथा सम्पूर्ण रुपमा नेपालको हो भनेर सार्वजनिक रुपमै भने । चीन सधैँ नेपालको हित चिताउँछ भन्ने सोच्थेँ । सगरमाथा खोसेको पढ्नेबित्तिकै मन नै कुँडियो । चीनले सगरमाथा खोसेर बनाएको घाउमा मलम लाउनलाई नै नेपाललाई सडक निर्माणका लागि आर्थिक सहयोग गर्यो । केरुङ क्षेत्रको रसुवागढी हुँदैको बाटो र कोदारी हुँदै कुती तर्फको बाटोको प्रस्तावमा राजा महेन्द्रले चिनियाँ पक्षलाई गाह्रो होस् भन्नको लागि कठिन भू–बनोट भएको कोदारी हुँदै कुती तर्फको बाटो रोजेछन् । चिनियाँले त्यो अप्ठ्यारो बाटो पनि बनाइछाड्यो । भारतमा खैलाबैला भयो । नेहरुले समेत सामान्य असन्तुष्टि प्रकट गरे । बचाउमा महेन्द्रले ट्याक्सी चढेर कम्युनिज्म नेपाल नआउने कुरा गरे । भारतलाई भने चीनले सो बाटो हुँदै भारतसम्म बख्तरबन्द गाडीहरु नल्याओस् भन्ने थियो । यति धेरै कुराहरुबाट आफू अनभिज्ञ हुँदा मनमा अर्कै पीडा भयो । झूटो गौरबमा बाँचेकोमा कस्तो थकथक महसुस भयो । त्यस मितिसम्म भारतप्रति गुनासाहरु भए पनि चीन त हितैसी नै लाग्थ्यो । त्यसैले भारतीय भन्दा चिनियाँहरुसँगै नजिकिन मन लाग्थ्यो तर सगरमाथा खोसिएको कुराले मन नै कुँडियो । चिली ड्याङ्गसँग त्यसपछि त्यति साह्रो भेटहरु भएनन् । परीक्षा अवधिभर पनि आक्कल-झुक्कल मात्रै भेटहरु भए । ऊ ती भेटहरु पनि हाँसो साटेरै टुङ्ग्याउँथी । म मनमा ऊ प्रतिको एउटा गुनासो बोकेरै भए पनि उसलाई साथ दिन्थेँ । चिनियाँहरु त्यसै पनि पढ्ने कुरामा एकदमै गम्भीर हुन्छन् । ‘हाम्रो विश्वविद्यालयको छात्राबासमा कोठाको बत्ती बन्द गरेर सिरकमुनि बत्ती बालेर पढ्ने विद्यार्थीहरु कत्ति हुन्छन् कति,’ ऊ चीनको उच्च प्रतिस्पर्धाको उदाहरण दिने क्रममा भन्थी । कोठाका अन्य साथीहरुभन्दा अब्बल नतिजा ल्याउन अरु सबै सुतून् भन्नका लागि आफू अघि नै सुतेको जस्तो गर्ने र पछि सबै सुतिसक्दा सिरकभित्रै बत्ती बालेर पढ्ने काम आफैँले पनि कत्ति गरेको भनेर ऊ सुनाउँथी । ‘त्यसैले त प्रायः चिनियाँहरुका आँखामा चस्मा हुन्छन्,’ ऊ चिनीयाँहरुले चस्मा लाउनुको रहस्य खोल्थी, ‘म भने लेन्स लाउँछु ।’ हाँस्दै थप्थी । परीक्षाहरु सकिएपछि केही फुर्सदिलो भएँ । ऊ बाँकी रहेका भ्रमणहरु टुङ्ग्याएर स्वदेश फिर्तीको तयारी गर्न थाली । म बिदाको बेला कुनै गतिलो कम्पनीमा काम गरेर थप पैसा जुटाउने ध्याउन्नमा लागेँ । अन्तिम दिन उसले कोठा सार्न सहयोग गर्न बोलाएकी थिई । त्यही अन्तिम भेटमा मैले उसलाई मनमनै भए पनि मेरो मनको गुनासो सुनाएको थिएँ । ‘चिली ड्याङ्ग, तिम्रो माओले हाम्रो सगरमाथा खोस्यो अनि तिम्रै माओका अनुयायीले मेरो किशोरावस्थाको दश वर्षे शान्ति पनि खोसे।’ (कथाकार जर्मनीमा तथ्याङ्क विश्लेषणको क्षेत्रमा कार्यरत छन्) #चीन #रमण पनेरू
अदृश्य घाउ: युग्मी साँझपख गोधुलीमा एक्लै बसी भन्ज्याङमा न्याउली रुँदै वह पोख्दा विरही गीत मैले सुन्दा एक्लै बसी मौन हुन्छु तिम्रो निरन्तता टुट्दा बिछोड भई रुँदै बस्दा न्याउलीको गीत सुन्दा यातनाको काँडाले घोची मौनता मेरो टुटाउँदा तिम्रो सम्झनाका तस्बिरहरु अगाडि आई विम्बित हुँदा कल्पित भई रुने गर्छु तिम्रो माया टाढा हुँदा घाउहरु धेरै भए चोट त एउटै थियो आँशुहरु धेरै थिए पीडाको दर्द एउटै थियो तिम्रो ममताको सागर सुक्दा सुख्खा बालुवामा लटपटिएछु पौडिदै संसार रचुँ भन्दा दुरीले धेरै टाढा भएछु । #युग्मी
किन बढ्दैछन् नेपाली साहित्यमा प्रवासी कथाहरू ?: आजको नेपाली समाजमा वैदेशिक रोजगारीमा नेपाली युवा जमातको सपना र यथार्थ मिसिएको पाइन्छ । नेपाली समाजमा आय आर्जनको स्रोतको कमी हँुदा दैनिक गुजारादेखि भविष्यमा आइपर्ने टड्कारो परिस्थितीसँग जुध्ने माध्यमको एउटा प्रमुख विकल्पमा युवाहरूले वैदेशिक भूमिलाई गन्तव्य स्थल बनाउँदै आएका छन् । तर प्रवासी नेपाली युवाहरूलाई कर्म भूमि उनीहरूको सपना साकार बनाउने ठाउँको रूपमा मात्र नरहेर जीवनमा हरेक तितामिठा पाठहरू सिकाउदै आएको प्रमुख विषय बन्न पुगेको छ । यसै क्रममा नेपालीहरूसँग जोडिएका घटनाक्रमहरूसँगै नेपाली समाजलाई पनि गहिरा चोटहरू नपरेका होइनन् । थला परेका वृद्ध आमाबाबु, जवान श्रीमति÷श्रीमान, नाबालक छोराछोरीहरूको अवस्था तथा भविष्यलाई पनि आत्मसाथ गरेर नेपाली युवा जमात विदेशमा पसिना वगाइरहेको वास्तविकता त छँदैछ । तथापि प्रवासीका यथार्थ जीवनकथाहरू उनीहरूको सपना भन्दा फरक बन्दै आइरहे र हाल आएर प्रवासी नेपालीको वृतान्तले विस्तृत रूप नै लिन थालेको छ । यस्ता सामाजिक परिवेश र मानविय भावनासँगको संयोजन गराउने बलियो माध्यमको रूपमा साहित्यलाई रोजिन्छ । नेपाली साहित्यले प्रवासी नेपाली र उनीहरूका भावनात्मक अनुभवहरूको समिश्रीत आकांक्षा, उमंग, प्रहर र कहरको सहज र छरितो तरिकाले चित्रण गरिदिन्छ । आजको वर्तमान परिस्थितीमा ठूलो संख्यामा नेपालीहरू विभिन्न प्रवासी मुलुकहरूमा रहनु वा जानुमा कुनै अकल्पनिय कुरा त होइन किनकि आजको प्रवासनको स्वरूप यसको सुरुवाती चरणको विकासक्रमको परिणाम भन्न सकिन्छ । प्रवासनको सुरुवात तिर्थयात्री (नेपालीहरू गयामा श्राद्ध गर्न जाने), शिक्षा आर्जन (वनारसमा संस्कृत तथा ज्ञानआर्जन गर्न), श्रमिक÷रोजगारी जस्तै मलायामा गएका नेपालीहरूको रोजगारीदेखि लिएर भारतिय तथा गोर्खा ब्रिटिश हुँदै हालको वर्तमान परिवेशमा आएर प्रवासमा नेपालीका विभिन्न स्वरूपहरू रहेका छन् जस्तो कि प्रवासमा विद्यार्थी, प्रवासी कामदार, सेना लगायत अन्य रूपमा बाक्लो संख्यामा परदेशमा नेपालीहरू पाइन्छन् । यस बारेमा वर्तमान समयका साहित्यीक प्रस्तुतीहरूले पनि प्रष्ट रूपमा चित्रण गरेका छन् । पिमला न्यौपाने नेपालीहरू प्रवास जानुमा आजको समयमा रहर भन्दा पनि बढी त वाध्यताका रूपमा नै पाइन्छ । वैदेशिक रोजगारीलाई विगत्कालदेखि नै परिवार धान्ने उपयुक्त माध्यमका रूपमा लिइँदै आइएको कुरामा कुनै द्धिविधा रहँदैन । पारिवारिक जोहो टार्ने माध्यमपछि प्रवासको रोजगारी सपना साकार पार्ने आकांक्षाको रूपमा हेरिन थालियो फलस्वरूप विहेवारी मानप्रतिष्ठामा बढोत्तरी गरेर हेरिन थालियो । नेपाली समाजमा विदेशको लाउरेका नामबाट बढ्न थालेको उचाइ आज विदेशको डिग्री तथा स्थायी निवास भन्दै प्रवासमा जान नेपालीलाई दिइने हौसला त छँदैछ जसमा नेपालीपनका कारण दुखेको मनको गहिरो घाउ पनि नेपालीहरूको आफ्नै वास्तविकता होला । तर प्रवासमा मनग्य पैसा कमाउने, घर धान्ने, छोराछोरीको शिक्षादिक्षाको व्यवस्थापन, परिवारको औषधीउपचारको जोहो र सुखी परिवार बनाउने सबै सपनाहरू साकार हुँदै आइरहेका पाइदैनन् । प्रवासमा शिक्षा, रोजगारी र बसाईका आफ्नै वास्तविकताहरू छन् कति व्यक्त छन् त कति अव्यक्त छन् । हरेक वर्ग र क्षेत्रमा रहेका प्रवासीहरूलाई समेट्ने एउटा साझा माध्यम साहित्य बन्न पुगेको छ किन कि साहित्यमा भोगाइ र कथाहरू हुन्छन् जसलाई जस्ताको त्यस्तै प्रस्तुत गरिन्छ र यसमा वास्तविक सत्यता झल्किएको हुन्छ जसले व्यक्त र अव्यक्त भावनाहरू समटेको हुन्छ । प्रवासी नेपाली सपनाका बावजुत परिणाममा हण्डर, ठक्कर, रोग, भोक र शोकले पिरोलिरहेका प्रशस्त उदाहरणहरू भेटिरहन्छन् तर यसलाई सहनु र गुज्रनुको सहज विकल्प साहित्यले थेगिदिएको पाइन्छ । दुःखै दुखको र सुखको पनि विसाउने माध्यम साहित्य नै हो जुन विभेदरहित रूपमा मान्छेको विवशता, रहर, कहर तथा वेदनालाई चित्रित गरेको हुन्छ । प्रवासी र साहित्यकै सन्दर्भमा विभिन्न साहित्यकार, लेखक तथा संगीतकारहरूले नेपाली समाजमा प्रवासी परम्पराहरूलाई उजागर गर्ने क्रम बढ्दो रूपमा भेटिन्छ । यसैगरी मलाया एक्सप्रेस उपन्यासमा मा अखण्ड भण्डारी प्रवासको रोजगारी नेपाली युवाहरूको वाध्यता र यसले निम्त्याएको विचलनसँगै प्रवासमा सिकेको ज्ञान र सीपले आफ्नै गाँउठाउँमा उद्यमशीलताको थालनी गर्ने लगायतका कुराहरूको प्रस्तुती दिएका छन् । प्रा.डा. जिवलाल सापकोटाको कविता संग्रह सिर्जना —तिर्सनामा विभिन्न भेषभुषाले परिचित प्रवास जाने नेपालीहरू नेपाली माटोको र देशप्रेमको सुन्दर सपना बोकेका हुन्छन् भन्ने कुराको अभिव्यक्त पाइन्छ । कहर उपन्यासमा जनकराज सापकोटाले आर्थिक सुधारको उपयुक्त बाटो सम्झी खाडी लागेका युवाहरूको जिवनविहिनता र आश्रित परिवारको वैराग्यलाई उजागर गरेका छन् । उमा सुवेदीको तोदा उपन्यासमा प्रवासमा नेपाली नेपाली महिलाको स्थिती र उनको व्यक्तिगत, पारिवारिक, आर्थिक, सामाजिक लगायतका पक्षहरूको राम्ररी चित्रण गरेकी छन् । अहिलेका प्रवासीको कयौं प्रहर र कहरहरू प्रवासी पुर्खाको इतिहाससँग जोड्ने कसी भनेको साहित्य जसबाट पाठकवर्गले स्वतस्फूर्त र मनोरञ्जनात्क शैलीमा विषयबस्तुभित्रको गहिराई र यथार्थ बुझ्दछन् । त्यस्तैगरी मुग्लानमा तत्कालिन समयमा पुर्खाले भोगेका व्यक्तिगत, पारिवारिक र सामाजिक वेदना वर्तमान समयमा विज्ञान र प्रविधीसँग जोडिएका नेपाली प्रवासीको पीडामा कमी छ भनेर भन्न नमिल्ने कुरा साहित्यीक दस्तावेजले प्रष्ट्याउछ । आजको वर्तमान परिस्थितीसम्म आइपुग्दा धेरै संख्यामा नेपाली युवाहरू कुनै न कुनै रूपमा प्रवासमा रहेको कुरा विभिन्न तथ्याङ्कहरूमा पाइन्छ । यस सन्दर्भमा नेपालमा पब्लिक हेल्थका वरिष्ठ अनुसन्धानकर्ता डा. शारदा प्रसाद वस्तीले विगतमा भन्दा पनि आधुनिक समयमा सबैभन्दा बढी नेपाली प्रवासी कामदारको शारिरीक स्वास्थ्यका साथै मानसीक स्वास्थ्य निकै खस्किरहेको औल्याएका छन् । त्यस्तै नेपाली समाजमा प्रवासी पीडाको अमिट छाप बोकेको लक्ष्मीप्रसाद देवकोटाको मुनामदन जस्ता साहित्यीक कृतिहरू त्यो समयदेखी लिएर अहिलेको परिवेशमा पनि सान्दर्भिक नै देखिन्छ । वर्तमान समयका कृतिहरूले पनि परवासीहरूका भोगाइ र व्यथाहरूलाई यथार्थ रूपमा प्रस्तुत गरिएका छन् । अबका दिनहरूमा प्रवासीहरूका कथाव्यथा समेटिएको नेपाली साहित्य बजारको आवश्यकता, पाठकहरूको रुची भन्दा पनि अझै महत्वपूर्ण कुरा त्यस्ता साहित्यीक कृतिहरूमा कति यथार्थ समेथिएको छ र यसले समाजलाई कस्तो सन्देश दिन्छ भन्ने कुराले महत्व दिन्छ । आफ्नै भोगाई र देखाईले दिने अभिव्यक्तिहरू अरूबाट सुनेको आधारमा लेखिने साहित्यभन्दा धेरै नै पृथकता हुन्छ भन्ने कुरा दावी गर्दै मीनराज वसन्त उनको उपन्यास मुदीरमा खाडीमा नेपाली कामदारहरूको दैनिक भोगाई र वैदेशिक रोजगारीको औचित्यता उतारेका छन् । यसमा उनी आफ्नै अनुभवका साथसाथै सम्पूर्ण प्रवासी नेपालीहरूको परिवेशलाई प्रतिनिधित्व गर्ने प्रयास गरेका छन् जुन कुरालाई गीतकार पुष्पन प्रधानले ‘पंक्षी’मा पनि तस्वीरमा देखिएको जस्तो खुशी नभई प्रवासी नेपालीहरूको यथार्थ फरक हुन सक्छ भन्ने कुरा प्रष्ट्याएका छन् । नेपाली समाजमा वैदशिक रोजगारीलाई सर्वसाधारणले हातमुख जोड्ने, घरखर्च, औषधोपचार र आर्थिक समृद्धीको वैकल्पिक उपाय देख्ने एउटा सामाजिक परम्परा नै छ भने केही हदसम्म रेमिटान्समा आर्थिक निर्भरता रहेको कुरा राज्यले पनि अनुभूत गरेकै कुरा हो जुन कुराको झल्को श्याम सिंघकले आफ्नो उपन्यास रेमिटल्याण्डमा दिन खोजेका छन् । परिणामतः नेपाली युवायुवतीहरूको वैदेशिक यात्रा सोचेको तथा कल्पना भन्दा अलिक भिन्न साथै कहरमा परिणत भएको देखिन्छ । एकातर्फ नेपाली युवाहरू पारिवारिक, सामाजिक र राष्ट्रिय आशा तथा भरोषाका धरोहर हुँदाहुँदै पनि विदेशी भूमिमा निराशा र छटपटाहटमा गुज्रिएका प्रशस्त उदाहरणहरू छन् जसमा हिमाल साउद र कालीप्रसाद बास्कोटाबाट रचित र हेमन्त रानाको श्वरको ‘साइली’ गीत एउटा ज्वलन्त उदाहरण हो । अर्कोतर्फ विभिन्न मौसमी बालीहरूको उब्जनी हुने नेपालको उर्बर भूमि बाँझो जमिनमा परिणत हुँदैछ जसमा अर्जुन पराजुलीको रचना र शिशिर योगीको श्वरमा ‘बोल्ने कोही छैन गाउँमा’ गीतले पनि सोही कुराको मर्म उजागर गरेको छ । यसरी नेपाली प्रवासीसँग जोडिएका आदिकालदेखिका घटना परिघटनाहरूलाई सृङ्खलाबद्धरूपमा जोड्नको लागि साहित्यसँगसँगै कथावाचनको आधुनिक शैलिको प्रयोग गर्न सके उनीहरूको मानसिक स्वास्थ्य सम्बन्धी समस्याको पहिचान र समाधानको वैकल्पिक उपायको खोजी गर्न सकिने ठान्छिन् ससेक्स यूनिभर्सिटी, यूकेमा पव्लिक हेल्थका सिनियर लेक्चररका रूपमा प्राध्यापनरत डा. प्रियंवदा पौड्याल । साहित्यीक अभिव्यक्तिहरूमा पनि प्रवासीहरूको स्वास्थ्यको विषयहरू समेटेको पाइएकोले र यसमा आफू अनुसन्धानरत भएको अभिव्यक्त गर्दै डा. पौड्याल भन्छिन् साहित्यबाट प्रवासीका स्वास्थ्य समस्याहरू पहिल्याउन सकिने र परवासमा उनीहरूको स्वास्थ्य व्यवस्थापनमा महत्वपूर्ण सन्देश समेत दिन सकिन्छ जुन आजको प्रमुख चुनौतीको विषय पनि हो । प्रवासी नेपालीहरूको भावनात्मक परिकल्पना तथा वास्तविक अवस्थाको सम्प्रेषण गर्ने, सु—सुचित गर्ने र सम्भावित सहजतालाई पहिल्याउने बलियो माध्यम नै आजको दिनमा साहित्य हुन पुगेको छ । त्यसैले होला वि.स. २०३० को दशकदेखि नगन्य रूपमा लिखित प्रवासी नेपालीसँग सम्बन्धीत साहित्य वि.स.२०६०÷७० को दशकमा उल्लेख्य रूपमा बृद्धि भएको पाइन्छ । यसमा सामाजिक सद्भाव र सहिष्णुताको उच्च सम्मानसहित सबैलाई एकजुट बनाई प्रवासनले नेपाली समाजमा ल्याएको विचलनलाई औल्याउदै समाधानको बाटो पहिल्याउन सहयोग पुर्याउने माध्यम अहिलेको अवस्थामा साहित्य हुन आएको छ । साहित्यिक कलमहरूद्धारा सम्प्रेषण गरिएका नेपाली प्रवासीहरूका कथाव्यथामा मार्मिक गहिराइ जोडिएको यथार्थलाई नकार्न सकिदैन । त्यसैले प्रवासीहरूको मर्मलाई यथार्थ र सहज रूपमा उतार्न साहित्यबाट गरिने सन्देश सम्पे्रषण आजको उपयुक्त विकल्प बन्न पुगेको छ । (लेखिका ग्रिनतारा नेपाल र यूनिभर्सिटी अफ ससेक्स, यूकेको संयुक्त प्रोजेक्टमा कार्यरत छन् ।) #नेपाली साहित्य #पिमला न्यौपाने #प्रवासीका कथाहरू